`

डिल्लीबजारका कैदीलाई सुन्धारा कारागार सारिँदै, भागेका सबै सेनाको नियन्त्रणमा

काठमाडौं । आगजनी र तोडफोड गरी डिल्लीबजार कारागारबाट भागेका सबै कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।उनीहरु सबैलाई सुन्धारा कारागारमा सार्ने तयारी भइरहेको छ ।

झोला बोकेर हुलका हुल भागेका कैदीलाई डिल्लीबजारमै ल्याएपछि सेनाले प्रहरीको गाडीबाट सुन्धारा लैजान लागेको हो । करिब ६०–७० जना कैदी भने सडकमै प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले सेनाको आदेश मान्ने भन्दै प्रहरीविरुद्ध नाराबाजी गरी कारागार छिर्न मानेका छैनन् । डिल्लीबजार कारागारमा करिब सात जना कैदीबन्दी थिए । उनीहरुमध्ये आधाजसो भागेका थिए ।

साइप्रसमा ग्रीनहाउस ग्यास उत्सर्जनमा वृद्धि : युरोस्ट्याट

युरोपीय संघको युरोस्ट्याटुले मंगलबार जारी गरेको तथ्यांक अनुसार, साइप्रसले पछिल्लो दुई दशकमा ग्रीनहाउस ग्यास उत्सर्जनमा सबैभन्दा ठूलो वृद्धि रेकर्ड गरेको छ।

सन् १९९९ देखि २०२३ सम्म साइप्रसमा ग्रीनहाउस ग्यास उत्सर्जनमा ५२.४ प्रतिशत को वृद्धि भएको छ, जबकि युरोपीय संघका अन्य धेरै देशहरूले उत्सर्जनमा महत्वपूर्ण कमी ल्याएका छन्। यस वृद्धि मुख्य रूपमा ऊर्जा, उद्योग, यातायात र निर्माण क्षेत्रका कारण भएको विश्लेषण गरिएको छ।

ग्रीन पार्टीका सांसद, चरालाम्बोस थियोपेम्प्टूले यस वृद्धिको कारणको रूपमा साइप्रसको सीमित सार्वजनिक यातायात, नवीकरणीय ऊर्जा स्रोतहरूको कम प्रयोग र तेलमा उच्च निर्भरता देखाएका छन्, जसले विद्युत उत्पादनको तीन चौथाइ हिस्सा ओगटेको छ।

साइप्रसको वित्तीय परिषदले सोमबार चेतावनी दिँदै जलवायु परिवर्तनसँग जुद्नका लागि सरकारले हालको अवस्थामा पर्याप्त खर्च नगर्ने भनेको छ । परिषदका अनुसार, जलवायु जोखिमको प्रभाव कम गर्नका लागि आवश्यक पूर्वाधार र नीति निर्माणमा सुधारको आवश्यकता छ।

युरोपीय संघले २०५० सम्म जलवायु तटस्थता प्राप्त गर्ने उद्देश्य राखेको छ र २०३० सम्म ग्रीनहाउस ग्यास उत्सर्जनलाई १९९० को स्तरसँग तुलना गर्दा ५५ प्रतिशत घटाउने लक्ष्य निर्धारण गरेको छ।

गंगा दाहालको घरमा भेटियो जलेको शव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको आगो लगाइएको घरमा एक व्यक्तिको शव भेटिएको छ ।

प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो । जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको ललितपुरका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

अमेरीकी ट्रम्पद्वारा मोदी र ‘भारत–अमेरिका घनिष्ठ मित्र’ सन्देश पुनः पोस्ट

अमेरीका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाबीचको ‘प्राकृतिक साझेदारी’ लाई जोड दिए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार (स्थानीय समय) आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोसलमा मोदीको सन्देश पुनः पोस्ट गरेका छन् ।

हालै अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाएका कारण बढेको आर्थिक अनिश्चितताबीच दुवै मुलुकले व्यापार अवरोध समाधानका लागि वार्ता गरिरहेको ट्रम्पले बताएको छ ।

यसअघि, ट्रम्पको पोस्टको जवाफमा प्रधानमन्त्री मोदीले एक्समा लेखेका थिए, “यी वार्ताले भारत–अमेरिका साझेदारीको असीम सम्भावना अनलक गर्नेछ ।”

मोदीले भनेका छन्, “भारत र अमेरिका घनिष्ठ मित्र र स्वाभाविक साझेदार हुन् । हाम्रो व्यापार वार्ताले असीम सम्भावना खोल्नेछ । हाम्रा टोलीहरूले छलफल चाँडै टुङ्ग्याउन काम गरिरहेका छन् । म राष्ट्रपति ट्रम्पसँग कुरा गर्न उत्सुक छु । हामी दुवै देशका जनताका लागि उज्यालो भविष्य बनाउन सँगै काम गर्नेछौँ ।”

ट्रम्पले पनि ट्रुथ सोसलमा आफ्नो पोस्टमा भनेका थिए, “भारत र अमेरिकाले व्यापार अवरोध सम्बोधनका लागि वार्ता जारी राखेका छन् । म आगामी हप्ताहरूमा मेरो असल मित्र, प्रधानमन्त्री मोदीसँग कुरा गर्न उत्सुक छु । हामी दुवै महान देशहरूका लागि सफल निष्कर्षमा पुग्न कठिनाई हुनेछैन ।”

कतारमा हमास नेतामाथि इजरायली आक्रमण:वार्ता सङ्कटमा

कतार । इजरायलले मङ्गलबार कतारमा हमासको राजनीतिक मुख्यालयमाथि हवाई आक्रमण गरेको छ । मुख्यालयमा शीर्ष नेताहरू गाजा युद्धविरामबारे अमेरिकी प्रस्ताव छलफल गर्न भेला भएका थिए । यो आक्रमणले कतारलाई आक्रोशित तुल्याएको छ र वार्तालाई लिकबाट हटाउने खतरा पैदा गरेको छ ।

