`

जेन–जी आन्दोलन पुराना खेलाडीहरूले नै हाइज्याक गर्ने खतरा बढ्यो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित पूर्व महामन्त्री मुकुल ढकालले जेन–जी आन्दोलनलाई घुसपैठिया र सरकारले हाइज्याक गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै नेपालमा भएका हरेक आन्दोलन हाइज्याक हुने गरेको टिप्पणी गरेका छन् । जेन–जी आन्दोलन हाइज्याक भयो भनेर बजारमा हल्ला छ तर सोच्नुपर्ने कुरा के हो भने नेपालमा कुन आन्दोलन हाइज्याक भएन भन्दै उनले प्रश्न गरेका छन् ।

ढकालका अनुसार सुरुमा घुसपैठियाले आन्दोलनलाई आफ्नो नियन्त्रणमा लिए, त्यसपछि अहिलेको सरकारले त्यसलाई हाइज्याक गर्‍यो । उनले यदि सरकारले हाइज्याक नगरेको भए आन्दोलन आफूहरूले गरेको भन्न सक्नुपर्ने तर्क गरे ।उनले यही शिलशिला जारी रहेमा जेन–जी आन्दोलन पनि पुराना खेलाडीहरूले नै हाइज्याक गर्ने खतरा रहेको औंल्याएका छन् ।

देशका लागि जनताले पटक–पटक आन्दोलन गरे, तर अन्तिममा सबै आन्दोलन हाइज्याक हुने र ब्याकफायर जनतालाई हुने गरेको भनाइ राखे । ढकालले नेपालमा सधैं हाइज्याकरले जित्ने र जनताले हार्ने गरेको दुःखेसो गर्दै यो अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा काम गर्ने कालु, मकै खाने….को पनि उल्लेख गरेका छन् ।

सुशासन कायम गर्न कुनै सम्झौता हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् । आज (आइतबार) सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँगको छलफलका क्रममा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अब सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका हुन ।

उनले देशमा देखिएको निराशालाई निर्मूल पार्न सवै लाग्नुपर्ने उल्लेख गरेका थिए । सबै मन्त्रालय र सचिवहरुलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न भनिएको उनले बताए । मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पुरा नगर्नेसँग सम्झौता तोड्ने स्पष्ट पारेका छन् । मन्त्री घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन् । मन्त्री घिसिङ काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारे ।

‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ, कम रकम कबोल गरेर ठेक्का लिएमा मेरो घरवार जान्छ, बैंक जमानत जफत हुन्छ, जरिवाना (पेनाल्टी) हुन्छ भन्ने डर नभएसम्म काम हुँदैन, ठेक्का सम्झौता गर्ने तर लामो समेयदेखि काम नभई जीर्ण भएका आयोजना अब राख्न हुँदैन’, मन्त्री घिसिङले भने, ‘बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै चिज छ तर किन काम हुँदैन ? म आफैं पनि इन्जिनियर भएकाले सम्पूर्ण ठेक्का प्रक्रियाको पूर्ण जानकार छु, आयोजनातर्फबाट पनि गर्नु पर्ने काम नगरेको पनि त्यो पनि हेर्छौ, अन्यायपूर्वक कसैलाई कारबाही गर्दैनौं,पेनाल्टी हुँदैन जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।’

छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेनजी पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको परिस्थितिका बारेमा कुराकानी भएको बताए । उनले रुग्ण योजना खारेज गर्दा त्यसबाट पर्ने असर पहिचान गर्न सुझाव दिइएको जानकारी दिए । त्यस्तै भ्रष्टाचार व्याप्त हुने क्षेत्र उपभोक्ता समिति भएकाले त्यसलाई खारेज गर्न समेत सुझाव दिएको उनको भनाइ छ । उनले निर्माण उद्योग लगायत मुलुकको अर्थतन्त्रलाई चलाउनमान बनाउनका लागि देखिएका व्यवधान वर्तमान सरकारले अन्त्य गर्ने विश्वास व्यक्त गरेका थिए ।

 

 

बहसअघि बेलायत र पोर्चुगलद्वारा प्यालेस्टाइनलाई मान्यता

संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे हुने प्रमुख बहसको एक हप्ताअघि बेलायत र पोर्चुगलले आइतबार प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्ने भएका छन् ।

सन् २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामाथि तीव्र आक्रमण चलाएको थियो । यसका कारण लामो समयदेखि इजरायलका सहयोगी रहँदै आएका धेरै राष्ट्रहरू हालै आफ्ना नीतिमा परिवर्तन गर्न बाध्य भएका छन् । घेराबन्दीमा परेको गाजाले ठूलो विनाश, मृत्यु र खानाको अभावका कारण गम्भीर मानवीय सङ्कट भोगिरहेको छ ।

यसैबीच, विश्व नेताहरू यो हप्ता न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको बहसमा सहभागी हुनेछन् । बहसमा दुई–राज्य समाधान मुख्य एजेन्डा हुनेछ । करिब १० राष्ट्रले निकट भविष्यमा प्यालेस्टाइनलाई मान्यता दिने अपेक्षा गरिएको छ । बेलायती मिडियाले प्रधानमन्त्री किर स्टार्मरले आइतबार नीति परिवर्तनको घोषणा गर्ने जनाएको छ । यद्यपि यसबारे इजरायलले कडा आपत्ति जनाएको छ ।

स्टार्मरले जुलाईमै यदि संयुक्त राष्ट्र महासभा सुरु हुनुअघि इजरायलले हमाससँग युद्धविरामतर्फ ठोस कदम नचाले बेलायतले प्यालेस्टाइनलाई मान्यता दिनेछ भन्दै चेतावनी दिएको थिए । उनले यो कदमले ‘दुई–राज्य समाधानका लागि अधिकतम प्रभाव पार्ने उचित क्षणमा शान्ति प्रक्रियामा योगदान पु¥याउने’ बताएको थिए। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उनलाई ‘राक्षसी आतङ्कवादलाई पुरस्कृत गर्ने’ आरोप लगाएको थिए।

पोर्चुगलको विदेश मन्त्रालयले पनि आइतबारै मान्यता दिने घोषणा गर्ने जनाएको छ । लिस्बनले यसअघि नै गाजाको मानवीय सङ्कट र इजरायलको कब्जा गर्ने धम्कीलाई कारण देखाउँदै आफ्नो अभिप्राय सार्वजनिक गरेको थियो ।

यसबीच, इजरायलले गाजामा बमबारी जारी राखेको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित भोक निगरानीकर्ताले क्षेत्रका केही भागमा अनिकाल घोषणा गरेका छन् । इजरायली सेनाले गाजा सहर कब्जा गर्न ‘अभूतपूर्व बल’ प्रयोग गर्ने चेतावनी दिएको छ ।

फ्रान्स र क्यानाडा पनि आगामी संयुक्त राष्ट्र बैठकमा प्यालेस्टाइनलाई मान्यता दिने तयारीमा रहेका छन् । तर इजरायलले यस कदमको कडा विरोध गर्दै पश्चिम किनारलाई विलय गर्ने धम्की दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने, “विश्वले इजरायलको प्रतिशोधको जोखिमबाट डराउनुपर्ने छैन ।”

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय १९ जना मारिएका थिए ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणमा हालसम्म कम्तीमा ६५ हजार दुई सय आठ जनाको मृत्यु भएको छ, जसमा अधिकांश सर्वसाधारण रहेका छन् ।

अन्ततः युएईले दियो क्रिकेट खेलाडीलाई भिसा

काठमाडौं । नेपाली क्रिकेट टोलीले अन्ततः युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो । नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने

चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा छ जना अमेरिकी हुनेछन् । उनले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताएकी छिन् ।

संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्न दबाब दिँदै आएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा कङ्ग्रेसले बाइटडान्सलाई आफ्नो अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्नुपर्ने कानून पास गरेको थियो ।

अमेरिकी नीतिनिर्माताहरूले चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न सक्ने वा तिनको सामाजिक सञ्जालमा देख्ने सामग्रीलाई प्रभाव पार्न सक्ने चेतावनी दिएका थिए । तर ट्रम्पले आफ्नो सन् २०२४ को चुनावी अभियानमा युवाबीच लोकप्रिय टिकटकलाई सक्रिय रूपमा प्रयोग भएको थियो ।

