`

सुनको मूल्यमा दिन प्रति दिन नयाँ कीर्तिमान कायम

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रू छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

कर्णाली राजमार्ग अवरुद्ध, स्याउ बाटोमै कुहिने चिन्ता

कर्णाली । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । राजमार्ग अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको हो ।

जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायत देशका विभिन्न ठाउँका लागि गुडेका मालवाहक ट्रक राजमार्गमै थन्किएका छन् । यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन् । गन्तव्यमा पुर्याइसक्ने बेलामा बाटोमै अलपत्र पर्दा व्यापारीलाई स्याउ कुहिने चिन्ता छ । राजमार्ग खुलाउन पहल हुन नसकेको यात्री बालाराम नेपालीले बताए ।

जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले पहिराका कारण स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिएका बताए । उनका अनुसार रु १३ करोड बराबरको एक सय ८४ मेट्रिक टन स्याउ कुहिने डर छ । किसानले बाटो खुलाउन सरोकारवालालाई अनुरोध गर्दैआएका छन् ।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र चौधरीले सडकमा खसेका ढुङ्गा फुटाउन नसकिएको बताए । ‘ढुङ्गा फुटाउन नेपाली सेनाको टोली मान्मबाट त्यसतर्फ जाँदैछ’, उनले भने । वर्षा भइरहेका कारण सडक खुलाउन बाधा पुगेको उनले बताए । कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पहिरो खसेको स्थानमा गएको जानकारी दिए ।

सैन्य परेड अवलोकन गर्न बेइजिङ पुगे प्रधानमन्त्री ओली (तस्वीरहरु)

काठमाडौं । चीनको थियानजिनमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । उनी थियाजिनको कार्यक्रम सकेर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ । उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । त्यस क्रममा चिनियाँ सैन्य परेड देखाइनेछ । जसमा प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिने छन् । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।

हेर्नुस् तस्वीरहरु :

 

नेपालका कुन हिमाल आरोहणबाट कति हुन्छ राजस्व संकलन ?

फुङ्लिङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू संख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ संकलन भएको जनाएको छ ।ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् ।

सो आरोहणबाट एक करोड ९७ हजार ४६० राजस्व संकलन भएको छ । संखुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट रु एक करोड ६२ लाख ६९ हजार ४८० संकलन भएको छ । विश्वको अग्लो सगरमाथा हिमालमा ३०२ र ७२ महिला गरी ३७४ जनाले सफल आरोहण गरेका थिए । यसबाट रु ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व संकलन भएको छ ।

यस याममा २३ हिमाल तथा पिकको सफल आरोहण गरिएको थियो । जसमा छ सय ७८ पुरुष र एक सय ९१ महिला गरी आठ सय ६९ नेपाली तथा विदेशीले नेपालका हिमाल तथा पिकको सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ । यसबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व संकलन भएको विभागले जनाएको छ । नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । विश्वको १० सबैभन्दा अग्ला हिउँ चुचुरा यही हिमालमा छन् । हिमालमा भएको के–२ भन्ने चुचुरो पाकिस्तानमा छ ।

नवौँ चुचुरो नाङ्गा पर्वत पनि पाकिस्तानमा छ । अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण–१ सम्म आठवटा नेपालमा छन् । हिमालका चुचुरा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१ नेपालमा छन् । यी सबै आठ हजार मिटरभन्दा अग्ला छन्, तर ती हिमाल अहिले हिमरेखा सर्दै जाने क्रम बढेसँगै हिमलहरू नाङ्गिँदै जाने क्रम बढ्दै गएको छ ।

हिमरेखा सर्दै

हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको तथ्य विभिन्न अध्ययन र स्थानीय अनुभवले पुष्टि गरेका छन् । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), वातावरण वैज्ञानिक र स्थानीय समुदायको अनुभवबाट प्राप्त तथ्याङ्कले नेपालको हिमाली भूगोल परिवर्तनको चपेटामा परेको देखाउँछ ।

इसिमोडले सन् २०२१ मा सार्वजनिक गरेको प्रतिवेदन स्टेटस अफ ग्लेसियर्स इन द हिन्दू कुश हिमालयन रिजनअनुसार ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ । सोही अवधिमा सो क्षेत्रमा रहेका हिमतालको सङख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । पन्ध्र वर्षअघि २७ वटा हिमताल रहेकामा अहिले ४९ पुगेका छन् । यसबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रको भौगोलिक स्वरूप र पर्यावरणीय संरचनामा कति ठूलो प्रभाव पारेको छ भन्ने बुझ्न सकिन्छ ।

जलवायु परिवर्तनको प्रभावलाई मापन गर्ने अर्को महत्त्वपूर्ण अध्ययन इसिमोडको हिमालयन वाटर सिक्युरिटी (२०२२) प्रतिवेदनले पनि नेपालमा प्रतिदशक तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले वृद्धि भएको देखाएको छ । यस तापक्रम वृद्धिले हिमनदी पग्लने दरलाई अझ तीव्र बनाएको, हिमरेखामाथि सर्ने प्रक्रिया छिटो भएको र हिमाली क्षेत्रका बासिन्दाको जीवन, खेतीपाती, पशुपालन तथा खानेपानी स्रोतहरूमा सीधा असर परेको देखिएको छ । तत्काल जलवायु अनुकूलन तथा दीर्घकालीन रणनीतिहरू अपनाइएन भने हिमनदीहरूको ह्रास अझ तीव्र हुने र यो समग्र जलस्रोत प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामा दीर्घकालीन सङ्कटको कारक बन्न सक्ने विभिन्न प्रतिवेदनहरूले देखाएको छ ।

बल्ल फुक्यो निजामती विधेयकको गाँठो, कति रहने भयाे कर्मचारीको अवकास उमेर ?

काठमाडौं । सरकार अडानबाट पछि हटेपछि संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाशसम्बन्धी व्यवस्थामा बल्ल सहमति जुटेको छ । अन्ततः सरकार र सत्ता पक्ष यस वर्षदेखि निजामती कर्मचारीको अवकाश उमेर ५९ वर्ष कायम गर्नुपर्ने अडानबाट पछि हटेका हुन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आज (मंगलबार) बिहान बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समितिमा यसअघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा ५८ वर्षमा अवकाश उमेर राख्नेमा सरकार तयार भएको जानकारी गराएकी हुन् ।

विगत ३ दिनदेखि मन्त्रीसँगै सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदले मुख्यसचिव सहित केही सचिवको सेवा अवधि एक वर्ष लम्बाउनका लागि विधेयक पारित भएको वर्षमा ५९ वर्षमै अवकाशमा जाने व्यवस्था गर्नुपर्ने अडान लिँदै आएका थिए । मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा पनि विधेयक पारित भएको वर्षमा ५८ वर्ष, दोस्रो वर्षमा ५९ र तेस्रो वर्षमा ६० वर्षमा अनिवार्य अवकाश उमेर राखिएको थियो । प्रतिनिधि सभाले पनि प्रस्तावित विधेयकलाई नै जस्तोको त्यस्तै पारित गरेको थियो ।

रास्वपा उम्मेदवार लेखजंगले देखाए सम्बन्ध विच्छेदका कागजात

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्दहेही–३ का उम्मेदवार डा. लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे स्पष्ट पारेका छन् । थापाले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद (डिभोर्स) भइसकेको प्रमाण कागजात सार्वजनिक गरेका छन् । डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज देखाएका हुन् ।

डा. थापा रास्वपाबाट नौं आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक बाहिरिएका थिए । अदालती कागजात फेसबुकमार्फत सार्वजनिक गर्दै थापाले लेखेका छन्, परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एक जना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहुविवाहबारे उम्मेदवार छनोट प्रक्रियाकै समयमा सूचना आएपछि पार्टीको अफिसियल टिमले भेरिफाई गर्दा पहिलो श्रीमती सुलोचना घिमिरेसँग डिभोर्स गरिसकेको पाइएको बताएका छन् । ‘पार्टीले आन्तरिकरुपमा उम्मेदवार छनोट प्रक्रिया शुरु गरेपछि नै उहाँको बहुविवाहको सूचना पार्टीमा आएको थियो, हामीले त्यसबारेमा भेरिफाई गर्दा पहिलो श्रीमतीसँग डिभोर्स भएको पायौं’ महामन्त्री बुर्लाकोटीले भने, ‘पार्टीले सोधपुछ गर्दा विगतमा बहुविवाह भए पनि दुई वर्षअघि नै डिभोर्स गरेको उहाँले बताउनु भयो, हामी त्यसमा विश्वस्त भयौं ।’

लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गरेकी छन् । उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन् । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् । महामन्त्री बुर्लाकोटीले सुनाए, ‘बहुविवाह अन्त्य भएको विषयलाई अनावश्यक उछालिएको छ, त्यो अफवाह मात्रै हो ।’ पहिलो पत्नीबाट जन्मिएको बच्चा पनि लेखजंगसँगै रहेकाले सौहाद्र्धपूर्ण सम्बन्ध हुनु स्वाभाविक भएको उनको तर्क छ । ‘डिभोर्स हुने वित्तिकै झैझगडा नै गर्नुपर्ने, बोलचाल र मित्रता नहुने भन्ने पुरानो मान्यता हो, अहिलेको समाजमा त्यस्तो नहुन पनि सक्छ’ बुर्लाकोटीले भने ।

सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरका लेखजंगलाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सनको मत र अरू प्रक्रियाका आधारमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । २०८० असार ७ गते पार्टी सदस्यताको आवेदन फर्म भरेका थापाको सदस्यता भने प्राविधिक कारण २०८२ मा मात्र प्रमाणित भएको पार्टीले जनाएको छ । त्यसअघि उनी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा थिए ।

जोगबुढा नदीको बाढी : ज्यान बचे पनि घर फर्किन सकेनन् विस्थापित

कञ्चनपुर । डुबानमा परेका दोधरा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फर्किन सकेका छैनन् । दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए ।

बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन् । डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन् । नदीको बहाव घट्दो रूपमा रहेकाले अवस्था यही रहे साँझसम्म विस्थापनमा परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

डुबानमा परेर विस्थापनमा परेका नगरपालिकाको वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छभने वडा नं ३ पटरा खल्ला टोलका १५ घरका ५५ जनालाई सरसामान र चौपायासहित जमुना आधारभूत विद्यालयमा राखिएको छ । त्यसैगरी, वडा नं १० शान्ति टोलका १२ घरका ४० जनालाई अम्विका माध्यमिक विद्यालयमा राखिएको छ । सोही वडाको सुन्दरनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालय र कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ । समयमै उद्धार कार्य गरिँदा बाढीजन्य विपद्का कारण हुने अप्रिय घटना भने हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

उनका अनुसार महाकाली नदीमा पानीको बहाव घट्दो क्रममा रहेको छ । आज बिहान ७ः०० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख ७१ हजार ९१३ क्यूसेक रहेको छ । सीमा पुल बनवसामा चारपाङग्रे सवारीसाधन भने अझै सञ्चालन हुनसकेका छैनन् । नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि सुरक्षाका कारण पुलमा चारपाङग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । सोमबार साँझ ५ः०० बजे महाकाली नदीमा यस वर्षकै बढी पानीको बहाव दुई लाख ७१० क्यूसेक पुगेको थियो ।

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, पर्यटक अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका हुन् । सोमबार साँझ पहिरोले अवरुद्ध बनेको सडक अहिलेसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतले जानकारी दिए । पहिरो धेरै ठूलो हुँदा सडक खुलाउन समय लाग्ने उनको भनाइ छ ।

योबाहेक अरु वैकल्पिक सडक नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बस्नेतले बताए । साँझ नै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकिएको उनको भनाइ छ । बिहानैदेखि सडक खुलाउन उपकरण प्रयोग गरेको उनले बताए । ‘पहिरो धेरै ठूलो गएको हुँदा सडक खुलाउन समस्या भएको छ, बिहानदेखि नै मेसिन प्रयोग गरिएको छ, अझै समय लाग्ने देखिन्छ, सडक अवरुद्ध हुँदा सबैभन्दा बढी पर्यटक समस्यामा परेका छन्’, उनले भने, ‘आवतजावत गर्नका लागि अरु वैकल्पिक सडक नहुँदा गाह्रो भयो ।’ मौसम र सडकको अवस्था बुझेर मात्र ढोरपाटन घुम्न आउन पर्यटक प्रहरीले आग्रह गरेको छ ।

धादिङ–मलेखु सडकमा रोकिएन भासिने र पहिरो जाने क्रम
धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो । स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ । सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन ।

विसं २०५६ बाट सुरु भएर २०५८ सालमा कालोपत्र सकिँदादेखि हालसम्म निरन्तर यही सडक प्रयोग गर्दै आएका स्थानीयवासी भरत ढुङ्गाना भन्छन्, ‘पछिल्ला वर्षहरूमा सडक तलतिर दबिने र माथिबाट पहिराले धकेल्ने क्रम झन् बढेको छ।’ सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडक यही हो । नीलकण्ठ –८ दारेगौँडामा सडक भासिन थालेको झण्डै २४ वर्ष भयो । हुन त गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजन कार्यालयले मर्मतको ठेक्का लगाएको थियो । मर्मत सुरु भएको पनि थियो । तर भौगोलिक अवस्था अध्ययन नगरी हचुवाका भरमा काम गरिँदा काम सक्नै नपाई पहिरोले क्षति पुर्‍यायो । त्यसैको परिणाम अहिले झन् समस्या उत्पन्न भएको ढुङ्गानाले बताए ।

हरेक समय सडकको बीच भागबाट नै चिरा परेर भासिँदै जाने र बर्सेनि टालटुल गरेर त्यसैमाथि कालोपत्र हालिदै आएको सडकमा अहिले त नजिक पुग्दा पनि डरलाग्दो बनेको छ । सडकको छेउबाट कुनासम्म नै दबिएको छ । आधा भागमा त मान्छे गएर उभिनसक्ने अवस्था पनि छैन । कुनापट्टिबाट ढेप्पिएर जसोतसो गाडी वारपार भइरहेको छ । ठूला गाडीले आधा टायर पहिरोमा झुण्ड्याएरै पहिरो छिचोल्नु पर्ने बाध्यता छ ।

अन्यत्र जिल्लाबाट सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडकको दारेगौँडा पार गर्दा यात्रु र सवारी चालकलाई हम्मेहम्मे हुने गर्दछ । चालक डम्बरबहादुर श्रेष्ठले भने, ‘पहिरोको बीचतिर पुग्दा त ज्यानै सिरिङ्ग हुन्छ, लोड लिएर आएको बेला गाडीसहित खसियो भने बाँचुम्ला भन्ने आश छैन ।’ पहिरोको लम्बाइ करिब एक सय मिटर मात्र छ । सडक मर्मतमा ध्यान नदिँदा हरेक वर्ष जोखिम बढ्दै गएको हो । भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो पनि छ। सडकको तल्लोपट्टि थोपल खोला छ । खोलाकिनारदेखि नै सुरु भएको पहिरोले सडक तानिरहेको छ । माथिबाट पनि पहिरो खस्ने क्रम दिनहुँ बढ्दो छ ।

सडक भासिएर जोखिम बनेको सबैलाई थाहा छ । सडक विभाग, स्थानीय सरकारका जिम्मेवार व्यक्ति दैनिक यही सडक हुँदै सदरमुकाम आवतजावत गर्छन् । तर सम्भावित जोखिम र दुर्घटनाबारे चासो देखाएको पाइँदैन । जानकारहरूका अनुसार पहिरो रोक्न खोला किनारदेखि नै पर्खाल उठाएर मर्मत गर्नुपर्छ । मर्मतका नाममा पहिलो पटक यस वर्ष केही भागमा ग्यावियन जाली लगाइयो । त्यो ग्यावियन जालीपछि सडकसँगै भासिएको छ । जग नै बलियो नभएको सडकको टुप्पामा अलिकति जाली लगाएर सडक विभागले झारा टार्ने काम मात्र गरेको स्थानीयको गुनासो छ ।

कालु पाण्डे मार्गका तत्कालीन सुपरभाइजर अर्जुन सापकोटाले ‘स्वायल टेष्ट’ गरेर दीर्घकालीन समाधानको बाटो खोजिरहेको बताए । तर गत आर्थिक वर्ष बजेट हालेर पनि दीर्घकालीन बाटो पहिल्याउन नसक्दा जोखिम झनै बढेको छ । भएका वैकल्पिक सडकको सामान्य मर्मत गरी प्रयोगमा ल्याउन र त्यस स्थानमा हुनसक्ने सम्भावित दुर्घटना रोक्नतर्फ सम्बन्धित निकायलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ वैकल्पिक बाटो

वैकल्पिक बाटोका रूपमा ससाहको देउराली चौताराबाट इँटाभट्टा, मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरेको प्रतीक्षालय निस्कन मिल्छ । तर कच्ची सडक हिलो र खाल्डाखुल्डी मर्मत नगरिँदा सवारीसाधनले यो बाटो पनि प्रयोगमा ल्याउन सकेका छैनन् ।

फोरह्वील र अग्ला सवारी जान सक्ने भए पनि सबै खालका सवारीसाधन पार गर्न सक्ने अवस्था नहुँदा वैकल्पिक बाटो प्रयोगविहीन छ । ससाह खोला र खेत आसपासका करिब पाँच सय मिटर दूरीमा सडक अप्ठ्यारो छ । अप्ठ्यारो भागमा ग्राभेल गरेर वैकल्पिक बाटो प्रयोगमा ल्याउन सकिए सम्भावित दुर्घटना रोक्न सकिनेछ । दारेगौँडाको पहिरो नजिकै चौतारोबाट पनि मैदीभन्ज्याङ हुँदै तल्लो ज्यामिरे निस्कने बाटो पनि छ ।

दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । हालको मनसुनमा समेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ । करिब एक वर्षअघिको बाढी–पहिरोले क्षतिविक्षत बनाएपछि अस्थायी निर्माण गरी राजमार्ग सञ्चालन भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

कार्यालयले बाढी–पहिरोपश्चात पहिलाकोभन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षामा क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्युपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ ।बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्यावियन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन ठूला बोल्डर तयारी अवस्थामा राखिएको थियो ।

कार्यालयले वर्षायाममा बाढी–पहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५–१५ वटा उपकरणका साथै डिभिजनले डोजर, टिपर, लोडरलगायत सात उपकरण तयारी अवस्थामा राखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर योगेशले बताए ।

विसं २०८१ असोजको बाढी–पहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ । बाढी–पहिरोले आठ किलोमिटर सडक पूरै बगाएको थियो । क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो ।

उक्त सडकखण्ड क्षतिग्रस्त भएपछि गत सालको दसैँमा त्यसमार्ग भएर पूर्वतर्फ घर जान चाहनेहरूले वैकल्पिक मार्ग प्रयोग गरे । ‘यो मनसुनमा राजमार्ग अवरुद्ध हुन दिइएन, अब दसैँलगायत चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत थाल्दैछौं’, योगेशले भने । उनका अनुसार बाढी–पहिरो आए निर्माण व्यवसायीले खुलाउनेछन् । यसका लागि ठेक्का लागेका व्यवयासी मेसिन लिएर बाढीपहिरो आए सडक खुलाउन तैनाथ रहेको योगशेको भनाइ छ । चाडवाडलाई मध्यनजर गर्दै खाल्डाखुल्डी पुर्दै सडक सुधार गर्ने योजना रहेको जनाइएको छ ।

उक्त राजमार्गमा भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिको आइतबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङबाट सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ ।

हाल दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडवाडका बखत तेब्बर सवारीसाधन ओहोरदोहोर गर्छन् । उक्त राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको छ ।

क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्नेछ । जाइकाले पिप्लेबाट बर्खे खोलासम्म तीन दशमलव दुई किमी सडक निर्माण गर्नेछ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको छ । ठेक्का सम्झौता नहुन्जेल यस खण्डको मर्मतसम्भारको काम कार्यालयअन्तर्गत नै हुने योगेशले बताए । यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो ।

सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि भक्तपुर सडक डिभिजनलाई सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई एक अर्ब उपलब्ध गराएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ साल असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

