`

केशरमहलबाट सिंहदरबार सरे शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा आगजनी भएपछि केशर महलबाट मन्त्रालयले कामकाज गर्दै आएको थियो।

केशर महलबाट आज शिक्षा मन्त्रालय सिंहदरबारभित्रैकै भवनमा सरेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर आज अपराह्न ३ बजेदेखि शिक्षा मन्त्रालय सिंहदरबारमै सरेको उल्लेख गरेका छन्।

सुन्धारा कारागारबाट भागेका बन्दी ग्यास गन र गोलीसहित पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एक जना पक्राउ परेका छन् । काठमाडौं–७ स्थित लाहुरे टोलमा रहेको एक पसलबाट झोलामा राखिएको अवस्थामा बन्दुकको बट र नाल बरामद गरिएको हो । काभ्रेपलाञ्चोक महाभारत–१ का राजा तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । गोकर्णेश्वर–३ मा बस्दै आएका लामाले उक्त बन्दुक राखेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका लामा आन्दोलनको मौका छोपेर भागेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । कात्तिक १३ गते साँझ काठमाडौँ महानगरपालिका ७ लाहुरेटोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लास्टिकले बेरिएको अवस्थामा कुर्सीमाथि कालो झोला फेला परेको थियो । झोलामा ९७२ डब्ल्युके ६८३०१ ०३२१८९ नं उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्याएको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त झोला राजा तामाङको भएको खुलेको थियो । कात्तिक १४ गते साँझ उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । उनको डेराबाट प्रहरीले ३ थान गोलि पनि बरामद भएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । लामालाई थप अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

सेनाका सात जनालाई दर्ज्यानी चिन्ह

काठमाडौं । प्रधान सेनापतिले नेलाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका दुई जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

निकोलसको आह्वानमा प्रदर्शन गर्न माइतीघर पुगेका युवा धमाधम पक्राउ {तस्वीरहरु}

काठमाडौं । माइतीघरमा नारा लगाउने दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डा. निकोलस भुसाल र उसको समूह माइतीघरमा आन्दोलन गर्न आउने र बिभिन्न राजनीतिक दलका कार्यकर्ताले सो समूहलाइ रोक्ने भनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर भुसाल भने माइतीघरमा देखा परेनन् । उनले आज दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्ने घोषणा सामाजिक सञ्जालमा गरेका थिए । भुसालले आह्वान गरेको आन्दोलनमा सहभागी हुन आएकाहरुलाई प्रहरीले पक्राउ गर्न थालेपछि अन्य प्रदर्शनकारीहरु बिच्किएका छन् ।

‘पहिला देश’ अभियान अन्तर्गत जेनजीका विभिन्न समूहले सरकारले जेनजीका मागलाई अवमूल्यन गरेको विरोध र हत्यारालाई कारबाही गर्न, भ्रष्टाचारको छानबिन र कारबाहीको लागि, संबिधान संशोधन गरेर प्रदेश सरकार खारेजको लागि दबाव दिन, वर्तमान सरकारले पनि सेवा प्रवाहबाट ती उठेका मागहरू पूरा गर्न नसकेको तथा जेनजी आन्दोलनले उठाएका मुद्दाहरू सम्बोधन गर्न, लघुवित्त पीडित, बैंक, मिटरब्याजी, सहकारी पीडित लगायतका समस्याहरू समाधान गर्नतर्फ कुनै ठोस पहल नगरेको देखिएको भन्दै ती मागहरू पूरा गराउन शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने बताएका थिए ।

हर्कको श्रम संस्कृति पार्टीलाई आयोगले दियो मान्यता,तस्बिरहरु

काठमाडौँ । निर्वाचन आयोगले आज धरान उपमहानगरपालिकाकाका मेयर हर्क साङपाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ ।

आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र लिन हर्क साम्पाङ स्वयम् उपस्थित भएका छन् ।

 

थापाथली ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन पुगेकाे कामपाको डोजर यसरी फर्कियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ । सम्पदा क्षेत्र खाली गराउने अभियानमा रहेको महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । काठमाडौँ महानगरपालिकाको टोलीले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने तयारी गरे पनि प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि रोकिएको हो ।

आइतबार बिहान सम्पदा क्षेत्रमा अनधिकृत संरचना हटाउने क्रममा महानगर प्रहरीको टोली प्रभाग परिसरमा पुगेको थियो । तर, काठमाडौँका सीडीओ ईश्वरराज पौडेलले प्रहरी कार्यालय स्थानान्तरण गर्न केही समय लाग्ने भन्दै तत्काल नहटाउन अनुरोध गरेपछि टोली फर्किएको हो । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भए पनि प्रभाग नभत्काइने महानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताए । प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उनले बताए ।

उनले भने, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु । प्रहरी कमाण्डरले हुन्छ भनेको छ । अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारणले पनि तत्काल नभत्काउन भनेको छु ।’ प्रभाग नजिकका केही अन्य अवैध संरचना भने महानगरको टोलीले हटाइसकेको छ । सीडीओ पौडेलले अहिले ट्राफिक प्रहरीको मुख्यालय रामशाह पथसहित अन्य प्रहरी कार्यालयहरू जलेका वा क्षतिग्रस्त अवस्थामा भएकाले अस्थायी रूपमा प्रयोगमा रहेका भवन तत्काल भत्काउँदा समस्या हुने भन्दै पत्राचार गरेको थियो । महानगरे सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ ।

 

 

थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काइने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ ।

सम्पदा क्षेत्र खालि गराउने अभियानमा रहेको महानगर प्रहरी आईतवार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भएपनि प्रभाग नभत्काइने महानगरपालिका वडा न. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताए । प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उनले बताए।

उनले भने, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु । प्रहरी कमाण्डरले हुन्छ भनेको छ । अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारणले पनि तत्काल नभत्काउन भनेको छु ।’

