`

खोटाङको रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि गत मङ्गलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

छ वडा रहेको रावाबेँसीमा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ बालबालिकाले पूर्ण खोप लगाएका छन् । सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिसलगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा खोप अभियानमा खटिने स्वास्थ्यकर्मी र महिला स्वयम्सेविकालाई सम्मान गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा चालू आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने रावाबेँसी गाउँपालिका जिल्लाकै पहिलो भएको छ । 

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली। तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ ।

चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो ।

ऋषिङ-१ र व्यास नगरपालिका-५ का गरी एक सय ४७ परिवारका घर तथा संरचनाको क्षति निर्धारण गरेपश्चात एक सय ३९ परिवारलाई रकम वितरण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार बाँकी परिवारको रकम वितरणको प्रक्रियामा छ ।

भण्डारीले क्षति भएका घरको अनुगमन पश्चात अधिकतम तीन लाख रुपैयाँ र न्यूनतम दश हजार रुपैयाँ क्षतिपूर्ति बापत रकम तोकिएको जानकारी दिए ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको रकम वितरण गरिएको छ । छ प्रतिशत परिवारले मात्रै रकम बुझ्न बाँकी छ ।’

संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर, आयोजनाका इञ्जिनियरलगायत सदस्य छन्।

आयोजनाको चरण–१ अन्तर्गत बाँधलगायत संरचना निर्माण भइरहेको छ । यस चरणअन्तर्गतका संरचनाको निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म ४२ दशमलव पाँच प्रतिशत प्रगति भएको प्रमुख भण्डारीले उल्लेख गरे । यसअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण गर्न पूर्वतयारीका कार्य भइरहेका छन् ।

भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने, टावर क्रेन जडानलगायत कार्य सम्पन्न गरिएको छ । उनले भने, ‘बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिटिङ र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ ।’

आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासङ्घबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

आइएफसीका दक्षिण एसिया क्षेत्रका प्रमुख ग्रेगोरी स्मिथ तथा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालबीच महासङ्घ सचिवालयमा भएको भेटवार्ता आपसी सहकार्य र समन्वयका विविध पक्षमा छलफल भएको हो ।

आइएफसीका स्मिथले नेपालको आर्थिक विकासमा वाणिज्य महासङ्घसँग सहकार्य गर्न आइएफसीका तयार रहेको बताए । उनले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले अन्तरराष्ट्रिय वित्त निगमले ज्ञानसम्बन्धी साझेदारी, साना तथा मझौला उद्यमको क्षमता विकास र युवाका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकर्य गर्ने उल्लेख गरे ।

महासङ्घका उपाध्यक्ष ढकालले महासङ्घले विगतमा पनि आइएफसीसँग गरेको सहकार्यमा साना तथा सझौता उद्यमसम्बन्धी काम गरिएको जानकारी गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आइएफसिको सहयोग प्रतिआभार व्यक्त गरे ।

“सन् २०२२ मा महासङ्घ र अन्तरराष्ट्रिय वित्त निगमले संयुक्त रूपमा तयार पारेको ‘नेपालको निजी क्षेत्रको अवस्था’सम्बन्धी प्रतिवेदनलाई विशेष महत्त्वका रूपमा लिएका छौँ । उक्त अध्ययनले नेपालको निजी क्षेत्रका शक्ति, चुनौती र सम्भावनालाई उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्गनिर्देशक भूमिका खेलेको छ”, उनले भने ।

महासङ्घको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्यलगायत क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउँदै आइएफसीसँगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले ज्ञान आदानप्रदान, वित्तीय पहुँचको सहजता, हरित अर्थतन्त्रको प्रवर्द्धन, डिजिटल रूपान्तरण र साना तथा मझौला उद्योगको क्षमता विकासलगायत क्षेत्रमा अन्तरराष्ट्रिय वित्त निगमको प्राविधिक तथा संस्थागत सहकार्यको अपेक्षा राखे । 

जसपा नेपालकी नेतृ डा.बबि सिंहको पेस्तोल डान्स(भिडियो)

काठमाडौँ । गृह प्रशासनलाई चुनौती दिँदै पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी तथा जसपा नेपालकी केन्द्रीय सदस्य नेतृ डा.बबि सिंह यादवले पेस्तोल डान्स गरेको दृष्य सार्वजनिक भएपछि प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पेस्तोल पड्काएर नृत्य गरेको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि बोलाएको जानकारी दिए । सिंहले सप्तरीको बोदेबसाईनको एक विवाह समारोहमा पेस्तोल बोकेर नाचेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

अपहरणको अभियोगमा पर्सामा नाबालकसहित चार जना पक्राउ

वीरगञ्ज । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको जानकारी दिए । हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन ।

पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।

एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा बिहीबार आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए ।

‘श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई जनताका घरदैलोमा पुर्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र ‘डिजिटल’ अर्थतन्त्रको निर्माण, प्रविधिको प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य हासिल गर्न र सबै नेपालीलाई सरल तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुने बताए ।

सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढाएको प्रधानमन्त्री ओलीले बताए ।

सरकारले आगामी दशकलाई आन्तरिक सेवा प्रवद्र्धन दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी हुन प्रधानमन्त्री ओलीले आह्वान गरे ।

श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो । त्यहाँबाट श्रम तथा रोजगार सम्बन्धित विषय, माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाताको नियमन, रोजगार सेवामा पहुँच कायम गर्न तथा सङ्घीयताको लाभ जनस्तरसम्म पुुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पोर्टलबाट श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हटाइ भौतिक उपस्थिति, प्रक्रियागत झन्झट हटाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकासमार्फत श्रम समाजका सम्पूर्ण वर्गलाई नियमन गर्दै राष्ट्रलाई समृद्धितर्फ लैजान सहयोग गर्ने सरकारको विश्वास छ ।

यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति

काठमाडौँ । सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो ।

शिक्षामन्त्री पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने सहमति भएको छ ।

अस्थायी प्रकृतिका शिक्षक, राहत, अस्थायी, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने जनाइएको छ ।

प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकेबमोजिम व्यवस्था गर्ने, आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने सहमतिमा उल्लेख छ ।

स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने समति भएको छ ।

नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने, नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने तथा निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षकसरह हुनेगरी कायम गर्ने सहमति भएको छ ।

सहमतिलाई बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको शिक्षामन्त्री पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले शिक्षक महासङ्घले भोलि बिहीबारदेखि सङ्घर्षका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालन गर्ने बताए ।

मन्त्री पन्तले यो सहमति निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्ने । पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरू हुने भएकाले त्यसलाई सफल बनाउनतिर लाग्न सबै शिक्षकसँग आग्रह गरे ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँग भएको नौबुँदे सहमतिसँगै आजकै मितिदेखि आमशैक्षिक हड्ताल फिर्ता लिएर विद्यालय भर्ना, परीक्षा सञ्चालनलगायत गतिविधि सुरू गर्न शिक्षक कर्मचारीलाई आग्रह गरे ।

उनले वार्तामा सहजीकरण गरिदिने विभिन्न राजनीतिक दलका नेता, मन्त्रीहरू, पत्रकार, विभिन्न पेसा व्यवसायका प्रतिनिधिलाई आभार प्रकट गरे ।  सडक सङ्घर्षमा खटिने सम्पूर्ण शिक्षक, कर्मचारीलाई धन्यवाद दिए । अध्यक्ष सुवेदीले तोकिएकै समयमा माग सम्बोधन नभएको पुनःसङ्घर्षमा जान बाध्य हुने बताए ।

विद्यालय शिक्षा विधेयक शिक्षा जारी गराउने उद्देश्यले सडक सङ्घर्ष गरिएको भन्दै उनले यो ऐनलाई आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट पारित हुनेगरी समझदारी बनेको बताए । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र प्रमुख दलका प्रमुख सचेतकहरूबीच हस्ताक्षर भएको जनाइएको छ । शिक्षक महासङ्घले विसं २०८१ चैत २० देखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएको थियो ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलका साथै हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ भने डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २९ डलर प्रतिकिलो लिटर घटाइएको छ ।

मन्त्रिपरिषद बैठकद्वारा नीति तथा कार्यक्रम पारित

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । आगामी शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

सरकारसँग सहमतिपछि शिक्षकको आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ । सहमति भएसँगै आन्दोलनरत शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन स्थगित गरेका छन् ।

विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन् । यससँगै ठप्प रहेका विद्यालय बिहीबारदेखि खुल्ने भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरुसमेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं। आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ ।’

तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बध्य हुने सहमति पत्रमा उल्लेख छ ।

गभर्नरमा ६५ वर्ष नाघेकाले नियुक्ति पाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर नियुक्ति मापदण्ड विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले यसअघि न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

योसँगै गभर्नर नियुक्तिमा ६५ वर्षे उमेर हद नलाग्नेगरी सरकारले संशोधन गरेको गभर्नर  नियुक्ति मापदण्ड कार्यान्वयन रोकिएको छ । यससँगै उक्त मापदण्ड संशोधन गरेर उमेरहद खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनको लागि बाधा पुगेको छ ।

सरकारले गत फागुनमा अर्थमन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्डमा संशोधन गर्दै पदाधिकरीलाई ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सदस्यलाई ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था खारेज गरेको थियो ।

सोही व्यवस्था खारेजीपछि अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतिले ३१ चैतमा मापदण्ड संशोधन गरी अमुक व्यक्तिलाई गभर्नर नियुक्त गर्न खोजेको भन्दै रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाई गर्दै २ वैशाखमा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश जारी गर्दै संशोधित व्यवस्था अनुसार गभर्नर नियुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

कमीकमजोरीबाट सिकेर राजनीतिक ‘कोर्स करेक्सन’ गर्न कांग्रेसका नेताहरुको माग

काठमाडौं । नेपाली कांग्रेसका नौ जना नेताले राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको बताएका छन् ।

बुधबार कांग्रेस नेता कुलबहादुर गुरूङ्ग, ओमकारप्रसाद श्रेष्ठ, विपिन कोइराला, लक्ष्मणप्रसाद घिमिरे, विनयध्वज चन्द, दीपकुमार उपाध्याय, रामचन्द्र अधिकारी, सुरेन्द्र हमाल, लोकेश ढकालले विज्ञप्ति जारी गरी संयुक्त विज्ञप्ति जारी गरी राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘१२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा लिएको राजनीति अडान उपर गहिरो आत्मसमीक्षा गर्दै विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको छ भन्ने हाम्रो ठहर छ ।’

कांग्रेसले आफ्नो स्थापनाकालीन सिद्धान्त, बीपी कोइरालाको विचार, आदर्श र उनले राखेको राष्ट्रिय एकता र मेलमिलाप नीतिको अधीनमा रहेर सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, त्यागी नेता सुवर्णशमशेर, बौद्धिक नेता सूर्यप्रसाद उपाध्याय आदि आफ्ना महान संस्थापक नेताहरूलाई स्मरण गरेर राजनीतिक ‘कोर्स करेक्सन’मा जानु पर्ने उनीहरुले बताएका छन् ।

सरकार र शिक्षकबीचको वार्तामा सहमति

काठमाडौं । शिक्षकका माग मन्त्रिपरिषद्ले सम्बोधन गर्ने सहमति भएको छ । बुधबार सरकार र शिक्षकबीच भएको वार्तामा यस्तो सहमति जुटेको हो । असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको बताइएको छ ।

मन्त्रिपरिषद बैठकपछि सहमति सार्वजनिक गर्ने तयारी छ । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए।

रेशम चौधरी रिहा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । रिहागर्न सर्वोच्च अदालतले पत्र लेखेपछि चौधरी बुधबार साँझ रिहा भएका हुन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको झुटा पत्रका आधारमा उनी बुधबार दिउँसो प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उक्त पत्र झुटा भएको सर्वोच्च अदालतले जानकारी गराइसकेको छ ।

सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परेका छन् ।

बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको थियो ।

राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै तानाशाही राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेका उल्लेख गर्दै जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे ।

“रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ । तिनले कराएर केही हुँदैन । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ”, उनले भने, “त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङ्ग्रो बजाउनु पर्नेछ । यो काममा तपाईं, हामी, सबैले सहकार्य गर्दै अघि बढ्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा सकारात्मक र प्रेरणामूलक चलचित्र र नाटक बनाउँदा हेर्ने दर्शकको कमी नहुने धारणा राख्दै सांस्कृतिक, कला, भाषालगायत मुलुकका विविधता संरक्षण र प्रवर्द्धन गर्ने किसिमका चलचित्र र नाटक निर्माण गर्नुपर्नेमा जोड दिए । 

रेशमलाई रिहा गर्न सर्वोच्चले लेख्यो पत्र

काठमाडौं । पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई पत्र लेखेको छ ।

सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रेशम चौधरीलाई डिल्लीबजार कारागारका नाममा सर्वोच्चबाट लेखिएको पत्र आधिकारिक नभएको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनएिको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

रेशमलाई रिहा गर्न सर्वोच्चले पत्र पठाउँदै, यसअघिको पत्र विवादमा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ । फैसलाई नभई अदालत प्रशासनले फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि रेशम पक्राउ परेको खुलेपछि सर्वोच्चले रिहा गर्नका लागि अर्को पत्र पठाउने भएको हो ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएको पाइएको हो । यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको हो ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भने सर्वोच्चको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरिएको स्पष्टीकरण दिएको छ । पक्राउलगत्तै उनलाई डिल्लीबजार कारागारमा बुझाइएको थियो ।

पोखरा स्पोर्टस् अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको नवौँ संस्करण यही वैशाख २६ गते पोखरामा हुँदैछ । मञ्चले बुधबार अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ ।

वर्ष उत्कृष्ट खेलाडी महिलामा भलिबलका अरुणा शाही (म्याग्दी), फेन्सिङका कृपा गुरुङ (स्याङ्जा) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा (बाग्लुङ) मनोनयनमा पर्नुभएको छ । यसैगरी वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् ।

उदीयमान खेलाडीतर्फ एथलेटिक्सका बादल कार्की (बाग्लुङ), भलिबलका जीतबहादुर सार्की (स्याङ्जा) र क्रिकेटमा रचना चौधरी (कास्की) तथा वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा परेका छन् ।

अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले बर्सेनि अवार्ड प्रदान गर्दै आइएको मञ्चका अध्यक्ष मानबहादुर घर्तीले बताए ।

अवार्डको तयारीका लागि अध्यक्ष घर्ती संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजक समेत चयन गरेको छ ।

आर्थिक सङ्कलन उपसमिति संयोजकमा विमल तिवारी, प्रचारप्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तरराष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, सङ्घसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण दवाडी र स्वयंसेवक परिचालन उपसमिति संयोजक प्रवीन मगर छन् ।

यसैगरी सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक राजाराम पौडेल, स्वागत सत्कार उपसमिति संयोजक एकराज गिरी, फोटो तथा भिडियोग्राफी उपसमिति वसन्त सेर्पा, क्विक रेस्पोन्स उपसमिति संयोजकमा शशीकुमार पौडेल रहेका छन् ।

मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सन्देश श्रेष्ठ, चिठीपत्र तथा निमन्त्रणा उपसमिति संयोजकमा कविता घर्ती मगर, मूल्याङ्कन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली रहेका मञ्चका महासचिव प्रशुराम आचार्य शर्माले जानकारी दिए । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।

दिगो विकासका लक्ष्य हासिल गर्न बालश्रम उन्मूलन गर्नुपर्छः श्रममन्त्री भण्डारी

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तरराष्ट्रिय मञ्चमा सफल रुपमा स्थापित गराउनुपर्ने बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा बुधबार ललितपुरमा आयोजित कृषिमा बालश्रमसम्बन्धी राष्ट्रिय संवादमा उनले विश्व समुदायमा बालश्रम उन्मूलन गर्ने सन्दर्भमा नेपालले अन्तरराष्ट्रिय मान्यतालाई पालना गर्दै संविधान, ऐन, कानुन र कार्यविधिमार्फत सम्बोधन गरेको जानकारी दिए ।

मन्त्री भण्डारीले भने,“कृषि क्षेत्र धेरै मजदुर छन् । डोल्पा र मधेसका कतिपय ठाउँमा विद्यालय जानेको सङ्ख्या धेरै कम छ, मानसिकता नै कमजोर छ, यसलाई परिवर्तन गर्नुपर्ने छ, हामीले दिगो विकासका लक्ष्य परिपूर्ति गर्न बालश्रम उन्मूलनलाई व्यवहारमा उतार्नुपर्छ ।”

उनले बालश्रम उन्मूलनका लागि तीनै तहका सरकारले जोड दिनुपर्ने छ भन्दै स्थानीय तहमा बालश्रम उन्मूलन नभएसम्म प्रदेश र सङ्घले पनि घोषणा गर्न सकिँदैन भन्नेमा ध्यानाकर्षण गराए ।

“सचेतना अभिवृद्धि महत्त्वपूर्ण छ, बालश्रम उन्मूलनका लागि जसको लागि ऐन कानुन बनेको छ, उसलाई नै थाहा भएन भने काम हुँदैन, बालबालिकालाई विद्यालय जान पाउने, आर्थिक अधिकारमा सबल हुने वैकल्पिक व्यवस्थाका बारेमा पनि सोच्नुपर्ने छ,” उनले भने ।

उनले बालश्रम उन्मूलनलाई व्यवहारिक रुपमा कसरी सबल बनाउन सकिन्छ भनेर हेर्नुपर्छ भन्दै मन्त्री भण्डारीले मन्त्रालय अव्यवहारिक कानुनलाई समयसापेक्ष परिवर्तन गर्ने तयारीमा छ भने । उनले स्थानीय तहलाई बालश्रम उन्मूलनका काम गर्न सङ्घ र प्रदेशले के गर्नुपर्नेछ त्यसमा हामी लाग्छौँ भन्ने प्रतिबद्धता जनाए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले हाम्रो व्यवहार र सामाजिक कार्यशैलीले पनि कृषि क्षेत्रमा बढी बालबालिका श्रममा रहेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव चक्रपाणि पाण्डेले बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारहरु सुरक्षित गर्दै कृषि क्षेत्रमा रहेको बालश्रम अन्त्य गर्नुपर्ने बताए । उनले कृषि क्षेत्रमा रहेको ८७ प्रतिशत बालश्रमलाई अन्त्य गर्न यसलाई कानुनीरुपमा परिभाषित गर्दै प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

बाल श्रम उन्मूलनको राष्ट्रिय नीति, रूपरेखा र कार्यान्वयन विषयमा प्रस्तुतीकरण गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव जीतेन्द्रप्रसाद शर्माले विश्वमा १६ करोड बालबालिका बालश्रममा प्रयोग भएकोमा सात करोड ९० लाख जोखिमपूर्ण बालश्रममा संलग्न भइरहेको उल्लेख गरे । उनले विश्वमा ७० प्रतिशत बालबालिका कृषि क्षेत्रको श्रममा उपयोग भएको उल्लेख गर्दै नेपालमा सबैभन्दा बढी कर्णाली प्रदेशमा २४ दशमलव छ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा आठ दशमलव नौ प्रतिशत बालबालिका कृषि क्षेत्रमा बालश्रमिकका रुपमा रहेको जानकारी गराए ।

संविधानको धारा ३९ मा बालबालिकाको हक र बालश्रममा लगाउन नपाइने उल्लेख गरिएको छ । १८ वर्ष नपुगेको बालबालिकालाई जोखिमयुक्त काममा उपयोग गर्न नपाइने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा कानुनी व्यवस्था रहेको जनाइएको छ ।

तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो

दमौली । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।

आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो । यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । आयोजनाको परीक्षण सुरुङ खन्न आवश्यक बिस्फोटक पदार्थ व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए ।

प्रस्तावित विद्युत्गृह क्षेत्रको जग्गासम्बन्धी अभिलेख जिल्ला मालपोत कार्यालयबाट सङ्कलन गरिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार जग्गा अधिग्रहण प्रक्रियासमेत अघि बढिसकेको छ ।

आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउन प्रस्ताव स्वीकृतिका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको श्रेष्ठले बताए । जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्थाबमोजिम सङ्घीय सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण सुरु गरिने उनले बताए ।

“आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट–३ र ४ हुँदै छ दशमलव आठ कलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमबाट करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादनको योजना बनाइएको छ”, प्रबन्ध सञ्चालक श्रेष्ठले भने ।

आयोजनाबाट बन्दीपुर-६, व्यास नगरपालिका-१३ र १४, देवघाट-२, ३ र ४, ऋषिङ गाउँपालिका-१ र ३, आँबुखैरेनी गाउँपालिका-५ र ६, भरतपुर महानगरपालिका-२९ का केही भाग प्रभावित हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार देवघाट-४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ ।

उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली नयाँ भरतपुर प्रसारणलाइनमा जोडेर राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने बताउँदै भण्डारीले यसका लागि करिब दुई किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने जानकारी दिए ।

“अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किमी लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसको अनुमानित लागत रु २५ अर्ब रहेको छ”, उनले भने ।

लगानी सुनिश्चित गराउन पहल थालिएको बताउँदै प्रमुख भण्डारीले तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) सँग सहजीकरण गरिदिन अनुरोध गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी लिए । उनका अनुसार तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ ।

“आयोजनाले विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र सम्बन्धी काजगात तयार गर्न परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो”, प्रमुख भण्डारीले भने ।

नेप्सेमा ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से घटेको छ । बुधबार नेप्से ८ दशमलव १४ अङ्कले घटेर २ हजार ६ सय २३ दशमलव ८३ विन्दुमा झरेको छ ।

शेयर बजार हिजो १५ र अस्ति १४ अङ्कले घटेको थियो । आज जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३ सय १४ वटा कम्पनीका २ करोड ४६ लाख कित्ता शेयर ९ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ ।

रेशम चौधरी छिट्टै छुट्नुहुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी छिट्टै छुट्ने बताएकी छन् । बुधबार रेशम पक्राउपछि सामाजिक संजालमार्फत अध्यक्ष श्रेष्ठले रेशम छिट्टै छुट्ने बताएकी हुन् ।

उनले भनेकी छन्, रेशमजी छुट्टै छुट्नु हुन्छ सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु ।’ रेशमलाई बुधबार मध्यान्ह नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरण सभामा सहभागी हुँदै गर्दा प्रज्ञा भवनबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो ।

तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी रिहा भएका थिए । आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ ।

बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरेको हो ।

गत आर्थिक वर्ष २०८१/८१ मा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।

तथ्यांक कार्यालयले गैरकृषि क्षेत्रको आर्थिक वृद्धिदर ४.२८ प्रतिशत रहने अनुमान गरेको छ । कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक ऋषिराम सिग्देलका अनुसार कृषि क्षेत्रको वृद्धिदर भने ३.२८ प्रतिशत रहने कार्यालयको अनुमान छ ।

कृषि क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षको तुलननामा केही कम भए पनि गैरकृषि क्षेत्रको वृद्धिदरमा भने उल्लेख्य सुधार भएको हो ।

रेशम चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौँ । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका चौधरीलाई बुधबार मध्यान्ह जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो ।

सोही मुद्दामा लामो समय कारागार बसेका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा भएका थिए ।

‘ठोस प्रस्ताव’ नगरे रुस–युक्रेन प्रयासबाट हट्ने अमेरिकाको धम्की

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यदि रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिएका छन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक प्राथमिकतामा अमेरिकी धैर्य कम हुँदै गएको छ ।

ट्रम्पले ह्वाइट हाउसमा फर्केको पहिलो २४ घण्टामै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए तर उनले कार्यालयमा एक सय दिन मनाउँदै गर्दा रुबियोले प्रशासनले चाँडै अन्य मुद्दामा ध्यान दिनसक्ने सुझाव दिएका छन् ।

“हामी अहिले यस्तो समयमा छौँ जहाँ यो द्वन्द्व कसरी अन्त्य गर्ने भन्ने बारे दुई पक्षले ठोस प्रस्तावहरू दिन आवश्यक छ”, विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले पत्रकारहरूलाई भने, “यदि प्रगति भएन भने हामी यस प्रक्रियामा मध्यस्थकर्ताका रूपमा पछि हट्नेछौँ ।”

उनले यो रुबियोबाट आएको सन्देश भएको बताए । उनले कूटनीतिमा अगाडि बढ्ने कि नबढ्ने भन्ने अन्तिम निर्णय ट्रम्पमाथि निर्भर हुने बताए ।

मङ्गलबार राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन अझै पनि युक्रेनसँग शान्ति सम्झौता गर्न चाहन्छन् भन्ने सङ्केत दिए ।

एबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा पुटिन शान्ति चाहनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “मलाई लाग्छ उहाँले चाहनुहुन्छ ।”

पुटिनले हालै द्वितीय विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका लागि आगामी हप्ता मस्कोको सम्झनामा तीन दिने युद्धविरामको प्रस्ताव राखेका छन् ।

तर उनले युक्रेन–समर्थित ३० दिनको युद्धविरामको अमेरिकी आह्वानलाई अस्वीकार गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले ‘तीन दिनको क्षण होइन जहाँ तपाईं केही अरू मनाउन सक्छन् – पूर्ण, दिगो युद्धविराम र द्वन्द्वको अन्त्य’ चाहेको ब्रुसले बताए ।

– दबाबको माध्यम –

रुबियो वास्तवमै पृष्ठ पल्टाउन तयार छन् वा दुई देशमाथि दबाब दिन खोज्दै छन् भन्ने अझै अस्पष्ट छ । संयुक्त राज्य अमेरिकाले पहिले नै एक ढाँचा प्रस्ताव तयार पारेको छ जुन युक्रेनीहरूले रूसी मागहरू अगाडि झुकेको महसुस गर्छन् ।

ट्रम्पले सन् २०१४ मा क्रिमियाको रूसको अधिग्रहणलाई आधिकारिक मान्यता दिने सुझाव दिएका छन् । उक्त सुझावलाई लगभग सम्पूर्ण विश्वले अस्वीकार गरेको छ ।

“हामी सबै यो युद्ध निष्पक्ष रूपमा समाप्त होस् भन्ने चाहन्छौँ–पुटिनलाई कुनै पुरस्कार नदिई, विशेष गरी कुनै जमिन नदिई”, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पोल्यान्डमा भएको एक कार्यक्रममा मङ्गलबार भिडियो कन्फरेन्समार्फत भने ।

युद्धक्षेत्रमा र कूटनीतिक रूपमा ट्रम्प मेलमिलाप गर्न उत्सुक भएकाले धेरै विशेषज्ञका अनुसार मस्कोले अहिले उच्च हात देख्दै गरेको विश्वास गर्दै रूसले पनि प्रस्तावमा कदम बढाएको छैन ।

संयुक्त राष्ट्रसङ्घका लागि रुसका राजदूत भासिली नेबेन्जियाले जेलेन्स्कीलाई दोष दिने प्रयास गर्नुभयो र रूसले संयुक्त राज्य अमेरिकासँग कुरा गरिरहने बताए ।

“जेलेन्स्की द्वन्द्व बढाउन दृढ हुनुहुन्छ, उहाँ संयुक्त राज्य अमेरिकाका सन्तुलित शान्ति प्रस्तावहरूलाई लापरवाही तरिकाले अस्वीकार गर्दै हुनुहुन्छ”, नेबेन्जियाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा भने ।

अमेरिकी कूटनीतिज्ञ जोन केलीले अमेरिकी ढाँचामा काम गर्दा दुवै पक्षलाई फाइदा हुने भन्दै युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको बताए । “अहिले रुससँग स्थायी शान्ति प्राप्त गर्ने ठूलो अवसर छ”, उनले भने ।

सन् २०२२ फेब्रुअरीको आक्रमणमा पुटिनलाई टाढा राखेकोमा आफ्ना पूर्ववर्ती जो बाइडेनको आलोचना गर्दै ट्रम्पले रुसी नेतासँग टेलिफोनमा सम्पर्क गरे र आफ्नो व्यापारिक मित्रबाट विश्व भ्रमण गर्ने राजदूत बनेका स्टिभ विटकफलाई उनीसँग भेट्न पठाएका छन् ।

फेब्रुअरी २८ मा ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले जेलेन्स्कीलाई दोष दिएका थिए । उनी र उपराष्ट्रपति जेडी भान्सले बाइडेनको नेतृत्वमा पठाइएको अमेरिकी हतियारका लागि युद्धकालीन नेतालाई कृतज्ञता नदेखाएको आरोप लगाएका थिए ।

युक्रेनले अमेरिकी कूटनीतिक प्रयासहरूलाई समर्थन गरेर र संयुक्त राज्य अमेरिकाले देशको अधिकांश खनिज सम्पदा नियन्त्रण गर्ने सम्झौताको खोजी गरेर छिट्टै सुधार गर्ने प्रयास गर्‍यो ।

– गम्भीर रूपमा अव्यवस्थित वार्ता –

“रूसद्वारा क्रिमियाको अवैध अधिग्रहणलाई मान्यता दिनुले मस्को र बेइजिङबाट थप आक्रमणलाई निम्त्याउनेछ”, सिनेटको विदेश सम्बन्ध समितिका शीर्ष डेमोक्रेट अमेरिकी सिनेटर जीन शाहिनले मङ्गलबार भने, “मैले राष्ट्रपति ट्रम्पलाई युक्रेनमा न्यायपूर्ण र स्थायी शान्ति वार्ता गर्न ठाउँ दिने प्रयास गरेको छु, जुन हामी दुवैको साझा लक्ष्य हो ।”

“यद्यपि यो युद्ध अन्त्य गर्न महत्त्वपूर्ण भए पनि रुसलाई एकपछि अर्को छुट दिँदै, हाम्रो प्रभाव गुमाउँदै र हाम्रा मित्रराष्ट्रहरूसँगको एकजुट मोर्चालाई विभाजित गर्दै राष्ट्रपति ट्रम्प र उहाँको टोलीले यी वार्ताहरूलाई घातक रूपमा गलत व्यवस्थापन गर्नुभएको छ”, उनले भने ।

युक्रेनले मङ्गलबार पूर्वी ड्निप्रोपेट्रोभस्क क्षेत्रका सात गाउँ खाली गर्न आदेश दिएको छ । यी गाउँ पहिले फ्रन्टलाइनबाट टाढा थिए तर अहिले रूसी सेनाहरू नजिक हुँदा खतरामा परेका छन् ।

गत हप्ता किएभको आवासीय क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको थियो । यो आक्रमणपछि राजधानीमा भएको सबैभन्दा घातक आक्रमण हो ।

