`

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

गुल्मी । गुल्मीको रूरू क्षेत्र गाउँपालिका–३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाको पहल र विभिन्न संस्थाको सहयोगमा उखु प्रशोधन केन्द्र स्थापना भएपछि ‘थोर्गेली गुड’ ले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हो ।

रूरू बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालनमा रहेको गुड प्रशोधन केन्द्रले २०८१ सालको माघ २० गतेदेखि नियमित उत्पादन थालेको थियो । सहकारीका अध्यक्ष भेषराज ज्ञवालीका अनुसार हालसम्म उद्योगले करिब रू २४ लाख ६० हजार बराबरको नौ हजार ७०० किलोभन्दा बढी गुड बेचिसकेको छ ।

त्यस्तै, १० लाख ९५ हजारभन्दा बढीको पाँच हजार ४७२ लिटर खुदो र पाँच हजार दुई सय बराबरको १५ किलो चकलेट बेचिसकेको छ ।

विगतमा परम्परागत प्रविधिबाट गुड बनाउने र त्यसको प्रयोग पनि स्थानीय रुपमै हुने भएकाले थोरै सङ्ख्यामा किसानले सीमित जमिनमा उखुखेती गर्ने गरेका थिए । तर अहिले आधुनिक मेसिनसहितको उद्योग स्थापना भएपछि उखु किसान हौसिएका छन् ।

“खुदो उद्योग स्थापना भएपछि उखु किसानको सङ्ख्या पनि बढ्दै गएको छ । अहिले वडा नं ३ र ४ मा मात्र उखुखेती गर्ने कूल किसान सङ्ख्या करिब ४०० हाराहारी छ भने १०० हाराहारी किसानले सहकारीलाई उखु बिक्री गरिरहेका छन्”, सहकारी अध्यक्ष ज्ञवालीले भने, “रूरू क्षेत्रमा अहिले तीन हजार २०० रोपनी क्षेत्रफल जमिनमा उखुखेती भइरहेको छ । जबकि, २०७४ सालअघिसम्म त्यहाँ करिब आठ सय रोपनी हाराहारीमा मात्रै उखुखेती गरिन्थ्यो ।”

सहकारीका अनुसार गत माघयता ३१ लाख बराबरको उखु खरिद भइसकेको छ । बारीमै प्रतिकिलो १२ मा खरिद गरिएको उखु प्रशोधन गरी अहिले २६० प्रतिकिलो दरमा गुड बिक्री हुँदै आएको छ । उद्योगले स्थानीयलाई रोजगारी पनि दिएको छ । त्यहाँ हाल आठ जना कर्मचारी मासिक तलबमा कार्यरत छन् । अहिले पनि उद्योगसँग ५० देखि ५५ हजार लिटर खुदो मौज्दात छ । स्थानीय रिडी बजारसहित केही स्थानमा बिक्री प्रबन्धक राखिएका छन् ।

गाउँपालिकाको अनुदान सहयोग र हेफर इन्टरनेसनल नेपाललगायतका संस्थाको सहकार्यमा स्थापना गरिएको यो उद्योगमा भारतको गुजरातबाट आधुनिक क्रसर मेसिन, भट्टी र केही सङ्ख्यामा जनशक्तिसमेत ल्याइएको थियो । उद्योगको संरचना निर्माण तथा मेसिन जडानका लागि भारतबाटै मान्छे झिकाइएका थिए ।

उद्योगका व्यवस्थापक प्रकाश थापाका अनुसार दार्सिङबासस्थित जनप्रिय प्रावि विद्यार्थी सङ्ख्या कम भएपछि उनीहरुलाई अर्को विद्यालयमा सारेर त्यसैको भौतिक संरचना प्रयोग गरी उद्योग स्थापना गरियो । अहिले स्थानीय कामदारबाटै उद्योगका काम भइरहेका छन् भने व्यावसायिक उत्पादन पनि निरन्तर छ ।

“क्रसिङ क्षमतामा कुनै समस्या छैन, खुदो पकाउने क्षमता बढेको छ । प्याकेजिङ र बजारको कुनै समस्या छैन”, थापा भन्छन् । उद्योगले चकलेट उत्पादनका लागि पनि ‘फ्रेम’ (खुदोलाई चकलेटको आकार दिने भाँडो) पनि ल्याइसकेको छ । विस्तारै चकलेट उत्पादनलाई पनि बढाउने योजना रहेको थापाले बताए ।

उखु प्रशोधन केन्द्र निर्माण तथा व्यवस्थापनका लागि गाउँपालिकाले चालु आथिक वर्षमा २० लाख अनुदान दिएको छ । त्यस्तै उखु प्रवर्द्धन कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रबाट तीन लाख अनुदान र हेफर इन्टरनेसनल नेपालले उद्योगका लागि चाहिने मेसिनरी तथा प्राविधिक पाटोमा सहयोग ग¥यो ।

गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार गुड उत्पादनसँगै उखुखेतीलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । उखुको बीउ वितरण, जैविक मल उत्पादन, कीटनाशक व्यवस्थापनलगायत कार्यक्रमलाई अनुदानमा सञ्चालन गर्ने योजनामा गाउँपालिका जुटेको उनको भनाइ छ ।

“उखु नगदेबाली हो, पहिले धेरै जसो जमिन बाँझो र छिटपुट मकैखेती हुन्थ्यो । अहिले उखु उत्पादन हुँदैछ । यो आन्तरिक उत्पादनलाई उद्यमसँग जोड्ने र युवा पलायन रोक्ने पालिकाको प्रयास पनि हो”, अध्यक्ष ज्ञवालीले भने, “गुणस्तरीय उत्पादन भएको कारण उपभोक्ताले मूल्यभन्दा पनि यसको उपयोगिता हेर्छन् । बजारको कुनै समस्या छैन । गुडलाई चकलेट बनाउनेसम्मको योजना छ ।”

मिसावटरहित स्थानीय उत्पादन र अर्गानिक गुण भएको भन्दै ‘थोर्गेली गुड’ को माग बढ्दो छ । अध्यक्ष ज्ञवालीका अनुसार केही उच्चपदस्थ व्यक्तिहरु थोर्गेली गुडका नियमित ग्राहक बनेका छन् ।

“यहाँ उत्पादित गुड राम्रा लागेर नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पछिल्लोपटक १० किलो मगाउनुभयो, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नातिनीको बिहेमा कसार बनाउनका लागि पनि यही उद्योगको खुदो प्रयोग गरिएको थियो । पूर्वमुख्यसचिव लीलामणि पौडेल, सचिव माहादेव पन्थ लगायतले उहाँको गुड खुदो नियमित प्रयोग गर्नुहुन्छ”, अध्यक्ष ज्ञवालीले भने ।

उखु प्रवर्द्धन कार्यक्रम आगामी आवको बजेटमा पनि राख्ने योजना रहेको उनले बताए । बीउ तथा जैविक मलमा अनुदान दिने, ठूलो परिमाणमा उखु उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्नेजस्ता कार्यक्रम थप परिस्कृत रुपमा ल्याएर यसलाई पालिकाको गौरवको आयोजना बनाउने लक्ष्य पालिकाका रहेको उनको भनाइ छ ।

थोर्गेली गुड खुदो उद्योगले उद्योग विभागबाट आफ्नो छुट्टै ‘ट्रेडमार्क’ र ‘लोगो’ पाएको छ । जसले थोर्गेली गुडलाई विशिष्ट ब्रान्ड बनाउँदै लगेको छ । उत्पादित वस्तु बेच्नका लागि बजारको समस्या छैन । यद्यपि उखुखेती बढाउने र बढीभन्दा बढी गुड खुदो उत्पादन गर्नका लागि स्थानीय प्रयासमात्र पर्याप्त नहुने कृषकको बुझाइ छ । प्रदेश सरकारले विगतमा बीउमा केही अनुदान दिएको भए पनि सङ्घ सरकारको सहयोग भने खासै नपाएको स्थानीयको गुनासो छ ।

“अहिले गाउँमै रोजगारीको सम्भावना देखिएको छ, युवालाई विदेश जानुपर्ने बाध्यता केही हदसम्म घट्ने आशा पलाएको छ”, वडा नं १ का कृषक विष्णु न्यौपानेले भने, “खुदो उद्योग स्थापना भएपछि मैले पनि चार रोपनी जग्गामा उखुखेती थालेको छु, सरकारबाट सहयोग हुने हो भने अझ बढी व्यावसायिक भएर जान सकिन्थ्यो भन्ने लाग्छ ।”

सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि बालिकाको हत्या आरोपमा पाँच जना पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी रामेश्वर कार्कीका अनुसार यही असार १० गते भोटेकोशी गाउँपालिका–५ स्थित जंगलमा ११ वर्षीया बालिकाको शव फेला परेको थियो ।

ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको उनले जानकारी दिएका छन् । पक्राउ पर्नेहरूमा भोटेकोशी– ५ मार्मिङ बस्ने २१ वर्षीय निमातेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पापासाङ तामाङ रहेका छन् । उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

 

काठमाडौं । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ ।

स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो ।

विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरु सहभागी हुनेछन् ।
नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यका लागि अन्तराराष्ट्रिय सहयोगलाई बढावा दिन यो मञ्च महत्वपूर्ण भएकाले प्रधानमन्त्री ओलीबाट भ्रमण हुन लागेको बताए ।

प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका काम पूरा भएको जनाउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर पौडेल क्षेत्रीले विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहने बताए ।

प्रवक्ता क्षेत्रीले दिगो विकास, विकासका लागि वित्त र खासगरी विकास सहायता, लगानी, प्रविधि हस्तान्तरणलगायत मुद्दामा विकसित मुलुक र विकासशील एवं कम विकसित मुलुकबीचको सर्वाधिक महत्वको सम्मेलन भएकाले त्यहीअनुरूप उच्च प्राथमिकता र उच्चस्तरीय सहभागिता महत्वपूर्ण हुने जानकारी दिए ।

नेपालले हाल अल्पविकसित मुलुकहरुको अन्तरराष्ट्रिय समन्वयको अध्यक्षता गरिरहेको अवस्थामा नेपालको छुट्टै भूमिका हुनेसमेत बताए ।

भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन् भने विश्वका अन्य मुलुकका नेताहरुसँग ‘साइडलाइन’ भेटवार्ता गर्नेछन् ।

यही असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली असार १४ गते शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने यही असार २० गते शुक्रबार साँझ ४ः४५ बजे फर्कने तालिका छ । नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेनलगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।

कूल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन् । काठमाडौँबाट २१, स्पेन र न्युयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ ।

भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।

सरकारले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ संचालन गर्ने

काठमाडौं । असार १४ गतेलाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’को रूपमा मनाउँदै आएको सरकारले यस वर्षदेखि वृक्षरोपण अभियानलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यसहित ‘सागरमाथा वृक्षरोपण महाअभियान’संचालन गर्ने निर्णय गरेको छ ।

सरकारको मन्त्रिस्तरीय निर्णय अनुसार, अबदेखि प्रत्येक वर्ष असार १४ गतेदेखि श्रावण १५ गतेसम्म देशभर वृक्षारोपण महाअभियान सञ्चालन गरिनेछ । यस अभियानअन्तर्गत वातावरणीय सन्तुलन कायम गर्ने, उपयुक्त क्षेत्रमा उपयुक्त प्रजातिका विरुवा रोप्ने, समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने दीर्घकालीन लक्ष्यलाई साथ दिइने जनाइएको छ ।

यस सन्दर्भमा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउन तथा सबै तह र क्षेत्रको सहभागिता सुनिश्चित गर्न वन तथा वातावरण मन्त्रालयले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’दीर्घकालीन र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

मन्त्री शाहीले विगतका वर्षमा रोपिएका विरुवामध्ये धेरैजसो हुर्किएको तथ्य प्रस्तुत गर्दै संरक्षण पक्षमा अझ सशक्त पहल आवश्यक रहेको बताए ।

उनले जलवायु संकटले हिमालय क्षेत्रलाई बढी प्रभावित बनाइरहेकाले त्यसतर्फ ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले सन् २०२५ मा ‘हिमालय जोगाऔं’ अभियान सुरु गरेको स्मरण गरे ।

सोही अभियानको निरन्तरता स्वरूप ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्न लागिएको मन्त्री शाहीको भनाइ थियो ।

संघीय सरकारका सबै मन्त्रालय, प्रदेश सरकार, प्रदेशका निकायहरू र ७५३ वटै स्थानीय तह सहभागी भएर अभियानलाई एक साझा राष्ट्रिय अभियानको रूपमा अघि बढाइने मन्त्री शाहीले बताए ।

गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी

गोरखा ।  गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।

“गतवर्ष यहाँ रु १० करोड बराबरको लिची बिक्री भएको थियो”, उनले भने, “तर यसपटक रु एघार करोडभन्दाबढी मूल्यको लिची किसानले बिक्री गरेका छन् ।’’ प्रमुख बस्ताकोटीले लिचीका लागि मौसम अनुकुल भएको तथा बगैँचा व्यवस्थापन राम्रो भएकाले उत्पादन बढेको बताए ।

यसपाली लिची उत्पादनका लागि मौसम अनुकूल रह्यो, उनले भने, त्यसमा पनि किसानले समयमै औषधि उपचार तथा बगैँचाको राम्रो मलजल तथा सिँचाइ व्यवस्थापन गरेका कारण उत्पादन राम्रो भएको हो ।

गोरखामा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ, जबकी गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन भएको थियो । अघिल्लो वर्ष एकसय ८० हेक्टर क्षेत्रफलमा लिची उत्पादन भएकोमा यो वर्ष एक सय ८७ हेक्टरमा लिची उत्पादन भएको प्रमुख बस्ताकोटीको भनाइ छ । उत्पादित लिची प्रतिकेजी रु ६५ का दरले बिक्री हुँदा किसानले मनग्य आम्दानी गरेको उनले बताए ।

जिल्लाको पालुङटार नगरपालिकालाई लिचीखेतीको मुख्य पकेट क्षेत्र मानिन्छ । पालुङटारको वडा नम्बर ६, ७ र ८ बाट मात्रै ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ । ती वडामा करिब ३० हजार लिचीका बोट छन् । पालुङटार क्षेत्रमै १५० हेक्टर जमिनमा लिचीखेती गरिएको छ । रासस

भारतमा ‘अप्राकृतिक’ रूपमा मरेका भनिएका पाँच बाघबारे अनुसन्धान शुरू

नयाँदिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकको संरक्षित जङ्गलमा लोपोन्मुख बघिनी र त्यसका चार वटा बच्चा मृत अवस्थामा फेला परेपछि भारतले अनुसन्धान सुरु गरेको छ ।

राज्यका वनमन्त्री ईश्वर खान्द्रेले वन्यजन्तुको ‘अप्राकृतिक’ मृत्यु ‘अत्यन्त दुःखद र पीडा’ को बिषय भएको र यसको अनुसन्धानका लागि एक टोली गठन गरिएको बताए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार वन अधिकारीहरूले उनीहरूको विषाक्तताको कारण मृत्यु भएको आशङ्का गरेका छन् ।

द टाइम्स अफ इन्डियाका अनुसार बघिनीले केही दिनअघि एउटा गाई मारेको थियो । गाई खाएको आक्रोशमा गाइको मृत शरीरमा विष मिसाइएको र त्यही कारण बघिनीसहित साना डमरुको मृत्यु भएको हुनसक्ने आशङ्का बन अधिकारीले गरेका छन् ।

“कुनै लापरबाही भएको वा कुनै अन्य कारणवश बाघ मरेको हो अनुसन्धान गरी दोषीलाई फौजदारी कारबाही गर्न आदेश दिएका छौँ,” खान्द्रेले भने ।

निरन्तर संरक्षण प्रयासहरूले भारतमा बाघको सङ्ख्यामा निरन्तर पुनरुत्थान भएको छ ।
पछिल्लो गणनाअनुसार भारतमा तीन हजार ६०० भन्दा बढी बाघ छन्, जुन विश्वको बाघको सङ्ख्याको ७५ प्रतिशत हो ।

तर घट्दो वासस्थान र मानव बस्ती विस्तारले बाघको वस्तीमा हस्तक्षेप भएको वा उनीहरूको जीवनलाई प्रभावित पारेको र पछिल्लो एक दशकमा बाघको आक्रमणमा परी ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत

बेल्जियम । क्रेमलिन मैत्री हङ्गेरीले रुसमाथिको प्रतिबन्धलाई खुकुलो पार्नसक्ने सम्भावनाबीच थप छ महिनाका लागि रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयूका नेता सहमत भएका छन्।

ब्रसेल्समा भएको शिखर सम्मेलनको निर्णयको अर्थ युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली संघ (इयू) ले रुसी केन्द्रीय बैंकको २०० अर्ब युरो (२३४ अर्ब अमेरिकी डलर) भन्दा बढी सम्पत्ति जफत गर्ने लगायतका व्यापक प्रतिबन्धहरू सन् २०२६ को सुरुसम्म कायम रहने युरोपेली संघ (इयू) का सदस्य राष्ट्रका नेताले बताएका छन्।

हंगेरीका नेता भिक्टर ओर्बानले नमानेमा मस्कोलाई आर्थिक दण्ड दिने गरी आपतकालीन योजना बनाइरहेको अधिकारीहरुले बताएका छन्।

युरोपेली सङ्घका समकक्षीहरूले बुडापेस्टले यी उपायहरू नवीकरण गर्न अस्वीकार गरेमा संयुक्त राज्य अमेरिकाले शान्ति प्रयासलाई दबाब दिइरहेका बेला रुसमाथि समूहको पकडमा ठूलो खाडल पर्न सक्ने आशंका व्यक्त गरेका थिए।

प्रत्येक छ महिनामा थप गर्नुपर्ने प्रतिबन्ध जनवरीमा नवीकरणका लागि आउँदा ओर्बानले अन्तिम पटक उक्त निर्णय गरेका थिए।

तर इयूले आफ्ना विद्यमान उपायहरू यथावत रहने सुनिश्चित गरे पनि हंगेरीको सहयोगी स्लोभाकियाको अवरोधका कारण उसले प्रतिबन्धको नयाँ प्याकेजमा स्वीकृति पाउन असफल भएको छ।

स्लोभाकियाका नेता रोबर्टो फिकोले सन् २०२७ को अन्त्यसम्ममा रुसी ग्यासको आयात बन्द गर्ने योजनालाई लिएर ब्रसेल्ससँगको छुट्टै विवादका कारण शिखर सम्मेलनमा नयाँ चरणको प्रतिबन्धलाई स्वीकृति दिन अस्वीकार गरेका छन्।

स्लोभाकिया रूसी ग्याँस आयातमा निर्भर छ र आफ्नो क्षेत्रभरि पाइप आपूर्तिको लागि ट्रान्जिट शुल्कबाट पैसा कमाउँछ।

फिकोले बिहीबार इयू प्रमुख उर्सुला भोन डेर लेयेनसँग वार्ता गरेपनि आफूले चाहेको प्रतिबन्ध प्याकेज रोक्न असफल भएको घोषणा गरेका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडियो सम्बोधनमा इयू नेताहरूलाई ‘रूसको तेल व्यापार, गैरकानुनीरूपमा आवागमन गर्ने ट्यांकर, बैंक र हतियार बनाउन उपकरण वा पार्टपुर्जाहरू ल्याउन प्रयोग हुने आपूर्ति श्रृङ्खलाहरूलाई लक्षित गरी कडा प्याकेज ल्याउन’ आग्रह गरेका छन्।

सहभागी इयू अधिकारीका अनुसार रुसको तेल निर्यातमा मूल्य सीमा घटाउने प्रयासलाई जी–७ सम्मेलनको व्यापक पहलको एक भागको रूपमा समर्थन गर्न वासिङ्टनले अस्वीकार गरेपछि यो एजेन्डा छलफलको बिषय बन्न सकेन।

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार प्राधिकरण कार्यालयका अनुसार अहिले मुख्य भवनको आधा हिस्साको दायाँ, बायाँ र बीचको भागमा ‘बेसमेन्ट’ को काम सकिएको छ । दोस्रो ‘बेसमेन्ट’ को ढलानको काम पनि पूरा भइसकेको छ । अहिले ‘लेफ्ट विङस्’को पहिलो ‘बेसमेन्ट’ को ढलानका लागि छड बुन्ने काम चलिरहेको छ ।

क्यान्सर भवनको ‘र्याफ्ट फाउन्डेसन’को पनि ढलानको काम पूरा भइसकेको प्राधिकरणका साइट इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिए । उनले अहिले निर्माणमा कुनै अवरोध नरहेको र प्राधिकरणले निरन्तर समन्वय गरिरहेको बताए । उनले निर्माणका संलग्न सरोकारवालाहरु सबैसँग प्राधिकरणको टोलीले निरन्तर समन्वय र सहकार्य गरिरहेको बताए ।

पूर्वाधार प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले हालसम्मको प्रगति र कार्ययोजनालाई तुलना गर्दा आयोजनाको कार्ययोजनाअनुसार नै काम भइरहेको बताए । उनले कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नभएमा आयोजनालाई सम्झौता भएको समय आगाडि नै सम्पन्न गर्नेगरी काम भइरहेको बताए ।

निर्माण व्यवस्थापनको अन्तरराष्ट्रिय प्रावधानअनुसार निर्माण कार्यको व्यवस्थापन तथा गुणस्तर कायम गर्न आयोजना व्यवस्थापन तथा निर्माण सुपरिवेक्षण कन्सल्टेन्टका रुपमा जी–टु–जी माध्यमबाट काठमाडाँै विश्वविद्यालयअन्तर्गतको काठमाडौँ युनिकन्सल्ट सेन्टरलाई जिम्मेवारी प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

उक्त संस्थाबाट प्राध्यापकको नेतृत्वमा रहेको १६ जनाको प्राविधिक टोलीले निर्माणमा प्रत्यक्ष सुपरिवेक्षण गरेको प्राधिकरणका साइट इन्जिनियर सुवेदीको भनाइ छ । प्राध्यापकसहितको टोलीले आयोजनाको ‘डिजाइन रिभ्यू’सहितको सुपरिवेक्षण गरिरहेको सुवेदीले बताए ।

निर्माण व्यवसायीको १० जनाको विशेष प्राविधिक टोलिसहित २२० जनाभन्दा बढी कामदारहरु दैनिक काममा खटिएका छन् । दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीले संयुक्त रूपमा ५ वर्षभित्र भवन निर्माण गर्नेगरी रु ६ अर्ब १८ करोडमा सम्झौता भएको छ ।

सझौताअनुसार विसं २०८५ पुस २५ मा निर्माण सम्पन्न गर्ने योजना छ । नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपत्कालीन उपचार, (इमर्जेन्सी) र इन्डोर सर्भिस कक्षसहित एक हजार २०० श्यया रहनेछन् । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।

पूर्वाधार विकास प्राधिकरण सिइओ इन्जिनियर पोखरेलका अनुसार ‘क्याम्पासाइट–आशीष–रेलिगेर’ संयुक्त कम्पनीले रु छ अर्ब १८ करोड ५ वर्षमा प्रस्तावित भवन निर्माण सम्पन्न गर्नेगरी पुस २६ गते निर्माण सम्झौता गरेको हो ।

विक्रम संवत् २०८० पुस २६ गते सम्झौता भई कार्यादेश पाएको निर्माण व्यवसायी कम्पनीले २०८० साल माघ १८ गतेदेखि अस्पताल भवनको निर्माण प्रारम्भ गरेको थियो । भवनको शिलान्यास उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेको हो ।

अस्पतालको पहिलो दुई तलामा व्यवस्थित पार्किङसहित विशिष्टीकृत उपचारसेवा प्रदान गर्नेगरी १२ तलाको आधुनिक अस्पताल भवन र क्यान्सरको उपचारका लागि अलग्गै भवनको निर्माण चलिरहेको छ । विसं २०५० सालमा १०० शय्यामा विस्तार भएको अस्पतालमा विसं २०७२ सालबाट सरकारबाट ३०० र विकास समितिबाट १०० शय्या गरी ४०० शय्यामा स्तरोन्नति भए पनि अहिले ५२४ शय्यामा बिरामीको उपचार हुने गरेको छ । अस्पतालमा दैनिक तीन हजारसम्म ओपिडीका बिरामी आउने गरेका छन् । अस्पतालमा वार्षिक झन्डै १० लाख बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ ।

यस अस्पतालबाट अहिले बहिरङ्ग सेवातर्फ जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्लास्टिक सर्जरीसहित १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन् । परीक्षणतर्फ प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, इइजी, ओपिजी, इकोकार्डिओग्राम लगायतका सेवा उपलब्ध छन् ।

सरकार संचालनमा दुई दलकाबीचमा समस्या छैनः सभापति देउवा

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार आपसी सहमतिअनुसार नै अघि बढिरहेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस–एमालेको सहमतिअनुसार नै सरकार अघि बढिरहेको बताएका हुन् ।

उनले दुई फरक दल भएकाले बेलाबखत असमझदारी हुनु सामान्य भएको बताए । उनले भने, ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो । तर सरकार समझदारीमै अगाडि बढिरहेको छ ।’

परराष्ट्रमन्त्री राणा रोम प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्नेछिन् ।

उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन् ।
सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुनेछिन् ।

उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाइ गरेका थिए।

वीरगञ्जमा गहवामाईको तेस्रो रथयात्रा(फोटोफिचर)

वीरगञ्जमा शुक्रबार सुरु भएको गहवामाईको तेस्रो रथयात्रामा सहभागीहरु । गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा हजारौँ भक्तजनहरुको सहभागितामा रथयात्रा गरिएको हो ।

तस्बिरः हिमाल लम्साल / रासस

अमेरिकी आक्रमणबाट केही उपलब्धि नभएको खामेनीको दाबी

बीबीसी । इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रममा कुनै उल्लेखनीय क्षति पुर्याउन नसकेको दाबी गरेका छन् ।

इजरायलसँग युद्धविराम भएको दुई दिनपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेका खामेनीले अमेरिकाले ‘कुनै उपलब्धि हासिल नगरेको’ बताएका हुन् । बिहीबार टेलिभिजनमार्फत गरिएको सम्बोधनमा खामेनीले अमेरिकी हमला ‘असफल’ भएको दाबी गर्दै त्यसको जवाफस्वरूप कतारस्थित अमेरिकी हवाई बेसमा गरिएका प्रहारलाई ‘गम्भीर आघात’ भनेका छन् ।

उनले चेतावनी दिँदै भने, ‘यदि फेरि इरानमाथि आक्रमण भयो भने अमेरिकी सैन्य अड्डाहरूमा थप आक्रमण हुनेछ, र शत्रुले ठूलो मूल्य चुकाउनुपर्नेछ।’

यता, वासिङ्टनले भने आक्रमण सफल भएको अडान दोहोर्याएको छ । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले पेन्टागनमा पत्रकार सम्मेलन गर्दै अमेरिकी तथा इजरायली गुप्तचर निकायहरूले संकलन गरेको सूचनाको आधारमा ‘इरानको आणविक कार्यक्रमलाई वर्षौं पछाडि धकेलिएको’ बताए ।

‘हामीले इरानी प्रशोधन केन्द्रहरूलाई प्रयोगविहीन बनाएका छौं,’ उनले जनरल ड्यान केनसँग संयुक्त रूपमा सम्बोधन गर्दै भने । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि आक्रमणबाट इरानका तीन मुख्य आणविक केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबी गरेका थिए।

तर अमेरिकी सञ्चारमाध्यमहरूले केही स्रोतहरूलाई उदृत गर्दै वास्तविक क्षति अपेक्षाभन्दा कम हुनसक्ने उल्लेख गरेपछि ट्रम्पले ती रिपोर्टमाथि आक्रोश व्यक्त गरेका थिए । तेहरानले हालसम्म आक्रमणका सबै विवरणहरू सार्वजनिक नगरे पनि खामेनीको लामो मौनता तोड्दै आएको चेतावनीपूर्ण भाषणले पश्चिम एसियामा पुनः तनाव चुलिन सक्ने संकेत दिएको छ।

उद्योगमन्त्री भण्डारीसँग नेपालका लागि अष्ट्रेलियन राजदूत जोन्स्टनको शिष्टाचार भेट

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा मन्त्री भण्डारीले नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनेतर्फ राजदूत जोन्स्टनले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको उल्लेख गर्दै उक्त यात्रालाई सफल र दिगो बनाउने प्रयोजनका लागि अष्ट्रेलियाको थप स्रोत, प्रविधि र साझेदारी आवश्यक रहेकोमा जोड दिए ।

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीका दृष्टिले भएको साझेदारी उल्लेखनीय रहेको बताउँदै मन्त्री भण्डारीले दुबै मुलुकबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौताअनुसार संयन्त्रको बैठक छिट्टै आयोजना गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे ।

भेटका क्रममा नेपालका सम्भावनायुक्त क्षेत्रहरूमा अष्ट्रेलियाली लगानी विस्तारबारे व्यापक छलफल भएको छ । विशेषगरी धौबादी फलाम खानीसहित अन्य खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन र प्राविधिक सहकार्यका लागि अष्ट्रेलियाको सहयोग र संलग्न जनशक्तिको क्षमता विकासमा साथ दिन राजदुत जोस्टन मार्फत अष्ट्रेलिया सरकारसँग मन्त्री भण्डारीले आग्रह गरे ।

सो अवसरमा राजदूत जोन्स्टनले अष्ट्रेलियाली दूतावासमार्फत नेपालको व्यापार तथा लगानी प्रवद्र्धनमा भइरहेको प्रयासबारे जानकारी दिए । उनले नेपालको निजी क्षेत्र तथा अनुसन्धानमूलक संस्थासँगको सहकार्य र द्विपक्षीय संयन्त्रको बैठक शीघ्र आयोजना गर्न अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय भइरहेको उल्लेख गरे ।

अष्ट्रेलिया तथा अन्य देशहरूमा खनिज उत्खनन् क्षेत्रमा क्रियाशील अष्ट्रेलियाली कम्पनीहरू र नेपालका सम्बन्धित निकाय तथा निजी क्षेत्रबीच सहकार्य, लगानी र प्रविधि हस्तान्तरणका सम्भावनाबारे मन्त्री भण्डारी र राजदूत जोन्स्टनबीच विस्तृत छलफल भएको छ ।

भेटवार्ताको निष्कर्षस्वरूप खानी, व्यापार तथा लगानीका क्षेत्रमा दुबै देशका सरकारी तथा निजी क्षेत्रबीच समन्वय र सहकार्यलाई निरन्तरता दिने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

 

सशस्त्र प्रहरी मुख्यालयमा ‘वरिष्ठ अधिकृतको सम्मेलन’ समापन समारोह(फोटोफिचर)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा गर्ने जिम्मेवार महत्त्वपूर्ण भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित ‘वरिष्ठ अधिकृतको सम्मेलन २०८२’ को समापन समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले मातृभूमि रक्षा गरिरहेको बताए ।

हाइड्रोपावरका साथै विभिन्न उद्योगहरुमा राज्यले सुरक्षा दिने भए पनि खर्च भने सम्बन्धि उद्योगले व्यहोर्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको गृहमन्त्री लेखकले बताए । नागरिक तहमा सशस्त्र प्रहरीप्रति भरोसा बढिरहेको उनको भनाइ छ ।

सशस्त्र प्रहरी बलका लागि गृह मन्त्रालय गम्भीर रहेको भन्दै आधारभूत आवश्यक पूरा गर्न लागि पर्ने गृहमन्त्री लेखकको भनाइ छ । मन्त्रालयबाट नीतिगत र कानुन मार्गदर्शन गर्ने काम हुने भन्दै सशस्त्र प्रहरीको काम कारबाहीमा कुनै हस्तक्षेप नरहने  उनले बताए।

साथै सशस्त्र प्रहरीलाई मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन गृहमन्त्री लेखकको निर्देशन छ । ‘जिम्मेवारी लिएपछि जवाफदेही हुनुपर्छ । सबै प्रदेशका सशस्त्र प्रहरीको प्रमुखले राजस्व चुहावट र विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनमा केन्द्रित हुनुहोला,’ उनले भने ।

राजस्व चुहावटमा नियन्त्रण देखिने गरि काम गर्न गृहमन्त्री लेखकले कडा निर्देशन दिए ।

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

त्यसअघि उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुको उठाएको प्रश्नको जवाफ दिदैँ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमुखी र सन्तुलित रहेको बताए । उनले बजेट यथार्थपरक र बजेटका अनुमानले नतिजाप्राप्त हुनसकोस भनेर मन्त्रालयले ध्यान दिएको उल्लेख गरे ।

उपप्रधानमन्त्री पौडेलले न्यायपूर्ण विनियोजनका पक्षमा रहेर बजेट आएको दाबी गरे । उनले भने, “यो बजेट कार्यान्वयन हुने आधारसहित आएको छ । बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यवहारिक रुपमा संयमित र सन्तुलित बनाइएको छ, बजेट निर्माणमा अनुशासन पालना गरिएको छ ।”

उपप्रधानमन्त्री पौडेलले बजेट कार्यान्वयन अर्थ मन्त्रालयको मात्र नभई समग्र मन्त्रालयको साझा जिम्मेवारी रहेको भन्दै सबैले जिम्मेवारीपूर्वक बजेट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा राष्ट्रियसभा सदस्यहरु उर्मिला अर्याल, पदमबहादुर परियार, गोपाल भट्टराई, शेखरकुमार सिंह, भुवनबहादुर सुनार, तुलसा दहाल, गोपीबहादुर सार्की अछामी र सुमित्रा बिसीले धारणा व्यक्त गरेका थिए ।

आजको अशान्त विश्वले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताएका छन् ।

बिहीबार विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एशियामा नै गहिरो प्रभाव पर्दै आइरहेकोमा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताएका हुन् ।

उनले भने, ‘कम्प्युटर र एआईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ । आजको अशान्त विश्वसमाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ ।’

उपनिषदको ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्दरण गर्दै उनले यो संस्कृत सम्मेलनले युद्धको विभीषिका र सन्त्रासमा उल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानवसभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले नेपालले पनि संस्कृतको संरक्षण र विकासका लागि काम गर्दै आइरहेको बताउँदै भने, ‘तर त्यो अपर्याप्त छ, र अझ धेरै काम गर्न बाँकी छ, त्यसमा सहकार्य पनि आवश्यक छ ।’

राष्ट्रपति पौडेलले विकास चरम अवस्थामा पुगेपछि एकाधिकारले ठाउँ लिन्छ भन्ने अर्थशास्त्रको कुरा जस्तै संस््कृत भाषाको चरम विकास भंएकोबेला ठालुहरूले दलित वा अन्य जो कोहीले बोल्न र पढ्न हुन्न भनेर सिमाकरण गरेकाले जनबोलीको भाषा हुन नसकेको उल्लेख गर्दै संस्कृतलाई जनबोलीको भाषा बनाउन आवश्यक भएको बताए।

उनले नेपाल प्राचीन कालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्लयजुर्वेदका मन्त्रहरूको दर्शन पाएका थिए भने वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको स्पष्ट पारे ।

राष्ट्रपनि पौडेलले राजर्षि जनक, शान्तिसन्देशका नायक बुद्ध, पाणिनि र बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको उल्लेख गर्दै भने, ‘नेपाल एउटा प्राचीन राष्ट्र हो, जसको इतिहास दुई हजार पच्चीस सय वर्षदेखि निरन्तर रहँदै आएको छ । नेपाल शब्दको प्रयोग अथर्ववेदमा नै भएकाले र पौराणिक, तान्त्रिक, स्मृतिग्रन्थ, आयुर्वेद, कौटिल्यको अर्थशास्त्र आदि प्राचीन लाखौँ ग्रन्थहरूमा नेपालका विषयमा अनेक प्रसङ्ग आएकाले यसको प्रचीनता, सनातन वैदिक परम्परा निष्ठता, शान्तिप्रियता, सहिष्णुता, समन्वयमूलकता यस देशको स्वभाव रहँदै आएको बोध हुन्छ ।’

उनले लिच्छविकालमा संस्कृत नै राजभाषा भएको कुरा तत्काल कुँदिएका २०० भन्दा बढी शिलापत्र र अभिलेखहरू प्राप्त भएबाट पुष्टि हुने बताउँदै भने, ‘मल्ल र शाहकालमा पनि हजारौँ हजार संस्कृतका ग्रन्थहरू रचना भएबाट र वर्तमानमा पनि संस्कृतका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गमभूमिमात्र होइन उर्वरभूमि हो भन्ने कुरा सिद्ध हुन्छ ।’

काठमाडौंमा भोलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

काठमाडौँ । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन  गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवद्र्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो ।

काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ । महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा आयोजना हुने उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिइन् ।

कार्यक्रमको आकर्षणका रूपमा १० भन्दाबढी प्रजातिका आँप प्रदर्शनीमा राखिनेछन् । पाँच भन्दाबढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने तौजले जानकारी दिइन् ।

यस्तै, २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेयपदार्थ सहकार्य गरेका रेस्टुरेन्टमा पाइनुका साथै सबै उमेरका सहभागीका लागि रमाइलो म्याङ्गो खेल र विविध गतिविधि सञ्चालन हुने उनले बताइन् ।

तीनदिने महोत्सव लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा हुनेछ । यी तीनवटै रेस्टुरेन्टले महोत्सवलाई आकर्षक बनाउने गरी तयारी भइरहेको जनाएका छन् ।

आधुनिक राष्ट्र निर्माणको पर्याय नेकपा एमाले भएको महासचिव पोखरेलको दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवालाई विदेश पलायनबाट रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन् ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली युवा बाध्यताले मात्र विदेश गएका नभई विदेश जाने रहर पनि भएको बताएका हुन् ।

उनले यो लाहुरे संस्कृतिकै निरन्तरता भएको स्पष्ट पारे । हिजो भारतमा ठूलो सङ्ख्यामा जाने युवाहरू आज तेस्रो मूलकमा जाने गरेका पोखरेलले बताए । उनले नयाँ पुस्तालाई राज्य, राजनीति र समाजसँग जोड्दा मात्र उनीहरूको पलायन रोक्न सकिने बताए । सरकारको अहिलेको बजेट र कार्यक्रमले नयाँ पुस्तालाई नेपाल निर्माणको आधार बनाउने प्रयत्न गरेको उनले दाबी गरे ।

बजेटका सन्दर्भमा केही गुनासा र आलोचना भए पनि समग्रमा बजेट सन्तुलित र प्रभावकारी भएको उनले बताए ।
उनले आधुनिक राष्ट्र निर्माणको पर्याय नेकपा एमाले भएको दाबी गरे । उनले भने, ‘देश बनाउन सक्छ एमालेले भन्ने सन्देश हामीले पुष्टि गरेका छौँ, एमाले कुरा मात्र होइन कामद्वारा आफूलाई पुष्टि गर्दछ, विगतका शासकको दिमागमा चढ्दै नचढ्ने काम हामीले गर्न सफल भएका छौँ ।’

उनले अहिले पार्टी नेतृत्वका विषयमा बहस गर्ने बेला नभएको भन्दै बेला न कुबेला नेतृत्वको बहस गरेर पार्टीमा विभाजनको वातावरण बनाउन नहुने बताए ।

नारायणगढ– मुग्लिन सडकमा दुईतर्फी सवारीसाधन सञ्चालन

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।

कुनैपनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उनले जानकारी दिए । ढुङ्गा झारिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इञ्जिनियर कृष्ण आचार्यले बताए ।

‘टेक एण्ड पे’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद

काठमाडौं । स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले ‘टेक एण्ड पे’को प्रावधान बजेटबाट हटाएकोमा सरकारलाई धन्यावाद दिएको छ । इप्पानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारलाई धन्यवाद दिएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रनअफ दी रिभर (आरओआर) प्रकृतिका जलविद्युत परियोजनामा ‘टेक एण्ड पे’ विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने घोषणा गरेको थियो ।

पहिल्यैदेखि कायम रहेको टेक अर पे पीपीएको मोडललाई हटाएर उर्जा उद्यमीलाई संकट तर्फ लैजान खोजेको भन्दै इप्पानले सरकारको उक्त कदमको विरोध गर्दै आएको थियो ।

‘टेक एण्ड पे’ को प्रावधान लागु भएको खण्डमा बैंक तथा वित्तीय संस्थाहरुले कुनैपनि जलविद्युत परियोजनामा लगानी नगर्ने भन्दै निर्माणको विभिन्न चरणमा रहेका १७ हजार ११७ मेगावाट क्षमताका जलविद्युत आयोजनाको भविष्य संकटमा परेको इप्पानको भनाई थियो । ती आयोजनाहरुमा निजी क्षेत्रको करिब १ खर्ब ९ अर्ब रुपैयाँ लगानी भइसकेको अवस्था थियो ।

इप्पानले विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरी शान्तिपुर्ण आन्दोलन गर्दै आएको अवस्थामा सरकारले असार ११ मा प्रतिनिधिसभा बैठकमार्फत उक्त निर्णय फिर्ता लिएको थियो ।

शेयर बजारमा गिरावट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ४.४५ अंकले घटेको छ । आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर ७ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ९.१८ प्रतिशतले बढ्यो भने सप्तकोशी डेभलपमेन्टको ९ प्रतिशतले बढ्दा बरुण हाइड्रोपावरको ८.९३ र पिपुल्स हाइड्रोपावरको सेयर ७.१४ प्रतिशतले बढ्यो । ६२ करोड मूल्य बराबरको सेयर कारोबार गरी बुटवल पावर शीर्षस्थानमा रह्यो।

यसैगरी राधी विद्युतको ३९ करोड मूल्यको सेयर कारोबार हुँदा नगदी ग्रुपको ३२ करोड,सिंगटी हाइड्रोपावरको ३१ करोड र बरुण हाइड्रोपावरको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

मागको एक चौथाइ आएपछि जुनसुकै मन्त्री आएपनि मलको हाहाकार भइहाल्छः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकारमा कमी नहुने बताएका छन् ।

नेपाल डेरी एशोसियसनले बिहीबार काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा मन्त्री अधिकारीले जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका हुन् ।

उनले बजारमा मलको माग ११ लाख देखि १३ लाख टन रहेकोमा त्यसको एक चौथाइ मलले माग पूरा गर्न नसकिने बताए ।

उनले भने, ‘जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ । सरकारले गत वर्ष मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोन गरेको थियो । त्यसबाट साढे ४ लाख टन भन्दा धेरै मल आउँदै आउँदैन । बजारमा मलको माग ११ लाख देखि १३ लाख टन छ । अनि हाहाकार भइहाल्छ नि । राज्यप्रति दायित्व भइसकेपछि आउँछ आउँछ भनेर बोल्नु परेको छ ।’

उनले नेपालमा करिव १४ लाख हेक्टर जमिनमा धान खेती हुने गरेको र त्यसका लागि करिब २ लाख ३० हजार मेट्रिक टन रासायनिक मल आवश्यक हुने गरेको बताए ।

तर कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको असार ९ सम्मको तथ्यांक अनुसार सरकारसँग यतिबेला ६६ हजार ४३३ मेट्रिक टन मात्रै रासायनिक मल मौज्दात रहेको छ । धान रोपाइँको मुख्य सिजनमा सरकारले किसानलाई आवश्यक मात्रामा मल उपलब्ध गराउन नसकेको गुनासो यतिबेला बढिरहेको छ ।

म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन

म्याग्दी ।  पाखो बारीको भित्तामा सासाना प्वाल छन्। नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ। यिनै ओतमुनि अरिङ्गालका गोला छन्। म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आएका छन्।

शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिए। राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उनीसँगै श्रमतीत गीताले अरिङ्गालपालन गरेका हुन्।

‘नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गत वर्ष जङ्गलबाट घरमा ल्याएर गरेको अरिङ्गालपालन सफल भएको छ’, गीताले भनिन्, ‘मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिङ्गाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ।’

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहेकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आएका श्रीमान् अशोकले साथ दिएका हुन्।

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिङ्गालको लार्भा निकाल्न सकिने शाहीले जानकारी दिए।
‘जङ्गलमा अरिङ्गालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ’, अशोकले भने, ‘अरिङ्गालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच (सेफ्टी बेल्ट) प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिङ्गालको गोला ल्याएर पाल्ने गरेका छौँ।’

जङ्गलबाट ल्याइएको अरिङ्गाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतीको अनुभव छ। ‘बेनीका होटलमा अरिङ्गालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन्। काँचो लार्भा प्रतिकिलो रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको छ’, शाहीले भने।

गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताए। ‘एउटा गोलाबाट एकपटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ। प्रत्येक दुई/दुई महिनामा लार्भा निकाल्न सकिन्छ’, उनले भने।

पालेका अरिङ्गाल चरनका लागि जङ्गल र खेतबारीमा जान्छन्। किरा, फट्याङ्जा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिङ्गालका आहारा हुन्। झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताए।

शक्तिवद्र्धक मानिने अरिङ्गालको भुटेको लार्भा प्रतिरिकापी रु ६०० का दरले बिक्री हुने बेनीका होटल व्यवसायी राजन लामाले बताए। अरिङ्गाल बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उनको अनुभव छ। जेठबाट गोला बनाउन सुरु गर्ने अरिङ्गालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन्।

‘अरिङ्गाल पाल्न सजिलो काम भने होइन। गोला जङ्गलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ। अरिङ्गाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ’, अशोकले भने, ‘बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ। मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ।’ उनका अनुसार रातो र कालो जातका अरिङ्गाल बढी पाइन्छन्।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिङ्गालपालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताए।

‘लार्भाका लागि गोला पोलेर अरिङ्गालको वंशनै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ’ उनले भने, ‘जोखिम भएकाले अरिङ्गालपालनमा सावधानी भने अपनाउन आवश्यक छ।’

सम्मानित श्रम र सुरक्षित आप्रवासनमा मन्त्री भण्डारीको जोड

ललितपुर । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने हाम्रा श्रमिकको सम्मान हुनुपर्छ भनेका छन् ।

कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) द्वारा बिहीबार आयोजित ‘हामी एप सार्वजनिक एवं आप्रवासन सम्मेलन’को शुभारम्भ गर्दै उनले हाम्रो श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको छ जनाउँदै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड दिएको बताएका हुन्  ।

‘गन्तव्य मुलुकको आर्थिक विकासमा हाम्रा श्रमिक सहभागी छन्, उनीहरुको श्रमलाई सम्मान गर्नुपर्छ, वैदेशिक रोजगारमा १६ वर्षमा हाम्रा १४ हजार नेपालीले ज्यान गुमाएका छन् । श्रम गर्न गएको हो, ज्यान गुमाउन हैन, वैदेशिक रोजगारमा जानेहरूको उपयुक्त तरिकाले स्वास्थ्य परिक्षण हुन सकेको छैन, यसलाई पनि ध्यान दिनुपर्छ’, उनले भने ।

उनले कोरियाको १९६० को अनुभवलाई अङ्गीकार गरेर अगाडि बढ्नुपर्छ भनेर जेनेभाको बैठकमा पनि भनेको छु भन्दै कोरियाली अनुभव सिकेर अनुकरणीय कार्य गर्नुपर्ने बताए  ।

उनले श्रमसम्बन्धी सही सूचनाको जानकारी दिन श्रम संसार लागू गरेको बताउँदै १० वर्षमा नेपालबाट बाध्यात्मक श्रमका लागि विदेश जाने अवस्थाको अन्त्य हुने बताए ।

‘सूचनाको अभावले धेरै मानिस प्रभावित भएका छन्, ठगीमा परेका छन्, यी कुरालाई ध्यानमा दिएर श्रमसंसार सञ्चालनमा ल्याएका छौँ, श्रमसम्बन्धी सम्पूर्ण कुराहरु राखेका छौँ, मानिसको औँलामा नेपालको श्रम बजार छ, हामी वैदेशिक रोजगारभन्दा बढी नेपालको आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्छौँ, हाम्रो मन्त्रालयमा वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार बोर्डलगायत संरचना छ, अहिले मन्त्रालयमा हामीले अहिले आन्तरिक रोजगार महाशाखा स्थापना गरेका छौँ’, उनले भने ।

उनले नेपालीले कोरियालाई आकर्षक गन्तव्यका रुपमा मान्ने गरेको भन्दै यसलाई व्यवस्थापन गर्न आग्रह गरे ।

‘हामी एप’ नेपाली श्रमिकको अधिकार सुरक्षाका लागि एक महत्वपूर्ण उपकरण हो र यसले व्यवस्थित आप्रवासन प्रक्रियामा मद्दत पुर्याउँछ । सरकार सुरक्षित आप्रवासन र सफल पुनःएकीकरण सुनिश्चित गर्ने नीतिहरू विकास गर्न प्रतिबद्ध छ’, उनले भने ।

नेपालका लागि कोरियाका राजदूत पार्क तेइ–यङले यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५१औँ वार्षिकोत्सव हो भन्दै यो संयुक्त कार्यक्रम दुई देशबीच जनस्तरको सम्बन्धमा सहकार्यको प्रतीक हो भनेका छन् ।

‘माइग्रेन्ट श्रमिकको सम्पूर्ण यात्रामा साथ दिने ‘हामी’ एप कोरिया र नेपालको साझेदारीको प्रतीक हो । हामी श्रम आप्रवासनका क्षेत्रमा निरन्तर सहकार्य र साझेदारीको अपेक्षा गर्छौं’, राजदूत पार्क तेइ–यङले भने ।

‘हामी एप’ को परियोजना कोइकाद्वारा सन् २०२२ मा सुरु गरिएको ‘नेपालमा फर्किएका श्रमिकको स्थिर पुनःएकीकरणका लागि चरणगत समर्थन प्रणाली सुदृढीकरण’ परियोजनाको हिस्सा भएको बताइएको छ ।

‘हामी एप’बाट कोरियाको रोजगार अनुमति प्रणाली मार्फत कोरिया जाने नेपाली श्रमिकले पूर्व–प्रवास चरणमा दृष्टिकोण निर्माण, वित्तीय साक्षरता र जीवन सुरक्षासम्बन्धी तालिमका विषयमा, प्रवास चरणमा आवश्यक जानकारी र स्रोतमा पहुँच, साथै सप्ताहन्तमा आधारित सीप तथा उद्यमशीलता तालिम र प्रवासपश्चात्का चरणमा पुनःएकीकरणसम्बन्धी जानकारी, उद्यमशीलता तालिम र नयाँ व्यवसाय सुरु गर्न बीउ पुँजी सहयोगका विषयमा जानकारी तथा लाभ उठाउनसक्ने जानकारी गराइएको छ । यो एप श्रमिकको अधिकार सुदृढीकरणका लागि दिगो मोडेलका रूपमा स्थापित हुने जनाइएको छ ।

मुकुल ढकालको रिटमा सर्वोच्चले असार १७ गते दुवै पक्षसँग छलफल गर्ने

काठमाडौँ । सर्वोच्च अदालतले डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागी दुवै पक्षलाई असार १७ गते छलफलमा बोलाउने आदेश दिएको हो ।

ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।

सन् २०२४ मा द्वन्द्वका कारण प्रभावित बालबालिकाको घटनाको रेकर्ड उच्च

जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी भएको जनाएको छ । राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लङ्घनका घटना भएको उल्लेख गरेको छ ।

राष्ट्रसङ्घका महासचिवका बालबालिका र सशस्त्र द्वन्द्वका लागि विशेष प्रतिनिधि भर्जिनिया गाम्बाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को छलफलका क्रममा युद्ध र सशस्त्र द्वन्द्वले बालबालिकामा पारेको भयानक स्तरको हिंसाका बारेमा बैठकलाई उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘युद्ध र द्वन्द्वका पक्षहरू र हामी अन्तर्राष्ट्रिय समुदायले सबै बालबालिकाको हितका लागि शान्ति सम्झौता गर्नुको साटो हाम्रा छोराछोरीका लागि ठूलो मूल्य चुकाएर सैन्य माध्यमबाट हाम्रा विवादहरू सुल्झाउन चाहेको जस्तो देखिन्छ ।’

विश्वव्यापी रूपमा र विशेष गरी गाजामा बालबालिकामा के भइरहेको छ भनेर कुनै काम नगरी हामी हेरेर बस्न सक्दैनौँ । गाजाका बालबालिकाहरूले भोगेको विनाश र पीडाको परिणमले हरेक मानव मापदण्डको अवहेलना र उल्लङ्घन गर्दछ । बालबालिकाहरूलाई खाना, स्वास्थ्य सेवा र सुरक्षाको पहुँचसहित आफ्नो अस्तित्वको साधनबाट वञ्चित गर्ने कुनै औचित्य छैन गाम्बाले स्पस्ट पारे ।

संयुक्त राष्ट्र सङ्घका अधिकारीले निगरानी, प्रमाणिकरण र रिपोर्टिङमा उनीहरूले सामना गर्ने कठिनाइहरूलाई ध्यानमा राख्दै यी उल्लङ्घनहरूलाई कम गर्न दिगो स्रोतहरू उपलब्ध गराउने महत्वलाई प्रकाश पारेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी नेता जेलेन्स्कीबीच हवाई प्रतिरक्षा र ड्रोन सहयोगबारे छलफल

द हेग । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रक्षा, सैन्य सहयोग र युक्रेनमा जारी द्वन्द्वको वर्तमान अवस्थाबारे महत्वपूर्ण कूटनीतिक वार्ता गरेका छन् ।

कुराकानीलाई ‘राम्रो बैठक’ को रूपमा वर्णन गर्दै युक्रेनी नेताले एक्समा गरेको पोस्टमा राष्ट्रपति ट्रम्पलाई हालैको इरानविरूद्धको अमेरिकी आक्रमणलाई सङ्केत गर्दै ‘मध्य पूर्वमा सफल अपरेशन’ को लागि बधाई दिएका छन् । अमेरिकी आक्रमणले इरानको आणविक र ड्रोन पूर्वाधारको प्रमुख उत्पादन केन्द्रलाई लक्षित गरेको थियो भने आक्रमणबाट इरानका तीन वटा हतियार निर्माणस्थल ध्वस्त भएका थिए ।

जेलेन्स्कीले भने, “हेगमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग मेरो भेटवार्ता भएको छ । वार्ता सकारात्मक भयो। मैले राष्ट्रपति ट्रम्पलाई मध्यपूर्वमा सफल अभियानका लागि बधाई दिएँ । यो महत्त्वपूर्ण छ कि अमेरिकी कार्यहरूले उनीहरू (इरानी)को आणविक कार्यक्रम मात्र होइन उनीहरूको ड्रोन उत्पादन क्षमतालाई पनि कमजोर पारेको छ।”

बैठकको एउटा मुख्य विषय भनेको युक्रेनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई निरन्तरता दिए ।

जेलेन्स्कीले भने, “युक्रेनले सक्रिय रूपमा आफ्ना शहर, महत्त्वपूर्ण पूर्वाधार, चर्च र नागरिक जनसङ्ख्याको सुरक्षाको लागि अमेरिकामा निर्मित हवाई रक्षा प्रणालीहरूको खरीदलाई जोड दिइरहेको छ । यस प्रयासमा युरोपेली व्यापक सहयोगका लागि पनि आग्रह गर्दछ।

दुई नेताले अमेरिका र युक्रेनबीच ड्रोनको सह–उत्पादनको सम्भाव्यताबारे पनि छलफल गरेका छन् । किएभले आफ्नो घरेलु रक्षा उद्योगलाई बढाउन चाहन्छ र पश्चिमी सुरक्षा आपूर्ति श्रृङ्खलामा योगदान पुर्याउँदछ।

भेटमा युक्रेनका राष्ट्रपतिले इस्तानबुलमा हालै सम्पन्न प्राविधिक बैठकका बारेमा पनि ट्रम्पलाई जानकारी गराएका थिए । इस्तानबुलमा कैदीहरूको आदानप्रदान र मृतकहरूको स्वदेश फिर्तीलगायतका मानवीय मुद्दाहरूमा छलफल भएको थियो ।

उनले भने, “हामीले अमेरिकी राष्ट्रपतिसँग युक्रेनी जनताको सुरक्षा, हाम्रा शहर, चर्च र पूर्वाधारहरूलाई जोगाउन अमेरिकी हवाई रक्षा प्रणालीको खरीदसम्बन्धी बिषयमा कुरा ग¥यौँ । युक्रेन यो उपकरण किन्न र अमेरिकी हतियार निर्माताहरूलाई सहयोग गर्न तयार छ । हामीले ड्रोनको सह–उत्पादनको सम्भावनाको बारेमा पनि छलफल गर्यौं। हामी एकअर्कालाई बलियो बनाउन सक्छौँ ।”

युक्रेनी राष्ट्रपतिले भने, “मैले राष्ट्रपतिलाई इस्तानबुलमा प्राविधिक टोलीको बैठक, कैदीको आदानप्रदान र मृतकको शब आदानप्रदानको बारेमा पनि जानकारी दिएँ।”

उनले भने, “आदानप्रदान अन्तर्गत रुसले कतिपय आफ्ना सैनिकको शव हस्तान्तरण गरेको छ । उनीहरूका आफन्तको पहिचानका लागि किएभमा अहिले फरेन्सिक परीक्षण भइरहेको छ।”

जेलेन्स्कीले युद्धभूमिमा भएको पछिल्लो घटनाक्रमबारे पनि ट्रम्पलाई जानकारी गराएका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेको प्रगतिको खण्डन गर्ने तथ्यात्मक विवरण प्रस्तुत गरेका थिए ।

युक्रेनी नेता जेलेन्स्कीले भने, “हामीले युद्धभूमिको अवस्थाबारे कुरा गर्यौं। पुटिनले पक्कै पनि जितिरहेका छैनन् । मैले राष्ट्रपतिलाई वास्तवमा धरातलमा के भइरहेको छ भन्ने तथ्यहरू उहाँसामु प्रस्तुत गरेँ।”

“बैठक र तपाईंको समर्थनको लागि धन्यवाद। म हाम्रा नागरिकहरूको बारेमा साँच्चिकै दयालु शब्दहरूको लागि पनि आभारी छु। युक्रेन र रुसबीच जारी द्वन्द्वको पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै हामी सहकार्य गरिरहनेछौं,” जेलेन्स्कीले थपे ।

स्थानीय समयअनुसार मङ्गलबार दक्षिणपूर्वी युक्रेनमा मस्कोले गरेको क्षेप्यास्त्र आक्रमणमा १७ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

रुसले सीमा क्षेत्र भोरोनिश क्षेत्रलगायत विभिन्न क्षेत्रमा रातारात दर्जनौं ड्रोनलाई रोकेको र रुसी सेनाले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको डायलिभ्का गाउँलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

यसैबीच, नेटोका सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षा र सुरक्षासँग सम्बन्धित ‘मुख्य प्रतिरक्षासम्बन्धी आवश्यकता’ का क्षेत्रमा लगानी गरी आफ्नो सैन्य क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चितवनमा एक वर्षमा सिँचाइका ४८ ट्युबवेल निर्माण

चितवन। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक वर्षमा ४८ ट्युबवेल निर्माण गरेको छ । त्यसले एक हजारभन्दा बढी बिघा जमिनमा थप सिँचाइ हुने भएको हो ।

कार्यालय प्रमुख विश्वबन्धु केसीका अनुसार चालु आर्थिक वर्षमा चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी यो ट्युबवेल निर्माण गरिएको हो । नवलपरासीमा १७ ट्युबवेल निर्माण गरिएको छ । गैँडाकोटमा पाँच, देवचुलीमा एउटा, कावासोतीमा चार, मध्यबिन्दु नगरपालिकामा तीन र विनयी त्रिवेणी गाउँपालिकामा चार ट्युबवेल निर्माण गरिएको छ ।

यस्तै, चितवनमा भरतपुर महानगरपालिकामा १५, माडी नगरपालिकामा पाँच, रत्ननगर नगरपालिकामा दुई, कालिका नगरपालिकामा एउटा र राप्ती नगरपालिकामा पाँच गरी २८ ट्युबवेल निर्माण गरिएको उनले जानकारी दिए ।

मकवानपुरको हेटौँडा नगरपालिकामा एउटा र बागमती गाउँपालिकामा एउटा ट्युबवेल निर्माण गरिएको छ । बकैया गाउँपालिकामा एउटा लिफ्ट गरी मकवानपुरमा तीन लिफ्ट एवं ट्युबवेल निर्माण गरिएको केसीले जानकारी दिए।

विसं २०७६ मा भरतपुरमा स्थापना भएको यस कार्यालयले विसं २०७७ बाट चितवनमा ट्युबवेल निर्माण थालिएको हो । केसीका अनुसार हालसम्म चितवनमा १०० हाराहारी ट्युबवेल निर्माण गरिसकिएका छन् । आव २०७९-८० बाट मकवानपुरमा र २०८०-८१ बाट नवलपरासीमा ट्युबवेल निर्माण थालिएको हो ।

उनका अनुसार एउटा ट्युबवेल निर्माण गर्न ठाउँअनुसार ६५ लाख हाराहारी खर्च हुने गर्दछ । चालु आर्थिक वर्षमा ट्युबवेल, लिफ्ट निर्माण र मर्मतका लागि ३७ करोड बजेट विनियोजन भएको थियो । त्यसबाट ट्युबवेल खन्ने, मोटर जडान गर्ने, विद्युतीकरण, पम्प घर निर्माण, वितरण प्रणाली निर्माण (भूमिगत पाइपलाइन विस्तार) गरिएको हो । यस आर्थिक वर्षमा एक करोड मर्मतका लागि बजेट निकासा भई खर्च गरिएको उनले जानकारी दिए ।

ठाउँअनुसार एउटा ट्युबवेलले ६० बिघासम्म सिँचाइ हुने गरेको छ । कतिपय ठाउँमा थोरै क्षेत्रफलमा मात्रै सिँचाइ हुने गरेको छ । यस वर्ष जडान गरिएका ट्युबवेलबाट एक हजार बिघा हाराहारी थप सिँचाइ पुगेको केसीले बताए।

बिपी क्यान्सर अस्पतालमा बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु

चितवन । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा. गुरुशरण साहका अनुसार क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका र क्यान्सर निको भएर पुनः देखिएका बिरामी यस अस्पतालको पहुँच बाहिर रहेकाबेला सहजीकरण गर्न यो सेवा शुभारम्भ गरिएको हो ।

चौबिसै घण्टा खुला रहने ९८५५०८१५०१ नम्बर फोनमा बिरामी वा आफन्तले सम्पर्क गरेर सेवा लिनसक्ने उनले जानकारी दिए । उनले भने, ‘यो नम्बरमा अस्पतालसम्बन्धी गुनासो वा अन्य सेवाबारेमा भने जानकारी दिइने छैन, क्यान्सर उपचार चरणबद्ध रुपमा हुन्छ, केमो लगाएर वा सेकाइ गरेर घर गएको बिरामीलाई जटिलता आयो भने यो नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।’

त्यसैगरी दूरदराजमा रहेका बिरामीलाई पहिलो पटक क्यान्सर पहिचान भएपछि नन क्यान्सर अस्पतालका चिकित्सकले प्रथम चरणमा कसरी उपचार सुरु गर्ने भन्ने ज्ञान नहुने हुँदा त्यसलाई सहजीकरण गर्न पनि यो सेवा प्रयोग गर्न सकिने उनले बताए ।

डा. साहले भने, ‘हामीले आवश्यक परेमा नन क्यान्सर अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीलाई मोबाइलमार्फत नै तत्कालको उपचार र रिफर कसरी गर्ने भन्नेबारेमा सहजीकरण गर्नेछौँ ।’

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले दूरदराजमा रहेका बिरामीलाई लक्षित गरी हटलाइन सेवा शुभारम्भ गरिएको बताए । ‘एक्युट अङ्कोलोजी’ सर्भिसको तालिम प्राप्त चिकित्सक र नर्सले चौबीसै घण्टा मोबाइलबाट सेवा दिने उनले बताए । दुरदराजमा रहेका बिरामीको रिपोर्ट मगाएर वा लक्षणका आधारमा तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने उपचार तथा प्रक्रियाका बारेमा यसबाट सुझाव दिइने उनको भनाइ छ ।

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ देखि

ताप्लेजुङ । ताप्लेजुङको सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी साउन २४ देखि सुरु हुने भएको छ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गर्दै आएको गोल्डकप प्रतियोगिता साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल खेलका साथ सम्पन्न हुने छ ।

समितिका सचिव टिकेन्द्र नेपालीले दिएको जानकारी अनुसार, प्रतियोगिताको तयारी अन्तर्गत खलमैदानमा प्याराफिट निर्माणका लागि पहल सुरु गरिएको छ ।

प्याराफिट निर्माणका लागि करिब तीन हजार बाँस आवश्यक पर्ने र बाँस बिक्री गर्न इच्छुक किसानलाई न्यूनतम मूल्यमा प्रस्ताव दिन आह्वानसमेत गरिसकेको छ ।

यससम्बन्धी सूचना मङ्गलबार सार्वजनिक गरिएको छ । यसैबीच, प्रतियोगिताको तयारीस्वरूप खेलमैदानमा दुबो रोप्ने कार्य पूरा भइसकेको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कार राशिबारे छलफल जारी रहेको र छिट्टै निर्णय लिइने अध्यक्ष सागर मादेनले जानकारी दिए ।

प्रथम संस्करणमा तीन लाख, दोस्रोमा पाँच लाख नगद पुरस्कार प्रदान गरिएकोमा, यसपटक त्यो पुरस्कार राशि अझ बढ्ने सङ्केत देखिएको छ । कोषाध्यक्ष दावा शेर्पाका अनुसार, प्रतियोगिताबाट हुने आम्दानीको आधारमा पुरस्कार राशि वृद्धि गरिने तयारी भइरहेको छ । प्रतियोगितामा सहभागी हुने आमन्त्रित क्लबहरूको टुङ्क्रो पनि चाँडै लगाइने जनाइएको छ ।

खेलकुद र संस्कृतिको सङ्गमका रूपमा स्थापित ताप्लेजुङ गोल्डकप पहाडी क्षेत्रको बहुप्रतिक्षित प्रतियोगिता हो ।

क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्छौं : उर्जामन्त्री खड्का

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग सङ्गठन (एससीओ)को सदस्य राष्ट्रको पाँचौंँ ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन्।

चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले एससीओ सदस्य राष्ट्रको जनसङ्ख्या, स्रोत र सम्भावनालाई दृष्टिगत गरी लगानी प्रवर्द्धन एवं ऊर्जा व्यापारका लागि नवीन सोचसहित क्षेत्रीय ढाँचा निर्माण तथा सहकार्यलाई अझ प्रभावकारी र सुदृढ तुल्याउनुपर्ने खाँचो औँल्याए।

‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’ नाराका साथ सुरु भएको उक्त बैठकमा मन्त्री खड्काले एससीओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्द्धनका पक्षमा क्षेत्रीय एकता, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए।

ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको लिएको नेपालले १५ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी योजना तथा कार्यक्रम अघि बढाएको जानकारी दिए।

नेपालमा हाल करिब तीन हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको र निकट भविष्यमा यो दोब्बर बनाउने योजनाका साथ काम भइरहेको उनले बताए।

छिमेकी देशहरूसँग विद्युत् व्यापार सुरु गरिसकेको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत् निर्यात गरेर त्रिपक्षीय ऊर्जा सहकार्यको नीति कार्यान्वयनमा आएको स्पष्ट गरे।

एससीओको संवाद साझेदार राष्ट्रका रुपमा क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले आपसी सहयोग र सहकार्यका आधारमा वातावरण सन्तुलन, नवप्रवर्तन, दिगो विकासको अवधारणासहित ऊर्जा क्षेत्रको विकास एवं विस्तारका पक्षमा नेपाल रहेको स्पष्ट गरे।

सो बैठकमा भाग लिन मन्त्री खड्का यही असार १० गते मङ्गलबार चीनतर्फ प्रस्थान गरेका थिए।

‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

–राधेश्याम विश्वकर्मा, रुपन्देही । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । असार दोस्रो सातामा पनि यस क्षेत्रमा मनसुन सक्रिय हुन नसक्दा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन् ।

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार प्रदेशमा कूल धान रोपाइँ हुने क्षेत्रफलको यही असार ६ गतेसम्म जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कूल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । यसमध्ये तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तर अहिलेसम्म २९ हजार २५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी प्यूठानमा ८२ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ । यहाँ ६ हजार पाँच सय २५ हेक्टरमध्ये पाँच हजार तीन सय १८ हेक्टरमा धान रोपाइँ सकिएको छ ।

यस्तै, रोल्पामा चार हजार पाँच सय ४७ हेक्टरमध्ये एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४० प्रतिशत धान रोपाइ सकिएको छ। २० हजार चार सय हेक्टरमध्ये आठ हजार एक सय ९२ हेक्टरमा धान रोपाइँ सकिएको छ । रुकुमपूर्वमा ३५४ हेक्टरमध्ये १०६, पाल्पामा आठ हजार दुई सय १० मध्ये ४११ हेक्टरमा रोपाइँ सकिएको छ ।

यस्तै, रुपन्देहीमा ६० हजार पाँच सय ६७ मध्ये ६ हजार ५८, कपिलवस्तुमा ६५ हजार आठ सय ७१ हेक्टरमध्ये ५२७ हेक्टर अर्थात १ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयको तथ्याङ्कले देखाउछ । दाङमा ३७ हजार दुई सय २५ मध्ये एक हजार चार सय ८९ हेक्टरमा रोपाइँ सकिएको छ ।

यसैगरी बाँकेमा गएको शुक्रबारसम्म रोपाइँ नै सुरु हुनसकेको छैन । बाँकेमा ३४ हजार सात सय ११ हेक्टर जग्गामा धानखेती हुने गरेको छ । बर्दियामा ५० हजार उक सय ५० हेक्टरमध्ये चार हजार दुई सय ६३ हेक्टर, गुल्मीमा सात हजार पाँच सय ३९ मध्ये चीनज सय ९१ र अर्घाखाँचीमा ६ हजार सात सय ६० हेक्टरमध्ये ६७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

सबै भन्दा बढी धान रोपाइ हुने क्षेत्र रहेको कपिलवस्तु, दाङ र बाँके जस्ता जिल्लामा अझै पनि अधिकांश खेतहरु बाझै रहेका छन् । लुम्बिनी प्रदेशमा कुल खेतीयोग्य जमिन ५ लाख ३९ हजार ४ सय ४३ हेक्टर रहे पनि धान खेती ३ लाख ११ हजार हेक्टरमा हुने गरेको छ ।

सरदर ११ लाख ८५ हजार ४ सय ९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा दुई लाख ७६ हजार आठ सय १९ हेक्टर क्षेत्रफल मात्र सिञ्चित क्षेत्रफलको रुपमा रहेको छ । कूल ग्राहर््स्थ उत्पादनमा १४ दशमलव ८ प्रतिशत योगदान गरेको लुम्बिनी प्रदेशमा कृषि गणना २०६८ अनुसार ६ लाख ९२ हजार ९ सय ८२ कृषक परिवार संख्या रहेको छ ।

रोपाइँ ढिलो हुनुमा पानी नपर्नु मात्र एक कारण होइन । किसानले समयमा मल पाएनन्, ईन्धनको मूल्य बढ्दा पनि अधिकांश किसान समयमै खेत जोत्न सकेनन् । खेत जोत्न देखि लिएर पम्पिङ्ग सेटबाट तानेर खेतमा पानी लगाउन अत्यन्तै महँगो पर्ने भएको हुनाले समयमै खेत रोप्न नसकेको किसानको गुनासो छ ।

ओमसतिया गाउँपालिका–३ बस्ने गङ्गाराम चौधरीले गत वर्षझै यसवर्ष पनि मल पाउन नसकेको बताए । ‘मल आउँछ तर हामीले पाएका हुँदैनौँ, पहुँच हुनेहरुले लैजान्छन् होला । हामीलाई त भारतबाट ल्याउने मलकै भर हुन्छ ।’ चौधरीले भने, ‘भारतीय मलको भर नै हुँदैन, तौल कम हुने, कमसल हुने लगायतका समस्या हुन्छ ।’ रोपाइँको समयमा डिएपी मलको आवश्यकता हुन्छ । अहिले पनि रासायनिक मलकै भरमा नेपालमा खेती हुने गरिएको पनि किसानले आवश्यक मलको लागि सहकारीमा हप्तौँदेखि पर्खिबस्नु पर्छ । नेपालको लागि वार्षिक औषतमा ११ लाख मेट्रिक टन मलको आवश्यता हुन्छ तर नेपालमा ३ देखि ५ लाख मेट्रिक टनसम्म मात्र मलको आपूर्ति हुदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको स्याङजा तथा पूर्वी नवलपरासीमा मल पठाउने गरेको छ । अहिले कार्यालयमै मलको अभाव रहेको त्यहाका निमित्त कार्यालय प्रमुख सुमन पन्थी बताउँछन् ।

केही ट्रक वीरगञ्जबाट आउनुपर्नेमा बुटवल–नारायणगढको बाटोको कारण आउन नसक्दा पनि समस्या भएको उनको भनाइ छ । कृषि सामाग्री कम्पनी भैरहवाको लागि चालु आर्थिक वर्षमा ५६ हजार ५६ दशमलव ४५ मेट्रिक टन यूरिया र ३९ हजार ९२३ दशमलव ४५ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा हाल सम्म ४७ हजार ८०७ दशमलव ७ मेट्रिक टन यूरिया र ३१ हजार १९९ दशमलव ४ मेट्रिक टन डिएपी मल वितरण भइसकेको छ ।

कम्पनीको गोदाममा १० गते सम्म लुम्बिनी प्रदेशको लागि एक हजार ९८३ दशमलव २ मेट्रिक टन युरिया र दुई हजार २४३ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी दिए ।

म्यान्मामा आगामी डिसेम्बर अन्त्यसम्ममा निर्वाचन गर्ने तयारी

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन गर्ने योजना बनाएको बताएका छन् ।

सन् २०२१ मा म्यान्मारको नागरिक सरकारलाई सत्ताच्युत गरेको सेनाले निर्वाचन गर्ने तयारी भइरहेको जनाएको हो । निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएपछि म्यान्मामा सेनाप्रति बफादार (जुन्टा) सरकार र प्रजातन्त्र र स्वतन्त्रताका लागि सङ्घर्षरत दल तथा समूहबीच गृहयुद्ध निम्त्याएको थियो । जुन्टा सरकारले शान्तिको मार्गको रूपमा आफ्नो चुनावी योजनालाई अगाडी सारेको हो ।

पूर्ववर्ती सरकारका सदस्यहरू थुनिएका, विपक्षी समूहहरूले मतदान बहिष्कार गर्ने र जुन्टा विरोधी विद्रोहीहरूको नियन्त्रणमा रहेको देशको विशाल भूभागमा जुन्टा सरकारको नेतृत्वमा निष्पक्ष निर्वाचन असम्भव भएको पर्यवेक्षकहरूले बताएका छन् भने विपक्षी समूहहरूले निर्वाचन बहिष्कार गर्ने बताइरहेका छन् ।

म्यान्माको सरकारी अखबार ‘द ग्लोबल न्यू लाइट अफ म्यान्मार’का अनुसार जुन्टा प्रमुख मिन आङ ह्लाइङले बुधबार राजधानी नेपिडोमा आयोजित एक सम्मेलनमा ‘यस वर्षको डिसेम्बर र अर्को वर्षको जनवरीमा निर्वाचन हुने’ बताएका हुन् । जुन्टाले चरणबद्ध रूपमा निर्वाचन गर्ने योजना बनाएको छ वा छैन भन्ने स्पष्ट भएको छैन ।

बुधबार म्यान्मारको मानवअधिकार स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रुजले जुन्टाले ‘वैध नागरिक सरकार निर्माण गर्ने चुनावी अभ्यासको यो मृगतृष्णा सिर्जना गर्न खोजेको’ बताए ।

जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै एन्ड्रुजले भने, ‘जब कुनै प्रशासनले आफ्ना विरोधीहरुलाई कैद, यातना र मृत्युदण्ड दिन्छ, पत्रकारको हैसियतमा सत्यको पक्षमा रिपोर्टिङ गर्नु गैरकानुनी बन्छ । म्यान्मामा जुन्टाको आलोचना गर्नु गैरकानुनी हुन्छ र यस्तो अवस्थामा चुनाव हुन सक्दैन ।’

हालैका महिनाहरूमा प्रजातन्त्र समर्थक समूह र शक्तिशाली जातीय सशस्त्र सङ्गठनहरूले जुन्टा प्रशासनको हस्तक्षेपबाट क्षेत्रीयरूपमा क्षति बेहोरेका छन्।

विश्लेषकहरूका अनुसार चीन र रुसको सैन्य समर्थनले उसलाई हारबाट जोगाइराखेको छ, तर देशको ठूलो क्षेत्र जुन्ताद्वारा आयोजित कुनै पनि लोकतान्त्रिक अभ्यासको पहुँचभन्दा बाहिर हुनेछ।

निर्वाचनको तयारीका लागि गत वर्ष गरिएको जुन्टा जनगणनाले देशको पाँच करोड १० लाख जनसङ्ख्यामध्ये एक करोड ९० लाखको तथ्याङ्क सङ्कलन गर्न नसकेको स्वीकार गरेको थियो ।

‘हामी अहिले चुनावलाई सकेसम्म निष्पक्ष र व्यापकरूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिरहेका छौं,’ म्यान्मारको ग्लोबल न्यू लाइट सम्मेलनमा आफ्नो लिखित भाषणमा जुन्टा प्रमुख मिन आङ ह्लाइङले भने ।
उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा, निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।’

एकैदिन इरानबाट ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केका स्थानीय अधिकारीले बताएका छन् ।

सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरुलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जानकारी दिए ।

अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुईवटा प्रमुख सीमाहरु खुल्ला गरेको छ, हालसालै दुवै सिमाहरूबाट फर्कने शरणार्थीहरूको सङ्ख्या तीव्र भएको जनाइएको छ ।

अनुमानित दुई–तीन हजार व्यक्ति र करिव ३०० परिवारहरू निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताए ।

करिब ७० लाख अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजात विहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन्, जसमध्ये सबैभन्दा बढी इरान र पाकिस्तानमा रहेका छन् ।

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ: मन्त्री पाण्डे

भक्तपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्ने बताएका छन् ।

बिहीबार भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उनले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्‍याउनुपर्ने धारणा राखे ।

मन्त्री पाण्डेले भक्तपरबाट सुरु भएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी एवम् युवा वर्गलाई योगमा केन्द्रित गराउनुपर्ने बताए ।

उनले भने,’नेपालको युवा शक्तिलाई योगमा ल्याउनु आवश्यक छ । अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्नेछन् । योगको ज्ञान र ध्यानले पहिलो परिवार, समाज, देश र विश्वमै शान्ति स्थापना गर्न सकिन्छ । यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले प्रत्येक व्यक्तिलाई योग आवश्यक छ । यो अभियान अब नेपालबाट सुरु हुन्छ ।’

भौतिक र अभौतिक सन्तुलन स्थापित गरेर योग साधनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मानव सभ्यतालाई उचित मार्गमा लैजान योगलाई फैलाउनु आवश्यक रहेको बताए । धार्मिक ज्ञान र विज्ञानबीचको सन्तुलनलाई मन र शरीरसँग जोडेर लानसके सम्मुनत समाजको निर्माण हुने उनको धारणा छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले योगलाई विद्यालय केन्द्रित बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए ।

आज अपराह्न ५ बजेसम्म सञ्चालन हुने शिक्षकका लागि योग प्रशिक्षणमा जिल्लाभरिका ६० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको योग जिल्ला समन्वय समिति एवं कार्यक्रम संयोजक नवराज काफ्लेले जानकारी दिए ।

योग प्रशिक्षणमा सामुदायिक सबै विद्यालयलाई कार्यक्रममा नसमेटिएको, शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरले विद्यालयमा विभेद गरेको, संस्थागत विद्यालयका छाता संगठन एवम् विद्यालयलाई सहभागिता नगराइएको, बजेटको दुरुपयोग गरेकोलगायत कारण देखाउँदै संस्थागत विद्यालयका सञ्चालकले असन्तुष्ट व्यक्त गरेका थिए ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध सुनुवाइ समितिमा सात उजुरी दर्ता

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन् ।

समितिको बिहीबार बसेको बैठकमा सभापति ईश्वरी न्यौपानेले प्रस्तावित न्यायाधीशहरूविरुद्ध सात वटा उजुरी परेका जानकरी दिएकी हुन् । उनकाअनुसार समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका छन् ।

समितिले उजुरीकर्तालाई शुक्रबार बिहान साढे ११ बजे बस्ने समितिको बैठकमा आमन्त्रण गर्ने निर्णय बैठकले गरेको छ ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायपरिषद्को बैठकले सर्वोच्चको अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । समितिले आगामी आइतबार प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने निर्णय गरेको छ ।

मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरूलाई नाम दर्ता गराउन आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गरी आयोगले निर्वाचनको मिति घोषणा भइसकेपछि दर्ता गराउन मिल्ने प्रावधान नभएकाले समयमै नामावली दर्ता गराउन आग्रह गरेको हो । २०७९ सालमा सम्पन्न निर्वाचनपछि विभिन्न कारणले रिक्त पदमा अयोगले छिट्टै नै उपनिर्वाचनको मिति घोषणा गर्दै छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीले रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल गरेका थिए ।

प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको थियो । त्यस्तै, स्थानीय तहका केही वडाध्यक्षको पद पनि रिक्त छ ।

लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने सरकारको तयारी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्रीले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका हुन् ।

मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भीरतापूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरे ।

उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको भन्दै सबैभन्दा पहिला लागुऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक रहेको बताए ।

देशभरका कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषध दुव्र्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको पनि उनले बताए ।

इरानबाट थप तीन नेपालीको उद्धार

काठमाडौँ । इरानबाट थप तीन नेपालीको उद्धार गरिएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार इरानको मसादबाट बिहीबार बिहान थप तीन जना नेपाली दिल्ली आइपुगेका हुन् ।

उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दूतावासले जानकारी दिएको छ ।

यसअघि भारत सरकारले इरानबाट बुधबार ४ नेपालीको उद्धार गरेको थियो । त्यस्तै मंगलबार दुई नेपालीको उद्धार गरिएको थियो । योसँगै इरानबाट ९ जना नेपालीको उद्धार गरिएको छ ।

‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

काठमाडौँ । सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । खाद्य सुरक्षाको लागि धानको उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको हो ।

कृषि विभागले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा यही असार १५ गते जलवायु अनुकूलित प्रविधिको अनुसन्धान तथा धानको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

खुमलटारमा रोपाइँ, कृषकलाई सम्मान, रैथाने बालीको संरक्षण, प्रविधिको प्रचारप्रसार, जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि विज्ञसँग अन्तरक्रिया  कार्यक्रमको तयारी गरेको हो ।

विभागका महानिर्देशक प्रकाश सञ्जेलले कृषक र अन्य सम्बद्ध पक्षलाई धान उत्पादन एवं उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउने योजना रहेको जानकारी दिए ।

मुलुकको आर्थिक विकास, समाजिक, सांस्कृतिक र धार्मिक परम्परामा समेत प्रयोग गरिने धान प्रमुख खाद्यान्न बाली हो । औसत नेपालीको जीवन निर्वाह गर्ने अन्नका रूपमा लिइन्छ ।

महानिर्देशक सञ्जेलले धानको विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६१ असार १५ देखि प्रत्येक वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिँदै आएको बताए ।

आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएकामा आव २०८१/८२ मा धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन भएको थियो ।

आव २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएकामा आव २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो ।

धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कूल उत्पादन बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । रासायनिक मल, उन्नत जातको बीउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जनाइएको छ ।