`

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै राष्ट्रपतिले भने- देश सफल होस्, जनता बचुन्

काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउन शुभकामना दिएका छन् ।

जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्।

‘बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन्’ पौडेलले कार्कीलाई भने।

अहिले उनलाई विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई दिइरहेका छन्।  उनी पहिलो प्रधानन्यायाधीश हुन्। अन्तरिम सरकारमा पहिलो महिला प्रधानमन्त्री पनि भएकी छन्।

संसद विघटन प्राप्त उपलब्धि समाप्त पार्ने षडयन्त्र, गम्भीर असहमति छ : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटन प्राप्त उपलब्धि समाप्त पार्ने खेल भएको आरोप लगाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएका छन् ।

पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए। अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले यो गम्भिर षडयन्त्र भएको भन्दै पार्टी संसद विघटनको विपक्षमा उभिने बताए । ‘प्रतिनिधि सभा विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात हो । पार्टीले यसको विरोध गर्नेछ । प्रतिनिधि सभा विघटनले राज्यलाई अस्थिरतातर्फ र प्राप्त उपलब्धिको समाप्ति गर्नेतिर षड्यन्त्र भएको हुँदा पार्टी त्यसको विरोधमा उत्रिने छ,’ उनले भने ।

‘जननिर्वाचित सर्वोच्च संस्था विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात हो । लोकतन्त्रमा जनताको सार्वभौम मतको अभिव्यक्ति हुनुपर्छ । पछिल्लो पटक प्रकट भएको जनमतको आधारमा बनेको प्रतिनिधि संस्था विघटन हुनु भनेको राज्यलाई अस्थिरतातिर, प्राप्त उपलब्धिहरुको समाप्ति गर्नेतिर गम्भीर षड्यन्त्र भएको हुँदा त्यसको विपक्षमा, विरोधमा नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठकले निर्णय गरेर उभिने र सम्पूर्ण जनतालाई अपील गर्ने भएको छ,’ उनले भने ।

सुशीला कार्की मन्त्रिपरिषदको मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव

काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनु पर्नेछ ।

कार्कीको शपथ ग्रहणमा सभामुख र राष्ट्रियसभा अध्यक्ष अनुपस्थित

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल अनुपस्थित भएका छन् ।

शपथमा पूर्व प्रधानमन्त्रीहरू पनि देखिएनन् । विभिन्न देशका राजदूत साथै कूटनीतिक नियोगका अधिकारी भने सहभागी भएका थिए ।

 

प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए । लामो रस्साकस्सीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

संसद विघटन र प्रधानमन्त्री नियुक्तिको पत्र एउटै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । उनले प्रधानमन्त्री नियुक्ति पनि यही पत्रमा गरेका छन् । नयाँ प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथ गराउनुअघि उनले संसद् विघटन गरेका हुन् ।

जेन–जी समूहले बिहीबारदेखिको वार्ताका क्रममा विघटन नभई सरकारको नेतृत्व लिन नसक्ने अडान राखेपछि राष्ट्रपति पौडेलले शुक्रबार दिनभर परामर्श गरेका थिए ।

दिनभरको परामर्शपछि राष्ट्रपतिले साँझदेखि कार्कीलाई निर्णायक वार्ताका लागि शीतल निवास बोलाइएको थियो । उक्त वार्तामा ओमप्रकाश अर्याल र रमण कर्ण अनि जेन–जीका तर्फबाट सुदन गुरुङ शीतल निवास पुगेका थिए ।

पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथ LIVE

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

संविधानको धारा ६१ अनुसार सुशीला कार्की बनिन् नेपालको प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

जेन–जी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन्। नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ । राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

औद्योगिक राजधानीको रुपमा चिनिएको विराटनगर प्रजातान्त्रिक आन्दोलनको उद्घोषस्थल र राजनीतिक नेतृत्व जन्माउने सहरको रूपमा पनि परिचित थियो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेपछि अब विराटनगरले थप परिचय बनाएको छ, छैटौँ प्रधानमन्त्री र पहिलो महिला कार्यकारीको रूपमा ।

यसअघि पाँच प्रधानमन्त्री उदाएको विराटनगरमा अब सूचीमा कार्कीको नाम थपिएको हो । जो नेपालको कार्यकारी ओहदामा पुग्ने पहिलो महिला बनेकी छन् । कार्की यसअघि नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् ।

यी हुन् विराटनगरले पाएका प्रधानमन्त्रीहरु
बीपी कोइराला–नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री
मातृका प्रसाद कोइराला–कांग्रेसका प्रभावशाली नेता
गिरिजाप्रसाद कोइराला–बहुदलीय लोकतन्त्र पुनस्र्थापनापछि चार पटक प्रधानमन्त्री
मनमोहन अधिकारी–पहिलो कम्युनिस्ट प्रधानमन्त्री
नगेन्द्र रिजाल–पञ्चायतकालीन प्रधानमन्त्री
सुशीला कार्की–पहिलो महिला प्रधानमन्त्री

सुशीलाको मन्त्रिपरिषदमा अर्याल र कुलमान मन्त्री बन्ने सम्भावना, सुधन गुरुङको पनि चर्चा

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने सम्भावना रहेको छ। अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको स्रोतले जनाएको छ।

हामी नेपाल समूहका सुदन गुरुङको टोलीले अर्याललाई कानुनी सल्लाहकार बनाएको थियो । अहिले राष्टपति रामचन्द्र पौडेलसँगको छलफलमा पनि अर्याल नै जुटेका थिए । अर्याल काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहका पनि सल्लाहकार हुन् ।

त्यसैस्तै घिसिङलाई पनि जेन–जी समूहले मन्त्रीमा प्रस्ताव गरेका छन् । एकथरि जेन–जी समूहले पनि घिसिङलाई प्रधानमन्त्री बनाउनु पर्ने अडान लिएका थिए । आजै शीतल निवासअघि घिसिङको पक्षमा नारा जुलुस भएको थियो । जेनजी प्रतिनिधि सुधन गुरूङको नाम पनि भावि मन्त्रीको रूपमा चर्चामा छ ।

 

सुशीलालाई पहिलो महिला प्रधानमन्त्रीको सौभाग्यसँगै देशको संकट टार्ने पनि जिम्मा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुनेछ ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।

नेपालले यसअघि पहिलो महिला राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीलाई पाएको थियो । जेनजी आन्दोलनले एमाले–कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्व प्रधानन्यायाधीश पनि हुन् । आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने । संसद विघटन गरी आजै शपथ ग्रहणको कार्यक्रम हुनेछ भने आजै शीतल निवासमा पहिलो बैठक पनि बस्नेछ।

सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राजनीति दलहरुले यही संविधानबाट निकास निकाल्न राष्ट्रपतिलाई सुझाव दिएका दिए । दलले संसद्बाटै अघि बढ्न र संसद विघटन नगर्न सुझाएका थिए । जेन–जीका तर्फबाट सरकार प्रमुख प्रस्तावित कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडानकाबीच प्रतिनिधि सभा विघटन गरी अन्तरिक सरकार गठन गर्न राष्ट्रपति तयार भएका हुन् ।

यसअघि काठमाडौंका मेयर बालेन शाहले पनि सहमतिका लागि न्यूनतम बटमलाइन नै संसद् विघटन भएको बताउँदै आएका थिए । पूर्व प्रधानन्यायाधीश कार्की अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छन् । विराटनगरमा कानुन व्यवसायबाट आफ्नो करियर सुरु गरेकी उनी सोझै सर्वोच्च अदालतको न्यायाधीश बनेकी थिइन् ।

न्यायपालिकामा रहँदा हक्की र इमान्दार स्वभावका कारण चर्चामा आएकी पूर्व प्रधानन्यायाधीश कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।

