`

कांग्रेसले समय सीमाभित्र किन बुझाउन सकेन समानुपातिकको बन्दसूची ?

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची समयमै निर्वाचन आयोगमा बुझाउन नसक्दा राजनीतिक वृत्तमा चासो बढेको छ । आयोगले तोकेको समयसीमा सकिँदासम्म पनि आवश्यक कागजात पूरा नभएपछि कांग्रेसको बन्दसूची प्रक्रिया रोकिएको हो ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार) समय तोकेको थियो । सोही अनुसार दलहरू रातभर आयोगमा नामावली बुझाउने प्रक्रियामा सक्रिय थिए । कांग्रेसका तर्फबाट पनि नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल बन्दसूचीसहित आयोग पुगेका थिए ।

मंगलबार बिहान करिब ४ बजे महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि निर्वाचन आयोग पुगे । तर, आयोगमा बुझाउन ल्याइएको नामावलीको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नरहेको पाइएपछि आयोगका कर्मचारीले नामावली स्वीकार गर्न मानेनन् । हस्ताक्षर अनिवार्य कागजात भएकाले प्रक्रिया अघि बढ्न नसकेको हो ।

त्यसपछि महामन्त्री शर्माको पहलमा मुख्य सचिव पौडेल र नेता विश्वकर्मालाई सभापति देउवाको हस्ताक्षर गराउन महाराजगञ्जस्थित निवास पठाइएको थियो । उनीहरू हस्ताक्षर गराएर आयोग फर्किने तयारीमा रहेको भए पनि समाचार तयार पार्दासम्म नामावली बुझिसकिएको थिएन ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (मंगलबार) विहान भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं, काम टुंग्याउने प्रक्रियामा छौं ।’ उनका अनुसार प्राविधिक कारणले मात्र ढिलाइ भएको र बन्दसूची छिट्टै बुझाइनेछ ।

यद्यपि, निर्वाचन आयोगका एक कर्मचारीले कांग्रेसले यसअघि नै आवश्यक निवेदन बुझाइसकेको र सनाखत समेत गराइसकेको भन्दै मंगलबार पनि बन्दसूची बुझाउन सक्ने अवस्था रहेको जानकारी दिए । सभापतिको हस्ताक्षर जस्तो सामान्य तर अत्यावश्यक प्रक्रियामा समन्वय नहुँदा देशकै ठूला दलमध्ये एक नेपाली कांग्रेस समयसीमामा चुक्न पुगेको भन्दै राजनीतिक विश्लेषकहरूले पार्टीको आन्तरिक व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।

कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी निर्वाचनलाई लक्षित गर्दै संयुक्त सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् भने तीनै जना एकै राजनीतिक मोर्चाबाट निर्वाचनमा अघि बढ्ने भएका छन् ।

यसअघि नै रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने आन्तरिक सहमति गरिसकेको थियो । आइतबार बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा भने कुलमान घिसिङ सहभागी थिएनन् । त्यसपछि बालेन र रविले पटक–पटक कुलमानसँग वार्ता गर्दै सहमतिमा ल्याउने प्रयास गरेका थिए ।

सोमबार कुलमान घिसिङ र रवि लामिछानेबीच भएको भेटवार्तापछि अन्ततः उनीहरू समानुपातिकतर्फ एउटै दलको बन्द सूचीमार्फत निर्वाचनमा जाने सहमतिमा पुगेका हुन् । रास्वपाका उपसभापति डीपी अर्यालले तीनै जनाबीच सहमति भइसकेको पुष्टि गर्दै सहमतिपत्रमा हस्ताक्षरको प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।

आइतबारको प्रारम्भिक सहमतिमा छुटेका कुलमानलाई समेट्न जेन–जी अभियानीहरूको सक्रिय भूमिका देखिएको थियो । सुदन गुरुङलगायतका केही अभियानीहरूले कुलमानलाई प्रत्यक्ष रूपमा बालेन र रविसँग वार्तामा सहभागी गराउँदै सहजीकरण गरेका थिए । स्रोतका अनुसार उनीहरूकै पहलमा कुलमान, बालेन र रविबीच निर्णायक संवाद सम्भव भएको हो ।

वार्ताका क्रममा कुलमान घिसिङले सुरुमा रास्वपामा सह–सभापति पदको माग गरेका थिए । साथै, केन्द्रीय समिति, समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारमा उज्यालो नेपाल पार्टीलाई ३० प्रतिशत हिस्सा दिनुपर्ने प्रस्ताव पनि राखेका थिए । तर रास्वपा पक्षले नयाँ राजनीतिक शक्तिका लागि उक्त माग अत्यधिक भएको भन्दै १५ प्रतिशतभन्दा बढी दिन नसकिने स्पष्ट पारेको थियो ।

त्यसपछि रास्वपाले सह–सभापति होइन, उपसभापति पद प्रस्ताव गरेको थियो । सुरुमा कुलमानले यो प्रस्ताव अस्वीकार गरेपछि वार्ता अनिर्णित बनेको थियो । तर जेन–जी अभियानीहरूको निरन्तर पहलपछि कुलमान उपसभापति पदमा सहमत भएका हुन् । यस सहमतिसँगै रास्वपा, बालेन शाह र कुलमान घिसिङको संयुक्त राजनीतिक यात्रा औपचारिक रूपमा सुरु हुने संकेत देखिएको छ । नयाँ पुस्ता, वैकल्पिक राजनीति र प्रशासनिक अनुभवको संयोजनले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

नेकपासँग नाउपाको एकता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको छ । सोमबार रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र प्रचण्ड संयोजक रहेको नेकपाबीच पार्टी एकता गर्ने सहमति भएको हो ।

एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति भएको छ । सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गर्दै विविधतामा एकतालाई राष्ट्रिय विशेषता भनिएको छ ।

सहमति अनुसार दुवै पार्टीले विगतका कमजोरी सच्याउँदै सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन् ।

साथै, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समिति लगायत सम्पूर्ण संरचना आपसी सहमतिमा नेकपामा समायोजन गरिने छ । सहमतिमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

रवि लामिछाने र कुलमान घिसिङबीच लगभग सहमति, हस्ताक्षरको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबिचको वार्ता सहमति नजिक पुगेको छ ।
दुई घण्टादेखि जारी वार्ता लगभग टुंगोमा पुगेको कुलमान घिसिङ निकट स्रोतले नेपालवन एचडीलाई जानकारी दिएको छ । स्रोतका अनुसार केहिबेरमा सहमति हस्ताक्षरको तयारी हुँदै छ । के के सहमति भए भन्ने खुलिसकेको छैन ।
यसअघि रवि बालेनले सहमति गरेको कमलपोखरीस्थित असिम शाहको कार्यालयमा वार्ता जारी छ ।

जावेद अख्तर र मुफ्ती शमाइल नदवीको बहस: के भगवान छन् ?

के ईश्वरको अस्तित्व छ ? यो प्रश्न एउटा सदाबहार प्रश्न जस्तै हो । अध्यात्मिकहरू ईश्वर छन् भन्ने विश्वास गर्छन् भने नास्तिकहरू ईश्वर छैनन् भन्ने विश्वास गर्छन् । यी दुवै विश्वास हुन् । यी दुई विश्वासबीच हजारौं वर्षदेखि बहस जारी छ । केही समयअघि भारतीय पत्रकार सौरभ द्वीवेदीले यही प्रश्नमा दुई विद्वानलाई बहसमा उतारे । 

मुफ्ती शमाइल नदवी इस्लामिक विद्वान् र शिक्षाविद् हुन्। उनी कोलकाताको वाहन फाउन्डेसनका संस्थापक पनि हुन्। लखनऊको प्रतिष्ठित दारुल उलूम नदवतुल उलमाबाट स्नातक गरेका नदवी सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा अध्यापन र बौद्धिक गतिविधिमा सक्रिय छन्। साथै, मलेसियाको इन्टरनेशनल इस्लामिक युनिभर्सिटीबाट पीएचडी पनि गर्दैछन् । उनी ट्राभल ब्लग पनि बनाउँछन् ।

जावेद अख्तर प्रसिद्ध कवि, शायर, गीतकार र लेखक हुन् । उनी वैज्ञानिक सोच र आफ्नो घोषित नास्तिकताबारे पनि खुलेर बोल्ने गर्छन् र आफूलाई तर्कशीलताको पक्षमा उभ्याउँछन् ।

यी दुई विद्वानबीच हिन्दी भाषामा भएको बहसको सम्पादित सारांश नेपाली अनुवादसहित प्रस्तुत गरिएको छ: 

शमाइल नदवी

सम्पूर्ण प्रशंसा त्यस सृष्टिकर्ताका लागि जसले यस ब्रह्माण्डलाई एउटा उद्देश्यका साथ सिर्जना गर्नुभएको छ।
आदरणीय जावेद अख्तर साहब, श्रीमान् सौरभ द्विवेदी र सम्मानित दर्शकवृन्द,आज यहाँ उपस्थित हुनुभएकोमा तपाईं सबैलाई धन्यवाद।

आजको बहसमा हामी “डस गड एक्जिस्ट?” भन्ने विषयमा कुरा गर्न गइरहेका छौँ। यो यस्तो विषय हो, जसको सम्बन्धमा निर्णय लिन विभिन्न मापदण्ड हुन सक्छन्। त्यसैले बहस सुरु हुनु अघि यो जान्नु आवश्यक छ कि आजको विषयमा कुन मापदण्ड सही हुनेछ र कुन गलत हुनेछ। सबैभन्दा पहिलो मापदण्ड, जसतर्फ हाम्रो सम्मानित जावेद अख्तर साहब छिट्टै जानुहुनेछ, त्यो हो विज्ञान। तर विज्ञान वास्तवमा भगवान्को अस्तित्वलाई प्रत्यक्ष रूपमा प्रमाणित गर्न वा अस्वीकार गर्न मापदण्ड बन्न सक्दैन। यसको कारण के हो? यो म मात्र भन्दिनँ। विज्ञानका विशेषज्ञहरू स्वयं यो भन्छन्। नेशनल एकेडेमी अफ साइन्स भन्छ,विज्ञानसँग भगवान्को अस्तित्व प्रमाणित वा खण्डन गर्ने प्रक्रिया छैन। किनभने विज्ञानको सम्बन्ध अनुभवजन्य प्रमाणसँग हुन्छ र अनुभवजन्य प्रमाणको सम्बन्ध हाम्रो प्राकृतिक र भौतिक संसारसँग हुन्छ, जबकि भगवान् गैर–भौतिक र अलौकिक वास्तविकता हुनुहुन्छ। त्यसैले गैर–भौतिक वास्तविकतालाई त्यस्तो उपकरणबाट जाँच्न सकिँदैन, जसको काम भौतिक वास्तविकता खोज्नु हो। त्यसैले आजको बहसमा भगवान्को अस्तित्व प्रमाणित वा अस्वीकार गर्न वैज्ञानिक प्रमाण स्वीकार गरिने छैन।

दोस्रो मापदण्ड हुन सक्छ प्रकट हुनु, अर्थात् रिभेलेशन । धार्मिक ग्रन्थमार्फत हामी भगवान् अस्तित्वमा छन् कि छैनन् भन्ने कुरा प्रमाणित गरौँ। तर आजको बहसमा यो मापदण्ड पनि अप्रासंगिक छ। किनभने रिभेलेशन मेरो नजिक ज्ञानको स्रोत हो, वैध ज्ञानको स्रोत हो, तर जावेद अख्तर साहबका लागि यो वैध ज्ञानको स्रोत होइन। त्यसैले आजको बहसमा म कुनै पनि धार्मिक ग्रन्थबाट एक पनि प्रमाण प्रस्तुत गर्ने छैन, ताकि जावेद अख्तर साहबका लागि त्यो अस्वीकार्य नहोस्।

तेस्रो मापदण्ड हुन सक्छ अवलोकन। अर्थात् कसैले भन्यो,हामीलाई भगवान् देखाइदिनुहोस्। यदि हुनुहुन्छ भने देखाइदिनुहोस्। वा भगवान्को अस्तित्वका लागि अनुभवजन्य प्रमाण दिनुहोस्। तर यो वास्तवमा गलत उपकरणको प्रयोग हो। यो त्यस्तै हो, जस्तै जावेद साहबले मसँग माग गर्नुभयो कि मुफ्ती साहब, तपाईं मेटल डिटेक्टर प्रयोग गरेर प्लास्टिक पत्ता लगाएर देखाउनुहोस्। अब जब प्लास्टिक पत्ता लाग्दैन, त्यसैले प्लास्टिक अस्तित्वमा छैन भन्नु गलत हुन्छ। तपाईं गलत उपकरण प्रयोग गर्दै हुनुहुन्छ। यो उपकरण प्लास्टिक पत्ता लगाउनका लागि बनाइएको नै होइन। त्यसैले भगवान्को अस्तित्वका लागि अनुभवजन्य प्रमाण माग गर्नु एक बालसुलभ माग हो, र म विश्वास गर्छु कि हाम्रो सम्मानित जावेद अख्तर साहब यो स्तरभन्दा धेरै अघि बढिसक्नुभएको छ।

अब बाँकी रहन्छ केवल एउटा मात्र मापदण्ड,अकल, अर्थात् तर्क र विवेक। यही त्यो मापदण्ड हो, जसअन्तर्गत भगवान्को अस्तित्व प्रमाणित वा अस्वीकार गरिनेछ। तर किनकि यो विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ, त्यसैले तर्क पनि यस्तो हुनुपर्छ, जो निर्णायक होस्, अनिश्चित नहोस्, दुई र दुई चार जत्तिकै स्पष्ट होस्, र जसलाई तर्कसंगत रूपमा अस्वीकार गर्न सम्भव नहोस्।

उदाहरणका लागि, यदि हामी भनौँ,हाम्रो सम्मानित श्री सौरभ साहब एक मानिस हुनुहुन्छ, र सबै मानिसहरू चेतनशील प्राणी हुन्छन्, त्यसैले हाम्रो सौरभ साहब पनि चेतनशील प्राणी हुनुहुन्छ। अब यो तर्क अनिश्चित हो कि निर्णायक? यो पूर्ण रूपमा निर्णायक तर्क हो। यो दुई र दुई चार जत्तिकै स्पष्ट छ। यसलाई तर्कसंगत रूपमा अस्वीकार गर्न सकिँदैन। त्यसैले यदि आज जावेद अख्तर साहबले भगवान् अस्तित्वमा छैनन् भन्ने पक्षमा यस्तै कुनै निर्णायक, अक्लीय र तर्कसंगत प्रमाण प्रस्तुत गर्नुभयो भने, म घोषणा गर्दछु कि म निश्चय नै त्यस प्रमाणलाई स्वीकार गर्नेछु र त्यसमा गहिरो विचार गर्नेछु। तर यससँगै म भविष्यवाणीको रूपमा यो पनि घोषणा गर्छु कि यस्तो कुनै निर्णायक तर्क कसैले प्रस्तुत गर्न सक्दैन। हामी तर्क प्रस्तुत गर्नेछौँ, र निर्णायक तर्क प्रस्तुत गर्नेछौँ।

