`

कमला रोलिङ मिल्स : कति भयो कारोबार ?

काठमाडौं। कमला रोलिङ मिल्सले पछिल्ला वर्षहरूमा कारोबार, नाफा र कर्जाको संरचनामा मिश्रित वित्तीय अवस्था देखाएको छ। कम्पनीको चालु आर्थिक वर्षको ९ महिनामा ८८ करोड ३० लाख रुपैयाँको कारोबार भएको हो।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४६ करोड ७० लाख रुपैयाँ कारोबार गरेको थियो। त्यसअघि सन् २०२४ मा १ अर्ब ४४ करोड २० लाख, सन् २०२३ मा २ अर्ब ८४ करोड ३० लाख र सन् २०२२ मा २ अर्ब ७१ करोड रुपैयाँ कारोबार भएको तथ्यांकले देखाउँछ।

कम्पनीले सञ्चालन नाफा मार्जिनतर्फ भने सुधार देखाएको छ। चालु आर्थिक वर्षको ९ महिनामा २ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा भएको छ। गत आर्थिक वर्षमा ३ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा भएको थियो भने सन् २०२४ मा ३ करोड ५० लाख रुपैयाँ सञ्चालन घाटा रहेको थियो।

तर खुद नाफामा भने निरन्तर गिरावट देखिएको छ। सन् २०२४ मा ९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ३ करोड १० लाख रुपैयाँमा झरेको थियो। चालु आर्थिक वर्षको ९ महिनामा यो नाफा अझ घटेर ९० लाख रुपैयाँमा सीमित भएको छ।

नगद प्रवाह भने सुधारतर्फ देखिएको छ। सन् २०२४ मा नकारात्मक रहेको कुल नगद सञ्चय गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ पुगेको थियो भने चालु आर्थिक वर्षको ९ महिनामा यो बढेर २ करोड रुपैयाँ पुगेको छ।

कर्जाको भार भने क्रमशः घट्दै गएको छ। सन् २०२४ मा १ अर्ब २४ करोड ८० लाख रुपैयाँ रहेको ऋण गत आर्थिक वर्षमा घटेर ९७ करोड १० लाख रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको ९ महिनामा यो थप घटेर ४० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।

यससँगै कम्पनीको वित्तीय सूचकहरूमा सुधार देखिएको छ। गियरिङ अनुपात सन् २०२४ को १.३२ गुणाबाट घटेर चालु आर्थिक वर्षमा ०.४५ गुणा पुगेको छ। त्यस्तै बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थ अनुपात पनि ०.५१ गुणामा झरेको छ।

ब्याज तिर्ने क्षमता (ब्याज कवरेज अनुपात) सन् २०२४ को कमजोर अवस्थाबाट सुधार हुँदै १.४७ गुणामा पुगेको छ भने ऋण सेवा कवरेज अनुपात पनि उल्लेख्य सुधारसहित सन्तुलित अवस्थामा देखिएको छ।

सन् १९९२ मा विशाल ग्रुपद्वारा स्थापना गरिएको यो कम्पनीले टीएमटी बार, जीआई वायर, बार्बेड वायर र ग्याल्भनाइज्ड बक्स उत्पादन गर्दै आएको छ। कम्पनीको उत्पादन क्षमता वार्षिक करिब ८० हजार मेट्रिक टन रहेको छ र यसको उत्पादन ‘कमला गोल्ड थर्मेक्स’ ब्रान्डमा बजारमा उपलब्ध छ।

दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले करिब २ अर्ब ४२ करोड ५० लाख रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ।

रास्वपा महाधिवेशनको दोस्रो दिन : बन्दसत्र ढिलो,त्रुटि सच्याउने काम सकिएन

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन।

सोमवार बिहान साढे ८ बजे सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम नसकिएकाले ढिलिएको हो।

पार्टीका एक नेताका अनुसार निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक महाधिवेशन प्रतिनिधि सूचीमा विभिन्न त्रुटि देखिएपछि त्यसलाई सच्याउने तथा पुनः जाँच गर्ने प्रक्रिया जारी छ। सोही कारण बन्दसत्रको कार्यतालिका केही समय पछि धकेलिएको हो।

निर्वाचन समितिले आइतबार करिब चार हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। सो सूचीमा त्रुटि देखिएपछि प्रतिनिधिहरूले निवेदनमार्फत सुधारका लागि माग गर्नुपर्ने व्यवस्था गरिएको छ, जसका कारण प्रक्रिया अपेक्षाभन्दा लामो भएको बताइएको छ।

आजको बन्दसत्रमा पार्टीका विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अनुशासन आयोगको प्रतिवेदन, कोषाध्यक्षको वित्तीय प्रतिवेदन, संगठनात्मक प्रतिवेदन तथा विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछन्।

त्यसैगरी अर्थ-राजनीतिक प्रस्तावना पनि पेश गरिनेछ। यी प्रतिवेदनहरूमा छलफल र अनुमोदनपछि पार्टी सभापतिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

बर्डफ्लुको जोखिममा काठमाडौं

काठमाडौं। नेपालमा बर्डफ्लु संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेको छ।

पूर्वी झापाबाट सुरु भएको संक्रमण क्रमशः चितवन हुँदै काठमाडौं उपत्यकासम्म पुगेको सरकारी अधिकारीहरूले बताएका हुन्।

हाल काठमाडौं, भक्तपुर र ललितपुरसहित काभ्रे जिल्लामा समेत संक्रमण देखिन थालेपछि जोखिम अझ बढ्दै गएको छ।

पशु सेवा विभागका एक अधिकारीका अनुसार काठमाडौं उपत्यका अहिले बर्डफ्लुको ‘हटस्पट’ क्षेत्रका रूपमा देखिएको छ। विशेषगरी काठमाडौंका चन्द्रागिरि, तारकेश्वर र कीर्तिपुर, साथै ललितपुरका गोदावरी, महालक्ष्मी र ललितपुर महानगर क्षेत्रमा संक्रमण बढी देखिएको छ।

उनका अनुसार खुला वातावरण, चराचुरुंगीको बाक्लो उपस्थिति तथा अव्यवस्थित कुखुरा फार्महरू संक्रमण फैलिन प्रमुख कारण बनेका छन्। बर्डफ्लुको प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले संक्रमित कुखुरा नष्ट गर्नु नै नियन्त्रणको मुख्य उपाय भएको उनले बताए।

विभागका अनुसार फार्म वरपर जंगली चराको आवागमन, सिमसार क्षेत्र नजिक पोल्ट्री फार्म सञ्चालन, जैविक सुरक्षा मापदण्डको पालना नहुनु तथा बाहिरी व्यक्ति र सवारीसाधनको अनियन्त्रित प्रवेशले संक्रमण फैलिन सहज बनाएको छ।

त्यसैगरी अण्डा राख्ने क्रेट पुनः प्रयोग गर्ने अभ्यास, सरसफाइमा लापरबाही तथा पन्छी र मासु व्यवस्थापन एउटै समूहबाट गरिनु पनि जोखिम बढाउने कारणका रूपमा देखिएको छ। कोसी प्रदेशमा भने संक्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको जनाइएको छ।

ललितपुरस्थित जावलाखेलको सदर चिडियाखानामा पनि बर्डफ्लु पुष्टि भएको छ। जेठ ३० गते मरेको कागको नमुना परीक्षणपछि असार ४ गते संक्रमण पुष्टि भएको जनाइएको छ। त्यहाँ केही वन्यजन्तु र चरामा संक्रमणका कारण मृत्यु भएको पुष्टि भए पनि अन्य पन्छीमा संक्रमण नदेखिएको उल्लेख छ।

नेपालमा सन् २०१९ मा बर्डफ्लु मानिसमा पनि देखिएको थियो, जसमा एक २१ वर्षीय युवकको मृत्यु भएको थियो।

सरुवारोग विशेषज्ञका अनुसार पशुपन्छीसँग प्रत्यक्ष सम्पर्कमा रहने किसान, ढुवानीकर्ता तथा बिक्री–वितरणमा संलग्न व्यक्ति बढी जोखिममा छन्। संक्रमण भएमा ज्वरो, खोकी, घाँटी दुख्ने, निमोनिया र श्वासप्रश्वासमा गम्भीर समस्या देखिन सक्ने र गम्भीर अवस्थामा ज्यानसमेत जान सक्ने चेतावनी दिइएको छ।

विशेषज्ञहरूका अनुसार एच५एन१ प्रकारको बर्डफ्लु सबैभन्दा खतरनाक मानिन्छ। यो भाइरस चरा प्रजातिमा छिटो फैलिने मात्र नभई दुर्लभ अवस्थामा मानिसमा पनि सर्न सक्ने क्षमता राख्छ। भाइरस म्युटेसन हुने भएकाले यसको व्यवहार परिवर्तनशील हुने बताइन्छ, जसले नियन्त्रणलाई थप जटिल बनाउँछ।

पशु सेवा विभागले बिरामी वा मरेका पन्छी नछुन, फार्ममा मास्क, पन्जा, एप्रोन र बुट अनिवार्य प्रयोग गर्न तथा कामपछि साबुनपानीले राम्रोसँग हात धुन आग्रह गरेको छ। साथै पन्छीजन्य मासु पूर्ण रूपमा पकाएर मात्र खान र चराचुरुंगी धेरै हुने स्थानमा सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन्।

समयमै नियन्त्रण नभए बर्डफ्लु ठूलो जनस्वास्थ्य संकटको रूप लिन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले चेतावनी दिएका छन्।

नेपालमै पहिलो पटक एनिमेसन फिल्म फेस्टिभल हुने

काठमाडौं । नेपाली एनिमेसन र भिएफएक्स क्षेत्रलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित नेपालमै पहिलो पटक एनिमेसन फिल्म फेस्टिभल आयोजना हुने भएको छ।

नेपाल एनिमेसन तथा भिएफएक्स कलाकार संघले यसलाई सिर्जनात्मक उद्योग विस्तारको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको हो।

आगामी अक्टोबरमा आयोजना हुने यो फेस्टिभल ‘मैले देखेको नेपाल’ भन्ने मूल विषय (थिम) मा केन्द्रित रहनेछ। आयोजकका अनुसार नेपालभित्र र बाहिर रहेका कलाकारहरूले आफ्नो दृष्टिकोण, संस्कृति र कल्पनाशीलतालाई एनिमेसनमार्फत प्रस्तुत गर्ने अवसर पाउनेछन्।

फेस्टिभल सार्वजनिक गर्दै आयोजकले यसको आधिकारिक मस्कट ‘आफ्फे’ पनि सार्वजनिक गरेको छ। नेपाली राष्ट्रिय चरा डाँफेबाट प्रेरित यो मस्कटलाई कलाकार अरनिकोको ऐतिहासिक कलाशैलीसँग जोडेर डिजाइन गरिएको बताइएको छ। यसले परम्परा र आधुनिक डिजिटल कलाको मिश्रणलाई संकेत गर्ने आयोजकको दाबी छ।

कार्यक्रममा एनिमेटेड सर्ट फिल्म, कन्सेप्ट आर्ट प्रतियोगिता र भिएफएक्स आधारित विभिन्न प्रतिस्पर्धा समावेश गरिनेछ। विशेषगरी २ देखि १० मिनेटसम्मका छोटा एनिमेसन फिल्महरूलाई प्रतिस्पर्धामा समावेश गरिने र यसमा नेपालसहित विश्वभरका सर्जकहरू सहभागी हुन सक्ने बताइएको छ।

आयोजकले यस फेस्टिभललाई केवल प्रदर्शनको प्लेटफर्म मात्र नभई रोजगारी र उद्योग विकाससँग जोड्ने उद्देश्य पनि राखेको छ। त्यसैअनुसार ‘करिअरबोर्ड’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याइने घोषणा गरिएको छ, जसले एनिमेसन क्षेत्रका कलाकार र रोजगारदातालाई जोड्नेछ।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका फिल्म र गेम स्टुडियोमा कार्यरत १२ जना नेपाली कलाकारहरूको भिडियो प्रस्तुति पनि देखाइएको थियो। यसले नेपाली एनिमेसन प्रतिभा विश्व बजारमा क्रमशः स्थापित हुँदै गएको संकेत गरेको आयोजकको भनाइ छ।

विशेषज्ञहरूका अनुसार यस्तो पहलले नेपालमा डिजिटल क्रिएटिभ इन्डस्ट्री, विशेषगरी एनिमेसन र भिएफएक्स क्षेत्रको सम्भावनालाई विस्तार गर्ने अपेक्षा गरिएको छ।

विश्वकप २०२६ : प्रारम्भिक चरणमै ८ रातो कार्ड

काठमाडौं। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ मा खेलाडी निष्कासन (रातो कार्ड) को संख्या प्रारम्भिक चरणमै उल्लेखनीय रूपमा बढेपछि विश्व फुटबल वृत्तमा अनुशासन र रेफ्री निर्णयबारे व्यापक बहस सुरु भएको छ।

प्रतियोगिता सुरु भएको छोटो समयमै ८ खेलाडीले रातो कार्ड पाइसकेका छन्। जुन सन् २०१८ को रसिया विश्वकप र सन् २०२२ को कतार विश्वकपमा देखिएका कुल रातो कार्ड (४–४) को संयुक्त बराबर संख्या हो।

विश्लेषकहरूका अनुसार विश्वकपजस्तो उच्च दबाबको प्रतियोगितामा यस्तो तीव्र वृद्धि सामान्य होइन र यसले आगामी चरणहरूमा खेलको शैली, रणनीति र नतिजामा समेत असर पार्न सक्ने देखिन्छ।

समूह ‘सी’ अन्तर्गत भएको बेल्जियम र इरानबीचको खेलमा बेल्जियमका डिफेन्डर नाथन न्गोय ६६औँ मिनेटमा सिधै रातो कार्ड पाएपछि कुल संख्या ८ पुगेको हो।

इरानका फरवार्ड मेहदी तात्सुमीलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्ने क्रममा गरिएको फउललाई रेफ्रीले ‘डिनायल अफ एन अब्भियस गोल स्कोरिङ अपर्चुनिटी’ (स्पष्ट गोल अवसर रोकिएको अवस्था) मानेर सिधै रातो कार्ड दिएका थिए।

१० खेलाडीमा सीमित भए पनि बेल्जियमले उक्त खेल गोलरहित बराबरीमा टुंग्याएको थियो।

अधिकांश रातो कार्ड सिधै रेफ्री निर्णयबाट

हालसम्म देखाइएका ८ रातो कार्डमध्ये ६ वटा सिधै रेफ्रीको निर्णयबाट आएका छन् भने बाँकीमा भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा निर्णायक बनेको छ।

यसले रेफ्रीहरूको कडा व्याख्या, खेलाडीहरूको आक्रामक शैली र भीएआर प्रविधिको प्रभाव एकैसाथ देखिएको विश्लेषकहरूको निष्कर्ष छ।

यस संस्करणमा केही चर्चित खेलाडीहरू पनि निष्कासनमा परेका छन्।

पाराग्वेका मिडफिल्डर मिगेल अल्मिरोन टर्कीविरुद्धको खेलमा भीएआर समीक्षा पछि रातो कार्ड पाएर मैदान छाड्न बाध्य भए।

त्यस्तै कतारका असिम मादिबो र मोआज अहमद क्यानडाविरुद्धको खेलमा निष्कासित भएका थिए।

बोस्निया एन्ड हर्जेगोभिनाका तारिक मुहरामोभिचले स्विट्जरल्यान्डका फरवार्ड ब्रेल एम्बोलोलाई स्पष्ट गोल अवसरबाट रोकेको घटनामा रातो कार्ड पाएका थिए।

जमैकाका वार हन्ट पनि दक्षिण अफ्रिकाविरुद्धको खेलको अन्तिम समयमा निष्कासित भएका थिए।

दक्षिण अफ्रिकी टोलीले यस विश्वकपमा अनुशासनको सबैभन्दा ठूलो समस्या भोगिरहेको देखिएको छ।

मेक्सिकोविरुद्धको उद्घाटन खेलमै टोलीका दुई खेलाडी थेम्बा ज्वाने र स्पेफेलो सिथोले रातो कार्ड पाएपछि टोली लामो समय ९ खेलाडीमा सीमित भएको थियो, जसले खेलको नतिजामा समेत गम्भीर असर पारेको बताइन्छ।

विश्वकप इतिहासमा रातो कार्डको संख्या समयअनुसार फरक देखिएको छ।

सन् १९९० मा १६, सन् १९९८ मा २२, र सन् २००६ मा २१ रातो कार्ड देखाइएको थियो, जसलाई आधुनिक विश्वकपको सबैभन्दा कडा संस्करणमध्ये एक मानिन्छ। सोही संस्करणको फाइनलमा जिनेदिन जिदानले इटालीका मार्को मातेरात्सीमाथि हेडबट गरेपछि रातो कार्ड पाएका घटना विश्व फुटबल इतिहासमै चर्चित बनेको थियो।

त्यसपछि सन् २०१० मा १७, सन् २०१४ मा १०, सन् २०१८ मा ४ र सन् २०२२ मा ४ रातो कार्ड मात्र देखिएको थियो।

तर यसपटक प्रारम्भिक चरणमै ८ रातो कार्ड पुगिसकेकाले पुराना केही कीर्तिमान तोडिन सक्ने सम्भावना बढेको छ।

किन बढ्दैछ रातो कार्ड ?

विश्लेषकहरूका अनुसार यसपटक रातो कार्ड बढ्नुमा तीन मुख्य कारण देखिन्छन्।

पहिलो, प्रतियोगिता विस्तारसँगै प्रतिस्पर्धा अझ तीव्र बनेको छ र प्रत्येक अंकको महत्व बढेको छ। दोस्रो, खेलाडी सुरक्षाका लागि रेफ्रीहरूलाई कडा निर्णय लिन निर्देशन दिइएको छ। तेस्रो, भीएआर प्रविधिको प्रयोगले पहिले नदेखिने फउलहरू पनि स्पष्ट रूपमा पत्ता लाग्न थालेका छन्।

विश्वकपका अझै धेरै खेलहरू बाँकी रहेकाले नकआउट चरणमा प्रवेशसँगै प्रतिस्पर्धा अझ कडा हुने अनुमान गरिएको छ। यसले भावनात्मक प्रतिक्रिया, रणनीतिक फउल र जोखिमपूर्ण ट्याकल बढाउन सक्ने देखिन्छ।

यदि यही प्रवृत्ति कायम रह्यो भने सन् २०१० को १७ रातो कार्ड र सन् २००६ को २१ रातो कार्डको कीर्तिमान चुनौतीमा पर्न सक्ने विश्लेषकहरूको आँकलन छ।

सुत्केरीको हेलिकप्टर उद्धार : गम्भीर अवस्थामा सुर्खेत पठाइयो

हुम्ला। सुत्केरी व्यथाले गम्भीर बनेकी हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

उनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको हो।

जिल्ला अस्पताल हुम्लामा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा हवाई उद्धार गरिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार लामाको रक्तचाप अत्यधिक बढेर १७०/१२० पुगेको थियो। उपचारका क्रममा उनी बेहोस भएको र करिब पाँचपटकसम्म झड्का (सिजर) समेत आएको उनले बताए।

डा. तिवारीका अनुसार गर्भमा रहेको शिशु ३१ हप्ताको मात्रै भएको छ। भिडियो एक्सरे परीक्षणमा बच्चाको तौल करिब १,२०० ग्राम मात्र देखिएको र समयअगावै जन्मिने जोखिमका कारण थप विशेषज्ञ उपचार आवश्यक परेको उनले जानकारी दिए।

दुर्गम भौगोलिक अवस्था र जटिल स्वास्थ्य अवस्थाका कारण तत्काल हेलिकप्टर उद्धार गर्नुपरेको जनाइएको छ। अहिले आमाको अवस्था र शिशुको उपचारबारे अस्पतालले थप निगरानी गरिरहेको छ।

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

काठमाडौं । कञ्चनपुरमा एक वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममै हातपात गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पत्रकार ऐश्वर्या कुँवरलाई आइतबार नै नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

घटना भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटा माथि हातपात भएको आरोपसँग सम्बन्धित हो। आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा दुवै पक्षबीच विवाद भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमका क्रममा सुरु भएको भनाभन चर्किँदै जाँदा पत्रकार कुँवरले वडाध्यक्षमाथि हातपात गरेकी थिइन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले व्यापक चर्चा पाएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। घटनामा संलग्न दुवै पक्षका विवरण संकलन गरी कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने बताइएको छ।

सार्वजनिक कार्यक्रममा भएको उक्त घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन् भने सम्बन्धित निकायहरूले घटनालाई कानुनी प्रक्रियामार्फत टुंग्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।

रास्वपा महाधिवेशन दोस्रो दिन : सुरक्षा व्यवस्था कडा [तस्वीरहरू]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन दोस्रो दिन प्रवेश गरेको छ। भरतपुरमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

मंगलबारसम्म सञ्चालन हुने महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ। महाधिवेशनबाट एक सभापति, एक वरिष्ठ नेता, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री तथा ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। साथै, विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहनेछ।

पार्टी नेतृत्वका प्रमुख पदहरूमा हालका नेतृत्व नै दोहोरिने सम्भावना बलियो देखिएको छ। पार्टीका संस्थापक सभापति रवि लामिछाने पुनः सभापति बन्ने तयारीमा रहेका छन् भने प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि वरिष्ठ नेताको भूमिकामा निरन्तर रहने अपेक्षा गरिएको छ।

तस्वीरहरू:

किन भेटिँदैन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको वेबसाइट ?

