`

पीडितले गरे समस्याग्रस्त सहकारी समितिको गेट तोडफोड

काठमाडौं । सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालयको गेट तोडफोड गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले कार्यालयमा पुगेर नाराबाजी गर्दै तोडफोड गरेका हुन् ।

प्रदर्शनकै क्रममा गेटबाट भित्र छिर्ने क्रममा गेटमा तोडफोड भएको हो । अहिले समिति कार्यालयमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका करिब डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

हाम्रो प्रदर्शन सुशीला आमैलाई राजनीतिबाट टाटाबाइ गर्न हो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई सत्ताबाट हटाएरै छोड्ने दावी गरेका छन् । आज (शुक्रबार) पार्टीको नेशनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले रिटायर्ड जीवन शानदार बनाउन छोडेर राजनीति गर्न आएको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् । ‘आजको हाम्रो मार्चपासले भोलि हामीले गर्ने प्रदर्शनको झल्को दिएको छ ।

भोलिको हाम्रो प्रदर्शन भनेको सुशीला आमालाई (प्रधानमन्त्री) राजनीतिक जीवनबाट टाटाबाइ गर्न हो,’ उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, ‘छोराछोरीसँग बेलायत गएर उपचार गरेर रिटायर्ड जीवन शानदार गर्नुस् । वृद्ध पतिको सेवा गर्नुस् । राजनीति दलले नेताले गर्ने हो ।’ नेता महेश बस्नेतले भोलि काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन् । पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै भोलि एमालेको प्रदर्शन भव्य हुने आजैको र्‍यालीले देखाइसकेको बताए । उनले भने, ‘भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौँ । त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ । सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिन्छौ ।’

उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिन भित्र राजीनामा दिने दाबी गरे। उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्‍याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए । उनले २-३ दिनमा प्रधानमन्त्रीले पदबाट राजीनामा नदिए भोलेन्टियर फोर्सले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए । बस्नेतले प्रधानमन्त्रीको शारिरीक अवस्थामाथि पनि खिसिट्युरी गरे । उनले भने, ‘उहाँ खुटा खोच्याउँदै हिँड्नु हुन्छ । आराम गर्नुस् । केपी ओलीले भने जसरी अब संसद् पुनर्स्थापना गर्दै विधिको शासन र सुशासनलाई सही ट्रयाकमा ल्याउन फोर्सले काम गर्नेछ ।’

 

 

मन्त्री घिसिङले डुंगा चढेर निरीक्षण गरे १४ वर्षदेखि अलपत्र कमला नदीको पुल

सिरहा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले स्थानीयवासीसँगै डुंगा चढेर कमला नदी वारपार गरेका छन् । १४ वर्षदेखि पुलबिहीन हुँदा यहाँका नागरिकले कमला वारपार गर्दा निकै सास्ती पाउँदै आएका छन् ।

मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको छ । ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न वाध्यभएको जस्ता गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि पुलको निर्माणको अनुगमन गरेका हुन् ।

तराई-मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मंसिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौं पठक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ ।

पुल निर्माणमा भईरहेको ढिलाइका सम्बन्धमा मन्त्री घिसिङले यो पुल समग्र मधेश क्षेत्रको विकासको लागि अत्यन्तै महत्वपूर्ण रहेकोले तीब्र गतिमा निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले यो पुल बन्छ, हामी बनाउँछौ भन्दै विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानविन गरिरहेकोमा दोषी देखिएकालाई कानुन बमोजिम कार्वाही गरिने समेत बताए । पुल निर्माणलाई छिटो सम्पन्न गर्नुपर्ने स्थानियहरुले माग थियो । अनुगमनकै क्रममा मन्त्री घिसिङ वारी धनुषावाट डुङ्गा चढेर पारी सिरहा पुगेका थिए । जहाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग भेट गरी संयुक्त रुपमा पुल निर्माणको निरिक्षण गरे ।

हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमशः ८३ र ८२ प्रतिशत रहेको छ । १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर रहेको छ । निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र २०० मि. पहुँच सडक निर्माण गर्नुपर्ने छ ।

१७ असार २०७८मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये २ वटा हटाइएको छ भने २ वटा हटाउन बाँकी रहेका छन् । विज्ञबाट उक्त क्षेत्रको माटो परीक्षण गरी परिमार्जित डिजाइन तथा डओइ तयार गरी स्वीकृत गरिएको छ । ४ वटा स्लावमध्ये सिरहापटिको २ वटा हटाउने तथा एउटाको पायरको पायल क्याप र अर्कोको पायरको २ मिटर स्टिम ढलान भई बाँकी २ वटा स्पानलाई दह्रो बनाउने काम बाँकी रहेको छ । स्वीकृत परिमार्जित डिजाइन बमोजिम पुल निर्माण तथा पुनस्र्थापना आगामी असारभित्र सम्पन्न गरी यातायाता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

 

काठमाडौं बाहिर जाने सबै यातायात बसपार्कबाटै सञ्चालन गर्ने निर्णय भएन कार्यान्वयन

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौं महानगरपालिकाले २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि साढे दुई वर्ष बितिसक्दासमेत उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले सबै सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्क भित्रबाट सञ्चालन गर्न पहल गर्दै आएको बताए ।

‘महानगरपालिकाको निर्णयपछि केही सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन्, बाँकी सवारीसाधन पनि बसपार्क भित्रबाटै सञ्चालन हुनुपर्छ,’ उनले भने । नगर प्रहरी प्रमुख पाण्डेले महानगरले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न समस्या भएको बताए ।
सबै क्षेत्रको साथ र सहयोगले निर्णय कार्यान्वयन गर्न महानगर प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ थियो । हाल काठमाडौँको गौशाला, चावहिल, बालाजु, माछापोखरी, कलङ्की, कोटेश्वर, बल्खुलगायतका चक्रपथ वरपर सडक तथा करिडोरबाट सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

महानगरपालिकाले गोँगबुस्थित विष्णुमती किनारमा आफ्नै स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा नयाँबसपार्क निर्माण गरेर लोत्से बहुउद्देश्यीय प्रालिलाई सञ्चालनका लागि दिएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यातायात व्यवसायीको अटेरीका कारण नयाँ बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको बताए । ‘हामीले सूचना जारी गरेर सबै सार्वजनिक सवारीसाधनलाई अनिवार्य रूपमा नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने भनेका थियौं तर यातायात व्यवसायी अटेर गर्दै आएका छन्,’ उनले भने ।

महानगरपालिकाले सूचना निकालेपछि काठमाडौँबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह निर्वाचित भएर आएसँगै महानगरपालिकाले चक्रपथको वरपर जथाभावी रूपमा सञ्चालन भएका १०० भन्दा बढी बस टिकट काउन्टर हटाएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले राजधानीभित्रको सार्वजनिक सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायी तयार रहेको बताए । ‘यात्रु, व्यवसायी र सरकार सबैलाई सहज हुने ढङ्गले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ,’ उनले भने । हाल गोँगबुस्थित नयाँबसपार्कबाट दैनिक लामो दूरीका ३०० र छोटो तथा मध्यम दूरीका २०० बस देशका विभिन्न भागका लागि गुड्छन् ।

 

सत्य निरुपण आयोगमा द्वन्द्वपीडितको धर्ना

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगका पदाधिकारीको राजीनामा माग्दै द्वन्द्वपीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । विस्तृत शान्ति सम्झौताको २ दशक पुग्दासम्म आफूहरूले न्याय नपाएको र आयोगलाई राजनीतिक भागबण्डाको थलो बनाइएको भन्दै उनीहरूले शुक्रबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिए । उनीहरूले विधि प्रक्रिया मिचेर तेश्रो पटक पनि दलीय भागबण्डा गरेको भन्दै राजनीतिक नेतृत्वबाट नियन्त्रित आयोगहरू तत्काल खारेज गर्न माग गरेका छन् ।

त्यस्तै पीडित समुदायले बहिष्कार गरेका आयोग पदाधिकारीले तत्काल राजीनामा गर्नुपर्ने र द्वन्द्वपीडित समुदायलाई विश्वासमा लिएर विश्वश्नीय र पारदर्शी प्रक्रिया आरम्भ गर्नुपर्ने बेपत्ता परिवारका सदस्य राम भण्डारीले बताएका छन् । द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले अहिलेका आयोगका पदाधिकारीले द्वन्द्वपीडितलाई बेवास्ता गरेको बताए । दलीय कोटामा नियुक्त भएका पदाधिकारीले द्वन्द्वपीडितको माग पूरा गर्न नसक्ने उनको भनाइ छ ।

