`

छोरीको जटिल उपचारका लागि अमेरिका पुगे धुर्मुस–सुन्तली, रङ्गशालाबारे यस्तो दिए ‘बकपत्र’

काठमाडौं । कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना ‘सुन्तली’ अमेरिका पुगेका छन् । छोरी सुविहानीको जटिल उपचारका लागि उनी केही दिनअघि स–परिवार अमेरिका उडेका हुन् । अमेरिका पुगेपछि सामाजिक सञ्जालमार्फत धुर्मुसले लामो बकपत्र लेख्दै रंगशाला निर्माणका क्रममा भोगेका पीडा, आर्थिक संकट र आफूहरूलाई पछिल्ला वर्षमा परेकै आरोप–आशंकाप्रति मन खोलेका छन् । उनले छोरीको उपचार अमेरिकामा निःशुल्क हुने सुविधा पाएकाले त्यहाँ पुगेको र उपचारपछि नेपाल फर्किने स्पष्ट उल्लेख गरेका छन् ।

धुर्मुसका अनुसार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा उधारोमा लिइएको निर्माण सामग्रीको १८ करोड ४३ लाख रुपैयाँ बक्यौता अझै भुक्तानी हुन बाँकी छ । भरतपुर महानगरपालिकालाई फाउन्डेसनले ५९ करोड ९० लाख रुपैयाँ बराबरको भौतिक संरचना हस्तान्तरण गरिसके पनि बाँकी दायित्व महानगरले नबुझ्दा आफूहरू ‘अपराधीझैं’ भइरहेको गुनासो छ ।

उनले लेखेका छन्, ‘राज्यले सम्पत्ति त सजिलै सकार्छ, तर दायित्व स्वीकार्दैन । अब हामीसँग रित्तिएको जे छ—त्यो इमान्दारिता र असल नियतप्रतिको भरोसा मात्र हो ।’ धुर्मुसले नेपालमा रहँदा नसकिएको थुप्रै आरोप र अफवाहलाई अब भने स्पष्ट बोल्ने समय आएको बताउँदै सम्पूर्ण विचाराधीन केसका लागि फाउन्डेसनका उपाध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको जानकारी पनि दिएका छन् ।
हेर्नुस् धुर्मुसको बकपत्र

 

सरकारसँगको सम्झौतामा जेनजीहरु नै असन्तुष्ट, प्रमुख दलहरुको पनि ‘आपति’

काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले सरकारले बुधबार गरेको १० बुँदे सम्झौता उल्टै बहस, विवाद र असन्तुष्टिको वृहत्तर केन्द्र बनेको छ । एकातिर सहमतिलाई ‘ऐतिहासिक’ भन्दै स्वागत गर्नेहरू छन् भने अर्कातिर प्रमुख दलदेखि आन्दोलनकै एउटा शक्तिशाली समूहसम्मले ‘अनधिकृत’, ‘धोकेधडी’ र ‘संविधान विपरीत’ भन्दै कडा प्रतिवाद गरिरहेका छन् ।

सम्झौता सार्वजनिक भएसँगै जेनजी आन्दोलनभित्रै दरार देखिएको छ । बालुवाटारमा मन्त्रिपरिषद्को उपस्थितिमा भएको छलफलमै सुदन गुरुङ नेतृत्व समूह र विरोधी युवाहरू एकअर्कासँग आक्रामक रुपमा उत्रिए । ‘आन्दोलन बेचियो’, ‘षड्यन्त्र भयो’ भन्ने आरोपसहित उग्र नाराबाजी भयो । प्रधानमन्त्री सुशीला कार्कीले सुदनलाई ‘मेरो जेठो छोरो’ भनेपछि वातावरण झनै तातेको थियो । सम्झौताले सहिद परिवार, संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, भ्रष्टाचार नियन्त्रण र २३–२४ भदौको आन्दोलनलाई ‘जनआन्दोलन’ घोषणा गरेको छ । तर यी प्रावधान नै अस्वीकार्य भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट बताएका छन् । उनले यो सरकारले ‘गोबरले टाँसे जस्तो अवैध’ भएर म्यान्डेटविहीन रहेको भन्दै सहमतिलाई ‘फजुल कागज’ करार गरे ।

एमालेका नेता महेश बर्तौलाले पनि ‘संविधान च्यातेर बनेको सरकारले संविधानविपरीत सम्झौता गरेको’ आरोप लगाउँदै यसको कुनै वैधानिकता नरहेको दाबी गरे । कांग्रेस पनि समान रूपमा असन्तुष्ट छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले २४ भदौको उग्र घटनालाई ‘ठीक’ भनेर वैधता दिन नसकिने बताएका छन् । कांग्रेसका अनुसार सरकारको एक मात्र काम आसन्न चुनाव गराउनु हो, विवादित राजनीतिक एजेण्डामा हात हाल्नु होइन ।

जेनजी आन्दोलनबाटै बनेको नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले पनि सम्झौताको धेरै बुँदामा असहमति जनाएका छन् । उनीहरूका अनुसार सरकारले ‘जेठो छोरो’ जस्ता टिप्पणीदेखि संवेदनशील विषयहरूमा अनावश्यक दखल गरेर समाजलाई उत्तेजित बनाउने काम गरेको छ । चुनाव गर्न बनेको सरकारले ‘राजनीतिक समाधानकर्ता’ बन्न खोज्नु गलत भएको उनीहरूको तर्क छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहमतिका मुख्य एजेण्डा–नो भोट, निर्वाचन सुधार, पार्टीको आन्तरिक लोकतन्त्र—आफूले वर्षौदेखि उठाउँदै आएको बताउँदै सकारात्मक रुपमा उभिएको छ । यो सहमति आफ्नो एजेण्डाको वैधता पुष्टि भएको पार्टीको दाबी छ ।

सम्झौतापछि सबैभन्दा उग्र प्रतिवाद जेनजी आन्दोलनकै मिराज ढुंगाना र जितेन्द्र महतो समूहबाट आयो । सिंहदरबार दक्षिण गेटमा प्रदर्शन भइरहँदा प्रहरीले उनीहरूलाई हटायो । ‘सम्झौता धोका हो’, ‘हामी फेरि ठूलो आन्दोलन गर्छौँ’ भन्दै उनीहरू निरन्तर सडकमा छन् । जितेन्द्र महतोले खुलेरै ‘सुशीला कार्की सरकार ओलीकै शैलीमा घेराउ–लखेट गर्ने’ चेतावनी दिएका छन् । आफूहरूलाई अन्तिम समयमा मात्र बोलाइयो, स्वार्थका लागि सम्झौता गरियो, आन्दोलन ‘हाइज्याक’ भयो भन्दै उनीहरूले १० बुँदे सहमतिलाई च्यातेका थिए । आगामी २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा सरकारले गरेको यो सम्झौता अब नैतिक, कानुनी र राजनीतिक तीनै कोणबाट घेरिँदै गएको छ । सहमतिविरुद्ध प्रमुख दलहरू, जेनजी आन्दोलनको ठूलो हिस्सा र संवैधानिकताबारे उठेका प्रश्नहरूले साबित गरिदिएको छ-यो सम्झौता समाधानको होइन, नयाँ राजनीतिक घुम्तीको केन्द्र बनिरहेको छ।

७३ वर्षे ओलीको विकल्पमा ७१ वर्षका ईश्वर ?

काठमाडौं । भदौरे जेनजी आन्दोलनको बलले धकेलिएर अगाडि तानिएको एमाले महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न ईश्वर पोखरेल टिम नै बनाएर तयार भइसकेका छन् । महाधिवेशन सुरू हुन एक दिन बाँकी रहँदासम्म दुवै समूह पदाधिकारीको बाँडफाँड मिलाउन प्रयासरत देखिन्छन् । नेपाली राजनीतिक दलको पुनर्संरचनासम्बन्धि बहस केही समयदेखि चलिरहेको थियो ।

यो बहस फगत नेतृत्व परिवर्तनका लागि मात्रै नभएर दलहरूको आन्तरिक लोकतन्त्र, जवाफदेहीता र पारदर्शिता, नेतृत्वको स्वभाविक र नियमित हस्तान्तरण तथा पार्टी नेतृत्वमा युवा पुस्ता पुग्ने सहज मार्ग निर्माणमा केन्द्रीत थियो । नेपाली समाजले दलहरूमा भ्रष्टाचारका आरोप नलागेको स्वच्छ नेतृत्वको अपेक्षा राखेको थियो । जेनजी आन्दोलनले दलहरूलाई यी मुद्धा सम्बोधन गर्न दबाव दिएपछि नेपालका प्रमुख तीन दल प्रभावित भए । काँग्रेस र एमालेले महाधिवेशनको बाटो रोजे भने माओवादी पूर्णतः विघटन भयो । विघटित माओवादी नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशिल लोकतान्त्रिक पार्टीमा विभाजित भयो ।

राजनीतिक दल पुनर्संरचनाको मुद्धा कांग्रेसमा मुख्यतः गगन थापा समूहले उठाएको देखिन्छ । यो समूहले दल पुनर्संरचनाका माथि उल्लेख भएका प्रायः सबै मुद्धालाई कसरी सम्बोधन गर्ने भन्ने प्रयास गरेको देखिन्छ । यता भोलिबाट महाधिवेशनमा जान लागेको एमालेमा यो मुद्धा बोकेको दाबी गर्ने संस्थापन इतर समूहले भने न यो मुद्धा बुझेको देखिन्छ, न यसलाई सम्बोधन गर्ने कुनै कार्यक्रम नै बोकेको पाइन्छ । यो समूह फगत ओलीविरोधीहरूको गठबन्धन मात्रै बन्न पुगेको छ ।

संस्थापन इतर समूहले अध्यक्षका उम्मेद्वारको रुपमा ईश्वर पोखरेललाई अघि सार्नुले नै यो समूह दलको पुनर्संरचनाको मुद्धामा गम्भीर छैन भन्ने प्रष्ट भएको छ । अहिले वरिष्ठ उपाध्यक्ष रहेका पोखरेलको उम्मेद्वारीले न त नेतृत्व पुस्तान्तरणको भावनालाई सम्बोधन गरेको छ, न त स्वच्छ छविको नेतृत्वको मागलाई सम्बोधन गरेको छ । नेतृत्वमा स्थापित भइसकेका ‘टेस्डेड एन्ड फेल्ड’ व्यक्तिलाई नै अघि सारेर यो समूहले दलको पुनर्संरचनाको मुद्धामाथि मजाक मात्रै गरेको छ । अध्यक्षका दाबेदार पोखरेल वर्तमान अध्यक्ष ओलीभन्दा दुई वर्ष मात्रै कान्छा छन् । एकै समय राजनीतिमा प्रवेश गरेका र कुनै न कुनै तहमा निरन्तर नेतृत्वमा रहेका पोखरेलले कसरी नेतृत्व पुस्तान्तरणको मुद्धा बोक्छन् ? यो समूहले महाधिवेशन प्रतिनिधिलाई कुनै जवाफ दिन सकेको छैन । ७३ वर्षका ओलीको ठाउँमा ७१ वर्षका पोखरेललाई ल्याएर कसरी नेतृत्व पुस्तान्तरण हुन्छ ?

यो समूहले एमालेले विगतमा तय गरेको ७० वर्षे उमेर हदको कुरा उठाइरहेको छ, जुन पछि हटाइएको थियो । उमेर हदको कुरा उठाउने पोखरेल समूहले आफैं चाहिँ यसको पालना गर्नु पर्दैन ? के उमेर हद ओलीको हकमा मात्रै लागु हुनुपर्ने हो ? पार्टी पुनर्संरचनाको अर्को प्रश्न स्वच्छ छविको नेतृत्व हो । यो प्रश्नको कसीमा पोखरेल भन्दा ओली धेरै माथि देखिन्छन् । पोखरेललाई शाही आयोगले नै अकुत सम्पत्ति आर्जनमा डामिसकेको थियो, जुन मुद्धा गणतन्त्र आएसँगै सेलाएर गयो । गणतन्त्र आएपछि पनि पटक पटक सत्तामा गएका पोखरेल कोभिड महामारीको समयमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा पनि पोखरेलमाथि प्रश्न उठेको थियो । यही बेला चर्चामा आएका ओम्नी र बतास प्रकरणमा जोडिएका मन्त्री उनका सारथी छन् ।

कुनै औपचारिक मुद्धा नझेले पनि सार्वजनिक रुपमा प्रश्नै–प्रश्न भएको नेतृत्व अघि सारेर इतर समूहले ओलीलाई कसरी चुनौति दिन सक्छ ? अवसरकै हिसाबले पनि उनी एमालेको महासचिव र वरिष्ठ उपाध्यक्ष भइसकेका छन् अर्थात् अध्यक्ष नै नभएर पनि पार्टी नेतृत्वको उच्च तहमा काम गरिसकेका छन् । त्यसैले, अहिले एमालेमाथि उठेका प्रश्नमा ओलीसँगसँगै पोखरेल पनि उत्तिकै जवाफदेही हुनुपर्छ । पटक पटक मन्त्री, उपप्रधानमन्त्री मात्रै नभएर कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी पाइसकेका पोखरेल कसरी ओलीको विकल्प हुनसक्छन् भन्ने प्रश्नको जवाफ इतर समूहले महाधिवेशन प्रतिनिधिलाई दिन सकेको छैन । पार्टी पुनर्संरचनाका यो मूलभूत प्रश्नको जवाफ नै दिन नसक्ने गरी नेतृत्वमा पोखरेललाई अघि सारेको इतर समूहले आफूलाई ओलीविरोधीहरूको समूह मात्रै भएको प्रमाणित गरेको छ ।

एमाले सचिवालय बैठक आज बस्दै, महाधिवेशन अघि यस्तो छ ओलीको योजना

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन सुरू हुनै लागेका बेला आज (शुक्रबार) दिउँसो १ बजे सचिवालय बैठक बस्दैछ । महाधिवेशन उदघाटनको अघिल्लो दिन बोलाइएको बैठकमा विधान संशोधनदेखि पदाधिकारी संख्या पुनः वृद्धि गर्ने विषयलाई अध्यक्ष केपी शर्मा ओलीले मुख्य एजेण्डाका रूपमा अघि सार्ने तयारी गरेका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले विधान परिमार्जन र मनोनित प्रतिनिधि चयनलाई प्राथमिकता दिनेछ ।

एमालेले भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनमार्फत पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो । त्यही समयमा स्थायी कमिटी खारेज, पोलिटब्युरो सानो बनाउने र केन्द्रीय समिति ३०१ बाट घटाएर २५१ सदस्यमा झार्ने व्यवस्था गरिएको थियो । तर महाधिवेशनमा विभिन्न पदप्रति बढ्दो आकांक्षा व्यवस्थापन गर्न कठिन भएपछि ओली फेरि पदाधिकारी संख्या १९ मा पु¥याउने निष्कर्षमा पुगेका छन् ।

अध्यक्षका प्रतिद्वन्द्वीका रूपमा सार्वजनिक भएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्ष भने सो प्रस्ताव आएमा एमालेले हटाइसकेको दुई कार्यकाल सीमाको प्रावधान पुनस्र्थापित गर्न माग लैजाने तयारीमा छ । पोखरेलले सोमबार ओलीलाई अवधारणा पत्र बुझाएपछि तय भइसकेको सचिवालय बैठक तीन दिन स्थगित भएको थियो ।

यता पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार आजको बैठकले पदाधिकारी संख्या विस्तारसँगै २५१ सदस्यीय केन्द्रीय कमिटी अझै ठूलो बनाउने सम्भावनाबारे पनि छलफल गर्नेछ । साथै महाधिवेशनका १०८ मनोनित प्रतिनिधि टुंग्याउने विषय निर्णायक रूपमा पेश हुनेछ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन र भृकुटीमण्डपमा बन्द सत्रसहित सुरू हुने ११औं महाधिवेशन पूर्वको यो बैठकले एमालेभित्रको आगामी सत्ता–सन्तुलन कस्तो बन्ने भन्ने संकेत दिने अपेक्षा गरिएको छ।

नेपाल प्रहरीमा २१ इन्स्पेक्टर र ४३८ असईका लागि भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना आवेदन खुला गरिएको छ । आज (शुक्रबार) विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा दरखास्त आह्वान गरेको हो ।

प्रहरीले २१ जना इन्स्पेक्टर र ४३८ जना असईका भर्नाका लागि आवेदन खुलाएको हो । इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ ।

दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ । दरखास्त दस्तुर इन्स्पेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ पनि आवेदन दिँदा प्रत्येक समूहका लागि थप २४० रूपैयाँ लाग्नेछ । असईतर्फको दरखास्त पेस गर्दा ५०० रूपैयाँ र एक भन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि थप १०० रूपैयाँ शुल्क लाग्नेछ ।

इन्स्पेक्टरका लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको र असईमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । इन्स्पेक्टरका लागि न्यूनतम शैक्षिक योग्यता कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ । असईका लागि भने प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।

हेर्नुस् विज्ञापन

पोखरा विमानस्थल भ्रष्टाचारबारे ओली : भीम आचार्य निर्दोष छन्, तर डामियो

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भनिएको भ्रष्टाचार प्रकरणले नेकपा एमालेमा तरङ्ग सिर्जना गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले नेता भीमप्रसाद आचार्यसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एमाले नेतृत्वले यसको कडा प्रतिवाद गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा आयोजित ‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना–२’ कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता आचार्यलाई मुद्दामा तानिएको कार्यलाई ‘घोर अन्याय’ भन्दै विरोध जनाएका छन् । ओलीले आरोपको उद्देश्य भ्रष्टाचार उन्मूलन नभई ‘चरित्र हत्या र बदनाम गर्ने अभियान’ भएको दाबी गरे ।

ओलीले भने, ‘भीमप्रसाद आचार्य निर्दोष छन् । उनले सफाइ पाइहाल्छन् । तर अहिले त डामियो । मानिसले दोषी ठाने जस्तै भयो, प्रतिष्ठामाथि चोट पुर्‍याइयो ।’ अख्तियारले आचार्यमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहँदा-नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्षका रूपमा-भ्रष्टाचारसम्बन्धी निर्णयमा संलग्नता रहेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो । आचार्य सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री रहेका थिए ।

आचार्यको असन्तुष्टि : पहिले नै तामेलीमा परेको मुद्दा किन पुनः ल्याइयो ?
सोही कार्यक्रममा नेता आचार्यले पनि आफूविरुद्ध मुद्दा दायर गरिएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले पोखरा विमानस्थलसम्बन्धी फाइल दुई–दुई मन्त्रिपरिषद्ले पारित गरिसकेको र प्राविधिक अध्ययनदेखि प्रक्रिया सबै पूरा भएको बताउँदै अख्तियारले पहिलेको छानबिनमै ‘कैफियत छैन’ भनी तामेलीमा राखेको दाबी दोहोर्‍याए ।

‘अख्तियारले त्यतिबेलै छानबिन गरेर तामेलीमा राखिएको पत्र पठाएको थियो’, आचार्यले भने, ‘पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको प्राविधिक रिपोर्ट, मन्त्रिपरिषद्को निर्णय-सबैका आधारमा नयाँ एग्रिमेन्टतर्फ जाने प्रक्रिया बनिसकेको थियो ।’ आचार्यले अहिलेको सरकारको दबाबमा मुद्दा पुनः अगाडि बढाइएको आरोप लगाए । ‘अहिलेको सरकारले दुई–तीन पटक बोलाएर अख्तियारलाई थर्काएर मुद्दा चलाउन लगाएको हो’, उनले आरोप लगाए ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा विघटित प्रतिनिधिसभाका सदस्य रहिसकेका आचार्य एमालेको ११औं महाधिवेशनमा पदाधिकारी पदका दाबेदार समेत हुन् । महाधिवेशनको संवेदनशील समयमा आफूविरुद्ध मुद्दा दायर हुनु राजनीतिक उद्देश्य बोकेको कदम भएको उनको आरोप छ । अख्तियारले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ । तर यसबारे उत्पन्न विवादले राजनीतिक र कानुनी बहसलाई थप तीव्र बनाएको छ ।

भिजिट भिसा प्रकरणमा तानिए पूर्व गृहमन्त्री लेखक र पूर्व गृहसचिव दुवाडी

काठमाडौं । भिजिट भिसा काण्डमा ‘सेटिङ’ मार्फत घुस लिएर व्यक्तिहरूलाई विदेश पठाइएको आरोपमा पूर्व गृहमन्त्रीदेखि उच्च प्रशासकीय तहसम्म तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोग–पत्रसँगै यो प्रकरणमा पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीलगायतका उच्च अधिकारी समेतको भूमिकाबारे गम्भीर छानबिन भइरहेको पुष्टि भएको हो ।

अख्तियारका अनुसार, छानबिनको क्रममा नियन्त्रणमा लिइएका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग भेटिएको डायरी र कल डिटेल्स (सीडीआर) को विश्लेषणपछि थप नामहरू अनुसन्धानको दायरामा आएका हुन् । भट्टराईसहितको अस्वाभाविक सम्पर्क, कल आदानप्रदान र आर्थिक लेनदेनको शंका उठेपछि तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी, स्वकीय सचिव जनक भट्ट, गृह मन्त्रालयका विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुख र गृहसचिवको सचिवालयका कर्मचारी समेत अनुसन्धानको सूचीमा परेका छन् ।

