`

दमौलीमा पानीको हाहाकार, एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ ।

व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ ।

धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका–३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिए।

मङ्गलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ । उनले भने, “बुधबार साँझ ९ बजेसम्म पनि १०० को हाराहारीमा मानिस कुवा तथा धारामा पानी लिन लाइनमा बसेका छन् ।”

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए।

उनले भने, “बिहान सबेरैदेखि राति १० बजेसम्म निर्माण कार्यमा खटिएका छौँ, जिआइ पाइप जडान कार्य भइरहेको, पाइप जडानपछि क्रङ्क्रिट गरेपछि मात्रै पानी सुचारु गरिनेछ ।”

अमेरिकी आक्रमणबाट इरानका आणविक केन्द्र ध्वस्त भएका सिआईएका निर्देशकको दाबी

बीबीसी । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआईए) का निर्देशक जोन र्याटक्लिफले अमेरिकी आक्रमणबाट इरानका आणविक स्थलहरु ध्वस्त भएको दाबी गरेका छन् ।

उनका अनुसार अमेरिकी हवाई आक्रमणले ती केन्द्रहरूलाई वर्षौं पछाडि धकेलेको छ । उनको यो अभिव्यक्ति अमेरिकी रक्षा गुप्तचर निकायको प्रारम्भिक मूल्याङ्कनसँग फरक देखिएको छ ।

लिक भएको मूल्याङ्कनले अमेरिकी आक्रमणपछि पनि इरानको आणविक कार्यक्रमका मूल संरचनाहरू सुरक्षित रहेको उल्लेख गरेको थियो । मूल्याङ्कन सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसप्रति आक्रोशित भएका थिए ।

राष्ट्रपति ट्रम्पले बुधबार सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई ‘झुटा समाचार’ भन्दै ती विवरणहरूलाई पूर्ण रूपमा तोडमोड गरिएको आरोप लगाएका थिए । सिआईए प्रमुख र्याटक्लिफले भने, ‘एक ऐतिहासिक रूपमा विश्वसनीय स्रोतबाट प्राप्त गुप्त सूचनाका आधारमा इरानका केही मुख्य आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त भएका छन्, र ती केन्द्रहरूलाई पुनर्निर्माण गर्न वर्षौं लाग्नेछ ।’

ट्रम्पले हेगमा भएको नेटो शिखर सम्मेलनमा बोल्दै आक्रमणलाई ‘अत्यन्तै कठोर र पूर्ण विनाश’ भएको बताएका छन् ।

उनले अर्को हप्ताको वार्तामा इरानलाई आणविक कार्यक्रम परित्याग गर्न बाध्य पार्ने आफ्नो योजना रहेको पनि उल्लेख गरेका छन् । तर इरानले कुनै वार्ता स्वीकार गरेको छैन ।

विष्णुमती खोलाको बाढीले बगाएको कार, कारभित्रकी महिलाको उद्धार

काठमाडौं । काठमाडौंको टोखास्थित विष्णुमती खोलाको बाढीले एउटा कार बगाएको छ । कारमा एक जना महिला सवार थिइन् ।

ग्राण्डी हस्पिटल नजिकबाट बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कारसहित गएराति खोलामा बगेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई सकुशल उद्धार गरिएको हो ।

कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरूको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

भिडियोः कर्ण बहादुर अधिकारी

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर  । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए ।

उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उनले भने, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।”

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

माधव नेपाल धरौटी बुझाएर रिहा

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

बुधबार थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । अदालतको आदेशपछि अध्यक्ष नेपाल बुधबार राति धरौटी बुझाएर रिहा भएका हुन् ।

अध्यक्ष नेपाल विशेष अदालतमा उपस्थित भएपछि बुधबार दिउँसो बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गरेका थिए । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।

पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

आरोपपत्रमा अध्यक्ष नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । विगतमा पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।

इरानबाट थप चार नेपालीको उद्धार

काठमाडौँ । इरानबाट थप चार नेपालीको उद्धार गरिएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दुतावासका अनुसार इरानको मसादबाट बुधबार थप चार जना नेपाली दिल्ली आइपुगेका हुन् । गायत्री, उत्सव, सागर र बुद्धि बुधबार नयाँदिल्ली आइपुगेका हुन् ।

उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दुतावासले जानकारी दिएको छ ।

यसअघि मंगलबार भारत सरकारले इरानबाट दुई नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरेपनि अहिलेसम्म ६ नेपाली फर्किएका छन् ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको सचिवालय बैठकले साउन ५ गतेका लागि बैठक बोलाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसअघि २ गते पोलिटव्यूरो बैठक बसेर विधान संशोधन प्रस्ताव तयार पार्ने उनले बताए । एमालेको विधान महाधिवेशन भदौं २० देखि २२ गतेसम्म हुँदैछ ।

बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

काठमाडौँ । नेकपा एमालेले पार्टी नेतृ बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि दुबै जनाको जिम्मेवारी खोसेको थियो । पार्टी भवन निर्माणका सवालमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले तिम्सिना र पाण्डेको जिम्मेवारी खोसिएको थियो ।

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा

बेरुत । विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ।

बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब डलर खर्च हुने अनुमान गरेको थियो।

“विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले हिजो लेबनानलाई क्षतिग्रस्त महत्त्वपूर्ण सार्वजनिक पूर्वाधार र लाइफलाइन सेवाहरूको सबैभन्दा जरुरी मर्मत र पुनर्निर्माण तथा द्वन्द्व प्रभावित क्षेत्रहरूमा भग्नावेशषको दिगो व्यवस्थापनलाई सहयोग गर्न २५ करोड अमेरिकी डलरको आर्थिक सहयोग स्वीकृत गरेको छ”, बैंकले एक विज्ञप्तिमा भन्यो।

विश्व बैंकको मध्यपूर्व विभागका डिभिजन निर्देशक जिन–क्रिस्टोफ कार्रेटले भने, “लेबनानको ठूलो पुनर्निर्माण आवश्यकतालाई ध्यानमा राख्दै परियोजनालाई विश्व बैंकबाट प्रारम्भिक २५ करोड डलर योगदानका साथ एक अर्ब डलरको स्केलेबल फ्रेमवर्कको रूपमा संरचित गरिएको छ।”

लेबनानका प्रधानमन्त्री नवाफ सलामले यस निर्णयलाई स्वागत गर्दै यस परियोजनालाई ‘युद्ध प्रभावित क्षेत्रहरूमा महत्त्वपूर्ण पूर्वाधार र आवश्यक सेवाहरूमा भएको क्षतिको जवाफ दिएर पुनर्निर्माणको महत्त्वपूर्ण कदम’ भनेका छन्।

“यो सहयोगले राज्यको नेतृत्वमा रहेको कार्यान्वयन ढाँचाभित्र पुनर्प्राप्ति प्रयासहरूलाई बलियो बनाउँछ र धेरै आवश्यक अतिरिक्त वित्तपोषणको लाभ उठाउँछ”, उनले भने।

लेबनानी समूह हिजबुल्लाह र इजरायलबीच सेप्टेम्बरमा सुरु भएको पूर्ण युद्धसहित एक वर्षभन्दा बढीको शत्रुता नोभेम्बरको अन्त्यमा युद्धविराम सम्झौतामा समाप्त भएको थियो।

द्वन्द्वले लेबनानभर व्यापक विनाश गर्‍यो। विशेष गरी देशको दक्षिण र पूर्वमा हिजबुल्लाहको गढ र बेरुतको दक्षिणी उपनगरहरूमा ठूलो विनाश ल्यायो र सन् २०१९ मा सुरु भएको आर्थिक सङ्कटले गर्दा आर्थिक सङ्कटलाई अझ बढाएको छ।

पुनर्निर्माण लेबनानको सरकारले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक हो। बेरुतले युद्धपछिको पुनर्प्राप्तिको वित्तपोषणका लागि विदेशी सहायता खोजिरहेको छ।

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

कमलकुमार बस्नेत, काठमाडौं ।  बीबीसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदै छन्, त्यसपछि उनको जर्मनी जाने तालिका छ। केही वर्षयता विश्वभर नेपाली खाना प्रवर्द्धन गर्दै आएका उनको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ। जुलाईमा हुने अमेरिका भ्रमण उनको तेस्रो भ्रमण हुनेछ भने जर्मनीमा चौथो।

सन् २०२१ मा बीबीसी मास्टर सेफ भएपछि लण्डनबाट सुरू भएको उनको यो यात्रा अहिले विभिन्न देशमा फैलिँदो छ। नेपाली खानाको पहिचान विश्वभर फैलाउने उद्देश्यले सक्रिय उनलाई अहिले विभिन्न देशमा जान भ्याइनभ्याइ छ।

बीबीसी मास्टर सेफ जितिसकेपछि संसारभर उनको वाहवाही चुलियो। उनले उक्त प्रतियोगितामा बनाएको कोदोको खिरको चर्चा अझ बढी भयो। धेरैले उनले बनाएको खानाको स्वाद लिन चाहन्थे। त्यसैलाई लक्षित गरी लण्डनमा चार महिनासम्मका लागि उनको विशेष कार्यक्रम आयोजना गरिएको थियो। यो उनको पहिलो ‘पप–अप’ थियो।

‘म बीबीसी मास्टर सेफ भएपछि धेरैले खोजी गर्न थाले, म त्यो समयमा इन्डियन रेष्टुरेन्टमा काम गर्दथे, रेष्टुरेन्टको मेन्युमा नेपाली परिकार थिएनन्, त्यसैले लण्डनमै कार्यक्रम आयोजना गरिएको थियो’, सेफ साहले भने। उनको माग यति थियो कि उक्त कार्यक्रमको टिकट बिक्री खुलाएको दुई घण्टामै ‘सोल्डआउट’ भयो।

उक्त पप–अप विभिन्न मितिका लागि आयोजना गरिएको थियो। एउटा कार्यक्रममा औसतमा २० देखि २२ जनाका लागि मात्रै सहभागी गराइएको थियो। चार महिनासम्म सञ्चालन हुने कार्यक्रमका लागि राखिएका ६०० टिकट निमेषभरमै सकियो।

लण्डनको कार्यक्रम सकेपछि सोही वर्ष स्कटल्याण्डबाट पप–अपका लागि निम्तो आयो। स्कटल्याण्डमा नेपाली समुदायले नेपाली रेष्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरेका थिए। सेफ साहले त्यहाँ पनि आफ्नो पाककलाको कौशल पस्किए।

त्यसको केही समयपछि मास्टर सेफका चार जना विजेताका लागि लण्डनमै विशेष कार्यक्रम आयोजना गरियो। सबैका दुई–दुई कोर्स हुने गरी आठ कोर्सको मेन्यु बनाइएको थियो। लगातारका कार्यक्रमले उनको चर्चा अझ चुलियो। विभिन्न देशबाट पप–अप कार्यक्रमका लागि माग आउन थाल्यो। साहलाई लाग्यो, नेपाली खानालाई विश्वभर फैलाउने यो उपयुक्त माध्यम बन्न सक्छ।

त्यसपछि साहले आफ्नो पाककलालाई एउटा होटल वा रेष्टुरेन्टमा मात्रै सीमित नराखी विश्व यात्रालाई निरन्तरता दिने योजना बनाएका थिए। तत्कालीन समयमा उनले नेपालमै मिथिला थालीका नाममा रेष्टुरेन्ट सुरू गरेर यतै व्यवसाय गर्ने सोच बनाए पनि नेपाली खानालाई विश्वभर प्रवर्द्धनको कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ भन्ने सोच बनाएका थिए।

उनले सन् २०२२ मा जर्मनी र स्वीट्जरल्याण्डमा पप–अप कार्यक्रम आयोजना गरे। अमेरिकामा पहिलो पटक जाँदा १४ ठाउँमा पप–अप आयोजना गरिएको थियो। जसमा सुरूआतमै सबै टिकट सोल्डआउट भएका थिए। यही सिलसिलामा साहले अष्ट्रेलियाका चार वटा र न्यूजिल्याण्डका पाँच सहरमा पप–अप कार्यक्रम सम्पन्न गरे। अब भने उनको तालिकामा क्यानडा र जापनमा पप–अप कार्यक्रम बनिरहेको छ।

