`

टाेपबहादुर रायमाझी, टेकनारायण पाण्डे र इन्द्रजित राईलाई सजाय ताेकिँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई मुख्य कसुरदार ठहर गरेको थियो।

त्यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहित अन्य केही प्रतिवादीलाई मतियारका रूपमा दोषी ठहर गरिएको थियो।

नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार अदालतले आज सजाय निर्धारणका लागि पेसी तोकेको हो।

अदालतले जिल्ला सरकारी वकिल कार्यालय तथा प्रतिवादी पक्षका कानुन व्यवसायीलाई सजायपूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न निर्देशनसमेत दिएको छ।

आजको सुनुवाइपछि दोषी ठहर भएका प्रतिवादीहरूले पाउने कैद तथा जरिवानाको अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ।

पहिराेले पुरिँदा आमाकाे मृत्यु, छाेरी र नातिनीकाे सकुशल उद्धार

काठमाडाैं । जाजरकोटमा पहिरोमा पुरिएर आमाकाे मृत्यु भएको छ। छाेरी र नातिनीकाे सकुशल उद्धार गरिएकाे छ ।

भेरी नगरपालिका-२ राङ्सी बस्ने करिब ६० वर्षीया जयशीला शाहको पहिरोले पुरिँदा मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार उनका घटनामा उनकी ४० वर्षीया छोरी मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापालाई पहिरोबाट सकुशल उद्धार गरिएको छ ।

गएराति उनीहरू बास बसेको अस्थायी टहरोलाई पहिरोले पुर्दा घटना भएको हो।

धन्नले ज्यान जाेगाए चालकले, ट्रक बगायाे खाेलाले

मकवानपुर । मकवानपुरको कर्रा खोलामा सोमबार बिहान आएको आकस्मिक बाढीले गुडिरहेको ट्रक बगाएको छ।

ट्रक खोलाले बगाए पनि चालक भने पौडिएर सकुशल ज्यान जोगाउन सफल भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्का) तर्ने क्रममा एक्कासि कर्रा खोलामा पानीको बहाव बढेपछि बाढीले ट्रक बगाएको हो।

मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार ट्रक बग्न थालेपछि चालक चितवनको रत्ननगर नगरपालिका-१३ निवासी ३४ वर्षीय दीपक थिङले तत्काल ट्रकबाट हाम फालेर पौडिँदै आफ्नो ज्यान जोगाएका हुन्। उनको खुट्टामा सामान्य चोट लागेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटिया र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते चालकलाई चौघडास्थित राजु मेडिकलमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन। बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको छ।

जनकपुरबाट काठमाडौँ पैदलमार्च थालेका मिटरब्याज पीडितका माग के के छन्?

 

 

 

 

 

 

दाेलखामा पहिरोमा पुरिइन् चार महिने शिशु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको मृत्यु भएको हो। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार भिमेश्वर नगरपालिका-१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किरहेका उनीहरू सुनखानी-साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल हेलेक्पाथाली क्षेत्रमा पुगेका थिए।

सो स्थानमा पहिरोले सडक अवरुद्ध गरेपछि गाडीबाट ओर्लिएर पैदल हिँड्ने क्रममा माथिबाट आएको अर्को पहिरोमा उनीहरू परेका थिए।

स्थानीयवासीले तत्काल उद्धार गरी दुवैलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्‍याएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले चार महिनाकी एलिनालाई मृत घोषणा गरेका थिए।

गम्भीर घाइते शर्मिलाको प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

चौतर्फी घेराबन्दीमा बालेन सरकार, निम्तिँदै संकट

काठमाडौं।  गठन भएकाे चार महिना नपुग्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमाथि चौतर्फी दबाब बढ्दै गएको छ। सरकार गठनका बेला गरिएको सुशासन, सामाजिक न्याय र जनउत्तरदायित्वका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको आरोपसँगै विभिन्‍न समूह सडक आन्दोलनमा उत्रिएका छन्।

सुकुम्वासी व्यवस्थापनमा देखिएको अन्योल, मिटरब्याजपीडितको पुनः काठमाडौं केन्द्रित आन्दोलन, गणेश नेपालीको मृत्यु प्रकरण र जेन-जी आन्दोलनमा सहभागी युवाहरूको प्रदर्शनले सरकारलाई एकैसाथ घेराबन्दीमा पारेको छ।

सरकारले कार्यभार सम्हालेकै दिन स्वीकृत १०० दिने शासकीय सुधार कार्यसूचीमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन दुई महिनाभित्र सक्ने, एक हजार दिनभित्र दीर्घकालीन व्यवस्थापन गर्ने तथा स्थानीय तहसँग समन्वय गरेर पुनर्वास गर्ने प्रतिबद्धता जनाएको थियो।

तर, समयसीमा पूरा नहुँदै काठमाडौंका नदी किनारका बस्ती हटाउने अभियान सुरु गरियो। वैशाख १२ गतेदेखि डोजर अभियान सञ्चालन गर्दै दुई साताभित्र वास्तविक सुकुम्वासीको पहिचान गरी स्थायी व्यवस्थापन गर्ने आश्वासन दिइए पनि व्यवहारमा त्यो पूरा हुन सकेको छैन।

दुई साताका लागि होल्डिङ सेन्टरमा राखिएका परिवार तीन महिनापछि पनि स्थायी बसोबासको प्रतीक्षामा छन्।

कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा राखिएका परिवार बाढीपछि भक्तपुरको खरिपाटी सारिएका छन्। हाल खरिपाटीमा १४९ जना सुकुम्वासी अस्थायी रूपमा बसिरहेका छन्।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार प्रधानमन्त्री बालेनले सुकुम्बासी समस्या समाधान गर्न सकेनन् । उनले मन्त्रीहरूले होल्डिङ सेन्टर आएर आश्वासन दिएकाे तर पूरा गर्नेमा संयश प्रकट गरे ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले भने प्रक्रिया जटिल भएकाले समय लागेको बताउँदै जग्गा पहिचानसहितका सबै प्रक्रिया पूरा गरेर समाधान गरिने बताएकी छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठेको छ। रास्वपा सांसद रञ्जु दर्शनाले लगत संकलनअघि बस्ती हटाउने निर्णय सरकारको कमजोरी भएको स्वीकार गरेकी छन्।

उनले भनिन्, ‘सुकुम्वासी व्यवस्थापनको विषयमा १०० दिने कार्यसूचीको बुँदा ९१ भन्दा अघि ९२ लागू गरियो। दूध चुसाइरहेकी आमा, सुत्केरी र वृद्धवृद्धालाई पनि एउटै व्यवहार गरियो। यो काम सरकारको तर्फबाट ठीक ढंगले भएन।’

सरकारमाथिको अर्को दबाब मुगुका गणेश नेपालीको मृत्यु प्रकरणले थप चर्काएको छ। काठमाडौं महानगर प्रहरीको व्यवहारका कारण उनले आत्मदाह गर्नुपरेको आरोप लगाउँदै नागरिकहरू सडकमा उत्रिएका छन्।

उपचारका क्रममा उनको निधन भएपछि सरकारको कार्यशैलीमाथि सदन, सडक र सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ।

प्रधानमन्त्री बालेन शाह तथा रास्वपाको शीर्ष नेतृत्वबाट औपचारिक प्रतिक्रिया नआएको भन्दै आलोचना भइरहेको छ।

यद्यपि आइतबार गणेश नेपालीका परिवार र नेपाल सरकार (काठमाडौं महानगरपालिकासहित) बीच नौबुँदे सहमति भएको छ।

सहमतिअनुसार पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने, सात दिनभित्र प्रतिवेदन बुझाइने, प्रतिवेदनका आधारमा सहिद घोषणा सम्बन्धी प्रक्रिया अघि बढाइने, घटनामा संलग्न महानगर प्रहरीलाई तत्काल निलम्बन गरी थप कारबाही गरिने उल्लेख छ।

मृतककी श्रीमतीलाई महानगरमा रोजगारी, छोरीको उच्च शिक्षाको सम्पूर्ण खर्च, राहत रकम, स्वास्थ्य बीमा तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने सहमति पनि भएको छ।

यससँगै आन्दोलन स्थगित भए पनि घटनाले सरकारको संवेदनशीलता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

सरकार अर्को मोर्चामा मिटरब्याजपीडितको आन्दोलनबाट पनि दबाबमा परेको छ। २०८० फागुनमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको पहलमा भएको चारबुँदे सहमति कार्यान्वयन नभएको भन्दै ३५ जिल्लाका करिब ४०० पीडित पुनः जनकपुरबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका छन्।

दैनिक २० देखि २६ किलोमिटर हिँड्दै राजधानी आउँदै गरेका उनीहरूले न्यायका लागि फेरि काठमाडौं धाउनुपरेको गुनासो गरेका छन्।

यो आन्दोलनले प्रधानमन्त्री बालेन शाहकै पुरानो प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ। प्रधानमन्त्री बन्नुअघि उनले मधेशका नागरिक न्यायका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने वाचा गरेका थिए। तर अहिले त्यही क्षेत्रका पीडितहरू फेरि न्यायको खोजीमा राजधानी आउन बाध्य भएका छन्।

यता, वर्तमान सरकार निर्माणमा निर्णायक मानिएको जेन-जी आन्दोलनमा सक्रिय युवाहरू पनि सरकारविरुद्ध सडकमा उत्रिएका छन्। उनीहरूले सरकारले परिवर्तन र सुशासनको वाचा पूरा गर्न नसकेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

सिरहामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका-७ स्थित पुरानो चौक चोहर्वास्थित पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखकी १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका हुन्। 

‘अहिले हाम्रो टोली घटनास्थलमा छ, विस्तृत विवरण प्राप्त हुन बाँकी छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका एक प्रहरीले भने।

नेपाली राष्ट्रियताको भाषिक जग : आदिकवि भानुभक्त आचार्य

नेपाल आमाको कोखबाट समय-समयमा इतिहासलाई नयाँ गति दिने असाधारण व्यक्तित्वहरूको जन्म भएको छ। कला, साहित्य, संस्कृति, दर्शन, राजनीति र सामाजिक रूपान्तरणका क्षेत्रमा उनीहरूले दिएको योगदानले नेपालको राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको छ। यिनै विभूतिहरूमध्ये नेपाली साहित्यका आकाशमा ध्रुवताराजस्तै चम्कने व्यक्तित्व हुन्, – आदिकवि भानुभक्त आचार्य।

वि.सं. १८७१ असार २९ गते आइतबार तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका भानुभक्तका पिता धनञ्जय आचार्य सरकारी सेवामा खरदार थिए भने माता धर्मावती आचार्य धार्मिक संस्कारले सम्पन्न महिला थिइन्। बाल्यकालदेखि नै संस्कृतका प्रकाण्ड विद्वान् बाजे श्रीकृष्ण आचार्यको सान्निध्यमा हुर्किएका उनले व्याकरण, काव्य, वेदान्त, ज्योतिष र संस्कृत साहित्यको गहन अध्ययन गरे। मात्र १२ वर्षको उमेरमै ज्योतिषशास्त्रका सूक्ष्म विषय बुझ्ने क्षमता विकास गरिसकेका भानुले गुरुकुलीय परम्परा र स्वाध्यायबाट प्राप्त यही विद्वत्ताको आधारमा भविष्यमा नेपाली साहित्यलाई नयाँ युगतर्फ डोर्‍याउने सामर्थ्य हासिल गरे।

नेपाली साहित्यको इतिहासमा भानुभक्त आचार्यलाई ‘आदिकवि’ भनिनुको अर्थ उनी नेपाली भाषाका इतिहासकै सबैभन्दा पहिलो कवि हुन् भन्ने कदापि होइन। भानुभक्तभन्दा अगाडि पनि सुवानन्द दास, शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल जस्ता थुप्रै प्राथमिक कालीन कविहरू थिए। तथापि, ती रचनाहरू सीमित दायरामै रहे।

कवि भानुभक्तले भने छरिएर रहेका टुटफुट र फुटकर कविताको जगमा उभिएको नेपाली साहित्यलाई ‘रामायण’ जस्तो विशाल ग्रन्थ रचना गरी नेपाली भाषालाई राष्ट्रिय एकताको सुत्रमा बाँधे। त्यसकारण नेपाली भाषालाई पहिलोपटक व्यापक साहित्यिक प्रतिष्ठा दिलाउने, जनभाषालाई काव्यको माध्यम बनाउने तथा नेपाली साहित्यको सशक्त परम्परा स्थापित गर्ने श्रेय उनैलाई जान्छ। त्यसैले नेपाली साहित्यका युवाकवि मोतीराम भट्टले वि.स. १९४८ मा भानुभक्तको जीवनी प्रकाशन गरेर उनलाई सर्वप्रथम ‘आदिकवि’ को उपाधि प्रदान गरेका थिए। आज आदिकवित्वको विषयमा विद्वत् बहस भए पनि नेपाली साहित्यको प्राथमिक कालका प्रतिनिधि कविका रूपमा लाक्षणिक र गुणात्मक अर्थमा उनी सर्वस्वीकार्य आदिकवि हुन्।

इतिहासमा कहिलेकाहीँ एउटा सामान्य भेटले असाधारण परिवर्तनको सुरुआत गर्छ। भानुभक्तको जीवनमा घाँसीसँगको भेट त्यस्तै घटना थियो। संस्कृत साहित्यका आदिकवि वाल्मीकि, महाकवि कालिदासको काव्यशक्ति र आफ्नै पितृपरम्पराबाट प्रभावित भई उनीभित्र कवित्वको बीजारोपण भइसकेको थियो। तर त्यो प्रतिभालाई जनसेवामुखी साहित्यतर्फ मोड्ने प्रेरणा एउटा साधारण घाँसीबाट प्राप्त भयो। परिवारको जीविकोपार्जन गर्दै बचेको थोरै रकमले गाउँमा सार्वजनिक कुवा खन्ने र समाजका लागि स्थायी कीर्ति छोड्ने घाँसीको सोचले भानुभक्तलाई गहिरो आत्मबोध गरायो। धन, विद्वत्ता वा कुलीनता भन्दा समाजोपयोगी कर्म नै मानिसको अमर परिचय बन्ने सत्य उनले त्यही दिन अनुभूत गरे। त्यसैको परिणामस्वरूप नेपाली साहित्यमा अमर बनेका यी पङ्क्तिहरू जन्मिए,

भर जन्म घाँसतिर मन् दिई धन कमायो ।
नाम केही रहोस् पछि भनेर कुवा खनायो ॥

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनी भईकन आज यस्तो ॥

त्यसपछि उनले आफ्नो जीवनलाई केवल व्यक्तिगत सुखमा सीमित नराखी लोककल्याणकारी साहित्य सिर्जनामा समर्पित गर्ने अठोट गरे। यही भावलाई उनले ‘धिक्कार होस् मकन बस्नु नराखी कीर्ति’ भन्ने जीवनदर्शनमार्फत अभिव्यक्त गरेका छन्। वास्तवमा यही क्षण भानुभक्तको कविजीवनको वास्तविक जन्मक्षण थियो।