कतारले यसलाई ‘अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन’ भन्दै विरोध गरेको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि कतारलाई समर्थन जनाएका छन् । आक्रमणमा हमासका केही सदस्य र गार्डहरू मारिएका छन् भने शीर्ष नेताहरू जीवित छन् भन्ने दाबी गरिएको छ । तर तत्काल प्रमाण प्रस्तुत गरिएको छैन ।

अमेरिकाले इजरायलले आक्रमण गर्नुअघि जानकारी गराएको भने पनि आफू टाढै रहेको बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ भने।

तर कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले नेतान्याहूलाई ‘क्षेत्रलाई अपूरणीय सङ्कटतर्फ तानेको’ भन्दै आलोचना गरेका छन् ।

कतारले मध्यस्थता जारी राख्ने सङ्केत दिएको छ तर हालको वार्ता ‘वैध छैन’ भनेको छ । आक्रमणमा कतारी आन्तरिक सुरक्षाकर्मीको समेत मृत्यु भएको छ ।

हमासले यो कदमले इजरायल वार्ता चाहँदैन भन्ने देखाएको दाबी गर्दै अमेरिकालाई पनि दोष दिएको छ । इजिप्टले पनि कतारको सार्वभौमसत्तामाथि प्रत्यक्ष आक्रमण भएको भन्दै निन्दा गरेको छ ।

यसैबीच, बन्धक परिवारहरूको समूहले ‘फिर्तीको सम्भावना झन् अनिश्चित’ भएको भन्दै चिन्ता व्यक्त गरेको छ । प्रस्तावअनुसार युद्धविरामपछि इजरायली सेना फिर्ता हुने व्यवस्था थियो तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्ण बन्धक मुक्तिसम्म युद्ध जारी रहने बताएका छन् ।

आक्रमणपछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ ।

साउदी क्राउन प्रिन्स र संयुक्त अरब इमिरेट्ेस (युएई) कतारसँग ऐक्यबद्धता जनाउँदै यसलाई ‘आपराधिक कार्य’ भनेका छन् ।

गाजा युद्धले इजरायललाई अन्तर्राष्ट्रिय रूपमा झन् अलग बनाइरहेको बेला यस कदमले क्षेत्रीय तनाव थप चर्काएको छ ।

मदनकृष्ण श्रेष्ठ भन्छन्–अब युवा पुस्तालाई नै नेतृत्व दिनुपर्छ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब युवापुस्तालाई नै देशको नेतृत्वको जिम्मा दिनुपर्ने बताएका छन् । उनले आज (बुधबार) सामाजिक सञ्जालमा स्टाट्स लेख्दै देश र समयले परिवर्तन चाहेकाले युवापुस्तालाई नेतृत्वको जिम्मा दिनु पर्ने बताएका हुन् । ५० वर्ष पहिलेका युवाभन्दा अहिलेका युवा बौद्धिक रहेकाले उनीहरूलाई नै नेतृत्वको जिम्मेवारी दिनुपर्ने उनको तर्क छ ।

‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ । ५० वर्ष पहिलेका युवाभन्दा अहिलेका युवाहरू धेरै शिक्षित र बौद्धिक छन् । समय अनुसार नहिड्नेलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रष्टैसँग देख्यौं । हामीले आफ्नो समयमा समयले अराएको काम ग¥यौं । अब समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रष्टै छ । किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेका हुन्छन्,’ उनले लेखेका हुन् ।

युवाशक्ति कति बलियो छ भनेर जेनजीको एकताले संसारलाई देखाइ दिएको उनको भनाइ छ । यसबाट युवाहरूको मागनै समयको माग भएको उनको भनाइ छ ।

‘युवाशक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदियो । अबको समय संयम भएर संसारभरि छरिएर बसेका नेपाली समेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनालाई जोगाउने, संरक्षण गर्ने, पुनर्निर्माण गर्ने र भ्रष्टाचाररहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौँ,’ उनले भनेका छन् ।

त्यस्तै उनले जेनजी आन्दोलनमा हत्या भएका बालबालिका र युवाहरूको तस्वीर देखेर भक्कानिएको बताएका छन् । साथै मानिसहरू यतिसम्म कठोर राक्षस हुनसक्छन् भन्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यो एआईको युगमा जन्मेका बालक र युवा जो आफ्नो हक अधिकारको लागि फूल लिएर त्यो शान्तिपूर्ण जुलुसमा भाग लिन गएका थिए । ती कलिला अबोध बालबालिकालाई त्यसरी निर्ममपू्र्वक कसरी गोली चलाउन सकेको होला, यहि कुरा मनमा खेलेको खेलै भएर राति अबेरसम्म निन्द्रा नलागेपछि औषधिको सहारा लिनुपर्ने भयो ।’ जेनजीको आन्दोलन सुरु हुनुभन्दा अगाडि पनि उनले जेनजीहरूको आवाज सरकारले गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिएका थिए ।

के छ आगो लगाइएका सिंहदरबार र अदालतका ‘डिजिटल डाटा’ र ‘ब्याकअप’ को अवस्था ?

काठमाडौं । जेनजी आन्दोलनकारीले मंगलबार देशको मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचना पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । मुलुकको प्रमुख प्रशासनिक भवनमा गरिएको आगजनीपछि देश–विदेशका नेपालीहरुले देशका महत्वपूर्ण तथ्याङ्क ‘डाटा’ सुरक्षाका विषयमा चिन्ता प्रकट गरेका थिए ।

आन्दोलनका क्रममा भएको आगजनीमा सरकारी भवनहरु पूर्णरुपमा ध्वस्त भए पनि त्यहाँभित्र रहेका विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्याङ्क (डाटा) मा भने खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय प्रमुख मनिष भट्टराईले जानकारी दिएका छन् ।

आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआर (डिजास्टर रिकभरी कार्यालय) पनि पूर्णतः सुरक्षित रहेको भट्टराईले जानकारी दिए । कतिपयले हेटौंडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला चलाएको भन्दै भट्टराईले यी सबै अफवाह मात्रै भएको बताए ।

