`

बीपी राजमार्ग दुई दिन रातको समयमा बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्ग आज (कात्तिक १३) र भोलि दुई दिन रातको समयमा बन्द गरेको छ । भारी वर्षाको सम्भावना रहेका कारण दुई दिन साँझ ५ बजेदेखि विहान ५ बजेसम्म राजमार्ग बन्द गरिएको प्रशासनले जानकारी गराएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना बमोजिम कात्तिक १३ देखि १५ गतेसम्म सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सिन्धुली जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले वर्षात् र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाइ ईसम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि सो निर्णय गरिएको जनाएको छ । उक्त अवधिमा बीपी राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाडौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ । दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्ने प्रशासनको सूचनामा जनाइएको छ । बीपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

काठमाडौं ।  नेपालका कप्तान रोहित पौडेलले आइसीसी विश्वकप लिग-२ को जारी शृंखलामा युएईविरुद्ध सतक प्रहार गरेका छन्। ७४औं एकदिवसीय खेलमा रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सतक प्रहार गरेका हुन्।

रोहितको यो व्यक्तिगत दोस्रो शतक हो। यसअघि उनले पपुवा न्यु गिनीसँग शतक प्रहार गरेका थिए। दबाबमा रहेको नेपाली इनिङलाई सम्हाल्दै कप्तान रोहितले शतक प्रहार गरेका हुन्।

उनले १२६ बलमा ५ चौका र १ छक्कासहित सतक पूरा गरे। उनले ४६.५ ओभरमा शतक पूरा गरेका हुन्। ४७ ओभर सकिँदा नेपालले ६ विकेट गुमाउँदै २०७ रन बनाएको छ। क्रिजमा हालः रोहित १०० र सोमपाल ६ रनमा खेलिरहेका छन्।

खगेन्द्र सुनारको सकियो बयान र थुनछेक बहस, आदेश आउन बाँकी

काठमाडौं । अदालतको अवहेलना र अधिवक्तामाथि अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका खगेन्द्र सुनारको बयान र थुनछेक बहस जिल्ला अदालत काभ्रेपलाञ्चोक, धुलिखेलमा सकिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा भएको बहस सकिए पनि आदेश आउन बाँकी छ ।

सुनारमाथि अधिवक्ता मनिषा गौतमविरुद्ध फेसबुक र लाइभमार्फत् अपशब्द प्रयोग गरेको आरोप लागेको छ । उनीमाथि साइबर ब्यूरोमा मुद्दा दर्ता र आवश्यक अनुसन्धानपछि अदालतमा पेश गरिएको हो । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकाले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो ।

जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो। त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो । अदालतका श्रेस्तेदार कार्कीका अनुसार, गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि विभिन्न मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।

 

दुई महामन्त्रीसँग छलफल गर्दै कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । केन्द्रीय समितिको बैठकअघि सानेपास्थित कार्यालयमा कार्यवाहक सभापति खड्काले दुई महामन्त्रीसँग छलफल गर्न लागेका हुन् । पार्टीको संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन नहुने र दुई महामन्त्री चुनावअघि नियमित हुन नसके विशेष गर्नुपर्ने अडानमा छन् ।

दुई पक्ष आ–आफ्नो अडानमा कायमै रहेको वेला सहमति खोज्न कार्यवाहक सभापति खड्काले महामन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । महामन्त्री थापाले सहमति जुट्न नसक्दा महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्न सकेका छैनन् । महामन्त्री थापाले २७ देखि २९ मंसिरभित्र महाधिवेशन गर्न सकिने गरी कार्यतालिकाका दुई प्रस्ताव सार्वजनिक गरेका छन् ।

२९ असोजमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्काले बुझेका छन् । नियमित महाधिवेशन हुन नसके विशेषका लागि उनीहरूले माग गरेका छन् । संस्थापन पक्ष भने नियमित वा विशेष महाधिवेशन चुनावअघि हुन नसक्ने अडानमा छ । २८ असोजबाट सुरु भई कात्तिक १ गतेबाट रोकिएको केन्द्रीय समितिको बैठक बिहीबारदेखि पुनः सुरु हुन लागेको छ ।

झलनाथ खनालले मागे माधव नेपालको राजीनामा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् । खनालले जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उनले भ्रष्टाचार मुद्दा लागेकाले पद छोड्नुपर्ने बताएका हुन्।

‘हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ,’ खनालले बैठकमा भनेका थिए, ‘उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।’

माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। पार्टीमा उनले पद छोड्नुपर्ने भन्दै यसअघि पनि नेताहरूले दबाब दिएका थिए।

खनाल नेकपा माओवादीसँगको एकताको पक्षमा आफू नभएको पनि स्पष्ट पारे। उनले माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने बताए।

उनले भने, ‘अहिले हाम्रो पार्टी माओवादीमा एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन। उनले बैठकमा माओवादीसँग एकता गरेर जनयुद्धको समयमा ज्यान गुमाएकाहरूको जिम्मा लिन नसकिने पनि बताएका थिए।

काँग्रेस केन्द्रिय समिति बैठक जारी (तस्बिरसहित)

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक शुरु भएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । दिउँसो साढे १ बजेबाट शुरु भएको बैठकमा महाधिवेशनबारे विशेष छलफल हुनेछ ।

साथै पार्टी निर्वाचनमा जाने की संसद पुनःस्थापनाको पक्षमा उभिने भन्ने पनि निर्णय गर्ने बताइएको छ । दशैँपछिबाट शुरु भएको केन्द्रिय समितिको बैठक तिहार र छठका कारण आजलाई सरेको थियो । नेताहरुले नियमित महाधिवेशन हुनुपर्ने र त्यो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग गर्दै आएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रका शर्मा पक्षधरले ५४ प्रतिशत गत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित नियमित महाधिवेशनको माग राखेका छन् । तर संस्थापन पक्षधरले भने मिति सकिसकेका महाधिवेशन प्रतिनिधिको कुनै अर्थ नरहने बताउँदै आएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर जानुभएको अवस्थामा पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति देउवालाई गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सांघातिक आक्रमण भएको थियो ।

एकीकृत समाजवादीका महासचिव भुसालको दावी : माओवादी अझै फुट्न सक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रमा एकता गर्न चाहने पार्टी नेताहरुलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्न सुझाव दिएका छन् । जारी पार्टीको बैठकमा चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै माओवादी अवसरका लागि भौतारिँदा खिइँदै गएको र अब पनि यो रुपमा नरहने दाबी गरेका छन् ।

पटक–पटक विभाजित भएको माओवादी फेरि पनि विभाजित हुनसक्ने उनको तर्क थियो । १० वर्षसँगै जनयुद्ध लडेका बाबुराम भट्टराई, विप्लज, मोहन वैद्यलगायतका नेताहरु प्रचण्डसँग छुट्टिसकेका छन् । महासचिव भुसालले भने, ‘माओवादी आज जे छ त्यो रहन्न । यसको डिएनएको कारणले विभाजित हुन्छ । म पनि राम्रो सम्पर्कमा छु ।’ उनले आफू वामआन्दोलनको एकताको पक्षमा रहेको भन्दै नेता मात्र मिल्ने एकताको अर्थ नहुने बताए ।

बैठकमा उनले भने, ‘हामीले २०७५ सालमा माओवादीसँग एकता गर्‍यौं । तर त्यो एकता भागबण्डामा आधारित थियो । त्यसैले निरन्तर हुन सकेन ।’ उनले अहिले पनि त्यस्तै गर्न खोजिएको भन्दै एकताको प्रयोग असफल हुने शंका व्यक्त गरे । माओवादीसँग एकता गर्नका लागि भन्दै तयार गरिएको जस्तो सिद्धान्तको कुरा गर्ने हो भने त एमालेसँगै एकता हुनसक्ने दाबी गर्दै उनले भने, ‘एमाले जबज एउटा शब्द निकाल्ने हो भने त एमालेसँग पनि एकता हुनसक्छ ।’ उनले भने, ‘वाम आन्दोलन असफल हुँदै जानुमा लिडरसिपको असफलता हो । माओवजादी अवसरका लागि भौतारिँदै छ । हिजो ३१ लाख भोट पाउने माओवादी ११ लाखमा पुग्यो अब कहाँ पुग्ने हो ख्याल गरौं ।’

ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न

काठमाडौँ । अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानै देखि हल्का वर्षा भई रहेको छ ।

शनिबारसम्म यसको प्रभाव नेपालको सातवटै प्रदेशमा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उपत्यकामा बिहानै देखि पानी पर्दा ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न भएको छ ।

नालाको सही व्यवस्थापन नहुँदा सो क्षेत्रमा केही समय वर्षा हुँदा पनि पानी जम्ने गरेको छ । जसका कारण जोखिमपुर्ण तरिकाले सवारीसाधन चलाउन पर्ने बाध्यता रहेको छ ।

 

बजाज पल्सर र नेपाल प्रिमियर लिगबीच सम्झौता, तस्बिरहरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र इमर्जिङ प्लेअरलाई एक–एक वटा पल्सर मोटरसाइकल प्रदान गरिने क्यान सचिव खड्काले जानकारी दिए । उनले एनपीएलको दोस्रो संस्करण पूर्वाधारका हिसाबले पनि निकै उत्कृष्ट हुने बताए ।

एनपीएल व्यवस्थित ढंगले आयोजना हुने जानकारी दिँदै उनले क्रिकेट प्रशंसकलाई निराश हुन नदिने उल्लेख गरे । एनपीएलको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

उनले प्रतियोगिता सुरु हुनु केही दिनअघि पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने बताए । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ ।

भाषण गर्दागर्दै ढलेका जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको निधन

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको कार्यक्रममा भाषण गर्दागर्दै मृत्यु भएको छ । बुटवलमा बिहीबार कार्यक्रमकै दौडान उनको मृत्यु भएको हो । विरोध कार्यक्रममा श्रमिकको हकहितका लागि बोलिरहँदा उनी अचानक बेहोस भई ढलेको सामाजिक सञ्जालहरुको भिडिओले देखाएको छ । तत्कालै उनलाई क्रिम्सन अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो । मणिग्रामस्थित क्रिमसन अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।

६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए ।

 

अब ‘सरर’ पोखरा–मुग्लिन सडक

गण्डकी । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.७६ र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । कुल ३८.८८ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार २९.६१ किमिमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।

१८.३ किमी (दुई लेन) मा दोस्रो तहको अस्फाल्ट कालोपत्र सम्पन्न भएको इन्जिनियर कुँवरले जानकारी दिए । यस्तै दुई किमीमा सर्विस लेन कालोपत्र गरिएको उनको भनाइ छ । कास्कीको विजयपुर पुल, डाँडाको नाक र मौरीभिरमा गरी कुल १०८० मिटरमा एकतर्फी पहिलो तहको कालोपत्र गर्न बाँकी रहेको जनाइएको छ । चालु आव सुरू भएयता ३.२३ किमी चार लेनमा प्रथम तहको कालोपत्र र १४ किमी दुई लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्र गरिएको हो।सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण सकिएको आयोजना कार्यालयले जनाएको छ ।

‘सडक विस्तार, नाली, कल्भर्ट निर्माणलगायत अधिकांश काम सकिएको छ’, उनले भने, ‘चालु आवभित्र सडक निर्माण सकिन्छ, निर्माण कम्पनीले पनि पछिल्लो समय कामलाई गति दिएको छ ।’ विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताए । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए ।

उक्त खण्डमा पर्ने एक सय पाँचवटै कल्भर्ट निर्माण भइसकेका उनको भनाइ छ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।
सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)को निर्माण भने अन्तिम चरणमा पुगेको छ ।

युएईविरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरे । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा ३ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ ।

‘अबको निकास सहकार्यबाट : नयाँ पुस्ताको मूलधार राजनीतितर्फ अग्रसरता’

काठमाडौं । नयाँ पुस्ताका तीन सक्रिय नेतृहरु डा. तोसिमा कार्की, मानुषी यमि भट्टराई र रञ्जु दर्शनाले सहकार्यको शुरुवात गर्दै सुसंस्कृत राजनीति र सुशासनका लागि एकताबद्ध रूपमा अघि बढ्ने घोषणा गरेका छन् । नेपाल हाउस बालुवाटारमा ‘अबको राजनीतिक निकास’ शीर्षकमा आयोजित विचार–विमर्श तथा परामर्श कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, नागरिक समाजका अगुवा र प्रबुद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले देशलाई दीर्घकालीन राजनीतिक निकास दिनका लागि अब युवा पुस्ताले वैकल्पिक होइन, मूलधारको जिम्मेवार राजनीति गर्न तयार हुनुपर्ने निष्कर्षमा जोड दिएका थिए । कार्यक्रममा वक्ताहरूले पछिल्लो समय नेपाली समाज निराशा र वितृष्णामा फसेको र जनताले ‘चमत्कारिक व्यक्ति’ को प्रतीक्षामा बस्नुको सट्टा सामूहिक सचेतता र सहकार्यमा विश्वास गर्नुपर्ने बताएको उल्लेख गर्दै भने, ‘देश बनाउन कुनै एक व्यक्ति होइन, सुसंस्कृत राजनीतिक संस्कृति र साझा जिम्मेवारी आवश्यक छ ।’

कार्यक्रमका वक्ताहरूले जेनजी क्रान्तिपछि नेपाली समाजले सुशासन र पारदर्शिताको अपेक्षा गरेको जनाउँदै, त्यस आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने दिशामा नयाँ पुस्ता र स्वतन्त्र अनुहारहरूले निर्णायक भूमिका खेल्नुपर्नेमा सहमति व्यक्त गरेका छन् । त्यसैगरी भाद्र २३ गतेको शान्तिपूर्ण आन्दोलनले दिएको सुसंस्कृत राजनीतिक सन्देशलाई सुदृढ गर्नुपर्ने र भाद्र २४ गतेका तोडफोड र आगजनी घटनाहरूको दोष जेनजी पंक्तिमाथि थोपर्नु अन्यायपूर्ण भएको निष्कर्ष पनि प्रस्तुत गरियो । सरकारले देखाएको ‘अपराधिक चरित्र’ लाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग समेत उठाइयो ।

