`

लोपहुने अवस्थामा भोजपुरका पुस्तकालय

टक्सार (भोजपुर) । पछिल्लो समय आधुनिक प्रविधिको विकाससँगै पुस्तकालय सञ्चालनमा कमी हुँदै आएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बन्नुकासाथै प्रविधिको विकास हुनु, पठन संस्कृति लोप हुनुलगायत कारणले यहाँको श्रीराम अमर पुस्तकालयमा पठन संस्कृतिमा कमी हुँदै गएको हो ।
राणाकालमा स्थानीय नारदमणि थुलुङ, विचारीचन्द्र प्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायत युवाद्वारा पुस्तक सङ्कलन गरी श्रीराम पुस्तकालय सञ्चालन गरिएको थियो । उक्त पुस्तकालयले तत्कालीन शासकबाट विसं २००५ देखि सञ्चालनको अनुमति प्राप्त गरेको स्थानीय नवीन सुवालले बताए ।
राणाविरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर सहिदहरूको सम्झनामा विसं २०१० मा सदरमुकाममा श्री अमर सहिद पुस्तकालय स्थापना भएको थियो । तत्कालीन वडा कार्यालयले विसं २०१२ माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएका पुस्तकालयका ज्ञाता एवं स्थानीय शेरबहादुर मोक्तानले बताए । उनले भवन अभाव, आर्थिक समस्या, प्रविधिको प्रयोग नहुनुलगायत कारणले यहाँका पुस्तकालय लोप हुने अवस्थामा पुगेका उल्लेख गरे ।
पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभावलगायत कारणले दुवै पुस्तकालय सञ्चालनमा समस्या भएपछि विसं २०२३ माघ १६ गते श्री राम अमर सहिद नाममा रूपान्तरण गरी दुवै पुस्तकालय संयुक्त रूपमा सञ्चालन गर्न थालिएको पुस्तकालयका संरक्षकसमेत रहैका मोक्तानले जानकारी दिए ।
विभिन्न चाडपर्व, देउसी, भैली, लाखे जात्रा प्रदर्शन तथा विभिन्न अवसरमा देखाइने नाटक, एकाङ्की प्रदर्शन तथा मञ्चनमार्फत भएको आम्दानी बचत गर्नुका साथै तत्कालीन जिल्ला पञ्चायतबाट आर्थिक सहयोगबाट आफ्नै भवन निर्माण गरिएको उहाँले बताए । विसं २०४० भदौमा रु एक लाख १४ हजार लागतमा भवन निर्माण भएको थियो ।
जिल्ला प्रशासन कार्यालय, भोजपुरमा ‘संस्था दर्ता ऐन, २०३४’ अनुसार विसं २०३८ साउन ६ गते २ नं मा दर्ता भएको यो पुस्तकालय समाज कल्याण परिषद्मा ‘समाज कल्याण ऐन, २०४९’ अन्तर्गत दर्ता भएर प्रमाणपत्र प्राप्त गरेको छ ।
विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको पुस्तकालयको भवन पुनःनिर्माण नहुँदा नियमित सञ्चालनमा समस्या भइरहेको सञ्चालक समितिका अध्यक्ष सिरोज श्रेष्ठले बताए। जीर्ण बनेको भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा ऐतिहासिक पुस्तकालय लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
पुस्तकालयमा ‘इ–लाइब्रेरी’ सञ्चालनका लागि काठमाडौँस्थित पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले दुई थान कम्प्युटर हस्तान्तरण गरे पनि भवन नहुँदा आधुनिक प्रविधिको प्रयोग गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए ।
तत्कालीन समयमा पुस्तकालयले विगतमा राजा वीरेन्द्रको शुभजन्मोत्सव विषेशाङ्क, पिखुवाको सुसेलीलगायत केही फुटकर साहित्यिक पुस्तक प्रकाशन गरिसकेको छ । विगतमा भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, सहिद दिवस, पुस्तकालय वार्षिकोत्सवलगायत अवसरमा साहित्यिक भेला, कविता गोष्ठीलाई पुस्तकालयले सञ्चालन गर्दै आइरहेको स्थानीय प्रविण सुवालले बताए ।
पुस्तकालयले सांस्कृतिक पर्वहरूको जगेर्ना गर्न तथा परम्परा कायम राख्न प्रत्येक वर्ष नागपञ्चमीदेखि सुरु हुने लाखेजात्रा पर्वमा लाखे नाच, गाई जात्रा, कृष्णअष्टमी जात्रा, रथ यात्राको प्रदर्शन गर्नुका साथै नेपाल सम्वत्, ल्होसार चण्डीनाचको आयोजना गर्न सहयोग जनाउँदै आएको छ ।
पुस्तकालयलाई व्यवस्थित रूपमा आधुनिक प्रविधिअनुसार सञ्चालनमा ल्याएमा स्थानीयका साथै विद्यालय र क्याम्पसका विद्यार्थी प्रत्यक्ष लाभान्वित बन्ने स्थानीय पुस्तक व्यवसायी जीवन श्रेष्ठले बताउनुभयो । “विगतमा अन्य ठाउँमा नपाइने पुस्तक यहाँ पढ्न पाइन्थ्यो । यहाँ हरेक किसिमका पुस्तक र पत्रपत्रिकाहरू पाइन्थ्यो ।”
अहिले पुस्तकालयमा साहित्य, व्याकरण, उपन्यास नेपाली हिन्दी, कथा, कविता नाटक, निबन्ध, इतिहाससम्बन्धी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पुस्तक, हास्यसम्बन्धी, भूगोल, अर्थशास्त्र, अङ्ग्रेजीलगायत विभिन्न विधाका छ हजार बढी पुस्तक रहेका पुस्तकालयका संरक्षक मोक्तानले जानकारी दिए ।
साथै विसं २०१२ मा स्थापना भएको भोजपुर नगरपालिका–४, सिद्धेश्वरस्थित जनहित पुस्तकालय अहिले बन्द भएको छ । आधुनिकतासँगै पुस्तक पढ्न आउने पाठनको कमी हँुदा पुस्तकालय नियमित रूपमा सञ्चालन गर्न नसकिएको शिक्षक गणेश श्रेष्ठले बताए । उनले भने, “पुस्तक र भवन पनि छ, तर पाठकको अभावका कारण नियमित सञ्चालनमा छैन, यसलाई इ–लाइब्रेरीका रूपमा विकास गर्न जरुरी छ ।” यहाँ करिब चार हजार पुस्तक छन् ।
जिल्लाको दक्षिण हतुपागढी गाउँपालिकामा सञ्चालनमा रहेको हतुवागढी सार्वजनिक पुस्तकालय व्यवस्थापनका लागि ‘पठन संस्कृतिमा सरोकारवालाः अवसर र चुनौती’ विषयमा आइतबार छलफल भएको थियो । पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठानको आयोजना र गाउँपालिकाको सहयोगमा उक्त छलफल आयोजना गरिएको हो ।

पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा

पाकिस्तानको सिन्ध प्रान्तका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले बाढीका कारण प्रान्तका एक हजार छ सय ५७ गाउँका करिब १६ लाख मानिस प्रभावित हुनसक्ने बताएका छन्।

शनिबार मिडियालाई सम्बोधन गर्दै उनले प्रान्तीय सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको र सम्भावित सङ्कट व्यवस्थापनका लागि रोकथामका उपायहरू अपनाइरहेको जानकारी दिएका छन् । मन्त्रीहरू प्रत्यक्ष रूपमा स्थलमा रहेको र जिल्ला अधिकारीहरू सक्रिय रूपमा संलग्न रहेको उनले उल्लेख गरेका छन् ।

उनको चेतावनीसँगै पञ्जाबका धेरै क्षेत्रहरू डुबानमा परेका छन् । त्यहाँ कम्तीमा ३० जनाको ज्यान गइसकेको छ भने १५ लाखभन्दा बढी प्रभावित भएका छन् ।

भारी वर्षाका कारण बँढ्दै गएको सतलज, चेनाब र रावी नदीले बाढी ल्याएको हो । अधिकारीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् । अहिलेसम्म करिब चार लाख ८१ हजार मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जियो न्युजले जनाएको छ ।

सिन्धमा सरकारद्वारा पाँच सय ५१ स्थानलाई राहत शिविरका लागि तोकिएको छ र एक सय ९२ उद्धार डुङ्गा तयारी अवस्थामा राखिएका छन् ।

मेमनका अनुसार पानीको सतह अझै बढेमा एक सय ६७ वटा युनियन काउन्सिलका करिब दुई लाख ७३ हजार परिवार प्रभावित हुन सक्छन् । उहाँले आगामी सेप्टेम्बर २ देखि ३ सम्म सिन्धमा बाढीको पानी पुग्नसक्ने जानकारी दिए ।

मेमनले ब्यारेजहरूको हालको अवस्था पनि सार्वजनिक गरेका छन् । उनका अनुसार गुड्डु ब्यारेजले तीन लाख ५१ हजार क्युसेक, सुक्कुरले दुई लाख ८९ हजार क्युसेक र कोट्रीले दुई लाख ५१ हजार क्युसेक पानी छोडिरहेका छन् । यी ब्यारेजहरूको क्षमता क्रमशः १२ लाख, नौ लाख र छ लाख क्यूसेक छ । हाललाई स्थिति स्थिर रहेको र आगामी दिनमा भारी वर्षा नभए अवस्था नियन्त्रणमै रहने अपेक्षा गरिएको उनले बताएका छन् ।

सहरी केन्द्रहरू तत्काल जोखिममा नरहेको उल्लेख गर्दै मन्त्री मेमनले जनतालाई अनावश्यक त्रास नलिन आग्रह गरेका छन् । प्रान्तीय सरकार आफैँ सक्षम भएकाले सेनाको सहयोग लिनुपर्ने आपत्कालीन अवस्था अहिलेसम्म नभएको पनि उनले प्रष्ट पारेका छन्।

कच्छ (नदी) क्षेत्रका बासिन्दालाई जोखिमबारे सचेत पारिएको उनले जानकारी दिएका छन् । उनका अनुसार त्यहाँका मानिसहरू सामान्यतया नदीको पानीको व्यवहारबारे सचेत हुने भएकाले पानी बढ्दा स्वेच्छाले सुरक्षित क्षेत्रमा जान्छन् वा आफन्तकहाँ बस्न पुग्छन् ।

गाईवस्तुका लागि करिब तीन सय शिविर स्थापना गरिएको छ भने नदी किनारमा रहेका १५ जिल्लालाई नजिकबाट निगरानी गरिएको पनि उनले बताए ।

“पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक हो । नदी किनारभित्र कुनै पनि प्रकारको निर्माण कहिल्यै हुनु हुँदैन”, उनले चेतावनी दिँदै ब्यारेजमा पानीको बहाव र बहिर्गमनसम्बन्धी जानकारी प्रत्येक तीन घण्टामा सार्वजनिक गरिने बताएका छन्।

नेप्से परिसूचक ३१ अङ्कले घट्यो

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा रू छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घेटेको छ ।

पहिरोले पुरिएर एकजनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए।

उनीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए । उनका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।

हमासद्वारा गाजाका नेता मोहम्मद सिनवारको मृत्यु पुष्टि

इजरायलको हवाई आक्रमणमा मारिएको तीन महिनाभन्दा बढी समयपछि हमासले आइतबार गाजामा आफ्ना प्रमुख नेता मोहम्मद सिनवारको मृत्यु भएको पुष्टि गरेको छ ।

प्यालेस्टिनी इस्लामवादी समूहले शनिबार जारी गरेका तस्बिरहरूमा उनलाई ‘सैन्य परिषद्का शहीद’ भनेर वर्णन गरिएका अन्य राजनीतिक र सैन्य नेताहरूसँगै देखाइएको छ ।

मोहम्मद सिनवार, हमासका वरिष्ठ नेता याह्या सिनवारका कान्छा भाइ थिए । इजरायलले याह्यालाई सन् २०२३ अक्टोबर ७ मा भएको इजरायलमाथिको आक्रमणको मुख्य योजनाकारको रूपमा आरोप लगाएको थियो । हमासको इजरायलमाथिको उक्त आक्रमणले गाजा पट्टीमा हालसम्म चलिरहेको युद्धलाई भड्काएको थियो ।

कमान्डर मोहम्मद देइफको मृत्युपछि मोहम्मद सिनवारले अल–कसम ब्रिगेडको सैन्य परिषद्को नेतृत्व गरेको बताइएको छ ।

इजरायली सेनाले मध्य गाजाको खान युनिसस्थित युरोपेली अस्पताल मुनिको सुरुङमा उनको शव भेटिएको दाबी गरेको छ । सेनाले १३ मेमा उनलाई ‘मारेको’ घोषणा गरेको थियो ।

इजरायली तथ्याङ्कमा आधारित एएफपीको विवरणअनुसार सन् २०२३ अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए ।

त्यस आक्रमणमा कब्जा गरिएका दुई सय ५१ जना बन्धकमध्ये ४७ जना अझै गाजामा रहेको र करिब २० जना जीवित रहेको विश्वास गरिन्छ ।

इजरायलको जवाफी आक्रमणले अधिकांश सर्वसाधारण गरी कम्तीमा ६३ हजार तीन सय ७१ प्यालेस्टिनीको ज्यान लिएको छ ।

यो तथ्याङ्क हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले दिएको हो, जसलाई संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय निकायहरूले पनि भरपर्दो मानेका छन् ।

‘ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री खड्का

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्वसन्ध्यामा आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको बताए ।

“संविधान निर्माणपछि हामी कानुन निर्माणको चरणमा छौँ, जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन, ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको छ”, उनले भने ।

मन्त्री खड्काले मुलुक सङ्घीयतामा गएपछि सबै प्रदेशले आफ्ना प्रदेशलाई कसरी सशक्त र सवलीकरण गर्न सकिन्छ भनेर चासो र चिन्ता लिनु सकारात्मक पक्ष भएको धारणा राख्नुभयो । “सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्दै मुलुकको आर्थिक विकासमा अगाडि बढेको छ, विकास निर्माणमा अवरोध देखिएका कानुनलाई समयअनुसार संशोधन गर्दै अगाडि बढेका छौँ”, उनले भने ।

ऊर्जामन्त्री खड्काले विकास निर्माणलाई अगाडि बढाउन सङ्घ र प्रदेश सरकारद्वारा निर्मित कानुनबीच तालमेल हुनु जरुरी रहेको बताए । उनले जलविद्युत् निर्माणका क्रममा वन र जग्गा प्राप्ति समस्याका रूपमा रहेको भन्दै यसलाई समाधान गर्न तीनै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री खड्काले विकास निर्माणका क्रममा देखिने समस्यालाई कानुनी विधिअनुसार समाधान गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा भएका स्रोतसाधनलाई अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकारले काम गरिरहेको उल्लेख गरे । मन्त्रालयले ऊर्जा क्षेत्रमा थुप्रै नीतिगत निर्णय गरेर अगाडि बढ्न चाहेको उनको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले विद्युत् क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् खरिदबिक्रीसम्म गर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । सरकारले नीतिगत सुधार गर्दैै प्रभावकारी काम गरिरहेको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउँदै उक्त सम्मेलनमा जोडिन सबैलाई आग्रह गरे । “लगानी सम्मेलन लगानीमा मात्र केन्द्रित नभई मुलुकलाई केही दिन सकिन्छ की भनेर लागिरहेका छौँ, प्रदेशको विकास र रोजगारी प्रदान गर्ने बाटोमा हामी इमान्दारपूर्वक लागिरहेका छौँ”, उनले भने । उनले लगानी सम्मेलनलाई सफल पार्न केन्द्र सरकारको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा कमल पोखरेलले सुदूरपश्चिम सबै क्षेत्रमा प्रशस्त सम्भावना भएको प्रदेश भएकाले उक्त स्रोतको समुचित प्रयोग गरी समृद्ध मुलुक बनाउनका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

धनगढीको सिटी हलमा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा उद्घाटन सत्रका साथै विकास निर्माण्, लगानीका सम्भावनाबारे विभिन्न बैठक र सम्झौता गरिने कार्यक्रम छ । सुदूरपश्चिम प्रदेशमा हाल आठ हजार २४१ मेगावाटका १०८ जलविद्युत् आयोजना कुनै न कुनै रूपले अगाडि बढिरहेका विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले जानकारी दिए ।

छलफलमा सुदूरपश्चिम प्रदेशमा ऊर्जा क्षेत्रको विकास गरिरहेका कम्पनीहरूले ऊर्जा क्षेत्रको विकासमा भोग्नुपरेका प्रसारण लाइन, जग्गा प्राप्ति, वनलगायत समस्याका बारेमा जानकारी गराएका थिए ।

मोदीसँग सीले भने : ‘ड्र्यागन र हात्ती’ एकसाथ आउन जरुरी छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डल स्तरको वार्तामा आफ्नो प्रारम्भिक टिप्पणीमा चीन र भारत मित्र हुनु र ‘ड्र्यागन र हात्ती’ एकजुट हुनु महत्त्वपूर्ण रहेको बताएका छन् ।

संसार जटिल र अस्थिर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र भारत दुवैका लागि – दुई प्राचीन सभ्यताहरू, दुई सबैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरू र विश्वव्यापी दक्षिणका सदस्यहरू – मित्र र असल छिमेकी बन्नु, एकअर्काको सफलतालाई सक्षम पार्नु र ‘ड्र्यागन र हात्ती सँगै नाच्नु नै सही छनोट हो’ भनेका छन्।

सीले भने, “प्रधानमन्त्री मोदीलाई फेरि भेट्न पाउनु र साङ्घाई सहयोग सङ्गठन (एससिओ) को तियानजिन शिखर सम्मेलनमा चीनमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ ।”

प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय बैठकमा उनले भने, “गत वर्ष हामीले कजानमा सफल भेटवार्ता ग¥यौँ, जसले चीन–भारत सम्बन्धलाई नयाँ सुरुआत दियो । हामीले सहमत भएका महत्त्वपूर्ण बुँदाहरूलाई दुवै पक्षले कार्यान्वयन गरेका छन् र द्विपक्षीय आदानप्रदान तथा सहयोगले प्रगति गरेको छ ।”

सीले भने, “आज संसार शताब्दीमा एक पटक मात्र हुने परिवर्तनबाट प्रभावित छ । अन्तर्राष्ट्रिय अवस्था अस्थिर छ । चीन र भारत दुई प्राचीन सभ्यताहरू, विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरू र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्यका रूपमा दुवैले जनताको हित सुधार्ने, विकासोन्मुख मुलुकहरूको एकता बढाउने र मानव समाजको प्रगतिलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी बोकेका छन् । असल छिमेकी र सौहार्दपूर्ण साथी, एकअर्काको सफलतालाई सक्षम बनाउने साझेदार र ड्र्यागन र हात्तीलाई सँगै नचाउन दिनु नै सही निर्णय हो ।”

सीले यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव भएको स्मरण गर्दै भने, “दुवै पक्षले सम्बन्धलाई रणनीतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट हेर्नु आवश्यक छ । यसरी मात्रै सम्बन्धलाई दिगो, स्थिर र सुदृढ विकासतर्फ अघि बढाउन सकिन्छ । बहुपक्षवादलाई समर्थन गर्दै, बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा लोकतन्त्र ल्याउन, एसिया र विश्वमा शान्ति र समृद्धिको योगदान दिन हामीले मिलेर काम गर्नुपर्छ ।”

सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन

धरान (सुनसरी) । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ । चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालयमा सुरक्षा सम्मेलन गरिएको सशस्त्र प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीर जङ्ग थापाले जानकारी दिए ।

सम्मेलनमा कोसी प्रदेशको समग्र शान्तिसुरक्षाको अवस्था, सम्भावित चुनौती र समाधानका रणनीति विषयमा छलफल गर्दै, सीमावर्ती गतिविधि, आपराधिक क्रियाकलाप, बढ्दो सवारी दुर्घटना र चाडपर्वका सन्दर्भमा देखिनसक्ने जोखिमलाई न्यूनीकरण गर्न समन्वयात्मक सुरक्षा रणनीति निर्माण गरिएको प्रवक्ता थापाले बताए ।

आज यहाँ आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले प्रशासनिक तथा अपरेशनल कार्यक्षमताको सुदृढीकरण, सीमा सुरक्षामा उच्च सतर्कता, युनिट व्यवस्थापनमा पारदर्शिता र चाडपर्वलाई लक्षितगरी त्रुटिरहित सुरक्षा रणनीति अपनाउन मातहत इकाइहरूलाई निर्देशन दिए ।

उनले चाडपर्व नजिकिँदै गर्दा भीडभाड, चोरी–डकैती, सवारी दुर्घटना न्यूनीकरण, तालिम व्यवस्थापन तथा कल्याणकारी सेवा प्रवाहमा थप सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । सम्मेलनमा कोसी प्रदेशभरका १४ वटै जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका सात गण, सात गुल्म, दुई आश्रित गुल्म, एक मुद्दती तथा सेवा गुल्म तथा १० प्रस्तावित सीमासुरक्षा गुल्मका प्रमुखको सहभागिता थियो ।

‘आपसी विश्वास, सम्मान र संवेदनशीलतामा आधारित सम्बन्धलाई अगाडि बढाउन प्रतिबद्ध छु’ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको द्विपक्षीय वार्तामा भारत–चीन सम्बन्धलाई आपसी विश्वास, सम्मान र संवेदनशीलताको आधारमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले सीमा विच्छेदपछि सम्बन्ध र शान्तिका विभिन्न क्षेत्रमा भएको प्रगतिलाई सराहना गरेका छन्।

“गत वर्ष कजानमा भएको हाम्रो फलदायी छलफलले सम्बन्धलाई सकारात्मक दिशा दियो । सीमामा विघटनपछि शान्ति र स्थिरताको वातावरण बनेको छ । सीमा व्यवस्थापनका लागि हाम्रा विशेष प्रतिनिधिहरूबीच सम्झौता भएको छ”, उनले भने, “दुई देशबीचको प्रत्यक्ष उडान पनि पुनः सुरु हुँदैछ । दुवै देशका दुई अर्ब ८० करोड जनताको हित हाम्रो सहकार्यसँग जोडिएको छ । यसले सम्पूर्ण मानवताको हितको मार्ग पनि प्रशस्त गर्नेछ । हामी आपसी विश्वास, सम्मान र संवेदनशीलताको आधारमा हाम्रो सम्बन्धलाई अगाडि बढाउन प्रतिबद्ध छौँ ।”

प्रधानमन्त्री मोदीले न्यानो स्वागतका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन् र साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को सफल अध्यक्षता गरेकोमा बधाई पनि दिएका छन् । उनले भने, “एससिओको सफल अध्यक्षता गरेकोमा म तपाईँलाई बधाई दिन्छु । म तपाईंलाई चीन भ्रमणको निमन्त्रणाका लागि र आजको हाम्रो भेटका लागि धन्यवाद दिन्छु ।”

प्रधानमन्त्री मोदी शनिबार साँझ तियानजिन पुगेका थिए । यो सात वर्षभन्दा बढी समयपछि उनको पहिलो चीन भ्रमण हो ।

हालै, भारत र चीनले द्विपक्षीय सम्बन्ध सहज बनाउन विभिन्न कदम चालेका छन् । अगस्ट १८ र १९ मा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुवै पक्षले प्रत्यक्ष उडान सम्पर्क पुनः सुरु गर्ने र अद्यावधिक गरिएको हवाई सेवा सम्झौतालाई अन्तिम रूप दिने सहमति गरेका थिए । साथै, पर्यटक, व्यवसायी, सञ्चारकर्मी लगायतका आगन्तुकहरूका लागि भिसा सुविधा दिने विषयमा पनि सहमति भएको थियो ।

आज साँझ तियानजिनस्थित मेजियाङ सम्मेलन तथा प्रदर्शनी केन्द्रमा साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन सुरु हुँदैछ । स्वागत समारोह र फोटो सत्रपछि नेताहरूले स्वागत कार्यक्रम र कन्सर्टमा भाग लिनेछन् ।

एससिओमा भारतसहित १० सदस्य छन् – बेलारुस, चीन, इरान, कजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान । साथै, यसमा धेरै संवाद साझेदार र पर्यवेक्षक राष्ट्र पनि छन् । भारत सन् २०१७ देखि एससिओको सदस्य रहँदै आएको छ भने २००५ देखि पर्यवेक्षकको रूपमा सहभागी हुँदै आएको थियो ।

यो सम्मेलन भारतका लागि विशेष महत्त्वपूर्ण मानिएको छ, किनभने हालै अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लागू गरेको छ, जसमा रुसी कच्चा तेल खरिदका लागि थप २५ प्रतिशत कर पनि समावेश गरिएको छ ।

सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आज राजधानीमा यसरी मनाइँदै (फोटोफिचर)

काठमाडौँ । सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आज राजधानीमा विविध कार्यक्रम गरी मनाइएको छ ।

भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ ।

सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ ।

गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् ।

गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख–सुख बाँड्नुका साथै माया–प्रेम बाँड्ने गरिन्छ ।
यो पर्वलाई एकताका पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घरबाहिर गएका व्यक्तिहरु घर फर्किने गर्दछन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ ।

प्यालेस्टिनी अधिकारीलाई अमेरिका प्रवेशमा रोक, इयुको आपत्ति

युरोपेली सङ्घ (इयु) का विदेश मामिलासम्बन्धी मन्त्रीहरूको कोपनहेगनमा शनिबार सम्पन्न बैठकमा अमेरिकाले हालै प्यालेस्टिनी अधिकारीहरूलाई प्रवेश अनुमति नदिएको निर्णयप्रति गहिरो चिन्ता व्यक्त गर्दै सो निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ ।

शुक्रबार अमेरिकी परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र सङ्घको महासभा हुनुअघि फिलिस्तीनी मुक्ति सङ्गठन (पिएलओ) र प्यालेस्टिनी प्रशासनका सदस्यहरूलाई प्रदान गरिएका प्रवेश अनुमतिहरू अस्वीकार तथा रद्द गरिएको जानकारी दिएको थियो ।

बैठकमा गाजामा जारी मानवीय सङ्कटबारे पनि गहन छलफल गरिएको थियो । तर इजरायलविरुद्ध थप प्रतिबन्ध लगाउने विषयमा सहभागी राष्ट्रहरूबीच मतभेद देखिएको थियो ।

युरोपेली सङ्घकी विदेश नीति प्रमुख काया काल्लासले पत्रकार सम्मेलनमा सबै सदस्य राष्ट्रहरूले अवस्था गम्भीर रहेको स्वीकारे पनि ठोस निर्णयमा पुग्न नसकेको बताएका छन् ।

बैठकको अध्यक्षता गरेका डेनमार्कका परराष्ट्र मन्त्री लार्स लोके रस्मुसेनले बताए अनुसार अब धेरै सदस्य राष्ट्रहरू इजरायल सरकारमाथि बलियो दबाब नपरेसम्म कुनै परिवर्तन सम्भव नरहेको निष्कर्षमा पुग्दैछन् ।

बैठक स्थल बाहिर सयौँ प्रदर्शनकारीहरूले गाजामा भइरहेको मानवीय सङ्कटप्रति ध्यान दिन आग्रह गर्दै युरोपेली सङ्घ र डेनमार्क सरकारलाई कडा कदम चाल्न माग गरेका थिए ।

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता स् इजरायल–अमेरिका असन्तुष्ट

प्यालेस्टिनी राज्यलाई मान्यता दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निर्णयपछि इजरायल र अमेरिकामा असन्तोष बढेको छ ।
उनले गाजामा जारी युद्ध अन्त्य गर्न दुई–राज्य समाधानलाई अपरिहार्य भन्दै प्यालेस्टिनी राज्य शान्ति र इजरायलको सुरक्षाका लागि आवश्यक रहेको पत्रमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रस्ट पार्नुभएको छ ।
म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३ हजार नाघेको इजरायली तथ्याङ्क छ । हाल गाजाको सबैभन्दा ठूलो सहरलाई लडाइँ क्षेत्र घोषणा गरिएको छ ।
फ्रान्स, बेलायत, क्यानाडा, अस्ट्रेलिया र माल्टाले सेप्टेम्बर २३ देखि सुरु हुने संयुक्त राष्ट्रसङ्घीय महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता औपचारिक गर्ने बताएका छन् । न्युजिल्यान्ड, फिनल्यान्ड, पोर्चुगलसहित अन्य देशले पनि यस्तै कदम चाल्ने तयारी गरेका छन् ।
नेतान्याहुले भने प्यालेस्टिनी राज्यलाई अस्वीकार गर्दै गाजामा सैन्य कारबाही बढाउने चेतावनी दिएको छ । उनले म्याक्रोनको अभिव्यक्तिलाई ‘यहुदी विरोधलाई उक्साउने’ आरोप लगाएका छन् ।
अमेरिकाका राजदुत चार्लस कुशनरले पनि यस्तो मान्यताले चरमपन्थीलाई प्रोत्साहन गर्ने दाबी गरेका छन् । उक्त दाबीलाई फ्रान्सले आपत्ति जनाएको छ ।
विशेषज्ञ पास्कल बोनिफेसका अनुसार, पश्चिमी राष्ट्रहरूको समर्थनले दुई–राज्य समाधानलाई पुनः बहसको केन्द्रमा ल्याएको छ । यद्यपि गाजाको स्थितिले समाधान कठिन बनाइरहेको छ ।
म्याक्रोनले नेतान्याहुलाई पठाएको पत्रमा ‘गाजाको कब्जा र जबरजस्ती विस्थापनले इजरायललाई अलगावमा पुर्‍याउने र यहुदी समुदायलाई अझ जोखिममा पार्ने’ चेतावनी दिएका थिए ।
हालसम्म एक सय ४० भन्दा बढी देशले प्यालेस्टिनी राज्यलाई मान्यता दिइसकेका छन्, जसलाई धेरैले प्रतीकात्मक मान्छन् । तर विश्लेषकहरूका अनुसार यसले इजरायलमाथि कूटनीतिक दबाब बढाउनेछ ।
फ्रान्सेली विदेशमन्त्री जीन–नोएल बारोटले फ्रान्स र साउदी अरबको नेतृत्वमा भएको पहलबाट पहिलो पटक अरब लिगका सबै सदस्यले नागरिकमाथि हमासको आक्रमणलाई निन्दा गरेको बताए। साथै, गाजामा हमासले शासन अन्त्य गरी हतियारहरू प्यालेस्टिनी प्राधिकरणलाई सुम्पिनुपर्ने सहमति भएको थियो ।
विश्लेषक मुहम्मद शेहादाका अनुसार, यस कदमले नरमपन्थी प्यालेस्टिनीलाई बलियो बनाउनेछ र ‘हिंसाले नभई, कूटनीतिक बाटोले मात्र राज्य सम्भव छ’ भन्ने सन्देश प्रष्ट पार्नेछ ।
प्यालेस्टिनी प्राधिकरणले सन् १९६७ को युद्धपछि कब्जामा परेका वेस्ट ब्याङ्क, पूर्वी जेरुसेलम र गाजामा स्वतन्त्र राज्यको सपना बोकेको छ ।

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

चीन । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका दुई प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताए।

प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गरे ।

भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरु, सांसदहरु र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

श्रीलङ्काका मोस्ट वान्टेड ‘केहलबड्डारा पद्मे’ इन्डोनेसियाबाट पक्राउ

श्रीलङ्काका ‘मोस्ट वान्टेड’ अपराधी मन्दिनु पद्मसिरी परेरा, उर्फ ‘केहलबड्डारा पद्मे’, पाँच जना अन्य आपराधिक गिरोहका सदस्यहरू सहित इन्डोनेसियाबाट पक्राउ गरिएको श्रीलङ्का प्रहरीले जनाएको छ ।

उनीहरूमाथि देशभर विभिन्न जघन्य आपराधिक घटनाहरूमा संलग्न भएको आरोप लागेको छ । परेरामाथि विशेष रूपमा यस वर्ष फेब्रुअरीमा कोलम्बोको एक अदालत परिसरमा भएको हत्या काण्डको योजना बनाएको आरोप छ । साथै, उनीमाथि दर्जनभन्दा बढी हत्या, लागूऔषध कारोबार र आपराधिक गिरोह सञ्चालनको अभियोग लागेको प्रहरीले जनाएको छ ।

शनिबार राति उनीहरूलाई व्यावसायिक उडानमार्फत कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । उनीहरूको सुरक्षार्थ इन्डोनेसियाली अधिकारी सहित श्रीलङ्काली सुरक्षाकर्मीहरूको टोली खटाइएको थियो । सार्वजनिक सुरक्षा मन्त्री आनन्द विजेपालाले सञ्चारकर्मीहरूसँग भने,“देशका लागि दीर्घकालीन सुरक्षा चुनौती बनेको आपराधिक गिरोहलाई नियन्त्रणमा लिन सहयोग पु¥याएकोमा म इन्डोनेसियाली सरकार र प्रहरीलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

यस अपरेसनमा इन्डोनेसियाली प्रहरीसँगै श्रीलङ्काका दुई प्रहरी अधिकारी र भारतीय गुप्तचर संस्था पनि सहभागी थिए । जकार्तामा बिहीबार गरिएको उक्त संयुक्त अपरेसनमार्फत परेरा सहित अन्य पाँच जना पक्राउ परेका थिए । गिरोहमा संलग्न एक श्रीलङ्काली महिला सदस्यलाई भने एक दिनअघि नै पृथक उडानमार्फत फिर्ता ल्याइएको थियो ।

श्रीलङ्काको प्रहरीले यो अपरेसनलाई हालसम्म विदेशमा लुकेर बसेका श्रीलङ्काली अपराधीहरूलाई नियन्त्रणमा लिन गरिएको सबैभन्दा ठूलो कारबाही भएको जनाएको छ ।

प्रहरी तथ्याङ्क अनुसार, सन् २०२५ को सुरुदेखि हालसम्म श्रीलङ्कामा ८० वटा गिरोहबीचको गोलीकाण्डमा ४२ जनाको ज्यान गइसकेको छ ।

डा. गोविन्द केसीले सुरु गरे तीनदिने सत्याग्रह

काठमाडौं । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै तीनदिने सत्याग्रह सुरु गरेका छन् ।  धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा आइतबारबाट तीन दिने सत्याग्रह शुरू गरेका हुन्।

उनले आइतबार (भदौ १५) पत्रकार सम्मेलन गर्दै निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिने आरोप लगाए ।

“निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ,” उनले भने, “शिक्षाको गुणस्तर खस्कनु भनेको स्वास्थ्य सेवामा ह्रास आउनु हो । सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धराप पर्दै गएको छ ।”

उनले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

साथै डा केसीले  यसअघिको सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

खेलाडी रानाको उपचारमा आर्थिक अभाव

तनहुँ । जिल्लाको देवघाटमा वाइसिएलद्वारा आयोजित फुटबल प्रतियोगितामा घाइते भएकी शुक्लागण्डकी नगरपालिका–१० की ममता रानाको उपचारका लागि रकम अभाव भएको छ फुटबल खेल्दा खुट्टा भाँचिएपछि चितवनस्थित देव अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया सम्पन्न भएपनि अस्पताललाई रु एक लाख ४५ हजार तिर्न बाँकी रहेको परिवार स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेकाले अस्पताललाई उधारो चेक दिइएको छ । केही दिनभित्र तिर्ने शर्तमा राना हाल घर फर्किएका छन् ।

परिवारको आयआर्जनको माध्यम नभएपछि उक्त रकम कसरी तिर्ने चिन्ता लागेको रानाले बताए । उनले भने, “अस्पताललाई रकम कसरी तिर्ने भन्ने भन्ने चिन्ता लागेको छ । नियमित जाँचका लागि जानुपर्दा पनि पैसा छैन ।” खेलाडीलाई सम्बन्धित निकायले नहेरिदिँदा समस्या हुने उनको गुनासो छ । रानाले तनहुँको प्रतिनिधित्व गर्दै भलिबल र फुटबल खेलिसकेकी छन्।

दमौलीका खेलाडी गङ्गा गुरुङसहित साथीहरूले रु २० हजार ५०० सङ्कलन गरी रानालाई हस्तान्तरण गरेका छन् । सामाजिक अभियान्ता सुदीप गफ्फारले खेलाडीलाई राष्ट्रका गहना भनिए पनि समस्यामा पर्दा सहयोग नगरिएकामा गुनासो गरे।

उनले भने, “अहिले रानालाई उपचारका लागि सहयोगको आवश्यकता छ । आफ्नो ठाउँलाई चिनाउनेका लागि सपनाहरू मारेर लागिपर्नुभएको ममता रानालाई साथ सहयोग र माया गरिदिनुहुन हामी सबैमा हार्दिक अनुरोध गर्दछौँ ।”

 

अबका दश दिनमा मल पाइन्छः कृषिमन्त्री

कृष्णनगर (कपिलवस्तु) । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।

चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।

मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए । “मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भू-भागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ”, उनले भने ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाए ।

‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ

खजुरा (बाँके) ।  नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगञ्जमा आयोजित दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज यहाँ उद्घाटन गर्दै उपसभापति गुरुङले कार्यकर्तामा हार्दिकता अभाव हुँदा आमनिर्वाचनमा त्यसको प्रभाव पर्ने गरेको उल्लेख गरे । उनले यस्ता प्रशिक्षणले तल्लो तहमा रहेका कार्यकर्तामा हार्दिकता जोड्ने धारणा राखे ।

“कांग्रेसभित्र हार्दिकता जोड्दै सहकार्य र समन्वय आवश्यक छ”, उपसभापति गुरुङले भने, “त्यसको अभाव हुँदा निर्वाचनमा हामीले तीतो अनुभव बटुल्दै आएका छौँ । यस्ता प्रशिक्षणले हार्दिकतालाई जोड्ने काम गर्छ ।” कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध गराउन प्रशिक्षण अत्यन्तै जरुरी रहेको उनको भनाइ छ ।

“कांग्रेसका तल्लो तहमा पार्टीको सिद्धान्तबारे बहस गर्नसक्ने क्षमता जगाउन तालिम, सीप विकासका लागि यस्ता प्रशिक्षण आवश्यक छ”, उनले भन्नुभयो, “जसले गर्दा पार्टीलाई बलियो र जनता केन्द्रित बनाउँछ ।”

उपसापति गुरुङले आपसी समन्वय र सहकार्यमार्फत जनचाहनाअनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै सहकार्यको अभावमा गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे । “राजनीतिको राजमार्गमा सबैलाई समेट्दै लैजानुपर्छ”, उनले भने, “समन्वय र सहकार्य हुन सकेन भने गन्तव्यमा पुग्न सकिँदैन । पार्टीभित्र र बाहिर पनि आवश्यकता अनुसार सहकार्य गर्दै जानु जरुरी छ ।”

कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेलले कांग्रेस बाँकेले कार्यकर्तालाई प्रशिक्षित बनाउँदै लगेको बताउँदै पालिका र वडा तहमा नेतृत्व गर्ने सबैलाई प्रशिक्षित गराइने उल्लेख गरे । उनले प्रशिक्षण कार्यक्रमका माध्यमबाट गाउँटोल हुँदै पार्टीलाई बलियो बनाउने अभियानमा आफूहरू लागिपरेको बताए ।

प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठलगायत नेताको उपस्थिति छ ।

प्रशिक्षणमा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरू, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्षसहित करिब ३५० जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापामगरले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा कृष्णप्रसाद पौडेलले ‘नेपाली कांग्रेसको तहगत संरचना र नेतृत्व विकास’ र ‘साङ्गठानिक अवस्था र सङ्गठन विस्तारको रणनीति’, नवीन श्रेष्ठले ‘नेतृत्व क्षमताको विकास’, विश्वदीप लामिछाने ‘सङ्गठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’, तीर्थ पौडेलले ‘प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारिता’, डा जगदीशचन्द्र पोख्रेलले ‘लोकतान्त्रिक समाजवादः नेपाली कांग्रेसको आर्थिक नीति, उपलब्धि र भावि कार्यदिशा’ र डा सञ्जय महतोले ‘युवा, रोजगारी र उद्यमशिलता’का विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

डीडीसी कार्यालयको गेटमा किसान र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)

काठमाडौँ । दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिएका छन् ।

अखिल नेपाल किसान महासंघको नेतृत्वमा दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिइएको हो ।

दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिने भएका हुन् । त्यसक्रममा प्रहरी र किसानबीच धकेलाधकेल भएको थियो ।

लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन् ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, “सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।

उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराए । उनले आफूले सरकार सम्हाल्दा अर्थतन्त्रमा सम्पूर्ण सूचकहरु नकारात्मक भएको उल्लेख गर्दै भने “अहिले अर्थतन्त्रका सबै सूचकहरुमा सकारात्मक परिवर्तन आएको छ । हिजो हामीले सरकार संहाल्दा अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए ।”

त्यसैगरी उपप्रधानमन्त्री पौडेलले ‘भ्याट’ छुट दिनसक्ने अवस्थामा सरकार नरहेको स्पष्ट गरे । उनले भने, “राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवद्र्धनका योजना कार्यक्रमहरु ल्याउनुहोस् । सरकार सहजीकरण गर्न तयार छ ।”

उनले राजनीतिक स्थायित्व सुनिश्चित गर्दै मुलुक स्थिरताको बाटोमा अघि बढेको उल्लेख गर्दै उनले थपे “अहिलेको सरकार बलियो र स्थिर छ । यही सरकार २०८४ को निर्वाचनसम्म अघि बढ्छ र यसले नीतिगत स्थिरता दिन्छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न विशेष ध्यान दिएका छौँ ।”

कार्यक्रममा ‘टान’का अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए । उनले भने, “सरकारले व्यावसायीलाई सहज वातावरण बनाउन नीतिगत सुधार र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक छ ।”

सो अवसरमा पर्वतीय पर्यटन विकासमा योगदान पुर्‍याउने विभिन्न सङ्घसंस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्‍यो : गृहमन्त्री लेखक

वीरगञ्ज (पर्सा) । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए ।

“राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु”, उनले भने, “एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न जरुरी छ ।” गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्कर र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरे ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।

“अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहजनक ढङ्गले वृद्धि भएको छ । चालु आवमा पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा छ”, उनले भने, “चोरी तस्करी नियन्त्रणका लागि सम्बद्ध सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने हुन्छ ।”

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करीका मालवस्तु ओसार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । “भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’हरु दर्ता गरी सोहीमार्फत तस्करी गर्ने प्रवृत्ति देखिएको छ”, उनले भने “राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच समन्वय हुन आवश्यक छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रहरी मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।

 

झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छः मन्त्री भण्डारी

बैतडी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताएका छन् ।

आज गृह जिल्ला बैतडीको मेलौलीमा गौरापर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति रहेको बताए ।

“नेपालसँग कुनै परामर्श नगरी नेपाली भूमिमा व्यापारिक मार्ग बनाउने कुराको बारेमा कूटनीतिक रुपमा कुरा भइरहेको छ”, उनले भने, “नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति छ । यो विषयमा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि राख्नुभएको छ । यो विषयमा चीनले सहयोग गर्ने कुरामा विश्वास छ ।”

चीन भ्रमणपश्चात् प्रधानमन्त्रीको भारत भ्रमण पनि रहने र भारतमा पनि यो विषय प्राथमिकतामा रहने भण्डारीले बताए । यस्तै उनले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताए ।

उनले भने, “एकीकृत महाकाली सन्धि, पञ्चेश्वर परियोजनाका बारेमा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ । सम्भवत यो वर्ष सन्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्नेछौँ । जसका लागि भारतकोे पनि सहमति आवश्यक पर्दछ ।” दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोरलगातयका विषय पनि प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताए ।

यसका साथै उनले बैतडीको समग्र विकासका लागि आफू लागिपरेको बताए । उनले भने, “बैतडीको विकासका लागि थुप्रै बजेट हुने गरेको भए पनि कार्यान्वयनमा समस्या हुँदै आएको छ । ठेकेदारले समयमै काम नगर्ने, स्थानीयबीचको विवादलगायतले समस्या देखिएको छ । यो समस्या समाधान स्थानीयस्तरबाटै गर्नुपर्छ ।”

दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

काठमाडौँ  । दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो ।

“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामा भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।”

चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो । आार्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् ।

अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी विदेशमा नोट छापिने हुने गरेको छ । यसो गर्दा राज्यकोषबाट धेरै खर्च हुने भएकाले नोट सफा राख्न केन्द्रीय बैंकले अनुरोध गर्दै आएको छ ।

सुनको मूल्यमा नयाँ रकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४२५ कायम भएको छ ।

इन्द्र ध्वज भोटाहिटीबाट तानेर हनुमानढोका लगियो

काठमाडौँ । आइतबार बिहान नेपाली भक्तजन र सेनाले भक्तपुरको नाला जंगलबाट विधिवत् रूपमा काटेर ल्याइएको योंशी (इन्द्र ध्वज) भोटाहिटीमा राखिएको स्थानबाट तानेर हनुमानढोका दरबार क्षेत्रतर्फ प्रवेश गराएका छन्।

आठ दिनसम्म मनाइने इन्द्रजात्रा पर्व स्वर्गका राजा तथा वर्षाका देवता इन्द्रको सम्मानमा आयोजना गरिन्छ। यस वर्ष योंशी उठाउने शुभसाइत भदौ १९ गते बिहान १०:३१ बजे तोकिएको छ भने, नगर प्रवेशका लागि भोटाहिटीबाट तानेर ल्याउने शुभसाइत बिहान ९:५२ बजे तय गरिएको थियो।

   

गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छः अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।

पार्टीको जिल्ला कार्यसमितिद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालको समृद्धिमा जोड्नका लागि उनीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने तर्क गरे।

उनले भने, “नेपाल बाहिर पनि नेपाल छ, प्रवासका रहेका नेपाली भूगोलभन्दा बाहिर छन् । उहाँहरुलाई पनि नेपालको चिन्ता छ ।”

विसं २०६३/६३ को राजनीतिक परिवर्तनपछि आएको नागरिकता ऐनको संशोधनमा दोहोरो नागरिकता राख्न नपाउने प्रावधानले विदेशमा कमाउन, अध्ययन गर्न र रोजगारीको खोजीमा पुगेका वंशजका नेपाली नागरिकलाई ठूलो असर पु¥याएको उनको भनाइ छ ।

“अवसरको खोजी र उच्च शिक्षाका लागि विभिन्न देश पुगेका नेपालीले सम्बन्धित देशकै नागरिकता लिएका हुन्”, उनले भने, “दीर्घकालीन रुपमा काम गर्ने हो भने उताको देशले नागरिकता लिनुपर्छ भनेको हो ।”

 

सी जिनपिङद्वारा आयोजित शिखर सम्मेलनमा सहभागी हुन पुटिन र मोदी चीनमा

चीनलाई क्षेत्रीय सम्बन्धको केन्द्र र अग्रस्थानमा स्थापित गर्ने उद्देश्यले राष्ट्रपति सी जिनपिङले रूस र भारतका नेताहरूसहित करिब २० वटा युरेसियाली मुलुकका व्यक्तिहरूलाई प्रदर्शनी शिखर सम्मेलनमा भेला गरेका छन् ।

दोस्रो विश्वयुद्धको समाप्त भएको ८० वर्ष पूरा भएको अवसरमा राजधानी बेइजिङमा आयोजना हुने विशाल सैन्य परेडभन्दा केही दिनअघि, उत्तरी बन्दरगाह सहर तियानजिननमा सोमबारसम्म साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन जारी छ ।

एससिओमा चीन, भारत, रूस, पाकिस्तान, इरान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुस समावेश छन् । साथै, पर्यवेक्षक वा ‘संवाद साझेदार’ का रूपमा थप १६ देश सम्बद्ध छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आइतबार वरिष्ठ राजनीतिज्ञ र व्यापारिक प्रतिनिधिहरूको ठूलो टोलीसहित तियानजिन पुगेका छन् ।

यसैबीच, राष्ट्रपति सीले माल्दिभ्स, अजरबैजान, किर्गिजस्तानका नेताहरू र आफ्नो कट्टर सहयोगी बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोसहित धेरै द्विपक्षीय बैठकहरू गरेका छन् ।

सीले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेका थिए। मोदी सन् २०१८ पछि पहिलो पटक चीन भ्रमणमा अघिल्लो साँझ तियानजिन पुगेका हुन्।

भारतीय प्रधानमन्त्रीले एक्समा पोस्ट गरेको भिडियो अनुसार, मोदीले सीलाई भारत ‘आपसी विश्वास, गरिमा र संवेदनशीलताको आधारमा सम्बन्धलाई अगाडि बढाउन प्रतिबद्ध’ रहेको बताए ।

दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका मुलुकहरू दक्षिण एसियामा प्रभावका लागि प्रतिस्पर्धी पनि हुन् र सन् २०२० मा उनीहरूबीच घातक सीमा द्वन्द्व भएको थियो ।

गत अक्टोबरमा रूसमा भएको शिखर सम्मेलनमा पाँच वर्षपछि मोदी र सीबीच भेट हुँदा सम्बन्धमा सुधारको सङ्केत देखिएको थियो । मोदीले सीलाई भने, “दुवै देशका दुई अर्ब ८० करोड जनताको हित हाम्रो सहकार्यसँग जोडिएको छ । यसले सम्पूर्ण मानवताको हितका लागि पनि मार्ग प्रशस्त गर्नेछ ।”

– परियोजना प्रभाव –

हरियालीले घेरिएको तियानजिन गेस्ट हाउसमा द्विपक्षीय वार्ता भएको थियो । चिनियाँ कूटनीतिज्ञहरू हलमार्फत हतारिँदै हिँडिरहेका थिए भने सुरक्षा गार्डहरू कार्यक्रम स्थल वरिपरि तैनाथ थिए र पत्रकार तथा पाहुनाहरूलाई सावधानीपूर्वक नियालिरहेका थिए ।

तियानजिनको ठूलो भाग ट्राफिकका लागि बन्द गरिएको थियो । सहर वरिपरि कडा प्रहरी निगरानी गरिएको थियो ।

सडकमा एससिओलाई प्रवद्र्धन गर्ने आधिकारिक पोस्टरहरू टाँसिएका थिए, जसमा चिनियाँ र रूसी भाषामा ‘आपसी लाभ’ र ‘समानता’ जस्ता शब्दहरू लेखिएका थिए ।

चीन र रूसले कहिलेकाहीँ एससिओलाई नाटो सैन्य गठबन्धनको विकल्पको रूपमा पनि व्याख्या गर्ने गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्केपछि यस वर्षको यो पहिलो शिखर सम्मेलन हो ।

ताइवानमाथि चीनको दाबी र युक्रेनमा रूसको आक्रमणले संयुक्त राज्य अमेरिका र युरोपसँग तनाव बढाएको अवस्थामा विज्ञहरूको भनाइमा बेइजिङ र मस्को एससिओ जस्ता मञ्चलाई रणनीतिक रूपमा प्रयोग गर्न इच्छुक छन् ।

सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक डिलन लोहले भने, “चीनले लामो समयदेखि एससिओलाई गैर–पश्चिमी नेतृत्वमा आधारित शक्ति समूहको रूपमा प्रस्तुत गर्न खोज्दै आएको छ, जसले नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई बढावा दिन्छ, जुन यसले दाबी गर्दछ, बढी लोकतान्त्रिक छ ।”

इरानी राष्ट्रपति मसुद पेजेस्कियान र उनका टर्की समकक्षी रेसेप तैयप एर्दोगानसहित २० भन्दा बढी नेताले सन् २००१ मा स्थापना भएपछिको सबैभन्दा ठूलो बैठकमा सहभागिता जनाएका छन् ।

– किनारमा वार्ता –

रूसी राष्ट्रपति पुटिन सोमबार एर्दोगान र पेजेस्कियानसँग अलग–अलग रूपमा भेट्ने कार्यक्रम छ । अपेक्षा गरिएअनुसार, यी वार्ताहरू क्रमशः युक्रेन द्वन्द्व र तेहरानको आणविक कार्यक्रमका विषयमा केन्द्रित हुनेछन् ।

जापानको सोका विश्वविद्यालयका प्राध्यापक तथा पूर्वी एसिया विज्ञ लिम ताई वेईका अनुसार, ‘पुटिनलाई विश्व मञ्चमा प्रमुख खेलाडीका रूपमा एससिओका सबै फाइदाहरू आवश्यक छन्, साथै उहाँलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र(चीन)को समर्थन पनि चाहिन्छ ।”

लिमले भने, “रूस भारतलाई आफ्नो पक्षमा तान्न उत्सुक छ र संयुक्त राज्य अमेरिकासँग भारतको व्यापार द्वन्द्वले त्यसका लागि अवसर सिर्जना गरेको छ ।”

यो शिखर सम्मेलन नयाँदिल्लीले रूसी तेल खरिद गरेको कारण आफ्ना सामानमा अमेरिकाले ५० प्रतिशतसम्म कर लगाएको केही दिनपछि हुँदैछ ।

भेला भएका धेरै नेताहरू बुधबार बेइजिङमा आयोजना हुने सैन्य परेडमा पनि सहभागी हुनेछन्, जसमा उत्तर कोरियाली नेता किम जोङ उन समेतको उपस्थित रहनेछ।

राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष

काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ भएको बैठकले उक्त निर्णय गरेको हो ।

अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रुपैयाँ र परिवारका अन्य सदस्यले उक्त रकम प्रदान गरेका हुन् ।

प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एक जना साहित्यकारलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । यसअघि कोषमा १६ लाख रुपैयाँ मौज्दात थियो ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरु)

काठमाडौँ । नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन्।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

आन्दोलित शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालयमा र नेकपा एकीकृत समाजवादीको कार्यलयमा धर्ना कार्यक्रम राखेको हो ।

चीन–भारत सम्बन्ध पुनःस्थापनाको प्रयासमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीबीच भेट

चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार तियानजिनमा आयोजित क्षेत्रीय शिखर सम्मेलनको उद्घाटनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

सन् २०२० मा चीन र भारतका सैनिकहरूबीच भएको घातक सीमा झडपपछि बिग्रिएको सम्बन्धपश्चात् मोदीको यो पहिलो चीन भ्रमण हो ।

मोदी चीनद्वारा स्थापित क्षेत्रीय राजनीतिक, आर्थिक र सुरक्षा समूह साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को सदस्य राष्ट्रका हैसियतले सहभागी हुन चीन पुगेका हुन्।

मोदीको भ्रमणअघि, चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ यी अगस्टको सुरुआतमा नयाँदिल्ली पुगेका थिए । त्यस क्रममा दुवै पक्षले सम्बन्ध सुधार्ने घोषणा गर्दै सीमा वार्ता पुनः सुरु गर्ने, भिसा सुविधा र प्रत्यक्ष उडान पुनः सुरु गर्ने वाचा गरेका थिए ।

वाङको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतद्वारा रूसी तेल खरिदमा ५० प्रतिशत भन्सार शुल्क लगाउने निर्णयसँग मिल्दोजुल्दो समयमा भएको थियो । तर चीनसँगको सम्बन्ध पुनर्निर्माण गर्ने प्रक्रियामा भारत महिनौँदेखि सक्रिय रहेको बताइन्छ ।

चीन र भारतले यस वर्ष उच्चस्तरीय आधिकारिक भ्रमणहरू बढाएका छन् । दुवै पक्षले व्यापारमा रहेका केही प्रतिबन्ध हटाउने र सीमापार आवागमनबारे छलफल गरेका छन् । साथै, जुन महिनामा बेइजिङले भारतका तीर्थयात्रीहरूलाई तिब्बतका पवित्र स्थलहरूमा जाने अनुमति दिएको थियो ।

मिथिलाञ्चलमा आज राधाष्टमी उत्सव मनाइँदै

महोत्तरी । मधेसको प्राचीन मिथिलाञ्चल क्षेत्रमा आज राधाष्टमी उत्सव मनाइँदैछ । द्वापरयुगमा भदौ शुक्लपक्ष अष्टमीका दिन भारतको उत्तरप्रदेशमा पर्ने गोकुलमा लक्ष्मी अवतारका रूपमा राधाको जन्म भएको विश्वासमा यो उत्सव मनाउने गरिएको हो ।

गोकुलका ग्वाला वृषभानुकी पुत्रीका रूपमा राधाको जन्म भएको हिन्दू जनविश्वास छ । ठिक १५ दिनअघि भदौ कृष्णपक्षको अष्टमी तिथिका दिन मथुरा कारागारमा जन्म भएर रातारात गोकुल पु¥याइनुभएका श्रीकृष्ण र राधा सँगसँगै खेल्ने बालसखा भएका कृष्णचरित्र र श्रीमद् भागवतमा वर्णन गरिएको लक्ष्मीनारायण लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णले जानकारी दिए ।

राधा श्रीकृष्णकी अत्यन्त प्रिय छिन् । राधा लक्ष्मी अवतार र श्रीकृष्ण भगवान् विष्णुका आठौँ अवतार मानिन्छन् । गोकुलमा राधा र श्रीकृष्णको प्रीति अत्यन्त गाढा रहेको श्रीमद् भागवत महापुराणमा उल्लेख छ । पछि गोकुलबाट श्रीकृष्ण निस्केर द्वारका बस्न गएका थिए ।

प्रेम र समर्पण भावले सधैँ श्रीकृष्ण भज्नुभएकी राधा निःस्वार्थ प्रेमको पूजकका रूपमा हिन्दूबीच पूजित हुनुभएकी डा वैष्णले बताए । उनका अनुसार आज राधाजीको जन्म भएको दिनको सम्झनामा मिथिलाञ्चलका कैयौँ ठाउँमा राधाष्टमी मेला उत्सव आयोजना गरिएका छन् ।

यहाँका राधाकृष्ण मन्दिरमा बिहानैदेखि धार्मिक अनुष्ठान आयोजना गरिएको छ । राधा हिन्दू मान्यतामा आराध्य देवी भएकी हुँदा यहाँ उत्सवका रूपमा राधाष्टमी मनाउने गरिएको लक्ष्मीनारायण मठका उत्तराधिकारी डा वैष्णवले बताएका छन् । आज यहाँ सत्सङ्ग आयोजना गरिएको छ ।

राधाजी जन्मका पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज मिथिलाञ्चल क्षेत्रमा गुञ्जीरहेका उनले उल्लेख गरेका थिए । उनका अनुसार पर्वका अवसरमा आज साँझ विशेष धार्मिक अनुष्ठान आयोजना गरिँदै छ ।

कागे अष्टमीको दिनमात्रै खुल्ने कागेश्वर महादेव मन्दिर (तस्बिरहरू)

काठमाडौं।आज कायाष्टमी अर्थात् कागे अष्टमी । आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ । यता हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आज मात्र खुल्ने गर्छ ।

यसै दिनबाट विधिवत् रूपमा मालश्री धुन बजाउने परम्परा सुरु हुन्छ। अब दशैंको महाअष्टमी आउन ठ्याक्कै एक महिना मात्र बाँकी रहेको छ।

मध्यपहाडी राजमार्ग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ । चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक आज बिहानदेखि अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ । पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ ।

नयाँ स्वरूपमा ‘माइतीघर’

काठमाडौँ । मुलुकभित्र निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि लोकप्रिय छ । आशा भोस्लेले स्वर दिएको उक्त गीतलाई नयाँ स्वरूपमा तयार गरिएको छ ।

नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी तयार गरिएको निर्माता रोहित अधिकारीले बताए । उनले निर्माण गरेको ‘माइतीघर’ चलचित्रमा पुरानै गीतलाई नयाँ स्वरूपमा तयार गरेका हुन्।

गीतमा सञ्जिवनीले स्वर दिएको जनाउँदै अधिकारीले स्वर्गीय जयदेवले सिर्जना गरेको सङ्गीत र किरण खरेलले रचना गरेको शब्दअनुसार नयाँ स्वरूपमा तयार गरिएको बताएका छन् । उनका अनुसार पुरानो गीतलाई स्वरमात्र नयाँ दिएर तयार गरिएको हो ।

उनले भने, “पुरानो नाममै चलचित्र निर्माण गर्ने निर्णय गरेपछि कालजयी उक्त गीतलाई नयाँ स्वरूपमा ल्याउने तयारी गरेर अहिले सार्वजानिक गरेका छौँ । पुरानो गीतको मर्मलाई कायम राख्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले चलचित्रमा समावेश गरेका हौँ । गीतले चलचित्रको कथालाई अगाडि बढाउँछ ।”

निर्माता अधिकारीले उक्त गीतमा श्रव्यदृश्य (भिडिओ) बनाउने मध्येबाट उत्कृष्टलाई रु पाँच लाख पुरस्कार राशि प्रदान गरिने जानकारी दिएका हुन् । यसका लागि प्रतियोगिता घोषणा गरिएको उनले बताएका छन्।

“गीतको श्रव्यदृश्यमा राम्रो नृत्य गरेर हामीलाई पठाउनेमध्ये एक जनाले चलचित्र सार्वजनिक रूपमा प्रदर्शन हुनु अगाडि प्रतियोगिताको विजेता घोषणा गरी पुरस्कार पाउने छ । प्रतियोगितामा सहभागी हुन ४० सेकेण्डदेखि २ मिनेटसम्मको श्रव्यदृश्य तयार गरेर हामीलाई पठाउनुपर्नेछ । यसले गीतलाई नयाँ पुस्तामा पु¥याउनुका साथै चलचित्रको प्रचारप्रसारमा मद्दत गर्नेछ”, निर्माता अधिकारीले भने ।

उक्त गीतमा अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र श्याम श्री शेर्पाले अभिनय गरेका छन् । गीतको श्रव्यदृश्यमा कविराज गहतराजले नृत्य निर्देशन, मानकृष्ण महर्जन र सुशन प्रजापतिले संयुक्त रूपमा छायाङ्कन र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

मिलन तामाङको निर्देशनमा तयार भएको उक्त चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, सङ्गीता थापालगायत कलाकारको अभिनय रहेको छ, यो चलचित्र दसैँको अवसर पारेर फूलपाती (असोज १३ गते)देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

मोदीले ट्रम्पको नोबेल प्रयास अस्वीकार गर्दा भारत–अमेरिका सम्बन्धमा तनावः रिपोर्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको फोन कलका क्रममा भारत–पाकिस्तान शत्रुता अन्त्य गर्ने आधारमा आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न अनुरोध गरेको थिए ।

तर प्रधानमन्त्री मोदीले उक्त अनुरोध अस्वीकार गर्दै ट्रम्पको दाबीलाई खारेज गरेका थिए। भारतको आधिकारिक अडान अनुसार भारत र पाकिस्तानबीच भएको युद्धविराम अमेरिकाको संलग्नताबिना दुवै देशको प्रत्यक्ष सहमतिमा तय भएको थियो । न्युयोर्क टाइम्सको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ ।

रिपोर्ट अनुसार ट्रम्पको नोबेल पुरस्कार खोजीमा सहयोग नगर्ने मोदीको निर्णयले भारत–अमेरिका सम्बन्ध बिगार्न महत्त्वपूर्ण भूमिका खेलेको हो ।

फोन कलमा ट्रम्पले सैन्य वृद्धि रोक्न पाउँदा गर्व लागेको बताएका थिए र पाकिस्तानले आफूलाई नोबेल पुरस्कारका लागि मनोनयन गर्न लागेको दाबी गरेका थिए । तर मोदीले हालको युद्धविराममा अमेरिकाको कुनै भूमिका नभएको स्पष्ट पारेका थिए ।

फोन कल भएको केही हप्तापछि अमेरिकाले भारतमाथि २५ प्रतिशत पारस्परिक भन्सार शुल्क लगाएको र रूसबाट छुटमा तेल खरिद गरेकोमा थप २५ प्रतिशत जरिवाना घोषणा गरेको थियो । यससँगै भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क लागू भएको थियो ।

न्युयोर्क टाइम्समा मुजीब मशाल, टायलर पेजर र अनुप्रीता दासद्वारा तयार पारिएको यो रिपोर्ट वासिङ्टन र नयाँदिल्लीका एक दर्जनभन्दा बढी व्यक्तिसँगको गोप्य शर्तमा लिइएको अन्तर्वार्तामा आधारित छ । रिपोर्टअनुसार जुन १७ को फोन कलपछि मोदी र ट्रम्पबीच कुनै संवाद भएको छैन ।

यस वर्षको उत्तरार्धमा भारतमा हुन लागिरहेको क्वाड शिखर सम्मेलनमा पनि अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी नहुन सक्ने सम्भावना रहेको उल्लेख छ ।

सोही फोन कलमा प्रधानमन्त्री मोदीले क्यानाडामा भएको जी–७ शिखर सम्मेलनपछि वासिङ्टन भ्रमण गर्न ट्रम्पको निमन्त्रणा अस्वीकार गर्नुभएको थियो ।

ट्रम्पले भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी सेना प्रमुख असीम मुनीरबीच जबरजस्ती हात मिलाउने प्रयास गर्न सक्ने आशङ्काको कारण यो अस्वीकार भएको भनिएको छ ।

भारतका वरिष्ठ अधिकारीहरूका अनुसार, ट्रम्पले भारत–पाकिस्तान सम्बन्धको जटिलताप्रति पर्याप्त चासो देखाउनुभएको थिएन । पछि आंशिक व्यापार सम्झौतालाई अन्तिम रूप दिन अर्को संवाद गर्ने तयारी भए पनि दुई नेताबीचको विश्वास घट्दै गयो ।

भारतीय अधिकारीहरूलाई यदि कुनै सम्झौता भए पनि ट्रम्पले आफूले चाहेजस्तो कुरा सामाजिक सञ्जाल ट्रुथ सोसलमा सार्वजनिक गर्नेछन् भन्ने आशङ्का थियो ।

कर वार्ताबाट निराश भएका ट्रम्पले मोदीसँग बारम्बार सम्पर्क गर्ने प्रयास गरेका थिए । तर ती प्रयासहरूको मोदीले कुनै जवाफ दिएका थिएनन् ।

यद्यपि ह्वाइट हाउसका प्रवक्ताले भने रिपोर्टअनुसार ट्रम्पले सम्पर्क गरेको दाबी अस्वीकार गरेका छन् ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

बागमती । मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा माटेरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

यातायात कार्यालयमा इम्बोस्ड नम्बर जडान गर्ने सेवाग्राहीको भीड (तस्बिरहरु)

काठमाडौँ । सरकारले यही असोज १ देखि निजी तथा सार्वजनिक सवारीसाधनमा इम्बोस्ड नम्बर जडानलाई अनिवार्य कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

२०८२ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालयहरुबाट २०८२ असोज १ गतेबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने सूचना यातायात व्यवस्था विभागबाट सार्वजनिक भएसँगै यसको चौतर्फी जनस्तरबाटै विरोध भइरहेको छ ।

अहिले अधिकांस सवारी साधनमा हातले लेखिएको परम्परागत नम्बर प्लेट प्रयोग हुँदै आएको छ, जसलाई सजिलै हटाउन वा फेर्न सकिने हुँदा सवारीसाधन चोरी भई विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग हुने सम्भावना बढेसँगै यसको नियन्त्रणका लागि पनि इम्बोस्ड नम्बर सही विकल्प रुपमा इम्बोस्ड नम्बर रहेको छ ।

इम्बोस्ड नम्बर प्लेटमा रहेको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन टेक्नोलोजी (आरएफआईडी) चिपले सवारीसाधनको गतिविधि ट्रयाक गर्न मद्दत गर्ने हुँदा, यदि गाडी हराए वा चोरी भए त्यसलाई पत्ता लगाउन र कुन सवारीसाधन कहाँ गइरहेको छ भन्ने वास्तविक प्राप्त गर्न पनि सहयोग पुर्‍याउँछ।

यसै सन्दर्भमा यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीहरु सँगको कुराकानी र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग भिडियो अन्तर्वार्तामा आधारित सामग्री ।

यातायात व्यवस्था कार्यालय गुर्जुधारामा इम्बोस्ड नम्बर प्लेट जडानका लागि कार्यालय समय भन्दा अगाडीबाटै सेवाग्राहीको भीड लाग्ने गरेको छ । नम्बर प्लेट जडानका लागि नै दिन भारी जस्तै समय लाग्ने सेवाग्राहीको गुनासो छ । प्लेटका लागि बैंकिङ कारोबार लगायत विभिन्न प्रक्रिया पूरा गर्नै घण्टौं समय लाग्ने गरेको भक्तपुरबाट आएका सेवाग्राही सीताराम हेम्बाले बताए ।

बिहान ९ बजे आएका उनी दिउँसोको २ बज्दा सम्म पनि काम नसकिए गुनासो उनको छ । त्यस्तै बसुन्धाराबाट आएका अर्का सेवाग्राही राजु उपाध्याय अनुसार नम्बर प्लेट लिने एउटा ठाउँ र त्यसको स्ट्यान्ड र स्क्रु लिने अर्को ठाँउ जानु पर्ने र इम्बोस्ड नम्बर प्लेटको बिल समेत नदिएको उनको गुनासो छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार इम्बोस्ड डिजिटली रिडेबल हुने भएकाले सवारीसाधनको तथ्याङ्क व्यवस्थापन गर्न र सोही अनुसार नीति बनाउन पनि यसको फाइदा रहेको उनले जनाए ।

परम्परागत नम्बर प्लेटभन्दा फरक धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखि प्रचलनमा रहेभन्दा फरक स्वरुपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ, जसमा रेट्रो रेफ्ल्याक्टिङ अर्थात् कम प्रकाशमा पनि चम्कने र सवारीको नम्बर सजिलै पढ्न सकिने खालको हुन्छ ।यस नम्बर प्लेटमा जडान गरिएको प्रविधियुक्त चिप्समा सवारीधनी र सवारीको विवरण समेत समेटिएको हुन्छ ।


यसमा प्रयोग गरिएका अक्षर र अंक फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) गेटबाट अनुगमन तथा तथ्याङ्क संकलन गर्न सकिने पोखरेलले जानकारी दिए ।

परम्परागत सवारीसाधन प्रयोग गरिएका हातले लेखिएका नम्बर प्लेट चोरी भए सजिलै नम्बर प्लेट फेर्न सकिने र ती सवारीसाधनहरु आपराधिक कार्यमा प्रयोग हुन सक्ने सम्भावनासमेत देखिन्थ्यो। यसका साथै गाडीको ट्रयाक राख्न पनि समस्या थियो। त्यसैले सरकारले गाडीको ट्रयाकिङ गर्न सकिने र सबै गाडीमा एकरुपता ल्याउन सकिने इम्बोस्ड नम्बर प्लेटको अवधारणा ल्याइएको उनले बताए । एकपटक जडान गरेपछि निकाल्न नमिल्ने हुनाले पनि सवारी चोरी गरेर चलाउन असम्भव जस्तै रहेको छ ।

हाल इम्बोस्ड नम्बर प्लेटको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) ट्रयाक पढ्न काठमाडौंको नागढुंगा र माछापोखरी क्षेत्र (नुवाकोट जाने)जडान गरिएको छ भने काठमाडौंमा थप दुई ठाउँमा गेट बनाउने काम भइरहेको छ। काठमाडौं उपत्यका बाहेक वीरगञ्ज, पोखरा, बुटवललगायत १० ठाउँमा (आरएफआईडी) गेट जडान गरिनेछ। यसबाट गाडीको आवागमन ट्रयाक गर्न सजिलो हुनेछ।

अहिले सम्पूर्ण यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा रहेका कारण सेवाप्रवाहलाई सहज बनाउनका लागि काम भई रहेको उनले जानकारी दिए ।

यसवर्षको पद्मश्री साहित्य पुरस्कार‘छालबाटो’लाई

काठमाडौँ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई अर्पण गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका दुई सय तीनवटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित भएकामा ती कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिस अनुसार ‘छालबाटो’लाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिएकी छिन् ।

प्रतिष्ठाले आज एक विज्ञप्ति जारी गरी स्रष्टा भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत जीवन्त रूपमा समेटेको जनाएको छ ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रत्येक वर्ष नेपाली साहित्य, सङ्गीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको पनि आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्यलगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।

त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा डा अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा डा सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उनी साहित्य सृजना तथा समसामयिक लेखनमा सक्रिय छन् ।

यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने अध्यक्ष लामिछानेले बताएकी हुन् ।

प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

चीन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

चाउ एन चीनका पूर्वप्रधानमन्त्री हुन् भने उनलाई चिनियाँ क्रान्तिका नेता भनेर चिनिन्छ । अवलोकनमा प्रधानमन्त्री ओलीसहित प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी थिए ।

 

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन गएका हुन् ।

शंघाई (चीन), १५ भदौः चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत आइतबार जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकनको क्रममा । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

प्रधानमन्त्री ओलीले गरे धान उत्पादन विशेष क्षेत्रको अवलोकन

चीन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएका छन् ।

अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवंं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी छन् ।