हामी तर्कसंगत दलील दिनेछौँ, यस्ता दलील, जसलाई सम्पूर्ण नास्तिक संसारले पनि खण्डन गर्न सक्दैन। अब एउटा सरल उदाहरण सोचौँ। म सम्पूर्ण दर्शकहरूलाई अनुरोध गर्छु,कल्पना गर्नुहोस्, हामी सबै एक अलग्गै टापुमा छौँ। यस्तो टापु, जहाँ हामीभन्दा पहिले कहिल्यै कोही पुगेको छैन। हिँड्दाहिँड्दै अचानक तपाईंले आफ्नो अगाडि गुलाबी रङको एउटा बल देख्नुभयो, जमिनमा राखिएको।

सबैभन्दा पहिलो प्रश्न तपाईंको दिमागमा के आउनेछ? यो बल यहाँ किन आयो? कसरी आयो? यो गुलाबी रङको नै किन छ? कुनै अर्को रङको पनि हुन सक्थ्यो। यो यस्तै आकारको नै किन छ? कुनै अर्को आकारको पनि हुन सक्थ्यो। स्वाभाविक रूपमा तपाईं यस निष्कर्षतर्फ पुग्नुहुनेछ कि अवश्य नै कसैले यी विशिष्ट गुणहरू सहित यो बल बनाएको छ र यहाँ राखेको छ। किनकि तपाईंलाई थाहा छ,यो बलको अस्तित्व अनिवार्य थिएन। यो अस्तित्वमा नहुन पनि सक्थ्यो। र यदि अस्तित्वमा आउनै थियो भने, कुनै अर्को रूप र रङमा पनि आउन सक्थ्यो।

अब यही बललाई विस्तार गर्दै जानुहोस्, विस्तार गर्दै जानुहोस्, विस्तार गर्दै जानुहोस् । यहाँसम्म कि त्यो बल ब्रह्माण्डकै आकारको भइदियोस्। अब बताउनुहोस्,के आकार बढ्दै जानाले प्रश्न बदलिन्छ? कदापि बदलिँदैन। प्रश्न अझै पनि यही रहन्छ,यो ब्रह्माण्ड कहाँबाट आयो? यी विशिष्ट गुणहरू सहित कहाँबाट आयो? किन आयो? कसले बनायो? यो प्रश्न त्यतिबेला पनि पूर्ण रूपमा वैध रहन्छ।

तर, यदि हामी यही प्रश्न जावेद अख्तर साहबसमक्ष राख्छौँ र केवल उहाँ मात्र होइन, सबै नास्तिकहरू र नास्तिक दृष्टिकोण राख्ने मानिसहरूसँग सोध्छौँ, यो ब्रह्माण्ड कहाँबाट आयो? तिनीहरूको उत्तर या त अज्ञानतामा आधारित तर्क हुनेछ वा ‘डग्म्याटिक’ हुनेछ। या त तिनीहरू भन्छन्, मलाई थाहा छैन यो कहाँबाट आयो, त्यसैले भगवान् अस्तित्वमा छैनन्। यो अज्ञानतामा आधारित तर्क हो। वा तिनीहरू भन्छन्,यो ब्रह्माण्ड आफैं बन्यो। यसको अर्थ यो हुन्छ कि त्यो बल पनि आफैं बनिनु पर्थ्यो। तर बलको सन्दर्भमा यस्तो व्याख्या स्वीकार गरिँदैन कि यो आफैं बन्यो, तर ब्रह्माण्डको सन्दर्भमा भने स्वीकार गरिन्छ। यसलाई हामी अर्को शब्दमा ‘डग्मा’ पनि भन्न सक्छौँ।

अर्को कुरा, हाम्रो जावेद अख्तर साहब अवश्य पनि “गड अफ ग्याप्स” को उदाहरण दिनुहुनेछ। उहाँ भन्नुहुनेछ, पहिले बिजुली चम्किँदा मानिसहरूले कुनै देवतालाई जिम्मेवार ठान्थे, पानी पर्दा अर्को देवतालाई ठान्थे। उनीहरूसँग प्रमाण थिएन। तर यो हाम्रो विश्वदृष्टि होइन। यो हाम्रो विश्वदृष्टि नै होइन। किनकि प्राकृतिक घटनाहरूको प्रक्रियाको व्याख्या बुझ्नुले कसरी यो प्रमाणित हुन्छ कि भगवान् अस्तित्वमा छैनन्? यसबारे म अझै अगाडि कुरा गर्नेछु।

म यो पनि अपेक्षा गर्छु कि हाम्रो सम्मानित जावेद अख्तर साहब भावनात्मक तर्कहरू पनि प्रस्तुत गर्नुहुनेछ, जुन सत्य निर्णय गर्ने सन्दर्भमा तर्कदोष हुन्छ। उदाहरणका लागि उहाँ भन्नुहुनेछ,यदि भगवान् छन् भने खराबी किन अस्तित्वमा छ? तर म भन्छु,खराबीको अस्तित्व भगवानको अस्तित्वको विरोधमा होइन, बरु समर्थनमा तर्क हो। किनकि यदि भगवान् छन् भने हामी सबै उहाँका सामु उत्तरदायी छौँ। र यदि हामी उत्तरदायी छौँ भने, उत्तरदायित्वका लागि खराबीको अस्तित्व आवश्यक हुन्छ। यसको बिना हामी उत्तरदायी हुनै सक्दैनौँ।

र, यदि हामी उत्तरदायी छैनौँ भने जावेद अख्तर साहबलाई सोध्नेछौँ,यदि भगवान् छैनन् भने यस संसारमा पीडा किन छ? अनि ती मानिसहरूको भावना र न्याय के, जसले पीडा सहेर बदला लिने इच्छा मनमै लिएर यस संसारबाट गए? के उनीहरूको सबै पीडा व्यर्थ गयो?

अब फेरि त्यही उदाहरणतर्फ फर्कौँ,यदि कसैले मसँग सोध्यो, यो बल कसले बनायो? वा यो विस्तारित बल कसले बनायो? म भन्छु,किनकि यो ब्रह्माण्ड र यसभित्रका सबै वस्तुहरू कन्टिन्जेन्ट छन्। कन्टिन्जेन्ट हुनुको अर्थ,आफ्नो अस्तित्वका लागि कसैमाथि निर्भर हुनु। स्पष्ट रूपमा यो ब्रह्माण्ड कन्टिन्जेन्ट छ। यदि कसैले भन्यो, ब्रह्माण्डमा कुनै चीज कन्टिन्जेन्ट छैन, म विनम्रतापूर्वक अनुरोध गर्छु, कृपया देखाइदिनुहोस्, कुन चीज कन्टिन्जेन्ट छैन। हामी पनि हेरौँ, हामी पनि विचार गरौँ।

दर्शनशास्त्रीहरूको शब्दावलीअनुसार ‘कन्टिन्जेन्ट’ वस्तुहरू अस्तित्वमा हुँदा हामी त्यस्तो अस्तित्वसम्म पुग्छौँ, जसलाई “नेसेसरी बीइंग” भनिन्छ । यस्तो अस्तित्व नहुनु असम्भव हो। किनकि यदि त्यो अस्तित्वमा नहुने हो भने कुनै पनि वस्तु अस्तित्वमा आउनै सक्दैन। र, यी सबै कन्टिन्जेन्ट वस्तुहरू अन्ततः उसैमा निर्भर छन्।

अब यदि तपाईं सोध्नुहुन्छ, त्यो अस्तित्वलाई कसले बनायो? त्यसको कारण के हो? फेरि त्यसको कारण के हो? र यसरी अनन्तसम्म जानुहुन्छ भने यसलाई हामी कारणहरूको अनन्त प्रतिगमन (इन्फिनिट रिग्रेस अफ कॉजेज) भन्छौँ, जुन तर्कदोष हो। अवधारणात्मक रूपमा अनन्त सम्भव हुन सक्छ, जस्तै सङ्ख्याहरू एक, दुई, तीन गर्दै गनिरहँदा अनन्तसम्म जान सकिन्छ। तर, म अवधारणाको कुरा गरिरहेको छैन। म व्यवहारिक वास्तविकतामा कुरा गरिरहेको छु। व्यवहारिक रूपमा देखाएर प्रमाणित गरिदिनुहोस् कि कारणहरूको अनन्त श्रृंखला सम्भव छ। यदि सम्भव छ भने, हामी मान्नेछौँ। उदाहरण दिनुहोस्। र, यदि सम्भव छैन भने, केवल एउटा मात्र विकल्प बाँकी रहन्छ: नेसेसरी बीइंग।

त्यस्तो नेसेसरी बीइंग, जो पूर्ण रूपमा स्वतन्त्र छ। किनभने, यदि त्यो पनि निर्भर भयो भने नेसेसरी रहनेछैन। त्यस्तो अस्तित्व, जो शाश्वत हो। यदि त्यो शाश्वत भएन र कुनै सुरुवात भयो भने स्वयं कन्टिन्जेन्ट हुनेछ। त्यस्तो अस्तित्व, जो शक्तिशाली छ किनभने कन्टिन्जेन्टलाई वास्तविक बनाउन शक्ति आवश्यक हुन्छ। त्यस्तो अस्तित्व जो बुद्धिमान र ज्ञानवान छ किनभने यो ब्रह्माण्ड विशिष्ट रूप र विशिष्ट प्राकृतिक नियमहरूअन्तर्गत अत्यन्तै सटीक रूपमा चलिरहेको छ।

जावेद अख्तर

धन्यवाद। सबैभन्दा पहिले म यो स्पष्ट गर्न चाहन्छु कि म यहाँ कुनै धर्ममाथि आक्रमण गर्न आएको छैन। म यहाँ कुनै धर्मको अपमान गर्न आएको छैन। म यहाँ कुनै धार्मिक विश्वास राख्ने मानिसलाई कम आँक्न आएको छैन। म केवल आफ्नो दृष्टिकोण, आफ्नो सोच, आफ्नो तर्क राख्न आएको छु।

म यो पनि स्पष्ट गर्न चाहन्छु कि नास्तिक हुनु कुनै घमण्डको विषय होइन, कुनै श्रेष्ठताको दाबी होइन। यो केवल एउटा निष्कर्ष हो, जुन म आफ्नो जीवनअनुभव, अध्ययन र सोचको आधारमा निकाल्न पुगेको छु। जति अधिकार एक धार्मिक मानिसलाई भगवान्माथि विश्वास गर्ने छ, उति नै अधिकार मलाई भगवान्माथि विश्वास नगर्ने पनि छ।

आजको बहसको विषय “के भगवान् अस्तित्वमा छन्?” हो। मेरो सीधा उत्तर छ,मलाई थाहा छैन। र म यो “मलाई थाहा छैन” भन्नु इमानदार उत्तर ठान्छु। किनभने जहाँ प्रमाण छैन, त्यहाँ निश्चित दाबी गर्नु बौद्धिक इमानदारी हुँदैन।

मुफ्ती साहबले विज्ञानको कुरा गर्नुभयो। म यसमा सहमत छु कि विज्ञान भगवान्को अस्तित्व न त प्रमाणित गर्न सक्छ, न त खण्डन। तर विज्ञानले एउटा कुरा अवश्य सिकाएको छ,हामीलाई नथाहा भएका कुराहरूको सूची निरन्तर सानो हुँदै गइरहेको छ। एक समय थियो, जब मानिसहरूलाई बिजुली चम्किँदा डर लाग्थ्यो, जब पानी पर्दा डर लाग्थ्यो, जब रोग लाग्दा डर लाग्थ्यो। आज ती सबै कुराहरूको वैज्ञानिक व्याख्या छ।

जब हामी मलाई थाहा छैन भन्छौँ, यसको अर्थ हामीले त्यस खाली ठाउँमा भगवान् राखिदिनुपर्छ भन्ने हुँदैन। इतिहासले हामीलाई यही कुरा सिकाएको छ कि हरेक “ग्याप” मा भगवान् राख्ने बानी अन्ततः गलत सावित भएको छ। आज हामी त्यसलाई “गड अफ ग्याप्स” भन्छौँ।

मुफ्ती साहबले एउटा बलको उदाहरण दिनुभयो। म त्यो उदाहरणसँग सहमत छैन। किनभने, बल एउटा मानव निर्मित वस्तु हो। हामीलाई थाहा छ, बल बनाइन्छ। हामीले बल बनाउँदै गरेको देखेका छौँ। तर ब्रह्माण्डको सन्दर्भमा हामीले कहिल्यै कुनै ब्रह्माण्ड बनाउँदै गरेको देखेका छैनौँ। त्यसैले दुवैलाई एउटै तराजुमा राख्नु बौद्धिक रूपमा सही छैन।

हामीलाई यो स्वीकार गर्नुपर्छ कि “मलाई थाहा छैन” भन्नु कमजोरी होइन। यो वैज्ञानिक सोचको आधार हो। यदि आज हामीले थाहा नभएको हरेक कुरामा भगवान् घुसाइदियौँ भने अनुसन्धान, जिज्ञासा र खोज सबै बन्द हुन्छन्। प्रश्न सोध्ने परम्परा नै समाप्त हुन्छ।

अब म खराबीको प्रश्नतर्फ आउँछु। यदि भगवान् सर्वशक्तिमान छन्, यदि भगवान् सर्वज्ञ छन्, यदि भगवान् पूर्ण रूपमा दयालु छन् भने, यस संसारमा यति धेरै पीडा, अन्याय, हिंसा र दुःख किन छ? बालबालिका किन पीडित छन्? निर्दोष मानिसहरू किन मारिन्छन्? यदि हामी भन्छौँ,यो सबै परीक्षा हो,त्यो उत्तर मलाई स्वीकार्य लाग्दैन।

यदि भगवान् छन् भने र उहाँले सबै देखिरहनुभएको छ भने उहाँ मौन किन हुनुहुन्छ? र, यदि भगवान् छैनन् भने कम्तिमा हामीलाई यो थाहा छ कि यो संसार हाम्रो जिम्मेवारी हो। तब अन्यायका लागि हामी एक–अर्कालाई दोष दिन सक्छौँ र सुधार गर्ने प्रयास गर्न सक्छौँ।

नैतिकता भगवानबाट आउँछ भन्ने कुरा पनि म स्वीकार गर्दिनँ। मानिसहरूले भगवान् नभए पनि नैतिकता विकास गरेका छन्। सहानुभूति, करुणा, सहयोग सबै मानवीय गुण हुन्। यी गुणहरू केवल धार्मिक विश्वासका कारण होइन, सामाजिक सहअस्तित्वका कारण विकसित भएका हुन्।