उनीहरूले द्वन्द्वपीडित समुदायको विश्वास भरोसा नभएको आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बर्बादी मात्र भएकाले आयोग पुनर्गठन गर्न माग गरेका छन् । सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

 

 

युवा संघको मार्चपास, ‘नेशनल भोलेन्टियर फोर्स’ घोषणा हुँदै (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दैछ । फोर्स घोषणाअघि एमाले निकट युवाहरूले  र्‍याली गरेका छन् । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले  र्‍यालीको नेतृत्व गरेका छन् । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ । समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ ।

उनले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए । मार्चपासमा सहभागी एमाले कार्यकर्ताहरूले रातो क्याप लगाएका छन् । उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिन माग गर्दै नाराबाजी गरिरहेका छन् । उक्त मार्चपासलाई मध्यनजर गर्दै बाक्लो मात्रमा सुरक्षाकर्मीको उपस्थिति देखिन्छ । आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेशनल भोलेन्टियर फोर्स’को घोषणा गर्नेछन् । ओलीको विशेष सम्बोधनमा कार्की बैङ्क्वेटमा एमालेको रक्षापंक्ति मानिएको नेसनल भोलेन्टियर फोर्स घोषणा हुन लागेको हो ।

जेन–जी आन्दोलनपछि रक्षात्मक बनेको एमालेले उक्त फोर्सलाई विशेष प्राथमिकता दिएको छ । अध्यक्ष ओलीले यो शक्तिलाई आफ्नो रक्षा कवजको रुपमा लिएको भए पनि फोर्स बनाउन नहुने एमालेमा अर्काे समूह पनि रहेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा केही पदाधिकारीहरूले फोर्स घोषणा गर्ने कार्यक्रम तत्काल रोक्न भनेका थिए । तर, ओलीकै उपस्थितिमा आज फोर्स घोषणा हुन लागेको हो ।

 

 

महेश बस्नेतको चेतावनी : जेनजीको नाममा जहाँ अवरोध, त्यहाँ प्रतिरोध हुन्छ

काठमाडौं । एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । उनले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने बताए ।

‘जेनजीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ’ उनले भने,’ जेनजीहरूसँग हामी सम्पर्कमै छौं । तर उनीहरूका नाम र ब्यानर भजाएर अरु खालका तत्वहरू सक्रिय छन् ।’ अध्यक्ष केपी शर्मा ओलीले आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्दैछन् । नेता बस्नेतले पालिका, वडा र टोलटोलमा सुरक्षा दिनका लागि फोर्स बनाइने जानकारी दिए । ‘हामी विभिन्त पेशागत संस्थासँग पनि सहकार्य गर्छौं’ नेता बस्नेतले भने, ‘अब राष्ट्रिय सम्पत्ति जलाउने तोडफोड गर्ने काम हुँदा हामी टुलुटुलु बसेर हेर्दैनौं ।’

 

 

फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आज (शुक्रबार) आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो विचार व्यक्त गरेका हुन् ।

देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको छ । यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु ।’

उनले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सिपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । ‘यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।

शैक्षिक संस्थाहरूको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गर्नु भएको उनको भनाई थियो । ‘मुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेको पाइन्छन्, उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका क्रममा पछिल्लो समय नेपाली विद्यार्थीहरू बिदेसिने क्रम बढ्दो छ, यो यथार्थतालाई मध्यनजर गरी आगामी दिनमा बजारको मागलाई सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने । कुनै पनि मुलुकको विकासका लागि शिक्षाको योगदान महत्वपूर्ण रहेको उनको भनाई थियो । साथै, नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको बताए ।

महेश बस्नेतसँगको भाइरल तस्बिरबारे के भने विशाल भण्डारीले ?

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’ का निर्देशक विशाल भण्डारी अहिले विवादमा तानिएका छन् । एमाले नेता महेश बस्नेतसँगको भेटघाटको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । बस्नेतको निवासमा खिचिएको एउटा तस्बिर र भिडिओ भाइरल भएपछि निर्देशक भण्डारीले यसबारे स्पष्टीकरण दिएका छन् । शुक्रबार बिहान उनले फेसबुकमा लेख्दै आफू नितान्त व्यक्तिगत समस्या समाधानको पहलका लागि त्यहाँ पुगेको उल्लेख गरेका छन् ।

‘पछिल्लो समय परेको व्यक्तिगत समस्याका कारण म सहयोगको आशमा तत्कालिन प्रधान मन्त्री कार्यालय, गृह मन्त्रालय र विभिन्न कार्यालयहरू, नेताहरू तथा सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गरिरहेको थिएँ। जेनजी आन्दोलनपछि पनि त्यही समस्या लियर अहिलेको प्रम कार्यालय र गृहका सथिहरु संग संपर्कमै थिए र छु । यही क्रममा धेरै ठाउँमा गएको, धेरैलाई भेटेको तस्बिर र प्रमाणहरू पनि म संग छन् । त्यसैबीच महेश बस्नेत ज्युको घरमा भेटको क्रममा खिचिएको एउटा फोटो भिडिओ अनावश्यक रूपमा भाइरल बनाइयो,’ उनले लेखेका छन् ।

व्यक्तिगत समस्या सुनाउन र सुल्झाउन भेटेका आधारमा आधारमा आफूलाई कुनै राजनीतिक धार वा समर्थनमा रहेको भनेर नबुझिदिन उनले आग्रह गरेका छन् । साथै एउटा तस्बिरका आधारमा भ्रम नफैलाई दिन समेत उनको भनाइ छ । उनले लेखेका छन्, ‘आजसम्म पनि सहीलाई सही र गलतलाई गलत भन्नु मेरो सिद्धान्त हो । म राजनीतिक रूपमा कसैको पक्षमा उभिएको छैन, न कुनै समूह, दल वा व्यक्तिको समर्थनमा म त्यहाँ गएको थिएँ । मलाई चिन्नुहुने साथीभाइ, मिडिया तथा सबैलाई कृपया एउटा तस्बिरका आधारमा भ्रम नफैलाई दिनुहोस् ।’

 

 

‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेले निकाल्यो र्‍याली

काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । फोर्स घोषणाअघि एमाले निकट युवाहरू अहिले मार्चपासका लागि बानेश्वर क्षेत्र पुगेका छन् । उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी गरेको भए पनि त्यहाँ जेनजी घाइतेहरूले अवरोध पुर्‍याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका हुन् । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले ¥यालीको नेतृत्व गरेका छन् । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् ।

सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओलीलगायत नेताका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेको जिकिर छ । समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ । फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य रहेको एमालेले बताएको छ ।

जनयुद्धले उठान गरेका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धले उठान गरेका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव नहुने बताएका छन् । विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा जारी सन्देशमा उनले जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौता पूरा नहुने बताएका हुन् ।

‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन । शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता म यो प्रक्रियामा विभिन्न रूपमा योगदान पुर्‍याउनु हुने सबै व्यक्तित्वलाई सम्मान व्यक्त गर्दछु ।’ सन्देशमा भनिएको छ, ‘आज नयाँ एकीकरण र ध्रुवीकरणवाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। ‘नेपाली समाजमा युगौँदेखि विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको महान जनयुद्धलाई संस्थागत गर्ने क्रममा तत्कालिन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड तथा नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच वृहत् शान्ति सम्झौता भएको आज १९ वर्ष पुगेको छ ।’

उनले भने, ‘यस अवसरमा न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै बेपत्ता योद्धा, घाइते, अपांग तथा वहाँहरुका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछु । शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक आदरणीय गिरिजाप्रसाद कोइरालालाई विशेष स्मरण र सम्मान व्यक्त गर्दछु ।’

नेपालमा सामन्तवादको अन्त्य गर्दै सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ। उनले शान्ति सम्झौताको आत्मा अनुरूप आवश्यक परिमार्जन गर्न सकेमात्र युवाहरूको आकांक्षाको सम्बोधन हुने बताएका छन् ।

‘शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु हो । अहिले ‘जेन–जी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेका छन् । शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकांक्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ ।’प्रचण्डले भने, ‘यस ऐतिहासिक दिनमा, विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि म विशेष अपील गर्दछु ।’

 

धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’

भोजपुर । यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ ।

स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो । यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् ।

सिद्धकालीको दर्शन गरेमा रोगब्याध हट्ने, सुखशान्तिका साथै समुन्नति हुने धार्मिक विश्वास छ । स्थानीय पण्डित कमल दाहालका अनुसार देशका विभिन्न भागबाट यहाँ भाकल गर्न भक्तहरू आउने गरेका छन् । यहाँ आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणमा विशेष पूजा हुने गरेको छ ।

शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधाकृष्ण, हनुमान् मन्दिरछन् भने आसपासका क्षेत्रमा सिद्ध एवं नारायण गुफा छन् । यी स्थानको दर्शन गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।

नीतु आत्महत्या प्रकरण : धरौटीमा छुटे बाबुल

काठमाडौं । गायिका नीतु पौडेलको आत्मदाह दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) तीन लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गिरीले नीतिको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वकारोक्ति बयान दिएका थिए । ‘आफ्नो कतिपय गल्तीका कारण गायिकाले आत्मदाह गर्नु परेको भनी गल्ती स्वीकार गर्नु भएको थियो’, भट्टराईले भने ।

बाबुल र नीतु केही समयदेखि प्रेममा थिए । प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरेको जनाइएको छ । प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थामा अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जनायो ।

कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । घटनापछि उपचारका निम्ति बर्न अस्पताल, कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएको थियो । पौडेलको निधनपछि गायक गिरी आफैं जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए ।

एमाले कार्यकर्तालाई आउन नदिन माइतीघर पुगे जेनजी घाइते

काठमाडौं । नेकपा एमालेले नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेनजी घाइतेहरू पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताएका छन् । एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् । अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन भन्दै एमालेले भोलेन्टियर फोर्स बनाउन लागेको छ । माइतीघर मण्डलामा भेला भएर एमाले युवाहरूले बानेश्वरसम्म मार्चपास गर्ने बताइएको छ । सोही कार्यक्रमका क्रममा एनभिएफको औपचारिक घोषणा गर्न लागिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एनभिएफको घोषणा गर्नेछन् । एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको पहलमा करिब १५ दिनअघि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको संयोजन पोलिटब्यूरो सदस्य महेश बस्नेतले गरेका थिए । कार्यदलले विधान, लोगो, झण्डा, संगठन संरचना, उद्देश्य तथा भविष्यका कार्यक्रमसमेत तयार पारेर फोर्स निर्माण गरेको हो ।

धनकुटामा माइक्रो दुर्घटना : एकको मृत्यु, १४ जना घाइते (नामावली)

धनकुटा । काठमाडौंबाट खाँदबारी जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा अन्तर्गत धनकुटाको पाख्रिबास नगरपालिका–५, भैँसेमा बा.४ ख ५५०२ नम्बरको सप्तकोसी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी संखुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका दुई घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् घाइते

– प्रहरी जवान सुजता गिरी (धनकुटा महालक्ष्मी–३) : मेरुदण्डमा चोट ।
– सगिता राई (संखुवासभा सिलिचुङ–३) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– नरेन्द्र राई ः बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– लमु शेर्पा (संखुवासभा पाँचखपन–९) : टाउकोमा चोट, अवस्था मध्यम ।
– निर्जला राई (उदयपुर लिम्चुङबुङ–१) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
– बिनिता राई (११ वर्ष) : टाउकोमा चोट, अवस्था मध्यम ।
– जेसन राई (१४ वर्ष) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– सन्त बहादुर तामाङ (सिन्धुली) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
– पासाङ शेर्पा (भोजपुर सिलिचुङ–५) : टाउकोमा चोट, अवस्था मध्यम ।
– रत्नबहादुर विक (खाँदबारी–७) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर ।
– दिपेन्द्र बुढाथोकी (हाइस चालक, ठेगाना नखुलेको) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, घोपा रेफर ।

 

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अरबिन्द साह पक्राउ

काठमाडौं । बाराको सिमरामा जेनजी युवालाई कुटेको आरोपमा नेकपा एमालेका कार्यकर्ता अरबिन्द साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार साँझ पक्राउ गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई पक्राउ गरेको थियो ।

गएको बुधबार एमालेले सिमरामा गर्न लागेको कार्यक्रमका क्रममा जेनजी र एमाले कार्यकर्ताबीच झडप हुँदा त्यहाँको अवस्था असामान्य बनेको थियो । बुधबार एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए । जेनजीको विरोध प्रदर्शनपछि दुवै नेता सिमरा जान नसकी काठमाडौँमै रोकिएका थिए । विरोध प्रदर्शनको क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए ।

स्थानीय जेनजी अगुवा सम्राट भनिने साइकुस उपाध्यायले उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा बुधबार जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जेनजीको मुख्य माग कुटपिटमा संलग्न साहलाई पक्राउ गर्नुपर्ने थियो । उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए । आज भने अहिलेसम्म सिमराको अवस्था सामान्य छ । अवस्था सामान्य बन्दै गएकाले गए राति ८ बजेदेखि सिमरामा कफ्र्यु आदेश थप नगरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

काठमाडौँको खुला मञ्च सर्वसाधारणका खुला गर्ने तयारी (तस्वीरहरु)

काठमाडौं । काठमाडौँको खुलामञ्च अहिले पुनःजागरणको अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा हुँदै गएसँगै खुलामञ्च अब छिट्टै सर्वसाधारणका लागि सधैंका लागि खुला गर्ने तयारीमा छ । अहिले शौचालय निर्माण र सिसीटिभी क्यामेरा जडानको काम मात्र बाँकी छ, साथै केही सरसफाइसम्बन्धी अन्तिम काम भइरहेको छ ।

चौरको १४ हजार ६ सय वर्गमिटर क्षेत्रमा नेपाली प्राकृतिक दुबो रोपिएको छ । पहिलेकै उबडखाबड जमिन मिलाएर मलिलो माटो राखी दुबो रोपिएकाले अहिले खुलामञ्चको हरियाली निकै लोभलाग्दो देखिन्छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरेको खेलकुद पूर्वाधार मर्मत, सुधार तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत यो कार्य सम्पन्न भएको हो । महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधार विकासका लागि छुट्याइएको ६ करोड ९८ लाख ७० हजार रुपैयाँमध्ये करिब ९० लाख रुपैयाँ खुलामञ्चको चौरमा दुबो रोप्न खर्च गरिएको थियो ।

चौर वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ, जसका लागि शहरका अन्य स्थानहरूको स्तरोन्नति क्रममा निकालिएका हेक्सागोनल ब्लकहरू पुनःप्रयोग गरिएको हो । पैदल मार्गमा २१ वटा बिजुलीका पोल जडान गरिएको छ, जसमा न्युरोडबाट निकालिएका पोल पुनःप्रयोग गरिएको हो । यी पोलमा दुई आर्म छन्—मैदानतर्फ १०० वाटको बत्ती र पैदल मार्गतर्फ ३० वाटको बत्ती। दुवै बत्ती डे–नाइट सेन्सरयुक्त भएकाले रातमा आफै बल्छन् र दिनमा निभ्छन् । खुला मञ्चलाई सबैका लागि खुला र बहुउपयोगी स्थानका रूपमा विकास गरिएको छ । बिहान शारीरिक व्यायाम गर्ने, बालबालिकालाई स्वतन्त्र रूपमा खेल्ने, ज्येष्ठ नागरिकलाई हिँडडुल तथा आराम गर्ने, सहरी जीवन नियाल्ने र युवाहरूलाई खेल अभ्यास तथा मनोरञ्जन गर्ने ठाउँका रूपमा यसलाई तयार पारिएको हो । मर्निङ वाकका लागि पनि यो मार्ग विशेष रूपमा उपयुक्त बनाइएको छ ।

चौरको पश्चिमतर्फ मुख्यद्वार नजिकै गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ र बहुउपयोगी खुला स्थान बनाइएको छ । यस ठाउँमा भलिबल, ब्याडमिन्टन जस्ता खेल पनि खेल्न सकिने व्यवस्था छ । पूर्वाधार निर्माण र प्रविधिक परामर्शका लागि महानगरपालिकाले नेपाल सरकारको स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँग ०८१ वैशाख १० गते नीतिगत सहमति–पत्रमा हस्ताक्षर गरेको थियो । त्यसका आधारमा वैशाख २३ गते ग्रेडिङ र लेभलिङका लागि सम्झौता भयो र २४ गतेदेखि काम थालिएको थियो । काम पूरा भएपछि वर्षामा पानी नजम्ने र सतहको पानी जमिनभित्र पुनर्भरण हुने व्यवस्था मिलाइएको छ । चौरका ६ स्थानमा ४ फिट ब्यास र ४ फिट गहिराइ भएका वाटर रिचार्ज पिट बनाइएका छन् । त्यसपछि दैनिक ५० जनशक्ति परिचालन गरेर करिब तीन महिना ढुंगा टिप्ने तथा जमिन सफा गर्ने काम पनि गरिएको थियो ।

कुल २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रफलमा फैलिएको खुलामञ्च टुँडिखेलतर्फ २२० मिटर, रत्नपार्कतर्फ १९० मिटर, चौडाइमा प्राधिकरणतर्फ ११० मिटर र वीर अस्पतालतर्फ ११७ मिटर रहेको छ । काठमाडौँ टावर निर्माणसँगै केही समय खुलामञ्च सार्वजनिक यातायात र बसपार्कका रूपमा प्रयोग गरिएको थियो । त्यस्तै २०७२ को भूकम्पपछि क्षति भएका वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माणका क्रममा यो स्थान सामग्री ढुवानी, विद्यालय सञ्चालन र श्रमिक बासस्थानका रूपमा प्रयोग भएको थियो । अब भने यो ऐतिहासिक खुला स्थान आधुनिक, हरियालीयुक्त र सुरक्षित सार्वजनिक क्षेत्रको रूपमा पुनःस्थापित हुन तयार छ—शौचालय र सीसीटिभी जडान पूरा भएसँगै औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिनेछ ।
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

शान्ति सम्झौताको दुई दशक : पीडितलाई न्याय कहिले ?

काठमाडौं । विस्तृत शान्ति सम्झौताले नेपालमा दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको घोषणा गरेको आज दुई दशक पूरा भएको छ । २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको सम्झौताले देशलाई संविधानसभा, नयाँ संविधान र लडाकू समायोजन जस्ता महत्वपूर्ण चरणतर्फ डोर्‍यायो ।

तर शान्ति प्रक्रियाको सबैभन्दा संवेदनशील पक्ष—सत्य निरुपण, बेपत्ता छानबिन र संक्रमणकालीन न्याय—अहिलेसम्म अधुरै छ । सम्झौतामा तोकिएको ६० दिनभित्र बेपत्ता र मृतकहरूको नामावली सार्वजनिक गर्ने प्रतिवद्धता २० वर्षसम्म पनि व्यवहारमा आउन सकेको छैन ।

बेपत्ता परिवारको नसेकिने छटपटी
ललितपुर ठेचोका नन्दगोपाल माली घर बाहिर निस्किएको २१ वर्ष बितिसक्दा पनि फर्किएका छैनन् । सुरक्षाकर्मीले लगेको भनिएका उनी आजसम्म बेपत्ता छन् । उमेरले तीन वर्षकी स्वस्तिमा र आठ वर्षकी नगमा बुबाको प्रतिक्षामा युवावस्थासम्म आइपुगे । हजुरआमाको मृत्युपछि एक–अर्काकै सहारा बनेका उनीहरू अझै पनि राज्यले उनका बाबुको बारेमा सत्य बताइदिओस् भन्ने आशामा छन् । स्वस्तिमाले सोधिरहन्छिन्, ‘आमा, हजुरबुबा–हजुरआमा सबै बितिसक्नु भयो । अब बुबा त फर्कनु हुन्छ कि ?’

उनी जस्तै हजारौं परिवार आज पनि उत्तरविहीन छन्, जबकि बेपत्ता र मानवअधिकार उल्लंघनका घटनामा आयोगहरूमा परेका उजुरी ८० हजार नाघिसकेका छन् । जबरजस्ती करणी र यौन हिंसासम्बन्धी उजुरी मात्रै करिब ४ हजार पुगेका छन् ।

आयोगहरू : गठन धेरै, काम कम
२०७१ मा बनेका बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग करिब दुई दशकपछि पनि प्रभावकारी हुन सकेका छैनन् । दुई–दुई पटक आयोग फेरिए पनि उजुरी संकलनभन्दा अघि बढ्न नसक्ने अवस्था ज्यूँका त्यूँ छ ।

पीडितहरू आयोग गठनको शैलीमै शंका गर्छन्—राजनीतिक हस्तक्षेप, दलगत भागबण्डा र पीडितको सहभागिताविहीन संरचनाले न्याय सुनिश्चित हुनेमा उनीहरूको विश्वास कमजोर छ । आयोगका नयाँ पदाधिकारीहरू भने कार्यकाल सकिनुअघि नै प्रक्रियालाई टुंग्याउने दाबी गर्छन्, तर पीडितहरू निर्णायक काम सुरु नै नभएको गुनासो गर्छन् ।

५० अर्ब बढी खर्च, तर न्याय शून्य
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, क्षतिपूर्ति र सहायता वितरणमा सरकारले २० अर्ब बढी खर्चिसकेको छ । दुवै आयोगको सञ्चालनमै एक अर्ब २५ करोड खर्च भइसकेको छ । तर बलात्कार पीडित, यौनहिंसाबाट बचेका, घर–जग्गा जलेका वा तत्काल राहत नपाएका धेरै अझै ‘राज्यले हामीलाई छोएको छैन’ भन्छन् ।

राजनीतिक उदासीनता : सबैले जिम्मा छोडेको मुद्दा
शान्ति प्रक्रियालाई टुंग्याउन ढिलाइ हुनुको मूल कारण राजनीतिक इच्छाशक्तिको अभाव नै ठानिन्छ । माओवादीका नेताहरू भन्छन्—नेपाली कांग्रेस र एमालेले संक्रमणकालीन न्यायलाई आफ्नो स्वार्थअनुसार उपयोग गरे । कांग्रेस र एमालेका नेताहरू भन्छनु्—माओवादी नेतृत्वले जिम्मेवारीबोध गरेन, गम्भीर अपराधलाई सामान्यीकरण गर्न खोज्यो । अधिकारकर्मीहरू भन्छन्—नेताहरूले शान्ति प्रक्रियालाई आफ्ना राजनीतिक समीकरणको औजार बनाए ।
अन्तर्राष्ट्रिय समुदायले पनि पर्याप्त स्पष्टता र दवाब नदिन गुनासो छ । सारमा—मुद्दा सबैको हो तर जिम्मा कसैको होइन ।

के पूरा भयो, के बाँकी छ ?
शान्ति सम्झौताको तीन प्रमुख कार्यभारमध्ये
—संविधानसभा र संविधान जारी–पूरा
–लडाकू समायोजन र हतियार व्यवस्थापन–पूरा (बाल सैनिकको मुद्दा अपूरो)
–सत्य निरुपण, मेलमिलाप र बेपत्ता छानबिन–२० वर्षपछि पनि अपूरो
–सम्झौतामा ६० दिनभित्र बेपत्ताको विवरण सार्वजनिक गर्ने प्रावधान थियो ।
यही ६० दिन आज ७,३०० दिन नाघिसक्दा पनि सत्य बाहिर आएको छैन ।

कहाँ चुक्यौं ?
–आयोग गठनमा ८ वर्षको ढिलाइ
–ऐन संसोधनमा पुनः पुनः राजनीतिक बार्गेनिङ
–दोषीलाई उन्मुक्ति दिने मनसाय रहेको आशंका
–पीडितलाई केन्द्रमा राख्ने दृष्टिकोणको अभाव
–नेताहरूको सत्ता–केन्द्रित राजनीतिको दुष्चक्र
–अन्तर्राष्ट्रिय समुदायको अनिश्चित र कमजोर समर्थन
सत्य निरुपण आयोगका पूर्व अध्यक्ष डा. गणेश भट्ट भन्छन्, ‘राहत बाँडेर शान्ति प्रक्रिया टुंगिन्छ भन्ने गलत बुझाइ नै सबैभन्दा ठूलो समस्या हो ।’

अबको बाटो : समय थोरै, काम धेरै
सरकारले कात्तिकमा बेपत्ता तथा सत्य निरुपण कोष सञ्चालन नियमावली पारित गरेपछि केही काम अघि बढेको दाबी छ । चार वर्षे कार्यकालको सात महिना बितिसक्दा आयोगहरू उजुरी छानबिन, फाइल अद्यावधिक र फिल्ड अन्वेषणको तयारीमा छन् । तर जानकारहरू भन्छन्—कानूनी स्पष्टता, पर्याप्त स्रोत, राजनीतिक सहमति र पीडितको विश्वास बिना अब पनि प्रगति असम्भव जस्तै छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष भट्टको भनाइ छ, ‘जेनजी आन्दोलनपछि शान्ति प्रक्रियाको विषय ओझेल परेको छ । सरकारको कडा सार्वजनिक प्रतिबद्धता आवश्यक छ ।’

२० वर्षपछि पनि एउटै प्रश्न : संक्रमणकालीन न्याय कहिले ? 
२०६३ मा युद्ध रोकिएको घोषणा भए पनि द्वन्द्वका घाउ बोकेका हजारौँ परिवार अझै भन्छन्, ‘हामीलाई न्याय कहिले ?’

 

काठमाडौंमा आज एमालेको र्‍यालीसहित कार्यक्रम : ओली प्रमुख अतिथि

काठमाडौं । नेकपा (एमाले) ले आज र भोलि काठमाडौंमा दुई वृहत कार्यक्रमको आयोजना गर्दैछ । आज बिहान ११ बजे एमालेको नेसनल भोलिन्टियर फोर्सले कार्की ब्यांक्वेट, बबरमहलमा एक विशेष कार्यक्रम गर्दैछ ।

यसअघि, फोर्सका सदस्यहरू बबरमहलमा भेला भई माइतीघर हुँदै पुनः बबरमहल र त्यहाँबाट बानेश्वरसम्म र्‍याली गर्ने कार्यक्रम तय भएको छ । यस कार्यक्रमको प्रमुख अतिथि पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहने छन् । एमालेले यस कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ ।

यद्यपि, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार कार्यक्रमका लागि निवेदन प्राप्त भए पनि सोबारेको अनुमति अझै विचाराधीन अवस्थामै छ । प्रशासनको निर्णयले कार्यक्रमको स्वरूप र व्यवस्थापनमा केही फेरबदल आउन सक्ने सम्भावना छ । यसैगरी, यही शनिबार एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्ने भएको छ ।

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा प्रकाशन गरिने जानकारी गराएको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने छ ।’

यसअघि यस्ता लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएको थियो । तर जेनजी आन्दोलनमा उक्त प्रणाली ध्वस्त भएको थियो । फेसबुक पेजमा विवरणसहितको नाम समावेश भएको अवस्थामा आवेदनहरू सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ ।

बारा घटना: जेनजीसँग वार्ताका लागि खेलकुदमन्त्री सिमरातर्फ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता बाराको सिमरामा भएको तनाव मत्थर गर्न सिमरातर्फ लागेका छन् ।

मन्त्री गुप्ता बिहीबार साँझ सिमरा गएका उनको साथमा रहेका जेनजी अगुवा पुरुषोत्तम यादवले जानकारी दिए।  मन्त्री गुप्तासँग पुरुषोत्तमसहित हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र शिव यादव पनि साथमा छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको हो।

जेनजीले भने वार्ताका लागि कलैया जान नसक्ने र जितपुर सिमरा उपमहानगरपालिकामा वार्ता हुनुपर्ने अडान लिएका छन्।

प्रमुख जिल्ला अधिकारी मिश्रले भने अहिले कमान्ड पोस्ट छोडेर आउन नमिल्ने र सदरमुकाम कलैया नै आउनुपर्ने प्रस्ताव गरेका छन्।   प्रदर्शनकारी र प्रशासन दुवैपक्षसँग जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले वार्ताका लागि सहजीकरण गरिरहेको बताएका छन्।

बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो ।  नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेता बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए । आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए।

सोही कारण सिमरामा दुई दिनदेखि तनावग्रस्त छ। त्यहाँ कर्फ्यू आदेश जारी गरिएको छ।

जेनजी आन्दोलनका कारण बुधवार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएको थियो । बुधबार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज पठाएको छ ।

जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा जितपुर सिमरा उपमहानगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी पक्राउ परेका छन् । उनीहरूविरुद्ध ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

एमाले बैठकमा ईश्वर पोखरेलले भने- अध्यक्षमा मेरो दाबी रहन्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमा भावी अध्यक्षमा दाबी प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्न तयार रहेको जानकारी गराएका छन् ।

बिहीबार बसेको सचिवालय बैठकमा उनले केपी ओलाई अहिलेको कार्यकालपछि बिदा हुन आग्रह गर्दै आफू अध्यक्ष लड्ने जानकारी गराएका हुन्। पोखरेलले  आफू जुनसुकै हालतमा पनि नेतृत्वमा लड्ने बताउँदै ओलीलाई अभिभावकत्व भइदिन समेत आग्रह गरे।

ओलीले ११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गरे  । ओलीले नेतृत्व सर्वसम्मत चयन गरौँ भन्दै नत्र स्वस्थ प्रतिस्पर्धाका लागि तयार रहेको बताए ।

झलनाथ, माधव, भीम रावलहरूको उदाहरण दिँदै ओलीले विगतमा प्रतिस्पर्धाबाट हारेकाहरूले टुटफुट र पार्टी विभाजनसम्मको गतिविधि गरेको उदाहरण दिँदै एकढिक्का भएर जानुपर्ने अहिलेको अवस्थामा त्यस्तो नहोस् भन्दै सचेत गराएका छन् ।

“कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भने पनि स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा बैठकमा छलफल भएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

नेकपा एमालेको ११औं महाधिवेशन यही २७ गतेदेखि काठमाडौँमा हुँदैछ। तेस्रोपटक अध्यक्षमा दोहोरिन लागेका ओली कुनै पनि हालतमा नेतृत्व छोड्ने अवस्थामा छैनन्।

 

एमाले महाधिवेशनका निम्ति ११ उपसमिति गठन (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले ११ औं महाधिवेशनका लागि ११ उपसमिति बनाएको हो ।

यस्तो छ उपसमिति

प्रतिनिधि व्यवस्थापन समिति
संयोजक : काशीनाथ अधिकारी
सचिव : माधव ढुंगेल

जनपरिचालन समिति
संयोजक : प्रदीप ज्ञवाली
सचिव : राजन भट्टराई

आवास व्यवस्थापन समिति
संयोजक : छविलाल विश्वकर्मा
सचिव :लालबाबु पण्डित

खाद्य व्यवस्थापन समिति
संयोजक : लेखाराज भट्ट
सचिव : भीष्म अधिकारी

यातायात व्यवस्थापन समिति
संयोजक : गोकर्ण विष्ट
सचिव : रचना खड्का

अतिथि सत्कार समिति
संयोजक : रघुवीर महासेठ
सचिव : महेश बर्तौला

स्वयम्सेवक परिचालन समिति
संयोजक : भानुभक्त ढकाल
सचिव : विनोद पाण्डे

प्रचार समिति
संयोजक : पद्मा अर्याल
सचिव :राजेन्द्र गौतम

मञ्च व्यवस्थापन समिति
संयोजक : विनोद श्रेष्ठ
सचिव : लोकबहादुर भण्डारी

स्वास्थ्य समिति
संयोजक : कृष्ण गोपाल श्रेष्ठ
सचिव : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

आर्थिक समिति
संयोजक : विष्णु रिमाल
सचिव : विना श्रेष्ठ

 

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएका घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।

बिहीबार आयोगको कार्यालयमा बोलाएर अर्यालसँग बयान लिएको जाँचबुझ आयोगका प्रवक्तासमेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले बताए ।

मुख्यसचिव अर्यालसँगको सोधपुछ बिहीबार नै सकिएको आयोगले जनाएको छ ।

अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि आयोगले मुख्यसचिव अर्याललाई पदमै रहेका बेला बोलाएको हो । अर्याल यसैसाता आवकाश हुँदैछन् ।

एमालेमा फर्किएका नेताहरू महाधिवेशन प्रतिनिधि बन्ने

काठमाडौं । नेकपा एमालेले ‘घर फर्क अभियान’ अन्तरगत पार्टीमा आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘घर फर्क अभियानमा जोडिएका केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय भएको छ,’ ज्ञवालीले बैठकका निर्णयबारे जानकारी गराउँदै भने । नेकपा एसबाट रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्किएका थिए ।

एमालेको दशौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सुरुमा पोखरामा गर्ने भनिएको एमालेको महाधिवेशन पछि काठमाडौं गर्नेगरी सचिवालय बैठकले निर्णय लिएको थियो ।

 

नेकपा र जसपाबीच एकताका लागि १० बुँदे सहमति पत्रको मस्यौदा तयार

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकताका लागि सहमतिको १० बुँदे पत्रको मस्यौदा तयार भएको छ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालयमा दुवै पार्टीका वार्ता समितिबीच भएको बैठकमा सहमतिका लागि १० बुँदे मस्यौदा पत्र तयार पारिएको हो।

 यसअघि शनिबार र बुधबार बसेको वार्ता समितिको बैठकले दुई पार्टीबीचका सहमति र असहमतिका विषय पहिल्याएको थियो।बिहीबार वार्तामा सहभागी नेकपा नेता प्रकाश ज्वालाले १० बुँदे सहमति पत्रको मस्यौदा तयार भएको र भोलि अन्तिम रुप दिइने बताए। उनका अनुसार आजको बैठकमा आएका सुझावलाई समेटेर मस्यौदालाई भोलि अन्तिम रुप दिने तयारी छ। त्यसपछि वार्ता समितिसहित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र जसपा अध्यक्ष अशोक राई बसेर एकताकै अन्तिम टुंगो लगाउनेछन्। सम्भवतः भोलि नै उक्त सहमति पत्रमा हस्ताक्षर गरिने छ।

दुई पार्टीबीच नेपाली विशेषताको समाजवादलाई आगामी क्रान्तिको कार्यदिशा बनाउने सहमति भएको छ। त्यस्तै मागर्दशक सिद्धान्तका रुपमा माक्र्सवाद र लेनिनवादलाई मान्न जसपा तयार भएको छ।

त्यस्तै पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हुने कुरामा पनि दुवै पार्टी सहमत भएका छन्। साथै  तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न दर्जन कम्युनिस्ट घटकबीच नेपाली कम्युनिस्ट पार्टी बनाउन भएको १८ बुँदे सहमतिलाई अनुमोदन गरिने छ।

च्यासलमा ८ घण्टादेखि जारी एमाले बैठक सकियो

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको बैठक केहीबेर अघि सकिएको हो ।

बैठक सुरु भएको ८ घण्टा भयो । अहिले बैठक सकिएको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा ११ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल केन्द्रित रहेको बताइएको छ । त्यसबाहेक फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन तथा माघ ११ को राष्ट्रिय सभा निर्वाचन र मंसिर ६ गते प्रतिनिधि सभा पुनर्स्थापनाका लागि काठमाडौँमा गर्ने प्रदर्शनबारे समेत छलफल भएको बताइएको छ ।

एमालेले ११ औँ महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म काठमाडौँमा गर्दै छ ।

जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बसेको हो ।

 

एनपीएल : लुम्बिनीको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए ।

उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, डविड मलान ०, देव खनाल १४ र सोहिल तन्विर ५ रनमा आउट भए । अर्जुन साउद ८ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुल्बादिन नइबले दुईदुई विकेट लिए ।

 

सरकारको विरोधमा उत्रियो अनेरास्ववियु, काठमाडौंमा मसाल जुलुस

काठमाडौं । सरकारले षडयन्त्रपूर्वक आफ्ना नेताहरुलाई कार्यक्रममा सहभागी हुन नदिएको भन्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ । अनेरास्ववियुले आज (बिहीबार) साँझ नयाँबानेश्वरमा मसाल जुलुस निकालेको हो ।

आफ्नो माउपार्टी एमालेका नेतालाई पूर्व घोषित कार्यक्रममा सहभागी हुन नदिन विभिन्न षडयन्त्र गरेकाले विरोधमा मसाल जुलुस निकालेको अनेरास्ववियु अध्यक्ष दीपक धामीले जानकारी दिए । मधेसमा हुने कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितका नेताहरु बारा जान लाग्दा जेनजी युवाहरुले विमानस्थलमा नै प्रदर्शन गरेपछि दुई दिनयता सिमरा तनावपूर्ण छ ।

सरकार असंवैधानिक भएको बताउँदै अध्यक्ष धामीले संविधानले कल्पना गरेको दलीय व्यवस्था माथि नै प्रहार भएको दाबी गरेका छन् । हस्तक्षेपकारी नीति सरकारले तत्काल अन्त्य नगरे आन्दोलनका थप कार्यक्रम ल्याउने उनको चेतावनी छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटको हट्यो अवरोध, के-के भए सहमति ?

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको समस्या समाधनबारे ११ बुँदे सहमति भएको छ । बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन्।

सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्याण्डफिल्ड साइटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लगायतका विषय छन् । त्यस्तै, काठमाडौं महानगरपालिका बञ्चरेडाँडा क्षेत्रका दुई स्थानीय तहलाई दिँदै आएको ३–३ करोड रुपैयाँ अनुदान वृद्धि गरी ६–६ करोड पुर्‍याउने निर्णय गरिएको छ ।

आगामी आर्थिक वर्षदेखि उक्त अनुदानमा बेलकोटगढी नगरपालिकालाई पनि समावेश गर्न महानगरलाई सिफारिस गर्ने सहमति भएको छ । यसबाहेक तीनपिप्ले–कुमरी–गल्छी सडकलाई चालु आर्थिक वर्षमै बहुवर्षीय आयोजनाको रूपमा अघि बढाउन आवश्यक प्रक्रिया तुरुन्त थाल्ने सहमति पनि भएको छ ।

हेर्नुस् सहमति

सिमराको जेनजी प्रदर्शन स्थगित, भोलि वार्ता

बारा । सिमरामा उग्र बनेको जेनजी प्रदर्शन नियन्त्रणमा आएको छ । कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी छविरमण भट्टराईका अनुसार प्रशासन र जेनजीबीच शुक्रबार वार्ता हुनेछ । आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप समेत भएको थियो । झडपमा ६ जना प्रहरी र चार जना जेनजी समेत घाइते भएका छन् ।

प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात सुचारु भएको छ । यातायात सुचारु भएसँगै सिमराको अवस्था सामान्य बनेको छ । जिल्ला प्रशासन कार्यालय बाराले आज पनि १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि जारी गरेको कफ्र्यु आदेश भने जारी नै छ ।

 

ट्रम्प र मेयर–निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी अभियानका क्रममा कडा आलोचना गरेका न्युयोर्कका मेयर–निर्वाचित जोहरान ममदानीलाई आगामी शुक्रबार भेट्ने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत ममदानीलाई ‘कम्युनिस्ट’ भनेर दोहोर्‍याएको आरोप बीच ‘शुक्रबार, नोभेम्बर २१ मा ओभल अफिसमा बैठक हुनेछ’ भनी पुष्टि गरेका छन् ।

मेयर–निर्वाचित ममदानीका प्रवक्ता डोरा पेकेकले पनि विज्ञप्ति जारी गर्दै बैठक सुनिश्चित भएको जानकारी दिएका छन् । उनका अनुसार परम्परा अनुसार मेयर–निर्वाचितले वासिङ्टनमा राष्ट्रपतिसँग सार्वजनिक सुरक्षा, आर्थिक सुरक्षा तथा दुई हप्ताअघि न्युयोर्कका १० लाखभन्दा बढी नागरिकले चुनावमार्फत दिएको किफायती जीवनशैलीसम्बन्धी जनादेशबारे विस्तृत छलफल गर्ने तयारी गरेका छन् ।

ट्रम्प र ममदानी दुवै न्युयोर्कको क्वीन्स बरोमै हुर्किएको भए पनि उनीहरूको राजनीतिक र विचारधारात्मक समानता यत्तिमै सीमित देखिन्छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालका उपलब्धि उल्लेख गर्दा वाल स्ट्रिटका रेकर्ड तोड्ने लाभलाई मुख्य रूपमा प्रस्तुत गर्दै आएको छ । तर ममदानीको आर्थिक दृष्टिकोण भने त्यसभन्दा व्यापक छ, जसले म्यानहट्टनका बुलिश वित्तीय बजारभन्दा पर रहेका करिब ८० लाख न्युयोर्कवासीले भोगिरहेको किफायती जीवनयापनको चुनौतीलाई प्राथमिकता दिन्छ ।

सन् १९६९ पछि न्युयोर्कमा १० लाखभन्दा बढी मत प्राप्त गर्ने पहिलो मेयर उम्मेदवारका रूपमा उदाएका ममदानीले किफायती आवास, सहज बाल हेरचाह सेवा, निःशुल्क बस यात्रा तथा नगरद्वारा सञ्चालित किराना पसलहरूमा निःशुल्क पहुँचजस्ता सामाजिक सुविधा सम्बन्धी प्रतिज्ञा गर्दै आफ्नो अभियान सञ्चालन गरेका थिए । तर धेरै विश्लेषकहरूले यति आदर्शवादी र व्यापक एजेन्डालाई कार्यान्वयन गर्न उनले सामना गर्नु पर्ने चुनौतीहरूबारे शङ्का व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कठोर आप्रवासी–विरोधी अभिव्यक्तिहरूका बीच ममदानीको दक्षिण एसियाली नामको उपहास गरेका छन् । साथै अमेरिकाको सबैभन्दा ठूलो सहरले पहिलो पटक मुस्लिम मेयर चुनेपछि न्युयोर्कका लागि सङ्घीय कोष कटौतीसमेत गर्ने धम्की दिएका थिए । ‘मन्डामी, उनको नाम जे भए पनि’ भनी युगान्डामा जन्मिएका ममदानीको नाम जानाजानी गलत उच्चारण गर्दै ट्रम्पले भर्खरै टिप्पणी गरेका थिए ।

यता, मेयर–निर्वाचित ममदानीले पनि ट्रम्पप्रति कुनै सम्झौता नगर्ने शैलीमा प्रतिक्रिया दिएका छन् । यसै महिनाको सुरुआतमा भएको विजय र्‍यालीमा उनले राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष सम्बोधन गर्दै ‘डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईं हेर्दै हुनुहुन्छ । मसँग तपाईंका लागि चार शब्द छन्—आवाज बढाउनुहोस्१’ भनी उत्साहित समर्थकहरूबीच ठाडो जवाफ दिएका थिए।

यसैबीच ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले ममदानीको उक्त भाषण वास्तवमै हेरेको पुष्टि गरेकी छिन् ।

पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेल मुक्त भई स्वदेश फिर्ता

काबुल । गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

रिहा गरिएका मध्ये दुई महिना सम्म पाकिस्तानी जेलमा रहेका ५१७ जना अफगान कैदीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सिमा हुँदै घर फर्केको जनाइएको छ । इराकमा छ – देखि नौ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमाबाट स्वदेश फिर्ता गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

गत जुलाईमा सार्वजनिक परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने तिनीहरु मध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेका थिए ।

निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं बार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दे आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ । उक्त प्रतिवेदनलाई राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए ।

यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो ।

निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको थियो । त्यो पत्र बिहीबारको परिषद् बैठकमा छलफल भएको थियो । त्यसपछि परिचालनका लागि सिफारिस गर्ने निर्णय गरिएको हो । परिषद् बैठकमा बारामा उत्पन्न तनावबारे पनि छलफल भएको छ ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन जान लागेपछि बुधवारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य भएको छैन ।

एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधवार जेनजी युवाहरूले तोडफोड गरेका थिए । त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतिहरु र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा समेत छलफल भएको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।

बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित

ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले राष्ट्रिय निर्वाचनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले कामचलाउ सरकार प्रणाली पुनःस्थापित गर्ने महत्त्वपूर्ण निर्णय सुनाएको छ । तथापि, अदालतले यो व्यवस्था आगामी वर्षको सुरुमा हुन लागेको निर्वाचनमा भने लागू नहुने स्पष्ट गरेको छ ।

कामचलाउ प्रणाली सन् १९९६ मा प्रारम्भ भएको हो र बङ्गलादेशी नागरिक तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले १७ करोड जनसङ्ख्या भएको यस देशको संसदीय लोकतन्त्रमा निष्पक्ष निर्वाचनतर्फको सशक्त कदमका रूपमा यसलाई हृदयदेखि स्वीकार गरेका थिए ।

त्यसपछिका दुई निर्वाचनमा सेवानिवृत्त दुई मुख्य न्यायाधीशको नेतृत्वमा बनेका कामचलाउ सरकारले ९० दिनभित्र चुनाव सम्पन्न गराई विजयी दललाई सत्ता हस्तान्तरण गरेको थियो । सन् २००८ को निर्वाचन समेत केन्द्रीय बैंकका पूर्व गभर्नरको नेतृत्वमा निष्पक्ष रूपमा सम्पन्न भएको थियो ।

तर राजनीतिक असहमतिका कारण सन् २०११ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको कार्यकालमा अदालतको सुझावमा यही प्रणाली खारेज गरियो । विपक्षीहरूले भने उनले भविष्यका चुनावमा प्रभाव पार्ने उद्देश्यले यस्तो कदम चालेको आरोप लगाएका थिए ।

त्यसभन्दा पछिका सन् २०१४, सन् २०१८ र सन् २०२४ का चुनावहरू हसिनाको प्रशासनको निगरानीमा सम्पन्न भए, जसले उनलाई निरन्तर सत्तामा राख्यो तर ती चुनावहरूलाई विश्वसनीय मानिएन । मुख्य प्रतिद्वन्द्वी खालिदा जियाको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रवादी पार्टी ९बिएनपी० ले कामचलाउ सरकार नभएको भन्दै सन् २०१४ र सन् २०२४ को निर्वाचनसमेत बहिष्कार गरेको थियो, तर हसिनाले उनीहरूको मागलाई स्वीकार गर्नु भएको थिएन ।

यसैबीच, बिहीबार सात सदस्यीय सर्वोच्च अदालतका न्यायाधीशहरूले सन् २०११ को निर्णय पुनरावलोकन गर्ने क्रममा दर्ता भएका दुई अपिल र चार याचिकामाथि सर्वसम्मत अदालतको फैसला सुनाएका थिए । अदालतले कामचलाउ प्रणाली बङ्गलादेशले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाएपछि हुने १४औँ राष्ट्रिय चुनावका लागि पुनःस्थापित गरिने उल्लेख गरेको छ । तर हाल नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले व्यवस्थापन गर्ने १३औँ चुनावमा भने यो लागू नहुने स्पष्ट गरिएको छ ।

निर्णयपछि महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले खुशी व्यक्त गर्दै भने, “कामचलाउ सरकार प्रणालीलाई बङ्गलादेशको लोकतन्त्रको अभिन्न अङ्गका रूपमा अदालतले मान्यता दिएको छ । यो विवरण अदालतको विस्तृत फैसला सार्वजनिक भएपछि स्पष्ट हुनेछ । हामी विश्वस्त छौँ कि अब बङ्गलादेशले साँचो लोकतान्त्रिक मार्गमा आफ्नो नयाँ यात्रा सुरु गर्नेछ ।”

उता, खालिदा जियाको पार्टीले पनि उक्त निर्णयलाई स्वागत गरेको छ । पार्टीका वरिष्ठ नेता अमिर खसरु महमुद चौधरीका अनुसार कामचालउ सरकार प्रणाली पुनःस्थापना गर्नु बङ्गलादेशको राजनीतिक भविष्यका लागि नयाँ क्षितिजको सुरुआत हुनेछ ।

सन् २०२४ को अगस्ट ५ मा १५ वर्ष लामो शासन अन्त्य गर्ने जनविद्रोहतत्पश्चात शेख हसिना अपदस्थ भएको तीन दिनमै मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख बसेका थिए । हसिना हाल भारतमा निर्वासनमा हुनुहुन्छ र मानवता विरुद्धको अपराधमा दोषी ठहरिएपछि उनलाई सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ ।

विश्लेषकहरूका अनुसार युनुसको नेतृत्वमा देश संवेदनशील मोडमा रहेको अवस्थामा आगामी निर्वाचनअघि बङ्गलादेशले जटिल र चुनौतीपूर्ण परिस्थिति सामना गर्नुपर्ने देखिन्छ ।

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । सङ्गठनका उच्चाधिकारीहरूले यस अभियानले गाजाको गम्भीर रूपमा कमजोर बनेको स्वास्थ्य प्रणालीलाई राहत पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

डब्लुएचओ र यसका साझेदार संस्थाहरूले नोभेम्बर ९ देखि सुरु गरिएको खोप अभियानको प्रारम्भिक चरणमा पहिलो आठ दिनभित्र तीन वर्षमुनिका १० हजारभन्दा बढी बालबालिकालाई खोप दिन सफल भएको जानकारी दिए । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार अभियानको पहिलो चरण शनिबारसम्म विस्तार गरिएको छ र यसमार्फत बालबालिकालाई दादुरा, गलफुलो, रुबेला, डिप्थेरिया, टिटानस, लहरे खोकी, हेपाटाइटिस बी, क्षयरोग, पोलियो, रोटाभाइरस तथा निमोनियाजस्ता गम्भीर रोगहरूबाट जोगाउने लक्ष्य राखिएको छ ।

अभियानको दोस्रो र तेस्रो चरण क्रमशः डिसेम्बर र जनवरी महिनामा सञ्चालन हुने तय गरिएको छ । यी अभियानलाई युनिसेफ, संयुक्त राष्ट्र शरणार्थी सहायता संस्था (युएनआरडब्लुए) तथा हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अघि बढाइनेछ ।

महानिर्देशक गेब्रेयससले युद्धविरामले निरन्तरता पाइरहेको देखेर आफू प्रोत्साहित भएको बताउँदै यसले डब्लुएचओ तथा साझेदारहरूलाई गाजामा आवश्यक स्वास्थ्य सेवा विस्तार गर्न तथा ध्वस्त भइसकेको स्वास्थ्य पूर्वाधारको पुनःउपकरण र पुनर्निर्माणमा सहयोग पुर्‍याउन सहज भएको उल्लेख गरेका छन् ।

यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित योजनालाई समर्थन जनाउँदै मतदान गरेको थियो । सो योजनाले इजरायल र हमासबीच गत अक्टोबर १० मा लागू भएको युद्धविराम कायम राख्न सघाएको बताइन्छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गराइएको रक्तपातपूर्ण आक्रमणपछि सुरु भएको दुई वर्षभन्दा लामो शत्रुताले गाजालाई अत्यन्त क्षतिग्रस्त बनाएको छ । उक्त आक्रमणमा एएफपीद्वारा सङ्कलित आधिकारिक तथ्याङ्कअनुसार एक हजार २२१ जना इजरायली नागरिकको मृत्यु भएको थियो, जसमा अधिकांश सामान्य नागरिक थिए ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणको प्रतिक्रियामा हालसम्म ६९ हजार ५०० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् । मन्त्रालयले मृतकमध्ये कति लडाकू थिए भन्ने खुलाएको छैन, तर आधाभन्दा बढी मृत्यु हुनेहरू महिला र बालबालिका रहेको सङ्केत गरेको छ । संयुक्त राष्ट्रसङ्घले यी तथ्याङ्कलाई भरपर्दो मानिएको जनाएको छ ।

कीर्तिपुरमा क्रिकेटप्रेमी (तस्बिरहरू)

काठमाडौं।   नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गरिरहेका छन्  ।

चितवनले तीन महत्त्वपूर्ण विकेट लिएको छ । खेल ७ ओभर तीन बलमा चितवनले तेस्रो विकेट गुमाएको छ  ।

एनपीएल अन्तर्गत बिहीबार लुम्बिनी र चितवनको खेल हेर्न धेरै दर्शकहरू पुगेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

फ्रान्सेली वैज्ञानिकद्वारा क्यान्सर उपचारमा एमआरएनएको सम्भाव्यता परीक्षण

अर्लियन्स (फ्रान्स) । फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ ९एमआरएनए० का क्षमताहरू परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन् । कोभिड–१९ खोपमार्फत विश्वभर चर्चित बनेको एमआरएनए प्रविधि अहिले क्यान्सरविरुद्धको नयाँ आशाका रूपमा उदाउँदै छ ।

एमआरएनए अणुहरूले शरीरका प्रत्येक कोषमा डिएनएबाट आनुवंशिक सन्देश बोकेर विशिष्ट प्रोटिन उत्पादन गराउँछन् । “क्यान्सरको हकमा, यही सन्देशले बिरामीको शरीरलाई ट्युमरविरुद्ध प्रभावकारी रूपमा लड्ने क्षमता दिन सक्छ”, फ्रान्सेली अनुसन्धान संस्थान आइएनएसइआरएम अन्तर्गतको एआरटी प्रयोगशालाका परियोजना प्रबन्धक दिमित्री सिम्जाकले भने ।

एमआरएनए सन् १९६० को दशकमै खोजिएको भए पनि कोभिड महामारीका बेला यस प्रविधिले नयाँ पुस्ताका खोपहरू अत्यन्त छिटो विकास गर्न मद्दत गरेपछि विश्वव्यापी रूपमा चर्चित बन्यो । यस महत्त्वपूर्ण उपलब्धिका कारण सन् २०२३ मा चिकित्साशास्त्रमा नोबेल पुरस्कार समेत प्रदान गरिएको थियो । अहिले एमआरएनए सम्बन्धी अनुसन्धानको ठूलो हिस्सा क्यान्सरविरुद्ध खोप विकासमा केन्द्रित छ ।

“तर यो प्रविधिसँग धेरै अन्य सम्भावनाहरू पनि छन्”, एआरटी प्रयोगशालाका प्रमुख चान्टल पिचोन भन्छन्, “प्रतिरक्षा प्रणाली सुदृढ पार्न, क्षतिग्रस्त कोषहरूको पूर्ति गर्न, आनुवंशिक तथा दुर्लभ रोगहरू लक्ष्य गर्न वा एलर्जी नियन्त्रणमा पनि यसको उपयोग हुन सक्छ ।”

पिचोनका अनुसार विश्वका अग्रणी फार्मास्युटिकल कम्पनीदेखि स्टार्टअपसम्मका संस्थाहरूले हाल २०० भन्दा बढी एमआरएनए क्लिनिकल परीक्षण सञ्चालन गरिरहेका छन्, जसको ठूलो हिस्सा अमेरिका, चीन र जापानमा केन्द्रित छ । तथापि, फ्रान्ससँग पनि एमआरएनए प्रविधिमा कार्यरत उत्कृष्ट आधारभूत अनुसन्धान टोलीहरू रहेको उनी बताँउछन्।

एआरटी प्रयोगशालामा वैज्ञानिकहरूले विभिन्न प्रकारका एमआरएनए तयार गरेर तिनीहरूको विषाक्तता र प्रभावकारिताको जाँच गरिरहेका छन् । प्रायः प्रयोगशालामा उत्पादन गरिने आरएनए परीक्षण ट्युबमै निर्माण हुन्छ, जुन महँगो प्रक्रिया हो र धेरैजसो अमेरिकी कम्पनीहरूको पेटेन्टमुनि पर्छ । यसै कारण प्रयोगशालाको अर्को टोलीले खमीर प्रयोग गरी आरएनए उत्पादन गर्ने लागत–कम विधि विकास गरिरहेको छ, जसले खर्च १० देखि ५० गुणासम्म घटाउन सक्ने अपेक्षा गरिएको छ । तर यस्तो आरएनए औषधि उद्योगको उच्च मापदण्ड पूरा गर्न पर्याप्त शुद्ध र सुरक्षित हुन आवश्यक छ ।

उता, अर्को विशेषज्ञ टोलीले अग्नाशय (प्यान्क्रियास)क्यान्सरको उपचारमा नयाँ विधि खोजिरहेको छ—जसको निदान भएपछि बाँच्ने दर ऐतिहासिक रूपमा अत्यन्त कम रहँदै आएको छ । “सन् २००० मा पाँच प्रतिशत रहेको यो दर आज १० प्रतिशत पुगेको छ”, एआरटीका ग्यास्ट्रोएन्टेरोलोजिस्ट बिराने बेये भने । उनका अनुसार दुई दशकको यो सानो प्रगतिले परम्परागत उपचार—जस्तै केमोथेरापी वा इम्युनोथेरापी—ले राम्रोसँग काम नगरेको देखाउँछ ।

फ्रान्सेली वैज्ञानिकहरूले अहिले एमआरएनए खोपलाई अल्ट्रासाउन्ड प्रविधिसँग संयोजन गर्दै नवीन उपचारप्रति आशा जगाइरहेका छन् । “अत्यन्त आक्रामक क्यान्सरसँग जुध्न प्रतिरक्षा कोषहरूलाई सिकाउन एमआरएनए प्रयोग गर्ने हाम्रो धारणा हो”, बेयेले स्पष्ट पारेका छन् ।

यस विधिमा पहिलो चरणका रूपमा शक्तिशाली अल्ट्रासाउन्ड मार्फत तन्तुभित्र कम्पन पैदा गरिन्छ, जसले ग्यासका साना फोका बनाउँछ । “जब ती फोका फुट्छन्, तिनीहरूले अग्नाशय वरिपरि रहेको कडा अवरोध—एक प्रकारको ‘बङ्कर’—लाई भत्काइदिन्छन्, जसले एमआरएनए खोपलाई ट्युमरसम्म सहजै प्रवेश गर्न मद्दत गर्छ”, बेये भन्छन् ।

हालसम्मको प्रारम्भिक परीक्षणले अल्ट्रासाउन्ड प्रविधि सुरक्षित रूपमा अग्नाशयमा प्रयोग गर्न सकिने र यसले मौजुदा उपचारको प्रभावकारिता सुधार गर्न सक्ने सङ्केत दिएको वैज्ञानिकहरूको दाबी छ । अबको चरणमा उनीहरूले यस संयोजनमार्फत अग्नाशय क्यान्सर बिरामीको जीवनदर बढाउन सकिने आशा राखेका छन् ।

यसैबीच, बिहीबार विश्व अग्नाशय क्यान्सर दिवस पनि परेको छ, जसको उद्देश्य यो अत्यन्त घातक क्यान्सरबारे विश्वव्यापी जागरण बढाउनु रहेको छ ।

बोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्स सामू १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनायो ।

चितवनको सुरुआत भने सुखद रहेन । कूल ४३ रन जोड्दा तीन विकेट गुमाएको चितवनका लागि कप्तान कुशल मल्ल र रवी बोपराले ४४ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे । १५ दशमलव २ ओभरमा टिमको स्कोर ८७ हुँदा कप्तान मल्ल व्यक्तिगत २१ रनमा आउट भए । रवी वोपरा भने अर्धशतकी पारी खेले । उनी ६६ रनमा आउट भए ।

यस्तै देव खनालले १४, दीपक बोहराले १०, सैफ जैब १५, अर्जुन साउँदले अविजित १५ र शाहिल तनवीरले पाँच रन बनाए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले समान दुई/दुई विकेट लिए ।

प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनी सुखद् सुरुआतको खोजीमा छ । चितवन भने लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ ।