`

पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ कटनोली चौतापामा गएको पहिरोले रेखा चन्द (एकल महिला) र गिरिश चन्दको दुईतले घर भत्किँदा ठूलो क्षति भएको छ ।

घरसँगै गाइबस्तु पुरिनुका साथै खाद्यान्न, लुगा–कपडा र घरायसी सामग्रीहरू समेत पूर्णरूपमा नष्ट भएका छन् ।

घटनामा गिरिश चन्दकी ९० वर्षीया आमा गोदावरी चन्द घाइते भएकी छन् । टाउकोमा चोट लागेका कारण हाल उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो विपद्मा १६ जना परिवारका सदस्य विस्थापित भएका छन् र हाल छिमेकीको घरमा आश्रय लिइरहेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी घटनास्थलमा पुगेर पीडित परिवारलाई सान्त्वना दिएका छन् । साथै उनले तत्काल उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री भण्डारीले आफ्ना तर्फबाट खाद्यान्न लत्ता–कपडा लगायतका राहत सामग्री समेत हस्तान्तरण गरेको स्वकीय सचिव दशरथ मंगोलाले जानकारी दिए ।

मन्त्री भण्डारीले जिल्लामा हालै भएका अन्य विपद्जन्य घटनाको समेत स्थलगत अध्ययन गरी उद्धार तथा राहत कार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिए ।

एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता गर्दै इमेज सहकारी (तस्बिरहरू)

काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख मूनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ ।

बागलुङका एक लाखमूनि बचत रहेका ६ सय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेका सहकारीले पोखरा शाखाका १५८ जनाको रकम फिर्ता गर्न सुरु गरेको हो ।

सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले पोखरा शाखामा ५२४ जनामध्ये १५८ जना बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको जानकारी दिए । उनीहरुलाई क्रमशः रकम फिर्ता गर्ने कार्कीले बताए ।

एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्लीको मुल्यको घर घडेरी उपलब्ध गराउने उनको भनाइ छ ।

समितिले पर्वतको मिना ग्रुप प्रालिसँग सहकार्य गरी बचतकर्ताको रकम फिर्ता गरेको हो । बचतकर्ताको रकम फिर्ता गरेवाफत् सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा प्रालिलाई हस्तान्तरण गर्ने सम्झौता भएको समितिका संयोजक कार्कीले बताए ।

 

हर्क साम्पाङ काठमाडौं आउँदा मोटरसाइकल र्‍यालीले स्वागत (तस्बिरहरु)

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा उनका समर्थकहरुले विमानस्थलमा मोटरसाइकल र्‍याली गरेर स्वागत गरेका छन् ।

उनी भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौं आएका हुन् ।

उनी मोटरसाइल र्‍यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् । त्यहाँ भेटघाट तथा संगठन विस्तार कार्यक्रम जारी छ ।

तस्बिरहरु:-

अफगानिस्तान भूकम्प: ६०० भन्दा बढीको मृत्यु, १५०० घाइते

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् ।

मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो ।

देशको पूर्वी भागमा केन्द्रित भूकम्पले ठूलो क्षति पु¥याएको छ । “कुनार प्रान्तमा छ सय १० जनाको मृत्यु भएको छ र एक हजार तीन सय जना घाइते भएका छन् । धेरै घरहरू भत्किएका छन्”, गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले भने ।

उनका अनुसार नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु भएको र दुई सय ५५ जना घाइते भएका छन् । तालिबान अधिकारीहरू र संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् ।

“अफगानिस्तानमा पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान गएको खबरले हामी गहिरो दुःखमा छौँ”, संयुक्त राष्ट्रसङ्घले एक्समा जनाएको छ । राष्ट्रसङ्घका अनुसार टोलीहरूले प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्‍याइरहेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु नङ्गरहार प्रान्तको जलालाबाद सहरबाट २७ किलोमिटर टाढा आठ किलोमिटर गहिराइमा थियो । सामान्यतया सतह नजिकैको केन्द्र भएको भूकम्पले गहिरो भूकम्पभन्दा बढी क्षति पुर्‍याउँछ ।

बारम्बार भूकम्प 

आइतबार राति ११ः३० बजे (स्थानीय समय ४ः०० बिहान) पछि ५.२ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प सहित कैयौँ परकम्प अनुभव गरिएको थियो ।

विशेष गरी युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गम क्षेत्रमा पर्ने हिन्दुकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तान बारम्बार भूकम्प प्रभावित क्षेत्र हो ।

यसअघि, शुक्रबारदेखि शनिबारसम्मको बाढीले नङ्गरहार प्रान्त प्रभावित भएको थियो । सो बाढीमा पाँच जनाको मृत्यु भएको र बाली तथा सम्पत्तिमा ठूलो क्षति पुगेको प्रान्तीय अधिकारीहरूले बताएका थिए ।

सन् २०२२ जुनमा पूर्वी सीमावर्ती प्रान्त पक्तिकामा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो र दशौँ हजार परिवार विस्थापित भएका थिए ।

चार दशक लामो युद्धले जर्जर बनेको अफगानिस्तानले अहिले पनि मानवीय सङ्कटको सामना गरिरहेको छ । तालिबानको पुनरागमनपछि विदेशी सहायता निकै घटेको छ, जसले प्रकोप सामना गर्ने देशको क्षमता अझ कमजोर बनाएको छ ।

सन् २०१५ मा पाकिस्तान र अफगानिस्तानमा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा तीन सय ८० भन्दा बढीको मृत्यु भएको थियो । सोही विपत्तिमा, विद्यालय भवन हल्लिँदा भागदौडका क्रममा १२ जना अफगान किशोरी विद्यार्थी किचिएर मारिएका थिए ।

 

समृद्धिका लागि १६औँ योजनाको कार्यान्वयन

काठमाडौँ । देशको विकास, अर्थतन्त्रको वर्र्तमान अवस्था र भविष्यबारे व्याख्या विश्लेषण गर्दा धेरै विषय नियाल्न जरुरी देखिन्छ । मुख्यतः आजको विश्वव्यापीकरणको युगमा हामीले आन्तरिक अवस्थाको मूल्याङ्कन गरेर मात्र हुँदैन, बाह्य परिवेशलाई पनि हेर्न सक्नुपर्छ । नेपाल आफँैमा प्राकृतिक पर्यावरण, संस्कृति पर्यटन, जलविद्युत् र कृषिमा धेरै कुरामा सवल देश हो । हाम्रो जनसङ्ख्या र भूगोलको संयोजन मिलेको छ । हामीसँग नभएको भनेको आत्मविश्वास र जाँगर हो ।

हामीले कुनै नवीनतम् उद्यम थाल्ने हो, कृषि गरिरहेका छौँ भने त्यसलाई अझ विस्तारित र व्यावसायिक बनाउन लागि पर्ने हो, आन्तरिक बजारले आफ्ना उत्पादन खपत गरेनन् भने बाह्य बजारको लागि पहल गर्ने हो भने धेरै गर्न सकिन्छ ।

आजको सूचना, सडक सञ्जाल, हवाई सञ्जालको भूमण्डलीकरणको दुनियाँमा हामीलाई पनि विश्वव्यापी अवसर छ । तर त्यो अवसर चिन्नु प¥यो । आजको चीनमा उत्पादित मालवस्तुले विश्व बजारको करिब १० प्रतिशत हिस्सा ओगटेको छ । नेपालले चीनले जस्तै आफ्ना अर्गानिक उत्पादनलाई विश्वमाझ पु¥याउन किन सक्दैन ? अवश्य सक्छ ।

१६औँ योजनासँग आशा

राष्ट्रिय योजना आयोगले पाँच वर्षका लागि ल्याएको १६औँ पञ्चवर्षीय योजना (आव२०८१÷८२ देखि २०८५÷८६) कार्यान्वयनको चरणमा छ । सुशासन, सामाजिक न्याय र सम्बृद्धि कायम गर्न महत्वकांक्षी लक्ष्यसहित आएको १६औँ योजनाले नेपाली अर्थतन्त्रको सुदूर भविष्य राम्रै रहने सङ्केत गरेको छ । पाँच वर्षभित्रै नेपालले रोजगारी र उत्पादन क्षेत्रको वृद्धिमार्फत ५४ खर्बको जिडिपीलाई विस्तार गरेर एक सय तीन खर्बको बनाउने लक्ष्य लिएको छ । त्यसैगरी आर्थिक वृद्धिदर सात प्रतिशतमाथि उकाल्ने लक्ष्य लिएको छ ।

यस योजनाले प्रतिव्यक्ति आय एक हजार चार सय ५६ डलरबाट २३ सय ५१ डलरमा पु¥याउने, साक्षरता दर ८५ प्रतिशत पु¥याउने, बेरोजगारी दर ५ प्रतिशतमा झार्ने, जलविद्युत् क्षमता हालको २८ सय मेगावाटबाट ११ हजार सात सय मेगावाटमा पु¥याउने जस्ता महत्वकांक्षी लक्ष्य लिएको छ । योजनाले लिएका यी लक्ष्य महत्वकांक्षी भए पनि राज्यको सबै तप्का, निजी क्षेत्र र आम जनतासमेत इच्छाशक्ति देखाएरै लाग्ने हो भने पूरा गर्न सकिन्छ ।

नेपालमा बाटो, घाटो, बिजुली, इन्टरनेट, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा विगतमा प्राथमिकताका साथ लगानी भएका हुन् । आधारभूत पूर्वाधारको क्षेत्रमा देशले एक खालको फड्को मारिसकेको अवस्था छ । अबको खाँचो भनेको उद्यमशीलता वृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जनामार्फत अर्थतन्त्र उकास्नु हो । त्यसका लागि राष्ट्रिय योजना आयोगले लिएको लक्ष्य र योजनालाई तादाम्यता मिलाउँदै तीनै तहका बजेट बन्नुपर्छ । केन्द्रीय योजना र सोही अनुरुपको बजेटमार्फत मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सकिन्छ ।

सन्तुलित जनसङ्ख्या

विसं २०७८ को जनगणनाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ६४ हजार जनसङ्ख्या रहेको छ । २०६८ को तुलनामा पहिलो पटक नेपालको जनसङ्ख्या वृद्धिदर १ प्रतिशतबाट घटेर ०.९२ प्रतिशत भएको छ । विश्वव्यापी रुपमै पछिल्ला वर्षमा जनसङ्ख्या वृद्धिदर खुम्चिएको छ । बजार माग सिर्जना र आर्थिक गतिविधिको विस्तारको दृष्टिले जनसङ्ख्या वृद्धिदर खुम्चनुलाई एलन मक्सजस्ता विश्वकै धनीहरुले चिन्ताको विषय मानिरहेका छन् ।

लगानी र वित्तीय सेवा प्रदायकको रुपमा विश्व प्रसिद्ध अमेरिकी संस्था गोल्डम्यान सर्चले गरेको भविष्यवाणी अनुसार सन् २०७५ मा पुग्दा अहिले बढी जनसङ्ख्या भएका देशहरु नै क्रमशः धनी हुने सूचीमा छन् । गोल्डम्यान सचका अनुसार सन् २०७५ मा चीनको अर्थतन्त्र ५७ ट्रिलियन डलर, भारतको ५२.५ ट्रिलियन डलर, अमेरिकाको ५१.५ ट्रिलियन डलर, युरो एरियाको ३०.३ ट्रिलियन डलर र जापानको अर्थतन्त्र ७.५ ट्रिलियन डलरको हुनेछ । जनसङ्ख्यामा धनी देशहरु नै अबको विश्वमा आर्थिक रुपले सुपरपावर बन्दैछन् भनेर गोल्डम्यान सच जस्तो संसारभर आर्थिक अवसर खोज्ने, लगानी गर्ने कम्पनीको दाबी छ । त्यस हिसाबले हेर्दा नेपालको जनसङ्ख्या वृद्धिदर घट्दै जानु चिन्ताकै विषय होला ।

विसं २०७८ को जनसङ्ख्याको संरचना हेर्दा नेपाल अहिले जनसाङ्ख्यिक लाभको अवस्थामा छ । अबको ३५ वर्ष नेपालको जानसाङ्ख्यिक अवस्थाबाट देशले अत्यन्तै लाभ लिन सकिने हिसाबको वयस्कहरुको वर्चश्वको अवस्था छ । छिमेकीमूलुक बङ्गलादेशको भू–भाग एक लाख ४७ हजार पाँच सय ७० वर्गकिमि रहेको छ । बङ्गलादेशको जनसङ्ख्या भने १७ करोड नाघिसकेको अवस्था छ । तर लगभग त्यति नै भू–भाग (एक लाख ४७ हजार एक सय ८१ वर्ग किमि क्षेत्रफल) रहेको नेपालको जनसङ्ख्या तीन करोडभन्दा तलै हुनु उति नराम्रो त होइन तर समृृद्धिको हिसाबले पनि जनसङ्ख्यालाई केही बढाउँदै लैजानुपर्ने आवश्यकता छ ।

जलविद्युत्मा उज्यालो दृश्य

जलविद्युत् नेपालको समृृद्धिको लागि सबैभन्दा ठूलो आधारशीला हो । खासगरी पछिल्ला दशकमा जलविद्युत् उत्पादनमा नै नेपालले भगिरथ प्रयत्नहरु गरिरहेको छ । बंैक तथा वित्तीय संस्थाको पनि जलविद्युत् कम्पनीहरुमा ठूलो लगानी गरिरहेका छन् । धेरैजसो वैदेशिक लगानी जलविद्युत् क्षेत्रमा नै केन्द्रित रहेको छ । अबको १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन हुने आधार तयार भएको ऊर्जा मन्त्रालयको भनाइ छ । १६ औँ योजनाले अबको पाँच वर्षमा ११ हजार सात सय मेगावाट बिजुली उत्पादनको लक्ष्य लिइसकेको छ ।

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार ३६ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । देशले वार्षिक रु १६–१७ अर्बभन्दा बढी मूल्यको बिजुली निर्यात गर्न थालिसकेको छ । करिब ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको नेपालका नदीनालाबाट अब एक दशकभित्र कम्तीमा १२–१५ हजार मेगावाट बिजुली उत्पादन गर्न अवस्य सकिन्छ । निर्माणाधीन केही आयोजना सम्पन्न हुने क्रममा छन् भने सयौंँ आयोजना निर्माणको क्रममा छन् ।

कम्तीमा एक दशकबीच १५ हजार मेगावाट बिजुली मात्रै उत्पादन हुँदा पनि नेपालको अहिलेको ४०–४२ अर्ब डलरको जिडिपीलाई ऊर्जा उत्पादनकै माध्यमबाट पनि ठ्याक्कै डबल अर्थात ८०–८५ अर्ब डलरको बनाउन सकिनेछ । आवधिक योजनाको लक्ष्यले गति लिए रोजगारी र उत्पादन क्षेत्रको वृद्धिमार्फत अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिन्छ । फलस्वरुप हाल रु ६१ खर्बको कूल गाहर््स्थ उत्पादनको आकारलाई वार्षिक औसत रु चारदेखि पाँच खर्बले बढ्दै आएको दरलाई बढाउन सकिन्छ ।

खासगरी ऊर्जा र पर्यटन क्षेत्रमा हुने बढ्दो आम्दानीमार्फत अबको चार वर्षमा रु २० खर्बले अर्थतन्त्रलाई विस्तार गरेर रु ८० खर्बको जिडिपी बनाउन सकिन्छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको भारत भ्रमणका क्रममा आगामी १० वर्षमा दश हजार मेगावाट बिजुली लैजाने गरी दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । भारतले हालसम्म ठूला र साना आयोजना गरी ५२ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको र उसको जलविद्युत् उत्पादनको अरु विकल्प नगन्य रहेको बताइन्छ ।

चीनले पनि नेपालसँग विद्युत् खरिद गर्ने सङ्केत दिइसकेको छ । बङ्गलादेशसँग सन् २०४० सम्ममा १० हजार मेगावाट बिजुली खरिद गर्ने गरी कुरा अघि बढिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनसँगको ब्यापारलाई सहजीकरण गर्ने गरी आफ्ना कार्यकालहरुमा दुई देशीय सम्झौता गर्नुभएको छ । नेपालको निर्यात व्यापारको अबको बलियो खम्बा भनेको बिजुलीको व्यापार नै हो ।

राष्ट्रिय गौरवका आयोजना

नेपालमा हाल २४ वटा राष्ट्रियस्तरमा सघन महत्व राख्ने गौरवका आयोजना छन् । ती आयोजनामा वित्तीय स्रोत विनियोजनमा सरकारले प्राथमिकता दिएर कार्यान्वयनमा अनुगमन गर्दै आएको छ । समृद्धिमा ठूलो सरोकार राख्ने राष्ट्रिय गौरवका आयोजनाको निर्माणाधीनको अवस्थाले देशको सुदूर भविष्य उज्वल देखिन्छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको लागत रु १८ खर्ब ९५ अर्ब पुगेको छ ।

मुलुकको आर्थिक सामाजिक रुपान्तरण, पुँजी निर्माण, रोजगारी सिर्जना र प्रादेशिक सन्तुलनमा ती आयोजना बहुआयामिक हिसाबले महत्व राख्छन् । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत्, मेलम्ची आयोजना, काठमाडौँ निजगढ फाष्ट–ट्याक, निजगढ अन्तरराष्ट्रिय विमानस्थल, सिक्टा र बबई सिँचाइजस्ता गौरवका आयोजनाले पनि नेपालको समृद्धिमा गतिलै प्रभाव पार्न सक्छन् ।

पर्यटनमा सम्भावना

नेपाल पर्यटकीय हिसाबले १० नम्बर भित्रैपर्ने गन्तव्यको रुपमा लिने गरिन्छ । तर पनि हामीले ठूलो सङ्ख्यामा पर्यटकलाई बोलाउन, आतिथ्यता गराउन सकेका छैनौँ । संसारका २८ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित १४ ठूला हिमशृङ्खला नेपालमै छन् । विश्वमै दुर्लभ मानिने सात सय ५० भन्दा बढी प्रजातिका पक्षी नेपालमै पाइन्छ । दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैँडा हेर्न नेपालमै आउनुपर्छ । सयौँ भाषा,वेष र संस्कृति यहीँ छन् । फरक–फरक जलवायु यहीँ छ ।

विश्वमा हाल पर्यटन क्षेत्रको अकार वल्र्ड ट्राभल्स एण्ड टुरिज्जम काउन्सिलको सन् २०२४ को तथ्याङ्कअनुसार १०.९ ट्रिलियनको डलर पुगिसकेको छ । खासगरी चीन र अमेरिकाले नै पर्यटन क्षेत्रमा करिब आधा लगानी गरेका बताइन्छन् । लगानी उच्च भएकै कारण चीनमा बर्सेनि १० करोड बढी मानिसले पर्यटक भएर भ्रमण गर्न थालिसकेका छन् । त्यस्तै भारतमा सन २०२४ मा ९९ लाखभन्दा बढी मानिसले पर्यटन भित्रिएका थिए भने एक करोड हाराहारीलाई भारतमा यस क्षेत्रले रोजगारी दिइरहेको अवस्था छ ।

राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ । त्यस्तै फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्यस्थल नभए पनि सबैभन्दा बढी पर्यटक भित्र्याउने राष्ट्रमा पर्ने गर्छ । पर्यटनमैत्री वातावरण उसको प्राथमिकतामा पर्ने गर्छ । अमेरिका, इटाली, बेलायत पर्यटक आगमनमा दोस्रो, तेस्रो र चौथो मुलुकमा पर्दै आएका छन् । नेपालमा पनि पछिल्ला दशक पर्यटनमा सम्भावना देखेर होटल क्षेत्रमा ठूलो लगानी भइरहेको छ । होटल तथा पर्यटन पूर्वाधारमा भइरहेको लगानी विस्तारले नेपालमा पर्यटन क्षेत्रबाट समुद्धिको उज्यालो देखिएको छ ।

कृषिमा फड्को

नेपालको कुल गाहर््स्थ उत्पादनमा (आर्थिक वर्ष २०८१÷८२) कृषिले २५.१६ प्रतिशत योगदान राखेको राष्ट्रिय तथ्याङ्क कार्यालयको अभिलेख छ । अन्य क्षेत्रको तुलनामा यस क्षेत्रले रेमिट्यान्सपछि सबैभन्दा बढी योगदान राख्दै आएको छ । कृषिमा आश्रित जनसङ्ख्या घटेर ५१ प्रतिशतमा आइपुग्दा कुनैबेला कुल गाहर््स्थ उत्पादनमा ५० प्रतिशतसम्म योगदान राख्ने कृषि क्षेत्रको योगदान अहिले खुम्चिएको हो ।

हिजोआजका वर्षमा नेपाल कृषिमा परनिर्भर भइरहँदा वार्षिक करिब रु चार खर्बको कृषिजन्य वस्तुको आयात गर्न थालेको छ । तर आधाभन्दा बढी कृषियोग्य जमिन बाँझो रहेको अवस्था पनि छ । सरकारले कृषिमा लगानी बढाएर सबै कृषियोग्य जमिनमा कृषि गर्ने वातावरण बनाउने हो भने कृषिमा देश आत्मनिर्भर हुनसक्छ ।

यसबाट विदेश गइरहेको पैसा रोकिनेछ र त्यसले पनि देशको आर्थिक समृद्धिमै टेवा दिनेछ ।

ठूला बजारको छिमेकी

नेपालको औद्योगिक उत्पादन, पानी, औषधि, जडीबुटी तथा बहुमूल्य हिमाली वस्तुको विशाल विदेशी बजार भारत तथा चीन नै हुन् । हामी उनीहरुकै विशाल आँगन नजिक भएका हिसाबले हाम्रा अर्गानिक उत्पादनहरुले बजार नपाउलान् भन्ने छैन । तर नेपालमा कृषि, जल तथा जडीबुटीमा आधारित उद्यमी स्थापना गर्न जरुरी छ । त्यसमा लगानी बढाउन जरुरी छ । बजारको दृष्टिकोणले पनि नेपाल समृद्धिकै छेउछाउ छ । समग्रमा नेपाली अर्थतन्त्रको उविष्य उन्वल छ । आफना सबलता र सम्भावनाहरु आफैँले केलाएर अघि बढ्न जरुरी छ । विकास र समृद्धि, अवसर र खुसी विदेशमा मात्रै छैन, नेपालमा झन् बढी छ ।