त्यस समय संस्कृत भाषाको प्रभुत्व थियो। धार्मिक ग्रन्थहरू विद्वान् पण्डितहरूको सीमित घेराभित्र मात्र सीमित थिए। संस्कृत नजान्ने सामान्य नेपाली जनताले रामायणजस्तो महान् ग्रन्थको सार बुझ्न सक्ने अवस्था थिएन। भानुभक्तले यही सामाजिक यथार्थलाई गहिरो रूपमा आत्मसात् गरे। धर्म, नैतिकता र आदर्श जीवनका मूल्यहरू सबै नेपालीको पहुँचमा पुग्नुपर्ने विश्वासका साथ उनले संस्कृतको अध्यात्मरामायणलाई नेपाली भाषामा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय गरे।

वि.सं. १८९८ मा उनले बालकाण्डको रचना गर्दै नेपाली रामायण लेखनको प्रारम्भ गरे। वि.स. १९०६ मा न्यायिक कामका सिलसिलामा काठमाडौँ आएका भानुभक्त पछि वि.स. १९०७ मा सरकारी सेवामा आबद्ध भए। तर हिसाब–किताबसम्बन्धी विवादका कारण उनी कुमारीचोकको भ्यालखान (कारागार) मा कैद हुन पुगे। सामान्यतः कारागारलाई सिर्जनशीलताको अन्त्य हुने स्थान मानिए पनि भानुभक्तका लागि त्यही स्थान साधना र सृजनाको तपोभूमि बन्यो। पाँच महिनाको कैद अवधिमा उनले अयोध्याकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको रचना गरे। जेलजीवनको यथार्थलाई उनले व्यङ्ग्यात्मक शैलीमा यसरी व्यक्त गरेका छन्,

‘रोज् रोज् दर्शन पाउँछू चरणको ताप छैन मन्मा कछू ।
रातभर नाच पनि हेर्छू खर्च नगरी ठूला चैनमा म छु ॥
लामखुट्टे, उपियाँ, उडुस् यी सङ्गी छन् यिनकै लहडमा बसी ।
लामखुट्टेहरू गाउँछन्, यी उपियाँ नाच्छन्, म हेर्छू बसी ॥’

जेलमुक्त भएपछि उनले युद्धकाण्ड र उत्तरकाण्ड पूरा गर्दै करिब एघार वर्षको निरन्तर साधनापछि नेपाली साहित्यको अमूल्य निधि रामायणलाई पूर्णता दिए।

भानुभक्तको साहित्यिक योगदान रामायणमा मात्र सीमित छैन। वि.सं. १९१० तिर उनले प्रश्नोत्तरी र भक्तमाला जस्ता कृतिहरू रचे। त्यस्तै वि.स. १९१९ तिर काठमाडौँबाट आफ्नो जन्मथलो तनहुँ फर्कने क्रममा बाटोमा तारापति उपाध्यायको घरमा बास बस्दा त्यहाँको पारिवारिक परिवेशमा सासू–बुहारीको ‘वाझावाझ’ (झगडा) प्रत्यक्ष सुनेर उनले एकै रातमा ३३ श्लोक भएको ‘वधूशिक्षा’ नामक औपदेशिक कविता लेखे। यो कविताले नेपाली समाजको पारिवारिक शान्ति, मर्यादा र महिलाका कर्तव्यहरूलाई तत्कालीन सामाजिक मर्यादाको कसीमा राखेर प्रस्तुत गरेको छ।

जीवनको अन्तिम क्षणमा वि.सं. १९२५ मा कडा रोगले समातेर रोगशय्यामा थला परेका बेला पनि उनको काव्यचेतना मरेन। मरणान्तक कष्टकै बीच उनले ‘रामगीता’को रचना गरे, जुन उनी मुखले श्लोक भन्दै गए र उनका एकमात्र पुत्र रमानाथ आचार्यले ओछ्यानको छेउमा बसेर लिपिबद्ध गर्दै गए। जीवनको अन्तिम चरणमा पनि उनको साहित्यसाधना रोकिएन। सोही वर्ष आश्विन ६ गतेका दिन चुँदी रम्घामै उनको निधन भयो। यसले साहित्यप्रतिको उनको अनवरत साधना र समर्पणलाई प्रमाणित गर्छ।

उनले अनावश्यक क्लिष्टता, अत्यधिक आलङ्कारिकता वा दुरूह अभिव्यक्तिको सट्टा जनताले बोल्ने र बुझ्ने नेपाली भाषालाई काव्यको माध्यम बनाए। यही कारण उनका श्लोकहरू विद्वान् मात्र होइन, सामान्य किसान, गृहिणी, विद्यार्थी र गाउँका ज्येष्ठ नागरिकसम्मको स्मृतिमा आज पनि जीवित छन्। भाषा त्यतिबेला मात्र राष्ट्रिय सम्पत्ति बन्छ, जब त्यसले समाजका सबै वर्गलाई समान रूपमा सम्बोधन गर्न सक्छ। भानुभक्तको साहित्यले यही ऐतिहासिक भूमिका निर्वाह गरेको देखिन्छ।

विशेषतः शार्दूलविक्रीडित, शिखरिणी, वसन्ततिलका लगायतका छन्दलाई नेपाली भाषाको स्वाभाविक लयअनुकूल प्रयोग गर्नु भानुभक्तको उल्लेखनीय उपलब्धि हो। उनले छन्दको नियम र अनुशासनलाई कायम राख्दै भावलाई सरल, सहज र प्रभावकारी बनाएका छन्। छन्द र भाषाबीचको यही सन्तुलनले उनको काव्यलाई सरस, कर्णप्रिय र जनप्रिय बनाएको छ। सायद त्यसैले नेपालभित्र मात्र नभई दार्जीलिङ, सिक्किम, आसामदेखि विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका लागि उनी आज पनि ‘जातीय कवि’ र भाषिक पहिचानको प्रतीकका रूपमा सम्मानित छन्।

यद्यपि भानुभक्तको साहित्यलाई आलोचनात्मक दृष्टिले पनि हेर्न आवश्यक छ। केही आधुनिक समीक्षकहरूले वधूशिक्षा जस्ता कृतिमा तत्कालीन पितृसत्तात्मक सामाजिक मूल्यहरूको प्रभाव रहेको टिप्पणी गरेका छन्। त्यस्तै रामायण अनुवादात्मक कृति भएकाले त्यसमा मौलिकताको सीमा रहेको तर्क पनि गरिन्छ। यस्ता आलोचनाहरू साहित्यिक विमर्शका स्वाभाविक अंश हुन्। तर उपलब्ध ऐतिहासिक सन्दर्भलाई हेर्दा भानुभक्तको मूल उद्देश्य समाजलाई नैतिक शिक्षा, धार्मिक चेतना र भाषिक एकताको साझा आधार प्रदान गर्नु थियो। त्यसैले उनको मूल्याङ्कन आजको सामाजिक मापदण्डले मात्र होइन, उनी बाँचेको युग, त्यस समयको समाज र भाषिक अवस्थालाई केन्द्रमा राखेर गरिनु बढी न्यायोचित हुन्छ।

आजको डिजिटल युगमा भाषा र संस्कृतिमाथि नयाँ चुनौतीहरू देखा परेका छन्। विश्वव्यापीकरण, प्रविधिको तीव्र विकास र विदेशी भाषाको बढ्दो प्रभावका कारण नयाँ पुस्ता आफ्नै भाषिक सम्पदाबाट क्रमशः टाढिँदै गएको चिन्ता व्यक्त गरिन्छ। विदेशी भाषा सिक्नु आधुनिक विश्वको आवश्यकता हो, तर त्यसका नाममा आफ्नै मातृभाषाको उपेक्षा गर्नु सांस्कृतिक आत्मविश्वासको क्षय हो। भानुभक्तको जीवनले सिकाएको पाठ यही हो- विश्वसँग संवाद गर्न अनेक भाषा सिक्न सकिन्छ, तर आफ्नो पहिचानको आधार भने आफ्नै भाषा हुन्छ। आफ्नै मातृभाषा र समृद्ध राष्ट्रभाषाको चीरहरण गरेर, आफ्नै पहिचानको जग भत्काएर पराईको बैसाखी टेक्नु आत्मघाती विडम्बना र सांस्कृतिक दासता मात्र हो।

घाँसीबाट प्राप्त लोकहितको प्रेरणा, कारागारभित्रको अदम्य साधना, रामायणमार्फत जनभाषाको उत्थान र सरल भाषाशैलीद्वारा साहित्यलाई जनजीवनसँग जोड्ने उनको योगदान नेपाली इतिहासको अमिट सम्पत्ति बनेको छ। आज भानुभक्तप्रतिको सच्चा श्रद्धाञ्जलि उनको तस्बिरमा माल्यार्पण गर्नु मात्र होइन; नेपाली भाषाको शुद्धता, समृद्धि र सिर्जनशीलतालाई नयाँ पुस्तासम्म जीवन्त राख्नु हो।

किनभने भाषा जोगियो भने इतिहास जोगिन्छ, इतिहास जोगियो भने पहिचान जोगिन्छ, र पहिचान जोगियो भने मात्र राष्ट्रको आत्मा दीर्घकालसम्म जीवित रहन्छ।

गणेश नेपाली घटनापछि सडकबाट गायब नगर प्रहरी, अस्तव्यस्त बन्न थाल्यो न्युरोड

काठमाडौं । केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी न्युरोडसहित राजधानीका विभिन्न व्यस्त क्षेत्रमा नियमित रूपमा खटिएर फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेका थिए। महानगरले पैदलयात्रीका लागि फुटपाथ खाली राख्ने नीति अपनाउँदै दिउँसोको समयमा फुटपाथमा व्यापार गर्न कडाइ गरेको थियो भने व्यापारका लागि निश्चित समयसमेत तोकेको थियो।

तर आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि नगर प्रहरीको सडक उपस्थितिमा उल्लेख्य कमी आएको देखिएको छ। पछिल्ला केही दिनयता न्युरोड, असन, इन्द्रचोकलगायतका मुख्य व्यापारिक क्षेत्रमा नगर प्रहरीको सक्रियता पहिलेको तुलनामा घटेको स्थानीय व्यवसायी तथा सर्वसाधारणले बताएका छन्।

महानगरका एक नगर प्रहरी कर्मचारीका अनुसार उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण हुन सक्ने वा सुरक्षा जोखिम बढ्न सक्ने आकलनका कारण केही समयका लागि नियमित सडक ड्युटी सीमित गरिएको हो। यद्यपि, यसबारे काठमाडौं महानगरपालिकाले औपचारिक धारणा सार्वजनिक गरेको छैन।

नगर प्रहरीको उपस्थिति घटेसँगै न्युरोडलगायतका क्षेत्रमा फुटपाथमा पुनः व्यापार बढ्न थालेको देखिएको छ। पैदलयात्रीका लागि छुट्याइएका स्थानमा अस्थायी पसल राखिने क्रम बढेपछि हिँड्न कठिन भएको सर्वसाधारणको गुनासो छ। फुटपाथ अवरुद्ध भएपछि धेरै पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन्।

यस्तै, अव्यवस्थित पार्किङको समस्या पनि फेरि बढ्न थालेको स्थानीयले बताएका छन्। सडक किनारमा जथाभावी सवारी पार्किङ गरिनुका साथै फुटपाथमा व्यापार बढ्दा सवारी आवागमनसमेत प्रभावित भएको देखिएको छ। यसका कारण न्युरोडलगायतका व्यस्त क्षेत्रमा ट्राफिक जामको समस्या पनि बढ्दै गएको स्थानीयको भनाइ छ।

काठमाडौं महानगरपालिकाले केही महिनाअघि सुरु गरेको फुटपाथ व्यवस्थापन अभियानलाई प्रभावकारी मानिएको थियो। तर पछिल्लो घटनाक्रमपछि नगर प्रहरीको सक्रियता घटेको देखिएसँगै अभियानको निरन्तरतामाथि प्रश्न उठ्न थालेको छ। सर्वसाधारणले पैदलयात्रीको अधिकार सुनिश्चित गर्न र सडक व्यवस्थापनलाई पुनः प्रभावकारी बनाउन महानगरले आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।

…जब फिनल्यान्डमा बेपत्ता भारतीय विद्यार्थीको शव समुद्रमा भेटियो

एजेन्सी। फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित समुद्री क्षेत्रमा भारतको हैदराबादका १८ वर्षीय विद्यार्थी मणिदीप रेड्डी गुज्जाको शव फेला परेको छ। गत मे ५ देखि बेपत्ता रहेका उनको शव करिब दुई महिनापछि फेला परेको हो। परिवारका कानुनी प्रतिनिधि केएलबी कुमारले आइतबार शव फेला परेको पुष्टि गरेका छन्।

परिवारले घटनालाई शंकास्पद भन्दै अनुसन्धानमाथि प्रश्न उठाएको छ। दुई महिनासम्म शव फेला नपर्नु र अनुसन्धान प्रभावकारी रूपमा अघि नबढेको भन्दै उनीहरूले निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्।

फिनल्यान्डस्थित भारतीय दूतावासले जुलाई १० मा हेलसिन्कीको समुद्री क्षेत्रमा भेटिएको शव मणिदीपकै भएको पुष्टि गर्दै परिवारलाई आधिकारिक जानकारी दिएको थियो। छोराको खोजीका लागि उनका बुबा जी. मुथ्यम रेड्डी र आमा ममता रेड्डीले यसअघि तेलंगाना उच्च अदालतमा समेत निवेदन दिएका थिए।

मणिदीप फिनल्यान्डको लापेनरान्टा–लाहटी युनिभर्सिटी अफ टेक्नोलोजीको लाहटी क्याम्पसमा इन्जिनियरिङ स्नातक प्रथम वर्षमा अध्ययनरत थिए। सन् २०२५ मा उच्च शिक्षाका लागि फिनल्यान्ड पुगेका उनी लाहटी शहरमा बस्दै आएका थिए।

परिवारका अनुसार बेपत्ता हुनुअघि उनले आमालाई फोन गरेर पाँच हजार रुपैयाँ मागेका थिए। रकम पठाएको केही घण्टापछि उनी सम्पर्कविहीन भएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मणिदीप बसमार्फत लाहटीबाट हेलसिन्की पुगेका थिए। त्यहाँ उनी एक रेस्टुरेन्टमा खाना खाएको र सपिङ मलमा घुमिरहेको दृश्य सीसीटीभीमा देखिएको थियो। अन्तिम पटक उनलाई सपिङ सेन्टर नजिक हिँडिरहेको अवस्थामा देखिएको थियो। त्यसपछि उनको मोबाइल फोन बन्द भएको र उनीसँग कुनै सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।