केही वर्षयता मुलुकको राजनीतिक तहमा देखिएको विकृति र विसंगतिमाथि तिखो टिप्पणी गर्दै आएकी कार्कीको नाममा आन्दोलनकारी जेनजीका प्रतिनिधिदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन र प्रमुख राजनीतिक दलहरूले सहमति दिएका हुन् ।

किसान परिवारमा जन्मिएकी कार्की मातापिताका सात सन्तानमध्ये जेठी हुन् । २५ जेठ २००९ मा मोरङको शंखरपुरमा जन्मिएकी कार्की विराटनगरमा रहँदा बीपी कोइरालाको परिवार र प्रजातान्त्रिक आन्दोलनमा पनि जोडिइन् ।

न्यायपरिषद्मा रहेको उनको पुरानो अभिलेख अनुसार, उनले २०२८ सालमा विराटनगरको महेन्द्र मोरङ कलेजबाट बीए पास गरिन् अनि २०३१ सालमा बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । भारतको बनारस हिन्दू विश्वविद्यालयमा पढ्दा प्रजातान्त्रिक आन्दोलनका नेताहरूको संगतका क्रममा उनीसँग कांग्रेस नेता दुर्गा सुवेदीसँग भेट भयो र पछि उनीसँगै नै विवाह गरिन् ।

कांग्रेसको सक्रिय राजनीतिक छाडेको दशकौं भए पनि सुवेदी मुलुकको प्रजातान्त्रिक आन्दोलनका सक्रिय पुराना नेता हुन् । प्रजातान्त्रिक आन्दोलनका लागि आर्थिक स्रोत जुटाउन नेपाली कांग्रेसले २०३० सालमा गरेको विमान अपहरणको घटनामा सुवेदी पनि संलग्न थिए ।

कार्कीले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि २०३६ सालदेखि विराटनगरमा आधारित भएर कानुन व्यवसाय थालिन् । त्यसै सिलसिलामा उनले २०४२ सालदेखि चार वर्ष महेन्द्र बहुमुखी क्याम्पस, धरानमा अध्यापन पनि गरिन् । विराटनगरमै रहेर बारका विभिन्न पदहरूमा रहेर काम गरेकी उनी पुस २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेकी थिइन् ।

विराटनगरमा बसेर हक्की र निडर स्वभावमा कानुन व्यवसाय गरिरहेकी कार्कीलाई तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा ल्याउने प्रस्ताव अघि बढाएका थिए । ९ माघ, २०६५ मा सर्वोच्चको अस्थायी न्यायाधीश भएकी कार्की दुई वर्षपछि स्थायी बनिन् । अनि न्यायाधीश भएको सात वर्ष सात महिनापछि १ वैशाख, २०७३ मा कामु प्रधानन्यायाधीश भइन् ।

त्यसको तीन महिनापछि बल्ल संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेर उनी प्रधानन्यायाधीश बनेकी थिइन् । जेठ २०७४ सम्म प्रधानन्यायाधीश बनेकी उनले करिब १५ महिना न्यायपालिकाको नेतृत्व गरिन् । व्यक्तिको राजनीतिक पृष्ठभूमिलाई न्यायाधीश छनौटको आधार मान्न नहुने उल्लेख गर्दै ‘न्यायालयको मन्दिरमा प्रवेश गर्ने भए राजनीतिको चप्पल बाहिरै फुकालेर आउनु पर्ने’ भनी उनले दिएको अभिव्यक्ति त्यतिबेला चर्चित भएको थियो ।

उनका पालामा उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्ति भएको थियो, जुनपछि विवादास्पद पनि भयो । उनले आत्मकथामा कांग्रेसका तत्कालीन नेता रमेश लेखक र माओवादी नेता वर्षमान पुनले नियुक्तिका क्रममा निकै हस्तक्षेप गर्न खोजेको र दबाब दिएको भनी खुलासा गरेकी थिइन् ।

प्रधानन्यायाधीशबाट अवकाश पाउन करिब ४० दिन बाँकी छँदा उनले महाभियोगको सामना गर्नुपर्‍यो । सत्तामा रहेका कांग्रेस र माओवादी सांसदहरूले उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरे, पछि सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण महाभियोगको प्रस्ताव निस्तेज भयो ।

सडकमा चौतर्फी विरोधपछि सांसदहरूले महाभियोगको प्रस्ताव फिर्ता लिन बाध्य भए । महाभियोगपछि सर्वोच्च फर्किएकी उनले बाँकी करिब एक महिना सर्वोच्च अदालतमा मुद्दाको सुनुवाई गरिनन्, प्रशासनिक काम कारबाहीमा सीमित बनेर अवकाश भइन् । उनी महाभियोग खेप्ने पहिलो प्रधानन्यायाधीश समेत बनिन् ।

प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा अदालतको फैसलाबाट आफ्नो स्वार्थ नमिलेपछि कांग्रेस र माओवादीले उनलाई महाभियोग लगाएका थिए । २०८० सालमा सर्वोच्च अदालतकै संवैधानिक इजलासले उनीमाथिको महाभियोगलाई ‘राजनीतिक प्रतिशोध’ भनेको थियो ।

उनका पालामा सर्वोच्च अदालतमा वर्षौदेखि रोकिएका केही महत्वपूर्ण मुद्दाको फैसला भयो । कतिपयको न्यायनिरुपणमा उनी संलग्न भइन्, कतिपयमा भने उनी विनाको इजलासले पुराना र बहुचर्चित मुद्दा टुंग्यायो ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यता विवाद, पूर्वराजा ज्ञानेन्द्रकी शाहकी छोरी प्रेरणाको दाइजोसम्बन्धी जग्गा र सुडान घोटालाको भ्रष्टाचार मुद्दा उनको पालामा भएका बहुचर्चित फैसलाहरू हुन् । बहालवाला सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता उनी सहितको इजलासबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए ।

उनको खरो र निर्भिक अडान एकातिर छ, इतर विचारलाई हतपत विश्वास नगर्ने उनको अर्को कमजोरी हो । राजनीतिक पृष्ठभूमि र दर्शन सहितका राजनीतिक पक्षको विश्वास जित्न निकै हम्मेहम्मे हुनेछ । आफ्ना कमजोरीलाई पैतालामा दबाएर राजनीतिक विश्वासमार्फत निर्वाचन सम्पन्न गरी मुलुकलाई नयाँ निर्वाचित जनप्रतिनिधिको हातमा सुम्पिनु उनका लागि सजिलो काम होइन ।

‘उहाँ हिड्ने बेलामा कुनै सरकारी पदको आकांक्षा राख्नुभएको थिएन, त्यसपछि पनि कुनै लालचा प्रकट गर्नुभएन । मुलुकलाई संकटबाट निकास दिन युवा आन्दोलनकारीहरूको आग्रह टार्न नसकेर उहाँले यो जिम्मेवारी स्विकार गर्नु भएको देखिन्छ’, उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘विगतमा आफैंले प्रतिपादन गरेको मान्यतालाई भूलेर यो जिम्मेवारी सम्हाल्नु भएकी उहाँलाई मुलुककै अस्तित्व जोगाउन पनि असफल हुने छुट छैन ।’

संसद् विघटन विडम्बनापूर्ण, खबरदारी गरौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बताएका छन् ।

“विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ,” पोखरेलको भनाइ छ ।

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एकको मृत्यु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा आज मृत्यु भएको हो ।

ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपप्रमुख अधिकारीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

यस्तै पूर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज बिहान राप्ती नगरपालिका–७ सिक्सग्रुपस्थित अमृतपानी खानेपानी तथा सरसफाइ समितिको चेम्बरभित्र स्थानीय ४० वषीय कमल घलेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीको शपथ नौं बजे, शीतल निवासमा पहिलो मन्त्रिपरिषद बैठक

