`

निषेधाज्ञाकै बीच चार घण्टाका लागि खोलियो बैंक

काठमाडौं । निषेधाज्ञाकै बीच काठमाडौं उपत्यकाका बैंकहरू खाेल्न थालिएको छ । गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिएपछि बन्द भएका बैंकहरू बिहीबारदेखि पुनः सञ्चालनमा आएका हुन् ।

आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो । नगन्य क्षतिकैबीच बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो । बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसो २ बजेसम्म खुला रहने जनाइएको छ । संघले अधिकतम तीन वटा शाखासम्म खोल्न भनेको छ ।

संघको निर्णय पालाना गर्दै अहिले काठमाडौँका बाणिज्य बैंकहरूले आफ्ना शाखा कार्यालयहरूबाट सेवा दिइरहेका छन् भने विकास बैंकहरूले पनि फाट्टफुट्ट रुपमा सेवा दिन थालेका छन् । योसँगै अन्य वित्तीय सेवा प्रदायक संस्थाहरूले पनि आजबाट आंशिक रूपमा सेवा चालु गरेका छन् ।

संवैधानिक प्रक्रियाबाट निकास निकाल्न पापडको सुझाव

काठमाडौं । शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन पेसागत सञ्जाल (पापड) ले सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो ।

पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ ।

‘अहिले मुलुक तरल अवस्थामा पुगेको छ । तत्काल राजनीतिक निकासको विषयमा अन्यौलता देखिएको छ । यस्तो संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उचित देखिंदैन’, पापडले भनेको छ, ‘तसर्थ, तत्काल शान्तिपूर्ण समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट अबको निकाश निकालिनु पर्दछ ।’

जेनजीले उठाएको संरचनात्मक सुधारका मागहरूलाई समेट्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियामार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडि बढ्नु पर्ने पापडको सुझाव छ ।

 

संसद विघटन नगर्न जेन-जीलाई सीके राउतको सात बुँदे प्रस्ताव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले वार्तामा रहेका जेन–जी प्रतिनिधिलाई संसद् विघटनको निर्णय नगर्न आग्रह गरेका छन् । उनले वर्तमान संकट समाधानका लागि सात बुँदे प्रस्ताव समेत प्रस्तुत गरेका छन् । जेन–जीलाई सम्बोधन गर्दै राउतले बिहीबार बिहान वक्तव्य जारी गरी अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद्लाई भंग नगर्न आग्रह गरेका हुन् ।

‘देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ । राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उभ्याएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौँ’, उनले भनेका छन् ।

चेतावनी दिँदै उनले अगाडि भनेका, ‘यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद्लाई भंग गर्नु भयो भने अर्को १० वर्ष तपाईंहरूलाई संविधान बनाउनका लागि नै अल्झाइराख्छन्, काम गर्ने वातावरण नै बन्दैनन् । त्यो प्यानडोराज बक्स हो । त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसद्लाई नै कायम रहन दिई (भलै हामी त्यहाँबाट राजीनामा दिइसकेका छौँ, तैपनि भनिराखेका छौँ) निर्वाचन गराउनेतिर लाग्नु पर्दछ । ६ महिनाभित्र निर्वाचन गराउन सकियो भने त नयाँ प्रतिनिधिसभा पाइहाल्नु हुन्छ, त्यसैले अहिले रिक्तता सिर्जना नगरौं ।’

हेर्नुस् सीके राउतको पूरा वक्तव्य :

प्रिय जेनजी,
तपाईंहरूले देशको निकासको लागि गरीराखेको पहलको समयमा केही कुराहरू याद राख्नुपर्ने हुन्छ । देश केवल म्ष्कअयचम ग्रुपको, एउटा निश्चित वर्ग, जाति र समूहको मात्रै होइन, तपाईंहरूले गर्ने हरेक निर्णय मेचीदेखि महाकाली, हिमाल पहाडदेखि तराई–मधेससम्म, कर्णाली र सुदूरपश्चिमदेखि मधेस र लुम्बिनीसम्म, खस–आर्यदेखि मधेसी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, पिछडावर्गसहित सीमान्तकृत वर्गसम्म सबैले अपनत्व लिने गरी हुनु पर्दछ । सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने खालको हुनु पर्दछ ।

तपाईंहरूले आन्दोलन गर्नु भयो तर पर्दापछाडि यसै अवसरलाई दुरुपयोग गर्न धेरै कुराहरू भइराखेका छन् । देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ । राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उभ्याएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौँ ।

त्यसैले अहिलेको संक्रमणकालीन स्थितिमा संशोधनको आवश्यकता पक्कै रहे पनि संविधानलाई चलाउने होइन (निर्वाचन पछि गर्दा हुन्छ) र अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद्लाई पनि भंग गर्नु हुँदैन, अन्यथा देशमा रिक्तता निम्तिन्छ । दशकौँको आन्दोलन र बलिदानीपछि सम्भव भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तोसुकै परिस्थितिमा हामी रक्षा गर्न तैयार रहनुपर्छ, केही पात्रहरूले जतिसुकै दुष्प्रचार गरे पनि यो देशको अस्तित्वको रक्षाको लागि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्नै पर्छ ।

यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद्लाई भंग गर्नुभयो भने अर्को १० वर्ष तपाईंहरूलाई संविधान बनाउनका लागि नै अल्झाइराख्छन्, काम गर्ने वातावरण नै बन्दैनन् । त्यो ‘प्यानडोराज बक्स’ हो। त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसद्लाई नै कायम रहन दिई (भलै हामी त्यहाँबाट राजीनामा दिइसकेका छौँ, तैपनि भनिराखेका छौँ) निर्वाचन गराउनेतिर लाग्नु पर्दछ । ६ महिनाभित्र निर्वाचन गराउन सकियो भने त नयाँ प्रतिनिधिसभा पाइहाल्नु हुन्छ, त्यसैले अहिले रिक्तता सिर्जना नगरौं ।
त्यसको अलावा हामीले ध्यान दिनुपर्ने भनेकोः

१) कानुनी राज्य (ल एन्ड अर्डर) पूर्णतः स्थापित गर्नुपर्ने। अस्थिरता, त्रास र डरको माहोल हुँदा पूरै देशको राजधानीको कुनाकुनामा मात्रै होइन, देशको कुनाकुनामा पनि सबैलाई सुरक्षाको प्रत्याभूति गराउने ।

२) नेसनल टास्क फोर्स (NTF) गठन गर्ने र हरेक परिवारबाट एउटा स्वयंसेवक दिनैपर्ने गरी ड्राफ्टिङ गर्ने र राष्ट्रियदेखि टोलस्तरसम्म पुनर्निमाण, विकास तथा सुशासनका लागि युद्धस्तरमा खटाउने ।

३) ट्राइब्युनल गठन गर्ने र आन्दोलनमा भएको जनधनको क्षति, हिंसा र घुसपैठ आदिको छानबिन गर्ने, विगतका भ्रष्टाचारहरूको छानबिन गर्ने र भ्रष्टाचार गरेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने । सेट डेट तोकेर त्यसपछाडि भ्रष्टाचार गरे ’जिरो टोलेरेन्स’को नीति लिई कडा कारबाही गर्ने ।

४) विश्व समुदाय, दातृ–संस्था तथा बहुपक्षीय संगठनहरूको भेला गर्ने र विकास तथा पुनर्निमाणको लागि सहयोग र सहकार्य गर्न अपिल गर्ने, गुमेको विश्वासलाई पुनस्र्थापित गर्न राज्यले उत्तरदायित्व लिने गरी सबैको लगानी सुरक्षित रहने सुनिश्चितता गर्ने र लगानी आकर्षित गर्ने ।

५ )युद्धस्तरमा टास्क फोर्स र स्वयंसेवक परिचालित भएर पुनर्निमाण र विकासको कार्य थाल्ने ।

६) उद्योग र रोजगारीको लागि लाग्ने ताकि कतै बेरोजगारी नै नरहोस् ।

७) (हुनसक्छ) १० वर्षसम्म सबै सम्पत्ति राष्ट्रियकरण गर्ने (आत्तिनु पर्दैन १० वर्ष पछि फिर्ता पाउने गरी राज्यलाई १० वर्षसम्म नागरिकले आफ्नो घरजग्गा लिजमा दिएको जस्तो र पैसा पनि आन्तरिक ऋण दिएको जस्तो) र १० वर्षसम्म राज्यले नागरिकको पूर्ण अभिभावकत्व लिने । नागरिकले खाना कसरी खाने, के लगाउने, कसरी पढाउने, कसरी उपचार गर्ने आदिको कुनै चिन्ता नै न लिनु परोस् र पूर्ण रूपले देशको विकास र निर्माणका लागि युद्धस्तरमा खट्न सकोस् भनेर ।

जेनजी आन्दोलन र माओवादीका मुद्दा समान छन्, देश अग्रगमनतर्फ अघि बढ्ने ढोका खोल्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिंड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।

आज (बिहीबार) विज्ञप्तिमार्फत उनले विगतमा आफ्नो नेतृत्वको सरकारले चालेको सुशासनको कदमबाट त्रसित भएर बनेको काग्रेस–एमालेको सरकारको दमन र कुशासनकै कारण जेनजी पुस्ताका युवाहरूसहित जनताको आक्रोशले विष्फोटको रुप लिएको उनको भनाई छ ।

१० बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका पूर्व प्रधानमन्त्री प्रचण्डले जेनजी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा हुनुपर्नेमा पनि जोड दिएका छन् । त्यसका लागि राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भूमिकाको उनले सराहना पनि गरेका छन् ।

‘जेनजी पुस्ताले उठाएका माग संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपील गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु ।’

हेर्नुस् प्रचण्डको विज्ञप्ति
जेन–जी पुस्ताका युवाहरू तथा आदरणीय जनसमुदाय

समुन्नत लोकतन्त्रको सपना सांचेर सुशासनका पक्षमा जेन–जी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

१. सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद् रुपमा तपाई हाम्रासामु देखिएको छ । भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रुप लियो । जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चायो । सामाजिक सञ्जाल प्रतिवन्ध तथा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन सही थियोे तर त्यसमाथी सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो ।

२. आन्दोलनको दोश्रो दिन व्यवस्थापिका संसद भवन, राष्ट्रपति निवास, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकायका कार्यालयलगायत दर्जनौं सार्वजनिक संरचना, राजनीतिक दलका कार्यालय, नीजि आवास, होटल, बैक, व्यावसायिक भवनहरुमा जे जसरी तोडफोड, लूटपाट र आगजनी गरियो, जसरी राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण भयो, त्यो जेन–जी आन्दोलनकारीले गर्न सक्दैनन, ऊनीहरुबाट भएका होइनन् र भएका घटनाहरु उनीहरुको आदर्श अनुरुप पनि छैनन् भन्ने हाम्रो ठहर छ । हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लूटपाट र आगजनीका घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन गर्न माग गर्दछौं ।

३. केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा मैले संसदको रोष्टमबाट गठबन्धनको सरकार जुन उदेश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको थिएँ। त्यसपछि पनि हाम्रो पार्टीले सरकार गलत बाटोमा हिँडिरहेपछि सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरुमा लगातार कठोर आत्मसमिक्षासहित सच्चिन बारम्बार आग्रह गरेको र कुशासनका शृंखला जारी नै रहेमा जनताको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्ने भन्दै सचेत गराउँदै आएको थियो। हजारौं सहिद, वेपत्ता नागरिक तथा घाइते अपांग जनताको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा हामीबाट भए, गरेका कमीकमजोरीको निर्मम आत्मसमीक्षा गर्दै सुशासनमुखी उन्नत लोकतन्त्रका पक्षमा अघि बढ्न निरन्तर खबरदारी गर्यौँ। तर, दुई तिहाई संख्याको दम्भमा सरकार संवेदनहीन बनिरह्यो। सरकार भने अहमकारकै बाटोमा लागि रह्यो। अझ सामाजिक संजालमा प्रतिबन्ध लगाउने तथा दमनको निरंकुश बाटोमै अघि बढिरह्यो। यसले सिर्जना गरेको परिस्थितिका कारण जेन जी पुस्ताका युवाहरूसहित जनताको आक्रोश विष्फोट हुन पुग्यो । युवाहरुको आवाज सुन्नुको साटो सरकारले गरेको नरसंहारका कारण ठूलो मानवीय क्षति भयो ।

४. हामीले भ्रष्टाचारका विरुद्ध निरन्तर आवाज उठाउँदै आयौं। पछिल्लोपटक सरकारको नेतृत्व गर्दा समेत सुशासनको विषयमा निर्णायक पहलकदमी लिएको विदितै छ । प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसदहरु मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरुको सम्पत्ति छानबीनका लागि अधिकारसम्पन आयोगका पक्षमा हामीले आवाज उठायौं । आज जेनजी पुस्ताले समेत यिनै मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो। जेन जी पुस्ताले आन्दोलनको घोषणा गरेपछि हामीले त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेको कुरा स्मरण गराउन चाहन्छु। आन्दोलनको दोश्रो दिन आयोजकको पूर्ववत घोषणाविपरीत अवाञ्छित तत्वहरूको घुसपैठ देखा पर्न थाल्यो । त्यस्ता तत्वहरुबाट नेपालको ऐतिहासिक धरोहर र गौरवका रुपमा रहेका सिंहदरबार सहितका संरचनामा जे जसरी लूटपाट र आगगजनीका घटना भए, ती इतिहासमै सर्बाधिक नकारात्मक घटना बन्न पुगे । जेनजी युवा र हामिले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो ? यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ । यसखालका घटना जेन जि पुस्ताको घोषित नीति र आदर्शविपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।

५. कुनै बेला तत्कालिन सत्ताले जनताका कुरा नसुन्दा हामीले जनयुद्ध सुरु गर्नुपरेको थियो। जनयुद्ध कुनै रहर थिएन। जनयुद्ध जनतामाथि भइरहेको चरम शोषण, दमन र हिंसाविरुद्धको प्रतिरोध थियो । नेपालकै इतिहासमा पहिलोपटक पीँधमा रहेका वर्ग, जाति, क्षेत्र र समुदायले आफ्नो आवाज मुखरित गरेँ। हजारौं जनताको बलिदान भयो। कैयन् अझै पनि वेपत्ता छन, अंगभंग र घाइते छन् । शान्ति, सुशासन र समृद्धिमा जानुपर्छ भन्ने विश्वासका साथ १२ बुदे सहमति, १९ दिने जनआन्दोलन हुँदै तत्कालीन ७ दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र मैले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर देश संविधानसभामा प्रवेश ग¥यो । राज्यको निर्मम दमनविरुद्ध जनयुद्ध, जनआन्दोलन र विभिन्न समुदायका जनताको बलिदानीपूर्ण संघर्षकै कारण हामीले लोकतान्त्रिक गणतन्त्रको संविधान कोर्न सफल भयौं। नेपालकै इतिहासमा पहिलोपटक दलित, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिम लगायत उपेक्षित उत्पीडित वर्ग र समुदायको संविधानमार्फत अधिकार सुनिश्चित गरियो। सिंहदरबारमा केन्द्रीत अधिकार गाउँसम्म पुग्यो । यो चानचुने उपलब्धि थिएन। आज नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको चर्चा गर्दा हामीले इतिहासको यो बलिदानलाई स्मरण गरेर र यसकै जगमा टेकेर मात्रै अग्रगमनतर्फ बढ्ने संकल्प गर्नु पर्दछ ।

६. हामीले संविधान कार्यान्वयनमा पर्याप्त गम्भीरता देखाउन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । त्यसो त संविधान जारी गर्ने बेलामा नै हामीले संविधानमा फरक मत राख्यौं। प्रत्यक्ष कार्यकारी रहने निर्वाचन प्रणालीको वकालत गरर्यौं, दलित, महिला, आदिवासी, जनजाति लगायतका समुदायका थप अधिकार सुनिश्चित गर्नुपर्ने एजेण्डाहरू फरक मतका रूपमा राख्यौं । २०४६ सालयताका सार्वजनिक पद धारण गरेका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानविनका लागि अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने, सांसदहरू मन्त्री बन्न नपाइने र विज्ञहरु मन्त्री बन्नुपर्ने लगायतका हाम्रा फरक मत थिए । त्यतिखेर शक्ति सन्तुलनका हिसाबले संविधान जारी गर्नैपर्ने परिस्थितिमा लिखित फरक मत राखेर समेत हामीले संविधान जारी गरर्यौं । यी फरक मतहरु हाम्रा अहिले पनि छन्। हामीले अघि सारेका यिनै मतहरू सुनिश्चित नहुँदा र जारी भएको संविधान कार्यान्वयनमा समेत कांग्रेस र एमाले परम्पराभन्दा माथि उठन नसक्दा जनतामा आक्रोश चुलिन पुग्यो। आज तिनै मागलाई जेन जी पुस्ताले उठाएको छ । हामीले यसलाई सकारात्मक रूपमा लिएका छौं। आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ । यसका लागि जेन–जी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ ।

७. जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ । यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेका छन् । हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।

८. हाम्रो ठहर छ, कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनु पर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्‍याउने छ । त्यसैले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं । यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं ।

९. नेकपा (माओवादी केन्द्र) नेपाली समाज रुपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो । हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष ग¥यौं । त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं । गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरु एउटै होइनन् । गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने पार्टी हो हाम्रो । नयाँ र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो । हामी यथास्थितमा बस्न चाहन्नौं । त्यसैले परिवर्तनविरोधीहरुबाट माओवादी केन्द्रबारे भइरहेका झूटो प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्न चाहन्छौं । अग्रगामी परिवर्तनका पक्षमा हुने, नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा हाम्रो साथ, समर्थन रहने छ ।

१०. संक्रमणकालिन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढन शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आमजनसमुदायसँग अपील गर्दछु । साथै, जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लूटपाट र आगजनी लगायतका गतिविधि हुनसक्ने सम्भावनाप्रति सजग रहँदै जनतालाई आइपर्ने कुनै पनि खालको समस्यासँग जुध्नका लागि जनताको साथमा रही तम्तयार रहन पार्टीपंक्तिलाई निर्देशित गर्दछु ।

अन्तमा,
जेन जी पुस्ताले उठाएका मागहरु संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपील गर्दछु । साथै प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्ति पूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु ।

प्रचण्ड

राष्ट्र हितका लागि सरकारको नेतृत्व प्रस्ताव स्वीकार गरेकी छु : सुशीला कार्की

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफू अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन् । आन्दोलनकारी जेनजी प्रतिनिधिको चाहनाअनुसार जंगी अड्डामा जारी वार्ता उनकै नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिएका बेला पूर्व प्रधानन्यायाधीश कार्कीले भारतीय टेलिभिजन च्यानल न्युज १८ लाई अन्तर्वार्ता दिँदै आफू त्यसका लागि तयार रहेको बताएकी हुन् ।

‘उनीहरूले मलाई चुनावी प्रयोजनका लागि छोटो समय सरकारको नेतृत्व गर्न भनेका छन् । मैले यसलाई स्वीकार गरेकी छु’, उनले भनेकी छन्। उनले आफू अन्तरिम सरकार प्रमुख भएपछि गर्ने कामका विषयमा पनि चर्चा गरेकी छन् ।

‘मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेनजीको परिवारलाई राहत दिनु हुनेछ । अहिले उहाँहरूको एउटा माग अर्थात् प्रधानमन्त्रीको राजीनाको माग पूरा भइसकेको छ । सरकार बनेपछि अरू धेरै कुरा पूरा गर्न सकिन्छ’, कार्कीले भनेकी छन्, ‘उनीहरूसँग मैले अन्तिम कुरा गरेको छैन । हिजो प्रस्ताव गरेका थिए, मैले स्वीकारें । पहिलो त शान्तिको आवश्यकता नै हो। म भन्दिनँ कि म ठुलो आर्थिक सुधार ल्याउँछु । मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो । अहिलेको अवस्थामा ध्वस्त भएको भवनलाई केही निर्माण गर्न सकिन्छ । तर, निष्पक्ष निर्वाचन होस् भन्ने हो। पैसा बाँडेर कोही नेतृत्वमा नआओस्, हाम्रो यही प्राथमिकता हो ।’

पूर्व प्रधानन्यायाधीश कार्कीले निर्वाचनका विषयमा पनि चर्चा गरेकी छन् । ‘नयाँ चुनावमा के नयाँ पुस्ता वा युवा आउँछन्, किनकि आन्दोलन त युवा पुस्ता आउनु पर्‍यो भनेर भएको हो नि । हामी कसैलाई चुनाव नलड् भनेर त भन्न सक्दैनौं । कोही पार्टीगत रूपमा आउलान्, कोही स्वतन्त्र रूपमा आउँलान् । यो त उनीहरूको रोजाइ हो । कोही नयाँ पार्टी गठन गरेर चुनावमा आऊन् वा कुनै पुरानो दल आएर त्यो गर्छन् भने पनि ठिकै छ’, उनले भनेकी छन् ।

उनले चुनाव गराउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताएकी छन् । ‘चुनाव गर्न त समय लाग्ला । ६ महिना लाग्ला, एक वर्ष लाग्ला । तर छोटो समयमा चुनाव गरेर हस्तान्तरण गर्छौं । म कार्यकारी व्यक्ति होइन, म जज हुँ । मलाई राजनीतिमा रहेर केही गर्नु छैन’, उनले भनेकी छन् ।

आउँदो कात्तिक १० सम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन गर्ने भएको छ । आज (बिहीबार) बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हो ।

आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको सूचनामा उल्लेख छ । नियमित पठनपाठन आगामी कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने त्रिविले जनाएको छ ।

हेर्नुस् सूचना

मेरो रिस वृद्ध बा–आमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्ना वृद्ध बुवा–आमा बसेको चितवनको घरमा गरिएको तोडफोडप्रति दुःखेसो व्यक्त गरेका छन् । उनले ललितपुरको भैँसेपाटीस्थित आफ्नो घर जलाएर पनि नपुगी बिरामी बुवाआमा बसिरहेको चितवनस्थित घरमा ढुंगामुढा गरिएका चित्त दुखाएका हुन् ।

‘सुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीया बुढी आमाको सुत्ने कोठा हो । उहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नु भएको पनि हो’, घरमा आक्रमण गरिएको भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दै बिहीबार बिहान उनले लेखेका छन्, ‘मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् ।’

गभर्नर पौडेलका अनुसार चितवनको घर लगभग १५ वर्षअघि उनी विद्यार्थी छँदा नै बनाइएको हो । जहाँ उनी अहिले पनि हरेक हप्ता बाआमासँग बसेर खाना खान पुग्थे ।

‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केही अघि रक्त अल्पता भइराखेर बाँच्नु हुन्न कि जस्तो भएकोमा अहिले सन्चो हुँदै थियो । ६७ वर्षअघि चितवन झर्नु भएका बाका सबै सन्तान यहीँ जन्मेका हुन्’, पौडेलले भनेका छन्, जिन्दगीमा मैले कसैसँग एक रुपैयाँ मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधैँ कक्षामा फस्र्ट हुन्थें । गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयूमा प्राध्यापक भएँ । बाआमा दुवै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ ।’

जंगीअड्डामा आज नयाँ सरकारको नेतृत्वका लागि निर्णायक वार्ता

काठमाडौं । आज (बिहीबार) अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच निर्णायक छलफल हुने भएको छ ।

जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल गर्ने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन् । आजको छलफल निष्कर्षमा पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।

जेनजीबाट प्रस्तावित पूर्व प्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन जनाइसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् । प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार्ने अभिव्यक्ति दिएका छन् ।

जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गरिदिन जेनजीले राखेको प्रस्ताव स्वीकार्ने बताइसकेकी छन् ।

संसद विघटन गर्दा जनताको सर्वोच्चता संकटमा पर्छ : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद विघटन गर्दा जनताको सर्वोच्चता संकटमा पर्ने बताएकी छिन् ।बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटनको काम सैह्य नहुने बताएकी हुन् ।

‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसदले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो,’ उनले भनेकी छिन् । जेनजीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थप्रेरित निर्णय गर्न नपाइने बताएकी छन् ।

सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर हिँडेका छन् । संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार जस्ता कार्यालयमा जेनजीहरूले उग्र प्रदर्शन गरेर तोडफोड र आगजनी गरेका छन् । यसैबीच नेपाली सेनाले जेनजीहरूलाई संवादमा आउन आह्वान गरेको छ । आजै मात्रै जेनजीहरूले प्रधानसेनापति अशोकराज सिग्देल समक्ष पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बनाउने गरी प्रस्ताव अघि सारेको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) समेतको समर्थनमा उनलाई अघि सार्दै संसद् विघटनको प्रस्ताव पनि लगिएको छ । सोही विषयमा आफू निर्वाचित सांसद भएकाले बोल्नै पर्ने देखेर बिहीबार साँझ आफ्ना कुरा राखेको उनले बताएकी छिन् ।

‘कुनै पनि स्वार्थप्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसदलाई कायम चाहिँ राख्नु पर्छ,’ उनले भनेकी छिन्, ‘अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनु भएको छ, चुनावबाट तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ ।’

उनले आफू भ्रष्टाचारीको विरुद्ध जस्तै नेपालको व्यवस्था बचाउन पनि कटिबद्ध रहेको बताएकी छिन् । ‘म जति कटिबद्ध छु, नेपालको यो व्यवस्था बचाउन पनि उति नै कटिबद्ध छु । सहि मान्छे जनताले निर्वाचित गरे भने कानुन बनाएर कानुको दायरामा ल्याएर तीनका सम्पत्ति राष्ट्रियकरण गर्न पनि सकिन्छ,’ उनले भनिन्, ‘बस नेपाली जनताले सहि मान्छे निर्वाचित गरेर पठाउनु पर्‍यो । यो जनताको सर्वोच्चता कायम हुन्जेसम्म मात्रै सम्भव छ ।’

आज बिहान चार घण्टा र साँझ दुई घण्टा आवतजावत गर्न पाइने

काठमाडौं । शान्ति सुरक्षाको नेतृत्व लिएको नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यूको समय घटाएको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज (बिहीबार) बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ ।

‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले भनेको छ।

सेनाले भदौं २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म भने कर्फ्यू आदेश रहने जनाएको छ ।

हेर्नुस् सूचना

अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बालेनको समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न सुझाव दिएका छन् ।

जेन–जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकार गठन र संसद्को विघटनको सुझाव दिएका हुन् ।

बालेनले बुधबार साँझ फेसबुकमार्फत एक स्टाटस लेख्दै अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति उनले समर्थन जनाएका छन् ।

उनले लेखेका छन् ,‘देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो ’ ।

अहिले नेतृत्वमा आउन चाहेकाहरुलाई पनि उनले धैर्यता गर्न आग्रह गरेका छन् ।

‘तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

जङ्गीअड्डाबाट हर्कले भने- प्रधानमन्त्री बन्न रेडी छु

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न रेडी भएको बताएका छन् ।

नयाँ सरकार गठनबारे प्रधानसेनापति सँग कुराकानी गर्न जङ्गी अड्डा परिसर पुगेका हर्कले  पत्रकारसँग कुरा गर्दै  युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार रहेको बताएका हुन् ।

जेनजी युवाहरूको एक समूहले सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए । त्यसपछि सेनाको मुख्यालयमा बालेनले नेतृत्व लिन नमाने हर्कले लिनुपर्ने भन्दै जेनजीहरुबिच विवाद भएको थियो ।

तर केही जेनजी युवाहरूले सुशीला कार्की नै अहिलेको समयमा उत्तम भनेका छन् । हर्क साम्पाङ अहिले जङ्गी अड्डाबाट निस्किएका छन् ।

 

सञ्चालनमा आयो विमानस्थल, उड्न थाले यात्रु, हेर्नुहोस् तस्बिरमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने सँगै यात्रुहरु वैदेशिक उडानमा उड्न थालेका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले उडान खुलेको बताएसँगै भारी संख्यामा यात्रुको भिड लागेको हो ।

नयाँ सरकारको नेतृत्वबारे जंग्गीअड्डाबाहिर जेन-जीबीच विवाद (तस्बिरहरु)

काठमाडौँ । पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर नेपाली सेनाको जंगी अड्डा पुगेका जेन-जी युवाहरू विवादमा उत्रिएका छन् ।

प्रधानसेनापति अशोक सिग्देलसँग वार्ताका लागि पुगेका युवाहरू विभिन्न नाममा विवादमा उत्रिएका हुन् ।

सेनाको मुख्यालयको गेटमा जम्मा भएका युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद भएको हो ।

त्यहाँ धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ र काठमाडौँका मेयर बालेन्द्र साहको नाम लिएर भनाभनमा उत्रिएका हुन् । केही युवाहरूले अन्तरिम सरकार प्रमुखमा सुशील कार्की मान्य नहुने भन्दै नाराबाजी पनि गरेका छन

रविको प्रष्टिकरण : मलाई कारागारले जबरजस्ती निकालेको हो, चाहेर निस्केको होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ती निकालिएको प्रष्टिकरण दिएका छन्। आफूलाई ‘कस्टडी’ मा राख्नका लागि सुरक्षा प्रमुखहरुलाई भनेको उनको दावी छ ।

लामिछानेले फेसबुक लाइभमा आएर भनेका छन्, ‘म आफूले चाहेर निस्किएको होइन । सुरक्षा दिन सकिन्न भनेर मलाई जबरजस्ती बाहिर निकालिएको हो । मलाई जस्तो पत्र दिइयो, जस्ताको तस्तै सार्वजनिक गरेको छु ।’ उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग आफूले कुरा गरेर फेरि थुन्न भनेको बताए ।

लामिछानेले भने, ‘तपाईंहरुले मलाई आफ्नो कस्टडीमा राख्नुस् या कारागारमा पठाउनुस् भनेर उहाँहरुलाई भनें । उहाँहरुले आफै सुरक्षित बस्नुस्, परेको बेला आफैं सम्पर्क गर्छौं भन्नु भयो । सुरक्षा दिन नसकेरै पत्र दिएको होला भन्ने कुरा गर्नुभयो ।’

आजै न्यायिक निकायहरुलाई पनि औपचारिक जानकारी गराएको उनले बताएका छन् । आफू सरकार बनाउने र सरकारकोदौडमा नरहेको उनले प्रष्ट पारेका छन् । ‘मेरो नाममा विवाद गर्नु जरुरी छैन । मलाई डिफेम गर्न पर्दैन । म यो रेसमा नै छैन । झुटो मुद्दा अझै खेपिरहेको छु । प्रहरीले आफैं सुरक्षित बस भन्छ । बाटोमा जा भन्छ । बाटोमा आगो लिएर बसेको भिड छ । अब भन्नुस मैले बाँच्न पाउने कि नपाउने ? कांग्रेस–एमालेदेखि जेनजीसम्म आउँदा ममाथिको अन्याय नरोकिने नै हो त ?’ उनले प्रश्न गरे ।

उनले भनेका छन्–
म आज सिधाकुरा आफ्नो शैली प्रस्तुत गर्न आएको छु–
१. कारागारबाट म निस्किन चाहेको हैन भिड बढेपछि कारागारले मलाई जबर्जस्ती मलाई बाहिर निकालेको हो । मैले बिनापत्र जान्न भनेको हुँ । उनीहरूले जस्तो पत्र दिए जस्ताको त्यस्तै सार्वजनिक गरिसकेको छु ।

२. आजै मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई आईजीहरूलाई मलाई तपाईंहरूले आफ्नो कस्टडीमा राख्नुहोस्, नियन्त्रणमा लिनुस् या कारागारमा पठाउनुस्–उहाँहरूले स्पष्ट भन्नुभयो–तपाईं आफै सुरक्षित बस्नुस् सुरक्षा दिन नसकेरै कारागारले पत्र दिएको होला ।

३. सुरक्षा निकायबाट यस्तो जवाफ आएपछि मैले आजै न्यायिक निकायहरूलाई जानकारी गराइसकेको छु ।

४. म सरकार बनाउने सरकारमा जाने कुनै पनि दौडमा छैन । कसैसँग कतै कुनै बैठक गरेको छैन । मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन। म कुनै रेसमा छैन भनेर धेरै पटक भनिसकें । रेसमा नआओस् भनेर डिफेम गर्न जरुरी छैन । तर यो देश रहनु पर्छ लोकतन्त्र रहनु पर्छ र नागरिक सर्वोच्चता रहनु पर्छ । यो कुरामा म कसैसँग नडराइ बाँचुन्जेल राख्नेछु ।

५. यो आन्दोलन जेनजीको हो । नेतृत्व जेनजीले नै तय गरोस् । म आफ्नो मुद्दा कानुनी माध्यमबाट लडिरहेको छु लडिरहनेछु । ओली–देउवाको कूशासनको सबैभन्दा शिकार भएको म तिनले लगाएको झुटो मुद्दा अझै पनि झेलिरहेको छु । तिनले लगाएको झुटो मुद्दा जिल्लैपिच्छे अझै पनि खेपिरहेको छु । जनताले ओली–देउवालाई खेदेर लखेटे तर तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोमा अझै हटेको छैन ।

सरकार छैन सुरक्षा निकाय सुरक्षा दिन सक्दिन आफै बस भन्छ । कारागार बाटोमा जा भन्छ । जहाँ एउटा ठूलो भिड हातमा आगो लिएर बसेको छ आक्रोश लिएर बसेको छ–भन्नुस्, मैले बाँच्न पाउने कि नपाउने ?

कांग्रेस–एमालेबाट जेनजीसम्म आइसकेपछि पनि ममाथिको अन्याय नरोकिने नै हो त यो देशमा ? मलाई र म नेतृत्वको रास्वपालाई कुनै पनि लाभ चाहिएको छैन । लाउड एन्ड क्लियर ।

जेलले निस्क भनेर धकेलेर निकालेको पत्र बोकेर सुरक्षा निकायले नै सुरक्षा दिन नसक्ने त्यही जेलमा कुन विधिबाट जाऊँ?

 

हर्क साम्पाङ र दुर्गा प्रसाई पुगे जङ्गीअड्डा

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईं भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । प्रधान सेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जनआन्दोलनको जनकमाण्डर बनेका तर हाल स्वतन्त्र रहेका दुर्गा प्रसाईसँग अबको निकासबारे छलफल गरेका छन् ।

विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि निकासका विषयमा वार्ता भएको वित्त आयोगका अधिकृत समेत रहेका अभियन्ता गणेश घिमिरेले जानकारी दिएका छन् । उनले विभिन्न पक्षसँग वार्ताको समन्वय गरिरहेका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ जंगी अड्डा पुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्लेलसँग भावी सरकार गठनको विषयमा छलफल गर्न भन्दै साम्पाङ सैनिक मुख्यालय जंगी अड्डा पुगेका हुन् ।

साम्पाङले केहीबेर अघि आफू काठमाडौँ आइपुगेको जानकारी फेसबुकमार्फत दिएका थिए । सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले बुधबार बिहानै राजधानी प्रवेश गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै उनले लेखेका छन्, ‘देशको चिन्ताले काठमाण्डौँ आइपुगियो । गलत मान्छेहरूको घुसपैठ नहोस् जेन–जेड ।’ यसैबेला डिस्कोर्डमा जेन–जेडले सेनासँग वार्ता गर्न कसलाई पठाउने भन्ने विषयमा बिहानैदेखि छलफल भइरहेको छ ।

भोलि बिहान ८ बजे फेरि सबै पक्षसँग वार्ता गर्ने र चाँडै देशले नयाँ निकास पाउने उनले बताए । विभिन्न छलफलका क्रममा अहिलेसम्म नयाँ सरकार गठनको प्रक्रिया र त्यसको नेतृत्वबारे सहमति कायम भइसकेको छैन ।

सुशीला कार्कीको नाममा बढी छलफल भए पनि प्रधान सेनापतिले काठमाडौंका मेयर बालेन शाहलाई नेतृत्व गरेर देश सम्हाल्न प्रस्ताव गरेको बताइएको छ । तर, बालेन इच्छुक नभएपछि सुशीला कार्कीमा बढी छलफल भएको हो । त्यसो त कुलमान घिसिङले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने इच्छा देखाएका छन् । उनले पनि प्रधान सेनापतिसँग छलफल गरेका छन् ।

जेनजी समूहमा सुशीला कार्कीको माग : दुर्गा प्रसाई हाम्रो ‘स्टेक होल्डर’ होइनन्

काठमाडौं । नेपाली सेनाको अगुवाइमा जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरिएको छ ।

यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि सुशीला कार्कीलाई अभिभावकत्व लिन आग्रह गर्ने समझदारी बनेको हो । उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन् ।

यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल समक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीय ज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा चलिरहेको छ ।’

सेनाले पूर्व प्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ । बुधबार दिनभर जेनजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।

धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ । मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन आग्रह गरेका थिए ।

बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए ।

उनले संयोजक समेत तोकेर आउन आग्रह गरे । त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो । त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । जेनजीका प्रतिनिधिले मेडिकल व्यवसायी दुर्गा प्रसाईं कुनै पनि हालतमा आफूहरुको ‘स्टेक होल्डर’ नभएको स्पष्ट पारेका थिए ।

डिस्कोर्डमा करिब १० हजारको संख्यामा भइरहेको छलफलमा जेनजीका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । उनीहरुले भनेका छन्, ‘हाम्रो लागि कुनै पनि हालतमा दुर्गा प्रसाईं जस्ता व्यक्ति स्टेक होल्डर होइनन् ।’ छलफलमा राजतन्त्र कि गणतन्त्र भन्ने पनि बहस भयो । धेरैले राजतन्त्र स्वीकार नगर्ने बताएका छन् ।

धादिङ कारागारमा सेनाको गोली लागेर एकको मृत्यु, सात कैदीबन्दी घाइते

धादिङ । जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेहरु सबै पुरुष छन् ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो । घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ । गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौँ पठाइएको छ ।

मङ्गलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफूहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए । गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।

प्रहरी वृत्त महाराजगञ्जका तीन प्रहरीको मृत्यु

काठमाडौं । जेनजी युवाको प्रदर्शनमा ज्यान गुमाउने प्रहरीको संख्या तीन पुगेको छ । यसअघि दुई जना मृत भएको थियो । अहिले भने मृत प्रहरीको संख्या तीन पुगेको नेपाल प्रहरीले जनाएको छ ।

मृत हुनेहरु सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् । एक असईसहित तीन जनाको मृत्यु भएको र उनीहरुको पहिचान समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताएका छन् । अझै केही प्रहरी मिसिङ भएकाले यो संख्या बढ्न सक्ने बताइएको छ ।