काठमाडौं । नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको आधिकारिक वेबसाइट सञ्चालनमा आएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यविभाजनमार्फत स्थापना गरेको मन्त्रालयले वेबसाइट सार्वजनिक गरे पनि आवश्यक सूचना तथा सेवामूलक सामग्री भने अझै पर्याप्त रूपमा समावेश हुन सकेको छैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन गरेपछि मन्त्रालय गठन गरिएको थियो। प्रारम्भिक चरणमा प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको मन्त्रालयमा २६ जेठमा महावीर पुन मन्त्री नियुक्त भएका थिए।

मन्त्री नियुक्त भएको करिब एक सातापछि मन्त्रालयको वेबसाइट सञ्चालनमा ल्याइएको भए पनि त्यसमा मन्त्रालयको संरचना, नीति, कार्यक्रम, सेवा प्रवाह, सम्पर्क विवरण तथा अन्य आवश्यक जानकारी सीमित मात्रामा राखिएको देखिएको छ।

मन्त्रालयका प्रवक्ताले वेबसाइट हाल प्रारम्भिक चरणमा रहेको र आवश्यक सामग्री थप्ने तथा परिमार्जन गर्ने काम जारी रहेको बताएका छन्। उनका अनुसार तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले सीमित विवरण राखेर वेबसाइट सार्वजनिक गरिएको हो।

यद्यपि वेबसाइट सञ्चालनमा आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ नाम नेपाली वा अंग्रेजीमा खोज्दा प्रमुख सर्च इन्जिनहरूमा सहज रूपमा फेला नपर्ने अवस्था रहेको छ। वेबसाइट अझै प्रभावकारी रूपमा इन्डेक्स हुन नसक्दा सर्वसाधारणलाई पहुँचमा कठिनाइ भइरहेको छ।

सूचना प्रविधि र नवप्रवर्तनको नेतृत्व गर्ने मन्त्रालयकै वेबसाइट खोज प्रणालीमा सहज रूपमा उपलब्ध नभएको विषयलाई सूचना प्रविधि क्षेत्रका जानकारहरूले चासोका साथ हेरेका छन्। उनीहरूका अनुसार सरकारी वेबसाइटहरू सार्वजनिक गर्दा सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), पहुँचयोग्यता र प्रयोगकर्ता अनुभवलाई सुरुदेखि नै प्राथमिकता दिनुपर्ने हुन्छ।

नयाँ मन्त्रालयले विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा डिजिटल रूपान्तरणसम्बन्धी नीति निर्माण र समन्वयको जिम्मेवारी पाएको छ।

तसर्थ मन्त्रालयको डिजिटल उपस्थितिलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

शंकर पाेखरेल के ‘माउ खाने नेता’ बन्लान् ?

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा धेरै अवसर, संरक्षण र जिम्मेवारी दिएका नेताको नाम लिनुपर्दा शंकर पोखरेल अगाडि आउँछन्।

एमालेभित्र धेरै नेताहरूको बुझाइमा पोखरेलको राजनीतिक उचाइ जनताको मतभन्दा बढी ओलीको विश्वास र संरक्षणको परिणाम हो।

पोखरेलको निर्वाचन इतिहास हेर्दा पनि यही तर्कलाई बल पुग्ने एमालेभित्र चर्चा हुने गरेको छ।

२०५६, २०७०, २०७९ र २०८२ सालका प्रतिनिधिसभा निर्वाचनमा उनी प्रत्यक्षतर्फ विजयी हुन सकेनन्।

तीन दशकभन्दा बढी अवधिमा प्रत्यक्ष निर्वाचनबाट संसद् पुग्न नसक्दा उनको जनाधार र लोकप्रियतामाथि प्रश्न उठ्ने गरेको छ।

यद्यपि निर्वाचनमा लगातार असफल हुँदा पनि पार्टीभित्र उनको उकालो यात्रा भने रोकिएन। बरु अध्यक्ष ओलीले उनलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिँदै अघि बढाए।

एमालेभित्र प्रभावशाली र जनाधार भएका अन्य नेताहरू हुँदाहुँदै पनि ओलीले पोखरेललाई नै आफ्नो विश्वासपात्रका रूपमा स्थापित गरे।

त्यसकै परिणामस्वरूप उनी पार्टीको दोस्रो शक्तिशाली पद महासचिवमा एकपटक मात्र होइन, लगातार दोस्रो कार्यकालका लागि पनि पुग्न सफल भए।

गत महाधिवेशनमा पनि पोखरेलको स्थिति सहज नरहेको एमाले नेताहरू बताउँछन्। महासचिव पदका लागि प्रतिस्पर्धामा उनी ओली समूहका उम्मेदवार भए पनि तुलनात्मक रूपमा कमजोर अवस्थामा रहेको चर्चा थियो।

महाधिवेशनको मत परिणामले पनि उनी पदाधिकारीमध्ये सबैभन्दा कम मतान्तरले विजयी भएको देखाएको थियो। महासचिवका प्रत्याशी सुरेन्द्र पाण्डे ले ९९९ मत प्राप्त गर्दा पोखरेलले १२२८ मत ल्याएका थिए।

ओली प्यानलबाट निर्वाचित पदाधिकारीमध्ये सबैभन्दा कम मतान्तरको जित उनको नाममा रह्यो।

यही पृष्ठभूमिका कारण एमालेभित्र लामो समयदेखि एउटा टिप्पणी सुनिँदै आएको छ-‘शंकर पोखरेललाई जनताले होइन, ओलीले स्थापित गरेका हुन्।’

तर अहिले परिस्थिति फेरिएको देखिन्छ। एमाले सचिवालय बैठकदेखि विभिन्न आन्तरिक छलफलसम्म आइपुग्दा पोखरेल अध्यक्ष ओलीको विकल्प खोज्न सक्रिय देखिन थालेका छन्।

पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र नयाँ पुस्तालाई अवसर दिनुपर्ने बहसलाई अघि सार्दै उनी भविष्यको नेतृत्वका लागि आफूलाई तयार गरिरहेको चर्चा एमालेभित्र बढ्दो छ।

यस अभियानमा पोखरेललाई उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरूको साथ रहेको बताइन्छ।

हालैको सचिवालय बैठकमा पौडेल, पोखरेल, योगेश भट्टराई लगायतका नेताहरूले पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै नेतृत्वबारे नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका थिए।

यससँगै एमालेभित्र अर्को बहस पनि चर्किएको छ। आलोचकहरूको प्रश्न छ-यदि ओलीको संरक्षण, विश्वास र अवसर नपाएको भए शंकर पोखरेल आज एमालेको कुन तहमा हुन्थे ?

उनीहरूका अनुसार जसको राजनीतिक उचाइको आधार नै ओलीको भरोसा थियो, अहिले त्यही नेतृत्वलाई चुनौती दिनु राजनीतिक कृतघ्नताको उदाहरण हो।

नेकपा नेता गाेपाल किरातीकाे शब्दमा भन्दा त शङ्‍करले ‘माउ खाने नेता’काे छाँट देखाएका छन् ।

त्यसैले एमालेभित्र अहिलेको विवाद  नेतृत्व हस्तान्तरणको विषयमा मात्रै सीमित छैन। यो विश्वास, निष्ठा र राजनीतिक सम्बन्धको बहससमेत बनेको छ र त्यस बहसको केन्द्रमा महासचिव शंकर पोखरेल तथा उनलाई समर्थन गरिरहेका नेताहरू रहेका छन्।

 

रविको स्वीकारोक्ति – अघिल्ला आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीसँग छैन’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नेपालको राजनीतिक परिवर्तनका लागि भएका विगतका आन्दोलनलाई तिरस्कार गर्ने स्थिति आफ्नो पार्टीसँग नरहेको बताएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई सम्मान गर्दै तिनलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘हामीले यसभन्दा अगाडिका आन्दोलनलाई तिरस्कार गर्दैनौं। तिरस्कार गर्ने आँट हामीमा छैन,’ उनले भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न हामी लागिरहने छौँ।’

सभापति लामिछानेले नेपालको संविधान, शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताहरूलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए।

उनका अनुसार राजनीतिक परिवर्तनपछि बनेका संरचना र उपलब्धिहरूलाई कमजोर बनाउने होइन, संस्थागत गर्दै जनअपेक्षाअनुसार परिणाम दिन सक्ने प्रणाली निर्माण गर्नु अहिलेको मुख्य जिम्मेवारी हो।

रास्वपा महाधिवेशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्बोधन [पूर्णपाठ]

चितवन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ले आफूले विगत एक दशकदेखि अघि बढाउँदै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको बताएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले वैकल्पिक राजनीतिको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने क्रममा रास्वपाको उदयलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको स्पष्ट पारे।

उनले भने, ‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ। अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रूपमा ग्रहण गरेको छु।’

उनले आफूले व्यक्त गरेको यस्तो धारणा प्रति समाजमा विभिन्न किसिमका प्रतिक्रिया आउने गरेको उल्लेख गर्दै आलोचनात्मक टिप्पणीप्रति असन्तुष्टि पनि जनाए।

‘त्यसो भन्दा हाम्रो समाज अत्यन्तै न्यूनस्तरको छ, अब यसले के पाउन लाग्यो, के ललिपप देखाइदियो भन्छन्,’ उनले भने, ‘म सारा जीवन मर्न हिँडेको मान्छे के ललिपप खाने ? सबैथोक प्राप्त गरेको मान्छे, प्रधानमन्त्री भएको मान्छे, के ललिपप खाने मैले यो उमेरमा ?’

उनले वैकल्पिक राजनीतिक धाराको आवश्यकता अझै कायम रहेको उल्लेख गर्दै नयाँ शक्तिहरूले जनअपेक्षाअनुसार काम गर्न सके मात्र परिवर्तन दिगो हुने धारणा राखे।

[पूर्णपाठ]

म अस्ति असार ४ गते मात्रै ७१ वर्ष पुगेर ७२ वर्ष लागेँ। तर आज तपाईंहरूलाई देख्दा र यो मञ्चमा सबै मभन्दा उमेरले धेरै पछिका साथीहरू देख्दा म आफैँ ७२ होइन, २७ वर्षको छु कि जस्तो मलाई अनुभूति भएको छ। तपाईंलाई थाहा छ, म आफूलाई एउटा निरन्तर विद्रोहीको रूपमा चित्रित गर्न चाहन्छु र मेरो सारा जीवन मैले त्यसैमा सुम्पेको छु।

तपाईंहरू यो समकालीन नेपालका सबैभन्दा पपुलर व्यक्तित्व रवि लामिछाने र बालेन्द्र शाहका कुरा सुन्न आतुर हुनुहुन्छ। त्यसैले मेरो सबै समय उहाँलाई दिने गरी मैले के मात्रै भन्न खोजेँ भने— यो जुन रास्वपाले चार वर्षभित्रै जुन यो उपलब्धि हासिल गर्‍यो, आन्दोलन गरेर सङ्घर्ष गरेर भन्दा पनि जनताको मन जितेर, आधुनिक विज्ञान र प्रविधिमार्फत आफ्ना विचार सम्प्रेषण गरेर जसरी तपाईंहरूले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाली इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ। 

मेरा पुस्ताका साथीहरूलाई ठुलो भ्रम छ। उहाँहरू खाली यो ‘कन्स्पिरेसी थ्योरी’ (षडयन्त्रको सिद्धान्त) उल्लेख गरेर— ‘यो दक्षिणले गरायो, यो उत्तरले गरायो, यो पश्चिमले गरायो’ भन्ने कथा बुनिरहनुभएको छ। तर मेरो स्पष्ट धारणा के छ भने, समाज बदल्न हिँड्नेहरू ज्वारभाटाको विरुद्धमा, टाइडको विरुद्धमा लाग्छन्। उनीहरू भन्नेले भनिरहन्छन्, तर सत्य र न्यायको पक्षमा उभिनुपर्छ र तपाईंहरू उभिनुहुनेछ।

मैले आफैँले गत १०-११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ। अहिले म यो रास्वपालाई त्यही अभियानकै सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गरेको छु। त्यसो भन्दा कतिपय साथीहरू, हाम्रो समाज अत्यन्तै न्यून चेतनास्तरको छ— ‘स्वार्थ के पाउन लाग्यो? के ललिपप देखाइदियो?’ भन्छन्। म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने भन्नुस् त? सबैथोक प्राप्त गरेको मान्छे, तपाईंहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे। अनि मैले के ललिपप खाने यो उमेरमा?

म त ललिपप होइन, तपाईंहरू साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले, मभन्दा अगाडिको बीपी-पुष्पलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्‍यो, त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो। र, त्यसको अगुवा शक्तिको रूपमा रास्वपा जुन आएको छ, यसको निम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु।

मेरो खाली दुई-तीनटा मात्रै तपाईंहरूलाई केही सुझाव हो भने— एउटा, यो क्रान्ति भनेको, निरन्तर परिवर्तन भनेको एउटा ‘रिले रेस’ हो। एउटा पुस्ताले एउटा विन्दुसम्म पुर्‍याउँछ, अर्को पुस्ताले त्योभन्दा अगाडि पुर्‍याउँछ र अर्को पुस्ताले झन् अगाडि पुर्‍याउँछ। त्यस अर्थमा लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो पुस्ता टंकप्रसाद, बीपी, पुष्पलालहरूले जुन सुरुवात गर्नुभयो र हाम्रो पुस्ता दोस्रो पुस्ताले गणतन्त्र र संविधानसभासम्म पुर्‍यायो। र अब तपाईंहरूको यो नयाँ पुस्ताले, हाम्रो रविजी र बालेनजीहरूको पुस्ताले नेपालको यो जुन हाम्रो सुन्दर स्वाधीन देश छ, यसलाई सुशासन र समृद्धिको एउटा चुचुरोमा पुर्‍याओस्, विश्वकै नमुना बनाओस्। त्यस अर्थमा म तपाईंहरूलाई विशेष शुभकामना दिन चाहन्छु। 

र, एक दुई वटा कुरा अलिकति के सचेत हुन जरुरी छ, म पूर्व—तपाईंहरूको सद्भावले प्रधानमन्त्री पनि भइटोपलेको मान्छे र ५० लाखको पुरस्कार टाउकोमा भइसकेको पनि मान्छे— र नेपालको जुन एउटा जटिल भू-राजनीति छ, देशको हिमाल, पहाड, तराई-मधेसको जुन विविधता छ, हाम्रा राज्यका अङ्ग यति कमजोर र भ्रष्टाचारले जर्जर छन्, त्यसको बीचमा हामीले कसरी सुशासन र समृद्धि ल्याउने भन्ने अहम् प्रश्न छ। त्यसैले त्यसको निम्ति जनताले तपाईंहरूलाई मत दिएकै त्यसकै निम्ति हो, सुशासन र समृद्धिकै निम्ति हो। अरूले जेसुकै भनून्, अरूका कुरा सुन्नुस्। तर मलाई तपाईंको चुनावताका पनि सुनेँ— ‘चुपचाप घण्टीमा छाप’ भन्ने तपाईंको नारा निकै पपुलर भएको सुनेको थिएँ। अब सायद, तपाईंहरू त्यो नारालाई अब सत्तामा पुगिसकेको नाताले, अब ‘चुपचाप सुशासन र विकास’ भनेर तपाईंले अपग्रेड गर्नुपर्छ भन्ने मलाई लाग्छ। पक्कै सोच्नुभएकै छ तपाईंहरूले। 

सुशासन र समृद्धिको जुन विषय छ, अब अहिले यहाँ व्याख्या गर्ने समय छैन, म त्यता जान्नँ। पक्कै पनि तपाईंले त्यसलाई सोचेर नेपाली जनता, ५०औँ लाख युवाहरू जो अहिले विदेश जान बाध्य छन्, एउटा तपाईंहरूलाई ‘चुपचाप घण्टीमा छाप’ भनेर मेसेज पठाउनेहरू पनि नेपालका ११०-१७० देशमा छरिएका युवाहरू, तिनीहरूकै सबैभन्दा ठुलो योगदान छ। त्यसैले त्यो अभिमतलाई ध्यान दिएर तपाईंहरूले सुशासन र समृद्धिमा केन्द्रित भएर काम गर्नुहोस् र तपाईंलाई सफलता मिल्नेछ।

र अन्त्यमा, मेरो केही निजी सुझाव के हो भने— यो महाधिवेशन भनेको विचार, नीति, कार्यक्रमलाई प्रष्टता दिने, ५ वर्षसम्मको निम्ति तय गर्ने र नेतृत्व चयन गर्ने पनि स्थान हो। नेतृत्वमा त मेरो पनि अनुमानै हो— रविजी, बालेनजीहरूको सर्वसम्मत हुन्छ भन्ने मैले पनि अनुमान गरेको छु र तपाईंहरूले मन बनाएको पनि म बुझ्छु। र अरू साथीहरू पनि— यो नाम लिनु बडो अन्यथा अर्थ लाग्छ— म यहाँ बस्नुभएका साथीहरूलाई चिन्दछु। म खुसी छु, जो मन्त्रिपरिषद्‌मा हुनुहुन्छ— हाम्रो स्वर्णिम वाग्लेजी, हाम्रो शिशिर खनालजी लगायतका जो मन्त्रीज्यूहरू हुनुहुन्छ। अब कमी-कमजोरी अलिअलि हुन सक्छन्, तर मूल रूपमा छोटो अवधिमा जुन एउटा झिल्को देखाइरहनुभएको छ, मलाई लाग्छ उहाँहरूले आगामी दिनमा नेतृत्वदायी भूमिका खेल्न सक्नुहुन्छ।

अहिले भर्खर यहाँ देख्दैथेँ, मेरो जिल्लाकै मित्र सुदन गुरुङजी, उहाँसँग त्यति धेरै उता छैन तर एउटा जल्दो युवाको रूपमा उहाँले जुन एउटा आँट देखाइरहनुभएको छ। र उहाँलाई पनि, उहाँहरूलाई पनि जुँगाले तान्ने प्रयास भइरहेको छ, त्यसबाट उत्तेजित नभईकन उहाँ अगाडि बढ्नुहोस्। मेरो जिल्लाकै युवा साथी हुनुको नाताले पनि मेरो उहाँलाई शुभकामना, र सबैलाई मेरो शुभकामना छ।

मेरो खाली एउटा मात्रै अनुभवजन्य आधार के हो भने, खासगरी रविजी र बालेनजीहरूलाई— नेतृत्व भनेको असाध्यै महत्त्वपूर्ण हुन्छ यस्तो नयाँ शक्ति जुन उदय भएको छ, त्यतिबेला। वैचारिक रूपले प्रष्टता त चाहिन्छ नै, मुख्य कुरा त त्यही हो। तपाईंहरूको जुन अहिलेको विधानको केही कुरा छिटपुट बाहिर आएको छ, मूल रूपमा म त्यो ठिकै देख्छु। केही अलिकति अस्पष्टताहरू छन्, मैले खुला रूपमा सामाजिक सञ्जालमा पनि राखेको छु। खासगरी तपाईंले ‘संवैधानिक समाजवाद’ जुन भन्नुभएको छ, त्यो के हो अलि व्याख्या गरिदिए राम्रो हुन्थ्यो भनेर मैले हिजो लेखेको पनि थिएँ। त्यसरी यी विषयमा त तपाईंहरूको ध्यान जाने नै छ।

मैले भन्न खोजेको कुरा चाहिँ के छ भने— नेतृत्व। यो तपाईंले यति ठुलो जनमत प्राप्त गरेर प्राप्त गर्नुभएको छ, यसले पूरा ५ वर्ष कार्यकाल पूरा गर्नुपर्छ। म त चाहन्छु १०-१५ वर्षसम्म राजनीतिक स्थिरता पाओस् भन्ने मेरो चाहना छ। त्यसको निम्ति ‘की’ कुरा के हुन्छ भने— अब हामी त मान्छे हौँ, हामीभित्र स्वार्थी-लोभीपना अलिअलि हुन्छ पनि। अनि अरू आसेपासे र बाह्य विभिन्न भित्रका शक्तिहरूले पनि खेलेर ‘कोभन्दा को ठुलो? रवि ठुलो कि बालेन ठुलो?’ भनेर त्यहाँ खेलिदिन सक्छन्। त्यो खतरा म त्यहाँ देख्छु।

मलाई खुसी लाग्यो, म त्यहाँ सँगै बसिरहेको छु, उहाँहरू कुराकानी खासखुस गरिरहनुभएको छ। गर्नुस्, गर्नुस् र पटक-पटक भेट्नुस्। गरिराख्नुस् र भेटिराख्नुस्। तपाईंहरूको एकतामा नै यसको, रास्वपाको तत्कालको ५ वर्षको निम्ति भविष्य सुनिश्चित छ। ५ वर्षसम्म एक भएर तपाईंहरू काम गर्नुहोस् र अगाडि बढ्नुहोस्, यो तपाईंलाई शुभकामना हुन्छ।

र अन्त्यमा, मेरा पुस्ताका, मेरा समवयी साथीहरू जसले षडयन्त्रको सिद्धान्त आविष्कार गरेर यो ‘जेनजी’ विद्रोह, यो रास्वपाको उदयलाई पचाउन नसकेर अनेकथरी उहाँहरूले तानाबाना बुन्नुभएको छ, त्यसमा केही सत्यता होला, तर त्यो प्रमुख पाटो होइन। त्यसैले म उहाँहरूलाई अकबर-बीरबलको पालाको एउटा कथा भनेर आफ्नो कुरा टुङ्ग्याउँछु।

तपाईंलाई थाहा छ, बादशाह अकबर, अंग्रेजहरूले भारतमा उपनिवेश जगाउनुअघि सबैभन्दा ठुलो साम्राज्यका बादशाह थिए। र उनको यति ठुला मुठा जुँगा तपाईंले देख्नुभएको होला, यस्तो जुँगा तिनले पाल्थे। एकदिन उनले भाइभारदारहरूलाई बोलाएर के भनेछन् भने— ‘हेर भाइभारदार हो, मेरो यो जुँगा उखेल्नेलाई के सजाय दिउँ?’ भनेछन् उनले। अनि त भाइभारदार त चाकरी गर्ने मान्छे हुन्छन्, बादशाहको चाकरी गरेर केही पाइएला भन्ने लोभ थियो होला। एउटाले भनेछ— ‘त्यसलाई तातो कराईमा राखेर मार्नुपर्छ’, अर्कोले भने— ‘खाल्डो खनेर पुर्नुपर्छ’, अर्कोले भने— ‘होइन त्यसलाई काट्नुपर्छ’, यस्तै यस्तै भन्दै गए सबै।

तर बीरबल एउटा छेउमा बसेर मुसुमुसु हाँसिरहेका रहेछन्। अनि अकबरले भनेछन्— ‘बीरबल, तिमी त चुपचाप हाँसेर मात्र बस्छौ, बोल्दैनौ किन हो?’ भनेको। उनले भनेछन्— ‘जहाँपनाह सरकार, जहाँपनाह भन्थे बादशाहलाई, जहाँपनाह! त्यो तपाईंको जुँगा तान्ने मान्छेलाई मिठाई खान दिनुस्’ भनेछन् उनले।

‘भने के भन्छौ तिमी? मेरो जुँगा तान्नेलाई मिठाई खान दिने?’ भनेर जङ्गिए। अनि उनले फेरि भनेछन्— ‘जहाँपनाह, हजुरको यत्रो सुरक्षा छ, त्यसभित्र नाघेर पस्ने कसको हिम्मत हुन्छ? अनि तपाईंको काखमा बसेर जुँगा उखेल्ने कसको हिम्मत हुन्छ? त्यो तपाईंको आफ्नै नाति हो। त्यसैले नातिले जुँगा उखेल्यो भनेर तपाईंले सजाय दिने होइन, उसलाई मिठाई दिनुस्’ भन्नुहुन्थ्यो रे।

त्यसैले मेरा पुराना साथीहरूलाई पनि आग्रह— तपाईं हाम्रा जुँगा (मेरा नि अलिअलि उखेल्नुहुन्छ साथीहरूले कहिलेकाहीँ, र छोटै छन् मेरा त बादशाहका जस्ता त छैनन्), उखेले भने पनि हामीले हाम्रै छोरानाति, यो पुस्ता— बालेन्द्रजी त भर्खर ३६ वर्षको हुनुहुन्छ, मेरो छोरीभन्दा ४ वर्ष कान्छो हुनुहुन्छ, रविजी ५० को आसपास हुनुहुन्छ। भने उहाँहरूले त आगामी १५-२० वर्ष, ३० वर्ष यो देशको नेतृत्व गर्नुपर्छ। त्यसो भएको हुनाले हामीले उहाँहरूलाई तान्ने होइन, उहाँहरूले हामीलाई मिठाई खुवाएर, उहाँहरूलाई चाहिँ विचारका चाहिँ खुराकहरू दिएर सहयोग गर्नुपर्छ। त्यसमा मेरो उहाँहरूलाई आग्रह, अहङ्कारले तपाईंलाई नच्यापोस् र बहुदलीय लोकतन्त्रमा अरू भिन्न विचारहरू पनि हुन्छन्, त्यसलाई पनि साथ लिएर अगाडि बढ्नुहोस्। मेरो तपाईंहरूलाई यही शुभकामना छ।

‘सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ’ : प्रधानमन्त्री शाह

चितवन। प्रधानमन्त्री तथा बालेन्द्र शाह ले सरकार सञ्चालन र कार्यशैलीबारे उठ्ने प्रश्नहरूको जवाफ दिने क्रममा आफ्नै शैलीमा धारणा प्रस्तुत गरेका छन्।

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको यात्रालाई ‘एक्सप्रेस वेमा दौडिरहेको गाडी’सँग तुलना गरे।

सम्बोधनको सुरुवातमै उनले उपस्थित प्रतिनिधिहरूलाई ठट्टाको शैलीमा ‘नमस्ते’ भन्दै आफू बोल्न नचाहे पनि बोल्ने अवसर आइपरेको टिप्पणी गरेका थिए।

उनले नयाँ राजनीतिक शक्तिहरूको उदय सानो महत्वाकांक्षा र देश रूपान्तरणको तीव्र चाहनाबाट भएको उल्लेख गर्दै यस्ता शक्तिहरूलाई संस्थागत र मजबुत बनाउनु अहिलेको आवश्यकता भएको बताए।

सरकार सञ्चालनबारे उठ्ने आलोचना र सुझावप्रति संकेत गर्दै उनले केही नेताहरूले ‘गाडीमा एक्सेलेटरसँगै ब्रेक पनि हुनुपर्छ’ भन्ने गरेको प्रसंग उल्लेख गरे।

तर त्यसप्रति जवाफ दिँदै उनले भने, ‘धेरैले चिन्ता मान्नुभएको छ, सरकार भनेको गाडी जस्तो हो र यसमा ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ। त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ। हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो, यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।’

उनले आफ्नो कार्यशैली गन्तव्यमा केन्द्रित रहेको उल्लेख गर्दै देश परिवर्तनको लक्ष्यतर्फ कुनै ढिलाइ नगर्ने संकेत गरे।

कार्यक्रममा उनले रास्वपाको महाधिवेशनलाई संगठनात्मक रूपमा महत्वपूर्ण मोड भन्दै नयाँ राजनीतिक शक्तिहरूले देशको विकास र समृद्धिका लागि दृढ भएर अघि बढ्नुपर्ने धारणा पनि राखे।

चितवनमा जारी महाधिवेशन तीन दिनसम्म चल्नेछ, जसले पार्टीको नयाँ नेतृत्व चयन र आगामी राजनीतिक कार्यदिशा तय गर्नेछ।

रास्वपालाई कांग्रेसले भन्यो -‘प्रतिस्पर्धी हौं, दुश्मन होइनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो राजनीतिक प्रतिस्पर्धी भए पनि दुश्मन नभएको बताएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक राजनीतिमा दलहरूबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि एकअर्कालाई कमजोर बनाएर अघि बढ्ने सोच कांग्रेसको नरहेको स्पष्ट पारे।

उनले रास्वपाले छोटो अवधिमै हासिल गरेको जनसमर्थनको प्रशंसा गर्दै कांग्रेस पनि जनताको विश्वास जितेर अझ बलियो बन्न चाहने बताए। तर त्यसका लागि अर्को दललाई कमजोर पार्ने वा अवरोध सिर्जना गर्ने बाटो नअपनाइने उनको भनाइ थियो।

‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं। बन्छौं पनि एक दिन।’

उनले कांग्रेसले आफ्नो राजनीतिक उचाइ अरूलाई होच्याएर होइन, आफ्नै क्षमता र कार्यसम्पादनका आधारमा बढाउन खोजिरहेको बताए।

‘तर तपाईंहरूलाई सानो बनाएर होइन। तपाईंहरूको खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं।’

सभापति थापाले लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धाले मात्र राजनीतिक संस्कार बलियो बन्ने उल्लेख गर्दै जनताको भरोसा कायम राख्न सबै दलले आत्मसमीक्षा र सुधारको बाटो अपनाउनुपर्ने धारणा व्यक्त गरे।

रास्वपाको महाधिवेशनलाई शुभकामना दिँदै उनले नयाँ राजनीतिक शक्तिहरूले लोकतान्त्रिक प्रणालीलाई थप सशक्त बनाउन योगदान दिनुपर्नेमा समेत जोड दिए।

४ वर्षमै पाएको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको छोटो अवधिमै हासिल गरेको जनसमर्थनलाई ‘लोभलाग्दो’ भन्दै प्रशंसा गरेका छन्।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले चार वर्षको अवधिमै पार्टीले प्राप्त गरेको जनमत नेपाली राजनीतिक इतिहासकै उल्लेखनीय उपलब्धिमध्ये एक भएको बताए।

‘पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ, यो लोभलाग्दो छ। म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ उनले भने।

थापाले रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको उल्लेख गर्दै नेपाली राजनीतिक इतिहासमा यति छोटो समयमा कुनै दलले यति ठूलो जनसमर्थन प्राप्त गरेको उदाहरण सीमित रहेको बताए। उनले विगतमा यस्ता जनलहरका आधारमा उदाएका केही राजनीतिक शक्तिहरूले अपेक्षित परिणाम दिन नसकेको स्मरण गराउँदै प्राप्त विश्वासलाई जोगाउनु नै सबैभन्दा ठूलो चुनौती हुने धारणा राखे।

उनले संगठन निर्माण, जनविश्वास आर्जन र निर्वाचन सफलतासम्मको यात्रालाई सहज रूपमा लिन नहुने उल्लेख गर्दै नेतृत्व र कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए।

थापाले भने, ‘संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी नेतृत्वले जुन कुशलतापूर्वक भूमिका निर्वाह गरेको छ र कार्यकर्ताले जुन साथ दिनुभएको छ, त्यसका लागि सबै बधाइका पात्र हुनुहुन्छ।’

उनले लोकतान्त्रिक व्यवस्थामा जनताले दिएको विश्वासलाई नीतिगत स्पष्टता, सुशासन र परिणाममुखी काममार्फत कायम राख्नुपर्ने आवश्यकता पनि औंल्याए।

रास्वपा राष्ट्रिय राजनीतिमा कहाँ उभिन्छ ? -एमाले उपमहासचिव ज्ञवाली

चितवन। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वैचारिक र राजनीतिक दिशा अहिले राष्ट्रिय बहसको विषय बनेको बताएका छन्।

चितवनको भरतपुरमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिने भन्ने चासो आम नागरिकदेखि राजनीतिक वृत्तसम्म रहेको उल्लेख गरे।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ। तपाईंहरू केन्द्रमा उभिनुस्, दायाँतर्फ जानुस् वा बायाँतर्फ ढल्किनुस्, त्यो ठूलो कुरा होइन। मुख्य कुरा गरिखाने जनताको पक्षमा काम गर्ने, उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने पार्टी बन्नु हो।’

ज्ञवालीले महाधिवेशनले केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको स्पष्ट वैचारिक आधार, नीति तथा भावी कार्यदिशा निर्धारण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिँदै आगामी नेतृत्वले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने धारणा राखे।

उनले नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाले छोटो अवधिमै युवापुस्तालाई राजनीतिप्रति आकर्षित गर्न सफल भएको उल्लेख गर्दै यसबाट पुराना राजनीतिक दलहरूले पनि सिक्नुपर्ने बताए।

‘रास्वपाले युवाहरूलाई राजनीतिमा जोड्ने काम गरेको छ। यो सकारात्मक पक्ष हो। पुराना दलहरूले पनि यसबाट धेरै कुरा सिक्नुपर्छ,’ उनले भने।

ज्ञवालीले निर्वाचनमा प्राप्त जनमत र जनादेश आफैंमा अन्तिम उपलब्धि नभएको उल्लेख गर्दै त्यसलाई सही ढंगले संगठित, परिचालन र परिणाममुखी बनाउन सक्नु नै वास्तविक चुनौती भएको बताए।

उनले भने, ‘निर्वाचन जित्नु र जनमत प्राप्त गर्नु एउटा चरण मात्र हो। त्यसलाई व्यवस्थित रूपमा परिचालन गर्दै राष्ट्र निर्माणमा प्रयोग गर्न सक्नु अझ ठूलो जिम्मेवारी हो। जनादेश साधन हो, साध्य भनेको राष्ट्र निर्माण र देशको भविष्यको दिशा तय गर्नु हो।’

उनले नेपालका राजनीतिक दलहरूबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि सुशासन, विकास र जनजीविकासँग सम्बन्धित विषयमा साझा प्रतिबद्धता आवश्यक रहेको बताए। लोकतान्त्रिक प्रणालीमा जनताको विश्वास कायम राख्न राजनीतिक दलहरूले परिणाम दिने राजनीति गर्नुपर्ने उनको भनाइ थियो।

कोही शौचालयको लाइनमा,कोही बालेनलाई हेर्नमात्रै आएको भन्दै महाधिवेशनबाट फर्किए

काठमाडाैं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे पहिलाे महाधिवेशन चितवनमा जारी छ।

तर रास्वपा महाधिवेशनमा कोही भाषण सुन्दै गरेको दृश्य देखिएको छ। भने कोही शौचालयको लाइनमा त कोही मोहीको लाइनमा छन्।
कोही भने वालेन्द्र शाह (बालेन) लाई हेर्नमात्रै आएको भन्दै फर्किएका छन्।

महाधिवेशनमा बालेन, रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगनकुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,  पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष डा. सिके राउतलगायत सहभागी छन् ।

अहिले नेताहरुले महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गरिरहेका छन् ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।

तस्वीरहरू:

संविधान, कानुन र स्थापित पद्धतिको सीमाभित्रै रहन रास्वपालाई नेकपाका नेता पुनको सुझाव

चितवन। नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र सुधारका नाममा अघि बढाइने अभियान संविधान, कानुन र स्थापित पद्धतिको सीमाभित्रै सञ्चालन गर्न सुझाव दिएका छन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक शक्तिहरूप्रति जनतामा ठूलो आशा र अपेक्षा रहेको उल्लेख गरे। तर परिवर्तनको नाममा गरिने हरेक कदम विधिसम्मत र संवैधानिक दायराभित्र हुनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘थिति बसाउने, सुशासन कायम गर्ने र सुधारका कामहरू आवश्यक छन्। तर ती सबै संविधान र विधिको सीमाभित्र रहेर अघि बढ्नुपर्छ।’

नेता पुनले नेपाली समाजको राजनीतिक रूपान्तरण सहज प्रक्रियाबाट नभई लामो संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप सम्भव भएको स्मरण गराए। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न विभिन्न आन्दोलन र राजनीतिक संघर्षले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले वर्तमान व्यवस्थाको संरक्षण र सुदृढीकरणमा सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रममा उनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै अध्यक्षका तर्फबाट महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।

‘अध्यक्ष कमरेड प्रचण्ड स्वास्थ्यका कारण उपस्थित हुन सक्नुभएन। उहाँका तर्फबाट महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले भने।

पुनले रास्वपा र नेकपाको राजनीतिक पृष्ठभूमि, विचार र कार्यशैली फरक भए पनि सुशासन, पारदर्शिता र समाज रूपान्तरणका विषयमा धेरै समानता रहेको धारणा राखे। विगतमा पनि विभिन्न मुद्दामा दुई दलबीच सहकार्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि साझा एजेन्डामा सहकार्य सम्भव रहेको बताए।

उनले भने, ‘हामी सुशासनको पक्षमा छौँ र विगतमा पनि सहकार्य गरेका छौँ। अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा सहकार्य भएको छ। थिति बसाउने यहाँहरूको एजेन्डामा हाम्रो साथ रहनेछ।’

उनले राजनीतिक प्रतिस्पर्धा लोकतन्त्रको स्वाभाविक पक्ष भए पनि राष्ट्रिय हित, सुशासन र जनअपेक्षासँग जोडिएका विषयमा दलहरूबीच सहकार्य आवश्यक रहेको बताए। देशको विकास, सुशासन र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका लागि सबै राजनीतिक शक्तिले साझा जिम्मेवारीबोध गर्नुपर्ने उनको भनाइ थियो।

चितवनको भरतपुरमा सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गरिने अपेक्षा गरिएको छ।

रास्वपाले राजा ल्याउँछ भनेर राजावादीहरुले भाेट दिए : राजेन्द्र लिङ्देन

काठमाडाैं । राजावादीहरुले पनि राजा ल्याउन् भनेर रास्वपालाई भाेट दिएकाे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

चितवनमा आजदेखि सुरु रास्वपाकाे पहिलाे महाधिवेशनलाई सम्बाेधन गर्दै उनले भने यस्ताे बताएका हुन् ।

उनले भने ,‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालोनले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन् । तपाईँहरुकाे विशिष्ट जिम्मेवारी छ । जनताको यो विशष्टि चाहनालाई सम्वोधन गर्नुपर्ने छ ।’

लिङदेनले समस्या नेतामा मात्र नभएर संविधान र संवैधानिक व्यवस्थामा पनि रहेको बताए । उनले थपे, ‘यो संविधानमा सुधार नगरिकन देश अगाडि बढ्दैन । तपाईंहरुसित एैतिहासिक अवसर छ ।’

रास्वपाकाे पहिलाे महाधिवेशन जारी (भिडियाे live)

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे पहिलाे महाधिवेशन चितवनमा जारी छ ।

महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगनकुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,  पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष डा. सिके राउतलगायत सहभागी छन् ।

अहिले नेताहरुले महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गरिरहेका छन् ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।

रास्वपा महाधिवेशन : प्रतिस्पर्धा घटाउन उम्मेदवारी शुल्क चर्को

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा निर्धारण गरिएको उम्मेदवारी शुल्कप्रति असन्तुष्टि जनाएका छन्।

बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद थारुले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उम्मेदवारी शुल्क अत्यधिक राखेर प्रतिस्पर्धाबाट नेताहरूलाई निरुत्साहित गर्न खोजिएको आरोप लगाएका हुन्।

उनले पार्टीभित्र एक व्यक्तिको मात्र प्रभाव कायम राख्ने सोच हावी भएको संकेत गर्दै उम्मेदवारी शुल्कको व्यवस्थामाथि प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, ‘रुपैयाँको डर देखाएर अरू चुनावमा नलडून भन्ने हो ? एक्लै पार्टीमा सबकुछ हुन्छु, गर्छु भन्ने भ्रम हो ? यो भ्रम हो भने भ्रम नपाले हुन्छ है। ऋण खोजेर पनि चुनाव लड्ने हो। बाँकी प्रेम छ।’

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ। असार ९ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका छन् भने प्रधानमन्त्री बालेन्द्र साहसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि उद्घाटन सत्रमा उपस्थित भएका छन्।

महाधिवेशनका लागि रास्वपाले विभिन्न पदमा उम्मेदवारी दिने व्यक्तिका लागि शुल्क निर्धारण गरेको छ। पार्टीले सभापति पदका लागि ५१ हजार रुपैयाँ, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ।

यही शुल्क व्यवस्थालाई लिएर पार्टीभित्र बहस सुरु भएको छ। केही नेता तथा कार्यकर्ताले शुल्क अत्यधिक रहेको टिप्पणी गरेका छन् भने आर्थिक रूपमा सक्षम व्यक्तिलाई मात्र प्रतिस्पर्धामा सहज हुने अवस्था सिर्जना हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

महाधिवेशनबाट रास्वपाले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ। संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। उम्मेदवारी शुल्कको विषय भने महाधिवेशनकै सुरुवातमा पार्टीभित्र विवाद र चर्चा बन्न पुगेको छ।

वर्षासँगै यसरी सुरु भयो रास्वपाको महाधिवेशन [तस्वीरहरू]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।

महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका थिए। उद्घाटन कार्यक्रम चलिरहेकै बेला वर्षा भएपछि केहीबेर कार्यक्रमस्थलमा छाता ओढ्ने र ओत खोज्ने अवस्था बनेको थियो। रास्वपाका नेताहरूले भने वर्षालाई शुभ संकेत र सकारात्मक सन्देशका रूपमा व्याख्या गरेका छन्।

भरतपुरस्थित महाधिवेशनस्थलमा देशभरबाट आएका प्रतिनिधि, पार्टी कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उल्लेख्य उपस्थिति रहेको छ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी भएका छन्।

रास्वपाको स्थापना भएपछि पहिलो पटक आयोजित यो महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

महाधिवेशनमा संगठन विस्तार, राजनीतिक रणनीति, नेतृत्व चयन र विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ। यसबाट पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ। यसअघि रास्वपाले विधान संशोधन गरी नयाँ संगठनात्मक संरचना तय गरिसकेको छ।

संशोधित विधानअनुसार अब पार्टीमा १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था गरिएको छ। महाधिवेशनले यही संरचनाअनुसार नयाँ नेतृत्व चयन गर्नेछ।

तस्वीरहरू: 

रास्वपाको पहिलो महाधिवेशन घण्टी बजाएर उद्घाटन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।

उद्घाटनसँगै रास्वपाको संगठनात्मक भविष्य, नेतृत्व चयन र राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण छलफल सुरु भएको छ।

महाधिवेशनको उद्घाटन सत्रको सञ्चालन महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका थिए। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, प्रतिनिधि तथा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको छ।

रास्वपाको स्थापना पश्चात् पहिलो पटक आयोजित यो महाधिवेशनलाई पार्टीका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ। महाधिवेशनमा संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति, विधान संशोधन, नेतृत्व संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशन असार ९ गतेसम्म चल्नेछ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्ययोजनाबारे पनि महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

रास्वपा महाधिवेशनमा मिलन लिम्बूको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा नेता मिलन लिम्बूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

‘विचारसहितको नेतृत्व’ भन्ने नारासहित केन्द्रीय सदस्य पदमा नेता लिम्बूले उम्मेदवारी घाेषणा गरेका हुन् । युवा नेता लिम्बू पार्टीभित्र नीतिगत बहस, संगठन विस्तार तथा प्रचारात्मक जनसम्पर्क युवा नेतृत्वको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आफू केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेको उनको भनाइ छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा भइरहेको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। यसै क्रममा विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।

मिलन लिम्बू रास्वपाभित्र सक्रिय युवा नेताका रूपमा परिचित छन्। पार्टीको संगठन निर्माण, जनसम्पर्क विस्तार तथा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले केन्द्रीय समितिमा पुगेर पार्टीलाई थप संस्थागत र सशक्त बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अन्तर्गत विभिन्न पदका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लिम्बूले प्रतिनिधिहरूसँग समर्थनको अपिल गर्दै पार्टीलाई वैचारिक, संगठनात्मक र राजनीतिक रूपमा थप मजबुत बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

रास्वपाले पहिलो महाधिवेशनमार्फत पार्टी संरचनालाई थप व्यवस्थित गर्दै आगामी राजनीतिक यात्राको खाका कोर्ने तयारी गरिरहेको बेला लिम्बूको उम्मेदवारीलाई पनि महाधिवेशनभित्रको एक महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

मुकुलको गुनासो – ‘निम्तो सूचीमा समेत परिनँ।’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा आफूलाई निमन्त्रणा नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टी स्थापना गर्ने व्यक्तिलाई नै महाधिवेशनमा बोलाइएको सूचीमा नराखिएको भन्दै प्रश्न उठाएका हुन्।

उनले लेखेका छन्, ‘आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’

ढकालको यो अभिव्यक्तिले रास्वपाको आन्तरिक व्यवस्थापन र संगठनात्मक सम्बन्धबारे फेरि चर्चा सुरु भएको छ। महाधिवेशन सुरु भएसँगै विभिन्न नेताहरूको सहभागिता र अनुपस्थितिलाई लिएर पार्टीभित्रका मतभेदहरू पनि सतहमा देखिन थालेका छन्।

ट्रम्प-मेलोनीबीच आरोप-प्रत्यारोप

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीचको सार्वजनिक जुहारीले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय राजनीतिक चर्चा तातेको छ।

जी-७ सम्मेलनका क्रममा सुरु भएको भनिएको विवाद अहिले व्यक्तिगत टिप्पणी र कूटनीतिक असन्तुष्टिसम्म पुगेको छ।

विवादको मूल कारण जी–७ सम्मेलनमा खिचिएको फोटो र त्यससँग जोडिएको व्याख्या हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै मेलोनीले आफूसँग फोटो खिच्न ‘बारम्बार आग्रह गरेको’ दाबी गरे। साथै उनले इटालीमा मेलोनीको लोकप्रियता कमजोर रहेको टिप्पणी पनि गरेका थिए।

ट्रम्पले लेखेका थिए, ‘उहाँले मसँग फोटो खिच्न बारम्बार बिन्ती गर्नुभयो। इटालीमा उहाँको लोकप्रियता खराब छ। अमेरिकाले इरानलाई सैन्य रूपमा पराजित गरिसकेपछि उहाँ फेरि साथी बन्न चाहनुहुन्छ ताकि आफ्नो नम्बर बढोस्।’

उनले इटालीले केही सैन्य सहकार्यका क्रममा अमेरिकी प्रयोगका लागि अड्डा र रनवे उपलब्ध नगराएको विषयलाई पनि असन्तुष्टिको रूपमा उठाएका थिए। ट्रम्पका अनुसार यसले सैन्य रणनीतिमा कठिनाइ सिर्जना गरेको थियो।

तर मेलोनीले ट्रम्पका आरोपलाई कडा रूपमा अस्वीकार गरेकी छन्। इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै पनि अवस्थामा ‘बिन्ती’ नगरेको स्पष्ट पारेकी छन्।

उनले भनिन्, ‘इटाली र म कहिल्यै बिन्तीभाउ गर्दैनौं। तपाईंको साथी हुनु वा नहुनुले मेरो लोकप्रियतामा कुनै असर गर्दैन। मेरो लोकप्रियता इटालीको हित रक्षा गर्ने क्षमतासँग जोडिएको हो।’