ट्रम्पले प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गर्दै सम्झौता खोजिरहेका बेला ओरेकललगायतका लगानीकर्ताले टिकटक खरिद गर्न रुचि देखाएका छन् । ओरेकल ट्रम्पका प्रमुख समर्थक तथा विश्वकै धनी मध्ये एक ल्यारी एलिसनको स्वामित्वमा रहेको टेक कम्पनी हो ।

लेभिटका अनुसार टिकटकको डाटा र गोपनीयता व्यवस्थापन ओरेकलले गर्नेछ, एल्गोरिदम पनि अमेरिकाको नियन्त्रणमै रहनेछ । उनले भने, “यी सबै विवरणमा सहमति भइसकेको छ, अब सम्झौतामा हस्ताक्षर मात्र गर्न बाँकी छ ।”

ह्वाइट हाउसमा पत्रकारहरूले सोध्दा ट्रम्पले भने, “हामीसँग महान् अमेरिकी देशभक्तहरू छन् जसले टिकटक किनिरहेका छन् । धेरै महत्त्वपूर्ण व्यक्तिहरू संलग्न छन् ।” सातौँ बोर्ड सदस्य भने पछि घोषणा हुने उनले बताए।

शुक्रबार ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको फोन वार्तामा टिकटक सम्झौताबारे छलफल भएको थियो । ट्रम्पले सीले सम्झौतामा समर्थन गरेको दाबी गरे पनि चीनले औपचारिक पुष्टि गरेको छैन ।

“हामीसँग कडा नियन्त्रण हुनेछ”, ट्रम्पले भने, “टिकटकको ठूलो मूल्य छ, र म अलिकति पूर्वाग्रही छु किनभने मैले यसमा राम्रो गरेको छु ।”

वाल स्ट्रिट जर्नलका अनुसार सम्झौतामा अमेरिकी सरकारले लगानीकर्ताबाट अर्बौं डलर शुल्क पनि प्राप्त गर्न सक्ने सम्भावना छ ।

मुग्लिन–नारायणगढको पहिरो पन्छाउने काम कति बेला सकिएला ?

चितवन । शुक्रबार बेलुकीदेखि अवरुद्ध मुग्लिन–नारायणगढको पहिरो पन्छाउने क्रम अन्तिम चरणमा पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला पुल नजिकै निरन्तर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।

सडक डिभिजन कार्यालयका अनुसार पहिरोका कारण वारपार नदेखिएको स्थान अहिले पन्छाउँदै जाँदा वारपार देख्न सकिने भएको छ । दुवैतर्फबाट पहिरो फाल्दै आइरहेको र आइतबार दिउँसोसम्म सडक आवागमन सञ्चालनमा ल्याउनका लागि निरन्तर प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बाटो अवरुद्ध भएर अलपत्र परेका यात्रुलाई चितवन जिल्ला सुरक्षा समिति तथा स्थानीय व्यवसायीको सहयोगमा खाजा र पानी वितरण गरिएको छ । खाजा र पानी वितरणका लागि नेपाल प्रहरी र अन्य सुरक्षा निकायका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।

 

जलेको पार्टी कार्यालयमै माओवादीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । जेनजी आन्दोलनका बेला आगजनी र तोडफोड भएको माओवादी कार्यालयमा सफाइ र रङरोगनपछि पहिलो पकट बैठक बसेको हो ।

आजको बैठकमा जेनजी आन्दोलनपछि बिकास भएको राजनीतिक परिस्थिति, उपमहासचिव जनार्दन शर्माले लगातार जनाइरहेको असन्तुष्टि लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

 

नवरात्र नजिकिएसँगै सिँगारिँदै काठमाडौँका शक्तिपीठहरु

काठमाडौँ । नवरात्र नजिकिएसँगै काठमाडौँ उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ । काठमाडौँ उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, चामुण्डामाईलगायत शक्तिपीठहरू झिलीमिली बत्तीसहित सिँगारिएका छन् । एक साताअघिदेखि यी मन्दिर क्षेत्रमा सिँगारिएका हुन् ।

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्मका नौ रातलाई ‘नवरात्र’ भनिन्छ । नवरात्रमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । मैतीदेवी मन्दिर क्षेत्रमा नवरात्रको सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए ।

नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । यस अवसरमा घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आराधना एवं दुर्गासप्तशती(चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु हुँदैछ । असोज १५ गते बुधबारसम्म नवरात्र रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

नवरात्रभर पूजा, आराधना गरिएको देवीको प्रसाद असोज १६ गते विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमाका दिनसम्म ग्रहण गरिन्छ । विजयादशमीका दिनदेखि मान्यजनकहाँ टीका, प्रसाद एवं आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस (तस्बिरहरु)

काठमाडौँ । जेनजी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइए पछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो ।

पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।

आन्दोलनको भावना बुझेर राजीनामा दिनुपर्ने कुलमानको सन्देश, नछाड्ने मनस्थितिमा हितेन्द्र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग आज ‘ब्रिफिङ’ मागेका छन् । कुलमानले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जेनजीको आन्दोलनको भावना बुझेर छाड्नु पर्ने भनिरहेको बेला भेट भएको बेला केही भनेनन् । आज ऊर्जा मन्त्री कुलामान, मन्त्रालयका सचिव र सहसचिवलाई शाक्यले ब्रिफिङ गरेका थिए ।

उनले भने, ‘आज मन्त्रालयमा गएर ऊर्जामन्त्री, सचिव र सहसचिवहरूलाई प्राधिकरणको विषयमा ब्रिफिङ गरेको छु । मलाई अहिलेसम्म कसैले पनि राजीनामा दिनु भएको छैन । मैले राजीनामा किन दिने हो र ? अहिलेसम्म कसैले राजीनामा दिन भनेको पनि छैन । म सरकारको निर्णय कुर्छु ।’

बाहिर चर्चा भए जस्तो प्राधिकरणबाट राजीनामा दिनु आवश्यक नरहेको शाक्यले बताएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला प्राधिकरणको कार्यकारी निर्देशक कुनामान बनेका थिए । भने, केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला हितेन्द्रले प्राधिकरणमा कार्यकारीको जिम्मेवारी पाएका थिए । प्राधिकरणको तत्कालीन कार्यकारी निर्देशक नै ऊर्जामन्त्री भएर आएपछि दुबै जनाले विषयवस्तु बुझेकाले काम गर्न सहज हुने भन्ने चर्चा भइरहेको छ । भने अर्को तिर मन्त्री कुलामानले नयाँ कार्यकारी निर्देशक बनाउन लागेको पनि चर्चा रहेको छ ।

उपल्लो डोल्पामा खाद्यान्न अभाव

काँक्रेविहार (सुर्खेत) । उपल्लो डोल्पास्थित तीन वटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या भएको छ । तीन पालिकास्थित धो, सालदाङ र तिन्जेमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्रमा खाद्यान्न अभाव भएको हो ।

गत आर्थिक वर्षमा बाँडिएको चामल सकिएपछि नयाँ चामलका लागि ठेक्का नलागेकाले खाद्यान्न अभाव भएको डोल्पाका शाखाका प्रमुख विष्णु घिमिरेले जानकारी दिए ।

व्यापार कम्पनीले प्रति २५ किलो चामललाई रु दुई हजार २१९ मा बिक्री गर्ने जनाउँदै बाहिरबाट खरिद गर्दा रु चार हजार ५०० सम्म पर्ने गरेको शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए । उनले वर्षमा एक पटक चामल ल्याएर बिक्री वितरण गर्न कम्पनीलाई आग्रह गरे । दसँै, तिहार जस्ता पर्वमा चामल अभाव हुँदा समस्या भएको उनको भनाइ छ ।

मङ्सिरभित्र खाद्यान्न ढुवानी नभए उपल्लो डोल्पामा ठूलो खाद्यान्न सङ्कट निम्तिने अध्यक्ष गुरुङले बताए । हिँउदयाममा हिमपात हुने भएकाले असोजको अन्तिम सातासम्ममा चामल ढुवानी हुनुपर्नेमा उनले जोड दिए।

