`

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको वार्षिक साधारण सभा हुने भएको छ । उक्त साधारण सभाले महासंघको नयाँ नेतृत्व निर्वाचित हुने भएको छ । महासंघका महासचिव रोशन दाहालकाअनुसार महसंघले माघ १५, १६ र १७ गते काठमाडौंमा आफ्नो २६औँ साधारण सभा र निर्वाचन हुनेछ । प्रदेश महासंघहरु, जिल्ला संघहरु, एशोसिएट सदस्यहरु लगायत वस्तुगत संघ सदस्यहरु प्रतिनिधिहरु महसंघमा हुनेछन् ।

महासंघको प्रतिनिधि प्रदेश महासंघबाट अध्यक्षसहित १५ जना, ५० जनासम्म सदस्य भएको जिल्लाले ३ जना र त्यो भन्दा माथि छानबिन समितिले यकिन गरे बमोजिम हरेक ५० जनामा एक जना, ५ जना भन्दा बढी प्रतिनिधि पठाउनेले एक जना महिला अनिवार्य, एशोसिएट सदस्यहरुबाट एशोसिएट सदस्य समन्वय समितिका संयोजक सहित ३९ जना र प्रत्येक बस्तुगत संघबाट एक जना साधारण सभा प्रतिनिधि हुनेछन् । प्रतिनिधिको नामावली पुस २९ गतेसम्म केन्द्रिय कार्यालयमा पठाउन महासंघले आग्रह गरेको छ ।

जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस् : रविलक्ष्मी चित्रकार

काठमाडौं । जेन–जी आन्दोलनका नाममा निवासमा आगजनी हुँदा गम्भीर घाइते हुनुभएकी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गरेकी छन् । लामो उपचारपछि स्वास्थ्य लाभ गर्दै आएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेन–जीको अवोध मुखुण्डो लगाएर देश विध्वंश गर्नेहरूलाई सरकारले छिट्टै पहिचान गरी सजाय दिनुपर्ने बताएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चित्रकारले जेन–जीको अवोधपनको मुखुण्डो ओढेर देशलाई नष्ट गरिएको बताइन् । सरकारले उनीहरुलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरिन् ।

उनले भनिन्, ‘मैले कितावमा पढेको थिएँ, हिटलरको ग्यास च्याम्बर । त्यो ग्यास च्याम्बर म आफैं परेँ र आज यो गति भयो । जेनजी भाइबहिनीहरुको अवोधपनको मखुण्डो ओढेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरुलाई यो सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ । मेरो यही माग छ ।’
पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताए । उपचारको प्रक्रिया अझ अघि बढाउनुपर्ने आवश्यकता रहेको तर उपचारका लागि केही नभएको बताए । घरसहित सबै जलाइर नष्ट गरिदिएपछि उपचारमा समस्या हुने बताए ।

उनले भने, ‘हामीले अझ धेरै गर्न बाँकी नै छ । त्यो पनि उपचारकै प्रक्रिया हो । त्यो उपचारको प्रक्रियालाई अझै अगाडि बढाउनु पर्ने आवश्यकता छ । तर अब हामी जस्तो मान्छे जसको जिलिगाँठी सबे जलाएर खरानी बनाइदिएको छ । कसरी उपचार गर्छौं होला । यो प्रश्न हामीसँग अहिले पनि बाँकी नै छ ।’ गत भदौमा जेन–जी प्रदर्शनका क्रममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । उक्त घटनामा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् भने घर पूर्ण रूपमा क्षति भएको थियो । उपचारका लागि भारत लगिएको उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको बताइएको छ। चित्रकारको यो मागले जेन–जी आन्दोलनका हिंसात्मक गतिविधि र दोषीहरूमाथि कारबाहीको विषयलाई पुनः राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा ल्याएको छ ।

 

ईश्वर पोखरेलको चेतावनी : पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीभित्र सम्मानजनक व्यवहार स्थापित हुन नसके अप्रिय र नोक्सानदायी परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै ११औं महाधिवेशनका प्रत्यासी समेत रहेका पोखरेलले महाधिवेशनले तय गरिसकेका निष्कर्षहरूलाई सबैले इमानदारीपूर्वक पालना गर्नु आजको प्रमुख दायित्व भएको बताएका छन् ।

उनले पार्टी नेतृत्वप्रति अन्धसमर्पण होइन, समानता र सम्मानमा आधारित व्यवहारको अपेक्षा स्वाभाविक र आवश्यक भएको स्पष्ट पारेका छन् । नेतृत्व तह र त्यसबाट प्रभावित सबैले यो यथार्थ बुझ्न जरुरी रहेको उल्लेख गर्दै पोखरेलले सम्मानजनक व्यवहार नहुँदा उत्पन्न हुने अप्रिय र हानिकारक परिणामबाट कसरी जोगिन सकिन्छ भन्ने प्रश्नसमेत उठाएका छन् । उनका अनुसार यस्ता व्यवहारले पार्टी मात्र होइन, समग्र आन्दोलनलाई कमजोर बनाउने खतरा रहन्छ ।

पोखरेलले पार्टी रूपान्तरणका लागि निरन्तर बहस, छलफल, विधि र प्रक्रियाबाट गरिएका आधिकारिक तथा संस्थागत निर्णयहरूको पालना अनिवार्य रहेको बताएका छन् । व्यवहारमा काखा–पाखा नगर्ने सुनिश्चितता र विभाजनजस्ता दुर्भाग्यपूर्ण प्रवृत्तिको दृढ विरोध अहिलेको आवश्यकता भएको उनको निष्कर्ष छ । महाधिवेशनका क्रममा नेतृत्व चयनमा समूहगत धारणा देखिए पनि त्यसलाई आधार बनाएर कटाक्ष र आग्रह–प्रेरित टिप्पणी गर्नु पार्टीका लागि लाभदायी नभई थप नोक्सानदायी हुने उनको भनाइ छ ।

उनले अनावश्यक रूपमा पार्टीभित्र तरंग सिर्जना नगर्न आग्रह गर्दै विधि र प्रक्रियाअनुसार भएका निर्णयहरूको निशर्त पालना नै पार्टी एकतालाई मजबुत बनाउने आधार भएको उल्लेख गरेका छन् । पार्टीलाई विभाजित गर्ने कुनै पनि प्रयासको कडा विरोध गर्नुपर्ने र साथसाथै सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न नेतृत्व प्रतिबद्ध हुनुपर्ने पोखरेलको धारणा छ । यिनै मूल्य र आचरणका आधारमा मात्र पार्टी नेतृत्वको वैधता र प्रतिरक्षा सम्भव हुने उल्लेख गर्दै उनले सबै प्रकारका षड्यन्त्रलाई पराजित गर्दै नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

 

पछिल्लो संसदको वैधता पूर्णतः सकिएकाले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले एमाले–कांग्रेस सरकार र तिनै दुई दलको बहुमत रहेको पछिल्लो संसदको वैधता पूर्णरूपमा समाप्त भइसकेको दाबी गरेका छन् । त्यसैले उक्त संसदको पुनर्स्थापना कुनै हालतमा सम्भव नहुने उनको भनाइ छ ।

आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै वाग्लेले भदौ २३ गते भएको नरसंहारका लागि तत्कालीन एमाले–कांग्रेस सरकार नै जिम्मेवार रहेको उल्लेख गरेका छन् । त्यही घटनासँग जोडिँदै उनले राजनीतिक र नैतिक रूपमा पनि उक्त सरकार तथा त्यस समयको संसद जनविश्वास गुमाइसकेको तर्क गरेका छन् ।

उनका अनुसार अब मुलुकले निकास पाउने एक मात्र बाटो ताजा जनादेश हो । फागुन २१ गते हुने आम निर्वाचनबाट निर्वाचित संसद्ले आगामी पाँच वर्षका लागि स्थिर र प्रभावकारी संघीय सरकार गठन गर्ने वाग्लेले दाबी गरेका छन् । त्यो सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने उनको स्पष्ट दाबी छ । वाग्लेले पुराना राजनीतिक शक्तिहरूको वर्चस्वले देशलाई दीर्घकालीन अस्थिरता र अविश्वासतर्फ धकेलेको आरोप पनि लगाएका छन् ।

उनले नयाँ राजनीतिक विकल्पका रूपमा रास्वपाले जनताको भरोसा जित्दै अघि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको प्रतिफल देखिने विश्वास व्यक्त गरेका छन् । उनको स्ट्याटसमा व्यक्त धारणा पछिल्लो समय संसद, सरकारको वैधता र आगामी निर्वाचनको आवश्यकताबारे चलिरहेको बहससँग जोडिएको छ । रास्वपाले निरन्तर रूपमा ताजा जनादेश, सुशासन र स्थिर सरकारको मुद्दा उठाउँदै आएको छ, र वाग्लेको यो अभिव्यक्तिले त्यसैलाई थप बल दिएको देखिन्छ ।

 

रवि–बालेन भेटको प्रबन्ध मिलाएका असिम साह भन्छन्–कथाको सुखद सुरुवात भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ताले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । दुवै नेताबीच भएको छलफल सकारात्मक रहेको र यसले सहकार्यको संकेत दिएको उनीहरू निकट नेताहरूले बताएका छन् ।

गए राति रास्वपा नेता असिम साहको म्युजिक कम्पनी ‘जी–२१’ को कार्यालयमा रवि र बालेनबीच भेट भएको हो । भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए, जसलाई प्रतिकात्मक रूपमा पनि हेरिएको छ । यस भेटवार्ताको प्रबन्ध मिलाएका असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र देशको हितका लागि मिलेर अघि बढ्नुपर्ने विषयमा कुराकानी केन्द्रित थियो ।

भेटमा के–के विषयमा छलफल भयो भन्ने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । तर यो भेटलाई दुई फरक धारका लोकप्रिय नेताबीच समझदारी र सहकार्यको सुरुवातका रूपमा व्याख्या गरिएको छ । असिम साहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘रवि र बालेन मिलेर अघि बढ्नु पर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ । सन्देश स्पष्ट छ—दुई जना मिलेर जाने हो, अब अगाडि बढ्ने हो ।’

साहले सामाजिक सञ्जालमार्फत पनि भेटलाई अर्थपूर्ण रूपमा प्रस्तुत गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सहकारीको रकम हिनामिनासम्बन्धी आरोपमा लामो समय कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रवि लामिछाने यतिबेला राजनीतिक भेटघाट र पार्टीगत गतिविधिमा सक्रिय देखिएका छन् । बालेन साहसँगको यो भेटलाई त्यसै सिलसिलामा आएको महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ ।लोकप्रियता र फरक शैलीका कारण आ–आफ्नै स्थान बनाएका रवि र बालेनबीचको यो संवादले आगामी दिनमा सहकार्यको बाटो खोल्ने अपेक्षा गरिएको छ । औपचारिक घोषणाभन्दा अघि नै आएको यो भेटले कम्तीमा पनि नेपाली राजनीतिमा संवाद र सहमतिका सम्भावनाहरू अझ बलियो बनाएको सन्देश दिएको छ ।

एकैचोटी फर्किदै अमेरिका र चीनका राजदूत

काठमाडौँ । नेपालमा कार्यरत अमेरिका र चीनका राजदूत एकै समयमा स्वदेश फर्किन लागेपछि कूटनीतिक तथा राजनीतिक वृत्तमा चासो बढेको छ । आन्तरिक राजनीतिक उतारचढावबीच शक्ति राष्ट्रका प्रतिनिधिहरूको प्रस्थानलाई अर्थपूर्ण रूपमा हेरिन थालेको छ ।

बेइजिङको निर्णयअनुसार चीनका राजदूत चेन बुधबार नेपाल छोड्ने तयारीमा छन् । उनलाई चिनियाँ विदेश मन्त्रालयको एसियाली विभागको महानिर्देशक पदमा बढुवा गरिएको छ । यसबारे चिनियाँ पक्षले नेपाल सरकारलाई औपचारिक जानकारी गराइसकेको छ । चेनले काठमाडौंमा आफ्नो कार्यकाल समापन गर्दै प्रधानमन्त्री सुशीला कार्की, उच्च सरकारी अधिकारी तथा विभिन्न राजनीतिक नेताहरूसँग विदाई भेटघाट गरिसकेका छन् । तर उनको स्थानमा को आउने भन्ने विषयमा बेइजिङले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।

जनवरी २०२३ मा कूटनीतिक जिम्मेवारीसहित काठमाडौं आएका चेनले नेपाल–चीन सम्बन्धलाई विशेष र अनौठो मित्रताका रूपमा व्याख्या गर्दै आएका थिए । आइतबार चिनियाँ दूतावासमा आयोजित विदाई समारोहमा उनले आफू जहाँ रहे पनि नेपालको विकास प्रयासलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल आउनुअघि नै चीन–नेपालमैत्रीको समर्थक रहेको उल्लेख गर्दै उनले तीन वर्षको अवधिपछि आफू दुवै देशका जनताको आजीवन मित्र बनेको गर्वका साथ बताएका थिए । उनले नेपाल सरकार, कर्मचारीतन्त्र, कूटनीतिक समुदाय, सञ्चारकर्मी र नेपाली समाजका विभिन्न वर्गप्रति सहयोगका लागि धन्यवाद समेत व्यक्त गरे ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनलाई पनि फिर्ता बोलाएको छ । वासिङ्टन डिसी डेटलाइनमा एशोसिएटेड प्रेसले प्रकाशित गरेको समाचारअनुसार थम्पसनसहित कम्तिमा २९ जना राजदूत तथा वरिष्ठ कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरिएको हो । उनीहरूको कार्यकाल जनवरीमा सकिन लागेको जानकारी दिइएको छ । काठमाडौँसँगै श्रीलंकाबाट पनि अमेरिकी राजदूतलाई फिर्ता बोलाइएको एपीले जनाएको छ ।

थम्पसनलाई जो बाइडेन नेतृत्वको सरकारले मार्च २०२२ मा नेपालका लागि राजदूत नियुक्त गरेको थियो । उनले अक्टोबर २०२२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । दुई दशकभन्दा बढी, करिब २८ वर्ष अमेरिकी कूटनीतिमा काम गरेको अनुभव बोकेका थम्पसनको फिर्तीबारे भने अमेरिकाले अहिलेसम्म नेपाल सरकारलाई औपचारिक जानकारी गराइसकेको छैन ।

एकै समयमा अमेरिका र चीनका राजदूत नेपालबाट विदा हुन लाग्नु सामान्य संयोग मात्रै हो वा बदलिँदो भूराजनीतिक सन्दर्भसँग जोडिएको विषय हो भन्ने प्रश्नले अहिले कूटनीतिक वृत्तमा चर्चा पाएको छ । नेपालमा आगामी दिनमा हुने कूटनीतिक गतिविधि र नयाँ राजदूतहरूको नियुक्तिलाई चासोका साथ हेरिने संकेत देखिएको छ ।

महेश बर्तौलालाई प्रश्न: एमाले नोभोट, विदेशबाट मतदान र अन्तरजिल्ला मतदानको विपक्षमा हो?

फागुन २१मा हुने निर्वाचनमा नोभोट, विदेशबाट मतदान र अन्तरजिल्ला मतदान कार्यान्वयन गर्न कानुनी तयारी गर्ने विषयमा सोमबार सरकारले सर्वपक्षीय छलफल बोलाएको थियो । यो छलफलमा के के भयो भनेर हामीले बैठकमा सहभागी भएका नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य महेश बर्तौलासँग कुरा गरेका छौं । उक्त कुराकानीको सम्पादित अंश:

आज सरकारले बोलाएको बैठकमा जानुभएको थियो । त्यो बैठकमा सरकार र निर्वाचन आयोगको तर्फबाट के कुरा आयो र त्यसमा तपाईंहरूले के भन्नु भयो ?

आज सरकारले राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाजका अगुवाहरूसहितको संयुक्त बैठक बोलाएको थियो । बैठकको सुरूमै सरकारका तर्फबाट निर्वाचन कानुनसँग सम्बन्धित केही विषयहरू संशोधन गर्ने भनेर प्रस्ताव ल्याउनुभयो। निर्वाचन आउन ७२ दिन बाँकी छ। निर्वाचनको समग्र पक्षका बारेमा के तयारीको कस्तो छ, निर्वाचनको निष्पक्षता, निर्भयता कायम गर्ने पाटोमा सरकारको तयारी के छ भन्ने विषय त्यहाँ उठेन । जुन सबैभन्दा महत्वपूर्ण कुरा थियो ।

सरकारले निर्वाचन कानुनसँग सम्बन्धित विषयहरूको संशोधनको लागि विशेष गरी तीनवटा मुद्दा उठायो। पहिलो, नो भोटको प्रावधानको कानुन संशोधन गरेर आगामी चुनावमा कार्यान्वयन गर्ने गरी जानुपर्छ भन्यो। अर्को, विदेशमा रहेका नेपालीहरूलाई मतदानको प्रक्रियामा सहभागी गराउने कुरा गर्यो। र तेस्रो, अन्तर जिल्ला र अन्तर क्षेत्रमा रहेका मतदाताहरूलाई पनि मतदान प्रक्रियामा सहभागी गराउने कुरा गर्यो।

निर्वाचन आउन ७२ दिन बाँकी भएको अवस्थामा निर्वाचन कानुनको संशोधन गर्ने कुरा सरकारले ल्याएको छ। सामान्यतया निर्वाचन घोषणा भइसकेपछि निर्वाचनलाई प्रभावित पार्ने गरी कुनै पनि विधि वा कानुन परिवर्तन गर्ने पाइँदैन भन्ने अन्तर्राष्ट्रिय मान्यता हो । सैद्धान्तिक रूपमा यी विषयहरू सहज अवस्थामा अलि लामो समय लिएर निर्वाचन घोषणा हुनुअघिदेखि तयारी गरेर कार्यान्वयन गर्न सकिने कुरा हो । तर, ७२ दिनभित्र कानुन संशोधन गरेर विदेशमा भएका मतदातालाई पनि मतदानको प्रक्रियामा सहभागी गराउन त्यसका चुनौती, त्यसका अवस्थाहरू, सम्बन्धित देशहरूसँगको संवाद र सहकार्य, छलफलको पाटो पनि हेर्नुपर्ने हुन्छ । बाह्य देशमा भएका नेपालीहरूलाई मतदानको प्रक्रियामा सहभागी गराउने कुरा त्यो देशसँग पनि सम्बन्धित छ। त्यहाँको निर्वाचन सुरक्षाको कुरा छ, मतदान केन्द्रको कुरा छ। त्यहाँको सरकारको सहयोग बिना त सकिँदैन नि। यो पाटोको केही गृहकार्य नगरेरै हतारहतार एकाएक यस्तो प्रस्तावमा ल्याइएको छ।

निर्वाचन घोषणा भइसकेपछि र निर्वाचन आउन ७२ दिन बाँकी हुँदा यस्तो कुरा ल्याउनु भनेको सरकार निर्वाचन नगर्ने षडयन्त्रमा लागेको छ भन्ने प्रष्ट उदाहरण हो । सरकार निर्वाचन भाग्दै छ, निर्वाचन गराउँदै छैन। यो कुरा हामीले प्रश्नका रूपमा उहाँहरूलाई राख्यौँ।

अर्को कुरा नेकपा एमालेको तर्फबाट हामीले स्ट्रोङ्ली के राख्यौँ भने एउटा ठूलो राजनीतिक पार्टीको अध्यक्ष माथि अहिले स्थानहद लगाइएको छ। एउटा दलको नेतामाथि स्थानहद लगाएर निर्वाचन हुन्छ भन्ने कुरा कसरी भन्न सकिन्छ? उम्मेदवारी दिने कुरा होला, निर्वाचन प्रचारप्रसारमा जान पर्ला। उम्मेदवार भएर लड्नुपर्ला। यो पाटोमा पनि सरकारको कुनै चिन्ता सरोकार नै छैन।

निर्वाचन निर्वाचन भन्दैमा हुन्छ र? निर्वाचनसँग जोडिएका शर्तहरू, निष्पक्षता, स्वतन्त्रताको वातावरण हुने कुराको सुनिश्चितता, स्टेट मेसिनरीहरूलाई उच्च मनोबलका साथ काम गर्ने परिस्थितिको सुनिश्चितता, आवश्यक स्रोतहरू उपलब्ध गराउने परिस्थिति, त्यो केही पनि देखिँदैन। निर्वाचन आयोगलाई निर्वाचन लक्षित अभियानमा जोड्न खोजेको जस्तो उहाँहरूको प्रस्तुतिले देखिँदैन । ठ्याक्कै निर्वाचन आयोगको स्पिडलाई ब्रेक लगाउने गरी मन्त्री, प्रधानमन्त्रीको अभिव्यक्ति आइरहेको छ, क्रियाकलाप भइरहेको छ। ती कुराहरूलाई पनि हामीले स्ट्रोंगली राख्यौं।

सारमा बैठकमा तपाईंहरूले राखेको कुरा के हो?

हामीले राखेका केही कुराहरू छन् । पहिलो, यो सरकारको वैधानिक हैसियत छैन। वैधानिक हैसियत नभएको सरकारले गरेको संसद विघटनका बारेमा संवैधानिक परिक्षणका लागि हामीले सर्वोच्च अदालतमा रिट दिएर गएका छौँ। तथापि, त्यो मुद्दा सर्वोच्च अदालतको क्षेत्राधिकारको विषय हो। हामी संसद पुनर्स्थापनामार्फत मुलुकलाई लोकतान्त्रिक, संवैधानिक धारबाट अगाडि बढाउनुपर्छ र संसदमार्फत नै वैध सरकार निर्माण गरी निर्वाचन गरेर जानुपर्छ भन्ने विश्वास राख्छौं।

नम्बर दुई, सरकारले फागुन २१ मा निर्वाचन गराउँदैन भन्ने कुरा राख्यौं। लुटिएका हतियारको अवस्था के छ? जानकारी गराइयोस् भन्दा किन बताउनु भएन भन्यौं। अनि भागेका कैदीबन्दीको अवस्था के छ? शान्ति सुरक्षाको अवस्था के छ? स्टेट मेसिनरीले चुनाव गराउन सक्छ भने के कुन अवस्थामा छ? अनि, दलका नेताहरूलाई स्थान हद लगाएर कसरी चुनाव हुनसक्छ? हामीले राखेको कुरा यिनै हुन्।

समग्रमा हाम्रो निष्कर्षमा के हो भने सरकार निर्वाचनप्रति इमान्दार पनि छैन। सरकारको वैधानिक हैसियत पनि छैन। त्यसकारणले देशलाई निकास दिनका र संवैधानिक लोकतान्त्रिक मार्गमा ल्याउनका लागि संसद पुनःस्थापनाको पथमा जानु आजको लागि उपयुक्त विषय हो भन्ने कुरा राख्यौं।

नेकपा एमाले लोकतन्त्रको लागि लामो समय लडेर आएको राजनीतिक शक्ति हो। जनताको बीचमा गएर लोकतान्त्रिक मुल्य मान्यता वा पद्धतिबमोजिम परिक्षित भएर आउने कुरालाई अस्वीकार गर्दैनौं । त्यसलाई सम्मानका साथ ग्रहण गर्छौं। हामीले निर्वाचनमा सहभागी हुँदैनौं भनेका पनि छैनौं। सरकार आफैं निर्वाचन गराउँदैन। त्यसकारणले गर्दा यो निर्वाचन हुन सक्दैन भनेर हामीले प्रष्ट भन्यौं।

अब,  फागुन २१ को निर्वाचनको मिति यो सरकारको लागि राष्ट्रपतिले तोकिदिनु भएको हो । तपाईँहरू फागुन २१ मा चुनाव हुनुपर्छ भन्ने पक्षमा हो कि हुनुहुन्न भन्ने पक्षमा हो?

हामी न हामी चुनाव गराउने ठाउँमा छौं। न हामी चुनाव सार्ने ठाउँमा छौं। हामी यति भन्न सक्छौं लोकतन्त्रको लागि लडेको राजनीतिक शक्ति निर्वाचन हुँदा जनताको बीचमा परिक्षित हुने कुराबाट भाग्दैन ।

यो सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गराउने कार्यादेश दिइएको हो। त्यो सरकारले पाएको समय हो, राष्ट्रपतिले तोकिदिएको समय हो। तर, सरकार चाहिँ यो निर्वाचनको पक्षमा छ कि छैन? सरकारलाई हाम्रो प्रश्न छ।

यदि सरकारले निर्वाचन गर्न खोजेको हो भने एमालेका अध्यक्ष माथिको स्थानहद केका लागि? त्यो प्रतिबन्ध लगाएर उहाँको उम्मेदवारी दर्ता हुन पाउँछ कि पाउँदैन? उहाँ चुनावी प्रचार प्रसारमा देशव्यापी हिँड्न पर्छ कि पर्दैन?

तपाईंमार्फत सरकारलाई हाम्रो प्रश्न के हो भने एमालेलाई सहभागी नगराउने गरी चुनाव खोजेको हो सरकारले? नेकपा एमालेको अध्यक्ष वा सिंगो नेकपा एमालेलाई ढोकाभित्र, कोठाभित्र थुनेर, ताल्चा लगाएर अनि अरुलाई मात्रै सहभागी गराएर चुनाव गराउन खोजेको हो?

अनि, जेलबाट भागेका कैदीबन्दी र हतियार फिर्ताको विषय के हो? चुनावको कुरा गर्दै गर्दा चुनावसँग जोडिएको शान्ति सुरक्षा, भयरहित वातावरणमा उमेदवार-राजनैतिक पार्टीहरुले आफ्ना विचार, दृष्टिकोण, घोषणापत्र, प्रतिबद्धतापत्र जनताका बीचमा लान सक्ने परिस्थितिको सुनिश्चितता तथा मतदाताहरुले आफ्नो सार्वभौम विवेक मतदान केन्द्रमा आएर प्रयोग गर्न सकिने परिस्थिति के छ ?

चुनाव आउन ७२ दिन बाँकी छँदा चुनाव कहाँ लागेको छ? तपाईँले चुनाव प्रधानमन्त्री र मन्त्रीको मुखमा भन्दा बाहेक कहीँ सुन्नुभएको छ? सिंगो देशलाई चुनाव लागेको छ? त्यो परिस्थिति सरकारले बनाउने होइन? निर्वाचनको विज्ञापन गर्न छोडेर सरकारले विज्ञप्ति जारी गर्दै नचाहिने संविधान विरोधी, कानुन विरोधी सम्झौता र अनेकौं नाटक गर्दै बसिराख्या छ नि त। त्यसकारणले गर्दा हाम्रो प्रश्न  सरकारकै भूमिका प्रति हो। आजको बैठकको समग्र निष्कर्ष के हो भने यो सरकारले फागुन २१ गते चुनाव गराउँदैन। यदि चुनाव गराउने हो भने चुनाव तर्फ जान्छ कि कानुन संशोधन गर्ने तर्फ लाग्छ ? सरकार अध्यादेश तर्फ किन लागिराख्या छ?