शिक्षक महासंघद्वारा जनता समाजवादी नेपालको पार्टी कार्यलयमा धर्ना (तस्बिरहरु)

काठमाडौँ । शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यलयमा बालकुमारीमा आज धर्ना दिएका छन।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालय , नेकपा एकीकृत समाजवादी र आज जनता समाजवादी नेपालको कार्यलयमा धर्ना बसेका हुन् ।

पार्टीप्रतिको सकारात्मक माहोललाई सङ्गठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ  ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन निर्माणको निम्ति आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठकलाई आज भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र उठेका विभिन्न बहस, सङ्गठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखेका थिए । उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न सके मात्रै दीर्घकालीन उपलब्धि सम्भव हुने बताए ।
अध्यक्ष दाहालले भने, “अब सबै नेता–कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ, पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ । विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता छ ।”
पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धि, त्यसपछिको खबरदारी अभियान तथा जनसङ्गठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको अध्यक्ष दाहालले बताए । उनले भने, “हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ, अब त्यसलाई सशक्त सङ्गठनमार्फत संस्थागत गर्नु जरुरी छ ।”
सङ्गठन निर्माणलाई अबको अभियानको मूलधार मानेर निर्वाचनमा जानुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । सुदूरपश्चिम राजनीतिक र साङ्गठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश रहेको उल्लेख गर्दै उनले त्यहाँका नेता तथा कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध रुपमा परिचालन गर्नुपर्ने आवश्यकता भएको औँल्याए ।
सो अवसरमा पार्टीका उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, साङ्गठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गरेका थिए ।

एससिओका लागि विकास बैंकमा भूमिका विस्तारित : चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार चियानजिनमा आयोजित साङ्घाई सहयोग सङ्गठन(एससिओ)को वार्षिक शिखर सम्मेलनमा चीनले एससिओ विकास बैंकको स्थापना प्रक्रियालाई तीव्र बनाउन प्रयास गर्ने बताएका छन् ।

“हाल, विश्व अवस्था अझ जटिल र अशान्त बन्दै गइरहेको छ । सदस्य राष्ट्रहरूले अझ कठिन सुरक्षा र विकाससम्बन्धी जिम्मेवारीको सामना गरिरहेका छन्”, सीले फोरममा आफ्नो प्रारम्भिक सम्बोधनमा भनेका छन् ।

उनले आगामी तीन वर्षमा एससिओ सदस्य राष्ट्रहरूलाई एक अर्ब ४० करोड डलर ऋण दिने वाचा गरेका छन् । यद्यपि उनले यो रकम नयाँ बैंकका लागि मात्र नभएको स्पष्ट पारे ।

यस शिखर सम्मेलनमा सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य दर्जनौँ राष्ट्रका नेताहरूको समेत सहभागीता रहेको थियो ।

मूलतः मध्य एसियामा अमेरिकी प्रभावलाई सन्तुलन गर्न स्थापित यस समूहको आकार र प्रभाव पछिल्ला वर्षहरूमा विस्तार भए पनि, यो अझै धेरै हदसम्म सुरक्षा फोरमका रूपमा चिनिन्छ ।

बैंक र ऋण उपलब्ध गराउने प्रस्तावमार्फत सीले संस्थाको दायरा विकासतर्फ विस्तार गर्ने सङ्केत दिएका छन् ।

– चीनको सन्देश –

सिङ्गापुरको नेसनल युनिभर्सिटीस्थित ली कुआन येव स्कुल अफ पब्लिक पोलिसीका प्राध्यापक अल्फ्रेड वुलेका अनुसार अमेरिकाको नेतृत्वमा रहेको व्यवस्था कमजोर हुँदै गएकाले सी वैकल्पिक विश्व व्यवस्था प्रस्तुत गर्न चाहन्छन् । यही नै उनको मुख्य सन्देश हो ।

सीले राष्ट्रहरूले ‘शीतयुद्धको मानसिकता, ब्लक–आधारित टकराव र बदमाशीको विरोध गर्नुपर्छ, संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय प्रणालीको रक्षा गर्नुपर्छ’ भन्दै ‘समान र व्यवस्थित बहुध्रुवीय विश्व, समावेशी आर्थिक भूमण्डलीकरण र न्यायपूर्ण तथा उचित विश्वव्यापी शासन प्रणाली निर्माणमा योगदान दिनुपर्ने’ बताए ।

यो सन्देश चीनका अघिल्ला अभिव्यक्तिबाट फरक थिएन । शीतयुद्ध मानसिकताको विरोध प्रायः अमेरिकालाई लक्षित हुन्छ । वुलेका अनुसार चीनले कहिलेकाहीँ केही संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूलाई कोष कटौती गरेको भए पनि, अहिलेको अवस्थामा यसको स्थिरता नै सन्देश हो ।

सन् २००१ मा स्थापना भएको एससिओमा अहिले रुस, बेलारुस, चीन, भारत, इरान, कजाकिस्तान, किर्गिजस्तान, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान सदस्य छन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् भने दक्षिणपूर्व एसिया र मध्यपूर्वका १४ राष्ट्र ‘संवाद साझेदार’ का रूपमा संलग्न छन् ।

यस वर्षको शिखर सम्मेलन चीनले आयोजना गर्ने योजनाबद्ध सैन्य परेडको केही दिनअघि भइरहेको छ, जसलाई बेइजिङले आफ्ना सहयोगी तथा छिमेकीलाई आमन्त्रित गर्ने अवसरको रूपमा लिएको छ ।

– द्वन्द्वमा ध्यान केन्द्रित –

आइतबार सीले भारतीय प्रधानमन्त्री मोदीसँग भेटेर सीमा विवादबारेका मतभेद समाधान गर्ने वाचा गरेका छन् । यी विवादहरूले सन् २०२० मा सम्बन्धमा तनाव ल्याएका थिए, जसमा लद्दाख, अरुणाचल प्रदेश र भुटान नजिकका विभिन्न क्षेत्रमा सीमा असहमति छन् ।

पुटिनले आइतबार सीसँग भेटेर मङ्गलबार हुने द्विपक्षीय वार्ताअघि कुराकानी गरेका थिए। उनले भने, “अलास्कामा हालै सम्पन्न उच्चस्तरीय रुसी–अमेरिकी शिखर सम्मेलनले युक्रेनमा शान्तिको बाटो खोल्दै अघि बढेको छ भन्ने मलाई आशा छ ।”

हालै चीन–रुसको विकाससम्बन्धी सन्देश विशेषरूपमा प्रबल बनेको छ । चिनियाँ आधिकारिक समाचार एजेन्सी सिन्ह्वासँगको अन्तर्वार्तामा पुटिनले दुवै देश ‘भेदभावपूर्ण प्रतिबन्धहरूको विरोधमा’ रहेको बताए । उनका अनुसार, यस्ता प्रतिबन्धहरूले विश्वको सामाजिक–आर्थिक विकासमा ठूलो आघात पुर्‍याएका छन् ।

पुटिनले रुस र चीनले मिलेर अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमफ) र विश्व बैंकको सुधारलाई समर्थन गर्ने बताए । उनले भने, “वित्तलाई नव–उपनिवेशवादको साधनका रूपमा प्रयोग गर्ने प्रथालाई अन्त्य गर्न आवश्यक छ, किनभने यसले विश्वको बहुमत राष्ट्रको हितविपरीत काम गर्छ ।”

– सुरक्षा अझै प्राथमिकता –

चीनले एससिओलाई विश्वस्तरमा प्रभावकारी मञ्च बनाउन चाहे पनि यसको वास्तविक प्रभावकारिता अझै प्रश्नमा छ । विगतमा यस सङ्गठनको प्राथमिकता सधैँ सुरक्षा रहँदै आएको छ, जसले ‘तीन शक्ति’ – आतङ्कवाद, पृथकतावाद र चरमपन्थ – विरुद्ध लड्ने दाबी गरेको छ ।

तर आलोचकहरूले भने यसलाई फरक तरिकाले हेर्छन् । “एससिओको आतङ्कवाद विरोधी अभ्यासले वास्तविक आतङ्कवादसँग जुध्ने भन्दा पनि प्रायः अधिनायकवादी शासनलाई खतराबाट जोगाउने काम गर्छ”, दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेरेक ग्रसम्यानले भने, “प्रतिस्पर्धी सङ्गठनहरू पनि छन् । ब्रिक्स समूहसँग प्रमुख अर्थतन्त्रहरू जोडिएकाले पश्चिमसँग प्रतिस्पर्धामा त्यसलाई बढी सम्भावना छ ।”

“यद्यपि एससिओ शिखर सम्मेलनको प्रभाव र पहुँच सीमित नै रहन सक्छ, तर एउटा कुरा प्रष्ट छ– चीन अहिले कूटनीतिक उत्थानमा छ भने अमेरिका आत्मविनाशको बाटोमा छ”, ग्रसम्यानले निष्कर्ष निकालेका छन् ।

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन्।

यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए।

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन्। उनका अनुसार भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन्।  ‘दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ’, उनले भने, ‘डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ।’

दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका घरपरिवारका ५५ जना, उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए।

महाकालीमा बढ्यो जलस्तर

अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ। जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले नदीमा पानीको सतह बढेर एक लाख ४० हजार २५० क्युसेक पुगेको बताए।

नदीमा पानीको बहाव एक लाख क्युसेकपुेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ।

लिम्पियाधुरा,कालापानी र लिपुलेक हाम्रो भूमि हो, अरूले चित्त दुखाउनु पर्दैनः गृहमन्त्री

वीरगञ्ज (पर्सा)। गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए ।

“ लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,” उनले भने, “यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौंँ ।”

गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली चीन गएको अवस्थामा मित्रराष्ट्र भारत र चीनसँग हाम्रो भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु सही भएको स्पष्ट पारे । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने उनले स्पष्ट पारे ।

एमाले विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशन नजिकिँदै गर्दा तयारी तीव्र रूपमा भइरहेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार प्रतिनिधिदेखि मञ्च व्यवस्थापनसम्मका सबै कामको केही पूरा भएका र केही तीव्र रूपमा भइरहेको जानकारी दिए ।

एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुँदैछन् । उनले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि रहेको भन्दै ती प्रतिनिधिमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाको सूची हटाइएको बताए। ती हटाएका रिक्त ठाउँमा भने नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था पार्टीमा नभएकाले नयाँ प्रतिनिधि चयन नहुने बताए ।

दसौँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरू आयोजकको हैसियतमा रहने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले आइतबार नै सबै प्रतिनिधिलाई एसएमएसमार्फत महाधिवेशनको निमन्त्रणा पठाइसकेको जानकारी दिए ।