उपल्लो डोल्पामा शेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिका पर्दछन् । चीनसँग सिमाना जोडिएका यी पालिकामा खाद्यान्न ढुवानी गर्न समस्या हुँदै आएको छ ।

यसैबीच, कर्णाली प्रदेशका सबै जिल्लामा रहेका खाद्य डिपो, बिक्री केन्द्रमा प्रयाप्त खाद्यान्न उपलब्ध रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेशिक कार्यालय सुर्खेतले जनाएको छ । स्थानीय तह तथा डिपोमा कोटा अनुसार खाद्यान्न रहेको प्रदेशिक प्रमुख केशवराज बुढाले बताए।

उनका अनुसार ५१ ठाउँमा खाद्यान्न बिक्री वितरण हुने भए पनि हाल ४२ ठाउँबाट मात्र बिक्रीको काम भइरहेको छ भने कर्णालीमा हाल १५ डिपो र २८ वटा बिक्री केन्द्र रहेका प्रमुख बुढाले जानकारी दिए । उनका अनुसार प्रदेशमा आठ वटा शाखा र एक प्रदेशिक कार्यालय छन् ।

सिंहदरबार गेटमा जेन्जी आन्दोलनका घाइतेहरूको धर्ना (तस्वीरहरु)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।
हेर्नुस् तस्वीरहरू

हेटौँडा औद्योगिक क्षेत्रमा दुई उद्योग थपिए

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारीमा छन् ।

हिमालय एसीपी बोर्डस् प्रालि (एल्मुनियम बोर्ड बनाउने)र टीका इन्डष्ट्रिज प्रालि(चकलेट उद्योग)केही दिनभित्रै उत्पादन गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । लामो समयदेखि बन्द रहेका दुईवटा उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी दुईवटा उद्योग सञ्चालनका लागि सम्झौता गरिएको सूचना अधिकारी नेपालले बताए । “सम्झौता भएलगत्तैबाट उद्योग सञ्चालनको तयारीमा सञ्चालकहरू जुटेका छन्”, उनले भने, ‘‘एकदुई साताभित्रै यी उद्योग सञ्चालनमा आउँछ ।”

यसअघि गत वैशाखदेखि लक्की पोलि इन्डष्ट्रिजले प्लाष्टिकका सामान उत्पादन र टोटल प्याकेजिङ प्रालि प्लाष्टिकको बोरा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको आएको थियो । गत २०८१ माघदेखि थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाकस उत्पादन गर्ने उद्योगसमेत सञ्चालनमा आएको थियो ।

उनका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ । यस्तै लामो समयदेखि बन्द रहेको सुप्रिम मेटल उद्योगले पनि फलामको काटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए ।

विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए । उनका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्राडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकबाट जानकारी प्राप्त भएको छ ।

अमेरिका सरकारको आर्थिक सहयोगमा २०२० साल मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कुल तीन हजार २२८ रोपनी क्षेत्रमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् ।

यस्तै औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायतका कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए ।

कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी छ ।

चाक्सिबारीमा देउवा निकट पाँच पूर्व पदाधिकारीको छलफल, गच्छदार र श्रेष्ठ अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुटेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार मध्याह्न उनीहरू छलफलमा जुटेका हुन् । छलफलमा पूर्व महामन्त्री सिंह, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत छन् ।

बदलिँदो राजनीतिक घटनाका विषयमा उनीहरूबीच छलफल भएको छ । सात पूर्व पदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए । आजै बिहान पत्रकार सम्मेलन गरी प्रवक्ता महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । महामन्त्रीद्वयले पार्टी रूपान्तरण गरिछाड्ने बताएका थिए ।

तर प्रवक्ता महतले सभापति देउवा भदौ २४ गते घरमै प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पतालमा उपचार गराइरहेको बेला घाउमा चुनचुक छर्ने काम गर्न नहुने बताएका थिए । सिंहलगायत पूर्व पदाधिकारीहरू लामो समयदेखि छलफल गर्दै एजेण्डा तय गर्दै अघि बढ्दै आएका थिए । उनीहरू सबै सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । बैठकले अहिलेको विषम परिस्थितिमा कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिने निर्णय भएको छ । अहिलेको संकटबाट निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने ठहर बैठकले गरेको नेताहरुले बताएका छन् ।

 

फेरिएको जुगरानीको जीवन : कपडा उत्पादन

भजनी (कैलाली)। टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो । दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट परिवार पनि सन्तुष्ट थिएन । उनी घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताँउछिन्। जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उनको जीवन फेरिएको छ । एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उनी उद्यममा जोडिन सफल भएकी हुन्।

पच्चीस दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन् । जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थालेकी छिन् । आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ । “खेर जाने केराको बोट ९थाम० बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफँै कपडा बनाउन थालेकी छु”, उनी भन्छिन्, “आजभोलि परिवारले पनि विश्वास गर्न थालेको छ । आफूलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ ।”

टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आठ जना सदस्यलाई तालिममा सहभागी गराएर कपडा उत्पादन गर्ने सुरु गरेपछि महिला आत्मनिर्भर बन्दै गएका छन् । तालिमबाट आत्मनिर्भर बनेका महिला काम पाएपछि निकै उत्साहित भएर काम गरिरहेका छन् । “सीप भएपछि पैसा कमाउन समस्या नहुँदोरहेछ । समाजले हेर्ने दृष्टिकोणमा फेरिँदोरहेछ ।” सोही ठाउँकी कमला साउदले भन्छिन्, “हिजो घरमा बसेर दिन बिताउन मुस्किल हुन्थ्यो भने आजभोलि समय नै पुग्दैन ।”

महिलाहरूले उत्पादन गरेको कपडा काठमाडौँ लगिन्छ । प्रतिमिटर तीन सयमा काठमाडौँको अल्लो बजारले कपडा खरिद गर्दै आएको छ । मागअनुसार पुर्याउन नसकिएको वडा नं ७ की सकुन्तला चौधरी बताउँछिन् । “बजारमा माग निकै छ । एउटै कम्पनीलाई पनि हामीले पुर्याउन सकेका छैनौँ, उनी भन्छिन्, “बुन्न झन्झटिलो हुँदा समय बढी लाग्ने गरेको छ ।” उनले आधुनिक मेसिन भएको भए धेरै उत्पादन गर्न सकिने विश्वास व्यक्त गरेकी छिन्।

उत्पादन भएको कपडा निर्यातका लागि सहकारीले सहजीकरण गर्दै आएको छ । दुई वर्ष अगाडिबाट केराको खेर गइरहेको थामबाट रेसा उत्पादन गर्दै आएको सहकारीले यसभन्दा पहिले रेसा तयार गरेर बिक्री गर्दै आएको थियो । बजारमा रेसाको माग निकै हुँदा पुर्याउन नसकिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताए । “रेसाका लागि चाहिने कच्चा पदार्थ अर्थात् केराको थाममा हामीले अहिलेसम्म पैसा तिर्नुपरेको छैन । उत्पादन भएको रेसाले बजारको माग धान्न सकेका छैनौँ”, उनी भन्छन्, “अहिले त आफ्नै लागि रेसा पुर्याउन सकिएको छैन ।”

महिलाहरूले सरकारबाट सहयोगको अपेक्षा गरेका छन्। उत्पादन भएको कपडाबाट अन्य सामग्री उत्पादनका लागि आवश्यक सीप र आधुनिक मेसिनमा सहयोगको अपेक्षा महिलाहरूले गरेका छन् । “कपडा उत्पादनसँगै त्यसबाट आवश्यक सामग्री बनाउन सके अझै राम्रो आम्दानी गर्न सकिन्थ्यो ।” स्थानीय कमलाकुमारी चौधरी भन्छिन्, “हामीलाई थप सीप र आधुनिक मेसिनमा सहयोग चाहिएको छ । केही रकम हामी आफैँ पनि लगानी गर्न सक्छौँ ।”

