`

रास्वपाको झोलाभित्र के छ?

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत चौथो दिन प्रतिनिधिहरूलाई सामग्रीसहितको झोला वितरण गरिएको छ।

महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिहरूलाई वितरण गरिएको झोलाभित्र पार्टीको क्याप, पेन, कपी तथा परिचयपत्र (आइडी कार्ड) लगायतका सामग्री राखिएको छ।

मतदान प्रक्रियामा सहभागी हुनुअघि प्रतिनिधिहरूले आफ्नो परिचयपत्र प्राप्त गरेका हुन्।

यसअघि प्रतिनिधि प्रमाणीकरणका क्रममा कागजी चिर्कटो वितरण गरिएको र आइडी कार्ड उपलब्ध नगराइएको विषयलाई लिएर केही गुनासोसमेत आएको थियो।

मतदानको दिन बुधवार प्रतिनिधिहरूलाई आवश्यक सामग्रीसहितको झोला उपलब्ध गराइएको छ।

उक्त झोलाको तस्वीर:

रास्वपा महाधिवेशन : मतदान सुरू हुन अझै तीन घण्टा लाग्ने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति सदस्य चयनका लागि अबको करिब दुईदेखि तीन घण्टाभित्र मतदान सुरु हुने भएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम विवरण तयार गर्ने काम गरिरहेको जानकारी दिँदै मतदानको तयारी अन्तिम चरणमा पुगेको बताए।

उनका अनुसार उम्मेदवारीमाथि परेका दाबी-विरोधमाथि छानबिन भइरहेको छ भने उम्मेदवारहरूको फोटोसहितको नामावली प्रणालीमा प्रविष्ट गर्ने काम जारी छ। त्यस प्रक्रिया पूरा भएपछि मतदान सुरु गरिनेछ।

बुर्लाकोटीले ९९ जना केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि पदाधिकारी निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने जानकारी पनि दिए।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको निश्चित समय औपचारिक रूपमा घोषणा नगरे पनि निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार आज नै इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) मार्फत मतदान गराइनेछ।

महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूले ईभीएम प्रयोग गरेर मतदान गर्नेछन् भने विदेशमा रहेका प्रतिनिधिहरूका लागि मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। यसलाई रास्वपाले प्रविधिमैत्री निर्वाचन अभ्यासका रूपमा प्रस्तुत गरेको छ।

निर्वाचनका लागि ८० वटा ईभीएम मेसिन तयारी अवस्थामा राखिएको निर्वाचन समितिले जनाएको छ। करिब चार हजार प्रतिनिधिले मतदान गर्ने अपेक्षा गरिएको छ।

९९ जना केन्द्रीय सदस्य चयनका लागि ४०० भन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारको संख्या अत्यधिक भएपछि अन्तिम नामावली तयारीमा समय लागेको बताइएको छ।

चितवनमा जारी महाधिवेशनमा सभापति पदमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्य चयनसँगै पार्टीको नयाँ नेतृत्व संरचना निर्माणको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ। त्यसपछि उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी चयनको प्रक्रिया अघि बढ्नेछ।

महाधिवेशनस्थलमा उम्मेदवारहरू अन्तिम समयसम्म प्रतिनिधिसँग मत माग्न व्यस्त छन् भने मतदान सुरु हुने प्रतीक्षामा प्रतिनिधिहरू हलभित्र र बाहिर समूह-समूहमा छलफल गरिरहेका छन्।

रास्वपाको पहिलो महाधिवेशनको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा हेरिएको निर्वाचन प्रक्रियाप्रति कार्यकर्ता र नेताहरूको चासो उच्च रहेको छ।

भिडियो:

विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल लाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

पौडेलकी पत्नी निवेदक रहेको रिटमा उनलाई पर्याप्त प्रमाण र कानुनी आधारबिनै राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको दाबी गरिएको छ। रिटमार्फत अदालतसँग पौडेललाई तत्काल रिहा गर्न आदेश जारी गर्न माग गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीच भएको भनिएको शेयर कारोबार तथा मध्यस्थतासम्बन्धी प्रकरणमा बयान र अनुसन्धानका आधारमा पौडेललाई पक्राउ गरेको जनाएको छ। सोही प्रकरणमा अनुसन्धान अगाडि बढाउन अदालतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको बताइएको छ।

पौडेललाई सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला नियन्त्रणमा लिइएको थियो। पक्राउपछि उनलाई रातारात काठमाडौं ल्याइएको थियो।

उनको पक्राउसँगै प्रमुख प्रतिपक्षी एमालेले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको आरोप लगाउँदै आएको छ भने सरकारी निकायहरूले अनुसन्धान कानुनअनुसार अघि बढाइएको बताएका छन्।

अब सर्वोच्च अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै पक्राउ र थुनाको वैधानिकताबारे आवश्यक आदेश दिनेछ।

पौडेलको पक्राउ प्रकरणले पछिल्लो समय राष्ट्रिय राजनीतिमा नयाँ बहस र तरंग सिर्जना गरेको छ।

रास्वपा महाधिवेशनका कारण संसद शुक्रबार बस्ने

काठमाडौं। प्रतिनिधिसभाको बैठक एक दिन पर सारिएको छ। बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक अब शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक सञ्चालन हुन नसक्ने जानकारी दिएका हुन्।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सूचनामा उल्लेख छ।

सूचनाअनुसार असार ११ गते बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक अब असार १२ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ।

संसद् सचिवालयले बैठक सारिनुको कारण औपचारिक रूपमा खुलाएको छैन। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित समयभन्दा लम्बिएपछि बैठकको कार्यतालिका प्रभावित भएको जनाइएको छ।

चितवनमा जारी रास्वपाको महाधिवेशनमा केन्द्रीय समिति तथा पदाधिकारी चयनको प्रक्रिया चलिरहेकाले पार्टीका मन्त्री, सांसद र नेताहरू महाधिवेशनमै व्यस्त छन्। महाधिवेशनको निर्वाचन प्रक्रिया अपेक्षाभन्दा लामो भएपछि संसद् बैठकको समयसमेत पुनः निर्धारण गरिएको बुझिएको छ।

प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद्मा प्रस्तुत हुने विधेयक, प्रश्नोत्तर तथा अन्य कार्यसूचीहरू अब शुक्रबारको बैठकमा प्रवेश गर्नेछन्।

यता रास्वपाको महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

मेटाले ल्यायो एआईयुक्त स्मार्ट चस्मा : के-के छ फिचर ?

काठमाडौं। कृत्रिम बौद्धिकता (एआई) प्रविधिलाई दैनिक जीवनसँग अझ नजिक ल्याउने प्रयासस्वरूप मेटाले आफ्नै डिजाइनमा आधारित नयाँ स्मार्ट चस्मा सार्वजनिक गरेको छ।

कम्पनीले ‘मेटा ग्लासेस’ नाम दिएको यो उत्पादनलाई भविष्यमा स्मार्टफोनको विकल्पका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीतिअन्तर्गत बजारमा ल्याएको बताइएको हो।

नयाँ स्मार्ट चस्माको प्रारम्भिक मूल्य २९९ अमेरिकी डलर तोकिएको छ, जुन हाल बजारमा उपलब्ध रे-ब्यान स्मार्ट चस्माको ३७९ अमेरिकी डलरको प्रारम्भिक मूल्यभन्दा कम हो। कम्पनीले कम मूल्यको विकल्पमार्फत थप उपभोक्तासम्म पुग्ने लक्ष्य लिएको जनाएको छ।

मेटाका प्रमुख प्रविधि अधिकृत एन्ड्र्यु बोस्वर्थ का अनुसार स्मार्ट चस्माको बजार विस्तार गर्न विभिन्न मूल्य समूहलाई लक्षित उत्पादन आवश्यक छ। रे–ब्यानको ब्रान्ड मूल्यका कारण उपभोक्ता बढी मूल्य तिर्न तयार भए पनि सस्तो विकल्पले नयाँ ग्राहक आकर्षित गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले नयाँ स्मार्ट चस्मा तीन फरक डिजाइनमा ल्याएको छ। ‘एडभेन्चरर’ मोडेलमा सानो फ्रेम, ‘फ्युरी’ मा केही ठूलो तथा गोलाकार फ्रेम र तेस्रो विशेष संस्करणमा अमेरिकी सञ्चार व्यक्तित्व काइली जेनर को डिजाइनमा आधारित अण्डाकार आकारको मोडेल समावेश गरिएको छ।

विशेष संस्करणको चस्मामा प्रयोगकर्ताले सामान्य एआई आवाजको सट्टा काइली जेनरको आवाजमा आधारित डिजिटल सहायक प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। चस्मा लगाउँदा विशेष ध्वनि बज्ने सुविधा पनि यसमा राखिएको छ।

के–के गर्न सक्छ नयाँ चस्माले ?

नयाँ मेटा ग्लासेसले संगीत बजाउने, विभिन्न भाषाको तत्काल अनुवाद गर्ने, वरपरको वातावरणबारे जानकारी दिने, तस्बिरको आधारमा वस्तु पहिचान गर्ने तथा प्रयोगकर्ताका प्रश्नको उत्तर दिने क्षमता राख्छ।

कम्पनीका अनुसार यसमा ‘म्युज स्पार्क’ नामक नयाँ एआई मोडेल प्रयोग गरिएको छ। यो प्रविधिले क्यामेराले खिचेका दृश्यको विस्तृत विश्लेषण गर्न, वस्तु पहिचान गर्न तथा प्रयोगकर्ताको रुचि र प्राथमिकता सम्झन सहयोग गर्नेछ।

प्रदर्शनका क्रममा चस्माले स्ट्रबेरीको परिकारमा कति क्यालोरी हुन सक्छ भन्ने अनुमान गर्न, अरबी भाषाको संकेतपाटीलाई अंग्रेजीमा अनुवाद गर्न तथा नजिकका सङ्ग्रहालयको सिफारिस गर्न सफल भएको बताइएको छ। यसले सजावटका लागि राखिएका नक्कली चेरीलाई वास्तविक फल नभएको समेत छुट्याएको थियो।

प्रविधि उद्योगमा अहिले स्मार्टफोनपछिको ‘अर्को ठूलो उपकरण’ के बन्न सक्छ भन्ने प्रतिस्पर्धा तीव्र छ। मेटाले विगतमा स्मार्टफोन, स्मार्ट होम उपकरण र भर्चुअल रियालिटी हेडसेटमार्फत बजारमा प्रभाव जमाउने प्रयास गरे पनि अपेक्षित सफलता हासिल गर्न सकेको थिएन।

यही कारण कम्पनी अहिले स्मार्ट चस्मालाई स्मार्टफोन र स्मार्टवाचसरह सर्वसुलभ उपकरण बनाउने योजनामा केन्द्रित भएको छ। प्रयोगकर्ताले फोन निकाल्नै नपरी जानकारी खोज्न, अनुवाद गर्न, तस्बिर खिच्न वा डिजिटल सहायकसँग संवाद गर्न सक्ने अवधारणालाई कम्पनीले भविष्यको कम्प्युटिङ अनुभवका रूपमा प्रस्तुत गरिरहेको छ।

यद्यपि बजार विश्लेषकहरूका अनुसार स्मार्ट चस्माको सबैभन्दा ठूलो चुनौती प्रविधि होइन, प्रयोगको स्पष्ट आवश्यकता हो। उपभोक्तालाई स्मार्टफोनभन्दा स्मार्ट चस्मा किन उपयोगी छ भन्ने कुरा अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन।

बजार अनुसन्धान संस्था आईडीसीका अनुसार स्मार्ट चस्माको औसत बिक्री मूल्य आगामी वर्षहरूमा निरन्तर घट्दै जाने अपेक्षा गरिएको छ। मूल्य घटेसँगै यसको प्रयोग पनि बढ्न सक्ने अनुमान गरिएको छ।

मेटाको नयाँ प्रयासले एआईलाई मोबाइल स्क्रिनबाट बाहिर निकालेर प्रत्यक्ष आँखाअगाडि ल्याउने दिशा देखाएको छ।

दक्षिण कोरियामा सात वर्षयताकै उच्च जन्मदर

काठमाडौं। लामो समयदेखि विश्वकै न्यून जन्मदर भएका देशमध्ये एक मानिएको दक्षिण कोरिया मा जनसंख्या संकटबीच उत्साहजनक संकेत देखिएको छ। सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अप्रिल महिनामा जन्मिने शिशुको संख्या पछिल्लो सात वर्षयताकै उच्च स्तरमा पुगेको छ।

दक्षिण कोरियाली तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरणअनुसार अप्रिल महिनामा २४ हजार ५२१ शिशुको जन्म भएको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८ प्रतिशतले बढी हो। सन् २०१९ यताकै अप्रिल महिनामा यो सबैभन्दा उच्च जन्मदर भएको सरकारी तथ्याङ्कले देखाएको छ।

वर्षको पहिलो चार महिनाको अवस्थाले पनि सकारात्मक संकेत दिएको छ। जनवरीदेखि अप्रिलसम्म कुल ९९ हजार ५३४ शिशु जन्मिएका छन्, जुन गत वर्षको तुलनामा १५.५ प्रतिशतले बढी हो। यसलाई पछिल्लो सात वर्षयताकै सबैभन्दा उल्लेखनीय वृद्धिका रूपमा हेरिएको छ।

जन्मदरमा आएको सुधारसँगै विवाहको संख्या पनि बढेको छ। अप्रिल महिनामा २० हजार ६२२ विवाह दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी हो। विशेषज्ञहरूका अनुसार विवाहको संख्या बढ्नु, परिवार स्थापना गर्ने सोचमा आएको परिवर्तन तथा सन्तान जन्माउने निर्णयप्रति युवापुस्तामा देखिएको सकारात्मक दृष्टिकोणले जन्मदर बढाउन भूमिका खेलेको छ।

देशको कुल प्रजनन दर पनि सुधारको दिशामा देखिएको छ। एक वर्षअघि ०.८० रहेको प्रजनन दर बढेर ०.९३ पुगेको छ। यद्यपि जनसंख्या स्थिर राख्न आवश्यक मानिने २.१ को स्तरभन्दा यो अझै निकै कम हो। त्यसैले हालको वृद्धि उत्साहजनक भए पनि जनसंख्या संकट पूर्ण रूपमा समाधान हुने अवस्था भने बनेको छैन।

