`

प्रधानमन्त्रीको जुत्ता ‘कुल ट्रेन्ड’ : विपिन आचार्य(भिडियाे)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्य ले प्रतिनिधिसभा सञ्चालन र प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहिताबारे टिप्पणी गरेका छन्।

सभामा बोल्दै उनले प्रधानमन्त्रीले सभामा प्रयोग गर्ने शैली र आचरणले प्रतिनिधिसभाको मूल्य–मान्यतामा प्रभाव पार्न सक्ने बताएका छन्। उनले प्रधानमन्त्रीले लगाएको स्पोर्ट्स जुत्ता जस्ता विषयलाई ‘कूल ट्रेन्ड’का रूपमा व्याख्या गरिए पनि त्यसले सभाको गरिमा र परम्पराविरुद्ध सन्देश दिन सक्ने उल्लेख गरे।

आचार्यले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने परम्परा रहेको भन्दै त्यसलाई नियम र कार्यविधिभन्दा बाहिर जान नहुने स्पष्ट पारे। उनका अनुसार संसदका स्थापित नियमहरू सबैका लागि समान रूपमा लागू हुनुपर्छ।

उनले विपक्षी दलले प्रधानमन्त्रीको जवाफदेहिताबारे चासो राखेमा प्रतिनिधिसभाको प्रक्रिया अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने कानुनी बाटो प्रयोग गर्न सकिने पनि बताए।

आचार्यले संसदबाहिर गएर लोकतान्त्रिक अभ्यास कमजोर बनाउने कुनै पनि प्रयास उचित नहुने उल्लेख गर्दै सबै पक्ष संसदप्रति जिम्मेवार रहनुपर्नेमा जोड दिए। उनले देशको नीति तथा कार्यक्रम सफल बनाउनु सबै जनप्रतिनिधिको साझा दायित्व भएको टिप्पणीसमेत गरे।

एनसेलको मुख्यालयमा सीआईबीको छापा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ।

सीआईबी स्रोतका अनुसार, कम्पनीमा देखिएको अनियमितताबारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनको सिफारिस तथा दूरसञ्चार प्राधिकरणबाट प्राप्त पत्राचारका आधारमा अनुसन्धान अघि बढाइएको हो।

एनसेललाई स्मार्ट टेलिकमको सामान लिलामी तथा त्यसअघि भएको शेयर बाँडफाँटसँग सम्बन्धित विवादास्पद गतिविधिका कारण अनुसन्धानको दायरामा ल्याइएको बताइएको छ।

स्रोतका अनुसार, एनसेलले स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट बैंकसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी गरेको विषयपछि कम्पनीका अन्य गतिविधिबारे पनि अनुसन्धान विस्तार गरिएको हो।

छापा क्रममा सीआईबी टोलीले कम्पनीको केन्द्रीय कार्यालयबाट केही महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

किशोरीलाई लामाले बलात्कार गरेको आरोप

काठमाडौं । लामालाई बलात्कारको आरोप लागेको छ । लोप्साङ लामा भनिने निमा साङ्‍माे लामालाई एक किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेको हो । यो घटना नुवाकोटको हो ।

ती किशोरीले प्रहरीसमक्ष दिएको बयानअनुसार घटनाका आरोपी लामा नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ७ का हुन् । उनी जिल्लाकै तादी गाउँपालिका–२ को एक तामाङ घरमा मृत्यु संस्कार घेवामा आएका थिए ।

उनले घेवा सकिएपछि होटलमा बस्ने भन्दै होटल देखाउन किशोरीलाई भनेको र ती किशोरीले १५ मिनेट टाढा रहेको होटल देखाउन गएको जाहेरीमा उल्लेख गरेकी छन् ।

त्यसपछि होटलमा पुगेपछि लामाले पानी पिउन दिएको र पिएसँगै आफू अचेत भएको उनको बयान छ । होस्मा आउँदा शरीर र योनी दुखेपछि आफू बलात्कृत भएको थाहा पाएको उनले बताएकी छन् ।

उनले लामा लोप्साङविरुद्ध घटना भएको दुई वर्षपछि जाहेरी दिएकी हुन् । उनका अनुसार बलात्कार घटना भएको १७ वैशाख २०८१ को हो ।

तर, यो घटनाको अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालत नुवाकोटमा बलात्कारसम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको छ, जहाँ लामा लोप्साङविरुद्ध १४ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

जेठ महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्यांकअनुसार वैशाख महिनाको तुलनामा जेठमा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।

व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ। यस्तै, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा झरेको छ।

तथ्यांकअनुसार अधिकांश बैंकहरूले ब्याजदर यथावत राखेका छन् भने केही बैंकहरूले भने दर घटाएका छन्। एनएमबि बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।

सबैभन्दा बढी कटौती गर्ने बैंकहरूमा एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन्, जसले व्यक्तिगत निक्षेपतर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। यता सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतले वृद्धि गरेको छ।

संस्थागत निक्षेपतर्फ सिटिजन्स बैंक इन्टरनेसनलले ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागत निक्षेपको ब्याजदरमा उल्लेख्य कटौती गरेका छन्।

नेप्से निरन्तर ओरालो यात्रामा

काठमाडौँ। साताको चौथो कारोबार दिन बिहीबार पनि नेप्से सूचकमा गिरावट आएको छ। यद्यपि, सूचक घटेपनि कारोबार रकम भने बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १०.०७ अंकले घट्दै २७३०.१७ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से ४.१५ अंकले घटेको थियो भने मंगलबार ३९.४४ अंकको गिरावट आएको थियो। सोमबार भने ३८.१९ अंकले वृद्धि भएको थियो।

बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ०.३४ अंकले घटेर ४६७.२० विन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ०.०७ प्रतिशतको गिरावट हो। यस्तै फ्लोट इन्डेक्स ०.३१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०८ प्रतिशतले घटेका छन्।

बिहीबार कुल ३३७ कम्पनीका सेयर ४६ हजार ४०२ पटक कारोबार हुँदै ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर किनबेच भएका छन्। यस दिन कुल कारोबार रकम ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ रुपैयाँ पुगेको छ।

अघिल्लो दिन बुधबार २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँ र सोमबार ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँको कारोबार भएको थियो।

स्वास्थ्य मन्त्री पाण्डेद्वारा प्रादेशिक अस्पतालको निरीक्षण

बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले बिहीबार बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बाल वार्ड तथा डायलाइसिस सेवाको अवलोकन गरेका थिए। उनले अस्पतालमा उपचाररत बिरामीहरूसँग भेट गरी सेवाबारे प्रतिक्रिया पनि लिएका थिए।

स्वास्थ्यमन्त्री बनेपछि पहिलोपटक बागलुङ पुगेका पाण्डेले अस्पतालको सेवा प्रवाह र जनशक्तिको अवस्थाबारे विस्तृत जानकारी लिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारी र व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पतालको सेवा तथा जनशक्ति अवस्थाबारे मन्त्रीलाई जानकारी गराएका थिए।

निरीक्षण कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री कृष्ण पाठकसहित मन्त्री पाण्डे सहभागी भएका थिए। अस्पतालका चिकित्सक, कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्त्रीलाई स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको भन्दै प्रशंसा गरे। उनले अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिने उल्लेख गर्दै पूर्वाधार, उपकरण र जनशक्तिका क्षेत्रमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले सेवा निरन्तरताका लागि पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारको थप जिम्मेवारी आवश्यक रहेको बताएका थिए। उनले विशेषज्ञ सेवाका लागि अस्थायी व्यवस्थाले मात्र नपुग्ने भन्दै स्थायी जनशक्ति व्यवस्थापनमा पहल गर्न आग्रह गरे।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले धौलागिरि प्रादेशिक अस्पतालमा स्टाफ नर्स अध्ययन कार्यक्रम सुरु गर्ने निर्णय गरिसकेको छ। अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध भएकाले कार्यक्रम सञ्चालनमा कुनै समस्या नहुने मन्त्रालयले जनाएको छ।

अस्पताललाई गत वर्ष १०० शय्यामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स कार्यक्रम सुरु गर्ने बाटो खुलेको हो। कार्यक्रमअन्तर्गत सैद्धान्तिक कक्षा बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित CTEVT भवनमा र व्यावहारिक अभ्यास धौलागिरि प्रादेशिक अस्पतालमै सञ्चालन गर्ने तयारी गरिएको छ।

जब आँचल दोस्रो पटक बेहुली बनिन्

काठमाडौं। जेठ १ गते (शुक्रवार) देखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को बुधबार काठमाडौंमा भव्य प्रीमियर सम्पन्न भएको छ।