घटनापछि परिवारले मणिदीप किन हेलसिन्की पुगे, उनीमाथि कुनै दबाब वा अन्य कारण थियो कि भन्ने विषयमा गहिरो अनुसन्धान गर्न माग गरेको छ। उनीहरूको भनाइमा घटनाको वास्तविक कारण अझै खुल्न बाँकी छ।

 

‘एकता सम्भव छैन, कांग्रेस फुट्यो’

काठमाडौं। नेपाली कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक शक्ति संघर्ष अहिले थप गहिरिँदै गएको छ।

संस्थापन र संस्थापनइतर समूहबीच नेतृत्व, महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता, संगठन विस्तार तथा पार्टी सञ्चालन शैलीलाई लिएर देखिएको विवाद समाधानतर्फ भन्दा टकरावतर्फ उन्मुख भएको संकेत देखिन थालेको हो।

यही पृष्ठभूमिमा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको अवस्था निकै गम्भीर बनेको टिप्पणी गरेका छन्। उनका अनुसार कांग्रेस अहिले लगभग विभाजनको संघारमा पुगेको छ।

उनले भने, ‘अब कांग्रेस एक हुने कुनै सम्भावना बाँकी रहेन। कांग्रेस ९० प्रतिशत विभाजनको रेखामा पुगिसक्यो। तर हामी कुनै हालतमा पार्टी विभाजन गरेर नयाँ दल गठन गर्ने पक्षमा छैनौँ।’

खड्काको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्षबारे आएको अहिलेसम्मकै सबैभन्दा कडा सार्वजनिक टिप्पणीका रूपमा हेरिएको छ।

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार खड्काले पार्टी विभाजन अन्तिम विकल्प हुन नसक्ने स्पष्ट गर्दै अन्तिम समयसम्म एकताको प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार खड्काको धारणा पार्टी फुटाउनु नभई संवादमार्फत समाधान खोज्नु हो।

तर उनले संस्थापन पक्षबाट कुनै अर्थपूर्ण संवाद वा सहमतिको पहल नदेखिएको गुनासो पनि गरेका छन्। उनका अनुसार नेतृत्व तहबाट चासो नदेखिँदा विवाद समाधान हुने सम्भावना क्रमशः कमजोर बन्दै गएको छ।

यता, कांग्रेसभित्र समानान्तर राजनीतिक गतिविधि पनि तीव्र हुन थालेका छन्। नेता डा. प्रकाशशरण महतले विराटनगर पुगेर डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। दुवै नेताबीच पछिल्लो राजनीतिक परिस्थिति, पार्टीभित्रको संकट र आगामी रणनीतिबारे छलफल भएको स्रोतहरूले बताएका छन्।

यसैबीच, संस्थापनइतर समूहले साउन ६ गते मनाइने बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलाबाट आगामी राजनीतिक रणनीति, संगठन विस्तार र आवश्यक परे आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिने तयारी भइरहेको बताइएको छ।

पछिल्ला केही सातायता दुवै पक्षबीच विभिन्न प्रस्ताव आदान-प्रदान भए पनि शीर्ष नेतृत्वबाट कुनै औपचारिक प्रतिक्रिया वा सहमतिका लागि ठोस पहल नआएको कांग्रेस निकट स्रोतले बतायो। यसले पार्टीभित्रको अविश्वास झन् बढाएको  निष्कर्ष निस्किएको स्रोतले जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस अहिले आफ्नो इतिहासकै संवेदनशील मोडमध्ये एकमा उभिएको छ। शीर्ष नेताहरूबीच समयमै संवाद र सहमति हुन नसके आन्तरिक विवादले संगठनमा दीर्घकालीन असर पार्न सक्ने उनीहरूको आकलन छ।

यद्यपि खड्काले पार्टी विभाजनको सम्भावना निकै बढेको संकेत गरे पनि आफूहरू नयाँ पार्टी गठन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

यद्यपि अब कांग्रेसभित्र संवाद पुनः सुरु हुन्छ कि विवाद अझै चर्किन्छ भन्ने विषय आगामी केही दिनमा स्पष्ट हुने देखिएको छ।

के सरकार दशैँ अगाडि ढल्दैछ?[भिडियाे]

झापाबाट काठमाडौं फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर घरसम्म पुर्‍याएको थियो। निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले पत्रकारहरूसँग भेट्न नदिएपछि प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

पत्रकार सम्मेलनका क्रममा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै बालेन नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका हुन्।

 

 

कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमर…

काठमाडौं। चर्चित हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार वरिष्ठ न्यूरो सर्जनको नेतृत्वमा चिकित्सक टोलीले उनको मस्तिष्कको ट्युमर सफलतापूर्वक हटाएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको जनाइएको छ।

निकालिएको ट्युमर क्यान्सरयुक्त हो वा होइन भन्ने यकिन गर्न त्यसको नमुना प्रयोगशालामा बायोप्सी परीक्षणका लागि पठाइएको छ। बायोप्सीको अन्तिम प्रतिवेदन आएपछि ट्युमरको प्रकृति र आवश्यक थप उपचारबारे निर्णय गरिने अस्पताल स्रोतले जनाएको छ।

दीपाश्री निरौला नेपाली मनोरञ्जन क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार हुन्। हास्य अभिनयबाट लोकप्रिय बनेकी उनी पछिल्ला वर्षहरूमा सफल निर्देशकका रूपमा पनि स्थापित भएकी छन्। उनले निर्देशन गरेका चलचित्रहरूले व्यावसायिक रूपमा उल्लेखनीय सफलता हासिल गरेका छन्।

उनको स्वास्थ्य लाभको कामना गर्दै कलाकार, शुभचिन्तक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरिरहेका छन्।

अनेसासको अध्यक्षमा लालगोपाल सुवेदी निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्षमा अमेरिका निवासी लालगोपाल सुवेदी निर्वाचित भएका छन्।

जुलाई ७ देखि ९ सम्म सम्पन्न अनलाइन निर्वाचनमा उनले ९३३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी क्यानडा निवासी सुरेन उप्रेतीले ५५४ मत प्राप्त गरे।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा अमेरिका, कोलोराडो निवासी तारा अधिकारी निर्वाचित भएकी छन्। उनले ७८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुदीपभद्र खनालले ७०० मत पाए। ८४ मतको अन्तरले अधिकारी विजयी भएकी हुन्।

अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली ९०३ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी गीता बजगाईंले ४५३ मत प्राप्त गर्दा अग्नि पराजुलीले ७२ मत पाए।

महासचिवमा राजु सिटौला १ हजार २०२ मतसहित विजयी भए। उनले यसपटक पदाधिकारीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी सहदेव कोइरालाले २७१ मत पाए।

यसअघि नै सचिवमा नेपालका ऋषभदेव अधिकारी तथा कोषाध्यक्षमा अमेरिका निवासी पुष्पा खनाल निर्विरोध निर्वाचित भइसकेका थिए।

क्षेत्रीय उपाध्यक्षतर्फ एसियामा दिनेशराज ज्ञवाली, युरोपमा राज श्रेष्ठ र ओसेनियामा डा. प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन्। अफ्रिका क्षेत्रीय उपाध्यक्ष पदमा भने उम्मेदवारी नपरेकाले पद रिक्त रहेको छ।

केन्द्रीय सदस्यका पाँच पदमा मीरा कोइराला, महेश्वर पन्त, राजेन्द्र केसी, हरिमाया अधिकारी र डा. पारसमणि दंगाल निर्वाचित भएका छन्। मीरा कोइरालाले १ हजार २०३ मत प्राप्त गर्दै सम्पूर्ण उम्मेदवारमध्ये सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरिन्।

केन्द्रीय सदस्यमा महेश्वर पन्तले १ हजार ८९, राजेन्द्र केसीले १ हजार ७, हरिमाया अधिकारीले ९४४ र डा. पारसमणि दंगालले ९३० मत प्राप्त गरे। सदस्य पदका प्रतिस्पर्धी डा. कृष्ण शाह ‘यात्री’, नीलकण्ठ सुवेदी र पिपलमणि सिग्देल भने पराजित भए।

निर्वाचन समितिका अनुसार तीन दिनसम्म सञ्चालन भएको अनलाइन मतदानमा झण्डै १ हजार ५०० सदस्य सहभागी भएका थिए। अनेसासका विश्वभर तीन हजारभन्दा बढी आजीवन सदस्य रहेकामा कुल मतदातामध्ये ४८.४२ प्रतिशतले मतदान गरेका थिए।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल सन् २०२६ देखि २०२८ सम्म रहनेछ।

कहिले बन्छ धवल-दुर्गाको नयाँ दल ?

काठमाडौं। राप्रपा परित्याग गरेका धवल शम्शेर राणा र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेको छ।

पार्टीको विधानलाई अन्तिम रूप दिने काम तीव्र गतिमा भइरहेको तथा नाम, चुनाव चिह्न र संगठनात्मक संरचनाबारे अन्तिम छलफल चलिरहेको जनाइएको छ।

धवल शम्शेर राणाका अनुसार नयाँ दल केही समयभित्रै औपचारिक रूपमा घोषणा गरिनेछ। अहिले विधानको अन्तिम मस्यौदा तयार पार्ने, नेतृत्व संरचना टुंग्याउने तथा निर्वाचन आयोगमा दर्तासम्बन्धी प्रक्रिया मिलाउने काम भइरहेको उनले बताएका छन्।

नयाँ दल गठनसँगै पार्टीको वैचारिक दिशा, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिसमेत सार्वजनिक गरिने तयारी छ। पार्टी घोषणाअघि नै विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गर्ने काम पनि अघि बढाइएको स्रोतले जनाएको छ।

धवल शम्शेरसँगै राप्रपाका विभिन्न तहका करिब १८६ जना नेता तथा कार्यकर्ता नयाँ राजनीतिक अभियानमा सहभागी भएको दाबी गरिएको छ। उनीहरूमध्ये अधिकांशले संगठन निर्माण र जनपरिचालनको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेका छन्।

राप्रपा छाडेपछि धवल शम्शेर र दुर्गा प्रसाईंले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्दै आएका थिए। त्यसयता उनीहरूले देशका विभिन्न स्थानमा राजनीतिक भेटघाट र छलफललाई तीव्र बनाएका थिए।

नयाँ दलको औपचारिक घोषणा भएपछि यसको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र आगामी राजनीतिक एजेन्डा सार्वजनिक गरिने जनाइएको छ।

अमेरिका–इरान तनाव : हर्मुज बन्द गर्ने इरानको घोषणा

एजेन्सी। अमेरिका–इरानबीच भएको युद्धविराम तथा कूटनीतिक सहमति प्रभावहीन बन्दै गएपछि पश्चिम एसियामा तनाव पुनः चर्किएको छ।

इरानले विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलमार्ग (हर्मुज स्ट्रेट) अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गर्दै कुनै पनि बाह्य हस्तक्षेपको कडा जवाफ दिइने चेतावनी दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का नौसैनिक अधिकारीहरूका अनुसार समुद्री सुरक्षामा जोखिम उत्पन्न गरेको आरोपमा एउटा जहाजलाई नियन्त्रणमा लिइएको छ। उक्त जहाजले आफ्नो स्वचालित पहिचान प्रणाली बन्द गरेर जलमार्गमा प्रवेश गरेको दाबी गरिएको भए पनि जहाजको परिचय भने सार्वजनिक गरिएको छैन।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा केही जहाजहरूले अनुमति नलिई हर्मुज जलमार्ग प्रयोग गर्न खोजेको र पटक–पटक चेतावनी दिँदा पनि बेवास्ता गरेपछि सुरक्षा कारबाही गरिएको उल्लेख गरिएको छ।

रोयटर्सका अनुसार आईआरजीसीले अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द रहने जनाएको छ।

विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलमार्गबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास अन्तर्राष्ट्रिय बजारमा ढुवानी हुने गर्छ। यही कारण इरानको पछिल्लो घोषणाले विश्व ऊर्जा बजार, समुद्री व्यापार तथा तेलको मूल्यमा व्यापक असर पर्न सक्ने विश्लेषण गरिएको छ।

यसैबीच, केही समयअघि भएको युद्धविरामपछि पनि अमेरिका र इरानबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता उल्लङ्घन भएको दाबी गर्दै इरानको अनुरोधमा वार्ताको प्रक्रिया भने जारी रहेको बताएका छन्।

उता, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीले जारी गरेको लिखित सन्देशमा आफ्ना बुबाको हत्याको प्रतिशोध जुनसुकै परिस्थितिमा पनि लिइने चेतावनी दिएका छन्। उनले युद्धको सुरुआती चरणमा इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा अली खामेनी मारिएको दाबी गर्दै त्यसको बदला अपरिहार्य रहेको उल्लेख गरेका छन्।

यद्यपि अली खामेनीको मृत्यु सम्बन्धी दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

पश्चिम एसियामा बढ्दो तनावसँगै अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आग्रह गरिरहेको छ।

यदि हर्मुज जलमार्ग लामो समयसम्म अवरुद्ध रह्यो भने विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी लागत र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्ने आँकलन गरिएको छ।

गणेश नेपाली घटनामा के हुँदैछ? किन उठेन शव? [भिडियाे]

काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको शव अझै उठ्न सकेको छैन। स्रोतका अनुसार सरकार र पीडित पक्षबीच सहमति नजुटेकाले शव बुझ्ने प्रक्रिया अघि बढ्न नसकेको हो।

प्राप्त जानकारीअनुसार गणेश नेपालीको परिवार हाल जिल्ला प्रशासन कार्यालय काठमाडौंको सुरक्षा निगरानीमा रहेको छ। स्रोतले परिवारमाथि राज्य संयन्त्रबाट अनावश्यक दबाब सिर्जना गरिएको र घटनाको सम्पूर्ण जिम्मेवारी काठमाडौं महानगरपालिकामाथि मात्र रहेको बताउन दबाब दिइएको दाबी गरेको छ। यद्यपि, यसबारे सरकारी पक्षले औपचारिक प्रतिक्रिया दिएको छैन।

स्रोतका अनुसार परिवारलाई भेट्न पुगेका केही व्यक्तिलाई पनि सहज रूपमा भेट्न दिइएको छैन।

स्रोतले भन्यो, ‘गणेशको परिवारलाई कडा सुरक्षा घेरामा राखिएको छ। उनीहरूमाथि राज्य संयन्त्रबाट अनावश्यक दबाब सिर्जना गरिएको छ।’

यस विषयमा सरकार र पीडित पक्षबीच शनिबार साँझदेखि सुरु भएको वार्ता रातभर चलेको थियो। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहाल, सचिवालय सदस्य सञ्जीव पाण्डे, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत सहभागी थिए।

पीडित पक्षका अनुसार वार्ताका क्रममा सरकारले मृतकका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रस्ताव गरेको थियो। साथै मृतककी पत्नीलाई रोजगारी उपलब्ध गराउने र छोराछोरीको निःशुल्क शिक्षाको व्यवस्था गर्ने विषयमा पनि सरकार सकारात्मक देखिएको बताइएको छ। तर संसदीय छानबिनको सट्टा प्रशासनिक छानबिन गर्ने सरकारी प्रस्तावमा भने सहमति हुन सकेन।

पीडित पक्षले नगर प्रहरी र ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्नुपर्ने तथा घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्नुपर्ने माग पनि अघि सारेको छ। यी विषयमा भने कुनै सहमति हुन नसकेको स्रोतले जनाएको छ।

वार्ताका क्रममा दुवै पक्षबीच चर्काचर्कीसमेत भएको दाबी छ। पीडित पक्षले काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्ने वा नगर्ने भन्ने अन्योल रहेकाले नेपाल सरकारले औपचारिक रूपमा जिम्मेवारी नलिएसम्म कुनै सहमति नहुने अडान राखेको छ।

वार्ता समितिमा सहभागी पठाओ राइडर प्रतिनिधि नवराज न्यौपानेले वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीबाट दबाब र धम्कीपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। यी आरोपबारे सम्बन्धित सरकारी अधिकारीहरूको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

 

वर्षौंसम्म किन चम्किरहन्छ सुन ?