लैङ्गिक समानता प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको छः मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह (सुडी)ले लैङ्गिक समानता प्रवर्द्धन गर्न सरकारले तीव्रताका साथ काम गरिरहेको बताएका छन् ।

यहाँ आज आयोजित महिला समुत्थान परियोजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले लैङ्गिक समानताको विषयमा सरकारले गहिरो आत्मसमीक्षासहित काम गरिरहेको बताए । यसका लागि देखिएका चुनौती पहिचान गरी आगामी दिनमा थप सुधारका काम गरिने मन्त्री सुडीको भनाइ थियो ।

उनले चालु आर्थिक वर्ष २०८२/८३ का लागि योजना तर्जुमा गर्दा सङ्ख्यात्मक उपलब्धिको मात्र नभई गुणात्मक प्रभावको पनि मूल्याङ्कन गरिएको बताए ।

मन्त्री सुडीले महिला सशक्तीकरण कुनै एक क्षेत्रको मात्र विषय नभई सिङ्गो राष्ट्रको विकास र समृद्धिसँग जोडिएको मूल विषय भएकाले यसमा सबैको सहकार्य आवश्यक रहेको धारणा राखे। उनले लैङ्गिक हिंसापीडितको पुनःस्थापना र एकीकरणका लागि एक राष्ट्रिय र तीन प्रादेशिक पुनःस्थापना केन्द्रहरू निर्माण गरी सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए ।

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० भन्दा बढी पुग्यो

अफगानिस्तान । अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० भन्दा बढी पुगेको छ । भूकम्पमा परी दुई हजारभन्दा बढी मानिस घाइते भएका छन्।

भूकम्पको कम्पन अफगानिस्तानको काबुलदेखि पाकिस्तानको इस्लामावादसम्म महसुस गरिएको छ । आइतबार मध्यरात करिब पौने १२ मा गएको ६.० म्याग्नीच्यूडको भूकम्पका कारण मध्यरातमा र पहाडी क्षेत्रमा रहेका कच्ची घरहरू भत्किएपछि सुतेका परिवारका सयौँ सदस्य हताहत भएको सोमबार जनाइएको छ । भूकम्पको केन्द्रविन्दु जलालाबादबाट करिब २७ किलोमिटर टाढा रहेको युएसजिएसले जनाएको छ ।

भूकम्पका कारण धेरै स्थानमा पहिरो गएको र सीमति रूपमा चल्ने यातायातका साधनको आवागमनमा समेत समस्या भएको छ ।

भूकम्पपछि ठूलो उद्धार कार्य जारी रहेको तालिबान अधिकारीहरूले बताएका छन् ।

भूकम्पको असर काबुलदेखि छिमेकी पाकिस्तानको राजधानी इस्लामावादसम्मका भवनहरूमा स्पस्ट देख्न सकिन्छ।

भूकम्पले अफगानिस्तानका कम्तीमा पाँच वटा प्रान्तमा हताहती र विनास निम्त्याएको र उद्धारकर्ताहरूले सोमबार साँझसम्म पनि भत्किएका घरहरूबाट मानिसहरूलाई उद्धार गरी हेलिकोप्टरमार्फत् उपचारका लागि नजिकका सहरमा लगिएको छ ।

पूर्वी कुनार प्रान्तका विपद् व्यवस्थापन प्रमुख एहसानुल्लाह एहसानले एएफपीसँग भने, “खोजी कार्य जारी छ । धेरै मानिस उनीहरूको घरको भग्नावशेषमा फसेका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमानहरू गरिएको छ।”

तालिवान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार भूकम्पको केन्द्रविन्दु नजिकै रहेको कुनारमा मात्रै करिब ८०० जनाको मृत्यु भएको छ भने दुई हजार ५०० जना घाइते भएका छन् ।

त्यस्तै छिमेकी प्रान्त नांगरहारमा १२ जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन् भने लगमान प्रान्तमा ५८ जना घाइते भएका छन् ।

कुनारको नुर्गल जिल्लाको वादिर गाउँमा आसपासका दर्जनौं बासिन्दाले उद्धारकर्मीहरूलाई भत्किएका घरहरूको भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकाल्न मद्दत गरेको एएफपीले सार्वजनिक गरेका तस्बीरमा देख्न सकिन्छ ।

धेरै घाइतेहरूलाई नान्गाहार प्रान्तको जलालाबाद शहरका अस्पतालहरूमा लगिएको छ ।

 

सोलुखुम्बुको थामेमा बाढी, पाँच घर बगायो ६ घरमा क्षति

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा बाढी आएको छ । बाढीले पाँच घर बगाएको छ भने ६ घरमा क्षति भएको छ ।

थामे खोलाले धार परिर्वतन गरेर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोमबार (भदौ १६) खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै आइतबार रातिदेखिको वर्षाका कारण थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा आएको जनाएको छ ।

बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको जनाएको छ ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल वर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

लिपुलेक सम्झौताको विरोधमा अखिल (क्रान्तिकारी) को राँके जुलुस

काठमाडौँ । नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाई राष्ट्रिय सार्वभौमिकता र अखण्डता माथि अतिक्रमण गरेको भन्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले राँके जुलुस निकालेको छ ।

लिपुलेकमा भएको भारतीय र चिनियाँ द्विपक्षीय व्यावसायीक सम्झौताको विरोधमा विरोध प्रदर्शन भएको हो ।

ठमेलका रेस्टुरेन्टमा महानगरको खाद्य अनुगमन: लापरबाहीको श्रृंखला

काठमाडौँ । पर्यटक र नेपाली दुवैका लागि आकर्षणको केन्द्र ठमेलमा आज काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले खाद्य अनुगमन गर्दा लापरबाहीको श्रृंखला भेटिएको छ। विभागका अनिल बस्नेतसहितको छ सदस्यीय टोलीले विभिन्न रेस्टुरेन्ट र फास्टफुड पसलहरू जाँच्दा सरसफाइदेखि लेबलिङसम्म गम्भीर कमीहरू देखिए।

ठमेलमा प्रायः मानिसहरूको रोजाइमा पर्ने Syanko Katti Roll मा बनमा ट्याग नराखिएको थियो। महानगरबाट तालिमसमेत पाएकी कर्मचारीले सामान चेक नगरी राखेकी थिइन्। निरीक्षणकै क्रममा expire bhayeko जुस भेटियो। त्यहाँ तरकारी, मासु र फोहोर एउटै ठाउँमा राखिएको थियो, पछि टोलीले हस्तक्षेप गरेपछि फोहोर बाहिर सारियो। त्यहाँ फायर एक्सटिङ्गुइशर खाने ठाउँकै छेउमा राखिएको थियो। झन् अचम्मको कुरा, काठी रोल बनाउने भाँडामा ‘खाँसी’ (cement सफा गर्ने उपकरण) प्रयोग गरेर सफा गरेको पाइएको थियो। काठी रोल बनाउनुपर्ने भाँडाको आफ्नै सफा गर्ने उपकरण हुन्छ, तर त्यसलाई बेवास्ता गरिएको देखियो। साथै, सोही स्थानमा स्याङ्ला पनि सजिलै देखिन्थे, जसले सफाइप्रति अझै गम्भीर लापरबाही भएको पुष्टि गर्छ।

अनुगमनकै क्रममा अर्को लोकप्रिय रेस्टुरेन्ट, युवाहरू मन पराउने HangKook Sarang Korean Restaurant मा झन् गम्भीर अवस्था देखियो। त्यहाँ न त फायर एक्सटिङ्गुइशर थियो, न त मासुका उत्पादनमा अनिवार्य हुने लेबल। किचनको अवस्था यस्तो थियो कि निरीक्षणमै संलग्न अनिल बस्नेतका अनुसार “भित्र पस्दा नै वाक्क हुने अवस्था थियो।” उनले थपे, “यसै रेस्टुरेन्टबाट अघिल्लो पटक विदेश पुगेका एक व्यक्तिलाई खाद्य विषाक्तताको समस्या भएको रिपोर्ट आएको थियो, तर त्यस्तो घटनापछि पनि कुनै सुधार देखिएन।”

Donald Fast Food Tandoori Restaurant मा प्याकेटिङ मात्र गरिएको ब्रेड भेटियो तर कुनै जानकारी उल्लेख गरिएको थिएन। किचन सफाइको अवस्था पनि नाजुक थियो। यसअघि नै चेतावनी दिइए पनि सुधार नभएको टोलीले जनाएको छ।

Avocado Cafe मा निरीक्षण गर्दा म्याद गुज्रिसकेको पेय पदार्थहरू भेटिएका थिए।

अनुगमन टोलीले आज विभिन्न ठाउँबाट घ्यू, तेल, सस र बेकरीका सामान नमुना संकलन गरेको छ। यी सबैमा अनिवार्य लेबल हुनुपर्ने भए पनि धेरैजसोमा थिएन। बस्नेतका अनुसार महानगरले यस्ता स्थानलाई अघिल्लो पटक चेतावनी दिएको थियो, तर सुधार नदेखिएको हुँदा अहिले सम्बन्धित सञ्चालकलाई तीन दिनभित्र स्पष्टीकरण दिन बोलाइएको छ।

ठमेललाई नेपालीपन झल्किने र पर्यटकको मन जित्ने ठाउँ मानिन्छ। त्यहाँकै रेस्टुरेन्टमा यस्तो लापरबाही भेटिनु, बस्नेतका शब्दमा, “सिर्फ उपभोक्ताको स्वास्थ्यका लागि मात्र होइन, सम्पूर्ण शहरको छविलाई समेत जोखिममा पार्ने कुरा हो।”

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिएका छन्।

चीनको औपचारिक भ्रमणमा रहेका उनले आज ‘साङ्घाई सहयोग सङ्गठन प्लस बैठक’लाई सम्बोधन गरेका थिए। सो सन्दर्भमा, चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई)ले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर साझा भविष्यका लागि समुदायका लागि अझ न्यायपूर्ण, समावेशी र समतामूलक बनाएर बहुपक्षीय प्रणालीलाई सुदृढ गर्न मद्दत गर्ने उनले बताए।

प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवीनतामा असाधारण प्रगतिको युगमा बाँचिरहेका भएपनि बढ्दो असमानता, आर्थिक अस्थिरता, जलवायु आपतकाल र सीमाविहीन द्वन्द्वहरूका गहिरो विभाजनले प्रगति ओझेलमा परेको उल्लेख गरे।

‘यस्तो संसारमा कुनै पनि राष्ट्र एक्लै सुरक्षित रहन सक्दैन। कुनै पनि जनता खण्डित अवस्थामा समृद्ध हुन सक्दैनन्। यसैले बहुपक्षीयता हाम्रो समयको अपरिहार्यता हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तैपनि हामीले एउटा कठोर सत्यको सामना गर्नुपर्छ। नियममा आधारित व्यवस्थालाई चुनौती दिइएको छ। शान्ति र न्याय अझै पनि टाढा छन्। यसरी, बहुपक्षीयता सङ्कटमा छ। यो सङ्कट बाह्य मात्र होइन। यो प्रवाह गर्न नसक्ने असफलताबाट पनि उत्पन्न भएको हो।’

बहुपक्षीय मञ्चले धेरै वाचा गर्ने गरिएपनि थोरै मात्र प्रवाह हुने गरेको उल्लेख गर्दै उनले प्रगति विनाका वाचाले विश्वास घटाउने बताए। साङ्घाई सहयोग सङ्गठनले सार्वभौम समानतामा आधारित पुनरुत्थानशील बहुपक्षीयताको भावनालाई पूरक बनाउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्गठन अझ एकताबद्ध, एकीकृत र भूराजनीतिक, आर्थिक र पारिस्थितिक सङ्कटको सामना गर्न अझ लचिलो हुनुपर्ने आवश्यकता औँल्याए।

प्रधानमन्त्री ओलीले क्षेत्रीय सुरक्षाको सम्बोधन नगरी शान्तिको कुरा गर्न नसकिने बताउँदै चुनौतीहरूले हरेक दिन सीमा पार गरेको उल्लेख गरे। ‘आतङ्कवादले समाजबाट सुरक्षा र अवसर खोस्छन्। जलवायु परिवर्तनले जोखिमलाई बढाउँछन्। हिमाली मुलुक नेपालले यसको सामना सिधै महसुस गर्छ,’ उनले भने, ‘बढ्दो तापमानका कारण विश्वव्यापी जलवायुको स्थिरताका प्रतिक हिमालले हिउँको भण्डार गुमाउँदैछन्, जसले तल्लो तटीय क्षेत्रमा बस्ने अर्बौँ मानिसको जीवनलाई खतरामा पारेको छ।’

उनले साइबर हमला, महामारी, पारिस्थितिक सङ्कटजस्ता उदीयमान खतरा सीमित नभएको उल्लेख गर्दै दिगो विकास लक्ष्य प्राप्त गर्न केवल पाँच वर्ष बाँकी रहँदा लक्ष्य हासिल गर्ने दिशामा पछाडि परेको बताए।

यस कठिन समयमा, क्षेत्रीय सहयोग साझा चुनौतीहरू आर्थिक, प्राविधिक, पारिस्थितिक सामना गर्ने एउटा उपकरण भएको बताउँदै प्रधानमन्त्री ओलीले क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता अटल रहेको र साङ्घाई सहयोग सङ्गठनका सदस्यसँगको सम्बन्ध बलियो रहेको उल्लेख गरे।

उनले आगामी दिनमा एक्लोपनाबाट सम्पर्क सञ्जालतर्फ, टकरावबाट परामर्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यको आवश्यकता औँल्याए। यसका लागि भौतिक, आर्थिक, डिजिटल, सामाजिक–सांस्कृतिक र जन–जनबिचको सम्पर्क बढाएर क्षेत्रीय शान्ति, प्रगति र समृद्धि प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी साङ्घाई भावनालाई अँगालेर गहिरो समझदारी बढाउन संवाद र कूटनीतिलाई तीव्रता दिनुपर्ने तथा विश्वलाई विभाजन होइन, थप साझेदारी चाहिएको उनले उल्लेख गरे। क्षेत्रीय र विश्वव्यापी रूपमा मिलेर तथा काम गरेर न्यायपूर्ण, समावेशी र लचिलो व्यवस्था निर्माण गर्न एवं दिगो विकास हासिल गर्न सकिनेमा उनको जोड थियो।

यस्तो विश्वव्यापी समन्वयले कुनै पनि राष्ट्र पछाडि नछुट्ने उल्लेख गर्दे प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग सङ्गठनभित्र क्षेत्रीय सहयोग बढाउने आफ्नो प्रतिबद्धता रहेको दोहोर्‍याए। उनले दिगो भविष्यका लागि नियममा आधारित, समावेशी बहुपक्षीय प्रणालीको समर्थन गर्ने उल्लेख गर्दै साङ्घाई भावनालाई कायम राख्न, मित्रता, साझेदारी र असल छिमेकी सम्बन्धलाई सुदृढ गर्न आग्रह गरे।

नेपाल ‘ए’ ले जित्यो आसामविरुद्धको टी-२० सिरिज

काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जितेको छ ।  सोमबार भारतको गुवाहाटीमा भएको पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ टिमले सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।

आसामका लागि भार्गव लहकरले सर्वाधिक २९ रनको योगदान दिए । बलिङमा नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । आदिल अन्सारीले ११ बलमा अविजित २५ रन जोडे । शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिए ।

पत्रकार महासङ्घ लुम्बिनीमा कल्याणकारी कोष स्थापना अभियान सुरु

घोराही । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले पत्रकारहरूको सुरक्षाका लागि १ करोड रुपैयाँ राशिको कल्याणकारी कोष स्थापना अभियान सुरु गरेको छ ।

महासङ्घको यसअघि गरिएको बैठकको निर्णय अनुरुप कोषमा रकम संकलनका लागि सहयोग अभियान सुरु भएको हो । जसअनुसार मुलुककै सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही उपमहानगरपालिकामा कोष स्थापनाका लागि पत्रकार महासंघले ज्ञापनपत्र बुझाएको छ ।

पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सहित पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको टोलीले घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीलाई भेट गरेर कोषमा रकम सहयोग गर्न आग्रह गरेको छ ।

निवर्तमान केन्द्रीय अध्यक्ष पोखरेल सहित पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्र ऋषि चौलागाई, महासचिव पाण्डव शर्मा, पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्षहरू दुर्गालाल केसी, सुदीप गौतम सहितका पत्रकारहरु उपमहानगरपालिका पुगेका थिए ।

नगर प्रमुख चौधरीले जोखिममा पर्न सक्ने पत्रकारहरूलाई मध्यनजर गरेर महासङ्घमा स्थापना गरिएको कल्याणकारी कोषको अवधारणा निकै प्रशंसनीय भएको बताए। ” हिजोको लोकतान्त्रिक आन्दोलनदेखि मुलुक परिवर्तनका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको छ,” नगर प्रमुख चौधरीले भने, ” घोराही उपमहानगरपालिका पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाका लागि आफ्नो तर्फबाट सक्दो भूमिका खेल्नेछ ।”

महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरूको भौतिक र पेशागत सुरक्षा अपरिहार्य भएको धारणा व्यक्त गरे ।

महासङ्घ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईंले कल्याणकारी कोष स्थापनाका लागि तीन तहकै सरकार र अन्य सरोकारवाला पक्षहरूसँग सहकार्य गरिने स्पष्ट पारे ।

महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले विगतदेखि नै घोराही उपमहानगरपालिका मिडिया मैत्री र साना लगानीका मिडियाहरूको प्रवर्द्धनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने स्थानीय तहको रुपमा स्थापित भएको बताए।

यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले लुम्बिनी प्रदेश समितिले प्रारम्भ गरेको कल्याणकारी कोष स्थापना सकारात्मक भएको उल्लेख गर्दै यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

‘बैतडी घटनाबारे सदनलाई जानकारी होस्’

काठमाडौँ ।  राष्ट्रियसभाका सांसद पदम परियारले बैतडी जिल्लामा भएको घटनाबारे संसद्लाई जानकारी दिनुपर्ने माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका  सांसद पदमबहादुर परियारले घटना भएको लामो समयसम्म प्रहरी प्रशासनले दरखास्त नलिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, “बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–३ बस्ने वर्ष १३ का किरण कोलीको यही साउन १७ गते करेन्ट लागेर मृत्यु भयो, त्यसपछि कोलीकी आमा राजमतिले जिल्ला प्रहरी कार्यालय बैतडीमा घटनाबारे जाहेरी दरखास्त दिन कोसिस गरेका थिए, तर जाहेरी दरखास्त लिन मानिएन, हुलाकबाट पठाएको जाहेरीबारे प्रहरी प्रशासनले सनाखत गरेको छैन, दरखास्त दर्ता हुन सकेको छैन । प्रहरी प्रशासनले भने घटनास्थलको मुचुल्कासँग मेल नखाने किटानी जाहेरी आएपछि दर्ता नभएको जनाएको छ ।
उनले सोही ठाउँका स्थानीय बासिन्दा र राजनीतिक दलका नेताहरु पीडित परिवारलाई प्रलोभनमा पार्ने फकाउने र धम्काउने गरिएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । सांसद परियारले भने, “जाहेरी दर्ता गर्नुको सट्टा उल्टै स्थानीय नेताहरुले धम्काउने काम भएको छ, पीडितलाई जानकारी नै नदिइकन पीडितको खातामा अनाधिकृत रुपमा रु पाँच लाख जम्मा गर्ने काम भएको छ, घटना भएको ठाउँमा भएका सपुतहरु नष्ट गर्ने काम भएको छ, प्रहरी प्रशासनले सहयोग गरेको छैन ।”

लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

काठमाडौँ । परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरुले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा जोड दिएका छन् ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा विज्ञहरुले यही भदौ ३ गते नेपाली भूमिको बाटो हुँदै भारत–चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएको विषयप्रति आपत्ति प्रकट गर्दै त्रिपक्षीय संवादबाट समाधान गर्नुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं परराष्ट्रविद् डा राजन भट्टराईले नेपाल–भारत–चीन त्रिदेशीय कूटनीतिक संवाद र प्रमाणबाट लिपुलेकको विषय टुङ्गो लगाउनुपर्ने बताए। “उक्त विषय त्रिदेशीय संवादबाट टुङ्ग्याउनुपर्छ, राष्ट्रको सवालमा एक हुनुपर्छ”, उनले भने, “नेपाली भूमिको संरक्षणमा आम जनसमुदाय एक हुनुपर्छ ।”