प्रीमियर कार्यक्रममा महिला नौमति बाजा समूहको नौमति बाजाको धुनसँगै फिल्मकी मुख्य अभिनेत्री आँचल शर्माले डिजाइनर मनिष राईले तयार पारेको रातो गाउन र लामो घुम्टो लगाएर बेहुली शैलीमा प्रवेश गरेकी थिइन्। साहारा शर्माको निर्देशनमा बनेको यस फिल्मको प्रीमियरमा पनि महिलाको उपस्थितिलाई विशेष प्राथमिकतामा राखिएको देखिन्थ्यो।

फिल्ममा आँचल शर्माले ‘माइली’ नामक पात्रको भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारीसँग जोडिएको कथा प्रस्तुत गरिएको छ। उनको पात्रमार्फत विवाहसँग सम्बन्धित भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेदनशील ढंगले चित्रण गरिएको छ।

फिल्मले मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक कथा उठाएको भन्दै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। निर्देशक साहारा शर्माले ‘एक मुठ्ठी बादल’ नेपाली चलचित्रमा प्रायः कम देखिने महिलाका भावना र अनुभवमा आधारित कथा भएको बताइन्।

प्रीमियर कार्यक्रममा निर्माता अभिमन्यू दीक्षित, सामिप्य राज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेलले निर्देशकसँगै उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए।

ज्याकलिन मुछिएको २०० करोड ठगी प्रकरण

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले २०० करोड रुपैयाँको मनी लाउन्ड्रिङ मुद्दामा सरकारी साक्षी बन्नका लागि दिएको निवेदन मंगलबार दिल्लीको पटियाला हाउस अदालतबाट फिर्ता लिएकी छन्।

प्रवर्तन निर्देशनालय (ईडी) ले उनको निवेदनको कडा विरोध गरेपछि ज्याकलिनले पछि हट्ने निर्णय गरेकी हुन्। ईडीले उनलाई यस मुद्दामा पीडित नभई अपराधबाट लाभ लिने प्रमुख व्यक्ति भएको दाबी गरेको छ।

सोमबार अदालतमा दायर जवाफमा ईडीले ज्याकलिनको भूमिका सानो नभएको उल्लेख गर्दै उनले मनी लाउन्ड्रिङमार्फत प्राप्त रकमबाट फाइदा उठाएको आरोप लगाएको थियो। उनलाई सरकारी साक्षी बनाउनु कानुनी प्रक्रियाको दुरुपयोग हुने तर्कसमेत ईडीले प्रस्तुत गरेको छ।

ईडीका अनुसार सुकेश चन्द्रशेखरसँगको सम्बन्धबारे जानकारी हुँदाहुँदै पनि ज्याकलिनले निरन्तर सम्पर्क राखेकी थिइन् र अपराधबाट कमाइएको रकमबाट महँगा उपहार तथा सुविधाहरू स्वीकार गरेकी थिइन्। अनुसन्धानका क्रममा उनले पटक–पटक बयान परिवर्तन गरेको र महत्त्वपूर्ण तथ्यहरू लुकाएको आरोप पनि लगाइएको छ।

यो प्रकरण ठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित हो, जसले र्‍यानब्याक्सीका पूर्व प्रवर्द्धक शिविंदर सिंह र मलविंदर सिंहकी श्रीमतीहरूबाट करिब २०० करोड रुपैयाँ ठगी गरेको आरोप छ।

ज्याकलिनलाई यस मुद्दामा पूरक आरोपपत्रमार्फत आरोपी बनाइएको छ। यसअघि दिल्ली उच्च अदालत र सर्वोच्च अदालतले पनि उनीमाथिको मुद्दा खारेज गर्ने उनको निवेदन अस्वीकार गरिसकेका छन्।

सरकारलाई ठिक ठाउँमा राख्ने तागत कांग्रेस राख्छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई सही मार्गमा राख्ने क्षमता कांग्रेससँग रहेको बताएका छन्। गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नियम र कानुनभन्दा बाहिर जान नसक्ने स्पष्ट पारे।

थापाले भने, “हामीले सरकारको अन्धो विरोध गर्नु हुँदैन, राम्रो कामको समर्थन गर्नुपर्छ। रास्वपाले पाँच वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस्, तर सरकार सही ढङ्गले चल्नुपर्छ। संविधानलाई तलमाथि हुन नदिन कांग्रेससँग आवश्यक शक्ति छ।”

उनले निर्वाचनअघि आफूले कांग्रेस सरकारमा आए सुशासनका लागि तीव्र गतिमा काम गर्ने बताएका थिए भन्दै अहिलेको अवस्थामा पनि त्यही आवश्यकता रहेको उल्लेख गरे। “सुशासन ल्याउन हिजोको गति पर्याप्त हुँदैन,” उनले भने।

थापाले सरकारलाई गति र बेगको नाममा हतार र लहडमा निर्णय नगर्न सचेत गराए। राज्यले निजी क्षेत्रसँग गरेको व्यवहारको दीर्घकालीन असर पर्ने भएकाले त्यसबारे गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

उनले संघीय तहमा उठ्ने प्रश्नहरू प्रदेश तहमा पनि उठ्नुपर्ने र सबै तहले पारदर्शिता तथा जवाफदेहिता देखाउन सक्नुपर्ने आवश्यकता औंल्याए।

सीईओ पक्राउ परेपछि पछि बैंकिङ संघहरूको आपत्ति, स्थायित्वमा असर पर्ने चेतावनी

काठमाडौं । धितो लिलामी गरेर कर्जा असुली गर्दा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पक्राउ गरिनु बैंकिङ प्रणालीको स्थायित्वका लागि जोखिमपूर्ण हुने भन्दै बैंक तथा वित्तीय संस्थाका चार वटै छाता संगठनहरूले आपत्ति जनाएका छन् ।

बुधबार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे लाई प्रहरीले स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेपछि बैंकिङ क्षेत्रले संयुक्त प्रतिक्रिया दिएको हो ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ ले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति असन्तुष्टि जनाएका हुन् ।

संघहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कर्जा असुलीका क्रममा धितो लिलामी गर्नु संस्थागत प्रक्रिया भएको भन्दै त्यसलाई आपराधिक रूपमा नहेर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाले कर्जा असुली गरेको कारण प्रमुख कार्यकारी अधिकृत पक्राउ पर्नुले बैंकको साखमा गिरावट आउन सक्छ र स्थायित्वमा आँच पुग्न सक्छ ।’

संघहरूले ‘सुन अनि थुनको सिद्धान्त’ अनुसार अनुसन्धान अघि बढाउन र सीईओ पाण्डेलाई थुनामुक्त राखेर प्रक्रिया अगाडि बढाउनसमेत आग्रह गरेका छन् ।

किर्तिपुरमा स्कटल्याण्डको कीर्तिमानी रन रेकर्ड : अमेरिकालाई दियो ३२२ रनको विशाल लक्ष्य

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत १०४ औं खेलमा स्कटल्यान्डले अमेरिकासामु ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित मैदानमा बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रनको बलियो योगफल तयार पारेको हो।

स्कटल्यान्डका लागि तीन ब्याटरले अर्धशतक प्रहार गर्दै टोलीको इनिङ्सलाई मजबुत बनाए। मध्यक्रमका फिनले म्याकक्रेथले सर्वाधिक ७७ रनको योगदान दिए। उनले १०२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। विकेटकिपर म्याथ्यु क्रसले आक्रामक ब्याटिङ गर्दै मात्र ३२ बलमा ८ चौका र २ छक्कासहित ५८ रन बनाए। त्यस्तै ब्रान्डन म्याकमुलनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५५ रनको उपयोगी इनिङ्स खेले।

माइकल इंग्लिसले ३२ रन र ओपनर जर्ज मुन्सेले २० रनको योगदान दिए। कप्तान रिची बेरिङटन भने २२ बलमा १० रनमै आउट भए। स्कटल्यान्डले ३० रनमा पहिलो, ११२ रनमा दोस्रो र १२५ रनमा तेस्रो विकेट गुमाएको थियो।

इनिङ्सको अन्त्यतिर माइकल लिस्क र मार्क वाटले विस्फोटक ब्याटिङ गर्दै स्कोरलाई ठूलो बनाएका थिए। लिस्कले १२ बलमा अविजित २८ रन (३ छक्का, १ चौका) र वाटले १३ बलमा अविजित २५ रन (२ चौका, १ छक्का) जोडे।

अमेरिकाका लागि बलिङतर्फ सौरभ नेत्रावलकर र जसदीप सिंहले २–२ विकेट लिए। नेत्रावलकरले ९ ओभरमा ४४ रन खर्चिए भने जसदीपले १० ओभरमा ७७ रन दिए। मिलिन्द कुमार र शुभम रन्जानेले १–१ विकेट लिए। हरमित सिंह र मोहम्मद मोहसिनले विकेट लिन नसके पनि महँगो साबित भए।

