`

ऊर्जामन्त्री खड्काको घरमा तोडफोड र आगजनी

काठमाडौं । प्रदर्शनकारीहरूले ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेका छन् । खड्काको बूढानीलकण्ठस्थित निवासमा ठूलो संख्याका प्रदर्शनकारीले घर घेरेर तोडफोड सुरु गरेका थिए । त्यसपछि पर्खाल नाघेर भित्र पसेका उनीहरूले आगो लगाउन थालेका हुन् । अहिले घरमा ठूलो धुँवाको मुस्लो देखिरहेको छ भने प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन् ।

 

झापामा गोली चल्दा दुई जना गम्भीर घाइते

काठमाडौं । झापाको बिर्तामोडमा गोली चल्दा दुई जना गम्भीर घाइते भएका छन् । जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर दुई जनाको पेटमा गोली लागेको छ ।

बालकोटमा चल्यो गोली, २ जना घाइते

काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते भएका छन् ।

प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

त्यसै क्रममा गोली चलेको हो घटनाको बिबरण भने आउन बाकि छ ।

कांग्रेस पार्टी कार्यालयमा लगाइयो आगो, गगन थापाको घर अगाडि ढुंगामुढा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगो लगाइएको छ । आन्दोलनमा उत्रिएका आक्रोशित जेनजीले ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए ।

लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् । यसैबीच सोमबार प्रदर्शनकारीले कमलपोखरीस्थित थापाको घरमा पुगेर प्रदर्शन गरिरहेका हुन् । अहिले पनि प्रदर्शनकारीहरू थापाको घरमा ढुंगामुढा गरिरहेका छन् ।

 

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । देशभर जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । बैठक ६ बजे डाकिएको छ ।

एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दु:खी भएको बताएका छन् ।

रास्वपाका सबै सांसदले राजीनामा दिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिए । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने । रास्वपाका प्रवक्ता मनिष झाले भर्खरै बैठक सुरु भएको जाननकारी दिए ।

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने स्थितिमा आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए । जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।

रास्वपाले जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो । मंगलबार पनि युवाहरू काठमाडौंसहित देशैभर सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले संसद बिघटनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् । प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । जसमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन् ।

 

जेनजी पुस्ताको माग सुनुवाइ गरेर सहज वातावरण सिर्जना गर्न आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले हालै २८ वर्षमुनिका युवाहरू(जेनजी)ले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएका घटनाप्रति दुःख व्यक्त गरेको छ । संस्थाले घटनाबाट उत्पन्न चिन्ताजनक अवस्था सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

विभिन्न स्थानमा आज पनि विरोध प्रदर्शन जारी रहेको बेलामा असहज परिस्थितिपछि सबै प्रदर्शनकारीहरूलाई थप हानि हुनबाट बचाउन इप्पानले माग गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले प्रदर्शनकारीले उठाएका भ्रष्टाचार अन्त्य गर्ने, जवाफदेहिता प्रदान गर्ने र नागरिक स्वतन्त्रता सुनिश्चित गर्ने जस्ता वैध माग सरकारबाट यथोचित सुनुवाइ हुनुपर्ने माग गरेका छन् ।

“घटनाको सत्यतथ्य छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्दछौँ,” उनले भने । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै इप्पानले उनीहरुको उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीलाई अपिल गरेको छ । शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा अनावश्यक बल प्रयोग हुनु लोकतान्त्रिक मूल्य र संविधानविपरीत भएको इप्पानको ठहर छ ।

खानेपानीमन्त्री यादवद्वारा राजीनामा घोषणा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएपछि उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् । सो घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।

‘प्रिय युवा भाई बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेनजी’ पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु ।’ यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरेका थिए ।

 

 

रास्वपा सांसद असीम साहले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असीम साहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । ‘मलाई सांसद पदमा बसिरहन मनले दिँदै दिएन,’ उनले भने । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् ।

‘जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने जस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ,’ उनले लेखेका छन् ।
उनले भनेका छन्, ‘मैले पटक–पटक सदनमा युवाको आवाज बोलें, चेतावनी दिएँ– सडक विद्रोह हुनसक्छ, यदि युवाको भावना बुझिएन भने । तर सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन् ।’ संसद् भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो भन्ने प्रश्न गर्दै उनले भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको बताएका छन् ।

‘संसदमा बसेर चुप लाग्नु या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ,’ उनले लेखेका छन् । ‘सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसद्मा बसिरहनु मेरो लागि अब सम्भव रहेन,’ उनले भनेका छन् । अब आफू प्रदर्शनमा रहने उनको भनाइ छ ।

 

 

विराटनगरमा पनि कर्फ्यू आदेश

विराटनगर । जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ः०० देखि राति १०ः०० बजेसम्म महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज भएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजम सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक सभा, जुलुस, भेला, धर्नालगायत गतिविधिमाथि निषेध गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।मोरङ जिल्ला प्रशासनले महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गर्दैै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

कांग्रेस सभापति देउवा र निवर्तमान गृहमन्त्री लेखकको निवासमा तोडफोड

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् । सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ ।

प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् । मंगलबार प्रदर्शनकारीले घर अगाडि टायर बालेर नाराबाजी पनि गरेका छन ।

घरभित्रको सामान झिकेर प्रदर्शनकारीले जलाएका हुन् । प्रहरीले दुई सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । सोमबार जेनजीको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको थियो । मृत्यु भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका थिए । १९ जनाको ज्यान गएको भन्दै मंगलबार बिहानैदखि प्रदर्शनकारीहरू नेताहरूको घरघरमा पुगेर तोडफोड गरिरहेका छन् ।

 

नेपालमा विकसित घटनाक्रम नजिकबाट नियालिरहेका छौं : भारत

काठमाडौं । छिमेकी देश भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दुःखी भएका छौं,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारतको आग्रह छ । भारतले काठमाडौंसहित अन्य शहरमा कफ्र्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले दमन गर्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।

 

बिहानैदेखि जेनजी पुस्ता सडकमा टायर बालेर प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेिख काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । नयाँ बानेश्वर, जोरपाटी कलंकी, बालाजु आदि ठाउँमा स्वतस्फूर्ट्ट रुपमा मानिसहरु सडकमा उत्रिएका छन् ।

सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरु भइरहेका छन् ।

 

ललितपुरको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

ललितपुर । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मंगलबार बिहान स्कुलमा आगजनी गरेका हुन् । ललितपुर प्रहरीका अनुसार दमकल त्यसतर्फ गए पनि प्रदर्शनकारीले फर्काएका छन् । ‘ठाउँठाउँमा प्रदर्शन र आगजनी भइरहेको छ । तर प्रहरी पुग्न सकेको छैन । दमकल पनि गएर फर्किएको छ,’ ललितपुरका एक प्रहरीले भने । ललितपुरको जुद्ध बारूण यन्त्र कार्यालयले पनि विभिन्न ठाउँबाट आगजनीको खबर आएप नि जान नसकिएको बताएको छ ।

फायर फाइटर कमाण्डर राजकुमार ठकुरीले सातदोबाटोबाट दमकल फर्किएको हो । ‘सातदोबाटोमा आधा घण्टा सम्म कुर्‍यौं । प्रदर्शनकारीले फर्किन अनुरोध गरेपछि हामी फर्कियौं,’ उनले भने । काठमाडौं सहित देशका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ । तर प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।
उनीहरूले विभिन्न स्थानमा आगजनी र तोडफोड गरेका थिए ।

त्यस्तै, प्रदर्शनकारीहरू नेताहरूको घरमा समेत आगजनी तथा तोडफोड गरेका हुन् । आज बिहानै भेला भएका प्रदर्शनकारीले पुनः कार्यालयमा तोडफोड गर्दै आगो लगाएका हुन् । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारीको ठूलो भिड भेला भई प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक समेत तोडफोड गरेका छन् । इटहरीमा पनि कफ्र्यु तोड्दै प्रदर्शनकारी सडकमा उत्रिन थालेका छन् । हिजो त्यहाँ भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि इटहरी अहिले पनि तनावग्रस्त बनेको छ । विराटनगरमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाइएको छ ।

सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।

अदालतले आज जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ ।

सूचनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, भक्तपुर र ललितपुरमा आज जारी भएको कर्फ्यू आदेशका कारण आवागमनमा भएको अवरोध तथा विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवम् कानुन व्यवसायीको असहजतालाई ध्यानमा राख्दै सुनुवाइ स्थगित गरेको जनाएको छ ।

झापाको एमाले पार्टी कार्यालयमा लगाइयो आगो

झापा । कोशी प्रदेशका विभिन्न शहरमा आज बिहानैदेखि जेनजीको आन्दोलन उग्र बनेको छ । झापाको बिर्तामोडस्थित नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । यसअघि हिजो पनि त्यही कार्यालयमा तोडफोड भएको थियो । आज बिहानै भेला भएका प्रदर्शनकारीले पुनः कार्यालयमा तोडफोड गर्दै आगो लगाएका हुन् । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारीको ठूलो भिड भेला भई प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक समेत तोडफोड गरेका छन् । इटहरीमा पनि कर्फ्यू तोड्दै प्रदर्शनकारी सडकमा उत्रिन थालेका छन् । हिजो त्यहाँ भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि इटहरी अहिले पनि तनावग्रस्त बनेको छ । विराटनगरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाइएको छ ।

कलंकीको स्थिति तनावग्रस्त हेर्नूहोस् तस्बिरमा

काठमाडौँ । जेनजीहरुको हिजो बाट सुरु भएको आन्दोलन आज झनै उग्र बनेको छ । आज बिहानै देखी देशैचर सुरु भएको आन्दोलन ठाउँ ठाउँबाट उग्र रुप लिदै गईरहेको छ ।

हेर्नूहोस् कलंकीको स्थिति तस्बिरमा

 

उपत्यकाको तिनै जिल्लामा: कर्फ्यू सुरक्षा व्यवस्था कडा

काठमाडौँ । काठमाडौँ उपत्यकाको तिनै जिल्लामा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिएका छन्।

जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ । जेनजी पुस्ताको सोमबार भएको प्रदर्शनमा झडप समेत थियो । उपत्यकाका तीनै जिल्ल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौँलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउन र शान्ति कायम गर्न आग्रह पनि गरेका छन् ।

काठमाडौं उपत्यकामा कर्फ्यू लागेका क्षेत्रहरुमा बैंकहरु बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा कर्फ्यू लागेको क्षेत्रहरूमा बैंक बन्द हुने भएका छन् । जेनजीहरूको आन्दोलन उग्र बनेपछि निषेधित क्षेत्रहरूमा बैंक बन्द गर्न नेपाल राष्ट्र बैंक निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्फ्यू लगाइएको क्षेत्रहरूमा बैंकहरुको कार्यालय नखोल्न भनेको छ । त्यस बाहेकका कार्यालयहरूमा पनि आंशिकरुपमा मात्रै खोल्न निर्देशन दिइएको छ ।

‘सबै कार्यालय नखोल्नु भनिएको छ । कर्फ्यू लगाइएको क्षेत्र बाहेकका क्षेत्रहरूमा पनि आंशिकरुपमा मात्रै सञ्चालनमा ल्याउनु भनिएको छ । जहाँबाट अत्यावश्यक सेवाहरू दिन भनिएको छ’ राष्ट्र बैंकका सूचना आधिकारी सुमन न्यौपानेले भने । अनलाइन कारोबारहरूमा भने कुनै पनि समस्या नआउने गरी संयन्त्र तयार पार्न समेत राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ ।

युवाको आक्रोश र सरकारले मच्चाएको हिंसा

काठमाडौँ ।  नेपालको राजनीतिक इतिहासमा आन्दोलन नयाँ कुरा होइन। तर यसपटक राजधानीका सडकमा देखिएको दृश्य फरक थियो। कलेजको पोशाकमै हजारौं युवा राष्ट्रिय झण्डा बोकेर संसदतर्फ अघि बढिरहेका थिए। सुरुमा शान्तिपूर्ण देखिएको प्रदर्शन साँझपख अश्रु ग्यास, गोली, र चिच्याहटको धुवाँमा हरायो।

यो केवल “सामाजिक सञ्जाल प्रतिबन्ध” को प्रतिक्रिया मात्र थिएन। सडकमा उत्रिएका पुस्ताले दशकौँदेखि थुपारिएको आक्रोश मुखरित गरिरहेका थिए—भ्रष्टाचार, असमानता, र नेताहरूको राजनीतिज्ञहरूको मनोमानीप्रति।

“अब चुपचाप बस्दैनौं” २२ वर्षीया ऋचा काफ्लेले भनिन्, “भ्रष्टाचार भनेको हाम्रो करको पैसा व्यक्तिगत विलासमा खर्च गर्नु हो। सडक छैन, धुलोमुक्त सास छैन, तर नेताहरूको सुख–सुविधा अनगिन्ती छन्।”

२० वर्षीय सुवम यादवले थपे, “हामीलाई सजिलै मूर्ख बनाइयो। अब सहनु भनेको देश झन् खाइने बाटो खोल्नु हो। त्यसैले हामी सडकमा आएका हौं।”

यी आवाजहरूले प्रमाणित गर्छन्—यो आन्दोलन केवल एक पुस्ताको हैन, पुस्ता–पुस्ताको पीडाको प्रतिफल हो।

प्रतिबन्धको असर

सरकारले लगाएको २६ सामाजिक सञ्जाल प्रतिबन्धलाई युवाले सजिलै ‘VPN’ प्रयोग गरेर छल्न सके। तर, ऋचाको भनाइमा, “मेरो हजुरआमा जस्तो पुस्ता चाहिँ यसैमा काटियो। उनीहरूलाई VPN सिकाउन सकिँदैन।”

यसले देखाउँछ, यो केवल डिजिटल स्वतन्त्रताको मुद्दा होइन। यो परिवार र भावनाको सम्बन्ध टुट्ने डर हो। साथै, दशैंको बेला अनलाइन बजार ठप्प हुँदा साना व्यवसायदेखि दैनिक गुजारा गर्नेहरू सम्म प्रभावित भएका छन्।

सडकमा रगत

सुरुमा गीत गाइँदै, नारा लगाइँदै सुरु भएको प्रदर्शन हिंसात्मक रूप लिन पुगेको दृश्यले देशलाई हल्लाइदियो। करिब २० जना नागरिकले ज्यान गुमाए। विद्यालय पोशाकमै विद्यार्थी ढले।आन्दोलन कभर गर्न आएका पत्रकारका कलम र क्यामेरालाई समेत बन्दुकको नालले जवाफ दिइयो।
“बीस वर्षमै साथीहरूको शव देख्नु… यो कुनै हालतमा स्वीकार्य छैन,” सुवमले भने। उनका शब्दहरूले आन्दोलनको मूल्य र पीडाको गहिराइ दुवै देखाउँछन्।
२४ वर्षीया आर्या चन्दको भनाइ अझ कटु छ—“हामीलाई केवल सोसल मिडियाको कारण सडकमा आएको भनेर देखाइयो। तर साँचो कुरा यो हो, हामी भ्रष्टाचारविरुद्ध उत्रिएका थियौं।”

सरकारको प्रतिक्रिया : विकास कि हिंसा ?

युवा–युवतीले लोकतान्त्रिक अभ्यासको अधिकार प्रयोग गर्दा सरकारले तिनलाई सुन्ने साटो गोली चलाउन रोज्यो। लोकतन्त्रमा नागरिकको मागलाई हिंसाले दबाउने अभ्यास अझै पनि बाँकी छ भन्ने तीतो सत्य यसपटक फेरि दोहोरियो।
प्रधानमन्त्री के.पी. ओली प्रायः भन्छन्, “आफ्नै देशमा बसौं, राष्ट्रलाई समृद्ध बनाऔं।” तर प्रश्न के हो भने:
* जब सरकार आफैं नागरिकलाई गोलीले जवाफ दिन्छ, के यो देश बस्न लायक रहन्छ?
* जब  निर्दोषलाई ‘राष्ट्र विरोधी’ भन्दै मारिन्छ, के यो नै राष्ट्र निर्माणको बाटो हो?
* अनि जब भ्रष्टाचार र असमानता जरा गाडेर बस्छ, के युवाले विदेशतिर पलायन हुनु अपरिहार्य हुँदैन?
युवाहरू यही प्रश्न लिएर सडकमा छन्।

सवाल नेतृत्वको हो

२८ वर्षीय बिबेकधोज थापाले भने, “यदि हामी फेरि पुरानै राजनीतिक चक्रमा फस्यौं भने यो आन्दोलनको कुनै अर्थ हुँदैन। नयाँ चुनाव र नेतृत्वमा उमेर सीमा आवश्यक छ।”
२५ वर्षीय दिवश लम्साल अझ स्पष्ट छन्—“भ्रष्टाचार हाम्रो समाजमा रक्तपिपासु परजीवीझैं गाडिएको छ। यो केवल आन्दोलन होइन, संस्कृतिको विरुद्धको विद्रोह हो।”

निर्णायक मोड

काठमाडौंका सडकमा देखिएको धुवाँ र सुनिएका चिच्याहटहरू केवल तत्कालीन आक्रोशको प्रतीक होइनन्। यो देशले दशकौँदेखि बोकिरहेको पीडाको विस्फोट हो।
अश्रु ग्यासले यी मागहरू रोकिँदैनन्, न गोलीले यी आवाजहरू दबाउँछ। युवाहरूले प्रष्ट सन्देश दिएका छन्—“अब चुपचाप बस्दैनौं।”
अब जिम्मेवारी सरकारकै काँधमा छ। सुन्ने हो भने अझै आशाको बाटो बाँकी छ। बेवास्ता गर्ने हो भने, आजको धुवाँ भोलिको राजनीतिक भूकम्पको संकेत बन्नेछ।

 

नोट: यो सामग्री सोमबार काठमाडौंमा भएको विरोध प्रदर्शनमा सहभागी केही युवाहरुसँग गरिएको कुराकानी र स्थलगत रिपोर्टिङको आधारमा तयार गरिएको हो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिंदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,’ उनले भने, ‘राजीनामा दिँदैछु ।’ अहिले कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेका छन् । यसअघि गृहमन्त्री रमेश लेखक, कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् ।

‘जेनजी’ आन्दोलनबाट गौरवान्वित छु : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले ‘जेनजी’ पुस्ताले सुरु गरेको आन्दोलनप्रति एक्यवद्धता व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमा उनले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेको भन्दै यसबाट आफू असाध्यै गौरवान्वित भएको पनि बताएका हुन् ।

‘भनिन्छ– नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ । अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो । त्यसनिम्ति तपाईंहरूलाई हार्दिक वधाइ !’

उनले आन्दोलनमा सहभागी युवा पुस्तालाई आन्दोलन बिचमै नछाड्न पनि आग्रह गरेका छन् । त्यसै गरी भट्टराईले आन्दोलनको अधिकतम र न्यूनतम लक्ष्य किटान गर्न, कसैको वहकावमा नलाग्न, आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन पनि सुझाव दिएका छन् ।

‘भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ । नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्नकानिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ । तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न,’ भट्टराईले भनेका छन्, ‘तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना !’

देउवा निवासतर्फ हानिएका प्रदर्शनकारीलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन उपत्यकामा प्रदर्शनकारीको उपस्थिति झन बढेको छ । केही प्रदर्शनकारी सत्तारुढ नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका छन् ।

उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ । प्रदर्शनकारीको संख्या बढ्दा प्रहरी संख्या भने न्यून छ । प्रदर्शनकारीले सञ्चारमन्त्री पीएस गुरुङको सुनाकोठीस्थित निवासमा आगजनी गरेका छन् । यस्तै प्रचण्ड निवास खुमलटारमा पनि तोडफोड गरिरहेका छन् ।

आन्दोलनकारीद्वारा प्रचण्ड निवासमा तोडफोड, प्रहरी बिटमा आगजनी

काठामाडौं । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन झन उग्र बनेको छ । कफ्र्यूका बाबजुद प्रदर्शनकारीहरु नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् । यसैक्रममा एक समूह माओवादी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ । त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास जाने सडकमा स्थानीय प्रदर्शनकारीले प्रहरी बिट भत्काएका छन् । मंगलबार बिहान खुमलटारस्थित प्रचण्ड निवास छिर्ने चोकमा स्थानीयले सडकमा प्रहरी बिट भत्काएका हुन् ।

जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा सोमबार १९ जनाको ज्यान गएपछि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । युवाहरूले ठाउँ–ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
काठमाडौंको कलंकी, बानेश्वर लगायत स्थानमा प्रदर्शन भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरले कफ्र्यू आदेश समेत जारी गरेको छ ।

अनुदानमा घुम्तीगोठ निर्माण

म्याग्दी । धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा पशुधनको सुरक्षा तथा गोठालाको सहजताका लागि तीनवटा घुम्ती गोठ निर्माण भएका छन् । धवलागिरि–५ मल्कवाङको म्यादुङमा, अन्नूर्ण गाउँपालिकाका खोपारा र बयलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घुम्तीगोठ निर्माण भएको हो । हिउँदयाममा जाडो हुने भएकाले बेँसीमा झारिने गाईभैँसी, याकचौँरी तथा भेडाबाख्रा गर्मीयाममा उच्च लेकका घुम्ती चरन क्षेत्रमा लगेर पालन गरिन्छ ।

म्यादुङमा धवलागिरि गाउँपालिकाको रु आठ लाख अनुदान र किसानको रु दुई लाख बढी लगानीमा पाँच सय भेडाबाख्रा राख्न मिल्ने घुम्तीगोठ निर्माण भएको छ । मल्कवाङका भेडापालक किसान देवान छन्त्यालले घुम्तीगोठ निर्माण भएपछि हिउँदयाममा बेँसी झरेका भेडाबाख्रालाई झरी र हिउँ पर्दा ओत लाग्न सजिलो हुनुका साथै चिसोबाट बचाउन सकिने बताए ।

“हिमपातको समयमा कमजोर भेडाबाख्रा र पाठापाठी चिसोले धेरै मरेकाले घुम्तीगोठको आवश्यकता थियो”, उनले भने, “घुम्तीगोठ भएपछि घाँसपानी दिन सकेमा भेडाबाख्रा हराउने र मर्ने जोखिम घटेको छ ।” छन्त्याललगायत पाँच जना भेडाबाख्रापालक किसानले घुम्तीगोठ निर्माणमा साझेदारी गरेका हुन् । जस्तापाताले छाएको र भुइँमा ढलान गरिएको घुम्तीगोठ घेराबारका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत विनियोजन भएको रु चार लाखबाट अन्नपूर्ण गाउँपालिका–५ खोपारा र बयलीमा घुम्तीगोठ संरक्षणका लागि टहरा निर्माण भएको कार्यालयका सूचना अधिकारी सुभास रेग्मीले बताए ।

ढुङ्गाको पर्खाल, काठको बार र जस्ताले छाएर किसान बस्ने र चौँरीका बाछाबाछी राख्ने गोठ निर्माण भएको हो । गोठमा पाठापाठी राख्दा ब्वासो, चितुवा, स्याललगायत जनावरको आक्रमणबाट बचाउन सकिने किसानले बताएका छन् । बर्खायाम जेठदेखि असोजसम्म उच्च लेकमा र हिउँदयाम लागेपछि मङ्सिरदेखि वैशाखसम्म बेँसीका फाँटमा घुम्तीगोठ सार्ने चलन छ ।

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

भोजपुरमा पशु सेवाको पहुँच पु¥याउँन ‘खोपकर्ता’ परिचालन

भोजपुर । पशुजन्य रोगको महामारी नियन्त्रण तथा रोकथाम गर्न भोजपुरमा कार्यक्रम सञ्चालनको तयारी थालिएको छ । पशुमा लाग्ने विभिन्न खालका रोग महामारीका रूपमा फैलिन नदिने लक्ष्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यहाँका नौवटै स्थानीय तहमा रहेका खोपकर्तामार्फत पशु स्वास्थ्य सेवालाई जनतस्तरसम्म विस्तारका लागि परिचालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत खोरेत, पिपिआर, स्वाइनफिभर रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

राज्यबाट सञ्चालन हुन लागेको कार्यक्रमलाई प्रभावकारी बनाउन लागि सबै स्थानीय तहका पशु स्वास्थ्य शाखाका कर्मचारी र यसअघि तालिम लिएका खोपकर्तालाई आवश्यक जानकारीसँगै खोप प्रयोगको विषयमा प्रशिक्षण दिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार ग्रामीणस्तरमा खटिने खोपकर्तालाई खोप प्रयोग, खोपको प्रभावकारिता, खोप लगाउने तरिका, सफ्टवेयको माध्यमबाट खोप लगाएका पशुको तथ्याङ्क सङ्कलनलगायतका विषयमा आवश्यक ज्ञान, सीप प्रदान गरिएको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागी खोपकर्ताले यहाँ सिकेको सीपका आधारमा जनस्तरसम्म पुगेर किसानलाई घरदैलोमा सेवा प्रदान गरिनेछ । किसानका गाईभैँसीमा खोरेत, खसीबाख्रामा पिपिआर र वङ्गुरका लागि स्वाइनफिभर खोप निःशुल्क प्रदान गरिनेछ । खोरेतको खोप वर्षमा दुई पटक र अन्य खोप वर्षमा एक पटक लगाइनेछ ।

“पशु स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउन कार्यक्रम सञ्चालनको तयारीमा छौँ” प्रमुख दाहालले भने, “सम्भावित पशुजन्य रोगको महामारीबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्न लागेका हौँ । उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनका लागि खोपकर्तालाई आवश्यक ज्ञान, सीप प्रदान गरेका छौँ । अबको केही समयपश्चात उनीहरूलाई गाउँगाउँमा परिचालन गरेर सेवा प्रदान गर्छौँ ।”

जिल्लाका नौवटै स्थानीय तहका पशु शाखाका कर्मचारी र खोपकर्ता गरी ७० जनालाई खोप र यसको प्रयोगका विषयमा जानकारी दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सहायक पशु स्वास्थ्य अधिकृत मनोज पोखरेलले जानकारी दिए । अधिकांश किसान पशुपालन व्यवसायमा जोडिएका भए पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचार पद्धतिका विषयमा जानकारी नहुँदा समस्या भोग्दै आएकाले पशु रोगको विषयमा जनचेतना फैलाउने काम भइरहेको उनले बताए ।

कृषिमन्त्री अधिकारीले दिए राजीनामा, कांग्रेसका अरु पनि परामर्शमा

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि अधिकारीले पदबाट राजीनामा दिएको उनका सहयोगी बिजय अधिकारीले पुष्टि गरेका छन् । नेपाली कांग्रेसभित्र सरकारबाट बाहिरिन दबाब बढेको छ ।

नेता शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य सकिएको भन्दै कांग्रेसले सरकार छाड्नु पर्ने मत राखेका छन् । यसै गरी कांग्रेसबाट कृषि मन्त्री भएका रामनाथ अधिकारीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

‘कर्फ्यू छ बाहिर निसक्न सकेको छैन’, उनले भने, ‘प्रधानमन्त्री र पार्टी सभापतिलाई उहाँले जानकारी दिइसक्नु भयो ।’ नेता शेखर कोइरालाले चीनबाटै राजीनामा दिन लगाएपपछि उनी निकट मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका थिए ।

कांग्रेसका अरू मन्त्रीहरू पनि राजीनामाका लागि पार्टीसँग परामर्शमा छन् । एक साता लामो भ्रमणका चीनमा रहेका नेता कोइराला देशको वर्तमान असहज परिस्थितिका कारण बसाई छोट्याएर भोलि (बुधबार) नै नेपाल फर्कदै छन् । हिजो जेनजीको आन्दोलनमा प्रहरी दमन हुँदा १९ जनाको ज्यान गएको थियो । भने साढे तीन सय बढी घाइते भएका छन् ।

झलारीका होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने चिल्लो पदार्थमा ‘ट्रान्सफ्याट’को मात्रा उच्च

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारका अधिकांश होटल तथा रेष्टुरेन्टमा बनाइने परिकारमा हानिकारक चिल्लो पदार्थको प्रयोग हुने गरेको पाइएको छ । बजार अनुगमनका क्रममा ‘ट्रान्सफ्याट’ (ठोस चिल्लो पदार्थ)को मात्रा उच्च रहेको पाइएको हो ।

धनगढीस्थित खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका नायब प्राविधिक सहायक तोयनाथ ओझाका अनुसार होटलमा खानाका परिकार बनाउन प्रयोग हुने तेललाई धेरैपटक तताएर प्रयोगमा ल्याउने गरिएको पाइएको छ ।

“तेललाई जतिपटक तताइन्छ ‘स्याचुरेटेड फ्याट’ वृद्धि हँुदै जान्छ, त्यस्तो तेल स्वास्थ्यका निकै हानिकारक हुन्छ”, उनले भने । ‘टोटल पोलर मिटर’ (टिपिएम)को मद्दतले होटलमा खाना नास्ताका परिकार बनाउन प्रयोग हुने तेल परीक्षणको कार्य गरिएको छ ।

जसमा तेलको टिएम भ्यालु उच्च देखिएको छ । “टिएम भ्यालु २० सम्म आएमा त्यसलाई सामान्य मानिन्छ”, नायब प्राविधिक सहायक ओझाले भने, “भ्यालु २१ देखि २४ सम्मलाई चेतनावनी तह र २५ भन्दामाथि आएमा हानिकारक विषसमान मानिन्छ ।”

उनका अनुसार अनुगमन गरिएकामध्ये आधाभन्दा बढी होटल र रेष्टुरेन्टमा तेलको टिएम भ्यालु २५ भन्दामाथि देखिएको छ । खाद्य पदार्थ बनाउन प्रयोग हुने तेललाई पुनः तताउने र त्यसकै माथि अरु तेल खन्याएर खाद्य पदार्थ बनाउँदा समस्या देखिएको उनको भनाइ छ ।

वनस्पति तेललाई एकपटक प्रयोग गरेपछि दोस्रोपटक दोहोर्याएर प्रयोग गर्न नमिल्ने उनले बताए। ट्रान्सफ्याट तेलको प्रयोग गरी बनाइएका खाद्य पदार्थको सेवन गर्दा मुटु, रक्तनली, मिर्गौला, मस्तिष्कमा गम्भीर असर पुर्याउने कार्यसँगै रगतलाई बाक्लो बनाउने, उच्च रक्तचापको समस्या निम्त्याउने र ह्दयघातको समस्या निम्त्याई मृत्युदरलाई बढाउने गरेको पाइएको उनले उल्लेख गरे।

बजारमा यस्ता ट्रान्सफ्याटको प्रयोग गरी बनाइएका खाद्य पदार्थको सेवन नगर्नु नै उचित हुने उनको सल्लाह रहेको छ । “यो सँगै होटल तथा रेष्टुरेन्टहरूमा हानिकारक रङहरूको प्रयोग गरी जेरी मीठाइ, चिकेन पकौडा, रोष्टलगायत परिकार बनाइएको देखियो”, उनले भने, “ती परिकार जफत गरी नष्ट गर्न नगरपालिकाको जिम्मा लगाएका छौँ, अखाद्य रङहरूको प्रयोग गरी बनाइएका खाद्य पदार्थले ह्दयघात र क्यान्सरजस्तो प्राणघात रोग निम्त्याउने भएकाले सेवन गर्नबाट बच्नुपर्छ ।”

“धेरै होटेलहरूमा बनाइएका परिकार राख्न र छोप्नका लागि अखबारको प्रयोग भएको पाइएको छ, अखबार छाप्न प्रयोग भएकोे रङ खाद्य पदार्थमा लाग्ने भएकाले त्यो पनि निकै हानिकारक रहेको छ”, उनले भने ।

रातैभर सुत्न सकिनँ, कांग्रेसलाई सरकारबाट फर्काउने निर्णय गराउन लाग्छु : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अबिलम्ब राजीनामा नदिए कांग्रेस सरकारबाट फिर्ता हुने बताएका छन् । महामन्त्री थापाले वक्तव्यमा भनेका छन्, ‘प्रधानमन्त्री ज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नु पर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनु हुदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।’

उनले मंगलबार बिहान भनेका छन्, ‘रातभर सुत्न सकिनँ । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्री ज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नु पर्छ ।’

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

गलकोट । यस वर्ष बागलुङबाट रु ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले आर्थिक वर्ष २०८१ /८२ मा रु ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको सङ्घका अध्यक्ष दीपक गौतमले बताए ।

अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ । अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ । आव २०८०/८१ रु ३८ लाख ५४ हजारबराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष रु १६ लाखभन्दा बढीको छुर्पी बिक्री गरेको छ । दुग्ध सहकारीले यस वर्ष रु १० करोड ९९ लाख १७ हजार ८५५ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ ।

उनका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ । त्यसमध्ये अन्तरराष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ । छुर्पीको माग बढेपछि सङ्घले एक वर्षमा रु १६ लाखको छुर्पी उत्पादनमा वृद्धि गरेको हो ।

दुग्ध सहकारी सङ्घले बागलुङका १५ सहकारी संस्थाको दूध सङ्कलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा एक हजार ५०० भन्दा बढी किसान आबद्ध छन् । हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् ।

सहकारी सङ्घमा १७ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको अध्यक्ष गौतमले बताए। यस्तै आव २०७९/८० मा रु २९ लाखको छुर्पी निर्यात गर्न सफल भएको थियो ।

आफू पक्षका मन्त्रीलाई चीनबाटै शेखरको फोन : राजीनामा दिनू

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षबाट सरकारमा मन्त्री रहेकाहरूले राजीनामा दिने भएका छन् । हाल चीन भ्रणमा रहेका नेता कोइरालाले फोन गरेर राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन् ।

‘म राजीनामा दिनेबारे अरू साथीहरूसँग सल्लाह गर्दैछु’, उनले भने, ‘कर्फ्यू लागेकाले बाहिर निस्किन मिलेन, म त मन्त्रालय पनि जान्नँ ।’ सोमबार जेन–जीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि सरकारको चर्को आलोचना भइरहेको छ । कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन् ।

शेखर समूहबाट सरकारमा अधिकारी कृषिमन्त्री, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन् । त्यसो त सत्तारुढ दलकै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा मागिरहेका छन् । तर यसप्रति अहिलेसम्म ओलीले कुनै चासो देखाएका छैनन् ।

यता जेनजीले आफ्नो आन्दोलन जारी राखेको छ । आज पनि युवाले नयाँ बानेश्वरमा बिहानैदेखि भेला भएर कर्फ्यू उल्लंघन गर्दै विरोध प्रदर्शन थालिसकेका छन् । जहाँ सोमबार प्रहरीको गोलीबाट विद्यार्थीसहित १७ युवा मारिएका थिए । उपत्यका बाहिर पनि सोही आन्दोलनमा २ जना मारिएको प्रहरीले नै पुष्टि गरिसकेको छ ।

फेरियो उपत्यका प्रहरीको कमाण्ड, एआईजी कार्कीलाई जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । उनको ठाउँमा एआईजी दानबहादुर कार्की खटिएका छन् ।

सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताका युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको छ ।

भक्तपुरको मुपात्र र याँमता जात्रा आजबाट सुरु

भादगाउँ  ।  इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र र याँमता जात्रा आजबाट सुरु हुँदै छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।
जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङ लगाई श्रृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने चलन छ । नगर परिक्रमा गर्दा नगरको टोलटोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्छन् ।
जात्रा सुरु हुनु अघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी नगर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकाल्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको टोलहरूमा परिक्रमा गराइन्छ ।
जात्राको दोस्रो दिन साँझ गोमारीका मानन्धर समुदायको याँमतासँगै चोछेँ टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीका मानन्धर समुदाय छुमा गणेश मन्दिर गएर सुकुण्डा बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता बालिसकेपछि चोछेँ टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आआफ्नो  द्योःछे (देवगृह)मा पुर्याइन्छ ।
जात्राको अन्तिम दिन टौमारीको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट बलि पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोलहरू तपालछीँ र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुण्डा बालेर आउँछन् । त्यही सुण्डाबाट बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बाल्छन् । बालिसकेपछि याँमतासँगै टौमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । जात्रामा नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।
भैरवको खटजात्रा गरेपछि स्थानीय लाकुलाछेँ टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपाडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गर्छन् । टौमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छन् । जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ । एकजना पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।
जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरूलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मुपात्र जात्रा गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।
इन्द्रजात्रासम्बन्धी लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरूको बगैँचामा प्रवेश गरे । दैत्यहरूले पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाइ दलबलसहित आएर दैत्यहरूसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यहरूले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरूले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन् । सो क्रममा दैत्यहरूलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरूमा उल्लेखित ग्रन्थका कथामा आधारित गरी जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिन्छ । त्यसैले जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँका व्यक्तिहरू ल्याई पैसा दिएर मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।

चीन भ्रमण छोट्याएर नेपाल फर्किदै डा. कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नो एक हप्ते चीन भ्रमण छोट्याएर भोलि (बुधबार) नेपाल फर्कने भएका छन् । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिँदै उनले पूर्व निर्धारित कार्यक्रम छोट्याउने निर्णय गरेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन् ।

चीनको सान्सी विश्वविद्यालयको निमन्त्रणामा सियान सहर पुगेका डा. कोइराला ‘बेल्ट एन्ड रोड–क्षेत्रीय सहकार्य, प्रशासन र विकास गोष्ठी’ मा प्रमुख वक्ताका रूपमा सहभागी भइरहेका थिए ।

तर, उनले निर्धारित समयभन्दा अगाडि नै स्वदेश फर्किने निर्णय गरेपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा. कोइराला भोलि बुधबार रातिसम्म नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । उनको हतारको स्वदेश फिर्तीले नेपाली राजनीतिमा थप सरगर्मी बढाउने अनुमान गरिएको छ ।

काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र आज (मंगलबार) कर्फ्यू आदेश जारी गरेको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यू अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यू लगाइएको हो ।

कफ्र्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु बाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताका युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

काठमाडौंमा हिजो लगाइएको कर्फ्यू अवधि सकियो, आज के हुन्छ ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि लगाएको कर्फ्यू अवधि आज (मंगलबार) बिहान ५ बजे सकिएको छ । हिजो दिनभरजसो अशान्त बनेको सडकमा अहिले फाट्टफुट्ट गाडीहरु चलिरहेका छन् । अहिले सडक सफाइ गर्ने कर्मचारीहरु खटिएका देखिन्छन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताका युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको छ । प्रहरीसँग झडप सुरु भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो मध्याह्नदेखि लगाएको कर्फ्यूको समय बढाउँदै आज बिहान ५ बजेसम्म लम्ब्याएको थियो ।

त्यसपछि पनि कर्फ्यू हटाइयो कि थपियो भन्नेबारे प्रशासन कार्यालयले केही जानकारी गराएको छैन । प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रवक्तालगायत कसैले पनि फोन उठाएका छैनन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने आज जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने जानकारी दिए ।

जेनजी आन्दोलनबारे अमेरिका, बेलायतसहित नौं देशको आग्रह : मौलिक अधिकार सुनिश्चित गर

काठमाडौं । नेपालस्थित नौं देशका राजदूतावासले जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति दृढ समर्थन रहेको उल्लेख गरेका छन् ।

उनीहरुले सबै पक्षलाई संयम अपनाउन र परिस्थितिलाई थप बिग्रन नदिइ शान्तिपूर्ण समाधान गर्न र मौलिक अधिकारहरुको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।

‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् संयुक्त प्रेस विज्ञप्ति

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट ः

हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं । यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं । पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं ।

साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।

जेनजीलाई आन्दोलन स्थगन गरी शान्ति सुव्यवस्था कायम गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले जेनजी पुस्तालाई आन्दोलन स्थगित गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि आग्रह गरेको छ ।

आन्दोलनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यकले घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड गरी अराजक मच्चाउने तत्वको पहिचान गरीघटना छानबिन गर्न यथाशीघ्र समिति गठन गर्ने निर्णय पनि क्याविनेटले गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बागुरुङले आजको आनन्दोलनमा मृतक भएकाको श्रद्धाञ्जलीसहित परिवारजनमा समवेदना प्रकट गरेको बताए ।

जेनजीको मागप्रति सरकार नकारात्मक थिएन, घुसपैठले अप्रिय स्थिति बन्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् । आज भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताए ।
‘आजको घटनाका मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ । आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानबिन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु’, उनले भने ।
उनले जेनजीले आज शान्तिपूर्ण रुपमा माग राख्नेमा आफूहरु आश्वस्त रहे पनि प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका भएकाले नागरिकले ज्यान गुमाउने अवस्था आएको समेत बताएका छन् । ‘जेन–जीले राखेको मागप्रति सरकार नकारात्मक थिएन, हामी जेन–जीका मागलाई सुनिरहेका थियौं’, उनले भने, ‘तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो ।’ प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरेको उनको भनाइ छ ।
सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्न कम्पनीहरुलाई सूचिकरणका लागि पटक–पटक आग्रह गरेको उल्लेख गर्दै उनले सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि तत्कालका लागि बन्द गरिएको समेत बताएका छन् ।  सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति नलिएको उनको भनाइ छ ।
‘बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो । राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्नेछ ।’