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ । अहिले ९ बजे उनको शपथ हुने स्रोतले जनाएको छ । अहिले पत्र तयार भइरहेको जनाइएको छ ।

उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएको छ । बैठकले संकटकालको सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयोग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्रोतले जनाएको छ ।

आम सहमतिका आधारमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की दुई वटा सम्माननीय पदमा पुग्ने पहिलो व्यक्ति बनेकी छन् । अन्तरिम प्रधानमन्त्रीसँगै अन्य कम्तीमा दुई मन्त्रीको शपथ ग्रहण हुने बताइएको छ । एक जना जेनजीको प्रतिनिधि बालेन शाहका सल्लाहकार समेत मन्त्री हुनेछन् ।

सुन तस्करीका नाइके गोरे कारागार फर्किने, टोपबहादुर रायमाझी छैनन् सम्पर्कमा

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ३८ क्विन्टल सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ कारागार फर्किने भएका छन् । गोरे ३८ क्विन्टल सुन तस्करीमा मुख्य नाइके व्यक्ति हुन् । उनी जेनजीको प्रदर्शनका क्रममा मंगलबार कारागारबाट भागेका थिए । जेल प्रशासनले फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै फरार भएको तेस्रो दिनपछि गोरे कारागार फर्किने भएका हुन् ।

गोरेका आफन्त सुन्धारा कारागारको सम्पर्कमा आएर गोरे फर्किने तयारीमा रहेको कारागार प्रशासनले बताएको छ । ‘उहाँका आफन्तले हामीलाई सम्पर्क गर्नु भएको छ । कारागार फर्किने जानकारी गराउनु भएको छ’ कारागार स्रोतले भन्यो । जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए ।

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो । प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृह मन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।

छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेबु्रअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो । तर एक किलो पनि सुन भेटिएको थिएन ।
प्रहरीले सुन बरामद गर्न नसकेकै कारण जिल्ला अदालत, मोरङले सबैलाई सफाइ दियो ।

न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो । जेल प्रशासनले फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै फरार भएको तेस्रो दिनपछि गोरे कारागार फर्किन लागेका हुन् । उनीसँगै फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भने सम्पर्कविहीन छन् । कारागार प्रशासनले कारागार नफर्किए कैदीबन्दीलाई कानून अनुसार, सशक्त कारबाही गर्ने चेतावनी दिएको छ ।

राजपुर–सलेना सडक स्तरोन्नति तीव्र

गोदावरी । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत पर्ने राजपुर–सलेना सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ । धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना कार्यालयका इन्जिनियर दिनेशसिंह रैखोलाले उक्त सडक खण्डको काम ५० प्रतिशत सम्पन्न भएको बताएका छन् ।

विसं २०८१ साउन २२ गते ३ वर्षमा १४ किलोमिटर सडक कालोपत्र गरिसक्ने गरी सिएस, दुनिला, स्वार जेभीसँग रु ३८ करोडमा ठेक्कासम्झौता भएको उनले जानकारी दिए । सो सडकखण्डअन्तर्गत पर्ने राजपुर–सलेनासम्मको १४ मिलोमिटर सडकमा बेस हाल्ने काम सम्पन्न भएर कालोपत्र गर्न मात्र बाँकी रहेको इन्जिनियर रैखोलाको भनाइ छ ।

सो सडक निर्माणको समयावधि २०८४ साउन २१ गतेसम्म बाँकी नै भए पनि निर्माण कम्पनीले तीव्र गतिमा निर्माणको काम गरिरहेको हुँदा चालु आर्थिक वर्षमा सम्पन्न हुन सक्ने उनले बताए । यसैगरी सो सडकखण्डको कैलालीमा पर्ने स्याउले–हाटखोलीसम्मको सात किलोमिटर सडकको बेसलाइनको काम सम्पन्न भएर कालोपत्र गर्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो सडक निर्माण सम्पन्न गर्न गत असार १४ गते दुई वर्षको म्याद सकिएपछि आगामी चैत २४ गतेसम्मका लागि म्याद थपिएको छ । रु २९ करोड ७१ लाख लागतमा सडक निर्माण गर्न २०७९ असार १६ गते कालिका वेदांशी जेभीसँग सम्झौता भएको थियो । सो सडक खण्डअन्तर्गत राजपुर–सलेना १४ र कैलालीको स्याउले–हाटखोली सात किलोमिटर गरी २१ किलोमिटर सडक कालोपत्र गर्ने काम चालु आर्थिक वर्षमै सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ ।

धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आर्थिक वर्ष २०७२÷७३ मा निर्माण सुरु भएको निर्माण सुरु भएको थियो । १८६ किलोमिटर लम्बाइको सो उक्त सडकको गत असार मसान्तसम्म ४१ किलोमिटर मात्रै कालोपत्र भएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो सडक निर्माणको कुल लागत अनुमान रु सात अर्ब ५४ करोड ६३ लाख ८१ हजार रहेकामा हालसम्म रु एक अर्ब ३९ करोड ७१ लाख ७८ हजार खर्च भएको छ ।

उक्त द्रुतमार्ग निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा रु १५ करोड विनियोजन गरेको छ । सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुन नसकेकाले धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक निर्माणको प्रगति सुस्त छ । आयोजना सुरु भएको १० वर्षमा ‘ट्र्याक’ खोल्ने काम सकिनाका साथै ४१ किलोमिटर सडक कालोपत्र र एउटा पुल निर्माण गरिएको छ ।

जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीहरूको अन्त्येष्टि

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीहरूको आज (शुक्रबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा असई मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वर वृत्तमा सहायक हवल्दार अमृत गुरुङको मृत्यु भएको थियो ।

उनीहरूको आज अन्त्येष्टि गरिएको हो । प्रदर्शन हुँदा ड्युटीमा रहेका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गरेका थिए । असई राय हिरासत व्यवस्थापनमा खटिएका थिए । हिरासतमा रहेका थुनुवालाई सुरक्षित बनाएर आफू सुरक्षित हुन खोज्दा उनी प्रदर्शनकारीको आक्रमणमा परेका थिए । उनलाई जोगाउन गएका जवान थापा पनि मारिए । उनीहरूको आज पशुपति आर्यघाटमा सलामी सहित अन्त्येष्टि गरिएको हो ।

कम्युनिष्ट एकताका लागि घनश्याम भूसालको आह्वान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभर गरिएको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लङ्ग पारेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज (शुक्रबार) स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै नहुने समेत बताएका छन् ।

‘२३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरुले गरेको ताण्डवले हाम्रा पनि नालायकीको पराकाष्टालाई छर्लङ्ग पारेका छन् । हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै हुने छैन । अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण संकटका सामु उभिएका छौं । यस अवस्थामा, म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु,’ उनले भनेका छन् ।

नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै आफूहरूलाई विभाजित गरेको उनले बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने सबै बन्धन चुँडाल्न तयार हुनुपर्ने पनि बताएका छन् । ‘म कम्युनिष्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिष्ट पार्टीका सदस्यहरू, खास गरी एमाले र माओवादीको स्कुलिङबाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरुलाई आह्वान गर्न चाहन्छुः हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौं भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔं,’ उनले भनेका छन्।

गत भदौ २३ गते सरकारले चलाएको गोलीले जसरी अबोध नेपाली छोराछोरीहरू भुटिए, त्यो नेपालको राजनीतिक इतिहासको एउटा सर्वाधिक कायरतापूर्ण बर्बरता रहेको पनि भूसालले बताएका छन् । भदौ २४ गते मुलुकमाथि तोडफोड, आगजनी, लूटपाटको जुन सैतानी ताण्डव नाच्यो त्यो नेपाल–अङ्ग्रेज युद्धमा बेलायती फौजले हाम्रा तराईका बस्तीहरुमा गरेको बर्बरतापूर्ण आक्रमणभन्दा भयानक भएको उनको बुझाइ छ ।

काठमाडौँ महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘जेन–जी’ प्रदर्शनका क्रममा सडकमा यत्रतत्र छरिएका भग्नावशेष हटाउने कार्य सुरु गरेको छ ।

फोहर तथा भग्नावशेष हटाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन र फोहर पन्छाउनेसहित १०० गाडी परिचालन गरिएको महानगरपालिकाअन्तर्गत वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिए ।

प्रमुख राईका अनुसार कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरलगायत स्थानका सडक सफा गर्ने काम भइसकेको छभने अन्य केही स्थानको सडक सफा गर्ने काम जारी छ । उनले भने, “हाल महानगरको सफाइ टोलीले कार्यालय र व्यक्तिको घर भने सफा गरेको छैन । सडक सफा गर्ने काम मात्र भइरहेको छ ।”

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट उपत्यकास्थित प्रहरी कार्यालयमा उल्लेखनीय क्षति पुगेको र ती स्थानसहित व्यक्तिको घर, सार्वजनिक भवन तथा कार्यालय सफा गर्न अझै समय लाग्ने विभाग प्रमुख राईले जानकारी दिए ।

यसैबीच, महानगरपालिकाले सिसाजन्य तथा हानिकारक फोहरलाई व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल

काठमाडौँ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएको जनधनको क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरुले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुनःनिर्माणमा जुट्न सार्वजनिक अपिल गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोडबाट अपूरणीय क्षति भएकामा दुःख व्यक्त गरेको छ । महासङ्घले निर्वाध पेसा–व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षा माग गर्दै निजी क्षेत्रले बजारमा उपयोग्य वस्तुको अभाव हुन नदिन व्यवसायीलाई आग्रहसमेत गरेको छ ।

“उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासङ्घ भत्र्सना गर्दछ । साथै महासङ्घ व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि सबैको ध्यानाकर्षण गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ, “उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासङ्घले थप विवरण सङ्कलन गरिरहेको भएता पनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको छ ।”

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न निजी क्षेत्र तयार रहेको पनि महासङ्घले जनाएको छ । उद्यम व्यवसाय सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने उनको भनाइ छ । “नवनिर्माण एवं पुनःनिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध सञ्चालन गर्न आवश्यक शान्तिसुरक्षाको व्यवस्थाका लागि महासङ्घ आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ,“निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जानेछ ।”

निषेधाज्ञा एवं कर्फ्यूका समयमा अत्यावश्क सेवा तथा पेसाकर्मीको आवतजावत एवं औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणका लागि पनि महासङ्घले आग्रह गरेको छ । यसैगरी, गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिनेतर्फ देशैभरका उद्यमी व्यवसायीलाई अपिल गरिएको छ । अत्यावश्यक सामान आयात–निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई पुनः सञ्चालन गर्ने वातावरण निर्माणका लागि पनि महासङ्घले आग्रह गरेको छ ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सले बिहीबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको जनाउँदै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ । भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता ‘जेनजी’ले उठाएका विषयलाई सबै सरोकार भएकाले गम्भीरतापूर्वक लिनुपर्ने चेम्बरले अवश्यकता औँल्याएको छ ।

“आन्दोलनका क्रममा भएको जनधनको क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खल्बल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्ने आवश्यकता छ”, विज्ञप्तिम उल्लेख छ,“आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकार भएका पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न हामी आह्वान गर्दछौँ । साथै, मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता पनि अपरिहार्य छ ।”

यस्तै, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसमेत गम्भीर रूपमा प्रभावित भएको जनाएको छ । यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा सङ्कट ल्याएको र नागरिक असाधारण कठिनाइमा परेको पनि महासङ्घले जनाएको छ । यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने मागसमेत गरिएको छ ।

धरानको भाटभटेनीभित्र भेटियो तीन जनाको शव

विराटनगर । धरानस्थित भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीन जनाको शव भेटिएको छ । जलेर नचिनिने अवस्थामा ती शव भेटिएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो लगाइएको थियो ।

भित्र तीन वटा शव जलेको अवस्थामा भेटिएको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले बताए । आगो निभेसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सोक्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ । यस्तै केही बेरअघि अन्य दुई शव त्यस्तै अवस्थामा फेला परेको खड्काले बताए । मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा तीन जना फसेको भन्दै हल्ला फैलिएको थियो । फसेका व्यक्तिका आफन्तजनहरूले अनौपचारिकरूपमा विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् । भाटभटेनीमा लागेको आगो हिजो साँझ मात्र निभेसँगै आएको थियो ।

रसुवागढी मितेरी पुल निर्माण : नेपालतर्फ जग खन्ने काम सुरु

रसुवा । रसुवा चीन सरकारले रसुवागढी नाकास्थित ल्हेन्दे खोलामाथि बनाउन लागेको मितेरी पुल निर्माणका क्रममा आजदेखि नेपालतर्फ पनि काम सुर भएको छ ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सो पुल बगाएपछि पुनः निर्माण गर्ने क्रममा यसअघि नै काम सुरु भएकामा आजदेखि नेपालतर्फ पनि पिलरको जग खन्ने काम सुरु भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार ‘जुम स्काभेटर’को सहायताले ठूलाठूला हिमपाइपमार्फत खोलाको पानी एकीकृत गरी नेपालतर्फ प्रवेश गरी चिनियाँ टोलीले आज बिहानदेखि बेलीब्रिज अड्याउने पिलारको जग खन्ने काम सुरु गरेको हो ।

यही भदौ ३० गतेभित्र पुल निर्माणसम्पन्न गर्नेगरी दुई स्काभेटरले काम गरिरहे पनि निरन्तरको वर्षाका कारण तोकिएको समयमा निर्माणसम्पन्न नहुने प्राविधिक पक्षले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँबाट नजिक पर्ने उत्तरतर्फ रसुवागढीस्थित प्रमुख नाका जोड्ने मितेरी पुल बगेसँगै सो नाकाबाट हुने व्यापार करिब ठप्प अवस्थामा रहेको स्थानीय भन्सार कार्यालयले जनाएको छ ।

यसैबीच चिनियाँ प्राविधिकले ल्हेन्दे खोलामा हिमपाइप राखी आवतजावत गर्न सहज बनाएसँगै कामको सिलसिलामा केरुङ पुगी त्यहाँ फसेका १६३ रसुवालीलाई नेपाल आउन सफल भएको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिएका छन्।

नयाँ बिल्डिङमा नयाँ प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गरिदै (तस्बिरहरु)

काठमाडौँ । गृह मन्त्रालयको बन्दै गरेको नयाँ बिल्डिङमा नयाँ प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गरिदै छ । जेनजी आन्दोलनमा पुरानो प्रधानमन्त्री कार्यालय आगजनी भएपछि गृहमन्त्रालयका लागि बन्दै गरेको भवनमा अहिले प्रधानमन्त्ती कार्यालय तयार गरिदै छ ।

नयाँ अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायधिश शुशिला कार्कीलाई बनाउन जेनजी युवाहरुले प्रस्ताव गरेका छन् । यसै विषयमा हिजो देखी शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल तथा सेना प्रधान अशोकराज सिग्देशसँगै कार्की पनि छलफलमा जुटेका छन् ।

आन्दोलनकारीको ‘बटमलाइन’ : संसद विघटन र निर्णय प्रक्रियामा जेनजीको सुनिश्चित सहभागिता