नेपाल–भारतबीचको सुगौली सन्धिमा समेत लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भनेर उल्लेख भएको र त्यो भूभाग नेपालको भन्ने प्रशस्त प्रमाण भएको उनले बताएका छन् । “सुगौली सन्धिमा पनि प्रष्ट रुपमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भनिएको छ”, परराष्ट्रविद् डा भट्टराईले भनेका छन्, “सुगौली सन्धिलाई नमान्ने हो भने त नेपालको भूमि पूर्वमा टिस्टा, पश्चिममा काँगडा हो नि ।”

उनले भारतले एकतर्फी हिसाबले भारतले नक्सा बनाएर नेपाली भूमि भारतमा राखेको र नेपालले त्यसबारेमा कूटनीतिक नोट पठाउँदा बेवास्ता गरेपछि नेपालले नक्सा संशोधन गरेर चुच्चे बनाएको स्मरण गराएका छन् ।

नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा विष्णु उप्रेतीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने अकाट्य प्रमाणहरु भएको र सुगौली सन्धिमै त्यो प्रष्ट भएको बताए ।

“नेपालसँग अकाट्य प्रमाणहरु छन, सुगौली सन्धि प्रमुख प्रमाण हो”, डा उप्रेतीले भने, “भारतमा बेलायती शासक हुँदा नै व्यापार, धार्मिक, प्राकृतिक स्रोतले महत्त्वपूर्ण नेपाली भूमिमा आँखा लगाएका थिए, तर सुगौली सन्धिमा नेपालकै भूमि भन्ने स्पष्ट छ ।” उनले नेपालको सिमानाको विषयमा चीन पनि गम्भीर हुनुपर्ने बताए ।

सीमाविद् डा वुद्धिनारायण श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भन्ने पर्याप्त प्रमाण भएको हुनाले त्रिपक्षीय संवाद गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । “यो विषय पहिला नेपाल–भारतबीचको मात्रै विषय थियो, अहिले भारत–चीनले उक्त भूमिको विषयमा व्यापारिक बाटो बनाउने सहमति गरेपछि त्रिदेशीय बन्यो”, उनले भने, “कूटनीतिक पहलबाट तीन देशका सरकार बसेर यो विषय टुङ्ग्याउनुपर्छ ।”

हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक नेपालको भूमि रहेको स्पष्ट पार्दै सो क्षेत्रका विषयमा चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाएका थिए ।

पाकिस्तानमा भीषण बाढी : पञ्जाबमा ३३ जनाको मृत्यु, लाखौं प्रभावित

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । पञ्जाब प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलीका अनुसार, हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई करोडभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् ।

बाढीको जोखिमका कारण करिब पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबका प्रमुख नदीहरूको आसपासका ग्रामीण क्षेत्रहरूमा डुबान बढिरहेकाले उद्धार र राहत कार्य अझै तीव्र गतिमा जारी रहेको छ । उद्धारका लागि आठ सयभन्दा बढी डुङ्गा र एक हजार तीन सयभन्दा बढी उद्धारकर्मी खटाइएको जनाइएको छ ।

प्रान्तका तीन ठूला नदीहरूमा अहिले पानीको सतह खतरा सीमाभन्दा माथि पुगेको छ । प्रभावितहरूका लागि विभिन्न स्थानमा अस्थायी राहत शिविर स्थापना गरिएको छ, जहाँ खाद्यान्न, आवास र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, जुन २५ गतेदेखि लगातार भइरहेको वर्षा र बाढीका कारण देशभर हालसम्म ८५४ जनाको मृत्यु भइसकेको छ भने एक हजार १३० जना घाइते भएका छन् ।

वैकल्पिक वित्त विकास विधेयक चाँडो पारित गरिदिन अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका क्षेत्रमा देखिएको वित्त व्यवस्थापनको चापलाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याइएको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजको आवश्यकता पूरा गर्न कठिन हुने अवस्था रहेको बताए ।

प्रतिनिधिसभाबाट छोटो अवधिमा उक्त विधेयक पारित भएको स्मरण गर्दै उपप्रधानमन्त्री पौडेलले राष्ट्रियसभाको विषयगत समितिमा नपठाइ सभाबाटै पारित गरिदिन आग्रह गरे।

सो प्रस्तावमाथिको छलफलमा सांसदहरु गोपीबहादुर सार्की अछामी, किरणबाबु श्रेष्ठ, विष्णुबहादुर विश्वकर्मा, नारायणदत्त मिश्र र विष्णुकुमारी सापकोटाले भाग लिए । बैठकले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदले विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्ने व्यहोरा जानकारी गराए ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराए । उनले संसदीय सुनुवाई समितिमा राष्ट्रियसभाबाट सासद अञ्जान शाक्यलाई मनोयन गरिएको जानकारी गराए । उक्त मनोनयनलाई सभाले सहमति जनाएको थियो ।

अध्यक्ष दाहालले विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने विषय कार्यसूचीबाट हटाइएको जानकारी गराए ।

बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ १६ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्नेछ ।

पाकिस्तानमा सरकारी हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

पाकिस्तानको उत्तर क्षेत्रमा रहेको गिलगिट–बल्तिस्तानको दिआमेर जिल्लामा सोमबार बिहान एक सरकारी हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ ।

दिआमेरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हमिदका अनुसार, उक्त हेलिकप्टर एक पहाडी पर्यटकीय क्षेत्रमा नयाँ प्रस्तावित हेलिप्याडमा परीक्षण अवतरण गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो ।

मृतकमध्ये दुई जना पाइलट र तीन जना प्राविधिक कर्मचारी रहेका छन् । दुर्घटना स्थानीय समयअनुसार बिहान करिब १० बजे भएको जनाइएको छ । यो हेलिकप्टर गिलगिट–बल्तिस्तान सरकारको स्वामित्वमा रहेको थियो ।

यस घटनाले केही साता अघिको अर्को दुर्घटनालाई पुनः स्मरण गराएको छ, जसमा खैबर पख्तुनख्वा प्रान्तमा बाढी राहत कार्यमा खटिएको एक एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा पाँच जना चालक दलका सदस्यको ज्यान गएको थियो ।

पछिल्ला वर्षहरूमा पाकिस्तानमा हेलिकप्टर दुर्घटनाका धेरै घटना भएका छन्। सन् २०२२ मा बाढी राहत कार्यकै क्रममा बलुचिस्तानमा भएको अर्को दुर्घटनामा पाँच जना सैनिक र एकजना उच्च सैनिक अधिकारीको मृत्यु भएको थियो ।

कर्मचारीको अवकाश उमेरबारे विवाद कायमै, मन्त्री न्यौपानेद्वारा समय माग

काठमाडौँ । सङ्घीय निजामति सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने कर्मचारीको उमेर हद पहिलो वर्ष ५९ वर्षबाट कार्यान्वयन गरेर जाने भन्ने प्रस्तावमा अडिग रहेपछि सहमति जुट्न नसकेको हो । बैठकमा उनले यस विषयमा पुनर्विचार गरेर अघि बढ्न छलफल गरेर टुङ्गो लगाउन भोलिसम्मको समय माग गरेका छन् ।

न्यौपानले भने, “सहमति गरेर जाऔँ, लचिलो भएर जाऔँ । कर्मचारीलाई राष्ट्रसेवालगायतमा लगाउनका लागि उत्साहित गर्नुपर्ने भएकाले केही कुरामा लचिलो बनेर जानुपर्छ । सरकारको यति कुरा उनीहरुले ग्रहण गरिदिनुस् ।”

समितिले विधेयकको दफा ५८ मा रहेको व्यवस्थामा सर्वसम्मतिले नै निजामती कर्मचारी ५८ वर्षको उमेरमा अवकाशमा जाने निर्णय गरिसकेको छ । समितिका सदस्यहरुले सहमति जुटिसकेको विषय किन उल्ट्याउन खोजिएको भनेर आपत्ति जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदहरुले भने समितिले सर्वसम्मतिले सहमति जनाइसकेको विषयमा उल्ट्याउन नहुनेमा अडान कायम राखेका छन् ।

एकीकृत समाजवादी सांसद डा. वेदुराम भुसालले मन्त्रीले टुङ्गो लागिसकेको विषयमा कहिलेसम्म अड्किएर बस्ने भनेर प्रश्न गर्दै यो विषयमा सच्याउने काम नगर्न धारणा राखे ।

माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले यो मिनी संसद् भएकाले यसलाई निर्देशन गर्न नपाइने भन्दै सहमति भइसकेकामा धेरै विवाद गर्नु नहुने बताए। माओवादी केन्द्रकै सांसद तारामान स्वाँरले समितिमा पनि विधेयकमाथि चलखेल भएको आरोप लगाए।

उनले भने, “५८ वर्षमा त टुङ्गो लागिसकेको विषय हो । भोलि विधेयक समयमा पास नभएर निष्क्रिय भयो भने यसको जिम्मेवारी कसले लिने रु यस विषयमा फेरि चलखेल सुरु भइसकेको छ ।”

समितिकी सभापति तुलसाकुमारी दाहालले मन्त्री न्यौपानेको अनुरोधमा यस विषयमा थप छलफल गरी टुङ्गोमा पुर्‍याउन समय माग गरेकाले भोलि बैठक बसेर विधेयक पारित गर्ने बताए । “मन्त्री पनि टसमस नहुने र सांसदहरुले लचिलो नभएकाले निर्णय गर्न गाह्रो भएको छ । या त मन्त्रालयले आफ्नो अडान छाड्नुपर्‍यो कि माननीयहरुले सरकारको प्रस्ताव स्वीकार्नुपर्‍यो,” उनले भने ।

समितिको अर्को बैठक भदौ १७ गते बिहान ९ बजे बस्ने निर्धारण गरिएको छ ।

अमेरिकी मौद्रिक नीतिमाथि ट्रम्पको नियन्त्रण भएमा ‘गम्भीर खतरा’

युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मौद्रिक नीतिमाथि नियन्त्रण लिने प्रयास सफल भए विश्व अर्थतन्त्रका लागि अत्यन्त खतरनाक हुने बताएका छन् ।

ट्रम्पले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई हटाउन खोजिरहेको भन्दै आलोचकहरूले यस कदमलाई केन्द्रीय बैंकलाई आफ्नो पक्षमा मोड्ने प्रयासको हिस्सा भनेका छन् । उनीहरूको भनाइमा, ट्रम्प कम ब्याजदरको पक्षमा रहने अधिकारीहरूलाई नियुक्त गर्न चाहन्छन् ।

“फेडको नीतिनिर्माण निकायमा बहुमतलाई पूर्ण रूपमा आफ्नो पक्षमा पार्न ट्रम्पका लागि धेरै गाह्रो हुनेछ”, फ्रान्सको रेडियो क्लासिकसँग कुरा गर्दै लेगार्डले भने, “तर यदि उनी सफल भएका छन् ।, यो अमेरिकी अर्थतन्त्र मात्र नभई विश्व अर्थतन्त्रकै लागि गम्भीर खतरा हुनेछ ।”

उनका अनुसार, केन्द्रीय बैंकका नीतिहरू मूल्य स्थिरता कायम राख्ने र ‘सर्वोत्कृष्ट’ रोजगारी सुनिश्चित गर्ने लक्ष्यमा आधारित हुन्छन् ।

लेगार्डले जोड दिँदै भने, “यदि मौद्रिक नीति कुनै एक व्यक्तिको आदेशमा निर्भर हुने हो भने, अमेरिकी अर्थतन्त्रको सन्तुलन बिग्रन सक्छ र त्यसको विश्वव्यापी प्रभाव निकै चिन्ताजनक हुनेछ ।”

एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले गरे सम्बोधन

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका थिए ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरे।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा रहेका छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

१२.०३ अङ्कले बढ्यो नेप्से, कारोबार कति भयो?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२६ कम्पनीका एक करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर ६८ हजार ७७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह एक दशमलव ५०, विकास बैङ्क शून्य दशमलव ५२, वित्त शून्य दशमलव १४, होटल तथा पर्यटन शून्य दशमलव ४३, जलविद्युत् शून्य दशमलव ०८ र लगानी समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३६, लघुवित्त शून्य दशमलव २७, म्युचुअल फन्ड शून्य दशमलव १६ र निर्जीवन बीमा समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै छ दशमलव ०७ प्रतिशतले घटेको छ ।

त्यस्तै, सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ६८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २८ करोड आठ लाख २३ हजार १८४ बराबरको कारोबार भएको छ ।

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको नौ लाख एक हजार ५४७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय

लुम्बिनी । लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकासनिर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौबुँदे निर्णय भएको छ ।

स्याङ्जाको गल्याङमा आज सम्पन्न मुख्यमन्त्रीस्तरीय दोस्रो बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साझा विकाससँग सम्बन्धित नौबुँदे निर्णयमा हस्ताक्षर गरेका हुन् ।

सीमा जोडिएका यी दुई प्रदेशबीच यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न मुख्यमन्त्रीस्तरीय बैठकमा साझा हित र चासोका विषयमा सहकार्य गर्ने प्रतिबद्धतासहित २१ बुँदे निर्णय भएको थियो । आजको बैठकमा रानीमहलमा भएको पहिलो बैठकको निर्णय कार्यान्वयनको अवस्था, सुधार गर्नुपर्ने पक्षलगायत विविध विषयमा समीक्षा भएको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

यसैगरी, बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्न व्यवस्था मिलाइने र प्रतिबद्धता गरिएअनुसार तीन महिनाभित्र कार्ययोजना तयार गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

निर्णय कार्यान्वयनका लागि दुबै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारको ध्यानाकर्षण गराउदै आएको र अहिले केही निर्णय कार्यान्वयन चरणमा रहेको मुख्यमन्त्री आचर्यले जानकारी दिए।

“संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारहरू सङ्घीय सरकारमार्फत प्रत्यायोजित नभएको अवस्था छ । संविधानले दिएको अधिकारलाई ‘फुलफेज’मा कार्यान्वयन गराउनका लागि हामी यसरी नै समन्वय र सहकार्य गरी अघि बढ्ने छौँ” उनले भने, “प्रदेशसँग जोडिएका साझा सडकको पूर्वाधारको समस्या समाधान गर्न ध्यानाकर्षण गराउने काम भइरहेको छ ।”

बैठकमा नेपालको संविधानको धारा, २३२ र २३३ मा रहेको समन्वय र सहकार्यको मर्मलाई आधार बनाई दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्तरुपमा अघि बढाउने सहमति समेत भएको छ ।

यसैगरी, दामोदरकुण्ड–कृष्णागण्डकी ‘उत्तरवाहिनी’–लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ । त्यस्तै, रुपान्तरणकारी कार्यक्रमहरूलाई अन्तरप्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेस गर्ने, कात्तिक महिनामा उत्तरवाहिनी क्षेत्रमा हुने कात्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले सिकाइ आदान–प्रदानका लागि प्रमुख सचिवस्तरीय संयन्त्र गठन गर्ने, कानुनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने र दुबै प्रदेशका तीर्थ तथा पर्यटकीय स्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्तरुपमा तयार गर्ने निर्णय पनि गरेको छ ।

नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने

काठमाडौँ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार बङ्गलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ ।

बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ । उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ रु एक हजार र साधारण प्याराफिटर्फ रु पाँच सय टिकट दर निर्धारण गरिएको छ ।

श्रमिकमैत्री कानुन निर्माणमा संसद् गम्भीर हुनुपर्छ : पूर्वसभामुख सापकोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले दलित, मजदुर र सुकुम्वासीका हकहित सुनिश्चित गर्न संसद् गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज काठमाडौँमा आयोजना गरेको श्रमिक–सांसद अन्तरक्रियामा उनले श्रमिकमैत्री कानुन निर्माणका लागि पार्टी सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे । सापकोटाले श्रमिक अधिकारलाई संवैधानिक र कानुनी अभ्यासमा परिणत गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा सहभागी श्रमिक प्रतिनिधिहरूले श्रम ऐनअनुसार बोनस पाउने अधिकार कार्यान्वयन गर्नुपर्ने, प्रतिष्ठानको मुनाफाको कम्तीमा १० प्रतिशत बोनस श्रमिकलाई वितरण गर्ने व्यवस्था कानुनमै स्पष्ट गर्नुपर्ने माग गरे । उनीहरूले वैदेशिक रोजगार ऐनमा विशेष संशोधन गरी अलपत्र परेका श्रमिकलाई सुरक्षित रूपमा नेपाल फर्काउने व्यवस्था मिलाउनुपर्ने र सवारी तथा यातायात व्यवस्था ऐनमा ‘राइड सेयरिङ एप्स’ सम्बन्धी स्पष्ट प्रावधान ल्याउनुपर्ने माग गरे ।

प्रतिनिधिसभाका सदस्य तथा नेकपा (माओवादी)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को विभिन्न समयमा श्रमिकका मुद्दा निरन्तर उठाइने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सामाजिक सुरक्षा कोषलाई श्रमिकमैत्री बनाउन कानुन कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। राष्ट्रियसभा सदस्य तथा प्रत्यायोजन समितिका सभापति मायाप्रसाद शर्माले मजदुरका मुद्दामा सत्तापक्षले ढिलासुस्ती गर्ने गरेको भन्दै आलोचना गरे ।

महासङ्घका अध्यक्ष जगतबहादुर सिंखडाले श्रमिक अधिकार सुनिश्चित गर्न श्रम ऐन, बोनस ऐनलगायत कानुन संशोधन गर्नुपर्ने र सामाजिक सुरक्षा कार्यक्रमलाई व्यावहारिक बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

 

बाढीपहिरोले : दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

काठमाडौँ । लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खँस्दा आवागमन ठप्प भएको हो ।

कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि निर्देशन दिइसकेका छन् । बाढीपहिरोका कारण अवरुद्ध भएका सडक सञ्चालन गरेर आवतजावत सहज बनाउन निर्देशन दिएका छन् । आइतबार सिंहको अध्यक्षतामा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या भएको भन्दै तत्कालै सडक सञ्चालन गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिएका छन् ।

चाँडोभन्दा चाँडो सडक सञ्चालन गर्ने प्रयत्न भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारी बताएका छन् । “अवरुद्ध भएका सडक चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको छ, कतिपय राजमार्गमा सुधारको काम भइरहेको छ, कतिपय स्थानमा वर्षा भइरहेको र नदीको बहाबसमेत बढेकाले पहिरो पन्छ्याउने तथा सफाइको काम गर्न अवरुद्ध भइरहेको छ,” उनले भने।

पूर्ण अवरुद्ध भएका सडकमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडकखण्ड रहेको छ । चीनबाट साउन १४ गतेको बाढी आएको कारण नदीले सडक कटान गरेकाले सडक अवरुद्ध भएको हो । हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ ।

यसैगरी जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध भएको छ । पैमा खोलाको बहाब बढेकाले खोलामा पानीको लेभल घटेपछि राजमार्ग सफा गरिने सडक विभागले जनाएको छ ।

यसैगरी विभागको तथ्याङ्क अनुसार रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले,लेघुवाघाट–तुम्लिङटार खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार बरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको तथा पानीको बहाब बढेको कारण डाइभर्सन पुनःस्थापना गर्न नसकिएको, पानी सतह घटेपछि डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई पनि जोड दिइने छ । चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानी पुल बेलीब्रिज यही साउन ६ गतेको अविरल वर्षाको बाढीले बगाएकाले अवरुद्ध भएको हो । हाल रेमिट हाइड्रोबाट पुनः बेलीब्रिज निर्माणका लागि पहल भएको छ ।
यसैगरी ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । असार २४ गते चीनतर्फबाट आएको भीषण बाढीका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । हाल उपकरण परिचालन गरी नदी कटानको कार्य भइरहेको छ ।

छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि पूर्ण रूपमा नै अवरुद्ध भएको छ । शाखा बाटो र खोलाबाट आएको लेदो सहितको बाढीपहिरोको कारण उक्त सडकखण्ड अवरुद्ध भएको भन्दै हाल पहिरो पन्छाउने काम भइरहेको विभागले जनाएको छ ।

कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम (सहिद मार्ग) पनि पूर्णरूपमा नै अवरुद्ध भएको छ । हाल निरन्तर पानी परिरहेको र पहिरो पनि झरिरहेकोले पहिरो रोकिएपछि सफा गर्ने कार्य सुरु हुने विभागले जनाएको छ ।

सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोसँगै ठूला–ठूला ढुङ्गा आई सडक अवरुद्ध भएको विभागले जनाएको छ । ढुङ्गा हटाउने प्रयास भइरहेको तर ढुङ्गा झर्ने क्रम जारी रहेको छ । लगातार सुख्खा पहिरो झरिरहेकाले राति बाटो बन्द हुने र दिउँसो बाटो सञ्चालन गर्ने काम जारी छ ।

छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम ९भेरी करिडोर० समेत पूर्ण रूपमा अवरुद्ध छ । पानी पर्न रोकिएपछि, खोला घटेपछि पुनः सडक मर्मतको कार्य अगाडि बढाइने विभागले जनाएको छ ।

८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए, गत वर्षको तुलनामा २२ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।

बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबँट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात् १२.६ प्रतिशत र ओसनियाबाट दुई हजार ४३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यसैगरी, अमेरिकाबाट सात हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात् १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, “भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौ्ँ ।”

अटोरिक्सा दुर्घटनाः एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

खलङ्गा । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उनले बताएका छन् ।

होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो । प्रहरी निरीक्षक रावतका अनुसार अटोरिक्सामा पाँचजना सवार थिए । चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक रावतले बताए । बेपत्ताको खोजी गर्न धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ ।

तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक छ: मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन आवश्यक रहेको बताएका छन् ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो नै सहज हुने बताए। उनले तीनै तहबीचको सुदृढ सम्बन्धले मात्रै सङ्घीयताको मर्मअनुसारको लक्ष्य पूरा हुने उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कँडेलले भने, “सङ्घ र प्रदेशले गर्ने विकास कार्यको कार्यान्वयन क्षेत्र स्थानीय तह हो । यसलाई जिम्मेवार र सक्षम बनाउनुपर्छ । यसो हुन सके मात्र जनतालाई सङ्घीयताको अनुभूति हुन्छ ।”

मुुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सुरु गरेको योजना बैङ्कलाई स्थानीय तहले अनुसरण गर्न अनुरोध गरेका छन् । विगतको अनुभवबाट सिकेर तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै प्रदेश सरकारसँग भएको सीमित स्रोत र साधनलाई सही सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासनतर्फ सङ्केत गर्दै केवल समस्या देखाउने मात्र नभई समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्ति विकास गर्नुपर्नेतर्फ जोड दिएका छन्। उनले भने, “समस्या देखाउन सजिलो हुन्छ तर त्यसको समाधानका लागि व्यावहारिक उपाय सुझाउनु अझ महत्त्वपूर्ण हुन्छ । विधि, थिति र कानुनको पालना गर्न सबैको कर्तव्य हो ।” सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने उनले बताएका छन् ।

दलभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई मजबुत बनाउँछः उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्र आन्तरिक प्रतिस्पर्धाले दललाई अझ मजबुत र सक्रिय बनाउने बताएका छन् ।

सेन्टर फर पब्लिक पोलिसी रिसर्च, नेपालद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उनले दलभित्र लोकतन्त्रको व्यवहारिक अभ्यास नभएसम्म सिङ्गो मुलुकमै लोकतान्त्रिक व्यवस्था प्रभावकारी नहुने धारणा व्यक्त गरे ।

“दुई–चार जना नेताले इच्छाएको भरमा पार्टीभित्रको एउटालाई तान्ने र अर्कालाई नतान्ने पद्धति ठीक हैन । आन्तरिक स्वतन्त्र प्रतिस्पर्धाले पार्टीलाई कुनै नोक्सान भएको म देख्दिनँ”, उनले भने, “प्रतिस्पर्धाले पार्टी र पार्टीका सङ्गठनहरु कमजोर हुँदैनन्, यसले पार्टीलाई अझ मजबुत बनाउँछ । पार्टीको र व्यक्तिहरुको सक्रियता बढाउँछ ।”

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले अबको समय र सन्दर्भमा सर्वहारा वर्गको अधिनायकत्वका नाममा कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको अधिनायकत्व हुने व्यवहारत अभ्यास टिकाउ नहुने तर्क राखेका थिए। उनले सन् १९९० मा सोभियत सङ्घको विघटनबारे चर्चा गर्दै अन्तरराष्ट्रिय अनुभवलाई ध्यानमा राखेर पार्टीभित्र लोकतान्त्रिकीकरणबारे सचेत गराए ।

उपाध्यक्ष पाण्डेले दलभित्र लोकतान्त्रिकीकरणको विषय नेकपा(एमाले)को आन्तरिक मामिला मात्र नभई मुलुककै लोकतान्त्रिक अभियानको महत्वपूर्ण मुद्दाका रुपमा बुझ्न आग्रहसमेत गरे ।

उनले पार्टीको आगामी अधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता र पार्टीको नेतृत्व दोहोरिने विषयमा छलफल गर्ने बताए । “दश वर्षसम्म कुनै एक व्यक्तिलाई कुनै एक जिम्मेवारीमा दिएपछि त्यो उसको क्षमता छभने त्यो दशै वर्षमा प्रकट हुन्छ । त्यसका लागि २० वर्ष कुर्नु पर्दैन वा १५ वर्ष कुर्नु पर्दैन”, उनले भने, “अबको विधान

दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने

काठमाडौं । यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो ।

यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले उल्लेख गरे । गतवर्ष मुस्ताङमा पालन गरिएका आठ हजारको सङ्ख्यामा दसैँ लक्षित भेडाच्याङ्ग्रा बेँसीतर्फ निकासी भएको कार्यालय प्रमुख डा.अर्यालको भनाइ छ । उनका अनुसार गतवर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्याङ्ग्रा बाहिरिएको थियो । गतवर्ष मुस्ताङ र डोल्पाको गरी मुस्ताङबाट कूल १२ हजार बढी च्याङ्ग्रा निकासी भएको उनको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङको वार्षिक तथ्यांक अनुसार यहाँका पाँचै वटा पालिकामा ६४ हजार ४०८ भेडाच्याङ्ग्रा र बाख्राको सङ्ख्या रहेको छ । यहाँको पाँच पालिकामा च्याङ्ग्रा ५६ हजार ४०५, भेडा पाँच हजार चार सय २६ र बाख्रा दुई हजार पाँच सय ७७ वटा रहेको कार्यालय प्रमुख डा. अर्यालले बताए ।

यहाँको लोमान्थाङ गाउँपालिकामा च्याङ्ग्रा १४ हजार ३९८  र भेडा  एक हजार ८२९, लोघेकर दामोदरकुण्डमा च्याङ्ग्रा १७ हजार ३४९ र भेडा १४९, वारागुङ मुक्तिक्षेत्रमा च्याङ्ग्रा २० हजार ६१६ र भेडा एक हजार ३०८, घरपझोङ गाउँपालिकामा च्याङ्ग्रा चार हजार ४२, भेडा चार सय ३३, बाख्रा एक हजार एक  सय ९४ र मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा भेडा ३७ र बाख्रा एक हजार तीन सय ८३ वटा रहेको जनाइएको छ ।

मुस्ताङमा सबै भन्दाबढी च्याङ्ग्रापालन भएको वारागुङ मुक्तिक्षेत्रबाट पाँच हजार र अन्य चारपालिकाबाट दुई हजार पाँच सयको सङ्ख्यामा भेडाच्याङ्ग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको हो । यहाँ पालन गरिएको चार वर्ष कटेका वयस्क भेडाच्याङ्ग्रा दसैँ तिहार पर्वको छेकोमा निकासी हुने गरेको भेटेरिनरी चिकित्सक डा. अर्यालले बताए ।

उनले मुस्ताङको तल्लो क्षेत्रमा दुई हजार पाँच सय बढीको सङ्ख्यामा सिनाल प्रजातीका बाख्रा र अन्य जातका बाख्रापालन भइरहेको बताए। यसवर्ष मुस्ताङमा १५ हजार बढी भेडाच्याङ्ग्रा निकासी हुने र छिमेकी जिल्ला डोल्पाबाट पाँच हजार बढी च्याङ्ग्रा आउने प्रारम्भिक अनुमान गरिएको छ । यहाँको उत्पादन र डाल्पाबाट भित्रिने भेडाच्याङ्ग्रा गरी करिब २० हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङको जोमसोम हुँदै म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसाबाट बाहिरिने पशु चिकित्सक डा. अर्यालको दाबी छ । गतवर्ष मुस्ताङमा प्रतिच्याङ्ग्रा २८ हजारदेखि ३५ हजार मूल्यमा च्याङ्ग्रा बिक्री गरिएको थियो ।

आवश्यक प्रक्रिया पुगे तिब्बत्बाट च्याङ्ग्रा ल्याउन कुनै समस्या नरहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख नायब सुब्बा उत्तम राईले नेपाल–चीन उत्तरी कोरलानाकाबाट भेडाच्याङ्ग्राका पाठापाठी भित्रिएको बताए । उनले मासुजन्य प्रयोगका लागि वयस्क भेडाच्याङ्ग्रा नभित्रिएको जानकारी दिए ।

‘यहाँ भेडाच्याङ्ग्रा आयात गर्नमा कुनै समस्या छैन, ब्यापारीले चीनबाट पशु क्वारेन्टाइन रिपोर्ट लिएर आउनु पर्‍यो,’ निमित्त प्रमुख राईले भने, ‘यहाँ तिब्बतबाट भित्रिएका भेडाच्याङ्ग्राको लोमान्थाङ गाउँपालिकाको पशु शाखा चिकित्सकले यहाँ भन्सारमा पशु निरोगितासम्बन्धी प्रमाणित गर्नुहुन्छ, त्यसपछि हामीले भन्सार राजस्व काट्छौं ।’ निमित्त प्रमुख राईले भन्सार कार्यालयको क्वारेन्टाइन पूर्वाधार नभएकाले पालिकाको सहयोगमा आवश्यक चेकजाँच गरी भन्सारले बैधता प्रदान गर्ने बताए ।

भारत-रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् : प्रधानमन्त्री मोदी

चीन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रुसबीचको मजबुत सम्बन्धलाई जोड दिँदै कठिन परिस्थितिमा पनि दुवै देश काँधमा काँध मिलाएर उभिएको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री मोदीले नयाँदिल्ली र मस्कोबीचको सहकार्य विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि महत्त्वपूर्ण रहेको बताए ।

उनले भने, “सबैभन्दा कठिन परिस्थितिमा पनि भारत र रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् । हाम्रो घनिष्ठ सहयोग दुवै देशका जनताका लागि मात्र नभई विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि पनि महत्त्वपूर्ण छ ।”

अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाउनुका साथै मस्कोबाट छुटमा कच्चा तेल खरिद गर्दा २५ प्रतिशत जरिवाना पनि तोकेको बेला यो भेटवार्ता भएको छ ।

युक्रेन युद्धबारे बोल्दै प्रधानमन्त्री मोदीले शान्ति प्रयासलाई स्वागत गर्दै सबै पक्षहरूले रचनात्मक रूपमा अघि बढ्ने र द्वन्द्व अन्त्य गर्ने बाटो खोज्ने अपेक्षा व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले भने, “हामीले युक्रेनमा चलिरहेको द्वन्द्वबारे निरन्तर छलफल गर्दै आएका छौँ । शान्तिका लागि हालै गरिएका सबै प्रयासलाई हामी स्वागत गर्दछौँ । सबै पक्षहरू रचनात्मक रूपमा अगाडि बढ्नेछन् भन्ने हामी आशा गर्दछौँ । द्वन्द्वलाई सकेसम्म चाँडै अन्त्य गरी स्थायी शान्ति स्थापना गर्नुपर्छ । यो सम्पूर्ण मानवताको आह्वान हो ।”

भारत–रुसको सम्बन्धलाई झन् नजिक बनाउने क्रममा उनले भने, “मलाई सधैँ लाग्छ कि तपाईँलाई भेट्नु अविस्मरणीय अनुभव हो । हामीले धेरै विषयमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका छौँ । हामी निरन्तर सम्पर्कमा रहँदै आएका छौँ र दुई पक्षबीच नियमित रूपमा धेरै उच्चस्तरीय बैठकहरू भएका छन् ।”

प्रधानमन्त्री मोदीले भारतीय जनता यस वर्ष डिसेम्बरमा हुने रूसी राष्ट्रपति पुटिनको नयाँदिल्ली भ्रमणको प्रतीक्षामा रहेको बताए ।

उनले भने, “यस वर्ष डिसेम्बरमा हुने हाम्रो २३औँ शिखर सम्मेलनका लागि एक अर्ब ४० करोड भारतीयहरू तपाईंको प्रतीक्षामा छन् । यसले विशेष र विशेषाधिकार प्राप्त साझेदारीको गहिराइ र विस्तारलाई झल्काउँछ ।”

युक्रेन युद्धको प्रसङ्गमा राष्ट्रपति पुटिनले भारत र चीनले शान्तिपूर्ण समाधानका लागि गरेको प्रयासको प्रशंसा गरे । उनले युक्रेनका पश्चिमी सहयोगीहरूलाई आलोचना गर्दै किएभमा भएको ‘कू’ लाई समर्थन गरेको दाबी गर्दै यसले अन्ततः युक्रेन सङ्कट उत्पन्न गरेको बताए।

पुटिनले भने, “युक्रेनमा सङ्कट आक्रमणको परिणाम होइन, बरु युक्रेनका पश्चिमी सहयोगीहरूको समर्थनमा किएभमा भएको कूको परिणाम हो ।”

सैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले एससीओका राष्ट्र प्रमुखहरूको काउन्सिलको २५औँ बैठकलाई सम्बोधन गर्दै निष्पक्षता र न्याय कायम राख्न सङ्घाई सहयोग सङ्गठन( एससिओ) लाई आह्वान गरे ।

सीले भने, “हामीले दोस्रो विश्वयुद्धको सही ऐतिहासिक परिप्रेक्ष्यलाई बढावा दिनुपर्छ । शीतयुद्ध मानसिकताको विरोध गर्नुपर्छ, साथै टकराव र बदमाशी अभ्यासहरूलाई रोक्नुपर्छ ।”

एससिओ शिखर सम्मेलन २०२५ ले विश्वव्यापी शासनमा बहुध्रुवीयताको बढ्दो महत्त्वलाई प्रतिबिम्बित गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लेनदेनमुखी नीतिले उनका धेरै सहयोगीलाई अलग पारेको सन्दर्भमा यो शिखर सम्मेलन विशेष महत्त्वपूर्ण देखिएको छ ।

संयुक्त राष्ट्रको सूचिमा चीनको नवप्रवर्तन क्षेत्र विश्वकै शीर्षमा

चीन । संयुक्त राष्ट्रको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुएपीओ) ले २०२५ को नवप्रवर्तन सूचकांकमा चीनको शेनझेन–हङकङ–गुआङ्जो समूहलाई विश्वकै शीर्ष नवप्रवर्तन केन्द्र घोषणा गरेको छ ।

यस समूहले जापानको टोकियो–योकोहामालाई पछि पार्दै पहिलो स्थान ओगटेको हो । नयाँ सूचकांकमा लगानी पूँजीलाई समावेश गरेपछि सूचिमा ठूलो परिवर्तन आएको छ, जसले नयाँ व्यवसाय र उत्पादन विकासमा केन्द्रीत नवप्रवर्तन गतिविधिलाई प्रभावकारी रूपमा देखाउँछ ।

डब्लुएपीओका अनुसार, शेनझेन–हङकङ–गुआङ्जो र टोकियो–योकोहामा विश्वका करिब एक पाँचौं भाग पेटेन्ट आवेदन र वैज्ञानिक प्रकाशनहरूको मुख्य स्रोत हुन् । सेन जोस–सेन फ्रान्सिस्कोले तेस्रो स्थान ओगटेको छ भने लण्डन र बेंगलुरूले पनि उल्लेखनीय उछाल देखाएका छन् । नयाँ मूल्याङ्कन अनुसार पूर्वी एसियाली समूह केही घटेका छन् भने अमेरिकी समूहहरू बढेका छन्, साथै भारतका नवप्रवर्तन समूहहरू पनि यस वर्ष प्रगति गरेका छन् ।

चीनले लगातार तेस्रो वर्ष सबैभन्दा धेरै २४ नवप्रवर्तन समूहहरू शीर्ष १०० मा राखेको छ, जुन संयुक्त राज्य अमेरिकाको २२ समूहभन्दा बढी हो ।

जनसंख्याको अनुपातमा सेन जोस–सेन फ्रान्सिस्को र बेलायतको क्याम्ब्रिज सबैभन्दा नवप्रवर्तनशील क्षेत्रका रूपमा पहिचान भएका छन् । यी समूहहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नवप्रवर्तन प्रणालीलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

चितवन । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पु¥याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।

अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका-११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ । भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको कार्यदलले एक महिलासहित तीनजनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ । पार्टीको केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई नन्दलाल बन्जाडे र रुपन्देही अध्यक्ष हीराध्वज शाह सदस्य रहेको कार्यदलले तीन जनाको नाम पठाउनेछ ।

कार्यदलले सातैजनासँग छलफल गर्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीन जनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीेले जानकारी दिए । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

नेपालले चीनको ‘सुरक्षा रणनीति’मा समर्थन नगरेको प्रधानमन्त्रीका सल्लाहकारको दाबी

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन भन्ने विषयमा कुनै सहमति नभएको स्पष्ट गरेका छन् ।

उक्त भेटवार्तामा सहभागी पूर्व अर्थमन्त्री डा खतिवडाले रासससँग कुरा गर्दै नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध नेपाल सरकार कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अङ्ग नबन्ने स्पष्ट गरेका हुन्। शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र चीनियाँ राष्ट्रपति सीबीच यही भदौ १४ गते भेटवार्ता भएको थियो ।

भेटपछि चीनका तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिमा नेपालले चीनको जिएसआइमा समर्थन गरेको भन्ने आशय सार्वजनिक गरिएको सम्बन्धमा प्रश्न गर्दा डा खतिवडाले भने, “प्रधानमन्त्री ओलीको यो भ्रमण मुलत शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका लागि हो । सामान्यत : यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै सहमति र समझदारीमा हस्ताक्षर हुँदैन र गरिएको छैन । सहमति नै नभएको विषयमा नेपाल जिएसआइको पक्ष बन्यो भन्ने ढङ्गले प्रचार गरिनु विल्कुलै गलत छ ।”

डा खतिवडाले दुई मुलुकबीच यसअघि भएका बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) को फ्रेमवर्कलगायत सहमति र सम्झौताका कार्यान्वयनका लागि दुवै पक्षले प्राथमिकता दिने विषयमा छलफल भएको जानकारी दिए। भ्रमणका क्रममा जिएसआइमा सहमति गरिएको भन्दै नेपालका कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालले विभिन्न टिप्पणी गर्नेहरूलाई यथार्थ बुझेर मात्रै सम्प्रेषण गर्न उनले आग्रह गरे ।

डा खतिवडाका अनुसार नेपाल र चीनबीच सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायत क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो । नेपालको आर्थिक सामाजिक रूपान्तरणमा सघाउन चीन सँधै तत्पर रहेको उनको भनाइ छ ।

प्रधानन्त्री ओलीको यस अघिको चीनको औपचारिक भ्रमणमा क्रममा उनका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि र भैसीँको मासु चीन निर्यातलगायत विषयको सहमतिमा हस्ताक्षर भएको थियो ।