उनले केराको कपडाबाट टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्रीलगायत सामग्री उत्पादन गर्न सकिने बताएका छन् । स्थानीय महिलालाई सिलाइकटाइलगायत तालिममा लाखौँ खँर्च स्थानीय सरकारले बर्सेनि गर्दै आए पनि आफ्नो क्षेत्रमा खेर गइरहेको कच्चा पदार्थको उपयोग गर्दै आत्मनिर्भर बनाउने काममा लगानी आवश्यक रहेको चौधरी बताँउछन् । “टीकापुर केराको नामबाट परिचित छ । त्यहीँ केराबाट हरेक नागरिक आत्मनिर्भर बन्न सक्ने आधार छन्”, उनी भन्छन्, “लगानी आवश्यक छ । स्थानीय सरकारले अन्य महिलालाई पनि यस्तै तालिम दिनसक्यो भने रोजगारी आफैँ सृजना गर्न सकिन्छ ।” टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केरा उत्पादन भएपछि खेर गइरहेको केराको बोट(थाम)बाट रेसा उत्पादन गरेर कपडा उत्पादन भइरहेको छ ।

जेन–जीलाई सुमनाको दुई सुझाव : माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले जेन–जी आन्दोलनले राजनीतिक दलहरूलाई सुधारको बाटोमा ल्याउन दबाब दिएको भन्दै तत्काल कार्यान्वयन गर्न सकिने सुधारका सुझाव प्रस्तुत गरेकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले दलहरूलाई स्पष्ट कार्ययोजना प्रस्तुत गर्न चुनौती दिँदै तत्काल लागू गर्न सकिने सुधारका उपायहरू सुझाएकी छन् । उनले लेखेकी छन्, ‘फेरि भन्छु, कसरी सच्चिने ? यो अमूर्त कुरा भयो ! कसरी सच्चिने भन्ने खाका सुन्न पाए हुन्थ्यो !’ उनले दलहरूले तत्काल गर्न सक्ने दुई वटा प्रमुख कदम सुझाएकी छन् ।

पहिलो, दलीयकरण रोक्न उनले शिक्षक र कर्मचारी संगठन खारेज गर्न, विद्यार्थी संगठनलाई नियुक्ति र ठेक्काको सौदाबाजीमा प्रयोग नगर्न, शिक्षालय तोडफोड गर्ने र बन्द गराउनेमाथि कारबाही गर्न, साथै शिक्षक र प्राध्यापकमाथि कुटपिट गर्नेलाई संरक्षण बन्द गर्न सुझाव दिएकी छन् ।

दोस्रो, उनले दलीय नियुक्तिहरूको राजीनामा गराउनु पर्ने बताएकी छन् । राजदूत, विश्वविद्यालयका उपकुलपति, विभिन्न बोर्ड, बैंक निर्देशक, करारमा नियुक्त कार्यकर्ता र संवैधानिक निकायमा भएका दलीय नियुक्तिहरू हटाउनुपर्ने उनको जोड छ । उनले जेन–जीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘माथिका कुराहरू दलहरूले तत्काल गर्न सक्छन् । यी सजिला र तत्काल सम्भव सुधार हुन्, जसका लागि संसद् वा सरकारको आवश्यकता पर्दैन । सुधारको वाचा केवल बोलीमा सीमित हुनु हुँदैन । यी माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस् ।’

उनले भनेकी छन्, ‘यी कदमहरूले सार्वजनिक सेवामा निष्पक्षता कायम गर्नेछ, जुन जनताको सेवा गर्ने कर्मचारीतन्त्रको मूल आधार हो ।’ उनको यो बयान जेन–जी आन्दोलनपछि बनेको सरकारमा प्रत्यक्ष नभए पनि पर्दा पछाडि रहेर काम गर्ने चर्चाबीच आएको हो ।

हेर्नुस् सुमनाको स्टाटस

पोखराकी युवती काठमाडौंको गेस्ट हाउसमा मृत फेला

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

 

तालिम केन्द्र परिसरमै प्रहरी जवान मृत्त भेटिए

काठमाडौं । नेपाल प्रहरीका एक जना जवान तालिम केन्द्र परिसरमै मृत भेटिएका छन् । बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्रमा कार्यरत २४ वर्षीय श्याम चौधरी रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत चौधरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुण्डिएको अवस्थामा शनिबार फेला परेका हुन् ।

शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदानको छेवैमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ‘उनको रातिको ड्युटी थियो कति बेला आत्महत्या गरे भन्ने यकिन भएन तर, बिहानपख तन्नाको पासो बनाएर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए,’ प्रहरी स्रोतले भन्यो ।

मृतक चौधरीका परिवारका सदस्यहरू आएपछि शनिबार अपराह्न लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । चौधरी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं ३ का बासिन्दा हुन्। उनी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो ।

यी हुन् वर्षमान पुनले देखेका जेनजी आन्दोलनका दुई कारण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि जेनजी आन्दोलनको पृष्ठभूमि तयार भएको दावी गरेका छन् । दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेनजी विद्रोहमार्फत विस्फोट भएको उनको भनाइ छ ।

मुलुकको धरोहरका रुपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कुुशासनका मतियारहरुले लिनुपर्ने तर्क गरे । ‘भ्रष्टाचार, अनियमितता, कशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा हामीले संसदभित्र र बाहिरबाट एक वर्षसम्म पटकपटक सरकारको ध्यानाकर्षण गरायौं, दबाब दियौं’, पार्टी सम्वद्ध जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियाका क्रममा पुनले भने, ‘तर, सत्तामा बसेका कांग्रेस र एमालेले सुनेनन्। दुई तिहाईको शक्ति पुरै स्वार्थ समूहको सेवामा समर्पित भयो ।’

‘हामीले निकट विगतका बंगलादेश, श्रीलंका जस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौं । हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो । त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेनजी आन्दोलनको रुपमा प्रकट भयो,’ पुनले थपे ।

जेनजी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरुका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको र उनीहरुले नै माओवादी र अरु दल उस्तै भन्ने स्थापित गराउने कोशिस गरिरहेको भन्दै आपत्ति जनाए ।

पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उल्लेख गरे। अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भूराजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए । फरक प्रसंगमा पुनले जेनजी आन्दोलनले पार्टीहरुका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरुमा आमुल रुपान्तरण जरुरी रहेको रहेको जबर्जस्त सन्देश दिएको औंल्याए ।

 

गाउँगाउँमा पुग्यो सिंहदरबार, तर खाली हुन थाले घर

रामेछाप । रामेछापको अधिकांश गाउँमा मानिस बस्न छाडेपछि यहाँका बस्ती उजाड हुन थालेका छन् । गाउँमा रोजगारीको अवसर, शिक्षा र स्वास्थ्यको सुविधासमेत राम्रो नहुने भएपछि बसाईँ सर्नेक्रम नरोकिएको हो । गाउँगाउँमा सिहंदरबार भने पनि गाउँमा भएको सिंहदरबारले प्रदान गर्ने सेवाले काम खासै केही गर्न सकेको छैन । दुई नगरपालिका र छवटा गाउँपालिकासहित आठवटा पालिका रहेको यस जिल्लाका सबै पालिकाका ग्रामीण बस्तीका घर खाली हुँदै गएका पाइएको छ । बस्ती खाली हुनेमध्ये मन्थली नगरपालिका–८ को चिसापानी पनि एक हो ।

चिसापानीका अधिकांश घरमध्ये धेरै खाली छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य र गाउँमै रोजगारीको अवसर नभएपछि यहाँका मानिस सोको खोजीमा सुविधासम्पन्न ठाउँमा गएका स्थानीय बताउँछन् । चाडपर्व र अन्य विषेश खालका कार्यक्रममा मात्र जम्मा हुने यहाँका मानिस अहिले धेरैले आफ्ना घर छाडेर हिँडिसकेका छन् ।