अन्त्यमा म यति मात्र भन्न चाहन्छु; म भगवान् अस्तित्वमा छैनन् भनेर प्रमाणित गर्न सक्दिनँ। तर म भगवान् अस्तित्वमा छन् भनेर विश्वास गर्नका लागि पर्याप्त कारण पनि देख्दिनँ। त्यसैले म “मलाई थाहा छैन” भन्ने स्थानमा उभिएको छु। र, म यसलाई बौद्धिक रूपमा सबैभन्दा इमानदार स्थान ठान्छु।

मुफ्ती शमाइल नदवी

म जावेद अख्तर साहबको वक्तव्यका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँले इमानदारीपूर्वक “मलाई थाहा छैन” भन्ने स्थान रोज्नुभएको छ। तर, म सम्मानपूर्वक भन्न चाहन्छु, “मलाई थाहा छैन” भन्ने वाक्य एउटा मनोवैज्ञानिक अवस्था हुन सक्छ तर यो कुनै दार्शनिक निष्कर्ष होइन। यदि “मलाई थाहा छैन” नै अन्तिम उत्तर हो भने तब कुनै पनि दार्शनिक बहस सम्भव हुँदैन।

जावेद साहबले “गड अफ ग्याप्स” को कुरा गर्नुभयो। म स्पष्ट रूपमा भन्न चाहन्छु; हाम्रो तर्क “गड अफ ग्याप्स” होइन। हामी यो भनिरहेका छैनौँ कि जहाँ विज्ञानले उत्तर दिन सकेन, त्यहाँ भगवान् घुसाइदिउँ। हामी के भनिरहेका छौँ भने यो ब्रह्माण्ड स्वयं एक तथ्य हो । एक वास्तविकता हो ।  र, यस वास्तविकताको अस्तित्वका लागि अन्तिम व्याख्या आवश्यक छ। प्रक्रियाको व्याख्या हुनु र अस्तित्वको व्याख्या हुनु दुई फरक कुरा हुन्।

बलको उदाहरणबारे जावेद साहबले भन्नुभयो,बल मानव निर्मित हो, ब्रह्माण्ड होइन। तर म सोध्न चाहन्छु, बल मानव निर्मित हो भन्ने कुरा हामीलाई कसरी थाहा भयो? किनभने, बलमा विशिष्ट गुणहरू छन्, उद्देश्य देखिन्छ र हामीसँग तर्क छ। यही तर्क हामी ब्रह्माण्डमा पनि प्रयोग गरिरहेका छौँ। ब्रह्माण्डमा अझ धेरै नियम, सन्तुलन र विशिष्टता देखिन्छ। यदि सानो बलले निर्माता संकेत गर्छ भने असीमित रूपमा जटिल ब्रह्माण्डले निर्माता संकेत किन नगर्ने?

जावेद साहबले “मलाई थाहा छैन” भन्नु बौद्धिक इमानदारी हो भन्नुभयो। तर म भन्छु यदि सबै प्रमाणहरू एक दिशातर्फ इङ्गित गरिरहेका छन्; तब “मलाई थाहा छैन” भन्नु इमानदारी होइन, पलायन हुनसक्छ। यदि हामी धुवाँ देख्छौँ भने आगो हुन सक्छ भन्ने निष्कर्ष निकाल्नु तर्कसंगत हुन्छ।

अब खराबीको प्रश्नमा आउँछु। जावेद साहबले सोध्नुभयो, यदि भगवान् दयालु छन् भने संसारमा यति धेरै पीडा किन? तर म फेरि भन्छु; खराबीको अस्तित्व भगवानको विरोधमा होइन। नैतिकता, न्याय र अन्यायका अवधारणा स्वयं भगवानको अस्तित्वतर्फ इङ्गित गर्छन्। यदि कुनै परम नैतिक मापदण्ड छैन भने, “खराब” भन्नुको अर्थ के रहन्छ?

जावेद साहबले भन्नुभयो, यदि भगवान् मौन छन् भने? म भन्छु, भगवान् मौन छैनन्। प्रकृतिका नियमहरू, मानव विवेक, नैतिक चेतना, यी सबै उहाँका संकेत हुन्। र, यदि हामीले सबै कुरा जबरजस्ती प्रत्यक्ष चमत्कारमार्फत मात्र चाह्यौँ भने तर्क होइन, जिद्दी हुन्छ।

जावेद साहबले भन्नुभयो, नैतिकता भगवानबाट आएको होइन। तर म सोध्न चाहन्छु, यदि नैतिकता केवल सामाजिक सहमतिमा आधारित हो भने त्यो सधैँ परिवर्तनशील हुन्छ। तब, हिटलर गलत किन थियो? केवल किनभने बहुमतले अस्वीकार गर्‍यो? वा कुनै वस्तुगत नैतिक सत्य पनि हुन्छ?

जावेद अख्तर

मुफ्ती साहबले ‘मलाई थाहा छैन’ लाई दार्शनिक निष्कर्ष होइन भन्नुभयो। तर, म फेरि दोहोर्याउन चाहन्छु,जहाँ निश्चित ज्ञान छैन, त्यहाँ “मलाई थाहा छैन” भन्नु नै सबैभन्दा इमानदार निष्कर्ष हो। इतिहासले यही सिकाएको छ कि निश्चित दाबीहरू धेरै पटक गलत सावित भएका छन्।

मुफ्ती साहबले भन्नुभयो, अस्तित्वको व्याख्या आवश्यक छ। म सहमत छु। तर आवश्यक छ भन्दैमा हामीसँग उत्तर छ भन्ने हुँदैन। आवश्यकताले सत्य जन्माउँदैन। आवश्यकता र प्रमाण दुई फरक कुरा हुन्।

बलको उदाहरण फेरि आउँछ। तर म पुनः भन्छु, हामीले बल बनाउँदै गरेको देखेका छौँ। ब्रह्माण्ड बनाउँदै गरेको कहिल्यै देखेका छैनौँ। तुलना यहाँ असफल हुन्छ। जटिलता आफैंमा निर्माताको प्रमाण होइन। प्रकृतिमा जटिलता स्वतः विकसित हुन सक्छ, र यसका उदाहरणहरू हामी विकासवादमा देख्छौँ।

नैतिकताको प्रश्नमा म यो स्पष्ट गर्न चाहन्छु, नैतिकता परम आदेशबाट होइन, मानवीय अनुभव, सहानुभूति र सामाजिक आवश्यकताबाट विकसित हुन्छ। हिटलर गलत थियो किनभने उसले पीडा दियो, मानिसहरूलाई मारे, र मानव सहअस्तित्व नष्ट गर्‍यो। यसको लागि भगवान् आवश्यक छैन।

अन्त्यमा म फेरि यही भन्छु, म भगवान् छैनन् भनेर प्रमाणित गर्न सक्दिनँ। तर, म भगवान् छन् भनेर विश्वास गर्न बाध्य पार्ने कुनै निर्णायक प्रमाण पनि देख्दिनँ। त्यसैले म “मलाई थाहा छैन” भन्ने स्थानमै उभिएको छु।

मुफ्ती शमाइल नदवी

म पुनः एक पटक स्पष्ट गर्न चाहन्छु, हामी “गड अफ ग्याप्स” को तर्क दिइरहेका छैनौँ। हामी कुनै पनि वैज्ञानिक खाली ठाउँमा भगवान् राख्न खोजिरहेका छैनौँ। हामी एउटा आधारभूत दार्शनिक प्रश्न सोधिरहेका छौँ, यो ब्रह्माण्ड अस्तित्वमा किन छ? विज्ञानले “कसरी” को उत्तर दिन सक्छ, तर “किन” को उत्तर दिन सक्दैन। अस्तित्वको अन्तिम कारण खोज्नु विज्ञानको विरोध होइन।

जावेद साहबले विकासवादको कुरा गर्नुभयो। विकासवाद जैविक विविधताको व्याख्या हो, अस्तित्वको अन्तिम कारणको होइन। जीवहरू कसरी विकसित भए भन्ने प्रश्न र ब्रह्माण्ड नै किन अस्तित्वमा आयो भन्ने प्रश्न एउटै होइनन्। यी दुईलाई मिसाउनु श्रेणीगत भ्रम हो।

जटिलता मात्र होइन, नियमबद्धता पनि महत्त्वपूर्ण छ। ब्रह्माण्ड अन्धाधुन्ध अराजकतामा छैन। यो निश्चित गणितीय नियमहरूअन्तर्गत चलिरहेको छ। यी नियमहरू यति सूक्ष्म रूपमा सन्तुलित छन् कि सानो परिवर्तनले पनि जीवन असम्भव हुन सक्थ्यो। यसलाई हामी “फाइन–ट्युनिङ” भन्छौँ। यो फाइन–ट्युनिङ संयोग हो भन्नु तर्कसंगत छैन।

अब नैतिकताको विषयमा फेरि फर्किन्छु। यदि नैतिकता केवल सामाजिक सहमति हो भने, समाजले गलत ठानेको कुरा गलत र सही ठानेको कुरा सही हुन्छ। तर इतिहासमा धेरै समाजहरूले दासप्रथा, नरसंहार र उत्पीडनलाई सही मानेका छन्। यदि त्यो बेला समाज सहमत थियो भने, के ती कुरा सही थिए? यदि होइन भने, तब नैतिकताको कुनै वस्तुगत मापदण्ड अवश्य हुनुपर्छ।

जाबेद अख्तर

मुफ्ती साहबले “किन” र “कसरी” को भिन्नता उल्लेख गर्नुभयो। तर, म यो भिन्नतालाई पूर्ण रूपमा स्वीकार गर्दिनँ। इतिहासले देखाएको छ, जहाँ “किन” को प्रश्न थियो, त्यहाँ “कसरी” को उत्तर आएपछि “किन” आफैं विलीन भयो। सूर्य किन उदाउँछ भन्ने प्रश्न थियो। आज हामीलाई थाहा छ,पृथ्वीको घुमाइका कारण उदाउँछ। अब त्यो “किन” अलग प्रश्न रहेन।

फाइन–ट्युनिङको तर्क पनि निर्णायक होइन। हामी एउटा मात्र ब्रह्माण्ड देखिरहेका छौँ। तुलना गर्नका लागि अर्को ब्रह्माण्ड छैन। यदि अरबौँ ब्रह्माण्ड छन् भने एउटा यस्तो हुनु असम्भव छैन, जहाँ जीवन सम्भव छ। यसलाई मल्टिभर्स परिकल्पना भनिन्छ। यो प्रमाणित छैन तर फाइन–ट्युनिङजस्तै अप्रमाणित छ।

नैतिकताको सन्दर्भमा समाजले गलत कामहरू स्वीकार गरेको इतिहास छ भन्ने कुरामा म सहमत छु। तर त्यसको अर्थ यो होइन कि नैतिकताको स्रोत भगवान् नै हुनुपर्छ। यसको अर्थ केवल यति हो मानव समाज अपूर्ण छ। हामी सिक्दै जान्छौँ, सुधार्दै जान्छौँ। नैतिक प्रगति स्वयं मानव अनुभवको परिणाम हो।

म यति मात्र भन्न चाहन्छु, अनिश्चितताको ठाउँमा विश्वास राख्नु व्यक्तिगत अधिकार हो। तर अनिश्चिततालाई निश्चित सत्यका रूपमा प्रस्तुत गर्नु समस्या हो।

शमाइल नदवी

जावेद साहबले मल्टिभर्सको कुरा गर्नुभयो। तर, मल्टिभर्स कुनै वैज्ञानिक तथ्य होइन, एउटा दार्शनिक परिकल्पना हो। यदि प्रमाण बिना मल्टिभर्स मान्न सकिन्छ भने प्रमाण बिना भगवान् मान्न किन समस्या हुन्छ? वास्तवमा मल्टिभर्स भगवानको विकल्प होइन, केवल प्रश्नलाई पछाडि सार्ने प्रयास हो।

“किन” को प्रश्न विज्ञानले समाधान गर्‍यो भन्ने दाबी पनि पूर्ण रूपमा सही छैन। पृथ्वी किन घुम्छ भन्ने प्रश्नको उत्तर दिन सकिन्छ। तर, अस्तित्व नै किन छ भन्ने प्रश्न त्यहीँ रहन्छ। केही नहुनुको सट्टा केही किन छ,यो प्रश्न विज्ञानको दायराभन्दा बाहिर छ।

मेरो अन्तिम बिन्दु यही हो, तर्क, विवेक र दर्शनले भगवानको अस्तित्वतर्फ संकेत गर्छन्।

जावेद अख्तर

मुफ्ती साहबले मल्टिभर्सलाई दार्शनिक परिकल्पना भन्नुभयो। म सहमत छु। तर फरक यति हो,मल्टिभर्स कुनै पूजा वा नैतिक आदेश माग्दैन। भगवान्को अवधारणा भने त्यससँगै धेरै दाबीहरू ल्याउँछ। त्यसैले दुवैलाई बराबर राख्न मिल्दैन।

“केही नहुनुको सट्टा केही किन छ” भन्ने प्रश्न रोचक छ, तर यसको उत्तर नहुनु पनि सम्भव छ। सबै प्रश्नको उत्तर हुनैपर्छ भन्ने मान्यता स्वयं प्रमाणित छैन। अज्ञातसँग शान्ति गर्न सिक्नु पनि बौद्धिक परिपक्वता हो।

मुफ्ती शमाइल नदवी

यो बहसको अन्त्यमा भन्न चाहन्छु, हामी भावनामा होइन, तर्कमा कुरा गरिरहेका छौँ। ब्रह्माण्डको अस्तित्व, यसको नियमबद्धता, नैतिकताको वस्तुगत स्वरूप,यी सबैले एउटा आवश्यक, स्वतन्त्र, बुद्धिमान अस्तित्वतर्फ इङ्गित गर्छन्। विज्ञानले प्रक्रियाहरू बताउँछ तर अस्तित्वको अन्तिम कारण बताउन सक्दैन। त्यसैले तर्क र विवेकले भगवान्को अस्तित्व स्वीकार गर्न बाध्य पार्छ।

जावेद अख्तर

अन्त्यमा, म भगवान् छैनन् भनेर प्रमाणित गर्न सक्दिनँ । र, मैले त्यसको प्रयास पनि गरेको छैन। तर म भगवान् छन् भनेर विश्वास गर्न पर्याप्त कारण देख्दिनँ। “मलाई थाहा छैन” भन्नु कमजोरी होइन, इमानदारी हो। प्रश्नहरू खुला राख्नु, खोज जारी राख्नु,यही मानव बुद्धिको सुन्दरता हो।

स्वागत नेपाल नेतृत्वको ‘उन्नत लोकतान्त्रिक पाटी’ ले बुझायो बन्दसूची

काठमाडौं । अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टी (एडभान्स डेमोक्रेटिक पार्टी) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गरेको छ । सोमबार उन्नत लोकतान्त्रिक पार्टीले समानुपातिकको बन्द सूची आयोगमा बुझाएको हो । राजालाई भोट हाल्न चाहनेका लागि खुला किताब चिह्न लिएर सो पार्टीले समानुपातिकको बन्दसूची बुझाएको सो दलका अध्यक्ष अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

‘मुखमा पार्टी भए पनि राजाका लागि भोट हाल्ने मन भएकाका लागि साझा चिह्न चाहियो भनेर राजसंस्थावादीको सल्लाह भएर खुला किताब चिह्नसहित आयोगमा आएका हौं’, नेपालले भने । २०७९ सालको चुनावमा झापा २ बाट स्वतन्त्र चुनाव लडेका नेपालले आफू यस पटक पनि सोही ठाउँबाट प्रत्यक्ष चुनाव लड्ने बताए । प्रतिनिधि सभाको सभामुख बनेका देवराज घिमिरेसँग उनी झिनो मतले पराजित भएका थिए ।

रेशम चौधरीको प्रश्न : ओली, बालेन र रविले चुनाव लड्न पाउने, मैले नपाउने भन्ने हुन्छ ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरीले आफूलाई चुनाव लड्न नदिने हो भने देशका शीर्ष नेताहरू पनि चुनाव लड्न अयोग्य हुने दाबी गरेका छन् । आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीलाई लिएर उठाइएका प्रश्नहरूलाई उनले ‘राजनीतिक पूर्वाग्रह’ को संज्ञा दिएका छन् ।

आफ्नो दलको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू चुनाव लड्न नपाउने भन्ने बहस नै गलत रहेको बताएका छन् । ‘रेशम चौधरीले चुनाव लड्न पाउँदैन भन्नु सबैभन्दा गलत प्रश्न हो’, उनले भने, ‘यदि म अयोग्य हुँ भने केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा वा रवि लामिछाने कसरी योग्य हुन्छन् ?’