काठमाडौं । जेनजी आन्दोलनकारीले संसद विघटन र निर्णय प्रक्रियामा जेनजीको सुनिश्चित सहभागिताको ‘बटमलाइन’ अगाडि सारेका छन् । जेनजीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ ले भर्खरै सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेण्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर्नु हो ।’

जेनजीका विभिन्न समूहका प्रतिनिधिका रूपमा सुदन गुरुङलाई आज शीतलनिवास बोलाइएको थियो । जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ । कार्कीले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य शर्त बनाएकी छन् । जेनजीको माग, मर्म र भावनाअनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडान राखेर गए राति उनी शीतलनिवासबाट निस्किएकी थिइन्।

संसद विघटन नगर्न पुराना राजनीतिक दल, संघीय संसदका दुवै सदनका प्रमुखहरूको दबाब छ । आजै मात्र सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले लिएको अडानको पक्षमा आफूलाई उभ्याएका छन् । संविधानभित्रैबाट समाधान खोज्न भनेका छन् । हालको संविधानमा संसद बाहिरबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था छैन । संसदको बहुमत प्राप्त गर्न सक्ने सांसद वा पहिलो संसदीय दलेको नेता मात्र प्रधानमन्त्री बन्ने व्यवस्था संविधानको धारा ७६ मा छ ।

 

राष्ट्रपति भवन शीतल निवासमा सुरक्षा व्यवस्थामा कडाइ (तस्बिरहरू)

काठमाडौं। राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।  निषेधाज्ञा लागु भए सँगै सो क्षेत्रमा आज सुरक्षा व्यवस्थामा झन् कडाइ गरिएको हो ।

साउदी–सिरिया समझदारी:ऊर्जा र आर्थिक विकासमा नयाँ अध्याय

सिरिया र साउदी अरेबियाबीच भएको समझदारी अनुसार, साउदी अरेबियाले सिरियालाई १६ लाख ५० हजार ब्यारेल कच्चा तेल अनुदानस्वरूप उपलब्ध गराउने सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ।

बिहीबार दमास्कसमा दुई देशका ऊर्जा तथा विकास निकायहरूबीच भएको सहमतिअनुसार, यो अनुदान साउदी विकास कोषमार्फत प्रदान गरिनेछ।

सम्झौतामा साउदी विकास कोषका प्रमुख सुल्तान अब्दुर्रहमान अल–मारशद र सिरियाका ऊर्जा क्षेत्रका प्रमुख मोहम्मद अल–बशीरले हस्ताक्षर गरेका हुन्।

यस अनुदान सहयोगको निर्देशन साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजिज अल साउद तथा युवराज मोहम्मद बिन सलमानबाट आएको जनाइएको छ।

साउदी विकास कोषका अनुसार, यो सहयोगले सिरियाका तेल शुद्धीकरण केन्द्रहरूको सञ्चालनमा सघाउने, वित्तीय तथा प्राविधिक स्थायित्वलाई प्रवर्द्धन गर्ने तथा देशको मुख्य आर्थिक क्षेत्रहरूलाई पुनर्जीवित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

कोषले यस कदमलाई सिरियाली जनताप्रतिको साउदी सद्भाव तथा दुई देशबीचको मजबुत सम्बन्धको अभिव्यक्तिको रूपमा चित्रण गरेको छ।

सिरियाका लागि यो सहयोग ऊर्जा आपूर्तिको सुधार, औद्योगिक पुनर्निर्माण तथा जनताको जीवनस्तर उकास्नेतर्फको साउदी प्रतिबद्धताको प्रतीक मानिएको छ।

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुरुङ्गा । ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषध ओसारपसारमा कसुर ठहरी कैद सजाय भुक्तान गरिरहेकी खातुन गत भदौ २४ गते आन्दोलनका क्रममा भागेकी थिइन् । उनलाई प्रहरीले गएराति भारत भाग्न लागेको समयमा भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमान्ड र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा रहेको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलस्थित सीमा इलाकाबाट खातुनलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ ।

त्यस्तै आन्दोलनका क्रममा फरार भएका अर्का एक युवक सीमावर्ती भारतीय क्षेत्रमा पक्राउ परेका छन् । बुधबार राति भारत–नेपाल सीमामा रहेको पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ का सुरज कामत रहेका छन् । भारतीय प्रहरीले सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको बताइएको छ । कामत नेपाल–भारत सीमावर्ती पिलर सङ्ख्या १५४ देखि करिब २०० मिटरभित्र पक्राउ परेका हुन् ।

नेपालको आमवारी हुँदै ई–रिक्सा र पैदल मार्फत उनी भारतीय सीमामा प्रवेश गरेका थिए । लागूऔषधको अभियोगमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाएसँगै थप अनुसन्धान भइरहेको बताइएको छ ।

३५ कारागारका १३ हजार कैदी फरार, कुनबाट कति भागे ? (सूचीसहित)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट १३ हजार ११४ कैदी बन्दी फरार भएका छन् । फरारमध्ये १,२९८ जना नियन्त्रण र सम्पर्कमा आएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सबै प्रदेशबाट संकलन गरेको विवरण अनुसार अझै ११ हजार ८६८ कैदीबन्दी फरार छन् । जेलबाट भाग्ने क्रममा नौं जनाको मृत्यु भएको छ भने २५ जना घाइते छन् ।

कैदी बन्दी फरार भएका कारागार र बाल सुधार गृहमा रहेका १६ हजार ७९७ जनामध्ये अहिले ४ हजार ८९५ मात्र कैदमा छन् । ३५ जिल्लाका कारागार र बाल सुधार गृहबाट कैदी बन्दी फरार भएका छन् । ती जिल्लाका इन्सेक प्रतिनिधिले पठाएको रिपोर्टका आधारमा तयार पारिएको विस्तृत विवरण इन्सेकले शुक्रवार सार्वजनिक गरेको छ ।

सोसलिष्ट इन्टरनेशनद्वारा देउवा दम्पतीमाथि भएको हमलाको निन्दा

काठमाडौँ । सोसलिष्ट इन्टरनेशनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ ।

विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनले वक्तव्यमार्फत जेनजीको प्रदर्शनका क्रममा भदौ २३ गते देउवा दम्पतीलगायत राजनीतिक व्यक्तित्वमाथि भएको भौतिक हिंसाको निन्दा गरेको हो ।

सोसलिष्ट इन्टरनेशनका अध्यक्ष पेद्रो साञ्चेज पेरेज–कास्तेजोनले वक्तव्य जारी गर्दै उक्त घट्नाक्रमबारे चिन्ता व्यक्त गरेका छन् ।

प्रदर्शनका क्रममा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोसलिष्ट इन्टरनेशनले प्रजातान्त्रिक व्यवस्थाअनुसार ढिलाइ नगरी शान्तिपूर्ण संवादबाट निकास हुने अपेक्षाका साथ यस चुनौतीपूर्ण क्षणमा आफ्नो सदस्यसमेत रहेको कांग्रेस पार्टीप्रति ऐक्यबद्धता जनाएको छ ।

प्रहरीले गर्‍यो आगजनी, लुटपाटका सबुद, भिडियो र तस्वीर पठाई दिन आग्रह

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते भएका घटनाहरूको तस्वीर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइ दिन आग्रह गरेको छ । प्रहरीले आज (शुक्रबार) सार्वजनिक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई (प्रहरी इमेल) [email protected] मा पठाई सहयोग गर्नु हुन अनुरोध गर्दछौं ।’