बालेनले उठाएनन् फोन्, सुशीला, हर्क र सागर तयार

काठमाडौं । जेनजीको वृहत ‘भर्चुअल’ वैठकमा भावी प्रधानमन्त्रीका विषयमा छलफल गरिएको छ । पाँच हजार बढी सहभागी वैठकमा सबैभन्दा बढीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह जेनजी पुस्तामा सबैभन्दा बढी लोकप्रिय छन् । तर, उनले उनले फोन नउठाएको एक जेनजी प्रतिनिधिले बताए । ‘उहाँले फोन नउठाउनु भएपछि अरु नामहरुमाथि छलफल गरिएको हो । सबैभन्दा धेरै समर्थन सुशीला कार्कीको नाममा छ,’ ती प्रतिनिधिले भने ।

कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । स्रोतका अनुसार उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेकी थिइन् । उनले माग गरेभन्दा धेरै २५ सयभन्दा बढीको हस्ताक्षर उनलाई दिइएको स्रोतको दाबी छ । कार्कीले राजनीतिक रिक्तता शून्यको अवस्थामा नेतृत्व लिन्छु भनेकी छिन् ।

प्रधानमन्त्रीमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ लगायतको नाम पनि चर्चामा आएका थिए । यस्तै, र्‍यान्डम नेपाली नामक एक युट्युवरलाई पनि राम्रो मत परेको छ । तर उनले अरु कोही तयार नभए मात्रै आफू अघि सर्ने बताएका छन् । र्‍यान्डम नेपालीको वास्तविक नाम राष्ट्रविमोचन तिमल्सिना हो । उनी कानून व्यवसायी हुन् । यसअघि उनी नेसनल ल कलेजका कार्यवाहक प्रिन्सिपल थिए ।

रास्वपा सांसद सुमना श्रेष्ठले आफू पार्टीसम्बद्ध भएकाले सामेल हुन नमिल्ने जवाफ दिएको, हर्क साम्पाङ तयार रहेको, सागर ढकाल तयार भए पनि धनगढीमा फसेको, कुलमान घिसिङ हिजोको पत्रकार सम्मेलनमा मेन्टरको भूमिकामा उपस्थित भएको र र्‍याण्डम नेपालीले कोही पनि तयार नभए आफूले जिम्मेवारी लिने बताएको रिपोर्टिङ गरिएको छ ।

 

हेटौंडामा सुधार गृह फोडेर ५८ बालबन्दी फरार

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित बाल सुधार गृह फोडेर ५८ बालबन्दी फरार भएका छन् । ७२ जना भागेकामध्ये १३ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । एक जना आफैं फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार छन् ।

सुधार केन्द्रका प्रमुख प्रदीप गौतमका अनुसार सुधार केन्द्रमा ९४ जना बस्दै आएका थिए । २२ जना बालकहरू भने सुधार गृहमै बसेको जनाइएको छ । गौतमका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन् ।

फरार बालकहरूको खोजी कार्य तीव्र पारिएको उनले बताएका छन् । सुधार गृहको गेट बाहिर अभिभावकहरू आएपछि ढुंगामुढा भएको उनले बताए । बाहिरबाट अभिभावकहरूले ढुंगामढा गरेपछि बालबन्दीहरूले भित्र तोडफोड गरेर भागेको उनले बताए ।

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । जलेको अवस्थामा मृत भेटिएका व्यक्ति सुरज खत्री रहेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री हुन् । जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । जेनजीको प्रदर्शन उग्र बनेपछि मंगलबार दाहालको घरमा आगजनी भएको थियो ।

 

 

गगन–विश्वले भने–कांग्रेस धेरै पटक आक्रमण खेप्दै, उठ्दै र जुट्दै अघि बढेको पार्टी हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले हालै जेनजी युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संयम, संवाद र एकताको माध्यमबाट मात्र मुलुकलाई निकास दिन सकिने बताएका छन् ।

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको पनि उनीहरुले स्वीकारेका छन् ।

मंगलबार जारी विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्। विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनापछि मुलुकलाई शान्ति र पुनर्निर्माणतर्फ लैजान सबै पक्षले संयमित र एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ ।

उनीहरूले राष्ट्रपतिले अघि सारेको संवाद पहलको स्वागत गर्दै सबै पक्षसँग छलफल गरेर मात्र समाधान खोज्नु पर्नेमा जोड दिइएको छ । संविधानको बाटोबाट बाहिर नजान र नयाँ राजनीतिक संरचना बनाउनु पर्ने अवस्थामा पनि वैधानिक उपाय अवलम्बन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका छन् ।

सोमबारको प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको भन्दै उनीहरूले गम्भीर अपराधका घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् । यस्तै, शान्तिपूर्ण प्रदर्शनलाई हिंसा र आगजनीतर्फ मोड्ने नियतवस घुसपैठ गर्ने समूहहरूको कठोर निन्दा गर्दै सार्वजनिक सम्पत्तिको क्षतिको छानबिन र पुनर्निर्माणको योजना तत्काल बनाउन आग्रह गरिएको छ ।

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू माथि भएको आक्रमणप्रति पनि दुःख प्रकट गर्दै निन्दा गरेका छन् । ‘अब फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षाअनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं,’ उनीहरूले भनेका छन् ।

लोकतान्त्रिक संविधानमाथि आघात नपुग्ने गरी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने, संविधानभन्दा पछाडि फर्किन नहुने र उपलब्ध उपलब्धिलाई उल्ट्याउन नहुने उनीहरूको भनाइ छ । नेपाली कांग्रेस धेरै पटक आक्रमण खेप्दै, उठ्दै र जुट्दै अघि बढेको पार्टी भन्दै एकताबद्ध रहन पार्टी शुभचिन्तकहरूलाई उनीहरूले आग्रह गरेका छन् ।

‘हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकूल र प्रतिकूल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ। दुवै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिकपंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ । पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनु भएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ,’ उनीहरूले भनेका छन्, ‘नेपाली कांग्रेस धेरै पटक अनेकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि बढेको हो ।

त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रुपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपील गर्दछौं । हामी पुनः विश्वास दिलाउन चाहन्छौं–गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।’

हेर्नुस् विज्ञप्ति

जलवायु परिवर्तनको चुनौतीमा अफ्रिका एकजुटः साझा भविष्यका लागि समाधान खोज्ने प्रस्ताव

अफ्रिका । अफ्रिकी नेताहरूले सोमबार अफ्रिकाको भूमिकालाई पुनः परिभाषित गर्दै, यसलाई विश्वव्यापी जलवायु क्रियावलीमा एक महत्त्वपूर्ण र सकारात्मक योगदान पुर्याउने कन्दीलको रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता ओल्याएका छन् ।

यो महत्त्वपूर्ण आह्वान अफ्रिकी नेताहरूले दोस्रो अफ्रिका जलवायु सम्मेलनको क्रममा गरेका थिए, जुन एथियोपियाको राजधानी एडीस अबाबामा सोमबारदेखि बुधवारसम्म आयोजित भएको थियो। सम्मेलनको विषय “वैश्विक जलवायु समाधानलाई तीव्रता दिनुः अफ्रिकाको लचिलो र हरित विकासको लागि वित्तपोषण“ रहेको थियो।

सम्मेलनमा अफ्रिकी नेताहरूले नवीकरणीय ऊर्जा, जलवायु अनुकूलन, हरित वृद्धि र प्रकृति–आधारित लचिलोपन जस्ता क्षेत्रहरूमा अफ्रिका–प्रेरित समाधानहरूको अपार सम्भावनालाई प्रस्तुत गर्दै महादेशको भविष्यलाई सुरक्षित र हरित बनाउनको लागि साझा प्रयासको आवश्यक्ता जोड दिए।

एथियोपियाका प्रधानमन्त्री, अबी अहमदले सम्मेलनमा अफ्रिकी नेताहरूसँग अफ्रिकी जलवायु नवप्रवर्तन कम्प्याक्ट सुरु गर्ने प्रस्ताव राखे। यो एक महाद्वीपीय साझेदारी हुनेछ जसमा अनुसन्धान संस्थाहरू, नेतृत्व, स्टार्टअप, ग्रामीण समुदायहरू र नवप्रवर्तकहरूलाई एकजुट गर्न मद्दत पुर्याउनेछ। उनले भने, “सही साझेदारी र लगानीका साथ, अफ्रिका विश्वव्यापी जलवायु संकटको समाधानमा नेतृत्व गर्न सक्छ।“

उनले थपे,“अफ्रिका यो संकटको कारण बनेको छैन, तर अफ्रिका यसलाई समाधान गर्न नेतृत्व गर्न सक्छ। हामीसँग माटोको पुनःस्थापना, कार्बन समात्ने र हरित र सफा उर्जा उत्पादनका लागि समाधानहरू छन्। हामीलाई थाहा छ के गर्नुपर्छ।“ उनले एथियोपियाको आफ्नै जलवायु क्रियावलीका सफल उदाहरण प्रस्तुत गर्दै, २०१९ मा शुरू गरिएको ग्रीन लेगेसी पहलअन्तर्गत ४८ अर्ब बिरुवा रोपिएको र महत्त्वपूर्ण हरित पूर्वाधार विकास योजनाहरूको सफलता र भविष्यको मार्गनिर्देशन गरेका छन्।

प्रधानमन्त्री अबीले प्रस्ताव गरे जलवायु नवप्रवर्तन कम्प्याक्टमा पाँच मुख्य स्तम्भहरू समावेश छन्ः नवप्रवर्तन खोज, वित्तपोषण, ज्ञान विकास, नीति निर्माण र सार्वजनिक सहभागिता। यस कम्प्याक्टको उद्देश्य २०३० सम्म एक हजार अफ्रिकी जलवायु समाधानहरूको कार्यान्वयन गर्नु हो, जसले अफ्रिकी नेतृत्व, वैश्विक साझेदारी र निजी क्षेत्रको लगानीलाई सँगै ल्याउने अपेक्षा गरिएको छ।

केन्याका राष्ट्रपति, विलियम रुटोले अन्तर्राष्ट्रिय जलवायु क्रियावलीका प्रतिबद्धताहरू घट्दै गएको र अफ्रिकालाई “विश्व अर्थतन्त्रमा यसको उचित स्थान“ प्राप्त गर्नको लागि तात्कालिक कदम चाल्नुपर्ने महत्त्वपूर्ण आवश्यकता औंल्याए। उनले भने, “आज जलवायु क्रियावलीलाई अन्य प्राथमिकताहरूको कारण पृष्ठभूमिमा राखिएको छ र विकास सहायतामा कमी आएको छ। यसै कारण, अफ्रिकाले अब एकजुट भएर देखाउनुपर्नेछ कि सहकार्यले सबैका लागि समृद्धि र शान्ति ल्याउँछ।“

राष्ट्रपति रुटोले थपे,“अफ्रिकाले सकारात्मक वृद्धि हासिल गर्नको लागि दुवै कदमहरू अवलम्बन गर्नु आवश्यक छ। अफ्रिकाले आफ्नो एजेन्सी तत्काल र एकजुट रूपमा प्रयोग गर्नुपर्छ, र अन्तर्राष्ट्रिय प्रणालीले अफ्रिकालाई रोक्ने संरचनात्मक अवरोधहरू हटाउनुपर्छ।“

सम्मेलनमा अफ्रिकी नेताहरूले वैश्विक वित्तीय संरचनामा सुधारको आह्वान गरेका थिए र अफ्रिकाको लचिलो र हरित विकासलाई तीव्रता दिनका लागि अनुदान–आधारित वित्तीय प्रवाह र लगानी प्रतिबद्धताहरूको आवश्यकता व्यक्त गरे।

अफ्रिकी संघ आयोगका अध्यक्ष, महमूद अली युसुफले भने, “हामीलाई हाम्रो महादेशको अनुकूलन योजनाहरूको कार्यान्वयनको लागि वास्तविक र अर्थपूर्ण सहकार्यको आवश्यकता छ, जसमा वित्तीय स्रोतहरू, प्रौद्योगिकी र विशेषज्ञता प्रदान गर्न आवश्यक छ।“ उनले “न्यायपूर्ण, महत्त्वपूर्ण र पूर्वानुमान योग्य“ वैश्विक जलवायु वित्तको आवश्यकता औंल्याए र भने कि अफ्रिका जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित भइरहेको र ऋण बोझ र अन्तर्राष्ट्रिय वित्तीय संरचनाका असमानताहरूलाई जलवायु न्याय मार्फत सुधार गर्न आवश्यक छ।

यो सम्मेलन, जसको सह–आयोजन अफ्रिका संघ र एथियोपिया सरकारको सहयोगमा भएको हो, अफ्रिका महादेशका प्रमुख जलवायु सम्वन्धी वार्ता र रणनीतिक छलफलहरूको प्रमुख मञ्च बनेको छ। यस सम्मेलनमा अफ्रिकी राष्ट्रपति, मन्त्री, कूटनीतिज्ञ, विशेषज्ञ र अन्तर्राष्ट्रिय साझेदारहरूको प्रमुख प्रतिनिधिहरू एकत्रित भएका थिए, जसले महादेशको साझा जलवायु भविष्यको दिशानिर्देश तय गर्न महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।

छलफलबाट बाहिरियो जेनजीको एउटा समूह

काठमाडौं । जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिरिएकी छन् । उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिर निस्किएको जनाएकी छन् ।

नेपाली सेनाले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग पनि सुझाव लिन भनेपछि बाहिरिएको जेनजी अभियन्ता रक्षा बमले बताएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईं र रास्वपा समूह पनि वार्तामा सामेल भएपछि आफूले वार्तास्थल छाडेर निस्किएको उनले बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् । उहाँहरु पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनिसकेपछि, जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरियौं ।’

अहिले प्रदर्शनकारी जेनजी समूहसँग छलफलका निम्ति तयारी गरिरहेको पनि उनले जानकारी दिएकी छन् । उनले अर्को स्टाटसमा पनि आफूहरु नेपाली सेना प्रमुखलाई भेट्नलाई नगएको समेत उल्लेख गरेकी छन् । हिजो पनि वार्तामा बस्नलाई जाँदा आफूहरुको माग तयार गर्नलाई समय लाग्ने बताएको उनले बताएकी छन् । ‘जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनिन्, ‘तसर्थ अहिले वार्तामा रहेका जेनजेड साथीहरूको धारणा वा अडानबारे म पूर्णरूपमा अनभिज्ञ छु ।’

‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउमा आएर आफ्नो माग राख्नेछौ, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित सेना प्रमुख समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौ’, उनले लखेकी छन् । अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग हामी नेपाल नामक टिम र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच वार्ता भइरहेको छ ।

कानूनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलहरूबीच तत्काल संवाद थालौं : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको निष्कर्ष निकालेको छ ।

प्रवक्ता डा. प्रकाश शरण महतले एक विज्ञप्ति जारी गर्दै देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नव युवाहरूले अवश्य पनि यस्तो नचाहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । धेरैको घर निजी सम्पत्ति, उधोग व्यावसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्दको बेला भन्दा धेरै बढी हो । यसले लगानीको वातावरण लाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ ।’

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ । कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ ।’

लोकतान्त्रिक प्रक्रियाको पुनः स्थापना र संरक्षणका लागि सबै फेरि सक्रिय हुन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनस्र्थापना लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ ।’ जेन जी आन्दोलनको क्रममा भएको दुःखद घटना भएकोप्रति कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन

काठमाडौं । काठमाडौं कालिमाटीमा हिजो प्रहरीले चलाएको गोली लागेर घाइते थप एक व्यक्तिको पनि मृत्यु भएको छ । गोली लागेर घाइते उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको आज (बुधबार) उपचारका क्रममा निधन भएको हो । गोली लागेका उनलाई तत्काल बयोदा अस्पताल लगिएको थियो ।

जेनजीको प्रदर्शनका क्रममा हिजो दिउँसो २ बजेतिर प्रहरीले चलाएको गोली सुवेदीको पेटमा लागेको थियो । सुवेदीको गोली लागेर पेट च्यातिँदै आन्द्रा बाहिर निस्किएको थियो । सुवेदीलाई अस्पताल पुर्‍याउँदा नै धेरै रगत बगेको उनका जेठान मनिष बास्तोलाले जानकारी दिए । सुवेदीको घरमा श्रीमती र आठ बर्षीया छोरी छिन् । यस्तै ८७ वर्षका बुबा र ७२ वर्षकी आमा छन् । अहिले परिवारका सबैमा बज्रपात आइपरेको छ ।

हिजो प्रहरीको गोली लागेर कालिमाटी पुल नजिकै तीन जना घाइते भएका थिए । तीमध्ये अर्जुन भट्ट र दिपक साउदको हिजो राति नै निधन भइसकेको अस्पतालले जनाएको छ । अन्य दुई जनामध्ये अर्जुनको अस्पताल पुर्‍याउँदा नै डाक्टरले मृत घोषणा गरेका थिए । दिपकलाई थप उपचारका लागि वीर अस्पताल पठाइएको थियो । उनको त्यही निधन भएको हो ।

हिजोको जेनजी आन्दोलनका क्रममा कालिमाटी क्षेत्रमा रहेका प्रदर्शनकारीहरूले कालिमाटी प्रहरी वृत्तमा आगजानी गरेका थिए । त्यही क्रममा प्रहरीले गोली चलाउँदा विभिन्न व्यक्तिहरू घाइते भएको थिए ।

पाँच करोडको लागतमा पक्की पुल निर्माण

गुल्मी । जिल्लाको पनाहा खोलामा पुल निर्माण भएसँगै सो क्षेत्रका नागरिकलाई आवागमनमा सहज भएको छ । रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थल पनाहा खोलामा रु पाँच करोड लागतमा पक्की पुल निर्माण भएको हो ।

लामो समयको प्रतिक्षापछि पनाहा खोलामा निर्माण गरिएको उक्त पक्की पुलले दुई पालिकाका नागरिकलाई आवतजावत गर्न निकै सहज बनाएको छ । यसअघि पक्की पुलको अभावमा सो क्षेत्रमा वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

पुल निर्माण भएपछि यतिबेला बिहान, बेलुका सदरमुकाम तम्घास आवतजावत गर्न, आवश्यक सामग्री ढुवानीमा सहज भएको स्थानीय पूर्णबहादुर श्रेष्ठले बताए । सडक डिभिजन कार्यालय पाल्पाको रु पाँच करोड छ लाख लागतमा उक्त पुल निर्माण भएको हो । पुलको लम्बाइ ३५ मिटर र चौडाइ ११ मिटर रहेको छ ।

योसँगै अहिले रेसुङ्गा नगरपालिका‐४ बाट इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्मका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । गाईवस्तुलाई वारिपारि गराउन, गाउँमा उत्पादिन कृषि उपज बिक्रीका लागि बजारसम्म लैजान, सवारीसाधन सञ्चालन गर्न, बालबालिकालाई विद्यालयसम्म आवतजावत गर्न सजिलो बनाएको स्थानीय कमला पन्थीले बताए ।

यसअघि खोलामाथि पक्की पुल नहुँदा वर्षाको समयमा मानिसलाई आधा घण्टामा पुगिने ठाउँमा डेढ घण्टाकोे यात्रा गरेर जानुपर्ने बाध्यता रहेको स्थानीय टङ्कप्रसाद श्रेष्ठले बताए । “अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो बनाएको छ, बर्खाको समयमा खोला तर्दा कतै बगाउँला कि भन्ने ठूलो त्रास हटेको छ”, उनले भने ।

खोलामा सवारीसाधन लैजाँदा पहिला जोखिम मोल्नुपर्ने र कतिपय अवस्थामा सवारीसाधन बगाइदिने समस्या थियो । अहिले पुल बनेपछि उक्त जोखिम टरेपछि नागरिक खुसी भएका छन् । महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिद्वारा निर्माण सुरु भएको चार वर्षपछि पनाहा खोलामा पक्की पुल सम्पन्न भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नु हुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दाै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनु हुन समेत अनुरोध छ ।’