उनले कानुनी र नैतिक मापदण्ड सबैका लागि समान हुनुपर्नेमा जोड दिए । जेल जीवन भोगेका वा विभिन्न विवादमा मुछिएका नेताहरूलाई चुनाव लड्न दिइने तर आफूलाई रोक्ने प्रयास हुनु अन्यायपूर्ण भएको उनको भनाइ थियो । चौधरीले २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’ स्मरण गर्दै उक्त आन्दोलन राज्य दमनविरुद्ध भएको दाबी गरे । आन्दोलनका क्रममा ७७ जनाले ज्यान गुमाएको र धेरै घाइते अझै उपचाररत रहेको उल्लेख गर्दै उनले ती घटनाका बेला सत्तामा रहेका नेताहरूलाई चुनाव लड्न छुट दिइनु तर आफूलाई वञ्चित गरिनु दोहोरो मापदण्ड भएको बताए ।
‘जेनजी आन्दोलनमा बगेको रगत सुक्न नपाउँदै ओली–देउवाहरू चुनाव लड्न पाउने, थारु भएकै कारण म नपाउने ?’ उनले प्रश्न गरे ।

उनले अदालत र राज्य संयन्त्रप्रति पनि प्रश्न उठाउँदै भने, ‘यहाँ जे पनि सम्भव छ । अदालतले प्रचण्डलाई चुनाव लड्न दिने अधिकार दिन्छ भने मलाई किन नदिने ?’ टीकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका बेला राष्ट्रपतिबाट सजाय मिनाहा भएको विषय उठेपछि चौधरीले आफू घटनामा संलग्न नै नरहेको दोहोर्‍याए । ‘फौजदारी कार्यविधि संहिताअनुसार घटनास्थलमा नभएको व्यक्तिलाई अभियुक्त बनाउन मिल्दैन’, उनले भने, ‘म घटनास्थलमै थिइनँ, त्यसपछि म कसरी दोषी भएँ ?’ उनले नेपालमा अझै पनि जातीय पहिचानका आधारमा विभेद र अन्याय भइरहेको आरोप लगाउँदै थारु समुदाय भएकै कारण आफूलाई लक्षित गरिएको दाबी गरे । ‘जातका आधारमा अन्याय र दमन अब स्वीकार्य हुँदैन, चौधरीले भने ।

 

 

निर्वाचनमा एमालेसँग सहकार्य गरेर जान सकिन्छ : राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा (एमाले) सँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गरेका छन् । सोमवार आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेका उनले एमालेसँग पनि कुरा शुरु गरिएको संकेत गर्दै सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताएका हुन् । नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सकिने समेत स्पष्ट पारे ।

उनले भने, ‘नेकपा एमालेसँग एकताको कुरा केही भएको भए विस्तारै आइहाल्छ । आज म भन्न सक्दिनँ, भन्दिनँ । रोकिँदैन । अरु दलहरुसँग पनि सहकार्य गर्ने कुरा संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, कम्युनिष्ट आन्दोलनको रक्षा, देशको रक्षा गर्ने कुरामा जो जो पार्टीहरु हामीसँग सहकार्य गर्न आउँछन् । उनीहरुसँग सहकार्य हुन्छ ।’

उनले भने, ‘हामीले विगतमा समानुपातिकबाट निर्वाचित भएका, विगतमा मन्त्री भईसकेका, प्रत्यक्षबाट सांसद भइसकेकाहरुलाई समानुपातिकमा आउने नदिने गरी निर्णय गर्‍यौँ । युवा पुस्तालाई पनि ध्यान दिएका छौ । ११० जना हामीले पेश गर्ने हो । आदिवासी, जनजाति, महिला, दलित, मधेशी, थारु, खसआर्य । यी सबै क्लष्टरबाट नेपालको संविधान र निर्वाचन कानूनअनुसार जो व्यवस्था गरिएको छ । र हालसालै सरकारले ल्याएको अध्यादेशअनुसार पनि हामीले ल्याएका छौँ ।’ नेता पाण्डेले विगतमा सांसद तथा मन्त्री भएकाहरुलाई समानुपातिक सूचीमा नराख्ने पार्टीका निर्णयअनुसार बन्द सूची निर्वाचन आयोगमा बुझाएको पनि बताए ।

 

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र

दाङ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ । अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभीले जनाएको छ ।

घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भए पनि पहिलो चरणमा सौडीकुलादेखि गुर्जेखोलासम्मको काम सुरु गरेको कम्पनीका कन्ट्र्याक्ट म्यानेजर सुनिल ढुङ्गानाले बताए। उनका अनुसार सो क्षेत्रमा सडकमा पर्ने विद्युत्का खम्बालाई व्यवस्थापन गर्नका लागि विद्युत् कार्यालयलाई अनुरोध गरिएको छ । गत मङ्सिर १ गतेदेखि द्ुई स्काभेटर लगाएर काम सुरुआत गरिएता पनि अहिले भने एक दर्जन बढी सवारीसाधन, रोलिङ मेसिन र आवश्यकताअनुसार मजदुर थपगरेर कामलाई तीव्र रुपमा अगाडि बढाइएको छ । “जति सक्यो छिटो काम सक्ने गरी अगाडि बढेको भन्दै सम्झौता मितिभन्दा अघि सक्ने हाम्रो लक्ष्य छ”, उनले भने, “त्यो अनुसार हामीले काम अघि बढाएका छौँ ।”

अहिले माटो ‘फिलिङ’ गर्ने र झाडी फाल्ने माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम भइरहेको छ । उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ । बीचबीचमा मेडिएन र दुवैतर्फ दुई÷दुई लेनको हुने उनले बताए । त्यसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुने छभने अन्य स्थानमा चारलेन मात्रै हुनेछ । सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइने छ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । चार लेनकै कामको सहजताका लागि सडकखण्डकै बेलझुण्डी रङ्गशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गरिएको छ । पानीका लागि डिपबोरिङ र त्यही साइड अफिस राखिएको छ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको छ । निर्माणको प्राविधिक जिम्मा सडक डिभिजन कार्यालयले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुङ्गा, गिट्टी र बिटुमिनतार मिसाएर कालोपत्र गरिनेछ ।

सम्झौता भएको मितिले ३६ महिनामा सक्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए । उनका अनुसार असारमा श्री दिवा–बन्दना भगवती जेभीसँग सम्झौता भएको हो । भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक निर्माण हुनेछ । मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानको काम भएर गत फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ । यसअघि सडकमा ठेक्का लागे बीचमै अलपत्र छाड्दा आवतजावतमा समस्या हुनुका साथै यात्रुहरु निकै मारमा थिए ।

“अहिले सडक निर्माणको कार्य दिनप्रति दिन निरन्तर अघि बढेकाले अब भने बाटो बन्छ भन्नेमा ढुक्क भएका छौँ”, सौडिकुला निवासी रामबहादुर चौधरीले भने। यसैबीच सडक डिभिजन कार्यालयले अहिले सडक निर्माणको काम भइरहेकाले सहजतापूर्वक यात्रा गर्न आम सवारीचालकलाई अनुरोध गरेको छ ।

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको एउटै चुनाव चिन्ह

काठमाडौं । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एउटै चुनाव चिह्नबाट प्रतिष्पर्धा गर्ने भएका छन् । तीनै दलले नाउपा नेपालको जाँतो चिन्हबाट चुनाव लड्ने सहमति भएको हो । एउटा समूह नेपाली कम्युनिष्ट पार्टी र अर्को समूह जसपा नेपालमा फर्किएपछि जसपामा अध्यक्ष अशोक राईको समूह मात्र बाँकी रहेको थियो ।

राईले राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरीको नाउपा नेपालसँगै मिलेर चुनाव लड्ने सहमति गरेका हुन् । तीनै दल सोमबार समानुपातिकको एकीकृत बन्दसूची लिएर निर्वाचन आयोग पुगेका छन् । तीन वटै पार्टीले नाउपाको जाँतो चिन्हमा समानुपातिक तर्फको बन्द सूची बुझाउँदै छन्। ‘हामीले एउटै चिन्हमा बन्दसूची बुझाउँदैछौं,’ जसपा नेतृ सुशीला श्रेष्ठले भनिन् ।

उपत्यका ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ । उक्त म्याजिक लाइटलाई लायन्स कल्ब अफ काठमाडौँ थलीले खरिद गरी आज जिल्ला प्रशासन कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले लायन्स क्लब अफ काठमाडौँ थलीको यो सहयोगको सराहना गर्दै म्याजिक लाइटले काठमाडौँमा रातको समयमा ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले भने , “काठमाडौँको सडकमा रातको समयमा ट्राफिक व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको छ, धेरै समय गाडी ट्राफिक नदेखी ठक्कर दिने अवस्था आउने गर्छ, म्याजिक लाइटको प्रयोगले यो समस्यामा केही हदसम्म राहत पु¥याउनेछ ।” उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालय र यसको संरचनामा आएको क्षतिका बारेमा जानकारी दिए। उनले भने, “पाँच मिनेटका लागि पनि ट्राफिकविनाको चोकको अवस्था कस्तो होला ? यसलाई हामी सबैले अनुमान गर्न सक्दछौँ, यो अवस्थाले केवल सवारी सञ्चालनमा मात्र नभएर, सार्वजनिक जीवनमा पनि ठूलो प्रभाव पार्दछ, यसैले म्याजिक लाइटको प्रयोगले सवारी व्यवस्थापनमा नयाँ आशा थप्ने विश्वास गरेका छौँ ।”

यसैगरी उनले जेनजी आन्दोलनका कारण ट्राफिक कार्यालयका विभिन्न भवन र उपकरणसहित ट्राफिक प्रहरीका लुगा जल्नाका साथै व्यापक क्षति पुगेको भन्दै दुःखसमेत व्यक्त गरे । उनले भने, “आगजनीका कारण हामीलाई ट्राफिक व्यवस्थापनमा ठूलो समस्या आएको थियो, अहिले नागरिक स्तरबाट पुनर्निर्माणका प्रक्रिया आरम्भ भएका छन् र हामी यसलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रयासमा जुटेका छौँ ।”

लायन्स क्लब अफ थलीका अध्यक्ष रुपक सिमखडाले म्याजिक लाइट सहयोगको महत्व र उद्देश्यलाई स्पष्ट पार्दै समाजको सुधार तथा सहकार्यका लागि यस प्रकारका सहयोग र सहकार्य निरन्तर जारी रहने जनाए। उनले भने, “हामी सधैं समाजको लागि आवश्यक सहयोग प्रदान गर्ने प्रयास गर्छौँ, ट्राफिक व्यवस्थापनको सुधारका लागि हामीले गरेको यो पहल सँगै यो संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नेछ ।”

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजार भन्दा बढी आप्रवासीको मृत्यु : अधिकार समूह

एजेन्सी- सन् २०२५ मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजार भन्दा बढी आप्रवासीहरूको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आप्रवासीहरुको लागि प्रवेस गर्ने सिमाहरु घटेको कारण सन् २०२४ को सङ्ख्यामा तीव्र गिरावट आएको समुहले जनाएको छ । क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर– १५ सम्ममा राखेको रेकर्ड अनुसार तीन हजार ९० जनाको मृत्यु भएको छ भने अधिकांश मृत्यु अफ्रिकाबाट स्पेनको क्यानरी टापुहरूमा एट्लान्टिक माइग्रेसन मार्गमा भएको थियो, जसलाई विश्वको सबैभन्दा खतरनाक मार्ग मानिन्छ ।

क्यानरीहरूमा आप्रवासी आगमनमा “उल्लेखनीय“ कमी आएको भए पनि गिनीबाट प्रस्थानसँगै द्वीपसमूहमा “नयाँ, अधिक टाढाको र अधिक खतरनाक“ मार्ग देखा परेको जनाइएको छ । समूहले आप्रवासीहरूका परिवारहरूबाट तथ्याङ्क र उद्धार गरिएका व्यक्तिहरूको आधिकारिक तथ्याङ्क सङ्कलन गर्दछ । मृतकमध्ये ४३७ बालबालिका र १९२ महिला रहेको समुहले जनाइएको छ । क्यामिनान्डो फ्रन्टेरास सिमाले अल्जेरियाबाट मुख्यतया भूमध्यसागरको इबिजा र फोरमेन्टेराको छुट्टी टापुहरूमा पुगाउने डुङ्गाहरूको सङ्ख्यामा वृद्धि भएको पनि जनाएको छ । परम्परागत रूपमा अल्जेरियालीहरूले प्रयोग गर्ने यस मार्गमा सन् २०२५ मा सोमालिया, सुडान र दक्षिण सुडानबाट आप्रवासीहरूको सङ्ख्या बढेको देखिएको समूहले जनाएको छ ।

सन् २०२४ मा समुद्र मार्फत् स्पेन पुग्ने प्रयासमा कम्तीमा दश हजार ४५७ आप्रवासीको मृत्यु वा बेपत्ता भएको जनाइएको छ । जुन सन् २००७ मा ट्र्याकिङ डाटा सुरु भए देखि रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो । स्पेनको आन्तरिक मन्त्रालयले यस वर्षको डिसेम्बर–१५ सम्म ३५ हजार ९३५ आप्रवासी स्पेन पुगेको बताएको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४० प्रतिशतले कम हो । ती मध्ये अधिकाशं पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुहरूमा एट्लान्टिक आप्रवासन मार्गबाट आएको जनाइएको छ ।

सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं : रेशमलाल चौधरी

काठमाडौं । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । सोमवार पार्टीको तर्फबाट समानुपातिक तर्फको सांसदहरुको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीलगायतका पाटीहरुसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पारे ।

सो पार्टीका संरक्षक चौधरीले समानुपातिक बन्द सूचीमा पनि आफूले देशका सबै भूगोललाई समेटर उम्मेदवार बनाएको पनि जानकारी दिए । उनले भने, ‘हामीले कास्की, पर्वत, लम्जुङ, रुकुम, रोल्पाबाट, कालिकोट, दैलेख, डोल्पाबाट हामी धेरै टाढा पुगेका छौँ । यद्यपि नाउपा, नेपालले हाम्रो गठबन्धन छ । यसले सबै निर्वाचन क्षेत्रबाट उम्मेवार उठाउँछ ।’ त्यस अवसरमा संरक्षक चौधरीले निर्वाचनमा आउने परिणाम भने मतदाताको छनौटमा भरपर्ने बताए ।

सरकार र जेनजीको सम्झौताविरुद्धको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै गर्दै दायर भएको रिट निवेदन आज ‘हेर्न नभ्याइने’ भएको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि अरू मुद्दाको सुनुवाइ गर्दागर्दै हेर्न नभ्याइने सूचीमा परेको हो ।

यसअघि, न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले यही पुस ४ गते उक्त सम्झौताका बारेमा प्रधानमन्त्री सुशीला कार्कीका नाममा कारण देखाऊ आदेश गर्दै १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो । अधिवक्ता डा प्रेमराज सिलवाल एउटा र अधिवक्ताहरू सुदीप भण्डारी, रोहित झा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रवीण पौडेल र स्मृति अधिकारीलगायतले दायर दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमा सम्झौता संविधानविपरीत भएको उल्लेख गरिएको थियो ।

प्रधानमन्त्री सुशीला कार्की र जेनजी पुस्ताका प्रतिनिधिबीच गत मङ्सिर २४ गते भएको सम्झौतामाथि संवैधानिक प्रश्न उठाउँदै रिट निवेदनमा अन्तरिम चुनावी सरकारलाई दीर्घकालीन र दूरगामी असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको उल्लेख गरिएको छ ।

कुलमान फेरि रास्वपासँग छलफलमा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि समानुुपातिकतर्फको सूची बुझाउने समय सकिँनै लाग्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहले बार्ता गर्ने भएका छन् । कुलमानलाई मनाउने अन्तिम प्रयासस्वरुप उनीहरूबीच छलफल हुन लागेको हो । ‘हाम्रो र रविजीको टिमबीच अहिले छलफल भइरहेको छ,’ बालेन निकट स्रोतले भन्यो, ‘अब शीर्ष तीन नेता बस्दै हुनुहुन्छ ।’

कुलमानसँग वार्ता गर्न रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट भर्खरै बाहिरिएका छन् । सोमबार राति अबेरसम्म रवि, बालेन र कुलमानबीच छलफल चलेको थियो । तर, सहमति हुन सकेको थिएन । हिजो सहमित हुन नसकेपछि उनीहरुबीच आज फेरि छलफल गर्ने समझदारी बनेको थियो ।

नेप्सेमा दाेहाेराे अङ्कको गिरावट

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार परिसूचक (नेप्से) मा दोहोरो अङ्कको गिरावट आएको छ । अघिल्लो दिन उत्साहमूलक वृद्धि देखिएको बजारमा उत्साह कायम रहन नसक्दा आज परिसूचक १०.५३ अङ्कले घटेर २६२२.८८ विन्दुमा ओर्लिएको हो ।

आज दिनभर कुल ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता सेयर ६९ हजार ५४८ पटक खरिद–बिक्री भएका छन् । 

यस क्रममा कुल ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारसँगै आज कारोबार रकम पनि घटेको छ । यो दिन बजारमा करिब पौने ५ अर्बको कारोबार भएको छ, अघिल्लो दिन ५ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

 

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ घाइते

एजेन्सी । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु हुनुका साथै ९८ जना घाइते भएको मेक्सिकन नौसेना सचिवालयले जनाएको छ ।

तेहुआनटेपेकको इस्थमसको इन्टरओसेनिक कोरिडोरको निरीक्षण गर्ने मेक्सिकन नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार दुर्घटनाको समयमा लाइन जेडमा रहेको रेलमा करिब २५० यात्रुहरु सवार थिए । घाइते ९८ जना यात्रु मध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रुहरूलाई सामान्य उपचार पछि घर फर्कियसँगै १३९ जना यात्रु खतरा मुक्त भएको बताइएको छ ।

नौसेनाले घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितहरूलाई तत्काल सहायता प्रदान गर्न जिम्मेवारीपूर्वक, पारदर्शी रूपमा र कानूनको पूर्ण अनुपालन गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गरेको छ । आपतकालीन प्रतिक्रियालाई समर्थन गर्न ३६० नौसेना कर्मी, २० सवारी साधन, चार ग्राउन्ड एम्बुलेन्स, तीन एयर एम्बुलेन्स र एक रणनीतिक ड्रोन तैनाथ गर्दै विस्तृत खोजी र उद्धार अभियान सुरु गरिएको नौसेनाले जनाएको छ । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन र पीडित र उनीहरूका परिवारलाई सहयोग गर्न सम्बन्धित एजेन्सीहरूसँग समन्वयमा काम गर्न जारी राख्ने बताएका छन् ।

दुर्घटना पछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम पार्डोले नौसेना र आन्तरिक सचिवालयका अधिकारी र मानव अधिकारकर्मीलाई दुर्घटनास्थलमा गएर प्रभावित परिवारलाई भेट्न निर्देशन दिनु भएको छ ।

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक गरेको हो ।

उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार आइतबार पश्चिमी तटबाट गरिएको प्रक्षेपणमा सर्वोच्च नेता किम जोङ–उनले ‘ठूलो सन्तुष्टि’ व्यक्त गरेका छन् । उनले आणविक प्रतिरोधको विश्वसनीयता परीक्षण गर्नु र यसको शक्ति प्रदर्शन गर्नु बाह्य सुरक्षा खतराको सामना गर्न आत्मरक्षा तथा युद्ध प्रतिरोधको अधिकारअन्तर्गत गरिएको जिम्मेवार अभ्यास भएको बताएका छन् ।

यो प्रक्षेपण उत्तर कोरियाले आगामी वर्षको सुरुमा हुने सत्तारुढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलन अघि गरेको पछिल्लो हतियार प्रदर्शन हो । सो सम्मेलनमा किमले अमेरिकासँगको सम्बन्धमा नयाँ प्राथमिकता निर्धारण गर्ने र लामो समयदेखि ठप्प रहेको वार्ताबारे वासिङ्टनको प्रस्तावप्रति उत्तर कोरियाको धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाली ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार आइतबार बिहान उत्तर कोरियाको राजधानी क्षेत्र आसपासबाट थुप्रै क्रुज मिसाइल प्रक्षेपण भएको पत्ता लागेको थियो । दक्षिण कोरियाले अमेरिकासँगको सैन्य गठबन्धनमार्फत उत्तर कोरियाबाट हुन सक्ने कुनै पनि उक्साहटको सामना गर्न तयार रहेको स्पष्ट पारेको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रुज मिसाइल परीक्षणमा त्यस्तो स्पष्ट निषेध छैन । यद्यपि, ती मिसाइलहरू कम उचाइमा उड्ने र रडारबाट बच्न सक्ने भएकाले अमेरिका र दक्षिण कोरियाका लागि गम्भीर सुरक्षा चुनौती मानिन्छन् । विश्लेषकहरूका अनुसार द्वन्द्वको अवस्थामा उत्तर कोरियाले अमेरिकी युद्धपोत र विमानवाहक जहाजहरूलाई लक्षित गर्न यस्ता मिसाइल प्रयोग गर्ने रणनीति बनाएको हुन सक्छ ।

गत हप्ता उत्तर कोरियाले नयाँ एन्टी–एयर मिसाइलहरूको परीक्षण गर्नुका साथै विकासाशील आणविक–सञ्चालित पनडुब्बीको झण्डै पूर्ण हुल देखाउने तस्बिर सार्वजनिक गरेको थियो । उत्तर कोरियाले उक्त पनडुब्बीलाई आणविक क्षेप्यास्त्रले सुसज्जित गर्ने सङ्केत दिएको छ । यस्तो पनडुब्बी किमले अमेरिकी नेतृत्वमा रहेको सुरक्षा खतराको सामना गर्न विकास गर्ने वाचा गर्नुभएको परिष्कृत हतियार प्रणालीमध्ये एक हो ।

केही विज्ञहरूका अनुसार युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै हजारौँ सैनिक र सैन्य सामग्री पठाएको उत्तर कोरियाले बदलामा महत्त्वपूर्ण प्रविधि सहयोग प्राप्त गरेको हुनसक्छ ।

सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय आणविक कूटनीति असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक शस्त्रागार विस्तार र हतियार परीक्षणलाई प्राथमिकता दिएको छ । यद्यपि ट्रम्पको बारम्बारको पहलपछि किमले सेप्टेम्बरमा अमेरिकाले यदि ‘आणविक निःशस्त्रीकरणको भ्रम’ त्यागे वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिनुभएको थियो । विज्ञहरूका अनुसार विस्तार भएको आणविक क्षमताले किमलाई सम्भावित वार्तामा थप लाभको स्थितिमा राख्ने विश्वास हुन सक्छ ।

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपाको बैठक, देखिएनन् बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अहिले बैठक चलिरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिन बैठक बसेको उनले जनाएका छन् । रास्वपाले आन्तरिक प्रतिष्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रुप दिन लागेको हो । निर्वाचन आयोगले आजसम्मका लागि समानुपातिकको अन्तिम सूची बुझाउने मिति तोकेको छ । जस अनुसार, बन्दसूची पेश गर्नका लागि दलहरू अन्तिम तयारीमा छन् ।

जारी बैठकमा हालै रास्वपामा समाहित भएका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह भने उपस्थित भएका छैनन् । रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीच आइतबार एकताको सहमति भएको थियो । जस अनुसार रवि सभापति हुने र बालेन आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तथा संसदीय दलको नेता हुने सहमति बनेको छ । बालेनलाई रविपछिको वरीयता दिने समेत समझदारी भएको थियो । तर, एकतापछिको पहिलो केन्द्रीय समितिको बैठमा बालेन भने देखा परेका छैनन् ।

प्रदर्शनकारीबाट जोगाउँदा अक्सिजन टुट्यो, केही दिनमै आमा दिवंगत हुनुभयो : लेखक

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले देशलाई मात्र होइन, आफ्नो व्यक्तिगत जीवनलाई पनि गहिरो चोट पुर्‍याएको पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन् । सोमबार भदौ २२ र २३ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष लिखित बयान दिँदै लेखकले आन्दोलनका कारण आफूले भोग्नुपरेको मानवीय, भौतिक र भावनात्मक क्षतिबारे विस्तृत जानकारी गराएका हुन् ।

लेखकका अनुसार महेन्द्रनगरका दुईवटा र काठमाडौंको एक घर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको छ । ती घरहरू आफूले कमाएको सम्पत्तिबाट नभई पिता–पुर्खाबाट प्राप्त पैतृक सम्पत्तिबाट निर्माण गरिएको उनले स्पष्ट पारे । ‘पिता पुर्खाको सम्पत्ति खरानी बनाइ दिँदाको पीडा खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ भन्ने उखान जस्तै भएको छ,’ लेखकले बयानमा उल्लेख गरेका छन् ।

सबैभन्दा पीडादायी घटनाका रूपमा लेखकले आफ्नी वृद्ध आमाको निधनलाई उल्लेख गरेका छन् । भाद्र २४ गते आन्दोलनका क्रममा भएको आक्रमणबाट जोगाउने क्रममा अक्सिजनमा आश्रित, सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजन बिना राखेर अस्पताल पु¥याउनु परेको र त्यसको केही दिनमै आमाको निधन भएको उनले बताएका छन् । उनका अनुसार आन्दोलनको हिंसात्मक अवस्थाले उपचारमा बाधा पु¥याउँदा परिवारले अपूरणीय क्षति व्यहोर्नु परेको हो ।

आन्दोलनका क्रममा लेखकको निजी निवासमा आगलागी हुँदा करिब पाँच हजार पुस्तक तथा महत्वपूर्ण ऐतिहासिक दस्तावेज जलेर नष्ट भएको जानकारी पनि उनले आयोगलाई गराएका छन् । ती दस्तावेजमा दश वर्षे सशस्त्र द्वन्द्वपछि तत्कालीन सात दल र माओवादीबीच भएको शान्ति वार्ता, अन्तरिम संविधान, वर्तमान संविधान निर्माण प्रक्रियासँग सम्बन्धित औपचारिक तथा अनौपचारिक वार्ता, संवाद, छलफल र सहमतिका टिपोट तथा संकलनहरू रहेको उनले बताएका छन् । ‘यस्ता दस्तावेज व्यक्तिगत मात्र होइन, राष्ट्रकै ऐतिहासिक सम्पत्ति थिए,’ लेखकको भनाइ छ ।

लेखकले आफूलाई संविधानविपरित काठमाडौं उपत्यकाभित्र स्थानहद तोकिएको र राहदानी समेत रोक्का गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । आयोगको सिफारिसमा नेपाल सरकारले तीन महिना अघि यस्तो निर्णय गरेको कुरा आफूले सञ्चार माध्यमबाट मात्र थाहा पाएको भन्दै उनले कुनै लिखित वा मौखिक जानकारी नदिइएको बताए ।

‘कुन कानुनी व्यवस्था अनुसार, के प्रयोजनका लागि, कति अवधिका लागि स्थानहद र राहदानी रोक्का गरिएको हो भन्नेबारे मलाई सोध्ने वा जवाफ दिने मौका नै दिइएन,’ उनले भने । यस्तो प्रक्रिया विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तविपरित भएको उनको ठहर छ । पूर्व गृहमन्त्री लेखकले जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको र त्यसका लागि कानुनी व्यवस्था नै नरहेको स्पष्ट पारेका छन् । आन्दोलनका क्रममा आफ्नै निजी सम्पत्तिमा समेत आगजनी भएको उल्लेख गर्दै उनले आफू व्यक्तिगत पीडाभन्दा मुलुकले व्यहोरेको क्षतिप्रति बढी चिन्तित रहेको बताए । ‘सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई मैले गौण ठानेको छु,’ लेखकले बयानको अन्त्यमा उल्लेख गरेका छन् ।

 

 

 

नवनिर्मित भवनबाट काठमाडौँ महानगर वडा नं. २ को प्रशासनिक सेवा प्रारम्भ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २ ले लाजिम्पाटस्थित नर्सरी मार्गमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रारम्भ गरेको छ । यसअघि वडा कार्यालय लाजिम्पाट मार्गबाट नीलसरस्वती मार्गतर्फको सडक खण्डमा थियो ।

नवनिर्मित भवनको उद्घाटन गर्दै वडा नम्बर २ का  वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सार्वजनिक सम्पत्ति समूहको कब्जाबाट नागरिकहरुको सेवा गर्ने ठाउँमा रुपान्तरण गर्न पाउनु आफ्नो कार्यकालका महत्वपूर्ण काममध्येको एउटा भएको उल्लेख गरे । त्यस्तै काठमाडौँ महानगरका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले पूर्वाधार निर्माणसँगै चुस्त सेवा प्रवाह हुने अपेक्षा रहेको बताए । 

सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार नवनिर्मित भवन अवस्थित जमीनको  क्षेत्रफल २ हजार ४४३ वर्गफुट छ । त्यस्तै, भवनको क्षेत्रफल १२ हजार ५२७ वर्गफुट छ । सुरुमा भवन निर्माणका लागि ओभरहेड, कन्टिजेन्सी र प्रोभिजनल समेत गरेर ५ करोड ५१ लाख ६ हजार ८५ रुपियाँ लागत अनुमान गरेपनि निर्माण सम्पन्न भईसक्दा भवन निर्माणमा करकट्टी गरेर  ४ करोड ९१ हजार ५२४ रुपियाँ खर्च भएको छ । 

२०७८ बैशाख १५ गते निर्माण थालिएको भवनलाई त्यसै वर्षको चैत मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । वडाको प्रशासनिक काम नयाँ भवनबाट थालिएपछि पुरानो भवनमा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरिएको छ ।

 

आन्दोलनमा बल प्रयोगको निर्देशन गृहमन्त्रीले दिने कानूनी अधिकार छैन : रमेश लेखक

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको बताएका छन् । जाँचबुझ आयोगमा वयान दिए लगत्तै काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले कुनै पनि आन्दोलनको क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने ? भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको उल्लेख गरे । उनले आन्दोलनको क्रममा हाताहाती भइसकेपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य मानेर गृहमन्त्रीबाट राजीनामा दिएको दाबी पनि गरे । उनले आफूले २२ भदौमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकयका प्रमुखहरुलाई दिशानिर्देश मात्रै दिएको दाबी गर्दै त्यसलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत भएको पनि बताए । उनले आन्दोलनको क्रममा बल कति र कसरी गर्ने भन्ने विषयमा स्थानीय प्रशासन र फिल्डमा खटिएका सुरक्षाकर्मीले तत्कालीन वस्तुस्थितिको आधारमा गर्ने उनको जिकिर छ ।

उनले भने, ‘राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान विषय हो भन्ने मेरो विश्वास रहेको छ । त्यसै कारण नैतिकताका आधारमा राजीनामा दिएको हो । अन्यथा यस्ता प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्ने बारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ। गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन ।’

उनले भने, ‘सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानूनी जिम्मेवारी छ, न त यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिनेकुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो । गृहमन्त्रीले उपलब्ध सूचनाका आधारमा समग्रमा दिशानिर्देश गर्ने हो, जुन मैले २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गरेको थिए । प्रधानमन्त्री वा मन्त्रीले कसैलाई यति बल प्रयोग गर, यसरी गर भन्ने कुरा पनि होइन । प्रदर्शनका बेला शान्ति सुरक्षा कायम गर्ने क्रममा कहाँनेर के अवस्था र आवश्यकता पर्छ, प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने बिषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिती तथा वस्तुगत आधारमा विश्लेषण गरि निर्धारण गर्ने हो । यस सम्बन्धि प्रष्ट कानूनी व्यवस्था र आधार पनि छन् ।’
उनले जेन–जी आन्दोलनका मागहरु जायज भए पनि आन्दोलनमा घुसपैठ हुँदा मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको प्रति दुःख व्यक्त गरे ।

 

नेटोसँग किन चिढिन्छ रुस?

काठमाडौँ । नेटो एउटा उत्तर एटलान्टिक सैन्य गठबन्धन हो, जुन सन् १९४९ मा १२ देश मिलेर गठन गरेका थिए । ती देशमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटली, लक्जेमबर्ग, द नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, यूके र अमेरिका रहेका थिए। 

कुनै एक सदस्य राष्ट्रविरुद्ध अर्को कुनै देशले सशस्त्र हमला भए एकअर्कालाई सैन्य सहायता गर्ने उधेश्य सहित तत्कालीन अवस्थामा ती राष्ट्रहरूले नेटोको गठन गरेका थिए। 

नेटोको उद्देश्य युरोपमा दोस्रो विश्व युद्धपछिको रुसको विस्तारले दिने खतराविरुद्ध लड्नु थियो। सन् १९५५ मा सोभियत रुसले नेटो गठनप्रति प्रतिक्रिया जनाउँदै पूर्वी युरोपेली कम्युनिस्ट देशहरूको सैन्य गठबन्धन वार्सा प्याक्ट बनाएको थियो ।

सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि वार्सा प्याक्टका केही पूर्वसदस्यहरूले आफ्नो कित्ता परिवर्तन गरेर नेटोका सदस्य बने । अहिले नेटो गठबन्धनमा ३० राष्ट्र छन् । 

रुस किन चिढिन्छ नेटोसङ्ग ?

२०२२ मा सुरु भएको युक्रेन-रुस युद्धपछि नेटो अहिले आफ्नो इतिहासकै गम्भीर संकटमा छ । कुनै बेला अमेरिका र युरोपियन युनियनको महत्वपूर्ण दस्ता मानिने नेटोले रुस-युक्रेन युद्धमा प्रभावशाली भूमिका खेल्न नसकेको भन्दै अहिले अमेरिका पनि नेटोसँग रुष्ट रहेको बताइन्छ । 

युक्रेनमाथि रुसको आक्रमणले नेटोको ७३ वर्षको इतिहासमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ । यो युद्ध नेटो क्षेत्रको पूर्वी सिमानाको छेउमा भइरहेको छ र धेरै नेटो सदस्य राष्ट्रहरूले रूसले उनीहरूमाथि थप आक्रमण गर्न सक्ने महसुस गरिरहेका छन्।

नेटोले रुससँगको लडाईका लागि निरन्तर रुपमा पूर्वी युक्रेनमा थप सेना तैनाथ गरिरहेको छ । तर, बेलायत र अमेरिकाले युक्रेनमा आफ्ना सेना पठाउने कुनै मनसाय नभएको पनि स्पष्ट पारिरहेका छन् ।

युक्रेन एक भूतपूर्व सोभियत गणतन्त्र हो, जुन एकातर्फ रुस र अर्कोतर्फ युरोपेली संघसँग जोडिएको छ। युक्रेनमा रूसी मूलका मानिसहरूको ठूलो जनसंख्या छ र रूससँग सामाजिक र सांस्कृतिक सम्बन्ध छ।

रणनीतिक हिसाबले रुसले यसलाई आफ्नो हिस्सा ठान्दै आएको छ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि निरन्तर रुपमा युक्रेन वास्तवमा रुसको हिस्सा भएको बताउँदै आएका छन् । तर, पछिल्ला वर्षहरूमा युक्रेन पश्चिमतर्फ नजिकिँदै गएको छ । नेटोको कारण युक्रेन विवाद झन् बढ्दै गएको दाबी रुसले गर्ने गरेको छ । यसमा अमेरिकाले प्रमुख रुपमा हस्तक्षेपकारी भूमिका खेल्दै आएको छ । अमेरिकाले नेटोमार्फत युक्रेनलाई आर्थिक र सैन्य सहयोग पनि गर्दै आएको छ । जुन कारणले रुस-युक्रेन युद्ध लम्बिँदै गएको रुसको बुझाई छ । यसै कारण पनि रुस नेटोसँग चिढिँदै आएको छ । 

रुस-युक्रेन युद्धविरामका लागि युक्रेनले आफ्नो केही भुभाग रुसलाई सुम्पिनु पर्ने र नेटोबाट अलग हुनुपर्ने माग रुसले दोहोर्‍याउँदै आएको छ।   

यस्तो छ लेखकले जाँचबुझ आयोगमा दिएको लिखित बयान (पूर्णपाठ)

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएका घटनालाई मुलुक र लोकतन्त्रविरुद्ध लक्षित, नियोजित र सुनियोजित आक्रमणको रूपमा व्याख्या गरेका छन् । जेन–जी आन्दोलन जाँचबुझ आयोगसमक्ष पेश गरेको ६ पृष्ठ लामो लिखित बयानमा उनले भदौ २३–२४ गतेको घटनामा शान्तिपूर्ण आन्दोलन घुसपैठका कारण हिंसात्मक बनेको दाबी गरेका हुन् ।

लेखकका अनुसार सुशासनका लागि भन्दै जेन–जी समूहले सुरु गरेको आन्दोलन शान्तिपूर्ण रहने अपेक्षा गरिएको थियो । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले त्यसलाई ‘हाइज्याक’ गरी हिंसा भड्काएको उनको भनाइ छ । उनले भनेका छन् कि आन्दोलनको आवरणमा राज्यका संवेदनशील संरचनामाथि आक्रमण हुनु सामान्य विरोध प्रदर्शनको दायराभन्दा बाहिरको विषय हो । तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाई सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको लेखकले बताएका छन् । उक्त बैठकमा कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन, संयमता अपनाउन र शान्ति सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको उनको भनाइ छ ।

लेखकले आफ्नो बयानमा भनेका छन्, ‘मैले बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन । कानुनले पनि गृहमन्त्रीलाई त्यस्तो अधिकार दिँदैन ।’ उनले भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अङ्गहरूमाथि भएका आक्रमणहरू कुनै पनि देशभक्त नेपालीले कल्पना गर्न नसक्ने खालका भएको टिप्पणी गरेका छन् । आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै लेखकले त्यसको नैतिक जिम्मेवारी स्वीकार गर्दै आफूले राजीनामा दिएको पनि प्रष्ट पारेका छन् ।

यसैबीच, जेन–जी आन्दोलन सुरु भएको दिन सुरक्षा निकायलाई दिएको निर्देशनबारे पनि लेखकले आयोग समक्ष विस्तृत जानकारी गराएका छन् । उनका अनुसार केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले तीन वटा मुख्य निर्देशन दिएका थिए । पहिलो निर्देशनमा उनले आन्दोलनमा सहभागी वा अन्य कसैको ज्यान जाने अवस्था आउन नदिन विशेष सतर्कता अपनाउन भनेका थिए । ‘कुनै हताहति नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् भन्नेमा सचेत रहनुहोला’, उनले निर्देशन दिएको बताएका छन् ।

दोस्रो निर्देशन शान्ति सुरक्षाको समुचित व्यवस्थापनसँग सम्बन्धित थियो । समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था मिलाउन उनले सुरक्षा निकायलाई आग्रह गरेका थिए । तेस्रो निर्देशन भने आन्दोलनमा सम्भावित घुसपैठप्रति केन्द्रित थियो । जेन–जी आन्दोलन कुनै राजनीतिक दलको औपचारिक प्रदर्शन नभएकाले नेतृत्वविहीन हुनसक्ने र त्यसमा घुसपैठको जोखिम रहने भन्दै सतर्कता अपनाउन उनले निर्देशन दिएको बयानमा उल्लेख छ । लेखकका अनुसार सुरक्षा निकायलाई दिएको निर्देशनको सार मानवीय क्षति रोक्ने, शान्ति सुरक्षा कायम गर्ने र घुसपैठ नियन्त्रण गर्नेमा सीमित थियो । आयोगले उनको बयानलाई घटनाको समग्र मूल्याङ्कनका लागि महत्वपूर्ण आधारका रूपमा लिएको छ ।

पूर्णपाठ

 

 

दलहरुलाई समानुपातिक बन्द सूची बुझाउन चटारो (तस्वीरहरु)

काठमाडौं । २१ फागुनको निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भिड बढ्न थालेको छ । समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज दुई दिनको समय दिइएको थियो । फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म नेकपा मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चासहितका पाँच दलले समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन्।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेको छन् ।ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपासहितका दलले सूची बुझाएका छैनन् ।
तस्वीरहरु : बिजेन अमात्य / नेपाल फोटो लाइब्रेरी

पर्यटनलाई उद्योग भन्यौं, सुविधा दिएनौं : मन्त्री सिन्हा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताएका छन् । सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले पर्यटन उद्योगलाई उद्योगको रूपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरूलाई हाल भएको कानुनले नदिएको उल्लेख गरे । यसलाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । उनले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकहरूले होटलहरु खचाखच भरिएको बताए । आन्तरिक पर्यटनलाई सुविधाजनक बनाइदिए अझै यो बढ्ने उनको भनाई छ । पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनमा भएका खर्चहरूमा करको मिनाहा गरिदिन आग्रह गरेको पनि उनले बताए ।

उनले भने, ‘हिजोआज ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटनकहरुले होटलहरु खचाखच भरिएको अवस्था छ । अहिले आन्तरिक पर्यटनलाई अलिकति सुविधाजनक बनाइदिने हो भने जस्तो कर्पोरेट सोसल रेस्पोन्सिलिटी अन्तर्गत पारेर आन्तरिक पर्यटनमा भएका खर्चहरूमा करको मिनाहा गरिदिने हो भने त्यसले हामीलाई धेरै हदसम्म सहयोग पनि हुन्थ्यो भनेर पर्यटक व्यवसायीहरूले आफ्नो कुरा राख्नुभएको छ । अहिले हामी पर्यटन उद्योग भनेर भनेका छौँ तर उद्योगको रूपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरूलाई दिएको देखिएको छैन । यो हामीसँग भएको कानुनले ।’ उनले पर्यटन क्षेत्रका सम्पूर्ण समस्यालाई सम्बोधन गर्नेगरी एकीकृत विधेयक ल्याउने तयारीमा मन्त्रालय रहेको पनि जानकारी दिए ।

 

 

