`

स्व-व्यवस्थापन गर्नु भन्दै ५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन

काठमाडौं। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई पाँच दिनभित्र भवन खाली गर्न निर्देशन दिएको छ।

समितिले सोमबारदेखि शुक्रबारसम्म स्व-व्यवस्थापन गरी स्थान खाली गर्नुपर्ने भन्दै सूचना टाँस गरेको हो।

हाल उक्त होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बसोबास गरिरहेका छन्। बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार प्रत्येक परिवारलाई स्व–व्यवस्थापनका लागि २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।

उनका अनुसार खाली गर्नुअघि सम्बन्धित परिवारले बैंक खाता विवरणसहित निवेदन पेश गर्नुपर्नेछ। खाता विवरण प्राप्त भएपछि रकम उपलब्ध गराइने र त्यसपछि उनीहरूलाई स्व–व्यवस्थापनमार्फत स्थान खाली गर्नुपर्ने व्यवस्था गरिएको छ।

सूचना अधिकारी बानियाँले भने, ‘राहत प्राप्त गर्न खाता नम्बर सहितको निवेदन पेश गर्न भनिसकेका छौँ, खाता प्राप्त हुनासाथ स्व–व्यवस्थापनका लागि २५ हजार दिन्छौँ।’

समितिका अनुसार भविष्यमा वास्तविक सुकुम्बासीको रूपमा प्रमाणित हुनेहरूका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने विषयमा पनि योजना रहेको छ।

यसअघि २०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौं उपत्यकाका नदी किनारामा रहेका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। ती बस्ती हटाइएपछि २ हजार ६०८ जनाले नाम दर्ता गराएका थिए।

सरकारी निर्णयअनुसार होल्डिङ सेन्टरमा राखिएकालाई स्व–व्यवस्थापनका लागि प्रोत्साहनस्वरूप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख छ। सोही नीति कार्यान्वयन अन्तर्गत कीर्तिपुरस्थित होल्डिङ सेन्टर खाली गराउन थालिएको समितिले जनाएको छ।

समितिका अनुसार प्रारम्भिक चरणमा विभिन्न होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई स्व–व्यवस्थापनमा पठाउने योजना रहेको छ। त्यसपछि नमान्नेहरूका सम्बन्धमा सरकारले वैकल्पिक व्यवस्थाबारे निर्णय गर्ने तयारी भइरहेको छ।

सम्बन्धित अधिकारीका अनुसार हाल अन्य होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई पनि चरणबद्ध रूपमा सोही प्रक्रियामा समेटिनेछ।

४३ वर्षको उमेरमा आमा बन्दै एनी

एजेन्सी। हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवे ४३ वर्षको उमेरमा तेस्रो सन्तानकी आमा बन्ने भएकी छन्।

उनले १९ जुनमा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू पति एडम शुल्मनसँग तेस्रो सन्तानको प्रतीक्षामा रहेको जानकारी सार्वजनिक गरेकी हुन्।

आगामी १७ जुलाई २०२६ मा उनको नयाँ फिल्म ‘द ओडिसी’ प्रदर्शनमा आउनुअघि उनले यो खुसीको खबर साझा गरेकी हुन्। घोषणासँगै उनको व्यक्तिगत र व्यावसायिक जीवन दुवै विषयमा विश्वभर चर्चा सुरु भएको छ।

एनीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनी सेतो पोशाकमा देखिन्छिन्। सुरुमा पेट छोपेर उभिएकी उनी पछि हात हटाउँदा बेबी बम्प देखिन्छ। भिडियोको पृष्ठभूमिमा बार्बरा लुइसको चर्चित गीत ‘बेबी आई एम योर्स’ बजिरहेको सुनिन्छ। उनले क्याप्सनमा ‘बेबी, आइ एम योर्स’ लेखेकी छन्।

उनको गर्भावस्थाको घोषणा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बधाई सन्देशको ओइरो लागेको छ। प्रशंसकहरूले कमेन्टमा हार्ट इमोजी र शुभकामनाले पोस्ट भरिएका छन्।

एनी र उनका पति एडम शुल्मन पहिले नै दुई छोराका अभिभावक हुन्। उनीहरूका जेठा छोरा जोनाथन १० वर्षका छन् भने कान्छा छोरा ज्याक ६ वर्षका छन्। सन् २०१२ मा विवाह गरेका दम्पतीले २०१६ मा पहिलो छोरा र २०१९ मा दोस्रो छोरालाई स्वागत गरेका थिए। अब करिब सात वर्षपछि उनीहरू पुनः अभिभावक बन्न लागेका हुन्।

व्यावसायिक रूपमा पनि एनी ह्याथवे हाल उत्कृष्ट चरणमा छिन्। अप्रिल २०२६ मा ‘पीपल म्यागजिन’ले उनलाई ‘विश्वकै सबैभन्दा सुन्दर स्टार २०२६’ को उपाधि प्रदान गरेको थियो। त्यसपछि मे १ मा प्रदर्शनमा आएको फिल्म ‘द डेविल वेयर्स प्राडा २’ ले विश्वव्यापी रूपमा राम्रो व्यापार गरेको बताइएको छ।

अब उनी प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतीक्षित फिल्म ‘द ओडिसी’ मा देखिने भएकी छन्, जसले अग्रिम बुकिङमै उल्लेखनीय सफलता पाएको चर्चा छ। यसका साथै उनको अर्को फिल्म ‘मदर मेरी’ पनि प्रदर्शनको तयारीमा रहेको छ।

व्यक्तिगत जीवनमा एनीले विभिन्न उतारचढाव भोगेकी छन्। उनले एक अन्तर्वार्तामा सन् २०१५ मा पहिलो गर्भावस्थाका क्रममा गर्भपतन भएको खुलासा गरेकी थिइन्, जसले उनलाई भावनात्मक रूपमा गहिरो असर पारेको थियो।

सन् २०१२ मा परम्परागत यहुदी विवाह समारोहमार्फत एडम शुल्मनसँग विवाह गरेकी उनले विवाहका तस्बिर बिक्रीबाट प्राप्त रकम समलैंगिक विवाह अधिकारको पक्षमा काम गर्ने संस्था ‘फ्रीडम टु म्यारि’ लाई दान गरेकी थिइन्।

नियर-स्पेस अनुसन्धान : हाई-अल्टिच्युड बेलुन प्रविधि विकास

एजेन्सी। भारतको तीव्र गतिमा विस्तार भइरहेको अन्तरिक्ष प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य थप विस्तार भएको छ।

नियर–स्पेस प्रविधिमा काम गर्ने भारतीय स्टार्टअप ‘रेड बेलुन एरोस्पेस’ र आर्मेनियाको ‘बाजुम क्यु स्पेस रिसर्च ल्याबोरेटोरी’बीच उच्च-अल्टिच्युड बेलुन प्रविधि तथा नियर–स्पेस परीक्षण क्षमताको संयुक्त विकासका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

यो सहकार्यको मुख्य उद्देश्य पृथ्वीको सतहदेखि बाह्य अन्तरिक्षसम्मको मध्यवर्ती क्षेत्र अर्थात् स्ट्र्याटोस्फियरमा अनुसन्धान तथा व्यावसायिक प्रयोगलाई तीव्र बनाउनु हो। दुवै संस्थाले आफ्नो प्राविधिक क्षमता संयोजन गर्दै उन्नत एयरोस्पेस अनुसन्धानका नयाँ सम्भावना खोज्ने लक्ष्य राखेका छन्।

सम्झौताअनुसार दुवै पक्षले संयुक्त रूपमा स्ट्र्याटोस्फेरिक उडान परीक्षण गर्नेछन् र उच्च-अल्टिच्युड बेलुन प्लेटफर्ममा प्रयोगात्मक पेलोडहरू जडान गर्नेछन्। यसले अनुसन्धानकर्ता र प्रविधि विकासकर्तालाई महँगो भूउपग्रह प्रक्षेपणबिना नै वास्तविक नियर–स्पेस वातावरणमा आफ्ना उपकरण परीक्षण गर्ने अवसर प्रदान गर्नेछ।

यो परियोजनाको एउटा महत्वपूर्ण पक्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एज–कम्प्युटिङ प्रविधिको विकास हो। प्रणालीले ग्राउन्ड स्टेसनको न्यूनतम हस्तक्षेपमा काम गर्ने, अनबोर्ड डेटा तत्काल प्रशोधन गर्ने र पेलोड सञ्चालनलाई स्वचालित रूपमा व्यवस्थापन गर्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको छ।

सहकार्यले उन्नत सञ्चार प्रणाली, पेलोड स्थिरता, रिमोट सेन्सिङ उपकरण तथा संकलित कच्चा डाटालाई उपयोगी सूचनामा रूपान्तरण गर्ने प्रविधिमा केन्द्रित अनुसन्धान गर्नेछ। यसले भविष्यमा नियर–स्पेस प्लेटफर्मलाई व्यावसायिक तथा वैज्ञानिक उपयोगका लागि थप प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

रेड बेलुन एरोस्पेसका लागि यो सहकार्य कम्पनीको हालैको उपलब्धि ‘मिसन साना’ पछि आएको हो, जुन २७ मे २०२६ मा सम्पन्न भएको थियो। उक्त मिसनले भारतको पहिलो स्वदेशी स्ट्र्याटोस्फेरिक सुपर–प्रेसर बेलुन प्लेटफर्म ‘विस्टा’ प्रयोग गरेको थियो, जसले व्यावसायिक पेलोड बोक्न सक्ने क्षमता प्रदर्शन गरेको थियो।

यस सफलतासँगै भारत सीमित देशहरूको सूचीमा पुगेको छ, जसले यस्तो उच्च-अल्टिच्युड बेलुन प्रविधिमा स्वदेशी क्षमता विकास गरेको मानिन्छ।

आर्मेनियाको निजी अन्तरिक्ष क्षेत्रका लागि पनि यो साझेदारी महत्वपूर्ण मानिएको छ। बाजुम क्युले यसअघि आर्मेनियाको ‘एवाइएएस एयरोस्पेस सोसाइटी’सँग सहकार्य गर्दै यस्ता परियोजनामा काम गरिसकेको छ।

सुनकोसीका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निःशुल्क कृत्रिम दाँत सेवा उपलब्ध गराएको छ। गाउँपालिका–६ खाल्टेमा रहेको आत्मीय सामुदायिक अस्पतालमा आयोजित विशेष शिविरमार्फत यो सेवा प्रदान गरिएको हो।

सुनकोसी गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेल अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको शिविरमार्फत निःशुल्क कृत्रिम दाँत भर्ने कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत पहिलो चरणमा ३० जना ज्येष्ठ नागरिकमा कृत्रिम दाँत राख्ने प्रक्रिया सुरु गरिएको जनाइएको छ।

आत्मीय सामुदायिक अस्पतालका निर्देशक सञ्जीव केसीका अनुसार गाउँपालिकाका सबै ७ वटै वडामा गरिएको छनौट शिविरमा ८० भन्दा बढी सबै दाँत झरेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये पहिलो चरणमा ३० जनालाई कृत्रिम दाँत राख्नका लागि छनोट गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो।

उनका अनुसार छनोटमा परेका लाभग्राहीहरूको दाँतको नाप लिने, क्षतिग्रस्त भागहरू निकाल्ने तथा उपचारका प्रारम्भिक प्रक्रिया सम्पन्न भइसकेका छन्।

शिविरमा धुलिखेल अस्पतालका सार्वजनिक स्वास्थ्य दन्त चिकित्सक डा. दिलीप प्रजापतिको नेतृत्वमा ९ सदस्यीय प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।

गाउँपालिका र अस्पतालबीचको सहकार्यमा हालसम्म गाउँपालिकाका ७ वटै वडाका ७ सयभन्दा बढी ज्येष्ठ नागरिकले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेको जनाइएको छ।

अस्पतालले ज्येष्ठ नागरिक, महिला, विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ निःशुल्क सेवा प्रदान गर्दै आएको छ।

यसैबीच, आत्मीय सामुदायिक अस्पताल र धुलिखेल अस्पतालबीच गत पुस महिनामा दन्त सेवा विस्तार तथा सहकार्यसम्बन्धी सम्झौता भएको थियो। उक्त सहकार्यपछि दन्त उपचार सेवा थप व्यवस्थित रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।

ओपीडी, इमर्जेन्सी, प्रयोगशाला, एक्स–रे तथा भिडियो एक्स–रे जस्ता सेवा सञ्चालन गर्दै आएको उक्त अस्पतालले ओपीडी सेवा निःशुल्क रूपमा प्रदान गर्दै आएको छ।

रमेश प्रसाईंले गरे सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईंले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी महाधिवेशनका क्रममा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

प्रसाईंले आफ्नो व्यक्तिगत आकांक्षा भए पनि अन्तिम निर्णय पार्टीका सार्वभौम सदस्यहरूको हातमा रहने बताएका छन्। उनले भने, ‘मेरो आकांक्षा सहमहामन्त्रीको हो। तर, मेरो आकांक्षा प्रधान होइन। सार्वभौम सदस्यहरूले गर्ने निर्णय नै प्रधान हो।’

उनका अनुसार प्रतिनिधिहरूले आफूलाई योग्य ठहर्याएमा उनी निर्वाचित हुने र त्यसलाई उनले सम्मानपूर्वक स्वीकार गर्ने बताए। उनले थपे, ‘प्रतिनिधि साथीहरूको विश्वास मैले कमाउन सकेको रहेछु भने म निर्वाचित हुन्छु, पुरस्कृत हुन्छु। पुरस्कृत भए पनि वा दण्डित भए पनि म त्यसलाई आशीर्वादका रूपमा स्वीकार गर्छु।’

पार्टीभित्र कुनै गुटगत गतिविधि नरहेको उनको दाबी छ। प्रसाईंले रास्वपा संगठनात्मक रूपमा एकताबद्ध रहेको उल्लेख गर्दै आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको बताए।

चितवनमा जारी महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा भइरहेका बेला सहमहामन्त्री पद पनि चर्चामा रहेको छ।

बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । काठमाडौँको बौद्धस्थित भाटभटेनी सुपर स्टोर  बुधवारदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोरले भोलिदेखि नियमित रूपमा दैनिक सेवा प्रदान गर्ने जनाएको छ।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोर पुनः सञ्चालनमा ल्याउन आवश्यक तयारी पूरा गरिएको छ।

उनले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता यथावत रहेको जानकारी दिइन्।

स्टोर व्यवस्थापनका अनुसार पुनः सञ्चालनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाइने योजना रहेको छ।

गृहमन्त्री सुधनमाथि आक्रमण भन्ने समाचारबारे सचिवालयले यस्ताे दियाे जवाफ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्‍ने समाचारलाई उनको सचिवालयले पूर्ण रूपमा असत्य र भ्रामक भएको जनाएको छ।

मंगलबार जारी गरिएको एक विज्ञप्तिमार्फत सचिवालयले सामाजिक सञ्जाल तथा केही माध्यमहरूमा गृहमन्त्रीमाथि आक्रमण भएको भन्दै फैलाइएका सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो।

सचिवालयका अनुसार गृहमन्त्री गुरुङमाथि कुनै प्रकारको आक्रमण वा अप्रिय घटना भएको छैन।

सचिवालयले गृहमन्त्रीमाथि आक्रमण भएको भन्दै फैलाइएका समाचारलाई कपोलकल्पित र तथ्यहीन प्रचारको संज्ञा दिएको छ।

साथै यस्ता अपुष्ट तथा भ्रामक सूचनाले जनमानसमा भ्रम सिर्जना गर्ने भएकाले आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

मङ्‍गलबार बिहानैदेखि सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङमाथि आक्रमण भएको दाबी गर्दै विभिन्न पोस्टहरू भाइरल भएका थिए।

त्यसपछि बढ्दो भ्रम चिर्न सचिवालयले औपचारिक रूपमा खण्डन जारी गर्दै सत्यतथ्यमा आधारित जानकारी मात्र विश्वास गर्न अनुरोध गरेको हो।

भिडियो:

श्रीमती र छाेरी अर्काकाे तर मेरै भन्दै मेयरले सरकारी कागजात जब दिलाए…

काठमाडाैं । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगसमेतलाई विपक्षी बनाउँदै दायर गरेकाे उत्प्रेषण मुद्दाकाे सुनुवाई भइरहेकाे छ ।

सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीकाे एकल इजलासमा मुद्दाकाे सुनुवाई भइरहेकाे हाे ।

साेमबार सिंहकाे पक्षबाट उत्प्रेषण आदेश माग गर्दै सर्वाेच्चमा रिट दर्ता भएकाे थियाे । आफूलाई गैरकानुनी ढङ्‍गले पक्राउ गरेकाे भन्दै रिहाइकाे मागसहित सिंहले उत्प्रेषण मुद्दा दर्ता गराएका हुन् ।

उनी गत १९ जेठमा पक्राउ परेका थिए । अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरेकाे अभियाेग उनीमाथि लागेकाे छ ।

प्रहरीका अनुसार सरकारी लिखत किर्ते, झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा राहदानीसम्बन्धी कसुरमा नगरप्रमुख सिंहसहित चारजनाविरुद्ध मुद्दा परेकाे छ ।

यो प्रकरणमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रीता भट्टराई, उनकी छोरी रुविना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई समेत प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुर, नागरिकता किर्ते तथा राहदानी किर्तेसम्बन्धी अभियोग लगाइएको सरकारी वकिल कार्यालयले जनाएको छ।

अभियोगपत्र अनुसार नगरप्रमुख सिंहले रीता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाउँदै ०७१ माघ २० गते रुविना श्रेष्ठको जन्मदर्ता गराएका थिए ।

सोही जन्मदर्ताका आधारमा ०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानीसमेत जारी गरिएको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।

कांग्रेसबाट जित्ने रास्वपामा छिर्ने ३ जनप्रतिनिधि पदमुक्त

काठमाडौं। स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भई पछि अन्य राजनीतिक दलमा प्रवेश गरेका तीन जना जनप्रतिनिधि पदमुक्त भएका छन्।

निर्वाचन आयोगले औपचारिक सूचना जारी गर्दै उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको जनाएको हो।

पदमुक्त हुने जनप्रतिनिधिहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल रहेका छन्।

उनीहरू सबैले पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको पुष्टि भएपछि राजनीतिक दलसम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार पद रिक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सिफारिसका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको हो। सोही आधारमा उनीहरूको निर्वाचित पद स्वतः समाप्त भएको निर्णय गरिएको सूचनामा उल्लेख छ।

नेपाली कांग्रेसले आफ्ना तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल परिवर्तन गरेको भन्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगमा औपचारिक पत्राचार गरेको थियो। त्यसपछि आयोगले सम्बन्धित कानुनअनुसार निर्णय प्रक्रिया अघि बढाएको हो।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै जनप्रतिनिधि निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा उनीहरूको पद स्वतः रिक्त हुने व्यवस्था छ।

सोही प्रावधान लागू गर्दै आयोगले तीनै जना जनप्रतिनिधिको पद समाप्त भएको स्पष्ट पारेको छ।

अन्तत: हर्मुजको प्रशासनिक नियन्त्रण इरानमै

काठमाडौं। अन्तर्राष्ट्रिय तनाव न्यूनीकरण र सम्भावित युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सम्पन्न अमेरिका-इरान उच्चस्तरीय वार्तापछि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलघाँटीको प्रशासनिक नियन्त्रण इरानमै रहने सहमति सार्वजनिक गरिएको छ।

यो विकासलाई मध्यपूर्वको शक्ति सन्तुलन र ऊर्जा मार्ग सुरक्षासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ।

वार्तापछि इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले अब युद्धपूर्वको अवस्था पुनः नफर्किने स्पष्ट संकेत दिएका छन्। उनले अन्तर्राष्ट्रिय कानुनअनुसार हर्मुज जलघाँटी इरानद्वारा नै प्रशासित रहने दाबी गर्दै यो निर्णय देशको सार्वभौमिक अधिकारसँग सम्बन्धित भएको बताएका छन्।

स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा भएको वार्तापछि तेहरान फर्किएका घालीबाफले पत्रकार तथा सरकारी माध्यममार्फत दिएको सन्देशमा वार्तालाई ‘सकारात्मक र परिणाममुखी’ भनेका छन्। उनका अनुसार वार्तामा हर्मुज जलघाँटीको व्यवस्थापन मात्र होइन, लेबनानमा जारी द्वन्द्व, इरानी तेल व्यापार, प्रतिबन्ध नीति तथा विदेशमा रोक्का सम्पत्तिको फुकुवासम्बन्धी विषयमा समेत उल्लेखनीय प्रगति भएको छ।

घालीबाफले अहिले प्रक्रिया प्रारम्भिक चरणमा रहेको स्वीकार गर्दै कूटनीतिक संवाद निरन्तर जारी रहने बताएका छन्। उनका अनुसार यो प्रक्रिया केवल जलमार्ग व्यवस्थापनमा सीमित नभई क्षेत्रीय सुरक्षा संरचना पुनःनिर्माणसँग पनि जोडिएको छ।

वार्तामा सहभागी दुवै पक्ष सोमबार हर्मुज जलघाँटी खुला राख्ने, समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्ने र लेबनानमा जारी द्वन्द्व व्यवस्थापनका लागि सञ्चार संयन्त्र स्थापना गर्ने विषयमा सहमत भएका थिए। मध्यस्थकर्ताहरूका अनुसार दुवै देशबीच सम्भावित दुर्घटना र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव रोक्न प्रत्यक्ष सम्पर्क संयन्त्र स्थापना गर्ने समझदारीसमेत बनेको छ।

यसैबीच अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्सले इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निरीक्षकहरूलाई पुनः देशभित्र प्रवेश गरी काम गर्न अनुमति दिने जानकारी दिएका छन्। त्यसपछि अमेरिकाले इरानी तेलमाथि लगाइएका केही प्रतिबन्धहरू अस्थायी रूपमा निलम्बन गरेको पनि जनाइएको छ।

सम्झौताअनुसार इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धमा आंशिक राहत पाउने र विदेशमा रोक्का गरिएका सम्पत्तिहरू क्रमशः फुकुवा हुने अपेक्षा गरिएको छ। इरानी सरकारी सञ्चारमाध्यमले घालीबाफले वार्तापछि ओमानको पनि भ्रमण गरेका थिए भन्ने जानकारी सार्वजनिक गरेका छन्। ओमान हर्मुज जलघाँटीसँग भौगोलिक रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र मानिन्छ।

यसअघि युद्धको प्रारम्भिक चरणमा इरानले बन्द गरेको हर्मुज जलमार्ग पछिल्लो सहमतिपछि पुनः सञ्चालनमा आएको थियो। तर लेबनानमा इजरायली आक्रमणपछि उत्पन्न तनावका कारण तेहरानले पुनः जलघाँटी बन्द गर्ने घोषणा गरेको थियो, जसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा चिन्ता थपेको थियो।

कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूका अनुसार हाल दुवै पक्ष व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, सम्भावित दुर्घटना रोक्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव न्यूनीकरण गर्न प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्न सहमत भएका छन्।

समुद्री यातायात निगरानी गर्ने संस्थाहरूले वार्तापछि सहमति नजिकिँदै जाँदा सोमबार हर्मुज जलघाँटीमा जहाजहरूको आवागमन पुनः तीव्र रूपमा बढेको देखिएको बताएका छन्।

यसले क्षेत्रीय व्यापारिक गतिविधि क्रमशः सामान्य अवस्थातर्फ फर्किँदै गएको संकेत दिएको छ।

रास्वपा महाधिवेशन: यस्तो छ बन्दसत्रको कार्यतालिका

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका कार्यक्रमहरूको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ।

पार्टीले राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढाउने जनाएको हो।

पार्टीका अनुसार मंगलबार दिउँसो २ बजे सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक प्रारम्भ गर्नेछन्। त्यसपछि विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गर्ने क्रम अघि बढ्नेछ।

कार्यतालिका अनुसार २ बजेर १० मिनेटदेखि अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरिनेछ र सोही विषयमा छलफल हुनेछ। त्यसपछि २ः३० देखि ३ बजेसम्म आर्थिक तथा वित्तीय प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, ३ बजेदेखि ३ः४५ बजेसम्म सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ भने ३ः४५ देखि ४ः४५ बजेसम्म पार्टीको विधान संशोधन प्रस्ताव प्रस्तुत गरी अनुमोदन गर्ने कार्यसूची रहेको छ।

४ः४५ देखि ५ः१५ बजेसम्म ‘राष्ट्रिय स्वार्थ’ सम्बन्धी राजनीतिक प्रस्तावना प्रस्तुत गरिनेछ। त्यसपछि ५ः१५ बजेदेखि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ।

त्यसपछि प्रतिवेदनमाथि छलफल तथा सुझाव संकलनको चरण अघि बढाइने कार्यतालिका रहेको पार्टीले जनाएको छ। सोही क्रममा निर्वाचन प्रक्रियासम्बन्धी विस्तृत जानकारी पनि सार्वजनिक गरिनेछ।

यसैबीच, प्रतिनिधि परिचयपत्र वितरणको काम अहिले तीव्र गतिमा भइरहेको छ। पार्टीका अनुसार वितरण प्रक्रिया छिटो सम्पन्न गर्न विभिन्न नौ स्थानबाट एकैसाथ काम सुरु गरिएको छ।

बन्दसत्र सुरु हुनुअघि सबै प्रतिनिधिहरूको दर्ता र परिचयपत्र व्यवस्थापन पूरा गर्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ।

निगमकै मिलेमतो : २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर गायब

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरस्थित डिपोबाट २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर गायब भएको घटनाले इन्धन वितरण प्रणाली र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार कर्मचारी, चालक र ढुवानीकर्ताको मिलेमतोमा ठूलो परिमाणमा पेट्रोल अनधिकृत रूपमा बिक्री गरिएको आशंका गरिएको हो।

कञ्चनवारीस्थित डिपो पार्किङस्थलमा राखिएको नवीन ढुवानी सेवाको को१ख ६१९० नम्बरको ट्यांकर आइतबार राति करिब ८ बजेभित्र प्रवेश गरेको थियो। भारतको सिलगुढीबाट २० हजार लिटर पेट्रोल लिएर आएको उक्त ट्यांकर डिपोभित्र भण्डारणगृहमा इन्धन खन्याउन पालो कुरेर पार्किङमा राखिएको थियो।

तर सोमबार बिहान उक्त ट्यांकर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी सडकखण्डमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्यांकरमा प्रारम्भिक जाँच गर्दा करिब १ हजार २ सय लिटर मात्र पेट्रोल बाँकी रहेको पाइएको छ। बाँकी करिब १८ हजार ८ सय लिटर पेट्रोल गायब भएको देखिन्छ।

हालको बजार मूल्यअनुसार प्रति लिटर २१४ रुपैयाँ ५० पैसाका दरले हिसाब गर्दा गायब भएको पेट्रोलको मूल्य करिब ४० लाख रुपैयाँभन्दा बढी हुन आउँछ। प्रारम्भिक अनुमानअनुसार सो परिमाणको इन्धन अनधिकृत रूपमा विभिन्न पेट्रोल पम्प वा अन्य माध्यममार्फत बिक्री गरिएको हुन सक्ने आशंका गरिएको छ।

डिपो प्रमुख पुष्कर कार्कीका अनुसार घटनाबारे प्रहरी अनुसन्धान सुरु भइसकेको छ र ट्यांकरलाई आवश्यक मुचुल्कापछि डिपोमा ल्याउने तयारी भइरहेको छ। उनले घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै निगमले आन्तरिक छानबिन पनि अघि बढाउने बताए।

यो घटना पहिलो भने होइन। यसअघि पनि विराटनगर डिपोबाट पटक–पटक इन्धन लोड भएका ट्यांकरहरू गायब हुने तथा भित्रकै मिलेमतोमा पेट्रोल बेचिने घटना सार्वजनिक हुँदै आएका छन्। २०७८ भदौमा पनि ट्यांकर चोरी भएको घटना भएको थियो भने २०७५ र २०७७ मा समेत यस्तै प्रकृतिका घटनाहरू दोहोरिएका थिए।

प्रहरी स्रोतका अनुसार डिपो परिसर अग्लो पर्खाल र सुरक्षा घेराभित्र भए पनि यस्ता घटना दोहोरिनुले संगठित गिरोह सक्रिय रहेको संकेत गर्छ। सुरक्षाको उच्च घेराभित्रै ट्यांकर बाहिर निकालिनु र ठूलो परिमाणको इन्धन गायब हुनुमा सामान्य भरियाको मात्र संलग्नता हुन नसक्ने प्रहरीको प्रारम्भिक मूल्यांकन छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यस प्रकारका घटनामा प्रायः आन्तरिक मिलेमतो बिना यति ठूलो परिमाणको इन्धन बाहिर निकाल्न सम्भव हुँदैन। विगतमा पनि यस्ता घटनामा कर्मचारीमाथि कारबाही कमजोर भएकाले पुनः दोहोरिने गरेको विश्लेषण गरिएको छ।

यसैबीच, आयल निगमभित्रै सुरक्षा व्यवस्था र व्यवस्थापन प्रणालीमाथि प्रश्न उठ्न थालेको छ। डिपोभित्रैबाट इन्धन लोड भएका ट्यांकरहरू हराउने घटनाले संस्थागत कमजोरी मात्र नभई सम्भावित संगठित चोरीको जालो रहेको आशंका थप बलियो बनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ भने निगमले पनि आन्तरिक छानबिन समिति गठन गर्ने तयारी गरेको जनाइएको छ।

भाग नपुग्दा रडाको, अड्कियो रास्वपा महाधिवेशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय कमजोरी, प्राविधिक चुनौती र आन्तरिक राजनीतिक मतभेदका कारण निर्धारित कार्यतालिकाअनुसार अघि बढ्न नसकेको छ।

बन्दसत्र सुरु नै हुन नसक्नेगरि महाधिवेशन एक दिन थप किन लम्बियो ? यसले पार्टीको संगठनात्मक तयारी र आन्तरिक समन्वय क्षमतामाथि प्रश्न उठाएको हो।

आइतबार औपचारिक उद्घाटन सत्र ढिलाइका बीच सम्पन्न भए पनि त्यसपछि सुरु हुने भनिएको बन्दसत्र सोमबार दिनभर अन्योलमै रह्यो।

बिहानदेखि नै चितवन प्रदर्शनी केन्द्रमा भेला भएका महाधिवेशन प्रतिनिधिहरू बैठक सुरु हुने प्रतीक्षामा बसे पनि साँझसम्म कुनै औपचारिक प्रक्रिया अघि नबढेपछि निराश हुँदै फर्किन बाध्य भए।

पार्टी नेतृत्वले प्रारम्भिक रूपमा यो समस्या प्राविधिक तथा व्यवस्थापकीय कमजोरीका कारण भएको बताएको छ। प्रतिनिधिहरूको सूची रुजु, परिचयपत्र छपाइ तथा उपस्थिति अभिलेख व्यवस्थापनमा देखिएको कमजोरीका कारण बन्दसत्र समयमै सुरु गर्न नसकिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार करिब ३० जना सांसदसमेत प्रतिनिधि सूचीमा नपरेपछि व्यवस्थापन झनै जटिल बनेको थियो, जसले समग्र तयारी प्रभावित बनायो।

तर पार्टीभित्रका अन्य स्रोतहरूले भने समस्या केवल प्राविधिक मात्र नभई राजनीतिक प्रकृतिको पनि रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार बन्दसत्र रोकिनुमा संगठनभित्र जेनजी पुस्ताको प्रतिनिधित्व, केन्द्रीय समिति संरचना र नेतृत्व चयन प्रक्रियासम्बन्धी मतभेदले समेत महत्वपूर्ण भूमिका खेलेको छ।

पार्टीभित्र देखिएको विवाद विशेषगरी नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको बताइन्छ। केही प्रभावशाली नेताहरूले सभापतिले मनोनीत गर्ने ५१ सदस्यीय केन्द्रीय संरचनामा जेनजी पुस्तालाई उल्लेख्य स्थान दिनुपर्ने अडान राखे। सोही विषयमा सहमति नजुट्दा बन्दसत्र सुरु गर्न नसकिएको पार्टी स्रोतको दाबी छ।

यही सन्दर्भमा प्रभावशाली नेता सुधन गुरुङले नयाँ पुस्तालाई निर्णायक तहमा पर्याप्त प्रतिनिधित्व सुनिश्चित नगरी निर्वाचन प्रक्रियामा जान नहुने अडान लिएको चर्चा पनि पार्टीभित्र चल्यो।

महाधिवेशनमा सहभागी युवा प्रतिनिधिहरूले भने पार्टीको स्थापना र विस्तारमा युवाको योगदान निर्णायक रहेको उल्लेख गर्दै नेतृत्व संरचनामा उनीहरूको अर्थपूर्ण प्रतिनिधित्व अनिवार्य हुनुपर्ने धारणा राखे।

यसको विपरीत केही पुराना नेताहरूले भने पार्टी संरचना निर्वाचन प्रक्रियामार्फत अघि बढ्नुपर्ने तर्क गरेका छन्। उनीहरूको भनाइमा नेतृत्व माग वा कोटा प्रणालीबाट नभई प्रतिस्पर्धात्मक प्रक्रियाबाट स्थापित हुनुपर्छ।

महाधिवेशन लम्बिँदा प्रतिनिधिहरूमा असन्तुष्टि बढ्यो। विशेषगरी खेतीपाती  को व्यस्त समयमा गाउँघर छाडेर चितवन आएका प्रतिनिधिहरूले बसाइँ लम्बिँदा आर्थिक भार थपिएको गुनासो गरेका छन्। पार्टीले खानाको व्यवस्था गरे पनि आवास र अन्य व्यक्तिगत खर्च स्वयंले बेहोर्नुपरेको उनीहरूको भनाइ छ।

यसैबीच प्रतिनिधिहरूलाई ढाडस प्रदान गर्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र दिउँसो १ बजेपछि सुरु हुने जानकारी दिएका छन्।

प्राविधिक कारणले हिजो बन्दसत्र सुरु गर्न नसकिएको उनले स्पष्ट पारे।

हाल महाधिवेशन प्रतिनिधिहरूका लागि प्रवेश कार्ड वितरणको काम जारी रहेको छ। सो प्रक्रिया पूरा भएपछि खाना समयपश्चात बन्दसत्र औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको पार्टीले जनाएको छ।

पराजुलीका अनुसार प्रारम्भमा अनुमान गरिएको २८ सयदेखि ३ हजारसम्म प्रतिनिधिको संख्या बढेर ४२ सयभन्दा बढी पुगेपछि व्यवस्थापनमा केही प्राविधिक समस्या देखिएको हो। उनले यही कारणले हिजो कार्यक्रम सुरु गर्न नसकिएको बताए।

उनले भने, ‘इस्टिमेट गरिएको २८ सय/तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदै गर्दाखेरि केही प्राविधिक त्रुटिका कारण हिजो हामीले सुरु गर्न सकेनौं,’ उनले भने, ‘आज यतिखेर हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ । त्यो सकिनेबित्तिकै हामी खाना खाएर आजको बन्दसत्र सुरु गर्दैछौं ।’

उनका अनुसार सबै पूर्वतयारीका प्रक्रिया पूरा भइसकेका छन् र अब बाँकी औपचारिकता सम्पन्न भएपछि कार्यक्रम अघि बढाइने जनाइएको छ।

पराजुलीले महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीहरूलाई परेको असुविधाप्रति क्षमासमेत मागेका छन्।

यस्तै, रास्वपा महाधिवेशनको व्यवस्थापन र सहभागी संख्या बढेसँगै कार्यक्रम सञ्चालनमा थप समन्वय आवश्यक परेको पार्टी स्रोतले जनाएको छ।

यद्यपि,संगठनात्मक रूपमा आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको रास्वपाको पहिलो महाधिवेशनमै देखिएको व्यवस्थापकीय कमजोरी र आन्तरिक विवादले नेतृत्व क्षमतामाथि प्रश्न उठाएको छ।

यो सँगै पार्टीले दाबी गरेको ‘नयाँ शैलीको राजनीति’ व्यवहारमा कति प्रभावकारी हुन्छ भन्ने विषय पनि बहसमा आएको छ।

विष्णुकाे पक्राउपछि एमालेले बाेलायाे संसदीय दल र सचिवालय बैठक

काठमाडाैं । उपाध्यक्ष विष्णु पाैडेल पक्राउ परेपछि नेकपा एमालेले संसदीय दल र सचिवालय बैठक बाेलाएकाे छ ।

अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा दलकाे बैठक बस्ने भएकाे हाे । साँझ ६ बजे भने सचिवालय बैठक बस्ने भएकाे हाे । बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएकाे हाे ।

एकपछि अर्काे पार्टी नेता पक्राउ परेपछि एमाले आक्राेशित छ । एमालेले आफ्ना उपाध्यक्ष पाैडेलकाे पक्राउलाई प्रतिवाद गर्ने चेतावनी दिएकाे छ ।

अध्यक्ष ओलीले साेमबार नै बिना कारण राजनीतिक प्रतिशाेध साँधेर आफ्ना नेताहरु पक्राउ गर्ने बालेन सरकारकाे कदम गलत भएकाे भन्दै प्रतिवाद गर्ने चेतावनी दिइसकेका छन् ।

नेता प्रदीप ज्ञवालीले पहिले थुन्‍ने र पछि सुन्‍ने सरकारकाे शैलीप्रति आपत्ति जनाए । पाैडेल सम्पत्ति छानबिनका लागि साेमबार पक्राउ परेका हुन् ।

रास्वपा महाधिवेशन : धमाधम प्रतिनिधिको कार्ड वितरण सुरु

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र दिउँसो १ बजेपछि सुरु हुने जानकारी दिएका छन्।

प्राविधिक कारणले हिजो बन्दसत्र सुरु गर्न नसकिएको उनले स्पष्ट पारे।

हाल महाधिवेशन प्रतिनिधिहरूका लागि प्रवेश कार्ड वितरणको काम जारी रहेको छ। सो प्रक्रिया पूरा भएपछि खाना समयपश्चात बन्दसत्र औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको पार्टीले जनाएको छ।

पराजुलीका अनुसार प्रारम्भमा अनुमान गरिएको २८ सयदेखि ३ हजारसम्म प्रतिनिधिको संख्या बढेर ४२ सयभन्दा बढी पुगेपछि व्यवस्थापनमा केही प्राविधिक समस्या देखिएको हो। उनले यही कारणले हिजो कार्यक्रम सुरु गर्न नसकिएको बताए।

उनले भने, ‘इस्टिमेट गरिएको २८ सय/तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदै गर्दाखेरि केही प्राविधिक त्रुटिका कारण हिजो हामीले सुरु गर्न सकेनौं,’ उनले भने, ‘आज यतिखेर हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ । त्यो सकिनेबित्तिकै हामी खाना खाएर आजको बन्दसत्र सुरु गर्दैछौं ।’

उनका अनुसार सबै पूर्वतयारीका प्रक्रिया पूरा भइसकेका छन् र अब बाँकी औपचारिकता सम्पन्न भएपछि कार्यक्रम अघि बढाइनेछ।

पराजुलीले महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीहरूलाई परेको असुविधाप्रति क्षमासमेत मागेका छन्।

यसैबीच, रास्वपा महाधिवेशनको व्यवस्थापन र सहभागी संख्या बढेसँगै कार्यक्रम सञ्चालनमा थप समन्वय आवश्यक परेको पार्टी स्रोतले जनाएको छ।

ऋण नतिर्दा लिलामीको मुखमा ‘भोटेकोशी हेली रिसोर्ट’

काठमाडौं। पर्यटन प्रवर्द्धन र उच्चस्तरीय विदेशी पाहुनालाई लक्षित गर्दै सिन्धुपाल्चोकमा सञ्चालनमा ल्याइएको चारतारे भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिलामी प्रक्रियामा पुगेको छ।

सञ्चालकहरूबीचको आन्तरिक विवाद र आर्थिक दायित्व पूरा गर्न नसकिएपछि नेपाल बैंकले कर्जा असुली प्रक्रिया अघि बढाएको हो। करिब एक दशकअघि निर्माण भई सञ्चालनमा आएको उक्त रिसोर्ट ४८ कोठाको संरचनामा फैलिएको छ र करिब ९५ रोपनी क्षेत्रफलमा अवस्थित छ।

हाल सो रिसोर्टमध्ये २४ वटा कोठा मात्र सञ्चालनमा रहेको जनाइएको छ। परियोजनाका लागि बैंकबाट ३२ करोड रुपैयाँ ऋण लिइएको थियो। तर ब्याज तथा जरिबानासहित हालसम्म करिब ३९ करोड ५४ लाख रुपैयाँ कर्जा असुली प्रक्रियामा रहेको बैंकले जनाएको छ। उक्त रकममा ५ करोड ६६ लाख रुपैयाँ ब्याज र १ करोड १८ लाख रुपैयाँ जरिबाना समेत समावेश छ।

बैंक स्रोतका अनुसार तोकिएको किस्ताबापत ५ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएमा लिलामी प्रक्रिया रोक्न सकिने विकल्प भए पनि सञ्चालकहरू ऋण चुक्ता गर्न तयार नभएपछि प्रक्रिया अघि बढाइएको हो।

नेपाल बैंकले गत जेठ १ गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै ऋण चुक्ता गर्न आह्वान गरेको थियो। तोकिएको म्यादभित्र कुनै सम्पर्क वा भुक्तानी नभएपछि असार ५ गतेका लागि लिलामी प्रक्रिया तय गरिएको थियो। तर लगानी मूल्यभन्दा कम मूल्यमा बोलकबोल पर्ने सम्भावना देखिएपछि तत्कालका लागि लिलामी स्थगित गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै आगामी चरणमा सम्पत्ति लिलामी प्रक्रिया पुनः अघि बढाइनेछ।

यसैबीच, परियोजनामा सञ्चालकहरूबीचको व्यक्तिगत टकराव र आन्तरिक विवादले व्यवस्थापनमा गम्भीर असर पारेको बताइएको छ। साथै मुख्य लगानीकर्तामध्ये एक सुवास प्रधानसँग सम्बन्धित आर्थिक अनियमितताका आरोपका कारण अन्य सञ्चालकहरूको लगानी समेत जोखिममा परेको दाबी गरिएको छ।

पर्यटन क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको उक्त रिसोर्ट हाल वित्तीय संकट र व्यवस्थापकीय विवादको चपेटामा परेको छ।

रस लाफान विष्फोट: १२ को मृत्यु, नेपालीसहित ६६ बढी घाइते

एजेन्सी। कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीसहित विभिन्न देशका कामदार घाइते भएका छन्।

घटनामा ठूलो संख्यामा विदेशी श्रमिक प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक भएको हो।

प्राप्त जानकारीअनुसार विष्फोटमा १२ भारतीय नागरिक र एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने ६६ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूको सूचीमा नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी, केन्याली, घानाली, तान्जानियाली र नाइजेरियाली नागरिकहरू रहेको कतारी अधिकारीहरूले जनाएका छन्।

कतारका ऊर्जा मन्त्री साद अल-काबीका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तर हालसम्म उनीहरूको विस्तृत नामावली सार्वजनिक गरिएको छैन।

घटना भएको क्षेत्र रस लाफान औद्योगिक क्षेत्र मा रहेको ग्यास उत्पादन केन्द्र हो, जुन कतार को प्रमुख ऊर्जा पूर्वाधारमध्ये एक मानिन्छ।

कतार सरकारका अनुसार प्रारम्भिक अनुसन्धानमा यो घटना आक्रमण नभई औद्योगिक दुर्घटनाको रूपमा देखिएको छ। घटनापछि लागेको आगो नियन्त्रणमा आइसकेको पनि अधिकारीहरूले बताएका छन्।

साद अल–काबी ले घटनापछि ग्यास निर्यात तथा स्थानीय आपूर्तिमा कुनै असर नपर्ने र आपूर्ति प्रणाली सामान्य अवस्थामा नै सञ्चालन भइरहने बताएका छन्।

घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको कतारी सम्बन्धित निकायहरूले जनाएका छन्।

काठमाडौं उपत्यकामा रोबोटले सिकाउँदै ट्राफिक नियम

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न रोबोटिक प्रविधि प्रयोग गर्ने सम्भावनाबारे अध्ययन सुरु गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निजी क्षेत्रसँगको सहकार्यमा रोबोटको प्रभावकारिता परीक्षण गरिरहेको जनाएको हो।

पछिल्ला दिनमा ट्राफिक प्रहरीसँगै रोबोट देखिएका भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि यसबारे सर्वसाधारणको चासो बढेको छ। यद्यपि ट्राफिक प्रहरीले हालसम्म यो परियोजना परीक्षण र अध्ययनकै चरणमा रहेको स्पष्ट पारेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको अवधारणाअन्तर्गत नागरिकलाई सचेत गराउने नयाँ उपायको खोजी भइरहेको छ। उनले रोबोटमार्फत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको बताए।

उनका अनुसार हालैदेखि सुरु गरिएको परीक्षणले रोबोटलाई ट्राफिक सचेतना कार्यक्रममा सहायक उपकरणका रूपमा प्रयोग गर्न सकिने वा नसकिने विषयमा जानकारी दिनेछ। यसको उपयोगिता, प्रभाव र सञ्चालनका विभिन्न पक्षबारे अध्ययन भइरहेकाले तत्काल कुनै नीतिगत निर्णय भइनसकेको उनले स्पष्ट पारे।

ट्राफिक प्रहरीको प्रारम्भिक योजनाअनुसार लामो दूरीका यात्रु र सार्वजनिक सवारी चालकलाई लक्षित गरी बसपार्क क्षेत्रमा रोबोटमार्फत सुरक्षा सन्देश प्रवाह गर्न सकिने सम्भावना हेरिएको छ। यसका लागि आवश्यक सचेतनामूलक सामग्री तयार पारेर रोबोटलाई त्यसअनुसार प्रशिक्षण दिने काम भइरहेको जनाइएको छ।

सहकार्य गरिरहेको प्रविधि कम्पनीका प्रतिनिधि सुमन खड्काले ट्राफिक प्रहरीबाट प्राप्त सामग्रीका आधारमा रोबोटलाई विभिन्न विषयमा डिजिटल रूपमा प्रशिक्षण दिइरहेको जानकारी दिए। उनका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने जोखिम, सडक सुरक्षाका आधारभूत नियम तथा जेब्रा क्रसिङको प्रयोगजस्ता विषयमा जनचेतना फैलाउन रोबोट उपयोगी हुन सक्छ।

उनले नेपालको वर्तमान सडक तथा भौतिक पूर्वाधारलाई हेर्दा रोबोटलाई नियमित रूपमा सडकमा परिचालन गर्ने अवस्था तत्काल नरहे पनि विशेष अभियान, प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रममार्फत यसको प्रयोग सम्भव रहेको बताए।

परीक्षणको नतिजा सकारात्मक आएमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी आगामी चरणका योजना तय गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जङकुकको घरमा पटक-पटक पुगेर दुःख दिने महिलालाई जेल सजाय

एजेन्सी। दक्षिण कोरियाली लोकप्रिय के-पप समूह बीटीएसका सदस्य जङकुकको निजी निवासमा बारम्बार पुगेर दुःख दिएको आरोपमा एक ब्राजिलियन महिलालाई अदालतले निलम्बित जेल सजाय सुनाएको छ।

सियोलस्थित जिल्ला अदालतले ती महिलालाई एक वर्षको जेल सजाय तोकेको भए पनि उक्त सजाय दुई वर्षका लागि निलम्बन गरिएको जनाएको छ। अदालतको निर्णयविरुद्ध पुनरावेदन नगरेको अवस्थामा उनलाई दक्षिण कोरियाबाट देश निकाला गरिने सम्भावना रहेको बताइएको छ।

अदालती विवरणअनुसार महिलाले गत वर्षको डिसेम्बरदेखि जङकुकलाई पछ्याउन थालेकी थिइन्। उनले गायकप्रति आकर्षण रहेको भन्दै उनको घरमा चिठी र तस्बिर पुर्‍याउने प्रयास गरेकी थिइन्। यही क्रममा उनी पटक–पटक जङकुकको निवास क्षेत्र पुग्ने गरेकी थिइन्।

अदालतले सार्वजनिक गरेको विवरणअनुसार उनी पहिलो पटक डिसेम्बर ७ मा जङकुकको घर पुगेकी थिइन्। त्यसबेला उनले घर वरपर घुमफिर गर्ने, पर्खाल नाघेर भित्र सामान फाल्ने तथा ढोकाको साँघुरो भागबाट चिठी छिराउने प्रयास गरेकी थिइन्। केही दिनपछि पुनः त्यही स्थानमा पुगेकी उनले घरको घण्टी १३३ पटकसम्म बजाएकी थिइन्।

न्यायाधीशले यस्तो व्यवहारलाई अत्यधिक आशक्ति देखाउने गतिविधिका रूपमा व्याख्या गरेका छन्।

त्यसपछि डिसेम्बर १३ मा उनी खाना वितरण गर्ने व्यक्तिको पछि लाग्दै घरको साइड गेटबाट भित्र प्रवेश गर्न खोज्दा पक्राउ परेकी थिइन्। पक्राउपछि उनलाई सो क्षेत्रमा नफर्किन चेतावनीसहित रिहा गरिएको भए पनि उनले आदेशको पालना नगरेको अदालतले जनाएको छ।

महिलाको गतिविधि नरोकिएपछि प्रहरीले जङकुकको घर वरपर १०० मिटर क्षेत्रभित्र प्रवेश गर्न नपाउने आपत्कालीन आदेश जारी गरेको थियो। तर त्यसलाई समेत बेवास्ता गरेपछि फेब्रुअरी महिनामा अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पठाइएको थियो।

अदालतका अनुसार ती महिला कुल २२ पटक जङकुकको निवासमा पुगेकी थिइन्। यद्यपि भविष्यमा यस्ता गतिविधि दोहोरिने सम्भावना धेरै नरहेको लगायतका पक्षलाई ध्यानमा राख्दै अदालतले निलम्बित सजायको फैसला सुनाएको जनाएको छ।

यसअघि पनि जङकुकसँग सम्बन्धित यस्तै घटना सार्वजनिक भएको थियो।

गत वर्ष सैन्य सेवा पूरा गरी घर फर्किएपछि उनको निवासमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा एक चिनियाँ महिला पक्राउ परेकी थिइन्।

पक्राउ पर्ने समाचारपछि पूर्वअर्थमन्त्री जनार्दन शर्मा मिडियासँग किन बिच्किए ?

काठमाडाै‌ं । एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ परेपछि पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सम्पत्ति छानबिनकाे दायरामा आउने चर्चाबीच शर्माले ‘मिडिया ट्रायल’ गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले आफू सधैँ सम्पत्ति छानबिनको पक्षमा रहेको स्पष्ट पार्दै सरोकार नै नभएको विषयमा आफ्नो नाम मुछेर भ्रम फैलाउन खोजिएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा भने, ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु तर सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।’

एमाले उपाध्यक्ष पाैडेल पक्राउ परेपछि विभिन्न अनलाइनमा शर्मा पनि पक्राउ पर्न सक्ने भन्दै समाचार प्रकाशन भएका थिए ।

यस्ताेमा शर्माले आफूले विगतदेखि नै राजनीतिक नेतृत्व र उच्च पदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग संसद् र पार्टीभित्रै उठाउँदै आएकाले अनुसन्धानबाट आफू पछि नहट्ने तर नियोजित रूपमा गरिने चरित्रहत्या स्वीकार्य नहुने संकेत गरेका छन् ।

चक्कु प्रहार गरी भक्तपुरमा युवककाे हत्या

काठमाडाैं । सामान्य विवाद हुँदा भक्तपुरमा एक युवककाे चक्कु प्रहारबाट मृत्यु भएकाे छ । मृतक २८ वर्षीय आकाश रसाइली हुन् । उनी महोत्तरीकाे मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्दै आएका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान ६ः१५ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

चीनले १० अमेरिकी कम्पनीमाथि किन लगायो निर्यात नियन्त्रण?

एजेन्सी। अमेरिका र चीनबीच प्रविधि, रक्षा तथा सुरक्षा क्षेत्रमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ।

वासिङ्टनले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि त्यसको प्रतिकारस्वरूप चीनले रक्षा उद्योग तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो।

चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले केही चिनियाँ कम्पनीहरूलाई तथाकथित ‘चिनियाँ सैन्य उद्यम सूची’मा समावेश गरेको निर्णयको प्रतिक्रियास्वरूप नयाँ निर्यात नियन्त्रण लागू गरिएको जनाएको छ। मन्त्रालयका अनुसार राष्ट्रिय सुरक्षा र रणनीतिक हितको संरक्षणका लागि उक्त कदम आवश्यक ठानिएको हो।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तापछि सम्बन्ध सुधारको प्रयास भइरहेको एक महिनापछि आएको हो। दुवै देशले व्यापारिक शुल्क घटाउने सहमति गरे पनि प्रविधि, रक्षा र सुरक्षा क्षेत्रसँग सम्बन्धित विवाद भने निरन्तर बढिरहेका छन्।

यस महिनाको सुरुआतमा अमेरिकाले चिनियाँ सेनासँग सम्बन्ध रहेको आरोप लगाउँदै ८० वटा चिनियाँ कम्पनी तथा तिनका सहायक संस्थाहरूलाई कालोसूचीमा राखेको थियो। उक्त सूचीमा प्रविधि क्षेत्रका अलिबाबा, बाइडु तथा विद्युतीय सवारी निर्माता बीवाईडीसमेत समावेश भएपछि चीनले प्रतिकारात्मक कदम चाल्ने सङ्केत दिएको थियो।

चीनले नयाँ प्रतिबन्ध लगाएका कम्पनीहरूमध्ये अमेरिकी रक्षा तथा एयरोस्पेस उद्योगसँग सम्बन्धित एभिओक्स र ओस्कोश डिफेन्स प्रमुख छन्। ओस्कोश डिफेन्स अमेरिकी सैन्य सवारीसाधन उत्पादनमा संलग्न कम्पनी हो भने एभिओक्सले अमेरिकी सेनासँग विभिन्न रक्षा सम्झौताहरू गर्दै आएको छ।

त्यसैगरी दुर्लभ पृथ्वी खनिज उत्पादनमा सक्रिय एमपी मटेरियल्स र युएसए रेयर अर्थ पनि प्रतिबन्धित सूचीमा परेका छन्। चीनले सूचीबद्ध कम्पनीहरूलाई दोहोरो प्रयोगमा आउने सामग्री, प्रविधि तथा उपकरण निर्यात गर्न रोक लगाएको जनाएको छ।

वाणिज्य मन्त्रालयले सूचीमा रहेका कम्पनीहरूसँग सम्बन्धित सम्पूर्ण निर्यात गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ। साथै चीनमा उत्पादित दोहोरो प्रयोगका सामग्री कुनै पनि देश वा क्षेत्रका संस्था तथा व्यक्तिमार्फत ती कम्पनीहरूलाई उपलब्ध गराउन नपाइने स्पष्ट पारेको छ।

यसैबीच चीनको वित्त मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा संलग्न सरकारी निकायहरूलाई ४६ अमेरिकी कम्पनीका उत्पादन खरिद गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रतिबन्धित सूचीमा लकहिड मार्टिन, रेथियोन तथा बोइङको रक्षा विभागसँग सम्बन्धित उत्पादनहरू पनि समावेश छन्।

जनरल डायनामिक्स, एन्डुरिल इन्डस्ट्रिजका केही विभाग तथा अन्य एयरोस्पेस कम्पनीहरू पनि नयाँ प्रतिबन्धको दायरामा परेका छन्। यद्यपि चीनमा सञ्चालन गरिरहेका अमेरिकी लगानी भएका कम्पनीहरूलाई भने यी उपायबाट बाहिर राखिएको वित्त मन्त्रालयले जनाएको छ। नयाँ नियम सोमबारदेखि लागू भएको छ।

चीनले यसअघि पनि ताइवानलाई अमेरिकी हतियार बिक्री गरिएको आरोप लगाउँदै सन् २०२४ र २०२५ मा केही अमेरिकी कम्पनी तथा तिनका सहायक संस्थामाथि प्रतिबन्ध लगाइसकेको थियो।

ताइवानले बेइजिङबाट बढ्दो सैन्य तथा राजनीतिक दबाब सामना गर्न अमेरिकाको सहयोगमा ठूलो निर्भरता राख्दै आएको छ। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्न सक्ने चेतावनीसमेत दिँदै आएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस महिनामात्र ताइवानका लागि प्रस्ताव गरिएको १४ अर्ब अमेरिकी डलर बराबरको हतियार प्याकेज समीक्षा प्रक्रियामा रहेको बताएका थिए।

मे महिनामा सी जिनपिङसँगको भेटपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा अमेरिका–चीन सम्बन्ध सुधारतर्फ अग्रसर रहेको सन्देश दिन खोजेका थिए। गत साता फ्रान्समा सम्पन्न जी–७ सम्मेलनका क्रममा उनले इरानसँगको अमेरिकी विवादमा तटस्थ भूमिका अपनाएको भन्दै चिनियाँ नेतृत्वको प्रशंसासमेत गरेका थिए।

तर पछिल्ला प्रतिबन्धात्मक कदमहरूले विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार, प्रविधि, रक्षा तथा सुरक्षा क्षेत्रमा प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको संकेत गरेका छन्। विश्लेषकहरूका अनुसार दुवै देशबीचको रणनीतिक अविश्वास कायम रहेकाले निकट भविष्यमा यस्ता प्रतिकारात्मक कदमहरू थप बढ्न सक्ने सम्भावना देखिएको छ।

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड

मन्थली। रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार आयोजित नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले बजेट तथा वार्षिक कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिइन्।

नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ। स्थानीय स्रोतको परिचालनमार्फत विकास निर्माणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य नगरपालिकाले लिएको छ।

नगरसभामा प्रस्तुत प्रगति विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उपप्रमुख बस्नेतले जेठ मसान्तसम्म चालुतर्फ ४७ करोड ९३ लाख रुपैयाँ र पुँजीगततर्फ ११ करोड १३ लाख रुपैयाँ गरी कुल ५९ करोड ७ लाख रुपैयाँ खर्च भएको जानकारी दिइन्। उक्त खर्च कुल बजेटको करिब ६० प्रतिशत रहेको उल्लेख गर्दै आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा ८८ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको उनले बताइन्।

यसअघि नगरप्रमुख लब श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता तथा पर्यटन प्रवर्द्धनलाई विकासको प्रमुख आधारका रूपमा अघि सारिएको बताए।

शिक्षा क्षेत्रअन्तर्गत कक्षा ८ तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने व्यवस्था गरिएको छ। यसका साथै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीलाई उत्कृष्ट नतिजातर्फ प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन ‘नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ अभियान सञ्चालन गरिने भएको छ। योग शिक्षासहितको ‘नागरिक आरोग्य कार्यक्रम’लाई विस्तार गर्दै नगरपालिकाका सबै १४ वटै वडामा एक–एक योग केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ। यसबाट समुदायस्तरमा स्वास्थ्य सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रतर्फ रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। किसान परिचयपत्र वितरण सुरु गरिने, स्थानीय कृषि उत्पादनको बजारीकरण काठमाडौंसम्म विस्तार गरिने तथा दूध उत्पादक कृषकलाई दिँदै आएको अनुदान कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

युवा तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै लघु तथा घरेलु उद्योग प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने भएका छन्। नगरपालिकाले उद्योग स्थापना तथा विस्तारका लागि ५० प्रतिशत लागत साझेदारी गर्ने, युवा उद्यमीलाई प्रोत्साहन गर्ने तथा स्वरोजगारका अवसर सिर्जना गर्ने नीति लिएको जनाएको छ।

पर्यटन क्षेत्रको विकासका लागि प्रमुख पर्यटकीय गन्तव्यहरूको संरक्षण, स्थानीय संस्कृति र सम्पदाको प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासमा जोड दिइने भएको छ। पर्यटकीय परामर्श कक्ष स्थापना गरिने र निर्माणाधीन फोहोर विसर्जन केन्द्रको काम सम्पन्न गर्ने प्रयासलाई पनि आगामी वर्ष निरन्तरता दिइने नगरप्रमुख श्रेष्ठले बताए।

नगरपालिकाले सार्वजनिक गरेको बजेट तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास र आधारभूत सेवा विस्तारलाई केन्द्रमा राख्दै समावेशी, दिगो र नागरिकमुखी विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

स्थानीय स्रोत, उत्पादन र मानव पूँजीको उपयोगमार्फत नगरको समग्र आर्थिक तथा सामाजिक विकासलाई गति दिने लक्ष्यसहित बजेट ल्याइएको नगरपालिकाको भनाइ छ।

मध्यरातको गोप्य भेटघाट : बालेन एक्कासी किन पुगे सौराहा ?

चितवन।  प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गरेका छन्।

अवलोकनका क्रममा उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे जानकारी लिएका थिए।

परिवारसहित चितवन पुगेका शाह सौराहाको प्राकृतिक सौन्दर्य, वन्यजन्तु तथा जैविक विविधताप्रति चासो राख्दै अवलोकनमा सहभागी भएका थिए।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार उनले सौराहाको पर्यटन सम्भावना तथा संरक्षणसँग जोडिएका विकासका विषयमा समेत रुचि देखाएका थिए। वन्यजन्तु तथा प्राकृतिक वातावरणको अवलोकनपछि उनले यहाँको प्रकृति संरक्षणयोग्य रहेको धारणा व्यक्त गरेको स्थानीय स्रोतले जनाएको छ।

यसैबीच, प्रधानमन्त्री शाह कालिका नगरपालिका-शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसिरहेका छन्।

चितवन भ्रमणलाई राजनीतिक कार्यक्रमभन्दा पारिवारिक तथा पर्यटकीय भ्रमणका रूपमा हेरिएको छ।

स्थानीय व्यवसायीहरूका अनुसार सौराहामा उनको उपस्थितिले पर्यटन क्षेत्रको चहलपहल बढाउन सहयोग पुगेको छ।

रोल्पामा बस दुर्घटना, १२ यात्रु घाइते

रोल्पा। रोल्पाको माडी गाउँपालिका-२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भएपछि सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला बसमा चालकसहित २९ जना सवार थिए।

दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका–२ घर्तिगाउँस्थित स्मृति अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि उक्त सडकखण्ड अवरुद्ध बनेको छ भने बस घटनास्थलमै रहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

रेबिज संक्रमणबाट चन्द्रागिरिका ४८ वर्षीय पुरुषको मृत्यु

काठमाडौं। रेबिज संक्रमणका कारण काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।

रेबिजको लक्षण देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका ती पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार ती व्यक्ति असार ५ गते अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको भोलिपल्ट नै उनको मृत्यु भएको उनले जानकारी दिए। उनका अनुसार ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) लगाएका थिएनन्।

अधिकारीका अनुसार रेबिजका लक्षण देखिइसकेपछि रोगको मृत्युदर शतप्रतिशत हुने गर्छ। चिकित्सकहरूका अनुसार रेबिज भाइरसले घाँटी तथा श्वासप्रश्वाससम्बन्धी मांसपेशीहरूलाई प्रभावित बनाउँछ। यसका कारण पानी निल्न कठिन हुने, पानी देख्दा वा केही निल्ने प्रयास गर्दा घाँटीमा असह्य पीडा महसुस हुने जस्ता लक्षण देखापर्छन्।

संक्रमण बढ्दै जाँदा शरीरका विभिन्न अंगहरूले क्रमशः काम गर्न छाड्ने र अन्ततः बिरामीको मृत्यु हुन सक्ने चिकित्सकहरू बताउँछन्।

स्वास्थ्यकर्मीहरूले जनावरले टोके वा चिथोरेपछि तत्काल घाउ सफा गरी चिकित्सकको परामर्श लिन र समयमै रेबिजविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। रेबिज एक घातक रोग भए पनि समयमै खोप लगाएमा यसबाट बच्न सकिने चिकित्सकहरूको भनाइ छ।

मेसीलाई ‘गोल्डेन अपरच्युनिटी’

काठमाडौं। विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा सोमबार टेक्ससस्थित एटी एन्ड टी स्टेडियममा अर्जेन्टिना र अस्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।

खेलको मुख्य आकर्षण अर्जेन्टिनाका कप्तान लियोनेल मेसी रहने अपेक्षा गरिएको छ।

अल्जेरियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक गर्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्‍याएका छन्। यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको विश्वकप इतिहासमा सर्वाधिक गोलको कीर्तिमानको बराबरी गरेको उल्लेख गरिएको छ।

अब अस्ट्रियाविरुद्ध एक गोल थप्न सके मेसी विश्वकपमा १७ गोल गर्ने पहिलो खेलाडी बन्दै नयाँ इतिहास रच्ने स्थितिमा पुग्नेछन्। त्यसैले यो खेललाई मेसीको व्यक्तिगत उपलब्धिसँग जोडेर विशेष चासोका साथ हेरिएको छ।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले टोलीको खेल रणनीतिमा मेसीलाई केन्द्रमा राखेका छन्। रोड्रिगो डे पल र अलेक्सिस म्याक एलिस्टारले मिडफिल्ड सम्हाल्ने अपेक्षा गरिएको छ भने आक्रमणमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले साथ दिने सम्भावना छ।

यता, राल्फ राङ्निकको नेतृत्वमा रहेको अस्ट्रिया पनि जोर्डनमाथिको जितपछि आत्मविश्वासका साथ मैदान उत्रिने तयारीमा छ। यद्यपि खेलअघि सबैभन्दा बढी चर्चा भने मेसीले नयाँ कीर्तिमान बनाउने सम्भावनालाई लिएर भइरहेको छ।

यदि उनले गोल गर्न सफल भए विश्वकप इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपिनेछ, जसको प्रतीक्षामा विश्वभरका फुटबल समर्थक रहेका छन्।

आउटलुकमा अफलाइन इमेल लेख्न र फाइल जोड्न सकिने सुविधा

काठमाडौं।  माइक्रोसफ्टले विन्डोज ११ मा उपलब्ध नयाँ आउटलुक एपमा अफलाइन प्रयोगसम्बन्धी सुविधा थप विस्तार गरेको छ।

अब प्रयोगकर्ताले इन्टरनेट जडान नभएको अवस्थामा पनि इमेल तयार पार्न र त्यसमा फाइल एटेच गर्न सक्ने भएका हुन्।

नयाँ सुविधाअनुसार अफलाइन अवस्थामा तयार गरिएका इमेलहरू इन्टरनेट पुनः जडान भएपछि स्वतः पठाइनेछन्। यसले यात्रा गरिरहेका वा कमजोर इन्टरनेट पहुँच भएका प्रयोगकर्तालाई दैनिक कामकाज सहज बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

माइक्रोसफ्टले पछिल्ला केही वर्षदेखि प्रयोगकर्तालाई क्लासिक आउटलुकबाट नयाँ वेब–आधारित आउटलुक एपतर्फ स्थानान्तरण गराउने प्रयास गर्दै आएको छ। सोही रणनीतिअन्तर्गत कम्पनीले नयाँ आउटलुकलाई थप आधुनिक, छिटो र सुविधासम्पन्न बनाउने उद्देश्यले निरन्तर सुधार गरिरहेको छ।

प्रविधि सम्बन्धी समाचार वेबसाइट ‘विन्डोज लेटेस्ट’ का अनुसार कम्पनीले सन् २०२५ को अक्टोबरदेखि नयाँ आउटलुकमा अफलाइन एटेचमेन्ट सुविधाको परीक्षण थालेको थियो। परीक्षण चरण पूरा भएपछि यो सुविधा अहिले क्रमशः धेरै प्रयोगकर्तामाझ उपलब्ध गराउन थालिएको हो।

नयाँ आउटलुकमा पछिल्लो समय क्यालेन्डर व्यवस्थापन, इमेल सिङ्क तथा अफलाइन पहुँचलगायत क्षेत्रमा विभिन्न सुधार गरिए पनि धेरै प्रयोगकर्ताले अझै क्लासिक आउटलुक वा वेब संस्करणलाई प्राथमिकता दिइरहेका छन्।

माइक्रोसफ्टले भने प्रयोगकर्ताको आवश्यकता र प्रतिस्पर्धात्मक बजारलाई ध्यानमा राख्दै नयाँ आउटलुक एपमा नियमित अपडेट तथा नयाँ सुविधा थप्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।

हिजो अरुले नियुक्त गर्दा ‘झोले भर्ती’ भन्ने बालेन आज ५७ सल्लाहकार नियुक्त गर्दै

काठमाडाैं । बालेन सरकारले ५७ जना सल्लाहकार नियुक्त गर्ने भएकाे छ । उनीहरु सचिवस्तरीय हुने छन् ।

मन्त्रालयहरुकाे काम छिटाेछरिताे ढङ्‍गले सम्पन्‍न गर्न भन्दै उनीहरुलाई बालेन सरकारले सल्लाहकारमा नियुक्त गर्ने भएका हुन् । प्रधानमन्त्री बालेनले मन्त्रीहरुकाे सचिवालय पनि जम्बाे बनाउने तयारी गरेका छन् ।

विगतमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राप्रपा, जसपालगायत दलहरु सरकारमा हुँदा प्रधानमन्त्री र मन्त्रीहरुले यसरी सल्लाहकार नियुक्त गर्दा र मन्त्रीहरुकाे सचिवालय गठन गर्दा खासगरी रास्वपा नेता कार्यकर्ताहरु झाेलेहरुलाई नियुक्त गरिएकाे भन्दै विराेध गर्थे ।

आसेपासेलाई नियुक्ति गरेर राज्यकाेशमाथि लूट मच्चाएकाे आराेप लगाउँथे । यतिबेला भने प्रधानमन्त्री बालेन र उनकाे सरकारले मन्त्रालयहरुकाे कामलाई छिटाे र छरिताे ढङ्‍गले सम्पन्‍न गर्न भन्दै सचिवस्तरकाे ५७ जनालाई सल्लाहकारमा नियुक्त गर्ने भएकाे हाे ।

यससँगै एक जनालाई सेवा, सुविधा र तलब गरी बालेन सरकारले महिनामै एक लाख रुपैयाँ राज्यकाेषबाट खर्च गर्ने भएकाे हाे । अर्थात् ५७ जना सल्लाहकार नियुक्त गरेर बालेन सरकारले जनताबाट सङ्‍कलन गरेकाे कर हरेक महिना ५७ लाख बढी र वर्षमा झण्डै ७ कराेड राज्यकाेषबाट खर्च गर्ने भएकाे हाे ।

सबैभन्दा बढी उर्जा, पूर्वाधार र कृषि मन्त्रीकाे सचिवालयमा ५ जनाकाे दरले सचिवस्तरीय सल्लाहकार रहने भएका छन् । बाँकी १४ जना मन्त्रीकाे सचिवालयमा तीन जनाकाे दरले सल्लाहकार रहने भएका छन् ।

सबै मन्त्रालयमा स्वकीय उपसचिव १ जना, स्वकीय अधिकृत २ जना, स्वकीय नायब सुब्बा २ जना, सहयाेगी २ जना र चालक २ जनाका दरले सचिवालयमा राख्ने भएकाे छ ।

विगतमा यसरी अरु दल सरकारमा हुँदा आसेपासेलाई राखेर देश लुटेकाे आराेप सबैभन्दा चर्काेगरी अहिले रास्वपामा रहेका नेता र कार्यकर्ताहरु लगाउँथे ।

अहिले आफू सरकारमा हुँदा त्यसै गर्दा चुपचाप छन् । यस्ताेमा कतिपयले रास्वपा र बालेन सरकारलाई साेध्न थालेका छन् – हिजाे अरुले प्रधानमन्त्री र मन्त्रीकाे सचिवालयमा गरेकाे नियुक्ति गलत थियाे भने आज बालेन नेतृत्वकाे रास्वपा सरकारले गरेकाे नियुक्ति कसरी सही हुन्छ ?

‘रास्वपामा गुट छैन’ : जगदीश खरेल [भिडियो]

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेल ले महाधिवेशनपछि पार्टीमा कुनै पनि गुट वा समूह नरहने बताएका छन्।

सोमबार चितवनमा महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले विभिन्न पृष्ठभूमिबाट आएका व्यक्ति तथा समूहहरू अब एउटै संरचनामा एकताबद्ध भएर अघि बढ्ने बताएका हुन्।

खरेलका अनुसार पार्टीमा विभिन्न समूह, पृष्ठभूमि र अन्य दलबाट आएका सदस्यहरू भए पनि ती सबैले अब साझा रूपमा रास्वपाको संगठनात्मक संरचनामा काम गर्नेछन्।

‘यहाँ विभिन्न समूहबाट, विभिन्न पार्टीबाट आएकाहरू छन्। विभिन्न पृष्ठभूमिबाट आएका छन्,’ उनले भने, ‘पहिला रास्वपा असंगठित थियो होला। ती सबै साना–साना गुट, उपगुट, समूह अन्त्य भएर यो महाधिवेशनबाट एउटा ठाउँमा आउँदै छन्। अब गुट छैन पार्टीमा।’

भिडियो:

बन्दसत्र सुरु नभएपछि, महाधिवेशनमा देखिन थाले यस्ता दृश्य

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिन बिहान ८ः३० बजे सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन।

महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने कार्य पूरा नभएकाले बन्दसत्र ढिलाइ भएको हो। करिब दिउँसोसम्म पनि कार्यक्रम सुरु हुन नसकेको जनाइएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावलीमा त्रुटि भेटिएपछि त्यसलाई सच्याउने र पुनः रुजु गर्ने काम जारी रहेको नेताहरूले बताएका छन्। यही कारण महाधिवेशनको औपचारिक प्रक्रिया प्रभावित भएको हो।

बन्दसत्र सुरु हुन नसकेपछि प्रदर्शनी हलभित्र उपस्थित पदाधिकारी तथा प्रतिनिधिहरू प्रतीक्षामा बसेका छन्।

चर्को गर्मीका कारण हलभित्र धेरै प्रतिनिधिहरू सुस्ताएर बसिरहेको देखिएको छ।

तस्वीरहरू:

विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौं : भीष्मराज आङ्देम्बे

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन्।

उनले प्रतिपक्षको भूमिका विरोधका लागि विरोध गर्ने नभई सरकारलाई उत्तरदायी बनाउने र जनताप्रति गरिएका प्रतिबद्धता पूरा गर्न सचेत गराउने भएको स्पष्ट पारे।

साेमबार इलाम नगरपालिकाकाे नगरसभामा बाेल्दै नेता आङ्देम्बेले संसदभित्र प्रतिपक्षीले उठाएका विषयहरू जनताकै आवाज भएको पनि दाबी गरे।

किसानहरू विभिन्न समस्याबाट पीडित भइरहेका बेला राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको उनको भनाइ थियो।

‘देशमा जसरी किसानहरू प्रताडित भइरहेका छन्, यसले हाम्रो अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्‍याइरहेको छ । त्यसप्रति अहिले पनि राष्ट्र संवेदनशील भइरहेको छैन भन्ने अनुभूति हामीले गरिरहेका छौं’ आङ्देम्बेले भने।

उनले सरकार ठूलो जनमतबाट निर्वाचित भएर गठन भए पनि त्यसलाई जनताप्रति उत्तरदायी बनाउने जिम्मेवारी प्रतिपक्षको भएको बताए।

‘संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो । सरकारलाई जनताप्रति गरिएको प्रतिबद्धतामा अझ खरो रूपमा उत्रिन सचेत गर्ने काम प्रतिपक्षीको हो र त्यो काम हामीले निरन्तर गरिरहेका छौं,’ उनले भने।

आङ्देम्बेले देशभरका नागरिकमा सरकारप्रति बढ्दो असन्तुष्टि देखिएको पनि बताए। मत परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले अपेक्षित परिणाम दिन नसकेको निष्कर्षमा समेत धेरै नागरिक पुग्न थालेको उनको भनाइ थियो।

‘पार्टी परिवर्तन नै मत परिवर्तनको अभ्यास रहेछ तर त्यसले मात्रै समस्या समाधान नहुने रहेछ भन्ने निष्कर्षमा नेपाली जनता पुग्न थालेको अनुभूति भइरहेको छ’, उनले भने।

उनले विगतमा राजनीतिक दलहरूले जनताको विश्वासको सम्मान गर्न नसक्दा नागरिकहरू नयाँ दलतर्फ आकर्षित भएको स्वीकार गरे। ‘जनताले दिएको अभिमतको सम्मान गर्न नसक्दा नै जनताको आक्रोश र निराशा नयाँ पार्टीहरूतर्फ गएको हो’, उनले भने।

कांग्रेस अहिले सरकारको विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको पनि आङ्देम्बेले स्पष्ट पारे। संसदमा आफूले व्यक्त गरेका धारणा र कांग्रेस सभापति गगन थापाले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा व्यक्त गरेको सन्देश एउटै रहेको उनको भनाइ थियो।

‘अहिलेको प्रतिपक्ष विरोधका निम्ति विरोध गर्न आएको होइन, परिणामका निम्ति साथ दिन आएको हो’, उनले भने, ‘नेपाली कांग्रेस परिणाम प्राप्त गर्नका निम्ति सरकारलाई विरोधीका रूपमा होइन, सहयोगीका रूपमा साथ दिन तयार छ।’

आङ्देम्बेले सत्ता र प्रतिपक्ष दुवैले जनताको अपेक्षाअनुसार परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिँदै लोकतन्त्रको सफलताको आधार पनि त्यही भएको बताए।

गगनलाई समर्थन गरेकोमा पछुताउँदै मिराज

काठमाडौं। नेपाली राजनीतिक वृत्तमा चर्चित बनेको एक अभिव्यक्तिबारे मिराज ढुङ्गानाले नेपाली कांग्रेसका सभापति गगन थापा लाई विगतमा दिएको समर्थनबारे आत्मालोचना गरेका छन्।

ढुङ्गानाले सार्वजनिक रूपमा धारणा राख्दै राजनीतिक नेतृत्वको मूल्याङ्कन व्यक्तिगत आकर्षण वा प्रभावका आधारमा नभई कार्यसम्पादन, प्रतिबद्धता र परिणामका आधारमा हुनुपर्ने बताएका हुन्।

उनले विगतका राजनीतिक अपेक्षा र वर्तमान परिस्थितिबीच फरक अनुभव भएको उल्लेख गर्दै आत्मसमीक्षाको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्।

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई राजनीतिक परिपक्वताको संकेतका रूपमा व्याख्या गरेका छन् भने केहीले व्यक्तिगत असन्तुष्टिको अभिव्यक्तिका रूपमा लिएका छन्।

ढुङ्गानाले आफ्नो टिप्पणी कुनै व्यक्तिगत आक्षेप नभई राजनीतिक मूल्याङ्कन र आत्मसमीक्षासँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्। उनका अनुसार जनताले नेताहरूलाई भाषण होइन, कामका आधारमा मूल्याङ्कन गर्नुपर्ने समय आएको छ।

यस विषयमा  थापाको तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

ग्रे लिस्टमा नेपाल : भारतीय मिडिया भन्छ ‘बालेन सरकारलाई झट्का’

काठमाडौं। नेपाल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) को ग्रे लिस्टमै यथावत् रहेको विषयलाई भारतीय अनलाइन मिडियाले ‘बालेन सरकारमाथि ठूलो झट्का’ भन्दै प्रस्तुत गरेको छ।

भारतीय दैनिक नवभारत टाइम्सको अनलाइन संस्करणले ‘एफएटिएफ की ग्रे लिस्ट में बना रहेगा नेपाल, बालेन सरकार को लगा बड़ा झटका, ब्लैक लिस्ट का मंडराया खतरा’ शीर्षकमा समाचार प्रकाशित गर्दै नेपालले सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणमा अपेक्षित सुधार गर्न नसकेको टिप्पणी गरेको छ।

समाचारमा एफएटिएफको क्षेत्रीय निकाय एसिया प्यासिफिक ग्रुप (एपिजी) ले नेपाललाई आवश्यक सुधार नगरेमा ‘ब्ल्याक लिस्ट’ मा पर्न सक्ने चेतावनी दिएको उल्लेख छ।

एपिजीको पछिल्लो मूल्यांकनअनुसार नेपालले १५ बुँदे कार्ययोजनामध्ये ९ वटामा मात्र उल्लेखनीय प्रगति गरेको र बाँकी ६ क्षेत्रमा आंशिक सुधार देखिएको बताइएको छ।

एफएटिएफले नेपाललाई मनी लन्डरिङ नियन्त्रण, अनुसन्धान क्षमता विस्तार र अवैध वित्तीय कारोबार नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न सुझाव दिएको छ। सुधारमा ढिलाइ भए भविष्यमा ब्ल्याक लिस्टमा पर्न सक्ने जोखिम कायमै रहने चेतावनी पनि दिएको छ।

नवभारत टाइम्सले यस अवस्थालाई नेपालका राजनीतिक नेतृत्वसँग जोड्दै बालेन्द्र शाह नेतृत्वको सरकारका लागि चुनौतीका रूपमा चित्रण गरेको छ। यद्यपि नेपालमा एफएटिएफसम्बन्धी सुधार कार्य कुनै एक सरकार वा नेतृत्वमा मात्र सीमित नभई निरन्तर चलिरहेको प्रक्रिया हो।

यसअघि गत मे महिनामा एपिजीको दुई सदस्यीय टोलीले काठमाडौंमा आएर अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीलगायत निकायका उच्च अधिकारीसँग छलफल गरेको थियो। उक्त छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गभर्नर विश्वनाथ पौडेललगायत अधिकारी सहभागी भएका थिए।

विशेषज्ञहरूका अनुसार एफएटिएफको ग्रे लिस्टमा रहनु नेपालका लागि वित्तीय प्रणाली, वैदेशिक लगानी र अन्तर्राष्ट्रिय विश्वसनीयताका दृष्टिले चुनौतीपूर्ण विषय हो।

सुधारका सूचकहरू पूरा गर्न नसके भविष्यमा थप कडा निगरानी वा ब्ल्याक लिस्टमा पर्ने जोखिम रहने उनीहरूको भनाइ छ।

कहाँ भयो कमजोरी ?

प्रभावकारी बन्न कानुन बनेन

नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था लागू गरेको छ र नियामक निकायहरू पनि स्थापना गरिएका छन्। बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचान (केवाईसी), शंकास्पद कारोबारको पहिचान तथा जोखिम व्यवस्थापन प्रणाली लागू गर्न निर्देशन दिइएको छ।

तर अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को मूल्यांकनमा मुख्य ध्यान कानुनको अस्तित्वभन्दा पनि त्यसको व्यवहारिक परिणाममा रहने गर्छ। नेपालमा शंकास्पद कारोबार पहिचान, अनुसन्धान, मुद्दा दर्ता र कारबाहीसम्मका प्रक्रियामा अपेक्षित प्रभावकारिता देखिन नसकेको टिप्पणी हुँदै आएको छ।

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा संलग्न निकायहरूको क्षमता, अन्तरनिकाय समन्वय र न्यायिक प्रणालीको कार्यक्षमतामा सुधार आवश्यक रहेको अन्तर्राष्ट्रिय मूल्यांकनले देखाएको छ।

बैंकिङ क्षेत्रमा निगरानी र दबाब

नेपालको बैंकिङ प्रणाली एफएटीएफ मूल्यांकनसँग प्रत्यक्ष रूपमा सम्बन्धित क्षेत्र हो। बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार ग्राहक पहिचान, जोखिम मूल्यांकन र शंकास्पद कारोबार नियन्त्रणका लागि उल्लेखनीय प्रयास गर्दै आएका छन्। तर देश ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले नेपालसँगको कारोबारमा थप सतर्कता अपनाउने सम्भावना रहन्छ।

यसले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली, विदेशी बैंकसँगको सम्बन्ध तथा व्यापारिक कारोबारमा अतिरिक्त प्रक्रिया र निगरानी बढाउन सक्छ। त्यसको असर बैंकिङ लागतमा समेत पर्न सक्छ। अन्तर्राष्ट्रिय कारोबारका क्रममा थप कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले व्यवसायी र वित्तीय संस्थालाई अतिरिक्त बोझ थप्न सक्छ।

विदेशी लगानीमा पर्ने प्रभाव

विदेशी लगानीकर्ताले कुनै देशमा लगानी गर्ने निर्णय गर्दा राजनीतिक स्थायित्व र आर्थिक अवस्थासँगै वित्तीय पारदर्शितालाई पनि मुख्य आधारका रूपमा लिन्छन्। एफएटीएफको ग्रे लिस्टमा रहनुले नेपाललाई तुलनात्मक रूपमा उच्च जोखिमयुक्त बजारका रूपमा देखाउन सक्छ। यसले लगानीकर्ताको निर्णय प्रक्रियामा नकारात्मक असर पार्ने सम्भावना रहन्छ।

हाल नेपालमा आर्थिक गतिविधि सुस्त रहेको, निजी क्षेत्रको आत्मविश्वास कमजोर रहेको र लगानी विस्तार अपेक्षित रूपमा हुन नसकेको अवस्थामा अन्तर्राष्ट्रिय वित्तीय छविमा देखिने कमजोरीले थप चुनौती सिर्जना गर्न सक्छ।

रेमिट्यान्समा सीधा रोक नलागे पनि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले जोखिम व्यवस्थापनका कारण थप निगरानी र कडाइ गर्न सक्छन्। यसले रकम पठाउने र प्राप्त गर्ने प्रक्रिया केही जटिल बन्न सक्छ। विशेषगरी अनौपचारिक कारोबार नियन्त्रण गर्न प्रभावकारी नीति आवश्यक देखिन्छ।

नेपालका लागि अहिलेको मुख्य चुनौती ग्रे लिस्टबाट बाहिरिनु मात्र नभई दीर्घकालीन रूपमा पारदर्शी र सुदृढ वित्तीय प्रणाली निर्माण गर्नु हो। सम्पत्ति शुद्धीकरण नियन्त्रणका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सरकारी निकाय, केन्द्रीय बैंक, अनुसन्धान निकाय, सुरक्षा निकाय र न्यायिक निकायबीच समन्वय अझ प्रभावकारी हुनुपर्ने देखिन्छ।

स्तरोन्नतिका यस्ता सुझाव

एफएटीएफका अनुसार नेपालले अझै पनि शंकास्पद वित्तीय कारोबारको पहिचान, अनुसन्धान र कारबाही प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता छ। विशेषगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम व्यवस्थापनमा रणनीतिक कमजोरीहरू कायम रहेको भन्दै त्यसलाई सम्बोधन गर्न सुझाव दिइएको छ।

त्यस्तै वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसाय र घरजग्गा क्षेत्रको जोखिममा आधारित निगरानी प्रणाली अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

नेपालमा हुण्डी कारोबार अझै पनि ठूलो चुनौतीका रूपमा रहेको भन्दै यसलाई नियन्त्रण गर्न कडा र प्रभावकारी कदम चाल्नुपर्ने एफएटीएफको सुझाव छ।

साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्ने निकायलाई अझ सक्षम बनाउनुपर्ने, अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रमाणमा आधारित र प्रभावकारी बनाउनुपर्ने पनि उल्लेख गरिएको छ।

‘धुरन्धर’बाटै रणवीरले कमाए ३२५ करोड

एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहले एउटै चलचित्र परियोजनाबाट करिब ३२५ करोड भारतीय रुपैयाँ आम्दानी गर्दै भारतीय चलचित्र उद्योगमा नयाँ कीर्तिमान बनाएको दाबी गरिएको छ।

मिडिया रिपोर्टअनुसार उनले फिल्म ‘धुरन्धर’ बाट उक्त आम्दानी गरेका हुन्। दुई भागमा प्रदर्शन गरिएको यो फिल्मले विश्वव्यापी रूपमा ठूलो व्यापार गरेको बताइएको छ।

रिपोर्टमा उल्लेख भएअनुसार फिल्मका दुवै भागले संयुक्त रूपमा करिब ३ हजार २०० करोड भारु विश्वभर कमाएका थिए। यसमध्ये भारतबाट मात्रै १ हजार ९०० करोड रुपैयाँभन्दा बढी आम्दानी भएको जनाइएको छ।

जानकारी अनुसार रणवीर सिंहले यस फिल्मका लागि परम्परागत निश्चित पारिश्रमिक नलिई नाफामा आधारित साझेदारी मोडेल अपनाएका थिए। यही कारण उनले फिल्मको नाफामा प्रत्यक्ष हिस्सा पाएका हुन्।

फिल्मको बजेट बढेपछि उनले व्यक्तिगत रूपमा लगानी समेत गरेको बताइन्छ, जसले उनको कुल हिस्सामा वृद्धि भएको उल्लेख गरिएको छ। हल प्रदर्शनसँगै डिजिटल अधिकार, टेलिभिजन प्रसारण अधिकार र संगीत अधिकारबाट प्राप्त आम्दानी समेत जोडिँदा उनको कुल हिस्सा करिब ३२५ करोड रुपैयाँ पुगेको दाबी गरिएको छ।

यसअघि भारतीय चलचित्र उद्योगमा सबैभन्दा बढी कमाइको रेकर्ड दक्षिण भारतीय अभिनेता रजनीकान्तको नाममा थियो। उनले २०२४ मा प्रदर्शन भएको फिल्म ‘जेलर’ बाट २५० करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको बताइएको छ।

त्यस्तै अल्लु अर्जुन र प्रभासले क्रमशः ‘पुष्पा २’ र ‘कल्कि २८९८ एडी’ मार्फत २०० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका उल्लेख छ।

बलिउडतर्फ यसअघि शाहरुख खानको नाममा उच्च आम्दानीको रेकर्ड रहेको थियो। उनले २०२३ मा आएका ‘पठान’ र ‘जवान’ फिल्मबाट प्रति फिल्म करिब २०० करोड रुपैयाँ कमाएको बताइएको छ।

मनिष झा महामन्त्रीमा उम्मेदवारी दिँदै

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

उनले महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफूले सो पदका लागि उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्।

झाले हाल कुनै पनि लाभको पदमा नरहेको स्पष्ट पारेका छन्।

यसैबीच आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र अघि बढ्ने तयारी भइरहेको छ। पार्टीको कार्यतालिका अनुसार भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने छ।

झापा जाँदै गगन-विश्व

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा झापा जाने भएका छन्।

पार्टीको जिल्लास्तरीय संगठनात्मक भेलालाई सम्बोधन गर्न उनी मंगलबार झापा पुग्ने कार्यक्रम रहेको कांग्रेस झापाले जनाएको छ।

कांग्रेस झापा जिल्ला सचिव कृष्ण हुमागाईंका अनुसार भेलामा पार्टी उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुनेछन्। कार्यक्रम कार्यकर्ता भेटघाट, संगठन सुदृढीकरण तथा आन्तरिक समन्वयलाई केन्द्रमा राखेर आयोजना गरिएको हो।

जिल्ला नेतृत्वका अनुसार झापामा हालसम्म करिब ६० प्रतिशत क्रियाशील सदस्यता अद्यावधिक भइसकेको छ।

बाँकी सदस्यता अद्यावधिकको प्रक्रिया पनि क्रमशः अघि बढिरहेको जनाइएको छ।

रूस-युक्रेन युद्ध : मस्कोमा ५९ ड्रोन नष्ट

एजेन्सी। रूसको राजधानी मस्को लक्षित ठूलो संख्यामा ड्रोन आक्रमण प्रयास भएपछि रूसी सुरक्षा प्रणाली सक्रिय बनेको छ।

रूसी अधिकारीहरूका अनुसार करिब ६० वटा ड्रोनमध्ये ५९ वटा आकाशमै नष्ट गरिएका छन्। घटनापछि मस्कोका चार प्रमुख विमानस्थल केही समयका लागि बन्द गर्नुपरेको थियो।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमार्फत ड्रोनहरू शहरतर्फ आउँदै गर्दा रोकिएको जानकारी दिएका छन्। उनका अनुसार वायु रक्षा प्रणालीले ती सबै ड्रोनलाई आकाशमै निष्क्रिय पारेको हो।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै मस्कोका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका थिए भने अवस्था सामान्य भएपछि बिहान ५:३९ बजे पुनः सञ्चालनमा ल्याइएको थियो।

यो घटना २०२२ मा सुरु भएको रूस-युक्रेन युद्धको निरन्तर विकसित हुँदै गएको चरणसँग जोडिएको छ। युद्ध सुरु हुँदा मुख्य रूपमा स्थल र हवाई आक्रमण केन्द्रमा थियो, तर २०२३ पछि दुवै पक्षले लामो दूरीसम्म पुग्न सक्ने ड्रोनलाई प्रमुख रणनीतिक हतियारका रूपमा प्रयोग गर्न थालेका छन्।

युक्रेनले पश्चिमी सहयोग र आफ्नै प्रविधिको सहायताले रूसको भित्री क्षेत्रमा समेत ड्रोन आक्रमण गर्न थालेपछि युद्धको स्वरूप परिवर्तन भएको मानिन्छ।

पछिल्ला वर्षहरूमा मस्को र आसपासका क्षेत्रमा ड्रोन आक्रमण नियमितजस्तै देखिएको छ। २०२४ देखि यस्ता आक्रमणहरू बढ्न थालेका छन् भने २०२५ र २०२६ मा रूसका ऊर्जा पूर्वाधार, तेल प्रशोधन केन्द्र र आपूर्ति संरचनामा समेत क्षति भएको रिपोर्टहरू सार्वजनिक भएका छन्। पछिल्लो घटनाले मस्कोलाई पनि युद्धबाट पूर्ण रूपमा सुरक्षित क्षेत्र मान्न नसकिने अवस्था देखाएको छ।

रूसी मेयर सर्गेई सोब्यानिनका अनुसार पछिल्लो आक्रमण प्रयासमा ५९ ड्रोन नष्ट गरिएको हो। यद्यपि रूसले ती ड्रोनको स्रोतबारे औपचारिक रूपमा स्पष्ट विवरण दिएको छैन। तर युद्धको वर्तमान परिस्थितिका कारण यसलाई युक्रेनसँग जोडेर विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार युक्रेनले पछिल्ला वर्षहरूमा रूसको भित्री क्षेत्रमा रहेका ऊर्जा संरचना, सैन्य गोदाम र आपूर्ति प्रणालीलाई लक्षित गर्दै आएको छ। यसको उद्देश्य रूसको युद्ध क्षमतामा दबाब सिर्जना गर्नु रहेको बताइन्छ। त्यसको प्रतिकारमा रूसले मस्को वरिपरि एस–३०० र एस–४०० जस्ता अत्याधुनिक वायु रक्षा प्रणाली परिचालन गर्दै आएको छ। तर ड्रोनको संख्या र प्रविधि दुवै बढ्दै जाँदा पूर्ण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।

विशेषज्ञहरूका अनुसार यस युद्धमा ड्रोनको प्रयोग बढ्नुका प्रमुख कारण कम लागतमा उच्च प्रभाव पार्न सक्नु, मानव जोखिम कम हुनु, लामो दूरीसम्म आक्रमण गर्न सक्नु र परम्परागत रक्षा प्रणालीलाई चुनौती दिन सक्नु हो।

यसले रूस–युक्रेन युद्धलाई परम्परागत लडाइँबाट प्रविधि-केन्द्रित आधुनिक युद्धतर्फ रूपान्तरण गरेको विश्लेषण गरिएको छ।

लिङ्देनले ‘राजा ल्याउनुस्’ भन्दा माैन बालेन गणतन्त्रवादी नेतासँग किन कड्किए ?

काठमाडाैं । प्रधानमन्त्री बालेन के राजा चाहन्छन् ? त्यसकै लागि उनले राष्ट्रपति रामचन्द्र पौडेलमाथि पटकपटक अपमान र राजीनामाको दबाब दिएका हुन् ?

यसबारे बालेनले प्रष्ट बोलेका छैनन् । तर, उनको दल रास्वपाको चितवनमा जारी महाधिवेशनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा चाहिन्छ भन्नेहरुको मत पनि बालेनलाई गएकोले राजा ल्याउन सुझाए ।

बारम्बार राष्ट्रपति पौडेललाई जसरी अप्ठ्यारो पार्न प्रधानमन्त्री बालेनले कोशिस गरेका छन्, उनलाई नागार्जुन पुगेको ज्ञानेन्द्र शाहलाई फेरि नारायणहिटी ल्याउन उद्धत भएको आरोप लाग्ने गरेको छ ।

यस्ताेमा, राप्रपा अध्यक्ष लिङ्देनले तपाईंलाई राजावादीको मत पनि छ र तपाईंले राजा ल्याउनुपर्छ भन्दा बालेन चुपचाप बसे ।

जबकि, महाधिवेशनमा गणतन्त्रपक्षधर दल कांग्रेस सभापति गगन थापाले सीमा सम्बन्धी मामिलामा गम्भीर हुन सुझाव दिँदा प्रधानमन्त्री बालेनले आफ्नो राष्ट्रियतामा शंका नगर्न चेतावनीको भाषामा बोले ।

अर्काे गणतन्त्रपक्षधर दल एमालेका नेता प्रदीप ज्ञवालीले बालेन सरकारलाई गेयर र ब्रेक मिलाएर मात्रै सत्ताको गाडी गुडाउन सुझाव दिँदा चेतावनीको भाषामा उनले बालेन सरकार एक्सप्रेस वेमा गुडेको गाडी भएको र गन्तव्य पुगेपछि मात्रै रोकिने बताए ।

जनमतका अध्यक्ष सिके राउतले हावा र जनता उस्तै भएको र दुबैको भर नहुने भन्दा उनले बाढी ल्याएर खोलो फर्काएको जवाफ दिए ।

तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा चाहनेहरुको मत पनि बालेनलाई गएको र राजा ल्याउनु भन्दा मौन बसे । यसलाई नेपाली राजनीतिमा निकै अर्थपूर्ण घटनाको रुपमा हेरिएको छ ।

बालेनले पूर्वराजा महेन्द्रकाे जस्तै पाेषाक लगाउने गरेकाले उनलाई महेन्द्रपथमा हिँड्न चाहेकाे माैन प्रधानमन्त्री पनि कतिपयले भन्ने गरेका छन् । उनलाई नेपाली सेनाले पर्दापछाडिबाट समर्थन गरेकाे घामजत्तिकै छर्लङ्‍ग छ ।

काठमाडाै‌ंकाे प्रमुख भए लगत्तै जङ्‍गी अड्डा पुगेका उनी प्रधानमन्त्री भएलगत्तै सेनाकाे कार्यक्रमलाई सम्बाेधन गर्न गएका थिए ।

जबकि अहिलेसम्म उनले आफूलाई मतदान गर्ने झापा-५ बासीलाई धन्यवाद दिए न प्रधानमन्त्री भएपछि देशवासीलाई सम्बाेधन गरे । नेपाली सेना देशमा राजसंस्थाकाे पक्षपाती जस्ताे देखिएकाे छ ।

२४ भदाै २०८२ मा प्रधानसेनापति अशाेकराज सिग्देलले देशवासीकाे नाममा सम्बाेधन गर्दा पृष्ठभूमिमा पृथ्वीनारायण शाहकाे तस्बिर राखेका थिए ।

त्यसबेलै सेना के चाहन्छ नेपालमा ? र प्रधानमन्त्री बालेन के चाहन्छ ? मानिसहरुले अनुमान गरिसकेका छन् ।

यस्ताेमा प्रधानमन्त्री बालेनले राप्रपा अध्यक्ष लिङ्देनले  राजावादीहरुकाे पनि भाेट घण्टीमा परेकाे भन्दै राजा ल्याउनुहाेस् भन्दा उनी माैन बस्नु सामान्य विषय हाेइन ।

भिडियो:

बन्दसत्र अघि रवि-बालेन के गर्दैछन् छलफल ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनुअघि शीर्ष नेतृत्वबीच महत्वपूर्ण छलफल भएको छ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच सोमबार बिहान रिसोर्टमा छलफल भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार दुवै नेता चितवनको लटौली-स्याङ्चुरी रिसोर्टमा बिहानैदेखि पार्टीको नेतृत्व चयन, संगठनात्मक संरचना तथा आगामी रणनीतिसम्बन्धी विषयमा छलफलमा जुटेका थिए।

बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका तय भए पनि शीर्ष नेताबीचको छलफल लम्बिँदा कार्यक्रम समयमै सुरु हुन नसकेको हो। यस कारण महाधिवेशन स्थलमा पुगेका प्रतिनिधिहरू केही समय प्रतीक्षामा बसेका छन्।

पार्टीका आन्तरिक संरचना, नेतृत्व व्यवस्थापन र समसामयिक राजनीतिक एजेन्डाबारे छलफल केन्द्रित रहेको बताइएको छ।