महानगरे सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ ।

परस्त्रीसँग होटलमा ‘डेट’ गएका पुरुषको रहस्यमय मृत्यु, महिलामाथि किटानी जाहेरी

बुटवल । रुपन्देहीको बुटवलमा एक विवाहित महिलासँग होटल गएका एक पुरुषको रहस्यमय मृत्यु भएको छ । मृतक पुरुषका आफन्तहरूले महिलामाथि किटानी जाहेरी दिएका छन् । बुटवल–३ फूलबारीकी करिब ३० वर्षीया विवाहित महिला शनिबार दिउँसो बुटवल–६ चाँदवारीका ५६ वर्षीया पुरुषसँग होटलमा पुगेकी थिइन् । उनी दुई स–साना बालबालिकासहित बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एण्ड लज मा पुगेकी थिइन् ।

प्रहरीका अनुसार उनीहरुले होटलका दुईवटा कोठा बुक गरेका थिए । एउटा कोठामा महिलाकी छोरी र भतिजीलाई राखिएको थियो भने अर्को कोठामा ती पुरुष र महिला बसेका थिए । केही समयपछि उनीहरूले होटलकै कोठामा खाजा मगाएर खाएका थिए । खाजा खाएलगत्तै पुरुष अचानक बेहोस भएका थिए । महिलाले तुरुन्तै होटल सञ्चालकलाई खबर गरेकी थिइन् र होटलका कर्मचारीले उनलाई एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार मृतकको शरीरमा बाहिरी चोट पटक केही नदेखिएको र मृत्युको कारण यकिन गर्न पोष्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच कुनै पारिवारिक वा वैधानिक सम्बन्ध नरहेको देखिएको छ,’ डीएसपी रानाले भने, ‘घटनाको सम्पूर्ण पक्ष खुलाउन अनुसन्धान भइरहेको छ ।’

मृतक पुरुषका दुई छोरी र श्रीमती छन् । उनी चाँदवारीमा घर बनाएर मैनाबगर क्षेत्रमा अटो व्यवसाय गर्थे । छिमेकीहरूका अनुसार उनी मुटुका बिरामी थिए र औषधि सेवन गर्थे । मृत्युअघि उनले कुनै थप औषधि खाएको वा अन्य कारणले समस्या भएको हुन सक्ने आशंका छ ।
तर मृतककी छोरीले इलाका प्रहरी कार्यालयमा महिलामाथि किटानी जाहेरी दिएकी छिन् । प्रहरीले जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

यस्तै घटनापछि प्रहरीले होटल सञ्चालक र रुपन्देही होटल व्यवसायी संघका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । होटल व्यवसायी संघका अध्यक्ष माधव खनालका अनुसार घटनापछि सुरक्षात्मक तथा प्राविधिक पक्षमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
‘होटलमा बसेका पाहुनामध्ये पुरुष बेहोस भएपछि तुरुन्तै अस्पताल पु¥याइएका थिए,’ खनालले भने, ‘तर डाक्टरहरूले उनलाई मृत घोषणा गरेपछि परिवारले महिलामाथि शंका गरेको हो । अहिले प्रहरी अनुसन्धानको निष्कर्ष आउन बाँकी छ ।’

कांग्रेस मुख्यालय सानेपामा नाराबाजीपछि युवाको तालाबन्दी {तस्वीरहरु}

काठमाडौं । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (४० बर्षमुनि) ले कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ । योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियान सम्वद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो ।

उनीहरूले नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए । पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नारावाजी गरिरहेका छन् । उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति बिघटन गरियोस् ! आम कांग्रेसजन र युवाहरुको भावनालाई नजरअन्दाज नगरियोस् !’ लगायतको नारा लगाएका छन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली कांग्रेस र हरेक तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भुवन भट्टले नेपाली कांग्रेस सुधार अभियान चलाएको बताए । कांग्रेस सुधार र रुपान्तरणको मुद्दा आफूहरुले उठाउन खोजेको बताए । नव युवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने बताए । समयसापेक्षरुपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने बताए ।

उनले मुलुकलाई नेतृत्व गर्नुपर्ने कांग्रेस आज पार्टीभित्रै रुमल्लिएको बताए । कांग्रेसका युवाहरुले उठाएको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी दिए । तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग गरे । जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएसँगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जाँच बिना प्रवेश रोकिएको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

माओवादी केन्द्र र नेकपा एसको एकता कात्तिक २० मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ। आइतबार बसेको सचिवालय बैठकले दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठकले कात्तिक २० गते तय भएको प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त केन्द्रीय समितिको बैठक कात्तिक २० गते बस्ने तय भएको छ,’ उनले भने । त्यसपछि एकता घोषणा गर्ने तयारी छ।

समाजवादी मोर्चा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’बाट अलग्गिएका चिरन सीसहितको एउटा समूह, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) सहितका दल एकताको प्रक्रियामा छन्।
उनीहरूबीच नीति, नेतृत्व टुंगो लागिसकेको छ । नेतृत्व संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन्। सहसंयोजक माधव नेपाल रहने छन्। एकीकृत पार्टी बहुपदीय ढाँचामा रहनेछ । माक्र्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने नेपाली विशेषताको समाजवाद तत्कालकको कार्यनीति रहने र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवादी रहने तय भएको छ।

जनार्दनले गरे माओवादी सचिवालय बैठक बहिष्कार
यता नेकपा (माओवादी केन्द्र) को सचिवालयय बैठक नेता जनार्दन शर्माले बहिष्कार गरेका छन्। आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नेता शर्मा सहभागी नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘हिजो आफ्नो कुरा राखेर निस्कनु भएको थियो । आज बैठकमा आउनु भएन,’ प्रवक्ता सापकोटाले भने। शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने पक्षमा फरक मत राखेका थिए।

आफ्नो भनाइ राखेर उनी बैठकबाट बाहिरिएका थिए। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयलाई बेवास्ता गरेर एकता गर्नु गलत हुने उनले बताएका छन्। आइतबार पुनः बसेको बैठकमा एकताबारे संगठनात्मक विषयमा छलफल भएको प्रवक्ता सापकोटाले बताएका छन् । पार्टी एकताको निर्णयलाई अनुमोदन गर्नका लागि कात्तिक १८ केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको पनि प्रवक्ता सापकोटाले बताए। ‘आजको बैठकमा समायोजन गर्ने विषयमा र नीतिगत र वैचारिक विषयमा छलफल भयो। नयाँ दल दर्ता गर्ने विषयमा बढी छलफल भयो,’ प्रवक्ता सापकोटाले सुनाए।

 

 

तीन दिनपछि बीपी राजमार्गमा चल्न थाले गाडी

काभ्रेपलाञ्चोक । बाढी–पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध छ ।

 

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्थगित बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ। कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरेका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। महाधिवेशन कि नियमित महावेशन, अनि त्यो कहिले गर्ने भन्ने विषयमा एक मत नबन्दा कांग्रेस बैठक प्रभावित बन्दै आएको छ। संस्थापन इतर पक्षका नेताहरू आउँदो पुस १६ मा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष फागुनको चुनावपछि महाधिवेशनमा जानुपर्ने पक्षमा छ । साझा एजेण्डा तय गर्न शनिबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन भएको थियो।

 

जेनजी पुस्ता र माओवादी केन्द्रको धारणा साझा हुन् : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेनजी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गरेका छन्। आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले जेनजीले उठाएका माग आफूहरुले यसअघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार र धारणा समेत साझा रहेको बताएका हुन्।  नेता सापकोटाले जेनजी पुस्ताको मागसँग आफूहरु सकारात्मक रहेको कुरा राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि आफूहरुले गर्दै आएको स्मरण समेत गराए । उनले जेन–जी पुस्ताले उठाएको सबै माग जायज रहेको जिकिर समेत गरे।

नेता सापकोटाले भने, ‘हामी जेनजीले उठाएका मागहरुमा सकारात्मक मात्रै होइन, ती त हामीले पहिलादेखि नै उठाएका मागहरु हुन् । उनीहरुको हाम्रो धारणा समान छ, साझा छ। अहिले त्यसका लागि नै हामीले कुराकानी गरिरहेका छौं। चाहे प्रधानमन्त्रीले बोलाउँदा होस्, चाहे राष्ट्रपतिले बोलाउँदाखेरी होस्। जेनजीको र हाम्रो सोच, विचार र समान धारणा छ । त्यहाँ एकरुपता भइरहेको छ । यही कुरा म फेरि पनि स्पष्ट पार्न चाहन्छु।’ नेता सापकोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कुरालाई आफूहरुले सकारात्मक रुपमा लिएको टिप्पणी समेत गरे।

कहिले बस्दैछ नेकपा एस र माओवादीको संयुक्त बैठक ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही कात्तिक २० गते नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त बैठक बोलाएको छ । आइतबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सो पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो ।

त्यसै गरी बैठकले १८ गते (मंगलवार) भने पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रिय कमिटी बैठक १८ गते बस्ने र एकीकृत समाजवादी लगायतका एकतामा आउने दलहरुको बैठक भने २० गते बस्ने निर्णय गरिएको पार्टीका नेता अग्नीप्रसाद सापकोटाले जानकारी दिए । बैठक सचिवालयका सदस्य जनार्दन शर्माले भने बहिष्कार गरेका थिए । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्वमा आफ्नो निरन्तरताका लागि सो पार्टीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा उनले शनिवारको बैठक गरेका थिए । तर आज भने उनी बैठकमा नआएको पनि पार्टी प्रवक्ता सापकोटाले बताए । उनले शर्मालाई पार्टीले अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष निकालेको समेत बताए ।

नेता सापकोटाले भने, ‘हाम्रो केन्द्रिय समिति बैठक पर्सी १८ गते बस्ने निर्णय भएको छ । अनि संयुक्त अधिवेशन एकीकृत समाजवादी लगायतका एकतामा आउनेहरुको बैठक २० गते बस्ने कुरा भएको छ । आज छलफल भएको विषयहरु अब यो समायोजना गर्ने विषयमा, नीतिगत र बैचारिक विषयहरुमा फेरि एकता भएपछि हामीले नयाँ दल दर्ता गर्नुपर्छ निर्वाचन आयोगमा । त्यो दल दर्ता गर्ने विषयमा बढी छलफल भएको थियो । विशेष गरी आन्तरिक संगठनात्मक विषयमा आजको छलफल केन्द्रित भयो ।’

उनले भने,‘आज जनार्दन शर्मा आउनु भएको थिएन । त्यसमा थप छलफल भएन । हिजो नै मैले भनेको थिए–उहाँले आफ्नो कुरा राख्नु भयो । अनि अध्यक्ष बस्नुस् अरुको पनि कुरा सुन्नुहोस् भन्नु भयो । सबैले बस्नुस् भन्दा उहाँ हिँड्नु भयो । र हामीले हिजै भनिसकेको छौँ कि त्यो राम्रो भएन । त्यो अलि अराजक तौरतरिका भयो भनेर हिँजै भनिसकिएको छ । आज त्यस विषयमा थप छलफल केही भएन ।’ बैठकमा पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।

 

 

बञ्चरेडाँडा फोहोर फाल्न मन्त्री घिसिङले जुटाए सहमति

काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापन गर्न सहमति जुटेको छ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो । मन्त्री घिसिङको यो प्रतिबद्धतापछि चार दिनदेखि फोहोर फाल्न अवरोध गर्दै आएका स्थानीय सहमत भएका छन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई आग्रह गरेको थियो ।

शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो । त्यसपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।

स्थानीयबासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिएका छन् । अध्यक्ष तामाङले भने, ‘अहिलेसम्म निर्णय गरिएका र हुन नसकेका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्री ज्यूले गर्नु भएको छ । कुनै कारणले त्यो अवधिभित्र पनि सहमति कार्यान्वयन हुन नसके तपाईहरुको विरोध गर्ने अधिकार त छँदैछ भन्नु भएको छ ।’

 

मधेसका स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी

जनकपुरधाम । मधेस प्रदेशका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू आफ्नो हकहितका लागि आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि जारी श्रमशोषण, न्यून पारिश्रमिक र असुरक्षित कार्य वातावरणको विरोधमा उनीहरूले ८ सूत्रीय मागसहित शान्तिपूर्ण प्रदर्शन सुरु गरेका हुन् ।

यदि माग पूरा नभए आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार, निजी स्वास्थ्य संस्थाहरूले नेपाल सरकारको ऐनविपरीत न्यून तलबमा काम गराइरहेका छन् भने समान कामको लागि पनि असमान व्यवहार गर्ने गरेका छन् । आफूहरू निकै जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य भएको उनीहरूको गुनासो छ।

मुख्य मागहरू :
नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गरिनुपर्ने ।
सरकारी स्वास्थ्य संस्थाका करारकर्मीहरूलाई हटाई लोक सेवा आयोगमार्फत विज्ञापन गरिनुपर्ने ।
स्वास्थ्यकर्मीहरूको बीमा र सुरक्षाको व्यवस्था गरिनुपर्ने ।
हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोकिनुपर्ने ।

स्वास्थ्यकर्मी नवेश अधिकारीले मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले त्यसलाई कार्यान्वयनमा नल्याएको बताए । यसले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले प्रस्ट पारे । आन्दोलनरत स्वास्थ्यकर्मीहरूले यस विषयमा जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको बताएका छन् । उनीहरूले आन्दोलनका कारण बिरामी सेवामा कुनै समस्या आएमा त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने बताएका छन् ।

हुम्लाको पर्यटकीयस्थल लाप्चामा पुग्यो सञ्चार सुविधा नहुँदा समस्या

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ । लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर जाङमा फोनको सुविधा भए पनि लाप्चामा सञ्चार सुविधा छैन । लाप्चामा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याउनसके सबैलाई सहज हुने वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेपछि बास बस्ने स्थान टाक्चीमा कुनै पनि सञ्चार सुविधा छैन । लिमीमा फोरजी टावर जडानका लागि गाउँपालिकाले अग्रसरता लिए पनि सम्भव नभएको गाउँपालिकाका अध्यक्ष प्रेम लामाको भनाइ छ । नेपाली भूमि लाप्चाबाट वर्षमा ६ महिना मानसरोवर कैलाशको दर्शन गर्न मिल्छ । हिउँद याममा हिमपातले ६ महिना न्यालु, नारा लेख अवरुद्ध हुने हुँदा वैशाखदेखि कात्तिकसम्म मात्रै यहाँबाट दर्शन गर्न सकिन्छ । रासस

थापाथली ट्राफिक प्रहरी बिट भत्काउन पुग्यो कामपाको डोजर (तस्वीरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ । महानगरको डोजर ट्राफिक प्रहरी बिटको संरचना भत्काउन पुगेको हो । काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयको संरचना भत्काउने तयारी गरेपछि त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन् । महानगरपालिकाले अहिले डोजरको सहायताले ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको इरानी चिया पसलको भवन भत्काइरहेको छ ।

महानगले गएको शुक्रबार पनि बागमती किनारमा रहेको राम मन्दिर परिसरमा बनेका अवैध भौतिक संरचना हटाएको थियो । त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको ट्राफिक प्रहरी कार्यालयको संरचना पनि महानगरले हटाउन थालेको हो । महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बसेको बिट बसेको बताउँदै आएको छ ।

दुर्गा प्रसाई र नेपाली कांग्रेस (बीपी) ले आन्दोलनमा सहकार्य गर्ने

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचनले नेपाली कांग्रेस (बीपी) ले आन्दोलनमा सहकार्य गर्ने भएका छन् । आइतबार प्रसाई निवास मध्यपुरथिमिमा दुई पक्षबीच सहकार्य सम्बन्धी ६ बुँदे सहमतिमा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।

नेपाली कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनले दुर्गा प्रसाईं पक्षबाट सहकार्यको प्रस्ताव आएको र आफूहरु त्यसमा सहमत भएको बताए । ‘हामीले २०८३ सालदेखि आन्दोलन थाल्ने तयारीमा थियौं । तर दुर्गा प्रसाईंले मंसिर ६ गतेदेखि सुरु गर्ने आन्दोलनमै सहकार्य गरौं भनेर प्रस्ताव आयो र हामी त्यसमा सहमत भयौं,’ शेरचनले सुनाए ।

सम्झौता पत्रमा राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने उल्लेख छ । सहमति अनुसार आगामी मंसिर ६ गतेदेखि सुरु हुने भनिएको देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा सहभागी हुने छन् ।

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बीपी) लाई आफ्ना झण्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचान सहित अभियानमा सहभागी हुने स्वतन्त्रता हुनेछ । आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गर्ने पनि सहमति भएको छ । नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीका प्रतिवादस्वरूप जनजागरण आवश्यक रहेको भन्दै उनीहरुले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने जनाएका छन् ।

हेर्नुस् सम्झौता पत्रको मस्यौदा
नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीका प्रतिवादस्वरूप मुलुकव्यापी जनजागरण आवश्यक रहेको निष्कर्षमा दुवै पक्ष पुगेका छन् । राष्ट्र, धर्म र नागरिकको रक्षा तथा सुशासन र स्वतन्त्रताको पुनस्र्थापनाको लक्ष्यसहित सञ्चालन हुँदै आएको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र नेपाली कांग्रेस (बी.पी.) बीच निम्न सहमति भएको छ ।

१. साझा उद्देश्य

राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने सहमति गरेका छन् ।

२. आन्दोलनमा सहभागिता

आगामी मङ्सिर ६ गते देखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बी.पी.) का नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन् ।

३. स्वतन्त्र प्रचार र पहिचान

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बी.पी.) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचान सहित अभियानमा सहभागी हुने स्वतन्त्रता हुनेछ । यसले बी.पी. कांग्रेसको विचार र योगदानलाई अभियानभित्र सम्मानका साथ अभिव्यक्त गर्ने सुनिश्चितता गर्नेछ।

४. नेतृत्व र सह–समन्वय

आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिनेछ । बीपी कांग्रेसको तर्फबाट सहभागी टोलीलाई सभापतिको निर्देशनअनुसार तोकिएको जिम्मेवार व्यक्तिले नेतृत्व गर्नेछ, जसले महाअभियानसँग सह–समन्वय गर्नेछ ।
५. नीति र मर्यादा
दुवै पक्षले आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने सहमति गरिएको छ ।

६. प्रेस र जनसम्पर्क

दुवै पक्षले सहकार्य सम्झौता र आन्दोलनबारे संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्नेछन् ।

हस्ताक्षरकर्ताहरूः

दुर्गा प्रसाईं अध्यक्ष, राष्ट्रियता धर्म संरक्षण र नागरिक बचाउ महाअभियान सभापति,

सुशीलमान शेरचन नेपाली कांग्रेस (बीपी)

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप खिच्न थालेको छ । पछिल्ला दिनहरुमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गर्न थालेको हो । नेपाल राष्ट्र बैंकले (आज) आइतवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।

गत बुधबार पनि राष्ट्र बैंकले बजारबाट १७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरुमा निक्षेप उठाएको थिएन । बैंकहरुले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको यसबाट प्रष्ट देखिएको छ । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।

यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटक–पटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । आइतबारको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

 

नेकपा एसका असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत एकता हुँदैन : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत एकता नहुने प्रष्ट पारेका छन् । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायतका नेताहरू नयाँ पार्टी गठनको तयारीमा छन् । यो पंक्ति एमालेमा फर्कने चर्चा चलिरहेका बेला ओलीले यस्तो अडान सार्वजनिक गरेका हुन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले समूहका रूपमा आउनेहरूलाई स्वीकार नगर्ने तर कोही व्यक्ति व्यक्तिगत रूपमा एमालेमा फर्कन चाहेमा स्वागत गर्न तयार रहेको बताए । ‘कुनै अमुक समूहसँग एकता हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँहरूसँग मैले कुरा गरेको छु । तपाईंहरू आउनुहोस् भनेको छु । व्यक्तिगत रूपमा १०–२० जना आए पनि व्यक्तिगत नै हुनेछ । अलग्गै समूह बनाएर एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन ।’

अध्यक्ष ओलीले शुक्रबार नै विगतमा एमाले छाडेर गएका नेता कार्यकर्तालाई पुरानो घरमा फर्कन आह्वान गरेका थिए । उनको यो भनाइलाई एकीकृत समाजवादीभित्रको असन्तुष्ट पक्षलाई लक्षित गरिएको रूपमा हेरिएको छ । यद्यपि, ओलीले समूहगत एकतालाई अस्वीकार गरेर व्यक्तिगतरूपमा फर्कने ढोका खुला राखेका छन् । यसले एकीकृत समाजवादीको असन्तुष्ट समूहभित्र थप अन्योल सिर्जना गर्ने देखिन्छ । यसअघि, एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि खनाल–भूसाल पक्षले असन्तुष्टि व्यक्त गर्दै आएको छ । उनीहरूले नयाँ पार्टी गठनको तयारी गरिरहेको बुझिएको छ ।

 

आन्दोलन घोषणा गरेका निकोलस ‘सम्पर्कविहीन’

काठमाडौं । सामाजिक सञ्जालमार्फत आइतबार दिउँसो २ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल ‘सम्पर्कविहीन’ बनेका छन् । कार्यक्रम अघि नै उनी हराएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार भुसालले लागूऔषध सेवन गरेको अवस्थामा प्रदर्शनको घोषणा गरेका थिए, जसले मुठभेड हुने सम्भावना देखिएकाले उनलाई नियन्त्रणमा लिन तयारी गरिएको थियो । तर उनी न घर–परिवारको सम्पर्कमा छन्, न प्रहरीको । प्रहरीले भेटिएपछि उनलाई रिह्याब सेन्टर पठाउने तयारी गरेको छ ।

काठमाडौंका विभिन्न प्रहरी टोली आइतबार बिहानैदेखि उनको खोजीमा सक्रिय छन् । उनी बस्ने डेरामा पुग्दा ढोका बाहिरबाट बन्द अवस्थामा भेटिएको र मोबाइल स्विच अफ रहेको प्रहरीले जनाएको छ । परिवारका सदस्यले समेत उनी सम्पर्कविहीन रहेको पुष्टि गरेका छन् ।
भुसालले घोषणा गरेको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको पाइएको छैन । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले अनुमति बिना कुनै पनि कार्यक्रम गर्न नपाइने भन्दै अनधिकृत गतिविधि भए नियन्त्रणमा लिइने चेतावनी दिएका छन् ।

प्रहरी स्रोतका अनुसार भुसालको प्रदर्शनको जानकारी पाएपछि एमाले सम्बद्ध युवा संघ र काठमाडौंका मेयर बलन साहका समर्थकहरूले प्रतिकार गर्ने तयारी समेत गरेका थिए । यही सम्भावित भिडन्त रोक्न प्रहरी सचेत भएको हो । यसअघि पनि निकोलस भुसाल पटक–पटक पक्राउ परेका थिए । गत असोज २३ गते माइतीघर मण्डलामै प्रदर्शनका क्रममा पक्राउ परेका उनलाई स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको पुष्टि भएको थियो । सोभन्दा अघि २०८१ पुस ७ गते कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो ।

 

कान्ति लोकपथ खुल्यो, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै बन्द

मकवानपुर । ढुंगा पन्छाएपछि कान्ति लोकपथ खुलेको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान ७ बजेतिर बकैया गाउँपालिका–११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि दुवैतर्फ यातायात सञ्चालन भएको हो । केहीबेर अघिदेखि सडकमा गाडी चल्न थालेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी पुष्कर बोगटीले जानकारी दिए । यसैबीच पहिरोका कारण शनिबार साँझदेखि अवरुद्ध कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक भने अझै खुलेको छैन ।

डीएसपी बोगटीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित ज्यामिरेमा सडक माथिबाट आएको पहिरोका कारण बाटो बन्द भएको हो । सडकमा माटो र ढुंगा थुप्रेका कारण सवारीसाधान आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ । हाल पहिरो पन्छाउने क्रम चलिरहेको डीएसपी बोगटीले बताए ।

 

फेरि बढ्न थाल्यो सुनको मूल्य, चाँदीको कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेर सुनको भाउ २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार मात्रै सुनको मूल्यमा प्रतितोला २७ सय रुपैयाँको वृद्धि भएको थियो ।

यो साता सुनको मूल्यमा उतारचढाव कायमै रहेको देखिन्छ । यसअघि असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको मूल्य भने सामान्य घटेको छ । प्रतितोला ५ रुपैयाँले कमी आई चाँदी ३०५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हङकङको अर्थतन्त्र ३.८ प्रतिशतले विस्तार

काठमाडौं । २०२५ को तेस्रो त्रैमासिकमा हङकङको अर्थतन्त्र निरन्तर विस्तार भइरहेको छ । कुल गार्हस्थ्य उत्पादन वार्षिक रूपमा ३.८ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको जनगणना र तथ्याङ्क विभागको अग्रिम अनुमानअनुसार वृद्धि गति अघिल्लो त्रैमासिकमा दर्ता गरिएको ३.१ प्रतिशत भन्दा छिटो थियो ।

निजी उपभोग खर्च एक वर्ष अघिको तुलनामा वास्तविक हिसावले २.१ प्रतिशतले बढेको छ । जुन अघिल्लो त्रैमासिकमा १.९ प्रतिशतले बढेको थियो । जुलाई–सेप्टेम्बर अवधिमा हङकङको अर्थतन्त्रले बलियो प्रदर्शन गरेको छ । जसले गर्दा निर्यातमा निरन्तर वृद्धि र घरेलु मागमा निरन्तर विस्तार भएको छ । विश्वव्यापी शेयर बजारमा भएको वृद्धिको बीचमा आन्तरिक पर्यटनमा निरन्तर वृद्धि र सीमापार वित्तीय गतिविधिहरूमा जीवन्तताले समर्थन गरेको सेवाहरूको निर्यातमा पनि उल्लेखनीय विस्तार भएको छ ।

 

हर्क साम्पाङले पार्टी दर्ता प्रमाणपत्र पाउँदै, को–को छन् पदाधिकारीमा ?

काठमाडौं । निर्वाचन आयोगले धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दर्ताको प्रमाणपत्र दिने तयारी अगाडि बढाएको छ । श्रम संस्कृति पार्टीको सनाखतलगायत प्रशासनिक प्रक्रिया पूरा भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । ‘श्रम संस्कृति पार्टीको सनाखत गराउनेलगायत सबै काम सकिएको छ, आज आयोगको बैठक बस्यो भने दर्ताको प्रमाणपत्र दिने निर्णय पनि हुन सक्छ’, उनले भने । त्यसो त पार्टीका अध्यक्ष साम्पाङ आजै धरानबाट काठमाडौँ प्रस्थान गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा विजयी साम्पाङले हालै आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरी दर्ताका लागि गत असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । पार्टीमा पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहेका छन् । चुनाव चिह्न माटो राखिएको पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन् ।

कागबेनी–कोरला सडक अवरुद्ध

मुस्ताङ । मुस्ताङस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताए ।

उनका अनुसार ती स्थानमा सडक संरचनासहित वर्षाले सञ्चार सेवा समेत प्रभावित बनेको छ । कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको दूरीमा पर्ने दर्जनौं स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो ।
राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पूरै ध्वस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–ताङ्वे सडकखण्डमा चार स्थानभन्दा बढी सडक अवरुद्ध छ ।

त्यसैगरी, कोरला सडकको ताङ्वेदेखि छुसाङखण्डमा विभिन्न स्थानमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको बताइएको छ । ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको छ । यस्तै, वर्षाका कारण वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैलै सडकमा करिब ३५ मिटर बढी सडक पहिरोका कारण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनले उक्त सडकमा पर्खाल निर्माण गरी फिलिङ गरिएकामा पहिरोका कारण सडक भासिएर क्षति भएको बताए ।

यसैबीच शनिबार प्रजिअ भुसालसहित सुरक्षाकर्मीको टोलीले वर्षाले अवरुद्ध कागबेनी–छुसाङ सडकखण्डको स्थलगत अवलोकन गरेको छ । यहाँको सडकलाई आवश्यक मर्मत गरी सडक खुलाउन तीनवटा उपकरण परिचालित गरिएको छ । यसैगरी, कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक सञ्चालनमा ल्याउन भएका स्रोतसाधन परिचालन गरिने बताएको छ । आयोजनाका अनुसार स्थानीय व्यक्तिको दुईवटा उपकरण र म्याग्दी खण्डमा एक लोडर सम्बन्धित स्थानमा पुगिसकेको जनाएको छ ।

कागबेनी–छुसाङ सडकखण्डको ठाउँठाउँमा सडक संरचना ध्वस्त भएका कारण तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको वारागुङ–४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले जानकारी दिए । शनिबारदेखि कोरला सडक मर्मत सुरु भए पनि धेरै ठाउँका सडकमा बाढीपहिरोले क्षति भएकाले सडक खुलाउन केही दिन लाग्ने उनले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक अवरुद्ध रहेकाले तत्काल त्यसतर्फ यात्रा नगर्न अनुरोध गरेको छ ।

यसअघि बिहीबार रातिको अविरल वर्षाका कारण तीन स्थानमा सडक क्षति हुँदा जोमसोम–कागबेनी सडक अवरुद्ध भएको थियो । यहाँ शनिबार बिहानै स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । जोमसोम–कागबेनी सडक २४ घण्टापछि सञ्चालनमा आएसँगै मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरूका लागि सहज भएको जनाइएको छ ।

 

 

बालेनलाई मन्त्री पुनको सुझाव : सर्को तानेको बेला केही नबोलौं, नलेखौं

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित गर्दै कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा बालेन शाहको फेसबुक स्टाटसको आलोचना भइरहेका बेला मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न भन्दै कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘केही–केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’ हिजो शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । शाहले केही मिनेटमै डिलिट गरेको स्टाटसको स्क्रिन सर्ट राख्दै अहिले सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका टिप्पणी गरेका छन् । बालेनलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने उनले दाबी गरेका छन् । नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन् ।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’ मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।

 

गृहमन्त्रीले तत्काल बालेनलाई गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्छ : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका टिप्पणी गरेका छन् । बालेनलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने उनले दाबी गरेका छन् । नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन् ।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’

मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।

प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् । आइतबार दिउँसो ४ बजे बालुवाटारमा सात प्रदेशका मुख्यमन्त्रीसँग बैठक आह्वान भएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

‘बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्रीले आउँछु भन्नु भएको छ,’ रावलले भने, परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद कायम गर्न र सहकार्य थप सघन बनाउनका लागि प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग छलफल गर्न लाग्नु भएको हो ।’ बैठकमा संघ र प्रदेशबीचको सम्बन्ध, संवाद आदानप्रदान, परिवर्तित परिस्थितिमा सकारकारका काम काहबाहीलाई कसरी प्रभावकारी बनाउने, निर्वाचनको वातावरण निर्माण, शान्ति सुरक्षा, सरकारको मितव्ययी नीति जस्ता विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा सहभागीताको लागि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउन डाइभर्सन बनाइँदै

काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण सडकमा लेदो र ढुंगा थुप्रिँदा तीन दिनदेखि राति बन्द बीपी राजमार्ग खुलाउने प्रयास जारी छ ।काभ्रेपलाञ्चोकको रोशी–८ चारसयबेशी र रोशी–१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ ।

सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकाले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर डाइभर्सन बनाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक कार्कीका अनुसार विभिन्न स्थानको लेदो र पहिरो पन्छाइसकेको भएपनि राजमार्गको चारसयबेशीमा निरन्तर सुख्खा पहिरो खसिरहेकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उक्त स्थानमा अहिले डाइभर्सन बनिरहेको छ ।

बिहीबारदेखि परेको अविरल बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतको स्थानहरूमा ढुङ्गा खस्ने लेदोसहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको थियो ।

लगातारको वर्षाका कारण बिपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

माम्तीको तल्लो भेगमा गत आसोजमा सडक बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेर अवरुद्ध भएको थियो । गत वर्षको असोज १०, ११ र १२ गतेको वर्षाले बिपी राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । बगाएको स्थानमा डाईभर्सन निर्माण पश्चात यातायात सुचारु गरेको थियो । उक्त डाईभर्सन पनिअसोज १८ र १९ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

बालेनले मध्यराति लेखेर मेटेको ‘अश्लील’ स्टाटसको स्क्रिनसट ‘भाइरल’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिजो (शनिबार) मध्यराति लेखेर केहिछिनमा मेटेको एक स्टाटसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ ।

अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको त्यस स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेको भनी चर्काे आलोचना भइरहेको छ । शनिबार राति ११ः५६ बजे लेखेको त्यो स्टाटस उनले केहीबेरपछि नै हटाएका थिए । तर सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट राखेर व्यापक टिप्पणी र आलोचना गरिरहेका छन् ।

उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका छन् । उनले ‘सबै मिले पनि केही गर्न सक्दैनन्’ भनेका छन् ।

छोराले गरे बाबुको हत्या, आमा गम्भीर घाइते

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले कुटपिट गरी आफ्नै बुवाको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हँसिया र काठको मुंग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले जानकारी दिए। दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी भएलगत्तै प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्ती नेतृत्वको टोली खटिएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि घटनास्थल पुगेको छ । कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा बिकको मानसिक सन्तुलन ठीक नभएको खुलेको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

जनकपुरधाम । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अरु दुई जना बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए । दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

राष्ट्र अझ संकटतिर धकेलिँदैछ : राप्रपा नेतृ ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि ‘देखिने र नदेखिने दबाबमा परेर देशलाई अन्योलमा पुर्‍याएको’ आरोप लगाएकी छन् । उनले सरकारलाई राष्ट्रिय एकता र मेलमिलापको बाटोमा फर्किन आग्रह गरेकी छन् ।

ओलीका अनुसार, जेनजी आन्दोलन भएको झण्डै दुई महिना बित्दा पनि सरकारले संवाद र सहमतिको दिशा लिन सकेको छैन । ‘सरकारले सबै पक्षसँग गम्भीर वार्ता गर्न सकेको छैन, फलस्वरूप देश पुनः आन्दोलन र अस्थिरतामा फस्ने संकेत देखिएको छ’, उनले भनिन् ।

उनका अनुसार प्रधानमन्त्री कार्कीले पनि आफू विभिन्न समूहको दबाबमा परिरहेको कुरा सार्वजनिक रूपमा स्वीकार गरिसकेकाले त्यो पदको गरिमा विपरीत भएको छ । ‘दबाबमा चल्ने प्रधानमन्त्रीबाट देशले के अपेक्षा गर्न सक्छ ?’ उनले प्रश्न गरिन् ।

सामाजिक सञ्जाल टिकटिकमार्फत एक भिडियो सन्देश जारी गर्दै ओलीले वर्तमान संविधान र त्यसकै जगमा हुने आगामी निर्वाचनले समस्या समाधान नगर्ने दाबी गरिन् । ‘वृहत संवाद र नयाँ सहमति बाहेक देशको समस्या समाधान सम्भव छैन’, उनले भनिन् ।

जेनजी आन्दोलनलाई उनले ‘भ्रष्टाचार अन्त्य र प्रणालीगत सुधारको आवाज’ बताउँदै त्यसको सार गुमिरहेको उल्लेख गरिन् । ‘सरकारले जेनजी युवा र दलबीच द्वन्द्व बढाउने काम गरेको छ, जसले आन्दोलनको वास्तविक उद्देश्यलाई कमजोर बनाएको छ’, उनले आरोप लगाइन् ।

अर्थतन्त्र र सुशासनका विषयमा ओलीले सरकारको निष्क्रियता प्रति चिन्ता व्यक्त गरिन् । ‘व्यापारी त्रसित छन्, लगानीकर्ता पलायन भइरहेका छन्, तर सरकारले कुनै ठोस कदम चालेको छैन’, उनले भनिन् । राजदूत फिर्ता बोलाउने र साना खर्च कटौती जस्ता ‘पपुलिष्ट निर्णय’ ले सुशासन स्थापित नहुने उनको टिप्पणी छ ।

‘राजदूत फिर्ता बोलाएर नयाँ नपठाउने दोहोरो मापदण्डले अन्तर्राष्ट्रिय छवि पनि धमिलिएको छ’, उनले भनिन् । ओलीले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भनेकी छन्, ‘अझै समय छ-राष्ट्रिय एकताको नीति लिनुहोस् र सबैलाई साथ लिएर अघि बढ्नुहोस् । दबाबबाट मुक्त भएर स्वतन्त्र निर्णय लिनुहोस्, नत्र भावी पुस्ताले अझ दुःख पाउनेछ ।’

 

 

जेन्जी आन्दोलनको भित्री रहस्य स्क्रिनमा भिडियो प्रमाण सार्वजनिक गर्छु : दुर्गा प्रसाई

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं प्रसाईले जेन्जी आन्दोलनको भित्री रहस्य सार्वजनिक गर्ने बताएका छन् ।

आज (शनिबार) साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले १६ कार्तिक गते (भोलि) बिहान ठिक ९ः३० बजे आफ्नै निजी निवास, भक्तपुरमा पत्रकार सम्मेलन गरेर उक्त रहस्य सार्वजनिक गर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘यस आन्दोलनको सुरुवात कहाँबाट भयो, कसरी परिचालित गरियो र अहिलेको सरकार कसरी बनेको हो–यी सबै भित्री रहस्यहरू अब सार्वजनिक हुँदैछन् । भोलि म यी सबै तथ्यहरू ३०० इञ्चको विशाल एलइडी स्क्रिनमा भिडियो प्रमाणसहित प्रस्तुत गर्दैछु ।’

उनले देशका ठुला मेनस्ट्रिम मिडियाका सम्पूर्ण पत्रकारहरूलाई यस कार्यक्रममा आउन आमन्त्रण समेत गरेका छन् । प्रसाईले यसअघि नै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । सात दल र माओवादी केन्द्रबीच दिल्लीमा १२ बुँदे सहमति भएको मंसिर ७ गतेको दिनबाट व्यवस्था परिवर्तनको आन्दोलन शुरू गर्न लागेको उनले बताइसकेका छन् ।

उनले आफूहरूको आन्दोलन मेचीदेखि महाकालीसम्म एकै पटक शुरू हुने बताएका छन् । प्रसाईंले आफूहरूको आन्दोलनको बेला पसल–व्यवसाय बन्द गरेर समर्थन गर्न आग्रह गरेका छन् । उनले देश शून्य अवस्थामा रहेको भन्दै व्यवस्था परिवर्तनको आन्दोलनमा कर्मचारी र प्रहरीको समेत समर्थनको अपेक्षा गरिएको बताए ।

 

जनार्दनबारे प्रचण्ड- आफ्नो कुरा राखेर उठेर हिँड्ने शैली अराजक

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई अराजकको संज्ञा दिएका छन्।

सचिवालय बैठकपछि आफ्नो कुरा राखेर बैठकबाट हिँड्ने शर्माको शैली अराजक भएको बताए। केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा जनार्दन पनि एकै हुने जिकिर गरे।

शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिएका थिए । शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न समेत माग राखेका छन् । बैठकपछि प्रचण्डलाई पत्रकारहरूले यही विषयमा सोधेका थिए, ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’

प्रचण्डले जवाफ दिए, ‘केही जाँदैन । सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’

आजको बैठकमा जनार्दनले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको प्रचण्डले बताए । ‘आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त,’ प्रचण्डले भने ।

जनार्दन शर्माले महाधिवेशन टार्न खोजिएको भनेकोबारे प्रचण्डलाई प्रश्न गरे । जवाफमा प्रचण्डले भने, ‘त्यो गलत आरोप हो, अराजक आरोप हो ।’

एमालेको महाधिवेशन स्थल परिवर्तन, अब काठमाडौंमै हुने

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशन हुने स्थान परिवर्तन गरेको छ ।

यसअघि पोखरामा हुने तय भएको भए पनि आज बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भने, ‘निर्धारित समय मंसिर २७ देखि २९ मै हुनेछ।’

शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकमा आफ्ना कुरा राखेर बाहिरिए जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा आफ्नो कुरा राखेर पार्टीको सचिवालयबाट बाहिरिएका छन् ।

उनले माओवाद छाडेर अन्य पार्टीसँग एकता गर्न नहुने र एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि स्थगित गर्नुपर्ने मत राखेका छन् । आफ्ना कुरा राखेपछि उनी सचिवालय बैठकबाट बाहिरिएका हुन् ।

पार्टीको सचिवालय बैठक भने मुख्यालय पेरिसडाँडामा चलिरहेको छ । छलफलमा प्रचण्ड सहितका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।

एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको प्रचण्डको ब्रिफिङ छ । उनका अनुसार संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएता पनि छलफल चलिरहेको छ ।

तर  सचिवालय बैठकमा नेता जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका हुन् ।

 

मन्त्री गुप्ताले गरे त्रिवि क्रिकेट ग्राउन्डको अवलोकन (तस्बिरहरू)

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डको अवलोकन गरेका छन्। मन्त्री गुप्ताले शनिबार क्रिकेट ग्राउन्डको अवलोकन गरेका हुन् ।

हाल सो क्रिकेट मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्य पहिलो चरणमा पुगेको छ भने १० हजार क्षमताको प्याराफिट निर्माण कार्य सकिएको छ ।