४७ ओभरमा सीमित खेलमा ३२२ रनको लक्ष्य पछ्याउँदै अमेरिकाले जवाफी ब्याटिङ सुरु गरिसकेको छ।

माइतीघरबाट सुकुमवासी : विस्थापन होइन, व्यवस्थापन चाहिन्छ(तस्वीरहरु)

काठमाडौं। राजधानी काठमाडौंमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले राज्यले गरिरहेको कथित ‘जबरजस्ती हटाउने अभियान’ विरुद्ध सडक प्रदर्शन गरेका छन्।

शहरको एक मुख्य सडक क्षेत्रमा भेला भएका सयौँ प्रदर्शनकारीहरूले सरकार र स्थानीय निकायले बिना वैकल्पिक व्यवस्था बस्ती हटाउने प्रयास गरेको भन्दै विरोध जनाएका हुन्। उनीहरूले ‘विस्थापन होइन, व्यवस्थापन चाहिन्छ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागी नागरिकहरूले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट उचित पुनर्वासको व्यवस्था बिना हटाउन खोजिएको आरोप लगाए। उनीहरूले सरकारले विकासका नाममा गरिरहेको डोजर अभियानले गरिब तथा भूमिहीन समुदाय प्रत्यक्ष रूपमा प्रभावित भएको दाबी गरे।

प्रदर्शनकारीहरूले “सामाजिक सुरक्षा र न्यायसंगत पुनर्वास” सुनिश्चित नगरी कुनै पनि प्रकारको विस्थापन स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्। उनीहरूले सम्बन्धित निकायलाई वार्ता मार्फत समाधान खोज्न आग्रह गरेका छन्।

प्रदर्शन स्थलमा सुरक्षाकर्मीको उपस्थिति पनि देखिएको थियो। स्थिति शान्तिपूर्ण भए पनि आन्दोलनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

स्थानीय प्रशासनले भने शहरी व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै प्रभावित परिवारलाई कानुन अनुसार विकल्प र पुनर्वासको विषयमा छलफल भइरहेको दाबी गरिएको छ।

यस घटनाले काठमाडौंको शहरी व्यवस्थापन, भूमिहीनता र पुनर्वास नीतिबारे फेरि एक पटक बहस चर्काएको छ।

जब नग्न भिडियाे श्रीमान् र आफूले चलाएको फेसबुकको म्यासेन्जरमा आयो…

काठमाडौं । श्रीमान् र श्रीमती एउटै फेसबुक चलाउँथे । म्यासेन्जरमा गरिने कुराकानी, फाेटाे र भिडियाे दुबैकाे पहुँजमा थियाे । त्यहीबीच २७ चैत २०८२ मा म्यासेन्जरमा श्रीमतीकाे याैनाङ्‍ग देखिने नग्‍न भिडियाे आयाे ।

पठाउने थिए- शेख नसिम । उनकाे घर राैतहटकाे प्रतापुर पल्टुवा हाे। श्रीमान् र श्रीमती दुवै सल्यानकाे बागचाैर नगरपालिका-२ का हुन् । श्रीमती र नसिमबीच सल्यानकै एक झोला उधोगमा काम गर्दा चिनजान भयाे । बाेल्दै जाँदा पिरती बस्याे । कतिसम्म भने उनीहरु भिडियाे कलमा आ-आफ्नाे याैनाङ्‍गसमेत प्रदर्शन गर्न थाले ।

नसिमका अनुसार उनले ती महिलाले याैनाङ्‍ग प्रदर्शन गरेकाे भिडियाे माेबाइलमा स्क्रिन रेकर्ड गरे । साेही भिडियाे मागेपछि उनले पठाए । ती महिलाले भने नसिमकाे कुरा अस्वीकार गरेकी छन् ।

उनले प्रहरीसँग भनेकी छन्- ‘२०८१ काे पुस महिनातिर मादक पदार्थ सेवन गरेर राति अन्दाजी १० बजेतिर आफ्नाे काेठामा आएर खुकुरी देखाउँदै याैनाङ्‍ग देखिनेगरी कपडा फुकाल्नू, नभए तेराे छाेराछाेरीलाई मारिदिन्छ भन्दै फुकाल्न लगाएर त्यसकाे भिडियाे खिचेका रहेछन् ।’

साेही भिडियाे गत वर्षकाे २७ चैतमा ती महिला र उनका श्रीमानले चलाउने फेसबुककाे म्यासेन्जरमा नसिमले पठाए । आफ्नै श्रीमतीकाे नग्न भिडियाे आएपछि श्रीमान् चकित भए । श्रीमान् र श्रीमतीबीच तनाव भयाे । यसपछि श्रीमती प्रहरीकहाँ पुगिन् । नसिमले गरेकाे विधुतीय कसुर भन्दै उनले जाहेरी दिइन् ।

प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालत सल्यानमा नसिमविरुद्ध आराेपपत्र दायर गरेकाे छ ।

आराेपपत्रमा नसिमलाई एक लाख जरिवाना वा पाँच वर्षसम्म सजायकाे मागदाबी गरिएकाे छ ।

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि विरुद्ध निर्माण व्यवसायीहरूको धर्ना (तस्वीरहरू)

काठमाडौं। अत्यधिक इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण आयोजना सञ्चालन असम्भव भएको भन्दै निर्माण व्यवसायीहरूले विरोध जनाएका छन् ।

यसै विषयलाई लिएर आज बिहीबार एशोसिएट सदस्य समन्वय समिति र नेपाल निर्माण व्यवसायी महासंघले सडक विभागमा धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

व्यवसायीहरूले निर्माण सामग्रीको मूल्यवृद्धि तत्काल सम्बोधन नभएसम्म सबै निर्माण कार्य ठप्प पार्ने घोषणा समेत गरेका छन् ।

‘प्रधानमन्त्रीलाई संशोधन शब्दसँग एलर्जी छ’ : सांसद यादव

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मातृका प्रसाद यादवले प्रधानमन्त्रीलाई ‘संशोधन शब्दसँग एलर्जी हुने’ टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले रोस्ट्रममा उभिएर आफ्नो धारणा राखेका हुन् ।

उनले भने, ‘मेरो संशोधन होइन, सुझाव छ । मलाई के लाग्छ, प्रधानमन्त्रीजीलाई संशोधन शब्दसँग एलर्जी छ, त्यसैले उहाँ यहाँ आइरहनुभएको छैन ।’

सांसद यादवले नीति तथा कार्यक्रममाथिको छलफल चलिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह को अनुपस्थितिलाई समेत प्रश्न गरेका छन् ।

‘लालीबजार’ रोक्न माग गरिएको निवेदन ‘हेर्न नमिल्ने’ बेन्चमा

काठमाडौं। लालीबजार को प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको निवेदन ‘हेर्न नमिल्ने’ न्यायाधीशको बेन्चमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापा को संयुक्त इजलासमा उक्त निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो ।

तर ‘हेर्न नमिल्ने’ अवस्था परेपछि अर्को दिनका लागि सुनुवाइको पेसी तोक्न आदेश भएको छ ।

चलचित्रमा प्रयोग गरिएका केही शब्दले वादी समुदायका महिलालाई अपमानित गरेको भन्दै डा. रोशनी नेपाली ले उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् ।

सी र ट्रम्पको भेटमा के के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिन पिङ सँग उच्चस्तरीय भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको उक्त भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ट्रम्पलाई औपचारिक स्वागत गर्दै गार्ड अफ अनर प्रदान गरेका थिए । दुवै नेताले हात मिलाएर बैठकको सुरुवात गरेका थिए ।

करिब दुई घण्टा चलेको बैठकको प्रारम्भमा राष्ट्रपति जिनपिङले विश्व तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा अमेरिका–चीन सम्बन्ध विश्व स्थिरताका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए । उनले दुवै देश प्रतिस्पर्धी होइन, बरु साझेदार बन्नुपर्ने धारणा राखे ।

जवाफमा ट्रम्पले जिनपिङको प्रशंसा गर्दै उनलाई आफ्नो मित्र भन्न पाउनु सम्मानको विषय भएको उल्लेख गरे । उनले अमेरिका–चीन सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

बैठकमा ट्रम्पले आफू ठूला अमेरिकी व्यापारिक समूहका नेतासहित चीन आएको बताएका थिए । यस भ्रमणका क्रममा अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग ठूलो सम्झौताको सम्भावना चर्चामा रहेको छ । रिपोर्टअनुसार चीनले करिब नौ लाख करोड रुपैयाँ बराबरका विमान खरिद गर्ने तयारी गरेको हुनसक्ने बताइएको छ, जसले यो सम्झौता विश्वकै ठूलो उड्डयन सम्झौतामध्ये एक बन्न सक्ने अनुमान गरिएको छ ।

