`

दक्षिण अफ्रिकालाई मियामी जी–२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा

वेस्ट पाम बीच (फ्लोरिडा) ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै आयोजित हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन नदिने घोषणा गरेका छन् । यस वर्षको जोहानेसबर्ग शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलसँग गरिएको व्यवहारका कारण देशलाई दिइँदै आएका सबै भुक्तानी र अनुदान रोकिने उनले बताएका छन् ।

ट्रम्पका अनुसार दक्षिण अफ्रिकाले गत सप्ताहान्त सम्पन्न शिखर सम्मेलनमा अमेरिकी सरकारी प्रतिनिधिमण्डललाई सहभागी हुन नदिएर अन्तर्राष्ट्रिय मान्यताको अवहेलना गरेको हो । उनले दक्षिण अफ्रिकामा ‘श्वेत अफ्रिकीहरूको हिंसात्मक दमन’ भइरहेको दावी पनि दोहोर्‍याएका छन् । उक्त दावीलाई दक्षिण अफ्रिकी सरकारले बारम्बार आधारहीन भनेको छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने, “दक्षिण अफ्रिकाले शिखर सम्मेलनपछि हाम्रो दूतावासका वरिष्ठ प्रतिनिधिसँग जी–२० को होस्टिङ जिम्मेवारी हस्तान्तरण गर्न अस्वीकार गर्‍यो । त्यसैले सन् २०२६ को जी–२० का लागि उनीहरूलाई निमन्त्रण दिइनेछैन ।”

साथै उनले दक्षिण अफ्रिकालाई ‘सदस्यताका लागि अयोग्य’ देशका रूपमा चित्रित गर्दै सबै अमेरिकी सहायता तुरुन्तै रोक्ने निर्णय सुनाएका छन् ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको कार्यालयले भने अमेरिकाले हस्तान्तरण समारोहका लागि ‘उपयुक्त स्तरका अधिकारी नपठाएका’ कारण कार्यक्रम दक्षिण अफ्रिकी विदेश मन्त्रालय भवनमा सारिएको हो भन्दै ट्रम्पको अभिव्यक्तिलाई अपमानजनक र भ्रामक भनेको छ ।

दक्षिण अफ्रिकाले ट्रम्पले फैलाउँदै आएको ‘श्वेत किसानमाथिको आक्रमण’ सम्बन्धी दावीलाई पनि पुनः खण्डन गर्दै यसलाई गलत सूचना र विकृत तथ्यमा आधारित ठहर गरेको छ ।

यस वर्ष जोहानेसबर्गमा पहिलो पटक अफ्रिकामा आयोजित शिखर सम्मेलनलाई अमेरिकाले सम्पूर्ण रूपमा बहिष्कार गरेको थियो । वासिङ्टनले घोषणापत्रमा हस्ताक्षर नगरेको र जलवायु परिवर्तनजस्ता विषयमा दक्षिण अफ्रिकाको प्राथमिकताप्रति कडा असहमति जनाएको थियो । अब जी–२० को घुम्ती अध्यक्षता अमेरिकामा आइसकेपछि दक्षिण अफ्रिकासँगको विवादले भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट छैन ।

ट्रम्प आफैँले घोषणा गरिसकेको आगामी वर्षको जी–२० बैठक फ्लोरिडाको डोरलस्थित आफ्नै गल्फ क्लबमा आयोजना हुनेछ, जसले यो विषयमा थप राजनीतिक संवेदनशीलता पैदा गरेको छ ।

विशेषगरी चीन, रुस र इरानसँगका कूटनीतिक सम्बन्धका कारण दक्षिण अफ्रिका हाल ट्रम्प प्रशासनका लागि लगातार निशाना बनेको छ । हालै प्रशासनले वार्षिक अमेरिकी शरणार्थी कोटा सात हजार ५०० मा सीमित गर्ने निर्णय गरेको छ, जसमा धेरैजसो स्थान श्वेत दक्षिण अफ्रिकीहरूका लागि आरक्षित गरिएको छ । यस वर्षमात्र अमेरिकाले ५९ अफ्रिकीलाई ९अफ्रिकानर्स० शरणार्थीका रूपमा स्वीकार गरेको थियो ।

अफ्रिकीहरू मुख्यतया डच, फ्रान्सेली र जर्मन वंशका प्रवासीहरूको सन्तान हुन्, जो १७औँ शताब्दीदेखि दक्षिण अफ्रिकामा बसोबास गर्दै आएका छन् । सन् १९४८ देखि सन् १९९४ को रङ्गभेद शासनमा उनीहरूको प्रमुख भूमिका भए पनि समुदायभित्र विविधता रहेको र केही अफ्रिकीहरूसमेत रङ्गभेदविरुद्ध लडेको इतिहास रहेको उद्धृत गरिएको छ ।

दक्षिण अफ्रिकाको कुल छ करोड २० लाख जनसङ्ख्यामा करिब दुई करोड ७० लाख अफ्रिकानर्स रहेका छन् ।

समाजमा देखिएको असहिष्णुताले देशप्रतिको लगाव कमजोर बन्यो: शंकर पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभुति नहुँदाको परिणाम रहेको बताएका छन् ।

८ औं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल टे«ड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश, राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताए । त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्ने बताए।

एशियाली समाज सामाजिक र पारिवारिक सम्बन्धमा आधारित भएपनि क्रमशः सूचना र प्रविधिको तिब्रताका कारण विघटनतर्फ गइरहेको बताए । भविष्यप्रतिको सुरक्षावोध नागरिकमा पैदा गर्नसके सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउन सकिने उल्लेख गरे ।

उनले भने, ‘हाम्रो समाजमा जुन प्रकारको असन्तोष छ । त्यो असन्तोष पछाडिको कारण भनेको सामाजिक सुरक्षाको प्रत्याभुति नहुँदाको परिणाम पनि होला भन्ने म ठान्दछु । समाजमा जुन प्रकाराको अराजकता, एक प्रकारको असहिष्णुता पछिल्लो समय अझ भन्ने हो भने देश, राष्ट्रप्रतिको लगाव नै कमजोर भएर जाने, आफ्ना सांस्कृतिक मूल्य, मान्यताहरुप्रति नै अनास्था र अविश्वास प्रकट गर्ने जुन प्रकारको प्रवृत्ति देखापरेको छ, त्यो प्रवृत्तिलाई सुधार गर्ने एउटा सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्दछ ।

किनभने एशियाली समाज सामाजिक सम्बन्धमा आधारित समाज हो । पारिवारिक सम्बन्धमा आधारित समाज हो । क्रमशः सूचना प्रविधिको विकाससँगै पारिवारिक, सामाजिक सम्बन्ध, मूल्यहरु विघटनको प्रक्रियामा तिब्रताका साथ अघि बढिरहेका छन् ।

भविष्यप्रतिको असुरक्षाको भावनाले धेरै हदसम्म काम गरेको छ । भविष्यप्रतिको सुरक्षावोध नागरिकमा पैदा गर्ने हो भने अहिले जुन प्रकारको सोसल इनार्किजमको तहमा समाज प्रवेश गरेको छ, त्यसलाई फेरि हाम्रै सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउनसक्छौँ ।’

महासचिव पोखरेलले अनौपचारिक क्षेत्र असंगठित रहेका कारणले उत्पन्न भएको समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे । श्रमीक पञ्जीकरण उपलब्धीमुलक काम भएको पनि बताए।

 

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकारलाई रिहा

 इस्तानबुल ।  टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार जना पत्रकारलाई रिहा गरेको छ । उनीहरुलाई गत मार्चमा इस्तानबुलमा सामूहिक प्रदर्शनको आरोपमा मुद्दा चलाइएको थियो ।

राष्ट्रपति रेसेप तैयप एर्दोगनका शीर्ष प्रतिद्वन्द्वी इस्तानबुलका शक्तिशाली विपक्षी मेयर एक्रेम इमामोग्लुको गिरफ्तारीबाट भड्किएको विरोध प्रदर्शनमा चारजना फोटोग्राफरहरूलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई हजारौँ प्रदर्शनकारीहरू जस्तै–प्रदर्शन र सार्वजनिक जमघटहरूमा कानुन उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।

“प्रतिवादीहरूले कथित अपराध गरेको कुनै ठोस आधार नभएकाले न्यायाधीशले निर्दोष ठहर गरि रिहा गरिएको जनाइएको छ ।

अकगुल अन्तर्राष्ट्रिय मिडिया कर्मी हुनुहुन्छ भने अन्य तिन टर्कीको नाउ हेबरका अली ओनुर तोसन र फ्रीलान्सर बुलेन्ट किलिक र जेयनेप कुराय हुन् ।

एएफपीको व्यवस्थापनले अक्गुललाई रिहा गर्न बारम्बार आह्वान गरेको थियो भने उहाँका वकिल केमल कुमकुमोग्लुले अक्टोबर – २४ मा अन्तिम सुनुवाइमा अदालतमा कुनै आपराधिक गल्ती नभएको बताउनु भएको थियो ।

टर्कीको एक अदालतले बुधबार लोकप्रिय राजनीतिक पत्रकार र टिप्पणीकार फातेह अल्तायलीलाई एर्दोगनलाई “धम्की“ दिएको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ ।

आरएसएफको विश्व प्रेस स्वतन्त्रता सुचिमा टर्की १८० देशहरू मध्ये १५९ औं स्थानमा रहेको छ ।

सबै तहका समितिको म्याद ६ महिना थप्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले तत्काल महाधिवेशन नगर्ने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ६ महिना कार्यकाल थप गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा धवल शम्शेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहने गरी समिति गठन गरेको छ भने निर्वाचन र पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै हाल प्रक्रियामा रहेको पार्टीभित्रको कारबाहीको प्रक्रियालाई स्थगन गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

त्यसैगरि समान विचारधारा भएका पार्टी, अभियान, समूह तथा परिवर्तनकारी युवाहरूलाई एकीकृत गर्न वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान रहेका वार्ता समिति गठन गर्ने निर्णय भएको उनले बताए ।

बैठकले पार्टीका मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्वन गर्ने र प्रदेश सभा सदस्य तथा मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिइएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।

