`

जनार्दनको प्रस्ताव : एकीकृत समाजवादीसँगको हतारको एकता रोकौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकता तत्कालका लागि रोक्न माग गरेका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले एकता प्रक्रियालाई स्थगन गरी पार्टीको पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशातर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन् ।

शर्माले हतारमा गरिने एकताले देशको राजनीतिक संकट समाधान नगर्ने दाबी गर्दै यस्तो कदमले कम्युनिष्ट आन्दोलनको विघठन दोहो¥याउने चेतावनी दिएका छन् । उनका अनुसार, बिना पर्याप्त गृहकार्य र वैचारिक स्पष्टता गरिएको एकता केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्तिमा सीमित हुनेछ र दीर्घकालीन दृष्टिले हानिकारक परिणाम ल्याउनेछ ।

उनले शहीद, बेपत्ता र घाइते योद्धाहरूको सपना र त्यागलाई बेवास्ता गर्दै गरिएको एकता क्रान्तिकारी धार कमजोर पार्ने र दक्षिणपन्थी अवसरवादलाई बल पु¥याउने ठहर गरेका छन् । यसअघि बैठकमा पार्टी अध्यक्ष प्रचण्डले भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको सैद्धान्तिक तथा नीतिगत विषय टुंगिएको जानकारी दिएका थिए ।

उनका अनुसार, नेतृत्व तहमा संगठनात्मक विषयहरू पनि करिब–करिब अन्तिम चरणमा पुगेका छन् । तर कसरी दुवै पार्टीलाई एकताबद्ध गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको बताइएको छ । बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मात्रिका यादवलगायत नेताहरू उपस्थित थिए । तीमध्ये जनार्दन शर्माले हतारमा एकता गर्न नहुने र गम्भीर तयारीपछि मात्र अघि बढ्नुपर्ने मत प्रस्तुत गरेका हुन् ।

संविधानले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न उठाएको छः भीम रावल

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिन्ह खडा भएको प्रतिक्रिया दिए । नेपालको संविधानअनुसार अघि बढ्ने हो भने सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारमार्फत प्रतिनिधि सभा विघटन गराउने अधिकारी नभएकाले वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारको आधिकारिता र वैधतामाथि प्रश्न उठ्ने अवस्था रहेको रावलको भनाई थियो ।

नेता रावलले यही संविधानअनुसार वर्तमान सरकारले निर्वाचन गराए पनि मान्य नहुने जिकिर समेत गरे । उनले भने,‘सरकारले हामी त चुनाव मात्रै गर्ने हो, संविधान मान्छौँ भन्ने हो भने त गम्भिर प्रश्न उठ्छ । यदि यो संविधानलाई जस्ताको तस्तै मान्छौं, केही पनि गर्दैनौ भन्ने हो भने प्रधानमन्त्रीको आधिकारिता र बैधतामाथि प्रश्न उठछ । विद्रोहले मात्रै संविधान विपरित प्रधानमन्त्री हुन पाईन्छ । यदि विद्रोह होइन, संविधानको घेराभित्रबाटै अघि बढ्छौँ भन्यो भने नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई राजनीतिक नियुक्ति मानव अधिकार आयोग बाहेक कहीँ पनि जाने अधिकार छैन । राष्ट्रपतिलाई प्रतिनिधि सभाको विघटन यस्तो अन्तरिम सरकारबाट गराउने अधिकार छैन । अनि सरकार अवैध हुँदैन रु होइन हामी विद्रोहबाट आएका हौं भने त्यहीअनुसार काम किन हुँदैन भनेर आवाज उठाउनु होला ।’

नेता रावलले मुलुकमा परिवर्तनको आभास दिलाउने हो भने संविधानमा रहेका कयौं विषयहरु संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता समेत औँल्याए ।

पोखरामा नेकपा एमालेले निकाल्यो मोटरसाइकल र्‍याली

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली निकालेको छ । पोखरा सभागृहबाट सुरु भएको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिफ्लेढुंगा, न्यूरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
एमालेले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताविरुद्ध मोटरसाइकल र्‍याली निकाल्ने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

र्‍याली मा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगत विश्वकर्मा, पोलिटब्युरो सदस्य महेश बस्नेत, राजीव पहारीसहितका नेता सहभागी थिए ।

पार्टी एकताबारे निर्णय लिन पेरिसडाँडामा माओवादी सचिवालय बैठक

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

खनाल अब नेकपा एसमा ‘संरक्षक’ मात्र, पार्टी भुसालले हाँक्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असहमति जनाएका नेताहरु पार्टी पुनर्गठनको बहसमा जुटेका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्म निरौला अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताएका छन् ।

अध्यक्ष माधव नेपाल पक्ष माओवादी केन्द्रसँग एकतामा जाने भएपछि असहमति जनाउँदै बसेका सम्मानित नेता झलनाथ खनाल पक्ष पार्टी पुनर्गठनको बहसमा जुटेको हो । अध्यक्ष नेपाल नै माओवादी केन्द्रसँग एकता गर्ने गरी छुट्टिएपछि अहिले नेकपा एसको अबको नयाँ नेतृत्वका विषयमा पनि छलफल सुरु भएको छ । माधव नेपालपछि सम्मानित नेता झलनाथ खनाल भए पनि अब पार्टी पुनर्गठनका बेला उनी संरक्षकको भूमिकामा रहनु पर्ने पनि चर्चा सुरु भएको छ ।

माओवादीसँग एकता गर्ने निर्णयपछि अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एसका पोलिटव्यूरो सदस्य धर्म निरौलाले अब नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने बताए । नेता खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी यही पार्टीलाई पुनर्गठन गरेर जान्छौं । सबै कम्युनिष्ट पार्टी पुनर्गठनको अभियान चलाउँछौं र मिल्दै जान्छौं । अहिले हामी माधवजीहरूसँग अलग भएका छौं । अब एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर हाम्रो दृष्टिकोण सार्वजनिक गर्छौ ।’ उनले अध्यक्ष माधव नेपाललाई भ्रष्टाचारको मुद्दा लाग्दा इच्छाएको व्यक्तिलाई कार्यवाहकको जिम्मेवारी दिन आफूहरूले भन्दा समेत नमानेको उनले बताएका छन्।

राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : प्रचण्ड

 काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभा सम्बोधन गर्दै उनले अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताए ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए ।

समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले नेपालको वर्तमान परिस्थितिलाई “समाजवादी क्रान्तिको प्रारम्भिक संकेत”का रूपमा व्याख्या गरे, र भने “२३ र २४ का घटनाक्रमले देखाएको छ—क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।”

सम्बोधनको प्रारम्भमा प्रचण्डले शहीद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै भने,“हरेक नेतृत्वले आश्वासन दिन्छ, तर परिणाम ढिलो हुँदा शहीद परिवारमा आक्रोश आउनु स्वाभाविक हो। म त्यो आवेगलाई जिम्मेवारीको बोधका रूपमा लिन्छु।”

उनले आफूले प्रधानमन्त्री हुँदा वा विपक्षमा हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न निरन्तर प्रयास गरिएको उल्लेख गरे।“हाम्रो निरन्तरको प्रयासमा शहीद घोषणा, विधेयक निर्माण र आयोग गठन भएका छन्। तर ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन्,” उनले भने।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनको क्रममा माओवादीले राखेका विचार र सन्दर्भ स्मरण गर्दै भने,“हामीले त्यतिबेलै भनेका थियौं—नेपाल गणतन्त्रमा जानेछ, तर त्यो जनताको गणतन्त्र हुनेछ वा प्रतिक्रियावादीहरूको भन्ने निर्णय पछि हुने टक्करबाट मात्र हुनेछ।”उनका अनुसार अहिले देश त्यही ऐतिहासिक मोडमा पुनः पुगेको छ।“हामी फेरि त्यस्तै टकरावको स्थितिमा छौं—क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन्,” उने भने ।

प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीको रूपमा चित्रण गरे।“हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौं। अब प्रश्न छ—समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो,” उनले भने।

उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका लागि एउटै मोर्चामा उभिन आह्वान समेत गरे।गणतन्त्र ल्याउने शक्तिहरू क्रान्तिकारी मात्रै नभएर पुजीवादी शक्तिहरुको समेत साथ र सहयोगबाट सम्भव भएको बताए । इतिहासको समिक्षा गदै उनले भने,“संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले सामन्ती निरंकुश तन्त्रविरुद्ध विभिन्न शक्तिसँग सम्झौता गरेका थियौं। ती शक्तिहरू सबै क्रान्तिकारी थिएनन्। कतिपय दलाल र पुँजीवादी शक्तिहरूसँग पनि अस्थायी सम्झौता भएको थियो। त्यो गल्ती होइन, त्यस समयको वर्ग संघर्षको आवश्यक परिणाम थियो।”

तर, उनले जोड दिए—त्यही सम्झौताबाट आएका गणतन्त्रपछिका नेतृत्वहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढेको बताए। प्रचण्डले हालका आन्दोलनहरूमा सहभागी युवा पुस्ताको प्रशंसा गरे र भने,“भ्रष्टाचारविरुद्ध सडकमा निस्केका युवाहरूले राजनीतिबाट टाढा भनिएका पुस्तालाई पुनः राजनीतिक रूपमा सचेत बनाएका छन्। उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारविरोधी अभियान र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाएका छन्। यी युवाहरू नै क्रान्तिकारीका उत्तराधिकारी हुन्।”