काठमाडौं। सुनलाई संसारकै सबैभन्दा मूल्यवान् धातुमध्ये एक मानिन्छ। यसको आकर्षक चमक, टिकाउपन र सजिलै नबिग्रिने गुणका कारण हजारौं वर्षदेखि गहना, मुद्रा र विभिन्न औद्योगिक प्रयोजनमा यसको प्रयोग हुँदै आएको छ। तर सुन किन सजिलै धमिलो हुँदैन भन्ने प्रश्नको नयाँ वैज्ञानिक उत्तर अहिले भेटिएको छ।

अमेरिकाको टुलन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनले सुनको दीर्घकालीन चमकको रहस्य यसको रासायनिक गुण मात्र नभई परमाणुस्तरमा हुने विशेष संरचनासँग सम्बन्धित रहेको देखाएको छ। यो अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल ‘फिजिकल रिभ्यु लेटर्स’ मा प्रकाशित भएको हो।

अनुसन्धानअनुसार सुनको सतहमा रहेका परमाणुहरू प्राकृतिक रूपमा आफूलाई यस्तो संरचनामा पुनर्गठित गर्छन्, जसले अक्सिजनसँग प्रतिक्रिया हुन दिँदैन। यही कारणले सुनमा अन्य धातुमा जस्तै सजिलै खिया लाग्दैन वा सतह धमिलो हुँदैन।

वैज्ञानिकहरूले कम्प्युटर सिमुलेसनमार्फत सुनका परमाणु र इलेक्ट्रोनहरूको व्यवहारको विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा सुनको सतहमा बन्ने यो प्राकृतिक संरचनाले अक्सिजनसँग हुने प्रतिक्रिया एक अर्बदेखि एक खर्ब गुणासम्म घटाइदिने तथ्य फेला परेको छ। यसले सुनको सतहमाथि परमाणुस्तरमै अदृश्य सुरक्षात्मक तह तयार गर्छ, जसले वर्षौंसम्म यसको चमक जोगाइराख्छ।

अनुसन्धान टोलीका अनुसार यही विशेषताका कारण सुनका गहना, सिक्का तथा ऐतिहासिक वस्तुहरू शताब्दीयौंसम्म पनि आफ्नो मौलिक चमक कायम राख्न सक्षम हुन्छन्।

यो खोज केवल गहनासम्म सीमित छैन। वैज्ञानिकहरूका अनुसार यसले उद्योग र स्वच्छ ऊर्जा प्रविधिमा प्रयोग हुने सुनमा आधारित क्याटालिस्ट विकासमा पनि नयाँ सम्भावना खोल्नेछ। यदि सुनको सतहलाई नियन्त्रित रूपमा परिमार्जन गरेर अक्सिजनसँगको प्रतिक्रिया बढाउन सकियो भने रासायनिक उद्योगमा यसलाई अझ प्रभावकारी क्याटालिस्टका रूपमा प्रयोग गर्न सकिने विश्वास गरिएको छ।

अनुसन्धानले सुनको सतहको परमाणु संरचना र ज्यामितिलाई नियन्त्रण गरेर यसको कार्यक्षमता थप सुधार गर्न सकिने संकेत पनि दिएको छ। यसले भविष्यमा ऊर्जा, वातावरणीय प्रविधि र उच्चस्तरीय औद्योगिक उत्पादनमा नयाँ अनुसन्धान र आविष्कारका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।

वैज्ञानिकहरूका अनुसार यो अध्ययनले सुन केवल बहुमूल्य धातु मात्र नभई आधुनिक विज्ञान र प्रविधिका लागि पनि अत्यन्त उपयोगी सामग्री भएको पुष्टि गरेको छ।

माइतीघरमा सुकुम्बासीको विरोध चर्को, खरिपाटीमा मन्त्रीहरुको लर्को

काठमाडौं। सुकुम्बासीमाथि सरकारले दमन गरेको आरोप लगाउँदै विभिन्न सुकुम्बासी अधिकारकर्मी तथा अभियन्ताहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारले सुरक्षित व्यवस्थापनको नाममा सुकुम्बासीलाई झन् असुरक्षित बनाएको आरोप लगाउँदै तत्काल दीर्घकालीन समाधानको माग गरेका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि प्रहरीले नियन्त्रण र दमन गरेको भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालसहित विभिन्न संघ–संगठनले प्रदर्शन आयोजना गरेका हुन्। उनीहरूले सुरक्षित आवासको सुनिश्चितता, गैरन्यायिक पक्राउ रोक्न र नागरिकको आवाजमाथि हुने दमन अन्त्य गर्न माग गर्दै नाराबाजी गरेका थिए।

प्रदर्शनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सुकुम्बासीको समस्या समाधान गर्नुपर्ने राज्यले उल्टै दमनको बाटो रोजेको आरोप लगाए। उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टर बाढीको जोखिममा रहेको र त्यहाँको व्यवस्थापन अत्यन्त कमजोर भएको दाबी गरे।

उनले सरकारले सुरक्षित व्यवस्थापन गर्ने प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै उचित व्यवस्था नगरे देशभरका सुकुम्बासी आन्दोलनमा उत्रिने चेतावनी दिए। ‘यदि सरकारले सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न सक्दैन भने हामी आफ्नै थातथलोमा फर्किन्छौँ र देशव्यापी आन्दोलन सुरु गर्छौँ,’ उनले भने।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘सुकुम्बासीमाथिको अन्याय अन्त्य गर’, ‘जनताको आवाज दबाउन पाइँदैन’ र ‘गरिबमाथिको दमन बन्द गर’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

यता, सुकुम्बासीको अवस्था बुझ्न सरकारका पाँच मन्त्री आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेका छन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका परिवारलाई अस्थायी रूपमा खरिपाटी सारिएको थियो।

गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादवलगायत मन्त्रीहरूले होल्डिङ सेन्टरको निरीक्षण गर्दै सुकुम्बासी परिवारसँग प्रत्यक्ष संवाद गरेका हुन्।

उनीहरूले आवास, स्वास्थ्य, खाद्यान्न तथा अन्य आधारभूत सुविधाबारे जानकारी लिँदै सम्बन्धित निकायका अधिकारीहरूसँग आवश्यक व्यवस्थापनका विषयमा छलफल गरेको जनाइएको छ।

सरकारले सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको बताइरहे पनि विपक्षी दल, अधिकारकर्मी र सुकुम्बासी संगठनहरूले भने अस्थायी होल्डिङ सेन्टरमा पर्याप्त आधारभूत सुविधा नरहेको, दीर्घकालीन समाधानको स्पष्ट योजना नदेखिएको र एक स्थानबाट अर्को स्थानमा सार्दै समस्या टार्ने प्रयास मात्र भएको आरोप लगाइरहेका छन्।

एकातर्फ सुकुम्बासीहरू सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् भने अर्कोतर्फ सरकारले मन्त्रीहरूलाई स्थलगत निरीक्षणमा खटाएर व्यवस्थापन सुधारको प्रयास गरिरहेको जनाएको छ।

यद्यपि सुकुम्बासीको दीर्घकालीन पुनःस्थापना, सुरक्षित आवास र जीविकोपार्जनको सुनिश्चितताबारे ठोस निर्णय कहिले हुन्छ भन्ने विषय अझै अनिश्चित नै रहेको छ।

साझा यातायातका हरिया बस ‘ब्लु बस’ नबन्ने [भिडीयाे]

काठमाडौं । साझा यातायातका हरिया बस ब्लु बस नबन्ने भएका छन्। सरकारले महिलाको सुरक्षित यात्राका लागि भन्दै साझा यातायातका हरिया बसलाई साउन १ गतेदेखि ‘ब्लु बस’ बनाएर सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। तर यसको चौतर्फी रुपमा आलोचना भएपछी सरकारले साझाका हरिया बसलाई ब्लु बस नबनाउने भएको हो। 

सुरुमा साझा यातायातका हरिया बसलाई निलो रङमा परिवर्तन गरेर ‘ब्लु बस’ बनाइने चर्चा चलेको थियो। तर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि साझा यातायातले बसको मौलिक हरियो रङ परिवर्तन नगर्ने निर्णयमा सरकार पुगेको बताइएको छ। 

सरकारले पहिलो चरणमा आठ वटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालन गर्ने योजना बनाएको थियो। यद्यपि सञ्चालन मिति र बसको अन्तिम सङ्ख्या पनि तय हुन सकेको थिएन। सरकारले यो सेवा शासकीय सुधारको १०० दिने कार्यसूची र नयाँ आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको भए पनि तयारी अपुग हुँदा कार्यान्वयनमा ढिलाइ भएको थियो।

काजलको आरोप, दीपकको खण्डन, चर्कियो ‘चिरञ्जीवी भवः’ विवाद

काठमाडौं । नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ को छायांकन सेटमा अभिनेत्री काजल कर्णले आफूमाथि विभेदपूर्ण व्यवहार भएको आरोप लगाएपछि सुरु भएको विवाद झन् गहिरिएको छ।

काजलले आफूलाई मधेशी भएकै कारण अपमान, मानसिक दबाब र भूमिकाबाट हटाइएको आरोप लगाएपछि निर्देशक दीपक आचार्यले विस्तृत स्पष्टीकरण सार्वजनिक गर्दै सबै आरोप अस्वीकार गरेका हुन्।

निर्देशक आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ६ बुँदे स्पष्टीकरणमा फिल्म निर्माण टोलीका लागि कुनै जातीय वा क्षेत्रीय समुदाय नभई ‘मानव समुदाय’ मात्रै रहेको उल्लेख गरेका छन्। उनले सम्पूर्ण कलाकारलाई समान सम्मान गरिने र कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने दाबी गरेका छन्।

आचार्यका अनुसार काजलले आरोप लगाएजस्तो छायांकन सेटमा कुनै प्राविधिकबाट तुच्छ व्यवहार भएको जानकारी आफूलाई कहिल्यै नदिइएको बताए। यदि कसैले त्यस्तो व्यवहार गरेको पुष्टि भए तत्काल कारबाही गरिने उनको भनाइ छ।

निर्देशकले छायांकन प्रभावित हुन नदिन निर्माण टोलीले अर्को कलाकारबाट भूमिका सम्पन्न गराएको स्पष्ट पारेका छन्। उनका अनुसार बिहान ७:३० बजेका लागि बोलाइएको छायांकनमा काजल निर्धारित समयमा उपस्थित नभएको र सहायक निर्देशकमार्फत अन्तिम समयमा आफू नआउने जानकारी पठाएपछि सुटिङ रोक्न नसकिने अवस्था आएको थियो।

पारिश्रमिकको विषयमा पनि उनले निर्माण पक्षसँग छलफल गर्दा डबिङ सम्पन्न भएपछि दिने सहमतिअनुसार अन्तिम किस्ता मात्रै बाँकी रहेको जानकारी प्राप्त भएको बताएका छन्।

मधेशी भएकै कारण विभेद गरिएको आरोपबारे निर्देशकले आफूलाई काजल मधेशी समुदायबाट आएको भन्ने कुरा सामाजिक सञ्जालमा उनको स्टाटस पढेपछि मात्र थाहा भएको दाबी गरेका छन्। कलाकार छनोट जातीय वा क्षेत्रीय पहिचानका आधारमा नभई पात्रको आवश्यकता अनुसार गरिएको उनको भनाइ छ।

स्क्रिप्टभन्दा बाहिरका दृश्य गर्न बाध्य पारिएको आरोपबारे पनि उनले असहमति जनाएका छन्। कलाकारले चरित्रअनुसार विभिन्न भूमिका निर्वाह गर्नुपर्ने भन्दै काजललाई केवल गोबर सोहोर्ने दृश्य मात्रै गराइएको भन्ने दाबी सत्य नभएको र उनीद्वारा निर्वाह गरिएका विभिन्न दृश्यका भिडियो फुटेज सुरक्षित रहेको निर्देशकले उल्लेख गरेका छन्।

आचार्यले यो विवाद केही गलत बुझाइका कारण पनि उत्पन्न भएको हुन सक्ने उल्लेख गर्दै आवश्यक परे काजलसँग छलफल गर्न निर्माण टोली तयार रहेको बताएका छन्। साथै, सबै पक्षलाई मिलेर राम्रो नेपाली चलचित्र निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।

यता, काजल कर्ण भने आफ्नो आरोपमा अडिग रहेकी छन्। उनले दोस्रो पटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै निर्देशकको स्पष्टीकरणले वास्तविक घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएकी छन्। सेटमा आफूले भोगेको व्यवहार, पारिश्रमिक विवाद र भूमिकाबाट हटाइएको घटनाबारे उठाएका सबै विषय सत्य रहेको उनको दाबी छ।

यस विवादले नेपाली फिल्म उद्योगमा कलाकारको श्रम अधिकार, कार्यस्थलको व्यवहार, पारिश्रमिकको पारदर्शिता तथा जातीय वा क्षेत्रीय पहिचानका आधारमा हुने सम्भावित विभेदबारे नयाँ बहस सुरु गरेको छ।

हालसम्म दुवै पक्षले आफ्ना–आफ्ना दाबी सार्वजनिक गरेका छन् भने आरोप–प्रत्यारोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

यस्तो छ कर्णको दाबी

मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…

सानैदेखि एउटा सपना थियो– ऐनाअगाडि उभिएर अभिनय गर्ने, ठूला पर्दामा देखिने र एउटा कुशल कलाकार बन्ने। मधेशको एउटा सानो आँगनबाट सुरु भएको त्यो रंगीन सपनालाई पछ्याउँदै मैले ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतहरूमा काम गरेँ। आमा–बुवाको विश्वास र मेरो मेहनतले मलाई नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ सम्म पुर्‍यायो। ‘परान’जस्तो सुपरहिट फिल्मका निर्देशकसँग काम गर्न पाउँदा खुसी नहुने कुरै थिएन।

तर, फिल्मको सेटभित्र छिरेपछि मैले जुन संसार देखेँ, त्यसले मेरो कलाकारिताप्रतिको सम्मान मात्र होइन, मेरो आत्मसम्मान र मधेशी पहिचानमाथि यति क्रूर प्रहार गर्‍यो कि आज म ती घाउहरू खोल्न बाध्य भएकी छु।

अहिले लाग्छ, मधेश र नेपाली फिल्म क्षेत्रबीचको दूरी पृथ्वी र चन्द्रमा जस्तै रहेछ– टाढाबाट हेर्दा चम्किलो, तर पुग्न खोज्दा सासै रोकिने शून्यता र विभेद।

फिल्ममा अनुबन्धित हुँदा म धेरै खुसी थिएँ। हरिवंश आचार्य, करिश्मा मानन्धरजस्ता हस्तीहरूसँग काम गर्ने अवसर थियो। तर, सुरुवातमै मलाई अपमानित गर्न थालियो। डिजाइनर दाइले मेरो नाप लिएर पनि काठमाडौँको सुटका लागि आफ्नै लुगा व्यवस्था गर्न भन्नुभयो। सुटिङको दिन बिहानै साढे ५ बजे गाडी पठाउँछु भन्ने प्रोडक्सनका सुवास काफ्लेजीले फोन उठाउनुभएन। अन्त्यमा ६ बजे फोन उठ्दा भन्नुभयो– ‘गाडी आउँदैन, आफैँ पठाओ गरेर आउनुस्, हामी भाडा तिरिदिन्छौँ।’ एउटा कलाकारलाई सेटसम्म पुग्न पनि कति सास्ती!

इटहरीमा सुटिङ भइरहेका बेला म लोकेसनमा पुगेँ। मेकअप रुममा प्रवेश गर्दा मुख्य अभिनेत्री प्रशंसा रायमाझीको मेकअप भइरहेको थियो। त्यहाँ चीफ एडी नेत्र सरले मलाई ‘लुगा खोइ?’ भन्दै थर्काउनुभयो। मैले डिजाइनरको कुरा राख्दा उल्टै ममाथि झर्कनुभयो। त्यतिमै नपुगेर प्रशंसा जीले भन्नुभयो– ‘मैले यो कोठामा मेरो मात्र मेकअप होस् भनेर अनुमति दिएको हो, अरूलाई ल्याएर मेरो रुमको माहोल नबिगारिदिनुस्।’ सेटमा म एउटा कलाकार होइन, कुनै अवाञ्छित वस्तु झैँ भएँ।

सबैभन्दा पीडादायी क्षण त मेकअप गर्दा भयो। मेकअप आर्टिस्टले मेरो अनुहारमा जानीजानी कालो मेकअप दलिदिइन्। मैले सोध्दा उनले भनिन्, ‘तिमी त यहाँ आश्रममा काम गर्ने मान्छे, गाई–गोठालो हेर्ने मान्छे, तिम्रो मेकअप यस्तै हुन्छ।’

मेरो स्क्रिप्टमा त्यस्तो केही थिएन। अर्का एकजना पुरुष मेकअप आर्टिस्टले त झन् पराकाष्ठा नै नाघेर भने– ‘तिमी त तराईको मान्छे, तिमीलाई त भैँसी र गाईलाई कसरी बोलाउँछन् भन्ने थाहा होला नि!’ यति भन्दै उनीहरू ममाथि हाँसे, मेरो माटोको उपहास गरे। ‘यो मधेशी’ भन्दै सेटभरि मेरो मजाक उडाइयो। ‘तिमी त मधेसी हौ, मधेसीको रङ यस्तै त हुन्छ नि’, ‘ओई मधेसेनी, तिम्रोतिर त भैँसी र गाईलाई कसरी बोलाउँछन्, थाहा होला नि? ल, बोलाएर देखाऊ त!’, यस्तै यस्तै भनेर उनीहरू ममाथि खित्का छोडेर हाँसे।

स्क्रिप्टमा कहीँ नभएको कुरा सुटिङमा जबर्जस्ती गराइयो। मलाई र अर्को एकजनालाई फोहोर उठाउने र कुचो लगाउने सिनहरू गराइयो। दुई दिनसम्म मलाई एउटा कलाकारको रूपमा होइन, मजदुरको रूपमा मात्र प्रयोग गरियो। पेमेन्टको कुरा गर्दा प्रोडक्सनका सुवासले वास्तै गर्नुभएन।

जब सुटिङ इटहरी पुग्यो, मैले आफ्नो बाँकी पेमेन्ट र लुगा खर्च मागेँ। एक्जेक्युटिभ प्रोड्युसर शैलेश खत्रीले मलाई ‘पेमेन्ट हालिसकेँ, सेटमा आउनुस्’ भनेर झूट बोल्नुभयो। म इटहरी पुग्दा त मेरो ठाउँमा अर्कै कलाकारलाई मेकअप गराइँदै थियो। मलाई कुनै जानकारी नै नदिई निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा ठाउँको ठाउँ मलाई फिल्मबाट हटाइयो। कारण सोध्दा हेयर स्टाइलिस्ट सञ्चिता ढकालले भनिन्, ‘तिमी नहुने भयौ, तिम्रा लुगाहरू छुटेको भएर मात्र बोलाएको हो।’

मेरो पेमेन्ट क्लियर गर्न आग्रह गर्दा शैलेश जीले ‘अझै डबिङ बाँकी छ, अहिले फुल पेमेन्ट दिन्नँ’ भन्नुभयो। इटहरी बोलाएर, अर्कै कलाकार राखेर, मलाई ‘लुगा लिन मात्र बोलाएको’ भन्नु कति ठूलो अपमान हो?

यो केवल मेरो एउटा भूमिका खोसिएको कथा होइन। यो त नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारले भोग्नुपर्ने संकीर्ण सोच र विभेदको नाङ्गो रूप हो। मधेशका छोरीहरूले घरको कुरा र समाजको रुढीवादी सोच जितेर यहाँसम्म आउन कति संघर्ष गर्नुपर्छ, त्यो सेटमा बस्ने ती ‘अहंकारी’हरूले कहिल्यै बुझेनन्। उनीहरूले त केवल मेरो पहिचानमाथि प्रहार गर्न र मलाई मानसिक तनाव दिन मात्र जाने।

म यो पत्रमार्फत प्रश्न गर्न चाहन्छु– के मधेशी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो? ‘चिरञ्जीवी भवः’ को सेटमा मैले पाएको यो दुर्व्यवहारले फिल्म क्षेत्रको कुरूप अनुहार छर्लङ्ग पारेको छ। तर स्मरण रहोस्, एउटा भूमिका खोस्दैमा मेरो सपना मर्ने छैन। मधेशको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन। म लड्नेछु, आफ्ना लागि र मजस्ता थुप्रै सपना देख्ने मधेशी छोरीहरूका लागि।

उही,
तपाईंकी
काजल कर्ण

निर्देशक आचार्यको खण्डन

हाम्रो लागि कुनै क्षेत्रीय वा जातीय समुदाय छैन, एउटै समुदाय छ ‘मानव समुदाय’।

सामाजिक सञ्जालमा ‘चिरञ्जीवी भव’को सुटिङ सेटमा आएको एउटा गम्भीर विषयप्रति मेरो ध्यानाकर्षण भएको छ। काजोल कर्णजीको स्टाटस पढेपछि मैले आरोपित सम्पूर्ण प्राविधिक अनि टिमसँग छलफल गरेपश्चात् हामी केही कुरा क्लियर गर्दैछौँ।

१- उहाँले मेरो निर्देशनमा रहेको सेटमा केही प्राविधिकहरूबाट अत्यन्तै तुच्छ व्यवहार भयो भन्ने आरोपमा कुनै सत्यता छैन, र मलाई उहाँले कुनै जानकारी गराउनु भएको छैन। यदि कुनै सदस्यबाट उहाँले आरोप लगाएजस्तो व्यवहार गरेको पुष्टि भएमा गल्ती गर्ने जो कोहीलाई पनि १ सेकेन्ड अबिलम्ब नगरी कारबाही गरिनेछ।

२- कलिङ टाइम ७:३० को राखिएको सुटिङ सेटमा ९:०० बजेसम्म कलाकारलाई कुरेर बसेका ७० जना सुटिङ युनिटलाई अन्तमा सहायक निर्देशकमार्फत म आउँदिन भन्ने सन्देश पठाउनु भएछ। मैले टिम क्याप्टेनको हिसाबले एउटा कलाकारले अनुशासन भंग गरी यति ठूलो युनिट होल्ड हुन नदिई सुटिङ सुचारु गरेको हुँ र कलाकारको पारिश्रमिक सम्बन्धमा निर्माण टिमसँग छलफल गर्दा तेस्रो किस्ता मात्र दिन बाँकी, जुन डबिङपछि दिइने जानकारी पाएको छु।

३- सम्बन्धित कलाकार कुनै समुदाय विशेषको भएको कारण हामीले छनोट गरेका होइनौँ, जुन कुरा पछि चलचित्र प्रदर्शनपश्चात् झन् सबैले बुझ्नु हुनेछ। उहाँ मधेसी मूलको हुनुहुँदो रहेछ भन्ने कुरा मैले त उहाँको स्टाटस पढेपछि मात्र थाहा भयो। हाम्रो लागि कुनै जातीय वा क्षेत्रीय कलाकार हुँदैनन्, हरेक चरित्र हाम्रो लागि समान हुन् र हामी बराबर सम्मान गर्छौँ।

४- कलाकार भएपछि जस्तोसुकै भूमिका निर्वाह गर्नुपर्छ, जसमा कहिले डोको बोक्न पर्ला, कहिले गाईको सेवा गर्न पर्ला। हरेक पेसाप्रति हाम्रो उच्च सम्मान छ। अझ चरित्रमा प्राण भर्न कलाकारले जीवन्त अभिनय गर्नु एउटा कलाकारको कर्तव्य हो।

५- काजोलजीले अत्यन्तै सुन्दर भूमिका निर्वाह गर्नुभएको छ। उहाँले आरोप लगाउनु भएजस्तो गाईको गोबर सोहोर्ने काम मात्र दिइयो भन्ने कुरा सत्य होइन। हामीसँग उहाँले गर्नुभएका हरेक भूमिकाका भिडियो फुटेज सुरक्षित छन्।

६- उहाँलाई कतिपय कुराहरू मिसअन्डरस्टान्डिङ भएको हुन सक्छ। यदि त्यस्तो भए हामी उहाँसँग छलफल गर्ने वातावरण तयार गर्नेछौँ।

हाम्रो लागि संसारमा एउटै समुदाय हुन्छ, मानव समुदाय। हरेक मानवलाई हामी समान व्यवहार गर्छौँ। हामी अत्यन्तै मेहनत गरेर नेपाली चलचित्र उद्योगको लागि एउटा सुन्दर सिर्जना निर्माणमा व्यस्त छौँ। आउनुहोस्, हामी सबै मिलेर एउटा राम्रो सिनेमा निर्माणमा सहयोग गरौँ। काजोलजीको कलाकारिताको लागि सफलताको शुभकामना।

चिरञ्जीवी भव।

यो पनि पढ्नुहोस्: 

मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…

किर्तिपुर होल्डिङ सेन्टरका ३१ परिवारका ८९ जना खरीपाटीमा

काठमाडौं । अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट सुकुमवासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढीका कारण होल्डिङ सेन्टर नै प्रभावित भएपछि सरकारले उनीहरूलाई भक्तपुरस्थित खरिपाटी होल्डिङ सेन्टरमा सार्ने व्यवस्था गरेको हो।

सरकारी विवरणअनुसार कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ जनालाई शनिबार र आइतबार बिहान गरी चरणबद्ध रूपमा खरिपाटी लगिएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने उद्देश्यले स्थानान्तरण गरिएको जनाइएको छ।

खरिपाटीमा स्थान अभाव भएका केही परिवारलाई भने भक्तपुरकै बोडे क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। सम्बन्धित निकायले उनीहरूको बसोबास, खाद्यान्न तथा आधारभूत आवश्यकताका विषयमा आवश्यक व्यवस्थापन भइरहेको जनाएको छ।

यसअघि सरकारले बागमती नदी किनारका थापाथलीलगायत विभिन्न क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाएर उनीहरूलाई अस्थायी रूपमा कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा राखेको थियो। तर लगातारको वर्षापछि उक्त होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका परिवार थप जोखिममा परेका थिए।

होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासीहरूको व्यवस्थापनलाई लिएर सरकारको आलोचना समेत भइरहेको छ। विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले सुरक्षित र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका छन्।

हाल प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिए पनि उनीहरूको स्थायी पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको विषय भने अझै टुंगो लाग्न सकेको छैन। सरकारले अस्थायी व्यवस्थापनसँगै दीर्घकालीन समाधानका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।

मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…

काठमाडौं । नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ को छायांकनलाई लिएर अभिनेत्री काजल कर्ण र निर्माण पक्षबीच सार्वजनिक विवाद चर्किएको छ।

काजलले आफूलाई मधेशी भएकै कारण विभेदपूर्ण व्यवहार गरिएको, मानसिक दबाब दिइएको तथा अन्ततः फिल्मबाट हटाइएको आरोप लगाएपछि निर्माण पक्षले त्यसको खण्डन गरेको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काजलले छायांकनका क्रममा आफूलाई पहिचानका आधारमा अपमानजनक टिप्पणी गरिएको, स्क्रिप्टमा नभएका दृश्य गर्न दबाब दिइएको र बाँकी पारिश्रमिक मागेपछि आफूलाई जानकारी नै नदिई अर्को कलाकारलाई भूमिकामा ल्याइएको दाबी गरेकी छन्।

उनले यो घटना व्यक्तिगत विवाद मात्र नभई नेपाली फिल्म उद्योगमा मधेशी कलाकारले भोग्नुपरेको विभेदको उदाहरण भएको उल्लेख गरेकी छन्। आफ्नो श्रमको उचित सम्मान र मूल्याङ्कन नभएको तथा पहिचानकै आधारमा अपमानित हुनुपरेको उनको भनाइ छ।

