`

प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

बुधवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्नेकुरामा प्रश्न उठाएको टिप्पणी गरे ।

प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठाएको अध्यक्ष नेपालको जिकिर थियो । उनले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भएर वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने पनि स्पष्ट पारे।

उनले भने, अब चुनावमा जाने बाहेक विकल्प छैन । चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला ? प्रश्न गम्भिर रुपमा उठेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतिको सामना पनि गर्छु भनिरहनुभएको छ । तर दिक्दारी पनि बेलावखतमा पोख्ने गर्नुभएको छ । यही सरकार रहिरहन्छ कि के हुन्छ ? भन्ने प्रश्न पनि उठेका छन् । यी सबै अवस्थामा हाम्रो ध्यान यो देशको सार्वभौमसत्ताको रक्षा गर्ने कसरी, विदेशीहरुको खेलमैदानबाट देशलाई जोगाउने कसरी, संविधान र गणतन्त्रको रक्षा गर्ने कसरी, सहज राजनीतिक परिस्थिति सृजना गर्ने कसरी ? यसमा हाम्रो ध्यान केन्द्रित रहेको छ । त्यसकारण यो पवित्र उद्देश्यका साथ सरकार अघि बढछ भने हाम्रो पूरा सहयोग रहनेछ । यस अर्थमा हामीले चुनावको तयारीमा जुट्नुपर्ने हुन्छ । चुनावको तयारीमा जुट्ने, चुनावमा राम्रो परिणाम ल्याउने । त्यो आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।’

अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । राम्रो परिणाम ल्याउने गरी निर्वाचनको तयारीमा आफूहरु लाग्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो ।

मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance–ISA (आईएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्ली आएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।

विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति,दुवै देशबीच दीर्घकालीन ऊर्जाक्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो । भेटमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।

माधव नेपालको चेतावनी : ओली सामु लम्पसार पर्न तयार हुनेहरु गए हुन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नेपालको सबै भन्दा अहंकारी प्रधानमन्त्री भएको आरोप लगाएका छन् । काठमाडौंमा बुधवारबाट शुरु भएको पार्टी केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै उनले सो जिकिर गरेका हुन् । अध्यक्ष नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एस बनाउने कुराको औचित्य पुष्टि नभएका भन्ने कुरा ओली सामु आत्मसमर्पण गर्नु बाहेक अरु केही नभएको समेत बताए ।

एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्ने कुरा बाहेक अरु केही हुन नसक्ने उल्लेख गर्दै उनले त्यसै कारण आफूहरुले नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपरेको बताए ।

उनले भने, ‘सत्तामा बसेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्युत गर्ने काम भयो । उनको शासनको बारेमा धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यकता छैन । पार्टी सञ्चालनको उनको तरिकाको बारेमा पनि हामी सबै भुक्तभोगी पनि भएका छौं । त्यसो हुनाले हामीले तिनका विरुद्धमा, एमालेको नेतृत्वको विरुद्धमा हामीले विद्रोहको कुनै औचित्य छैन भन्ने कुराको कुनै तर्क, दम पनि छैन । यी सबै घटनाले त्यसलाई पुष्टि गरेको छ ।’

उनले भने, ‘अहिले पनि हामीले ठिक गरेका थियौं भनेर यो प्रतिवेदनमा पनि अनेकौ कारणहरु उल्लेख गरिएको छ । यस भन्दा पहिले पनि हामीले महाधिवेशनमा पनि हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ भन्ने अनुमोदन गरेका छौं । केन्दिय कमिटी बैठकमा पनि हामीले पास गरेका छौं । अहिलेको घटनाक्रमले झन प्रष्ट पारेको छ । त्यसो हुनाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्ने कुरा बाहेक अरु केही हुन सक्दैन । त्यो हामीलाई मन्जुर भएन, स्वीकार्य भएन । त्यसो भएको हुनाले देशभरका कार्यकर्ताहरुको त्यो प्रवृत्तिका विरुद्ध जुध्नका लागि तयार भए । हामीले आफै पार्टी नयाँ पाटी निर्माण गर्‍यौँ ।’ अध्यक्ष नेपालले ओली प्रवृत्ति मञ्जुर नभएपछि पार्टी कार्यकर्ताहरुकै बेलामा नेकपा एस निर्माण गर्नुपरेको समेत बताए। –न्युज एजेन्सी नेपाल

 

 

 

 

एमालेसँगको विद्रोहको औचित्य पुष्टि भइसक्यो : माधव नेपाल (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दावी गरेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा पेस गरेको प्रतिवेदनमा पार्टीका नेताहरूले केही प्रश्न उठाइरहेको भन्दै औचित्य पुष्टि भइसकेको जिकिर गरेका हुन् ।

प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको दशौँ महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा समेत यस विषयमा स्पष्ट पारिएको छ । तथापि कुरा उठ्न नछाडेको हुनाले फेरि पनि स्पष्ट गरौं । कुनै पनि कार्यको औचित्य भनेको उक्त कार्य गर्नु उचित थियो कि थिएन भन्ने हो, उक्त कार्यका उचित कारण थिए कि थिएनन् भन्ने हो । हाम्रो विद्रोह अनुचित थिएन, उचित थियो । विद्रोह गर्नुका कारणहरू उचित थिए र विद्रोह गर्नु अत्यावश्यक थियो ।’

एमालेबाट विद्रोह पार्टीभित्रको आन्तरिक अन्तर्विरोध र वैचारिक सङ्घर्षका कारणले मात्र गरेका नगरेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित केपी ओलीले पार्टी महाधिवेशनबाट पारित गरिएको क्रान्तिकारी कार्यदिशा कार्यान्वयन नगर्नुका साथै पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलतर्फ धकेल्दै लगेपछि पार्टीभित्र गम्भीर मतभेद उत्पन्न भएका थिए र हामीले बारम्बार फरक मत राख्दै वैचारिक सङ्घर्ष चलाएका थियौं । फरक मत राख्नेहरूप्रति प्रतिशोधपूर्ण व्यवहार गरिएको थियो र हामीले प्रतिवाद गर्नु परेको थियो, जुन काम केपी ओलीले अहिले पनि गरिरहेकै छन् ।’

विद्रोहको पृष्ठभूमिमा वैचारिक सङ्घर्ष र प्रतिवाद पनि भएको जिकिर गरेका छन् । विद्रोहको औचित्यका सम्बन्धमा विगतमा धेरै पटक छलफल भएर केन्द्रीय कमिटीका विभिन्न बैठक र पछिल्लो पटक दशौं महाधिवेशनबाट समेत आवश्यक र औचित्यपूर्ण थियो भन्ने निष्कर्ष सर्वसम्मतिले निकालेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘महाधिवेशनबाट समेत सर्वसम्मतिले निकालिएको उपयुक्त निष्कर्ष हाम्रो सर्वसम्मत निष्कर्ष भएकाले त्यसमा फेरि प्रश्न उठाइरहनु आफैमा गलत कुरा हो । महाधिवेशनबाट सर्वसम्मतिले टुङ्ग्याइएको विषयमा फेरि कुरा उठाउनु भनेको महाधिवेशनका निर्णयको उलङ्घन गर्नु हो, महाधिवेशनको अवज्ञा गर्नु हो । महाधिवेशनका निर्णयको उलङ्घन गर्नु भनेको पार्टी विधानको धारा १२० को खण्ड (ग) मा उल्लेख भए बमोजिम पार्टी अनुशासनको उलङ्घन गर्नु हो ।’

‘एकताको सम्भावनालाई नकारात्मक रुपमा दिन हुँदैन’

अध्यक्ष नेपालले कुनै कम्युनिष्ट घटकसँग एकताको सम्भावना भएमा त्यसलाई नकारात्मक रूपमा लिन नहुने बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा आफ्ना पार्टीको अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन नसक्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको दशौं महाधिवेशनबाट पारित गरिएका दस्तावेजहरुमा नै हाम्रो धारणा स्पष्ट छ कि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (……) नै हुनु पर्दछ, नेपाली क्रान्तिको जनवादी चरण पूरा भएको र मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको मान्नु पर्दछ, आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबिचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्नु पर्दछ, पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मात्रै हुनुपर्दछ, पार्टीको सङ्गठनात्मक सिद्धान्त लेनिनवादी सङ्गठनात्मक सिद्धान्त नै हुनु पर्दछ ।’

पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्ने, समाजवादी कार्यदिशा अँगाल्नु पर्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अङ्गीकार गर्नुपर्ने र साम्राज्यवाद, प्रभुत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र आम जनताका हक अधिकारको पक्षमा दृढतापूर्वक खडा हुने र सङ्घर्ष गर्ने प्रतिबद्धता गरे एकता गर्न सकिने उनको भनाइ छ। अध्यक्ष नेपाल माओवादीसँग एकताका लागि तयार छन् । प्रतिवेदनमा भनिएको छ, ‘यी अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्तैन, गरिँदैन । यदि यी सबै कुरामा समान धारणा राख्ने कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना भएमा हामी नकारात्मक हुन पनि हुँदैन । यिनै सैद्धान्तिक अवधारणाका आधारमा पार्टी एकता गर्न सकिन्छ भने त्यसका लागि हामीले नै पहल गर्नु पर्दछ । त्यो जिम्मेवारी वहन गर्न हामी सदैव तत्पर रहनु पर्दछ ।’

 

समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बुधबार सुरु भएको छ । बैठक केही बेरअघिबाट मिराकल पार्टी भेन्यूमा जारी छ ।

बैठकमा सुरूमा अध्यक्ष नेपालले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छ्न् । बैठक शुक्रबारसम्म चल्नेछ ।

बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।

आन्दोलन घोषणा गर्दै दुर्गा प्रसाईले भने–अब हिन्दु अधिराज्य पुनर्स्थापना गर्छौ

काठमाडौं । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । सात दल र माओवादी केन्द्रबीच दिल्लीमा १२ बुँदे सहमति भएको मंसिर ७ गतेको दिनबाट व्यवस्था परिवर्तनको आन्दोलन शुरू गर्न लागेको उनले जानकारी गराएका छन् । आज (बुधवार) राष्ट्रिय मानव अधिकार आयोगसँगको छलफलपछि प्रसाईंले मंसिर ७ देखि आन्दोलन घोषणा गर्ने बताएका हुन् । उनले आफूहरूको आन्दोलन मेचीदेखि महाकालीसम्म एकै पटक शुरू हुने उनले बताए ।

‘मानव अधिकार आयोगलाई आन्दोलनबारे जानकारी गरायौं । सिंहदरबारमा आगजनी गर्ने र घर जलाउने हाम्रो आन्दोलनको उद्देश्य हुँदैन,’ उनले भने, ‘दिल्लीमा १२ बुँदे सहमति भएको दिनमै व्यवस्था परिवर्तनको आन्दोलन शुरू हुन्छ । दिल्लीको सम्झौताकै कारणले राजसंस्था गयो, हिन्दु अधिराज्य गयो । अब पुनर्स्थापना गछौं ।’

प्रसाईंले आफूहरूको आन्दोलनको बेला पसल–व्यवसाय बन्द गरेर समर्थन गर्न आग्रह गरे । उनले देश शून्य अवस्थामा रहेको भन्दै व्यवस्था परिवर्तनको आन्दोलनमा कर्मचारी र प्रहरीको समेत समर्थनको अपेक्षा गरिएको बताए । बौद्ध र किरातसहितको सनातन हिन्दु राष्ट्र स्थापनाका लागि आन्दोलन गर्न लागिएको प्रसाईंले बताए ।

 

 

 

आन्दोलनको घोषणा गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेका छन् ।

उनले मङ्सिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको सन्दर्भमा आयोगसँग छलफल गरेका हुन् ।

त्रिपक्षीय छलफलमा दल र जेनजीबाट को–को हुँदैछन् सहभागी ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागी हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुने भएको छ ।

निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलो पटक हुन लागेको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत रहने प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । त्यस्तै जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुने जनाइएको छ ।

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले) का तर्फबाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र माधव सापकोटाले छलफलमा भाग लिनेछन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता रहने सम्बद्ध पार्टीले जनाएको छ । सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ । यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ ।

 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बसिरहेको छ । नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि औपचारिक निर्णय लिने भनिएको बैठक भर्खरै शुरु भएको हो । काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा शुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालको बैठकको सुरुमा नै बोल्ने छन् ।

बैठकमा पार्टी अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेताहरूले माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल पक्षका नेताहरू भने त्यसको विपक्षमा उभिने तयारीमा रहेका छन् । सम्मानित नेता खनालले माओवादी केन्द्रसँग पार्टी एकताको कुनै औचित्य नभएको धारणा समेत राख्दै आएका छन् । जेन–जी आन्दोलनपछि उत्पन्न मुलुकको राजनीतिक परिस्थितिको गम्भीर विश्लेषणसहित आवश्यक निर्णय लिने पार्टीले जनाएको छ ।

तस्बिरमा हेर्नुहोस् सुन्दर महेन्द्र गुफा

काठमाडौं।  विंसं २०१६ अघिसम्म अँधेरी भुवन भनेर चिनिने गुफा हो महेन्द्र गुफा । तत्कालीन राजा महेन्द्र पोखरा महानगरपालिका–१६, बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले गुफाको अवलोकन गर्न लगेका र त्यसपछि गुफाको नाम महेन्द्र गुफा रहन गएको हो ।

गुफाको लम्बाइ एक सय २५ मिटर छ । गुफामा हिन्दु धर्म संस्कारसँग जोडिएका विभिन्न भगवान्का मूर्ति एवं आकृति देख्न सकिन्छ । गुफामा हिन्दु धर्म संस्कारसँग जोडिएका विभिन्न भगवानका मूर्ति र आकृति देख्न सकिन्छ ।

गुफा हेर्नका लागि विद्यार्थीलाई ३० र अन्य आन्तरिक पर्यटकलाई ५० शुल्क कायम गरिएको छ । भारत र सार्क मुलुकका पर्यटकका लागि ८० र अन्य विदेशी पर्यटकका लागि एक सय ५० शुल्क तोकिएको छ ।

रास्वपाद्वारा समानुपातिकतर्फको उम्मेदवारी आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवारी आह्वानको निर्णय गरेको छ । रास्वपा सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको हो । कात्तिक २२ गतेभित्र समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय भएको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित तयारीहरूको क्रममा समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरूबारे छलफल गरियो,’ रास्वपा सचिवालयको निर्णय छ, ‘२०८२ कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरियो ।’ त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि सहजीकरण अभियान संचालन गर्ने पनि रास्वपाको निर्णय छ ।

‘निर्वाचन आयोगले मतदाता नामावली दर्ताको लागि यहि कात्तिक मसान्तसम्मको लागि समय सीमा तोकेको र देशभर धेरै नवयुवा लगाएत नागरिकहरूको मतदाता नामावलीमा दर्ता नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि नवयुवा एवं आम नागरिकलाई सहजीकरण गर्नका लागि पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यही कात्तिक ११ देखि २५ सम्म संचालन गर्ने निर्णय गरियो,’ रास्वपाको निर्णय छ ।

रास्वपाले जेन–जी आन्दोलनपछिको परिस्थितिको विषयमा कात्तिक १४ मा बृहत राजनीतिक संवाद कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । ‘आम नेपाली जनताले आशा अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थवोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यहि कात्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरिएको छ,’ रास्वपाले भनेको छ ।

 

 

रास्वपाले जेनजीहरुसँग ‘वृहत राजनीतिक संवाद’ गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) जेनजी पुस्ताहरुसँग बृहत् राजनीतिक संवाद आयोजनाको तयारी गरेको छ । मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति र समूहसँग वार्ता गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरूबीच वृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरू गरिरहेको विदितै छ ।’

गत तीन वर्षको संघर्षशील संसदीय अनुभवको जगमा हाल छरिएर रहेका समान विचार बोल्नेहरूलाई एकताबद्ध गर्ने प्रयास भइरहेको उनले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रवास र स्वदेशका आम नेपाली जनताले आशा–अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यही कार्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरिएको छ ।’

वृहत् राजनीतिक संवादको उद्देश्य आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवद्र्धनका लागि वृहत् एकता र सहकार्यको रेखाङ्कन र उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यता भएको उल्लेख छ ।

 

 

रुखका ठोक्किएर इभी दुर्घटना : तीनको मृत्यु, चार जना गम्भीर

बुटवल । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी रुखमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनाका चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सैनामैना–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते सबैको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा छन् । उनीहरुको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा नै थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको जनाइएको छ । प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

सरकारी सुरक्षाबिना केन्द्रीय कमिटी बैठकमा पुगे माधव नेपाल (तस्बिरहरू)

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बुधबार सुरु हुँदैछ । बैठक कार्तिक १४ गतेसम्म मिराकल भेन्युमा चल्नेछ । बैठकमा भाग लिन अध्यक्ष माधव कुमार नेपाललगायतका नेता बैठक स्थलमा पुगेका छन् ।

अध्यक्ष नेपाल सरकारी सुरक्षा विना नै बैठकस्थलमा देखिएका छन् । सरकारले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ ।

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा बहस सुरु, बहसकर्तालाई पाँच मिनेट समय

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । अधिवक्ता प्रेमराज सिलवालले सुरुवातमा बहस गरेका छन् । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सुनुवाई गर्न संवैधानिक इजलास गठन भएको छ। इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था बनेन । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको हो।

सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ति रिटहरूमाथि आजबाट सुनुवाई सुरु भएको हो । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा मुद्दामा बहसकर्तालाई ५÷५ मिनेट समय दिइएको छ । संवैधानिक इजलासमा बहसकर्तालाई समय व्यवस्थापन गर्नका लागि समय तय गरिएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध युवराज पौडेल, अधिवक्ता किर्तीनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाह, डम्बर प्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, अधिवक्ता प्रकाश भूजेल, अधिवक्ता बिपिन ढकालले रिट दिएका छन् । आयुष भण्डारी, अधिवक्ता आभाष पोखरेल, ओम प्रकाशजङ्ग शाह, अधिवक्ता विमल पोखरेल, अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकायाले अन्तरिम सरकार गठन र प्रतिनििधसभा विघटन संविधानसम्मत नरहेको दाबी गर्दै रिट निवेदन दिएका हुन् ।

 

माओवादी र एकीकृत समाजवादी एकताबारे नारायणकाजी श्रेष्ठ : हतार नगरौं, धैर्यता गरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको संवाद जारी रहेको बताएका छन् । दुई पार्टीबीचको एकता प्रक्रिया समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दु हुन सक्नुपर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सम्बन्धित पार्टीहरू विभाजित नभएर एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘हाम्रो पार्टीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको हो । तर यो एकता प्रक्रियाले समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नु पर्छ र सम्बन्धित पार्टीहरु विभाजित भएर होइन समाष्टिरुपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ ।’

एकताको प्रक्रियामा रहेका दलहरू विभाजित नभएरै अगाडि बढ्ने वातावरणका लागि धैर्य आवश्यक रहेको पनि उनले बताएका छन् । उनी थप्छन्, ‘त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौं । हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं ।’ तथापि, नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक, सांस्कृतिक रुपान्तरण, एकीकरण र पुनर्गठन वर्तमानको आवश्यकता भएको उनले बताएका छन् । यस दिशामा सार्थक पहल समयको निर्देश भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले मागगरे अनुसारको रुपान्तरण र पुनर्गठन सहितको एकीकरणको रुपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ ।’

 

मुस्ताङमा भारी हिमपात, जनजीवन कष्टकर

मुस्ताङ । मुस्ताङमा भारी हिमपात भएको छ । भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या सिर्जना भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको ५ किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । ‘चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ’, प्रहरी नायब उपरीक्षक लामाले भने ।

मंगलबार लोमान्थाङ– २ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले जानकारी दिए । मंगलबार दिनभरको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन् । मंगलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो । भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।

 

 

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ बैशाख ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटक–पटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरू हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध १६ वटा रिट परेका छन् । रिट निवेदनमाथि संवैधानिक इजलासमा एकमुष्ट सुनुवाइ हुनेछ ।

अधिवक्ताहरू शेरबहादुर रोकाया, विमल पोखरेल, आभाष पोखरेल, दलबहादुर धामी, खड्कबहादुर शाहलगायत १६ जनाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनस्र्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा आजदेखि प्रारम्भिक सुनुवाइ हुने जानकारी दिए ।

रिटमा संसदभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने परिकल्पना संविधानले नगरेकाले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदम असंवैधानिक रहेकाले बदरको माग गरिएको जनाएको छ । वर्तमान सरकार कामचलाउन सरकार भएकाले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश पनि रिटमा माग गरिएको छ ।

प्रवक्ता कोइरालाका अनुसार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा आगजनीले कम क्षति भएको ‘एनेक्स भवन’ को माथिल्लो तलामा रहेको पुरानो कोठामा संवैधानिक इजलास सञ्चालन हुनेछ । सांसद समेत नरहेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै मन्त्रिपरिषदको बैठकबाट निर्णय गर्दै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री कार्की नेतृत्वमा नयाँ सरकार गठन भएको हो । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्दै ६ महिनाभित्र निर्वाचन गराउन म्यान्डेट दिएका छन् । निर्वाचन आयोगले फागुन २१ गते चुनावको मिति घोषणा गरेको छ ।

भारी हिमपातमा फसेका १५ सय बढीको सेनाले गर्‍यो उद्धार

काठमाडौं । भारी हिमपातका कारण मनाङका विभिन्न स्थानमा फसेका ठूलो संख्याका पर्यटकलाई नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक १० गतेयता मनाङका विभिन्न स्थानमा फसेका एक हजार ५०० बढी पर्यटकलाई सेनाले उद्धार गरेको हो ।

सेनाका अनुसार मनाङका तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरुमा हिमपातका कारण पर्यटकहरू फसेका थिए । उद्धार गरिएका १५ सयमध्ये २०० जना विदेशी पर्यटक रहेको पनि सेनाले जनाएको छ । उनीहरूरुलाई मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा

 

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

मनाङ । भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए । ‘फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ । अन्य सवारीसाधनको अभाव छ’, उनले भने ।

तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए । २५ किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उनले जानकारी दिए । केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन् ।

सर्वपक्षीय सरकार गठनको मुद्दामा ओली र विप्लव एकै ठाउँ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सर्वपक्षीय सरकार गठन हुनुपर्ने मुद्दामा एक ठाउँ उभिएका छन् । एमालेका अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय-सर्वपक्षीय सरकार गठनको प्रस्ताव नै अघि सारेका छन् । विप्लवले पनि यही प्रस्ताव राखेका छन् ।