मेलोनीले ट्रम्पलाई आफ्नो राजनीतिक लोकप्रियता र व्यक्तिगत सम्बन्धलाई अलग राख्न पनि सुझाव दिएकी छन्। ‘मेरो लोकप्रियता तपाईंको चासोको विषय होइन,’ उनको भनाइ थियो।

उनले अमेरिकी सैन्य अड्डा प्रयोगसम्बन्धी टिप्पणीको पनि खण्डन गर्दै सबै गतिविधि विद्यमान अन्तर्राष्ट्रिय सम्झौताअनुसार नै हुने बताएकी छन्।

यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेलोनीको घरेलु समर्थन पछिल्ला सर्वेक्षणमा २८ प्रतिशत आसपास पुगेको छ भने ट्रम्पको अनुमोदन दर ३६ प्रतिशत रहेको उल्लेख गरिएको छ।

विश्लेषकहरूका अनुसार यो विवाद केवल व्यक्तिगत आरोप-प्रत्यारोप मात्र नभई पश्चिमी शक्तिहरूबीचको कूटनीतिक असहजताको संकेत पनि हो, जसले आगामी दिनमा राजनीतिक सम्बन्धमा थप असर पार्न सक्ने देखिन्छ।

रास्वपा महाधिवेशनमा देखिएको भयानक दृश्य : मोहीको हरालुछ [तस्वीरहरू]

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा कार्यकर्ताहरूलाई मोही वितरण गर्ने क्रममा भीडभाड र सामान्य धक्कामुक्का भएको छ।

महाधिवेशनस्थलमा आयोजकले मोही वितरण सुरु गरेपछि एकैपटक ठूलो संख्यामा कार्यकर्ताहरू पुग्दा अवस्था केहीबेर अस्तव्यस्त बनेको हो।

लाइन व्यवस्थापन कमजोर देखिँदा मोही लिन पुगेका कार्यकर्ताहरूबीच धकेलाधकेल भएको दृश्य देखिएको थियो। भीड नियन्त्रणका लागि स्वयंसेवक परिचालन गरिए पनि सुरुवाती चरणमा व्यवस्था मिलाउन कठिन भएको जनाइएको छ।

तस्बिरहरूमा कार्यकर्ताहरू हात फैलाउँदै मोही लिन प्रयास गरिरहेको र केही स्थानमा बोतलका लागि तानातानसमेत भएको देखिन्छ।

यद्यपि, घटनापछि व्यवस्थापन सुधार गर्दै वितरण प्रक्रिया क्रमशः नियमित गरिएको र महाधिवेशनका अन्य कार्यक्रम भने सामान्य रूपमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

तस्वीरहरू:

६१ वर्षीय आमिर खानले तेस्रो विवाह गर्दै

काठमाडौं। बलिउडका चर्चित अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्रेटसँग आगामी जुलाई ५ मा विवाह गर्ने घोषणा गरेका छन्।

६१ वर्षीय अभिनेता खानको यो तेस्रो विवाह हुने भएको हो।

उनले यो विवाह अत्यन्तै साधारण र निजी रूपमा सम्पन्न गर्ने योजना बनाएका छन्। विवाहलाई ‘रजिस्टर्ड म्यारिज’ का रूपमा गर्ने तयारी गरिएको छ। जसमा परिवारका नजिकका सदस्य र केही सीमित साथीहरू मात्र सहभागी हुनेछन्।

आमिर खानले आफू र गौरी दुवै विवाहलाई तडकभडक र ठूलो समारोह बिना, शान्त र निजी रूपमा गर्न चाहेको बताएका छन्।

गत वर्ष आफ्नो ६० औं जन्मदिनको अवसरमा आमिरले गौरी स्प्रेटलाई सार्वजनिक रूपमा परिचय गराएका थिए। त्यसयता दुवै विभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिँदै आएका छन्। जसले उनीहरूको सम्बन्धलाई लिएर व्यापक चासो बढाएको थियो।

विवाहबारे केही समयदेखि चलेको हल्लालाई उनले हालै पुष्टि गरेका हुन्।

उनले आफ्नो सम्बन्धलाई गहिरो र प्रतिबद्ध बताउँदै भनेका छन्, ‘मैले मनैदेखि उनलाई आफ्नो श्रीमती मानिसकेको छु। अब यस सम्बन्धलाई कानुनी रूपमा औपचारिकता दिनु हाम्रो यात्राको स्वाभाविक कदम हो।’

अभिनेता खानले विवाहपछि केही समय चलचित्र क्षेत्रबाट विश्राम लिने पनि बताएका छन्।

क्वान्टम प्रकाश नियन्त्रणमा सफलता

एजेन्सी। अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले क्वान्टम प्रकाश स्रोतलाई नियन्त्रण गर्ने नयाँ प्रविधि विकास गरेका छन्। जसलाई भविष्यका क्वान्टम प्रणालीलाई वास्तविक–विश्व प्रयोगमा उपयोगी बनाउन महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटीएस) ले सार्वजनिक गरेको जानकारी अनुसार, यो अनुसन्धानले साना क्वान्टम प्रकाश स्रोतहरूको नियन्त्रणका लागि नयाँ संयन्त्र विकास गरेको हो।

यसले क्वान्टम कम्प्युटिङ, सुरक्षित सञ्चार र अत्यन्त संवेदनशील सेन्सिङ प्रविधिमा यसको प्रयोगलाई व्यवहारिक बनाउने दिशामा प्रगति गरेको बताइएको छ।

‘साइन्स एडभान्सेस’ मा प्रकाशित अध्ययन अनुसार अनुसन्धानकर्ताहरूले प्रयोगका क्रममा प्रकाशको रङ तथा तरंग लम्बाइमा उल्लेखनीय परिवर्तन गर्न सफल भएका छन्। साथै, तहयुक्त सामग्रीलाई बारम्बार उठाउने, घुमाउने र पुनः मिलाउने (रि–अलाइन) गर्ने प्रक्रिया पनि सफलतापूर्वक प्रदर्शन गरिएको छ, जुन अघिल्ला प्रयोगभन्दा फरक उपलब्धि मानिएको छ।

यूटीएस नेतृत्वको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीका अनुसार हेक्सागोनल बोरोन नाइट्राइडको संरचनाले यसको पातलो र तहयुक्त विशेषतालाई प्रभावकारी रूपमा उपयोग गर्न अनुमति दिएको छ।

यसले परम्परागत रूपमा प्रयोग हुने हिरा वा सिलिकन कार्बाइडजस्ता ठोस–अवस्था सामग्रीको विकल्पमा यसको प्राकृतिक गुणलाई नै उपयोग गर्ने नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार यो उपलब्धिले क्वान्टम प्रकाश स्रोतको नियन्त्रणमा थप सटीकता र स्थिरता प्रदान गर्ने भएकाले भविष्यका उन्नत क्वान्टम प्रविधिहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।

बालेन पक्षलाई यसरी रिझाउँदैछ रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनपछि गठन हुने नयाँ नेतृत्वमा विभिन्न राजनीतिक तथा सामाजिक समूहबाट समायोजन भएर आएका नेता–कार्यकर्तालाई चुनावी प्रतिस्पर्धा बाहिरैबाट केन्द्रीय समितिमा समेट्ने तयारी गरेको छ।

वरिष्ठ नेता वालेन्द्र शाह(बालेन) पक्षलाई पार्टी प्रवेश गरेको छोटो समयमै आन्तरिक निर्वाचन प्रक्रियामा उत्रिन कठिन हुने निष्कर्षसहित सभापतिको मनोनयनमार्फत केन्द्रीय सदस्य बनाउने रणनीति अघि सारिएको हो।

आगामी आमनिर्वाचन अघि बालेन समूह, विवेकशील साझा, खगेन्द्र सुनुवार समूह, थरुहट लगायत विभिन्न राजनीतिक धारबाट धेरै नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए। उनीहरूमध्ये केहीले सरकार तथा संसदमा समेत प्रतिनिधित्व गरिरहेका छन्।

तर, पार्टी संगठनमा सक्रिय रहेर पनि अवसर नपाएका कार्यकर्तालाई केन्द्रीय संरचनामा समेट्ने तयारी गरिएको हो।

यसै उद्देश्यका लागि पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय बनाइएको जनाइएको छ। हालै बसेको केन्द्रीय समिति बैठकमा सभापतिले समायोजन भएर आएका नेता–कार्यकर्तालाई अन्याय नहुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकमा उनले भनेका भने, ‘तपाईंहरूको अवस्था मलाई राम्रोसँग थाहा छ। तपाईंहरूले सक्रिय रूपमा पार्टीका लागि काम गरिरहनुभएको छ। तर भर्खरै संगठनमा आएर चुनावी प्रतिस्पर्धा गर्न सहज हुँदैन। यसलाई पार्टीले सम्बोधन गर्नेछ।’

स्रोतका अनुसार सभापतिले पार्टीमा प्रवेश गरे पनि हालसम्म कुनै लाभको पद नपाएका समायोजन समूहका नेताहरूलाई केन्द्रीय सदस्य मनोनयनमा प्राथमिकतामा राख्ने तयारी गरिएको छ।

रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगेर यस्तो भन्छन् राप्रपा अध्यक्ष लिङदेन [भिडियो]

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले राजनीतिक दलहरूको महाधिवेशनमा एक-अर्का दलका नेताहरूले शुभकामना दिनु सामान्य र सकारात्मक अभ्यास भएको बताएका हुन् ।

उनका अनुसार यस्ता कार्यक्रमले राजनीतिक संस्कार र संवादको परम्परालाई बलियो बनाउँछ।

लिङदेनले हालै सम्पन्न निर्वाचनपछि रास्वपाले प्राप्त गरेको जनमतलाई जनताको नयाँ अपेक्षासँग जोड्दै उक्त दलको महाधिवेशनलाई महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेर्नुपर्ने धारणा पनि राखे। उनले यस्तो अवसरमा उपस्थित हुनु जिम्मेवार राजनीतिक नेताको भूमिका भएको बताए।

त्यसैगरी, उनले आफ्नै पार्टी राप्रपाभित्र देखिएको असन्तुष्टि तथा केही नेताहरूको बहिर्गमनबारे प्रतिक्रिया दिँदै पार्टीबाट सदस्यहरू बाहिरिनु दुःखद पक्ष भएको टिप्पणी गरे।

 

यस्तो छ रास्वपा महाधिवेशनको माहोल [तस्वीरहरू]

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुने भएको छ।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो।

महाधिवेशन भरतपुरस्थित उद्योग संघ परिसरमा आयोजना गरिएको हो। आइतबार बिहानैदेखि महाधिवेशनस्थलमा प्रतिनिधि, नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ र वातावरण उत्सवमय बनेको छ।

तस्वीरहरू:

किन गइन् सुनिता डंगोल मध्यरातमा इजरायल?