नेपाली खाना पकाउँदै विश्व यात्रा सुरू गरेका साहले नेपालमा पनि निजी स्तरमा पप–अप आयोजना गरिरहनुहुन्छ। केही समय अघि नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरीको वैवाहिक वार्षिकोत्सव र अर्को चौधरीका पाहुनाका लागि मिथिला थालीमै विशेष पप–अप आयोजना गरेका थिए। ‘समयले भ्याएसम्म नेपालमै पनि पप–अप सो आयोजना गरिरहेको हुन्छु, विभिन्न संस्था तथा व्यक्तिका लागि केही कार्यक्रम आयोजना भइसकेका छन्’, सेफ साहले भने।

उनले च्यारिटीका लागि पनि पप–अप गरेका छन्। स्वीट्जरल्याण्डमा विदेशीहरूमाझ गरिएको च्यारिटी पप–अपबाट सङ्कलन भएको रकम नेपालमा ल्याएर बोल्न र सुन्न नसक्नेहरूका लागि खर्च गरिएको थियो। उक्त रकमले पोखरामा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएकाहरूलाई हस्पिटालिटीसम्बन्धी तालिम दिइएको थियो। त्यसबाहेक उदयपुरको बेलटार अस्पतालको क्यान्टिन निर्माणका लागि पनि गेट कलेज र पाटाको सहकार्यमा अन्नपूर्ण होटलमा पप–अप आयोजना गरिएको थियो। जसमा २०० भन्दा बढी मानिसहरू थिए। त्यसबाट सङ्कलत भएको रकम अस्पतालको क्यान्टिन निर्माणमा खर्चिएको थियो।

साहका अनुसार उनको विश्व यात्राका क्रममा ठाउँअनुसार मेन्यु पनि आवश्यकताअनुसार परिवर्तन भइरहन्छ। तर नेवारी परिवकार वः अर्थात बारा र साँधेको भोगटे भने कहिल्यै नछुट्ने परिकारमा पर्छन्। यात्राका क्रममा उनलाई आउने अधिकांश प्रतिक्रियामध्ये एउटा हो, नेपाली खाना पस्कने उनको शैली। ‘नेपाली खानालाई पनि यति धेरै ‘क्रियटिभ’ र मीठासले तरिकाले सर्भ गर्न सकिने रहेछ भनेर आश्चर्य मान्नुहुन्छ’, साहले भने, ‘मैले नेपालमा भएका विभिन्न खानालाई आधुनिक टचअप दिएको हुन्छु, नयाँ शैलीमा पुरानै स्वाद चाख्न पाउँदा उनहरू निकै हर्षित छन्।’

साहले बनाएको जुजु धौ (दही)को परिकारलाई धेरैले मन पराएका छन्। जुजु धौमा स्मोकी फ्लेवर, हिमालयन मह, गुराँसको फूल उमालेको पानी, जाम र जेरी क्रम्बल गरिएको बेक्ड जुजुधौ अधिकांशले मन पराउने परिकारमा पर्छ। साथै भाङको पातको पकौडा पनि धेरैले मन पराएका छन्। भाङको पातको पकौडामा डल्ले खुर्सानी, चाट मसला मिश्रण गरिएको हुन्छ। त्यसैगरी मासको दाल, याक चिज मिसाइएको काँचो केराको फुलौरा पनि साहको उत्कृष्ट परिकारमा पर्छ।

विश्व यात्राका दौरानमा अमेरिकामा आयोजना भएको ममः महोत्सवमा उनले बनाएको कोदोको खिर खानेहरूले मुक्तकण्ठले साहको प्रसंशा गरेको सम्झाना साहलाई अझै ताजा छ। उनले अधिकांश स्थानमा १० देखि १७ कोर्ससम्मको मेन्यु बनाउँछन्। नेवारी, मधेसीलगायतका खानालाई आधुनिक ‘फ्लेवर’ दिएर ‘सर्भ’ गर्छन्।

नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका छन् ।

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै आज उनले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको भन्दै नेपाल जस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि सङ्गीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको बताए।

राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतका माध्यमबाट नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे । उनले हाम्रो कला, संस्कृति, सङ्गीत र नाट्यको संरक्षण, सम्वर्द्धन गरी विश्वव्यापीकरणतर्फ ध्यान दिन आवश्यक रहेको बताउँदै नेपाली मौलिक भाका, राग र अभिनय शैलीले संसारकै ध्यान तान्न सक्ने स्पष्ट पारे ।

उनले भने, ‘यसतर्फ सरकार मात्र होइन विश्वभर छरिएका नेपालीहरूको म ध्यानाकृष्ट गर्न चाहन्छु । म चाहन्छु, भविष्यमा नेपाली सङ्गीत र नाटक विश्वभर बजून्, प्रदर्शन होउन् र नेपाल साङ्गतिक तथा नाट्य रूपमा विश्व चिन्तनको एउटा केन्द्र बनोस् ।’

राष्ट्रपति पौडेलले मुलुकमा राजनीतिक परिवर्तनसँगै कलाप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन भएर नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठानजस्ता विभिन्न विधागत प्रज्ञाप्रतिष्ठान स्थापना हुन सम्भव भएको बताए। उनले समय र समाज गतिशील भएजस्तै समय र समाजको ढुकढुकी प्रतिबिम्बित हुने गीतसङ्गीत, कला र संस्कृतिले हाम्रो पहिचानलाई जीवन्त राख्ने बताए।

उनले भने, ‘साँच्चिकै भन्नुपर्दा कला र संस्कृति जोगाउनु भनेको राष्ट्रको आत्मा जोगाउनु हो । हाम्रो मौलिक कला र सृजना नेपाल र नेपालीलाई विश्वभर चिनाउने एउटा सशक्त माध्यम भएकाले यसको विकास एवं प्रतिभाको सम्मानमा राज्यले कञ्जुस्याँइ गर्न हुँदैन भन्ने मलाई लाग्दछ ।’

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्या दीर्घ साधना सम्मानबाट वरिष्ठ गायक दीप श्रेष्ठलाई, रङ्गमञ्च विधातर्फ वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापालाई, सङ्गीत विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तानलाई, नाट्य विधातर्फ वरिष्ठ नाट्यकर्मी वेदकुमारी न्यौपानेलाई, नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठलाई, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेललाई, लोकसंगत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझीलाई, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ कुशेश्वर राईलाई र वाद्यबादन विधातर्फ वरिष्ठ वाद्ययवादक राजु अग्रवाललाई सम्मान गरे ।

आइएमईको लगानीमा नेपालमा पहिलो फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु

काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौंमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए । मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उल्लेख गरेका छन् ।

सो समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरेको बताएका छन् ।

 

यसले देसभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरेका छन् ।

स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि अध्यक्ष ढकालको भनाइ थियो।

आइएमई ग्रुप अन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ। यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन्।

उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्। यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन्।

फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ। यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ, जुन १०–१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ।

प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन्। प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ।

यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ। हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्।

उनीहरूले प्रोसेससङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् । एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.ली ले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ।

आन्तरिक उत्पादन प्रवर्द्धन हुनेगरी राजस्व नीति तय गर्न अर्थ समितिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । संसदको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा नपर्नेगरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

केही उद्योगी व्यवसायीबाट सरकारको कर नीतिका कारण समस्यामा परेको भनी समितिमा निवदेन परेकाले यस विषयमा उचित निर्णय लिई स्वदेशी उद्योग प्रवद्र्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउने आजको बैठकले निर्णय गरेको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्ष २०८२ अव्यवहारिक रहेका र भन्दै सुनचाँदी व्यवसायी, आयुर्वेदिक औषधि व्यवसायी र फलाम तथा डण्डी उद्योगीहरूले अर्थ समितिसँग सहयोगका लागि आह्वान गरेका छन् । सुन, चाँदी, हिरालगायत वस्तुमा दुई प्रतिशत विलासिता शुल्क र १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै सुनचाँदी व्यवसायी विरोधमा छन् ।

त्यस्तै, अतिआवश्यक औषधिजन्य वस्तुका रूपमा रहेको आयुर्वेदिक औषधिहरूमा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सोको खारेजीको माग गर्दै आयुर्वेदिक औषधि व्यवसायीहरूले अर्थ समितिमा निवदेन दिएका छन् ।

‘वायर रड’ भनिने ग्याबिन तार बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार लगाइएकामा त्यसलाई रोक्न फलामे छड तथा डण्डी व्यवसायीहरू पनि अर्थ समिति पुगेका छन् ।

यी तीन वटै क्षेत्रका व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् लिएका करका दर लागू भएमा स्वदेशी उद्योगहरू समस्यामा पर्ने र ठूलो सङ्ख्यामा रोजगारी गुम्ने भन्दै समितिमार्फत सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

व्यवसायीहरूसँगको छलफलपछि समितिको आजको बैठकले स्वदेशी उद्योगहरू प्रवद्र्धन गर्नेगरी करका नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको सभापति चालिसेले बताए ।

‘आर्थिक विधेयक, २०८२ अहिले संसद्मा विचाराधीन अवस्थामा छ । संसद्बाट पारित हुनुअघि करका दरमा संशोधन गर्न सकिने भएकाले समितिले यसबारे सरकारको ध्यानाकर्षण गराएको हो’, उनले भने ।

अर्थ समितिको आजको बैठकमा अधिकांश सांसदहरूले स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी करका दरहरू ल्याइएकाले त्यसमा सरकारले पुनर्विचार गर्नुपर्ने बताएका थिए ।

आयातित कच्चा वस्तुमा भन्दा उपभोग्य वस्तुमा बढी कर लगाइएको, अत्यावश्यक वस्तुमासमेत सरकारले भ्याट लगाएको, साफ्टासम्बन्धी प्रावधानहरूका कारण नेपालका उत्पादनले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकालगायत विषय समितिमा उठेका थिए ।

त्यस्तै, संसद्बाट पारित हुनुअघि आर्थिक ऐन संशोधन गर्न सकिने भएकाले पनि यस विषयमा समितिले सरकारको ध्यानाकर्षण गराउनुपर्ने धारणा समिति सदस्यहरूको थियो ।

बैठकमा सांसदहरू गङ्गा कार्की, पूर्णबहादुर तामाङ, जुलीकुमारी महतो, ज्ञानबहादुर शाही, नारायणप्रसाद आचार्य, नारायणी शर्मा, वर्षमान पुन, डा प्रकाशशरण महतलगायतले स्वदेशी उत्पादनलाई समस्या नपर्ने गरी करका दर तय हुनुपर्ने धारणा राखेका थिए ।

संसदमा विचाराधीन आर्थिक विधेयकमा राखिएका केही व्यवस्थाले आन्तरिक उत्पादन र व्यवसायीलाई समस्या पर्ने देखिएमा यसबारे पुनर्विचार गरिनुपर्ने उनीहरूको भनाइ थियो ।

संसदमा विचाराधीन उक्त विधेयकमाथि समितिमा छलफल आवश्यक हो/होइन, समितिले निर्देशन दिन मिल्छ/मिल्दैन भन्नेबारे सांसदहरूबीच भने फरक मत देखिएको थियो । आर्थिक ऐन संशोधन गर्न सकिने भएकाले समितिबाट सुझाव पठाउन सकिने केही सदस्यहरूको धारणा थियो ।

बाफिया विधेयकमा पुनर्लेखन आवश्यक नरहेको समितिलाई अर्थको जवाफ

काठमाडौँ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा पुनर्लेखन आवश्यक नरहेको भन्दै अर्थ मन्त्रालयले अर्थ समितिलाई पत्र पठाएको छ।