चुनाव हुनका लागि विश्वासिलो वातावरण बन्नुपर्ने र त्यसका लागि सर्वदलीय-सर्वपक्षीय सरकार गठन हुनुपर्ने विप्लवको पनि आग्रह छ । ‘सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ’ विप्लवले भनेका छन् । एमाले अध्यक्ष ओलीले भने राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग भएको भेटमा वर्तमान संकट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अगाडि सारेका हुन् । ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनस्र्थापना हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था गर्नुपर्ने पनि ओलीको प्रस्ताव छ । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनकै क्रममा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाटै सरकार बन्ने अवस्था बनेन । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने म्यान्डेड छ । सरकार चुनाव गराउने गरी गृहकार्यमा रहेको छ । जेनजी र दलहरूसँग छुट्टाछुट्टै रुपमा संवाद गर्दै आएकी प्रधानमन्त्री कार्कीले बुधबार जेनजी, दलहरू र सरकारबीच त्रिपक्षीय छलफल गर्दैछिन् ।

पार्टी एकतापछि प्रचण्ड संयोजक, माधव नेपाल सहसंयोजक, अरुलाई के जिम्मेवारी ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व परित्याग गर्नुपर्ने बताएका छन् । पार्टी एकताको तयारीमा रहेका माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले छोडेमा मात्र एकता सार्थक हुने भुसालको भनाई छ।

एकताको विषयमा निर्णय गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बुधबारदेखि बस्दैछ । कात्तिक १४ गतेसम्म बस्ने बैठकले औपचारिक निर्णय गरे लगत्तै माओवादीसँग एकता हुने सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् । घनश्याम लगायतका केही नेताले प्रचण्ड र माधव नेपालको बहिर्गमन नहुने हो भने एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन् । भुसालले यसका लागि एकीकृत समाजवादीका केही नेता, माओवादी केन्द्रका जनार्दन शर्मा र एमालेका केही नेतासँग छलफल पनि गरेका छन् ।

महासचिव भुसाल लगायत नेताले केन्द्रीय कमिटीको बैठकमा यसबारे कुरा उठाउँदै छन् । प्रचण्ड–नेपालको बहिर्गमनको खाका प्रस्तुत नभए एकतामा नजाने उनीहरूको योजना छ । अहिलेको समाजवादी पार्टीभित्रका तमाम समस्या र माओवादीभित्रको समस्याको समाधान नगरी गरिने एकताले समस्या झन् बढाउने र त्यसले वाम आन्दोलनलाई, आम कार्यकर्तालाई उत्साह प्रदान नगर्ने भुसालको निचोड छ । ‘आफ्नो पार्टीमा शुद्धीकरण गरेर पुनर्गठन भएपछि मात्र एकता गर्नुपर्छ,’ भूसाल निकट नेता भन्छन्, ‘आजको माओवादी र हाम्रो नेतृत्वले गर्ने एकताले कार्यकर्तालाई पनि उत्साह दिँदैन, जेन–जी आन्दोलनको भावनाको पनि सम्बोधन हुँदैन र रूपान्तरणको पनि कुरा हुँदैन भने त्यो एकतामा गइरहनुपर्छ भन्ने पक्षमा हामी छैनौं ।’

यही कुरा केन्द्रीय कमिटीमा राख्ने र त्यहाँ समझदारी नजुटे एकता प्रक्रियामा सहभागी नहुने उनले बताए । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल समेत एकताप्रति सन्तुष्ट देखिएका छैनन् । एकता प्रक्रियामा महिन्द्र यादव नेतृत्वको समूह पनि सामेल हुने तयारी छ ।एकतापछिको पार्टीमा प्रचण्ड संयोजक र नेपाल सहसंयोजक हुने कुरा लगभग निश्चित भइसकेको एकता वार्तामा रहेका नेताहरूको दाबी छ । दुई दलका नेताहरूबीच एकतापछिको पार्टीको नामबारे छलफल भइरहेको छ । माओवादी नछोड्न प्रचण्डलाई दबाब छ । उता माओवादी नाम मान्न एकीकृत समाजवादीका नेताहरू तयार छैनन् ।

एकताका विषयमा सहमति गर्न मंगलबार साँझ एकता वार्ता कमिटीको बैठक बसेको छ । यी दुई पार्टीले आगामी १६ गतेभित्र एकता गर्ने प्रयास गरिरहेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई एकतामा सामेल गर्ने प्रयास भएपनि विप्लवको पार्टी बेग्लै निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ । यस्तै पार्टी एकताको विपक्षमा रहेका एकीकृत समाजवादी, माओवादी, एमाले र विश्वभक्त दुलाल आहुती नेतउत्वको समूहबीच छुट्टै पार्टी बनाउने चर्चा चलेको छ ।

‘नारायणकाजी, जनार्दन, विप्लव, विश्वभक्त दुलाल आहुति, एमालेका केही नेताहरू यी सबैसँग छलफल चलेको छ, कुरा सबैले सबै ठाउँमा गरेका छन्, तर आकार लिइसकेको छैन,’ भुसालसँग निकट एक नेता भन्छन्, ‘उपयुक्त विकल्प दिनेगरी छलफल भइरहे पनि त्यो निर्णायक तहमा पुगिसकेको छैन । नारायणकाजी र जनार्दनहरू माओवादीबाट निस्किन सक्छन् कि सक्तैनन् भन्ने हो, यो निष्कर्ष निस्किसकेको छैन ।’

नेतृ झाँक्रीद्वारा पुस्तान्तरणसहित वाम एकताको प्रस्ताव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री पार्टीमा  ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को माग अगाडि सारेकी छन् । उनले बुधबार पार्टीमा आवद्ध ५२६ युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई फेसबुकमा पोस्ट गर्दै ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागमा ऐक्यवद्धता जनाएकी हुन्।

‘विचार र राजनीतिमा संगठित नभएकै कारण जेनजी विद्रोह अरूले हाइज्याक गरे । तपाईंहरूको प्रयास ठीक छ’, झाँक्रीले लेखेकी छन्, ‘मिल्नेहरू जोडिदै जान्छन, नमिल्नेहरू छोडिदै जान्छन, यो अभियान हो । आत्तिनु पर्दैन । अगाडि बढ्नुस मेरो सधैँ साथ र धेरै शुभकामना छ ।’ जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ । राजनीतिक दलका युवा विद्यार्थी संगठनहरू समाजमा प्रभावहिन भएकै कारण जेनजी पुस्ताले ‘स्पेश’ (ठाउँ) लिएर संघर्ष सुरू गरेको झाँक्रीले जनाएकी छन् ।

जेनजी आन्दोलन र आन्दोलन पछिका घटनाक्रमले देखाए जस्तै लाखौँ वाम विचारमा विस्वास गर्ने मतदातालाई आफ्नै कम्युनिस्ट पार्टीमा संगठित गर्न सकिने एकीकृत समाजवादीमा आवद्ध युवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘तर, यसका लागि हामीले हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नुपर्छ । नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समयको मागअनुसार पार्टीलाई सुधार गरेर, प्रगतिशील युवालाई पार्टीभित्र जबरजस्त स्थान सिर्जना गरेर हामीले व्यापक रुपान्तरणसहितको वाम एकताको आह्वान गर्नुपर्छ ।’

प्रधानमन्त्रीले आज दल र जेनजी प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (बुधबार) राजनीतिक दल र जेनजी प्रतिनिधिसँग छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री कार्कीले बुधबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्न लागेको उनका प्रेस संयोजक राम रावलले जानकारी दिएका छन्।

‘निर्वाचनको वातावरण बनाउने पहल स्वरूप प्रधानमन्त्री सुशीला कार्कीले छलफल आह्वान गर्नुभएको हो,’ रावलले भने । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलसँग छुट्टै छलफल गरेकी थिइन् । छलफलमा राजनीतिक दलका प्रतिनिधि, मन्त्रीहरू र जेनजी समूहका विभिन्न टोलीका प्रतिनिधि वार्तामा सहभागी हुनेछन् ।

हिजो जेनजीको एउटा समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर विभिन्न समूहमा रहेका जेनजीलाई एउटै बनाइ दिन आग्रह गरेको थियो । जेनजी युनाइटेडका सदस्य सदीक्षा राईले समान एजेण्डा बोकेका युवाहरु एकै ठाउँमा आउनुपर्ने र प्रधानमन्त्रीले उक्त कार्यमा पहल गर्नुपर्ने बताएकी थिइन् ।

प्रभु ग्रुपका अध्यक्ष एवं एमालेका पूर्व सांसद भट्टचन पक्राउ

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्।

प्रभु ग्रुपका अध्यक्षसमेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो। प्रहरी प्रशासन स्रोतका अनुसार भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।

उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन्। जुन लामो समयसम्म जिल्ला प्रहरी परिसर, काठमाडौंमा अलपत्र परेको थियो।

विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन्।

११ असोज २०८१ मै सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि प्रहरीमा जाहेरी पठाए पनि भट्टचन सत्तारुढ दलका सांसद भएको र शक्तिको पहुँचमा रहेकाले अनुसन्धान अघि बढ्न सकेको थिएन।

 

 

जेनजीसहितको सर्वपक्षीय सरकार बनाउन ओलीको ६ बुँदे मार्गचित्र

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन् ।

राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा वर्तमान संकट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अध्यक्ष ओलीले अघि सारेका पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

भेटवार्ताका विषयमा जानकारी गराउँदै रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न ६ वटा बुँदामा ओलीले अघि सारेका ‘मार्गचित्र’ प्रस्तुत गरेका छन् ।

रिजालका अनुसार असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको प्रस्ताव ओलीको छ । त्यस्तै, जेनजी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूले पुनः प्रधानमन्त्रीको दाबी नगर्ने बताएका छन् ।

यस्ता छन् ओलीको मार्गचित्र

१. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापना

२. प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था

३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट

४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन

५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव

६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण

 

एन्फा महासचिवलाई खेलकुद मन्त्रीको प्रश्न- खेलाडीले दुःख पाउनु कसको कमजोरी ?

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीको भारत भ्रमणका क्रममा भएको व्यवस्थापकीय कमजोरी प्रति नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले चासो व्यक्त गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई टेलिफोनमार्फत स्पष्टीकरण सोधेका छन्।

नेपाली महिला फुटबल खेलाडीलाई अपुग निन्द्रासँगै भोकै यात्रा गराएको विषय बाहिरिएपछि मन्त्री गुप्ताले महासचिव राईलाई फोन गरी एन्फाको व्यवस्थापकीय कमजोरीप्रति आक्रोश व्यक्त गरेका हुन्। मन्त्री गुप्ताले कुनै पनि राष्ट्रिय टोलीलाई विदेश पठाउँदा त्यसको सम्पूर्ण कार्यतालिका, बस्ने-खाने स्थान र यात्राको विस्तृत योजना हुनुपर्नेमा जोड दिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको संवादमा मन्त्री गुप्ताले खेलाडीहरूको बिजोग भएको विषयमा महासचिव राईसँग जवाफ माग गरे। खेलाडीले दु:ख पाएको विषयमा कसको कमजोरी हो भन्दै महासचिव राईलाई प्रश्न गरे ।

उनले भने, ‘हाम्रो खेलाडीलाई कहाँ खाना खुवाउँछ, कति बजे कहाँ जान्छ भन्ने तालिका नलिईकन कसरी पठाउनुहुन्छ ? राष्ट्रिय खेलाडी भइसकेपछि उनीहरूको हेरचाह गर्नु हाम्रो कर्तव्य हो।’

जवाफमा महासचिव राईले खेलाडीले दु:ख पाएको स्वीकार गरेका छन् । उनले भनेका छन्, व्यवस्थापनको जिम्मा भारतीय दूतावास र भारतीय फुटबल फेडेरेसनले लिएको बताउँदै सिलिगुडी र सिलोङमा केही समस्या देखिए पनि हाल समाधान भइसक्यो ।’

तर, मन्त्रीको प्रश्नको केन्द्रमा एन्फाले आफ्नो जिम्मेवारीबाट पन्छिएर सम्पूर्ण व्यवस्थापन ट्राभल एजेन्सी वा अन्य निकायलाई दिनु नै गलत भएको भन्ने थियो।

‘तपाईंलाई केही जानकारी नै छैन भन्नुहुन्छ,’ मन्त्रीले थप आक्रोशित हुँदै भने, ’यस्तै गल्तीले गर्दा खेलाडीले अभिव्यक्ति दिइरहेका छन्।’

मन्त्री गुप्ताले यस विषयमा विस्तृत छलफल गर्नुपर्ने बताउँदै एन्फाको व्यवस्थापकीय कमजोरीमाथि प्रश्न उठाए।

पूर्वप्रधानमन्त्री माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई उपलब्ध गराइँदै आएको सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गरेको छ। प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार पूर्वप्रधानमन्त्री नेपालका लागि व्यवस्था गरिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरिएको हो ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी गरी १८ जना सुरक्षाकर्मी उपलब्ध गराइएको थियो। सो कार्यविधिअनुसार नै उनका सबै सुरक्षाकर्मी फिर्ता गरिएको हो। नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएकाले सुविधा कटौती गरिएको गृह मन्त्रालय स्रोतले बतायो ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम बुझाएर नेपाल रिहा भएका थिए।

यसअघि पनि सरकारले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मापदण्डविपरीत प्रयोग गरेका सुरक्षाकर्मी फिर्ता गरेको थियो।

जेनजी आन्दोलनको विध्वंसको प्रमाण संकलन गर्न एमालेको ‘सूचना बैंक’

काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरूको प्रमाण संकलन गर्न ‘सूचना बैंक’ स्थापना गरेको छ । पार्टीले देशभरका कार्यकर्तामार्फत भिडिओ, फोटो र अन्य डिजिटल प्रमाणहरू संकलन गरी केन्द्रीयस्तरमै सुरक्षित राख्ने तयारी गरेको जनाएको छ ।

पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार तत्कालीन समयमा सामाजिक सञ्जालमा प्रसारित टिकटक, फेसबुक र रिलका भिडिओहरू डाउनलोड गरेर सुरक्षित राख्ने कार्य सुरु गरिएको हो । उनका अनुसार पार्टीको सबै पंक्तिले संकलन गरेका प्रमाणहरू केन्द्रीय कार्यालयमा रहनेछन् र आवश्यक परे प्रहरीले समेत प्रयोग गर्न सक्ने गरी अभिलेख तयार पारिनेछ ।

एमालेका संगठन विभागका सचिव माधव ढुंगेलले अहिलेको सरकारले दोषीहरूलाई उन्मुक्ति दिने प्रयास गरे पनि ‘भोलि राजनीतिक दलको सरकार बनेपछि’ ती व्यक्तिलाई कानूनी दायरामा ल्याउन प्रमाणहरू संकलन गरिरहेको बताए । उनका अनुसार यो अभियान अन्तर्गत सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, प्रहरी चौकी तथा निजी सम्पत्तिमा भएका क्षतिको हरेक प्रमाण एक ठाउँमा भण्डारण गर्ने तयारी भइरहेको छ ।

पार्टी स्रोतका अनुसार प्रहरी अधिकारीहरूसँग समन्वय गरी सुरक्षाकर्मीको हत्या, हतियार लुटपाट, आगजनी र तोडफोडमा संलग्नहरूको विवरण पनि संकलन भइरहेको छ । आन्दोलनका बेला धेरै नागरिकले आफ्ना सामाजिक सञ्जालमा भिडिओ राखे पनि पछि तिनलाई हटाउने वा लुकाउने कार्य भएकाले एमालेको संरचनाले ती सामग्री डाउनलोड गरेर सुरक्षित राखेको जनाएको छ । नेता बस्नेतका अनुसार देशभरका डेढ सय बढी एमाले नेता–कार्यकर्ताको घरमा आगजनी र लुटपाट गर्नेहरूको पहिचान भइसकेको छ । ती प्रमाणका आधारमा भविष्यमा कसैलाई नछोडिने र ‘देशै छाडेर गए पनि प्रमाण रहिरहने’ उनले चेतावनी दिए ।

एमालेले संकलन गरिरहेका प्रमाणमा सहभागीहरूको पृष्ठभूमि, तिनको सम्बन्ध तथा सम्भावित विदेशी संलग्नता समेत केलाउने कार्य भइरहेको बताएको छ । पार्टीका नेताहरूका अनुसार अहिले प्राप्त भिडिओहरूमा नेपाली मात्र नभई विदेशी व्यक्तिहरू पनि संलग्न देखिएका छन् र सो विषयमा सुरक्षा निकायलाई जानकारी गराइएको छ । बस्नेतले कलाकार, कन्टेन्ट क्रियटर, सोसल मिडिया इन्फ्लुएन्सर र कमेडियनहरूको ठूलो संलग्नता देखिएको दाबी गर्दै केही चर्चित अनुहारहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुगेको प्रमाण रहेको बताए । उनका अनुसार गोकुल बास्कोटाको घरमा आगो लगाउन कमेडियन अपूर्व क्षितिज स्वयं पुगेको भिडियो बाहिर आएको छ भने विमलेन्द्र निधिको घरमा अभिनेता दीपकराज गिरी देखिएका छन् ।

२४ गतेको घटनाअघि निश्चल बस्नेत, सुमना श्रेष्ठ, दीपकराज गिरीलगायत केही चर्चित व्यक्तिहरूको बैठक बसेर योजना सर्कुलेट गरिएको एमाले नेताहरूले आरोप लगाएका छन् । उनीहरूले यसलाई ‘राज्य सम्पत्तिको खरानी अभियान’ भन्दै एनजिओ र वैदेशिक फण्डसँगको संलग्नताको परिणाम भएको टिप्पणी गरेका छन् । एमालेले भनेको छ, ‘अहिले बनेको अन्तरिम सरकार नै विदेशी प्रभावमा चलेको छ र त्यसको छायाँमा देशको सम्पत्ति नष्ट गर्नेहरूलाई जोगाउने प्रयास भइरहेको छ । पार्टीले आफ्नो ‘सूचना बैंक’ मार्फत प्रमाण सुरक्षित गरेर विध्वंसका अपराधीहरूलाई अन्ततः कानूनी कारबाहीको दायरामा ल्याइने’ चेतावनी दिएको छ ।

 

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना

जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग अन्तर्गतका पाँच रुग्ण अवस्थाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र रहेका उक्त राजमार्गका पाँच वटा ठेक्का तोड्ने क्रममा कानुनी प्रक्रिया अघि बढाएको हो ।

जुम्ला सडक डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एक गरी पाँचवटा ठेक्का तोड्ने प्रक्रियाअन्तर्गत सार्वजनिक सूचना जारी गरी सम्बन्धित निर्माण व्यवसायीहरूलाई स्पष्टीकरणका लागि मौका दिएको छ ।सम्झौताअनुसार काम गर्न, गराउन पटक–पटक ताकेता गरे पनि काम नभएपछि बाध्य भई ठेक्का रद्द गर्ने क्रममा सूचना जारी गरेको स्पष्ट गर्दै इन्जिनियर सिंहले प्रचलित नियमानुसार ठेक्का प्राप्त गरी काम नगर्ने निर्माण व्यवसायीलाई जमानत जफतसहित अन्य कानुनी कारबाही हुने जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रभित्र पाँचवटा ठेक्का सम्झौता भएको, सम्झौताअनुसार काम नभएपछि पटक–पटक ताकेता गरेको र धेरै पटकभन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियाअघि बढेको इन्जिनियर सिंहको भनाइ छ । यसरी सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्नसक्ने संशोधित कार्यतालिका एवं स्रोतसाधन परिचालनको भरपर्दो योजना तथा कार्य सम्पन्न गर्ने प्रतिबद्धता, ठेक्का नतोड्ने कुनै मनासिव कारण भए सत्यतथ्य प्रमाणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचनामार्फत आह्वान गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिएका छन् ।

तोकिएको समयमा काम सुरु नगरेमा कालोसूचीमा राख्ने, धरौटी तथा पेस्की जमानत जफत गर्ने र बाँकी कामका खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने प्रावधान रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

 

 

‘सिजन’ मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गल सफारी गराउँछन् । रानाथारू घरबास (होमस्टे) का सञ्चालक समेत रहेका उनी ‘सिजन’ मा पर्यटक नआएपछि दुई वर्षयता निराश छन् । ‘दुई वर्षअघि सम्म दसैँ–तिहारको समयमा थुप्रै पर्यटक शुक्लाफाँटा घुम्न आउनु हुन्थ्यो, हाम्रो होमस्टे पनि भरिभराउ हुन्थ्यो’, रानाले भने, ‘पर्यटक आउने सिजनमै पर्यटक नआउँदा होमस्टे रित्तै छन् ।’ उनले पर्यटक आउने समय दसैँ–तिहारको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएका कारण पर्यटक आउन नसकेको बताए ।

निकुञ्ज प्रशासनले गत असार १ देखि असोज १ गतेसम्म बर्सातको समयमा जङ्गल सफारी बन्द गर्ने गर्दछ । विगतमा असोज १ गतेदेखि जङ्गल सफारी खुल्ने भए पनि दुई वर्षयता दसैँ–तिहारको समयमा जङ्गल सफारी खुल्न नसकेको राना बताउछन् । ‘दसैँ–तिहारको समयमा मात्र एक लाखभन्दा बढी आम्दानी हुन्थ्यो’, रानाले भने, ‘अहिले फाटफुट भारतीय पर्यटक मात्रै आएका छन् ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टेमा बास बस्ने गरेको उनले बताए । ‘समयमा निकुञ्ज सफारी नखुल्दा यस वर्ष सिजनमै पर्यटक आएनन्, अब फागुनपछि मात्रै पर्यटक आउँछन्’, रानाले भने, ‘यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकले रानाथारूको संस्कृति र खाना मन पराउँछन् ।’

यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशी पर्यटकको रोजाइ होमस्टे हुने गरेको भए पनि यस वर्ष विगतमा जस्तो उल्लेख्य पर्यटक नआएको रानाथारू होमस्टे सञ्चालक केशमती राना बताउछिन् । ‘ढिलो गरी निकुञ्ज सफारी खुल्दा पर्यटक आएनन्, विगतमा जस्तो सङ्घसंस्थाहरुको भ्रमण पनि यस वर्ष भएन’, उनले भने, ‘दसैँ–तिहारको समयमा अग्रिम बुकिङ्ग हुने हाम्रो होमस्टेमा अहिले एक÷दुई जना भारतीय पर्यटक मात्रै छन् ।’ सिजनमै पर्यटक नआउँदा आम्दानी घटेपछि होमस्टे सञ्चालक निराश छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा होमस्टे सञ्चालनमा आएपछि यहाँका स्थानीय रानाथारु समुदायको आयस्तरमा समेत वृद्धि हुन थालेको छ । होमस्टेमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचारप्रसार समेत हुने गरेको राना बताउँछन् ।

वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरि खुला गरिएको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । ‘वर्षाले बिग्रेको बाटो र पुल मर्मत गर्नुपर्ने भएकाले निकुञ्ज सफारी हुन सकेको थिएन’, उनले भने, ‘अहिले पर्यटकका लागि निकुञ्जमा जंगल सफारी खुला गरिएको छ ।’ तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगे छन । निकुञ्ज भित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । रासस

 

जेनजी युनाइटेडको सिंहदरबारमा प्रधानमन्त्रीसँग वार्ता, बबरमहलबाट खबरदारी

काठमाडौं । जेनजी युनाइटेडका नाममा संगठित समूहका नौं प्रतिनिधि प्रधानमन्त्रीसँग वार्तामा बसिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्की र जेनजी युनाइटेडबीच सिंहदरबारमा वार्ता भएको हो । गत शनिबार सो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही समूहबाट नौं जनालाई आज वार्तामा बोलाइएको हो । समूहका अन्य व्यक्तिहरु भने बबरमहलमा प्रदर्शनरत छन् ।

सडकबाट ‘जेनजेड युनाइटेड’ को खबरदारी
काठमाडौँ । जेनजी पुस्ताका युवाहरूलाई एकताबद्ध हुन र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै जेनजेड युनाइटेडका युवाहरूले काठमाडौँको बबरमहलमा प्रदर्शन गरेका छन् । जेनजी समूहरतलाई एकताबद्ध भई शहीदका सपनाहरू पूरा गर्न खबरदारी गर्न जेनजेड युनाइटेडको नामबाट मंगलवार बबरमहलमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन् । प्रदर्शनकारीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौँ, एक हौँ’, ‘शहीदहरूको रगत नबिर्स’, ‘देशका घाउहरू हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूले जेन–जी समूहलाई एकताबद्ध गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, बाहिर निस्कनै गाह्रो

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने, ‘दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै छन् । बाहिर निस्कन सम्भव छैन ।’ हाल यस क्षेत्रमा करिब तीन हजार बढी विदेशी पर्यटक रहेको अनुमान छ । सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौँबाट लुक्ला आएका थिए ।

हिमपातका कारण बाटो नदेखिने हुँदा पर्यटकहरू हराउन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले भने, ‘मौसम प्रतिकूल भएकाले सबै पर्यटकलाई सुरक्षित रहन र होटल वा बस्तीमै बस्न अनुरोध गरिएको छ ।’

जिल्ला प्रशासनले उद्धार टोली तयारी अवस्थामा राखेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेमा अस्थायी प्रहरी पोस्ट छ, त्यहाँका प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर पर्यटकहरुका बारेमा जानकारी लिने कार्य भइरहेको छ ।

दिङ्बोचेभन्दा माथि करिब दुई हजार विदेशी पर्यटक रहेको अनुमान गरिएको छ । लगातारको हिमपात र वर्षाले चिसो बढेको छ । खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भनिन्, ‘आज बिहानदेखि निकै चिसो छ, हिउँले गाउँ ढाकेको छ, सबैजना घरभित्रै छौँ ।’ लगातारको हिमपातले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ । पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार सुनसान भएको छ । ‘हिउँले सुन्दर दृश्य त दिएको छ, तर दैनिकी भने कठिन बनाइदिएको छ,’ खुम्जुङकी शिक्षक कोपिला घतानीले बताइन् । रासस

‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल भित्रिने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ । हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए । यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेष गरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए ।

यसको प्रभाव वागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिन सक्ने सम्भावना रहेको उनको भनाई छ । उनकाअनुसार चक्रवातको प्रभाव बिहीवार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिवार दिउँसो) सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘बंगालको खाडीमा ‘मोन्था’ नाम गरेको सामुन्द्रिक चक्रवात विकास भएको छ । त्यो चाहीँ विस्तारै भारतको भूभागमा प्रवेश गरेको छ । विशाखपटनम क्षेत्रमा आजको दिनमा अवस्थित छ र यो अबको दुई दिनमा नेपाल प्रवेश गर्ने देखिन्छ । यो सामुन्द्रिक चक्रवातले समुन्द्री क्षेत्रबाट जुन जलवाष्पहरु लिएर आएको छ, त्यसले गर्दाखेरि नेपालको खासगरि कोशी प्रदेश र मधेस प्रदेशको क्षेत्रमा ठूलो वर्षाको सम्भावना देखिएको छ । उनले भने, ‘वागमती प्रदेश र कोशी प्रदेशको हिमाली क्षेत्रमा पनि यसको प्रभाव फैलिन सक्ने, १३ गते बिहीवार दिउँसोदेखि १५ गते शनिवार दिउँसोसम्म करिव यसको प्रभाव रहने देखिन्छ । खासगरि हिमाली क्षेत्रको कुरा गर्दाखेरि यो माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपातको पनि सम्भावना वागमती प्रदेश र कोशी प्रदेशको समग्र क्षेत्रमा देखिएको छ ।’

उनले हाल ठूला नदीहरूको वहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताए । वागमती र कोशी जस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम रहेको उनको भनाई छ । नदी सतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्क रहन उनले आग्रह गरे । उनले मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तीब्र बहावको सम्भावना रहेको बताए । १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन उनले आग्रह गरे ।

उनले भने, ‘अब ठूला नदीहरुमा वहावको अवस्था हाल सामान्य अवस्थामा रहेको, धेरै तल रहेको कारणले गर्दाखेरी यो करिव करिव २४-२५ घण्टासम्म सक्रिय रहनसक्ने प्रणालीले ठूलो बाढीको अवस्था वागमती, कोशी जस्ता ठूला नदीहरुमा पार्ने देखिँदैन । तर जल सतह उल्लेख्य बढ्ने सम्भावना छ । त्यसकारण सतर्कता तह आसपाससम्म पनि पुग्नसक्छ, नदी तटीय क्षेत्र सामान्य अवस्था भएको नदीहरुमा ठूलो वहाव आउँदाखेरि खतरा तहको वहाव नआएता पनि त्यसले जोखिम निम्त्याउने भयो । त्यसकारण सतर्कताको अपिल गर्दै हामीले प्रेस रिलिज पनि गर्दैछौँ । सँगै स–साना खोलाहरु जति पनि छन्, खासगरि मधेस प्रदेश र कोशी प्रदेशको । त्यसमा पनि पहाडी र चुरेको क्षेत्र भएर बहने स–साना खोला नालाहरुमा आकस्मिक वहाव, तिब्र बहावको सम्भावना देखिएको छ ।’

जल तथा मौसम विभाग प्रवक्ता विभूति पोखरेलले मंगलवार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन् । हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उनको भनाई छ । उनले पश्चिमी वायु साथै अरब सागरमा बनेको न्युनचापीय प्रणालीको प्रभावले गर्दा मंगलवारको बदली देखिएको बताइन् । बुधवारदेखि विस्तारै यो सुधार हुँदै आउने उनको भनाई छ । विहीवारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकाले नेपालको मौसम प्रभावित हुने उनले जानकारी दिइन् ।– न्युज एजेन्सी नेपाल

 

 

कर्णाली याक्स र एसियन पेन्ट्सबीच सम्झौता

काठमाडौँ । कर्णाली याक्स स्पोट्स प्रा।लीले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

एसियन पेन्ट्स नेपाल नेपालका अन्तर्राष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो । एसियन पेन्ट्सका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएको छ । एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इष्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि बिस्तार गरेको छ ।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ ।

कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

लगातार ओरालो लागेको सुनको भाउ कतिसम्म घट्ला ?

काठमाडौं । हालसम्मकै उच्च बनेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आईतवार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमवार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो ।

आज (मंगलवार) फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलवार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन रहेको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्राचार्यले सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको बताए । उनकाअनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो ।

महासंघका उपाध्यक्ष बज्राचार्यले भने, ‘सुनको भाउ धेरै नै बढिसकेको थियो, दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । कुनै न कुनै दिन झर्न त पर्ने नै हो । अब माथि गएर झर्छ कि अब यहिँबाट झर्छ भन्ने कुरा थियो । तर यो बीचमा तिहार थियो । तिहारमा खासगरी नेपालसँगै भारतमा धेरै सुनको खपत हुन्छ । धेरै खपत हुने हुँदा भाउ बढ्न अलिकति मद्दत गरिरहेको थियो । चाडपर्व सकिएसँग भारतमा पनि अलिकति माग घटेको छ ।’

उनले भने, ‘यहिँ दौरानमा जुन अस्तीको दिनहरूमा अमेरिकाले चाइनालाई जुन ट्यारिफहरू बढाइसकेपछि चाइनाबाट जुन रियर अर्थ चाइनाले अमेरिकामा सप्लाई गर्दिन भनेर नगरेको अवस्था देखियो । त्यसले गर्दा अमेरिकामा भएका इलेक्ट्रोनिक्स कम्पनीहरूमा असर पुग्यो र त्यो कारणले गर्दा पछिल्लो पटक अमेरिकामा अलिकति अन्योलको वातावरण भइसकेपछि पनि सुनको भाउहरू माथि जान चाहीँ नि मद्दत गरिरह्यो । नेपालमा तिहार चलिरहेका बेला अमेरिकाले अस्ट्रेलियासँग रियर अर्थको विषयमा एउटा सम्झौता गरेको छ । अस्ट्रेलियाले हामी दिन्छौँ अमेरिकालाई रियर अर्थ भनेर भनिसकेपछि सम्झौता भयो । एउटा कारण त्यो पनि हो ।’

उनी भन्छन्, ‘अर्को एउटा कारण अब यो दुई–तीन दिन अगाडि मात्रै अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहीँ एशियन कन्ट्रीहरूको भ्रमण गरेको अवस्था देखियो । र चिनियाँ राष्ट्रपतिसँग पनि कुरा भएको भन्ने सुनियो र त्यसमा सम्झौता भएको पनि छ, यो बिजनेसको विषयमा र त्यसले गर्दा अब चाहीँ केही मन्थर हुन्छ र अमेरिकाको जुन ट्रेड वार जुन थियो, त्यो अलिकति हल्का हुन्छ भन्ने हिसाबले नै यो अहिले सुनमा लगानी गर्नेहरू अरू सेक्टरमा डाइवर्ट भएको देखियो । अहिले यो दुई–चार दिनदेखि हामी देख्दैछौँ अमेरिकाको जुन डाउ जोन्स लगायतका शेयर मार्केटहरू अलिकति बढेको देखिएको छ । यसको मतलब अलिकति मान्छे सुनबाट अरू सेक्टरमा डाइवर्ट भएको देखियो । त्यो कारणले गर्दा खेरि पनि अहिले सुनको माग अलि कम भएको छ र सुन अलिकति घटेको हो ।’

बज्राचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा टे«ड वार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आंकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई–चार सय डलर घट्ने सम्भावना रहेको उनले बताए । –न्युज एजेन्सी नेपाल

राष्ट्रियसभाका सचिव अर्यालले दिए राजीनामा

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले आज (मंगलबार) देखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।’

उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । उनलाई विस २०८० बैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका थिए ।

विज्ञप्ती

जेनजी समन्वय संघर्ष समितिको माग : सर्वपक्षीय अन्तरिम सरकार

काठमाडौँ । मुलुकलाई सही निकास दिन सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारिएको छ । जेनजीद्वारा आह्वान जनआन्दोलन, २०८२ समन्वय संघर्ष समितिले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी मुलुकलाई निकास दिन राजनीतिक दलहरूसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग गरेको हो । राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधि सम्मिलित सो सरकार गठन हुनुपर्ने माग गर्नुपरेको समितिका प्रतिनिधि लेनिन विष्टले बताए ।

उनले सो सरकारले हवन छलफल गरी १८ महिना भित्र संविधान संशोधन, निर्वाचन प्रणालीमा आमूल सुधार, राष्ट्रिय नीतिमा पुनरावलोकन गरी मुलुकलाई निर्वाचनमा लैजानुपर्ने जिम्मेवारी पूरा गर्ने लक्ष्य राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको समेत बताए । विष्टले भने ‘संक्रमणकालीन व्यवस्थापन राष्ट्रिय संकट समाधानका लागि छोटो अवधिका लागि निम्न प्रक्रियाद्वारा अन्तरिम सरकार गठन गरिनेछ । सबै राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय समन्वय समिति गठन । उक्त समितिले सर्वसम्मतिको आधारमा अन्तरिम सरकार गठनको प्रस्ताव राष्ट्रपति समक्ष पेस गर्ने । कार्यकालको सीमा । अन्तरिम सरकारको कार्यविधि संविधान संशोधन र सुधारका कार्य सम्पन्न गर्नका लागि अधिकतम १८ महिना रहनेछ । यस अवधिमा संविधान संशोधन, निर्वाचन प्रणालीको आमूल सुधार र राष्ट्रिय नीतिको गहन पुनरावलोकन सम्पन्न गर्ने । अन्तरिम सरकारको कार्यकाल समाप्ति पछि स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत स्थायी सरकारको स्थापना गर्ने ।’

संघर्ष समितिले सो सरकार गठनका लागि सहयोग गर्न कांग्रेस, एमाले लगायतका पुराना राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ । संयोजक विष्टले नयाँ सरकार गठनका लागि आफूहरूले विभिन्न राजनीतिक दलहरूसँगको छलफललाई अघि बढाई सकेको समेत बताए।

‘आउँदो निर्वाचनमा सहभागी नहुने दलहरू लक्ष्मणरेखा बाहिर रहन्छन्’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दल दर्ताका लागि पुगेका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिवद्ध रहेको पनि बताए । मुलुक विषम राजनीतिक संकतबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आउँदो निर्वाचनमा प्रतिष्पर्धामा सहभागी नहुने दलहरु लक्ष्मण रेखा भन्दा बाहिर रहने पनि टिप्पणी गरे । उनले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिष्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरुलाई आग्रह पनि गरे ।

उनले भने, ‘हामीसँग अहिले आएको दाियत्वलाई जसरी पनि सम्पन्न गर्ने प्रयोजनको लागि मुलुकको वर्तमान कमजोर स्थितिमा पनि दलहरु प्रतिस्पर्धा गर्न आउँदैनन् भने हामी लक्ष्मण रेखा भन्दा बाहिर रहन्छौं । त्यसकारण मुलुकको संरक्षण गर्नु नै हाम्रो दायित्व भन्ने पवित्र सोच र विचार राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न आउनु भएको छ यहाँहरुलाई निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत गर्दछु ।’ उनले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाल सबैमा आग्रह समेत गरे ।