सन् २०२२ मा आफू सत्तामा भए पुटिनले युक्रेनमाथि आक्रमण नगर्ने दाबी गरेका ट्रम्पले आक्रमणपछि सामाजिक सञ्जालमा ‘भ्लादिमिर, रोक्नुहोस्’ लेखेका थिए ।

भारतको कोलकातास्थित एक होटलमा भीषण आगलागी, कम्तीमा १५ जनाको मृत्यु

कोलकाता । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए ।

होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले मङ्गलबार साँझ आगलागी भएपछि बताए ।

“दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ”, आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै वर्माले भने, “होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।”

आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भीडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ ।

करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन् । भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् ।

गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटलमा आगलागी हुँदा छ जनाको मृत्यु भएको थियो ।

कोलकाताको भवनबाट आगोको ज्वालाहरूको भिडियो फिल्म खिचेको प्रेस ट्रस्ट अफ इन्डियाले ‘धेरै मानिस भवनको झ्याल र साँघुरो किनारबाट भाग्ने प्रयास गरिरहेको देखिएको थियो’ भनी रिपोर्ट गरेको छ ।

कोलकाताको द टेलिग्राफ अखबारले आगोबाट बच्न खोज्दा ‘छतबाट हामफालेका कम्तीमा एक जनाको मृत्यु भएको’ बताएको छ ।

वर्माले आगो निभाएको र ‘चिस्याउने कार्यहरू जारी रहेको’ बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् । “घाइतेहरू चाँडै निको होउन्”, उनको कार्यालयले एक विज्ञप्तिमा भन्यो ।

एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको कोलाकाता पश्चिम बङ्गाल राज्यको राजधानी हो । पश्चिम बङ्गाल विपक्षी तृणमूल काङ्ग्रेस पार्टीद्वारा शासित छ । 

चीनको शेनझाउ–१९ का अन्तरिक्षयात्रीहरू फर्किए पृथ्वीमा

बेइजिङ। तीन चिनियाँ अन्तरिक्षयात्री बुधबार देशको अन्तरिक्ष स्टेसनमा छ महिना बिताएपछि पृथ्वीमा फर्किएको सरकारी मिडिया फुटेजले देखाएको छ । चीन आफूलाई एक प्रमुख अन्तरिक्ष शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ ।

बेइजिङले हालैका वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रममा अर्बौं डलर खर्च गरेको छ र सन् २०३० सम्ममा चन्द्रमामा चालक दल मिसन उडान गर्ने र अन्ततः चन्द्रमाको सतहमा आधार निर्माण गर्ने लक्ष्य राखेको छ ।

यसको पछिल्लो प्रक्षेपणले गत हप्ता तीन अन्तरिक्ष यात्रीलाई टियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पुर्‍याएको थियो, जसले शेनझाउ–२० मिशनको सुरुआत गरेको छ ।

उनीहरूले शेनझाउ–१९ चालक दलका चाई सुझे, सोङ लिङडोङ र वाङ हाओजेको स्थान लिएका छन्, जसको ल्यान्डिङ क्याप्सुल बुधबार उत्तरी इनर मङ्गोलिया क्षेत्रमा अवतरण गरेको थियो ।

राज्य प्रसारक सिसिटिभीका तस्बिरहरूले क्याप्सुल रातो र सेतो धारीदार प्यारासुटमा जोडिएको क्याप्सुल खैरो मरुभूमिको धुलोको बादलमा छुनुअघि नीलो आकाशबाट तल झरेको देखाएको छ ।

यसका यात्रीहरूले अक्टोबरदेखि अन्तरिक्ष स्टेसनमा काम गरेका थिए । त्यहाँ उनीहरूले प्रयोगहरू गरे र सबैभन्दा लामो अन्तरिक्ष हिँडाइको नयाँ रेकर्ड कायम गरे ।

चिनियाँ अधिकारीहरूका अनुसार चालक दल मङ्गलबार फर्कने कार्यक्रम थियो तर अवतरण स्थलमा खराब मौसमका कारण मिसन स्थगित गरिएको थियो ।

चिनियाँ म्यान्ड स्पेस एजेन्सी (सिएमएसए) का अनुसार प्रक्षेपणको समयमा ३५ वर्षीया वाङ चीनको एक मात्र महिला स्पेसफ्लाइट इन्जिनियर थिए ।

पूर्व वायुसेना पाइलट ४८ वर्षीय कमान्डर चाईले यसअघि सन् २०२२ मा शेनझाउ–१४ मिशनको हिस्साको रूपमा टियाङ्गोङगमा सेवा गरिसकेका छन् ।

चौँतिस वर्षीय पूर्व वायुसेना पाइलट सोङले चीनमा लोकप्रिय रूपमा ‘टाइकोनट्स’ भनिने अन्तरिक्षयात्रीहरूको समूह पूरा गरे । 

युवा पुस्तालाई आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलहरुको सुझाव

काठमाडौँ । सत्तापक्षीय राजनीतिक दलको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा विकास निर्माणलाई प्रभावकारी, समयबद्ध र उच्च प्राथमिकीकरण गरी स्रोतहरुको अपव्यय हुन नदिन जोड दिइएको बैठकमा सहभागी नेकपा (एमाले) का महासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले युवा पुस्तालाई आशा जगाउन उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरिएको बताए ।

उपमहासचिव ज्ञवालीले अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न, सुशासन र कार्यदक्षता बढाउन र बाह्य सम्बन्धलाई सुदृढ गर्न सुझाव दिइएको छ ।

यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक डाकेका हुन् ।

विद्यमान व्यवस्थामाथिको हमला र आक्रमणलाई सामूहिकरुपमा जवाफ दिने, बसाइँसराइलाई व्यवस्थित गर्न पहाड केन्द्रित कृषि र पशु विकासका कार्यक्रम अघि बढाउने गरी मेजर ब्रेक थ्रु गर्न त्यहीरुपमा बजेट ल्याउन नेताहरुले सरकारलाई आग्रह गरेका छन् ।

पत्रकारहरुको प्रश्नमा नेता ज्ञवालीले सरकार र आन्दोलनकारी शिक्षकहरुसँग वार्ता भइरहेको र चाँडै सहमति भई सामुदायिक विद्यालय सञ्चालनको वातावरण बन्ने विश्वास व्यक्त गरे ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए ।

रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकताको गर्ने कार्यक्रममा पुगेका चौधरी पक्राउ परेका हुन् ।