पहिलो चरणमा अख्तियारले भट्टराईसहित ७ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो । तर, यो प्रकरणमा उच्च तहबाटै निर्देशन, मिलेमतो र आर्थिक लेनदेन भएको आशंकाले तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडी, अध्यागमन विभागका तत्कालीन महानिर्देशक तथा शान्ति–सुरक्षा हेर्ने महाशाखाका प्रमुखको भूमिका विशेष निगरानीमा रहेको अख्तियारले अदालतलाई जानकारी गराएको छ ।

अख्तियारको दाबीअनुसार, विदेश पठाउने क्रममा भिजिट भिसा सहज बनाउन ‘सेटिङ’ गरी रकम उठाउने काममा ठूलो जालो सक्रिय थियो, जसमा मन्त्रालयका विभिन्न तहका कर्मचारीदेखि निजी सचिवालयसम्मको संलग्नता देखिएको छ । भट्टराईको डायरी र सीडीआरमै आधारित प्रमाणहरूले यस काण्डमा केन्द्रतिरैबाट दबाब वा समन्वय भएको संकेत दिएको अख्तियारको भनाइ छ ।

यसैबीच, ७९ लाख ८० हजार रुपैयाँ घुस लिएको आरोपमा भट्टराई मुख्य प्रतिवादी बनाइएका छन् । उनीमाथि ट्राभल कम्पनी सञ्चालक, बिचौलिया र विमानस्थल अध्यागमनका एक अधिकृतसहित ७ जनालाई प्रतिवादी बनाइएको हो । उनीहरूबाट रकम विभिन्न शीर्षकमा बिगो कायम गरिएको छ–कविता पौडेल र खेम सुवेदीलाई समान ७९ लाख ८० हजार, राम खड्कालाई ३० लाख २० हजार, बालकृष्ण खड्कालाई ३० लाख २० हजार, दिपक भण्डारीलाई १० लाख ६० हजार र यज्ञराज अर्याललाई ८ लाख ।

अख्तियारले जनाएको यो प्रकरण २०८१ असोज २३ देखि २०८२ जेठ ७ गतेसम्म प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत भट्टराईले आयोजित गरेको ‘सेटिङ’ बाट सुरु भएको मानिएको छ । त्यो अवधिमा विभिन्न ट्राभल व्यवसायी र बिचौलियासँग मिलेर भिजिट भिसामा व्यक्तिहरूलाई विदेश पठाउने नाममा ठूलो रकम उठाइएको दाबी गरिएको छ । मुद्दा दायर भइसके पनि यो काण्डको केन्द्रीय तहमा भएकाहरूको संलग्नताको अनुसन्धान अझै जारी रहेको छ । अख्तियारले यही आधारमा निकट भविष्यमा थप प्रतिवादी पनि बढ्न सक्ने संकेत दिएको छ ।

फाइनल खेल्न लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको हो । यो लक्ष्य पूरा गरे विराटनगरले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न पाउनेछ ।

यस खेलमा ११ ओभरपछि लगालग विकेट गुमाएपछि लुम्बिनीले मध्यम लक्ष्य प्रस्तुत गर्ने अवस्थामा पुगेको हो ।

 

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेन–जी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरकारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । गत असोज ५ गते बसेको मन्त्रीपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग गठन गरेको थियो ।

उनकाअनुसार सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत नेपाल न्याय सेवा कानून समूह राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई निजामति सेवा ऐन, २०४९ को दफा ९ को उपदफा १ बमोजिम नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

जेन–जी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच मंसिर २४ गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ । साथै अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको बताए ।

उक्त सम्झौता संवद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय भएको बताए । सरकारले समाजकल्याण परिषद्को रिक्त सदस्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको बताए ।

तीन हप्तामा डेढ लाख शरणार्थी अफगानिस्तान फर्किए

काबुल । पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट डेढ लाख अफगानी परिवार स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहार प्रान्तको तोरखाम, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक, पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम र एयरपोर्टहरू हुँदै अफगानिस्तानमा प्रवेश गरेका थिए ।

सबै फर्केका परिवारहरूले खाना, पिउने पानी, स्वास्थ्य सेवा र आफ्नो गन्तव्यमा पुग्न निःशुल्क यातायातसहित तत्काल सहायता प्राप्त गरेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तले यस वर्ष अहिले सम्म इरान, पाकिस्तान र अन्य देशबाट करिब २७ लाख अफगान नागरिक स्वदेश फर्केको बताएका छन् ।

बाँकी अनुमानित ६० लाख अफगान शरणार्थीहरू, मध्ये अधिकांश कागजातविहीन छन् भने उनीहरु मुख्यतया इरान र पाकिस्तानमा रहेका छन् ।

 

जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन

काठमाडौं । सरकारले जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौतालाई अनुमोदन गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

उनले सम्झौतालाई सम्बन्धित सबै मन्त्रालयले कार्यान्वयन सुरु गर्ने बताए । त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको छानबिन आयोगको म्याद थप गर्ने निर्णय भएको समेत जानकारी दिए । सरकारले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

सत्ता जोगाउन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियो : रविकिरण हमाल

काठमाडौं । जेनजी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरुको भावना विपरित सम्झौताको नाटक गरेको आरोप लगाएका छन् । असन्तुष्ट समूहले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेन–जी आन्दोलनलाई नै हाईज्याक गरेर सत्ता कब्जा भएको आरोप लगाएका हुन् । जेन–जी अगुवा रविकिरण हमालले बुधवार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्यालको समहुले सम्झौताको नाटक मञ्चन मात्रै गरेको टीप्पणी गरे ।

भदौ २३ र २४ गते नेपालको नवोदित पुस्ताको आवह्वान भएको विद्रोहलाई अपरहण गरेर, सत्ता ‘कु’ गरेर उनीहरुले नवपुस्तामाथी धोका दिएको उनको आरोप छ । उनीहरुले आफ्नो सत्ता जोगाउनको लागि युवामाथि घात हुने १० बुँदेको सम्झौताको नाटक गरेको र त्यसलाई परास्त गर्न आफूहरु लाग्ने बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र वर्तमान प्रधामन्त्री कार्की र गृहमन्त्री अर्याल सबैले युवाहरुको भावनामाथि खेलवाड गरेको आरोप लगाए । आगामी दिनमा बन्ने सरकारले युवाहरुको भावनामा खेलवाड गर्ने सबैलाई कारबाही गर्ने उनको दाबी छ ।

उनले भने, ‘सिंहदरबारमा सुशीला कार्की र ओमप्रकाश अर्यालको गिरोहले नाटक मञ्चन गर्‍यो । जुन भाद्र २३ र २४ गते नेपालको नवोदित पुस्ताको आह्वान भएको विद्रोहलाई अपरहण गरेर, सत्ता कु गरेर सुशीला कार्की र ओमप्रकाश अर्यालको गिरोहले जसरी यो पुस्तामाथि धोका दिएको थियो । उनीहरु आफ्नो सत्ता जोगाउनको लागि हिजो सिंहदरबारमा बसेर यही युवामाथि घात हुने जुन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियो । त्यो नाटक मञ्चनलाई पूर्णतया परास्त गर्ने र त्यसलाई अस्वीकृत गर्ने काम अजय सोडारीको नेतृत्वमा भयो ।’

जेनजी सरिष्मा थापाले सम्झौताले आन्दोलनलाई बैधता दिए पनि सम्झौता कार्यान्वयनमा आशंका व्यक्त गरे । चुनावपछि अर्को सरकार बन्ने भएकाले यो सरकारसँग भएको सम्झौता आउने सरकारले कार्यान्वयन गर्नेमा आफूहरुलाई विश्वास नरहेको बताए । वर्तमान सरकारले सम्झौतालाई दराजमा थन्काउने मात्रै काम गर्ने उनको दाबी छ ।

जेनजी समूहबीच सिंहदरबार पछि आज पत्रकार सम्मेलनमै ‘तनाव’

काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित सरकारले हिजो सार्वजनिक गरेको १० बुँदे सम्झौता उल्टै आन्दोलनभित्र ठूलो विवाद र तनावको कारण बनेको छ । सहमतिमा हस्ताक्षर गरेका र असहमत समूहका अगुवाहरूबीच आज पनि विभिन्न स्थानमा तीव्र वाकयुद्ध र अविश्वास देखिएको छ, जसले जेनजी आन्दोलन एकै मोडमा उभिएको छैन भन्ने स्पष्ट बनाई दिएको छ ।

असन्तुष्ट समूहले आज (बिहीबार) काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा सरकारसँग हस्ताक्षर गर्ने केही जेनजीहरू समेत उपस्थित भएपछि सम्मेलन नै तनावपूर्ण बनेको छ । अगुवा सुनिल सिंहले सहमतिमा हस्ताक्षर गर्नेहरू कार्यक्रममै प्रकट भएपछि कडा आपत्ति जनाएका हुन् । पोडियमबाट आक्रोशित रुपमा भाषण गर्दै उनले भने, ‘सरकारसँग पनि हस्ताक्षर गर्ने, अनि विद्रोही पक्षको कार्यक्रममा आएर अन्ट–सन्ट बोल्ने ? जनआवाज विपरीत हात मिलाउने ? हात मिलाउनै मन छ भने उतै जानुस् ।’ सिंहमाथि हस्ताक्षरकर्ताहरूले ‘ओभरट्याक’ गर्न खोजेको आरोप लगाउँदै उनले कार्यक्रम बीचमै छाड्न खोजे पनि सहयात्री निकोलस भुसालले उनलाई रोक्दै स्थिति सम्हाल्न प्रयास गरेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गरिएको १० बुँदे सम्झौता जेनजी आन्दोलनकै मूल मर्मसँग मेल नखाने भन्दै आन्दोलनभित्रै ठूलो असन्तुष्टि उब्जिएको छ । सम्झौतामा भदौ २३ र २४ का घटनालाई ‘जनआन्दोलन’ को रूपमा उल्लेख गरिएको छ, तर यही बुँदा सर्वाधिक विवादित बनेको छ । ती दिन सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनदेखि विभिन्न सरकारी संरचनामा गरिएका आगजनी र तोडफोडलाई ‘जनआन्दोलन’ भन्न मिल्दैन भन्दै बुद्धिजीवी तथा विश्लेषकहरूले पनि आपत्ति जनाएका छन् । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले टिप्पणी गरेका छन्, ‘उलटपुलट र प्रदर्शनलाई जनआन्दोलन भन्न मिल्दैन, गलत नजिर बस्छ ।’

जेनजी अगुवा मिराज ढुंगानाले सम्झौता आफ्नो पक्षका लागि अस्वीकार्य भएको स्पष्ट गरेका छन् । उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजी जस्ता आन्दोलनका मूल मुद्दा नै सम्झौतामा परेनन् । संविधान संशोधन आयोग गठनको कुरा समेटिए पनि त्यसको समय सीमा नतोकिएको, कार्यान्वयनको ग्यारेन्टी नरहेको र वास्तविक एजेण्डालाई छायाँमा पारेको उनको आरोप छ । उनले भने, ‘जनताको बलिदान, घाइते, शहीद, मुद्दा—कुनै पनि कुराको सम्मान छैन । यस्तो सम्झौता हाम्रो होइन । यो राजनीतिक स्वार्थ समूहसँग भएको सौदाबाजी मात्र हो ।’

आज रिपोर्टर्स क्लबमा असन्तुष्ट समूहले पुनः पत्रकार सम्मेलन गर्दै सरकारविरुद्ध कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले ‘वार्ता गर्ने’ भनेर बोलाइएका प्रतिनिधि वरिपरि प्रधानमन्त्री कार्यालयले ड्राफ्ट तयार पारेको थाहा नदिनु, त्यो मस्यौदालाई जबरजस्ती ‘ताली पिटाएर’ पारित गर्न खोजिनु नै आन्दोलनलाई कमजोर पार्ने प्रयास रहेको आरोप लगाएका छन् । एक अगुवाले भने, ‘प्रधानमन्त्रीले जेनजीका माग चुनावपछि मात्र हेर्ने भनिन् । त्यसो भए आन्दोलनकारीहरूले बगाएको रगत चुनावका लागि थियो ? ड्राफ्टका लागि गोली खाएका थिए ?’ प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै उनीहरूले कार्यालयमै सम्झौता च्यातेर बैठक बहिष्कार गरेको दाबी गरे ।

यसैबीच, हिजो सम्झौतामा हस्ताक्षर गर्न नपाएका दुई दर्जन जेनजी घाइतेलाई आज सिंहदरबार बोलाएर छुट्टै हस्ताक्षर गराइएको छ । सचिव गोविन्दबहादुर कार्कीको उपस्थितिमा गरिएको हस्ताक्षर कार्यक्रममा घाइतेहरूलाई समावेश गरिए पनि आन्दोलनभित्रको अविश्वास कम भएको देखिएन ।
१० बुँदे सम्झौताले जेनजी आन्दोलनलाई औपचारिक मान्यता दिने, छानबिनका प्रक्रियालाई अघि बढाउने, संविधान संशोधन आयोग गठन गर्ने जस्ता प्रावधान समेटे पनि महत्वपूर्ण मुद्दामा स्पष्टता नआएको, निर्णय प्रक्रियामा पारदर्शिता नदेखिएको र आन्दोलनकै प्रतिनिधित्वबारे प्रश्न उठेकाले जेनजी आन्दोलनभित्र गहिरो विभाजन देखिन थालेको छ ।

 

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

इस्लामाबाद । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहि व्यक्तिहरूलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।

सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजात अनुसार, फैज हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको छ ।

गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबै भन्दा शक्तिशाली पद मानिन्छ ।

“लामो कानुनी कार्यवाही पछि अभियुक्तलाई सबै अभियोगमा दोषी ठहर गरी अदालतले १४ वर्षको कारावासको सजाय सुनाएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञहरूका अनुसार फैज हमिद इमरान खानका कट्टर समर्थक थिए, जसलाई केही शीर्ष नेताहरूको समर्थन गुमाए पछि अविश्वास मतद्वारा हटाइएको थियो ।

सेना प्रमुखको प्रतिष्ठित पदका लागि दावेदारका रूपमा रहेका जनरल, फैज हमिदले खानले सत्ता गुमाएको केही महिना पछि प्रारम्भिक सेवा निवृत्ति लिएको जनाइएको छ ।

यस लगतै उनलाई पाकिस्तानी सेना ऐन उल्लङ्घन गरेको पनि आरोप लगाइएको थियो ।

 

महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनर्निर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दाबी गरेका छन् । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले सो दाबी गरेका हुन् । संवादमा उनले ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा आफूविरुद्ध कसैले उम्मेदवारी नदिउन् भन्ने आफ्नो चाहना रहेको भए पनि स्थिति त्यतातिर नगएको बताए । उनले महाधिवेशनको प्रस्तावबारे शुक्रवार अन्तिम छलफल बसेर टुंगिने समेत जानकारी गराए । अघि बढाउने प्रस्ताव सहमतिमै हुने उनको भनाइ छ ।

उनले भने, ‘अहिले राष्ट्रिय पुनःजागरण, पुर्नस्थापना, राष्ट्रिय पुर्ननिर्माण र सुशासनको अभियान यी चार वटा कुराहरु गर्नुपर्नेछ । यी कुराहरु नै मैले पनि गर्ने हो । मेरो नेतृत्वमा मेरो पार्टीले यी कुराहरुकै अगुवाई गर्ने हो । एकता, पुर्नस्थापना र पुनर्निर्माण गर्नुपर्नेछ । महाधिवेशनपछि मेरो नेतृत्वको नेकपा (एमाले) ले यो कामहरु गर्छ ।’ उनले पार्टीको आगामी अध्यक्ष आफैं हुने थाहा भए पनि धेरैलाई यो कुरा सह्य हुन नसकेको टिप्पणी पनि गरे ।

अफगानिस्थान अधिकारीहरुद्वारा शरणार्थीलाई सहयोग गर्ने सहायता संस्थाहरूसँगको सम्झौता

काबुल । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीहरुले शरणार्थी र आन्तरिक रूपमा विस्थापित परिवारहरूलाई सहयोग गर्न नर्वेजियन अन्तर्राष्ट्रिय सहायता संगठनसँगको सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत, उत्तरी प्रान्त फरयाबमा दुई हजार २३१ व्यक्तिहरूलाई सहयोग गर्न तीन लाख दश हजार अमेरिकी डलर भन्दा बढी छुट्याइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । सहयोगबाट कोषले स्वास्थ्य सेवाहरू लगायतका अन्य अत्याआवश्यक सामाजिक समर्थन प्रदान गर्नमा ध्यान केन्द्रित गर्ने जनाइएको छ ।

यसै गरी अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बुधबार घरेलु सहायता एजेन्सीसँग छुट्टै चार लाख ६२ हजार डलरको सम्झौता गरेको छ । जसको उद्देश्य पूर्वी प्रान्त पक्तिकाका बासिन्दाहरूमा विपद् जोखिम व्यवस्थापनका बारेमा चेतना जगाउनु तथा उनीहरुको उचित व्यवस्थापन गर्नु हो ।

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला बलिङ रोजेका हुन् । योसँगै लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्नेछ ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो । लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।

प्रकाण्डको दाबी : वास्तविक माओवादी हामी हौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वास्तविक माओवादी आफूहरु नै रहेको दाबी गरेका छन् । वागमती प्रदेश कमिटिको आयोजनामा बिहीवार भएको कार्यक्रममा उनले असली माओवादी आफूहरु भए पनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताएका हुन् । उनले जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफूहरु भएको जिकिर गरे ।

११ वर्षको संर्घषपछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उनको भनाई छ । गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाल लगायतका अरु पार्टीहरुसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको बताए । दाहाललाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सैह्य नभएको उनको आरोप छ । उनले माओवादीलाई समाप्त पार्ने डिजाईन भएको बुझेर नै माओवादीलाई आफूहरुले पुनः ब्राण्डिङ गर्न लागेको बताए ।

माओवादी देशको विचारधारात्मक शक्ति, ब्राण्ड, नेपाली श्रमिक जनताको धड्कन भएको उनको भनाई छ । नेपाली जनताको मनमनमा माओवादी, माओवादीको जनयुद्ध र विचार भएको दाबी गरे । माओवादीको नाम निशाना नराख्ने साम्राज्यवादीहरुको डिजाइन असफल भएको उनको भनाई छ।
उनले भने, ‘रियलमा माओवादी हामी थियौँ । जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट आफू निर्देशित र नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गरेर सञ्चालन गर्ने पार्टी र लिडरसीपको टीम भनेको हामी नै थियौँ । तर मलाई कस्तो लाग्छ भन्दाखेरी सार र रुपको म्याचिङ गर्नको लागि हामीले ११ वर्ष संर्घष गर्नुप¥यो । ११ वर्षपछि हामी जे थियौँ त्यही आफूलाई प्रस्तुत गर्न हामीलाई वातावरण बन्यो ।’

उनले भने, ‘विशेष गरेर गत कात्तिक १९ गते प्रचण्डजीले जसरी माधव नेपाल लगायतका अरु पार्टीहरुसंग एकता गर्नुभयो र त्यो एकतामा माओवाद पनि उहाँले परित्याग गर्नुभयो, माओवादी पनि परित्याग गर्नुभयो र माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि उहाँको निम्ति सह्य भएन । यो घटना सामान्य थिएन । १९ गतेदेखि हामीले मंसिर २ गते निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया पूरा गरेर हामीले प्रमाणपत्र लिएका थियौँ । १५ गतेदेखि १ गतेसम्मको बीचको विकसित घटनाक्रम र त्यसमा पनि कम्युनिष्ट आन्दोलनमा र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनसंग सम्बन्धित घटेका घटनाक्रमहरुलाई विशेष ढंगले हेर्दै लाष्टमा एउटा संस्लेषण, निष्कर्षमा पार्टी पुग्यो र हामीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को रुपमा आफूलाई प्रस्तुत गरेका छौँ ।’ उनले वर्तमान सरकारलाई अमेरिकी साम्राज्यवादको कठपुतली भएको आरोप पनि लगाएका छन् । जेनजी आन्दोलनलाई साम्राज्यवादी शक्तिहरुले हडप्न खोजेको उल्लेख गर्दै उनले त्यसलाई माओवादीले सफल हुन नदिने बताए ।

एमाले महाधिवेशन: सल्लाघारीमा उद्घाटन कार्यक्रमको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं ।  यही मंसिर २७ देखि २९ गतेसम्म हुन लागेको नेकपा एमालेको एघारौँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको पार्टीका नेताहरूले जनाएका छन् ।

उद्घाटन सत्र हुने भक्तपुरको सल्लाघारी ग्राउन्डमा संरचना निर्माणको काम धमाधम चलिरहेको छ ।  उद्घाटन कार्यक्रममा करिब तीन लाख जनसहभागिता हुने दाबी एमालेको छ । बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार स्थापित गराउन स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

प्रजातान्त्रिक आन्दोलनको प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला शाखाले आज मङ्गलादेवी पार्कमा बुद्धनगरमा आयोजना गरेको कार्यक्रममा उनले नेपाली महिलाहरूको हक, अधिकारका लागि मङ्गलादेवीको उल्लेख्य योगदान रहेको धारणा राखेका छन् ।

नेता सिंहले महिलालाई मताधिकार हुनुपर्छ भनेर मङ्गलादेवीद्धारा आवाज उठाएकै कारणले महिलाहरूले पनि मतदान गर्न पाउने अधिकार पाएको स्मरणसमेत गरेका छन् । “महिलालाई मताधिकारको प्रयोग गर्न दिनेदेखि पढ्न पाउनुपर्ने माग मङ्गलादेवी कै कारण पूरा भएको हो,” उनले भनेका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेत्री मङ्गलादेवीको १००औं जन्मजयन्तीको अवसरमा वर्षभरी विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने कार्यक्रम रहेको महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनीले जानकारी दिएकी छिन् ।

मङ्गलादेवीको योगदानको बारेमा विशेष गरी नेपाली महिलाको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकार दिलाउने सन्दर्भमा पनि उनले गरेको सघंर्ष लाई पुनः ताजगी गर्नका निम्ति विभिन्न कार्यक्रम आयोजना गरिने पुडासैनीले बताएकी छिन् ।

डडेल्धुराबाट देउवाको एकल नाम सर्वसम्मत सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि डडेल्धुराबाट नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री एवं सपभाति शेरबहादुर देउवाको नाम सर्वसम्मत रुपमा एकल सिफारिस गरेको छ । बिहीबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले देउवाको नाम सिफारिस गरेको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिए । ‘डडेल्लधुराबाट सर्वसम्मत रुपमा सभापति ज्यूको एकल नाम सिफारिस गरेका छौँ,’ सचिव चटौतले भने ।

त्यस्तै, समानुपातिक उम्मेदवारका लागि नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरिएको छ । कांग्रेस डडेल्धुराले राष्ट्रिय सभाको उम्मेदावरका भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरिएको सचिव चटौतले जानकारी दिए । जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई नाम सिफारिस गरेको हो । अब प्रदेशले कांग्रेस केन्द्रमा नाम पठाउनेछ । त्यसपछि कांग्रेस केन्द्रले उम्मेदवार तय गर्नेछ ।

सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन् । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका देउवाले केही दिनअघि मात्रै अन्तिम पटक निर्वाचन लड्ने इच्छा देखाएका थिए । सभापति देउवा डडेलधुराबाट आठौं पटक सांसदको निर्वाचन लड्ने तयारीमा देखिएका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेलधुराबाटै विजयी भइसकेका छन् ।

देउवासँगको भेटबारे ओली : बकुल्लाको बीउ रोपेका छौं, तोरी जस्तो भोलि नै उम्रिँदैन

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन् । देउवासँगको भेटमा विभिन्न विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ । प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा सम्पादकहरूसँग राखेको अन्तरक्रियामा ओलीले देउवासँग भएको भेटको नतिजा देखिन समय लाग्ने बताए ।

‘देउवाजीसँग अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोलि देखिन्छ । तोरीको बीउ आज छरे भोलि उम्रिन्छ, बकुल्लाको बीउ उम्रिन समय लाग्छ,’ ओलीले भने, ‘बकुल्लाको बीउ रोपेका छौं, तोरी उम्रे जस्तो भोलि नै उम्रिँदैन । अब बिग्रिएछ कि भनेपछि बल्ल उम्रिन्छ । देउवासँग भएको भेटको नतिजा प्रकट हुन टाइम लाग्छ ।’ कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच मंसिर १९ गते महाराजगञ्जमा लामो छलफल भएको थियो । ओलीसँगको भेट लगत्तै प्रतिनिधि सभा पुनः स्थापनाको रिट लिएर कांग्रेस सर्वोच्च अदालत गएको थियो ।

ओलीले देउवासँग कयौं विषयमा कुरा भएको बताएका छन् । ‘दुई पार्टीका प्रमुख नेताहरू भेट हुँदा देशको कुरा गरेनन् होला ? देशको चिन्ता गरेनन् होला ? नागपञ्चमीमा गोबरले टाँसेको जस्तो यो सरकारको बारेमा कुरा गरेनन् होला ?’ ओलीले प्रतिप्रश्न गरे । ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा माहोल बनाउन आफू संवादमा रहेको बताएका छन् । ‘हैसियत विनाको व्यक्तिले विना विधि–प्रक्रिया, अनधिकृत ढंगले गरेको सिफारिस असंवैधानिक भएकाले विघटन खारेज हुनु पर्दछ । जुन बाटोबाट विघटन भयो, त्यही बाटोबाट पुनःस्थापना गर्न सकिन्छ । सर्वोच्चबाट पनि पुनःस्थापित हुन्छ नै, अर्को बाटै छैन,’ ओलीले भने, ‘सर्वोच्चका विगतका तमाम फैसला र संविधानले अन्यथा फैसलाका लागि बाटो दिँदैन । म संवाद गरिरहेको छु भन्ने कुरा सत्य हो । उपाय के–के छन् पनि भनिरहेको छु ।’

निजी क्षेत्रले कसरी गर्छ कार्बन व्यापार ?

काठमाडौं । सरकार र निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्यूनीकरणलाई कार्बन व्यापारमा समेट्ने बाटो खोलेसँगै अब निजी क्षेत्रका परियोजनाले औपचारिक रूपमा कार्बन व्यापार गर्न सकिने भएको छ ।

नेपाल राजपत्रमा प्रकाशित कार्बन व्यापार नियमावली, २०८२ कार्यान्वयनमा आएप लगतै यो व्यवस्था लागू भएको छ ।

यस अघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सीमित परियोजनामात्र कार्बन व्यापारका लागि सूचीकृत हुने गरेकोमा अब ऊर्जा, वन, कृषि, जलविद्युत्, वैकल्पिक ऊर्जा, उद्योगलगायत सबै क्षेत्रमा कार्बन न्यूनीकरण गर्ने निजी तथा गैरसरकारी संस्थाका परियोजनालाई पनि व्यापारयोग्य सूचीमा समावेश गर्न सकिने व्यवस्था भएको छ ।

मंसिर १५ गते मन्त्रीपरिषद्ले अनुमोदन गरेको नियमावली कार्यान्वयनमा आएसँगै नेपालले द्विपक्षीय समझदारी, खुला प्रतिस्पर्धा वा गैरबजारमुखी विधिबाट कार्बन व्यापार गर्न पाउने भएको छ । संघीय सरकारसँगै अब प्रदेश र स्थानीय तहले पनि कार्बन व्यापारमा सहभागी हुन सक्ने व्यवस्था नियमावलीमा उल्लेख गरिएको छ।

कार्बन व्यापार अन्तर्गत परियोजनाले गरेको उत्सर्जन न्यूनीकरणलाई अन्तर्राष्ट्रिय बजार वा उत्सर्जन कटौतीको लक्ष्य पूरा गर्न खोजिरहेका मुलुकले खरिद गर्न सकिने छ । क्योटो प्रोटोकलले २००५ मा नेपालको जस्तो उत्सर्जन कटौती सम्भावना भएका मुलुकबाट यस्तो कटौती खरिद गर्न सकिने व्यवस्था गरिएको थियो ।

नयाँ नियमावलीले परियोजना उपयुक्त भएमा नेपाल सरकारमार्फत कार्बन बिक्री गर्ने बाटो पनि खुला गरेको छ। मूल्य निर्धारण भने कार्बन खरिदकर्ता मुलुकसँगको सम्झौता तथा दुईपक्षीय सहमति अनुसार हुने व्यवस्था राखिएको छ। नेपालका जलविद्युत्, वन, वैकल्पिक ऊर्जा, कृषिलगायत बृहत् क्षेत्रलाई औपचारिक रूपमा कार्बन व्यापारमा ल्याउन सकिने सरकारको बुझाइ रहेको छ।

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले लामो समयदेखि अनुसन्धान गरेको थियो । सह सचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै समातिएका थिए । उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए ।

अख्तियारले सहसचिव तीर्थराज भट्टराईविरुद्ध करिब ७९ लाख र अर्यालविरुद्ध ५ लाख विगो माग दावी गरेको छ । अख्तियार स्रोतका अनुसार मुद्दा दायर भएका अन्य चार जना भिजिट भिसा तस्करीमा विचौलिया लगायतको भूमिकामा काम गरेकाहरु छन् । भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा चल्दै आएको छ । प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो । तर एक वर्षपछि १४ मंसिर २०८१ मा काठमाडौ जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेको थिए ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । जोशीसहित चार जनाविरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो । जोशीसहित पालिकाका सब–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई प्रतिवादी बनाइएको छ । बेलडाँडी गाउँपालिकाका–२ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७ क्षेत्रफल ४ सय वर्गमिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गराएर घर जग्गा धितोमा राखी लक्ष्मी सनराइज बैंकबाट ऋण लिएको अभियोगपत्रमा उल्लेख छ ।

 

मेराविरुद्ध कोही नउठ्ला, म निर्विरोध हुन्छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा आफू निर्विरोध अध्यक्ष बन्ने विश्वास व्यक्त गरेका छन् । आज (बिहीबार) ११ औं महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा आफ्नाविरुद्ध कोही पनि नउठ्ने बताएका हुन् ।

‘मेरो उठ्ने, नउठ्ने भन्ने कुरा अहिले पनि के लाग्छ भने अलिकति परिस्थिति त्यस्तोतिर गइराखेको देख्दिनँ,’ ओलीले भने, ‘फेरि पनि अलिक आशा छ मलाई कि मेराविरुद्ध कोही नउठ्ला । म निर्विरोध हुन्छु भने मेरो मूल्यांकन हो । त्यसो गर्दाखेरि राम्रो हुन्छ ।’ भोलि अघि बढाउने प्रस्ताव सहमतिबाटै अघि बढ्ने उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : नभागेर बसेको भए के गर्नु हुन्थ्यो ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाएका छन् । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले यस्तो आरोप लगाएका हुन् । उनले जेन–जी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गरे । उनले जाँचबुझ आयोगको मनशाय के छ भन्ने कुरा सञ्चारमाध्यमहरुमा आयोगका सदस्यहरुले व्यक्त गरेका अभिव्यक्तिहरुबाट पुष्टि भइसकेको समेत बताए ।

वर्तमान सरकार अन्तरिम सरकारमा मात्र नभई असंवैधानकि सरकार भएको समेत उनको आरोप छ । उनले वर्तमान प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै कुनै प्रतिष्ठान मास्ने अधिकार नरहेको समेत टिप्पणी गरे । उनले समय एकनासले नचल्ने उल्लेख गर्दै होस गरेर अगाडि बढ्न समेत सरकारलाई चेतावनी दिए ।

उनले भने, ‘बयान दिन जाने नजाने मेरो कुरा हो । कानूनी व्यवस्था के छ मैले नि हेरेको छु । उहाँहरुले मनसाय के छ भन्ने कुरा त मिडियामा बोलेको कुरा सुनेको छु । मलाई जनताले माया गरेका छन् । विरोधीले लखेटेका छन् । न म माया गरेर यहाँ छु न त विरोध गरेर सक्किएको छु । उनीहरु चाँही सक्कियो भन्ने ठान्छन् ।’

उनले भने, ‘सुशीला कार्कीजीहरुले जुन सम्झौता भनेर ड्रामा गर्नुभयो । त्यो भनेर टुंगिदैन । उहाँ अन्तरिम सरकार मात्रै होइन असंवैधानिक पनि हो । उहाँलाई निर्वाचन गर्न पो नियुक्त गरिएको हो । कुन प्रतिष्ठान मास्ने के गर्ने ? भनेर होइन । उहाँहरुलाई यत्ति भन्न चाहन्छु कि– फागुन २१ गतेपछि फागुन २२ आउँछ । सुशीलाजीमा गएर टक्क समय रोकिने होइन । त्यही भएर होस् गरेर चल्न म उहाँहरुलाई आग्रह गर्न चाहन्छु । उहाँहरुको क्रियाकलाप गैरकानूनी र प्रतिशोधपूर्ण छ । त्यसकारण त्यो सम्झौताका दफाहरुमा पस्नु पर्ने जरुरी नै छैन ।’ उनले आफूलाई बालुवाटार भागेको भन्ने टिप्पणी आउने गरेको भन्दै नभागेको भए के गर्नु हुन्थ्यो ? भन्दै जेनजी नेताहरुलाई प्रश्न गरेका छन् । आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउना साथ गुन्डुमा सरेको ओलीको भनाइ छ ।

‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि,’ ओलीले भने, ‘२ गते म गुन्डुमा आएँ । त्यहाँ फुत्त निस्किएँ त । यतै कतै आसपासमा रहेछु र त फुत्त निस्किएँ नि । एयरपोर्ट बन्द थियो के रे ।’ उनले विमानस्थलमा गएर टिकट हेरे हुने पनि बताए । ‘आफ्नो घरमा नहुँदा अर्काको डेरामा हुँदा धाक लगाएर असहज त पारिदिन भएन नि,’ ओलीको भनाइ छ । आफू नभागेरै बसेको भए के गरिन्थ्यो ? भनेर प्रश्न गरे । ‘नभाग्या भए के गर्थे त सुशीलाजी वा अरुले ? के गर्नु हुन्थ्यो उहाँले ? हुन त भाषा सुनिएको छ, रेकर्डमा आएको छ । तर पनि उहाँहरूकै मुखबाट सुनौं न त ? जेनजी नेताहरू सुशीला कार्कीहरूलाई नै सोध्छु,’ ओलीले भने ।

 

 

अमेरिकी सेनाले ट्यांकर कब्जा गरेपछि भेनेजुएला-अमेरिका को तनाव चर्कियो

दक्षिण अमेरिका ।  दक्षिण अमेरिकामा तनाव बढेको छ । अमेरिकाले बुधबार भेनेजुएलाको तटबाट एउटा तेल ट्यांकर कब्जा गरेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भनेका छन्, ‘हामीले भर्खरै भेनेजुएलाको तटबाट एउटा ट्यांकर कब्जा गरेका छौँ । वास्तवमा अहिलेसम्मकै सबैभन्दा ठूलो जफत गरिएको हो ।’ अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीको दाबी अनुसार ट्यांकर धेरै वर्षदेखि प्रतिबन्धमा थियो किनभने यो ‘विदेशी आतंकवादी संगठनहरूलाई समर्थन गर्ने अवैध तेल ढुवानी नेटवर्क’सँग जोडिएको थियो ।

उनले सामाजिक सञ्जालमार्फत अमेरिकी सेना हेलिकप्टरबाट जहाजमा चढेको देखाइएको क्लिप पोस्ट गरेकी छिन्। त्यस लगतै भेनेजुएला सरकारले कडा प्रतिक्रिया जनाएको छ । अमेरिकाले ‘चोरी’ र ‘अन्तर्राष्ट्रिय सामुद्रिक लुटपाट’ गरेको संज्ञा दिएको छ ।

भेनेजुएला सरकारले यस अघिदेखि अमेरिकाले वास्तवमा राष्ट्रपति निकोलस मादुरोलाई हटाउन खोजिरहेको आरोप लगाइरहेको छ। अमेरिकाले हालैका हप्ताहरूमा यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । उसले लागुपदार्थ तस्करीविरुद्धको अभियान सन्चालन गरेको छ।

 

हितेन्द्रलाई कुलमानले भने–म शत्रुलाई पनि जिम्मेवारी दिने मान्छे हुँ, आफूखुशी चल्न नखोज्नु होला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनरागमन भएका हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङसँग भेट गरेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखाउने गरी काम गर्न शाक्यलाई निर्देशन दिएका छन् । जल तथा ऊर्जा आयोगमा सरुवा गरिएका शाक्यलाई सर्वोच्चले प्राधिकरणमै पुनर्बहाली गरिदिएको थियो । हिजो पदभार गरेपछि उनी आज मन्त्री भेट्न पुगेका हुन् । शाक्यले विगतमा पनि प्राधिकरणमा आफूहरूले सहकार्य गरेको सम्झिँदै आगामी दिनमा पनि मन्त्रीको निर्देशअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री घिसिङले यसअघि आफूले शाक्यलाई सल्लाहमा नै जल तथा ऊर्जा आयोगमा सरुवा गरेको बताएका छन् । उनले भने, ‘तपाईसँग सल्लाह गरेर नै सरुवा गरेको थियो । अदालतले पुनर्बहाली गर्न आदेश दियो । त्यसमा मेरो केही छैन । तर, अदालतले फर्काएको दम्भ बोकेर आफूखुशी चल्न नखोज्नु होला ।’ प्राधिकरणलाई अहिल्यै अत्यावश्यक सामानहरूको अभाव भइरहेको भन्दै उनले नतिजा देखाउने गरी काम गर्न सुझाव दिएका हुन् । ‘मलाई रिजल्ट चाहिन्छ । राम्रो रिजल्ट आएमा म शत्रुलाई पनि जिम्मेवारी दिन तयार मान्छे हुँ ।’

प्रशिक्षार्थी कामदारलाई जर्मनी जाने बाटो खुल्यो

काठमाडौं । जर्मनीमा सिपमूलक प्रशिक्षणसँगै कामका लागि जाने नेपालीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति दिएर मात्रै पठाउने तयारी गरेको हो ।

हाल सिपमूलक प्रशिक्षणसँगै प्रशिक्षार्थी र व्यवसायिक काममा जाने नेपाली विद्यार्थीहरूको भिसामा समस्या हुने गरेको छ । शिक्षा मन्त्रालयले श्रमिकलाई नो अब्जेक्सन लेटर(एनओसी) दिन आनाकानी गर्दै आएको छ । श्रम मन्त्रालयले समेत विद्यार्थी भएकालाई श्रम स्वीकृति दिएर पठाउन सकिरहेको छैन, जसले गर्दा दुई वर्ष नेपालमा जर्मन भाषा पढेर अध्ययन तथा कामको लागि जाने नेपालीहरू समस्यामा पर्दै आएको बताउँछन् ।

नेपालबाट भाषा पढेर हरेक वर्ष ५ सयको हाराहारीमा नेपाली विद्यार्थी जर्मनी जाने गरेका छन् । उनीहरूलाई शिक्षा मन्त्रालयले श्रमिक भनेर एनओसी दिन अस्वीकार गर्दै आएको छ, र श्रम मन्त्रालय विद्यार्थी भनेर श्रम स्वीकृति दिन अस्वीकार गर्दै आएको छ ।
जर्मनीको भिसा प्राप्त गरी कामका लागि जाने क्रममा नेपालको अध्यागमनले एनओसी माग्ने गरेको छ । यस प्रकारको काममा जर्मन कानुन अनुसार वर्किङ भिसा नै पाउने नेपालस्थित जर्मन राजदूतावासले जनाएको थियो ।

अब भने नेपाली कामदारको सुरक्षा, सुविधा र कल्याणलाई ध्यान दिई नीतिगत निर्णयगरी श्रम स्वीकृति प्रदान गरेर मात्रै पठाउने मन्त्रालयको तयारी छ ।

श्रम मन्त्रालयले २०८२ साउन ४ गते सचिवस्तरीय निर्णयबाट श्रम स्वीकृतिको लागि आवश्यक अन्य प्रक्रिया अगाडि बढाउनेगरी परराष्ट्र, कानुन र शिक्षा मन्त्रालयसँग रायरसुझाव माग गरेको थियो । तर, शिक्षा मन्त्रालयले हालसम्म त्यस विषयमा राय सुझाव नदिएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे का अनुसार श्रम स्वीकृति दिएर पठाउने विषयमा शिक्षा मन्त्रालयसँग राय सुझाव माग गरिएको र हालसम्म प्राप्त नभएको बताएका छन् ।

भाषाको नाममा ठगिँदै विद्यार्थी

जर्मनीले हरेक वर्ष भाषा परीक्षामार्फत ५ सय जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने गरेको छ । विभिन्न ५ तहमा जर्मन भाषा पढेर परीक्षा दिनुपर्ने हुन्छ । त्यसका लागि ए–१ बिगिनर, ए–२ इलेमेन्टरी, बी–१ इन्टरमिडिएट, बी–२ अप्पर इन्टरमिडिएट, सी–१ एडभान्स गरेर ५ तहको भाषा पढ्नुपर्ने हुन्छ ।

एउटा तह पढिसकेपछि परीक्षा दिनुपर्ने हुन्छ । उक्त तहको भाषा परीक्षामा पास भएपछि अर्को तहको भाषा पढ्नुपर्ने र त्यसको समेत परीक्षा दिएर पास भएपछि मात्रै जर्मनीमा प्रशिक्षार्थी कामदारको रूपमा जान पाउने नियम रहेको छ । तर, जर्मन भाषा पढाउने भनेर खुलेका इन्स्ट्यिुटले विद्यार्थीहरूबाट मोटो रकम असुल्ने गरेको पाईएको छ ।

काठमाडौंमा जर्मनी भाषा परीक्षाको अफिसियल पार्टनर गोथे जेन्टरुम हो । जसको बोर्ड अफ डाइरेक्टरमा ९ जना छन् । नेपालका लागि जर्मन राजदूतसहित ५ जना विदेशी छन् भने अध्यक्ष प्रा.डा रमेश कुमार मास्केसहित ४ जना नेपाली छन् ।

थापाथलीमा रहेको गोथेले ए–१ कोर्षको १६ हजार ५ सय रूपैयाँ शुल्क लिने गरेको छ । त्यस्तै थप कोर्षहरूको समेत सोही अनुसारको शुल्क लिने गरेको छ । दुई वर्षमा एक जना विद्यार्थीले सबै कोर्ष सक्नका लागि मात्रै एकदेखि डेढ लाख रूपैयाँ खर्च गर्छन् ।

अन्य संस्थाले पनि जर्मनी भाषाको कोर्षका लागि सोही अनुपातमा शुल्क लिने गरेका छन् । दुई वर्ष लगातार पढेर जर्मनी जाने सपना बुनिरहेकाहरूको सपना त्यतिबेला चकनाचुर हुन्छ, जतिबेला परीक्षाको लागि अनलाइन आवेदन नै दिन पाउँदैनन् ।

जर्मन भाषा परीक्षा समेत गोथेमार्फत हुने गरेको छ । वर्षमा तोकिएको ५ सयको कोटामा अधिकांश विद्यार्थी यही पढेकाले पाउँछन् ।

त्यहाँ पढ्ने बाहेकका विद्यार्थीले अनलाइन फारम भर्नका लागि कोटा समेत नपाउने गरेका छन् ।

गोथेमै पढ्ने विद्यार्थीले समेत परीक्षा दिन पाउँदैनन् । बी–२ कोर्ष पढेर परीक्षा दिन नपाएको एक विद्यार्थीले बताएका छन् । परीक्षाको मिति नपाएपछि धेरै विद्यार्थी भारत जाने गरेको उनको भनाइ छ ।

चाबहिलको एक इन्स्ट्यिुटमा पढ्ने एक विद्यार्थीले गोथेमा पढ्ने बाहेकका विद्यार्थीले परीक्षाको लागि मिति पाउन निकै गाह्रो रहेको बताएका छन् ।

‘गोथेमा पढ्न शुल्क एकदमै महँगो छ । अझ कोटाका कारण पढ्नै पाउन मुस्किल हुन्छ’ ती विद्यार्थीले भने, ‘त्यो बाहेक अन्य संस्थामा पढ्ने हामीले त परीक्षाको मिति पाउँदैनौं ।’

दुई वर्षसम्म पढेर परीक्षाका लागि नै समस्या हुने भएपछि धेरैलाई समस्या परिरहेको ती विद्यार्थी बताउँछन् ।

‘हजारौं विद्यार्थीले एकातिर दुई वर्षको समय खेर फालिरहेका छन्, अर्कोतिर डेढ लाखसम्म खर्च गरिरहेका छन् । परीक्षा नै दिन नपाउने भएपछि किन पढाउनु ? किन परीक्षा लिनु ?,’ ती विद्यार्थीले आक्रोश पोख्छन् ।

पूर्व गृहमन्त्री लेखकको दावी : आन्दोलनमा बल प्रयोग गर्नु परे पनि गोली चल्नुमा मेरो भूमिका छैन

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोलीकाण्डका लागि आफू जिम्मेवार नठहरिने दावी गरेका छन् । सर्वोच्च अदालतमा दायर रिट निवेदनमा लिखित जवाफ बुझाउँदै उनले विषम परिस्थितिका कारण बल प्रयोग गर्नुपरेको दाबी गर्दै त्यसमा आफ्नो प्रत्यक्ष भूमिका नरहेको उल्लेख गरेका छन् ।

लेखकले जेनजी आन्दोलन शान्तिपूर्ण हुने विश्वासका आधारमा सुरक्षा तयारी मिलाइएको बताएका छन् । तर बानेश्वरस्थित संसद् भवन अगाडि घुसपैठ गरी उत्कट, हिंसात्मक र विध्वंसात्मक गतिविधि भड्किएपछि घटना नियन्त्रण बाहिर पुगेको उनको भनाइ छ । २१ जनाको ज्यान जाने जस्तो दुःखद घटनाले आफू अत्यन्त पीडित भएको उल्लेख गर्दै लेखकले त्यही दिन नैतिकताका आधारमा राजीनामा दिएको दाबी गरेका छन् ।

लिखित जवाफमा उनले भनेका छन्, ‘राजीनामा दिएर पदीय जिम्मेवारीबाट मुक्त भइसकेकाले भोलिपल्ट भदौ २४ गते भएको घटनामा मलाई दोषारोपण गर्न मिल्दैन ।’ उनले भदौ २२ गते बेलुका बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले समेत आन्दोलन शान्तिपूर्ण रहने विश्वास व्यक्त गरेको र आफूले कम बल प्रयोग गर्ने, हताहत हुन नदिन निर्देशनसमेत दिएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकारसम्बन्धी प्रश्नमा भने उनले तटस्थता अपनाएको बताए । सर्वोच्च अदालतले संविधानको व्याख्या र विश्लेषण गर्दै त्यसबारे अन्तिम निर्णय गर्ने भएकाले आफूले प्रतिवाद नगरेको उनको भनाइ छ ।

ईश्वरलाई ओलीको जवाफ : पूर्व शर्त राखेर नेतृत्वमा सहमति हुँदैन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विषयमा शर्त राखेर सहमति नहुने स्पष्ट पारेका छन् । आज (बिहीबार) काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिको जबाफ दिँदै संवादबाट मात्रै सहमति हुने बताएका हुन् । ‘कुराबाट पो सहमति हुन्छ त । पूर्व शर्त राखेर सहमति हुन्छ ?,’ ओलीले भने । बुधबार सम्पादकहरूसँग छलफल गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा ओलीले आफू बाहेक अरूलाई अध्यक्ष घोषणा गरे सहमति हुन सक्ने बताएका थिए ।

‘छोड्छौ भनेर सहमति भनेर हुन्छ ? मसँग भन्नुप¥यो । मसँग भन्नु भएको छैन । बाहिर–बाहिर उम्मेदवारी घोषणा गर्नु भाछ,’ उनले भने । उनले सहमतिका लागि कसैलाई दबाब नदिने पनि बताएका छन् । ‘संवादबाट सहमति भयो भने त्यो सहमति हो । दबाबबाट गर्न चाहँदैनौं,’ उनले भने । एमाले महाधिवेशन शनिबारदेखि सुरू हुँदैछ । आगामी नेतृत्वका लागि ओलीसँगै ईश्वर पोखरेलले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

जेनजी र सरकारबीचको सम्झौताप्रति ओलीको टिप्पणी : ‘कलाबिहीन भद्दा नाटक’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए । उनले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै उनले प्रश्न गरेका छन् । उनले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे ।

उनले भने, ‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्‍यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाबिहीन भद्दा नाटक हो ।’ उनले संसद पुनःस्थापनाको विकल्प नभएको पनि बताएका छन् । वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको बताए ।

सर्वोच्चलाई आरजु देउवाको जवाफ : मेरो घरमा नोट जलेको भनेर अफवाह फैलाइयो

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् । आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको हल्ला गलत भएको जिकिर गरेकी हुन् । उनले लिखित जवाफ दिँदै भनेकी छन्, ‘म र मेरो पति नेपाली कांग्रेसको सभापति, पूर्व प्रधानमन्त्रीको निवासमा रकम जलेको विभिन्न टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भन्ने व्यहोरा उल्लेख गरी दोषारोपण गरिएको छ सो जिकिर समेत गलत छ ।’

राष्ट्रिय सुरक्षा परिषद्को सदस्य समेत रहेकी आरजु राणा देउवा लगायतले बेलैमा बैठक डाकेर सेना परिचालन नगर्दा जनधनको क्षति भएकाले उनीहरूलाई कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो । त्यसैको जवाफ दिँदै पूर्व परराष्ट्रमन्त्री राणाले भनेकी छन्, ‘शान्तिपूर्ण आन्दोलनमा उछृङ्खल व्यक्तिहरू हाम्रो निजी निवासमा प्रवेश गरी ममाथि भौतिक आक्रमण गरी मेरो निवास समेत जलाइएको र हामी घाइते हुन पुगेका थियौं ।’ ‘जहाँसम्म मेरो घरबाट रकम जलेको भन्ने सामाजिक सञ्जालमा फैलाइएका अफवाहको सरकार र सम्बन्धित निकायबाट जाँचबुझ भइ क्षतिको मुचुल्का समेत भई गएको अवस्था छ,’ उनले जवाफमा लेखेकी छन्, ‘आशंकामा आधारित पूर्वाग्रही आरोपयुक्त रिट निवेदन खारेज गरी पाउँ ।’

नेतन्याहुको इजयरायलबाट मोदीलाई फोन

इजरायल ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत बुधबार नेतन्याहुसँग फोन संवाद भएको जानकारी दिएका हुन् ।
उनले एक्समा लेखेका छन्, ‘मैले मेरा साथी प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेँ। हामीले भारत-इजरायल रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्‍यौँ र हाम्रो सहयोगलाई अझ बलियो बनाउन सहमती भएको छ ।

हामीले आतंकवादप्रति शून्य सहनशीलताको हाम्रो साझा प्रतिबद्धता पनि दोहोर्‍यायौँ । भारतले यस क्षेत्रमा दिगो शान्ति प्राप्त गर्ने सबै प्रयासको समर्थन गर्छ।’ पीआईबीले विज्ञप्ति जारी गरी मोदी र नेतन्याहुले गाजा शान्ति योजनाको प्रारम्भिक कार्यान्वयनबारे पनि छलफल भएको जानकारी दिएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले एक्समा लेखेको छ, ‘दुई नेताबीच आत्मीय कुराकानी भयो र चाँडै भेट्ने सहमती भएको छ ।’

समाचार एजेन्सी पीटीआईका अनुसार, भरपर्दो इजरायली स्रोतले दिल्ली बम विस्फोटपछि सुरक्षा चिन्ताका कारण नेतन्याहुले भारतको भ्रमण स्थगन गरेको भन्ने भएको हल्ला लाई अस्विकार गरेका छन् ।

जेन-जी आन्दोलनमा जलाइएको संसद् भवन पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं। पूर्वराष्ट्रपति विद्या भण्डारीले बिहीबार मध्याह्न नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पुगेकी छन् । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त पारिएको संघीय संसद् भवनको अवस्थाबारे उनले जानकारी लिएकी हुन् ।

यो भवन अवलोकनका क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमेत थिए ।

भण्डारीले यसअघि जेन-जी आन्दोलनमै जलाइएको सिंहदरबारको पनि अवलोकन गरिसकेकी छन् । भण्डारीकै भंगालस्थित निवास पनि आन्दोलनकारीले जलाइदिएपछि अहिले उनी बालुवाटारस्थित छोरीको घरमा बसिरहेकी छन् ।

गोवा आगलागीपछि भागेका नाइटक्लब मालिक पक्राउ

नयाँ दिल्ली । भारतस्थित गोवाको बिर्च नाइटक्लबमा पाँच नेपालीसमेत २५ जनाको ज्यान जानेगरी आगलागी भएको पाँचौँ दिन बिहीबार क्लबका मालिक दाजुभाइ सौरभ लुथरा र गौरव लुथरालाई थाइल्यान्ड बाट पक्राउ गरिएको छ ।

स्थायी प्रहरीले हतकडी लगाएका र राहदानी बोकेका दाजुभाइको तस्बिर सार्वजनिक गरेको हो । स्रोतका अनुसार, भारतीय अधिकारीहरूको टोली थाइल्यान्ड गएको छ र लुथरा दाजुभाइलाई २४ घण्टाभित्र फिर्ता ल्याईने जनाएको छ । गोवा प्रहरीले भारत फिर्ता ल्याए लगतै उनीहरूलाई हिरासतमा लिने जनाएको छ ।

यही मंसिर २० गते अर्थात् डिसेम्बर ६ मध्यराति बिर्च नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको थियो । तीमध्ये ५ जना नेपाली पनी परेका छन्। घटनापछि क्लबका मालिक लुथरा दाजुभाइ भारतबाट भागेर थाइल्यान्ड पुगेका थिए । उनीहरूविरुद्ध अपराधपूर्ण हत्या र लापरबाहीको आरोप लगाइएको छ । उक्त आगलागीमा परी दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल(विवेक), डडेलधुराका मनोज जोरा, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङको मृत्यु भएको थियो ।

उनीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ ।

लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔं : खेलकुदमन्त्री गुप्ता

काठमाडौं । अन्तरिम सरकाका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले व्यवहारमा लागू नगरेसम्म लैङ्गिक हिंसा हट्न नसक्ने बताएका छन् । खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताएका हुन् । उनले लैङ्गिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताए । लैङ्गिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो व्यवहार र जीवनबाट शुरु गर्न जरुरी रहेको उनको भनाइ छ । बोलेर हिँड्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘लैङ्गिक हिंसाको कुराकानी जुन गरिरहेका छौँ । हिंसा हुन नदिन हामीले हाम्रो व्यवहारमा कतिको लागू गरिरहेका छौँ । त्यसमा निर्भर रहन्छ । हामीले हाम्रो जीवन र व्यवहारमा अपनाउने हो भने हिंसा हुँदैन । लैङ्गिक हिंसा हटाउन हामीले आफ्नो व्यवहारमा लागू नगरेकै कारण यो समस्या आएको हो । बोलेर मात्रै छोड्ने कुराले यो लागू हुँदैन । विभेदको कुरामा कसरी काम गर्न सक्छौँ त्यो हामी गर्नेछौँ । बजेट पनि छुट्याइएको रहेछ, त्यसमा हामी लाग्नेछौँ ।’ मन्त्री गुप्ताले विभेद अन्त्य गर्न सरकारले बजेट छुट्याएको र त्यसअन्तर्गत कार्यक्रम बनाएर आफू अघि बढ्ने प्रतिवद्धता जनाए ।

 

एमाले महाधिवेशन भाँड्न सरकार षड्यन्त्रमा : पदम गिरी

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी–विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ती रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको भनाइ छ । आज फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् । उनले त्यसको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

ती देशी–विदेशी शक्ति को हुन् र उनीहरुले एमाले महाधिवेशन भाँड्न कस्तो खालको षडयन्त्र गरिरहेका छन् भन्ने गिरीले खुलाएका छैनन् । उनले लेखेका छन्, ‘एमालेको महाधिवेशन नजिकिदै गर्दा महाधिवेशन भाँड्न देशी–विदेशी शक्तिको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो, अस्ती रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ । वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि जुन किसिमको षड्यन्त्र गरिरहेको छ हेक्का रहोस्, सरकार स्वयंले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ ।’ ‘साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जोकोहीलाई पनि इतिहासले माफी दिने छैन,’ गिरीले लेखेका छन् ।

म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

म्यान्मा ।  म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

म्यानमाको गृहयुद्ध सुरु भएदेखि जुन्टाले हवाई आक्रमण बढाएको द्वन्द्व पर्यवेक्षकहरूले बताएका छन् ।

सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरूले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने वाचा गरेका छन्, जसलाई जुन्टाले फिर्ता लिन लडिरहेको छ ।

एक सैन्य जेटले बुधबार साँझ बङ्गलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक–यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायता कर्मी वाई हुन आङले बताएका छन् ।

अवस्था निकै डरलाग्दो भएको बताउदै उनले ६८ जना घाइते भएकाले थप मानिसहरुको मृत्यु हुन सक्ने बताएका छन् ।

अस्पताल बाहिर जमिनमा कम्तीमा २० वटा शव देखिएको जनाइएको छ ।

जुन्टाका प्रवक्तालाई हाल सम्म सम्पर्क गर्न नसकिएको जनाइएको छ ।

राखाइन राज्य लगभग पूर्ण रूपमा अराकान आर्मी (एए० द्वारा नियन्त्रित छ भने एक जातीय अल्पसंख्यक समुह सेनाले लोकतान्त्रिक नेता आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गर्नुभन्दा अघि देखि सक्रिय छ ।

स्वास्थ्य विभागको विज्ञप्तिमा हवाई आक्रमणमा अस्पतालका १० जना बिरामीहरूको “घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

शक्तिशाली प्रतिद्वन्द्वी–ए. ए. म्यानमालाई ध्वस्त पार्ने गृहयुद्धमा सबैभन्दा शक्तिशाली विपक्षी समूहहरू मध्ये एकको रूपमा देखा परेको छ, भने अन्य जातीय अल्पसंख्यक लडाकुहरू र प्रजातन्त्र समर्थक पक्षपातीहरू पनि सक्रिय छन् ।

सेनाद्वारा सञ्चालित चुनावको संयुक्त राष्ट्र लगायतका पर्यवेक्षकहरूले व्यापक आलोचना गरेका भए पनि बेइजिङ आफ्नो छिमेकीमा “सामाजिक स्थिरता पुनस्र्थापना“ गर्नुपर्ने भन्दै प्रमुख समर्थकका रूपमा देखा परेको छ ।

द्वन्द्व पर्यवेक्षकहरूका अनुसार ए–एले जुन्टाका लागि शक्तिशाली विरोधी साबित भएको छ र अहिले राखाइनको १७ वटा बस्तीहरू नियन्त्रण गरेको छ ।

यस समूहलाई यस क्षेत्रका अधिकांश मुस्लिम रोहिंग्या जातीय अल्पसङ्ख्यकहरू माथि अत्याचार गरेको आरोप पनि लगाइएको छ ।

यसै बीच सेनाले राखाइनलाई अवरुद्ध गरेको छ, जसले मानवीय सङ्कट, भोकमरी र कुपोषणमा वृद्धि गरेको विश्व खाद्य कार्यक्रमले जानकारी दिएको छ ।

 

स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताएका हुन् । देशको समग्र राजश्व संरचनामा वृद्धि भए पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उनको भनाई छ । स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने बताए ।

यसलाई एकै पटकमा सुधार गर्न नसकिने उनको भनाई छ । उनले स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाई छ । स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरेको उनले जानकारी दिए । विगतका सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न नमिल्ने उनको भनाई छ । उनले स्वास्थ्य बीमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्नेमा जोड दिए । राज्यले धान्न नसक्ने संरचना राख्न नहुने उनको भनाई छ । उनले स्वास्थ्य संस्थालाई पर्याप्त वित्तीय पहुँच पुर्‍याउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘फाईनान्समा गभरमेन्टको पर्समा, हाम्रो पर्सको साईज अवश्य बढेको छ, आजभन्दा १५ वर्ष अगाडि टोटल जिडिपीको १३ प्रतिशत पुर्‍याउन पनि हामीलाई गाह«ो थियो । अहिले टोटल जिडिपीको २३ प्रतिशत नजिकसम्म हाम्रो रेभिन्युवेश चाहीँ पुग्यो, अहिले झरेर १८–१९ प्रतिशत पुगेको छ । गभर्मेन्टको रिसोर्सको साईज बढ्दै जाने तर हेल्थमा, एजुकेसनमा गरिएको एलिकेशन घट्दै जानु राम्रो होइन । त्यो कमजोरी अर्थ मन्त्रालयले गर्‍यो अथवा राष्ट्रिय योजनाले गर्‍यो अथवा प्रणालीमा हामीले सहकार्य गरेर गर्न सकेनौँ । त्यो हाम्रो गल्ती भयो पछिल्लो १० वर्षमा । अब यो एकै वर्षमा एकैछिनमा करेक्शन गर्न सकिँदैन ।’

उनले भने, ‘स्वास्थ्यमन्त्री यहीँ हुनुहुन्छ, उहाँलाई मैले स्वास्थ्यमन्त्रीमा बहाली भएको दिनमा नै स्वास्थ्य बीमाको सबै भुक्तानी गरौँ भनेर उहाँलाई भने । उहाँ आउनुभन्दा अगाडि नै मैले स्वास्थ्य सचिव ज्युलाई प्रत्येक पटक भेट्दा त्यो सबै भुक्तानी गर्न आग्रह गरेँ । सरकारले प्रतिवद्धता गरेको स्वास्थ्य बीमाको बाँकी रहेको रकम चाहीँ भुक्तानी गर्नुपर्छ । सरकार भनेको निरन्तरता हो । अगाडिको सरकारले बाँकी राख्यो म तिर्न सक्दिन भनेर भन्न हुँदैन भनेर मैले भनिरहेको छु, आज नी त्यही भन्दैछु । तर हामीले धान्न नसकिने प्रमिस गरेर त्यसपछि स्वास्थ्य संस्थाहरु चाहीँ पैसा नपाएको कारणले सेवा नै दिन नसक्ने पुगे भने त्यो पनि राम्रो भएन । स्वास्थ्य संस्थाले सेवा दिनसक्ने गरी उनीहरुलाई वित्तीय पहुँच पुर्‍याउनु पर्छ । त्यो वित्तीय पहुँच पुर्‍याउने क्रममा हाम्रो स्वास्थ्य बीमा ज्यादै कमजोर छ, हामीले धान्न नसकिने किसिमको छ भने त्यसलाई रिभ्यु गर्नुपर्छ ।’ उनले अर्थ मन्त्रालयले बिना कारण स्वास्थ्य क्षेत्रको बजेट काट्न नमिल्ने बताए । यद्यपि माग्ने बित्तिकै बजेट नपाइने उल्लेख गरे । उनले राष्ट्रको स्रोत सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने बताए ।