काजलको आरोप सार्वजनिक भएपछि फिल्मका निर्देशक दीपक आचार्यले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। उनले छायांकनका क्रममा कुनै कलाकारमाथि जातीय वा क्षेत्रीय आधारमा विभेदपूर्ण व्यवहार नभएको दाबी गर्दै यस्ता आरोप सत्य नभएको बताएका छन्।

निर्देशक आचार्यका अनुसार काजल निर्धारित समयमा छायांकनका लागि उपस्थित नभएको र अन्तिम समयमा आउन नसक्ने जानकारी प्राप्त भएपछि छायांकन प्रभावित नहोस् भनेर अर्को कलाकारमार्फत भूमिका सम्पन्न गरिएको हो।

पारिश्रमिकबारे पनि उनले निर्माण टोलीबाट प्राप्त जानकारी उद्धृत गर्दै डबिङ सम्पन्न भएपछि अन्तिम किस्ता भुक्तानी गर्ने सहमति रहेको बताएका छन्। साथै, यदि सेटमा कसैले विभेदपूर्ण व्यवहार गरेको पुष्टि भए आवश्यक कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

निर्देशकले फिल्म निर्माण टोलीका लागि सबै कलाकार समान रहेको उल्लेख गर्दै जातीय वा क्षेत्रीय आधारमा कुनै विभेद स्वीकार्य नहुने बताएका छन्।

यद्यपि निर्देशकको स्पष्टीकरणपछि पनि विवाद साम्य भएको छैन। काजलले पुनः सामाजिक सञ्जालमार्फत अर्को प्रतिक्रिया सार्वजनिक गर्दै आफ्नो आरोपमा अडिग रहेको बताएकी छन्। उनले वास्तविक घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको दाबी गर्दै आफूले उठाएका सबै विषय सत्य रहेको उल्लेख गरेकी छन्।

यस घटनापछि नेपाली फिल्म क्षेत्रमा कलाकारको श्रम अधिकार, पारिश्रमिक, कार्यस्थलको व्यवहार तथा जातीय वा क्षेत्रीय पहिचानका आधारमा हुने सम्भावित विभेदबारे नयाँ बहस सुरु भएको छ। दुवै पक्षले आ-आफ्नो दाबी सार्वजनिक गरिरहे पनि घटनाको वास्तविकता सम्बन्धित निकाय वा थप प्रमाणबाट मात्रै स्पष्ट हुने देखिएको छ।

दुर्गा प्रसाईं बोल्ने डरले प्रहरीले पक्राउ गर्यो, अनि घरमा छाडिदियो[भिडियाे]

काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनी गृहजिल्ला झापाबाट काठमाडौं आएका थिए।

काठमाडौं आइपुग्नुअघि प्रसाईंले पत्रकार सम्मेलन गर्ने सूचना सार्वजनिक गरेका थिए। तर विमानस्थलमा अवतरण गरेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर पत्रकारहरूसँग भेट्न नदिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रसाईंलाई विमानस्थलबाट नियन्त्रणमा लिएपछि सुरक्षाको प्रबन्ध मिलाउँदै निवाससम्म पुर्‍याइएको हो। उनले निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति वा पत्रकार सम्मेलन गर्न नपाइने भएकाले त्यहाँ पत्रकारहरूसँग भेटघाट गर्न नदिइएको बताए।

प्रहरीले यो कदम सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर चालिएको जनाएको छ। यद्यपि पछिल्ला राजनीतिक तथा सामाजिक घटनाक्रमलाई लिएर सरकारमाथि विभिन्न कोणबाट आलोचना भइरहेका बेला प्रसाईंले सार्वजनिक रूपमा उत्तेजक अभिव्यक्ति दिन सक्ने सम्भावनालाई ध्यानमा राखेर प्रहरीले अग्रिम सतर्कता अपनाएको प्रहरीले जनाएको छ।

प्रसाईंलाई पक्राउ गरिएको नभई आवश्यक सुरक्षा व्यवस्थापनका लागि केही समय नियन्त्रणमा लिएर घरसम्म पुर्‍याइएको प्रहरीको भनाई छ।

आत्मदाह प्रयास गरेका विवेकको अवस्था जटिल

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। हाल उनको आईसीयूमा राखेर सघन उपचार भइरहेको छ।

अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार मण्डलको आइतबार शल्यक्रिया गरिने तयारी गरिएको छ। उनको अवस्था अझै चिन्ताजनक रहेकाले चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्राप्त जानकारीअनुसार मण्डलले शुक्रबार घरबाट करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

पछिल्लो समय आत्मदाहका घटनाहरू बढिरहेका छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। त्यसैगरी शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाह प्रयास गरेको घटना सार्वजनिक भएको छ।

आङ्देम्बेको प्रश्न : ‘यही हो सुकुमवासीको सुरक्षित व्यवस्थापन?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासीको व्यवस्थापनका विषयमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सार्वजनिक रूपमा प्रश्न गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीले सुकुमवासीलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने गरेको प्रतिबद्धता स्मरण गराउँदै अहिलेको अवस्था त्यसको विपरीत रहेको टिप्पणी गरेका हुन्।

आङ्देम्बेले कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले सुकुमवासीलाई एउटा जोखिमबाट निकालेर अर्को अझ गम्भीर जोखिममा पुर्‍याएको देखिएको बताएका छन्। सुरक्षित आश्रयको आश्वासन पाएका नागरिक अहिले भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच जीवन बिताउन बाध्य भएको उनको भनाइ छ।

उनले यसलाई सुकुमवासीसँग गरिएको सार्वजनिक प्रतिबद्धता पूरा गर्न नसकेको राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको उदाहरणको रूपमा चित्रण गरेका छन्।

आङ्देम्बेले पीडितहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहितका युवालाई पक्राउ गरिएको घटनाप्रति पनि आपत्ति जनाएका छन्। लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउनु अपराध हुन नसक्ने भन्दै उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाए।

प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै आङ्देम्बेले सुकुमवासीसँग गरिएको वाचा पूरा गर्न र त्यसबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।

बालेनको सचिवालय हेरफेर

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहको सचिवालय पुनर्गठन हुने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। सत्तारूढ वृत्तमा सचिवालयको संरचना फेरबदल, सल्लाहकारहरूको भूमिका र पार्टीभित्रको शक्ति सन्तुलनलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्।

राजनीतिक वृत्तमा चलिरहेको चर्चाअनुसार सचिवालय पुनर्गठनको कारण औपचारिक रूपमा पार्टीका जिम्मेवारीसँग जोडिए पनि त्यसपछाडि आन्तरिक शक्ति समीकरणले पनि भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी प्रधानमन्त्रीका निकट सल्लाहकारहरूबीच बढ्दो दूरी र प्रभाव विस्तारको प्रतिस्पर्धाले सचिवालय पुनर्संरचनाको बहसलाई थप बल दिएको बताइन्छ।

चर्चाअनुसार प्रधानमन्त्रीको सचिवालयमा कार्यरत केही प्रभावशाली व्यक्तिहरूबीच निर्णय प्रक्रियालाई लिएर लामो समयदेखि असहजता देखिँदै आएको छ। सरकार सञ्चालनका निर्णयदेखि पार्टीभित्र जिम्मेवारी बाँडफाँटसम्म कसको प्रभाव बढी रहने भन्ने विषयमा मतभेद रहेको दाबी गरिन्छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनपछि पार्टीका निर्वाचित पदाधिकारीलाई संगठनात्मक जिम्मेवारीमा केन्द्रित गराउने तयारी भएको चर्चा पनि छ। यही कारण केही व्यक्तिलाई सचिवालयबाट हटाएर नयाँ अनुहार ल्याउने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

महाधिवेशनपछि रिक्त रहेको केही पदमा मनोनयन हुन नसक्नुले पनि पार्टीभित्र सहमति जुट्न बाँकी रहेको संकेतका रूपमा हेरिएको छ। पार्टीका विभिन्न समूहबीच उम्मेदवार चयनलाई लिएर मतभेद भएकै कारण प्रक्रिया केही समय रोकिएको विश्लेषण भइरहेको छ।

यता, सरकारले हालै प्रत्येक मन्त्रीलाई आवश्यकताअनुसार थप सल्लाहकार राख्न सक्ने व्यवस्था अघि बढाएपछि त्यसलाई लिएर पनि बहस सुरु भएको छ। समर्थकहरूले यसलाई सरकारको कार्यसम्पादन क्षमता बढाउने प्रयासका रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले राज्यको प्रशासनिक संरचनामाथि अनावश्यक समानान्तर संयन्त्र निर्माण गर्न खोजिएको टिप्पणी गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार मन्त्रालयमा थप सल्लाहकार नियुक्त गर्ने योजनाले भविष्यमा प्रधानमन्त्री कार्यालयलाई अझ शक्तिशाली समन्वय केन्द्र बनाउने उद्देश्य राखेको हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी सूचना प्रविधि, सुशासन र डिजिटल प्रणालीलाई केन्द्रबाट सञ्चालन गर्ने अवधारणामाथि पनि विभिन्न कोणबाट बहस भइरहेको हो ।

यसैबीच राहदानी प्रणाली खरिद प्रक्रियालाई लिएर पछिल्ला दिनमा देखिएको विवाद र त्यसक्रममा प्रधानमन्त्री कार्यालयमा भएका घटनाक्रमले पनि सचिवालयको कार्यशैलीमाथि प्रश्न उठाएको छ। केही सञ्चारमाध्यमले सचिवालयका केही सदस्यको भूमिकामाथि विभिन्न आरोप सार्वजनिक गरेका छन्। तर ती आरोपबारे सम्बन्धित पक्षबाट औपचारिक पुष्टि वा विस्तृत प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

राजनीतिक वृत्तमा सचिवालय पुनर्गठनबारे अनेक चर्चा भइरहे पनि प्रधानमन्त्री कार्यालयले यसबारे कुनै आधिकारिक निर्णय वा औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

सुकुम्वासीको उठिवास र जेनजी अभियन्ता पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । सुकुम्वासीहरूको उचित व्यवस्थापन नगरी उठिवास लगाएको आरोप लगाउँदै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले किर्तिपुरस्थित होल्डिङ सेन्टरमा शनिबार बिहान बाढी पसेपछि प्रभावित सुकुम्वासीहरूको व्यवस्थापन नगरी विस्थापित बनाइएको भन्दै सरकारको विरोध गरेका हुन्।

उनीहरूले शनिबार साँझ सुकुम्वासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको घटनाको पनि विरोध गरेका छन्। प्रदर्शनका क्रममा सरकारसँग प्रभावित सुकुम्वासीहरूको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न तथा पक्राउ परेका अभियन्ताहरूलाई रिहा गर्न माग गरिएको थियो।

बालेनसरकार पश्चात् नि थामिएन नेप्सेको पहिरो

काठमाडौं । नेपालको शेयर बजारमा पछिल्ला केही महिनादेखि निरन्तर दबाब देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्दै २६०० अंकको आसपास पुगेपछि बजार करिब ६ महिनायताकै न्यून स्तरमा झरेको छ।

सरकार परिवर्तनसँगै आर्थिक नीति र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिए पनि त्यसको प्रभाव शेयर बजारमा देखिन सकेको छैन। बरु पछिल्ला महिनामा अधिकांश कारोबार दिनमा बजार घट्दो क्रममा देखिएको छ, जसले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साह नेतृत्वको सरकार गठनअघि बजारमा सकारात्मक अपेक्षा थियो। निर्वाचनअघि सार्वजनिक गरिएको घोषणापत्रमा पूँजीबजार सुधार, लगानीकर्ता संरक्षण र बजारमैत्री नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाइएकाले धेरै लगानीकर्ताले बजारमा नयाँ ऊर्जा आउने अनुमान गरेका थिए।

तर सरकार गठनपछि भने बजारले ठीक विपरीत दिशा समात्यो। चैत १२ गते सरकार गठन हुनुअघि नेप्से परिसूचक करिब २९५० अंकको उचाइमा पुगेको थियो। त्यसपछि भने बजार लगातार ओरालो लाग्दै हाल २६०० अंकको आसपासमा सीमित भएको छ।

यस अवधिमा मात्रै नेप्से करिब ३५० अंकले घटेको देखिन्छ। विश्लेषकहरूका अनुसार यति छोटो अवधिमा भएको यस्तो गिरावटले लगानीकर्ताको सम्पत्ति मूल्यमा ठूलो असर पारेको छ।

पछिल्लो गिरावटसँगै नेप्से करिब ६ महिनायताकै न्यून विन्दुमा पुगेको हो। यसअघि गत पुस महिनामा बजार करिब २५९७ अंकसम्म झरेको थियो। त्यसपछि केही समय सुधार देखिए पनि चैत महिनामा उच्च विन्दु छोएको बजार फेरि निरन्तर दबाबमा परेको छ।

यो अवधिमा नेप्सेले करिब २९७० अंकसम्मको उच्च स्तर छोएको थियो। त्यसपछि भने बजारमा स्थायी सुधार आउन नसक्दा अधिकांश क्षेत्रका सूचकहरू पनि कमजोर बनेका छन्।

बजार जानकारहरूका अनुसार लगानीकर्तामा नीतिगत अन्योल, आर्थिक गतिविधिमा अपेक्षित सुधार नआउनु, बैंकिङ प्रणालीमा देखिएको लगानी प्रवाहको सुस्तता तथा सरकारबाट पूँजीबजारका लागि ठोस सुधारका कार्यक्रम सार्वजनिक हुन नसक्नुजस्ता कारणले बजारमा विश्वास कमजोर बनेको छ।

यद्यपि केही विश्लेषकहरूले अहिलेको गिरावटलाई दीर्घकालीन लगानीकर्ताका लागि अवसरका रूपमा पनि हेरिरहेका छन्। उनीहरूका अनुसार अर्थतन्त्रमा सुधारका संकेत देखिए, सरकारी नीतिले लगानीकर्ताको विश्वास पुनः स्थापित गर्न सके र सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था सन्तोषजनक रहे आगामी महिनामा बजारले पुनः गति लिन सक्ने सम्भावना रहन्छ।

अहिलेलाई भने शेयर बजारमा बिक्री दबाब कायमै रहेको छ। सरकार परिवर्तनसँगै देखिएको प्रारम्भिक आशा बजारको तथ्याङ्कमा रूपान्तरण हुन नसक्दा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ।

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ,यसरी गरिन्थ्यो ठगी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का कलेजमा उच्च शिक्षा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थीबाट रकम असुलेर ठगी गरेको आरोपमा नौ जना शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) सञ्चालक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंका विभिन्न स्थानमा सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थामाथि अनुसन्धान गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार डिल्लीबजारस्थित एडुपोट प्रालिसँग सम्बन्धित तीन जना सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंका रुपक कोइराला, कास्कीका राजेश भण्डारी र बाराका सन्तोष खतिवडा छन्।

