`

जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा क्षेत्र (तस्बिरहरू)

बारा। बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूबीच बुधबार भएको झडप पश्चात अशान्त बनेको सो क्षेत्र सामान्य बन्दै गएको छ ।

बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेनजी युवा र जिल्ला सुरक्षा समिति बाराबीच शुक्रबार साँझ भएको वार्तासँगै अवस्था सामान्य बन्दै गएको हो ।

बुधबार एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत काठमाडौंबाट बारा जाने कार्यक्रम रहेपछि सिमरामा जेनजी समूहले प्रदर्शन गरेका थिए । सो क्रममा जेनजी र एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।

वार्तामा जेन जी युवाहरूले विभिन्न ६ बुँदे माग राखेका छन् । सो घटनामा संलग्न योजनाकारलाई पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने, जेनजी घाइतेलाई निःशुल्क उपचार गर्नु पर्ने, तत्कालीन जिल्ला प्रहरी प्रमुख लगायतलाई कारबाही गरिनु पर्ने उनीहरूको माग छ ।

सो विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत अन्य सुरक्षा निकाय र जेनजी समूहको सहमति भएसँगै सोमबार सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएसँगै शनिबार बिहानैबाट बाराको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो । स्थानीयहरू बिहानैदेखि आफ्नो काममा व्यस्त देखिएका छन् ।

थपिए आठ लाख बढी मतदाता

काठमाडौं । निर्वाचन आयोगमा ८ लाख जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सीमासम्म ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

निर्वाचन कार्यालयमा गएर ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ४ लाख ९२ हजार १८० नयाँ मतदाताले आवेदन दिएका हुन् । गत असोज ९ गते नयाँ मतदाता नामावली संकलन सुरु गरिएको थियो । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार संकलित मतादातामध्ये २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली मंसिर २० गते प्रकाशन गरिनेछ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नामावलीमा कुनै त्रुटि भएमा सो त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि संवत् २०८२ मंसिर २१ देखि २७ गतेसम्म https: applyvr.election.gov.np वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ। सो अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी संवत् २०८२ पौष १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।’

आयोगले २०८२ मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना वा उजुरी दिन सकिने जनाएको छ । थपिएका मतदातासहित कुल मतदाताको संख्या एक करोड ८८ लाख २५ हजार ६ सय ६४ पुगेको निर्वाचन आयोगले जनाएको छ । २०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो ।

मन्त्री पुनले गरे ‘मिस पबी ४’ फेसबुक पेजविरुद्ध रिपोर्ट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूविरुद्ध भ्रम फैलाएको भन्दै ‘मिस पबी ४ (Miss Pabi ४)’ फेसबुक पेजविरुद्ध फेसबुक सञ्चालक मेटा कम्पनीमा रिपोर्ट गरेका छन् । आफू कुनै राजनीतिक दलमा नलाग्ने बताउँदै मन्त्री पुनले ‘मिस पबी ४’ नामको फेसबुक पेजले भ्रम फैलाएको गुनासो गरेका छन् ।

‘सावधान Miss Pabi ४ भन्ने फेसबुक पेजलाई मैले रिपोर्ट गरें र अरू साथीहरू पनि सावधान हुनुहोस्’, स्क्रिनसटसहित पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसरी जनता झुक्याउने फेसबुकेलाई रिपोर्ट गर्नु नै पर्छ; किन भने यस्ताले झुटो कुरा फैलाउँछन् र सबैलाई भाँड्ने काम गर्छन् । म कुनै पार्टीमा लाग्ने मान्छे होइन, तर Miss Pabi ४ ले भ्रम फैलाउँदै छ ।’

नोट चल्नेको भोट पनि चल्नु पर्छ : तोशिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोशिमा कार्कीले आगामी संघीय निर्वाचनलाई पूर्णरूपमा समावेशी र लोकतान्त्रिक बनाउन प्रवासी नेपालीहरूलाई अनिवार्य रूपमा मतदान प्रक्रियामा सहभागी गराउनु पर्ने माग गर्दै सरकार तथा सबै राजनीतिक दलहरूलाई स्पष्ट चुनौती र आग्रह गरेकी छिन् ।

उनका अनुसार आयोजित हुन लागेका संघीय निर्वाचनहरूमा पनि ४० लाखभन्दा बढी विदेशस्थित नेपाली युवा, श्रमिक, विद्यार्थी तथा व्यवसायीहरू पुनः मताधिकारबाट वञ्चित हुन लागिरहेका छन्, जुन संविधानले सुनिश्चित गरेको मौलिक हकको उल्लंघन हो । कार्कीले भनेकी छन्, ‘देशभित्र वा देशबाहिर जहाँ बसेका भए पनि प्रत्येक नेपाली नागरिकलाई सरकार चयन प्रक्रियामा सहभागी हुन पाउने अधिकार छ । नोट चल्नेहरूको भोट पनि चल्नु पर्छ ।’

डा. कार्कीले सबै दललाई निशाना बनाउँदै भनेकी छन्, ‘तपाईंहरूले विदेश–विदेशमा बनाएको पार्टीका भातृ संगठन, समूह र मोर्चामा रहेर हजारौँ नेपालीले तपाईंहरूलाई साथ दिएका छन् । तर उनीहरूले आफ्नै देशको निर्वाचनमा भोट हाल्न नपाउँदा तपाईंहरूले के जवाफ दिनु हुन्छ ?’

उनले दलहरूलाई घोषणापत्र र भाषणमै सीमित रहन नहुने, विदेशी मतदाता दर्ता र वैदेशिक भोटिङ प्रणाली तत्काल कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति देखाउनुपर्ने आवश्यकता जोड दिएकी छन् । डा. कार्कीले आगामी संघीय निर्वाचनमा नै प्रवासी नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘संविधानले दिएको हक लागू गर्न सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरू सबैले अग्रसर हुन जरुरी छ । विदेशमा बसेको भन्दै नागरिकलाई लोकतान्त्रिक अधिकारबाट वञ्चित गर्नु अन्याय हो ।’

‘पहिलेको सरकारले सिफारिस गर्दा रोक्ने राष्ट्रपतिले धमाधम अध्यादेश जारी गर्नु आपत्तिजनक’

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रपति रामचन्द्र पौडेलको पछिल्ला कामप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति पौडेलले ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ जारी गरेपछि रिजालले यस्तो असन्तुष्टि जनाएका हुन् ।

उनले संविधानमा व्यवस्था नै नभए पनि राष्ट्रपतिबाट चुनाव गराउने एक मात्र कार्यादेश पाएको सरकारले दीर्घकालीन असर गर्ने विषयमा अध्यादेश ल्याउनु विल्कुल गलत भएको बताएका छन् । उनले पहिले जननिर्वाचित सरकारले सिफारिस गर्दा रोक्ने राष्ट्रपतिले धमाधम अध्यादेश जारी गर्नु थप आपत्तिजनक भएको टिप्पणी समेत गरेका छन् ।

‘संविधानमा व्यवस्थै नभए पनि राष्ट्रपतिबाट चुनाव गराउने एक मात्र कार्यादेश पाएको सरकारले दीर्घकालीन असर गर्ने विषयमा अध्यादेश ल्याउनु विल्कुल गलत छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिले जननिर्वाचित सरकारले सिफारिश गर्दा रोक्ने राष्ट्रपतिले धमाधम अध्यादेश जारी गर्नु थप आपत्तिजनक छ ।’ राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यो अध्यादेश जारी गरेका हुन् ।

 

पृथ्वी राजमार्ग आजदेखि दैनिक चार घण्टा बन्द

कास्की । पृथ्वी राजमार्ग आज (शनिबार) देखि यही मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्ण÷आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका सवारीलाई क्लियर गर्न सकिने कुँवरले बताए ।

योजना प्रमुख कुँबरले भने, ‘पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ ।’ सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ ।

मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने÷जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत काम भइरहेको छ ।

मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकाँस काम सकिएपनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँबरले जानकारी दिए ।

यस खण्डको ३८ दशमलव ८८ किमीमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ । यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । रासस

काठमाडौंमा आज एमालेको प्रदर्शन र जनसभा, ६० हजार कार्यकर्ता उतार्ने दाबी

काठमाडौं । नेकपा एमालेले आज (शनिबार) संघीय राजधानी काठमाडौँमा जनप्रदर्शनसहित जनसभा गर्दैछ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा हुन लागेको यो कार्यक्रमलाई पार्टीले ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ को नाम दिएको छ ।

यद्यपि, राजनीतिक वृत्तमा यसलाई एमालेको ‘शक्ति प्रदर्शन’ का रूपमा हेरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमप्रति आक्रामक बन्दै आएको एमाले आज सडकबाटै आफ्नो शक्ति देखाउने मुडमा देखिएको छ । खासगरी संसद् विघटन र सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसको विरोधस्वरूप यो जनसभा आयोजना गरिएको नेताहरूले बताएका छन् ।

जनसभा भृकुटी मण्डपमा हुनेछ । एमालेका नेता–कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्‍याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने बताइएको छ । जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । प्रदर्शनलाई भव्य बनाउन एमालेले व्यापक तयारी गरेको छ । एमाले नेता महेश बस्नेतले आजको सभामा उपत्यका र आसपासका क्षेत्रबाट करिब ६० हजार मानिस उतार्ने दाबी गरेका छन् ।

प्रदर्शनलाई व्यवस्थित र अनुशासित बनाउन भन्दै पार्टीले यसअघि नै ‘नेशनल भोलेन्टियर फोर्स’ घोषणा गरिसकेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउन खोजेको एमालेले आजको जनसभालाई एमालेले आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने कार्यक्रमका रुपमा पनि लिएको छ । एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।

सिमरा घटना: जेनजीका मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति

बारा । बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् ।

जेनजी र स्थानीय प्रशासनबिच बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित सुरक्षा निकायका प्रमुख उपस्थित वार्तामा जेनजीको तर्फबाट सम्राट उपाध्यायको नेतृत्वमा १८ जना सहभागी वार्तामा सहमति भएको हो ।

पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जेनजी युवाहरूले बताएका छन् ।