बैठकले संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र पुनस्थापना, संघीयता खारेजी लगायतका विषयमा तत्काल समाधान खोज्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ भने आफ्ना मुद्दा स्थापित गराउन मंसिर २२ गते उपत्यका व्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

भारतद्वारा दुर्लभ पृथ्वी चुम्बक उत्पादन विस्तारका लागि ८० करोड डलर बराबरको योजना स्वीकृत

मुम्बई । भारत सरकारले दुर्लभ पृथ्वी स्थायी चुम्बक (आरइपिएम) उत्पादन बढाउन ८० करोड अमेरिकी डलरभन्दा बढीको योजना स्वीकृत गर्दै चीनलगायत बाह्य स्रोतमा बढ्दो निर्भरतालाई घटाउने लक्ष्य लिएको छ । यो कदमले अत्यावश्यक प्राविधिक क्षेत्रमा देशको आपूर्ति सुरक्षा मजबुत बनाउने अपेक्षा गरिएको छ ।

दुर्लभ पृथ्वी तत्वहरूको मिश्रित धातुबाट बन्ने आरइपिएम विद्युतीय सवारीसाधन, एयरोस्पेस, रक्षा प्रविधि, पवनचक्की तथा अन्य नवीकरणीय ऊर्जा प्रणालीमा व्यापक रूपमा प्रयोग गरिने उच्च शक्तिशाली चुम्बक हो । भारतले हाल प्रायः आयातमार्फत माग पूरा गर्दै आएको छ तर सन् २०३० सम्ममा देशमा यसको आवश्यकतामा दोब्बर वृद्धि हुने सरकारी अनुमान छ ।

यसै परिप्रेक्ष्यमा, प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्ले मङ्गलबार ७२ अर्ब ८० करोड भारतीय रुपैयाँ (८१ करोड ५३ लाख डलर) को उत्पादन प्रवर्द्धन योजना अनुमोदन गरेको हो । सरकारले जारी गरेको विज्ञप्तिमा यस पहलले ‘घरेलु उद्योगहरूको आपूर्ति शृङ्खला सुरक्षित गर्दै दीर्घकालीन आत्मनिर्भरता निर्माण गर्ने’ उल्लेख छ ।

यस योजनाअन्तर्गत उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएका प्रोत्साहन तथा अनुदान उपलब्ध गराइनेछ, जसले प्रतिवर्ष लगभग छ हजार मेट्रिक टन उत्पादन क्षमता स्थापना गर्न सहयोग गर्नेछ । सरकारका अनुसार यस प्रकारको पहिलो राष्ट्रिय पहलले भारतमा छ हजार एमटिपिए क्षमताको एकीकृत आरइसपिएम उत्पादन आधार निर्माण गरी देशलाई विश्व बजारमा प्रतिस्पर्धी तथा प्रभावशाली खेलाडीका रूपमा उभ्याउने लक्ष्य लिएको छ ।

स्थानीय उद्योग क्षेत्रले सरकारी निर्णयलाई खुलेरै स्वागत गरेको छ । अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया (एसिएमए)ले यसले भारतीय अटो उद्योगको आपूर्ति शृङ्खलामा दीर्घकालीन स्थायित्व र लचिलोपन प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । एसिएमए अध्यक्ष विक्रमपति सिंघानियाले जारी गरेको वक्तव्यमा भनिएको छ, “यस योजनाले उन्नत सामग्री क्षेत्रमा लगानी निम्त्याउनेछ र विद्युतीय तथा स्वच्छ ऊर्जा प्रविधिका लागि भारतलाई विश्व मूल्य शृङ्खलामा मजबुत रूपमा स्थापित गर्नेछ ।”

उनले यस कदमलाई ‘विद्युतीय सवारी तथा उन्नत गतिशीलता प्रणालीको सबैभन्दा महत्त्वपूर्ण अभावलाई सम्बोधन गर्ने दूरदर्शी र रणनीतिक हस्तक्षेप’ का रूपमा वर्णन गरेका छन् ।

भारतले धेरै मुलुकबाट दुर्लभ पृथ्वी चुम्बक आयात गर्दै आए पनि यस वर्षको सुरुमा चीनले गरेको निर्यात नियन्त्रणले केही भारतीय उद्योगहरूमा चिन्ता बढाएको थियो । सरकारको यो नयाँ निर्णयलाई त्यसै कमजोर बन्दै गएको आपूर्ति जोखिम कम गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय

ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीनवटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात–सात वर्षका दरले सजाय तोकेको हो ।

बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग ९एसिसी० ले गत जनवरीमा शेख हसिना र उनको परिवारका सदस्यहरू विरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको गरेको आरोपमा छ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । बाँकी तीन मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइनेछ ।

अदालतले शेख हसिनाका छोरा सजीब वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना तोकेको छ । त्यस्तै, छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

यसअघि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण ९आइसिटी० ले शेख हसिनालाई सन् २०२४ जुलाईमा सरकार विरोधी आन्दोलन दमनको क्रममा मानवता विरुद्धका अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ । ती घटनामा मानव अधिकार उल्लङ्घन भएको भन्दै आइसिटीले थप कडा कारबाही गरेको थियो ।

शेख हसिना र उनका परिवारका सदस्यहरू फरार अवस्थामा रहेकाले मुद्दाहरूमा उनीहरूका तर्फबाट वकिल उपस्थित थिएनन् । तथापि, शेख हसिना र उनका निकटस्थहरूले विभिन्न भाषण र सार्वजनिक अभिव्यक्तिहरूमार्फत आफूहरू कुनै प्रकारको भ्रष्टाचारमा संलग्न नरहेको दाबी गर्दै आएका छन् ।

उता, मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएकी शेख हसिनाको सुपुर्दगीका लागि बङ्गलादेशको अन्तरिम सरकारले भारतलाई गरेको अनुरोधबारे नयाँदिल्लीले हाल अध्ययन र मूल्याङ्कन गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

साप्ताहिक मिडिया ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ढाकाबाट औपचारिक सञ्चार प्राप्त भएको जानकारी दिँदै भारतले बङ्गलादेशको शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरताप्रतिको प्रतिबद्धता कायम राख्दै सबै पक्षसँग आवश्यक संवाद जारी राख्ने बताएका छन् ।

सन् २०२४ जुलाईमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्यार्थी नेतृत्वको व्यापक विद्रोह भड्किएको थियो । निरन्तर दबाबपछि उनी सन् २०२४ अगस्ट ५ मा देश छाडेर भारतमा शरण लिन पुगेकी थिईन् । त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो, जसले हालसम्मका कानूनी तथा राजनीतिक प्रक्रियाहरू अघि बढाइरहेको छ ।

पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पहिलो जित निकाल्न पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार टस जितेर ब्याटिङ गरेको पोखराले ६  विकेटको क्षतिमा एक सय ५५ रन बनाएको हो। जनकपुरविरुद्ध राम्रो सुरुवात गरेको पोखराको मध्यक्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा जनकपुरविरुद्ध विशाल योगफल तयार पार्न असफल बन्यो।

पोखरा एक समय ८.३ ओभरमा एक विकेटको क्षतिमा ६१ रनको अवस्थामा थियो। पोखराले चार रन बनाउन चार विकेट गुमाएको थियो।

तृतराज दास २९ रन बनाउँदा रनआउट भए। सुमित बर्मा ५० र किरण ठगुन्ना एक रनमा अविजित रहे। सुमितले २८ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

पोखराका ओपनर दिनेश खरेल ३८ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दा ३८ रनमा  अनिल शाहको बलमा माज सदाकतको हातबाट क्याच आउट हुन पुगे।

अर्का ओपनर आडम रसिङटोन २४ रन बनाउँदा सञ्जय कृष्णमूर्तिको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याच आउट भए। डान डाउथवेट सात रन थप्दै आउट भए। कप्तान कुशल भुर्तेल गोल्डेन डकआउट भए। जिम्मी निसम एक रनमा आउट भए।

जनकपुरका लागि सञ्जय कृणमूर्तिले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा २१ रन खर्चे। अनिल साह र ललित राजवंशीले एक-एक विकेट लिए।

 

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

जकार्ता । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६–परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ । युएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन ।

भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ ।

भूकम्प पछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको “कुनै खतरा“ नभएको बताएको छ ।

इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बीएमकेजी) ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको बताएको छ ।

इन्डोनेसिया, दक्षिणपूर्व एशियाको एक विशाल द्वीपसमूह, प्रशान्त क्षेत्रमा अवस्थित भएको कारण बारम्बार भूकम्पको सामना गर्ने गरेको जनाइएको छ ।

जनवरी २०२१ मा सुलावेसी टापुमा ६.२ म्याग्निच्युडको भूकम्प जादा एक सय भन्दा बढीको ज्यान लिनुका साथै हजारौलाईं घरबार विहीन बनाएको थियो ।

सन् २०१८ मा पालू, सुलावेसीमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यस पछिको सुनामीले दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो ।

ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप

वासिङ्टन  ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको घातक गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गरेका छन् ।

राष्ट्रपति ट्रम्पद्वारा भिडियो सन्देशमार्फत गरिएको यो अभिव्यक्तिले अमेरिकी सैन्य तैनाथी, आप्रवासन नीति र अफगानिस्तान युद्धको दीर्घ प्रभावजस्ता राजनीतिक रूपमा संवेदनशील मुद्दाहरूलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ ।

ट्रम्पका अनुसार आक्रमण ‘दुष्ट, घृणित र राष्ट्रविरुद्धको’ थियो । ह्वाइट हाउसबाट मात्र दुई ब्लक टाढा गोली चलाएपछि पक्राउ गरिएका व्यक्ति ‘अफगानिस्तानबाट प्रवेश गरेका विदेशी’ भएको उनले दाबी गरेका छन् । सन्दिग्ध सन् २०२१ मा अफगानिस्तान पतनपछि अमेरिकी निकासी उडानमार्फत अमेरिका आएको उल्लेख गर्दै ट्रम्पले उक्त प्रक्रियाको कठोर पुनःमूल्याङ्कन आवश्यक रहेको बताएका छन् ।

मेट्रो स्टेसन नजिकै व्यस्त समयमै भएको यो आक्रमणले ट्रम्पद्वारा विभिन्न डेमोक्रेट–नियन्त्रित सहरहरूमा तैनाथ गरिएका सैनिकहरूको भूमिकाबारे उठेका कानूनी चुनौती र आलोचनालाई झनै प्रबल बनाएको छ । यसै क्रममा ट्रम्पले ‘अवैध आप्रवासी उखेल्ने अभियान’ लाई फेरि तीव्र गर्ने सङ्केत दिएका छन् ।

उनको भनाइपछि युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेसले अफगान नागरिकसँग सम्बन्धित सबै आप्रवासन प्रक्रियाहरू अनिश्चितकालका लागि रोक्ने घोषणा गरेको छ ।

वासिङ्टनका सहायक प्रहरी प्रमुख जेफ्री क्यारोलका अनुसार आक्रमण पूर्ण रूपमा ‘एम्बुस’ शैलीको थियो । बन्दुकधारीले कुनाबाट निस्कँदै सिधै सैनिकलाई लक्ष्य बनाएको थियो । एफबिआई निर्देशक कास पटेलले दुवै सैनिक गम्भीर घाइते रहेको पुष्टि गरेका छन् । प्रत्यक्षदर्शीहरूले अचानक धेरै गोली चलेको, मानिसहरू आतङ्कमा भागिरहेको र केही नेसनल गार्ड सदस्यहरू हतियारसहित मेट्रोतिर दौडिरहेको बताए ।

आक्रमणपछि सुरक्षाकर्मीहरूले क्षेत्र पूरै घेराबन्दी गरे । हेलिकप्टरले आकाशबाट निगरानी गरिरहेको अवस्थामा आपतकालीन टोलीले घाइते सैनिकलाई उद्दार गरी एम्बुलेन्सतर्फ लैजाँदै गरेको दृश्य एएफपी पत्रकारहरूका लागि अत्यन्तै व्यग्र देखिन्थ्यो ।

अफगान शरणार्थीहरूको सहायतामा संलग्न समूह ‘अफगानइभाक’ ले कुनै पनि एक व्यक्तिको हिंसात्मक कार्यलाई सम्पूर्ण समुदायमाथि दोषारोपण गर्ने आधार नबनाउन आग्रह गर्दै अमेरिका आउने प्रत्येक अफगानले कडा सुरक्षा जाँचबाट गुज्रिनैपर्ने बताएको छ ।

ट्रम्प प्रशासनले राजधानीमा सुरक्षा बलको उपस्थिति व्यापक रूपमा बढाएका बेला गत हप्ता मात्र एक सङ्घीय न्यायाधीशले वासिङ्टनमा नेसनल गार्डको तैनाथी गैरकानूनी ठहर गरिसकेका थिए । तर बुधबारको घटनापछि रक्षामन्त्री पिट हेग्सेथले थप ५०० सैनिक तैनाथ गर्ने घोषणा गर्दै राजधानीमा तैनाथ सङ्ख्या दुई हजार ५०० सम्म पुर्‍याइएको जानकारी दिएका छन् ।

धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा

काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुखसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनको आदेशमा नेता महराले २० लाख नगद धरौटी बुझाएका छन् । काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाइसकेका महरा ३० नम्बर फाँटमा तारिख लिएर छुट्न लागेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

नक्कली भेप सुन प्रकरणमा दोस्रोपटक पक्राउ परेका महरा काठमाडौं जिल्ला अदालतको पुर्पक्षमा पठाउने आदेशबाट थुनामा थिए ।

श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

कोलम्बो । श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् ।

डिएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । डिएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तिमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।

डिएमसीका अनुसार वाढीका कारण पुर्ण प्रभावित बदुल्ला जिल्लामा सबै भन्दा बढी १८ जनाको मृत्यु भएको छ भने केगालेमा ७ र नुवारा एलियामा ४ जनाको मृत्यु भएको छ । यसै गरी हम्बनटोटा र कुरुनेगलामा एक–एक जनाको मृत्यु भएको छ ।

निरन्तरको वर्षाले मध्य र पाहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

मौसमी अवस्था बिग्रँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । भारी वर्षाले गर्दा थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडकहरू बन्द छन् ।

आपतकालीन टोलीहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा खोजी र उद्धार कार्यहरू जारी राखेका छन् भने सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ ।

 

अपराजित रहँदै ‘प्लेअफ’मा पुग्ने लक्ष्य छ : विनोद भण्डारी

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका खेलाडी विनोद भण्डारीले आफ्नो टिम अपराजित रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा रहेको बताएका छन् ।

लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जितसहित सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ । आज सम्पन्न खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा रहेको बताए  ।

“सुदूरपश्चिम साविक उपविजेता टोली समेत हो,” उनले भने, “अहिलेलाई हाम्रो लक्ष्य अपराजित रहँदै प्लेअफमा पुग्ने हो । त्यसपछि मात्रै फाइनल र च्याम्पियनका लागि सोच्छौँ ।”

लुम्बिनीलाई ७ विकेटले हराएको खेलमा विनोदले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । उनले ‘प्लेयर अफ दी म्याच’ पाए ।

त्यसैगरी लगातार तेस्रो हार व्यहोरेको लुम्बिनीका कप्तान रोहित पौडेलले बाँकी खेलमा राम्रो गर्दै प्लेअफमा पुग्ने दाबी गरे । उनले भने, “अब हामीले तीन खेल खेल्न बाँकी छ । ती खेलहरूमा जित निकालेर प्लेअफमा पुग्छौँ भन्ने विश्वास छ ।”

सुदूरपश्चिम लगातार चौथो जित निकालेर ८ अंकका साथ शीर्ष स्थानमा छ । चारमध्ये एक खेल मात्रै जितेको लुम्बिनी दुई अंकसहित छैटौँ स्थानमा छ । लुम्बिनीले प्लेअफमा पुग्न बाँकी तीन खेल जित्नैपर्ने दबाब छ ।

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

ढाका । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।

अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेपछि १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो । अग्निशमन सेवाका निर्देशक लेफ्टिनेन्ट कर्नल मोहम्मद ताजुल इस्लाम चौधरीले आगोले विस्तृत क्षेत्रलाई प्रभाव पारेको र पीडितको सङ्ख्या अत्यधिक रहेको बताएका छन् ।

करिब ६५ हेक्टर (१६० एकड) मा फैलिएको कोरेल झुपडपट्टीमा करिब ६० हजार परिवार बसोबास गर्छन्, जसमा जलवायु–प्रभावित शरणार्थीहरूको सङ्ख्या उल्लेखनीय छ । ढाकाका उच्चस्तरीय गुलशन र बनानी जस्ता अभिजात आवासीय क्षेत्रसँगै जोडिएको यो झुपडपट्टी बस्ती अग्ला अपार्टमेन्ट र कार्यालय भवनहरूले घेरिएको छ ।

आगलागी रातभर फैलिँदा क्षेत्रमा बाक्लो धुवाँको बादल देखिएको थियो । बुधबार बिहान बासिन्दाहरू आफ्ना घरका भग्नावशेषबीच डुल्दै जले–नजलेका केही सामान खोज्दै व्यस्त देखिन्थे । अग्नि नियन्त्रकहरूले साँघुरा गल्ली र अव्यवस्थित संरचनाका कारण घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको बताए ।

सन् २०२४ मा एक करोड २० लाख जनसङ्ख्या नाघिसकेको ढाका सयौँ झुपडी बस्तीहरूको प्रमुख आश्रयस्थल बनेको छ । ग्रामीण बङ्गलादेशमा गरिबी, रोजगारीको अभाव तथा जलवायु–प्रेरित प्रकोपले पीडितहरूलाई सहरका यस्ता भीडभाड र जोखिमपूर्ण बस्तीहरूमा बसाइँ सर्न बाध्य बनाउने गरेको छ, जहाँ उनीहरूले दैनिक श्रमिक, रिक्सा चालक, घरेलु कामदार र सरसफाइ कर्मचारीका रूपमा गुजारा चलाउँदै आएका छन् ।

अधिकारीहरूले प्रभावित बासिन्दाको उद्धार, राहत र पुनर्वासमा चाँडो व्यवस्था मिलाइने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री र एमाले नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले महासचिव शंकर पोखरेलसहितका नेताबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । छलफलमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, र विघटित प्रतिनिधिसभाका एमाले संसदीय दलका पूर्व मुख्य सचेतक महेश बर्तौला सहभागी छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि छन् । प्रधानमन्त्री कार्कीले दलहरुसँग पहिलो पटक एमालेसँग वार्ता सुरु गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलले सरकारले आफ्नो पार्टीसँग वार्ता नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

 

माधव नेपालको दाबी : सुदूरपश्चिममा २० हजार मान्छे उतार्छौं

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिन प्रतिदिन सफल हुँदै गइरहेको बताए । ‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्ने कुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं,’ उनले भने ।

शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउँदै उनले सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गरे । उनले सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा बीसौं हजार उतार्ने दाबी समेत गरेका छन् । ‘पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौं । धनगढीमा सुदूरपश्चिमका नेताहरू बसेर दशौं, बीसौं हजार बढी संख्यामा उपस्थित गराउने गरी लाग्नु भएको छ । आशावादी हुनु भएको छ । अभियान चलाउनु भएको छ । सुदूरपश्चिमका नेताहरू तपाईंहरूको परीक्षा त्यहीँ हुन्छ,’ उनले भने ।

 

चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

बेइजिङ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीहरूले पुष्टि गरेका छन् ।

दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल सामान्य रूपमा वक्र मार्ग हुँदै गुज्रिरहेका बेला ट्र्याक क्षेत्रमा प्रवेश गरेका कामदारहरूसँग ठोक्किएको कुनमिङ रेलवे ब्युरोले विज्ञप्तिमा जनाएको छ ।

उक्त दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान जारी रहेको र सुरक्षासम्बन्धी प्रक्रियाहरू पूर्णरूपमा मूल्याङ्कन गरिने जनाइएको छ ।

बिहीबार दिउँसोसम्म प्रभावित रेलमार्गमा यातायात सामान्य रूपमा सञ्चालनमा आएको थियो । चीनमा अस्पष्ट कार्य–नियम तथा कमजोर सुरक्षा मापदण्डका कारण यस्ता औद्योगिक दुर्घटनाहरू बारम्बार हुने गरेको उल्लेख गर्दै अधिकारीहरूले आगामी दिनमा कडाइका उपायहरू अपनाइने आश्वासन दिएका छन् ।

यो एकता लहड, आवेश र चुनाव जित्न होइन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन् । जसपासहित चार घटकसँगको एकता सभालाई सम्बोधन गर्दै हिजो धादिङको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा जनताको उपस्थिति उत्साहजनक भएको बताएका हुन् ।

उनले भने, ‘हिजो धादिङमा राजेन्द्र पाण्डेजी र मैले बोलेका थियौं । त्यहाँ जनताको उमङ्ग र उपस्थिति हेर्ने हो भने अभूतपूर्व थियो । त्यसले धादिङमा मात्रै होइन देशैभरी पनि त्यसले शक्तिशाली सन्देश गइसकेको छ । यो एकता कुनै लहड र आवेगमा गरेको अभियान होइन ।’

उनले देश अफ्ठेरो अवस्थामा रहेको भन्दै त्यसको रक्षाको लागि भएको बताएका छन् । उनले भने, ‘यो एकता चुनाव आउँदै छ, जित्नको लागि होइन, राष्ट्रको स्वाधीनताको रक्षा गर्न, जनताको सार्वभौम सत्ताको रक्षा गर्ने उद्देश्यको साथ बलियो तागत निर्माण गर्ने अभियान हो ।’नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित एक दर्जन वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा आज (बिहीबार) थप चार दल मिसिएका छन् ।

आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच जसपाको एकता पक्षधर, नजागरण पार्टी नेपाल, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र विप्लवको नेकपा (माओवादी) को विद्रोही समूहनेकपामा समाहित भएका हुन् । कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायत सहभागी छन् ।

कार्यक्रममा नेकपा र एकतामा सामेल समूहका कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति छ । कात्तिक १९ गते १० वटा घटकहरूले एकता गरी नेकपा घोषणा गरेका थिए । त्यसको एक हप्तापछि कात्तिक २६ गते भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र अर्को एउटा समूह नेकपामा समाहित भएको थियो । आज चार दल थपिएसँगै नेकपामा ध्रुवीकृत हुने घटक संख्या १६ पुगेको छ ।

 

फ्रान्सले स्वैच्छिक सैन्य सेवा पुनःस्थापना गर्ने घोषणा गर्दै म्याक्रोन

पेरिस । रुसबाट बढ्दो सुरक्षा जोखिम र युरोपमा नयाँ द्वन्द्व भड्किन सक्ने चिन्ताबीच फ्रान्सले स्वैच्छिक आधारमा सैन्य सेवा पुनःस्थापना गर्ने निर्णय गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार घोषणा गरेका छन् । करिब तीन दशकअघिको अनिवार्य भर्ना अन्त्यपछि पहिलोपटक फ्रान्सले यस्तो कदम चाल्न लागेको हो ।

दक्षिणपूर्वी आल्प्स क्षेत्रमा तैनाथ पैदल सेना ब्रिगेडको भ्रमणपछि निर्धारित १००० जिएमटीको सम्बोधनमा राष्ट्रपति म्याक्रोनले ‘राष्ट्रिय सेवालाई नयाँ रूप’ दिने योजनाबारे आधिकारिक रूपमा विवरण सार्वजनिक गर्ने बताइएको छ । युक्रेनमाथि रुसले पूर्ण आक्रमण शुरू गरेको साढे तीन वर्षपछि आएको यस घोषणाले फ्रान्स र युरोपका अन्य मुलुकहरूबीच सुरक्षा सतर्कता झनै बढाएको छ ।

फ्रान्सका सशस्त्र बलका प्रमुख जनरल फेबियन म्यान्डनले हालै ‘फ्रान्स आफ्ना छोराछोरीहरू गुमाउन तयार हुनुपर्छ’ भन्ने चेतावनी दिँदै रुस सन् २०३० सम्ममा प्रत्यक्ष टकरावका लागि तयार हुँदैछ भनेपछि घरेलु बहस तीव्र बनेको थियो । राष्ट्रपति म्याक्रोनले भने जनरलका अभिव्यक्तिले युवाहरूलाई अग्रपङ्क्तिमा पठाइने हो कि भन्ने भ्रम सिर्जना गरेको भन्दै त्यस्तो धारणा पूर्णतः गलत भएको दोहोर्‍याएका छन् ।

राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार नयाँ सेवा पूर्णतः स्वैच्छिक हुनेछ । पहिलो वर्ष दुई हजारदेखि तीन हजार युवालाई तालिम दिने योजना छ भने आगामी वर्षहरूमा वार्षिक ५० हजार जनासम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । बजेटीय सीमितताका कारण कार्यक्रम चरणबद्ध रूपमा अघि बढाइने बताइएको छ ।

युरोपभरि सैन्य सेवाको अभ्यास असमान रहे पनि लाटभिया, लिथुआनिया र डेनमार्कजस्ता देशहरुले हालै सैन्य तयारी कडा पारेका छन् । फ्रान्समा भने अनिवार्य भर्ना पुनः लागू गर्ने कुनै योजना यो समयमा नरहेको पुष्टि गरिएको छ । सन् १९९७ मा तत्कालीन राष्ट्रपति ज्याक सिराकले अनिवार्य भर्ना समाप्त गरेका थिए ।

फ्रान्सेली सेनामा हाल करिब दुई लाख सक्रिय सैनिक र ४७ हजार रिजर्भिस्ट छन् । सन् २०३० सम्ममा यो सङ्ख्या क्रमशः दुई लाख १० हजार र ८० हजार पु¥याउने लक्ष्य छ । अधिकारीहरूको भनाइमा स्वैच्छिक सैन्य सेवा नयाँ सैनिक उत्पादन मात्र नभई, आवश्यकता परेमा बोलाइने योग्य ठूलो रिजर्भ बल तयार गर्ने उपाय पनि हो ।

जनरल म्यान्डनमाथि लगाइएका युद्धोन्मादका आरोपसम्बन्धी बहस चर्किँदै गइरहेको अवस्थामा फ्रान्सेली नेतृत्वले जनतालाई ‘फ्रान्सका युवाहरूलाई युक्रेन पठाइने’ भन्ने कुनै योजना नै नभएको आश्वस्त गरिरहेको छ । राष्ट्रपति म्याक्रोनले मङ्गलबार यस्तो भ्रम पूर्ण रूपमा हटाउन आवश्यक रहेको उल्लेख गरेका थिए ।

आमाको सम्मानमा जनकपुर बोल्ट्सको जर्सी (तस्बिरहरू)

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ : जनकपुर बोल्ट्सका खेलाडीहरूले आमाप्रति सम्मान व्यक्त गर्दै आ-आफ्नो आमाको नाम लेखेको विशेष जर्सी लगाएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

नेकपामा राजनीतिक यात्रा थाल्दै मुस्कान खातुनले भनिन्, ‘अनुहार जले पनि, सपना जलेको छैन’

काठमाडौं । तेजाब आक्रमणविरुद्धको अभियान चलाएर चिनिएकी र मानवअधिकारकर्मीका रूपमा सक्रिय मुस्कान खातुन अब औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् । राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एकता घोषणा कार्यक्रममा सहभागी हुँदै उनले आफ्नो व्यक्तिगत पीडा, पाँच वर्ष लामो संघर्ष र नयाँ राजनीतिक यात्राबारे खुलेर धारणा सार्वजनिक गरिन् ।

सम्बोधनको सुरुमै उनले आफ्नै जीवनको अत्यन्त पीडादायी अध्याय स्मरण गरिन्—तेजाब आक्रमण । तर त्यो घटनाले आफूलाई रोक्न नसकेको उनको दृढ आवाज सबैको ध्यान खिच्ने खालको थियो । ‘जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाएको छ’, मुस्कानले भनिन्, ‘तर मेरो सपना कहिल्यै जलेको छैन ।’

उनका अनुसार देशमा उनीजस्तै धेरै दिदीबहिनीहरू विभिन्न रूपका हिंसाबाट पीडित छन् । तेजाब आक्रमण अन्त्य गर्न पाँच वर्ष निरन्तर लडिरहँदा आफू सफल भएको बताउँदै उनले भनिन्, ‘तेजाब आक्रमण मात्रै हिंसा होइन, देशभरि नदेखिएका धेरै हिंसाहरू छन् । सबै खाले हिंसा अन्त्य गर्न अब हामी सबै एकजुट हुनुपर्छ ।’ युवा पुस्ता-विशेषगरी जेनजीतर्फ इंगित गर्दै मुस्कानले नयाँ पुस्ताको सोच, आकांक्षा र भोलिको नेपालको दिशाबारे बोलेकी थिइन् । ‘जेनजीले चाहेको देश प्रगति होस्, भ्रष्टाचार अन्त्य होस्’, उनले भनिन्, ‘त्यही चाहनाका साथ म आज नेकपामा जोडिएकी छु । हामी सबै एकताबद्ध हुन सके देश बदलिन्छ ।’

उनले भ्रष्टाचार, सामाजिक वैमनस्य र हिंसाको अन्त्य सम्भव छ भन्दै युवाहरूलाई पछाडि नफर्कन आग्रह गरिन् । राष्ट्रप्रतिको गर्वलाई जोड दिँदै उनले भनिन्, ‘हामी जहाँ गए पनि, सबैभन्दा पहिला हाम्रो पहिचान—हामी नेपाली। त्यसमा गर्व गर्न सक्नुपर्छ ।’ सम्बोधनको अन्त्यतिर उनले प्रचण्ड र माधवकुमार नेपाललाई धन्यवाद दिंदै भनिन्, ‘मलाई आक्रमण गर्नेले मेरो अनुहार जलायो । तर मेरो विश्वास, मेरो आवाज र मेरा सपना जलाउन सकेन । जेनजी, तपाईंहरूले चलाइरहनु भएको यो कदम कहिल्यै नरोक्नुस् । देश परिवर्तन हुन्छ ।’ मुस्कान खातुनको राजनीतिक प्रवेश केवल पार्टी परिवर्तन होइन, हिंसाबाट बाँचेर उठेको एउटी युवतीको दृढता, संघर्ष र आशाको निरन्तर यात्राको अर्को अध्याय बनेको छ ।

मुस्कानको सम्बोधन :

मेरो नाम मुस्कान खातनु हो । म तेजाब आक्रमणको अभियन्ता तथा मानव अधिकारकर्मी । आजभन्दा पाँच वर्षअघि मसँग तेजाब आक्रमण भएको थियो । यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर म पाँच वर्षसम्म लगातार लागिरहेँ । तेजाब आक्रमणलाई अन्त्य गर्न सफल पनि भएँ । तर मलाई के लाग्छ भने तेजाब आक्रमण मात्रै हिंसा होइन । यस्ता धेरैवटा हिंसा छ, जुन दिदीबहिनीले खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसालाई अन्त्य गर्न जरुरी छ । आज म जेनजी भएकाले सम्पूर्ण जेनजीको विचार बुझेको कुरा भन्न चाहन्छु ।

जेनजीले चाहेको हाम्रो देश प्रगति होस् । हाम्रो देशमा भएको भ्रयष्टाचारको अन्त्य होस् भन्ने चाहना छ । म नेपाली कम्युनिस्ट पार्टीमा म जोडिएको छु । सम्पूर्ण जेनजीलाई अनुरोध गर्छु कि हामी एकता हुन जरुरी छ । हामी एकता भयौं भने हाम्रो देश प्रगति हुनेछ । भ्रष्टाचारको अन्त्य हुनेछ । अवश्य पनि भ्वाइलेन्सको पनि अन्त्य हुनेछ । हामी एकजुट भएर काम गरौं । देशका लागि बाचौं, देशका लागि मरौं । म नेपाली भएर कारणले गर्दा सबैभन्दा पहिला चिनिने हाम्रो देश हो । हामी नेपाली हुँ भनेर गर्व गर्न जरुरी छ । माटोलाई पहिचान गर्न जरुरी छ । जुनसुकै देशमा भए पनि म नेपाली हुँ भनेर प्राउड फि गर्न जरुरी छ । त्यसैगरी यहाँ हाम्रो उपस्थित हुनुभएका प्रचण्ड, माधव कुमार नेपालज्यूलाई धेरै धेरै धन्यवाद । जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाइ तेजाब आक्रमण गरेको थियो । उसले मेरो अनुहार जलाएको छ, मेरो सपना जलाएको छैन । सम्पूर्ण जेनजीलाई के भन्न चाहन्छु भने जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।

काठमाडौं महानगरले भत्कायो बल्खुस्थित अव्यवस्थित अस्थायी टहरा (तस्बिरहरु)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नं. १४ बल्खुस्थित अव्यवस्थित टहरा भत्काएको छ ।

बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढीपीडित सुकुम्वासीहरूले बनाएका अस्थायी टहराहरू भत्काएको हो ।

प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन् । महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए । विद्यालय सञ्चालनमा बाधा पु¥याइरहेका थिए । यो घटना महानगरपालिकाको अनधिकृत संरचना हटाउने निरन्तर अभियानको हिस्सा हो ।

अनुप प्रधान: न्युज एजेन्सी नेपाल

चुनावमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । निर्वाचन सुरक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले एक विज्ञप्ति जारी गर्दै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिइएको हो । मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

पोखराले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दैछ । एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । जनकपुरले बलिङको निम्तो पाएको छ । पोखरा एभेन्जर्सले आज एक परिवर्तन गरेको छ । अभिषेक तिवारीको स्थानमा तृतराज दास पहिलो रोजाइमा परेका छन् ।

जनकपुरले भने आज तीन परिवर्तन गरेको छ । लाहिरु मिलान्था, संगिथ कुरे र आदित्य महताको स्थानमा आज वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकार पहिलो रोजाइमा खेल्दै छन् । यी दुवै टोलीले यसअघि दुई-दुई खेल खेलेका छन् । दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।

पोखरा एभेन्जर्सको टोली– कुशल भुर्तेल, दिनेश खरेल, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सुमित वर्मा, एडम रोसिङटन, डेनियल डाउथवेट र जिम्मी निसम ।

जनकपुर बोल्ट्सको टोली – अनिलकुमार शाह, आशिफ शेख, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, मयन यादव, आदित्य महतो, रुपेशकुमार सिंह, वायने प्रनिल, माज सदाकत, जान निकोल लफ्टी–इटोन र संजय कृष्णमूर्ति ।

मुस्कान खातुन नेकपामा प्रवेश, केन्द्रीय सदस्यको जिम्मेवारी

काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छिन् । राष्ट्रिय सभागृहमा आज (बिहीबार) आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेकी हुन् । त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोककुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले स्वागत गरेका छन् । उनलाई पार्टीले केन्द्रीय समिति सदस्य पनि बनाउने निर्णय गरेको छ । सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराएका छन् ।

वीरगञ्जकी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आई.डब्ल्यू.ओ.सी.) सम्मान प्रदान गरेको थियो । राष्ट्रिय सभागृहको कार्यक्रमबाट अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम पनि समाहित भएका छन् ।

पूर्व सभामुख महरालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा पक्राउ गरेको थियो ।

त्यस्तै असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो ।
गत वर्षको ९ चैतमा उनलाइ जिल्ला सरकारी वकिलको कार्यलयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उच्चले महरामाथि लागेको अभियोग दाबी तथा संकलित सबूत प्रमाण, उमेर र स्वास्थ्य अवस्था समेतलाई मध्यनजर गर्दै पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत वा बैंक जमानत लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।

 

एकीकृत समाजवादी र माओवादीको एकता अराजनीतिक, चार टुक्रा हुन्छन् : घनश्याम भूसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानमा लागेका नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच भएको एकतालाई अराजनीतिक र असैद्धान्तिक भएको आरोप लगाएका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भूसालले एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँगको एकता केवल अवसरवादमा आधारित भएको स्पष्ट पारे ।

भूसालले भने, ‘यो एकता कतातिर गयो भन्दाखेरि एमालेभन्दा बाहिर अर्को शक्ति छ, ध्रुव छ भनेर देखाउने र त्यसपछि त्यही एमाले वा कांग्रेससँग बार्गेनिङ गर्ने, सत्ताका लागि सौदेबाजी गर्ने र केही नेताहरूको उम्मेदवारी सुनिश्चित गर्ने बाहेक यसको कुनै राजनीतिक आधार छैन।’ उनले सत्ताको मोह र केही नेताका कुर्सी सुरक्षित गर्ने उद्देश्यले मात्रै एकता गरिएको आरोप लगाए ।

नेता भूसालले पार्टीभित्र सैद्धान्तिक र वैचारिक बहस सुरु भए तत्काल नेकपा चार टुक्रा हुने चेतावनी दिए । उनले भने, ‘अब हाम्रो क्रान्तिको बाटो के हो, बहुदलीय जनवाद, महाकाली सन्धि, एमसीसी जस्ता विषयमा छलफल सुरु भए दल विभाजन हुनसक्छ । हिजो एमालेभित्र उठेका सैद्धान्तिक प्रश्न आज एकीकृत समाजवादीमा पनि उस्तै बल्झिएका छन्, र त्यहाँ पनि बहसमा कुरा मिल्दैन ।’ भूसालले प्रचण्ड र माधव नेपालबीचको एकता केवल गिरोह पालेर सत्ता दोहन गर्ने मोहका कारण सम्भव भएको बताए । उनले दलको नेतृत्वलाई वास्तविक क्रान्तिकारी दिशा दिने अवसर गुमेको र आफूहरू अल्पमतमा परेर बहसमा सहभागी हुन नसकेको बताए ।

उनले पार्टीमा रहेको बहुमत संरचनालाई पनि प्रश्न गर्दै, नेताले जतिसुकै ठूलो अपराध गरे पनि बहुमतमा रहने प्रवृत्ति पार्टीको कमजोरी भएको औंल्याए । भूसालको निष्कर्ष अनुसार, नेकपा एकीकृत समाजवादी–माओवादी केन्द्रबीचको एकता टिकाउन नेतृत्वले वैचारिक वा सैद्धान्तिक बहस नगर्ने सहमति बनाएको हुनसक्छ, जसले गर्दा चुनाव र उम्मेदवारी जस्ता सीमित मुद्दा बाहेक अन्य कुनै चर्चा सम्भव छैन । यसबाट स्पष्ट हुन्छ कि भूसालको दृष्टिमा, वर्तमान एकता दीर्घकालीन स्थायित्व वा वैचारिक मजबुतीका लागि नभई केवल सत्तासम्बन्धी रणनीति र व्यक्तिगत हितमा आधारित छ ।

नेकपासँग चार दल समाहित, यस्ता छन् १० बुँदे सहमति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, एकीकरण पक्षधर समूहबीच पार्टी एकताको भएको छ । त्यसअघि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र जसपाको एकीकरण पक्षधरका नेता राजेन्द्र प्रसाद श्रेष्ठबीच पार्टी एकताको १० बुँदे सहमति भएको थियो ।

नेपाली कम्युनिष्ट पार्टीमा आज जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीच एकता घोषणा भएको हो । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । जसपासहित ४ घटकबीचको एकता सभा अहिले जारी छ ।
हेर्नुस् सहमति

 

 

जेन–जी आन्दोलन : अपराधिक कार्यमा संलग्न ५९५ जना पक्राउ, २८३ विरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताएका छन् । बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अयर्नलले यस्तो बताएका हुन् । उनकाअनुसार हालसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएको छ । उनले जेन–जी आन्दोलनका क्रममा जेल ब्रेक गरी भागेका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइएको पनि बताए ।

बाँकी ४ हजार ८सय ५७ फरार कैदीको खोजीका लागि विशेष अपरेशन प्रक्रिया जारी रहेको पनि बताए । उनले जेन–जी आन्दोलनको क्रममा अपराधिक घटनामा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएकोमा २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको पनि बताए । उनले आगामी आम निर्वाचनमा सुरक्षाका लागि सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भइसकेको जानकारी समेत गराए । उनले सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन हुँदै आएको पनि बताए । सुरक्षा निकायहरुको सुदृढीकरणका लागि आवश्यक उपकरण र सवारी साधन किन्न स्रोत सुनिश्चित गरिएको बताउँदै उनले नेपाल प्रहरीका लागि २ सय ६२ सवारी, सशस्त्र प्रहरीका लागि १ सय ९९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे ।

उनले भने, ‘हराएका हातहतियार तथा खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरुले सूचना आदानप्रदान गरी कार्ययोजना बनाइ संयुक्त रुपमा प्रभावकारी ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिई कार्यान्वयन गरिएको छ । हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइएको छ । जेन–जी आन्दोलनको क्रममा कारागार तथा बन्दीगृहबाट भागेका तथा फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइसकिएको छ । बाँकी ४ हजार ८ सय ५७ जनालाई फिर्ता ल्याउन विषेश अपरेशन सञ्चालन गरिएको छ । भाद्र २३ र २४ गतेको घट्नासँग सम्बन्धीत अपराधमा संलग्नमध्ये कुल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था छ ।’

उनले भने, ‘अगामी निर्वाचन प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेना परिचालनको लागि सेना परिचालन गर्न लेखि पठाइ राष्ट्रि सुरक्षा परिषद्बाट निर्णय समेत भइसकेको अवस्था छ । जिल्लागत र प्रदेशगत सुरक्षा चुनौती तथा अवस्थाको जानकारीका साथै सुरक्षा तयारीका लागि सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने, केन्द्रीय सुरक्षा समितिको निर्णयबमोजिम लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न समेत भइसकेको छ ।’

गृहमन्त्री अर्यालले थपे, ‘बाँकी प्रदेशहरुमा पनि पुसभित्र सम्पन्न गर्नेगरी तयारी भइरहेको अवस्था छ । निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढिकरणको लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १ सय ५६ वटा र थप बजेटबाट १ सय ६ वटा गरी कुल २ सय ६२ थान सवारी तथा सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ र थप बजेटबाट ५० वटा गरी कुल १ सय ९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप ६ वटा सवारी खरिदको लाग स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको छ ।’ उनले प्रतिनिधि सभा सदस्य निर्वाचन घोषित मितिमा सम्पन्न गर्न सरकार कटिवद्ध रहेको पनि बताएका छन् ।

 

 

 

‘मंगेतर’ को बचाउ गर्दै साम्राज्ञीले भनिन्–छोरा भए पनि विशालको विवाह भएको छैन

काठमाडौं । कलाकार तथा मोडेल विशाल खरेलसँगको ‘इन्गेजमेन्ट’ का कारण विवाद र आलोचनामा परेकी चर्चित अभिनेत्री साम्राज्ञी शाहले आफ्नो सम्बन्धको बचाउ गर्दै मुख खोलेकी छन् । दुई वर्षको बच्चाको बुवासँग इन्गेजमेन्ट गरेको भन्दै आलोचना खेपिरहेकी उनले सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै खरेलसँग इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नरहेको स्पष्ट पारेकी छिन् ।

‘मंगेतर’ पछि आफूहरू कानुनी रूपमा बलियो बनेको जनाउँदै उनले इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नभएको बताएकी छन् । विशालको विवाह नभएको दाबी गर्दै उनले प्रेमिकासँगको सम्बन्धबाट बच्चा जन्मिएको बताएकी छन् । उनले भनेकी छन्, ‘अर्को कुरा, उनले मलाई स्पष्टै भनेका थिए कि उनको एक्स–गर्लफ्रेण्डसँगको एउटा छोरा छ । उनीहरूको कहिल्यै विवाह भएको थिएन ।’ प्रेमिकासँगको सम्बन्धबाट बच्चा जन्मिएकाले उनीहरूको सम्बन्ध विच्छेद हुन आवश्यक नरहेको साम्राज्ञीले तर्क गरेकी छन् ।

उनले भनेकी छन्, ‘तपाईंहरू सधैं प्रमाण बिना नै सबैभन्दा नराम्रो कुरा मात्रै विश्वास गर्नु हुन्छ । भावनात्मक रूपमा कुरालाई अन्तै मोड्नु हुन्छ, जुन म बुझ्छु । तर तपाईंहरूले सार्वजनिक रूपमा पुर्‍याएको क्षति के ? झुटमाथि झुट ?’ आफू र आफ्नो ‘मंगेतर’ माथिको प्रहार बन्द गर्न आग्रह गर्दै साम्राज्ञीले अहिले पनि विशालले पूर्व प्रेमिकाबाट मानसिक रूपमा तनाव खेपिरहेको दाबी गरेकी छन् । अहिले पनि विशाललाई उनले ब्ल्याकमेल गर्ने गरेको साम्राज्ञीको भनाइ छ । विशालले भने साम्राज्ञी र उनको पूर्व प्रेमिकाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

 

 

बिनोदको अर्धशतकमा सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स विरुद्ध जित निकालेको छ ।

जारी सिजनमा सुदूरपश्चिको अपराजित यात्रा कायमै रहेको छ । यस टिमले अघिल्ला तीन खेलमा कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई हराएको थियो । अहिलेको अवस्थामा शत प्रतिशत जित निकाल्ने सुदूरपश्चिचम यस सिजनको एकल टिम हो ।

लुम्बिनीको यो तेस्रो हार हो । अघिल्ला तीन खेलमा लुम्बिनीले काठमाडौं र काठमाडौंलाई हराएको थियो भने चितवन राइनोजसँग जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट भएको बिहीबारको पहिलो खेलमा लुम्बिनी ७ विकेटले पराजित भएको हो । टस जितेर १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १४५ रन बनायो ।

सुदूरपश्चिमको जितका लागि ओपनर बिनोद भण्डारीको ब्याटिङ निर्णायक बन्यो । उनले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजीत ६९ रन जोडे । उनी नै यस इनिङमा सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । उनको नाममा सिजनको १२ औं अर्धशतक दर्ज भएको छ ।

सुदूरपश्चिका ओपनर जोश ब्राउन ब्याटिङका चलेन । उनी ९ रन बनाएर दोस्रो ओभरको दोस्रो बलमा आउट भए ।

चौथो ओभरको पाँचौँ बलमा लुम्बिनीले सुदूरपश्चिमको दोस्रो विकेटका रुपमा क्रिस लिनलाई आउट गर्‍यो । क्रिसले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा १६ रन जोडे । उनी चौथो ओभरको पाँचौँ बलमा आउट भए ।

लुम्बिनीले तेस्रो विकेट लिन निकै संघर्ष गर्‍यो । दोस्रो विकेट झरेपछि १३ ओभरको संघर्षपछि सुदूरपश्चिमले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई आउट गर्‍यो । आरिफले ३७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे ।

तेस्रो विकेटको साझेदारी लुम्बिनीका लागि महँगो साबित भयो । यस विकेटका लागि सुदूरपश्चिमका विनोद र आरिफले ९९ रनको साझेदारी गरे ।

परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सुरक्षा र सामाजिक न्यायबीचको अपरिहार्य सम्बन्धमा जोड दिँदै परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छन् । आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल जस्तो विकासशील मुलुकमा सामाजिक सुरक्षा प्रणालीलाई अन्तरपुस्ता लागत सन्तुलन र समानतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले यस विषयमा थप स्पष्ट गर्दै भनिन्, ‘मेरो न्याय क्षेत्रमा लामो समय काम गरेको अनुभवले सामाजिक न्यायको महत्त्व झन् प्रष्ट पार्दछ, तर मेरो नयाँ भूमिकाको जिम्मेवारी हेर्दा बुझ्नुपर्‍यो कि परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय हासिल गर्न सकिँदैन।’
उनले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को सफल कार्यान्वयनबाट हरेक नागरिकलाई स्वदेशमै श्रम गरेर जीविकोपार्जन गर्ने वातावरण निर्माण हुने र यसले समग्र उत्पादनमूलक क्षमता अभिवृद्धि गर्ने आधार तयार पार्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षालाई समाजिक ऐक्यबद्धताको आधारमा हेर्नुपर्नेमा जोड दिँदै कार्कीले यस प्रणालीले धनीले गरीबलाई, निरोगीले रोगीलाई संरचित र न्यायोचित तरिकाले सहयोग गर्न सक्ने वातावरण बनाउने बताइन् । उनले कि ऐनको त्रिपक्षीय संयोजनबाट हरेक वर्गको सहभागिता सुनिश्चित गरी सामाजिक सुरक्षा प्रणालीलाई दीगो र सक्षम बनाउने सम्भावना रहेको बताइन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले संघीय सरकारका मन्त्रीहरुसँग छलफल भइरहेको जानकारी दिइन् ।

उनले औपचारिक क्षेत्रका अनिवार्य आवद्धता, अनौपचारिक क्षेत्रमा कानूनी योगदान, सरकारी करार कर्मचारीको कोषमा आवद्धता र कोषको रकमको न्यायोचित प्रयोगलगायत विषयमा स्पष्ट दिशा दिने आवश्यकतामा जोड दिइन् । निजी क्षेत्रका रोजगारदातालाई पनि सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन आग्रह गर्दै उनले प्रत्येक श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम राष्ट्र निर्माण र सार्थक लगानीमा प्रयोग गर्नुपर्ने बताइन् । यसरी मात्र कोषको दैनिकी बढ्दै जाँदा त्यसलाई प्रभावकारी ढङ्गले राष्ट्र निर्माणमा उपयोग गर्न सकिने उनको भनाइ थियो । प्रधानमन्त्री कार्कीको सम्बोधनले नेपालको सामाजिक सुरक्षा प्रणालीलाई थप दिगो, समावेशी र उत्पादनमुखी बनाउने दिशामा नयाँ ऊर्जा प्रदान गरेको छ । यसले नागरिकको राज्यप्रति अपनत्व र सामाजिक न्यायको अनुभूति बढाउने अपेक्षा गरिएको छ ।

 

सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको रकम सही ठाउँमा लगानी गरौं : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरुमा परिचालन गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रुपमा सदुपयोग नभएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनकाअनुसार लगानी गर्नका लागि कार्यविधि बाधक भए त्यसलाई सच्चाउनु पर्छ । कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म त्यसको अर्थ नरहने ढकालको भनाइ रहेको छ । ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरु अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्न आग्रह गरे । उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । ढकालकाअनुसार साना तथा मझौला उद्योगहरुलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्छ ।

महासंघ अध्यक्ष ढकालले भने, ‘अहिले वास्तवमा सबै पैसा चाहे फिक्समा भनौं चाहे विभिन्न बन्डमा राख्ने गरिएको छ । यसलाई रोजगारी सिर्जना गर्ने र अवसर भएको उत्पादनमुलक क्षेत्रमा लगानी गरेर आम्दानी बढाउनु पर्छ । अहिलेको पोलिसि जुन छ, त्यो बाधक पनि रहेको छ। यसलाई परिवर्तन गर्नुपर्छ ।’ औद्योगिक क्षेत्र, ट्रेड युनियन मजदुरबीचमा असल श्रम सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालकाअनुसार श्रमिकको कल्याणका लागि कोषसँग निजी क्षेत्र सहकार्यका लागि तयार रहेको छ । असल सुमधुर सम्बन्ध कायम गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको उनको भनाइ छ ।

 

विशेष महाधिवेशन पक्षधरको चेतावनी : अविश्वसनीय कार्यतालिकाले रोकिन्न, चुनावमा जान सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टीको वर्तमान नेतृत्वलाई चुनाव अघि विशेष महाधिवेशन नगरी अघि बढ्न नहुने चेतावनी दिएका छन् । उनीहरूले पार्टी विधान र जनअपेक्षाको पालना नगरी निर्णय लिन नसक्ने नेतृत्व लिएर चुनावमा जाने अवस्था अस्वीकार्य भएको बताएका छन् ।

विशेष महाधिवेशन पक्षधरको भनाइ अनुसार, पार्टीमा आउने नियमित महाधिवेशनको कार्यतालिका विशेष महाधिवेशनको मागलाई कमजोर बनाउन प्रयोग गरिएमा त्यो स्वीकार्य हुने छैन । उनीहरूले स्पष्ट पारेका छन् कि वर्तमान कार्यसमितिको समयावधि बढाइएर नियमित महाधिवेशन सम्पन्न भए मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ । नत्र, पार्टी विधानले दिएको वैधानिक अधिकार—विशेष महाधिवेशन—कसैले रोक्न वा अतिक्रमण गर्न सक्दैन ।

पक्षधरहरूले महाधिवेशनको कार्यतालिका मात्र नभई यसको सुनिश्चितता खोजेको बताएका छन् । उनीहरूका अनुसार, ‘हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं ।’ पार्टी विधान अनुसार विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र अनिवार्य रूपमा आह्वान गर्नुपर्ने अवस्था रहेको छ।

नेता देवराज चालिसेले पत्रकार सम्मेलनमा भने, ‘विधानभन्दा माथि कोही छैन । पार्टीका नेता–कार्यकर्ताको मनोबल उकास्ने नेतृत्व लिएर मात्रै चुनावमा जान सकिन्छ । हामीले पार्टीको संरचनागत सुधार गर्ने गरी विशेष महाधिवेशन माग गरेका हौं ।’ उनले अहिलेको नेतृत्व डेढ महिनादेखि निर्णय गर्न नसकेको उल्लेख गर्दै यस्तो नेतृत्वसँग चुनावमा जान नसकिने बताए । चालिसेले थपे, ‘महाधिवेशन समयमै सम्पन्न नभएमा पार्टी कमजोर हुन्छ । समयमै विशेष महाधिवेशन गरेर जनअपेक्षाको नीति अख्तियार गर्दै बलियो र सच्चिएको कांग्रेस लिएर चुनावमा जानुपर्नेछ ।’ उनले पार्टीको केन्द्रीय नेतृत्वले विधान पालना नगरेको आरोप पनि लगाए ।

विशेष महाधिवेशन पक्षधरले वर्तमान नेतृत्वलाई यस विषयमा गम्भीर हुन आग्रह गर्दै, ‘दुई दिनमा गर्न सकिने निर्णय डेढ महिनासम्म गर्न नसक्ने नेतृत्व सक्षम नेतृत्व होइन। यही कारणले विशेष महाधिवेशनको महसुस भइरहेको छ । हस्ताक्षरकर्ताको विषयमा छलफल गरी विशेष महाधिवेशन बोलाउनु पर्छ’, भनि वक्तव्यमा उल्लेख गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि विशेष वा नियमित महाधिवेशनको निर्णयमा अलमल गरिरहेको छ । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग अघि सारेको भए पनि नेतृत्वले बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिएको छ । पक्षधरहरूले चेतावनी दिएका छन् कि निर्णय गर्न नसक्ने वर्तमान नेतृत्व लिएर चुनावमा जानु पार्टीको हित र लोकतन्त्रको हित विपरीत हुनेछ । यसैबीच पार्टीमा लामो समयदेखि देखिएको अन्योल र निर्णयहिनताले कांग्रेसलाई गम्भीर संकटको मोडमा पुर्‍याएको आरोप पनि उनीहरूले लगाएका छन् ।

हेर्नुस् विज्ञप्ती

 

 

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकताको सहमति, चुनाव चिन्ह हँसिया

काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) औपचारिक रूपमा एकीकृत भएका छन् । दुवै पक्षका शीर्ष नेताहरूले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी गठन तथा आगामी राजनीतिक अभियानबारे संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

सहमतिअनुसार एकीकरणपछि गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी संयुक्त’ रहनेछ । चुनाव चिन्हका रूपमा हाल नेकपा (संयुक्त) प्रयोग गर्दै आएको हँसियालाई निरन्तरता दिने निर्णय गरिएको छ । त्यस्तै झण्डामा परम्परागत कम्युनिष्ट प्रतीकसहित बौद्धिक श्रमको प्रतिनिधित्व गर्ने संकेत थपिने बताइएको छ ।

नेताहरूका अनुसार केही दिनमै औपचारिक एकता घोषणा कार्यक्रम सम्पन्न गरिने छ भने दुई महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने सहमति जुटेको छ । अबदेखि पुनर्गठन अभियान पनि नयाँ पार्टीकै ब्यानरबाट सञ्चालन हुनेछ । सहमति पत्रमा दुवै पक्षले माक्र्सवाद–लेनिनवादका सिद्धान्त, मानव जातिले हासिल गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरू तथा वैज्ञानिक समाजवादको लक्ष्यलाई मार्गदर्शक बनाउँदै कम्युनिष्ट आन्दोलनलाई आधुनिक रूपले विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्व साम्राज्यवाद, वित्तीय पुँजीवाद र त्यसले सिर्जना गरेका असमानता, शोषण, विभेद र युद्धविरुद्ध अन्तर्राष्ट्रिय एकता र प्रगतिशील मूल्यहरूको पक्षमा उभिने उल्लेख छ । साथै, दलाल पुँजीवादको स्थानमा राष्ट्रिय पुँजी विस्तार, १०–१२ वर्षभित्र सबै नेपालीका लागि रोजगारी सुनिश्चित गर्ने, भ्रष्टाचार तथा अपारदर्शिताको अन्त्य गर्दै सुशासन स्थापना गर्ने र समाजवादको आधार निर्माणलाई आगामी सम्मेलनले ठोस कार्यभारका रूपमा अघि सार्ने प्रतिबद्धता पनि सहमति–पत्रमा समावेश गरिएको छ ।

 

 

देउवाले कांग्रेसका ‘सात भाइ’ सँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समयलाई लिएर चर्को बहस चलिरहेकै बेला सभापति शेरबहादुर देउवाले आफू निकट सात पूर्व पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । ‘कांग्रेसका सात भाइ’ भनिने विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र प्रकाशशरण महतसँग देउवाले प्रत्यक्ष संवाद गर्न लागेका हुन् ।

१५ औं महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने विषयमा पार्टीभित्रै मतभेद रहँदै आएको छ । निधि, सिटौला र सिंहलगायतका नेता निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । डेढ महिनादेखि यही विवाद अल्झिँदै आएपछि सभापति देउवाले फेरि व्यापक समन्वयका लागि शीर्ष नेताहरूलाई बोलाएका हुन् । नेता निधिले सभापतिको निम्तो आएको पुष्टि गर्दै आफू फागुनमा निर्वाचन र वैशाखमा महाधिवेशन गर्ने पक्षमा रहेको बताए । देउवा फर्किएपछि पनि विभिन्न समूहसँग छुट्टाछुट्टै भेटघाट भइरहेका छन् । विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता लिन–नलिनेतर्फ समेत नेताहरू दोधारमा छन् । हस्ताक्षर फिर्ता भए पुसमै महाधिवेशन गर्ने माग छ भने नियमित महाधिवेशन भए हस्ताक्षर स्वतः निष्क्रिय हुने धारणा अर्को समूहको छ ।

यसैबीच ऋषि लेखक, गगन थापा, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का लगायत नेताहरूबीच पनि सहमतिमूलक विकल्प खोज्ने प्रयास जारी छ । लेखकका अनुसार विशेष महाधिवेशनले पार्टीमा विभाजन निम्त्याउन सक्ने भएकाले सबैलाई स्वीकार्य समाधान निकाल्नेतर्फ छलफल केन्द्रित छ । विभिन्न विकल्पमाथि कुराकानी हुँदै आएको र भोलिसम्म केही टुंगो लाग्न सक्ने उनको भनाइ छ ।

संस्थापन पक्षका उदयशमशेर राणा र पुष्पा भुसालले पनि विशेष महाधिवेशन समर्थक नेताहरूसँग छुट्टै भेट गरी नियमित महाधिवेशनलाई नै अघि बढाउन आग्रह गरेका थिए । विशेष महाधिवेशनका पक्षधरले भने आफूहरू महाधिवेशन प्रक्रियाप्रति प्रतिबद्ध रहेको पुनः दोहो¥याइरहेका छन् । आजै कार्यवाहक सभापति तथा महामन्त्रीद्वयसहितको अर्को बैठक पनि निर्धारित छ । पटक–पटक सारिँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्ने गरी तयारी गरिएको छ ।

 

 

नेकपामा समाहित नहुने विघटित नेकपा एस कैलालीको निर्णय

कैलाली । कैलालीमा विघटित नेकपा समाजवादी (एस) को जिल्ला कमिटीले माओवादी केन्द्रलगायत १२ घटक मिलेर निर्माण भएको नयाँ नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ मा समाहित नहुने निर्णय गरेको छ । जिल्लाका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट घोषणा गरेका हुन् ।

धनगढीमा भोलि आयोजित ‘एकता सन्देश सभा’ को पूर्व सन्ध्यामा आएको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा थप चर्चा पैदा गरेको छ । प्रचण्ड र माधवकुमार नेपाल उपस्थित रहने उक्त सभालाई केन्द्रय राजनीतिक महत्वको रूपमा हेरिएको छ ।
१२१ सदस्यीय जिल्ला कमिटीमध्ये ९१ जना उपस्थित बैठकले एकमतले नयाँ नेकपामा नजाने निष्कर्ष निकालेको अध्यक्ष विमलकुमार जोशीले बताएका छन् । उनका अनुसार प्रचण्ड र केपी शर्मा ओलीले विगतमा जस्तै एकता–विघटनको खेल दोहो¥याउँदै कम्युनिष्ट आन्दोलन नै क्षय भएको महसुस भएकाले आफूहरू सहभागी नहुने निर्णयमा पुगेका हुन् ।

जोशीले वास्तविक कम्युनिष्ट आन्दोलन जोगाउन इच्छुक पक्षसँग सहकार्य खुला रहने संकेत दिए । उनीहरूद्वारा जारी विज्ञप्तिमा १३ दल सहभागी भएको अहिलेको एकतालाई अर्थहीन बताउँदै, सहभागी पक्षहरूलाई न आधारभूत संगठन रहेको न त एकीकृत वैचारिक दिशानिर्देश रहेको टिप्पणी गरिएको छ ।

विज्ञप्तामा नयाँ नेकपा ‘शाहीकालका मन्त्रीदेखि विविध जातीय–क्षेत्रीय मुद्दा उठाउने तथा गैर–कम्युनिष्ट धारणा बोकेका समूहहरूको मिश्रण’ भएको आरोप लगाइएको छ । प्रचण्ड–नेपाल नेतृत्वले कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाइरहेको निष्कर्षसमेत उल्लेख छ । जिल्ला कमिटीको बैठकले एमाले समेत केपी ओलीको नेतृत्वमा ‘विसर्जनतर्फ धकेलिएको’ ठहर गर्दै कम्युनिष्ट सिद्धान्तमा आधारित नयाँ पुनर्गठन प्रक्रियामा लाग्न आह्वान गरेको छ ।

सुदूरलाई चौथो जित निकाल्न लुम्बिनीले दियो १४४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी २ बल अगावै १ सय ४३ रनमा अलआउट भयो।

१७ औँ ओभरमा लगातार ३ विकेट गुमाएपछि लुम्बिनीले विशाल योगफल तयार पार्न सकेन। १७ औँ ओभरको दोस्रो बलमा गुल्बदिन नइव ११ रन बनाउँदा विकेट किपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे। सोही ओभरको पाचौँ बलमा रुवेन ट्रम्पलम्यान कप्तान दीपेन्द्र सिंह ऐरीको हातबाट रनआउट भए। लगत्तै ओभरको अन्तिम बलमा दिलीप नाथ विकेट किपर भण्डारीकै हातबाट आउट हुन पुगे।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो उनले ३६ बलमा ३ चौका प्रहार गरेका थिए।

दिलिप नाथ ३१ रन बनाउँदै क्याच आउट भए। ओपर्न डार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाउँदै पेभेलियन फर्के। शेर मल्ल ४ रनमा बोल्ड आउट भए।

सुदूरपश्चिमका लागि अविनास बोहोराले ३ विकेट लिए। अविनासले आफ्नो स्पेलमा २६ रन दिए। हरमित सिंहले ३ विकेट झारे। अरमितले ३.३ ओभरमा २२ रन खर्चे। हेमन्त धामीले २ विकेट लिए। स्कट कुगेलाइनल एक विकेट झारे।  सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

पक्राउ परेका विद्यार्थी नेता ढुङ्गेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विद्यार्थीहरूलाई फोटो–भिडियोका आधारमा सरकारले छानछानी पक्राउ गरेको भन्दै अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले कडा आपत्ति जनाएको छ । समितिका इञ्चार्ज निरोज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सरकारले शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थीमाथि गरेको दमन, गिरफ्तारी तथा राजनीतिक प्रतिशोधपूर्ण गतिविधि तत्काल रोक्न माग गरिएको छ ।

विज्ञप्तिमा नेपाल ल’ क्याम्पसका पूर्व अध्यक्ष तथा स्ववियुका पूर्व सभापति, अधिवक्ता विष्णु ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागी घटनाका ‘मुख्य आरोपी’ का रूपमा प्रस्तुत गर्दै गरिएको गिरफ्तारी अन्यायपूर्ण भएको उल्लेख छ । समितिले उक्त कदमलाई ‘राजनीतिक प्रेरित’ र ‘पूर्व नियोजित दमन’ को रूपमा व्याख्या गरेको छ ।

अखिल (क्रान्तिकारी) ले आन्दोलनका क्रममा विगतमा भएका दमनका घटनाहरू स्मरण गर्दै ७२ जनाको हत्या गर्न आदेश दिएको आरोप लागेका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी नेतृत्व तथा आन्दोलनकै नाममा हत्या गराउनेहरूविरुद्ध कारबाही नहुँदा उल्टै विद्यार्थीहरू लक्ष्य बनिनु अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी गरेको छ । जेनजी आन्दोलनका घटनाहरूको अनुसन्धानका लागि जाँचबुझ आयोग गठन भइसकेको भन्दै समितिले आयोगमार्फत नै निष्पक्ष छानबिन हुनुपर्ने माग पुनः दोहोराएको छ ।

समितिको भनाइअनुसार, भदौ २३–२४ का केही दृश्य र क्लिपलाई मात्र आधार बनाएर विद्यार्थीहरूलाई योजनाबद्ध रूपमा गिरफ्तार गर्नु स्वीकार्य हुँदैन । समितिले भदौ २४ मा देखिएका तोडफोड तथा हिंसात्मक गतिविधि वास्तविक घुसपैठ समूहले नै गराएको दाबी गर्दै त्यसबारे छानबिन र कारबाही ती व्यक्तिहरूमाथि मात्र गर्नुपर्ने बताएको छ । विज्ञप्तिमा अन्त्यमा विष्णु ढुङ्गेलसहित अन्य युवा विद्यार्थीलाई बिना शर्त तुरुन्त रिहाइ गर्न सरकारसँग माग गरिएको छ ।

एसिसी यू–१९ प्रिमियर कपः नेपाल दोस्रो जितको खोजीमा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ । अजमान खेल मैदानमा नेपालले टस जितेर पहला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो ।

आज खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ । चौध टोलीबीच चार समूहमा विभाजन गरी भइरहेकोको प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

रवि र छविको मुद्दाको सुनुवाई फेरि किन भयो स्थगित ?

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको ठगीसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । आज (बिहीबार) निर्धारण गरिएको छैटौं पेशीमा लामिछाने पक्षका कानुन व्यवसायीले स्थगनको माग गरेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुनुवाइ सारिएको हो ।

साप्ताहिक पेशीअनुसार दुवैको मुद्दा तीन नम्बर इजलासमा न्यायाधीश मिलन राई र सानुमैया डंगोलको संयुक्त इजलासमा परेको थियो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार जोशीको फाइल समेत एकैसाथ परेको र लामिछाने पक्षको निवेदनपछि इजलास स्थगित गरिएको हो ।

यसअघि पनि मुद्दा निरन्तर रोकिने क्रम जारी छ । पहिलो पेशीमा लगाउको आदेश जारी भएको थियो भने दोस्रोमा जिल्ला अदालतको मिसिल झिकाउने आदेश भयो । तेस्रो पेशीमा जोशीका कानुन व्यवसायीले रोक्का मागे, चौथोमा सर्वोच्च अदालतको मिसिल मागियो । पाँचौँ पेशी पनि लामिछाने पक्षकै निवेदनमा सारिएको थियो । छठौँ पेशीमा आएर पुनः लामिछानेका कानुन व्यवसायीले स्थगन मागेपछि सुनुवाइ अघि बढ्न सकेन ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका लामिछाने र जोशी दुवैको मुद्दा ‘लगाउ’ प्रक्रियामा परेकाले फाइल संयुक्त रूपमा हेरिँदै आएको छ । कात्तिक २० गतेको इजलासले सुरु मिसिल माग्न आदेश दिएपछि पछिल्लो साता पेशी तोकिए पनि पुनः स्थगन भएको हो । सहकारी ठगीकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले आरोपअनुसारको बिगो रकम बराबरको जमानत बुझाइसकेकाले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने दाबी गर्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए । तर जिल्ला अदालत रुपन्देहीले साउन २६ गतेकै सुनुवाइमा रिहा गर्न अस्वीकार गरिसकेको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ । लामिछानेले सो रकमको चौथाइ हिसाबले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएको कागजात पेस गरेका थिए । जोशीले पनि यस्तै जमानत बुझाएका थिए। तर, दुवैको व्यक्तिगत भागमा कति बिगो पर्न जाने भन्ने स्पष्ट नहुँदा अदालतले रिहा नगर्ने निर्णय लिएको थियो । हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमै छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा उच्च अदालतमा आगजनी र तोडफोड हुँदा पनि दुवैको मुद्दाको फाइल भने सुरक्षित रहेको अदालतले जनाएको छ। तर कानुन व्यवसायीहरूका पटक–पटकको निवेदनले सुनुवाइ ढिलो भइरहेकाले मुद्दा समयमै टुंगो नलाग्ने चिन्ता व्यक्त भएको छ ।अदालतका कर्मचारीहरूका अनुसार दुई पटकसम्म मात्र पक्षहरूले सुनुवाइ रोक्न सक्ने प्रावधान छ । हालसम्म छविलाल जोशी पक्षले एक पटक र रवि लामिछाने पक्षले दुई पटक सुनुवाइ स्थगित गराइसकेका छन् । उनको तर्फबाट निरन्तर पेशी सारिँदा बाहिरी आरोप लगाउने प्रवृत्ति उचित नभएको पनि कर्मचारीहरू बताउँछन् ।