`

जेनजी आन्दोलनको असर : ५० दिनदेखि विमानस्थलको भीआईपी कक्ष बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट (भीआईपी) कक्ष ५० दिनदेखि बन्द छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भीआईपी कक्ष बन्द गरेको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको थियो । त्यसपछि भीआईपी कक्ष खोलिएको छैन ।

केही दिनअघि अर्थमन्त्री रामेश्वर खनालले अमेरिका जाँदा तथा आउँदा र उर्जामन्त्री कुलमान घिसिङ भारत जाँदा सामान्य नागरिककै लाइनमा बसेर यात्रा गरेका थिए ।

यसै साता नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा उपचारका लागि सिंगापुर जाँदा सामान्य व्यक्तिकै लाइनमा बसेका थिए ।

विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार जेनजी प्रदर्शनका समयमा सुरक्षाका कारण भीआईपी कक्ष बन्द गरिएको थियो, । “कुनै थप निर्णय नआएकाले भीआईपी कक्ष खोलिएको छैन ।”

नेपाली सेनाले गत असोज ३१ गते जंगी अड्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते दुई हजारको संख्यामा प्रदर्शनकारी त्रिभुवन विमानस्थलमा प्रवेश गर्न खोजेको जनाएका थिए ।

प्रदर्शनकारीहरू विस्फोटक पदार्थसहित विमानस्थलमा प्रवेश गर्न खोजेका थिए । सेनाले उनीहरूलाई रोक्न सफल भएको  उपरथी थापाको भनाई थियो ।

प्रदर्शनकारी विमानस्थलमा प्रवेश गर्ने खतरा बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भदौ २४ गते साढे २ बजे एक सूचना जारी गर्दै विमानस्थल बन्द गरेको जनाएको थियो ।

कार्यालयले भदौ २५ गते साढे ११ बजे अर्को सूचना जारी गर्दै विमानस्थल बन्द रहेकाले यात्रुहरूलाई विमानस्थलमा नआउन अनुरोध गरेको थियो । भदौ २५ गते नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठक बसेको थियो ।

त्यसपछि त्यही दिन दिउँसो साढे ३ बजे कार्यालयले विमानस्थल पुनः सुचारु गर्ने निर्णय भएको सूचना जारी गरेको थियो ।

विमानस्थल सुचारु गरिए पनि भीआईपी कक्ष बन्ने अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको थियो । त्यसपछि बन्द गरिएको भीआईपी कक्ष ५० दिन बित्दा पनि खोलिएको छैन ।  भीआईपीहरूले अन्तर्राष्ट्रिय तथा आन्तरिक यात्र गर्दा भीआईपी कक्षको प्रयोग गर्ने गर्थे । जेनजी प्रदर्शन लगत्तै भीआईपी कक्ष बन्द गरिएपछि भीआईपीहरू सामान्य व्यक्तिकै लाइनमा बसी यात्रा गर्दै छन् ।

नेपाल राजपत्र खण्ड ६४ (साउन ५, २०७१) संख्या १२ को सूचनाको बुँदा (ख) (३) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनस्थित भीआईपी कक्ष प्रवेश तथा प्रयोगका लागि तोकिएका पदाधिकारीहरूलाई सम्बन्धित निकायको पत्रका आधारमा प्रवेश अनुमति दिने व्यवस्था छ ।

 

भारत महिला विश्वकपको फाइनलमा, दक्षिण अफ्रिकासँग उपाधि भिडन्त

काठमाडौं । भारतले महिला एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै भारत विश्वकप उपाधि नजिक पुगेको हो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो।

भारतलाई जित दिलाउने क्रममा जेमिमा रोड्रिग्सले अविजित १२७ रनको उत्कृष्ट पारी खेलिन् । उनी प्लेयर अफ द म्याच घोषित गरियो। कप्तान हरमित कौरले ८९ रनको योगदान गरिन् । अब उपाधिका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

निर्वाचन भएन भने देश डरलाग्दो अँध्यारो सुरुङमा फस्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका बेला उनले यस्तो धारणा राखेका हुन् ।

भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरुले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नु पर्ने बताए । वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीहरु हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाई थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरुले अघि बढ्दा नै उपयुक्त हुने समेत बताए ।

उनले भने, ‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ । यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ । त्यसमा निम्ति जुन हाम्रा अलग–अलग दलहरु छन् । अलग अगल दल पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहरुलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधारहरु पनि छन् त।’ भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरुलाई बलियो बनाएर अघि बढन उपयुक्त पनि स्पष्ट पारे ।

डा. भट्टराईले कांग्रेस र कम्युनिष्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताएका छन् । भट्टराईले भने, ‘उनीहरूले जनतालाई पटक–पटक ठगेर सत्तामा पुगेका छन् । सङ्गठन तलैसम्म छन् । जेनेजी विद्रोहले जरा त हल्लिएको छ, तर उखेलिएको छैन। कांग्रेस र कम्युनिष्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्छ ।’ उनले जेनजी र नयाँ वैकल्पिक शक्ति एकजुट भएर चुनावमा जानुपर्ने उल्लेख गर्दै त्यसको नेतृत्व जेनजीले लिनुपर्ने बताए ।

माओवादीसँगको पार्टी एकता भाँड्न खोजियो : जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गरेका छन् । शुक्रवार केन्द्रिय कमिटी बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ लागिपरेको बताए । उनले बैठकमा सम्मानित नेता खनालले एकता नगरौं भन्ने सुझाव दिएको भए पनि बैठकले एकता गर्ने पक्षमा निर्णय लिने दाबी गरे ।

माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रुमपा माक्र्सवाद लेनिनवादलाई आफूहरुले पनि मान्ने गरेको बताए । आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुरानै घर फर्किनुस् भन्ने आह्वान पार्टी एकता भाँड्नका लागि भएको जिकिर गरे ।

उनले भने, ‘नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल यी तीन दलहरु एकीकरण गर्नका निम्ति पूर्ण विश्वासका साथ काम गरिरहेका छौँ । एकता हुन्छ । बैठकमा सम्मानित नेता खनालले राख्नुभएको सुझाव हो, एकता नगरौँ । गरेर राम्रो हुँदैन भन्ने सुझाव उहाँको हो । बैठक भनेकै राय, सल्लाह, सुझाव दिनका लागि गरिने हो । निर्णय एकताको पक्षमा हुन्छ । र एकताको प्रक्रियामा तत्काल अघि बढ्छौँ ।’

उनले भने, ‘माओवाद उसले छोड्ने भयो, माओवादीलाई मार्गदर्शक सिद्धान्तका रुमपा माक्र्सवाद लेनिनवादलाई मान्छ । हामी पनि त्यसलाई मान्छौँ । धेरै कुराहरु हामीले छलफल गरेर डकुमेण्ट आदानप्रदान गरेर मिलाइसकेका छौँ । हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौँ । केपी ओलीको आह्वान यो साजिस हो । हाम्रो एकता भाँड्न प्रयास गरेको मात्रै हो । उहाँ एकताको लागि कहिल्यै हुनु हुन्न ।’एकताको प्रक्रिया सकिएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने जिकिर गरे ।

 

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।

सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।

प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जवाफदेहिता स्पष्ट पार्ने उद्देश्यसहित चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर प्रमुख चुनौतीबारे स्वास्थ्य सेवा प्रणालीका समस्या समाधानका लगि सुझाव दिएको हो ।

भेटपछि एक विज्ञप्ति जारी गरी सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै सङ्घले मानवस्रोत तथा समायोजनका समस्या रहेको जानकारी गराएको छ  ।

“सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीलाई समान कामका लागि समान पारिश्रमिक नीति तत्काल लागू गर्न, महिला स्वास्थ्य स्वयंसेविकाकको सञ्जाल, स्थानीय सरकार, कानुनी प्रावधानहरु जस्ता आधारभूत संरचनामा सुधार आवश्यक छ । स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानवस्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न समन्वय आवश्यक छ । यसका लागि पहल होस्”, सङ्घले भनेको छ ।

नयाँ पार्टी खोल्ने खगेन्द्र सुनारको घोषणा

काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । दलितको झण्डा र एजेण्डा सिंहदरबार पुर्‍याउन नयाँ दल खोल्ने तयारी भइरहेको उनले आज एक कार्यक्रममार्फत जानकारी गराएका हुन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सुनारले जेनजी प्रतिनिधिलाई समेत समावेश गरेर नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन् । ‘नेपालको दलित आन्दोलनमा नयाँ खालको तयारी भइरहेको छ । नयाँ पार्टी निर्माण गरेर जाने तयारी भएको छ,’ सुनारले सुनाए ।

विभिन्न अफवाह फैल्याएर आफूलाई मन्त्री बन्न रोके पनि सुनारले आफू अहिले मन्त्रीको दौडमा नरहेको बताए । ‘मन्त्री बन्ने दौडमा छैन, तर सरकारको पक्षमा र सुशीला आमाको पक्षमा छु,’ सुनारले भने, ‘अब हाम्रो तयारी फागुन २१ गतेको चुनावका लागि हुन्छ । सबै अट्ने लोकतान्त्रिक दल बनाउँछौं ।’ सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीबीच विभिन्न विवादमा परेकाले अन्तिम समयमा उनको नियुक्ति रोकिएको थियो ।

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि तोकिएको छ बुँदे मापदण्ड खारेज गरी नयाँ व्यवस्था लागू गरेको छ।

गृह मन्त्रालयको २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार, अब भिजिट भिसामा विदेश प्रस्थान गर्न इच्छुक नेपाली नागरिकले केवल चारवटा कागजात पेश गरे पुग्नेछ।

विभागले यो निर्णय सार्वजनिक गर्दै सबै नेपालीलाई कुनै पनि विचौलियाको प्रभावमा नपरी निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।

नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात
१. कम्तीमा ६ महिना वैधता भएको राहदानी,
२. सम्बन्धित देशको भिसा (वा अनअराइभल भिसा प्रदान गर्ने देशका लागि त्यस्तो प्रमाण),
३. गन्तव्यसम्मको हवाई टिकट,
४. भ्रमणको प्रयोजन स्पष्ट गर्दै स्वघोषणा।

विभागका अनुसार यो निर्णय अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ (२)(ख) मा संशोधन गरी गरिएको हो। यसअघि लागू गरिएको छ बुँदे मापदण्डले भिजिट भिसामा हुने प्रस्थानलाई सहज बनाउने उद्देश्य राखे पनि व्यवहारमा त्यसले अनावश्यक झन्झट र अनियमितता बढाएको भन्दै व्यापक आलोचना भएको थियो।

 

 

बालुवाटारमा रास्वपाको बृहत राजनीतिक संवाद, बाबुराम र रेशम पनि सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वृहत राजनीतिक संवाद सुरु भएको छ । रास्वपाले काठमाडौँको बालुवाटारमा वैकल्पिक राजनीतिक शक्तिहरुसँग बृहत छलफल सुरु गरेको हो । छलफलमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, वीरेन्द्रबहादुर बस्नेत नेतृत्वको गतिशिल लोकतान्त्रिक पार्टी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, जेनजी अगुवा सुदन गुरुङ पक्ष लगायतको उपस्थिति छ ।

पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उपभासपति डा. स्वर्णिम वाग्लेलाई सो छलफलको जिम्मेवारी तोकेको थियो । वैकल्पिक राजनीतिक शक्तिहरुसँग यसअघि भएको एक्ला एक्लै छलफललाई अब सामूहिक र बृहत्तर बनाउन सो छलफलको कार्यक्रम आयोजना गरिएको हो ।

पार्टीले सबै वैकल्पिक राजनीतिक शक्तिहरूको नेतृत्व गर्न साझा धारणा बनाउन र जेनजी आन्दोलनको मर्मलाई लक्ष्यमा पु¥याउन यो बैठक फलदायी हुने अपेक्षा गरिएको छ । एक भन्दा धेरै दल र समूहसँग समान धारणा र एजेण्डा बनाउन सो बैठक आयोजना गरिएको रास्वापा नेतहरुले बताएका छन् । नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सहकार्यका नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको उपसभापति वाग्लेले बताएका छन् ।

आफै कार्यकक्षमा ताला लगाएर सडकबाट सेवा दिंदै वडाध्यक्ष

रोल्पा । रोल्पाको थवाङका दुई वडाध्यक्षले आफ्नै कार्यकक्षमा ताला लगाएर गाउँपालिकालाई चावी बुझाएका छन् । वडा नम्बर १ का वडाध्यक्ष हिराप्रसाद बुढा र अभिलाषा रोकाले हिजो आ–आफ्नो कार्यकक्षमा ताल्चा लगाएर गाउँपालिलाई साँचो बुझाएका हुन् । सडक स्तरोन्नति र विद्युत प्रसारणसम्बन्धी समस्या समाधानका लागि पालिकालाई पटक–पटक ध्यानाकर्षण गराए पनि वेवास्ता गरिएपछि यो कदम चालेको उनीहरुको भनाइ छ ।

गाउँपालिकाले काम नगर्ने तर जनताको नजरमा आफू दोषी देखिने परिस्थिति आएकाले वडा कार्यालयमा ताला लगाउन बाध्य भएको वडाध्यक्ष बुढाले बताए । उनले भने, ‘जनताको समस्या समाधान गर्न मैले बारम्बार पालिकामा कुरा राखेको छु, तर आजसम्म मेरो आवाज सुनिएन, जनप्रतिनिधिको आवाज त बेवास्ता गरिन्छ भने आम जनताको आवाज कसरी सुनिन्छ ?’

अर्का वडाध्यक्ष रोकाले पनि प्रतिकात्मक विरोध जनाउँदै गाउँपालिकामा चावी बुझाएको बताए । ‘जनताले आफ्नो समस्या हामीलाई सुनाउँछन्, हामीले पालिकामा सुनाउने हो, तर पालिकाले न मेरो आवाज सुन्छ, न जनताको, अब पालिकाले नै भनिदेओस् हामीले कसरी काम गर्ने !’, उनले सुनाए । आफूले उठाएका माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले उनले सडकको गल्लीमा बसेर नागरिकता सिफारिस लगायतका सेवा दिएका छन् ।

ल्याप्टप र एउटा फोटोकपी मेशिन साथमा लिएर उनले अति आवश्यकीय सेवा गल्लीबाट दिइरहेको वडावासीले जनाएका छन् । बाटो र विद्युत् विस्तारको काममा ढिलाइ भएको भन्दै वडाध्यक्ष अभिलाषा रोकाले बिहीबार वडा कार्यालयमा ताला लगाएर साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका थिए । आफ्नो माग सम्बोधन नभए उनले पदबाट राजीनामा दिएर जनतासँगै आन्दोलनमा होमिने चेतावनी उनले दिएका छन् । वडाध्यक्ष रोकाका अनुसार गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध रहेको र केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती हुँदा जनता अन्धकारमा बस्न बाध्य बनेको उनको भनाइ छ ।

माओवादी केन्द्रसँगको पार्टी एकता अभियुक्तहरुको एकता हो : नेता अर्याल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता दामोदर अर्यालले नेकपा (माओवादी केन्द्र) सँगको एकता अभियुक्तहरुको एकता मात्रै हुने बताएका छन् । सञ्चारकर्मीहरुसँग पार्टी केन्द्रिय कमिटी बैठकस्थलमा शुक्रवार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले जेनजी मुभमेण्टले सबै पार्टीको गठन, पुनः गठन, ध्रुवीकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश दिएको तर माओवादीसँगको एकताले त्यो पुष्टि हुन नसक्ने धारणा राखे ।

उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्पति शुद्धिकरणको निगरानीमा रहेको र पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सुन तस्करी प्रकरणमा कारागारमा रहेको र अन्य नेताहरु समेत सुन तस्करीसँग जोडिएको भन्दै माओवादीसँगको पार्टी एकता अभियुक्तहरुको एकता हुने जिकिर गरे ।

अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरुको एकताले जनतामा आशा र विश्वास जगाउन नसक्ने उनको भनाइ छ । बद्नाम भएका पात्रहरु बाहिर राखेर समाजले पचाउने खालका इमान्दार नेताहरुको नेतृत्वमा पार्टी पुनःगठन अहिलेको आवश्यकता रहेको बताए । अभियुक्तहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरुको हत्याको आरोपमा अर्धभूमिगत रहेको आरोप लगाउँदै छानविन आयोगमा गइ बयान दिने र राजनीतिक अवकाश लिनुपर्ने बताए ।

उनले भने, ‘जेनजी मुभमेण्टले सबै पार्टीको गठन, पुनःगठन, धु्रवीकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश छ । यसबारेमा नै हामीले छलफल गरेका छौँ । अहिले के छ भने प्रचण्डजी सम्पति शुद्धिकरणको निगरानीमा हुनुहुन्छ । त्यो पार्टीको उपाध्यक्ष एक जना महराजी सुन तस्करी काण्डमा जेलमा हुनुहुन्छ । त्यो भन्दा बाहेक अरु नेताहरु पनि सुन तस्करी, विभिन्न भ्रष्टाचारका मुद्दामा लागिरहेकै छन् । हाम्रै पार्टीका अध्यक्षलाई पतञ्जली काण्डमा भ्रष्टाचारको मुद्दामा आरोपित नै हुनुहुन्छ । त्यसकारण प्रचण्ड र माधव नेपालसहितको एकता भनेर र यो अभियुक्तहरुको एकता हुन्छ, सबै अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरुको एकताले जनतामा आशा र विश्वास जगाउँदैन ।’

उनले भने, ‘सारा बद्नाम भएका पात्रहरु बाहिर राखेर समाजले पचाउने खालका इमान्दार नेताहरुको नेतृत्वमा पार्टी पुनःगठन हुनुपर्छ । अभियुक्तहरुको एकता नभइ वामपन्थीहरुको एकता गर्नुपर्छ । ७८ जना युवाको हत्याको आरोपमा अर्धभूमिगत रुपमा गुण्डुमा हुनुहुन्छ, ओलीजी । उहाँलाई अधिकार नै छैन । उहाँ छानविन आयोगमा जाने, बयान दिने र राजनीतिक अवकाशमा जाने बाहेकका विकल्प छैन ।’ उनले वाम पार्टीहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको बताए । आफूहरु शीर्षस्थ नेता बाहेकको पार्टी एकताको पक्षमा रहेको बताए । –न्युज एजेन्सी नेपाल

भासियो कोशी राजमार्ग

धनकुटा । लगातारको वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासिएको छ । राजमार्गको चारखोले गोलाई क्षेत्रमा कोशी राजमार्ग भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध आएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान ११ः०० बजेको समयमा लोकमार्गको करिब १० मिटर खण्ड भासिएको हो ।

सडकको एक भाग पूर्ण रूपमा अवरुद्ध भए पनि, साना सवारी साधनहरू भने जोखिम मोलेर एकतर्फी रूपमा आवतजावत गरिरहेका छन् । सो स्थानमा इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यस्तै अविरल वर्षाको कारण धनकुटा–पाँचथर जोड्ने तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटाको चौविसे गाउँपालिका–४ सिमानाबाट बग्ने नावाखोलामा पानीको बहाव बढेर बाढी आएपछि तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

बाढीका कारण सडकको केही भाग बगाएर सडक सम्पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएका छन् । अहिले पाँचथरतर्फ तीनवटा र धनकुटातर्फ चारवटा ट्रक सडकमा रोकिएका छन् । अवरुद्ध सडक पुनः सञ्चालनका लागि डोजर परिचालन गरी मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । नावा खोलामा पक्की पुल नहुँदा वर्षा हुने बित्तिकै खोलामा पानीको बहाव बढ्ने हुँदा बाढी आएर सडक अवरुद्ध हुने गरेको छ । अहिले पक्की पुल निर्माणधीन अवस्थामा छ । भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ । सडकमा पहिरो खस्दा दुवै तर्फका सवारी साधन रोकिएका छन् । अविरल वर्षाले पहिरो पन्छाउने काम हुन सकेको छैन ।

राम मन्दिर परिसरका अवैध संरचनामा काठमाडौं महानगरको डोजर (तस्वीरहरु)

काठमाडौं । महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरका अवैध संरचनामा डोजर चलाएको छ । सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो । सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रुपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुल्ला र व्यवस्थित गर्ने महानगरको योजना समेत रहेको महानगरले जानकारी दियो ।

त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको मन्दिर छेउछाउमा जस्ताका टहरा बनाइएका थिए। महानगरपालिकाले शुक्रबार त्यसलाई हटाएको हो । यो मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९३०/०३१ सालमा निर्माण गराएको बताइन्छ ।

वि.सं. १९९० सालको भुइँचालोमा क्षति पुगेको मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले जीर्णोद्धार गरेका थिए । मन्दिरमा मुख्य देवता भूदेवी र श्रीदेवीसहित चतुर्भुज नारायण छन् । यस मन्दिर क्षेत्रमा चार प्रकारका लक्ष्मणसहित सीता र रामका मूर्तिहरू छन् भने शिवलिंग, पादुका, हनुमानको मन्दिर लगायत पनि छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

मुस्ताङमा बाढी-पहिरोले यातायातमा समस्या, कोरला सडक खण्ड पूर्णरुपमा अवरुद्ध

मुस्ताङ । अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडक खण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भाँसिएर सडक जोखिम बढेको जानकारी दिए । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पुर्‍याएको छ । यद्यपि सुरक्षा नियकायले हाललाई कामचलाउ रुपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ । जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ ।

‘मुक्तिनाथ–जोमसोम सडकका विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झाने प्रयास गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी भुसालले भने, ‘जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाएका छौँ ।’ प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै सडक माथि जान दिइने बताए । यसैगरी जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेर बसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।

बाढी पहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ । ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पुर्‍याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध छ ।

वर्षाका कारण सडक अवरुद्ध भए अलपत्र १७ जना यात्रीहरुलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताए । वर्षा रोकिएपछि उनीहरुलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको बताए । अवरुद्ध जोमसोम–कागबेनी सडकको शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायतका सुरक्षाकर्मीले अवलोकन गरेका छन् । जोमसोम–कागबेनी भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुई-तीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सुतेकै ठाउँमा फरुवाले हानेर आमाको हत्या

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराले आमाको हत्या गरेका छन् । डिएसपी मोहनजंग बुढथापाका अनुसार करिब ३०–३५ वर्षका कविराम बस्नेतले आफ्नी ५० वर्षीया आमा धनिकला बस्नेतमाथि शुक्रबार बिहान करिब ७ बजे घरमै सुतिरहेको अवस्थामा फरूवाले टाउकोमा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी धनिकला बस्नेतलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पु¥याइएको थियो । तर, उपचारका क्रममा बिहान करिब ८ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले फरार रहेका कविराम बस्नेतलाई छिन्चु बजार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनलाई हाल प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

मनास्लु क्षेत्रमा पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

गोरखा । मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् । घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन् । चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए । प्रतिकूलमौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘टाउकोमा गम्भीर चोट छ, झन जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन’, उनले भने । प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन् । बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर लम्साल घाइते भएका थिए । –रासस

पछिल्लो तीन महिनामा ५० अर्ब ऋण थपियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा रु ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रु २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर रु २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ। हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत बराबर हुन आउँछ।

कुल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ०९ प्रतिशत अर्थात् रु १४ खर्ब ४६ अर्ब ५८ करोड र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत अर्थात् रु १२ खर्ब ७८ अर्ब सात करोड छ।

सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा पहिलो त्रैमासमा रु एक खर्ब ८४ करोड ऋण प्राप्ति भइसकेको कार्यालयले जनाएको छ। जुन वार्षिक लक्ष्यको तुलनामा १६ दशमलव ९३ प्रतिशत बराबर हो।

आन्तरिकतर्फ रु तीन खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा रु ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४ दशमलव ८६ प्रतिशत ऋण उठिसकेको छ। त्यस्तै, बाह्यतर्फ रु दुई खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको चार दशमलव ६५ प्रतिशत अर्थात् रु एक अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको छ।

सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष रु चार खर्ब ११ अर्ब एक करोड बराबर बजेट छुट्याएको छ। जसमध्ये असोज मसान्तसम्म रु एक खर्ब नौ अर्ब ८९ करोड बराबर भुक्तानी भइसकेको छ। यो वार्षिक बजेट विनियोजनको आधारमा २६ दशमलव ७४ प्रतिशतको हो।

कुल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कुल ऋण सेवा खर्च एक दशमलव ८० प्रतिशत रहेको छ।

गगन–शेखर पक्षको निष्कर्ष : पुस १६ मा नियमित महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालगायतको समूहले पार्टीको नियमित महाविधेशन पुस १६ गतेसम्म गर्न सकिने निष्कर्ष निकालेको छ । आज (शुक्रबार) बिहान कोइरालाले विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए ।

छलफलमा नियमति महाधिवशेनका रुपमा पुस १६ गते उद्घाटन गर्ने गरि तालिका ल्याउने सकिने र क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुंग्याउन सकिने निष्कर्ष निकालिएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । पुस १६ गते पार्टीका संस्थापक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो । त्यस्तै क्रियाशील सदस्यता टुंग्याएको १५ दिनभित्र तल्लो समितिका अधिवेशन पनि गर्न सकिने निष्कर्षमा यो समूह पुगेको छ । विशालनगरको छलफलपछि आफ्नो समूहको निष्कर्ष लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न पुगेका छन् ।

पदाधिकारी बैठक बस्नुअघि महाधिवेशनबारे एउटा साझा एजेन्डा बनाउने प्रयास अहिले कांग्रेसभित्र चलिरहेको छ । आफूले विशेष महाधिवेशनको एजेन्डा प्रस्तुत गर्न नपाएपछि थापाले हिजोको बैठक नै बहिस्कार गरेका थिए । तर, आज भने कार्यवाहक सभापति खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ ।

महामन्त्रीद्वय थापा र शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन् । कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । उनलाई संस्थापनका नेताहरुले बलियो साथ दिइरहेका छन् । यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन । महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए । तर, कार्यबाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन् ।

 

जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् । उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

शेखरपछि कार्यवाहक सभापति खड्कासँग दुई महामन्त्री छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका दुुई महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफलमा जुटेका छन् । कांग्रेस पदाधिकारी बैठकअघि उनीहरू खड्का निवासमा पुगेर छलफलमा जुटेका हुन् । कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र महाधिवेशन कहिले गर्ने भन्नेमा टुंगो नलागेपछि नेताहरू छलफलमा जुटेका हुन् ।

यसअघि नेता शेखर कोइरालाले पनि आज बिहान आफू निकट पदाधिकारीहरूसँग छुट्टै छलफल गरेका थिए । कोइरालाले आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गरेका हुन् ।

कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अश्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए । त्यसपछि भड्किएका महामन्त्री गगन थापालाई बैठकमा फर्काउन कोइरालाले छलफल गरेका छन् । कोइराला समूहको छलफलले २१ फागुनको निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

झरीको पर्वाह नगरी आन्दोलनमा नर्सहरू : सिभिल अस्पतालमा सेवा बन्द गरेर धर्ना (तस्वीरहरू)

काठमाडौं । काम अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका नर्सहरूले आज (शुक्रबार) पनि विरोध प्रदर्शनलाई जारी राखेका छन् । नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधालगायतका १५ बुँदे मागसहित नेपाल नर्सिङ संघको आव्हानमा १८ गतेसम्म बिहान १० देखि दिउँसो १२ बजेसम्म अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरिएको छ ।

यसै क्रममा आज सिभिल अस्पतालका नर्सहरू सेवा बन्द गरेर २ घण्टा धर्ना दिएका छन् । नर्सहरुले झरीको समे पर्वाह नगरी विरोधका कार्यक्रमलाई निरन्तरता लिएका हुन् । ०८२ असोज २४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पत्राचार भएअनुसार निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सबै नर्सहरूको न्युनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गरिनुपर्ने संघको मुख्य माग छ ।

नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गरिनुपर्ने, जोखिम भत्ता, अतिरिक्त भत्ता प्रदान गरिनुपर्ने, दरबन्दी सिर्जना, स्तरवृद्धि, अनिवार्य नियुक्तिपत्र, योग्यताका आधारमा जिम्मेवारी, ग्रेडको व्यवस्था, क्षमता अभिवृद्धि, नीति निर्माणमा सहभागिता, क्षतिपूर्तिलगायतका माग राख्दै नर्सहरू आन्दोलित छन् ।

‘भड्किएका’ गगनसहितका नेतासँग शेखरको छलफल, के विषयमा भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूसँग छलफल गरेका छन् । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान भएको छलफलमा संस्थापन इतर पदाधिकारीहरूलगायत नेताहरू सहभागी थिए । नेता कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री जीवन परियार बद्रीप्रसाद पाण्डेबीच छलफल भएको नेता कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा उनीहरूबीच छलफल भएको हो । सभापति शेरबहादुर देउवा पक्षले चुनावअघि महाधिवेशन गर्न नसकिने र विशेष महाधिवेशनमा पनि जान नसकिने बताइरहेका छन् । कांग्रेस नेता कोइरालाले केन्द्रीय कार्य समिति बैठकमा महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति तयार नभएपछि भड्किएका महामन्त्री गगन थापालाई बैठकमा फर्काउन पहल थालेका हुन् ।

कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अस्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए । उनले विहीवारको बैठक अघोषित बहिष्कार गरे । महामन्त्री थापा बिहीबारको केन्द्रीय समितिमा अनुपस्थित रहेका थिए । कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशनको माग भइरहेको छ । साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर समेत बुझाएका थिए ।

नेतृ झाँक्रीको चेतावनी : व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) की नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने चेतावनी दिएकी छिन् । नेकपा (माओवादी केन्द्र) र एसबीच पार्टी एकताको अन्तिम तयारी भइरहेका बेला झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । उनले भनिन्, ‘व्यक्तिगतको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ । इतिहासको वास्तविकता यस्तै छ ।’ उनले मान्छे नै थपेर बहुमत पु¥याउन सकिए पनि बहुमतले सबैको भावना बोक्छ भन्ने नहुने टिप्पणी गरिन् ।

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको तयारी हुँदै गर्दा नेताहरूको फरक–फरक मत आइरहेको छ । एकीकृत समाजवादीको जारी केन्द्रीय समिति वैठकमा माओवादीसँगको एकताको विषयलाई लिएर नेताहरु दुई धारमा विभाजित भएका छन् । अध्यक्ष नेपालसहितका नेता एकताको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँझीलगायतका नेता एकता गर्न नहुने पक्षमा देखिएका छन् ।

 

थ्रीडी कला संग्रहालय: जहाँ कलासँग रमाइलो र प्रकृति भेटिन्छ

ललितपुर । ललितपुर टिकाथलीको एउटा कुनामा पेन्टिङका भित्ताहरू बोल्छन्, छाया हाँस्छ र दृश्यहरूले दर्शकलाई आफूभित्र तान्छन्। कोही उडिरहेको चराको पखेटामुनि उभिएको छ त कसैले हिमपातमा हराएको जस्तो अभिनय गर्छ।

यो कुनै सपनाको दृश्य होइन, यो त थ्रीडी कला संग्रहालय हो, जहाँ कला केवल हेर्ने होइन, महसुस गर्ने कुरा हो।यसको पछाडि छन् सुन्दर बिष्ट, जो आर्टसाला नेपाल प्रा. लि. का संस्थापक अध्यक्ष हुन् । उनी पेशाले म्युरल कलाकार हुन्।

उनले नेपालका कलाकारहरूको सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सपना बोकेका थिए। उनी भन्छन्, “नेपाल सरकारको प्रतिनिधित्व गर्दै बैंकक पुगेको बेला ‘आर्ट इन प्यारेडाइज’ नामको संग्रहालय देखेँ। मानिसहरू चित्रभित्र पसिरहेका थिए, रमाइरहेका थिए। त्यो दृश्यले मलाई छोयो।”

त्यही अनुभवको बीउ अहिले टिकाथलीको थ्रीडी कला संग्रहालय बनेर फुलिरहेको छ। गत कात्तिक १ गते वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशका पर्यटन मन्त्री सुरेश श्रेष्ठ तथा देशका अन्य ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा यसको औपचारिक उद्घाटन गरिएको थियो।

थ्रीडी कला संग्रहालयको नारा छ- “कला, रमाइलोपन र प्रकृति एउटै ठाउँमा।” बिष्ट भन्छन्, “यी तीनवटा तत्वले जीवनलाई सन्तुलित बनाउँछन्। कला ध्यानजस्तै हो । जब मानिस रमाइलोपन र प्रकृतिसँग मिसिन्छ, तब मात्र जीवन खुसी हुन्छ।” त्यही दर्शन यहाँका प्रत्येक कुनामा देखिन्छ।

थ्रीडी कला हल भित्र फरक–फरक थिमका दर्जनौं कलाकृतिहरू छन्- जहाँ आगन्तुकहरूले चित्रसँगै खिचिएका आफ्नै तस्बिरहरूमा आफूलाई कलाको भागझैँ देख्न सक्छन्।

बाहिर निस्कँदा सानो प्राणी उद्यान (मिनी जू) देखिन्छ, जहाँ बालबालिकाले जनावरलाई नजिकबाट हेर्न र खान दिन सक्छन्। त्यसैगरी, प्ले जोनमा साना बच्चाहरू ट्रेन, ट्राम्पोलिन र अन्य रमाइला गतिविधिमा व्यस्त देखिन्छन्।

आर्ट क्याफेमा आगन्तुकहरूले खाना वा पेय पदार्थको आनन्द लिनका साथै आफ्नै चित्र पनि बनाउन सक्छन्। साथै, आर्टसाला विद्यालय अफ आर्टमार्फत विभिन्न उमेर समूहका विद्यार्थीहरूलाई चित्रकला, म्युरल र अन्य दृश्यकलाका प्रशिक्षणहरू दिइन्छ।

“हामीसँग अहिले स्थायी रूपमा करिब १५ जना परिपक्व कलाकार छन्, साथै परियोजनाको आधारमा कलाकारहरूको संख्या २५ हाराहारी रहन्छ,” बिष्ट भन्छन्।
यसबाहेक यहाँ संस्कृतिक संग्रहालय पनि छ, जहाँ पुराना पुस्ताले बाँच्ने जीवनशैलीलाई पुनःजीवित पारिएको छ। हाम्रो पुर्खाहरूको घर, खेतीपाती र कामकाजी जीवनलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

संग्रहालयमा भेटिएकी शिक्षक समिक्षा श्रेष्ठ आफ्ना विद्यार्थीहरूसँग रमाउँदै थिइन्। “यहाँ आउँदा बच्चाहरूको खुशी अनुहारमा देखिन्छ,” उनले भनिन्, “कक्षाकोठा बाहिर पनि कला सिक्न सकिन्छ भन्ने कुरा उनीहरूले यहाँ महसुस गर्छन्।”

परिवारसहित आएका सन्देश राईले भने, “सँगै समय बिताउन र सबै उमेरका मानिसका लागि रमाइलो ठाउँ रहेछ।”

संग्रहालयले वर्षभर १२ वटा सांस्कृतिक र शैक्षिक कार्यक्रमहरू आयोजना गर्छ। बिष्टले भने, “हामी प्याब्सन र अन्य शैक्षिक संस्थासँग सहकार्य गरेर बच्चादेखि वयस्कसम्मका लागि कला–वर्कशप, हाइक, सांस्कृतिक कार्यक्रम र आर्ट क्याम्प गर्छौं।”

हाल यसका शाखा थानकोट र नुवाकोटमा सञ्चालनमा छन् । आगामी नयाँ वर्षदेखि पोखरामा नयाँ शाखा सुरु गर्ने तयारी भइरहेको छ। “नेपालमा पर्यटन भन्नासाथ हामी प्रकृति सम्झन्छौं,” बिष्ट भन्छन्, “तर कला पनि पर्यटन हो। हामीले यसलाई व्यावसायिक रूपमा अघि बढायौं भने यो क्षेत्रले नेपाली अर्थतन्त्र र पहिचानमा ठूलो योगदान दिन सक्छ।”

उनका अनुसार थ्रीडी कला संग्रहालय केवल मनोरञ्जन होइन, मानव मनको उपचार पनि हो। “आज मानिसहरू खुशी खोज्दै छन्- कतिले पैसामा, कतिले नाममा, तर अन्ततः खुशी आफैंभित्र हुन्छ,” उनी भन्छन्, “कला त्यसलाई बाहिर ल्याउने माध्यम हो।”

 

बीपीसहित १० राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

काठमाडौं । अविरल वर्षाका कारण देशभरिका १० वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार इलामस्थित मेची राजमार्गमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । निषेध गरिएका कारण उक्त राजमार्ग पूर्ण अवरुद्ध रहेको इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन् । संखुवासभा भोटखोला गाउँपालिका–४ बरुणखोलास्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । पाँचथरमा अविरल वर्षाका कारण तमोर करिडोर सडक पूर्ण अवरुद्ध छ ।

ओखलढुंगाको मानेभञ्ज्याङस्थित सिद्धिचरण राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ । यस्तै बागमती प्रदेशस्थित काभ्रेमा बीपी राजमार्ग, रसुवामा पासाङल्हामु सडक र नेपाली–चीन जोड्ने सडक, सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । गण्डकी प्रदेशको मुस्ताङस्थित जोमसोम–कोरोला सडक र म्याग्दीको बेनी–दरवाङ सडक पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँची सन्धिखर्क नगरपालिका–६ माथिल्लो रिब्दीस्थित सन्धिखर्क–गोरुसिंगे सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यी हुन् अवरुद्ध राजमार्ग

नेकपा एसभित्र उर्लियो ‘आँधी’ : अबको बाटो एकता कि फुट ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अहिले आफ्नै अस्तित्व संकटको घडीमा उभिएको छ । पार्टीभित्र माओवादी केन्द्रसँगको प्रस्तावित एकीकरणले यति ठूलो तरङ्ग ल्याएको छ कि–अध्यक्ष माधवकुमार नेपालको नेतृत्व समेत प्रश्नचिह्नमा परेको छ । एकातिर नेपाल माओवादीसँग मिलेर नयाँ पार्टी बनाउने अन्तिम तयारीमा छन् भने अर्कोतिर वरिष्ठ नेताहरूले त्यसको औचित्यमै ठूला प्रश्न उठाइरहेका छन् ।

पार्टीभित्र अहिले दुई स्पष्ट धार बनिसकेका छन् । पहिलो धारमा अध्यक्ष नेपाल, उपाध्यक्ष वेदुराम भुसाल, राजेन्द्र पाण्डे र जगन्नाथ खतिवडा छन् । जसले माओवादीसँग एकता अबको ‘राजनीतिक अपरिहार्यता’ भएको बताइरहेका छन् । दोस्रो धारमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्रीलगायत छन् । जो माओवादीसँगको एकतालाई ‘विचार र अस्तित्व दुवैको हार’ भन्दै कडा विरोध गरिरहेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा महासचिव घनश्याम भुसालले खुलेरै भने, ‘अब आदेशले समाज चल्दैन, संवाद मात्र मान्छ जनता । नाम र झण्डा मिलाएर प्राविधिक एकता गर्नु अपमानजनक हुन्छ ।’ उनले माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपाल दुबै जनतालाई अस्वीकार्य भइसकेको भन्दै नेतृत्वबाट पछि हट्न सुझाव दिए । ‘तपाईंहरू फरक भूमिकामा जानुस्, त्यतिबेला मात्र नयाँ एकताको वातावरण बन्न सक्छ’, पार्टी वैठकमा उनले खुलेर भने ।

त्यस्तै, झलनाथ खनालले माओवादीसँगको एकता असमय र अव्यावहारिक भएको टिप्पणी गर्दै माधव नेपालको राजीनामा समेत माग गरेका छन् । उनले भने, ‘एमाले फुटाएर बनाएको पार्टी अब माओवादीमा जानु हाँस्यास्पद हो । यो एकताको समय होइन, नयाँ क्रान्तिकारी समाजवादी पार्टी निर्माण गर्ने समय हो ।’ खनालले अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा देखाउँदै भने, ‘नेपालले त्यसैका कारण पनि अध्यक्ष पदमा बसिरहनु उचित छैन ।’

तर, पार्टीभित्र अर्को धार पनि छ–जसका अनुसार अब पार्टी आफैंलाई टिकाइराख्न कठिन भइसकेको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘अब पार्टी चल्न कठिन छ । नचल्ने पार्टीलाई चलाउन खोज्नेभन्दा एकता गरेर नयाँ बाटो रोज्नु पर्छ ।’ खतिवडाले पनि ‘एकता अहिलेको आवश्यकता हो, पछि ढिलाइ विनाश हुनेछ’ भन्दै नेपालको पक्ष लिए । यता पार्टी नेता प्रमेश हमालले भने, ‘माओवादीसँगको एकता लगभग अन्तिम चरणमा पुगेको छ ।’

उनले सिद्धान्त, संगठन र नेतृत्व बाँडफाँटसम्बन्धी प्रारम्भिक सहमति बनेको र एकता पछि ६ महिनाभित्र नेतृत्व पुनर्गठन गर्ने योजना रहेको बताए । नयाँ पार्टीको नामका लागि ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ वा ‘नेकपा समाजवादी’ प्रस्ताव गरिएको छ । तर, यी सबै सहमति र तयारीबीच पार्टीभित्रको अविश्वास र असहमति गहिरिँदो छ । माओवादीसँग मिल्ने कि अलग्गै पुनर्गठन गर्ने भन्ने द्विविधाले पार्टीलाई फुटको संघारमा पुर्‍याएको विश्लेषण भइरहेका छन् ।

२०७८ सालमा एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) तीन वर्षमै फेरि विभाजनको जोखिममा पुगेको छ । नेताहरूको वैचारिक मतभेद, नेतृत्वको असन्तुष्टि र राजनीतिक असफलताले गर्दा यो पार्टी अहिले अस्तित्वको संकटमा छ । अबको प्रश्न एउटै छ–माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी माओवादीसँग एकता गर्दै नयाँ पार्टीको बाटो रोज्छ कि आफ्नै मार्गमा टेकेर पुनर्गठनको यात्रा सुरु गर्छ ? यो निर्णयले पार्टीको भविष्य मात्र होइन, नेपालका वाम राजनीतिको समीकरण नै फेरबदल गर्न सक्छ ।

मुग्लिन–नारायणगढ सडक खुल्यो, चल्न थाले गाडी

काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडक खण्डमा गाडीहरु चल्न थालेका छन् । माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो । तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा आग्रह गरिएको सडक डिभिजन कार्यालय भतरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले बताए ।

काठमाडौंका अतिक्रमित जग्गा खाली गर्न सात दिने ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन सात दिने समय सीमा –अल्टिमेटम’ तोकिएको छ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको हो ।

गत असोज २ गतेको संयुक्त बैठकले मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने निर्णय गरेपछि महानगरले आज अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना खाली गर्न वा हटाउन आग्रह गरेको हो ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सीमाना जोडिएका काठमाडौं जिल्लाभित्रका यस्ता सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनामार्फत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

हेर्नुस् सूचना

मेची र बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण प्रमुख दुई राजमार्ग–मेची राजमार्ग र बीपी राजमार्गका विभिन्न खण्डमा सडक भासिँदा, चिरिँदा र पहिरो खसेर सवारी सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ ।

बिहीबारदेखि लगातार भइरहेको वर्षाले इलाम जिल्लाको राजदुवाली सडक खण्डमा सडक भासिएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडकका विभिन्न स्थानमा जमिन दबिँदै, भासिँदै र चिरिँदै गएको छ । त्यसैगरी, तिल्केनी, सिमलगोला र सिलपुर सडक खण्ड पनि पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन् ।

प्रशासनले सवारी साधन सञ्चालनमा अर्को सूचना नआएसम्म पूर्णरूपमा रोक लगाएको जनाएको छ । स्थानीय प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराउँदछौं ।’

यता लगातार वर्षाले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका धेरै स्थानमा पहिरो र लेदो खसेका छन् । चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेसी र विरुवाडाँडा क्षेत्रमा पहिरो र लेदोका कारण सवारी आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसेको र लगातार वर्षाका कारण जोखिम बढेकाले कार्य रोकिएको छ । उनले भने, ‘पानी परिरहेकाले थप पहिरो खस्ने जोखिम उच्च छ, त्यसैले अहिले सडक खुलाउने प्रयास रोकिएको छ।’

प्रदेशभर पहिरोको जोखिम बढ्दो
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठका अनुसार कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि अविरल वर्षाका कारण सडक क्षति र पहिरोको जोखिम बढेको छ । खोटाङमा पनि एक स्थानमा सडक अवरुद्ध भएको जानकारी आएको उनले बताए।

सडक खुलाउन समय लाग्ने
जिल्ला प्रशासन र प्रहरी कार्यालयहरूले दुवै राजमार्गमा सडक पुनः सञ्चालन गर्न समय लाग्ने बताएका छन् । स्थानीय निकाय र सडक विभागले पहिरो पन्छाउने तयारी थालेका भए पनि निरन्तर वर्षाका कारण कार्यमा ढिलाइ भएको जनाइएको छ । प्रशासनले नागरिक र सवारी चालकहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

राष्ट्रपतिको कतार भ्रमण स्वीकृतसहित यी हुन् मन्त्रिपरिषद बैठकका ११ निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । बिहीबार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गृह मन्त्रालयको सिफारिसमा मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिए ।

उनकाअनुसार बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका लागि निर्वाचनको मिति तोकेको पनि बताए । उनले विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय गरेको पनि बताए ।

हेर्नुस् मन्त्रिपरिषद बैठकका निर्णयहरूः

१) संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने । (पदाधिकारी तथा सदस्यको सचिवालयको दरभर्दी घटाइएको) ।
२) २०८२ मंसिर ६ देखि १३ गतेसम्म पेरूमा आयोजना हुने इन्टरनेसनल ट्रेटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ओभर्निङ बडीको ११औँ अधिवेशनमा सहभागी हुन डा. गोविन्द प्रसाद शर्मालाई स्वीकृति दिने ।
३) २०८२ मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने ।
४) राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने ।
५) देहायका सेवाहरूलाई प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको भनी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी सेवा तोक्ने ः

वैदेशिक रोजगार सम्बन्धी
अदालतका मुद्दा व्यवस्थापन सम्बन्धी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी
स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन सम्बन्धी
अध्यागमन सेवासम्बन्धी
बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूका विवरण सम्बन्धी

६) समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन संरचना गर्न पूर्ण स्वीकृति दिने ।
७) बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–युरोपेली संघबीचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
८) कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।
९) नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने ।
१०) २०८२ मंसिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने छैटौँ सेसन अफ द टोकियो कन्भेन्सन कमिटी÷नवौँ सेसन अफ द बैंकक कन्भेनसन कमिटी कार्यक्रममा सहभागी हुन सचिव (शिक्षा) श्री चूडामणि पौडेललाई स्वीकृति दिने ।
११) छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।

जर्मनीका राजदूत उडोलाई प्रधानमन्त्री कार्कीले भनिन्–राहदानी छपाइका लागि पहल गरिदिनुस्

काठमाडौं । नेपालका लागि जर्मनीका महामहिम राजदूत उडो भोल्ज र प्रधानमन्त्री सुशीला कार्कीबीच आज शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरुबीचको यो पहिलो भेट हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको छ ।

यस क्रममा जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए । यसैबीच प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मिति अगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् ।

नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरिन् । जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताए । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीहरुको उपस्थिति थियो ।

 

 

 

बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत गर्न जापानले दुई अर्ब ६० करोड अनुदान दिने

काठमाडौं । संघीय राजधानी काठमाडौं र पूर्वका जिल्लाहरुलाई जोड्ने बीपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि जापान सरकारले दुई अर्ब ८० करोड जापानी येन (करिब दुई अर्ब ६० करोड नेपाली रुपैयाँ) अनुदान दिने भएको छ । नेपाल सरकार र जापान सरकारबीच बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ । महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म १५९ किलोमिटर बीपी राजमार्गको लम्बाइ छ । यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो । गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए ।

क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मत सम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ अनुदान सहायता प्रदान गरेको हो । अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका छन् ।

अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहपछि अर्थमन्त्री खनाल र जापान सरकारको तर्फबाट जापानी राजदूत तोरु माएदा र जाइका नेपालको तर्फबाट प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले भनाईहरु राखेका थिए । अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको पनि बताए । जापानी राजदूतले जापानले प्रदान गरेको यो अनुदान सहयोगले वीपी राजमार्गका क्षतिग्रस्त भागहरू पुनःस्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।

सेनाको उपरथीमा विष्णुकुमार खड्का बढुवा

काठमाडौं । नेपाली सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथीमा बढुवा भएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले रिक्त उपरथी पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो । विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत खड्काको बढुवासँगै जिम्मेवारी हेरफेर हुनेछ । गणेशकुमार श्रेष्ठ रथीमा बढुवा भएपछि एक जना उपरथीको पद रिक्त भएको थियो । त्यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा अवकाश भएका थिए ।

 

प्रमेश हमालले राखे माओवादीसँग एकताका तीन आधार, ६ महिनाभित्र नेतृत्व पुनर्गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीका नेता तथा एकता वार्ता कमिटीका सदस्य प्रमेश हमालले माओवादी केन्द्रसँग गरिने एकताका तीन आधारमा प्रस्तुत गरेका छन् । उनले एकताको अपरिहार्यताबारे आफ्नो धारणा राखेका हुन् ।नेता हमालले नेकपा माओवादी केन्द्रसँग एकता गरेको ६ महिनाभित्रै नेतृत्व पुनगर्ठन गर्ने सहमति जुटेको बताएका छन् । हमालका अनुसार पार्टी एकता प्रक्रियामा मुख्य तीन विषयमा सहमति जुटेको छ ।

‘सिद्धान्त, संगठन र नेतृत्वबारे एउटा सहमतिमा पुगेका छौ,’ हमालले बैठकमा भनेका छन् ।माओवादी केन्द्रसँगको वार्तामा एकताका निम्ति पहिलो शर्त समाजवादी क्रान्ति सम्पन्न गर्न शान्तिपूर्ण बाटो अपनाउने रहेको उनले बैठकमा जानकारी गराए । दोस्रोमा सम्मानजनक सांगठनिक एकता रहेको सुनाए । तेस्रोमा नेतृत्व परिवर्तनको विषय रहेको सुनाए ।

पार्टी एकतापछि ६ महिनाभित्र प्रक्रियामार्फत नेतृत्व परिवर्तन गर्ने कुरा घनिभूत रुपले चलेको उनले बताए । उनले भने, ‘यो कुरा माधव कमरेड र प्रचण्ड कमरेडले पनि बुझ्नु भएको छ ।’ एमालेबाट गरिएको विद्रोहलाई ‘बाध्यता’ भन्दै हमालले अहिले माओवादी केन्द्रसँग गरिन लागेको एकतालाई ‘उद्देश्य’ का रुपमा बुझ्नुपर्ने बताए । उनले भने, ‘समाजवादी क्रान्तिलाई ठूलो शक्ति चाहिन्छ, त्यसका लागि एकता अपरिहार्य छ ।’ नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्न एकतामा जाने भन्दै उनले भने, ‘नेतृत्व परिवर्तन अनिवार्य छ, त्यो हामी गर्छौ ।’

 

नयाँ दल दर्ताका लागि रेशमले दिए आयोगमा निवेदन, एउटै पोसाकमा नेताहरु (तस्वीरहरु)

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले घोषणा गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालले दर्ताका लागि आज (बिहीबार) निर्वाचन आयोगमा निवेदन दिएको छ । नागरिक उन्मुक्ति पार्टी नेपाल नाम राखिएको पार्टी दर्ताका लागि निवेदन दिइएको दीप तामाङले जानकारी दिए । चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको उनको भनाइ छ ।

नाउपा छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीसहितका नेताहरू एकै रङको पोसाकमा निर्वाचन आयोग पुगेका हुन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन आयोग पुगेका हुन् ।
उनीहरूले अहिले दल दर्ताको आवश्यक कागजात आयोगसमक्ष पेश गर्न लागेका हुन् । चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन् । अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चुनिएका अधिकांश केन्द्रीय सदस्य रेशमलालले घोषणा गरेको नयाँ पार्टीमा समाहित भएका छन् । उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीको प्रस्तावित चुनाव चिह्न जाँतो राखिएको छ । हामी सबै नयाँ मात्र यस पार्टीमा छौँ । पार्टी विभाजन भएको हैन ।’ रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न ढकियाबाट जितेर सांसद बनेकाहरू नयाँ पार्टीमा आवद्ध नभएको उनको भनाइ छ । उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि पनि कोही हामीसँग हुनु हुन्न ।’

रेशमलालले भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल रुष्ट बनेका थिए । त्यही बखत उनले भनेका थिए, ‘अध्यक्षसँगको सबैखाले सम्बन्ध समाप्त भएको छ ।’

 

 

खगेन्द्र सुनारलाई धरौटीमा छोड्न काभ्रे अदालतको आदेश

काभ्रेपलाञ्चोक । दलित अभियन्ता खगेन्द्र सुनुवारलाई धरौटीमा छाड्न जिल्ला अदालत काभ्रेपलाञ्चोकले आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो । सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए ।

सरकारवादी मुद्दा भएकाले अधिवक्ता मनिषा गौतमको तर्फवाट सरकारी वकील कार्यालयका सहायक न्याधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेको अदालतले जनाएको छ । सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्धालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो । उनको मुद्दा जिल्ला अदालतमा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो ।

त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो । अदालतका श्रेस्तेदार कार्कीका अनुसार गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि यही मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।

जेन-जीका माग सम्बोधन गर्न मुख्यसचिवले देखाए चासो

काठमाडौँ । जेन—जीका माग सम्बोधन गर्न मुख्यसचिव एकनारायण अर्यालले चासो देखाएका छन् । उनले सचिवस्तरीय बैठक डाक्दै जेनजी आन्दोलनका क्रममा उठाइएका सुशासनसम्बन्धी मागहरूलाई सम्बोधन गर्न सबै मन्त्रालय र निकायहरूलाई ‘तत्काल सुधार कार्ययोजना’ पठाउन निर्देशन दिए ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको सचिवहरूको कार्तिक १२ गते मंगलवार बसेको बैठकको निर्णयमा २०८२ भाद्र २३ र २४ गते भएको जेन—जी आन्दोलनपछि उठान भएका मागहरू सम्बोधन गर्नका लागि आवश्यक सुधारका कार्यहरू समावेश गरी कार्ययोजनाको खाका आगामी कार्तिक १६ गते आइतबारसम्म शासकीय सुधार महाशाखामा पठाउन उल्लेख छ ।

त्यस्तै आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पतीमा पुगेको क्षतिको विवरण राष्ट्रिय योजना आयोगले तोकेको पोर्टलमा शिघ्र प्रविष्ट गर्न व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ । आयोगले क्षतिको समग्र विवरण प्राप्त हुनेगरी आवश्यक टेम्प्लेट परिमार्जन र सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्ने बताइएको छ ।

बैठकले आन्दोलनका कारण अवरुद्ध सार्वजनिक सेवाहरू सुचारु गर्न विशेष खरिद प्रक्रिया अघि बढाउन र सेवा सञ्चालनमा असहजता भएका क्षेत्रमा शहरी विकास मन्त्रालयले सम्भव भएसम्म सरकारी भवन उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सार्वजनिक निकायहरूले यथासम्भव स्वदेशी वस्तुको प्रयोग गर्न÷गराउनुपर्ने निर्णय गरिएको छ । सुरक्षा निकायहरूलाई चुस्त, दुरुस्त र उच्च मनोबलयुक्त बनाउन आवश्यक न्यूनतम सामग्री तथा बन्दोबस्तीका वस्तुहरूको व्यवस्थाका लागि अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब पुग्यो

काठमाडौं । सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा आश्विन मसान्तसम्ममा ५० अर्ब ६० करोड थप वृद्धि भएको हो । अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ ।

जुन कुल गार्हस्थ्य उत्पादनको४४ दशमलव ६१ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा आश्विन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ । ऋण व्यवस्थापनको कार्यालयकाअनुसार चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्न लक्ष्य राखिएकामा आश्विन मसान्त सम्ममा १ खर्ब ८४ कराड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १६ दशमलव ९३ प्रतिशत रहेको छ ।

जसमध्ये आवाह्य ऋण प्राप्तिको प्रगति क्रमशः २४ दशमलव ८६ र ४ दशमलव ६४ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमश ८९ दशमलव २४ र १०.७६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्र्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भएको कार्यालयले जानकारी दिएको । यो वार्षिक बजेट विनियोजनको आधारमा २६.७४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा आश्विन मसान्तसम्ममा कुल ऋण सेवा खर्च १ दशमलव ८० प्रतिशत रहेको छ ।

कांग्रेसका जेनजीले मागे सुशासन आयोग

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध जेनजी उमेर समूहका प्रतिनिधिमुलक युवाहरूले मुलुकमा सुशासन कायम गर्न पार्टीभित्रैबाट शुरु गर्नुपर्ने भन्दै आन्तरिक सुशासन आयोग गठन गर्न माग गरेका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो माग राखेका हुन् । पार्टीका जनप्रतिनिधिहरूको विगतका गतिविधिको समीक्षा गरी भविष्यमा मापदण्डमा आधारित अनुगमन र कारबाहीको प्रक्रिया लागू गर्नुपर्ने पनि उनीहरुको माग छ । पत्रकार सम्मेलनमा बोल्दै जेनजी प्रतिनिधि विकल राईले पार्टीको विधान संशोधन गरी युवा सहभागिता सुनिश्चित गर्न माग राखे ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागिता सुनिश्ति गर्नुपर्ने उनको भनाइ छ । उनले भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा समेत पार्टी दृढ रुपमा उभिनुपर्ने बताए । उनले नियमित वा विशेष महाधिवेशन गरी पार्टीलाई परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलको रूपमा नयाँ ऊर्जासँग अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न समेत माग गरे ।

उनले भने, ‘मुलुकको सुशासन कायम गर्नु जेनजी प्रदर्शनको मुख्य माग थियो । नेपाली कांग्रेसले पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गरोस् । जसले तीनै तहमा गएका जनप्रतिनिधिहरुको विगतका प्रवृत्तिको समिक्षासँगै भविष्यमा जाने जनप्रतिनिधिको भूमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर चेतावनी, प्रोत्साहन र कारबाही सिफारिस गरोस् । नेपाली काँग्रेसले गत २३ नयाँ बानेश्वरमा भएको घटनाको अनुसन्धान गरी दोषिलाई कारबाही गर्ने निर्णयमा दृढ ढंगले उभियोस् ।’

उनले भने, ‘भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । भ्रष्टाचारको गहिराई गएर निष्पक्ष छानविन गरी दोषिलाई कारबाही गर्ने कुरामा नेपाली कांग्रेसको सहयोग रहनु पर्दछ । नियमित वा विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलका रुपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोडम्याप नेपाली कांग्रेसले सार्वजनिक गर्नु पर्दछ । पार्टीको जारी केन्द्रीय समिति बैठकबाट विधानमा परिवर्तन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागित सुनिश्तिता गरियोस् ।’

उनले नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरूमा विधान संशोधन गरी युवा सहभागिताका ढोकाहरू फराकिलो बनाउनुपर्ने बताए । उनले जेनजी आन्दोलनको औचित्य पुष्टि गर्न भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने लक्ष्यमा युवाहरूको ऐक्यवद्धता आवश्यक रहेको पनि बताए ।

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा जारी छ । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ।

यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ।

 

 

 

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

बुटवल । सहकारीको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बुटवलको सुनुवाइ स्थगित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा मुद्दाको सुनुवाइ हुँदै थियो । छविलाल जोशीका निदेवदकको तर्फबाट निवेदन दिएर सुनुवाइ स्थगित गरेपछि स्वतः दुवैको स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् । जेनजी आन्दोलनका क्रममा सनरुफ भएको गाडी चढेर हात हल्लाउँदै बाहिरिएका लामिछाने चौतर्फी विरोध भएपछि कारागार फर्किएका थिए । उनीमाथि जेलबाट निस्केर प्रधानमन्त्री बन्न खोजेको भनेर आरोप समेत लागेको थियो । पुर्पक्षका लागि थुनामा रहेको व्यक्तिले जेनजी आन्दोलनको आडमा जेलबाट निस्केर देश नै चलाउने इच्छा देखाउनु मुर्खता भएको भन्दै देश तथा विदेशमा समेत विरोध भएपछि उनी पुनः नख्खु फर्किएका थिए ।