आईडीएमसीअन्तर्गत सबैजसो सरकारी निकाय र कार्यालयको डाटा सुरक्षित रहेको, तर केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण मङ्गलबारको आगजनीमा परेको भए तिनका डाटाबारे केही भन्न नसकिने उनले बताएका छन् । यद्यपि सर्वोच्च अदालतका केही डाटा हेटौँडास्थित डीआर कार्यालयमा सुरक्षित रहेको उनले बताएका छन् ।

आन्तरिक राजस्व कार्यालय (आईआरडी), राहदानी विभाग, अध्यागमन कार्यालयहरूले आ–आफ्नै डाटा सेन्टर सञ्चालन गरेका छन् । तर, तिनले पनि आईडीएमसीअन्तर्गत डीआरमा व्याकअप राखेका कारण कुनै क्षति भएको भए रिकभर हुने भट्टराई बताउँछन् ।

अत्यधिक क्षति भएको सर्वोच्च अदालतले आईडीएमसीसँग डाटा रिकभरका लागि ताकेता गरेको छ । भट्टराईले बताएअनुसार पत्र पाएपछि हेटौँडास्थित डीआरमा रहेको ब्याकअप हेर्न सकिन्छ । ‘अन्य डाटा सेन्टरमा क्षति पुगेको छ भने पनि हामीसँग प्रायको ब्याकअप हुन्छ’, उनले भने ।

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थल वरपर उडान मार्गमा देखिएको धूवाँका कारण सुरक्षालाई ध्यान दिँदै विमानस्थल बन्द गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरी विमानस्थल बन्दबारे जानकारी दिएको हो । सोही कारण विमानस्थलमा नआउन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ ।

‘विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउनु हुन सबै यात्रुमा अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ ।

सर्वोच्च अदालतमा जोगिएका मुद्धाका फाइलहरु, सुरक्षित स्थान तर्फ सारिदै

काठमाडौं । सर्वोच्च अदालतको आगजनी पछि जोगिए मुद्धाका फाइलहरु सुरक्षित स्थान तर्फ सारिदै छ । मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन । तर, आज (बुधबार) बिहान भने बँचेखुचेको आगो निभाउन दमकल आएको हो ।

जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ । मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

जेन्जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ र बा’

काठमाडौँ । सकारात्मक सोचका धनी, नेपालको पर्यटन, सम्पदा र संस्कृतिका धरोहर तथा नेपाली साहित्यका सशक्त हस्ताक्षर कर्ण शाक्यको हालै बजारमा आएको नयाँ कृति‘माँ र बा’ले नेपाली समाजको सजीव चित्रण गरेको छ ।

आत्मकथात्मक शैलीमा लेखिएको जीवन–अनुभवको सङ्ग्रह यस पुस्तकमा पछिल्लो समय आफूलाई जन्म दिने सन्तानहरुले बाबु आमाप्रति गरेको व्यवहार, रहर र बाध्यताका बीच विदेश जानु परेका छोराछोरीका पीडा र बाबु आमाबीचको वियोगको अवस्थालाई बढ्दो मार्मिक ढङ्गबाट लेखकले विश्लेषण गरेका छन् । उनका यसअघिका सोच, खोजजस्ता १४ वटा पुस्तक जत्तिकै यस पुस्तकले पनि वाङ्मयमा आफूलाई स्थापित गर्नुको साथै सम्पूर्ण पाठकहरुलाई आआफ्ना घरका व्यथालाई स्मरण गराउँदै हरेक छोराछोरीलाई आफ्ना बाबुआमाप्रतिको दायित्वबोध गराउन पुस्तक सफल भएको छ ।

पुस्तकमा लेखकले आफ्ना व्यक्तिगत जीवनका उतार–चढाव, परिवारसँगको सम्बन्ध, सामाजिक मूल्य–मान्यता, बाल्यकालदेखि प्रौढ जीवनसम्मका अनुभव र विशेषगरी आमा बाबुप्रतिको सम्झना गरिरहँदा पाठकलाई गम्भीर भएर सोच्न बाध्य तुल्याउँछ । पुस्तकले आमाबाबुको स्नेह, माया र मार्गदर्शनले व्यक्तिको जीवनलाई कसरी प्रभावित गर्छ भन्ने कुरालाई छर्लङ बनाएको छ । आफ्नो व्यक्तिगत सङ्घर्ष, समाजसेवा र जीवन दर्शनलाई पनि पुस्तकको शुरुदेखि अन्त्यसम्म सिलसिलाबद्ध ढङ्गबाट पुस्तुत गराउन सक्नुले लेखकको लेखकीय क्षमतालाई पुनःस्थापित गरेको छ । नेपाली संस्कृतिमा आमा बाबुलाई भगवान सरह मान्ने परम्परागत मूल्यहरूको व्याख्या गर्दै सन्तानलाई पूर्वीय सभ्यताअनुसार जन्म दिने बाबुआमाप्रति कृतज्ञ गराउन खोजिएको छ ।

पुस्तकमा व्यक्त विचार भावनात्मक मात्र नभई प्रेरणादायी पनि छन् । यसमा उहाँले आफ्ना बाल्यकालका अनुभवदेखि जीवनमा आइसकेका सङ्घर्ष र उपलब्धिलाई आमा बाबुबाट सिकेको शिक्षासँग जोडेर प्रस्तुत गर्नुभएको छ । आमा बाबुको स्नेह, अनुशासन र संस्कारले जीवनलाई कसरी सही बाटोमा अघि बढाउँछ भन्ने कुरालाई पुस्तकले राम्ररी शिक्षा दिन सकेको छ । आफ्नो जीवनका कठिन क्षणहरूमा पनि आमा बाबुको सम्झना, आशीर्वाद र शिक्षाबाट प्राप्त ऊर्जाले नै आफूलाई सफल व्यक्ति बनाउन सकेको उनको निस्कर्ष छ । नेपाली समाजमा आमा बाबुलाई भगवान सरह मान्ने परम्परागत मूल्यलाई लेखकले आधुनिक दृष्टिकोणबाट व्याख्या गर्दै समाज र संस्कृतिलाई राम्रोसँग जोड्नु भएको छ । व्यक्तिगत सङ्घर्ष, पारिवारिक सम्झना, शिक्षा र जीवनदर्शनलाई प्रेरणादायी ढङ्गले प्रस्तुत गरिएको यस पुस्तक व्यक्तिगत कथामा मात्र सीमित छैन, नेपाली समाजको वर्तमान अवस्थालाई सुक्ष्म रूपमा केलाइएको छ ।

जीवनको निरन्तर यात्रामा आरोह–अवरोहबीच सधैँ सपना देख्ने र अन्धकारमा पनि उज्यालो खोज्दै अघि बढ्न सक्ने क्षमता राख्नुहुने कर्ण शाक्यले पुस्तकमा लेखेका छन्, ‘मैले धेरै सोचें, भने, बोलें, लेखेँ, र लेखेको कुरा पूरा पनि गरेँ । केही स्मृतिमा हराए, यद्यपि सपना देख्न कहिल्यै रोकिनँ ।’ यही भुटभुटीले नै उनले ८४ वर्षको उमेरमा पनि पुस्तक लेख्न प्रेरित ग¥यो । जीवनको उत्तराद्र्धमा फर्केर हेर्दा, आफूले नसोचेको कल्पनाभन्दा बढी उपलब्धि हासिल गरेको, सन्तुष्टि पाएको र यसले औसत मान्छे हुँदाहुँदै आफूलाई महानायक अनुभूति भएका बेला आउने अहंकार वा स्वाभिमानले पनि अविचलित रहनसक्ने खुवि राखखछन् उनी। आफ्नो सफलताको अन्तरात्माले एक्स–रे गरेर हेर्दा सफलताको गहिरो जग त मेरी आमा र बाबु पो रहेछन् भन्ने बोध भएपछि नै उनीहरुप्रतिको जिम्मेवारी बोधले नै आफूलाई पुस्तक लेख्न प्रेरित गरेको शाक्य बताए। उनी भन्छन्, ‘जसरी जग देखिँदैन, भवन मात्र देखिन्छ । जति भवन अग्लो हुन्छ, त्यति नै जग गहिरो र बलियो हुनुपर्छ । आमाले जन्म दिए, बाबाले कर्म । तर आमाबाबुलाई सन्तानले के दियौँ रु यही प्रश्नले मलाई यो पुस्तक लेख्न घचघच्यायो । अतः मलाई जन्म दिने आमा र बाबुलाई अक्षरको कुन्जमा अमर बनाउन चाहें ।’

पुस्तकमा उनको तीन पुस्ताको उद्यमशीलताको जिउँदो गाथाले सङ्घर्षदेखि सफलता, निराशाबाट आशा र विचारबाट उपलब्धिको सकारात्मक यात्रा तय गरेको छ । अठार वर्षको कलिलो उमेरमै बाबा स्वर्गारोहण भएकाले पितृत्वको अधुरो माया मात्रै पाएका उनका सपनामा प्रायःआइरहने बुबाको दृश्यले उनलाई पितृबोध मात्र गराएन, विदेशमा रहेका ८५ लाख नेपालीका बाबुआमाको सपनासँगै खोसिएका खुशीहरुलाई कसरी फर्काउन सकिन्छ भन्ने हुटहुटीले पनि सताएको पाइन्छ । आफ्ना जरा, संस्कार र सम्बन्धप्रतिको सम्मान भावनालाई उजागर गर्ने प्रयासस्वरुप पाणिनी बुक्सले प्रकाशनमा ल्याएको यस पुस्तक जेन्जी पुस्ताका लागि मार्गदर्शन बन्ने विश्वास गरिएको छ ।

उनका धेरै पुस्तकको शिर्षक दुई दुई अक्षरको रहेको हुँदा यही लय समात्दै यस किताबको नाम पनि “माँ बा” राख्नु भएको देखिन्छ । वास्तवमा माँ र बा त ती दुई अक्षर हुन्, जुन प्राणी मात्रले जीवनमा पहिलो उच्चारण गर्ने शब्द हुन् । यसले प्रेम र सुरक्षाको अनुभूति दिन्छ । आमा बाबुको सम्झना मात्र होइन, उनीहरू जीवित छँदाखेरि सम्मान, माया र सेवा गर्नु नै सन्तानको महान कर्तव्य हो भन्ने कुरा पुस्तकले प्रष्ट्याउँछ । भावी पुस्ताका लागि हस्तान्तरण गरिएको यस पुस्तकमार्फत लेखकले आफ्ना आमा–बाबुप्रतिको श्रद्धाञ्जलि मात्र होइन—पूजा र संस्कारको दस्तावेजको रूपमा प्रस्तुत गरेका छन् ।

सर्वोच्च अदालतमा आगो निभाउँदै महानगरको दमकल (तस्वीरहरु)

काठमाडौं । सर्वोच्च अदालतमा लागेको आगो निभाउन काठमाडौंको महानगरपालिकाको दमकल खटिएको छ । मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन । तर, आज (बुधबार) बिहान भने बँचेखुचेको आगो निभाउन दमकल आएको हो ।

जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ । मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कागजात र प्रमाण हेरेर मुद्दाको फैसला गर्ने सर्वोच्च अदालत मंगलबारको आगजनीले खरानी भएको छ । काठमाडौं र हेटौंडाको डाटा सेन्टरमा एकसाथ आक्रमण भएपछि मुलुकको न्याय प्रणालीमा ठूलो क्षति पुगेको छ ।

देशको संकट समाधान गर्न योगेश भट्टराईका १० प्रस्ताव

काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले अब खरानीबाट उठेर देश पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन् । आज (बुधबार) बिहान सामाजिक सञ्जालमार्फत १० बुँदामा उनले अहिले मुलुक इतिहासकै गम्भीर संकटमा पुगेको बताउँदै संविधानको सर्वोच्चताबाट दायाँबायाँ नभइ अघि बढ्नु पने बताएका छन् ।

‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौं । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाउँमा पुर्‍याउँदैन ।’ उनले मुलुकमा विकसित घटनालाई राम्रोसित बिश्लेषण गर्न र आफूहरूबाट भएका कमजोरीको समीक्षा गर्दै गल्तीप्रति आत्मालोचित भई अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

यस्तो लेखेका छन् भट्टराईले :

पोखरामा प्रदर्शनकारीले आगो लगाएको घरमा महिलाको शव फेला

पोखरा । पोखरामा जेनजीले आन्दोलनका क्रममा आगो लगाइएको घरमा एक महिलाको शव भेटिएको छ । आन्दोलनकारीले हिजो गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा र उनका भाइको नयाँबजारमा रहेको घरमा आगजनी गरेका थिए । त्यही आगोमा परेर घरमा काम गर्ने एक महिलाको निधन भएको हो ।

मन्त्री थापाको घरमै कार्यालय राखेका पत्रकार सुरज श्रेष्ठका अनुसार उनको शव भर्‍याङनेर भेटिएको हो । ती महिला अन्दाजी ४० वर्षकी रहेकी र आगो लागेपछि भाग्ने क्रममा उनी भर्‍याङनेर लडेको हुन सक्ने उनले जानकारी दिए ।

हतारमा उनी त्यहाँ भए नभएको कसैलाई याद नभएको पनि सुरजको भनाइ छ । अहिले एउटा जलेको शवको फोटो सामाजिक सन्जालमा भाइरल भएको छ । अहिले पोखराको बजार क्षेत्रमा सेना खटिएको छ । हिजो जलेका संरचनाहरु सफाइ चलिरहेको छ ।

सडकमा सेनाको सुरक्षा, सफाइमा जेनजी

काठमाडौं । आन्दोलनकारीको कब्जामा रहेको राजधानी काठमाडौं आज सेनाले नियन्त्रणमा लिएको छ । सेनाले सुरक्षाको नेतृत्व लिएपछि हिजोभन्दा आज काठमाडौंको अवस्था सामान्य बन्दै गएको देखिन्छ ।

सडकका चोक चोकमा सैनिकहरूले पहरा दिइरहेका छन् । कर्फ्यू आदेश जारी भएकाले सवारीसाधनहरू नगण्य मात्रामा मात्रै चलेका छन् । सेनाले अत्यावश्यक कामका लागि हिँडेकाहरूलाई उनीहरूको परिचयपत्र हेरेर आउन–जान अनुमति दिइरहेका छन् । आम मानिसहरु भने आ–आफ्नो घरभित्रै छन् ।

यस्तै जेनजीको आन्दोलन पनि मत्थर बनेको छ । अहिले जेनजी युवाहरुले काठमाडौंका सडक सफा गरिरहेका छन् । आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएको फोहोर सफा गर्न युवाहरु खटिएका हुन् । उनीहरुले अहिले मीनभवन, बानेश्वर सडकखण्डमा सफाइ गरिरहेका छन् ।

सडक र सडक किनारमा छरिएका प्लास्टिक, कागज, पानीका बोतल लगायतका फोहोर उनीहरु उठाइरहेका छन् । सडकमा जलाइएका मोटरसाइकल, टायरहरु पनि उनीहरुले पन्छाइरहेका छन् । सडक सफाइमा खटिएकाहरुले ‘हामी यो देशका नागरिक हौं, अरू केही होइन’ भनेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जका दुई प्रहरीको मृत्यु

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको जनाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।

बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनले बताएका छन् । ‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, पत्ता नलागी भन्न मिल्ने अवस्था छैन’, उनले भने ।

लुटिएका हतियार तत्काल फर्काउन सेनाको आग्रह, अटेर गरे कारवाही

काठमाडौं । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न आग्रह गरेको छ ।

सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको हो ।

हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने जनाउँदै सेनाले कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ । साथै विज्ञप्तिमा सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ ।

अलपत्र विदेशीको उद्धारका लागि सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपाली सेनाले जेनजीको आन्दोलनपछि नेपालमा अलपत्र विदेशी नागरिकको उद्धारका लागि आवश्यक भए नजिकैको सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनैपनि सहयोगको पर्खामा रहनु भएका सबै विदेशी नागरिकहरुले नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ,’ नेपाली सेनाले सूचना जारी गर्दै भनेको छ, ‘साथै, त्यस्ता विदेशी नागरिकहरुसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नु हुन समेत अनुरोध छ ।’

सडकमा बाक्लो संख्यामा सेना, मानिसहरुलाई घर फर्काउँदै

काठमाडौँ । काठमाडौं लगायत देशभर सेनाले निषेधाज्ञा जारी गरेको छ । आज भाद्र २५ गते साँझ ५ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी भएको छ ।

काठमाडौंका सडकमा सेनाको बाक्लो उपस्थिति छ । अति आवस्यक काम बाहेक बाहिर निस्किनेलाई सेनाले फर्काइरहेको छ।

बाँकेको बाल सुधारगृहमा झडप, पाँच जनाको मृत्यु

नेपालगञ्ज । नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो।

कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेको उल्लेख गर्दै बालबिज्याईकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सिर्जना भएको होे ।

झडपमा घाइते भएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

डिल्लीबजार कारागारमा आगजनी, सेनाले थाल्यो सुरक्षा

काठमाडौं । देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर बढेसँगै काठमाडौंस्थित डिल्लीबजारका कैदीबन्दीहरु पनि भाग्ने प्रयास गरेका छन्। उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरी सुरक्षा थालेको छ ।

कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनु पर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको कडा तैनाथी छ । कारागारभित्र आगो लागिरहेको छ । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको कारागारका प्रशासक बाबुराम अर्यालले बताए ।

लुटपाट मच्चाएको आरोपमा २७ जना पक्राउ : हतियार र ३३ लाख बढी बरामद

काठमाडौं । नेपाली सेनाले आन्दोलनको मौकामा लुटपाट मच्चाएको भन्दै २७ जना पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरूमा संलग्न २७ जना पक्राउ परेका हुन् ।

मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपपछि बुधवार बिहान १० बजेसम्म काठमाडौं लगायत देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरूमा संलग्न २७ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ । गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।

त्यस्तै, ३ वटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको सेनले जनाएको छ । सेनाका अनुसार विभिन्न स्थानहरूबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागेजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको सेनाले जनाएको छ ।

प्रदर्शनरत युवा र सेनाबीच वार्ताको पहल हुँदै

काठमाडौं । प्रदर्शनरत युवा आन्दोलनकारी र नेपाली सेनाबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुँदैछ ।मंगलबार राति प्रदर्शनरत युवा प्रतिनिधिहरू र प्रधानसेनापति अशोकराज सिग्देलबीच अनौपचारिक छलफल भएको थियो ।

वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रदर्शनरत युवाले राजनीतिक दलहरूलाई सत्ताबाट हटाएर नागरिक सरकारको माग गर्दै आएका छन् ।

काठमाडौंका मेयर बालेन शाहले संसद विघटनको शर्तमा वार्तालाई समर्थन गरेका छन् । सेनाले संयमित रहन र संवादमा आउन प्रदर्शनरत युवालाई आह्वान गरेको छ । नेपाली सेनाले समस्या समाधानका लागि सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ ।

आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्न सेनाले जारी कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म रहने बताएको छ । त्यसपछि परिस्थितिअनुसार निर्णय लिइने जङ्गी अड्डाको भनाइ छ ।

तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण गर्नेलाई कडा कारबाही हुने चेतावनी पनि दिइएको छ । सामाजिक सञ्जालमा जथाभावी सामग्री नफैलाउन आग्रह गर्दै सेनाले अवकाश प्राप्त सैनिक,सुरक्षाकर्मी,राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई आधिकारिक सूचना मात्रमा विश्वास गर्न अनुरोध गरेको छ ।

गौरीफण्टा नाकाबाट नेपालीलाई भारत जान रोक, आउन कडा चेकजाँच

कैलाली । भारतीय प्रहरीले गौरीफण्टा नाकाबाट नेपालीहरूलाई भारत जान रोक लगाएको छ । नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले नेपालीहरूले भारत रोकेको हो ।

भारतीय नागरिक र रासन कार्ड भएकाहरू भारत गइरहेका छन् । आउनेहरूलाई समेत कडा चेकजाँचपछि मात्र भित्रिन दिइएको छ ।

सर्वोच्चमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सर्वोच्च अदालतको पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

हेर्नुस् सूचना

कपिलवस्तु कारागारबाट भागे चार सय बढी कैदीबन्दी

बुटवल । कपिलवस्तु कारागारका कैदीबन्दी कारागार तोडेर भागेका छन् । जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी चार सय बढी कैदीबन्दी भागेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जनाएका छन् ।

कारागारमा ४७० जना कैदी थिए । तीमध्ये ३५ जना भने कारागारमै रहेको प्रमुख जिल्ला अधिकारीले तामाले जानकारी दिएका छन् । दुई ब्लकबाट भागेकामध्ये २० जनालाई पक्राउ गरिएको उनले बताए ।

कारागारबाट फरार कैदीबन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा समेत तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट कारागारका कागजातहरू जल्नुका साथै भवनको संरचना तथा उपकरणहरूमा समेत क्षति पुगेको छ । फरार कैदीबन्दीको खोजी र नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

सेनाले थाल्यो सुरक्षा र गस्ती

जिल्ला सुरक्षा समिति कपिलवस्तुले २०८२ भाद्र २४ गते राति १० बजेबाट नेपाली सेनासहितको सुरक्षा गस्ती परिचालन गरेको जनाउँदै कुनै पनि अवाञ्छित गतिविधि गरेमा सुरक्षात्मक कारबाही हुने सूचना जारी गरेको प्रजिअ तामाङले बताएका छन् ।

बल्ल निभ्यो राष्ट्रपति भवनको आगो, सेनाले दिंदै सुरक्षा

काठमाडौं । राष्ट्रपति भवनमा आन्दोलनकारीले लगाएको आगो बल्ल नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो आन्दोलनकारीले लगाएको आगो बल्ल नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि अझै धुवाँ आइरहेको छ ।

आगोले भवनभित्र रहेका सबै संरचना जलेर नष्ट भएका छन् । आन्दोलनकारीले शीतल निवासमा आगजनी गरेका थिए । अहिले भवनका सेनाले सुरक्षा दिइरहेको छ । सेनाले त्यस वरपर सवारीसाधनलाई सोधपुछ गरेर मात्र प्रवेश दिइरहेका छन् ।

संयम अपनाउन र संवाद गर्न संयुक्त राष्ट्र संघका महासचिव गुटेरसको सन्देश

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नजिकबाट नेपालको अवस्था नियालिरहेको बताएका छन् । नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

गुटेरसले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने बताएका छन् ।

भोलिसम्मको लागि देशभर निषेधाज्ञा र कर्फ्यू

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यूको अवधि थप गरिएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज (बुधबार) बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्यूको अवधि थप गरिएको जानकारी गराएको हो।

बुधबार बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ ५ बजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।

आन्दोलनका नाममा अराजक गतिविधि, तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण तथा व्यक्तिलक्षित आपराधिक कार्यहरू भइरहेका कारण देशभर शान्ति–सुरक्षामा गम्भीर चुनौती देखिएकाले कर्फ्यू जारी गरिएको सेनाको भनाइ छ ।

कर्फ्यू तथा निषेधाज्ञाको अवधिमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन सञ्चालन हुने र आवश्यक सहजीकरणको लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सकिने सेनाले जनाएको छ ।

हेर्नुस् सूचना

आज जेनजीसँग वार्ता, सेनाले माग्यो प्रतिनिधिको नाम

काठमाडौं । नेपाली सेनाले जेनजी समूहलाई वार्तामा बस्नका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । सेनाले बिहान ८ बजेभित्र प्रतिनिधिको नाम दिन जेनजी समूहलाई आग्रह गरेको हो ।

सेनाको सन्देशपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको जनाइएको छ । उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन् ।

‘हामी नेपाल’ समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत छलफलमा थिए । गत चुनावमा डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका युवा सागर ढकालको नाम पनि छलफलमा छ । उनी हाल धनगढीमा छन् । उक्त समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि कुराकानी गरेको थियो । तर श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेनजीका तर्फबाट वार्तामा बस्न असमर्थ रहेको जनाएकी छन् ।

यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ । वार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह जेनजीका तर्फबाट प्रस्तुत हुन्छन् या बेग्लै सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन।
हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए ।

त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए ।बालेन शाहले संसद विघटन गरेपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने सामाजिक सञ्जालमा लेखेका थिए । त्यसैले वार्ताको ढाँचा र निकासको मार्गचित्र अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

 

झुम्का कारागारबाट पनि भागे कैदीबन्दी

सुनसरी । सुनसरीको झुम्का कारागारबाट ठूलो संख्यामा कैदीबन्दीहरु भागेका छन् । जेनजी प्रदर्शनकारीका नाममा पुगेको समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् ।

झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १०९८ जना कैदी रहेका थिए । उक्त समूहले बल प्रयोग गरेर कैदीबन्दी भगाएको जेलर सुवास लामिछानेले जानकारी दिएका छन् । कारागारबाट अधिकांश कैदीबन्दी भागेको उनले जानकारी दिए ।

कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेपछि केहीलाई भित्रै राखिएको छ । ‘अन्तिमसम्म प्रयास गरियो, बल प्रयोग गर्नुपर्ने अवस्था भएपछि थप क्षति हुन नदिन सुरक्षा निकाय ब्याक भयो’, उनले भने, ‘सेना आइपुगेपछि भाग्दै गरेका केही कैदीलाई कारागारमा फिर्ता ल्याइयो, संख्या यकिन गर्न बाँकी नै छ ।’

यस्तै जेनजीको नाममा आएको समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवा भगाएका छन् । उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । उक्त समूहले पथरीको मुद्दा शाखाका कागजात पनि जलाएका छन् ।

मेयर साम्पाङको चेतावनी : नेपाल काठमाडौं मात्रै होइन

काठमाडौं । धरानका उपमहानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् ।

काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्ताका पहल भइरहेका बेला आज (बुधबार) बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साम्पाङले उक्त चेतावनी दिएका हुन् ।

‘नेपाल काठमाडौं मात्रै होइन, जेनजी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू,’ उनले लेखेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार हुने औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डा बोलाएका थिए ।

१० बजेपछि सुरक्षाको नेतृत्व सेनाले लिने

काठमाडौं । नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

यस्ता गतिविधि नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण आजै रात १० बजेबाट दृढ रहने भन्दै देशबासीलाई सघाउन अपील गरिएको छ । सोहीअनुसार नेपाली सेना लगायत अन्य सुरक्षा निकाय तैनाथ हुने सेनाको विज्ञप्तिमा उल्लेख छ ।

पशुपतिनाथमा खटियो सेना

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड थालेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको जनाए । जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन् ।

‘खासमा यति धेरै आगजनी राति अबेरसम्म यस्तो स्थिति बनाउने हाम्रो योजना नै होइन, हाम्रो माग अनुसार नै परिस्थिति अघि बढिरहेका बेला केही अराजक जथ्थाले मन्दिरमा पुगेका रहेछन्’, एक जेनजी प्रदर्शनकारीले भने । जेनजी प्रदर्शनकारीका अगुवाले राष्ट्रपतिले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने बताएका छन् । उनीहरुले नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी नगर्न आग्रह गरेका छन् ।

जेनजीलाई गोपाल हमालको आग्रह : भोलि पनि चाहिन्छ, सार्वजनिक सम्पत्ति जोगाऔं

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आन्दोलन सफल भएकोमा जेनजीलाई बधाई दिँदै अब संयमयता अपनाउन अपिल गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेर जितेका हमालले जेनजीलाई सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न सुझाव दिएका छन् ।

‘सार्वजनिक सम्पत्ति हामै हुन् । हाम्रै करबाट बनाइएको छ । तपाईहरूले जितिसक्नु भएको छ बधाई दिन चाहन्छु’ सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले भनेका छन्, ‘अब घुसपैठ हुने सम्भावना हुन्छ । तपाइहरूको भोलि चलाउँदा पनि चाहिन्छ यसलाई जोगाउ । अब संयमयता अपनाउ । ’ हिजो जनको क्षति भएको भन्दै आज धनको क्षति भएको मेयर हमालले टिप्पणी गरेका थिए । उनले आजसम्म जे भयो त्यो भइसकेको भन्दै भोलिदेखि शान्तिपूर्ण ढङ्गले अघि बढ्न आह्वान गरेका छन् ।

सुर्खेतमा गोली लागेर एकको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जेनजीको आन्दोलनको क्रममा एक जनाको गोली लागेर मृत्यु भएको छ । प्रदर्शनकारील नेताका घर तथा कार्यालय आगजनी गरेपछि प्रहरीसँग झडप भएको थियो । सुरक्षा स्रोतले एक जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा तोडफोडपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रयोग गरेको छ । अख्तियारको प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।

 

नख्खुका सबै कैदी निस्किए, रित्तियो कारागार

काठमाडौं । जेनजीहरूको उग्र प्रदर्शनपछि ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन् । रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएका हुन् । कारागार बाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएका हुन् ।

अहिले कारागार पूरै रित्तो भएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जनाए । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन्,’ अधिकारीले भने । सोमबार र मंगलबार भएको प्रदर्शन अराजक बन्न पुगेको थियो । जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।

 