एकता कार्यक्रममा सहभागी हुन दुवै पार्टीका कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भइसकेका थिए । काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराले चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइएको जानकारी दिए ।

उनले सर्वोच्च अदालतको फैसाला कार्यान्वयन गर्न पक्राउ गरिएको बताए । टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी रिहा भएका थिए । आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

पाँच वर्षमा कञ्चनपुरका उखु किसानले पाए एक अर्ब २८ करोड अनुदान

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रकम अनुदान पाएका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखुको रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ अनुदान रकम किसानलाई भुक्तानी गरिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक कृष्णबहादुर धामीले कञ्चनपुरमा चिनी उद्योगमा क्रसिङ भएको उखुमध्ये रु दुई करोड ८१ लाख ८१ हजार रकम अनुदानका लागि माग नभएको बताए । उनले भने, “पछिल्लो समय अनुदानका लागि आउने किसानको सङ्ख्यामा कमि हँुदै गएको छ ।”

उनका अनुसार चिनी उद्योगले क्रसिङ गरेको उखुको परिमाण हेर्दा अनुदान माग नगर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा यहाँका १२८ किसानले अनुदान रकम लिएनन् ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा अनुदान नलिने किसानको सङ्ख्या १५३ पुग्यो भने आर्थिक वर्ष २०७८/७९मा ३७६ किसान अनुदान लिन आएनन् । आर्थिक वर्ष २०७९/८० मा २२६ किसानले अनुदानका लागि माग नगरेको उनले बताए। आर्थिक वर्ष २०८०/८१ मा अनुदानका लागि माग नगर्ने किसानको सङ्ख्या ७१७ पुगेको छ ।

उनका अनुसार पाँच वर्षमा २९ हजार ८४३ किसानले अनुदानका लागि आवेदन दिएका थिए । त्यसमध्ये २३ हजार ३०६ किसानले उखु बिक्री गरेको छ महिनाभित्रमा अनुदान रकम प्राप्त गरेका छन् भने छ हजार १०८ किसानले उखु बिक्री गरेको एक वर्षभित्रमा अनुदान रकम प्राप्त गरेका छन् । त्यसैगरी एक वर्षपछि ७० किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

चार सय ४७ किसानको भने तीन वर्षदेखि रु एक करोड ५३ लाख अनुदान भुक्तानी हुन बाँकी छ । कार्यालयका अनुसार कञ्चनपुरमा १२ हजार ४४४ बिघाहा क्षेत्रफलमा उखुखेती हुने गरेको छ । उनले सरकारले किसानलाई प्रोत्साहनका लागि अनुदान रकम दिने गरेको भए पनि पछिल्लो समय अनुदान माग गर्ने किसान बढ्न थालेको बताए।

“समयमै कृषक सम्बन्धित पालिकामा दर्ता नहुने र उखु कृषकको विवरण समयमै अनुदान भुक्तानी समितिले प्राप्त नगर्दा धेरै किसान अनुदानबाट बञ्चित भएका छन्”, प्रमुख कोष नियन्त्रक धामीले भने, “अनुदान वितरणमा ढिलाइ हुने र उखु किसानले अनुदानका लागि आवेदन नै नगरेको लगायतका विषयले अनुदान नलिने किसानको सङ्ख्या बढेको हो ।”

प्रक्रियागत अल्झनका कारण अनुदान लिने किसानको सङ्ख्या घटेको बताइउको छ । “सरकारले समयमा अनुदानको रकम भुक्तानी गर्दैन”, उखु किसान हस्तबहादुर रावलले भने, “सरकारले दिने अनुदानको रकम दुरुपयोग भएको छ वास्तविक किसानले अनुदान पाएका छैनन् ।” उनले यहाँ खुला सीमानाका भएका कारण नेपाली चिनी उद्योगमा भारतबाट उखु आउने र यहाँका किसानले उखु बिक्री गर्न नपाउने अवस्था रहेको बताए ।

त्यसैगरी बेदकोट नगरपालिका–३ का ध्वजबहादुर धामीले तीन वर्षसम्म सरकारले उखुको अनुदान भुक्तानी नगरेको बताए । “अनुदान त पाए २०७९ साल देखिको अनुदान अहिलेसम्म भुक्तानी भएको छैन”, उनले भने, “किसानले समयमा अनुदान रकम नपाउँदा खेती गर्न समस्या हुने गरेको छ ।”

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भारतबाट आउने उखु नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिने बताए। “नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि सरकारले अनुदान दिएको हो, यसको दुरुपयोग हुनु हुँदैन”, उनले भने, “त्यसका लागि किसान स्थानीय तह र अन्य सम्बन्धित निकाय चनाखो हुनुपर्छ ।”

सरकारले किसानलाई दिने अनुदान रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बजेट तर्जुमा कै समयमा विनियोजन गर्ने र स्थानीय तह, चिनी मिल, किसान र भुक्तानी समिति सबैले उखु किसानलाई अनुदान दिने कार्यविधि अक्षरस पालना गरे अनुदान भुक्तानीमा समस्या नआउने उनको भनाइ थियो ।

‘इन साइट अफ लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । इन्टनेसनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)द्वारा नेपालमा पहिलो पटक आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता रहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् ।

नेपालमा आइएपिबीका सदस्य संस्थामा नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन रहेका छन् । विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठनका रुपमा रहेको आईएपिबीले अन्तर्राष्ट्रियरुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवद्र्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।

सन् २०२४ को आइएपिबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार सम्मेलनमा करिब १०० राष्ट्रका ५०० जनाले सहभागिता रहेको जनाइएको छ ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार उक्त सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ ।

सङ्घका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापीकरण गर्नुका साथै देशको पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउने बताए ।

उनले भने, ‘इन साइट अफ लाइभ २०३०’ नेपालमा आयोजना हुनु हामी सबैका लागि गर्वको विषय हो, यसले हाम्रो देशको आँखा उपचार सेवालाई विश्व समुदायसम्म पुर्याउन मद्दत गर्नुका साथै नेपालको पर्यटन विकासमा समेत महत्वपुर्ण हुनेछ ।’

सङ्घअन्तर्गत हाल देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । एकाउन्न लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा बुधबार आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताए ।

नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रुत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० प्रभावकारी मोतियाविन्दु शल्यक्रिया कभरेज ३५/४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिबद्धता राखिएको अवगत गराए । उनले यस यत्रामा कुनै पनि मुलुक एक्लै हिँडेर गन्तव्यमा पुग्न नसक्ने भएकाले विश्वव्यापी सहकार्यमा जोड दिए।

आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक हिस्सारुपमा लिइएको भन्दै उनले विद्यालय तहबाट दृष्टि परीक्षण र नर्स कार्यक्रम सञ्चालन गरी शिक्षामा समानता र लैङ्गिक पहुँच विस्तार गरिएको पनि बताए ।

धनकुटामा एउटा कारबाट ४२१ किलो गाँजा बरामद

काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ नमस्ते झरनास्थित कोसी लोकमार्गबाट गाँजासहितका कार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन वेश मुलघाटले जाँच गर्ने क्रममा चालकले नरोकी भगाएका थिए ।

डिउटीमा रहेका सशस्त्र प्रहरीले शंका लागि जाँच गर्न खोज्दा भागेको कारलाई सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको कार चालक भने फरार रहेका थापाले बताए । कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा बरामद भएको छ ।

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन मन्त्रालयको निर्देशन

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सहि छाप बिरामी रिपोर्टमा खुलाउन भनेको छ ।

निर्देशनले बिरामीको उपचार तथा फलोअपमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।साथै, यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदा हुँदै अस्पतालबाहिर हुने रेफरसमेत रोक्ने अपेक्षा गरिएको छ ।हाल चिकित्सकीय विवरण पेस्क्रिप्सनमा पूरा नहुँदा बिरामीको उपचार तथा त्यसका क्रममा भएका खराबी पहिचानमा समेत समस्या परेको बताइन्छ ।

अब चिकित्सकीय विवरण अनिवार्य गरिंदा त्यसले चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउन समेत मद्दत मिल्ने विश्वास गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीहरुलाई प्रभावकारी सेवा दिनका लागि उपचारात्मक सेवा सुधारमा जोड दिंदै आइरहेका छन् । जारी निर्देशनले यसमा मद्दत पुग्ने अपेक्षा गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

सुन तोलामा सात सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन एक लाख ८८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न संस्थागत विद्यालयलाई महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गरी महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म छात्रवृत्ति उपलब्ध गराउँदा जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा गर्नुपर्ने स्मरण गराएको छ ।

महानगरले शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको कम्तिमा दश प्रतिशतमा नघट्ने गरी ऐन बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयमा सूचना निकाली आवेदन लिइ यही जेठ पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

महानगरपालिकाले छात्रवृत्ति छनोटको नामावली छनौट समितिको निर्णय मान्य हुने जनाएको छ । छनौट समितिमा सम्बन्धित वडाको वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य– संयोजक, विद्यालयको प्रधानाध्यापक– सदस्य, महानगरपालिका शिक्षा विभागको सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक/शिक्षा अधिकृत– सदस्य र विद्यालय व्यवस्थापन समितिमा रहेका अभिभावक प्रतिनिधि १ जना– सदस्य रहने छन् ।

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच पार्टी एकता घोषणा हुँदै

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकता घोषणा हुँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११ बजे एकता घोषणा गर्ने कार्यक्रम छ ।

पार्टीको नाम नागरिक जनमत रहनेछ । पार्टीको संरक्षकमा रेशमलाल चौधरी रहनेछन् भने पार्टी अध्यक्षमा डा. सीके राउत र रञ्जिता श्रेष्ठ सह–अध्यक्ष रहनेछिन् । जनमतसँग ६ जना र नागरिक उन्मुक्ति पार्टीसँग ४ जना प्रतिनिधिसभा सदस्य छन् ।

आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित

काठमाडौं । सुनिल नारायणको प्रभावशाली प्रदर्शनसहित कोलकाता नाइट राइडर्सले मंगलबार राति भएको आईपीएल खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
रहमुल्ला गुरवाज (१२ बलमा २६), सुनिल नारायण (१६ बलमा २७) र अजिन्का रहाने (१४ बलमा २६) को विस्फोटक सुरुवातपछि अंगरिस रघुवंशीले ४४ र रिकु सिंहले ३६ रनको योगदान दिए ।

दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट, अक्षर पटेल र विपराज निगमले दुई–दुई विकेट लिए । पटेल सबैभन्दा किफायती बलर रहे – ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

२०५ रनको लक्ष्य पछ्याएको दिल्लीले सुरुवात राम्रो गरे पनि अन्तिम चरणमा विकेट गुमाउँदै ९ विकेटको क्षतिमा १९० रनमै सीमित रह्यो । फाफ डु प्लेसिसले ४५ बलमा ६२ र अक्षर पटेलले २३ बलमा ४३ रन बनाएका थिए।

उनीहरूबीच ७६ रनको साझेदारी भएपछि दिल्ली जित नजिक पुगेको थियो, तर नारायणले पटेललाई आउट गरेपछि खेल कोलकातातर्फ फर्किएको हो ।

नारायणले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिए। अन्तिम १७ बलमा कोलकाताले ५ विकेट लिँदै दिल्लीको जितको सम्भावना टार्न सफल भयो ।

यो जितसँगै कोलकाताले १० खेलमा ९ अङ्क जोडेको छ र अंक तालिकामा सातौँ स्थानमा रहेको छ । दिल्ली १२ अङ्कसहित चौथो स्थानमा छ ।

सत्तारूढ दलहरूको बैठक

काठमाडौं । सत्तारूढ दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

शिक्षक महासंघ र सरकारबीचको वार्ता विना निष्कर्ष टुंगियो

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । मंगलबार अबेरसम्म शिक्षा मन्त्रालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको हो ।

नौ बुँदे माग मन्त्रिपरिषद्बाट पारित भए आन्दोलनको स्वरूप परिवर्तन गर्ने तयारीसहित वार्तामा बसेको शिक्षक महासंघले आजको वार्ता पनि निष्कर्षविहीन भएको जनाएको छ ।

महासङ्क कतिपय माग बजेटको सीमाले धान्न नसक्ने भन्दै लचिलो हुन सरकारले आग्रह गरेको छ । वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।

महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थियो । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रहेको र त्यसै आधारमा मंगवलबार पुनः वार्ता भएको हो । शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।