हाल समितिमा विचाराधीन रहेको विधेयकलाई विद्यमान परिस्थतिअनुसार थप परिस्कृत बनाउन पुनर्लेखन आवश्यक भएमा त्यसको सुझाव पठाउन भनिएकोमा पुनर्लेखन आवश्यक नपर्ने भनी अर्थ मन्त्रालयबाट समितिलाई जवाफ आएको सभापति सन्तोष चालिसेले जानकारी दिए।

“बाफिया पुनर्लेखन गर्नुपर्ने भन्दै समितिमा सुझाव आएपछि हामीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्र पठाएका थियौँ। तर पुनर्लेखन आवश्यक नपर्ने र समितिबाटै आवश्यकताअनुसार संशोधन गरेर अघि बढ्न सकिने भनेर जवाफ आएको छ,” सभापति चालिसेले आजको बैठकमा भने।

यसअघि समितिले विधेयकबारे बैंकिङ क्षेत्रका विज्ञ, पूर्वबैंकर तथा बैंकहरूसँग छलफल गरेको थियो। छलफलका क्रममा विज्ञहरू बाट मात्र नभई समितिका सदस्यहरूले पनि बाफिया विधेयक संसदमा दर्ता भएको लामो समय भइसकेकाले विद्यमान भू–राजनीतिक परिवर्तन र आन्तरिक अवस्थासमेतलाई हेरेर संशोधन गर्नुपर्ने सुझाव दिएका थिए।

सोही सुझावका आधारमा समितिले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई बाफिया विधेयकमा पुनर्लेखन गर्न आवश्यक भए त्यसको जानकारी दिन भनेको थियो। तर, अर्थ मन्त्रालय आफैले पुनर्लेखन नगर्ने तर समितिमा आवश्यक संशोधन गरेर अघि बढ्न सकिने बेहोराको पत्र पठाएको हो।

यो विधेयक २०८० चैतमा संसद्मा दर्ता भएको थियो। बैंक तथा वित्तीय क्षेत्रमा दुई वर्षअघिको अवस्था र अहिले फरक रहेकाले विधेयकमा राखिएका व्यवस्थाहरू सान्दर्भिक तुल्याइनुपर्ने आवाज समितिमा उठेको थियो। बासलसम्बन्धी प्रावधानहरू परिवर्तन भएको र राष्ट्र बैंकले पनि पछिल्लो समय लिएका नीतिहरूलाई अहिलेको विधेयकले नसमेटेका कारण मस्यौदा संशोधन आवश्यक रहेको धारणा विज्ञहरूबाट समेत आएको थियो।

त्यस्तै, नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार निकै ठूलो रहेको परिप्रेक्ष्यमा यसलाई घटाउनका लागि बाफियाले कसरी भूमिका खेल्न सक्छ भनेर सोच्नुपर्ने सुझावसमेत समितिमा आएका थिए। बैंक तथा वित्तीय संस्थाको सञ्चालकसम्बन्धी व्यवस्था, बैंकर तथा व्यवसायी छुट्याउने प्रावधान, बैंकका सञ्चालकको उमेरहदलगायतका विषयमा समितिले अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट स्पष्टता खोजेको थियो।

समितिमा विचाराधीन विधेयकमा डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायतका विषयहरू राखिएका छन्।

त्यस्तै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमनका लागि कानुनी प्रबन्ध गर्न पनि यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ।

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

घोडाघोडी (कैलाली) । पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् ।

डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिए । “मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ । नदीमा जलस्तर बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका हुन्”, उनले भने ।

उनका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन् ।

डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन् । उनले भने, “भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्दछन् । यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन् ।”

यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका श्रेष्ठले बताए । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने उनको भनाइ छ । “यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ”, उनले भने ।

हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए । “भर्खरै डल्फिन देखिन थालेका छन् । अबको केही दिनमा पर्यटकहरू अवलोकनका लागि दैनिकी जसो यहाँ पुग्ने गर्दछन्”, उनले भने ।

पर्या–पर्यटनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको डल्फिन संरक्षणका लागि यस क्षेत्रमा संरक्षण र प्रवद्र्धनका लागि विभिन्न काम भइरहेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भूपरिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका हुन् ।

साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । यहाँ चारपटक डल्फिन महोत्सवको आयोजनासमेत गरिएको थियो । कर्णालीमा विसं २०५४ मा पहिलो पटक डल्फिन देखिएको थियो ।

स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलोपटक डल्फिन देखेपछि उनले यसको प्रचारप्रसार गरेका थिए । आफूले यहाँ पहिलोपटक डल्फिन देखेपछि प्रचारप्रसार तथा संरक्षणका लागि जुटेको उनले बताए ।

“सुरूमा डल्फिन देखिएपछि प्रचारप्रसार र संरक्षणका लागि पहल गरेको थिएँ”, उनले भने, “चुनौती धेरै थिएँ तर विस्तारै यसको महत्त्वका बारेमा जानकारी दिँदै गएपछि स्थानीय सरकार, अभियानकर्मी, सरकोकार भएका निकायलगायत संरक्षण अभियानमा जुटेका छन् ।”

मनसुनको याम सुरु भएपछि डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्याण्ड, जापान, अमेरिकालगायत तेस्रो मुलुकका नागरिक यहाँ आउने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

एमाले अध्यक्ष ओलीले बुझाए एक वर्षको ३ लाख ३ हजार ६ सय रुपैयाँ लेबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार एक वर्षको लेबी ३ लाख ३ हजार ६ सय रुपैयाँ बुझाएका हुन् ।

ओलीले मासिक २५ हजारको दरले लेबी र मासिक ३ सय रुपैयाँ सदस्यता शुल्क बुझाएका हुन् । उनले पार्टीको सदस्यता र लेबी तिरेको सचिवालयले जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले सरकारले उद्योग वाणिज्य प्रवद्र्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ भने नेपाली सेनाका दुई जना महासेनानीहरूको पदावधि थप गर्ने, एक जना सहायक रथीको उपरथीमा बढुवा गर्ने र दुई जना उपरथीहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले अन्तर्राष्ट्रियस्तरको भलिबल, उसु र कवड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरि २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिएको छ ।

प्रहरी विधेयकलाई यथाशीघ्र टुङ्ग्याइदिन गृहमन्त्रीको आग्रह

 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानुन, विधिको शासन तथा मानव अधिकारप्रति प्रतिबद्ध गराई उत्तरदायी, र जवाफदेही बनाउने उद्देश्यले सरकारले ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्न बनेको विधेयक’ ल्याएको प्रष्ट पारेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले प्रहरीको काम, कर्तव्य र अधिकार, सेवाको गठन, प्रशासन र सञ्चालन, प्रहरी महानिरीक्षकको नियुक्ति र काम, नेपाल प्रहरी सेवाको पदपूर्ति, सरुवा र काज, बढुवा, तलब, भत्ता तथा अन्य सुविधा, अवकाश, उपदान तथा निवृत्तिभरण, आचरण र विभागीय सजाय तथा पुनरावेदन समावेश गरिएको बताए ।

मन्त्री लेखकले भने, ‘नेपाल प्रहरी ऐन २०१२ सालमा बनेको थियो, ७० वर्षपछि हामी नेपालको नयाँ ऐन बनाउँदैछौँ, १२ वर्ष पहिला २०७० सालमा सर्वोच्च अदालतले प्रहरीको बढुवा, सेवाका अरु शर्तहरूलगायत विषयलाई व्यवस्थित गर्न नयाँ ऐनको आवश्यकता औँलाएको थियो । यही कारणले नयाँ ऐनको आवश्यकता महसुस गरी ल्याएका हौँ ।’

गृह मन्त्रालयअन्तर्गतका निकायमको नितिगत, कानूनी र संरचनागत सुधारलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनको भनाइ छ ।

मन्त्री लेखकले भने, ‘प्रहरी ऐन सरकारको प्राथमिकताको विषय हो, समितिलाई मेरो आग्रह छ, यो विधेयकलाई यथाशीघ्र टुङ्ग्याइदिनु होला, त्यसका लागि मन्त्री र मन्त्रालयले कति समय दिनुपर्ने दिन्छौँ, सरकार विधेयकलाई प्राथमिकतामा राखेर छलफल गर्न तयार छ, ऐनभित्रका विषयवस्तुमा छलफल गर्न सरकार तयार छ ।’

विधेयकमा भनिएको छ, ‘सार्वजनिक शान्ति प्रवद्र्धन, अपराधको रोकथाम र अनुसन्धान गर्न तथा अपराधको नियन्त्रण गरी शान्ति सुरक्षा एवं सुव्यवस्था कायम गर्न प्रहरी सेवाको गठन, सञ्चालन तथा सेवाको शर्तसम्बन्धी व्यवस्थालाई समसामयिक बनाई आवश्यक व्यवस्था गर्न प्रस्तुत विधेयक पेस गर्नु परेको हो ।’

विधेयकमा कसूर र सजाय, मुद्दाको अनुसन्धान र दायरी, प्रहरी विशेष अदालत तथा बिदासहितको व्यवस्था समावेश गरिएको छ ।

नेपालको संविधानले परिकल्पना गरेबमोजिम प्रहरी सङ्गठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तार सहितको संवैधानिक मर्म अनुकूल हुनेगरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्यास अनुकरण गरी सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन ऐन आवश्यक रहेको गृह मन्त्रालयले जनाएको छ ।

मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्न नेपाल प्रहरीसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्नुपरेको गृह मन्त्रालयको भनाइ छ ।

गृहमन्त्री लेखकले भने, ‘असल नियतको बचाऔँ, पोसाक, दर्जानी चिन्ह्, झण्डा र साङ्गठनिक व्यवस्था, तालिम, नेपाल प्रहरी कर्मचारी कलेज, सेवा समूह परिवर्तन, नगर प्रहरी, प्रहरी कल्याणकारी कोष, स्वास्थ्य बिमा योजना लागू गर्ने, आवास सुविधा, पिरमर्का तथा गुनासो सुनुवाइको व्यवस्था र खेलाडी प्रहरी कर्मचारीको बढुवालाई प्रस्तुत विधेयकमा समावेश गरिएको छ ।’

नेप्सेमा सामान्य अङ्कको गिरावट

 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २० को विन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन एक दशमलव ४३, जलविद्युत् शून्य दशमलव ६७, जीवन बीमा शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ०९ र निर्जीवन बीमा शून्य दशमलव १० प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ०९, वित्त शून्य दशमलव ४८, लगानी शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव २१, व्यापार एक दशमलव ०७ र अन्य समूह शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।

मोदी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै वुटवल पावर कम्पनी लिमिटेडको रू ५३ करोड ९४ लाख ५७ हजार ३२६ बराबरको छ लाख ५४ हजार २९० कित्ता शेयर किनबेच भएको छ ।

पाल्पामा पहिलोपटक ‘होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन हुने

रामपुर । पाल्पा जिल्लाका सामुदायिक विद्यालयमा पहिलोपटक व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषयको पठनपाठन सुरु हुने भएको छ ।

रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमूना माध्यमिक विद्यालयले नयाँ विषयका रूपमा होटल म्यानेजमेन्टको पठनपाठन सञ्चालन गर्न लागेको हो ।
कालीगण्डकीबेँसीका विद्यार्थीलाई मध्यनजर गर्दै कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषय सुरुवात गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

“नयाँ विषयका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छन् । प्रयोगशाला कक्ष तयार पार्न उपकरण व्यवस्थापन गरिरहेका छौँ । प्रयोगशाला व्यवस्थापनमा करिब  ३० लाख रकम लाग्ने अनुमान छ, विद्यालयको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नेछौँ”, उनले भने ।

शैक्षिक क्षेत्रमा नयाँ इँट्टा थप्ने विद्यालयको योजना र यो क्षेत्रमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको माग बढिरहेकाले नयाँ विषय सञ्चालनको तयारीमा विद्यालय लागेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए ।

