`

संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले मन्त्री घिसिङसँग मन्त्रालयका विभिन्न महत्वपूर्ण विषयमा प्रत्यक्ष जानकारी लिने उद्देश्यले छलफल आह्वान गरेको हो ।

समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ । घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने समिति सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई भेट्दै जेनजी समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहित पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउने भएका छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । सुदन गुरुङ समूहका सदस्य अनिल बानियाँले भने, ‘आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौं । तर १० बजे जाने कि कतिबेला भन्ने टुंगो लागिसकेको छैन । जेहोस्, आज जान्छौं ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् । नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै एकैदिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए । यो समाचार सार्वजनिक भएपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने र उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने माग जेनजी युवाहरुले गर्दै आएका छन् । सुदन गुरुङ समूहले पनि जेनजी पुस्ताको आन्दोलनको दुरुपयोग भएको टिप्पणी गरेको छ । ‘हामीले सुशासन मागेका थियौं तर यस्तो कल्पना गरेका थिएनौं,’ सुदन समूहका सदस्य बानियाँले भने ।

खण्डहर बनेको ऐतिहासिक विराटनगर जुट मिल {तस्वीरहरु}

काठमाडौं । नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ । नेपालको राजनीतिक आन्दोलनको पनि यो मिलसँग इतिहास जोडिएको छ । जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो । पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीतिक यात्रा यहींबाट शुरू गरेका थिए ।

ऐतिहासिक उद्योग भए पनि राजनीतिक हस्तक्षेप हुँदा पटक पटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ । लामो समयदेखि बन्द भएको उद्योग खण्डहर जस्तै बनेको छ । संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी भएका छन् । भएका पनि लामो समयदेखि प्रयोगविहीन हुँदा खिया लागेर काम नलाग्ने भएका छन् । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनासँगै मिलको अवस्था खस्किन शुरू भएको हो । सञ्चालक समितिमा राजनीतिक भर्ती गर्ने र राजनीतिक अस्थिरताका कारण नेतृत्व र व्यवस्थापन पटक पटक परिवर्तन भएकाले उद्योग यो अवस्थामा पुगेको जानकारहरु बताउँछन् ।
तस्वीर : प्रकाश चन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गरियोस् : रक्षा बम

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातावाद र कृपावाद बढेको दाबी गर्दै जेनजी आन्दोलनकी युवा नेता रक्षा बमले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तुरुन्तै पदमुक्त गर्न माग गरेकी छन् । सचिवालयभित्रका केही नियुक्तिहरू श्रेष्ठका परिवारजन र नातेदार रहेको समाचार सार्वजनिक भएपछि बमले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएकी हुन् ।

बमका अनुसार महत्वपूर्ण संवैधानिक संक्रमणकालीन चरणमा रहेको नागरिक सरकारलाई दुरुपयोग गर्दै स्वकीय सचिव स्तरका व्यक्तिहरूले पदको प्रभाव प्रयोग गरेर आफ्नै परिवारी जनालाई जागिर दिलाउनु नातावाद र नैतिक पतनको ज्वलन्त उदाहरण हो । उनले लेखेकी छन्, ‘जेनजी विद्रोह केवल रकमको भ्रष्ट्राचारविरुद्ध मात्र होइन, नैतिक विचलन, नातावाद र कृपावादविरुद्धको आन्दोलन पनि थियो । यस्तो बेलामा अधिकारीहरूले स्वार्थी व्यवहार देखाउनु परिवर्तनका लागि बगेको रगतप्रति अपमान हो ।’

तीन महिनाअघि भएको जेनजी विद्रोहले सुशासन, पारदर्शिता र जवाफदेहिताको माग उठाएको स्मरण गराउँदै बमले सरकारको मूलभूत मूल्यप्रति आफ्नो बफादारी देखाउन सबै पदाधिकारी सचेत हुनु आवश्यक रहेको बताएकी छन् । उनका अनुसार साधारण नागरिकको विश्वासमा बनेको सरकार सीमित व्यक्तिको प्रभावमा चल्न थाले लोकतान्त्रिक उपलब्धि खतरामा पर्न सक्छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नै पत्नी र अन्य नातेदारलाई नियुक्ति दिलाउनु नैतिक भ्रष्टाचारको चरम रूप हो । यस्तो प्रवृत्तिलाई तत्काल रोकिनु पर्छ ।’ बमले सरकारलाई तत्काल कदम चाल्न आग्रह गर्दै श्रेष्ठलाई पदमुक्त गर्न तथा समीकरण मिलाइ नियुक्त गरिएका नातेदारहरूको जागिर रद्द गर्न चुनौतीपूर्ण व्यापक छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।

 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीसहित नातेदारलाई दिलाए नियुक्ति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहित परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएको खुलेको हो । स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए । आदर्श स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए । उनी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले संगीता आफ्नी पत्नी रहेको स्वीकारेका छन् । ‘नाता खोज्दै जाँदा त नेपालभर कोही न कोही नाता पर्छ होला नी,’ उनले भने, ‘मैले नातेदार भनेर सबैलाई नियुक्त गरेको होइन ।’ प्रधानमन्त्रीको सचिवालय संवेदनशील ठाउँ भएकाले प्रधानमन्त्रीको विश्वास र गोप्यताका लागि नजिकको मानिस नियुक्त गरेको र त्यसक्रममा आफ्नो पत्नी चयन भएको उनले स्वीकारेका छन् ।

उनले भने, ‘नियुक्त भएका श्रेष्ठ थरका सबै मानिसहरू मैले नै नियुक्त गरेको भनेर अफवाह फैलाइयो, त्यो गलत हो ।’ प्रधानमन्त्री सुशीला कार्कीले सम्हालेका मन्त्रालयहरूमा प्रमुख स्वकीय सचिवको हैसियतले आफूले समन्वय गरिरहनुपरेको भन्दै उनले ती निकायमा नियुक्त भएका र जिम्मेवारी पाएका कतिपय व्यक्तिहरूको नाम समेत आफूसँग जोडिएको भन्दै त्यसमा सत्यता नभएको दाबी गरे ।

नियुक्तिहरूमा आफू र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम जबर्जस्ती मुछ्न खोजिएको भन्दै उनले बहालवाला सचिवका परिवारका सदस्य र निजामती सेवामा कार्यरत केही व्यक्तिहरूलाई पनि आफूसँग जोडेको गुनासो गरे । उनले भने, ‘प्रतिस्पर्धाबाट निजामती सेवामा प्रवेश गरेकाहरूलाई पनि मैले नियुक्त गरेको भनी हल्ला चलाइयो ।’

प्रधानमन्त्रीको सचिवालयमा रहेका अर्का एक कर्मचारीले विगतका प्रधानमन्त्रीले सचिवालयमा ९४ जना कर्मचारी राखेकोमा अहिले २६ जनाबाट काम चलाइएको बताए । ‘अहिलेको सरकारले मितव्ययी रणनीति अपनाएको छ, जथाभावी हुने नियुक्ति कटौती भएको छ’ उनले भने, ‘त्यो पाटो नहेरी प्रधानमन्त्रीको टीममा अत्यन्त विश्वासमा रहेर काम गर्ने कर्मचारीहरूमाथि समेत प्रश्न उठाउन खोज्नु गलत हो ।’

आन्दोलन स्थगित होइन, प्रधानमन्त्री र गृहमन्त्रीको आग्रहमा स्वरुप बदलिएको हो : दुर्गा प्रसाई

काठमाडौँ । सर्वोच्च अदालतबाट थुनामुक्त भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो नेतृत्वमा सञ्चालित ‘नागरिक बचाउ महाअभियान’ को आन्दोलन स्थगित नभई मोडिएको स्पष्ट गरेका छन् । सात दिनको प्रहरी हिरासत बसाईपछि बाहिरिने क्रममा उनले अदालतको आदेशले ‘देशमा न्याय मरेको छैन’ भन्ने विश्वास बलियो बनाएको बताए ।

प्रसाईंले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको विशेष आग्रहपछि आइतबारबाट सुरु हुने भनिएको अनिश्चितकालीन आम हड्ताल र आन्दोलनको ‘मोडालिटी’ परिवर्तन गरिएको जानकारी दिएका छन् । ‘आन्दोलन रोकिएको होइन, मोडालिटी बदलिएको हो’, प्रसाईंले भने, ‘सरकारले माग सुन्ने, समाधानतर्फ जाने इच्छा देखाएकाले वार्तामा गएको हुँ ।’

उनले नागरिक बचाउ महाअभियानले उठाएका जीविकोपार्जन, गरिब जनतालाई समृद्ध बनाउने जस्ता मुख्य एजेण्डाका विषयमा सरकार वार्तामा बस्न तयार भएको दाबी गरे । शनिबार राति नै प्रधानमन्त्री कार्यालयमै दुई पक्षबीच विस्तृत छलफल र सहमति बनेको उनले उल्लेख गरे।

यसअघि अभिव्यक्तिका कारण सार्वजनिक शान्ति भंग भएको आरोपमा गत सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दामा रिहा गर्न आदेश दिएको थियो । अदालतले उनलाई छोराको जिम्मा लगाएर मुक्त गर्न निर्देशन दिएपछि आइतबार उनले बाहिरिएका हुन् ।

प्रसाईंले आइतबारदेखि अनिश्चितकालीन आम हड्ताल सुरु गर्ने घोषणा गरेका थिए, जसलाई निष्प्रभावी बनाउन प्रहरीले पक्राउ गरेको थियो । तर आन्दोलन तयारी जारी राखेपछि सरकार–प्रसाईं पक्षबीच वार्ता भएको र कार्यक्रम परिमार्जन गर्ने सहमति बनेको हो । अब हुने वार्तामा प्रसाईं स्वयं सहभागी हुनेछन् ।

सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भदौ २४ गते भएको आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान बस्ने ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् । उनीहरूमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ ।

 

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले गरे चुनावी मोर्चाबन्दी

काठमाडौं । अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले एउटै चिह्न लिएर चुनाव लड्ने सहमति गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको चुनाव चिह्न जाँतो प्रयोग गर्ने सहमति गरेका हुन् ।

‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं, एक चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौं,’ तीन पार्टीबीच भएको सहमति पत्रमा उल्लेख छ ।

यस्तै विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग एकताका लागि वार्ता गरिरहेको दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राई एकतामा नजाने भएका छन् ।

उनी एकताका लागि तयार नभएपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले नेकपामा समाहित हुने घोषणा गरेका छन् । नेकपामा नजाने भएपछि राईले रेशम चौधरी र राजेन्द्र महतोको पार्टीसँग चुनावी मोर्चाबन्दी गरेका हुन् ।

दुर्गा प्रसाईं रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबार सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो ।

प्रसाईंलाई छोरा निराजनको जिम्मा लगाएर रिहा गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिएका छन् । गत सोमबार मध्यराति प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनले दिएको अभिव्यक्तिका कारण सार्वजनिक शान्तिमा खलल पुगेको प्रहरीको दाबी छ ।

सोही कसुरमा मंगलबार उनलाई ४ दिन हिरासतमा राख्न लिएको प्रहरीले शुक्रबार फेरि ५ दिन म्याद लिएको थियो । तर, प्रसाईंलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा उनका छोराले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । मंसिर ३ गते दर्ता भएको निवेदनमा ४ गते बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र उपस्थित गराउन आदेश गरेको थियो ।

आदेशअनुसार नै प्रहरीले आइतबार प्रसाईंलाई अदालतमा उपस्थित गराएको थियो । प्रसाईंले आइतबारदेखि अनिश्चितकालीन आम हड्ताल र आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । आम हड्ताल विफल बनाउन प्रहरीले प्रसाईंलाई पक्राउ गरेर हिरासतमा राखेको थियो ।

श्रम बिना परिवर्तन सम्भव छैन : हर्क साम्पाङ

भोजपुर । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राखे । देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनले जोड दिए ।

‘युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छाै‌ भन्ने बुझ्न आवश्यक छ’, अध्यक्ष साम्पाङले भने । युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताए ।

इस्तियाकको आरोप : बहुमत पुर्‍याउन नसकेपछि राजेन्द्र श्रेष्ठहरू पार्टी छोडेर गए

काठमाडौं । जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बहुमत पुर्‍याउन नसकेपछि राजेन्द्र श्रेष्ठहरू पार्टी छोडेर गएको आरोप लगाएका छन् ।

‘बहुमत जुटाउन खोज्नु भएको थियो, बहुमत नपुगेपछि पदीय जिम्मेवारी परित्याग गरेको भन्ने पत्र बुझाएर जानु भएको छ.’ राईले भने । जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । यसका लागि सहमति भएपछि नेता इस्तियाकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘कसैले डिभोर्स लिन्छु भन्यो भने रोकेर राख्न मिल्छ ?’ राईको प्रश्न छ । नेताहरू एक अर्को पार्टीमा जानेक्रम चलिरहेको र यही क्रममा कतिपय नेताले पार्टी छोडेको पनि उनले बताए । उनले भने, ‘उहाँहरू कुनै नयाँ पार्टीमा त जानु भएको छैन । तथापि, निर्णय गर्ने उहाँहरूको कुरा हो ।’ राईका अनुसार उनीहरू पनि ध्रुवीकरणको प्रयासमा छन् । उनकाअनुसार संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको छलफल चलिरहेको छ ।

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ

ब्रासिलिया । ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोलाई सर्वोच्च अदालतले उच्च भाग्न–जोखिम ठानी शनिबार फेरि हिरासतमा लिएको छ ।

सन् २०२२ को चुनावपछि वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भालाई सत्तामा आउन नदिन गरिएको योजनामा २७ वर्षको जेल सजाय पाएका बोल्सोनारो हाल कू–प्रयाससम्बन्धी मुद्दामा अपिल चलिरहेको अवस्थामा नजरबन्दमा रहेको थियो ।

अदालतले उनलाई आफ्नो खुट्टामा बाँधिएको निगरानी मोनिटर निष्क्रिय पार्न खोजेको ठहर गर्दै यसलाई भाग्ने प्रयासका रूपमा व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसका अनुसार नजरबन्द एउटा निवारक उपाय भए पनि बोल्सोनारोले यसलाई तोडफोड गर्न खोज्नु गम्भीर उल्लङ्घन हो । अदालतले सार्वजनिक गरेको भिडियोमा बोल्सोनारोले ‘जिज्ञासावश’ मोनिटरमा सोल्डरिङ उपकरण प्रयोग गरेको स्वीकार गरेको देखिन्छ, जहाँ यन्त्र क्षतिग्रस्त र जलेको देखिए पनि अझै उनको खुट्टामै थियो ।

सन् २०१९ देखि २०२२ सम्म देश चलाएका ७० वर्षीय पूर्व नेतालाई गत अगस्टदेखि ब्रासिलियास्थित एक उच्चस्तरीय कन्डोमिनियमभित्र सीमित गरिएको थियो । न्यायाधीश मोरेसले शनिबार बोलाइएको फ्लेभियो बोल्सोनारोको ‘जागरण’ कार्यक्रमले अशान्ति निम्त्याइ बोल्सोनारोको भाग्ने सम्भावनालाई बढाउन सक्ने बताएका छन् । फ्लेभियोले समर्थकहरूलाई ‘आफ्नो देशका लागि लड्न’ आह्वान गरेको र सोही कारण वातावरण थप संवेदनशील बनेको उल्लेख गरिएको छ । मोरेसले बोल्सोनारोका कानूनी प्रतिनिधिहरूलाई २४ घण्टाभित्र घटनाबारे व्याख्या पेश गर्न निर्देशन दिएका छन् ।

बोल्सोनारोको घर अमेरिकी दूतावास नजिक रहेको उल्लेख गर्दै न्यायाधीशले उनले राजनीतिक शरण खोज्ने जोखिम बढेको चेतावनी पनि दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने बोल्सोनारोको मुद्दालाई ट्रम्पले ‘विच हन्ट’ ९राजनीतिक प्रतिशोध० भनेका छन् र पछिल्लो घटनालाई ‘धेरै खराब’भन्दै प्रतिक्रिया दिएका छन् ।

बोल्सोनारोलाई शनिबारै ब्रासिलियाको सङ्घीय प्रहरी मुख्यालय पुर्‍याइयो । त्यहाँ कैदीहरूलाई जेल पठाउनुअघि मेडिकल परीक्षण गरिन्छ । एक स्रोतले उपलब्ध गराएको भिडियोमा टेलिभिजन, सानो फ्रिज र वातानुकूलनसहितको कक्षमा बोल्सोनारो राखिएको देखिन्छ ।

प्रहरी मुख्यालय बाहिर विरोध र समर्थन दुवै देखिएको थियो । केही महिलाले उहाँ पक्राउ परेको खुशीमा वाइन खोलेर उत्सव मनाएका थिए । ४७ वर्षीया दर्शनशास्त्रकी शिक्षिका एना डेनिस सौसाले बोल्सोनारोले विगतमा देश बिगारेको आरोप लगाउँदै अहिले न्यायको समयमा पुगेको बताएकी छिन्। विपरीत रूपमा, पूर्व राष्ट्रपति समर्थकहरूले यसलाई ‘राजनीतिक उत्पीडन’ को संज्ञा दिए ।

बोल्सोनारोको कानूनी सङ्कटले ब्राजिलको ठूलो दक्षिणपन्थी मतदातालाई सन् २०२६ को राष्ट्रपति चुनावअघि नेतृत्वविहीन बनाएको छ । ८० वर्षीय लुलाले अर्को कार्यकाल खोज्ने घोषणा गरिसकेको छिन। बोल्सोनारोका वकिलहरूले निर्बल स्वास्थ्यका कारण निरन्तर नजरबन्दले ‘जीवन जोखिममा पर्न सक्ने’ भन्दै अपिल गर्ने तयारी जनाएको छ । सन् २०१८ मा निर्वाचन प्रचारक्रममा पेटमा छुरा प्रहारबाट घाइते भएपछि उनले लगातार स्वास्थ्य समस्या भोग्दै आउनुपरेको छ ।

राष्ट्रपतित्वकालमा बोल्सोनारोलाई आर्थिक नीतिका लागि केही प्रशंसा मिले पनि अमेजन वन विनाशको वृद्धि र कोभिड–१९ लाई ‘सानो फ्लु’ भन्दै खारेज गरेकोमा व्यापक आलोचना भएको थियो । यसै वर्ष सेप्टेम्बरमा उनलाई एक आपराधिक सङ्गठनको नेतृत्व गर्दै सत्ता कब्जा गर्ने षड्यन्त्र र विपक्षी नेता लुला, उपराष्ट्रपति गेराल्डो अल्कमिन तथा न्यायाधीश मोरेसको हत्या योजनामा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएको थियो ।

अशोक राईको जसपा विभाजन, राजेन्द्र श्रेष्ठसहितका नेता नेकपा जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकताका लागि वार्ता गरिरहेको दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राई एकतामा नजाने भएका छन्। उनी एकताका लागि तयार नभएपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले नेकपामा समाहित हुने घोषणा गरेका छन्। उनीहरू सबै जसपाको केन्द्रीय कार्यकारिणी सदस्य हुन्।

त्यस्तै रणध्वज लिम्बु (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजु रहेका छन्।

नेकपामा समाहित हुने निर्णय गरेका श्रेष्ठले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसाल्न अध्यक्ष अशोक राई इच्छुक नदेखिएपछि आफूूहरुले अलग बाटो रोजेको बताए।

श्रेष्ठले पछिल्लो पटक केन्द्रीय कार्यकारिणीको बैठक बस्दा १३ जना उपस्थित भएको र त्यसमध्य आधा आफूहरुसँगै जान तयार रहेको बताए।

उनीहरुले अब नेकपासँग औपचारिक सम्झौता गर्ने छन्। वार्ताबाट १० बुँदे सम्झौताको मस्यौदा तयार गरिएको थियो।

 

अमेजन जलवायु सम्झौता : विश्व एकताको ‘जीत’, तर जीवाश्म इन्धनबारे निराशाजनक चुक

बेलेम (ब्राजिल) । ब्राजिलको अमेजन क्षेत्रमा सम्पन्न संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन कोप–३० ले अन्ततः विश्वका करिब २०० राष्ट्रलाई एउटै सहमतिमा ल्याउन सफल भएको छ । यद्यपि, जीवाश्म इन्धनको भविष्यबारे अपेक्षित कडा प्रतिवद्धता भने दस्तावेजमा समावेश हुन नसकेकाले धेरै देशहरू असन्तुष्ट देखिए ।

दुई हप्तासम्म चलेको कठिन वार्ताका अन्तिम क्षणमा महासन्धि पारित भए पनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ताबाट अलग्गिएका कारण अमेरिकाको अनुपस्थिति स्पष्ट देखियो । शिखर वार्ताभर बेलेमले विशाल विरोध प्रदर्शन, आगलागी, सडक मार्च र उग्र नारा–जुलुसको वातावरण अनुभव गर्नुपरेपछि अन्तिम मोडमा सम्झौतामा हस्ताक्षर गरियो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस सम्झौताले विभाजित विश्वले अझै पनि सङ्कटको क्षणमा एकता देखाउन सक्छ भन्ने प्रमाणित गरेको बताउँदै ‘बहुपक्षवादले जित हासिल गरेको दिन’ भएको टिप्पणी गरेका छन् । दक्षिण अफ्रिकाबाट जी–२० शिखर सम्मेलनमा सहभागी भइरहनुभएका उनले अन्तर्राष्ट्रिय समुदायले ‘त्याग्ने कि निरन्तर प्रयास गर्ने’ विकल्पको सामना गर्दा ‘हामीले निरन्तरताको बाटो रोज्यौँ’ भनी जोड दिएका छन् ।

युरोपेली सङ्घ ९इयु० का जलवायु प्रमुख वोप्के होक्सट्राले भने सम्झौता निकै अमूर्त भएको स्वीकार गर्दै ‘हामीले अपेक्षा गरेभन्दा धेरै पाउन चाहन्थ्यौँ, तर प्रक्रियालाई नै विफल हुनबाट बचाउन यही उत्तम विकल्प थियो’ भनेर प्रतिक्रिया दिएका छन् ।

चीनका प्रमुख प्रतिनिधि ली गाओले पनि चुनौतीपूर्ण परिस्थितिमा प्राप्त सहमतिलाई ‘अन्तर्राष्ट्रिय समुदायको सामूहिक इच्छाशक्तिको प्रतिफल’ भन्दै सफलताका रूपमा व्याख्या गरेका छन् । ब्राजिल, भारत, चीन र दक्षिण अफ्रिकाजस्ता उदीयमान राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौतालाई ‘अर्थपूर्ण’ रहेको प्रतिक्रिया दिए भने साना टापु राष्ट्रहरूको संस्था एओएसआइएसले यसलाई ‘अपूर्ण भए पनि आवश्यक प्रगति’ का रूपमा लिएको छ ।

यद्यपि जीवाश्म इन्धन–सम्बन्धी प्रावधान यसपटक पनि शिखरको दुर्बल पक्ष बन्यो । तेल, ग्याँस र कोइलाबाट चरणबद्ध रूपमा बाहिरिने स्पष्ट रणनीति माग गरिरहेका दर्जनौँ देशले वार्ताबाट हट्ने चेतावनी दिइरहेका थिए । तर अन्तिम दस्तावेजले जीवाश्म इन्धनको नामै उच्चारण नगरी अघिल्ला कोपहरूको सामान्य शब्दावली दोहोर्‍यायो । कोप–३० का अध्यक्ष आन्द्रे कोरिया डो लागोले असन्तुष्टि न्युनीकरण गर्न ‘स्वैच्छिक रोडम्याप’ को प्रस्ताव प्रस्तुत गर्नु भएपनि कोलम्बियाले यस सम्झौतालाई अस्वीकार गर्ने घोषणा गर्‍यो ।

राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्नै देशले आगामी वर्ष जीवाश्म इन्धन चरणबद्ध अन्त्यबारे विश्वकै पहिलो शिखर सम्मेलन आयोजना गर्ने बताएका छन् । ब्राजिलको सुरुआती समर्थनका बाबजुद तेल–उत्पादक साउदी अरेबिया, कोइलामा भरपर्दो भारतलगायतका राष्ट्रहरूबाट कडा विरोध भएपछि रोडम्यापले गति गुमायो । ग्रीनपीस ब्राजिलका क्यारोलिना पासक्वालीले ‘लुलाले उच्च मापदण्ड राखे पनि विभाजित भू–राजनीतिले त्यसलाई रोकिदियो’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पैसा र व्यापारको मुद्दामा भने केही प्रगति भयो । विकासशील राष्ट्रहरूको जोडबलका बीच विश्वले सन् २०३५ सम्म गरिब तथा कमजोर देशहरूलाई जलवायु अनुकूलनका लागि प्रदान हुने वित्तीय सहयोग ‘कम्तीमा तीन गुणा’ बढाउने सहमति गर्‍यो । यद्यपि बङ्गलादेशका एक वार्ताकारले ‘लडाइँ अझै जारी रहने’ टिप्पणी गरेका छन् । नेपालका प्रतिनिधि राजु पण्डितले शिखर सम्मेलनले ‘दुर्बल राष्ट्रहरूको अपेक्षा पूरा नगरेको’ बताएका छन् । साथै, चीनका लागि महत्त्वपूर्ण मानिएको व्यापार–सम्बन्धी कडा भाषा पहिलोपटक कोप सम्झौतामा समावेश गरिएको छ ।

राजनीतिक बहसभन्दा पर अमेजनको वातावरणले यो शिखर सम्मेलनलाई विशेष बनायो । खुला वातावरण, वर्षावनको आवाज, स्थानीय जीवनशैली र व्यापक सार्वजनिक भागीदारीले यस कोपलाई पछिल्ला वर्षहरूमा अधिनायकवादी पेट्रो–राज्यहरूले आयोजना गरेका सम्मेलनभन्दा फरक बनायो । हजारौँ मानिस सडकमा उत्रिए र भित्र प्रदर्शनकारीहरूले नारा लगाए । तर केही क्षण अविस्मरणीय पनि रहे—दोस्रो अन्तिम दिन कपडाको छतमा लागेको आगलागीले हलहरू धुवाँले ढाकिँदा केहीबेर कोलाहल मच्चियो भने सुरुआतमै आदिवासी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भयो ।

अन्तिम सत्रमा अध्यक्ष कोरिया डो लागोले वर्षावनको गर्जनयुक्त आवाजबीच भाषण जारी राख्दै ‘अमेजन आफैँले हामीलाई बोलिरहेको छ’ भनेका थिए । त्यो आवाज जसले जलवायु सङ्कटका विषयमा विश्वलाई फेरि एकपटक गम्भीरतापूर्वक सोच्न बाध्य गरायो ।

मस्कोको पक्ष झुकेको अमेरिकी शान्ति योजनामाथि युक्रेनका सहयोगीहरूको कूटनीतिक दबाब

किएभ । युक्रेनका प्रमुख पश्चिमी सहयोगी राष्ट्रहरूले शनिबार राजधानी वरिपरि भेला हुँदै अमेरिकाद्वारा तयार गरिएको विवादास्पद शान्ति योजनामा संशोधन गर्न दबाब दिएका छन् ।

उनीहरूका अनुसार उक्त योजना मस्कोको दीर्घकालीन मागहरूसँग निकट देखिएको छ । यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनी जनताले सधैँ आफ्नो मातृभूमिको रक्षा गर्ने दृढ प्रतिज्ञा दोहोर्‍याएका छन् ।

फ्रान्स, जर्मनी र बेलायतका उच्चस्तरीय प्रतिनिधिमण्डलहरूको समन्वयमा युक्रेनले आइतबार स्विट्जरल्यान्डमा अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ताको तयारी गर्दैछ । लगभग चार वर्षदेखि जारी युद्ध रोक्न अमेरिकाद्वारा प्रस्तावित २८ बुँदे योजनाले किएभ र युरोपेली राजधानीहरूमा तीव्र चिन्ता जगाएको छ । राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले सार्वभौमिक अधिकार र अमेरिकी समर्थनबीच कठिन छनोटको जोखिम खेप्नुपर्ने अवस्था पनि उल्लेख गरेक छन्।

ह्वाइट हाउस बाहिर बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्ताव आफ्नो ‘अन्तिम प्रस्ताव होइन’ भन्दै शान्ति चाँडै हासिल हुनुपर्ने धारणा राखेका छन्, यद्यपि त्यसको ठोस व्याख्या उनले गरेका छैनन् ।

अमेरिकी योजना अनुसार युक्रेनले केही भूभाग रूसलाई हस्तान्तरण गर्नुपर्ने, सेनाको आकार घटाउनु पर्ने, तथा नाटो सदस्यतामा रोक सिर्जना हुनेजस्ता मागहरू छन् । यी मागलाई किएभले बारम्बार अस्वीकार गर्दै आएको छ ।

शनिबार युरोपेली सङ्घ (इयु), क्यानाडा र जापानका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी पहलको स्वागत गरे पनि सीमा बलपूर्वक परिवर्तन गर्न नहुने र युक्रेनी सेनामा व्यापक कटौती अस्वीकार्य हुने स्पष्ट सन्देश दिए । नाटो र इयु सम्बन्धी निर्णयहरू सदस्य राष्ट्रहरूको सहमतिबिना सम्भव नभएको कुरामा उनीहरूले जोड दिए ।

यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जले जोहानेसबर्गमा भएको जी–२० शिखर सम्मेलनमा भेट्दै युरोपलाई परामर्शबिना शान्ति प्रक्रिया अघि नबढाउन चेतावनी दिएका छन् । म्याक्रोनका अनुसार शान्ति योजनाले युरोपको सुरक्षा चिन्तादेखि युक्रेनको सम्भावित इयु सदस्यता तथा रुसको फ्रिज गरिएको सम्पत्तिसम्म धेरै विषयलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ, त्यसैले ‘व्यापक परामर्श’ अपरिहार्य छ ।

युक्रेनका वार्ताकारहरूले आइतबार जेनाभामा अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्ने तयारी गरिरहेका छन् । बैठकमा अमेरिकी पक्षबाट सेना सचिव ड्यान ड्रिस्कोल र राष्ट्रिय सुरक्षा सल्लाहकार तथा विदेशमन्त्री दुवै भूमिकामा रहेका मार्को रुबियो सहभागी हुने अपेक्षा गरिएको छ ।

पश्चिमी राष्ट्रहरूले युक्रेनलाई दिगो र न्यायसङ्गत समाधानबिनै शान्ति सम्झौतामा हतार नगर्न आग्रह गर्दै आएका छन् । युरोपेली नेताहरूका अनुसार क्रेमलिनले युद्ध मैदानमा फाइदा खोज्ने रणनीतिमा वार्ता लामो समयदेखि अवरुद्ध गरेको छ । जी–२० शिखर सम्मेलनअघि बोल्दै बेलायती प्रधानमन्त्री किर स्टार्मरले ‘रूसले बारम्बार शान्तिको नाटक गरे पनि यसको कार्यले कहिल्यै त्यसलाई पुष्टि नगरेको’ टिप्पणी गरेका छैनन्।

जर्मन चान्सलर मेर्जले पनि ‘युक्रेनको बिना सहमति शान्ति सम्भव छैन’ भन्दै युरोप कुनै पनि शान्ति प्रक्रियाको अनिवार्य भाग हुनुपर्ने स्पष्ट सन्देश ट्रम्पलाई दिएको जानकारी दिए । उनका अनुसार वर्तमान अवस्थाले समाधानको झिनो सम्भावना देखाएको भए पनि ‘सबैका लागि राम्रो परिणाम प्राप्त गर्न अझै धेरै टाढा’ छ ।

यसैबीच युक्रेनले होलोडोमोर मेमोरियल दिवस मनाउँदै सन् १९३० को दशकको सोभियत–कालीन भीषण अनिकालको स्मरण गरेको छ । उक्त अवसरमा राष्ट्रपतिले टेलिग्राममार्फत रूसको निरन्तर आक्रमणको पृष्ठभूमिमा युक्रेनी जनताको बलिदान स्मरण गर्दै भने, “हामीले युक्रेनको रक्षा गरेका छौँ, गरिरहेका छौँ र सधैँ गर्नेछौँ । हाम्रो घरमा रूस कहिल्यै मालिक बन्ने छैन ।”

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

ह्यालिफ्याक्स (नोभा स्कोटिया) । रुस–युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनाप्रति कडा आपत्ति जनाउँदै अमेरिकी सांसदहरूले अहिलेको स्थितिबारे गम्भीर चिन्ता प्रकट गरेका छन् ।

सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै भएको बताएका थिए ।

तर यस दाबीलाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट रूपमा असत्य भन्दै खण्डन गरे । त्यसपछि रुबियोले समेत असाधारण रूपमा अनलाइन प्रतिक्रिया दिँदै सांसदहरूले आफूलाई गलत बुझेको सङ्केत गरेका छन् । यद्यपि ती सांसदहरूले भने उक्त जानकारीको स्रोत रुबियो आफैँ भएको दाबी गरिरहे । रुबियोले मस्कोको हितमा अत्यधिक झुकेको देखिने शान्ति प्रस्तावका सम्बन्धमा वासिङ्टनकै जिम्मेवारी रहेको बताउँदै आफ्नो थप अडान सार्वजनिक रूपमा दोहोर्‍याएका थिए ।

ट्रम्प प्रशासनको अनुमोदन पाएको, व्यापक रूपमा चुहिएको २८ बुँदे अमेरिकी शान्ति योजना ह्वाइट हाउसका अनुसार रुबियो र राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच झन्डै एक महिनासम्म चलिरहेको परामर्शको नतिजा हो । उक्त प्रस्तावमा युक्रेनले ठूलो भूभाग त्याग्नुपर्ने जस्ता धेरै रूसी मागहरू समावेश गरिएका छन् । भूभाग त्याग्नुपर्ने प्रस्तावलाई युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले धेरैपटक अस्वीकार गर्दै आएका छन् । राष्ट्रपति ट्रम्पले युक्रेनले अर्को हप्ताको अन्त्यसम्ममा योजना स्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

क्यानाडामा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै दक्षिण डकोटाका रिपब्लिकन सांसद माइक राउन्ड्सले वर्तमान स्वरूपमा सार्वजनिक भएको योजनाका लागि प्रशासन जिम्मेवार नरहेको दाबी गरेका छन् । उनका अनुसार यो योजना मात्र एक प्रारम्भिक रूपरेखा हो । सांसद राउन्ड्सले कडा शब्दमा टिप्पणी गर्दै भने, “यो त रूसी भाषामै लेखिएको जस्तो देखिन्छ ।”

रुबियो जेनाभा प्रस्थान गर्दै गर्दा सांसदहरूसँग गरिएको सम्पर्कपछि उहाँलाई उद्धृत गर्दै स्वतन्त्र सिनेटर एङ्गस किङले योजना ‘प्रशासनको आधिकारिक प्रस्ताव नभई रूसी पक्षको चाहनाको सूची मात्र’ रहेको बताएको दाबी गरेका छन् । विदेश नीति र सुरक्षा विषयमा लामो अनुभव भएका द्विदलीय सांसदहरूको समूहले प्रेस सम्मेलनमार्फत यही धारणा साझा गर्दै रुबियोले आफ्नै जवाफमा दिएको सङ्केत नागरिकहरूलाई सुनाए ।

एक अमेरिकी अधिकारीका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेशमन्त्री दुवैको भूमिकामा रहेका रुबियो जेनाभामा हुने आगामी बैठकमा अमेरिकी प्रस्तावबारे छलफल गर्न सहभागी हुने अपेक्षा गरिएको छ । यद्यपि उनले सार्वजनिक रूपमा सिनेटरहरूको दाबीलाई अस्वीकार गर्दै एक्समा लेखेको थिए, “शान्ति प्रस्ताव अमेरिका द्वारा लेखिएको हो । यो रूसी तथा युक्रेनी दुवै पक्षबाट प्राप्त इनपुटमा आधारित छ । यही प्रस्तावलाई निरन्तर वार्ताका लागि बलियो ढाँचा रूपमा प्रस्तुत गरिएको छ ।”

विदेश मन्त्रालयलका प्रवक्ता टोमी पिगटले सांसदहरूको सार्वजनिक दाबी ‘स्पष्ट रूपमा झुटो’ भएको पुनः औँल्याएका छन् । त्यस्तै ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पनि नाम गोप्य राख्दै प्रशासनले सुरुदेखि यस प्रस्तावलाई दीर्घकालीन शान्ति प्रक्रियातर्फ अघि बढ्ने प्रारम्भिक सहमतिको रूपमा रहेको बताएका छन् ।

यसबीच, शनिबार फोरममा सहभागी सिनेटरहरूले यो प्रस्तावले मस्कोलाई आक्रामकताका लागि नै पुरस्कार दिने चेतावनी दिए । सिनेटर किङले भने, “यसले आक्रामकतालाई पुरस्कृत गर्छ—यति सरल कुरा हो । पूर्वी युक्रेनमा रूसको दाबीको कुनै नैतिक, कानूनी वा राजनीतिक औचित्य छैन ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार ढिलो प्रतिक्रिया दिँदै यदि अमेरिका युक्रेन र युरोपेली सहयोगीहरूलाई सहमत गराउन सक्षम हुन्छ भने यो प्रस्ताव ‘अन्तिम शान्ति सम्झौताका लागि आधार बन्न सक्ने’ आशा व्यक्त गरेका थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने प्रत्यक्ष अस्वीकार नगरे पनि आफ्नो सम्बोधनमा शान्तिपूर्ण र उचित व्यवहारप्रति जोड दिएका छन्। उनले कठिन समयका बाबजुद वासिङ्टनलगायत अन्य साझेदारहरूसँग निरन्तर सहकार्य जारी राख्ने प्रतिज्ञा गरेका छन् ।

यस वर्ष आफ्नो १७ औँ संस्करणमा प्रवेश गरेको ह्यालिफ्याक्स अन्तर्राष्ट्रिय सुरक्षा फोरममा ह्यालिफ्याक्सस्थित वेस्टिन होटलमा करिब ३०० सुरक्षा विज्ञ, अमेरिकी सिनेटर, कूटनीतिज्ञ तथा सैन्य अधिकारीहरूलाई भेला गराएको छ । तर यस वर्ष ट्रम्प प्रशासनले थिङ्क ट्याङ्कहरूद्वारा आयोजना गरिने कार्यक्रमहरूमा अमेरिकी रक्षा अधिकारीहरूको सहभागिता निलम्बन गरेपछि फोरममा असहजता झनै बढेको छ ।

क्यानाडा–अमेरिका सम्बन्धमा देखा परेको हालको चिसोपन, व्यापार युद्ध र क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रहजस्ता विवादास्पद अभिव्यक्तिले वातावरण थप तनावग्रस्त बनाएको छ । यसका कारण धेरै क्यानाडाली नागरिकले अमेरिका यात्रा गर्न अस्वीकार गर्दै आएका छन् र यतिबेला न्युह्याम्पशायर जस्ता सीमावर्ती अमेरिकी राज्यहरूमा पर्यटन क्षेत्रमा उल्लेख्य गिरावट देखिएको छ ।

झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम

तम्घास (गुल्मी) । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डका सडक किनारका झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम बढेको छ । जिल्ला सदरमुकाम तम्घासबाट सिमटारीसम्म पर्ने उक्त पक्की सडक किनारमा घाँस, स–साना रुख, बिरुवा र पातपतिङ्ग उम्रिँदा दुर्घटनाको जोखिम बढेको हो ।

अहिले सडकको छेउकुनामा घाँस, रुख, बिरुवा उम्रने, पातपतिङ्गर ढलमा गएर जम्मा हुनेलगायत समस्या देखिएको छ । ढल तथा नाला व्यवस्थापन नहुँदा वर्षायाममा पानी नालीबाट नभई सडकबाट बग्दा बीचबीचमा खाल्डा परेका छन् ।

वर्षायाममा गएको पहिरो र बाढीले बगाएर ल्याएको फोहर सफा नगर्दा सडक साघुँरिँदै गएको स्थानीय बताउँछन् । तम्घासबाट सिमलटारीसम्म पाँच मिटर चौडाइको २८ किमी उक्त सडक छ वर्षअघि विसं २०७६ मा स्तरोन्नति गरिएको थियो । कुल रु ८७ करोड ९१ लाख रकममा निर्माण गरिएको उक्त सडकबाट पुर्कोट दह, प्युठानलगायत स्थान पुग्ने सवारीसाधन सञ्चालन हुन्छन् ।

अहिले सडकको छेउकुनाबाट घाँसपात, स–साना रुख, पातपतिङ्गर पलाउँदा सडकको सौन्दर्य मेटिन थालेको इस्मा गाउँपालिका–६ का सुजन विष्टले बताएका छन् । “दुईतर्फी सवारी सञ्चालन हुनुपर्नेमा सडक साँघुरिँदा एकतर्फी मात्र सञ्चालन भइरहेको छ”, उनले भने, “सोही कारणले सडक दुर्गन्धित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।” उनले वर्षायाममा गएको पहिरो र बाढीले बगाएको फोहर नहटाउँदा सडक साँघुरिएको बताएका छन् । सडकको माथिबाट आएको पहिरोले साँघुरो भएको भन्दै सम्बन्धित निकायले ध्यान नदिँदा समस्या बढ्दै गएको उनको भनाइ छ ।

धुर्कोट गाउँपालिका–५ का गणेश पाण्डेले सडकमा गएको पहिरो र छेउछेउमा उम्रिएका घाँसपात हटाएर सफा गर्न सरोकार भएका निकायलाई आग्रह गरेका छन् । “सडक सफा गरे दुइतर्फी सवारी सञ्चालनमा सजिलो हुन्थ्यो, हामी मोटरसाइकल लिएर हिड्नेलाई पनि सजिलो हुन्थ्यो”, उनले भने।

सोही राजमार्गमा सवारी व्यवसाय सञ्चालन गर्दै आउनुभएका चालक राजु खत्रीले सडकमा भएको लाहापरवाहीले गर्दा तोकेको समयमा यात्रुलाई सम्बन्धित गन्तव्यमा पु¥याउन नसकिएको गुनासो गरेका छन् । उम्रिएका घाँसपात सफा नगर्नु, वर्षायाममा गएको पहिरो नहटाउनु, सडकको बीचमा परेका खाल्डाखुल्डीको व्यवस्थापन नगर्नुलगायत कारणले यात्रु र सवारी धनी दुवैलाई यात्रामा सास्ती हुने गरेको उनको भनाइ छ ।

बिरामीलाई समयमा अस्पताल पु¥याउनुपर्नेमा कहिलेकाँही सडक साँघुरो भएकाले कारण बाधा हुँदै आएको खत्रीले बताएका छन् । सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन बिग्रने समस्या देखिन थालेको उनको भनाइ छ ।

तम्घासबाट सिमलटारीसम्म २८ किमीअन्तर्गत रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिका पर्दछन् । उक्त खण्ड भएर ती पालिकाका साथसाथै मदाने गाउँपालिका– ढोरपाटन हुँदै प्यूठानसम्मका दैनिक सयौँ सवारीसाधन र हजारौँ नागरिकले यात्रा गर्छन् ।

सडकको स्वामित्व पाएको मदन भण्डारी राजमार्ग, गुल्मीले उक्त खण्डमा दुई जना कामदार खटाएर काम भइरहेको जनाएको छ । कामदार पर्याप्त नहुँदा उनीहरूले निश्चित क्षेत्रमा काम गरेपनि सबैतिर सफाइ नभएको स्थानीयको गुनासो छ ।

कार्यालय प्रमुख रमेश चौधरीले सडकको निश्चित खण्डमा ठेक्कामार्फत काम भइरहेको बताएका छन् । अहिले निश्चित ठाउँमा मात्रै कामदारले झाडी सफाइ गरे पनि अन्य ठाउँमा यथाशीघ्र कामसक्नेगरी योजना बनाइएको उनले जानकारी दिएका छन् ।

महेश बस्नेतमाथि बेलुन हान्नेलाई कारबाहि गर्न नेसनल भोलिन्टियर्स फोर्सको माग

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि आज (आइतबार) विराटनगर विमानस्थल बाहिर रंगले भरिएको बेलुन प्रहारको घटनाप्रति एमाले निकट नेशनल भोलिन्टियर्स फोर्सले कडा आपत्ति जनाएको छ । घटनामा संलग्न नेविसंघका नेतामाथि कठोर कारबाही गर्न संगठनले माग गरेको छ ।

आइतबार बिहान सुनसरीमा आयोजित युवा संघको ‘कोशी जागरण सभा’ मा सहभागी हुन बस्नेत विमानस्थल बाहिर गाडीबाट निस्कँदै गर्दा दुई युवाले रातो रङ मिसाइएको पानीले भरिएको बेलुन प्रहार गरेका थिए । प्रहरीले तत्कालै दुवै युवालाई पक्राउ गरेको छ । उनीहरू महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेता सञ्जोग गौतम र अर्पित कुँवर भएको खुलेको छ ।

घटनालाई बस्नेत स्वयंले लोकतन्त्रप्रतिको उपहास भनेका छन् । एमाले नेतृ रामकुमारी झाँक्रीले पनि सार्वजनिक रूपमा दोषीहरूमाथि कारबाहीको माग गरेकी छन् । नेशनल भोलिन्टियर्स फोर्सका कमाण्डर पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जेन–जी आन्दोलनपछि उत्पन्न भइरहेको असामान्य परिस्थितिलाई चिन्ता जनाउँदै विराटनगरमा बस्नेतमाथि भएको बेलुन प्रहारलाई योजनाबद्ध अराजक गतिविधि भनेर उल्लेख गरिएको छ ।

संगठनले नेपाली कांग्रेससम्बद्ध नेविसंघले यस्तो चरम अराजकता रोक्न नसकेको आरोप लगाउँदै दोषीलाई दण्डित गर्न आग्रह गरेको छ । विज्ञप्तिमा यसअघि काठमाडौंमा सुदन गुरुङ नेतृत्वको समूहले एमाले नेता किसान श्रेष्ठको घरमा धक्काधक्की गरेको र सिमरा विमानस्थलमा महासचिव शंकर पोखरेलको टोलीमाथि अवरोध सिर्जना गरिएको घटनाहरू पनि स्मरण गरिएको छ ।

सम्राट उपाध्याय जस्ता जेन–जी आन्दोलनका योजनाकारहरू अझै खुलेआम हिँडिरहेकाले कानुनी कारबाही तत्कालै अघि बढाउन फोर्सले सरकारलाई चेतावनी दिएको छ । फोर्सका अनुसार, सरकार-विशेषतः सुशीला कार्की नेतृत्व—अपराधीलाई संरक्षण गर्ने भूमिकामा उभिएको आरोप लाग्दै आएको छ । सरकारले संवेदनशील घटनालाई बेवास्ता गरिरहने हो भने परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

 

पत्रकार दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए

काठमाडाैं । पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँको बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएकाे हाे ।

खनियाँ रेडियो-अडियोका सञ्चालक हुन्। एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम हो । उनको मृत्युको अन्य कारण अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो सञ्चालन गरेका थिए ।

‘जेनजी’ लाई राम कार्कीको आग्रह : विचार र ज्ञानले सशक्त बन्नु पर्छ

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता राम कार्कीले चुनाव भए-नभए पनि आफूहरूले अभियान चलाइरहने बताएका छन् । आज (आइतबार) काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणासभामा उनले आफूहरूले पुँजीवाद त्याग्न खोजेको बताए ।
‘जेनजी’ लाई उनले विचारसहितको राजनीतिमा आउन आग्रह गरे । विचार र ज्ञानले सशक्त बन्नुपर्नेमा उनले जोड दिए।

‘भदौ २३ र २४ गते त विद्रोह गर्नुभयो, तर तपाईं निरन्तर लडाइँ गर्न सक्नु हुन्न । विचार बिनाको राजनीति कुविचार हो’, उनले भने, ‘हामीले सद्विचार निर्माण गर्न खोजेका हौँ । तपाईंहरू विचार र ज्ञानले सशक्त बन्नु पर्छ।’ समाज बनाउन हालको शिक्षा पद्धति, यातायात, कृषि, उद्योग नीतिलाई प्रतिस्थापन गर्न चाहेको उनले उल्लेख गरे। वैचारिक ‘हतियार’ सहित पार्टीभित्रै बसेर आफूहरूमाथि निगरानी गर्न पनि उनले आग्रह गरे।

अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ

तिलोत्तमा(रुपन्देही) । तिलोत्तमा वडा नं ४ कि नरमाया क्षेत्री शान्त ठाउँको खोजीमा देवदहस्थित पाकरी वृक्षमा पुग्छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा रहेको पाकरी वृक्ष शान्त र मनोरम ठाउँ हो । पाकरी वृक्ष पुग्नुअघि त्यहाँका बारेमा उनले अरुबाट नै जानकारी पाएर त्यहाँ पुगेका हुन् ।

“जस्तो सुनेकी थिएँ, त्यस्तै रहेछ यो ठाउँ, सुन्दर, शान्त अनि मनै आनन्दित हुने”, नरमाया भन्छिन्, “यहाँ आइपुग्दा आनन्दको आभाष पाएँ, पहिलो पटक पुग्दा नै आकर्षित भएँ त्यसैले यो ठाउँमा पटकपटक आउन मन लाग्छ ।”

यस्तै, बुटवल उपमहानगरपालिका वडा नं १५ कि आरती राना पनि पाकडी वृक्षमा धेरैपटक पुगेकी छिन् । आरती पनि सुन्दर, शान्त र मनोरम ठाउँमा रमाउन तथा मनलाई आनन्दित बनाउन त्यहाँ पुग्ने गरेको बताँउछिन् । आरतीलाई पाकडी वृक्षले मोहित बनाएको छ । उनि भन्छिन्, “जब त्यहाँ पुगिन्छ साँच्चिकै स्वर्गमा पुगेको भान हुन्छ ।”

तिलोत्तमा वडा नं १५ निवासी हिमाल सुनार पाकडी वृक्षमा पुगेर आनन्दले बस्ने र फोटो तथा भिडियो बनाउने गर्दछन्। हिमाललाई यो ठाउँ वास्तवमै स्वर्ग लाग्छ । पाकडीका बारेमा अरुबाट थाहा पाएर त्यहाँ पुगेका हिमाललाई त्यो ठाउँमा बसेर मन अघाउँदैन ।

यस्तै पाकरी वृक्षमै भेटिएकी तिलोत्तमा वडा नं ३ की अप्सरा खत्रीले पनि यहाँ आत्मसन्तुष्टिका लागि आएको बताउँछिन् । शान्त वातावरण र शीतल हरियाली भएको सो वृक्षमा तिलोत्तमा–३ कै कोमल कुँवर पनि भेटिए । उनी पनि शीतल र शान्त वातावरणको खोजीमा पटकपटक पुग्दछन् ।

एसियाकै सबैभन्दा ठूलो वृक्षका रुपमा लिइने यो वृक्षको ऐतिहासिक महत्व रहेकै कारण दिनहुँ सयौँ आन्तरिक पर्यटक पाकरी वृक्षमा रमाउन पुग्ने गरेका छन् । हेर्दा सुन्दर, सधैँ हरियाली, शीतलताले भरिपूर्ण पाकरी वृक्षले सबैलाई आकर्षित गरेको छ । अलौकिक विशेषताले भरिपूर्ण यो वृक्षमा बौद्धकालीन सम्बन्ध जोडिएको भन्ने पनि गरिन्छ । प्राचीन कोलीय राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन स्थानबाट पाकरी वृक्षको उत्पत्ति भएको भन्ने स्थानीयको जन विश्वास रहेको छ ।

यो वृक्ष भगवान् गौतम बुद्धको मावली देवदह क्षेत्रमा पर्ने भएकाले यस वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता पनि छ । यी सबै कुरा बौद्ध ग्रन्थमा कहीँकतै पनि उल्लेख नभएको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक इन्द्र काफ्ले बताँउछन् । देवदहको वडा नं ८ मा रहेको यो वृक्ष पूर्व–पश्चिम महेन्द्र राजमार्गको शीतलनगर चोकदेखि दुई किमी दक्षिणमा रहेको छ । यस वृक्षकाबारेमा थाहा पाउनेहरु अवलोकनका लागि पुग्ने गरेका छन् ।

यो वृक्ष अवलोकन गर्न र यससम्बन्धी जानकारी लिन नेपालभरबाटै पर्यटक पुग्ने गरेको सहजकर्ता रुद्र पाण्डे बताँउछन् । यहाँ सामान्य मानिसदेखि विभिन्न तहमा अध्ययनरत विद्यार्थी, बुद्धिष्टहरु, अनुसन्धानकर्ता, प्रेमील जोडी र अन्य मुलुकबाट पर्यटक पुग्ने गरेको पाण्डेले जानकारी दिए । पछिल्लो समय पाकडी वृक्ष सबैको आकर्षणको केन्द्र बनेको छ । यो वृक्ष देवदहको पहिचानका रुपमा स्थापित रहेको छ ।

देवदह यसै पनि भगवान् गौतम बुद्धको मावलीका रुपमा अन्तरराष्ट्रियस्तरमै परिचित पवित्र स्थल हो । यो मात्र नभइ देवदहमा बौद्धकालीन स्थल दर्जनौँ भए पनि पर्याप्त रुपमा उत्खनन हुन सकेका छैनन् । उत्खनन भए पनि कछुवाको तालमा हुन्छ । साथै प्रचारप्रसारको अभाव भएको स्वयं नगरपालिकाका जनप्रतिनिधि स्वीकारछन् । देवदहमा भवानीपुर, खयर डाँडाजस्ता बौद्धकालीन स्थल दर्जनौँ छन् । तर त्यसको उचित विकास र प्रचारप्रसारको कमी छ ।

वृक्षको विशेषता

द ट्रि अफ हेभनका उपमा पाएको यो वृक्ष ८२ फिट अग्लो अर्थात् करिब ३० मिटर उचाइ छ । झण्डै ३० मिटर परिधि भएको वृक्षले एक कट्ठा जमिन पूरै ओगटेको छ । कहिल्यै उजाड नहुने सधैँ हरियो रहिरहने यो वृक्षमा गिद्ध, बकुल्ला, चील बाजजस्ता चरा कहिल्यै बस्दैनन् । अलौकिक विशेषता रहेको यो वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता छ । यो वृक्षको जरा तथा हाँगामा विभिन्न जीवका साथै भगवान्का आकृति देखिने सहजकर्ता पाण्डेले बताउनुभयो । अर्को अनौठो कुरा यो वृक्षको नजिक हात्ति कहिल्यै पनि नगएको स्थानीय बताउँछन् ।

वृक्षका फाइदाहरु

पाकरी वृक्ष सधैँभरि हरियो रहिरहने र यसबाट प्रशस्तै अक्सिजन पाइन्छ । यसको नजिक पुग्दा मानिसलाई सकारात्मक उर्जा मिल्छ । “हेर्दा निकै सुन्दर देखिने यस वृक्ष प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यसका साथै धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ”, सहजकर्ता पाण्डेले भने, “मानिसहरू यहाँ आएर ध्यान गरेर आफ्नो मनलाई शान्त पार्दै स्वर्गीय आनन्द प्राप्त गर्छन् ।”

पाण्डेले वृक्ष अवलोकन गर्न पुग्ने पर्यटकका लागि वृक्षकाबारेमा जानकारी दिने गर्दछन् । सो स्थानकाबारेमा जानकारी दिन नगरपालिकाबाटै उनलाई खटाइएको छ । तर पाकरी वृक्षमा पुग्न भने त्यति सहज छैन । यहाँ पुग्नका लागि कहीँकतै कुनै पनि प्रकारका सूचना भेटिँदैनन् । टाढाबाट त्यहाँ पुग्दा भोकाएका तिर्खाएकालाई वरिपरि कुनै सुविधा छैन ।

पाकडी वृक्ष संरक्षण र भौतिक पूर्वाधारका लागि नगरपालिकाले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्ने गरेको छ । तर जग्गा अभावमा वृक्ष वरिपरि पर्खाल लगाउने कामबाहेक अरु कुनै महत्वपूर्ण भौतिक उपलब्धि हुन नसकेको देवदह वडा नं ८ की स्थानीय बासिन्दा अनुराधा लोधले बताएकी छिन् । वृक्ष संक्षणका लागि वृक्ष वरिपरि पर्खाल तथा तार लगाइएको छ भने रेखदेख र त्यहाँ पुग्ने पर्यटकका लागि पाकरी वृक्षको जानकारी दिन नगरपालिकाबाट कर्मचारी खटाइएको छ ।

ऐतिहासिक र पुरातात्त्विक महत्त्वको भएकाले कहीँकतै विनाश नहुने गरी काम गर्नुपर्दा सुस्तगतिमा काम गर्नुपर्ने बाध्यता भएको नगर प्रमुख ध्रुव खरेलले बताएका छन् । उनी भन्छन्, “वृक्ष भएको जग्गा कुनै एक व्यक्तिका नाममा छ, तर उनले दानस्वरुप हस्तान्तरण गरिसकेका छन्, भएको जमिन वृक्षले नै ओगटेको छ, कुनै पनि भौतिक संरचना र विकासका लागि एकल प्रयासले मात्र सम्भव नहुने रहेछ, बाटोघाटो पनि विस्तारै बनाउँदै छौँ ।”

नगर प्रमुख खरेलले वृक्ष भएको सो जग्गा सरकारलाई नै हस्तान्तरण गरे पनि जग्गा नामसारी भने नभएको प्रष्ट पारेका छन् । वृक्षको समग्र विकास र विस्तारका लागि जग्गा कमी भएकाले थप गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । साथै वृक्ष वरिपरिको जग्गा थप गर्ने प्रक्रियामा रहेको नगर प्रमुख खरेलको भनाइ छ ।

प्रलोपाका अभिभावक बनेका बाबुरामले भने, ‘आफ्ना कुरा भन्छु, लागू नभए सहेर बस्छु’

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीमा आफू अभिभावकको रुपमा रहने बताएका छन् । आज (आइतबार) पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सल्लाह–सुझाव दिने र लागू नभए सहेर बस्ने समेत उल्लेख गरे ।

‘अभिभावकले आफै सक्रिय, कार्यकारिणी भूमिका निर्वाह गर्दैन,’ भट्टराईले भने, ‘जसले काम गर्नुुपर्ने हो, तिनीहरुलाई काम गर्न दिन्छ, दिनुपर्छ । आफ्नो कुरा राख्नु पर्छ । लागू भएन भने पनि उनीहरू जे गर्छन्, त्यो उनीहरूको अधिकार हो भनेर सहेर बस्नु पर्छ ।’ ‘तर, आफ्नो कुरा भनिराख्नु पर्छ । म त्यही प्रतिवद्धता तपाईंहरूसँग गर्न चाहन्छु,’ उनले भने ।

 

माइतीघरमा जेनजी घाइते र राजावादीबीच ‘लफडा’ (तस्बिरहरू)

काठमाडौं । काठमाडौं माइतीघरमा जेनजी आन्दोलनका घाइतेको अगाडि राजावादी नारा लागेपछि उनीहरु आक्रोशित भएका छन् । माइतीघरमा घाइते जेनजी र राजावादीबीच चर्काचर्की परेको छ । सरकारले माग सम्बोधन गर्न नसकेको भन्दै धर्नामा बसेका घाइते जेनजी र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका प्रदर्शनकारीबीच ‘लफडा’ भएको हो ।

भदौ २३ र २४ गतेको घटनामा घाइते भएका र शहीद परिवारका पीडितहरुले निःशुल्क उपचार, उचित क्षतिपूर्तिलगायतको मागसहित माइतीघरमा निरन्तर धर्ना दिइरहेका छन् । प्रसाई नेतृत्वको समूहले पनि माइतीघरमै पुगेर प्रदर्शन गरेपछि माहोल बिग्रिएको हो । यद्यपि, व्यापक प्रहरी परिचालन भएको कारण कुनै अप्रिय घटना भने घटेन ।

प्रसाई समूहले आजदेखि अनिश्चितकालीन मेची महाकाली आन्दोलनको घोषणा गरेकोमा हिजो साँझ सरकारसँगको वार्तापछि फिर्ता लिएको थियो । यद्यपि, शान्तिपूर्ण आन्दोलन गर्न भने सरकारले नै अनुमति दिएको थियो । सोही अनुसार आज प्रदर्शनको लागि माइतीघर पुगेका राजावादी र घाइते जेनजीबीच सवालजवाफ भएको हो । घाइते जेनजीले अन्यत्रै गएर प्रदर्शन गर्न भनेपछि राजावादीहरु चर्काचर्कीमा उत्रिएका हुन् ।

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या

काठमाडौँ । विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् ।

गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ ।

राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान ल्याएका झण्डै २०० कन्टेनर केरुङ नाकामै थन्किएको बताँउछन् । “दसैँका लागि साउनमा चीनबाट आयात गरिएको सामग्री अझै केरुङ नाकामै अलपत्र छन्, नाकामा सामान रोकिँदा समस्यामा परिएको छ”, उनले भने ।

सिन्धुपाल्चोकको तातोपानी नाका अहिले फाट्टफुट्ट मात्रै सञ्चालनमा छ । वर्षाको कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको उक्त नाका तिहारपछि राम्रोसँग सञ्चालनमा आएको हो । सङ्घका पूर्वअध्यक्ष श्रेष्ठ केरुङ र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीहरुले महङ्गो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयत गर्नुपरेको बताँउछन्।

कोरोला नाकामा भने सामान ढुवानीका सवारीसाधनलाई प्रवेशमा कडाइ गरेको छ । उक्त नाकामा दैनिक चार÷पाँच ढुवानीका सवारीले मात्र चीन प्रवेशका लागि पास पाउँदै आएको व्यवसायीको गुनासो छ । हाल उक्त चिसो मौसम सुरु भएपछि उक्त नाका बन्द रहेको छ । कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाडौँ ल्याउनुपर्ने बाध्यता छ ।

कोरोला नाका चिसो बढेकाले गाडी ‘स्टार्ट’ गरेर राख्नुपर्ने बाध्यताले गर्दा तेल समेत धेरै खर्च हुने गरेको व्यवसायी बताउँछन् । केरुङ नाका चाँडो खोल्नसके सामान आयतमा सहज हुने व्यवसायीहरु बताउँछन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्की नेपाल चीन जोड्ने दुई ठूला नाका राम्रोसँग सञ्चालनमा नआउँदा सामान आयतमा समस्या परेको बताँउछन् । “मुख्य नाका बन्द हुँदा बैकल्पिक नाका प्रयोग गरेर सामान ल्याउँदा सामानको मूल्यसमेत बढ्न जान्छ, तत्काल नाका खुलाउन सरकार पहल गर्नुप¥यो”, उनी भन्छन् ।

चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, सवारी साधनको पार्टस्लगायत आयात हुँदै आएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल तातोपानी नाकाबाट अपेक्षाअनुसार सामान भित्रिने नसकेको बताँउछन् । “केरुङ नाका सञ्चालन हुँदापनि तातोपानी नाकाबाट दैनिक २५ देखि ३० कन्टेनर सामग्री भित्रिने गरेको थियो, हाल उक्त नाका बन्द छ तर तातोपानी नाकाबाट सामान भित्रिने कन्टेनर बढ्नुको सट्टा घटेको छ”, उनी भन्छन् ।

वर्षात्को समयमा मुलुकका विभिन्न भागमा बाढीपहिरो जाँदा अरनिको राजमार्ग पनि रोकिएको थियो । पछिल्लो समय चीनबाट नेपाल भित्रिएका सामग्रीमध्ये झण्डै ८० प्रतिशत फलफूल रहेको भन्सार कार्यालय तातोपानीले जनाएको छ । तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन् ।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला केरुङ नाका सञ्चालन नभएपनि तातोपानी नाका हुँदै चीनबाट नेपालमा सामान भित्रिरहेको बताउँछन् । “चिसोको कारण कोरोला नाकाबाट सामान आउन सकेको छैन, तातोपानी नाकाबाट दैनिक ३०र३५ कन्टेनर सामान भित्रिरहेको छ”, उनी भन्छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणापत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रममा डा. बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबिचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । सो पार्टीमा १५१ जना केन्द्रीय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सकारात्मक सोचबाट अभिप्रेरित भएर परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने घोषणा प्रगतिशील पार्टीको प्रतिबद्धता छ । नेता–कार्यकर्ताले कुनै पनि किसिमको विभेद र अमानवीय कार्यमा संलग्न नहुने पनि उक्त पार्टीको प्रतिबद्धता छ । प्रतिशील लोकतान्त्रिक पार्टीले पुराना तीन ठूला पार्टीले नै देशलाई बर्बादीतर्फ धकेलेको आरोप लगाएको छ ।

विभिन्न समूहसँगको एकता घोषणा कार्यक्रममा राजनीतिक प्रतिबद्धता जारी गर्दै यो पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमाथि उक्त आरोप लगाएको हो । ‘आजका कांग्रेस, एमाले र माओवादी आ–आफ्नो समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै हुन्। परन्तु, इतिहासमा योगदान गरेका दलहरूले राज्य सत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवी बचाउन नसक्दा असफल सिद्ध हुन पुगे,’ उक्त पार्टीले भनेको छ, ‘फलतः देश चरम भ्रष्टाचार, विकृति र यथास्थितिमा फस्नुका साथै गति परिणामबिहीन हुन पुग्यो ।’ देश विकासको प्रमुख सत्रुका रुपमा रहेको हजारौँ वर्षदेखिको जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल रहेको यो पार्टीको ठहर छ ।

‘नेपाली कांग्रेस ४५ वर्ष, नेकपा एमाले ३६ वर्ष, नेकपा माओवादी केन्द्र करिब १७ वर्ष सरकार चलाउने वा सत्ताको वरिपरि नै रहे । परन्तु, देश विकासको प्रमुख सत्रुका रुपमा रहेको हजारौँ वर्षदेखिको सामाजिक उत्पीडन मुलतः जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल भए,’ आरोप लगाउँदै थप भनिएको छ, ‘नेपालको विकासका लागि अनिवार्य बन्न पुगेको नीतिगत र प्रणालीगत पुनर्संरचना गर्नुको सट्टा मौजुदा विकृत संरचनाको उपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेले ।’
हेर्नुस् पूर्णपाठ

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ ।

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवदेन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरी सुझावका लागि आयोगको वेबसाइटमा राखिएको र आजसम्म सुझाव दिन आह्वान गरिएको जानकारी दिएका छन् । विभिन्न चरणबाट सुझाव प्राप्त भएपछि आयोगले आगामी माघको १–२ गते आचारसंहिता जारी गर्ने आयोगको तयारी रहेको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापनका लागि खरिद प्रक्रिया र अन्य तयारी भइरहेको आयोगले जनाएको छ ।

यो निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम छ । आगामी फागुन २० गते राष्ट्रियसभा रिक्त हुने सदस्यको एक तिहाइ सदस्य १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । सो सभाको एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुनेछ । यो निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यसूची छ ।

आयोगमा दर्ता कायम रहेका पुराना र नयाँ सबै दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै निवेदन दिनुपर्नेछ । आयोगको कार्यक्रम अनुसार यही मङ्सिर ५ गते मतदाता नामावली सङ्कलन र अद्यावधिक सम्पन्न भइसकेको छ ।

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

काठमाडौँ । यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’ ।
 जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन् ।
प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित छन् । दुई/दुई खेल खेलेका यी टोली चाररचार अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तीन खेलमा एक जीतसँगै दुई अङ्क बटुलेको काठमाडौँ गोर्खाज अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
दुई/दुई खेल खेलेका लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले एकरएक खेलमा जीत दर्ता गर्दै क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । सातौँ स्थानमा रहेको जनकपुर बोल्ट्स एउटा मात्रै खेल खेलेको छ । जनकपुर अहिले अङ्कविहीन छ । अङ्क तालिकाको पुच्छारमा पोखरा एभेञ्जर्स छ । पोखराले दुवै खेलमा हार बेहोरेको छ ।
खेलाडीतर्फ मार्क वाटको प्रदर्शन उत्कृष्ट देखिएको छ । लुम्बिनी लायन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कर्णालीलाई जीत दिलाएका उनले दुई वटा विकेट लिएका छन् भने दुई वटा क्याच लिएका छन् । कुशल भूर्तेलले पनि ब्याटिङ, बलिङ र फिल्डिङबाट राम्रो प्रदर्शन गरेका छन् । उनले दुई खेलमा ११२ रन बनाएका छन् भने एक विकेट लिएका छन् साथै दुई वटा क्याच आउट लिएका छन् । हर्मित सिंहले पनि ब्याटिङमार्फत ५७ रन बनाउँदै चार विकेट लिएका छन् ।
ब्याटिङमा विदेशी खेलाडी हावी
हालसम्म भएका आठ खेलमा ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन् । सबैभन्दा बढी रन बनाउने शीर्ष १० ब्याटरमा सात जना विदेशी खेलाडी छन् । कर्णालीका लागि दुई खेल खेलेका स्कट्ल्याण्डका मार्क वाटले एक शतकसहित १३० रन बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाएका थिए ।
इङ्ग्ल्याण्डका रवि बोपाराले दुई खेलमा दुई वटा अर्धशतकसहित ११८ रन बनाएका छन् भने नेपाली खेलाडी कुशल भूर्तेलले पनि दुई अर्धशतकसहित ११२ रन जोडेका छन् । भारतीय खेलाडी प्रियाङ्क पञ्चालले एक अर्धशतकसहित १०२ रन बनाएका छन् भने नेपाली खेलाडी रोहित पौडेलले ८८ रन बनाएका छन् । त्यसैगरी मार्टिन गुप्टिल र लोकेश बमले एकरएक अर्धशतकसहित समान ८६ रन जोडेका छन् । इङ्ग्ल्याण्डका बेन चाल्र्सवर्थले पनि समान ८६ रन नै बनाएका छन् ।
बलिङमा केसी अगाडि
हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाडौँ गोर्खाजका कप्तान करण केसी छन् । उनी एक्लैले छ विकेट लिएका छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चार विकेट लिएका थिए । सुदूरपश्चिमविरुद्ध चार ओभर बलिङ गरेका उनले सात दशमलव ५० को इकोनोमीमा ३० रन खर्चिएका थिए । केसीले हालसम्म सात दशमलव ८८ इकोनोमीमा रन खर्चिएका छन् ।
मिलिन्द कुमारले पाँच विकेट लिएका छन् । उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा तीन विकेट लिएका थिए । उक्त खेलमा चार ओभर बलिङ गर्ने क्रममा उनले तीन दशमलव ७५ को औसतमा १५ रन खर्चिए । हर्मित सिंह र मर्चेन्ट डे लांगेले हालसम्म समान चाररचार विकेट लिएका छन् । साथै रुवेन ट्रम्पप्लेमान, सन्दीप लामिछाने, स्कट लुगेलेजिन, सहाब आलम, सोमपाल कामी, हेमन्त धामी, शुभम रञ्जने, जिमी निशम, आकाश चन्दले समान तीनरतीन विकेट लिएका छन् ।
स्ट्राइक रेटमा जैब अब्बल
चितवनका सैफ जैब स्ट्राइक रेटमा अब्बल देखिएका छन् । यद्यपि उनले दुई खेलमा जम्मा ५३ रन बनाएका छन् । उनले २३० दशमलव ४२ को स्ट्राइक रेटमा रन बनाएका छन् । दुई सयभन्दा बढी स्ट्राइक रेट हुने खेलाडीमा हर्मित सिंह, जर्ज मुन्से, मार्क वाट छन् ।
आलमको किफायती बलिङ
किफायती बलिङ गर्नेमा भने नेपालका सहाब आलम अगाडि छन् । उनले प्रतिओभर चार दशमलव ७२ मात्रै दिएका छन् । उनले तीन खेलमा ११ ओभर बलिङ गरेका छन् । उनले औसतमा २२ रनमा एक विकेट लिएका छन् ।
हर्मित सिंहले पनि पाँच दशमलव ३७ इकोनोमीमा किफायती बलिङ गरेका छन् । दुई खेलमा आठ ओभर बलिङ गरेका उनले ४८ रन दिएर चार विकेट हात पारेका छन् ।
सन्दीप लामिछानेले पनि पाँच दशमलव ५० इकोनोमीमा बलिङ गरेका छन् । लामिछानेले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४४ रन खर्चिएका छन् भने तीन विकेट हात पारेका छन् । सबैभन्दा बढी इकोनोमी हुनेमा डि आर्की सर्ट र म्याट टेलर छन् । दुवैले प्रतिओभर औसतमा १२ रन खर्चिएका छन् ।
५९ पटक क्याच आउट
आठ खेलमा ५९ पटक खेलाडीहरु क्याच आउट भएका छन् । यस अवधिमा कूल ४० जनाले क्याचमार्फत आउट गरेका छन् । सबैभन्दा बढी क्याच लिनेमा चार खेलाडी कुशल भूर्तेल, सन्दीप जोरा, स्कट लुगेलेजिन र मोहम्मद आदिल आलम छन् । यी खेलाडीले हालसम्म समान तीनरतीन वटा क्याच लिएका छन् ।
विराटनगरको उच्च स्कोर
एनपिएलको जारी संस्करणमा विराटनगर किङ्ग्सले सबैभन्दा बढी रन बनाएको छ । उसले पोखरा एभेञ्जर्सविरुद्धको खेलमा २० ओभरमा छ विकेटको क्षतिमा २२० रन बनाएको थियो । त्यस्तै सबैभन्दा बढी रन बनाउने दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स छन् । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो ।
त्यसैगरी, कम स्कोर बनाउनेमा काठमाडौँ गोर्खाज छ । काठमाडौँ गोर्खाज सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याउने क्रममा ११८ मा अलआउट भएको थियो ।

हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो

काठमाडौँ । सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएको छ ।

दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन् । उनका अनुसार बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानअन्तर्गत खोप लगाइएको छ ।

बारा र पर्सामा असोज २६ देखि कात्तिक २ र कात्तिक १३ देखि कात्तिक २७ गतेसम्म एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । शाखा प्रमुख डा गौतमले ति दुई जिल्लामा लगाइएको हैजाविरुद्धको खोप अहिलेसम्मकै सबैभन्दा धेरै ‘कभरेज’ रहेको बताएका छन् ।

“अहिलेसम्म हैजाविरुद्धको खोप अभियानमा ७० देखि ८० प्रतिशतलाई लगाइने गरिएको थियो”, उनले भने, “घरघर गएर खोप लगाएइकाले ९० प्रतिशत खोप कभरेज रह्यो ।” उनले लगाउन छुटेका १० प्रतिशतलाई नियमित खोप कार्यक्रम अन्तर्गत खोप लगाइएको जानकारी दिएका छन् । गत भदौमा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका छ र पर्साका १४ स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।

जेनजी विद्रोह विदेशीको कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्ति : सुदन किराती

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले नभई नेतृत्वमा रहेका नेताहरूका कारणले भएको दावी गरेका छन् । आज (आइतबार) प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । जेनजी विद्रोह विदेशीको कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्ति भएको उनले बताए ।

उनले भने, ‘उहाँहरु जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नु हुन्छ । लाज पनि लजाउने गरी अभिव्यक्ति दिइरहनु भएको छ । हाम्रो पार्टी सम्पूर्ण रुपले खारेज गर्दछ त्यसलाई । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी ? केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधीनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?’
आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ रु नेता किरातीको प्रश्न छ । वर्षैदेखि राज्यसत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरेर अरुलाई दोष लगाउने काम नगर्न समेत चेतावनी दिए ।

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

गलकोट (बागलुङ) । थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । थपेको म्यादसमेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदैछ ।

सम्झौता अवधि सकिनै लाग्दा निर्माण व्यवसायीले भने द्रुतगतिमा काम अघि बढाएको छ । निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेको र कामको प्रगति नभए कारबाहीमा लैजाने भनेपछि कामले गति लिएको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि तीन वर्षमा ६५ प्रतिशत प्रगति भएको र कालोपत्र सकिएमा एकैपटक धेरै प्रगति देखिने आयोजनाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिए।

गौतमले बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौताअगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि सडकको भने थपिएको म्याद सकिनै लाग्दा बल्ल कामले तीव्रता पाएको छ ।

“सम्झौता नथपे काम सकिने अवस्था देखिँदैन, मङ्सिर मसान्तमा सम्झौता सकिन्छ, हामीले काममा नआए कारबाही हुन्छ भनेका थियौँ, अहिले स्थलगतरुपमा काम धेरै नै भइरहेको छ, बलेवा क्षेत्रबाट कालोपत्रको तयारी भइरहँदा मालढुङ्गा क्षेत्रबाट ढलान भइरहेको छ”, गौतमले भने, “मङ्सिर मसान्तसम्म कामको प्रगति हेरेर मात्रै म्याद थपको प्रक्रिया अघि बढ्छ ।”

गौतमका अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नुपर्नेमा दुई वर्षमा आधासमेत काम भएको थिएन । पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले कालोपत्रका लागि समय नलाग्ने निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिए ।

अहिले ठूला उपकरण परिचालन गरेर कालोपत्रका लागि तयारी भइरहेको जनाउँदै कामले तीव्रता पाएको बताउनुभयो । सडकमा कालोपत्र गर्न आवश्यक पूर्वाधार सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जालीलगायत पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको भए पनि सडक कालोपत्रमा भने ढिलाइ नै भएको छ । विसं २०७९ मङ्सिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले भुक्तानी समस्या तथा कच्चा सामग्रीको अभाव देखाउँदै काममा ढिलाइ भएको जनाएको छ ।

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो । बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।

क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनःनिर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिएका छन् । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो ।

ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भने।

उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ ।

यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड(भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिएका छन् । उनका अनुसार यस खण्डको पुनःनिर्माणका लागि जापानले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ ।

कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनःनिर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताएका छन् । उनले भने, “निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्याथी पुनःनिर्माण थालिएको हो ।” क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक)निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।

पुराना दलको असफलताले मुलुक संकटतर्फ धकेलियो : जनार्दन शर्मा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पुराना ठूला राजनीतिक दलहरूको असफल नेतृत्व र क्रान्तिकारी चरित्र जोगाउन नसक्ने प्रवृत्तिका कारण मुलुक आजको जटिल अवस्था—भ्रष्टाचार, बेथिति र परिणामहीन शासनसम्म पुगेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टीको राष्ट्रिय एकता घोषणा तथा एकता सभामा बोल्दै उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले परिवर्तनकारी पार्टीको पहिचान भएको भए पनि सत्तामा पुगेपछि आफ्नै आदर्श र जनताप्रतिको प्रतिबद्धता कमजोर बनाएको बताए । शर्माले भने, ‘यी दलहरूले सामाजिक न्याय, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दालाई आवश्यक प्राथमिकता नदिँदा देश स्थिरता र परिणाम दुवैबाट टाढिँदै गयो । इतिहासमा योगदान गरेका दलले राज्यसत्ता सम्हालेपछि क्रान्तिकारी छवि रक्षा गर्न सकेनन्, जसले मुलुकलाई चरम भ्रष्टाचार र यथास्थितिमा फस्यो ।’

उनले समग्र शासन संरचना सुधार गर्ने अवसर बारम्बार आए पनि पुराना दलहरूले दलीय स्वार्थ, नातावाद, कृपावाद र दण्डहीनताको संस्कृति बोकेर संरचनागत प्रणालीलाई झनै कमजोर बनाएको बताए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई पनि शक्ति गणित र दाउपेचको मैदान बनाइएको उनको टिप्पणी थियो ।

शर्माले पुराना दलको यही कमजोर नेतृत्व ढाँचाले मुलुकलाई विकास, सुशासन र पारदर्शिताको बाटोमा अगाडि बढ्न नदिएको दाबी गरे । उनले थपे, ‘परिणाममुखी शासनको माग नागरिकले वर्षौदेखि गर्दै आएका छन्, तर पार्टीगत हितलाई प्राथमिकता दिने प्रवृत्तिका कारण जनताका अधिकार र अपेक्षा पूरा हुन सकेन ।’ प्रगतिशील लोकतान्त्रिक पार्टीले दीर्घकालीन संस्थागत सुधार, उत्तरदायित्वपूर्ण शासन, पारदर्शिता र नागरिक अधिकारको सुनिश्चिततालाई प्रमुख कार्यसूचीका रूपमा अघि सार्ने बताउँदै शर्माले नयाँ राजनीतिक विकल्पले उदाहरणीय र परिणाममुखी शासन देखाउने विश्वास व्यक्त गरे ।

 

 

जेनजी आन्दोलनका सहिदः सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु

इटहरी (सुनसरी) । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिदभएका इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्दथे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन् । गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे। उनी घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका थिए । ।

एकछिन बजार पनि पुगेर आउने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर आउँछु भनेर श्रीमती मञ्जुसँग कुरा गरेर उनी घरबाट निस्किएका थिए तर कहिल्यै नआउने गरी बिदा भएर गए । साँझ अबेरसम्म पनि नफिर्किएपछि श्रमिती मञ्जुले श्रवणलाई सोध्दा दिउँसै छुटिएको र पछि खोज्दा आफूले फेला नपारेको श्रवणले भने, “खै मोहन त कता जानुभयो, बजारमा आन्दोलन रहेछ, त्यो भिडभाडमा हामी छुट्टियौँ, पछि सम्पर्क हुन सकेन ।” श्रवणका कुराले मञ्जुको मनमा चिसो पस्यो ।

अनि फोन लगाउन थालेछिन् । फोन ‘स्वीच अफ’ थियो । आफन्त र गाउँका सबैलाई हारगुहार गरिन् । तर, सबैले हाइहाल्नुहुन्छ नी भन्ने जवाफ दिए । नभन्दै उनले पनि बेलुकासम्म त आउनुहुन्छ होला भनेर सोचिन् । तैपनि मन बेचैन भइरह्यो । फेसबुक खोलेर बेलाबेलामा हेर्ने गर्थिन् । त्यही फेसबुकमा गोली लागेर ढलेको भनेर आफ्नै श्रीमान् को भिडियो देखेपछि मञ्जु बेहोस् भईन् । त्यसपछि उनलाई आफन्तले सम्हालेर केही समयपछि होसमा आएको याद छ । अनि, गाउँका सबै जना मोहनको खोजतलासमा लागे । पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेको सूचना प्राप्त भयो । आफन्त लिएर भोलिपल्ट मञ्जु हेर्न गईन् ।

उनको आठ वर्षअघि विवाह भएको थियो । उनले सुनसरी रामधुनी–८ कै मञ्जुसँग विवाह गरेका थिए । मञ्जुले यति चाँडै श्रीमान् गुमाउँदाको पीडाले उनलाई सम्हालिन धेरै दिनसम्म कुर्नुप¥यो । अहिले पनि उनी श्रीमान् को नाम लिनासाथ आँखाबाट आसु झार्ने गर्छिन्, अरु केही बोल्न सक्दैनिन्। ४० वर्षे पुगेका मोहन र मञ्जुबीच प्रेम विवाह भएको थियो । उनीहरुको एउटी पाँच वर्षकी र अर्की सात वर्षकी छोरी छिन् । घर बनाउने क्रममै उनीहरुबीच चिनजान भयो, अनि मन्दिरमा विवाह भएको थियो । “सँगै मर्ने अनि सँगै बाँच्ने कशम खाएर प्रेम सम्बन्धमा बाँधिएका थियौँ, तर श्रीमान् को अल्पआयुमै मृत्यु हुँदा सारै गाह्रो भएको छ”, २७ वर्षे मञ्जुले भनिन्, “सानी छोरी आकृतिले बारम्बार बाको कुरा निकाल्छिन् । उनले बाबाको कुरा निकाल्दा कसरी सम्झाउनु गाह्रो हुन्छ ।”

छोरीलाई मोहन विदेश गएको भनेर ढाँटिएको छ । अब कतिञ्जेलसम्म ढाट्ने? उनले भनिन्, “छोरी आकृतिले पनि विश्वास गरेकी छैनिन् । कुनै दिन वास्तविकता थाहा पाउँदा छोरीलाई कस्तो पीडा होला ?” मञ्जु पनि दुई वर्षसम्म कुबेत बसेर फर्किएकी हुन् । “छोरीलाई ममी आउनु भो, अनि बाबा जानु भो, भन्ने विश्वास छ”, मञ्जु भन्छिन् । सात वर्षे जेठी छोरी आरबीलाई पनि बाबुको निधन भएको ज्ञान छ ।

मञ्जुको कुबेत गएर कमाएको र मोहनले मिस्त्री गरेर जोहो गरेको पैसाले ऐलानी जग्गामा एउटा सामान्य घर बनाइएको छ । उनीहरुको जसोतसो घर व्यवहार सामान्य ढङ्गले चलेको थियो । अब भने समस्या निम्तिएको छ । “अब मैले छोरीहरुलाई कसरी पाल्नु रु मलाई जहिल्यै यही कुराले पिरोल्ने गर्छ”, मञ्जुले भनिन् ।

उनी अहिले प्रधानमन्त्री सुशीला कार्कीले जागिर दिने वचन दिएकाले त्यही आशमा रहेकी छिन् । तिहार अघि जेनजी पुस्ताको काठमाडौँमा भेला भएको र त्यो भेलामा झापाबाट जेनजी पुस्ताको अगुवा अञ्जु राईले मञ्जुलाई पनि लिएर गएको थिईन् । त्यो भेलामा सकेर जेनजीकै अगुवाईमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मृतकका परिवारसहित घाइतेका आफन्तलाई भेट गराइएको थियो । त्यहीबेला प्रधानमन्त्री कार्कीले योग्यता अनुसारको जागिर लगाइदिने वचन दिएको मञ्जुले बताईन् ।

“प्रधानमन्त्रीले जागिर लगाइदिन्छु भनेकी छिन्, अहिलेसम्म आश गरेर बसेको छु”, मञ्जुले भनिन्, “अहिलेसम्म त काम खोज्न पनि गएको छैन, प्रधानमन्त्रीकै आशमा पर्खेको हो ।” काम नगरिकन छोरीहरुका लागि बिहान बेलुकाको गर्जो टार्न नै समस्या हुने भएकाले गर्दा आफ्नो क्षमता अनुसारको काम जेसुकै पाए पनि गर्ने उनले बताएकि छिन् । महिला भए पनि उनी सानैदेखि कामकाजी भएकाले गर्दा कुनै समस्या छैन । कुबेतमा पनि दुःखै गरेर आएको हो, काम गर्न कुनै समस्या छैन”, उनले उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दै भनिन्, “मेरा छोरीहरुका लागि मलाई सानोतिनो भए पनि काम दिनुहोस् ।”

उनलाई सरकारले रु १५ लाख उपलब्ध गराइसकेको छ । सरकारले गृह मन्त्रालयमार्फत क्षतिपूर्तिबापत रु १० लाख र काजकिरिया तथा अन्य खर्चका लागि रु पाँच लाख उपलब्ध गराएको हो । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले पनि राहत रकम दिने निर्णय गरेको छ । यद्यपि, अहिलेसम्म उपलब्ध भने गराएको छैन ।

सरकारले दिएको पैसा काजकिरिया खर्च गरेर बचेको सबै पैसा छोरीहरुको भविष्यका लागि वचत गरेर राखेको उनले बताएकि हुन् । उनी भन्छिन्, “जस्तोसुकै कठिन सङ्घर्ष गर्न परे पनि छोरीहरुलाई कुनै अभाव हुन दिने छैन् ।” छोरीहरुलाई आफ्नो आर्थिक अवस्था कमजोर भएकैले गर्दा घटनापछि दाताकै सहयोगमा इटहरीकै मेरिल्याण्ड बोडिङ् स्कुलमा पढाइरहेको उनले बताएकी छिन् । जेनजीको आन्दोलनको पहिलो भदौ २३ गते नै इटहरीमा दुई जनाको मृत्यु भएको थियो । मोहनसँगै प्रहरीको गोली लागेर इनरुवा–६ घर भई आफन्तको घरमा इटहरी बस्दै आएको १६ वर्षे अभिषेक श्रेष्ठको पनि मृत्यु भएको थियो ।

प्रधानमन्त्री कार्कीविरुद्धको मुद्दामा सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो । राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको माग बमोजिम ‘आदेश किन जारी हुनु नपर्ने हो’ भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले भनेको हो । राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर, प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशक दिएकी थिइन् ।

हाल ११ देशका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका छन् । अदालतको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, विशाल थापाले अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई प्रतिवादी बनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाइएको हो ।

 

 

 

 

 

 

कांग्रेसले गर्‍यो दल दर्ता

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको छ । आज (आइतबार) कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोग पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।गत असोज २८ गतेदेखि निरन्तर चल्दै आएको कांग्रेस केन्द्रीय समिति बैठक शनिबार निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो ।

आयोगले माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन मंसिर ७ गतेभित्र दल दर्ता गराइसक्नु पर्ने समय सीमा तोकेको छ। कात्तिक २८ गते सूचना जारी गर्दै आयोगले दर्ता कायम गरेका सबै दललाई सो मितिभित्र कार्यालय समयभित्र आवश्यक कागजात पेश गर्न आग्रह गरेको थियो । आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

पुनः निर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

भारदेउ। धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षक स्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनः निर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन ।

सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेर सुरु भएको मन्दिरको पुनः निर्माण बजेट सकिएपछि अलपत्र भएको हो ।सङ्घीय मन्त्रालयले कोन्ज्योसोम गाउँपालिकामा बजेट पठाएर मन्दिर पुनः निर्माण सुरु गरेको थियो । उक्त बजेट सकिएपछि मन्दिर पुनः निर्माण अलपत्र बनेको छ ।

अर्को वर्ष बजेट नआएकाले तीन वर्षदेखि मन्दिर अलपत्र बनेको हो । यस क्षेत्रका धार्मिक पर्यटकीयस्थलमध्ये बालेश्वरी मन्दिर पनि एक पर्दछ । नख्खु खोलाको मुहानमा पर्ने यो मन्दिर पुनः निर्माण सम्पन्न गर्न सरोकार भएका कुनै पनि निकायले ध्यान नदिएका स्थानीयको गुनासो छ । गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले पालिकाका तर्फबाट दुई पटक गरी रु नौ लाख बजेट छुट्याइए पनि उपभोक्ता समितिबाट काम हुन नसकेको बताए ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर जीर्ण भएको थियो । मन्दिर पुरानै स्वरूपमा बनाउनुपर्नेमा मापदण्ड नमिलेर रोकिएको उनको भनाइ छ । कोन्ज्योसोम गाउँपालिका–५ का वडाध्यक्ष विजय लामाले समितिले मन्त्रालयमार्फत विनियोजन गरेको रकमबाट किनेको काठ अलपत्र भएको बताए । उनका अनुसार पुरातात्त्विक महत्वको यो मन्दिर नबन्दा यहाँ भएका ऐतिहासिक एवं धार्मिक महत्वका सामग्री पनि नष्ट हुन थालेका छन् ।

यहाँको बाघको पञ्जा भएको ढुङ्गा संरक्षणस्थलको अभावमा फुटेको स्थानीय सुरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यो मन्दिरमा प्रत्येक वर्ष पुस मसान्तमा बत्ती बाल्नेको घुइँचो लाग्दछ भने माघ १ गते यहाँ मेला लाग्ने गरेको छ ।

समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा अवस्थित फूलबारी डाँडाको फेदीमा रहेको यो मन्दिरमा पुग्ने सबै आन्तरिक एवं बाह्य पर्यटक अलपत्र संरचनाका कारण पुग्न समस्या हुने गरेको श्रेष्ठले बताए ।

माथिको डाँडाबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिने भएकाले आन्तरिक एवं बाह्य पर्यटकको यस क्षेत्रमा घुइँचो हुन थालेको हो । कोन्ज्योसोम डाँडासमेत भनिने यो स्थान फूल्चोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्दछ । नगरकोटबाट भन्दा धेरै हिमाल देख्न सकिने यो स्थानमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ ।

यही डाँडाको करिब १०० मिटर तल धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्वको गुप्तेश्वर महादेव मन्दिरसहित गुफा पनि छ । फूलबारीडाँडामा पनि केही वर्षअघि बौद्ध दर्शन अनुसार त्रिदेवको प्रतिमा स्थापना गरिएपछि हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको पवित्रस्थलका रुपमा यो ठाउँ स्थापित भएको छ । प्राचीनकालदेखि यहाँ दुवै धर्मावलम्बी आस्था एवं विश्वासका साथ पुग्ने गरेका थिए ।

भारदेउलगायत राजधानीका विभिन्न स्थानमा लामो समय खडेरी पर्‍यो भने गुप्तेश्वर महादेवको पूजा आराधना गरेपछि पानी पर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

प्राकृतिक र सांस्कृतिक पर्यटकीय दृष्टिले आकर्षक रहेको कोन्ज्योसोममा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यहाँका स्थानीयवासी पनि लागिपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकका लागि आवश्यक विभिन्न पूर्वाधार निर्माणमा उनीहरू जुटेका हुन् ।

सातदोबाटोबाट करिब २२ किमीको दूरीमा कोन्ज्योसोम गाउँपालिका–५ स्थित भारदेउ पुगिन्छ । बालेश्वरी मन्दिर, फूलबारीडाँडा र गुप्तेश्वर महादेव मन्दिरमुनिको यो बस्तीमा आन्तरिक एवं बाह्य पर्यटकलाई स्वागत गर्न चार वटा घरवास (होमस्टे) खुलेका छन् ।

त्यसमध्येको १२७ वर्ष पुरानो एक पुरातात्त्विक महत्वको घर जसलाई १७ झ्याले पनि भनिन्छ, यसमा खुलेको होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ ।

यहाँका लालकाजी मोक्तानको पाँच पुस्ताअघिका पूर्खाले बनाएको यो घर अहिले पनि उही स्वरूपमा छ । विसं १९९०, २०४५ र २०७२ सालको तीन, तीन वटा भूकम्पले पनि यो घरलाई केही असर गरेको छैन । जसको छानामात्र खरबाट जस्तामा फेरिएको छ ।

यही घरमा उनीलगायत सात जनाको समूहले होमस्टे चलाएका हुन् । यो होमस्टेमा प्रत्येक शुक्रबार खचाखच आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । होमस्टे आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाएर आकर्षित गर्ने गरिएको छ ।

कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिङ्तान पनि कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति गठन गरेर यहाँको पर्यटन प्रवर्द्धनमा लागिपरेका छन् ।

उनीलगायतको समूहले भारदेउ भ्यू मिनी रिसोर्ट स्थापना गरेर पर्यटकीय पूर्वाधारको आवश्यकता पनि पूरा गरेका हुन् । रिसोर्ट नामाकरण गरिए पनि होमस्टेकै स्वरूपमा यसलाई सञ्चालन गरिएको उनले जानकारी दिए ।

सिङ्तान नेतृत्वको धार्मिक पर्यटन विकास समितिले गाउँपालिकासँग सम्झौता गरी फूलबारीडाँडामा निर्माण भएको त्रिदेव प्रतिमा र गुप्तेश्वर महादेव मन्दिर क्षेत्रको रेखदेख एवं सञ्चालन गर्ने भएको छ ।

गुप्तेश्वर सामुदायिक वन रहेको यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनाउन यहाँ पुग्ने सडक पूर्वाधारलाई सुधार गरिनुपर्ने स्थानीयवासीको माग छ । राजधानीबाट करिब डेढ घण्टामा पुग्न सकिने यस स्थानमा सडक सुधार गर्न सके धेरैले सप्ताहान्तको छुट्टी मनाउने स्थलका रुपमा विकास गर्न सकिन्छ ।

रातोघर र पहेँलोघर नामबाट अरु दुई होमस्टे पनि यहाँ सञ्चालनमा छन् । शुक्रबार यहाँ पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई यी होमस्टेले मात्र नधान्ने भएपछि खाली रहेका २०–२५ वटा पुराना घरमा सामुदायिक होमस्टे सञ्चालनका लागि यहाँका स्थानीयवासीले तयारी गरेका स्थानीय ज्ञानबहादुर मोक्तानले जानकारी दिए ।

राजधानीको धुँवा, धुलोमा दिक्क भएकालाई यहाँको पदमार्गले आकर्षण गर्ने गरेको छ । गोदावरीबाट फूलचोकी हुँदै कोन्ज्योसोमसम्म पदमार्ग रहेको छ ।

यो मार्ग पुरानो हो । पछिल्लो समय फूलचोकी जङ्गलमा वृद्धि भएको चितुवालगायत वन्यजन्तुका कारण यो मार्गको कम प्रयोग भए पनि १५ देखि २० जनासम्म पदयात्रीका लागि भने उपयुक्त हुने स्थानीय मोक्तानले बताए ।

कोन्ज्योसोम डाँडाबाट काभ्रेपलान्चोकको बेथानचोक बतासे गुम्बा हुँदै नारायणस्थानसम्म अर्को पदमार्ग पर्दछ । कोन्ज्योसोम डाँडाबाट महाङ्काल गाउँपालिकाको कालेश्वर मन्दिरसम्म अर्को पदमार्गको पनि रहेको उनले सुनाए । काठमाडौँ उपत्यकामा राजधानीबाट नजिक रहेको यो ठाउँको प्रचारप्रसार नभएकैले अहिलेसम्म ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

कोरोनाअघिसम्म कोन्ज्योसोम क्षेत्रको पर्यटकीय आकर्षणका बारेमा चर्चासम्म पनि हुन्थेन । कोरोनाका समयमा गाउँपालिकाले स्थानीयवासीलाई रोजगारी दिने गरी भारदेउबाट फूलबारी डाँडासम्मको सडक खनेपछि यसको महत्व जनसमक्ष आएको हो । फूलबारीडाँडा अहिले धेरै युवायुवतीको पनि घुमफिर गर्ने आकर्षणको केन्द्र बन्न सफल भएको छ ।

कोन्ज्योसोमबाट बिहान ७ बजे लगनखेल जाने सार्वजनिक यातायातको व्यवस्था छ । चापागाउँबाट प्रत्येक दिनको दिउँसो ३ः०० बजे कोन्ज्योसोमका लागि सार्वजनिक यातायात छुट्ने गरेको छ । अरु यातायातको सुविधा नहुँदा भने यहाँ जान समस्या हुने गरेको छ ।

यहाँ जाने सडक विभिन्न स्थानमा कच्ची भएकाले यात्रुलाई केही असहज हुने गरेको छ । सडक कालोपत्रका लागि बोलपत्र आह्वान भइसकेको जनाइएको छ । वाग्मती प्रदेश सरकारले यहाँको सडक कालोपत्र गर्न बोलपत्र गरेको हो ।

फूलबारी डाँडाको त्रिदेव प्रतिमास्थल र गुप्तेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शनका लागि पनि दैनिक सयौँ ललितपुर बाहिरका पर्यटक आउने गरेका छन् । यहाँको गुप्तेश्वर महादेव मन्दिरमा प्रत्येक वर्षको साउन महिना, महाशिवरात्रि, बालाचतुर्दशीलगायत पर्वमा मेला लाग्ने गरेको छ ।

यसैगरी त्रिदेव बुद्ध प्रतिमास्थलमा सोनाम ल्होसार, वैशाख १ गते नयाँ वर्ष र वैशाख पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यहाँबाट सगरमाथा, गौरीशङ्कर, माछापुच्छ्रे, मनास्लु, धवलागिरि, गणेश, लामाटाङ, जुगललगायत दर्जन बढी हिमाल देखिन्छ ।

शुक्रबार बेलुकी गएर भारदेउका होमस्टेमा बसेका आन्तरिक एवं बाह्य पर्यटक शनिबार भने बिहान ७ बजे नै फूलबारीडाँडामा हिमाल हेर्न जाने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार र शनिबार यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको घुइँचो हुने गरेको छ । पर्यटक अनुसार यहाँ होमस्टेलगायत पूर्वाधार भने छैन ।

महेश बस्नेतमाथि रङ छ्याप्ने नेविसंघ कार्यकर्तामाथि कडा कारबाही हुन्छ : शेर्पा

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले एमाले नेता महेश बस्नेत चढेको गाडीमाथि आक्रमणको प्रयास गर्ने व्यक्ति नेविसंघका कार्यकर्ता भए पनि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार बिहान विराटनगर विमानस्थल निस्कने क्रममा बस्नेत चढेको गाडीमाथि बेलुनमा रङ भनेर प्रहार गरिएको थियो । प्रहार गर्नेमध्येका सञ्जोग गौतम डा. शेखर कोइराला निकटका नेविसंघका नेता रहेको नेविसंघकै एक नेताले जानकारी दिए ।

‘नेविसंघमा धेरै समूह छन् । जसले गरेको हो भने पनि राम्रो काम होइन,’ शेर्पाले भने, ‘हाम्रै संगठनका जोनिकट भए पनि कारबाही हुन्छ ।’ यस विषयमा विज्ञप्ति निकालेरै प्रष्ट पार्ने तयारी नेविसंघको छ । गौतम नेविसंघ मोरङ जिल्ला कार्यसमितिका सदस्य एवं महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति रहेको बुझिएको छ । बस्नेतमाथि रङ प्रहार गर्नेमा अर्पित कुँवर पनि छन् । उनको संलग्नता पनि नेविसंघसँगै रहेको बताइएको छ । विराटनगरबाट धरानको कार्यक्रममा जाँदा बस्नेतलाई लक्षित गर्दै उनी चढेको गाडीमा रातो रङ छ्यापिएको हो ।

 

मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लाग्यौं : जनार्दन शर्मा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेको बताएका छन् । आज (आइतबार) प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा बोल्दै उनले तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डलाई लक्षित गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । शर्माले सामन्तवादको सिहाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए ।

उनले भने, ‘सामन्तवादको सिहाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाईलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ ।’ उनले प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो । ‘हाम्रो पार्टी केही दर्जन राजनीतिक दलहरूमाथि एक नयाँ दल थप्ने र केही नेता उत्पादन गर्न नभइ हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो,’ पार्टीको घोषणा पत्र वाचन गर्दै शर्माले भनेका छन् ।

राजनीतिक पुनः संरचनाका लागि प्रगतिशील पार्टी गठन भएको उनको दाबी छ । त्यसका लागि पार्टीले छिट्टै राजनीतिक पुनः संरचना सम्मेलन २०८२ आयोजना गर्ने उनले बताए । उनले भने, ‘मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले राजनीतिले नै समग्र पक्षको अगुवाइ गर्दछ, राजनीति यसको नेतृत्व सही नभएपछि समग्र सामाजिक एवं, सांस्कृतिक प्रणाली, आर्थिक व्यवस्था र सुदृढ राष्ट्र निर्माणको गति रोकिन पुग्दछ, त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख कार्यभार वर्तमान गतिहीन राजनीतिको पुनःसंरचना गर्नु हो, यसका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले निकट भविष्यमा देशका सबै क्षेत्र, बौद्धिक वर्ग, विज्ञ, सबै जातजाती, धर्म, लिङ्ग, भूगोल आदिको सहभागितामा राजनीतिक पुनःसंरचना सम्मेलन आयोजना गर्नेछ ।’

 

 

 

 

 

 

 

बचत फिर्ताको माग गर्दै सहकारी पीडित आज पनि धर्नामा (तस्बिरहरु)

काठमाडौँ । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले आज आइतबार पनि धर्ना दिएका छन्।

सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा धर्ना दिएका हुन्। सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको उनीहरूले बताएका छन्।

उनीहरु गत शुक्रबार पनि विभाग अगाडी धर्नामा बसेका थिए ।

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदैछ । न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण र बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो ।

प्रसाईंको तर्फबाट उनका छोरा निराजन प्रसाईंले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई पक्राउ गरेको हो । शान्तिविरुद्धको कसुरमा प्रसाईं पक्राउ परेका हुन् । उनी हाल प्रहरी हिरासतमा छन्। गत सोमबार पत्रकार सम्मलेन गरी प्रधानमन्त्री सुशिला कार्कीमाथि प्रश्न उठाउँदै प्रसाईंले आफ्नो फेसबुकमा भिडियो समेत सार्वजनिक गरेका थिए । प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनको तयारीमा रहेका उनी परेका हुन् ।