`

उखु किसानको माग सम्बोधन गर्न सांसद एनपी साउदको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एनपी साउदले राष्ट्रिय हित अनुकूल हुने गरी चिनीको आपूर्ति सन्तुलनका लागि सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिनिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले उद्योगी र किसानको हितलाई दृष्टिगत गर्दै चिनीको आपूर्ति सन्तुलनका लागि राष्ट्रिय हितअनुकुल हुने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अबलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

साउदले सरकारबाट प्रदान गरिने अनुदान रकम कटौती र बक्यौता रकमसमेत नपाउँदा किसानहरू फेरि माइतीघरमा धर्ना दिन बाध्य भएका स्मरण गराउँदै वर्तमानस्थिति नेपालको कृषि निर्भर अर्थतन्त्र र उखुको उत्पादन चक्रका लागि चिन्ताजनक भएको बताए।

उनले उखु किसानहरूले विगतमा पाउँदै आएको उत्पादनमा आधारित कृषि अनुदान प्रति क्विन्टल ७० रुपैयाँ पुनः उपलब्ध गराउन र बक्यौता रकम भुक्तानी गर्न पनि सरकारसँग माग गरे ।

२०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आइरहेका उखु किसानहरू हरेक पटक आन्दोलनमा सरकारबाट समस्या समाधानको आश्वासन पाएपछि गाउँ फर्किने गरे पनि समस्या समाधान हुन नसकेको उनको भनाइ थियो ।

 

ड्रोन खँर्च तेब्बर गर्ने जापानको योजना

जापानको रक्षा मन्त्रालयले शुक्रबार गरिएको अर्को रेकर्ड खँर्चको अनुरोध अन्तर्गत आफ्नो ड्रोन शस्त्रागारलाई ठूलो मात्रामा बढाउने लक्ष्य सार्वजनिक गरेको छ । यो कदम ‘गम्भीर रूपमा बढ्दो सुरक्षा वातावरण’ का चुनौतीहरूलाई सामना गर्न उठाइएको हो ।

हालैका वर्षहरूमा जापानले आफ्नो कडा शान्तिवादी नीति छाड्दै ‘काउन्टरस्ट्राइक’ क्षमता विकास गर्ने र सैन्य खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को दुई प्रतिशतमा पुर्‍याउने प्रयास गर्दै आएको छ ।

अप्रिल १ देखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ८८ खर्ब येन (करिब ५९ अर्ब ९० करोड अमेरिकी डलर) को बजेट अनुरोध गरेको छ । यो रकम सन् २०२६ मार्चमा समाप्त हुने चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको अघिल्लो रेकर्ड ८७ खर्ब येनभन्दा बढी हो ।

दोस्रो विश्वयुद्धको अन्त्य र हिरोसिमा–नागासाकीमा परमाणु बम विस्फोट भएको ८० वर्षपछि पनि जापानको संविधानले अझै आफ्नो सैन्य शक्तिलाई रक्षात्मक सीमाभित्र राखेको छ ।

तर यो नयाँ बजेट वृद्धिले जापान वरिपरिको बढ्दो सुरक्षा चुनौतीलाई प्रतिबिम्बित गरेको रक्षा मन्त्रालयका एक अधिकारीले टोकियोमा पत्रकारहरूसँग बताएका छन् ।

– ड्रोन खँर्चमा तीन गुणा वृद्धि –

बजेट अनुरोधअनुसार विभिन्न प्रकारका मानव रहित सवारी साधन (ड्रोन)मा करिब तीन गुणा खँर्च गरेर तीन खर्ब १३ अर्ब येन विनियोजन गर्ने योजना छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणपछि ड्रोनको विनाशकारी क्षमता र आधुनिक युद्धमा यसको बढ्दो प्रयोगलाई विश्वभर गम्भीर रूपमा हेरिएको छ ।

यसै क्रममा, जापानले ‘शील्ड’ भनिने तटीय रक्षा प्रणालीलाई बलियो बनाउन ड्रोन प्रयोग गर्ने योजना अघि सारेको छ । लामो दूरीका ‘स्ट्यान्डअफ’ मिसाइलहरूलाई शत्रु सेनाले बाइपास गरे पनि शील्ड(सिङ्क्रोनाइज्ड, हाइब्रिड, इन्टिग्रेटेड र एन्हान्स्ड लिटोरल डिफेन्स) प्रणालीले आक्रमणलाई तटीय क्षेत्रमा नै रोक्ने अपेक्षा गरिएको छ । यो प्रणाली सन् २०२८ मार्चसम्म पूरा गर्ने लक्ष्य राखिएको छ, तर कुन तटरेखामा तैनाथ गर्ने भन्नेबारे विवरण अझै खुलाइएको छैन ।

“सेनाको लडाइँ शैलीमा ठूला परिवर्तन ल्याउन आवश्यक छ”, रक्षा मन्त्रालयका एक अधिकारीले भने ।

यस महिनाको इस्तानबुल भ्रमणका क्रममा रक्षामन्त्री जनरल नाकातानीले टर्कीको ड्रोन खरिद सम्भावनाबारे अनुसन्धान गर्ने सहमति गर्नुभएको जापानी मिडियाले जनाएको छ ।

– अमेरिकाको दबाब र अन्तर्राष्ट्रिय सहकार्य –

जापानमा करिब ५४ हजार अमेरिकी सैनिक तैनाथ छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पनि टोकियोलाई आफ्नो रक्षा क्षमता अझै बढाउन दबाब दिइरहेको छ ।

वासिङ्टन र टोकियो दुवै ताइवानमा सम्भावित चिनियाँ आक्रमण जस्ता खतरालाई ध्यानमा राख्दै आफ्नो सेनालाई थप गतिशील बनाउन प्रयासरत छन् ।

जापानले हतियार निर्यात बढाउन पनि खोजिरहेको छ । यसै महिना मात्र, उसले अस्ट्रेलियाली नौसेनाका लागि ११ वटा फ्रिगेट आपूर्ति गर्ने छ अर्ब अमेरिकी डलरको अर्डर पाएको छ ।

– समग्र बजेट –

रक्षा मन्त्रालयको बजेट अनुरोध अब वित्त मन्त्रालयमा पेश गरिनेछ । केन्द्र सरकारले आउँदो महिनामा एक विस्तृत बजेट प्रस्ताव सार्वजनिक गर्ने अपेक्षा गरिएको छ, जुन रेकर्ड उच्च हुने अनुमान छ ।

दैनिक योमियुरी सिम्बुनका अनुसार, समग्र बजेट अनुरोध १२२ खर्ब येनभन्दा बढी हुने सम्भावना छ । यो चालु वर्षको ११७ खर्ब ६० अर्ब येनभन्दा उल्लेख्य वृद्धि हो ।

तर कुल बजेटको ठूलो भाग वृद्धवृद्धाको हेरचाह र जापानको विशाल ऋण व्यवस्थापनमा खँर्च हुनेछ । यो विकसित अर्थतन्त्रहरूमध्ये आर्थिक उत्पादनको अनुपातमा सबैभन्दा ठूलो ऋण हो ।

नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छः महामन्त्री थापा

पर्सा ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताएका छन् ।
आज यहाँ नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरूसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दै उनले हैजा सङ्क्रमित बिरामीको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न अनुरोध गरे ।
महामन्त्री थापाले भने,“हैजाको उपचार गर्न आउने बिरामीले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ । त्यसका लागि अस्पताल प्रशासनले अत्यावश्यक औषधि, खोप र जनशक्तिको पनि उचित ढङ्गले प्रबन्ध गर्न आवश्यक छ ।”
उनले आफू काठमाडौँ फर्किएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सरोकार भएका निकायसँग समन्वय गरेर अत्यावश्यक औषधि र अन्य सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री थापाले अस्पतालको सरसफाइका विषयमा पनि विशेष चासो दिन आग्रह गरे ।
“म स्वास्थ्यमन्त्री हुँदा पनि देशभरिका अस्पतालमा सरसफाइ मुख्य समस्याका रूपमा रहेको अनुभव गरेको थिएँ । मैले करिब नौ महिना मन्त्री भएर काम गर्दा यो समस्या समाधानको प्रयास गरे पनि सकिन”, उनले भने, “अस्पतालको परिसर र शौचालय मात्रै फोहर देखिने विषय होइन । सरसफाइ जनशक्ति व्यवस्थापनलगायत विविध विषय रैछन् । यो अस्पतालको सुशासन र अन्य बहुआयामिक विषयसँग पनि जोडिएको छ ।”
महामन्त्री थापाले सरकारी र निजी अस्पतालमा उपचारका लागि जाँदाखेरि फरक महसुस गर्ने विषय पनि अस्पतालको सरसफाइ नै रहेको उल्लेख गरे । “प्रायःजसो निजी अस्पताल पनि सरकारी अस्पतालमा नै काम गर्ने जनशक्तिबाट नै सञ्चालन हुने हो, तर निजी र सरकारी अस्पतालबीच सरसफाइमा धेरै फरक छ । त्यसैले यस विषयमा ध्यान दिन जरुरी छ”, उनले भने ।
महामन्त्री थापाले नारायणी अस्पताललाई वीरगञ्ज र आसपासको क्षेत्रको आसा तथा भरोसाको केन्द्रका रूपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले नारायणी अस्पतालको पूर्वाधार निर्माणमा हुने गाँठो फुकाउनका लागि आफू जुनसुकै सहयोग र समन्वय गर्न पनि तयार रहेको बताए ।

केन्याको शिविरमा खाद्य सङ्कट, हजारौं शरणार्थी बाध्य भएर फर्किए

केन्याको काकुमा शरणार्थी शिविरबाट हालसम्म छ हजार भन्दा बढी दक्षिण सुडानका शरणार्थीहरू बाहिरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । खाद्य सामग्रीमा आएको गम्भीर अभाव र अन्तर्राष्ट्रिय सहयोगमा कटौतीका कारण उनीहरू शिविर छाड्न बाध्य भएका हुन् ।

काकुमा, केन्याको उत्तर भागमा अवस्थित दोस्रो ठूलो शरणार्थी शिविर हो, जहाँ दक्षिण सुडान, सोमालिया, युगाण्डा र बुरुण्डी लगायत विभिन्न देशका करिब तीन लाख शरणार्थीहरू आश्रित छन् ।

हालसालै, खाद्यान्नको आपूर्ति कटौती भएपछि शिविरमा रहेका धेरै शरणार्थीहरूले कठिन परिस्थिति भोग्नु परेको छ । यसैको कारण गत महिना शिविरमा केही विरोध प्रदर्शनसमेत भएका थिए ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर) का अनुसार,“मार्च महिनादेखि हालसम्म करिब ६ हजार दुई सय जना दक्षिण सुडानी शरणार्थीहरूले काकुमा र नजिकैको कालोबेयेइ शिविर छाडेका छन् ।”

जुलाई महिनादेखि अगस्त २० गतेसम्म मात्र करिब तीन हजार ६ सय जना—जसमध्ये अधिकांश महिला र बालबालिका शिविरबाट बाहिरिएको जनाइएको छ । यो संख्या यो वर्षको कुल पलायनको आधाभन्दा बढी हो ।

संस्थाले थप जानकारी दिँदै भन्यो,“शिविर छाड्ने वास्तविक संख्या अझ बढी हुनसक्छ, किनभने धेरैजसो मानिसहरू अनौपचारिक रूपमा बाहिरिने गरेका छन्।”

त्यसैबीच, यही अवधिमा करिब चार हजार ८ सय नयाँ शरणार्थी पनि शिविरमा आएका छन् ।

खाद्य सहयोगको कटौती

संयुक्त राष्ट्रसंघका अनुसार, जुलाई महिनादेखि खाद्यान्न सहयोगमा आएको कटौतीसँगै स्थिति गम्भीर बन्न थालेको देखिन्छ ।

विश्व खाद्य कार्यक्रम (डब्लुएपपी)ले शरणार्थीहरूलाई चार तहमा वर्गीकरण गरी सहयोग उपलब्ध गराउँदै आएको छ, जसअनुसार सबैभन्दा कमजोर अवस्थाका दुई तहका व्यक्तिहरूलाई मात्र खाद्य सहायता दिइँदैछ ।

संस्थाले भन्यो,“केही शरणार्थीहरूले यो वर्गीकरणप्रति चिन्ता व्यक्त गरेका छन्, साथै हालका अशान्त परिस्थितिले पनि उनीहरूलाई शिविर छाड्न बाध्य बनाएको देखिन्छ ।

विश्व खाद्य कार्यक्रमले सामाजिक सञ्जालमा जानकारी दिँदै भन्यो,“हामी अहिले सामना गरिरहेकै यो अवस्था विश्वव्यापी सहयोग अभावको प्रत्यक्ष परिणाम हो । स्रोतहरू शीघ्र उपलब्ध हुन सकेनन् भने, शरणार्थीहरू निकै कठिन निर्णय लिन बाध्य हुनेछन ।”

शरणार्थी सेवा विभाग(डआिरएस) का एक अधिकारीले नाम गोप्य राख्दै जानकारी गराए अनुसार, धेरै दक्षिण सुडानीहरू हाल आफ्नो देश फर्किनेक्रममा छन् ।

उहाँले भन्नुभयो,“दक्षिण सुडानका नागरिकहरू पहिले पनि आउजाउ गर्ने गर्थे, तर अहिलेको बाहिरिने अवस्था सामान्यभन्दा फरक छ । खाद्य सहयोगको नयाँ व्यवस्था अनुसार धेरैजना सहायता पाउने सूचीबाट बाहिरिएका छन्, जसका कारण उनीहरूलाई शिविरमा बस्न कठिन भएको छ ।”

 

मङ्गल ग्रहका भीत्री भागमा पुरानो चट्टानी टुक्राहरू अझै सुरक्षितः नासा

मङ्गल ग्रहका म्यान्टल (भीत्री तह) मा आज पनि चार किलोमिटरसम्म फैलिएका ठूला–ठूला ढुङ्गाका टुक्राहरू रहेको पाइएको छ, जसले ग्रहको प्रारम्भिक अवस्थाबारे महत्वपूर्ण जानकारी दिएको छ । यो खोज हालै प्रकाशित वैज्ञानिक अध्ययनबाट सार्वजनिक गरिएको हो ।

अनुसन्धानमा उल्लेख भएअनुसार वषौँअघि मङ्गलमा भएका विशाल आकाशीय आघातहरूका कारण ग्रहको सतह र भीत्री भाग पग्लिएर म्याग्माको ठूलो सागर बनेका थिए । सो समयमा मंगलकै चट्टानी भागहरू गहिरो भीत्रसम्म पुरिएका थिए र ती अझैसम्म पनि म्यान्टलमा बिच्छिएको अवस्थामा भेटिएका छन् ।

नासाको ‘इन्साइट नामक यान’ले सन् २०१८ मा मङ्गलको सतहमा पहिलोपटक भूकम्प मापन यन्त्र राखेर अनुसन्धान सुरु गरेको थियो । सन् २०२२ सम्मको अवधिमा इन्साइटले एक हजार ३१९ वटा ‘मङ्गल–भूकम्प’ मापन ग¥यो, जसका आधारमा वैज्ञानिकहरूले ग्रहको गहिराइमा रहेका संरचनाहरूको विश्लेषण गर्न सकेको हो ।

अनुसन्धानका प्रमुख वैज्ञानिक कन्स्टान्टिनोस करालाम्बोसका अनुसार,“हामीले अहिलेसम्म कुनै पनि ग्रहको भीत्री भागलाई यति सूक्ष्म रूपमा अवलोकन गरेका थिएनौं । मङ्गलको म्यान्टलमा प्राचीन कालका ढुङ्गाका टुक्राहरू अझै पनि सुरक्षित रहनु ग्रहको ढिलो विकास भएको प्रमाण हो । पृथ्वीमा यस्ता संरचनाहरू समयसँगै हराइसकेका हुन सक्छन् ।”

वैज्ञानिकहरूका अनुसार, यस्ता खोजहरूले न केवल मङ्गलको इतिहास बुझ्न सहयोग गर्छ, तर अरू ग्रहहरूको बनावट तथा विकासक्रमबारे पनि नयाँ ज्ञान दिन सक्छ ।

 

महिलाको छविमा सकारात्मक परिवर्तनमा मिडिया

काठमाडौँ । नेपाली राजनीतिमा महिलाको उपस्थिति र योगदानलाई इतिहासका प्रत्येक कालखण्डमा फर्केर हेर्दा अर्थपूर्ण बलिदान र सहभागिता स्पष्ट देखिन्छ । तर दुर्भाग्यवश, राज्य र समाजले कहिल्यै पनि महिलाको योगदानलाई न्यायोचित र उचित ढङ्गले मूल्याङ्कन गर्न सकेको छैन । विसं २००७ देखि २०४६ को जनआन्दोलन, २०६२र६३ को जनआन्दोलन हुँदै माओवादी जनयुद्धसम्म महिलाले गरेको सङ्घर्ष र पुर्‍याएको योगदान अनि देखाएको साहस नेपाली समाजमा मात्र नभएर दक्षिण एशियामै उदाहरणका रुपमा लिने गरिन्छ ।

नेपाली राजनीतिक इतिहासका हरेक निर्णायक क्षणमा महिलाको भूमिका अत्यन्तै महत्वपूर्ण रहँदै आएको छ । तर उनको योगदानलाई राज्यले वा समाजले न्यायोचित मूल्याङ्कन भने गर्न सकेको छैन । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा महिलाले गोप्य बैठक सञ्चालन गरेकोदेखि प्रचारप्रसार, राजनीतिक सामग्री वितरणसम्म महत्वपूर्ण भूमिका खेलेका थिए । मङ्गलादेवी सिंह, शैलजा आचार्यजस्ता नेत्रीहरूले जेल सजाय भोग्दै प्रजातन्त्र ल्याउन योगदान गरे ।

विसं २०४६ को जनआन्दोलनमा महिलाको सहभागिता निर्णायक रह्यो । विद्यार्थी, गृहिणी, कर्मचारी सबैले सडकमा उत्रिएर बहुदलीय व्यवस्था स्थापनामा हातेमालो गरेका थिए । यस क्रममा कैयौँ महिलाले गिरफ्तार र यातना सहनुपरेको थियो । दश वर्षे माओवादी जनयुद्ध (२०५२–२०६२ साल)मा झण्डै ३०–४० प्रतिशतसम्म महिला प्रत्यक्ष रूपमा सहभागी भए । गाउँघरका साधारण युवतीदेखि शिक्षित महिला नेत्रीसम्मले बन्दुक बोकेर युद्ध मैदानमा उत्रिनु उनीहरूको योगदानलाई अझ विशेष बनाउँछ । तर त्यही युद्धमा हजारौँ महिला आन्तरिक रुपमा विस्थापित, विधवा र हिंसापीडित पनि भए ।

दोस्रो जनआन्दोलन २०६२/६३ मा महिलाले अग्रपङ्क्तिमा उभिएर राजतन्त्र अन्त्य र गणतन्त्रको बाटो खुलाउन निर्णायक दबाब सिर्जना गरे । सडक प्रदर्शन, मानव सञ्जाल र पत्रकारितामा महिलाले देखाएको सक्रियता परिवर्तनलाई सफल बनाउन टेवा पुर्‍यायो । यसरी प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यात्रामा महिलाको सहभागिता र बलिदान अपरिहार्य रहेको छ । तर यी योगदानलाई इतिहासमा उचित स्थान दिन नसकिएको तथ्यले अब पनि हाम्रो समाज र सञ्चारलाई गम्भीर प्रश्न गर्छ । महिलाले पु¥याएको योगदानलाई वास्तविक मूल्याङ्कन गर्नु आजको आवश्यकता हो ।

राणा शासनविरुद्धको आन्दोलनमा पुरुषसँगै महिलाले आन्दोलन गरेका थिए । साहना प्रधान, मङ्गलादेवी सिंह यसका जीवन्त इतिहास हुन् । विसं २००७,२०३६ को जनमत सङ्ग्रह नेपालको सबै परिवर्तनको आन्दोलनमा महिला पुरुषसँगै सडकमा उत्रिएर जनतामा चेतना जगाउनेदेखि २०४६ सालको जनआन्दोलनमा विद्यार्थी, शिक्षक, कर्मचारीसँगै साधारण गृहिणीसमेत सडकमा आएको दृश्य अहिले पनि आँखैमा ताजा छन् । हरेक आन्दोलनका क्रममा धेरै महिलाले गिरफ्तार र यातना सहनुपरेको छ । दश वर्षे जनयुद्ध २०५२/२०६२ माओवादी जनयुद्धमा करिब ३०–४० प्रतिशतसम्म महिला सहभागिता रहेको तथ्याङ्कले भन्छ । हजारौँ महिलाले बन्दुक बोके, नेतृत्व तहमा भूमिका खेले, युद्धको सङ्ग्राममा सँगै लड्नेदेखि वैचारिक बहसमा उल्लेख्य भूमिका खेले ।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा महिला अग्रपङ्क्तिमा थिए । महिलाको योगदान र सङ्घर्ष सडक आन्दोलन, भूमिगत सङ्घर्ष, सङ्गठन निर्माण, प्रचारप्रसार, राजनीतिक नेतृत्व सबै तहमा समान छ तर के यी योगदान र इतिहासलाई हाम्रो सञ्चारमाध्यमले उचित रूपमा सम्मानजनक स्थान दिन सकेको छ त अब यी विषयमा गहिरिएर पुनःविचार छलफल गर्दै अब २०८४ सालमा हुन गइरहेको निर्वाचनमा कसरी बढीभन्दा बढी महिलालाई समेट्न सकिन्छ भन्नेतर्फ सञ्चारमाध्यम सचेत हुन जरुरी छ ।

बन्दुक बोकेर १० वर्षे जनयुद्व ताका काखमा दूधे बच्चा लिएर हिँडेका महिला होस् अथवा सिंहदरबारअघि माइतीघर मण्डलामा उभिएर न्याय मागिरहेकी महिला अथवा संविधान लेखन प्रक्रियामा प्रत्यक्ष÷अप्रत्यक्ष भूमिका खेलेका ती तमाम महिलाको भूमिका अविस्मरणीय छ । यी सबै नेपालले प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरु हुन् । हिजोको दिनमा महिला आफू माथि भइरहेको अन्यायको विरोधमा एकै शब्द बोल्न सक्दैनथे तर आज अवस्था अर्कै छ । जो विश्वसामु यो देशले भन्न सक्छ मैले महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखलगायत राज्यका उच्च स्थानमा पु¥याउन सफल भएको छ । यो महिलाको सरोकारको मुद्दामा देशले हासिल गरेको सफलता हो ।

यति हुँदाहुँदै पनि प्रश्न उठ्छ, माथि उल्लेखित सफल नामहरुको पछि आउन चाहने अन्य नामलाई नेपाली सञ्चार माध्यमले अबको दिनमा कस्तो ढङ्गले उठान गर्ने रु यसरी हेर्दा महिलाको विषयमा सञ्चार माध्यम अझै संवेदनशील हुन जरुरी छ । त्यसो त लोकतन्त्रमा जनताले आफ्नो मत राख्नु पाउनु अनिवार्य सौन्दर्य हो । तर कुरा जब महिलाको आत्मसम्मान, हक र मानसिक स्वास्थको आउँछ, अझै नेपाली समाज संयम हुन जरुरी छ ।

वर्तमान समय सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावबाट सबैभन्दा बढी महिला पीडामा छन् । उनीहरुको मानसिक स्वास्थ्यका विषयमा नेपाली मिडियामा गम्भीर रुपले चर्चा भएकै छैन । राजनीतिमा क्रियाशील महिला यी सबै अवस्थाबाट गुज्रिन बाध्य छन् । व्यक्तिको चरित्रसँग गाँसिएर आएका समाचारका कारण राजनीतिक नेतृत्व, सामाजिक जीवनमा असर, मानसिक स्वास्थ्यमा असर समान अवसर गुम्नेजस्ता समस्या हुने गर्दछन् । अझै पनि महिलाका विषयमा केन्द्रित समाचार प्रमुख समाचार हुँदैनन् । आइहाले पनि महिलाको चरित्रसँग गाँसिएका समाचारलाई बढी प्राथमिकतामा राखिन्छ । गलत सूचना र पूर्वाग्रही प्रस्तुतीकरणकै कारण महिलाको छवि कमजोर बनाइएको अवस्था कैयौँ छ । उदाहरणका लागि, पहिलो संविधानसभा चुनावपछि महिलाको सक्रिय उपस्थितिलाई ‘चुरा बेच्दाबेच्दै सांसद’ भन्ने जस्ता समाचार शीर्षकले हल्का तुल्याइयो । यसले महिलाको राजनीतिक छविलाई मात्र नभई आमसमाजमा उनीहरूप्रतिको दृष्टिकोणमा परिवर्तन गर्न महिलाले ठूलो प्रतिस्पर्धा गर्नुप¥यो र आजसम्म परिरहेको छ ।

नेपालको संविधान २०७२ सालले ३३ प्रतिशत महिला सहभागिताको प्रावधान गरेको भए पनि प्रत्यक्ष चुनावमा महिलाको सङ्ख्या न्यून नै छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ केबल नौ जना मात्र महिला निर्वाचित भए भने अधिकांश समानुपातिक सूचीबाट आए । यसले के कुरालाई देखाउँछ भने दलहरूले सङ्ख्यात्मक प्रावधान मात्र पूरा गर्न महिलालाई उम्मेदवार बनाएको हो कि झैँ लाग्छ । विसं २०८४ मा हुने जाँदै गरेको निर्वाचनमा सबै दलले महिलालाई समान हैसियत, प्रतिस्पर्धी क्षेत्रमा उम्मेदवार बनाउने अवस्था सिर्जना हुनका लागि सञ्चारमाध्यमले अहिलेबाटै समान र सकारात्मक भूमिका खेल्न जरुरी छ ।

आगामी २०८४ को निर्वाचन केबल दल वा उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र होइन, सूचना र गलत सूचनाबीचको प्रतिस्पर्धा पनि हुनेछ । सामाजिक सञ्जालमार्फत महिलामाथि हुने चरित्र हत्या, अपमानजनक टिप्पणी र झुठो प्रचार अझ बढ्ने सङ्केत देखिन्छ । यसको रोकथामको निम्ति पनि सक्रिय व्यक्ति दल सङ्घसंस्था नागरिक समाज सबै सरोकार निकाय सचेत हुन जरुरी छ । महिलालाई उमेदवार बनाउँदा केबल कोटा भर्ने सोचबाट होइन, हिजोको दिनमा गणतन्त्रका निम्ति आआफ्नो तहबाट पुर्‍याएको योगदानका आधारमा योग्य नेत्रीलाई अगाडि ल्याउन सबै राजनीतिक पार्टीहरुको सकारात्मक भूमिका हुन जरुरी छ ।

महिलाको विकासका निम्ति सही उपाय भनेकै तथ्यमा रहेर सही सूचना प्रवाह गर्नु हो । गलत सूचनाबाट उत्पन्न हुने मानसिक र सामाजिक हिंसाप्रति सजग हुनुपर्छ । विसं २०८४ को निर्वाचन केबल मतको प्रतिस्पर्धा होइन, सत्य र असत्यबीचको सङ्घर्ष पनि हो । यस सङ्घर्षमा सञ्चार गृह, दल, नागरिक समाज र हरेक नागरिक जिम्मेवार बन्न जरुरी छ ।

कांग्रेस नेता चौधरीको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीका दाजु रामाकान्त चौधरीको निधन भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसका नेता एवं नेपाल शिक्षक सङ्घ बाराका सदस्य चौधरीको भदौ ६ गते मेडिसिटी अस्पतालमा भएको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विसं २०१३ भदौ १५ गते जन्मिएका स्व चौधरीले लोकतन्त्रको स्थापना तथा पुनःस्थापना आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । लोकतन्त्र र जनताका हकअधिकारका लागि गरिएको आन्दोलन र सङ्घर्षका क्रममा उनले पटकपटक जेलनेल भोगेको कुरा कांग्रेसले जनाएको छ ।

स्व चौधरीले स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह ुमेत गरेका थिए । विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा प्रारम्भ गरेका चौधरीको निधनबाट नेपाली कांग्रेसले एक होनाहार व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

चौधरीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। देउवाले चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलगायत शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेको छन् ।

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो। खापुङ पहिलो वरीयताका एआईजी थिए ।

हालका प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि एक साताअघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो।

नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो।

 

तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

तनहुँ । आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो ।

कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ । उक्त कार्यक्रमका लागि रु ९३ लाख ३० हजार बजेट विनियोजन गरिएको उनले बताए । यसका लागि प्रति समूहलाई ८० क्विन्टल किलो आलुको बीउ उपलब्ध गराइएको थियो ।

कार्यालय प्रमुख लामिछानेका अनुसार किसानलाई जनकदेव, एमएस र काडिनल जातको आलुको बीउ ७५ प्रतिशत अनुदानमा प्रदान गरिएको थियो । उनीहरुलाई खेती गर्न विभिन्न उपकरण समेत उपलब्ध गराएको उनले बताएका छन्।

सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनबारे छलफल

महेन्द्रनगर । मधेसी सहिद प्रतिष्ठानले चालु आर्थिक वर्षमा सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनका लागि छलफल गरेको छ ।

आज यहाँ प्रतिष्ठानका अध्यक्ष एवं गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको बैठकमा चालु आवका लागि विनियोजित रु दुई करोड रकमलाई सहिद परिवार र तिनका सन्तानलाई प्रत्यक्ष फाइदा पु¥याउने गरी कार्यक्रम कार्यान्वयन गरिनुपर्नेमा जोड दिइएको छ ।

गृहसचिव विमलप्रसाद बरालले सहिद परिवारको सम्मानका लागि विनियोजित रकमबाट स्वास्थ्य, शिक्षा, सीप विकासलगायत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा विभिन्न निर्णय गरिएको बताएका छन्।

बैठकले सहिदको ‘प्रोफाइल’ निर्माण तथा प्रकाशन, सहिद स्मृति पुरस्कार, स्वास्थ्य बिमा, बलिदानी दिवस आयोजना, सहिदका सन्तानलाई छात्रवृत्ति, सीप विकास तथा लोकसेवा तालिम सञ्चालन, सहिद स्मृति पार्क निर्माण गर्नेलगायत निर्णय गरेको उनले जानकारी दिएका छन् ।

बालुवाटारमा मन्त्रिपरिषद्‌ बैठक जारी

काठमाडाैं । बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु भएको छ। केही बेरअघिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

प्रधानमन्त्री ओलीको चीन भ्रमण अगाडि मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ गतेसम्म चीनको तियानमिन सहरमा हुने एससिओको शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानमिन प्रस्थान गर्नेछन् । उनले सोही दिन साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।मन्त्रिपरिषद् बैठक लगत्तै दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

यसैगरी, प्रधानमन्त्री ओली दिउँसो सवा ३ बजे राष्ट्रिय खेलकुद परिषद्को ३२औँ वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ ।

म्यान्मामा करेन विद्रोहीहरूलाई आतङ्कवादी समूह घोषित

म्यान्माको सैन्य सरकारले बिहीबार करेन नेसनल युनियन (केएनयु) लाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको छ । यससँग सम्बन्धित कुनै पनि गतिविधि वा तेस्रो पक्षको सम्पर्कलाई समेत अब अवैध ठहर गरिने बताइएको छ ।
म्यान्मा सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै केएनयुले बढी स्वायत्तताका लागि सङ्घर्ष गर्दै आएको छ । दक्षिणपूर्व म्यान्मामा अवस्थित यो समूह विशेषगरी सन् २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता कब्जा गरेपछि सुरु भएको गृहयुद्धमा सक्रिय रूपमा संलग्न छ ।
केएनयुका प्रवक्ता पडोह साव ताव नीले शुक्रबार समूहले यस आतङ्कवादी समूह पदनामलाई बेवास्ता गर्ने बताएको छ । उनले भने, “तपाईंलाई वास्तविक आतङ्कवादी र अन्तर्राष्ट्रिय अपराधी को हुन् भन्ने प्रमाण चाहिँदैन । म्यान्माको सेनालाई नै अन्तर्राष्ट्रिय न्यायाधिकरणले दोषी ठहर गरेको छ ।”
केएनयुले डिसेम्बर २८ बाट सुरु हुने भनिएको सैन्य योजनाको राष्ट्रिय चुनावमा अवरोध गर्ने वाचा गरेको छ । तर आतङ्कवादी समूहको पदवीले यसका अहिंसात्मक सूचना अभियानहरूलाई अझ कठिन बनाउनेछ, जसलाई पहिले नै अवैध ठहर गरिएको छ ।
राज्य सञ्चालित एमआरटिभी टेलिभिजनले सैन्य सरकारी समितिको हवाला दिँदै केएनयुलाई आतङ्कवादी समूह घोषणा गरेको समाचार प्रसारण गरेको छ ।
समितिले केएनयुमाथि ‘सार्वजनिक सुरक्षा, जीवन र सम्पत्ति, सार्वजनिक तथा निजी पूर्वाधार, राज्य स्वामित्वका भवन, सवारीसाधन र सामग्रीमा गम्भीर क्षति पुर्‍याएको’ आरोप लगाएको छ ।
एमआरटिभीले अर्को सूचनामा कार्यवाहक राष्ट्रपति तथा सैन्य प्रमुख वरिष्ठ जनरल मिन आङ ह्लाइङले केएनयु र यससँग सम्बद्ध संस्थाहरूलाई गैरकानूनी सङ्गठन घोषणा गरेको जानकारी दिएको छ । यसले उनीहरूसँग सम्पर्क राख्नेलाई अपराधी ठहर गर्नेछ ।
यस घोषणापछि, एमआरटिभीले स्वतन्त्रताका नायक आङ सान (आङ सान सुकीका पिता) को सन् १९४७ को भनाइ उद्धृत गर्दै बारम्बार प्रसारण गरेको छ । उक्त प्रसारणमा भनिएको थियो, “हाम्रो सरकारले चुनावमा अवरोध गर्नेहरूलाई चुपचाप हेरेर बस्दैन । उनीहरूलाई कडा सजाय दिइनेछ । हाम्रो सरकारले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने कसैलाई रोकेन तर अवरोध गर्नेहरूलाई दबाउन सबै शक्ति प्रयोग गर्नेछ ।”
आलोचकहरूले आउँदो चुनावलाई सेनाले आफ्नो अधिग्रहणलाई वैधता दिने ढोङका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार, सन् २०२० को चुनावमा भारी बहुमतले जितेको सुकीको नेसनल लिग फर डेमोक्रेसी विघटन गरिसकेकाले चुनाव निष्पक्ष हुने सम्भावना छैन ।
केएनयुलगायतका विपक्षी समूहहरूले चुनावलाई असफल बनाउन प्रयास गर्ने चेतावनी दिएका छन् । सैन्य सरकारले गत महिना एक नयाँ निर्वाचन कानून ल्याएको थियो । सो कानूनअनुसार चुनाव अवरोध गर्ने वा विरोध गर्ने व्यक्तिलाई मृत्युदण्डसमेत दिन सकिने व्यवस्था छ ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने अन्य जातीय अल्पसङ्ख्यकहरूजस्तै करेनहरूले पनि दशकौँदेखि बढी स्वायत्तताको माग गर्दै आएका छन् ।
केएनयुले सन् २०१५ मा सात अन्य जातीय विद्रोही सेनाहरूसँगै पूर्व अर्ध–नागरिक सरकार (पूर्व जनरल थेइन सेनको नेतृत्वमा)सँग युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको थियो । तर सन् २०२१ को सैन्य कब्जापछि यो समूह प्रजातन्त्र समर्थक मिलिसियासँग मिलेर सेनाविरुद्ध लडाइँमा संलग्न भयो र सरकार विरोधीहरूलाई आश्रय दियो ।
सैन्य कब्जाको विरोधमा भएको अहिंसात्मक आन्दोलनलाई सेनाले बल प्रयोग गरेर दमन गरेपछि उत्पन्न सशस्त्र प्रतिरोधले अहिले देशको धेरै भागलाई गृहयुद्धमा फसाएको छ ।
कायिन (करेन) राज्यमा केएनयुको सशस्त्र शाखा करेन नेसनल लिबरेसन आर्मीले सैनिकहरूविरुद्ध प्रत्यक्ष लडाइँ मात्र गरेको छैन, स्थानीय सयौँ युवालाई युद्ध प्रशिक्षणसमेत दिइरहेको छ ।
सैन्य सरकारले प्रस्ताव गरेको शान्ति वार्तामा केएनयुले सहभागी हुन अस्वीकार गर्दै बहिष्कार गरेको छ । समूहका मागहरूमा राजनीतिबाट सेनाको फिर्ता, सङ्घीय लोकतन्त्रको कार्यान्वयन र सङ्कट समाधानमा अन्तर्राष्ट्रिय संलग्नताको स्वीकृति समावेश छन् ।

गाजालाई चरणबद्ध रूपमा विलय गर्ने इजरायली मन्त्री स्मोट्रिचको प्रस्ताव

इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले हमासले निरस्त्रीकरण गर्न अस्वीकार गरेमा गाजा पट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राखेको अल जजिराले बताएको छ ।

बिहीबार पत्रकार सम्मेलनमा स्मोट्रिचले भने, “यदि हमास आत्मसमर्पण गर्न, हतियार त्याग्न र इजरायली बन्दीहरूलाई रिहा गर्न तयार भएन भने, इजरायलले हरेक हप्ता गाजाको एक भाग कब्जा गर्दै चार हप्ताभित्र सम्पूर्ण नियन्त्रण लिनुपर्छ ।”

उनका अनुसार प्रारम्भमा प्यालेस्टिनीहरूलाई गाजाको दक्षिण भागतर्फ सर्न भनिनेछ, त्यसपछि इजरायलले उत्तर र केन्द्र क्षेत्रलाई घेराबन्दी गरी अन्ततः विलय गर्नेछ ।

स्मोट्रिचले यस प्रक्रिया तीनदेखि चार महिनाभित्र पूरा गर्न सकिने दाबी गर्दै भने, “यी कदमहरू वर्षको अन्त्यसम्म गाजामा ‘विजय’ हासिल गर्ने योजनाको हिस्सा हुन् ।”

इजरायली सेनाले गाजा सहरतर्फ गहिरो अग्रसर गर्दै करिब १० लाख प्यालेस्टिनीलाई विस्थापित गर्ने उद्देश्यले क्षेत्र कब्जा गर्ने प्रयासलाई तीव्र पारेको बेला उनको यो टिप्पणी आएको हो ।

यसबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत हप्ता इजरायलको आक्रमणले ‘ठूलो मृत्यु र विनाश’ निम्त्याउने चेतावनी दिएका थिए ।

उनले सैन्य आक्रमणलाई व्यापक रूपमा निन्दा गर्दै भने, “अनिकाल आउन लागेको होइन, यो अहिले भइरहेको विनाश हो । मानिसहरू भोकमरीका कारण मर्दैछन्, परिवारहरू विस्थापन र निराशाबाट टुक्रिँदैछन्, गर्भवतीहरूले अकल्पनीय जोखिम भोगिरहेका छन् र खाना, पानी तथा स्वास्थ्य सेवा जस्ता जीवनधारणका आधारभूत प्रणालीहरू व्यवस्थित रूपमा ध्वस्त पारिएका छन् ।”

गाजामा इजरायली नाकाबन्दीका कारण खाद्यान्न, पानी र अन्य मानवीय आपूर्तिको चरम अभाव भइरहेको छ ।

यसैबीच, हमासले स्मोट्रिचको टिप्पणीलाई कडा रूपमा अस्वीकार गर्दै भनेको छ, “उक्त अभिव्यक्ति हाम्रा जनतालाई उन्मूलन गर्ने आधिकारिक आह्वान हो र यसले भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्ने तथा निर्दोष नागरिकविरुद्ध घेराबन्दीलाई औपचारिक स्वीकार गरेको पुष्टि गर्दछ ।”

अल जजिराले उद्धृत गरेको विज्ञप्तिमा हमासले भनेको छ, “स्मोट्रिचको भनाइ कुनै एक व्यक्तिको चरमपन्थी विचार मात्र होइन, बरु लगभग २३ महिनादेखि लागु भइरहेको सरकारी नीतिको निरन्तरता हो । यसले विश्वसमक्ष कब्जाको वास्तविकता उजागर गरेको छ र गाजामा भइरहेको घटना सैन्य युद्ध होइन, बरु नरसंहार र सामूहिक विस्थापनको परियोजना हो भन्ने पुष्टि गरेको छ ।”

स्मोट्रिचले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो विलय योजना ‘तुरुन्तै पूर्ण रूपमा’ अपनाउन आग्रह गरेका छन् ।

नेतान्याहुले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । तर यसअघि उनले इजरायलले ‘सम्पूर्ण गाजाको नियन्त्रण लिन’ र यस क्षेत्रलाई पुनः कब्जा गर्न सक्ने सङ्केत दिएको अल जजिराले उल्लेख गरेको छ ।

माओवादी केन्द्रको कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौँ । शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन्।

आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म २ घण्टा धर्ना बसिरहेका शिक्षकहरूले माओवादी केन्द्रका नेताहरूलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्। महासङ्घले आगामी दिनमा पनि विभिन्न राजनीतिक दलका कार्यालयहरूमा चरणबद्ध कार्यक्रम गर्ने जनाएको छ।

पछिल्लो २४ घण्टामा केही ठाउँमा अतिभारी वर्षा, सुर्खेतमा २९२ दशमलव तीन मिलिमिटर वर्षा

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षा मापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसल्धारे वर्षा भएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी, तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको बताइन्।

विभागका अनुसार पर्वतको पञ्चासेमा पनि १७९ दशमलव तीन मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा मापन हो । यस्तै, बाँकेमा पनि १४६ दशमलव तीन मिलिमिटर वर्षा भएको ।

यसैगरी दाङमा १३८, दार्चुलामा १०७, सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ भने १२ भन्दा बढी स्टेशनमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ । धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ । मौसमविद् मानन्धरले आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि भने केही कम हुने बताए।

स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बङ्गालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी मनसुनी प्रभाव रहेको र मौसमी बदली भने देशैभरि रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

हाल देशभर साधरणतया बदली रहेको छ । कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको नाघ्यो २ लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी रहेको छ।

आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।
यसअघि साउन २३ गतेसुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छाउगोठमा सुतेका दुई जनाको मृत्यु , एक घाइते

अछाम । छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।

पञ्चदेवल विनायक नगरपालिका – ८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका –६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए । उक्त घटनामा घाइते भएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

संसदमा आज प्रधानमन्त्री ओलीको सम्बोधन, चीन भ्रमणबारे जानकारी गराउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। दिँउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

विदेश भ्रमणअघि र भ्रमणबाट फर्किएपछि कार्यकारी प्रमुखले संसदलाई जानकारी गराउने अभ्यास छ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भए पनि रास्वपाले आफ्नो विरोध जारी राख्ने भएको छ। प्रमुख सचेतक सन्तोष परियारले रास्वपाले शुक्रबारको संसद बैठक पनि बहिस्कार गर्ने जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् । ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।

चीन भ्रमणमा चिनियाँ र रुसी राष्ट्रपतिसँग भेट गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने भ्रमणको तयारी पूरा भएको छ ।

विश्वकै ठूलो क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनमध्ये एक मानिने यो सङ्गठनको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्वपूर्ण अवसर हुने ठानिएको छ । भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीच प्रधानमन्त्री ओलीको दुई पक्षीय भेटवार्ता तय हुनेक्रम जारी रहेको छ ।

भ्रमणको कार्यक्रमबारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ भने भ्रमण दलमा रहेका सदस्यबीच प्रधानमन्त्री ओलीको उपस्थितिमा मन्त्रालयले प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ गरिसकेको छ ।

प्रधानमन्त्री ओलीसहित २३ सदस्यीय टोलीलाई मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल कुमारराज खरेलले विस्तृत कार्यक्रम र व्यवस्थापकीय पक्षबारे जानकारी गराएका हुन् । भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभामा जानकारी गराउँदै छन् ।

प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ गतेसम्म चीनको तियानमिन सहरमा हुने एससिओको शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानमिन प्रस्थान गर्नेछन् । उनले सोही दिन साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमण विरुद्धको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा सहभागी हुनेछन् । उनले भदौ १६ गते तियानमिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी विश्वका केही नेतासँग भेटवार्ता गर्नेछन् । हालसम्म चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओपिपुल्स, क्याम्बोडिया राष्ट्र-सरकार प्रमुखसँग भेटवार्ता गर्ने तय भएको छ ।

त्यसैगरी, प्रधानमन्त्री ओली भदौ १७ गते तियानमिनबाट बेइजिङ पुग्नेछन् । त्यहाँ चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता हुनेछ । उनले भदौ १८ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रमको परेडमासमेत सहभागिता जनाउने कार्यक्रम छ । भ्रमण दल सोही दिन राति स्वदेश फर्कनेछ ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गत मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए। उक्त भ्रमणका अवसरमा नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

एससिओको स्थापनादेखि हालसम्म

सन् १९९६ मा चीन, रुस, काजकिस्तान, कीर्गिस्तान र ताजिकिस्तानबीच ‘साङ्घाइ फाइभ’ नामक क्षेत्रीय समूह बनेको थियो । सन् २००१ मा उज्वेकिस्तानसमेत सामेल भएपछि यसलाई औपचारिक रूपमा साङ्घाइ सहयोग सङ्गठन नाम दिइएको थियो ।

स्थापनाकालमा यसले सीमा क्षेत्रीय सुरक्षा, आतङ्कवाद विरोधी संयन्त्र र सैन्य विश्वास निर्माणका उद्देश्य बोकेको थियो । पछिल्ला दुई दशकमा यसको कार्यक्षेत्र विस्तार भई आर्थिक सहकार्य, ऊर्जा साझेदारी, पारवहन सञ्जाल, वातावरणीय स्थायित्व र सांस्कृतिक सम्पर्कसम्म भएको छ । यसका पूर्ण सदस्य, पर्यवेक्षक सदस्य र संवाद साझेदार सदस्य रहेका छन् ।

हाल चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस गरी १० पूर्ण सदस्य छन् । यसको दुई पर्यवेक्षक राष्ट्रमा अफगानिस्तान र मङ्गोलिया छन् भने संवाद साझेदार सदस्यमा नेपाल, अजरवैजान, अर्मेनिया, क्याम्बोडिया, टुर्किये, श्रीलङ्का, साउदी अरबिया, इजिप्ट, कतार, बहराइन, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स र कुबेतसहित १४ मुलुक छन् ।

नेपालले पर्यवेक्षक हुँदै पूर्ण सदस्य मुलुकमा स्तरोन्नतिका लागि आफ्नो प्रस्ताव अघि सार्दै आएको छ । हालको संरचनाले नेपाललाई मतदान अधिकार नदिए पनि उच्चस्तरीय बैठक, छलफल, परियोजना र नीति–निर्माण प्रक्रियामा सहभागिता जनाउँदै आएको छ ।

गत वर्ष काजकिस्तानको अस्ताना सहरमा सम्पन्न शिखर सम्मेलनले ऊर्जा सुरक्षा, पारवहन मार्ग विस्तार, हरित विकास, डिजिटल सहकार्यलाई प्राथमिकता दिएको थियो ।

रासस  /प्रकाश सिल्वाल

जडिबुटीमा एकाबिहानै स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा २  युवकको मृत्यु भएको छ । आज बिहान २ बजेर ५० मिनेटमा जडिबुटी पुलमा रोकिराखेको बा प्र ०१-००६ ख ४२४३ नम्वरको अरनिको यातायातको बसमा स्कुटर ठोक्किएकाे थियाे ।

कोटेश्वरबाट जडिबुटी तर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसको पछाडीको भागमा ठक्कर ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडाैंका एसपी अपिलराज बोहराले बताए ।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।

उनीहरूको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा रहेको छ भने बस चालक जिल्ला दोलखा भि न पा ०७ स्थायी घर भई हाल काडाँघारी बस्ने वर्ष २५ को सुभाष तामाङ प्रहरी वृत बानेश्वरको नियन्त्रणमा रहेको उनले बताए ।

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले करिब दुई अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डल कसरी अक्सिजन–कम अवस्थाबाट अक्सिजन–धनी अवस्थातर्फ परिवर्तन भयो भन्ने विषयमा नयाँ जानकारी सार्वजनिक गरेको छ ।

प्राचीन सल्फेट खनिजहरूमा संरक्षित उच्च–रिजोलुसन अक्सिजन आइसोटोप रेकर्डहरूको विश्लेषणमार्फत टोलीले वायुमण्डलीय अक्सिजनको वृद्धिसँग महासागरहरूको गतिशील अन्तरक्रिया पुनर्निर्माण गरेको वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालय (युडब्लुए) ले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्ययनले पेलियोप्रोटेरोजोइक(दुई अर्ब ५० करोडदेखि एक अर्ब ६० करोड वर्षअघि), नियोप्रोटेरोजोइक (एक अर्बदेखि ५३ करोड ८८ लाख वर्षअघि) र पेलियोजोइक (५३ करोड ८८ लाखदेखि २५ करोड २० लाख वर्षअघि) युगमा वायुमण्डलीय अक्सिजन वृद्धिका तीन प्रमुख चरणहरू भएको प्रमाण भेटिएको जनाएको छ ।

“पृथ्वीको वायुमण्डलमा अक्सिजनको वृद्धि अक्सिजन–सास फेर्ने जटिल जीवनको विकास, ग्रहहरूको बासयोग्यता र महत्त्वपूर्ण प्राकृतिक स्रोतहरूको सिर्जनाका लागि आधारभूत मानिन्छ”, युडब्लुएको स्कुल अफ अर्थ साइन्सेजका म्याथ्यु डोडले भनेका छन् ।

चीनको चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीको नेतृत्वमा युडब्लुएको सहकार्यमा सम्पन्न र ‘नेचर’ मा प्रकाशित यस अध्ययनले नियोप्रोटेरोजोइक अक्सिजन वृद्धिपछि पृथ्वीका विशाल अक्सिजन–गरिब महासागरहरूले आवधिक अक्सीकरण चरणहरू अनुभव गरेको देखाएको छ ।

यी घटनाहरूको परिणामस्वरूप सयौँ लाखौँ वर्षको अवधिमा कार्बन, सल्फर र अक्सिजन आइसोटोपमा समन्वित परिवर्तनहरू देखिए, जसले बढ्दो वायुमण्डलीय अक्सिजनले बारम्बार क्षणिक समुद्री अक्सीकरणलाई उत्प्रेरित गरेको सुझाव दिन्छ ।

“यी निष्कर्षहरूले पृथ्वीमा जीवनको उत्पत्ति र विकाससँगै खनिज भण्डार तथा पेट्रोलियम स्रोतहरूको निर्माणलाई बुझ्नका लागि महत्त्वपूर्ण वातावरणीय ढाँचा उपलब्ध गराउँछन्,” डोडले भनेका छन् ।

अमेरिकासँगको तनावबीच मोदी–इसिबा भेटमा क्वाड छलफलको सम्भावना

जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच पनि क्वाडको महत्त्वलाई जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी शिगेरु इसिबाबीच टोकियोमा हुने भेटवार्तामा क्वाड प्रमुख एजेन्डा बन्ने सम्भावना रहेको बताएका छन् ।

उनले भनेका छन्, “क्वाड चार समान विचारधारा भएका देशहरूको समूह हो जसले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न ठोस प्रस्तावहरू अघि सारेको छ । भारत र जापानजस्ता दुई प्रमुख नेताहरू भेट्दा उनीहरूले भू–राजनीतिक र भू–आर्थिक विषयहरूमा व्यापक छलफल गर्ने छन्, जसमा क्वाडको मुद्दा अवश्यै उठ्नेछ ।”

अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत करबारे सोधिएको प्रश्नमा जर्जले भारत र जापान दुवै क्वाड सदस्य भएकाले वर्तमान भू–राजनीतिक तथा भू–आर्थिक अवस्थाबारे छलफल हुने स्पष्ट पारे ।

उनले भने, “यी सबै विषयहरू वार्तामा उठ्नेछन् र भारतले अमेरिकासँगको सम्बन्धमा चुनौती भए पनि क्वाडलाई निरन्तर अगाडि बढाउनेछ ।”

उनले स्मरण गरेका छन्, “क्वाड सन् २००४ को सुनामीपछि सुरु भएको हो र अहिले शिखर सम्मेलनदेखि विदेशमन्त्रीहरूको बैठकसम्म सक्रिय बनेको छ । यसको एजेन्डा ठोस र सकारात्मक छ, त्यसैले भारत यसलाई अघि बढाउन प्रतिबद्ध छ ।”

मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि बीच जापान भ्रमण गर्ने भएकाले यसलाई क्वाडको भविष्यसँग जोडेर हेरिएको छ ।

यसैबीच, अमेरिकाले जापानसँगको व्यापार सम्झौता पश्चात् २५ प्रतिशत प्रारम्भिक भन्सार शुल्क घटाउँदै हाल १५ प्रतिशत कर कम गरेको छ ।

प्रधानमन्त्री मोदी अगस्ट २९ देखि दुई दिने जापान भ्रमणमा रहनेछन् र वार्षिक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री इसिबासँग भेट गर्ने छन् ।

जापान भ्रमणपछि उनी अगस्ट ३१ र सेप्टेम्बर १ मा चीनमा हुने साङ्घाई सहयोग सङ्गठन(एससिओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

चीन जानुअघि प्रधानमन्त्रीले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने एमालेका मुख्यसचेतक महेश बर्तौलाले जानकारी दिए ।

शनिबार चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् । त्यस्तै प्रमुख सचेतकसँग छलफलका क्रममा संसद्को आगामी १५ दिनको क्यालेन्डर तय भएको सचेतक बर्तौलाले जानकारी दिए  ।

जस अनुसार भाद्र १३ गते शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए । त्यस्तै भाद्र १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको बर्तौलाले जानकारी दिए ।

त्यस्तै उनले निजामती विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भाद्र १९ गते पारित गर्ने तयारी भएको उल्लेख गर्नुभयो । भाद्र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको उनको भनाइ छ ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसपछिका कार्यक्रमका बारेको कार्य तालिका तयार भएको बताए ।

भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ ।

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

काठमाडौं । आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनबारे सरोकारवालाबीचको अन्तरक्रिया आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न भएको छ ।

उद्योग मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्री बहादुरसिंह थापा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, प्रदेश सांसदहरू, राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठसहित सरकारी तथा निजी क्षेत्रका सरोकारवालाको सहभागिता थियो ।

अन्तरक्रियामा मन्त्री भण्डारीले लगानी, उत्पादन र उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालकै बजार पर्याप्त ठूलो रहेको बताए। करिब ३ करोड जनसंख्या भएको नेपाललाई लक्षित गरेर छिमेकी मुलुकहरूले उद्योग स्थापना गरिरहेको उल्लेख गर्दै उहाँले नेपाली उद्योगीले पनि घरेलु माग पूरा गर्ने वस्तु उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले भने, ‘हाम्रो पहिलो बजार घरेलु बजार हो, आवश्यक सबै सामग्री हामी आफैं उत्पादन गर्नुपर्छ । नेपाली बजार सुरक्षित गर्न सके देशको जीडीपी बढ्छ, त्यसका लागि सबैभन्दा पहिले आयात प्रतिस्थापन गर्नुपर्छ ।’

कार्यक्रममा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानी आकर्षित गर्न सडक पूर्वाधार विकास, कानुनी तथा संस्थागत सुधार, छुट–सुविधा र सहुलियत व्यवस्था आवश्यक रहेकोमा जोड दिएकाछन् । उनीहरूले कतिपय कानुन केन्द्रीय सरकारले बनाए पनि प्रदेश स्तरमा अधुरै रहेका कारण कार्यान्वयनमा कठिनाइ भइरहेको बताएका छन् ।

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन महासङ्घको आग्रह

काठमाडौं। नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।

महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै सो अल्टिमेटम दिएको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरूद्ध दर्ता, नवीकरण सुरु नभए महासङ्घ आन्दोलनमा उत्रने उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिए । मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताए।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था पछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध छ ।

गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश

गण्डकी।  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष मुख्य न्यायाधिवक्ता मुख्य चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन प्रतिवेदन पेश गरे।

सो अवसरमा प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गरे।

‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्यायधिवक्ताको हो,’ भट्टले भने।

संवैधानिक व्यवस्था अनुरूप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्य सम्पादन गर्दै आएको विश्वास व्यक्त गर्दै उनले कार्यालयले सङ्घीयताका तहगत स्पष्टताका विषयमा नागरिक छलफल चलाउने, स्थानीय न्यायिक समिति क्षमता अभिवृद्धिका लागि तालिम प्रशिक्षण लगायतमा जोड दिन ध्यानाकर्षण गराए।

कार्यक्रममा मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रूपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधानअनुसार गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यको संक्षिप्त विवरण पनि प्रस्तुत गरे ।

मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखित रूपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उनले बताए। कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकमा निर्माणमा सहयोग गरेको र कार्यालय शुन्य बेरुजुको प्रयासमा रहेको उनले बताए।

नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त प्रतिवेदन प्रदेशसभा समक्ष पेश गर्न प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनेछ ।

कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानुनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरणलगायत प्रतिवेदनमा उल्लेख गर्दछ ।

कैलालीको खुटिया खोलामा नुहाउन गएका ४ किशोरको मृत्यु

धनगढी । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा चार किशोर बेपत्ता भएका थिए ।

बिहीबार दिउँसो करिब २ बजेतिर गोदावरी नगरपालिका-९ खुटिया खोलामा चार जना किशोरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।

मृतक अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

बेथिति अन्त्य गर्दै सुशासनसहितको पारदर्शी सेवा प्रवाह गर्नुपर्छः राष्ट्रपति

सङ्खुवासभा। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिएका छन्।

मादी माध्यमिक विद्यालय सङ्खुवासभाको हीरक महोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए । उनले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान-अन्वेषण लक्षित बनाउन पाठ्यक्रम, सिकाइ पद्धति र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताए।

‘गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतःउद्यमशीलतासँग जोड्नुपर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मानिसका आधारभूत आवश्यकताका क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ’, राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएकाले शिक्षालाई सीप विकाससँग जोडेर लगानी गर्नुपर्ने धारणा राखे। राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरूप तीव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय, समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशका विकास, निर्माण तथा स्वरोजगारका क्षेत्रमा आबद्ध गर्न व्यावसायिक वातावरण सुधार गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो बलिदान, त्याग र सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उल्लेख गर्दै यो व्यवस्थामार्फत समान रूपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दै गएको धारणा राखे । पछिल्लो समय आफ्नो भाग्य र भविष्य आफैँले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका उनको भनाइ छ ।

सुन्दर प्राकृतिक संरचनासहित प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभा, जलविद्युत् उत्पादनका दृष्टिले अग्रणी स्थानमा रहेको बताउँदै उनले छिमेकी मुलुक चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार व्यवसाय बढाउन सकिने सम्भावना पनि उत्तिकै रहेको धारणा राखे ।

मन्त्री शाहीद्वारा कार्यसम्पादन सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्न निर्देशन

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मातहतका विभागीय प्रमुखलाई कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यन्वयन गर्न निर्देशन दिएका छन्। चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतापछि बिहीबार उनले प्रतिबद्ध भएर कार्यन्वयन गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिएका हुन् ।

मन्त्री शाही र सचिव डा. राजेन्द्रप्रसाद मिश्रबीच तथा सचीव र विभागीय प्रमुख महाशाखा प्रमुखबीच आज कार्यसम्पादन सम्झौता भएको हो ।

‘प्रधानमन्त्रीसँग सम्झौता भएको कार्यसम्पादन कार्यन्वयन गर्न म प्रतिबद्ध रूपमा लाग्ने छु’, मन्त्री शाहीले भने, ‘मन्त्रालय र हामीबीच भएको कार्यसम्पादन सम्झौता कार्यन्वयन गर्न तपाईंहरू पनि कटिबद्ध भएर लाग्नुस् ।’

आगामी कार्यसम्पादनको मुल्यांकन ९० प्रतिशत अंकभार प्राप्त गर्ने गरी कार्यन्वयनमा लाग्न मन्त्री शाहीले सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिए । उनले वन मन्त्रालयमार्फत एक वर्षमा उपलब्धिमूलक काम भएका बताउँदै मन्त्रालयलाई सफल र सक्षम बनाउन विभागीय प्रमुखको महत्त्वपूर्ण भूमिका रहने धारणा राखे ।

मन्त्री शाहीले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गरौँ । काम गर्ने क्रममा बाधाअड्चन वा समस्या देखिए एकापसमा छलफल गरी समाधान निकालौँ ।’

उनले सुखी नेपाली समृद्धि नेपालको परिकल्पनासहित जनताका चाहनाअनुसार विकास निर्माणमा सबैले हातेमालो गरी अघि बढ्न आग्रह गरे ।

झरीमा पनि रोकिएन कवाड व्यवसायीको आन्दोलन, रुझ्दै पुगे महानगरको कार्यालय (तस्बिरहरु)

काठमाडौँ । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले आज बिहिबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
झरी रुझ्दै महानगरको कार्यालय पुगेका उनीहरूले महानगर प्रमुख बालेन शाहको विरुद्ध नाराबाजी गरेका हुन् ।

भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको र्‍याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो ।
प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका छन् ।

सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।

आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।

उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

घ्याम्पेडाँडा(रानीकोट हुँदै पनौती जाने सडक पहिरोको जोखिममा

भक्तपुर । भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोका कारण दुर्घटनाको उच्च जोखिममा परेको छ । सूर्यविनायक चोकबाट घ्याम्पेडाँडा, रानीकोट हुँदै काभ्रेको पनौती जोड्ने सडकमा पहिरो गएपछि यातायातका साधन आवागमनमा समस्या पर्नुका साथै पहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएको हो ।

रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले भक्तपुरबाट पनौती जाने एक मात्र वैकल्पिक सडकको रूपमा रहेको घ्याम्पेडाँडा–रानीकोट खण्डमा पहिरो गएको बताए। उक्त खण्ड भएर पनौती जाने छोटो दूरीको सडक पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ ।

उनले भने, “सूर्यविनायकबाट काभ्रेको पनौती पुग्ने छाटो दूरीको यो एक मात्र सडक हो । यो पर्यटकीय सडक पनि हो । सूर्यविनायकको पर्यटकीय क्षेत्रका रूपमा परिचित रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको चाप बढिरहेको अवस्थमा एक महिनादेखि पटकपटक पहिरो गइरहेको छ । केहिदिन यता खानेपानीको पाइप फुटेर पानी बगेपछि थप पहिरो गएर जोखिम बढेको हो, यहाँ कुनै पनि बेला दुर्घटना हुनसक्ने जोखिम छ ।”

पहिरो जान थालेपछि पनौतीबाट दूध, तरकारीलगायत दैनिक खाद्यान्नका सामग्री बोकेर सूर्यविनायक आउने–जाने सवारीसाधनमा कमी भएको बकेँले बताएका छन् । साथै घ्याम्पेडाँडा र रानीकोट जाने स्थानीयवासी एवं पर्यटकलाई सास्ती भएको उनको भनाइ छ ।

पर्यटन व्यवसायी बकेँले भनेका छन्, “रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्य हुने गथ्र्यो, सडकका कारण पर्यटन व्यवसायमा समस्या आएको छ । घ्याम्पेडाँडामाथि रानीकोटसम्म आएको पहिरो हरेक वर्ष म आफैँले डोजर लगाएर पन्छाउने गर्थे । यसवर्ष पनि पन्छाउँदै आएको छु, तर सूर्यविनायकबाट घ्याम्पेडाँडासम्मको सडक थप जोखिममा परेको छ ।”

उनले हरेक वर्ष घ्याम्पेडाँडा हुँदै रानीकोट जाने सडकमा पहिरो जाने गरेपनि देशको तीनवटै सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । हरेक दिन पनौतीबाट सूर्यविनायकसम्म सयौँ सवारीसाधान ओहोरदोहोर गर्ने यो सडक उच्च जोखिममा पर्दा पनि पहिरो नियन्त्रण गर्न र पहिरो पन्छाउनेबारे कसैले चासो नदिएको यहाँका पर्यटन व्यवसायीको गुनासो छ ।

घ्याम्पेडाँडाका स्थानीय समिर लामाले यो सडकको अवस्था नाजुक भएको, कालोपत्र उप्किएर खाल्डैखाल्डो भएको र साँघुरो भएकाले स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपरेको गुनासो गरेका छन् ।

पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीहरूले पञ्जाब प्रान्तका तीनवटा प्रमुख नदीका छेउछाउका क्षेत्रहरूबाट एकलाख ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ ।

भारी वर्षा र बाढीले पानीको सतहले खतराको सिमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठुलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको पछिल्लो चेतावनी अघि नै निकासी सुरु भएको तथा अझै जारी रहेको जनाएका छन् । उनका अनुसार यो अभियानमा लगभग ३५ हजार मानिस चेतावनी पछि स्वेच्छाले सुरक्षितस्थलतर्फ भागेका छन् ।

पन्जाब र कश्मीरमा आगामी दिनमा पुनः भारी वर्षाको चेतावनीको बीचमा रावी, सतलज र चेनाब नदिले ठूलो बाढीको सामना गरिरहेको जनाइएको छ ।

व्यापार वार्ताका लागि चिनियाँ प्रतिनिधिमण्डल यही साता अमेरिका जाने

दुई देशबीच महिनौँ लामो व्यापार तनावपछि केही शान्त वातावरणपछि बेइजिङले यसै साता व्यापार वार्ताका लागि एक प्रतिनिधिमण्डल अमेरिका पठाउने भएको छ ।

चीनका अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा वाणिज्य उपमन्त्री ली चेङगाङले वासिङ्टनमा सम्बन्धित अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङकियानले जानकारी दिएका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच एकअर्काको निर्यातमा कर वृद्धि गरेपछि यस वर्ष तनाव बढेको भएपनि वार्ताबाट समस्यालाई सम्बोधन गर्न दुबै देश तयार बनेपछि गत अप्रिलदेखि भने तनाव निकै कम भएको छ ।

दुई देशबीच प्रतिसोधात्मक शुल्कहरू लगाउने क्रम बढुदै तीन अङ्कमा पुगेको थियो । । तनावका कारण धेरै आयातकर्ताहरूले ढुवानी रोके र सरकारहरूले काम वार्ता गर्ने प्रयास गर्दै पर्खने प्रयास गरे । यसले आपूर्ति श्रृङ्खलालाई कमजोर बनाएको थियो।

त्यसयता वासिङ्टन र बेइजिङबीच तनाव कम गर्ने सहमति भएको छ, जसमा अमेरिकाको तर्फबाट ३० प्रतिशत र चीनको तर्फबाट १० प्रतिशतमा अस्थायी रूपमा कर कटौती गरिएको छ।

चीनले संयुक्त राज्य अमेरिकासँग ’समान संवाद र परामर्शको माध्यमबाट समस्यासमाधान गर्न’ काम गर्न इच्छुक रहेको प्रवक्ता हेले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष वा त्यसलगत्तै चीन भ्रमण गर्ने बताएको केही दिनपछि लीको वासिङ्टन भ्रमण हुन लागेको हो ।

ट्रम्पले सोमबार पत्रकारहरुसँग भनेका छन्, “हामी चीनसँगको सम्बन्ध राम्रो बनाउन चाहिरहेका छौं ।”

अमेरिका र चीनबीचको युद्धविराम असहज भएको छ र वासिङ्टनले यसअघि बेइजिङले आफ्नो सम्झौता उल्लङ्घन गरेको र दुर्लभ खनिजका लागि निर्यात अनुमतिपत्र स्वीकृतिमा ढिलासुस्ती गरेको आरोप लगाएको थियो।

चीन मोटर वाहन, इलेक्ट्रोनिक्स र रक्षा उद्योगहरूको लागि आवश्यक चुम्बक बनाउन प्रयोग गरिने दुर्लभ खनिजका लागिे विश्वको अग्रणी उत्पादक हो ।

अहिले दुवै देश वाताएबाट अघि बढ्न सहमत भएका छन् ।

यस महिना, उनीहरूले एक अर्काको निर्यातमा उच्च कर पुनः लागू गर्ने चेतावनीलाई अर्को ९० दिनको लागि विलम्ब गर्न सहमत भएका छन् । यसको अर्थ १० नोभेम्बरसम्म कडा शुल्कमा विराम लागू हुनेछ।

ब्लूमबर्गले यसै महिना अमेरिकी विमान निर्माता कम्पनी बोइङले चिनियाँ कम्पनीहरूलाई ५०० सम्म विमानहरू बेच्नका लागि वार्ता गरिरहेको रिपोर्ट गरेको थियो । यसले अमेरिकाले चासो राख्दै आएको व्यापार घाटालाई केही हदसम्म सम्बोधन गर्नेछ ।

राजपत्राङ्कित विशिष्ट श्रेणीमा प्रतिनिधिसभाको व्यवस्था यथावत राखिने

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधिसभाबाट पारित भएको व्यवस्थाअनुसार कायम गर्ने सहमति जुटेको छ ।

समितिको आजको बैठकमा प्रतिनिधिसभाले पारित गरेको राजपत्राङ्कित विशिष्ट श्रेणीको चौधौँ तह ९मुख्यसचिव र मुख्य रजिष्ट्रार०को पदावधि दुई वर्ष र विशिष्ट श्रेणी चौधौँ तहको पदावधि चार वर्ष कायम गर्ने सहमति जुटेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा सङ्घीय सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारको पदावधि तीन वर्ष र सचिवको पदावधि पाँच वर्ष प्रस्ताव गरेको थियो । अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन,२०४९ मा मुख्यसचिव र मुख्य रजिष्ट्रारको पदावधि तीन वर्ष र सचिवको पदावधि पाँच वर्ष रहेको छ ।

समितिका सदस्य डा अन्जान शाक्यले निजामती क्षेत्रमा रहेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले निजामती ऐन बनाउनुपर्नेमा जोड दिए । सांसद सुरेशकुमार आले मगरले समानताका लागि संविधानमा आरक्षणको व्यवस्था गरिएको उल्लेख गर्दै नयाँ निजामती ऐनले समावेशी र समानुपातिक व्यवस्थालाई अनुकरण गर्नुपर्ने धारणा राखेका छन् ।

सांसद झक्कुप्रसाद सुवेदीले बढुवासम्बन्धी व्यवस्थामा दलित र महिलाका लागि चार वर्षको अवधि राख्नुपर्ने बताए। सांसद गङ्गाकुमारी वेल्वासेले समावेशिता सकारात्मक विभेद् भएकाले दलित, महिला तथा पछाडि परेका समुदायका कर्मचारीका लागि समावेशी सिद्धान्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले दलित, महिला तथा पछाडि परेका समुदायको हकमा बढुवा गर्दा विशेष व्यवस्था गर्नुपर्ने धारणा राखेकी हुन् ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव मिरा आचार्यले कर्मचारीको अनिवार्य अवकाश ६० वर्ष हुने भएपछि बढुवाको हकमा पाँच वर्षको कार्यअवधि राख्नुपर्ने तर्क गरेकी छिन् । उनले अनिवार्य अवकाश हुने समयावधि बढेसँगै बढुवा हुने समय पनि बढ्नु व्यावहारिक पक्ष भएको धारणा राखेकी हुन् ।

आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु मुलुकभित्रका प्रयोगशालाबाट परीक्षण गरेर मात्रै उपभोक्तालाई दिइने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजना हुने ‘लगानी तथा विकास सम्मेलन’सम्बन्धी आज यहाँ अन्तरक्रिया कार्यक्रममा उनले जनस्वास्थ्यलाई प्रतकिूल असर नपरोस् भन्ने उद्देश्यले आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिइने बताएका छन् ।

मन्त्री भण्डारीले भने, “मुलुकभित्र अन्तरराष्ट्रियस्तरको मापदण्डसहितका उद्योग, कलकारखाना स्थापना गर्नेछौँ । यसले नेपालको उद्योगको विकास, नागरिकको जीवनस्तरमा सुधारमा दीर्घकालीन महत्त्व राख्ने छ ।” उनले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेकाले नेपाल व्यापार प्राथमिकता कार्यक्रम ९एनटिपिपी०मार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधामा निर्यात गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

नेपालली वस्तुको व्यापारले पछिल्लो समय विश्वबजारमा प्राथमिकता पाइरहेको बताउँदै उनले सङ्घीय सरकारले आमउपभोक्ताको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता नगर्ने नीतिमा अघि बढिरहेको बताए । उनले गलैँचा, पश्मिनाजस्ता वस्तु नेपालीका पहिचान भएकाले यस्ता उद्योगको संरक्षण गरी उत्पदान बढाउनेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा औद्योगिक विकासका लागि पर्याप्त पूर्वाधार रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई सङ्कोचबिना लगानी गर्न आग्रह गरेका छन् । उनले भने, “सुदूरपश्चिममा उद्योग स्थापनाका लागि आवश्यक जमिन प्रदेश सरकारले उपलब्ध गराउनेछ । हामी निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेशको सम्भावनालाई यथार्थमा बदल्न चाहन्छौँ, सबमा सबैको सहयोग जरुरी छ ।”

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा जलस्रोत, पर्यटन, कृषि, जडीबुटी, खनिजलगायत क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यहाँको आर्थिक रुपान्तरणका लागि यी क्षेत्रमा तत्काल लगानी आवश्यक रहेको धारणा राखेका छन् ।

कार्यक्रमका अधिकांश सहभागीले सुदूरपश्चिम प्रदेशमा औद्योगिक विकासका लागि प्रशस्त सम्भावनासहित आवश्यक पूर्वाधार रहेकाले त्यहाँ लगानीका लागि ढिलाइ गर्न नहुने धारणा राखेका छन् ।

राष्ट्रपति पौडेल सङ्खुवासभामा

खाँदबारी । राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिनु भएको छ । विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पु¥याएको छ ।

राष्ट्रपति पौडेल यहाँ उपस्थित हुदै गर्दा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले विद्यालय परिसरमा निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यक्रम छ,विशेष समारोह अहिले पनि यहाँ जारी नै रहेको छ ।

रामकृष्ण ढकालले बनाउन लागेको फिल्म मालती मंगलेको शुभ मुहुर्त

काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको चलचित्र मालती मंगलेको आज शुभ मुहुर्त गरिएको छ ।

रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रको आज कोटेश्वर महादेवस्थान मन्दिरमा शुभ मुहुर्त भएको हो ।

यही भाद्र १४ गते देखि छायांकन सुरु हुने चलचित्र मालती मंगलेमा विजय बराल, वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू रहेका छन् ।

चलचित्रमा पटकथा तथा संवाद लेखन संयोग गुरागाईंको रहेको छ । मालती मंगलेलाई प्रकु पाण्डेयले निर्देशन गर्न लागेका छन्।

अरनिको पाँडेलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

ह्वाट्सएपबाट गालीगलौच गरेको आरोपमा पाँडेलाई प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको थियो । ब्यूरोमा उजुरी परेको जानकारी पाएपछि बुझ्न आफैँ कार्यालय पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरलाई भने बुधबार नै प्रहरीमा उपस्थित भएर सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको थियो ।

लोक र शिल्प-हस्तकलाको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपालमा पहिलोपटक हुन लागेको लोक, परम्परागत र शिल्प(हस्तकलाको राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

यही भदौ १६ देखि १८ गतेसम्म काठमाडौँमा तीन दिनसम्म आयोजना हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानको परम्परागत कला विभाग, वास्तुकला तथा लोककला विभाग र शिल्प हस्तकला विभागको संयुक्त संयोजनमा हुन लागेको सम्मेलनमा मुलुकका सातै प्रदेशबाट लोक परम्परागत शिल्प हस्तकला क्षेत्रका कलाकार, विज्ञ तथा सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता रहने छ ।

सम्मेलनले लोक परम्परागत शिल्प, हस्तकलामा वर्तमान चुनौती के छन्, हस्तकला क्षेत्र किन पछि परिरहेको छ, नीतिगत रूपमा भएका समस्या र समाधानका उपाय के हुनसक्छन्, कलाकार र नीतिनिर्माताले के काम गर्न सक्छन्, भन्ने विषयमा छलफल गरी काठमाडौँ घोषणापत्रसमेत जारी गरिने प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार ६० भन्दा बढी विज्ञ, कलाकार सहभागी हुने सम्मेलनमा उद्घाटनपछि अलगअलग रूपमा आठ वटा कार्यपत्र प्रस्तुत हुने र ती कार्यपत्रमाथि समूहगत छलफल हुनेछ ।

कलाको दस्ताबेजीकरण गर्ने, कलाको महत्त्व बुझ्ने र बुझाउने प्रयासस्वरुप सम्मेलन आयोजना गरिने प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए । प्रतिष्ठानले यसअघि चित्रकला र मूर्तिकलाको सम्मेलन गरेको थियो । उनका अनुसार लोक, परम्परागत कला तथा शिल्प हस्तकलाको सम्मेलन पहिलोपटक आयोजना हुन लागेको हो ।

पछिल्लो समयमा सङ्घीय संरचनाअनुसार नेपाली कलाका गतिविधि सञ्चालन भइरहेका छन् । कला प्रदर्शनी पनि सातै प्रदेशमा आयोजना गर्न थालिएको छ ।

गाउँगाउँमा लुकेका रैथाने कलाको प्रववर्द्धन र विकासका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण भएका बताउँदै रुपान्तरणको अभियानमा प्रतिष्ठान रहेकाले सम्मेलन फलदायी हुने प्रतिष्ठानका कुलपति नारदमण हार्तम्छालीले विश्वास व्यक्त गरेका छन् । उनका अनुसार सम्मेलन यही १८ भदौ गते काठमाडौँ घोषणपत्र जारी गरी सकिने छ । उक्त घोषणापत्र कार्यान्वयनका लागि सरकारलाई जारी घोषणपत्रको प्रतिलिपि बुझाइने छ ।

रुसी आक्रमणबाट किएभस्थित इयू नियोगको कार्यालयमा क्षति

युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले किएभमा रुसले गरेको घातक आक्रमणबाट आफू “भयभीत” भएको बताएका छन्।

युरोपेली परिषद्का अध्यक्ष कोस्टाले एक्समा लेखेका छन् , “यो समय हामी युक्रेनी पीडित र इयू प्रतिनिधिमण्डलका कर्मचारीहरूको सहयोगका लागि तयार छौँ ।”

उनले भने, “इयू डराउने छैन । रुसको आक्रामकताले युक्रेन र त्यहाँका जनताको पक्षमा उभिने हाम्रो सङ्कल्पलाई बलियो बनाएको छ ।”

कोस्टाले एउटा कार्यालयको भित्री भागको तस्वीर पोस्ट गरेका छन् यसमा झ्यालहरू फुटेका छन्, छत आंशिक रूपमा तल झुन्डिएको छ र आक्रमणका कारण खसेका भवन र झ्यालका भाग भुइँमा छरिएका छन्।”

युक्रेनका लागि इयूका राजदूत क्याटरिना माथेरनोभाले विस्फोटको झट्काले नियोगको भवनमा गम्भीर क्षति पुगेको बताएका छन् ।

इयूका एक अधिकारीले एएफपीसँग कुरा गर्दै इयूका कुनै पनि कर्मचारीलाई चोट पटक नलागेको बताएका छन् ।

युक्रेनी अधिकारीहरुले रातभर भएको बमबारीमा एक बालकसहित १० जनाको मृत्यु भएको बताएका छन् ।

इयूका उच्च कूटनीतिज्ञ काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विश्वले शान्तिको बाटो खोजिरहेको बेला रुसले क्षेप्यास्त्रप्रहार गरेको छ ।”

“किएभमा रातिको समयमा भएको आक्रमणले रूसले शान्ति प्रयासलाई नबढाउने र खिल्ली उडाउने सुनियोजित निर्णय गरेको देखाउँछ,” उनले भनेका छन् ।