`

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ।

पूर्वीरुकुम, तकसेराकी पुनको शनिबार काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा निधन भएको एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिए ।

करिब एक महिना अघि स्वास्थ्य समस्या भएपछि उनलाई काठमाडौं ल्याइएको थियो। अस्पतालमा एकैपटक दुई वटा ठूलो शल्यक्रिया गरिएको थियो। पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेसनका क्रममा उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।

प्रदेशसभा सदस्य पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिइन् । उनी लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत थिइन् ।

च्याउखेतीबाट वार्षिक १५ लाख आम्दानी

सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशन गुप्ताले च्याउखेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्दै आएका छन् । विसं २०७७ देखि व्यावसायिक च्याउखेती सुरु गर्नुभएका उनले सबै खर्च कटाएर वार्षिक रु १२ लाख बचत गर्दै आएका हुन् ।

भाइ भरत गुप्तासँगको सहकार्यमा रु ५० हजार लगानी गरी व्यावसायिक च्याउखेती सुरु गरेको रोशनले बताए । सात वर्षसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका गुप्ताले विदेशमा कमाएको रकम लगानी गर्ने निर्णय गरेसँगै सुरुमा रु ५० हजारबाट खेती सुरु गरेको बताउनुभयो । अहिले लाखौँ रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ ।

गुप्ताले भने, “सुरुका वर्षहरूमा घाटा खेप्नुपरे पनि पछिल्लो समयमा प्रशस्त आम्दानी भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु १२ लाखभन्दा बढी बचत हुने गरेको छ ।” उनका अनुसार अहिले पाँचवटा टनेलमा पाते जातको च्याउखेती भइरहेको छ ।

बजारमा अहिले प्रतिकिलो रु १८० देखि रु १९० र फार्ममा किन्न आउने व्यापारीलाई रु १५० मा च्याउ बिक्री गरिरहेको गुप्ताले जानकारी दिए। “गत वर्षको तुलनामा यस वर्ष खेती बढाएको छु । उत्पादन र मूल्य दुवैमा वृद्धि भएको छ”, उनले भने, “गत वर्ष यही समयमा प्रतिकिलो रु १२० मा बिक्री भएको च्याउ अहिले रु १८० सम्म पुगेको छ । हिउँदयाममा रु २२० सम्म पुग्छ ।”

विदेश गएर पसिना बगाउँदा आम्दानी भए पनि खर्च र परिश्रम बढी हुने गुप्ताको अनुभव छ । स्वदेशमा पसिना बगाउँदा आम्दानीसँगै सम्मान पनि पाइने उनले बताए । च्याउ बिक्रीका लागि बजारको कमी नभएको बताउँदै गुप्ताले धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुरसहित बराहक्षेत्र, चतरा, स्थानीय बजार कालाबजारसम्म उत्पादन पुग्ने गरेको जानकारी दिनुभयो । खेती विस्तारसँगै परिवारका सदस्यले काम पाएका भन्दै दुई जनालाई मासिक तलबमा र सात जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएको उनले उल्लेख गरे ।

“व्यवसाय भएकाले घाटानाफा हुन्छ । तर कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ, यसका लागि मेहनत र स्याहार आवश्यक पर्दछ”, गुप्ताले भने । उनका अनुसार चैतमा लगाइएको च्याउ वैशाख अन्तिमदेखि टिप्न योग्य हुन्छ भने वर्षमा करिब नौ महिना उत्पादन दिन्छ ।

सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या खेप्नुपरेको बताउँदै गुप्ताले अहिले अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको उल्लेख गरे । “सुरुमा सबै परीक्षणजस्तो लाग्थ्यो, अहिले सीप विकाससँगै व्यावसायिक बन्दै गएपछि प्रशस्त सम्भावना देखिएको छ”, उनले भने ।

च्याउखेतीका लागि पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनले बताए । विषादी प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि लाभदायी हुने भन्दै उनले ‘अग्र्यानिक’ च्याउको माग निरन्तर बढ्दै गएको धारणा राखे । उनका अनुसार च्याउ भदौ–असोजमा बढी बिक्री हुन्छ । गुप्ताले विसं २०८० मा सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख, बराहक्षेत्र नगरपालिकाबाट गत वर्ष रु ९० हजार अनुदान पाएका थिए । यस वर्ष नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनिट्याक्टर पाएपछि खेती गर्न थप सहज भएको उनको भनाइ छ ।

सिद्धार्थ रङ्गशाला निर्माणका लागि बजेटको अभाव हुँदैनः अर्थमन्त्री पौडेल

रुपन्देही । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् ।

रङ्गशाला अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएकाले रङ्गशालालाई बजेटको अभाव हुन नदिने बताए ।

उपप्रधानमन्त्री पौडेलले सिद्धार्थ रङ्गशालाका लागि यस वर्ष तीन करोड बजेट छुट्याएको र आगामी दिनमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “तपाईंहरू उत्साहका साथ खेलकुदको विकासमा लाग्नुहोस् । यो रङ्गशाला लुम्बिनी प्रदेशमै महत्वपूर्ण खेल पूर्वाधार हो । यहाँ रहेका अधुरा कामहरू सम्पन्न गर्न लाग्नुस् । आर्थिक रूपमा कुनै समस्या हुँदैन ।”

रङ्गशालाबारे जानकारी दिँदै रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले यसलाई बहुवर्षीय योजनामा राखिदिन आग्रह गरे । उनले सिद्धार्थ रङ्गशाला काठमाडौँपछि स्तरीय रहे पनि त्यसको अनुपातमा बजेटको अभाव झेलिरहेको बताए ।

डेढ दशकमा रङ्गशाला निर्माणको काम करिब १६ प्रतिशत मात्रै छ । यहाँ हालसम्म करिब १२ करोड खर्च भइसकेको छ । न्यून बजेटका कारण यसको निर्माण समयमै हुन नसकेको अध्यक्ष थापाले गुनासो गरे ।

क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले विसं २०६८ मा भैरहवा र मूलपानीमा अन्तरराष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएकामा मूलपानी मैदानले गति लिँदा यहाँ भने कछुवा गतिमा काम भइरहेको बताए ।

सात हजार दर्शक अट्नेगरी प्यारापिटसहित अन्तरराष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले यो योजना अगाडि बढाएको थियो । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० त्यसबेला कम्तीमा रु ३८ करोड लाग्ने जनाइएको थियो । तर, समयमै काम नहुँदा अब कम्तीमा रु ७० करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।

परराष्ट्रमन्त्री डा राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो निवासमा आज गौरा भित्र्याएकी छन् । उनले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित आज गौरा भित्र्याएकी हुन् ।

यसअघिका वर्षहरूमा गौरा पूजनका लागि उनी धनगढी जाने गरेकोमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण भइरहेकाले काठमाडौँमा गौरा भित्र्याएकी हुन् ।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ ।

मन्त्री डा राणाले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ट सांस्कृतिक गौरव भएको जनाउँदै आफू प्रत्येक वर्ष निष्ठापूर्वक व्रत बसी गौरा पूजा गर्ने गरेको बताएकी छन् । गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध स्थापित गर्ने उनले विश्वास व्यक्त गरिन् ।

भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरू निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्दछन् । गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ ।

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

काठमाडौँ । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छन् ।

आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि हात पारेकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिएकी हुन् ।

प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता, सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता भएकी छन् ।

‘द हिडन ट्रेजर’ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका ‘अडिसन’मार्फत २६ जना प्रतिस्पर्धी चयन भएको जनाइएको छ ।

बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दछुः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ताहरूको खोजीसहित आवश्यक अन्य कार्य प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरको छन् ।

‘बेपत्ता पारिएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस’ का सन्दर्भमा आज उहाँले बेपत्ताहरूप्रति सम्मान व्यक्त गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई तत्काल खोजी गरी उहाँहरूको अवस्था सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि बेपत्ता भएकाहरूको कीर्तिमानी योगदानको स्मरण गर्दै अध्यक्ष दाहालले बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत प्रदान गर्न सरकारसँग माग गरे ।

उनले भने “यस अवसरमा विस्तृत शान्ति सम्झौताको दफा ५ को २ को (५) बमोजिम, नेपालको अन्तरिम संविधान–२०६३ को धारा ३३ र संविधानको धारा ३०४ (२) को व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।”

राष्ट्रपति सीसँग ओलीले भने- लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा मेरो आपत्ति छ

काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिडसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे कुरा गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

ओलीले हालै भारत र चीनका विदेशमन्त्रीस्तरीय बैठकबाट गरिएको लिपुलेकबाट व्यापार सम्झौताबारे चीनका राष्ट्रपतिसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार भएको दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको वार्तामा प्रधानमन्त्रीले राष्ट्रपति सी जिनफिङसमक्ष लिपुलेक नेपालको भूभाग भएको विषय चीनले बुझ्नुपर्ने बताएका परराष्ट्र मन्त्रालयका सचिव अमृतवहादुर राईले पुष्टि गरे ।

वार्तामा सहभागी एक नेपाली प्रतिनिधिका अनुसार प्रधानमन्त्रीले ऐतिहासिक दस्तावेजहरु र हाम्रा सन्धि सम्झौताले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको राष्ट्रपतिलाई स्मरण गराएका छन् । उनले देश भूगोल र जनसंख्याले सानो ठूलो भए पनि सार्वभौमिकताको हिसाबले सबै समान हुने बताएका छन् ।

प्रधानमन्त्रीले नेपाललाई जानकारी नदिई र नेपालको सहमति नलिई दुई देशले व्यापार नाका खोल्नेगरी भएको सम्झौताप्रति प्रष्ट शब्दमा आपत्ति जनाएका थिए ।

त्यस्तै भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको उनको भनाइ छ।

भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट रहेको र यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ विश्वास रहेको बताएको राईको भनाइ छ।

राष्ट्रपति सीसँगको भेटवार्ता फलदायी भएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटबारे खुसी व्यक्त गरेका छन्। उनीहरुबीच चीनको तियानजिन अतिथि गृहमा द्वीपक्षीय भेटवार्ता भएको थियो।

शनिबार थियानजिन अतिथि गृहमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।

‘राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाएकोमा र फलदायी द्विपक्षीय वार्ता गर्न पाएकोमा खुसी छु,’ भेटपछि ओलीले एक्समा लेखेका छन्, ‘विभिन्न विषयहरूमा भएको प्रगतिबारे समीक्षा गर्‍यौं र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने सहमति जनायौं।’

उनले आफूलाई ‘एससीओ प्लस सम्मेलन’मा आमन्त्रणा दिएकोमा राष्ट्रपति सीप्रति धन्यवाद व्यक्त समेत गरेका छन्। प्रधानमन्त्री आजै आफ्नो औपचारिक भ्रमणका सिलसिलामा चीन पुगेका थिए ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ सैन्य परेडको अवलोकन गर्ने छन्। त्यस्तै रुसी राष्ट्रपति भ्लादमिर पुटिन लगायतका नेताहरूसँग पनि साइडलाइनमा भेटवार्ता गर्ने छन्।

थाइल्याण्डमा कार्यवाहक प्रधानमन्त्रीको नियुक्ति

थाइल्याण्डको मन्त्रिपरिषद्ले शनिबार उपप्रधानमन्त्री फुमथम वेचायाचाईलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन् । यो निर्णय अदालतको निर्णय पछिको कदम हो ।

प्रधानमन्त्री कार्यालयका मन्त्री चुसक सिरिनिलले विशेष मन्त्रिपरिषद बैठकको दौरान यो नियुक्ति घोषणा गरेका थिए । सो बैठकमा प्रमिन लेर्टसुरीलाई प्रधानमन्त्रीको सचिवालयको प्रमुखको रूपमा नियुक्त गरिएको छ । चुसकले यस अवसरमा मन्त्रिपरिषद्ले संक्रमणकालीन अवधिमा सरकारको कार्यलाई स्थिर राख्नका लागि एक कडा ढाँचा स्वीकृत गरेको जनाएको छ ।

अदालतको निर्णयपछि यो कदम अनिवार्य थियो, जसअनुसार हालको मन्त्रिपरिषद्ले नयाँ प्रशासन गठन नभएसम्म एक कार्यवाहक सरकारको रूपमा कार्य गर्नुपर्नेछ । यस सन्दर्भमा, संसद सचिवालयले ३ सेप्टेम्बरदेखि ५ सेप्टेम्बरसम्म संसद सदस्यलाई बैठकको लागि आह्वान गरेको छ ।

 

गाजाको युद्धमा इजरायलमाथि प्रतिबन्ध लगाउने विषयमा ईयू विभाजित, कूटनीतिक पहल कमजोर हुने सङ्केत

युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख काया कालासले गाजामा जारी द्वन्द्वको सन्दर्भमा इजरायलविरुद्ध प्रतिबन्ध लगाउने विषयमा सदस्य राष्ट्रहरूबीच एकमत नहुँदा तत्काल कुनै ठोस निर्णय लिन सकिने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार सुरु भएको ईयू विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुँदै कालासले पत्रकारहरूसँग भने,“म यस विषयमा अत्यधिक आशावादी छैन। आजको बैठकबाट कुनै निर्णय आउने देखिँदैन।” उनले थप भनेका छन्, “यसले देखाउँछ कि हामी सदस्य राष्ट्रहरूबीच एकमत कायम गर्न सकेका छैनौं ।”

बैठकमा इजरायली प्रविधि स्टार्टअपहरूलाई दिइँदै आएको युरोपेली संघको आर्थिक सहयोग स्थगन गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा उठाइएको छ । तर उक्त प्रस्तावमा आवश्यक समर्थन हालसम्म जुट्न नसकेको जनाइएको छ ।

गाजामा उत्पन्न गम्भीर मानवीय संकटका विषयमा युरोपेली संघले साझा रूपमा प्रभावकारी कदम चाल्न आवश्यक भएको आवाज केही सदस्य राष्ट्रहरूबाट उठ्दै आएको छ । यद्यपि, साझा निर्णयमा पुग्न कठिनाइ भएको देखिएको छ ।

डेनमार्कका विदेश मन्त्री लार्स लोके रस्मुसेनले युरोपेली संघले अब शब्दबाट बाहिर निस्केर व्यवहारिक कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले इजरायलसँगको व्यापारिक सहकार्य स्थगन गर्ने, अतिवादी नेताहरूलाई प्रतिबन्ध लगाउने, र अवैध यहुदी बस्तीबाट हुने वस्तु आयातमा रोक लगाउने जस्ता उपायहरूको समर्थन गरेका छन् ।

इजरायल र गाजाबीचको द्वन्द्वले लाखौं नागरिक प्रभावित भएका छन्। संयुक्त राष्ट्रसंघले गाजामा अकालको अवस्था घोषणा गरिसकेको छ ।

यो युद्ध सन् २०२३ को अक्टोबरमा हमासद्वारा इजरायलमा गरिएका आक्रमणबाट सुरु भएको थियो, जसमा एक हजार २१९ जना (अधिकांश सर्वसाधारण) को ज्यान गएको इजरायली तथ्यांकमा उल्लेख छ । त्यसपछि इजरायलले गाजामाथि व्यापक सैन्य कारबाही सुरु गरेको थियो ।

गाजाको हमास–शासित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा अहिलेसम्म ६३ हजार २५ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन् । संयुक्त राष्ट्रसंघले ती तथ्यांकहरूलाई विश्वसनीय मानेको छ ।

मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्यः अर्थमन्त्री पौडेल

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

एमाले रुपन्देहीको आयोजनामा आज मर्चवारमा आयोजित बृहत् आमसभामा उनले एमाले देशको नेतृत्व गर्नसक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे। “बलियो पार्टीबिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौँ जनता, पूर्वअध्यक्षसहित एमालेमा प्रवेश गर्नुभएको छ”, पौडेलले भने, “यसबाट म निकै खुसी छु ।”

उनले मर्चवारको विकास एमालेबाट सम्भव रहेको उल्लेख गर्दै आगामी दुई÷चार वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न बनाउने प्रतिबद्धता जनाए । उनले मर्चवारमा अस्पताल, क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए।

एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य लीला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले उल्लेखनीय काम गरेर देखाउने प्रतिबद्धता जनाए।

त्यस अवसरमा सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्दन बानियाँले उपप्रधानमन्त्री पौडेलसमक्ष मर्चवार क्षेत्रमा चार लेनको चक्रपथ निर्माण गर्न आग्रह गरे ।

पूर्वअध्यक्ष शुक्लाले मलखाद, कृषि सामग्री र सिँचाइ सुविधा सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा नेताहरूले एमालेमात्र देश विकासको प्रमुख आधार हुनसक्ने निष्कर्ष प्रस्तुत गरेका थिए ।

एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले पनि तराई–मधेसको समृद्धि एमालेकै नेतृत्व सम्भव रहेको बताए । रुपन्देहीको दक्षिणी भेगमा फैलिएको मर्चवारलाई तराईको अन्नभण्डार मानिन्छ । उर्वर भूमि, प्रचुर कृषि सम्भावना र ऐतिहासिक–सांस्कृतिक महत्व बोकेको यो क्षेत्र लामो समयसम्म भने पछाडि पारिएको थियो । डेढ लाख जनसङ्ख्या ओगट्ने मर्चवारमा अहिले पनि धेरै घरमा शौचालय छैनन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता आधारभूत पूर्वाधार न्यून भएकाले यहाँका जनताले कठिन जीवन गुजारिरहेका थिए ।

पछिल्ला केही वर्षयता मर्चवारको मुहार फेरिन थालेको छ । पार्टी प्रवेशमा देखिएको उत्साहलाई उनीहरूले आफ्नो रणनीतिक आधार मानेका छन् । यसका लागि आधारभूत पूर्वाधार निर्माणका लागि ठूलो लगानी आवश्यक पर्छ ।

कृषि आधुनिकीकरणका लागि पर्याप्त सिँचाइ, भण्डारण र बजार व्यवस्थापन गर्नुपर्नेछ । यी चुनौती पार गरेरमात्र एमालेले मर्चवारलाई समृद्ध बनाउने गरी दिएको आश्वासन पूरा गर्न सक्नेछ ।

मर्चवारका जनताले लामो समयसम्मको उपेक्षापछि देखिएको यसप्रकारको पहललाई आशाको किरणका रूपमा लिएका छन् । एमाले नेतृत्वले प्रतिबद्धता पूरा गर्नसकेमा मर्चवार तराई–मधेसको मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै समृद्धिको नक्सामा चम्किनसक्ने सम्भावना बलियो छ ।

महिला पनि नेतृत्व गर्न सक्षम छन् भनी प्रमाणित गर्ने बेला आएको छ: पूर्वराष्ट्रपति

पर्सा । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले महिलाहरू पनि नेतृत्व गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित गर्ने बेला आएको बताएकी छन्।

वीरगन्ज उद्योग वाणिज्य सङ्घले शनिबार वीरगन्जमा आयोजना गरेको बृहत् महिला सम्मेलन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

‘समाजमा महिलाको योगदानलाई अपेक्षित सम्मान अझै प्राप्त भएको छैन,’ उनले भनिन्, ‘त्यसैले अब हामीले महिलाहरू पनि नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तन पूर्ण रूपमा सक्षम छन् भन्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्छ।’

महिला शक्ति केवल परिवर्तनको हिस्सा मात्र नभई सम्पूर्ण समाजको प्रगतिको आधार रहेको बताउँदै उनले परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणसम्म महिलाको योगदान सधैँ अग्रपङ्क्तिमा रहँदै आएको उल्लेख गरिन्। वीरगन्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु भनेको केवल व्यक्तिगत सफलता नभई देशको अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा पनि भएको उनको भनाइ थियो।

महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहनको खाँचो रहेको औँल्याउँदै भण्डारीले महिलाहरू आगामी पुस्तालाई प्रेरणा दिने गरी अघि बढ्नुपर्ने बताइन्। समाजमा अझै विद्यमान लैङ्गिक असमानता, पूर्वाग्रह र अवरोध तोड्नुपर्ने उल्लेख गर्दै उनले यसका लागि महिलाले आफैँ सकारात्मक ढंगले आत्मविश्वासी बन्नु र समाजलाई चुनौती दिँदै परिवर्तनको नेतृत्व लिनुपर्ने धारणा राखिन्।

महिला शक्ति, त्याग र समर्पणलाई संस्थागत रूपमा सम्मान गर्न सके मात्र समानता, दिगो विकास र समृद्ध नेपालको सपना पूरा गर्न सकिने उनको भनाइ थियो।

 

 

 

प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्नेमा अध्यक्ष नेपालको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिएका छन् ।

समाजवादी प्रेस सङ्गठन केन्द्रीय कमिटीको तेस्रो बैठकको आज यहाँ शुभारम्भ गर्दै उनले सङ्घीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रता आवश्यक छ भनेका छन् ।

निरङ्कुुशताविरुद्धका सबै आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गर्दै नेता नेपालले देशको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सञ्चार जगत्ले काम गर्नुपर्ने बताए ।

सङ्गठन प्रमुख प्रकाश ज्वालाले राज्यको मूलप्रवाहमा समाहित नभएका अल्पसङ्ख्यक, सीमान्तकृत वर्ग र समुदायका पक्षमा पनि पत्रकारले कलम चलाउनुपर्ने विचार व्यक्त गरेका छन् ।

त्यस अवसरमा विश्व प्रेस काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष किशोर श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।

अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादकत्व वृद्धि र व्यवसाय प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज नेपाल अलैँची व्यवसायी महासङ्घको विर्तामोडमा आयोजित पाचौँ महाधिवेशनमा उनले अलैँचीको नर्सरीदेखि बजार प्रवद्र्धनसम्म सरकारबाट सहयोग हुने बताए। उनले अलैँचीको उत्पादन र निकासी बढाउन नीतिगत रुपमा प्रदेश सरकारले निर्णय गरी स्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारसँगको सहयोगमा प्रदेश सरकारले ‘उदय’ परियोजना सुरु गरेको बताउँदै भने, “रु ३० लाखदेखि तीन करोडसम्म साना तथा मझौला उद्योगमा लगानी गर्दैछौँ ।”

उनले अलैँची, चिया, बाँस दुग्ध पदार्थलगायतका क्षेत्रमा उत्पादन र बजार बढाएमा कोशी प्रदेश समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने धारणा व्यक्त गरे । उनले चियाको कार्यालय काठमाडौँबाट उत्पादन क्षेत्रमा आउनुपर्ने धारणा व्यक्त गरे ।

संस्थाका अध्यक्ष निर्मला भट्टराईले वार्षिक रु सातदेखि रु १० अर्बको अलैँची निर्यात भइरहेको जानकारी दिँदै भोजपुर र सङ्खुवासभालाई समेटेर अलैँची ‘सुपरजोन’ स्थापना गर्न सरकारसँग आग्रह गरे ।

महाधिवेशनमा १६ जिल्लाका प्रतिनिधि सहभागी छन् । त्यस अवसरमा उत्कृष्ट निर्यातकर्ता, उत्कृष्ट किसान र कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।

 

 

 

प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

थियानजिन चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आईपुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो ।

त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।

 

थाइल्याण्डको शक्ति सङ्कटले सीमाको सुरक्षा प्रभावित नहुने रक्षा मन्त्रालय

थाइल्याण्डको अदालतले प्रधानमन्त्री पाटोङ्गटार्न शिनावत्रलाई पदमुक्त गरेपछि थाइल्याण्डको सरकारको नेतृत्व सङ्कटमा परेको छ । यद्यपि, रक्षा मन्त्रालयले शनिबार यसका बाबजुद कंबोडियासँगको सीमा सुरक्षामा कुनै असर नपर्ने जनाएको छ ।

अदालतको निर्णयपछि थाइल्याण्डमा अस्थायी प्रधानमन्त्री फुम्थाम वेचायाचाई र क्याबिनेट कार्यरत छन् । यद्यपि, नयाँ सरकार गठनको प्रक्रिया चाँडै सुरु हुने आशा गरिएको छ ।

रक्षा मन्त्रालयका उपमन्त्री नाथापोन नाकपानीचले भने,“अस्थायी सरकारको अस्तित्वले थाइल्याण्डको सीमा सुरक्षा कार्यमा कुनै असर पार्ने छैन ।“उनले थपेका छन्,“सेनाले कुनै पनि परिस्थिति सामना गर्न जिम्मेवारी लिइसकेको छ ।”

अदालतको निर्णय

अदालतको निर्णयसँगै, पाटोंगटार्नको क्याबिनेट पनि विघटित गरिएको छ । अब संसदमा नयाँ प्रधानमन्त्रीको चयनको लागि प्रक्रिया अघि बढ्नेछ, तर हालसम्म कुनै स्पष्ट प्रतिस्थापनको नाम सार्वजनिक भएको छैन ।

पाटोङ्गटार्नको पछि प्रधानमन्त्रीको लागि विभिन्न दलहरूले आफ्ना उम्मेदवार प्रस्तुत गरेका छन् । आगामी मतदानमा संसदको बहुमत प्राप्त गर्नका लागि ती दलहरूले रणनीति बनाइरहेका छन् । संविधान अनुसार, केवल सन् २०२३ को निर्वाचनमा प्रधानमन्त्रीको रूपमा चयन भएका उम्मेदवारहरूले मात्र यो पदको लागि योग्य छन् ।

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग भेटवार्ता आजै

थियानजिन, चीन । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन(एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ आइपुगेका छन् ।
राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यहाँ आइपुगेका हुन्। उनलाई थियानजिन विनहाइ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत  कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ,चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए।
आजै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जम्मु–कश्मीरमा आकस्मिक बाढी : कम्तीमा ११ जनाको मृत्यु

भारतको जम्मु र कश्मीर क्षेत्रमा अत्यधिक वर्षा भएको कारण आएको बाढीले कम्तीमा ११ जनाको ज्यान लिइसकेको छ, जसमा चार बालबालिका पनि छन् ।

पछिल्ला दिनहरूमा परेको भारी वर्षाले रामबन र रियासी जिल्लामा बाढीको स्थिति सिर्जना गर्यो, जसमा ५ वर्षका एक बालक अझै बेपत्ता छन् । स्थानीय आपतकालीन अधिकारीका अनुसार शुक्रबार राति बाढी र माटोको धसावले ती क्षेत्रमा ठूलो क्षति पुर्यायो ।

भारतको मौसम विभागका अनुसार जम्मु र उधमपुरमा २४ घण्टामा २९६ मिलिमिटर र ६२९ मिलिमिटर वर्षा भएको छ, जुन विगतका रेकर्डभन्दा धेरै बढी हो ।

बाढी र माटोको धसाव जस्ता घटनाहरू सामान्यतः जुनदेखि सेप्टेम्बरसम्मको वर्षा याममा हुन्छन्, तर विशेषज्ञहरूले जलवायु परिवर्तन र अत्यधिक निर्माण कार्यका कारण यस किसिमका घटनाहरूको जोखिम बढेको चेतावनी दिएका छन् । हिमालय क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्रका जलवायु विशेषज्ञहरूका अनुसार, अत्यधिक वर्षा र हिमालयका ढल्किएका पहाडहरूमा निर्माण कार्यले बाढीको जोखिमलाई थप बढाएको छ ।

अघिल्लो महिना, १४ अगस्तमा चिसोटी गाउँमा बाढीका कारण कम्तीमा ६५ जनाको ज्यान गएको थियो भने ३३ जना अझै बेपत्ता छन् । ५ अगस्तमा उत्तराखण्ड राज्यको धाराली नगरमा पनि बाढी र माटोको धसावले ठूलो क्षति पुर्याएको थियो, जसका कारण ७० जनाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ, यद्यपि यो तथ्यांक पुष्टि गरिएको छैन ।

आत्मनिर्भर अर्थतन्त्रको बलमा अगाडि बढ्नेछौं: भारतीय उद्योग मन्त्री

अमेरिकाले भारतबाट आयात हुने थुप्रै वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने निर्णय गरेपछि भारतका वाणिज्य मन्त्री पियुष गोयलले नयाँ दिल्लीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै भने,“भारत सधैं निष्पक्ष र सम्मानजनक व्यापारमा विश्वास राख्छ । तर हामी कहिल्यै झुक्दैनौं, न त कमजोरी देखाउँछौं ।”

उनका अनुसार भारतले अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाको खोजी गर्दै विश्वव्यापी निर्यात विस्तारमा केन्द्रित हुनेछ ।

उक्त भन्सार शुल्क अमेरिकाले भारतले रुसबाट आयात गर्ने कच्चा तेललाई कारण देखाउँदै लगाएको हो । यो कदमसँगै भारत–अमेरिका व्यापार सम्बन्धमा केही तनाव देखिएको छ ।

भारतले यसअघि नै ती शुल्कहरूलाई ‘अन्यायपूर्ण र अविवेकी’ भन्दै असहमति जनाएको थियो ।

अहिले दुबै मुलुकबीच कृषि र डेरी क्षेत्रको पहुँचबारे भएको व्यापार वार्ता पनि निष्कर्षमा पुग्न सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी उत्पादनलाई भारतीय बजारमा बढी पहुँच दिन चाहन्छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका किसानहरूको हित जोगाउन प्राथमिकता दिएका छन् ।

सन् २०२४ मा अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्य बनेको थियो, जहाँबाट ८७ अर्ब अमेरिकी डलरभन्दा बढीको वस्तु निर्यात गरिएको थियो ।

विश्लेषकहरू यति ठूलो भन्सार शुल्कले खासगरी साना उद्योग र निर्यातकर्तालाई गम्भीर असर पार्न सक्ने बताएका छन् ।

पहिले नै कपडा, गहना र समुद्री उत्पादन निर्यात गर्ने व्यवसायीहरूले अमेरिकी अर्डरहरू रद्द भएको र प्रतिस्पर्धी राष्ट्रहरू जस्तै बंगलादेश तथा भियतनामले त्यसको फाइदा उठाएको बताए।

मन्त्री गोयलले सरकार चाँडै नै सबै क्षेत्रका निर्यातकर्ताहरूलाई सहयोग गर्ने विशेष योजना ल्याउन लागेको जनाएका छन् ।

उनले भने,“म विश्वस्त छु, चालु वर्षमा भारतको निर्यात अघिल्लो वर्षको तुलनामा अझ बढ्नेछ ।”

संयुक्त राज्य अमेरिकामा आधारभूत मूल्यवृद्धि २.९ प्रतिशतले वृद्धि

संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ, जुन चालु वर्षको फागुन महिनापछिको सबैभन्दा उच्च स्तर हो । अमेरिकी आर्थिक विश्लेषण विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस्तो देखिएको हो ।

आधारभूत मूल्यवृद्धि भन्नाले खाद्यान्न र इन्धनजस्ता दैनिक रूपमा उतारचढाव हुने वस्तुहरूलाई हटाएर बाँकी वस्तु तथा सेवाहरूको मूल्यमा आएको परिवर्तनलाई जनाइन्छ । जुन महिनाको तुलनामा यो दर ०.३ प्रतिशतले वृद्धि भएको छ, जुन आर्थिक जानकारहरूको अनुमानसँग मेल खाएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, मूल्यवृद्धिको गति अपेक्षाकृत मन्द देखिएकाले सेप्टेम्बर महिनामा ऋणको ब्याजदर घट्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।

संयुक्त राज्य अमेरिकामा आर्थिक अवस्था आँकलन गर्ने मुख्य सूचकको रूपमा रहेको उपभोग व्यय मूल्य सूचकांक अनुसार, अमेरिकामा बसोबास गर्ने नागरिकहरू वा तिनीहरूका तर्फबाट किनमेल गरिने वस्तु तथा सेवाहरूको मूल्य यही माध्यमबाट मापन गरिन्छ ।

 

रोहितको शतकमा साउथ अस्ट्रेलियामाथि नेपालको जित

काठमाडौं । कप्तान रोहित पौडेलको अविजित शतकतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेलमा जित हाँसिल गरेकोछ ।

शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए । १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि भएको अभ्यास टी-२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग भने पराजित भएको थियो ।

टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो । नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

गौरा पर्वः सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

दोधारा चाँदनी । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् ।

यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीका रुपमा पूजा गरिँदै आएको छ ।

भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । विवाहित नारीहरुले आफ्नो कूल परम्पराअनुसार पुरुषहरु जस्तै यज्ञोपवितका रुपमा दुवधागो लाउने प्रचलन यस क्षेत्रमा रहेको छ । पहिलो चोटी उक्त दुवधागो लगाउनका लागि उजेली गौरा परेको पर्व सर्वप्रथम पुत्रदा एकादशीको ब्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने यहाँका जानकारहरु बताउँछन् ।

लोक साहित्यका जानकार कविराज भट्टले पुत्रदा एकादशीको ब्रत बसिसकेकी विवाहित महिलाले भाद्र महिनाको बिरुडा पञ्चमीका दिन ब्रत बसेर बिरुडा भिजाएपछि गौरा पर्व विधिवत रुपमा सुरु हुने बताँउछन् । उनका अनुसार उक्त अवसरमा माङ्गल गीत ९सगुन, फाग० सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौंतिलले सजाएर राख्ने प्रचलन छ । पाँच अन्न बिरुडा (मास, गहत, गहू, कलौं, गुरुस) तामाको ताउलीमा हाली सुगन फाग गायनसँगै भजाउने गरिन्छ ।

“पञ्चमीको दिन भिजाएका बिरुडा दोस्रो दिन सगुन, फाग गायनसँगै महिलाहरुले पानीको मुहानमा लगेर पाँच पल्ट धुने गर्छन”, भट्टले भने, “धारामा साँवाधानको गौराको सानो मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, दुप, दीप, फल आदिले पूजा गरी पुनःफाग गायनसँगै बिरुडा भिजाएकै स्थान घरमा आउँछन् ।” सप्तमीको दिन चेलीबेटीहरुले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाएर गौरा घरमा ल्याउने चलन छ ।

“गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ एउटा काठको पिर्कोमा पहेलो कपडा बनाएर महेश्वर स्थापना गर्ने गरिन्छ”, उनले भने, “साँझपख ब्रतालु महिलाहरु गोराघरमा जम्मा भइ ब्रहमण बोलाइ गोरामा अभिशेष गरी पञ्चपूर्वाङ्गसहित गौरामहेश्वरको पूजाआजा गर्दछन ।” सप्तमीको दिन धागोमा विशेष किसिमका सात गाँठा भएको धागोलाई गौरामा चढाइ अभिशेष गरेपछि महिलाले घाँटीमा धारणा गर्ने गर्दछन् ।

दुर्वाष्ठमीको दिन गौराको महत्वपूर्ण दिन हो । यसलाई अठ्यावाली भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरालाई गौरा हुँदै आइरहेको आँगनमा लगेर राख्छन् । सबै महिलाहरु जम्मा भइ अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा गर्ने यहाँका जानकार आचार्य सरस्वती अवस्थी बताउँछन् । अठ्यावालीकै बीचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ ।

“अठ्यावाली पूरा भएपछि फलफट्काउने काम गरिन्छ । दुई जना पुरुषहरुले च्यादरमा गौरामा चढाएका फलफूल तथा बिरुडालाई आकाशतिर पूर्व, पश्चिम, उत्तर दक्षिण र आकाशतिर फाल्ने गरिन्छ ।” उनले भने, “आकाशमा फालिएका बिरुडा प्रसादलाई ब्रतालु महिला तथा उपस्थित सबैले देवीको प्रसादका रुपमा आकाशबाटै ग्रहण गर्ने गर्छन् ।” उनले महिलाले आफ्ना पतिलगायत घरका सबै सदस्यहरुको बिरुडाले टाउँको पूज्ने र आर्शीवचन दिने चलन छ । “हामी गौराको प्रसाद दिएर आफूभन्दा साना ठूला सबैलाई आशिर्वाद दिन्छौँ”, उनले भनेका छन्, “गौरा पर्व नारीप्रधान पर्व हो यो पर्वमा हामी नारीलाई धेरै अधिकार दिएको छ ।”

अठ्यावालीपछिका दिनमा भने यहाँका देवालयमा महिला तथा पुरुषको खेल सुरु हुन्छ । पुरुषले ढोलक र मिजुराका स्थानीय देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुष्को, धमारी, ठाडोखेल, चैत आदि प्रस्तुत गर्छन् । कतिपय स्थानमा महिला पुरुषका दोहोरी देउडा हुने गरेका छन् । तीन÷चार दिन खेल चलेपछि उपयुक्त साइत हेरी गौरा विसर्जन गरिन्छ ।

गौरा पर्व यस क्षेत्रको मौलिक पहिचान बोकेको पर्व मात्रै नभएर नारी सम्मानको पर्व भएको लोकसाहित्यका जानकार रमेश पन्त मीतबन्धु बताउँछन् । “गौरा पर्वको अवसरमा घरपरिवारका सबै सदस्यका लागि एकजोर नयाँ लुगा किन्ने परम्परा छ”, उनले भने, “घरबाहिर रहेका मानिसहरु पनि गौराको बिरुडा प्रसाद ग्रहण गर्नका लागि घर फर्किने, चेलीबेटी तथा इष्टमित्रहरुलाई घरमा बोलाउने रमाइलो गर्ने चलन छ ।” उनले गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बाकेको पर्व रहेको बताएका छन् ।

संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्छः मुख्यमन्त्री पाण्डे

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्नेमा जोड दिएका छन् ।

नेवाः देय् दबु गण्डकी प्रदेश समितिको आयोजनामा आजदेखि तनहुँको भिमाद नगरपालिका–६ भीमाद रङ्गशालामा सुरु प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धर्म, संस्कृति जोगाउनु सबैको दायित्व भएको उल्लेख गरे ।

गण्डकी प्रदेश संस्कृतिमा धनी रहेको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले भाषा, कला, संस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री पाण्डेले लाखे नाच प्रतियोगिताले यसको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

पछिल्लो समय मौलिक संस्कृति लोप हुँदै गएकाले संस्कृति जगेर्नाका लागि लाखे नाच प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष मथुराकृष्ण श्रेष्ठले जानकारी दिए। उनले भने, “संस्कृति संरक्षण गर्दै भावी पुस्तालाई यसको हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको छ । अहिलेका पुस्ताले मौलिक संस्कृतिप्रति चासो नदेखाउँदा लोप हुन सक्छ ।”

प्रतियोगितामा गण्डकी प्रदेशका नौ जिल्लाबाट सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख एक हजार एक सय ११, द्वितीय हुनेलाई रु ६१ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

लाखे नाच नेवार समुदायको परम्परा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, “विगतमा लाखे नचाउँदा छुट्टै उत्साह हुन्थ्यो, अहिले यो प्रचलन क्रमशः घट्दै जान थालेको छ । यसको संरक्षणका लागि प्रयास गरेका हौँ ।”

अफगानिस्तानको नङ्गरहारमा आकस्मिक बाढीका कारण ५ जनाको मृत्यु, ८ घाइते

अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा आएको भारी वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

सरकारी समाचार संस्था बख्तरका अनुसार शुक्रबार नङ्गरहारको रोटाट, हास्का मिना र चपरहार जिल्लामा बाढीको स्थिति उत्पन्न भएको हो ।

नंगरहारका सूचना तथा संस्कृति विभागका प्रमुख मौलवी सदीकुल्लाह कुरैशीले बाढीका कारण हजारौं एकड खेतीयोग्य जमिन बगाएको बताएका छन् । “साथै, कयौँ सडक तथा सिँचाइ नहरहरूमा गम्भीर क्षति पुगेको छ ।”

यसअघि पनि केही साताअघि मात्र अफगानिस्तानका पूर्वी प्रान्त लोगर र परवानमा यस्तै प्रकारका बाढीका कारण जनधनको ठूलो क्षति भएको थियो ।

 

 बोली-व्यवहार नरम बनाउनुस् : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगर प्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई अनुरोध गरे।
प्रमुख शाहले भने, “महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।”
उपप्रमुख सुनिता डङ्गोलले व्यक्ति विशेष नभई जनता र संस्थाको हितमा काम गर्न महानगर प्रहरी बललाई निर्देशन दिए । उनले भने, “नागरिकको सुखदुःख, जात्रा, पर्वमा सधैँ जनतासँगै हुने महानगर प्रहरीले संस्थाको असल प्रतिनिधिका रुपमा काम गर्नुपर्छ ।”
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरी र महानगर प्रहरी बलको सहकार्यमा अनधिकृत संरचना, अवरोध र सडकपेटीको अतिक्रमण हटाउने काम नतिजामुखी ढङ्गबाट भइरहेको बताए।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउने, विपद्  र सवारी व्यवस्थापन गर्दै आएको बताए।
महानगर प्रहरी बलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण,  सडकमा छाडिएका चौपाया, अव्यवस्थित घरटहरा हटाउने तथा विपद् र ढलनिकास व्यवस्थापन, बजार अनुगमन गर्दै आएको छ । महानगर प्रहरीले स्थापना दिवसका अवसरमा स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रको सरसफाइका साथै महानगरपालिकाभित्रका विभिन्न स्थानमा वृक्षरोपणसमेत गरेको थियो ।
विसं २०५० भदौ १४ गते स्थापना भएको महानगर प्रहरी बलान हाल ३६२ जना कार्यरत छन् । प्रहरी बलले गत वर्ष नियम उल्लङ्घन गरेका २० हजार ७३४ सवारीसाधन धनी र तोकिएका स्थानबाहेक अन्यत्र फोहर फाल्ने ३९७ जनालाई कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट महानगरलाई रु तीन करोड ५६ लाख प्राप्त भएको छ ।
त्यसअवसरमा यस वर्षको ‘महानगर प्रहरी गौरव’ पुरस्कार नगरप्रहरी वरिष्ठ निरीक्षक लक्ष्मी  महर्जनलाई प्रदान गरिएको थियो भने ‘उत्कृष्ट महानगर प्रहरी पुरस्कार’ हवल्दार बालकृष्ण कार्कीलाई र ‘महानगर प्रहरी पुरस्कार’ हवल्दारद्वय विजय तामाङ र मणिराम खनाल हवल्दार तथा प्रहरी जवान फिलिपी सारु मगरलाई प्रदान गरिएको थियो ।

इजरायली सेनाद्वारा गाजासिटीमा प्रारम्भिक सैन्य कारबाही सुरु, सहरलाई ‘उच्च जोखिमयुक्त युद्ध क्षेत्र’ घोषणा

इजरायली सेनाले गाजासिटीमा प्रारम्भिक चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ । सेनाका प्रवक्ता अवीखाय अद्राईले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजासिटीको छेउछाउमा तीव्र रूपमा कारबाही भइरहेको बताए ।

उनका अनुसार, इजरायलले आफ्ना बन्धकहरूको सुरक्षाका लागि र हमास समूहको संरचना पूर्ण रूपमा हटाउने उद्देश्यले कारबाहीलाई अझ सशक्त बनाउने तयारी गरेको छ ।

त्यसै दिन इजरायली रक्षा बलले एक विज्ञप्ति जारी गर्दै, गाजासिटीमा लागु हुँदै आएको दैनिक १० घण्टे मानवीय विराम स्थगन गरिएको जानकारी गराएको छ । अबदेखि उक्त सहरलाई ‘उच्च जोखिमयुक्त युद्ध क्षेत्र’ को रूपमा घोषणा गरिएको छ ।

यो मानवीय विराम जुलाई २७ गतेदेखि बिहान १० बजेदेखि साँझ ८ बजेसम्म लागू हुँदै आएको थियो, जसको समन्वय संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूले गरेका थिए । यस अवधिमा गाजासिटी, अल मावासी र देइर अल बलाह क्षेत्रमा राहत सामग्री तथा अन्य सहयोग पु¥याउने कार्य सहज रूपमा सञ्चालन हुँदै आएको थियो ।

हाल इजरायली सेनाले गाजासिटीलाई घेरेर केही सातादेखि हवाई आक्रमण र तोपखाना प्रहार जारी राखेको छ । अन्तर्राष्ट्रिय समुदायबाट चासो व्यक्त भइरहे पनि इजरायली सेनाले सहरमा नियन्त्रण स्थापनाका लागि तयारी अघि बढाइरहेको स्पष्ट पारेको छ ।

 

व्यवसायिक पत्रकारिता गर्नुपर्नेमा नेता राणाको जोड

पाटन । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका छन् । साथै उनले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले ‘डिजिटल मिडिया’मार्फत समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि थपिएकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिएका हुन् ।

“पत्रकारितामा धेरै सम्भावना र चुनौती छन् । मूलधारका मिडिया पक्षपाती भइरहेका अवस्थामा स्वरोजगारमूलक मिडियाले परिपूरण गर्नुपर्ने अवस्था छ”, उनले भने ।

त्यसअवसरमा वाग्मती प्रदेशसभा सदस्य उर्मिला लामा ,न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले व्यावसायिक पत्रकारितामा जोड दिएका छन् ।

खोक्सिकका विपन्न दलितलाई घर

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका छ विपन्न दलित परिवारले नयाँ घर पाएका छन् । जनता आवास कार्यक्रममार्फत आर्थिक अवस्था कमजोर भएका उनीहरुलाई घर दिइएको हो ।

राज्यले निःशुल्क घर बनाइदिएपछि दैनिकी फेरिएको लाभग्राही तीर्थादेवी कामीले बताएकी छिन् । “गरिबीका कारण घर बनाउन सकेका थिएनौँ”, उनले भने, “राज्यकोतर्फबाट नयाँ घर पाउँदा खुसी छु । हाम्रो पुस्तौँदेखिको पीडा अन्त्य भएको छ ।”

सहरी विकास तथा भवन डिभिजन कार्यालय, धनकुटाबाट आएको बजेटमार्फत घर निर्माण गरिएको वडाले जनाएको छ । वडाध्यक्ष वाचकुमार राईका अनुसार प्रत्येक घर निर्माणमा रु तीन लाख ३६ हजार खँर्च भएको छ । घर निर्माणले विपन्न परिवारलाई सुरक्षित आवास र सहज जीवनयापनमा ठूलो टेवा पुगेको उनले बताएका छन् ।

विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा गोर्खा ग्यालरी

गुल्मी । विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा सत्यवती गाउँपालिका–८ को लाहुरे गाउँमा गोर्खा ग्यालरी स्थापना गरिएको छ । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका हुन् । ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर समेटेर ग्यालरी स्थापना गरिएको हो ।

ग्यालरी पछिल्लो समय अनुसन्धानकर्ताका लागि अध्ययन केन्द्रको रुपमा विकसित हुन थालेको छ । लाहुरेहरुको इतिहासलाई जीवन्त राख्नका लागि ग्यालरी निर्माण गरिएको बुढाथोकीको भनाइ छ ।

भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरुको इतिहासलाई जीवन्त राख्न उहाँहरुका तस्बिर राखेर भूपु गोर्खा ग्यालरी र भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अग्रजलाई समेटेर भार्से ग्यालरी निर्माण गरिएको हो । यसले भार्से पुग्ने जोकोहीका लागि पनि सिङ्गो इतिहासलाई नजिकबाट नियाल्न महत्वपूर्ण सहयोग पु¥याउने भार्सेका सामाजिक अगुवा नरबहादुर बूढाथोकीले बताए ।

भार्सेबाट प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जना रहेको लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीले बताए । भूपु गोर्खा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको छ । जसमा कम उमेर र नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बूढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बूढाथोकीको तस्बिर राखिएको भार्सेका अगुवा नरबहादुर बूढाथोकीले जानकारी दिएका हुन्।

गिरीप्रसाद र श्रीप्रसाद बूढाथोकी बाबुछोरा नै नेपालका पूर्वमन्त्रीहरु हुन् । उनीहरु बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लडेका थिए । लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीका बुवा मोतीबहादुर बूढाथोकी पनि विश्वयुद्ध लडेका थिए । भार्से जन्मिएका लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकी अहिल हङकङमा बस्ँदै आएका छन् ।

बूढाथोकीले ग्यालरीका लागि करिब रु ५७ लाख लगानी गरेका छन् । “स्वदेश तथा विदेशमा भार्सेलीको गर्विलो इतिहासलाई जोगाउने प्रयत्न मात्र गरेको हुँ”, उनले बताए।

भार्से ग्यालरीमा भार्सेली भारतीय, बिर्टिस, नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीसहित ६८४ जनामध्ये अहिले ४०० जनाको तस्बिर राखिएको छ । पछिल्लो समयमा सडक यातायातको सहज पहुँचका कारण भार्से यतिबेला आन्तरिक तथा बाह्य पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै जान थालेको छ ।

उखु किसानले भाद्र २५ गते देखि अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने

काठमाडौँ । काठमाडौँमा आन्दोलनरत उखु किसानले सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । शनिवार माइतीघरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन् ।

“हामीले एक हप्ता काठमाडौँमा आएर आन्दोलन गर्दासमेत सरकारले ध्यान दिएको छैन । झरीमा भिजेर आन्दोलन गर्दा केही किसान बिरामीसमेत परे । त्यसैले हामी अब राजमार्ग केन्द्रित आन्दोलनमा होमिएका हौँ । हामीले अनुदान चन्दा माग्न आएका हैनौँ । हामीले उत्पादन गरेको उखुबाट बनेको चिनीबाट पनि हामीले कर तिरेका हौँ ।”आन्दोलनका संयोजक श्यामबाबु रायले बताए ।

उखु उत्पादक महासङ्घ, नेपालको अगुवाइमा पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत नेपाल सरकारले उखु किसानलाई दिनु पर्ने अनुदान रकममा बदनियत पूर्ण ढङ्गबाट कटौती गरेको भन्दै विरोधमा उत्रिएका थिए ।

उनीहरूले उखुको मूल्य तोक्दा उखु किसानको सहभागिता सुनिश्चित गर्नका लागी १३ जिल्ला उखु किसानहरूको भाद्र ८ गतेबाट काठमाडौँको माइतीघर मण्डलामा ७ दिन देखि धर्ना एवं विरोध प्रदर्शन गरिरहँदा पनि सरकारले चासो नदिएको गुनासो गरेका छन् ।

भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत

अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो ।

हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भए पनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम रहने जनाएको छ । यसले ट्रम्पलाई सर्वोच्च अदालतमा अपिल गर्ने समय दिएको छ ।

सन् २०२५ को जनवरीमा दोहोरिएको राष्ट्रपतिको कार्यकाल सुरु गरेपछि ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन (आइइपीए) को प्रयोग गर्दै अधिकांश व्यापारिक साझेदारहरूमाथि पारस्परिक भन्सार शुल्क लगाएका थिए । ती शुल्कको प्रारम्भिक दर १० प्रतिशत थियो भने केही मुलुकहरूमा अझ बढी दर तोकिएको थियो ।

मेक्सिको, क्यानडा र चीनमाथि उनले लागूपदार्थको ओसारपसार नियन्त्रण गर्न भन्दै छुट्टै शुल्कसमेत लगाएका थिए । तर अदालतको निर्णयमा भनिएको छ,“राष्ट्रपतिलाई आपतकालीन अवस्था घोषणा गरेपछि विभिन्न कदम चाल्ने अधिकार छ, तर त्यो अधिकारले भन्सार शुल्क वा कर लगाउने विषयलाई समेट्दैन ।”

यस फैसलाले ट्रम्पको व्यापार तथा आर्थिक नीतिमा गम्भीर असर पार्ने देखिएको छ । यदि सर्वोच्च अदालतले पनि यस्ता शुल्कहरूलाई अवैध ठहर गरेमा, विगत केही वर्षमा उठाइएको अर्बौं डलर सरकारलाई फिर्ता गर्नुपर्ने अवस्था आउन सक्छ ।

फैसलापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मा प्रतिक्रिया दिँदै भने,“अदालतले गलत फैसला गरेको छ, तर अन्ततः अमेरिकाले जित्नेछ ।” उनले सर्वोच्च अदालतमा मुद्दा लड्ने चेतावनी दिएका छन् ।

विश्लेषकहरूका अनुसार यस निर्णयले युरोपेली सङ्घलगायतका प्रमुख व्यापारिक साझेदारहरूसँग भएका सम्झौतामा समेत अन्योलता सिर्जना गरेको छ ।

चिलिमे विद्युत् केन्द्र बन्द

रसुवा । राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ ।

कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो ।

चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौँबाट रसुवाका निम्ति प्राविधिकहरु प्रस्थान गरिसकेका छन् ।

वर्षाले नौ राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले नौ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।

बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी– दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट, डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।

यसैगरी, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएका छन् ।

नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडकखण्ड एकतर्फी सञ्चालन भएका केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बाजुराको तलगाउँ पहिरोको जोखिममा

बाजुरा । लगातारको अविरल वर्षाका कारण पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको छ । पहिरोका कारण बडीमालिका नगरपालिका–७ जिल्लीको तलगाउँ उच्च जोखिममा रहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज उपाध्यायले बताए ।

यही भदौ ६ गते आएको वर्षाका कारण तलगाउँको तलपट्टीबाट पहिरो गएपछि गाउँका २० घर उच्च जोखिममा परेको उहाँको भनाइ छ । “पहिरोका कारण २० घरमध्ये आठ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ”, उनले बताए ।

शुक्रबार वडाध्यक्ष उपाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीले २० परिवार जोखिममा रहेको र आठ परिवार स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको अनुगमन टोली सदस्य तथा वडा सदस्य पार्वती जोशीले बताएकी छिन् । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराका अनुसार जिल्लामा ५३ बढी बस्ती पहिरोको उच्च जोखिममा छन् ।

काठमाडौँ महानगरले मनायो ३३ औँ महानगर प्रहरी दिवस (फोटो फिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३३ औँ महानगर प्रहरी दिवस मनाएको छ ।

कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख बालेन साहसहित उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहेको  महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

 

दिवसको उपलक्ष्यमा आर्थिक वर्ष ०८१/८२ मा राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरूलाई महानगर प्रहरी गौरव पुरस्कार, उत्कृष्ट महानगर प्रहरी पुरस्कार, महानगर प्रहरी पुरस्कार, ग्रेड वृद्धि लगायतका पुरस्कार प्रदान गरिएको छ ।

काठमाडौँ महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनु अघि २०५० साल भाद्र १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो ।

हरित ऊर्जा प्रवद्र्धनका लागि मलेसियाको ऐतिहासिक निर्णय

मलेसिया सरकारद्वारा नवीकरणीय ऊर्जा प्रवाहका लागि विद्युत् सञ्जालको प्रयोगबापत लाग्ने शुल्कमा ४० प्रतिशतसम्मको कटौती गरिएको छ । ऊर्जा रूपान्तरण तथा पानी मन्त्रालयले यो निर्णय दुईवटा विशेष योजनाअन्तर्गत लागू गरेको हो ।

शुक्रबार प्रकाशित विज्ञप्तिमा मन्त्रालयले जानकारी गराए अनुसार, चालु वर्षको अगस्त १ गतेदेखि लागू भएको नयाँ विद्युत् दर संरचना अनुसार, प्रणाली पहुँच शुल्क तथा सामुदायिक पहुँच शुल्कमा पुनरावलोकन गरि समायोजन गरिएको छ । यस समायोजनमार्फत शुल्क गणनामा पारदर्शिता कायम गर्दै उपभोक्तामाथि दोहोरो भार नपर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

सामुदायिक नवीकरणीय ऊर्जा समूह संयन्त्र अन्तर्गत लाग्ने पहुँच शुल्क पहिलेको १५ साना इकाइबाट घटाएर ९ साना इकाइ निर्धारण गरिएको छ । त्यसैगरी, कर्पोरेट नवीकरणीय ऊर्जा आपूर्ति योजनाअन्तर्गत, पक्का आपूर्तिका लागि प्रणाली पहुँच शुल्क २५ साना इकाइबाट घटाएर २० साना इकाइ तथा अपक्का आपूर्तिका लागि ४५ साना इकाइबाट घटाएर ४० साना इकाइ कायम गरिएको छ ।

मन्त्रालयले सो निर्णयले देशभित्र हरित ऊर्जा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ, साथै निजी तथा संस्थागत लगानीकर्ताहरूलाई आकर्षित गर्ने र दीगो ऊर्जा लक्ष्य प्राप्तिमा सहयोगी हुनेछ ।

पूर्वराष्ट्रपति भण्डारीलाई मधेसमा ५१ केजीको मालाले स्वागत

काठमाडौँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा ५१ केजी फूलको मालाले स्वागत गरेका छन् ।

उद्योग वाणिज्य संघले आयोजना गरेको बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी वीरगंज पुगेकी हुन् । जहाँ पार्टीको निर्देशनविपरित एमालेका कार्यकर्ताहरूले शनिबार सिमरा विमानस्थलमा ५१ केजीको माला लगाएर पूर्वराष्ट्रपति भण्डारीको स्वागत गरेका हुन् ।

उनको स्वागतका लागि एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेशका सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य जय प्रकाश थारु, जितपुर सिमरा उप मेयर भोला अधिकारी, जितपुर सिमरा अध्यक्ष त्रिलोक शाह, र विरगंज महानगर अध्यक्ष नवराज शर्मालगायतका नेताहरु सिमरा पुगेका छन् ।

भण्डारीले बीआइसीसीआई बृहत महिला सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

तल्लो अरुण जलविद्युत् परियोजनाको अनुमतिपत्र जारी गर्न अख्तियारी

काठमाडौँ । लगानी बोर्डको ६६औँ बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना अनुमतिपत्रको मस्यौदा स्वीकृत गर्दै उक्त परियोजनाको अनुमतिपत्र जारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको बैठकले उक्त निर्णय गरेको लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले सङ्खुवासभामा निर्माणाधिन अरुण–३ जलविद्युत् परियोजनाको प्रत्यक्ष लगानीसम्बन्धी मस्यौदा स्वीकृत गरी आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले लगानी बोर्डको कार्यालयमा आह्वान नगरिएको प्रस्तावका रुपमा प्राप्त ‘अटो सर्भिस इको(इन्डष्ट्रियल पार्क’ परियोजनाको सम्बन्धमा प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

शुक्रबारको बैठकबाट लगानी बोर्डको कार्यालयका लागि चालू आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न सेवा, समूह तथा श्रेणीका विभिन्न पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रयोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

भैरहवा (रुपन्देही) । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहेका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

परम्परागत रूपमा आज साँझ ५ः०० बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए । सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

उद्योग-व्यवसाय वातावरणमैत्री बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालका उद्योग–व्यवसायहरूले अहिले अनेकौं चुनौतीको सामना गरिरहेको बताएका छन् । नेपाल इट्टा उद्योग महासंघको १७औँ साधारणसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक स्थिति अस्थिर हुँदा लगानीमा जोखिम बढेको र त्यसको समाधान छलफल तथा बहसमार्फत खोज्नुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार जलवायु परिवर्तन थप चुनौतीका रूपमा देखिएको छ, जसका कारण उद्योगीहरूले उत्पादनमा अवरोध भोगिरहेका छन् । यस्तो परिस्थितिमा गुणस्तर कायम राख्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्नु अपरिहार्य रहेको उनको भनाइ छ ।


नेपाल–चीनबीचको व्यापार र औद्योगिक सहकार्य महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले उद्योगहरूले गुणस्तरको प्रमाणपत्र प्राप्त गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री भण्डारीले उद्योग व्यवसायीलाई कानुनको पालना गर्दै वातावरणमैत्री ढङ्गले उद्योग सञ्चालन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए । कानुन विपरीत क्रियाकलाप सञ्चालन गर्ने उद्योगीको अनुमतिपत्र खारेज गर्ने बताउँदै उनले मापदण्ड विपरीत सञ्चालन भइरहेका उद्योगका कारण वातावरणमा परेको नकारात्मक असरलाई सरकारले अब हेरेर नबस्ने स्पष्ट पारे ।

“यदि उद्योग व्यवसायीले नियम पालना गरेन भने वातावरणीय समस्या उत्पन्न हुन्छ र वातावरण, खेतीपाती तथा उत्पादनलाई हानि पुर्याउँछ,” मन्त्री भण्डारीले भने, “त्यसैले सरकारले कडाइका साथ अनुगमन गरी समस्या समाधान गर्नेछ ।”उनले उद्योगीहरूले भोगिरहेको आर्थिक मन्दीको अवस्थालाई सरकार बुझेको र त्यसमा आवश्यक सहुलियत प्रदान गर्न छलफल तथा समन्वय गर्न तयार रहेको बताए । उद्योगीका समस्या, मुनाफामा देखिएको संकट लगायतका विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।

इट्टा उद्योग प्राथमिकतामा राख्नुपर्ने भन्दै मन्त्री भण्डारीले घर, भवन तथा निर्माणका सबै क्रियाकलाप इट्टामै आधारित हुने भएकाले इट्टा व्यवसायीको साथमै सरकार रहेको उल्लेख गरे । उद्योगहरू प्रविधियुक्त, गुणस्तरीय र जलवायु परिवर्तनको असर कम गर्ने ढङ्गबाट सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।

महासंघका अध्यक्ष शंकर बहादुर चन्दले मन्त्री भण्डारीलाई उद्योगीमैत्री नेता भन्दै प्रशंसा गरे । उनले उद्योगीका मागलाई सहजै सुन्ने, सम्बोधन गर्ने र प्रमुख समस्या समाधान गर्ने मन्त्री भण्डारीको भूमिकाप्रति आभार प्रकट गरे ।