बैठकमा व्यापार, भन्सार कर, अर्धचालक प्रविधि, कृत्रिम बुद्धिमत्ता, ताइवान र इरानलगायत विषयमा विस्तृत छलफल भएको जनाइएको छ । पछिल्ला वर्षहरूमा यी मुद्दाहरूलाई लिएर अमेरिका र चीनबीच तनाव कायम रहँदै आएको छ ।

भेटपछि जिनपिङले अमेरिकी व्यापारिक प्रतिनिधिमण्डलसँग समेत छलफल गरेका थिए । उनले चीनको बजार अमेरिकी कम्पनीका लागि अझ खुला हुँदै जाने र थप अवसर सिर्जना हुने बताएका थिए । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उनले अमेरिकी कम्पनीहरूले चीनको विकासमा लामो समयदेखि योगदान दिइरहेको उल्लेख गर्दै दुवै देश लाभान्वित भएको बताएका थिए ।

जिनपिङले अमेरिका–चीनबीच पारस्परिक सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिँदै अमेरिकी कम्पनीहरूका लागि चीनमा अझ ठूलो अवसर रहेको बताए । यता ट्रम्पले लामो समयदेखि चीनसँग अमेरिकी सामान खरिद बढाउन दबाब दिँदै आएका छन् ।

बैठकका क्रममा जिनपिङले ताइवान मुद्दा अमेरिका–चीन सम्बन्धको सबैभन्दा संवेदनशील विषय भएको उल्लेख गर्दै यसको उचित व्यवस्थापन नभए द्विपक्षीय सम्बन्ध जोखिममा पर्न सक्ने चेतावनी दिएका थिए । उनले ताइवान मुद्दा सही ढंगले सम्हालिए मात्र सम्बन्धमा स्थिरता कायम रहन सक्ने बताएका थिए ।

ताइवान विषय लामो समयदेखि दुई देशबीचको प्रमुख विवादको केन्द्र रहँदै आएको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको छ भने अमेरिकाले ताइवानलाई राजनीतिक तथा सैन्य समर्थन दिँदै आएको छ । पछिल्ला वर्षहरूमा अमेरिकाले ताइवानका लागि अर्बौं डलर बराबरको हतियार सहायता प्याकेज स्वीकृत गरेकोमा चीनले निरन्तर आपत्ति जनाउँदै आएको छ ।

बैठकका क्रममा जिनपिङले व्यापार युद्धमा कुनै पक्षको जित नहुने बताएका थिए । उनले अमेरिका–चीन आर्थिक सम्बन्ध पारस्परिक लाभ र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै सकारात्मक वातावरण कायम राख्न दुवै देशले मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

 

लागूऔषधको तलतले मोटरसाइकल चोरी

काठमाडौं । लागूऔषध किन्‍न पैसा नभएपछि मोटरसाइकल चोरी गरेको कविन उपाध्यायले बयान दिएका छन् ।

उनले लागूऔषधकाे तलतल भए पनि किन्‍न पैसा नभएपछि माेटरसाइकल चाेर्ने याेजना बनाएकाे र साेहीअनुसार चाेरेकाे प्रहरीसमक्ष उपाध्यायले बयान दिएका हुन् । उनका अनुसार, २० चैत २०८२ मा काठमाडौंको माछापोखरीबाट चितवनतर्फ जाने बसमा चढेर घर फर्कने क्रममा रातको अँध्यारोमा धादिङको गल्छी बजारमा झरेपछि मोटरसाइकल चोरी गर्ने योजना बनाएको हाे । गल्छी क्षेत्रमा एकान्तमा माेटरसाइकल नभएपछि उनी राति २ बजेतिर जिल्लाकै थाक्रे गाउँपालिका–७, आठकिलो पुगेकाे र त्यहाँ ग्यारेज अगाडि पार्क गरिएको बा ८४ प ७३०५ नम्बरको मोटरसाइकल देखेपछि भाइजरभित्रको तार छिनाएर मोटरसाइकल स्टार्ट गरी घर लगेकाे बयान दिए ।

त्यसकाे चार दिनपछि प्रहरीले चेकजाँच गर्दा चोरी गरिएको मोटरसाइकलकाे लेगार्डमा झुण्ड्याइएको हेल्मेटभित्र लागूऔषध लुकाइएकाे भेटिएसँगै पक्राउ परेकाे उनकाे भनाइ छ । उनले चाेरी गरेकाे माेटरसाइकल थाक्रेमा भीमबहादुर तामाङले चलाएकाे ग्यारेजमा काम गर्ने मिस्त्री शिवजी यादवकाे हाे ।

उनै माेटरसाइकल चाेरेकाे स्वीकारेका उपाध्यायविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालय धादिङले जिल्ला अदालत धादिङमा चाेरी सम्बन्धी कसुरमा कैद सजाय र जरिवाना माग गर्दै आराेपपत्र दायर गरेकाे छ । आराेपपत्रमा चाेरी आराेपी उपाध्यायलाज्ञ तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाकाे मागदाबी भएकाे छ ।

पाकिस्तानमा झडप हुँदा १२ जनाको मृत्यु

पाकिस्तान। पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतंकवादी गरी कुल १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

अधिकारीहरूका अनुसार आतंकवादीहरूले सैनिकहरूको समूह नजिकै विस्फोटक उपकरण विस्फोट गराएपछि दुवै पक्षबीच भीषण झडप भएको थियो । उक्त विस्फोटपछि सुरु भएको अपरेसनका क्रममा थप गोली हानाहान हुँदा ठूलो मानवीय क्षति भएको बताइएको छ ।

एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार घटनामा पाँच जना सैनिकको मृत्यु भएको छ भने एक जना सैनिक गम्भीर घाइते भएका छन् ।

सेनाको मिडिया शाखाले जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा आतंकवादीहरूको समूह पहिचान भएपछि कारबाही गरिएको र त्यसक्रममा सात जना आतङ्कवादी मारिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उक्त आक्रमणको जिम्मेवारी बलुचिस्तानको सबैभन्दा सक्रिय पृथकतावादी समूहले लिएको जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाले आतङ्कवादी संगठनका रूपमा सूचीकृत गरेको उक्त समूहले सैन्य प्रतिष्ठान, प्रहरी तथा नागरिक प्रशासनका अधिकारीहरूलाई लक्षित गर्दै आक्रमण र आत्मघाती विस्फोटहरू गर्ने गरेको बताइन्छ ।

पछिल्ला वर्षहरूमा बीएलएले यस क्षेत्रमा कार्यरत अन्य प्रान्तका पाकिस्तानी तथा विदेशी ऊर्जा कम्पनीहरूमा समेत आक्रमण बढाएको उल्लेख गरिएको छ । गत वर्ष ४५० यात्रु बोकेको रेलमा भएको आक्रमणपछि पाकिस्तान सरकारले यस समूहविरुद्ध विशेष सैन्य अपरेसन तीव्र पारेको थियो ।

सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं ।सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) उपलब्ध नगरिएसम्म अस्थायी व्यवस्थापनका रूपमा मासिक १५ हजार रुपैयाँ घरभाडा सहयोग दिने तयारी गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सरकारी प्रतिनिधिहरूले उक्त योजना सम्बन्धी जानकारी दिएका हुन् ।

समिति सभापति हरी ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री तथा अधिकारीहरूले सुकुमवासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै सो प्रस्तावबारे जानकारी गराएका हुन् ।

सरकारले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रिनिङ प्रक्रिया सञ्चालन गरिरहेको र उक्त प्रक्रिया सम्पन्न भएपछि ‘फास्ट ट्र्याक’ मार्फत लालपुर्जा वितरण गरिने लक्ष्य लिएको जनाएको छ ।

शहरी विकास मन्त्रालयले यस कार्यक्रमका लागि आवश्यक बजेट स्रोत सुनिश्चित भइसकेको जानकारी समितिलाई दिएको छ ।

यसैगरी, होल्डिङ सेन्टरमा रहेका सुकुमवासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बस सेवा व्यवस्था गरिएको तथा सुत्केरी महिलाहरूको पोषणका लागि आवश्यक व्यवस्था मिलाइएको सरकारी पक्षले जनाएको छ ।

सभापति ढकालले ‘काठमाडौंका होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको स्क्रिनिङ भइरहेको छ र उनीहरूलाई लालपुर्जा नदिएसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा दिने सरकारको तयारी छ’ भन्दै जानकारी दिए ।

समितिले सरकारद्वारा प्रस्तुत विवरणको वास्तविक अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने निर्णयसमेत गरेको छ ।

ओलीले बोलाए सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले शनिबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो ।

पार्टी सचिव भानुभक्त ढकालले बैठक बस्ने निश्चित भए पनि स्थान भने तय भइनसकेको बताए ।

उनले भने, ‘अध्यक्षको स्वास्थ्य बाहिर निस्कन मिल्ने, नमिल्ने कुरापछि बैठकस्थल निर्धारण गरिने छ ।’

ओली पक्राउ परेपछि रामबहादुर थापा ‘बादल’ ले एमालेको कार्यवाहक नेतृत्व सम्हालिरहेका छन् ।

एमालेले हालसम्म चुनावको औपचारिक समीक्षा गरेको छैन । तल्ला कमिटीहरूको समीक्षा सकेपछि केन्द्रले समीक्षा गर्ने तयारी रहेको जनाइएको छ ।

पित्तथैलीको शल्यक्रियापछि आराम गरिरहेका ओली गुण्डुमा भेटघाटलगायत गतिविधिमा सक्रिय भए पनि पार्टीका औपचारिक कार्यक्रममा भने सहभागी भएका छैनन् ।

कार्ययोजना नभएको नीति : गंगादेवी श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले) की सांसद गंगादेवी श्रेष्ठले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन पक्षमा स्पष्ट योजना नभएको भन्दै पुनर्लेखन गर्नुपर्ने माग गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम समग्र रूपमा राम्रो देखिए पनि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने ठोस खाका नभएको बताइन् । उनले यही कारणले नीति तथा कार्यक्रम पुनर्लेखन आवश्यक भएको धारणा राखिन् ।

सांसद श्रेष्ठले वर्तमान सरकार प्रमुख वालेन्द्र(बालेन) शाहको गतिविधिले पनि नीति तथा कार्यक्रमप्रतिको अस्पष्टता झल्काएको दाबी गरिन् । ‘जनताले पनि यही बुझिरहेका छन्,’ उनले भनिन् ।

जलवायु परिवर्तनसम्बन्धी विषय उल्लेख भए पनि कार्यान्वयन योजना स्पष्ट नभएको उनको टिप्पणी थियो । उनले पुराना सवारीसाधनबाट हुने धुँवा उत्सर्जन नियन्त्रण गर्दै तिनलाई क्रमशः विस्थापन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

इँटा भट्टासम्बन्धी नीति उपत्यकामा मात्र सीमित नभई देशभर लागू गर्नुपर्ने आवश्यकता उनले औंल्याइन् ।

उनले सरकारले ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखे पनि त्यसको स्पष्ट कार्ययोजना नदेखिएको बताइन् । साथै बुढीगण्डकी जलविद्युत आयोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग गर्दै यसबाट १,२०० मेगावाट विद्युत उत्पादन र वार्षिक करिब ३१ अर्ब रुपैयाँ आम्दानी सम्भव हुने दाबी गरिन् ।

त्यसैगरी मध्यपहाडी लोकमार्गलाई पनि सरकारले प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेट्नुपर्नेमा उनले जोड दिइन् ।

बालेन सरकारको नीति कार्यक्रममा शब्द छ, दृष्टि छैन : एमाले

काठमाडौं। नेकपा एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले बालेन सरकारको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेकी छन् ।

उनले नीति कार्यक्रमले जनतामा आशा, उत्साह र भरोसा नजगाउने दाबी गरिन् । बालेन सरकारको नीति कार्यक्रममा शब्द भएको तर दृष्टि नभएको बताइन् ।

घोषणाहरू रहेको तर दिशानिर्देशन नभएको र नारा भएको, कार्यान्वयनको आधार नभएको बताइन् ।
जनताको जीवन बदलिने साहसिक संकल्प नभएको मात्रै नभई नीति र कार्यक्रम के हो ? त्यो समेत नछुटिएको दाबी गरिन् ।
सरकारको नीति कार्यक्रममाथिको आफ्नो आलोना जिम्मेवारी भएको बताइन् । ओली सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको कार्यभार हटाइएकोमा आपत्ति जनाइन् ।
उनले सुकुम्बासीलाई बर्खायाममा हटाउने कदम गलत भएको र गरिबप्रति सरकार अनुदार भएको आरोप लगाएकी छन् ।

तामाङ दाजुभाइको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । नुवाकोटमा दाजुभाइको हत्या आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। म्यागङ गाउँपालिका-४ किम्ताङस्थित जंगलमा बुधबार मृत फेला परेका सोमनाथ तामाङ (४३) र उनका भाइ सूर्यमान तामाङ (३६)को हत्या प्रकरणमा संलग्‍न भएको आशंकामा पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानका लागि करिब आधा दर्जन व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
‘दाजुभाइको हत्या प्रकरणमा संलग्‍न भएको आशंकामा छ जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘घटना कसरी भयो, कस–कसको संलग्नता थियो भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।’

मंगलबार बिहान कुलो बनाउन घरबाट निस्केका दुवै दाजुभाइ सम्पर्कविहीन भएपछि परिवारले खोजी गरेको थियो। बुधबार बिहान सूचना पाएपछि प्रहरीले खोजतलास गर्दा उनीहरूको शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको थियो। घटनास्थल नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्छ।

प्रहरीलाई आएको प्रारम्भिक जानकारीमा गोली प्रहार भएको भनिए पनि घटनास्थलबाट खुकुरी बरामद भएपछि धारिलो हतियार प्रहारबाट हत्या भएको हुन सक्ने अनुमान गरिएको छ।

हत्या किन र कसले  गर्‍याे भन्‍नेबारे केही प्रस्ट नभए पनि आर्थिक लेनदेनसम्बन्धी विवाद सम्भावित कारणका रूपमा हेरिएको प्रहरीले जनाएको छ। तर यसको पुष्टि भएकाे छैन ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

नीति कार्यक्रममा सरकारले आदिवासी जनजातीलाई बेवास्ता गर्यो : भूमिका लिम्बु सुब्बा

काठमाडौं । नेकपा (एमाले) की सांसद भूमिका लिम्बु सुब्बाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आदिवासी तथा जनजाति समुदायप्रति संवेदनशील हुन नसकेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम बाहिरबाट आकर्षक देखिए पनि आदिवासी जनजातिको योगदान र पहिचानलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताइन् ।

उनले आदिवासी समुदायको सांस्कृतिक पहिचानलाई केवल प्रतीकात्मक रूपमा प्रयोग गरिएको टिप्पणी गरिन् । ‘हाम्रो समुदायको सिलाम साक्मा लगाएर मात्रै हुँदैन, त्यसको अपनत्व पनि लिन सक्नुपर्छ,’ उनले भनिन् । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले आदिवासी समुदायको सांस्कृतिक पहिचानलाई राजनीतिक ब्रान्डिङका लागि मात्रै प्रयोग गरेको आरोपसमेत उनले लगाइन् ।

सांसद सुब्बाले समान सहभागिता, सामाजिक न्याय र आदिवासी समुदायको योगदानप्रति सरकार गम्भीर नभएको बताइन् । साथै कला र संस्कृतिलाई केवल मनोरञ्जन उद्योगका रूपमा हेर्न नहुने धारणा राखिन् ।

‘कला र संस्कृति राष्ट्रिय पहिचान हो,’ उनले भनिन्, ‘दक्षिण कोरियाले कला र संस्कृतिलाई आर्थिक उद्योगका रूपमा विकास गरेको छ । आजको विश्व अर्थतन्त्रमा कला र संस्कृति ठूलो उद्योग बनेको छ, तर सरकारले यसलाई रणनीतिक रूपमा प्रस्तुत गर्न सकेन ।’

उनले कला र संस्कृतिलाई केवल आकर्षणको केन्द्रमा सीमित नराखी राष्ट्रको अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिइन् । प्रत्येक प्रदेशमा कला तथा संस्कृतिको ‘हब’ स्थापना गर्न सरकारसँग उनले मागसमेत गरिन् ।

जेठका लागि कुन-कुन बैंकले कति-कति व्याजदर घटाए ?

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वैशाखको तुलनामा वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ ।

नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.३४ प्रतिशतमा झरेको छ । वैशाख महिनामा यस्तो ब्याजदर ४.४० प्रतिशत थियो ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । वैशाखमा ३.२२ प्रतिशत रहेको यस्तो ब्याजदर जेठमा ३.२० प्रतिशत कायम गरिएको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् ।

यस्तै सिद्धार्थ बैंक र सिटिजन्स बैंक ले भने जेठका लागि ब्याजदर बढाएका छन् । अन्य बैंकहरूले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

नीति तथा कार्यक्रम कसैले लेखिदिएको जस्तो : ऐन महर

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा एमाले सांसद ऐन महरले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि कडा आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नीति तथा कार्यक्रम नै ध्यानपूर्वक नसुनेको आरोप लगाए । उनले सरकारमाथि विकास र जनमतको अपमान गरेको टिप्पणी गर्दै नीति तथा कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उदासीनता देखाएको बताए ।

‘सरकारकै मन्त्रीहरू किन उदासीन देखिएका छन् ? नीति तथा कार्यक्रम कसैले बाहिरबाट लेखिदिएको जस्तो देखिन्छ,’ उनले भने । उनले नीति तथा कार्यक्रमको राजनीतिक आधार के हो भन्ने प्रश्नसमेत उठाए ।

महरले २०६२/०६३ को जनआन्दोलनको भावना नीति तथा कार्यक्रममा समेटिन नसकेको आरोप लगाए । ‘जनआन्दोलनको उपलब्धिलाई किन सम्झिइएन ? यो सरकारले आखिर कुन व्यवस्था अभ्यास गर्न खोजेको हो ?’ भन्दै उनले सरकारको राजनीतिक दिशामाथि प्रश्न उठाए ।

उनले लोकतन्त्रप्रतिको जिम्मेवारीबारे राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा स्पष्ट हुनुपर्ने बताए । साथै नीति तथा कार्यक्रममा सिमान्तकृत, पिछडावर्ग, गरिब, असहाय, शिक्षा, स्वास्थ्य र युवाका मुद्दा समेटिन नसकेको उनको भनाइ थियो ।

सांसद महरले सर्वोच्च अदालतको फैसलालाई सरकारले बेवास्ता गरेको आरोपसमेत लगाए । ‘सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने फैसला गरिसकेको अवस्थामा सरकारले त्यसलाई किन कार्यान्वयन नगरेको ? अदालतको मानहानी किन भइरहेको छ ?’ उनले प्रश्न गरे ।

एमाले सांसद सुहाङकाे ठाेकुवा – संविधान बहुमतको गणितले संशोधन गरिएला तर कालजयी बन्दैन

काठमाडौं। नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बहुमतको गणितले मात्रै संविधान संशोधन गरे त्यसको दिगोपना नहुने बताएका छन् ।

उनले आम सहमतिबाट संविधानको संशोधन गर्नुपर्ने र त्यसो गर्दा मात्रै संविधानप्रतिको सर्वस्वीकार्यता हुने बताए ।
त्यसो भए मात्रै संविधान कालजयी र साझा बन्ने बताए ।
‘गणितले संविधान संशोधन त गर्ला तर बहुमतको गणितले मात्रै संविधानको अक्षरहरू लेखिनु हुन्छ, सहमतिबाट लेखिनुपर्छ ।

तब मात्रै कालजयी र साझा बन्न सक्छ,’ उनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखे ।
उनले सरकारको नीति कार्यक्रममा आम जनताको चाहना सम्बोधन नभएको दाबी गरे ।

कालापानी-लिपुलेक मुद्दा नीति कार्यक्रममा समेट्न एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय स्पष्ट रूपमा समेट्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले अतिक्रमित नेपाली भूमिमा स्वामित्व स्थापित गर्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् । उनले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग भएको स्मरण गराए ।

उनले भारतले करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेर सैनिक ब्यारेक राखेको तथा सो क्षेत्रमा सडक निर्माण गरी चीनसँग व्यापारिक गतिविधि अघि बढाएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । भारतीय विदेश मन्त्रालयको हालैको अभिव्यक्तिले समेत सन् १९५४ अघि उक्त क्षेत्र नेपालकै हकभोगमा रहेको पुष्टि गरेको उनको दाबी थियो ।

सांसद ठगुन्नाले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकलाई राज्यको मूलधारमा जोड्न नसक्दा समस्या झन् जटिल बनेको बताए । भारतीय पक्षले सीमावर्ती आफ्ना नागरिकलाई सडक, रोजगारी र सस्तो खाद्यान्नको सुविधा उपलब्ध गराइरहेका बेला नेपाली नागरिक भने सडक अभाव र महँगीका कारण भारतीय भूमि प्रयोग गर्न बाध्य भएको उनले सुनाए ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई केवल ‘सीमा विवाद’का रूपमा व्याख्या गर्नु पर्याप्त नहुने जिकिर गरे । “यो भारतद्वारा बल प्रयोग गरी कब्जा गरिएको नेपाली भूमि हो भन्ने स्पष्ट धारणा सरकारले लिनुपर्छ,” उनले भने । साथै अतिक्रमित भूमि फिर्ता ल्याउने स्पष्ट प्रतिबद्धता नीति तथा कार्यक्रममा समेट्नुपर्ने उनको माग थियो ।

यसैबीच उनले दार्चुलाको व्यास गाउँपालिका–१ अन्तर्गत छाङ्ग्रु र टिङ्कर जोड्ने सडक आयोजनाको बजेट कटौती गरिएकोमा असन्तुष्टि व्यक्त गरे । आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५० लाख विनियोजन गरिएको तुसारपानी–टिङ्कर–लिपुलेक सडक आयोजनाको बजेट हाल घटाएर ३ करोड ३० लाखमा सीमित गरिएको भन्दै उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

दार्चुलावासीको भावना र राष्ट्रिय अखण्डतासँग जोडिएको विषय भएकाले उक्त सडकका लागि पर्याप्त बजेट सुनिश्चित गर्न उनले सरकारसँग माग गरेका छन् ।

सीईओ पाण्डेको पक्राउविरुद्ध उनकी श्रीमती निरुद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे को पक्राउ गैरकानुनी रहेको दाबी गर्दै उनकी श्रीमती निरु दाहालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी छन् ।

पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले ‘ठगी तथा आपराधिक विश्वासघात’ मुद्दामा आइतबार राति सिन्धुलीबाट पक्राउ गरेको थियो ।

सीईओ पाण्डेको पक्राउविरुद्ध दायर गरिएको रिटमाथि बिहीबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान को एकल इजलासमा सुनुवाइ भइरहेको छ ।

सीआईबीका अनुसार स्मार्ट टेलिकम को सम्पत्ति व्यवस्थापनका क्रममा नेपाल सरकारको हक टुट्ने गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो ।

प्रहरीको दाबीअनुसार अनुमति पत्र नवीकरण नभएपछि सरकारको नियन्त्रणमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा पाण्डेले बैंकको तर्फबाट बदनियतपूर्ण भूमिका खेलेका थिए ।

रिटमा निवेदक निरु दाहालले पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै तत्काल रिहा गर्न माग गरेकी छन् ।

बालेनको अनुहार हेर्न संसदमा आउनु भनेका होइनौँ : ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उपस्थिति उनको अनुहार हेर्न नभएको बताएकी छन् ।

सदनप्रति जवाफदेही खोज्न मात्रै प्रधानमन्त्री बालेनको सहभागिता अनिवार्य रहेको बताइन् ।
‘लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्रै होइन । यो निरन्तर संवादको अभ्यास पनि हो ।

यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउन खोज्नु, सहभागिता खोज्नु, केवल उहाँको अनुहार हेर्न होइन,’ उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा भनिन्, ‘उहाँबाट जवाफदेही खोजेका हौँ ।’
उनले पहिलो अधिवेशनमा प्रधानमन्त्री बालेन नबोलिकन गएको, त्यसलाई आफूहरूले स्वीकारको तर यसपटक नस्वीकार्ने बताइन् ।

नीति तथा कार्यक्रम बालेन सरकारको भएको भन्दै उनले त्यसप्रति प्रधानमन्त्री बालेनको अपनत्व नभएको महसुस भएको पनि बताइन् ।
तर, प्रधानमन्त्री बालेनलाई संसदप्रति नै अनिच्छा रहेको देखिएको पनि दाबी गरिन् ।
‘हामी संसदमा सुकुम्बासी र संवैधानिक परिषदका कुरा उठाउँछौँ । प्रधानमन्त्री सामाजिक सञ्जालको पोष्टमा देश र जनतालाई जवाफ दिनुहुन्छ ।

आज नीति तथा कार्यक्रममा सहभागी भइदिनुहोस् प्रधानमन्त्रीज्यू,’ उनले भनिन्, ‘सायद प्रधानमन्त्री यो सदनप्रति अनिच्छुक हुनुहुन्छ । यो संसदीय अभ्यासप्रति उत्तरदायी हुन खोजिरहनु भएको छैन ।’
उनले जसरी पनि प्रधानमन्त्री बालेनको सहभागिता हुनुपर्ने भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराइन् ।

बाँदर आतंकमा सरकार मौन बसेको श्रम संस्कृति पार्टीको आरोप

काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतकआरेन राईले संसद्मा कृषि, वन्यजन्तु आतंक र सरकारको कार्यशैलीबारे कडा टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा उत्पादन भए पनि बजारको अभाव, किसानले मलजल नपाउने समस्या र व्यवस्थापन कमजोर हुँदा देशभर बाँदर आतंक फैलिएको बताए । उनले बाँदर आतंक नियन्त्रणका लागि सरकारले विधेयक किन नल्याएको भन्दै प्रश्न गरे ।

‘आफ्नो स्वार्थका लागि अध्यादेश ल्याउने, तर लाखौँ नागरिकको समस्यामा सरकारले चासो नदिने ?’भन्दै उनले सरकारको प्राथमिकतामाथि प्रश्न उठाए ।

उनले निकुञ्ज क्षेत्र आसपास वन्यजन्तुको आक्रमणबाट नागरिकले ज्यान गुमाइरहेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । ‘वन्यजन्तुको आक्रमणले नागरिक मरिरहेका छन्, तर सरकार गम्भीर देखिँदैन,’ उनले भने ।

प्रमुख सचेतक राईले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोपसमेत लगाए । उनले प्रधानमन्त्रीले प्रतिपक्ष मात्रै नभई सत्तापक्षका सांसदहरूको आवाज पनि सुन्नुपर्ने बताए ।

‘प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्छ । २७५ जना सांसदको कुरा सुन्नुपर्छ,’ उनले भने ।

रास्वपा सांसद गणेश पराजुलीको असंसदीय शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीको दुईवटा असंसदीय शब्द अभिलेखबाट हटाइएको छ ।

उनले २९ वैशाखको बैठकमा प्रयोग गरेका ‘भरौटेहरू’ र ‘लुगा लगाए पनि नांगै हिँडेकाहरू’ भन्ने शब्द संसदको अभिलेखबाट हटाउन सभामुख डीपी अर्यालले निर्देशन दिए ।

उनले असंसदीय शब्द प्रयोग गरेको भन्दै एमाले प्रमुख सचेतक ऐन महरले ३० वैशाखको प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाएका थिए ।

भोलिपल्ट सभामुख अर्यालले रास्वपा संसदीय दलका उपनेता पराजुलीको असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन् ।

बालेनतन्त्रको विकास गर्न खोजिएको हो?: एमाले

काठमाडौं। नेकपा एमालेका सचेतक ऐन महरले प्रतिनिधिसभामा प्रधानमन्त्रीमाथि कडा प्रश्न उठाउँदै संसद्, लोकतन्त्र र संविधानप्रतिको जिम्मेवारीबारे सरकारलाई कटाक्ष गरेका छन् ।

उनले संसद् नेपाली जनताको ठूलो बलिदान र शहिदहरूको संघर्षबाट प्राप्त भएको भन्दै नेपालको संविधानको धारा ७४ अनुसार मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा अघि बढ्नुपर्ने उल्लेख गरे ।

तर प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लोकतान्त्रिक अभ्यासभन्दा ‘बालेनतन्त्र’ विकास गरिरहेको आरोप लगाए ।

सचेतकले नीति तथा कार्यक्रममाथि उठेका जनताका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै आपत्ति जनाए । ‘यो केवल नियमावलीको विषय होइन, संसद् र राष्ट्रपतिको समेत अपमान भइरहेको छ,’ उनले भने ।

उनले प्रधानमन्त्री संसद्‌मा अनुपस्थित रहेर फेरि सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारीमा लागेको हो भन्दै व्यंग्यसमेत गरे । ‘काम गर्दैछु भन्ने तर संसद्‌मा नआउने, आखिर कस्तो काम भइरहेको हो ?’ भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

सदन चिया चौतारी होइन, प्रधानमन्त्री जवाफ दिन संसद् आउनैपर्छ : काङ्‍ग्रेस सचेतक राई

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन संसदमा नआए अवरोध जारी रहने बताएका छन् ।

उनले प्रधानमन्त्री बालेन संविधानको ७६ (१०) अनुसार संसदप्रति उत्तरदायी बनाउनैपर्ने बताए ।
उनी संसदको नेता मात्रै नभएर अभिभावक भएको भन्दै उनको उपस्थिति संसद बैठकमा अनिवार्य भएको बताए ।
उनले बालेनप्रति लक्षित गर्दै भने, ‘सदन एउटा चिया चौतारी होइन । चिया खान मन लाग्दा आउने, मन नलाग्दा नआउने ।सदन गुरुकुल हुनुपर्छ । यो विश्वविद्यालय हो ।’

उनले सदनमा ‘बंक’ गरेको र संसदीय अभ्यासप्रतिको उदासिनता देखाएको आरोप लगाए ।

उनले सत्तापक्षीय दल रास्वपाका सांदसहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई सामान्यीकरण गर्न खोजेको भन्दै आपत्ति पनि जनाए ।

फेरियो कार्यसूची,प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जवाफ नदिने,अर्थमन्त्री वाग्लेले नै दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आफैँ नदिने भएका छन् ।

संसदको कार्यसूची संशोधन गर्दै प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले जवाफ दिने व्यवस्था गरिएको हो ।

बिहान सार्वजनिक गरिएको कार्यसूचीमा प्रधानमन्त्रीले नै जवाफ दिने उल्लेख थियो । पछि कार्यसूची सच्याएर अर्थमन्त्रीलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

हिजो प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै दिनभर संसद् अवरोध गरेका थिए । त्यसक्रममा सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्रीसँग आफूले संवाद गर्ने बताएका थिए ।

तर प्रधानमन्त्री आज पनि संसद्मा उपस्थित हुन तयार नभएको जनाइएको छ ।

पूर्णबहादुर र उनका पार्टनर पक्राउ

काठमाडौं । सार्वजनिक यातायातमा यात्रुको नगद पाकेटमारी गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २९ गते बिहान काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट बसुन्धारातर्फ गइरहेको सार्वजनिक बसभित्र भिडभाडको मौका छोपी एक यात्रुको ४५ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही दिन दिउँसो सामाखुशी क्षेत्रबाट सिन्धुपाल्चोक लिसंखुपाखा गाउँपालिका–१ घर भई हाल काठमाडौंको मितेरी पुल बस्ने ४१ वर्षीय पूर्णबहादुर विक र २८ वर्षीय सुकमान गदारलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका पूर्णबहादुर पुराना अपराधी रहेको खुलेको छ । उनीमाथि २०६२ देखि २०८१ सालसम्म चोरी, लागुऔषध तथा अभद्र व्यवहारलगायत मुद्दामा १३ पटकसम्म कानुनी कारबाही चलाइएको विवरण फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाएको छ ।

अनि यसरी हुन्छ नियमावलीको अपव्याख्या

काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठक नीति तथा कार्यक्रममाथिको छलफलमा सीमित रहेन, यो संसदीय उत्तरदायित्व र नियमावलीको व्याख्याबीचको राजनीतिक टकरावमा परिणत भयो । सत्ता पक्षले संसद नियमावलीको नियम ३८(१) देखाउँदै प्रधानमन्त्रीको अनुपस्थितिमा पनि अर्थमन्त्रीमार्फत प्रक्रिया अघि बढाउन खोज्यो । तर, के नियम ३८ प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायित्वबाट मुक्त गराउने प्रावधान हो ?

नियम ३८(१) ले स्पष्ट रूपमा भन्छ, ‘राष्ट्रपतिबाट गरिएको सम्बोधनको लागि धन्यवाद प्रस्ताव पारित भएपछि राष्ट्रपतिबाट गरिएको सम्बोधनमा उल्लिखित नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्नको लागि सभामुखले प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको कुनै मन्त्रीसँग परामर्श गरी दिन र समयावधि तोक्नेछ र त्यसरी तोकिएको दिनमा दलीय प्रतिनिधित्वको आधारमा सम्बोधनमा उल्लिखित विषयमा छलफल हुनेछ।’

यसको मतलब राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका लागि सभामुखले प्रधानमन्त्री वा निजले तोकेको मन्त्रीसँग परामर्श गरी दिन र समय निर्धारण गर्नेछ । अर्थात्, यो व्यवस्था छलफल सञ्चालनको प्रशासनिक प्रक्रियासँग सम्बन्धित छ, प्रधानमन्त्रीको राजनीतिक उत्तरदायित्वसँग होइन ।

तर बुधबार यही व्यवस्थालाई प्रधानमन्त्री उपस्थित नभए पनि मन्त्रीमार्फत नीति तथा कार्यक्रम पारित गर्न सकिने आधारका रूपमा प्रस्तुत गरियो । यहीँबाट विवाद सुरु भयो । 

विपक्षी दलहरूले संसदीय  प्रक्रियामाथि होइन संसदीय परम्परा र जवाफदेहितामाथि पनि प्रश्न उठाइरहेका थिए ।

नीति तथा कार्यक्रम सरकारको सामूहिक दस्तावेज भए पनि त्यसको राजनीतिक स्वामित्व प्रधानमन्त्रीमै निहित हुन्छ । सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने पहिलो दायित्व पनि प्रधानमन्त्रीकै हो । प्रधानमन्त्री बनेको ४५ दिनभन्दा बढी भइसक्दा पनि बालेन्द्र शाह ले संसदलाई एकपटक पनि सम्बोधन नगर्नु स्वयंमा राजनीतिक बहसको विषय बनिसकेको छ ।

यस्तो अवस्थामा नियम ३८ को प्रावधानलाई प्रधानमन्त्री अनुपस्थित रहे पनि प्रक्रिया रोकिन्न भन्ने तर्कमा प्रयोग गर्नु, नियमको आत्माभन्दा शब्दमा टेकेर राजनीतिक सुविधा खोज्नुजस्तो देखिन्छ । संसदीय प्रणाली केवल नियमहरूको यान्त्रिक प्रयोगबाट चल्दैन, यसको मूल आधार राजनीतिक उत्तरदायित्व, संवाद र परम्परा पनि हो ।

विगतमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिने अभ्यास रहँदै आएको थियो । यसपटक भने प्रस्ताव टेबुल गर्ने जिम्मा अर्थमन्त्री स्वर्णिम वाग्ले लाई दिइनु केवल कार्यविभाजन थिएन, प्रधानमन्त्रीको प्रत्यक्ष जवाफदेहिताबाट दूरी बनाउने संकेतका रूपमा विपक्षीले व्याख्या गरेका छन् ।

सभामुख डिपी अर्याल लगायत सांसदहरूले बैठकमा पटक पटक नियम ३८ को प्रसंग उठाए पनि मूल प्रश्न, ‘नियमावलीको एउटा उपनियमले प्रधानमन्त्रीको संसदीय उपस्थितिको राजनीतिक दायित्वलाई प्रतिस्थापन गर्न सक्छ ?’ अनुत्तरित रह्यो। 

संसदीय लोकतन्त्रमा कानुनी वैधता र नैतिक वैधता फरक विषय हुन् । संसद केवल ‘टेबुल’ र ‘पारित’ गर्ने ठाउँ होइन, सरकारलाई प्रत्यक्ष जवाफदेही बनाउने थलो पनि हो ।

तीव्र गतिमा निर्माण भइरहेका हाइपरस्केल डेटा सेन्टर : डिजिटल नियन्त्रणको नयाँ संरचना ?

काठमाडौं। विश्वभर तीव्र गतिमा निर्माण भइरहेका हाइपरस्केल डेटा सेन्टरहरूलाई अहिलेसम्म क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल आधुनिकीकरणको आवश्यक पूर्वाधारका रूपमा प्रस्तुत गरिँदै आएको छ। तर, यसको वास्तविक आकार, लागत र उपयोगको प्रकृतिलाई नजिकबाट हेर्दा यसबारे गम्भीर प्रश्न उठ्न थालेका छन्।

विश्लेषकहरूका अनुसार अहिले निर्माण भइरहेका विशाल डेटा सेन्टरहरू केवल एआई असिस्टेन्ट वा सामान्य डिजिटल सेवाका लागि मात्र नभई अझ ठूलो र दीर्घकालीन नियन्त्रण प्रणालीको आधार संरचना हुनसक्ने संकेत देखिन्छ।

हाल विश्वभर करिब ३ हजारदेखि ३५ सयसम्म डेटा सेन्टर निर्माण भइसकेका वा निर्माणको चरणमा रहेका बताइन्छ। यिनीहरूको कुल विद्युत् माग करिब १९० गिगावाट पुगेको छ। जुन जापान र जर्मनीको संयुक्त विद्युत् उत्पादन क्षमताभन्दा पनि बढी हो।

यी डेटा सेन्टरहरूले १ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल ओगटेका छन्। साथै, ती संरचनालाई चिसो राख्न मात्रै वार्षिक १५ अर्ब लिटरभन्दा बढी स्वच्छ पानी प्रयोग भइरहेको अनुमान छ। जलस्रोत संकट बढिरहेका बेला यति ठूलो पानी खपतले पनि बहस सिर्जना गरेको छ।

विश्लेषणअनुसार यो विस्तार केवल निजी लगानीको परिणाम मात्र होइन। कर छुट, सस्तो जमिन, तीव्र अनुमति प्रक्रिया र सार्वजनिक पूर्वाधारको प्रयोगमार्फत राज्यहरूले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसलाई सहयोग गरिरहेका छन्।

विद्युत् ग्रिड विस्तारका लागि लाग्ने ठूलो लागत अन्ततः सर्वसाधारण करदाता र उपभोक्तामाथि पर्ने गरिएको छ भने कृषि तथा घरायसी प्रयोजनका लागि सुरक्षित गरिएको पानी औद्योगिक कुलिङमा प्रयोग भइरहेको आरोप पनि उठिरहेको छ।

कतिपय विश्लेषकले डेटा सेन्टरहरूलाई सामान्य प्राविधिक संरचना नभई नियन्त्रणका बहुआयामिक प्रणालीको आधारका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार यस्ता संरचना डिजिटल मुद्रा (सीबीडीसी), बायोमेट्रिक निगरानी, सामाजिक क्रेडिट प्रणाली तथा एआईद्वारा निर्मित सूचनाको विशाल नेटवर्क सञ्चालनका लागि प्रयोग हुनसक्छन्।

सीबीडीसी अर्थात् प्रोग्रामेबल डिजिटल मुद्राले व्यक्तिको आर्थिक गतिविधिमाथि प्रत्यक्ष नियन्त्रण सम्भव बनाउने तर्क गरिएको छ। त्यस्तै, अनुहार, आँखाको रेटिना र औंठाछापजस्ता बायोमेट्रिक विवरणको स्थायी निगरानी तथा भण्डारणका लागि पनि अत्यन्त ठूलो डेटा क्षमता आवश्यक पर्छ।

यस्तै, सामाजिक व्यवहार, अभिव्यक्ति र गतिविधिलाई निरन्तर मूल्यांकन गर्ने ‘सामाजिक क्रेडिट’ प्रणाली र एआईद्वारा निर्मित कृत्रिम सूचना तथा मिडिया प्रवाहले भविष्यमा सत्य र भ्रमबीचको सीमालाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

विश्लेषकहरूका अनुसार अहिलेको मुख्य बहस प्रविधिको विकास रोक्ने नभई यसको वास्तविक उद्देश्य, नियन्त्रण संरचना र दीर्घकालीन प्रभावबारे पारदर्शी सार्वजनिक बहस आवश्यक छ भन्नेमा केन्द्रित हुनुपर्छ।

कार्की आयोगको प्रतिवेदन : २४ को घटनाबारे अझै मौन

काठमाडौं। राज्यका निकायले सूचना लुकाउने प्रवृत्ति बढ्दै गएको भन्दै सुशासनमाथि प्रश्न उठाइएको छ । सार्वजनिक बहसमा राणा कालदेखि नै राज्यको गोपनीयता संस्कारमा खासै परिवर्तन नआएको टिप्पणी गरिएको छ ।

गत भदौ २३ र २४ गते भएको दमन र विध्वंसका घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा न्यायिक आयोग गठन गरेको थियो ।

आयोगले निर्धारित समयमा प्रतिवेदन तयार गर्न नसकेको र पटक-पटक म्याद थपिएपछि मात्र सरकारलाई बुझाएको भए पनि प्रतिवेदन अधुरो रहेको बताइएको छ ।

विशेषगरी भदौ २४ को घटनामा संलग्न व्यक्तिहरूबारे आयोग मौन रहेको आरोप लाग्दै आएको छ । प्रतिवेदन सरकारले लुकाउन खोजेको देखिएको भन्दै केही विवरण सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि मात्र यसको अपूर्णता बाहिर आएको बताइन्छ ।

आयोग अध्यक्ष कार्कीका सामाजिक सञ्जालमा व्यक्त केही पूर्वविचारका कारण छानबिन निष्पक्ष हुनेबारे सुरुमै सन्देह गरिएको पनि टिप्पणी गरिएको छ ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले पनि भदौ २३ र २४ को घटनाबारे प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारी गरेको जानकारी दिएको थियो । तर उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएको भन्दै आलोचना बढेको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले मानव अधिकार आयोगमै पुगेर बयान दिएको भए पनि प्रतिवेदन सार्वजनिक नभएको भन्दै प्रश्न उठाइएको छ ।

आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सडकमा प्रदर्शनसमेत सुरु भएको छ । पारदर्शिता र सूचनाको अधिकारबारे बहस तीव्र बनेको छ ।

विश्लेषकहरूले आयोगजस्ता संवैधानिक निकायले प्रतिवेदन रोक्नु वा ढिलाइ गर्नुले राज्यकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् । पारदर्शिता सुशासन र मानव अधिकार दुवैको आधार भएकाले प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग बलियो बन्दै गएको छ ।