उनले भने, “धेरै खर्चिलो नहुने भएकाले विद्यार्थीले आफ्नै गाउँठाउँमा नयाँ विषय पढ्न पाउनेछन्, उच्च शिक्षा सकेर विद्यार्थी बाहिर जाने भएकाले होटल म्यानेजमेन्ट विषय पढाइमा अन्यत्र लगानी गर्न नपर्ने योजनासहित स्थानीयस्तरमा कक्षा सञ्चालनको तयारी गरेका हौँ । यसले विद्यार्थी र अभिभावकलाई सजिलो हुने अपेक्षा गरेका छौँ ।”

यसवर्ष ३० देखि ४० जना विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्ने विद्यालयको लक्ष्य रहेको प्रअ लम्सालले जानकारी दिए । उनले आवश्यक परेमा विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग समन्वय गरेर स्नातक तहसम्मको कक्षा सञ्चालन गर्न सकिने बताए ।

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा र व्यवस्थापन सङ्कायका साथै तीन वर्षे कृषिबाली विज्ञानको पठनपाठन भइरहेको छ । विद्यालयमा हाल दुई हजार ७०० बढी विद्यार्थी अध्ययनरत छन् ।

रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तटहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको हो ।

लक्ष्मीनारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा आगामी आर्थिक वर्षदेखि स्कुल सञ्चालन गर्ने योजनाअनुसार सबै तयारी थालिएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए ।

“रामघाटधाम एउटा धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यहाँ ज्येष्ठ नागरिक पनि आउनुहुन्छ । नगरपालिकाले आवतजावतका लागि बस ल्याइसकेको छ, नयाँ आर्थिक वर्षदेखि स्कुल सञ्चालन हुनेछ । समय बिताउने माध्यम मात्र नभई धार्मिक क्रियाकलापमा पनि दिनभर सक्रिय रहँदा मन प्रसन्न हुनेछ”, उनले भने ।

उक्त स्कुलमा ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई समावेश गरिनेछ । नगरपालिकाका १० वटै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दैनिक रामघाटसम्म आवतजावत गर्न यातायात सेवा, स्कुलमा रहँदा खाने, बस्नेलगायत आवश्यक सेवासुविधा नगरपालिकाले व्यहोर्ने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

“बिहान १० बजेदेखि ज्येष्ठ नागरिकलाई ल्याउने र साँझ आरती सकेर घरघरमा पुनःपुर्याइनेछ, यसको सबै प्रबन्ध नगरले गर्नेछ । ज्येष्ठ नागरिकलाई खुशीसँग दिन बिताउन नगरले स्कुल सञ्चालन गर्ने भएको हो । स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार, सामग्री तयारी अवस्थामा रहेकाले यथाशीघ्र कक्षा सञ्चालन हुनेछ”, नगरप्रमुख थापाले भने ।

ज्येष्ठ नागरिक स्कुलमा धार्मिक कक्षा, मनोसामाजिक परामर्श कक्षा र मनोरञ्जन कक्षा सञ्चालन गरिने छन् भने नियमित स्वास्थ्य परीक्षण हुनेछ । हाललाई सातवटा कोठा कक्षा सञ्चालनका लागि प्रयोग गर्न मिल्ने खालका रहेका उनको भनाइ छ ।

नगर आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा ज्येष्ठ नागरिक स्कुललाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन धार्मिक ग्रन्थसहितको पुस्तकालय, प्रवचन, अन्तरपुस्ता सीप हस्तान्तरण, वाद्यवादन सामग्री, ज्येष्ठ नागरिक सम्मान, दिवा खाजा व्यवस्था, दैनिक स्वास्थ्य परीक्षणलगायत कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख थापाले जानकारी दिए ।

रामघाटसम्म पुग्ने सडकमार्ग स्तरोन्नति, आवश्यक भौतिक संरचना निर्माण भएपछि पर्यटकीय पूर्वाधार विकासले यहाँ आउने आगन्तुकको सङ्ख्या बढ्दै गएको हो । यहाँ रामनवमी, कृष्णजन्माष्टमीलगायत विभिन्न पर्वमा धार्मिक मेला लाग्ने गर्दछ । धामको रेखदेख, मन्दिरमा दैनिक पूजापाठका लागि दुई जना पूजारी व्यवस्था गरिएको छ ।

पर्यटन प्रवर्द्धनको पर्खाइमा होङ्मा पोखरी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित पर्यटकीय सम्भावना बोकेको होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । सम्भावना बोकेर पनि ओझेलमा परेको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन हुने स्थानीय बताउँछन् । वरिपरि हुर्कंदै गरेका गुराँस, चिमाल, इन्द्रकमलका साथै अनार, नास्पाती, स्याउलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाले पोखरीलाई आकर्षक बनाएका छन्।

सौन्दर्यकरणका लागि बगैँचा बनाउने उद्देश्यले रोपिएका फलफूलका बीचमा बाह्रै महिना पानी जम्ने पोखरी र पोखरीभरि पानी रातो देखिने राता माछा देखिन्छन् । करिब एक हजार ५०० मिटर उचाइमा यो पोखरी अवस्थित छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलका रूपमा अवस्थित होङ्मा पोखरी पर्यटन प्रवद्र्धनको पर्खाइ छ ।

पौराणिक धार्मिक ग्रन्थ हिमवतखण्डको पुराण र किरात मिथकमा समेत उल्लेख भएको यो पोखरीको संरक्षणका लागि जन्तेढुङ्गा–५ को वडा कार्यालयले रु १० लाख, कोशी प्रदेश सरकारले चार वर्षअघि रु १० लाख र दुई वर्षअघि रु पाँच लाख बजेट विनियोजन गरेर स्तरोन्नति गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिए ।

वडा कार्यालय र प्रदेश सरकारबाट विनियोजन गरिएको उक्त रकमले पोखरीको तल्लोभागमा तारजालीसहित ढुङ्गाको बाँध बाँधिएको छ भने वरिपरि तारजालीको घेराबार, विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने तथा सरसफाइसहित सुन्दर बनाइएको छ ।

करिब १२ रोपनी क्षेत्रफल सरकारी जमिनमा फैलिएको यो पोखरी हिन्दू र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको स्थानीय विज्ञान राईले बताए । उनका अनुसार चारैतिर हरियाली डाँडापाखा रहेको यो ऐतिहासिकस्थल नजिकबाट अर्को पर्यटकीयस्थल भञ्ज्याङखर्क हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ग्रामीण सडक निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० देखि सङ्घ र प्रदेश सरकारबाट समपुरक, समानीकरण, विशेष शीर्षकबाहेक अन्य कुनै निकायबाट आर्थिक सहयोग उपलब्ध नहुँदा स्तरोन्नतिमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष खड्काले बताए ।

‘आवश्यक बजेट उपलब्ध नहुँदा पोखरीको पर्यटन प्रवद्र्धन गर्न सकिएको छैन । वर्षायाममा पोखरीको पानी धमिलो हुन्छ । यसले यहाँ पाइने राता माछा लोप हुने अवस्थामा पुगेका छन्’, उनले भने, ‘स्थानीय तहको स्रोतले यसको संरक्षण तथा प्रवद्र्धन गर्न सकिँदैन । सम्बन्धित मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)मा आवश्यक बजेट उपलब्ध गराइदिन माग गरिए पनि अहिलेसम्म सम्बोधन भएको छैन ।’

पौराणिक ग्रन्थ हिमवतखण्डको पुराणमा छोरी भानुमतीलाई भेट्न आउँदा विष्णुले बराहपोखरीमा नुहाएको भन्ने उल्लेख छ । होङ्मा पोखरी र बराहापोखरी बीचको धार्मिक सम्बन्ध समेत भएकाले यसलाई संरक्षण तथा प्रवर्द्धन गर्न सुरु गरिएको उपप्रमुख खड्काको भनाइ छ ।

बालाचतुर्दशीको अवसर पारेर बराहपोखरीमा लाग्ने मेलाको भोलिपल्ट होङ्मा पोखरीमा ठूलो मेला लाग्ने स्थानीयले बताएका छन् । प्राकृतिक रूपमा बनेको यो पोखरीलाई स्थानीय तह स्थापनासँगै कार्यान्वयनमा आएपछि संरक्षण तथा प्रवद्र्धन सुरु गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन वृद्धि हुँदै गएको स्थानीय वीरबल किरातीले बताए ।

सिकारी युगमा यो पोखरीमा पानी खान आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले ढुकेर(पर्खेर सिकार गर्ने चलन रहेकाले यसलाई होङ्मा पोखरी भन्ने गरिएको उनले जानकारी दिए ।

‘किरात राई बान्तवा भाषामा होङ्मा भनेको ढुक्नु/पर्खनु हो । सिकारी युगमा यो पोखरीमा पानी खान आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले पर्खेर सिकार गर्ने चलन भएकाले यसलाई होङ्मा पोखरी भनिएको हो’, उनले भने, ‘पोखरीको दक्षिणी भेगमा होङ्मा थान छ । यहाँ हरेक वर्षको वैशाखे पूर्णिमामा पूजाआराधना गरिन्छ ।’

पोखरीसँगै रहेको होङ्मा थानमा पूजाआराधना गरेमा मानव तथा जीवजन्तुलाई शुभ हुने जनविश्वास रहिआएको छ । होङ्मा पोखरीमा परापूर्वकालमा बूढापाकाहरू भेला भएर दुःखसुखका कुरा साटासाट गर्ने प्रचलन रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

धार्मिक तथा पर्यटकीयस्थल होङ्मा पोखरीप्रति स्थानीयमा रहेको जनविश्वासलाई सम्बोधन गर्न गाउँपालिकाको तर्फबाट संरक्षण तथा प्रवद्र्धन गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले बताइन् । ‘यो ऐतिहासिक पोखरी हो । यसको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनमा पालिकाले पहल गरिरहेको छ’, उनले भनिन्, ‘किरात मिथकमा उल्लेख भएको यो पोखरीलाई स्तरोन्नति गर्दै संरक्षण तथा प्रवर्द्धनमार्फत पर्यटकीय गन्तव्य बनाउने योजनामा छौँ ।’

होङ्मा पोखरीको स्तरोन्नति तथा सौन्दर्यकरणका लागि निजी क्षेत्रलाई लगानी गर्न खुला गरिएको गाउँपालिकाले जनाएको छ । निजी क्षेत्रका लागि गाउँपालिकाको तर्फबाट नीति बनाएर एउटै किसिमको फलैँचा निर्माण तथा फलफूलका बिरुवा रोप्ने वातावरण सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिए ।

यस पोखरीमा वैशाख पूर्णिमादेखि गुरु पूर्णिमासम्म हिन्दु धर्मावलम्बीले परेवा र बाख्राको पाठी तथा किरात समुदायले कुखुराको भालेको बलि दिएर पूजाआराधना गर्ने परम्परा रहिआएको छ । हिन्दू र किरात धर्मावलम्बीको सङ्गमस्थल होङ्मा पोखरीसम्म पुग्नका लागि स्थानीय सरकारको लगानीमा सडकमार्ग निर्माण गरेर सञ्चालनमा ल्याएकाले आवतजावतमा सहज भएको छ ।

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले बढेको छ, जुन यस वर्षको अप्रिलमा २.४ प्रतिशत र सन् २०२४ अक्टोबरमा सबैभन्दा कम वार्षिक रेकडै हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अर्थशास्त्रीहरूले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) मे महिनामा २.३ प्रतिशतले बढ्ने अनुमान गरेका थिए।

अस्ट्रेलियाको रिजर्भ बैंक अफ अस्ट्रेलियाको आन्तरिक मुद्रास्फितिको प्राथमिकताको मापन, वार्षिक कटौती गरिएको औसत दर अप्रिलमा २.८ प्रतिशतबाट घटेर मे सम्मको १२ महिनाको अवधिमा २.४ प्रतिशतमा झरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अर्थशास्त्रीहरूले यस वर्ष मे महिनामा उपभोक्ता मूल्य सूचकाङ्क २.३ प्रतिशतले बढ्ने अनुमान गरेका थिए । अष्ट्रेलियाको रिजर्भ बैङ्कको अन्तर्निहित मुद्रास्फीतिको वार्षिक औसत मापन यस वर्षको अप्रिलमा २.८ प्रतिशतबाट घटेर १२ महिनाको अवधिमा २.४ प्रतिशतमा झरेको छ ।