यस्तै, पुतलीसडकमा रहेको वेस्टफोर्ड एजुकेशन प्रालिकी सञ्चालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ) पनि प्रहरी नियन्त्रणमा परेकी छन्।

बानेश्वरस्थित प्रोप एभिएसन प्रालिसँग आबद्ध सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य र शेखर पाण्डेलाई पनि पक्राउ गरिएको छ। त्यसैगरी कालिमाटीमा रहेको एस्पायर ग्लोबल प्रालिका सञ्चालक विशाल चापागाईंलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यसरी गरिन्थ्यो ठगी

प्रहरी अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिहरूले यूएईका आधिकारिक नियामक निकायबाट मान्यता नपाएका शैक्षिक संस्थामा नेपाली विद्यार्थी भर्ना गराउँदै आएका थिए।

विद्यार्थीलाई ती कलेजमा अध्ययन गरेपछि फ्रान्स, अष्ट्रेलियालगायत अन्य मुलुकका विश्वविद्यालयमा सहज रूपमा ‘क्रेडिट ट्रान्सफर’ हुने र अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्न सकिने भन्दै आकर्षक आश्वासन दिइएको थियो। यही प्रलोभन देखाएर उनीहरूले विद्यार्थीबाट ठूलो रकम असुलेको आरोप प्रहरीले लगाएको छ।

सीआईबीका अनुसार सम्बन्धित कलेजहरू यूएईको ‘उच्च शिक्षा मन्त्रालय’ वा ‘कमिसन फर एकेडेमिक एक्रिडिटेसन’बाट आवश्यक मान्यता प्राप्त नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको जनाएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले विदेश अध्ययनका लागि जाने विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श संस्था तथा कलेजको आधिकारिक मान्यता, सम्बन्धन र विश्वसनीयता राम्रोसँग जाँच गरी मात्र भर्ना प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ।

कतारका पूर्वराजाको निधन,तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। कतारका पूर्व अमिर शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ। कतारको शाही प्रशासन ‘अमिरी दिवान’ले आइतबार विज्ञप्तिमार्फत उनको निधन भएको पुष्टि गरेको हो।

अमिरी दिवानले जारी गरेको शोक सन्देशमा स्वर्गीय शेख खलिफालाई राष्ट्रको विकास र स्थायित्वका लागि महत्वपूर्ण योगदान पुर्‍याएका दूरदर्शी नेताका रूपमा स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।

पूर्व अमिरको निधनप्रति सम्मान व्यक्त गर्दै वर्तमान अमिर शेख तामिम बिन हमद अल थानीले देशभर तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन्। शोक अवधिभर राष्ट्रिय झण्डा आधा झुकाइने तथा राजकीय सम्मानका साथ शोक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

शेख खलिफा बिन हमद अल थानीले सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सञ्चालन गरेका थिए। उनको नेतृत्वकाललाई आधुनिक कतारको विकास यात्राको महत्वपूर्ण चरणका रूपमा लिइन्छ। यही अवधिमा देशको प्रशासनिक संरचना सुदृढ बनाउने, पूर्वाधार विस्तार गर्ने तथा तेल र प्राकृतिक ग्यासबाट प्राप्त आम्दानीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति अघि बढाइएको थियो।

कतारको आर्थिक तथा संस्थागत विकासको आधार निर्माणमा उनको योगदान उल्लेखनीय मानिन्छ। उनले देशलाई आधुनिक राज्य व्यवस्थातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।

उनको निधनसँगै कतारले आधुनिक राष्ट्र निर्माणका प्रारम्भिक चरणका एक प्रमुख नेतृत्वकर्तालाई गुमाएको छ।

सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा पुर्‍याइयो

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्ती हटाइएका नागरिकको व्यवस्थापनप्रति सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि सुरक्षित स्थानमा राखिएको भनिएका नागरिक फेरि जोखिममा परेको भन्दै उनले सरकारको व्यवस्थापन क्षमतामाथि आलोचना गरेका हुन्।

आङ्देम्बेले सरकारले सुकुमबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार काम हुन नसकेको आरोप लगाए। उनले प्रधानमन्त्री बालेनले सार्वजनिक रूपमा गरेका वाचा स्मरण गराउँदै ती प्रतिबद्धता अहिले कहाँ पुगे भन्ने प्रश्न गरे।

उनका अनुसार जोखिमयुक्त बस्तीबाट हटाइएका नागरिकलाई राखिएको होल्डिङ सेन्टर नै वर्षाका कारण डुबानमा परेपछि सरकारले उनीहरूलाई सुरक्षित बनाएको दाबी कमजोर भएको छ। उनले यसलाई ‘एउटा जोखिमबाट निकालेर अर्को, अझ गम्भीर जोखिममा पुर्‍याइएको अवस्था’ को संज्ञा दिए।

आङ्देम्बेले सुरक्षित आवासको आश्वासन पाएका परिवार अहिले फेरि डुबान, अभाव, असुरक्षा र अनिश्चितताबीच जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै यस्तो अवस्था राज्यको गैरजिम्मेवारी र कमजोर व्यवस्थापनको उदाहरण भएको बताए।

उनले पीडितको अवस्था बुझ्न पुगेका युवालाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि असन्तुष्टि जनाए। लोकतान्त्रिक व्यवस्थामा सरकारसँग प्रश्न गर्नु नागरिकको अधिकार भएको उल्लेख गर्दै त्यसलाई रोक्ने वा दमन गर्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो।

सरकारले आलोचना र प्रश्नको जवाफ दिनुभन्दा नागरिकमाथि दबाब सिर्जना गर्ने बाटो रोजेको आरोप लगाउँदै उनले यसले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि असर पार्ने चेतावनी दिए।

आङ्देम्बेले अन्त्यमा प्रधानमन्त्रीलाई सुकुमबासी नागरिकसँग गरिएको सार्वजनिक प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गर्दै इतिहासले भाषणभन्दा पनि नागरिकसँग गरिएका वाचा पूरा भए वा भएनन् भन्ने आधारमा मूल्याङ्कन गर्ने बताए।

‘भटभटे माइला’ हिरो बन्दै

काठमाडौं । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’ पात्रका रूपमा घरघरमा परिचित कमेडियन बेगम नेपाली अब पहिलो पटक नेपाली चलचित्रमा मुख्य नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा प्रमुख भूमिकाका लागि अनुबन्धित भएका हुन्।

वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य अभिनयले दर्शकको मन जित्दै आएका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ मोड बन्नेछ। सानो पर्दामा ‘भटभटे माइला’ को चरित्रबाट अपार लोकप्रियता कमाएका उनी पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिन लागेकाले चलचित्रप्रति दर्शकमाझ पनि उत्सुकता बढेको छ।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु गर्ने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।

निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको सशक्त अभिनय रहनेछ। चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।

यसअघि नै चलचित्रका लागि चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की तथा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। कलाकारहरूको यो संयोजनले चलचित्रप्रति थप चासो बढाएको छ।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई समेट्दै सबै उमेर समूहका दर्शकलाई रमाइलो अनुभव दिने लक्ष्य राखेको निर्देशक अमरदीप सापकोटाले बताएका छन्।

एसीसी महिला यू-१९ प्रिमियर कप : सिंगापुरमाथि १५१ रनको फराकिलो जितसँगै नेपालको लगातार दोस्रो विजय

काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार मलेसियास्थित यूएसडी यूकेएम ओभलमा भएको समूह ‘डी’को खेलमा नेपालले सिंगापुरलाई १५१ रनको विशाल अन्तरले पराजित गरेको हो।

यस जितसँगै नेपालले लगातार दोस्रो सफलता हासिल गर्दै चार अंक जोडेको छ। यता, सिंगापुर भने लगातार दोस्रो हारसँगै अंकविहीन रहेको छ।

नेपालले दिएको २०० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभर पूरा खेले पनि आठ विकेट गुमाएर मात्र ४८ रन बनाउन सक्यो। नेपालको सशक्त बलिङ आक्रमणसामु सिंगापुरका ब्याटरहरू टिक्न सकेनन् र टोली ठूलो हार बेहोर्न बाध्य भयो।

लगातार दुई जितसँगै नेपाल समूह ‘डी’बाट सेमिफाइनल यात्रातर्फ थप बलियो अवस्थामा पुगेको छ।

सुनको मूल्य आज कति?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम गरिएको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले बढी हो। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतबार सुनको प्रति १० ग्राम मूल्य २ लाख ४६ हजार ९१५ रुपैयाँ निर्धारण गरिएको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ। यो शुक्रबार कायम रहेको प्रतितोला ४ हजार ५१० रुपैयाँको तुलनामा ३५ रुपैयाँ कम हो।

चाँदीको प्रति १० ग्राम मूल्य ३ हजार ८३७ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव, विनिमय दर तथा अन्य बजार अवस्थालाई आधार मानेर दैनिक रूपमा नेपाली बजारका लागि सुन र चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

माजिद अन्सारीको रिहाइको माग गर्दै विराटनगरमा धर्ना, २६ जना पक्राउ

विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङको मुख्य प्रवेशद्वारअघि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति करिब साढे ९ बजे प्रहरी कार्यालयको गेट अगाडि धर्ना बसेर प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, प्रदर्शनकारीहरूले कार्यालयको मुख्य प्रवेशद्वार अवरुद्ध गरी आवागमनमा बाधा पुर्‍याएपछि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको हो। पक्राउ परेका सबै जेनजी समूहसँग आबद्ध अभियन्ता रहेको प्रहरीले जनाएको छ।

यसअघि काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूमध्ये सरिश्मा थापा र नहेन्द्र खड्का रिहा भइसकेका छन् भने माजिद अन्सारी अझै प्रहरी नियन्त्रणमै रहेका छन्। प्रहरीको कुटपिटबाट घाइते भएको आरोप लागेका अन्सारीको हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको बताइएको छ।

अन्सारीमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै जेनजी अभियन्ताहरूले उनको विनासर्त रिहाइको माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्।

विश्वभर महिलामा प्रजनन क्षमता घट्दै

काठमाडौं। उच्च शिक्षा, व्यावसायिक करियर, आर्थिक आत्मनिर्भरता र बदलिँदो जीवनशैलीका कारण सन्तान जन्माउने निर्णय पछाडि सार्ने प्रवृत्ति विश्वभर तीव्र रूपमा बढिरहेको छ।

तर यही परिवर्तनसँगै महिलाहरूमा प्रजनन क्षमता घट्दै जानु र बाँझोपनको समस्या बढ्नु अहिले विश्व स्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय बनेको छ।

हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनले ३५ देखि ४९ वर्ष उमेर समूहका करोडौं महिलाले गर्भधारण गर्न कठिनाइ भोगिरहेको देखाएको छ। अध्ययनले समयमै परिवार विस्तार नगर्दा उमेरसँगै प्राकृतिक रूपमा प्रजनन क्षमता घट्ने भएकाले ढिलो मातृत्वको निर्णयले धेरै महिलालाई चुनौतीमा पारिरहेको निष्कर्ष निकालेको छ।

विश्व स्वास्थ्यसम्बन्धी प्रतिष्ठित वैज्ञानिक जर्नल द ल्यान्सेट अब्स्टेट्रिक्स, गायनोकोलोजी एन्ड वुमेन्स हेल्थ मा प्रकाशित अनुसन्धानअनुसार हाल विश्वभर करिब ५ करोड ३६ लाख महिलाले बाँझोपनको समस्या सामना गरिरहेका छन्। अनुसन्धानका लागि सन् १९९० देखि २०२३ सम्म विश्वका २०४ देशका स्वास्थ्यसम्बन्धी तथ्याङ्कको विश्लेषण गरिएको थियो।

अध्ययनले महिलाको जैविक प्रजनन क्षमता उमेरसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको देखाएको छ। सामान्यतया ३५ वर्षपछि डिम्बको सङ्ख्या र गुणस्तर दुवै घट्न थाल्छ। ४० वर्ष पार गरेपछि यो क्षमता अझ तीव्र रूपमा कम हुँदै जान्छ, जसका कारण स्वाभाविक रूपमा गर्भ रहन कठिन हुन सक्छ।

यही आधारमा अनुसन्धानमा सहभागी महिलालाई ३५–३९, ४०–४४ र ४५–४९ वर्ष गरी तीन समूहमा वर्गीकरण गरिएको थियो। नियमित वैवाहिक वा असुरक्षित यौनसम्पर्कका बाबजुद १२ महिनासम्म गर्भधारण हुन नसकेको अवस्थालाई बाँझोपनको मापदण्डका रूपमा लिइएको थियो।

अनुसन्धानअनुसार सन् १९९० मा प्रति एक लाख महिलामध्ये करिब ६ हजार १ जनामा बाँझोपन देखिएको थियो। यो दर सन् २०२३ सम्म आइपुग्दा बढेर ६ हजार ९०७ पुगेको छ।

अनुसन्धानकर्ताहरूले भविष्यप्रति पनि चिन्ता व्यक्त गरेका छन्। अहिलेको प्रवृत्ति यथावत् रहे सन् २०३६ सम्म बाँझोपनबाट प्रभावित महिलाको सङ्ख्या बढेर करिब ७ करोड ९६ लाख पुग्न सक्ने अनुमान गरिएको छ।

विश्वका धेरै विकसित मुलुकमा महिलाहरूले उच्च शिक्षा पूरा गर्ने, करियर स्थापित गर्ने, आर्थिक रूपमा आत्मनिर्भर बन्ने र व्यक्तिगत जीवनलाई प्राथमिकता दिने क्रममा विवाह तथा मातृत्वलाई पछाडि सार्ने प्रवृत्ति तीव्र रूपमा बढेको अध्ययनले देखाएको छ।

पछिल्ला तीन दशकमा महिलाको शिक्षा र रोजगारीमा उल्लेखनीय वृद्धि भएको छ। यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाएको भए पनि परिवार विस्तार गर्ने उमेर क्रमशः बढ्दै गएको देखिन्छ।

युरोपका धेरै देशमा पहिलो सन्तान जन्माउने आमाको औसत उमेर ३० वर्षभन्दा माथि पुगेको छ। केही देशमा त ४० वर्षभन्दा माथिका महिलाबाट जन्मिने शिशुको सङ्ख्या किशोर उमेरमा आमा बन्ने महिलाभन्दा धेरै भएको तथ्याङ्कले देखाएको छ। केही दशकअघि भने अवस्था यसको ठीक उल्टो थियो।