महाधिवेशनको आदर्श वाक्य ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ ।

केन्द्रीय कार्यालय सचिव डा अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीनवटा प्रतिवेदन राजनीतिक, साङ्गठनिक र विधान प्रतिवेदनको छपाइको काम भइरहेको छ ।

यस्तै, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइका क्रममा रहेको छ । उनले प्रतिनिधिका लागि परिचयपत्र छपाइको काम सकिएको जानकारी दिए । परिचयपत्र ‘अनलाइन’ मार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । प्रतिनिधिले ढोकामा आफ्नो परिचयपत्रमा रहेको ‘क्यूआर कोड स्क्यान’ गरेर मात्र प्रवेश गर्न पाइनेछ ।

यस्तै, महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ । विभिन्न जनवर्गीय सङ्गठन र स्थानीय कमिटीले ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार तयारी गरेका छन् ।

 

निजी विद्यालय सञ्चालकहरूले चक्रपथमा निकाले बससहितको र्‍याली (तस्बिरहरु)

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ ।

विद्यालय शिक्षा विधेयकबाट ुपूर्ण छात्रवृत्तिु र ुक्रमशस् गैरनाफामूलक बनाउनेु भन्ने शब्द हटाउन माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् ।

केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।

पूर्वी अफगानिस्तानमा भूकम्प, गाउँहरू ध्वस्त: कम्तीमा २५० जनाको मृत्यु

पाकिस्तानसँगको सीमा नजिकै पूर्वी अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पले धेरै गाउँहरू ध्वस्त पारेको छ र व्यापक क्षति पुर्‍याएको छ ।

यस विपत्तिमा कम्तीमा दुई सय ५० जनाको ज्यान गएको र पाँच सय जना घाइते भएको अधिकारीहरूले बताएका छन् । खोजी तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुगेपछि मृतक र घाइतेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

आइतबार राति आएको भूकम्पले छिमेकी नङ्गरहार प्रान्तको जलालाबाद नजिकैको कुनार प्रान्तका सहर र गाउँहरूमा प्रहार गरेको हो ।

अमेरिकी भूगर्भीय सर्वेक्षण ९युएसजिएस० का अनुसार ६.० म्याग्निच्युडको यो भूकम्प राति ११ः४७ बजे नङ्गरहार प्रान्तको जलालाबाद सहरको करिब २७ किलोमिटर ९१७ माइल० पूर्व–उत्तरपूर्वमा केन्द्रित थियो । यसको गहिराइ केवल आठ किलोमिटर ९५ माइल० मात्र भएकाले क्षति बढी भएको जनाइएको छ ।

कुनार विपद् व्यवस्थापन प्राधिकरणले नुर गुल, सोकी, वटपुर, मनोगी र चापडारे जिल्लामा मात्रै कम्तीमा दुई सय ५० जनाको मृत्यु र पाँच सय जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भने, “उद्धार कार्य अझै जारी छ, धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन् । शहीद र घाइतेहरूको सङ्ख्या लगातार परिवर्तन भइरहेकाले कुनार, नङ्गरहार र राजधानी काबुलबाट मेडिकल टोलीहरू पठाइएका छन् ।”

उनका अनुसार धेरै ठाउँबाट अहिलेसम्म हताहतको विस्तृत विवरण प्राप्त हुन सकेको छैन र सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

छिमेकी पाकिस्तानसँगको निकटता र दुवै देशबीचको प्रमुख सीमा नाकाकै कारण जलालाबाद एक हलचलपूर्ण व्यापारिक सहर मानिन्छ ।

नगरपालिकाका अनुसार यसको जनसङ्ख्या करिब तीन लाख भए पनि महानगरीय क्षेत्र अझै ठूलो छ । यहाँका अधिकांश भवनहरू कमजोर संरचना भएका छन्, कङ्क्रिट र इँटाका घर प्रचुर मात्रामा छन् भने बाहिरी क्षेत्रमा माटोको इँटा र काठका घर रहेका छन् । तीमध्ये धेरै कमजोर संरचना भएकाले क्षति गम्भीर भएको बताइन्छ ।

जलालाबादमा काबुल नदी बग्छ र यहाँ साइट्रस फलफूल तथा धानसहित कृषि उत्पादन पनि प्रशस्त हुन्छ ।

यसअघि सन् २०२३ अक्टोबर ७ मा अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला तालिबान सरकारले कम्तीमा चार हजारको मृत्यु भएको जनाएको थियो भने संयुक्त राष्ट्रसङ्घले करिब एक हजार पाँच सयको मृत्यु भएको अनुमान गरेको थियो । हालसालैको इतिहासमा त्यो अफगानिस्तानमा आएको सबैभन्दा घातक प्राकृतिक प्रकोप मानिएको छ ।

पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ गर्दै पश्चिमलाई दोषारोपण

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित शिखर सम्मेलनमा आफ्ना सहयोगीहरूसमक्ष युक्रेनमाथिको आक्रमणको बचाँउ गर्दै पश्चिमी मुलुकलाई साढे तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाएका छन् ।

यस युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ र पूर्वी युक्रेनका धेरै क्षेत्र ध्वस्त पारिएका छन् ।

पुटिनले भने, “यो सङ्कट रुसले युक्रेनमाथि आक्रमण गर्दा उत्पन्न भएको होइन, बरु युक्रेनमा भएको कूको परिणाम हो, जसलाई पश्चिमी देशहरूले समर्थन र उक्साएका थिए ।”

उनले सन् २०१३–२०१४ को युरोपेली क्रान्तिको सन्दर्भ दिँदै त्यतिबेला रूसी समर्थक राष्ट्रपतिलाई हटाइएको बताएका थिए ।

त्यसपछिको प्रतिक्रियामा मस्कोले क्रिमियन प्रायद्वीपलाई आफ्नो क्षेत्रमा मिलायो र पूर्वी युक्रेनमा रुसी समर्थक पृथकतावादीलाई समर्थन दियो, जसले गृहयुद्ध भड्कायो ।

रूसी राष्ट्रपतिले भने, “सङ्कटको अर्को कारण भनेको युक्रेनलाई नाटोमा तान्ने पश्चिमी मुलुकहरूको निरन्तर प्रयास हो ।”

पुटिनले साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को शिखर सम्मेलनमा बोलिरहेका थिए। सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायतका सहयोगी नेताहरूको सहभागीता रहेको थियो ।

मस्को र बेइजिङले एससिओलाई नाटोसहित पश्चिमी नेतृत्वको राजनीतिक तथा सुरक्षा ब्लकको विकल्पका रूपमा लिएका छन् ।

पुटिनले विश्वलाई अब ‘पुरानो युरोकेन्द्रित र युरो–एटलान्टिक मोडेलको सट्टा विभिन्न देशहरूको हितलाई ध्यानमा राख्ने प्रणाली’ आवश्यक भएको बताएका थिए ।

उनले चीन, भारत र अन्य रणनीतिक साझेदारहरूले अघि सारेका प्रस्ताव र प्रयासलाई युक्रेन सङ्कट समाधानमा महत्त्वपूर्ण योगदानका रूपमा मूल्याङ्कन गर्ने बताए ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न मस्को र किएभ दुवैलाई सम्झौतामा आउन आग्रह गरेका छन् ।

तर शान्ति प्रस्ताव हालसम्म रोकिएको छ । पुटिनले युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युक्रेनलाई थप भू–भाग त्याग्न र पश्चिमी समर्थन परित्याग गर्नुपर्ने माग राखेका छन् ।

किएभले भने आँफूहरूले युद्ध सुरु नगरेको दाबी गर्दै ती मागलाई अस्वीकार गरेको छ ।

रूसी राष्ट्रपति पुटिनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास र हालै अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएका वार्ताबारे शृङ्खलाबद्ध द्विपक्षीय बैठकमा छलफल गर्ने बताएका छन् ।

उनले सोमबार पछि भारतीय प्रधानमन्त्री मोदी, इरानी राष्ट्रपति पेजेस्कियान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग छुट्टै वार्ता गर्ने तयारीसमेत गरेका छन् ।

विदेशको मोह त्यागेर : भैँसीपालनमा

कैलाली । गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गरेका छन् । उनी पहिला नेपाली सेनामा कार्यरत रहेका थिए । अवकास पाएपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स ९युएई० मा काम गरेका थिए। हाल उनी स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त छन् ।

साउदले गोदावरीको तेघरीमा भैँसीपालन व्यवसाय सुरु गरेका हुन् । उनले वार्षिक रु तीन लाख ६० हजारको दरले दश वर्षका लागि एक बिघा १५ कठ्ठा जमिन भाडाँमा लिएका छन् । गोठ निर्माण र भैँसी खरिदमा रु २६ लाख खँर्च भएको साउदले बताए । मासिक रु एक लाखको कारोबार हुने गरेको र त्यसमा सबै खँर्च कटाएर रु ६० हजार फाइदा हुने गरेको साउदको भनाइ छ ।

उनले भने, “भैँसीपालन गर्न कामदार राखेको छैन, आँफै खटिने गरेको छु, बचत राम्रै भइरहेको छ ।” प्रतिलिटर रु ९० का दरले उनले दैनिक ४० लिटर दूध बिक्री गर्ने गर्छन् । ग्राहकलाई दूध पु¥याउनै नसकेको साउदले बताएका छन् ।

साउदको गोठमा अहिले मुर्रा, स्थानीय जातको भैँसी र पाडापाडी गरी आठ भैँसी छन् । भविष्यमा विभिन्न जातका ४० भैँसी खरिद गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । भैँसीको आहारको जोहो नभएकाले अहिले केही भैँसीबाट व्यवासाय सुरु गरेको साउदले बताए ।

विदेशी भूमिमा काम गरेको अनुभव बटुलेका साउदले त्यहाँ नेपालीले काम गर्दा पाएको दुःखलाई सम्झिदै स्वदेशमै भैँसीपालन सुरु गरेका हुन् ।

“नेपालीले विदेशमा बहुत दुःखका साथ काम गर्ने गर्दछन्, नेपालबाट जाँदा म्यानपावरसँग एक किसिमको सम्झौता भएर विदेशीएका हुन्छन्, तर पुगेपछि भनेको अनुसारको काम र तलब हुँदैन्, दुःख, कष्ट निकै झेल्ने गरेका आफ्नै आँखा अगाडि देखेको छु”, साउदले भने ।

विदेशमा माटोको उर्वराशक्ति न्यून भएका देशमा बाहिरबाट कन्टेनरमा माटो आयात गरेर खेतीयोग्य जमिन बनाइ कृषि कार्य गर्ने गरेको साउदले बताए ।

“हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि कार्यका लागि धेरै चिज छ, हामीसँग घाँस छदैछ, माटोको उर्वराशक्ति राम्रै छ, यहाँ जे गरे पनि उत्पादन राम्रै हुन्छ,” उनले भने, “त्यँही भएर पनि आफूले भैँसीपालन व्यवसाय अगालेको हुँ ।”

हिजोआज धेरैजसो व्यक्ति कमाउनका लागि विदेश पलायन भइरहेका बेला साउद भने विदेशको मोह त्याँगेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहेका छन् । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदारण दिइरहेको छु । परिवारको खँर्च यसैबाट टरेको छ”, उनले भने, “सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”

पछिल्लो समय कैलालीमा भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यसको विकास र विस्तारका लागि सरकारले अनुदानका साथै सहुलिएतमा ऋण उपलब्ध गराए धेरै सहज हुने उनको भनाइ छ । लगतै गड्यौला मल उत्पादन व्यवसाय सञ्चालन गरेर बजारमा बिक्री गर्नेसमेत योजना रहेको साउदले बताए ।

एका एक किन स्थगित भयो रास्वपाको पत्रकार सम्मेलन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाले सोमबारका लागि तय गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगित गरेको हो।

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार लेखजंग थापाले बहुविवाह गरेको सार्वजनिक भएसँगै पत्रकार सम्मेलन रोकिएको हो । उनले बहुविवाह गरेको भन्दै प्रश्न उठेपछि अनुसन्धान गर्न समय लाग्ने भन्दै रास्वपाले पत्रकार सम्मेलन स्थगित गरेको नेताहरूले बताएका छन् ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले भने विशेष कारणवश पत्रकार सम्मेलन स्थगित गरिएको दाबी गरेका छन्।

अहिले सामाजिक सञ्जालभर बहुविवाह गरेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै तीव्र आलोचना भइरहेको छ । त्यही विवादले आलोचना भएसँगै पत्रकार सम्मेलन रोकेर रास्वपाले अनुसन्धान थालेको जनाएको छ । रास्वपाका प्रवक्ता झाले पत्रकार भेटघाट कार्यक्रम अर्को समयका लागि सारिएको जानकारी सञ्चारमाध्यमलाई दिएका छन् ।

थापाका दुईवटा श्रीमती भएको विषय बाहिर आएपछि थापाले रास्वपा नेताहरूलाई स्पष्टीकरण दिएका छन् । रास्वपाका केही शीर्ष नेताहरूलाई थापाले टेलिफोन गरेर उनले आफू कुनै पनि रूपमा कमजोर नभएको र दुई श्रीमतीमध्ये एक श्रीमतीसँग डिभोर्स भइसकेको स्पष्ट पारेका छन् ।

रास्वपाका केही नेतालाई थापाले स्पष्ट पारेपछि आज पार्टी कार्यालय वनस्थलीमा केही नेता र थापा सहितको बैठक बस्न लागेको बताइएको छ ।

केही नेताहरूसँग थापाले परामर्श गरेपछि पत्रकार सम्मेलनमै उनले प्रमाण सार्वजनिक गर्ने रास्वपा स्रोतको भनाइ छ ।

 

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

थियानजिन (चीन) ।  प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ)  को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो । उनीहरूबीच जलवायु परिवर्तनबाट परेको असर र त्यसका ठूला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो ।

प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।

वसन्तपुरमा इन्द्रजात्राको तयारी : मन्दिरको झार हटाइँदै (तस्बिरहरू)

काठमाडौं। यही भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ । इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरूले वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ ।

यसका लागि वसन्तपुर क्षेत्र सिँगार्ने काम भइरहेको छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा पलाएको झार अहिले सफा गरिँदैछ ।

यसैगरी रंगोगन र सरसफाइको काम पनि जारी छ । माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सफाइको काम चलिरहेको छ ।

विश्व सम्पदा क्षेत्रका मन्दिरहरूमा झार पलाएको विषयमा नेपाल फोटो लाइब्रेरीले गत साता फोटो फिचर गरेको थियो ।

 

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

चीन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतको सहभागी रहेको थियो।

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन (बागलुङ) । कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरा जाने सवारी साधन कालापैरामा ठप्प भएका छन् । बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधान कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ ।

सडक खुलाउन निरन्तर प्रयास भइरहेको उनको भनाइ छ । निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्ने गर्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेलले बताए ।

वर्षा हुने वित्तिकै माथिदेखि लेदो झरेर सडकमा थुप्रिँदा यातायात सञ्चालनमा कठिनाइ भएको पौडेलले बताए । अध्यक्ष पौडेलले भने, “ यसपाली ठूलो बाढी आयो, त्यसले गर्दा सवारी साधन आवागमन ठप्प भएका छन्, लोकमार्गमा काम गर्ने मेसिन मगाएर खुलाउने प्रयास गरेका छौँ, एकतर्फी भए पनि खुलाएर यात्रुलाई गन्तव्यमा पठाउनुपर्छ भनेर लागेका छौँ, सबै सडक सफा गर्न त धेरै समय लाग्छ, सडक त पूरै बगरमा परिणत भएको छ ।”

रास्वपाबाट रुपन्देही-३ का उम्मेदवार थापाले आज पत्रकारसँग अन्तर्क्रिया गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का उम्मेदवार छनोट भएका डा.लेखजंग थापाले पत्रकारसँग आज भेटघाट गर्ने भएका छन् ।

केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो २ बजे भेटघाट तथा अन्तरक्रिया गर्न लागेका हुन् । आइतबार रास्वपाले थापालाई उम्मेदवार चयन गरेको थियो ।

पारिवारिक पृष्ठभूमि सार्वजनिक भएपछि थापा विवादमा तानिएका छन् । साउन ७ गतेदेखि भदौ १३ गतेसम्म रास्वपाले प्राइमरी निर्वाचन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटी र समावेशी जस्ता उम्मेदवार छनोट प्रक्रिया अवलम्बन गरेको थियो ।

प्रतिस्पर्धामा उत्रिएका ९ जना उम्मेदवारमध्ये ८ जनालाई पछि पार्दै थापाले बाजी मारेका थिए । हिजो रास्वपाले उम्मेदवारको नाम सार्वजनिक गर्नू पहिले पार्टी सभापति रवि लामिछानेलाई भेट्न थापा नख्खु कारागार गएका थिए । त्यसपछि साझँ ५ बजे उम्मेदवारको नाम सार्वजनिक भएको थियो ।

साथै थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ । उनलाई नाउपाले समानुपातिकको बन्दसुचीमा राखेको थियो ।

२०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सुचीमा रहेका थिए । उनको नाम प्राथमिकता क्रमको पाचौं नम्बरमा थियो । रुपन्देही ३ मा उपचुनाव हुने भएपछि उनी रास्वपातिर आएका हुन् ।

थापाले चार महिना अगाडि पार्टीबाट राजीनामा दिँदै आफूलाई बन्द सुचीबाट हटाउन आग्रह गरे । अध्यक्ष रञ्जिता श्रेष्ठले राजीनामा स्वीकृत गरिन् र नाउपाले निर्वाचन आयोगमा पत्राचार गर्यो । आयोगले गत २१ साउनमा मात्रै थापालाई बन्द सूचीबाट हटाइएको लिखित जानकारी गराएको छ ।

वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् ।

समाज परिवर्तनको हुटहुटी बोकेका र रोगको उपचारमा तल्लीन डा. थापा अब देशको उपचार गर्ने बाटोतर्फ अग्रसर भएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएको बताउँछन् ।

 

 

आज अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

कञ्चनपुर।  कञ्चनपुरसहित देशभर आजदेखि सप्ताहव्यापी रूपमा १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ।

नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको सहकार्यमा भदौ १६ देखि २२ गतेसम्म (सेप्टेम्बर १ देखि ७ तारिख) यो दिवस सप्ताहव्यापी रूपमा मनाइँदै छ। यो अवसरमा लोपोन्मुख गिद्ध संरक्षणका लागि जनचेतनामूलक गतिविधि सञ्चालन गरिन्छ।

विसिएनका चरा विज्ञ हिरुलाल डगौराका अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी सामुदायिक वन समन्वय समिति, धनगढीको वन विज्ञान अध्ययन संस्थान, कञ्चनपुर पंछी संरक्षण सङ्घ बेलौरी र शुक्लाफाँटा नेचरगाइड एशोसिएशनको सहकार्यमा विभिन्न संरक्षण शिक्षासम्बन्धी कार्यक्रम आयोजना गरिँदै छ।

यस्तै, ६ सेप्टेम्बरसम्म स्थानीय स्वयंसेवकको सहयोगमा सुदूरपश्चिम प्रदेशभर गिद्ध गणना कार्य सञ्चालन हुने उनले जानकारी दिए। उनको भनाइअनुसार सुदूरपश्चिममा हाल नौ प्रजातिका गिद्ध पाइन्छन् भने कञ्चनपुरमा आठ प्रजातिका गिद्ध छन्।

गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ। मरेका र सडेगलेका जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोगजस्ता महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्छ। चरा विज्ञ चौधरीका अनुसार गिद्धले आफैँ शिकार नगरी सिनोमा निर्भर रहने भएकाले वातावरण प्रदूषित हुनबाट जोगाउँछ।

तर पछिल्लो समय गिद्ध लोपोन्मुख अवस्थामा छन्। दर्दनिवारक औषधि ‘डाइक्लोफेनेक’ गिद्ध विनाशको प्रमुख कारण भएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। किसानले जनावर बचाउन सिनोमा विषादी प्रयोग गर्ने, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने र आधुनिक कृषि उपकरणको प्रयोगले पशुपालनमा कमी आउनुले गिद्धको आहारा घटेको छ। साथै, प्राकृतिक प्रकोप, डढेलो, पहिरो, आँधीबेहरीले गिद्धको बासस्थान नष्ट भइरहेको तथ्याङ्कले देखाएको छ।

यसैगरी, एसिक्लोफेनेक, किटोप्रोफेन, निमुस्लाइड, कारप्रोफेन र फ्लुनिक्सिनजस्ता औषधि गिद्धको मृत्युको कारण बनेका छन्। नेपालमा पाइने गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आइयुसिएनद्वारा ‘अति सङ्कटापन्न’ श्रेणीमा छन् भने गोब्रे गिद्ध ‘दुर्लभ’ अवस्थामा छ। यस्तै, राज गिद्ध र खैरो गिद्ध हिउँदयाममा पाहुनाका रूपमा नेपाल आउँछन्। हिमाली गिद्ध नेपालको रैथाने भए पनि मुख्य रूपमा जाडो महिनामा तराईमा देखिन्छ।

गिद्ध संरक्षण दिवस पहिलोपटक अफ्रिकामा सन् २००५ देखि ‘राष्ट्रिय सचेतना दिवस’ का रूपमा मनाइँदै आएकोमा सन् २००९ देखि विश्वव्यापी रूपमा ‘अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस’ का रूपमा मनाउन थालिएको हो। यो दिवस मनाउनुको प्रमुख उद्देश्य गिद्धको घट्दो सङ्ख्या, संरक्षणका प्रयास, चुनौती र यसको आवश्यकताबारे आमनागरिकमा सचेतना बढाउनु रहेको छ।

सुनको मूल्यमा निरन्तर किर्तीमान, एकैदिन १७ सयले बढ्यो

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ ।

आइतबार स्थानीय बजारमा प्रतितोला रू दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो । आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रू दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता भएको छ। शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान लाओका राष्ट्रपतिसँग भेट गरेका हुन्।

ओलीले सिसौलिथसँग दुई पक्षीय वार्ता गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ।

यसअघि ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन्।

पर्साका केही पालिकाका समय सीमाभित्र बजेट पारित नहुँदा स्थानीयवासीलाई सास्ती

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकाले गत असार मसान्तभित्र गाउँसभाबाट चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन सकेन । गाउँपालिकाले समयमै बजेट नल्याएपछि विकास निर्माणका गतिविधि नै ठप्प छन् । कर्मचारीले तलबभत्ता बुझ्न नपाएको मात्र होइन गाउँपालिकाले भूमि तथा मालपोत कर पनि बुझ्न पाएको छैन ।

समयमै बजेट नल्याएका पर्साकै कहाँ मैनपुर र विन्दवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिकाको अवस्था धोबिनी गाउँपालिकाभन्दा फरक छैन ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय सरकारले असार १० गतेभित्र नगर/गाउँसभामा बजेट पेस गर्नुपर्छ । स्थानीय सरकारले बजेट नगर वा गाउँसभामा छलफलका लागि १५ दिन र आवश्यक परे र संशोधनका लागि थप पाँच दिनको समय दिन सक्ने व्यवस्था ऐनमा छ ।

सबै गरेर असार मसान्तभित्रै सबै प्रक्रिया टुङ्गाएर नयाँ आर्थिक वर्षदेखि स्थानीय सरकारले आवश्यक कार्य अगाडि बढाउनुपर्नेमा यी गाउँपालिका चुकेका छन् । समय सीमाभित्र बजेट नल्याउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । धोबीनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार रौनियारले जनप्रतिनिधिहरुको बहुमत र अल्पमतको विवादले निर्धारित समयभित्र पालिकाले बजेट ल्याउन नसकेको बताए ।

‘‘अध्यक्ष र उपाध्यक्षबीच बजेट सिलिङमा भएको विवादकै कारणले समयभित्रै बजेट आउन नसकेको हो’’, उनले भने, ‘‘स्थानीय सरकार प्रमुखहरुले समन्वय गरेर बजेट ल्याउने, कर्मचारीले आवश्यक समन्वय गरिदिने मात्रै हो नि ।’’

प्रशासकीय अधिकृत रौनियारले निर्धारित समयमा बजेट नआउँदा विकास निर्माणका काम ठप्प भएको बताए । निर्धारित समयमै बजेट नआउँदा चालु आर्थिक वर्षका योजनाको अध्ययन र सोका लागि आवश्यक पर्ने बोलपत्रको आवश्यक तयारीका कामअघि बढ्न सकेका छैन ।

धोबिनीमा जस्तै अध्यक्ष–उपाध्यक्ष वा गाउँसभाका सदस्य र प्रमुख प्रशासकीय अधिकृतबीचको टकरावले अरु गाउँपालिकाले समयमै बजेट ल्याउन सकिरहेका छैनन् । जनप्रतिनिधि र कर्मचारीबीचको विवादले बजेट ल्याउन नसकेको कहाँ मैनपुर गाउँपालिकामा विकास निर्माण मात्र होइन चालु खर्च नै प्रभावित भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले गत साउन २५ पालिकाको आर्थिक विधेयक पास भए पनि विनियोजन विधेयक पास नहुँदा खर्च गर्न नसकेको बताए । ‘‘आवश्यक समन्वयको अभावको कारणले बजेट पास हुन नसकेको हो । अहिले त धेरै कुरा मिलिसकेको छ’’, उनले भने ।

यो पालिकाले गत आवमा असोजमा मात्रै बजेट ल्याएको थियो । ‘‘पालिका गठन भएदेखि यो पालिकामा असारमा बजेट आएको छैन । म पनि गत आर्थिक वर्षमा असोजमा आएर बजेट बनाएको हुँ’’, उनले भने । आर्थिक विधेयक पारित भएपछि चालु आर्थिक वर्षमा कर उठाउन पाए पनि पालिकाले खर्च भने गर्न नपाएको उनले बताए ।

पर्साको विन्दवासिनी गाउँपालिकाका लेखा अधिकृत मिथलेश कुशवाहाले पालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएपनि अहिलेसम्म खाता सञ्चालन नभएको जानकारी दिए । तीन वटा पालिकाले तोकिएको समयभित्रै विनियोजन विधेयक पारित नहुँदा चालु आर्थिक वर्षका योजनाअघि बढ्न सकेका छैन ।

बहुदरमाई नगरपालिका प्रशासकीय अधिकृत बृजकिशोर प्रसादले पालिकाहरुको विनियोजन विधेयक पारित नहुँदा कुनै पनि विकास निर्माणका कामको प्रक्रियाअघि बढ्न नसक्ने बताए । ‘‘विनियोजन विधेयक पारित नहुँदासम्म त कुनै पनि योजना अघि बढ्न सक्दैनन् । त्यसलै जतिसक्दो छिटो बजेट पास गरेर अरु प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।’’

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका कतिपय पालिकाले बजेट ल्याए पनि अहिलेसम्म १४ वटै पालिकाको चालु आर्थिक वर्षमा खर्च गर्ने वातावरण अझै नबनेको बताए । ‘‘यहाँका सबै पालिकाको आर्थिक गतिविधि ठप्प छ’’, उनले भने, ‘‘आर्थिक विधेयक पारित हुनेले राजस्व सङ्कलन गर्न पाउँछन् भने  विनियोजन विधेयक पारित गर्न नसक्नेको कुनै पनि काममा खर्च गर्न पाउँदैनन् ।’’

स्थानीय शासन विद् डा खीमलाल देवकोटाले स्थानीय सरकारले तोकिएको समयमै बजेट नल्याउँदा नसक्दा योजनाको आवश्यक पर्ने अध्ययन र पूर्वतयारीका काम गर्नका समय अभाव हुने गरेको बताए । ‘‘तोकिएको समयसीमाभित्रै बजेट आएको खण्डमा बजेटको चक्र अनुसारको पूर्वतयारीको काम सम्पादन गर्न सकिन्थ्यो’’, उनले भने, ‘‘जति ढिलो बजेट पारित गरिन्छ । योजनाहरु योजनाबद्धभन्दा पनि असारे विकासतर्फ अग्रसर हुने प्रवृत्ति हावी हुने गर्दछ ।’’

‘‘चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म योजनाको अध्ययन र बोलपत्र प्रक्रियाका कामहरु अघि बढाउने काम गरिन्थ्यो,’’ उनले भने, ‘‘ती कामअघि बढ्न सकेका छैनन । जति ढिलो बजेट आउँछ । त्यति नै योजनाको आवश्यक कामहरु प्रभावित  भएका छन् ।

स्थानीय शासनविद् देवकोटाले स्थानीय सरकारले निर्धारित समय सीमाभित्रै बजेट नल्याउँदा कस्तो कारबाही गर्ने भन्ने प्रावधान नहुँदा बजेट नल्याउने प्रवृत्ति हावी हुँदै गइरहेको बताए । ‘‘स्थानीय सरकारमा बजेट जहिल्यै ल्याए पनि हुने खालको गलत प्रवृत्तिको विकास भइरहेको छ’’, उनले भने, ‘‘यस्तो खालको गतिविधि गर्ने स्थानीय तहले प्राप्त गर्ने विभिन्न खालका अनुदान तथा सेवा सुविधा कटौती गरेर सचेत गराउनुपर्ने समय आइसकेको छ । ’’

खाता नै सञ्चालन भएन

चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएको डेढ महिना बित्नै लाग्दा पनि पर्साका १४ वटै पालिकाले अझैसम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । १४ वटा पालिकामध्ये तीन वटा पालिकाले निर्धारित समय सीमाभित्रै बजेट पनि ल्याउन सकेका थिएनन् ।

बजेट ल्याएका पालिकाको अहिलेसम्म बैंक खाता भने सञ्चालनमा आउन सकेको छैन । बैंक खाता सञ्चालन नहुँदा कर्मचारीको तलबभत्ता र अन्य विकास निर्माणको गतिविधि पनि ठप्प जस्तै छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक जोशीले अहिलेसम्म यहाँका पालिकाले चालु आर्थिक वर्षमा रकम उपलब्ध गराउन माग नगरेको बताए ।

‘‘स्थानीय तहले चालु आर्थिक वर्षको रकम खातामा माग गर्दा केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ’’, उनले भने, ‘‘गाउँ वा नगरसभाबाट पारित भएको नीति कार्यक्रम र बजेट कार्यालयमा नबुझाउँदा र प्रमुख वा गाउँपालिका प्रमुखले अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदासम्म आर्थिक गतिविधिका लागि खाता सञ्चालन गर्न नपाइने प्रावधान छ ।’’

सहजीकरण गर्दै सङ्घ 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयभित्रै बजेट ल्याउन  नसक्ने मधेश प्रदेशका स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरण अभियान सञ्चालन गरेको छ ।

मन्त्रालयबाट आएको टोलीले साउन २१ गतेदेखि २३ गतेसम्म मधेस प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाहीसहितका चार जिल्लाका बजेट नल्याएका स्थानीय तहसँग बजेट ल्याउनको लागि आवश्यक सहजीकरण गरेको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटाले गत असार १० गतेभित्रै बजेट ल्याउन नसकेका स्थानीय तहसँगको समस्या र सो समस्या समाधानका लागि आवश्यक सहजीकरण गरेको बताए । ‘‘हामीले मधेस प्रदेशका १५ वटा स्थानीय तहसँग तोकिएको समयभित्रै बजेट ल्याउन नसक्नुको कारणको विषयमा आवश्यक छलफल गरेका छौं । हामी पुगेका स्थानीय तहमा खासै ठूलो प्रकृतिका समस्या त देखिएका छैनन’’, उनले भने, ‘‘पालिकाले क्षेत्रगत बजेट तोकेर तयार पारेको भए कुनै समस्या आउँदैन्थ्यो ।’’

उपसचिव सापकोटाले स्थानीय तहले तोकिएको समय सीमाभित्रै बजेट ल्याउन नसक्दा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा कोष लगायतबाट वितरण गरिने सेवा प्रवाहमा समस्या आएको जानकारी दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बारा जिल्लाका स्थानीय तहमध्ये सुवर्ण गाउँपालिका, महागढीमाई नगरपालिका, निजगढ नगरपालिकाले तोकिएको समय सीमाभित्रै बजेट ल्याउन सकेका छैनन् । त्यस्तै पर्साका विन्दवासिनी गाउँपालिका, मकहाँ मैनपुरगाउँपालिका, धोबिनी गाउँपालिका र जिराभवानी गाउँपालिकाले अहिलेसम्म बजेट ल्याउन सकेका छैनन । रौतहटका फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका, देवाही गोनाही नगरपालिका, यमुनामाई गाउँपालिका, माधव नारायण गाउँपालिका, धनकौल गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । त्यस्तै सर्लाहीको हरिपूर्वा नगरपालिका र हरिवन नगरपालिकाले बजेट ल्याउन सकेका छैनन् ।

पूर्वीनाका काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात

झापा। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/ ८३ को साउन महिनामा रु एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।

उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु ३७ करोड ९८ लाख ६८ हजार, अलैँची रु ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर रु २६ करोड ८७ लाख, अम्लिसो रु आठ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु छ करोड १० लाख, बन्दा रु चार करोड सात लाख, मसुरो दाल रु दुई करोड १३ लाख मूल्य बराबरको निर्यात भएको छ ।

सूचना अधिकारी थापाका अनुसार सोही अवधीमा पूर्वी नाकाबाट रु एक अर्व ६९ करोड १७ लाख ५२ हजार मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य बस्तुहरुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबार ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रमा सक्रिय ८६ जना कलाकार तथा प्राविधिकलाई सो परिचयपत्र वितरण गरिएको हो।

कार्यक्रममा मन्त्री गुरुङले चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका कलाकार तथा प्राविधिकलाई सम्मानित गर्दै परिचयपत्र वितरण गरेका थिए। चलचित्र विकास बोर्डले वितरण गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’लाई औपचारिक रूपमा चलचित्रकर्मीको पहिचान र कदरको प्रतीकका रूपमा लिइएको छ।

यस कार्यक्रममा सहभागी चलचित्रकर्मीले आफूले पाएको परिचयपत्रले आफ्नो पेशागत पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली एससीओ सम्मेलनको स्वागत समारोहमा सहभागी

चीन । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी भएका थिए ।

राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि यहाँ पाँचदिने भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

सोमबार (भदौ १६ गते) सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

रसुवागढीमा सुख्खा पहिरोः एक घाइते, भवनमा क्षति

रसुवा ।  रसुवागढी क्षेत्रमा आज गएको सुख्खा पहिराका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउपालिका—२ का करिब १९ वर्षीय विमलदास थारू सुख्खा पहिरोमा परी घाइते भएका हुन् । टाउको र छातिमा गम्भीर चोट लागेका उनको जिल्लास्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको सुख्खा पहिराले गत असार २४ पछि सडक अवरूद्व भएको छ । यसैगरी गढी इलाकामा रोकिएका स्काभेटर, ट्रयक्टर, कन्टेनर, स्कारपियो जीप, सुरक्षाकर्मी बस्ने प्रिफेब भवन, सीमा क्षेत्रस्थित ‘हेल्थ डेस्क’ र चिया पसलमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख शाहीले जानकारी दिए ।

सीमा सुरक्षाका लागि रसुवागढी नाकामा तैथान सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।

हिमताल फुटेर ल्हेन्देखोलामा आएको बाढीबाट त्रसित यहाँका स्थानीय, व्यावसायी, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मी, मजदूर र पैदलयात्रुले समेत सुख्खा पहिरोका कारण पुनः असुरक्षित हुनुपरेको गुनासो गरेका छन् । यसैगरी सुख्खा बन्दरगाह क्षेत्रसहित रसुवागढी आसपासमा रहेका चारपाङ्ग्रे सवारीसाधनमा पहिरोले क्षति पुर्‍याउन सक्ने भन्दै समयमै उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

सिरहा । सिरहामा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको हो भने आज एक महिला घाइते भएकी हुन् । यहाँको सिरहा नगरपालिका–४ रमौलमा बसोबास गर्ने इद महमदका १५ वर्षीय छोरा मो अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायको शनिबार करेन्ट लागेर मृत्यु भएको हो ।

इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका अम्मादको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएको हो ।

सिरहा–४ रमौलमा आज सदरे आलमकी ३० वर्षीया श्रीमती अफ्रोजा खातुन पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका छन् । हाल उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सदाय पनि आफ्नो घरमा सिटी रिक्सा ‘चार्ज’ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार, हाल सबै घटनाबारे अनुसन्धान भइरहेको छ । विद्युत् प्रयोगमा सावधानी नअपनाउँदा यस्ता घटनाको सङ्ख्या बढ्दै गइरहेकाले सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

नेपाल–बङ्गलादेश ‘रग्बी सिरिज’ भदौ अन्तिम साता

नेपाल–बङ्गलादेश ‘रग्बी सिरिज’ भदौ अन्तिम साता

काठमाडौँ । नेपाल रग्बी संघको आयोजनामा नेपाल–बङ्गलादेश अन्तराष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक देवकोटाले सिरिजमा रग्बी ‘सेभेन’ मा दुई र ‘फिफ्टिन’ मा एक खेल हुने जानकारी दिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सिरिजअन्तर्गत यही भदौ ३० मा रग्बी सेभेन र ३१ मा फिफ्टिनको खेल खेलाइने छ ।

सिरिजको पहिलो संस्करण सन् २०२२ मा बङ्गलादेशको ढाकामा भएको थियो ।

एससीओ सम्मेलन : चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

चीन । चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित युरेशियाली क्षेत्रका करिब २० देशका शीर्ष नेताहरू चीनको तियानजिन सहरमा आयोजित शिखर सम्मेलनमा सहभागी भएका छन् ।

शाङ्घाई सहयोग सङ्गठन(एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिक उत्सवमा आयोजना हुने भव्य सैन्य परेडलाई समेत दृष्टिगत गर्दै, सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ ।

शाङ्घाई सहयोग सङ्गठनमा चीन, भारत, रूस, पाकिस्तान, इरान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुस स्थायी सदस्य रहेका छन्, भने १६ अन्य देशहरू पर्यवेक्षक साझेदारका रूपमा आबद्ध छन् ।

रूसी राष्ट्रपति पुटिन आइतबार उच्चस्तरीय सरकारी तथा व्यापारिक प्रतिनिधिमण्डलसहित थिआन्जिन पुगेका हुन्। सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले माल्दिभ्स, अजरबैजान, किर्गिस्तान तथा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसहित विभिन्न मुलुकका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि सौहार्दपूर्ण वातावरणमा छलफल गरेका छन् ।

क्षेत्रीय समन्वय र नयाँ विश्व व्यवस्था निर्माणतर्फ छलफल

चीन र रूसले यस सङ्गठनलाई बहुध्रुवीय विश्व व्यवस्थाको विकल्पको रूपमा अघि सार्दै आएका छन् । यसपटकको सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः पदस्थापन भएपछिको पहिलो एससीओ बैठक हो, जसले पनि यसलाई विशेष महत्व दिएको छ ।

राष्ट्रपति पुटिनले सम्मेलनअघि चिनियाँ सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्,“यो बैठकले साझा युरेशियाली क्षेत्रको एकता सुदृढ गर्न तथा वर्तमान चुनौती र खतराहरूको सामना गर्न संगठनलाई अझ प्रभावकारी बनाउनेछ ।”

विश्लेषकहरूका अनुसार, चीन र रूसले एससीओजस्ता क्षेत्रीय मञ्चमार्फत अन्तर्राष्ट्रिय सन्तुलनको पक्षमा नयाँ पहल गर्ने प्रयास गरिरहेका छन् । यस्ता मञ्चहरूमा सहभागिताका माध्यमबाट विकासोन्मुख र गैरपश्चिमी मुलुकहरूलाई सहभागी गराई समावेशी विश्व संरचनाको परिकल्पना गरिएको बताइएको छ ।

व्यापक सहभागिता र कूटनीतिक सन्देश

यस सम्मेलनमा इरानका राष्ट्रपति मासुद पेजेश्कियन, तर्कीएका राष्ट्रपति रेचेप तैयप एर्दोआन लगायत धेरै देशका प्रमुखहरूको उपस्थिति रहेको छ । विश्लेषकहरूको भनाइमा, यस्तो उच्चस्तरीय सहभागिताले एससीओको बढ्दो प्रभाव र चीनको कूटनीतिक सक्रियतालाई प्रष्ट पार्दछ ।

एशिया समाज नीति संस्थानकी विश्लेषक लिज्जी लीका अनुसार,“चीनले एससीओलाई सार्वभौमिकता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति तथा बहुध्रुवीयता जस्ता सिद्धान्तमा आधारित मञ्चको रूपमा प्रस्तुत गर्दै आएको छ ।”

आपसी छलफल

शनिबार राष्ट्रपति शीले कम्बोडियाका प्रधानमन्त्री हुन मानेतसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । आगामी दिनहरूमा राष्ट्रपति पुटिनले तर्कीए र इरानका राष्ट्रप्रमुखहरूसँग युक्रेन युद्ध र इरानी आणविक कार्यक्रमबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

जापानस्थित सोका विश्वविद्यालयका प्राध्यापक लिम ताई वेइका अनुसार,“रूसका लागि एससीओजस्ता क्षेत्रीय मञ्चहरू विश्व राजनीतिमा भूमिका बढाउने अवसर हुन् । साथै, चीनजस्तो ठूलो अर्थतन्त्रको साथ पाउन पुटिन इच्छुक छन् ।”

भारतका प्रधानमन्त्री मोदी शनिबार चीन आएका हुन् । यो सन् २०१८ यता उनको पहिलो चीन भ्रमण हो । केही दिनअघि अमेरिकाले भारतले रूसी तेल खरिद गरेको विषयलाई लिएर भारतीय सामानमाथि आयात शुल्क बढाएको थियो, जसले भारत–अमेरिका व्यापार सम्बन्धमा असर पारेको बताइन्छ ।

भारत र चीन विश्वका दुई सबैभन्दा जनसङ्ख्या भएका मुलुकहरू हुन्, जसबीच दक्षिण एशियाली क्षेत्रमा प्रभाव जमाउने प्रतिस्पर्धा रहँदै आएको छ । सन् २०२० मा दुवै मुलुकबीच सीमामा झडप भएको थियो । यद्यपि, गत वर्ष अक्टोबरमा रुसमा आयोजित सम्मेलनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी बीचको भेटपछि द्विपक्षीय सम्बन्धमा केही सहजता देखिएको थियो ।

चिनियाँ सञ्चार माध्यमद्वारा सार्वजनिक गरिएको बेइजिङ परेडको सहभागीहरूको सूचीमा प्रधानमन्त्री मोदीको नाम उल्लेख गरिएको छैन । तर, म्यान्माका सैनिक शासन प्रमुख मिन आङ हलाइङ र उत्तर कोरियाका नेता किम जोङ उनको सहभागिता उल्लेख गरिएको छ ।

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

काठमाडौं  ।  बीपी राजमार्गमा १५ दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको अन्तर जिल्ला समन्वय समितिको निर्णयअनुसार भोलि (असार ७) गतेबाट साँझ ६:३० देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन बन्द हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी एवम् प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए। ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।

 

प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच चीनमा भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ।

उनीहरूबीच आइतबार थियानजिनमा भेटवार्ता भएको हो। भेटको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन्।

भेटबारे मोदीले लेखेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’

यसअघि प्रधानमन्त्री ओलीले शनिबार सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।

खोटाङमा जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीनजना  जिल्ला शिक्षा अधिकारी ( जिशिअ)सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको भन्‍दै अख्तियारले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका -४ स्थित श्री लक्ष्मी माध्यमिक बिद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेश कुमार पौडेलले बताए ।

यस्तै लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापकत्रय राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौड्याल, विद्यालयका तत्कालीन लेखापाल सीता कार्की, भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङ समेतलाई आयोगले प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध जनही पाँच लाखदेखि २४ लाख रुपैयाँसम्म बिगो कायम गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हुवावे र इजिप्टएयरबीच साझेदारी : इजिप्टको आर्थिक तथा डिजिटल विकासमा सहयोग

चीनको प्रविधि कम्पनी हुवावे र इजिप्टको राष्ट्रिय वायुसेवा कम्पनी इजिप्टएयरबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ, जसले इजिप्टमा व्यवसाय विस्तार गर्नुका साथै देशको आर्थिक तथा डिजिटल विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

शनिबार जारी गरिएको संयुक्त वक्तव्यअनुसार, यस सम्झौताले हुवावेका कर्मचारीहरूका लागि इजिप्टएयरलाई आधिकारिक वायुसेवा बनाएको र दुबै कम्पनीबीच इजिप्टको डिजिटल रुपान्तरणमा सहकार्यको ढोका खोलिएको छ ।

इजिप्टएयरका अध्यक्ष अहमद आदेलले साझेदारीले कम्पनीलाई नयाँ प्रविधि अवलम्बन गर्न, प्रणाली सुधार गर्न तथा यात्रुहरूको अनुभव सहज बनाउनेतर्फ मद्दत पुग्ने बताएका छन्। साथै, उक्त सम्झौता अन्तर्राष्ट्रिय बजारमा कम्पनीको विस्तार तथा डिजिटल सेवामा सुधार गर्न सहयोगी हुने उनले उल्लेख गरेका छन्।

हुवावे ग्लोबल व्यवसायिक यात्रा उपाध्यक्ष लाङ चाओले चिनियाँ कम्पनीहरूलाई इजिप्टएयरको सञ्जालसँग जोड्दा व्यापारिक यात्रा सहज हुने, आर्थिक सहकार्य बलियो हुने र सांस्कृतिक आदानप्रदान पनि बढ्ने बताएका छन् ।

हुवावे इजिप्टका वरिष्ठ उपाध्यक्ष डो योंगले कम्पनीका डिजिटल समाधानहरूले इजिप्टएयरलाई विश्वव्यापी प्रतिस्पर्धामा टिक्न सहयोग गर्ने र सञ्चालन प्रणालीलाई आधुनिक बनाउने उल्लेख गरेका छन् ।

यो साझेदारी इजिप्टको डिजिटल पूर्वाधारमा लगानी गर्ने हुवावेको दीर्घकालीन योजनाको एक हिस्सा हो, जसले देशको समग्र आर्थिक वृद्धिमा योगदान पु¥याउने विश्वास लिइएको छ ।

लिबियाको राजधानीमा तनाव चुलिँदै, संयुक्त राष्ट्रद्वारा वार्ता जारी राख्न आग्रह

लिबियामा संयुक्त राष्ट्रको सहयोग मिसन (यूएनएसएमआईएल)ले राजधानी त्रिपोली आसपास सैनिक तथा भारी हतियारहरूको बढ्दो उपस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

शनिबार प्रकाशित एक औपचारिक विज्ञप्तिमा, यूएनएसएमआईएलले यस्तो गतिविधिले सर्वसाधारणको सुरक्षा र दैनिक जीवनमा प्रतिकूल असर पार्न सक्ने उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन र वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।

यूएनएसएमआईएलले थप भनेको छ,“जुन महिनादेखि त्रिपोलीमा भइरहेको सुरक्षा व्यवस्थासम्बन्धी छलफलमा उल्लेखनीय प्रगति भएको भए तापनि, सबै पक्षले वार्ता जारी राखेर निष्कर्षमा पुग्न अत्यावश्यक छ । तनाव बढाउने कुनै पनि कदमबाट बच्नुपर्नेछ ।”

त्रिपोलीमा पछिल्लो समय देखिएको सैनिक गतिविधिका कारण सर्वसाधारणमा त्रास फैलिएको जनाइएको छ । यदि यस अवस्थामा बल प्रयोग गरियो भने, घना बस्ती भएको क्षेत्रमा हिंसात्मक झडप हुने सम्भावना रहेको चेतावनी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रले यसअघि मे महिनामा लिबियामा घोषणा गरिएको युद्धविरामलाई कायम राख्नका लागि सबै पक्षसँग निरन्तर संवाद र सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

हालै राजधानीका केही भागमा सीमित झडप भएको जानकारीपछि सरकारका समर्थक सुरक्षा बलहरू मिसुराता र घार्यानतर्फबाट त्रिपोलीतर्फ सर्ने प्रयासमा रहेको भनिएको छ । यद्यपि, लिबियाली अधिकारीहरूले यी गतिविधिहरूलाई ‘सामान्य सैन्य अभ्यास’ को रूपमा व्याख्या गरेका छन् ।

लिबिया सन् २०११ मा तत्कालीन शासक मोअम्मर गद्दाफीको शासन समाप्तिपछि राजनीतिक अस्थिरता र विभाजनको सामना गर्दै आएको छ । देश हाल दुईवटा मुख्य प्रशासनमा विभाजित छ । त्रिपोलीस्थित संयुक्त राष्ट्र मान्यताप्राप्त सरकार, र पूर्वस्थित अर्को प्रशासन जसलाई खलिफा हाफ्तार नेतृत्वको लिबियाली राष्ट्रिय सेनाले समर्थन गर्दै आएको छ ।

राजधानी त्रिपोलीमा पछिल्ला महिनाहरूमा पटक–पटक हिंसात्मक घटना देखिएको छ । विशेषगरी, मे महिनामा भएको झडपपछि संयुक्त राष्ट्र मिसन र राष्ट्रपतिको नेतृत्वमा रहेको परिषद्बीच मिलेर एक युद्धविराम समितिको गठन गरिएको थियो, जसले दीर्घकालीन स्थायित्वका लागि पहल गरिरहेको छ ।

झापाका विमली नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत

झापा । ट्याली एमएसएमई हनर्षले नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्वल विमलीलाई नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत गरेको छ । सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुसन्स प्रालि बैङ्लोर भारतद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा झापा, विर्तामोडका युवा व्यावसायी विमली सम्मानित भएका छन् ।

झापा साइक्लिङ सङ्घका उपाध्यक्ष एवं नेपाल अलैँची व्यावसायी महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका विमलीलाई नयाँपुस्ताका ‘स्टार्टअप’ व्यावसायीका रूपमा पुरस्कृत गरिएको हो । ट्याली सोलुसन्स प्रालिका कार्यकारी निर्देशक नुपुर गोयन्का र नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले संयुक्त रूपमा उनलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

सो प्रालिले व्यावसायीहरूलाई विभिन्न पाँच विधामा वर्गीकृत गरीे साना, मझौला तथा सुक्ष्म उद्योगको पहिचानसहित हरेका वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । विश्वका करिब २० हजारभन्दा बढी व्यावसायीको आवेदन परेकामा २०० छनोटमा परी २५ जना नेपाली व्यावसायी पुरस्कृत हुन सफल भएका ट्याली सोलुसन्स प्राली, कोसी प्रदेशका साझेदार कम्पनी ‘आइडियल एकाउन्टिङ सोलुसन्स प्राली’का सञ्चालक राजनारायण साहले जनाकारी दिएका छन्।

यस वर्ष उत्कृष्ट २५ व्यावसायीमध्ये अनिता तिम्सिना बस्नेत, सङ्गीता कडरिया, सृजना खड्का, सुनिता शेर्पा र सङ्गीता पाण्डे गरी पाँच महिला पुरस्कृत भएका छन् । त्यस्तै अनुभवी व्यावसायीका रूपमा डा रञ्जनकुमार दाहाल, डा मनिता तिम्सिना, राजेन्द्रबहादुर सिंह, दीपककुमार झा, विनोदकुमार श्रेष्ठ, प्रकाश आचार्य र प्रत्युस आचार्य पुरस्कृत गरिएको छ ।

प्रविधि अपनाएर व्यवसाय गर्ने राजु ढकाल, रुपक शाक्य, डा सुरेशकुमार मानन्धर, दिनेशप्रसाद पौडेल र हरि ढकाललाई कम्पनीले पुरस्कृत गरको छ । सामाजिक प्रभाव पार्ने व्यावसायिका रूपमा मनोजविक्रम शाह, मनोहर कार्की, अञ्जल निरौला, सुमिता राउत र सवलचन्द साह पुरस्कृत भएका छन् । ट्याली सोलुसन्स प्रालिका कार्यकारी निर्देशक गोयन्काले विगत पाँच वर्षदेखि उत्कृष्ट, सफल एवं प्रेरणादायी व्यावसायीको पहिचान गरी सम्मानसहित पुरस्कृत गर्दै आएको बताएका छन्।

अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने

काठमाडौँ ।  बाढीपहिरोका कारण अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने भएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज भएको बैठकमा विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रभावित सडकबारे जानकारी दिएपछि गृहमन्त्रालयलगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सडक खोल्न प्रयत्न गर्ने बताएका हुन् ।

बाढीपहिरोले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा– गोसाइँकुण्ड, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी –कोदारी र घट्टेखोला, बेनी–जोमसोम सडक खण्डअन्तर्गत दुईखोलीमा सडक अवरुद्ध छ । घोराही–थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणीमा, भेरी करिडोरको छलघाट, कर्णाली राजमार्गको शुभकालीन र भेरी करिडोरअन्तर्गत आठबिसकोटमा बाटो बन्द भएको छ ।

विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा त्यसले औँल्याएका विषयबाट उत्पन्न समस्या समाधानका निम्ति यस्तो निर्देशन दिएको हो ।

समितिकी सभापति कुसुमदेवी थापाले निकुञ्ज तथा संरक्षण क्षेत्रमा पर्ने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेर पनि काम रोकिएको भन्दै सहजीकरणका लागि मन्त्रालयलाई निर्देशन पनि दिइएको बैठकपछि बताएकी छिन् ।

बैठकमा सांसद वीरेन्द्र महतोले वातावरण संरक्षणका नाममा विकासको काम रोक्न नहुने भन्दै विकास र वातावरणबीचको सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

सांसद सरस्वती सुब्बाले वातावरण संरक्षणका लागि विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने नीति लिने तर वनकै कारण जलविद्युत् आयोजना अगाडि बढ्न बाधा पुग्ने कार्य हुनु उचित नभएको धारणा व्यक्त गरकी छिन्।

सांसद मीना तामाङले जलविद्युत् आयोजनालाई सहजीकरण गर्ने नाममा वातावरण विनाश गर्न नहुने बताएकी छिन् ।

यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले लगानी र इआइए भइसकेका जलविद्युत् आयोजनाको हकमा कानुनी अड्चन फुकाउन आवश्यक भएको बताएका छन् । उनले भने, “कुनै आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएर पनि पाँच प्रतिशत निकुञ्ज तथा संरक्षण क्षेत्रका कारण रोकिएको छ । विकास– निर्माणका काममा सहजीकरण गर्न हामी तयार छौँ ।”