जेलका अपराधी उम्काउन जेनजीले आन्दोलन गरेका थिएनन् : पदम गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि पनि सरकारी निकाय जलाउँदा पनि राज्यका जिम्मेवार निकायहरू मुकदर्शक बन्नु डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय बन्ने टिप्पणी गरेका छन् ।

जेनजीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थ समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम हुँदा पनि सुरक्षा निकायको सतर्कता, सजगता र संयमता नदेखिएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘देशमा सुशासन कायम होस, विकासको मूल फुटोस्, युवाले देशमा नै रोजगारीसहितको सम्मानित र सुरक्षित जीवन जिउने उज्यालो भविष्यको खोजी गर्न सकौँ भनी नयाँ पुस्ता शान्तिपूर्ण आन्दोलनमा आउनु भएको थियो । तथापि भदौ २३ गते, एकातर्फ देश बन्नु पर्दछ भन्ने पवित्र उद्देश्य बोकेको जेनजीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम भयो भने अर्कोतिर सुरक्षा निकायको सतर्कता, सजगता र संयमता पनि देखिएन ।’

जेनजी बालकले जीवनका रंगीन सपना देख्नुपर्ने उमेरमा सडकमा प्राण गुमाउनुको पीडा केवल उसको परिवारको मात्रै नभई सिङ्गो राष्ट्रको साझा पीडा उनले बताएका छन् । यस परिस्थितिलाई नेपालको हित नचाहने विदेशी शक्ति, धमिलो पानीमा माछा मार्न खोज्ने तत्व, अपराध गरेर जेलजीवन भोगिरहेका अपराधीहरूले उम्किने अवसरको रूपमा बदल्ने कुरा प्रयास जेनजीको माग नभएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘तर विडम्बना प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि सिंहदरबार, संसद्, अदालत, राष्ट्रपति भवन, अख्तियार, प्रहरी कार्यालय, कारागार, अस्पताल, विद्यालय, बैङ्क, व्यापारिक भवन र व्यक्तिका निजी सम्पत्ति छानिछानी जलाइयो, जुन कार्यको राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बने । यो कुरा धेरै नै डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय हो र रहिरहनेछ ।’

आन्दोलनबाट भएको फोहर सफा गर्दै दमौलीका युवा

दमौली । दमौलीका युवा फोहरमैला सरसफाइमा जुटेका छन् । मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा जलाएर फोहर भएका सरकारी कार्यालयसहित क्षेत्रमा युवा सरसफाइका लागि खटिएका हुन् ।

सामाजिक अभियान्ता सुदीप गफ्फारले भ्रष्टाचार विरुद्धको प्रदर्शन युवाको नेतृत्वमा भएको भन्दै नगरलाई सफा राख्ने दायित्व पनि युवाको भएको बताए। सरसफाइमा दमौलीका युवाका साथै टोलवासीको पनि सहभागिता छ ।

प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, तनहुँ अदालत, जिल्ला समन्वय समिति, मालपोत कार्यालय, खानेपानी कार्यालय, डिभिजन वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, व्यास नगरपालिकामा आगजनी र तोडफोड गरिएको थियो ।

तनहुँ अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगन

तनहुँ जिल्ला अदालतले मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । मङ्गलबार भएको प्रदर्शनका क्रममा अदालतमा रहेका मिसिल, कार्यकक्ष, कम्प्युटरलगायत सबै संरचना जलेर पूर्ण रूपमा नष्ट भएकाले सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको जिल्ला अदालतले जनाएको छ ।

अदालतले आज एक सूचना जारी गरी कार्यालय सञ्चालन गर्न असहज परिस्थिति सिर्जना हुन आएकाले आजका लागि तोकिएका मुद्धाका पेशी स्थगित गरिएको, तारेख तोकिएका मुद्दाका तारेख नगुज्रिने, भोलिदेखिको पेशीमा चढेका तथा अन्य मुद्दाहरुको हकमा सुनुवाइ अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाएको छ ।

सिमकोट बजार सुनसान, व्यवसाय सञ्चालनमा ल्याउन आग्रह

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट आज बिहानैदेखि सुनसान देखिएको छ । सोमबार र मङ्गलबार मुलुकको राजधानी काठमाडौँसहित देशभर जेनजीद्वारा गरिएको प्रदर्शनका कारण मानवीय तथा भौतिक संरचनामा क्षति भएपछि यहाँका होटल, व्यवसायहरू आज बिहानैदेखि बन्द भएका हुन् ।

सदरमुकाममा रहेका होटल, विभिन्न खाद्यान्नका पसललगायत व्यवसायीले आफ्नो सुरक्षालाई मध्यनजर गर्दै व्यवसाय बन्द गरेका हुन् । बालमन्दिर चोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका लोकेन्द्र सुनारले भने, “देश आन्दोलनले शिथिल भएको छ, यहाँ पनि त्यस्ता घटना नघटुन् भनेर हामीले पसलहरू बन्द गरेका हौँ । देशैभर नेपाली सेना सुरक्षामा तैनाथ छ, हुम्लामा पनि सुरक्षाकर्मी बिहानैदेखि विभिन्न चोकहरूमा छन् । तर पनि आन्दोलनको भर नहुने भएकाले पसलहरू बन्द गरिएका हो ।”

व्यवसाय सञ्चालनमा ल्याउन उद्योग वाणिज्य सङ्घको विज्ञप्ति

यसैबीच, हुम्ला उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गर्दै होटल, पसल तथा व्यवसाय नियमित रूपमा सञ्चालनमा ल्याउन व्यवसायीलाई आग्रह गरेको छ । मुलुकको विषम परिस्थितिलाई मध्यनजर गरी सुशासित, विवेकशील र संयमित भएर सौहार्दपूर्ण वातावरणमा आफ्नो व्यवसाय उद्योग सञ्चालन गर्न हुन सम्पूर्ण उद्योगीहरूलाई सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले आग्रह गरे ।

केही दिनयतादेखि काठमाडौँसहित देशका विभिन्न सहरहरुमा घटेको घटनाप्रति गम्भीरता र दुःख व्यक्त गर्दै उक्त घटनाले राष्ट्रलाई स्तब्ध बनाउनुका साधै ठूलोमात्रामा जनधनको क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जेनजीको प्रदर्शनका क्रममा दिवङ्गत भएकाहरुप्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

तीनवटै सुरक्षाकर्मीको बजारगस्ती बाक्लियो

जिल्ला सदरमुकाम सिमकोटमा आज बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षा गस्ती बाक्लिएको छ । रानीवन ब्यारेकमा बस्दै आएको नेपाली सेनाले नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले बिहानदेखि बजार गस्तीमा निस्किएको हो ।

सदरमुकामका विभिन्न चोकहरुमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिले नागरिकलाई सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताएका छन् । बजार क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर सुरक्षा व्यवस्था बाक्लो बनाइएको उनले बताए ।

विद्यालयसहित गाउँपालिका कार्यालय बन्द

सदरमुकामस्थित सिमकोट गाउँपालिकाले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति सहानुभूति प्रकट गर्दै आफ्ना मातहतमा रहेका सरकारी तथा निजी विद्यालय, प्रत्येक वडा र गाउँपालिका कार्यालयमा शोक बनाउने भन्दै बिदा दिइएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।

यस्तै अन्य सरकारी तथा गैरसरकारी कार्यालयसमेत आज बन्द छन् । साथै चङ्खेली गाउँपालिकाले पनि आज शोक बिदा दिएको छ ।

झलनाथ पत्नी रविलक्ष्मीको कीर्तिपुरमा उपचार जारी, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । जेनजी आन्दोलन क्रममा भएको आगजनीमा परी आगोले जलेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुरस्थित ‘बर्निङ’ अस्पतालमा उपचार भइरहेको छ ।

हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित पूर्व प्रधानमन्त्री समेत रहेका खनालको घरमा पनि आगो लगाई दिएका थिए। त्यसवखत झलनाथ घर बाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर निस्किन नसक्दा उनी आगोले जलेकी हुन् ।

आगजनीमा परी जलेर घाइते चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । चिकित्सकले चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएको श्रेष्ठले जानकारी गराएका छन् । नेता श्रेष्ठका अनुसार उनी बोल्न सक्ने अवस्थामा छिन्।

सामाजिक सञ्जालहरुमा रविलक्ष्मीको आगजनीका क्रममा निधन भएको खबर फैलिएको थियो । ‘मानवीय संवेदना हराएको यो एउटा गम्भीर नमूना हो’, श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, मैले भेटेरै आएको हो ।’ यस्तै झलनाथ खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्रीमतीको स्याहारमा खटिएका छन् । खनाल सकुशल रहेको बताइएको छ ।

रसुवा कारागारबाट भागे ९८ कैदीबन्दी

रसुवा । रसुवाको धुन्चेस्थित कारागारबाट ९८ जना कैदीबन्दी एकै पटक भागेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार कैदीबन्दीहरूले रिहाइको माग गर्दै निरन्तर हड़ताल गरिरहेका बेला नियन्त्रणमा लिन खोज्दा सबै जना कारागार तोडेर बाहिर निस्किएका हुन् ।

कारागारको सुरक्षामा प्रहरी र नेपाली सेना दुवै खटिएको भए पनि उनीहरू भागेर फरार भएका हुन् । धुन्चे कारागारमा ९८ जना कैदीबन्दी रहेका थिए । सबै कैदी फरार भएपछि सुरक्षा निकायले आसपासका क्षेत्रमा खोजतलास कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

मोरङमा कैदी भाग्न खोजेपछि चल्यो गोली

विराटनगर । मोरङ जिल्ला कारागारमा कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कारगारका कैदीबन्दी छुटाउन एउटा समूह कारागारमा पुगेपछि प्रहरीले हवाई फायर गरेको हो ।

कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ ।

कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ । अहिले त्यहाँ सेनाले सुरक्षा दिएको छ । रवि लामिछाने छुटे जस्तै त्यहाँका कैदीबन्दी पनि छुट्नुपर्ने छुटाउन पुगेको समूहको माग छ ।

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित भागे तीन हजार बढी कैदी

काठमाडौं । काठमाडौंको सुन्धारा कारागारबाट तीन हजार बढी कैदीबन्दी भागेका छन् । कारागारमा रहेका ३,८०० बढी कैदीमध्ये अहिले पाँच सय हाराहारी कैदी मात्रै कारागारमा रहेको जनाइएको छ ।

उनीहरू गए राति नै भागेको पाइएको छ । भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि छन् । रायमाझीसँगै पूर्व गृहसचिव टेकनारायण पाण्डे पनि भागेका छन् ।

नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि सुन्धारा कारागारमा पनि कैदीले आन्दोलन थालेका थिए । राति करिब ११ बजे उनीहरू गेट फोडेर भागेका हुन् । अहिले भद्रबन्दी गृहमा एक सय, केन्द्रीय बन्दीगृहमा तीन सय र महिला बन्दीगृहमा एक सय कैदीबन्दी मात्रै छन् ।

उनीहरू पनि आफै बसेका हुन् । नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो । अनि बल्ल नेपाली सेना कारागार पुगेको थियो । त्यतिन्जेलसम्म करिब तीन हजार बढी कैदीबन्दी फरार भइसकेको बताइएको छ ।

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न: बारको आग्रह

काठमाडौँ । नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सम्बद्ध सुरक्षा निकायको ध्यानाकर्षण गरेको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज एक विज्ञप्ति जारी गरी जनताको जिउधनको रक्षाका लागि सुरक्षा निकायको ध्यानाकर्षणसहित शान्ति बहालीका लागि सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन् ।

मङ्गलबार बारको भवन तथा सवारीसाधन, सर्वोच्च अदालतलगायतका अड्डा–अदालतहरूमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनाप्रति नेपाल बारले भत्र्सना गरेको छ ।

“आपसी वार्ता, मेलमिलाप र सहिष्णुताले मात्र प्रणाली सुदृढ हुन्छ र शान्ति सुरक्षा कायम रहन्छ भन्ने कुरामा हामी दृढ छौँ”, विज्ञप्तिमा भनिएको छ, “कानुन व्यवसायीहरूको निजी आवास, कार्यालय र निजी सम्पत्तिमाथि गरिएको तोडफोड र लुटपाटसम्बन्धी कार्यको निन्दा गर्दछौँ । कानुन व्यवसायीमाथि गरिएको गालीगलौज र दुव्र्यवहारको विरोध गर्दछौँ ।”

अधिवक्ता अजयशङ्कर झाको निजी तथा सार्वजनिक सम्पत्तिमाथिको आगजनी, तोडफोड र लुटपाटसहितको हिंसात्मक घटनाले आमनागरिकको जीउधनको सुरक्षामा गम्भीर चुनौती दिएको बारले स्पष्ट गरेको छ । परिस्थितिलाई थप अराजकता र मुठभेडतर्फ लैजान नदिन र समाजका सबै पक्षलाई संयमता अपनाइ विवेक नगुमाउन बारले सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

“देशभरिका अदालत र बार एकाइहरूमा गरिएको आगजनी, तोडफोड र लुटपाटले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ । जसको पीडा शब्दमा अभिव्यक्त हुन सक्दैन”, विज्ञप्तिमा भनिएको छ, “नेपाली जनताको आस्थाको धरोहर, पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेका दस्तावेज एवं न्याय निरुपणसम्बन्धी अभिलेखसहितको सर्वोच्च अदालतलगायतका अदालतहरूको भवन आगजनी भइ अपुरणीय क्षति पुर्याएको घटना नेपाली न्यायिक इतिहास र नेपाली मौलिक परम्परामाथिको प्रहार भएको महसुस गरेका छौँ ।”

“अदालतहरूमा रहेका बाँकी दस्तावेज र अभिलेखहरूलाई सुरक्षित गरौँ, न्यायपालिकाको सम्पत्ति, प्रतिष्ठा र विश्वसनीयता जोगाउन पहल गरौँ, आगामी पुस्ताका लागि न्यायको आधारभूत संरचना जोगाउन हातेमालो गर्दै नष्ट हुन बाँकी रहेका महत्त्वपूर्ण दस्तावेज र प्रमाणहरूको सुरक्षामा ध्यान दिई थप क्षति हुन नदिन सम्पूर्ण बार एकाइलगायत तत्तत् निकायहरूसमक्ष आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकामा सुधार आवश्यक छ, तर त्यस्तो सुधार स्वतन्त्र न्यायपालिकासम्बन्धी राष्ट्रिय, अन्तरराष्ट्रिय मूल्यमान्यता र सिद्धान्तबमोजिम हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।”

सरसफाइमा ‘जेनजी’

काठमाडौँ । परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

आज विगत दुई दिनभन्दा अलिक फरक देखियो । प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिएका छन् । उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय छन् ।

उनीहरु बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका भेटिए । केन्द्रीय प्रशासनिक केन्द्र सिंदरबार वरिपरि उल्लेख्य सङ्ख्याका जेनजी सरसफाइ गरिरहेका छन् । सिंहदरबारको चारवटै तर्फका गेट, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा जेनजीले सरसफाइ गरिरहेका छन् । सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन् ।

माइतीघर मण्डलासँगैको सरकारी वकिलको कार्यालय परिसरमा सरसफाइ गरिरहेका जेनजी दानसिंह धामीले विभिन्न समूहमा जेनजीले सडकदेखि टोलटोलसम्म सरसफाइ अभियान चलाइएको बताए । उनका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहमा सरसफाइ भइरहेको छ ।

यस्तै केशव सिलवाल, केपी खनाललगायत जेनजीले सरसफाइ अभियानको नेतृत्व गरिरहेको छ । काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीसहित सरसफाइबाट सङ्कलित फोहर सङ्कलन गरिरहेका छन् ।

सडक, सडक किनार र सार्वजनिक निकायका गेट आसपस छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायत फोहर उनीहरूले उठाइरहेका छन् । साथै उनीहरुले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, फलामे उपकरण आदि पन्छाइरहेका छन् ।

सर्वोच्च अदालत परिससरमा सरसफाइ गर्दै गरेका खगेन्द्र रोकायाले सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए। जेनजीले आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएका फोहरको सरसफाइ गरेका हुन् । जेनजीले नयाँ बानेश्वर, मीनभवनलगायत क्षेत्रको सडकमा पनि सरसफाइ गरेका छन् ।

गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा महिलाको भेटियो

पोखरा । आन्दोलनकारीले मंगलबार आगो लगाएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ ।

भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । विन्दुकुमार थापाका भाइ ध्रुवो नयाँबजारस्थित भरमा रहेको गाडीको स्वरूममा पनि बिहान एक महिलाको शव भेटिएको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।

आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनकै भाइ ध्रुवको भर र गाडीको स्वरूममै आगो लगाइदिएका थिए । मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्ट समेत तोडफोड र आगजनी गरेका थिए ।

दक्षिण कोरियाको रोजगारमा वृद्धि

दक्षिण कोरिया । दक्षिण कोरियामा अगस्ट महिनामा रोजगार आठौं महिनासम्म लगातार वृद्धि भएको छ । राष्ट्रिय सांख्यिकी कार्यालयको डाटा अनुसार, १५ वर्ष र सोभन्दा माथिका व्यक्तिहरूको रोजगारमा एक लाख ६६ हजार अर्थात् ०.६ प्रतिशतको वृद्धि भएको छ, जसको परिणामस्वरूप अगस्ट महिनामा रोजगारको कुल संख्या दुई करोड ८९ लाख ६७ हजार पुगेको छ।

यस वृद्धि दरले जनवरी महिनादेखि नै एक स्थिर उन्नति देखाएको छ, यद्यपि अगस्ट महिनामा भएको वृद्धि जुलाई महिनामा भएको एक लाख ७१ हजारको तुलनामा थोरै कम देखिएको छ।

रोजगारीमा भएको यो वृद्धि वृद्ध व्यक्तिहरूका कारण विशेष रूपमा भएको हो। ६० वर्ष र सोभन्दा माथिका व्यक्तिहरूका लागि रोजगारमा चार लाख एक हजार को वृद्धि भएको छ र ३० वर्षका व्यक्तिहरूका लागि रोजगारमा ९६ हजार को वृद्धि भएको छ।

तर, १५–२९ वर्षका व्यक्तिहरूको रोजगारमा २ लाख १९ हजार को कमी आएको छ र ४० र ५० वर्षका व्यक्तिहरूका लागि रोजगार क्रमशः ७३ हजार र ३८ हजार ले घटेको छ।

निर्माण उद्योगमा ६१ हजार रोजगारी घटेको छ, जुन १४ महिनादेखि निरन्तर घटिरहेको प्रवृत्तिलाई दर्शाउँछ।

अगस्ट महिनामा बेरोजगार व्यक्तिहरूको संख्या पाँच लाख ९२ हजार पुगेको छ, जुन गत वर्षको तुलनामा २८ हजार बढी हो। बेरोजगारी दर ०.१ प्रतिशतले बढेर २.० प्रतिशत पुगेको छ।

विस्तारित बेरोजगारी दर ०.१ प्रतिशतले घटेर ८.२ प्रतिशत पुगेको छ, जबकि १५–२९ वर्षका व्यक्तिहरूको बेरोजगारी दर ०.६ प्रतिशतले बढेर १५.३ प्रतिशत पुगेको छ।

आधिकारिक बेरोजगारी दरले केवल ती व्यक्तिहरूलाई जनाउँछ जसले गत चार हप्तामा सक्रिय रूपमा रोजगारको प्रयास गरेका छन्, तर काम प्राप्त गर्न सकेका छैनन्।