`

एसिसी यू–१९ प्रिमियर कपः नेपाल दोस्रो जितको खोजीमा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ । अजमान खेल मैदानमा नेपालले टस जितेर पहला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो ।

आज खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ । चौध टोलीबीच चार समूहमा विभाजन गरी भइरहेकोको प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

रवि र छविको मुद्दाको सुनुवाई फेरि किन भयो स्थगित ?

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको ठगीसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । आज (बिहीबार) निर्धारण गरिएको छैटौं पेशीमा लामिछाने पक्षका कानुन व्यवसायीले स्थगनको माग गरेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुनुवाइ सारिएको हो ।

साप्ताहिक पेशीअनुसार दुवैको मुद्दा तीन नम्बर इजलासमा न्यायाधीश मिलन राई र सानुमैया डंगोलको संयुक्त इजलासमा परेको थियो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार जोशीको फाइल समेत एकैसाथ परेको र लामिछाने पक्षको निवेदनपछि इजलास स्थगित गरिएको हो ।

यसअघि पनि मुद्दा निरन्तर रोकिने क्रम जारी छ । पहिलो पेशीमा लगाउको आदेश जारी भएको थियो भने दोस्रोमा जिल्ला अदालतको मिसिल झिकाउने आदेश भयो । तेस्रो पेशीमा जोशीका कानुन व्यवसायीले रोक्का मागे, चौथोमा सर्वोच्च अदालतको मिसिल मागियो । पाँचौँ पेशी पनि लामिछाने पक्षकै निवेदनमा सारिएको थियो । छठौँ पेशीमा आएर पुनः लामिछानेका कानुन व्यवसायीले स्थगन मागेपछि सुनुवाइ अघि बढ्न सकेन ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका लामिछाने र जोशी दुवैको मुद्दा ‘लगाउ’ प्रक्रियामा परेकाले फाइल संयुक्त रूपमा हेरिँदै आएको छ । कात्तिक २० गतेको इजलासले सुरु मिसिल माग्न आदेश दिएपछि पछिल्लो साता पेशी तोकिए पनि पुनः स्थगन भएको हो । सहकारी ठगीकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले आरोपअनुसारको बिगो रकम बराबरको जमानत बुझाइसकेकाले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने दाबी गर्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए । तर जिल्ला अदालत रुपन्देहीले साउन २६ गतेकै सुनुवाइमा रिहा गर्न अस्वीकार गरिसकेको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ । लामिछानेले सो रकमको चौथाइ हिसाबले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएको कागजात पेस गरेका थिए । जोशीले पनि यस्तै जमानत बुझाएका थिए। तर, दुवैको व्यक्तिगत भागमा कति बिगो पर्न जाने भन्ने स्पष्ट नहुँदा अदालतले रिहा नगर्ने निर्णय लिएको थियो । हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमै छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा उच्च अदालतमा आगजनी र तोडफोड हुँदा पनि दुवैको मुद्दाको फाइल भने सुरक्षित रहेको अदालतले जनाएको छ। तर कानुन व्यवसायीहरूका पटक–पटकको निवेदनले सुनुवाइ ढिलो भइरहेकाले मुद्दा समयमै टुंगो नलाग्ने चिन्ता व्यक्त भएको छ ।अदालतका कर्मचारीहरूका अनुसार दुई पटकसम्म मात्र पक्षहरूले सुनुवाइ रोक्न सक्ने प्रावधान छ । हालसम्म छविलाल जोशी पक्षले एक पटक र रवि लामिछाने पक्षले दुई पटक सुनुवाइ स्थगित गराइसकेका छन् । उनको तर्फबाट निरन्तर पेशी सारिँदा बाहिरी आरोप लगाउने प्रवृत्ति उचित नभएको पनि कर्मचारीहरू बताउँछन् ।

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना निर्माणसम्बन्धी अन्तरक्रिया तथा सुझाव सङ्कलन आज नारायण बहुमुखी क्याम्पसमा दैलेखबाट सुरु गरेको हो । कार्यक्रममा पूर्वसांसद रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारको माग अनुरूप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना निर्माण गर्न सुझाएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा विष्णुकुमार खड्काले विद्यार्थीलाई आकर्षण गराउने, गरिखान सीप सिकाउने, टिकाउने र बिकाउने गरी योजना निर्माण गरिने बताएका छन् ।

अन्तरक्रियामा नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य एवं ग्राजुयट स्कूल अफ इन्जिनियरका डीन सह–प्राडा राजन सुवाल, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष टेकबहादुर खाँड, खड्कबहादुर सिङ्जापती, तेजबहादुर चन्द, नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष अमरबहादुर सुनार, उक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष सुष्मा शाहीलगायतले नियमित तथा प्रविधिमैत्री कक्षा सञ्चालन, व्यवहारिक एवं जीवनोपयोगी शिक्षाको आवश्यकता, क्याम्पसको विकास तथा विस्तारका लागि अवलम्बन गर्नुपर्ने उपायलाई ध्यानमा राखी योजना ल्याउन सुझाएका थिए ।

माइतीघरमा नारा : जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी (तस्वीरहरु)

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध जेनजी समूह फेरि सडकमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा उनीहरूले आज पम्प्लेट र नारासहित विरोध प्रदर्शन गरेका हुन् । केही दिनदेखि जेनजीहरूलाई सिंहदरबार जान रोक लगाइएपछि उनीहरू माइतीघरमै भेला भएर विरोधमा उभिएका हुन् ।

टाउकोमा कालोपट्टी बाँधेका प्रदर्शनकारीहरूले ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन–जी सबै जेलमा’, ‘सुशीलाको पाराले, दुःख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी’, ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेको छन् । प्रदर्शनमा रहेको समूहले माइतीघरबाट सबै जेनजीलाई एकताबद्ध हुनसमेत आह्वान गरेको छ ।

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको १४औँ साधारणसभाले व्यवसायी सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार सम्पन्न सो नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षद्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित भएका छन् । यसैगरी महासचिव पदमा नवीन सारु (डोलबहादुर थापा), कोषाध्यक्षमा स्वाती घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाशराम श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक मर्हजन, सञ्जीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मि पन्त, कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयुसबहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युतबहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तमलाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै नवनिर्वाचित कार्यसमितिले किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र डा सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आज यहाँ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुनिल भक्त श्रेष्ठले भियतनामसँगको व्यापारिकसम्बन्ध विस्तारमा चेम्बरले थप सक्रिय भूमिका खेल्ने बताएका छन् । उनले भने, “दुवै देशबीचको व्यापार क्षमता ठूलो छ । अबको कार्यकालमा हामी व्यापार प्रवद्र्धन, लगानी आकर्षण तथा व्यवसायीलाई जोड्ने ‘प्लेटफर्र्म’लाई अझ सशक्त बनाउँदै लैजानेछौँ।”

उपाध्यक्ष उर्मिला श्रेष्ठले नेपाल–भियतनाम बीचमा संयुक्त लगानीका सम्भावित क्षेत्र पहिचान ,व्यापार प्रवद्र्धन, लगानी आकर्षण तथा व्यवसायीका अनुभव एकआपसमा सटासाट गर्न संस्थाले योगदान गर्ने जानकारी दिएकी छिन् ।

यसअघि साधारणसभाको शुभारम्भका अवसरमा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ नेपाल–भियतनाम व्यापारिक सम्बन्धलाई अझ उचाइमा पु¥याउन चेम्बरको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले भने, “भियतनामी बजारमा नेपाली उत्पादनको सम्भावना बढिरहेको छ । चेम्बरको सक्रियताले नेपाली निर्यात क्षमता अझ विस्तार गर्न सक्छ ।” साथै, महावाणिज्यदूत श्रेष्ठले दुई मुलुकबीच सहकार्य बढाउन आवश्यक रहेको बताउँदै कृषि, पर्यटन, व्यापार तथा सूचना प्रविधि क्षेत्रमा लगानी विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गरेका छन्।

उनले नेपाल–भियतनामबीच प्रत्यक्ष हवाई उडान सञ्चालन हुनु आवश्यक रहेकामा पनि जोड दिएका छन् । सभामा अध्यक्ष दीपककुमार मल्होत्राले नेपाल–भियतनाम व्यापार विस्तारका लागि चेम्बरले विगतमा गरेको पहल तथा गतिविधिबारे प्रकाश पारेका छन् ।

उनले हाल देशमा व्यवसायी तथा उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको भन्दै दुःख व्यक्त गरेका छन् । साथै उनले भने,“नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना छ । निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ ।” सभामा महासचिव गोपालदास मानन्धरले २०८०र८१ र २०८१र८२ को वार्षिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । त्यस्तै, कोषाध्यक्ष कविकुमार टिबरेवालाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था वित्तीय रूपमा सुदृढ बन्दै गएको जानकारी दिएका छन्।

कार्यक्रममा भियतनामसम्बन्धी व्यापार–व्यवसायमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई व्यापारतर्फको ‘अवार्ड’ प्रदान गरिएको थियो । सम्मानित हुनेमा आयातकर्ता श्याम मारवाडी, नेपाल–भियतनाम संयुक्त लगानी कम्पनी ‘फो ९९’ का प्रबन्ध निर्देशक थी किम क्वोङ वो (बाओ) तथा प्रकाशन, समर्थन र संस्थाको सुदृढीकरणमा योगदान पु¥याएका आधारमा उर्मिला श्रेष्ठ रहेकी हुन् । साथै, चेम्बरका आजीवन सदस्यता प्राप्त व्यक्तिलाई अध्यक्ष मल्होत्राले प्रमाणपत्र प्रदान गरेका छन् ।

सरकारविरुद्ध जेनजीको प्रदर्शन, तस्बिरहरु

काठमाडौं । काठमाडौंको माइतिघरमा जेन-जीको समुहले सरकार विरूद्ध प्रदर्शन गरेका छन् । पम्प्लेट सहित जेन-जीको समुहले प्रदर्शन गरेको हो ।

उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा”, “सुशीलाको पाराले दुख पाए साराले”, “जेन जीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।

एमालेको संसद पुनःस्थापनासम्बन्धी रिटको तोकियो पेसी

काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्चमा दायर गरेको रिटमाथि पहिलो सुनुवाइ मिति तोकिएको छ । रिटउपर मंसिर १७ गते पेशी निर्धारण भएको नेता महेश बर्तौलाले बताए । एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्दै सांसदबाटै प्रधानमन्त्री नियुक्ति गर्न परमादेश मागेको छ ।

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण (तस्बिरहरु)

काठमाडौँ । जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढदै गएको छ । यो याममा वर्षाको मात्र र हावाको गति कम हुने भएकाले पनि काठमाडौं उपत्यकामा धूलो र धुवाँको मात्र बढदै जाने गर्दछ ।

यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढदै गएको छ ।

काठमाडौं उपत्यका सवारीसाधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौं विश्वकै प्रदूषित सहर बन्ने गरेको छ ।

यस याममा काठमाडौं उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रष्ट देख्न सकिन्छ ।

तस्बिर: क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।

सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय बिशाल राई, नुवाकोटको १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समिर तामाङ रहेका छन् । उनीहरुले गत मङ्सिर ८ गते महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्किने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैङ्कका चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनीहरुले मोटरसाइकलबाट आएर लुटपाट गरी भागेका थिए । पक्राउ परेकासँग प्रहरीले मोबाइल, चाँबीको झुप्पो लगायतका सामानसहित १२ दशमलव ६३० ग्राम सुनको झुम्का, ७ दशमलव ८ लालको सुनको टप, रु दुई हजार ५०० नगद बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्रीविरुद्धको रिट संयुक्त इजलासमा

काठमाडौं । मधेश प्रदेशमा उत्पन्न भएको राजनीतिक तथा संवैधानिक विवाद आज (बिहीबार) देखि निर्णायक चरणमा प्रवेश गर्ने भएको छ । प्रदेश सरकार गठनविरुद्ध ७४ सांसदले दर्ता गराएको रिटमा सर्वोच्च अदालतले बिहीबारदेखि अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा यो मुद्दा पहिलो नम्बरमै सूचीकृत छ ।

यसअघि संयुक्त इजलासले नै अन्तिम सुनुवाइको मिति टुंगो लगाइसकेको थियो । हेर्न नमिल्ने कारण वा अन्य कुनै बाधा नआएको खण्डमा निरन्तर सुनुवाइमार्फत छिटो निर्णय दिने तयारी सर्वोच्चले गरेको छ । संवैधानिक प्रकृतिको विषय भएकाले यो मुद्दालाई अदालतले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सरकार गठनसम्बन्धी विवाद तब चर्किएको थियो जब प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिवासस्थित होटलमै गएर शपथ गराएकी थिइन् ।

एमाले बाहेक अन्य दलका ७४ सांसदले यो प्रक्रिया राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा असंगत रहेको आरोप लगाउँदै सर्वोच्च अदालत पुगेका थिए । यसैबीच अदालतले गत मंगलबार अन्तरिम आदेश जारी गर्दै नव–नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न निर्देशन दिएको थियो । प्रदेशसभामा जम्मा १०७ मध्ये तीन जना सांसद निलम्बित भएपछि हाल कायम संख्या १०४ रहेको छ । जसअनुसार सरकार बनाउन आवश्यक बहुमत ५४ हो।

प्रतिनिनिधित्व हेर्दा एमाले २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७ तथा संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना सांसद रहेका छन् । यस्तो संरचनाबीच प्रदेश प्रमुखद्वारा एमाले नेता यादवको नियुक्ति सही कि नसही भन्ने प्रश्न अहिले सर्वोच्चमा टुंगो लाग्ने प्रतीक्षामा छ । कांग्रेसका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राईलगायतका नेताले रिट दर्ता गराएका छन् । उनीहरूले प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरेका छन् । मधेश प्रदेशको राजनीतिक नेतृत्वको भविष्य अब सर्वोच्च अदालतको अन्तिम निर्णयमा निर्भर रहने छ, जसले प्रदेशको आगामी सत्ता समीकरणमा ठूलो प्रभाव पार्नेछ ।

 

परीक्षण सफल भएपछि चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

तनहुँ । जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्रको परीक्षण सफल भएपछि नियमित रूपमा सञ्चालनमा आएको छ ।

किसानबाट उत्पादित एक सय ६१ बोरा बीउ आलु र खायन आलु परीक्षणका रूपमा भण्डारण गरिएकामा उक्त परीक्षण सफल भएपछि नियमित सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । एक सय तीस मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो ।

किसानद्वारा उत्पादित आलु नगरपालिकाले निःशुल्क रूपमा परीक्षण गरेको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिएकी छिन् । उनले भनिन्, “आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्योहोर्ने जनाएपछि भण्डारण गरिएको हो ।”

नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार २४६ रहेकामा थप रु १९ लाख ९८ हजार ६२७ वृद्वि भई करसहित निर्माण सम्पन्न हुँदा रु करोड ९१ लाख ३२ हजार ७२२ पुगेको जानकारी दिएका छन् ।

विद्युत् ट्रान्समिटर जडान कार्यमा ढिलाइ हुँदा सञ्चालनमा ल्याउन एक वर्ष ढिला भएको थियो । वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोगचलान गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरेको हो ।

योसँगै नगरपालिकामा उत्पादन भएका आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्ण रूपमा भण्डारण गरी राख्न सकिने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताएका छन् । नगरमा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब रु पाँच करोड बाहिरिनबाट रोकिने उनले जानकारी दिएका छन् ।

व्यासमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषिउपज भण्डारण गरी सुरक्षित राख्न सकिने छ । यसका साथै कृषिउपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्या अन्त्य हुने व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन् ।

केन्द्र सञ्चालनमा आएसँगै कृषिउपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । विशेषगरी आलु, सागसब्बी तथा अन्य कृषिउपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

रवि र छविको मुद्दाको पेशी मिलन र सानुमैयाको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर–बुटवलको ३ नम्बर इजलासमा पुगेको छ । यो मुद्दाको यो चौंथो पेसी हो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश मिलन राई र सानुमैया डंगोल रहेको बेञ्चमा फाइल परेको छ । ‘तीन नम्बर इजलासमा परेको छ, सुनुवाइ सुरु भएको छैन,’ कुँवरले भने ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको मुद्दा गत साता पेशी तोकिए पनि लामिछाने पक्षका कानुन व्यवसायीले स्थगन मागेपछि रोकिएको थियो । कात्तिक २० गतेको इजलासले सुरु मिसिल माग्ने आदेश दिएपछि अघिल्लो साता फेरि पेशी तोकिएको थियो, तर पुनः स्थगित भयो ।

यसअघि कात्तिक २० गते न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरू मिसिल मगाउने आदेश दिएको थियो । कात्तिक १३ गते तोकिएको पेशी भने जोशीका कानुन व्यवसायीको निवेदनमा स्थगित भएको थियो । त्यसभन्दा अघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएकाले एकसाथ हेर्न आदेश गरेको थियो ।

बिगोअनुसारको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न रवि लामिछानेले माग गरेपछि उच्च अदालतले छविलाल जोशीको फाइल समेत पेस गर्न आदेश दिएको थियो । यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि दिएको थियो । बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

 

जेनजी आन्दोलनका शहीद : कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

काठमाडौं । कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ । थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ । शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए । गोर्खाली होटल भनेर चिनिने यो होटलमा दुई वटा टेबल र चार वटा बेन्च छन् । एकातिर दिउरेमा चिया उम्लिरहेको छ, अर्कोतिर प्रेसरकुकरमा खानाको सिटी लाग्दैछ । होटलमा व्यस्त छिन्, जानुका भट्ट ।
भित्तामा मुसुक्क हाँसिरहेको युवकको तस्बिर टाँगिएको छ, दुई वटा फ्रेममा । उनी हुन् २८ वर्षीय अर्जुन भट्ट । जेनजी आन्दोलनका शहिद । वैदेशिक रोजगारीका लागि उनले देश छाडेको १६ महिना मात्रै हुँदै थियो । दुबईको अत्यधिक गर्मी र कामको चापका कारण त्यहाँ टिक्न सकेनन् र फर्किए गत असारमा । दुबईबाट फर्किएको केही समयपछि उनको जन्मदिन थियो, असार १७ गते । साथीभाइलाई बोलाएर भव्य जन्मदिन मनाए । हँसिलो स्वभावका उनी परिवारका साथै साथीभाइका लागि निकै प्यारो थिए । ‘सबै उमेर समूहसँग उ चाँडै घुलमिल हुन्थ्यो । साथीहरु पनि धेरै थिए उसका’, आमा जानुका भन्छिन् ।
करिब सात वर्षअघि जन्मदिनमा साथीहरु मिलेर उपहारस्वरुप खैरो कुकुर अर्जुनलाई दिएका  थिए ।  उसको नाम अर्जुनले नै राखेका थिए, लिची । अर्जुनसँगै बढी झ्याम्मिन्थ्यो । खेल्थ्यो, रमाउँथ्यो अनि काखमा लुटुपुटु गथ्र्यो । अहिले लिची पनि उदासझैं देखिन्छ । उसलाई धेरै माया गर्ने अर्जुन यो संसारमा छैनन् । बेलाबेला बाहिरतिर कसैलाई हेरिरहेको हुन्छ । लाग्छ, यो निर्दोष प्राणी अर्जुनकै प्रतीक्षामा छ । स्नातकसम्म अध्ययन गरेका अर्जुनले फर्केर पढाइलाई निरन्तरता दिन सकेनन् । न त यहाँ भनेजस्तो रोजगारी नै पाए । उनका एक जना दाइ अभिलाख यहीँ छन् भने एक दिदी विवाहपछि श्रीमानसँग जापानमै बस्छिन् । दिदीले भनेकी थिइन्, ‘दुबईभन्दा जापान राम्रो छ भाइ, पहिले राम्ररी भाषा सिक्नु र आउनु ।’ दिदीको प्रस्ताव र परिवारको साथले उनी उत्साहित भए । जापानी भाषा अध्ययनतिर लागे र भाषा परीक्षामा उत्तीर्ण पनि भए । परिवारका अनुसार आउँदो फागुनमा उनी बिहे गर्ने सोचमा पनि थिए ।
२५ वर्षअघि राजधानी छिरेको थियो भट्ट परिवार
अर्जुनको मूल घर गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल हो । गाउँमा भट्ट परिवारको आफ्नै खेतीपाती थियो । बस्तुभाउ थिए । छरछिमेक, आफन्त र गाउँको वातावरणमा रमिरहेका उनीहरुलाई नपुग्दो केही थिएन । तर छोराछोरीको भविष्य सम्झेर राजधानी आएको बताउँछन्, बुबा चित्रबहादुर । ‘आफू हुर्केको गाउँ छाडेर बिरानो शहर छिर्न मन थिएन तर छोराछोरीको शिक्षादीक्षा र भविष्य राम्रो हुन्छ कि भनेर यता आइपुग्यौँ’, उनी भन्छन् ।  विसं २०५७ सालमा परिवारसहित काठमाडौँ छिरेका चित्रबहादुरले केसम्म गरेनन् ।  तरकारी बेचे, कीर्तिपुरस्थित एक विद्यालयमा कार्यालय सहायकका रूपमा काम गरे, पछि होटल व्यवसाय सुरु गरे । आजभन्दा २५ वर्षअगाडि सपनाको शहर छिरेको भट्ट परिवारका सुरुआती दिन निकै कहरिला थिए, जतिबेला अर्जुन मात्र तीन वर्षको थिए ।
कालिमाटीबाट आएको त्यो खबर
जेनजीहरुले गर्ने भनेको आन्दोलनमा सहभागी हुनेबारे अर्जुनले परिवारसँग पनि कुरा गरेका थिए । ‘२८ वर्ष उमेरसम्मका युवाहरुको आन्दोलन हो, देश परिवर्तनका लागि हामी पनि जानुपर्छ’ भनेर पटक पटक उनी कुरा गर्थे । गत भदौ २३ गते बिहानै उनी घरमा बुबा–आमालाई भनेर नै साथीहरुसँग आन्दोलनमा सरिक भए । राजनीतिक बेथिति र भ्रष्टाचारविरुद्ध माइतीघरबाट सुरु भएको आन्दोलन बानेश्वर पुगेपछि त्यसले अर्कै रूप लियो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास मात्रै होइन, गोली नै बर्साउन थाल्यो । बेलुकासम्म काठमाडौँमा मात्रै २१ जनाले ज्यान गुमाएका थिए, जसमा अर्जुनसँगै कीर्तिपुरबाट गएका उनकै साथी पनि थिए ।
ठूलो संख्यामा हताहती भएपछि सर्वत्र आक्रोश थियो । आफ्नै साथी मारिएपछि अर्जुन पनि बेचैन थिए । भोलिपल्ट कीर्तिपुरका साथीहरु भेला भएर जाने निर्णय गरिसकेका रहेछन् । आमा जानुकाले पटक पटक ‘नजा बाबु’ भनेर रोक्न खोजिन् । तर किशोर वयको उर्लिँदो जोशलाई कसले रोक्न सक्ने ? उनी साथीसँगै कीर्तिपुरबाट हिँडे । ‘एक घण्टामा आइपुगिहाल्छु भनेर पकाएको खाना पनि नखाई निस्किएको थियो’, जानुका सुनाउँछिन् । अघिल्लो बेलुकादेखि नै काठमाडौँमा कफ्र्यु जारी भएकाले सर्वत्र सन्त्रास थियो । अर्जुन निस्किने बेला पनि छतमा उभिएर आमा हेरिरहेकी थिइन् । काँधमा नेपालको झण्डा ओढेर अर्जुन साथीहरुसँग अघि बढिरहेका थिए । टोलीमा उनका दाइ अभिलाख पनि थिए । अर्जुन २४ भदौ गते दिउँसो घरबाट निस्कँदा करिब १ बजेको थियो । त्यसको एक घण्टापछि नै घरमा फोन आयो, नमीठो र अपत्यारिलो खबर लिएर । ‘कालीमाटीमा भएको प्रदर्शनमा अर्जुनको टाउकामा गोली लाग्यो’ भन्ने सुन्नासाथ जानुकालाई भने । शरीर चिसो भएर आयो । अर्धबेहोस अवस्थामै अस्पताल जान खोजिन् तर कफ्र्युका कारण गाडी चलेको थिएन ।
उनलाई छोरालाई भेट्ने तीब्र इच्छा भएपछि छोराको साथीले स्कुटीमा राखेर बल्खुस्थित बयोधा अस्पताल पु¥याए । अस्पतालमा भीड थियो । उनलाई आफ्नै छोरालाई पनि हेर्न दिइएन । ‘म पनि भाइसँगै कालिमाटी गएको थिएँ, गोली लाग्दा ५०० मिटर टाढा भएकाले भाइलाई नै गोली लागेको देख्न पाइनँ’, रसिलो आँखा बनाउँदै अभिलाखले भने, ‘एकैचोटि अस्पताल दौडाउँदा भाइ पनि परेको रहेछ भन्ने पछि थाहा पाएँ । सँगै गएको भाइलाई गुमाउनुपर्‍यो ।’ अभिलाख र अर्जुनबीच दुई वर्षको मात्रै अन्तर छ । ‘दाजुभाइभन्दा पनि धेरै साथी जस्तो थियौँ’, उनी सम्झिन्छन्, ‘सँगै गेम खेल्ने, सँगै सुत्ने गथ्र्यौँ ।’ भिडियो गेममा बढी रुचि राख्ने अर्जुन बढीजसो पब्जी खेल्थे । अभिलाखलाई त्यही सम्झना बढी आउँछ । ‘यही घरको भर्‍याङमा हामी दुबै जना बसेर पब्जी खेल्थ्यौँ’, भर्‍याङतिर देखाउँदै उनी भन्छन् ।
आमा जानुकालाई भने खाना खाने बेलामा अर्जुनको धेरै याद आउँछ । ‘गेममा झुन्डिराख्ने बानी भएकाले उसलाई खाना खाने समय पनि पत्तो हुँदैनथ्यो’, उनी भन्छिन्, ‘कहिलेकाहीँ मै खाना खुवाइदिन्थेँ ।’ दिनभर साथीभाइसँग रमाएर साँझ घर फर्कँदा अर्जुन ‘मम्मी’ भन्दै आइपुग्थे। अहिले पनि जानुकालाई यही याद आइरहन्छ । ‘मम्मी भन्दै आई पो हाल्छ कि भन्ने लाग्छ । राति घरको ढोका बज्दा, कसैको आवाज आउँदा छोरो नै आएजस्तो लाग्छ’, अश्रुपूरित आँखामा उनी भन्छिन्, ‘जे भए पनि मेरो कान्छो छोरो हो नि, मायाले हुर्काएको । कहिले पो बिर्सन सक्छु र ।’ जानुका अर्को समस्याबाट पनि गुज्रिरहेकी छन् । गालामा ट्युमर पलाएकाले चिकित्सकले बेलैमा शल्यक्रिया गर्नुपर्छ भनेका छन् । निजी स्वास्थ्य संस्थामा धेरै खर्च हुने भएकाले सरकारी अस्पताल नै जाने उनको विचार छ । ‘तर पालो आउनै समय लाग्ने रहेछ । समयमा उपचार नगराए कान हुँदै टाउकोसम्म ट्युमर पुग्छ भनेको छ’, उनी सुनाउँछिन् ।
परिवारमा रिक्तता
अर्जुनका दाइ अभिलाख पनि वैदेशिक रोजगारीमा जाने सोचमा थिए । जेनजी आन्दोलपछिको अवस्था र भाइ नै गुमाएपछि उनको मनस्थिति बिथोलिएको छ । सरकारले जेनजी शहिदका परिवारलाई रोजगारी दिने आश्वासन दिएकाले केही आशावादी भने देखिएका छन् ।
सरकारले क्षतिपूर्ति र राहतस्वरुप परिवारलाई रु १५ लाख दिएको छ । अर्जुनको नाम शहिदको सूचीमा नामाङ्कित पनि भएको छ । बुबाको सहारा अनि रित्तिएको आमाको काख कसैले भर्न सक्ने छैन । ‘मेरो छोरो १५ लाखको थियो त ?’ जानुका मलिन आवाजमा बोल्छिन्, ‘१५ करोड नै दिए पनि छोरा त फर्किएर आउँदैन नि ।’ बुबा चित्रबहादुरको चाहना छ, छोरा जस्ता नौजवानले बगाएको रगतले अर्थ राखोस् । उनीहरुको बलिदान खेर नजाओस् । देश बस्नलायक बनोस् । सबैले रोजगारी पाऊन् । कलिलैमा कसैले विदेश जानु नपरोस् । भट्ट परिवारमा यतिबेला यस्तो रिक्तता छाएको छ, जुन कहिले भरिने छैन । बुबा चित्रबहादुरले भनेजस्तै त्यतिबेला मात्रै परिवारले राहतको महसुस गर्नेछ, जतिबेला राज्यबाट भ्रष्टाचार अन्त्य हुनेछ । राजनीतिक बेथिति अन्त्य भई सुशासन स्थापना र रोजगारी सिर्जना हुनेछ । रासस

आज तोलाको कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । आज (बिहीबार) सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ।

हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

एनपीएल २: सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी

काठमाडौँ । काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) को खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।

बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।

अघिल्लो खेलबाट लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ। जोनाथन स्मिथको स्थानमा थोमस ड्राका सुरुवाती ११ मा आएका छन्।

सुदुरपश्चिमले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै, कञ्चन बिच्छालाई गर्ला पदमुक्त ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिकाे वैठक आज (बिहीबार) दिउँसो १ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, आगामी केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने कार्य, अधिवेशन तयारी र संगठन सुदृढीकरण आजको बैठकको मुख्य एजेण्डा रहने बताइएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सक्ने लक्ष्यका साथ संगठनात्मक एकता सुदृढ गर्ने विषयमा गम्भीर छलफल गर्नेछ । साथै प्रतिनिधि सभा चुनाव (फागुन २१) का लागि दल दर्ता भइसकेको अवस्थामा पार्टीको चुनावी रणनीति, भूमिका र सम्भावित निर्वाचन परिदृश्यबारे पनि चर्चा हुनेछ ।

यससँगै राप्रपाको चार वर्षीय कार्यकाल यही मंसिर १८ मा सकिँदैछ । २०७८ मंसिरमा भएको महाधिवेशनपछि विधानअनुसार अब नियमित महाधिवेशनको समय नजिकिँदै गर्दा, खास कारण देखाएर कार्यकाल थप गर्न सकिने सम्भावनासम्बन्धी धारणा पनि बैठकमा उठ्ने सम्भावना छ । महामन्त्री धवल शम्शेर राणा लगायत नेताहरूले नियमित महाधिवेशनको माग गर्दै आन्तरिक जीवन्तता आवश्यक रहेको तर्क गरेका छन् ।

यसैबीच आजको बैठकमा मधेश प्रदेशमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे करिब ‘अन्तिम निर्णय’ हुने संकेत देखिएको छ । पार्टीको निर्णयविना नै कात्तिक २३ गते महोत्तरीस्थित एउटा होटलमा एमालेका मुख्यमन्त्री सरोजकुमार यादवसँगै विनाविभागीय मन्त्रीको शपथ लिएपछि उनी विवादमा परेकी थिइन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल फिर्ता हुन निर्देशन दिए पनि बिच्छा अडानमा रहिन् । त्यसपछि अनुशासन समितिले उनलाई स्पष्टिकरण सोधेको र अन्ततः कारबाही सिफारिससहित फाइल कार्यसम्पादन समितिमा पठाएको प्रवक्ता श्रेष्ठले पुष्टि गरेका छन् । हाल मुख्यमन्त्री यादवले मंसिर ८ गतेदेखि उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । मंसिर २२ भित्र प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक अवस्थाका बीच बिच्छाको राजनीतिक भविष्य र पार्टीसँगको सम्बन्ध आजको बैठकले टुंगो लगाउने देखिन्छ ।

 

बाबुराम भट्टराईको टिप्पणी : पुराना दल र नेताहरु ‘सुतुरमूर्ग’ जस्ता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अभिभावक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी विद्रोहपछि देखिन थालेको राजनीतिक र प्रशासनिक गतिरोधलाई अत्यन्त गम्भीर चिन्हका रूपमा व्याख्या गर्दै सबै दल र नेताहरू समस्याको मूल स्रोतप्रति उदासीन बन्दै गएको आरोप लगाएका छन् ।

उनले देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सुरक्षा तथा परराष्ट्र क्षेत्रका संरचनात्मक कमजोरीहरू सुधार गर्ने अत्यन्त अनुकूल अवसर विद्रोहले खोले पनि सिंगो राजनीतिक वृत्त पुरानै ढर्रामा फर्किदै ‘सुतुरमूर्गले बालुवामा टाउको लुकाएझैं’ व्यवहार गर्न थालेको देखिएको टिप्पणी गरेका छन् । भदौ २४ को घटनाले पुराना राजनीतिक दल र नेताहरूलाई गहिरो आत्मसमीक्षामा उत्रन बाध्य पारेको भए पनि उनीहरू पुनः आत्ममुग्धतामा फर्किएको डा. भट्टराईको आरोप छ । उनले नयाँ र वैकल्पिक दाबी गर्ने दलहरू पनि स्पष्ट नीति, मार्गचित्र र दीर्घकालीन समाधानभन्दा ‘पपुलिज्म र आत्मकेन्द्रितता’ तर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।

उनले विशेष ऐतिहासिक परिस्थितिमा गठन गरिएको अन्तरिम सरकारले समेत जेन–जी आन्दोलनका आधारभूत माग पूरा गर्नेतर्फ स्पष्ट प्रतिबद्धता नदेखाएको भन्दै ‘कुइरोमा हराएको काग जस्तै’ दिशाहीनता झल्काएको बताए । देश जटिल आन्तरिक तथा बाह्य परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै डा. भट्टराईले अब सबै राजनीतिक शक्ति साँघुरो दलगत स्वार्थभन्दा माथि उठेर दिगो समाधानका लागि सहकार्यमा उत्रनुपर्ने आवश्यकता दोहोर्‍याए । उनको चेतावनी दिंदै भनेका छन्, ‘यदि अब पनि जिम्मेवारीपूर्वक कदम चालिएन भने भोलि धेरै ढिलो हुनसक्छ, इतिहासले कसैलाई माफी दिने छैन ।’

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।

पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी) सँग ३१ जेठ २०६८मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ । ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ । योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।

निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।

ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्ष्वयासी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गरी उत्त पुल निर्माण बारे छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए । स्थानीयबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार–व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरिएको थियो । साथै मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

निर्माण व्यवसायीका तर्फबाट कन्काई पुल २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटी सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधन बमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । तर, निर्माण व्यवसायीबाट काम सम्पन्न हुने आधार नदिएपछि म्याद थप गरिएको थिएन । पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।

रवि र छविको मुद्दाको आज पेसी

बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । गत हप्ता रवि पक्षका कानुनी व्यवसायीले निवेदन दिँदै सुनुवाइ स्थगित गराएपछि आजको पेसीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतले गत साउन २६ गते उनको रिहाइ निवेदन अस्वीकार गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उनीहरूले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थि ए। अभियोगपत्रअनुसार सुप्रिम सहकारी प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ ।

यसको चार हिस्सामध्ये लामिछानेले आफ्नो अंश बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतमार्फत दाखिला गरेका थिए । जोशीले पनि त्यत्तिकै रकमको जमानत निवेदनसहित पेस गरेका थिए । जिल्ला अदालतले दुवै प्रतिवादीको रिहाइ अस्वीकार गरेको थियो । त्यसपछि लामिछाने काठमाडौं कारागारमा छन् भने जोशी भैरहवा कारागारमा बसिरहेका छन् ।

विद्या भण्डारीको सन्देश : मेरो सदस्यता रोकिए पनि पार्टी अग्रगतिमा जानुपर्छ

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संगठित सदस्यहरूलाई आसन्न महाधिवेशन प्रतिनिधि छनोटका क्रममा सन्तुलित, जिम्मेवार र विवेकपूर्ण रूपमा अघि बढ्न आग्रह गरेकी छन् ।

आज (बिहीबार) बिहान पार्टी सदस्यहरूलाई सम्बोधन गर्दै उनले महाधिवेशनलाई संगठनात्मक मजबुती र राजनीतिक दिशानिर्णयका लागि ‘ऐतिहासिक अवसर’ का रूपमा चित्रण गरेकी हुन् । उनले विधानअनुसार सदस्यता नवीकरण गरिरहे पनि पार्टी नेतृत्वले अनुचित तरिकाले रोकिदिएको बताइन् । यसका कारण महाधिवेशनमा भौतिक उपस्थिति जनाउन नसक्ने परिस्थिति बनेको उनको भनाई छ ।

तर पनि उनले आफ्नो पार्टीप्रतिको प्रतिबद्धता यथावत रहने स्पष्ट गरेकी छन् । उनले महाधिवेशनले पार्टी मात्र नभई आम नागरिकका भविष्यसँग पनि प्रत्यक्ष सम्बन्ध राख्ने बताइन् । महाधिवेशन निर्धारित समयभन्दा एक वर्षअघि हुन लागेको सन्दर्भ उल्लेख गर्दै भण्डारीले पार्टीभित्रको समग्र संरचनालाई सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘महाधिवेशन सफल बनाउन वैचारिक रूपमा परिपक्व नेतृत्व, उर्जाशील युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व अपरिहार्य छ ।’ पूर्व राष्ट्रपतिले संगठनभित्र बढ्दो राजनीतिक ध्रुवीकरण र आन्तरिक तनावप्रति संकेत गर्दै, प्रतिनिधि छनोटदेखि महाधिवेशन सञ्चालनसम्म अनुशासन, निष्पक्षता र आन्तरिक ऐक्यबद्धता कायम राख्न सबैलाई अपिल गरिन् ।

जसपाको राजेन्द्र श्रेष्ठ समूह आज नेकपामा समाहित हुँदै

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट अलगिएका राजेन्द्र श्रेष्ठ समूह आज (बिहीबार) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन् ।

दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा कार्यक्रम राखिएको जनाइएको छ । देशभरका विभिन्न भागमा रहेका नेता एवम् अगुवा कार्यकर्ताले घोषणा सभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराएका छन् ।

हङकङ आगलागी : मृत्तकको संख्या ४४ पुग्यो, २७९ जना बेपत्ता

काठमाडौं । हङकङको ताइ पोस्थित एक उच्च–आवासीय क्षेत्र बुधबार दिउँसो भीषण आगलागीले त्रसित बनायो । ३२ तले वाङ फुक कोर्ट नामको भवनबाट सुरु भएको आगो तीव्र हावाका कारण विस्तारै वरपरका अन्य टावरहरूमा फैलिँदै गएपछि परिस्थितिले भयावह रूप लिएको हो । आगलागी सुरु भएको करिब १६ घण्टा बिते पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा अहिलेसम्म ४४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ४० जनालाई घटनास्थलमै मृत घोषणा गरिएको हो । २७९ जना अझै सम्पर्कविहीन छन् भने कम्तीमा ६२ जना घाइते भएका छन् । घाइतेहरूमा धेरैजसो गम्भीर जलन तथा धुवाँ सास फेर्दा हुने समस्या देखिएको बताइएको छ ।

आगलागी भएको आवासीय क्षेत्रका भवनहरूमा करिब २ हजार अपार्टमेन्ट रहेका थिए, जसमा धेरैजसो वृद्धवृद्धा पनि रहेका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् । सयौँ अग्निनियन्त्रक, प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरी विभिन्न कोणबाट पानीको फोहोरा हानिँदै आगो नियन्त्रणको प्रयास जारी छ । आगलागीलाई हङकङको सबैभन्दा उच्चतम ‘स्तर–५’ आपतकालीन वर्गीकरणमा राखिएको छ ।

उद्धारका क्रममा एक ३७ वर्षीय अग्निनियन्त्रकको ज्यान गएको छ भने अर्को एक जना अत्यधिक तापका कारण बिरामी परेका छन् । करिब ९ सय प्रभावितलाई नजिकैका केन्द्रहरूमा अस्थायी आश्रय उपलब्ध गराइएको छ । उच्च तापक्रम, झरिरहेका भग्नावशेष र भत्किन लागेको बाँसको स्काफोल्डिङका कारण उद्धारमा जोखिम झनै बढेको अधिकारीहरूको भनाइ छ ।

प्रहरीले आगलागीसँग सम्बन्धित लापरबाहीका आरोपमा निर्माण कम्पनीका दुई निर्देशक र एक इञ्जिनियरिङ परामर्शदातालाई पक्राउ गरेको छ । ५२ देखि ६८ वर्ष उमेर समूहका ती तीन जनाले भवनमा प्रयोग भएका सामग्रीहरू आगो प्रतिरोधका मापदण्डअनुसार नभएको अवस्थामा पनि प्रयोग गरेको आरोप लागेका छन् । प्रहरीले एक–एक तल्लाको लिफ्ट लबी नजिक अत्यधिक ज्वलनशील स्टाइरोफोम जस्तो सामग्री भेटिएको पनि जनाएको छ ।

अनुसन्धानकर्ताहरूले आगलागी मुख्यतः भवन वरिपरि बनाइिएको बाँसको स्काफोल्डिङबाट सुरु भएको र तेज हावाले आगो छिट्टै अन्य टावरमा फैलिएको प्राथमिक अनुमान प्रस्तुत गरेका छन् । आगो नियन्त्रण विभागका अधिकारीहरूले बिहीबार बिहानसम्म चार वटा भवनमा आगो नियन्त्रणतर्फ उन्मुख अवस्थामा पुगेको जानकारी दिएका छन् ।

घटनाप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । हङकङका प्रमुख कार्यकारी जोन लीले दुर्घटनालाई सर्वोच्च प्राथमिकतामा राखिएको बताउँदै यही डिसेम्बर ७ का लागि तय भएका विधान परिषद् निर्वाचनसम्बन्धी सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएको घोषणा गरेका छन् । ताइ पो प्रशासनले विस्थापितहरूका लागि अस्थायी आश्रय खुला गरिएको जनाएको छ ।

यसअघि १९९६ नोभेम्बरमा काउलुनको एक व्यावसायिक भवनमा लागेको स्तर–५ आगलागीमा ४१ जनाले ज्यान गुमाएका थिए । त्यसपछि हालको घटना हङकङमा भएको सबैभन्दा घातक आगलागीका रूपमा दर्ज भएको छ ।

रास्वपा र विवेकशील साझाको एकता घोषणा आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचमा हुने एकीकरणको घोषणा आइतबार राष्ट्रिय सभागृहमा हुने भएको छ । दुई दलको एकतामा सहमति भएसँगै विवेकशील साझा पार्टीले एकीकरण गर्ने निर्णय सार्वजनिक गरेको हो ।

विवेकशील साझा पार्टीले उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलवीचको ‘वृहत्तर ध्रुबीकरण-एकीकरण प्रस्ताव’ लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय पारित गरेको हो ।

‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भईरहेको वेला नवयुवाहरुको आन्दोलन ‘जेनजी विद्रोह’ ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीवीचको एकीकरणलाई तीब्रत्तर बनाई दियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,संबृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ’, संयोजक एवं उपाध्यक्ष परियारले भने । पार्टी एकीकरणका अन्य प्राविधिक विषयहरू भने दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको टुंगो लगाइन जनाइएको छ ।

प्रधानमन्त्रीले घटाइन् सचिवालयको आकार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् । अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको छ ।

बाँकी सबै पदको नियुक्ति भोलिबाट लागू हुने गरी खारेज गरेको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री कार्कीले २६ जना सचिवालय बनाएर काम गरेकी थिइन् । पछिल्लो पटक सचिवालयमा निकटवर्तीहरूलाई नियुक्त दिएको विषय बाहिरिएपछि विवाद भएको थियो । जेनजीहरू समेतको दबाब बढेपछि प्रधानमन्त्री कार्कीले आफ्नो सचिवालय संख्या घटाएकी हुन् ।

एक सीडीओ र दुई सहायक सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले एक सीडीओ र दुई सहायक सीडीओ सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिप्रका डडेल्धुरामा सरुवा गरिएको हो ।

त्यस्तै जिप्रका दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा र जिप्रका डडेल्धुराका सप्रजिअ शावित्रा पुनको पनि सरुवा गरेको छ । बुढा अछाम पुगेका छन् भने पुन दाङमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

 

दल दर्ताको समय चार दिन थपियो

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार ९आज०सम्म तोकिएको थियो ।

आयोगमा कुल १३४ दल रहेका छन् । मंगलबारसम्म ८० दलले दल दर्ता गराएका थिए । नयाँ दल दर्ता संख्या १८ पुगेको छ भने २० दल प्रक्रियामा रहेको भट्टराईले बताए ।

सरकार–जेनजी वार्ता फेरि असफल : एजेण्डामै असन्तुष्ट सचिव गौतम वैठक नै छोडेर हिंडे

काठमाडौं । जेनजी आन्दोलनका मागबारे सिंहदरबारमा भइरहेको सरकार–जेनजी समूहबीचको निरन्तर छलफल बुधबार फेरि निष्कर्षविहीन बनेको छ ।

जेनजी समूहले अघि सारेका मुख्य एजेण्डामा सरकार पछाडि नहट्ने अडान राखेपछि वातावरण तनाबपूर्ण बन्दै गएको छ । यही तनावबीच प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणीन्द्र गौतम बैठकको बीचमै उठेर हिंडेका छन्, जसले वार्ताको गतिशीलतामै धक्का पुगेको सहभागीहरूको भनाइ छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहित सरकारी टोली र मोनिका निरौला, आकृति घिमिरे, साङ्केन याम्फु राई, महेश खनाल तथा सातै प्रदेशका जेनजी संयोजकहरूको प्रतिनिधित्वमा कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङ सहभागी भएका थिए । जेनजी समूहले गत कात्तिक २८ गते प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मस्यौदालाई पूर्णता दिएर राष्ट्रपतिबाट अनुमोदन गराउने योजनाअनुसार भइरहेको यो छलफल फेरि अधुरै टुंगिएको हो ।

छलफलको सुरुवातबाटै जेनजी पक्षले भदौ २३ र २४ का घटनामा भएका मृत्युलाई शहीद घोषणा, घाइतेलाई राहत तथा निःशुल्क उपचार, जिम्मेवार अधिकारीमाथि छानबिनका लागि स्वतन्त्र आयोग गठन, प्रवासी नेपालीलाई मताधिकार, आगामी निर्वाचन स्वतन्त्र र भयमुक्त गराउने व्यवस्था र संविधान संशोधनसहित समानुपातिक सहभागिता सुनिश्चित गर्ने माग दोहोर्‍याएको थियो । यिनै बुँदामा आधारित मस्यौदालाई अघि बढाउन उनीहरूले सरकारलाई दबाब दिइरहेका थिए ।

तर, सरकारी प्रतिनिधिहरूले जेनजी मस्यौदाका थुप्रै बुँदामा असहमति राखे । ‘समावेशी, समानुपातिक र अधिकतम परिपूरणीय अधिकार सम्पन्न समाज’ भन्ने वाक्यांशमा ‘अधिकतम परिपूरणीय’ शब्द नै हटाउनु पर्ने सुझाव सरकारी पक्षले दियो । यस्तै सुरक्षा संयन्त्रलाई दोषारोपण गर्ने भाषा नराख्ने र ‘सरकारको क्रूर दमन’ जस्ता अभिव्यक्तिलाई नरम पार्नु पर्ने भनियो ।

सबैभन्दा विवादास्पद विषय भने घटनालाई कसरी परिभाषित गर्ने भन्ने रह्यो । जेनजी पक्षले मस्यौदामा राखेको ‘जनसंहार’ शब्दबारे सरकार कडाइका साथ असहमत भयो । सरकारी अधिकारीहरूले बढीमा ‘हत्या’ सम्म मात्र स्वीकार गर्न सकिने बताए ।

संक्रमणकालीन न्यायका सिद्धान्तअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को प्रक्रियाबाट छानबिन गर्नुपर्ने जेनजीहरुको मागमा पनि सरकार प्रतिकूल रह्यो । यही विषयमा असहमति जनाउँदै सचिव गौतम बैठकको बीचमै उठेर हिँडेको स्रोतले बतायो ।

जेनजी समूहले दोषी मानिएका व्यक्तिहरूलाई निर्वाचनमा सहभागी हुन रोक लगाउने प्रस्ताव पनि राखेको थियो, तर यसलाई सरकार पूर्णतः अस्वीकार गर्‍यो । तर, निरन्तर बहसपछि सरकार जेनजी आन्दोलनलाई ‘राजनीतिक आन्दोलन’ का रूपमा स्वीकार गर्न भने तयार भएको सहभागीहरूको भनाइ छ । तर, मूल मुद्दाहरूमा सहमति नजुटेपछि लामो समयदेखि तयारी गरिँदै आएको वार्ता फेरि निष्कर्ष बिना टुंगिएको छ। जेनजी समूहका अनुसार मस्यौदालाई राष्ट्रिय सहमतिमा लैजान सरकारले आवश्यक गम्भीरता नदेखाए वार्ताको विश्वसनीयतामै संकट उत्पन्न हुने चेतावनी दिएको छ ।

हुम्लामा आँखा उपचार केन्द्रको सुविधासम्पन्न भवन

सिमकोट (हुम्ला) । अब हुम्लावासीले गुणस्तरीय आँखा उपचार सेवा सिमकोटबाटै प्राप्त गर्ने भएका छन् । यसका लागि यहाँ आँखा उपचार केन्द्रको नयाँ भवन तयार भएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हुम्ला जिल्ला आँखा उपचार केन्द्रको नवनिर्मित भवन करिब रु ९५ लाखभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको हो ।

भवन निर्माणका लागि आइकेयर फाउन्डेसनले ६४ लाख ६८ हजार ८६३ रुपैयाँ, कर्णाली प्रदेश सरकारको सशर्त अनुदानमार्फत सिमकोट गाउँपालिकाले रु ३० लाख र नेत्रज्योति सङ्घ चितवन शाखाले रु एक लाख सहयोग गरेका थिए ।

नयाँ भवनको तल्लो तलामा सेवा कक्ष, शल्यकक्ष, परामर्श कक्ष, प्रतीक्षा कक्ष तथा अत्याधुनिक उपकरण स्थापना गरिएको छ । माथिल्लो तलामा स्टाफका लागि आवश्यक कोठा रहेको उपचार केन्द्रले जनाएको छ । अब मोतियाविन्दु शल्यक्रिया, दृष्टि परीक्षण, बाल आँखासम्बन्धी सेवा, आँखा सङ्क्रमण उपचारलगायतका सेवा अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।

उपचार केन्द्र हुम्लाका प्रमुख बुम बोहराका अनुसार हरेक वर्ष विभिन्न सहयोगी संस्थाको समन्वयमा सञ्चालन हुँदै आएको निःशुल्क आँखा शिविर तथा शल्यक्रिया अब आधुनिक भवनले झनै सुगम बनाउने भएको बताएका छन् ।

नेत्रज्योति सङ्घ कर्णाली प्रदेशका सभापति तथा केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले सामान्य अवस्थाबाट सुरु भएको आँखा उपचार सेवा आज आधुनिक संरचना र उपकरणसहितको सेवामा रूपान्तरण हुनु हुम्लावासीको भरोसा र संस्थाको निरन्तर प्रतिबद्धताको परिणाम भएको बताएका छन्।

सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दले कर्णालीका दुर्गम बस्तीमा मोबाइल एप्समार्फत आँखाको प्रारम्भिक परीक्षण सेवा विस्तार गरिनेसमेत बताएका छन् ।

आइकेयर फाउन्डेसन नेपालका केन्द्रीय निर्देशक तथा कार्यक्रम प्रवद्र्धक अनिल गोरखालीले आधुनिक भवन सञ्चालनमा आएपछि हुम्लालीहरू आधारभूत आँखा उपचारमा सहज पहुँच प्राप्त गर्ने बताएका छन् ।

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले अब गुणस्तरीय आँखा उपचारका लागि बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै गाउँपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने बताए ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, हिमालय आँखा अस्पतालका प्राध्यापक डा ज्ञानबहादुर कार्की र राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, राप्रपा नेपालका जिल्ला अध्यक्ष विकास महत, नेपाल रेडक्रस सोसाइटी हुम्लाका सभापति गणेश महत, नेपाल पत्रकार महासङ्घ हुम्लाका उपसभापति छपाल लामालगायतले नयाँ भवन सञ्चालनमा आएपछि आँखा उपचारका लागि अन्य जिल्लातिर धाउनुपर्ने समस्या अन्त्य हुने धारणा राखेका थिए ।

नेत्रज्योति सङ्घ हुम्लाका सभापति नरबहादुर रोकायाले लामो प्रयास, विभिन्न निकायको सहकार्य तथा स्थानीयको साथले भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै बाँकी आवश्यक उपकरण र पूर्वाधारका लागि अझै सहयोग अपेक्षित रहेको बताएका छन् ।

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा हुने भएको छ । दुई दलबीचमा एकताको अन्तिम टुंगो लागिसकेको छलफलमा सहभागी दुवै दलका नेताहरूले बताए ।

दुई दलको एकताको बारेमा जानकार स्रोतले बताए अनुसार एकता घोषणा गर्ने तयारी गरिएको छ । दुई दलको उच्चस्तरीय संवादपछि एकताको टुंगो लागेको जानकारी गराइएको छ ।

सम्भवत: एकताको घोषणा सभा हुने भएको छ । रास्वपाले नयाँ र वैकल्पिक शक्तिहरुसँग एकता वा सहकार्य गर्नका लागि उपसभापति डा। स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको थियो ।

वैकल्पिक शक्तिहरूसँग एकता गर्ने विषयमा विवेकशील साझाका नेताहरु पनि संवादमा जुटिरहेका थिए । बुधबार पनि दुई दलका नेताहरूबीच छलफल चलेको थियो ।

 

युवालाई उद्यमी बनाउन सीपमूलक तालिम

गण्डकी । युवाहरूलाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पोखरामा तीन महिने सीपमूल तालिम सुरु भएको छ । तालिमको बुधबार सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शुभारम्भ गरेका छन्।

उनले युवालाई सीपमार्फत स्वदेशमै रोजगारी, व्यावसायिक अवसर र उद्यमशीलतासँग जोड्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, कास्कीका प्रमुख अनिल सुवेदीका अनुसार १३ शीर्षकमा तालिम सञ्चालन हुनेछ । एक हजार ती सय ५५ जनाले तालिमका लागि आवेदन दिएकामा यसपटक दुई सय ९९ जना मात्र छनोटमा परेको उनले बताएका छन् ।

तालिमका सहभागीलाई पाककला, कपाल काट्ने(सैलुन), आधारभूत केश–शृंगार(ब्यूटीपार्लर), विद्युत् जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, सिलाइ–कटाइ, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेश्वरी शिक्षालगायत सीप प्रदान गरिनेछ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत गत आवमा पनि ३८ वटा सीपमूलक तालिम सञ्चालन गरिएको थियो ।

गत वर्ष सात सय ८७ जनाले विभिन्न १० किसिमका सीप आर्जन गरेका थिए । युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सीप विकासको कार्यक्रमलाई प्राथमिकता दिइएको मन्त्री थापाले बताएका छन् । उद्यमशीलता प्रवद्र्धनका लागि बिउपूँजी र ब्याजनमा अनुदानसमेत दिइएको उनको भनाइ छ ।

“सीप सिकेर स्वेदशमै उद्यम गर्न चाहाने युवालाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउँछ, बैंकबाट सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ब्याजमा अनुदान दिने व्यवस्था मिलाइएको छ”, मन्त्री थापाले भनेका छन्, “उद्यम सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएकाको साथमा प्रदेश सरकार छ ।” केन्द्रबाट व्यावसायिक सीप सिकेका कतिपय युवाहरू उद्यमशिलतामा जोडिइसकेका छन् । कमाइ गर्न विदेश जानेहरूलाई पनि हातमा सीप हुँदा रोजगारीमा सहज भएको छ ।

मिराजसहितका जेन-जीले बालुवाटार घेरेपछि प्रहरीद्वारा लछारपछार (तस्बिरहरू)

काठमाडौं।जेन-जी अभियान्ता मिराज ढुंगानासहितका समूह र प्रहरीबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडिको सडकमा घम्साघम्सी भएको छ।

मंगलबार सिंहदरबार घेरेका उनीहरू बुधबार प्रधानमन्त्रीको सरकारी निवास अगाडि उत्रिएका थिए । जहाँ पनि मंगलबार सिंहदरबारको दक्षिण गेटमा जस्तै प्रहरीले उनीहरूला सडकबाट हटाएको हो । त्यसक्रममा जेन-जी र प्रहरीबीच केहीबेर घम्साघम्सीचलेको छ।

जेन-जी अभियान्ता ढुंगाना र उनीसम्वद्ध सदस्यहरूले दिनदिनै प्रदर्शन गर्न थालेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले भेट्न नदिएपछि उनीहरू आक्रोशित छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

थाइल्यान्ड र मलेसियामा भीषण बाढीस् ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित

बैङ्कक । दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबारसम्म ३३ पुगेको छ । बाढीका कारण थाइल्यान्ड र छिमेकी मलेसियामा हजारौँ मानिस विस्थापित भएका छन् । निरन्तर परेको भारी वर्षाले दक्षिणी प्रान्तहरूमा जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको अधिकारीहरूले बताएका छन् ।

थाई सरकारले दक्षिणी सोङ्खला प्रान्तमा मङ्गलबार आपतकालीन अवस्था घोषित गरेको छ । गत हप्ताको अन्त्यदेखि परेको अविरल वर्षाले हट याईजस्ता प्रमुख पर्यटन क्षेत्रदेखि अन्य दक्षिणी भागसम्म डुबान व्यापक रहेको छ । एएफपीले बुधबार सार्वजनिक गरेका तस्वीरहरूमा हट याईका आवासीय क्षेत्रका सडक र घरका भुइँतला पानीमुनि डुबेको देखिन्छ ।

थाई सरकारका प्रवक्ता सिरिपोङ अङ्कासाकुलकियातले सात प्रान्तमा ३३ जनाको मृत्यु भएको पुष्टि गर्दै तीमध्ये आकस्मिक बाढी, करेन्ट लागेर मृत्यु र डुबानका घटना प्रमुख कारण रहेको बताएका छन् । उनका अनुसार दक्षिणी भागमा पानीको सतह क्रमशः घट्ने अनुमान गरिएको छ ।

विपद् रोकथाम तथा न्यूनीकरण विभागले करिब दश लाख जनसङ्ख्या रहेको सात प्रान्तमा गम्भीर बाढी फैलिएको र हजारौँ बासिन्दा घर तथा होटलमै फसेको जानकारी दिएको छ । उद्धारकर्ता टोलीहरूले डुङ्गा, जेट–स्की र सैन्य ट्रकमार्फत कठिन परिस्थिति बीच स्थानीयलाई सुरक्षित स्थानमा पु¥याउने कार्य जारी राखेका छन् । सेनाले बिरामीहरूलाई नजिकैका अस्पतालसम्म पु¥याउन विमानवाहक साधन र हेलिकप्टर परिचालन गरेको जनाएको छ ।

सोङ्खला प्रान्तीय सूचना विभागका अनुसार गत हप्तादेखि १० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । विश्वविद्यालयका क्याम्पसहरू अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् । प्रान्तीय प्रशासनले दैनिक २० हजारसम्म खाद्य प्याक वितरण गर्न सकिने गरी विशेष खाद्य आपूर्ति केन्द्र स्थापना गरेको छ ।

थाइल्यान्डमा जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा सामान्य मानिए पनि विज्ञहरूले मानव–सिर्जित जलवायु परिवर्तनले चरम मौसमी घटनाहरूलाई थप तीव्र र अप्रत्याशित बनाइरहेको चेतावनी दिएका छन् ।

यता, छिमेकी मलेसियामा पनि भारी वर्षापछि आएको बाढी आठ राज्यमा फैलिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने मौसम पूर्वानुमानकर्ताहरूको चेतावनीसँगै अवस्थाले अझ चुनौतीपूर्ण मोड लिन सक्ने अनुमान गरिएको छ । यो हप्ता मात्र २७ हजारभन्दा बढी मानिसलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । उत्तरपूर्वी तटको केलान्टन राज्यमा एक जनाको मृत्यु भएको उद्धार अधिकारीहरूले जनाएका छन् ।

मलेसियाको मौसम विभागले उत्तरी राज्यहरू—पर्लिस, केदाह, पेनाङ र पेराकमा बुधबारसम्म आँधीबेहरी जारी रहने चेतावनी दिएको छ । नोभेम्बरदेखि मार्चसम्म चल्ने उत्तरपूर्वी मनसुनका कारण तीन करोड ४० लाख जनसङ्ख्या भएको देशमा हरेक वर्ष बाढीको जोखिम उच्च रहन्छ ।

सीमापार प्रभाव पनि देखिन थालेको छ । गत हप्ता बाढीले दक्षिणी थाइल्यान्डमा हजारौँ मलेसियाली पर्यटक होटलमै फसेपछि मलेसियाको विदेश मन्त्रालयले लगातार निगरानी गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रभावितमध्ये अधिकांश बहुतले होटलमा बस्दै आएका थिए र सबैलाई सुरक्षित रूपमा व्यवस्थित गरिएको छ ।

सोमबारसम्म छ हजार ३०० भन्दा बढी मलेसियाली नागरिक थाइल्यान्डबाट सुरक्षित रूपमा सीमा पार गरी स्वदेश फर्कन सफल भएको मन्त्रालयले पुष्टि गरेको छ ।

बोपाराको अर्धशतकमा विराटनगरलाई चितवनले दियो १७५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजका रवि बोपाराको आक्रामक ब्याटिङमा विराटनगर किङ्सले १७५ रनको लक्ष्य पाएको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।चितवनले ८ ओभरको दोस्रो बलमा ३ विकेट गुमाएर ६६ रनको अवस्थामा हुँदा बोपारा क्रिजमा गएका थिए ।

उनी अन्तिम ओभरको चौथो बलमा आउट भए । उनले ३८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६५ रन जोड्दा ब्याटिङ उकासिएर चितवन ५ विकेटको क्षतिमा १७१ रनको अवस्थामा पुगेको थियो ।

श्रीलङ्कामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगारः प्रधानमन्त्री

कोलम्बो(श्रीलङ्का) । श्रीलङ्कालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिकहरु बेरोजगार रहेको श्रीलङ्काका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसदमा बताएका छन् ।

पहिलो त्रैमासिकमा बेरोजगारी दर घटेर ३.८ प्रतिशतमा झरेको उनले बताएका छन् । जुन सन् २०२४ को समान अवधिमा ४.५ प्रतिशत थियो । दोस्रो त्रैमासिकको दर पनि एक वर्ष अघिको ४.७ प्रतिशतको तुलनामा ३.८ प्रतिशत रहेको उनले बताएका छन् ।

प्रधानमन्त्रीका अनुसार विश्वविद्यालयको डिग्री वा सोभन्दा उच्च योग्यता भएका ४२ हजार २५४ जना बेरोजगार रहेका छन् । सरकारले आफ्नो रोजगार कार्यक्रम अन्तरगत सार्वजनिक क्षेत्रमा १२ हजार भन्दा बढी स्नातक उपाधी प्राप्त जनशक्तीलाई रोजगारी दिइ सकेको उनले जनाएका छन् ।

एनपीएल २: रवि बोपाराले लगातार तेस्रो खेलमा बनाए अर्धशतक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी चितवन राइनोजका रवि बोपारा बनेका छन् ।

विराटनगर किङ्सविरुद्धको खेलमा बोपाराले व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले २९ बलमा २ चौका र ३ छक्कको सहयोगमा ५० रन बनाए ।

उनले चितवनको तीनै खेलमा अर्धशतक प्रहार गरेका हुन् । यो सिजनको ११ औं अर्धशतक हो ।

यसअघि बोपाराको नाममा सिजनको तेस्रो र आठौँ अर्धशतक छ । कर्णालीविरुद्धको जबाफी ब्याटिङमा उनले ३६ बलमा ५१ रन जोडे । सिजनको दोस्रो खेलको जबाफी ब्याटिङमा उनले सिजनको तेस्रो अर्धशतक पूरा गरेका हुन् ।

पाँचौ खेलमा लुम्बिनीविरुद्ध उनले ५५ बलमा ६६ रन जोडेका थिए । यो सिजनको आठौँ अर्धशतक हो ।

पनामा नहरमा नयाँ बन्दरगाह निर्माणका लागि चीन पनि सम्भावित बोलीदातामा

पनामा सिटी । पनामा नहरका प्रशासक रिकोर्ट भास्केजले चिनियाँ कम्पनीहरू नहर क्षेत्रका दुई नयाँ बन्दरगाह निर्माणका लागि सम्भावित बोलीदातामा परेका पक्षहरू मध्ये एक रहेको जानकारी दिएका छन् । यो घटना चीनले यस रणनीतिक व्यापार मार्गमा बढ्दो प्रभाव जमाउने प्रयास गरिरहेको भन्दै अमेरिकाले हालसालै व्यक्त गरेको चिन्ताबीच आएको हो ।

यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङमा आधारित सीके हचिसन होल्डिंग्सले एटलान्टिकतर्फ क्रिस्टोबल र प्रशान्ततर्फ बाल्बोआ नामक दुवै प्रमुख बन्दरगाह सञ्चालन गरेको आधारमा चीनले पनामा नहरको नियन्त्रण लिएको आरोप लगाउँदै चेतावनी दिएका थिए ।

मार्चमा कम्पनीले दुवै बन्दरगाहको व्यवस्थापन अमेरिकामा आधारित ब्ल्याकरोकरले नेतृत्व गरेको समूहलाई हस्तान्तरण गर्ने सहमति गरेको थियो । तर चीनले शङ्काका साथ नियालिरहेको यो प्रस्तावित सम्झौता अझै अन्तिम रूपमा टुङ्गिएको छैन ।

पनामाले आगामी दशकमा आफ्नो बन्दरगाह क्षमता विस्तार गर्दै ग्यास पाइपलाइन र नयाँ जलाशय निर्माण गर्न करिब आठ अर्ब ५० करोड डलर बराबरको लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ । नयाँ बन्दरगाहहरूको निर्माणसँगै ग्यास पाइपलाइन र जलाशय विकास पनि परियोजनाको महत्त्वपूर्ण अङ्गका रूपमा समावेश गरिएको छ ।

प्रशासक भास्केजले पत्रकारहरूसँग छलफल गर्दै नहर क्षेत्रका आयोजना सबै इच्छुक तथा योग्य पक्षका लागि खुला रहने बताएका छन् । “हामी सबै सम्भावित सहभागीतालाई सुनिश्चित गर्न इच्छुक छौँ र व्यापक प्रतिस्पर्धा अपेक्षा गर्छौं”, उनले भने ।

उनका अनुसार सबै पक्षले समान र निष्पक्ष आधारमा बोली प्रक्रिया अघि बढाउनेछन् । चीनलाई ठेक्का प्रदान भएमा अमेरिका–चीन तनावमा सम्ंभावित प्रतिकूल प्रभावबारे सोधिएको प्रश्नमा उनले कुनै अड्कलबाजी गर्न अस्वीकार गरेका छन् ।

पनामा नहर प्राधिकरणले बोली प्रक्रिया अघि इच्छुक कम्पनीहरूसँग प्रारम्भिक बैठकहरू सुरु गरिसकेको छ । प्राधिकरणले सन् २०२६ को अन्त्यतिर दुई नयाँ टर्मिनलका लागि सम्झौता प्रदान गर्ने र सन् २०२९ सम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

हालसम्म सिङ्गापुरको पीएसए इन्टरनेसनल, ताइवानको एभरग्रीन, जर्मनीको हपाग–लोयड, डेनमार्कको मार्सक, फ्रान्सको सीएमए टर्मिनल्सका साथै हङ्कङस्थित कोस्को शिपिङ पोट्र्स र ओरिएन्ट ओभरसिज कन्टेनर लाइन ९ओओसिएल० ले परियोजनामा गहिरो चासो व्यक्त गरिरहेका छन् ।

पनामाका पाँचवटा प्रमुख बन्दरगाह नहर क्षेत्र नजिकै अवस्थित छन् र संयुक्त राज्य अमेरिका, हङ्कङ, ताइवान तथा सिङ्गापुरका सहुलियत प्राप्त कम्पनीहरूले सञ्चालन गर्दै आएका छन् ।

करिब ८० किलोमिटर लामो पनामा नहर विश्वव्यापी समुद्री व्यापारको करिब पाँच प्रतिशत यातायात बोकेको अत्यन्त महत्त्वपूर्ण मार्ग हो । नहरको निर्माण र सञ्चालन संयुक्त राज्य अमेरिकाले लगभग एक शताब्दीसम्म गरेको थियो र सन् १९९९ को अन्तिम दिन पनामा सरकारले यसको पूर्ण नियन्त्रण ग्रहण गरेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिट सर्वोच्चमा दर्ता, सुनुवाइ मंसिर १७ गते

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध पेस गरेको रिट निवेदन दर्ता भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार नेकपा एमालेक संसदीय दलका तर्फबाट पेस गरेको निवेदन बुधबार दर्ता भएको र आगामी पेसी मंसिर १७ का लागि तोकिएको बताए ।

मंगलबार विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संसद् पुनःस्थापनाको माग राख्दै रिट दर्ता गरेका थिए ।

रिटमा प्रधानमन्त्री सुशील कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिबाट २७ भदौमा गरिएको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्नुपर्ने एमालेले रिटमा माग गरेको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।

कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।

गाजाका हजारौं विस्थापितहरू सुरक्षित आश्रयको खोजीमा : युएनआरडब्लुए

न्यूयोर्क । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा हजारौं विस्थापित मानिसहरूले दुई वर्ष लामो इजरायली युद्ध पछि हालको चिसो मौसमको लागि सुरक्षित आश्रय खोज्न सङ्घर्ष गरिरहेको बुधबार बताएको छ ।

एजेन्सीले सामाजिक सञ्जाल एक्स मार्फत सुचना सार्वजनिक गरेको हो । एजेन्सिका अनुसार उनीहरूसँग अस्थायी शिविरहरू सिर्जना गर्नु बाहेक कुनै विकल्प छैन भने थप आश्रयको आवश्यकता रहेको युएनआरडब्लुएले उल्लेख गरेको छ ।

एजेन्सीले युएनआरडब्लुएले व्यवस्थापन गरेको ८५ वटा आश्रय स्थलमा ७९ हजार भन्दा बढी विस्थापित व्यक्तिहरू बसोबास गरेकोसमेत बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले हिजो गाजाका धेरै परिवारहरू बाढीको जोखिममा रहेको उल्लेख गर्दै उनीहरु कमजोर तथा सुविदा विहिन आश्रयस्थलहरूमा बसिरहेकाले खराब मौसमको अत्यधिक जोखिममा रहेको चेतावनी समेत दिएका छन् ।

बुधबार नेप्से परिसूचक नौ अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ६१ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशतले बढेर दुई हजार ६६५ दशमलव ६० अङ्कमा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ अङ्कले बढेर ४५९ दशमलव १७ अङ्कमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । कूल ३२२ कम्पनीका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर रु छ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ मा खरिद बिक्री भएको छ । मङ्गलबार कूल रु पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये वित्त, लगानी, जीवन बिमा, सामूहिक लगानी कोष र निर्जिवन बिमा समूहका उपसूचक घटेका छन् । त्यसबाहेकका अरु उपसूचक भने बढेका छन् । जसमा सबैभन्दा बढी होटल तथा पर्यटनको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ ।

आज एनआरएन इन्फ्रास्टक्चरको शेयर रु ६२ करोड ४३ लाख ४३ हजार २१५ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

साथै सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्ड्रष्ट्री लिमिटेड, रिभरफल्स पावर लिमिटेड र माहूली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढिले कमाएका छन् । आजको कारोबारमा बोटलर्स नेपाल (बालाजु)का लगानीकर्ताले शेयर मूल्यमा तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।

भारतमा नयाँ श्रम संहिता विरुद्ध हजारौँ श्रमिकको देशव्यापी प्रदर्शन

मुम्बई । भारत सरकारले लागू गरेको नयाँ श्रम संहिताविरुद्ध देशभरका हजारौँ ट्रेड युनियन तथा कामदारहरूले बुधबार व्यापक विरोध प्रदर्शन गरेका छन् । युनियनहरूले नयाँ कानूनले श्रमिकहरूको हासिल गरिएका अधिकारहरू कमजोर पार्ने, कर्पोरेट शोषणलाई बढावा दिने र दीर्घकालीन श्रम सुरक्षालाई चुनौती दिने आरोप लगाएका छन् ।

भारतजस्तो विश्वको पाँचौँ ठूलो अर्थतन्त्रले गत हप्ता लामो समयदेखि प्रतीक्षित श्रम सुधार लागू गरेको थियो, जसले औपनिवेशिक कालका श्रम कानूनहरूलाई प्रतिस्थापन गर्दै जटिल नियमन प्रणालीलाई सरल बनाउने उद्देश्यमध्ये रहेको बताइएको छ ।

नयाँ सुधारले २९ विद्यमान श्रम कानूनलाई चार प्रमुख कोडमा समेटिएको छ, जसका कारण एक हजार ४०० भन्दा बढी नियम घटेर करिब ३५० मा सीमित भएका छन् । तर श्रमिक सङ्गठनहरूले भने सुधारको संरचनाले मजदुर हितमाथि प्रहार गरेको दाबी गरेका छन् ।

न्यु ट्रेड युनियन इनिसिएटिभका नेता गौतम मोदीका अनुसार विभिन्न क्षेत्रका श्रमिकहरूले कारखानाबाहिर र सहरका प्रमुख स्थानहरूमा प्रदर्शन गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । “मजदुरहरूलाई सरकारले अन्धो बनाएको छ”, उनले भने, “हामी कानूनअगाडि निष्पक्षता, न्याय र समानता चाहन्छौँ, जुन नयाँ संहिताले अस्वीकार गरेको छ ।”

नयाँ नियमावलीले सुरक्षा मापदण्ड बलियो बनाउने तथा गिग ९अस्थायी० कामदारहरूलाई सामाजिक सुरक्षाका केही लाभ सुनिश्चित गर्ने व्यवस्था गरे पनि यसले कारखाना सिफ्ट लामो बनाउने, हड्ताल गर्ने प्रक्रिया जटिल बनाउने र मध्यम आकारका उद्योगमा कामदार बर्खास्त गर्न सजिलो बनाइदिने प्रावधान सामेल गरेको युनियनहरूको आरोप छ ।

विशेष रूपमा विवादास्पद प्रावधानमध्ये एकले १०० भन्दा बढी कर्मचारी भएका कम्पनीहरूले छटनी गर्ने विषयमा सरकारको अनुमति लिनुपर्ने पुरानो सीमा ३०० मा पु¥याएको छ । यसले ३०० जनासम्म कर्मचारी भएका कम्पनीहरूलाई बिना स्वीकृति छटनी गर्न सजिलो बनाउनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधी दलसँग सम्बद्ध ट्रेड युनियनहरूले यस कदमलाई ‘देशको श्रमजीवी वर्गविरुद्धको भ्रामक ठगी’ भन्दै कडा आलोचना गरेका छन् । सेन्टर अफ इन्डियन ट्रेड युनियन ९सिटु० ले जारी गरेको विज्ञप्तिमा सरकारले यी संहिताहरूलाई ‘मजदुर–मैत्री’ र ‘आधुनिकीकरण’ का रूपमा प्रस्तुत गर्न खोजेको भए पनि वास्तविकता भने ‘स्वतन्त्रतादेखि हासिल गरिएका श्रमिक अधिकारहरूको सर्वाधिक आक्रामक कटौती’ भएको आरोप लगाइएको छ । युनियनका अनुसार यसको मुख्य उद्देश्य कर्पोरेट स्वार्थलाई सहज बनाउनु, ठेक्का प्रथालाई विस्तार गर्नु र ‘हायर–एन्ड–फायर’ प्रणालीलाई निर्बाध रूपमा बढावा दिनु हो ।

यतिबेला प्रधानमन्त्री मोदीले भने नयाँ श्रम सुधारलाई ‘स्वतन्त्रतापछिको सबैभन्दा व्यापक र प्रगतिशील श्रम–उन्मुख परिवर्तन’ भन्दै समर्थन गरेका छन् । उनका अनुसार जटिल तथा अनुपालन–गहन पुराना श्रम कानूनहरूले भारतलाई विदेशी लगानीकर्ताहरूका लागि कम आकर्षक बनाएका थिए, जसलाई नयाँ संहिताले सम्बोधन गर्नेछ ।

भारत हाल विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको ठूला अर्थतन्त्रमध्ये एक भए पनि गत वर्षको आर्थिक सुस्तीले वृद्धि दरलाई आठ प्रतिशतभन्दा तल झारिदिएको थियो, जुन लाखौँ राम्रो रोजगारी सिर्जना गर्न आवश्यक मानिन्छ । यसैबीच, भारतले रुसी तेल खरिद गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको कडा करले देशको ऊर्जा सुरक्षामाथि समेत नयाँ चुनौती खडा गरेको विश्लेषकहरूको मूल्याङ्कन छ ।

नोमुराका विश्लेषकहरूले हालै जारी मूल्याङ्कनमा श्रम सुधारलाई ‘असमान, जटिल र अनुपालन–गहन श्रम संरचना सुधार गर्ने प्रयास’ का रूपमा व्याख्या गर्दै यसलाई ‘भारतमा व्यापार गर्न सजिलो नहुने मुख्य चुनौतीहरू मध्ये एक’ समाधान गर्ने कदमको रूपमा उल्लेख गरेका छन् । तर विश्लेषकहरूले यसलाई सरकारको तीव्र आर्थिक सुधार नीति, विशेषतः ट्रम्प प्रशासनको ५० प्रतिशत भन्सार शुल्कको सन्दर्भमा, थप अस्थिरता ल्याउने व्यापक प्रवृत्तिको हिस्सा पनि भएको बताएका छन् ।