`

एमालेका पूर्व सचिव नेकपामा प्रवेश

काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव र शैलुङ गाउँपालिकाका पहिलो अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार नेकपाका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरेका थिए । दुलालले एमालेबाट कम्युनिस्ट आन्दोलन अगाडि बढाउन नसकिने र वर्तमान अवस्थामा सबै कम्युनिस्ट शक्ति एक हुनुपर्ने कारण आफू नेकपामा लागेको बताए ।

दोलखामा प्रभावशाली नेता मानिने दुलाल दुई कार्यकाल एमाले जिल्ला सचिव बनिसकेका थिए । उनी ९ औं र १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बने पनि पराजित भएका थिए । स्थानीय तहको २०७४ को निर्वाचनमा उनी शैलुङ गाउँपालिकाका अध्यक्ष भारी मतले विजयी भएका थिए, जहाँ उनका विकास कार्य आज पनि उल्लेखनीय मानिन्छन् ।

 

 

उपरथी भण्डारीलाई दर्ज्यानी चिह्न

काठमाडौं । मन्त्रिपरिषद्को यही मंसिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

‘निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व हो’

देवदह (रुपन्देही) । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु तथा सुशासनका निम्ति सबल आधार तयार गर्नु हो भनेका छन् ।

आज भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताएका छन् ।

केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढसुरक्षा योजना तयार गरी कार्यान्वयनमा जान सुझाव दिएका छन् ।

“राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीको रुपमा औँल्याउनुभएको छ, हामीले धेरै परिमाणमा विशेष अपरेशनमार्फत ती हतियार फिर्ता ल्याइसकेका छौंँ धेरै कैदी पनि फिर्ता भइसकेका छन्”, गृहमन्त्री अर्यालले भनेका छन् ।

सङ्घीय गृह मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिएका छन् । उनले सुशासन कायम गर्न प्रदेश सरकार रणनीतिक योजना बनाएर अघि बढेको बताएका छन् ।

एमालेको एकै दिन दुई कदम : आयोगमा दल दर्ता, सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक मोर्चामा सक्रिय रहेको नेकपा (एमाले) ले आज (मंगलबार) एकै दिन दुई महत्वपूर्ण कदम चालेको छ । एमालेले आजै सर्वोच्च अदालतमा संसद पुनःस्थापनाको माग गर्दै रिट दायर गरेको छ भने निर्वाचन आयोगमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको छ ।

मंगलबार निर्वाचन आयोगमा पुगेका एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको तर्फबाट दल दर्ताको निवेदन बुझाए । आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि एमालेलाई दर्ता नम्बर ९७१, राष्ट्रिय सभा निर्वाचनका लागि ९३९, र समग्र दल दर्ता क्रममा पार्टीलाई ६६औं स्थान दिएको आचार्यले जानकारी दिएका छन् । यसअघि सोमबार पार्टीले राष्ट्रिय निर्वाचन प्रयोजनका लागि प्रारम्भिक दल दर्ताको निवेदन पेस गरिसकेको थियो ।

यसैबीच, संसद विघटन असंवैधानिक भएको ठहर गर्दै पार्टी सर्वोच्च अदालत समेत पुगेको छ । प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले आजै अदालतमा निवेदन दर्ता गराए । मंसिर १ गते च्यासलस्थित मुख्यालयमा बसेको विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकले संसद पुनःस्थापनाका लागि कानुनी तथा राजनीतिक संघर्ष थाल्ने निर्णय गरेअनुसार आवश्यक कागजात र परामर्श पूरा भएपछि एमालेले रिट दायर गरेको बताइएको छ ।

पार्टीको तर्क अनुसार प्रधानमन्त्री सुशीला कार्कीलाई वर्तमान कानुनले औपचारिक हैसियत नदिने परिस्थितिमा संसद विघटन गर्नु संविधानविपरीत छ । यही आधारमा पुनःस्थापनाको माग गर्दै सर्वोच्चको ढोका ठटाइएको एमालेले बताएको छ । एकातिर संसद पुनःस्थापनाको कानुनी लडाइँ, अर्कातिर आगामी निर्वाचन सहभागिताका तयारी—दुई मोर्चामा सक्रिय एमालेले आजको दिनलाई राजनीतिक दृष्टिले विशेष रूपमा उपयोग गरेको देखिन्छ ।

लैङ्गिक हिंसा अन्त्य गर्न सबैको साझा प्रतिबद्धता आवश्यकः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैङ्गिक हिंसा सहन बाध्य रहेको भन्दै यस्तो समस्या अन्त्य गर्न परिवारदेखि समुदाय र सरकारी संयन्त्रसम्मको सक्रिय भूमिका आवश्यक रहेकामा जोड दिएका छन् । संविधानले समतामूलक, समावेशी र सहभागितामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनमा तोकिएका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, हिंसा प्रभावितको उपचार, संरक्षण तथा पुनस्र्थापनाका उपाय थप प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई विकास र समृद्धिको मुख्य आधारका रूपमा लिएको जानकारी दिएका छन् । प्रदेश सरकारले लैङ्गिक समानता नीतिनिर्माण गरी कार्यान्वयनमा ल्याइसकिएको, जसले महिला, बालबालिका तथा लैङ्गिक अल्पसङ्ख्यकको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको उनले उल्लेख गरेका छन् ।

यस्तै प्रदेश सरकारले निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि एक प्रतिशत आरक्षणको व्यवस्था गरी समावेशितालाई संस्थागत गर्दै लैङ्गिक समानताको अभ्यासलाई मजबुत पारेको मुख्यमन्त्री आचार्यले बताएका छन् । उनले १६ दिने अभियानले सबैलाई समानता, न्याय र सम्मानमा आधारित सभ्य, सुरक्षित तथा समुन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

संसद पुनर्स्थापनाको मागमा एमालेका यस्ता छन् सात दावी

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गरेको छ । नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा) को तर्फबाट मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले ७ माग दाबीसहित रिट दायर गरेका हुन् । बर्तौलाका अनुसार विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा मुख्यतः ६ वटा मागदाबी गरिएको छ । एमालेले संसद् पुनर्स्थापना गरी प्रतिनिधि सभाको बैठक बोलाउन सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गर्न समेत माग गरेको छ ।

यी हुन् एमालेको मागदाबी
–प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरीत गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्ति विरुद्ध अधिकार पृच्छाको आदेश जारी गरी पाउँ ।

– प्रधानमन्त्री पदमा सुशीला कार्कीलाई नियुक्ति गर्ने सम्माननीय राष्ट्रपतिज्यूको मिति २०८२ भदौ २७ को निर्णय, सोको आधारमा भएको प्रधानमन्त्रीज्यूको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ । साथै विपक्षी प्रधानमन्त्री नियुक्त भएपश्चात् विपक्षीहरूबाट भए गरेका गैर कानुनी एवम् असंवैधानिक सम्पूर्ण काम कारबाही, निर्णय, नियुक्तिहरू समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ ।

– प्रधानमन्त्री सुशीला कार्कीको एकल सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट मिति २०८२ भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गरी २०८२ भाद्र २४ गते पछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधिसभा पुनर्स्थापनासहित सो दिन कायम रहेका राज्यका सबै अङ्ग, निकायहरू पूर्ववतरूपमा यथावत् सञ्चालनमा रहने गरी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरी पाउँ ।

– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिई सकेको अवस्थामा नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ बमोजिमको प्रक्रिया प्रारम्भ गर्नू भनी सम्माननीय राष्ट्रपतिज्यूको नाममा परमादेश जारी गरी पाउँ ।

– पुनस्र्थापित प्रतिनिधि सभाको बैठक बोलाउन आवश्यक व्यवस्था मिलाउनु भनी सम्माननीय सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गरी पाउँ ।

– असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री श्री सुशीला कार्की र निज नेतृत्वको सरकारले गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन समेत प्रतिनिधि सभा पुनस्र्थापना पश्चात् स्वतः औचित्यहीन भएकाले प्रतिनिधि सभाको निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही प्रतिषेधको आदेश जारी गरी रोकी पाउँ ।

– विषय बस्तुको गम्भीरता र संबेदनशिलतालाई मध्यनजर गरी प्रस्तुत विषयमा शीघ्र निर्णय हुनु पर्ने भएको हुँदा प्रस्तुत रिट निवेदनमा विपक्षीहरूको लिखित जवाफ मगाई सुनवाइको मिति किटान गरी निरन्तर सुनुवाइ गराइ पाउँ ।

सिंहदरबार छिर्न खोज्दा मिराज ढुंगाना समूहको जेनजीलाई प्रहरीले हटायो (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेनजीलाई प्रहरीले घकेल्दै अनामनगर पुल कटाएको थियो । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीहरुलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले हटाएको जनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनीहरुलाई भाटभटेनीबाट पनि परसम्म हटाइएको बताए ।

मंगलबार १२ बजे आसपास सिंहदरबार गेटअगाडि उनीहरूले निषेधित क्षेत्रमा भीड गरेर होहल्ला गरेको भन्दै प्रहरीले हटाएको हो । सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका उनीहरूलाई भेट्न नदिएको भन्दै मंगलबार गेटअगाडि जम्मा भएका थिए । ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले भित्र प्रवेश गर्न नदिई गेटबाट हटाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

अहिले उनीहरू त्यही क्षेत्रमा जम्मा भएर प्रधानमन्त्रीसहितको आलोचना गरिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले दियो सर्वोच्चमा निवेदन

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । रिट दर्ताको प्रक्रियामा रहेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहितको रिट निवेदन दिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएका छौं,’ बर्तौलाले भने ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।

 

निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल भएको दावी गरेका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार सफल हुँदै गएको दाबी गरेका हुन् ।

जेनजी युवाले भाद्र २३ र २४ गते गरेको प्रदर्शनपश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्रासदिपूर्ण अवस्थालाई पार लगाउन सरकार सफल भएको बताए । ‘अहिले सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ । नत्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव थिएन,’ गृहमन्त्री अर्यालले भने, ‘सुशासन प्रबद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारले पूरा गर्छ ।’ उनले सरकारले सुशासन र निर्वाचनलाई मूलमन्त्र मानेर काम गरिरहेको बताए ।

‘विभिन्न बहाना गरेर चुनाव हुँदैन भन्ने र यो सरकारले चुनाव गर्न सक्दैन भन्ने कुरा कहीँ कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ । दिइरहेको छ,’ अर्यालले भने । उनले वर्तमान सरकार कसैको निगाहामा नबनेको बताए । ‘हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका पनि होइनौँ,’ उनले भने, ‘देशको विशिष्ट अवस्थामा, शून्यतालाई चिर्नुपर्ने परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा हामी सरकारमा आएका हौं ।’ उनले आफूमा कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ नभएको पनि दाबी गरे ।

‘प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रीत छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ,’ गृहमन्त्री अर्यालले भने ।
छोराछोरी पुस्ताले कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाउँदा पनि नसच्चिने, एकले अर्कालाई दोषारोपण गर्ने, सहिलाई सहि र खराबलाई खराब नभनी आफ्नो अनुकुलतामा ब्याख्या गर्दै जाने हो भने फेरी अर्को दुर्घटना हुनसक्ने चेतावनी पनि उनले दिए । ‘अभिव्यक्ति दिइरहँदा यसतर्फ पनि सोच्न जरुरी छ,’ गृहमन्त्री अर्यालले भने ।

सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका काममा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको उनले बताए । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने विश्वाससमेत उनले व्यक्त गरे । राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको प्रसंगमा उनले धेरै परिणाममा विशेष अपरेसन मार्फत् लुटिएका हतियार फिर्ता ल्याइसकेको बताए। ‘ठूलो संख्यामा कैदीहरू पनि कारागार फिर्ता भैसकेका छन्,’ उनले भने ।

गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र समग्र देशमा सुशासन कायम गर्न र भ्रष्टाचारको जरो मूलबाट नै नियन्त्रण गर्न प्रदेश सरकारले पनि उत्तिकै काम गरिरहेको बताए । उनले फागुन २१ को चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न पनि लुटिएका सबै हतियार फिर्ता हुनुपर्ने र बाहिर रहेका कैदी बन्दी पुन पक्राउ गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले सबै तहका सरकार अहिले विशेष परिस्थितिमा रहेको भन्दै अहिलेको मुख्य कार्यभार देशमा शान्ति सुरक्षा कायम गरेर निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले प्रदेशको समग्र सुरक्षा चुनौती पहिचान गर्दै यसका लागि आवश्यक रणनीती बनाएर काम गर्न गोष्ठी सहयोगी हुने विश्वास व्यक्त गरे ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु दान बहादुर कार्की, राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्री, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा उपरथी प्रेमबहादुर पुन, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतको सहभागिता छ ।

 

प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । आज (मंगलबार) दिउँसो निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्न लागेको एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ ।

सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन्। प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा उठाइराखेको एमालेले आज दल दर्ता गर्न लागेको हो । प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ। राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ।

गगन थापालाई कल्याण गुरुङको जवाफ : कुनै हालतमा विशेष महाधिवेशन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनबारे उत्पन्न मतभेद चरम बिन्दुतर्फ उन्मुख भइरहेका बेला महामन्त्री गगनकुमार थापाको पछिल्लो अभिव्यक्तिलाई संस्थापन पक्षले खुलेर प्रतिवाद गरेको छ । थापाले विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको बारम्बार दोहोर्‍याइरहेका बीच केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले भने कुनै हालतमा विशेष महाधिवेशन नहुने बताएका छन् ।

महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीले सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा आगामी निर्वाचनमा जाने प्रश्न संवेदनशील भएको उल्लेख गरेका थिए । उनले विधानअनुसार विशेष महाधिवेशन बोलाएर नयाँ सभापति चयन हुने र नयाँ नेतृत्वकै सहमतिमा निर्वाचनमा जाने दाबी गरेका थिए । त्यसको भोलिपल्टै गुरुङले फेसबुकमै थापालाई शैलीगत प्रतिवाद गर्दै विशेष महाधिवेशनबारे बाहिर चलेको चर्चा ‘हल्ला मात्र’ भएको जिकिर गरे ।

गुरुङका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा आजसम्म विशेष वा नियमित महाधिवेशनसम्बन्धी कुनै आधिकारिक प्रस्ताव दर्ता भएको छैन । उनले पार्टी विधानको धारा १७ (२) मा उल्लेखित प्रक्रिया लागू गर्न आवश्यक नियमावली–कार्यविधि नभएको, हस्ताक्षरहरूको प्रमाणीकरण नपुगेको र विशेष महाधिवेशनले सभापति तथा पदाधिकारीलाई हटाउने व्यवस्था नै विधानमा नलेखिएको स्पष्ट पारेका छन् । उनको तर्कमा विशेष महाधिवेशन बोलाउनुपर्ने परिस्थिति नै नबनेको र विधानले तोकेको ‘अविश्वासको प्रस्ताव’ वा सभापतिको राजीनामा बाहेक नेतृत्व परिवर्तनको बाटो खुला नरहेको उल्लेख छ ।

गुरुङले पाँच स्पष्ट कारणसहित विशेष महाधिवेशन असम्भव रहेको बताए । उनका अनुसार पार्टीले २०८२ फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको हुँदा अहिलेको सबै ध्यान निर्वाचन तयारीतर्फ हुने, संगठनभित्र विवाद बढाउने कदम नचाहिने र वर्तमान नेतृत्वकै हस्ताक्षरमा पार्टी चुनावमा जाने नै यथार्थ हो । पार्टी एकता जोगाउन विशेष महाधिवेशन ‘एक पनि हुँदैन, दुई पनि हुँदैन, तीन पनि हुँदैन’ भन्दै उनले दाबी थप कडा बनाएका छन् ।

यसैबीच, थापाले भने विधानअनुसार समयसीमाभित्र विशेष महाधिवेशन अनिवार्य हुने भन्दै पार्टी नेतृत्वलाई नपुगा नबुझा भन्दै आलोचना जारी राखेका छन् । उनका अनुसार सभापतिको हस्ताक्षरसम्बन्धी विवाद टुङ्ग्याउने सबैभन्दा वैधानिक उपाय विशेष महाधिवेशनबाटै सम्भव छ, जसले आगामी निर्वाचनको वैधानिकताको पर्खाल बलियो बनाउनेछ ।

दुवै पक्षका धारणा सार्वजनिक रुपमा तीव्र हुँदै गएपछि कांग्रेसभित्र विशेष महाधिवेशनको विषय सैद्धान्तिक–राजनीतिक विवादको मुख्य केन्द्रमा उभिएको छ । एकातिर ‘विधानअनुसार महाधिवेशन अपरिहार्य’ भन्ने समूह, अर्कातिर ‘पार्टी एकता र निर्वाचन तयारी प्राथमिक’ भन्दै विशेष महाधिवेशन खारेजको घोषणा । यही द्वन्द्वले आगामी दिनमा कांग्रेसको आन्तरिक राजनीति झनै तातिने संकेत गरिरहेको छ ।

थापाथलीस्थित बागमती नदी किनारामा बनेको पार्क, यस्तो देखियो

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती करडोरस्थित नदी किनारमा निर्माण गरेको पार्क अन्तिम चरणमा पुगेको छ । पार्कको मंसिर १६ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्कमा अहिले व्यायाम गर्न मिल्ने एक्सरसाइज़ जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै बेन्च लगायत अन्य विभिन्न सामग्रीहरू राखिएका छन् । जसले गर्दा पार्क सुन्दर देखिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको सो पार्क वर्षाको समयमा भने बाढीको असर पर्न सक्ने जोखिम उस्तै छ ।

विराटनगर ‘मेनरोड’ को उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर । विराटनगर महानगरपालिका मेनरोड नजिक रहेको एक प्लाष्टिक उद्योगको गोदाममा आगलागी भएको छ । आज विहानबाट सुरु भएको भिषण आगलागी केहीबेर अघि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरिक्षक अनमोल खड्काका अनुसार वडा नियन्त्रण बाहिर गएको आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाबाट दुई वटा र सुनसरीको दुहबीबाट एउटा वारुणयन्त्र, स्थानीय र सुरक्षा निकायले सहजीकरण गरेका थिए ।

प्रहरीका अनुसार सरस्वती प्लाष्टिक उद्योगको गोदाममा विहान एकाएक आगलागी भएपछि स्थानीयमा केही समय त्रास फैलिएको थियो । उद्योग नजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लास्टिक फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको थियो । निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर महागनरपालिकाको दमकलसहित प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।

 

काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

झापा । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोली समेत बरामद गरेको छ। पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्यूरोले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाइएको थियो।

प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए। त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो। थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली–४ बस्ने पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । पछि लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालयको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो।

त्यहाँ खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पेस्तोलमै लोड गरिएको, खिया लागेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमकमा ल्याइएको छ । बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

एनपिएल : ‘बलिङ’ मा नेपाली र ‘ब्याटिङ’ मा विदेशी खेलाडी चम्किए

काठमाडौं । काठमाडौं कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ । लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किग्ङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । तीनमध्ये एक खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल नै जितेको लुम्बिनी लायन्स चौथो स्थानमा छ ।

चितवन राइनोज पाचौँ, कर्णली याक्स छैटौँ, साविक उपविजेता जनकपुर बोल्ट्स सातौँ र पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ । दश खेल सम्पन्न भइसक्दा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन उच्च देखिएको छ । बलिङतर्फ भने नेपाली खेलाडी अग्रस्थानमा छन् । कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडीको सबैभन्दा बढी एक सय ४७ रन बनाएका छन् । उनी हालसम्म सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । उनले प्रतियोगितामा शतकसमेत बनाएका थिए । जुन जारी सिजनको एकमात्र शतक हो ।
त्यसैगरी, उच्च स्कोर बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै छन् । चिनवन राइनोजका रवि बोपरा एक सय १८ रन बनाउँदै दोस्रो उच्च स्कोर बनाउने खेलाडीको सूचीमा छन् । रविले जारी प्रतियोगितामा दुई अर्धशतक समेत हिर्काइसकेका छन् ।

प्रतियोगितामा तेस्रो र चौथो उच्च स्कोर बनाउनेको सूचीमा भने नेपाली खेलाडी रहेका छन् । हालसम्म एक सय १४ रन बनाएका विराटनगर किग्ङ्सका लोकेश बम तेस्रो स्थानमा छन् । उनले एक अर्धशतक प्रहार गरिसकेका छन् । चौथो नम्बरमा रहेका पोखरा एभन्जर्सका कप्तानसमेत रहेका कुशल भुर्तेलले एक सय १२ रन बनाएका छन् । यसमा उनले दुई अर्धशतक जोडेका थिए ।

यसैबीच हालसम्मको बलिङ प्रदर्शन हेर्ने होभने नेपाली खेलाडी प्रथम स्थान रहेका छन् । विराटनगर किङ्सका कप्तान समेत रहेका सन्दीप लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा छन् । दोस्रो नम्बरमा भने विदेशी खेलाडी रहेका छन् । सुदूरपश्चिमबाट खेलिरहेका हर्मित सिंह छ विकेटसहित दोस्रो स्थानमा छन् । सर्वाधिक विकेट लिने तेस्रो, चौथो नम्बरमा भने नेपाली खेलाडी अगाडि छन् । छ विकेट लिएका कर्णली याक्सका सोमपाल कामी तेस्रो र समान छ विकेट नै लिएका काठमाडौँका कप्तान करण केसी चौथो नम्बरमा छन् । पाँच विकेट लिएर पाँचौँ स्थानमा भने कर्णाली याक्समा अनुवन्धित विदेशी खेलाडी मिलिन्द कुमार छन् । उच्च रन बनाउनेको पाँचौँ नम्बरमा १०२ रन बनाएका कर्णाली याक्समा अनुबन्धित प्रियान्क पन्चाल रहेका छन् । उनले एक अर्धशतक समेत प्रहार गरेका छन् ।

प्रतियोगितामा एक शतक, दश अर्धशतक

जारी प्रतियोगितामा हालसम्म एक शतक र दश अर्धशतक प्रहार भएका छन् । यसमा विदेशी खेलाडी नै अगाडि छन् । प्रतियोगिताको एकमात्र शतक कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले हिर्काएका छन् । उनले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक शतकीय इनिङ खेलेका थिए । लुम्बिनीविरुद्ध एक सय १४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर समेत हुन् ।

मार्क वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । उनीअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले एक सय चार रनको शतकीय इनिङ खेलेका थिए । यसक्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।

प्रतियोगितामा कुल १० अर्धशतक बने पनि नेपालबाट भने तीन ब्याटरले मात्रै एक इनिङमा ५० रन पूरा गरेका छन् । नेपालका कुशल भुर्तेल, लोकेश बम र आसिफ सेखले अर्धशतक बनाएका छन् । यसमध्ये पोखरा एभेन्जर्सका भुर्तेल लगातार दुई खेलमा अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटर हुन् । कुशलसँगै चितवन राइनोजका रवि बोपाराले पनि दुई अर्धशतक बनाएका छन् । यसबाहेक कर्णाली याक्सका प्रियाङ्क पन्चाल, विराटनगर किङ्ग्सका लोकेश बम र मार्टिन गप्टिल, सुदूरपश्चिम रोयल्सका जोस ब्रोन, हर्मित सिंह र जनकपुर बोल्ट्सका सेखले अर्धशतक बनाएका छन् ।

कीर्तिमानी टिमको स्कोर बनाउने विराटनगर, कम बनाउने कर्णाली

जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टिममा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध दुई सय २० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउने टिमको सूचीमा भने सुदूरपश्चिम छ । सुदूरले पनि पोखराविरुद्ध नै एक सय ९३ रन जोडेको थियो । जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा कर्णाली छ । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णाली ९४ रनमा समेटिएको थियो । उक्त स्कोर प्रतियोगिताकै कम हो ।
– विनोदसिंह विष्ट / रासस

निर्वाचनका लागि दल दर्ता गराउने समय दुई दिन मात्रै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंगलबार) समेत दुई दिन मात्रै बाँकी छ । निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार अब निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आज मंसिर ९ र भोलि १० गतेसम्म मात्र दर्ता हुन पाउने छन् । निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

‘निर्वाचन प्रयोजनका लागि हिजो बेलुकीसम्म ६४ दल दर्ता भएका छन्’, प्रवक्ता भट्टराईले भने, ‘अब दल दर्ता गराउने समय आज र भोलि मात्र बाँकी छ ।’ आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् ।

आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ ।
आयोगका अनुसार यही मंसिर १ गते १२, मंसिर २ गते पाँच, मंसिर ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए । सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल दर्ता भएका थिए । आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएकामा निर्वाचन प्रयोजनका लागि बुधबारसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

संसद् पुनर्स्थापना हुन्छ, आशावादी छौं : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान राजनीतिक घटनाक्रमको बीचमा संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था नै नभएको बताएका छन् । कोशी प्रदेशसभा भवनमा गत भदौ २४ गते आन्दोलनका क्रममा भएको आगजनीपछिको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले वर्तमान विवाद समाधानको मार्ग न्यायालयमै खुल्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले चलिरहेको राजनीतिक विवाद सर्वोच्च अदालतमा पुगेको उल्लेख गर्दै भने, ‘विषय न्यायालयमा गएको छ । न्याय ठीक ढंगले हुँदा संसद् पुनर्स्थापना भएर जान्छ भन्ने हाम्रो आशा छ ।’ सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षति दुःखद् भएको र यसको पुनर्निर्माण तथा सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

 

मन्त्री पुनको निर्देशन : बाल कक्षाका शिक्षक–कर्मचारीलाई अन्याय नगर, थपेर तलब देऊ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बाल कक्षाका शिक्षकसहितका कर्मचारीको तलबका लागि मन्त्रालयबाट अनुदान रकम पठाइसकिएको जानकारी गराउँदै त्यसमा थपेर उनीहरूलाई पारिश्रमिक दिन स्थानीय सरकारहरूलाई निर्देशन दिएका छन् ।

उनका अनुसार शिक्षा मन्त्रालयले बालकक्षा शिक्षकका लागि १२ हजार, विद्यालय सहयोगीका लागि १० हजार र विद्यालय सहायक कर्मचारीका लागि १५ हजारका दरले तलब पठाइसकेको छ । बाँकी अपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्नेछ ।

अहिलेसम्म झण्डै ७०० स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिकअनुसार तलब दिएको जानकारी प्राप्त भएको शिक्षामन्त्री पुनले बताएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु । बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नुहोला । यस विषयमा ट्रेड युनियनका नेताहरू खोई जागेको ?

 

एमाले महाधिवेशन प्रतिनिधि छनोट : निर्देशन, विवाद र छानबिनसँगै बढ्यो चहलपहल

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा देशभरि प्रतिनिधि छनोट प्रक्रिया तीव्र बन्दै गएको छ । यही तयारीबीच पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ भने कैलालीमा चाहिँ केही नेता–कार्यकर्ताको संगठित सदस्यता सूचीबाटै ‘हराए’ पछि विवाद बढेको छ र छानबिन समेत सुरु भएको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार भर्चुअल बैठकमार्फत महाधिवेशन प्रतिनिधि चयनका लागि आवश्यक मार्गदर्शन तय गरिएको हो । निर्देशनअनुसार कुनै पनि जिल्लाले निर्वाचन प्रक्रियामा प्रवेश गर्नु अघि आफ्नो क्षेत्रको अन्तिम मतदाता नामावली सार्वजनिक गर्नै पर्नेछ । केन्द्रले पठाएको पछिल्लो परिपत्रलाई नै आधार मान्न भनिएको छ ।

साथै प्रत्येक जिल्लाले अन्तिम मतदाता संख्याबारे तत्क्षण केन्द्रलाई जानकारी दिनुपर्नेछ । सर्वसम्मतिबाट प्रतिनिधि छनोट गर्नका लागि १२ गते साँझसम्म प्रयास गर्ने, त्यसमा सफलता नपाए १३ गते अनिवार्य रूपमा निर्वाचनको बाटो समातिने निर्देश गरिएको छ । विभागका अनुसार कुनै पनि कारण देखाएर १३ गतेको कार्यक्रम सार्न नपाइनेछ । केही ठाउँमा प्रतिनिधि उम्मेदवारी शुल्क अस्वाभाविक रूपमा बढाइएको सूचनापछि अधिकतम शुल्क १ हजार रुपैयाँ तोकिने व्यवस्था समेत गरिएको छ ।

यता, कैलालीमा भने प्रतिनिधि आकांक्षी रहेका दर्जनौँ नेता–कार्यकर्ताको नाम नै केन्द्रीय संगठन विभागले प्रमाणित गरेको सूचीमा नदेखिएपछि अन्योल र असन्तुष्टि बढेको छ । प्रदेशसभा निर्वाचनदेखि जिल्ला सचिवालयसम्म जिम्मेवारी सम्हालिसकेका १३ जनाको संगठित सदस्यता सूचीमै नाम नआएपछि एमाले कैलालीले छानबिन समिति गठन गरेको छ । टेक बुढाको संयोजकत्वमा बनाइएको समितिले छुटेको कारणबारे छानबिन गरी रिपोर्ट बुझाएपछि थप निर्णय हुने जिल्ला इन्चार्ज नारदमुनि रानाले बताएका छन् ।

४० वर्षमुनिका कोटाबाट प्रतिनिधि बन्ने तयारीमा रहेका कुमार बडैला, दीपक रावल, प्रकाश खड्का लगायतका नेताहरूले आफूहरूले नियमित रूपमा सदस्यता नवीकरण गरिरहे पनि नियतवश नाम हटाइएको आरोप लगाएका छन् । रावलका अनुसार गत १७ वर्षदेखि निरन्तर सदस्य भएर काम गरिरहेकाहरूलाई गुटगत कारणले पछाडि धकेलिएको हो । खड्काले पनि परिवारका सबैको नवीकरण प्रक्रिया पूरा हुँदा पनि आफू मात्र सूचीबाट हटाइएको दाबी गरेका छन् ।

जिल्ला कमिटीलाई दिएर भनेको निवेदनपछि जिल्लाले छुटेका सबै नाम प्रदेश कमिटी हुँदै केन्द्रमा पठाइसकेको छ । प्रदेश कमिटीले पनि संशोधनका लागि केन्द्रलाई औपचारिक सिफारिस गरिसकेको जनाएको छ । मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि मंसिर १३ गते देशभरका निर्वाचन क्षेत्र तथा विदेशस्थित संगठनहरूमा एकैदिन प्रतिनिधि छनोट हुनेछ। महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने  जनाएको छ। प्रतिनिधि छनोटका कडाइका निर्देशसँगै कैलालीमा देखिएको सदस्यता विवाद मिल्ने हो कि झन् गहिरो बन्दै जाने हो—अब केन्द्रको निर्णयबाटै स्पष्ट हुनेछ।

‘टीओबी’ बारे प्रहरीको दुई महिना लामो अनुसन्धान, के–के खुल्यो रहस्य ?

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा विवादमा परेका टीओबी (द ओरिजिनल ब्रदर्स-तिब्बतीयन ओरिजिनल ब्लड) समूहबारे प्रहरीले पछिल्ला निष्कर्ष सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार गरेको पत्रकार सम्मेलनमा समूहका गतिविधि, संरचना र आन्दोलनमा उनीहरूको संलग्नताबारे विस्तृत जानकारी दिएको हो ।

प्रहरीका अनुसार टीओबी समूहका ‘मुख्य व्यक्ति’ भनिएका तेन्जिन दावा लामा अहिले पनि हिरासतमा छन् र उनीबारे नागरिकता, राहदानीदेखि लागूऔषधसम्बन्धी मुद्दासम्मको बहुआयामिक अनुसन्धान अघि बढिरहेको छ । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार तेन्जिन बाहेक समूहका सबै सदस्य नेपाली नागरिक भएको पुष्टि भएको छ ।

तेन्जिनले टीओबी समूहको लोगो आफैले तयार पारेको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार समूहको आधिकारिक नाम ‘द ओरिजिनल ब्रदर्स’ हो तर तेन्जिनले आफू तिब्बतियन मूल भएको भन्दै आफ्नो ज्याकेटमा ‘तिब्बतीयन ओरिजिनल ब्लड’ लेखेको बयान दिएका छन् । समूहमा ५७ सदस्य रहेको र उनीहरूले १३ वटा बुलेट र १ वटा पल्सर मोटरसाइकल प्रयोग गरेको पनि प्रहरीले जानकारी गराएको छ ।

भाद्र २३ गते बिजुलीबजार क्षेत्रमा समूहका केही सदस्यले बाइक रफ्तारमा कुदाउँदै नारा लगाउँदै भीडलाई उत्तेजित गर्ने काम गरेको प्रहरीले जनाएको छ । त्यही दिनको अघिल्लो साँझ उनीहरूले जेन–जी आन्दोलनमा सहभागी हुने विषयमा आन्तरिक छलफल गरेको प्रमाण पनि भेटिएको प्रहरीको दाबी छ ।

तेन्जिनमाथि पहिले सार्वजनिक भएको ‘पेस्तोल देखाएको’ भिडियो जेन–जी आन्दोलनकै नभई केही महिना अघि म्युजिक भिडियोका क्रममा खिचिएको भएको तथ्य पनि प्रहरीले खुलाएको छ । अभद्र व्यवहार मुद्दामा उनलाई ७ हजार ५०० रुपैयाँ धरौटी तोकिए पनि उनीमाथि हाल लिखत, नागरिकता र लागूऔषधसम्बन्धी मुद्दामा छुट्टै अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार समूहका सदस्यहरू र्‍यापर सुरेन्द्र गुरुङ (Haka Hakim) बाट प्रभावित छन् र त्यसैका कारण उनीहरूले टी–सर्टमा ‘हाकिम’ लेख्ने गरेको बयान दिएका छन् । लोगोमा रहेको ड्रागन, फूल र अन्य प्रतीकमा गहिरो अर्थ नरहेको र ‘युद्धका लागि तयार तर शान्तिप्रिय’ भाव झल्काउने सामान्य कलात्मक डिजाइन मात्र भएको प्रहरीले बताएको छ ।

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

दाेलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी फागुन २१ मै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भन्दै चुनावको माहोल बनाउन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समितिको सभा हलमा साेमबार भएको कार्यक्रममा उनी सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले चुनाव हुँदैन कि भनेर फैलाइने भ्रमलाई चिर्ने गरी काम गर्न निर्देशन दिए ।

मन्त्री खरेलले भने, “चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भइरहेको छ । आवश्यक स्रोतसाधनदेखि जनशक्ति जुटाउने काम भइरहेका छन् । त्यसैले भ्रम र कसैको दबाब एवं प्रभावमा नपरी मतदान केन्द्रमा गइ मत दिन वातावरण बनाउन लाग्नुस् । यसमा सबैको सहयोग आवश्यक छ ।”

उनले फागुन २१ गते चुनाव होला र ! भनेर कुनै संका नगर्न कर्मचारी, राजनीतिक दल, सुरक्षा निकाय र निर्वाचन कार्यालयहरूलाई आग्रह गरे । मन्त्री खरेलले जनताले कुनै गुनासो नगर्ने गरी नियमित सेवा प्रवाहमा समेत ध्यान दिन सबै कार्यालय प्रमुखलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मतदान हुने स्थलको अनुगमन गरी अवस्था बुझ्ने काम निरन्तर भइरहेको बताए । उनले जिल्लामा हाल एक लाख ६३ हजार १३३ जना मतदाता रहेका र विगतमा ९४ वटा मतदान केन्द्र रहेका जानकारी गराए ।

सुदूरपश्चिम र कर्णालीको खेलमा उत्साहित दर्शक (तस्बिरहरू)

काठमाडौं ।  सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलमा सधैं झै सोमबार पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भरिभराउ रह्यो।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार भएका दुवै खेल औसत स्कोरका भए। पहिलो खेलमा विराटनगर किंग्सले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्टस् १२६ रनमै समेटियो।

त्यस्तै, दोस्रो खेलमा पनि सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ९४ रनमै समेटियो।

दुवै कम स्कोरका खेलमा दर्शकको उत्साह भने अन्तिमसम्म कायमै रह्यो। दिउँसोको खेलमा प्यारापिटका सिट खाली देखिए पनि साँझको खेलमा भने खचाखच भरिएका थिए।

दीपेन्द्र चम्किँदा सुदूरपश्चिम रोयल्सको ‘ह्याट्रिक’ जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले ‘ह्याट्रिक’ जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो जित दर्ता गरेको हो ।

कप्तान दीपेन्द्रसिंह ऐरीको बल र ब्याट चलेपछि कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको हो । एनपीएलमा सोमबार सुदूरपश्चिमले लगातार तेस्रो खेल जितेको हो । यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । यो जितसँगै सुदूरपश्चिमको ६ अंक भएको छ ।

सुदूरपश्चिमले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली चार बल आगावै ९४ रनमा अलआउट भयो । जारी एनपीएलमा सबैभन्दा कम स्कोर बनाउने कर्णाली पहिलो टोली हो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए । मार्क वटाले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन थपे ।

खेलको सुरुवातदेखि नै हाबी बनेका सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । उनले आफ्नो स्पेलमा २३ रन खर्चे । अविनाश बोहोरा र हरमति सिहंले दुई–दुई विकेट झारे । स्कट कुग्लेजिन र हेमन्त धामीले एक–एक विकेट लिए ।

यअसघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। उनी २८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दा मार्क वाटको बलमा नजिबुल्लाह जड्रानको हातबाट क्याच आउट भए ।

त्यस्तै, २५ बलमा तीन चौका सहयोगमा २७ रन बनाएका आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए । हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे । स्कट कुग्लेजिन १० रनमा बोल्ड आउट भए । विनोद भण्डारी ११ रन बनाउँदा एलबीडब्लुको धरापमा परे ।

कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए । मंगलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच अपराह्न ४ बजे प्रतिस्पर्धा हुनेछ ।

१२ बुँदे माग बोकेर सिंदरबारमा सीके राउतको जनमत पार्टी

काठमाडौँ । डा. चन्द्रकान्त ‘सीके’ राउत नेतृत्वको जनमत पार्टीले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे मागपत्र बुझाउँदै विगतमा भएका राजनीतिक सम्झौता कार्यान्वयनदेखि सुरक्षा निकायमा समावेशिता, प्रदेशको स्वायत्तता र सीमांकन संशोधनजस्ता मुद्दामा तत्काल कदम चाल्न आग्रह गरेको छ ।

जनमत पार्टीले मधेश, थरूहट र स्वराज आन्दोलनका क्रममा सरकारसँग भएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौताका बाँकी प्रावधान तत्काल लागू गर्नुपर्नेमा जोड दिएको छ । साथै आन्दोलनका क्रममा मुद्दा लागेर जेल तथा हिरासतमा रहेका व्यक्तिहरूलाई रिहा गरी मुद्दा फिर्ता तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारले पहल गर्नुपर्ने माग दलले उठाएको छ ।

नेपाली सेनासहित सबै सुरक्षा निकायमा मधेशी समुदायको प्रतिनिधित्व न्यून भएको पार्टीको आरोप छ । पार्टीले मधेशी युवाहरूका लागि समूहगत भर्ती प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेको छ, जसले संघीय समावेशी संरचना सुदृढ हुने जनमत पार्टीको भनाइ छ ।

२०६४ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको ८ बुँदे सम्झौतामै उल्लेख भएअनुसार प्रदेशहरूलाई राजनीतिक, प्रशासनिक तथा आर्थिक अधिकारसहित पूर्ण स्वायत्त संरचनामा रूपान्तरण गर्नुपर्ने पार्टीको माग छ । स्थानीय तहहरू पनि प्रदेश सरकार मातहत राख्नुपर्ने उनीहरूको अडान छ ।

संघीय शासनपद्धतिको भावना र संविधानको अनुसूचीअनुसार प्रहरी संगठन पूर्ण रूपमा प्रदेश सरकारको मातहतमा राख्नुपर्ने जनमत पार्टीको आग्रह छ । यसले संघीयता व्यवहारमा उतारिने र प्रदेश सरकारहरू सुदृढ हुने धारणा पार्टीले व्यक्त गरेको छ ।

तराई–मधेशको जनसंख्या ५४ प्रतिशत नाघिसकेको दाबी गर्दै पार्टीले प्रतिनिधि सभाको निर्वाचन क्षेत्र पूर्ण रूपमै जनसंख्याको आधारमा निर्धारण हुनुपर्ने धारणा राखेको छ । साथै लुम्बिनी, सुदूरपश्चिम र प्रदेश–१ का सीमांकन स्थानीय जनभावनाअनुसार पुनःसमीक्षा गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको १२ बुँदे ज्ञापनपत्रमा जनमत पार्टीले मधेशी जनताका मुद्दा समाधानमा सरकार गम्भीर नबने आन्दोलन फेरि उठ्न सक्ने चेतावनी पनि दिएको बताइएको छ ।

हेर्नुस् जनमतका मागहरु

जेनजीको माग सम्बोधन गर्न नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : विकेश साह

काठमाडौं । जेनजी विद्रोहको जगमा अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी सुशीला कार्कीले उही जेनजी आन्दोलनकारीलाई भेटन अस्वीकार गरेकी छन् । प्रधानमन्त्री कार्यालयमा आफ्ना मागहरु सहितको पत्र बुझाउन सोमबार जेनजी आन्दोलनकारीहरु सिंहदरबार पुगेका थिए । तर प्रधानमन्त्री कार्कीले भेटनै मानिन । प्रधानमन्त्रीले भेटन नमानेपछि उनीहरुले आफ्नो माग पत्र दक्षिण गेटमा टाँसेर फर्किएका छन् ।

जेनजी विद्रोहका अगुवाहरु विकेश साह, मिराज ढुंगाना, रविकिरण हमाल, सौरभ भण्डारी, मणी लिम्बु, सुनिलप्रसाद साह, राजा सल्यानी, सुस्मा श्रेष्ठ, प्रभात अधिकारी, रंजित ठाकुर, मदन लिम्बु, सुनिल सिंह लगायतका युवाहरु सिंहदरबार पुगेका थिए ।

‘यो व्यवस्था र संविधानले निकास दिन सक्दैन । त्यसैले हामीले अहिलेको संविधान र सरकार खारेज गरी अन्तरिम संविधान र अन्तरिम सरकार गठन गर्नुपर्छ भन्ने स्पष्ट माग हो । यो सरकार विकास र निकास दुबैमा असफल भइसकेको छ । अब निकास दिन आवश्यक छ । त्यसका लागि यो व्यवस्था खारेज गरेर अगाडि बढनुको विकल्प छैन्,’ कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल कानूनी कठघरामा उभ्याउनुपर्ने माग समेत उनले गरेका छन् । ‘बंगलादेशमा जसरी हत्यारालाई मृत्युदण्ड नै दिईएको छ, कारबाही गरिएको छ, त्यसरी नै हामीले केपी ओलीलाई कानूनी कठघरामा ल्याउनुपर्छ । कानूनबमोजिम कारबाही गर्नुपर्छ । यदि कारबाही गर्न सकिएन भने हामी उद्देश्यविहीन हुन्छौं,’ साहले भने ।

यस्तै जेनजी हत्यारा र भ्रष्टाचारीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्नेमा वर्तमान सरकार असफल रहेको हामीहरुको बुझाइ रहेको उनले बताए । भ्रष्टाचारीहरु, जेनजी हत्याराहरु अहिले खुलेयाम घुमिरहदा समेत सुशीला सरकारले किन अहिलेसम्म पक्राउ गर्न सकेन भन्ने प्रश्न अध्यक्ष साहले गरेका छन् ।

२०८४ सालमा हुने निर्वाचन २०८२ सालमा गराउनका लागि जेनजी बिद्रोह नभएको बताउदै अध्यक्ष साहले सबैभन्दा पहिला जेनजी हत्यारा र भ्रष्टाचारीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने उनले बताए ।

जेन–जीका विभिन्न २१ समूहले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसक्ने र घाइते तथा शहीदको सपना साकार पार्न सम्भव नभएको निष्कर्ष निकालेको उनले बताए । उनीहरूले माग पूरा गर्न ७ दिनको अल्टिमेटम दिँदै बेवास्ता गरे कार्की सरकार गठनमा आफूले गरेका गल्तीको माफी माग्दै पुनः संघर्षमा जाने चेतावनी दिएका छन् । विद्रोहमा होमिएका युवाविरुद्ध वर्तमान सरकारले नै षडयन्त्र गरिरहेको भन्दै उनीहरुले विभिन्न माग गरेका छन् ।

यस्ता छन् उनीहरूका माग

१. हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर ।

२. स्थिर सरकारका लागी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर ।

३. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर ।

४. जेन – जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर ।

५. सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर ।

६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।

२४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।

७. जेन–जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गर र विधिको शासन कायम गर ।

८. प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुरÞ्याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर ।

९. यी कुराहरु संबिधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संबिधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग।

रास्वपाका काठमाडौं सभापति बिष्टले फिर्ता लिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं सभापति प्रदीप विष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। पार्टीका शीर्ष नेताहरूसहितको बैठकबाट आज सहमति बनेपछि विष्टले राजीनामा फिर्ता लिएका हुन्।

आफूले उठाएका मुद्दाहरूलाई पार्टीले सम्बोधन गर्ने र समस्या रहेका विषय समाधान गर्ने सहमति बनेसँगै राजीनामा फिर्ता लिएको विष्टले जानकारी दिए । पार्टीमा पारदर्शी, बेथिति र निर्णयहीनताका विषयमा बारम्बार प्रदेश समिति, प्रदेश ईन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराएको तर सम्बोधन नभएको भन्दै विष्टले पदबाट राजीनामा दिएका थिए।

मंसिर ५ गते महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र लेखेर विष्टले पदबाट राजीनामा दिएका थिए। जिल्लाको नेतृत्वमा बसेर निर्वाचन क्षेत्र, पालिका र वडाको कार्यकर्ता र मतदातालाई निरन्तर आश्वासन, भरोसा र मार्गदर्शन दिएको व्यक्ति भएर उनीहरूलाई ‘गुमराह’ मा राखिरहनु आफ्नो नैतिकताले नदिने भन्दै उनले राजीनामा दिएका थिए।

६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक एवं अनौपचारिक संवादमार्फत तथ्य प्रस्तुत गर्दै सुधारका लागि ठोस, समयानुकूल र नीतिगत निर्देशन मागेको तर उपल्लो निकायले तदरुकता नदेखाएको उनको भनाइ थियो।

पार्टी शीर्ष नेताहरूले आफ्ना मागहरू सम्बोधन गर्ने र आन्तरिक समस्याका विषयहरू समाधान गर्न तत्परता दिने प्रतिबद्धता गरेपछि राजीनामा फिर्ता लिएको विष्टले बताए। उनले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको थिएन। विष्ट गत निर्वाचनमा प्रतिनिधि सभाका लागि काठमाडौं–१० बाट रास्वपाको उम्मेदवार बनेका थिए।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरलाई राष्ट्रपतिले भने–धेरै बोल्न मिल्दैन, मिलेर अघि बढ्नुस्

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेश अध्यक्ष अम्मर पुन, नेता गुरुराज घिमिरेसहित दुई दर्जन नेताहरूले पौडेललाई शीतलनिवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा जेन–जी आन्दोलनपछिको परिस्थिति, फागुन २१ को चुनाव, कांग्रेसभित्रको विवाद लगायतको विषयमा छलफल भएको नेता घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘हामीले समग्र परिस्थितिको बारेमा कुरा राख्यौँ । त्यसपछि उहाँले आफ्नो कुरा राख्नु भयो । आफू सरकार, निर्वाचन आयोग र दलहरूसँग छलफलमा रहेकाले अहिलेको निकास निर्वाचन मात्रै रहेको बताउनु भयो ।’

कांग्रेसको निर्वाचनमा भाग लिने निर्णयले चुनावको वातावरण बन्नमा सघाउन पुग्ने विश्वास व्यक्त गरेको पौडेलले बताएका सुनाए । अहिले संविधान ट्र्याकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको कुरा राष्ट्रपतिले राखेको घिमिरेले बताए । उनले पार्टीभित्रको आन्तरिक विवादमा आफूले धेरै बोल्न नमिल्ने भन्दै मिलेर जान सुझाव दिएको बताए ।

उनले भने, ‘हामी विशेष महाधिवेशन पक्षधरका नेताहरू मात्रै थियौँ । उहाँले पार्टीभित्रको आन्तरिक विषयमा मैले बोल्न मिल्दैन । तपाईंहरू मिलेर अघि बढ्नुस्, विग्रहले कुनै फाइदा गर्दैन भन्नु भयो ।’ पार्टीभित्र मात्रै नभएर पुराना र नयाँ दलहरूसँग पनि मिलेर चुनावको वातावरण बनाउन सुझाएको बताए ।

प्रहरीका तीन डीआईजीको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार तीन जना डीआईजी सरुवाको निर्णय गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी विनोद घिमिरेले पाएका छन् । यसअघिका प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै कोशी प्रदेशमा प्रहरी प्रमुख रिक्त भएको थियो । कार्कीलाई भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय भएको छ ।

कोशी प्रदेशको जिम्मेवारी पाएका घिमिरे प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा केही हप्ता अघि मात्रै सरुवा भएका थिए । त्यसअघि उनी प्रहरीको केन्द्रीय प्रवक्ता थिए । प्रदेश समन्वय विभागमा दिलिप सिंह देउवा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ ।

जेनजी घाइतेको उपचारका लागि १० स्वास्थ्य स्वयंसेवक परिचालन

काठमाडौं । सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचारका लागि हेल्प डेस्क स्थापना गर्ने तथा त्यसमार्फत सेवा प्रवाह गर्न १० जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । स्वयंसेवकलाई मासिक १५ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने उनले जानकारी दिए । उनकाअनुसार बैठकले भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सरकारले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलायबल इनर्जी फर इकनोमिक प्रस्पेरिटी’ परियोजनाका लागि २३.५८ मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । उनकाअनुसार बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ ।

उनले ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको पनि बताए । उनले नेपाल प्रहरीको हालको दरबन्दीभित्रै पद–मिलान तथा कार्यालय संरचना समायोजनका साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको पनि बताए ।

मन्त्री पुनका अनुसार नेपाल प्रहरीको जनपद समूहतर्फको नायव महानिरीक्षकबाट ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय पनि भएको छ । भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ । कार्यवाहक मुख्यसचिवको जिम्मेवारी सचिव सुमन अर्याललाई दिने निर्णय भएको पनि बताए ।

कार्की एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज (सोमबार) को मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशका प्रहरी प्रमुख समेत रहेका कार्की पहिलो डिआईजी थिए । काठमाडौँ उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो । नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी रहेकोमा हाल ७ जना कार्यरत छन् । एआईजीको दरबन्दी प्रहरी प्रधान कार्यालयमा ५ जना र ३ जनाको बाहिर छ ।

मुख्यालयमा मानवस्रोत विकास विभाग, प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग छन् । यस्तै प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र सीआईबीमा पनि एआईजी नै कार्यरत छन् । एआईजीकै दरबन्दी रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय भने प्रमुखबिहीन छ ।

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल बनायो ।

कर्णालीका कप्तान सोम्पाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराए ।

पहिलो ओभरदेखि नै बलिङमा प्रभाव छोडेको कर्णालीले इनिङ भरी लयमा बलिङ ग¥यो । सोमपालले जोश र हर्मित सिंह जस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराउँदै तीन विकेट लिए ।

उनले एक ओभर मेडन फ्याके । चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिए ।

नेपाली कम्युनिस्ट पार्टी र जसपाबीच मंसिर ११ गते एकता हुने

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीच पनि एकताको औपचारिक घोषणा हुने भएको छ ।

नेपाली कम्युनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहबीच एकताको घोषणासभा यसअघि तय भएकोमा पूर्वनिर्धारित कार्यक्रम एक दिन पर सारिएको छ।

नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीचको एकता घोषणा समारोह मंसिर १० गते हुने भनिएकोमा अब एक दिनपछि अर्थात् मंसिर ११ गते बिहीबारका दिनका लागि सारिएको हो ।

देशभरका विभिन्न भागमा रहेका नेता एवं अगुवा कार्यकर्ताहरूलाई आफूहरू पनि घोषणासभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराए ।

सुवेदीका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिनको १ बजे सुरु हुनेछ । एकता सभाकाे तयारीका लागि मङ्सिर १० गते सोह्रखुट्टेस्थित नेपाः राष्ट्रिय बैंकेटमा भेला आयोजना गरिएको छ।

एकता समारोहमा नेपाली कम्युनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएकाे छ । आइतबार अशोक राई नेतृत्वको जसपाबाट श्रेष्ठलगायत ६ नेताहरू नेपाली कम्युनिष्ट पार्टीतिर लागेका थिए ।

 

आफूहरु अझै पीडामा रहेको पूर्वलडाकुको गुनासो

काठमाडौं । माओवादीका पूर्व लडाकुहरुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफूहरु अझै पीडामा रहेको भनी दुखेसो पोखेका छन् ।

जनमुक्ति सेना स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वजनमुक्ति सेना डिभिजनका अध्यक्ष नवीन पुनले मुलुक परिवर्तनका लागि आफूहरुले दिएको योगदान इतिहासले सधै सम्झने बताए । “हामीले लडेको क्रान्ति असफल भएको होइन”, पुनले भने ।

माओवादी नेतृत्वको आह्वानमा भएको जनयुद्धको दौरान विंस २०५८ साल मङ्सिर ८ गते औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएको थियो । पत्रकार सम्मेलनमा सहिद, अङ्गभङ्ग भएका, बेपत्ता लगायतलाई स्मरण गरियो ।

‘नसर्ने रोगले आँखाको समस्या बढाउँदै’

काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

अध्ययनले हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या रहेकामा उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७.३ प्रतिशतमा ‘डायबेटिक रेटिनोप्याथी’ पाइएको छ । रेटिनोप्याथी भन्नाले आँखाको रेटिनामा देखिने समस्या हो जसले अन्धोपना पनि निम्त्याउन सक्छ ।

अध्ययनले सन् २०२२ देखि २०२४ सम्म काठमाडौं जिल्लामा ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा देखिने आँखाका रोगहरू, जोखिम कारकहरू, सेवासुविधामा रहेको पहुँच, जनचेतना तथा आँखादानप्रति जनमानसको धारणा जस्ता विषयहरूमा महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको हो ।

‘एन एपेडिमियोलोजिकल स्टडी अफ ओकुलर डिजिज इन काठमाडौं डिस्ट्रिक्ट अफ नेपालः काठमाडौं आइ स्टडी’ नामक अध्ययनमा चार हजार ९९० जना सहभागी थिए ।

सहभागीहरूमध्ये ९७.७ प्रतिशत कुनै न कुनै प्रकारको आँखा रोगबाट पीडित रहेको पाइएको थियो । अध्ययनले मोतियाविन्दु र दृष्टि दोष दृष्टिविहीनता र अन्धोपनका प्रमुख कारणहरू रहेको देखाएको छ जसमा ४१.७ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण थियो र लगभग ८० प्रतिशत दृष्टिविहीनता दृष्टिदोषका कारण थियो ।

अध्ययनले आँखा दानबारे जानकारी भए तापनि दानमा रुचि कम भएको देखाएको छ । २५२ उत्तरदातामध्ये ५६ प्रतिशत आँखा दानबारे सचेत देखिएका छन्भने ४५ (१७.९ प्रतिशत) उत्तरदाताहरूले मात्र आँखा दानमा रुचि देखाएका छन् ।

सहभागीहरूको चार हजार ४६७ अर्थात् ९१ प्रतिशतले आँखा स्वास्थ्य परामर्श लिएका थिए जसमध्ये अधिकांश तीन हजार २१४ (७१.१९ प्रतिशत) आँखा अस्पताल गएका थिए । परामर्श नलिनेहरूमध्ये धेरैले आवश्यकता महसुस नहुनु, समयको अभाव, वैकल्पिक औषधिमा निर्भरता, साथीको अनुपस्थिति र सहभागीहरूको आर्थिक बाध्यताहरू रहेको बताएका थिए ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले यो अध्ययनले आँखा स्वास्थ्यमा अझै पनि सचेतना पुग्न नसकेको बताए ।

उनले यो अध्ययन आँखा स्वास्थ्य सेवाका लागि नीति तथा कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्ने बताए ।उनले भने, ‘काठमाडौं केन्द्रित महत्वपूर्ण आँखा अध्ययन सार्वजनिक भएको छ । अध्ययनले प्रारम्भिक जाँचले कतिपय आँखाको समस्याहरु हल भएर जाने हुनाले जनचेतनाको आवश्यकता रहेको देखाएको छ ।’

तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत तथा अध्ययनकी प्रमुख अनसुन्धानकर्ता डा रीता गुरुङले काठमाडौंमा आँखा स्वास्थ्यलाई सुदृढ गर्न व्यापक स्वास्थ्य प्रणालीभित्र आँखा हेरचाहलाई एकीकृत गर्न आवश्यक रहेको बताए ।

उनले नसर्ने रोगको जोखिमजस्तै मोटोपना, उच्च रक्तचाप, मधुमेहलाई सम्बोधन गर्न ध्यान दिनुपर्ने धारणा राख्दै  प्रमुख आँखा रोगहरूबारे जागरूकता बढाउन, प्रारम्भिक हेरचाह खोज्न प्रोत्साहन गर्न, र आँखा दानप्रतिको बुझाइ र इच्छा सुधार गर्न सामुदायिक संलग्नता बढाउनुपर्ने बताए ।

एनपीएलमा सट्टेबाजी : २ करोडभन्दा बढीको कारोबार, १० जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

दुई पटकमा ९ भारतीय र एक नेपाली महिलासहित प्रहरीले १० जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ । उनीहरूको कारोबार विवरण हेर्दा २ करोड ५ लाख देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

दुई जनालाई खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परे । बाँकी ८ जना बेटिङ गराएको आरोपमा पक्राउ परेका थिए ।

स्टेक डटकम, बेडबुक डटकमलगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएको भट्टराईको भनाइ छ ।

नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।

मिराज नेतृत्वको जेनजीले भेट्न पाएनन् प्रधानमन्त्री, गेटमा पत्र टाँसेर फर्किए

काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूह प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि दक्षिण गेटमै माग पत्र टाँसेर फर्किएका छन् । मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी थियो । ढुंगानाको समूहले सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि गर्न थालेको, आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका जनाएका थिए ।

हाल सरकारमा रहेकाहरुले जेनजी आन्दोलनको मर्मविपरीतका गतिविधि गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले यसअघि बताएका थिए । यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै तीन जेनजी समूहले विज्ञप्ति जारी गरेका थिए । तर ,प्रधानमन्त्री सचिवालयले कर्मचारी नियुक्तिको विषयमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई अनावश्यक रूपमा जोडेको प्रष्टीकरण दिएको छ ।

सिंहदरबारमा जेनजी समूहबीच नै भनाभन
यता सिंहदरबारमा जेनजी–जेनजी समूहबीच नै भनाभन भएको छ । प्रधानमन्त्रीलाई भेट्न सोमबार (मंसिर ८) सिंहदरबार पुगेका जेनजी समूहबीच आपसमै भनाभन भएको हो । ’कर्णाली जेनजी’ संयोजक सुप्रिया राज्यलक्ष्मी शाही र ‘द काउन्सिल अफ जेनजी’ (सुधन गुरुङ) समूहबीच भनाभना भएको हो ।

शाहीले सरकारलाई हातमा लिन खोज्ने सुधन, रक्षा बम र ओजस्वीराज थापा को हुन् ? भन्दै प्रश्न गरेकी छन् । शाही समूहले सुधन, रक्षालगायतका ‘जेनजी’ घाइते, मृतकका परिवारलाई छोडेर सरकारमा लिप्त भएको बताएकी छन् । उक्त समूहले आफूहरूलाई विभिन्न समूहले आक्रमण गर्न खोजेको भन्दै प्रधानमन्त्रीलाई भेट्न समय माग गरेको छ ।

 

 

वर्षालाई आखिर किन भयो बाँच्न गाह्रो ?

काठमाडौं । अभिनेत्री वर्षा राउत पछिल्लो समय आफ्नै वैवाहिक जीवनसँग जोडिएको विवाद, सार्वजनिक टिप्पणी र सामाजिक दबाबका कारण अत्यधिक भावनात्मक तनावमा रहेको बताउँदै खुलेर मनका कुरा शेयर गरेकी छन् । श्रीमान सञ्जोग कोइरालासँगको सम्बन्धबारे फैलिएका चर्चापछि आएका विभिन्न आरोप–आक्षेपले आफूलाई मनोवैज्ञानिक रूपमा निकै थिचेको उनले सामाजिक सञ्जालमार्फत् प्रस्ट्याइन् ।

सञ्जोगसँग सम्बन्ध बिग्रिएको चर्चा बढिरहेका बेला वर्षा माइतीतिर बसेको खबर, चलचित्र प्रिमियरमा देखिएका दाग जस्ता चिन्ह तथा डिभोर्सको हल्लाले सामाजिक सञ्जालमा थप गसिपको लहर चलायो । यद्यपि दुवैले संयुक्त अन्तर्वार्ता दिएर दाम्पत्यमा गम्भीर समस्या नभएको दाबी गरिसके पनि, वर्षामाथि टिप्पणी र प्रश्नको वर्षा रोकिएन । यिनै निरन्तरका टिप्पणीबीच एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तर्वार्तामा सञ्जोगलाई ‘तँ’ किन भनियो भनेर खिज्याएपछि वर्षा निकै भावुक हुँदै समाजको दोहोरो मापदण्डले आफूलाई मानसिक रूपमा आहत बनाइरहेको बताइन् ।

उनले लेखेकी छन्, ‘कहिलेकाहीँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था आउँछ, किनकि त्यो चाहेर होइन—समाजको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई अन्धकारतिर धकेलिदिन्छ ।’ वर्षाको बुझाइमा, पतिले श्रीमतीलाई ‘तँ’ भन्दा समाजले सामान्य ठान्ने तर महिलाले त्यही शब्द प्रयोग गर्दा उग्र प्रतिक्रिया देखाउने प्रवृत्तिले महिलालाई अझै पनि असमान व्यवहार भोग्न बाध्य बनाएको छ ।

उनले थपेकी छन्, ‘श्रीमतीलाई ‘लाटी’, ‘अलच्छिनी’ जस्ता अपमानजनक शब्द बोलिँदा समाज मौन बस्छ। तर महिलाले आफ्नो आवाज उठाउन खोज्यो भने उसैलाई दोषी बनाइन्छ ।’ वर्षाले आफूलाई थिचिरहेको सामाजिक दवाब, अन्याय र असंवेदनशील प्रतिक्रियाले धेरै पटक एक्लो महसुस भएको र यसले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताइन् ।

‘यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसकेको छ’, वर्षाले लेखेकी छिन् । उनको भावनात्मक पोस्टपछि श्रीमान सञ्जोग कोइरालाले समेत प्रतिक्रिया दिँदै उनलाई साथ दिने आश्वासन व्यक्त गरे । उनले लेखे, ‘घृणामाथि प्रेम सधैं जित्छ । चिन्ता नगर, तिमीलाई हजारौँले माया गर्छन् । आज टिप्पणी गर्नेले भोलि बाटोमा भेट्दा ‘बिग फ्यान’ भन्छन् ।’ वर्षा र सञ्जोगले सम्बन्धमा समस्या नरहेको दाबी गरे पनि वर्षाले सार्वजनिक रूपमा व्यक्त गरेको पीडा र समाजप्रतिको असन्तुष्टिले नेपालमा महिलामाथि भइरहेको सामाजिक धारणाबारे गम्भीर प्रश्न उठाएको छ ।

 

 

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा भ्रष्टाचार : सात जनाविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मकवानपुर, हेटौंडाको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित ७ जनाविरूद्ध अख्तियारले सोमबार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो र बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, लेखा अधिकृत नेत्रनर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठविरूद्ध मुद्दा दर्ता भएको छ ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने आशयले सुचना प्रकाशित गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरू ३१ लाख १७ हजार ८९ रूपैयाँ बराबरको रकम भ्रष्टाचार गरेको देखिएको छ । त्यसैले उनीहरूविरूद्ध सोही अनुसारको बिगो माग दाबी गरिएको छ ।

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली  ।  पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग– ४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा “गम्भीर“ अवस्था मानिएको छ ।

पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुदाँ मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या बढेको स्थानीय मिडियाले जनाएको छ ।

सावधानीका लागी दिल्लीका अधिकारीहरूले स्थानीयहरूलाई अत्यावश्यक नभए सम्म बाहिरी गतिविधिहरूमा संलग्न नहुन निर्देशन दिँदै स्वास्थ्य सुझावहरु जारी गरेका छन् ।

 

अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव हुन् अर्याल । उनी हाल रक्षा मन्त्रालयमा छन् ।

अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् । उनले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाएका छन् ।

वरीयताको पहिलो नम्बरमा रहेका गोकर्णमणि दुवाडी पहिलो दाबेदार भए पनि जेनजी आन्दोलनताका गृहसचिव रहेका उनी आन्दोलनको क्षति, बल प्रयोग, राजनीतिक निर्णय र कार्यान्वयनमा जोडिएकाले उनको दाबेदारी कमजोर भएको हो । अहिले जाँचबुझ आयोगले ‘विदेश जान निषेध’ समेत गरिसकेको छ ।