वक्ताहरूले २०७२ को संविधानको मर्मलाई स्वीकार्दै आवश्यक संशोधनका विषयमा संवाद अघि बढाउनुपर्ने र हालको अन्तरिम सरकारलाई सफल बनाउन सबै तहका राजनीतिक दल, नागरिक समाज र युवा वर्गले सहयोग गर्नुपर्ने सुझाव दिए । आसन्न निर्वाचनलाई ध्यानमा राख्दै लोकतान्त्रिक मूल्य र सुशासनका एजेन्डामा आधारित साझा राजनीतिक मोर्चाको आवश्यकता पनि जोडदार रूपमा प्रस्तुत गरियो । कार्यक्रमको अन्त्यमा डा. तोसिमा कार्की, मानुषि यमि भट्टराई र रन्जु दर्शनाले उपस्थित सबै सहभागीहरूलाई धन्यवाद दिँदै, ‘सहकार्य सत्कर्मको लागि, एक पाइला सुशासनको लागि’ भन्ने नारा प्रस्तुत गरे । उनीहरूले यही सहकार्यलाई नयाँ राजनीतिक संस्कृतिको सुरुवातका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

को–को थिए सहभागी ?
डा. सुचेता प्याकुरेल, भवानी राणा, हिमा बिष्ट, इन्दु तुलाधर, रेशु अर्याल ढुङ्गाना, डा. दोभान राई, रिता शाह, सरु जोशी, सुनिल बाबु पन्त, उमेश चौहान, डा. राजेन्द्र बोहोरा, डा. निर्मल मणि अधिकारी, डा. अमिना सिंह, डा. बर्दन जङ्ग राना, डा. नवराज खतिवडा, डा. रमेश पराजुली, डा. सरोज धिताल, आमोद नाथ प्याकुरेल, अर्चना थापा, अर्जुन मणि दीक्षित, डा. चन्द्रमणि अधिकारी, डा. जयकुमार गुरुङ, कैलाश राई, कमलदेव भट्टराई, खगेन्द्र संग्रौला, नयनतारा गुरुङ कक्षपति, डा. कृष्ण खनाल र तेजमान श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

 

 

रवि र छविको मुद्दाको सुनुवाइ, जीबीको खोजी

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ सुरु भएको छ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा उनीहरुको मुद्दाको सुनुवाइ सुरु भएको हो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि सहकारी ठगीको बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी दिएको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले दुवै मुद्दा साथै राख्ने आदेश भएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी हाल भैरहवा कारागारमै छन् । यता यस प्रकरणका मुख्य आरोपित जीबी राईको पुनः खोजी शुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेपछि कतिपयले ‘जीवीलाई खोजेर मन्त्री बनाउँ’ भन्दै सरकारलाई कटाक्ष गरेको देखिन्छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित, कुन–कुन जहाज भए ‘डाइभर्ट’ ?

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ ।

काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उनले भैरहवाबाट काठमाडौँ उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बताए । आज बिहान विराटनगरबाट काठामाडौँको लागि उडेको श्री एयरलाइन्सको जहाज एक घण्टा ३८ मिनेट आकाशमा बिताएर फेरि विराटनगर नै फर्किएको हो ।

खराब मौसमका कारण श्री एयरलाइन्सको विमान काठमाडौँ अवतरण हुन नसकी पुनः विराटनगर नै फर्किएको हो । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेकाअनुसार श्री एयरलाइन्सको फ्लाइट नम्बर ७३२ काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी पुनः विराटनगर फर्किएको हो । काठमाडौँको मौसम खराब हुँदा विमान अवतरणमा समस्या भएको हो । एक घण्टा आकाशमै फन्को मारेर विमान पुनः विराटनगरमै अवतरण भएपछि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘श्री एयरलाइन्सको जहाज फ्लाइट नम्बर ७३२ को जहाज खराब मौसमका कारण काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटको उडानपछि पुनः विराटनगर फर्कियौँ ।’

प्रवक्ता शेर्पाका अनुसार अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उनले एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गरे । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी २ हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए । इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरेको छ । त्यसपछि उक्त प्रणाली विस्तारै कमजोर हुँदै उत्तर, उत्तर–पश्चिम दिशातर्फ सर्दै न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्यभू–भाग नजिक आएर पूर्वतर्फ सर्दै गरेको छ । आजदेखि यही कात्तिक १५ गतेसम्म नेपालको बाग्मती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका एक–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा बिहानै देखि वर्षा, तस्बिरहरु

काठमाडौँ । अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानै देखि हल्का वर्षा भाई रहेको छ । पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । आज उपत्यकामा बिहानै देखि हल्का वर्षा हुँदा जनजीवन केही प्रभावित भएको छ ।

भारतले स्वीकृत गर्‍यो नेपालबाट २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरिदिएको छ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नविकरण भएको हो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नविकरण स्वीकृति भएको छ ।

यसैगरी, द्धिपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० विद्युत बिक्री भइरहेको थियो । हरियाण राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (आज) सकिने छ । प्राधिकरणले हरेक वर्ष जुन—अक्टोबरमा हरियाणलाई विद्युत बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत आइएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट आइएक्समा समेत निरन्तर रुपमा बिक्री गर्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरसँगका भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए । उनले नेपालमा विद्युत उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नविकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन समेत आग्रह गरेका थिए ।

मंसिरभित्रै महाधिवेशन गर्न खड्कालाई शर्माका चार सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी सुधारका लागि विभिन्न बुँदामा सुझाव बुझाएका छन् । आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकअघि दुई नेताबीच भेट भएको थियो । उक्त भेटमा शर्माले विभिन्न विकल्पसहितका प्रस्तावहरू बुझाएका हुन् । पहिलो विकल्प कार्य सम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नुपर्ने प्रस्ताव छ ।

मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए विशेष महाधिवेशन मंसिर मसान्तभित्रै गर्नुपर्ने उनको दोस्रो प्रस्ताव छ । तेस्रो विकल्पमा विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै मंसिर मसान्तभित्रै महाधिवेशन गर्न सकिने उनको भनाइ छ । विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा दर्ता गराइसकेका छन् । यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै थप समय लिएर नियमित महाधिवेशन नै आयोजना पुस १६ देखि १९ सम्म गर्न चौथो विकल्प दिएका छन् । महामन्त्रीद्वयसहित इतर पक्षका नेता डा.शेखर कोइरालाले महाधिवेशन मंसिरबाट पर धकेल्न नसक्ने अडान लिइरहेपनि संस्थापन पक्षले फागुन २१ को चुनावअघि गर्न नसक्ने पक्षमा उभिएको छ ।

हिजो कावा सभापति खड्काले आफूनिकटका नेताहरूको गुट भेला गरेर वैशाखमा महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ । आजको बैठकमा पनि संस्थापन पक्षका नेताहरू त्यही रणनीतिसाथ प्रस्तुत हुँदै छन् । उनले प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने भएपनि फैसलाको प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्नुपर्ने शर्माको प्रस्ताव छ ।

महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्यूनतम एक महिला सहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय पार्टीले गर्नुपर्ने उनको प्रस्ताव छ । राष्ट्रिय राजनीतिलाई सही ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना गर्नेदेखि जेनजी युवाहरूसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन गर्नुपर्ने प्रस्ताव छ ।

हेर्नुस् शर्माका प्रस्ताव

१) पहिलो विकल्प – कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौं। (सभापतिज्युले कुन उचाइमा उठेर हेर्नुभयो, हामीले त्यो पछ्याउँ व्यक्तिगत या समुहगत आग्रहभन्दा माथि उठेर काम गरौं)

(मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए)
२) दोस्रो विकल्प – विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७ (२) बमोजिम ’केन्द्रीय समितिले चाहेमाझ भनेर उल्लेखित दफा बमोजिम बोलाउँ ।
३) तेस्रो विकल्प– विधानको १७ (२) बमोजिम नै ४०% बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै । (यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै ।
४) चौथो विकल्प– थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौं। त्यसका लागि पुष १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ । (पुष १६ जननायक विपि कोइरालाले रास्ट्रीय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको ऐतिहासिक मिति)

बैठकबाट तयारी सम्बन्धमा

१) निर्वाचन समिती पुनर्गठन
२) विधान संशोधन मस्यौदा समिति गठन
३) महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन

फागुन २१ लाई घोषित निर्वाचन सम्बन्धमा
प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सम्मानित सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने नै छ िअन्तिम हुने सबैका को प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा पार्टी लाग्ने निर्णय ।

फागुन २१ का लागि उम्मेदवार चयनको प्राइमरी
महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्युनतम एक महिलासहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय।
– राष्ट्रिय राजनीतिलाई सहि ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना ।
– जेनजीसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन

अहिलेको सरकार एनजीओ र आइएनजीओको : शंकर पोखरेल (भिडिओ)

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरलले जेनजी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको आरोप लगाएका छन् । प्रेस चौतारी दाङले आज (बिहीबार) गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे ।

‘जेनजी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन । कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम हो’, उनले भने । जेनजी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्रविरोधी स्वार्थी तत्वले घुसपैठ गरेको बताए । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजीओ र आईएनजीओको भएको दाबी गरे ।

सरकारले गैरसरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैरसरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गरे । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।

 

अन्नपूर्ण बेस क्याम्पबाट १६२ पर्यटकको उद्धार

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १६२ जनाको उद्वार गरेको छ । अब अन्नपूर्ण बेसक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको हो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेसक्याम्प खाली भएको छ ।

३ दिनको निरन्तर प्रयासपछि बेसक्याम्प हिँडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो । कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेसक्याम्पबाट तल झारिएकासहित १६२ जनाको उद्धार भएको हो । उद्धार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । उद्धार गरिएका केहिमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या भने देखिएको छैन । माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउने छन् ।

विश्वकप लिग–२ : यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिले ब्याटिङ थालेको छ । दुबईमा जारी तीन देश सम्मिलित श्रृंखला (सिरिज) अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

यसअघि पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका छन् । नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपालले यसअघिकै टोलीलाई निरन्तरता दिएको छ ।

माओवादीसँगको एकताबारे नेकपा एसका नेता मेटमणि चौधरी : बोरामा एक–दुईटा बियाँ भेटिनु स्वाभाविक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको तयारी तीव्र बनेको छ । राजधानीमा जारी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक प्रस्ताव पेस भए लगत्तै नेताहरू दुई धारमा विभाजित देखिएका छन् ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पक्षले माओवादीसँग एकता गर्नुपर्नेमा जोड दिँदै बैठकमा सक्रियता देखाएको छ भने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको पक्षले तत्काल एकता नगर्ने मत राखेको बताइन्छ । नेताहरूका अनुसार पार्टीभित्रको यही मतभेदले समाजवादी फेरि संकटको संघारमा पुगेको छ ।

बैठकमा आज झलनाथ खनाल र महासचिव भुसालले धारणा राख्दैछन्, त्यसपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै परिस्थितिमा पार्टीका उपमहासचिव मेटमणि चौधरीले माओवादी केन्द्रसँग एकता हुनुपर्ने जिकिर गरेका छन्। उनले भने, ‘म त कम्युनिष्ट पार्टीहरूबीच एकता गर्दै जानुपर्छ भन्ने पक्षमा छु । त्यो काम सुरु गरिहालौं भन्ने मेरो भनाइ हो । पार्टीको निर्णय पनि यही दिशामा जान्छ ।’

चौधरीका अनुसार माओवादी केन्द्रसँग एकता गर्नुपर्ने विषयमा पार्टीभित्र लगभग सर्वसम्मति छ । ‘९९ प्रतिशत नेताहरू एकताको पक्षमा छन् । लाखमा, हजारमा त एक–दुईटा फरक कुरा निस्किन्छ नि । बोरामा एक–दुईटा बियाँ भेटिनु त स्वाभाविक हो’, उनले भने । उनले स्पष्ट पारेका छन् कि पार्टीको एकता प्रक्रिया अब ढिलो नहुनेछ । ‘हामी आगामी मंसिरमा एकता महाधिवेशन गरेर चुनावमा जान्छौं’, चौधरीले बताए ।

एकतापछि बन्ने नयाँ पार्टीको नाम र चिन्हबारे पनि उनले संकेत दिएका छन् । उनका अनुसार, नयाँ पार्टीको नाममा ‘समाजवादी’ शब्द रहने निश्चित जस्तै छ । ‘नेकपा समाजवादी भन्ने सम्भावना बढी छ’, उनले भने । चुनाव चिह्नबारे भने उनले भने, ‘हामीले कलम नै राख्ने भनिराखेका छौं । माओवादी केन्द्रले तारा भनिरहेको छ, हेरौं अन्ततः केमा सहमति हुन्छ ।’ नेताहरूको व्यवस्थापन र संरचना एकता महाधिवेशनकै क्रममा टुंगिने चौधरीले बताएका छन् । उनका अनुसार, ‘एकता ऐतिहासिक मोडमा पुगेको छ, केही मतभेदहरू स्वाभाविक हुन् । अब नेपाली कम्युनिष्ट आन्दोलन एक ढिक्का बन्दैछ ।’

खगेन्द्र सुनार बयानका लागि पुगे काभ्रे अदालत

काभ्रेपलाञ्चोक । श्रममन्त्रीमा सिफारिस भएर शपथ हुनै लाग्दा नाम हटाइएका दलित अभियन्ता खगेन्द्र सुनार काभ्रे अदालतमा बयानका लागि हाजिर भएका छन् । अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी सुनारलाई काभ्रे अदालतले गत साउन ५ गते नै दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो । गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

कानुन व्यवस्थायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । बयान सकिएपश्चात आजै थुनछेक बहस हुनसक्ने सम्भावना छ । सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।

बालुवाटार वार्तामा जेनजी अगुवा नै ‘विभाजित’

काठमाडौं । जेनजी अगुवाबीच नै मुलुकको शासन प्रणालीको विषयमा मतभेद पनि देखिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार भएको राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफलमा यस्तो मतभेद देखिएको हो । सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच बुधबार राति अबेरसम्म वार्ता भएको थियो ।

छलफलका क्रममा प्रधामन्त्री कार्कीले २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सबैलाई आग्रह गरेकी थिइन् । छलफलका क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी र संघीयता खारेजी विषय उठेपछि जेन्जी अगुवाबीच नै मतभेद देखिएको हो । छलफलका क्रममा राप्रपाका नेता मोहन श्रेष्ठले संविधान खारेज गर्ने विषय उठाएका थिए ।

जेनजीका तर्फबाट सुरुमै बोलेका मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनुपर्ने र संघीयता खारेजी हुनुपर्ने माग राखेका थिए । जेनजीका प्रतिनिधि उपार्जुन चाम्लिङले सडकका माग सम्बोधन गर्ने नाममा संविधान फाल्नु नहुने कुरा बैठकमा उठाएको जानकारी दिए । उनले जेनजीले उठाएका मागहरू संविधानकै दायराभित्र पूरा गर्न सकिने तर्क गर्दै भने, ‘संविधान फ्याँकिए ठूलो राजनीतिक अस्थिरता र अनिश्चितता सिर्जना हुनेछ ।’

उनका अनुसार, अहिलेको आन्दोलनको म्यान्डेट संविधान फाल्नका लागि होइन, बरु यसको प्रभावकारी कार्यान्वयनका लागि हो । उनले भने, ‘भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, सुशासन कायम गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने जस्ता मुद्दाको कार्यान्वयनका लागि संविधान किन बाधक हुनुपर्‍यो ?’ चाम्लिङले संघीयता रहर वा करका कारण नभई मुलुकको आवश्यकता अनुरूप आएको प्रणाली भएको उल्लेख गर्दै यसलाई अझ सुदृढ र प्रभावकारी बनाउन छलफल गर्न सकिने बताए । तर, संविधान फाल्ने कुरा जेनजी आन्दोलनको म्यान्डेटमा नपर्ने भन्दै उनले त्यसप्रति कडा आपत्ति जनाए । ‘संघीयता खारेज गर्न खोजिए कोशी प्रदेशबाट मात्रै १० लाख मानिस काठमाडौँ आएर आन्दोलन गर्नेछन्,’ राईले भने, ‘त्यतिबेला सरकारले थेग्न सक्दैन ।’ जेनजीका तर्फबाट बोलेका अन्यले पनि राईको भनाइमा समर्थन जनाएका थिए ।

त्यस्तै, अर्की जेन–जी प्रतिनिधि रक्षा बमले पनि संविधान नचलाइ आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउनु पर्ने बताइन् । उनले संविधानकै चौकटीभित्र रहेर सुशासन कायम गर्न सकिने भन्दै दलहरूलाई समयमै निर्वाचन गरेर अघि बढ्न आग्रह गरिन् । वार्तामा जेनजीबाट ढुंगाना र चाम्लिङसहित रक्षा बम, मोनिका निरौला, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी थिए ।

 

बालेनले गृहमन्त्री हटाउन दबाब दिइरहेको हल्ला अफवाह : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दवाव दिएको विषयप्रति प्रधानमन्त्रीको कार्यालयले प्रतिक्रिया दिएको छ । कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रमा पर्ने सचिवालयले जनाएको छ । बालेनले केही दिनअघि प्रधानमन्त्रीलाई भेटेर अर्याललाई गृहमन्त्रीबाट हटाउन दवाव दिएको समाचार सञ्चारमाध्यमहरुमा आएका थिए । सचिवालयले भने कसैको दवाव वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट पारेको छ ।

सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरुप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएको गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिरहनु भएको सबैलाई विदितै छ ।’ अहिलेको संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले अपिल गरेका छन् ।

चार बुँदे सन्देशसहित सरकारलाई रविको चेतावनी : बारम्बार चिठ्ठा पर्दैन

काठमाडौं । कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा मागेका छन् ।

राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको दाबी गर्दै उनले सरकारको मत स्पष्ट हुनुपर्ने बताएका छन् । नख्खु कारागारबाट चार बुँदे सन्देश जारी गर्दै लामिछानेले ‘एक पटक चिठ्ठा परेकालाई पटक–पटक नपर्ने’ चेतावनी पनि दिएका छन् । लामिछानेले वर्तमान सरकारप्रति रोष समेत प्रकट गरेका छन् । आफूलाई अघिल्लो सरकारले राजनीतिक प्रतिशोधमा फसाएको दोहोर्‍याउँदै उनले वर्तमान सरकार समेत आफ्ना लागि केही नबोलेकोमा आक्रोशित देखिएका हुन् ।

उनले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी अहिले रास्वपाको काँधमा आएको उल्लेख गर्दै आवश्यक परे नेतृत्व र त्याग दुवै गर्न तयार रहेको बताएका छन् । नख्खु कारागारमा भेटेर फर्किएका उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार लामिछाने स्वस्थ, दृढ र आत्मविश्वासी छन् । उनले राजनीतिक चासो राख्नेहरूलाई सन्देश अवगत गराइदिन आग्रह गरेका छन् ।

लामिछानेका चार सन्देश :
१) अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेभर’ होइन । हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नै पर्छ ।
२) पछिल्लो जनमतका आधारमा चौथो शक्ति भएकाले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ । आवश्यक परे नेतृत्व र त्याग दुवै गर्न तयार छौं ।
३) एक पटक चिठ्ठा परेकाहरू पटक–पटक पनि पर्ला भन्ने सोच्छन् । तर संयोग दोहोरिँदैन । भर्खरै चिठ्ठा परेकाहरू फेरि त्यसकै लोभमा छन् । लोभीहरूले चिठ्ठा किन्न सक्छन्, तर हरेक जालमा माछा पर्दैन ।
४) रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनु पर्छ । यो क्षणिक लाभ–हानिको सोचले सम्भव हुँदैन । परिस्थिति जस्तोसुकै आए पनि रास्वपालाई पहिलो शक्ति बनाउने दृढतामा म कमजोर हुने छैन, मेहनत र समय लागे पनि लक्ष्य त्यही हो ।

बाढी महाशाखाको चेतावनी : तीन दिन सतर्कता अपनाउनू

काठमाडौँ । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । उक्त चक्रवातका कारण आगामी तीन दिन कोशी, मधेस र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले बिहीबार जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार, आज कात्तिक १३ गतेदेखि नै विभिन्न नदीको बहाब बढ्ने क्रममा रहने र कात्तिक १४ र १५ गते ससाना नदीहरू सतर्कता तह आसपास पुग्ने सम्भावना देखिएको छ । यस अवधिमा नदी किनारका बासिन्दा, किसान, यात्रु र स्थानीय निकायहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा बहाब बढ्ने अनुमान गरिएको छ । जिल्लागत रूपमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, भोजपुर, ओखलढुंगा, खोटाङ, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, रुपन्देही र कपिलवस्तुमा बहने ससाना नदीमा आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको चेतावनी दिइएको छ ।

महाशाखाले तीन दिनको पूर्वानुमानसमेत गरेको छ । बिहीबार ससाना नदीहरूमा बहाब क्रमशः बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने, शुक्रबार कोसी, मधेस र बागमती प्रदेशका केही नदीमा बहाब आकस्मिक रूपमा बढ्न सक्ने, र शनिबार दिउँसोपछि प्रणाली क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ । शनिबार अपराह्नदेखि चक्रवात कमजोर हुँदै जाने र नदीहरूको बहाब घट्दै जाने अपेक्षा गरिएको छ ।

मनसुन समाप्त भएपछि असोज २४ गतेदेखि बाढीबारे दैनिक सूचना सेवा बन्द गरेको महाशाखाले ‘मोन्था’ चक्रवातका कारण आज विशेष बुलेटिन जारी गरेको हो । महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन, मौसम र बाढीसम्बन्धी सूचना नियमित अवलोकन गर्न, अनावश्यक रूपमा नदी किनार नजान र स्थानीय प्रशासनका निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

हेर्नुस् बाढीसम्बन्धी विशेष बुलेटिन

‘मोन्था चक्रवात’ त्रास : मेची राजमार्गमा रातको समयमा गाडी चलाउन रोक

इलाम । मेची राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । एक महिनाअघिको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो ।

आजदेखि कार्यान्वयन हुने गरी बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । यस पटकको मनसुनी विपद्को ‘इपिसेन्टर’ बनेको इलाममा मोन्था चक्रवातले निम्त्याउन सक्ने सम्भावित क्षति रोक्न राजमार्ग बन्द गरिएको प्रशासनले जनाएको छ ।

बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ का प्रभावका कारण राजमार्ग बन्द गर्ने सूचना प्रशासनले जारी गरेको हो । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म कोशी प्रदेशका अधिकांश क्षेत्रमा चक्रवातको प्रत्यक्ष प्रभाव पर्ने अनुमान छ ।

प्रशासनले असोज १८ गतेको भीषण वर्षाबाट पहिरो तथा सडक धस्सिएको मेची राजमार्गका धेरै खण्ड अझै जोखिमयुक्त रहेको उल्लेख गरेको छ । त्यसैले ‘अत्यधिक वर्षा र चक्रवातको प्रभावका कारण यात्रु तथा सवारी साधन दुर्घटनाको जोखिम उच्च रहेको’ भन्दै रातको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार, राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने, सडक चिप्लिने र आवागमनमा समस्या देखिएको हुँदा जनसुरक्षाको प्राथमिकता दिँदै अस्थायी रूपमा रोक लगाइएको हो । उनका अनुसार रातको समयमा आवश्यक नभए सवारी साधन सञ्चालन नगर्न र यात्रुहरूलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरिएको छ ।

प्रशासनले स्थानीय निकाय, सुरक्षाकर्मी र सडक विभागलाई सतर्क रहन निर्देशन दिएको छ । प्रशासनले उक्त रोक अर्को सूचना प्रकाशित नभएसम्म कायम रहने स्पष्ट पारेको छ । इलामसहित पूर्वी पहाडी क्षेत्रमा चक्रवातको प्रभावले हल्कादेखि भारी वर्षा हुनसक्ने र पहिरोको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

दक्षिण कोरियामा भेट्दै ट्रम्प र सी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज (बिहीबार) दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । भेटमा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ । गएको महिनासम्म चलिरहेको व्यापार तनाबले दुबै देशको अर्थतन्त्रमा ठूलो असर पारेको थियो ।

ट्रम्पले चीनका सामानमा १० प्रतिशतबाट बढाउँदै १४५ प्रतिशतसम्म शुल्क लगाएका थिए । चीनले पनि अमेरिकी वस्तुमा १२५ प्रतिशतसम्मको प्रतिशोधी कर लगायो । गएको जुन महिनामा दुबै पक्षबीच अस्थायी युद्धविराम भयो । त्यसपछि वार्ता पुनः शुरू भई अहिले सम्भावित सम्झौतासम्म पुगेको खबरमा उल्लेख छ ।

अमेरिकाले चीनको प्रविधि पहुँचमा रोक लगाइरहेको छ भने चीनले दुर्लभ खनिज निर्यातमा कडाइ गर्दै दबाब बढाएको छ । यी खनिजहरू स्मार्टफोनदेखि सैनिक उपकरणसम्मका लागि जरुरी भएकाले अमेरिकालाई वैकल्पिक आपूर्ति खोज्न बाध्य बनाएको विश्लेषण भईरहेका छन् ।

संसद विघटन र प्रधानमन्त्री नियुक्ति विरुद्धका रिटमा सकियो प्रारम्भिक बहस, आदेश बाँकी

काठमाडौं । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिविरुद्धका सबै रिटमाथिको प्रारम्भिक बहस सकिएको छ । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासमा रिटमाथिको बहस सकिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नरहँदा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधि सभना विघटन गरेका थिए ।

त्यसविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ताहरू डा। प्रेमराज सिलवाल, कीर्तिनाथ शर्मा पौडेल, खडकबहादुर शाह, दलबहादुर धामी, प्रकाश भुजेल, विपीन ढकाल, आभाष पोखरेल, विमल पोखरेल, डा. पुण्यप्रसाद खतिवडा र शेरबहादुर रोकायाले छुट्टाछुट्टै रिट दायर गरेका छन् । त्यसबाहेक कानुनका विद्यार्थी आयुष बडाल, अभियन्ता मकबुल मियाँ, डम्बरप्रसाद शिवाकोटी, आयुष भण्डारीको पनि छुट्टाछुट्टै गरि १६ रिट सर्वोच्चमा दर्ता भएका थिए ।

सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको त्यसपछिका सबै काम बदर हुनुपर्ने दाबी गरिएको छ । संविधानको धारा ६१ सरकार गठनका लागि नभएको र राष्ट्रपति संवैधानिक व्यक्ति भएकाले उनलाई विशेष अवस्था भन्दै मनोमानी निर्णयको अधिकार संविधानले नदिने रिटकर्ताको दाबी छ । रिटमाथिको प्रारम्भिक बहस सकिएको छ । अब अन्तरिम आदेश जारी हुने वा कारण देखाउ आदेश जारी हुने निर्णय केहीबेरमा संवैधानिक इजलासले दिनेछ ।

 

स्वागत नेपालले आफूलाई हटाउने सक्ने प्रसङ्ग निकालेपछि रिसाए प्रधानन्यायाधीश राउत

काठमाडौं । अधिवक्ता स्वागत नेपालले बहसको क्रममा राखेको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत रिसाएका छन् । आज (बुधबार) प्रतिनिधि सभा विघटन विरूद्धको सुनुवाइका क्रममा अधिवक्ता स्वागत नेपालले रिट निवेदकको पक्षबाट बहस गरेका थिए । बहसको क्रममा अधिवक्ता नेपालले वकिलहरूले आन्दोलन गरे राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नै हटाउन सक्छन् भन्ने कुरामा इजलास सहमत हुनुपर्ने बताएका थिए ।

‘हिजो सरकार परिवर्तनको कुरा आन्दोलनकारीहरूको माग नै थिएन । त्यो बेला राष्ट्रपतिले अर्को निहुँ बनाएर सोझै संविधानको रक्षा गर्न प्रधानमन्त्री अर्को नियुक्त गर्ने उहाँले विज्ञप्तिमा फेरि ढुंगामुडा भयो भने अर्को प्रधानमन्त्री ल्याइदिन्छु भन्नु भएको छ । श्रीमान यो इजलासले यो यो स्वीकार गर्नुपर्छ कि भोलि वकिलहरुले र अरुले आन्दोलन गरे भने प्रधान न्यायाधीशलाई सिधै हटाएर अर्को प्रधान न्यायधीश ल्याउन सक्नुहुन्छ । यो अधिकार दिनु हुन्न राष्ट्रपतिलाई,’ अधिवक्ता नेपालले भनेका थिए ।

त्यसपछि प्रधानन्यायाधीश राउतले उनलाई रोके । ‘विद्वानजी यहाँ सुन्नुस् । यो इजलासले के स्वीकार गर्नुपर्छ भनेर तपाईले त्यहाँ बहस गरेर डिटेक्ट गर्ने कुरामा डेकोरमको हेक्का राख्नुस् । तपाईले तपाईले बडो हेक्का राखेर बहस गर्नुस्,’ प्रधानन्यायाधीश राउतले भने । ‘तपाईंले जे कुरा गर्नु भएको छ, यो मोस्ट अब्जेक्सनेबल छ । यो स्वीकार गर्नुपर्छ, यो गर्नु हुँदैन भनेर तपाईंले त्यहाँबाट भन्ने होइन,’ प्रधानन्यायाधीश राउतले अगाडि भने । त्यसपछि अधिवक्ता नेपालले माफी मागेका थिए ।

‘म श्रीमानसँग माफी चाहन्छु । मैले त सेन्टेन्सहरु मात्रै बोलें । व्याख्या गर्ने समय भएन,’ उनले भने । अधिवक्ता नेपालले त्यसपछि पनि राष्ट्रपतिले प्रधान्यायाधीश पनि हटाउन सक्छन् भन्ने दोहो¥याए । ‘संविधानको रक्षा गर्न जरुरी भयो भनेर प्रधानमन्त्रीलाई जसरी राष्ट्रपतिले हटाएर अर्को नियुक्त गर्ने विज्ञप्ति जारी गर्नुभयो । त्यसैगरी प्रधानन्यायाधीशलाई हटाएको विज्ञप्ति जारी गर्नुभयो भने त्यो संवैधानिक हुन्छ कि हुँदैन ? अहिले यो प्रधानमन्त्रीलाई संवैधानिक छ भन्ने हो भने त्यो पनि संवैधानिक छ भनेर इजलास मान्न पर्ने स्थिति हुन सक्छ,’ उनले भने। रिट निवेदकका तर्फबाट बहस सकिएको छ । अब इजलासले आदेश जारी गर्न बाँकी छ ।

तस्बिरमा हेर्नुहोस् बालुवाटार भित्र बैठक, बाहिर धर्ना

काठमाडौं। चुनावको वातावरण प्रयासस्वरुप बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको छ ।

धबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसिरहेको हो ।

त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् । तर जेनजीकै एक समूह भने बैठकमा सहभागी हुन नपाएको भन्दै बालुवाटार बाहिर धर्नामा छन् ।

उनीहरुले आफूहरू पनि बैठकमा सहभागी हुन पाउनुपर्ने बताउँदै बालुवाटार बाहिर धर्ना दिइरहेका हुन् ।

त्रिपक्षीय बैठकमा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला,  क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत लगायतका नेताहरूको सहभागिता रहेको छ ।

सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ ।

यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेन-जी समूहबीच छलफल भइसकेको छ ।

बञ्चरेडाँडा फोहर विसर्जन प्रभावित, स्थानीयले फर्काइ दिए गाडी

नुवाकोट । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्नमा समस्या भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन् । फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहर फाल्न अवरोध गरेको धुनबेसी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाले जानकारी दिए ।

उनका अनुसार सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग मुख्य रूपमा राखिएको छ । ककनी गाँउपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न आएका गाडीलाई फिर्ता पठाइदिएका जनाइएको छ ।

स्थानीयहरुले विं.संं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने, र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको उनीहरुले गुनासो गरेका छन् । आफूहरुको मागको सम्बोधन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन काठमाडौं महानगरपालिकाको प्रतिनिधि प्रभावित क्षेत्रमा नै आउनुपर्ने माग गर्दै सिसडोल, कुँडुले, ढाँडेको सडकमा सयौँको संख्यामा स्थानीयहरु शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । स्थानीयले स्वःस्फूर्त रूपमा सङ्गठित भएर विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको फोहर विसर्जनको अवरोधमा ककनी र धुनबेसीँका जनप्रतिनिधि र दलीय प्रतिनिधिले पनि साथ दिएका छन् । –रासस

 

बालुवाटारमा जेनजीसहित पहिलो त्रिपक्षीय वार्ता

काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् । यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए । यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ । छलफलमा १३ जना जेनजीहरू सहभागी हुँदैछन् । सरकारले आजको छलफललाई त्रिपक्षीय वार्ता भनेको छ ।

छलफलमा सहभागी हुनेहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् ।

राजनीतिक दलतर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा (माओवादी), प्रकाश अधिकारी, दीपक कार्की (जसपा), प्रकाश ज्वाला, राजेन्द्र पाण्डे (एकीकृत समाजवादी), मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ (राप्रपा), निशा डाँगी, स्वर्णिम वाग्ले(रास्वपा), महेश बर्तौला, क्षितिज थेबे (एमाले), वसन्त कुशवाह (जनमत) र प्रकाशशरण महत (कांग्रेस) सहभागी भएका छन् । सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन र सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेल छन् ।

जेनजी प्रतिनिधिहरू 

मोनिका निरौला

रक्षा बम

पुरुषोत्तम यादव

सामना लावती

खेमराज साउद

उपअर्जुन चाम्लिङ

भोजविक्रम थापा

मिराज ढुंगाना

विवेक दाहाल

जेम्स कार्की

रेहनराज डंगोल

अमित खनाल

रिजन रानामगर

 

त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि

काठमाडौं । सरकारले आह्वान गरेको त्रिपक्षीय छलफल जेनजीको तर्फबाट १३ जना सहभागी हुने भएका छन् । बुधबार अपराह्न बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबीच संयुक्तरूपमा छलफल हुँदै छ ।

छलफलमा सहभागी हुने जेनजी प्रतिनिधिको सूचीमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर छन् ।

यसअघि, प्रधानमन्त्री कार्कीले भने राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन् । आगामी फागुन २१ गतेको निर्वाचनका लागि सरकारले छलफललाई तीव्र पार्ने प्रयास गरिरहेको छ ।

 

संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी कटौती गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय गरेको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ मा संसदका पदाधिकारी र सदस्यको स्वकीय सचिवालय सम्बन्धी व्यवस्था रहेको छ । उक्त ऐनको अनुसूची २ मा हेरफेर गर्ने निर्णय गरेर कटौती गरिएको हो ।

शिक्षिका खड्काको सुसाइड नोट : अर्काको श्रीमानसँग जीवन जिउन सकिएन

डोटी । डोटीमा एक शिक्षिका रहस्यमय ढंगले मृत भेटिएको घटनाले नयाँ मोड लिएको छ। पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया शिक्षिका जानकी खड्काको ‘आत्महत्या’ प्रकरणमा जिल्ला प्रहरी कार्यालय डोटीले शिक्षा तथा समन्वय एकाइ डोटीका विद्यालय निरीक्षक (विनि) २८ वर्षीय गणेश रावललाई पक्राउ गरेको छ। मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका–११ घर भएका रावललाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पालले जानकारी दिए।

बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षिका खड्का सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी थिइन्। त्यसको केही घण्टापछि घर नजिकै करिब ७०० मिटरको दूरीमा उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले शिक्षिका खड्काको सुत्ने कोठाबाट एउटा सुसाइड नोट बरामद गरेको छ । मोबाइलको कभर पछाडि भेटिएको उक्त नोटले घटनाको रहस्य खुलासा गरेको छ। सुसाइड नोटमा खड्काले गणेश रावलसँग सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको तर, रावलले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकी छिन्।

सुसाइड नोटमा लेखिएको छ, ‘अहिलेसम्म ड्याडी–मम्मीको इज्जत र खुशी सम्झेर बसेकी थिएँ । आज मलाई जीन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइ दियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो। के गरुँ भाइ, गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो। न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने।’ खड्काले आफ्ना बुवा, आमा र भाइलाई सम्बोधन गर्दै रावलसँग फोनमा कुराकानी गर्नु आफ्नो गल्ती भएको स्वीकारेकी छिन्। उनले बुवाआमाको इज्जत गुमाएर कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसक्ने कुरा स्पष्ट पारेकी छिन्।

‘मेरो आयु यत्ति नै रहेछ, के गरुँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ,’ सुसाइड नोटमा उल्लेख छ । जानकी खड्का परिवारकी जेठो सन्तान थिइन् र सिंगो परिवार उनकै आयस्रोतमा आश्रित थियो । दुई वर्षअघि निमावि तहको गणित विषयको स्थायी शिक्षक सेवा पास गरेर सरकारी सेवा प्रवेश गरेकी उनी परिवारको भर थिइन् । मृतकका भाइ प्रदीप खड्काका अनुसार, बुवा रक्तचाप र आमा माइग्रेनको बिरामी भएकाले परिवारको आर्थिक भार जानकीमाथि थियो । ‘हामी मध्यमवर्गीय परिवार हो । दिदीकै आयस्रोतको भरमा थियौँ । हाम्रो परिवारको खम्बा ढल्यो । दोषीलाई कारबाही गरी दिदीको आत्मालाई न्याय दिनुपर्छ,’ प्रदीपले पीडा पोखे ।

प्रदीपले गणेश रावलले आफूलाई समेत फोन गरेर दिदीसँग विवाह गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यसो नभए ज्यान मार्ने धम्की दिएको दाबी गरेका छन् । रावलको दबाबमा परिवारसँग विवाहको कुरासमेत चलाएको उनले बताए। प्रहरी अनुसन्धानबाट खुल्न आएअनुसार, पक्राउ परेका गणेश रावल यसअघि नै विवाहित थिए र उनका सन्तान पनि छन्। उनले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका भए पनि जानकीमाथि विवाह गर्न निरन्तर दबाब दिइरहेको प्रहरीले जनाएको छ। डीएसपी दीपेन्द्र पालले रावलले यसअघि नै विवाह गरेको कुरा बुझिएको बताउँदै घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिए। सुसाइड नोट र परिवारको बयानका आधारमा प्रहरीले रावलमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

 

मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । उनका अनुसार, राष्ट्रपति पौडेलसहितको टोलीले कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछन । उनी सेकेण्ड वल्र्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको उनले मन्त्रिपरिषद् बैठकपछि जानकारी गराए।

‘कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रमम सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,’ मन्त्री खरेलले भने ।
यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको रिक्त पदका लागि निर्वाचन हुन्छ । जसमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दछन् ।

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ । त्यस्तै, सरकारले नेपाल सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची– २ मा हेरफेर गर्ने निर्णय गरेको छ । संसद् सचिवालयको दरबन्दी घटाउने अनुसूची संशोधन गरिएको हो ।

 

राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्विकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, राष्ट्रपति पौडेलसहितको टोलीले कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछन । राष्ट्रपति पौडेल ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ नामक कार्यक्रममा सरिक हुन जान लागेका हुन् ।

 

राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ मा, फागुनमा कुन दलबाट को–को हुँदै विदा ?

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आउँदो माघमा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी गराएका छन् । आज (बुधबार) दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

विदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेकपा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् । आगामी फागुनमा बिदा हुने एमाले सांसदहरूमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् । यस्तै बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।

एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ५ मा निर्वाचनको मिति तोक्ने सम्बन्धी व्यवस्था छ । दफा ५ को उपदफा (१) मा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ । तर निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले निर्वाचन आयोगको परामर्श लिनुपर्ने हुन्छ ।
दफा ५ को उपदफा (१क) मा पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘उपदफा (१) बमोजिम निर्वाचनको मिति तोक्दा संविधानको धारा ८६ को उपधारा (३) बमोजिम कायम भएको पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनु भन्दा पैंतिस दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नु पर्नेछ ।’

संविधानको धारा ८६ मा राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधिसम्बन्धी व्यवस्था छ । राष्ट्रिय सभा एक स्थायी सदन हो । राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन भएर एक तिहाइ सदस्य नयाँ आउँछन् भने एक तिहाइ सदस्य कार्यकाल सकिएर बिदा हुन्छन् । यसरी राष्ट्रिय सभालाई स्थायी सदनको व्यवस्थित गरिएको छ । यही व्यवस्था अनुसार २०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुन लागेका हुन् ।