जेनजीहरुले आग्रह/ पूर्वाग्रह नराखी घटनामा संग्लनहरुलाई कारबाही हुनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति राज्यले बेहोर्नुपर्ने, जेनजी तथा जेनजीलाई सहयोग गर्ने सम्पूर्णको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने जिम्मेवार सुरक्षा अधिकारीलाई कारबाही गर्नुपर्ने, अरविन्द साहको तीन दिन अगाडिदेखिको कल डिटेल झिकाएर मुख्य व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्नुपर्ने लगायत माग राखेका थिए ।

उनीहरुले घटनामा संलग्न भएका (नाम छुटेका व्यक्ति)हरूलाई पुनः अभियुक्त बनाएर कारबाही अगाडी बढाउनुपर्ने माग समेत राखेका थिए ।

छलफलमा जेनजीहरुले घटनामा संलग्न वडाध्यक्ष, नगरप्रमुख, सांसद जो कोही भए पनि कारबाहीको दायरामा ल्याएर कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तमाङले जेनजीहरुको दिएको उजुरीका आधारमा दोषीहरूको खोजी भइरहेको बताएका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीहरुको मागमा स्थानीय प्रशासन गम्भीर भएकोले जतिसक्दो छिटो सम्बोधन गर्ने बताएका छन् ।

बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी प्रदर्शनकारीको बिचमा बुधवार झडप भएको थियो । झडप भएसँगै स्थानीय प्रशासनले कफ्र्यु लगाएको थियो । प्रदर्शन नियन्त्रणमा लिन बिहीबार प्रहरीले गोली चलाएको थियो ।

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा जितविहीन

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनमात्र बनाउन सक्यो ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेलेपनि जित दिलाउन सकेनन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७ रनको योगदान दिए ।

ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रनमा आउट भए । आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ब्राउनले विनोद भण्डारीसंग पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए । विनोद ४३ रनमा आउट भए । क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रनमा आउट भए । बलिङमा पोखराका जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए । ड्यान डाउथवैट र आकाश चन्दले दुई÷दुई विकेट लिए ।

योसँगै सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।

त्रिवि क्रिकेट रंगशालामा दर्शक खचाखच (तस्बिरहरू)

काठमाडौं।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिडिरहेका छन् ।

आज खेल हेर्न जाने दर्शकहरूको उपस्थिति निकै बाक्लो देखिएको छ ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

उज्यालो नेपाल पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

 काठमाडौं । उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । आयोगबाट दर्ता सम्पन्न गरेसँगै अब पार्टीले औपचारिक गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ ।

पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय छन् । यो पार्टीको चुनाव चिह्न ‘बलेको चिम’ तोकिएको छ ।

पार्टीले निकट भविष्यमै घोषणा–सभाको आयोजना गर्ने जनाएको छ । पार्टीका अनुसार घोषणा–सभामार्फत् राष्ट्रियस्तरमा आफ्नो एजेन्डा सार्वजनिक गरिनेछ ।

गृहमन्त्रीको लाचारीपनका कारण सिमरा घटना भयाे : सुदन गुरुङ

काठमाडौं । जेनजीका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको लाचारीपनका कारण बाराको सिमरा घटना भएको आरोप लगाएका छन् । गुरुङले बारा पुगेर पनि गृहमन्त्री अर्यालमाथि असन्तुष्टि व्यक्त गरेका छन् । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा प्रशासन र जेनजीबीचको वार्तामा सहभागी हुँदै उनले सरकार जेनजीको भए पनि गृहमन्त्री आफूहरूको नभएको बताए ।

उनले भने, ‘सरकार हाम्रो हो । तर, गृह मन्त्रालय हाम्रो होइन । गृह मन्त्रालयले राम्रोसँग काम गरेको भए यो दिन आउने थिएन । हामी आफैं पनि गृहमन्त्रीको विरोधमा आएका छौं । यो लाचारपन अब सहन सक्दैनौं हामीहरू । हतियारधारीहरू बाटै भरि घुमिरहेका छन् । बोतल उठाएर हाम्रा केटाहरूलाई हानिरहेका छन् ।’

देशका लागि लडेका जेनजीहरूले नै अन्याय सहनु पर्ने भन्दै बाराका प्रशानसँग उनले प्रश्न गरे, ‘हामीले कहिलेसम्म सहनु पर्ने ? हामीले कहिले पार्टीको झण्डा उठाएर हिँडेका छौं र ? हाम्रो लागि पहिलो कुरा देश हो, त्यसपछि मात्रै बाँकी कुरा हो । देश बन्नुपर्छ भनेर हामीहरू चुप लागेर बसेका हौं ।’ नेकपा एमालेप्रति संकेत गर्दै उनले भने, ‘प्रहरी र हामीलाई उनीहरूले भिडाइ दिए ।’ सरकारले जेनजीमाथि गोली हानेकै कारण २३ भदौपछि २४ भदौको घटना भएको उनले बताएका छन् ।

 

 

 

 

 

नेशनल भोलेन्टियर्स फोर्सका संयोजकको चेतावनी : लोकेसन ट्रयाक गरेका छौं, घर–घर घेर्छौं

काठमाडौं । नेकपा एमालेले शुक्रबार (आज) घोषणा गरेको ‘नेशनल भोलेन्टियर्स फोर्स’ का संयोजक पुष्पराज श्रेष्ठले पार्टीले आशा गरेर दिएको जिम्मेवारी एक रत्ति पनि मर्न नदिने प्रतिबद्धता जनाएका छन् । आज (शुक्रबार) काठमाडौंको बबरमहलस्थित कार्की बैंन्क्वेटमा आयोजित घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले जस्तोसुकै अवस्थामा पनि सडकबाट मात्रै नभइ जहाँबाट पनि भिड्न तयार रहेको बताएका छन् ।

‘पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन,’ श्रेष्ठले भने, ‘हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न भिड्न पनि तयार छौं ।’ श्रेष्ठले सम्बोधनको क्रममा सरकारलाई चुनौती दिँदै नसच्चिएको खण्डमा जस्तोसुकै प्रतिकार गर्न तयार रहेको पनि बताए । ‘यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौं भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं,’ उनले भनेका छन् ।

हेर्नुस् श्रेष्ठको सम्बोधन

यो विषम परिस्थितिमा, घडिमा राष्ट्रको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको लागि, राष्ट्रको लागि र यो हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको लागि सारमा यो व्यवस्थाका लागि र यो पार्टी रक्षाका लागि अब नेशनल फोर्सलाई थप जिम्मेवारी काँधमा परेको छ । यसलाई हामीले कुशलताका साथ आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक अनुशासित भएर, कर्मनिष्ठ भएर कर्तव्य निभाउनेछौं । यति मात्रै होइन, हाम्रो देशमा अहिले जे भइरहेको छ, विदेशी दलालीको मातहतबाट अहिले गोटी बनेर जुन यो सरकार बनिरहेको छ । विदेशी दलालबाट बनेको यो सरकारले हाम्रा जनताको आवाज सुन्न छाडेका छन् ।

हामीले बोल्ने जुन अधिकार छ, त्यसलाई कुण्ठित गरेर रोक्ने प्रयास गरिरहेका छन् । यस्ता प्रयास अबका दिनबाट बन्द हुनेछ । यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौ भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं । यतिमात्रै होइन, ठाउँ ठाउँमा हाम्रो कार्यक्रम गरेका ठाउँमा, हाम्रो नेताहरू गएका ठाउँमा रोक्ने काम गरेका छन् । डिस्टर्ब गर्ने काम गरेका छन् । अस्ति भर्खर सिमरा एयरपोर्टमा पाँच दश जना जेनजीको नामबाट झुण्ड परिचालित भएको थियो । त्यस्ता झुण्डले यसैगरी डिस्टर्ब गर्न आयो भने हामीले घर घर, जसरी तपाईंहरूले लोकेसन ट्रयाक गरेर तपाईंहरूले देखाउनु भएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं । हामी पनि तपाईंहरूको घर घर घेर्नेछौं ।

हामी यहाँ यत्तिकै घोषणा गरेर, फूल लिन जिम्मेवारी लिएका होइनौं । जुन तरिकाले तपाईंहरूले अपेक्षा गर्नुभएको छ, पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन । हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न, भिड्न पनि तयार छौं । तर यसो भन्दैगर्दा हामी कानुनलाई आफ्नो हातमा लिँदैनौं । कानुनलाई साथमा लिएर राम्रो गर्नेलाई साथ दिनेछौं । जनताको आवाज अहिले जति ठाउँमा घर जलेको छ, घर जलेको मान्छेले पनि घर जल्यो भन्न सकेको छैन । यस्ता आवाजविहीनलाई पनि हामी आवाज बनेर लाग्नेछौं । जसरी सरकारी अड्डा, अदालत, सार्वजनिक सम्पत्तिहरू नष्ट गरेको छ, यी सबैलाई ऊर्जा प्रदान गरेर अरु राजनीतिक दलहरूलाई पनि यसैगरी हातमा हात मिलाएर सडकमा निस्कन पनि मैले आह्वान गर्दछु ।

 

 

 

जेनजी आन्दोलनका सहिदः ‘विदेश उडानको तयारीमा थिए अभिषेक’

धरान (सुनसरी) । भविष्यका योजना बोकेर विदेश उडानको तयारीमा रहेका २३ वर्षीय अभिषेक श्रेष्ठको गत भदौ २३ गते इटहरीमा भएको जेन्जी आन्दोलनमा गोली लागेर निधन भयो । भदौ २३ गते बिहानदेखि सम्पर्कविहीन रहेपछि परिवारमा चिन्ता बढ्नु स्वाभाविक नै थियो । साँझ करिब ७ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट आएको फोनले उनको मृत्यु पुष्टि गरेको थियो ।

सुनसरीको बराहक्षेत्र राजाबासमा जन्मिएका अभिषेक सानै उमेरदेखि मामाघरमै हुर्किएका थिए । उनी ११ महिनाको हुँदादेखि हजुरआमा सीता श्रेष्ठ, मामा मनोज श्रेष्ठ र माइजू तारा श्रेष्ठका साथमा हुर्किएका हुन् । चार वर्षअघि मामामाइजू सपरिवार बराहक्षेत्रबाट इटहरीमा बसाइँ सरेर आएका थिए ।