एबीएसका तथ्याङ्क प्रमुख मिचेल माक्र्वार्टले नोभेम्बर २०२१ पछि वार्षिक छाँटकाँट गरिएको औसत मुद्रास्फीतिको सबैभन्दा कम दर हो । एबीएसले मे महिनामा खाद्य, मादक पेय पदार्थ, आवास, रक्सी र सुर्र्तीजन्य पदार्थले सिपिआईको वृद्धिमा सबैभन्दा ठूलो योगदान दिएको बताएको छ ।

अप्रिलमा ३.१ प्रतिशत रहेको खाद्य र मादक पदार्थको मूल्य गत बर्षको १२ महिनाको अवधिमा थप २.९ प्रतिशतले बढेको छ ।

गत बर्षको अप्रिलमा ५.० प्रतिशत कायम रहेको भाडा मे महिना अर्थात् बितेका १२ महिनामा ४.५ प्रतिशत कायम भएको छ र यो डिसेम्बर २०२२ पछि सबैभन्दा कम वार्षिक वृद्धि हो ।

वृद्धिहरूमा १२ महिनामा बिजुलीको मुल्यमा ५.९ प्रतिशतले गिरावट आएको थियो, जुन सरकारी छुटहरूद्वारा सञ्चालित थियो । मोटर तथा इन्धनको मूल्य समान अवधिमा १० प्रतिशतले घटेर सेप्टेम्बर २०२२ पछि सबैभन्दा कम अवस्थामा पुगेको छ ।

इरानी राष्ट्रपति पेजेस्कियनद्वारा १२ दिने युद्ध अन्त्य भएको जानकारी

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकायलगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गरेका छन् ।

पेजेस्कियनले युद्धविराम लागू भएपछि इरानी जनतालाई दिएको सन्देशमा भने, “आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ ।”

इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्ने साथै सामाजिक उत्तेजना गराउने लक्ष्यहरू हासिल गर्न असफल भएको उनले बताएका छन् ।

यसैगरी, इजरायल र यसका सहयोगीहरूले कब्जा गरिएका क्षेत्रहरूमा महत्वपूर्ण सुविधाहरू र केन्द्रहरूको विनाशले विश्वलाई एउटा प्रमुख सन्देश पठाएको र इरानविरुद्धको दुस्साहसको मूल्य अत्यधिक भारी भएको भन्ने बुझाएको बताएका छन् ।

मङ्गलबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोनवार्तामा पेजेस्कियनले आफ्नो देश वार्ताको टेबलमा अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै मुद्दाहरू समाधान गर्न तयार रहेको बताएका छन् ।

अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको बताउदै उनले इरानले यस क्षेत्रमा एकता र शान्ति बलियो बनाउन उनीहरूलाई विकासको गति बढाउनको लागि आधार मान्ने उल्लेख गरेका छन् ।

यही जुन १३ मा इजरायलले आणविक र सैन्य स्थलसहित इरानका विभिन्न क्षेत्रहरूमा हवाई आक्रमण गर्दा वरिष्ठ कमान्डर, आणविक वैज्ञानिक र नागरिकहरूको मृत्यु भएको छ । इरानले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरी जवाफी हमला गर्दा कैयौँ हताहत र भारी क्षति पुगेको जनाइएको छ ।

शनिबार अमेरिकी, एयर फोर्सले तीन इरानी आणविकस्थलहरू फोर्डो, नटान्ज र इस्फहान–मा बम प्रहार गरेको थियो यसको जवाफमा इरानले सोमबार कतारस्थित अमेरिकी एयर बेसमा मिसाइल प्रहार गरेको छ ।

इरानको आक्रमणपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्षबीचको युद्धविराम मङ्गलबार देखि सुरु हुने घोषणा गरेको र यसलाई इरान र इजरायल दुवैले स्विकार गरेका छन् । घोषणासँगै यस क्षेत्रमा युद्धविराम सुरु भएको छ ।

भेटेरिनरी अस्पतालका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासहित तीन जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । डा. झासँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन सहलेखापाल अनिल लिम्बु, मोदाक एड्भर्टाइजिङ प्रालिका सञ्चालक कौशलराज सिंह र कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

केन्द्रले निर्माण व्यवसायीमध्ये एक मात्र निर्माण व्यवसायीलाई रेस्पोन्सिभ गरी आर्थिक प्रस्ताव खोलिएको हुँदा प्राविधिक र आर्थिक मूल्यांकलन पुनरावलोकन गरी पाउँ भन्ने ब्यहोराको उजुरी परेपछि आयोगले अनुसन्धान एवं छानबिन अघि बढाएको थियो ।

गभर्नर पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक, कति छ नगद, कति छन् घर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत जेठ ६ गते गभर्नर नियुक्त भएका पौडेलले हाइड्रोपावर र बैंकको सेयरमा लगानी रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

पौडेलको ललितपुरस्थित भैंसेपाटीमा घर र जग्गा साथै नवलपसारीको गैंडाकोटामा पनि घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । पौडेलसँग सुन र हिराको गहना पनि रहेको छ । सम्पूर्ण सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन भएको गभर्नर पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनको घरजग्गा श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै अन्य सम्पत्तिहरु भने श्रीमती र आफ्नो नाममा रहेको विवरणमा देखिन्छ । पौडेलले गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको सानिमा ग्रुप अन्तरगतको सानिमा बैंक, सानिमामाई हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरमा लगानी गरेका छन् ।

पौडेलको नाममा सानिमा बैंकको २ लाख ४४ हजार १७६ कित्ता संस्थापक सेयर रहेको विवरणमा उल्लेख गरिएको छ । यस्तै सानिमामाई हाइड्रोपावरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ लाख ८८ हजार कित्ता सेयरमा गभर्नर पौडेलको लगानी छ ।

गभर्नर पौडेल ग्लोबेको प्रालिको प्रवद्र्धको रुपमा १ लाख ८६ हजार ८३४ कित्ता र श्रीमती प्रतिभा शर्माको नाममा ७५ हजार कित्ता सेयर छ। त्यस्तै गभर्नर पौडेलकै नाममा संयुक्त उर्जा हाइड्रोपावरको प्रवद्र्धकको रुपमा ५ लाख कित्ता सेयर छ ।

यस्तै चितवन इनर्जी लिमिटेडको प्रवद्र्धकको रुपमा २ लाख ५० हजार कित्ता सेयर छ । गभर्नर पौडेलेको घर र जग्गा भने श्रीमती प्रतिभा शर्माको नाममा छ । ललितपुरको साविकको सैंबुमा ५ आना २ दाम जग्गा र सोही जग्गामा बनेको २७९५ वर्गफिटको घर छ ।

त्यस्तै नवलपसारीको गैंडाकोटमा २ कित्ता जाग्गा र २५०० वर्गफिटको घर छ । गैंडाकोटमा एउटा कित्ता जग्गा १ कठ्ठा २ धुर २ कुनुवा र अर्को कित्ता ४ कठ्ठा १ धुर ३ कुनुवा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ललितपुरको घर र जग्गा १ कराड ५५ लाख रुपैयाँ तथा गैंडाकोटको घर र जग्गा ६० लाख रुपैयाँमा खरिद गरेको पौडेलले उल्लेख गरेका छन् । उक्त सम्पत्ति पैतृक र स्वआर्जनबाट जोडेको विवरणमा उल्लेख छ ।

जनप्रशासन क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१४ स्थित रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला, चन्दननाथ नगरपालिका–८ घर भइ हाल काठमाडौं महानगरपालिका–४ धुम्वाराही बस्ने २६ वर्षीय केशव रोकाया रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने, ‘उक्त क्याम्पसमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएको र निजलाई आवश्यक अनुसन्धान तथा कारबाही गर्न जन प्रशासन क्याम्पसको प्राप्त पत्रानुसार पक्राउ गरिएको हो ।’

निज नक्कली परीक्षार्थी रोकायालाई शिक्षासम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।

पूर्वप्रधानमन्त्री नेपालको बयान सकियो, थुनछेक बहस हुँदै

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दामा विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ ।

बुधबार न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा भएको सुनुवाइमा नेपालको बयान सम्पन्न भएको हो।

बयानपछि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । तर आजै बहस टुंग्याउने तयारी अनुसार सीमित अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ।

शम्भु थापा, गोविन्द बन्दी, टीकाराम भट्टराईसहितका वरिष्ठ अधिवक्ताले सुरुवाती बहस गर्ने भएका छन् । नेपाल पक्षका अधिवक्ता नारायण देवकोटाका अनुसार करिब १५० अधिवक्ताले वकालतनामा लिएका छन् ।

उता, अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहसको अगुवाइ गर्ने भएका छन् । पन्तलाई आयोगले निजी वकिलका रूपमा नियुक्त गरेको हो।

नेपालमाथि जेठ २२ गते पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा प्रदान गरिएको जग्गा निजी स्वामित्वमा बिक्री गर्न अनुमति दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। थुनछेक बहस आजै सकिने सम्भावना छ ।

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन्ः सीइओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ र नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षण कार्यक्रममा उनले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताएका हुन् ।

“अहिले पूर्वाधारको अभावमा हामीले लक्ष्यअनुसार पर्यटक ल्याउन सकेका छैनौँ, यद्यपि मुलुकभर सडकलगायतका पूर्वाधार निर्माण तथा विस्तार भइरहेको सन्दर्भमा आगामी दुईपछि पर्यटक बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ”, उनले भने, “यसका लागि सम्बन्धित पक्ष जिम्मेवार भएर पूर्वाधार निर्माणमा सक्रिय हुनुपर्छ ।” उनले पर्यटकलाई लक्षित गरेर सेवा दिने गुणस्तरीय हुनुपर्नेमा समेत सुझाव दिए ।

त्यस अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालका वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले पर्यटक सवारी चालकहरु आफै जिम्मेवार हुनुपर्नेमा जोड दिए । “सवारी चालक र सहचालक जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ, चालकहरूले ट्राफिकका लागि नभई आफ्ना लागि नियम पालना गर्नुपर्छ” उनले भने ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बास्तोलाले चालक आफैँ सक्षम भए आफू र पर्यटकलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सक्ने धारणा व्यक्त गरे । “यस प्रशिक्षणले चालक र सहचालकलाई सक्रिय, दक्ष र सुरक्षाका उपाय अपनाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनेछ”, उनले भने, “चालक र सहचालकले यात्रामा पर्यटकसँग गर्ने व्यवहार सिक्नुहुनेछ ।”

यात्रामा चालक मात्र नभई सहचालक पनि उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको उनको भनाइ थियो । आजदेखि सुरु प्रशिक्षण दुई दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पर्यटक सवारीका चालक तथा सहचालक गरी ९२ जनाको सहभागिता छ ।

पूर्वप्रधानमन्त्री नेपालको पक्षमा बहस गर्न नाम टिपाउने वकिलको संख्या १२०

काठमाडौं । पतञ्जलिको जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा बहस गर्न नाम टिपाउने कानुन व्यवसायीको संख्या १२० पुगेको छ ।

बुधबार विशेष अदालतमा हाजिर भएका नेपालको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहित १२० जनाले नाम टिपाएका हुन् । नाम टिपाउनेको संख्या अझै थपिँदै छ । तर, समय अभावका कारण थोरै अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ । बहसपछि थुनछेक आदेश हुनेछ ।

मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्याल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछ ।

बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ । अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।

