`

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उनले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए ।

अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटौँडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सरकारी उद्योग, कलकारखानाको पुनःसंरचना र सुधारका निम्ति माओवादी केन्द्रले चासो र पहल लिँदै आएको भन्दै श्रमिक वर्ग र देशको हितमा हुने काममा आफू सधैँ साथमा रहने विश्वास दिलाए ।

ध्यानाकर्षण पत्रमा उद्योग सञ्चालनमा लापरबाही भएको, कर्मचारीका माग बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलाप भइरहेकाले यस्ता गतिविधि रोक्न तथा उद्योगका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इञ्चार्ज विजय गौतमलगायत ट्रेड यनियनका नेताहरू सहभागी थिए ।

लिङ्देनले गरे उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका हुन्।

प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका हुन्।

उपाध्यक्ष गिरिसहित चार चार पदाधिकारीले साझा विज्ञप्ति निकाल्दै पार्टीको शीर्ष तहमा भएको सहमति विपरित नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै अध्यक्ष लिङदेनको चर्को आलोचना गरेका थिए। अध्यक्षको कार्यशैलीको कारणले पार्टीमा क्षति पुगेको उनीहरुको निष्कर्ष थियो ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल समुनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई समितिको अन्तिम प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले कुनै पनि मुलाहिजा नराखेर प्रतिवेदन आएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । आयोगले प्रतिवेदन पेस गरेलगत्तै मन्त्रालयले आफ्नो ‘वेबसाइट’मार्फत प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत साउन ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा पाइलट मनीष शाक्य भने बाँच्न सफल भएका थिए । जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

नेकपा एस र नेकपा राष्ट्रिय एकता अभियानबीच एकता

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा भएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो। नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् ।

उनी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्। एमालेले वेवस्ता गरेपछि नेता गौतम नेकपा एससँग एकता गर्न पुगेका छन्।

पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान

गण्डकी ।  पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित गरिएको छ ।
विश्वविद्यालयले रजिष्ट्रार सह–प्राडा अजय थापा, सह–प्रशासक गोवर्धन भट्टराई, उप–प्रशासक सीतादेवी ढकाल, मुख्य सहायकहरू विमल कार्की र पुरूषोत्तम रानाभाट, सवारी चालक झगबहादुर कमर तथा कार्यालय सहयोगी दुर्गा रेग्मी र जोगिराम नेपालीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरेको हो ।
पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार २०५४ साल साउन १ गते स्थापित विश्वविद्यालयले आफ्नो स्थापना दिवसका अवसर पारी प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउँदै आएकामा यस वर्ष दीर्घसेवा पदक सम्मान कार्यक्रमसहित विश्वविद्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले विश्वविद्यालय उच्च शिक्षाको एक महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको बताए । विश्वविद्यालयको हालको उचाइमा पुग्न योगदान दिने पूर्वपदाधिकारी, समाजसेवी, शिक्षासेवीप्रति आभार प्रकट गर्दै उनले २५औँ विश्वविद्यालय सभामार्फत अघि सारिएका नीति तथा कार्यक्रम अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा तीर्थराज अर्यालले आयोगले विश्वविद्यालयको मार्गनिर्देशानुसार कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि लक्ष्य र योजनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
रजिष्ट्रार सह–प्राडा अजय थापाले पोखरा विश्वविद्यालयसँगै आफू हुर्किएको अनुभव सुनाउँदै २५ वर्ष निरन्तर सेवामा रहन पाउँदा गर्व महसुस भएको बताए ।
सुरुमा स्नातकोत्तर तहमा १२–१५ जना र स्नातक तहमा २८ जना विद्यार्थी तथा आठ–१० जना कर्मचारीबाट सुरु भएको विश्वविद्यालय हाल ६५ कलेजमार्फत ३५ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले यस सफलताको श्रेय सम्पूर्ण संस्थापक, पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीलाई जाने धारणा राखे ।
कार्यक्रममा पूर्वरजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी, व्यवस्थापन सङ्कायका डिन सह–प्राडा दयाराज ढकाल, प्राध्यापक सङ्घका सभापति सह–प्राडा निरञ्जन श्रेष्ठ, स्कूल अफ बिजनेसका निर्देशक सह–प्राडा श्रृजन ज्ञवालीलगायतले सबैको साथ र सहयोगमा विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए ।

सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।

गत आवका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो। असार समान्तसम्ममा १५ खर्ब २३ अर्ब १० करोड ६८ लाख खर्च भएको छ। जुन वार्षिक लक्ष्यको ८१ दशमलव ८७ प्रतिशत बराबर हो।

चालु शीर्षकमा गत आवका लागि ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ८५ दशमलव ९५ प्रतिशत अर्थात् नौ खर्ब ८० अर्ब २८ करोड २१ लाख खर्च भएको छ।

त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन भएकोमा ६३ दशमलव दुई प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ६८ करोड २३ लाख खर्च भएको छ।

वित्तीय व्यवस्थापन शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकोमा ८७ दशमलव १४ प्रतिशत अर्थात् तीन खर्ब २० अर्ब चार करोड २४ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सरकारको आम्दानी पनि लक्ष्यभन्दा निकै कम छ। गत आवका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख प्राप्ति हुने लक्ष्य राखेको सरकारले ८२ दशमलव ८८ प्रतिशत अर्थात् १२ खर्ब १९ अर्ब ७१ करोड ८६ लाख बराबर मात्रै असुली गरेको छ। यसरी सरकारको आम्दानी र खर्चको अवस्था तुलना गर्दा आयभन्दा तीन खर्ब तीन अर्ब ३८ करोड बढी व्यय भएको छ।

राजस्व संकलनतर्फ गत आवका लागि राखिएको १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख बराबरको लक्ष्यमा ८३ दशमलव ०६ प्रतिशत मात्रै प्रगति भएको छ। सरकारले ११ खर्ब ७८ अर्ब ८२ करोड बराबर मात्रै राजस्व उठाउन सकेको हो। जसमध्ये कर राजस्व वार्षिक लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत अर्थात् १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख र गैरकर राजस्व ९५ दशमलव ४५ प्रतिशत अर्थात् एक खर्ब २८ अर्ब ९४ करोड बराबर मात्रै संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ।

त्यस्तै, वैदेशिक अनुदान प्राप्तिमा ४४ दशमलव ९७ प्रतिशत मात्रै प्रगति देखिएको छ। गत आवका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले लक्ष्यको आधा भन्दा कम अर्थात् २३ अर्ब ५२ करोड ८७ लाख बराबर मात्रै उठाउन सकेको हो।

यसरी आय-व्ययको अवस्था हेर्दा सरकारले दुई पटक लक्ष्य संशोधन गर्दा पनि हासिल गर्न नसकेको देखिएको छ। मध्यावधि समीक्षामार्फत गत माघमा पहिलोपटक र चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै गर्दा गत जेठमा सरकारले दोस्रोपटक आय-व्ययको अनुमान घटाएको थियो।

सरकारको गत जेठको अनुमानअनुसार गत आवमा सुरुवाती वार्षिक विनियोजनको ८९ दशमलव चार प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड बजेट खर्च हुने ठानिएको थियो। जबकि वास्तविक खर्च डेढ महिना अगाडिको लक्ष्यभन्दा करिब एक खर्ब ४० खर्बले खुम्चिएको छ।

सुरुवाती विनियोजनको अनुपातमा चालु खर्चतर्फ ८८ दशमलव पाँच, पुँजीगततर्फ ८४ दशमलव चार र वित्तीय व्यवस्थातर्फ ९७ दशमलव छ प्रतिशत रहने संशोधित अनुमान सरकारको गत जेठमा गरेको थियो। त्यस्तै, राजस्व परिचालन १२ खर्ब ६७ अर्ब ३९ करोड रहने दोस्रोपटकको अनुमान थियो।

साहित्यकार, कलाकार र विभिन्न क्षेत्रका व्यक्तित्व माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

काठमाडौँ । नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई स्वागत गरे । माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, एमालेनिकट परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष रामेछाप नगरपालिकाका नेता रहेका छन् ।

अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्दै भने, ‘बधाई छ र पार्टी तथा आन्दोलनमा स्वागत गर्न चाहन्छु। अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन।यो परिर्वतनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईहरुको पार्टी प्रवेशले योगदान दिने छ ।’

माओवादी केन्द्रको पहल र संर्घषका कारण स्थापित परिर्वतन सबैलाई थाहा भएको भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरु त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए ।

‘केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौं। हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ,’– उनले भने ।

संस्कृति र कलाको महत्त्वमाथि प्रकाश पार्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले गरेको पहलले सांस्कृतिक क्षेत्रलाई टेवा पु¥याएको छ। संस्कृतिमा शक्ति हुन्छ — यही मान्यतामा आधारित भएर कलाकारहरुलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो। बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरुलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।’

कार्यक्रममा बोल्दै नवप्रवेशी चन्दु गोर्खालीले भने, ‘म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ। आन्दोलनका उतारचढावहरू देखेँ तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ। त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ।’

सो अवसरमा पार्टीले आगामी दिनमा अझ धेरै क्षेत्रका व्यक्तिहरूलाई संगठित गर्ने र कलाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको योगदानलाई संस्थागत रूप दिन पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

एमाले पोलिटब्यूरो बैठक सुरु (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ । एमालेमा ९९ सदस्यीय पोलिटब्युरो कमिटी छ ।

बिहीबार मध्यरातमा सकिएको सचिवालयले बैठकमा १९ सदस्यीय पदाधिकारीलाई सुरूमा ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएकोमा छलफलको क्रममा १५ जना पुर्‍याउनुपर्ने अनौपचारिक सहमति गरेको छ ।

सचिवालय बैठकले ७० वर्षे उमेरहद, २ कार्यकाल, पदाधिकारी सङ्ख्या र विधान महाधिवेशन प्रतिनिधिबारे केही नयाँ निर्णय गरेको थियो ।

 

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकार सर्वोच्चमा

काठमाडौं । राजपुर बम काण्डमा जन्मकैद तोकिएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

महान्यायाधिवक्ता कार्यालय शुक्रबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसलाविरुद्ध पुनरावेदनमा गएको हो । आलम लगायत सबै आरोपितहरूलाई दोषी ठहर गर्नुपर्ने र जिल्ला अदालतबाट सफाइ पाएकाहरुलाई पनि दोषी ठहर गर्नुपर्ने एकमुष्ट मागदावी पुनरावेदनमा उल्लेख छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ मा भएको बम विस्फोटमा परेका घाइतेलाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेको आरोपमा जन्मकैद तोकिएका आलमलाई गत १४ जेठमा न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

भ्रष्टाचार छानबिन गर्न माग गर्दै दलबलसहित अख्तियार पुग्यो राप्रपा

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ ।

लिङ्देन नेतृत्वको टोलीले नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी,मुद्दाको सङ्ख्या र दाबी रकम बढ्दै गएको अवस्थाले पुष्टि गरेको बताए।

‘नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको छ । आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दाबी रकम बढ्‌दै गएको अवस्थाले यसको पुष्टि हुन्छ ।’ राप्रपाले उल्लेख गरेको छ ।

भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरू प्रशस्त हुँदै गर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको ज्ञापन पत्रमा उल्लेख छ।

 

नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन्। उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गरे।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा आज आयोजित नेपाल-चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन अन्यत्तै पुराना र ऐतिहासिक देशहरु भएको कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताए।

“यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ। बहुआयामिक सम्बन्धलाई बढाउँछ। सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्।”, प्रधानमन्त्री ओलीले भने, “दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन। मित्रताका लागि गच्छे चाहिँदैन। गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ। अझ व्यापक बनाइनेछ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृवत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गरेका थिए।

 

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’

काठमाडौँ । यस वर्षको ग्लोबल हिरो अवार्ड नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ ।

यो अवार्ड आगामी २७ जुलाईमा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहमा प्रदान गरिनेछ ।

ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष शाही र घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो ।

शाही राप्रपाका प्रमुस सचेतक हुन्, भने , कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक हुन् ।

सचिवालयको निर्णयलगत्तै ईश्वर र शंकरको स्टाटस, कसले के भने ?

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुक्रबार (आज) बस्ने पार्टीको पोलिटब्युरो बैठकमा सदस्यहरूलाई गम्भीरताका साथ छलफल र बहसमा सहभागी हुन आग्रह गरेका छन् ।

शुक्रबार बैठक सुरु हुनु केही घण्टाअघि सामाजिक सञ्जालमा लेख्दै पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान संशोधन (मस्यौदा) माथि सचिवालय बैठकमा गम्भीरताका साथ छलफल भएकाे भन्दै पोलिटब्युरो बैठकमा पनि छलफलका लागि तयारी गर्न भनेका हुन् ।

पोलिटब्युरो बैठकबाट केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने सकिने पोखरेलको विश्वास छ । ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बिचमा छलफल हुने छ’, पोखरेलले भनेका छन्, ‘पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउनुहुनेछ !’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

पोखरेल ७० वर्षे उमेरहद र २ कार्यकाललाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । तर सचिवालय बैठकले उक्त व्यवस्था हटाएपछि पोलिटब्युरोमार्फत परिमार्जन गर्न सकिने पोखरेलको विश्वास छ ।

यस्तै, महासचिव शंकर पोखरेलले पनि विधि निर्माणको अन्योल अन्त्य भएको दाबी गरेका छन् ।

‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन–८४का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ’, पोखरेलले भनेका छन् ।

शुक्रबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेरहद र २ कार्यकाल हटाउने तथा पदाधिकारी संख्या १५ बनाउने र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेतृत्वमा आउने प्रयास गरिरहेका बेला सचिवालय बैठकले गरेका निर्णयहरूबाट भण्डारी आगामी विधान महाधिवेशनमै प्रतिनिधि बन्न नपाउने भएकी छन् । यो प्रबन्धका कारण एमालेको ११ औँ महाधिवेशनमा ओली नै दोहोरिने निश्चित भएपछि पोखरेले विधि निर्माणको अन्योल हटेको बताएका हुन् ।

 

विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो ।

नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको उनीहरु निकट स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो । उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ ।’

कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए ।

कोइरालाले यसअघि बिहीबार प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक

काठमाडौँ । आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले को पोलिटब्युरो बैठक आज बस्दैछ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको सचिवालय बैठकबाट निर्णित विधान संशोधनलगायत प्रस्ताव पेस हुनेछन् ।

विधान महाधिवेशनपूर्व यही साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव प्रस्तुत गरिनेछन् । बिहीबार राति सम्पन्न बैठकमा विधान संशोधनको प्रस्तावमा घनीभूत छलफल भएको थियो ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ । विधान महाधिवेशनले पार्टीभित्र ७० वर्षे उमेर हद र एकै पदमा लगातार दुई कार्यकाल बस्न नमिल्ने प्रावधान विधिवत् रुपमा हटाउने तयारी गरिएको छ ।

विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई एमालेको केन्द्रीय कमिटीले अन्तिम रुप दिनेछ ।

एमालेमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव, तीन उपाध्यक्षसहित ११ पदाधिकारी राखिने

काठमाडौं । प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव अघि बढेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ११ जना पदाधिकारी मात्रै राख्ने गरी उक्त प्रस्ताव गरेका हुन ।

अहिले एमालेमा रहेका १९ जना पदाधिकारीलाई घटाएर ११ जना मात्रै राख्ने गरि विधान संशोधन प्रस्ताव उपाध्यक्ष पौडेलले बैठकमा राखेका एकजना पदाधिकारीले जानकारी दिएका छन् ।

पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा एकजना अध्यक्ष , तीनजना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव र पाँचजना सचिव रहने प्रस्ताव गरिएको छ । बैठकमा १९९ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको विषयले पायो एमाले बैठकमा प्रवेश

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियताको विषयलाई प्रवेश गराएका छन् । च्यासलमा जारी बैठकमा अध्यक्ष भण्डारीको विषयमा कुरा राखेको सचिव योगेश भट्टराईले बताए ।

‘अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि कुनै न कुनै बैठकमा छलफल हुन्छ’, भट्टराईले भने ।

जिम्मेवारीबारे सोधिएको प्रश्नमा उनले थपे, ’अहिले हतार नगरौँ, समय छ नि ।’ उनले पार्टीमा सक्रिय हुनुको लक्ष्य र उद्देश्यबारे पार्टीमा भण्डारीले प्रस्ट पार्नुपर्ने भन्दै सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए । उनले सबै सेवा सुविधा त्यागेर आएपछि अध्यक्षले वार्ता गरेर उचित व्यवस्थापन पर्नुपर्ने बताए ।

तर भण्डारीलाई जिम्मेवारी दिनेबारे उच्च तहमै छलफल हुनुपर्ने उनले बताए । ‘हाइ लेभलमा कुरा होस् भन्ने चाहना छ । त्यसपछि आवश्यक पर्यो भने सचिवालयमा छलफल गर्छौ, केन्द्रीय कमिटीमा छलफल गर्छौ’, भट्टराईले भने ।

विधान महाधिवेशनको एजेण्डा तय गर्ने एमालेमा आजबाट बैठक सुरु भएको छ । आजको सचिवालय पछि भोलि पोलिटब्यूरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बस्दैछ ।

एमालेको बैठक दिउँसो २ बजेबाट जारी छ ।

शेखर कोइरालाले खुमलटार पुगेर भेटे प्रचण्डलाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार उनकै निवास खुमलटारमा पुगेका हुन्।

स्रोतका अनुसार, उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । ‘झण्डै २ घण्टा प्रचण्डसँग वार्ता गरेर कोइराला फर्किसकेका छन् ।

साफ यू–२० महिला च्याम्पियनसिप: श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं। साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले चौथो जित निकालेको छ ।

बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकालेकाे हाे । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको थियो । नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ ।

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ ।

रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रूपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री विपिन आचार्यले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सोही कार्यविधिका आधारमा उम्मेदवार छनोट गरिने जानकारी दिए ।

“रुपन्देहीलाई प्रस्थान बिन्दु मानेर पार्टीले उम्मेदवार छनोट विधि पारित गरेका हो”, उनले भने, “पार्टीले छान्ने उम्मेदवार पार्टीको गतिविधिमा संलग्न, पदाधिकारीदेखि सदस्यहरूले रुचाएको र क्षमता वान व्यक्ति जसले देश र जनताका लागि योगदान दिन सक्षम हुनुहुन्छ, यस्तो उम्मेदवारलाई छनोट गर्ने गरी कार्यविधि बनाएका हौ ।”

पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकारत्व, व्यक्तित्व र क्षमता सधैँ हाबी हुने स्पष्ट पारे। रास्वपाले पार्टी स्थापना भएयता आन्तरिकरुपमा प्रारम्भिक निर्वाचन विधिबाट उम्मेदवार चयन गर्दै आएको बताउँदै आएको छ । सोही विधिमा थप परिमार्जन र परिस्कृत गर्दै नयाँ कार्यविधि बनाइएको जनाइएको छ ।

“लिडरसिप एकेडेमीमा २५ प्रतिशत, पोलिटिकल प्राक्सेमिटीमा २० प्रतिशत, समावेशितामा पाँच प्रतिशत र प्रारम्भिक निर्वाचनको नतिजामा ५० प्रतिशत अंकभार निर्धारण गरिएको छ”, प्रवक्ता झाले भने । पार्टीले एक साताभित्र उम्मेदवार छनोटको तालिका सार्वजनिक गर्ने बताएको छ ।

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षको पहिलो दिन आज प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमबीच मुख्यमन्त्री कँडेलले मन्त्रीहरु तथा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ मा सम्बन्धित मन्त्रालयलाई तोकिएको क्षेत्राधिकारभित्र रही कार्यसम्पादन गर्न तथा चालु आर्थिक वर्षको विनियोजित बजेटलाई नतिजामुखी र प्रभावकारी बनाउन आर्थिक वर्षको पहिलो दिनै मुख्यमन्त्रीले मन्त्रीहरु र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री कडेलसँग आर्थिक योजनामन्त्री राजीवविक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्यसम्झौता गरे ।

मुख्यमन्त्री कँडेलले माथिल्लो निकायलाई आफ्नो जिम्मेवारी र जवाफदेहितासहित मन्त्रालयका कामकारवाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गर्नु परेको बताए । उनले भने, “लोकतन्त्रमा माथिल्लो तह जति जिम्मेवार हुन्छ, त्यो सबैको लागि अनुकरणीय हुन्छ ।”

कार्यसम्पादन सम्झौतामा उल्ल्लेखित विषयलाई मन्त्रालयले बार्षिक क्यालेण्डर बनाएर लागू गर्न उनले मन्त्रीहरुलाई निर्देशन दिए । उनले भने, “तपार्इँहरुको कार्यसम्पादन नै जनसर्मथन पाउने आधार हो, अनुहार हेरेर जनसमर्थन प्राप्त हुँदैन ।”

नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ विन्दुमा कायम भएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज नेप्से परिसूचक दुई दशमलव ७१ प्रतिशतले बढेको हो ।

आज तीन सय ११ कम्पनीको तीन करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर एक लाख ४१ हजार ४३४ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार ४५५ दशमलव १७ को कारोबार भएको छ । आज दुई सय ४० कम्पनीको शेयर मूल्य बढ्दा नौ कम्पनीको घटेको छभने कारोबार रकम पनि बढेको छ ।

आज कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी ‘अन्य’ समूह पाँच दशमलव शून्य नौ प्रतिशतले बढेको छ । लगानी समूह तीन दशमलव १७ प्रतिशत, जीवन बिमा तीन दशमलव १४ प्रतिशत, हाइड्रोपावर तीन दशमलव शून्य चार प्रतिशतले वृद्धि भएको छ ।

बैंकिङ एक दशमलव ७६, विकास बैंक एक दशमलव ९५, फाइनान्स दुई दशमलव ८०, होटल तथा पर्यटन दुई दशमलव ६०, उत्पादन तथा प्रशोधन दुई दशमलव ९४, माइक्रोफाइनान्स दुई दशमलव ५०, निर्जीवन बिमा दुई दशमलव १८ र व्यापार एक दशमलव ७६ प्रतिशतले बढेका छन् । आज ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआबिएल स्टेबल फण्डको शेयर शुल्य सबैभन्दा बढी सात दशमलव ५८ प्रतिशतले घटेको छ ।

मालपोत अधिकृत फिर्ता गराउन आएका थिए, हुन्न भनेपछि चरित्रहत्या भयो: मन्त्री अधिकारी

काठमाडौं । भूमिसुधार मन्त्री बलराम अधिकारीले मालपोत अधिकृतको सरुवा फिर्ता गर्न आएका व्यक्तिले आफ्नो स्वार्थ पूरा नभएपछि चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् ।

मन्त्रालयले बिहीबार भूमि मन्त्रीको एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले त्यो नपाएपछि अडियो सार्वजनिक गरेको बताए ।

“मालपोत अधिकृत सरुवा भएपछि रोक्न आएका थिए, सरुवा भएका व्यक्तिलाई रोक्ने कुरा पनि भएन । अधिकृत आएर सरुवा हुन्छु पनि भन्नुभएको छैन । अहिले मसँगमात्रै नभएको मेरो छोरासँग पनि जोडेर आएको छ । यसमा सत्यता छैन ।”

उनले अडियोसँग सम्बन्धित मान्छे आफूसँग नजोडिएको भन्दै कहीँ कतै संलग्नता पाइए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताए ।

मन्त्रिपरिषद् पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ: मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद् पुनर्गठन हुने तयारीमा रहेको बताउँदै राजीनामा नदिने बताएका छन् ।

बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।

घुस प्रकरणमा अडियो सार्वजनिक भएपछि स्पष्टीकरण दिने क्रममा उनलाई एक सञ्चारकर्मीले यस्तै अडियोको कारण मन्त्री पद गयो नि ? भनेर प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफमा उनले भनेका छन्, ‘मन्त्री पदको के भने, सधैंको निम्ति पनि होइन । एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति नै हो । सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ । त्यो हुँदा को हुन्छन् को हुँदैनन्, छुट्टै कुरा हो । सबै हुन्छन् कि । त्यो एउटा पाटो हो ।’

साथै, उनले पदमा रहुन्जेल जिम्मेवार तरिकाबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएको थियो ।

यसअघि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए ।

 

 

 

भूमि मन्त्रीको स्पष्टीकरण: मेरो स्वर भएको अडियो आयो भने सजाय भोग्न तयार छु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न तयार भएको बताएका छन् ।

बिहीबार  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ३२ लाख घुस लिएको दाबीसहितको अडिओबारे प्रष्टीकरण दिए।

अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको पनि जिकिर गरे। उनले सञ्चारकर्मीहरुलाई पनि आफ्नोबारेमा लेख्दा तथ्यमा केन्द्रित भएर सोधेर लेख्न आग्रह गरे।

‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु,’ मन्त्री अधिकारीले भने ।

उनले आफ्नो परिवारका सदस्य समेत जोडेर चरित्र हत्या गरएको उनले गुनासो गरे । मन्त्री अधिकारीले भने, ‘केही दिन यता मसँग जोडिएको केही कुरा आएको छ । मसँग जोडेर अडियो आएको भनिएको छ । उक्त अडियोमा आएका व्यक्तिहरू मसँग र मेरो मन्त्रालयसँग सम्बन्धित छैन । मन्त्रीमात्रै भनेर होइन यसमा मेरो छोरालाई पनि जोडियो । मेरो छोराको यिनीहरूसँग भेटेकै छैन।’

आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरेका छन् ।

आजदेखि धरहरा १२ घण्टा खुल्ने

आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ। हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो। नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

आजदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि खुला रहने उल्लेख गरे। यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिँदै आएकामा आजदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने उनले जानकारी दिए।

‘अब दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौंँ। धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ’, प्रवक्ता नारायण भने।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो। गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएकामा सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको गुनासो गरेसँगै समयावधि थपिएको उनको भनाइ छ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढाएर दुई सिफ्टमा सञ्चालनको तयारी गरिएको बताए।

भूकम्पले क्षतिग्रस्त धरहरा पुनःनिर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट रु चार करोड ३३ लाख ९३ हजार ६५० राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले जनाएको छ।

इकाईअन्तर्गत रहेर सञ्चालन भइरहेको धरहरामा हालसम्म दुई लाख ३७ हजार ६५ जनाले अवलोकन गरेका छन्। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालन भइरहेको छ।

काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

काठमाडौँ। नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।

विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले जानकारी दिए ।

डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको पनि भुषालले जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षायाममा विगतका वर्षमा भन्दा बढी पानी पर्ने भनेपछि डेङ्गीको जोखिम झन बढ्ने महानगरले जनाएको छ । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्र्मीले आ–आफ्नो टोलटोलमा पानी जमेको स्थानको सरसफाइसमेत गरिरहेका छन् ।

डेङ्गी रोग नियन्त्रण गर्नका लागि सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । महानगरका ३२ वटै वडामा रहेका सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।

आज सामाजिक सञ्जालमा उनले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गरेका छन् ।

“तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ । तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड तथा पुरस्कारको व्यवस्था गरेको छ, यो सकारात्मक थलानी हो”, प्रधानमन्त्री ओलीले लेखेका छन्, “सरकारी निर्माणसम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ ।”

सिस्नेरीका थापा च्याउखेतीमा लगानी बढाउँदै

गण्डकी। युवाहरूको विदेश मोह बढेसँगै देशव्यापी रूपमा कृषिप्रतिको अनाकर्षण बढिरहेको अवस्थामा पोखरा महानगरपालिका-११ का ध्रुवबहादुर थापाले भने व्यावसायिक च्याउखेतीमा लगानी बढाउँदै गएका छन्।

काहुँ सिस्नेरी एग्रो फार्म सञ्चालन गर्दै आएका उनले च्याउखेतीका लागि करिब एक करोड ५० लाख बढी लगानी गरिसकेका छन् । विगतमा खाद्यान्न आपूर्तिको काममार्फत व्यावसायिकतामा लागेका उनले कोरोना महामारीपछि व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका हुन् ।

कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको योजनालाई व्यवहारमा उतार्नुअघि विसं २०७४ देखि अध्ययन तथा प्रक्रियागत काम सुरु गरेका थिए । अहिले उनले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा च्याउखेती गरिरहेका छन् ।

विसं २०७७ फागुनमा चिस्यानसहितको प्रविधियुक्त टनेलको काम सकेपछि च्याउखेती थालेका उनले सुरुमा ५० लाख लगानी गरेको जानकारी दिए । उनका अनुसार सुरुमा १२ टन क्षमताको उक्त टनेलबाट प्रत्येक तीन महिनाको एक याममा दुई हजार ४०० किलोसम्म गोब्रे च्याउ उत्पादन भएको थियो ।

बजारको बढ्दो मागसँगै च्याउखेतीप्रतिको लगाव बढेपछि अहिले १२ टन क्षमताको टनेललाई विस्तार गरी २० टन बनाएको जनाउँदै थापाले थप २० टन क्षमताको टनेल निर्माण गरिरहेको बताए । बाह्र टन क्षमताको टनेलको क्षमता वृद्धिसँगै अर्को टनेल निर्माण गर्दा करिब ७० लाख लगानी भएको उनले जानकारी दिए ।

बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहले नीति निर्माण अनुभव आदानप्रदान र लगानी प्रवर्द्धनबारे छलफल गरेको छ ।

आज सिंहदरबारमा बसेको सो समूहको बैठकले वेष्ट मिन्स्टर फाउन्डेसन फर डेमोक्रेसी (डब्लुएफडी) र नेपाल बेलायत चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्दै नीति निर्माणमा अनुभव आदानप्रदान तथा दुई देशका विविध क्षेत्रमा लगानी प्रवर्द्धनका लागि संसदीय कुटनीति प्रयोग गर्ने निष्कर्ष निकालेको हो ।

समूहका संयोजक विराजभक्त श्रेष्ठकाअनुसार वेष्ट मिन्स्टर फाउन्डेसनसँग नेपाल र बेलायतको संसदीय अभ्यास, नीति निर्माणको प्रक्रियाबारे अनुभव आदानप्रदानमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यसैगरी नेपाल बेलायत चेम्बर अफ कमर्ससँग दुई देशबीच सम्भावनाका क्षेत्र, लगानी प्रवर्द्वनबारे सहकार्य र मैत्री समूहले संसदीय कुटनीति प्रयोग गर्ने समझदारी बनेको संयोजक श्रेष्ठले बताए । दुवै संस्थासँग सहकार्यको खाका बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।

मैत्री समूहले नेपाल बेलायत सम्बन्धको संसदीय आयाम, विविध सम्बन्धबारे परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा वेष्ट मिन्स्टर फाउन्डेसनका निर्देशक दिनेश वाग्लेले नेपालमा हालसम्म गरेको काम, साझेदारीका ढाँचा तथा भविष्यका योजना बारे प्रस्तुत गरेका थिए।

नेपाल–बेलायत चेम्बर अफ कमर्सका प्रमुख राजेन्द्र खेतानले बैठकमा नेपालको लगानी सम्भाव्यता, बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र, दुवै देशबीचको आर्थिक साझेदारीमा रहेका अवसर र चुनौतीहरूबारे धारणा राखे । समूहले नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ बनाउने र संसदीय कूटनीति तथा आर्थिक सहकार्यलाई बलियो बनाउने जनाएको छ ।

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने

धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने बताएका छन् ।

आज धरान उपमहानगरपालिका–१९ स्थित हरियाली पार्कमा स्वर्गीय नगर प्रमुख तारा सुब्बाको ७औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले १९ नं वडा कमिटीले आयोजना गरेको स्मृतिसभा कार्यक्रममा उनले यो सेवा तीन महिनाका लागि सुरु गरिएको भए पनि अब बन्द नहुने बताए । “बिमा सेवाले जनताको अधिकारका रूपमा स्थायित्व पाउनेछ,” उनले भने ।

बिपी प्रतिष्ठानलाई जनताको पहिलो स्वास्थ्य सहाराको रूपमा उभ्याउन कोशी प्रदेश सरकार सफल भएको उनले उल्लेख गरे । जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र स्वास्थ्य सेवा अस्थायी हुने कुरा कहिल्यै स्वीकार्य नहुने उनको भनाइ छ ।

धरानको दीर्घकालीन खानेपानी समस्याका सम्बन्धमा उनले सङ्घीय सरकारसँग सहकार्य गरी ‘लेउती सुरुङ मार्ग’ निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउने बताए । धरानलाई स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीको केन्द्रका रूपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बसाइँसराइ रोक्न त्यसअनुसार संरचना निर्माणको खाँचो औँल्याए ।

मुख्यमन्त्री कार्कीले दिवङ्गत तारा सुब्बाको सम्झनामा धरानको समग्र विकासका लागि संकल्पसहितको सहकार्य आवश्यक रहेको बताउँदै भने, “धरान बनाउने अभियान अब टुङ्गोमा पु¥याउने समय आएको छ । संकल्प, योजना र कार्यान्वयन सँगसँगै जानुपर्ने आजको आवश्यक्ता हो ।”

औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ: मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक उद्यमशीलता रहेका ठाउँमा रोजगारी सिर्जना हुने भएकाले औद्योगिक पूर्वाधार विकासमा सरकार केन्द्रित रहेको बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आज यहाँ आयोजित ३८औँ वार्षिकोत्सव समारोहमा उनले औद्योगिक पूर्वाधार विकासमा सरकार बाधक नबनी साधक बन्ने धारणा राखे ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले औद्योगिक क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले औद्योगिक क्षेत्रलाई आधुनिक प्रविधियुक्त, नविन तथा प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा राखे ।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अध्यक्ष बाबुराम पन्तले औद्योगिक प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै आफूहरू अगाडि बढिरहेको उल्लेख गरे ।

समारोहमा विभिन्न औद्योगिक क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारी तथा सफल उद्योगलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो । देशभरका औद्योगिक क्षेत्रको एकीकृत व्यवस्थापन, समन्वय तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित यस संस्थाले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको हो ।

सरकारले लिएको नीतिअनुरूप औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगलाई सेवा दिने सक्रिय संयन्त्रका रूपमा आफ्नो भूमिका मजबुत बनाउँदै आएको छ ।

उद्योगमन्त्री भण्डारीका एक वर्षः उद्योग व्यवसायको क्षेत्रमा उत्साह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्रमा उत्साह देखिएको छ ।

उद्योग मन्त्रालयले एक वर्षका अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेर उत्साहमूलक रहेको जनाएको छ । उनले पद सम्हालेपछि उद्योग तथा व्यवसायका क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारदेखि आवश्यक कानुन निर्माण र संशोधन गरिएको सो प्रगति विवरणमा उल्लेख छ ।

यस्तै यस अवधिमा भारत, चीन र कोरियाको औपचारिक भ्रमणका क्रममा समकक्षी तथा निजी क्षेत्रका उद्योगी व्यवसायीसँग नेपालमा लगानी वातावरण निर्माणका सन्दर्भमा ठोसरुपमा समझदारी तथा सम्झौता उनले गरेको स्वकीय सचिव आनन्द भट्टले बताए ।

उनका अनुसार यसै अवधिमा उनले नेपालमा लगानी भित्र्याउने सन्दर्भमा अमेरिका, बेलायत, युरोपियन युनियन, जापान, बङ्गलादेश लगायतका देशका नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिसँग पनि नेपालमा लगानी भित्र्याउने सन्दर्भमा विभिन्न चरणमा पहलसमेत थालेका छन् । साथै मन्त्री भण्डारीले नेपालको नीजि क्षेत्रकै सल्लाह तथा सुझावअनुसार उद्योग व्यवसायमैत्री नीति तथा कानुन निर्माणमा महत्वपूर्ण पहल थालेका थिए ।

उद्योग क्षेत्रतर्फ

मन्त्रालयको सुधार कार्य योजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको, उद्योग दर्ताको सङ्ख्या ७०० रहेका छन् । ती मध्ये ठूला ६८ तथा मझौला ५४ र साना उद्योगको सङ्ख्या ५७८ रहेको छ ।

यस्तै नविनतम् ज्ञान, प्राविधिक सीप र क्षमता भएका इच्छुक उद्यमीलाई स्टार्टअप उद्यममा सहभागी हुन उत्प्रेरित गर्दै तथा मुलुकभित्रै रोजगार तथा स्वरोजगार प्रवद्र्धन गर्न राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० र स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको छ ।

उद्योग विभागमा कूल पूँजी ५० करोडसम्मको वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था कार्यान्वयनमा आएसँगै यस अवधिमा स्वीकृति सङ्ख्या ४५१ रहेको र लगानी रकम चार अर्ब ६१ करोड प्राप्त भएको उद्योग मन्त्रालयले जनाएको छ । यस्तै घरेलु मदिरा उत्पादन अनुमति तथा ब्राण्डिङ्ग सम्बन्धी मापदण्ड, २०८१ स्वीकृत भई उद्योग विभागबाट उक्त कार्य प्रारम्भ भएको छ ।

दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषण (ड्रिलिङ) कार्य चार हजार मिटर लक्ष्य राखेकामा चार हजार १३ मि ड्रिलिङ कार्य सम्पन्न भएको र ११२ अर्ब घनमिटर मिथेनको बाहुल्यताको प्राकृतिक ग्यास रहेको प्रारम्भिक अनुमानसहितको प्रतिवेदन प्राप्त भएको सो विवरणमा उल्लेख छ । साथै छिट्टै उत्खननको काम सुरुआतको पहल गरिने जनाइएको छ ।

औद्योगिक पहुँच सडक/विद्युत् प्रसारण लाइन

यसैगरी धौवादी फलाम कम्पनीको खानीसम्मको पहुँचमार्ग निर्माण भएको तथा बर्दघाट–सर्दी १३२ केभी (होङसी सिमेन्ट), सुनवल १३२ र ३३ केभी (पाल्पा सिमेन्ट), कपुरकोट (रोल्पा सिमेन्ट), मातातिर्थ–माल्टा (लक्ष्मी सिमेन्ट), तुल्सीपुर–दुघराक्ष (सोनापुर सिमेन्ट) मातातीर्थ–नौवीसे (युनाईटेड सिमेन्ट), रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा सिमेन्ट र सर्वोत्तम सिमेन्टसम्म विद्युत् प्रसारण लाइन निर्माण गर्ने कार्य सम्पन्न हुने चरणमा रहेको जनाइएको छ ।

यस्तै पाँचखाल विशेष आर्थिक क्षेत्र र सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक द्य र ऋलाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भई कार्यान्वयनमा रहेको समेत जनाइएको छ ।

मन्त्रालयको विशेष प्राथमिकतामा रहेको ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियानमा निजी क्षेत्रसँग सहकार्य भएको र विभिन्न १९ औद्योगिक पहुँच सडकका लागि २० करोड ७६ लाख रकम निकासा भई कार्य भएको विवरणमा उल्लेख छ । साथै हालसम्म जम्मा १२० स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भएकामा चार औद्योगिक ग्राम अछामको मेल्लेख, गुल्मीको मदाने, तनहुँको आबुखैरेनी तथा स्याङ्जाको अर्जुनचौपारीमा सञ्चालनमा आएका छन् ।

यस्तै दैजी औद्योगिक क्षेत्रका रुख कटानका लागि पुनः अध्ययन गर्न अध्ययन टोली गठन भई स्थलगत जाँचबुझ र समग्र पक्ष अध्ययन भई हाल फिल्ड अनुगमनको कार्य सम्पन्न भएको तथा मोतीपुर औद्योगिक क्षेत्रमा रहेको विवादरहित जग्गाको जग्गा नापजाँच र डिमार्केसन गर्ने कार्य सम्पन्न भई सो क्षेत्र भित्रको विवादरहित जग्गा छुट्याउने कार्यका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने कार्य सुरु भएको जनाइएको छ ।

नौबस्ता औद्योगिक क्षेत्रमा विवादरहित जग्गामा सडक निर्माण एवं सिमाङ्कन गर्ने कार्य अघि बढेको, मयुरधाप औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन प्रतिवेदनका सम्बन्धमा थप अध्ययन गर्न अध्ययन टोली गठन भई अध्ययन भइरहेको, शक्तिखोर औद्योगिक क्षेत्रको रुख छपान र नम्बरिङ्ग कार्यको लागत अनुमान स्वीकृतिका लागि प्रक्रियामा रहेको विवरणमा उल्लेख छ ।

स्टार्ट अप तथा नवप्रवर्द्धन

आव २०८०/८१ को अन्तसम्म १६५ परियोजनाले स्टार्टअप उद्यम कर्जा प्राप्त गरेको, आव २०८१/८२ मा पाँच हजार १५८ आवेदन प्राप्त भएकामा प्रारम्भिक छनोट एक हजार ३१४ स्टार्टअप फर्मको छनोट गरी अन्तिम मूल्याङ्कन पश्चात ६६१ स्टार्टअप फर्म छनोट गरी कर्जा उपलब्ध गराइरहेको र असार मसान्तसम्म ५८९ स्टार्टअप फर्मले कर्जा प्राप्त गरिसकेको विवरणमा जनाइएको छ ।

हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीतिअनुसार २०८२ असार मसान्तसम्म झापाको दमक, हेटौंडाको मयुरधाप तथा चितवनको शक्तिखोर, रुपन्देहीको मोतिपुर, दाङको लक्ष्मीपुर तथा बाँकेको नौबस्ता र कञ्चनपुरको दैजी गरी सात औद्योगिक क्षेत्र घोषणा भई प्रारम्भिक कार्य अगाडि बढेको जनाइएको छ ।

यस्तै दमक औद्योगिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी मोडेल (एएए) को अवधारणा बमोजिम निर्माण एवम् सञ्चालन गर्न जग्गा लिजमा दिने प्रक्रियाको लागि पिडिआइए गर्न लगानी बोर्डलाई अनुरोध गरिएको उल्लेख छ । साथै मन्त्रालयले विभिन्न कानुत तथा नीति पनि पारित गरेको छ ।

प्रगति विवरणअनुसार भैरहवा विशेष आर्थिक क्षेत्रमा करिब चार अर्ब २० करोडको लगानीमा ११ वटा उद्योग सञ्चालनमा रही दुई हजार १९ व्यक्तिले रोजगारी प्राप्त गर्ने प्रक्षेपण गरिएको र चालू आर्थिक वर्षको असार मसान्तसम्म दुई अर्ब लगानीमा थप सात उद्योग सञ्चालन गर्न अनुमति दिइएको तथा उद्योग सञ्चालनबाट ९०० जना थप रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

यस्तै सिमरा विशेष आर्थिक क्षेत्रमा करिब ११ अर्ब ४० करोडको लगानीमा पाँच वटा उद्योग सञ्चालनमा रही पाँच हजार ६०० व्यक्तिले रोजगारी प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । पाँचखाल विशेष आर्थिक क्षेत्रमा हालसम्म प्रशासनिक भवन निर्माण भई रुख कटानका लागि लगत अनुमान तयार भएको र सार्वजनिक निजी साझेदारीमा पाँचखाल सेजको विकास गर्नका लागि लगानी बोर्डबाट मूल्याङ्कन भइरहेको जनाइएको छ ।

यसैगरी सुनको गुणस्तर मापन यन्त्र खरिद गरी ल्याब सञ्चालन भएको, नेपाल प्रत्यायन केन्द्रको स्थापना भएको, भारत सरकारले नेपालबाट निर्यात हुने नौ प्रकारका वस्तुमा भारतको गुणस्तर प्रमाणपत्र प्राप्त गरी निर्यात भैरहेको, नेपाल प्रत्यायन नियमावलीको मस्यौदा तयार भई स्वीकृत हुने चरणमा रहेको र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्यदलमा पूर्वसहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जनाइएको छ ।

चालू आर्थिक वर्षमा ४१ वटा नेपाल गुणस्तर मापदण्ड स्वीकृत भएकार यस अवधिमा ४५ वस्तुलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएको विवरणमा उल्लेख छ ।

वाणिज्य तथा आपूर्ति क्षेत्र

यस अवधिमा विकासशील राष्ट्रमा सहज स्तरोन्तीका लागि वाणिज्य क्षेत्रको रणनीतिक योजना, २०८१ तर्जुमा एवं स्वीकृत भई कार्यान्वयनमा रहेको र नेपाल–भारत वाणिज्य सचिव स्तरिय अन्तरसरकारी समितिको बैठक काठमाडौँमा सम्पन्न भई नेपाली उद्योगीले भारतमा निर्यात गर्दा भोग्नु परेका समस्या व्यापार तथा पारवहनसँग सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको छ ।

यस्तै नेपाल र गणतन्त्र कोरियाबीचः व्यापार तथा लगानी प्रवर्द्धन सम्बन्धी रुपरेखा स्थापना गर्ने सम्बन्धी मा हस्ताक्षर भएको, नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी रुपरेखा सम्झौतामा वाणिज्य सचिव स्तरीय बैठक सम्पन्न भई जसमा नेपाली वस्तुको अमेरिकामा निर्यात अभिवृद्धिसम्बन्धी छलफल र निर्णय भएको, नेपालका वाणिज्य सचिव तथा चीनको तिब्बत सरकारका उपप्रमुख स्तरीय सीमा व्यापार र सहयोग सम्बन्धी नेपाल–चीन समन्वय संयन्त्रको दोस्रो बैठक सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार नेपाल र चीनबिचः व्यापार प्रवद्र्धन सहयोग सम्बन्धी समझदारीपत्रको हस्ताक्षरमा हस्ताक्षर भएको, टिबिएस र एसपीएस सम्बन्धी राष्ट्रिय कार्यशाला÷ट्रिप्स सम्झौता र समसामयिक नीतिगत मुद्दाहरूमा राष्ट्रिय कार्यशाला सम्बन्धी बैठक विश्व व्यापार सङ्गठनसँगको सहकार्यमा आयोजना गरिएको छ ।

निर्यात अभिवृद्धि

पश्मिना, कफी, चिया लगायतका वस्तुमा मूल्य श्रृङ्खला विकास गर्ने, प्रविधि हस्तान्तरण गर्ने र ब्रान्डिङ लगायतका कार्य भइरहेको, थप पाँच निर्यातमूलक वस्तु तथा सेवाको मूल्य श्रृङ्खला विकास सम्बन्धमा अध्ययन कार्य भइरहेको, निर्यात अभिवृद्धिका लागि निर्यातमा नगद अनुदान, सिमेन्ट लगायतका उत्पादनमूलक उद्योगमा पहुँच सडक तथा प्रसारण लाइन निर्माणको कार्य भइरहेको जनाइएको छ ।

चोभार सुक्खा बन्दरगाह निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको, चोभार, विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा एकीकृत जाँचचौकी सञ्चालनमा रहेका छन् । नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण कार्य सम्पन्न भई सञ्चालन, व्यवस्थापन, नियमन र अनुगमन गर्नुका साथै थप सम्भावित भन्सार नाकामा सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी निर्माणका लागि अध्ययन र अनुसन्धान कार्य हुँदै आएको मन्त्रालयले उल्लेख गरेको छ । साथै कञ्चनपुरको दोधारा चाँदनीमा नेपाल सरकारलेरुख कटानको काम सम्पन्न गरेपछि भारत सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया सुरु गरिसकेको छ ।

यस्तै भैरहवा एकीकृत जाँचचौकीको निर्माण कार्य करिब ७६ प्रतिशत सम्पन्न भएको, रसुवा सुक्खा बन्दरगाहको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको, बिजनेश इक्यूबेशन सेन्टर सञ्चालन सम्बन्धी कार्यविधी, २०८१ र व्यावसायिक सामाजिक जिम्मेवारी सम्बन्धी कार्यविधी, २०८२ जारी भई कार्यान्वयनमा ल्याइएको विवरणमा उल्लेख छ ।

आपूर्ति क्षेत्र

नेपाल आयल निगम र भारतीय आयल निगम लिबीच २०८१ असोजमा बिटूबी सम्झौता सम्पन्न भई भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्म पाइपलाइन निर्माण तथा ग्रीनफिल्ड टर्मिनल निर्माण र बाराको अम्लेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार तथा लोथरमा ग्रीनफिल्ड टर्मिनल निर्माण कार्य निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेका २२ दुर्गम जिल्लामध्ये १७ जिल्लाका ६१ स्थानमा आर्थिक वर्ष २०८०/८१ मा ८४ हजार २३४ दशमलव ९० क्विन्टल आयोडिनयुक्त नुन ढुवानी भएकामा आव २०८१/८२ को हालसम्म ६१ हजार ९९१ क्वीन्टल आयोडिनयुक्त नुन ढुवानी भएको छ ।

मन्त्रालयका अनुसार आव २०८१/८२ साउनदेखि हालसम्म विभिन्न जिल्लाका ६३ स्थानका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गरिएको, एजेन्सी (संशोधन र एकीकरण) नियमहरू, २०१९ संशोधनका लागि मस्यौदा तयार भई राय÷सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको, चाडपर्वमा खाद्यान्न तथा चिनी लगायतका वस्तुको सरल र नियमित आपूर्ति व्यवस्था मिलाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको उत्तर–पश्चिमतर्फ उपलब्ध गराएको स्थानमा डिपो स्थानान्तरण गर्न नेपाल आयल निगम लिमिटेड र इन्जिनियरिङ अध्ययन संस्थानबीच विस्तृत अध्ययन प्रतिवेद तयार गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

धान र गहुँको न्यूनतम समर्थन मूल्य तोक्न नियमित रूपमा मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेश गरिएको तथा समयमै मूल्य तोकिएको, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत स्थानीय तहमा खरिद बिक्री केन्द्र स्थापना गर्न सम्झौता भई केही स्थानीय तहमा बिक्री केन्द्र सञ्चालनमा आएको, चिनी, चामल, तेल, अण्डा, पानी लगायतका अत्यावश्यक वस्तुको सहज आपूर्ति, मूल्य र गुणस्तर नियमन, अनुगमन लगायतका विषयमा सरोकारवालासँग निरन्तर संवाद, अन्तरक्रिया र अनुगमन गरिएको प्रगति विवरणमा उल्लेख छ । यस्तै मन्त्रालयले हालै उपभोक्ता हित संरक्षणका लागि उपभोक्ता अदालतसमेत स्थापना गरेको छ ।

एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेरबाट सुरु भएको हाे ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।

प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बस्न लागेको हो ।

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुर्नविचार गछौंः गृहमन्त्री लेखक

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् ।

बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए।

“महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ ।” मन्त्री लेखकले भने–“ यसको निर्मलीकरणका लागि कसरी अगाडी बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।”

महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाई छ । “ महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु ।” लेखकले भने“ अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।”

सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरी सहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटनाहरु घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

अमेरिकाकाे अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ ।

भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी) गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल (८७ किलोमिटर) दक्षिणमा अवस्थित थियो । भूकम्पको केन्द्रविन्दु १२.५ माइलको गहिराइमा रहेको थियो ।

अधिकारीहरूले भूकम्पपछि सुरुमा दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि सुनामी चेतावनी जारी गरेका थिए तर पछि यसलाई सुनामी सल्लाहमा घटाए र त्यसपछि यसलाई पूर्ण रूपमा फिर्ता लिए ।

“दक्षिण अलास्का र अलास्का प्रायद्वीपका तटीय क्षेत्रहरूका लागि सुनामी सल्लाह रद्द गरिएको छ”, भूकम्पको करिब दुई घण्टापछि जारी गरिएको सन्देशमा राष्ट्रिय सुनामी चेतावनी केन्द्र (एनटिडब्लुसी) ले भन्यो ।

युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि एक दर्जनभन्दा बढी परकम्पनहरूको समूह आएको थियो । तीमध्ये सबैभन्दा ठूलो ५.२ म्याग्निच्युड मापन गरिएको थियो ।

सुनामी चेतावनी र सल्लाह अलास्काको तटका क्षेत्रहरूका लागि मात्र जारी गरिएको र थप क्षेत्रहरू अप्रभावित रहेको एनटिडब्लुसीले जनाएको छ ।

स्यान्ड पोइन्टमा अधिकतम शून्य दशमलमव दुई फिट (६.१ सेन्टिमिटर) उचाइको सुनामी अवलोकन गरिएको थियो ।

तैपनि, एनटिडब्लुसीले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई खतराहरूप्रति सचेत रहन सल्लाह दिएको छ ।

“स्थानीय आपत्कालीन अधिकारीहरूले सुरक्षित भएको सङ्केत नगरेसम्म खतरा क्षेत्रहरूमा पुनः बसोबास नगर्नुहोस्”, एनटिडब्लुसीले भनेको छ ।

अलास्का भूकम्पीय रूपमा सक्रिय प्रशान्त रिङ अफ फायरको साथमा अवस्थित छ ।

सन् १९६४ मार्चमा ९.२ म्याग्निच्युडको भूकम्प गएको थियो । यो उत्तर अमेरिकामा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली थियो ।

उक्त भूकम्पले सुनामी निम्त्याएको थियो र एन्कोरेज सहरलाई ध्वस्त पारेको थियो भने अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाईमा प्रहार गरेको थियो । भूकम्प र सुनामीबाट धेरैको मृत्यु भएको थियो भने ४० करोड डलरभन्दा बढीको सम्पत्ति नोक्सान भएको थियो ।

सन् २०२३ जुलाईमा अलास्का प्रायद्वीपमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प पछि कुनै ठूलो क्षति भएको रिपोर्ट गरिएको थिएन ।

देश जटिल मोडमा रहेको प्रचण्डको आराेप

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जटिल मोडमा रहेको बताएका छन्।

बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै उनले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको उल्लेख गरे।

‘देश अहिले संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिाकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ,’ प्रचण्डको भनाइ छ, ‘अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन। सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ। हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी लाग्नुपर्छ।’

आइएमई पे र खल्ती को एकीकृत सेवा ‘खल्ती बाइ आइएमई’ सञ्चालनमा

काठमाडौं । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा एउटा महत्त्वपूर्ण घटनाक्रमका रूपमा आइएमई पे र खल्ती वालेट औपचारिक रूपमा गाभिएर  साउन १ गतेदेखि ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यो मर्जरसँगै अब एउटै एपमार्फत साविकका १ करोड २७ लाखभन्दा बढी सेवाग्राहीहरूले डिजिटल भुक्तानी सेवाको लाभ लिन सक्नेछन्।

नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जसले सेवाग्राहीको संख्या र पुँजी दुवै हिसाबले ‘खल्ती बाइ आइएमई’ लाई नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ। यो मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

काठमाण्डौँ । आइएमई’ पे र खल्ती वालेट मर्ज भई, आज (साउन १) गतेबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।

यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरीएकाे छ ।

यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।

ब्याज दिने एक मात्र वालेट को रूपमा चिनिएको आइएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो।

अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन्।

साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ। यस प्रक्रिया मार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्।

खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन्।

आइएमई पे आइएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो भने खल्ती चार जना सह-संस्थापकहरूद्वारा स्थापना गरिएको थियो, जसमा पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता ठूला कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए।

आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्ण प्रसाद शर्माले आइएमई पे र खल्तीबीचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेड ले ‘डिजिटल नेपाल’ को सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर एउटा ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेड ले देशभर वित्तीय पहुँचको नयाँ युगको सुरुवात गर्ने बताए।

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए।

दुवै कम्पनीले आज एक विशेष कार्यक्रम आयोजना गरी यस मर्जरको औपचारिक घोषणा समेत गर्नेछन्।

आइएमई पे ले Digital Services ICT Award 2024, HRM Award for Corporate Excellence in the FinTech Category 2023 र Visa Leadership Conclave Nepal 2023 मा Excellence in Fintech Partnership Award जस्ता प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेको थियो।

यसैगरी, खल्ती ले WITSA Global Innovation & Tech Excellence Awards 2022, 2023 र 2024 मा सम्मान प्राप्त गरेको थियो। साथै, यो कम्पनी NCHL बाट लगातार दुई वर्षसम्म देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायकको रूपमा सम्मानित भएको थियो र नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पुर्‍याएको योगदानको लागि उच्च कदर स्वरूप सम्मान प्राप्त गरेको थियो।

अडियो काण्डमा मुछिएका मन्त्री अधिकारीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तापछि घुस डिलको काण्डमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएपछि मन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

दिउसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि यसअघि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए ।

सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ ।

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ भने सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ । अडियो संवादमा जग्गाका लागि डेढ करोड खर्च भैसकेको सुनिन्छ ।

अधिकारी भने अडिओमा आफ्नो नाम नभएकाले आफू नमुछिने तर्क गरिरहेका छन् । गुप्ताको अडियो आएपछि जुन औँलामा विष लागेको छ त्यही झर्ने उनले बताएका थिए ।

यसैबीच मन्त्री अधिकारीले राजीनामाको साटो आफ्नो मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । आज ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै उनले आर्थिक वर्ष २०८१/८२ का उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । सम्भवतः उक्त पत्रकार सम्मेलनमा अधिकारीले अडियो काण्डबारे थप प्रष्टीकरण दिनेछन् ।

गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम

चितवन । जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो ।

कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरुले १ हजार १ सय देखि रु १ लाख ४३ हजार सम्म प्रोत्साहन रकम पाएका छन् । उनीहरुलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रहकम बितरण गरिएको हो । उनले भने, ‘स्रोत बीउमा प्रति हेक्टर २० हजार र उन्नत बीउमा प्रति हेक्टर १५ हजारका दरले प्रोत्साहान रकम बितरण गरिएको हो ।’ गहुँ र धानको उत्पादनमा किसानहरुले प्रोत्साहन रकम पाएका हुन ।

कतिपय किसानहरुको भने जग्गा धनी पूर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट बन्चित भएको उनले बताए। उनका अनुसार ९६१ दशमलब ८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन ।

कृषि विकास कार्यालय चितवनले ‘बीउ बिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम बितरण गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताए।

आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न समेत उनले आग्रह गरे ।