`

कांग्रेस विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला गर्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ । यही मागलाई संस्थागत दबाबमा रूपान्तरण गर्न विशेष महाधिवेशन पक्षधर समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शनसहितको भेला आयोजना गरेको छ ।

नेता गुरुराज घिमिरेका अनुसार भेला दिउँसो १ बजेपछि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु हुने गरी तयारी पूरा भएको छ । भेलामा काठमाडौंका साथै बाहिरी जिल्लाबाट पनि सयौँ कार्यकर्ता सहभागी हुने नेता मनोजमणी आचार्यले जानकारी दिएका छन् ।

जेन्जी आन्दोलनपछिका निरन्तर उठेका सुधार, पारदर्शिता र संगठन पुनर्गठनका मुद्दाहरू समयमै सम्बोधन नभएको भन्दै असन्तुष्ट समूहले चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्छ भन्ने अडान राख्दै आएको छ । नियमित महाधिवेशन समयमै नहुन सक्ने संकेत देखिएपछि उनीहरूले विशेष महाधिवेशनको औपचारिक माग अघि सारेका हुन् ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर समेटिएको निवेदन असोज २८ गतेकै दिन कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको पक्षधरहरूले बताएका छन् । कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नैपर्ने संवैधानिक प्रावधान छ । यही व्यवस्थाअनुसार कांग्रेसले आगामी पुस २८ भित्र चाहे नियमित, चाहे विशेष—महाधिवेशन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

पक्षधर समूहका नेता युवराज पाण्डेका अनुसार केन्द्रीय समिति अझै अनिर्णयमा भएकाले आजको भेला दबाबस्वरूप आयोजना गरिएको हो । ‘भोलि बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनबारे स्पष्ट निर्णय नगरे विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरू आफैंले महाधिवेशन घोषणा गर्ने सन्देश यही भेलाबाट दिनेछौँ’, पाण्डेले भने । भेलाले आगामी रणनीति, संगठनात्मक कदम र नेतृत्वप्रतिको असन्तोषलाई औपचारिक रूपमै व्यक्त गर्ने बताइएकाले कांग्रेसभित्रको शक्ति–सन्तुलनमा यसले महत्वपूर्ण प्रभाव पार्ने आंकलन गरिएको छ ।

जसपा नेपाल एक महिने संघर्षमा, आज प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको एक महिना बढीको संघर्षका कार्यक्रमहरु आज (बुधबार) बाट शुरु भएको छ ।

पार्टीले उठाइरहेको माग र राष्ट्रिय मुद्दामा आज देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशव्यापीरुपमा एक महिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो । मंसिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न शहर बजारमा विरोध कार्यक्रम हुने जनाइएको छ ।

मंसिर १९ र २१ गते पार्टीले जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना राखिएको छ । मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा र जनसभा हुने जसपा नेपाले जनाएको छ । जसपा नेपालले पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुरमा, पुस १५ गते वीरगञ्जमा र पुस १७ गते भैरहवामा जनसभा गर्ने भएको छ ।

मध्यराति छोराको कुटपिटबाट बाबुको मृत्यु

न्वलपरासी । नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । मंगलबार राति पौने १२ बजे नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकलाई उनकै छोरा ३० वर्षीय सन्तकुमार विकले कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र झै–झगडा हुँदा सन्तकुमारले आफ्ना बाबु रामबहादुरलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उनलाई उपचारका लागि मध्यबिन्दु अस्पताल डण्डा लगिएको थियो ।

अस्पतालका डाक्टरले रामबहादुरलाई गए राति सवा १२ बजे मृत घोषणा गरेको हो । कुटपिट गर्ने सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको छ ।

आज अपराजित विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र चितवन राइनोजबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे खेल सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले अहिलेसम्म खेलेका सबै तीन खेल जितेर तालिकाको दोस्रो स्थानमा छ । उता दुई खेलमध्ये एक जित्न सफल चितवन दुई अंकसहित चौंथो स्थानमा छ ।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रन, दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेट र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । विराटनगर आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।

२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, सोधियो स्पष्टीकरण

काठमाडौं । आफूखुशी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । भदौयता २७ जना प्रहरी आफूखुशी गैरहाजिर रहेको खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको हो । भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो ।

आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी छन् । उनीहरुको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ ।

सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र उपस्थित हुन भनिएको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने कारबाही हुने प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुस् नामावली

किन रोकियो लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठको नियुक्ति ?

काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका इञ्जिनियर दीपक श्रेष्ठको नियुक्ति रोकिएको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले खानेपानी संस्थानका इञ्जिनियर रहेका श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको भए पनि उनी विवादित भएका कारण उनको नियुक्ति रोकिएको उच्च सरकारी स्रोतले जनाएको छ ।

शुक्रबार मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको सदस्य सचिवका लागि नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएपछि नियुक्तिबारे सरकारी तहमा लामो छलफल भएको थियो ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रशासनिक कार्यसँगै वर्षौँदेखि निर्माणाधीन लुम्बिनी गुरुयोजना पूरा गनुपर्ने चुनौती भइरहेको बेला जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सदस्य सचिव नियुक्त गरेको थियो । लुम्बिनीमा भने स्थानीयले सदस्य सचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गर्दै आइरहेका बेला उनको नियुक्ति भएपछि सरकारी तहमा मात्र होइन संवैधानिक तहमा समेत उनको विगतबारे छलफल भएको स्रोतको भनाइ ।

मुख्य सचिव एक नारायण अर्यालले आफू अवकाशमा जाने बेला (आज) सम्म इन्जिनियर श्रेष्ठको नियुक्तिपत्र तयार भएको छैन । ‘उहाँलाई जसले सिफारिस गरेको त्यो तहले सरकारलाई गलत रिपोटिङ गरेको पाइयो मुख्यसचिव अर्यालले अवकाशमा जाने बेला विवादित व्यक्तिको नाममा नियुक्ति पत्र बनाई दिन भन्नु भयो’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले सुनाए ।

विश्वप्रकाशलाई जितजंगको जवाफ : ‘ब्याक गियर’ नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई केन्द्रीय सदस्य जितजंग बस्नेतले जवाफ फर्काएका छन् । जेनजी आन्दोलनका क्रममा आगलागी भएको उदयपुर कांग्रेसको कार्यालय अवलोकनपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले कांग्रेसको विधानमा विशेष महाधिवेशनका लागि पत्र दर्ता भएको भन्दै ब्याक गियर नभएको बताएका थिए ।

शर्माले भनेका थिए, ‘कांग्रेस विधानमा दर्ताको दफा छ फिर्ताको दफा छैन । त्यसैले विशेष महाधिवेशनको ब्याक गियर हुँदैन । माग भएको ९० दिनभित्रमा विशेष महाधिवेशन गर्नैपर्छ ।’

त्यसको जवाफ फर्काउँदै बस्नेतले पार्टीको विशेष महाधिवेशन नहुने बताएका छन् । उनले भनेका छन्, ‘विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन । ढुक्क हुनु होस्, वर्तमान सभापति ज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ । ‘ब्याक गियर’ नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ ।’

साउदीमाथि नेपालको प्रभावशाली जित, निरजकुमार यादवको शतक

काठमाडौं । एसीसी पुरुष यू–१९ प्रिमियर कपको आफ्नो पहिलो खेलमै नेपाली युवा टोलीले प्रभावशाली प्रदर्शन गर्दै साउदी अरेबियामाथि ठुलो जित दर्ता गरेको छ । मंगलबार युएईको अजमानमा भएको समूह ‘ए’ को खेलमा नेपालले २१९ रनको लक्ष्य ३०.४ ओभरमै केवल २ विकेट गुमाएर पुरा गर्‍यो ।

ओपनर निरजकुमार यादव नेपाली टोलीका लागि खेलको आधारस्तम्भ बने । उनले ९० बलमा १३ चौका र १ छक्कासहित ११४ रन प्रहार गर्दै एकतर्फी जितको जग बसाए । उनको साथमा निश्चल क्षेत्रीले पनि उल्लेखनीय खेल्दै ३० रनको अविजित योगदान दिए । दुवै बीच दोस्रो विकेटका लागि १५५ रनको ठोस साझेदारी रह्यो । ओपनर वंश क्षेत्रीले समेत तेज ब्याटिङ गर्दै २० बलमा ३० रन प्रहार गरे। इनिङ्सको अन्त्यतिर सिवरिन श्रेष्ठ १ रनमा अविजित रहे ।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्‍यो । निर्धारित २० ओभरमा साउदीले ९ विकेट गुमाउँदै २१८ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो । नेपालका लागि अशोक धामी सबैभन्दा सफल बलर रहे-२ विकेटसहित । दयानन्द मण्डल, सुशीलबहादुर रावल, सिरविन श्रेष्ठ र दर्स सोनारले समान एक–एक विकेट झारे ।

यस जितसँगै नेपाल समूह ए मा शीर्ष स्थानमा उक्लिएको छ । हङकङले एक जित र एक हारसहित २ अंक जोडे पनि रन–रेटको आधारमा नेपाल अघि छ । अब नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । सो खेल जित्न सके नेपाल सहजै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

यस संस्करणको यू–१९ प्रिमियर कपमा जम्मा १४ टोली सहभागी छन्, जसलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल विजेताले उपाधि भिडन्त खेलेका बेला पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

सरकारका प्रवक्ताले भने- एमालेले समेत दल दर्ता गरिसक्यो, अब शंका नगरौँ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलहरु समेत तयार भइसकेको र सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका हुन् ।

निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेकाले निर्वाचनमा आशङ्‍का नगर्न उले आग्रह गरे । मन्त्री खरेलले मतदाता नामावली सङ्‍कलनलाई हेर्दा जनता पनि निर्वाचनमा होमिइसकेको र सुरक्षा योजना समेत तयार भइसकेको जिकिर गरे । प्रवक्ता खरेलले अहिलेको सरकार जेनजी आन्दोलनको जगमा बनेकाले प्रधानमन्त्रीले जनेजी युवाहरुलाई प्राथमिकतामा राखेको बताए ।

मतदाता नामावलीमा समेत नाम दर्ता गरेर जनता चुनावमा होमिइसकेको उल्लेख गर्दै उनले सुरक्षा निकाय समेत तम्तयार रहेको बताए ।

निर्वाचन प्रयोजनका लागि सुरक्षा योजना तयार गरेर सम्बन्धित निकायका पठाइसकेको उल्लेख गर्दै उनले चुनावको वातावरण बनेर धेरै अगाडि बढिसकेको दोहोर्‍याए ।

व्यस्तताका कारण प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा जेनजी युवाहरुसग भेट्न नसकेको भन्दै उले जेनजीलाई वेवास्ता नगरिने बताए । त्यस्तै मन्त्रिपरिषद्का निर्णय सुनाउँदै खरेलले नेपाल पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत भएको बताए ।

बैठकले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार बिकाससँग सम्बन्धित विषयमा अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन,समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय भएको बताए ।

बूढीगण्डकी र अपर अरुणको मोडालिटी तयार, यसरी जुटाइँदै ६ खर्ब लगानी

काठमाडौं । देशका दुई महत्वपूर्ण जलविद्युत् परियोजना—१२ सय मेगावाट क्षमताको बूढीगण्डकी र १ हजार ६३ मेगावाट क्षमताको अपर अरुण-अब स्वदेशी मोडालिटीमा अघि बढ्ने पक्का भएको छ ।

दुई वटै आयोजनाका लागि वित्तीय संरचना तथा लगानी संयोजनको प्रस्ताव तयार भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन दिएका छन् । लामो समय चर्चा मात्र हुँदै आएको यी परियोजना अब वास्तविक निर्माणतर्फ लानुपर्ने उनीहरूको निर्देश छ ।

धादिङ–गोरखा क्षेत्रमा बन्ने जलाशययुक्त बुढीगण्डकी आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । ८ वर्षे निर्माण अवधिको ब्याजसहित कुल लागत ४ खर्ब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । ऋण–इक्विटी अनुपात ७०–३० मा प्रस्ताव गरिएको मोडालिटी अनुसार प्रवद्र्धक बूढीगण्डकी कम्पनी लिमिटेडमा सरकारको ८० र विद्युत प्राधिकरणको २० प्रतिशत हिस्सेदारी रहनेछ ।

सरकारले इक्विटी तथा सहुलियतपूर्ण कर्जाबाट मात्रै २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी गर्ने अनुमान छ, जसमा हालसम्म खर्च भएको ४५ अर्बलाई शेयरमा रूपान्तरण गरिने छ । त्यसैगरी भन्सार र भ्याटबाट उठ्ने रकम, पेट्रोलियम पूर्वाधार करको ५० प्रतिशत हिस्सा, ऊर्जा बण्ड (३० अर्ब), बैंक तथा वित्तीय संस्थाबाट उठाइने १ खर्ब ४ अर्ब कर्जा तथा विभिन्न कोष र बीमा कम्पनीहरूको सहवित्तीयकरणबाट आवश्यक स्रोत जुटाइनेछ ।

३ अर्ब ३८ करोड युनिट वार्षिक विद्युत उत्पादन हुने अनुमान गरिएको बुढीगण्डकीमा हिउँदमा १२.४० र वर्षायाममा ७.१० रुपैयाँ प्रतियुनिट बिक्री दर प्रस्ताव गरिएको छ । रिस्ट्रक्चरिङ तथा सार्वजानिक शेयर निष्काशनमार्फत कर्जा भार घटाउन सकिने उल्लेख छ । ५० वर्षे जलविद्युत् अनुमति अवधिमा ८ वर्ष निर्माणपछि ४२ वर्ष विद्युत उत्पादन हुनेछ ।

जग्गा अधिग्रहण ९० प्रतिशत नजिक पुगेको आयोजनामा धादिङ र गोरखाका ८ हजारभन्दा बढी परिवार प्रभावित हुनेछन्, जसमध्ये ३ हजार ५६० परिवार पूर्ण विस्थापित हुने अनुमान छ । २६३ मिटर अग्लो आर्च बाँध निर्माणपछि ६३ वर्गकिलोमिटर जलाशय बन्नेछ, जसले रोजगारी, पर्यटन, मत्स्यपालन र स्थानीय अर्थतन्त्रमा ठूलो अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १ हजार ६३ मेगावाट क्षमताको अपर अरुण अर्धजलाशययुक्त आयोजना १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब रुपैयाँ) लागतमा अघि बढ्ने छ । विश्व बैंकको लगानी अन्योलमा परेपछि सरकार तथा स्वदेशी वित्तीय संयोजनमै परियोजना अघि बढाउने निर्णय गरिएको हो ।

७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी संरचनामा प्रस्तावित अपर अरुणमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहने छन् । प्रदेश तथा स्थानीय तह, प्राधिकरण, टेलिकम, विभिन्न कोष र बीमा कम्पनी संस्थापक पक्षमा रहने छन् भने विदेशमा रहेका नेपाली, गैरआवासीय नेपाली, आयोजना प्रभावित र आम सर्वसाधारण साधारण शेयरधनी हुनेछन् ।

संस्थापकबाट ३६ अर्ब ६७ करोड र साधारण शेयरबाट ३५ अर्ब २३ करोड पनि जुटाइनेछ । कुल १ खर्ब ६८ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरणबाट जुटाइनेछ । प्राधिकरण तथा प्रवर्द्धक कम्पनीसँग मिलेर सहवित्तीयकरणमार्फत ५३ अर्ब जुटाउन समझदारी भइसकेको छ ।

अपर अरुणबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने अनुमान छ । हाल पूर्व तयारी, स्थलगत काम र पहुँच सडक निर्माण तीव्र रूपमा भइरहेको छ । २१ किलोमिटर पहुँच सडक, अरुण नदीमा ७० मिटर स्टिल आर्क पुल र कोशी राजमार्गसँगको जोडाइ पनि निर्माणाधीन अवस्थामा छ ।

स्वदेशी स्रोत र नागरिक सहभागितामार्फत ६ खर्बभन्दा बढी मूल्यका यी दुई आयोजना अघि बढ्दै जानु ऊर्जा सुरक्षाको दृष्टिले महत्वपूर्ण मानिएको छ । राजधानी तथा मुख्य लोड सेन्टर नजिक रहेको बुढीगण्डकी र देशको पूर्वी क्षेत्रमा उच्च सम्भावनाको अपर अरुण—दुबै परियोजना सम्पन्न भए देशको ऊर्जा निर्यात तथा आत्मनिर्भरता बढ्ने अपेक्षा गरिएको छ ।

अफगानिस्तानमा पाकिस्तानी बमबारीः कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी

काबुल । अफगानिस्तानका पूर्वी क्षेत्रहरूलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । यो घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत भने, “पाकिस्तानी आक्रमणकारी सेनाले एक स्थानीय नागरिकको घरमा बम प्रहार गर्दा खोस्त प्रान्तमा पाँच बालक, चार बालिका र एक महिलासहित १० जनाको मृत्यु भएको छ ।” उनका अनुसार कुनार तथा पक्तिका सीमावर्ती क्षेत्रमा गरिएका थप आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् ।

पाकिस्तानी सेनाले यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

यसअघि पेशावरस्थित पाकिस्तानको अर्धसैनिक सङ्घीय कन्स्टेबुलरी बलको मुख्यालयमा लक्षित आत्मघाती आक्रमणमा तीन जना अधिकारीको मृत्यु र ११ जना घाइते भएका थिए । कुन समूह जिम्मेवार रहेको भन्ने पुष्टि नभए पनि राज्य प्रसारक पिटिभीले आक्रमणकारीहरू अफगान नागरिक भएको रिपोर्ट गरेको छ र राष्ट्रपति आसिफ जरदारीले ‘विदेशी–समर्थित फितना अल–खवारीज’ लाई दोष लगाएका छन् । इस्लामाबादको शब्द फिता अल—खवारिज अर्थात तहरीक–ए–तालिबान पाकिस्तान(टिटिपी) आतङ्ककारीहरूलाई अफगान भूमिबाट सञ्चालन गरेको आरोप लगाइएको छ ।

यसै महिनाको सुरुआतमा पाकिस्तानको राजधानी इस्लामाबादमा भएको अर्को आत्मघाती विस्फोटमा १२ जनाको ज्यान गएको थियो । उक्त विस्फोटको जिम्मा अफगान तालिबानसँग विचारधारा मिल्ने पाकिस्तान तालिबान (टिटिपी) नजिकको एक समूहले लिएको थियो । पाकिस्तानले उक्त आक्रमण ‘अफगानिस्तानमा आधारित हाइकमान्डद्वारा निर्देशन गरिएको’ भएको आरोप लगाएको थियो ।

– तनावग्रस्त द्विपक्षीय सम्बन्ध –

सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि पाकिस्तान–अफगानिस्तान सम्बन्ध लगातार तनावग्रस्त बनेको छ । गत अक्टोबरमा सीमा क्षेत्रमा भएको भिडन्तमा दुवै पक्षतर्फ करिब ७० जनाको मृत्यु भएपछि कतार र टर्कीको मध्यस्थतामा अस्थायी युद्धविराम भए पनि इस्तानबुलमा भएको वार्ताले स्थायी सुरक्षा समझदारी कायम गर्न सकेन ।

पाकिस्तानले अफगान भूमिमा टिटिपीलाई सुरक्षित आश्रय दिइएको आरोप लगाइरहेको छ, तर काबुलले उक्त आरोप कडा रूपमा अस्वीकार गर्दै उल्टै पाकिस्तानले अफगानिस्तानविरुद्ध शत्रुतापूर्ण समूहहरूलाई सहयोग गर्ने गरेको प्रतिवाद गर्दछ ।

यस्तै पाकिस्तान–अफगानिस्तान संयुक्त उद्योग वाणिज्य चेम्बरले यस हप्ता हजारौँ मालबाहक कन्टेनरहरू सीमा नाकामा रोकिँदा प्रत्येकले दैनिक १५०–२०० डलरसम्म अतिरिक्त खर्च खेप्नुपर्ने स्थिति अनुपयुक्त र ‘असहनीय’ भएको चेतावनी दिएका छन् ।

सम्पूर्ण घटनाक्रमले दुवै मुलुकबीचको सम्बन्ध फेरि गम्भीर तनावतर्फ फर्किएको सङ्केत गर्दछ ।

युरोपेली सङ्घको युक्रेन शान्ति योजनालाई रूसद्वारा अस्वीकार

मस्को । युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधानहरू “असंवैधानिक“ रहेको रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले बताएका छन् ।

शान्ति योजनाका बारेमा धेरै अनुमान तथा प्रयासहरु भएता पनि रूसले संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त शान्ति योजना र जानकारीलाई मात्र विश्वास गर्ने उनले बताएका छन् ।

यसै क्रममा अलास्कामा छलफल गरिएका योजनाका अधिकाशं प्रावधानहरू मस्कोका लागि स्वीकार्य रहेको उशाकोभले जनाएका छन् ।

रूसी मिडियाका अनुसार, “युरोपेली योजना“ ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको २८–बुदे शान्ति योजनामा धेरै संशोधन प्रस्तावहरु छन् । जसमा युक्रेनी सशस्त्र सेना वा रक्षा उद्योगको आकारमा कुनै प्रतिबन्ध नलगाउनु भनी उल्लेख गरिएको छ । यद्यपि अमेरिकी प्रस्तावमा युक्रेनी सशस्त्र सेनाको आकार सानो बनाई छ लाखमा सिमित गर्नु पर्ने सर्त रहेको जनाइएको छ ।

आइतबार जेनेभामा आयोजित संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली सङ्घ (इयु) का प्रतिनिधिहरू बीचको परामर्श पछि प्रारम्भिक मस्यौदा योजना २८ बुँदाबाट घटेर १९ बुँदामा झरेको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

उसाकोभले शान्ति योजनाको विवरणबारे छलफल गर्न अमेरिकाले चाँडै रूससँग सम्पर्क गर्ने पनि बताएका छन् । यद्यपि विशेष व्यवस्था भने अझै निर्धारण हुन सकेको छैन ।

 

मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित

कोलालम्पुर । मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसहरुलाई विस्थापीत गरेको अधिकारीहरुले बताएका छन् । बाढीका कारण देशभरि १० वटा राज्यहरू प्रभावित भएको उनीहरुले जनाएका छन् ।

केलान्टन, प्रान्तमा धेरै दिन देखि लगातार भारी वर्षा भएकाले नौ हजार ७०० भन्दा बढी मानिसहरुलाई स्थानानान्त्रण गरी राहत केन्द्रहरूमा राखिएको जनाइएको छ ।

अन्य विस्थापितहरू मध्ये दुई हजार ७१८सेलान्गोर प्रान्तका र दुइृ हजार ८८१ पेराक प्रान्तका रहेको र अन्य बाँकी देशका विभिन्ने क्षेत्रका रहेको जनाइएको छ ।

यसैबीच, सरकारका मुख्य सचिव समसुल अजरी अबु बकरले बाढीबाट प्रभावित राज्यहरूमा सरकारले विभिन्न एजेन्सीसँगको समन्वयमा एक लाख भन्दा बढी कर्मचारी तथा आवाश्यक सामाग्री तैनाथ गरेको बताएका छन् ।

कार्यबहाक शिक्षा मन्त्री वोङ काह वोहले राष्ट्रिय स्तरका परीक्षाहरू अगाडि बढ्ने बताउदै असहज परिस्थितिलाई सामना गर्ने आकस्मिक उपायहरू भएकाले उम्मेदवारहरू सुरक्षित रूपमा परीक्षा दिन सक्ने बताएका छन् ।

यसै विच प्रधानमन्त्री अनवर इब्राहिमले बाढी प्रभावितहरुको उद्धार तथा राहत वितरण गर्ने राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी प्रति सन्तुष्टि व्यक्त गर्दै सबै एजेन्सीहरूलाई प्रभावित समुदायहरूलाई सहयोग गर्न अधिकतम प्रयास गर्न निर्देशन दिएका छन् ।

मौसम विभागले भने निरन्तर भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरेको छ ।

हरेक १० मिनेटमा एक महिलाको हत्या: राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ । गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्र महिला (युएन वुमेन) ले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिकाहरू आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट मारिनु परेको थियो ।

प्रतिवेदनले विश्वभर हत्या गरिएका महिलामध्ये करिब ६० प्रतिशतलाई आफ्नै साथी वा अत्यन्तै नजिकका आफन्त—जस्तै बुबा, काका, आमा, दाइ–भाइ—द्वारा ज्यान दिइएको उल्लेख गरेको छ । तुलनात्मक रूपमा, पुरुष हत्या पीडितमध्ये मात्र ११ प्रतिशतको हत्या नजिकका व्यक्तिले गरेका थिए।

एक सय १७ देशबाट सङ्कलित तथ्याङ्कका आधारमा तयार गरिएको उक्त प्रतिवेदनअनुसार दैनिक करिब १३७ महिला अर्थात् प्रत्येक १० मिनेटमा एक जना नारीहत्या अपराधको सिकार बनिरहेका छन् । सन् २०२३ मा सार्वजनिक भएको तथ्याङ्कभन्दा सङ्ख्या केही कम देखिए पनि यो वास्तविक सुधारलाई जनाउने सङ्केत नभएको, बरु फरक–फरक देशबाट उपलब्ध हुने तथ्याङ्कमा देखिने असमानता नै यसको मुख्य कारण भएको प्रतिवेदनले स्पष्ट पारेको छ ।

अध्ययनले चेतावनी दिँदै ‘घर नै महिला तथा बालिकाका लागि सबैभन्दा खतरनाक स्थान बनेको छ’ भन्दै प्रत्येक वर्ष दशौँ हजार महिलाको हत्या हुँदै आए पनि घट्दो प्रवृत्ति नदेखिएको जनाएको छ ।

विश्वका कुनै पनि क्षेत्रमा नारीहत्या शून्य नभएको प्रतिवेदनले बताउँछ । तर अफ्रिकामा गत वर्ष झण्डै २२ हजार महिलाको हत्या भई सबै क्षेत्रभन्दा उच्च सङ्ख्या दर्ता भएको उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्र महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सका गम्भीर चिन्ता व्यक्त गर्दै भने, “नारीहत्या एक्लै घटित हुँदैन । यसअघि नै व्यवहारगत नियन्त्रण, धम्की, दुव्र्यवहार र अनलाइनसँगै अफलाइन दुवै माध्यममा हुने उत्पीडनका रूपहरू देखिन सक्छन्, जसको अन्त्य घातक हिंसामा पुग्न सक्छ ।”

उनका अनुसार प्राविधिक विकाससँगै महिलामाथि हुने हिंसाका केही प्रकार झनै बढेका छन् भने नयाँ प्रकारका डिजिटल अपराध—जस्तै गैर–सहमति तस्बिर साझेदारी, डक्सिङ (व्यक्तिगत विवरण सार्वजनिक गर्ने कृत्य) तथा डिपफेक भिडियो—जस्ता खतरनाक रूपहरू समेत जन्मिएका छन् ।

हेन्ड्रिक्सले भने, “हामीलाई अनलाइन र अफलाइन दुवै क्षेत्रमा महिलामाथि कसरी हिंसा फैलिन्छ भन्ने पूर्ण रूपमा बुझेर त्यसअनुरूप कडा कानूनी कार्यान्वयन आवश्यक छ । अपराधीहरू घातक हिंसामा उत्रनु अघि नै स्पष्ट रूपमा जवाफदेही बनाइनुपर्छ ।”

जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी : डब्लुएफपी

लागोस(नाइजेरिया) ।   उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी उच्च भएकाले हजारौ नाइजेरियाले अनिकालको सामना गरिरहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मंगलबार जनाएको छ ।

उत्तरी नाइजेरियाका करिब ३ करोड ५० लाख मानिसहरूले आगामी सन् २०२६ मा गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने अनुमान गरिएको संयुक्त राष्ट्र सङ्घीय एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ ।

करिव १६ वर्ष लामो जिहादी विद्रोहको केन्द्रबिन्दु बोर्नो राज्यका करिब १५ हजार मानिसहरु “विनाशकारी भोकमरी“ वा “अनिकालको अवस्थामा पुग्ने अनुमान गर्दै डब्लुएफपीले विज्ञप्ति जारी गरेको छ ।

द्वन्द्वले ४० हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने उत्तरपूर्वमा करिब २० लाख अन्य विस्थापित भई छिमेकी देशहरूमा गएको जनाइएको छ ।

नाइजेरियाले उत्तरपूर्वमा बोको हराम र मध्य तथा उत्तरपश्चिममा “डाकु“ गिरोहहरूको नेतृत्वमा हिंसाको सामना गरिरहेको छ, जसले गाउँहरूमा छापा मार्छ, मानिसहरूलाई मार्नुका साथै र फिरौतीका लागि अपहरण गर्दछ ।
गत हप्ता मात्रै नाइजेरियाले तीनवटा सामूहिक अपहरणको सामना गरेको जनाइएको छ ।

नाइजर राज्यमा क्याथोलिक स्कूलका करीव ३०० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरू अपहरण गरिएको थियो, भने केब्बी राज्यमा २५ मुस्लिम हाई स्कूलका छात्राहरुको अपहरण भएको थियो । यसै गरी क्वारा राज्यमा ३८ जना उपासकहरूलाई चर्चबाटै अपहरण गरिएको जनाइएको छ ।

 

करणको आक्रामक ब्याटिङमा काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले आक्रामक ब्याटिङले लुम्बिनीले १५८ रनको लक्ष्य पाएको छ ।

१७ ओभरको चौथो बलमा ७ विकेटको क्षतिमा ११७ रनको अवस्थामा पुगेको थियो । त्यसपछि क्रिजमा गएका करण केसीले ११ बलमा ३४ प्रहार गर्न १ चौका र ४ छक्का प्रहार गरे ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको हो ।

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट ५० जना प्यालेस्टिनी पक्राउ

जेरुसेलम । इजरायली कब्जा बल (आइओएफ)ले मङ्गलबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तरगत कम्तिमा ५० जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले रिपोर्ट गरे अनुसार कल्किल्याको पूर्वमा रहेको अजुन सहरमा इजरायली सेनाले २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरी कुटपिट गरेको छ । यसै गरी अरिहा सहर र जबर र ऐन अल–सुल्तान शरणार्थी शिविर बाट १० जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।

सेनाले बेथलेहेमको गवर्नरेटमा, छ जना प्यालेस्टिनी, जेनिनको दक्षिणमा रहेको मिर्का गाउँमा अन्य छ जना र रामल्ला दक्षिणी नब्लस, जेनिन शिविरमा अन्य तीन जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।

सोही सन्दर्भमा, सेनाले अल–खलिलको उत्तरमा रहेको बेत उमर सहरका विद्यालय र घरहरूमा आक्रमण गरी दर्जनौँ प्यालेस्टिनीहरूलाई चिसो र वर्षाको मौसममा दुव्र्यवहार गर्दै घन्टौँसम्म बन्दी बनाएको जनाइएको छ ।

इजराली सेनाले वेस्ट ब्याङ्कमा प्यालेस्टिनीहरूलाई आतङ्कित पारी उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्ने कार्यकर्ताहरूलाई सताउने र कैदीहरूलाई मुक्त गर्नको लागि गिरफ्तारी गरिरहेको जनाइएको छ ।

पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा

गुल्मी। गुल्मीको पर्यटकीय क्षेत्रका रुपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ । सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ । धार्मिक एवं पर्यटकीय महत्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ ।

विचित्र गुफा जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा पर्दछ । धुर्कोट गाउँपालिका–५ स्थित वस्तुमा रहेको उक्त गुफा पर्यटकहरूका लागि आफैँमा साँच्चिकै विचित्रको छ ।

विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक उक्त गुफा पत्ता लगाएका थिए । भण्डारीले आफ्नो बारीमा मकै खान आएको अवस्थामा ढेँडुबाँदरलाई देखेर लखेट्दै जाने क्रममा उक्त ढेँडुबाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेको बताइन्छ । पछि स्थानीयको केही समूह राँको बालेर ढेँडुबाँदर पसेको ठाउँ हेर्दै जाँदा  त्यस क्षेत्रमा ठूलो गुफा रहेको पत्ता लगाएको स्थानीय युवराज भण्डारीले बताए ।

गुफा पत्ता लागेपछि विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्दथ्यो । पछिल्लो समयमा बाह्य क्षेत्रमा समेत विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि गुफा हेर्नका बेलाबेलामा विदेशी पर्यटकहरू समेत आवागमन बढ्न थालेको हो ।

विगतको समयमा फाटफुट रुपमा केही विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि पछिल्लो समयमा फ्रान्स जर्मनी र बेलायतका नागरिकहरू पर्यटककै रुपमा गुफा हेर्नका लागि आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए। धेरै विदेशी नागरिकहरू सिर्सेनीमा रहेको अरविन्द्र आश्रममा योग साधनाका लागि आएका अवसरमा एकपटक गुफामा पुगेर फर्कने गरेको अध्यक्ष पोख्रेलले बताए।

विचित्र गुफाको लम्बाइ १८५ मिटर छ भने चौडाइ ३५० मिटर रहेको छ । ठूलो र चौडा भूभागमा फैलिएका गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारहरुको प्राकृतिक आकार देख्न सकिन्छ । विचित्र गुफा बाहिरको प्राकृतिक सुन्दरताले गुफाको थप सौन्दर्यता बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वका बारेमा जानकारी गराउने प्रचलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिहरूले एकपटक सबैको ध्यान केन्द्रित गर्दछ ।

विचित्र गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । यो धार्मिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरू मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्गजाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृश्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ  प्राकृतिक रुपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ । त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएको कारण उक्त ठाउँलाई विचित्रताको अन्तिम दृश्यका रुपमा मानिन्छ ।

जुन मानिस उक्त स्वर्ग जाने बाटो भित्र छिर्न सक्छन् उनीहरुले आफूलाई साह्रै भाग्यमानी सम्झने गर्दछन् । गुफाभित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्दर्यतालाई थप शोभा थपिदिएको छ ।

गुफाको पर्यटकन प्रवद्र्धन तथा संरक्षणका लागि स्थानीय पालिका, प्रदेश र सङ्घबाट गरी दुई करोडभन्दा बढी लगानी भइसकेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए। सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग हुँदै सजिलै पुग्न सकिन्छ ।

कफिनमै जीवित भेटिइन् थाई महिला

बैङ्कक । दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ ।

बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ, जसले मन्दिरका कर्मचारीहरूलाई एकैछिनमा विश्वास गर्न नसक्ने अवस्थासम्म पुर्‍याएको थियो ।

मन्दिरका महाप्रबन्धक तथा वित्तीय मामिला प्रमुख पैराट सुदथुपले सोमबार एपीसँग कुरा गर्दै ६५ वर्षीया उक्त महिलालाई उनका भाइले फित्सानुलोक प्रान्तबाट दाहसंस्कारका लागि ल्याएको जानकारी दिएका छन् । उनका अनुसार कफिनभित्रबाट हल्का ढकढक्याएको आवाज आएको सुनेपछि घटनाले अनपेक्षित रूप लिएको थियो ।

“म केही क्षणका लागि अचम्म परेँ र कफिन खोल्न भन्नुप¥यो । खोल्नेबित्तिकै सबैजना स्तब्ध भयौँ”, उनले भने, “उनी अलिक आँखा थोरै खोलेर कफिनको ढकढक्याउँदै थिइन् । उनले केही समयदेखि सहयोग माग्दै ढकढक्याइरहेको हुनुपर्छ ।”

पैराटका अनुसार ती महिला करिब दुई वर्षदेखि ओछ्यानमै परिरहेकी थिइन् । स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि दुई दिनअघि उनले सास फेर्न छाडेकीजस्तो देखिएकाले भाइले मृत भनी कफिनमा राखेर बैङ्ककस्थित अस्पतालसम्म करिब ५०० किलोमिटर (३०० माइल)यात्रा गरेका रहेछन् । ती महिलाले पहिल्यै आफ्नो अङ्ग दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

तर अस्पतालले आधिकारिक मृत्यु प्रमाणपत्र नहुँदा उक्त प्रस्ताव अस्वीकार गरिदिएको पैराटले बताएका छन् । मन्दिरले निःशुल्क दाहसंस्कार सेवा उपलब्ध गराउने भएकाले भाइले आइतबार मात्रै मन्दिरसँग सम्पर्क गरेका थिए । तर आवश्यक कागजात नहुँदा मन्दिरले पनि सेवा उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।

यही कुरा–मृत्यु प्रमाणपत्र कसरी प्राप्त गर्ने भन्ने बारे मन्दिरका अधिकारीहरूले बुझाइरहँदा–कफिनभित्रबाट ढकढक्याएको आवाज आएको थियो । त्यसपछि तुरुन्तै महिलाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको मन्दिरले जनाएको छ ।

पैराटका अनुसार मन्दिरका मठाधीशले ती महिलाको उपचार खर्चसमेत बेहोर्ने प्रतिबद्धता जनाएका छन् ।

बुर्का लगाएर विरोध गरेकी अस्ट्रेलियाली सिनेटर वर्षभरका लागि निलम्बित

मेलबर्न । राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन—बुर्का—लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मङ्गलबार यस वर्षभरका लागि संसद्बाट निलम्बन गरिएको छ ।

मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित वन नेशन पार्टीकी ७१ वर्षीया नेत्री ह्यान्सनले सोमबार आफ्नो ‘सार्वजनिक स्थानमा अनुहार ढाक्ने पहिरन प्रतिबन्ध’ सम्बन्धी प्रस्तावित विधेयकलाई सहकर्मीहरूले अस्वीकार गरेको विरोधस्वरूप टाउकादेखि खुट्टासम्म ढाकिने बुर्का लगाएर सिनेटमा प्रवेश गरेकी थिईन्ंं । उक्त शैलीलाई सांसदहरूले अपमानजनक स्टन्टको रूपमा व्याख्या गर्दै उनलाई सोही दिनका लागि निलम्बन गरिएको थियो ।

उनको माफी नआएपछि मङ्गलबार सिनेटले कडा निन्दा प्रस्ताव पारित गर्दै सात बैठक दिनका लागि लगातार संसद् प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसलाई पछिल्ला दशकहरूमा सिनेटरप्रति लागू गरिएको कडा कारबाहीमध्ये एक मानिएको छ । सिनेट बिहीबारबाट वर्षभरका लागि स्थगित हुने भएकाले यो निलम्बन आगामी फेब्रुअरीमा संसद् पुनः सुरु नहुँदासम्म जारी रहनेछ ।

सिनेटबाट बाहिरिसकेपछि ह्यान्सनले पत्रकारहरूसँग कुरा गर्दै आफूलाई न्याय कसैले होइन सन् २०२८ को आम निर्वाचनमा मतदाताहरूले गर्ने बताउँदै सिनेटका सहकर्मीहरूले गरेको कारबाहीलाई पाखण्डपूर्ण भएको टिप्पणी गरेकी छिन् । उनले संसद्मा कुनै औपचारिक ड्रेस कोड नभएको तर्क गर्दै ‘उनीहरू बुर्कामा प्रतिबन्ध लगाउन चाहन्थे तर मलाई भने लगाउन नै दिइएन’ भनी प्रतिकिया दिएकी थिईन् ।

ह्यान्सनले यसअघि सन् २०१७ मा पनि यस्तै शैलीमा बुर्का लगाएर संसद्मा प्रवेश गर्दा ठूलो विवाद भएको थियो, तर त्यतिबेला उनलाई सजाय दिइएको थिएन । हालै फ्लोरिडामा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा सम्बोधन गरेर आएकी उनीमाथि यसपटक भने सिनेटले कडा र स्पष्ट कदम चाल्यो ।

सिनेटमा सरकारी नेत्री, मलेसियामा जन्मिएकी तर गैरमुस्लिम पेनी वोङले निन्दा प्रस्ताव पेस गर्दै बुर्का लगाएर प्रस्तुत भएको ह्यान्सनको शैलीले ‘सिङ्गो धर्मलाई उपहास र बदनाम गरेको’ बताएकी छिन् । उनका अनुसार अस्ट्रेलियाको झण्डै दुई करोड ८० लाख जनसङ्ख्यामध्ये करिब १० लाख मानिस इस्लामी आस्थाको पालनामा छन्, जसको सम्मानमाथि प्रहार हुने व्यवहारले सामाजिक सद्भाव कमजोर पार्ने जोखिम राख्छ ।

सिनेटकी सदस्य तथा पाकिस्तानमा जन्मिएकी मेहरीन फारुकीले आफू र अफगानिस्तानमा जन्मिएकी फातिमा पेमन मात्रै सिनेटमा मुस्लिम प्रतिनिधि रहेको बताउँदै ह्यान्सनको यस्तो शैलीले अस्ट्रेलियामा विद्यमान संरचनात्मक तथा प्रणालीगत जातीय विभेदलाई उजागर गरेको टिप्पणी गरेकी छिन् । हिजाब लगाउने पेमनले मङ्गलबार बोलेकी थिइनन् , तर सोमबार ह्यान्सनको बुर्का प्रयोगलाई ‘अपमानजनक’ र ‘लाजमर्दो’ भन्दै कडा प्रतिक्रिया दिएकी थिईन् ।

गत वर्ष एक न्यायाधीशले सामाजिक सञ्जालमा फारुकीलाई ‘आफ्नो देश फर्क’ भन्ने शैलीमा गरेको टिप्पणी जातीय भेदभावविरोधी कानूनको उल्लङ्घन भएको ठहर गर्दै ह्यान्सनविरुद्ध फैसला सुनाईएको थियो । ह्यान्सनले हाल सो फैसलाविरुद्ध अपिल गरिरहेकी छिन् ।

अस्ट्रेलियन फेडेरेसन अफ इस्लामिक काउन्सिलका अध्यक्ष रतेब जिनेदले एक विज्ञप्ति जारी गर्दै ह्यान्सनको कार्यलाई ‘मुस्लिम, आप्रवासी तथा अन्य अल्पसङ्ख्यक समुदायलाई निरन्तर बदनाम गर्ने प्रवृत्तिको हिस्सा’ भएको बताएका छन् ।

सन् १९९६ मा आफ्नो पहिलो संसदीय भाषणमै अस्ट्रेलिया ‘गैर–भेदभावपूर्ण आप्रवासन नीतिका कारण एसियालीहरूले भरिने जोखिममा छ’ भन्ने विवादास्पद अभिव्यक्तिका कारण आलोचित भएकी ह्यान्सनले यसपटकको कदमले पुनः जातीय र धार्मिक संवेदनशीलताका विषयमा राष्ट्रिय बहस चर्काएको छ

विधानमा विशेष महाधिवेशन प्रस्ताव दर्ताको दफा छ, फिर्ताको छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देशको समस्या समाधानका लागि सभापति शेरबहादुर देउवाले नै निर्णायक पहलकदमी लिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । आज (मंगलबार) उदयपुरको गाईघाटमा कांग्रेस नेता–कार्यकर्तामाझ धारणा राख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘दुई महामन्त्री के भन्छन् ? या, सात भाइ के भन्छन् ? अब त्यो मुख्य कुरा होइन,’ महामन्त्री शर्माले भने, ‘असोज २८ मा लिखित वक्तव्यमार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनु भएको थियो, अब त्यो कायम राख्ने कि नराख्ने मूल प्रश्न हो ।’ सभापति देउवाले त्यो दिन केन्द्रीय समितिमा दिएको वक्तव्यमा ‘मंसिरमा महाधिवेशन छुट्नु हुन्न थियो’ भनेर शर्माले भनेका छन् । ‘त्यो छुट्नु गल्ती प्रमाणित भएको छ,’ उनले भने । अब पार्टी र देशको आजको समाधानका लागि सभापति देउवाले नै निर्णायक पहलकदमी लिनुपर्ने मत उनले अगाडि सारेका छन् । उनले भने, ‘उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्‍याउने मलाई विश्वास छ ।’

सँगै महामन्त्री शर्माले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन फिर्ता हुने अवस्था नरहेको बताए। ‘विधानमा विशेष महाधिवेशन प्रस्ताव दर्ताको दफा छ, फिर्ताको दफा छैन । त्यसैले विशेषको ब्याक गियर हुन्न,’ महामन्त्री शर्माले भने । ९० दिनभित्र विशेष महाधिवेशन गर्नै पर्ने उनले बताए। ‘सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ,’ उनले भने । ‘कांग्रेस विधानसम्मत कांग्रेस अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,’ महामन्त्री शर्माले भने ।

 

 

 

पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुनुस् : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टी एकतापछि अब नेता कार्यकर्तालाई पुरानो पार्टीको धङधङी त्याग्न आग्रह गरेका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अब नयाँ भइसकेको बताए। नेपालले भने, ‘हामीहरूले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने होइन, हामी एउटै भइसकेको छौँ । हामीले ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन हुँदैन। ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ, विचार, सिद्धान्त र कार्यक्रमले एकताबद्ध होऔँ ।’

नेपालको राजनीतिमा जनतालाई भरोसा दिनसक्ने पार्टीको रूपमा अगाडि बढाउनुपर्ने सहसंयोजक नेपालले बताए। सह–संयोजक नेपालले कम्युनिष्ट पार्टीको एकताले देशव्यापी रुपमा उत्साह थपिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बताए । उनले आपसी मतभेद नगरी जनताको विश्वासको पार्टी बनाउन देशव्यापी सन्देश दिने उल्लेख गरे।

फसेका अन्तरिक्ष यात्री उद्धारका लागि चीनद्वारा ‘शेन्जोउ–२२’ प्रक्षेपण

बेइजिङ । चीनले आफ्ना तीन जना अन्तरिक्ष यात्रीलाई सुरक्षित रुपमा घर फर्काउन सहयोग पुर्‍याउने उद्देश्यले मङ्गलबार ‘शेन्जोउ–२२’ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । क्षतिग्रस्त अन्तरिक्ष यानका कारण ती अन्तरिक्ष यात्री चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फसिरहेका थिए ।

ती अन्तरिक्ष यात्रीहरूले सन् २०२६ को नोभेम्बर १ मा तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा डक गरेका थिए र अहिले फिर्तीका लागि यही नयाँ प्रक्षेपित ‘शेन्जोउ–२२’ को प्रयोग गर्नेछन् ।

यसअघि शेन्जोउ–२० मिसनका अन्तरिक्ष यात्रीहरूले आफ्नै यानको झ्यालमा क्षति पुगेपछि पृथ्वी फर्कने यात्रामा नौ दिनको ढिलाइ सहनु परेको थियो । अन्ततः उनीहरू ‘शेन्जोउ–२१’ प्रयोग गरेर फर्किए । सोही यानले हालै प्रतिस्थापन चालक दललाई तियाङ्गोङमा पुर्‍याएको थियो ।

तीन सदस्यीय चालक दल पृथ्वीमा सुरक्षित अवतरण गरेपछि प्रतिस्थापनका रूपमा त्यहाँ पुगेका अर्को तीन जना अन्तरिक्ष यात्री आपतकालीन अवस्थामा फिर्तिने सुनिश्चित मार्गविनै अस्थायी रूपमा स्टेशनमै रहनुपरेको थियो ।

राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार क्षति भएको ‘शेन्जोउ–२०’ यान अहिले अन्तरिक्षमै रहेको छ र यसलाई पृथ्वीमा फर्काएर विस्तृत मूल्याङ्कन गरिनेछ । मूल्याङ्कनपछि उक्त यानले अन्तरिक्ष यात्रीहरूको सुरक्षित यातायातका आवश्यक मापदण्ड पूरा नगरेको पुष्टि भएको छ ।

चिनियाँ अन्तरिक्ष कार्यक्रमले पछिल्ला वर्षहरूमा तीव्र प्रगति गरेका मिशनहरूमार्फत तियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई मोड्युल–मोड्युल विस्तार गर्दै आएको छ । उक्त कार्यक्रम चीनको सेनाद्वारा नियन्त्रित भएकाले अमेरिकाको सुरक्षा चिन्ताका कारण चीन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सहभागी हुन नसकेको बताइन्छ । त्यसपछि चीनले आफ्नै तियाङ्गोङ स्टेशन विकास गरेको हो ।

‘स्वर्गीय दरबार’ अर्थ भएको तियाङ्गोङ सन् २०२१ मा पहिलो टोलीलाई स्वागत गर्दै सञ्चालनमा आएको थियो । आकारमा यो २५ वर्षदेखि सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनभन्दा सानो भए पनि चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण परियोजना मानिन्छ ।

श्रीमान रोजगारीका लागि साउदीमा, परिवारकै सदस्यबाट महिलाको वीभत्स हत्या

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरूको संलग्नतामा भएको विभत्स हत्या पछाडि लुकेको रहस्य बाहिर आएको छ । रोजगारीका लागि विदेशमा रहेका बेला परिवारका सदस्यहरूले योजनाबद्ध रूपमा हत्या गरी घरकै भुस राख्ने कोठाभित्र खाडल खनेर गाडेको अवस्थामा महिलाको शव भेटिएको हो ।

मृतक २५ वर्षीया तरीमा खातुन, भुसाहा निवासी शेख आदिलकी पत्नी हुन् । आदिल रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् । सोमबार राति हत्या गरिएपछि मंगलबार बिहान स्थानीयले शंका व्यक्त गरेपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो । त्यही क्रममा खातुनको शव भुस राख्ने स्थानको खाडलभित्र पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हत्या भएको रातदेखि नै खातुनका ससुरा शेख अली मोहम्मदसहित घरका सबै सदस्य फरार रहेका छन् । उनीहरूले मृतक खातुनका डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर भागेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ ।
घटनाको मूल कारण भने करिब एक महिनाअघि माइतीतर्फ भएको विवाह समारोहकै दिन देखिएको विवादलाई मानिएको छ । कात्तिक १८ गते, समारोहका बेला खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग ‘अनैतिक सम्बन्ध’ राखिरहेको अवस्थामा भेटिएको दाबी परिवारजनले गरेका छन् । विवाद बढेपछि दुवैले विवाह गर्ने मौखिक सहमति गरेको र त्यसपछि खातुनलाई ससुरा अली मोहम्मदको जिम्मामा छाडिएको मृतकका बुबा ताज मोहम्मदले बताए ।

घटनाको रात खातुनका भाइ शेख आस मोहम्मद दिदीको घरमा भेटघाटका लागि पुगेका थिए । त्यही बेला उनले दिदीमाथि परिवारका सदस्यहरूले कुटपिट गर्दै हत्या गरिरहेको देखेको दाबी गरेका छन् । रोक्न प्रयास गर्दा ‘हल्ला गर्‍यौं भने तिमीलाई पनि मारिदिन्छौं’ भन्दै धम्की दिएपछि उनी घरबाट भागेर ज्यान जोगाउन सफल भएको परिवारजनले बताएका छन् । हत्या भएको प्रमाणका रूपमा आस मोहम्मदले दिदीको अवस्था देखिने तस्बिर माइतीतर्फ पठाएको पनि परिवारजनको भनाइ छ ।

प्रहरीका अनुसार खातुनका दाहिने खुट्टामा गहिरो चोट लागेको थियो भने टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट एक चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । खातुनको शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । प्रहरीले फरार सबै परिवार सदस्यहरूको खोजीका लागि विशेष टोली परिचालन गरेको जनाएको छ ।

 

 

ईश्वर पोखरेलले गरे एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छ्न । आज एक वक्तव्यमार्फत उनले भावी अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताएका हुन् ।

“पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,” पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु ।’ वक्तव्यमा उल्लेख छ ।

पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएका छन् ।

पोखरेलले अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि ओलीलाई आग्रह गरेका छन् ।

 

 

 

चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै

नयाँदिल्ली । भारत–चीन सीमा सन् २०१७ को डोकलाम गतिरोध र सन् २०२० को गलवान उपत्यकाका घटनापछि तुलनात्मक रूपमा शान्त देखिए पनि चीनले तिब्बत क्षेत्रमा भारतीय सीमा नजिक सैन्य पूर्वाधार विस्तारलाई निरन्तर अघि बढाइरहेको छ ।

पिपुल्स लिबरेसन आर्मी (पिएलए) ले वास्तविक नियन्त्रण रेखा ९एलएसी० वरिपरि आफ्ना सुविधा, रसद केन्द्र र कनेक्टिभिटी संरचना क्रमशः विस्तार गर्दै आफूलाई थप बलियो बनाइरहेको छ ।

हालै चीनले तिब्बतमा करिब चार हजार ३०० मिटर उचाइमा नयाँ मानव रहित हवाई वाहन (युएभी) परीक्षण केन्द्र निर्माण गरेको छ । यसले पिएलएलाई उच्च–उचाइ र कठोर मौसममा ड्रोन परीक्षण गर्न सहज बनाउने अपेक्षा छ । सात सय २० मिटर लम्बाइको धावन मार्ग, ह्याङ्गरहरू तथा प्रशासनिक भवनहरू रहेको यो पूर्वाधार न्गारीस्थित पिएलए रसद केन्द्रको दक्षिणपूर्वमा अवस्थित छ ।

तिब्बती पठारको कठोर भूभाग, चिसो मौसम, उचाइ रोगको जोखिम र सीमित स्थानीय आपूर्तिका कारण सैन्य गतिविधि कठिन मानिन्छ । सैनिकहरूलाई पूरक अक्सिजन, जमेको पानी पगालेर प्रयोग गर्ने आवश्यकता तथा सवारी साधनका लागि इन्सुलेटेड ग्यारेज अनिवार्य हुन्छ । हेलिकप्टरहरूको पेलोड क्षमता पनि उल्लेख्य रूपमा घट्छ । यिनै चुनौतीबीच चीनले व्यापक सडक, हवाई तथा रेल पूर्वाधार विकासलाई प्राथमिकता दिइरहेको छ ।

अमेरिकी वायु सेनाको ‘चाइना एरोस्पेस स्टडिज इन्स्टिच्युट’ (सिएएसआई) ले सन् २०२५ मा प्रकाशित प्रतिवेदनमा तिब्बतमा कमजोर यातायात पूर्वाधार पिएलएको सीमितता भए पनि पछिल्ला वर्षमा तीव्र गतिमा विस्तार हुँदै प्रभावकारी रसद संयन्त्र सक्षम बनाइएको उल्लेख गरेको छ । चीनले आफ्नो १४औँ पञ्चवर्षीय योजनाअन्तर्गत तिब्बतमा सम्बन्धित पूर्वाधारका लागि ३० अर्ब अमेरिकी डलर विनियोजन गरेको छ ।

डोकलामपछि भारतसँगको सीमा नजिक चीनले राजमार्ग, सहायक सडक तथा पुलहरू तीव्र गतिमा विस्तार गरिरहेको भारतीय थिङ्क–ट्याङ्क ओआरएफले पनि जनाएको छ । विशेषगरी जी–३१४, जी–६८४, जी–६९५ र जी–२१६ जस्ता मार्गहरूले सैन्य परिचालन क्षमतालाई उल्लेखनीय रूपमा सहज बनाएको बताइन्छ । पाङ्गोङ त्सो क्षेत्रमा सन् २०२१ र सन् २०२४ मा बनेका दुई पुलले सैनिक आवत–जावतलाई झनै छोट्याइदिएको छ ।

यस्तै, सन् २०१७ देखि सन् २०२३ बीच तिब्बत र सिन्जियाङमा कम्तीमा ३७ सैन्य वा दोहोरो प्रयोगका विमानस्थल र हेलिपोर्ट निर्माण गरिएका छन् । सीमापट्टि करिब ६०० भन्दा बढी ‘सीमावर्ती गाउँ’ निर्माण गरी प्रशासनिक र रसद उपस्थिति विस्तार गरिएको सिएएसआईकै अध्ययनले जनाएको छ ।

तिब्बत सैन्य जिल्लामा तीन संयुक्त–हतियार ब्रिगेड, आठ सीमा रक्षा रेजिमेन्ट तथा विस्तारित रसद संरचनाले पिएलएको परिचालन क्षमता थप सुदृढ बनेको छ । कठिन भूभागमा पनि ड्रोनमार्फत आपूर्ति पुर्‍याउने, आवश्यकताअनुसार प्याक जनावर प्रयोग गर्ने जस्ता उपायहरू चीनले अवलम्बन गरेको छ ।

विश्लेषकहरूका अनुसार चीनले तिब्बत र सिन्जियाङमा दोहोरो प्रयोग हुने पूर्वाधार निर्माणलाई रणनीतिक रूपमा उपयोग गर्दै भारतसँगको भविष्य सम्भावित द्वन्द्वका लागि आफूलाई योजनाबद्ध रूपमा तयार पारेको सङ्केत गर्छ । विशेषज्ञहरूका अनुसार तीव्र गतिमा बढिरहेको चिनियाँ पूर्वाधार क्षमताले भारतलाई आफ्नो सीमा क्षेत्रमा विकासको गति अझ बढाउन बाध्य बनाउने देखिन्छ ।

कांग्रेस सभापति देउवा फेरि ‘सक्रिय’ राजनीतिमा

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व–संघर्ष निर्णायक मोडमा पुगेको छ । सक्रिय राजनीतिबाट अलग हुँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक जिम्मेवारी दिएको सन्देश सार्वजनिक गरेको एक महिनामै सभापति शेरबहादुर देउवा पुनः केन्द्रविन्दुमा फर्किएका छन् । आगामी राष्ट्रियसभा (११ माघ) र प्रतिनिधिसभा (२१ फागुन) निर्वाचनका लागि दल दर्ता गर्दा कांग्रेसले देउवाकै नाम–हस्ताक्षर निर्वाचन आयोगमा पेस गरेपछि विवाद झनै झाँगिएको छ ।

दल दर्तामा देउवाको हस्ताक्षर पेश हुनु नेताहरूले उनको ‘पूर्ण सक्रियता’ को संकेतका रूपमा लिएका छन् । अब निर्वाचनका सबै निर्णय, विशेषतः उम्मेदवार छनोटमा, देउवाकै प्रभाव निर्णायक हुने आंकलन छ । यता, कार्यवाहक सभापति खड्काले निर्णय क्षमताबारे उठेका प्रश्न र पार्टीभित्र बढ्दो असन्तुष्टिले संस्थापनलाई नै असहज बनाइरहेको छ ।

महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको समूह विशेष महाधिवेशनको अभियानमा झनै आक्रामक बनेको छ । ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित दर्ता भइसकेको विशेष महाधिवेशनको निवेदन ‘फिर्ता लिनुपर्ने’ संस्थापन पक्षको शर्तलाई उनीहरूले अस्वीकार गरिदिएका छन् । उनहरूको तर्क छ, ‘नियमित महाधिवेशन पुस मसान्तभित्र गर्ने सहमति भए विशेष महाधिवेशनको औचित्य आफै सकिन्छ । तर निवेदन फिर्ता लिनु भनेको महाधिवेशन नै नहुने योजना हो ।’

दल दर्तामा आफ्नै हस्ताक्षर चल्ने व्यवस्था गराएर देउवाले चुनाव व्यवस्थापनमा प्रत्यक्ष भूमिका लिन खोजेको आरोप इतरपक्षीय नेताहरूको छ । महामन्त्री थापाले खुलेरै भन्न थालेका छन्, ‘आगामी चुनावमा टिकट नयाँ नेतृत्वले बाँड्छ, देउवाले होइन ।’ यससँगै देउवा पनि नियमित-विशेष दुवै महाधिवेशन पटक–पटक अघि सार्ने रणनीतिमा लागेको आरोप तीव्र बनेको छ ।

उपसभापति खड्का स्वयं दल दर्तामा देउवाको पुनः सक्रियताप्रति असन्तुष्ट देखिएको जानकारी बाहिरिएको छ । कयौं नेताहरूको धारणा छ, ‘कार्यबाहकलाई समस्या र अपजसको भार दिने, तर टिकट वितरणको बेला देउवा आफै सक्रिय हुने—यो राजनीतिक र नैतिक दुवै दृष्टिले गलत छ ।’ जेन–जी आन्दोलनले माग गरेको ‘नेतृत्व परिवर्तन’ र ‘दुई पुस्ताबीचको संक्रमण’ को मुद्दा फेरि अगाडि धकेलिएको महसुस विशेष महाधिवेशन पक्षधर नेताहरूले गरिरहेका छन् । उनीहरू भन्छन्, ‘देउवाले कार्यबाहक दिएर फर्किनु आन्दोलनको मर्ममाथि चोट हो । नेतृत्व बदलिएन भने चुनावमा कांग्रेस कमजोर हुन सक्छ ।’

अन्तिम निष्कर्ष : कांग्रेस निर्णायक वैचारिक–संगठनात्मक मोडमा ।
आगामी केन्द्रीय कार्यसमितिको बैठक अब ‘वारपार’ को बैठक मानिँदैछ ।
– संस्थापन पक्ष महाधिवेशन वैशाख–पछि धकेल्न चाहन्छ ।
– इतरपक्ष चुनावअघि नै नेतृत्व र नीति परिवर्तन हुनैपर्ने अडानमा छ ।
दल दर्ताबाट देउवाको पुनः सक्रियता कांग्रेसभित्र महिनौदेखि चलिरहेको शक्ति–युद्धलाई खुलेआम ‘सभापति बनाम महामन्त्री’ को संघर्षमा बदलिसकेको छ ।

वीरगञ्ज नाकाबाट दुई खर्ब ८४ अर्बका सामान भित्रिए

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ । गत आवको चार महिनाको अवधिमा रु दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै १८ प्रतिशत वृद्धि भएको जानकारी दिए । “गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा मात्रै नभएर राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ,” उनले भने ।

कार्यालयका अनुसार गत आवको चार महिनामा कार्यालयले रु ६६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको थियो । तर, चालु आवको चार महिनामा भने रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज नाका हुँदै चार महिनामा रु ५४ अर्ब १२ करोड मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यस्तै सोही अवधिमा रु २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान आयात भएको छ । रु १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा भित्रिएका छन् ।

वीरगञ्ज नाका हुँदै चार महिनामा रु १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, रु १६ अर्ब चार करोडको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा तथा रु १५ अर्ब ४३ करोडको मलखाद आयात भएको छ ।

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अङ्कले बढेर ४५७ दशमलव ५३ अङ्कमा पुगेको छ । मङ्गलबार बजारमा नेप्से परिसूचक सामान्य बढेपनी कारोबार रकम भने घटेको छ । आज कूल ३१९ कम्पनीका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर रु पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा खरिद बिक्री भएको छ । सोमबार कुल रु सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये विकास बैङ्क, जीवन बिमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटेका छन् । त्यस बाहेकका अरु उपसूचक भने बढेका छन् । जसमा सबैभन्दा धेरै होटल तथा पर्यटनको उपसूचक एक दशमलव ४१ प्रतिशतले बढेको छ ।

आज बन्दीपुर केवलकारको शेयर रु २६ करोड ९९ लाख ९७ हजार ६४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । झापा इनर्जी लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतले वृद्धी भइ सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी लिमिटेड र श्रीनगर एग्रोटेक इन्ड्रष्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् । आजको कारोबारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको लगानीकर्ताले शेयरमूल्यमा चार दशमलव ९६ प्रतिशतले गुमाए ।

यस्ता छन् मन्त्रिपरिषद वैठकका १४ निर्णयहरु (सूचीसहित)

काठमाडौं । सरकारले भूमि अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भूमि अध्यादेश सिफारिस गरिएको जानकारी दिएका छन् । ‘भूमिसम्बन्धी अध्यादेश, नवौँ संशोधन २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ,’ मन्त्री पुनले भने ।

सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ । विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए । त्यस्तै, युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’ को सदस्यता लिन स्वीकृति प्रदान गरेको मन्त्री पुनले बताए ।

नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्र नै केही कार्यालयका पद मिलान तथा दरबन्दी थपघट गर्न समेत बैठकले स्वीकृति दिएको छ । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको छ ।
गत भदौ २३ र २४ का जेनजी आन्दोलनका घाइतेको उपचार तथा राहतका व्यवस्था गर्ने, सरकारद्वारा सञ्चालनमा रहेको सहायता कक्षमा सह–सचिव तथा उप–सचिवबाहेक १० जना स्वयंसेवक खटाउने र उनीहरूलाई चार महिनासम्म मासिक १५ हजारका दरले खाजा खर्च उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने संरक्षित क्षेत्र तथा जैविक मार्गका एकीकृत भू–परिधि आयोजना लगायतका कार्यक्रमका लागि अधिकृत तहका ३७ दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु

 

एनपीएल: २ टस हारेर लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमाडौं

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर लुम्बिनीले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

लुम्बिनीलाई हराउँदै काठमाडौं दोस्रो जित निकाल्ने लक्ष्यमा छ । काठमाडौंले यसअघिका तीन खेलमा एक मात्रै जित निकालेको छ । जनकपुर बोल्ट्सँग जितेको काठमाडौंले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो ।

काठमाडौंलाई हराउँदै लुम्बिनीले दोस्रो जित निकाल्ने दाउमा छ । लुम्बिनीले यसअघिको दुई खेलमा एक हार र एक जित निकालेको थियो । लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजसँग जितेको थियो ।

निर्वाचन हुँदैन भन्नेलाई कामबाट जवाफ दिन्छौं : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । आज (मंगलबार) लुम्बिनी प्रदेश, भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचन नै सरकारको ‘मूल मन्त्र’ भएको बताएका हुन् ।

अर्यालले निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकारले आतुर रहेको दाबी गर्दै भने– ‘हामी कुनै व्यक्तिगत आकांक्षा वा लोभका लागि आएका छैनौँ । देशको विशिष्ट परिस्थितिमा पाएको जिम्मेवारी पूरा गर्न केन्द्रित छौँ ।’ एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताउँदै आएको प्रति प्रतिक्रिया दिँदै उनले भने, ‘निर्वाचन हुँदैन भन्नेहरुलाई सरकार आफ्नो काम र भूमिकाबाट जवाफ दिँदैछ । विभिन्न बाहाना देखाएर चुनाव रोक्ने प्रयास बेकार हुनेछ ।’

गृहमन्त्री अर्यालले शान्ति र सुव्यवस्था कायम राख्न तथा निर्वाचनको वातावरण सिर्जना गर्न प्रदेश सरकारको भूमिका महत्वपूर्ण भएको पनि बताए । उनले निर्वाचन पूर्व, निर्वाचनको अवधिमा र निर्वाचनपछि प्रदेश सरकार सक्रिय रहन केन्द्रीय संयन्त्रसँग मिलेर कार्य गर्ने योजना रहेको जानकारी दिए । उनले थपे, ‘हामी कुनै अपेक्षाले आएका होइनौँ । हाम्रो व्यक्तिगत ईच्छाले आएका पनि होइनौँ । देशको विशिष्ट अवस्थामा शुन्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौँ । हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ पनि छैन। प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखेर स्वहासिल गर्ने दिशामा सरकार केन्द्रित रहेको छ ।’ आफ्नो ईच्छाले आफूहरु सरकारमा नआएको र पाएको जिम्मेवारीलाई पूरा गर्न केन्द्रित रहेको अर्यालको भनाई थियो ।

 

जेनजीले नेकपालाई अभिभावक ठान्न थालेका छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका विभिन्न कम्युनिष्ट घटक दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखी विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताए ।

संयोजक प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको दाबी गरे । प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबभन्दा बढी युवालाई सम्बोधन गर्न खोजिएको जिकिर गरे । ‘युवाका ती सही आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भनेर सबभन्दा पहिले सरकारलाई खबरदारी पनि गर्‍यौं, त्यहि पहलका कारण र विस्तारै युवा पुस्तालाई हामीले गर्दै गरेको संवाद र सहकार्यको कारण अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन्,’ उनले भने ।

जेनजी आन्दोलनपछिको अवस्था सामना गर्न, राष्ट्रको स्वाधिनता र वामपन्थी दललाई एकताबद्ध गर्न नेपाली कम्युनिस्ट पार्टी गठन भएको उनको भनाइ छ ।एकता सन्देश सभामा लाखौँ जनता उपस्थिति हुने उल्लेख गर्दै उनले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनीतिक दललाई अपिल गर्ने बताए । उनले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उनको दाबी छ । हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरु अगाडी बढ्ने उनले बताए ।

उनले भने, ‘हामीले पार्टी एकता सन्देशसभा भनेर पर्सी १२ गतेदेखी धनगढीबाट सभाहरु सुरु गर्देछौँ र विराटनगरसम्म पुग्दैछौँ । त्यहाँ हामी लाखौँ नेपाली जनतालाई एकताको सन्देश प्रवाहित पनि गर्नेछौँ र निर्वाचनको निम्ति वातावरण बनाउन जनतलाई अपिल पनि गर्नेछौँ । राजनीतिक दलहरुलाई अपिल गर्नेछौँ । सरकारलाई निर्वाचनको वातावरण बनाउन गम्भिर पहलको निम्ति हामीले एकातिर उत्प्रेरित गर्नेछौँ भने अर्कोतिर कहिँ न कहिँ दबाब पनि सृष्टि गर्नेछौँ । र देशमा अहिले देखापरेको असहज परिस्थितिलाई सहज बनाउन हामी अगाडी बढ्नेछौँ ।’ उनले देशभक्त वामशक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको आकर्षण रहेको पनि दाबी गरे ।

यथास्थितिको चुनावले निकास दिन्न, तैपनि भाग लिन्छौं : राप्रपा

काठमाडौं । फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार पार्टीले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

यद्यपि यथास्थितिमा हुने निर्वाचनबाट देशले निकास नपाउनेमा राप्रपा प्रस्ट रहेको प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन् । ‘यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रस्ट छौँ,’ उनले भनेका छन्, ‘तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।’ निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् ।

आयोगमा ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । राप्रपाले दल दर्ता गरेसागै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नभएको पनि बताएको छ । प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।’

संसद विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले, कांग्रेस के गर्ला ?

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा आज रिट दिएको छ । निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधि सभा पुनर्स्थापना रिट सर्वोच्चमा पेस गरिएको र अध्ययनका क्रममा रहेको बताए । ‘हामीले रिट पेस गरिसक्यौं, अध्ययनको क्रममा छ, बेलुकीसम्म दर्ता होला,’ उनले भने । एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाका पक्षमा उभिन नेपाली कांग्रेसलाई पनि आग्रह गरेको थियो । तर कांग्रेसले यसमा ‘ग्रिन सिग्नल’ दिएन । कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दिने कि नदिने भन्नेबारे पार्टी टुंगोमा पुगिसकेको छैन ।

‘प्रतिनिधि सभा पुनर्स्थापना रिट निवेदन दिने कि भन्नेबारेमा कानुन व्यवसायीहरूसँग छलफलमा त छौं तर पार्टीले कुनै निर्णय दिइसकेको छैन,’ घिमिरेले भने । घिमिरेकै अगुवाइमा विघटित प्रतिनिधि सभाका कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि हस्ताक्षरसमेत संकलन गरेका थिए । ८८ जना निवर्तमान सांसदमध्ये जम्मा ४५ जनाले मात्रै हस्ताक्षर गरेका थिए भने शीर्ष नेताहरू कसैले पनि हस्ताक्षर गरेका थिएनन् ।

घिमिरेले पार्टी केन्द्रीय समिति बैठक चलिरहेका बेला पार्टीलाई प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा उभिन दबाब दिनका लागि भन्दै त्यसबेला हस्ताक्षर संकलन गरिएको बताएका थिए । तर कांग्रेस केन्द्रीय समिति बैठकले फागुन २१ को निर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा मंसिर ७ गते नै दल दर्ता गरिसकेको छ । एमालेले पनि आज निर्वाचन प्रयोजन निम्ति दल दर्ता गरिसकेको छ । चुनाव प्रयोजनका निम्ति दल दर्ता गरेको एमालेले प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै सर्वोच्चमा रिट पनि दिएको छ । तर कांग्रेसले रिट दिने वा नदिनेबारे अहिलेसम्म निर्णय लिएको छैन । ‘पार्टी केन्द्रीय समितिले आम निर्वाचनमा भाग लिने र त्यसका लागि दल दर्ता गर्ने निर्णय गरेको अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्च जाने कि नजाने अन्योल छ, यसबारे पार्टीले कुनै निर्णय दिइसकेको पनि छैन,’ घिमिरेले भने । प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर संकलन गर्दा आफूसँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का रिसाएको पनि उनले बताएका थिए ।

२०४८ सालदेखि अहिलेसम्म ७ पटक संसद विघटन भएको भन्दै घिमिरेले ‘प्रतिनिधि सभा विघटन हुँदा हरेक पटक नेपाली कांग्रेस त्यसका विरूद्ध अदालत गएको र राजनीतिक रूपले सडकमा गएको’ बताएका थिए । ‘चाहे त्यो गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा गरेको बेला होस् चाहे २०५९ मा शेरबहादुर देउवाले गरेको बेला किन नहोस्, त्यसबेला पनि कांग्रेस प्रतिनिधि सभा विघटन विरूद्धमा गएको थियो,’ घिमिरेको भनाइ छ ।

सभामुख देवराज घिमिरेले पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट दिने विषयमा कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। मंसिर १ गते भएको छलफलमा कांग्रेसका घिमिरेले आफूहरू प्रतिनिधि सभा पुनस्र्थापनाका पक्षमा रिट लिएर जाने पक्षमा नरहेको कुरा राखेका थिए । कांग्रेस केन्द्रीय समितिले भने वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गरेको थियो । ‘नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेन–जेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ,’ कांग्रेसको निर्णयमा उल्लेख छ । मंसिर ६ गते बसेको केन्द्रीय समिति बैठकले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।

‘२०८२ साल माघ ११ गते आइतबारको दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहीबारको दिन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’ लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ । सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ भन्ने निर्णय गरेको थियो ।

विभिन्न राजनीतिक दलहरूको आह्वानमा जनताले धैर्य, संघर्ष र त्यागका माध्यमबाट स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास साझा जिम्मेवारी रहेको भन्दै यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेको निचोड केन्द्रीय समितिले निकालेको थियो ।

‘संसद विघटनको उपक्रम संविधानको परिकल्पना तथा सम्मानित अदालतको व्याख्या विपरीत छ। संसद विघटन असंवैधानिक छ । यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको छ। संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ’ भन्दै कांग्रेसले अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भनेको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा भदौ २७ गते सरकार गठन भएको थियो । प्रधानमन्त्री नियुक्त भएलगत्तै कार्कीले राष्ट्रपति भवन शीतल निवासमै मन्त्रिपरिषद बैठक गरेर प्रतिनिधि सभा विघटन सिफारिस गर्दै फागुन २१ मा चुनाव मिति तय गरेकी थिइन् ।

 

एमाले महाधिवेशन तयारीका लागि गठित समितिहरू सक्रिय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठित विभिन्न समितिले आफ्नो कामलाई गति दिएका छन् ।

एमालेको यही मङ्सिर ४ गतेको केन्द्रीय सचिवालयको ६०औँ बैठकले विभिन्न १४ समिति गठन गरेको थियो । यसबीचमा जनपरिचालन समिति र प्रचार कमिटीको बैठक भई आफ्नो कार्ययोजनमाथि छलफल गरी कार्यविभाजन गरेको छ । नयाँ नेतृत्व चयनमा केन्द्रित हुने एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

जनपरिचालन समितिको संयोजक पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा सोमबार बसेको बैठकले महाधिवेशनको उद्घाटन सत्र (भदौ २७ गते) पालिका र वडा तहसम्म व्यापक जनसहभागिताका लागि कार्ययोजना पारित गरेको बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा राजन भट्टराईले जानकारी दिएका छन् । सोमबार नै प्रचार समितिको बैठकले महाधिवेशनको ऐतिहासिक महत्व र पार्टीको नीतिका आधारमा सामाजिक सञ्जाल र आमसञ्चारमाध्यममा प्रचारप्रसारका लागि योजना बनाएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

महाधिवेशनका लागि देशभर एकै दिन यही मङ्सिर १३ गते प्रतिनिधि चयनको निर्णय गरेको एमालेले चयन प्रक्रियालाई व्यवस्थिति बनाउन पाँचबुँदे निर्देशन दिएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख काशिनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने बताएका छन् । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा मङ्सिर १३ गते गर्नुपर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ ।

विभागले प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा रु एक हजारभन्दा बढी नलिन पनि निर्देशन दिएको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरुलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन दिएकोे छ । एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी ९खुल्ला०, जनसङ्गठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट समेत गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हँुदैछन् ।

एमालेले आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन गर्ने निर्णय पनि गरेको छ । प्रवासी नेपाली सङ्घ भारत र प्रवासी नेपाली सङ्घ अन्तरराष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तीमा दुई महिलासहित पाँच जना चयन गर्ने तय गरेको छ ।

एमालेले १६५ सङ्घीय निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी समावेशिताको सिद्धान्तअनुसार एक हजार १३५ प्रतिनिधि सहभागी हुनेछन् । हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने एमालेका केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिएका छन्। उनले न्यूनतम एक हजार २०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक आठ÷आठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् ।

निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्छ : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय-प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ । जनसंख्याका आधारमा प्रतिनिधित्व लोकतन्त्रका मूल आधार भएको भन्दै दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित संसदीय-प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने पार्टीको धारणा रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

‘जसपा नेपालले राष्ट्रिय सभालाई प्रादेशिक जनसंख्याको आधारमा समानुपातिक समावेशी हुने गरी हाउस अफ नेस्नालिटिज बनाउनु पर्ने प्रस्ताव राखेको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने तथा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था गर्नुपर्ने जसपा नेपालको माग छ,’ बस्नेतले भने । त्यस्तै पार्टीले भौगोलिक रूपमा अत्यन्त विकट रहेको हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुनिश्चत गर्नुपर्नेमा जोड दिएको छ । जसपा नेपालले स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राख्न र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्ने व्यवस्था हुनुपर्ने जनाएको छ ।

प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग

काठमाडौँ । नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ ।

फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायतले आयोगमा उपस्थित भई मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि कर्णाली प्रदेश सम्पर्क व्यक्ति बोगटीले आयोगलाई आफूहरुले उक्त मागपत्र बुझाएको बताएका छन्।

सरकारले कानुनी तथा प्राविधिक जटिलताको बहानामा संवैधानिक हकबाट वञ्चित गर्न नहुने मागपत्रमा उल्लेख छ । आगामी प्रतिनिधिसभा निर्वाचनदेखि नै प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था तत्काल लागू गर्नुपर्ने उनीहरुकोे माग छ ।

सिंहदरबार गेटबाटै निकालिएका मिराज समूहले कालोपट्टी बाँधेर थाल्यो प्रदर्शन

काठमाडौं । ‘गरिखान देऊ’ नामक आन्दोलनको नेतृत्व गर्दै आएका मिराज ढुंगाना र उनका सहयात्रीहरूले मंगलबार बिहान सिंहदरबार परिसरमै प्रदर्शन थालेका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मागपत्र बुझाउने योजना बनाउँदै सिंहदरबार पुगेको समूहलाई प्रहरीले प्रवेशद्वारमै रोकिदिएपछि उनीहरूले कालोपट्टी बाँधेर विरोध सुरु गरेका हुन् ।

सिंहदरबार छिर्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । प्रवेशमा कडा रोक लगाएपछि प्रहरी टोलीले मिराज समूहलाई धकेल्दै अनामनगरस्थित पुर्वेली भान्छाघर आसपासको क्षेत्रतर्फ हटाएका छ । त्यही स्थानमा उनीहरूले पुनः कालोपट्टी बाँधेर विरोध जारी राखे, तर त्यहाँबाट अन्यत्र जान नमिल्ने प्रहरी निर्देशनलाई वेवास्ता गर्दै केही आन्दोलनकारी फेरि सिंहदरबारतर्फ फर्कने प्रयास गरिरहेको बताइएको छ ।

ढुंगाना नेतृत्वको समूहले आइतबार आन्तरिक बैठक गर्दै सोमबारदेखि निरन्तर आन्दोलनमा उत्रने निर्णय गरेका थिए । सोमबार पनि उनीहरूले सिंहदरबार छिर्न खोजे पनि सफल हुन सकेनन् र असन्तुष्ट हुँदै मागपत्र गेटमै टाँसेर फर्किएका थिए । मंगलबार भने ‘गिफ्तारी दिन तयार’ भन्दै पुगेको टोलीलाई प्रहरी रोक्न बाध्य भयो । अभियानका अगुवा हरिष भट्टका अनुसार मंगलबारको प्रदर्शन केवल मागपत्र बुझाउने उद्देश्य नभई सिंहदरबार गेटमै धरपकड स्वीकार गर्ने योजनाअनुसार गरिएको थियो । ‘माग पूरा नहुँदासम्म आन्दोलन निरन्तर हुन्छ’, भट्टले भने ।
८ बुँदे संयुक्त माग
मिराज समूहसहित अन्य जेनजी अभियान अगुवाले सिंहदरबार गेटमा टाँसेको संयुक्त मागपत्रमा यी प्रमुख मुद्दाहरू समेटिएका छन् :-
–तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ को घटनामा संलग्न सबै जिम्मेवार व्यक्ति पक्राउ गर्न ।
–संविधान संशोधनका लागि सर्वपक्षीय सरकार गठन गर्न ।
–घोषणा गरिएका निर्वाचन कार्यतालिका स्थगित गर्न ।
–सबै राजनीतिक दलका नेता, पूर्वसांसद तथा पूर्वमन्त्रीहरूको सम्पत्ति रोक्का गर्न ।
–शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग तत्काल गठन गर्न ।
–सरकारी सेवामा दलीय कर्मचारी संगठन स्थायी रूपमा प्रतिबन्ध गर्न ।
–जेनजी निगरानी आयोग गठन गर्न ।
–शहीद तथा घाइते परिवारका सदस्यलाई तत्काल रोजगारी उपलब्ध गराउन ।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप सार्वजनिक भएपछि समूह थप आक्रोशित बनेको बताइएको छ । यही आक्रोश, विगतका राजनीतिक घटनाका दुःखद सम्झना र वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि मिसिँदै समूहको आन्दोलन दिनानु दिन उग्र बन्दै गएको छ। यसबीच, सिंहदरबार परिसरमा प्रहरीको बाक्लो उपस्थिति कायम छ । आन्दोलनकारीलाई रोकेर अनामनगरतर्फ पथप्रदर्शन गरिए पनि उनीहरूमध्ये केही फेरि मुख्य गेटतिरै फर्किन खोजिरहेका कारण स्थिति कुनै बेला पनि तनावग्रस्त बन्न सक्ने आकलन गरिएको छ।

 

 

एमालेका पूर्व सचिव नेकपामा प्रवेश

काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव र शैलुङ गाउँपालिकाका पहिलो अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार नेकपाका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरेका थिए । दुलालले एमालेबाट कम्युनिस्ट आन्दोलन अगाडि बढाउन नसकिने र वर्तमान अवस्थामा सबै कम्युनिस्ट शक्ति एक हुनुपर्ने कारण आफू नेकपामा लागेको बताए ।

दोलखामा प्रभावशाली नेता मानिने दुलाल दुई कार्यकाल एमाले जिल्ला सचिव बनिसकेका थिए । उनी ९ औं र १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बने पनि पराजित भएका थिए । स्थानीय तहको २०७४ को निर्वाचनमा उनी शैलुङ गाउँपालिकाका अध्यक्ष भारी मतले विजयी भएका थिए, जहाँ उनका विकास कार्य आज पनि उल्लेखनीय मानिन्छन् ।