`

कैलालीको गोदावरीमा शीतभण्डार निर्माण

कैलाली । गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको प्राङ्गणमा शीतभण्डार निर्माण गरिएको छ । उक्त शीतभण्डारको निर्माणको काम सम्पन्न भइसकेकाले यही तिहारअगावै कृषि बजार व्यवस्थापन समिति अत्तरियालाई हस्तान्तरण गर्ने तयारी भएको कृषि विकास निर्देशनालयका महानिर्देशक खगेन्द्रप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार शीतभण्डार निर्माणका लागि कृषि विकास निर्देशनालयले भ्याटसहित रु एक करोड १६ लाख ७७ हजार ९६३ रकम विनियोजन गरेको थियो । निर्माण सम्पन्नका लागि २०७८ जेठ २० गते अंशु निर्माण सेवा नवदुर्गा डडेल्धुरासँग भ्याटसहित रु ९२ लाख ४२ हजार १६६ मा ठेक्का सम्झौता भएको थियो । निर्माण सम्पन्न हुँदासम्म रु ९१ लाख १६ हजार ४२५ यथार्थ खर्च भएको उनले बताए । शीतभण्डारको क्षमता ३५० मेट्रिकटन ९तीन हजार पाँच सय० क्विन्टल रहेको छ ।

“सम्झौताअनुसार २०८१ असार २२ गते शीतभण्डार निर्माणको काम सम्पन्न भइसकेको थियो, हाम्रोतर्फबाट सञ्चालनका लागि पूर्ण रुपमा तयार भइसकेको छ, कुनै रोकतोक छ जस्तो लाग्दैन, गत वर्ष नै हस्तान्तरण गरेर सञ्चालन होस् भन्ने हाम्रो चाहना थियो”, उनले भने, “तर बजार व्यवस्थापन समितिबाट शीतभण्डारमा केही कमीकमजोरी भनेर भनिसकेपछि, छुटफुटका थप काम पूरा गरेर जसरी भए पनि यसपाली सुरु गर्नुपर्दछ भन्ने योजना रहेको छ ।”

छुटफुटका केही थप कामका लागि चालु आ.व.मा रु नौ लाख थप बजेट छुट्याइएको उनले बताए । उनले भने, “पहिलो कुरा त बजार व्यवस्थापन समिति नै सक्रिय हुनुप¥यो, हामीले केही छुटफुटका काम भए फेरि पनि सहयोग गरिदिन्छौँ, मुख्य जिम्मेवारी उहाँहरुकै हो ।”

शीतभण्डार निर्माणका क्रममा कोरोना सङ्क्रमण, प्रदेश सरकारबाट बजेट छुट्याउनमा ढिलाइ, ठेकेदारका कारण निर्माण सम्पन्नतामा केही ढिलाइ भएको महानिर्देशक शर्माले बताए । यसपाली जसरी पनि सञ्चालन गर्नुपर्दछ भन्ने हामी सबैको चासो रहेको उनको भनाइ छ ।

शीतभण्डार समयमै सञ्चालनमा आएको भए यहाँ आयातीत विषादीयुक्त कृषिजन्य वस्तु रोक्न सहज हुने कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज जोशीले बताए ।

“शीतभण्डार सञ्चालन नआएका कारण धेरै जस्तो किसानका कृषिजन्य वस्तु रोकावट गर्नुपर्ने बाध्यता छ”, उनले भने, “त्यो भनेको कृषिजन्य वस्तुमा अर्गानोफोस्फेट र कार्बोनेटको मात्रा ३५ देखि ४५ प्रतिशत हुन्छ, जुन खानयोग्य हुँदैन, त्यसैले त्यसलाई रोक्नुपर्ने हुन्छ, त्यसलाई रोक्न हामीसँग कुनै पनि स्टोरको व्यवस्था छैन, कानुनी हिसाबले त्यसलाई बजारमा बिक्री गर्न सकेनौँ, न किसानलाई सुरक्षित राख्न सकियो, न नष्ट गर्ने अधिकार नै भयो, त्यस्तो भएपछि हामी समस्यामा छौँ ।”

उनले शीतभण्डार समयमै सञ्चालनमा नआएकाले किसानमा एकप्रकारको निराशा छाएको बताए । किसानको समस्या समाधानका लागि चाँडोभन्दा चाँडो यसलाई सञ्चालन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रियसभा बैठकः ‘कृषकलाई समयमै मल उपलब्ध गराउ’

काठमाडौँ । राष्ट्रियसभाको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने, ज्येष्ठ नागरिकले सहजै भत्ता पाउनुपर्ने लगायत माग गरेका छन् ।

बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले प्रतिवर्ष १५ लाख मेट्रिकटन मल आवश्यक भए पनि तीन लाख मेट्रिकटन मात्रै उपलब्ध भएको तथा पाँच लाख मेट्रिकटन मल अवैध रुपमा भित्रिने गरेको भन्दै यस विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुमित्रा विसीले बर्खायाम सकिन लाग्दा पनि रोपाइँ नसकिएको र प्रतिकिसान २५ किलो मल दिने भनिए पनि नपाएर खाँली हात फर्कने गरेको उल्लेख गर्दै स्थायी रुपमा यो समस्या समाधान गर्न सरकारसँग माग गरेकी छिन् ।

सांंसद इन्दिरादेवी गौतमले बेरोजगारीका कारण युवामा मानसिक समस्या बढ्दै गएकाले मानसिक स्वास्थ्य उपचारतर्फ ध्यान दिन आग्रह गरेकी छिन्।

सांसद जगप्रसाद शर्माले आयुर्वेद विज्ञानका हिसाबले नेपाल सम्भावना बोकेको देश भएको र २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयले आयुर्वेदिक शिक्षण अस्पताल सुरु गरी उपचार गर्दै आए पनि अहिलेसम्म कुनै दरबन्दी नहुँदा सेवा दिन समस्या भएकाले यसतर्फ ध्यान दिन सरकारसँग माग गरेका छन् ।

सांसद तुलसाकुमारी दाहालले मधेस प्रदेशमा कायमै रहेको दाइजोप्रथा र बालविवाह हटाउन आवश्यक रहेकोमा जोड दिए ।

सांसद मायाप्रसाद शर्माले ज्येष्ठ नागरिकले उहाँहरु बस्दै आएको ठाउँबाट भत्ता लिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद शारदादेवी भट्टले कैलाली कारागारमा भएको घटनाप्रति खेद व्यक्त गर्दै १४० जनाको क्षमता भएको स्थानमा चार / पाँच सय राख्दा यस्तो अवस्था आएको हुनाले देशभरका सबै जेलको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए ।

गणपूरक सङ्ख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठक गणपूरक सङ्ख्या अपुग भएपछि स्थगित भएको छ ।

समितिका सचिव एकराम गिरीका अनुसार आजको बैठकमा १२ जना सांसद मात्रै उपस्थित थिए । कुल २६ जना सदस्य रहेको उक्त समितिमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुने व्यवस्था रहेको छ ।

आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो । मालवाहक सवारी साधनको भारबहन क्षमतासम्बन्धी विद्यमान कानूनी प्रावधान कार्यान्वयन तथा नियमन हुन नसकेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले समितिमा उजुरी गरेको थियो ।

मालबाहक सवारी साधनको भारवहनसम्बन्धी निर्देशिका, २०७४ ले निर्धारण गरेको मापदण्डभन्दा विपरीत वजन बोकेर सञ्चालन गर्दा पुल र सडकको अवस्था बिग्रेको तथा दुर्घटनाको जोखिम बढेको भन्दै समितिमा उजुरी परेको हो ।

वनसमिति–कसरौल सडक जोखिमपूर्ण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने वनसमिति–कसरौल सडक जोखिमपूर्ण रहेको छ । सडकको दायाँ र बायाँ सुकेका साल, असनाका रुखका कारण जोखिम रहेको छ ।

जुनसुकैबेला गुडिरहेका सवारीसाधन र पैदलयात्रुमाथि रुखका हाँगा र रुख नै खसेर दुर्घटना निम्तिनसक्ने खतरा रहेको छ । स्थानीय रतनलाल रानाका अनुसार सडकमा पैदल हिँड्दै गरेका स्थानीय ६० वर्षीय फिरुवा रानाको सुकेको रुखको हाँगाले लागेर केही वर्षअघि मृत्यु भएको थियो ।

विद्यार्थी बोकेर जाँदै गरेको स्थानीय विद्यालयको बसमाथि सुकेको रुख खसेको थियो । बसमाथि रुख खसे पनि मानवीय क्षति भने नभएको उनी बताउँछन् । “स्थानीय रामदिन रानाको गाई, गोरु बाँधेको गोठमाथि नै रुख खस्यो”, उनले भने, “गोठमा क्षति पुग्यो, तर बस्तुभाउ जोगिए, गत वर्षमात्रै दानु रानाको घरको कुना तोड्दै रुख खस्यो, धन्न घर जोगियो घरभित्रै परिवारका सदस्य थिए, सबै जोगिए ।”

सुकेका रुखहरुकै कारण दुर्घटना निम्तिन थालेपछि सडकमा हिँड्न डराउनुपर्ने अवस्था रहेको उनी बताउँछन् । पुराना सुकेका जीर्ण भएका रुख जुनसुकैबेला पनि खस्नसक्ने भएकाले हटाउनुपर्ने पूर्ववडाध्यक्ष जगता रानाले बताए । “विगतमा सुकेका रुखकै कारण मानवीय क्षति भइसकेको छ”, उनले भने, “हावाहुरी चलेका बेला, चट्याङ परेका बेला र वर्षातका बेला ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने बाध्यता छ, यसक्षेत्र भएर जाने अर्को वैकल्पिक सडक छैन, जोखिमसँगै हिँड्नुपर्छ ।”

उनका अनुसार सडक छेउमा घर भएकाले रुख कुनबेला खस्ने हुन् पत्तो नै छैन । स्थानीय जहरसिंह रानाले भने, “गाडी चल्ने बेला रुख खसेर दुर्घटना हुने सम्भावना छ, पैदल यात्रुको टाउकामा कुनबेला रुखका हाँगा र रुख नै बजारिने हो पत्तो छैन, हावाहुरी चलेका बेला त्यस सडक भएर हिँड्नु भनेको ज्यान जोखिममा पार्नु हो, त्यही भएर वर्षात् र हावाहुरीका बेला त्यो सडक भएर हिँड्न नै छाड्छौँ ।” सडक छेउका जीर्ण रुख व्यवस्थापन गरिदिनका लागि उनी माग गर्छन् ।

वनसमितिदेखि कसरौलसम्मको डेढ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालयले रु तीन करोडमा ठेक्का सम्झौता गरेको शुक्लाफाँटा नगरपालिकाका इञ्जिनियर दिपक धाँमीले बताए । “सुकेका जीर्ण रुख व्यवस्थापन नभई कार्य सञ्चालन गर्न कठिन छ”, उनले भने, “सडक स्तरोन्नतिदेखि कालोपत्रसम्मका लागि वातावरण अध्ययन र डिपिआर निर्माणको कार्य भएको छ, सुकेका रुख काट्ने अनुमति अहिलेसम्म पाइएको छैन ।”

अनुमतिका लागि नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले निकुञ्ज सम्बद्ध मन्त्रालयसँग कटानी आदेशका लागि पत्राचार गरिएको उनले जानकारी दिए। वडाध्यक्ष दानसिंह ऐरका अनुसार वनसमिति–कसरौल सडक वडा नं ६, ७ र ८ तर्फ जाने मुख्य सडकका रुपमा रहेको छ ।

वडा कार्यालय, स्वास्थ्य चौकी र खानेपानीलगायत कार्यालय जाने मुख्य सडक त्यही नै रहेको छ । “सुकेका रुख व्यवस्थापनका लागि निकुञ्जसँग समन्वय गरेका छौँ”, उनले भने, “वन मन्त्रालयको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकनको कार्य गरिसकेको छ, समस्या लिएर मन्त्रालयसम्म पुगेका छौँ ।”

उनका अनुसार सडक छेउका १०५ रुख हटाउनुपर्ने देखिएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणका लागि निकुञ्ज कार्यालयले स्थलगत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गरेको छ । स्थानीयले तत्काल असुरक्षित रुख काटेर हटाउनुपर्ने, सडक कालोपत्रसँगै चौडाइ बढाउन माग गरेका छन् ।

कुवेतमा विषाक्त मदिरा सेवनले तीन दिनमा ९ नेपालीको मृत्यु

काठमाडौं । रोजगारीका लागि कुवेत पुगेका ९ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका छ।

केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् ।

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, मृत्यु हुनेहरूको विवरण संकलन हुँदैछ ।

कुवेतमा मदिरा सेवन प्रतिवन्ध छ। तर पनि नेपालीसहित रोजगारीका लागि पुगेकाहरूले मदिरा सेवन गरेको घटना बेलाबखत बाहिरिने गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने यस विषयमा विस्तृत जानकारी प्राप्त नभइसकेको जानकारी दिए।’यस विषयमा के भएको हो भनेर राजदूतावासलाई बुझ्न भनेका छौँ,’ उनले भने, ‘दूतावास लागिरहेको खबर छ। विस्तृत जानकारी हामीले पाइसकेका छैनौँ।’

बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक । प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या–पूजा’ ९रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई० हुँदै आएको छ । उक्त परम्परालाई यसवर्ष पनि निरन्तरता दिन थालिएको छ ।

यस कार्यमा विसं १९५९ देखि बर्सेनि बनेपाली जुट्दै आएका छन् । बनेपाको पूरानो बजारमा वर्षैपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दिन दुई दिन पूजा गरिन्छ । सप्तमी अर्थात् बिहीबार नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा कन्या–पूजा आयोजना गरियो ।

कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार पाँच सय कन्या सहभागी हुने गर्दछन् । सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत कन्यापुजन हुँदै आएको छ । नेपालको काभ्रेपलाञ्चोकबाहेक अन्य स्थानमा यस्तो पूजा गरिँदैन । यसवर्ष कृष्ण जन्माष्टमीका दिन शनिबार कन्या–पूजा गरिने तयारी सकिएको समितिले जनाएको छ । रजस्वला नभएका तथा ‘बेल–विवाह’ नगरिएका कन्यालाई पूज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ ।

उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार गरिएको समितिले जनाएको छ । समितिका सचिव प्रकाश कायस्थका अनुसार कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्ति तय भइसकेका छन् । बनेपा आसपासका ‘सात गाउँ’का कन्यालाई पूजा गरिँदै आइएको छ । यो परम्परालाई व्यवस्थित गर्न समिति गठन गरिएको छ ।

कृष्ण जन्माष्टमीको दिनमा गरिने कन्या–पूजामा काभ्रेपलाञ्चोकलगायत तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब आठदेखि दश हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पूरानो बजारहुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । जनविश्वासका कारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ । त्यस दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन् ।

कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन पनि छ । बनेपामा हुने कन्या–पूजामाप्रति कन्या रु पाँच सय बराबरका सामग्री उपलब्ध गराइन्छ । गतवर्ष पनि करिब आठ हजार कन्याका लागि रु तीन करोडभन्दा बढी खँर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए ।

काठमाडौं महानगरको डोजर बस्तीमा चलेपछि सुकुम्बासी बस्तीमा झडप (तस्बिरहरु)

काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ ।

बस्तीमा डाेजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् ।साथै उनीहरुले  डाेजरमा पनि ढु‌ंगामुढा गरेर तोफोड गरेका छन् ।

महानगरकाे नगर प्रहरीकाे टाेली सुकुम्बासी बस्तीमा बनेकाे नयाँ बनेका घर टहरा हटाउन डाेजर लिए पुगेका थिए । साेही क्रममा  सुकुम्बासी र नगरप्रहरीबीच तनावग्रस्त माहाेल बनेकाे छ ।

मनोहरा किनारमा बनेका संरचना हटाउन सात दिने सूचना निकाल्दासमेत संरचना नहटाएपछि डोजर लगाउनुपरेको काठमाडौँ महानगरले जनाएको छ।

मनोहरा जग्गा एकीकरण आयोजनाका एक अधिकृतका अनुसार व्यक्तिगत जग्गामा सुकुम्बासीले बनाएका संरचना हटाइएको हो।

उनले भने, ‘साउन ८ गते नै व्यक्तिगत टहरामा बनेका संरचना हटाउन भनेर गोरखापत्रमा सूचना निकालेका थियौँ। अटेर गरेपछि डोजर लगाएर हटाउन बाध्य भएका हौँ।’ उनले विगत तीन महिनायता बनेका संरचना मात्रै भत्काइएको बताए।

 

तस्बिरहरु:

भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

चितवन । भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व०)कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् ।

आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र विस्तार गरेको हो ।

चालु आ.व.मा २४ वटा भूमिगत सिँचाइका आयोजना पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ । पुराना तीन जिल्लामा १२ र थपिएका दुई जिल्लामा रु १९ करोडको लागतमा १२ वटा ट्युवेल जडान गरिने छन् । ती जिल्लामा ५४ वटा ट्युबेलको माग छ ।

प्रविधिका क्षेत्रमा तपाईंहरु आत्मविश्वासका साथ अगाडि बढ्नुस्, सरकार साथमा छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन् ।

आइसिटी फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाल नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

“सूचना प्रविधिसँग सम्बन्धित रहेर नेपालमा हुने सबै किसिमका कारोबार नेपाल सरकारले थाहा पाउनुपर्छ, नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले कानुनअनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिरेको हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने । सूचना प्रविधिका क्षेत्रको विकासका लागि सरकारले गर्ने उल्लेख गर्दै उनले थपे, “सरकार जनताका लागि हो, जनताले चाहेको सूचना प्रविधिको विकास र प्रवद्र्धनमा सरकारले ध्यान दिन्छ, सूचना प्रविधिका क्षेत्रमा स्वदेश र विदेशमा लगानी गरेर आम्दानी गर्न सकिन्छ, तपाईंहरु आत्मविश्वासका साथ अगाडि बढ्नुस्, सरकार तपाईंको साथमा छ ।”

प्रधानमन्त्री ओलीले तीव्र रुपमा विकास भएको सूचना प्रविधिले मानिसलाई घिसारिरहेको उल्लेख गर्दै पुुष्पलाल मध्यपहाडीको आफ्नो यात्राका क्रममा रुकुमको दुर्गम गाउँका बूढीआमाहरुले पनि फेसबुक चलाउन जानेको जानकारी पाउँदा खुसी लागेको स्मरण गरे ।

उनले डिजिटल प्रविधि र हरित ऊर्जाका लागि नेपाल उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै आर्टिफिसियल इन्टेलिजेन्सको भरपुर प्रयोग गरेर विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिए।

आफ्नो घोषणाबमोजिम अनलाइन माध्यमबाट गत वर्षदेखि एसइईका विद्यार्थीहरुलाई शिक्षण गराउँदा एक लाख ५० हजारभन्दा बढीले लाभ लिएर नतिजामा सुधार आएको उनको भनाइ थियो । उनले बालबालिकालाई मोबाइलबाट जोगाउँदै शिक्षा र विकासमा यसको उदुपयोग गर्नुपर्नेमा जोड दिए।

सरकारले हालै एआई नीति पारित गरेको र सूचना प्रविधिसँग सम्बन्धित विकासलाई कसरी रुपान्तरण र परिवर्तन गर्ने भनेर ध्यान दिइएको बताउँदै उनले भएको विकास नदेखेर केहीले नियतबस निराशा फैल्याउन खोजेको टिप्पणी गरे ।

उनले अहिले सरकारले स्थिरता, सुशासन र विकासमा सूचना प्रविधिको उपयोगमा स्पष्ट रहेकाले यसमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले सुशासन कायम गर्नका लागि पनि सूचना प्रविधिको प्रयोग आवश्यक भएको बताए । उनले सूचना प्रविधिको उपयोग, विकास र मानिसको आचरणमा सुधार गरेर भ्रष्टाचार शून्यमा पु¥याउन सकिने धारणा राखे।

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर । मल्ल राजा सिद्धिनरसिँहको पालादेखि यहाँ हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा बिहीबार सम्पन्न भएको हो ।

कुनै पनि दैवी प्रकोप नहोस् र विश्वमै शान्ति कायम रहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । ललितपुरका छ कूलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा सञ्चालन गर्ने प्रचलन छ ।

यसपाली गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो । विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर सहर परिक्रमा गराइन्छ । नृसिंहतिर फर्केर हातमा धूप लिएर प्रणाम गर्दै प्रल्हादको जस्तो उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन रहेको छ । नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा छ जोडी कन्याको पनि सहभागिता रहने गर्दछ ।

जात्रामा पालोवालाको पुरोहित, ज्वाइँ अथवा भाञ्जा नृसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात् सापारु रुटमा परिक्रमा गराउने प्रचलन रहेको छ ।

जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिंह देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गाल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । जात्राको परिक्रमा हुने विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको ठाउँ–ठाउँमा विसर्जन गरी पूजापाठ गर्नुका साथै बालबालिकालाई ढोगाउने चलन रहेको छ ।
ललितपुरमा कात्तिक नाच र उपालकं सायाःका गरी दुई नृसिंहका रूप रहेका छन् । कार्तिक नाचका नृसिंहको उग्ररूप र उपालकं सायाः लाई शान्त स्वभावका रूपमा लिने गरिन्छ ।

नेपाल सम्वत् ७५१ अर्थात् विक्रम संवत् १६८८ देखि यो जात्रा सञ्चालन भइरहेको जनाइन्छ ।

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्रः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले नेपाली कांग्रेस आफ्नो आर्दश, मूल्य र मान्यताअनुरुप राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र एवं वर्गको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको बताए ।

“देशको तेस्रो ठूलो जनसङ्ख्या भएको मगर जाति आदिवासी जनजाति समुदायअन्तर्गतको पनि सबैभन्दा ठूलो सङ्ख्यामा रहेको जाति हो, मगर समुदायलाई नेपाली कांग्रेससँग जोड्न तत्कालीन सभापति स्व गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रवादी मगरलाई सङ्गठित बनाउन बलियो भ्रातृ संस्थाको आवश्यकतालाई महसुस गर्दै २०६४ सालमा नेपाल राष्ट्रिय मगर सङ्घ गठन गरिएको थियो”, सभापति देउवाले भने ।

उनले नेपाल राष्ट्रिय मगर सङ्घले पार्टीका अन्य संस्थाभन्दा पहिले सङ्घीयताअनुरूप साङ्गठनिक संरचना निर्माण गरी दोस्रो महाधिवेशन गरेको विषय आफ्ना मेरो स्मरणमा रहेको उनको भनाइ थियो ।

“नेपाली कांग्रेसको नीति, विचार र सिद्धान्तलाई मगर समुदायमा पु¥याउन तथा मगर समुदायको आवाजलाई नेपाली कांग्रेसको आवाज बनाउन सङ्घले अझ बढी जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता छ,” उनले भने, “नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित सरकारले विसं २०१६ को बजेटमा पहिलो पटक क्षेत्रीय भाषालाई प्राथमिकता दिँदै प्राथमिक तहसम्म अध्ययन अध्यापनका लागि आवश्यक बजेट विनियोजन गरेर विभिन्न मातृभाषाको संरक्षण र सम्वद्र्धनको सुरुआत गर्नुभएको थियोे ।”

सभापति देउवाले मगरलगायत आदिवासी जनजातिको छुट्टै पहिचान दिने र सशक्तीकरण गर्न आफ्नै नेतृत्वमा रहेको सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरेर बिपी कोइरालाले सुरुआत गरेको समावेशीकरणमा इँटा थप्ने काम गरेको बताए ।

उनले पार्टीभित्र पछाडि परेका जातजाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाली कांग्रेसले कर्णाली, दलित, महिला, जनजाति र मधेसी समुदायका अधिकार र सहभागिता सुनिश्चित गर्न ‘कदमजम’ अभियान अङ्गीकार गरी नेपाली कांग्रेसलाई देशकै समावेशी पार्टीका रुपमा विकास गरिएकामा जोड दिए ।

“आदिवासी जनजाति समुदायमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको मगर समुदाय पार्टी नेतृत्वमा थोरै प्रतिनिधित्व भइरहेको यस अवस्थामा अझ बढी प्रतिनिधित्व हुन सक्नेगरी नेतृत्व स्थापित गराउन मेरो सहयोग र समर्थन रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु, नेपाली कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनविरूद्ध पहिलो पटक आवाज बुलन्द गरी सहादत प्राप्त गरेका लखन थापामगरलाई प्रथम सहिद घोषणा गरेको तथ्यलाई तपाईंहरूका बीचमा म राख्न चाहन्छु”, सभापति देउवाले भने ।

उनले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताए ।

आजदेखि सुरु भएको नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने कार्यक्रम तय भएको छ ।

एक सय ३३ कुष्ठरोगीको सहारा बनेको आश्रम

ललितपुर । नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ ।

सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा कुष्ठरोगी व्यवस्थापनका लागि झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गरेका थिए । हाल यो स्थान नेपाल कुष्ठरोग निवारण सङ्घको मातहतमा रहेको खोकना कुष्ठरोग आरोग्य आश्रमको रूपमा परिचित छ ।

ललितपुरको खोकना र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलमुनिबाट बग्ने वाग्मती नदीको किनारमा रहेको यस आश्रममा हाल १३३ जना कुष्ठरोग प्रमाणित व्यक्ति बस्दै आएका छन् । आश्रममा नेपाल कुष्ठरोग निवारण सङ्घको नाममा २८ रोपनी र थप ३० रोपनी सरकारी जमिन गरी करिब ५८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
खोकना कुष्ठरोग आरोग्य आश्रमकी प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार आश्रममा हाल बस्दै आएका १३३ जनाभन्दा बढी बिरामीलाई राख्न सकिने ठाउँ छैन । नयाँ व्यक्तिहरू भर्ना हुनका लागि आउने गरे पनि कोटा र कोठाको अभावले गर्दा धेरैलाई फर्काउनुपरेको छ । कुनै बिरामीको निधन भएपछि वा उनीहरूले कोठा छोडेपछि मात्र नयाँ व्यक्तिलाई भर्ना गरिन्छ ।

आश्रममा हाल २१ देखि ९६ वर्ष उमेर समूहका कुष्ठरोग प्रमाणित व्यक्ति छन् । तर, बाबुआमा निधन भएपछि उनका सन्तानले त्यहीँ बस्न नपाउने व्यवस्थाले समस्याको घेरो अझै बढाएको छ । प्रमुख श्रेष्ठ भन्छीन, “बाबाआमा नभएपछि आश्रममा बस्न नपाउने सन्तानको दयनीय अवस्था हुन्छ । उनीहरू कतै जान नपाउने भएर विचल्लीमा पर्छन् ।”

विसं २०५२ अघि विभिन्न दातृ निकायबाट पुनर्वासको व्यवस्था हुने गरेको भए पनि त्यसपछिको समयमा यस्तो पहल नहुनु गम्भीर समस्या बनेको छ । ‘आल्टा नेपाल’ नामक संस्थाले ६० परिवारको पुनर्वास गरे पनि हालसम्म सो पहल स्थगित भएको छ ।

भवन संरचना र सुविधाको अवस्था

हाल आश्रममा रहेका अधिकांश भवन दातृ निकायको सहयोगमा निर्माण गरिएका हुन् । राणाकालमा बनेको ऐतिहासिक कुष्ठरोगखाना २०७२ को भूकम्पले क्षति पुगेपछि भत्काइएको थियो । अहिले करिब ५० वर्ष पुराना संरचनामात्र बाँकी छन् । सीमित जनशक्ति र संरचनाको अभावले बिरामीले प्रयाप्त सुविधा पाउन सकेका छैनन् ।

सन् १८५० मा जङ्गबहादुर राणा फ्रान्स र लन्डन भ्रमणमा जाँदा त्यहाँको नागरिक स्वास्थ्य र संस्थाको अध्ययन गरेका थिए । सो अध्ययनले उनलाई नेपालमा कुष्ठरोगको भयावह अवस्थाको समाधान गर्न उत्प्रेरित गरेको जानकारहरू बताउँछन् ।

उक्त बेलामा काठमाडौँ उपत्यकाका विभिन्न पाटी, मन्दिर र सार्वजनिकस्थलमा बस्ने कुष्ठरोगीलाई खोकनास्थित कुष्ठरोगखानामा ल्याइएको थियो ।

समाजबाट टाढाको समुदाय

कुष्ठरोगका कारण समाजबाट अपहेलित भएकाहरूले आपसमा मिलेर छुट्टै समुदाय निर्माण गरेका थिए । कसैको औँला नभएको, कसैको खुट्टा नभएको अवस्थामा उनीहरू एकअर्कालाई देखेर चित्त बुझाउँथे । सयौँ कुष्ठरोगी एउटै ठाउँमा बस्ने, एकअर्काको मृत्युमा मिलेर अन्त्येष्टि गर्ने परम्परा स्थापित भएको थियो ।
विसं २०५९ मा कुष्ठरोग खानाको नाम परिवर्तन गरी खोकना कुष्ठरोग आरोग्य आश्रम राखिएको हो । तेह्र वर्षको उमेरदेखि आश्रममा बस्दै आएका ७० वर्षीय काजीमान तामाङका अनुसार सुरुमा महिलालाई ललितपुरतर्फ र पुरुषलाई दक्षिणकाली नगरपालिकातर्फको खोला किनारमा राखिन्थ्यो ।

उपचार र सेवा सुविधा

आश्रममा बस्ने बिरामीका लागि प्राथमिक उपचार सेवा उपलब्ध छ । हप्तामा दुईपटक निःशुल्क उपचार हुन्छ । जटिल अवस्थामा रहेका बिरामीलाई स्वास्थ्य बिमाअनुसार पाटन अस्पतालमा र कुष्ठरोगको विशेष उपचारका लागि गोदावरी नगरपालिकास्थित टीकाभैरवको आनन्दवन अस्पतालमा लगिन्छ, जहाँ निःशुल्क उपचार सेवा प्रदान गरिन्छ ।

सन्ताउन्न वर्षदेखि आश्रममा बस्दै आउनुभएका काजीमान तामाङ भन्नुहुन्छ, “पहिले साँघुरो कोठामा चार जना बस्नुपथ्र्यो । अहिले केही सुविधा छ । तेह्र वर्षमा आश्रम आएँ, अहिले ७० वर्ष पुगेँ । जीवनको अधिकांश समय यहीँ बितेको छ ।” खोकना कुष्ठरोग आरोग्य आश्रमले नेपालमा कुष्ठरोगीको व्यवस्थापन र पुनःस्थापनामा सघाएको उनले बताए।

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

म्याग्दी । आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे, काफलडाँडामा आलु उत्पादन घटेको छ । उत्पादन घटेपछि माग धान्न गाह्रो भएको छ ।

चिसो हावापानीमा उत्पादन हुने यहाँको आलु स्वादिलो र पौष्टिक हुने भएकाले सहरी क्षेत्रमा माग राम्रो छ । वडामा निर्यात हुने खाद्यबालीका रुपमा आलुखेतीलाई लिने गरिएको छ । केही वर्षअघिसम्म गाउँमा आलुखेतीबाट किसानले राम्रो आम्दानी गरे पनि अहिले उत्पादन घटेपछि माग धान्न नसक्ने अवस्था आएको नाँगीकी किसान तथा अन्नपूर्ण गाउँपालिकाका सदस्य राममाया पुनले बताईन् ।

“गाउँका अधिकांशले व्यावसायिक आलुखेती गदैै आएका छन्, अघिल्लो वर्ष आलु बिक्री गरेर रु एक लाखसम्म कमाउने धेरै किसान थिए, यो वर्ष उत्पादन सोचेजस्तो भएको छैन, माग धेरै आएको छ, स्थानीय बजारमै धेरै आलु खपत हुने सम्भावना छ”, उनले भनीन् । यस वर्ष आलुखेती लगाउने र गोडमेल गर्ने समयमा वर्षा नभएको र खडेरीका कारण उत्पादनमा गिरावट आएको उनको भनाइ छ । सिँचाइको वैकल्पिक स्रोत र प्रबन्धन भएकाले आकासे पानीका भरमा आलुखेती गर्नुपर्दा खडेरीको समयमा किसानले दुःख र परिश्रम अनुसारको फल पाउन सकेका छैनन् ।

परम्परागत रुपमा लेकाली क्षेत्रमा उत्पादन भएको आलु कोसेलीका रुपमा दिने पनि चलन छ । धेरै उत्पादन गर्नेले बेँसीमा उत्पादन हुने धान, चामलसँग आलु सटही गर्ने गर्थे । गाउँगाउँमा यातायातको पहुँच बढेपछि मात्रै लेकाली क्षेत्रमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । पहिले गाउँमा उत्पादन भएको आलु धेरै भएर गाईभैँसीलाई पकाएर खुवाउने चलन रहेकोमा गाउँमा गाडीको सुविधा भित्रिएसँगै आलु बिक्री हुन थालेको नाँगीका स्थानीय चन्द्रबहादुर खोरजाले बताए ।

गत वर्ष १० मुरी आलु बिक्री गरेका खोरजाले यस वर्ष आलु उत्पादन घटेकाले आफन्तलाई कोसेली पठाउने र घरमा उपभोगमा मात्रै सकिने भएकाले बिक्री गर्न नपुग्ने बताए।

नाँगीमा उत्पादन भएको आलु गाउँबाटै प्रतिकिलो रु ४५ मा बिक्री हुने गरेको छभने बजारमा प्रतिकिलो रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ । गाउँमा रातो, जनकदेव र रैथाने जातको आलुखेती हुन्छ । राम्चेका स्थानीय कृषक ओमबहादुर पुर्जाले बीउको प्रशोधन नगर्ने, खडेरी पर्ने र बाहिरबाट लगेको बीउमा रोगकीरा भित्रिएपछि त्यसको असर आलु उत्पादनमा देखिएको बताए ।

यस जिल्लाबाट वार्षिक रु १० करोड बराबरको आलु, कुष्मा, बागलुङ, पोखरा, काठमाडाँैलगायत बजारमा बिक्री हुने गरेको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहलगायतले जिल्लामा आलुखेती विस्तारमा सहयोग गर्दै आएका छन् । म्याग्दीमा एक हजार ८२० हेक्टर जमिनमा आलु खेती हुने गरेको छ ।

डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरमा  आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै ।

साथमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ

 

पदमार्गको अभाव हुँदा ओझेलमा जाल्पाताल

ढोरपाटन । चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जाल्पातालमा पुग्ने मोहित हुन्छन् ।

बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जाल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जाल्पाताल सम्भावना भएर पनि गुमनाम छ । बर्खाका बेला जलपात वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन् । स्वर्गसरी पाटनहरूमा बर्खाको चार महिना बिताउँछन् । भेडी गोठाला पुगेको जलपात सम्म पर्यटक भने खासै पुग्न सकेका छैनन् ।

ताल बागलुङको ढोरपाटन नगरपालिका र रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने हुँदा दुई जिल्लाका गोठाला यहाँ बस्ने गरेका छन् । ढोरपाटन उपत्यकाबाट दुई दिनको पैदलयात्रामा जाल्पाताल पुग्न सकिन्छ । तर अहिलेसम्म यस तालसम्म पुग्ने गतिलो पदमार्गको अभाव छ । छुटफुट पुग्ने पर्यटक अन्दाजकै भरमा जलपात सम्मको यात्रा गरेर फर्कन्छन् ।

ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जाल्पातालपुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्राकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए ।

जलपातमा अहिलेसम्म पर्यटक पुर्याउन नसकेको भन्दै राज्यले नै प्रचारप्रसार गर्नुपर्ने उनको तर्क छ । तालसम्म पुग्ने पदमार्ग बनाउन जरुरी रहेको उनको भनाइ छ । गोठालाको बासस्थानका रूपमा रहेको जलपातलाई पर्यटक उकाल्न पर्यटन बोर्डसँगै स्थानीय, प्रदेश र सङ्घ सरकारले पहल थाल्नुपर्ने उनको सुझाव छ ।

“गत वर्षसम्म बुकीपाटन आझेलमा थियो । प्रचारप्रसार र त्यहाँसम्म पुग्ने पदमार्ग लगायतका संरचना बनेपछि अहिले दैनिक एक सय बढी पर्यटक टीकाधारा, गर्पाछेडा पुग्छन्”, उनी भन्छन्, “अब जलपातको पनि प्रचारप्रसार गरी पूर्वाधार निर्माण गनुपर्नेछ । पर्यटकको आगमनलाई बढाउनुपर्ने देखिन्छ । हामी स्थानीयका तर्फबाट गर्नुपर्ने जिम्मेवारी हामी पूरा गर्छौँ । राज्यले पनि त्यही अनुसारको कदम चाल्नुपर्छ ।”

जल्पातालसम्म पर्यटक उकाल्न पदमार्गको विकाससँगै सूचना बोर्डको अभाव छ । प्रवर्द्धन गर्न सक्ने हो भने कुमारी गन्तव्य भएकाले तालसम्म पुग्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने तनहुँबाट घुम्न पुग्नुभएका पत्रकार विनोद ढुङ्गाना बताउँछन्। “जलपातको दृश्य देखेपछि लाग्छ स्वर्गको टुक्रा भनेको यहीँ होला”, उनले वर्णन गरे ।

कोलाहलबाट परको नयाँ गन्तव्यमा पदयात्रा गर्न चाहने आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको उनको भनाइ छ । तर, त्यसका लागि व्यवस्थित पदमार्ग र सूचना बोर्ड राख्नुपर्ने उनले बताए । “ताल निकै मनमोहक छ । वरपरको सुन्दरताले धेरैलाई लोभ्याउँछ । ताललाई पनि थोरै व्यवस्थित गर्नुपर्ने छ । ताललाई घेरेको तीन दिशाको पहाड भूक्षयीकरण भएकाले निकट भविष्यमा खुम्चिने सम्भावना पनि उत्तिकै देखिन्छ”, ढुङ्गानाले भने, “पूर्वाधारको विकास, प्रवर्द्धनसँगै संरक्षणको आवश्यकता । बुकीपाटनसँगै जलपात पनि पर्यटक आकर्षणको गन्तव्य बन्नेमा शङ्का छैन ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ठाउँठाउँमा सूचना बोर्ड राख्ने र पदमार्ग निर्माण गर्ने बताए। ढोरपाटन उपत्यकाबाट धेरै टाढा रहेको हुँदा नगरपालिकाको स्रोतले मात्र नपुग्ने हुँदा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर पूर्वधार निर्माण गर्ने उनको भनाइ छ । जलपात सहित ढोरपाटनका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पर्यटन महोत्सव गर्ने योजना बनाएको कायतले बताए ।

उनले भने, “यो ताल अहिलेसम्म ओझेलमा छ, फाट्टफुट्ट ढोरपाटन वरपरका पर्यटकहरू कहिलकाहीँ पुग्ने गरे पनि अरु ठाउँबाट खासै आउन सकेका छैनन् । आउन पनि कसरी प्रचार नै छैन । हामीहरूले अब जलपातसँग बुकीपाटन क्षेत्रको पनि प्रवर्द्धन गर्नेगरी योजना बनाएका छौँ । यो वर्ष पर्यटकका लागि सूचना बोर्ड र केही ठाउँमा पदमार्ग बनाउँछौँ । अधूरा कामका लागि माथिल्लो निकायसँग सहकार्य गर्नेछौँ ।”

प्रधानमन्त्री ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन हुने

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ मा करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा प्रदेश प्रहरी कार्यालय निर्माण गरिएको भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जानकारी दिए।
विसं २०८० असोज १० निर्माण सम्झौता भई भवन निर्माण सुरु भएको थियो ।
प्रधानमन्त्री ओलीले आजै महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्र सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिए।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको आठ दशमलव ३८४ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो ।
विसं २०८३ चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कूल रु ३४ करोड ६९ लाख ५० हजार ६१६ रहेको छ । विश्व बैंकको ऋण सहयोगबाट निर्माण हुने यो सडक रु १९ करोड सात लाख ८३ हजार ६१८ मा ठेक्का सम्झौता भएको छ । यस योजनाअन्तर्गत प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोडिने छ ।

पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक

पर्वत । जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेका पाइएको छ ।

शिक्षा ऐनमा प्रधानाध्यापकका लागि निश्चित समयावधि र शैक्षिक योग्यता तोकिए पनि त्यसको बेवास्ता गर्दै ती विद्यालयमा योग्यतानै नपुगेका प्रधानाध्यापकले काम गरिरहेको पाइएको छ ।

जिल्लाको सदरमुकाम कुश्मा बजारमा सञ्चालित नारायण माध्यमिक विद्यालय र खुर्कोटस्थित हिमालय माध्यमिक विद्यालय बाहेक अन्य विद्यालयमा ऐनविपरीत प्रधानाध्यापक रहेको शिक्षा विकास तथा समन्वय एकाइले जानकारी दिएको छ ।

शिक्षा नियमावली, २०५९ को संशोधिनसहित परिच्छेद १७ नियम ९३ बमोजिम एक पटक प्रधानाध्यापक नियुक्ति भएपछि पाँच वर्षसम्मका लागि सेवा अवधि रहने र पुनः नियुक्तिका लागि छनोट समितिमार्फत प्रक्रिया पूरा गरेर नियुक्ति गर्नुपर्ने प्रावधान  छ ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईका अनुसार पर्वतका सबै स्थानीय तहमार्फत विद्यालयलाई ऐनअनुसार प्रधानाध्यापक नियुक्तिका लागि पत्राचार गरिसकेको जानकारी दिए । उनले जिल्लाका दुई विद्यालयबाहेक अन्य विद्यालयमा ऐनअनुरुप प्रधानाध्यापक कार्यरत नपाइएको बताउँदै एकाइले तत्काल ऐनअनुसार गर्न  सूचित गरिसकेको जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत साउन ७ गते एक सूचना जारी गर्दै पाँच वर्षभन्दा बढी सेवारत रहेका प्रधानाध्यापक कार्यरत विद्यालयमा पुनः नियुक्तिका लागि प्रक्रिया अघि बढाउन निर्देश गरेको थियो । केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट समेत कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध भएको भन्दै उक्त सूचना जारी गरेको थियो ।

पर्वतमा सूचना जारी भएको झण्डै तीन हप्ता बितिसक्दासम्म कुनै पनि विद्यालयले नयाँ प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अघि नबढाएको एकाइ प्रमुख चपाईले बताए। एकाइले समेत उक्त सूचनालाई आधार मान्दै यही साउन ९ गते सूचना प्रकाशन गरेको थियो ।

अन्य जिल्लाका कतिपय स्थानीय तहहरूले प्रधानाध्यापक नियुक्तिका लागि छुट्टै कार्यविधि बनाएको पाइए पनि पर्वतमा तत्सम्बन्धी स्थानीय तहहरुले ऐन निर्माण गर्न सकेका छैनन् । कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीका अनुसार पालिकाले छुट्टै ऐन, कार्यविधि नबनाएको तर शिक्षा नियमावलीअन्तर्गत रहेर विद्यालयलाई नयाँ प्रधानाध्यापक नियुक्तिका लागि अनुरोध गरिएको बताए।

शिक्षा नियमावलीअन्तर्गत माध्यमिक तह सञ्चालन रहेको विद्यालयमा शिक्षा शास्त्रमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण, निम्नमाध्यमिक तहमा कम्तीमा स्नातक तह र प्राथमिक तहमा कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको स्थायी शिक्षक मात्रै प्रधानाध्यापक हुने प्रावधान रहेको छ । तर पर्वतका कतिपय विद्यालयमा निमावि तहका शिक्षकले माध्यमिक तहको प्रधानाध्यापक भएर काम गरिरहेको समेत पाइएको छ ।

माध्यमिक तहको दरबन्दी र शैक्षिक योग्यता भएका शिक्षकहरू प्रधानाध्यापक नभई तल्लो तहका प्रधानाध्यापकले विद्यालय सञ्चालन गरेका पाइएपछि केन्द्रले यस्तो निर्देशन गरेको हो । पैयु गाउँपालिका–३ पालुस्थान मावि बेउलीबासका प्रधानाध्यापक पूर्णचन्द्र काफ्लेले आफूलाई त्यससम्बन्धी कुनै जानकारी नभएको बताए।

अठार वर्षदेखि लगातार एउटै विद्यालयमा प्रधानाध्यापक रहेका काफ्लेले शिक्षा ऐन र नियमावलीअनुसार भएमा आफू जिम्मेवारीमा नबस्ने बताए।

‘मलाई कोही शिक्षक योग्यताअनुसार नभएपछि १८ वर्षअघि विद्यालय व्यवस्थापन समितिले जिम्मेवारी दिएको हो, मेरो स्थानमा योग्यताअनुसार मभन्दा माथिल्लो तहको कोही शिक्षक आउनुहुन्छ भने म उहाँको  स्वागत गर्छु’, उनले भने ।

मोदी गाउँपालिका–२ देउपुरमा सञ्चालित जननेत्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास तिमिल्सिनाले पनि प्रधानाध्यापक भएर बस्न नै शिक्षकहरू नमान्ने जिकिर गरे। ‘शिक्षा विकास समन्वय एकाइ र स्थानीय तहले प्रधानाध्यापक हेरफेर, नियुक्तिलगायतको जिम्मा जिम्मेवारी लिनुपर्छ’, उनले विद्यालय व्यवस्थापन समितिले उक्त कार्य गर्न नसक्ने बताए ।

हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती (तस्बिरहरु)

काठमाडौँ । सेवाग्राहीको सधैं चाप पर्ने चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडिको सडकको अवस्था हिलोले बेहाल भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपटिको सडक हिलाम्य भएर सेवाग्राही मारमा पर्ने गरेका छन् ।

यो सडकको अवस्था लामो समयदेखि यस्तै छ । दैनिक ३-४ ओटा गाडी हिलोमा फस्ने र कतिपय बाइक-स्कुटर चिप्लिएर लड्ने समेत गरेका छन् ।

बाटोको अवस्थाले यातायात कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ ।

नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ कानम गर्नुपर्नेमा जोड दिए।

उनले आगामी मङ्सिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, चीनमा निर्यात गर्नेगरी सबै किसानलाई व्यावसायिक भैँसीपालन गराउन, खेतीमा अग्र्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागिरक संवाद भवन बनाउन, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न, कीर्तिपुर क्रिकेट रङ्गशाला छिटो निर्माण सक्न तथा भक्तपुरमा ठूलो रङ्गशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले अन्तरिक्षमा नेपालको आफ््नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेल्वे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौँ/तराई मधेस दु्रत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताको अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न समेत मन्त्रीहरुलाई आग्रह गरे ।

“मेरा यी कुराहरु प्रतिनिधिमूलक मात्रै हुन्, एवं रितले सबै मन्त्रीहरुले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ योजना बनाउनुस्, आउने भदौको अन्तिमतिर फेरि बसेर त्यस्ता काम निर्धारण गरेर अगाडि बढौँ”, प्रधानमन्त्री ओलीले भने, “मौलिक ढङ्गले हामी अघि बढ्नुपर्छ । साँच्चै माइलस्टोन हुने खालका काम गरौँ ।”

कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ मा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका विषयमा प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता भएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।

महिला लिग छनोटको पहिलो खेलमा छहारी क्लब विजयी

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा छहारी क्लबले एफसी रियल क्लबमाथि ३–० को जित दर्ता गराएको हो । भारी वर्षाबीच सम्पन्न समूह ‘ए’को खेलमा छहारीले पहिलो हाफमा दुई गोल गर्यो भने दोस्रो हाफमा एक गोल थप्यो ।

वर्षाले प्रभावित भई खेल करिब ३० मिनेट रोकिएको थियो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मुख्य रेफ्री अञ्जना राईले खेल रोकेकी थिईन्। जितसँगै छहारीले तीन अङ्क बटुलेको छ ।

विभिन्न १४ टोली सहभागी उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुनेछ । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

त्यसैगरी समूह ‘बी’मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

‘बाल सङ्गठनलाई पुनर्जीवित गराउन प्रदेश सरकारले सहयोग गर्ने’

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बाल सङ्गठनलाई पुनर्जीवित गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धा जनाए ।

नेपाल बाल सङ्गठन नक्साल काठमाडौँद्वारा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले बाल सङ्गठनलाई नयाँ ढङ्गले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राखे। उनले सङ्गठनका विभिन्न जिल्लामा भएका संरचना उपयोगमा ल्याई अगाडि बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले बालबालिका हाम्रो भविष्य र हाम्रो सपना भएकाले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउनका लागि सङ्गठनले सहयोगी भूमिका खेल्नुपर्ने उल्लेख गरेका छन् । प्रदेशस्थित सङ्गठनको भौतिक संरचना र सम्पत्तिको अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास मन्त्रालयलाई उनले निर्देशन दिए ।

मुख्यमन्त्री कार्कीले प्रतिवेदनका आधारमा आगामी दिनमा प्रदेश सरकारले आफ्ना नीति र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सङ्घीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल सङ्गठनलाई अगाडि बढाउन सकिने धारणा राखेका छन् ।

नेपाल बाल सङ्गठनकी केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सङ्गठनको नाममा रहेको झापाको सरणामतीस्थित जग्गामा बालग्राम निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरेकी छिन् ।

सङ्गठनका मोरङका अध्यक्ष नवीन पहाडी र उदयपुर अध्यक्ष भुवन दाहालले असाहय बालबालिकाको उचित शिक्षा दिनुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । एक दिने भेलामा प्रदेशका १३ जिल्ला सङ्गठनका अध्यक्ष, सचिव, बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता छ ।

पशुपतिमा शवको हड्डी र खरानी किनेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । पशुपतिको घाटमा जलाइरहेको शवको हड्डी निकालेर बेचबिखन गरेको घटनामा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् ।

साउन २३ गते काभ्रेका राम शाहीको शवबाट हड्डी बिक्री गरेको आरोप लागेपछि प्रहरीले शव जलाउने काभ्रेकै गणेशप्रसाद ढकाल र विनायक मैनालीलाई पक्राउ गरेको थियो ।

ठाकुर नै हड्डी र खरानी खरिद गर्ने व्यक्ति रहेको एसपी बोहराले बताए। यादव भने सहयोगीको भूमिकामा देखिएका हुन्। पक्राउ परेका ठाकुरको साथबाट हड्डीको धुलो र खरानी बरामद गरिएको छ ।

पक्राउ परेका चारैजनाविरुद्ध गौशाला प्रहरीले अभद्र तथा अर्काको धार्मिक आस्थामा असर गर्न नहुने कसुरमा मुद्दा चलाएको छ ।

साउन २३ गते पौने ३ बजेतिर पशुपति घाट २ नम्बर चितामा बनेपा नगरपालिका-९ घर भई कोटेश्वर नरेफाँट बस्ने ६५ वर्षीय राम शाहीको शव जलाइरहेको अवस्थामा हड्डी निकालेको भन्ने घटना बाहिरिएको थियो।

पशुपति क्षेत्र विकास कोष आर्यघाट सेवा केन्द्रबाट खटिएका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीले जल्दै गरेको शवबाट हड्डीसहित खरानी निकालेर बट्टामा राखेको आरोप लागेको थियो।

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्राडा पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा भरत खत्रीले सपथ लिएका हुन् ।

चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकः सङ्ख्या वृद्धिसहित सिट निर्धारण

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको सङ्ख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको हो ।

गत असार ३२ गते भएको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियोे ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अन्तरराष्ट्रिय समितिमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय तथा पर्यटन समितिमो सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ आयोगको अन्तिम प्रतिवेदनबारे छलफल गरिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सो प्रतिवेदन माथि सरोकारवालासँग छलफल गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका अध्यक्ष रतिसचन्द्र लाल सुमनले प्रतिवेदन प्रस्तुत गर्दै दुर्घटना मानवीय त्रुटिका कारण भएको स्पष्ट पारे । आयोगको प्रतिवेदन अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन(आइकाओ)को ढाँचाअनुसार तयार पारिएको र त्यसमा ‘यस्तो दुर्घटना दोहोरिन नदिने उपाय’समेत सुझावस्वरूप समावेश गरिएको उनले उल्लेख गरे ।

सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० कलसाइन विमान दुर्घटनामा १९ मध्ये १८ जनाको निधन भएको र समयमै उद्धार नभएकाले को–पाइलट र इन्जिनियरको पनि ज्यान गएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार मौसम दुर्घटनाको कारण नभएको, उडानको चार सेकेन्डमै विमान दुर्घटना भएको र ‘रेस्क्यु अपरेसन’ प्रभावकारी नभएको उल्लेख छ । ‘क्याबिन क्रु’ले सिट बेल्ट नलगाएको, केही ब्याग सौर्य एयरलाइन्सको कार्यालयमै भेटिएको र नियामक तथा सेवा प्रदायक निकाय दुवैको कमजोरी देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

बैठकमा पीडित परिवारका तर्फबाट प्रकाश खतिवडाले दुर्घटना जाँचबुझ आयोग नै कानुनसम्मत नभएको आरोप लगाए । उनले सेवा प्रदायक संस्थामा आयोग अध्यक्षका आफन्त भएको, दुर्घटनामा परेकालाई सौर्य एयरलाइन्सका कर्मचारी बनाएको र उडान अवैज्ञानिक भएको दाबी गर्दै न्यायिक जाँचको माग गर्नुभयो । को–पाइलट सुशान्त कटुवालका बुबा ओम कटुवालले दुर्घटनाको दोष छोरामाथि पोखिएको भन्दै असन्तुष्टि प्रकट गरे । उनले दुर्घटनाको सम्पूर्ण जिम्मेवारी अनुमतिदाता निकाय हुने तर्क गरे ।

बैठकमा सांसद शिशिर खनालले पाइलट र को–पाइलटलाई मात्र दोषारोपण गर्ने भाष्य निर्माण गर्न नहुने भन्दै आपत्ति जनाए। उनले सुरक्षित हवाई सेवा सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए। सांसद प्रेम सुवालले ११ महिना लगाएर तयार गरिएको प्रतिवेदनबारे प्रश्न उठाउँदै विमान उड्न र यात्रु जान अनुमति दिने निकाय नै बढी जिम्मेवारी हुने बताए।

सांसद एकनाथ ढकालले विमान दुर्घटनामा बढी जिम्मेवार नियामक निकाय हुने धारणा राखे। सांसद एनपी साउदले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा कमजोरी कुन–कुन निकायको हो प्रतिवेदनमा स्पष्ट आउनुपर्ने बताए ।

बैठकमा विभिन्न सांसदले प्रतिवेदनका निष्कर्ष, अनुसन्धानको विधि, मनोवैज्ञानिक परामर्शको आवश्यकता, स्रोत–साधन अभाव र विस्फोटक पदार्थसमेत रहेको दाबीबारे छलफल गरेका थिए । समितिले दुर्घटनाका कारणमा थप गहिरो छानबिन गर्नुपर्ने र सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ । समितिका सभापति राजकिशोर यादवले दुर्घटना जाँचआयोगको अन्तिम प्रतिवेदनबारे कानुनी परामर्श लिएर थप छलफल गरेर मात्रै निर्णय लिइने जानकारी दिए ।

काठमाडौं- तराई र मधेस द्रुतमार्ग आयोजना : ४३ प्रतिशत काम सम्पन्न

काठमाडौँ, । रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौँ तराई-मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने स्पष्ट पारेका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले द्रुतमार्ग अन्तर्गत उपत्यकाबाहिर जग्गा अधिग्रहण सम्पन्न भइसकेकाले खोकना क्षेत्रमा पनि सहमति गरेरै अघि बढ्ने योजना रहेको सुनाए।

‘जनताको आवाज सुन्नुपर्छ भन्नेमा सरकार र नेपाली सेना स्पष्ट छ, केही सहमति गरेर टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने छ’, मन्त्री राईले भने, ‘छलफबाटै समाधान निकालौँ भनेर सरकार बसिरहेको छ, तर खोकनाको जग्गा सम्बन्धमा अझै केही अफवाह फैलाइएको छ, त्यस्तो होइन ।’ काठमाडौँ उपत्यकाबाहेक निजगढसम्म जग्गा प्राप्ति भइसकेको जानकारी दिँदै उनले खोकना क्षेत्रमा करिब ३७ प्रतिशत जग्गा अघिग्रहण गर्नुपर्ने बताए। ‘खोकना क्षेत्रमा जग्गा प्राप्तिका लागि आन्तरिक छलफल गरिएको छ’, उनले भने।

निर्धारित समयमै द्रुतमार्ग आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ काम अघि बढिरहेको स्पष्ट पार्दै मन्त्री राईले भने, ‘निर्धारित मिति नआइकन आयोजना सम्पन्न हुँदैन भन्न त नमिल्ला, तर सो समयमा सक्न निकै कठिन छ, तर मेलम्ची आयोजना जति चै लम्बिँदैन ।’

खाँदबारी–किमाथाङ्का सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको जानकारी दिँदै उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सो सडक चिनियाँ सहयोगमा कालोपत्रे गर्ने बारेमा छलफल हुने बताए। हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको उल्लेख गर्दै उनले सेनाको जिम्मेवारीमा रहेका आयोजनाको प्रगति गर्व गर्न लायक रहेको स्पष्ट पारे ।

प्रधान सेनापति अशोकराज सिग्देलले निर्धारित समयभित्रै दू्रतमार्ग आयोजना सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको स्पष्ट पारे।

‘अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब हुने काम छिटो सकिने खालका छन्’, उनले भने, ‘धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानमा खर्च भएको छ, आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए परियोजना निर्धारित समयमै सम्पन्न हुन्छ ।’

प्रधान सेनापति सिग्देलले द्रुतमार्गको काठमाडौँतिरको प्रवेश विन्दुका रुपमा रहेका खोकना क्षेत्रको सांस्कृतिक पक्षलाई जोगाएर आयोजना अघि बढाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको स्पष्ट पारे।

‘यदि खोकना प्रवेश विन्दुमा आउन नसकेको अवस्थामा पनि विकल्प तयार गरिएको छ’, उनले भने, ‘प्रवेश बिन्दुमा सवारी साधन कसरी प्रवेश गर्ने र निस्कने भन्ने उपाय खोजिएको छ ।’

सांसदहरुले रणनीतिक महत्वको द्रुतमार्ग आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्ने, आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न सरकाले पहल गर्नुपर्नेमा जोड दिए ।

एआई नीति स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौं। सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ।

मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।

यस्तै बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने, राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्नेसहितका १८ वटा निर्णय भएका छन् ।

हेर्नुहाेस् निणयहरु :

एमसीए नेपालद्वारा १८० किमी प्रसारणलाइन बनाउन १५.४५ करोड डलरको सम्झौता

काठमाडौं ।  मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले शुक्रबार दुई प्रमुख विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै आयोजना अगाडि बढाएको हो।

प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जलिक स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको हो।

संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेको यस सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन हुने जनाइएको छ।

अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, एमसिसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि, अमेरिकी दूतावासका अधिकारीहरूको समुपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र उक्त दुई कम्पनीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एमसीसीका कार्यवाहक उपाध्यक्ष विङ्गलले नेपालमा विद्युत् उपलब्धता र विश्वसनीयता सुधारका साथै क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धिमा सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए।

अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसन मीक्सले यो सम्झौता नेपालप्रति अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक भएको उल्लेख गरे।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अमेरिकी सरकारको निरन्तर सहयोग र पछिल्लो अनुमतिको सराहना गर्दै आयोजना सफल कार्यान्वयनमा सरकार र सरोकारवालाको साझा प्रतिबद्धता रहेको बताए।

६९ करोड ७० लाख अमेरिकी डलरको लगानीमा सञ्चालित एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण र सडक मर्मत आयोजना मार्फत पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार विस्तार र यातायात सञ्जाल सुधारमार्फत दीर्घकालीन आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण

काठमाडौँ, । राष्ट्रिय समाचार समिति ९रासस०को पुस्तकालय (लाइब्रेरी)का लागि फ्रिडम फोरमले विभिन्न १८ शिर्षकका ३१ थान पुस्तक उपलब्ध गराएको छ । राससका कार्यकारी अध्यक्ष धमेन्द्र झालाई आज फ्रिडम फोरमका प्रतिनिधि मञ्जु दाहालले रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा ती पुस्तक हस्तान्तरण गरे ।

पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससलाई सिङ्गो अनुसन्धान केन्द्र बनाउने योजना अनुसार पुस्तकालय विस्तार गरी पत्रकारिता तथा सञ्चारमाध्यमसम्बन्धी सामग्री सङ्कलन गर्ने अभियान सञ्चालन गरिएको बताए ।

उनले भने, “राससको पुस्तक सङ्कलन अभियानलाई पूर्णरुप दिनका लागि पुस्तक उपलब्ध गराइदिनुहुन विभिन्न व्यक्ति तथा निकाय र प्रकाशकलाई आह्वान गरेका छौँ । हाम्रो आह्वानलाई स्वीकार गरी फोरमले पत्रकारिता र सञ्चारमाध्यमसँगसम्बन्धित महत्त्वपूर्ण पुस्तक उपलब्ध गराएर सहयोग गरेकामा दाहालसहित सम्पूर्ण फोरम परिवारलाई धन्यवाद दिन चाहान्छु ।”

फ्रिडम फोरमका कार्यकारी प्रमुख एवं सस्थापक अध्यक्ष तारानाथ दाहालले प्रेस स्वतन्त्रता र पत्रकारितासँग सम्बन्धित विषयगत पुस्तक राससका लागि उपयोगी हुने महसुस गरी उपलब्ध गराइएको बताए । उनले भने, “३१ थान पुस्तकमा पत्रकारिता, सुशासन, पारदर्शीता, सूचनाको हकलगायत क्षेत्रमा भएका विभिन्न अध्ययनसम्बन्धी बहुउपयोगी पुस्तक राससको पुस्तकालयका लागि उपलब्ध गराएका छौँ ।”

फोरमले ‘सर्वोच्च अदालतबाट प्रतिपादित सूचना तथा सञ्चारसम्बन्धी नजिरहरू’, ‘पत्रकारिता नीति तथा कानुन’, ‘असली समाचारः स्रोत तथा प्रशिक्षण दिग्दर्शन’, ‘नेपालमा बजेट पारदर्शीता’लगायत पुस्तक राससलाई हस्तान्तरण गरेको छ ।

रासस मिडिया सङ्ग्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढ्दो छ । मिडिया सङ्ग्रहालय सञ्चालन भएदेखि विज्ञ, सरोकार भएका निकायका प्रतिनिधि, विद्यार्थीलगायतले अवलोकन गर्दै आएका छन् । साथै रासस समाचार बुलेटिन कक्ष र पुस्तकालयप्रति पाठक, विज्ञ तथा सरोकार भएकाको चासो बढ्दै गएको छ ।

राससले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा विसं २०८१ फागुन ७ गतेदेखि ‘रासस मिडिया सङ्ग्रहालय, समाचार बुलेटिन कक्ष’ सर्वसाधरणका लागि खुला गरेको हो । समाचार कक्षमा विसं २०१८ फागुन ७ गतेदेखि हालसम्मका समाचार सामग्री राखिएका छन् ।

रासस पुस्तकालयमा करिब दुई हजार किसिमका पुस्तक राख्ने योजना छ । हाल पुस्तकालयमा सात सय हाराहारी पत्रकारितासम्बन्धी पुस्तक छन् । रासस मिडिया सङ्ग्रहालय, रासस समाचार बुलेटिक कक्षप्रति अवलोकनकर्ताको दिनप्रतिदिन आकर्षण बढिरहेको छ । राससको पुस्तकालयका लागि यसअघि सेन्टर फर मिडिया रिसर्च, नेपालले विभिन्न १५ शिर्षकका ३० थान पुस्तक उपलब्ध गराएको थियो ।

‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ ।  यसका लागि चिनियाँ सात सदस्यीय टोली बिहीबार चितवन आएको छ । अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा  समेत सहयोग गर्दै छ । नेपाल सरकार र चीन सरकारकाबीचमा यससम्बन्धी सम्झौता भइसकेको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार आज आएको विज्ञ टोलीले अस्पतालका बोनम्यारो प्रत्यारोपण गर्नका लागि आवश्यक पर्ने अन्य सहायक विभागको अध्ययन गर्ने छ ।

सघन उपचार कक्ष, रेडिएसन अङ्कोलोजी, प्रयोगशाला, मेडिकल अङ्कोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगका बारेमा टोलीले अध्ययन गर्ने छ । कार्यकारी निर्देशक डा पौडेलका अनुसार चीनबाट नियमित रुपमा यहाँ आउने चिकित्सक टोलीको यस अघिको १५औँ टोलीका प्रमुख चाहु क्वीमिङ्गको नेतृत्व सात जना विज्ञ चिकित्सक सहभागी छन् । चिनियाँ टोलीलाई आज अस्पतालमा स्वागत गर्दै सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले यथासक्य छिटो काम सम्पन्न गरेर बिरामीलाई सेवा दिने वातावरण निर्माण गरिदिन आग्रह गरे ।

उनले यसै आर्थिक वर्षभित्र काम सुरु गर्न आग्रहसमेत गरे । क्यान्सर अस्पतालको मात्रै नभएर नेपाल सरकारकै कार्यक्रम भएकाले समयमा नै काम हुनेमा विश्वस्त हुँदै उनले अस्पतालका तर्फबाट गर्नुपर्ने सहयोगमा आफूहरू सधैँ तत्पर रहेको जानकारी दिए ।

सो अवसरमा टोली नेता क्वीमिङ्ग र अहिले क्यान्सर अस्पतालमा रहेका १६औंँ चिनियाँ चिकित्सक टोलीका प्रमुख (टिम लिडर) यान ल्याङले बोनम्यारो प्रत्यारोपणको पूर्व तयारीस्वरुप सम्बन्धित विभागमा रहेर पाँच दिनसम्म अध्ययन अवलोकन र अन्तर्क्रिया गरिने बताए ।

अस्पतालका कार्यकारी निर्देशक डा पौडेलका अनुसार हालको प्रशासनिक भवन नजिकै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण गरिने छ । यस कामका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेर अन्तिम चरणको काम भइरहेको छ । उनले भने, ‘सम्भवत अबको एक दुई सातामा यो काम सम्पन्न हुन्छ ।’

यसका लागि अस्पतालमा रहेका २९ वटा भवनको अभिलेखिकरण गरी नक्सा पास गरेको छ । भरतपुर महानगरपालिकालाई एक करोड ७८ लाख राजस्व बुझाएर नक्शा पास गरी अभिलेखिकरण गरिएको हो । वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएपछि चिनियाँ तर्फबाट निर्माणको काम थालिने छ ।

ढिलोमा तीन वर्षभित्रमा बोनम्यारो प्रत्यारोपणको काम सुरु हुने चिनियाँ टोलीले जानकारी दिएको पौडेलले बताउनुभयो । सुरुमा चार शय्याको विभाग बन्ने छ । यसबाट एक वर्षमा ५० जना हाराहारीको बोनम्यारो प्रत्यारोपण गर्न सकिने मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहले बताए । उनका अनुसार नेपालमा वार्षिक एक सय जना हाराहारीलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्नै हुन्छ । अहिले अधिकांश भारतका अस्पतालमा बिरामी जाने गर्दछन् । जसका लागि अस्पतालले एक जनाको भारतीय रुपैयाँ २० लाख हाराहारी लिने गर्दछन् । यो सेवा यहाँ सुरु भएसँगै उपचार खर्च पनि कम हुने उनले बताए ।

जापान र चीनले फरक मितिमा दोस्रो विश्वयुद्धको वार्षिकोत्सव मनाउँछन्

बेन्क्सी (चीन), २९ साउन । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षपछि, जापान र चीनले वार्षिकोत्सवलाई प्रमुख कार्यक्रमहरूसहित मनाइरहेका छन्, तर फरक मितिमा र फरक तरिकाले ।

जापानले अगस्ट १५ मा एक गम्भीर समारोहमा पीडितहरूलाई सम्झना गर्छ । उक्त दिन तत्कालीन सम्राट हिरोहितोले सरकारले आत्मसमर्पण गरेको रेडियो सन्देशमा घोषणा गरेका थिए ।

अर्कोतर्फ चीनले सेप्टेम्बर ३ मा टोकियो खाडीमा अमेरिकी युद्धपोतमा औपचारिक आत्मसमर्पण गरेको भोलिपल्ट परेडका साथ आफ्नो सैन्य शक्ति प्रदर्शन गर्दछ ।

जापानले दोस्रो विश्वयुद्ध अघि र त्यस समयमा विनाशकारी र क्रूर आक्रमणमा चीनको धेरै भाग कब्जा गरेको थियो, जसमा केही अनुमान अनुसार दुई करोड मानिस मारिएका थिए । युद्धकालको अनुभवले आज पनि दुई देशबीचको सम्बन्धलाई समस्यामा राखेको छ ।

चिनियाँ सहर बेन्क्सीको एउटा सङ्ग्रहालयले जापान विरोधी प्रतिरोध लडाकूहरूको सङ्घर्षलाई उजागर गर्छ । तिनीहरूले उत्तरपूर्वी भू–भाग (तत्कालीन मन्चुरिया भनिने) मा कठोर जाडोमा काठको झुप्रोमा लुकेर बसे र त्यसपछि रूसमा गएर शरण लिएका थिए ।

सोभियत सङ्घले जापानविरुद्ध युद्धको घोषणा गरेपछि र सन् १९४५ अगस्ट ९ मा मन्चुरियामा आक्रमण सुरु गरेपछि मात्र तिनीहरू फर्किए । त्यही दिन अमेरिकाले नागासाकीमा आणविक बम खसाल्यो– जसले जापानलाई आत्मसमर्पण गर्न थप दबाब दियो ।

आजकल, चीनको सेना नै चिन्ताको कारण बनेको छ किनभने यसले प्रशान्त महासागरमा सरकारका क्षेत्रीय दाबीहरूलाई लागू गर्न खोजिरहेको छ । जब जापानले खतराको सामना गर्न आफ्नो रक्षा निर्माण गर्ने कुरा गर्छ, यसको सैन्यवादी विगतले चीनलाई सुविधाजनक जवाफ दिन्छ ।

“हामी जापानलाई आफ्नो ऐतिहासिक अपराधमा गहिरो चिन्तन गर्न, इतिहासबाट इमानदारीपूर्वक पाठ सिक्न र क्षेत्रीय तनाव र चीन सम्बन्धी मुद्दाहरूको हल्ला मच्चाएर आफ्नो सैन्य विस्तारको वास्तविक उद्देश्य लुकाउन बन्द गर्न आग्रह गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले गत महिना भने ।

– जापानको आत्मसमर्पण प्रसारण –

हिरोहितोको सन् १९४५ अगस्ट १५ मा पूर्व रेकर्ड गरिएको आत्मसमर्पण प्रसारण धेरै जापानीका लागि बुझिन नसक्ने थियो । उनले रहस्यमय भाषा प्रयोग गर्नुभयो र ध्वनिको गुणस्तर खराब थियो ।

इतिहासकारहरूका अनुसार सन्देश सम्राट आफैँबाट आएको थियो भन्ने महत्त्वपूर्ण कुरा थियो । हिरोहितोलाई जीवित देवता मानिन्थ्यो र युद्ध उनकै नाममा लडिएको थियो । धेरै जापानीले पहिले कहिल्यै उनको आवाज सुनेका थिएनन् ।

“यो भाषणले गलत युद्धको अन्त्य गर्न के आवश्यक थियो भन्ने कुराको सम्झना गराउँछ”, निहोन विश्वविद्यालयका प्राध्यापक ताकाहिसा फुरुकावाले सन् २०१५ मा एपीलाई भने ।

वर्तमान सम्राट, हिरोहितोका नाति नारुहितो र प्रधानमन्त्रीले अगस्ट १५ मा टोकियोमा हुने वार्षिक समारोहमा सार्वजनिक प्रसारण एनएचकेद्वारा प्रत्यक्ष प्रसारण गरी टिप्पणी गर्ने तयारी गरेका छन् ।

गत वर्षको कार्यक्रममा, नारुहितोले युद्धको समयमा जापानको कार्यहरूप्रति गहिरो खेद व्यक्त गरे । तर सोही दिन, जापानी मन्त्रिपरिषद्का तीनजना मन्त्रीले टोकियोको यासुकुनी मन्दिरको भ्रमण गरे । जसको चीन र दक्षिण कोरियाले आलोचना गरे । चीन र दक्षिण कोरियाले यस मन्दिरलाई सैन्यवादको प्रतीकका रूपमा हेर्छन् ।

– चीनले विजय दिवस मनाउँछ –

जापानले सन् १९४५ सेप्टेम्बर २ मा अमेरिकी युद्धपोत युएसएस मिसौरीमा भएको समारोहमा आत्मसमर्पण गर्‍यो ।

विदेशमन्त्रीले शीर्ष टोपी र पुच्छर लगाएर र सेनाका प्रमुखले हिरोहितोको तर्फबाट हस्ताक्षर गरे । अर्कोतर्फका हस्ताक्षरकर्ताहरू अमेरिकी जनरल डगलस म्याकआर्थर र जापानसँग लडेका चीन र अन्य राष्ट्रहरूका प्रतिनिधिहरू थिए ।

चीनले अर्को दिन, सेप्टेम्बर ३ लाई विजय दिवसका रूपमा तोक्यो ।

एघार वर्षअघि कम्युनिष्ट पार्टीले चीनले वार्षिकोत्सव कसरी मनाउँछ भन्ने कुरालाई अगाडि बढाएको थियो । राष्ट्रपति सी जिनपिङ सहित चीनका सबै शीर्ष नेताहरूले सेप्टेम्बर ३ मा स्मारक कार्यक्रममा भाग लिए।

युद्धकालीन इतिहासको परस्पर विरोधी व्याख्या र पूर्वी चीन सागरमा अझै पनि जारी क्षेत्रीय विवादलाई लिएर जापानसँग बढ्दो तनावको समयमा यो नयाँ ध्यान केन्द्रित गरिएको थियो ।

अर्को वर्ष चीनले युद्ध समाप्तिको ७०औँ वार्षिकोत्सवमा सैन्य परेड आयोजना गर्‍यो ।

एक दशकपछि, मिसाइल, ट्याङ्क र माथि लडाकू विमानहरूसहित अर्को भव्य परेडको तयारी भइरहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुने अपेक्षा गरिएकाहरूमध्थे एक हुन् ।

नवलपुरमा करिब दुई सय नयाँ उद्योग दर्ता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब २०० नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१÷८२ मा जिल्लामा १९१ नयाँ उद्योग दर्ता भएका पर्यटन तथा उद्योग कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयमा रु १५ करोडसम्म पुँजी भएका उद्योग तथा व्यापारिक फर्म दर्ता हुँदै आएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपुरका सूचना अधिकारी खडकबहादुर थापाले जिल्लामा गत आ.व.मा दर्ता भएका उद्योगमध्ये १७४ निजी, सात साझेदारी तथा नौ प्रालि रहेको बताए ।

उनका अनुसार जिल्लामा गत वर्ष सबैभन्दा धेरै सेवामूलक उद्योग ७९, कृषि तथा वन पैदावारमा आधारित उद्योग ६७, उत्पादनमूलक उद्योग ३८, पर्यटन उद्योग तीन, सूचना तथा प्रविधिमा आधारित उद्योग दुई र निर्माण सम्बन्धी उद्योग एउटा दर्ता भएका छन् ।

त्यस्तै वाणिज्यतर्फ दर्ता भएका फर्ममध्ये एकलौटी १९८ तथा साझेदारी दुई दर्ता भएका उनको भनाइ छ । वाणिज्यतर्फ नयाँ दर्ता भएका फर्ममा कारोबारका आधारमा वर्गीकरण गर्दा खुद्रा कारोबार गर्ने १९३ तथा थोक कारोबार गर्ने सात रहेको थापाले जानकारी दिए । गत आ.व. मा ८५६ वटा उद्योग नवीकरण हुँदा एक हजार ३४२ वाणिज्य फर्महरु नवीकरण भएको उनको भनाइ छ ।

त्यस्तै १०६ उद्योगले विभिन्न विषय संशोधन गरेको उल्लेख गर्दै थापाले यो अवधिमा २३८ वाणिज्य फर्महरुले विवरण, पुँजीलगायतका विषय संशोधन गरेका बताए । नयाँ खुल्ने उद्योगको तुलनामा बन्द हुने उद्योगको सङ्ख्या धेरै रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा उद्योग र वाणिज्यतर्फ गरी ३९१ नयाँ फर्म खुल्दा ४३८ वटा बन्द भएका छन् ।

थापाले आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा २०० उद्योगको लगत कट्टा (बन्द) गरिएको जानकारी दिए। त्यस्तै वाणिज्यतर्फ २३८ व्यावसायिक प्रतिष्ठानको लगत कट्टा गरिएको थापाको भनाइ छ । विभिन्न ऋण लिन तथा वैदेशिक रोजगारमा जानका लागि उद्योग खोल्ने गरिएकोमा उद्देश्य पूरा भएपछि ती उद्योगको लगत कट्टा गर्न आउनेको सङ्ख्या धेरै रहेको थापाको भनाइ छ ।

“विदेश जान तथा ऋण खानका लागि उद्योग तथा व्यवसाय देखाउँदा बैंकले सहज रुपमा ऋण प्रदान गर्ने भएकाले कोभिड अगाडिसम्म नयाँ उद्योग खोल्ने क्रम धेरै थियो”, उनले भने, “नयाँ दर्ता भएका उद्योग तथा व्यवसाय बन्द गर्न पाँच वर्ष कुर्नुपर्ने भएकोले पछिल्लो समय उद्योग बन्द गर्नेको सङ्ख्या धेरै देखिएको हो ।” कार्यालयमा दर्ता भएका उद्योग तथा व्यवसाय बन्द गर्न जसको नाममा कम्पनी स्थापना भएको छ सोही व्यक्ति उपस्थित हुनुपर्ने नियम रहेको थापाको भनाइ छ ।

जिल्लामा हालसम्म छ हजार ७०३ उद्योग तथा आठ हजार ५०७ वाणिज्य फर्म दर्ता भएका थापाले जानकारी दिए । जिल्लामा नयाँ दर्ता भएका तथा नवीकरण भएका उद्योग तथा वाणिज्य फर्मबाट रु एक करोड ३४ लाख आठ हजार ७६१ राजस्व सङ्कलन भएको थापाले बताए ।

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

अत्तरिया। सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत २० घर निर्माण सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१-८२ मा कैलाली र कञ्चनपुरमा उक्त घर निर्माण सम्पन्न गरेको हो ।

प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० दुईकोठे घर निर्माण गरिएको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए । उनका अनुसार कैलालीको जानकी गाउँपालिकाको वडा नं। २, ५, ८ र ९ मा १० घर, कञ्चनपुरको भीमदत्त नगरपालिका–३, ७, १० र ११ मा छ र  दोधारा–चाँदनी नगरपालिका–३, ६ तथा ७ मा चार घर निर्माण गरिएको हो ।

उनले भने, ‘सबै घर गत आवमा नै निर्माण सम्पन्न गरि लाभग्राहीलाई हस्तान्तरण गरिसकेका छौँ, लाभग्राहीहरू घरमा बसिसक्नुभएको छ ।’ सुदूरपश्चिम प्रदेश सरकारले २० घर निर्माणका लागि गत आर्थिक वर्ष २०८१-८२ मा रु ७० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

कैलालीमा प्रतिघर निर्माण लागत चार लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत रु चार लाख ९६ हजार २३३ रहेको उनले जानकारी दिए । कार्यालयले प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजार उपलब्ध गराएको र बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गरेको उनले जानकारी दिए ।

रविलाई राखेको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली लगाइयो

काठमाडौं । संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको छ ।

कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे सञ्चारमाध्यममा निरन्तर समाचार आइरहेको प्रति ध्यानाकर्ष भएको जनाउँदै रुपन्देही कारागार प्रशासनले सूचना जारी गरेको हो ।

लामिछानेलाई राखिएको बन्दी कोठाको झ्याल प्लाइउडले छोपिएको भनेर प्रश्न उठेपछि त्यसलाई हटाएर जाली राखिएको कारागारका प्रशासक सुरेश भण्डारीले जानकारी दिए ।

रास्वपा सभापति लामिछाने पछिल्लो ४ महिनादेखि रुपन्देही कारागारमा थुनामा छन् । लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरुदेखि नै छुट्टै बन्दीगृहमा राखिएको कारागारले भनेको छ ।

साथै उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

काठमाडौं । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए ।

विभागका अनुसार पछिल्लो १२ घण्टाको वर्षा मापन अनुसार डोटीमा ८८ दशमलव छ मिलिमिटर वर्षा भएको छ । कैलालीमा ७४ दशमलव छ र बैतडीमा ६९ दशमलव चार मिलिमिटर वर्षा भएको उनले बताए ।

गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको विभागले जनाएको छ । हिजो देशैभरी सक्रिय भएको मनसुन आज भने पश्चिममा बढी सक्रिय देखिएकाले ती क्षेत्रमा निरन्तर वर्षा भइरहेको मौसमविद् ढकालले उल्लेख गरे ।

‘पछिल्लो २४ घण्टाको मापन हेर्दा भने सबैभन्दा बढी वर्षा बैतडीमा ११६, डोटीमा ९२ दशमलव चार, कैलालीमा ९० दशमलव छ र अछाममा ९८ मिलिमिटर वर्षा भएको छ’, उनले भने ।

उनका अनुसार सिन्धुपाल्चोक, नुवाकोट, कास्की, पर्वत जिल्लामा पनि भारी वर्षा भएको जनाउँदै उनले धेरै वर्षा मापन केन्द्रहरूमा भारी वर्षा भएको अभिलेख रहेको बताए । पछिल्लो तीन घण्टाको रेकर्ड कैलाली, दार्चुला, बैतडी, डडेलधुरा तथा आसपासका जिल्लाहरू पनि निरन्तर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पुर्वी भू–भागभन्दा पश्चिमतर्फ बढी सक्रिय भइरहेको हो ।

हाल देशभर साधारणतया बदली भई सुदुरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ । आज रातिदेखि विस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ ।

मौसमविद् ढकालले भने, “वर्षा रोकिने नै चाहिँ हुँदैन, तर भारी वर्षा कम हुने देखिएको छ, छिटफूट ठाउँमा मात्रै भारी वर्षा हुन्छ, बदली भने कायमै रहने छ ।”

 

सदन बहिष्कारलाई निरन्तरता दिने राप्रपा र रास्वपाका सांसदको घोषणा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद ध्रुवबहादुर प्रधानले सदन बहिष्कारलाई निरन्तरता दिने बताए । उनले अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्म संसद् बहिष्कारलाई निरन्तरता दिने बताए।

आज पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरूले बैठक छाडेर बाहिरिएका छन् । बैठक बहिष्कार गर्नुअघि राप्रपाका सांसद प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधार दिएको राजीनामा सकारात्मक सन्देश भएको बताए ।

“नियतबश भएको भए नैतिकताका आधारमा राजीनामा मात्रै दिएर पुग्ने हो कि होइन रु भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न उठेको छ । अनियमित विषयहरू रोक्न न्यायिक छानबिन समिति गठन गर्नुपर्छ”, उनले भने, “हामी सदन बहिष्कार गर्ने प्रक्रियामा छौँ ।”

रास्वपाकी सांसद चन्दा कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । “अदालतको फैसला सरकारले जिम्मा लिन नसक्ने उचित होइन । राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ? म सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने ।

सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेर आर्थिक पारदर्शिता कायम गर्नुपर्ने बताउँदै जनताको जनभावनाको सबैले कदर गर्नुपर्नेमा जोड दिए।

मधेस प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले बढुवामा समस्या

जनकपुरधाम । मधेस प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिका कारण मधेस प्रदेश अन्तर्गतका १०औँ तहका कर्मचारीको बढुवामा समस्या देखिएको छ ।

सङ्घबाट प्रदेशमा आएका कर्मचारीलाई बढुवाका लागि सेवाकालीन तालिमको आवश्यक्ता नरहेको मधेस प्रदेश निजामति ऐन २०७७ को दफा नं १२५मा उल्लेख छ । सो ऐनमा सङ्घबाट समायोजन भएर आएका कर्मचारीलाई सङ्घीय सरकारले दिएको सेवा सुविधा सरह प्रदेश सरकारले दिने जनाइएको छ । सङ्घीय निजामती सेवा ऐनमा पनि स्वास्थ्यतर्फका कर्मचारीलाई बढुवाका लागि सेवाकालीन तालिमको आवश्यक्ता नरहेको उल्लेख छ । तर, मधेस प्रदेश लोक सेवा आयोगले समायोजनबाट आएका कर्मचारीलाई सेवाकालीन तालिम नभएसम्म बढुवा नहुने प्रावधान राखेपछि बढुवा अवधि पुगेका १०औँ तहका कर्मचारी समस्यामा परेका हुन् ।

सो समस्याबाट पीडित वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर झाले सङ्घबाट आएका कर्मचारीलाई सेवाकालीन तालिमको आवश्यक्ता नरहेको मधेसको निजामती सेवा ऐनमा उल्लेख भएपनि सेवाकालीन तालिमको विषय राखेर बढुवामा रोक लगाउनु न्यायोचित नभएको गुनासो गरे ।

यस विषयमा आफूले प्रदेश लोक सेवा आयोगमा उजुरीसमेत दर्ता गराएर सो विषय हटाउन तथा बढुवाको प्रक्रिया अगाडि बढाउन माग गरेको जानकारी दिए ।

यसअघि मधेस प्रदेश लोक सेवा आयोगले समायोजनबाट आएका सेवाकालीन तालिम नपाएका छैटौँ देखि ११औँ तहसम्मका २० भन्दा बढी कर्मचारी बढुवासमेत गरिएको थियो ।

उच्च अदालत जनकपुरले पनि प्रदेशमा समायोजन भएर आएको कर्मचारीलाई सेवाकालीन तालिमको आवश्यक्ता नरहेकाले प्रदेशका कर्मचारीले सो अदालतमा गरेको निवेदनको आधारमा बढुवा गर्न फैसला गरेको नजिर रहेको वरिष्ठ स्वास्थ्य प्रशासक झाको भनाइ छ ।

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो

जलेश्वर । महोत्तरीमा यस वर्ष ढिलो गरी धान रोपाइँ सुरु भए पनि किसानले धमाधम रोपाइँ गरेपछि अहिले जिल्लाको ७० प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ ।

साउनको दोस्रो साता (साउन १५) बितिसक्दा पनि जिल्लामा पानी नपर्दा रोपाइँ सुरु नभई खडेरीको अवस्था सिर्जना भइसकेको अवस्थामा एक्कासि ३-४ दिनसम्म लगातार पानी परेपछि किसानले रोपाइँ सुरु गरेकामा अहिले जिल्लामा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले बताए ।

जिल्लामा लामो समयसम्म पानी नपर्दा धान रोपाइँ गर्न नपाएका किसानहरू चिन्तित भइरहेको अवस्थामा प्रधानमन्त्री केपीशर्मा ओलीले गत साउन ९ गते जिल्लाको मटिहानी नगरपालिकामा पुल उद्‌घाटन र प्रसूति गृह उद्‌घाटन गर्न आएका बेला यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा र तत्काल ५०० डीप बोर्डिङ्ग जडानका लागि सम्बन्धित निकायलाई आदेश दिएर गएका थिए ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको खडेरीको अवस्थालाई हेलिकप्टरबाट निरीक्षणसमेत गरेर गएको एक सातापछि नै जिल्लामा पानी पर्न सुरु भएको थियो भने त्यसपछि यहाँका किसानले ढिलै भए पनि रोपाइँ सुरु गरेका थिए ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यस वर्ष ४० हजार हेक्टर जग्गामा धानखेती हुने अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानहरूले मोटर, डिजेल पम्प, नदीनाला, ईनार, कुवा र स्यालो ट्युबेलको सहयोगमा यसअघि धेरैथोरै रोपाइँ गरे पनि जिल्लाभरि साउन १५ पछि पानी पर्दा मात्रै रोपाइँ भएको थियो ।

कार्यालय प्रमुख रायले साउन १५ गतेसम्म पनि जिल्लामा पानी नपर्दा किसानले खेतमा लगाएको धानका बेर्ना बुढो भइसकेको अवस्थामा एक्कासी जिल्लामा ३औ४ दिनसम्म परेको पानीले यहाँका किसानहरूका लागि वरदान सावित भएको थियो र किसानले धमाधम रोपाइँ गरेर अहिले ७० प्रतिशत जग्गामा धानबाली लगाइसकेको बताए। जिल्लाका विभिन्न पालिकाका विभिन्न गाउँ टोलमा अझै पनि धान रोपाइँ जारी रहेकाले यो प्रतिशत अझै बढेर जाने कार्यालय उनले बताए।

उनले  यहाँका किसानहरूले भदैया, हर्दिनाथ, मुसलिम, कतरनी, बासमती जातका धानले खेत रोपाइँ गरेको बताए । गत वर्ष समयमा पानी पर्दा जिल्लाको कुल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएकामा एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष समयमा पानी नपर्दा धान उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक :महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा यहाँ आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिम उद्घाटन सत्रमा महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवन समाप्त पनि पारेको उल्लेख गर्दै यसबाट सचेत रहनुपर्नेमा जोड दिए।

“डिजिटल माध्यमका कारणले समाजमा अप्ठ्यारो परेको अवस्था पनि छ, यी विषयमा सचेत गराउनु एउटा जिम्मेवार पार्टीको कर्तव्य हो, पछिल्लो पुस्तामा पार्टीलाई जोड्न, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरीका बारेमा सुधार गर्न, अभिव्यक्ति स्वतन्त्रताको उपयोग र सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग आवश्यक छ”, उनले भने ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्रैका गुटउपगुटबीचको प्रतिस्पर्धाका लागि डिजिटल माध्यम प्रयोग गरिँदा पार्टीलाई क्षति पुगेको उल्लेख गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह र चुनावी परिचालनमा सही उपयोग गरेर लाभ हासिल गर्नुपर्नेमा जोड दिए ।

पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको प्रचारप्रसारलाई सशक्त बनाउन डिजिटल माध्यमलाई प्रभावकारी उपयोग गरिनुपर्ने धारणा राखे।

अझै अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्

म्याग्दी। स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रियामै अल्झिदा म्याग्दीको अन्नपूर्ण, मालिका र मङ्गला गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न सकेका छैनन् ।

तीब्र रुपमा बस्ति विकास भइरहेका पालिकाको केन्द्रमा मापदण्ड पुग्ने जग्गा निःशुल्क दिन नसक्नु र सरकारी दररेट अनुसार उपलब्ध गराउन रुची नदेखाउनु, विवाद, समन्वयको कमी र मुद्दाका कारण प्रशासकीय भवनको जग्गा प्राप्ति सकसपूर्ण बनेको हो ।

स्थानीयबासीबाट निःशुल्क रुपमा जग्गा प्राप्त हुन नसकेपछि तीन वटै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरकारले जग्गा खरिद गरेर भवन बनाउन अनुमति दिएको छ ।

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाई र भाडामा वार्षिक लाखौ बजेट खर्चनुपरेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए । “हामी निर्वाचित भएदेखिनै खरिदको प्रयास गरिरहेपनि पाएका छैनौ,” उनले भने, “गत वर्ष दरवाङ बजारमा जग्गा खरिद गर्न प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि रोकिएको छ ।”

मालिका गाउँपालिकाले गत वर्ष पालिकाको प्रशासकीय भवन, वडा नं–१ र ७ को भवन निर्माणका लागि बिनियोजन गरेको रु। दुई करोड बजेट खर्च हुन सकेन् । मालिकाले कार्यालय सञ्चालनका लागि वार्षिक २१ लाख खर्चीदै आएको छ ।

बाबियाचौरमा केन्द्र रहेको मङ्गला गाउँपालिकाले पनि भवन बनाउन जग्गा पाएको छैन् । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मापदण्ड अनुसारको जग्गा खरिदको प्रक्रीयामै रहेको बताए ।

पछिल्लो तीन वर्षयता गाउँपालिकाले जग्गा खरिद गर्न वार्षिक रुपमा बिनियोजन गर्दै आएको एक करोड बजेट खर्च हुन सकेको छैन् । कार्यालय सञ्चालनका लागि मङ्गला गाउँपालिकाले मासिक ६७ हजार पाँच सय घरभाडामा खर्च गर्दै आएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा जग्गा खरिदका लागि स्थानीयले प्रस्ताव पेश नगरेपछि नजिकैको घिरच्याङमा खरिदको प्रक्रीया अघि बढाएको थियो । तर पोखरेबगरका बासिन्दाले आफूले पनि जग्गा नदिने र छिमेकी बस्तिमा खरिद गर्न खोज्दा उजुरी गरेर अवरोध गरेका गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले गुनासो गरे ।

जग्गा खरिदका लागि वार्षिक एक करोड बजेट बिनियोजन गर्दै आएको अन्नपूर्णले कार्यालय सञ्चालनका लागि चार वटा घर भाडामा लिएको छ । वार्षिक १६ लाख घरभाडामा खर्च हुने गरेको छ । अन्नपूर्ण–७ को महभिरमा वडा कार्यालय भवन निर्माणका लागि निशूल्क जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।

जिल्ला जग्गा प्राप्ति समितिका सदस्य सचिव रहेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मापदण्ड पु¥याउन नसक्ने र स्थानीय बिवादका कारण पालिकाहरुको जग्गा खरिद प्रक्रीया लम्बीएको बताए ।

रघुगङ्गा गाउँपालिकाले मौवाफाँटमा स्थानीयबासीले निशूल्क उपलब्ध गराएको जग्गामा प्रशासकीय भवन निर्माण थालेको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले अन्य पालिकाको भन्दा फरक शैली अपनाएर निशुल्क जग्गा प्राप्ति गरेको जानकारी दिए ।

“२७ जना जग्गाधनीको २५ रोपनी जग्गा एकिकरण गरी जग्गा व्यवस्थापन कार्यविधि अनुसार, करिब १४ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिएको छ” उनले भने “जग्गाधनीहरुलाई छ रोपनी जग्गा घडेरीको रुपमा फिर्ता गरिएको छ । बाँकी जग्गालाई उपयोग गरी पालिकाको वरीपरि आठ मिटर फराकिलो सडकको चक्रपथ बनाइएको छ ।”

गाउँपालिकाले बहुउदेश्यीय भवनबाट सेवा प्रवाह गर्दै आएको छ । गत वर्ष दुई करोड बिनियोजन गरेर सुरु भएको भवन निर्माण योजनालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । बहुउदेश्यीय भवनलाई कर्मचारी आवासगृहको रुपमा उपयोग गर्ने र सुविधा सम्पन्न भवन निर्माण गरेर नागरिकलाई सरल र सहज रुपमा सेवा उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताए ।

स्थानीयबासीले वडा नं. ३ घट्टेखोलामा उपलब्ध गराएको १४ रोपनी जग्गामा धवलागिरी गाउँपालिकाले वि.स. २०७९ देखि निर्माण थालेको प्रशासकीय भवन अन्तिम चरणमा पुगेको छ । सात करोड ७१ लाख ८९ हजारमा ठेक्का सम्झौता भएको तीन तले भवनमा सभाहल सहित ३१ वटा कोठा तयार हुने छन् ।

चालु आर्थिक वर्षभित्रनै गाउँपालिकाको कार्यालय र शाखाहरू सबै एउटै छानामुनि सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। हाल तत्कालीन मुना गाविसको भवनबाट गाउँपालिका कार्यालय सञ्चालन भएको छ । जिल्ला सदरमुकाममा रहेको बेनी नगरपालिकाले परराष्ट्र मन्त्रालयको नाममा रहेको जग्गामा पूर्वाधार बनाएर कार्यालय सञ्चालन गरेको छ ।