कास्की, तुलसीपुर र कैलाली कारागारबाट निस्के एक हजार बढी कैदीबन्दी

कास्की । जेनजीको प्रदर्शनपछि कास्की, दाङ कैलाली कारागारका एक हजार बढी कैदीबन्दी बाहिर निस्केका छन् । जेनजी प्रदर्शनकारीको प्रदर्शनपछि कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी निस्किएका छन् । दिउँसो कारागारको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी साँझ परेसँगै फर्किएको थियो । त्यसपछि जेन–जीका प्रदर्शनकारी कारागार प्रवेश गरेका थिए । त्यहाँबाट ९ सय बढी कैदीबन्दी निस्किएको प्रहरीले जनाएको छ ।

कास्की कारागारका अनुसार त्यहाँ ९८१ कैदीबन्दी थिए । जेन–जी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् । त्यस्तै तुलसीपुर कारागारका एक सय २४ कैदी निस्किएका छन् । बेलुकी पाँच बजेतिर कारागारको मूल गेटको पर्खाल तोडेर उनीहरू निस्किएका हुन् ।

कारागारभित्र हो–हल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाई फायर गरे पनि उनीहरू निस्किएको कारागार प्रमुख कारागारका प्रमुख गिरबहादुर सेजुवालले बताए । एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदी बन्दी मध्य एक सय २४ जना जेल तोडेर भागे पनि थप ५५ जना भने आफूहरू नजाने भन्दै कारागार भित्रै बसेको कारागार प्रमुख सेजुवालले बताए ।

यस्तै कैलालीमा प्रदर्शनकारीले जिल्ला कारागार कब्जा गरेका छन् । यही मौकामा कैदी–बन्दी बाहिर निस्किएका छन् । कैलालीमा स्थानीय प्रशासनले दिउँसो १२ बजेदेखि कफ्र्यु जारी गरे पनि त्यो निष्प्रभावी देखिएको छ । मंगलबार बिहानैदेखि विभिन्न समूह बनाएर प्रदर्शनमा उत्रिएका आक्रोशित युवाले दर्जनभन्दा बढी कार्यालयमा क्षति पुर्‍याइसकेका छन् । उनीहरूले प्रदेशको मुख्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड गरे। प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउँदै दुईवटा गाडी जलाए ।

धनगढीमा पार्किङ गरेर राखिएका आधा दर्जन सरकारी गाडीमा आगजनी गरिएको छ । प्रदर्शनकारीहरूले सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवनमा प्रवेश गरेर आगजनी गरेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालयका एउटा गाडी जलाएको स्थानीय प्रशासनले जनाएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा समेत आगो लगाइएको छ । कञ्चनपुरमा पनि जेन–जी आन्दोलन उग्र बनेको छ । प्रदर्शनकारीले जनप्रतिनिधि र नेताका घरमा तोडफोड र आगजनी गरिरहेका छन् । तर सुरक्षाकर्मीले रोक्न सकेका छैनन् ।

सोमबार राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको दुई घर, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, प्रदेश सांसद प्रकाश रावल, मधु भारती, भीमदत्तका प्रमुख र उपप्रमुख लगायतको घरमा पनि तोडफोड र आगजनी गरिएको छ । बिहानैदेखि महेन्द्रनगरमा टायर बालेर विरोधमा उत्रिएका युवाले जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । यस अविधमा आन्दोलनकारीले अख्तियार कार्यालयमा तोडफोड, नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

 

भैरहवा विमानस्थलमा आगजनी

काठमाडौं । आन्दोलित प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् । विभानस्थलभित्र प्रवेश गरी उनीहरूले मंगलबार आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूको आगजनीका कारण भैरहवा विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रदर्शनीकारीहरूले गरेको आगजनीका कारण पार्किङ गरी राखिएका केही सवारी साधनमा क्षति पुगेको बताए । अन्य क्षति भने नभएको उनको दाबी छ ।

 

जेलबाट निस्केपछि रविले भने–देश जेनजीको माग र परिकल्पनामा चल्छ, राष्ट्रका सम्पति बचाउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेलबाट निस्किए लगतै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तिनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन् । उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै तीन पुस्तालाई लुटेर जोडेको आरोप लगाएका छन् ।

‘सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनु हुने सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने, ‘यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पत्ति यिनको होइन, देशको तीन पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन। बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनै पर्छ ।’

उनले संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी रहेको पनि उल्लेख गरेका छन् । मुलुकको नेतृत्व जेन जीकै मागअनुसार र जेन जीकै परिकल्पनाअनुरुप अघि बढ्नुपर्ने बताएका छन् । त्यस्तै उनले आफ्नो रिहाइ कानुनबमोजिम भएको पनि उल्लेख गरेका छन् ।

‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानुबमोजिमको प्रकिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सीधै आम नागरिकसामु आउन पाएको हुँ,’ उनले भनेका छन्, ‘यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।’ रविको अपिल उनकी श्रीमती निकिता पौडेलको फेसबुकबाट जारी भएको छ ।

हेर्नुस् रविको अपिल

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनु हुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनै पर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ ।

राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।

आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

 

जेनजीलाई राजेश हमालको अपिल : राष्ट्रको सम्पदा जोगाऊ

काठमाडौं । अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई अपिल गरेका छन् । सोमबार प्रहरीको गोली लागेर मारिएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्न जेनजीद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै हमालले यस्तो आग्रह गरेका हुन् ।

सोमबारको घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको उनले बताएका छन् । ‘नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका छौं । साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु राष्ट्रको सम्पदा, राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन । ती हाम्रा हुन् । तिनको नाश नगरौं संरक्षण गरौं,’ उनले भने ।

हमालले भोलि देशको नेतृत्व गर्ने अवसर आउँदा नयाँ पुस्तालाई तिनै संरचना र सम्पदा आवश्यक पर्ने भन्दै संयमता अपनाउन अपिल गरे । उनले एक, दुई वा पाँच, ६ वर्षदेखिको आक्रोश नभई वर्षौंदेखि उम्लिएको असन्तोष अहिले विष्फोट भएको भन्दै उनले अब नेपालीले नै मिलेर नेपाल जोगाउनु पर्ने बताएका छन् ।