`

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्टार्टअप कर्जा लगानीमा मनपरी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्टार्टअप कर्जा लगानीमा व्यापक अनियमितता भएको गुनासो बढेको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ता र छनोट समितिका संयोजक मणिराम गौतमको मिलेमतोमा स्टार्टअप कर्जामा प्राप्त गर्ने संस्थाहरुको छनोटमै धाँधली गरिएको आरोप छ ।

चालु आर्थिक वर्ष ८१–०८२ का लागि स्टार्टअप कर्जा शीर्षकमा १ अर्ब बिनियोजन गरिएको थियो । नेपाल सरकारको उक्त बजेट युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले प्रतिष्ठानमार्फत् स्टार्टअप कर्जाका नाममा बितरण भएको हो । करिब ४ हजार आवेदकमध्ये सर्टलिष्टमा १ हजार ३ सय संस्था छनोट गरियो । तीमध्ये ६ सय आवेदकलाई कर्जा प्राप्त गर्ने सूचीमा समावेश गरेका गुप्ताले २ सय भन्दा बढी आवेदकसँग मोटो रकम लिएर छनोट गरेको आरोप लागेको छ ।

कुनै क्षेत्रका आवेदकको ग्रुप बनाएर सामूहिक रुपमा रकम असुलेका गुप्ताले दर्जनौं बिचौलिया प्रयोग गरेको स्रोत बताउँछ । आवेदकहरुलाई नै बिचौलियाका रुपमा प्रयोग गरेका गुप्ताले प्रतिसंस्था एक देखि दुई लाखसम्म घुस असुली गरेको आरोप छ ।

छनोटका नाममा मोलमोलाई गर्नका लागि महिनौं लगाएका गुप्ताले उद्योग मन्त्री दामोदर भण्डारी, सचिव कृष्णबहादुर राउत, मन्त्रालयका उच्च अधिकारीले दिएको सूचीलाई समेत च्यातेर लाभ लिएका आवेदकलाई छनोट गरेको आरोप छ ।

मन्त्री भण्डारीले सर्टलिष्टमा परेका १ हजार ३ सय आवेदकलाई कार्यविधि अनुसार रकम दिन र बजेट अपुग भए अर्थ मन्त्रालयलाई थप्नका लागि अनुरोध गर्न सकिने बताएका थिए । कार्यविधिमा ५० प्रतिशत भन्दा बढी अंक ल्याउनेलाई कर्जा दिने प्रावधान छ । तर उनले कसले कति अंक ल्यायो भन्ने कुरा नै सार्वजनिक गरेका छैनन् । तर गुप्ताले मन्त्रीको उक्त निर्देशन लत्याउँदै रातारात अन्तिम सूची प्रकाशन गरेका छन् । सूची प्रकाशित गरेपछि गुप्ता भने मन्त्री भण्डारीको सम्पर्कमा छैनन् ।

सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन् ।

उनले पारदर्शिता र पारदर्शितामार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको बताए ।

राष्ट्रिय सूचना आयोगले मंगलबार आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्रियामा उनले संविधानमा सूचनाको हकलाई मौलिक हकका रुपमा राखिएको बताए ।

‘सूचना दिने हाम्रो कर्तव्य हो, सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो, सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन’, उनले भने, ‘कतिपय सूचना गोपनीयतासँग जोडिएका हुन्छन्, ती सूचना दिन जरुरी हुदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन्, वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धसँग जोडिएका हुन्छन्, अब ती सूचना पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिइ छाड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन ।’

उनले मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने बताए ।

‘संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ, सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु’, मन्त्री लेखकले भने, ‘गोपनीयतासँग जोडिएका सूचना दिन जरुरी हुँदैन, सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनुपर्छ ।’

कास्की केन्द्र भएर भूकम्पको धक्का

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का कास्कीसहित गण्डकी प्रदेशका तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा पनि महसुस गरिएको थियो ।

मन्त्रिपरिषद् बैठक बोलाइयो, गभर्नर नियुक्तिको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार दिउँसो छलफल भएपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सोमबार बोलाइएको मन्त्रिपरिषद बैठक अन्तिम समयमा स्थगित भएको थियो ।

आजको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति गर्ने सम्भावना छ । चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएपनि अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन । अहिले गभर्नरका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलको नाम अघि सारिएको छ ।

भूमिसम्बन्धी विधेयकका व्यवस्थाले उर्वर कृषि भूमिलाई प्लटिङ गर्ने प्रवृत्ति बढ्छः अध्यक्ष केसी

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही व्यवस्थाहरुले भूमिहीन र सुकुम्वासीका नाममा सरकारी तथा सार्वजनिक जमिन भूमाफिया र बिचौलियाको हातमा पुग्नसक्नेमा सांसदहरुले आशङ्का व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।
विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले जमिनको खण्डीकरण र जथाभावी वितरण मौलाउन सक्ने धारणा राखेका छन् ।

सांसद अशोक चौधरीले भूमिहीन तथा सुकुम्वासीलाई व्यवस्थापन गर्नका लागि यो विधेयक ल्याइएको भनिए पनि विधेयकमा प्रस्तावित विषयहरुले नेपालको आर्थिक सामाजिक अवस्थालाई सम्बोधन गर्न नसक्ने दाबी गरे ।

त्यसैगरी, भूमिहीन तथा सुकुम्वासीका नाममा सामुदायिक वन, सार्वजनिक जमिन तथा संरक्षित क्षेत्रमा समेत अतिक्रमण हुने विगतको खराब अभ्यासलाई रोक्ने प्रत्याभूति कानुनमार्फत गर्न सक्नुपर्ने उनको भनाइ छ ।

सांसद रोशन कार्कीले भूमिसम्बन्धी विधयेकमा राखिएका केही व्यवस्थाहरुले सरकारको नियतमाथि शङ्का गर्ने प्रशस्त ठाउँ रहेको बताइन् । सुकुम्वासीका नाममा कार्यकर्तालाई जग्गा बाँड्ने गरेको विगतको कार्यशैली र हदबन्दीभन्दा बढीको जग्गालाई आवासीय तथा व्यावसायिक प्रयोजनका लागि बेचबिखन गर्ने भन्ने विधेयकको व्यवस्थाले शङ्का उब्जाएको उनको भनाइ छ ।

सांसद विमला सुवेदीले भूमिसम्बन्धी विधेयकलाई सरकारले अध्यादेशमार्फत ल्याउन खोजेको तर विरोध भएपछि त्यसलाई फिर्ता गरेको स्मरण गर्दै अहिले फेरि सरकारले बिचौलियाका स्वार्थमा रहेर यो विधेयक ल्याएको आरोप लगाइन् । विधेयकमा भएका व्यवस्थाले घरजग्गा व्यवसायका नाममा कृषियोग्य जमिनको खण्डीकरणलाई प्रशय दिने र सार्वजनिक जग्गा हडप्ने नियत देखिएको सांसद सुवेदीको भनाइ छ ।

सांसद चित्रबहादुर केसीले विधेयकमा राखिएको भूमि बैङ्कको अवधारणाले किसानलाई स्वतन्त्र कृषि गर्ने अधिकार खोस्ने सम्भावना देखिएको बताए । विधेयकका व्यवस्थाले उर्वर कृषि भूमिलाई प्लटिङ गर्ने प्रवृत्ति बढ्ने हो कि भन्ने उनले चिन्ता व्यक्त गरे।

सांसद शेरबहादुर कुँवरले सबै दलहरुले भूमिहीन, सुकुम्वासीलाई जग्गा दिने भनेर निर्वाचनका बेला जनतालाई आश्वासन दिने गरेको भए पनि त्यसको प्रत्याभूति भने गर्न नसकेको बताए । सबैको सल्लाहमा विधेयक आउनुपर्नेमा यसअघि अध्यादेशबाट ल्याउन खोज्दा शङ्का बढेको उल्लेख गर्दै उनले आशङ्काकै बीच अध्यादेशमा राखिएका कुनै पनि व्यवस्था संशोधन नगरीकन फेरि विधेयक ल्याइएको बताए । त्यसैगरी, कुनै पनि नेपाली नागरिक जग्गाविहीन हुन नपर्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

सांसद अब्दुल खानले भूमि नपाएर धेरै नागरिक समस्यामा रहेको उल्लेख गर्दै अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि यो विधेयक महत्वपूर्ण हुने बताए ।

गरिब निमुखालाई जमिनको व्यवस्था गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै उनले संविधानको भावना र मर्मअनुरुप अघि बढाइनुपर्नेमा जोड दिए । तराईबाट पहाडमा बस्ती सारेर तराईका कृषियोग्य जमिनमा खेती गरिनुपर्ने नीति ल्याइनुपर्ने पनि उनको सुझाव छ । पहाडमा एकीकृत बस्ती बसाउने र तराईमा व्यावसायिकखेती गर्न आवश्यक भएको उनले बताए ।

सांसद वासुदेव घिमिरेले निर्वाचनका क्रममा अव्यवस्थित बसोबासी र भूमिहीनलाई जग्गा उपलब्ध गराउने भनेर आश्वासन दिने गरेकामा हालसम्म पनि यो समस्या समाधान हुन नसकेको बताए । यो कानुन चाँडो बनाएर भूमिहीन तथा सुकुम्वासीका समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए । सार्वजनिक क्षेत्र, वन, निकुञ्ज अतिक्रमण बढ्छ भनेर अफवाह फैलाइएको आरोप उनको छ ।

त्यस्तै, सांसद मैना कार्कीले संविधानले नै हरेक नागरिकलाई आवासको हक हुने व्यवस्था रहेकाले त्यसको कार्यान्वयनका लागि पनि भूमिसम्बन्धी नयाँ कानुन आवश्यक रहेको बताइन् । सांसद ठाकुर गैरेले हरेक नागरिकको भूमि र आवाससम्बन्धी हकको प्रत्याभूति तथा जमिनको सुरक्षा, भोगचलन र मुलुकको समृद्धिका लागि भूमिको प्रयोगलाई थप व्यवस्थित बनाउन यो विधेयक महत्वपूर्ण रहेको बताए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसद किरणकुमार साहले भूमि उत्पादनको साधन मात्र नभई जीवनयापन र सामाजिक सुरक्षासँग पनि जोडिएको बताए । यो विधेयकले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई कानुनी मान्यता दिने प्रयास गरिएको बताए।

संवैधानिक व्यवस्थाबमोजिम मौलिक हक, राज्यको निर्देशक सिद्धान्त, राज्यका नीतिहरूको कार्यान्वयनका लागि दलित, भूमिहीनलाई जग्गा उपलब्ध गराउनका साथै राज्यमा रहेका अव्यवस्थित बसोबासीलाई कानुनद्वारा नै व्यवस्थित गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई निजहरूले बसोबास तथा आवाद कमोत गरेको स्थानमा नै व्यवस्था गर्न, जमिनको खण्डीकरणलाई निरुत्साहित गर्न र व्यवस्थित बसोबासलाई प्रोत्साहित गर्नका लागि कानुनी प्रबन्ध गर्न यो विधेयक ल्याइएको सरकारको दाबी छ ।

त्यसैगरी, घरजग्गा व्यवसायीले सरकारको अनुमति लिई खरिद गरेका जग्गा बिक्री गर्न सहजीकरण गर्न साथै सरकारका नाममा रहेका जग्गालाई व्यवस्थित गर्न नियमनको आवश्यकता रहेका कारण पनि नयाँ भूमि ऐन आवश्यक रहेको जनाइएको छ ।

घरजग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले तोकिएको हदभित्रको जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न पाउने कानुनी व्यवस्था मिलाउनका लागि कानुन प्रबन्ध गर्नका लागि पनि यो विधेयक अति आवश्यक रहेको जनाइएको छ ।

घरजग्गा व्यवसाय गर्न अनुमति लिएका कम्पनीलाई त्यस्तो व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्न तथा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धमा कानुनी व्यवस्थालाई समयानुकूल बनाउन यो विधेयक ल्याउन आवश्यक रहेको सरकारको भनाइ छ ।

 

सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार गरियोः सांसद थापा

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै आपत्ति जनाए । उनले यस्तो बहस कुनै पनि बहानामा उचित र सही नहुने बताए ।

उनले सांसद विकास कोष सांसदहरूलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार रहेको बताए । उनले भने, ‘यसबाट व्यवस्था विरोधी,अस्थिरता र अराजकतावादीहरू हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र आम मतदाता थप असन्तुष्ट र निराश हुनेछन् ।’

सांसद थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी अटुट र अन्योन्याश्रित जोड्नु अनिवार्य रहेको बताए ।

उनले भने, ‘सांसदहरूलाई कोष होइन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध किन बकवास गरिन्छ ? बजेटमा छलफल, बहस र पारित गर्ने संवैधानिक कानुनी अधिकार नै हो । ’

‘मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा जाने, तर हुम्लाका जनताको दुःखमा चाहिँ किन प्रयोग नहुने ?’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीलाई राज्यले अन्याय मात्र नभइ अपराध गरेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बाढी आएको यत्रो दिनसम्म पनि सरकारको उपस्थिति नभएको भन्दै आक्रोश पोखेका हुन् ।

उनले हुम्लामा गएको लेदोसहितको पहिराका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गरे ।

‘पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन । मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन ? कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस् । सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो कि, कानमा ढुसी पर्यो, कि हेलिकप्टरमा खिया लाग्यो ?’

उनले सरकारले कर्णालीलाई अलग बनाउँछ भने राज्य व्यवस्थाबिना कर्णाली चलाएर देखाउने चेतावनी दिए । उनले यस विषयमा सभामुखलाई रुलिङ गर्न माग गरे ।

नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करबाट हात्तीको मृत्यु

कोलम्बो । श्रीलङ्काको एक्सप्रेस ट्रेनमा ठोक्किएर मङ्गलबार एउटा हात्ती मरेको छ र रेल लिकबाट बाहिर गएको छ ।

यही मार्गमा तीन महिनाअघि देशको सबैभन्दा खराब वन्यजन्तु रेल दुर्घटनापछि लागू गरिएका सुरक्षा उपायहरूका बावजुद यस्तो दुर्घटना भएको हो ।

हबारना नजिकै रेलको लिक पार गर्दै गरेको एक जवान जङ्गली हात्तीलाई फेब्रुअरी २० को दुर्घटनामा संलग्न उही रेलले ठक्कर दिएको स्थानीय अधिकारीहरूले बताए । फेब्रुअरी २० को दुर्घटनामा सात हात्ती मारिएका थिए ।

त्यो दुर्घटनापछि अधिकारीहरूले हात्तीको बासस्थान भएर जाने रेलहरूमा गति सीमा लागू गरेका थिए ।
राजधानी कोलम्बोबाट सडकमार्फत् लगभग एक सय ८० किलोमिटर पूर्वमा भएको दुर्घटनामा कुनै पनि यात्रु घाइते भएनन् ।

रेलवे अधिकारीहरूले अनुसन्धान भइरहेको र इन्जिनियरहरूले बिहानको दुर्घटनापछि कोलम्बो–बाट्टिकालोआ रेललाई लिकमा फर्काउने प्रयास गरिरहेको बताएका छन् ।

अधिकारीहरूले यसअघि उनीहरूलाई हात्तीलाई हिर्काउनबाट बच्न थप समय दिन रेलको समयतालिकामा परिवर्तन र चालकहरूको दृश्यता सुधार गर्न लिकको दुवै छेउबाट झाडीहरू सफा गर्ने प्रयासको घोषणा गरेका थिए ।

अधिकारीहरूले यस्तो तथ्याङ्क सङ्कलन गर्न थालेपछि पछिल्लो १७ वर्षमा रेलबाट एक सय ३९ वटा हात्ती मारिएको वन्यजन्तु अधिकारीहरूले बताएका छन् ।

टापुमा बढ्दो मानव–हात्ती द्वन्द्वका कारण विगत एक दशकमा एक हजार एक सय ९५ मानिस र तीन हजार चार सय ८४ हात्ती मारिएको पनि सरकारले घोषणा गरेको छ ।

अनुमानित सात हजार जङ्गली हात्ती रहेको श्रीलङ्कामा हात्तीहरूलाई मार्नु वा हानि पुर्याउनु अपराध हो । आंशिक रूपमा बौद्ध संस्कृतिमा तिनीहरूको महत्त्वका कारण हात्तीलाई राष्ट्रिय सम्पत्ति मानिन्छ ।

तथापि निराश किसानहरूले हात्तीहरूले उनीहरूको बालीमा आक्रमण गरेर जीविकोपार्जन नष्ट गर्दै सङ्घर्ष गर्दा हत्या जारी छ ।

धेरै हात्ती विद्युतीय झट्काबाट, गोली लागेर वा विष दिएर मारिएका छन् । कहिलेकाहीँ विस्फोटक भरिएका फलहरूको प्रयोग जनावरहरूलाई अपाङ्ग बनाउन गरिन्छ, जसले प्रायः प्रायः पीडादायी मृत्यु हुन्छ ।

युक्रेनसहित प्रमुख भन्सार शुल्कसम्बन्धी चिन्ताका साथ जी–७ वित्त नेताहरूको भेला

बान्फ (क्यानाडा)। जी–७ राष्ट्रका शीर्ष वित्त नेताहरू मङ्गलबारदेखि क्यानाडामा भेला हुँदैछन् । भेलामा उन्नत अर्थतन्त्रहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्कको परिणामसँग जुझिरहेका बेला युक्रेनमा युद्धसहित चिन्ताहरू अग्रभागमा छन् ।

बिहीबारसम्म चल्ने वार्तामा नेताहरूले विश्व आर्थिक स्थितिबारे छलफल गर्ने तयारी गरेका छन् । सहभागीहरूले युक्रेनमा साझा स्थिति खोज्दैछन् भने बजार–विरोधी अभ्यासहरू जस्ता विषयहरू पनि कार्यसूचीमा छन् ।

युक्रेनी वित्तमन्त्री सर्गी मार्चेन्को पनि क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा समूह सातका वित्तमन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूको बैठकमा उपस्थित हुनेछन् ।

सन् २०२२ मा रुसले आक्रमण गरेपछि ट्रम्प यस वर्ष राष्ट्रपतिमा फर्केपछि युक्रेनमा युद्धतर्फ जी–७ प्रजातन्त्रहरू बीचको अनिश्चित दृष्टिकोणका बीचमा यो वार्ता आएको हो ।

एक पटक व्यापक रूपमा एकीकृत जी–७– बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका–ट्रम्पद्वारा तरङ्गित भएको छ । ट्रम्पले रुससँग हात बढाएका छन् भने सहयोगी र प्रतिस्पर्धी दुवैलाई भन्सार शुल्क लगाएका छन् ।

ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रुस र युक्रेनले शान्ति वार्ता सुरु गर्ने बताएका छन् ।

अल्बर्टाको बान्फमा भएको जी–७ बैठकमा अमेरिकी सहभागिताका बारेमा जानकारी दिइएका एक स्रोतले वासिङ्टन ‘केवल विज्ञप्ति जारी गर्नका लागि विज्ञप्ति गर्न इच्छुक छैन’ भनेका छन् । स्रोतका अनुसार सर्वसम्मति ट्रम्प प्रशासनका प्राथमिकताहरूसँग मेल खानुपर्नेछ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पहिले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रण गरेका थिए र युक्रेनका मार्चेन्कोले मङ्गलबार मिडियाका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ ।

अमेरिकी वित्त मन्त्रालयलका प्रवक्ताले वित्तमन्त्री स्कट बेसेन्टले समूहलाई ‘मूल कुरामा फर्काउन र जी–७ र गैर जी–७ देशहरू दुवैमा असन्तुलन र बजार–विरोधी अभ्यासहरू सम्बोधन गर्नमा केन्द्रित’ गर्न खोज्ने बताएका छन् ।

अमेरिकी सहभागिताबारे जानकारी दिइएको स्रोतले भनेको छ, ‘जी–७ को दृष्टिकोणबाट यो अस्वीकार्य थियो कि देशहरूले चीनको अतिरिक्त औद्योगिक क्षमतालाई उनीहरूको घरेलु क्षेत्रहरूमा भित्रिन दिनेछन्, यो पनि कार्यसूचीमा हुनेछ’ ।

समूहले व्यापार, सुरक्षा र जलवायु परिवर्तन जस्ता मुद्दाहरूको नीति र समाधानहरू छलफल गर्दा विश्लेषकहरूले नेताहरूले आन्तरिक तनावको सामना गर्दा अनिश्चितताको चेतावनी दिन्छन्।

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ ।

थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । योसँगै थाइल्यान्ड अपराजित रहँदै उपाधि जित्दा नेपाल उपविजेतामा सीमित भयो । नेपालकी कविता कुँवरले सबैभन्दा धेरै २४ रन बनाइन् ।

थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन् । यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो ।

नेपाल र थाइल्यान्ड यसअघि नै एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा पुगिसकेका छन् ।

‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’

काठमाडौँ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताएका छन् ।

अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले पार्टीलाई जनतासँग जोड्ने अभियान चलाएको बताए ।

माओवादीले अघि सारेका विकास निर्माणका परियोजनाको अवस्थाको अनुगमन पनि अभियानको अर्को उद्देश्य भएको जानकारी उनले दिएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो । जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेका, गाउँगाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजनाको काम अझै रोकिएको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो ।

अध्यक्ष दाहालले जनताका सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए । जाजरकोट भूकम्पबाट प्रभावित भएकालाई यथोचित राहत सहयोग उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गरे ।

साथै उनले सङ्घीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै सङ्घीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मध्यान्ह भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता हुने तय भएपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण भेट भएको थिएन । आजको भेट गभर्नर नियुक्तिमा केन्द्रित रहेको बताइएको छ ।

ग्यास सिलिन्डर साट्दा अतिरिक्त मूल्य तिर्नुपर्ने व्यवस्था हटाउन सांसद कोइरालाको माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरूले नागरिकका जनजीविका, पूर्वाधार निर्माण, उपभोक्ता बजारका समस्या, प्राकृतिक विपद्लगायत विषयहरू उठाएका छन् ।

मंगलबारको बैठकमा सांसद रमा कोइराला पौड्यालले बजारमा खाना पकाउने ग्यासका सिलिन्डर धेरै कम्पनीको रहेको र कुनै सिलिन्डर अभाव हुँदा अर्को साट्न समस्या हुने गरेको विषय संसद्मा उठाइन् ।

कुनै एक कम्पनीको ग्यास सिलिन्डर साटेर अर्को कम्पनीको लिँदा ५०० देखि एक हजार रुपैयाँसम्म अतिरिक्त तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । यस विषयमा सम्बन्धित निकायबाट अनुगमन गर्न सांसद कोइरालाले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद अमनलाल मोदीले हुलाकी सडकको निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण नागरिकले दुःख पाइरहेको बताए । संसद्मा आवाज उठाउँदा पनि हुलाकी सडक निर्माणमा तदारूकता देखिन नसकेको उनले उल्लेख गरे ।

अर्का सांसद छिरिङडम्डुल लामाले हुम्ला जिल्लामा हिमताल फुटेर बस्ती जोखिममा रहेको भन्दै लेदोसहितको पहिरोले लिमी तिल गाउँ जोखिममा परेको बताए । जोखिममा रहेका बस्तीमा उद्धारका लागि कुनै पनि निकायबाट पहल हुन नसकेको उनले उल्लेख गरे ।

मिटरब्याज पीडितलाई न्याय कहिले ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकारलाई आग्रह गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नियत ठिक नभएको भन्दै माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘श्रीमान गौरीबहादुर कार्कीले दिएका सुझाव र श्रीमान तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत गरेर कार्यान्वयन गर्ने हो भने ८० प्रतिशत समस्या त्यहीँ समाधान हुन्छ । पीडितले कतिञ्जेल आन्दोलन गरिरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नियत के हो ?’

उनले आफ्ना पार्टीको साहुमहाजन जोगााउन पीडितमाथि राजनीति नगर्न आग्रह गरेकी छन् । उनले भनिन्, ‘हिजो भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भनेजस्तो काम गर्ननसक्ने बताएका छन् । यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो । अहिले कामचलाऊ प्रतिवेदन लेख्न अर्को आयोग गठन भयो । पीडितले भेट्न जाँदा सिँहदरबार प्रवेशमा निषेध छ । मिटरब्याज पीडितको समस्या यसरी समाधान हुँदैन । आफ्नो पार्टीको साहुमहाजन जोगााउन पीडित माथि राजनीति नगरौँ । मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूका कति कति भाग छ ? नत्र किन पीडितको आन्दोलनदेखि डराउने तर तिनको पक्षमा काम गर्न नसक्ने ?’

तीन दिने भ्रमणका लागि युरोपेली सङ्घको कूटनीतिक टोली काठमाडौंमा

काठमाडौँ । युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका साथै जलवायु परिवर्तनका प्रभाव र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासबारे जानकारी दिने उद्देश्यले काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका २१ राजदूत र प्रतिनिधिलाई यहाँ भेला गराएको छ ।

तीनदिने भ्रमणमा रहेको इयुको टोलीमा काठमाडौंस्थित इयुका आवासीय राजदूत एवं प्रतिनिधि सहभागी हुने प्रतिनिधिमण्डलले जनाएको छ ।

इयुको कूटनीतिक टोलीलाई भ्रमणका माध्यमबाट नेपालको विकासका प्राथमिकता बुझ्ने र सहयोगका क्षेत्रहरू पहिल्याउन मद्दत पुग्ने प्रतिनिधिमण्डलले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँ रहँदा टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरी नेपालको आन्तरिक तथा विदेशी नीतिका विषयमा छलफल गर्नाका साथै नागरिक समाज निजी र सञ्चार क्षेत्रका प्रतिनिधिहरूसँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।

नेपाल विद्युत प्राधिकरणमा पुगेर यसका गतिविधिबारे जानकारी लिने तथा पाटन र भक्तपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने जनाइएको छ ।

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं । नेपाली  बजारमा तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मगलबार एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी  एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एकतोला चाँदी  एक हजार ९४५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या भएपछि प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली अस्वस्थ भएकाले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रोकिने बताए । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम तय भएको थियो ।

थाइल्यान्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि १५९ रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउदै १५८ रनको योगफल बनायो ।

थाइल्याण्डका लागि नान्नापात कोन्चारोएनकाइले २८ बलमा आठ चौकाको मद्दतमा ५० रन बनाइन । नटाया बुचथमले ४२ बलमा पाँच चौकाको मद्दतमा ५० रन नै बनाइन । उसका लागि अपिसारा सुवान्चोराथीले २९ रन जोड्दा नथ्थकन चन्थमले १५ रन बनाइन ।

नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

महिलाको प्रत्यक्ष निर्वाचनको निम्ति छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्छः सांसद पुडासैनी

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ विष्णुदेवी पुडासैनीले राजनीतिक सहमति र सहकार्यमा संविधान निर्माणमा भएजस्तै कार्यान्वयनमा पनि एकजुट हुन राजनीतिक दललाई आग्रह गरेकी छन् ।

कांग्रेस महासमिति सदस्य तथा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला अध्यक्षसमेत रहेकी राष्ट्रियसभा सदस्य पुडासैनीले महिला–महिलाबीच मात्र प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्र छुट्याइनुपर्ने व्यवस्थाका लागि माग पनि गरिन् ।

सांसद पुडासैनीसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश:

संविधान निर्माणमा जति उत्साह थियो, कार्यान्वयनमा भने त्यो नभएको हो कि भन्ने लागेको छ । संविधान बनाउँदा जस्तै कार्यान्वयनमा पनि एकजुट हुन जरुरी छ । संविधान निर्माण भएको १० वर्ष पूरा हुन लागेको छ, यसबीचमा भएका कयौँ अभ्यासले संशोधन पनि अतिआवश्यक भएको छ । संसद्मा भएका सबै दलको सहमतिका आधारमा संशोधन गर्नुपर्छ । जनता र देशहितका पक्षमा संशोधन हुनुपर्छ । तर हामी कताकता अलमलिएको जस्तो लागेको छ । निर्वाचन खर्चिलो भएकाले निर्वाचनका विषयमा पनि संविधान संशोधन गर्नुपर्ने छ । संविधानको मर्म र भावनाअनुरुप संसद्मा महिलाको सहभागिता बढाउन पर्ने छभने सरकारमा पनि सहभागिता कमजोर छ । न्यायालयमा पनि महिला सहभागिता कमजोर नै छ ।

निजामती क्षेत्रमा पनि जति महिलाको सहभागिता हुनुपर्ने हो, त्यति हुनसकेको छैन । मैले अहिलेदेखि होइन, धेरै पहिलादेखि नै सबै राजनीतिक पार्टीले महिला–महिलाबीच प्रतिस्र्धा हुनेगरी निर्वाचन क्षेत्र दिनुपर्छ भन्दै आएको छु । महिलाको लागि समानुपातिक होइन, प्रत्यक्ष निर्वाचनको निम्ति छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्छ । यसो गर्दा जुन पार्टीले जिते पनि महिलाले जित्छ । तर अहिले महिलाले पुरुषसँग प्रतिस्पर्धा गरेर चुनाव जित्न गाह्रो छ । यसै पनि महिला आर्थिक रूपमा कमजोर छन् अनि निर्वाचन प्रचारप्रसार आफैँमा महँगो बन्दै गएको छ ।

त्यसैगरी, महिला हिंसाको अन्त्य गर्ने विषयमा हाम्रो कानुन कार्यान्वयन नै फितलो छ । महिलामाथि हुने हिंसाका विषयमा पनि कानुन कमजोर छ । अलि कडा कानुन बनाएर कार्यान्वयन गरेको खण्डमा महिला हिंसा केही हदसम्म कम हन्छ कि भन्ने मेरो विश्वास छ । कानुन कार्यान्वयन कमजोर हुँदा थोरै सजाय हुने व्यवस्था छ । अर्को कुरा, महिलामा सचेतनाका कार्यक्रम भएको छैन कि जस्तो लागेको छ । यो कार्यक्रम वडादेखि नै सुरु हुनुपर्छ । महिलाको आत्मसुरक्षासम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्न जरुरी छ । महिलालाई आर्थिक रूपमा पनि बलियो बनाउनुपर्छ । आर्थिक रूपमा महिला समक्ष भएपछि मात्र अरु कुरामा समानता हुन्छ । सरकारले महिलाका निम्ति आत्मनिर्भर हुने कार्यक्रम ल्याउनुपर्छ । महिलाका विषयलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्छ । आम्दानीको स्रोत कम हुँदा आफ्ना दाजुभाइ वा श्रीमानसँग निर्भर हुनुपर्ने अवस्था उनीहरूको छ ।

देशमा राजनीतिक परिवर्तन भयो । नयाँ संविधान पनि आयो । तर जनताको अवस्था अझै राम्रोसँग परिवर्तन हुनसकेको छैन । व्यवस्थाअनुसार जनताले सुविधा पाउन सकेका छैनन् । हामीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनेका छौँ । तर अधिकार जति सबै सिंहदरबारमा केन्द्रित छ । गाउँका समस्या अझै सुल्झिएको छैन । जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि पनि सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । त्यसका लागि प्रमुख शक्ति राजनीतिक दलहरू मिल्नुपर्ने देखिन्छ । यसका लागि शीर्षनेताको भूमिका महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ ।

युवाको सवालमा सरकारले पढ्दै कमाउँदै भन्ने नीति तथा कार्यक्रम ल्याएको छ । तर उनीहरूलाई व्यावहारिक रूपमै काम गर्ने वातावरण दिनुपर्छ । नीति तथा कार्यक्रममा भनेर मात्र हुँदैन । यो कुरा यसअघिका सरकारले पनि भन्दै आएका हुन् । खै त कार्यान्वयन भएको । त्यसैले सरकारको नीति तथा कार्यक्रम, बजेट वा राजनीतिक दलको भाषणभन्दा पनि व्यावहारिक पाटो महत्त्वपूर्ण हो । अब जनता आफैँ सचेत भएका छन् । नेताले गफ लगाएको जनताले राम्रोसँग बुझ्ने भएका छन् । अब एकछिन भाषण गरेर जनतालाई झुक्याउन सकिँदैन ।

हाम्रा खेतबारी बाँझा छन् । हामीले हरेक सामान विदेशबाट आयात गरिरहेका छौँ । युवालाई कृषिमा रुचि हुने खालको कार्यक्रम सरकारले ल्याउनुपर्छ । राजनीतिज्ञको मूल स्रोत भनेका नै जनता हुन् । जनताले नेताले गरेका काम राम्रा वा नराम्रा भन्न सक्नुपर्छ । सही नेतृत्व जनताले आफैँले चुन्न सक्नुपर्छ । आफू निर्वाचित प्रदेश र स्थानीय तहमा गएर आफ्ना मतदाताका समस्यालाई समाधान गर्ने भन्ने राष्ट्रियसभाको योजना नै छ । अब हामी छिट्टै त्यो काम गर्दैछौँ । अहिले पनि मलाई निर्वाचित गराउनुहुने प्रदेशसभाका सांसद, पालिका प्रमुख र उपप्रमुखलाई भेटेर उहाँहरूको समस्यालाई संसद्मा राख्दै आएकी छु ।

म आउनुभन्दा पहिला राष्ट्रियसभा त्यति सक्रिय छैन कि भन्ने लागेको थियो । तर मैले सोचेको जस्तो रहेन छ । यो सभा पनि सक्रिय छ । कानुन निर्माणको सवालमा होस् वा जनताका विषयवस्तुलाई सदनमा उठाउने सवालमा । राष्ट्रियसभा राष्ट्रको एउटा ठूलो संस्था हो । राष्ट्रिसभाको सदस्य भएको एक वर्षको यो अवधिमा धेरै कानुन पारित भएका छन् । म अहिले विधायन व्यवस्थापन समितिमा पनि छु । हामीले कुनै पनि विधेयकलाई समितिमा रोकेर राखेका छैनौँ । जतिसक्दो चाँडो छलफलबाट टुङ्गो लगाएर पास गर्दै आएका छौँ । हामीले संसद्को शून्य समय, विशेष समय, आकस्मिक र प्रादेशिक समयमा सबै जनताका सवालमा मात्र उठाउँदै आएका छौँ । दिएका सुझाव र उठाइएका विषय कुनै पनि सरकारले चासो दिएर कार्यान्वयन गर्दैन । तथापि, सदनमा उठाइएका विषयलाई भने सरकारका मन्त्री उपस्थित भएर जवाफ दिनुभएको छ ।

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको छ । यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो ।

कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उनको भनाइ छ ।

कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको वडाध्यक्ष थापाले बताए । प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

यहाँका कैलाश पर्वत, हरित हिल, गौरीशङ्कर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ कामको थालनी गरिएको वडाध्यक्ष थापाले बताए । पर्यटकलाई लक्षित गरेर वडा कार्यालय नजिकै रु १० लाख बजेटमा बाल उद्यानसमेत निर्माण गरिएको उनले जानकारी दिए ।

यहाँको कैलाश पर्वत, हरित हिललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ वडाले गरिरहेको कामले उत्साह थपिएको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए । यहाँ कैलाश पर्वतसँगै गौरीशङक्र मन्दिर र सिंहदेवी मन्दिर रहेकाले यो स्थानको छुट्टै महत्व रहेको उनको भनाइ छ ।

“यहाँको पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकारले गरिरहेको काम राम्रो छ”, उनले भने, “कसैको नजर नपर्दा यी ऐतिहासिक स्थान संरक्षणविहीन बनेको अवस्था थियो । यी क्षेत्रको विकासपश्चात यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने हामीले अपेक्षा लिएका छौँ ।”

कैलाश पर्वत र गौरीशङ्कर मन्दिरमा वर्षमा एकपटक भव्य मेला लाग्ने उनको भनाइ छ । मेलामा स्थानीयसँगै छिमेकी जिल्लाबाट समेत मानिसहरू दर्शन गर्न आउने उनले बताए ।

अझ सशक्त आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको आन्दोलन र विगतको सहमतिको सम्मान नगरेको बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी महासंघले विद्यालय शिक्षा विधेयकमा राज्यपक्ष इमानदार नदेखिए आन्दोलन गर्नुको विकल्प नभएको बताएको हो ।

महासंघले भनेको छ, ‘आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयकभन्दा पनि पश्चगमनतर्फ उन्मुख छ ।’

महासंघले स्थायी शिक्षकको आवधिक बढुवाका निम्ति प्रस्तावित अवधि सहमतिअनुसार नभएको, प्रस्तावित अवधिमै पनि सर्तहरू राखेर शिक्षकलाई बढुवा हुन नदिने प्रपञ्च मिलाइएको महासंघले ठहर गरेको छ ।

लामो समय अस्थायी सेवा गरेर स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधिको गणना गर्ने कुरा प्रतिवेदनमा नआएको, निवृत्तिभरण प्रयोजनका निम्ति अस्थायी अवधिबाट सेवा थप्ने कुरामा समेत सहमति पालना नगरिएको, शिक्षकको सरुवा आमशिक्षकको भावनाविपरीत प्रस्तावित नगरिएको, विभागीय कारबावाहीको प्रबन्धमा कुनै सुधार नगरिएको लगायत विषयमा महासंघले असन्तुष्टि जनाउँदै अझ सशक्त आन्दोलनको चेतावनी दिएको हो ।

तनहुँमा बस र टिपर ठोक्किँदा ६ जना घाइते

दमौली । तनहुँको डुम्रेमा बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । रुकुमपश्चिमबाट आइरहेको बस टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

पुटिन र ट्रम्पबीच दुई घण्टा लामो टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई घण्टा लामो टेलिफोन वार्ता भएको छ ।

पुटिनसँगको वार्तापछि ट्रम्पले रूस र युक्रेनले युद्ध अन्त्यका लागि वार्ता सुरु गर्ने बताएका छन् । पुटिनले पनि युक्रेनसँग ‘भविष्यमा सम्भावित शान्ति सम्झौताको सहमतिपत्र’मा काम गर्न तयार भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुरा गरेका छन् । फोनवार्तामा जेलेन्स्कीले यो निर्णायक क्षण भन्दै अमेरिकालाई वार्ताबाट टाढा नहट्न आग्रह गरेका छन् ।

ट्रम्पले सामाजिक संजालमा लेखेका छन्, ‘रूस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्वपूर्ण युद्धको अन्त्यको लागि वार्ता सुरु गर्नेछन् ।’

उनले जेलेन्स्कीलाई यो कुरा फोनमा सुनाएको र यसमा अन्य विश्व नेताहरू समेत सामेल भएको बताए । फोन वार्तापछि ह्वाइट हाउसको कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिका रूस–युक्रेन वार्तामा मध्यस्थता गर्ने कामबाट पछि नहट्ने बताउँदै त्यसको पनि सीमा रहेको बताए ।

प्रधानमन्त्रीलाई बालेनले गरे यस्तो कटाक्ष

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिमा आफूलाई नराख्न प्रधानमन्त्री केपी शर्मा ओली दिएको निर्देशनप्रति काठमाडौं महानगरपालिकाका मेयर कटाक्ष गरेका छन् ।

सोमबार साँझ सामाजिक संजालमार्फत मेयर साहले प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् । मेयर साहले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टचारी जोगाउँछु भन्छ । त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’

मूल समारोह समितिको सोमबारको बैठकमा मेयर साह उपस्थित नभएपछि प्रधानमन्त्रीले मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरू पटकपटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशन दिएका थिए ।

‘राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन’

काठमाडौँ । प्रधानमन्त्री पत्नी राधिका शाक्यले आफूले राजनीति बुझेको तर राजनीतिमा नआउने स्पष्ट गरेकी छन् ।

प्रेस चौतारी नेपालद्वारा सोमबार आयोजित ‘करुणा’ पुस्तक ‘लेखिका राधिका शाक्यको सम्पादकसँगको संवाद’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी शाक्यले विद्यार्थीकालदेखि नै राजनीतिमा केही हदसम्म आबद्ध भएको र राजनीतिक व्यक्तित्वसँगको विवाह भएपछि मुलुकको राजनीतिक घटनाक्रमबारे राम्रोसँग बुझ्ने अवसर पाए पनि राजनीति गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारिन् ।

नेपालमा पछिल्ला दिनमा सकारात्मक सोचका साथ काम गर्नेभन्दा नकारात्मक धारणा बनाइ अनावश्यक कुरा काट्ने पक्ष हाबी भएको उल्लेख गर्दै उनले भनिन्, ‘देशलाई माया गर्ने एक सामान्य नेपाली नागरिक भएर बस्न चाहन्छु, मातृभूमिप्रति कदापि गद्दारी गर्दिन । अब यो उमेरमा राजनीति गर्न जाने पक्षमा म छैन ।’

प्रथम महिला शाक्यले राजनीतिक अस्थिरताको अफवाह फैलाइ सरकारलाई निर्बाध रूपमा काम गर्न नदिनेहरू हाबी हुनु मुलुकको ठूलो समस्या भएको जिकिर गरिन् । उनले दिनरात नभनि देश र जनताका पक्षमा काम गर्नेहरूलाई धन्यवादसहित प्रशंसा गर्नुको सट्टा गालिगलौज गरी त्यसैमा रमाउने प्रवृत्ति हाबी भइरहे देश कहाँ पुग्ला भनी चिन्ता व्यक्त गरिन् ।

एक प्रश्नको जवाफमा शाक्यले देशको प्रधानमन्त्रीसँग भेट्न, सम्पर्क बढाउन र लाभ लिन खोज्नेहरू हाम्रो समाजमा नहोलान् भन्न नसक्ने धारणा राखिन् ।

‘शक्तिमा भएका हैसियतले मेरो माइतीतर्फका कुनै पनि नातासम्बन्धका कोही–कसैले राजनीतिक लाभ लिएका भए खोजपड्ताल गरी वास्तविकता सार्वजनिक गरिदिनुहुन आमसञ्चरकर्मीसँग अनुरोध गर्दछु’, उनले भनिन् ।

आफ्नो प्रेरणाको स्रोत श्रीमान् ओली रहेको र उहाँकै कारण आफूले दुई विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गर्न सफल भएको उल्लेख गर्दै शाक्यले फुर्सद हुनासाथ लेख्न–पढ्न रमाउने र सानैदेखि आफूमा कारुणिक स्वभाव रहेको धारणा राखिन् ।

श्रीमान् र आफूबीच जीवन र देशलाई हेर्ने दर्शन मिलेकाले पारिवारिक जीवन सहज ढंगबाट अघि बढेको उल्लेख गर्दै उनले राति अबेरसम्म अध्ययन–लेखनमा रमाउने प्रधानमन्त्री ओलीको आत्मविश्वासहित स्मरण शक्ति अद्भुत रहेको बताइन् ।

शाक्यले ‘मेरो अनुभूति’ नामक कृति सार्वजनिक भइसकेको जानकारी दिँदै प्राप्त अनुभव र अनुभूतिलगायत आफूसँग भएका सूचना र सन्दर्भ सामग्रीलाई समेटेर पुस्तकका रूपमा तेस्रो कृति ल्याउने बताइन् ।

सरकारलाई आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन अब १० दिन बाँकी रहँदा सरकारलाई आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस परिरहेको छ । सरकारी राजस्व अपेक्षाअनुसार उठ्न नसकेको र सार्वजनिक ऋणको ‘ग्राफ’ निरन्तर बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा करिब १९ खर्ब ६५ करोड हाराहारीको राष्ट्रिय स्रोत अनुमान समितिले दिएको आगामी आर्थिक वर्षको बजेट सिलिङ अनुसार सरकार स्रोत जुटाउन नसक्ने अवस्थामा पुगेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी आगामी आर्थिक वर्षको बजेटको स्रोतको व्यवस्थापन र आयोजनाको प्राथमिकीकरण चुनौतीपूर्ण रहेको बताउँछन् । आयोगले सोमबार पूर्वउपाध्यक्षहरु तथा सदस्यहरुलाई बोलाएर स्रोत व्यवस्थापनका चुनौती समाधान गर्न र बजेटमा राखिने आयोजनाका प्राथमिकीकरणका लागि के–कस्ता रणनीति अपनाउन सकिन्छ भनेर छलफल गरेको थियो ।

छलफलमा उपाध्यक्ष अधिकारीले बजेट स्रोत जुटाउन निकै समस्या भइरहेको बताए । ‘कोभिड १९ महामारी पछि साँघुरो हुँदै गएको राजस्व पहिलेको लयमा फर्कन सकेको छैन । वैदेशिक अनुदान घट्दो छ । समस्या क्रोनिक, जेलिएका र प्रणालीगत हुँदै गएका छन्’, उनले भने, ‘विभिन्न तह र निकायबीच समन्वय अभाव छ । यस्तो अवस्थामा स्रोत व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।’

स्रोत अभावकै कारण सरकारले आगामी आर्थिक वर्षको बजेटमा आयोजनाहरु व्यापक कटौती हुने बताउँदै आएको छ । सरकारको रातो किताबमा पर्ने तर कार्यान्वयन गर्न नसकिने र नतिजासमेत नदिने आयोजनामा कैँची चल्ने सङ्केत आयोगका उपाध्यक्ष प्राडा अधिकारीले दिए ।

‘चालु आर्थिक वर्ष २०८१/८२ सम्मको अवस्था हेर्ने होभने राष्ट्रिय परियोजना बैंक (प्रोजेक्ट बैंक) मा १८ हजार एक सय बढी आयोजना प्रविष्ट भएको देखियो । यी सबै आयोजना कार्यान्वयन गर्न सम्भव छैन भनेर हामीले करिब सात हजार हाराहारी आयोजना मात्रै राखेर नयाँ प्रोजेक्ट बैंक बनाएका छौँ’, अधिकारीले भने ।

अर्थात् चालु आर्थिक वर्षमा प्रोजेक्ट बैंकमा परेका करिब १० देखि ११ हजारको संख्यामा आयोजनाहरु कटौतीमा पर्ने सम्भावना छ ।

सरकारले कुनै योजना तथा कार्यक्रमका लागि वार्षिक बजेट विनियोजन गर्दा त्यस्ता योजना प्रोजेक्ट बैंकमा प्रविष्ट भएको हुनुपर्ने व्यवस्था छ । तर बजेट पार्नकै लागि प्रोजेक्ट बैंकमा जथाभावी आयोजना प्रविष्ट गर्ने र बजेट छर्ने प्रवृत्ति पछिल्ला वर्षहरुमा बढ्दै गएको देखिन्छ ।

राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको तथ्याङ्कले त्यसको पुष्टि गर्छ । आयोगका अनुसार परियोजना बैंकमा आर्थिक वर्ष २०७७/७८ सम्ममा छ हजार ६४४ आयोजनाहरु प्रविष्ट गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ९९ वटा, आर्थिक वर्ष २०७९/८० मा ३९ वटा, आर्थिक वर्ष २०८०/८१ मा ११ हजार १४ वटा र आर्थिक वर्ष २०८१/८२ मा दुई सय २१ वटा आयोजना प्रोजेक्ट बैंकमा हालिएको थियो ।

सबैभन्दा बढी आयोजना रहेका मन्त्रालयमा सहरी विकास मन्त्रालयका सात हजार ३७७, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पाँच हजार २९४, खानेपानी मन्त्रालयका दुई हजार ८५९ आयोजना प्रोजेक्ट बैंकमा समावेश गरिएका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको ६४०, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ६१५, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका २२८ वटा योजना बैंकमा थिए ।

यसरी ठूलो सङ्ख्यामा जथाभावी प्रोजेक्ट बैंकमा दर्ता गर्ने र बजेट छर्ने प्रवृत्ति रोक्न यसपटक आयोगले राष्ट्रिय आयोजना बैंकको परिभाषा नै परिमार्जन गरेको उपाध्यक्ष अधिकारीले बताए ।

‘समय सीमा र बजेट लागत खुलाइएको, पूर्वतयारी सम्पन्न भएको र कार्य सम्पन्न भएपछि सार्वजनिक सम्पत्तिमा वृद्धि वा रुपान्तरण गर्ने प्रकृतिका आयोजनालाई मात्रै अहिले आयोजना बैंकमा राखिएको छ’, उनले भने ।

आयोजनाको लागत र सीमा हेर्दा तीन करोड भन्दा बढी लागतको आयोजनालाई बैंकमा प्रवृष्टि गरिने र पाँच वर्षसम्म कार्यान्वयन हुने नसकेको आयोजनालाई परियोजना बैंकबाट स्वतः निष्क्रिय गर्ने व्यवस्था गरिएको उनले बताए ।

सरकारमा रहेका राजनीतिक दलका शक्तिशाली नेताहरु तथा मन्त्रीहरुले शक्ति र पहुँचका आधारमा आफ्नो निर्वाचन केन्द्रलाई बढी बजेट दिएर विभेद गर्ने गरेको आरोप संसदबाटै लाग्ने गरेको छ ।

अझ यसपटक त सबैजसो दलका सांसदहरु जुनकुनै हालतमा ‘सांसद विकास कोष’ लाई ब्युँताउनुपर्छ भनेर सरकारलाई दबाबसमेत दिइरहेका छन् । संसदको अर्थ समितिले सांसदहरुलाई आयोजना छान्ने अधिकार दिनुपर्ने भन्दै घुमाउरो शैलीमा सांसद विकास कोष ब्युँताउन सुझाव दिएको थियो ।

विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा मात्र नभई संसदमै पनि सांसद विकास कोष ब्युँताउनुपर्ने माग उठ्ने गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल सांसद विकास कोष ब्युँताउँदा त्यसको सञ्चालन कार्यविधि तथा योजना छनोटको आधार माथि प्रश्न गर्ने ठाउँ रहने बताउँछन् ।

‘आगामी बजेटमार्फत् सांसद विकास कोष ल्याउने भन्ने सुनिएको छ । त्यसो हुँदा सांसदले माग गरेको रकम र खर्च गर्न चाहेको आयोजना फेरि नयाँ तरिकाले प्रोजेक्ट बैंकमा हाल्नुपर्ने होला’, पोखरेलले आयोगको छलफलमा भने ।

टुक्रे आयोजनामा नभई ठूला र आर्थिक रुपमा रुपान्तरणकारी आयोजनामा बजेट विनियोजन गरिनुपर्नेमा उनले जोड दिए । गण्डकी त्रिभुज परियोजना, मध्यपहाडी राजमार्ग जस्ता रुपान्तरणकारी परियोजना बजेटको प्राथमिकतामा पर्नुपर्ने सुझाव उनले दिए । पछिल्लो समय हिमाली तथा पहाडी क्षेत्रबाट तराईमा बसाइसराइ गर्ने क्रम बढेकाले कुन क्षेत्रमा पूर्वाधार विकास आवश्यक छ वा छैन भनेर सरकारले अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका अर्का पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री पर्याप्त अध्ययन र पूर्वतयारी नभएका आयोजना बजेटमा राख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने बताउँछन् । कुनै तयारी नभएका आयोजनालाई सरकारको रातो किताबमा पार्न सांसदहरुबाटै दबाब आउने गरेको उनले उल्लेख गरे ।

अझ प्रदेशहरुको हकमा त बजेट पार्नकै लागि कमिसन लेनदेन हुने गरेको आरोपसमेत उनले लगाए । ‘कुनै आयोजनालाई रातो किताबमा प्रवेश गरियो भने मात्रै पनि त्यसलाई पेन्सन जस्तो ठान्ने प्रवृत्ति छ । प्रदेशहरुमा त कुनै आयोजना बजेटमा पारियो भने कमिसन लिने कार्य खुलमखुल्ला छ । केन्द्र सरकारमा यस्तो विकृति नहोस् ।’

योजना आयोगका पूर्व उपाध्यक्ष डा पृथ्वीराज लिगल बजेटमा राखिने आयोजनाको प्राथमिकीकरण गरेर संख्या घटाउन आवश्यक रहेको बताउँछन् । यद्यपि, कस्ता प्रकृतिका आयोजना बजेटमा रहन्छन् र कुन रहँदैनन् भनेर सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाई छ ।

अहिले शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि पर्याप्त बजेट विनियोजन गर्ने र यस क्षेत्रको सुधारमार्फत् दक्ष तथा योग्य जनशक्ति निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । तलब भत्ता, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानी जस्ता अनिवार्य दायित्व बहन गर्नकै लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सरकारलाई बजेटको स्रोत व्यवस्थापन चुनौती रहेको डा लिगलले उल्लेख गरे ।

त्यसैगरी योजना आयोगका अर्का उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले सांसद विकास कोष ल्याउने बारे समाचार आइरहँदा त्यस विषयमा अर्थ मन्त्रालय र योजना आयोगबीच समन्वय भएको वा नभएकोबारे प्रश्न गरे ।

विभिन्न तह र निकायबीच आपसी समन्वय तथा सहकार्य हुन नसक्नु अहिलेको सबैभन्दा ठूलो समस्या रहेको उनको भनाइ छ । राजस्वको स्रोतसाधनको सीमितता, खुला सीमा क्षेत्र र चोरी पैठारी, कमजोर निजी क्षेत्रको कार्यसम्पादन जस्ता विद्यमान चुनौतीका बीच नतिजामुखी र कार्यान्वयनयोग्य बजेट ल्याउन सरकारले प्रयत्न गर्नुपर्ने उनको सुझाव थियो ।

‘हामीसँग प्रणालीगत समस्या छन् । समन्वयको पाटो सबैभन्दा कमजोर छ । पुराना आयोजना बिर्सँदै जाने र नयाँ थपिँदै जाने हो भने कार्यान्वयन गर्न सकिँदैन,’ कँडेलले बताए । पछिल्ला वर्षहरुमा बजेटका विभिन्न चरणमा योजना आयोगको भूमिका कमजोर हुँदै गएको र राजनीतिक प्रभाव बढ्दै गएको कँडेलले उल्लेख गरे ।

योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले तोकिएको समयमा आयोजना किन सम्पन्न हुन सकेनन् भनेर हेर्दा त्यसमा भ्रष्टाचार र कुशासनको पाटोलाई पनि हेरिनुपर्नेमा जोड दिए । उपभोक्ता समितिबाट हुने पूर्वाधार निर्माणमा झन् ठूलो अनियमितता रहेको उनको धारणा छ ।

धादिङको गजुरीदेखि काभ्रेपलाञ्चोकको पाँचखालसम्मको भूगोललाई समेटेर ‘ग्रेटर काठमाडौँ’ को अवधारणा अघि बढाइनुपर्ने, सामुदायिक विद्यालयहरु गाभेर सङ्ख्या घटाउनुपर्नेलगायतका सुझाव उनले दिए । सिमेन्ट, खनिज, जलविद्युतलगायतका क्षेत्रमा कति लगानी गर्ने भनेर ‘रिसोर्स म्यापिङ’ आवश्यक भइसकेको उनको भनाइ छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले पुर्याएको योगदानका लागि डब्लूएचओको सम्मान

काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले पुर्याएको योगदानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीट्जरल्याण्डमा अवार्ड प्राप्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनको ७८ औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई विशेष अवार्ड प्रदान गरेका हुन् ।

मन्त्रालयले हालै क्यान्सर नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको बाहिरी भागमा शत प्रतिशत चेतावनी छाप्नुपर्ने प्रावधानसहितको सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत गरेर कार्यान्वयन प्रक्रिया अघि बढाएको छ ।

जगदम्बा मोटर्सले जेठ ७ देखि भृकुटीमण्डपमा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने

काठमाडौं ।  नेपालमा टिभीएसको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ ।

यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौँको प्रसिद्ध स्थल ‘भृकुटीमण्डप’ मा आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन् ।

मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले रू. ५,००० बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ ।

मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू. ३०,००० सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै, ग्राहकहरूले रू. ८,००० सम्मको नगद छुट, रू. १०,००० रुपैयाँसम्मको थप मूल्याङ्कन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।

मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसीहल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ ।

जगदम्बा मोटर्सले सबै दुई पाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन आग्रह गरेको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भवना रहेको जनाएको छ ।

अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरको छ ।

माहाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिए ।

“हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ”, उनले भने, “जसले गर्दा जुनसुकै समयमा पनि वर्षा भइरहेको छ ।”

उनका अनुसार अहिले प्रि–मनसुनको समयमा खासगरी साँझाको समयमा चट्याङसहितको वर्षा हुनेगर्छ । आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

देशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।

महिमानसिंह विष्टलाई एक लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कारागार चलानको पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए ।

उनीविरुद्ध प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

अपाङ्गमैत्री रङ्गशाला निर्माण गर्छौंः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेदकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपाङ्गमैत्री रङ्गशालाको निर्माण गरिने बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले दशरथ रङ्गशाला, पोखरा र कर्णाली प्रदेशको सुर्खेत रङ्गशाला अपाङ्गमैत्री निर्माण गरेको जानकारी दिए ।

उनले आगामी दिनमा निर्माण हुने खेलकुदका नयाँ पूर्वाधार र निर्माणाधीन रङ्गशालाहरूलाई अपाङ्गमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे ।

पारा खेलका लागि विभिन्न राष्ट्रियस्तरको प्रतियोगिता गराउँदै आएको जनाउँदै मन्त्री चौधरीले पारा खेलाडीहरूको हौसलाका लागि अन्य खेलाडीसरह पुरस्कारको समान व्यवस्थामा गरिने जानकारी दिए ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने विषयमा बजेट अभावको कारण तत्काल प्रदान गर्न नसकेको स्वीकार्दै बजेट व्यवस्थापनको लागि हरसम्भव प्रयत्न भइरहेको बताए ।

त्यसअघि जगप्रसाद शर्माले पारा ओलम्पिक खेलमा सरकारले अहिलेसम्म कुनै पनि लगानी नगरेको, देशैभरि एउटा पनि अपाङ्गमैत्री रङ्गशाला बनाउन किन पहल नगरेको भन्ने प्रश्न राखेका थिए ।

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं।  सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु गरिएको छ। सोमबार एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे।

मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए। सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो।

कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो।

आगामी आम निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्नुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउनेगरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताए ।

‘समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्न हामी लाग्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुश्मन हो । विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे ।

बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी

काठमाडौं । ‘मर्यादाका लागि सत्य, तथ्य, न्याय र परिपूरण’ को मर्मसहित स्थापना भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले करिब तीन वर्षपछि तेस्रो कार्यकालका लागि पदाधिकारी पाएको छ ।

तत्कालीन विद्रोही माओवादी द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिको छानबिनका लागि गठित यस आयोग विसं २०७९ साउन १ देखि पदाधिकारीविहीन थियो । द्वन्द्व अन्त्य गर्ने सिलसिलामा महत्त्वपूर्ण मानिएको यस आयोगको गठन विसं २०७१ मा भएका थियो ।

आयोगका नवनियुक्त अध्यक्ष लीलादेवी गड्तौलाले भद्रकालीस्थित कार्यकक्षमा पदबहालीपछि सङ्क्रमणकालीन न्यायको मर्म र भावनाअनुरूप पीडितलाई न्याय दिलाउने विषयलाई केन्द्रमा राखेर सामूहिक जिम्मेवारीका आधारमा कार्य सम्पादन गरिने बताइन् ।

उनले भनिन्, ‘टिम वर्कको जिम्मेवारी भएकाले सदस्य र विज्ञहरूको राय, परामर्श र सल्लाहका आधारमा बाँकी काम अघि बढाइनेछ, आयोगको कार्य सम्पादन गर्ने सन्दर्भमा आउन सक्ने चुनौतीलाई हटाएर अघि बढ्न र जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयत्न गरिनेछ ।’

आयोगका सदस्यहरू गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की) ले पनि आजै पदबहाली गर्नुभयो । आजै प्रधानन्यायाधीशबाट शपथ लिएका उनीहरूको कार्यकाल चार वर्षको हुनेछ ।

विसं २०५२ फागनु १ देखि सुरू गरेको दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सन्दर्भमा सत्यतथ्य पत्ता लगाउने उद्देश्यले आयोग गठन भएको हो । आयोगलाई बेपत्ताको छानबिन, परिपूरण, आगामी दिनमा त्यस्ता द्वन्द्व पुनः नदोहोरिन राज्यका चाल्नुपर्ने कदमका बारेमा सुझावसहितको प्रतिवेदन दिने कार्यदेश छ ।

विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको सशस्त्र द्वन्द्व विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि अन्त्य भएको थियो ।

सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका छानबिन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोगमा यही वैशाख ३० गते पदाधिकारी नियुक्ति गरेको थियो ।

आयोगका प्रवक्ता कविराज पौडेलका अनुसार आयोगमा तीन हजार २८८ उजुरी परेका थिए । त्यसमध्ये ७४६ तामेली, फछ्र्याैट र फरफारक भएका छन् । आयोगमा अझै दुई हजार ५४३ निवेदन फछ्र्यौट गर्न बाँकी छ । त्यसमा दुई हजार ५४७ व्यक्ति हराएको भन्ने दाबी गरिएको छ ।

आयोगमा नयाँ पदाधिकारी नियुक्तिको तीन महिनाभित्र कुनै कारणले वा काबुबाहिरको परिस्थितिले विगतमा उजुरी दिन छुटेको रहेछ भने त्यसको आधार र कारणसहित निवेदन दिन पाउने व्यवस्था छ ।

प्रधानन्यायाधीशद्वारा संक्रमणकालीन न्यायका दुई आयोगका अध्यक्षलाई शपथ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापालाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा सोमबार आयोजना गरिएको कार्यक्रममा प्रधानन्यायाधीश राउतले दुवै आयोगका अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रधानन्यायाधीशले आयोगका दुई अध्यक्षलाई शपथ ग्रहण गराएपछि अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पद तथा गोपनीयताका शपथ ग्रहरण गराएका छन् ।

सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी, डा टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा छन् ।

त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा गड्तौला तथा सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य छन् ।

मन्त्रिपरिषद्को बैठकले यही जेठ १ गते दुवै आयोगका लागि अध्यक्ष तथा सदस्यहरू नियुक्ति गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त भएको थियो ।

प्रतिनिधिसभाबाट जलस्रोत विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस भनी सभामा प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत जलस्रोत विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस विधेयकले जलको प्रयोग, सदुपयोग र संरक्षण एवं समुचित बाडँफाँटको विषयमा केन्द्रित भएर काम गर्ने र यसको सम्पूर्ण जिम्मेवारी जल तथा ऊर्जा आयोगलाई दिइने व्यवस्था गरेको बताए ।

उनले सम्पूर्ण नदीको क्षमता कति र संरक्षण कसरी गर्न सकिन्छ भन्ने व्यवस्था विधेयकमा समावेश भएको उल्लेख गर्दै यसले तीनै तहका सरकारको अधिकारलाई सुनिश्चित गर्ने दाबी समेत गरे ।

मन्त्री खडकाले भने, ‘विधेयकले जलको लाभ र हानिको विषय समेटेको छ । आयोगले विधेयक पारित भएपश्चात् विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्नेछ, यसले जलको न्यायोचित बाँडफाँटमा सहयोग पुग्नेछ ।’

यसअघि उक्त विधेयकमाथिको छलफलमा सांसदहरु दिलेन्द्रप्रसाद बडू, माधव सापकोटा, डा अमरेशकुमार सिंह, किरणकुमार साह, सुनिता बराल, लक्ष्मी तिवारी, प्रेम सुवाल, हितराज पाण्डे, ठाकुरप्रसाद गैरे र लेखनाथ दाहालले धारणा राखेका थिए ।

शेयर बजारमा सात अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको दोस्रो सोमबार शेयर बजार नेप्से १९ दशमलव ३० अङ्क अर्थात् ०.७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ दशमलव १८ मा किनबेच भएका छन् ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सिन्धु विकास बैंक र ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले उकालो लागेको छ ।

साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी छ्याङदी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ४०, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चार दशमलव ३९ प्रतिशतले घटेको छ ।

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने जानकारी दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री सुडीले आव २०८२/८३ देखि यसको क्षेत्र बढाई ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्। आव २०७९/८० को बजेट वक्तव्यअनुसार हाल सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ।

सामाजिक सुरक्षा ऐन, २०७५ को दफा ४ मा दलित र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले ७० वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ताका रूपमा सरकारले तोकेको बमोजिमको ज्येष्ठ नागरिक भत्ता पाउने व्यवस्था रहेको छ।

बैठकमा सांसद प्रेम सुवालको प्रश्नको उत्तर दिँदै मन्त्री सुडीले गैरसरकारी संस्थामार्फत प्राप्त हुने सहयोगलाई समाज कल्याण परिषद्मार्फत एक द्वार प्रणालीबाट परिचालन गर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले नेपाल राष्ट्र बैंकलाई पत्र लेखी परिषद्को स्वीकृति प्राप्त गरेका परियोजनाको मात्र रकम परिचालन गर्ने/गराउने कार्यमा सहजीकरण गर्न अनुरोध गरिएपछि परिषद्को दायरामा आउने संस्थाको संख्या बढ्दै गएको जानकारी दिएका छन्। तर, पूर्ण रूपमा गैरसरकारी संस्था उक्त प्रक्रियामा आउन नसकेको उल्लेख गरेका छन्।

मन्त्री सुडीका अनुसार राष्ट्रिय गैरसरकारी संस्थाद्वारा सञ्चालित परियोजना आव २०८०/८१ मा १ हजार ३०४ संस्थाको २ हजार ८४ परियोजना सञ्चालनमा थिए। यस्तै, चालु आवको चैत मसान्तसम्म १ हजार ३२४ संस्थाको १ हजार ८३३ परियोजना स्वीकृत भएका छन्। गत आवमा ४४ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको र चालु आवको वैशाखसम्म २० अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको परियोजना सम्झौता भएको छ।

मन्त्री सुडीले सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदा, चन्द्र सदा लगायत दलित परिवारको नागरिकता नहुँदा ७२ वर्षको उमेरमा पनि ज्येष्ठ नागरिक भत्तालगायत राज्यबाट प्राप्त हुने अन्य सुविधा उपलब्ध नभएकोबारे सदनलाई जानकारी दिएका छन्।

‘यी व्यक्तिले भत्ता प्राप्त गर्न नसक्नुको कारण नागरिकता प्रमाणपत्र नहुनु हो। नागरिकता प्रमाणपत्र नहुने व्यक्तिले सामाजिक सुरक्षा परिचय प्राप्त गर्न नसक्ने कानुनी व्यवस्था छ,’ उनले भने ।

त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए।

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र सङ्घ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।

यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे । यस्ता मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरू पटकपटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशन दिए ।

दैलेखमा प्रचण्डद्वारा पत्रकार डेकेन्द्र थापाको परिवारसँग भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैलेखका स्वर्गीय पत्रकार डेकेन्द्र थापाको सालिकमा सोमबार माल्यार्पण गरेका छन् । माल्यार्पणअघि प्रचण्डले उनको घरमा पुगेर आमा र परिवारका सदस्यसँग कुराकानी गरेका थिए ।

पत्रकार थापालाई द्वन्द्वकालमा माओवादी मिलिसियाले अपहरण गरेर लगेपछि २०६१ साउन २७ गते द्वारी–१ स्थित नेरा निम्न माध्यमिक विद्यालयको कक्षाकोठामा हत्या गरेका थिए । थापाको कंकाल घटनाको चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिएको थियो ।