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल इजरायल प्रस्थान गरेकी छन्।

राजधानी तेल अविभमा आयोजना हुन लागेको ‘म्युनिसिपल कन्फरेन्स’ को दशौं संस्करणमा सहभागी हुन उनी गएराति त्यसतर्फ प्रस्थान गरेकी हुन्।

डंगोलको नेतृत्वमा तीन सदस्यीय टोली इजरायल गएको हो। टोलीमा महानगरका प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा पनि सहभागी छन्।

तीन दिनसम्म चल्ने ‘सफल साझेदारी’ (विनिङ पार्टनरसिप) सम्मेलनमा विश्वका करिब १५० भन्दा बढी शहरका प्रमुख, नगरपालिका प्रतिनिधि, सरकारी अधिकारी, शहरी योजनाकार तथा विज्ञहरूको सहभागिता रहने बताइएको छ।

सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्स्पो) तथा विभिन्न व्यावसायिक तथा प्राविधिक भ्रमणमा पनि नेपाली प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

नेपालबाट काठमाडौं महानगरपालिकासहित पोखरा महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पनि उक्त कार्यक्रमका लागि सहभागी भएका छन्।

पूर्वएसएसपी जीवनकुमार श्रेष्ठले घाेषणा गरे केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले गण्डकीकाे भूगाेलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घाेषणा गरेका छन् ।

३० वर्षसम्म नेपाल प्रहरीमा इमानदारी, अनुशासन र समर्पणका साथ सेवा गरी एसएसपी) पदबाट अवकाश प्राप्त उनी हाल रास्वपाको केन्द्रीय उत्पादन प्रवर्द्धन विभागका सदस्यका रूपमा सक्रिय छन्।

उनले उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले सार्वजनिक सेवामा हासिल गरेको अनुभव, नेतृत्व क्षमता र जवाफदेहिताको संस्कारलाई पार्टी संगठन सुदृढीकरण, नीति निर्माण तथा परिणाममुखी कार्यसम्पादनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुशासन, पारदर्शिता, जवाफदेहिता र संगठन सुदृढीकरणलाई उनले मुख्य एजेन्डा बनाएका छन् । साथै उत्पादन, उद्यमशीलता र समृद्धिको अभियानलाई पार्टीभित्र तथा समाजमा थप प्रभावकारी रूपमा अघि बढाउन भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन्।

‘अनुभव बोल्छ, परिणाम देखिन्छ, सबल संगठनका लागि सक्षम नेतृत्व’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका श्रेष्ठले अनुभव र युवा ऊर्जाबीच सन्तुलन कायम गर्दै बलियो संगठन निर्माणमा योगदान दिने दाबी गरेका छन्।

उनले पार्टीलाई अझ सक्षम, पारदर्शी र जनविश्वासयुक्त बनाउने यात्रामा आफ्नो अनुभव र प्रतिबद्धताको मूल्याङ्कन गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग मत तथा समर्थनको अपिल गरेका छन्।

श्रेष्ठले भनेका छन्, ‘सार्वजनिक सेवामा आर्जन गरेको अनुभवलाई पार्टी र राष्ट्र निर्माणमा समर्पित गर्ने उद्देश्यका साथ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुँ। आदरणीय प्रतिनिधि साथीहरूको अमूल्य मत र समर्थनको हार्दिक अपेक्षा गर्दछु।’
रास्वपाकाे महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ । पार्टी स्थापनाकाे चार वर्षमा हुन लागेकाे महाधिवेशनले पार्टी नेतृत्वसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरु चुन्ने छ।

श्रीमतीमाथि तातो तेल खन्याएर फरार श्रीमान् पक्राउ

कञ्चनपुर। श्रीमतीमाथि तातो तेल खन्याएर गम्भीर घाइते बनाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय व्यक्ति पक्राउ परेका हुन्।

प्रहरीका अनुसार १५ पुस २०८२ मा घरको भान्सामा सेलरोटी पकाइरहेकी श्रीमतीमाथि उनले अचानक तातो तेल खन्याएका थिए। उक्त घटनामा पीडितको अनुहार तथा शरीरका विभिन्न भाग गम्भीर रूपमा जलेर क्षति पुगेको थियो।

घटनापछि फरार रहेका उनीविरुद्ध ‘तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको थियो।

फरार अभियुक्तको खोजतलासका क्रममा प्रहरीले ६ असारमा भीमदत्त नगरपालिका–४ बाट उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

रास्वपा महाधिवेशनमा देखिने छैनन् तीन संस्थापक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुँदै गर्दा पार्टी स्थापना गर्दाका केही चर्चित नेता महाधिवेशनमा नदेखिने भएका छन् ।

पार्टी निर्माण, संगठन विस्तार र वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपाको उदयमा महत्वपूर्ण भूमिका खेलेका तीन संस्थापक डा. मुकुल ढकाल, सुमना श्रेष्ठ र सन्तोष परियार पार्टीकाे पहिलाे महाधिवेशनमा नदेखिने भएका हुन् ।

ढकाल रास्वपा गठनका बेला सभापति रवि लामिछानेपछि सबैभन्दा प्रभावशाली नेतामध्ये एक थिए। पार्टी दर्ता, विधान निर्माण, संगठन विस्तार र राजनीतिक दस्तावेज तयार पार्ने काममा उनको महत्वपूर्ण भूमिका थियो। उनी प्रवक्ता हुँदै महामन्त्रीसम्म बनेका थिए। तर पछि पार्टी नेतृत्वसँगको विवाद र अनुशासनसम्बन्धी प्रश्न उठेपछि उनी कारबाहीमा परे र पार्टीबाट बाहिरिए।

त्यस्तै, रास्वपाकी संस्थापक नेतृ सुमना श्रेष्ठ पनि महाधिवेशनमा देखिने छैनन्। पार्टीकी सहमहामन्त्री तथा समानुपातिक सांसद भइसकेकी श्रेष्ठले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपासँग दूरी बनाएकी छिन् । पूर्वशिक्षामन्त्रीसमेत रहेकी उनले शिक्षा र नीतिगत बहसमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
अर्का संस्थापक सदस्य सन्तोष परियार पनि अहिले रास्वपामा छैनन्। पार्टीको प्रारम्भिक संगठन निर्माणमा सक्रिय रहेका परियार पछि रास्वपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए। त्यसैले उनी पनि रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुने छैनन्।

रास्वपाले महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थापक सदस्यहरूको योगदानलाई सम्मान गर्ने तयारी गरेको छ। तर पार्टी स्थापना र विस्तारका क्रममा महत्वपूर्ण भूमिका खेलेका यी तीन संस्थापक अनुहारको अनुपस्थितिले महाधिवेशनमा एउटा विशेष चर्चा भने सिर्जना गरेको छ।

७ असार २०७९ मा दर्ता भएको रास्वपाले स्थापना भएकै वर्षको प्रतिनिधिसभा निर्वाचनमा २१ सिट जित्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको थियो। त्यसपछि प्राप्त राजनीतिक सफलतासँगै पार्टी पहिलो महाधिवेशनसम्म आइपुगेको भए पनि सुरुवाती यात्राका केही प्रमुख सहयात्रीहरू भने अब त्यो यात्राको हिस्सा छैनन्।

रास्वपा महाधिवेशन दुर्लभ दृश्य : पाँच दलका पाँच शिर्ष नेता एकै ठाउँ उभिँदै

चितवन। चितवनको भरतपुरमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा एक दुर्लभ दृश्य देखिने भएको छ। 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक पाँच प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा देखिन लागेका हुन्।

रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा सत्ता-प्रतिपक्षका प्रमुख नेताहरूको उपस्थिति रहेको छ।

पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाहले औपचारिक रूपमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनमा उनले प्रतीकात्मक रूपमा ‘घण्टी बजाएर’ कार्यक्रम सुरु गर्ने बताइएको छ।

उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने भएका छन्। रास्वपा महाधिवेशनमा सहभागी हुन उनीहरू आ-आफ्ना पार्टीका तर्फबाट शुभकामना मन्तव्य दिन चितवन पुगेका हुन्।

राजनीतिक विश्लेषकहरूले यस घटनालाई पछिल्लो निर्वाचनपछिको शक्ति सन्तुलन र दलहरूबीचको संवादको नयाँ संकेतका रूपमा हेरिरहेका छन्। एकै मञ्चमा प्रमुख दलका नेताहरूको उपस्थिति देखिनु नेपाली राजनीतिमा सहकार्य र प्रतिस्पर्धा दुवैको मिश्रित संकेत भएको टिप्पणी भइरहेको छ।

रास्वपा २०७९ को प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिमा तीव्र रूपमा उदाएको दल हो। पहिलो निर्वाचनमै २० सिट जित्दै चौथो ठूलो दल बनेको रास्वपाले पछिल्लो फागुन २१ को निर्वाचनपछि जनमतमा उल्लेखनीय वृद्धि गर्दै राजनीतिक प्रभाव अझ विस्तार गरेको देखिन्छ।

यस महाधिवेशनलाई पार्टीले संगठन विस्तार, नीतिगत स्पष्टता र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

उद्घाटन सत्रमै शीर्ष नेतृत्वको व्यापक सहभागिताले महाधिवेशनलाई थप राजनीतिक महत्व दिएको छ।

रास्वपा महाधिवेशन : कांग्रेसबाट सभापति गगन स्वयं रबि-बालेनसँग उभिँदै

चितवन । चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं शुभकामना दिन उपस्थित हुने भएका छन्।

यसअघि उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी भए पनि अन्ततः सभापति थापा आफैं सहभागी हुने निर्णय भएको उनका सचिवालय प्रमुखले जानकारी दिएका छन्।

पार्टी स्रोतका अनुसार संसदको सबैभन्दा ठूलो दलको महाधिवेशन भएकाले त्यसलाई बेवास्ता गर्न नहुने निष्कर्षसहित सभापति थापा स्वयं जाने निर्णय गरिएको हो।

अन्य दलका प्रतिनिधिहरू पनि महाधिवेशनमा सहभागी हुने क्रम जारी छ। नेकपा एमालेले पूर्व उपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ भने नेकपा माओवादी केन्द्रले सचिवालय सदस्य वर्षमान पुनलाई प्रतिनिधि बनाएको छ।

यसअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनलाई शुभकामना दिइसकेका छन्। अन्य दलहरूबाट पनि क्रमशः प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

नेपालमा खाेजी भइरहँदा देउवा दम्पत्ति झुल्किए हङकङमा

काठमाडौं। नेपालमा पक्राउ पुर्जी जारी भइसकेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङमा देखिएका छन् ।

देउवा दम्पत्ती हङकङको सडकमा हिँडिरहेको देखिएको छ ।

केशर थापाले सार्वजनिक गरेको भिडियोमा केहीबेर हिँडेर उनीहरू एउटा कारमा चढेको देखिन्छ ।

जेन–जी विद्रोहको बेला देउवा दम्पत्तीमाथि कुटपिट भएको थियो । त्यसपछि उपचारका लागि भन्दै उनीहङ सिंगापुर गएका थिए । यतिबेला भने उनीहरू हङकङमा देखिएका हुन् ।

अदालतबाट उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । हालै उनीहरूले आफूहरूविरुद्धको उजुरीमा छानबिनका लागि सहयोग गर्ने तर पक्राउ नगर्न माग गर्दै पत्र लेखेका थिए ।

डा. आरजु भने इ–पासपोर्ट प्रकरणमा पनि मुछिएका छन् । उनका छोरा जयवीर देउवा पनि मुछिएको विवरण सार्वजनिक भएको छ ।

यस्तोमा देउवा दम्पती कहाँ छन् ? यता नेपालमा खोजिनिति बढ्दा एक भिडियोमा उनीहरू हङकङमा देखिएका हुन् ।

तर, भिडियो कहिलेको भन्ने पुष्टि भएको छैन ।

महाधिवेशन उद्घाटन गर्न चितवन पुगे प्रधानमन्त्री ‘बालेन’

चितवन। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।

चितवनमा असार ९ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन आइतवार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका छन् भने संगठनात्मक संरचना, नीति तथा आगामी राजनीतिक दिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।

पार्टी नेतृत्वले यस महाधिवेशनलाई संगठन विस्तार र वैचारिक स्पष्टताको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।