रवि र बालेनबाट अलग्गिए कुलमान, जुटे समानुपातिक सूची तयारीमा

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पक्षबीच सम्भावित सहकार्य तथा एकताको प्रयास अन्ततः असफल भएको छ । पदीय तथा शक्ति बाँडफाँटमा सहमति जुट्न नसक्दा उनेपा अब छुट्टै रूपमा निर्वाचन प्रक्रियामा अघि बढ्ने निष्कर्षमा पुगेको हो ।

आइतबार राति रास्वपा सभापति रवि लामिछाने, मेयर बालेन्द्र शाह र उनेपाका संरक्षक कुलमान घिसिङबीच भएको निर्णायक छलफल सहमतिविना टुंगिएको उनेपाका एक नेताले जानकारी दिए । उनका अनुसार छलफलका क्रममा उनेपामाथि अपमानजनक हुने गरी शक्ति बाँडफाँटको प्रस्ताव आएको भन्दै कुलमान घिसिङले त्यसलाई अस्वीकार गरेका थिए ।

ती नेताले भने, ‘२० प्रतिशतभन्दा कम सहभागिताको प्रस्ताव आयो, जुन हामीलाई स्वीकार्य भएन । त्यसपछि एकताको सम्भावना कमजोर बन्यो ।’ बैठकपछि सोमबार बिहान थप छलफल गर्ने भनिए पनि त्यसतर्फ कुनै पहल नभएको पनि उनेपाले जनाएको छ । एकताका प्रयास असफल भएपछि उनेपाले समानुपातिक तर्फका उम्मेदवार चयन प्रक्रियालाई तीव्र बनाएको छ । पार्टी प्रवक्ता डा. राजु थापाले अब उनेपा आफ्नै दलगत निर्णयअनुसार बन्दसूची तयार पार्ने जानकारी दिए । ‘एकता सम्भव नभएपछि हामी समानुपातिक उम्मेदवारको सूची अन्तिम रूप दिन जुटेका छौँ’, उनले भने ।

उनेपाले यसअघि रास्वपा, मेयर बालेन शाह पक्ष तथा अन्य केही दलसँग संवाद गरेको थियो । विशेषतः बालेन शाह पक्षसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको थियो । बालेन रास्वपासँग नजिकिएपछि त्रिपक्षीय संवाद समेत भएको थियो । तर पदीय बाँडफाँट र नेतृत्व भूमिकामा सहमति नजुट्दा प्रक्रिया अगाडि बढ्न सकेन । बालेन शाह पक्षका एक नेताका अनुसार आइतबारको वार्तामा बालेन र महानगरका केही नेताहरू कुलमान घिसिङलाई समेटेर अघि बढ्न लचक देखिएका थिए । तर रास्वपातर्फबाट त्यति उत्साह नदेखिएको दाबी गरिएको छ ।

‘यदि सबै पक्षबाट इच्छाशक्ति देखिएको भए समाधान सम्भव थियो’, ती नेताले बताए । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको नाम पेस गर्ने अन्तिम समयसीमा तोकिसकेको अवस्थामा उनेपाले समावेशी मापदण्डअनुसार ११० जनाको सूची तयारीमा अन्तिम तयारी गरिरहेको जनाएको छ । एकता प्रयास विफल भए पनि उनेपा आफ्नै राजनीतिक एजेण्डा र संगठनात्मक संरचनासहित चुनावी मैदानमा उत्रने तयारीमा देखिएको छ ।

 

 

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

एजेन्सी- रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ।

रकेट प्रक्षेपण आइतबार दिउँसो भोस्तोच्नी अन्तरिक्ष स्थल, आमुर प्रदेशमा सम्पन्न भएको थियो । यस प्रक्षेपणमा दुईवटा ‘ऐस्ट–२टी’ उपग्रह र ५० अन्य उपग्रहहरू समावेश थिए । रकेटले उपग्रहहरू पृथ्वीको कक्षमा पठाउन करिब पाँच घण्टा समय खर्च गरेको रोस्कोसमोसले जनाएको छ । यी उपग्रहहरू कम्तीमा पाँच वर्षसम्म सक्रिय रूपमा कार्य गर्नेछन् र विभिन्न उद्देश्यका लागि प्रयोग हुनेछन् ।

‘ऐस्ट–२टी’ उपग्रह रूसले विकास गरेको पृथ्वी अवलोकनका लागि तयार गरिएको उन्नत वैज्ञानिक उपग्रह हो, जसको मुख्य उद्देश्य पृथ्वीको सतहलाई उच्च स्पष्टताका साथ अवलोकन गर्नु र प्राकृतिक तथा वातावरणीय परिवर्तनको सूक्ष्म अध्ययन गर्नु हो । यस उपग्रहले पृथ्वीका भू–भाग, वन क्षेत्र, नदी प्रणाली, पहाड, सहर तथा ग्रामीण क्षेत्रको विस्तृत त्रि–आयामी तस्वीर सङ्कलन गर्न सक्षम प्रविधि प्रयोग गर्छ, जसका आधारमा वैज्ञानिकहरूले सटीक डिजिटल नक्सा र मोडेल तयार गर्न सक्छन् । ऐस्ट–२टी उपग्रह विशेष गरी जङ्गलमा लाग्ने आगलागी, बाढी, पहिरो, सुख्खा जस्ता प्राकृतिक विपद्को समयमै पहिचान र निगरानीका लागि उपयोगी मानिन्छ । यसले वातावरणीय परिवर्तन, भूमिको प्रयोगमा आएको रूपान्तरण र प्राकृतिक स्रोतको अवस्थाबारे दीर्घकालीन तथ्याङ्क सङ्कलन गर्न सहयोग पु¥याउँछ । कम्तीमा पाँच वर्षसम्म सक्रिय रूपमा सञ्चालन हुने यो उपग्रहबाट प्राप्त जानकारी वैज्ञानिक अनुसन्धान, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा योजनागत विकासमा महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ । 

उपग्रहहरूको मुख्य प्रयोगमा पृथ्वीको निगरानी, वातावरणीय अध्ययन, विद्युतचुम्बकीय विकिरणको अनुसन्धान, विश्वव्यापी जलपोत अनुगमन र सञ्जाल उपकरणबाट सङ्केत प्राप्त गर्ने कार्य समावेश छन् । यसले वैज्ञानिक तथा प्राविधिकहरूले पृथ्वीको अवस्था र प्राकृतिक विपदहरूको प्रभावकारी निगरानी गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

विशेष गरी दुई ‘ऐस्ट–२टी’ उपग्रहहरूले पृथ्वीको तस्वीरहरू खिच्नेछन्, जसबाट वैज्ञानिकहरूले सटीक डिजिटल मोडेल तयार पार्न, भू–भागको अध्ययन गर्न, जङ्गलको आगो, बाढी र अन्य प्राकृतिक विपद्को निगरानी गर्न सहज हुनेछ । यसरी सङ्कलित तथ्याङ्कले आपतकालीन व्यवस्थापनमा पनि सहयोग पु¥याउनेछ ।

रोस्कोसमोसका अधिकारीहरूले यस प्रक्षेपणले रूसको अन्तरिक्ष अनुसन्धान र निगरानी क्षमतामा ठूलो योगदान पु¥याउने भनेका छन् । आगामी वर्षहरूमा यी उपग्रहहरूको डेटा वैज्ञानिक अनुसन्धान, वातावरणीय अध्ययन र मानव जीवनसँग सम्बन्धित विभिन्न परियोजनामा प्रयोग हुने बताइएको छ ।

मन्त्री बन्न नपाएकी टासी र गायिका सत्यकला रास्वपाको सूचीमा

काठमाडौं । वातावरण तथा सामाजिक अभियन्ता टासी ल्हान्जोम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा समावेश भएकी छन् । पार्टीको प्रारम्भिक उम्मेदवार छनोट प्रक्रियामा आदिवासी जनजाति समूहबाट उनी १३ हजार ७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा पर्न सफल भएकी हुन्।

उक्त समूहबाट सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारमा उत्तमबहादुर गुरुङ छन् । उनले १६ हजार १२ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । त्यसैगरी गायिका तथा सामाजिक अभियन्ता सत्यकला राई १४ हजार २०१ मतसहित दोस्रो स्थानमा चयन भएकी छिन् ।

मतपरिणाम सार्वजनिक भएपछि उत्साहित देखिएकी टासी ल्हान्जोमले सामाजिक सञ्जालमार्फत मतदाताप्रति आभार व्यक्त गर्दै लेखेकी छन्, ‘तपाईंहरूको विश्वास र समर्थनकै परिणाम हो यो । अब हामी नेतृत्व गर्दै विजयको बाटोमा अघि बढ्नेछौं ।’ उनको यो प्रतिक्रिया समर्थकहरूमाझ सकारात्मक रूपमा लिइएको छ । टासी ल्हान्जोम केही समयअघि सुशीला कार्की नेतृत्वको सम्भावित क्याबिनेटमा मन्त्री बन्ने चर्चा चले पनि अन्ततः त्यो प्रक्रिया अघि बढेन । मन्त्री बन्न नपाएको चर्चाका बीच उनी दुई साताअघि मात्रै रास्वपामा आबद्ध भएकी थिइन् ।

पार्टी प्रवेश गरेको छोटो समयमै समानुपातिक सूचीमा स्थान बनाउन सफल हुनु टासीका लागि राजनीतिक रूपमा महत्वपूर्ण उपलब्धि मानिएको छ । रास्वपाले समानुपातिकतर्फ समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको बताउँदै आएको छ । आदिवासी जनजाति समूहबाट प्राप्त मत परिणामले पार्टीभित्र यी उम्मेदवारहरूको लोकप्रियता र सम्भावनालाई स्पष्ट रूपमा देखाएको छ । अब प्रारम्भिक सूचीलाई अन्तिम रूप दिने क्रममा पार्टीले के निर्णय लिन्छ भन्ने चासो बढेको छ । टासी ल्हान्जोम र सत्यकला राई जस्ता नयाँ अनुहारहरू सक्रिय राजनीतिमा देखिनुले रास्वपाको आगामी राजनीतिक यात्रामा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।

बालेन र हर्क संसदीय राजनीतिमा आएपछि काठमाडौं र धरानमा मेयरको चुनाव कहिले हुन्छ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा लागेसँगै यी तीन स्थानीय तहको प्रमुख पद रिक्त हुने अवस्था देखिएको छ । कानुनअनुसार एकै व्यक्तिले एकै समयमा दुईवटा सार्वजनिक पद धारण गर्न नपाउने भएकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न मेयर पदबाट राजीनामा दिनु अनिवार्य हुन्छ ।

स्थानीय तहका प्रमुखले राजीनामा दिएमा वा कुनै कारणवश पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । विद्यमान कानुनअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको हकमा कार्यकाल समाप्त हुन ६ महिना बाँकी रहँदा उपनिर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ भने स्थानीय तहको हकमा १ वर्षभन्दा बढी कार्यकाल बाँकी भएमा उपनिर्वाचन गर्नुपर्ने प्रावधान छ ।

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको आमनिर्वाचनको मिति तोकेको छ । यही निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकतापत्रमा हस्ताक्षर गरिसकेका छन् । उता धरान उपमहानगरका मेयर हर्क साम्पाङ पनि संसदीय निर्वाचनको तयारीमा देश दौडाहामा व्यस्त छन् । त्यस्तै भरतपुर महानगरकि मेयर रेणु दाहाल पनि चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न उनीहरूले माघको पहिलो साताभित्र मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । यी केही प्रमुख पात्रबाहेक देशैभरका अन्य स्थानिय तहमा पनि जनप्रतिनिधिको पद रिक्त हुनसक्ने सम्भावना छ।    

हाल स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल करिब १६ महिना बाँकी छ । यदि निर्धारित समयमै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो भने त्यस समयमा स्थानीय तहको कार्यकाल करिब १४ महिना मात्र बाँकी रहनेछ । यस्तो अवस्थामा काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा प्रमुख पद रिक्त भए पनि उपनिर्वाचन गरिने वा नगरिने भन्ने विषयमा अन्यौल उत्पन्न भएको छ ।

यस विषयमा निर्वाचन आयोगले भने कानुनी व्यवस्थाका आधारमा सरकारसँग परामर्श र समन्वय गरेर निर्णय गर्ने बताएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले कुनै स्थानीय तहमा जनप्रतिनिधि रिक्त भएमा उपनिर्वाचन गर्ने वा नगर्ने भन्ने निर्णय सरकारसँगको छलफलपछि मात्र टुंगो लगाइने जानकारी दिए । 

उनका अनुसार हालसम्म काठमाडौँ महानगरपालिका, भरतपुर महानगरपालिका र धरान उपमहानगरपालिकामा औपचारिक रूपमा पद रिक्त भइसकेको अवस्था छैन । ‘यदि सम्बन्धित पद रिक्त भयो भने कानुनअनुसार सरकारसँग छलफल गरेर आवश्यक निर्णय लिन्छौं,’ भट्टराईले नेपालवन एचडीसङ्ग भने । 

बालेन शाह,  रेणु दाहाल र हर्क साम्पाङ तीनै प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटिरहेका बेला उनीहरूले सम्हालेका स्थानीय तहमा नेतृत्व रिक्तताको सम्भावना र त्यसको व्यवस्थापन कसरी हुन्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ ।

पाँच दलले बुझाए बन्द सूची, कसका कति ?

काठमाडौं । फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चासहितका पाँच दलले समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेको छन् ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले ११० जनाको सूची बुझाएको छ । त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेपाली कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जना उम्मेदवारको सूची आयोगमा बुझाएको हो । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सोमबार बिहान दर्ता गराएको छ । साम्पाङको पार्टीको निवेदन रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगका एक अधिकारीले जानकारी दिए ।

 

 

 

संखुवासभामा सामुहिक अलैंची खेती, पैसा ‘बिस्कुन’ लगाएर बाँडेको तस्वीर ‘भाइरल’

काठमाडौं । संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ गोगनेमा सामुहिक रूपमा गरिएको अलैँची खेतीले गाउँको आर्थिक र सामाजिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । अलैंची खेतीबाट यस वर्ष मात्र किसानहरूले एक करोड १७ लाख रुपैयाँ बढी आम्दानी गरेका छन्, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेसँगै यो गाउँ राष्ट्रिय चर्चामा आएको छ ।

भाइरल तस्वीरमा किसानहरू टेबलमाथि थुपारिएको नगद रकम बाँड्दै गरेको देखिन्छ । गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङ्गका अनुसार ती तस्वीर केही दिनअघि ठेकेदारहरूले किनेको अलैँचीको भुक्तानी किसानहरूले सामुहिक रूपमा बाँडफाँट गरिरहेको बेला खिचिएको हो । तस्वीरले केवल रकमको मात्र होइन, किसानहरूको एकता, पारदर्शिता र सामूहिक श्रमको कथा पनि बोकेको छ । गोगनेमा विगत सात वर्षदेखि सामुहिक अलैँची खेती हुँदै आएको छ । स्थानीय भुकुरचोङ्ग सामुदायिक वन क्षेत्रभित्रको बाँझो जमिनलाई उपयोग गर्दै सुरु गरिएको यो अभियान अहिले गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ । यस वर्ष मात्र त्यहाँ ११९ मन अलैँची उत्पादन भएको छ, जसको प्रतिमन मूल्य ९० हजारदेखि १ लाख रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।

कुलुङ जातिको बाहुल्य रहेको यस गाउँमा ५५ घरधुरी बसोबास गर्छन् । तीमध्ये ४७ परिवार गोगने सामुहिक अलैँची समूहमा आबद्ध छन् । समूहका सदस्य अशोक कुलुङका अनुसार रोपाइँदेखि गोडमेल, टिपाइँ र बिक्रीसम्म सबै काम सामुहिक रूपमा गरिन्छ । ‘हामी सँगै काम गर्छौ, खर्च कटाएर बचेको आम्दानी पनि सँगै बाँड्छौं’, उनले सुनाए । यस वर्ष समूहले प्रतिपरिवार २ लाख ३६ हजार रुपैयाँका दरले आम्दानी बाँडेको छ । यसले गाउँलेहरूको जीवनस्तर उकास्नुका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि सहयोग पुगेको छ । शिक्षा, स्वास्थ्य र दैनिकीका खर्च सहज रूपमा धान्न सक्ने अवस्था बनेको स्थानीयको भनाइ छ । गोगनेको सामुहिक अलैँची खेतीले ग्रामीण विकासमा सहकार्य, विश्वास र दीर्घकालीन योजनाले कस्तो सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

 

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती : अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘बैकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक कार्यक्रममा उनले बैंकका कर्मचारीमाथि भएको आक्रमणले यस क्षेत्रमा चुनौती बढेको उल्लेख गरे । ‘ऋण दिने र लिने विषय कानूनमा स्पष्टसँग उल्लेख गरिएको छ, सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको हुन्छ, तर यसरी भौतिक रूपमा आक्रमण हुनु दुःखद् छ’, उनले भने ।

अध्यक्ष कोइरालाले कतिपय व्यक्तिले बिना कुनै आधार ऋण मिनाहालगायत आश्वासन दिएको उल्लेख गर्दै उनले त्यसप्रकारका अतिरञ्जित विषयमा नफस्न पनि आग्रह गरे । बैंकिङ अन्य क्षेत्रको तुलनामा बढी पारदर्शी भएको र बैंकमा समस्या हुँदा अन्य क्षेत्रमा पनि असर पर्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्नेमा उनको जोड थियो । ५० हजारभन्दा बढीलाई रोजगारी दिने यो क्षेत्रमा असर पर्दा अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले संयमता अपनाउन जरुरी रहेको उनको भनाइ थियो । वर्तमान समयमा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहे पनि सोअनुसार माग भने नभएको अध्यक्ष कोइरालाले उल्लेख गरे ।

पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक उतारचढावले पनि कर्जा प्रवाह कम भएको हुनसक्ने उल्लेख गर्दै उनले लगानीकर्ताको मनोबल पनि कमजोर भएको बताए । यद्यपि कर्जा प्रवाहका सम्बन्धमा केन्द्रीय बैंकले पनि केही प्रयास भने गरेको उनको भनाइ थियो । त्यस अवसरमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा. रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको नियमन बढी भएको बताए । उनले केन्द्रीय बैंकले उदार र विवेकशील नियमन गर्न आवश्यक रहेको उल्लेख गरे । ‘“नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा राम्रो छ, यद्यपि केन्द्रीय बैंकको नीति नियन्त्रणमुखी बढी भयो कि भन्ने पनि छ, हरेक क्षेत्रमा केन्द्रीय बैंकले कडाइ गर्न खोज्नु राम्रो नहुन सक्छ’, उनले भने । बैंकहरू स्वनियमनमा बस्नु राम्रो हुने उल्लेख गर्दै अनावश्यक नियमहरू हटाउनु पर्नेमा उनले सुझाव दिए ।

नेपालको कुल ग्राहस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको योगदान पाँच प्रतिशत रहेको उल्लेख गर्दै उनले बैंकलाई स्वतन्त्र काम गर्न दिने हो भने अझ ठूलो योगदान दिनसक्ने धारणा राखे । संयोजक डा कार्कीले नेपाल–भारतबीच खुला सीमा भएकाले नेपालीहरूले राम्रो ब्याजदर पाउने लोभमा भारतीय बैंकमा रकम जम्मा गर्न थालेकाले पुँजी पलायन हुन थालेको पनि बताए । डा. कार्कीले एउटा बैंकले गल्ती गर्दाको असर अर्को बैंकले भोग्नु परेको उल्लेख गर्दै यस्ता विषयमा केन्द्रीय बैंक सचेत हुनुपर्ने उनको भनाइ थियो । आफूले तयार पारेको प्रतिवेदनमा केन्द्रीय बैंकको संरचनागत सुधार, नियमनमा नरम नीतिलगायतका विषयमा सुझाव दिएको बताए । उनले बैंकिङ क्षेत्र सुधारका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन सुझाव दिएको उल्लेख गरे ।

 

सहमहामन्त्री आङ्दम्बे कांग्रेसको समानुपातिक सूचीमा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बे समानुपातिकतर्फ उम्मेदवार बन्ने भएका छन् । उनी जनजाति समूहबाट समानुपातिकको बन्द सूचीमा रहने निश्चित भएको कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेसका पदाधिकारीमध्ये आङ्दम्बे समानुपातिकको उम्मेदवार बन्ने भएका हुन् । गएको निर्वाचनमा पाँचथरबाट प्रत्यक्ष उम्मेदवार बनेका आङ्दम्बे नेकपा (एमाले) का वसन्त नेम्वाङसँग ४७ मतले पराजित भएका थिए । तर यस पटक उनी प्रत्यक्षतर्फको उम्मेदवार नै नबन्ने भएका हुन् । कांग्रेसले समानुपातिकको बन्द सूची टुंग्याउने अन्तिम तयारी गरिरहेको छ । निर्वाचन आयोगमा सोमबार बन्द सूची बुझाउने अन्तिम दिन हो ।

चुनावको मुखमा फुट्यो अशोक राईको पार्टी, उपेन्द्रसँग एकता

काठमाडौं । चुनावको मुखमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । सो पार्टीकी सह–अध्यक्ष रेणु यादवले जसपा नेपालसँग एकता गर्ने निर्णय गरेकी हुन् । सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन् । उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) बीच एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो’ सहमति पत्रमा उल्लेख छ । यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बहुमत केन्द्रीय सदस्यसहित जसपाले जसपा नेपालसँग पार्टी एकीकरण गरेको जानकारी दिएका छन् । हिजो मात्रै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको थियो । अशोक राईले उपेन्द्र यादवसँग अलग भएर २०८१ वैशाख २३ गते जसपा गठन गरेका थिए ।

गायिका डा. त्रिशला गुरुङ ‘उज्यालो नेपाल पार्टी’ बाट समानुपातिक उम्मेदवार

काठमाडौं । ‘उज्यालो नेपाल पार्टी’ ले आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत चर्चित गायिका डा. त्रिशला गुरुङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको हो।

उज्यालो नेपाल पार्टीका अनुसार हालको स्वास्थ्य प्रणालीमा देखिएको असमान पहुँच, बढ्दो उपचार खर्च, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव र स्वास्थ्य बजेटको प्रभावहीन कार्यान्वयन प्रमुख चुनौतीका रूपमा रहेका छन् । डा. गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा यी समस्यामाथि व्यवहारिक र प्रमाणमा आधारित बहस अघि बढाउने विश्वास पार्टीले व्यक्त गरेको छ ।

स्थापित गायिकाका रूपमा डा. गुरुङले कला र संस्कृतिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्दै आएकी छन् । स्वास्थ्य र सांस्कृतिक चेतनालाई जोड्ने उनको बहुआयामिक पहिचानले संसदमा फरक र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने उज्यालो नेपाल पार्टीको धारणा रहेको छ ।
समानुपातिक उम्मेदवारमा सिफारिस भएसँगै डा. गुरुङले ‘स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो’ भन्ने मूल्यलाई केन्द्रमा राख्दै, सुशासन, समावेशी नीति निर्माण र जनउत्तरदायी स्वास्थ्य प्रणालीका लागि संसदमा दृढ रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् ।

 

पूर्व गृहमन्त्री लेखक बयानका लागि पुगे जाँचबुझ आयोग

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा पुगेका छन् । आज (सोमबार) मध्याह्न पूर्व गृहमन्त्री लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् । आयोगले गत साता बयानका लागि पत्र पठाएको थियो । जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । त्यतिवेला लेखक गृहमन्त्री थिए भने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओलीसँग पनि जाँचबुझ आयोगले बयान लिने भएको छ । बयान लगतै लेखकले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

छुवाछुत र जातीय विभेद अन्त्यका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ : मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले सरकारले छुवाछुत र जातीय विभेद जस्तो अपराधलाई पूर्ण रुपमा अन्त्य गर्न लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय दलित आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले आवश्यक नीतिगत र बजेटको व्यवस्था गरे मात्रै मुलुकमा विद्यमान छुवाछुत र जातीय विभेद जस्ता अपराधपूर्ण कार्य अन्त्य हुने बताएका हुन् ।

मन्त्री परियारले छुवाछुत र जातीय विभेद अन्त्यका लागि दलित समूदायको परम्परागत सीपलाई आधुनिकीकरण गर्दै आर्थित आत्मनिर्भरताको कार्यक्रमलाई जोड दिएर अघि बढाउनुपर्ने बताए । उनले दलितमैत्री ऐन नियमहरुको कार्यान्वयनका लागि सम्वद्ध पक्षले सरकारलाई घच्घच्याउनु पर्नेमा पनि स्पष्ट पारे ।

उनले भने, ‘दलितमैत्री ऐन, नियमहरुको कार्यान्वयनका लागि सरकारलाई घच्घच्याउँदै दलित समूदायको परम्परागत सीपलाई आधुनिकीकरण गर्दै आर्थिक आत्मनिर्भरताका कार्यक्रम अघि बढाउने विश्वास लिएको छु । छुवाछुत र जातीय विभेद जस्ता सामाजिक अपराधलाई पूर्णरुपमा अन्त्यका लागि स्थानीयस्तरसम्मै सचेतना र कानूनी उपचार पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आयोगले अगाडि सारेका यी लक्ष्यहरु प्राप्त गर्न सरकारले नीतिगत र बजेटको सहयोग उपलब्ध गराउने मलाई विश्वास छ ।’

उनले भने, ‘यसैगरी न्यायमा पहुँच पाउन हरेक नागरिकको अधिकार हो । तर भौगोलिक विकटता, डर र प्रक्रियागत झन्झटका कारण आम नागरिक असहजता महशुस गरिरहेको अवस्थामा उजुरी व्यवस्थापन प्रणाली डिजिटल हुन आवश्यक देखिन्छ ।’ त्यस अवसरमा मन्त्री परियारले दलित समुदायको उजुरी तत्काल सुनुवाई गरी उनीहरुलाई न्याय दिनका लागि उजुरी व्यवस्थापन प्रणाली डिजिटलाईज हुनुपर्ने समेत बताए ।

 

 

 

जेलेन्स्कीसँगको वार्तापछि युक्रेन शान्ति सम्झौताको निकै नजिक पुग्यौं : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि युक्रेन संकट समाधानका लागि ९५ प्रतिशत शर्तहरूमा सहमति जुटेको र शान्ति सम्झौताको निकै नजिक पुगेको बताएका छन् । ट्रम्पले फ्लोरिडामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटवार्तापछि युक्रेन संकट अन्त्यका लागि शान्ति सम्झौताको धेरै नजिक, सायद निकै नजिक पुगेको विश्वास व्यक्त गरे ।

जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले दुई राष्ट्रपतिले बैठकका क्रममा नाटो र युरोपेली संघका नेताहरूसहित अन्य युरोपेली नेताहरूसँग पनि कुराकानी गरेको जानकारी दिए । ट्रम्पले शान्ति योजनाका करिव ९५ प्रतिशत सर्तहरूमा सम्बन्धित पक्षहरूबीच सहमति भइसकेको भए तापनि अझै एक वा दुईवटा अत्यन्तै जटिल मुद्दाहरू बाँकी रहेको बताए । यता राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सुरक्षा ग्यारेन्टीका विषयमा अमेरिका, युरोप र युक्रेनबीच लगभग १०० प्रतिशत सहमति भइसकेको दाबी गरे । जेलेन्स्कीले आफूहरूले शान्ति रूपरेखाका सबै पक्षहरूमा गहन छलफल गरेको पनि उल्लेख गरे ।

 

 

 

राजनीतिमा आमूल परिवर्तन आउनु पर्छ : मन्त्री खरेल

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताएका छन् । विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै उनले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुुपर्ने बताए ।

निर्वाचन सुनिश्चित भइसकेको बताउँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले आज राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाउने विश्वास व्यक्त गरे । व्यक्ति बनेर केही हुँदैन देश बन्नुपर्छ भन्दै उनले यसका लागि विवेकसङ्गत र सही नेतृत्व आउनुपर्ने आवश्यकता औंल्याए ।
संघ र प्रदेशबीच अस्थिरता रहेको उल्लेख गर्दै उनले संघीयताको व्यावहारिक कार्यान्वयन हुन नसकेको बताए । राजनीतिकको जग स्थानीय सरकार भएको बताउँदै मन्त्री खरेलले स्थानीय तह जवाफदेही हुँदा मात्र जनताप्रतिको जिम्मेवारी पूरा हुने स्पष्ट पारे । पेसागत सक्रियतासँगै परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय सरकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताए ।

विज्ञापनसँग सम्बन्धित नीति सुधारका लागि सरकारले सहजीकरण गर्ने बताउँदै मन्त्री खरेलले यसको व्यवस्थापन, अनुगमन र नियमनका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विज्ञापन ऐनबमोजिम कानुनलाई सक्रिय बनाउन सरकार लागिपरेको बताए । सबै स्थानीय तहमा पालिका हुलाक कार्यालय सञ्चालनमा ल्याइएको बताउँदै उनले यसलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन प्रणालीलाई प्रभावकारी बनाउने सम्बन्धमा बोर्ड लागिरहेको बताए । प्रदेश प्रमुख सचिव डुण्डुराज घिमिरेले विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने आवश्यकता औंल्याए । गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले विज्ञापनका सम्बन्धमा विधि र मापदण्डमा एकरूपता ल्याउनु पर्नेमा जोड दिए ।