बाँझोपनको समस्या बढ्नुमा उमेर मात्र कारण नभएको अध्ययनले देखाएको छ। आधुनिक जीवनशैली, मानसिक तनाव, अनियमित खानपान, मोटोपन, कम शारीरिक गतिविधि, वातावरणीय प्रदूषण तथा केही दीर्घरोगले पनि प्रजनन क्षमतामा असर पार्ने देखिएको छ।

यद्यपि, पछिल्ला वर्षहरूमा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना बढ्दै जाँदा धेरै महिलाले समयमै परीक्षण गराउने र समस्या पहिचान हुने क्रम पनि बढेको अनुसन्धानले उल्लेख गरेको छ।

अध्ययनले नेपालका लागि भने केही सकारात्मक संकेत दिएको छ। सन् २०२३ को तथ्याङ्कअनुसार विश्वका धेरै देशको तुलनामा नेपालमा बाँझोपनको भार न्यून रहेको उल्लेख गरिएको छ।

यसको प्रमुख कारण तुलनात्मक रूपमा कम उमेरमै विवाह तथा परिवार विस्तार गर्ने सामाजिक परम्परा, पारिवारिक संरचना र मातृत्व ढिलो गर्ने प्रवृत्ति अझै सीमित हुनु हुन सक्ने विश्लेषण गरिएको छ।

यद्यपि शहरीकरण, वैदेशिक रोजगारी, उच्च शिक्षा र करियरप्रतिको आकर्षण बढ्दै जाँदा नेपालमा पनि विवाह र पहिलो सन्तान जन्माउने उमेर क्रमशः बढिरहेको देखिएकाले भविष्यमा यसतर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याइएको छ।

बाँझोपनलाई केवल चिकित्सकीय समस्या मात्र मानिँदैन। यसले दम्पतीको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक जीवन र आर्थिक अवस्थामाथि समेत गहिरो प्रभाव पार्न सक्छ।

दीर्घकालीन उपचार, मानसिक तनाव, सामाजिक दबाब तथा सन्तान नहुनुको मनोवैज्ञानिक असरले धेरै परिवार कठिन परिस्थितिमा पुग्ने गरेका छन्। त्यसैले समयमै परीक्षण, उचित परामर्श र आवश्यक उपचारलाई महत्व दिनुपर्ने विज्ञहरूको सुझाव छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार महिलाको जैविक प्रजनन क्षमताको सीमा प्रविधिले पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन। सहायक प्रजनन प्रविधि उपलब्ध भए पनि सबै अवस्थामा त्यसले सफलता दिने निश्चित हुँदैन।

त्यसैले करियर, शिक्षा र व्यक्तिगत लक्ष्यसँगै परिवार विस्तारको योजना पनि समयमै बनाउन आवश्यक रहेको उनीहरूको सुझाव छ। विशेषगरी ३० देखि ३५ वर्षभित्र पहिलो सन्तान जन्माउने योजना बनाउँदा गर्भधारण सहज हुने, आमा र शिशु दुवैको स्वास्थ्य जोखिम कम हुने तथा जटिलता घट्ने सम्भावना बढी रहने चिकित्सकीय निष्कर्ष रहेको छ।

फिफा वरियताका चार शिर्ष टोली सेमी फाइनलमा

काठमाडौँ । फिफा विश्वकप २०२६ अब निर्णायक चरणमा प्रवेश गरेको छ। क्वाटरफाइनलका सबै खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ। अन्तिम क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गरेपछि सेमिफाइनलको समीकरण पूरा भएको हो।

यसपटकको प्रतियोगिताको विशेष पक्ष भनेको फिफा विश्व वरीयताका शीर्ष चार टोली नै अन्तिम चारमा पुग्न सफल हुनु हो। विश्व वरीयतामा पहिलो स्थानमा रहेको फ्रान्स, दोस्रो स्थानको अर्जेन्टिना, तेस्रो स्थानको स्पेन र चौथो स्थानको इङ्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। यसले विश्व फुटबलका शक्तिशाली राष्ट्रहरूबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने संकेत दिएको छ।

क्वाटरफाइनलमा फ्रान्सले अफ्रिकी टोली मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सहज रूपमा अन्तिम चारमा स्थान बनायो। फ्रान्सले खेलभर बल नियन्त्रण र आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीलाई खासै अवसर दिएन। आक्रमण र रक्षाको सन्तुलित प्रदर्शनका कारण फ्रान्स फेरि एकपटक उपाधि दाबेदारका रूपमा देखिएको छ।

यता, स्पेनले बेल्जियमविरुद्ध प्रतिस्पर्धात्मक खेलमा २–१ को जित निकाल्यो। दुवै टोलीले आकर्षक फुटबल खेले पनि स्पेनले अवसरको राम्रो सदुपयोग गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। इङ्ल्यान्डले पनि नर्वेविरुद्ध २–१ कै जित निकाल्दै अन्तिम चारमा स्थान बनायो। इङ्ल्यान्डले सुरुआती अग्रता जोगाउँदै दबाबपूर्ण खेलमा महत्वपूर्ण सफलता हात पारेको थियो।

अन्तिम क्वाटरफाइनलमा भने साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुग्ने चौथो टोली बन्यो। अर्जेन्टिनाले सुरुदेखि नै खेलमा नियन्त्रण कायम राख्दै प्रभावशाली प्रदर्शन गर्‍यो। स्विट्जरल्यान्डले केही समय बराबरीको प्रयास गरे पनि अर्जेन्टिनाको तीव्र आक्रमण र प्रभावकारी फिनिसिङ रोक्न सकेन।

अब सेमिफाइनलमा विश्व फुटबलका चार बलिया राष्ट्र आमनेसामने हुने भएका छन्। वरीयताको शीर्ष स्थानमा रहेका टोलीहरूबीचको प्रतिस्पर्धाले विश्वभरका फुटबल समर्थकमाझ उत्साह थपेको छ। उपाधिको यात्रा अब केवल दुई खेल टाढा रहेकाले प्रत्येक टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। सेमिफाइनलका खेलहरूले नयाँ इतिहास लेख्ने मात्र होइन, विश्व फुटबलको नयाँ च्याम्पियनतर्फको यात्रा पनि तय गर्नेछन्।

पैदल न्याय मार्च चौथो दिन : मिटरब्याज पीडित अधिकार माग्न काठमाडौं लम्किँदै

काठमाडौं। मिटरब्याजको मारमा परेका पीडितहरूले थालेको पैदल न्याय मार्च चौथो दिनमा प्रवेश गरेको छ।

असार २५ गते जनकपुरबाट सुरु भएको अभियान अहिले सर्लाहीको लालबन्दी क्षेत्र पार गर्दै काठमाडौंतर्फ अघि बढिरहेको छ। लामो समयदेखि न्यायको खोजीमा रहेका पीडितहरूले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै फेरि सडक संघर्ष रोजेका हुन्।

आन्दोलनमा सहभागीहरूका अनुसार यो यात्रा कुनै प्रतीकात्मक विरोध मात्र होइन, राज्यलाई आफ्ना पीडा र मागप्रति गम्भीर बनाउन गरिएको दबाबमूलक अभियान हो। उनीहरूले विगतमा सरकारसँग पटक-पटक वार्ता र सहमति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले फेरि राजधानी केन्द्रित आन्दोलन गर्न बाध्य भएको बताएका छन्।

मार्चमा सहभागी सयौं पीडित, किसान, साना उद्यमी तथा विभिन्न जिल्लाबाट आएका सर्वसाधारणले हातमा प्लेकार्ड बोकेर न्यायको माग गरिरहेका छन्। ‘चुपचाप तमसूक फाड’, ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’, ‘मिटरब्याज अन्त्य गर’, ‘पीडितलाई न्याय दे’ जस्ता नाराले यात्राको वातावरण गुन्जायमान बनेको छ। सहभागीहरूले मिटरब्याजका कारण हजारौं परिवार आर्थिक, सामाजिक र मानसिक रूपमा ठूलो संकटमा परेको बताएका छन्।

आन्दोलनकारीहरू दैनिक करिब २० देखि २५ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन्। प्रत्येक स्थानमा स्थानीय नागरिकले उनीहरूको स्वागत, भोजन तथा बसोबासको व्यवस्था गर्न सहयोग गरिरहेको आयोजकहरूले बताएका छन्। विभिन्न नागरिक समाजका प्रतिनिधि तथा अधिकारकर्मीहरूले पनि यात्राप्रति ऐक्यबद्धता जनाउँदै साथ दिइरहेका छन्।

आयोजकहरूका अनुसार सरकारले यसअघि चारपटकसम्म पीडित पक्षसँग सहमति गरे पनि ती प्रतिबद्धता व्यवहारमा लागू भएका छैनन्। मिटरब्याज सम्बन्धी विवाद समाधान, पीडितको सम्पत्ति फिर्ता, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई राहत उपलब्ध गराउने विषयमा भएका सहमतिहरू कार्यान्वयन नभएकाले आन्दोलन पुनः सुरु गर्नुपरेको उनीहरूको भनाइ छ।

पीडितहरूले मिटरब्याजलाई आर्थिक शोषणको संगठित रूप भएको बताउँदै यसबाट हजारौं परिवार विस्थापित, ऋणको चक्रमा फसेका र सामाजिक रूपमा समेत ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरेका छन्। उनीहरू सरकारले तत्काल प्रभावकारी कानुनी व्यवस्था लागू गरी वास्तविक पीडितलाई न्याय दिलाउनुपर्ने माग गर्दै आएका छन्।

आन्दोलनकारीहरूको लक्ष्य करिब एक साताभित्र काठमाडौं पुग्ने रहेको छ। राजधानी पुगेपछि उनीहरूले सम्बन्धित मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा अन्य सरकारी निकायलाई ज्ञापनपत्र बुझाउने, धर्ना तथा थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्। माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरूको अडान छ।

मिटरब्याजविरुद्धको यो पैदल न्याय मार्चले पुनः एकपटक पीडितहरूको आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

आन्दोलनकारीहरूले सरकारलाई विगतका प्रतिबद्धता कार्यान्वयन गर्दै पीडितलाई न्याय दिलाउन र यस्ता आर्थिक शोषणका घटनाको स्थायी समाधान खोज्न आग्रह गरेका छन्।

तस्वीरहरू:

नागढुंगा–सिस्नेखोला लिंक रोड : सयौं मानिसको मर्निङ वाक गन्तव्य

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेका बेला नागढुंगा–सिस्नेखोला सुरुङमार्गसँग जोडिएको लिंक रोडले नयाँ परिचय बनाएको छ।

सुरुङमार्गमा नियमित सवारी सञ्चालन अझै सुरु नभएकाले फराकिलो, सफा र शान्त सडक अहिले बिहानको समयमा मर्निङ वाक गर्ने सर्वसाधारणको रोजाइमा परेको हो।

हरेक बिहान उज्यालो हुनुअघि नै लिंक रोडमा मानिसहरूको चहलपहल सुरु हुन्छ। युवादेखि ज्येष्ठ नागरिकसम्म व्यायाम, दौड, ब्रिस्क वाक र समूहगत फिटनेस गतिविधिका लागि यहाँ पुग्ने गरेका छन्। राजधानीमा सुरक्षित, फराकिलो र कम सवारी चाप भएको खुला सडकको अभाव भइरहेका बेला यो क्षेत्र स्वास्थ्यप्रेमीहरूको आकर्षक गन्तव्य बन्दै गएको देखिन्छ।

स्थानीयका अनुसार केही महिनाअघिसम्म सामान्य सडकका रूपमा रहेको यो मार्ग अहिले बिहानको समयमा सानो ‘ओपन फिटनेस जोन’ जस्तै देखिन थालेको छ। कोही इयरफोन लगाएर एक्लै हिँडिरहेका हुन्छन् भने कोही साथीभाइसँग समूह बनाएर व्यायाम गरिरहेका भेटिन्छन्। कतिपयले योग तथा स्ट्रेचिङ अभ्याससमेत यही सडकमा गर्ने गरेका छन्।

यो लिंक रोड नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजपथअन्तर्गतको कलंकी–नागढुंगा सडकसँग जोड्न निर्माण गरिएको हो। सुरुङ सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने अधिकांश सवारी यही मार्ग हुँदै सुरुङभित्र प्रवेश गर्नेछन्। त्यसैले भविष्यमा यही सडक राजधानीको प्रमुख यातायात मार्गमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

हाल सुरुङमार्ग सञ्चालनको अन्तिम चरणको परीक्षण तथा प्राविधिक तयारी भइरहेको छ। नियमित सार्वजनिक तथा निजी सवारी सञ्चालन सुरु नभएकाले बिहानको समयमा सडक लगभग खालीजस्तै रहने गरेको छ। यही अवस्थाले सर्वसाधारणलाई सहज रूपमा हिँडडुल, दौड तथा व्यायाम गर्ने अवसर दिएको हो।

मर्निङ वाकका लागि आउनेहरूका अनुसार राजधानीभित्र धुलो, भीडभाड र सवारीसाधनको चापबाट टाढा रहेर खुला वातावरणमा हिँड्न पाइने स्थान निकै सीमित छन्। त्यसको तुलनामा नागढुंगा लिंक रोड फराकिलो, सफा र व्यवस्थित भएकाले बिहानको व्यायामका लागि उपयुक्त स्थान बनेको उनीहरूको अनुभव छ।

विशेषगरी बिहानको चिसो हावा, वरपरको हरियाली र कम प्रदूषणले यहाँको वातावरण थप आकर्षक बनाएको छ। सडकमा सवारीको चाप न्यून भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म निर्धक्क भएर हिँड्न सक्ने अवस्था रहेको स्थानीय बताउँछन्।

यद्यपि यो अवस्था धेरै समय कायम नहुने अनुमान गरिएको छ। सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएपछि यही सडकमा दैनिक हजारौं सवारीसाधन आवतजावत गर्नेछन्। त्यसपछि अहिलेजस्तो सहज रूपमा मर्निङ वाक वा दौड अभ्यास गर्न कठिन हुने सम्भावना छ। यही कारण धेरैले सुरुङ सञ्चालनअघि उपलब्ध यो अवसरको उपयोग गरिरहेका छन्।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो सडक सुरुङ परियोजना हो। यसको सञ्चालनपछि काठमाडौं उपत्यका र देशका पश्चिम तथा दक्षिण-पश्चिम क्षेत्रबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्ने, ट्राफिक जाम कम हुने तथा वर्षायाममा सडक अवरुद्ध हुने समस्या न्यून हुने अपेक्षा गरिएको छ।

हालका लागि भने सुरुङमार्गसँग जोडिएको यो फराकिलो लिंक रोड राजधानीवासीका लागि बिहानको व्यायाम, स्वास्थ्य प्रवर्द्धन र खुला वातावरणमा हिँडडुल गर्ने नयाँ आकर्षक स्थलका रूपमा परिचित हुँदै गएको छ।

तस्वीरहरू: