`

अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव हुन् अर्याल । उनी हाल रक्षा मन्त्रालयमा छन् ।

अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् । उनले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाएका छन् ।

वरीयताको पहिलो नम्बरमा रहेका गोकर्णमणि दुवाडी पहिलो दाबेदार भए पनि जेनजी आन्दोलनताका गृहसचिव रहेका उनी आन्दोलनको क्षति, बल प्रयोग, राजनीतिक निर्णय र कार्यान्वयनमा जोडिएकाले उनको दाबेदारी कमजोर भएको हो । अहिले जाँचबुझ आयोगले ‘विदेश जान निषेध’ समेत गरिसकेको छ ।

प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारमै जेन-जीको नाराबाजी (तस्बिरहरू)

काठमाडौं। जेन-जीहरूको एउटा समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । तर उनीहरूले प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै हो-हल्ला र नाराबाजी गरेका छन् ।

प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले पत्नीसहित नातेदारलाई जागिर लगाएकोबारे ध्यानाकर्षण पत्र बुझाउन गएका जेन-जीको समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि नाराबाजी गरेका हुन् ।

मिराज ढुंगाना र सुदन गुरुङ नेतृत्वको जेन-जी समूह ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगे पनि भेट्न पाएनन् । तर प्रधानमन्त्रीले समय नदिएको उनीहरूले गुनासो गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

कर्णालीले टस जितेर फिल्डिङ रोज्यो, सुदूरपश्चिमले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यो निर्णयसँगै अब सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । खेल अपराह्न ४ बजे सुरु हुँदैछ ।

कर्णालीले २ खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ । दुवै टिमले प्लेइङ ११ मा कुनै बदलाव गरेको छैन ।आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ ।

 

मुलुक निर्वाचनमय भएको छ, निर्वाचन हुन्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले तोकिएकै मितिमा निर्वाचन हुनेमा सरकार ढुक्क रहेको बताएका छन् । आज (सोमवार) सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

त्यस अवसरमा मन्त्री घिसिङले मुलुक निर्वाचनमय भएको दाबी समेत गरे । उनले प्रधानमन्त्री सुशीला कार्की र आफूहरुले राजनीतिक दलहरुसँग निर्वाचनका विषयमा धेरै छलफल गरेको उल्लेख गर्दै उनीहरुले निर्वाचनमा जाने निर्णय गरेको र बाँकि राजनीतिक दलहरु पनि सोही निर्णय गर्ने पक्षमा रहेको बताए ।

मन्त्री घिसिङले भने, ‘निर्वाचनको विषय सबैले देखिराख्नु भएको छ । अब मुलुक निर्वाचनमय भएको छ । निर्वाचन हुन्छ । यसमा सबै राजनीतिक पार्टीहरु निर्वाचनको लागि धेरै छलफलहरु अस्ती पनि ८० वटा दलहरुसँग छलफल भएको छ । सम्माननीय प्रधानमन्त्री ज्यु र हामीहरु सबै पटक पटक छलफलमा छौं । सबैले निर्वाचनमा जाने आफ्नो पार्टीको निर्णय पनि गरिसकेका छन् । केही बाँकि पनि होला । तर निर्वाचन हुन्छ, फागुन २१ गते नै हुन्छ भन्नेमा हामी ढुक्क छौं ।’ मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्ने गरी नयाँ संघीय संसद भवनको निर्माण कार्यले गति लिएको समेत बताए ।

 

उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु

पेशावर । उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा बलको प्रान्तीय मुख्यालयमा आक्रमण गर्दा तीन अधिकारीको मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।

अफगानिस्तानसँग जोडिएको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरस्थित फेडरल कन्स्टेबुलरी मुख्यालयमा भएको उक्त आक्रमणबारे सहरका प्रहरी प्रमुख सइद अहमदले पुष्टि गर्दै भने, “एक आक्रमणकारीले मुख्य गेटमै आफ्नो विस्फोटक विस्फोट गरायो भने दोस्रो बम हमलाकारीलाई पार्किङ क्षेत्रनजिकै हाम्रो सुरक्षाकर्मीहरूले गोली हानी घटनास्थलमै नियन्त्रणमा लिए ।”

उनका अनुसार आक्रमणको समयमा मुख्यालयभित्र बिहानको परेड अभ्यास भइरहेको थियो, जसमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खुला मैदानमा उपस्थित थिए । “आतङ्ककारीहरू पैदलै प्रवेश गर्ने प्रयासमा थिए तर परेड मैदानसम्म पुग्न सकेनन् । सुरक्षाकर्मीहरूको समयमै प्रतिक्रिया नभएको भए क्षति अझ भयावह हुने थियो”, अहमदले एसोसिएटेड प्रेससँग भने ।

यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले हालसम्म नलिए पनि पाकिस्तानमा सक्रिय पाकिस्तानी तालिबान (तेहरीक–ए–तालिबान पाकिस्तान–टिटिपी) यस्ता आक्रमणहरूमा प्रायः संलग्न रहँदै आएको इतिहास छ । टिटिपी औपचारिक रूपमा छुट्टै समूह भए पनि अफगानिस्तानमा सत्तासीन तालिबानसँग वैचारिक तथा रणनीतिक निकटता राख्दै आएको बताइन्छ ।

यो ताजा आक्रमण पाकिस्तानको राजधानी इस्लामाबादमा अदालत बाहिर भएको आत्मघाती विस्फोट भएको दुई हप्ताभन्दा कम समयमै दोहोरिएको घटना हो । उक्त विस्फोटमा एक बम हमलाकारीले प्रहरी कारनजिकै विस्फोट गराउँदा १२ जनाको मृत्यु भएको थियो । निरन्तर भइरहेका यस्ता आक्रमणले पाकिस्तान र अफगान तालिबान सरकारबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाइरहेको विश्लेषणहरू देखिन्छन् ।

पाकिस्तानी सरकारका अनुसार टिटिपीका लडाकूहरू सन् २०२१ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि अफगान भूमि प्रयोग गर्दै पाकिस्तानभित्र सहज रूपमा आक्रमण सञ्चालन गरिरहेका छन् । काबुलले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

तर काबुलमा अक्टोबर ९ मा भएको ड्रोन हमलालाई लिएर अफगानिस्तानले पाकिस्तानलाई दोषारोपण गर्दै बदला लिने चेतावनी दिएपछि दुई देशबीचको विवाद झन् गहिरिएको थियो । कतारको मध्यस्थतामा अक्टोबर १९ मा युद्धविराम भए पनि त्यसअघि भएको भिडन्तमा सैनिक, नागरिक र उग्रवादीसहित धेरैको ज्यान गएको थियो ।

युद्धविरामपछि दुई चरणमा इस्तानबुलमा वार्ता भए पनि अफगानिस्तानले टिटिपीलाई पाकिस्तानभित्र आक्रमणका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने लिखित प्रतिबद्धता दिन अस्वीकार गर्दा वार्ता निष्कर्षविहीन भएको बताइन्छ ।

यसबीच, पाकिस्तानले पछिल्ला हप्ताहरूमा टिटिपीविरुद्ध कारबाही तीव्र बनाएको छ र अफगानिस्तानको सीमाक्षेत्रनजिकै भएका सैन्य अभियानहरूमा दर्जनौँ विद्रोही मारिएको सुरक्षा स्रोतहरूले बताएका छन् ।

ढाकाद्वारा शेख हसिनाको सुपुर्दगीका लागि नयाँ दिल्लीसँग पुनः औपचारिक आग्रह

ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको सजाय सुनाइएको केही दिनपछि बङ्गलादेशको अन्तरिम सरकारले उहाँको सुपुर्दगीका लागि भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएको छ ।

ढाका ट्रिब्युनको एक विस्तृत रिपोर्टअनुसार रोहिङ्ग्या मुद्दाका लागि उच्च प्रतिनिधि खलीलुर रहमान भारतीय राजधानीबाट फर्किएलगत्तै नयाँदिल्लीमा नयाँ कूटनीतिक नोट पठाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । विदेश मामिला सल्लाहकार तौहिद हुसेनले आइतबार पत्रकारहरूसँग कुरा गर्दै ढाकाले शेख हसिनाको फिर्ती सम्बन्धमा भारतसँग पुनः औपचारिक संवाद थालेको बताउनुभयो तर विस्तृत विवरण भने खुलाउन चाहेनन् ।

बङ्गलादेशको युनाइटेड न्युजले उद्धृत गरेको नयाँदिल्लीस्थित एक कूटनीतिक स्रोतका अनुसार खलीलुर रहमानले बिहीबार भाग लिएको कोलम्बो सुरक्षा सम्मेलनअन्तर्गत राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको सातौँ बैठक सकिनासाथ नोट भर्बल भारतलाई पठाइयो ।

यसै साताको सुरुआतमा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण(आइसिटी) ले गत वर्षको जुलाई–अगस्ट अशान्तिका क्रममा मानवता विरुद्धको अपराधका मुद्दामा शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस्तै, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन पाँच वर्षको कैद सजायबाट दण्डित भएका छन् । उनी राज्य साक्षी समेत हुन्।

फैसलापछि ढाकाले भारतलाई दुवै दोषी व्यक्तिलाई बिना ढिलाइ हस्तान्तरण गर्न आग्रह गरेको ढाका ट्रिब्युनले जनाएको छ । सल्लाहकार तौहिद हुसेनका अनुसार मुद्दाको निष्कर्षपछि परिस्थिति फेरिएको हुँदा बङ्गलादेशले औपचारिक रूपमा भारतलाई आफ्नो वर्तमान धारणा अवगत गराएको छ ।

“यो दुई देशबीचको विद्यमान प्रत्यर्पण सन्धिअन्तर्गत भारतको पनि दायित्व हो”, बङ्गलादेश विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै ढाका ट्रिब्युनले लेखेको छ । विज्ञप्तिमा अझ भनिएको छ, “मानवता विरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिहरूलाई आश्रय दिनु कुनै पनि देशका लागि अनुचित आचरण मात्र होइन, न्याय प्रणालीप्रति गम्भीर उपहास पनि हो ।”

यसैबीच, भारतले न्यायाधिकरणको निर्णयलाई स्वीकार गरेको र बङ्गलादेशसँग रचनात्मक रूपमा संलग्न रहिरहने प्रतिबद्धता व्यक्त गरेको छ । विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “नजिकको छिमेकीका रूपमा भारत बङ्गलादेशी जनताको शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरताका लागि समर्पित छ ।” नयाँदिल्लीले यस्ता उद्देश्यहरूलाई अघि बढाउन सबै पक्षसँग मिलेर काम जारी राख्ने जनाएको छ ।

ढाकामा आयोजित एक कार्यक्रममा सुरक्षा विश्लेषक तथा बङ्गलादेश शान्ति तथा सुरक्षा अध्ययन संस्थानका अध्यक्ष ए.एन.एम. मुनिरुज्जमानले भारतले बङ्गलादेशको कानूनी प्रक्रियालाई सम्मान गर्नुपर्ने बताएका छन् । उनका अनुसार शेख हसिनाको मुद्दा ‘सबै अन्तर्राष्ट्रिय मापदण्ड र कानूनी प्रक्रियाबाट गुज्रिएको’ भएकाले ती मापदण्डको सम्मानस्वरूप उनलाई बङ्गलादेश फर्कन आवश्यक छ । दुई देशबीचको प्रत्यर्पण सन्धिमा समेत यस्ता मुद्दालाई समेट्ने प्रावधानहरू रहेको उनले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय कानूनी मान्यताअनुसार औपचारिक अनुरोध आएपछि राष्ट्रहरूले दोषी ठहरिएका व्यक्तिहरूलाई फिर्ता गर्ने अपेक्षा रहने उल्लेख गर्दै उनले भारतले सन्धिको अक्षरशः पालना गर्दै ढाकाको अनुरोधमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

जेनजी आन्दोलन : सर्वोच्च र अख्तियारसहित प्रहरीमा १०४ जाहेरी, सात शवको अझै भएन पहिचान

काठमाडौं । काठमाडौं प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित हालसम्म कुल १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ । परिसरले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मात्रामा जाहेरी दर्ता गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरकार प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिए ।

उनकाअनुसार भदौ २३ र २४ को आन्दोलनको क्रममा परिसरमा अहिलेसम्म ४९ जनाको मृत्यु दर्ता भएको छ । मृतकमध्ये ७ जनाको पहिचान हुन नसकेको उल्लेख गर्दै उनले पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको बताए । एसपी भट्टराईले ७ वटा उजुरीहरु तामेलीमा राखिएको पनि उल्लेख गरे । उनले आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २ सय २८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको बताए ।

उनले कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ । तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ ।

न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् । पक्राउ परेकामध्ये ५ जना मात्र महिला रहेको उनले जानकारी दिए । उनले जेनजी आन्दोलदनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताए । पुनः पक्राउ गरिएका थुनुवाहरु ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेको उनको भनाइ छ । उनले बाँकी १५ जना थुनुवाहरु समेत आफूहरुको सम्पर्कमा रहेको जानकारी दिए ।

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको सातौँ ९हिउँदे० अधिवेशन आजदेखि सुरु भएको छ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ः०० बजदेखि सुरु भएको हो ।

सभामुख तुलाराम घर्तीमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाएका छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश थिए ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात् वर्षे अधिवेशन अन्त्य भएको थियो ।

देउवालाई ‘सुवर्ण शमशेर पथ’ पछ्याउन विश्वप्रकाशको सुझाव

काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका विषयमा दुई वटा प्रस्ताव राख्दै त्यसै सिलसिलामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन पछि सार्न सकिने प्रस्ताव राखेका छन् । इलाम पुगेका महामन्त्री शर्माले महाधिवेशनका सन्दर्भमा दुई बुँदे प्रस्ताव राख्दै उक्त विषय पनि राखेका हुन् । ‘समय घर्कदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ ?,’ भन्ने पार्टीका नेताहरूको जिज्ञासामा आफू अझै प्रस्ट रहेको महामन्त्री शर्माले बताए । उनले भने, ‘म प्रस्ट छु, सबै ऐक्यबद्ध भएर जुटौँ, महाधिवेशन सम्भव छ, विकल्प दुई वटा छन् ।’

पहिलो विकल्प–पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी अबको बैठकबाट कार्य तालिका निर्माण गर्ने रहेको उनले बताए । ‘महाधिवेशन तयारी क्रममा कहिदिन समय नपुग्न सक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने,’ उनले भने ।
यसैमा ‘समानुपातिकको सुची बुझाउने मिति वा फागुन २१ को चुनाव पनि केही पछि सर्न सक्ने’ शर्माले दाबी गरे । ‘शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृष्टिगत गरेर थोरै पछि सर्न सक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत हल खोज्नु उत्तम हुन्छ,’ महामन्त्री शर्माले अगाडि भने ।

दोस्रो विकल्पमा पार्टी सभापति शेरबहादुर देउवालाई देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन उनले सुझाव दिए । ‘त्यो भनेको २०१४ सालमाझैं स्वयं सभापतिले मार्ग प्रशस्त गर्ने,’ महामन्त्री शर्माले अगाडि भने, ‘त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउनेछ ।’ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान नसक्ने उनले दाबी गरे। ‘तब २०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन, २०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ,’ महामन्त्री शर्माले भने ।

 

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र

पर्वत । ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र परेको छ । कुश्मा नगरपालिका–१ पाङमा २०७६ सालमा सुरु गरिएको औद्योगिक ग्राम योजना बजेट अभाव तथा कानुनी झमेलाका कारण अलपत्र परेको हो ।

औद्योगिक ग्रामका लागि आवश्यक जग्गा अधिग्रहण गरी सम्याउने, तारबार लगाउने र पहुँचमार्ग निर्माण गर्ने काम गरिएको भएपनि वन क्षेत्रसम्बन्धी कागजी प्रक्रिया, स्थानीय सहमति र प्रशासनिक ढिलासुस्तीका कारण काम अघि बढ्न नसकेको कुश्मा नगरपालिकाले जनाएको छ ।

परामर्शदाता छनोट, बोलपत्र आह्वानलगायतका कानुनी प्रक्रिया पूरा गरी २०७६ साल फागुनमा वडा नंं १ मा रहेको नेपाने सामुदायिक वन समूहसँग सहमति लिएर काम सुरु भए पनि विभिन्न बाधाव्यवधानका कारण अपेक्षिति परिणाम आउन नसकेको नगरपालिकाले स्पष्ट गरेको छ ।

औद्योगिक ग्राम निर्माणका लागि १८० रोपनी जग्गा अधिग्रहण गरी काम अघि बढाइएकामा सामुदायिक वनका रुखहरु मासिएको भन्दै डिभिजन वन कार्यालयमा उजुरी परेपछि प्रारम्भिक चरणमै काम रोकिएको हो ।

कुश्मा नगरपालिका–१ का अध्यक्ष खगराज पौडेलका अनुसार नगरको प्राथमिकतामा उद्योग ग्राम निर्माण भए पनि वन तथा वातावरण मन्त्रालय एवं सरोकारवालामाझ समन्वय अभावका कारण योजना स्थगित भएको हो ।

स्थानीय जनप्रतिनिधिले पनि सङ्घ–प्रदेश र नगरबीचको समन्वय अभाव, ढिलासुस्ती र विविध कागजी प्रक्रियाले योजना रोकिएको बताएका छन् । औद्योगिक ग्राम निर्माणमा लामो समयसम्म भएको अवरोध हटाउन चाँडै प्रभावकारी पहल गर्नुपर्ने सरोकारवालाको माग छ ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले निर्माणाधीन औद्योगिक ग्रामलाई पूर्णता दिने पक्षमा पहल भइरहेको र सङ्घ तथा प्रदेश सरकारसँग बजेट माग गरिएको बताएका छन् । प्रमुख जोशीले बनको समस्यासहित आवश्यक बजेट अभावका कारण एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम अपेक्षा गरिएअनुसार अघि बढ्न नसकेको स्पष्ट गर्दै कानुनी प्रक्रियामा अड्चन नआए र माग गरिएअनुसार बजेट विनियोजन भए सो योजना सफल हुने धारणा व्यक्त गरेका छन् ।

विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार काठमाडौँमा हुँदै

काठमाडौँ । विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार यही मङ्सिर ११ देखि १३ गतेसम्म नेपालमा हुँदैछ । सन् २०२२ मा ट्युनिसमा भएको सम्मेलनले काठमाडौँमा दोस्रो सैद्धान्तिक सेमिनार गर्ने निर्णय गरेको थियो ।

सम्मेलनका एसियाली क्षेत्रका संयोजक दुर्गा पौडेलले सैद्धान्तिक छलफलमा विश्वका चार महादेशका २० भन्दा बढी देशका महिला सहभागी हुने जानकारी दिएका छन् । छलफलमा विश्वमा बढ्दो साम्राज्यवादबाट महिलालाई परेको असर, समाजवाद क्रान्तिका लागि महिलाको एकरुपता तथा साम्राज्यवादविरुद्ध महिलाको एकमतलगायत विषयमा सैद्धान्तिक बहस हुने उनले बताएका छन् ।

विभिन्न ६ महिला सङ्गठनको सहकार्यमा सम्मेलन हुन लागेको संयोजक पौडेलले बताएका छन् । यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी महिला अधिकारकर्मीले महिलाका समस्या, शोषण र उत्पीडनको मूल कारणका रूपमा साम्राज्यवादी व्यवस्थालाई औँल्याए ।

विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार (तस्वीरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो ।योसँगै जनकपुरको दोस्रो हार भएको छ । सोमबार भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा पराजित गरेको हो । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले नौ विकेट गुमाएर १२६ रन बनायो ।

जनकपुरका लागि निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै, लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूतीले २० र आसिफ शेखले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । विराटनगरका लागि सन्दीप लामिछानेले चार, सूर्य तामाङले दुई, शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सात विकेटको क्षतिमा १३५ रन बनाएको थियो । विराटनगरका लागि शुभम रञ्जानेले ३७, वसिर अह्मदले ३६, लोकेश बमले ३८, मार्टिल गप्टिलले १३ र जर्ज मन्सीले १० रन बनाए । जनकपुरका लागि संगीत कुर्रे र रुपेश सिंहले दुई–दुई तथा आदित्य महताले एक विकेट लिए । आजै अर्को खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् ।

 

विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोधः मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा मन्त्री घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र रु एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा अधिकांश काम प्रभावित भएको स्पष्ट पारेका छन् । उनले सहरी विकास मन्त्रालयमा मात्र करिब रु ६१ अर्ब बजेट रोक्का भएको उल्लेख गर्दै प्रगति कम देखिएको बताएका छन् । पहिलो त्रैमासिकमा देखिएको प्रगति बजेट रोक्काको अवस्थामा सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

“रोक्का भएको बजेट घटाएर हेर्ने हो भने प्रगति प्रतिशत २० प्रतिशतभन्दा माथि पुग्छ । अहिले देखिएको कम खर्च वास्तविक कमजोरी होइन, रोकिएको बजेटकै प्रभाव हो,” मन्त्री घिसिङले भने, “पहिलो त्रैमासिकमा प्रगति सधैँ कम हुन्छ । त्यो माथि पनि यसपालि जेनजी आन्दोलनका कारणले धेरै प्रोजेक्टमा अगाडि बढ्न समस्या भयो ।”

बजेट रोक्कापछिको दोस्रो ठूला अवरोध जेनजी आन्दोलन र विभिन्न परियोजनास्थलमा काम बन्द हुनु रहेको मन्त्री घिसिङले बताएका छन् । यस्तै, कामै नगर्ने निर्माण व्यवसायीलाई कडाइका साथ कारबाही थालिएको उनले जानकारी दिए । दुई सय ६९ परियोजना ठेक्का तोड्ने प्रक्रियामा अहिलेसम्म ४९ ठेक्का आधिकारिक रूपमा भङ्ग गरिएको उनले समितिलाई जानकारी दिएका छन् । केही योजना जथाभावी राखिएको स्वीकार गर्दै मन्त्री घिसिङले त्यस्ता बजेट कटौती गर्न आफू सहमत रहेको बताएका छन्। उनले त्यस्ता बजेट कटौती गरी जुम्ला, हुम्लालगायत ठाउँमा अत्यावश्यक पुल तथा जीवनरक्षाका पूर्वाधारलाई फुकुवा गर्नुपर्ने बताएका छन् ।

“अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग यस विषयमा निरन्तर छलफल भइरहेको छ”, मन्त्री घिसिङले भने। उनले पुनर्निर्माणका संरचनाको डिजाइन तथा निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका छन् । ऊर्जा, सिँचाइ, सडक र सहरी विकासका दीर्घकालीन तथा केही अल्पकालीन परियोजना अब द्रुत गतिमा अघि बढ्ने उनको भनाइ थियो ।

मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्तिको सम्भावना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ । मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंगलबार रातिबाट अनिवार्य अवकाशमा जाने भएकाले आजको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्य सचिव नियुक्ति गर्ने सम्भावना रहेको स्रोतको भनाई छ । अर्याल २०८१ साल भदौ १३ गते मुख्य सचिवमा नियुक्त भएका थिए ।

अर्यालपश्चात गोकर्णमणी दुवाडीको रोलक्रम रहेपनि उनीपनि अवकाशमा जाँदैछन् । गृह सचिव रहेका दुवाडी नयाँ सरकार आएसँगै योजना आयोगमा सरुवा भएका थिए । उनी जेनजी आन्दोलनमा विवादितसमेत बनेका थिए । मुख्यसचिवको दौडमा सुमन अर्याल, मधुसूदन बुर्लाकोटी, डा. कृष्णहरि पुष्कर र प्रमिला देवी शाक्य बज्राचार्य रहेका छन् । गोकर्णमणी दुवाडीको स स्रोतका अनुसार अर्यालको सम्भावना बढी रहेको छ । अर्याल योजना आयोगबाट अहिले रक्षा सचिव बनेका छन् । बुर्लाकोटी राष्ट्रिय तथ्यांक कार्यालयमा रहेका छन् । पुष्कर अहिले श्रम सचिव छन् भने बज्राचार्य खानेपानी सचिव हुन् ।

बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित

रुपन्देही ।   दुई दशकदेखि नेपाल आयल निगमको ट्याङ्कर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्याङ्कर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ । डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ ।
सडकमा पार्किङ गर्दा दुर्घटना र ट्राफिक कारबाहीको डर तथा बस्ती नजिक स्थानीयले रोक्नसमेत नदिँदा खरेलजस्तै ३०० हाराहारी ट्याङ्कर चालकले हैरानी बेहोर्दै आएका छन् ।
“डिपोमा पार्किङ नहुँदा सडकमै ट्रक तथा ट्याङ्कर राख्नुपर्ने, ट्राफिक प्रहरीले जरिवाना तिराउने, बुटवल–भैरहवा सडकको सर्भिस लेनबाट निगमको डिपोभित्र प्रवेश गर्नुपर्दा अत्यधिक जामको समस्या आएको छ”, चालक खरेलले भने
पेट्रोलियम पदार्थ लिन निगमकै अन्य तथा इण्डियन आयल कर्पोरेशन ९आइओसी० का विभिन्न डिपो पुगेका उनीसँग डिपो सुरक्षाका लागि छुट्टै पार्किङको विशेष व्यवस्था भएको अनुभव छ । “सडकमा रोकी राख्दा कहिलेकाहीँ दुर्घटना हुनसक्छ, त्यसको जिम्मेवार को भन्दा ट्याङ्कर चालक नै हुने गरेका छन्”, ट्याङ्कर एकाइ कमिटी भलबारीका अध्यक्ष खरेलले भने, “निगमले पार्किङको ठाउँ छुट्टाइदिएको भए चालक र स्थानीयलाई पनि ढुक्क हुन्थ्यो ।”
पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी सङ्घका कोषाध्यक्ष धनेन्द्र पौडेल ठूल्ठूला ट्याङ्कर आवातजावत गरिरहँदा पार्किङको अभाव भएको बताँउछन् । इन्धन लोड गरेर ल्याएको ट्याङ्कर यत्रतत्र राख्नुपर्ने बाध्यता छ । “पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर घरमा  लगेर राख्ने होइन, अति प्रज्वलनशील पदार्थ सडकमा राख्न पनि मिलेन”, उनले भने, “पेट्रोलियम पदार्थको माग बढेका दिन लस्करै वल्लो चोकदेखि पल्लो चोकसम्म ट्याङ्कर राख्नुपर्ने बाध्यता छ, यसबाट सडक दुर्घटना मात्र नभई अन्य समस्या पनि बेहोर्नुपरेको छ ।”
रुपन्देहीकै रोहिणी क्षेत्रमा डिपो सार्ने खबरले ट्याङ्कर व्यवसायी र चालक उत्साहित छन् । “रोहिणी क्षेत्रमा डिपो स्थानान्तरण हुने जानकारी पाएका छौँ, नयाँ ठाउँमा पार्किङको उचित व्यवस्था हुन्छ भन्ने आशा छ”, उनले भने ।
ट्याङ्कर चालक मात्रै होइन वरपरका नागरिकलाई पनि डिपोले तनाव नै दिएको छ । विसं २०३६ मा डिपो स्थापना भएको हो ।  त्यति बेला भलबारी गाउँ नै थियो । अहिले सो क्षेत्र सहरमा परिणत भएको छ । बुटवल–भैरहवा ६ लेन सडक यही हुँदै गएको छ । चार बिघा १४ कट्ठामा फैलिएको सो डिपो अहिले घनाबस्तीको बीचमा छ ।
इन्धन बोकेका ट्रक तथा ट्याङ्कर घरै अगाडि सडकमा पार्किङ गरेर राख्दा जोखिम बढेको तिलोत्तमा–७ भलबारीस्थित मनकामना टोल विकास संस्थाका अध्यक्ष विसन शाही बताँउछन् । केही वर्षअघि भलबारी डिपोमा आगलागी हुँदा त्रास बढेको भन्दै स्थानीयले सङ्घर्ष समिति गठन गरी डिपो तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटक पटक ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा तत्काल डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउने, त्यसअघि ट्याङ्करको निश्चित स्थानमा पार्किङको व्यवस्था, बुटवल–भैरहवा सडकखण्डको ‘सर्भिस लेन’मा ट्रक ट्याङ्कर पार्किङ गर्ने अवस्था तत्काल हटाउनेलगायत विषय उल्लेख गरिएको सङ्घर्ष समितिका संयोजक गङ्गा शाहीको भनाइ छ ।
निगमको लुम्बिनी प्रादेशिक डिपो प्रमुख शैलेन्द्र भुसाल भलबारी डिपोमा जग्गा अभावका कारण तत्काल भण्डारण क्षमता र पार्किङ क्षेत्र विस्तार गर्नसक्ने अवस्था नरहेको बताए । “भण्डारण क्षमता अभिवृद्धि गर्नका लागि जग्गा छैन, थप पूर्वाधार निर्माण गर्ने अवस्था छैन”, उनले भने, “डिपोमा पार्किङ क्षेत्र नै छैन, ट्रक तथा ट्याङ्कर सडकमै राख्नुपर्ने बाध्यात्मक अवस्था छ, यिनै कारणले तत्काल डिपो सार्नुपर्नेछ ।”
रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र रुकुम पूर्वसहित बागलुङका केही पम्पमा इन्धन आपूर्ति गर्दै आइरहेको छ । सो डिपोअन्तर्गत २०० भन्दा बढी डिलर सञ्चालित छन् । डिपोमा इन्धन ल्याउने र डिलरमा पु¥याउन करिब ३०० ट्रक ट्याङ्कर छन् । भलबारी डिपोमा अमलेखगञ्जबाट डिजेल तथा पेट्रोल भारतको बेतालपुर डिपोबाट आयात हुँदै आएको छ । भलबारी डिपोमा हाल पेट्रोलको ५१९ किलोलिटर, डिजेल तीन हजार ५० किलोलिटर र मट्टितेलको भण्डारण क्षमता १४० किलोलिटर रहेको छ ।
दैनिक ३०० किलोलिटर पेट्रोल, सात सय किलोलिटर डिजेल र १२ किलोलिटर मट्टितेल बिक्री हुँदै आएको छ । सरकारले हरेक प्रदेशमा तीन महिनासम्म पुग्ने भण्डारण क्षमता वृद्धि गर्ने भने पनि बिक्री अवस्थाका आधारमा सो डिपोको मौज्दात न्यून छ । भलबारी डिपोको हालको मौज्दातले पेट्रोल दुई दिन, डिजेल करिब चार दिनको माग धान्ने प्रमुख भुसालले जानकारी दिएका छन्।
सडक अवरुद्ध भए चार दिनमै डिपो ‘रित्तिने’ डर
भण्डारण क्षमता न्यून भएपछि सडक अवरुद्ध हुँदा वा इन्धन लोड हुन नसक्दा डिपो ‘रित्तिने’ अवस्था देखिएको प्रमुख भुसालको भनाइ छ । केही कारणले एक÷दुई दिन इन्धन लोड हुन नसकेमा डिपो खाली हुने र बिक्री वितरणमा समस्या पर्न सक्ने अवस्था रहेको उनले बताए । “हामीसँग पर्याप्त मौज्दात गर्ने टयाङ्क छैन”, उनले भने, “कहिलेकाहीँ बाटो बिग्रन सक्छ, समयमै ‘लोड’ नहुन सक्छ, यहाँको अवस्था दयनीय छ ।”
केही महिनाअघि वर्षाका कारण बुटबल–नारायणगढ सडक अवरुद्ध हुँदा अमलेखगन्जबाट इन्धन ल्याउन नसकिएपछि डिपोले पोखराबाट इन्धन आपूर्ति गरेको थियो । भलबारी डिपो स्थानान्तरण गर्न रुपन्देहीकै रोहिणी खोला किनारमा जग्गा व्यवस्थापन गरिएको छ । निगमले बस्तीभन्दा टाढा र पर्याप्त जग्गा रहेका कारण सो क्षेत्रमा आधुनिक सुविधा सम्पन्न डिपो निर्माण गर्ने घोषणा गरे पनि अझै प्रक्रिया अघि बढ्न सकेको छैन ।

मन्त्री घिसिङको दावी : भारतसँग महँगोमा विद्युत नकिनेको भए तीन अर्ब घाटा हुन्थ्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर सरकारले एक अर्ब २० करोड बराबर मुनाफा गरेको दाबी गरेका छन् । आज (सोमवार) संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री घिसिङले सो विद्युत खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढंगले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जिकिर समेत गरे ।

पिइसीको ८ रुपैयाँ १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेटले करिव १ अर्व २० करोड मुनाफा दिएको उल्लेख गर्दै उनले त्यसलाई क्षतिको रुपमा लिन नसकिने समेत बताए । सरकारले तत्काल सो सम्झौता गरेर विद्युत खरिद नगरेको भए मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने मन्त्री घिसिङको भनाई थियो । मन्त्री घिसिङले सरकारले आवश्यकअनुसार भारतसँग डे टु डे पनि विद्युत खरिद सम्झौता गर्ने गरेको बताए । तत्कालको आवश्यकता पूर्ति गर्न सरकारले सो नीति लिने गरेको उनले स्पष्ट पारे । मन्त्री घिसिङले प्रतियुनिट भारतीय २१ पैसा महँगोमा पीटीसी इण्डियासँग विद्युत् किनेर उल्टै ३ अर्ब फाइदा गरेको दाबी गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले पीटीसी इन्डियाले मागेभन्दा पनि महँगो दरमा बिजुली किन्दा तथा तिर्नै नपर्ने बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज तथा चुहावट समेत नघटाएर करिब ४३ करोड रुपैयाँ गडबडी गरेको विषयमा समाचार प्रकाशित भएका छन् । सोही विषयमा राष्ट्रिय सभाका सांसद्हरूले प्रश्न उठाएपछि त्यसको जवाफ दिने क्रममा मन्त्री घिसिङले महँगोमा बिजुली किनेर घाटा होइन, नाफा गराएको तर्क गरेका हुन् । तर, प्रतियुनिट २१ भारतीय पैसा महँगोमा बिजुली किन्दा के आधारमा ३ अर्ब नाफा गराएको हो भन्ने विषयमा भने उनले बताएनन् ।

‘प्रतियुनिट ६.९५ भारुमा बिजुली किन्ने सम्झौता गरेर हामीले ड्राइ सिजनमा बिजुली सुरक्षित गरेका छौं,’ उनले भने । दोस्रो, भोलिका दिनमा बिजुली अझै महँगो पर्ने सम्भावना भएकोमा अहिले नै महँगोमा सम्झौता गरिदिएर प्राधिकरणको पैसा जोगाइ दिएको तर्क उनले गरे । ‘६.७४ भारु प्रतियुनिटमा सम्झौता नगर्ने तत्कालीन एमडी र बोर्डलाई कारबाही गर्नुपथ्र्यो,’ ऊर्जामन्त्री घिसिङले दाबी गरे, ‘त्यसबेला निर्णय नगर्ने, अझै उल्टो प्रचार गर्ने ?’

रहेनन् बलिउड अभिनेता धर्मेन्द्र

काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।

उनले लेखेका छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ । एउटा विशाल मेगास्टार, मुख्य धारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनु हुनेछ ।’ यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायतका आर्यघाट पुगेका छन् । यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो । यसअघि नै धमेन्द्रको निधनको झुठो खबर फैलिएको थियो । जसप्रति परिवारजनले आपत्ति जनाएका थिए ।

फागुन २१ को चुनाव सर्न सक्ने भन्दै विश्वप्रकाशले दिए यस्ता कारण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन तोकिएको समयमा नै सम्पन्न नहुन सक्ने संकेत दिएका छन् । इलाममा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कांग्रेस पार्टी कार्यालय निरीक्षणपछि पार्टीका नेता–कार्यकर्तासँग कुरा गर्दै उनले दुई प्रमुख कारणले चुनाव केही पछाडि सारिने सम्भावना बढेको बताए ।

शर्माका अनुसार निर्वाचनका लागि आवश्यक शान्तिपूर्ण वातावरण निर्माण हुन बाँकी छ । हाल देखिएको अस्थिरता र संवेदनशील सुरक्षा अवस्थाले निर्धारित मितिमा सहज मतदान गराउन सकिने अवस्था उनी देख्दैनन् । दोस्रो कारण हिमाली क्षेत्रमा फागुन महिनामा विद्यमान प्रतिकूल मौसमी स्थिति हो । उनले उच्च भूभागमा पर्ने कठोर मौसमले मतदाता तथा सुरक्षाकर्मी दुवैको आवागमन चुनौतीपूर्ण बन्न सक्ने बताए । उनले भने, ‘समानुपातिक सूची बुझाउने मिति वा फागुन २१ को निर्वाचन कुनै–कुनै कारणले केही दिन पछाडि सारिन सक्छ । शान्तिपूर्ण माहोल निर्माण र हिमाली जिल्लाको मौसमी जटिलता हेर्दा राजनीतिक सहमतिमार्फत उपयुक्त मिति तय गर्नु उत्तम हुनेछ ।’

त्यस्तै शर्माले पार्टीभित्र चलिरहेको महाधिवेशनसम्बन्धी बहसमा पनि आफ्नो धारणा सार्वजनिक गरे । उनका अनुसार कांग्रेसले आगामी महाधिवेशनका लागि दुई विकल्पमा निर्णय लिनुपर्ने आवश्यकता छ । पहिलो विकल्प नियमित महाधिवेशनलाई पुसको अन्तिम सातातिर गर्ने गरी तत्कालै विस्तृत कार्यतालिका बनाउने हो । उनले तयारीका क्रममा दिन कम पर्न सके थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्न सकिने बताए । दोस्रो विकल्पका रूपमा उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले माग गरेको विशेष महाधिवेशनलाई सम्बोधन गर्नुपर्ने आवश्यकता दोहोर्‍याए ।

उनका अनुसार सभापतिले पार्टीको वर्तमान अवस्था, राष्ट्रिय राजनीतिक परिस्थिति र समयको चापलाई मनन गरेर ०१४ सालमा जस्तै मार्ग प्रशस्त गर्ने निर्णय गर्न सक्ने छन् । शर्माले भने, ‘५४ प्रतिशत प्रतिनिधिको स्पष्ट मागलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन । सभापति ज्यूले सुवर्ण शमशेरले जस्तै नेतृत्वको बाटो खुलाइ दिनुभयो भने त्यसले सभापति ज्यूको सम्मान बढ्ने मात्र होइन, पार्टीले पनि निकास पाउनेछ । त्यसपछि ०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन र ०८३ मंसिरमा नियमित महाधिवेशन सम्भव हुनेछ ।’ उनका अभिव्यक्तिहरूले कांग्रेसभित्र संगठनात्मक दिशा–निर्देशन र आसन्न निर्वाचन दुवै विषयमा निकट भविष्यमै महत्वपूर्ण राजनीतिक सहमति बन्नसक्ने संकेत दिएका छन् ।

 

 

साम्प्रदायिक विभाजनबाट देश बचाउन पार्टी खोल्यौं : खगेन्द्र सुनार

काठमाडौं । ‘हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले देशमा बढ्दो साम्प्रदायिक विभाजन रोक्न आफ्नो पार्टी वैकल्पिक शक्ति रूपमा सिर्जना गरिएको बताएका छन् । उनले सोमबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुरा गर्दै स्थापित दलहरू व्यक्ति–केन्द्रित बन्दै गएको आरोप लगाउँदै नयाँ पार्टी सबैका लागि ‘साझा राजनीतिक घर’ बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सुनारका अनुसार परम्परागत ठूला दलहरू व्यक्तिको नामसँग जोडिँदै गएपछि सर्वसाधारणले अपनत्व महसुस गर्न नसकेको परिस्थिति बनेको छ । उनले भने, ‘एमाले केपी ओलीको पार्टी जस्तो भयो, कांग्रेस देउवाकै पार्टी जस्तो भयो, अरु दलहरू पनि नेता नै–केन्द्रितझैं देखिन्छन् । तर ‘हाम्रो पार्टी’ को विशेषता यही हो—यो पार्टी सबैले ‘हाम्रो’ भनेर भन्न सकून् भन्ने उद्देश्यले जन्मिएको हो ।’ उनले देशमा पछिल्ला वर्षहरूमा पहिचान, क्षेत्र, समुदाय र जातीयताका आधारमा राजनीति बढ्दै गएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले राष्ट्रिय एकता कमजोर बनाएको बताए ।

‘कसैले मधेश मात्रै भन्छन्, कसैले हिमाल मात्र भन्छन्, कोही दलित, कोही जनजाति भन्ने छुट्टाछुट्टै आवाज आउँछन् । साम्प्रदायिकता फैलिँदै जाँदा राष्ट्र कमजोर हुन्छ । त्यसैले साझा राष्ट्रिय पहिचान बनाउने अभ्यास हाम्रो पार्टीले गर्न चाहेको हो’, सुनारले भने । उनका अनुसार ‘हाम्रो पार्टी नेपाल’ लाई आधुनिक डेमोक्रेटिक पार्टीका रूपमा विकास गर्ने, समुदायबीच सहअस्तित्व र समानता प्रवर्द्धन गर्ने तथा विभाजनकारी राजनीतिको विकल्प प्रस्तुत गर्ने लक्ष्य रहेको छ । आगामी फागुन २१ मा हुने भनिएको निर्वाचनबारे पनि उनले आत्मविश्वास व्यक्त गर्दै पार्टी निर्वाचन प्रक्रियामा सक्रिय रूपमा जाने तयारीमा रहेको जानकारी दिए । सुनारले नयाँ राजनीतिक अभ्यासले देशमा सहिष्णुता, एकता र साझा राष्ट्रिय सोच मजबुत बनाउने दाबी पनि गरे ।

चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै

बरहथवा (सर्लाही) । छब्बिस वर्षीया पार्वती सुवेदीको अझै मन सम्हालिएको छैन् । उनलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै बस्न दिँदैन । त्यो दिन सम्झँदा अहिले पनि उनीभक्कानिन पुग्छिन् । सत्ताइस वर्षका श्रीमान् देवकुमार सुवेदीको जेन्जी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएपछि उनका हरेक दिनहरू पीडामा बितेका छन् ।

आफूनो जीवनको खुसी खोसिएको भदौ २४ गतेले आफूलाई बेलाबेलामा झस्काउने गरेको उनी सुनाँउछिन्। “दिनभरि यताउता गरेर बित्छ, जब साँझ पर्छ, श्रीमान् आउनु हुन्न भन्ने मनमा पर्दा मन भक्कानिएर आउँछ” आफु र श्रीमान् ले भएको ऋणधन तिरेर छोरीको भविष्य बनाउन देखेको सपनाले सताइरहेको उनले बताईन् ।

भदौको तेस्रो हप्ता जेन्जी आन्दोलन हुने हल्ला सुरु भयो । आन्दोलन कस्तो होला रु अन्योल थियो । देवकुमार पनि श्रीमती र छोरीसहित ललितपुरको सानेपामा रहेको सडक डिभिजन कार्यालयमा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत रहेका थिए । कार्यालय सहयोगी, चालकदेखि सुरक्षा गार्डसम्मको काम गर्ने भएकाले उनी कार्यालय परिसरमै रहेको क्वाटरमा बस्ने गरेका थिए।

पहिलो दिनको आन्दोलनमा केही विद्यार्थीको गोली लागेर ज्यान गएपछि भोलिपल्टको अवस्था थप जटिल बन्यो । भदौ २३ गते आन्दोलन हुँदासम्म काठमाडौँका अधिकांश कार्यालय सञ्चालनमै थिए । त्यसकारण देवकुमार पनि कार्यालयमै व्यस्त थिए । तर, दिउँसो भएको आन्दोलन अनियन्त्रित भएपछि काठमाडौँमा कफ्र्यू आदेश जारी भयो ।

अधिकांश मानिस अघिल्लो दिनको बर्बरतापूर्ण दमनको प्रतिकारमा उत्रन आतुर देखिएका थिए । सोही हुटहुटीले देवकुमारलाई पनि सडकसम्म ल्यायो । “बिहानै अफिसको मोटामोटी काम सकेर उहाँनी कोठामा आए,” पार्वतीले भनिन्, “मैले आज अफिस खुल्छ त रु भनेर सोधँे । उहाँले खै भन्ने जवाफ दिनुभयो ।”

हामी कोठामा नियमित काममा लाग्यौँ । हाम्रो नौ वर्षकी छोरी छिन् । उनी मसँगै थिइन् । उनको कामबाट आएको तलबले मात्र हामीलाई खर्च कम हुन्थ्यो । थोरै भए पनि सहयोग हुन्छ, भनेर मैले पनि बिहानको समयमा काम गर्ने गरेको थिएँ । यसरी पनि नहुने भयो भनेपछि उहाँले एकजना दाजुसँग मिलेर बिहान–बेलुका कालीमाटीमा तरकारी व्यापार गर्ने योजना बनाउनुभयो ।

घटनाको दिन स्मरण गर्दै पार्वती भन्छिन्, “त्यो दिन सडक विभागको कार्यालय बन्द हुने भएपछि तरकारी व्यापार साझेदारसँग भेटेर फर्पिङमा लप्सीका लागि अपुग पैसा पु¥याउन जाने भनेर ३५ हजार रुपैयाँ बोकेर निस्कनुभयो । उहाँले जाने बेलामा साझेदार दाजुकोमा खाना खाने योजना छ भनेर सुनाउनु पनि भयो । त्यसपछि हामी आमाछोरी खाना खान बस्यौँ । तर, उहाँले गाडी नपाएपछि घर फर्कनु भएछ । पैसा पठाई दिएँ तर जान मिलेन भनेर घर आउनु भएपछि मैले खान खानु न त भनेँ, उहाँले मान्नु भएन । आन्दोलन हेरेर आउँछु भनेर निस्कनुभयो । आन्दोलनमा होमिएकाहरुलाई उहाँले खाना फलफूल बाँडेर आउनुभएको रहेछ । मैले पनि त्यही खाएँ भनेर, खान खान मान्नु भएन । ब्याग र नयाँ जुत्ता कोठामै राखेर पुरानो जुत्ता लगाएर फेरि जान्छु भनेर हिँड्नुभयो ।

पार्वती भन्छिन्, “मैले नजानुस् हिजो त्यस्तो घटना भएको छ । भनेर सम्झाउन खोजेँ तर उहाँले बाहिर देश परिवर्तनको आँधीबेहरी चलेको छ । हामी जस्तो युवा घरमा लुकेर बसेर हुन्छ रु देश लुटेराहरुले भ्रष्टाचार गरेर आफू मात्र बने, देश खोक्रो पारे । म कालीमाटीसम्म पुगेर हेरेर आउँछु, भन्दै उहाँ हिँड्नुभयो । म र छोरी खाना खाएर बसेका थियौँ । एकैछिनमा बल्खु तर्फबाट ठूलो सङ्ख्यामा आन्दोलनकारीहरु आए । त्यो देखेपछि मेरो मनमा पनि चिसो पस्यो । त्यतिबेलासम्म मेरो दिदी पनिसँगै हुनुहुन्थ्यो । दिदीलाई अनुरोध गरेर श्रीमान् खोज्न हिँडेका हामी आन्दोलनकारीको भीडमा हराएपछि दिदीले सानो नानी बोकेर यस्तो भीडमा हिँड्नु हुन्न, उहाँ आउनुहुन्छ भनेपछि हामी कोठामा फर्कियौँ ।

कोठामा फर्किएको केही बेरमै कोठा नजिकै होटल चलाउने दाजुले आएर बहिनी अस्पताल जानुप¥यो भन्नुहुँदा मेरो मनमा चिसो पस्यो । उनी सम्झन्छिन्, “म त्यसबेला नै बेहोस हुन्छु कि जस्तो भइसकेको थिएँ । मैले के भयो दाजु रु भनेर सोधेँ, उहाँले भाइलाई खुट्टामा गोली लागेको छ, जानुप¥यो भन्नुभयो । उहाँले म सम्हालिन्न भनेर झुटो बोल्नुभएको रहेछ । यतिकैमा दिउँसोको ३ बजिसकेको थियो होला । हामी हस्याङफस्याङ गर्दै अस्पताल पुग्दा उहाँलाई शल्यक्रियाको लागि लैजाँदै रहेछन् । उहाँले हातको इसाराले मलाई केही हुन्न मलाई ठीक छ, तिमी जाउ भन्नुभयो ।”

श्रीमान् को दायाँ कोखाबाट लागेको गोली बायाँ कोखाबाट निस्किएको थियो भन्ने सुने पछि के भयो, केही थाहा छैन् । भोलिपल्ट बिहान ९ बजेतिर उहाँको मृत्यु भयो भनेर डाक्टरहरुले भने त्यसपछि मुर्छित भए। पछि जेठाजुहरु आएर अस्पतालबाट शव निकालेर पशुपतिमा अन्त्येष्टि गरी सर्लाहीको घरमा काजक्रिया गरेको उनी बताँउछिन् । यस घटनापछि टुटेको मन छोरीलाई हेरेर सम्हाल्ने गरेको पार्वतीको भनाइ छ । श्रीमान् ले आफूसँग कठोर दुःख गरेर भए पनि छोरीको भविष्य राम्रो बनाउने सपना देखेको सुनाउने गरेको उनले बताईन् ।

आफूले श्रीमान् गुमाए पनि उहाँको बलिदानी खेर जानु नहुने उहाँको माग छ । “उहाँ जस्ता धेरैको ज्यान गयो,” पार्वतीले भनिन्, “उहाँहरुले देशको भ्रष्टाचार र बेथितीविरुद्ध आफ्नो ज्यान दिनुभएको हो । त्यो अन्त्य भए मात्र उहाँहरुको बलिदानीले सार्थकता पाउँछ ।” अब बन्ने सरकारले जेनजीको एजेन्डाअनुसार नै काम गर्नुपर्ने उनले मागसमेत राखेकी छिन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुसँगै पीडित बनेका परिवारको अवस्था बुझेर व्यवस्थापन गर्न राज्यसँग उनको अनुरोध छ । “यहाँ एक व्यक्ति मरेको मात्र छैन्,” उनले भनीन्, “बाआमाको सन्तान खोसिएको छ । श्रीमतीको सिउँदो पुछिएको छ । सन्तान टुहुरा बनेका छन् । राज्यले यति ठूलो क्षतिको नजर अन्दाज गर्न मिल्दैन । यो कसैलाई पद र प्रतिष्ठा प्राप्त गर्न बगेको रगत हैन ।”

श्रीमतीसँगै कलकलाउँदो उमेरको सन्तान वियोगको वेदनाले देवकुमारका ८५ वर्ष उमेर पुगेका बुबा उजिरबहादुर र ६७ वर्षकी आमा यशोदाकुमारी पनि विक्षिप्त छिन् । पाँच छोरा र दुई छोरीका मातापिता उजिरबहादुर र यशोदाको यो दोस्रो सन्तान वियोगको पीडा हो । २०७० सालतिर बिच्छीले टोकाइबाट काइलो छोरा बितेको पीडा ताजै छ ।

सानैदेखि अति मिलनसार स्वभावका देवकुमारले कक्षा २ सम्मको पढाइ कटारी र एसएलसीसम्मको अध्ययन सिन्धुलीको दुधौलीमा पूरा गरेका हुन् । हक्की स्वभावका उनी छिट्टै भावनात्मक र आक्रामक हुने गरेका साइला दाजु भानुभक्तले सुनाउँछन् । जो कोहीसँग पनि छिट्टै घुलमिल हुनसक्ने स्वभावका देवकुमारलाई कार्यालयमा समेत सबैले रुचाउने गरेका उनको भनाइ छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–११, हर्देनी पुर्खौली थातथलो रहेको सुवेदी परिवार आठ वर्षअघि मात्र सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित शान्तिटोलमा बसाइँ सरेर आएको हो ।

गत साउनमा कार्यालयको कामले देवकुमार घर आएका थिए । त्यसबेला भएको भेट नै उनका बुबा र आमासँगको अन्तिम भेट भयो । साउन अन्तिममा घर आइपुगेका देवकुमारले छानो चुहिएको देखे । झ्यालमा पल्ला नहुँदा हिउँद् वर्षामा बस्न निकै समस्या भएकाले माघमा आएपछि छानो छाउने र झ्यालमा पल्ला लाउने भनेर गएको बुबा उजिरबहादुर सम्झन्छन् ।

हरेक पटक चुहिने छानो र झ्यालको पल्ला देख्दा छोरोको झझल्को आउने गरेको गहभरि आँसु पार्दै उजिरबहादुरले सुनाए। उजिरबहादुर कान सुन्दैनन् भने आमा यशोदाको फोक्सोमा समस्या छ । अहिले पनि नियमितजसो उपचारको लागि काठमाडौँ जाने गरेको उनले सुनाईन् । कान्छो छोरा बितेपछि पनि उनी काठमाडौँ पुगेको रहेछ तर छोराको सम्झनाले पुरानो ठाउँ र अस्पताल जान सकेनिन् ।

“यसपटक साइलो छोराले अर्कै अस्पताल खोजेर उपचार गराएर पठायो । यताको सबै कुरा छोराहरुले हेरिरहेका छन् । महिनाको छ÷सात हजार रुपैयाँसम्मको औषधि खानुपर्छ,” उनले भनिन्, “यो उमेरमा कलिला छोरा अघि लाएर बाँच्नु नै हाम्रो लागि ठूलो रोग भयो ।” कान्छो छोराले देशका लागि ज्यान बलिदानी दियो भनेर छिमेकीले सुनाउँदा आफूलाई कोख खाली हुँदै गयो भन्ने चिन्ता लागिरहेको उनको दुःखेसो थियो ।

राष्ट्रका लागि ज्यान दिने श्रीमान् को कृति रहनेगरी राज्यले सम्मान गरिदिनुपर्ने पार्वतीकोे माग रहेको छ । सङ्घ सरकारले सहिद घोषणा गरेको भन्दै स्थानीय सरकारले समेत उनको योगदानको कदर गर्दै सालिक निर्माण गरिदिन उनको आग्रह छ । राज्यले दिने राहतभन्दा पनि आफूहरुका लागि भाइले दिएको बलिदानीको उचित कदर सम्मान नै पीडित परिवारको मल्हमपट्टी हुने साइला दाजु भानुभक्त बताउश। घटनापछि सरकारले गरेको घोषणअनुसार १५ लाख आर्थिक सहायता दिने निर्णयबमोजिम पीडित परिवारलाई उक्त रकम हस्तान्तरण भइसकेको छ ।

कांग्रेस अब देउवाको टिकट हस्ताक्षरमा चुनावमा जाँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गनगकुमार थापाले आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा टिकट वितरण नहुने दावी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले पार्टीका नेताहरूले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने हो ? भनेर सोधिरहेको भन्दै उनले यो नहुने बताएका हुन् ।

थापाले विधान बमोजिम विशेष महाधिवेशन हुने र उक्त महाधिवेशनबाट नयाँ सभापति निर्वाचित हुने बताए । टिकटमा तीनै नयाँ सभापतिको हस्ताक्षर हुने पनि थापाको भनाइ छ । ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनु भएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने, ‘होइन,’ उनले भने, ‘साथीहरूले फेरि सोध्नुभयो कसरी ? मैले भनेँ, प्रष्ट छ– अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । उनले यसै कारणका लागि आफूले निर्वाचनअघि महाधिवेशन हुनुपर्छ भन्दै आएको पनि स्पष्ट पारे । थापाले विशेष महाधिवेशनको विकल्प नभएको भन्दै अलमलमा नपर्न पनि आग्रह गरे । ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं’ उनले भनेका छन् । कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

काँक्रेविहारमा मृत भेटिएका युवा–युवतीको पहिचान

सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा मृत फेला परेका युवा–युवतीको पहिचान खुलेको छ । मृतक युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११ः ३० बजे मृत अवस्थामा भेटिएका हुन् । जंगलमा घाँस काट्न गएका स्थानीयले उनीहरूलाई झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल खटाइएको डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै गएर सनाखत गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

मिरज ढुंगाना समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाने भएको छ । पछिल्लो समय सरकारमै रहेकाहरुले आन्दोलनको मर्मविपरीत कार्य गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले बताएका छन् ।

‘हामी ३ बजे जाँदैछौँ । सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि हुन थाले,’ ढुंगानाले भने, ‘यो आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका हौं ।’ प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विषय बाहिरिएपछि जेनजी अगुवाहरूले ध्यानाकर्षण गराउन थालेका छन् ।

काँक्रेविहार जंगलमा युवा–युवती मृत भेटिए

सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा युवा–युवती मृत भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११ः ३० बजे ती युवायुवती मृत अवस्थामा भेटिएका हुन् । जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार उनीहरू जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतकहरूको नाम, थर र ठेगाना सहितको पहिचान भने हालसम्म खुल्न सकेको छैन । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । पछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा खटाइएको डीएसपी बुढथापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

दृष्टिहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टोली स्वदेश फिर्ता (तस्वीरहरु)

काठमाडौं । श्रीलंका र भारतको संयुक्त आयोजनामा सम्पन्न पहिलो दृष्टिहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले टोलीलाई औपचारिक स्वागत गरेका हुन् । आइतबार कोलम्बोस्थित पी सारा ओभलमा भएको रोमाञ्चक फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। नेपालले दिएको ११५ रनको लक्ष्य भारतले तीन विकेटको क्षतिमा १२औँ ओभरमै पूरा गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो ।
उपविजेता बनेको नेपालले ९ लाख श्रीलंकाली रुपैयाँ पुरस्कार पायो भने विजेता भारतले १५ लाख रुपैयाँ प्राप्त ग¥यो । पुरस्कार वितरण श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले गरेका थिए ।

यस विश्वकपमा नेपालका २ खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै फरक–फरक क्याटगोरीमा ‘प्लेअर अफ द सिरिज’ बने । ‘बी–वान’ क्याटगोरीमा सुष्मा तामाङ र ‘बी–टु’ मा मनकेशरी चौधरी उत्कृष्ट घोषित भए । दुवैले ३७ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे । नेपाली टोलीको पहिलो उपाधि जित्ने लक्ष्य अपूर्ण रहे पनि खेलाडीहरूको प्रदर्शनले भविष्यमा थप सम्भावना देखाएको क्यानका पदाधिकारीहरूले बताएका छन् ।

‘गोबर ग्यास’ कार्यक्रम प्रभावकारी बन्दै

भोजपुर । पौवादुङमा गाउँपालिकाले खाना पकाउने इन्धनका रूपमा गोबर ग्यासको कार्यक्रम सञ्चालन गरेपछि स्थानीय महिलालाई सहज भएको छ । गाउँपालिकाले पशुपालनसँगै गोबर ग्यास उत्पादनलाई जोड दिँदै स्वदेशमै उपलब्ध स्रोत प्रयोग गर्ने लक्ष्यसहित कार्यक्रम विस्तार गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार गत वर्षदेखि नमूनाका रूपमा पशुपालनमा आबद्ध किसानलाई लक्षित गर्दै गोबर ग्यास जडान प्रक्रिया अघि बढाइएको हो । महिला विकास बोर्डमार्फत आत्मनिर्भर कार्यक्रमअन्तर्गत गाई वितरणसँगै गृहिणी महिलालाई लक्षित गरी गोबर ग्यास स्थापना गरिएको उनले बताएकी छिन् ।

“हामीले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उपाध्यक्ष राई भन्छिन्, “विशेष गरी पशुपालनमा आबद्ध किसानलाई गोबर ग्यास प्रवद्र्धन गरेर आयातित ग्यासमाथिको निर्भरता घटाउने र भान्सामा थप सहजता ल्याउने उद्देश्य राखेका छौँ ।”

गाउँपालिकामा महिला विकास बोर्डअन्तर्गत गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, तरकारी तथा फलफूलखेती, गड्यौला मल उत्पादनजस्ता कार्यक्रम सबै वडामा सञ्चालन भइरहेका छन् । महिला उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको उपाध्यक्ष राईले बताँउछिन् ।

पौवादुङमा–१ श्यामशिलामा गोबर ग्यास जडानका लागि एक परिवार बराबर गाउँपालिकाबाट रु १५ हजार, सङ्घीय सरकारबाट रु २५ हजार र किसानको रु ५० हजार खर्च भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा श्यामशिलाका दुई परिवारले नमूनाका रूपमा गोबर ग्यास प्रयोग गर्न थालेका छन् ।

गोबर ग्यास जडानपछि खाना पकाउने, पानी तताउनेदेखि घरायसी काम सहज भएको स्थानीय तारा तामाङ बताँउछिन् । “गोबर ग्यासको कार्यक्रमले हामीलाई सहज भएको छ”, उनी भन्छिन्, “महिला लक्षित कार्यक्रमले उद्यममा जोडिन सजिलो भएको छ । पशुपालन, तरकारीखेतीजस्ता कार्यक्रमले हामीलाई आत्मनिर्भर बन्न प्रोत्साहन दिएको छ ।”

यस्तै, गोबर ग्यास प्रयोगसँगै बाहिरबाट ग्यास किन्नुपर्ने बाध्यता हटेको श्यामशिलाका भरतबहादुर कार्कीले बताएका छन् । “अब दाउराको प्रयोग पनि निकै घटेको छ”, उनले भने, “यसले समय, श्रम र खर्च सबै घटाएको छ ।”

वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व सङ्कलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व सङ्कलन उत्साहजनक देखिएको छैन ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताएका छन् ।

“चालु आवको तीन महिनामा राजस्व सङ्कलन लक्ष्य उन्मुख भइरहेको थियो”, उनले भने, “कात्तिक महिनामा रु २३ अर्ब ६३ करोड लक्ष्य राखिएकामा सो अवधिमा रु १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको छ ।”

वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा रु १८ अर्ब ४४ करोड, भदौ महिनामा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड र कात्तिक महिनामा भने रु १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको छ ।

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए ।बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए । बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २–२ र आदित्य मेहताले एक विकेट लिए ।

कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन

विराटनगर । कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरिएको थियो । मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको हो ।

निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९२५ जनाले तथा अनलाइनमार्फत ९८ हजार ६८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका छन् । मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन हजार, पाँचथरबाट चार हजार ३८९, इलामबाट ६ हजार ६४, सङ्खुवासभाबाट दुई हजार ८०८, तेह्रथुमबाट तीन हजार ६७७, धनकुटाबाट तीन हजार २७२, भोजपुरबाट दुई हजार ९०९, खोटाङबाट चार हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट पाँच हजार ९३२, उदयपुरबाट आठ हजार ७१७, झापाबाट ३५ हजार ३१९, सुनसरीबाट ३२ हजार ३८२ र प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट ४४ हजार ४०२ जनाले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले आफू बसेको स्थानको निर्वाचन कार्यालयबाट वा कुनै आफ्नो अनुकूल पर्ने निर्वाचन कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार सोह्र वर्ष पूरा भई नागरिकता प्राप्त गरेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरे पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा भएकाहरु मात्रै फागुन २१ गतेको निर्वाचनको मतदाता हुन पाउने छन् । अहिले मतदाताको नामावली अद्यावधिक गर्ने काम भइरहेको उनले जानकारी दिएका छन् ।

सूचना अधिकारी अधिकारीका अनुसार निवेदन दिनेहरु दोहोरिएको हुनसक्ने, पायक पर्ने स्थानबाट नामावली दर्ताका लागि निवेदन दिए पनि अन्यत्र जिल्लाको पनि मतदाता हुने, त्रुटि भएकाको सच्याइने र ठाउँ सारी भएका सबैको अद्यावधिक गरी यही मङ्सिर २० गते निर्वाचन आयोगमा अन्तिम नामावली पठाइने छ । गत असोज १० गतेअघिसम्म कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९०० मतदाता थिए ।

मन्त्री बन्न नपाएका खगेन्द्र पार्टी सभापति, पाए दल दर्ताको प्रमाणपत्र {तस्वीरहरु}

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ता पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन् । कात्तिक १८ गते आयोगमा निवेदन दिएको उक्त पार्टीको दर्ता नम्बर २१६ रहेको छ ।

पार्टीको सभापतिमा सुनार आफै कायम भएका छन्, भने अन्य २० जनालाई केन्द्रीय सदस्य तोकिएको छ । स्मरण रहोस्, एक महिनाअघि सुनार मन्त्रीको लागि सिफारिसमा परेका थिए । तर, विभिन्न जिल्लामा उनीविरुद्धको उजुरी तथा मुद्धा विचाराधीन अवस्थामा रहेको विषय सार्वजनिक भएपछि सुनारको नाम हटाइएको थियो ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

पछिल्लो समय जेनजीका नाममा अस्थिरता र अराजकता बढ्दै गएको छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको दाबी गरेका छन् । आज बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय जेनजीका नाममा राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको बताएका छन् ।

मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको उनले टिप्पणी गरे । ज्ञवालीले भने, ‘एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ । एमालेलाई जस दिनु र नदिनु फरक कुरा हो । जति राजनीतिक गतिविधि बढ्छन, त्यति देशमा अराजकता घट्छ । एमाले फेरि लयमा फर्किएको छ ।’

बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए । उनले बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्ययोजना पारित गरेको जानकारी दिए । एमालेले महाधिवेशनको उद्घाटन सत्रलाई सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ ।

नेपालको १४४ मुलुकसँग व्यापार, ११४ सँग घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालले विश्वका १४४ वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यी १४४ मुलुकमध्ये ३० वटा देशसँगको व्यापार मात्र नाफामा छ भने बाँकी ११४ मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ । यसमध्ये सबैभन्दा धेरै भारत, चीन, अर्जेन्टिना यूएई र इन्डोनेसियासँग क्रमशः व्यापार घाटा छ ।

भारतबाट ३ खर्ब ३७ अर्ब ९२ करोड ४६ लाख रुपैयाँको आयात हुँदा ७६ अर्ब ५० करोड ५५ लाख रुपैयाँको निर्यात भएको छ । यसर्थ भारतसँग २ खर्ब ६१ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको व्यापार घाटा रहेको छ । यसैगरी १ खर्ब ३२ अर्ब ५६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु चीनबाट आयात भएको छभने २९ करोड ८८ लाख रुपैयाँको वस्तु चीनतर्फ निर्यात भएको छ । यसकारण चीनसँग १ खर्ब ३२ अर्ब २७ करोड १० लाख रुपैयाँले व्यापार घाटा बेहोरेको छ ।

यस्तै अजेन्टिनाबाट ३४अर्ब ७२ करोड ४३ लाख रुपयाँको वस्तु आयात भएकोमा ५ लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ । अर्थात् नेपालले अर्जेन्टिनासँग ३४अर्ब ७२ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको देखिन्छ । यस्तै इन्डोनेसियासँग २१ अर्ब ५६ करोड रुपैयाँ थाइल्यान्डसँग ५ अर्ब ९६ करोड, ब्राजिलसँग ४ अर्ब ८२ करोड, मलेसियासँग ३ अर्ब ७७ करोड रुपैयाँले घाटा बेहोरेको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै नाफामा रहेका मुलुकमध्ये डेनमार्क रोमानिया, स्वीडेन, नाइजेर, इराकलगायत ३० वटा मुलुकसँगको व्यापार नाफा छ, यसमध्ये डेनमार्कसँग २७ करोड ४४ लाख रोमानियासँग ६ करोड ७८ लाख स्वीडेनसँग २ करोड ५० लाख रुपैयाँले नाफामा रहेको छ ।

आयात बढ्दा राजस्व संकलनमा सुधार

चार महिनामा नेपालबाट हुने निर्यातमा ७७.५१ प्रतिशतले वृद्धि भएको छ भने आयातमा १८.७१ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा, चालु आर्थिक वर्षको चार महिनामा यो बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्ष यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

समग्रमा मुलुकको कुल वैदेशिक व्यापारको आकार २४.१८ प्रतिशतले बढेको छ । गत वर्ष ५ खर्ब ६६ अर्बको कुल व्यापार भएकोमा यस वर्ष सो रकम बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको छ । निर्यातमा सुधार भए तापनि आयातको हिस्सा उच्च रहेकाले मुलुकको व्यापार घाटा ११.९९ प्रतिशतले बढेको छ । चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ लाख रुपैयाँ रहेको थियो । साथै चालु वर्षको यो चार महिनामा भन्सार विन्दुबाट १ खर्ब ५७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्षको यसै अवधिमा १ खर्ब ४५ अर्ब ८४ करोड ८४ लाख रुपैयाँ संकलन भएको थियो ।

आयातमा सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ र फलाम

सबैभन्दा ठुलो परिमाणमा आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । चार महिनामा ९२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । यसैगरी दोस्रो धेरै आयात हुनेमा फलाम र तेस्रोमा खाने तेलतथा घ्युजन्य वस्तु छ । ५७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसैगरी ४३ अर्ब ३८ करोड २ लाख रुपैयाँको विद्युतीय उपकरण, ४० अर्ब ५९ करोड २६ लाख रुपैयाँको बोइलर मेसिन, ३७ अर्ब ६९ करोड ५ लाख रुपैयाँको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । यस्तै २५ अर्ब २० करोडको रासायनिक मल, २४ अर्ब ४१ करोड ७३ लाख रुपैयाँको मोती, पत्थरजन्य वस्तु, २१ अर्ब ८९ करोड ३५ लाख रुपैयाँको प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु, १५ अर्ब ७४ करोड १४ लाख रुपैयाँको खद्यान्न, २२ अर्ब २३ करोड २९ लाख रुपैयाँको फलफूल र तरकारी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा धेरै निर्यात हुने वस्तु के के छन् ?

चालु आर्थिक वर्षको पहिलो चार महिना(२०८२/८३ साउन–कात्तिक) मा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । निर्यातमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत हो । कुल निर्यात हुनेमा सबैभन्दा ठुलो हिस्सा क्रमशः फलाम, तेलघ्युजन्य वस्तु र धागो छन् । यो चार महिनाको अवधिमा कुल निर्यातमध्येमा ४५ अर्ब १४ करोड ३७ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ ।

यसैगरी दोस्रोमा ४४ अर्ब ७० करोड २३ लाख रुपैयाँको तेलतथा घ्युजन्य वस्तु र तेस्रोमा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको विभिन्न प्रकारको धागो निर्यात भएको छ । त्यस्तै ठुलो हिस्सामा निर्यात हुनेमा ५ अर्ब ९१ करोड २२ लाख रुपैयाँको चियाकफी तथा मसलाजन्य वस्तु, ४ अर्ब ५५ करोड ३७ लाख रुपैयाँको तयारी तथा अन्य कपडा, ३ अर्ब ६० करोड ७९ लाख रुपैयाँको कार्पेट निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी २ अर्ब २३ करोड ७१ लाख रुपैयाँको पशुजन्य आहार,२ अर्ब ३९ करोड ४८ लाख रुपैयाँको काठ तथा काठजन्य वस्तु १ अर्ब ४ लाख रुपैयाँको जुत्ताचप्पल, २ अर्ब ५१ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । १ अर्ब १९ करोड १९ लाख रुपैयाँको पेष्टिकुकका उत्पादन, १ अर्ब ४२ लाख रुपैयाँको साल्ट सल्फर, १ अर्ब ३९ करोड १५ लाख रुपैयाँको विरुवा, १ अर्ब १६ करोड ८७ लाख रुपैयाँको फर्माटिकल निर्यात भएको छ ।

बाबुराम अभिभावक रहेको प्रलोपाका यी हुन् पाँच अध्यक्ष

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अभिभावक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् गठन गरेको छ । आइतबार घोषणा गरिएको पार्टीले पाँच सदस्यीय अध्यक्ष परिषद् गठन गरेको हो ।

अध्यक्ष परिषद्मा जेन–जी अगुवा ओजस्वी भट्टराई, साविक नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराती, रास्वपा त्यागेर आएका सन्तोष परियार र मधेशबाट अशोक जैसवाल सहभागी छन् । अध्यक्ष परिषदमा दोस्रो तहका नेताहरू सहभागी भए पनि बाबुरामसहित जनार्दन शर्मा, राम कार्कीलगायत शीर्ष नेताहरूसँग सहभागी छैनन् ।

 

कूटनीति र पर्यटनको अन्तरसम्बन्ध

काठमाडौँ । कुनै पनि देशले आफ्नो विकास गर्दा त्यसको भौगोलिक विशिष्टताका आधारमा गर्नुपर्छ । नेपालको भौगोलिक विशिष्टता भनेको प्रकृति र संस्कृति नै हो । प्रकृति र संस्कृतिको जगेर्ना गर्दै पर्यटक भित्र्याउन सकेमा आर्थिक विकास सम्भव छ । यसैले मुलुकको दिगो विकास हासिल गर्ने मुख्य क्षेत्र भनेकै पर्यटन हो । पर्यटन क्षेत्रको प्रवद्र्धनबाट फराकिलो आर्थिक वृद्धि, समावेशी विकास तथा वातावरणमा दिगोपना ल्याई जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्य स्थापित भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं सामाजिक विविधताले भरिएको हुँदा नेपाल विश्वको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ ।

नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक र लगानी भित्र्याउने प्रभावकारी माध्यम भनेको पर्यटन क्षेत्र नै हो । छिमेकीलगायत अन्य मित्रराष्ट्रहरुसँगको असल सम्बन्धबाट नै ती देशका नागरिकलाई आकर्षित गर्न सकिन्छ र त्यहाँका लगानीकर्ताहरुलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने वातावरण बन्नसक्छ । आजको अन्तरराष्ट्रिय सम्बन्ध वैदेशिक व्यापार, वैदेशिक सहायता, वैदेशिक लगानी, पर्यटन, वैदेशिक रोजगारी, सांस्कृतिक सम्बन्ध, भूराजनीतिक सन्तुलनलगायतका विषयहरूका आधारमा निर्धारण गरिने अवस्था सिर्जना भएको छ । वर्तमान अन्तरराष्ट्रिय सम्बन्ध आर्थिक सवालहरूको वरिपरि केन्द्रित रहनेगरी परम्परागत कूटनीतिको स्थान आर्थिक कूटनीतिले प्रतिस्थापन गरेको छ ।

कूटनीति र पर्यटन आपसमा गहिरो सम्बन्ध राख्ने दुई महत्वपूर्ण क्षेत्रहरू हुन् । कूटनीतिले अन्तरराष्ट्रिय सम्बन्ध सुधार्न, सांस्कृतिक आदान–प्रदान बढाउन र देशको सकारात्मक छवि निर्माण गर्न मद्दत गर्छ, जसले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ । देशको कूटनीति प्रभावकारी भएमा त्यसले पर्यटन उद्योगलाई प्रत्यक्ष रूपमा फाइदा पु¥याउन सक्छ । कूटनीति र पर्यटनबीचको सहकार्यले आर्थिक उन्नति, सांस्कृतिक आदान–प्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्न ठूलो भूमिका खेल्छ । पर्यटनबाट आएको राजस्वले देशको आर्थिक वृद्धिमा योगदान पु¥याउँछ, जसका लागि स्थिर अन्तर्राष्ट्रिय सम्बन्ध आवश्यक हुन्छ । कूटनीतिक माध्यमबाट पर्यटन विकासमा जोड्न सकिने मुख्य क्षेत्रहरुमा सांस्कृतिक कूटनीति, भिसा नीतिहरू, कुटनीतक नियोगहरुमार्फत प्रचारप्रसार तथा सुरक्षा र स्थिरताको सन्देश प्रवाहलाई लिन सकिन्छ ।

नेपालमा रहेका विदेशी र विदेशमा रहेका नेपाली कन्सुलर मिसनहरूले आगामी दिनमा पनि पर्यटन क्षेत्रहरूलाई विशेष रूपमा प्रवद्र्धन गर्न सक्छन् । साहसिक पर्यटन जस्तै हिमाल आरोहण, पदयात्रा, पर्वतारोहणको सम्भावनाको बारेमा जानकारी गराउन सकिन्छ । पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथजस्ता धार्मिक क्षेत्रहरुको महत्वका बारेमा प्रचारप्रसार गरी हिन्दू तथा बौद्ध पर्यटकहरुलाई आकर्षण गर्न सकिने प्रशस्त सम्भावना छ । नेपालमा रहका झन्डै डेढ सय जातजाति र तिनका सांस्कृतिक पक्षहरुलाई उजागर गर्न सकिए सांस्कृतिक पर्यटनको माध्यमबाट लाखौँ पर्यटकलाई आकर्षित गर्न र बसाइ अवधिलाई लम्ब्याउन सकिन्छ । यी विभिन्न सम्भावनाहरुलाई उपयोग गर्नका लागि भिसा तथा अध्यागमन प्रक्रियामा अझ सहजता ल्याउनुपर्ने हुन्छ ।

त्यस्तै पूर्वाधार तथा सेवाको स्तर सुधार गर्नुपर्ने र सुरक्षा तथा स्वास्थ्य सेवाहरूलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ । साथै, आजको प्रविधिको युगमा अन्तरराष्ट्रियस्तरमा ‘डिजिटल मार्केटिङ’ प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । डिजिटल मार्केटिङ अभियानहरू अन्तर्राष्ट्रिय मिडिया, सामाजिक सञ्जालहरुमार्फत सञ्चालन गर्न सकिन्छ । भिसा प्रणाली सुधार गरी ई–भिसा, अन–एराइभल भिसा अझ सहज बनाउने, सांस्कृतिक तथा खेलकुद पर्यटन प्रवद्र्धन गर्दै नेपाललाई बहुपक्षीय पर्यटन हब बनाउनेतर्फ ध्यान दिन जरुरी छ । पर्यटन पूर्वाधार विकास गर्न लगानी भित्र्याउन सरकारी–निजी साझेदारीलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ ।

नेपाल अर्को वर्ष सन् २०२६ मा अल्पविकसित मुलुकको स्तरबाट विकासशील हुँदै सन् २०३० सम्म उच्च मध्यम आय भएको तथा सन् २०४२ अर्थात् २०९९ सालसम्ममा विकसित मुलुकको हैसियत हासिल गर्ने लक्ष्यमा पुग्ने सम्भाव्य उपायहरुमध्ये पर्यटन नै दिगो, भरपर्दो र रोजगारप्रधान क्षेत्र हो । बढ्दो यातायात, सञ्चार, सूचना प्रविधि, पूर्वाधार तथा विश्वको बढ्दो आबद्धता र उदीयमान मुलुकहरुको तीव्र आयवृद्धिले गर्दा पर्यटनको विस्तार हुँदै जाने कुरामा शङ्का छैन । छिमेकी मुलुकहरुको द्रूत विकास र बढ्दो समृद्धिको लाभ दिले अत्यन्त भरपर्दो र सम्भावनायुक्त क्षेत्र पर्यटन नै हो भन्ने तथ्य हामीले बिर्सन हुँदैन ।

नेपालको संविधान २०७२ ले पनि पर्यटनलाई आर्थिक विकासको आधारको रुपमा स्वीकार गरेको छ । नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आारका रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवशयक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने भन्ने नीतिमा उल्लेख छ । भौगोलिक रूपमा ठूलो वा सानो भए पनि एक सार्वभौम मुलुकले शान्तिपूर्ण रूपमा आफ्ना सम्बन्ध विस्तार गर्न पर्यटन कूटनीतिलाई अन्तरराष्ट्रिय सम्बन्धको महत्वपूर्ण आयाम बनाउनुपर्छ । नेपालको विशिष्ट प्रकृतिको भूराजनीतिक अवस्थितिका कारण खासगरी दुई छिमेक मुलुक भारत र चीनसँगको सम्बन्धलाई कसिलो बनाइराख्नु पर्दछ ।

सरकारले पहिलोपटक आर्थिक कुटनीतिलाई विशेष प्राथमिकता दिँदै २०७७ सालमा एकीकृत परराष्ट्र नीति जारी गरेको थियो । ‘छिमेकी मित्रराष्ट्रहरूको आर्थिक विकास तथा समृद्धिबाट लाभ लिनेगरी सहयोगका नयाँ क्षेत्रको पहिचान एवं साझा हितका विषयमा द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय साझेदारी प्रवद्र्धन गर्ने,’ परराष्ट्र नीतिमा भनिएको छ । आर्थिक कूटनीतिको सञ्चालनद्वारा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउने, लगानी र पर्यटन प्रवद्र्धन, निर्यात विस्तार र आयात व्यवस्थापन गर्दे राष्ट्रिय अर्थतन्त्रको विकासमा सघाउने, वैदेशिक रोजगारीलाई व्यवस्थित एवं मर्यादित तुल्याउने, आप्रवासी नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक विकासमा परिचालनलाई नीतिमा प्राथमिकता दिइएको छ ।

भारत र चीनले नेपाली पर्यटन क्षेत्रलाई उच्च महत्व दिएका छन् । उनीहरूको दृष्टिकोण फरक हुन सक्लान् तर उनीहरूको लगावलाई हामीले कसरी उपयोग गर्ने विषय महत्वपूर्ण छ । भारत र चीन पर्यटकीय योगदानमा पहिलो र दोस्रो नम्बरमा रहेका देश रहेको तथ्य मनन गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढाउने हो भने नेपालले तुलनात्मक लाभ लिन सक्ने क्षेत्र पर्यटन नै हो । तीव्र आर्थिक विकासको प्रतिस्पर्धामा रहेका दुई छिमेकी मुलुकहरुसँगको असल कूटनीतिक सम्बन्धबाट पर्यटन क्षेत्रमा नेपालले थप प्रगति र नवीनता ल्याउन सक्दछ । मित्रराष्ट्र चीन र भारत संसारकै आर्थिक शक्तिका रूपमा रूपान्तरित भइरहेका छन् । चीन र भारतको जनसंख्या सारा संसारको जनसङ्ख्याको एक तिहाइभन्दा बढी छ र त्यसमा बङ्गलादेश र पाकिस्तानको समेत मिसाएर हेर्दा त्यो पूरा विश्वको जनसङ्ख्याको आधाआधी हुन जान्छ । दुवै देशका लागि नेपाल धार्मिक तथा पर्यापर्यटनको मुख्य गन्तव्य बन्नसक्छ ।

नेपाल र भारतमा हिन्दू र बौद्ध धर्मावलम्बीप्रतिको समान दृष्टिकोणका कारण सांस्कृतिक समानतालाई बल मिलेको छ । बुद्धको जन्मस्थान नेपालको लुम्बिनी र ज्ञान प्राप्त गरेको भारतको बोधगया एवं सारनाथलाई पर्यटकीय गन्तव्यका रूपमा एकाकार गर्ने प्रस्ताव भारतले धेरै पटक गरिसकेको छ । चीन बौद्ध धर्मावलम्बीको बाहुल्य भएको राष्ट्र हो । नेपाल शाक्यमुनि गौतम बुद्धको जन्मस्थल भएकाले पनि धार्मिक रूपमा ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । चीन संसारमा पर्यटक निर्यात गर्ने नम्बर एक देश हो । चीनले ‘विदेशमा रहेका सबै नागरिक देशका राजदूत हुन्’ भन्ने मान्यतालाई आत्मसात् गरेको शोधकर्ताको निष्कर्ष छ । चीनले नेपाललाई औपचारिक रूपमा सन् २००२ मा मात्र पर्यटन गन्तव्य सूचीमा समावेश गरेको हो । चीन सरकारले गन्तव्य सूचीमा राखेपछि हरेक वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि हुँदै आएको छ ।

कूटनीतिक नियोग (दूतावास, कन्सुलेट, स्थायी प्रतिनिधि कार्यालय) ले नेपालका पर्यटन स्थलहरूको अन्तरराष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यी नियोगहरूले सरकार, निजी क्षेत्र र प्रवासी नेपाली समुदायसँग सहकार्य गरी नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा उभ्याउन मद्दत गर्छन् । यी नियोगहरुले सांस्कृतिक कूटनीतिमार्फत प्रवद्र्धनात्मक कार्यहरु गर्न सक्छन् । ती देशहरुमा नेपाली कला, संस्कृति, परम्परा र पर्वहरूको अन्तरराष्ट्रिय प्रदर्शन, सांस्कृतिक आदान–प्रदान कार्यक्रमहरू (जस्तै, नेपाली खाना महोत्सव, फिल्म फेस्टिवल, फोटो प्रदर्शनी), प्रवासी नेपाली समुदायसँग सहकार्य गरी नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

यसैगरी विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले भिसा प्रक्रियालाई सरल बनाउने, अन–एराइभल भिसा, ई–भिसा, र लामो अवधि पर्यटक भिसाका सम्भावनाहरू खोज्ने, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै व्यावसायिक, धार्मिक र साहसिक भिसाका प्रविधिहरू सुधार गरी भिसा र अध्यागमन नीतिलाई व्यावहारिक बनाउन सकिन्छ । नेपालका प्रमुख नियोगहरूबाट नेपाल पर्यटन बोर्डमार्फत अन्तरराष्ट्रिय प्रवद्र्धन तथा प्रचार अभियानहरू सञ्चालन, परराष्ट्र मन्त्रालयसँगको सहकार्य र समन्वयमा पर्यटन कूटनीति तथा द्विपक्षीय सम्झौता प्रवद्र्धन तथा विदेशस्थित नेपाली दूतावास तथा कन्सुलेटहरू–नेपाली पर्यटन स्थलहरूको प्रचार, सांस्कृतिक कार्यक्रम आयोजना र भिसा सेवाहरू सुधारका कमहरु भइरहेका छन् । आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने देखिन्छ ।

आज विश्वका अधिकांश देशहरुले पर्यटनलाई समृद्धिको मुख्य आधार बनाएका छन् । दक्षिण एसियाकै खासगरी भारत, श्रीलङ्का, माल्दिभ्सलगायतका देशहरुले पर्यटन व्यवसायबाट राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाएका छन् । पर्यटन उद्योगमा प्रत्यक्ष वैदेशिक लगानीको धेरै विकास गर्न सकिने उदाहरण मलेसिया र सिङ्गापुरबाट सिक्न सकिन्छ । नेपालले पनि अबको बाटो आर्थिक समृद्धि भएकाले पर्यटन विकासको सम्भावनाका विविध आयामहरुलाई एकीकृत गरी त्यसै अनुसार नीति निर्माण, योजना तथा कार्यक्रम तर्जुमा र बजेटको व्यवस्था गर्नुपर्छ । पर्यटकको न्यून बसाइ, हरित पर्यटनको न्यून विस्तार, गुणात्मकभन्दा सङ्ख्यात्मक पर्यटकको बढी प्रभाव, पर्याप्त पूवाधारको अभाव, पर्यटक सेवास्तर न्यूनजस्ता यस क्षेत्रका समस्या एवं चुनौतीहरु हुन् । यी चुनौतीहरुलाई समाधान गर्न राष्ट्रिय स्तरमा नीतिगत व्यवस्था, सरकार–निजी क्षेत्र साझेदारी, पूर्वाधार विकासमा जोड दिनु आवश्यक छ भने विदेशमा कूटनीतिक सम्बन्ध विस्तार, पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार, सकारात्मक सन्देश प्रवाह, कुटनीतिक नियोगहरुको भूमिकालाई सशक्त तुल्याउनुपर्ने हुन्छ ।

परराष्ट्र मन्त्रालयबाट विदेशस्थित नियोगहरूमार्फत कार्यान्वयन गर्ने गरी निर्यात प्रवद्र्धन, लगानी सम्मेलन आयोजना, धार्मिक र सांस्कृतिक, पर्यटन प्रवद्र्धन, रोजगारीका नयाँ सम्भावनाहरूको पहिचान, पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम र नेपाली डायस्फोराको परिचालन गर्ने कार्यक्रमहरु आयोजना गर्न सकिन्छ । कूटनीति र अर्थतन्त्र दुवै नबुझेका व्यक्ति नेपालको आर्थिक कूटनीति सम्हाल्न जाँदा त्यसले उचित परिणाम ल्याएको देखिन्न । कुन देशका पर्यटकहरु बढी संख्यामा नेपाल आउँछन्, कुन देशका पर्यटकलाई ल्याउनु बढी फाइदाजनक छ त्यसलाई पनि मध्यनजर गरी बजारीकरणको अनुसन्धानको आधारमा व्यवस्थित प्रचार अभियान सञ्चालन गर्नुपर्छ । विदेशस्थित नेपाली दूतावास र कन्सुलेट कार्यालयहरुबाट नेपालको प्रचारप्रसार प्रभावकारी हुनसक्ने भएकाले ती कार्यलयमा कार्यरत राजदूत, वाणिजयदूत वा अन्य कर्मचारीलाई पर्यटनको भूमिकाका कारेमा प्रशिक्षित गराउनुपर्छ । गैरआवासीय नेपाल सङ्घ९एनआरएनए०ले आआफ्ना देशमा रहँदा मातृभूमिका लागि औपचारिक दूतको रुपमा सांस्कृतिक र प्रवद्र्धनात्मक कार्यक्रमहरु आयोजना गर्ने, अन्तर्राष्ट्रिय पर्यटन मेलाहरुमा भाग लिने र पर्यटकहरुलाई नेपाल भ्रमणमा जान प्रेरित गर्न सक्छन् । एनआरएनएको संलग्नताले नेपालको प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदाको अन्वेषण गर्न थप लगानी आकर्षित गर्न तथा अन्तराष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि प्रक्षेपण गर्न मद्दत पुग्दछ ।

(लेखक नेपालका लागि डेनमार्कका वाणिज्यदूत तथा वरिष्ठ पर्यटन व्यवसायी हुनुहुन्छ)

महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने कांग्रेसका युवा छुटे

मोरङ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा रिहा भएका छन् । आइतबार बिहान विराटनगर विमानस्थल सडक नजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले अर्पित कुँवर र संजोग गौतमलाई नियन्त्रणमा लिएको थियो । उनीहरू दुवै आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन् । डीएसपी कोपिला चुडालले भनिन्, ‘हिजै छाडिसक्यौँ साना बाबुहरूलाई राखेर के गर्नु ?’

बस्नेत इटहरीमा भएको पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमास्थलबाट गाडीमा बाहिरिँदै गर्दा आक्रमणको प्रयास भएको थियो । ती दुवै युवा भने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको पनि खुलेको छ । लोला प्रहार गर्ने युवा गौतम महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघको इकाई समिति सभापति हुन् भने कुँवर पनि कांग्रेस निकट विद्यार्थी संघमा आबद्ध रहेको बताइएको छ । उनीहरु नेविसंघको नेता भएको खुलेपछि केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले फेसबुकबाटै कारबाहीको चेतावनी समेत दिएका थिए ।

 

प्रधानमन्त्रीको सचिवालयले भन्यो–प्रमुख स्वकीय सचिवमाथिको आरोप ‘निराधार’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले हाल सार्वजनिक रूपमा उठेका नियुक्ति विवादप्रति आधिकारिक प्रतिक्रिया व्यक्त गर्दै प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठमाथि लगाइिएका आरोपहरू तथ्यहीन भएको स्पष्ट पारेको छ । केही दिनयता परिवारका सदस्य तथा नातेदारलाई पदमा राखिएको भन्ने आलोचनापछि सचिवालयले विज्ञप्ति जारी गर्दै यस्तो दाबीले प्रधानमन्त्रीको कार्यशैलीबारे भ्रम फैलाउन खोजिएको आरोप लगाएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान जारी गरेको विज्ञप्तिअनुसार, प्रधानमन्त्रीको नजिक रहेर चौबीसै घण्टा जिम्मेवारी वहन गर्नुपर्ने स्वकीय क्षेत्रका पदहरूमा ‘विश्वासिलो, भरपर्दो र कानुनसम्मत ढंगले नियुक्त गरिएका व्यक्तिहरूलाईअनावश्यक प्रश्न उठाइनु उचित होइन’ भनिएको छ । सुरक्षाका कारणले पनि भरोसा गर्न सकिने व्यक्तिहरू आवश्यक हुने सचिवालयको दाबी छ ।

विज्ञप्तिमा थप उल्लेख छ, ‘अन्य नियुक्तिहरूका बारेमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाएर जोडिएको तथा केवल थर मिलेकै कारण नातेदारका रूपमा प्रस्तुति गरिनु अतिरञ्जित प्रचार हो। यस्ता आधारहीन टिप्पणी नगर्न सबैलाई आग्रह गर्दछौँ ।’ प्रधानमन्त्री कार्की ‘जेनजी आन्दोलन’को बलमा अघि बढाइएको सुशासन, मितव्ययिता र पारदर्शिताका मूल्यप्रति प्रतिबद्ध रहेको सचिवालयको दाबी छ । सरकारले राज्यकोषमा न्यूनतम भार पर्ने गरी प्रधानमन्त्री कार्यालय सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयका अनुसार, कार्यविधिअनुसार प्रधानमन्त्रीलाई ७ सल्लाहकार राख्न सकिने भए पनि हाल २ जनामात्र छन् । त्यस्तै १९ विशेषज्ञ पदमध्ये ४ जनामात्र नियुक्त गरिएको र तीमध्ये एक जना अवैतनिक रहेको उल्लेख छ । स्वकीय सचिवालयमा ४१ को दरबन्दी रहे पनि अहिले १४ जना मात्र कार्यरत छन् । ‘कुल ६७ जनाको दरबन्दीमध्ये विगतका सरकारहरूले अधिकांश पदमा नियुक्ति भरिरहेका अवस्थामा प्रधानमन्त्री कार्कीले अत्यावश्यक कामका लागि मात्र २० जनाको टीम बनाएर सचिवालय सञ्चालन गर्दै आएका छन्,” विज्ञप्तिमा भनिएको छ । सचिवालयले जारी गरिएको स्पष्टीकरणसँगै नियुक्तिसम्बन्धी विवाद केही समय शान्त हुने अपेक्षा गरिएको छ, तर सार्वजनिक आलोचना भने केही समयसम्म जारी रहने अनुमान गरिएको छ ।

 

घुम्नैपर्ने ठाउँ बर्येडाँडा

तनहुँ । कुनै समयमा मानिसहरु एक्लै हिँड्न डराउँथे । घना वनजङ्गलका कारण वनमा घाँस र दाउराका लागि मानिसहरु समूहमा जाने गर्दथे तर अहिले विकाससँगै बर्येडाँडाको आमूल परिवर्तन भएको छ । यहाँको झाँगाझोली पार्कले धेरैलाई मोहित पार्दछ ।  निजी प्रयासमा शुक्लागण्डकी नगरपालिका–६ मा रहेको झाँगाझोली पार्क निर्माण भएसँगै यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रको विकास हुँदै गएको छ । पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा पर्ने यस पार्कमा घुम्नका लागि मानिसहरु विभिन्न जिल्लाबाट आउने गरेका छन् । यहाँ सुन्दर र शान्त वातावरणमा बस्न, खाना र घुम्ने व्यवस्था भएसँगै सबै उमेर उमेरका मानिसहरुको आकर्षण बढेको हो ।
सहरको कोलाहलबाट मुक्ति पाउनका लागि राजमार्गबाट नजिक दूरीमा रहेको यस पार्क नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको व्यास नगरपालिकाका पूर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘मैले नजिकबाट नियाल्दा सुन्दर, शान्त, मनोरमका साथै धार्मिक र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको पार्कले सबैको मनमा आनन्दको अनुभूति दिलाउँछ ।’  पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब २० रोपनी क्षेत्रफलमा आकर्षक पार्क र रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
यहाँ निर्माण गरिएका पार्कको साथै उत्तरतर्फ रहेको हरियाली जङ्गल र कुम्लेखोलाको कलकल आवाजले परिवारसहित घुम्न जानेहरुका लागि एउटा उत्कृष्ट गन्तव्य बनेको नेपाल बार एसोसिएसन तनहुँका पूर्वअध्यक्ष अधिवक्ता भानुभक्त सुवेदीले बताए । यहाँ दैनिक ३०० देखि ४०० सम्म आन्तरिक पर्यटकहरु भ्रमणमा आउने गर्दछन् । यहाँको मनोरम दृश्यले आफूलाई आकर्षण गरेको पहिलो पटक घुम्न आएका व्यास नगरपालिका–१ भादगाउँ निवासी हरिप्रसाद भट्टराईले बताए । उनी भन्छन्, ‘तीनखोले मन्दिरमा दर्शन गर्न आएको समयमा हेर्न भनेर यहाँ आएको हुँ, अर्को पटक एक दिन बास बस्नेगरी समय मिलाएर आउने योजना बनाएको छु ।’
जिल्लाकै भिमाद नगरपालिकाबाट आएका राम बानियाँले पारिवारिक वातावरणमा घुम्नका लागि आनन्दको ठाउँ रहेको बताए । उनले भने, ‘यहाँको प्राकृतिक मनोरम दृश्यले जो कसैको मन खिच्ने किसिमको भएकाले मनमा शान्ति र आनन्दको अनुभूति गर्न सकिनेछ ।’
विभिन्न साहसिक खेलहरुका लागिसमेत पनि यो क्षेत्र उपयुक्त मानिएको छ । घनाजङ्गलको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने झाँगाझोली सञ्चालक शङ्करप्रसाद अधिकारीले बताए । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रको पर्यटन विकासमा ध्यान दिने हो भने गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यटन गन्तव्य बन्न सकिने उनको बुझाइ छ ।
सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गर्न लागिएको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, सङ्ग्रहालयमार्फत घुम्न आउने पर्यटकलाई जानकारी गराइनेछ । झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पूर्ण निमार्णका काममा केही समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापनसहितको व्यवस्था सञ्चालनमा ल्याइसकेको छ ।
झाँगाझोली एग्रो टुरिज्म प्रालिले सिन्धुली झाँगाझोली र तनहँ झाँगाझोलीबीचको सम्बन्धलाई सुमधुर गराउनाका साथै मुलुकमा कृषि र पर्यटनका लागि महत्वपूर्ण योगदान दिने योजना रहेको सञ्चालकहरु बताउँछन् । सिन्धुली जिल्लाको झाँगाझोलीको झल्को पाइने यस ठाउँलाई त्यही रुपमा विकास गर्न लागिएको अर्का सञ्चालक वासुराज दाहाल बताउँछन् । बिपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदाहरु समेटेर तनहुँ झाँगाझोली सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
सिन्धुली झाँगाझोलीमा रहेका दुम्जा कुशेश्वर महादेव, झाँगाझोली गुठ बजारस्थित गुठ बजार राम मन्दिर रातामाटास्थित गणेशथान मन्दिर, मूलकोटमा रहेको बालाकेश्वर मन्दिर, गैरी पुछारमा रहेको मुकुटेश्वरी मन्दिर, सिन्धुली झाँगाझोली हुँदै बग्ने सुनकोशी नदी, नाङ्गेडाँडास्थित सिद्धाथान मन्दिर, सहस्रधारादेवी खाल्टे चैनपुरमा रहेको शीतलपाटी र ऐतिहासिक लप्से खोला कुवाको निर्माण गरिनेछ ।
हाल सुनकोशी गाउँपालिकाअन्तर्गत रहेको दुम्जा कोइरालाहरुको पुख्र्यौली थलो मानिन्छ । पूर्व प्रधानमन्त्री बिपी कोइराला, मातृका कोइराला र गिरिजाप्रसाद कोइरालाको बुबा कृष्णप्रसाद कोइरालाको जन्मथलो झाँगाझोलीको दुम्जा हो । सिन्धुली झाँगाझोलीका बोहोरेटार, गुठ बजार, रातामाटा, कालीमाटी, लक्ष्मीडाँडाजस्ता गाउँहरुको नामबाट तनहुँको झाँगाझोलीमा घरहरु निर्माण गरिनेछन् ।
सातवटै प्रदेशका विशिष्टीकृत, उत्पादनको प्रवद्र्धनका लागि प्रादेशिक कोसेली घरसमेत निर्माण गर्ने योजना रहेको छ । तनहुँ झाँगाझोलीमा विशेष आकर्षणका रुपमा ‘गौरादेवी नेचुरल हर्बल पार्क’ निर्माण गरेर थप आकर्षण बनाइएको अर्का सञ्चालक उज्ज्वल पौडेलले जानकारी दिए । यहाँ विशेष तरिकाले निर्माण गरिएको हर्बल पार्कमा विभिन्न जातका जडीबुटी रहेका लगाइएकाले अध्ययन केन्द्रका रुपमा विकास गरिएको छ । यहाँ जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघलगायत विभिन्न जातका जनावर तथा पक्षीहरुका मूर्ति राखिएका छन् ।
झाँगाझोली हुँदै बग्ने कञ्चनकुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । ताल निर्माण र जङ्गल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बताए । थापाले भने, ‘प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासका लागि तीनवटै सरकारले ध्यान दिन सके पर्यटन क्षेत्रमा कायापलट हुन सक्ने सम्भावना देखिएको  छ ।’
खोलाको वरपर रहेको घनाजङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा आउने पर्यटकलाई मुग्ध बनाउने गर्दछ । चालु आर्थिक वर्षमा झाँगाझोलीदेखि दरगाउँसम्म सडकको स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि झाँगाझोली आवतजावतमा अझ सहज हुनेछ । ‘शुक्लागण्डकीको पहिचान झाँगाझोलीको योगदान कृषि र पर्यटन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कृषि तथा पर्यटनसम्बन्धी कार्यलाई अगाडि बढाएको छ । झाँगाझोली क्षेत्रलाई एकेडेमी रिसोर्टका रुपमा अघि बढाउने लक्ष्य रहेको छ । –सानेबहादुर नेपाली / रासस

हिउँदमै पुर्न थालियो काठमाडौंमा सडकका खाल्डा

काठमाडौं । असारमा खर्च हुन बाँकी बजेट सक्न धमाधम खाल्डा पुर्ने प्रवृत्ति हटाउँदै सरकारले यस पटक हिउँदमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ । काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरु गरिएको जानकारी दिएका छन् । उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । हिउँदको सुरुवातमै हुने विकास निर्माणको कामबाट एकातर्फ पूँजीगत खर्च भई अर्थतन्त्र चलायमान हुन्छ भने काम समेत गुणस्तरीय हुन्छ । सरकारले हरेक वर्ष १० अर्ब रुपैयाँ हाराहारी बजेट सडक मर्मतमा छुट्याउने गर्छ ।

विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेको हो । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो ।

यस्तै सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँलाई पराजित गरेको थियो ।
यस्तै आजै अपरान्ह ४ बजे दोस्रो खेल साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गते सुरू भएको प्रतियोगिता मंसिर २७ गतेसम्म चल्ने छ ।

संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले मन्त्री घिसिङसँग मन्त्रालयका विभिन्न महत्वपूर्ण विषयमा प्रत्यक्ष जानकारी लिने उद्देश्यले छलफल आह्वान गरेको हो ।

समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ । घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने समिति सचिवालयले जनाएको छ ।