सुरुसुरुमा चिसापानीमा खानेपानी अभावका कारण धेरैले गाउँ छाडेका भए पनि अहिले आएर शिक्षा, स्वास्थ्य र रोजगारीका कारण मानिस घर छाडेर परिवार नै अन्यत्र बसोबास गर्ने गरेको मन्थली –८ की केशरी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पाखो बारीमा खासै उब्जनी हुँदैन। केही बालीनाली लगाए पनि त्यसको खर्च उठ्दैन । उब्जनी पाक्ने बेलाका बाली बाँदरले खाइदिन्छ। दैनिक बाँदर धपाउनुपर्ने समस्या छ ।’

त्यही समस्या र गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका लागि यहाँका मानिस सहर गएकाले गाउँमा मलामी जाने र जन्ती जाने मान्छे पनि पाउन गाह्रो भएको मन्थली–८ का निवर्तमान वडाध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । यहाँ सामुदायिक विद्यालयमा गाउँलेको आकर्षण नभएका र राम्रो स्वास्थ्य सेवा नभएकाले गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि मानिस सहर पसेका मन्थली –८ का वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् ।

उनले भने, ‘विषेश गरी नेवारी समुदायको बढी बस्ती रहेको यस गाउँमा गाउँमै स्वरोगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ भनी यस वडामा आफ्नो पहलमा गाउँमा ‘होमस्ट’ सञ्चालन गरिएको, पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक चिसापानी गढीलाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ । अन्य सीपमूलक तालिम पनि सञ्चालन गरिएको भए पनि गाउँमा कममानिस बसेका हुन् ।’

मन्थली नगरपालिका–८ की स्थानीय मोहनदेवी श्रेष्ठले रोजगारीका लागि घर छाडेर हिँडेकाले घर खाली भएको र मान्छे भएका घरमा पनि आफूजस्ता बूढाबूढीमात्र भएको बताउँछन् । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले मुलुक सङ्घीयतामा गएसँगै गाउँमै अब सबै सुविधा हुन्छ भनिए पनि गाउँमा हुनुपर्ने जति आधारभूत आवश्यकताका चिज पाउन मुस्किल भएकाले प्रायः गाउँका मानिसले घर छाड्नु परेको बताए।

उनले भने, ‘अहिले धेरै घरका मानिस वैदेशिक रोजगारीमा छन्। वैदेशिक रोजगारीमा भएका परिवार गाउँमा नबसी काठमाणडौँ वा जिल्ला सदरमुकाम मन्थलीमा छोराछोरी पढाउने नाममा बस्ने गरेकाले पनि गाउँबस्ती खाली हुँदै गएका हुन्।’ सरकारले गाउँमै रोजगारीको अवसर दिने वा स्वरोजगारमूलक कार्यक्रम ल्याई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाह गर्न सके यसरी गाउँ खाली नहुने मन्थली माविका पूर्व प्रधानाध्यापक एवं नागरिक अगुवा गुञ्जबहादुरर श्रेष्ठ सुझाव दिन्छन्। रासस

अन्तरिम सरकार बनाउँदा त्रुटि भएको छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अन्तरिम सरकार संवैधानिक व्यवस्थालाई पूर्णरूपमा टेकेर सरकार बन्न नसकेको टिप्पणी गरेका छन् । तोडफोड र आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले त्यसका बाबजुद पनि कांग्रेसले विरोध नगरेको बताए ।

‘संसद नभए पनि हामीले यसको विरोध गरेका छैनौं । तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘संसद भएरै पनि यसलाई अझै संविधान सम्मत बनाउन सकिन्थ्यो । त्यसमा त्रुटी भएको छ ।’ उनले त्यसबारेमा पार्टीभित्र गम्भीर छलफल हुने पनि बताएका छन् । ‘आउने दिनमा पार्टीभित्र गम्भीर छलफल हुन्छ । अन्तरपार्टी, नागरिक समाज, नवयुवा सबैसँग छलफल हुन्छ । यसको आधारमा कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुग्छौं,’ उनले भने ।

प्रवक्ता महतले चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको जरूरी रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा उनकी श्रीमती आरजु राणाको स्वास्थ्य सुधारोन्मुख रहेको पनि बताए । ‘उहाँहरूको स्वास्थ्य सुधारोन्मुख छ, ठीक भएपछि चाँडै सार्वजनिक हुनुहुन्छ,’ उनले भने ।

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो ।

उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार यो व्यवस्था स्थगन गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो । सूचना अधिकारी पराजुलीका अनुसार परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण हुनेछ ।

भोलि सार्वजनिक बिदा परेका कारण मङ्गलबारदेखि यो व्यवस्था लागू गरिने उनले जानकारी दिए । गत फागुनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौँथो संशोधन), २०८१ संशोधन गरी उक्त विनियमावलीको विनियम ११ उपविनियम (७) मा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने र सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था राखिएको थियो ।

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

काठमाडौं । एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।

चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजान्थिन् । उनको मानसपटकमा त्यो गुम्बा रहिरह्यो । जहिले पनि त्यहाँ पुग्दा उनलाई शान्ति मिल्थ्यो । त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन । गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यान्भासमा उतारेर राखिन् । एक वर्षअघि बनाएको चित्र अहिले उनको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ ।

प्रदर्शनीको अर्काे आकर्षण हो– बौद्धमा रहेको गुम्बा । कुनै एक विदेशीले बौद्धमा सहर बस्नुअघि नै खिचेको पुराना तस्बिरहरू उनले संगालेकी थिइन् । त्यसमध्येको केही तस्बिरलाई उनले क्यान्भासमा तेल रङमार्फत उतारेकी छन् । जहाँ बौद्ध वरिपरि परम्परागत घरहरू मात्रै छन् । बाँकी सुन्दर प्रकृति अनि फाँटहरू । अहिले त्यो दृश्य तस्बिर र यस्तै क्यान्भासमा मात्रै सीमित छ । उनले त्यही पुरानो यादलाई क्यान्भासमार्फत जीवन्त दिन खोजेकी छन् ।

त्यही बौद्धको पुरानो सम्झनालाई उनले क्यानभासमा भरेर प्रदर्शन गरेकी छन् । फरक–फरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उनले क्यानभासमा उतारेकी छन् । उनलाई बौद्धले सबै तानिरहने सुनाइन् । चार वर्षअघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उनले देखाएकी छन् । आना त्यसलाई वास्तविकभन्दा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् ।

यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहेकी छन् । अझै आठ दिन यहाँ उनको कला हेर्न सकिन्छ । उनी भन्छिन्, ‘मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।’ उनले प्रदर्शनीमा कतिपय फूलहरू पनि समावेश गरेकी छन् । बौद्धको पुराना तस्बिरलाई क्यानभासमा उतारेकी छन् । जुन बेला सुन्दर फाँट र परम्परागत घरहरूको बीचमा रहेको बौद्ध गुम्बालाई उनले विषय बनाएर फरक फरक कोणबाट क्यान्भास सजाएकी छन् ।

‘म मान्छेसँग टाढिएर प्रकृतिसँग नजिक भएँ, जीवनमा प्रकृतिले धेरै असर पारेको छ, त्यसैले प्रकृति र धर्म, संस्कृति र फूलहरू मेरा विषय बनिदिन्छन्’, उनी थप्छिन् । वनजङ्गल, खोला पुलपुलेसा, भिरपाखा, पखेरा, तालतलैया, आकाश, बादल, चराचुरुङ्गी, जीवजन्तु र डाँडाकाँडा उनको सिर्जनाका रुचिका विषय हुन् । त्यही प्राकृतिक सुन्दरतामा उनको कुची चलेको छ । प्रकृतिसँगको गहिरो सम्बन्ध यो प्रदर्शनीमा देख्न सकिन्छ । उनको मुख्य रुचि तेल रङलाई खेलाउनु हो ।
‘प्रकृतिपछि बौद्ध सबै नेपालीहरूबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ’, आना भन्छिन्, ‘मनले माग्छ अनि प्रकृतिसँगै त्यसलाई पनि उतार्छु ।’

उनी कलालाई शब्दले बयान गर्न सकिँदैन भन्छिन् । उनले थपिन्, ‘रङमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु, प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ भनेर देखाउन खोजेकी छु प्रदर्शनी हेरिदिनुस् ।’ आनाले कला पढेकी होइन, आफै घरमा बनाउँदा बनाउँदै सिकेकी हुन् । पाँच वर्षदेखि कला साधनामा उनी सक्रिय छिन् । अन्य कलाकारका भन्दा उनका सिर्जना कमजोर लाग्दैनन् । उनी आफ्नै शैलीका सिर्जना गर्छिन् । परम्परागत कलामा पनि उनलाई रुचि छ । थाङ्कामा पनि चाहना छ ।

कहिलेकाहीँ कतिपय समयमा ग्रीनतारालाई विषय बनाएर आफ्नै शैलीले रङ भर्छिन् । यहाँ हेर्न आएका कला पारखीहरू अझै कलामा उच्च शिक्षा गरे भने अझै कलामा निखारता आउने सुझाव उनलाई दिन्छन् । जेनजी पुस्ताबाट केही महिना नाघेकी आनाले भ्रष्टाचार रोकौँ भनेर भदौ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइतीघर पुगिन् । भ्रष्टाचार रोक्ने नारासहित ग्रामीण दृश्यचित्र बोकेर गएकी आनाको उक्त क्यान्भासमा सयौँ युवाले हस्ताक्षर गरेर उनको अभियानमा समर्थन जनाए । त्यही क्यान्भासलाई पनि उनले यहाँको प्रदर्शनीमा राखेकी छन् ।

अझै आफूलाई निखार्दै गरेको बताउने आना अग्रज कलाकारको सिर्जना हेरेर पनि धेरै सिकिरहेकी सुनाउँछिन् । आधा समय कला सिर्जना गरेर बिताउने र आधा समय प्रकृति र फूलसँग खेल्ने गरेको सुनाउने आना सहर बजारभन्दा गामीण परिवेशप्रति रुचि रहन्छ भन्छिन् । त्यसैले उनको सिर्जनामा पनि ग्रामीण दृश्यहरू देख्न पाइन्छ । काठमाडौँमा मन्दिर गुम्बाहरूमा उनी घुम्न जान्छिन् । त्यहाँबाट पनि प्रभावित हुने गरेको आनाले सुनाइन् । अहिले ललितपुरमा कुञ्जको प्रस्तुतिमा उनको एकल कला प्रदर्शनी भइरहेको छ । चार वर्षदेखि बनाएका १५ कलालाई उनले प्रदर्शनीमा राखेकी छन् । आयोजक कुञ्जकी अध्यक्ष स्वेता चन्द उनले यहाँ प्रकृतिलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको बताइन् । कुञ्जले गरेको यो दोस्रो कला प्रदर्शनी हो ।

काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते (तस्बिरहरू)

काठमाडौं। काठमाडौंको माछापोखरी नजिकै बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

माछापोखरी बाइपासको उकालो चोकमा उक्त बाइकलाई साइड दिनेक्रममा मुख्य सडकमै पल्टिँदा त्यसमा सवार यात्रु घाइते भएको बताइएको छ ।

 

सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कति बेला खुल्ला मुग्लिन–नारायणगढ सडक ?

चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडक खण्डको पहिरो पन्छाउने काम विहानदेखि जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ ।

अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भइरहेको छ । इन्जिनियर आचार्यका अनुसार अहिले पनि सडकमा ३५ मिटर डिपोजिट पहिरो सडकमा छ । त्यसलाई सहज रुपमा हटाउन सके दिउँसोसम्म सडक खुलाउन सकिने उनले जानकारी दिए । ‘पहिरो बेलाबखत झरेको छ, जोखिम त यसै पनि छ, तर पनि हामी लागिरहेका छौं, काम गर्दागर्दै पनि कतिबेला थप आउँछ भन्ने अवस्था छैन’, इन्जिनियर आचार्यले भने, ‘माथिल्लो भागमा पत्रे चट्टान भएकाले समस्या भएको छ ।’

असोज ३ गते साँझ ६ बजेतिर गएको ठूलो पहिरो निरन्तर झरिरहेकोले मुग्लिनतर्फबाट नारायणगढ आउने र नाराणगढबाट मुग्लिनतर्फ जाने सयौं सवारी साधान बीच बाटोमा नै रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी,जुगेडी, रामनगर क्षेत्रमा रोकिएको छ ।

काठमाडौंबाट आउने सवारीलाई कुरिनटार, मुग्लिन, फिस्लिङमा रोकिएका छन् । मुग्लिन बजारमा रहेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा निःशुल्क पानी, खाना र खाजा वितरण गर्न थालिएको छ । नारायणगढतर्फबाट पनि विभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरुको सहयोगमा यात्रुहरुलाई चाउचाउ, विस्कुट, पानी बाँड्ने काम गरिएको छ । यातायात मजदुरहरुलाई यातायात व्यवसायीहरुले निःशूल्क खाना र खाजाको व्यवस्था मिलाएको जनाएका छन् ।

 

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न आयोग बनाउने सरकारको तयारी

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने भएको छ । सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषदबाट जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका गतिविधि छानबिन गर्न आयोग बनाउने सैद्धान्तिक सहमति गरेको थियो ।

आज साँझसम्म बस्ने मन्त्रिपरिषद बैठकले छानबिन आयोग गठन गर्न सक्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । कसको नेतृत्वमा उक्त समिति गठन हुन्छ भन्ने यकिन भइसकेको छैन । पूर्व न्यायाधीश कसैको नेतृत्वमा आयोग बनाउने तयारी छ । मन्त्रिपरिषद् स्रोतका अनुसार, विशेष अदालतका पूर्व अध्यक्ष (उच्च अदालतका पूर्व न्यायाधीश) गौरीबहादुर कार्कीको नाम अग्रपंक्तिमा छ । त्यस्तै सर्वोच्चकै पूर्व न्यायाधीश बलराम केसीको नाम पनि बालुवाटारको छलफलमा छ।

तर, स्वयं पूर्व प्रधानन्यायाधीश कार्कीले भने आफूलाई भन्दा सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरू बलराम केसी, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईमध्ये एक जनाको नेतृत्वमा यस्तो आयोग बनाउन उचित हुने सुझाव दिएका छन्।कार्की विशेष अदालतमा बसेका एक निर्भीक र निष्ठावान् न्यायाधीशमा गनिन्छन् । उनले धेरै भ्रष्टाचार मुद्दाको फैसला पनि गरेका छन् । त्यसैले उनले आन्दोलन दमनका विषयमा भन्दा भ्रष्टाचारसम्बन्धी जाँचबुझ आयोगको जिम्मेवारी पाए उचित हुने सन्देश बालुवाटारमा पठाएका छन् ।

भदौ २३ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो । अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ । भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबारलगायत सरकारी कार्यालय, नेताका निजी घरलगायतमा आगजनी भएको थियो । यी सबै घटना छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको तयारी छ । जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।

 

 

देशभरका सात राजमार्ग आज पनि छन् पूर्णरूपमा अवरुद्ध

काठमाडौं । वर्षा र बाढी–पहिरोको कारण आज (आइतबार) पनि देशभरका विभिन्न सात राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् । त्यसैगरी अरु सात राजमार्गमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ । आज पनि कोशी राजमार्गको भोटखोलामा सडक पूर्णरूपमा अवरुद्ध छ । यो सडक लामो समयदेखि अवरुद्ध अवस्थामा छ । त्यस्तै कोशी राजमार्गकै मकालु गाउँपालिका–३ को एकुवामा पनि सडक अवरुद्ध छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ । यहाँ पनि लामो समयदेखि सडक अवरुद्ध हुँदै आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक पनि अवरुद्ध छ । यहाँ शुक्रबार साँझदेखि नै पहिरोले सडक अवरुद्ध छ । पहिरो ठूलो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

आज पनि बिहानैदेखि तीन वटा लोडर र दुईवटा एकाभेटर प्रयोग गरे पहिरो हटाउने काम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरोको कारण मुग्लिन क्षेत्रमा बिगत तीन दिनदेखि सयौँ सवारी साधन रोकिएका छन् । काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध हुँदा दसैँको मुखमा यात्रुले ठूलो मर्का बेहोरिरहेका छन् । त्यस्तै पहिरोले म्याग्दीको बेनी दरबाङ र जाजरकोटको जारकोट डोल्पा सडक पनि अवरुद्ध छ । त्यस्तै रसुवाको उत्तरगया, बाग्लुङको कालीगण्डकी, नवलपरासीको दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग, रुकुमपूर्वको मध्यपहाडी राजमार्ग र पाल्पाको पाल्पा गुल्मी सडकमा पनि बाढी पहिरो जाँदा एकतर्फी मात्रै गाडी चलेका छन् ।

गगनलाई प्रकाशशरणको प्रश्न : सभापतिमाथि आक्रमण हुँदा उपचारसम्म पनि पर्खिन नसक्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पुनर्गठनको मुद्दा उठाइरहेका महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गरेका छन् । अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको उनले आरोप लगाएका छन् ।

आन्दोलनमा जलाइएको आफ्नो घरको भग्नावशेषबाटै सम्बोधन गर्दै उनले गगनको नाम नलिईकन उनीप्रति आक्रोश पोखेका हुन् । सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठिक नभएको उनको भनाइ छ ।

हेर्नुस् डा. महतको भनाइः

अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो । तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ । २३ गतेभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने… हामी त बरु अलि टाढा भएका थियौं । जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ ।

उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । बोली, बचन, वक्तव्य, उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भन्या थियौँ । कतिपय कुरा ठिक भइरहेको छैन । ओलीजीको सोच र शैलीले ठिक बाटोमा अघि बढ्दैन । अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?

नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि मन्थन हुन्छ । गम्भीर छलफल गर्छौंं । कसरी घटना घट्यो । मूल्यांकन गर्छौँ । सुधार पनि गर्छौँ । तर त्यसका लागि पनि नपर्खने ? आधिकारिक निर्णय कार्यसम्पादन समितिले गरेको भन्दा छुट्टै बहस थाल्ने ? यसे हाम्रो पार्टीलाई मजबुत गर्दैन ।

मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा वैज्ञानिक डा. महावीर पुन पनि रहने भएका छन् । प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन् । पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको छ । तर अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ ।

शिक्षा मन्त्रालयको समेत समेत जिम्मेवारी दिने कि विज्ञान तथा प्रविधिको मात्र जिम्मा दिने भन्ने प्रष्ट भइनसकेको स्रोतले जनाएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए । यस्तै मन्त्रिपरिषदमा एक जना दलित समुदायको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको छ ।

हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेको छ । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीका साथै अन्य मन्त्रीहरूले पनि गृहकार्य गरिरहेका छन् । खासगरी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल यसमा बढी खटिएका छन् । कार्की भदौ २७ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। गएको आइतबार तीन मन्त्री नियुक्त गरी पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

 

तालिबानलाई ट्रम्पको धम्की : बग्राम एयरबेस नदिए राम्रो हुँदैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयरबेस अमेरिकालाई नदिए गम्भीर परिणाम भोग्नु पर्ने धम्की दिएका छन् ।

‘यदि अफगानिस्तानले बग्राम एयर बेस यसको निर्माता, संयुक्त राज्य अमेरिकालाई फिर्ता गरेन भने यो धेरै नराम्रो हुनेछ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् । यसअघि पनि ट्रम्पले बग्राम एयरबेस कब्जा गर्ने इच्छा व्यक्त गरेका थिए।

हालै, बेलायत भ्रमणको क्रममा, ट्रम्पले भने कि उनको सरकार अफगानिस्तानमा रहेको बग्राम एयरबेस फिर्ता लिन प्रयास गरिरहेको बताएका थिए । उनको बयानमा तालिबानले जवाफ दिँदै भनेको थियो, ‘इतिहास साक्षी छ कि हाम्रो भूमिमा विदेशी शक्तिहरूलाई कहिल्यै स्वीकार गरिएको छैन ।’ एजेन्सी

अमेरिकी ‘एच–वान बी’ भिसा शुल्कले मानवीय संकट निम्त्याउने भारतको चेतावनी

काठमाडौं । भारतले अमेरिकी दक्ष कामदार भिसा एच–१ बीका निम्ति आवेदन दिनेहरूलाई लाग्ने नयाँ एक लाख डलर शुल्कले जटिल मानवीय परिणाम ल्याउने चेतावनी दिएको छ ।

भारतको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त शुल्कले ‘परिवारहरूमा उत्पन्न हुने व्यवधानका कारण’ गम्भीर मानवीय परिणाम ल्याउने जनाएको हो । भारत सरकारले यी व्यवधानलाई अमेरिकी अधिकारीले उपयुक्त रूपमा सम्बोधन गर्ने अपेक्षा समेत गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसा आवेदनका निम्ति नयाँ शुल्क लगाउने कार्यकारी आदेश शुक्रबार जारी गरेका थिए । यो शुल्क हालको भन्दा ६० गुणाभन्दा बढी हो । यही सेप्टेम्बर २१ देखि यो कार्यान्वयनमा ल्याइनेछ । यो कार्यक्रमअन्तर्गत जारी हुने दक्ष भिसामध्ये ७० प्रतिशतभन्दा बढी भारतीय कामदारले प्राप्त गर्ने गरेका छन् । केही अमेरिकी प्रविधि कम्पनीले आफ्ना एच–१बी भिसा भएका कर्मचारीलाई अमेरिकाभित्रै बस्न वा विदेशमा भए तुरुन्त फर्कन सल्लाह दिएका जनाइएको छ ।

यद्यपि, शनिबार ह्वाइट हाउसले नयाँ शुल्क हालका भिसा वा नवीकरण आवेदनमा लागु नहुने स्पष्ट पारेको थियो । विज्ञप्तिमा दक्ष कामदारको आदानप्रदानले दुवै राष्ट्रलाई ‘अत्यधिक योगदान’ पु¥याएको उल्लेख छ । ट्रम्पले गएको महिना रुसी तेल खरिदका कारण भारतमाथि दण्डनात्मक शुल्क लगाएपछि दुई देशबीच तनावपूर्ण व्यापार वार्ता चलिरहेको छ ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार, सन् २०२४ मा अमेरिकाले भारतमा ४१.५ अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो । भारतबाट दोब्बरभन्दा बढी अर्थात् ८७.३ अर्ब डलर बराबरको सामान आयात गरेको थियो ।

मुग्लिन–नारायणगढ सडकको पहिरो विहानैदेखि पन्छाउन सुरु

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज (आइतबार) बिहानैदेखि पुनः थालिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढतर्फबाट मेशिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यद्यपि ढुङ्गा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइनखोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ ।

मुग्लिन नजिकै पर्ने तुइनखोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ती खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको हो । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ती बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र छन् ।

कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । पहिरो ठूलो भएकाले खुल्न समय लाग्ने बताइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।

पत्रकार शर्माको निधन

काठमाडौं । पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ । पाल्पाबाट रुपन्देही आएर लामो समयदेखि सक्रिय पत्रकारितामा रहेका शर्माको शनिबार अपराह्न भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

तीन दशक पत्रकारिता गरेका पत्रकार शर्मालाई केही वर्षअघि क्यान्सर रोग देखा परेको थियो । उनको नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको थियो ।

पत्रकार शर्माले खेल तथा आर्थिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका थिए । शर्मा श्रीमती, एक छोरा र एक छोरीसहित भैरहवामा बस्दै आएका थिए । उनको आज बिहान पाल्पाको राम्दीमा अन्त्येष्टि गरिने भएको छ ।

हमासद्वारा ‘विदाइ तस्वीर’ भन्दै ४८ बन्दीको फोटो सार्वजनिक, नेपालका विपिन पनि

काठमाडौं । इजरायलले गाजा शहरमा आक्रमण तीब्र बनाउँदै लगिरहेका बेला लडाकु समूह हमासले ‘बिदाइ तस्वीर’ भन्दै ४८ जना बन्दीहरुको तस्वीर सार्वजनिक गरेको छ ।

हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल–कस्साम ब्रिगेड्स’ ले शनिबार आफ्नो टेलिग्राम च्यानलमार्फत गाजामा रहेका ४८ बन्दीहरूको तस्वीर राखेको हो । जसमा नेपालका विपिन जोशीको तस्वीर पनि समावेश छ । ती तस्वीरमा जीवित र मृत दुवैलाई समावेश गरिएको छ ।कसको मृत्यु भएको हो र को–को जीवित छन् भन्ने चाहिँ खुलेको छैन । नेपालका विपिन अहिलेसम्म जीवितै रहेको आशा गरिएको छ ।

हमासले जारी गरेको विज्ञप्तीमा इजरायलको निरन्तर स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन संकटमा परेको दाबी गरिएको छ । सार्वजनिक तस्वीरमा जीवित र मृत दुवै बन्दीहरूलाई ‘रोन अराड’ शीर्षकमा देखाइएको थियो । यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक अधिकारीसँग जोडिएको मानिन्छ ।

इजरायली अधिकारीहरूले अझै करिब २० बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितहरूको संख्या अझै कम हुन सक्ने बताएका छन् । शनिबार हामासले दिएको उक्त धम्कीपछि हजारौँ इजरायलीहरू पुनः तेल अभिभ र अन्य सहरका सडकमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले तत्काल युद्ध अन्त्य गरेर बन्दीहरूको सुरक्षित फिर्तीको माग गरेका छन् ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि इजरायलसँगको युद्ध सुरु भएपछि कम्तीमा ६५,२०८ जना मारिएका छन् । जसमा एक लाख ६६,२७१ जना घाइते भएका छन् । मार्च १८ मा इजरायलले हामाससँगको युद्धविराम तोडेयता मात्र १२ हजार ६५३ जना मारिएका छन् । ५४ हजार २३० जना घाइते भएका छन्।

गाजा सहरमा पछिल्लो दिन मात्रै दर्जनौँ मानिस मारिएका छन्, घरहरू ध्वस्त पारिएका छन्, हजारौँ मानिस भाग्न बाध्य भएका छन् । इजरायलले सम्पूर्ण क्षेत्रलाई युद्ध क्षेत्र घोषित गरेको छ ।

पार्टी रुपान्तरण र पुनर्गठन नगरी टिकाउन सम्भव छैन : गगन थापा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनको भावना अनुसार पार्टीलाई रुपान्तर र पुनर्गठन गर्नुुपर्ने बताएका छन्। आज (शनिबार) भिडिओ सन्देश जारी गर्दै उनले पार्टीलाई पुनर्गठन नगरी चलाउन सकिन्छ भन्दै प्रश्न समेत गरेका छन् ।

‘यत्रो उथलपुुथल भएको छ,’ थापाले प्रश्न गरेका छन्, ‘हामीले पार्टीलाई जस्ताको तस्तै राखेर राखेर हुन्छ ? राखेर टिकाउन सक्छौं ? टिकाउने प्रयत्न गर्नु हुन्छ ?’ आन्दोलनमा व्यक्त भएको भावना अनुसार पार्टी हिँड्ने बनाउन सम्भव रहेको समेत उनले दावी गरेका छन् ।

‘यत्रो उथलपुुथल भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावनालाई बोकेर हिँड्न सक्ने पार्टी हामीले बाउनु छ कि छैन ?,’ थापाको जवाफ छ, छ ।’ तर, त्यसका लागि पार्टी रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ ।

‘पार्टीको रुपान्तरण, पार्टीको पुनर्गठन नगरीकन यो सम्भव छैन,’ थापाले भनेका छन् । उनले जेनजी आन्दोलनमा व्यापक दमन भएको भन्दै यसको छानविन गरी दोषीमाथि सजाय हुनुपर्ने बताएका छन् ।

नारायणगढ–मुग्लिन सडक आज रातभर नखुल्ने, पहिरो पन्छाउन रोकियो

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड आज (शनिबार) पनि रातभर नखुल्ने भएको छ । सडक खण्डको पहिरो पन्छाउने काम आज (शनिबार) साढे ६ बजेदेखि रोकिएको छ ।

लगातार पहिरो खसिरहेको कारण पन्छाउन जोखिम भएकाले आजको लागि काम रोकिएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । रातको समयमा बत्तीको सहाराले भए पनि पहिरो पन्छाउने तयारी गरिए पनि साढे ६ बजे नै ठूलो पहिरो खसेपछि जोखिमका कारण पहिरो पन्छाउन रोकिएको हो ।

उनले पहिरो पन्छाउने काम भोलि बिहानैदेखि सुरु गर्ने जानकारी दिएका छन् । आज रातभर पहिरो नखसेको अवस्थामा भोलि दिउँसोदेखि यातायात सञ्चालन गर्न सकिने अनुमान गरिए पनि पहिरो निरन्तर गइरहेका कारण यातायात पन्छाउने कतिबेला सकिन्छ भन्ने यकिन नभएको एसपी पुरीले बताए ।

नारायणगढ–मुग्लिन सडकको तुइनखोला नजिक पहिरो खसेको कारण चितवन भएर गुड्ने एक हजारभन्दा बढी गाडी सडकमा अलपत्र परेका छन् । तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको छ । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ।

हिजो दिउँसो ४ बजेदेखि नै रोकिएका यात्रुलाई खानेकुरा पानी लगायतको समस्या भएपछि आज जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा यात्रुहरुलाई पानीसहित खानेकुुरा वितरण गरिएको छ । दशैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो । मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था समेत गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

निर्वाचनबाट ‘भेंडा प्रतिनिधि’ छान्न बन्द गरौं : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले वर्तमान निर्वाचन प्रणालीको आलोचना गर्दै यसले वास्तविक जनप्रतिनिधि नभई ‘भेंडा प्रतिनिधि’ मात्र उत्पादन गरिरहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले प्रजातन्त्रको मूल मर्म ‘जनताको, जनताद्वारा, जनताका लागि’ शासन भए पनि हालको निर्वाचन प्रणालीले ‘भेंडाले, भेंडाद्वारा, भेंडाका लागि’ गरिने ‘भेंडातन्त्र’ लाई मात्र प्रोत्साहन गरेको बताएका छन् । ढकालले आउँदो चुनावबाट पनि सच्चा जनप्रतिनिधि छान्न नसकिने दाबी गर्दै निर्वाचन प्रणाली दोषपूर्ण रहेको बताएका छन् ।

भेंडाको नेता सधैं भेँडा नै हुने र मान्छे हुन नसक्ने भन्दै निर्वाचन प्रणालीले जनताको होइन, भेंडाको चुनाव गराएको उनको जिकिर छ । ढकालका अनुसार जनताले चलाएको देशमा विकास, शान्ति, सुशासन, न्याय र स्वतन्त्रता हुन्छ, तर भेंडाले चलाएको देशमा ध्वंस, अशान्ति, कुशासन, भ्रष्टाचार र अपराध मात्र हुन्छ ।

त्यसैले ‘भेंडातन्त्र’ को अन्त्य गरी जनताको शासन स्थापना गर्न तत्काल निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘साँचो जनप्रतिनिधि छान्न निर्वाचन प्रणाली बदल्नु पर्छ र भेंडाको शासन अन्त्य गरी जनताको शासन स्थापना गर्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

संविधान खारेज गरेर भए पनि जेनजीका माग सम्बोधन गर्नुपर्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रदेश सरकार विघटन गरेर संघीयतालाई बलियो बनाउनु पर्ने बताएका छन् ।काठमाडौंमा जारी केन्द्रीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै संघीयतालाई बलियो बनाएर जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न दलाल दल तन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ। हामीले दुई वर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । सोही तेस्रो जनआन्दोलनको जगमा अहिले जेनजीको जनविद्रोह गरेका हुन् ।’

मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, दलहरूको लुटकारी दलतन्त्रका कारण मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र नै धराशायी बन्दै गएको भएको दाबी गरे। संविधान र व्यवस्था गलत भएकै कारण नेपाली जनताको अवस्था खराब भएको बताए । उनले भने, ‘संविधान र व्यवस्था गलत थियो, यही व्यवस्था कायम राखेर जेनजीहरूको माग सम्बोधन हुँदैन । यो संविधान खारेज गरेर भए पनि जेनजीहरूको माग सम्बोधन गर्नुपर्छ ।’