सरकारले सर्वोच्चले धेरै अगाडी कार्यान्वयन गर्नु भनेको, जेनजी समूहहरूले माग गरेको यी तीनवटा विषय कार्यान्वयन गर्छु भनेको छ । यसबारे एमाले लगायत ठूला दललाई फाइदा नहुने भएकाले नो भोट, विदेशबाट मतदान र अन्तरजिल्ला मतदान गराउन चाहँदैनन् भन्ने पनि टिप्पणी सुनिन्छ । यी विषयमा एमालेको धारणा चाहिँ के हो ?

यो एकदमै नबुझ्ने र सामान्य लोकतान्त्रिक मुल्य नबुझी एकदमै उडन्तरी ढंगबाट गरिने प्रश्न र टिप्पणी हो । जनताले माया गरेर, रुचाएर, अनुमोदन गरेर जुन भूमिका निर्वाह गर भन्यो हामीले त्यो भूमिका निर्वाह गर्ने त हो । नरुचाएमा जनताले जुन आसन दिन्छ, त्यही आसनमा बस्ने हो। यो त भोटको कुरा होइन नि । कल्पना गरेर, भावनामा बगेर हुन्छ यस्ता कुराहरु? अलिकति वास्तविकतामा, अलिकति तथ्यमा हेर्ने हो भने ७२ दिनमा यो सबै सम्भव छ ? भावनको कुराले मात्रै त हुँदैन नि।

निर्वाचन भनेको त राजनीतिक विषय हो । जब राजनीतिक विषय हो भने दलिय व्यवस्थामा दलहरुको स्वीकृती हुनुपर्छ कि पर्दैन? दलहरुको सहभागिता हुनुपर्छ कि पर्दैन? अब तीनजनालाई मान्छे कसलाई के मन लाग्यो, कुन कुन पृष्ठभूमिमा मन्त्री-प्रधानमन्त्री बनेका मान्छेलाई के लाग्यो भन्दैमा तिनले गरेका हर कुरा ठीक छ भनेर मान्दिनुपर्छ भन्ने हुन्छ र? चुनाव घोषणा भइसकेपछि खरदार र सुब्बाको सरुवा त हुन सक्दैन। अनि तपाईँ हरेक दिन अध्यादेश जारी गर्ने भन्नुभएको छ, कानुनमा चाहिने नचाहिने तोडमोड गर्नुभएको छ। यसरी चुनाव हुन्छ त?

तपाईँले उठाउनु भएको कतिपय प्राविधिक कुराहरु सरकार र कार्यान्वयन गर्ने एजेन्सीको क्षमताको कुरा हो। सक्नुहुन्छ भने उहाँहरुले गर्नुहुन्छ होला नि त। तपाईँहरुले यो अध्यादेश जारी गर्ने कुरामा सहमति जनाए हुन्न र?

यस्तो कसरी हुन्छ ? निर्वाचन गराउने कुरा एउटा विधिमा बाँधिएर गर्न पर्दैन? एउटा खेलाडी खेल मैदानमा ओर्लिसकेपछि नियम परिवर्तन गर्न पाइन्छ? यो न्यूनतम कुरा हो।

अहिलेको सरकारको म्याण्डेट फागुन २१ सम्मका लागि हो। त्यो पनि निर्वाचन गराउनका लागि मात्रै। निर्वाचन गराउन गठन भएको सरकारले यी सबै कुरा अहिले नै गर्नुपर्ने किन? निर्वाचनपछि जो सुकैको सरकार आओस्, नेपाली जनताले नै भोट दिएर आउने सरकार हो, यो काम उसले गर्न सक्छ । संविधान संशोधन पनि पनि गर्नसक्छ। एकातिर संसद छैन, अर्कोतिर जनताले अनुमोदन गरेको सरकार होइन। पपुलिस्ट बन्नका लागि यसका चुनौतीका पक्षहरुलाई गम्भीरताका साथ ख्याल नगरेर अहिलेको अहिले गर्नुपर्ने किन?

कुनै एउटा व्यक्ति सांसद हुन्छ-हुँदैन, जनप्रतिनिधि हुन्छ- हुँदैन भन्ने हिसाबबाट मात्रै हेर्नु हुँदैन। कुनै दल कहिले ठुलो पनि भएको छ, कहिले रसातलमा पनि पुगेको छ । यतातिरको हिसाब गरेर हामीले यी सबै कुरा गरिराखेका छैनौँ। हामीले कुनै निर्णय गर्दै गर्दा लोकतान्त्रिक परिपाटीलाई, मुलुकको स्वाधीनता र सार्वभौमिकतालाई जीवन्त राख्न सक्छौँ कि सक्दैनौँ? हाम्रो विद्यमान शासकीय प्रबन्धलाई थप बलियो बनाउन सक्छौँ कि सक्दैनौँ ? भन्ने ठाउँबाट सोचेर गरौँ न।

दलहरु पनि जनताबाट टाढा रहेका संस्था होइनन्। यिनै जनताहरुको प्रतिनिधित्व गर्ने स्टेक होल्डर हो । जनतालाई बढीभन्दा बढी लोकतान्त्रिक प्रक्रियामा सहभागिता गराउने कुरा कुनै दलले किन अस्वीकार गर्छ? तर व्यवहारिकता, विश्वसनीयता र संभावित चुनौतीको ख्यालै नगरी हचुवाको भरमा हुँदैन भन्ने हाम्रो कुरा हो ।

यो सरकारको काम हो तर हाम्रो निगरानीमा हुनुपर्छ। कर्ता सरकार नै होला तर सहभागिता हाम्रो हुनुपर्छ। हामी पनि यसको निगरानीमा हुनुपर्छ। त्यसको विश्वसनीयताको आधार सरकारले देखाउनुपर्छ। यो पाटोमा नै हाम्रो चासो हो ।

फागुन २१ गते चुनाव गराउन सरकार इमान्दार छैन। सरकारले चुनाव टार्ने बहानामा यस्ता विषय लिएर आएको छ।

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगले लियो बालेनसँग दुई घण्टा बयान

काठमाडौं । भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग करिब दुई घन्टा लामो बयान लिएको छ ।

आयोगको बोलावटमा सोमबार आयोग पुगेका मेयर शाहसँग आन्दोलनका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमार्फत आएका अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्थापन तथा दमकल घटनास्थलमा ढिलो पुगेको विषयमा विस्तृत सोधपुछ गरिएको आयोग स्रोतले जनाएको छ । यद्यपि, शाहले दिएको जवाफ छानबिन प्रक्रियाको संवेदनशीलता कारण सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले विवरण खुलाएको छैन ।

जेन–जी आन्दोलनका क्रममा भएको भनिएका मानव अधिकार हनन र दमनसम्बन्धी विषयमा आयोगले सदस्य लिली थापाको संयोजकत्वमा विशेष छानबिन समिति गठन गरी काम गरिरहेको छ । आयोगका अनुसार हालसम्म १४६ जनाको बयान संकलन भइसकेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, प्रहरीद्वारा गरिएको बल प्रयोग, राज्यका निकायहरूको पारदर्शिता र जवाफदेहिता, साथै दण्डहीनताको अवस्थालाई आधार बनाएर छानबिन भइरहेको छ । उनले छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी नेपाल प्रेसलाई दिएका छन् । आयोगले छानबिनको निष्कर्ष सार्वजनिक भएपछि आवश्यक सिफारिससहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्ने तयारी गरेको जनाएको छ ।

बालेन र रविबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै रहेको जनाइएको छ । रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा वान टु वान वार्ता भइरहेको छ ।

राजनीतिक विषय र भावी योजनाका विषयमा दुईबीच छलफल जारी रहेको बताइएको छ । शनिबार जेलमुक्त भएपछि लामिछानेले राजनीतिक सक्रियतालाई तीव्रता दिएका छन् । लामिछाले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए । सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रविले आफ्नो पहिलो राजनीतिक भेटघाट बालेन्द्रबाट सुरु गरेका हुन् ।

रूसको ‘एसयु–५७’ लडाकु जहाज नयाँ ईन्जीनको परीक्षण सफल

मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्वामित्वमा रहेको विमान निर्माण कम्पनी रोस्टेकले सोमबार आफ्नो टेलिग्राम च्यानलमार्फत सार्वजनिक गरेको हो ।

रोस्टेकका अनुसार पहिलो परीक्षण उडान तय गरिएको अनुसार सफलतापूर्वक सम्पन्न भयो र निर्धारित मिशनको पूर्ण रूपमा पालना गरिएको छ ।

‘प्रोडक्ट–१७७’ इन्जिनले अधिकतम १६ हजार किलोग्राम–बलको अफ्टरबर्नर थ्रस्ट प्रदान गर्छ, साथै सबै सञ्चालन मोडमा इन्धनको खपत कम गर्ने र सेवा आयु बढाउने क्षमता राख्छ ।

एसयु–५७ बहुउद्देश्यीय लडाकु जहाज हो, र यसले विभिन्न प्रकारका युद्ध मिशनहरू सफलतापूर्वक सञ्चालन गर्न सक्दछ ।

–  एजेन्सी 

 

अमेरिकामा १८ जना कोलम्बियाली सैनिक अपहरण

अमेरिका ।  इएलएन छापामार समूह विरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई अपहरण गरिएको रक्षामन्त्री पेड्रो सान्चेजले बताएका छन् । पनामाको सीमा नजिकै देशको उत्तरपश्चिममा रहेको चोको विभागमा सैनिकहरूलाई “लगभग २०० जनाले घेरी उनीहरूको इच्छा विपरीत जबरजस्ती आदिवासी आरक्षणमा सारिएको सान्चेजले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् । 

 

सन् १९६४ मा स्थापित र क्युबाली क्रान्तिबाट प्रेरित, इएलएन, वा राष्ट्रिय मुक्ति सेना, अमेरिकाको सबैभन्दा पुरानो जीवित छापामार समूह हो । समूहले कोलम्बियाका प्रमुख लागु औषध उत्पादन गर्ने क्षेत्रहरू नियन्त्रण गर्दछ, जुन पछिल्लो समयमा सबै भन्दा खराब सुरक्षा सङ्कटसँग जुझिरहेको जनाइएको छ ।

 

यो घटनामा  रक्षामन्त्रीले सेनाको अपहरणको निन्दा गर्दै सैन्य कारबाहीमा प्रतिबन्धले स्थानीय समुदायलाई “गम्भीर जोखिममा“ पारेको बताएका छन् ।  

 

अपरेसनहरूको उद्देश्य नागरिक र विशेष गरी आदिवासी समुदाय –नाबालिगहरूको भर्ती, जबरजस्ती विस्थापन र हिंसासँग सम्बन्धित अन्य कार्यहरूको खतराहरूबाट जोगाउनु रहेको सान्चेजले उल्लेखगरेका छन्  । 

 

यो घटनाको छानबिनको लागि अमेरिकी महान्यायाधिवक्ताको कार्यालयमा आपराधिक उजुरी पनि दर्ता गरिएको छ । चोकोकी गभर्नर नुबिया कोर्डोबाले “कानुनी कर्तव्य पालन गरिरहेका १८ जना सैनिकलाई हिरासतमा लिएपछि“ उनीहरूको रिहाइका लागि सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको जनाइएको छ ।

  

गत सेप्टेम्बरमा ७२ जना सैनिकहरूलाई मिके क्यानियनमा सयौं बासिन्दाहरूले हिरासतमा लिएका थिए ।

 

त्यस्तै एक महिना अघि मात्रै पनि ३३ जना वर्दीधारी कर्मचारीहरूलाई ग्वाभियरको विभागमा तीन दिन सम्म बन्दि बनाएर रिहा गरिएको थियो ।

 

 – एजेन्सी ।

मानव अधिकार आयोगमा बालेनको बयान

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् । 

बालेनलाई गत भाद्र २३ र २४ गते भएको आन्दोलनको बारेमा सोधपुछका लागि मानव अधिकार आयोगले बोलाएको थियो ।  

प्रधानमन्त्रीले बोलाएको बैठकले संसद पुन:स्थापनाको मागको औचित्य पुष्टी गर्यो : बर्तौला

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले प्रधानमन्त्रीले आज बोलाएको बैठकले संसद पुन:स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्यता पुष्टि गरेको बताएका छन् । 

सामाजिक संजाल फेसबुकमा बर्तौलाले लेखेका छन्- ‘मुलुकमा बिद्यमान जटिल परिश्थितिको संवैधानिक निकासका लागि तत्काल संसद पुनर्स्थापना गर्ने मागको  संवैधानिक र कानुनी आवश्यकता मात्रै होइन ब्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्यता समेत सुदृद ढङ्गले पुष्टी भएको छ । ‘  साथै उनले सोमबार प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको सर्वदलिय बैठकले आगामी फागुन २१ मा निर्वाचन नहुने घोषणा गरेको पनि दाबी गरेका छन् ।

बर्तौला भदौ २३ र २४ गतेको आन्दोलनपछि विघटित भएको प्रतिनिधिसभाका सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक हुन् ।  

बर्तौलाले लेखेको स्टाटसको पुरै अंश:

‘प्रधानमन्त्रीले आज बोलाएको बैठकले नै संसद पुनर्स्थापना गर्ने मागको  सान्दर्भिकता र औचित्यता पुष्टी गरेको छ। निर्वाचन को मिति आउन जम्मा ७२  दिन मात्रै बाँकी  रहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको बैठकमा नेकपा एमालेको तर्फबाट म पनि सहभागी थिएँ । तर राजनितिक दल,  नागरिक समाज र निर्वाचन आयोग समेतलाई सहभागी गराएर प्रधानमन्त्री ज्युले बोलाएको उक्त बैठकमा  प्रस्तुत गरिएको सरकारी प्रस्तावले नै फागुन २१ गते निर्वचान हुँदैन  र  गर्दैन भन्ने कुरा औपचारिक रुपमै घोषणा भएको छ । यसले  मुलुकमा बिद्यमान जटिल परिश्थितिको संवैधानिक निकासका लागि तत्काल संसद पुनर्स्थापना गर्ने मागको  संवैधानिक र कानुनी आवश्यकता मात्रै होइन ब्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्यता समेत सुदृद ढङ्गले पुष्टी भएको छ ।  खेल प्रारम्भ भएको ह्विसल बजिसके पछि खेलाडी को अनुहार हेर्दै पाइलै पिच्छे सर्वस्विकार्यता बिपरित नियमहरु अदलबदल  हुन सक्दैन । त्यो खेलको स्वच्छता , निष्पक्षता र निर्भयता का लागी होइन र हुन सक्दैन ।’

दुर्गा प्रसाईलाई सरकारको पाँच बुँदे पत्र, प्रधानमन्त्रीसँग भेटवार्ता तय

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग प्रधानमन्त्री सुशीला कार्कीबीच उच्चस्तरीय भेटवार्ता तय भएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले पत्रमार्फत जानकारी गराउँदै पुस १५ गतेभित्र भेटवार्ता सम्पन्न गर्ने तयारी गरिएको बताएका छन् । सरकारका तर्फबाट सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति गठन भइसकेको र निरन्तर संवाद भइरहेको पनि पत्रमा उल्लेख छ ।

सरकारले प्रसाईंलाई पठाएको पत्रमा तत्काल सम्बोधन गर्नुपर्ने पाँच वटा विषयलाई प्राथमिकताका साथ अघि बढाइने संकेत गरिएको छ । चैत १५ गते तीनकुनेमा भएको घटनासँग सम्बन्धित अभियन्ताहरूमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने, भूमिहीन सुकुमबासी र कवाड व्यवसायीलाई वैकल्पिक व्यवस्था नभएसम्म हालको स्थानबाट नहटाइने सुनिश्चितता गर्ने, बैंक, लघुवित्त र सहकारीसँग जोडिएका समस्याको समाधान खोज्ने विषयलाई सरकारले महत्व दिएको छ । यस्तै, चिकित्सा शिक्षा अन्तर्गत नर्सिङ, एमबीबीएस र एमडी अध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्ने माग पनि प्राथमिकतामा समेटिएको छ ।

यससँगै किरात र बौद्धसहितको हिन्दू अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रहमार्फत निर्णय लिनुपर्ने मागबारे सरकार थप अध्ययनमा जाने निष्कर्षमा पुगेको छ । सरकारका अनुसार यी विषयहरू नीतिगत, कानूनी र संवैधानिक जटिलतासँग जोडिएकाले सम्बन्धित मन्त्रालय र सरोकारवालासँग व्यापक परामर्श तथा प्राविधिक अध्ययन आवश्यक देखिएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार खनाल नेतृत्वको उच्चस्तरीय समितिले पठाएको अर्को पत्रमा महाअभियानले उठाएका अन्य मुद्दामाथि पनि यस अवधिमा घनीभूत छलफल भएको उल्लेख गर्दै वार्ता र संवादकै माध्यमबाट दीर्घकालीन समाधान खोज्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ । पत्रमा सरकार माग पूरा गर्न इच्छुक रहेको तर कतिपय विषयमा थप समय आवश्यक पर्ने स्पष्ट पारिएको छ । सरकार र नागरिक बचाउ महाअभियानबीच तय भएको आगामी भेटवार्ताबाट बाँकी विषयमा साझा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । निरन्तर संवाद र अध्ययनमार्फत समाधान खोज्ने सरकारको धारणा र प्रसाईं पक्षका मागबीचको सहमति आगामी वार्ताको मुख्य केन्द्रबिन्दु हुने देखिन्छ ।

अरु दलका चार दर्जन नेता प्रचण्डतिर

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जन बढी नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य, गाउँपालिका पूर्व अध्यक्षदेखि हाल बहाल उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुङ्गा लगायत विभिन्न जिल्लाका एमाले नेताहरू नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई पार्टी संयोजक प्रचण्ड तथा सहसंयोजक माधव नेपालले टीका लगाएर पार्टीमा भित्र्याएका छन् । पार्टी प्रवेश गर्नेहरूलाई बधाई दिँदै प्रचण्डले उचित समयमा उचित निर्णय गरेकोमा धन्यवाद व्यक्त गरे । देश संकटमा परेको अवस्थामा राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्न सबै एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले यो प्रवेशले पार्टीलाई थप ऊर्जा प्राप्त भएको बताए । देशभर नेपाली कम्युनिष्ट पार्टीप्रति सकारात्मक प्रभाव र आकर्षण बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले समाजवादी क्रान्तिको पक्षमा जनतासँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमा सबैलाई सम्मान मिल्ने र पद तथा अवसर पाउन दबाब दिनु नपर्ने वातावरण रहेको बताए । पार्टी प्रवेश गर्नेहरूमध्ये २०७४ सालको प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरि, डा. अन्जु यादव, विन्ध्यवासिनी गाउँपालिकाका पूर्व प्रमुख श्रीलाल साह कानु, वर्तमान उपाध्यक्ष ज्योति चौरसिया, नेता लक्ष्मण चौरसिया, हनिफ अन्सारी (पूर्व वडा अध्यक्ष) तथा राजकुमार गुप्ता (सांसद प्रतिनिधि) छन् ।

यस्तै विन्ध्यवासिनीका पूर्व वडा अध्यक्ष सञ्जय चौहान, राप्रपा प्रदेश सदस्य चिन्टु तिवारी, एमाले महाधिवेशन प्रतिनिधि उत्तम तिवारी, वडा अध्यक्ष प्रत्याशी अच्चेलाल मुखिया, बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी विपिन यादव, पूर्व वडा अध्यक्ष रामरेखा सिंह, वडा अध्यक्ष वीरेन्द्र यादव (वडा नं. ७), राधा बैठा, मिना देवी बैठा, पोखरिया नगरपालिकाका उपमेयर प्रत्याशी उपेन्द्र ठाकुर, स्याङ्जाका एमाले नेता इस्लाम मियाँ तथा ओखलढुङ्गाका एमाले नेता सिताराम गुरुङलगायत पनि पार्टी प्रवेश गरेका छन् ।

 

राजा, दल र जेनजीबीच समझदारी गरेर चुनाव सुनिश्चित गरौं : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ । सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने बताएका हुन् । उनले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउन सक्ने अवस्था नभएकाले पनि आफ्नो पार्टीले मुख्य शक्तिहरुबीचको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउनेगरी सो मार्गचित्र प्रश्तुत गरेको समेत बताए ।

नेता गुरुङले भने, ‘मुलुकलाई नविन समझदारीमार्फत निकास दिनेतर्फ हामीहरु अगाडि बढौं । यो शंका, उपशंका सबैलाई समाप्त पारेर अघि केही साथीहरुले भनिसक्नु भयो । निषेधको राजनीतिलाई त्यागौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तुत गरेको जुन मार्गचित्र छ । राजा, राजनीतिक दल र जेनजी पुस्ताका बीचमा एउटा नविन समझदारी गरेर अनि चुनावलाई सुनिश्चित गरौँ । यसो गरेर देशलाई निकास दिनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको आग्रह, अनुरोध हो ।’ नेता गुरुङले जेनजी पुस्ताको मागलाई पूरा गराउन पनि राजा, राजनीतिक दल र उनीहरुबीच नयाँ समझदारी आवश्यक रहेको जिकिर समेत गरे ।

भक्तपुरको निर्माणाधीन घरमा मजदुरको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा एक निर्माणाधीन घरमा मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए ।

उदयपुर घर भएका ठकुरीको हत्या आरोपमा सोही घरमा काम गर्ने अर्का मजदुरको संलग्न देखिएपछि ती व्यक्तिलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले बताएको छ । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–३ का २७ वर्षीय सञ्जिव याखा छन् । उनले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

 

सर्वपक्षीय छलफलमा नेकपाले भन्यो–चुनाव नभए संसद पुनर्स्थापना हुन सक्ने कुरामा स्पष्ट बनौं

काठमाडौं । नेकपा नेता वर्षमान पुनले घोषित मितिमा नै निर्वाचन सम्पन्न गरिनुपर्ने बताएका छन् । संविधानविपरीत निर्वाचन सार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै उनले निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दलले सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफललाई सम्बोधन गर्दै नेता पुनले निर्वाचन राज्यलाई निकास र स्थायित्व दिने प्रमुख आधार भएकाले यसमा अनावश्यक अन्योल सिर्जना गर्न नहुने धारणा राखे । उनका अनुसार प्रारम्भिक दिनमा सरकारले निर्वाचनलाई पछि सार्ने हो कि भन्ने आशंका भए पनि अहिले सरकार घोषित मितिप्रति प्रतिबद्ध देखिनु सकारात्मक संकेत हो ।

‘घोषित मितिमै निर्वाचन सम्पन्न गराउने विषयमा सरकारको प्रतिबद्धता सराहनीय छ’, उनले भने, ‘यसका लागि हाम्रो दल सरकारप्रति आभार व्यक्त गर्दछ । निर्वाचन प्रक्रिया सुरु भइसकेपछि बीचमै नियम परिवर्तन गर्नु हुँदैन, त्यसो गरियो भने द्वन्द्व र अस्थिरता निम्तिन सक्छ ।’ नेता पुनले प्रमुख राजनीतिक दलहरू चुनावी प्रक्रियामा प्रवेश गरिसकेको र नयाँ पुस्ता अर्थात् ‘जेन–जी’ समूहको समेत सहभागिता बढ्दै जानु लोकतन्त्रका लागि सकारात्मक पक्ष भएको उल्लेख गरे । उनले यस्तो वातावरणलाई अझ सुदृढ बनाउन सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले संविधानले तोकेको समय सीमाभन्दा बाहिर गएर निर्वाचन धकेल्ने प्रयास भए सरकारलाई समर्थन नहुने स्पष्ट पारे । ‘यदि ६ महिनाभित्र नयाँ संसद गठन हुन सकेन भने निर्णय सडकबाट हुन्छ वा पुरानै संसद पुनःस्थापना हुने अवस्था आउन सक्छ’, उनले चेतावनी दिए, ‘यी विषयमा हामी स्पष्ट छौँ ।’

नेता पुनले निर्वाचनको अनुकूल वातावरण निर्माणका लागि सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग निरन्तर संवाद अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए । संवाद र सहमतिमार्फत मात्रै लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित राख्न सकिने उनको भनाइ थियो । समग्रमा, नेता पुनले निर्वाचनलाई राजनीतिक स्थायित्व र संविधानको कार्यान्वयनसँग जोडिएको विषयका रूपमा व्याख्या गर्दै, घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु नै वर्तमान परिस्थितिको एकमात्र लोकतान्त्रिक निकास भएको दोहो¥याए ।

 

ओलीले भने–रविलाई गुन लगाएको थिएँ, रविको व्यङग्य–अदालत धाएर तिर्दैछु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको भन्दै व्यङग्य गरेका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन् ।

अदालत परिसरबाट बाहिरिने क्रममा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘केपी ओलीजीले मलाई ठूलो गुन लगाएको छु भन्नु भएको रहेछ । उहाँले कहाँ–कहाँ गुन लगाउनु भएको छ, अब यो जिन्दगीभर गुन तिर्दै जानु पर्नेछ ।’ आफूमाथि लगाइएका विभिन्न मुद्दाहरूको सामना गरिरहेको सन्दर्भ जोड्दै लामिछानेले यसलाई ‘गुन तिर्ने’ प्रक्रियाका रूपमा अथ्र्याएका हुन् । उनले भने, ‘अरूलाई त मलाई जस्तो मुद्दा लाग्दैन । म सायद सबैभन्दा धेरै मुद्दा लागेको मान्छे हुन सक्छु । गुन तिर्ने क्रममा म काठमाडौं जिल्ला अदाल हाजिर हुन आएँ । अब ओलीको गुन तिर्न सबै जिल्लामा जानुपर्ने छ ।’

केही दिनअघि एक अन्तर्वार्ताका क्रममा निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा गुन लगाएको तर लामिछानेले अनावश्यक दुश्मनी गरेको बताएका थिए । ओलीले भनेका थिए, ‘मैले रवि लामिछानेलाई गुन लगाएको थिएँ । उनले मसँग अनावश्यक दुश्मनी गरे । किन गरे थाहा छैन, भेट हुँदा सोध्छु ।’

सोही अन्तर्वार्तामा ओलीले आगामी निर्वाचनमा नयाँ दलहरूको खासै प्रभाव नहुने दाबी समेत गरेका थिए । हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिले पनि चौथो वा पाँचौँ शक्ति पनि बन्न नसक्ने ओलीको टिप्पणी थियो । उनले नयाँ शक्तिहरूलाई सूर्यलाई टिपेर खान खोज्ने बच्चा जस्तै भएको बताउँदै उनीहरूको हैसियत दशौँ–बाह्रौँ हुन सक्ने बताएका थिए । लामिछाने सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाउन पुगेका हुन् । हिरासतबाट रिहा भएपछि उनलाई विभिन्न जिल्लाका अदालतहरूमा विचाराधीन मुद्दाहरूको तारिख तथा अदालती प्रक्रियाका लागि पुग्नुपर्ने हुन्छ । हिजो मात्र लामिछाने साढे आठ महिनापछि सभापतिकै हैसियतमा पार्टी कार्यालय भित्रिएका थिए ।

 

 

 

रास्वपाले भन्यो–निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताएका छन् । सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको बताए ।भयरहित वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको बताए । उनले अन्तरजिल्ला मतदान व्यवहारिक रूपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरूको प्रतिबद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको बताए।

उनले भने, ‘अन्तर जिल्ला मतदान व्यवहारिक रूपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेनजी प्रतिनिधिलाई भन्नु भएको छ । यसमा राजनीतिक प्रतिबद्धता चाहियो भन्ने कुरा भनिएको छ । राजनीतिक प्रतिबद्धताका कारणले मात्रै असम्भव हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौँ । चुनावमा शान्ति सुरक्षाको विषय नै हो । प्रचार प्रसारको विषय नै हो । भयरहित वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको हो ।’ उनले सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको बताए ।

मन्त्रीहरूको अभिव्यक्तिकै कारण चुनाव भाँडिदैछ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताएका छन् । सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्रीहरूले अहिले धेरै बोल्ने नभई सरासर काम गर्ने भएको बताए । अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताए । उनले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्ने बताए । उनले निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको बताए ।

उनले भने, ‘यो निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकाको हो । तपाईहरूका बोलीले निर्वाचन भाँडिँदै छ । किन बोल्नु पर्छ र ? मैले मन्त्रीहरूलाई भन्ने गरेको छु, म पनि मन्त्री भएर बिताएको छु । मन्त्रीहरू भनेको बलेँनी जस्तै हो । बलेनीको ढुङ्गा जस्तो हो मन्त्री भनेको बाहिर जानेले पनि टेक्छ र भित्र जानेले पनि टेक्छ । ऐया भन्न पाइँदैन । त्यस्तै मुख बन्द गरेर काम गर्नुस् । अहिले धेरै नबोल्नुस् । अहिले बोल्ने होइन । तपाईंहरुलाई एउटा ऐतिहासिक जिम्मेवारी दिएको छ । निर्वाचन गराउने । स्वच्छ, निष्पक्ष निर्वाचन गराउने दायित्व तपाईँहरूको हो। नत्र भने मन्त्री भएर नबस्नुस् ।’ उनले सरकारको ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गरे । सरकारले नयाँ नयाँ कुराहरू गर्न सुरु गरे काम नहुने बताए ।

 

 

 

सरकार बनेको विषय सर्वोच्चमा विचाराधीन रहँदासम्म चुनाव हुन सक्दैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट तय गर्ने सरकारको तयारीप्रति तीव्र आपत्ति जनाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार निर्वाचन तयारीबारे आयोजना गरेको छलफलमा उनले अध्यादेशमार्फत यस्तो व्यवस्था ल्याउन खोजिएको भन्दै लोकतान्त्रिक मर्मविपरीत भएको बताए ।

बस्नेतका अनुसार सरकारले पछिल्लो समय निरन्तर अध्यादेश ल्याइरहेको छ र त्यसप्रति एमालेको असहमति छ । ‘अध्यादेश पूरै अध्ययन गर्न नपाए पनि सुनेअनुसार दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट मर्यादाक्रम तोक्ने व्यवस्था राखिएको छ,’ उनले प्रधानमन्त्रीकै सामु भने, ‘विगतमा दलले पाएको मतको आधारमा चिन्हको मर्यादा तय गर्ने परम्परा थियो । त्यसलाई तोड्नु गम्भीर असन्तुष्टि रोप्नु हो ।’ उनले राष्ट्रपतिबाट पुस ४ गते जारी प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेशतर्फ संकेत गर्दै गोला प्रथाबाट चुनाव चिन्ह छान्ने व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारे । पुराना र स्थापित राजनीतिक दललाई निषेध गरेर निष्पक्ष निर्वाचन सम्भव नहुने उनको भनाइ थियो ।

‘तपाईंहरूको जिम्मेवारी चुनाव गराउने हो । सर्वोच्चको फैसला र कुनै सहमति नआएसम्म दलहरूबीच समझदारी खोज्नु पर्छ,’ उनले भने, ‘पुराना दललाई गाली गरेर वा पन्छाएर चुनाव हुँदैन ।’ बस्नेतले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी दोहो¥याउँदै एमाले त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको स्मरण गराए । यही अवस्थाबीच फागुन २१ गते निर्वाचन हुनेमा आफूलाई विश्वास नरहेको उनले बताए । ‘हामी सैद्धान्तिक रूपमा निर्वाचनको पक्षमा छौं,’ उनले भने, ‘तर असंवैधानिक ढंगले सरकार बनेको विषय सर्वोच्चमा विचाराधीन रहँदा चुनाव हुन सक्दैन ।’ ११ औँ महाधिवेशनबाट एमाले सचिवमा निर्वाचित बस्नेत दलको प्रतिनिधित्व गर्दै सर्वदलीय बैठकमा सहभागी भएका हुन् ।

 

 

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो–नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शीर्ष नेताहरुसँग संवाद गर्नुपर्ने बताएको छ । सोमवार सिंहदरवारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो कुरा बताएका हुन् । उनले राजनीतिक दल र त्यसका नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न ढिलाई गर्न नहुने बताए।

उनले निर्वाचनका लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिए । विगतमा नेपाली कांग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएकाले दाबी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने बताए । उनले सरकारले निर्वाचन नभई अन्य काममा ध्यान दिएको भन्दै आपत्ति समेत जनाए । तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको बैधतामाथि नै प्रश्न उठने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाई थियो ।

उनले भने, ‘सुरक्षाको व्यवस्था भएन भने विगतमा धेरै चुनाव नेपाली कांग्रेसको नेतृत्वमा भएको छ । कांग्रेसको नेतृत्वमा चुनाव हुँदा हाम्रो प्रधानमन्त्रीले पनि चुनाव हारेको छ । तर हामीले निष्पक्ष निर्वाचन गराएका छौँ । अहिले यो सरकारबाट पनि त्यस्तो आओस् । कसैले रिसीवी साँध्ने काममा सरकार नजाओस । डेमोक्रेसीको मूल आधार राजनीतिक दलहरु नै हो । त्यसैले राजनीतिक दलका शिर्ष नेताहरुसँग पनि कुरा गर्नुस् । र अहिले जुन कानून ल्याउन खोज्नु भएको छ । त्यो राम्रो भए पनि समयले हामीलाई साथ दिँदैन ।’ सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरुलाई बेवास्ता गरेर कुनै पनि गतिविधि अघि बढाउन नसकिने पनि बताए ।

 

पोखरेलसहित देउवा भेट्न फेरि महाराजगञ्ज पुगे ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । महासचिव शंकर पोखरेललाई लिएर ओली सोमबार दिउँसो देउवाको अस्थायी निवास पुगेका हुन् । राष्ट्रियसभा निर्वाचनको तयारीबारे छलफल गर्न ओली देउवाकोमा पुगेका स्रोतले बतायो । दुवै नेताबीच अहिले भेटवार्ता जारी छ ।

अध्यक्ष निर्वाचित भएपछि उनी देउवालाई भेट्न पुगेका हुन् । ओली महाराजगञ्ज पुगेको यो दोस्रो पटक हो । यसअघि मंसिर १९ मा देउवालाई भेट्ने ओली महाराजगञ्ज पुगेका थिए । सिंगारपुरबाट उपचार गरेर फर्केका देउवा दम्पत्तिलाई भेट्न पत्नी राधिका शाक्यलाई पनि सँगै लगेर गएका थिए । त्यतिवेला पारिवारिक भेटघाट भनिएको थियो । त्यस लगत्तै कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको थियो ।

राष्ट्रिय गौरबका ठूला आयोजनाले अझै लिन सकेनन् गति

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरुका लागि सरकारले सबै खालका स्रोतसाधन उपलब्ध गराउँदै आएको छ। यस्ता आयोजनाहरुको कार्यान्वयन सुनिश्चित गर्न आवश्यक स्रोतसाधनको व्यवस्थापन गरिएको भए पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने सन्तोषजनक छैन। २४ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये उत्तरदक्षिण करिडोर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाहेक २० वटा आयोजना समयमै सकिएका छैनन्। आज सोमबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय योजना आयोगका अधिकारीहरुले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा आयोजनाको प्रगति सामान्य देखिएको छ।

उक्त वर्ष सिक्टा सिंचाई आयोजनामा भौतिक प्रगति ९०.६ प्रतिशत हुँदा वित्तीय ८९.३९ प्रतिशत भएको छ भने अर्को बबइ सिचाइ आयोजनामा भौतिक-वित्तीय प्रगति ९९ प्रतिशत भएको छ । त्यस्तै, रानी जमरा कुलरिया सिचाइ आयोजनामा भौतिक प्रगति ७० प्रतिशत हुँदा वित्तीय ६३ प्रतिशत भएको छ भने सुनकोशी मरिन डाईभसन बहुउद्देस्यीय आयोजना भौतिक प्रगति ८२ प्रतिशत भएको छ भने ७३ प्रतिशत वित्तीय प्रगति भएको छ।

यस्तै महाकाली सिंचाई आयोजनामा भौतिक प्रगति ९४ प्रतिशत हुँदा ९३ प्रतिशत वित्तीय प्रगती भएको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा भौतिक प्रगति ९८ प्रतिशत हुँदा वित्तीय प्रगती ९५ प्रतिशत भएको छ । बुढीगण्डकी जलविद्युत आयोजनामा प्रगति कमजोर देखिएको छ। जसअनुसार १० मात्रै भौतिक प्रगति हुँदा वित्तीय प्रगति ७ प्रशितमा सीमित छ । विद्युत प्रशारण आयोजनामा भौतिक प्रगति २०.५७ प्रतिशत हुँदा २०.५७ प्रतिशत वित्तीय प्रगती भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति १० प्रतिशत हुँदा वित्तीय शून्य छ।

विगतमा आयोजनाहरुको छनोट र वर्गीकरणमा समस्या हुँदा आयोजनाहरुले भनेअनुसारले गति लिन नसकेको सरकारी अधिकारीहरुको भनाइ रहेको छ । राष्ट्रिय योजना आयोगका सहसचिव, लोकप्रसाद न्यौपानेले अहिले आयोजनाको छनोटदेखि वर्गीसम्म कडाइ गरिएको बताए। सहसचिव न्यौपानेले भने, –‘राष्ट्रिय योजना अयोगले राष्ट्रिय गौरवका आयोजनाहरु छनोटका स्पष्ट आधार तथा मापदण्ड निर्धारण गर्ने समितिको निर्देशन अनुसार सोही अनुसार आयोजना वर्गीकरण तथा आधार मापदण्ड बनाइसकिएको छ । आयोजनाको वर्गीकरणको मापदण्डअनुसार १० करोडसम्मको आयोजनालाई साना आयोजना भनिन्छ।’

उनले भने, ‘१०–५० करोड सम्मको आयोजनालाई मझौला र ५० करोड माथिका आयोजनालाई ठूला आयोजना भनिन्छ । रुपन्तरणकारी आयोजनाका रुपमा लागत रकम १० अर्ब रुँपैँयाको आयोजनालाई भनिन्छ । लगानी तथा कार्यान्वयनको ढाचा टुंगिएको, मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा रुपान्तरण पुर्‍याउने, जग्गा प्राप्ति वतावरणीय परीक्षण, विस्तृत परियोजना प्रतिवेदनका काम सम्पन्न भइसकेको, आयोजनाको दिगो व्यवस्थापन र संचालन सुनिश्चित भएको आयोजनालाई रुपान्तरण आयोजनाका रुपमा परिभाषित गरेर वर्गिकरण गरिएको छ ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले आयोजनाको अनुगमन तथा मूल्यांकनलाई कडाइ गरिएको बताए । उनकाअनुसार प्रधानमन्त्री कार्यालयलबाटै त्यस्ता आयोजनाको मूल्यांकन अनुगमन गर्ने गरिएको छ । सचिव श्रेष्ठले भने, ‘प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय, योजना आयोगसहित सम्बन्धित मन्त्रालयबाट सयुक्त अनुगमन टोलीबाट गराउने र सोका आधारमा आवश्यक सम्बन्ध गर्ने गरिएको छ । अनुगमन गरेका आयोजनको बारेमा सचिव बैठकमा छलफल गर्ने गरिएको छ । समस्याहरु भए समन्वयन गरेर सम्बोधन गरिने गरिएको छ । मूल्यांकनका स्पष्ट सूचकहरुसम्बन्धमा निर्देशकाहरु पालना गराइएको छ । आयोजनाको विवरण सिस्टममा प्रविष्ट गरेर प्रधामन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको महाशाखाबाट हेर्न सकिन्छ ।’

वन तथा वातावरण मन्त्रालयका सहसचिव, दीपक ज्ञवालीले वन मन्त्रालय अन्तर्गतका आयोजनाहरुमा प्राविधिक तथा जनशक्तिमा अभाव हुन नदिइएको बताए । उनकाअनुसार त्यस्ता आयोजनाहरुमा निर्माण सामाग्रीको अभाव समेत हुन दिइएको छैन । सहसचिव ज्ञवालीले भने, ‘राष्टिय गौरबका आयोजनामा नदीजन्य तथा खानीजन्य निर्माण सामाग्रीको उपलव्धता सुनिश्चित गर्ने सन्दर्भमा उपभोक्ता समितिबाट काम हुने भएकाले ठूला योजनाहरु सञ्चालनमा आएको छैन । दक्ष प्राविधक व्यवस्थापनको सन्दर्भमा वन मन्त्रालयले व्यवस्थापन गरिएको छ। कर्मचारी परिवर्तन भइरहने हुँदा रिओरिन्टेसन गरिने गरिएको छ । अनुगमन र मुल्यांकन समन्वयलाई प्रभावकारी गरिएको छ ।’ समितिमा बोल्ने सांसदहरुले आयोजनाहरु समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले आयोजनाहरुमा देखिएका समस्यालाई सरकारले सम्बोधन गर्न तदारुपता देखाउनुपर्ने बताएका छन्।

 

‘समयमै निर्वाचन हुन पहिले नागरिक सन्त्रासमुक्त हुनुपर्छ’

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्दै नागरिक अगुवाहरुले यस्तो आशंक व्यक्त गरेका हुन् । फागुन २१ गतेका लागि अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको छ । तर समयमै निर्वाचन हुने कुरा जटिल रहेको उनीहरुले बताए । नागरिक अगुवा सूर्यप्रसाद श्रेष्ठले आन्दोलनले नयाँ सरकार बनाएको र सरकारको आफ्नो उत्तरदायित्व भएको बताए ।

सरकारलाई बाहिरी हस्तक्षेप भएको खण्डमा र सरकारले निर्वाचन आयोगमा हस्तक्षेप गरेको खण्डमा देशले समयमा निकास नपाउने बताए । सरकारले तोकेको अवधिभित्र निर्वाचन सम्भव नहुने उनले बताए । सरकारको काम राजनीतिक परिचालन, समन्वय, सबैलाई सहभागी गराउने र सन्त्रासको वातावरणबाट उन्मुक्ति दिने हुनुपर्ने बताए ।

नागरिक अगुवा माधवप्रसाद पौडेलले निर्धारित अवधिभित्रै विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरेको खण्डमा पनि मतदान केन्द्र कहाँ राख्ने भन्ने दुविधा रहेको बताए । मतदान केन्द्र राजदूतावासमा राख्ने वा त्यस भन्दा बाहिर राख्ने भन्ने प्रश्न रहेको बताए । अन्तर प्रदेश मतदानका लागि सुरक्षा चुनौति रहेको बताए । १६५ स्थानमै निर्धारित अवधिभित्र निर्वाचन सम्भव नरहेको उनको भनाइ छ । पूर्वमन्त्री समेत रहिसकेका पौडेलले अन्तरिम सरकारले गरेको निर्वाचन सर्वस्वीकार्य हुन नसके त्यसको परिणाम राम्रो नहुने बताए । सम्भव नभएका कामहरु अघि सार्ने कुराले स्टन्टबाजी मात्रै हुने र समयमै निर्वाचन गर्नतिर सरकार लागेको छ भन्ने कुरामा नै प्रश्न उठ्ने बताए ।

नागरिक अगुवा कनकमणि दिक्षितले अन्तर्राष्ट्रिय मान्यताअनुसार निर्वाचन घोषणा भइसकेपछि विधि र प्रविधिलाई फेरबदल गर्नु उचित नभएको बताए । २१ फागुनमा निर्वाचन नहुँदा मुलुक अनिश्चियतर्फ जाने बताए । आगामी फागुन २१ गतेलाई अर्जुनदृष्टिका साथ हेर्नुपर्ने बताए । संविधानमा केही छेडखानी भएको र त्यसलाई मेटाउने २१ गतेको निर्वाचन नै भएको बताए । उनले नहुने सम्भावनाहरु टारेर भए पनि समयमै निर्वाचन गराउनु पर्ने जरुरी रहेको बताए।

नागरिक अगुवा राधेश्याम अधिकारीले निर्वाचनको प्रक्रिया शुरु गरिसकेपछि कानूनहरु परिवर्तन गर्न नहुने बताए । यसलाई खेलाँची गरे ठिक ठाउँमा नपुर्‍याउने बताए । विदेशमा बस्ने नेपालीहरुको मतदानको कुरा संवेदनशील रहेको उनले बताएका छन् । फागुन २१ गते निर्वाचन कुनै हालतमा हुनसक्ने अवस्था नरहेको बताए । निर्वाचन प्रक्रिया शुरु भइसकेकाले खेलको नियम नबिगारी अघि बढ्न सुझाव दिए । उनले कानून संशोधन गरेर अध्यादेश ल्याउने बेला नभएको पनि बताए । शीर्ष नेतृत्वलाई स्थानहद तोकेर निर्वाचन गर्न सम्भव नरहेकाले नेताहरुको स्थानहद हटाउनु पर्ने बताए । कार्यक्रममा उपस्थित अन्य नागरिक अगुवाहरुले नेपालमा विदेशमा रहेका ४० लाख मानिसहरुलाई मतदानबाट वञ्चित गर्न नहुने सुझाव दिएका छन् ।

श्रीमती जापान पठाउन लिएको ऋण तिर्न नसकेपछि फिल्मी शैलीमा जेठानसहित दुईको हत्या

काठमाडौं । श्रीमतीलाई जापान पठाउनका लागि लिएको ऋण तिर्न नसकेपछि दुई जनाको हत्या गरिएको पुष्टि भएको छ । ललितपुर र सिन्धुलीका दुई युवकलाई क्रमिक रूपमा मारेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २३ गते ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा सिन्धुली गोलन्जोर गाउँपालिका–३ का केशवराज हायुको हत्या भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा भोलिपल्टै अर्को हत्या प्रकरण पनि खुलेको थियो ।

मंसिर २४ मा भोजपुर अरुण गाउँपालिका–३ घर भएका २१ वर्षीय पारुहाङ राई ललितपुरको लाकुरीभञ्ज्याङमा मृत भेटिएका थिए । प्रहरीका अनुसार दुवै हत्या एउटै समूहले र एउटै कारणले गरेको थियो । प्रहरीको अनुसन्धानमा खुल्यो कि हायुलाई हत्या गर्न भूमिका खेल्ने मुख्य व्यक्ति हायुको नातेदार देवराज ढुंगेल हुन् । ढुंगेलले पत्नीलाई जापान पठाउनको लागि पाँच महिनाअघि ११ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण फिर्ता गर्न दबाब बढेपछि ढुंगेलले आफ्नो जेठान हायुसँग पैसा मागे, तर पर्याप्त रकम नपाउँदा अर्का व्यक्ति पारुहाङसँग पनि पैसा मागे ।

ढुंगेलले साथी जयराम अधिकारीसँग मिलेर हायुलाई मंसिर २४ गते महालक्ष्मी–८ ज्यामिरेकोटमा खाजा र मदिरा खाने बहानामा लगे र पूर्व योजना अनुसार हायुको टाउकोमा हतियार प्रहार गरेर हत्या गरे । शवलाई बाँधेर त्यहाँ छोडे । हायुको हत्या सफल भएपछि ढुंगेलले पारुहाङको हत्या गर्ने योजना बनाए । मंसिर २५ गते पारुहाङलाई पनि मदिरा सेवन गराएर जंगलमा लगे र ह्याम्मरले हानेर हत्या गरे । शवलाई प्लास्टिकको झोलामा हालेर भीरबाट खसाली दिए ।

मंसिर २६ मा ढुंगेल र अधिकारीले हायुको शव जंगलबाट उठाएर कृषि फार्मको अन्डरग्राउन्ड ट्याङ्कीमा फाले । तर कामदारले ट्याङ्कीबाट गन्ध आएको सूचना दिएपछि पुस २ गते प्रहरीले हायुको शव फेला पार्‍यो । प्रहरीको थप अनुसन्धानले ढुंगेल र अधिकारीबीच लगातार फोन सम्पर्क भएको पुष्टि भयो । अन्ततः प्रहरीले ढुंगेल र अधिकारी दुवैलाई पक्राउ गरी सोधपुछ गर्दा दुवै जनाले हत्यामा संलग्नता स्वीकारे ।

ढुंगेलले परिवारलाई विश्वास गराउन दुवैलाई मारेपछि आफन्तले पत्नी विदेश गएको ठानेर पक्राउ नहुने योजना बनाएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त अनुसन्धानपछि अनुसन्धानको पर्दाफास भएको हो । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई भेट्न प्रविधि र अनुसन्धान विधि दुवैको प्रयोग गरेको जनाएको छ।

 

आन्दोलन गर्न काठमाडौं आइपुगे लघुवित्त र मिटरब्याज पीडितहरू {तस्वीरहरु}

काठमाडौं । लघुवित्त तथा मिटरब्याज पीडितले आज (सोमबार) देखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका छन् । भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति र नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनले संयुक्त रूपमा विरोध प्रदर्शन थालेका हुन् । उनीहरूले आज बल्खुदेखि र्‍याली शुरू गरी त्रिपुरेश्वर, शहीद गेट हुँदै शान्तिवाटिकामा कोण सभा गर्दैछन् ।
हेर्नुस् तस्वीरहरू

फागुन २१ को निर्वाचनका लागि कति थपिए नयाँ मतदाता ?

काठमाडौं । देशभर १० लाख १६ हजार ७५४ जना मतदाता थपिएका छन् । सोमवार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या ११४ पुगेको छ । गत २०७९ सालको निर्वाचनमा ८७ दलहरुले निर्वाचनमा भाग लिएका थिए । उनले दलहरुको संख्या बढेको कारण निर्वाचनमा प्रतिष्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारी समेत दिए । उनले निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरु आयोगले पहिचान गरेको जानकारी समेत दिए ।

ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरु जिल्लास्तरबाट नै खरिद गर्ने र बाँकी १४ वटा सामग्रीहरु मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउनेगरी काम भइरहेको जानकारी समेत दिए । उनले पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्नेगरी आयोगले प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिए ।

उनले भने, ‘मतपेटिका र मसीको मौज्दात पर्याप्त रहेको हुनाले ती सामग्रीहरु खरिद गर्नुपर्ने अवस्था छैन । पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्नेगरी आयोगले प्रक्रिया अगाडि बढाएको छ । निर्वाचनमा प्रयोग हुने ५१ प्रकार सामग्रीहरुको पहिचान गरिएको छ जुन हामी मतदान केन्द्रमा प्रयोग गर्ने गर्दछौँ ।’

उनले भने, ‘त्यसमध्ये पनि ३७ वटा सामग्रीहरु जिल्लास्तरबाट नै खरिद गरेर बाँकी १४ वटा सामग्रीहरु मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउनेगरी काम गरिरहेको छ । यसो हुँदा स्रोतहरुको बचत हुने मितव्ययी हिसाबले निर्वाचन सम्पन्न हुनेछ । मतदाता नामावलीको अन्तिम नामावली पुस १५ मा मात्रै तयार हुनेछ । आजको मितिमा हेर्दाखेरी १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् ।’

भट्टराईले भने, ‘त्यो भनेको ५.६५ प्रतिशतले मतदाताको संख्यामा वृद्धि भएको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको संख्या हेर्दाखेरी ०७९ मा ८७ वटा दलले निर्वाचन प्रयोजनको लागि दल दर्ता गराएको अवस्था थियो भने अहिले ११४ वटा दलहरु निर्वाचन प्रयोजनको लागि दर्ता भएको अवस्था रहेको छ । दलहरुको संख्या बढेको कारण निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ । हामीले निर्वाचन पर्यवेक्षणको लागि पहिलो चरणको अनुमति दिइसकेका छौँ ।’ उनले मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय एवं सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको समेत जानकारी दिए ।

 

 

 

 

 

 

 

‘प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दा छिटो निर्क्याैल गरियोस्’

काठमाडौँ । कानुन व्यवसायीहरूले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । नेपाल बार एशोसिएसनको ७० औं स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी भएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता हरिशंकर निरौलालगायतका कानुन व्यवसायीहरूले उक्त मुद्दाको सुनुवाइलाई प्राथमिकतामा राखेर निर्क्याैलमा पुर्‍याउन सर्वोच्च अदालतलाई सुझाव दिएका हुन् ।

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष समेत रहेका घिमिरेले सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो किनारा लगाउने विश्वास समेत व्यक्त गरे । उनले मुलुकलाई संवैधानिक संकटबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दालाई प्राथमिकताका साथ अघि बढाउनु पर्ने तर्क समेत गरे । वरिष्ठ अधिवक्ता घिमिरेले भने ‘मुद्दाहरू परिराखेका छन् । सर्वोच्च अदालतले सर्वोच्च अदालतले सबै मुद्दाहरूलाई एकैठाउँमा राखेर अगाडि बढाउँछ भन्ने मलाई लाग्छ । निश्चय नै हामीले पनि कन्टिन्युअस हिएरिङमा राख्नुस् । सर्वोच्चले अब यसलाई नियमित सुनुवाइ अघि बढाउँछ । यो एउटा ठुलो मुद्दा हो । यसको किनारा लगाउँछ भन्ने हामीलाई लाग्छ । संवैधानिक संकट पनि छ । अहिलेको सरकार कसरी गठन भयो रु भन्ने विषयमा सम्मानित अदालतमा नै मुद्दा परेको अवस्था छ ।’

उनले भने, ‘अहिलेको सरकारको वैधानिकताको विषयमा पनि प्रश्न उठेको छ भने अर्कोतर्फ एउटा ठुलो राजनीतिक परिवर्तन पनि भएको छ । त्यो परिवर्तनले विशेष गरी युवाहरूको एक्सपेटेशनलाई अघि बढाउनु पर्छ भन्ने एउटा आम चाहना छ । त्यो चाहनालाई हामीले बुझ्नु पर्दछ । मुलुकले बुझ्नु पर्दछ । र सबैले विशेष गरेर न्याय पालिकाले पनि बुझ्नु पर्दछ भन्ने हामीलाई लाग्दछ । हामीले पनि नेपाल बार एशोसिएशनमा यस्तै छलफल अघि बढाइराखेका छौँ । वर्तमान बार नेतृत्वले पनि यसलाई अघि बढाएको छ भन्ने हामीलाई लाग्दछ । हामी त्यसलाई सहयोग गर्र्छौं ।’

वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतले सो मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने विश्वास व्यक्त गरे । असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन भएपछि मुलुक झन् संकटमा फसेको जिकिर गर्दै उनले सो मुद्दाको फैसला आउने कुरालाई ढिलाइ हुन नहुने बताए । वरिष्ठ अधिवक्ता बडालले सरकार र जेन–जी समूहबीच संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जाने खालको सम्झौता भएको उल्लेख गर्दै त्यसले मुलुकलाई झनै संकटमा पुर्याएको बताए ।

उनले भने ‘मैले यसमा धेरै लामो कमेन्ट गर्न चाहन्न । सर्वोच्च अदालतले यो मुद्दालाई प्राथमिकतामा राखेर निक्र्यौलमा जान्छ भन्ने मेरो विश्वास छ । सबभन्दा पहिलो त वर्तमान सरकारको गठनको प्रक्रिया नै असंवैधानिक छ । असंवैधानिक तरिकाबाट सरकार गठन भयो । तत्कालीन सरकारलाई संवैधानिक तरिकाबाट हटाउन नसकेपछि असंवैधानिक तरिका अवलम्बन गरियो । असंवैधानिक तवरबाट यो सरकार बन्यो । यो सरकार भएका कामकारबाहीहरू स्वाभाविक रूपमा असंवैधानिक हुन्छ । हामी कानुनी रुपमा यसलाई विष वृक्षको सिद्धान्त भन्छौँ । त्यो भनेको यदि हामीले विषलाई रोप्यौ भने त्यसबाट उत्पन्न हुने फलहरू स्वाभाविक रूपमा विषाक्त हुन्छ । त्यसबाट स्वादिष्ट भोजन आउँदैन भनेर मानिन्छ ।’

उनले भने, ‘त्यसपछि आएका निर्णयहरू हेर्नुस् । राजदूत नियुक्तिको विषय, भूमि आयोग खारेज गरियो । सरकारले सो कामलाई असंवैधानिक भन्यो । त्यसलाई फेरि पनि काम गर्न दिइराख्नुभएको छैन । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति असंवैधानिक तरिकाबाट गर्नु भयो । प्रतिशोधपूर्ण तरिकाबाट गरियो भनेर सर्वोच्च अदालतले भन्यो । जेन्जीसँग अहिले सम्झौता गर्नुभयो । त्यो असंवैधानिक हो भनेर अहिले गइराखेको छ । जाँचबुझ आयोगको विषय पनि अदालतमा विचाराधीन छ । यी सबै कुराहरू असंवैधानिक दायरातिर गइराखेका छन् । संविधान संशोधन गरेर निर्वाचनमा जान्छौ भनेर सम्झौता गर्नु भयो । यसको अर्थ यात उहाँहरूले जेनजी युवाहरूसँग झुट कुरा गरिराख्नुभएको छ । कि आम नेपाली जनतालाई उहाँहरूले ढाँटीराख्नु भएको छ । चुनाव हुँदैन भन्ने कुरा जेनजीसँगको सम्झौतामार्फत उहाँहरूले भनिराख्नु भएको छ ।’

वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले भने निर्वाचनबाट मात्रै मुलुकलाई निकास दिन सकिने तर्क गरे । उनले प्रतिनिधिसभा पुनः स्थापना हुनै नसक्ने जिकिर पनि गरे । वरिष्ठ अधिवक्ता निरौलाले भने ‘निर्वाचनको विकल्प प्रतिनिधि सभा पुनर्स्थापना हुन सक्दैन । त्यसले समस्याको समाधान दिँदैन । हामीले सही तरिकाले र सम्भव भएसम्म स्थायी तरिकाले समस्याको समाधान गर्नुपर्छ । जनता भन्दामाथि कोही छैन । हामीले निर्वाचनमा जानुपर्छ । यसमा प्रस्ट भएर अघि बढ्नु राम्रो हुन्छ भन्ने लाग्छ ।’

अधिवक्ता डा. प्रेमराज सिलवालले आन्दोलनको नाममा संविधानलाई ध्वस्त बनाउने काम गर्न नपाइने जिकिर गरे । उनले प्रतिनिधि सभा भीडले विघटन गर्न नसक्ने भएकाले यसको पुनर्स्थापना गरेर मात्रै मुलुकलाई निकास दिन सकिने आफ्नो निष्कर्ष रहेको समेत बताए । अधिवक्ता सिलवालले भने, ‘यो संविधानलाई भत्काउन, ध्वस्त बनाउन पाइँदैन । विधिको शासन, मौलिक हक, स्वतन्त्र प्रेसको जगमा यो संविधान बनेको छ । त्यसकारण यो संविधानको भावना, मर्म, उद्देश्यलाई भत्काउन, ध्वस्त गर्न पाइँदैन । सडक प्रदर्शनको नाममा यस्तो गरियो भने देशमा भद्रगोल हुन्छ । सिरिया, नाइजेरिया, अफगानिस्तान, बङ्गलादेश बन्छ । यो प्रतिनिधिसभा विघटन गरिएको असंवैधानिक हो भनेर पहिलो रिट हाल्ने म नै हो ।’ अधिवक्ता सिलवालले सडक प्रदर्शनलाई आधार बनाएर प्रतिनिधि सभा पुनस्र्थापना नहुने भने मुलुक सिरिया, नाइजेरिया जस्तै द्वन्द्वमा फस्ने चेतावनी समेत दिए ।

 

 

 

 

 

विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ को व्यवस्थाबारे यस्तो छ तयारी

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन तथा अन्तर जिल्ला मतदानको व्यवस्थाका लागि विद्यमान चार वटा ऐन संशोधनको प्रक्रियामा रहेको जनाएको छ । सोमवार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे गृहमन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले यस्तो जानकारी दिएका हुन् । उनले सर्वोच्च अदालतको फैसलासहित विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानूनहरू संशोधन भइरहेको जानकारी दिए ।

उनकाअनुसार विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन निर्वाचन ऐन, २०७३ र मतदाता नामावली ऐनमा आवश्यक संशोधन समेत गरिएको छ । उनले संशोधन प्रश्तावमा मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प समेत समावेश गरिएको जानकारी दिए । उनले अन्तर जिल्लाबाट समानुपातिक, प्रत्यक्ष वा दुवै तर्फ मतदान गर्न सकिने व्यवस्था गरिने समेत जानकारी दिए ।

उनले भने, ‘वर्तमान सरकार गठन भइसकेपछि विदेशमा रहेका नेपाली नागरिकको लागि मतदानको व्यवस्था गर्न अन्तर जिल्लामार्फत प्रत्यक्षतर्फ वा समानुपातिकको लागि मतदान गर्ने व्यवस्था गर्न, कुनैपनि उम्मेदवारलाई समर्थन नरहेको भनि मतदान गर्ने व्यवस्थाका लागि सरकारले विभिन्न पक्षबाट आएका माग, सर्वोच्च अदालतबाट आएको फैसलाका आधारमा तत्कालीन सरकारले नै अगाडि सारेको विषयहरुलाई समेटेर सरकारले निर्वाचन आयोगसँगको सहकार्यमा चार वटा ऐन संशोधनको लागि अगाडि बढेको विषय जानकारी गराउन चाहन्छु ।’

उनले भने, ‘चार वटा ऐन संशोधनको एउटा खाका तयार भएको छ । त्यस्तै मतपत्रमा कसैलाई पनि समर्थन नगर्ने व्यवस्था समेत समावेश गराएका छौँ । अन्तरजिल्लाबाट समानुपाति वा प्रत्यक्षतर्फ र दुवैमा मतदान गर्न सकिने व्यवस्था मस्यौदामा समावेश गरिएको छ । विदेशमा हुने निर्वाचनमा त्यहाँस्थित नियोगमा मतदान केन्द्र, मतदाताको परिचय खुलाउने लगायत केही विषयमा ऐनमा सुधार गर्न लागि रहेका छौँ ।’ उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयनको चरण रहेको समेत जानकारी दिए ।

 

 

 

 

 

 

चोर त मेरो लुगा लगाएर मेरै खाटमा सुतिरहेको भेटियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको आफ्नो घरमा आफ्नै लुगा लगाएर चोर सुतिरहेको भेटिएको घटनाको खुलासा गरेका छन् । भदौ २४ गते रातोपुलस्थित थापाको घरमा आगजनी भएको थियो । घरमा आगजनी भएपछि परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा पठाइयो भने थापा आफैं अर्को स्थानतर्फ गए ।

घटनापछि तेस्रो दिन थापाका साथीहरूले घरमा गएर निरीक्षण गर्दा चोर आफ्नै लुगा लगाएर उनीहरूको खाटमा सुतेको भेटिएको थियो । चोरलाई सोध्दा उनले पहिलो दिन लुगा चोरेको र केही बाँकी रहेको हेर्न आएको र एकछिन सुत्न मन लागेको बताएको थापाले सुनाए । घटनास्थलमा चोरलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाइएको थियो ।

थापाले आफ्नो बसाइसम्बन्धी समस्या पनि सार्वजनिक गरे। घर जलेपछि बानेश्वरमा डेरा खोज्दा घरबेटीले सुरुमा कोठा दिने भनी भने पनि पछि ‘यहाँ पानी आउँदैन’ भन्दै बस्न नदिएको उनले बताए । पछि उनी बूढानीलकण्ठ चपलीमा आफ्ना आमाबुबासँगै बस्न बाध्य भए । घर जल्नुको घटना सामान्य रुपमा लिनुपर्ने उनको प्रतिक्रिया रहेको छ । उनले भने, ‘आमाले भन्नु भयो, तेरो ज्यान जोगियो, त्यही ठूलो कुरा भयो ।’ जन्मेको घर पूर्ण रूपमा जलेर पुनर्निर्माण आवश्यक भएकोले केही दिनभित्र घर भत्काएर पुनः बनाउने तयारी भइरहेको उनले जानकारी दिए । यसैबीच, थापाले आफ्नो अनुभव सुनाउँदै निर्दोषको मृत्यु हुने अन्य घटनासँग आफ्नो घर जल्नु सामान्य घटना भएको प्रतिक्रिया व्यक्त गरे ।

कोशी प्रदेश सरकार चाँडै पुनर्गठन हुन्छ : शेरधन राई

काठमाडौं । नेकपा (एमाले) का नव निर्वाचित सचिव शेरधन राईले कोशी प्रदेश सरकार चाँडै पुनर्गठन हुने बताएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनपछि विराटनगर आएका सचिव राईले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार नेपाली कांग्रेससँग एक–दुई दिनभित्र छलफल हुने बताएका हुन् । यसअघि नै कोशी पुनर्गठनको तयारी गरिए पनि महाधिवेशन लगायतका कारणले ढिलाइ भएको उनको भनाइ थियो ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे सोधिएको एक प्रश्नको जवाफमा राईले एमाले चुनावमा सहभागी हुने बताए । सरकारले चुनाव गराउने दिशामा काम नगरेको आरोप लगाउँदै उनले भने, ‘यो सरकार चुनाव गराउन बनेकै होइन ।’ महाधिवेशनपछि एमाले एकढिक्का भएको उनको भनाइ थियो । आन्तरिक प्रतिष्पर्धामा दुई समूह देखिए पनि त्यो अब अन्त्य भएको उनको दाबी थियो । आउँदो केन्द्रीय कमिटीको बैठकबाट पराजितलाई पनि समेटेर कार्यविभाजन हुने उनले जानकारी दिए ।

प्रधानमन्त्रीले आह्वान गरेको सर्वपक्षीय छलफल सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा शुरु भएको छ । अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रस्तुतिकरण दिनेछ ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागी छन् । प्रमुख दुई राजनीतिक दलहरु नेकपा (एमाले) र नेपाली कांग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएको छ । केही जेन–जी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्दै आन्दोलनमा होमिएपछि सरकारले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो ।

अन्तरिम सरकारलाई निर्वाचनका कानुन संशोधनको म्याण्डेट छैन : देव गुरुङ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग निर्वाचनका कानुन संशोधन गर्ने कुनै म्याण्डेट नभएको स्पष्ट पारेका छन् । गत मंसिर २४ गते सरकार र जेनजीका प्रतिनिधिहरूबीच भएको १० बुँदे सम्झौतामा निर्वाचनसम्बन्धी कानुन संशोधनको विषय उठेको भए पनि, उनले भने अनुसार, वर्तमान अन्तरिम सरकारले त्यस्तो कदम चाल्न योग्य छैन ।

गुरुङ भनेका छन्, ‘गत शुक्रवार अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को समानुपातिक तर्फको अनुसूची संशोधन गर्दै अध्यादेश जारी गरिएको छ । यसमा अन्तरवस्तुबारे कुनै विवाद नहोला । तर वर्तमान सरकार गठन भएदेखि अहिलेसम्म मतदाता नामावली ऐन, २०७३ संशोधन सम्बन्धी अध्यादेश, नेपाल विशेष सेवा ऐन २०४२ सम्बन्धी अध्यादेश गरी तीन वटा अध्यादेश जारी भइसकेका छन् ।’ उनले अन्तरिम सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८२ राष्ट्रपति कार्यालयमार्फत अध्ययनमा राखेको र हालसम्म अनुमोदनका लागि अघि नबढाइएको बताएका छन् ।

उनले स्मरण गराए कि मंसिर २४ गते भएको १० बुँदे सम्झौतामा निर्वाचनसम्बन्धी कानुन संशोधनसम्बन्धी विषय उल्लेखित थियो । तथापि, उनले यसलाई हेर्दा अन्तरिम सरकारले लगातार अध्यादेश जारी गर्दै कानुन बनाउने दिशामा अघि बढेको देखिन्छ भनी टिप्पणी गरे । उनले भने, ‘लोकतन्त्रमा अन्तरिम सरकारको मुख्य जिम्मेवारी भनेको विद्यमान कानुनको आधारमा निर्वाचन सम्पन्न गर्नु हो । निर्वाचनका कानुन संशोधन गर्ने म्याण्डेट कतै पनि छैन । विगतको अभ्यास पनि यही देखाउँछ ।’

गुरुङले अन्तरिम सरकारले निर्वाचन कानुनमा निरन्तर संशोधन गर्नु निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गर्ने कार्य भएको बताए । उनले थपे, ‘संघीय संसद्को अभिन्न अंगको रूपमा रहेको राष्ट्रिय सभा यथावत् छ । राष्ट्रिय सभाबाट अध्यादेशको छलफल र सहमति लिन केले रोक्न सक्छ ? यसले आवश्यकताको सिद्धान्त पनि देखाउँदैन ।’ उनका अनुसार, यो अभ्यासले केवल निर्वाचनप्रति सरकारको प्रतिबद्धतामा विचलन मात्र होइन, समग्र लोकतान्त्रिक प्रक्रिया र कानुनी शासनमा समेत चुनौती प्रस्तुत गरेको छ ।

 

 

 

 

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बहुमत सांसद, कांग्रेसले पुरक हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्ने निवर्तमान सांसदको संख्या १४३ पुगेको छ । यो संख्या तत्कालीन प्रतिनिधिसभाको कुल सदस्य संख्याको स्पष्ट बहुमत हो । पूर्ण बहुमतका लागि आवश्यक १३८ सांसदभन्दा बढी हस्ताक्षर सर्वोच्च अदालतमा पुगिसकेका छन् ।

नेकपा एमालेले संसदीय दलका नेतासहित ७५ सांसदको हस्ताक्षरसहित प्रारम्भमै रिट दर्ता गरिसकेको जनाएको छ । विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक रहेका महेश बर्तौलाका अनुसार पार्टीले अदालतमा बहुमतको स्पष्ट सन्देश दिएको हो ।

यसैबीच नेपाली कांग्रेसले पनि ६८ सांसदको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालतमा बुझाउने तयारी गरेको छ । कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले ६८ सांसदको हस्ताक्षर कानून व्यवसायीलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । यद्यपि कांग्रेसभित्र गगन थापा पक्षले भने पुनर्स्थापनाका लागि हस्ताक्षर नगरेको जनाइएको छ ।

कांग्रेस र एमाले दुवै पक्षको बुझाइमा बहुमत सांसदको औपचारिक मागले प्रतिनिधिसभा पुनर्स्थापनाको संवैधानिक आधारलाई बलियो बनाउनेछ । प्रधानमन्त्री सुशीला कार्कीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोपसहित सर्वोच्च अदालतमा दर्जनभन्दा बढी रिट दायर भइसकेका छन् । यता नेपाली कांग्रेसले संसद् पुनर्स्थापनालाई चुनावको विकल्पका रूपमा मात्रै हेरेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेपछि पुनर्स्थापनाको विषय विकल्पका रूपमा अगाडि आएको बताए । उनका अनुसार पार्टीको औपचारिक प्राथमिकता अझै पनि चुनाव नै हो ।

‘सरकारले चुनावी वातावरण बनाउन गम्भीरता देखाउन सकेको छैन,’ महतले भने, ‘फागुन २१ मा निर्वाचन नभए देश थप अन्योलमा पर्छ । त्यसैले चुनाव पनि नहुने, संसद् पनि नफर्कने अवस्था स्वीकार्य हुँदैन ।’ पार्टीभित्र संसद् पुनर्स्थापनामा एकमत नदेखिएको विषयमा उनले औपचारिक निर्णय नहुँदा फरक–फरक धारणा आउनु स्वाभाविक भएको बताए । अदालत, सडक र राजनीतिका दबाबबीच अब सर्वोच्च अदालतको फैसलाले देशको आगामी राजनीतिक दिशा तय गर्ने देखिएको छ ।

 

 

 

इनारको शव प्रकरणले खोल्यो दोहोरो हत्या रहस्य

काठमाडौं । ललितपुरमा इनारभित्र बोरामा प्याक गरिएको शव भेटिएको घटनाले अनुसन्धानका क्रममा अर्को एक जघन्य हत्या पनि बाहिर आएको छ । सुरुमा एक व्यक्तिको हत्या मात्रै ठानिएको यो प्रकरण अहिले दोहोरो हत्याको रूपमा पुष्टि भएको छ । प्रहरीका अनुसार दोस्रो हत्या भएका व्यक्ति भोजपुरका २१ वर्षीय पारुहाङ राई हुन् । उनको शव भक्तपुर र ललितपुरको सीमानामा पर्ने सूर्यविनायक नगरपालिका–७ स्थित जंगल क्षेत्रमा फेला परेको हो । अनुसन्धानका क्रममा अभियुक्तले दिएको सूचनाका आधारमा प्रहरीले उक्त स्थानबाट शव बरामद गरेको जनाएको छ।

यसअघि पुस २ गते ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा रहेको एक इनारभित्र सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो । उक्त घटनापछि प्रहरीले गहिरो अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीको प्रारम्भिक निगरानीमा परेका देवराज ढुंगेललाई पक्राउ गरी सोधपुछ गर्दा उनले जयराज अधिकारीको संलग्नता रहेको बताएका थिए । त्यसपछि प्रहरीले जयराज अधिकारीलाई सिन्धुलीबाट आज बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार जयराज अधिकारीले सोधपुछका क्रममा पारुहाङ राईको हत्या पनि आफूहरूकै संलग्नतामा भएको स्वीकार गरेका छन् । उनले बताएअनुसार शव फालिएको स्थानमै पुगेर प्रहरीले पारुहाङको शव फेला पारेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले देवराज ढुंगेल र जयराज अधिकारीले केशवराज हायु र पारुहाङ राई दुवैको हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिए । उनका अनुसार केशवराज हायुको हत्या मंसिर २४ गते र त्यसको भोलिपल्ट मंसिर २५ गते पारुहाङ राईको हत्या गरिएको प्रारम्भिक बयानमा उल्लेख छ । एसएसपी बस्नेतले घटनासँग जोडिएका अन्य पक्ष, हत्या गर्नुपर्ने कारण र सम्भावित थप संलग्न व्यक्तिहरूको खोजीका लागि अनुसन्धान अझै जारी रहेको बताए । प्रहरीले घटनालाई गम्भीर अपराधको रूपमा लिएर कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

 

जेनजी आन्दोलनमा प्रहरीको बल प्रयोग, सामूहिक गिरफ्तारीको घोषणा

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा भइरहेको आन्दोलन सोमबार माइतीघर क्षेत्रमा तनावपूर्ण बनेको छ । निकोलस भुसालसहित केही अभियन्ता पक्राउ परेपछि मिराज नेतृत्वको समूहले सामूहिक गिरफ्तारी दिने घोषणा गर्दै प्रहरी वृत्त भद्रकालीतर्फ अघि बढ्न खोजेको थियो । तर, माइतीघरमै प्रहरीले ब्यारिकेड लगाएर रोकेपछि स्थिति चर्किएको हो ।

प्रदर्शनकारीहरूले सुशीला कार्कीको बहिर्गमन, सर्वपक्षीय सरकार गठन र जेन–जीका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राख्दै नाराबाजी गरे । आन्दोलनकारीको आरोप छ—आन्दोलन हाइज्याक गरेर सत्ता सम्हालिए पनि जनआन्दोलनका मागप्रति सरकारले चासो नदेखाएको छ । यसक्रममा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध नाराबाजी समेत गरिएको छ ।

प्रदर्शनका लागि अनुमति नलिएको भन्दै प्रहरीले बल प्रयोग गर्दै केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको हस्तक्षेपपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् । माइतीघरमा नाराबाजी जारी रहँदा सुरक्षाकर्मीको संख्या बढाइएको छ । स्थिति नियन्त्रणमा रहेको भनिए पनि सामूहिक गिरफ्तारीको घोषणाले आन्दोलन अझ उग्र बन्ने संकेत देखिएको छ ।

एमसिसीअन्तर्गत धानखोला–लमही सडकको ठेक्का कसले पायो, कति हो लागत ?

काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल अन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ । साथै, सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मत–सम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको छ ।

सडक मर्मत आयोजनाअन्तर्गत सम्पन्न हुने यी परियोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि तथा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला लमहीको ४० किमि क्षेत्रमा फुल डेप्थ रेक्लेमेसन टेक्नोलोजिबाट मर्मत गरिने जानकारी दिए । उनकाअनुसार त्यो निर्माणलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का समेत गरिएको छ, त्यससम्बन्धि सम्झौता आदानप्रदान पनि गरिएको छ । यो सम्झौता २ वर्षको हो ।

२४ महिनामा सबै काम सकिनुपर्छ । २४ महिनाभित्र धान खोला–लमही क्षेत्रको पूरै मर्मत कार्य सक्ने र मुग्लिन नारायणघाटको नयाँ प्रविधिअनुसार डिजाइन गरिनेछ । बाँकी काम गर्न फेरि अर्को कन्ट्याक्टरबाट हुने खड्काले बताए । विष्टकाअनुसार धानखोला लमहीको मर्मतका लागि २ करोड अमेरिकी डलर अर्थात करिव ३ अर्ब लागत लाग्नेछ । त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्काका ३७ लाख अमेरिकी डलर अर्थात ५० करोड खर्च हुने अनुमान छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘एमसीए नेपालका दुई वटा आयोजना छन् । एउटा विद्युत प्रशारण अर्को सडक मर्मत आयोजना छ । सडक मर्मतको २ ओटा कन्ट्रयाक्टको सम्झौता आज भएको छ । धानखोला लमहीको ४० किमि क्षेत्रमा फुल डेप्थ रिक्कलेमेसन टेक्नोलोजिबाट मर्मत गर्ने ठेक्का लगाएका हौं । त्यो निर्माणलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का छ, शुक्रवार त्यससम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । त्यो सम्झौता आदानप्रदान गरिएको हो । यो सम्झौता २ वर्षको हो । २४ महीनामा सबै काम सकिनु पर्छ ।’

उनले भने, ‘२४ महिनाभित्र धान खोला–लमही क्षेत्रको पूरै मर्मत कार्यसक्ने र मुग्लिन नारायणघाटको नयाँ टेक्नोलोजिअनुसार डिजाइन गर्ने, बाँकी काम गर्न फेरि अर्को कन्ट्याक्टर आउनेछ । जुन अहिले छैन । कन्ट्याक्टर आइसकेपछि उसले मुग्लिन नारायणघाटको ३६ किमि पनि मर्मत सम्भार गर्नेछ । उनीहरुले दिएको सेडुल अनुसार २४ महिनामा सकिनेछ । धानखोला लमहीको मर्मतका लागि २ करोड अमेरिकी डलर अर्थात करिव ३ अर्ब लागत लाग्नेछ । त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्काका ३७ लाख अमेरिकी डलर अर्थात ५० करोड खर्च हुने अनुमान छ ।’
विष्टले भने, ‘विद्युत प्रशारण आयोजना निर्माणका लागि ६ वटा ठेक्कामा सम्झौता भइसकेको छ । जसमा ३ वटा प्रशारण लाइन र ३ ओटा सब स्टेशन लाइनको सम्झौता भइसकेको छ । आज भएको सम्झौता गरी अहिलेसम्म ७ ओटा ठेक्का भएको छ । कन्सल्टिङ ठेक्का लगाइसकिएको छ । एमसीए नेपालका प्रोजेक्टहरु सक्ने अवधी ५ वर्षको हो । २ वर्ष ४ महीना समय बितिसकेको छ । २ बर्ष ८ महीना अब बाँकी छ । यो अवधीभित्र सबै प्रोजेक्ट सक्नुपर्छ । अहिलेको सेड्युलअनुसार हामीले सक्छौं ।’

विष्टले ५ वर्षको निर्धारित समयभित्रै परियोजना सक्नेगरी कामहरु अघि बढेको समेत बताए । उनकाअनुसार २ वर्ष ४ महीना बितिसकेकाले बाँकी अवधीमा परियोजनाहरु सकिनेछ । एमसीए नेपालले समयमै परियोजनाहरु सकिने बताएपनि आयोजनाहरुको प्रगति हेर्दा निर्धारित अवधिमै सकिनेमा संशय कायमै छ ।

 

माइतीघरमा मिराज समूहको प्रदर्शन, केहि पक्राउ {तस्वीरहरु}

काठमाडौं । जेनजी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेको छ । अन्तरिम सरकारविरुद्ध उक्त समूहले आज बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी जेनजी युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेनजीका विगतका माग पूरा नगरेको भन्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । माइतीघरमा डा निकोलस भुसालको समूह पनि देखिएको छ । प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहल लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । त्यस क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ । आन्दोलनका लागि भेला भएका जेनजी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको छ । केही घाइते पनि त्यहाँ पुगेका छन् । प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ ।
–तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी