`

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चार वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

द्विपक्षीय भेटवार्तासँगै विभिन्न चार वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माणसम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ । जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे ।

त्यस्तै दुई देशबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबाट एक हजार दुई सयभन्दा बढी सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ ।

सोअवसरमा रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रशारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे । त्यस्तै रसुवा जिल्लामा केही समयअघि बाढीले पु¥याएको भौतिक संरचनाको पुनःनिर्माणमा चीनले सहयोग गर्ने भएको छ । अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनःर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।

अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनःनिर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनःनिर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए । “आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनःनिर्माणलाई छिटो अघि बढाउँछौँ”, अर्थमन्त्री पौडेलको भनाइ थियो ।

जनकपुरमा एक युवकको प्रेमिकाद्वारा हत्या

महेन्द्रनगर (धनुषा) ।, जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जनकपुरधामको होटल एसपी एन्ड गेष्ट हाउसमा विमलेश यादवको हत्या अभियोगमा युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरीको बलवा नगरपालिका–७ का २४ वर्षीया जुली झालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो । कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेशलाई गेष्टहाउसमा छुरा प्रहार गरी एक तल्ला माथिबाट तल खसालिएको थियो । आइतबार बिहान उपचारका क्रममा विमलेशको अस्पतालमा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा विमलेशको हत्यामा झाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनापछि झा गेष्टहाउसबाट भागेको सिसिटिभी क्यामेरामा कैद भएको थियो ।

मृतक विमलेश र पक्राउ परेकी युवती झा गेष्टहाउसमा शनिबार राति ९ बजेर ५५ मिनेटमा एकसाथ गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुको सम्बन्ध र हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेयर काराेबारी दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो ।

उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए ।

उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो।

‘डार्क फाइल’को नक्कली अडियो बनाएर सिधाकुरालाई उपलब्ध गराउने राजकुमार पक्राउ

विराटनगर ।  नक्कली अडियो बनाएर सिधाकुरा अनलाइन मिडियालाई उपलब्ध गराउने राजकुमार तिमिल्सिना पक्राउ परेका छन् । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार (साउन ४) साँझ इटहरीबाट पक्राउ गरेको हो ।

फेक अडियो बनाएको घटनामा  राजकुमारलाई सर्वोच्च अदालतले ६ महिना कैद सजाय तोकेको थियो । सर्वाेच्चको फैसलापछि उनी फरार थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी–५ पचरुकीमा महिलाबीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ गरेका थिए । पक्राउ परिसकेपछि मात्रै उनको वास्तविक परिचय खुलेको हो ।

सर्वोच्च अदालतको बृहत पूर्णइजलासले गत असोज १४ गते राजकुमार तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो । सोही प्रकरणमा सर्वोच्चले गएको असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई अदालतको अवहेलना कसुरमा दोषी ठहर गर्दै तीन महिना कैद सजाय तोकेको थियो । तर, उनीहरूले क्षमायाचना गरेपछि सात दिन मात्र जेल बसेर छुटेका थिए ।

राजकुमारले सर्वोच्चकै न्यायाधीश र केही मिडिया हाउस सञ्चालकको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दामा ‘सेटिङ’ हुने गरेको नक्कली अडियो तयार पारेको खुलेको थियो ।

बङ्गलादेशद्वारा गहुँ आयातको लागि अमेरिकासँग सम्झौता

ढाका। आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बङ्गलादेश र अमेरिकाबिच सम्झौता भएको छ ।

जुलाईको अन्तिम हप्तामा बङ्गलादेश र अमेरिकाबिच तेस्रो चरणको शुल्क वार्ता अघि यो सम्झौतामा हस्ताक्षर भएको हो । अमेरिकाले शुल्क सम्झौतामा हस्ताक्षर गर्न निश्चित सुरक्षा सहयोग बढाउनका लागि शर्तहरू लगाएपछि दोस्रो चरणको वार्ता निर्णयविहिन भएको छ ।

यसैबिच अमेरिकाले बङ्गलादेशसँग संयुक्त सैन्य अभ्यास जारी राख्ने घोषणा गरिसकेको छ ।

गहुँ आयात गर्ने सहमति पत्रमा बङ्गलादेश सरकारको तर्फबाट खाद्य विभागका महानिर्देशक मोहम्मद अबुल हसनत हुमायूँ कबीर र संयुक्त राज्य अमेरिकाको तर्फबाट युएस गहुँ सङ्घका उपाध्यक्ष जोसेफ के सोवरले बङ्गलादेशका खाद्य सल्लाहकार अली इमाम मजूमदारको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै खाद्य सल्लाहकार अली इमाम मजूमदारले एमओयूले बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबिच आपसी व्यापार सहयोगको थप क्षेत्रहरू सिर्जना गर्न र अवसरहरू सिर्जना गरी दुवै देशका जनता लाभान्वित हुने बताएका छन् ।

देशको समग्र खाद्य सुरक्षा, पोषण गुणस्तर र खाद्य आपूर्ति सुनिश्चित गर्न बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबिच सम्झौता गरिएको बङ्गलादेशको अन्तरिम सरकारले विज्ञप्ति मार्फत जनाएको छ ।

यसअघि जुलाई ९ को समय सीमाभन्दा दुई दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशलाई ३५ प्रतिशत कर लगाउने पत्र जारी गर्दै यो शुल्क अगस्ट १ देखि लागु हुने बताएका थिए ।

प्रहरीको डीएसपी, एसपी र एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस भएको छ।

सोमबार बसेको बढुवा समिति बैठकले रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, एसपी र १३ डीएसपीको बढुवा सिफारिस भएको हो।

बढुवा सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्।

\

पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो

इस्लामाबाद। मनसुनी वर्षाले गर्दा जुन २६ देखि मृत्यु हुनेको सङ्ख्या २१६ पुगेको तथा ५८० जना घाइते भएको पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टिभीले जनाएको छ ।

पाकिस्तानमा विगत २४ घण्टामा वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तिमा १३ जनाको मृत्यु भएकोे सोमबार जियो टिभीले जनाएको छ।

निरन्तरको वर्षाका कारण बाढी र डुबान हुँदा धेरै मानवीय हताहत भएको हो । सबैभन्दा बढी मृत्यु बाढी र पहिरोका कारण घरहरू भत्किएर वा डुबानमा परेर भएको बताइएको छ भने केहीको चट्याङ र अन्य मौसमी विपत्का कारण भएको हो ।

पाकिस्तानको विपद् व्यवस्थापन निगरानी निकायले पछिल्लो २४ घण्टामा पञ्जाबमा १२ र खैबर पख्तुनख्वामा एक जनाको मृत्यु भएको जनाएको छ । पीडितमध्ये चार बालबालिका र तीन महिला थिए । मनसुनी बर्षा सुरु भएदेखि १०१ जना बालबालिकाको मृत्यु भएको बताइएको छ ।

एनडिएमएले जारी गरेको विज्ञप्तिमा वर्षा सुरु भएदेखि लगभग ८०० घरहरू ध्वस्त भएका छन्, भने लगभग २०० जनावरहरूको मृत्यु भएको छ ।

युएन न्यूजको हालैको रिपोर्टअनुसार खैबर पख्तुनख्वा र गिलगिट बाल्टिस्तान क्षेत्रमा पनि हिमनदीको तालबाट बाढी आउने डर छ ।

सन् २०२२ मा मनसुनी बाढीले एक हजार ७०० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै लाखौँ व्यक्ति विस्थापित भएको र लगभग ४० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।

संविधान संशोधनभन्दा पहिले समीक्षा गर्न आवश्यक : नेता नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका छन् । बुबा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि विसं २०८१ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमार्फत उनी सङ्घीय संसद्मा प्रवेश गरेका हुन् ।

बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो । न्याय क्षेत्रमा न्याय क्षेत्रमा नेम्वाङ परिवारमा सांसद नेम्वाङ तेस्रो पुस्ता हुन्। उनका हजुरबुबा न्यायाधीश र बुबा संविधानसभाका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता थिए। सुहाङको पृष्ठभूमि पनि कानुन व्यवसायी नै रहेको छ ।

सांसद नेम्वाङसँग राससका लागि प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले संसदीय अनुभव, कानुन निर्माण, जनताका सवाल, जनशक्ति विदेश पलायन, आर्थिक समृद्धि, संविधान संशोधन, सुशासन र निर्वाचन प्रणालीलगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश

यहाँको संसदीय अनुभव कस्तो हुँदैछ ?
म प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा आएको एक वर्ष दुई महिना भयो । सांसद हुनुभन्दा पहिले बुबा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष तथा सभामुख सुवासचन्द्र नेम्वाङका अनुभव, विचार, सिद्धान्त संसदीय गतिविधि सुन्ने र बुझ्ने गर्थे । त्यतिबेला मैले संसदीय अभ्यासलाई हल्का रुपमा लिएको रहेछु भन्ने अहिले महसुस हुन्छ । तर सांसदका रुपमा संसदीय अभ्यासमा सहभागी हुँदा सतहीबाट हेरेकोभन्दा यो निकै फरक रहेछ भन्ने बुझेको छु । प्रतिनिधिसभा सदस्य भएपछि धेरै विषय जान्ने र सिक्ने मौका पाएको छु । संसदीय कार्यक्रम कसरी अगाडि बढ्छ रु ऐन-कानुन, नीति निर्माण र कार्ययोजनाको तय कसरी हुन्छ भन्ने  सिक्ने मौका पाएको छु ।

संसद्ले कानुन निर्माणलाई कति प्राथमिकता दिएको पाउनुभएको छ ?
कानुन वा नीति निर्माणको पाटोमा संसद् सकारात्मक र  दृढताका साथ लागेको छ । मेरो अनुभवमा संसद्ले कैयौँ नीति निर्माण गरेको छ । विभिन्न विधेयकमाथि पटक–पटक समितिमा छलफल भएको छ । विधेयक निर्माणमा सांसदले खेल्नुपर्ने भूमिका प्राथमिकताका साथ निर्वाह गरिएको छ । सक्रियताको हिसाबले सबै सांसदले कानुन निर्माणमा सकारात्मक भूमिका खेल्नुभएको छ ।

    संसद्मा जनताका विषय कति उठ्छन् ? र सरकारले त्यसलाई कति सम्बोधन गरेको पाउनुभएको छ ?
मैले पटक–पटक भन्ने गरेको छु, संसद् पवित्र स्थल हो । यो सुशासनको मन्दिर हो । सुशासनको मन्दिर र सम्मानित स्थलमा जनगुनासा र वास्तविक समस्या सबै जनप्रतिनिधिहरुले उठाउनुहुन्छ । जनताका गुनासालाई छिटो–छरितो रुपमा समाधानको प्रयास पनि गरिएको छ । सरकारले पनि प्राथमिकताका आधारमा समाधान गर्दै आएको छ । मैले प्रतिनिधित्व गर्ने इलामको हकमा दुई महिनाअघि त्यहाँका छुर्पी उद्यमीका समस्या पटक–पटक सदनमा उठाएको छु । उहाँहरुको समस्या भ्याट ९कर०सँग सम्बन्धित थियो । मैले इलाममा बाटो र पुलको कुरा पनि थिएँ । मैले समस्या उठान गरेपछि अहिले सरकार समस्या समाधानमा लागेको छ । यद्यपि प्रणालीभित्र केही कमीकमजोरी छैनन् भन्दिन, त्यसबाट पाठ सिकेर समाधान खोजिनुपर्छ भन्ने लाग्छ ।

    मुलुकबाट युवा जनशक्ति विदेश पलायन बढ्दो छ, विभिन्न तथ्याङ्कमा पनि त्यो देखिन्छ । त्यसलाई कसरी कम गर्न कसरी ?
जनशक्ति पलायन हुनु भनेको युवाको मात्रै विषय होइन, यो समग्र नेपालका सचेत नागरिकसँग जोडिएको विषय हो । युवा वा अर्को समूह छुट्याएर सोच्नु हुँदैन । विदेश पलायन हुनेमा युवा शक्ति मात्रै छैनन् । पचास वर्ष उमेर पुगेका पनि पलायन भएको देखिन्छ ।

उहाँहरु रोजगारी वा राम्रो सेवासुविधाका लागि पलायन हुनुभएको छ । हामीले युवा पलायनलाई रोजगारीसँग मात्रै जोडेर हेरेका छौँ, कुरा रोजगारीको मात्रै होइन । यसमा सरकारले जनतालाई उपलब्ध गराउने सेवासुविधाका विषय र प्रक्रियाले पनि प्राथमिक महत्व राख्छ । देशमा भएका कमीकमजोरी बुँदागत रुपमा टिपोट गर्नुपर्छ । समस्या सेवा, रोजगारी वा युवा उद्यमशीलता के हो रु त्यसपछि समाधानको उपाय खोज्नुपर्छ । जनताको स्वास्थ्य र शिक्षाको पनि कुरा हुनसक्छ । युवा पलायनलाई विभिन्न कोणबाट अध्ययन गरी समस्याको समाधान खोज्नुपर्छ । यससम्बन्धमा सरकारले पनि काम नगरेको होइन तर पर्याप्त छैन ।

    मुलुकलाई समृद्ध बनाउन के कसरी अघि बढ्नुपर्छ जस्तो लाग्छ ?
कृषि र पर्यटनमा अथाह सम्भावना छन्, त्यसैले रणनीतिक रुपमा यी क्षेत्रमा लगानी बढाउनुपर्छ । म सांसद भएपछि धेरै ठाउँको बाटो र सरकारी भवनको अनुगमन गर्न गएँ । सडकको गुणस्तर र मर्मतमा कमीकमजोरी भएको देखिन्छ । समयमै सडकलगायतका पूर्वाधार नबनाउँदा ८० प्रतिशत काम र लगानी भइसकेका आयोजना पुनः शून्यमा झरेको पनि अवस्था छ । मुलुकमा आर्थिक समृद्धि ल्याउन विशेषगरी कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने चाँडो लक्ष्य प्राप्तिमा पुग्न सक्छौँ भन्ने मेरो बुझाइ छ ।

वर्तमान सरकार गठनसँगै चर्चामा रहेको संविधान संशोधनको विषयमा तपाईंको धारणा के छ?
संशोधनभन्दा पनि पहिले संविधान कसरी प्राप्त गरियो भन्ने कुरा बुझन् जरुरी छ । अग्रजहरुको ठूलो सङ्घर्ष र बलिदानीबाट प्राप्त संविधान अहिले कार्यान्वयनमा छ । संविधानमाथि समीक्षा गर्नुपर्ने कैयौँ ठाउँ छन् । संविधान जारी भएपछि मानव अधिकारसँग सम्बन्धित विषय कति कार्यान्वयन गरियो त रु संविधान संशोधनभन्दा पनि कार्यान्वयनको पाटोलाई विशेष प्राथमिकतामा दिनु अहिलेको आवश्यकता हो । संविधानभित्रै रहेका व्यवस्था सुदृढ बनाउन ध्यान दिनुपर्छ । हामीले कानुन बनाउँछौँ, तर कानुन बनाएर मात्रै पुग्दैन त्यसको सही र प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य विषय हो । संविधान संशोधनभन्दा पहिला कार्यान्वयनको पाटोमा समीक्षा गर्नुपर्छ । संविधानको कुन भाग र धारामा अस्पष्टता छ, त्यसको समीक्षा गरेपछि मात्रै संशोधनको मार्ग तयार हुन्छ ।

मुलुक हाँक्ने जिम्मेवारीमा रहेका राजनीतिक दललाई तपाईंको सल्लाह र सुझाव के छ ?
संसद्भित्र यो वा त्यो पार्टीभन्दा पनि जनताको समस्या र देशको चुनौतीका विषयमा संवाद गर्नुपर्छ । कुनै पनि कुराको समाधान संवादमार्फत नै गर्न सकिन्छ । तर, संसद्मा दलहरुका बीचमा जुन प्रकारका गतिविधि भइरहेको छ, त्यसलाई उचित भन्न सकिन्न । हामी संयमित र संसदीय ढङ्गले एकजुट भएर अगाडि बढ्न जरुरी छ । यहाँ नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) मात्रै होइन, देशप्रति सम्पूर्ण पार्टीको उस्तै र उत्तिकै दायित्व छ । त्यो दायित्व सबैले निर्वाह गर्नुपर्छ ।

संसद्मा दलहरुले एकअर्काप्रति लक्षित गर्दै भ्रष्टाचार र सुशासनका विषयलाई तीव्ररुपमा उठाई रहनुभएको छ नि ?
मेरो फेरि पनि आग्रह छ, संसद् भनेको अनावश्यक टीकाटिप्पणी र गाली गलौज गर्ने ठाउँ होइन । त्यहाँ जुन तरिकाले कुराहरु उठ्छ, त्यो प्रमाणसहित सत्यतथ्यका आधारमा विषयवस्तु उठाइनुपर्छ । कुनै सांसदले गल्ती गरेको छभने त्यसलाई सुधार्न सिङ्गो पार्टी लाग्नुपर्छ । पूरै प्रणाली लाग्नुपर्छ । सच्याएर अगाडि बढ्नुको विकल्प हुँदैन ।

अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई बढाउन मलजल गरेको छ भन्ने कोणबाट कुरा उठाइन्छ यसमा तपाईंको धारणा के छ ?
हामीले निर्वाचन प्रणालीलाई मात्रै दोष दिएर हुँदैन । राजनीतिमा पढे-लेखेको वा जाने-बुझेका व्यक्तिलाई मात्र मापदण्डका रुपमा लिने गरेका छौँ । हामीले कहिले पनि इमान र निष्ठापूर्वक काम गर्ने मानिस चाहिएको छ भनेनौँ । त्यसकारणले निर्वाचनमा इमान र निष्ठापूर्वक काम गर्ने व्यक्तिलाई जिताएर पठाएऔँ भने निर्वाचन भड्किलो र महङ्गो हुँदैन । जनताको भावना, देशको परिस्थिति र भूगोललाई बुझ्ने व्यक्तिलाई छान्नुपर्छ ।

 आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?
नागरिकका सवाललाई सदनमा उठाउँदै आएको छु । उहाँहरुका सुझाव र सल्लाहलाई मनन गरेर अगाडि बढेको छु । म निर्वाचित भएको इलाम जिल्लाको सम्बन्धमा सेवायुक्त वा सुविधासम्पन्न बनाउन उपनिर्वाचन हुनुभन्दा पहिलेदेखि नै सबैसँग सल्लाह सुझाव लिएको थिए । सेवासुविधा बढाउन बाटो र पुलको अति आवश्यक भएकाले त्यसलाई नै प्राथमिकतामा राखेर काम गर्ने पहल गरिरहेको छु । इलामको शिक्षा र स्वास्थ्यलाई पनि मैले प्राथमिकतामा राखेको छु । हरेक सुखदुःखमा जनताका साथमै रहनेछु ।

केन्द्रीय कमिटी बैठकमा ओलीले भने- पार्टी विभाजन गर्न खोज्ने तत्वसँग जोगिनू

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् ।

आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार (२८ प्रतिशत) ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुद भएको बताए । उनले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रुपान्तरण गर्न आह्वान गरे । एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गरेको उनले जानकारी दिए । “वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ”, अध्यक्ष ओलीले भने,

“विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौँ ।”

नेता गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने भन्ने सन्दर्भमा उनी र पार्टी अध्यक्ष ओलीबीच आइतबार भएको संवाद र उक्त विषयबारे निर्णयमा पुग्नुपर्ने प्रस्ताव पनि बैठकमा आउने अपेक्षा गरे।

प्रचार विभागका प्रमुख गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्ठगनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छभने आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ ।

घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तासँग सोधपुछ गर्दै अख्तियार

काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ थालेको छ ।

अनुसन्धान अधिकृतको टोलीले घुस अडियोका बारेमा गुप्तासँग सोधपुछ गर्नुका साथै अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।

७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मंगलबार हाजिर हुन भनेको हो ।

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भएर भ्वाइस टेस्ट गर्न आउने बताएका छन् ।

गुप्ता एमाले केन्द्रीय सदस्यसमेत हुन् र उनी जारी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि ७८ लाख घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले पद गुमाएका थिए ।

तर गुप्ताले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन्। अडियो पनि आफ्नो नभएको जिकिर उनले गरिरहँदा अख्तियारले झिकाएको हो । उनले घुस बार्गेनिङ गरेपछि पैसाको झोला नै सरकारी निवासमा छाडेर गएको स्वीकारेका थिए । यसबारे उजुरी परेपछि अख्तियारले छानविन अघि बढाएको हो ।

पूर्वमन्त्री गुप्ताले घुस डिल गरेकोबारे अडियोसहित उजुरी परेकाले भ्वाइस टेस्ट गरेर अनुसन्धान अघि बढाउने तयारी अख्तियारले गरेको छ । अख्तियारको प्रारम्भिक  अनुसन्धान अडियो गुप्ताकै भएको खुलेको छ ।

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडानमा अवरूद्धता

वासिङ्टन । अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जारी गरेको सुझाबअनुसार आफ्ना सबै उडान अर्को सूचना नभएसम्मका लागि रोक्न अनुरोध गरेको छ ।

एयरलाइन्सले स्थानीय समयअनुसार आइतबार एएफपीसँग भनेको छ, “सूचना प्रविधिको अवरूद्धताको अनुभव गरिएको र यसले हाम्रो उडान सञ्चालनलाई असर गरिरहेको छ । कम्पनीले ‘समस्या समाधान नभएसम्म’ अलास्का र होराइजन एयरको उडानसम्बन्धी सेवा अस्थायीरूपमा रोक्न अनुरोध गरेको छ।

एफएएले कम्पनीका विमानको ग्राउन्ड स्टपबाट सबै गन्तव्यहरू प्रभावित भएको देखाएको छ। एएफपीले समस्याबारे टिप्पणीका लागि गरेको अनुरोधमा उसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अलास्का एयरलाइन्सले विमानस्थलमा जानुअघि यात्रुलाई आफ्नो उडानको अवस्था जाँच्न आग्रह गर्दै अवरोधका लागि क्षमा याचना गरेको छ। “यो असुविधाका लागि हामी हाम्रा पाहुना (यात्रु) सँग क्षमा याचना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

“साँझभरि हाम्रो अपरेसनमा अवशिष्ट प्रभावहरू हुनेछन्। एक्समा पनि पोस्ट गरिएको यो बयानले निराश यात्रुहरूको प्रतिक्रियालाई आकर्षित गर् यो।

“यो क्रूर छ। हामी दुई घण्टादेखि विमानस्थलमा बसिरहेका छौं,’ कालेब हेमलिच नामगरेका एक्स प्रयोगकर्ताले जवाफमा लेखेका छन्।

गत वर्ष जनवरीमा पोर्टल्याण्ड, ओरेगन र क्यालिफोर्नियाको ओन्टारियोबीच अलास्का एयरलाइन्सको उडानका क्रममा बोइङ ७३७ म्याक्स ९ को डोर प्लग सेक्शन विस्फोट भएको एक वर्षभन्दा बढी समयपछि यो घटना भएको हो।

शुक्रबार १७१ यात्रु र चालक दलका छ सदस्य रहेको विमानमा गहिराइबाट आरोहणको समयमा अनुभव गरिएको दबावको कमीसम्बन्धी परिवेशबाट बच्न सफल भएपछि एफएएले अमेरिकी एयरलाइन्सद्वारा सञ्चालित अधिकांश बोइङ ७३७–९ विमानहरू ग्राउन्डेड गरिएको हो।

गत महिना अमेरिकी अनुसन्धानकर्ताहरूले बोइङले उत्पादन मूलक कर्मचारीलाई पर्याप्त तालिम दिन नसक्नु अलास्का एयरलाइन्सको विमान दुर्घटनाको मुख्य कारण भएको बताएका थिए।

अलास्का एयर ग्रुपसँग २३८ बोइङ ७३७ र ८७ एम्ब्रेयर १७५ विमान गरी ३२५ विमान छन्।

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

बेइजिङ  । व्यापारदेखि युक्रेन द्वन्द्वसम्मका विभिन्न विवादलाई सुल्झाउने प्रयास गरिरहेका चीन र युरोपेली सङ्घ (इयु) का शीर्ष नेताहरूले यस साता बेइजिङमा शिखर सम्मेलन गर्ने भएका छन् ।

बेइजिङ र ब्रसेल्सले आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउन तयारी गरिरहेका छन्, तर राज्य अनुदान, बजारमा पहुँच र युद्धकालीन प्रतिबन्धहरूमाथि भएको झगडाले वार्षिकोत्सवलाई कमजोर बनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बिहीबार भ्रमण गर्ने पुष्टि गरेका छन् ।

बुधबार जापानमा छुट्टै बैठकको समापनपछि कोस्टा र भोन डेर लेयनले बेइजिङमा हुने इयु–चीन शिखर सम्मेलनमा भाग लिने इयुले शुक्रबार बताएपछि यो बयान आएको हो ।

कोस्टा र भोन डेर लेयनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । सीसँग उनीहरूले इयु–चीन सम्बन्ध र युक्रेनमा रुसको युद्ध लगायत वर्तमान भू–राजनीतिक चुनौतीहरूबारे छलफल गर्ने इयुको विज्ञप्तिमा उल्लेख छ ।

ब्लकका अनुसार चिनियाँ प्रधानमन्त्री ली कियाङसँग उनीहरूले सम्बन्धको व्यापारिक र आर्थिक पक्षहरूलाई विस्तृत रूपमा समेटछन् ।

“यो शिखर सम्मेलन चीनसँग उच्च स्तरमा संलग्न हुने र हामी दुवैका लागि महत्त्वपूर्ण मुद्दाहरूमा स्पष्ट, रचनात्मक छलफल गर्ने अवसर हो”, कोस्टाले भने, “हामी संवाद, वास्तविक संलग्नता र ठोस प्रगति चाहन्छौँ । हामी दुवै पक्षका लागि निष्पक्ष, सन्तुलित सम्बन्धको लक्ष्य राख्छौँ ।”

व्यापारिक तनावले बैठकको तयारीमा छाया पारेको छ । ब्लुमबर्ग न्युजले यस महिना चीनले मूलतः दुई दिने शिखर सम्मेलनको एक भाग रद्द गर्ने रिपोर्ट गरेको छ ।

दुवै पक्षले निष्पक्ष व्यापारको सिद्धान्तको उल्लङ्घनका रूपमा देखेका कुराहरूका लागि एकअर्काको आलोचना गरेका छन् ।

भोन डेर लेयनले यस महिना इयुले बेइजिङसँगको आफ्नो व्यापक व्यापार घाटालाई सम्बोधन गर्न खोजेको बताए । यो व्यापार घाटा गत वर्ष तीन खर्ब ५७ अर्ब डलर थियो ।

उनले ब्रसेल्सले पनि चीनसँग युरोपेली कम्पनीहरूका लागि बजार पहुँच सजिलो बनाउन र रणनीतिक रूपमा महत्त्वपूर्ण दुर्लभ खनिज तत्वहरूमा निर्यात नियन्त्रणहरू खुकुलो बनाउन माग गर्ने बताए ।

आफ्नो तर्फबाट बेइजिङले इयुले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने र ‘मतभेद र घर्षणहरूलाई उचित रूपमा सम्हाल्नुपर्छ’ भनेको छ ।

– अनुदान, शुल्क, युक्रेन युद्ध –

तनावलाई बढाउँदै इयुको डाटा गोपनीयता प्रहरीमा सहयोग गर्ने एक आइरिस नियामकले यस महिना उसले चीनमा सर्भरहरूमा युरोपेली प्रयोगकर्ताहरूको व्यक्तिगत डाटाको भण्डारण गरेको कथित आरोपमा टिकटक विरुद्ध अनुसन्धान सुरु गरेको बताएको छ ।

डाटा संरक्षण आयोगले पहिले नै टिकटकलाई मे महिनामा चीनमा व्यक्तिगत डाटा पठाएका कारण ५३ करोड युरो (६२ करोड डलर) जरिवाना गरिसकेको छ । टिकटकको मूल कम्पनी बाइटडान्स चिनियाँ कम्पनी हो ।

टिकटकले जरिवानामा अपिल गर्ने योजना रहेको बताएको छ र बेइजिङले चिनियाँ फर्महरूलाई प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा ‘अवैध रूपमा’ सङ्कलन र भण्डारण गर्न आग्रह गरेको कुरा अस्वीकार गरेको छ ।

बेइजिङको औद्योगिक अनुदानले युरोपेली प्रतिस्पर्धीहरूलाई अनुचित रूपमा कम गरिरहेको भन्दै इयुले चीनबाट आयात हुने विद्युतीय सवारी साधनहरूमा पनि भारी भन्सार शुल्क लगाएको छ ।

बेइजिङले त्यो दाबीलाई पनि अस्वीकार गरेको छ र आयातित युरोपेली सुँगुरको मासु, ब्रान्डी र डेरी उत्पादनहरूमा व्यापक रूपमा प्रतिशोधात्मक जाँचका रूपमा हेरिएको घोषणा गरेको छ ।

यसैबीच युक्रेनको युद्ध अर्को विवादको विषय भएको छ । इयुले चीनले रुसको आक्रमणलाई मौन समर्थन गरिरहेको धारणा बनाएको छ । इयुको उक्त आरोपलाई बेइजिङले अस्वीकार गरेको छ ।

गत हप्ता ब्रसेल्सले रुसको तेल राजस्व, बैंकिङ क्षेत्र र सैन्य क्षमताहरूलाई अवरुद्ध लक्ष्य राखेको नयाँ प्रतिबन्धको प्याकेज घोषणा गरेको थियो । यसमा केही चिनियाँ कम्पनी र वित्तीय संस्थानहरू पनि समावेश थिए ।

बेइजिङको वाणिज्य मन्त्रालयले सोमबार यस कदमको कडा आलोचना गर्दै भन्यो, “यसले चीन–इयु आर्थिक र व्यापारिक सम्बन्धहरूमा गम्भीर नकारात्मक प्रभाव पारेको छ ।”

कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृत्यु

पोखरा । पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् ।  ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना डिकेक्ट भएको र हिजो मृत्यु भयो भन्ने आएको छ,’ उनले भने ।

अब बालुवाटार र नक्सालमा पनि मेलम्चीको खानेपानी

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, नक्साल, भाटभाटेनी पूर्वलगायत क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवका अनुसार खानीपानी पठाउनका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले अब चाँडै सो क्षेत्रमा मेलम्चीको खानेपानी पुग्नेछ ।

खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा आज बालुवाटार क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतको ‘पाइपलाइन’ बिछ्याइएको क्षेत्रमा अनुगमन तथा निरीक्षणपछि उनले पाइपलाइन बिछ्याउने कार्य सफल भएकाले चाँडै मेलम्चीको खानेपानी वितरण गरिने बताए ।

मन्त्री यादवले भने, “बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिछ्याइएको प्राइमरी पाइपलाइन सफलतापूर्वक सम्पन्न गरिएको छ । अब चाँडै मेलम्चीको खानेपानी वितरण गर्छौं ।”

हाल पाइपलाइनको दबाब परीक्षण ‘प्रेसर टेस्ट’ को तयारी तथा कार्यसम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि बालुवाटार, नक्साल (भाटभटेनी पूर्व), टुडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरू गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

उनका अनुसार पानी वितरणपश्चात् उक्त क्षेत्रका करिब तीन हजार ५०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । काठमाडौँ उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्यअनुरूप उक्त पाइपलाइन बिछ्याउने कार्य निर्माण गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना प्रबन्धक अमित रञ्जितले जानकारी दिए ।

रिद्धि सिद्धि सिमेन्ट लि.को “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८२” छात्रवृत्तिको कार्यक्रम सम्पन्न

काठमाडौँ। रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि पुन आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८२” को छात्रवृत्ति कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको छ ।

यस छात्रवृत्ति कार्यक्रममा कुल १८७ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धि सिमेन्ट लि. ले आयोजना गरेकोे यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरिएको थियो ।

यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याएकी अनुषा उप्रेती, अस्मिता घिमिरे, अनुप्रस्था देवकोटा र बिमर्श श्रेष्ठलाई सम्मान स्वरूप नगद रु ५,००१ प्रत्येकलाई प्रदान गरिएको थियो । साथै यस कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत श्री गुणराज प्रसाद न्यौपाने ज्युको गरिमामय उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो।

त्यस साथै मकवानपुर जिल्लाबाट एस.ई.ई मा उत्कृस्ट अंक ल्याउने सफल बिद्यालय बाल जागृति इंग्लिश बॉर्दिङ्ग स्कूल, नवोदय शिशु सदन, श्री बाल ज्योति सेकेण्डरी स्कूल साथै सोलिडारिटी ईन्टरनेशनल एकेडेमीका प्रधान अध्यापक तथा प्रतिनिधि , सुरक्षा प्रदान गरिदिनु हुने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा विकास महाशाखा, सन्चो हस्पिटल, पिप्ले युवा क्लब, हेटौडा उप महानगरपालिका वडा नं ५ तथा सम्पूर्ण संस्थाहरुलाई हार्दिक कृतज्ञ अर्पण गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको थियो । यसका साथै बिद्यार्थी, अभिभावक, बिद्यालयका प्रधान अध्यापक, शिक्षक बर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/-, दोश्रो हुनेलाई रु. ३५००/-, तेश्रो हुनेलाई रु. २५००/- साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/- एक वर्षसम्म उपलब्ध गराइने छ ।

उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा कम्पनीकोे आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) तथा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा प्रकाशित गरिनेछ ।

 

एमाले केन्द्रीय कमिटीको नवौं बैठक (तस्बिरमा हेर्नूहोस्)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको बैठकमा पार्टी विधानका विषयमा छलफल हुनेछ । बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ ।

 

अध्यागमन कार्यालयमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

काठमाण्डौं । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए।

“ लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ ।” उनले भने– “अध्यागमन कार्यालयमा प्रमुखका रुपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ ।” विमानस्थलस्थित अध्यागमनको प्रमुखका रुपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन ।

केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो ।त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ । “ विमानस्थलबाट आएका अधिकृतहरु मन्त्रालयमा दरबन्दी मिलान हुन्छ ।” गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिब सुरेश जोशीले भन्नुभयो–“ दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालय मार्फत बाहिर पठाउने काम हुन्छ ।” उनले दरबन्दी अनुसार मात्रै मन्त्रालयले अधिकृतहरु राख्ने बताए ।

त्यस्तै सरकारले पुर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानविन समिति गठन गरेको छ ।

उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानविन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवं संरचनागत सुधारको तत्कालिन र दीर्घकालिन कार्ययोजना प्रश्तुत गर्ने लगायत कार्यादेश दिईएको छ । समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदाबारे छलफल हुनेछ ।

केन्द्रीय कमिटीको बैठक मङ्गलबारसम्म चल्नेछ । यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्यूरो बैठकबाट विधान सशोधनको प्रस्ताव पारित भएको थियो ।

बैठकको सुरुवमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एकवर्ष, पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयबारे जानकारी गराउनेछन् । महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्नेछ ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइने बताए।

बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सदस्यबाहेक करिब २३० केन्द्रीय सदस्यले धारणा राख्न सक्नेछन् । विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारीमा ७० वर्षे उमेर हद र एकै पदमा दुई कार्यकाल बस्न नपाइने व्यवस्था हटाउने प्रस्ताव रहेको जनाइएको छ ।

एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने तय भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेको विषयमा पनि केन्द्रीय कमिटीमा विषय उठ्ने जनाइएको छ ।

 

बाढीपहिरोका कारण देशका मुख्य ६ राजमार्ग अवरुद्ध, ५ राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौँ । देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल

काठमाडौँ  ।  पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

आज सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्नुहुँदै उनले सो कुरा बताएका हुन् ।

भेटका क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याए ।

‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,’ अध्यक्ष दाहालले भने, ‘राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’

सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र दाहाल प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताईएको छ ।

पार्टी सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो: विद्या भण्डारी

काठमाडौं । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् ।

आइतबार पार्टी कार्यालय च्यासलमा भएको भेटपछि भण्डारीले सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले पार्टीको सदस्यता नवीकरण भइसकेको बताएकी हुन् ।

ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् ।

‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’

उनीहरूबीच करिब २ घण्टा एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो ।

सिरहा कारागरमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते

जनकपुरधाम । सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएका छन् ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो ।

कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतोसहितका कैदीहरु घाइते भएका हुन् । उनीहरुलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएको छ । अहिले कारागारको अवस्था तनावग्रस्त छ । झडपपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ बरालले बताए ।

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो । उनीहरूबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ । यद्यपि, छलफलको विषय बाहिर आएको छैन ।

ओली-भण्डारी च्यासलबाट बाहिरिसकेका छन् ।

पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण छ: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण रहेका बताएका छन् ।

ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा पार्टी भट्टराईले यस्तो बताएका हुन् ।

यो भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण छ । हाम्रो पार्टीभित्र उत्पन्न विषय कसरी हल गर्ने भन्ने मोडल पनि यसबाट निस्कनुपर्छ,’ भट्टराईले भने ।

पार्टी बैठकमा नेताहरूले राखेको सुझाव अनुसार नै आज भेटवार्ता भएको भट्टराईले बताए । भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय भने प्राविधिक रहेको जिकिर गरे ।

विद्या भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गर्नुभएको थियो: कर्ण थापा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा उनले यस्तो बताएका हुन् ।

हिजो मात्रै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरणको विषय पेन्डिङमा रहेको बताएका थिए ।

तर, हिजो र अस्ति दुई दिन बसेको बैठकमा सदस्यताबारे कुनै निर्णय नभएको बताउँदै अघिल्लो वर्षको सदस्यता नवीकरण एक वर्ष अघि नै भएको र यो वर्षको पनि नवीकरण भइसकेको उनले दाबी गरे ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नूहोला ।

https://www.facebook.com/share/v/1Erd2up5uX/

विद्या भण्डारीको सदस्यता नवीकरण दुई वर्ष पहिल्यै भएको होः सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिला नै भइसकेको बताएका छन् ।

आइतवार पार्टी केन्द्रीय कायालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नवीकरण भइसकेको बताएको उल्लेख गरे । पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताएको जानकारी दिए।

महासचिवले नै विद्या भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

उनले अहिले पार्टी राजनीतिबारे बाहिर आइरहेका विषयमाथि उनीहरूबीच छलफल चलिरहेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि २६ सम्म बेलायत र माल्दिभ्सको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

माल्दिभ्सका प्रधानमन्त्री मोहम्मद मुइज्जुको निमन्त्रणामा माल्दिभ्सको राजकीय भ्रमण र बेलायतका प्रधानमन्त्री केइर स्टारमरको निमन्त्रणामा प्रधानमन्त्री मोदीले बेलायतको भ्रमण गर्न लागेका हुन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको यो चौथो बेलायत भ्रमण हुनेछ । उनले आफ्ना बेलायती समकक्षीसँग भारत–बेलायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे विस्तृत छलफल गर्नेछन् । उनीहरूले क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि विचार आदानप्रदान गर्नेछन् ।

प्रधानमन्त्री मोदीले बेलायतका राजा चाल्र्स तृतीयसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा दुवै पक्षले व्यापार र अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, रक्षा र सुरक्षा, जलवायु, स्वास्थ्य, शिक्षा र जनस्तरको सम्बन्धमा विशेष ध्यान केन्द्रित गर्दै विस्तृत रणनीतिक साझेदारी (सिएसपी) को प्रगतिको समीक्षा गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले माल्दिभ्स गणतन्त्रका राष्ट्रपति डा मोहम्मद मुइज्जुको निमन्त्रणामा जुलाई २५ र २६ मा माल्दिभ्सको राजकीय भ्रमण गर्नेछन् । प्रधानमन्त्रीको माल्दिभ्सको यो तेस्रो भ्रमण हो भने डा. मोहम्मद मुइज्जुको अध्यक्षतामा कुनै पनि राष्ट्र वा सरकार प्रमुखको माल्दिभ्सको पहिलो भ्रमण हुनेछ ।

सन् २०२५ को जुलाई २६ मा माल्दिभ्सको स्वतन्त्रताको ६० औँ वर्षगाँठको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री मोदी ‘गेस्ट अफ अनर’ हुने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले डा मोहम्मद मुइज्जुसँग भेटवार्ता गर्नुका साथै पारस्परिक हितका विषयमा छलफल गर्नेछन् । दुवै नेताले अक्टोबर २०२४ मा माल्दिभ्सका राष्ट्रपतिको भारत भ्रमणका क्रममा अपनाइएको ‘व्यापक आर्थिक र सामुद्रिक सुरक्षा साझेदारी’ का लागि भारत–माल्दिभ्स संयुक्त दृष्टिकोणको कार्यान्वयनको प्रगतिको पनि समीक्षा गर्नेछन् ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले आफ्नो सामुद्रिक छिमेकी माल्दिभ्सलाई भारतले दिएको महत्वलाई प्रतिबिम्बित गर्दछ । यसले भारतको ’छिमेक पहिलो’ नीति र भिजन महासागरमा विशेष स्थान ओगटेको छ । यो भ्रमणले दुवै पक्षलाई घनिष्ठ द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउने अवसर प्रदान गर्नेछ ।”

विश्वको नजर नेपाली क्रिकेटमाथि, भारतले दिँदै विशेष स्थान

काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेका नेपाली क्रिकेट टोलीले दोस्रो चरणको प्रशिक्षण भारतमा गएर गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार हाल बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडी मध्ये २० खेलाडीहरुले भारतको बेंगलोरमा गएर दोस्रो चरणको प्रशिक्षण गर्ने भएका हुन् ।

नेपालस्थित भारतीय दुतावासको सहकार्य र द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को सहयोगमा नेपाली टिमले भारतको बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा गएर तयारी गर्ने क्यानले जनाएको छ । उक्त प्रशिक्षण जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म हुने छ ।

भारतमा प्रशिक्षणमा सहभागी हुने खेलाडीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह रहेका छन् । यस्तै विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकारले पनि भारतमा गएर प्रशिक्षण गर्ने भएका छन्। बाँकी खेलाडीका लागि भने नेपालमै प्रशिक्षण सञ्चालन गर्ने क्यानको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एकातिर कीर्तिपुरमा रहेको टीयू मैदानमा पारापिट र फ्लड जडान कार्य भइरहेकोले नेपाली टोलीले भारतमा गएर प्रशिक्षण गर्न लागेको हो भने अर्कोतिर भारतले पछिल्लो समय नेपाली क्रिकेटमा सहयोग गरिरहेको छ । नेपाली टिमले यसअघि पनि विभिन्न अवसरमा भारतमा गएर प्रशिक्षण गर्दै आएको छ ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दले पनि केही दिनअघिको कार्यक्रममा भारतीय दुतावास र बीसीसीआईले आन्तिरिक रुपमा नेपाली क्रिकेटलाई धेरै सहयोग गरिरहेको बताएका थिए ।

नेपालस्थित भारतीय दुतावासले पनि शुक्रबार आफ्नो अफिसियल फेसबुक पेजमा बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा विशेष प्रशिक्षण शिविरको साथ नेपाल क्रिकेट टोलीलाई सहयोग गर्न पाउँदा खुशी छौँ भन्दै पोष्ट गरेको थियो । यस्तै केही दिनअघि नेपालस्थित भारतीय दुतावासले नेपाली युवाका लागि राजदूत क्रिकेट फेलोशिप’ अन्तर्गत नेपालका तीन युवा खेलाडीलाई भारतमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएको छ ।

यस्तै यू-१९ महिला टिमलाई पहिलो पटक यू-१९ विश्वकपमा पुर्‍याएर नेतृत्व गरेकी तथा हाल सिनियर राष्ट्रिय टिमकी उपकप्तान समेत रहेकी पुजा महतो सहित यू-१९ पुरुष टिमका कप्तान नरेन भट्ट र साहिल पटेलका लागि एलबी शास्त्री क्रिकेटशालामा एक महिना लामो उच्चस्तरीय व्यावसायिक प्रशिक्षणको व्यवस्था मिलाएको हो ।

पछिल्लो समय भारतले नेपाली क्रिकेटलाई विशेष स्थान दिँदै सहयोग गर्दै आएको छ । यसअघि भारतकै मोन्टी देसाई प्रशिक्षक हुँदा पनि भारतमा लगेर प्रशिक्षण गर्नका लागि सहयोग गरेको थियो ।

क्रिकेटमै विश्वकै चर्चित र महाशक्ति टिम मानिने भारत नेपालको छिमेकी हुँदा नेपाली क्रिकेटले पनि विस्तारै त्यहाँबाट सहयोग र फाइदा लिने अवसर पाएको छ । पछिल्लो पटक क्यान नेतृत्वले पनि भारत सरकार देखि बीसीसीआईसँग नेपाली क्रिकेट विकासका लागि सहयोग गर्न पहल गरिरहेको छ । त्यसको सकरात्मक असर पनि देखिन थालेको छ ।

भारतको उच्च पहलबाट नै नेपाली क्रिकेटको सरोकारवाला व्यक्तिहरु देखि खेलाडीहरुलाई नै भेट गर्ने क्रम समेत बढेको छ । गत वर्ष भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग भेट गर्ने इच्छा राखेपछि क्यान पदाधिकारी देखि खेलाडीहरु नै गएर उनलाई भेटेका थिए । अचानक भएको उक्त भेटमा विदेशमन्त्री जयशङ्करले नेपाली क्रिकेटको पछिल्लो उपलब्धिहरूमा खुशी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न भारत इच्छुक रहेको सुनाएका थिए । त्यस भेटमा नेपाली क्रिकेटलाई कस्तो खालको सहयोग गर्न सकिन्छ भनेर छलफल समेत भएको थियो ।

छलफलपछि विदेशमन्त्री जयशङ्करले बीसीसीआईमा पत्र पठाउन क्यानलाई सुझाव दिएका थिए र त्यसलगत्तै क्यानले बीसीसीआईलाई पत्र पठाएर यस बारे जानकारी समेत गराएको थियो ।

सन् २०२३ मा भएको एसिया कपमा नेपालले विश्वका हस्ती टिम भारत र पाकिस्तानसँग खेल्दै उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण एसिया मात्र नभई विश्व क्रिकेटकै नजर नेपालमाथि परेको थियो ।

पाकिस्तान र श्रीलंकामा भएको उक्त एसिया कपमा नेपालले भारतसँग श्रीलंकाको मैदानमा उक्त खेल खेलेको थियो । त्यसबेला नेपालले भारत विरुद्ध २३० रन बनाएको थियो । पछि डिएल मेथडमा भारत १० विकेटले विजयी भएपनि नेपाली खेलाडीको प्रदर्शन र नेपाली क्रिकेटले भने विशेष चर्चा कमाएको थियो । जसले गर्दा नेपाली क्रिकेटका बारे धेरैले खोजि खोजी अध्ययन गर्न थालेका थिए ।

यस्तै अहिले नेपाली राष्ट्रिय टिममा खेलिरहेका अधिकांश खेलाडी देखि नेपाली युवा क्रिकेटरहरुका लागि प्रारम्भिक क्रिकेट प्रशिक्षणको सुरुवात पनि भारतबाटै भएको छ । यस्तै केही खेलाडीहरु व्यक्तिगत पहलमा भारतमै गएर अझै पनि प्रशिक्षण गर्दै आएका छन् । यसको मुख्य उदाहरणको रुपमा गण्डकी प्रदेशका अर्जुन कुमाल छन् ।

उनी नेपाली टिमबाट खेल्न र राष्ट्रिय टिमहरुबाट खेल्ने समयमा नेपाल आउँछन् भने अन्य समयमा भारतमै गएर प्रशिक्षण गर्छन् । यस्तै अन्य खेलाडीका लागि पनि नेपालमा खेल नहुँदा प्रशिक्षण गर्ने र थप तयारी गर्नका लागि भारत नै गन्तव्य बन्दै आएको छ ।

 

विद्यादेवी भण्डारी र केपी ओली च्यासलमा आमने-सामने

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।

एमाले मुख्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच  वान टु वान वार्ता सुरु भएको हो ।

दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर ढिलोगरी सुरु भएको हो ।

सक्रिय राजनीतिमा फर्कने घोषणा पछिको ओलीसँग विद्याको यो पहिलो भेटवार्ता हो । एमालेमा पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिको घोषणा गरेको विषयले नयाँ बहस निम्त्याएको छ ।

अध्यक्ष ओलीले भने भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए । एमालेमा ओली–विद्या गुट सुरु भएको समेत आंकलन गरिएको लगायतका अवस्थाका बीच दुई जनामा वान टु वान वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

रुपन्देही-३ उपनिर्वाचन: असोज २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौँ ।  रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले निर्वाचनका कार्यक्रम स्वीकृत भएको जानकारी गराएकी हुन् ।

अर्यालका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवार सूची प्रकाशन गरिनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने म्याद असोज २२ गते दिउँसो ३ बजेसम्म हुनेछ भने सोही उजुरीको जाँचबुझपछि असोज २३ गते बेलुका ७ बजेसम्म अन्तिम सूची प्रकाशन गरिनेछ । नाम फिर्ता असोज २४ गते दिउँसो १ बजेभित्र गर्न सकिनेछ । त्यही दिन अन्तिम उम्मेदवार सूची प्रकाशन तथा निर्वाचन चिह्न वितरण गरिनेछ । मतदान कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ ।

समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानबारे पनि आयोगले जानकारी गराएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उक्त क्षेत्रबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि उक्त क्षेत्र खालि छ । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लगातार दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ।

सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो । आईसीसीको वार्षिक कन्फरेन्समा यो अवार्ड क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले ग्रहण गरे।

क्यानले लगातार दुई वर्ष यो अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

यो समूहमा क्षेत्रीय विजेताको रुपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालयमा (तस्बिरहरू)

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा पुगेकी छिन् । आइतबार दिउँसो एमाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् ।

 

एमालेलाई सक्रिय राजनीतिमा आउन सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहेका बेला पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् ।

भण्डारीको सचिवालयका अनुसार एमालेमा सक्रिय हुनेबारे ओली र भण्डारीबीच कुराकानी हुनेछ । दुई नेताबीच ४ बजे भेटवार्ता हुने एमाले केन्द्रीय कार्यालय च्यासलले जनाएको छ ।

 

प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताएका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको टोलीले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मस्यौदामा संशोधनका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचनभित्र समानुपालितक प्रतिनिधित्व जरुरी भएको बताए।

“निर्वाचन विधेयकमा आएको संशोधनका विषयमा म पार्टीभित्र र अन्य राजनीतिक दलहरुसँग पनि सल्लाह गर्छु”, सभापति देउवाले भन, “प्रत्यक्ष निर्वाचन प्रणाली जनतासम्म पुग्ने मुख्य आधार हो, प्रत्यक्षभित्र पनि समानुपातिक सहभागिता चाहिन्छ ।”

मञ्चका अध्यक्ष विश्वकर्माले बुझाएको विभिन्न २१ बुँदे सुझावपत्रमा महिला तथा महिलाभित्रको अन्तर–सामुदायिक समावेशीलाई सम्बोधन गर्न प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको जनसंख्याको आधारमा कम्तीमा ५० प्रतिशत उम्मेदवारको व्यवस्था गरिनुपर्ने, दलित महिलालाई अल्पसंख्यक महिलाहरुद्वारा प्रतिस्थापन गर्ने प्रस्तावमा दलित महिलालार्ई राजनैतिक सहभागिताको अधिकारबाट वञ्चित गर्ने हुँदा उक्त संशोधनको व्यवस्थालाई अविलम्ब हटाउनुपर्नेमा जोड दिइएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचनमा महिला र दलितका लागि चक्रीय प्रणालीबाट निर्वाचन क्षेत्र तोकिने गरी महिलाका लागि ५० प्रतिशत दलितका लागि १३ प्रतिशत निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने उनीहरुको माग छ ।

हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

हा लङ बे (भियतनाम) । भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाको खोजी गरिरहेका छन् ।

भियतनामको प्रसिद्ध हा लङ बे वरिपरि परिवारहरूलाई घुमाउँदै गरेको पर्यटक डुङ्गालाई शनिबार अकस्मात् आएको आँधीले प्रहार गरेको थियो । यो युनेस्को विश्व सम्पदा स्थलको सबैभन्दा घातक प्रकोपहरू मध्ये एक थियो ।

भिएनएक्सप्रेस समाचार साइटका अनुसार अचानक भारी वर्षाका कारण पल्टिएको ‘वन्डर सी’ नामक जहाजमा ४८ यात्रु र पाँच चालक दल सदस्य सवार थिए ।

“आकाश अँध्यारो भयो”, हा लङ बे क्षेत्रका बासिन्दा ट्रान ट्रोङ हङले एएफपीलाई भन्नुभयो, त्यहाँ “मुसलधारे वर्षा, आँधीबेहरी र चट्याङसहित औँला बराबरका ठूला असिनाहरू आए ।”

यात्रुहरूमा २० भन्दा बढी बालबालिका सहित राजधानी हनोईबाट आएका गर्ने परिवारहरू अधिकांश थिए । शनिबार साँझसम्म सीमा रक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए र ३४ जनाको शव बरामद गरेका थिए ।

रातभर क्याबिनमा तीनजना चालक दलका सदस्यहरूको शव फेला परेको थियो र अझै पनि बेपत्ता रहेका पाँच जनालाई फेला पार्न आइतबार बिहानसम्म उद्धार कार्य जारी रहेको थियो ।

उद्धार गरिएका मध्ये एक जनाको आइतबार अस्पतालमा मृत्यु भएको र मृतकको सङ्ख्या ३८ पुगेको भिएनएक्सप्रेसले जनाएको छ ।

उद्धार गरिएकाहरू मध्ये एक १० वर्षीय केटाले राज्य सञ्चारमाध्यम भियतनामनेटलाई भने, “मैले गहिरो सास लिएँ, एउटा खाली ठाउँबाट पौडिएँ, डुबेँ र त्यसपछि माथि पौडिएँ, मैले सहायताका लागि चिच्याएँ, त्यसपछि सिपाहीहरू भएको डुङ्गाले मलाई तान्यो ।”

प्रधानमन्त्री फाम मिन्ह चिनले शनिबार मृतकका आफन्तप्रति समवेदना प्रकट गर्दै रक्षा तथा जनस्वास्थ्य मन्त्रालयलाई तत्काल खोजी र उद्धार कार्य गर्न आग्रह गरेका थिए ।

“अधिकारीहरूले घटनाको कारण अनुसन्धान र स्पष्ट पार्नेछन् र उल्लङ्घनहरूलाई कडाइका साथ नियन्त्रणमा लिनेछन्”, सरकारी विज्ञप्तिमा भनिएको छ ।

शनिबार उत्तरी हनोई, थाई गुयेन र ब्याक निन्ह प्रान्तमा पनि भारी वर्षा भएको छ । तीव्र हावाहुरीका कारण राजधानीमा धेरै रुखहरू ढलेका छन् ।

यो आँधी तीन दिनको तीव्र गर्मीपछि आएको थियो । भियतनाममा केही क्षेत्रमा पारा ३७ डिग्री सेल्सियस (९९ डिग्री फारेनहाइट) पुगेको थियो ।

नेसनल सेन्टर फर हाइड्रोमेटियोरोलोजिकल फोरकास्टिङका निर्देशक माई भान खिमले भिएनएक्सप्रेसमा उद्धृत गर्दै उत्तरी भियतनाममा आँधीबेहरी दक्षिण चीन सागरमा उष्णकटिबन्धीय आँधी विफाको प्रभावका कारण नभएको बताए ।

विफा आइतबार दक्षिण चीन सागरमा प्रवेश गर्दै शक्ति बढाउँदै छ र अर्को हप्ताको सुरुमा भियतनाममा आउने बाटोमा छ ।

हा लङ बे भियतनामको सबैभन्दा लोकप्रिय पर्यटन गन्तव्यहरू मध्ये एक हो । लाखौँ मानिस प्रत्येक वर्ष यसको निलो–हरियो पानी र वर्षावन–शीर्ष चुनढुङ्गाका टापुहरू हेर्न आउँछन् ।

गत वर्ष टाइफुन यागीले तीव्र हावा र छालहरू ल्याएपछि हा लङ खाडीको किनारमा रहेको तटीय क्वाङ निन्ह प्रान्तको डुङ्गा लक क्षेत्रमा ३० वटा जहाज डुबेका थिए ।

यस महिना इन्डोनेसियाको लोकप्रिय रिसोर्ट टापु बालीमा एउटा डुङ्गा डुबेर कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

छाउगोठमा मृत्यु भएकी दमाईंको परिवारलाई ५० हजार सहयोग

दोधारा चाँदनी कञ्चनपुर),। छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।

नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । “अहिले मृतकको परिवारलाई ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेका छौँ”, उनले भने, “मृतकका तीन बालकको पढाइका विषयमा छलफल गरेर निर्णय गर्नेछौँ ।”

समाजमा रहेको कुप्रथाबाट अकालमा ज्यान गुमाउनु परेको बताउँदै नगरप्रमुख ओझाले यस्ता कुप्रथाको अन्त्यका लागि नगरभित्रका छाउगोठ भत्काउने अभियान सुरु भइसकेको जानकारी दिए ।

“हामीले छाउगोठ भत्काउने अभियान सुरु गरिसकेका छौँ । महिनावारी भएको समयमा महिलालाई सुरक्षित तरिकाले बस्ने वातावरणका लागि अभियानसहित जनचेतनामूलक अभियान चलाउन लागिरहेका छौँ”, उनले भने, “छाउगोठ राख्नेलाई पालिकाले दिने सामाजिक सुरक्षाभत्ता, सिफारिसलगायत सेवा सुविधामा रोक लगाउँछौँ ।” उनले प्रशासनसँग छलफल गरेर छाउगोठ नभत्काउने परिवारलाई विद्युत् सेवाबाटसमेत वञ्जित गराउने तयारी भइरहेको बताए ।

गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया दमाईंको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।

परराष्ट्रले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आएलग्त्तै परराष्ट्र मन्त्रालय तयारीमा जुटेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने निश्चित भएपछि त्यसको तयारीमा मन्त्रालय जुटेको बताए ।

प्रधानमन्त्रीको दुई दिने भारत भ्रमणमा के के विषयमा छलफल हुने भन्नेबारे प्रधानमन्त्री कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।

 

बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल

नवलपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताएका छन् ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उनले सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताए।
“बालबालिकामा हुने मधुमेह परीक्षण र उपचारका लागि सातवटै प्रदेशमा निःशुल्क गर्नेगरी हामीले काम अगाडि बढाइरहेका छौँ”, स्वास्थ्यमन्त्री पौडेलले भने, “बुढ्यौलीतर्फ उमेर ढल्किँदै गएपछि मधुमेह हुन्छ भन्ने मानसिकता समाजमा रहेको छ, तर बच्चाहरुलाई पनि यो रोग लाग्ने रहेछ ।” नेपालको स्वास्थ्य व्यवस्थामा बालबालिकामैत्री विशेष कार्यक्रम ल्याउनु जरुरी रहेको मन्त्री पौडेलको भनाइ छ ।
वंशानुगत रोगसहितका अन्य रोगका बारेमा विशेष कार्यक्रम ल्याएर बालबालिकालाई सम्बोधन गर्नुपर्ने उनले बताए। “पछिल्लो समय समाजमा बालबालिकाका विषयमा थुप्रै समस्या देखिएका छन्”, उनले भने, “मोबाइल, टिभी, ल्यापटपसहितका डिजिटल उपकरण प्रयोग गर्न स्क्रिनमा हेर्ने विषयले समस्या निम्त्याउँदै गएको छ ।”
बच्चाहरुलाई हुनसक्ने समस्याका बारेमा सबैले सावधानी अपनाउनुपर्ने र सरकारले उपचारमा सहजीकरण गर्नुपर्ने मन्त्री पौडेलले बताए । बालबालिका र ज्येष्ठ नागरिकको उपचारलाई निःशुल्क कसरी बनाउन सकिन्छ भन्नेतर्फ राज्यले नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
“वृद्धवृद्धा र बच्चाका सन्दर्भमा यसको भार राज्यले बहन गर्नुपर्ने हुन्छ”, उनले भने, “यस विषयमा विभिन्न संस्था बनाएर अन्यत्र जिम्मा लगाउन मिल्दैन ।” राज्यले स्वास्थ्योपचारमा सहयोग पु¥याउन सक्दैन भने त्यो लोककल्याणकारी राज्य नभएको उनले जिकिर गरे।
कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा सुशील कोइरालाले मधुमेह दुई प्रकारको हुने उल्लेख गर्दै बालबालिकालाई लाग्ने यस रोगलाई ‘मधुमेह टाइप १’ नामकरण गरिएको बताए । “पाका उमेरका व्यक्तिलाई हुने मधुमेहमा शरीरले उत्पादन गर्ने इन्सुलिनको मात्रा थोरै हुने तथा औषधि खाएर पनि नियन्त्रण गर्न सकिने हुन्छ”, उनले भने, “बालबालिकामा हुने मधुमेहमा शरीरले इन्सुलिन उत्पादन गर्दैन, जीवनभर सुइबाट इन्सुलिन दिएर जीवनरक्षा गर्नुपर्ने हुन्छ ।”
मधुमेह टाइप १ लागेका बालबालिकाको सङ्ख्या धेरै भएको हुनसक्ने भन्दै उनले नेपालमा अहिले ६०० बिरामी सूचिकृत रहेको बताए । “कति बिरामी उपचारका लागि आउनुभएको छैन, कतिले भारतमा गएर समेत उपचार गराइराख्नुभएको छ”, उनले भने, “मधुमेह लागेका बालबालिकाको एकिन तथ्याङ्क हामीसँग छैन ।”
नेपालका विभिन्न पाँच अस्पतालबाट मधुमेह टाइप १ को उपचार भइरहेको उनले बताए। यो रोग किशोरावस्थामा सुरु हुने भएकाले यससम्बन्धी विशेष सतर्कता र सावधानी अपनाउनुपर्ने डा कोइरालाले बताए ।
उक्त कार्यक्रममा मधुमेह टाइप १ का बिरामी बालबालिकाले आफ्नो भोगाइ राखेका थिए । बिरामी भएर पनि समयमा उपचार गर्दा सामान्य जीवन बिताउन सकिने उनीहरुको भनाइ थियो । गैँडाकोटमा रहेको विजय विकास स्रोत केन्द्रको ४७औँ स्थापना दिवसका अवसरमा आयोजित मधुमेह परीक्षणमा गैँडाकोट आधारभूत अस्पताल तथा क्वेस्ट फर्मास्युटिकल्स प्रालिले प्राविधिक सहयोग गरेका थिए ।
कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले मधुमेहबारे स्वास्थ्य सचेतना आवश्यक रहेर कार्यक्रम गरिएको बताउनुभयो । स्वास्थ्य नै ठूलो धन भएकाले मानिस स्वस्थ हुनका लागि खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्ने अध्यक्ष सापकोटाको भनाइ छ ।
(((

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौँ ।  मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।

अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् ।

यस्तै, रसुवास्थित पासाङ-ल्हामु राजमार्ग, बाग्लुङस्थित कालीगण्डकी करिडोर, मुस्ताङस्थित जोमसोम-लोमान्थाङ सडक, रोल्पास्थित सहिद राजमार्ग, रुकुम पश्चिमस्थित जाजरकोट-डोल्पा भेरी करिडोर र बैतडीस्थित महाकाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।