रेडियो पत्रकारलाई गलत तरिकाले बर्खास्त गरिएको अस्ट्रेलियाको एक अदालतको ठहर

सिड्नी । इजरायल–गाजा द्वन्द्वसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक एबीसीले एक रेडियो पत्रकारलाई गैरकानुनी रुपमा बर्खास्त गरेको यहाँको एक अदालतले ठहर गरेको छ ।

अदालतले रेडियो पत्रकारलाई गैरकानुनी रुपमा बर्खास्त गरेको भन्दै एबीसीले एन्टोनेट लाट्टोफलाई क्षतिपूर्तिस्वरूप ७० हजार अष्ट्रेलियाली डलर (४५ हजार अमेरिकी डलर) तिर्नुपर्ने फैसला सुनाएको छ ।

फैसलापछि एबिसीले गल्तीका लागि सार्वजनिकरूपमा आत्मआलोचना गर्दै माफी मागेको छ ।
सङ्घीय अदालतका न्यायाधीश डेरिल रङ्गियाहले आफ्नो फैसलामा भनेको छ, ‘गाजामा इजरायली सैन्य अभियानको विरोधमा उनले राजनीतिक विचार राखेको लगायतका कारण देखाउँदै प्रसारणकर्ताले उनलाई बर्खास्त गरेर रोजगार कानून तोडेको अदालतको ठहर छ ।’

लाट्टोफले एबीसीसँग पाँच दिने अनौपचारिक सम्झौता गरेको तीन दिनपछि सन् २०२३ को डिसेम्बरमा कानुनी कारबाही अघि बढाउँदै बर्खास्त गर्ने निर्णय एबिसीले गरेको थियो ।

उनले गाजा द्वन्द्वबारे ह्युमन राइट्स वाचको भिडियो रिपोर्ट इन्स्टाग्राममा पुनः पोस्ट गर्दै लेखेका छन्, ‘एचआरडब्लुले भोकमरीलाई युद्धको औजारको रूपमा प्रयोग गरेको छ।’

एबीसीको उच्च व्यवस्थापनले उक्त पोस्टलाई लिएर जनाएको प्रतिक्रियामा पोस्ट ‘आतङ्कको अवस्था’मा परिणत भएको र एक घण्टाभित्रै उनलाई प्रशारण हटाउन भनिएको सुनुवाईका क्रममा वादीका तर्फबाट जिकिर गरिएको न्यायाधीश रङ्गियाहले बताएका छन् ।

एबिसीका प्रबन्ध निर्देशक हग माक्र्सले भने, ‘संप्रेषित सन्देश हटाउने निर्णयलाई लिएर लाट्टोफलाई कसरी हेरियो र सङ्कटले उहाँलाई कसरी प्रभावित बनायो यो सोचनीय कुरा हो यसमा हामीबाट केही गल्ती भएको भए हामी त्यस घटनाप्रति खेद प्रकट गर्दछौँ।’

उनले भने, ‘यो स्पष्ट छ कि यो मुद्दा हाम्रो मूल्य मान्यता र अपेक्षा अनुसार व्यवस्थापन गरिएको छैन।’
उनले भने, ‘हामीले हाम्रा कर्मचारी र दर्शकहरूलाई पनि निराश पारेका छौँ र यो असफलताले जनता र सङ्गठनभित्र बुझ्नयोग्य चिन्ता पैदा गरेको छ।’

नाटोको ५% खर्च सम्झौताको वास्तविक अर्थ के हो ?

हेग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतको मुख्य आँकडाको मगलाई सन्तुष्ट पार्न रक्षा खर्चको प्रतिज्ञामा नाटो नेताहरूले बुधबार आफ्नो हेग शिखर सम्मेलनमा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

नाटोले के कुरामा हस्ताक्षर गरिरहेको छ त्यसका विवरणहरू यस्ता छन् :

– पाँच प्रतिशत ? वास्तवमा होइन –

ट्रम्पले नाटो देशहरूले पाँच प्रतिशतको बार छुनुपर्छ भनेर जोड दिएका छन् । यो गठबन्धनले हाल आवश्यक गरेको दुई प्रतिशत आधारभूत स्तरभन्दा धेरै अगाडि हो ।

पोल्यान्ड र बाल्टिक राष्ट्रहरू जस्ता मुट्ठीभर सहयोगीहरू मात्र यस समयमा पाँच प्रतिशतको नजिक आउँदैछन् । संयुक्त राज्य अमेरिका आफैँ सन् २०२४ मा तीन दशमलव चार प्रतिशतभन्दा कम छ ।

नाटोका ३२ राष्ट्रले सन् २०३५ सम्ममा तीन दशमलव पाँच प्रतिशत मुख्य सैन्य आवश्यकताहरू र एक दशमलव पाँच प्रतिशत साइबर सुरक्षा र पूर्वाधार जस्ता व्यापक ‘रक्षा–सम्बन्धित’ क्षेत्रहरूमा समर्पित गर्ने सम्झौता गरेका छन् ।

यसले ट्रम्पलाई आफूले चाहेको जित दिन्छ र नगद अभावमा रहेका युरोपेली सरकारहरूलाई केही छुट दिन्छ । यद्यपि यो अझै पनि धेरै सरकारहरूका लागि ठूलो माग हो र आगामी वर्षहरूमा बजेटमा अर्बौं थप्नेछ ।

– ३.५ प्रतिशत के कुरामा ? –

खर्चको ठूलो हिस्सा अझै पनि नाटोको मुख्य फोकस क्षेत्रमा जानुपर्छ : कच्चा सैन्य शक्ति । गठबन्धनका सदस्यहरूले गत महिना रुसको खतरासँग सामना गर्न आवश्यक सबै हार्डवेयरका लागि नयाँ लक्ष्यहरूमा हस्ताक्षर गरेका थिए ।

सटीक विवरणहरू गोप्य छन् तर यसमा शीतयुद्धपछिको सबैभन्दा ठूलो क्षमता वृद्धि समावेश हुनेछ । नाटो प्रमुख मार्क रुटले यसले गठबन्धनको हवाई सुरक्षामा पाँच गुणा वृद्धि तथा हजारौँ थप ट्याङ्क र बख्तरबन्द सवारी साधनहरू शस्त्रागारमा थप्ने परिकल्पना गरेको बताए ।

देशहरूले युक्रेनलाई दिने अर्बौं डलरको सैन्य सहायतालाई पनि यस श्रेणीमा गणना गरिरहने छन् ।

– १.५ प्रतिशत ? –

प्रतिज्ञाको बाँकी हिस्साले पुल र सडकदेखि साइबर सुरक्षासम्मका धेरै व्यापक क्षेत्रलाई समेट्छ । यी वस्तुहरू तुरुन्तै स्पष्ट नभए पनि कुनै पनि आक्रमणबाट बचाउन मद्दत गर्न महत्त्वपूर्ण रहेको नाटोले बताएको छ ।

“तपाईंले ट्याङ्कहरूलाई अग्रपङ्क्तिमा पुर्‍याउन सक्नुहुन्न किनभने सडक वा पुल वा रेलले ती ट्याङ्कहरू र तिनीहरूको तौल सम्हाल्न सक्दैन, तब स्पष्ट रूपमा तिनीहरू बेकार छन्”, अमेरिकी नाटो राजदूत म्याथ्यु ह्वाइटेकरले भने ।

नाटो अधिकारीहरूले यस खर्चको धेरैजसो राष्ट्रिय सरकारहरूको किताबमा पहिले नै हुनेछ र केवल पुनः नामकरण गर्न आवश्यक हुनेछ भन्ने स्वीकार गरेका छन् ।

उदाहरणका लागि इटालीले सिसिलीलाई मुख्य भूमिसँग जोड्ने लामो योजनाबद्ध पुल त्यो श्रेणीमा पर्नुपर्छ भन्ने विश्वास गरेको बताएको छ ।

– कसैले जाँच गर्छ ? –

देशहरू सम्झौतामा अडिग रहन सुनिश्चित गर्नु एउटा प्रमुख तत्व हो, किनकि विगतका नाटो प्रतिज्ञाहरूलाई प्रायः सम्मान गरिएको छैन ।

अधिकारीहरूले सुरुमा नाटो सदस्यहरूले लक्ष्यमा पुग्दासम्म एक वर्षमा शून्य दशमलव दुई प्रतिशत अङ्क वृद्धि गर्ने प्रतिबद्धता जनाउने योजना बनाएका थिए । आफ्नो खुट्टामा बन्चरो हान्न नचाहेका सरकारहरूको विरोधका कारण त्यसलाई अन्ततः छाडिएको थियो ।

आफूहरूले कदम चालेको र आवश्यक वस्तुहरू खरीद गरिरहेको भनेर देखाउन अब देशहरूले प्रत्येक वर्ष नाटोमा रिपोर्टहरू पेस गर्नुपर्नेछ । सन् २०२९ मा नाटोले आवश्यक हतियारका लागि नयाँ लक्ष्यहरू लिएर आउँदा र मागहरू समायोजन गर्न सकिने बेला पनि समीक्षा हुनेछ ।

यदि उनीहरूले आफ्नो वाचा पूरा गरेनन् भने सबैको काँधमा उभिनु ट्रम्पलाई निराश पार्ने अप्रिय सम्भावना हुनेछ ।

– कसैलाई छुट छ ? –

यो प्रश्न कसलाई गर्ने भन्ने कुरामा निर्भर गर्दछ । नाटोका सबैभन्दा कम खर्च गर्नेहरूमध्ये एक स्पेन रुटसँग छुट्टै सम्झौता गरेपछि पाँच प्रतिशत लक्ष्य पूरा गर्नुपर्दैन भनी दाबी गर्दछ । तर नाटो प्रमुखले सम्झौताबाट कुनै ‘अप्ट–आउट’ छैन र हरेक देशले निर्धारित स्तरसम्म पुग्नुपर्नेछ भनी जोड दिएका छन् ।

घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै

गण्डकी। लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको छ । गाउँबाट आँखै अगाडि देखिने लमजुङ हिमालसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने भएकाले यहाँका प्रकृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको हो ।

लमजुङको सबैभन्दा उचाइमा मानवबस्ती रहेको मानिने यो गाउँ समुद्री सतहबाट दुई हजार १५० मिटर उचाइमा छ भने यो एक हजार वर्षभन्दा पुरानो गुरुङ गाउँका रूपमा परिचित छ ।

यहाँबाट देखिने लमजुङसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले यस स्थानको महिमा बढाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने घरबास (होमस्टे) सञ्चालक गोमा गुरुङले बताए।

उनका अनुसार यो गाउँमा परम्परागत घाँटु, कृष्ण चरित्रलगायत नृत्य संरक्षण गरी राखिएकाले यसको प्रवर्द्धन गर्नुपर्ने जरुरी छ । गाउँमा भित्रिएका पर्यटकलाई इच्छाअनुसार स्थानीय उत्पादित विभिन्न खानाका परिकारहरूको स्वाद चखाउने गरिएको उनले जानकारी दिए ।

स्थानीय उत्पादित परिकारहरूको स्वादसँगै यहाँका प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न स्वदेशी एवं विदेशी पर्यटकहरू आउने गरेका गुरुङको भनाइ छ ।

‘गाउँ भित्रिँदा टीका र फूलमालाले स्वागत गर्नुका साथै बेलुका खानपिन र बसाइँको उचित प्रबन्ध गर्ने घनपोखराका स्थानीयले बेलुका घाँटु, कृष्ण चरित्रजस्ता संस्कृति देखाउँछन् भने फर्कँदा पनि त्यही अनुरूप बिदाइ गर्दछन्’, उनले भने।

प्राचीन गुरुङ गाउँका रूपमा रहेको घनपोखरामा विसं २०१० देखि विसं २०२२ सम्म घना बस्ती रहेको जिल्ला विकास समिति लमजुङका पूर्वसभापति हेमजङ्ग गुरुङले बताए। पछिल्लो समयमा देशव्यापी देखिएको बसाइँसराइको समस्या यहाँका पनि रहेकाले बस्ती पातलिँदै गएको उनले उल्लेख गरे ।

विसं २०१५ देखि विसं २०२६ सम्म ‘राउन्ड अन्नपूर्ण ट्रेक’अन्तर्गत खुदी बजारबाट घनपोखरा, भुजुङ, ताङतिङ, सिक्लेसलगायत स्थानमा पदयात्री पर्यटक ठूलो सङ्ख्यामा हिँड्ने गरेका अनुभव सुनाउँदै पूर्वसभापति गुरुङले पछिल्लो समयमा जथाभावी बाटो खन्ने क्रमले उक्त पदमार्ग संकटमा परेको जानकारी दिए ।

सुरुमा झण्डै चार सय घरधुरी रहेको घनपोखराको बस्ती विसं २०४२-२०४५ सालतिर घटेको थियो । गाउँमा खनोपानी, सडकलगायत अत्यावश्यक सुविधा पुगिसकेको अवस्थामा पर्यटनको माध्यमबाट यहाँको विकास गर्न सकिने उनको तर्क छ ।

घनपोखरा नजिकै पर्यटकीय घलेगाउँ पर्दछ । घलेगाउँमा पर्यटकको आवागमन बढ्दै गएमा त्यहाँबाट घनपोखरा आउने गरेका स्थानीय बताउँछन् । आँखै अगाडि देखिने हिमशृङ्खला, नजिकै रहेका मिदिम र मर्स्याङ्दी खोलासँगै गाउँमाथि मानव बस्ती नभएकाले चराचुरुङ्गीको चिरविराहट पर्यटकको रोजाइमा पर्ने गरेका छ ।

घनपोखराको पर्यटकीय महत्त्वलाई उजागर गर्न गुरुङ सम्पदा पदमार्गअन्तर्गत यसलाई समेट्दै पदयात्रा पर्यटनको गन्तव्य बनाउन खोजिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए।

कास्की र लम्जुङका विभिन्न गाउँ हुँदै लमजुङ र मनाङको सीमा क्षेत्रमा पर्ने दूधपोखरी, मनाङको तिमाङलगायत स्थानलाई जोड्ने गरी विभिन्न विकल्पका साथै १०–१२ दिनसम्मको पदयात्रा गर्न सकिने गुरुङ सम्पदा पदमार्गको तीन चरणसम्म खोज तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिसकेको उनले जानकारी दिए ।

सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, मर्स्याङ्दी गाउँपालिका र क्होलासोँथर गाउँपालिकाको आर्थिक सहयोगमा हालै तेस्रो चरणको पदमार्ग खोज तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताए।

उनका अनुसार सङ्घले यसअघि पहिलो चरणमा कास्कीको ताङतिङ हुँदै मनाङको तिमाङसम्म र दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कपुचे, कोरी, क्होलासोँथर, कर्पु हुँदै याङजाकोटसम्म खोज तथा प्रवर्द्धनात्मक कार्यक्रम गरेको थियो ।

सङ्घले सन् २०२६ देखि यस पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरेको उनले बताए। पदमार्ग सञ्चालनसँगै यससँग समेटिएका घनपोखरासहित प्राचीन गुरुङ गाउँहरूको पर्यटकीय महत्त्व उजागर हुने उनले विश्वास व्यक्त गरे।

‘गुरुङ गाउँहरूमा प्रचलित प्राचीन संस्कार तथा संस्कृतिलाई भावी पुस्तामा पुस्तान्तरणसँगै यिनीहरूको पर्यटकीय उपयोग होस् भन्ने उद्देश्यले हामीले उक्त पदमार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने पहल थालेका छौँँ’, उनले भने।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

गड्डाचौकी। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

क्याम्पसले भारतको झारखण्डस्थित एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तक तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ अन्य संस्थाहरूको सहयोगमा यही असार १३ र १४ गते दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

क्याम्पसले ‘गुणस्तरीय शिक्षा र दिगो विकासका उदीयमान अनुसन्धान प्रवृत्ति र नवप्रवर्तनको बहुविधागत अनुसन्धान’ शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ । उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरिका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेषणकर्ताहरूको अनलाइन र अफलाइन आफ्नो प्रस्तुतीकरण गर्ने अन्तर्राष्ट्रिय सम्मेलनका निर्देशक डा मदनसिंह देउपाले बताए।

‘नेपाललगायत भारत, अमेरिका, बेलायत र डेनमार्कका अनुसन्धानकर्ताको प्रस्तुति रहेको छ, उनीहरूले अनलाइन र भौतिक उपस्थितिमा आफ्नो प्रस्तुति दिनेछन्’, उनले भने। उनले अन्तराष्ट्रिय सम्मेलनको उद्देश्य वर्तमानमा अनुसन्धानका क्षेत्रमा अनुसन्धानकर्ताले पत्ता लगाएका नतिजाहरूको आदानप्रदान गर्ने र सो क्षेत्रमा सहकार्यात्मक अनुसन्धान गर्ने तथा अनुसन्धानको क्षेत्रमा रहेका व्यक्तिको ‘प्रमोट’ गर्ने रहेको बताए ।

केन्द्रीय क्याम्पसले पहिलोपटक गर्न लागेको सम्मेलनको प्रतिफल तत्काल नदेखिए पनि भविष्यमा राम्रो प्रतिफल दिने र शिक्षाको गुणस्तरमा वृद्धि हुने विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र विभागमा कार्यरत कार्यरत प्रा दीपकचन्द्र भट्टले बताए।

विद्यार्थीहरूलाई अनुसन्धानसँग जोड्नका लागि सम्मेलनको आयोजना गरिएको सम्मेलनको विभिन्न सहआयोजक र अन्य सहयोगी संस्थाहरूबाट सहयोग लिएर सम्मेलन गर्न लागिएको अर्थ व्यवस्थापन संयोजक एवं उपप्राध्यापक कर्णदेव भट्टले बताए।

विभिन्न समिति बनाएर सम्मेलनको तयारी भइरहेको क्याम्पसका प्रमुख एवं अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक कुम्भ चन्दले बताए। सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको संयोजक चन्दले बताए। सम्मेलनमा प्राध्यापक, विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता र विद्यार्थी गरी २५० जनाको सहभागिता रहने उनले बताए।

बैकुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण

भोजपुर । रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका पाँच सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एकरुपता ल्याउने लक्ष्यले वडाले ४३८ विद्यार्थीलाई पोसाक (ट्रयाक सुट), जुत्ता र टिसर्ट वितरण गरेको हो ।

विद्यार्थीको पठनपाठनमा सहजतासँगै वडाका विद्यालयबीच एकरुपता ल्याउने लक्ष्यले यो आर्थिक वर्षमा ४३८ विद्यार्थीलाई पोसाक वितरण गरिएको वडाध्यक्ष एकराज आचार्यले बताए । पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि वडाले आवश्यक बजेट विनियोजन गरेर पोसाक वितरण गरेको उनको भनाइ छ ।

“हामीसँग वडास्तरमा आएको बजेट थोरै नै हुन्छ”, वडाध्यक्ष आचार्यले भने, “शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सकेमात्र समुन्नत समाज बन्न सक्छ, विद्यार्थीलाई पोसाकको कारण असहज नहोस् भन्नका लागि यहाँका सबै विद्यालयमा पोसाक वितरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।”

वडाले शैक्षिक सुधारको अन्त्यका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । वडाले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागिसमेत लागि आवश्यक सहयोग गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ ।

संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

बुधबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्डले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न सरकारलाई चेतावनी दिए ।

उनले भने, ‘हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।’

संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराए । उनले भने, ‘संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौं।’

अध्यक्ष प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिए । उनका अनुसार, विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ।

‘यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु। तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ,’ उनले भने ।

उनले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गरेका थिए ।

कोशीटप्पु आरक्षका विस्थापित परिवारले प्रधानमन्त्रीलाई सम्झाए जग्गा सट्टा गर्ने भद्र सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि ज्ञापनपत्र दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउँन बाँकीमध्येका ९५ वर्षीय कमलकुमारी पोखरेलसहित प्रतिनिधिले ४८ वर्षअघि आरक्ष विस्तार हुँदा आफूहरुको घर बसोबास अधिग्रहण भएकामा जग्गाको सट्टापट्टा दिने राज्यसँग भद्र सहमति भएको स्मरण गराएका हुन्।

सो समस्याका सम्बन्धमा नेपाल सरकारबाट २०८० फागु ६ गते रकम चेम्जोङ नेतृत्वको कोशीटप्पु वन्यवजन्तु आरक्षका विस्थापितहरुको समस्या समाधान गर्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सट्टापट्टा पाउन छुट भएका ७५ परिवारलाई मोरङको लेटाङ नगरपालिकामा जग्गा सट्टापट्टा दिन सुझाव दिएको थियो ।

प्रतिवेदन कार्यान्वयन हुनुपर्ने मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने प्रतिनिधिमण्डलमा सहभागी उच्चस्तरीय आयोगका तत्कालीन सदस्य मनोहर नारायण श्रेष्ठले बताए।

सो समस्याका विषयमा सर्वोच्च अदालतको २०४६ वैशाख ५ गतेको फैसलामा पनि सट्टा जग्गा दिनु भन्ने आदेश भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याललाई उक्त समस्याबारे अध्ययन गरी १५ दिनभित्र विस्थापित परिवारलाई उचित जवाफ दिन निर्देशन दिए।

बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

बाँके । वन व्यवस्थापनको नयाँ मोडेलअन्तर्गत वन संरक्षण प्रणालीमा नयाँ प्रयोगको रूपमा बाँकेको माथेवास–शमशेरगञ्ज क्षेत्रमा देशकै सबैभन्दा ठूलो चक्ला वन निर्माण गरिएको छ ।

चौबीस सामुदायिक वनलाई समेटेर दुई हजार ५७८ हेक्टरमा फैलिएको यो चक्ला वनले वन व्यवस्थापनमा वैज्ञानिक र व्यावसायिक विधिको अभ्यास सुरू गरेर चक्ला वन निर्माण गरिएको हो ।

बाँकेमा वैज्ञिानिक वन व्यवस्थापनमा चालु आर्थिक वर्ष २०८१/८२ मा थप छ सामुदायिक वन सम्वद्र्धन प्रणालीअन्तर्गत दिगो वन व्यवस्थापन गरिएको छ ।

योसँगै सामुदायिक वनको सङ्ख्या ३१ पुगेको डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार वन व्यवस्थापन नहुँदा सालका पुराना रूख कुकाठमा परिणत भइरहेका थिए । चक्ला वनले वन व्यवस्थापनमा नयाँ पुस्ताका सालका रूखलाई हुर्किन उपयुक्त वातावरण तयार गरिरहेको बताइएको छ ।

चक्ला वनलाई सात उपखण्डमा विभाजन गरी प्रत्येकलाई आठ वटा पुनःउत्पादन खण्डमा बाँडिएको डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिए ।

“कूल ५६ वटा खण्डमा ८० वर्षभित्र वार्षिक रूपमा पालैपालो ३० सेन्टिमिटरभन्दा माथिका बुढा र काम नलाग्ने रूख फँडानी गरिनेछ”, उनले भने, “बुट्यान र झाडी हटाइ नयाँ रूखलाई हुर्किन आवश्यक रेखदेखसमेत गरिनेछ ।” चक्ला वनमा नयाँ सालका बिरुवा राम्रोसँग हुर्किएको उनले बताए ।

डिभिजनल वन अधिकृत गुप्ताका अनुसार माथेवास–शमशेरगञ्ज चक्ला वनले रोजगारी र राजस्व वृद्धिमा पनि उल्लेखनीय भूमिका खेलेको छ । गत आर्थिक वर्षमा मात्र यस चक्ला वनबाट ३६० जनाले रोजगारी पाएका थिए भने ६ करोड राजस्व सङ्कलन भएको छ ।

आगामी आवमा ५६ करोड चार लाख राजस्व सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए । देशलाई काठमा आत्मनिर्भर बनाउन चक्ला वनको ठूलो योगदान रहेन गुप्ताको भनाइ छ ।

माथेवास–शमशेरगञ्ज चक्ला वनको सफलतापछि डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिकाको वडा नं १ र ४ मा पर्ने दुई हजार २०० हेक्टर वन क्षेत्रलाई सिक्टा चक्ला वनका रूपमा विकास गर्न लागेको पनि डिभिजन वन अधिकृत गुप्ताले जनकारी दिए । आगामी आवबाट यो क्षेत्रमा कार्यक्रम लागू हुने तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

वन क्षेत्रको व्यवस्थापनमा बाँकेको प्रयास दिगो, वैज्ञानिक र नवप्रवर्तनशील देखिएको छ । सामुदायिक सहभागिता, सरकारी नियमन र नयाँ कार्यक्रमको प्रभावले बाँकेको वन केवल काठ तथा दाउराको स्रोत मात्र नभएर, राजस्व, रोजगारी र वातावरणीय सन्तुलनको मेरुदण्ड बन्न थालेको छ ।

वन क्षेत्रका दृष्टिले समृद्ध मानिने बाँके जिल्लामा अहिले सरकारी संरक्षित क्षेत्रबाहेक २४७ वन क्षेत्र छन् । तीमध्ये ११९ सामुदायिक, चार धार्मिक र १२४ निजी वन रहेका छन् ।

बाँकेमा कूल एक लाख १९ हजार ९३९ हेक्टर वन क्षेत्रमध्ये ५२ प्रतिशत बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ भने बाँकी ४८ प्रतिशत डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्छ । बाँके राष्ट्रिय निकुञ्ज तथा निकुञ्ज मध्यवर्ती क्षेत्रबाहेक जिल्लामा सम्पूर्ण भूभाग डिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र पर्दछ ।

सङ्घीय शासन प्रणालीले वन ऐन २०७६ अनुसार स्थानीय तहलाई निजी वन दर्ता र व्यवस्थापनको अधिकार दिएपछि बाँकेमा निजी वनको सङ्ख्या बढेको पाइन्छ । साझेदारी वनको अभ्यास भने अहिलेसम्म बाँकेमा छैन । सहरी वनको हकमा ऐनले स्थानीय तहलाई स्पष्ट अधिकार दिए पनि प्रयोगको अवस्था न्यून छ ।

गुप्ताका अनुसार सामुदायिक वनबाट वार्षिक अढाइ लाख क्युफिट र राष्ट्रिय वनबाट ८० देखि ९० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ । सामुदायिक वनको उत्पादन पहिले उपभोक्ता समूहभित्र अन्तरिक खपतमा प्रयोग गरिन्छ, बाँकी लिलामीमार्फत बिक्री गरिन्छ ।

“साल, सगुन, सिंदुरे, खयर, दब्दबे जस्ता मूल्यवान् काठ उत्पादन भइरहेका छन्”, प्रमुख गुप्ताले भने, “खयर कत्था फ्याक्ट्रीमा प्रशोधन गरेर देश बाहिर पठाइन्छ भने साल र सगुनको काठ फर्निचर, घरको झ्याल–ढोका निर्माणमा प्रयोग हुन्छ ।”

करिब ५० प्रतिशत निकासी करका कारण नेपाली काठ महँगो पर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था भएको हुनाले अहिले देश बाहिर काठको निर्यात गर्ने वातावरण नभएको गुप्ताको भनाइ छ ।

उनका अनुसार आन्तरिक खपतमा पनि आल्मुनियम र फलामले स्थान लिँदै गएपछि काठको माग घट्दो क्रममा छ । हाल बाँकेमा रहेका ११९ सामुदायिक वन रहेका छन् । त्यसमा ३४ हजार सात घरधुरी आबद्ध छन् भने चार धार्मिक वनमा ३४६ घरधुरी समावेश छन् ।

धार्मिक वनमा धार्मिक समुदायले केवल धार्मिक प्रायोजनमा मात्रै काठ प्रयोग गर्न पाउने व्यवस्था छ । यी वनमा समुदाय स्वयंले संरक्षण, प्रवद्र्धन र प्रयोगको जिम्मेवारी लिएका छन् । डिभिजन वन कार्यालय बाँकेको मातहतमा छ वटा सब–डिभिजन कार्यालय छन् ।

तिनले बाँकेको आठ पालिकामा कार्यक्षेत्र बाँडफाँट गरी वन व्यवस्थापन गरिरहेका छन् । बाँकेको राप्ती सोनारीमा ७९ दशमलव आठ प्रतिशत भूभाग वनको रहेको छ । त्यसलाई सबैभन्दा बढी वन क्षेत्र भएको पालिका मानिन्छ ।

चितवनमा ‘प्यारोल’बाट ३७ कैदी रिहा

चितवन । चितवन जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीमध्ये चालु आर्थिक वर्षमा ३७ जना ‘प्यारोल’बाट छुटेका छन् । असल आचरण भएकालाई कानुनअनुरूप कैद छुट दिई पारिवारिक पुनर्मिलन गराउने व्यवस्थाअन्तर्गत उनीहरु छुटेका हुन् ।

एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुरदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ ।

जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, तेजाब वा अन्य ज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मारेको, अङ्गभङ्ग गरेको, मानव बेचबिखन, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना वा क्रूर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा सजाय पाएको, मानवताविरुद्धको अपराध र राज्यविरुद्धको अपराधजस्ता कसुरदारले भने प्यारोल सुविधा नपाउने कानुनी व्यवस्था छ ।

जिल्ला कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार लागुऔषध र सवारी ज्यानका कैदीहरुले प्यारोल सुविधा लिएका हुन् । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरुलाई प्यारोलमा राखिएको हो ।

उनले भने, “प्यारोल अधिकृतले सङ्घीय प्रोवेसन तथा प्यारोलबोर्डलाई सिफारिस गरेपछि प्यारोलबोर्डको बैठकले निर्णय गरी पठाउने गर्दछ ।”

बोर्डको निर्णय आएसँगै सजाय तोक्ने अदालतमा निर्णयसहित पठाएर उनीहरुलाई अदालतको आदेशले यो सुविधा दिइने गरिएको ढुङ्गानाले बताए । प्यारोल अधिकृतको निगरानीमा समाजमा जीवनयापन गर्न सहज हुने गरी सुविधा दिइएको उनले बताए ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार कारागारबाट एक वर्षभन्दा कम सजाय भएका ५२ जनाले कैद बराबरको राजस्व बुझाएर छुटेका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता दफा १५५ अनुसार उनीहरुले सुविधा पाएका हुन् । उनीहरु चालु आर्थिक वर्षको साउन यता छुटेका हुन् ।

उनीहरु दैनिक ३०० रुपैयाँका दरले राजस्व अदालतमा बुझाएर छुटेका ढुङ्गानाले जानकारी दिए । उनले भने, “राज्यले दिएको सुविधा कैदीले उपभोग गरिरहेका छन् ।” यी सुविधाले गर्दा कारागारमा कैदीबन्दीको चाप केही हदसम्म कम गरेको ढुङ्गानाले बताए ।

कारागार कार्यालयमा चितवनमा अहिले ७१० कैदीबन्दी रहेका छन् । त्यसमध्ये ४२ महिला र ६६८ पुरुष हुन् । उनीहरुसँगै तीन जना आश्रित बालबालिका रहेका छन् । यस्तै ३५ महिला र ४७० पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएका छन् ।

कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ ।

प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५ दशमलव नौ मेट्रिकटनका दरले डिएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले बताए ।

कम्पनीलाई भैरहवा कार्यालबाट ६९८ दशमलव ४ मेट्रिक टन डिएपी मल प्राप्त हुनेछ । जसमध्ये हाल २५० मेट्रिकटन डिएपी प्राप्त भइ र वितरण सुरु भएको उनको भनाइ छ ।

हाल कम्पनीसँग १८९ दशमलव १५ मेट्रिकटन डिपिए, ९७४ दशमलव ४५ मेट्रिकटन युरिया र ७६ दशमलव ५ मेट्रिकटन पोटास छ । उनका अनुसार चालु आवमा तीन हजार ८८० मेट्रिकटन डिएपी र पाँच हजार ४५३ मेट्रिकटन युरिया विक्री तथा वितरण भइसकेको छ ।

कम्पनीले युरिया प्रतिबोरा रु ९४०, डिएपी प्रतिबोर दुई हजार ३९४ र पोटास प्रतिबोरा एक हजार ७९४ का दरले सहकारीलाई बिक्री भइरहेको छ । जिल्लामा अनुदानको युरिया मल पर्याप्त भए पनि डिएपी मलको भने अभाव छ ।

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो।

आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सुवेदीले बताए। ‘तीन वटा योजनाअन्तर्गत निर्माण खानेपानी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा ढिलाइ भएको हो’, उनले भने, ‘पुलाचौरको तल्लो र मध्य गाउँको योजना यसअघिका वर्षमा सकिएको थियो। माथिल्लो टोलमा यसै सातादेखि पानी वितरण गरेर आयोजनालाई पूर्णता दिएका हौँ।’

अध्यक्ष सुवेदीका अनुसार जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टङ्कीमा सङ्कलन गरेर २० हर्सपावर क्षमताको ‘सबमर्सिव’ पम्पबाट दुई सय ५० मिटरमाथि रहेको चुलेसीस्थित अर्को टङ्कीमा पुर्‍याएर थप तीन वटा रिजर्भ टङ्कीमार्फत वितरणको व्यवस्था मिलाइएको छ। आठ सय मिटर लामो तीन इञ्चको पाइपमार्फत माथिल्लो टङ्कीमा पानी पुर्‍याइएको उनले उल्लेख गरे।

आयोजनाबाट एक सय ८२ परिवार लाभान्वित भएका उपभोक्ता समितिका सचिव सागर पौडेलले बताए। ‘विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा पनि धारा जडान गरिएको छ। सबैका घरमा मिटरसहितको निजी धारा जडान गरेर पानी वितरणको व्यवस्था मिलाएको छ’, उनले भने। सचिव पौडेलले यसअघि सार्वजनिक धाराबाट गाग्री, बोत्तल र ग्यालीनमा पानी ओसार्नुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गरे।

‘आठ/दश घरले एउटा धाराबाट पानी ल्याउँदा पालो पर्खनुपर्ने र कहिलेकाँही पानीका कारणले बिवाद पनि हुन्थ्यो’, स्थानीय मिनाकुमारी विकले भने, ‘घरकै धारामा पानी आउन थालेपछि पानी ओसार्दा हुने समयको बचत र झञ्जट हटेको छ।’

उपभोक्ताको श्रमदान बाहेक आयोजना निर्माणमा रु दुई करोड १० लाख ४८ हजार ३४८ खर्च भएको खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए। उपभोक्ताले कूल लागतको १० प्रतिशतका दरले श्रमदान गरेका छन्।

पानी तान्ने विद्युत् उपकरण सञ्चालन गर्न ‘मोबाइल अपरेटिङ सिस्टम’ जडान गरिएको छ। यो प्रणालीबाट उपभोक्ताले घरबाट पानी तान्ने उपकरण खोल्न र बन्द गर्न सक्छन्। विद्युतीय उपकरण भण्डारण, उपभोक्ता संस्थाको कार्यालय र हेरालुको आवासका लागि भवन पनि निर्माण भएको छ।

योजना निर्माणमा प्रतिघर २० दिनका दरले श्रमदान गरिएको उपभोक्ता बलबहादुर परियारले बताउनुभयो। घरघरमा पानी वितरण हुन थालेपछि पुलाचौरबासीको दैनिकी फेरिएको छ।

‘पानीको पालो कुर्दा खाना पकाउन ढिला भएर कहिलेकाँही बालबालिका विद्यालय जान नपाउने अवस्था थियो’, उनले भने, ‘अहिले समयको बचत हुनुका साथै सरसफाइ गर्न सहज भएको छ भने स्थानीयको दैनिकी फेरिएको छ।’