पठाउनेको गोपनियता कायम रहने पनि प्रहरीले स्पष्ट पारेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा देशको मुख्य प्रशासनिक भवन सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालतदेखि सरकारी कार्यालय, पार्टी कार्यालय व्यक्तिगत घर तथा व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी गरेर ध्वस्त पारिएको छ । आन्दोलनमा हालसम्म गरी ५१ जनाको ज्यान गएको छ । प्रहरीले गत चैत १५ को राजावादी प्रदर्शनमा उच्छृंखलता प्रदर्शन गर्ने सबैजसो मानिसको पहिचान गरी पक्राउ गरेको थियो । यसपटक त स्वयं प्रहरीका कार्यालय र व्यारेकमा अगजनी तथा तोडफोड भएको छ । हतियार, पोशाकदेखि मेसमा रहेका दाल, चामलसम्म लुटपाट भएका छन् ।

पाँच दिनदेखि शवको पखाईमा परिवार

बाँके । जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार पाँच दिनदेखि शवको पर्खाइमा छ । घटनाको पाँच दिनसम्म पनि शव ल्याउन नसक्दा अभिभावक र आफन्तजन थप पीडामा परेको वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए ।

‘एउटै वडाका दुई होनहार युवालाई जेनजी आन्दोलनमा गुमाउनुपर्दा सिङ्गो वडावासी शोकमा रहेको छ, यतिका दिनसम्म शव समेत पाउन नसक्दा थप पीडा भएको छ’, वडाध्यक्ष रिजालले भने । नेपालगञ्ज–१ धम्बोझी निवासी १९ वर्षीय आयुष र २३ वर्षीय सुलभराजको गत २३ भदौमा जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागि ज्यान गएको थियो । फिनल्यान्ड जाने तयारीका लागि आयुष भर्खरै मात्र काठमाडौं गएका थिए ।

सुलभराज काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए । वडाका दुई होनहार युवा गुमाउनुपर्दा सिङ्गो वडावासी नै शोकमा रहेको वडाध्यक्ष रिजालले बताए । उनका अनुसार घटनाको जानकारी पाउनासाथ आयुषका बुवा सुशील थापा र सुलभराजका बुवा नरेन्द्र श्रेष्ठ काठमाडौ पुगे पनि छोराको शव घर ल्याउन सकेका छैनन् । छोराको शव घर लैजान नपाउँदा पीडा माथि थप पीडा थपिएको नरेन्द्रले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

नेपालगञ्ज–१ नम्बर वडा कार्यालयले गत २४ भदौमा शोक विज्ञप्ति जारी गरी मृतकलाई श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो । नेपालगञ्ज–१ का सुलभराज र आयुसको पार्थिव शरीरको आवश्यक मुचुल्का प्रक्रिया सम्पन्न भइसकेकोले अब छिट्टै आउने आशा गरिएको वडाध्यक्ष रिजालको भनाइ छ ।

 

डिमेन्सिया ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै, महिलामा बढी असर

अष्ट्रेलियामा,डिमेन्सिया, रोगले ग्रसित हुने मानिसहरूको संख्या आगामी वर्षहरूमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। डिमेन्सिया भनेको यस्तो मानसिक अवस्था हो, जसमा व्यक्तिको सम्झना, सोच्न, निर्णय लिन र व्यवहारमा समस्या आउँछ र दैनिक जीवनमा असर पर्ने गरी मानसिक क्षमता घट्छ। डिमेन्सिया कुनै एकल रोग नभएर विभिन्न रोगहरूको समूह हो, जसमा अल्जाइमर, भास्कुलर डिमेन्सिया, लेवी बडी डिमेन्सिया जस्ता प्रकारहरू पर्दछन्।

सरकारको एक रिपोर्ट अनुसार, २०६५ सम्म लगभग एक करोड १० हजार मानिसहरू डिमेन्सियाबाट प्रभावित हुने अनुमान गरिएको छ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले अद्यावधिक गरेको ‘डिमेन्सिया इन अष्ट्रेलिया’ रिपोर्टमा यो तथ्य उल्लेख गरिएको छ । यो संख्या २०२४ मा करिब ४ लाख २५ हजारबाट २०६५ सम्म दोब्बरभन्दा बढी बढ्ने सम्भावना छ।

हाल डिमेन्सियाबाट महिलाहरू पुरुषहरूभन्दा बढी प्रभावित छन्। रिपोर्टअनुसार, २०२४ मा २ लाख ६६ हजार महिला र १ लाख ५९ हजार पुरुष डिमेन्सियाबाट पीडित छन्, जुन संख्या २०६५ सम्म क्रमशः ६ लाख ६२ हजार महिला र ३ लाख ९० हजार पुरुष पुग्ने अनुमान गरिएको छ।

डिमेन्सिया २०२३ मा अष्ट्रेलियामा मृत्युको प्रमुख कारण रह्यो, जसले करिब १७ हजार ४०० जनाको ज्यान लिएको छ। यसमा १० हजार ९०० महिला र ६ हजार ५०० पुरुष रहेका छन्। रिपोर्टमा अल्जाइमर रोग, भास्कुलर डिमेन्सिया, अस्पष्ट डिमेन्सिया र लेवी बडी डिमेन्सिया जस्ता विभिन्न प्रकारका डिमेन्सिया समावेश गरिएको छ।

डिमेन्सिया अष्ट्रेलियाका सीईओ तान्या बुकेननले भने, “यो रिपोर्टले डिमेन्सियाले अष्ट्रेलियाली परिवारहरूमा पार्ने गहिरो प्रभावलाई प्रष्ट रूपमा उजागर गरेको छ।”

रिपोर्टले डिमेन्सियाका मुख्य हेरचाह गर्नेहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको देखाएको छ । २०२२ मा करिब ४२ प्रतिशत प्राथमिक हेरचाहकर्ताहरूले हप्तामा कम्तीमा ६० घण्टा हेरचाह पुर्‍याइरहेका थिए।

संविधानको सही कार्यान्वयनबाट जेनजीको माग पूरा गर्नुपर्छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधानको सही कार्यान्वयनबाट नै जेनजीको माग पूरा गर्नुपर्ने सुझाव दिएका छन् । एक वक्तव्य जारी गर्दै घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति गम्भीरतापूर्वक लिन अपिल गरेका छन् ।

जेनजी आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डो¥याउन जिम्मेवार निकायलाई अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रयोजनको निम्ति नेपालको संविधान २०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र उपाय हो । झण्डै सात दशकको सपना र सयौँ शहीदको बलिदानपश्चात्, जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान २०७२ को सही कार्यान्वयनबाट नै जेन–जी पुस्ताका आकाङ्क्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ भन्ने मेरो मान्यता छ ।’

युवाहरूको सो आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन–व्यवस्था अर्थात् सुशासन जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘तिनले उठाएको माग हामी जो–कोहीका पनि अभीष्ट हुन् । तर, आन्दोलनका नाममा त्यस दिन र भोलिपल्ट समेत मुलुकमा जुन तहको विनाश र विध्वंस मच्चाइयो–त्यसको कारण, उद्देश्य र कर्ता समेतको वास्तविकता पहिल्याउनु आज अति जरुरी छ ।’

घाइते सैनिकहरूको समर्थनमा राजकुमार ह्यारीको आकस्मिक: युक्रेन भ्रमण

बेलायत । बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुगेका छन्। यो उनको चार वर्षभित्रको दोस्रो भ्रमण हो ।

ह्यारीले स्थापना गरेको ‘इन्भिक्टस खेलकुद प्रतियोगिता’ घाइते, रोगग्रस्त वा सेवामा रहेका सैनिक तथा पूर्वसैनिकका लागि प्यारालिम्पिक शैलीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । युक्रेन समेत यस खेल आयोजना गर्न दावेदार मुलुकमध्ये एक हो ।

उनका प्रतिनिधिहरूले आगमनको पुष्टि गर्दै सैनिकहरूको पुनःस्थापना र उपचार प्रक्रियामा उनको निरन्तर सहयोग रहने जनाएका छन् ।

राजधानीतर्फको रात्रि रेलयात्रामा ह्यारीले गार्डियनसँग भने, “हामी युद्ध रोक्न सक्दैनौँ, तर पुनःस्थापनाको यात्रामा सकेसम्म सहयोग गर्न सक्छौँ ।”

सिंहको आक्रमणपछि स्थायी चिडियाखानामा छानबिन तीव्र

थाइल्यान्ड । थाइल्यान्डको चर्चित सफारी वल्र्ड चिडियाखानामा सिंहले एक रक्षकलाई मारिदिएपछि यसको शिकारी क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । घटनापछि पार्कको सुरक्षा र पशु व्यवस्थापनबारे छानबिन तीव्र बनेको वन्यजन्तु अधिकारीहरूले जनाएका छन् ।

एसियाको सबैभन्दा ठूलो खुला चिडियाखानामध्ये एक दाबी गर्ने सफारी वल्र्ड यसले ओराङ्गुटानलाई किकबक्सिङ खेल्न र हात्तीलाई हुला–हुप गर्न बाध्य पार्ने कार्यक्रम प्रस्तुत गर्दै आएकाले पहिले नै विवादमा थियो ।

बुधबार ५८ वर्षीय दीर्घकालीन रक्षक जियान रङ्गकारासामी गाडीबाट झर्दा सिंहको झुण्डले आक्रमण गरी मारेको थियो । शवपरीक्षणले घाँटी भाँचिनु, धमनी फुट्नु र गहिरा घाउ देखाएको छ ।

‘ट्रम्प’ नामक १० वर्षीय नर सिंहको नेतृत्वमा रहेका पाँच सिंहलाई खोरमा राखी निगरानीमा राखिएको छ । ठूलो बिरालो खण्ड मर्मत तथा सुधार नसकिँदासम्म बन्द हुनेछ ।

राष्ट्रिय निकुञ्ज विभाग ९डिएनपी० का वन्यजन्तु संरक्षण निर्देशक चालर्म पूम्मईका अनुसार निरीक्षणमा क्षतिग्रस्त बार, अपर्याप्त चेतावनी सङ्केत र न्यून सिसिटिभी भेटिएको छ । उहाँले चिडियाखानाको अनुमतिपत्र गत वर्षको अक्टोबरमै सकिएको र अझै नवीकरण नभएको बताए ।

“सुरक्षा मापदण्ड पूरा नगरेसम्म यस्तो घटना दोहोरिन सक्छ”, पूम्मईले भने । तर उनले सिंहहरूको वन्य प्रवृत्ति ‘मेटाउन नसकिने’ बताए।

चिडियाखानाका एक प्रतिनिधिले अन्य भागहरू खुला रहेको र आगन्तुकहरूका लागि सुरक्षित रहेको बताए । तर संरक्षणवादीहरूले चिडियाखानामाथि सयभन्दा बढी ओराङ्गुटानलाई तस्करीमार्फत ल्याई जबरजस्ती खेल प्रदर्शन गराएको आरोप लगाएका छन् ।

यस घटनापछि वाइल्डलाइफ फ्रेन्ड्स फाउन्डेसन थाइल्यान्ड (डब्लुएफएफटी) र पिपल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स(पिइटिए) ले राज्यलाई वन्यजन्तु स्वामित्वमा कडा नियन्त्रण गर्न आग्रह गरेका छन् ।

थाइल्यान्डमा सिंहको स्वामित्व कानूनी भए पनि हाल करिब पाँच सय सिंह चिडियाखाना, प्रजनन फार्म, पेटिङ क्याफे र निजी घरहरूमा दर्ता छन् । डब्लुएफएफटीका संस्थापक एडविन विकले खतरनाक जनावरको निजी स्वामित्वमै पूर्ण रोक लगाउन माग गर्दै भने, “सुरक्षा भएको चिडियाखानामै यस्तो हुन्छ भने निजी आँगनमा के हुन्छ ।”

डिएनपीका अर्का निर्देशक सादुदी पुन्पुग्डीले रक्षकलाई विद्युतीय लाठी, उच्च–दबाव पानी नली जस्ता सुरक्षा उपकरण अनिवार्य बनाउनुपर्ने र जोडी प्रणालीमा काम गर्न सल्लाह दिएका छन्। उनले मापदण्ड कार्यान्वयन सुनिश्चित गर्न देशभरका अन्य चिडियाखाना र निजी सिंह मालिकहरूको निरीक्षण गर्ने बताए ।

हमासविहीन प्यालेस्टिनी राज्यका लागि संयुक्त राष्ट्र महासभामा मतदान

संयुक्त राष्ट्रसघं । राष्ट्रसङ्घीय महासभाले शुक्रबार ‘न्युयोर्क घोषणा’ नामक प्रस्तावमाथि मतदान गर्दै इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई–राज्य समाधानलाई नयाँ जीवन दिने प्रयास गर्नेछ । यो प्रस्तावले हमासलाई पूर्ण रूपमा बहिष्कार गर्दै बन्धक मुक्त गर्ने माग गरेको छ ।

फ्रान्स र साउदी अरेबियाद्वारा प्रस्तुत घोषणामा ‘हमासले सबै बन्धकहरूलाई तुरुन्तै मुक्त गर्नुपर्छ’ र ‘सन् २०२३ अक्टोबर ७ मा नागरिकहरूमाथि गरेको आक्रमणको निन्दा गरिन्छ’ भनिएको छ । यसले गाजाको युद्ध अन्त्य गर्दै न्यायपूर्ण र स्थायी समाधानका लागि सामूहिक कारबाहीको आह्वान पनि गर्दछ ।

अरब लिगले समर्थन गरिसकेको र जुलाईमा १७ सदस्य राष्ट्रले सह–हस्ताक्षर गरेको घोषणाले गाजाको नेतृत्वबाट हमासलाई हटाउँदै सुरक्षा जिम्मेवारी प्यालेस्टिनी प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान राखेको छ ।

सेप्टेम्बर २२ मा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलनअघि हुने यस मतदानलाई ऐतिहासिक मानिएको छ । सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत थुप्रै नेताहरूले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने सङ्केत गरेका छन् ।

“महासभाले अन्ततः हमासलाई प्रत्यक्ष निन्दा गर्न लागेको तथ्य महत्त्वपूर्ण छ”, अन्तर्राष्ट्रिय सङ्कट समूहका संयुक्त राष्ट्रसङ्घीय निर्देशक रिचर्ड गोवानले भने, “यसले प्यालेस्टिनी समर्थक राष्ट्रहरूलाई इजरायलको आलोचना विरुद्ध ढाल प्रदान गर्छ ।”

घोषणामा गाजामा अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण मिसनको सम्भावनाबारे छलफल पनि समावेश छ, जसले मानवीय सहयोग र सुरक्षा व्यवस्थापनमा प्यालेस्टिनी प्राधिकरणलाई सहयोग गर्नेछ ।

करिब तीन चौथाइ सदस्य राष्ट्रले सन् १९८८ मा घोषित प्यालेस्टिनी राज्यलाई पहिल्यै मान्यता दिइसकेका छन् । तर, गाजाको युद्ध, पश्चिम किनारमा इजरायली बस्ती विस्तार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको ‘प्यालेस्टिनी राज्य कहिल्यै नहुने’ घोषणाले समाधान असम्भव हुने डर बढाएको छ ।

यसैबीच, अमेरिकी अधिकारीहरूले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई भिसा नदिने सम्भावनाले उनलाई शिखर सम्मेलनमा सहभागी हुन न्युयोर्क आउन रोक्न सक्छ ।

आगामी दुई वर्षमा तेलको माग दैनिक १३–१४ लाख ब्यारेलले बढ्ने : ओपेक प्रतिवेदन

पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) ले विश्वव्यापी तेल माग वृद्धिको पूर्वानुमान सन् २०२५ र २०२६ का लागि यथावत राख्ने निर्णय गरेको बिहीबार आफ्नो मासिक तेल बजार प्रतिवेदन मार्फत सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार, सन् २०२५ मा तेलको माग वार्षिक रूपमा दैनिक लगभग १३ लाख ब्यारेलले वृद्धि हुने तथा सन् २०२६ मा दैनिक लगभग १४ लाख ब्यारेलले बढ्ने अनुमान छ, जुन गत महिनाको पूर्वानुमानसँग मेल खान्छ।

आर्थिक सहयोग तथा विकास संगठन(ओइसीडी) भित्र तेलको माग वार्षिक रूपमा दैनिक करिब १ लाख ब्यारेलले वृद्धि हुने अपेक्षा गरिएको छ भने ओइसीडी बाहिरको क्षेत्रको माग मुख्य रूपमा अन्य एशियाली देशहरू, चीन र भारतको कारणले दैनिक लगभग १२ लाख ब्यारेलले बढ्ने देखिन्छ। अन्य क्षेत्रहरूमा पनि स्थिर वृद्धि हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

सन् २०२५ को पहिलो आधा वर्षमा आर्थिक गतिविधिमा देखिएको मजबुत गतिलाई मध्यनजर गर्दै, ओपेकले सन् २०२५ का लागि विश्वव्यापी आर्थिक वृद्धिको दर ३ प्रतिशत र सन् २०२६ का लागि ३।१ प्रतिशत कायम राखेको छ।

 

प्रधानमन्त्री बन्न सुशीलाको दुई शर्त : दमनविरुद्ध छानबिन र संसद विघटन

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्नका लागि जेनजी आन्दोलनमा भएको दमनको छानबिन र संसद विघटन हुनुपर्ने शर्त राखेकी छन् । उनले यी दुई शर्त पूरा नभए जिम्मेवारी लिन नसकिने स्पष्ट पारेकी छन् । गए राति अबेरसम्म यस विषयमा शीतलनिवासमा छलफल भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा यिनै दुई शर्तमा कुरा नमिलेपछि कार्की शीतलनिवासबाट बाहिरिएकी थिइन् ।

यी शर्त पूरा गर्दै आन्दोलनरत पक्षलाई समेत मनाएपछि आफू जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै उनले अब वार्ताका नाममा शीतलनिवास नबोलाउन भनेकी छन् । ‘संसद कायमै राख्ने हो पुराना दलहरूले चुनाव गराउन दिँदैनन् । आफूहरू हार्न सक्ने देखेमा यिनीहरू चुनाव गराउन दिँदैनन् । संसदको शक्ति देखाउँछन् । अन्तरिम सरकारलाई असफल बनाएर शक्ति आफ्नो हातमा लिनेतिर लाग्छन् । यस्तो अवस्थामा सरकारमा गएर काम छैन’, कार्कीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

अहिलेसम्म भएका कयौँ छानबिनहरू छन्, ती कुनैमा पनि कारबाही गरिएको छैन । यसपालि पनि त्यही प्रवृत्ति दोहोरिने हो भने यति ठूलो विद्रोहको के अर्थ भयो भन्ने कुरा कार्कीले राखेको स्रोतले जानकारी दिएको छ ।
कार्कीले आफू वार्ता गर्ने पक्षमा पनि नभएकाले वार्तामा नबस्ने र आज शीतलनिवास पनि नजाने अडान राखेकी छन् । ‘जे गर्छन् जेनजीले गर्छन् । वार्ता, सहमति जे गरे पनि जेनजीसँगै गरे हुन्छ । म मेरो इच्छाले प्रधानमन्त्री बन्न लागेको होइन’, कार्कीको भनाइबारे स्रोतले जानकारी दियो ।

जेनजीले उठाएका मूल मुद्दाभन्दा बाहिर गएर आफूले निर्णय गरे त्यो मान्य हुन नसक्ने र विद्रोहीहरूको भावना विपरीत हुने कार्की भनाइ छ । कार्कीलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव जेनजी समूहले नै गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि उनलाई समर्थन गरेका छन् ।

इजरायली आक्रमणपछि कतारसँग अरब–इस्लामिक ऐक्यबद्धता, संयुक्त राष्ट्रसङ्घमा आपत्कालीन बैठक

न्युयोर्क । सेप्टेम्बर ९ मा दोहामा हमास वार्ता प्रतिनिधिमण्डल आवासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणपछि अरब र इस्लामिक राष्ट्रहरूले कतारसँग पूर्ण ऐक्यबद्धता जनाएका छन् ।

आक्रमणमा मृत्यु र घाइते भएको घटनापछि बिहीबार बेलुकी संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन सत्र बसेको थियो ।

इजिप्टका प्रतिनिधि ओसामा अब्देल खालेकले गाजामा युद्धविराम र शान्ति कायम गर्न कतारले इजिप्ट तथा संयुक्त राज्य अमेरिकासँग गरेको समन्वय प्रयासको प्रशंसा गरे ।

उनले इजरायलको आक्रमणलाई ‘प्यालेस्टिनी जनतामाथि भइरहेको नरसंहारको निरन्तरता’ भन्दै बेवास्ता नगर्न चेतावनी दिए । सुरक्षा परिषद् दर्शक मात्र बन्न नहुने भन्दै उनले गाजामा आक्रमण रोक्न अध्याय ७ अन्तर्गत प्रस्ताव पारित गर्न आग्रह गरे ।

खाडी सहयोग परिषद्(जिसिसी)का तर्फबाट कुवेतका राजदूत तारिक अल बनाईले कतारको सार्वभौमिकता, सुरक्षा र स्थिरतामाथि भएको उल्लङ्घन अस्वीकार्य भएको बताए।

उनले यस घटनाका लागि इजरायललाई पूर्ण जिम्मेवार ठहर गर्दै खाडी राष्ट्रिय सुरक्षा ‘रेड लाइन’ भएको चेतावनी दिए । यस क्षेत्रमा अस्थिरता ल्याउने इजरायली नीति सामूहिक र कानूनी प्रतिवादमार्फत रोक्ने दृढतासमेत उनले प्रकट गरे ।

इस्लामिक सहयोग सङ्गठन(ओआइसी) का तर्फबाट टर्कीका राजदूत अहमेत यिल्डिजले आक्रमणलाई ‘राज्य आतङ्कवाद’ र क्षेत्रलाई अस्थिर बनाउने योजनाबद्ध प्रयासको हिस्सा भने ।

कतारको सार्वभौमिकता र सुरक्षा उल्लङ्घनमा निर्णायक जवाफ दिने अधिकार र कर्तव्यमा ओआइसी एकताबद्ध रहेको उनले बताए । साथै, उनले सुरक्षा परिषद्लाई कतारविरुद्ध अन्यायपूर्ण सैन्य प्रयोग रोक्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गरेका छन् ।

शीतल निवासबाट बाहिरिए प्रधानसेनापति, राष्ट्रपतिसँग के भयो छलफल ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल सकेर प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवासबाट बाहिरिएका छन् । प्रधानसेनापति सिग्देलले राष्ट्रपति पौडेलसँग आधा घण्टा छलफल गरेका थिए । छलफलको विषय आधिकारिक रुपमा सार्वजनिक नभए पनि विकसित पछिल्लो घटनाक्रम अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ ।

आजै जेन–जीले प्रधानमन्त्रीका रुपमा अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोलीले राष्ट्रपतिसँग छलफल गर्नेछ । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्री प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्नका लागि पहल भइरहेको बताइएको छ ।

ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो । अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजीले संसद विघटनलाई ‘बटमलाइन’ बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै कुरा अड्किएको स्रोतहरूको भनाइ छ ।

बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल बढेको बताएका छन् ।