दक्षिण कोरियाले विगत एक दशकदेखि घट्दो जन्मदरका कारण श्रमशक्ति अभाव, वृद्ध जनसंख्या वृद्धि तथा आर्थिक उत्पादनमा दीर्घकालीन असर पर्ने चिन्ता झेल्दै आएको छ। सरकारले विवाह प्रोत्साहन, सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता, बाल हेरचाह सुविधा विस्तार तथा आवास सहुलियतजस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यता सम्बन्धविच्छेदका घटनामा भने वृद्धि देखिएको छ। अप्रिल महिनामा ७ हजार ८२९ सम्बन्धविच्छेद भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले बढी हो। त्यस्तै सोही अवधिमा २८ हजार ४०५ जनाको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले कम हो।

जन्मदर बढे पनि मृत्यु हुनेको संख्या अझै बढी रहेकाले देशको जनसंख्यामा अप्रिल महिनामा मात्रै ३ हजार ८८४ जनाको प्राकृतिक कमी आएको छ। अर्थात् जन्मभन्दा मृत्यु बढी भएकाले कुल जनसंख्या अझै घट्दो क्रममा नै रहेको छ।

तथापि लगातार केही महिनादेखि जन्मदरमा देखिएको सुधारलाई दक्षिण कोरियाका नीति निर्माताहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन्। यदि यही प्रवृत्ति आगामी वर्षहरूमा पनि कायम रह्यो भने विश्वकै गम्भीर जनसंख्या संकटमध्ये एक मानिएको दक्षिण कोरियाको समस्या क्रमशः नियन्त्रणतर्फ जान सक्ने अपेक्षा गरिएको छ।

‘मिस नेपाल २०२६’ का २४ फाइनलिस्ट सार्वजनिक, सुरु भयो ताजको दौड

काठमाडौं। ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट सार्वजनिक गरिएका छन्। राजधानीमा आयोजित विशेष ‘स्यास सेरेमोनी’मार्फत प्रतियोगिताको औपचारिक सुरुवात गर्दै फाइनलिस्टहरूलाई प्रतियोगी नम्बर तथा स्यास वितरण गरिएको हो।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ले यस वर्षको प्रतिस्पर्धाका लागि छनोट भएका युवतीहरूलाई सार्वजनिक गर्दै आगामी दिनमा उनीहरूलाई विभिन्न चरणका प्रशिक्षण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिमा सहभागी गराइने जनाएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष, निर्देशक, पूर्व मिस नेपाल विजेतालगायतले फाइनलिस्टहरूलाई स्यास र प्रतियोगी नम्बर प्रदान गरेका थिए। सो क्रममा प्रत्येक प्रतियोगीले आफ्नो परिचय दिँदै रुचिका क्षेत्र, लक्ष्य र सामाजिक योगदानका विषयमा धारणा व्यक्त गरेका थिए।

आयोजकका अनुसार ‘मिस नेपाल २०२६’ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई नेतृत्व, आत्मविश्वास, सामाजिक चेतना र व्यक्तित्व विकासको मञ्चका रूपमा अघि बढाइनेछ। फाइनलिस्टहरूले आगामी केही सातासम्म विभिन्न तालिम, सामाजिक अभियान, प्रस्तुति र मूल्यांकनका चरण पार गर्नुपर्नेछ।

यस वर्षको प्रतियोगिताको मुख्य नारा ‘टप अफ द वर्ल्ड’ राखिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित उक्त अवधारणालाई विशेष महत्व दिइएको आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा हिमाली आदिवासी समुदायको सांस्कृतिक पहिरन प्रस्तुत गर्दै नेपालको विविधता र हिमाली पहिचानलाई झल्काउने प्रयास गरिएको थियो।

यी हुन् ‘मिस नेपाल २०२६’ का २४ फाइनलिस्ट

१. इशा सुवेदी
२. प्रनिशा खनाल
३. युक्ता पौडेल
४. अंशु कुँवर
५. संगीता पौडेल
६. श्रद्धा अधिकारी
७. काशिश सुब्बा
८. मानश्वी शर्मा
९. सुष्मा भण्डारी
१०. प्रतीक्षा आचार्य
११. आर्या निशान्त
१२. आयुष्मा केसी
१३. शितांशु ढकाल
१४. प्रतिमा खड्का
१५. प्रेमा लामगाडे
१६. महिमा पन्त
१७. दीपमाला ढकाल
१८. सेजा श्रेष्ठ
१९. विभुषा बस्नेत
२०. स्वीकृति ज्ञवाली
२१. चाँदनी श्रेष्ठ
२२. श्रीयांशी श्रेष्ठ
२३. अर्विशा थापा
२४. रचना भट्टराई

आगामी महिनाहरूमा हुने विभिन्न मूल्यांकन चरणपछि ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आयोजना गरिनेछ, जहाँबाट नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा प्रतिनिधित्व गर्ने विजेताहरू चयन हुनेछन्।

बालेनका डेढ दर्जन नेता चुनावी मैदानबाहिर,बालेन फर्किए काठमाडौं

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा पार्टीभित्र अर्को समानान्तर राजनीतिक समीकरण पनि चर्चामा आएको छ।

९९ केन्द्रीय सदस्यका लागि ३५५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका बेला प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) निकट मानिने करिब डेढ दर्जन प्रभावशाली नेताहरू भने प्रतिस्पर्धाबाट बाहिर देखिएका हुन्।

महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग मत माग्दै उम्मेदवारहरू दौडधुप गरिरहेका छन्। तर बालेन समूहका अधिकांश नेताले उम्मेदवारी नै नदिई मनोनयनमार्फत केन्द्रीय समिति र पदाधिकारीमा पुग्ने रणनीति रोजेको चर्चा भइरहेको छ।

सभापति पदमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारी चयनको प्रक्रिया अघि बढिरहेको छ। यस्तै बेला बालेन शाह भने मतदानअघि नै काठमाडौं फर्किएका छन्। महाधिवेशनस्थलमा रहेका नेताहरूका अनुसार वरिष्ठ नेताको भूमिकामा मनोनयन हुने लगभग निश्चित भएपछि उनी राजधानी फर्किएका हुन्।

रास्वपाको विधानले सभापतिलाई निश्चित संख्यामा केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिएको छ। त्यही व्यवस्थाअनुसार विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका नेताहरूलाई समेट्ने तयारी भइरहेको बताइन्छ। यसले चुनावी प्रतिस्पर्धामा नउत्रिएका केही नेताहरूलाई नेतृत्व तहमा पुग्ने सम्भावना खुला राखेको छ।

बालेन समूहबाट रास्वपामा समाहित भएका नेतामध्ये शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित सीमित व्यक्तिले मात्रै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, भूपदेव शाह, लक्ष्मण थारू, रमेश पौडेल, सन्तोष गिरी, सरिता ज्ञवाली, जेम्स कार्की, लक्ष्मी बर्देवा, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, मधुसुधन ढकाल, ओजश्वी थापा, आदित्य आचार्य, प्रदीप पाण्डे तथा खेमराज साउदलगायत नेताहरू चुनावी प्रतिस्पर्धामा नदेखिएको चर्चा महाधिवेशनस्थलमा छ।

पर्यटनमन्त्री गनेस पौडेलले त सार्वजनिक रूपमै आफू केन्द्रीय सदस्यको उम्मेदवार नबन्ने र कसैको प्रस्तावकसमेत नबन्ने घोषणा गरिसकेका छन्।

महाधिवेशनअघि नै सभापति रवि लामिछानेले पार्टीभित्र समायोजन भएर आएका विभिन्न समूहलाई सन्तुलित रूपमा समेट्ने संकेत दिएका थिए। विवेकशील साझा, थरुहट आन्दोलन तथा अन्य अभियानबाट आएका नेताहरूलाई मनोनयनमार्फत अवसर दिने विषयमा नेतृत्व सकारात्मक रहेको बुझाइ छ।

पदाधिकारीमा कसको दाबी बलियो?

रास्वपाको संशोधित विधानअनुसार पदाधिकारी बन्न केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ। तर सभापतिले मनोनयन गरेका केन्द्रीय सदस्यलाई पदाधिकारीमा समेत मनोनयन गर्न सक्ने अधिकार राखेकाले चुनाव नलडेका नेताहरूको सम्भावना कायमै छ।

यही कारण बालेन समूहका सुनिल लम्सालले उपसभापति र भूपदेव शाहले महामन्त्री पदमा आकांक्षा राखेको चर्चा छ।

यसपटक रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्‍याएको छ। सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्षसहितको नयाँ संरचनाले नेतृत्व चयनलाई थप रोचक बनाएको छ।

निर्वाचनमार्फत ९९ केन्द्रीय सदस्य चयन भएपछि तिनैमध्येबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री छानिनेछन्। बाँकी पदाधिकारी सभापतिको मनोनयनबाट आउने व्यवस्था छ।

महिला उपसभापतिमा कानुनमन्त्री सोबिता गौतम, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र लिमा अधिकारीको नाम चर्चामा छ। खुला महामन्त्रीतर्फ निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली र यज्ञमणि न्यौपानेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

त्यसैगरी डा. तोसिमा कार्कीलाई पनि उपसभापति वा महामन्त्रीमध्ये कुनै एक पदको बलियो दाबेदारका रूपमा हेरिएको छ।

महाधिवेशनले रास्वपाको आगामी शक्ति सन्तुलन, नेतृत्वको स्वरूप र विभिन्न समूहबीचको सम्बन्धलाई समेत स्पष्ट पार्ने भएकाले चुनावी प्रतिस्पर्धासँगै मनोनयन राजनीतिले पनि उत्तिकै चर्चा पाएको छ।

१५१ सदस्यीय केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्थासहित पार्टीको केन्द्रीय संरचना १५८ सदस्यीय हुने छ।

रास्वपा महाधिवेशन : काठमाडौं फर्किए बालेन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदानको तयारी भइरहेका बेला पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन्।

चितवनको भरतपुरमा जारी महाधिवेशनमा सभापति पदमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेका छन् भने अन्य पद तथा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ। यद्यपि, निर्वाचनको महत्वपूर्ण चरणअघि नै बालेन चितवनबाट काठमाडौं फर्किएका हुन्।

महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि बुधबार मतदान हुँदैछ। तर, पहिलो चरणको उक्त निर्वाचनमा समेत सहभागी नभई बालेन राजधानी फर्किएको जानकारी प्राप्त भएको छ।

शाह आइतबारदेखि पत्नी र छोरीसहित चितवनमा रहेका थिए। उनीहरू भरतपुरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए। महाधिवेशनका विभिन्न कार्यक्रममा उपस्थित भएका बालेन निर्वाचन प्रक्रियामा भने सहभागी भएनन्।

काठमाडौं फर्किनुअघि उनले सामाजिक सञ्जालमा परिवारसँगको तस्वीर सार्वजनिक गर्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका हुन्।

उनको उक्त पोस्टलाई लिएर पनि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्।

बालेनको बयान गरेर फर्केका सीके राउत फेरि किन जाइलागे बालेनमाथि?

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउत ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पारित प्रदेशसभा खारेजीसम्बन्धी राजनीतिक प्रस्तावप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)को खुलेर प्रशंसा गरेका राउतले केही दिनमै प्रदेश संरचनाविरुद्धको एजेन्डालाई लिएर उनको आलोचना गरेका हुन्।

रास्वपाले महाधिवेशनमार्फत प्रदेशसभा खारेज गर्ने प्रस्ताव पारित गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राउतले चुनावका बेला मधेश र संघीयताका पक्षमा प्रतिबद्धता जनाएर मत माग्ने अनि पछि प्रदेश संरचनाकै अन्त्यको पक्षमा उभिनु राजनीतिक इमानदारीविपरीत भएको बताएका छन्।

उनले हरेक राजनीतिक दललाई आफ्ना एजेन्डा अघि सार्ने स्वतन्त्रता रहेको स्वीकार गर्दै प्रदेशसभा खारेजीको प्रस्ताव पारित हुँदैमा तत्काल प्रदेश संरचना अन्त्य नहुने स्पष्ट पारेका छन्। संविधान संशोधनका लागि आवश्यक राजनीतिक सहमति र संसदीय अंकगणित अहिलेको अवस्थामा सम्भव नरहेको उल्लेख गर्दै तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

राउतले चुनावी अभियानका क्रममा मधेशमा गरिएका प्रतिबद्धताहरू स्मरण गराउँदै प्रदेशलाई थप अधिकार सम्पन्न बनाउने वाचा गरेर मत प्राप्त गर्ने र पछि प्रदेशसभा नै खारेज गर्ने प्रस्तावलाई समर्थन गर्नु जनमतमाथिको विश्वासघात भएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो कदमले संघीय व्यवस्थाप्रति जनतामा पैदा भएको विश्वास कमजोर बनाउने खतरा छ।

प्रदेशसभा खारेज भए संघीय संरचना केवल प्रशासनिक संयन्त्रमा सीमित हुने र त्यसले मुलुकलाई पुनः अत्यधिक केन्द्रीकृत शासन प्रणालीतर्फ धकेल्न सक्ने उनको तर्क छ। उनले प्रदेश सरकारलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने विषयमा बहस हुन सक्ने भए पनि प्रदेश संरचनाको अन्त्य समाधान नभएको बताएका छन्।

राउतले कार्यकारी र व्यवस्थापिकाबीच स्पष्ट शक्ति सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणाले मात्र संघीयताको उद्देश्य पूरा नहुने धारणा समेत व्यक्त गरेका छन्।

उल्लेखनीय रूपमा, रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भएका राउतले त्यतिबेला बालेन शाहको नेतृत्व क्षमता, लोकप्रियता र राजनीतिक सम्भावनाको प्रशंसा गरेका थिए। तर प्रदेशसभा खारेजीको प्रस्ताव सार्वजनिक भएपछि उनले आफ्नो धारणा बदल्दै उक्त विषयलाई मधेश र संघीयताको भावनाविपरीत कदमका रूपमा चित्रित गरेका छन्।

रास्वपाले भने महाधिवेशनमार्फत पारित गरेको प्रस्तावलाई राज्य संरचना पुनःसंरचनाबारेको राजनीतिक बहसको विषयका रूपमा प्रस्तुत गर्दै आएको छ।

प्रदेश संरचनाको प्रभावकारिता, खर्च र कार्यसम्पादनबारे विभिन्न दलहरूबीच बहस भइरहेका बेला रास्वपाको यो प्रस्तावले संघीयताको भविष्यबारे नयाँ राजनीतिक बहसलाई थप तीव्र बनाएको छ।

कांग्रेसले खटायो ७७ जिल्लामै प्रतिनिधि,कुन जिल्लामा को-को ? [सूचीसहित]