एकता र समाजवादी क्रान्तिको तयारीकै माध्यमबाट संकट पार गर्न सकिने उनको भनाई थियो ।प्रचण्डले सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकताको आवश्यकता औंल्याउँदै भने,“अब प्रतिक्रान्तिको भयानक खतरा देखिँदै छ। त्यसलाई परास्त गर्न जनताको तागत र एकता अपरिहार्य छ। क्रान्ति कहिल्यै सहज हुँदैन—प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्नु नै यसको नियम हो।”

उनले शहीद प्रतिष्ठान नेपाल लाई शहीद, बेपत्ता र घाइते योद्धाहरूका परिवारहरूलाई अझ व्यापक रूपमा संगठित गर्न र शान्ति प्रक्रियाका बाँकी कामहरूको खोजीमा सक्रिय हुन निर्देशन समेत दिए।संयोजक प्रचण्डले भने,“म विश्वास गर्छु—यो साधारण सभाले फेरि जनताको तागतलाई केन्द्रित गर्नेछ, सबै कम्युनिस्ट र देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नेछ। म संरक्षकको हैसियतले यो अभियानमा सहयोग गर्नेछु।”

 

कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

काठमाडौँ । पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमती जुटाउन बसेको नेपाली काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ ।

निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमती जुट्न नसकेको हो । समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले बताए । उनले कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरुको मतान्तर सहमतीको नजिक पुगेको पनि आफूले अनुभुति गरेको बताए ।

प्रवक्ता महतले भने,‘पदाधिकारीहरुको बैठक बस्यो । र बैठक टुंगियो । जुन हामीले केन्द्रिय कार्य समितिमा छलफल चलाईराखेका छौं । एउटा सर्वसम्मत निर्णयमा कसरी पुग्ने भन्नेमा हाम्रो सम्पूर्ण छलफल केन्द्रित थियो । धेरै नजिक आएको अनुभव मैले गरेको छु । र, एउटा सहमतीबाटै केन्द्रिय समितिले टुंग्याउँछ । र एउटा समान दुुष्टिकोण बन्छ । र त्यही अनुसार हामी निष्कर्षमा पुग्छौँ भन्ने मलाई लागेको छ । १५ औ महाधिवेशन सम्पन्न गर्ने विषयमा जुन आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचन पछि गर्दा राम्रो हुन्छ रु भन्ने विषयमा नै मतान्तर हो । यसमा धेरै हिसावले हामी नजिक आएको महशुस मैले गरेको छु । र, एउटा समान निष्कर्षमा हामी पुग्छौ भन्ने मलाइ लागेको छ ।’

नेपाली काँग्रेसको संस्थापन पक्षले निर्वाचन पछि आगामी वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान राख्दै आएका छन भने महामन्त्री द्धय गगन थापा, विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचन अघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेपछि चालु केन्द्रिय समितिको बैठक समेत भोलीसम्मका लागि स्थगित गरिएको छ ।

दर्शकसँगै परान हेरेपछि पूजा चन्द भन्छिन्ः दर्शकको प्रतिक्रिया राम्रो पाएँ

काठमाडौँ । नेपाली चलचित्र ‘परान’ले प्रतिकुल मौसमका बाबजुद पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको अभिनेत्री पूजा चन्दले बताईन् ।

नेपाली चलचित्र ‘परान’ प्रदर्शनमा आएको दोस्रो दिन दर्शकको उत्साह कायम रहेको छ । शुक्रवारदेखि देशभरका विभिन्न सिनेमा हलहरूमा प्रदर्शनमा आएको यस चलचित्रले मौसम प्रतिकुल भएपनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसै बिच चलचित्रकी अभिनेत्री पूजा चन्दले मौसमले पूर्ण साथ नदिए पनि दर्शकको प्रेमप्रति खुशी व्यक्त गरिन् । मौसम सुधार भएपछि अझ धेरै दर्शक हलमा आउनेमा आफू विश्वस्त उनले बताईन् ।

उनकाअनुसार चलचित्रको पहिलो दुई दिनमै विभिन्न स्थानबाट राम्रो समीक्षात्मक प्रतिक्रिया आएको छ । उनेले भनिन्, ‘डेफिनेट्लि हामीलाई वेदरले चाहीँ एकदम साथ दिइरहेको छैन । होपफुल्लि आजदेखि बेटर हुन्छ होला, अनि दर्शकहरु हलमा अझ धेरै झुम्मिने क्रम बढ्छ होला, किनभने दर्शकहरु जति पनि आउनु भएको छ, आएर पनि उहाँहरुले जुन प्रतिक्रिया दिनुभएको छ, जति पनि अहिले सोसल मिडियामा कभरेज भएको छ, पोष्टहरु बनाई राख्नुभएको छ त्यसले पनि धेरै इफेक्ट पार्छ । सबै ठाउँबाट पोजेटिभ रेसपोन्सहरु आई राखेको छ । त्यसले गर्दा चाहीँ आइम फिलिङ भेरि ह्याप्पि ।’

दीपकराज आचार्य (काकु) बाट निदेर्शित उक्त चलचित्रमा अभिनेता निर शाहसहित अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय रहेको छ ।

खनाल भन्छन्–ओलीले ढोका राम्ररी खोलेर बस्ने ठाउँ राम्रो बनाए, फर्किन आपत्ति छैन

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क’ भन्ने आह्वान गरेर मात्र नपुग्ने बताएका छन् ।

ओलीको ‘घर फर्क’ भन्ने आह्वानबारे प्रत्यक्ष प्रतिक्रिया दिँदै उनले भने, ‘घर फर्क भनेर मात्र पुग्दैन, ढोका राम्रोसँग खोल्नु पर्छ, बस्ने ठाउँ राम्रो बनाउनु भयो भने फर्किन के आपत्ति छ र ?’

माओवादी केन्द्रसँग एकता गर्ने पार्टी निर्णयपछि खनाल निकट नेताहरूले सुकेधारामा आयोजना गरेको भेलामा सहभागी हुँदै उनले यस्तो टिप्पणी गरेका हुन् । खनालले आफूहरू फरक भएर गए पनि लक्ष्य एउटै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध रूपमा अघि बढाउने रहेको बताए ।

उनले पार्टी एकताका नाममा व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित राजनीति अघि बढेपछि आफूहरूले नयाँ बाटो समात्न बाध्य भएको बताए । उनले भने, ‘हामी अलग भएका हौं, तर अलग भएर पनि सिङ्गै हुनका लागि । आन्दोलनलाई अझ बलियो बनाउन छलफल र समन्वय जारी रहनेछ ।’

यसैबीच नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र स्पष्ट विभाजन देखिएको छ । सुकेधारामा भइरहेको खनाल–घनश्याम भुसाल पक्षको भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत सहभागी छन् ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बहुमतले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि खनाल पक्षले नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने घोषणा गरेको हो । आजको भेला नयाँ पार्टी गठन र आगामी रणनीतिसम्बन्धी निर्णय गर्ने तयारीमा छ ।

काँग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताएका छन् ।

पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री शर्माले पार्टी भित्र फरक मत विगत, विगत र भविष्यमा पनि रहने तर्क गर्दै त्यसैको आधारमा फुट आउँछ भनेर भन्न नमिल्ने बताए।

उनले महाधिवेशन निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवादको टुंगो लगाउन महासमिति सदस्यहरुको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रस्ताव समेत गरे । महाधिवेशन प्रतिनिधि वा केन्द्रिय समितिको सुझावलाई नमान्ने हो भने महासमितीको सुझावको आधारमा महाधिवेशनको मितिबारे टुंगो लगाउन उपयुक्त हुने उनको भनाई थियो ।

महामन्त्री शर्माले भने,‘जति गहन छलफल भएर निष्कर्षमा पुगिन्छ नि । जस्तो मोही पार्न पनि के हुन्छ भने हल्का फिटदा त हल्का पिउने मोही हुन्छ । तर, राम्रोसँग फिटेपछि घिउ पनि राम्रोसँग निस्कन्छ । नेपाली काँग्रेस एउटा परिपक्व, पाको, जिम्मेवार दल हो । त्यस हिसावले खोज्ने हो भने सबभन्दा पहिले भदौ २३ र २४ को घटनापछि सबै भन्दा पहिले २५ गते बक्तव्य कसेको थियो, काँग्रेसको नै थियो । त्यस लगत्तै सबैभन्दा पहिले जुम बैठक कसेको भएको थियो रु काँग्रेसकै भएको थियो । सबभन्दा पहिलो प्रतिनिधिसभा विघटन संविधान सम्मत छैन भनेर जुम बैठकको निर्णय कसले सार्वजनिक गरेको थियो रु काँग्रेसले गरेको थियो । सबैभन्दा पहिले भौतिक रुपमा असोज ३ गते बैठक कसले गरेको थियो रु केन्द्रिय कार्यालयमा खरानी पन्छाउँदै काँग्रेसले नै गरेको थियो ।

अहिले हामीले समय लगाएर गर्नुको पछिल्तिर पनि कारणहरु छन । सबैलाई एकतावद्ध गर्नु छ । फरक फरक विचारहरु छन । सबैलाई एक ठाउँमा राख्नु छ । मन्थन गर्नुछ । त्यसले गर्दा समय लागेको कुरा भन्दा पनि समयोचित निर्णय गर्ने कुराका लागि समय लगाएका हौ । काँग्रेस फुटछ भनेर कसैले कल्पना नगरे हुन्छ । नेपाली काँग्रेस भित्र फरक फरक मतहरु विगतमा पनि थिए । अहिले पनि छन । भविष्यमा पनि रहन्छन । नेपाली काँग्रेस पार्टी भित्रको सौन्दर्यलाई हेर्नु न ।

पार्टीको आदरणीय सभापतिजीले अहिलेको राष्टिङय परिस्थिति ध्यानमा राखेर मैले पोष्ट गर्दा पनि भनेको थिए–केन्द्रिय समितिमा बहुमत त छदैथियो त । केन्द्रिय समितिको बैठक बसेर तपाई छोडनुस भन्न परेन त । देशभरका महाधिवेशन प्रतिनिधिहरु हस्ताक्षर गर्दै हुनुहुन्थ्यो । दर्ता गरेकै थिएन त । कुन राजनीतिक दलमा देख्नुभएको छ । फष्ट म्यानले अहिलेको परिस्थितिमा म मेरो काँधको जिम्मेवारी अरुलाई सुम्पिन्छु भनेर कुन राजनीतिक दलको देख्नु भएको छ ।

कुनैको पनि छैन । त्यसैले नेपाली काँग्रेस पार्टी त अत्यन्तै परिपक्व र जिम्मेवार ढंगले अहिलेको विषयबस्तु र समयलाई हेर्छ । त्यो हेर्ने कार्यक्रमको सुरुवात नेपाली काँग्रेस पार्टी सभापतिको सारगर्वित स्टेटमेन्टबाट भईसकेको छ । अहिलेको कार्यबाहक सभापति पूर्णबहादुर खड्कोको नेतृत्वमा हामी छलफलहरु गरिरहेका छौं । छलफलहरु हुन दिनुस । फरक फरक विचार छन । फरक फरक विचार राख्दै गर्दा मध्यमार्गी ढंगको कुरा मैले राखिरहेको तपाईहरुले सुन्नु भएकै छ । कसैले मंसीरमा नै गरौ भन्ने होला । कसैले बैशाखमा पु¥याउ भन्नु भयो होला । मैले के भनेको छु भने मंसीरमा गर्न ढिलो हुन लाग्यो । चार वटा विकल्प छन । मंसीरमा नै महामन्त्री गगन थापाले राखेको प्रस्ताव अनुसार जाउ, त्यो पनि ठिक छ । हुन्न भने विशेष अधिवेशन दुई वटा तरिकाले गर्ने । एउटा केन्द्रिय समितिले बोलाउने । अर्को महाधिवेशन प्रतिनिधिहरुको ४० प्रतिशत मतको आधारमा गर्ने । त्यो पनि नभए पुसको १६, १७, १८, १९ विपी कोइरालाले मेलमिलापको नीति लिएर आएको जुन समय हो । जुन दिन हो । त्यही ऐतिहासिक दिनको दिन गरौ भने । त्यसमा आज मैले थप के कुरा भनेको छु भने भोलीदेखि बैठक बस्ने कुरामा सहमतीपूर्वक प्रस्ताव लिएर जाउ । मंसीर वा बैशाख कहिले गर्ने भनेर सहमतीपूर्वक प्रस्ताव लिएर जाउ । तर महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन । त्यसलाई केन्द्रमा राखेर जाउ । त्यो गर्न सकिएन भने केन्द्रिय समितिको बहुमत आफ्नो ठाउँमा छ । महाधिवेशन प्रतिनिधिको बहुमत आफ्नो ठाउँमा छ ।दुवै यो ठाउँमा समाउने भन्दा मध्यमार्गीबाट यी दुवै भन्दा माथि महासमिति छ । डिजिटल भोटिङ सिष्टमबाट जान सकिन्छ । महासमितिमा युरोप अमेरिकादेखि खाडी मुलुकसम्म रहेका ताप्लेजुङदेखि दार्चुलासम्म रहेका, मुस्ताङदेखि महोत्तरीसम्म रहेका साथीहरुको भावनालाई डिजिटल प्रक्रियाबाट पुसको १६, १७ तिर गर्ने कि बैशाखमा पु¥याउने भनेर हामीले राय लिन सक्छौं । यो कुरा मैले आजको बैठकमा पनि भनेको छु ।’

महामन्त्री शर्माले आफूहरुले विपी कोईरालाले राष्ट्रिय मेलमिलाप नीतिको समय पारेर आगामी पुस १६, १७, १८ र १९ गते महाधिवेशन गर्दा हुने प्रश्तावमा जोड दिएको समेत बताए ।

 

५२ औं नेपाल पर्वतारोहण संघ (एनएमए) दिवस सम्पन्न

काठमाडौँ । काठमाडौँको नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा ५२ औं नेपाल पर्वतारोहण संघ ९एनएमए० दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

एनएमएले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवमा कीर्तिमानी पर्वतारोहीहरू, पर्वतीय पर्यटनसँग सम्बन्धित संस्थाहरू, पत्रकारहरू र कर्मचारीहरूलाई संस्थाका उल्लेखनीय व्यक्तित्वहरूको नाममा पुरस्कार प्रदान गर्दै सम्मान गर्दै आएको छ।

जसमा डाउन फेदर पहिरन बिना ८००० मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गरेर इतिहास रच्ने मिङ्मा तेन्जी शेर्पाले कुमार खड्ग विक्रम शाह साहसिक पुरस्कार प्राप्त गरे। विश्वको दोस्रो अग्लो शिखर माउन्ट के२ छ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने श्री सिद्धिबहादुर तामाङलाई डा। हर्क गुरुङ पर्वतारोहण पुरस्कार प्रदान गरिएको थियो।

यसका साथै, सगरमाथा आरोहण गर्ने नेपालकै पहिलो महिला सब इन्स्पेक्टर कुञ्जाङ त्शोपेल शेर्पालाई पासाङ ल्हामु शेर्पा साहसिक महिला पर्वतारोही पुरस्कारले सम्मानित गरिएको थियो। पत्रकार सुरज कुँवर र पवन फुयाँललाई दावा नोर्बु माउन्टेन जुमालिज्म अवार्ड प्रदान गरिएको थियो ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा एनएमए अध्यक्ष फर गेल्जे शेर्पा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्स भैरहवा विमानस्थलमा आकस्मिक अवतरण

रुपन्देही । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्स जहाजको इन्जिन फेल भएर आकस्मिक रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । शनिबार विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।

धनगढीबाट १० बजे उडेको फ्लाइट नम्बर २२२ को विमानमा काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएपछि गौतम बुद्ध विमानस्थलमा अवतरण गराइएको जनाइएको छ । जसका कारण करिब ४० मिनेट विमानस्थलमा उडान अवरुद्ध हुन पुगेको समेत विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

सो विमानका चालक दलका सदस्य र ८२ जना यात्रुहरू सकुशल छन् । अहिले उनीहरू विमानस्थलमै रहेका छन् । उनीहरूलाई लिन काठमाडौँबाट अर्को विमान आउने बताइएको छ ।

वामपन्थीहरूमा ‘मिसिने तर नमिल्ने’ प्रवृत्ति छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरूको ‘मिसिने तर नमिल्ने’ प्रवृत्तिका रहेको पनि उल्लेख गरेका छन् ।

‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्,’ बास्कोटाले लेखेका छन्, ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता ।’ उनले वामपन्थीहरूमा देखिने प्रवृत्तिको कारण पनि उल्लेख गरेका छन् । ‘कारण– गहिराइको चाप र नेतृत्वको राप’, बास्कोटाको भनाइ छ, ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’

 

‘जेनजीलाई राष्ट्रियसभा पुर्‍याउन दलको इच्छा होइन, संविधानको अनुमति चाहिन्छ’

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीव्र बनेका बेला कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी पुस्ताको प्रतिनिधित्व अहिलेको संरचनामा सम्भव नभएको स्पष्ट पारेका छन् ।

उनका अनुसार राष्ट्रिय सभाको आवधिक निर्वाचन संविधानले तोकेको प्रक्रिया र मापदण्डअनुसार मात्रै गर्न सकिने भएकाले कुनै पनि राजनीतिक दल वा सरकारले चाहेर मात्र नयाँ पुस्तालाई प्रतिनिधित्व दिलाउन सक्दैन । निर्वाचन आयोगको सल्लाहमा सरकारले माघ ११ गते राष्ट्रिय सभा सदस्यका रिक्त १८ पदका लागि निर्वाचन मिति तय गरेको हो । आगामी फागुन २० गते एक तिहाइ अर्थात १९ सदस्यको कार्यकाल समाप्त हुने भएकाले सो पदपूर्तिका लागि आयोगले तयारी अघि बढाएको छ । आयोगका अनुसार सातै प्रदेशका राजधानीहरूमा मतदान केन्द्र तोकिनेछ ।

संविधान २०७२ को धारा ८६ अनुसार राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । यसमध्ये ५६ जना प्रदेश सभाबाट निर्वाचित र ३ जना राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ । संविधानले कुनै विशेष उमेर समूह, आन्दोलन वा पुस्ताका लागि छुट्टै कोटा नदिएकाले जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) हालको प्रणालीबाट उम्मेदवार बन्न सक्दैनन् । संविधानको धारा ८७(१) ले राष्ट्रिय सभा सदस्य हुन कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख गरेको छ । जसका कारण जेनजी उमेर समूह स्वतः अयोग्य ठहरिन्छ ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार यो कानुनी सीमा संविधानमा निहित भएकाले दलहरूको इच्छाले मात्र तोड्न सकिँदैन । ‘राष्ट्रिय सभामा जेनजी पुस्ताको प्रतिनिधित्व गर्न संविधान संशोधन आवश्यक छ’, उनले भने, ‘संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत चाहिन्छ, तर अहिले प्रतिनिधि सभा नै विघटन भएकाले तत्काल सम्भव छैन ।’

उनले आयोगले सरकारको सल्लाह र संवैधानिक दायराभित्र रहेर मात्रै काम गर्न सक्ने बताए । ‘यदि सरकारले संविधानको अधीनमा रही कुनै प्रस्ताव ल्यायो भने हामी कार्यान्वयन गर्न तयार छौं’, भण्डारीले भने, ‘तर संविधान संशोधन नगरी राष्ट्रिय सभाको उमेर सीमा परिवर्तन गर्न सकिँदैन ।’

निर्वाचन आयोगका तथ्यांकअनुसार सातै प्रदेशमा रहेका प्रदेश सभा सदस्य ५४९ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख १,५९५ जना गरी १ हजार ९ सय ४ मतदाताले आगामी निर्वाचनमा मतदान गर्नेछन् । मतदानमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुने व्यवस्था छ ।

राष्ट्रिय सभा स्थायी प्रकृतिको सदन हो, जहाँ हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल समाप्त भएर नयाँ सदस्यको निर्वाचन हुने संवैधानिक व्यवस्था छ । यसपालि पनि १८ जना सातै प्रदेशबाट निर्वाचनद्वारा र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भई १९ जना सदस्य पदपूर्ति हुनेछ ।

हालैको जेनजी आन्दोलनपछि राज्यका सबै तहमा नयाँ पुस्ताको सहभागिता बढाउनुपर्ने आवाज उठेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समेत राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्वबारे चासो देखाए पनि प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार अहिलेको संवैधानिक संरचनाभित्र त्यो सम्भव छैन । उनले भने, ‘यो आवधिक निर्वाचन हो, जसमा संविधानले तोकेको भन्दा फरक प्रक्रिया अपनाउन सकिँदैन । जेनजी पुस्तालाई राष्ट्रिय सभामा ल्याउन चाहिने बाटो भनेको संविधान संशोधन नै हो । त्यस बिना दलहरूको इच्छाले मात्र सम्भव छैन।’

भाषण गर्दागर्दै ढलेर निधन भएका जिफन्ट उपाध्यक्ष गौतमलाई शहीद घोषणा गर्न माग

काठमाडौँ । एमालेसंवद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

जिफन्टको आयोजनामा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन्। जिफन्टका उपाध्यक्ष समेत रहेका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षको उमेरमा गत बिहीवार निधन भएको थियो ।

श्रमिकको पक्षमा निरन्तर आवाज उठाउने गौतम श्रमिकहरुको लागि महान शहीद भएको अध्यक्ष श्रेष्ठले बताए । उनले जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौँ श्रमिकहरुको रोजीरोटी गुमेको बताए । उद्योगी र सरकारकाबीचको टकरावको मारमा श्रमिकहरु पर्न नहुने उनको भनाई छ । सरकारले जेन—जी आन्दोलनको माग पुरा गर्नुको सट्टा लोकप्रियतावादमा फसेको उनले बताए ।

उनले भने, ‘अस्ती भर्खरै जेन-जी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झण्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि शहीद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरुलाई पनि, चोरलाई पनि शहीद भनियो, चोर्दाचोर्दै तल आगो लगाएर माथीबाट आउन नसकेर मर्नेहरु पनि शहीद भए । म यो सरकारलाई आग्रह गर्न चाहन्छु । ५० औँ हजार मजदुरहरुका निम्ति बोल्दा बोल्दै ज्यान गुमाएका कमरेडलाई के भन्ने रु हामी हाम्रो महासंघको तर्फबाट कमरेड कमल गौतम ती फटाहा, चोरहरुभन्दा महान शहीद बन्नुभएको छ भन्ने घोषणा गर्न चाहन्छु’

उनले श्रमिकहरुको अधिकारको लागि आफूहरुको आन्दोलन जारी रहेको पनि बताए ।

 

 

एक सातादेखि बेपत्ता सरोजको हत्या, खोलामा गाडिएको अवस्थामा भेटियो शव

झापा । झापाको शिवसताक्षी नागरपालिका माइधारका सरोज शर्माको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० माईधारका २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शर्मा कार्तिक ९ गतेदेखि गाडीसहित बेपत्ता थिए ।

शर्माको शव आज बिहान झापाको बाह्दशी गाउँपालिका र झापा गाउँपालिकाका बीचमा रहेको बिरिंग खोला किनारमा प्लाष्टिकमा बेरेर गाडिएको अवस्थामा फेला परेको थियो । ३३ वर्षीय शर्माले चढ्ने बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र बेवारिसे अवस्थामा केही पनि अघि नै फेला परेको थियो । उनले चढ्ने कारमा आगो लगाइएको थियो ।

शर्माको शव झापा गाउँपालिका र बाह्दशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले जानकारी दिएका छन् । उनले शर्माको शव खोला किनारमा गाडिएको र दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए । लिम्बुले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन् । उनले भने, शर्माको के कारणले हत्या भएको हो यसबारेमा अनुसन्धान भइरहेको छ ।

 

एमाले सचिवालय बैठक शुरु (तस्बिरसहित)

भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

शनिवार बिहान साढे १२ बजेबाट भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक शुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनःस्थापना, जेन जी, सरकार र राजनीतिक दलहरुसँग भएको वार्ता, नेकपा (एकीकृत समाजवादी) का नेता, कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।

साथै पार्टीको महाधिवेशन कार्यसूचिबारे पनि छलफल हुने पार्टीले बताएको छ ।

फेरियो बाटो : माधव पक्ष आज प्रचण्डसँग भेट्दै, झलनाथ समूह अलग्गै भेला गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग एकताको निर्णयपछि नेकपा (एकीकृत समाजवादी) भित्र खुला दुई ध्रुवीय स्थिति बनेको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पक्षले आज (शनिबार) दिउँसो ३ बजे प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेतासँग भेट्ने तयारी गरेको छ । यस्तै एकता अस्वीकार गर्दै झलनाथ खनाल नेतृत्वको पक्षले दिउँसो १ बजे नै सुकेधारास्थित मिराकल पार्टी भेन्युमा छुट्टै भेला बोलाएको छ ।

खनाल पक्षका एक नेताका अनुसार सो भेलामा आधा दर्जन पदाधिकारीसहित करिब १५० बढी केन्द्रीय सदस्य सहभागी हुने अपेक्षा गरिएको छ। उनीहरूले शुक्रबार पार्टी केन्द्रीय कमिटीबाट पारित माओवादीसँग एकताको निर्णय अस्वीकार गर्दै पार्टी पुनर्गठन र आगामी रणनीतिमा केन्द्रित छलफल गर्ने तयारी गरेका छन् ।

प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले ‘भेला होइन, सीमित नेताबीचको छलफल’ का रूपमा कार्यक्रम हुने जानकारी दिए । उनले भने, ‘पहिले त माओवादीमा जाने साथीहरूलाई रोक्नु पर्छ, त्यसपछि हाम्रो पक्षका नेताहरूले एक स्टेटमेन्ट जारी गर्ने तयारी छ ।’

अर्यालले शुक्रबारकै बैठकपछि माधव नेपाल पक्षसँग राजनीतिक सम्बन्ध विच्छेद भइसकेको दाबी गर्दै भने, ‘अब उनीहरूले कोसँग के कुरा गर्छन् भन्ने हाम्रो मतलब छैन । हामी पार्टी पुनर्गठन र राष्ट्रिय भेलाको तयारीमा लागेका छौं ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको शुक्रबारको ‘मूल पार्टीमा फर्किनुहोस्’ भन्ने आह्वानबारे पनि टिप्पणी गर्दै भने, ‘यदि ओलीले कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका निम्ति बोल्नु भएको हो भने परिपक्व ढंगले प्रस्तुत हुनुपर्छ, हावादारी भाषणले हुँदैन ।’

खनाल पक्षभित्र पनि नेतृत्वबारे मतभेद देखिएको छ । केही नेताहरूले झलनाथ खनाललाई ‘अभिभावक’ को भूमिकामा मात्र रहन सुझाव दिएका छन् । एक नेताले भने, ‘झलनाथजीले आफू अध्यक्ष बन्ने अडान लिए कुरा मिल्दैन । नयाँ पुस्तालाई कार्यकारी नेतृत्व दिनुपर्नेमा हामी अडिग छौं ।’

त्यस्तै, माधवकुमार नेपाल पक्ष भने आज माओवादी केन्द्रसँग एकताको सम्पूर्ण प्रक्रिया लिखितरूपमा टुंग्याउने तयारीमा छ । शुक्रवारको बैठकबाट पारित नेपालको राजनीतिक प्रतिवेदनअनुसार माओवादी केन्द्रसँग एकताका विषयहरूमा अन्तिम सहमति हुने भएको हो । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि खनाल समूहले त्यसको विरोध गर्दै शनिबार छुट्टै भेला बोलाएको हो ।

सो भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहित अन्य केन्द्रीय सदस्यहरू सहभागी हुने बताइएको छ । माओवादीसँग एकताको निर्णयले एकीकृत समाजवादी औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको छ ।

हरिबोधिनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं। आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा-अर्चना गर्दै यो पर्व मनाइन्छ।

आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

बुढानीलकण्ठ मन्दिर परिसरमा आज बिहानैदेखि भक्तजनको लाम लागेको छ। दर्शन, पूजा र तुलसी विवाहको अवसरमा देशका विभिन्न स्थानबाट आएका भक्तजनले मन्दिर परिसरमा पूजाअर्चना गरिरहेका छन्। मन्दिर क्षेत्रका पुजारीका अनुसार बिहानदेखि लगातार दर्शनार्थीको भीड बढ्दै गएको छ। भक्तजनले व्रत बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्।

बुढानीलकण्ठमा आजको दिन विशेषरूपले धार्मिक उत्सवको माहोल देखिएको छ- भक्तजनले दीपदान, भजन-कीर्तन र सामूहिक प्रार्थनामा सहभागिता जनाएका छन्।

आज हरिबोधिनी एकादशी फूलको डोली सहित बागमतीमा टाँगियो तोरण

काठमाडौँ । आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–अर्चना गर्दै यो पर्व मनाइन्छ।

आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

एकादशीको दुई दिनदेखि चोखो बसेकाहरु एकादशीको अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने र त्यही दिन बेलुका सत्यनारायणको पूजा महादीप लगायत एकादशीको दिन डोरीमा, बेल, पीपल, सयपत्रीलगायत विभिन्न फूलहरु उनेर त्यसैलाई डोलीमा हाली ल्याएर नदी तार्ने परम्परा छ ।

आजको दिन सो गर्नाले पुण्यप्राप्ति हुने जनविश्वास रहेको छ । यसरी फूलको डोली नदी तार्दा पाप नष्ट हुने र मरेपछि वैतरिणी तर्ने जनविश्वास समेत रहेको छ ।

 

पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

काठमाडौं । हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ ।

उद्धार गरिएका पर्यटकहरूमा एक जना खुट्टामा चोट लागेका व्यक्ति, एक जना ९ वर्षीय बालक, एक जना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति छन् । सबैको अक्सिजन लेभल कम रहेको सशस्त्र प्रहरी बलका सहप्रबक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टाको यात्रापछि सम्पन्न भएको हो । पर्वतीय उद्दार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमाण्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्दार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले असोज महिनाको अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए । यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको सह प्रबक्ता थापाको भनाइ छ ।

सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिनेछ । हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्व तयारीको महत्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको छ ।

 

योगेश भट्टराईद्वारा एकताका चार आधार प्रस्तुत, ओलीको आह्वानलाई गरे समर्थन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेताहरूप्रति मूल घर फर्कन आह्वान गरेको प्रसंगलाई स्वागत गर्दै यो समयानुकूल र सान्दर्भिक भएको बताएका छन् ।

आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले निषेध, प्रतिशोध र घृणाको राजनीति त्यागेर सहकार्य र सहअस्तित्वको बाटोबाट एमालेलाई अझ सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अहिलेको राष्ट्रिय आवश्यकता वाम आन्दोलनलाई जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा एकताबद्ध बनाउनु हो ।

भट्टराईले भनेका छन्, ‘जबजको सिद्धान्त शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा केन्द्र बन्नै पर्छ, त्यो एमाले हो ।’

एकताको दिशामा अघि बढ्न उनले चार आधार समेत प्रस्तुत गरेका छन् । ती हुनु–जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्नु, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई मान्यता दिनु, २०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी पार्टीको पुनर्गठन गर्नु र नेकपा एमालेको नेतृत्वमा आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नु । ‘कमरेडहरू, आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौं,’ भट्टराईले लेखेका छन् ।

चार वर्ष अघि एमालेबाट विभाजित बनेको एकीकृत समाजवादी माओवादीसँग एकताको निर्णयमा पुगेको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहितका नेताहरुले असहमति जनाउँदै आएका छन् । शुक्रबार एकीकृत समाजवादीले यस्तो निर्णय गर्दा विवाद उत्पन्न हुँदै गर्दा एमाले अध्यक्ष ओलीले घर फर्कन आह्वान गरेका थिए ।

योगेश भट्टराईले एकताका लागि प्रस्तुत गरेका चार आधार :
– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
–पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
–२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
–नेकपा एमालेको नेतृत्वमा आर्थिकरसामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।

 

ओलीको आह्वानमा खनालको प्रतिक्रिया : ‘जबज’ हटाए एकता हुनसक्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र माओवादीसँगको एकता निर्णयप्रति असहमति जनाउँदै झलनाथ खनालको समूह पार्टी पुनर्गठनको तयारीमा जुटेको छ । खनालले एमाले अध्यक्ष केपी ओलीको आह्वानलाई ‘सकारात्मक’ भन्दै जबज (जनताको बहुदलीय जनवाद) हटाए वाम एकताको सम्भावना बढ्ने बताएका छन् ।

उनले नेपालले एकीकृत समाजवादीमा माधव नेपालको नेतृत्व असफल भएको र पार्टीलाई ‘विसर्जन’ गर्ने दिशामा लगेको समेत आरोप लगाए । खनालले करिब डेढ सय जना केन्द्रीय सदस्यले आफूहरूको पक्षमा सकारात्मक धारणा दिएको दाबी गरेका छन् । खनालले माओवादीसँगको एकताबारे भने, ‘यो अस्वीकार गरेको माओवादीसँग कहिल्यै एकता हुँदैन भनेर होइन, पहिले विगतको चार वर्षको अनुभव समीक्षा गर्नुपर्छ’, भन्दै त्रुटिहरू सच्याएर मात्र वाम एकता सम्भव हुने बताए ।

एमालेसँग एकताका शर्त प्रस्तुत गर्दै उनले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, जबज परित्याग गर्ने, समाजवादी क्रान्तिको कार्यक्रम र नीति–दिशामा एकरूपता ल्याउने तथा साम्राज्यवाद र दलाल पूँजीवादविरुद्ध स्पष्ट धारणा अपनाउनु पर्ने बताएका छन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिजो (शुक्रबार) सबैलाई ‘आफ्नै घर फर्किन’ अपिल गरेका थिए ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) को नाम नलिइकन सामाजिक सञ्जालमार्फत ओलीले यस्तो अपिल गरेका थिए । नेकपा एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिरहँदा ओलीले घर तपाईहरूको पसिना र रगतले बनेको हो भन्दै यस्तो अपिल गरेका थिए ।

उनले भनेका थिए, ‘विगतमा नेकपा (एमाले) निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईहरूको पसिना र रगतले बनेको हो ।’ ओलीको आह्वानपछि खनालले शर्तसहितको प्रतिक्रिया जनाएका हुन् ।

खनालले पुनर्गठित पार्टीले निर्वाचन प्रक्रियामा सहभागी हुने संकेत दिँदै नयाँ दल दर्ता वा विद्यमान संरचनालाई अघि बढाउने विकल्पहरू खुलेका बताए । उनले नयाँ वाम शक्ति निर्माणका लागि देशभक्त र प्रगतिशील शक्तिसँग संवाद सुरु गर्ने तयारी समेत रहेको जानकारी दिएका छन् ।

‘बिकार’ बोकेर माधव माओवादीतिर, म क्रान्तिकारी बाटोतिर : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटी वैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन भएको छ । शुक्रबारको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले असहमति जनाउँदै पार्टी पुनर्गठनको घोषणा गरेका छन् ।

२०७८ साल भदौ ९ गते माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीभित्र अहिले खुलेर दुई धार बनेका छन् । एक पक्ष अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा माओवादी केन्द्रसँग एकतामा जाने तयारीमा छ भने अर्का वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समूह त्यसको विरोधमा उत्रिएको छ ।

खनालले भने, ‘माधवजीले चाहिँ एकता गरे, हामीले गरेनौं । पार्टी दुई टुक्रा भयो अब ।’ उनका अनुसार माओवादीसँग एकता गर्ने निर्णयमा आफू लगायत कम्तीमा ११ जना केन्द्रीय नेताहरू असहमत छन् । खनालले आफूहरूको समूहले छिट्टै पार्टी पुनर्गठनको तयारीमा रहेको बताए। ‘पार्टी पुनर्गठनको काम तुरुन्तै गरिहाल्छौं’, उनले भने । उनले अब मार्क्सवाद–लेनिनवादी पार्टी निर्माण गर्ने बताए ।

खनाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामालगायतको साथ छ ।

खनालले विकृति बोकेर अध्यक्ष माधव नेपाल माओवादीमा गएको आरोप पनि लगाए । पार्टी पुनर्गठन गरौँ भन्दा नेपालले नमानेको उनको भनाई छ । ‘पुनर्गठन गर्न त माधवकुमार नेपालले मानेनन् । उनी त्यही दक्षिणपन्थी अवसरवादमा हिँड्न चाहे क्यारे । अनि जो विकार, विकृतिको झोली–तुम्बा बोकेर जान चाहे माधवजीले’ उनले भने, ‘मैले त पहिला पार्टीलाई पुनर्गठन गरौं, रूपान्तरण गरौं अनि त्यसपछाडि एकीकरणको कुरा गरौंला । सबै वामपन्थीलाई एकताबद्ध बनाऊँ भनेकै हो । तर, मानेनन् ।’

पार्टीको नेतृत्व सम्भावनाबारे उनले भने, ‘अब नयाँ साथीहरू पनि आउन सक्छन् । तर अहिले तय भइसकेको छैन, बसेर टुंग्याउँछौं ।’ एमालेमा फर्किने कि भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा अस्वीकार गरे । ‘हामी नयाँ तरिकाले पार्टी बनाउँछौं । पार्टी पुनर्गठन हुन्छ’, उनको भनाइ छ । खनालले आफूले नेतृत्व गर्ने पुनः गठित पार्टी ‘माक्र्सवादी–लेनिनवादी, क्रान्तिकारी पार्टी’ हुने बताए ।

अनुसार अहिले माओवादी केन्द्रसँग हुने भनिएको एकता वामपन्थी एकताको होइन, वामपन्थी विभाजनलाई गहिर्‍याउने प्रकारको हो । ‘अध्यक्षको सारा भाषण केपी ओलीविरुद्ध थियो । नीति गलत भए त्यसको खण्डन गर्नुपर्छ, गाली गरेर होइन’, उनले भने । उनले आफ्नो पक्ष एकता विरोधी नभई ‘सही लाइनका आधारमा सबै वामपन्थीहरूलाई एकताबद्ध गर्ने’ पक्षधर भएको बताए ।

‘पहिले पार्टीलाई शुद्ध बनाऔं, क्रान्तिकारी दिशा दिऔं, त्यसपछि मात्रै एकतामा जाऊँ भन्ने मेरो भनाइ हो’, उनले भने । उनका अनुसार अब पार्टी औपचारिक रूपमा दुई भागमा विभाजन भइसकेको छ । उनले भने, ‘अब तपाईं सानो भन्नु हुन्छ वा ठूलो भन्नु हुन्छ, त्यो तपाईंको कुरा हो । तर पार्टी विभाजन भएको छ, सच्चाइ यही हो ।’

कम्युनिष्ट आन्दोलनबारे विप्लवका चार धारणा : नयाँ कम्युनिष्ट केन्द्र निर्माण अपरिहार्य

काठमाडौं । प्रस्तावित कम्युनिष्ट पार्टी नेपालका महासचिव विप्लवले नयाँ कम्युनिष्ट केन्द्र निर्माण अपरिहार्य भएको बताएका छन् । कम्युनिष्ट आन्दोलनबारे सामाजिक सञ्जाल फेसबुकमा धारण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

विप्लवले चार बुँदामा आफ्नो धारणा राखेका छन् । कम्युनिष्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको, कम्युनिष्टहरूबीच वैचारिक, सैद्धान्तिक, व्यवहारिक बहसहरू आवश्यक छन रहेको उनको भनाइ छ । उनले एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको बताउँदै यसमा रमाउन नसकिने पनि बताएका छन् । उनले यो व्यङ्ग्य मात्रै भएको टिप्पणी गरेका छन् ।

आफ्नो पार्टीबाट फुटेर चिरन सीलगायतले माओवादी केन्द्रसँग एकता गर्न लागे पछि उनले यस्तो टिप्पणी गरेका हुन् । माओवादी र एकीकृत समाजवादीसहितका दलहरुले यसै साता एकता गर्ने तयारी गरेका छन् । आउँदो फागुन २१ गतेको निर्वाचनमा होमिने तयारी गरिरहेका बेला हिजो (शुक्रबार) मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि फुटेको हो । पार्टीका पोलिटव्यूरो सदस्य चिरन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । उक्त पार्टीको प्रवक्ताको जिम्मेवारी जितेन्द्र सीलाई दिइएको छ ।

भेलाले गरेका निर्णयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइने महासचिव सीले बताएका छन् । राष्ट्रिय भेलाले छिट्टै एकतामा आउन नेकपाका महासचिव विप्लवसहितका अन्य विभिन्न समाजवादी मोर्चामा रहेका दललाई आह्वान गर्ने निर्णय गरेको महासचिव सीले बताएका छन्। साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको उनले दाबी गरेका छन् ।

 

‘अत्यावश्यक बाहेक नारायणगढ–मुग्लिन–मलेखु सडकमा यात्रा नगर्नू’

काठमाडौं । लगातारको वर्षासँगै पहिरोको उच्च जोखिम बढेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी नारायणगढ–मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ सूचना जारी गर्दै नारायाण्ढ–मुग्लिन र पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यक काम नपरी यात्रा नगर्न अनुरोध गरेको हो । वर्षासँगै बिहीबारदेखि नै यी सडकमा स–साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यक बाहेक सकरभर यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।

हाल नारायणगढ–मुग्लिन सडकको तुइनभिर र पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । तथापि यो खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको अर्यालको भनाई छ ।

वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने पनि उनले बताएका छन् । उक्त सडकमा यात्रा गर्नुपूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

यात्रा गर्न पूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

हेर्नुस् सूचना

बालेनबारे प्रधानमन्त्री- मैले छोरो भन्छु, ऊ दिदी भन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न दबाब दिएको स्वीकार गरेकी छन् । तर गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन भने आफूलाई नभनेको बताइन् ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बेलुका सम्पादकहरुसँगको भेटमा बालेनको प्रसंग निस्किएपछि प्रधानमन्त्रीले यसबीचमा तीन चारपटक आएर भेटेको स्मरण गर्दै आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ किन नगरेको भन्ने कुरा नै राखेको बताइन् ।

उनले भनिन्, “बालेनलाई मैले छोरो भन्छु ऊ चाहिँ दिदी भन्छ । हामी बोलेको सुन्दैन । ऊ खाली ओली र लेखकलाई किन कारबाही नगरेको भन्छ । हामी कानुनअनुसार कारवाही हुन्छ भन्छौँ । आज बिहान पनि फोनमा कुरा भएको थियो ।”उसको कुरा हामीले सुन्नुपर्छ तर उसले हाम्रो कुरा सुन्दैन । उसको बानी नै फरक छ, जहाँसम्म लाग्छ उसले दल त खोल्ने खालको मान्छे होइन ।

प्रधानमन्त्री कार्कीले बालेनसँग प्रधानमन्त्री बन्नुअघि पनि धेरै भेट भएको र कानूनका कुराहरू सम्झाउने गरेको बताइन् ।

धितोपत्रका कर्मचारीहरुले मागे अध्यक्ष श्रेष्ठको राजीनामा, कार्यालय छिर्न नदिने

काठमाडौं । एक महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा मागेका छन् । उनीहरुले अध्यक्ष श्रेष्ठलाई कार्यकक्षमा प्रवेश गर्न नदिने घोषणा समेत गरेका छन् । उनले राजीनामा नदिएसम्म कार्यकक्षमा प्रवेश गर्न नदिने घोषणा गरेका हुन् ।

धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र कर्मचारी युनियनले आज संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बोर्ड अध्यक्षले आफ्नो पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्नु पर्दछ, सो नगर्दासम्म बोर्ड अध्यक्षलाई बोर्डको कार्यकक्षमा समेत प्रवेश गर्न दिइने छैन ।’ अध्यक्षद्वय क्रमशः राजकुमार पण्डित र अजय ढुंगानाले जारी गरेको वक्तव्यमा सन्तोषनारायण श्रेष्ठले पदबाट तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिएसम्म अध्यक्षको कार्यकक्षमा प्रवेश नै गर्न नदिने बताएका छन् । उनीहरुले १२ गते प्रहरी अघि लगाएर कार्यकक्ष प्रवेश गरेको प्रति समेत खेद प्रकट गरेका छन्।

अध्यक्ष श्रेष्ठ कर्मचारीका समस्या समाधानमा चुक्नुका साथै कर्मचारीको हित तथा सञ्चालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसकेकाले नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्न योग्य नरहेको उनीहरुको ठहर छ । अर्थ मन्त्रालयबाट समेत धितोपत्र बोर्डमा सिर्जित विषम परिस्थिति सम्बोधनका निम्ति यथोचित प्रयास नभएको गुनासो गरेका छन् । पूँजी बजारको नियामक निकाय बन्द गरेर पूँजी बजारको विकास र विस्तारको सरकारी लक्ष्य प्राप्त हुन नसक्ने भन्दै कर्मचारीहरुले बोर्ड सञ्चालक समितिद्वारा जारी कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिन माग गरेका छन् ।

तत्कालीन राजस्व सचिव दिनेशकुमार घिमिरेले बोर्डबाट सञ्चालनमा रहेका कर्मचारी कल्याणकारी कोषको कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि, २०७५ खारेज गर्न पत्र पठाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । सो निर्णय फिर्तीको माग गर्दै उनीहरुले चार सातादेखि शान्तिपूर्ण धर्ना तथा पेन डाउन गरिरहेका छन् । बोर्डलगायत अन्य सरकारी संघ, संस्था, बैंक तथा समितिमा रहेका त्यस्ता सुविधा कटौतीमा पछाडि नहट्ने मन्त्रालयको दाबी छ ।

आन्दोलन सफल नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैन : जेनजी अगुवा यादव

काठमाडौँ । आन्दोलन सफल नहुँदासम्म आफूहरुलाई चुनाव नचाहिएको जेनजी अगुवा पुरुषोत्तम यादवले बताएका छन् । शुक्रबार बालुवाटारमा रास्वपाले आयोजना गरेको वैकल्पिक शक्तिहरुसँगको बृहत राजनीतिक संवादमा उनले अहिले आन्दोलनको माग र मर्म अनुसारको प्रतिफल नआएको गुनासो गरे ।

‘आन्दोलनको माग र मर्म अनुसार प्रतिफल आएको छैन । आन्दोलन संस्थागत नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैन । हामी आन्दोलनको माग पुरा नभएसम्म लडिरहन्छौ । आन्दोलनको माग पुरा नभएको अवस्थामा चुनाव मात्रै भएर केही हुँदैन’ यादवले भने । उक्त कार्याक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्न मिल्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । रविमाथि अन्याए भएको भन्दै उनले अहिले रविको नेतृत्वमा सबै वैकल्पिक शक्ति एक हुनुपर्ने मत राखे । रास्वपाले आयोजना गरेको राजनीतिक संवाद बालुवाटारमा जारी छ । जसको नेतृत्व रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लले गरेका छन् ।

एनपीएलमा विराटनगर किङ्सले ल्यायो फाप डु प्लेसिस

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाप डु प्लेसिसलाई आफ्नो टिममा भित्र्याएको छ । ।

विराटगरले सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई भित्राएको जानकारी दिएको हो । डु प्लेसिस हालसम्म एनपीएलमा भित्रिने ठूलो नाम हो ।

४१ वर्षीय डु प्लेसिसले सन् २०११ देखि २०२२ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले दक्षिण अफ्रिकाका लागि ६९ टेष्ट, १४३ एकदिवसीय र ५० टी-२०आई खेल खेलेका छन् ।

टेष्टमा ४ हजार १६३, ओडिआईमा ५ हजार ५०७ र टी-२०आईमा १ हजार ५२८ रन बनाएका छन् । उनले टेष्टमा १० शतक र २१ अर्धशतक प्रहार गरेका छन् । ओडिआईमा १२ शतक र ३५ अर्धशतक तथा टी-२०आईमा एक शतक र १० अर्धशतक प्रहार गरेका छन् ।

 

 

महानगरले बल प्रयोग गरे प्रतिवाद गर्ने सुकुम्बासी मोर्चाको चेतावनी

काठमाडौं । काठमाडौंका धोविखोला, वागमती नदी किनारका बनेका अवैधानिक संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले सात दिने सूचना जारी गरेपछि हलचल मच्चिएको छ । खसगरी नदी किनारा आसपासमा अतिक्रमण गरेर बसेकाहरुलाई हटाउने हिसावले अवैध संरचना हटाउन सूचना जारी गरेपछि सुकुम्वासी समुदायले कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिव अर्जुन कुवँरले महानगर र प्राधिकरणले निकालेको सूचना आफूहरुले नमान्ने बताएका छन् ।

उनकाअनुसार यो सूचना राज्यको कानूनी प्रक्रिया र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका विपरित जारी गरिएको छ । राष्ट्रिय भूमि आयोग र काठमाडौं महानगरबीच सुकुम्वासी समस्या समाधानका लागि सहमति भएको तर सहमति कार्यान्वयन नगरी अहिले विस्थापनको सूचना आउनु गैरजिम्मेवार कदम रहेको उनको भनाइ रहेको छ ।

अध्यक्ष कुँवरकाअनुसार राष्ट्रिय भूमि समस्या समाधान आयोगले भूमिहीन, सुकुम्वासी र अस्थायी बसोवासीका लागि लगत संकलनको प्रक्रिया अघि बढाउँदै आएको थियो । तर काठमाडौँ महानगरपालिकाले वडाहरुलाई लगत संकलन रोक्न निर्देशन दिएर भूमिसम्बन्धि समस्यालाई समाधान गर्न खोजेन । हाल सर्वोच्च अदालतमा समेत भूमि आयोग खारेजीविरुद्ध दायर मुद्दा विचाराधीन रहेकाले अहिले जनतालाई आतंक सिर्जना महानगर प्राधिकरणले गर्न नहुने कुँवरले बताए । अध्यक्ष कुँवरकाअनुसार वागमती, धोबीखोला लगायतका किनारमा दशकौँदेखि बसोवास गर्दै आए पनि त्यहाँ राज्यले बिजुलीदेखि सबै सुविधा दिएकाले विस्थापन गर्न मिल्दैन ।

अध्यक्ष कुँवरले भने, ‘हामीमाथि सार्वजनिक जग्गा कब्जाको आरोप लगाइन्छ, तर राज्यकै वडाले घर नम्बर दिएका छन्, बिजुली र खानेपानी सुविधा दिएका छन् । हामी भोटर हौं, कर तिरेका नागरिक हौं । त्यसैले हामीलाई ‘अवैध संरचना’ बनाएको भन्न मिल्दैन ।’ उनकाअनुसार काठमाडौंका ठूला नेताहरू र धनाढ्यहरूले सार्वजनिक जग्गामा लालपूर्जा निकालेका छन् । तर राज्य मौन छ । गरिब नागरिकलाई मात्र आतंकित पारिए सुकुम्वासी मोर्चाले प्रतिवाद गर्नेछ ।

कुँवरले भने, ‘हामी सडकमा आउन चाहँदैनौं, हामी वार्ताबाट समाधान खोज्न तयार छौं । तर राज्यले कानूनी प्रक्रिया बेवास्ता गरेर बल प्रयोग गर्‍यो भने त्यसको प्रतिकार पनि जनताले गर्नेछन् ।’ संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका अध्यक्ष कुँवरले भूमिहीनका समस्या समाधान गर्ने हो भने काठमाडौं महानगरपालिकाले रोकिएको लगत संकलन तुरुन्त शुरु गर्नुपर्ने भूमिहीन, सुकुम्वासी र अस्थायी बसोवासीलाई वर्गीकरण गरी पुनर्वासको व्यवस्था गर्नुपर्ने बताए।

उनकाअनुसार अहिले सर्वोच्चमा चलिरहेको मुद्दाको निर्णय नआउँदासम्म कुनै पनि संरचना हटाउनु मिल्दैन । संविधानले सुनिश्चित गरेको आवासको हकलाई सम्मान गर्दै वार्ता र सहकार्यमार्फत समाधान खोज्न उनले काठमाडौं महानगरका साथै काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आग्रह गरे । खोलाका किनाराका बस्तीहरु उठाउन आवश्यक रहेको र त्यसलाई व्यवस्थीत गर्न नमिल्ने मोर्चाको ठहर छ ।

माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का एक दर्जनबढी नेताहरु नेकपा (माओवादी केन्द्र)सँगको एकतामा सामेल नहुने भएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने बताइएको छ । यद्यपि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरु एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताईन् ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरु एकतामा समाहित नहुने बताईन् । पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा र्पाीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उनको बुझाई छ ।

उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरुसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताईन् । वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरु पार्टी एकतामा सामेल नहुने उनकोभनाइ छ ।

उनले भनिन्, ‘अहिले वाम एकताको कुरा चलिरहेको छ । यसमा पनि मुख्यतः नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एकताको कुरा छ एमाले र कमरेड विप्लवलगायतसँग संवाद समेत गरिएको छैन । यी दुई पार्टीबीच एकताको प्रक्रिया टुंगिएको बैठकहरुमा नै ब्रिफिङ गरिसकिएको छ । त्यसो भएको हुनाले यो दुईबीचको मर्जर हो यो । वाम एकता होइन ।

हामी वाम एकताको पक्षमा छौं । दुई पार्टी मर्ज हुँदा खासै राम्रो परिणाम चाँही दिएन । यस्तो खालको मर्जरले समस्याको समाधान दिँदैन भन्ने मेरो धारणा हो । पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग गएपनि एउटा ठुलो पँक्तीले आजदेखि पार्टीका थप अगाडिका कार्यक्रममा सहभागि नहुने निर्णय नै गरेका छौं । किनभने यसले समाधान दिँदैन । झन पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएर नेतृत्वमा झन तानाशाही प्रवृत्ति हावी हुने सम्भावना छ ।’

पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग जाने निर्णय गरे पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको उनको भनाइ छ ।

हरि खड्का राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरि खड्कालाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । उनी आउँदो एएफसी एसियन कप २०२७ को छनोट खेलका लागि प्रमुख प्रशिक्षक नियुक्त भएको एन्फाले जनाएको छ ।

प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि एन्फाले अन्तरिम कालका लागि खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनले यसअघि राष्ट्रिय महिला टोलीको प्रशिक्षण गरेका थिए ।

 

चुनावमा होमिने बेला फुट्यो विप्लवको पार्टी : चिरण सी महासचिव रहने गरी केन्द्रीय समिति गठन

काठमाडौं । आउँदो फागुन २१ गतेको निर्वाचनमा होमिने तयारी गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि फुटेको छ । आजै सम्पन्न भेलाले पार्टीका पोलिटव्यूरो सदस्य चिरन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । उक्त पार्टीको प्रवक्ताको जिम्मेवारी जितेन्द्र सीलाई दिइएको छ ।

भेलाले गरेका निर्णयबारे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइने महासचिव सीले बताएका छन् । राष्ट्रिय भेलाले छिट्टै एकतामा आउन नेकपाका महासचिव विप्लवसहितका अन्य विभिन्न समाजवादी मोर्चामा रहेका दललाई आह्वान गर्ने निर्णय गरेको भेला महासचिव सीले बताएका छन् । साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको उनले दाबी गरे । जेनजी आन्दोलनको भवना सबै कम्युनिष्ट पार्टी एकतावद्ध हुनुपर्ने रहेको भन्दै त्यसै अनुसार समाजवादी मोर्चामा रहेका दलसँग एकता गर्न आफूले विद्रोह गरेको बताए ।

दल दर्ताको दौड तीव्र : पुराना अनुहारदेखि नयाँ पुस्तासम्म सक्रिय

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गरेको दल दर्ता आह्वानको २१ दिनभित्र जम्मा दुई राजनीतिक दल मात्रै अद्यावधिक भएका छन् । आयोगको वेबसाइट अनुसार असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी (अध्यक्ष केशवबहादुर थापा) र असोज २८ गते जनस्वराज पार्टी (अध्यक्ष दीपककुमार साह) ले आफ्नो दर्ता अद्यावधिक गरेका छन् ।

आयोगले निर्वाचनमा भाग लिन इच्छुक दलहरूलाई मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय दिएको छ । तर कानुनी व्यवस्था अनुसार, निर्वाचन प्रयोजनका लागि दर्ता गर्न चाहने दलले कात्तिक ३० गतेअघि दर्ता प्रमाणपत्र लिनै पर्ने हुन्छ । आयोगका अनुसार हालसम्म १२४ दल दर्ता अद्यावधिक भएका छन् । निर्वाचन घोषणापछि आठ वटा नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन् । दर्ताका लागि निवेदन दिने दलहरूमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल, हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी, रेशमलाल चौधरीको संरक्षकत्वमा नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी र राष्ट्रिय जेनजी पार्टी रहेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यीमध्ये कम्युनिष्ट पार्टी नेपाल, श्रम संस्कृति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टी दर्ता प्रक्रियामा छन् । तर नेपाल लिभरल पार्टीले अनुसूची–३ लगायतका विवरण पेश नगरेको र राष्ट्रिय जेनजी पार्टीको विधानसम्बन्धी फाइलमा टिपोट गरिएको उनले बताए । निर्वाचन घोषणापूर्व दर्ताको निवेदन दिएका १० दलमध्ये उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीसहितका केही दलले आवश्यक कागजात नपुगेकाले दर्ता स्वीकृत पाएका छैनन् ।

आयोगले कागजात पूरा भएका दलहरूको निवेदनमा ४५ दिनभित्र निर्णय गर्ने प्रावधान राखेको छ । यसअघि दर्ता भएका १२२ दलमध्ये दुई दल विभाजन भई अहिले कुल १२४ दल पुगेका छन् । आयोगमा निर्वाचन घोषणा पूर्व दर्ताको निवेदन प्राप्त भएका १० दलको कागजात नपुगेकाले स्वीकृति नदिइएको जनाइएको छ । त्यसमा उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायत छन् । आयोगले कागजात पुगेकाको हकमा दर्ताको निवेदन दिएको ४५ दिनभित्र निर्णय दिने गरेको छ । आयोगमा यसअघि १२२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई १२४ दल पुगेका छन् ।

दल दर्ताका लागि के–के चाहिन्छन् कागजात ?
राजनीतिक दल दर्ताका लागि संविधान २०७२ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दलको विधान, नियमावली, घोषणापत्र (२–२ प्रति), झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिन्ह, दलको नाम र कार्यालय ठेगाना, केन्द्रीय समितिका सदस्यहरूको नाम र ठेगाना, आयस्रोतको विवरण, समावेशी प्रतिनिधित्व, पाँच वर्षमा एक पटक निर्वाचनको व्यवस्था, केन्द्रीय पदाधिकारीको नागरिकता प्रतिलिपि, र सबै पदाधिकारीको हस्ताक्षर अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ ।

यस्तै विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था, विधान वा नियमावलीमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीको निर्वाचन हुने व्यवस्था, विभिन्नस्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरु समेत रहने समावेशी व्यवस्था, दलको विधानमा दलका सदस्यहरुलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था, केन्द्रीय भेलाबाट केन्द्रीय कार्यसमितिको चयन, विधान, झण्डा, लोगो कुन राख्ने चुनाव चिन्ह कुन रोज्नेसम्बनधी निर्णय भएको हुनुपर्ने हुन्छ । यसैगरी केन्द्रीय पदाधिकारीको नागरिकताको प्रमाणित प्रतिलिपि, निवेदन दर्ताको लागि सो निवेदन, विधान, नियमावली र घोषणापत्रमा सबै केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षरलगायतका सामग्री सम्लग्न भएको हुनुपर्छ ।

निर्वाचन प्रयोजनका लागि सूचना आउँदै
निर्वाचन प्रयोजनका लागि आयोगले कात्तिक २८ गते सूचना प्रकाशन गर्नेछ । त्यसपछि पुराना र नयाँ दुवै दलले पुनः निर्वाचन प्रयोजनका लागि दर्ता निवेदन दिनुपर्नेछ । यसका लागि आयोगले मंसिर १ देखि १० गतेसम्म १० दिनको अवधि दिने तयारी गरेको छ । यसरी दर्ता भएका दलहरूले मात्र समानुपातिक प्रणाली तर्फको निर्वाचनका लागि भाग लिन पाउने छन् ।

नयाँ दल र पुराना अनुहार
निर्वाचन नजिकिँदै गर्दा दल दर्ताको गतिविधि त तीव्र भएको छ नै, नयाँ दल खोल्ने घोषणा पनि त्यत्तिकै बढेको छ । केही पुराना राजनीतिक अनुहारहरू पनि नयाँ पार्टी लिएर मैदानमा उत्रिएका छन् । जस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ र रेशमलाल चौधरी—दुवै जना वर्षौंदेखि राजनीतिमा सक्रिय भए पनि राज्यका पदमा पुग्न सकेका छैनन् । उनीहरू अहिले फागुन २१ को निर्वाचनमा आफ्ना संगठनलाई स्थापित गर्ने तयारीमा छन् ।

त्यस्तै, पछिल्लो जेनजी आन्दोलनपश्चात केही नयाँ पुस्ताका अनुहारहरू पनि राजनीतिक रूपमा अघि बढ्न खोजिरहेका छन् । तीमध्ये कतिपय जेनजी युवाहरू र स्थानीय सरकारका जनप्रतिनिधिहरू रहेका छन्, जसले जनतासँग नजिक भएर काम गर्दै आएका छन् । निर्वाचन नजिकिँदै गर्दा देशभर एउटा बहस चलिरहेको छ–के नयाँ पुस्ता आफ्नै दल लिएर अघि बढ्ने छन्, वा पुराना दलमै समाहित हुनेछन् ? यो प्रश्नको उत्तर अब आउने निर्वाचनले नै दिनेछ ।

फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमै रोकिए (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि काठमाडौँबाट फोहोर लिएर गएका गाडीहरू बाटोमै रोकिएका छन् ।

स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएको छैन ।महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको छ ।

पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र काठमाडौँ महानगरपालिकाबिच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन्।

 

जेनजी आन्दोलनपछि धेरै पुराना पात्र पोलिटिक्सबाट एक्जिट भएका छन् : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नु पर्ने बताएका छन् । शुक्रवार पार्टीले आयोजना वृहत राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरुमा रुपान्तरणको चाप बढाएको उल्लेख गर्दै त्यसलाईं संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

उपसभापति वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरुलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको उनको भनाई थियो । उपसभापति वाग्लेले भने, ‘हामीले कल्पना नै नगरेका परिवर्तनहरु पनि भएका छन् । पोलिटिक्सबाट एक्जिट भएका छन् धेरै पुराना पात्रहरु । पुराना पात्रहरुप्रति रोष पनि विष्फोट भएको हो । डा. बाबुराम भट्टराईले पनि एउटा उदाहरण प्रस्तुत गर्नुभयो । दल छोडेर उहाँले एउटा स्वतन्त्र र पूर्व प्रधानमन्त्रीको हैसियतमा अहिले हुनुहुन्छ । अन्य दलहरुमा पनि यसले जुन रुपान्तरणको चाप बढाएको छ । दबाब बढाएको छ ।’

उनले भने, ‘त्यसलाई विस्तारै संग्रह गरेर सुशासन पक्षमा हामीले यसलाई वैधता दिनेतिर जानु नै पर्ने हुन्छ । अन्तत्वगत्वा निर्वाचनबाट अनुमोदित नभई धेरै कुराले वैधता नपाउने भएको हुनाले यतातिर पनि मुलुकले सोचिराखेको छ । यसमा बहसहरु चलिरहेका छन् । त्यसले पछिल्लो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । अग्रगमनको बाटोमा जानुपर्नेछ ।’

उनले थपे, ‘पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरुलाई पनि जोगाउनु छ । कहिलेकाँही यो हुल आँधीबेहरीमा पुराना उपलब्धिहरुलाई बढार्ने काम हुन्छ । पश्चागमनका प्रयासहरु पनि हुने गर्दछन् । त्यसैले अगाडि नै जाने हो । तर यसका सीमाहरु छन् । विधि, विधान, संविधान धेरै मिच्न भएन । त्यो मिचिएको खण्डमा पनि डिरेल भएका कुराहरुलाई पनि ट्रयाकमा ल्याउन पर्‍यो । ट्रयाकमा ल्याउने विधिहरु पनि सीमित छन् । तर यो सबै गर्ने हामीले नै हो ।’ उपसभापति वाग्लेले संविधानबाट डिरेल भएका कतिपय कुरालाई पनि ट्रयाकमा ल्याउनुपर्ने आवश्यकता औंल्याए।

कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो । अब आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ । आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर कार्यतालिका पेस गर्न समय पाउनु पर्ने बताएका थिए ।

आज पनि कार्यतालिका ल्याउन नपाउने हो भने आफू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने महामन्त्री थापाले जानकारी गराएका थिए । कार्यवाहक सभापति खड्काले एक दुई दिन समय आवश्यक रहेको बताएका थिए । कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनु पर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ ।

ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारणसहित लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा यही कात्तिक १२ गते दायर गरेका थिए ।

रिट निवेदनमा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलगायतमाथि गैरकानुनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानुनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेशको माग गरिएको थियो, तर अन्तरिम आदेश भने जारी भएन। गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री ओली, निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न दिएको सिफारिसबमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।

आयोगले निवर्तमान प्रधानमन्त्री ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो ।

रेशम चौधरीको चेतावनी : मलाई चुनाव लड्न नदिए, देशमा चुनाव नै हुँदैन

काठमाडौँ । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूले चुनावमा भाग लिन नपाए देशमा चुनाव नहुने बताएका छन् । उनले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका हुन् । उनले टीकापुर घटनामा आफूलाई फसाइएको दाबी गर्दै सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव हुन नसक्ने दावी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौँमा आयोजना गरेको बृहत् राजनीतिक संवादमा बोल्दै चौधरीले भने, ‘देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, अनि कलम चलाउनेले फैसला गरिदिने ?’, अदालतमाथि प्रश्न गर्दै भने, ‘अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने ?’

उनले भने, ‘रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन पाएनन् भने यो देशमा चुनाव नै हुन सक्दैन । के को चुनाव ? सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस एमाले र जेनजीको इतिहास के थियो ?’ चौधरीले जेनजीका साथमा नागरिकहरूको साथ रहेको भन्दै नआत्तिन आग्रह गर्दै जेनजीलाई फसाउन सक्नेतर्फ सचेत हुन आग्रह गरे । उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाए ।

‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नु भयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनु पर्ने ?,’ चौधरीले भनेका छन् । उनले आफूलाई राज्यले पटक–पटक अन्याय गरेको बताएका छन् । ‘आकाशमा कालो बादल मडारिएको छ । तपाईंले विचार गरेर हिँड्नु पर्छ,’ जेन–जी प्रतिनिधिको ध्यानाकर्षण गराउँदै चौधरीले भने, ‘आफूले थारु अल्पसंख्यक समुदायको आवाज उठाउँदा फसाइएको हो ।’