हजुरआमा सीता श्रेष्ठ सम्झिन्छिन्, “अभिषेकको बाल्यकाल नाति नजन्मिँदै उसको बाबाले छोडेर गयो, त्यसपछि विस्तारै उसले आफ्नो आमाको माया पनि पाउन सकेन । ११ महिनाको हुँदा मैले स्याहारसुसार गरेर हुर्काएँ । सानो बच्चा हुर्काउनु सजिलो थिएन, तर आमा, बुबाको कमी हुन दिएका थिएनौँ, आफ्नो छोराछोरीभन्दा पनि बढी माया र स्याहार दिएर नातिलाई हुर्काएँ । उसले २३ वर्षसम्म हामीबाट माया र मार्गदर्शन पायो, अहिले हामीमाझ छैन तर सधैँ सम्झनामा भने रहन्छ ।”

सानै उमेरदेखि जिम्मेवार र शान्त स्वभावका अभिषेकले कक्षा १० सम्म पढाइमा राम्रो नतिजा ल्याएका थिए । त्यसपछि पढाइभन्दा काममा उसको रुचि बढेपछि उनी फोटोग्राफी क्षेत्रमा लागेका थिए । केही समयदेखि इटहरीस्थित एक बर्गर हाउसमा फोटोग्राफरका रूपमा काम गरेका थिए । विदेश उडानको तयारीमा रहेका अभिषेकले आफ्ना सपनासहित घरपरिवारको अपेक्षा बोकेर अघि बढिरहेको थिए ।

इटहरीमा सँगै कोठामा बस्ने अभिषेकका साथी सक्षम कार्की भन्छन्, “अभिषेक आन्दोलन भनी गएको थिएनन् । उनी बर्गर हाउस क्याफेमा फोटोग्राफरका रूपमा काम गर्थे, म अर्कै ठाउँमा मार्केट लाइनमा काम गर्थें, तर हामी एकै ठाउँ बस्दथ्यौँ । दुई/तीन दिनपछि उनको विदेशको उडान थियो । अभिषेक मलाई भन्ने गर्थे, “म विदेश जाँदा काठमाडौँसम्म पु¥याउन जाउँ है, मैले धेरै पैसा कमाउनु छ, मेरो मामामाइजू र हजुरआमालाई हेर्नु छ, दुःख गरेर मलाई हजुरआमा मामामाइजूले हुर्काउनु भएको छ ।”

अभिषेकका साथी कार्की सम्झन्छन्, “भदौ २३ गते म बिहान काममा गएँ अभिषेक हल्का बिरामी पनि थिए, उनलाई रुघा लागेको थियो । मैले कोठामै छोडेर गएँ । करिब बिहान ९/१० बजेतिर उनले मलाई फोन गरेर आफू काम गरेको ठाउँमा पैसा लिन जान लागेको र आन्दोलन पनि हेरेर आउँछु, तिमी नआउने भनेर मलाई सोधे ।” मैले म आउन भ्याउँदिन, तिमी जाउ न भनेर छोटो जवाफ फर्काएँ । पछि फेरि केही समयपछि अभिषेकले फोन गरेर मलाई भने, पैसा दिने मान्छे पनि आन्दोलनमा गएको रहेछ, म त्यो मान्छे पनि खोजेर आउँछु, आन्दोलन पनि हेरेर आउँछु भनेर भनेको कुरा नै हामीबीचको अन्तिम कुराकानी बन्यो”, उनको साथी कार्कीले भने, “अभिषेक आन्दोलन हेर्न इटहरीको मुख्य चोकदेखि पूर्व लाइनमा पुगेको र त्यहाँ उनले छेउमा उभिएर भिडियो पनि बनाउन भ्याउनु भएको रहेछ । दिउँसो करिब २/३ बजेतिर आन्दोलनकारी र प्रहरीबीच ढुङ्गा हानाहान भएको थियो । प्रहरीले गोली चलाउँदा अभिषेकको अनुहारको नाक छेउमा गोली लागेर उहाँ त्यहीँ ढल्नु भएको रहेछ । यो दृश्य उहाँले खिच्दै गरेको भिडियोबाट थाहा भएको साथीले बताएका छन् ।

अभिषेकलाई मैले दिउँसो १२ बजेतिर फोन गर्दा उनको फोन ‘अफ’ थियो, सम्पर्क हुन सकेन । पछि अपराह्न ५ बजे फोन लाग्यो तर उनको फोन उठेन । केही समयपछि उनको नम्बरबाट फोन आयो । उठाउँदा धरानबाट एक प्रहरीले भने, “तपाईंहरुको मान्छे आन्दोलनमा परेको छ, छिटो धरान बिपी अस्पतालमा आउनुहोस् ।” यो खबर सुन्नेबित्तिकै उनी सक्षमसहित केही साथीहरु अस्पताल पुगी सोधपुछ गर्दा आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको जानकारी प्राप्त भयो । पहिले त साथीहरुलाई अभिषेकको उपचार भइरहेको होला भन्ने आशा थियो तर केही क्षणमै आशा निराशामा परिणत भयो । “पहिले नै अभिषेकको निधन भइसकेको रहेछ । छेउमा कपडाले छोपेर राखिएको थियो, हामीले कपडा उघारेर हेर्दा अभिषेक नै रहेछन् । केही क्षण त हामीहरु उनलाई हेरेको हेरै भयौँ,” सक्षम भन्छन्, “क्षणभरमै उनको विदेशको सपना त्यहीँ दिन अन्त्य भयो ।”

अभिषेक केही दिनमै साउदी उड्ने तयारीमा थिए, जेन्जी आन्दोलन हुनुभन्दा दुई दिनअघि मात्र इटहरीकै एक मेनपावरमा गएर उडानका लागि रु ८० हजार बुझाएर आएको अभिषेकका माइजू तारा श्रेष्ठ बताँउछीन् । उनको निधन भएपछि त्यो पैसा अहिलेसम्म मेनपावरले फिर्ता दिएको छैन । उनी भन्छिन्, “केही दिनअघि अभिषेक बाबुले आफूले काम गर्ने ठाउँ अलि टाढा भएकाले आउजाउ गर्न गाह्रो भयो म साथीहरूसँग डेरामा बस्छु भनेर कुरा गरेको थियो । हामीले ‘हुन्छ’ भनेपछि ऊ साथीहरूसँग काम गर्ने स्थान नजिकै बस्न थालेका थिए ।

“गत भदौ २३ गते बिहानदेखि सबैतिर जेन्जी आन्दोलन भइरहेको थियो । त्यो दिन बिहानदेखि नै बाबु अभिषेकको फोन लागेको थिएन । हजुरआमाले पनि फोन गरेकी थिईन्, मैले पनि फोन गरिरहेँ, तर फोन लागेन । फोन नलागेपछि हामीलाई चिन्ता लागेको थियो नभन्दै साँझ नपत्याउँदो खबर सुन्नुप¥यो”, माइजू तारा सुनाउछीन् ।

दिउँसो करिब १ः०० बजेसम्म पनि अभिषेकको फोन ‘अफ’ नै थियो । उनले भने, “साँझ करिब ७ः०० बजे अभिषेककै नम्बरबाट फोन आयो । उताबाट ‘प्रहरी डिएसपी बोल्दैछु’ भनेर भने, तपाईं अभिषेकका आफन्त हो रु भनेर सोध्नुभयो, मैले हो, म माइजू भनेपछि उन ले यहाँ धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउनुस्, तपाईंहरुको मान्छे आन्दोलनमा पर्नुभएको छ । भनेपछि फोन काटियो ।

त्यस समयको स्मरण गर्दै उनी भन्छिन्, “त्यसपछि फेरि तुरुन्तै फोन आयो, अनि अभिषेकका बारे सबै विवरण सोधियो । हामी हतारहतार सबै आफन्तहरू भेला भएर तुरुन्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्यौँ । त्यहाँ पुगेर थाहा पायौँ, बाबुको मृत्यु भइसकेको रहेछ । हामीले सोध्यौँ हाम्रो मान्छेलाई ढुङ्गामुढा लागेको हो कि गोली रु” तर सुरुमा त्यहाँ कसैले पनि स्पष्ट भन्न चाहनु भएन पछि थाहा भयो, उसलाई गोली लागेको रहेछ ।”

अभिषेकलाई कराते खेलप्रति विशेष रुचि थियो । माइजू ताराका अनुसार केही समयअघि उनले कुखुरापालन गर्ने इच्छा व्यक्त गरेपछि हामीले घर पछाडि सानो फार्म तयार गरिदियौँ । केही महिनासम्म उनले कुखुरा फार्मसमेत सञ्चालन गरेका थिए । फोटोग्राफी, पेन्टिङ कला तथा अन्य सिर्जनात्मक कामहरूमा उनको रुचि धेरै नै थियो । तर ती सबै सपना भने जेन्जी आन्दोलनसँगै उब्जिएको परिस्थितिमा आएर सपना पूरा हुन पाएन ।

सानै उमेरदेखि हुर्काएँ बढाएको भाञ्जा नहुँदा घर नै शून्य भएको माइजू तारा बताँउछिन् । अभिषेक बाबु सधैँजसो सपनामा रुँदै आउनुहुन्छ । मैले बिहान–बेलुका उनको फोटोमा धूप, बत्ती बालेर फूल–पानी चढाइदिन्छु । आन्दोलनका उद्देश्यहरू छुट्टै भए पनि यसले गुमाएका जीवन र भोग्नु परेको पारिवारिक पीडाको क्षति भने भरिन नसक्ने छ । अभिषेकजस्तै धेरै युवाको भविष्य यस घटनाक्रमले प्रभावित पारेको तथ्य सम्झनालायक रहन्छ ।

विदेशीमाथि अब कडा निगरानी गरिनु पर्छ : महानिर्देशक तिवारी

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल आउने विदेशीहरुमाथि अब कडा निगरानी गर्नुपर्ने बताएका छन् । उनले मुलुकभित्र अनेकौं स्वार्थमा विदेशीहरू आउने र चलखेल गर्नसक्ने भएकाले अब हरेक विदेशीमाथि निगरानी गर्न जरुरी रहेको बताए । आज अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरूसँगको छलफलमा तिवारीले त्यस्ता नागरिकहरूमाथि निगरानी नगरिए राष्ट्र कमजोर हुने खतरा रहेको बताए ।

उनका अनुसार विदेशीहरू नेपालमा कुन स्वार्थले आउँछ त्यसका समग्र पक्षका बारेमा हेर्ने एउटा विज्ञ समूह बनाउनु पर्छ । नेपालीहरूलाई सबैले खुइल्याउने तर विदेशीहरू सिंहदरबारमा आएर डुल्दा समेत निगरानी नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । महानिर्देशक तिवारीले भने, ‘विदेशीहरू हाम्रोमा कस्तो इन्ट्रेष्टले आउँछ त, त्यो मान्छे आएर हामी कहाँ के गर्छ ? त्यसका समग्र पक्षमा हेर्न इन्टिलिजेन्स बनाउनु पर्‍यो । नेपालीलाई जम्मैले खुइल्याउन सक्ने, तर विदेशी आएर घरघर गएको छ, सिंहदरबार डुलेको छ । सबै मख्ख पर्ने । मन्त्रालय मन्त्रालय पुगे मन्त्री, नेता, कर्मचारी भेटेको छ । राजनीति, धर्म खेलाइसक्यो । जातजातिको रुपमा फुट आइसक्यो। हामीले हामीले गरेको छ, भनेर बुझिरहेका छौं ।’

अध्यागमन रिफर्ममा नतिजा दिनेगरी काम अघि बढाइएको बताउँदै उनले हरेक दिनजसो निकायहरूसँग समन्वय गरेर अघि बढिएको बताए । तिवारीकाअनुसार अध्यागम रिफर्मको काम विभागले अन्दोलन नै जसरी गरेको छ । सिस्टमको इडिगेसन गर्न राष्ट्रिय परिपत्रसँग सिस्टममा जोडिँदैछ। यसबारे मन्त्रिपरिषद्ले समेत निर्णय गरेकाले छिट्टै यो काम पूरा हुने उनले बताए । तिवारीकाअनुसार अरु ५–७ वटा एजेन्सीसँग अध्यागनको सिस्टममा जोड्न काम भइरहेको छ । पर्याप्त जनशक्ति नहुँदा अन्य निकायमा रहेका अलि काम कम भएका कर्मचारी राखेर एउटा ल्याव बनाएर आइटीमा सुधारको काम हरेक दिन भइरहेको छ । हरेक दिन निकायहरूलाई जोडेर केही नतिजाहरू दिन सकिन्छ की भनेर काम भइरहेको र छिट्टै परिणाम देखिने उनको भनाइ रहेको छ ।

नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीले २०४९ सालमा ऐन आएको र पछि केही नेपाल ऐन संशोधनमार्फत गरिएपनि अब नयाँ कानूनको आवश्यकता रहेको बताए। उनकाअनुसार विद्यमान कानूनमा राष्ट्रिय सुरक्षाका धेरै विषयहरू त्यहाँ परेको छैन् । प्रविधिको प्रयोग गर्ने कुराहरू पनि परेको छैन। भिषाका प्रकारहरूको सन्दर्भमा पनि व्यवहारिक व्यवस्था अहिलेको कानूनमा नभएकाले यी सबै समेटेर अब नयाँ कानून बनाइनुपर्ने उनको भनाइ छ ।

पूर्व मुख्यसचिव बैरागीले भने–‘२०४९ मा ऐन आयो। पछि केही नेपाल कानूनमार्फत संशोधन पनि भयो । अहिले पछिल्लो घटनाक्रमलाई समेट्नेगरी त्यो ऐन छैन । राष्ट्रिय सुरक्षाका विषय त्यहाँ परेका छैनन् । अध्यागमनको आगामन प्रणालीलाई व्यवस्थीत गर्नेकुरा परेको छैन । प्रविधिको प्रयोग गर्ने कुराहरू त्यहाँ छैनन् । भिषाका प्रकारमा सामान्य तोकिएको छ, अहिले नयाँनयाँ आइरहेका छन् त्यो परेको छैन । विभागीय प्रमुखको रुपमा महानिर्देशकले गर्ने काम कतव्र्य अधिकारको सन्दर्भमा पनि खुम्चिएका थिए । अब खुला पर्नुपर्छ। धेरै कुराहरू संशोधन गर्नुपर्छ ।’

वैरागीले विभिन्न किसिमको कार्यविधि बनाएर काम गरिदाँ काम गर्न केही सहजीकरण बनाउन सक्छ तर व्यवहारीक हुँदैन। उनले देशभित्र बेरोजगारीको समस्यालाई अध्यागमनको हिसाबले समाधान गर्न खोजिनु गलत भएको बताए । रोजगारीको समस्यालाई अध्यगमनबाट कन्ट्रोल गर्न नहुने उनको भनाइ रहेको छ ।

 

 

 

 

सुदूरपश्चिमका जोस ब्राउनको अर्धशतक

काठमाडौं । पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका जोस ब्राउनले अर्धशतक प्रहार गरेका छन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार जोसले २९ बलमा अर्धशतक बनाएका हुन् । उनले पाँच चौका र तीन छक्का प्रहार गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले राम्रो सुरुवात गरेको छ । सुदूरपश्चिमका प्रारम्भिक ब्याटरद्वय जोस र विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेका छन् ।

 

 

 

तनावग्रस्त बारामा जिल्ला सुरक्षा समिति र जेनजी समूहबीच वार्ता (तस्वीरहरु)

बारा । मंगलबार बारा जिल्लाको सिमरामा जेनजी समूह र नेकपा एमाले निकट नेता–कार्यकर्ताबीच भएको झडप र त्यसपछि सिर्जित अवस्था अन्त्यका लागि जिल्ला सुरक्षा समिति बारा र मधेस जेनजी समूहबीच वार्ता सुरू भएको छ । नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेना र जेनजी समूह बीच वार्ता सुरु भएको छ ।

सो घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्नु पर्ने, घाइतेलाई निःशुल्क उपचार गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गर्नु पर्ने लगाएका विभिन्न माग राख्दै जेन जी समूह वार्तामा सहभागी भएका छन् । यो वार्ता बिहीबार नै बस्ने भनिएको थियो । जिल्ला प्रशासन कार्यालय बाराले वार्तामा डाके पनि जेनजी समूहले बुधबार आफूहरूमाथि कुटपिट गर्ने मुख्य व्यक्ति अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्ता नगर्ने अडान लिएका थिए ।

प्रहरीले बिहीबार राति साहलाई पक्राउ गरेपछि जेनजी समूह वार्तामा बस्न राजी भएको हो । वार्ताका लागि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू आएका छन् । यही घटना मिलाउन भन्दै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको नेतृत्वमा सुदन गुरूङ, शिव यादव लगायतको टिम बिहीबारै काठमाडौंबाट जनकपुर गएको थियो । उनीहरूले बिहीबार राति सिमराका आन्दोलनरत जेनजीहरूसँग कुराकानी गरी वार्ताको माहोल बनाएका थिए ।

मन्त्री गुप्ता जनकपुरबाट काठमाडौं फर्किसकेका छन् भने सुदन गुरूङ, शिव यादव लगायतको टिम वार्तामा सहभागी हुन बारा पुगेको बताइएको छ । बुधबार जेनजी समूहलाई एमाले कार्यकर्ताले कुटपिट गरेको भन्दै प्रदर्शन र तोडफोड भएको थियो । स्थिति साम्य पार्न कर्फ्यू लगाउनु परेको थियो । त्यही तनावले बिहीबार पनि निरन्तरता पायो । प्रहरी र जेनजी प्रदर्शनकारीहरूबीच झडप हुँदा हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको थियो । केही प्रहरी र जेनजी युवा घाइते भएका थिए । झडपका कारण बिहीबार पनि कर्फ्यू लगाउनुपरेको थियो ।

कफ्र्यूकै बीच जेनजी प्रदर्शनकारीले सडक आवागमन ठप्प पारेका थिए । जेनजी समूहले बुधबारको घटनामा आफूहरूमाथि कुटपिट गर्ने सात जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए । तीमध्ये दुई जनालाई बिहीबार पक्राउ गरिएको थियो । जेनजीहरूले भने मुख्य व्यक्ति साह पक्राउ नपरेसम्म प्रदर्शन जारी राख्ने र वार्तामा नबस्ने अडान लिए । वार्ताको विस्तृत विवरण आउन बाँकी छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

 

 

 

सरकारले सात लाख विद्युतीय राहदानी किन्ने

काठमाडौं । सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी किन्ने निर्णय गरेको छ । सिंहदरबारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो । त्यस्तै मन्त्रिपरिषद्ले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौ बैठकमा सहभागी हुन ऊर्जा मन्त्रालयका सचिव चिरञ्जिवी चटौत नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, लुम्बिनी बिकास कोष, लुम्विनी बिकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई मनोनित गर्ने निर्णयय भएको प्रवक्ता खरेलले बताए । त्यस्तै बैठकले नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथीमा बढुवा र एक जना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने र मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा सहभागी हुन आदिवासी जनजाति आयोगका सदस्य रिना रानालाई स्वीकृत प्रदान गरेको छ ।

 

 

 

मनोज गजुरेलकी छोरीले पहिलो पटक खोलिन् परिवारिक विषयमा मुख

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलकी छोरी मेमोरीले आफ्नो पारिवारिक विषयमा पहिलो पटक सार्वजनिक रुपमा मुख खोलेकी छन् । उनले एक अडियो रेकर्डमार्फत आफ्नो भनाइ सार्वजनिक गरेकी हुन् । मनोज र उनकी पत्नी मिना ढकालबीच सम्वन्धविच्छेदपछि छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, एक वर्षपछि नै आमालाई छोडेर मेमोरी पनि बुवासँगै बस्न थालिन् ।

अहिले उनी उच्च अध्ययनका सिलसिलामा देश बाहिर छिन् । सामाजिक सञ्जालमा आमा र छोराबीच आरोप प्रत्यारोप बढ्दै जाँदा मेमोरीले आफ्नो धारणा राखेकी हुन् । बुबाआमाको डिभोर्स हुँदा आफूलाई नसोधिकन आमाको जिम्मा लगाइएको उनले बताएकी छन् । आमासँग असुरक्षित महसुस गरेपछि एक वर्षमै भागेर बुवासँग आएको मेमोरीको भनाइ छ ।
यस्तो छ मेमोरीको बयान :

म, मेमोरी । अहिले म नेपाल बाहिर पढ्दै छु । तर हरेक दोस्रो हप्ता म मेरो बुवा, मेरो दाजु र मेरो परिवारसम्बन्धी अर्को नयाँ काण्ड आइपुगेको सुन्न पाउँछु । फेसबुक र युट्युबमा मात्र देख्दा हजुरहरूलाई फिल्म कि त सिरियल हेरेजस्तै लाग्छ होला । तर हजुरहरूले कमेन्टमा पूरा कथा नबुझी, नसुनी जे–जे टिप्पणी दिनुहुन्छ, त्यसले कम्तिमा मेरो परिवारभित्रका एक दर्जन जनाको लाइफ र मानसिकतासँग खेलिरहेको हुन्छ । म १३ वर्षको हुँदाखेरि आमा–बुवाको डिभोर्स भयो । नाबालिग छोरीलाई आमासँगै बस्न पठाउने डिसिजन भएछ । तर मलाई कसैले पनि सोधेन कि म कोसँग बस्न चाहन्थेँ । सोधिहालेको भए पनि म भन्थेँ होला, म मेरो दादासँगै, म हुर्किएको घरमा, मेरो दिदीहरूको नजिक भएको ठाउँमा बस्छु । आमासँग बसे पनि बाबा–दादा भेट्न पाउने, घर फर्कन पाउने, छोरी र पूर्वपत्नीको भागको अंश आमाको जिम्मा लगाएपछि शान्तिपूर्ण रूपमा डिभोर्स हुने कुरा भएको थियो ।

तर आमासँग बसेको एक महिना नहुँदै उहाँले मलाई भन्न थाल्नुभयो, ‘तैंले तेरो बाउ, तेरो दाइ, तेरो ठूली आमाहरूको छोरी भेट्न पाउँदिनस् ।’ शब्दहरू एक्ज्याक्ट्ली यिनै थिए । पहिला जति शारीरिक, शाब्दिक र मानसिक दुव्र्यवहार म, मेरो बाबा र मेरो दादाले सँगै भोग्थ्यौँ, त्यति नै पीडाको भोगी ती आठ महिनाभरि म एक्लै हुन पुगेँ । गाह्रै त भयो होला नि, किनकि १४ वर्षको उमेरमा म दशैं मनाउन मेरो बाबाको घर फर्किएँ । त्यसपछि म कहिल्यै पनि मीनाजीसँग फर्किनँ । उहाँले एक हप्ता जति फोनमा धम्क्याउन, फकाउन प्रयास गर्नुभयो । तर उहाँलाई पनि १४ वर्षको छोरी नपाली, उसको अंश फिर्ता नगरी, आफ्नो मनमर्जी गरी बस्न सजिलो भन्ने बुझ्नुभयो होला । किनकि केही इस्यु नबनाइकन उहाँले मलाई खासै अप्रोच गर्नुभएन ।

तर कथा त्यतिमै टुङ्गिएन, किनकि हामीले सबैले उहाँलाई युट्युब, फेसबुक र टिकटकमा टन्नै देखेका छौँ । त्यसपछि उहाँले कुनै बेला सडकमा पुर्‍याउन खोज्नुभएको आफ्नै छोरालाई आफूप्रति ल्याउन खोज्नुभयो । २७ वर्षको छोराले सँगै बस्ने इच्छा नहुँदा त्यहीँ नै कुरा टुङ्गिएको भए सबैको भलो हुन्थ्यो भन्ने मेरो सोचाई थियो, तर अझै पनि दादाको आडमा एकदमै ‘म्यानुपुलेसन’ चल्दैछ सोसल मिडियामा ।

जो–जो एकापट्टिको कुरा सुनेर मनोज गजुरेल र परिवारलाई भएभरको गाली–गलौज गर्दै हुनुहुन्छ, थाहा नभएर होला, तर हजुरहरू पनि झनै एन्टी–फेमिनिस्ट नै हुँदै हुनुहुन्छ । गाली खाइरहेको म महिला, मेरो फुपु, हजुरआमा, मनोजजीको जीवनसाथी, मेरी ठूली आमाहरू, सबै महिला नै हुन् । हामीले मुख अगाडिबाट सुरु भएको गाली, हेपाइ, मुख छाड्ने, अब सम्बन्ध सकिसकेपछि पनि मिडियामा पुगेको हेपाइ कुनै लेभलमा पनि महिलावाद होइन ।

हजुरहरू अर्को झुट बोकेर आउनुहोस्, मसँग हरेकको जवाफ छ, किनकि मभन्दा ठूलो महिलावादी मैले चिनेको पनि छैन र साथै मेरो परिवारमा मैले हेरेको र भोगेको कुरा मैले राम्ररी बुझेको छु । सत्यको खोजीमा हाम्रो जीवन लथालिङ्ग पार्न खोजेको भन्ने कुरा आयो भने यति बुझ्नुस् कि मेरो दाजुको स्वास्थ्यको आडमा केवल झुट र म्यानुपुलेसन हुँदैछ । आमासँग असुरक्षित फिल भएर भागेको म, घर फर्किँदा उहाँकै कारणले दाजुको स्वास्थ्य बिग्रिँदै गएको र मेरो बुवामाथि दोषारोपण गरिएको वर्षौं भयो ।

आरोपहरू सत्यै भएको भए हामी दाजु–बहिनी घर र मायाविहीन हुन्थ्यौँ होला । तर हामी अझै हाम्रो बुवा, आमा, काका–काकीहरूसँग छौँ । आफ्नो तरिकाले अगाडि बढ्न खोज्दै छौँ र यो बाहेक जे गफ आउँछन्, ती गफै मात्रै हुन् । जीवनमा सबैलाई कुटाई र गाली–गलौजले पर भगाएपछि उहाँसँग त्यही मिडिया र हाम्रो जीवन नबुझ्नुभएका कमेन्टका सपोर्टर्स मात्रै छन् । बाँकी छोरा–छोरी जुन बुवासँग बस्न पुगेका छन्, बुवाले हरेक कर्तव्य पूरा गर्नुभएको छ । अरू कसैले बोल्न सिकाएको छ नानीलाई भन्नुहोला, तर आफ्नो कथा र आफ्नो परिवारको लागि बोल्न सक्ने क्षमता भएको छोरा–छोरी हुर्काउनु भएको छ गजुरेलजीले ।

मेमोरीको भनाइ बाहिर आएपछि मिनाले टिकटकबाट जवाफ दिइसकेकी छन् । छोरीसँग अहिले पनि आफ्नो नियमित कुराकानी हुने गरेको र यो अडियो एआइबाट बनाइएको उनको दाबी छ । मिनाले छोरा मिरोजसँग आफ्नो सम्बन्ध सकिएको घोषणा गरेकी छन् । उनले भनेकी छन्, ‘तिमीलाई जन्माएकोमा मलाई पछुतो छ । अबदेखि मलाई आमा नभन्नु ।’

 

 

 

 

 

 

जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

काठमाडौँ । सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ ।

अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिएका छन् । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताएका छन् ।

अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका विरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताएका हुन् ।

जलनका विरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका विरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ ।

कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा

खाँदबारी (सङ्खुवासभा) । कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तथ्याङ्क सार्वजनिक गरेको छ ।

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’सम्बन्धी अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदनमार्फत उक्त तथ्याङ्कबारे जानकारी गराएका छन् ।

जोशीका अनुसार नेपालमा रहेका दुई हजार ६९ हिमतालमध्ये कोशी क्षेत्रमा मात्र ४२ वटा अत्यन्तै जोखिमयुक्त अवस्थामा छन् । हिमताल फुटे ठूलो जनधन तथा भौतिक संरचनामा विनाश हुनसक्ने उल्लेख गर्दै जोशीले उच्च सतर्कता तथा पूर्वतयारी आवश्यक रहेकामा जोड दिएका छन्।

सङ्खुवासभामा मात्र भोटखोला र मकालु क्षेत्र गरी चार वटा हिमताल उच्च जोखिम समूहमा परेको उनको भनाइ थियो । तीमध्ये तल्लो वरूण क्षेत्रस्थित ठूलोपोखरी हिमताल सबैभन्दा जोखिमयुक्त मानिएको छ । करिब ती किलोमिटर लम्बाइ र करिब २०६ मिटर गहिराइ भएको अनुमान गरिएइको उक्त हिमतालका वरिपरि पनि १५ देखि २५ मिटर गहिराइ पनि रहेको उनले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभाग र युएनडिपी नेपालको सहकार्यमा चार वटा हिमतालका लागि जोखिम न्यूनीकरण योजना कार्यान्वयन भइरहेको उनको भनाइ छ । तल्लो वरूणमा रहेको ठूलोपोखरी पनि सो योजनामा समावेश छ ।

हिमताल फुट्ने अवस्था उत्पन्न भए अरुण उपत्यकाका धेरै बस्ती तथा भौतिक संरचना प्रत्यक्ष जोखिममा पर्ने उनको भनाइ छ । तिब्बत क्षेत्रबाट बगेर आउने १३ वटा हिमताल पनि उत्तरी भेगका लागि सम्भावित खतरा रहेको उनले बताएका छन् ।

कार्यक्रममा इसिमोडकी नीरा श्रेष्ठ प्रधानले विपद्मा असक्त, महिला तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने हुँदा तिनलाई लक्षित चेतना अभिवृद्धि र क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको बताए । जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले जोखिमयुक्त हिमतालको दीगो व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालगायत सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा हिमताल व्यवस्थापन, जोखिम न्यूनीकरण तथा स्थानीय तयारीबारे विस्तृत छलफल भएको थियो ।

सुदूरपश्चिमविरुद्ध पोखरा–टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौ गोर्खाजलाई २९ रनले पराजित गरेको थियो । पोखरा भने पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो ।

पोखरा आजको खेलमा पहिलो जितको खोजीमा छ । सुदूरपश्चिम भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पोखराले अघिल्लो खेलेको टोलीबाट आज दुई खेलाडी परिवर्तन गरेको छ । तीर्थराज दासको स्थानमा विपिन खत्री र म्याट टेलरको स्थानमा सुमित बर्मा सुरुवाति ११ मा आएका छन् । सुदूरपश्चिमले भने विराटनगरविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।

पोखरा एभेन्जर्सको टोली – कुशल भुर्तेल, दिनेश खरेल, किरणकुमार ठगुन्ना, सागर ढकाल, अविषेक तिवारी, आकाश चन्द, विपिन खत्री, सुमित वर्मा, आडम रोसिङटोन, डेनियल डाउथवेट, जिम्मी निसम ।

सुदूरपश्चिम रोयल्सको टोली– दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, नरेन साउँद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन, हरमित सिंह ।

 

 

 

 

भेरी करिडोरका हुलाकको अनुगमन

कर्णाली । हुलाक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशअन्तर्गत भेरी करिडोरमा रहेका हुलाकको अवस्थाबारे अनुगमन गरेको छ ।

हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डे नेतृत्वको टोलीले भेरी करिडोरमा रहेका जाजरकोट, डोल्पा, रुकुमपश्चिम तथा सल्यान जिल्ला हुलाक कार्यालय र ती जिल्लास्थित स्थानीय तहमा रहेका हुलाक कार्यालयको अनुगमन तथा निरीक्षण गरेको हो । हुलाक सेवालाई छिटो छरितो, भरपर्दो र व्यवस्थित बनाई प्रभावकारी सेवा प्रवाह गर्ने ध्येयले अनुगमन तथा निरीक्षण गरिएको निर्देशक पाण्डेले जानकारी दिएका छन् । जाजरकोट जिल्ला हुलाक कार्यालय र अन्तर्गतका स्थानीय हुलाक नलगाड नगपालिका, दल्ली र सटही काउन्टर शिवालय गाउँपालिका छेडागाडको स्थलगत अनुगमन गरिएको उनले बताएका छन् ।

यसै क्रममा भूकम्पबाट क्षति भई पुनःनिर्माणका क्रममा रहेको जिल्ला हुलाक कार्यालय जाजरकोटको कार्यालय भवनको अनुगमन गरिएको थियो । निर्देशक पाण्डेका अनुसार डोल्पास्थित हुलाकहरुको अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय डोल्पा र स्थानीय हुलाक कार्यालय त्रिपुरासुन्दरी नगरपालिका, जिल्ला हुलाक कार्यालय रुकुमपश्चिम, स्थानीय हुलाक कार्यालय आठबीसकोट नगरपालिका राडीज्युला, सानीभेरी गाउँपालिका सिम्ली, हुलाक कार्यालय चौरजहारी नगरपालिकाको सेवा प्रवाह, कार्यालयको भौतिक संरचना डाँकरेखा तथा जनशक्तिको अवस्थाबारे अनुगमन तथा छलफल गरिएको थियो ।

त्यस्तै, हुलाक कार्यालय सल्यानसहित हुलाक कार्यालय वनगाड कुभिण्डे नगरपालिका देवस्थल (सल्लीबजार), हुलाक कार्यालय कुमाख गाउँपालिका राँगेचौर, हुलाक कार्यालय सिद्धकुमाख गाउँपालिका ढौरचौर, हुलाक कार्यालय बागचौर नगरपालिकाको निरीक्षण गरी जिल्ला हुलाक कार्यालय रुकुमपूर्व रुकुमकोटमा डाँक आदानप्रदानका विषयमा समन्वय तथा अन्तरक्रियात्मक छलफल गरिएको निर्देशक पाण्डेले बताएका छन् ।

उनले भने, “अनुगमनका क्रममा हुलाक सेवाको ऐतिहासिक पृष्ठभूमिलाई जीवन्त राख्दै विश्वजगत्ले वर्तमान समयमा विकास गरेको सूचना प्रविधिलाई हुलाक सेवामा भित्र्याउन आवश्यक पर्ने पूर्वाधारबारे छलफल तथा अनुभव आदानप्रदान गरेका छौँ । यसले देखिएका समस्या समाधान गर्न तथा हुलाक सेवालाई नवीन र प्रविधिमैत्री बनाउन सहयोग पुग्नेछ ।”

सोही क्रममा कार्यालयको जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधनको अवस्था, भवनको अवस्था, सेवा प्रवाह, जनगुनासो, डाँक ढुवानी, सरकारी तथा गैरसरकारी निकायसँगको समन्वयका विषयमा अनुगमन जाँच तथा अन्तरक्रिया गरी टोलीले सम्बन्धित कार्यालयलाई हुलाक सेवा विश्वासिलो र प्रभावकारी बनाउन निर्देशन दिएको छ । हुलाकप्रतिको जनविश्वास कायम राख्न, नागरिकसँग नजिक हुन तथा डाँक ढुवानी कार्यलाई व्यवस्थित गर्न सुझाव दिइएको निर्देशक पाण्डेले बताएका छन् ।

त्यसैगरी, जिल्ला तथा स्थानीय हुलाक कार्यालयलाई सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी हाल हुलाकले प्रदान गर्ने सेवाबारे प्रचारप्रसार गर्न निर्देशन दिइएको छ । अनुगमन टोलीमा निर्देशक पाण्डेसहित अनुगमन शाखाका प्रमुख नारायणप्रसाद तिमिल्सेनालगायत कर्मचारीको सहभागिता थियो ।

नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश’ राष्ट्रपति पौडेलले जारी गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई गृह मन्त्रालय मातहत ल्याउन सरकारले यो अध्यादेश ल्याएको हो । यसअघि सरकारले राअविका साथै राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग पूर्ववर्ती अवस्थामै फर्काउने निर्णय गरेको थियो । अन्य विभागहरू पूर्ववर्ती रूपमा फर्किए पनि कानुनी अड्चनका कारण राअवि भने प्रधानमन्त्री कार्यालय मातहत नै थियो ।

प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : अझै ठूलो विद्रोह हुनसक्छ भन्या अनुमान कि योजना ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजीको नाममा कसले देशमा उपद्रो मच्चाउन नपाउने बताएका छन् । नेशनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै पार्टीको युवा भेलामाथि अवरोध खडा गरेको भन्दै उनले चर्को असन्तुष्टि जनाए ।

उनले भने, ‘नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमण गर्ने काम भए, बिथोल्ने र आतंक मच्चाउने काम भयो, त्यो अहिलेसम्म जारी छ, अस्ती एमालेमाथि ढुङ्गा हान्न आए, विमानस्थल र प्रहरीमाथि ढुङ्गा हान्न आए, त्यस्ता क्रियाकलाप सरकारले अविलम्ब छिटो रोक्नुपर्छ ।’सरकारले चुनाव गर्छु भने पनि देशभित्रै नेताहरूलाई निषेध गरेर हुन नसक्ने बताए । उनले प्रधानमन्त्रीले १२५ दलसँग वार्ता राखेर कांग्रेस एमालेको अपमान गरेको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीप्रति आक्रोश व्यक्त गरेका छन् । उनले भने, ‘यो सरकार संविधान अनुसार बनेको छैन भन्ने हो भने त झन् अर्को विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? जनतालाई धम्काएर, तर्साएर अस्तीको भन्दा ठूलो विद्रोह हुन्छ भनेको, त्यो के ? फेरि आगो लगाउने, तोडफोड गर्ने, लुटपाट हो ? त्यो अनुमान हो कि योजना हो ? योजना हो भने सपना नदेख्नुस् । अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले अहिलेको सरकार असंवैधानिक बाटोबाट बनेको भन्न नपाइने रे भन्दै प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् ।

‘संविधानसम्मत तपाईं प्रधानमन्त्री बन्नु भएको हैन । असंवैधानिक बाटोबाटै बन्नु भएको हो । प्रतिनिधिसभाको पुनस्र्थापना हुनुपर्छ । जेनजीका भनिएका माग पनि पूरा गर्न सकिन्छ,’ उनले भने, ‘लोकतान्त्रिक बाटोमा ल्याउन सकिन्छ । यसो भन्न पाइँदैन रे ? लोकतन्त्र भन्न पाइँदैन रे तपाईं त राणा शासन भन्दा कडा निस्किनु भयो त बा ! मोहन शमशेरले पनि लोकतन्त्रका लागि सम्झौता गरेका थिए । संविधान मास्न दिँदैन । लोकतन्त्र फर्काइन्छ ।’

 

 

 

नेशनल भोलेन्टियर फोर्ससँग कोही पनि आत्तिनु–तर्सिनु पर्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएपछि नेशनल भोलेन्टियर फोर्स गठन गरिएको बताएका छन् । फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्र हितको लागि काम गर्ने बताए ।

उनले भने, ‘यो राष्ट्रिय हितका लागि गठन भएको हो । एमालेसँग असहमति राख्ने अथवा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा गर्ने कामको लागि यो गठन भएको हो । यसको गठन र विकाससँग कोही पनि आत्तिनु पर्दैन, तर्सिनु पर्दैन । यो देशमा शान्ति सुरक्षाको लागि गठन गरिएको हो ।’ उनले राज्य संयन्त्रले मात्रै जनताको जिउधनको रक्षा गर्न नसकेको आफूहरूले भोगेको बताएका छन् ।

उनले कसैले राज्यको सम्पती जलाउन आउँदा यो भोलेन्टियरले प्रतिवाद गर्ने पनि बताए । ‘अब कसैले पनि हिजोको जस्तो राज्यका संरचना जलाउँदै गर्दै हिँड्न पाउने छैन । हामी संरचनाको रक्षा गर्नेछौँ । यो देशका जनता आफैँ भोलेन्टियर भएर आफ्नो रक्षा गर्नुपर्ने अवस्थामा पुग्यौँ,’ उनले थपे, ‘यो हिंसा लुटपाट र त्रासदीपूर्ण वातावरणविरुद्ध हो । यो आतंकको विरुद्धमा हो । कसैलाई पनि आतंकित बनाउने छुट छैन। ’

ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको पनि बताए। आफ्ना स्वंयसेवकहरू अनुशासित भएर काम गर्ने ओलीको भनाइ छ । ‘यो स्वंयसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो,’ ओलीको भनाइ छ, ‘नेकपा एमालेसँग असहमति राख्ने वा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षाका लागि यो गठन भएको हो । यसको गठनसँग कोही पनि आत्तिनुपदैन, तर्सिनु पर्दन ।’ उनले राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने रहेको भन्दै आफूहरूले फोर्स घोषणा गरेको बताए ।

‘यो देशमा शान्ति सुव्यवस्था कायम गर्न बनेको हो। राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्न सक्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानको रक्षा हुने अवस्था रहेन,’ ओलीले भने । उनले हामी नेपालका संयोजक सुदन गुरुङलाई लक्षित गर्दै ओलीले व्यंग्य पनि गरे । उनले भने, ‘पानी बाँड्ने मात्रै भोलेन्टियर संस्था हुँदैनन् । यहाँ त अघिल्लो दिन पानी बाँड्ने भोलिपल्ट केके केके ।’ उनले भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनको क्रममा उक्त संस्थाको उपस्थिति र सक्रियताबारे प्रश्न उठाएका हुन् ।

 

 

 

चार महिनामा ४० करोडको फलफूल आयात

झापा । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।

अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिएका छन् । गत आवको तुलनामा चालु आवमा रु १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ । नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ । काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरणअनुसार फलफूल पाँचौँ स्थानमा छ ।

चालु आव २०८२/८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी हुमागाईंले बताएका छन् । उनका अनुसार कात्तिकमा भन्सारले राजस्व सङ्कलनको लक्ष्य रु एक अर्ब ६३ करोड, ९४ लाख ६१ हजार राखेको थियो । तर सो अवधिमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार सङ्कलन भएको उनले जानकारी दिएका छन्।

एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ घोषणा, कमाण्डरमा पुष्पराज श्रेष्ठ (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका हुन् । फोर्स घोषणाअघि एमाले निकट युवाहरूले र्‍याली गरेका थिए। नेकपा एमालेले ५ मंसिरमा काठमाडौंको माइतीघरमा ११ सदस्यीय युवा दस्ता ’युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उक्त कमाण्डर घोषणा गरेका छन् । केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ । ५ मंसिर, काठमाडौं। नेकपा एमालेले युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ । काठमाडौंको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका गरको हुन् । केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।

 

मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट समय ९कट अफ डेट० निर्धारण गरेको छ ।

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेभसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने बताएका छन् ।

विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदताको अन्तिम नामावाली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताएका छन् ।

भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’

चितवन । भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भित्री सडकमा छ हजार बत्ती जडान गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिएका छन् । उनका अनुसार राजमार्ग, सहायक राजमार्ग, पहुँच (लिङ्क) सडक, वडा सिमाना सडक, रणनीतिक महत्त्व र चहलपहल बढी हुने सडकमा बत्ती जडान गरिएको हो । दुई चरणमा गरेर रु ३५ करोडको लागतमा बत्ती जडान गरिएका हुन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ‘उज्यालो सहर भरतपुर’ अभियान सञ्चालन भइरहेको महानगर प्रमुख दाहालले बताएका छन् ।

चलचित्र ‘ऊनको स्वीटर’ भारतका विभिन्न सहरमा प्रदर्शन

काठमाडौँ । चलचित्र ‘ऊनको स्वीटर’ शुक्रबारदेखि भारतमा प्रदर्शन गरिएको छ ।

भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईका अनुसार भारतको दार्जिलिङको एसभिएफ सिनेमा, कस्र्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आइएनओएक्स गान्तोक तथा सिलिगुडीका सिनेमा सिटीसेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमामा चलचित्र प्रदर्शन गरिएको हो । नयाँदिल्ली, असामलगायत स्थानमा भने आगामी हप्ता प्रदर्शन गरिने जनाइएको छ ।

गायक सुजन चापागाईं, निर्देशक नवीन चौहान, अभिनेता–अभिनेत्रीसहितको समूहले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ र कालिम्पोङका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

राईले भने, “सिक्किम सरकार र स्थानीय समुदायले देखाएको साथले भविष्यमा नेपाली चलचित्रको उपस्थिति भारतभर उल्लेखनीय बनाउन मद्दत गर्नेछ । ‘ऊनको स्वीटर’ हाम्रो पहिलो प्रयास हो, र यसले बलियो सङ्केत दिइसकेको छ ।”

यसअघि बुधबार एमजी रोड, गान्तोकमा आयोजित ‘ऊनको स्वीटर साँझ’ कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहेको राईले जानकारी दिएका छन् ।

चलचित्र गत वैशाख २६ गते प्रदर्शनमा आएको थियो । चलचित्रमा नवीन चौहानद्वारा लेखन तथा निर्देशन रहेको छ ।

महेश बस्नेतको चेतावनी : एमालेका नेतालाई बयानमा बोलाए एक लाख कार्यकर्ता सिंहदरबार छिर्छन्

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा एक लाख कार्यकर्ता सिंहदरबार छिर्ने चेतावनी दिएका छन् । नेशनल भोलेन्टियर फोर्स (एनभिएफ) घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिँजाएको बताए ।

उनले त्यसो भएमा शुक्रबार भेला भएका भन्दा पाँच दोब्बर मानिस सिंहदरबार प्रवेश गर्ने उनले चेतावनी दिए । भदौ २४ गतेका प्रदर्शनकारीले जस्तो एनभिएफले तोडफोड र आगजनी नगर्ने उनले बताएका छन् । ‘हामी भदौ २४ गतेका अराजकहरू जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौं,’ बस्नेतले भने, ‘बरू फूलमाला लगाएर सुशीला कार्कीका मन्त्रीहरूलाई सिंहदरबाट बिदाइ गर्नेछौं । एक लाख जनताको उपस्थितिमा सिंहदरबार भित्रै आमसभा गर्छौं ।’

नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतंकित पारिरहेको उनले बताए । उनले अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा भएकोले आफूतिर आउन सक्ने आरोपलाई अन्त पन्छाएको उनको दाबी थियो । ‘अहिलेका सरकारका प्रधानमन्त्री, मन्त्री र सरकारसम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्,’ बस्नेतले भने, ‘नेपो बेबीका आमाबुवाले शासन चलाएका छन् । यो जायज छैन ।’ अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित रहेको एनभिएफको घोषणा कार्यक्रम अहिले बबरमहलमा भइरहेको छ । पार्टीको नीति, नेतृत्व, प्राकृतिक प्रकोपका बेला राहत तथा उद्धारका लागि यो फोर्स परिचालन हुने बस्नेतले बताए ।

 

 

 

 

 

आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरु आज धर्नामा बसेका छन् ।

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरूले दुवै आयोग कार्यालय अगाडि साङ्केतिक विरोध कार्यक्रम गरेका हुन् । उनीहरुले दुवै आयोगका पदाधिकारीको राजीनामा पनि माग गरेका छन् ।

‘आम द्वन्द्वपीडित समुदाय’को आह्वानमा भएको धर्नामा सहभागी पीडित राम भण्डारीले आयोगप्रति आफूहरुको विश्वास नभएको उल्लेख गर्दै दुवै आयोगका पदाधिकारीको राजीनामा माग गरेका छन् । आयोगमा वास्तविक पीडितको प्रतिनिधित्व हुने गरी आयोग पुनर्गठन गर्नुपर्ने उनको माग छ ।

भण्डारीले आफूहरु करिब दुई दशकदेखि सत्यको खोजीमा रहे पनि राज्यबाट कुनै उत्तर नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, “पीडितहरु न्याय प्रक्रियामा सहभागी हुन पाएका छैनौ । राज्यले जबरजस्ती आयोग गठन ग¥यो, त्यसलाई हामीले प्रारम्भदेखि नै अस्वीकार गर्दै आएका छौ । आज सातै प्रदेशमा विरोध कार्यक्रम चलाइरहेका छौ ।” पीडितहरूले आयोगका कर्मचारीलाई सहानुभूति र समन्वयका लागि पनि आग्रह गरेका थिए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्धवप्रसाद पुडासैनीले पीडितको आवाजलाई सम्बोधन गर्दै काम अघि बढाउन आफूहरु प्रतिबद्धत रहेको बताएका छन् । द्वन्द्वपीडित, राजनीतिक दललगायतका सरोकारवालाहरू एउटै ठाउँमा आउन सके न्यायिक प्रक्रिया तीव्र हुने उनको भनाइ थियो ।

गगन र विश्वप्रकाशले भने–महाधिवेशन नगरे हामी चुनाव लड्दैनौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ को चुनावअघि पार्टीले महाधिवेशन नगरे आफूहरू चुनाव नलड्ने बताएका छन् । सभापति शेरबहादुर देउवानिकट २८ जना केन्द्रीय सदस्यहरूसँग आज भएको कुराकानीका क्रममा महामन्त्रीद्वय थापा र शर्माले चुनावअघि नियमित वा विशेष जुन महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘महामन्त्रीद्वयले चुनावअघि महाधिवेशन भएन भने हामी चुनाव लड्दैनौं भन्ने कुरा गर्नुभयो,’ भेटमा सहभागी रहेका केन्द्रीय सदस्य आङगेलु शेर्पाले सुनाए, ‘चुनावअघि महाधिवेशन गरेर जानुपर्छ भन्ने भनाइ उहाँहरूको थियो ।’
देउवानिकट २८ केन्द्रीय सदस्यले पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

उनीहरूले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुवै महामन्त्रीसँग नियमित महाधिवेशन कार्यतालिका ल्याउन आग्रह गरेका हुन् । चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा सभापति देउवानिकट २८ केन्द्रीय सदस्य छन् । कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्ने विवाद छ । यसबारे निर्णय गर्न भोलि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्दैछ । सभापति देउवा पक्षका केही पदाधिकारी र केही पूर्व पदाधिकारी चुनावपछि वैशाखमा मात्रै १५ औं महाधिवेशन गर्ने पक्षमा छन् ।

 

 

 

 

 

 

लोप भए पानीघट्ट

ढोरपाटन(बागलुङ) । एक दशक अगाडिसम्म निसीखोलाका दर्जनौँ स्थानमा पानीघट्ट थिए । त्यही घट्टमा यहाँका हजारौँ नागरिकले गहुँ, मकै, फाफर, कोदोलगायत पिसानी गरेर उपभोग गर्थे । तर अहिले कुनै पनि स्थानमा पानीघट्ट भेटिँदैनन् । गाउँगाउँमा विद्युतीकरण भएपछि पछिल्लो समय टोलै पच्छिे विद्युतीय मिल बनेका छन् । ग्रामीण जनजीवनसँग जोडिएको पानीघट्ट मिलले विस्थापित बनेका छन् ।

कतिपयले पानीघट्ट चलाएरै जीविकोपार्जनसमेत गर्दै आएका थिए । पानीघट्ट सङ्कटमा परेपछि उनीहरुले पेसा नै बदल्नु परेको छ । निसीखोला गाउँपालिका–३ का नबहादुर मगरले करिब १२ वर्ष दुई पानीघट्ट सञ्चालन गरेर परिवार पालेको सुनाउँदै चार वर्षदेखि अरू पेसा गर्न थालेको बताएका छन् । गाउँमा विद्युतीय मिल नहुँदा दिनमै एक मुरीसम्म मकै, गहुँ र कोदो आम्दानी गरेको भन्दै अहिले आफ्नो गाउँमा मात्रै तीनवटा बिजुलीबाट चल्ने मिल रहेको मगरले बताएका छन् ।

विद्युतीय मिलमा भन्दा पानीघट्टमा पिसेको पीठो स्वादिष्ट हुने गरेको मगरले बताएका छन्। पानीघट्ट चल्दा खोलको पानी सदुपयोग भए पनि अहिले यतिकै खेर गइरहेको उनको भनाइ छ । एक दशक अगाडिसम्म निसीखोलामा मात्रै झन्डै ५० वटा बढी पानीघट्ट चल्ने गरेको भन्दै अहिले दुई÷चार ठाउँमा मात्रै रहेको मगरले बताएका छन् । ती पनि सञ्चालन नहुँदा जीर्ण बनेको उनी बताँउछन् ।

मगरले भने, “गाउँमा बिजुली आएको धेरै वर्ष भएको छैन, बिजुली नहुँद पानीघट्ट र पानीमिल मात्रै चल्थे, पानी मिल बनाउन धेरै खर्च लाग्ने हुँदा एक÷दुई ठाउँमा मात्रै हुन्थे, तर पानीघट्ट ठाउँ–ठाउँमा हुन्थे, मानिसले केही पिस्न परे घट्टमै जाने गर्थे, तर अहिले त टोलटोलमा नै मिल चल्ने भएपछि पानी घट्टको महत्व हरायो, घट्ट चल्ने बेला मैले महिनामै बीसौँ हजारको आम्दानी गर्थे ।”

बागलुङका अधिकांश स–साना खोला किनारमा सानो टहरोमा पानीघट्ट बनाइन्यो । तर अहिले त्यो अवस्था छैन । बजारी क्षेत्रभन्दा ग्रामीण भेगमा बढी प्रचलित पानीघट्ट आधुनिक प्रविधिको विकासले लोप भएको गलकोट नगरपालिका–८ थमबहादुर खत्री बताएका छन् । पहिले गलकोट क्षेत्रमा दर्जनौँ पानीघट्ट सञ्चालन हुने गरेको भन्दै अहिले कहीँकतै देख्न नपाइने बताएका छन् । मिलमा भन्दा पानीघट्टमा पिसेको पीठो स्वादिष्ट हुने र महिनौँसम्म पनि ढुसी नलाग्ने उनको भनाइ छ । उनले मिलमा पिसेको पीठो एक महिनामै बिग्रिने गरेको बताएका छन् ।

“गाउँघरमा पीठो बिस्ने कि जाँतोमै हो कि त पानीघट्टमै हो, हामी सानो हुँदा एक डेढ घण्टा लगाएर घट्टमा सातु र पीठो पिस्न जाने गथ्र्यौं, घट्टमा पालो कुरेर बस्नेको लाइन हुन्थ्यो, अहिले त एउटा गाउँमा धेरै बिजुलीबाट चल्ने मिल बनाएका छन्,” खत्रीले भने, “छिटो पनि हुँदोरैछ, कुटानी–पिसानी दुवै काम हुनेहुँदा पानीघट्टको प्रयोग गर्न छाडिएको छ, अब त त्यो जमाना फेरि आउँदैन होला, मिलहरु पनि आधुनिक किसिमका आउन थाले ।”

हरेक गाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेका छन् । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेका छन् भने त्यसका पार्टपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएको अवस्थामा छन् । गाउँमा मिलको चलन आउनुभन्दा पहिले खोला किनारमा पानीघट्ट सञ्चालन गरी केही स्थानीयले आफ्नो जीविकोपार्जन समेत त्यहीबाट गर्दै आएका थिए । तर मिलले घट्ट विस्थापित गरी दिएपछि पानीघट्ट सञ्चालकले पेसा परिवर्तन गर्नु परेको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै महेश बस्नेतले भने–अब यी आमाबाट देश चल्दैन

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अब प्रधानमन्त्री सुशीला कार्कीबाट देश नचल्ने बताएका छन् । शुक्रबार एमालेको युथ भोलिन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् । नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । उनले फास्ट ट्रयाकबाट राजीनामा दिएर विधि र प्रक्रियाबाट देशलाई चलाउन प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘फास्ट ट्रयाकबाट सुशीला आमाले राजीनामा दिनुस् । विधि प्रक्रियाबाट देश चल्ने हो,’ बस्नेतले भने, ‘दलबाट देश चल्ने हो । दलबाट बाहिरबाट राजनीति हुँदैन ।’ ‘संसद् विघटन गरेर, हाम्रो लोकतान्त्रिक पद्धतिमाथि हमला गरेर प्रधानन्यायाधीश भइसकेकी जेन–जीको भावना विपरीत ७३ वर्षकी आमैलाई विचरा खुट्टा खुच्याउँदै हिँड्नु हुन्छ,’ बस्नेतले भने, ‘अब ती आमाबाट देश चल्दैन । अब संसद् पुनर्स्थापना गर्नुपर्छ ।’ लोकतन्त्र, विधिको शासन र सुशासनलाई ठिक ट्रयाकमा ल्याउन नेसनल भोलिन्टियर फोर्सले काम गर्ने बस्नेतले बताए ।

जुम्लामा आठ सय ४९ मतदाता थपिए

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८४९ नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नारायणी आचार्यका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ५० प्रतिशत हाराहारीमा युवापुस्ता रहेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या आयोगले आजसम्म समय तोकेको छ । अहिले अनलाइनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरेकाले जिल्लामा बिहीबारसम्म ८४९ मतदाता थपिएका छन् । जसमध्ये महिला ३७३ र पुरुष ४७६ रहेका छन् । बाहिरी जिल्लाका ९७ जनाले जिल्लाबाट नयाँ मतदाताका रुपमा नाम दर्ता गरेका छन् ।

जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाता सङ्ख्या ६७ हजार ७३६ रहेको छ । जसमा पुरुष ३५ हजार २७५ र महिला ३२ हजार ४६१ रहेका छन् । हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्नका लागि केन्द्रिय निर्वाचन आयोगमा सिफारिस गरिएको निमित्त प्रमुख आचार्यले जानकारी दिएका छन् ।

एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा जिल्लाभरि ७९ मतदानस्थल र १०२ मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको छ । निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर आजसम्मका लागि थप गरेको छ ।

भोलि काठमाडौँमा ६० हजार मान्छे उतार्छौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भोलि (शनिबार) काठमाडौँमा पार्टीको कार्यक्रममा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन् । पार्टीको नेशनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै ६० हजार मान्छे भोलिको कार्यक्रममा सहभागी हुने बताएका हुन् । उनले भोलिको प्रदर्शन हुने विश्वास आजैको  र्‍यालीले देखाइसकेको बताए। ’भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौं । त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ,’ उनले भने, ‘सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाइ बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिन्छौँ ।’

उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दाबी गरे । उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई संकटमा पुर्‍याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए । एमालेले शनिबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

‘केपी ओलीले सिठ्ठी फुक्दा २ लाख युवा काठमाडौँ आउने अवस्था बनाउँदै छौं’
नेता महेश बस्नेतले अब दुई महिनापछि केपी ओलीले सिठ्ठी लगाउँदा दुई लाख तुरुन्तै काठमाडौँ आउने अवस्था बनाउने बताएका छन् । नेसनल भोलेन्टियर फोर्स घोषणा सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिठ्ठी मात्र फुके पनि दुई लाख मानिस काठमाडौँ अवस्था बनाइरहेको बताएका हुन् । उनले फोर्स देशव्यापी अभियानका रूपमा अघि बढाइने उल्लेख गर्दै युवाहरूको एक हुने ठाउँ एमालेको भएको बताए । बस्नेतले फोर्सले पार्टी संगठन सुदृढ पार्ने, स्वयंसेवी संरचना विस्तार गर्ने र आगामी राजनीतिक अभियानमा ऊर्जा थप्ने बताएका छन् ।

 

 

 

 

मन्त्रिपरिषदको बैठक बस्दै, के हुँदैछ निर्णय ?

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो । आजको बैठकलेमा सेना परिचालनसम्बन्धी निर्णय हुने सम्भावना रहेको छ । यसअघि बिहीबार बसेको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो । तर, यसपटक जेनजी आन्दोलनपछि शान्ति सुरक्षाको अवस्था सामान्य नरहेकाले सरकारले चाँडै सेनालाई फिल्डमा खटाउन लागेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने संवैधानिक प्रावधान छ ।

पीडितले गरे समस्याग्रस्त सहकारी समितिको गेट तोडफोड

काठमाडौं । सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालयको गेट तोडफोड गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले कार्यालयमा पुगेर नाराबाजी गर्दै तोडफोड गरेका हुन् ।

प्रदर्शनकै क्रममा गेटबाट भित्र छिर्ने क्रममा गेटमा तोडफोड भएको हो । अहिले समिति कार्यालयमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका करिब डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।