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै सदस्यता विस्तार अभियानलाई तीव्र बनाएको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन समितिको सिफारिस तथा केन्द्रीय समितिको निर्णयअनुसार प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा पठाइएको छ। उनीहरूले नयाँ सदस्यता वितरण, आवेदन प्रक्रियाको सहजीकरण, समन्वय तथा अनुगमन गर्ने जिम्मेवारी पाएका छन्।

कांग्रेसले हालै नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुला गरेको छ। इच्छुक व्यक्तिले अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नयाँ सदस्यता आवेदनको अन्तिम मिति असार २० गते तोकिएको छ।

पार्टीले यसपटक विशेष गरी ३५ वर्षमुनिका युवाको सहभागिता बढाउने रणनीति अपनाएको छ। प्रस्तावित विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जना ३५ वर्षमुनिका युवालाई महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराउने तयारी गरिएकाले युवा सदस्यता विस्तारलाई प्राथमिकतामा राखिएको कांग्रेसले जनाएको छ।

कांग्रेस नेतृत्वले सदस्यता वितरण प्रक्रियामा विवाद, दोहोरोपन तथा अनियमितता रोक्न केन्द्रीय प्रतिनिधिको प्रत्यक्ष निगरानी आवश्यक भएको निष्कर्ष निकालेको छ। प्रतिनिधिहरूले जिल्लास्थित पार्टी संरचनासँग समन्वय गर्दै सदस्यता वितरणको कामलाई निर्धारित समयभित्र सम्पन्न गराउनेछन्।

यी हुन् जिल्लागत केन्द्रीय प्रतिनिधि

बागमती प्रदेशअन्तर्गत काठमाडौंमा उदयशमशेर राणा, ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार केसी, चितवनमा डा. केदारनरसिंह केसी, धादिङमा सुशील भट्ट, काभ्रेपलाञ्चोकमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छु राना, दोलखामा ओम घर्ती मगर, रामेछापमा सीता मिजार, सिन्धुलीमा मुकेश काफ्ले, नुवाकोटमा वंशलाल तामाङ, रसुवामा ईश्वर अधिकारी तथा मकवानपुरमा बद्रीप्रसाद अर्याल खटिएका छन्।

गण्डकी प्रदेशतर्फ गोरखामा तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर केसी, तनहुँमा कुशुमदेवी थापा मगर, मनाङमा मनकुमारी गुरुङ, मुस्ताङमा जगदीश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बागलुङमा जितनारायण श्रेष्ठ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दीपक भट्टराई, नवलपुरमा गोपाल दहित र पर्वतमा रेसमबहादुर बानियाँलाई जिम्मेवारी दिइएको छ।

लुम्बिनी प्रदेशमा बर्दियामा सुरेन्द्रप्रसाद चौधरी, अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा, पश्चिम नवलपरासीमा केशवप्रसाद निरौला, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, रोल्पामा किरणकिशोर घिमिरे, प्यूठानमा टेकराज पौडेल, रुकुम पश्चिममा नारायण कोइराला र पूर्वी रुकुममा भीम श्रीष खटिएका छन्।

मधेश प्रदेशमा सप्तरीमा रामपल्टन साह, सिरहामा रामकुमार यादव, धनुषामा सुवासकुमार पोखरेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहटमा प्रमोदहरि गुरागाईं, बारामा मथुराप्रसाद घिमिरे तथा पर्सामा उज्वलप्रसाद बराललाई जिम्मेवारी दिइएको छ।

कोशी प्रदेशमा ताप्लेजुङमा हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, इलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी, सुनसरीमा कुमार लुइँटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादव, भोजपुरमा दीपनकुमार श्रेष्ठ, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, सङ्खुवासभामा रुद्र कन्दङ्वा, सोलुखुम्बुमा लक्ष्मी परियार, खोटाङमा दीपक अधिकारी तथा ओखलढुङ्गामा आङ्गेलु शेर्पा खटिएका छन्।

कर्णाली प्रदेशमा हुम्लामा सूर्यबहादुर विक, जुम्लामा तपेन खड्का, मुगुमा युवराज पाण्डेय, कालिकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोखरेल, सल्यानमा केशवराज आचार्य र जाजरकोटमा छाया सुनारलाई प्रतिनिधिको जिम्मेवारी दिइएको छ।

सुदूरपश्चिम प्रदेशमा अछाममा जगतप्रसाद जोशी, बझाङमा विजयबहादुर स्वाँर, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेल्धुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउद ऐरी, बैतडीमा सुशीला मिश्र भट्ट, कञ्चनपुरमा दीलेन्द्रप्रसाद बडू तथा कैलालीमा मधु आचार्य खटिएका छन्।

कांग्रेसले सदस्यता विस्तार अभियानलाई संगठन सुदृढीकरणको आधार मानेको छ।

आगामी महाधिवेशनअघि पार्टीमा नयाँ पुस्ताको सहभागिता बढाउने र संगठनलाई थप चलायमान बनाउने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको जनाइएको छ।

आगजनीपछि पुनर्निर्माण गरिएको बौद्धको भाटभटेनी आजदेखि सञ्चालनमा [तस्वीरहरू]

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।

२०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको उक्त सुपरस्टोर मर्मत तथा पुनर्निर्माण सम्पन्न भएपछि बुधबारदेखि ग्राहकका लागि पुनः खुला गरिएको हो।

आगलागीका कारण ठूलो भौतिक क्षति पुगेपछि केही समयदेखि बन्द रहेको स्टोरलाई पुनः व्यवस्थित गर्दै नियमित सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

पुनर्निर्माण सम्पन्न भएसँगै बौद्ध क्षेत्रका उपभोक्ताले अब पुनः सोही स्टोरबाट दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक वस्तुहरू खरिद गर्न सक्ने भएका छन्।

भाटभटेनी व्यवस्थापनका अनुसार ग्राहकको सुविधा र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै स्टोरलाई थप व्यवस्थित बनाइएको छ। पुनः सञ्चालनसँगै स्टोरले नियमित समयअनुसार सेवा प्रदान गर्ने जनाएको छ।

तस्वीरहरू:

 

‘सेरोफ्लो रोटाक्याप्स’ जस्तै नक्कली औषधि फेला

काठमाडौं । दम तथा सिओपिडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) को उपचारमा प्रयोग हुने चर्चित औषधि ‘सेरोफ्लो रोटाक्याप्स’ जस्तै देखिने नक्कली औषधि नेपाली बजारमा बिक्री-वितरण भइरहेको फेला परेको छ।

औषधि व्यवस्था विभागले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै भारतीय औषधि उत्पादक कम्पनी सिप्ला लिमिटेड द्वारा उत्पादन हुने ‘सेरोफ्लो रोटाक्याप्स’ नामको औषधिको नक्कली संस्करण बजारमा भेटिएको जनाएको हो।

विभागले चिकित्सक, फार्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै सक्कली औषधिमात्र सिफारिस, बिक्री तथा प्रयोग गर्न अनुरोध गरेको छ।

सक्कली र नक्कली औषधि कसरी छुट्याउने?

विभागका अनुसार ब्याच नम्बर ‘५एसए०७५९’ (उत्पादन मिति : अप्रिल २०२५, म्याद सकिने मिति : मार्च २०२७) भएको नक्कली औषधिमा केही स्पष्ट भिन्नता देखिएका छन्।

‘कसन’ सम्बन्धी सूचनामा ‘नट टु बी स्वालोड’ पछाडि सक्कली औषधिमा कालो रङको पूर्णविराम रहेको छ भने नक्कलीमा रातो रङको पूर्णविराम प्रयोग गरिएको पाइएको छ।

त्यस्तै उत्पादकको ठेगानामा ‘कुम्रेक’ शब्दपछि सक्कलीमा अल्पविराम (,) राखिएको छ भने नक्कलीमा पूर्णविराम (।) प्रयोग गरिएको विभागले जनाएको छ।

भित्री प्याकेजिङमा पनि फरक देखिएको छ। सक्कली औषधिको भित्री बट्टामा एउटा मात्र लेबल हुन्छ भने नक्कलीमा पुरानो लेबलमाथि अर्को लेबल टाँसिएको भेटिएको छ।

यस्तै चेतावनी सूचनामा लेखिएको ‘स्केड्युल एच प्रेस्क्रिप्सन ड्रग’ वाक्यांशमा पनि अन्तर देखिएको छ। सक्कलीमा ‘स्केड्युल’ र ‘एच’ छुट्टाछुट्टै लेखिएको हुन्छ भने नक्कलीमा ‘स्केड्युलएच’ जोडेर छापिएको पाइएको छ।

विभागले यस्तो औषधि प्रयोग गरिरहेका बिरामीलाई तत्काल प्रयोग बन्द गर्न र आफूले खरिद गरेको औषधि पसल वा फार्मेसीलाई जानकारी दिन आग्रह गरेको छ।

फार्मेसी तथा औषधि पसलहरूलाई बिक्री रोक्न, मौज्दात छुट्याएर थोक विक्रेतालाई फिर्ता गर्न तथा विभागलाई जानकारी गराउन भनिएको छ।

त्यस्तै थोक विक्रेताहरूलाई बजारमा पठाइसकेको परिमाण फिर्ता मागेर पुनः बिक्री हुन नदिने गरी छुट्टै भण्डारण गर्न र विभागलाई लिखित जानकारी दिन निर्देशन दिइएको छ।

‘सेरोफ्लो रोटाक्याप्स’ किन प्रयोग गरिन्छ?

‘सेरोफ्लो रोटाकाप्स’ श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगहरूको उपचार तथा नियन्त्रणका लागि प्रयोग हुने औषधि हो। यसमा ‘साल्मेटेरोल’ र ‘फ्लुटिकासोन प्रोपियोनेट’ नामक दुई औषधीय तत्वको संयोजन हुन्छ।

यो औषधि मुख्यतः दमका बिरामीमा सास फेर्न सहज बनाउन तथा छाती घ्यारघ्यार हुने समस्या नियन्त्रण गर्न प्रयोग गरिन्छ। साथै, सिओपिडीका बिरामीमा श्वासनली खुला राख्न र नियमित श्वासप्रश्वास सहज बनाउन पनि यसको प्रयोग गरिन्छ।

नक्कली औषधिको प्रयोगले उपचार प्रभावहीन हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले विभागले सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

होर्मुज जलघाँटीमा फसेका ११ हजारभन्दा बढी नाविकको उद्धार अभियान सुरु

काठमाडौं। अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण होर्मुज जलघाँटी आसपासका समुद्री क्षेत्रमा फसेका ११ हजारभन्दा बढी नाविकको उद्धार प्रक्रिया सुरु गरिएको छ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले विभिन्न देश र समुद्री उद्योगसँगको समन्वयमा उद्धार अभियान अघि बढाएको जनाएको हो।

द्वन्द्वका कारण विश्वकै व्यस्त समुद्री व्यापारिक मार्गमध्ये एक मानिने होर्मुज जलघाँटीमा जहाजहरूको आवागमन प्रभावित भएपछि हजारौं नाविक लामो समयदेखि जहाजमै अलपत्र परेका थिए। उनीहरूको सुरक्षा, आपूर्ति तथा स्थानान्तरणलाई प्राथमिकतामा राख्दै बहुपक्षीय उद्धार योजना कार्यान्वयनमा ल्याइएको हो।

उद्धार अभियानमा अमेरिका, इरान, खाडी क्षेत्रका तटीय राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय शिपिङ कम्पनीहरू सहभागी रहेका छन्। यससँगै होर्मुज जलघाँटी हुँदै सञ्चालन हुने व्यापारिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न विशेष सुरक्षा संयन्त्रसमेत सक्रिय बनाइएको बताइएको छ।

पछिल्ला महिनाहरूमा मध्यपूर्वमा बढेको तनावका कारण समुद्री यातायातमा गम्भीर असर परेको थियो। तेल तथा अन्य व्यापारिक सामग्री बोकेका सयौं जहाजहरू जोखिमका कारण प्रतीक्षारत अवस्थामा रहेका थिए। यसले विश्व आपूर्ति श्रृंखला र ऊर्जा बजारमा समेत प्रभाव पारेको थियो।

गत साता अमेरिका र इरानबीच तनाव कम गर्ने उद्देश्यले अन्तरिम समझदारीपत्रमा हस्ताक्षर भएपछि समुद्री सुरक्षासम्बन्धी विषयमा केही प्रगति भएको देखिएको छ। यद्यपि, दुवै पक्षबीच अझै केही महत्वपूर्ण विवादित मुद्दा समाधान हुन बाँकी रहेको अन्तर्राष्ट्रिय कूटनीतिक स्रोतहरूले जनाएका छन्।

अमेरिकी पक्षले उक्त समझदारीमा इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय निगरानी सुनिश्चित गर्ने व्यवस्था समावेश रहेको दाबी गरेको छ। यसअनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीमार्फत अनुगमन प्रणालीलाई पुनः सक्रिय बनाउने विषयमा सहमति खोजिएको बताइएको छ।

विश्लेषकहरूका अनुसार होर्मुज जलघाँटीमा सामान्य अवस्था फर्किन थालेसँगै विश्व ऊर्जा बजारमा देखिएको दबाब केही कम हुन सक्ने अपेक्षा गरिएको छ।

विश्वको ठूलो हिस्सा कच्चा तेल यही मार्ग हुँदै निर्यात हुने भएकाले यहाँको स्थिरता अन्तर्राष्ट्रिय अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

बालेन सचिवालयका तीन सदस्य रास्वपा केन्द्रीय समितिमा उम्मेदवारी,को-को ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति सदस्य पदका लागि उम्मेदवारी दर्ता हुने क्रममा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)को सचिवालयमा कार्यरत तीन जनाले उम्मेदवारी दिएका छन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव एवं युवा नेतृ प्रकृति ढकालले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

अशिम शाहले मुस्लिम समावेशी समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनी लामो समयदेखि पार्टीको नीति, राजनीतिक रणनीति र संगठन निर्माणसँग जोडिँदै आएका छन्।

त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। पार्टीभित्र नीतिगत बहस र सुशासनका विषयमा सक्रिय भूमिका खेल्दै आएका ढकाललाई संगठनभित्रको परिचित अनुहारका रूपमा हेरिन्छ।

यता, स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै आएकी उनी पार्टीका विभिन्न कार्यक्रम तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।

रास्वपाको प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया जारी रहेको छ।

२०० खेल पूरा गर्दै मोड्रिच रचे इतिहास

काठमाडौं। क्रोएसियाका कप्तान लुका मोड्रिचले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा गर्दै नयाँ इतिहास रचेका छन्।

उनी यो उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासका चौथा खेलाडी बनेका छन्।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दा मोड्रिचले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले झण्डै दुई दशक लामो अन्तर्राष्ट्रिय यात्रामा २९ गोल गरेका छन् भने अझै पनि टोलीका प्रमुख खेलाडीका रूपमा सक्रिय छन्।

अन्तर्राष्ट्रिय खेलको संख्याका आधारमा विश्व फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २३० खेलसहित शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा कुवेतका बादेर अल–मुतावा २०१ खेलसहित रहेका छन् भने अर्जेन्टिनाका लियोनल मेस्सीले पनि २०१ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। २०० खेल पूरा गर्दै मोड्रिच चौथो स्थानमा पुगेका छन्।

३९ वर्षीय मोड्रिच आधुनिक फुटबलका सर्वाधिक सफल मिडफिल्डरमध्ये एक मानिन्छन्। उनले क्रोएसियालाई सन् २०१८ को विश्वकप फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यही वर्ष उनले विश्व फुटबलका प्रतिष्ठित व्यक्तिगत पुरस्कारहरू जित्दै आफ्नो करियरलाई नयाँ उचाइमा पुर्‍याएका थिए।

उता, पानामाविरुद्धको जितले क्रोएसियाको विश्वकप यात्रा पनि जीवन्त बनाएको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडी ब्लात्को जागमिचले गरेको एकमात्र गोल निर्णायक बन्यो।

पहिलो खेलमा हार बेहोरेको क्रोएसियाका लागि यो जित अत्यन्त महत्वपूर्ण रह्यो। पानामाले रक्षात्मक रूपमा अनुशासित खेल प्रदर्शन गरे पनि अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्यो।

यस जितसँगै क्रोएसियाले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको छ भने पानामाको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ। मोड्रिचका लागि भने यो खेल व्यक्तिगत रूपमा झन् विशेष रह्यो।

२०० अन्तर्राष्ट्रिय खेलको कीर्तिमानसँगै उनले विश्व फुटबलका सर्वकालीन महान् खेलाडीहरूको विशिष्ट सूचीमा आफ्नो नाम थप मजबुत रूपमा स्थापित गरेका छन्।

युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित : सिनेटको जकड्याइमा ट्रम्प

काठमाडौं । इरानविरुद्ध जारी अमेरिकी सैन्य अभियानका बीच अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकारमाथि प्रश्न उठाउँदै महत्वपूर्ण राजनीतिक सन्देश दिएको छ।

सिनेटले सैन्य कारबाहीलाई थप विस्तार गर्नुअघि वा नयाँ कदम चाल्नुअघि संसद्को स्वीकृति आवश्यक पर्ने आशयको प्रस्ताव पारित गरेपछि वासिङ्टनको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको हो।

रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटमा मंगलबार भएको मतदानमा केही रिपब्लिकन सांसदहरूले आफ्नै प्रशासनको लाइनभन्दा फरक धारणा राख्दै डेमोक्रेट सांसदहरूसँग सहकार्य गरे। परिणामस्वरूप प्रस्ताव ५०-४८ मतले पारित भयो। यसअघि यही प्रस्ताव प्रतिनिधिसभाबाट पनि अनुमोदित भइसकेको थियो।

यद्यपि प्रस्ताव कानुनी रूपमा बाध्यकारी भने छैन। अमेरिकी संविधान र विद्यमान कानुनी व्यवस्थाअनुसार यस्तो प्रकारको समानान्तर प्रस्तावले संसद्को धारणा व्यक्त गर्ने काम मात्र गर्छ। यसलाई राष्ट्रपतिको हस्ताक्षर आवश्यक पर्दैन र यसले प्रत्यक्ष रूपमा सैन्य नीति परिवर्तन गराउन सक्ने अधिकार पनि राख्दैन। तर राजनीतिक सन्देशका हिसाबले यसको महत्व निकै ठूलो मानिएको छ।

इरानसँगको युद्ध पाँचौँ महिनामा प्रवेश गरिरहेका बेला अमेरिकाभित्र यसको औचित्य, लागत र दीर्घकालीन प्रभावबारे प्रश्नहरू बढिरहेका छन्। युद्धका कारण रक्षा खर्च उल्लेखनीय रूपमा बढेको छ भने अन्तर्राष्ट्रिय तेल बजारमा अस्थिरता देखिँदा अमेरिकी उपभोक्तामाथि समेत आर्थिक दबाब परेको विश्लेषण गरिँदै आएको छ। यही पृष्ठभूमिमा संसद्ले कार्यपालिकाको युद्धसम्बन्धी निर्णय प्रक्रियामाथि निगरानी बढाउन खोजेको देखिन्छ।

राष्ट्रपति ट्रम्पले भने प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै युद्ध निर्णायक मोडमा पुगेको अवस्थामा यस्तो प्रस्ताव ल्याइनु अनुपयुक्त भएको बताएका छन्। उनका अनुसार अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य हासिल गर्ने दिशामा प्रगति गरिरहेको बेला संसद्को यस्तो कदमले अनावश्यक राजनीतिक सन्देश दिएको छ।

सिनेटको मतदानले रिपब्लिकन पार्टीभित्र बढ्दै गएको मतभेद पनि उजागर गरेको छ। केही रिपब्लिकन सांसदहरूले युद्धलाई निरन्तरता दिनुभन्दा कूटनीतिक समाधान खोज्नुपर्ने धारणा राख्दै प्रस्तावको पक्षमा मतदान गरेका थिए। यसले आगामी निर्वाचनको पूर्वसन्ध्यामा पार्टीभित्र विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिबारे फरक दृष्टिकोणहरू सतहमा आउन थालेको संकेत गरेको छ।

अमेरिकी इतिहासमा युद्ध अधिकारसम्बन्धी बहस नयाँ विषय होइन। सन् १९७३ मा पारित युद्ध अधिकार ऐनपछि राष्ट्रपति र संसद्बीच सैन्य कारबाहीसम्बन्धी अधिकारको सीमाबारे पटक-पटक विवाद हुँदै आएको छ। कुनै पनि राष्ट्रपतिले लामो समयसम्म सैन्य अभियान सञ्चालन गर्दा संसद्को भूमिका र स्वीकृतिको विषय संवेदनशील मानिन्छ।

विश्लेषकहरूका अनुसार अहिलेको प्रस्तावले तत्काल युद्ध रोक्ने वा सैनिक फिर्ता गराउने प्रभाव नपारे पनि ट्रम्प प्रशासनमाथि राजनीतिक दबाब भने बढाएको छ। विशेषगरी युद्ध लम्बिँदै जाँदा जनमत परिवर्तन हुन सक्ने र त्यसले आगामी चुनावी समीकरणमा असर पार्न सक्ने भएकाले ह्वाइट हाउसले संसद्को सन्देशलाई पूर्ण रूपमा बेवास्ता गर्न नसक्ने उनीहरूको भनाइ छ।

इरानसँगको द्वन्द्व, मध्यपूर्वको बदलिँदो शक्ति सन्तुलन र अमेरिकी आन्तरिक राजनीतिका बीच आएको सिनेटको यो निर्णयलाई धेरैले युद्धभन्दा पनि संवैधानिक अधिकारको बहसका रूपमा हेरिरहेका छन्।

यसले आगामी दिनमा अमेरिकी विदेश नीति र सैन्य निर्णय प्रक्रियामा संसद्को भूमिका कति प्रभावशाली रहन्छ भन्ने प्रश्नलाई पुनः केन्द्रमा ल्याएको छ।

एफएटीएफको ‘ग्रे लिस्ट’मै नेपाल, नीति-गति-नतिजाबीचको अन्तर बढ्दै

काठमाडौं। विश्व वित्तीय प्रणालीमा पारदर्शिता कायम गर्ने तथा अवैध धन प्रवाह नियन्त्रण गर्ने प्रमुख अन्तर्राष्ट्रिय संयन्त्र वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘बढ्दो निगरानी सूची’ अर्थात ग्रे लिस्टमा नेपाल अझै कायम छ।

पछिल्ला प्रतिवेदनहरूले सुधारका प्रयास तीव्र भए पनि अपेक्षित परिणाम पूर्ण रूपमा देखिन बाँकी रहेको चित्र प्रस्तुत गरेका हुन्।

अन्तर्राष्ट्रिय स्तरमा हुने नियमित मूल्यांकनपछि सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण (एएमएल/सीएफटी) सम्बन्धी १५ बुँदे कार्ययोजनामा उल्लेखित अधिकांश सुधारात्मक कदम अघि बढाइसकेको छ। तर अझै तीन प्रमुख क्षेत्रमा ठोस उपलब्धि आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

नेपालले सन् २०२५ को प्रारम्भतिर एफएटीएफ तथा एसिया-प्रशान्त समूह (एपीजी) सँग उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाउँदै वित्तीय प्रणाली सुधार गर्ने वाचा गरेको थियो। त्यसपछि कानुनी सुधार, नियामक निकायहरूको क्षमता विस्तार र अन्तरनिकाय समन्वय सुदृढीकरण जस्ता कदम अघि बढाइएका छन्।

वित्तीय अपराध नियन्त्रणका लागि छुट्टै कार्ययोजना बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाइए पनि व्यवहारिक पक्षमा परिणाम देखिने गति अपेक्षाकृत सुस्त रहेको मूल्यांकन छ। विशेषगरी अनुसन्धान, अभियोजन र सम्पत्ति जफतसम्बन्धी क्षेत्रमा परिणाममुखी कार्यान्वयन अझै कमजोर देखिएको बताइन्छ।

प्रतिवेदनले जोखिममा आधारित अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। बैंकिङ क्षेत्र, सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा रत्न कारोबार र घरजग्गा कारोबारजस्ता क्षेत्रमा अझ कडा निगरानी आवश्यक देखिएको छ।

यी क्षेत्रहरूलाई वित्तीय अपराधको सम्भावित जोखिम क्षेत्रका रूपमा लिइने भएकाले नियमित अनुगमन, कारोबार पारदर्शिता र रिपोर्टिङ प्रणाली मजबुत बनाउनुपर्ने सुझाव दिइएको छ।

अवैध हुन्डी कारोबार नियन्त्रण अर्को प्रमुख चुनौतीका रूपमा देखिएको छ। वित्तीय समावेशीकरणमा असर नपर्ने गरी अनौपचारिक र अपारदर्शी वित्तीय प्रवाह पहिचान गर्ने र नियन्त्रण गर्ने क्षमता अझ सुदृढ बनाउनुपर्ने आवश्यकता प्रतिवेदनले देखाएको छ।

अनौपचारिक माध्यमबाट हुने धन स्थानान्तरणले औपचारिक बैंकिङ प्रणालीलाई कमजोर बनाउने मात्र होइन, राज्यको राजस्व प्रणालीमा समेत असर पार्ने भएकाले यसतर्फ प्रभावकारी कदम आवश्यक रहेको विश्लेषण छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजनको परिणाम अपेक्षाकृत कमजोर देखिएको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ। अपराधबाट आर्जित सम्पत्तिको पहिचान, खोजी, रोक्का र जफत प्रक्रियामा अन्तरनिकाय समन्वय प्रभावकारी नहुँदा ठोस नतिजा आउन नसकेको बताइन्छ।

विशेषज्ञहरूका अनुसार कानुनी संरचना भए पनि त्यसको कार्यान्वयन पक्षमा सुधार नगरी सूचीबाट बाहिरिन कठिन हुन्छ। अनुसन्धानदेखि अभियोजनसम्मको श्रृंखला प्रभावकारी बन्न नसक्दा अन्तर्राष्ट्रिय मूल्यांकनमा प्रभाव कम देखिएको हो। 

नेपालले बाँकी रहेका कार्ययोजना पूरा गर्न निश्चित समयसीमा पाएको छ। सरकारका अनुसार बाँकी तीन बुँदा पूरा गरी सूचीबाट बाहिरिने लक्ष्य राखिएको छ। तर एफएटीएफको प्रक्रिया अनुसार कुनै पनि देश तत्काल सूचीबाट बाहिरिन सक्दैन र सुधारको प्रभाव प्रमाणित हुन समय लाग्ने गर्छ।

विज्ञहरूको मूल्यांकनमा यस्तो निगरानी सूचीबाट बाहिरिन सामान्यतया दुईदेखि तीन वर्ष लाग्ने अनुभव रहेको छ। सुधारका नीति मात्र होइन, तिनको प्रभावकारी कार्यान्वयन देखिनु नै मुख्य आधार हुने उनीहरूको भनाइ छ।

नेपाल यसअघि पनि सन् २००८ देखि २०१४ सम्म यही सूचीमा परिसकेको थियो। पुनः दोस्रो पटक निगरानी सूचीमा परेपछि यसको असर बैंकिङ प्रणाली, वैदेशिक लगानी,अन्तर्राष्ट्रिय कारोबार तथा वित्तीय विश्वसनीयतामा पर्न सक्ने भएकाले यसलाई गम्भीर आर्थिक मुद्दाका रूपमा लिइएको छ।

हालको अवस्थाले नेपाललाई सुधारको प्रारम्भिक चरण पार गर्दै नतिजा देखाउने निर्णायक चरणमा प्रवेश गर्न दबाब बढाएको छ।

आगामी महिनाहरूमा हुने प्रगति नै देशको वित्तीय छवि र अन्तर्राष्ट्रिय विश्वाससँग प्रत्यक्ष रूपमा जोडिने देखिन्छ।

रास्वपा महाधिवेशन सरगर्मी: रातिदेखि भोट माग्दै समर्थक[तस्वीरहरू]

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन निर्वाचनको चरणमा प्रवेश गरेसँगै चितवनको महाधिवेशनस्थल वरपर राजनीतिक चहलपहल तीव्र बनेको छ। 

चौथो दिनदेखि नै नेतृत्व चयनको तयारी तीव्र पारिएको छ भने उम्मेदवारका समर्थकहरू रातिदेखि नै प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत माग्न सक्रिय देखिएका हुन्।

महाधिवेशनस्थल बाहिर विभिन्न पदका आकांक्षीहरूको पक्षमा समर्थकहरूले प्रतिनिधिहरूसँग संवाद गरिरहेका छन्। 

तस्वीरहरू:

 

महाधिवेशनमा किन गएनन् अमरेशकुमार सिंह?

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन पार्टी इतिहासकै महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।

नयाँ नेतृत्व चयन, संगठनात्मक संरचनाको निर्माण र आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यका साथ चितवनमा जारी महाधिवेशनमा देशभरबाट हजारौं प्रतिनिधि र कार्यकर्ता सहभागी भए। तर महाधिवेशनका विभिन्न गतिविधिबीच सर्लाही-४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंहको अनुपस्थिति भने राजनीतिक वृत्तमा व्यापक चर्चाको केन्द्र बनेको छ।

महाधिवेशनको उद्घाटन सत्रदेखि बन्दसत्रसम्म पार्टीका अधिकांश सांसद केन्द्रीय नेताहरू र प्रतिनिधिहरू उपस्थित भए। सभापति रवि लामिछाने, वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) लगायत नेतृत्व तहका व्यक्तिहरू महाधिवेशनमा सक्रिय देखिए। तर पार्टीका चर्चित सांसदमध्येका एक अमरेशकुमार सिंह भने कार्यक्रमस्थलमा देखिएनन्।

सिंह काठमाडौंमै रहेको पुष्टि भए पनि उनी किन महाधिवेशनमा सहभागी भएनन् भन्ने विषयमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन। यही मौनताले विभिन्न अड्कलबाजी र राजनीतिक विश्लेषणलाई जन्म दिएको छ।

किन चितवन गएनन् अमरेश ?

रास्वपाको महाधिवेशनमा संघीय सांसदहरू स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको छ। त्यसैले प्रतिनिधि छनोट, प्रमाणीकरण वा अन्य प्रक्रियागत कारणले सिंह महाधिवेशनबाट बाहिरिएको अवस्था देखिँदैन। उनी सहभागी हुन चाहेको अवस्थामा कुनै प्रशासनिक वा संगठनात्मक अवरोध नरहेको नेताहरू बताउँछन्।

यही कारण पनि उनको अनुपस्थितिलाई सामान्य संयोगभन्दा बढी अर्थपूर्ण रूपमा हेरिएको छ। महाधिवेशन पार्टीको भावी नेतृत्व र संरचना तय गर्ने थलो भएकाले सांसदजस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताको अनुपस्थिति स्वाभाविक रूपमा चर्चाको विषय बनेको हो।

अमरेशकुमार सिंह नेपाली राजनीतिमा स्पष्ट र निर्भीक अभिव्यक्तिका लागि परिचित नेता मानिन्छन्। संसद्मा होस् वा सार्वजनिक कार्यक्रममा, उनले आफ्नो धारणा खुला रूपमा राख्ने गरेका छन्।

पछिल्लो समय उनले सरकारका केही नीति तथा निर्णयप्रति आलोचनात्मक टिप्पणी गरेका थिए। विशेषगरी आर्थिक नीति, बजेट कार्यान्वयन, कर प्रणाली तथा जनजीविकासँग सम्बन्धित विषयमा उनले फरक मत सार्वजनिक गर्दै आएका थिए।

उनका अभिव्यक्तिहरूले कहिलेकाहीँ पार्टीको औपचारिक धारणा र नेतृत्वको दृष्टिकोणभन्दा भिन्न सन्देश दिने गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। त्यसैले महाधिवेशनमा उनको अनुपस्थितिलाई कतिपयले राजनीतिक असन्तुष्टिको संकेतका रूपमा पनि व्याख्या गरिरहेका छन्।

राजनीतिक वृत्तमा अर्को चर्चा पनि चलिरहेको छ। मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेतामध्ये एक मानिने सिंहले पार्टीभित्र आफूले अपेक्षा गरेअनुसारको भूमिका नपाएको महसुस गरेको हुन सक्ने आँकलन गरिएको छ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदै गर्दा शक्ति सन्तुलन, नेतृत्वको पहुँच र संगठनभित्रको प्रभावका विषयहरू पनि स्वाभाविक रूपमा चर्चामा रहने गर्छन्। यस्तै परिस्थितिमा आफ्नो असन्तुष्टि प्रत्यक्ष रूपमा व्यक्त नगरी अनुपस्थितिमार्फत सन्देश दिन खोजिएको हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ।

यद्यपि यसलाई पुष्टि गर्ने कुनै आधिकारिक आधार भने सार्वजनिक भएको छैन।

रास्वपा आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयासमा छ। पहिलो महाधिवेशनमार्फत पार्टीले संगठनात्मक परिपक्वता, आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणको अभ्यास प्रस्तुत गर्न खोजिरहेको छ।

यस्तो समयमा एक चर्चित सांसदको अनुपस्थितिले पार्टीभित्र सबै कुरा सहज र एकमतमै छ भन्ने सन्देशलाई केही कमजोर बनाएको विश्लेषण पनि भइरहेको छ। यद्यपि पार्टी नेतृत्वले यस विषयमा कुनै औपचारिक टिप्पणी गरेको छैन।

हालसम्म उपलब्ध तथ्यका आधारमा सांसद अमरेशकुमार सिंह किन महाधिवेशनमा सहभागी भएनन् भन्ने विषय स्पष्ट भएको छैन। उनी स्वयंले पनि कुनै सार्वजनिक स्पष्टीकरण दिएका छैनन्।

त्यसैले उनको अनुपस्थितिलाई लिएर भइरहेका अधिकांश टिप्पणी, विश्लेषण र अड्कलबाजी अनुमानमै आधारित छन्। वास्तविक कारण भने सिंह वा पार्टी नेतृत्वको औपचारिक धारणा सार्वजनिक भएपछि मात्रै स्पष्ट हुनेछ।

रास्वपाको महाधिवेशन नेतृत्व चयन र संगठन निर्माणतर्फ अघि बढिरहेका बेला सांसद सिंहको अनुपस्थिति भने महाधिवेशनकै चर्चित राजनीतिक विषयमध्ये एक बनेको छ।

अब उनले यसबारे कुनै प्रतिक्रिया दिन्छन् वा दिँदैनन्, त्यसले थप बहसको दिशा तय गर्ने देखिन्छ।

‘कार्की साइँला’को प्रदर्शन मिति सरेर असोजमा

काठमाडौं। अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ अब आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

निर्माण टिमले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै संशोधित प्रदर्शन मिति घोषणा गरेको हो।

यसअघि साउन १ गते रिलिज हुने तयारीमा रहेको चलचित्र विभिन्न कारणले प्रदर्शन तालिका परिवर्तन गर्दै असोजमा सारिएको जनाइएको छ।

सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएको प्रेमिल दृश्यले चलचित्रमा प्रेम, संघर्ष र जीवनयात्राको कथावस्तु समेटिएको संकेत गरेको छ।

चलचित्रको कथा एक भरियाको जीवन, उसका संघर्ष, सपना र सामाजिक यथार्थको वरिपरि केन्द्रित रहेको बताइएको छ। चलचित्रको छायांकन पूर्वी नेपालका विभिन्न रमणीय स्थानमा गरिएको छ। धनकुटा, वराहक्षेत्र र चतरा आसपासका क्षेत्र चलचित्रका प्रमुख छायांकन स्थल हुन्।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई तथा कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। कार्यकारी निर्माताको जिम्मेवारी अनन्त राईले सम्हालेका छन्।

सबिन अधिकारी र शंकर धितालको लेखन रहेको चलचित्रमा दिप्सन लिम्बुको संगीत, किरण दाहालको द्वन्द्व निर्देशन तथा प्राविधिक टिमको अन्य सहकार्य रहेको छ।

अमेरिकालाई उछिन्दै सुपर कम्प्युटिङमा चीनको छलाङ

एजेन्सी। विश्वव्यापी प्रविधि प्रतिस्पर्धामा चीनले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

स्वदेशी रूपमा विकसित प्रविधिमा आधारित सुपर कम्प्युटर ‘लाइनशाइन’ विश्वकै शक्तिशाली सुपर कम्प्युटरको सूचीमा पहिलो स्थानमा पुगेपछि चीनको प्राविधिक क्षमता फेरि एकपटक अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको हो।

विगत केही वर्षदेखि अत्याधुनिक चिप, कृत्रिम बुद्धिमत्ता र उच्च कार्यसम्पादन कम्प्युटिङ क्षेत्रमा आत्मनिर्भर बन्ने रणनीति अघि बढाएको चीनले अब सुपर कम्प्युटिङको क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गरेको देखिएको छ। नयाँ उपलब्धिसँगै चीनले अमेरिका केन्द्रित प्रविधि वर्चस्वलाई चुनौती दिन सक्ने क्षमता प्रदर्शन गरेको विश्लेषकहरूको भनाइ छ।

जर्मनीमा आयोजित अन्तर्राष्ट्रिय कम्प्युटिङ सम्मेलनका क्रममा सार्वजनिक गरिएको विश्वका शीर्ष पाँच सय सुपर कम्प्युटरको सूचीमा ‘लाइनशाइन’ पहिलो स्थानमा उक्लिएको हो। यसअघि शीर्ष स्थानमा रहेको अमेरिकी प्रणाली ‘एल क्यापिटन’ दोस्रो स्थानमा झरेको छ।

चीनको दक्षिणी सहर शेन्जेनमा सञ्चालनमा रहेको ‘लाइनशाइन’ले २.२ एक्साफ्लप्सको कार्यसम्पादन क्षमता हासिल गरेको बताइएको छ। यो उपलब्धि केवल गति र क्षमताको प्रतिस्पर्धा मात्र नभई स्वदेशी प्रविधि विकासको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा चीनमाथि उन्नत चिप र प्रविधि निर्यातमा विभिन्न प्रतिबन्ध लगाइएपछि बेइजिङले आफ्नै अनुसन्धान र उत्पादन क्षमतामा ठूलो लगानी बढाएको थियो। ‘लाइनशाइन’को सफलता त्यसै रणनीतिक प्रयासको परिणामका रूपमा हेरिएको छ।

सुपर कम्प्युटरहरू वैज्ञानिक अनुसन्धान, जलवायु अध्ययन, अन्तरिक्ष कार्यक्रम, रक्षा क्षेत्र, कृत्रिम बुद्धिमत्ता विकास तथा विशाल डाटा विश्लेषणका लागि प्रयोग गरिन्छन्। त्यसैले यस्ता प्रणालीको विकासलाई केवल प्राविधिक उपलब्धि मात्र नभई राष्ट्रिय रणनीतिक शक्तिसँग पनि जोडेर हेरिन्छ।

यद्यपि शीर्ष स्थान गुमाए पनि अमेरिका अझै सुपर कम्प्युटिङ क्षेत्रमा बलियो अवस्थामा रहेको छ। विश्वका सबैभन्दा शक्तिशाली प्रणालीहरूमध्ये अधिकांश अझै अमेरिकी अनुसन्धान संस्था र प्रयोगशालामा सञ्चालनमा छन्। तर चीनको पछिल्लो उपलब्धिले भविष्यमा उच्चस्तरीय कम्प्युटिङ प्रविधिको नेतृत्व कसले गर्ने भन्ने प्रतिस्पर्धालाई नयाँ मोड दिएको छ।

प्रविधि क्षेत्रमा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच सार्वजनिक भएको यो नतिजालाई चीनको आत्मनिर्भर प्रविधि अभियानको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।

रोनाल्डो चम्किँदा पोर्चुगलको ३-० अग्रता, विश्वकपमा ऐतिहासिक कीर्तिमान

काठमाडौं।  विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो फेरि एकपटक चम्किएका छन्।

फिफा विश्वकप २०२६ अन्तर्गत उज्वेकिस्तानविरुद्धको खेलमा पहिलो हाफमै दुई गोल गर्दै उनले पोर्चुगललाई बलियो अवस्थामा पुर्‍याएका छन्।

अमेरिकाको ह्युस्टनमा जारी समूह ‘के’ को खेलमा रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए।

उक्त गोल केवल टोलीका लागि महत्वपूर्ण मात्र रहेन, रोनाल्डोका लागि ऐतिहासिक पनि बन्यो। उनले लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडीको कीर्तिमान कायम गरे।

पहिलो खेलमा डीआर कंगोविरुद्ध गोल गर्न नसकेका रोनाल्डोले उज्वेकिस्तानविरुद्ध भने सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरे। उनको नेतृत्वमा पोर्चुगलले विपक्षीमाथि लगातार दबाब सिर्जना गर्‍यो।

खेलको १७औं मिनेटमा नुनो मेन्डेजले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।

रोनाल्डोको उत्कृष्ट प्रदर्शन भने त्यतिमै रोकिएन। उनले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को सहज अग्रता दिलाए। पहिलो हाफमै दुई गोल गरेपछि रोनाल्डो फेरि एकपटक विश्व फुटबलको केन्द्रबिन्दु बनेका छन्।

सन् २००६ मा विश्वकप डेब्यु गरेका रोनाल्डोले त्यसयता २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६ मा पनि गोल गर्दै अद्वितीय उपलब्धि हासिल गरेका हुन्।

चार दशक नजिक पुग्दा पनि उनको फिटनेस, गोल गर्ने क्षमता र खेलप्रतिको समर्पणले उनलाई अझै विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीमध्ये एक बनाइराखेको छ।

उज्वेकिस्तानविरुद्धको खेलमा रोनाल्डो चम्किँदा पोर्चुगल नकआउट चरण नजिक पुगेको छ भने कप्तान रोनाल्डोले आफ्नो महान् फुटबल यात्रामा अर्को ऐतिहासिक अध्याय थपेका छन्।

हर्क साम्पाङ धरानकाे मेयर हुँदा ४५ कराेड बेरुजु

काठमाडौं । आफूलाई ‘विधि र प्रक्रिया’को पक्षधर नेताका रूपमा प्रस्तुत गर्दै आएका धरान उपमहानगरपालिकाका पूर्वप्रमुख तथा हाल श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङको नेतृत्वकालमा उपमहानगरको बेरुजु ४५ करोड रुपैयाँभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को अन्तिम प्रतिवेदनले धरान उपमहानगरपालिकामा वित्तीय अनुशासन कमजोर रहेको, कानुनी प्रक्रिया मिचेर खर्च गरिएको तथा सार्वजनिक स्रोतको उपयोगमा गम्भीर त्रुटि भएको औंल्याएको छ।

सार्वजनिक जीवनमा विधि, पारदर्शिता र सुशासनको पक्षमा चर्को आवाज उठाउने साम्पाङकै कार्यकालमा उपमहानगरपालिकाको अद्यावधिक बेरुजु ४५ करोड ४ लाख ७६ हजार रुपैयाँ पुगेको तथ्यले उनको नेतृत्वमाथि प्रश्न खडा गरेको छ।

महालेखाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ६ करोड ९८ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको थियो। त्यसको केही अंश फर्स्योट भए पनि ५ करोड ७० लाख ८१ हजार रुपैयाँ बेरुजु बाँकी रहेको छ। विगत वर्षको बाँकी बेरुजुसमेत जोड्दा कुल बेरुजु ४५ करोड नाघेको हो।

प्रतिवेदनले जनप्रतिनिधि तथा पदाधिकारीहरूले कानुनविपरीत दोहोरो सुविधा लिएको उल्लेख गरेको छ।

कोशी प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐनको व्यवस्थाविपरीत यातायात र इन्धन खर्च भुक्तानी गरिएको पाइएको छ।

सरकारी सवारी प्रयोग गर्ने पदाधिकारीले समेत अतिरिक्त इन्धन र यातायात भत्ता बुझेका छन् भने सवारी साधन नै नभएका केही जनप्रतिनिधिलाई नियमित रूपमा इन्धन खर्च उपलब्ध गराइएको छ।

महालेखाले औंल्याएको अर्को गम्भीर विषय कर्मचारी व्यवस्थापन हो। स्थानीय सरकार सञ्चालन ऐनले संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा मात्र कर्मचारी नियुक्त गर्नुपर्ने व्यवस्था गरे पनि धरान उपमहानगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बाहिर ठूलो संख्यामा कर्मचारी नियुक्त गरेको पाइएको छ।

१३१ जना करार कर्मचारीका लागि ८ करोड ९२ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ। यस्तै, दरबन्दीबाहिर ४४ जना कर्मचारी नियुक्त गरेर झन्डै २ करोड रुपैयाँ खर्च गरिएको छ भने थप २५ जना ज्यालादारी कर्मचारीका लागि ६४ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको छ।

महालेखाले खर्च व्यवस्थापनमा समेत व्यापक कमजोरी औंल्याएको छ। अतिथि सत्कार, चियापान तथा खाजा खर्चका नाममा तोकिएको सीमाभन्दा बढी रकम खर्च गरिएको पाइएको छ।

कर्मचारी तथा पदाधिकारीहरूको खाजा खर्च शीर्षकमा एक करोड रुपैयाँभन्दा बढी खर्च भएकोमा ठूलो हिस्सा मेनुअल हाजिरीका आधारमा भुक्तानी गरिएको देखिएको छ। यसले खर्चको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

आर्थिक सहायता वितरणमा पनि समान मापदण्ड अपनाइएको देखिँदैन। उपमहानगरले विभिन्न व्यक्तिलाई २५ हजारदेखि ५ लाख रुपैयाँसम्म फरक–फरक दरमा आर्थिक सहायता दिएको छ।

कतिपय व्यक्तिले नगरपालिकाको केन्द्रीय कोष र वडा कार्यालय दुवैतर्फबाट सहायता पाएको महालेखाले जनाएको छ।

स्पष्ट मापदण्ड र निर्णय प्रक्रियाविना गरिएको यस्तो वितरणले सार्वजनिक रकमको दुरुपयोग भएको आशंका बढाएको छ।

खरिद प्रक्रियामा पनि कानुनी व्यवस्था पालना नभएको प्रतिवेदनले देखाएको छ। सेनेटरी प्याड खरिद गर्दा कार्यविधिले तोकेको मापदण्डअनुसार सामग्री खरिद नगरी अतिरिक्त आर्थिक भार सिर्जना गरिएको छ।

त्यस्तै, सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने अवस्थामा सडक बत्ती खरिदलाई साना–साना भागमा विभाजन गरी सोझै खरिद र कोटेसनमार्फत प्रक्रिया अघि बढाइएको पाइएको छ। यसले प्रतिस्पर्धा सीमित गरेर पारदर्शितामाथि प्रश्न उठाएको छ।

निर्माण कार्यमा समेत प्राविधिक मापदण्ड र सम्झौताविपरीत बढी परिमाण देखाई निर्माण व्यवसायीलाई अतिरिक्त भुक्तानी गरिएको महालेखाको निष्कर्ष छ। करोडौँ रुपैयाँका निर्माण योजनामा कानुनले अनिवार्य गरेको ‘सम्पूर्ण जोखिम बीमा’ समेत नगराई भुक्तानी दिइएको पाइएको छ।

फोहर व्यवस्थापन परियोजनामा पनि उपमहानगरको कार्यसम्पादन कमजोर देखिएको छ। निजी कम्पनीसँग भएको सम्झौता कार्यान्वयनमा नआउँदा उपमहानगरले आफ्नै स्रोतबाट फोहर व्यवस्थापन गर्नुपरेको थियो।

यसका लागि एक वर्षमै ४ करोड १८ लाख रुपैयाँभन्दा बढी खर्च भएको प्रतिवेदनमा उल्लेख छ। सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसक्दा नगरको आर्थिक भार बढेको महालेखाको ठहर छ।

धरानमा विकास, पारदर्शिता र विधिको शासनको पक्षमा आफूलाई स्थापित गर्न खोजेका हर्क साम्पाङका समर्थकहरूले उनको नेतृत्वलाई वैकल्पिक राजनीतिक अभ्यासका रूपमा प्रस्तुत गर्दै आएका छन्।

तर महालेखा परीक्षकको प्रतिवेदनले भने उनको नेतृत्वकालमा वित्तीय अनुशासन, खर्च व्यवस्थापन र प्रशासनिक प्रक्रियामा गम्भीर कमजोरी रहेको संकेत गरेको छ।

सार्वजनिक रूपमा विधि, सुशासन र जवाफदेहिताको पक्षमा उभिने नेतृत्वकै कार्यकालमा ४५ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिनु केवल प्रशासनिक कमजोरी मात्र नभई राजनीतिक जवाफदेहिताको विषयसमेत बनेको छ।

अब महालेखाले औंल्याएका अनियमितता र बेरुजुका विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन र सुधारका कदम चाल्छन् वा चाल्दैनन् भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।

रवि लामिछाने रास्वपा सभापति निर्विराेध निर्वाचित

काठमाडाैं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्वाचित भएका छन्।

सभापति पदमा कसैकाे उम्मेदवारी नपरेपछि लामिछाने निर्विराेध निर्वाचित भएका हुन् । उनी निर्वाचित भएकाे निर्वाचन आयाेगले घाेषणा गरेकाे छ ।

रविको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) बसेका थिए। रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन।

पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुने भएको छ। आयाेगका अनुसार अब ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ।

मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानुनी : एमाले

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको नवौँ बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी ठहर गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा मंगलबार साँझ बसेको बैठकले पौडेलमाथि गरिएको कारबाही राजनीतिक प्रतिशोधको उद्देश्यले गरिएको भन्दै त्यसको राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ।

बैठकपछि महासचिव शंकर पाेखरेलले सार्वजनिक गरेकाे  निर्णयमा कुनै वस्तुपरक तथ्य र प्रमाणबिनै सम्पत्ति शुद्धीकरणको बहानामा पौडेललाई पक्राउ गरिएको दाबी गरिएको छ।

एमालेले यसलाई राजनीतिक प्रतिशोध साध्ने कुत्सित प्रयासको संज्ञा दिँदै राज्य संयन्त्रको दुरुपयोग भएको आरोपसमेत लगाएको छ।

सचिवालय बैठकले पौडेललाई अनुसन्धानका लागि थुनामा राख्न विशेष अदालतले दिएको आदेशप्रति पनि असहमति जनाएको छ। निर्णयमा उक्त आदेश न्यायसम्मत नरहेको र राजनीतिक पूर्वाग्रहबाट प्रभावित भएको उल्लेख गरिएको छ।

एमालेले आफ्ना उपाध्यक्ष पौडेललाई बिनासर्त र अविलम्ब रिहा गर्न सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

साथै, राज्य संयन्त्रबाट भइरहेको भनिएको निरङ्कुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमविरुद्ध देशव्यापी राजनीतिक प्रतिरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

बैठकले सम्पूर्ण पार्टी पङ्क्ति, समर्थक तथा न्यायप्रेमी नागरिकलाई उक्त अभियानमा सहभागी हुन आह्वान गरेको छ।

एमालेले पौडेलमाथिको कारबाहीलाई केवल व्यक्तिगत मुद्दा नभई लोकतान्त्रिक अधिकार, न्यायिक निष्पक्षता र राजनीतिक स्वतन्त्रतामाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ।

गृहमन्त्री सुधनले पक्राउ गराए २ कुकलाई, अम्लेटमा माछाकाे काँडा भेटिएकाे आराेप

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले अम्लेट खाँदा माछाकाे काँडा भेटिएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरु दुवै जना हाेटलका कुक हुन् ।
रास्वपाकाे महाधिवेशनको क्रममा चितवनमा रहेका गृहमन्त्री गुरुङले अम्लेटमा काँडा भेटिएपछि हाेटलका कामदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई ठाडाे निर्देशन दिएका थिए ।
एयरपोर्ट अगाडिको लर्ड होटलमा ब्रेकफास्टमा अम्लेट खानेक्रममा दुईवटा माछाको काँडा भेटिएपछि पक्राउ गरिएकाे चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए । उनले भनेका छन्- उनीहरुलाई साेधपुछका लागि नियन्त्रणमा लिइएकाे हाे ।
अम्लेटमा माछाको काँडा भेटिएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित खाद्य, प्रहरी लगायतको टोलीले लर्ड होटलको किचनको अनुगमन समेत गरेको छ ।
माछाकाे काँडा भेटिएकै भरमा गृहमन्त्री सुधन गुरुङले कुकलाई पक्राउ गराएपछि उनकाे चाैतर्फी विराेध भइरहेकाे छ ।

 

चिकित्सक पलायन तीव्र,दबाबमा स्वास्थ्य प्रणाली

काठमाडौं। नेपालमा आकर्षक सेवा-सुविधा, उच्च पारिश्रमिक र करिअर विकासको अवसर खोज्दै चिकित्सकहरूको विदेश पलायन पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ।

देशभित्र दक्ष जनशक्ति उत्पादन भइरहे पनि सोही अनुपातमा चिकित्सकहरू विदेशिने प्रवृत्ति बढ्दा नेपालको स्वास्थ्य प्रणाली दीर्घकालीन रूपमा दबाबमा पर्ने संकेत देखिएको छ।

नेपाल मेडिकल काउन्सिल नेपाल मेडिकल काउन्सिल का तथ्यांकहरूले वार्षिक रूपमा ठूलो संख्यामा चिकित्सकले दर्ता प्रमाणपत्र (लाइसेन्स) लिने तर सोही वा त्यसभन्दा बढी संख्यामा विदेश जान ‘असल चारित्रिक प्रमाणपत्र’ लिने प्रवृत्ति स्थिर रूपमा बढिरहेको देखाएको छ।

सन् २०२५ को तथ्यांकअनुसार काउन्सिलले २ हजार १२२ जनालाई चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गरेको थियो। तर सोही वर्ष २ हजार ३९० जना चिकित्सकले विदेश जानका लागि आवश्यक ‘असल चारित्रिक प्रमाणपत्र’ लिएका छन्।

यसले स्पष्ट रूपमा देखाउँछ कि विदेश जान चाहने चिकित्सकको संख्या देशभित्र नयाँ प्रवेश गर्ने चिकित्सकको संख्याभन्दा बढी हुँदै गएको छ। यसै आधारमा विश्लेषण गर्दा चिकित्सक उत्पादन र चिकित्सक पलायनबीच सन्तुलन कमजोर बन्दै गएको संकेत पाइन्छ।

सन् २०२० यता मात्रै १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका छन् भने ११ हजार ६८ चिकित्सकले विदेश जान असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यद्यपि संख्या नजिक–नजिक देखिए पनि पछिल्ला वर्षहरूमा विदेश जाने प्रवृत्ति तीव्र गतिमा बढिरहेको तथ्यांकले देखाउँछ।

नेपालमा चिकित्सक पलायनको प्रमुख कारण सेवा–सुविधा र करिअर अवसरसँग जोडिएको छ। देशभित्र मेडिकल अधिकृत तहमा सीमित रोजगारी, विशेषज्ञता विकासका लागि पर्याप्त अवसरको अभाव र कामको तुलनामा कम पारिश्रमिकले चिकित्सकहरूलाई वैदेशिक अवसरतर्फ आकर्षित गरिरहेको देखिन्छ।

यसैबीच विदेशका विभिन्न मुलुकहरूमा स्वास्थ्य सेवामा उच्च माग, आकर्षक तलब, व्यवस्थित कार्य वातावरण र विशेषज्ञता विकासको अवसर उपलब्ध भएकाले नेपाली चिकित्सकहरूका लागि ती देशहरू आकर्षक गन्तव्य बनेका छन्।

नेपालमा अध्ययन पूरा गरेपछि स्नातकोत्तर शिक्षा वा रोजगारीका लागि विदेश जाने प्रवृत्ति सामान्य बन्दै गएको छ, जसले असल चारित्रिक प्रमाणपत्रको माग निरन्तर बढाइरहेको छ।

काउन्सिलको तथ्यांकअनुसार नेपाली चिकित्सकहरू मुख्यतः केही सीमित मुलुकहरूमा केन्द्रित भएका छन्।

अमेरिका सबैभन्दा ठूलो गन्तव्य बनेको छ, जहाँ करिब २ हजार ९९५ जना चिकित्सक पुगेका छन्। त्यसपछि बेलायतमा २ हजार ६३७ जना र माल्दिभ्समा २ हजार २४१ जना चिकित्सक गएको देखिन्छ।

त्यसैगरी भारतमा ९१८ जना, अस्ट्रेलियामा ८४८ जना, संयुक्त अरब इमिरेट्समा ७२० जना, क्यानडामा १४८ जना र जर्मनीमा ९२ जना चिकित्सक पुगेका छन्।

समग्रमा हेर्दा चिकित्सकहरू २३ भन्दा बढी मुलुकमा अध्ययन र रोजगारीका अवसर खोज्दै गएका छन्, जसले नेपाली चिकित्सा जनशक्तिको अन्तर्राष्ट्रिय माग उच्च रहेको संकेत पनि गर्छ।

सन् २०२० देखि २०२४ सम्मको तथ्यांकले विदेश जाने चिकित्सकहरूको संख्या निरन्तर रूपमा बढिरहेको देखाउँछ।

२०२० मा ८६९ जना चिकित्सकले विदेश जान असल चारित्रिक प्रमाणपत्र लिएका थिए। यो संख्या २०२१ मा १ हजार ३२७, २०२२ मा १ हजार ९५४, २०२३ मा २ हजार ३१८ र २०२४ मा २ हजार २१० पुगेको छ।

यो वृद्धिले महामारीपछि चिकित्सक पलायन रोकिएको होइन, बरु स्थिर रूपमा उच्च स्तरमा पुगेको देखाउँछ। विशेषगरी २०२२ पछि संख्या हजारौँको स्तरमा पुगेपछि यसलाई संरचनात्मक समस्या रूपमा हेर्न थालिएको छ।

चिकित्सक पलायनको प्रत्यक्ष प्रभाव देशभित्रको स्वास्थ्य सेवामा देखिन थालेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सक अभाव अझै कायम छ भने शहरी क्षेत्रमा समेत विशेषज्ञ चिकित्सकको माग उच्च छ।

दक्ष जनशक्ति बाहिरिँदा अस्पतालहरूको सेवा क्षमता प्रभावित हुने, बिरामीको प्रतीक्षा समय बढ्ने र स्वास्थ्य प्रणालीमा असन्तुलन सिर्जना हुने जोखिम बढ्दै गएको विश्लेषण गरिएको छ।

त्यसैगरी, राज्यले लगानी गरेर उत्पादन गरेको मानव संसाधन विदेशमा उपयोग हुँदा राष्ट्रिय लगानीको प्रतिफल कमजोर हुने चुनौती पनि देखिएको छ।

दर्ता प्रमाणपत्र (लाइसेन्स) लिने चिकित्सकहरूको संख्या पनि निरन्तर उतारचढावपूर्ण देखिन्छ।

सन् २०२० मा २ हजार १३१, २०२१ मा १ हजार ७१६, २०२२ मा २ हजार ८५, २०२३ मा २ हजार ६९२ र २०२४ मा २ हजार ३९४ चिकित्सकले लाइसेन्स लिएका छन्।

हालसम्म नेपालमा कुल ३९ हजार ४८६ चिकित्सकले लाइसेन्स लिइसकेका छन्, जसले चिकित्सा शिक्षा र उत्पादन विस्तार भइरहेको देखाउँछ। तर उत्पादनसँगै टिकाउपन कमजोर देखिँदा प्रणालीगत चुनौती थपिएको छ।

विशेषज्ञहरूको धारणा अनुसार यदि यही प्रवृत्ति निरन्तर रह्यो भने नेपालले भविष्यमा चिकित्सक अभावको गम्भीर संकट भोग्नुपर्ने सम्भावना छ। विशेषगरी प्राथमिक स्वास्थ्य सेवा र विशेषज्ञ उपचार सेवामा यसको असर बढी देखिन सक्छ।

यसलाई नियन्त्रण गर्न स्वास्थ्य सेवा संरचना सुधार, करिअर विकासको स्पष्ट मार्गचित्र, प्रतिस्पर्धी पारिश्रमिक प्रणाली र ग्रामीण क्षेत्रमा आकर्षण बढाउने नीति आवश्यक देखिन्छ।

नेपालमा चिकित्सक उत्पादनको गति राम्रो भए पनि विदेश पलायनको दरले त्यसलाई सन्तुलनमा राख्न कठिन बनाइरहेको छ।

सेवा-सुविधा, अवसर र करिअर विकासबीचको अन्तर घटाउन नसकेमा दक्ष चिकित्सकको दीर्घकालीन अभाव अझ गहिरो बन्न सक्ने संकेत तथ्यांकहरूले देखाएका छन्।

रास्वपा महाधिवेशन : सातै प्रदेशबाट ५-५ केन्द्रीय सदस्य निर्वाचित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ।

महाधिवेशनबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित प्रदेशगत आधारमा केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको हो ।

निर्वाचन प्रणालीअनुसार सातवटै प्रदेशबाट ५–५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट कम्तीमा एक जना महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने प्रावधान राखिएको छ। यस व्यवस्थाले पार्टीको नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

महाधिवेशनबाट कुल १५८ सदस्यीय केन्द्रीय समिति गठन हुने जनाइएको छ। तीमध्ये ६४ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचनमार्फत चयन गरिनेछन्।

पार्टीको विधानअनुसार केही सदस्य पदेन तथा मनोनयन प्रक्रियाबाट समावेश गरिने व्यवस्था रहेको छ। यसैअनुसार संस्थापक सभापति रवि लामिछानेलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहने व्यवस्था गरिएको छ।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठनात्मक संरचनालाई पूर्णता दिने तथा आगामी राजनीतिक कार्यदिशा, रणनीति र संगठन विस्तारको मार्गचित्र तय गर्ने लक्ष्य राखेको जनाएको छ।

चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदनका कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको आगामी कार्यकालको नेतृत्व सम्हाल्नेछ।

रविले स्वीकारे महाधिवेशनमा भएको कमजोरी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा केही प्रक्रियागत कमजोरी र व्यवस्थापकीय त्रुटि देखिएको स्वीकार गरेका छन्।

उनले यस्ता विषयलाई अस्वाभाविक रूपमा नलिई सुधारको अवसरका रूपमा हेर्नुपर्ने बताएका हुन्।

बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले ठूलो आकारको कार्यक्रम आयोजना गर्दा विभिन्न चुनौती र कमजोरी देखिन सक्ने उल्लेख गरे। सहभागीहरूका केही असन्तुष्टि, जिज्ञासा र प्रश्नहरू स्वाभाविक रहेको भन्दै उनले त्यसलाई पार्टीभित्रै छलफल गरेर समाधान गर्नुपर्ने धारणा राखे।

उनका अनुसार कुनै पनि राजनीतिक दलको परिपक्वता समस्या नआउनुमा होइन, समस्या आएपछि त्यसलाई कसरी समाधान गरिन्छ भन्ने विषयमा निर्भर हुन्छ। उनले मतभेद र असहमतिलाई संवाद र छलफलमार्फत निष्कर्षमा पुर्‍याउनु नै जिम्मेवार राजनीतिक अभ्यास हुने बताए।

पार्टीभित्र देखिएका फरक मत र असन्तुष्टिलाई सार्वजनिक विवादको विषय बनाउनु उपयुक्त नहुने उनको भनाइ थियो। उनले पार्टीभित्र उठेका प्रश्न र मतभेदलाई संस्थागत प्रक्रियाबाट समाधान गर्दै संगठनलाई अझ सुदृढ र एकताबद्ध बनाउनु आवश्यक रहेको बताए।

लामिछानेले रास्वपा आफ्ना आन्तरिक चुनौतीहरूलाई लोकतान्त्रिक ढंगले समाधान गर्न सक्षम रहेको दाबी गर्दै स्वस्थ बहस, पारदर्शिता र संवादको संस्कृतिलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले महाधिवेशनले संगठनभित्र रहेका मतभेद अन्त्य गर्दै आगामी राजनीतिक यात्राका लागि स्पष्ट दिशा तय गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

कारोबारको दोस्रो दिन नेप्सेमा गिरावट

काठमाडौं । धितोपत्र बजारमा मंगलबार कारोबार मापक नेप्से परिसूचक उल्लेख्य अंकले घटेको छ। दिनभरको कारोबारपछि नेप्से २६.१६ अंकले घट्दै २ हजार ६७४.४८ बिन्दुमा पुगेको छ।

ठूला कम्पनीहरूको प्रदर्शन मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ। यो परिसूचक २.३१ अंकले घटेर ४६१.४८ बिन्दुमा झरेको छ।

आज ३५३ कम्पनीका एक करोडभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कारोबारमा सहभागी अधिकांश कम्पनीको शेयर मूल्य घटेको देखिएको छ। दिनभरको कारोबारमा २२ कम्पनीको शेयर मूल्य बढ्दा २३९ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी सबैभन्दा अगाडि रह्यो। त्यसपछि सोपान फार्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट तथा बुङ्गल हाइड्रोपावरको उच्च कारोबार भएको छ।

मूल्य वृद्धितर्फ टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ तथा सनराइज ब्लुचिप फन्डका लगानीकर्ताले बढी लाभ कमाएका छन्।

यता बुङ्गल हाइड्रोपावर, अपोलो हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरका शेयरधनीले सबैभन्दा बढी घाटा बेहोरेका छन्।

आजको बजार परिणामले अधिकांश क्षेत्रमा बिक्री दबाब देखिएको संकेत गरेको छ भने लगानीकर्ताको मनोबल केही कमजोर बनेको देखिएको छ।

रास्वपा महाधिवेशन : बन्दसत्रतर्फ जाँदै गर्दा देखियो यस्तो दृश्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय चुनौतीका बीच बन्दसत्रतर्फ अघि बढेको छ।

प्रतिनिधि व्यवस्थापन, परिचयपत्र वितरण र नामावली प्रमाणीकरणमा देखिएको ढिलाइका कारण महाधिवेशन स्थलमा केही समय अस्तव्यस्त अवस्था देखिएको हो।

सुरुआती अनुमानअनुसार करिब २८ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको भए पनि अन्तिम संख्या ४२ सयभन्दा माथि पुगेपछि व्यवस्थापनमा थप दबाब परेको आयोजक पक्षले जनाएको छ।

प्रतिनिधि छनोटका लागि मापदण्ड तय भए पनि कसैलाई बाहिर नराख्ने प्रयास गर्दा प्रक्रिया लम्बिएको दाबी गरिएको छ।

पार्टीका सहप्रवक्ता रमेश प्रसाईँले व्यवस्थापन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन्। सञ्चारकर्मीसँगको कुराकानीमा उनले देखिएका कमजोरी सुधार गर्दै आगामी दिनमा थप व्यवस्थित ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

यस्तै प्रवक्ता मनिष झाले पनि प्रतिनिधि छनोट र व्यवस्थापन प्रक्रिया समयमै टुंग्याउन नसक्दा समस्या उत्पन्न भएको स्वीकार गरेका छन्। उनले यस्ता कमजोरी सुधार गर्न पार्टीभित्र सुदृढ व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

महाधिवेशनस्थलमा सातै प्रदेशका छुट्टाछुट्टै डेस्क स्थापना गरेर प्रतिनिधिहरूको प्रमाणीकरण कार्य भइरहेको छ। अन्तिम नामावलीमा समावेश प्रतिनिधिलाई अस्थायी रूपमा कागजी चिर्कटो वितरण गरिएको छ भने फोटोसहितको परिचयपत्र सबैले प्राप्त गरिसकेका छैनन्।

बन्दसत्रका लागि प्रतिनिधिहरूलाई हलभित्र प्रवेश गराउने काम जारी रहे पनि समाचार तयार पार्दासम्म सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह कार्यक्रमस्थलमा पुगेका थिएनन्। पार्टी नेतृत्वका अनुसार प्रतिनिधिहरूको प्रवेश प्रक्रिया पूरा भएपछि उनीहरू बन्दसत्रमा सहभागी हुनेछन्।

हलभित्र पुगेका प्रतिनिधिहरू भने बन्दसत्र सुरु हुने प्रतीक्षामा विभिन्न समूहमा छलफल, संवाद तथा सांस्कृतिक माहोलमा समय बिताइरहेका देखिएका छन्।

केही प्रतिनिधि गीत-संगीतमा रमाएका छन् भने कतिपय पार्टीको भावी नेतृत्व र संगठनात्मक एजेन्डाबारे अनौपचारिक छलफलमा व्यस्त छन्।

तस्वीरहरू:

बन्दसत्र सुरु : रवि उपस्थित,बालेन गायब

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ।

उद्घाटन सत्र आइतबार सम्पन्न भए पनि प्रतिनिधिसम्बन्धी विवादका कारण बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेको थिएन।

पार्टीभित्र देखिएको विवाद समाधान गरेपछि मंगलबार बन्दसत्रको औपचारिक प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ।

महाधिवेशनस्थलमा प्रतिनिधिहरूको उपस्थितिबीच विभिन्न प्रतिवेदनमाथि छलफल र संगठनात्मक निर्णयका प्रक्रिया अगाडि बढ्ने कार्यक्रम रहेको छ।

बन्दसत्रमा पार्टी सभापति रवि लामिछाने सहभागी भएका छन्। तर, वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) भने अहिलेसम्म महाधिवेशनस्थलमा उपस्थित भएका छैनन्।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक ‘मदनकृष्ण’ बन्दै

काठमाडौं । नेपाली हास्य–अभिनय क्षेत्रका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवन कथामा आधारित बायोपिक फिल्म निर्माण हुने भएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरिएको हो।

फिल्मको शुभारम्भ मदनकृष्ण श्रेष्ठ स्वयं तथा उनका दीर्घ सहयात्री कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरेका हुन्।

निर्माण हुने बायोपिकले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि कलाकारिताको यात्रा, व्यक्तिगत जीवनका उतारचढाव, संघर्ष तथा सफलताको कथा समेट्नेछ। साथै सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य र अन्तरजातीय विवाहजस्ता महत्वपूर्ण पक्ष पनि फिल्ममा प्रस्तुत गरिने जनाइएको छ।

फिल्मको निर्देशन मिलन चाम्सले गर्ने भएका छन्। यसअघि उनले ‘अञ्जिला’, ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ जस्ता बायोपिक तथा कथामूलक फिल्म निर्देशन गरिसकेका छन्।

मुख्य भूमिकामा अभिनेता महेश त्रिपाठी मदनकृष्ण श्रेष्ठको भूमिकामा देखिनेछन् भने उनकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्। चलचित्रमा राजाराम पौडेल, किरण केसी, रूषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने अझै सार्वजनिक गरिएको छैन।

कार्यक्रममा धिमे बाजासहित कलाकार श्रेष्ठको स्वागत गरिएको थियो। सम्मान तथा शुभकामनाका क्रममा उनी भावुक बनेका थिए। उनले आफ्नो जीवनमा हरिवंश आचार्यको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै फिल्मले दर्शकलाई आफ्नो जीवन नजिकबाट बुझ्ने अवसर दिने बताए।

हरिवंश आचार्यले यो बायोपिक आफ्ना लागि पनि गर्वको विषय भएको उल्लेख गर्दै फिल्मले मदनकृष्ण श्रेष्ठको जीवनकथालाई न्याय गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बायोपिक निर्माण चुनौतीपूर्ण भए पनि नेपाली फिल्म उद्योगका लागि महत्वपूर्ण उपलब्धि हुने बताए।

निर्माण टोलीका अनुसार फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु गरिने तयारी छ। निर्माणमा भिन्टेज मोसन पिक्चर्स संलग्न रहेको छ भने कथावस्तु यम थापाले लेखेका छन्। डीओपी पदमबहादुर श्रेष्ठ, सम्पादन मिलन श्रेष्ठ, ब्याकग्राउन्ड म्युजिक अलिश कार्की र साउन्ड डिजाइन भरत कँडेलले गर्नेछन्।

फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछ।

डिगो बन्यो नेपालमा सरकारी इजाजत पाउने पहिलो ओटीटी प्लेटफर्म

काठमाडौं । ओभर द टप (ओटीटी) सेवा प्रदायक डिगोले नेपाल सरकारबाट औपचारिक इजाजत प्राप्त गरेको छ। यससँगै डिगो नेपालमा कानुनी रूपमा अनुमति पाउने पहिलो ओटीटी प्लेटफर्म बनेको छ।

डिसहोम डिजिटल प्रालि अन्तर्गत सञ्चालित उक्त प्लेटफर्मले सोमबार सूचना तथा प्रसारण विभागबाट इजाजतपत्र प्राप्त गरेको हो। विभागका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गर्दै एक करोड रुपैयाँ दस्तुर बुझाएर इजाजत प्रदान गरिएको हो।

सरकारी अभिलेखअनुसार नेट टिभी प्रालि र एनसेलले पनि ओटीटी सेवा सञ्चालनका लागि इजाजत प्राप्त गर्न निवेदन दिएका छन्।

सरकारले हालै राष्ट्रिय प्रसारण नियमावली संशोधन गर्दै ओटीटी सेवाहरूलाई कानुनी दायरामा ल्याउने व्यवस्था लागू गरेको थियो। सोही नयाँ प्रावधानअनुसार डिगोले इजाजत पाएको हो।

हाल डिगोले फिफा विश्वकप २०२६ लगायतका प्रत्यक्ष खेलकुद कार्यक्रमहरू स्ट्रिमिङ गर्दै आएको छ। साथै, प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद सामग्री र डकुमेन्ट्रीजस्ता डिजिटल सामग्री पनि उपलब्ध गराइँदै आएको छ।

सरकारको नयाँ नीति लागू भएसँगै नेपालमा डिजिटल प्रसारण तथा ओटीटी उद्योग औपचारिक संरचनाभित्र प्रवेश गर्ने प्रक्रिया सुरु भएको मानिएको छ।

मुद्रास्फीति गणनामा नयाँ संरचना

काठमाडौं। नेपालमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) तथा मुद्रास्फीति गणनासम्बन्धी कार्य अब नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय तथ्यांक कार्यालयमा सारिने भएको छ।

राष्ट्रिय तथ्यांक परिषद्को हालै सम्पन्न छैठौँ बैठकले यस सम्बन्धी अध्ययन प्रतिवेदन स्वीकृत गर्दै जिम्मेवारी हस्तान्तरण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यससँगै मूल्य सूचकाङ्क उत्पादन तथा अन्य तथ्यांकीय कार्य अब केन्द्रीय तथ्यांकीय निकायमा केन्द्रित हुने भएको छ।

नेपाल राष्ट्र बैंकले हालसम्म सञ्चालन गर्दै आएको उपभोक्ता मूल्य सूचकाङ्क लगायतका तथ्यांकीय कार्य अब राष्ट्रिय तथ्यांक कार्यालयमा सार्ने विषयमा गठन गरिएको कार्यदलको प्रतिवेदन बैठकले स्वीकार गरेको छ।

हस्तान्तरण प्रक्रिया सहज बनाउन कार्यान्वयन तथा अनुगमन समिति गठन गर्ने, आवश्यक कार्यविधि तयार गर्ने र जनशक्ति व्यवस्थापनका लागि राष्ट्र बैंकमा कर्मचारी खटाउने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी तथ्यांक प्रणाली विकासका लागि तयार गरिएको दोस्रो राष्ट्रिय रणनीति (२०८१/८२–२०८५/८६) को कार्यान्वयन कार्ययोजना पनि बैठकले स्वीकृत गरेको छ। विभिन्न निकायबाट आएका सुझाव समेटेर यसलाई अन्तिम रूप दिने तयारी गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पेस गरेको वार्षिक कार्ययोजनालाई पनि बैठकले अनुमोदन गरेको छ। यससँगै आगामी वर्ष सञ्चालन हुने प्रमुख तथ्यांकीय गतिविधिहरूको रूपरेखा तय भएको छ।

बैठकमा राष्ट्रिय आर्थिक गणना २०८२ को हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो। २०८३ वैशाख २ गतेदेखि सुरु भएको स्थलगत तथ्यांक संकलन कार्यको समीक्षा गर्दै बाँकी प्रतिष्ठानहरूको गणना असार मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको उपस्थितिमा सम्पन्न बैठकले नेपालको तथ्यांक प्रणालीलाई अझ एकीकृत, पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने लक्ष्य लिएको छ।

अब सीपीआई गणना र मुद्रास्फीति सम्बन्धी तथ्यांक उत्पादनको जिम्मेवारी केन्द्रीय तथ्यांकीय निकायमा जाने भएपछि देशको आर्थिक तथ्यांक व्यवस्थापनमा नयाँ संरचनात्मक चरण सुरु हुने अपेक्षा गरिएको छ।

पाहुनालाई अपमान गर्ने सांसदलाई कारबाही हुनुपर्ने पक्षमा मनिष झा [भिडियो]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टी कार्यक्रममा आमन्त्रित अतिथिहरूमाथि अपमानजनक टिप्पणी गर्ने विषयमा पार्टीले आवश्यक निर्णय लिन सक्ने संकेत गरेका छन्।

भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको औपचारिक कार्यक्रममा बोलाइएका अतिथिलाई लक्षित गरेर कुनै पनि प्रकारको अपमान स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार यस्तो विषयमा निर्णय गर्ने अधिकार नयाँ निर्वाचित कार्यसमितिसँग सम्बन्धित रहनेछ।

रास्वपा महाधिवेशनका क्रममा सांसद खगेन्द्र सुनारले शुभकामना दिन पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता प्रदीप ज्ञवालीसहितका नेताहरूबारे तुच्छ टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।

सो विषयमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रवक्ता झाले भने, ‘बोलाइएका अतिथिलाई कसैले अपमान गर्न मिल्दैन, आवश्यक परेमा कारबाही गर्ने जिम्मा नयाँ कार्यसमितिको हुन्छ।’

घटनापछि पार्टीभित्र अनुशासन र सार्वजनिक व्यवहारबारे पुनः बहस सुरु भएको देखिएको छ।

सिन्धुपाल्चोकको मिनी रंगशाला सात वर्षदेखि अधुरै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रंगशाला सम्झौता भएको सात वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना लामो समयदेखि अलपत्रजस्तै बनेपछि बागमती प्रदेश सरकारले निर्माण कार्यलाई तत्काल गति दिन निर्देशन दिएको हो।

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले स्थलगत अनुगमनका क्रममा ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै अब कुनै बहानामा काम रोक्न नहुने स्पष्ट पारेकी छन्। उनले परियोजनालाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै आवश्यक समन्वय प्रदेश सरकारले गर्ने बताइन्।

मन्त्री नेपालले भनिन्, ‘यो रंगशाला सिन्धुपाल्चोकका खेलाडी मात्र नभई समग्र जिल्लाको खेलकुद विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधार हो। बाँकी कामलाई तीव्रता दिई छिटो सम्पन्न गर्न सरकार पूर्ण रूपमा सहयोग गर्न तयार छ।’

अनुगमनका क्रममा उनले ठेकेदार पक्षलाई ढिलाइ नगरी काम अघि बढाउन चेतावनी दिँदै अब बहानाबाजी स्वीकार्य नहुने बताइन्। मन्त्रालयका सचिव, सामाजिक विकास कार्यालयका प्रमुख तथा अन्य सरोकारवाला अधिकारीहरू पनि अनुगमन टोलीमा सहभागी थिए।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत काभ्रेपलाञ्चोकस्थित सार्वजनिक निर्माण कार्यान्वयन एकाइ र सुनकोशी–गिरी ज्वाइन्ट भेन्चरबीच रंगशाला निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। २०७६ भदौ २ गते तत्कालीन सामाजिक विकास मन्त्री युवराज दुलालले परियोजनाको शिलान्यास गरेका थिए।

डिजाइन अहिलेसम्म पाँच पटक संशोधन भइसकेको रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा) मापदण्डअनुसार १०० मिटर लम्बाइ र ६५ मिटर चौडाइको फुटबल मैदान रहनेछ। करिब ६ हजार दर्शक क्षमताको प्याराफिट, पाँच सय सवारीसाधन अट्ने पार्किङ, ड्रेसिङ रुम लगायतका संरचना निर्माण गर्ने योजना छ।

करिब ४१ करोड ६२ लाख रुपैयाँ लागतको यो परियोजना समयमै सम्पन्न हुन नसक्दा दुई पटक म्याद थप भइसकेको थियो। पछिल्लो चरणमा निर्माण कम्पनी सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रालिले जिम्मा लिएपछि काम अघि बढाइएको भए पनि विभिन्न प्रशासनिक र वित्तीय कारणले प्रगति प्रभावित भएको बताइएको छ।

निर्माण व्यवसायीका प्रतिनिधि जेबी लिम्बूका अनुसार मूल्य समायोजन बापतको रकम समयमै नपाउँदा फ्लडलाइट जडानलगायत अन्तिम चरणका काम प्रभावित भएका छन्। यद्यपि कम्पनीले निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको दाबी गरिएको छ।

तर स्थानीय युवाहरूले भने ठेकेदारको ढिलासुस्तीका कारण आयोजना लामो समयदेखि अलपत्र परेको आरोप लगाएका छन्। जिल्ला फुटबल संघका अनुसार रंगशाला समयमै पूरा नहुँदा जिल्लामा खेलकुद गतिविधि प्रभावित भएका छन्।

रंगशाला निर्माण सम्पन्न भएमा राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ।

शान्तिका लागि सन्देश पत्र छाडेर इरानी टोली बाहिरिए अमेरिकाबाट

एजेन्सी। युरुग्वेसँगको खेल सम्पन्न भएपछि इरानी राष्ट्रिय फुटबल टोलीले अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियमको ड्रेसिङ रुममा हस्तलिखित पत्र छोडेको छ।

खेलपछि तत्काल अमेरिका छोड्नुपर्ने अवस्थाबीच टोलीले भावनात्मक सन्देश लेखेर फर्किएको हो।

इरानी फुटबल महासंघले सार्वजनिक गरेको उक्त पत्रमा टोलीले आफ्नो ऐतिहासिक पहिचान, राष्ट्रिय भावना र समर्थकप्रति आभार व्यक्त गरेको छ। खेल संरचनाअनुसार टोलीलाई प्रत्येक खेलपछि अमेरिका छोडेर मेक्सिको जानुपर्ने व्यवस्था रहेको जनाइएको छ।

पत्रमा लेखिएको छ, ‘हजारौं वर्ष पुरानो प्राचीन पर्सियादेखि आजको आधुनिक इरानसम्म, इरानको आत्मा सधैं जीवित र अटल छ।’ टोलीले लस एन्जलसका आयोजक, फिफा, स्थानीय समुदाय तथा दर्शकप्रति पनि धन्यवाद व्यक्त गरेको छ।

पत्रमा अर्को भागमा भनिएको छ, ‘हामी यहाँ गर्वका साथ आएका थियौं, सम्मानका साथ प्रतिस्पर्धा गर्‍यौं र अब आत्मसम्मानका साथ फर्किंदैछौं।’ समर्थकहरूको समर्थनप्रति विशेष धन्यवाद दिँदै टोलीले विश्वभर शान्ति, सम्मान र मित्रताको सन्देश फैलाउन आह्वान गरेको छ।

पत्रमा उल्लेख गरिएको छ, ‘हाम्रो साथमा आफ्नो मन, आवाज र आत्मा लगाएर १८० मिनेटसम्म समर्थन गर्ने प्रत्येक इरानीलाई धन्यवाद। सबै राष्ट्रबीच शान्ति, सम्मान र मित्रता कायम रहोस्।’

त्यसैबीच, पत्रमा रातो मसीले ‘७६८’ र ‘मिनाब’ भन्ने शब्द पनि लेखिएको भेटिएको छ, जसलाई केही स्रोतहरूले इरान–इजरायल तनावसँग जोडिएको घटनाप्रति संकेत गरेको रूपमा व्याख्या गरेका छन्।

खेल तालिकाअनुसार इरानी टोली खेलको अघिल्लो दिन मात्र प्रतियोगिता हुने सहरमा पुग्ने र खेल सकिएलगत्तै पुनः देश बाहिरिने व्यवस्था रहेको बताइएको छ।

विश्वकपको समूह ‘जी’ अन्तर्गत इरानले हालसम्म दुई खेल खेलेको छ। पहिलो खेलमा न्युजिल्यान्डसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको इरानले दोस्रो खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेलेको थियो।

समूहमा इजिप्ट चार अंकसहित शीर्ष स्थानमा छ भने दुई अंकसहित इरान नकआउट चरण प्रवेशको दौडमा रहेको छ। अन्तिम खेलमा इजिप्टसँग बराबरी नतिजा निकालेमा इरानको नकआउट सम्भावना कायम रहनेछ।

<strong>तस्वीर:</strong>

<a href=”http://nepalonehd.com/wp-content/uploads/2026/06/ChatGPT-Image-Jun-23-2026-01_09_54-PM.jpg”><img class=”alignnone size-full wp-image-345896″ src=”http://nepalonehd.com/wp-content/uploads/2026/06/ChatGPT-Image-Jun-23-2026-01_09_54-PM.jpg” alt=”” width=”1080″ height=”600″ /></a>

विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयानका लागि उपस्थित [तस्वीरहरू]

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयानका लागि उपस्थित गराइएको छ।

सोमबार नियन्त्रणमा लिएर काठमाडौं ल्याइएका उनलाई प्रारम्भिक सोधपुछका लागि विभागमा पुर्‍याइएको हो।

व्यवसायी दीपक भट्टसँग सम्बन्धित भनिएको आर्थिक कारोबारमा शंका देखिएपछि गरिएको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको बताइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसका आधारमा उनलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग सम्बन्धित आर्थिक लेनदेन, सम्पत्तिको स्रोत र सम्भावित सम्बन्धबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

विभागले प्रारम्भिक बयानपछि कानुनी प्रक्रिया अनुसार म्याद थपका लागि उनलाई आजै अदालतमा पेस गर्ने तयारी गरेको छ।

तस्वीरहरू: