`

बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल

नवलपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताएका छन् ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उनले सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताए।
“बालबालिकामा हुने मधुमेह परीक्षण र उपचारका लागि सातवटै प्रदेशमा निःशुल्क गर्नेगरी हामीले काम अगाडि बढाइरहेका छौँ”, स्वास्थ्यमन्त्री पौडेलले भने, “बुढ्यौलीतर्फ उमेर ढल्किँदै गएपछि मधुमेह हुन्छ भन्ने मानसिकता समाजमा रहेको छ, तर बच्चाहरुलाई पनि यो रोग लाग्ने रहेछ ।” नेपालको स्वास्थ्य व्यवस्थामा बालबालिकामैत्री विशेष कार्यक्रम ल्याउनु जरुरी रहेको मन्त्री पौडेलको भनाइ छ ।
वंशानुगत रोगसहितका अन्य रोगका बारेमा विशेष कार्यक्रम ल्याएर बालबालिकालाई सम्बोधन गर्नुपर्ने उनले बताए। “पछिल्लो समय समाजमा बालबालिकाका विषयमा थुप्रै समस्या देखिएका छन्”, उनले भने, “मोबाइल, टिभी, ल्यापटपसहितका डिजिटल उपकरण प्रयोग गर्न स्क्रिनमा हेर्ने विषयले समस्या निम्त्याउँदै गएको छ ।”
बच्चाहरुलाई हुनसक्ने समस्याका बारेमा सबैले सावधानी अपनाउनुपर्ने र सरकारले उपचारमा सहजीकरण गर्नुपर्ने मन्त्री पौडेलले बताए । बालबालिका र ज्येष्ठ नागरिकको उपचारलाई निःशुल्क कसरी बनाउन सकिन्छ भन्नेतर्फ राज्यले नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
“वृद्धवृद्धा र बच्चाका सन्दर्भमा यसको भार राज्यले बहन गर्नुपर्ने हुन्छ”, उनले भने, “यस विषयमा विभिन्न संस्था बनाएर अन्यत्र जिम्मा लगाउन मिल्दैन ।” राज्यले स्वास्थ्योपचारमा सहयोग पु¥याउन सक्दैन भने त्यो लोककल्याणकारी राज्य नभएको उनले जिकिर गरे।
कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा सुशील कोइरालाले मधुमेह दुई प्रकारको हुने उल्लेख गर्दै बालबालिकालाई लाग्ने यस रोगलाई ‘मधुमेह टाइप १’ नामकरण गरिएको बताए । “पाका उमेरका व्यक्तिलाई हुने मधुमेहमा शरीरले उत्पादन गर्ने इन्सुलिनको मात्रा थोरै हुने तथा औषधि खाएर पनि नियन्त्रण गर्न सकिने हुन्छ”, उनले भने, “बालबालिकामा हुने मधुमेहमा शरीरले इन्सुलिन उत्पादन गर्दैन, जीवनभर सुइबाट इन्सुलिन दिएर जीवनरक्षा गर्नुपर्ने हुन्छ ।”
मधुमेह टाइप १ लागेका बालबालिकाको सङ्ख्या धेरै भएको हुनसक्ने भन्दै उनले नेपालमा अहिले ६०० बिरामी सूचिकृत रहेको बताए । “कति बिरामी उपचारका लागि आउनुभएको छैन, कतिले भारतमा गएर समेत उपचार गराइराख्नुभएको छ”, उनले भने, “मधुमेह लागेका बालबालिकाको एकिन तथ्याङ्क हामीसँग छैन ।”
नेपालका विभिन्न पाँच अस्पतालबाट मधुमेह टाइप १ को उपचार भइरहेको उनले बताए। यो रोग किशोरावस्थामा सुरु हुने भएकाले यससम्बन्धी विशेष सतर्कता र सावधानी अपनाउनुपर्ने डा कोइरालाले बताए ।
उक्त कार्यक्रममा मधुमेह टाइप १ का बिरामी बालबालिकाले आफ्नो भोगाइ राखेका थिए । बिरामी भएर पनि समयमा उपचार गर्दा सामान्य जीवन बिताउन सकिने उनीहरुको भनाइ थियो । गैँडाकोटमा रहेको विजय विकास स्रोत केन्द्रको ४७औँ स्थापना दिवसका अवसरमा आयोजित मधुमेह परीक्षणमा गैँडाकोट आधारभूत अस्पताल तथा क्वेस्ट फर्मास्युटिकल्स प्रालिले प्राविधिक सहयोग गरेका थिए ।
कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले मधुमेहबारे स्वास्थ्य सचेतना आवश्यक रहेर कार्यक्रम गरिएको बताउनुभयो । स्वास्थ्य नै ठूलो धन भएकाले मानिस स्वस्थ हुनका लागि खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्ने अध्यक्ष सापकोटाको भनाइ छ ।
(((

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौँ ।  मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।

अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् ।

यस्तै, रसुवास्थित पासाङ-ल्हामु राजमार्ग, बाग्लुङस्थित कालीगण्डकी करिडोर, मुस्ताङस्थित जोमसोम-लोमान्थाङ सडक, रोल्पास्थित सहिद राजमार्ग, रुकुम पश्चिमस्थित जाजरकोट-डोल्पा भेरी करिडोर र बैतडीस्थित महाकाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ ।

गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ सहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार भारी वर्षाले पहिरो, घर भत्किने र अकस्मात् बाढी ल्याएपछि दक्षिणी सहर सान्चेओङमा आठ जनाको मृत्यु भएको र छ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।

मन्त्रालयको प्रतिवेदन अनुसार गाप्योङ र दक्षिणी सहर ग्वाङ्जुमा छ जना अझै बेपत्ता छन् ।

गत हप्ताको सुरुमा सियोलको दक्षिणमा ओसानमा भारी वर्षाका क्रममा ओभरपासको रिटेनिङ पर्खाल ढलेपछि डुबानमा परेको कारमा तीन जना मृत फेला परेका थिए । उनीहरूको कार माटो र कङ्क्रिटले पुरिएपछि कार चालकको पनि मृत्यु भएको थियो ।

स्थानीय समयानुसार आइतबार बिहान ९ बजेसम्म करिब तीन हजार आठ सय ४० मानिस आफ्नो घरबाट विस्थापित भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । आइतबार दक्षिण कोरियाको धेरैजसो भागमा वर्षा रोकिएको छ भने देशभरि भारी वर्षाका चेतावनीहरू हटाइएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

मन्त्रालयको प्रतिवेदन अनुसार बुधबारदेखि दक्षिणी क्षेत्रहरूमा करिब छ सयदेखि आठ सय मिलिमिटर (२४ देखि ३१ इन्च) सम्म वर्षा भएको छ ।
थप समाचारहरु

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त

कोलम्बो। श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट रोक्न असफल भएकामा एक वरिष्ठ प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । उक्त बम विस्फोटमा ४५ विदेशीसहित दुई सय ७९ जनाको मृत्यु भएको थियो ।

राष्ट्रिय प्रहरी आयोगले इस्लामिक चरमपन्थीहरूको आसन्न आक्रमणको पूर्व चेतावनीलाई बेवास्ता गरेकामा तत्कालीन राज्य गुप्तचर सेवा (एसआइएस) का प्रमुख निलन्था जयवर्दनालाई बर्खास्त गरेको छ ।

अदालतको रेकर्डले जयवर्दनालाई सन् २०१९ अप्रिल २१ मा तीनवटा होटल र तीनवटा चर्चलाई लक्षित गरी भएको समन्वित आत्मघाती आक्रमणको १७ दिनअघि सम्भावित आतङ्कवादी हमलाका बारेमा सचेत गराइएको देखाएको छ ।

बम विस्फोटमा पाँच सयभन्दा बढी मानिस घाइते भएका थिए ।

सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा अनुशासनात्मक अनुसन्धानले जयवर्दनालाई लापरवाही र कर्तव्य अवहेलनाका सबै सातवटा मामिलामा दोषी ठहर गरेको प्रहरी आयोगले शनिबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“आरोपको गम्भीरतालाई ध्यानमा राख्दै आयोगले उहाँलाई अधिकतम सजाय दिने निर्णय गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

नागरिकहरूमाथि श्रीलङ्काको सबैभन्दा खराब आतङ्कवादी आक्रमणका रूपमा इस्टर बम विस्फोटपछि जयवर्दनालाई एसआइएस प्रमुखको पदबाट हटाइयो तर प्रशासनको निरीक्षण गर्ने प्रहरी बलको उपप्रमुखको भूमिकामा बढुवा गरिएको थियो ।

यद्यपि उनीविरुद्ध कारबाही गर्न बारम्बार न्यायिक आदेशपछि अनुशासनात्मक सुनुवाइका लागि उनलाई एक वर्षअघि अनिवार्य बिदामा राखिएको थियो ।

आक्रमणको केही समयपछि सुरु गरिएको उच्चस्तरीय अनुसन्धानले तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेना र जयवर्दनासहित उनका चार वरिष्ठ अधिकारीलाई उनीहरूको गल्तीका लागि आपराधिक अभियोजनको सामना गर्नुपर्ने पत्ता लगाएको थियो ।

नागरिक मुद्दापछि सन् २०२३ जनवरीमा जारी गरिएका सर्वोच्च अदालतका आदेशहरू अनुसार उनीहरूले पीडितहरूलाई १० लाख डलरभन्दा बढी क्षतिपूर्ति तिरेका छन् ।

सन् २०१९ को बम विस्फोटलाई इस्लामिक स्टेटप्रति वफादारीको वाचा गर्ने स्थानीय जिहादी समूहमाथि दोष लगाइएको थियो ।

राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वको श्रीलङ्काको नयाँ सरकारले इस्टर हमलाको अनुसन्धान बढाउने र बम विस्फोटका लागि जिम्मेवार व्यक्तिहरूको पर्दाफास गर्ने वाचा गरेको छ ।

त्रिलोकेश्वर महादेव मन्दिरमा भोलिदेखि एक महिने श्रावणी महोत्सव हुने

चाँगुनारायण । चाँगुनारायण नगरपालिका-७ बागेश्वरीस्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने एक महिने श्रावणी महोत्सव एवं शिवपुराण तथा नारायणपुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ।

‘नगरकोट भ्रमण वर्ष-२०८२’ को अवसर पारेर बागेहिटी संरक्षण समितिद्वारा यही साउन ५ गते सोमबारदेखि बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने श्रावणी महोत्सको तयारी पूरा भएको आज सञ्चारकर्मीलाई जानकारी दिइएको हो।

नगरकोट भ्रमण वर्षको अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटकीय क्षेत्रको पहिचान एवं प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको श्रावणी महोत्सवमा सहभागी भई सफल पार्न चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सम्पूर्ण सर्वसाधारण तथा पर्यटकलाई आह्वान गरे।

उनले भने, “चाँगुनारायण नगरपालिका क्षेत्र पर्यटकीय प्राकृतिक दृष्टिकोणले सुन्दर मात्र नभइ धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अद्भूत छ। यहाँको रत्नागिरि पर्वत, वडा नं १ देखि ९ सम्मका धार्मिक एवं ऐतिहासिक क्षेत्र, मठमन्दिर र शिवालय सुन्दर छन्। भ्रमण वर्षले यस्ता मठमन्दिर तथा सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा दिनेछ। साउन महिनामा प्रत्येक वडामा रहेका शिवालयमा लाग्ने मेलाको वडागत रूपमा प्रचार गर्न र सहभागी हुन नगरवासीमा आग्रह गर्दछु।”

नगरभित्रका ऐतिहासिक, धार्मिक क्षेत्र, मठमन्दिरको प्रचारप्रसार, संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाअनुसार काम भइरहेको नगरप्रमुख खत्रीले बताए।

तीन तले महादेवको नाममा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी महोत्सवसँगै साउन ५ गतेदेखि १७ गतेसम्म शिवपुराण ज्ञान महायज्ञको आयोजना हुने आयोजक मूल समारोह समितिका रमेश अधिकारीले बताए।

यही साउन ५ गतेदेखि २६ गतेसम्म आयोजना हुने महोत्सवमा साउन ५ गतेदेखि १९ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ र साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना हुने बताउदै उहाँले महायज्ञमा विदुषि वाचिका यशोधा देवीबाट कथा प्रवचन हुने बताए।

उनले श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै धार्मिक पर्यटनको विकास एवं प्रचारप्रसारका लागि आयोजना गरिएको मेलामा भेटी तथा दानसमेत सङ्कलन गरिने बताए। साउन ५ गते कलशयात्रा गरी महोत्सवको शुभारम्भ हुनेछ।

तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । तीन वर्षदेखि निर्माण रोकिएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति गरिँदैछ । यसअघि निर्माण कम्पनीको लापरबाहीका कारण रोकिएको उक्त खण्ड स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय भक्तपुरले बोलपत्र आह्वान गरेको हो ।

अलपत्र बनेको धुलिखेल–खावा खण्डको चार किलोमिटर स्तरोन्नतिका लागि चालु आर्थिक वर्षको सुरुआतदेखि काम गर्ने उद्देश्यले बोलपत्र आह्वान गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

चार महिनाअघि पुरानो ठेक्का रद्द गरी रु ४२ करोडको स्रोत सुनिश्चित गर्दै १४ महिनाभित्र सम्पन्न गर्नेगरी पुनःठेक्का आह्वान गरिएको उनले बताए । पहिलो चरणमा आगामी फागुनसम्मका कालोपत्र सक्ने र बाँकी काम निर्धारित समयभित्र सक्नुपर्ने बताउँदै योगेशले काम भए÷नभएको नियमित अनुगमन गर्नुका साथै निर्माण कम्पनीलाई ताकेता गरिने उल्लेख गरे ।

‘समयमा काम नहुँदा स्थानीयलाई आवागमनमा सास्ती हुनुका साथै आलोचना पनि खाइयो, अब समस्या समाधान हुनेमा आशावादी छौँ’, काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले भने । उनका अनुसार नागरिकले व्यहोर्नुपरेको सास्तीलाई कम गर्न सार्वजनिक अभिव्यक्तिसँगै सरोकार भएका निकायलाई दबाब दिएर पुरानो ठेक्क रद्द गरी पुनःबोलपत्र आह्वान गरिएको हो ।

अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी तातोपानी नाका र छिमेकी दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा धुलिखेल–खावा खण्ड रहेकाले समयमा निर्माण नहुँदा यात्रीलाई सास्ती हुनुका साथै ट्राफिक जाम र दुर्घटनाको जोखिम पनि बढेको सडक डिभिजन कार्यालयका इञ्जिनियर योगेशले बताए ।

‘हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेनवाल लगाउने काम भएको छ । जिपलाइनबाट तल खावासम्मको करिब एक किमी सडक कटिङ गर्न बाँकी छ । अघिल्लो जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि पटकपटकको वर्षामा सबै बगाएपछि पुनःकाम गर्नुपर्ने बाध्यता छ’, उनले भने ।

स्रोत सुनिश्चित भई नयाँ ठेक्कामा गएपछि पनि निर्माण सम्पन्न गर्न केही महिना लाग्ने भएकाले सवारीसाधन र यात्रीलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । ‘नयाँ ठेक्काको प्रक्रियापछि काम सुरु गर्न दुईदेखि साढे दुई महिना लाग्छ, भदौ अन्तिम साता वा असोजदेखि काम सुरु गर्नेगरी तयारी भएको छ’, योगेशले भने ।

उनका अनुसार धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । योसँगै दुर्घटनाको जोखिम कम हुने उनले विश्वास व्यक्त गरे । पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने र दोस्रो चरणको कालोपत्र डिबिएम र आस्फाल प्रविधिबाट गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ ।

लाङ्दी पहिरोः पुरिएका दम्पतीको शव भेटियो

पर्वत । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती परेका थिए ।

गएराति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ । स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

काठमाडौँ । मेरो अधिकांश समय संसदीय गतिविधिमा बित्छ । म महिला तथा सामाजिक मामिला समितिको सदस्य छु । मैले भोजपुर जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छु । जिल्लाका जनताका विषयवस्तुलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने काम पनि भइरहेको छ । सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा मेरो जोड छ ।

जनताको समस्या समाधान गर्ने थलो संसद् हो । संसद्मा कानुन निर्माणका साथै जनताका सवालसहित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने काम हुन्छ । आफ्नो जिल्लाको समस्या सदनमा राखिन्छ । तर अत्यन्त कम कार्यान्वयन भइरहेको छ । बजेटको विषयमा प्रत्यक्ष र समानुपातिक निर्वाचनबाट आएका सांसदको बीचमा विभेद हुने रहेछ । समानुपातिक सांसदभन्दा प्रत्यक्ष निर्वाचित सांसदलाई बढी प्राथमिकता दिएको देखिन्छ । तर यसरी विभेद गर्नु हुँदैन भन्ने मेरो जोड छ । समानुपातिक पद्धति भने पनि त्यो निर्वाचनबाटै आएको हो ।

संविधानको कार्यान्वयन आम रूपमा भइरहेको छ, तर जति कार्यान्वयन हुनुपर्ने हो त्यति भएको छैन । महिलाका हकमा संसद्मा ३३ प्रतिशत कार्यान्वयन भएको छ । संविधानबमोजिम दुईवटा आमनिर्वाचन सम्पन्न भएका छन् । सङ्घीयतासँग जोडिएका केही कानुन बनिसकेका छन्, केही बन्ने क्रममा छन् । तर सीमान्तकृत समुदायको हकमा संविधान पूर्ण कार्यान्वयन हुन सकेको छैन । आमाको नामबाट नागरिकता पाउने व्यवस्था नयाँ नागरिकता ऐनमा छ, जुन निकै सकारात्मक पक्ष हो ।

नेपालको निर्वाचन प्रणाली भड्किलो र बढी खर्चिलो छ । स्थानीय निकायका वडाध्यक्ष र पालिकाको निर्वाचन जित्न पनि करोड खर्च गर्नुपर्ने विकृति मौलाएको छ । यो रकम सामान्य व्यक्तिले जुटाउन समस्या हुन्छ । त्यसैले पनि नेतृत्वमा पुगेपछि निर्वाचनमा भएको खर्च उठाउन भ्रष्टाचार हुने सम्भावना बढी रहन्छ । अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको छ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा राज्यको पनि खर्च कम हुन्छ । समानुपातिक निर्वाचन प्रणालीमा देश विकासले पनि गति लिनुका साथै सुशासन कायम हुने मेरो विश्वास छ ।

सङ्घीयताले अहिले संवैधानिक मान्यता र व्यवस्थित गरेको छ । अहिलेको सङ्घीयता बढी खर्चिलो भयो भन्ने जनगुनासो छ । देशको आर्थिक अवस्थाअुनसार सङ्घीय संरचना बनाउनुपर्छ । सङ्घ र प्रदेशका सांसद र मन्त्रालयको सङ्ख्या घटाउनुपर्छ । जनतालाई बढीभन्दा बढी सहयोग गर्ने पहिलो ठाउँ भनेकै स्थानीय तह भएकाले त्यसलाई स्रोतसाधन र अधिकारसम्पन्न गराउनु पर्दछ ।

समानुपातिक-समावेशी व्यवस्था जसका लागि भनिएको थियो, उसले पाउन सकेको छैन । लक्षित समुदायले यो सुविधाको उपभोग गर्न पाएका छैनन् । संसद्मा समानुपातिकमा वरिष्ठ नेता बसेपछि उत्पीडित र सीमान्तकृत समुदायले कसरी पाउँछ ? म आदिवासी जनजातिको कोटाबाट सांसद भएकी हुँ, तर ममात्र भएर भएन । मजस्ता अरु समुदायको पनि प्रतिनिधित्व हुनुप¥यो । समानुपातिक अधिकार तल्लो समुदायले पाउन सकेका छैनन् ।

आदिवासी जनजातिको जनसङ्ख्याका आधारमा राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता हुनुपर्छ । संविधानअनुसार जनजातिलगायत अन्य समुदायले पनि अधिकार पाउन सकेका छैनन् । जनजातिको नीतिनिर्माण तहमा अर्थपूर्ण र नेतृत्वदायी भूमिकामा सहभागिता सुनिश्चित गर्नुपर्छ । आदिवासी÷जनजातिको राज्यका केही निकायमा सहभागिता छ, तर अर्थपूर्ण सहभागिता भएको छैन । सहभागिताले मात्र हुँदैन, अर्थपूर्ण सहभागिता हुनुपर्छ । अहिलेको सरकार समावेशी छैन । यसअघिका सरकारले पनि जनजातिलाई राज्यमन्त्रीमा सीमित गरेका छन् । यद्यपि, हामी जनजातिले पार्टीभित्र पनि आवाज उठाइरहेका छौँ । संसद्, सडक र पार्टीभित्र पनि आफ्नो आवाज उठाउने काम भने भइरहेको छ ।

महिलाको दृष्टिकोणबाट हेर्दा संविधान अपूर्ण छ । हामी महिला आधा आकाश हो । हामीले संसद्मा ३३ प्रतिशतमात्र मागेको होइन । हाम्रो माग महिलाको जनसङ्ख्याका आधारमा राज्यका सबै संरचनामा सहभागिता हुनुपर्छ भन्ने हो । अहिले संसद्मा ३३ प्रतिशतमात्र छ । सरकारमा त्यही ३३ प्रतिशत पनि छैन ।

न्यायपालिकामा पनि महिलाको कमजोर उपस्थिति छ भने संवैधानिक निकायमा सहभागिता नै छैन भन्दा हुन्छ । त्यसैले यी सबै विषयलाई संविधानमा उल्लेख गर्नुपर्छ र कार्यान्वयन पनि गर्नुपर्छ । सेना र प्रहरीमा पनि महिलाको सहभागिता कमजोर देखिन्छ । स्थानीय तहमा महिलालाई उपप्रमुखमा मात्र सीमित गरिएको छ । सातै प्रदेशको अवस्था हेर्दा महिला सहभागिताको अवस्था सन्तोष गर्ने किसिमको छैन ।

राजनीतिक दलहरूले ३३ प्रतिशत महिलालाई निर्वाचनमा टिकट दिएकै छैनन् । राजनीतिक पार्टीको नेतृत्व तहमा महिला सहभागिता छैन । दलहरूले महिलालाई अगाडि बढाउन सकेको खण्डमा राज्यसंरचनाका प्रमुख पदमा महिला सहभागिता बढेर जानेछ । यदि पार्टीले नै स्थान दिएनन् भने कसरी राज्य संरचनामा महिलाको सहभागिता हुन्छ ? महिलालाई प्रत्यक्ष निर्वाचनका लागि बढीभन्दा बढी टिकट दिनुपर्छ । त्यसका लागि सबै पार्टीले आफ्नो विधान संशोधन गर्नुपर्छ । महिला–महिलाबीच प्रतिस्पर्धा हुनेगरी महिलाका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्छ ।

नेपालमा पर्याप्त मात्रामा रोजगारीको व्यवस्था छैन । आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भनेर सहर प्रवेश गर्नेको सङ्ख्या बढ्दो छ । सहर हुँदै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा पलायन रोक्न शिक्षा क्षेत्रमा सुधार गरी प्रविधिमैत्री र रोजगार केन्द्रित शिक्षा दिनुपर्छ । अहिले राजनीतिक दलका नेताका छोराछोरी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । सरकारी विद्यालयमा सर्वसाधारण जनताका छोराछोरीमात्र छन् । सरकारी विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाएका छन् । शिक्षकहरू राजनीतिक पार्टीमा आबद्ध भएर राजनीति गरिरहेका छन् । यो अन्त्य हुन जरुरी छ । युवाको विदेश पलायन रोक्न नेपालको शिक्षा क्षेत्रमा सुधार गर्दै व्यावहारिक र गुणस्तरीय शिक्षा दिनुपर्छ । सरकारले रोजगारीमा लगानी गर्नुपर्छ । देशभित्र रोजगारी नभएपछि विदेश जानु नेपाली युवाको बाध्यता हो ।

नेपालको भोजपुर, धनकुटा, खोटाङ र उदयपुर जिल्ला भोजपुरसँग जोडिएका छन् । यी जिल्लामा भौगोलिक रूपमा पानीको मुहान कम छ । पानी नभएपछि उत्पादन कम हुन्छ, तर त्यहाँको प्राकृतिक रूपमा उत्पादन गर्न सकिने बाली केके छन् अध्ययन गरी सोहीअनुसार राज्यले लगानी गर्नुपर्छ । सरकारले त्यहीअनुरुपको नीति बनाएर बजेट विनियोजन गर्नुपर्छ ।

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

काठमाडौँ । ‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ गीतबाट परिचय बनाएका गायक अनिस सापकोटा ‘ओकिली’ ले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गर्नुभएको छ । त्यसमा उनले सार्वजनिक गरेको गीतमा आफैँ शब्द, सङ्गीत र स्वर दिएका छन् ।

“प्रेम गीत तयार गर्ने इच्छा यसपटक पूरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसार वर्णन गरेको छ । यो गीत सबै लिक्ष्य गरेर तयार गरेका छु,” उनले भने । प्रवासमा रहेर पनि उहाँले गीतसङ्गीतलाई निरन्तरता दिएका छन् ।

“प्रवासमा पनि गीत गाइरहेँ । अहिले विश्वका जुनसुकै कुनामा रहेर पनि आफ्नो काम गर्न सकिन्छ । मैले हरेक वर्ष गीतसङ्गीतमा काम गरिरहेको छु, नयाँ पुस्तासँग काम गर्दा सिक्न

सन् १९९० को दशकमा नेपालमा ‘ओकिली’ नामक साङ्गीतिक समूह (ब्याण्ड) को संस्थापक सदस्यका रूपमा सङ्गीत यात्रा सुरु गरेका गायक ओकिलीको ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ लोकप्रिय छन् ।

मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । जस अनुसार  प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।

पूर्वराष्ट्रपति भण्डारी च्यासल जाँदै, ओलीसँग पार्टी कार्यालयमा आज भेटवार्ता हुने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन् ।  भण्डारी दिउँसो ३ बजे च्यासल जाने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।

भण्डारी प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।

बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए।

५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने “म्यान्डेट” अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन्।

यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिनेछ।

 

गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

गण्डकी । गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सराकोर भएका सबै पक्षलाई अनुरोध गरेको छ । आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक रूपमा सूचित गर्दै सावधानी र उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न भनेको छ ।

“गण्डकी प्रदेशका विभिन्न ठाउँमा गए रातिदेखि भएको वर्षाका कारण जनधनको क्षति भएका जानकारी आइरहेका छन् । वर्षाका कारण नदी, खहरे खोलाखोल्सी र तालहरुमा पानीको सतह निरन्तर बढिरहेको छ । यसले थप जोखिम निम्त्याएको छ । बाढी पहिरो, डुबीनको खतरा बढेको छ । यस्ता क्षेत्र वरपर बस्तीका नागरिकहरु सचेत रहनुहुन अनुरोध छ”, सूचनामा उल्लेख छ ।

प्रदेश सरकारले कहीँकतै विपत्तीमा परेका भए तुरून्त स्थानीय जनप्रतिनिधि, प्रहरी स्थानीय तह , प्रदेश सरकार र सङ्घीय सरकार मातहतका निकायमा खबर गर्न आग्रह गरेको छ । विपद्को सामना गर्न र प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा गण्डकी प्रदेश सरकार सँधै नागरिकको साथमा रहेको जनाइएको छ ।

देशका विभिन्न स्थानमा भारी वर्षा मापन : कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ ।

यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ । यी चार स्थानमा अतिभारी वर्षा मापन भएको विभागले जनाएको छ । अन्य धेरै जिल्लामा भारी वर्षा भएको छ ।

पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको जानकारी दिए । भोलिसम्म यो अवस्था रहने र विस्तारै हट्दै जाने पनि उनले बताए ।

मौसमविद् अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । यसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो ।

अन्य भारी वर्षा भएका जिल्लामा सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ । अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा भएको विभागले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लास्थित मोदीखोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यसैगरी बिहान इलामको कन्काइ मैनाचुलीमा पनि जलसतह सतर्कता तह आसपास पुगेको थियो । सुनसरीको सार्दुल खोलामा पनि जल सतहले सतर्कता तह पार गरेको थियो । सुनसरीको बूढीखोला दुहबी जलमापन केन्द्रमा राति १ः२० बजे भने जलसतहले खतराको तह नै पार गरेपछि साइरन बजेको थियो ।

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्।  अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै उनले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।

एएफसी एसियन कप छनोटका दौरान कप्तानको विषयमा विवाद भएका कारण वाइल्ड राजनीमा दिने स्थितिमा पुगेका हुन्। गत जेठ २२ मा नियुक्त भएका वाइल्ड दुई महिना पनि पूरा नहुन नपाउँदै राजीनामा दिने स्थितिमा पुगेका हुन्।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वाइल्डलाई पत्राचार गर्दै एएफसी एसियन कप छनोटका दौरान भएको विवादको विषयमा ‘घटना विवरण’ दिन पत्राचार गरेको थियो। जवाफमा प्याट्रिकले एन्फा भित्रको राजनीति र अहिलेकै अवस्थामा व्यवस्थापनसँग काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा पठाएको स्रोतले जानकारी दियो।

एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षक बीच विवाद भएको थियो।

उनको राजीनामाको विषयमा निर्णय भने भएको छैन। एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ क्लब विश्वकपका लागि अमेरिका गएका कारण उनी फर्केपछि मात्र राजीनामाको विषयमा निर्णय हुने  एन्फा प्रवक्ता सुरेश शाहले बताए।

मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् । प्रजापति आफ्नै सुत्ने कोठाको झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार वाचन पनि गर्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट बारम्बार धम्की खेपिरहेका थिए ।

खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि मेयर जयसवालले धम्की दिँदै गालीगलौज गरेका थिए ।

मेयर जयसवालले दिएको धम्कीका कारण पत्रकार प्रजापति तनावमा थिए । डरले घरबाट उनी बाहिर निस्किन सकेका थिएन् । त्यसैले पनि उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण रहेको स्थानीय बताउँछन् ।

मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेष्ठ २९ मा विज्ञप्ती समेत जारी गरेको थियो ।

प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक पहाडीले विज्ञप्ति जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धम्कीबारे छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।

गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धम्की दिएको विषयमा जानकारी नआएको बताए ।

आज ललितपुर महानगरपालिकामा शोक बिदा

ललितपुर । ललितपुर महानगरपालिकाले शोक बिदा दिएको छ । पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी आज शोक बिदा दिएको हो ।

बज्राचार्यको साउन ३ गते शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो । विभिन्न कालखण्डमा बज्राचार्यले ललितपुर महानगरको नगर प्रमुखको जिम्मेवारीमा रहेर सहरको विकासमा योगदान पुर्‍याएका थिए ।

जारी सूचनामा भनिएको छ ,‘ यस कार्यालयको साउन ४ गतेको निर्णय अनुसार महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा अत्यावश्यक सेवा बाहेकमा शोक बिदा दिने व्यहोरा सूचित गरिन्छ ।’

यसैगरी महानगरले उनको निधनले अपूरणीय क्षति भएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेर समवेदना प्रकट गरेको छ ।

 

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वत । पर्वतको मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

उनले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उनको भनाइ छ ।

गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा हाम फालेर ज्यान जोगाउन सफल भएकी थिइन ।

नेसपा (नयाँ शक्तिले) ५ महिने प्रशंसा अभियान चलाउने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ।

पार्टीका महासचिव सोनाम सिंह स्याङतानका अनुसार यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको छ।

हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ। प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो। जनताको मुद्दाहरु हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो। तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ। अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौं,’ उनले भने।

उनले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिए। प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको पनि उनले बताए।

०८४ को निर्वाचन आउन करिव डेढ वर्ष बाँकी रहँदा पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर अघि बढिरहेको पनि उनले बताए।

एमालेको पोलिटब्युरो बैठक आजै सक्न अध्यक्ष ओलीको रुलिङ

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । हिजोदेखि सुरु भएको बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी र पछिल्लो पटक एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी रहेको छ ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, हिजो र आज जम्मा ३२ जनाले आ–आफ्नो धारणा राखेका छन्, भने करिब ४० भन्दा बढी सदस्यले बोल्न बाँकी रहेको र त्यो क्रम अहिले चलिरहेको गौतमले जानकारी दिए ।

गौतमका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै बैठक सक्नेगरी रुलिङ गरेका छन् । सोही अनुसार आजै साँझ ६/७ बजेसम्म बैठक सक्नेगरी लागिएको उनले बताए ।

मूलत: आजको बैठकमा पार्टीका पोलिटब्यूरो र स्थायी कमिटी सदस्यले पार्टी विधानमा उल्लेख भएका विषयका अतिरिक्त पनि आफ्ना कुरा राखेको उनले बताए ।

त्यसका साथै, पार्टीका कमिटीहरूलाई समन्वय र कार्यकारीको भूमिकामा अघि बढाउनु पर्ने लगायतका कुरा पनि नेताहरूले राखेको उनले बताए ।

भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन

नयाँ दिल्ली । भारतको बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा शुक्रबार बिहान बम राखिएको भन्दै धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन् ।

धम्की दिने इमेलमा कक्षाकोठाहरूमा कालो प्लास्टिक झोलाभित्र विस्फोटक पदार्थ राखिएको भनिएको थियो । उक्त खबर लगत्तै प्रहरी, बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरसहितको टोली विद्यालयहरूमा पुगेर व्यापक खोजतलास गरे पनि कुनै विस्फोटक सामग्री फेला परेको छैन ।

यो घटनाले विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकमाझ ठूलो चिन्ता र त्रास फैलाएको थियो । हालै राजधानी दिल्ली र पंजाबको अमृतसरस्थित गोल्डेन टेम्पलमा पनि यस्तै प्रकृतिका धम्कीहरू प्राप्त भएका थिए, जसले गर्दा यस्ता घटनाहरूबीच सामाजिक अस्थिरता फैलाउने नियत हुन सक्ने आशंका गरिएको छ ।

गत वर्ष पनि यस्ता नक्कली बम धम्कीहरूले विद्यालय, अस्पताल, होटल र विमानस्थलजस्ता सार्वजनिक स्थानहरूमा त्रासदीपूर्ण स्थिति सिर्जना गरेका थिए । प्रहरीले घटनाको डिजिटल फरेन्सिक अनुसन्धान सुरु गरिसकेको छ र दोषीलाई कडा कारबाही गरिने जनाएको छ ।

पार्टीका साथीहरुले मलाई कांग्रेस सभापतिको रुपमा देख्न चाहेका छन् : प्रकाशमान सिंह

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । सर्वमान्य नेता स्व गणेशमान सिंह र मङ्गलादेवी सिंहका छोरा प्रकाशमानको जन्म विसं २०१२ वैशाख १ गते काठमाडौँमा भएको हो ।

विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घको काठमाडौं जिल्ला अध्यक्ष भई राजनीतिमा प्रवेश गरेका उपप्रधानमन्त्री सिंह नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसमेत भइसकेका छन् ।

गणेशमानसिंह फाउण्डेशनको अध्यक्षसमेत रहनुभएका उहाँ यसअघिको कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेदवारसमेत भए।

उपप्रधानमन्त्री सिंहसँग देशको पूर्वाधार विकास तथा समसामयिक विषयमा केन्द्रित भई राससका समाचारदाता प्रगति ढकालले गरेको कुराकानीको सम्पादित अंशः

अहिले तपाईं महत्वपूर्ण जिम्मेवारीका साथ सरकारमा सामेल हुनुहुन्छ, तर एक सांसदका रुपमा तपाईंले संसद्मा के–कस्ता विषय उठाउनु भएको छ ?

संसद्मा निर्वाचित भएर गइसकेपछि हामीले बोल्ने जनताकै आवाज हो । जनताको प्रतिनिधिका रूपमा संसद्मा मैले इमानदारीपूर्वक भूमिका निर्वाह गरेको छु । वर्तमान संविधान जारी भएपछि संविधानसभाका दुई वटा निर्वाचन भयो । संविधानका विषयमा संसद्भित्र धेरै समस्या थियो । तर, हाम्रै प्रयासबाट सबै दलहरूलाई एक ठाउँमा ल्याएर संविधान जारी गर्न सफल भयौँ । संविधानअनुसार बन्नुपर्ने थुप्रै ऐन कानुन बनाउन पनि भूमिका निर्वाह गरेको छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गर्दै नागरिकलाई अधिकारसम्पन्न बनाउने क्रममा भूमिका निर्वाह गर्न पाएकोमा गर्व लाग्छ ।

निर्वाचनअघि आफ्ना क्षेत्रका जनतासामु जे जे प्रतिबद्धता जनाउनुभएको थियो, ती के कति पूरा भए ?

जनतासँग गरेका धेरै प्रतिबद्धता पूरा भएका छन् । मैले कहिल्यै पनि असम्भव र गर्न नसकिने कुरा गर्छु भनेर झुटो आश्वासन दिएको छैन । म काठमाडौँ क्षेत्र नं १ मा निर्वाचित हुनुअघि र अहिलेको तुलना गर्दा अवस्थामा धेरै परिवर्तन भएको छ । विकास निर्माणका धेरै काम भएका छन् । जुन मेरो क्षेत्रका हरेक मतदाताले महसुस गर्नुभएको छ । तर, अब काम गर्न पुग्यो भन्नेचाहिँ होइन । बाँकी रहेका जनचाहना पूरा गर्न प्रतिबद्ध छु । प्रतिबद्धताबमोजिम निरन्तर रुपमा लागिरहेको छु ।

नदी करिडोर सडक सुधार, नदीनाला सरसफाइका धेरै काम अघि बढाएको छु । उपत्यकाका नदीनाला ढलमुक्त बनाउन आवश्यक बजेट विनियोजन गरेको छु । शान्तिनगर र बबरमहलमा लिफ्टसहितको आकाशे पुल बनाउन बजेट विनियोजन भएको छ । अहिले निर्माणको काम सुरु भइरहेको छ ।

यस्तै, पुतली सडकमा आकाशे पुल निर्माणका लागि यो वर्ष काम हुँदैछ । बानेश्वर सडकमा जामको समस्या समाधान गर्न ‘अन्डरपास’ बनाउने योजना अघि बढाएको छु । काठमाडौँका विभिन्न स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान गर्ने कार्य हुँदैछ ।

पार्क व्यवस्थापन र निर्माणलाई प्राथमिकतामा राखिएको छ । हप्तामा दुई दिन निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष साक्षात्कार गरी गुनासो सुन्ने गरेको छु । धोबीखोलामा फोहर पानीलाई प्रशोधन गरी पुनःखोलामै फर्काउने कार्यक्रम अघि बढेको छ । क्षेत्रमा रहेका विद्यालयहरू पद्मकन्या विद्याश्रम र विजय मेमोरियल हाइस्कुल डिल्लीबजार तथा रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरमा भौतिक संरचना सुधार गरी शिक्षाको गुणस्तर सुधारका लागि बजेट छुट्याइएको छ । नेपाल कमर्स क्याम्पस मीनभवन र बानेश्वर क्याम्पस तीनकुनेलाई पनि व्यवस्थित बनाउन लागिपरेको छु ।
संसद्मा अहिले देखिएको अवरोध र असहमति समाधान गर्न के गर्नुपर्छ भन्ने लाग्छ ?

संसदीय अभ्यासलाई उन्नत बनाउने दायित्व संसद्मा रहेका राजनीतिक दलहरूकै हो । तर, कतिपय सन्दर्भमा संसद्भित्र भइरहेका अवरोध र असहमतिको संस्कृतिलाई लिएर प्रश्नहरू उठेका छन् । संसद्मा रहेका सबै दल संसदीय अभ्यासलाई लिएर गम्भीर हुनुपर्छ । संसद्को मर्यादा र गरिमा जोगाउने र जनताको संसद्प्रतिको भरोसा बढाउने, संसद्लाई प्रभावकारी बनाउने दायित्व संसद्मा रहेका सबै दलहरूको हो ।

तपाईंले अहिलेसम्म प्रस्ताव वा समर्थन गर्नुभएको कुनै महत्वपूर्ण विधेयक छ ?

मैले सहरी विकास मन्त्रालय सम्हालेपछि नीतिगत सुधारमा जोड दिएको छु । सहरी विकास मन्त्रालयको क्षेत्रभित्र पर्ने विषयमा कानुनको अभाव देखिन्छ । मन्त्रालय स्थापनादेखि अहिलेसम्म बन्न नसकेका ऐन बनाउने काम अघि बढाएको छु । फोहरमैला व्यवस्थापनसम्बन्धी विधेयक, सहरी विकास विधेयक, नगर विकास विधेयक, बागमती सभ्यतासम्बन्धी विधेयक, बस्ती विकाससम्बन्धी विधेयक संसद् लैजाने अन्तिम तयारीमा छौँ । र, ती विधेयकसँग सम्बन्धित नियमावली तयारीका क्रममा छन् ।

भ्रष्टाचार नियन्त्रणमा संसद् र सांसदको भूमिका कति प्रभावकारी देख्नुहुन्छ ?

संसद्को मुख्य काम भनेको कानुन निर्माण हो । भ्रष्टाचार नियन्त्रणका लागि संसद्बाट आवश्यक कानुनहरू बनेका छन् । तपाईंले इतिहास हेर्नुभयो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन नेपाली कांग्रेसको अग्रसरतामा ल्याइएको हो । सो ऐनअनुसार दोषी प्रमाणित भएपछि कांग्रेसकै नेताहरु पनि कारबाहीमा पर्नुभएको छ । भ्रष्टाचार र अनियमितताको विषय संसद्मा उठ्ने गरेका छन् । तथ्य, प्रमाण पुग्ने विषयहरूमा समिति बनेका छन् । दोषी देखिए कारबाहीको प्रक्रिया अघि बढाउन संसद्ले भूमिका खेलेको छ ।

तपाईंले सम्हालिरहनुभएको सहरी विकास मन्त्रालयका प्राथमिकता अहिले के के छन् ?

काठमाडौँको धरहरा, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरको गोदावरी सनराइज हल, झापाको व्यापारिक कम्प्लेक्स, रूपन्देहीको सभाहललगायत विशिष्ट संरचना सञ्चालनका लागि कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत गराई सञ्चालनका लागि अघि बढाइएको छ ।

पूर्वाधार विकास, सहरलाई व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाउने विषय नै सहरी विकास मन्त्रालयको प्राथमिक विषय हुन् । दुई वर्षभित्र हरेक पालिकाको केन्द्रसम्म कालोपत्र सडक बनाइसक्ने लक्ष्य राखेका छौँ । ढिलासुस्ती भएका कामको गाँठो फुकाइरहेका छौँ । मन्त्रालयका आयोजनामा ठेक्का लिएर समयमा काम नसक्नेहरुलाई दण्डित गर्न सुरु गरेका छौँ ।

सहरी विकासका लागि आधारभूत पूर्वाधार तथा सेवा विस्तारसहितको व्यवस्थापन पनि सहरी विकास मन्त्रालयको महत्वपूर्ण कार्य हो । मन्त्रालय स्थापना भएको लामो समयसम्म पनि सहरी विकास नीति नभएको अवस्थामा मेरो नेतृत्वमा ‘सहरी विकास नीति २०८१’ गत मङ्सिरमा स्वीकृत भई कार्यान्वयनमा गएको छ । सहरहरुलाई सुरक्षित, स्वच्छ र दिगोपन दिन बस्ती विकास नीति, फोहरमैला व्यवस्थापन विधेयक, सहरी विकास विधेयक, बागमती सभ्यता विधेयक, नगर विकास कोषको ऐनलाई परिमार्जन गर्नेगरी विधेयकको तर्जुमा र यी विधेयकसँगै सम्बन्धित नियमावली तर्जुमाको कार्यलाई प्राथमिकतामा राखेको छु ।

समृद्ध, दिगो र सुन्दर सहरको विकासका लागि ४० वटा नगरपालिकामा सघन सहरी कार्यक्रमअन्तर्गत रु पाँच अर्ब ३५ करोड विनियोजन गरिएको छ । झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइ यस आवमा २०० वटा निर्माण र १५० वटा मर्मत गर्ने उद्देश्य राखेको छु । केहीमा यो वर्ष बजेट विनियोजन गरिएको छ भने बाँकीमा सर्भे, डिपिआर र लागत अनुमान तयार गर्ने गरी बजेटको व्यवस्थापन गरिएको छ । हिमाल, पहाड र तराई मधेसमा रहेको जनसाङ्ख्यिक असमानता र असन्तुलित विकासलाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ । तीव्र बसाइँसराइ रोक्न मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण राजमार्गको मिलनविन्दु वा आसपासमा आधुनिक सहरी सेवासुविधासहितको नयाँ सहर विकास गरी २० वर्षभित्र प्रत्येक सहरमा कम्तीमा एक लाख जनसङ्ख्याका लागि आवश्यक सहरी पूर्वाधारसहितको १० वटा नयाँ सहर बनाउने लक्ष्यलाई निरन्तरता दिइएको छ । ५४ वटा नयाँ सहर घोषणा भइसकेकाले त्यसमा काम भएको छ ।

हिमाल, पहाड, तराईमा भिन्न पहिचान बोकेका परम्परागत, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय बस्तीहरुको सुधारका लागि भौतिक, सामाजिक तथा आर्थिक पूर्वाधारहरु निर्माण तथा स्तरोन्नति कार्य तथा ठूला सहरमा गतिशील जनसङ्ख्याको चाप समेतलाई मध्यनजर गरी आधारभूत पूर्वाधार विकास गर्न सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यक्रम कार्यान्वयन गर्नेगरी बजेट विनियोजन भएको छ ।

हालैको बजेट विनियोजनमा समानुपातिक विधि नअपनाइएको, विशेष क्षेत्र वा समूहलाई प्राथमिकता नदिइएको भन्ने आरोप संसद्मा उठेको छ । तपाईं यस विषयमा के भन्नुहुन्छ ?

यो विपक्षीहरुले लगाएको आरोप हो, र यसमा सत्यता छैन । सहरी विकास मन्त्रालयले वार्षिक कार्यक्रम तयार गर्दा भौगोलिक तथा जनसाङ्ख्यिक आधारमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी तथा विगत वर्षहरुमा सहरी विकास मन्त्रालयबाट त्यस ठाउँमा के–कति लगानी भएको वा नभएको भन्ने आधारमा बजेट विनियोजन गर्ने प्रयास गरेको छ । कोसी प्रदेशमा नेपालको कूल जनसङ्ख्याको १७ दशमलव ०३ प्रतिशत जनसङ्ख्याको बसोबास रहेकामा सहरी विकास मन्त्रालयले १६ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरेको छ ।

यस्तै, करिब २० प्रतिशत जनसङ्ख्या रहेको मधेस प्रदेशमा करिब १२ प्रतिशत, २१ प्रतिशत जनसङ्ख्या रहेको बागमती प्रदेशमा करिब २६ प्रतिशत, ८ दशमलव ४९ प्रतिशत जनसङ्ख्या रहेको गण्डकी प्रदेशमा ११ दशमलव २३ प्रतिशत, १७ दशमलव ५५ प्रतिशत जनसङ्ख्या रहेको लुम्बिनी प्रदेशमा १६ दशमलव ३८ प्रतिशत, ५ दशमलव ८ प्रतिशत जनसङ्ख्या रहेको कर्णाली प्रदेशमा ८ दशमलव ३ प्रतिशत र ९ प्रतिशत जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशमा नौ प्रतिशत हाराहारी बजेट विनियोजन भएको छ ।

काठमाडौँमा धेरै बजेट छुट्याइयो भन्ने तपाईंमाथि आरोप छ नी ?

काठमाडौँ उपत्यकाका सन्दर्भमा कुरा गर्दा नेपालको कूल जनसङ्ख्याको १० दशमलव २६ प्रतिशत मानिस यस उपत्यकाका स्थायी बासिन्दा र अरु अस्थायी नौ प्रतिशत जोड्दा करिब १९ प्रतिशत मानिसहरु यहाँ बसोबास गर्दछन् । यति ठूलो जनसङ्ख्या बसोबास गर्ने काठमाडौँ उपत्यकालाई बस्न योग्य बनाउने उद्देश्यले यहाँका प्रदूषित नदीनालालाई पुनर्जीवन दिन, करिडोरका सडकहरु सुधार गरी मुख्य सडकहरुमा निजी सवारीसाधनको चाप कम गर्न, हरित पार्कहरु विस्तार गर्न, पानी पर्दा ताल जस्तो बन्ने सडक तथा ढल सुधार गर्न करिब १६ प्रतिशत बजेट विनियोजन भएको छ ।

साथै, सहरी विकास मन्त्रालयअन्तर्गतका महत्वपूर्ण निकाय जस्तै अधिकारसम्पन्न बागमती एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण, सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट सञ्चालन हुने कार्यक्रम काठमाडौँ उपत्यका केन्द्रित रहेकाले पनि काठमाडौँ उपत्यकामा अन्य क्षेत्रभन्दा केही बजेट बढी देखिन गएको हो । काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशका अन्य जिल्लाको जनसङ्ख्या १० दशमलव २ प्रतिशत रहेकामा १० दशमलव ५ प्रतिशत बजेट विनियोजन भएको छ । त्यसैले सहरी विकास मन्त्रालयको बजेट भौगोलिक तथा जनसाङ्ख्यिक आधारमा प्रादेशिक सन्तुलन कायम हुने गरी विनियोजन गरिएको कुरा पुष्टि हुन्छ ।

सहरी विकासका लागि स्थानीय सरकारहरूसँग समन्वय कत्तिको प्रभावकारी छ ?

सहरी विकास मन्त्रालयको मुख्य कार्यक्षेत्रअन्तर्गत सहरी विकास, ग्रामीण विकासजस्ता कार्यहरु रहेका छन् । उक्त कार्यहरु सम्पन्न गर्न स्थानीय सरकारहरुसँग समन्वय अतिआवश्यक रहन्छ । स्थानीय सरकारसँग सहरी विकास मन्त्रालयको समन्वय योजनातर्जुमा, कार्यान्वयनदेखि सम्पन्नपश्चात् सञ्चालनसम्म रहेको हुँदा यसको प्रभावकारिता हालसम्म एकदमै रहेको र आगामी दिनमासमेत अझ थप हुनेछ ।

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकासको एउटा भागको रुपमा स्थानीय सरकारको सहरी शासकीय क्षमता अभिवृद्धि गर्नु पनि हो । अन्य सम्पूर्ण कार्यक्रम कार्यान्वयनसमेत स्थानीय सरकारसँगको समन्वयबिना तोकिएकै अवधिभित्र सम्पन्न गर्न नसकिने हुँदा यस मन्त्रालयको समग्र प्रगति स्थानीय निकायसँगको प्रभावकारी समन्वयमा नै रहन्छ । निर्माण सम्पन्न भएका आयोजनासमेत स्थानीय सरकारलाई हस्तान्तरण गरी स्थानीय सरकारमार्फत नै सञ्चालन हुनुपर्ने हुँदा प्रभावकारी समन्वय अतिआवश्यक छ ।

वर्तमान सरकारले अगाडि सारेको ‘स्मार्ट सिटी’ योजना कुन अवस्थामा छ ?

स्मार्ट सिटी नाम मात्रको जस्तो देखिन्थ्यो । अहिले आवश्यक बजेट छुट्याइएको छ । वर्षौंदेखि रोकिएका कामहरु अहिले अघि बढेका छन् । उपत्यकाका जितपुरफेदी, डुकुछाप, इशान नयाँ सहर, ताथबीचलाबुमा जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृत भई जग्गा विकास कार्य सुरु भएको छ । यी स्थानका नागरिकले वर्षौंदेखि भोगिरहेको समस्या समाधान भएको छ ।

स्मार्ट सिटी भन्नाले आधुनिक सूचना प्रविधिको प्रयोग गरी दक्ष, दिगो र प्रभावकारी ढङ्गले व्यवस्थापन गरिएको सहर हो । यसको प्रमुख उद्देश्य उचित र व्यवहारिक प्रविधि, डिजिटल प्लेटफर्म र स्मार्ट पूर्वाधारको प्रयोगबाट नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउनु नै हो । स्मार्ट सिटीमा आधारभूत सेवाका साथै यातायात, स्वास्थ्य सेवा, सुरक्षा र अन्य सेवालाई प्रभावकारी र सस्तो बनाउन प्रविधिहरूको प्रयोग गरिन्छ ।

नेपाल सरकारको आव २०७२/७३ को बजेट तथा कार्यक्रममार्फत लुम्बिनी, निजगढ र पालुङ्टारलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने घोषणा भएको थियो । त्यसैगरी, मन्त्रिपरिषद्को २०७७ चैत ३० गतेको निर्णयअनुसार विशेष आयोजनाको रुपमा १२ वटा नगरपालिका धनकुटा, गौरीगञ्ज, चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, गुन्डु–बालकोट, वालिङ, लुम्बिनी, तुलसीपुर, दुल्लु, भीमदत्त र अमरगढीलाई स्मार्ट सिटीका रुपमा विकास गर्न स्वीकृति दिएको छ । हालैमात्र नेपाल स्मार्ट सहरसम्बन्धी सूचकहरु २०८१ स्वीकृत भएको छ । उक्त स्वीकृतिपश्चात् स्मार्ट सिटी निर्माण गर्ने लक्ष्यमा थप सहयोग हुने र यससँगै स्मार्ट सिटी निर्माणको कार्यले द्रुतगति हासिल गर्दछ ।

सहरी पूर्वाधार निर्माण गर्दा वातावरणीय असर र सामुदायिक सरोकारलाई कसरी समेट्नुहुन्छ ?

सहरी पूर्वाधार निर्माण गर्दा वातावरणीय असर कम गर्न वातावरण संरक्षण ऐन र नियमावलीमा रहेको व्यवस्था पूर्ण रुपमा पालना गर्ने गरिन्छ । वातावरणीय असरलाई मध्यनजर गरी आइई/इआएजस्ता वातावरणीय प्रभाव मूल्याङ्कन गरेरमात्र ठूला परियोजना सञ्चालन हुँदै आएका छन् । वातावरण असरका कारण हालै मात्र देखिन थालेका असर (जस्तै, सहरी बाढी)न्यूनीकरण गर्न निर्माण हुने पूर्वाधारको दिगोपना र उत्थानशीलतामा थप ध्यान दिन थालिएको छ ।

अब फरक प्रसङ्ग, नेपाली कांग्रेसको आगामी महाधिवेशनमा यहाँको आकाङ्क्षा कुन पदका लागि हो नी ?

नेपाली कांग्रेस पार्टीमा सामान्य कार्यकर्ता हुँदै तलैदेखि काम गरेर आएको हुँ । काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री भएँ । उपसभापति भएँ । सभापतिमा पनि प्रतिस्पर्धा गरिसकेँ । पार्टीमा सभापति र सरकारमा प्रधानमन्त्री बाहेक अरु जिम्मेवारीमा रहेर काम गरिसकेको छु । अब मेरो दाबेदारी पार्टीभित्र कुन पदमा रहला रु तपाईं आफैँ अनुमान गर्न सक्नुहुन्छ ।

अहिले पार्टीका साथीहरुसँग छलफलमा छु । प्राप्त जिम्मेवारीलाई सधँै इमानदारीपूर्वक निर्वाह गरेको छु । जिल्ला जाँदा र पार्टीका साथीहरू भेट्दा तपाईंलाई सभापतिका रूपमा हेर्न चाहेका छौँ भनिरहनुभएको छ

तपाईंको राजनीतिक यात्रामा अहिलेसम्मको सबैभन्दा चुनौतीपूर्ण मोड कुन थियो ?

हामीले राजनीतिमा लाग्दा कुनै दिन सांसद, मन्त्री हौँला भनेर लागेका होइनौँ । दुःखकष्ट भोग्न मात्र होइन, ज्यानैसमेत पनि जान सक्छ भन्ने बुझेर अप्ठ्यारो अवस्थामा राजनीतिमा लागेका हौँ । जनतालाई अधिकारसम्पन्न बनाउन र देशमा तानाशाही व्यवस्था अन्त्य गर्न राजनीतिमा आएका हौँ । जतिबेला राजनीतिमा हामी सक्रिय भयौँ, निक्कै असहज अवस्था थियो । सार्वजनिक रूपका कार्यक्रम गर्न पाइँदैनथ्यो । धरपकड, गिरफ्तारी हुन्थ्यो । पार्टी प्रतिबन्धित थियो । ती दिनहरू सजिला थिएनन् । राजाले सत्ता लिएपछि त अवस्था असहज बन्यो । जब जब प्रजातन्त्रमाथि प्रहार भएको छ जनताका अधिकार खोसिएका छन् त्यतिबेला सधैँ चुनौतीपूर्ण मोड आए पनि हामीले त्यसलाई पार गर्न सफल भएका छौँ । राजनीतिमा चुनौती हरक्षण आइरहन्छन् ।

रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् ।  आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए ।

प्रदेश सभामा पुग्ने व्यवस्था प्रदेशकै स्थानीय तहमार्फत बनाउने गरी आफूहरू अघि बढिरहेको जानकारी दिए। पालिकाहरूको प्रतिनिधि पुगेर प्रदेश सभा सञ्चालन गर्ने व्यवस्था गरेपछि प्रदेश र स्थानीय तहबीचको समझदारी र समन्वय अझ प्रभावकारी हुने उल्लेख गरे।

रास्वपाले संघमा २१ वटा मन्त्रालय घटाएर १५ मा सीमित गर्ने योजना अनुरूप आफ्नो नीति अघि बढाइरहेको पनि उनले बताए । विभिन्न कालखण्डमा गठन गरिएका आयोगहरू खारेज गर्ने पक्षमा समेत रास्वपा रहेको उनको भनाइ छ।

सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरूको जवाफ दिएर बस्ने काम गरिरहेको बताए ।

सत्तापक्षले संसदमा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने बताए ।

अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारद्वारा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अघिल्लो वर्ष पारित गरेका ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरेको छ । जसमा अमेरिकी प्रशासनको भनाइ अनुसार ती परिवर्तनले राष्ट्रको संप्रभुतामा हस्तक्षेप गर्छन् ।

ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदमा पुनः फर्किएपछि अमेरिका डब्लुएचओबाट औपचारिक रूपमा हट्ने प्रक्रिया सुरु गरेका थिए, तर परराष्ट्र मन्त्रालयले भनेअनुसार अघिल्लो वर्ष पारित भएका नियमहरू अमेरिका सदस्य नरहे पनि बाध्यकारी बन्न सक्ने थिए ।

परराष्ट्रमन्त्री मार्को रुबियो र स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले संयुक्त वक्तव्य जारी गर्दै ती नियमले अमेरिकाको आफ्नै स्वास्थ्य नीति बनाउने अधिकार, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र व्यक्तिगत स्वतन्त्रतामा असर पार्न सक्ने भएकाले अस्वीकार गरिएको बताए ।

यता, डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेयससले अमेरिकी निर्णयप्रति खेद व्यक्त गर्दै ती संशोधनले सदस्य राष्ट्रहरूको संप्रभुतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने र डब्लुएचओले कुनै पनि देशमा लकडाउन वा यस्तै उपायहरू जबर्जस्ती लाद्न नसक्ने बताए ।

ती नियम संशोधनमा सबै सदस्य राष्ट्रबाट सहकार्य र समानताको प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ र भविष्यमा महामारीको अवस्थामा विकासोन्मुख राष्ट्रहरूको आवश्यकता बुझ्न एक छुट्टै संयन्त्र बनाउने प्रावधान पनि समावेश गरिएको छ । यद्यपि, अमेरिका लगायतका केही देशले यसलाई भविष्यमा डब्लुएचओमार्फत हुने नीतिगत हस्तक्षेपको जोखिमका रूपमा हेरेका छन् । नयाँ नियमप्रति असहमति जनाउनका लागि राष्ट्रहरूले जुलाई २० भित्र आपत्ति जनाउनु पर्ने व्यवस्था छ ।

यसैबीच, ब्रिटेन र अष्ट्रेलियामा रहेका केही कट्टरपन्थी समूह र खोपप्रति शङ्का राख्ने नागरिकहरूले पनि तिनै नियमविरुद्ध जनमत निर्माणका अभियान चलाएका छन् । धेरैजसो राष्ट्रले यस वर्षको मे महिनामा नयाँ महामारी सम्झौतामा हस्ताक्षर गरे पनि अमेरिका त्यसमा सहभागी भएन, किनभने त्यतिबेला डब्लुएचओबाट हट्ने प्रक्रिया अघि बढिरहेको थियो ।

सन् २०२४ को मे र जुन महिनामा भएका छलफलहरूमा सहभागी रहे पनि अमेरिकाले खोपसम्बन्धी बौद्धिक सम्पत्तिको अधिकारलाई पर्याप्त सुरक्षा नदिएको भन्दै सहमति जनाउन अस्वीकार गरेको थियो । ट्रम्प सरकारभन्दा अगाडिका विदेश मन्त्री एन्टोनी ब्लिन्कनले भने ती नियमलाई सकारात्मक प्रगति मानेका थिए, तर हालका मन्त्री रुबियो र केनेडीले ती नियमहरूमा चीनको राजनीतिक प्रभाव देखिएको आरोप लगाउँदै अस्वीकार गरे ।

डब्लुएचओ प्रमुख डा. टेड्रोसले अन्त्यमा भने, ‘डब्लुएचओ निष्पक्ष संस्था हो र हामी सबै राष्ट्रसँग मिलेर जनस्वास्थ्यको सुधारका लागि काम गर्छौं ।’

अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त

वाल्घा, सिरिया । सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ ।

सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीच आइतबारदेखि सुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ । यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ को नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।

इजरायलले बुधबार राजधानी दमास्कसमा हवाई आक्रमण गर्दै सिरियाली सेनाको मुख्यालय नै लक्षित गरेको थियो ।अमेरिकाका सिरिया मामिलाका विशेष दूत टम बेराकले शनिबार बिहानै जानकारी दिँदै भने, “शराआ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ ।” उक्त सम्झौतामा टर्कीए र जोर्डनको समर्थन रहेको पनि उनले बताए ।

बेराकले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे,“ड्रुज, बेदुइन र सुन्नी समुदायलाई हतियार बिसाएर शान्तिपूर्ण र एकीकृत सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्दछौं ।”

यसअघि, अमेरिकाको मध्यस्थतामै शराआले ड्रुजको केन्द्र स्वेइदा शहरबाट सैनिक फिर्ता गरेका थिए । तर शराआको कार्यालयले ड्रुज लडाकुहरूकै कारण युद्धविराम भङ्ग भएको आरोप लगाएको छ ।

शुक्रबार साँझ शराआ कार्यालयले फेरि स्वेइदातर्फ थप सुरक्षा बल पठाउने तयारी रहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

स्वेइदामा झडप, अस्पताल भरिए

एएफपीका अनुसार, शुक्रबार स्वेइदाको प्रवेशद्वारमा ड्रुज र बेदुइन लडाकुहरूबीच पुनः झडप भएको छ । करिब २०० बेदुइन लडाकुले मेसिनगन र गोला प्रहार गरेका थिए ।

स्वेइदा राष्ट्रिय अस्पतालमा शव राख्ने ठाउँ सकिएकाले शव सडकमा राख्नुपरेको छ । चिकित्सक डाक्टर ओमर ओबेदले भने,“सोमबारदेखि ४०० भन्दा बढी शव आएका छन् । शव राख्ने फ्रिजमा ठाउँ छैन ।”

संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायका अनुसार, आइतबारदेखि हालसम्म ७९ हजार ३३९ व्यक्ति विस्थापित भएका छन् ।

देशभरबाट बेदुइनको समर्थन, इजरायलको राहत सहायता

सिरियाभरका विभिन्न बेदुइन समुदायका लडाकुहरू स्वेइदाको वरपरका गाउँहरूमा जम्मा भएका छन् । हमाका प्रमुख अनेस अल–एनादले भने, “हाम्रो बेदुइन दाजुभाइहरूले सहयोग मागे, त्यसैले हामी आइपुग्यौं ।”

एएफपीले देखेको अनुसार, वाल्घा गाउँमा दर्जनौँ घर र पसलहरू जलाइएका छन् । अहिले गाउँ बेदुइन लडाकुहरूको नियन्त्रणमा छ ।

यसैबीच, इजरायलले स्वेइदाका ड्रुजहरूका लागि ६ लाख डलर बराबरको राहत सामग्री ९खाद्य र औषधि० पठाउने घोषणा गरेको छ । विश्लेषकका अनुसार, इजरायलको यस्तो कदमले सिरियाली सेनालाई थप कमजोर पार्ने रणनीति हो ।

मानवीय सङ्कटमा अन्तर्राष्ट्रिय चासो

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले रगतपात तुरुन्त रोक्न र सबै पक्षले निष्पक्ष र छिटो छानबिनमा सहयोग गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुख स्टेफान सकालियनले भने,“स्वेइदाको मानवीय अवस्था अत्यन्तै गम्भीर छ । अस्पतालमा उपचारका लागि आवश्यक स्रोत छैनन्, मृत शरीर गाड्न ठाउँ छैन ।”

स्थानीय सञ्चारमाध्यम ‘सुवेइदा–२४’ का सम्पादक रयान मारूफले भने,“हामी बच्चाहरूका लागि दूधसमेत पाउन सकिरहेका छैनौं । स्थिति भयावह छ ।”

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन् ।

आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन् । उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरेका छन् ।

“आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ । अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्ने छ”, प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म हाम्रो भरपर्दो जनशक्ति इन्जिनियरहरुभएको बताएका छन् ।

साहित्यकार मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण

काठमाडौँ । साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको आज यहाँ आयोजित कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराई र प्रा. डा. कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

शिक्षा, उमेर, परिश्रम गर्ने क्षमता, आर्थिक अवस्था बलियो हुँदाहुँदै मजदुर, विद्यार्थी, कर्मचारी, उद्योगपतिका नाममा नेपाली युवामा विदेशप्रतिको मोह तथा त्यसका लागि सरकारले ऋणलगायतका सुविधा उपलब्ध गराएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पु¥याइएको सहयोगलाई उपन्यासमा मूल रूमिा प्रस्तुत गरिएको छ ।
लामो समय शिक्षणमा संलग्न साहित्यकार मल्लको यो तेस्रो सृजना हो ।

त्यस अवसरमा प्राडा भट्टराईले ‘निर्गम’ वर्तमान यथार्थको हृदयहारी अभिलेखन भएको टिप्पणी गरे ।

प्रा.डा. कोइरालाले कृतिमाथि समीक्षा गरे भने साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, लक्ष्मण वियोगी, शरद् प्रधानले टिप्पणी गरे ।

एक सय ७२ पृष्ठको उक्त उपन्यासमा ३४ वटा अध्याय छन् । शून्यबाट सुरु हुने जीवन ३२ लक्षणले पूर्ण भए पनि आखिर पुनःशून्यमै अन्त्य हुन्छ भन्ने वास्तविकता प्रस्तुत छ । बजार मूल्य रु ३७५ निर्धारण गरिएको उपन्यासको पहिलो संस्करणमा ५०१ प्रति छापिएका जनाइएको छ ।

जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट, नयाँ आयात शुल्कको प्रभाव

बर्लिन। संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ । यद्यपि जनुअरीदेखि मे महिनासम्मको अवधिमा समग्र निर्यातमा जम्मा १.९ प्रतिशतको मात्र गिरावट आएको जर्मन सङ्ख्यात्मक कार्यालयले जनाएको छ ।

वर्षको पहिलो तीन महिनामा अमेरिकी ग्राहकले शुल्क लागू हुनु अघि गाडी अर्डर गरेकाले निर्यातमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । तर एप्रिल ३ मा २५ प्रतिशतको नयाँ आयात शुल्क लागु भएपछि जर्मन गाडी निर्यात २३.५ प्रतिशतले घटेको हो ।

जर्मनीको सवारी साधन उद्योग सङ्घ (भीडीए) ले यसअघि नै यस्तो शुल्कले युरोपेली संघबाट अमेरिकातर्फ गाडी पठाउने कार्यमा गम्भीर असर पर्ने चेतावनी दिएको थियो । सङ्घले भनेको छ,“थप शुल्कले स्वतन्त्र र नियममा आधारित व्यापारमा नराम्रो असर पार्दछ ।”

सन् २०२४ मा जर्मनीले अमेरिका तर्फ ३६ अर्ब ८० करोड युरो बराबरका गाडी निर्यात गरेको थियो भने सात अर्ब ९० करोड युरो बराबरका गाडी आयात गरेको थियो ।

युरोपेली सङ्ख्यात्मक संस्था यूरोस्ट्याटका अनुसार, अमेरिका अझै पनि युरोपेली गाडीहरूको सबैभन्दा ठूलो निर्यात गन्तव्य हो । कुल घरेलु मूल्यवृद्धिको २० प्रतिशत हिस्सा अमेरिकी बजारबाटै आउने गर्छ । जर्मनी युरोपको सबैभन्दा ठूलो गाडी निर्यात गर्ने देश हो ।

फक्सवागन, मर्सिडिज–बेन्ज र बीएमडब्लु जस्ता जर्मन कम्पनीहरूले २०२४ मा युरोपेली संघबाट अमेरिका पठाइएका गाडीहरूको झण्डै ७३ प्रतिशत हिस्सा ओगटेका थिए । ती सबै कम्पनी अहिले शुल्क वृद्धिका कारण ठूलो दबाबमा छन् ।

पोर्शे, जुन फक्सवागन समूह अन्तर्गत पर्छ, हाल खर्च कटौतीको योजना बनाउँदैछ । पोर्शेका प्रमुख ओलिभर ब्लुमले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीको हालको अवस्था कमजोर रहेको र संरचनात्मक परिवर्तन आवश्यक हुने बताए ।

पोर्शेले अप्रिल र मे महिनामा मात्र नयाँ अमेरिकी शुल्कका कारण करिब ३० करोड युरो बराबरको अतिरिक्त खर्च व्यहोर्नु परेको जनाएको छ ।

उता, जर्मनीमा अमेरिका बाट ल्याइने गाडीहरूको मागमा पनि भारी गिरावट आएको छ । जनुअरीदेखि मे महिनासम्म अमेरिका बाट आयात हुने गाडी ३० प्रतिशतभन्दा बढीले घटेका छन् । अहिले अमेरिका चीनपछि पाँचौँ स्थानमा झरेको छ ।

छाउपडी प्रथाविरुद्ध चेतनामूलक कार्यक्रम चलाउन प्रदेश सरकारको निर्देशन

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले केही दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतेको अवस्थामा सर्पदंशबाट एक महिलाको मृत्यु भएको घटनासमेतको गाम्भीर्यलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले छाउगोठको उन्मूलन र समाजमा देखिएका सामाजिक विभेद एवं छुवाछुतयुक्त व्यवहारको नियमनलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउने भएको छ । छाउपडी प्रथाजन्य कूरीति उन्मूलन नीति, २०७६ तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्न प्रदेश, जिल्लास्तरीय र स्थानीय तहस्तरीय समितिले नियमित बैठक गर्ने र नियमित रुपमा आआफ्नो कार्यक्षेत्रमा अनुगमन गरी सक्रियता बढाउने निर्णय गरिएको छ ।

साथै, सामाजिक विकास मन्त्रालयमार्फत विद्यालय, समुदाय र धार्मिक सङ्घसंस्था लक्षित प्रदेशस्तरीय वार्षिक कार्ययोजना बनाई छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

एमाले पोलिटब्युरो : दोस्रो दिनको बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि जारी छ ।

पार्टी कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरूले धारणा राखिरहेका छन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा धारणा राखेका थिए ।

विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । साथै पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने प्रस्ताव गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो । विधान महाधिवेशन केन्द्रीत पोलिटब्युरो बैठक आजै समापन गर्ने कार्यतालिका उनले जानकारी दिए।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ ।

मुग्लिन–पोखरा सडक विस्तारः १३ वटा पुल बने, ११ निर्माणाधीन

मुग्लिन । पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन् भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् ।

तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन् भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर र पश्चिम खण्डको ३८ दशमलव ८८ किलोमिटर सडकमा निर्माण भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए ।

उनका अनुसार पूर्वी सडकअन्तर्गत दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुल निर्माण भइरहेको छ । यस खण्डमा हालसम्म ५७ प्रतिशत कार्यप्रगति भएको छ । उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमी दुई लेन सडक कालोपत्र भइसकेको छ ।

त्यसैगरी, पश्चिम खण्डमा करिब दुई हजार दुई सय विद्युत् पोल हटाउनुपर्नेमध्ये करिब ५० प्रतिशत हटाइएको छ । यो खण्डमा ११ किमी सडक कालोपत्र गरिसकिएको छ । यस खण्डमा हालसम्म करिब २३ प्रतिशत कार्यप्रगति भइसकेको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए ।

‘राजमार्गका दायाँ बायाँका विद्युत् पोल हटाउने कार्यलाई तीव्रता दिइएको छ । तनहुँको खैरेनीटारबाट कोत्रेवारिसम्म र कास्कीको कोत्रेपारिदेखि तल्लो गगनगौडासम्म पोल हटाउन बाँकी छ,’ इन्जिनियर पौडेलले भने ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।

कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका मातहत रहेका सात वटा वडा कार्यालयमध्ये यस गत आवमा १ देखि ४ नम्बर वडाका उक्त सङ्ख्याका हलगोरु पाल्ने कृषकलाई अनुदान दिएका हौँ, अनुदानमा रु ११ लाख खर्च भएको छ ।” उहाँका अनुसार आव २०८२/८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ ।

गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै आएको छ । गोरु पाल्ने कृषकलाई बर्सेनि नदिई एक/एक वर्षको अन्तरालमा अनुदान दिइने गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यस किसिमको कार्यक्रम ल्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषकको सङ्ख्या बढ्दै गएको छ, गोरु पाल्ने क्रम बढेसँगै खेतबारी बाँझो राख्ने पराम्परा पनि हट्दै गएको छ, कार्यक्रम प्रभावकारी समेत बन्दै गएको छ ।”

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिने गरिएको बताउनुभयो । यसरी अनुदान पाउने कृषकका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ गर्ने गरिएको सो गाउँपालिकाले जनाएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

बागमती। बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ ।

प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने लक्ष्य लिएकोमा त्यसको ८३ प्रतिशत अर्थात २४ अर्ब ५३ करोड ४० लाख ३० हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ०८ प्रतिशतअर्थात् तीन अर्ब ८१ करोड ५८ लाख २१ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी सन्ज्यालले बताए ।

सङ्घीय सरकारबाट १५ अर्ब ५७ करोड ५६ लाख अनुदानप्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७६ प्रतिशतअर्थात् ११ अर्ब ९६ करोड ८७ लाख ७३ हजार अनुदान प्राप्त भएको उनको भनाइ छ । गत आव २०८०/८१ मा बागमती प्रदेशमा ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो ।

आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार राजस्व सङ्कलन भएको थियो ।

यस्तै आव २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेकोभन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । प्रदेश सरकारले आव २०७९/८० मा ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड राजस्व सङ्कलन गरेको थियो ।

सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्व सङ्कलनमा आएको कमी र आर्थिकमन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नुजस्ता कारणले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

काठमाडौँ। विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाएका हुन् ।

डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी भएका हुन् । महासभालाई सम्बोधन गर्दै उनले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरूसँग आग्रह गरे ।

साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि कार्यक्रम आयोजना गर्न नेपाल तयार रहेको उल्लेख गर्दै डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्य हुने विश्वास व्यक्त गरे । डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव हुन् ।

यही जुलाई १८ मा भएको उक्त महासभामा ९० देशबाट १२० जनाको सहभागिता भएको थियो । नेपाललगायत अन्य चार राष्ट्रबाट उक्त महासभामा सम्बोधन भएको थियो । महासभामा डा श्रेष्ठले श्रीलङ्का, टाइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरूसँग भेट गरी भेटेरिनरी क्षेत्रका समस्या र एवं अवसरका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । विश्व भेटेरिनरी एसोसिएसनको आगामी महासभा जापानको टोकियोमा हुनेछ । नेपाल सन् १९९८ देखि विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो ।

भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० क्रिकेट खेलाडीको नाम घोषणा

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा गरेको छ।

क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बैंगलोरुमा सहभागी हुने खेलाडी छनोट गरेको हो। दोस्रो चरणको बन्द प्रशिक्षणमा पहिलो चरणको बन्द प्रशिक्षणमा परेका १२ खेलाडी बाहिरिएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यहि जुलाई २१ देखि अगस्ट ३ सम्म दोस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन हुनेछ। पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका १२ खेलाडीले भने नेपालमै अभ्यास गर्ने क्यानको भनाइ छ।

भारतमा प्रशिक्षणमा सहभागी हुने खेलाडी 

रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह,  भीम सार्की, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकार

नेपालमा बन्द भयो टेलिग्राम

काठमाडौं ।  नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।

टेलिग्रामार्फत अनलाइन ठगी भएको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गराएको हो ।

प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, “नेपालमा सञ्चालनमा रहेको टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।”

योसँगै अब सेवा प्रदायकहरूले आफ्नो नेटवर्कबाट टेलिग्राममा पहुँच बन्द गर्नुपर्ने भएको छ । जसका कारण नेपालमा रहेका लाखौं प्रयोगकर्ता प्रभावित हुनेछन् ।

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठक भोलि ३ गते शनिबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो ।

पोलिटव्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।

नेपाल भित्रिने वस्तुहरुमा ‘नेपाल गुणस्तर’ अनिवार्य लागु गरिने: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर (एनएस) को प्रमाणपत्र अनिवार्य बनाइनु पर्ने बताएका छन् ।

नेपाल गुणस्तर परिषद्को ११५औँ बैठकको सम्बोधन गर्दै मन्त्री भण्डारीले भने, ‘नेपाल बाहेक अन्य देशले आफ्नो मुलुकमा वस्तु आयात गर्दा आफ्नो देशको नियम अनुसार गुणस्तर अनिवार्य गरी बाह्य वस्तुको आयातमा कडाइ गर्ने गरेका छन् । हामिलेपनि उपभोक्ता हितलाई ध्यानमा राख्दै नेपाली बजारमा आउने बस्तुहरुमा ‘नेपाल गुणस्तर (एनएस) अनिवार्य लागु हुने गरी अविलम्ब कार्य प्रारम्भ गर्नुपर्ने भएको छ ।’

उनले भने, ‘नेपालमा दैनिक उपभोग्य देखि औद्योगिक प्रयोजनका धेरै सामान विदेशबाट आयात भइरहेका छन् । तीमध्ये धेरै वस्तुहरू गुणस्तरहीन छन्, जसको प्रत्यक्ष असर आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र आर्थिक हानी देखिएको छ । त्यसैले अब नेपाल आउने वस्तुहरूमा अनिवार्य रूपमा नेपाल गुणस्तर लागू गरिनु अत्यावश्यक छ ।’

बैठकमा मन्त्री भण्डारीले न्यून गुणस्तरका वस्तुहरू नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय भएको र यस्तो कार्यले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने धारणा व्यक्त गरेका छन् ।

उक्त बैठकमा नेपालमै उत्पादन हुने वस्तुहरूमा कसरी ‘नेपाल गुणस्तर चिन्ह’ प्रदान गर्ने, गुणस्तर मापनका मापदण्ड सुधार गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने, तथा गुणस्तरहीन वस्तुको आयातमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत गहन छलफल भएको छ ।

नेपाल गुणस्तर परिषद् अन्तर्गत उपभोक्ताको हितका लागि प्रभावकारी नीति निर्माण तथा गुणस्तर अनुगमन प्रणाली बलियो बनाउने विषयमा मन्त्रालयले प्राथमिकता दिइरहेको समेत बैठकमा उल्लेख गरिएको थियो ।

एमालेसँग एकता सम्भव छैन: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको बताएका छन् । साथै, उनले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने बताए ।

‘अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँ भित्रको अवस्था हामीले देखिरहेका छौँ । त्यसप्रति लसपस कसैको छ भने आशा छ भने मेरो भन्नु केही पनि छैन,’ अध्यक्ष नेपालले भने ।

शुक्रबार आफ्ना पुराना सहकर्मी बामदेव गौतमलाई पार्टीमा स्वागत गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले एमालेकै नेताहरूबाट आएका अभिव्यक्ति पनि आफ्नो पार्टी सक्काउने र प्रहार गर्ने गरी आइरहेको बताए ।

‘यो पार्टीसँग उसको संलग्नको कुरा गर्ने हो भने त्यहाँका नेताहरूको अभिव्यक्तिबाटै थाहा हुन्छ, यो पार्टी कसरी सक्काउने, कसरी प्रहार गर्ने भन्ने उनीहरूले भनिरहेको हामीले बुझिरहेका छौँ । यो पार्टीलाई बलियो बनाउनका लागि आजको घटनाले निकै राम्रो भूमिका खेल्ने छ,’ अध्यक्ष नेपालले भने ।

आफ्नो पार्टीको शक्तिका कारण राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेको उनले दाबी गरे ।

उनले कसैप्रति पनि आग्रह नपालिकन काम गर्नुपर्ने बेला आएको बताए । नेता कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले जिम्मेवारी पूरा गर्ने गरी ध्यान दिन आग्रह गरे ।

बिष्णु सापकोटाले मुख खोले- ‘मेरो मौनतालाई कमजोरी नठान्नु, दोषको स्वीकारोक्ति नमान्नु’

काठमाडौँ ।  गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले आफ्नो डिभोर्सका विषयमा पहिलोपटक मुख खोलेका छन् ।

गायिका चौहान र उनका पूर्वपति सापकोटाबीच सम्बन्धविच्छेद भएको महिनौंपछि पनि सामाजिक संजालमा ‘डिभोर्स’को चर्चा सेलाएको छैन ।

टिकटक र रिल्समा अहिले पनि उनीहरूको सम्बन्धविच्छेदको कुरालाई लिएर नानाथरी टिप्पणी भैरहेको देखिन्छ । एलिनाले हालै ल्याएको तीजको गीतपछि यो चर्चा झनै चुलिएको छ ।

गीतमा उनले व्यक्त गरेको भावलाई धेरै टिकटकरले एलिनाको वास्तविक जीवनसँग सम्बन्ध रहेको भन्दै भिडियो बनाइरहेका छन् । एलिनाले पनि पछिल्ला केही अन्तर्वार्तामा आफ्नो कथा सुनाइरहेकी छिन् ।

उनको हरेक अन्तर्वार्ताको केन्द्रमा डिभोर्स र पूर्वपतिकै कुरा समेटिएको देखिन्छ

सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् ।

आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याएको उनले जनाएका छन् ।

दुबै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्ने उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म स्पष्टरूपमा भन्न चाहन्छु – अहिले मेरो बारेमा भइरहेका अनावश्यक टिकटक भिडियोहरु र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याईरहेका छन् ।

प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म– सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानी तथा ब्याबसायिक नोक्सानिको क्षतिपुर्ति सहित मैले अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।’

उनले आफ्नो मौनतालाई कमजोरी ठान्नु वा दोष स्वीकारेको संकेत मान्नु पूर्णरुपमा अनुचित हुने बताएका छन् । ‘अहिले दुबैको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?’, उनले प्रश्न गरेका छन् ।

साथै सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । आफ्नो चरित्रहत्याका विरुद्ध अष्ट्रेलियामा नै कानूनी प्रक्रिया अगाडि बढाइसकेको उनले बताएका छन् ।

 

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उनले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए ।

अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटौँडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सरकारी उद्योग, कलकारखानाको पुनःसंरचना र सुधारका निम्ति माओवादी केन्द्रले चासो र पहल लिँदै आएको भन्दै श्रमिक वर्ग र देशको हितमा हुने काममा आफू सधैँ साथमा रहने विश्वास दिलाए ।

ध्यानाकर्षण पत्रमा उद्योग सञ्चालनमा लापरबाही भएको, कर्मचारीका माग बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलाप भइरहेकाले यस्ता गतिविधि रोक्न तथा उद्योगका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इञ्चार्ज विजय गौतमलगायत ट्रेड यनियनका नेताहरू सहभागी थिए ।