`

अर्थमन्त्री खनालको पहिलो निर्णय : टुक्रे आयोजना खारेज र फजुल खर्च नियन्त्रण

काठमाडौं । नव नियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज (सोमबार) कार्यभार सम्हालेका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ लिएपछि सिधै अर्थ मन्त्रालयमा कार्यभार सम्हालेका हु्न् । कार्यभार सम्हाल्ने क्रममा अर्थमन्त्री खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् ।

पूर्व तयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने बताएका छन् । आफ्नो अध्यक्षतामा गठित अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय सुझाव समितिले दिएका सुझावहरू कार्यान्वयन गरिने पनि उनले बताए। पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’

 

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो ।

सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ः०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

गृहमन्त्रीका निर्णय : राष्ट्रिय शोक मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च

काठमाडौं । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् ।

यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ । कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने जनाएको छ । यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाका लागि नेपालको टोली घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रङ्गशालामा आगामी असोज दोस्रो सातामा हुने उक्त शृङ्खलाका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो ।

त्यसैगरी नेपाली टोलीको उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आदिल आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले भने पुनरागमन गरेको हुन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन । त्यस्तै सन्दीप पनि २०२४ को टी ट्वान्टी विश्वकप पछि टोलीमा समावेश भएका हुन् । नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ट्वान्टी–२० शृङ्खला खेल्दैछ । जसमा नेपालले आगामी असोज ११, १३ र १४ गते खेल्नेछ ।

कुशल प्रशासक खनाललाई जटिल परिस्थितिमा अर्थतन्त्र सुधार्ने जिम्मेवारी

काठमाडौं । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी कुशल प्रशासकका रुपमा चिनिएका रामेश्वर खनालले पाएका छन् । खनालले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी अर्थतन्त्रका जानकारका रुपमा समेत चिन्छिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले खनाललाई युवाहरुको सिफारिसमा अर्थमन्त्री बनाएका हुन् । वि.सं. २०१३ असारमा पाल्पामा जन्मिएका खनाललाई देशको अर्थतन्त्र बुझेको व्यक्तिका रुपमा चिनिन्छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । ३१ वर्ष लामो निजामती सेवाको अनुभव संगालेका खनाल नेपाल सरकारका पूर्व अर्थ तथा राजस्वसचिव हुन् । उनीसँग १६ वर्षको अध्यापन अनुभव समेत छ ।

उनी यसअघि सरकारले बनाएको उच्चस्तरीय अर्थतन्त्र सुधार सुझाव आयोगको अध्यक्ष समेत थिए । उनी नेतृत्वको आयोगले मुलुकको अर्थतन्त्र सुधारका लागि गत चैतमा मात्रै सुझाव प्रतिवेदन बुझाएको थियो । त्यसको पाँच महिना नबित्दै खनाल मुलुकको अर्थतन्त्र सुधारका लागि आफैले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको अर्थमन्त्रीको कुर्सीमा पुगेका छन् ।

खासगरी पूरक बजेटको सम्बन्धमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग कुरा नमिल्दा उनले एक वर्ष कार्यकाल बाँकी हुँदै राजीनामा दिएका थिए । सो अवधिमा आर्थिक सरकारी लेखापालना, कर नीति, र सार्वजनिक खरिद प्रणालीमा महत्वपूर्ण सुधारहरू सुरु गरी कार्यान्वयन गरेका छन् । निजामित सेवामै रहँदा खनाल नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायतका संस्थामा सञ्चालक समिति सदस्यका रुपमा समेत काम गरिसकेका छन् ।

खनाल अर्थसचिव हुँदा गरेका केही सुधारात्मक काम नेपाली आर्थिक इतिहासकै महत्वपूर्ण उपलब्धि मानिन्छन् । वित्तीय अनुशासन, राजस्व संकलन, लगानी वातावरण र समग्र आर्थिक पारदर्शितामा गहिरो छाप छोड्ने काम गरे ।
कर प्रणालीलाई पारदर्शी बनाउन, कर छली रोक्न, भ्याटलाई मजबुद बनाउन उनको भूमिका छ । खनाल सचिव हुँदा नै नक्कली भ्याट काण्ड उजागर गरी कानूनी दायरामा ल्याइएको थियो । सेयर लगानीकर्ताले सरकारमाथि दबाब सिर्जना गर्दा उनले ‘कारोबार नखोली वार्ता नगर्ने’ अडान लिएर बजार अनुशासन बढाए । अर्थसचिवका रुपमा राष्ट्र बैंकको सञ्चालक हुँदा केन्द्रीय बैंकलाई कर्तव्य बिमुख हुन नदिन अडान लिए । सरुवाका लागि राजनीति पहुँचको दुरुपयोग नगर्न प्रोत्साहन गरे । व्यक्तिगत लाभका लागि स्रोत–साधनको दुरुपयोग नगर्ने संस्कार बसाले ।

बाबुराम प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार, सुविधा नलिई सेवा
यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी आर्थिक सल्लाहकार थिए । त्यतिबेला उनले सरकारको कुनै सुविधा नलिइ काम गरेका थिए । त्यस्तै, निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खनालकै अध्यक्षतामा आर्थिक सुधार उच्चस्तरीय आयोग गठन गरेका थिए । आयोगले तोकिएको समयमै अर्थतन्त्र सुधारा लागि निकै वृहत प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनका धेरै सुझाब चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा पनि समेटिएको छ ।

विगतमा कुनै राजनीतिक पार्टीमा उनी आवद्ध भए पनि त्यहाँ उनी लामो समयसम्म रहेनन् । पछिल्ला वर्षमा खनाल कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएका स्वतन्त्र अर्थशास्त्रीको छवि बनाएका छन् । अहिलेको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री बनेका छन् । अहिलेको जटिल परिस्थितिमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी पाएका खलाललाई आफ्नै अध्यक्षतामा आफ्नै प्रतिवेदन कार्यान्वयन गर्ने अवसर भने प्राप्त छ । काम गर्नका लागि उनलाई धेरै समय त छैन । तर, अन्तरिम सरकारको ६ महिनामा राम्रो काम गरेर इतिहास रच्ने अवसर र चुनौती उनका अगाडि छ ।

 

अष्ट्रेलियामा बढ्दो समुद्री सतह, १५ लाख मानिस जोखिममा

अष्ट्रेलिया । जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले सन् २०५० सम्ममा १५ लाखभन्दा बढी अष्ट्रेलियाली नागरिकको घर र जीवनशैलीमा गम्भीर सङ्कट उत्पन्न गर्ने चेतावनी एक महत्वपूर्ण प्रतिवेदनले दिएको छ ।

सरकारका लागि स्वतन्त्र रूपमा तयार गरिएको यो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कन प्रतिवेदन अष्ट्रेलियाको जीवनशैलीमा तापमान वृद्धिले ‘सिलसिलाबद्ध, जटिल र एकैपटक असर पार्ने’ प्रभाव पार्ने उल्लेख गरिएको छ ।

“हामी अहिले जलवायु परिवर्तनको प्रभाव अनुभव गरिरहेका छौं । यो अब केवल पूर्वानुमान होइन, वास्तविकता हो,” जलवायु मन्त्री क्रिस बोवेनले बताए । रिपोर्ट अनुसार, सन् २०५० सम्म १५ लाख अयबकतब क्षेत्रमा बसोबास गर्ने अष्ट्रेलियालीहरू समुद्री सतह वृद्धिको जोखिममा पर्नेछन्, र यो सङ्ख्या सन् २०९० सम्म दोब्बर भएर ३० लाख पुग्न सक्नेछ ।

विशेषगरी उत्तरी अष्ट्रेलियास्थित टोरेस स्ट्रेट टापुहरूमा समुद्री सतह औसत दरभन्दा छिटो बढिरहेको छ ।
एडिथ कोवान विश्वविद्यालयकी सामुदायिक समन्वयकर्ता तथा स्वदेशी समुदायकी जोएन हिलले भने“,अब हामीले ढिला गर्न मिल्दैन । यदि तुरुन्त कदम चालिएन भने, टोरेस स्ट्रेटका टापुहरूमा बसोबास गर्ने समुदायले आफ्नो घर, संस्कृति र परम्परा गुमाउनेछन् ।”
यो रिपोर्ट सार्वजनिक भएको केही दिनभित्रै अष्ट्रेलियाले पेरिस जलवायु सम्झौताअन्तर्गत नयाँ उत्सर्जन कटौती लक्ष्य सार्वजनिक गर्नेछ भन्ने अपेक्षा गरिएको छ ।

डरलाग्दो अवस्था

रिपोर्ट अनुसार, सन् २०५० सम्म अष्ट्रेलियाली सम्पत्तिको मूल्यमा ६११ अर्ब अष्ट्रेलियन डलर बराबरको गिरावट आउन सक्नेछ, जुन सन् २०९० सम्म ७७० अर्ब डलरसम्म पुग्न सक्छ ।
यदि तापक्रम ३ डिग्री सेल्सियसले बढ्यो भने, सिड्नी जस्ता शहरहरूमा गर्मीका कारण हुने मृत्युहरू ४०० प्रतिशतभन्दा बढीले वृद्धि हुन सक्छ ।
रिपोर्टमा जलवायु परिवर्तनका कारण अष्ट्रेलियाका अनगिन्ती प्रजातिहरू लोप हुन बाध्य हुने उल्लेख गरिएको छ ।
जलवायु काउन्सिलकी प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले रिपोर्टलाई ‘डरलाग्दो’ भन्दै भने,“हामी अझ तीव्र र कडा रूपमा कार्बन उत्सर्जन घटाएर राम्रो भविष्य निर्माण गर्न सक्छौं । यसको पहिलो कदम भनेको सन् २०३५ सम्मको बलियो जलवायु लक्ष्य निर्धारण गर्नु र नयाँ प्रदूषक परियोजनाहरू रोक्नु हो ।”

नीति र व्यवहारबीचको द्वन्द्व

यद्यपि अष्ट्रेलियाले पछिल्ला वर्षहरूमा हरित ऊर्जा र नवीकरणीय स्रोतहरूको विकासमा जोड दिएको छ । हालै सरकारले उत्तर–पश्चिमी क्षेत्रमा रहेको एक प्रमुख एलएनजी परियोजनालाई ४० वर्षको म्याद थपेको छ, जसले वातावरणीय तथा स्वदेशी समुदायहरूमा आक्रोश फैलाएको छ ।
उक्त ‘एलएनजी’ परियोजनाबाट प्रत्येक वर्ष १० मिलियन टनभन्दा बढी एलएनजी र पेट्रोलियम उत्पादन हुन्छ ।
जलवायु मन्त्री बोवेनले भने,“हरित भविष्यतर्फको यात्रा जटिल छ, तर हामीसँग विश्वकै उत्कृष्ट नवीकरणीय ऊर्जा स्रोतहरू छन् । ग्यास निकट भविष्यमा वैकल्पिक स्रोतको रूपमा आवश्यक हुनेछ ।”

तीन मन्त्रीले लिए शपथ : कसलाई कुन बरियता ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) सानो आकारको मन्त्रिमण्डल विस्तार गरेकी छन् । जेनजी समूहको सिफारिसबाट प्रधानमन्त्रीको कुर्सीमा पुगेकी कार्कीले तीन मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरेकी हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा नयाँ मन्त्री बनेकाहरूको जिम्मेवारी हेरफेरका साथै बरियताक्रम पनि तोकिएको छ ।

मन्त्रिमण्डलको पहिलो बरियताक्रममा प्रधानमन्त्री कार्की छिन् । दोस्रो बरियतामा अर्थमन्त्री रामेश्वर खनाल छन् । ऊर्जामन्त्री कुलमान घिसिङ तेस्रो बरियतामा छन् । उनलाई ऊर्जासँगै जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ । यस्तै गृहमन्त्री ओमप्रकाश अर्याल तेस्रो बरियताक्रमा छन् । उनलाई कानुन तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

सोमबार अपरान्ह मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ लिएका छन् । शपथ लगत्तै उनीहरू सिंहदरबार गएर पदभार सम्हाल्ने छन् ।
मन्त्रीहरूको शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा भने दाहाल उपस्थित थिएनन् ।

जेनजीको आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि शीतल निवासको परिसरमा टेन्ट राखेर मन्त्रीहरूको शपथ ग्रहणको व्यवस्था मिलाइएको छ । योसँगै मन्त्रिपरिषद चार सदस्यीय भएको छ । आइतबार अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले खनाल, अर्याल र घिसिङलाई मन्त्री नियुक्त गरेकी हुन् । अर्थमन्त्री खनाल पूर्व अर्थसचिव हुन् । गृहमन्त्री अर्याल कानुनविद् हुन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् ।यस्तै ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई बर्खास्त गरेको थियो । पछि उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई ल्याइएको थियो ।

 

ट्रम्पको दोस्रो राजकीय भ्रमण बेलायतमा भव्य तयारी

विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी ९एक प्रकारको वृक्ष० टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडाहरू अभ्यास गर्दैछन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् ।

लन्डनको पश्चिममा रहेको करिब एक हजार वर्ष पुरानो महलको हल र मैदाभरि सयौँ मानिसहरूले राजा चार्ल्स तृतीयले यस हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो राजकीय भ्रमणमा स्वागत गर्न सम्भव भएसम्म उत्तम प्रदर्शन गर्न सुनिश्चित गर्न काम गरिरहेको छ।

यो भ्रमण, चम्किलो मुकुट, ब्रास ब्यान्ड र दुई सय वर्ष पुरानो चाँदीमा पस्किने भोजसहित बेलायतले विशेष पाहुनालाई दिने बेलायतमा अन्य कतै नभएको भव्यता र समारोहको प्रदर्शन हो । तर यसको उद्देश्य स्पष्ट छ—ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिका कारण कमजोर भएको व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउनु ।

शाही इतिहासकार रोबर्ट लेसी भन्छन्, “यदि ट्रम्पले विन्डसर क्यासलमा बस्ने मौका पाउनुभएन भने उहाँ आउनुहुन्न, बरु स्वर्गीय महारानीलाई श्रद्धाञ्जलि दिन र राजालाई भेट्न चाहनुहुन्छ ।”

– सफ्ट पावरको प्रयोग –

राजनीतिक शक्ति त्यागेर औपचारिक भूमिकामा सीमित भए पनि शाही परिवार ‘सफ्ट पावर’ को शक्तिशाली साधन बनेको छ । राजकीय भ्रमण शाही कूटनीतिको सर्वोच्च औजार हो, जसका लागि विश्व नेताहरू प्रतिस्पर्धा गर्छन् ।

स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले सात दशक लामो शासनमा तानाशाहदेखि नेल्सन मन्डेलासम्मलाई आतिथ्य दिएका थिए। पछिल्ला चार अमेरिकी राष्ट्रपति पनि शाही आतिथ्यको हिस्सा भएका छन् ।

न्युक्यासल विश्वविद्यालयका विज्ञ मार्टिन फारका अनुसार यस्ता आतिथ्यले मित्रताको भावना जगाउँछ, जसले ‘अनुरोधलाई सजिलै स्वीकार गर्ने वातावरण’ बनाउँछ । यस पटक बेलायत अनुकूल व्यापार सर्त र युक्रेनबारे सहयोग खोजिरहेको छ ।

त्यसैले प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पाँच सातापछि वासिङ्टन पुगेर राजकीय निमन्त्रणा दिएका थिए । विश्व नेतामध्ये पहिलो पटक ट्रम्पले दोस्रो राजकीय भ्रमण पाउनुभएको हो र यसपटक निमन्त्रणा राजाको व्यक्तिगत पत्रमार्फत आएको थियो ।

– उद्देश्यसहित आतिथ्य सत्कार –

मङ्गलबार राति ट्रम्प र मेलानिया बेलायत पुग्ने छन् । बुधबार राजा चार्ल्स र रानी क्यामिलाले उनीहरूलाई विन्डसर एस्टेटमा स्वागत गर्ने छन् । गार्ड अफ अनर, सैन्य ब्यान्ड र दुवै देशका राष्ट्रिय गान बजाइने छन् ।

सैन्य अभ्यास महिनौँअगाडि सुरु भइसकेको छ । सयौँ सैनिक, माउन्टेड गार्ड, फुट गार्ड र सङ्गीतकारले कार्यक्रमलाई भव्य बनाउनेछन् ।

कार्यक्रमपछि ट्रम्पले बेलायत–अमेरिकाको साझा इतिहास झल्काउने प्रदर्शनी हेर्ने छन्, जसमा म्याग्नाकार्टा जस्ता ऐतिहासिक कागजात देखाइने सम्भावना छ ।

मुख्य आकर्षण भने बुधबार रातिको राजकीय भोज हुनेछ । पुरुषले सेतो टाई र पुच्छर कोट र महिलाले गाउन र गहना लगाउनेछन्, । प्राचीन क्यान्डेलाब्राको उज्यालोमा मुकुटहरू चम्किनेछन् ।

– विशाल भोज र कूटनीतिक सन्देश –

राजा र रानीले पाहुनालाई वाटरलू टेबलमा भोज दिने छन् । टेबलको लम्बाइ फुटबल मैदानको आधा बराबर छ र एक सय ६० पाहुनाका लागि ठाउँ छ । यो टेबल सजाउन पाँच दिन लाग्छ र चार हजारभन्दा बढी चाँदी–सुनका भाँडाकुँडाले सजाइनेछ ।

शाही जीवनीकार ह्युगो विकर्स भन्छन्, “चाँदी र समारोहले मेलमिलापको बाटो खोल्छ, जुन एलिजाबेथको विश्वास थियो ।”

उनका अनुसार प्रधानमन्त्री स्टार्मरले राजाको माध्यमबाट ट्रम्पलाई आकर्षित गरेका छन् र यसैमार्फत युक्रेनलगायत संवेदनशील मुद्दामा सकारात्मक छलफल सम्भव हुनेछ ।

मुख्य छलफल बिहीबार चेकर्समा हुनेछ, जहाँ ट्रम्प र स्टार्मरबीच भेट हुनेछ ।

‘उज्यालो नेपाल अभियान’ चलाउँदा–चलाउँदै कुलमान बने उर्जामन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिएकी छन् । जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएकी हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई नियुक्त गर्दै शपथ ग्रहण समेत गराएका छन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् ।

घिसिङ उनै व्यक्ति हुन्, जसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ६ महिनाअघि हटाएको थियो । गत चैत ११ गते तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काको सिफारिसमा उनलाई ओली सरकारले बर्खास्त गरेको थियो । ‘उज्यालो नेपाल अभियान’ सुरु गर्न बहराइन पुगेका घिसिङप्रति बहराइनमा मात्रै होइन, यूएई, ओमान, कतार कार्यरत नेपालीले पनि उस्तै आशा र भरोसा राखेका थिए ।

उनले जति नेपालीले भेटेका थिए, सबैको चाहना ऊर्जा क्षेत्रमा नै थप सुधार गर्न सुझाव दिएका थिए । खाडीपछि उनी अमेरिकादेखि युरोपसम्मको यात्रामा पनि उनले खाडीकै सरह समर्थन र हौसला पाएका थिए । २०८४ को प्रतिनिधिसभाका चुनावका लागि नयाँ राजनैतिक दल खोल्ने सुरसारमा लागिरहेका बेला घिसिङ अचानक तीन वटा मन्त्रालयको जिम्मेवारी लिनुपर्ने अवस्थामा पुगेका छन् ।

उनलाई तत्कालीन सरकारले आफ्नो पूरा कार्यकालसम्म पनि काम गर्न दिइएको थिएन । उनको गत साउन २४ मा कार्यकाल सकिँदै थियो । निवर्तमान सरकारले उनलाई कार्यकाल नसकिंदै बर्खासत गरेको थियो । जलविद्युत् आयोजनाका प्रवद्र्धक समेत रहेका ऊर्जामन्त्री खड्का र घिसिङबीच बढ्दो विवादबीच २०८१ चैत ११ मा घिसिङ कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका थिए । ऊर्जामन्त्री खड्काले ९ महिनामा घिसिङलाई चार पटक मन्त्रीस्तरीय र एक पटक मन्त्रिपरिषद्को निर्णयका आधारमा स्पष्टीकरण सोधेका थिए ।

घिसिङलाई उनको कार्यसम्पादन, आन्तरिक तथा बाह्य भ्रमणको स्वीकृति, भारतमा विद्युत् आदानप्रदानको सहमतिलगायतका विषयमा सरकारले स्पष्टीकरण सोधेको थियो ।डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवादमा घिसिङले उद्योगको बिजुली काटेर भए पनि उठाउनु पर्ने र ऊर्जामन्त्री खड्काले बिजुली काट्न नहुने भनेपछि मतभेद चुलिएको थियो । अन्त्यमा घिसिङको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद्ले चैतमा पदमुक्त गरेको थियो । घिसिङले भने पदबाट हटाइएको पत्र पाएपछि सरकारको निर्णयविरुद्ध अदालत गएका थिए । तर घिसिङको पक्षमा निर्णय आएन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल पहिलो पटक २०७३ भदौ २९ मा सुरु भई २०७७ भदौ २८ मा सकिएको थियो । कार्यकाल सकिएको एक वर्ष नबित्दै सरकारले हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा तानेर २०७८ साउन २५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई दोस्रो पटक प्राधिकरणको जिम्मेवारी दिइएको थियो ।

घिसिङ नियुक्त हुनु अघिसम्म देशभर दैनिक १८ घण्टासम्म बिजुली जाने गरेको थियो । त्यतिबेला प्राधिकरण अर्बौंको घाटामा थियो । घिसिङ नियुक्त भएसँगै ०७३ को दसैंतिहारमा उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । त्यसकारण पनि आमजनताले घिसिङलाई लोडसेडिङमुक्त गराएको भन्दै प्रशंसा गर्दै आएका छन् ।

रामेछापस्थित बेथानमा जन्मिएका घिसिङले २०५१ सालमा प्राधिकरणको सातौं तहका इन्जिनियरका रूपमा सेवा सुरु गरेका थिए । २०६७ साउनदेखि २०७१ असारसम्म उनले चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालक भएर रसुवागढी, मध्यभोटेकोशी, सान्जेन र माथिल्लो सान्जेन परियोजना अघि बढाउन विशेष भूमिका खेलेका थिए ।

तर तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीको हस्तक्षेप गरेपछि २०७१ साउनमा घिसिङलाई प्राधिकरणमै बोलाइएको थियो । २०७१ असोजमा उनी निर्देशक (११औं तह) मा बढुवा भएका थिए । त्यतिबेला घिसिङ राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै प्राधिकरणभित्र सक्रिय रहँदै आएका थिए । घिसिङले भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका छन् । पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङ र पोखरा विश्वविद्यालयबाट कार्यकारी व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

चीनको रोजगार बजार अगस्टमा सन्तुलित, बेरोजगारी दर ५.३ प्रतिशतमा

चीन । चीनको रोजगारी बजार अगस्ट महिनामा समग्र रूपमा स्थिर देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) का अनुसार, अगस्टमा शहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको तुलनामा ०.१ प्रतिशतले बढी हो ।
सन् २०२५ को पहिलो आठ महिनामा चीनको औसत शहरी बेरोजगारी दर ५.२ प्रतिशत रहेको ब्युरोले जनाएको छ ।

अगस्टमा देखिएको बेरोजगारीको सामान्य वृद्धि मौसमी कारणले भएको र यो दर अघिल्लो वर्षको सोही अवधिसँग मिल्दोजुल्दो रहेको एनबीएसले स्पष्ट पारेको छ ।
रोजगारीमा ग्रामीण क्षेत्रका आप्रवासी श्रमिकहरूमा पनि स्थिति स्थिर रहेको देखिएको छ । उनीहरूको बेरोजगारी दर अगस्टमा ४.७ प्रतिशत मात्र रहेको छ, जुन राष्ट्रिय औसतभन्दा कम हो ।

चीनले सन् २०२५ सम्ममा शहरी बेरोजगारी दर ५.५ प्रतिशत भित्र सीमित राख्ने लक्ष्य लिएको छ । साथै, यस वर्ष १२ लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने योजनासमेत अघि सारेको छ ।

उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा

अमेरिका  । अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पार्‍यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो ।

रुबियोले भ्रमणअघि गाजामा इजरायलको योजना बारेमा प्रत्यक्ष जवाफ खोज्ने बताएका थिए । गत हप्ता कतारमा हमास नेतामाथि भएको इजरायली आक्रमणले द्वन्द्व अन्त्य गर्ने प्रयासलाई थप जटिल बनाएको थियो ।

उनको दुई दिने भ्रमणले बढ्दो पृथक इजरायलप्रति समर्थन प्रकट गर्छ, यद्यपि संयुक्त राष्ट्रसङ्घमा अर्को हप्ता प्यालेस्टिनी राज्य निर्माणबारे विवादास्पद बहस हुने अपेक्षा छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसबारे कडा विरोध जनाएको छ ।

– कतार आक्रमणपछि पनि भ्रमण –

रुबियोको भ्रमण दोहामा भएको इजरायली आक्रमणपछि पनि जारी रहेको छ । आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेको थियो । उनले उक्त कारबाहीबारे अमेरिका पूर्वसूचित नभएको बताएको थियो ।

आइतबार नेतान्याहु, रुबियो र उनीहरूका पत्नीहरू, साथै अमेरिकी राजदूत माइक हुकाबी दम्पतीले पश्चिमी पर्खाल र नजिकै उत्खनन गरिएका सुरुङहरू अवलोकन गरेका थिए । नेतान्याहुले भने, “रुबियोको भ्रमण इजरायल–अमेरिकी गठबन्धनको स्थायित्व र बलको प्रमाण हो, यो ढुङ्गाजस्तै मजबुत छ ।”

शुक्रबार रुबियो र ट्रम्पले कतारका प्रधानमन्त्रीसँग भेटेर आक्रमणका प्रभावबारे छलफल गरेका थिए। इजरायल र कतारसँगको ती भेटहरूले ट्रम्प प्रशासनले कसरी प्रमुख सहयोगीहरूबीच सन्तुलन खोजिरहेको छ भन्ने देखाउँछ ।

कतारमा भएको आक्रमणले कम्तीमा छ जनको मृत्यु भएको थियो र संयुक्त राष्ट्रसङ्घीय महासभाको आगामी सत्रअघि युद्धविराम तथा बन्धक मुक्त गर्ने प्रयासहरूलाई पनि धक्का दिएको छ ।

यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार अरब र मुस्लिम मुलुकका विदेशमन्त्रीहरूसँग भेटेर इजरायलको निन्दा गर्नुभयो । उनले भने, “कतार इजिप्ट र अमेरिकासँग युद्धविराममा प्रतिबद्ध छ, तर इजरायलको हवाई आक्रमण ‘मध्यस्थताको सिद्धान्तमाथि प्रहार’ हो ।”

– गाजामा घातक आक्रमण –

स्थानीय अस्पतालहरूका अनुसार, आइतबार गाजाभरि भएको इजरायली आक्रमणमा कम्तीमा १३ जना मारिए र दर्जनौँ घाइते भए । देइर अल–बलाहमा भएको एउटा आक्रमणमा एउटै परिवारका छ सदस्य मारिए । मारिनेमा दुई आमाबाबु, तीन सन्तान र एक काकी रहेका थिए ।

इजरायली सेनाले तत्काल प्रतिक्रिया दिएको छैन । तर एपी भिडियोले आकाशमा धुवाँ उडिरहेको र गाजा सहरबाट हजारौँ मानिस सामानसहित भागिरहेको देखाएको छ । सेनाले बासिन्दालाई सहर खाली गर्न चेतावनी दिइरहेको छ ।

इजरायलले तीन अग्ला भवन ध्वस्त पारेको छ । गाजाको इस्लामिक युनिभर्सिटीको एउटा भवन दुईपटक प्रहारपछि भत्काइएको छ । अल–सिफा अस्पतालमा हताहत भएको रिपोर्ट छ, तर विवरण अज्ञात छ ।

सेनाले हमासले ती भवनहरूलाई निगरानी केन्द्रका रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ । तर सेनाले प्रमाण प्रस्तुत गरेको छैन ।

“यो नरसंहारको एक हिस्सा हो”, गाजा सहरका बासिन्दा अबेद इस्माइलले भने, “तिनीहरू सहरलाई भग्नावशेष बनाउँदै छन् र हामीलाई अर्को ‘नाकबा’ तिर धकेल्दै छन् ।”

– भोकमरी चर्किँदै –

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकमरीका कारण दुई वयस्कको मृत्यु भएको छ । जुनदेखि हालसम्म दुई सय ७७ वयस्क र युद्ध सुरु भएदेखि एक सय ४५ बालबालिकाले कुपोषणका कारण ज्यान गुमाएका छन् ।

इजरायली निकायले गत हप्तामा एक हजार दुई सयभन्दा बढी सहायता ट्रक गाजामा प्रवेश गरेको दाबी गरेको छ । तर सहायता संस्थाहरू यो ठूलो आवश्यकताका लागि पर्याप्त नभएको उल्लेख गर्दै धेरै सहायता गन्तव्यमा पुग्नुअघि नै लुटिने गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय टोलीहरूले गाजासम्मको पानी लाइनमध्ये एकलाई मर्मत गरी आपूर्ति बढाएको इजरायलले जनाएको छ । तर पानी अझै अभावमै छ र मानिसहरू दुई–तीन दिनमा आउने ट्रकहरू पछ्याएर बोतल र भाँडामा भरेर लैजान बाध्य छन् ।

– युद्धको पृष्ठभूमि –

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार दुई सय जनाको हत्या र दुई सय ५१ जनाको अपहरण गरेसँगै गाजामा युद्ध सुरु भएको थियो । अझै ४८ जना बन्धक गाजामा छन्, जसमा २० जना जीवित रहेको इजरायलको विश्वास छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको प्रत्याक्रमणले हालसम्म कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनीको ज्यान गएको छ । यसमा नागरिक र लडाकू कति छन् भनेर भने छुट्याइएको छैन ।

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई नियुक्त गरेकी छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् ।

 

तस्बिरहरु:-

कतारको आह्वानः ‘दोहोरो मापदण्ड’ अस्वीकार गर अनि सजाय देऊ

कतार(दोहा)। दोहामा हमासका सदस्यहरूमाथि इजरायली आक्रमणको प्रतिक्रियामा बोलाइएको आपत्कालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा कतारका प्रधानमन्त्रीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड’ अस्वीकार गर्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गरेका छन् ।

इजरायलको घातक आक्रमणले आलोचनाको लहर सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तोष प्रकट गरे पनि समर्थन देखाउन विदेशमन्त्री मार्को रुबियोलाई इजरायल पठाएका छन् ।

अरब र इस्लामिक नेताहरूको सोमबार हुने आपत्कालीन भेलाले खाडी मुलुकबीच एकताको प्रदर्शन गर्ने अपेक्षा छ । यसले गाजामा युद्ध र मानवीय सङ्कट अन्त्य गर्न बढ्दो आह्वानलाई थप बल दिन खोज्नेछ ।

“अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न रोकिनुपर्ने र इजरायलले गरेका सबै अपराधका लागि सजाय दिनुपर्ने समय आएको छ”, प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तयारी बैठकमा भने । उनले गाजामा इजरायलको ‘उन्मूलन युद्ध’ सफल नहुने दाबी गरे ।

“इजरायललाई निरन्तरता दिने प्रमुख कारण मौनता र अन्तर्राष्ट्रिय समुदायको कमजोरी हो”, उनले भने ।

सोमबारको शिखर सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान, इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सहभागी हुने अपेक्षा छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास आइतबार नै दोहा पुगेका छन् । तर साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान उपस्थित हुने कि नहुने स्पष्ट छैन ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीका अनुसार बैठकमा ‘कतार राज्यमा इजरायली आक्रमणसम्बन्धी मस्यौदा प्रस्ताव’ मा विचार गरिनेछ ।

टर्कीका विदेशमन्त्री हाकान फिदानले अल जजिरासँग भने, “अब इजरायलको व्यवहार केवल प्यालेस्टाइन–इजरायलको मुद्दा मात्र होइन, यो क्षेत्रकै सबैभन्दा ठूलो समस्या इजरायली विस्तारवाद हो ।” उनले अरब र इस्लामिक मुलुकहरूलाई एकताबद्ध भएर नयाँ आधारमा समाधान खोज्न आग्रह गरे ।

हार्वर्ड मिडल इस्ट इनिसिएटिभकी एल्हाम फक्रोका अनुसार खाडी राष्ट्रहरूले सम्मेलनमार्फत वासिङ्टनलाई इजरायलमा दबाब दिन आह्वान गर्नेछन् । “उनीहरूले अझ बलियो अमेरिकी सुरक्षा आश्वासन पनि खोज्ने अपेक्षा छ, किनकि इजरायलको कार्यले हालका आश्वासनलाई कमजोर बनाएको छ”, उनले भने।

फ्रान्सको साइन्सेज पो युनिभर्सिटीका करिम बितरले अरब र मुस्लिम नेताहरूका लागि यो ‘लिटमस टेस्ट’ हुने बताए । उनका अनुसार मतदाताहरू पुरानो शैलीको कूटनीतिबाट थकित भएका छन् । “अब अपेक्षा छ, यी देशहरूले इजरायल मात्र होइन, अमेरिकालाई समेत सन्देश दिनुपर्छ कि अन्तर्राष्ट्रिय समुदायले इजरायललाई दिइरहेको खाली चेक अन्त्य गर्ने समय आएको छ”, उनले भने ।

कतारले यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य आधार राखेको छ र अमेरिकासँगै इजिप्टसँग मिलेर इजरायल–हमास युद्धमा मध्यस्थताको प्रमुख भूमिका खेलेको छ । प्रधानमन्त्री शेख मोहम्मदले हालैको अमेरिका भ्रमणमा राष्ट्रपति ट्रम्पसँग रात्रिभोज गरेका थिए ।

हमास पोलिटब्युरो सदस्य बासेम नइमले शिखर सम्मेलनबाट ‘निर्णायक र एकीकृत अरब–इस्लामिक धारणा’ आउने अपेक्षा गरिएको बताए । उनका अनुसार सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको गाजा युद्ध अन्त्यतिर मोडिन सक्नेछ ।

अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई नियुक्त गरेकी छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् ।

अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् । सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।

खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् । उनीहरु दुबै जेनजी आन्दोलनकारी रुचाएका व्यक्ति हुन् । जेन–जी आन्दोलनपछि उनीहरूको मागलाई निष्कर्षमा पुर्‍याउन अधिवक्ता अर्यालले भूमिका खेलेका छन् । अन्य मन्त्रीहरूको छनोटमा पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेन–जी युवासँग परामर्श गरिरहेकी छन् । जेन–जी आन्दोलनको मागअनुसार पूर्व प्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । प्रधानमन्त्री बनेको तेस्रो दिनमा उनले केही मन्त्री छानेकी हुन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबार पुगेर पदबहाली गरेकी हुन् ।

मन्त्रीहरुको शपथमा पनि देखिएनन् सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष दाहाल भने सहभागी
काठमाडौं । सभामुख देवराज घिमिरे नवनियुक्त मन्त्रीहरुको शपथ समारोहमा पनि अनुपस्थित भएका छन् । वर्तमान सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुनमा निर्वाचन तोकेपछि असन्तुष्ट बनेका उनी मन्त्रीहरुको शपथमा पनि नगएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पनि उनी गएका थिएनन् । शीतल निवासले सभामुख अनुपस्थित रहने जानकारी यसअघि नै पाएपछि उनका लागि कुर्सीको व्यवस्था गरेको थिएन । मन्त्रीहरुको शपथ समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल भने सहभागी भएका छन् । उनी प्रधानमन्त्री कार्कीको शपथमा भने देखिएका थिएनन् ।

मन्त्रीहरुको शपथ कार्यक्रममा बाबुराम भट्टराई बाहेक अन्य पूर्वप्रधानमन्त्रीहरु पनि देखिएका छैनन् । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि समारोहमा गएका छैनन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।

बालुवाटारमा विरोध प्रदर्शन गर्दै सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा (भिडियोसहित)

काठमाडौं। तीन मन्त्री नियुक्त गरेको समाचार सार्वजनिक भइएपछि सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङको समूहले नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका हुन् ।

टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य अझै अनिश्चित रहेको बताउँदै अन्ततः चीनले नै यसको भाग्य निर्धारण गर्ने सङ्केत दिएका छन् ।

“हुन पनि सक्छ, नहुन पनि सक्छ । हामी अहिले टिकटकसँग वार्ता गरिरहेका छौँ । हामी यसलाई बन्द गर्न सक्छौँ, वा अघि बढाउन सक्छौँ, ठ्याक्कै थाहा छैन । यो अन्ततः चीनमा निर्भर छ । यसले धेरै फरक पार्दैन । तर म यो बच्चाहरूको लागि गर्न चाहन्छु, किनभने उनीहरूलाई यो मन पर्छ”, न्युजर्सीमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, “स्वार्थी रूपमा भन्नुपर्दा, मैले टिकटकसँग राम्रो काम गरेँ र युवाहरूको भोट पाएँ । त्यस्तो समर्थन सङ्ख्या रिपब्लिकन पार्टीमा अरू कसैले कहिल्यै पाएन ।”

न्युयोर्क टाइम्सका अनुसार टिकटकलाई यसको चिनियाँ मालिक बाइटडान्सबाट अलग गर्ने वा अमेरिकामा प्रतिबन्धको सामना गर्ने कानून लागू गर्न वा फेरि ढिलाइ गर्न ट्रम्पसँग सेप्टेम्बर १७ सम्म समय छ । उनले यसअघि नै तीन पटक कानून लागू गर्न ढिलाइ गरिसकेका छन् ।

गत वर्ष अमेरिकी सदनले द्विदलीय समर्थनसहित पारित गरेको कानूनअनुसार गैर–चिनियाँ मालिक नभेटिएसम्म टिकटकले देशमा सञ्चालन गर्न पाउने छैन । यसका कारण चीनसँगको सम्बन्धले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको मानिन्छ ।

चीनसँगको वार्ता अझै जटिल बनेको छ । अप्रिलमा ट्रम्पले चिनियाँ आयातमा एक सय ४५ प्रतिशत कर लगाउनुभएको थियो, पछि घटाएर ३० प्रतिशतमा ल्याउनुभयो । त्यसको जवाफमा चीनले अमेरिकी उत्पादनमा १० प्रतिशत कर लगायो ।

गत शनिबार चीनले अमेरिकामा बनेका केही माइक्रोचिपहरूको निर्यातबारे अनुसन्धान सुरु गरेको घोषणा गर्‍यो । अघिल्लो दिन अमेरिकी वाणिज्य मन्त्रालयले चिनियाँ चिप कम्पनीहरूलाई व्यापारको कालो सूचीमा राख्ने जनाएको थियो । यी कदमहरूले दुवै देशबीचको वार्तामा थप दबाब बढाएको छ ।

अमेरिका र चीन अहिले थप कर कटौती, दुर्लभ पृथ्वी खनिज र चुम्बकको ढुवानीमा चीनले लगाएको प्रतिबन्धबारे छलफल गरिरहेका छन् । चीनले अमेरिकी कृषि उत्पादन, विशेषगरी सोयाबिन खरिद गर्न रोकेकोमा ट्रम्प प्रशासन चिन्तित छ, जसले अमेरिकी किसानहरूको जीविकोपार्जनमा ठूलो असर पारेको छ ।

यससँगै अमेरिकी अधिकारीहरूले चीनको अत्यधिक औद्योगिक क्षमतालाई असन्तुलित अर्थतन्त्रको कारण भन्दै आलोचना गरेका छन् र चिनियाँ पक्षलाई रुस र इरानबाट तेल खरिद नगर्न आग्रह गरेका छन् ।

ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी महिना दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन फोरममा भेट्ने तय भएको छ । साथै सीको निमन्त्रणामा कुनै समय चीन भ्रमण गर्न सक्ने सङ्केत पनि ट्रम्पले दिएका छन् ।

नयाँ मन्त्रीको शपथमा पनि देखिए पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं । जेन–जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषदमा विषय विज्ञहरू सामेल गराउने प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा प्रधानमन्त्री कार्कीले तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका व्यक्तिहरूको नाम टुंगो लगाएकी छन् ।

अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ । कार्कीले मन्त्रिमण्डललाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गरेकी छन् । शपथ समारोहमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित, प्रधानसेनापति असोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्यालसहितका व्यक्तिहरूको सहभागिता रहेको छ ।

आन्दोलनबाट बचाएका प्रहरी बिट आज प्रहरीलाई हस्तान्तरण

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा उपत्यकाका दर्जनौं प्रहरी वृत्त र बिट तोडफोड तथा आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छन्।

सिंहदरबार प्रहरी वृत्त अन्तर्गत थापाथली प्रहरी बिटलाई अराजक तत्वहरूको आक्रमणबाट बचाउँदै स्थानीयले प्रहरीका सरसामान, भाँडावर्तनदेखि लत्ताकपडा समेत सुरक्षित राखेका थिए। आन्दोलनकै बीचमा संरचना जोगाउन विशेष पहल गरेका बासिन्दाले आज औपचारिक रूपमा बिटको सरसामान सहित बिटको चाबी बिटका प्रहरी प्रमुखलाई फिर्ता गरेका छन्।

थापाथली सुकुम्बासी बस्तीका अगुवाहरू अध्यक्ष मीनकुमार मगर, सचिव गोपाल पौडेल, सल्लाहकार दल मर्दन कामी, सुमन चौधरी, गणेश राइगाई, बेन्जामुन सुब्बा, आकाश बुढाथोकी, गोपाल माझी र पदम लामा लगायतको नेतृत्वमा आयोजित कार्यक्रममा बासिन्दाले प्रहरीलाई स्वागत गर्दै खादा अर्पण समेत गरेका थिए।

यस अवसरमा सिंहदरबार प्रहरी वृत्तका प्रमुख डिएसपी जनार्दन घिमिरेसँग समन्वय गरेर स्थानीयले प्रहरी बिट थापाथलीका प्रमुख हवल्दार बलबहादुर सुनारसहित पाँच जना प्रहरीलाई स्वागत सम्मान गरेका छन्।

कार्यक्रममा बोल्दै दल मर्दन कामीले भने, “देशका करिब ५० प्रतिशत प्रहरी वृत्त र बिट आन्दोलनमा क्षति पुगेको अवस्थामा थापाथली सुकुम्बासीले देखाएको उदाहरणले सम्पूर्ण देशलाई व्यक्तिले गरेको गल्तीमा राज्य वा समुदायको सम्पत्तिको ध्वस्त गर्नु मुर्खता हो यसलाई राज्य र समाजको सम्पत्ति जोगाउने जिम्मेवारी आम नागरिक हो संरक्षण गर्नुपर्ने सन्देश दिएको छ यसकार्यले जनताले चाहे भने राज्यको सम्पत्ति र संरचना जोगाउन सक्छन्।”

त्यसैगरी, हवल्दार बलबहादुर सुनारले भावुक हुँदै बस्तीका सम्पूर्ण बासिन्दा र अगुवाहरूप्रति आभार प्रकट गर्दै भने, “तपाईँहरूको सहयोगले प्रहरी मात्र होइन, राज्यको सिङ्गो संरचनालाई नै बल मिलेको छ।”

यो घटनाले आन्दोलनको कठिन परिस्थितिमा पनि जनताको सचेत सहभागिता र जिम्मेवार आचरणबाट राष्ट्रिय सम्पत्ति तथा सुरक्षात्मक संरचना जोगाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित

रुपन्देही । भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।

विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर ६ को भैया टोल र बैंकरोड क्षेत्रमा पानी जमेको छ । सडकहरू पानीले भरिँदा पैदल यात्रु र सवारीसाधन दुवैलाई समस्या भएको छ । स्थानीय बासिन्दाका घर र पसलमा पनि पानी पसेको छ ।

सहरको महत्त्वपूर्ण मानिने भीम अस्पताल परिसर पनि डुबानमा परेको छ । यसले गर्दा बिरामी र उनीहरूका आफन्तलाई अस्पतालसम्म पुग्न र त्यहाँभित्र आवतजावत गर्न असहज भएको छ ।

यसैगरी हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्रमा समेत पानी जमेको छ । जसले गर्दा यात्रुहरूलाई केही असुविधा भएको छ ।

भारी वर्षाका कारण सडक यातायात पनि प्रभावित भएको छ । भैरहवामा रहेका कुलोहरू नयाँ बनाउने नाममा साँघुरो पारेको, समयमा त्यसको सरसफाइ नगरेका कारण यस्तो समस्या वर्षेनी आउने गरेको डुबान पीडित स्थानीय अजय गुप्ताको भनाइ छ ।

पार्टी छिटो पुनर्गठन गरौं : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बाँस्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’ राजनीतिक दल विना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्दैन भन्दै बास्कोटाले लेखेका छन्, ‘समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।’

भतिजले गरे काकीको हत्या : पाँच बालबालिकाको बिचल्ली

बैतडी । बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ ।

चार वर्षअघि जण्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमती समेत नरहेपछि पाँच छोराछोरीको बिचल्ली भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले हत्यामा संलग्न यज्ञसिंह पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

आमा बुवा दुवै गुमाएका बालबालिकाको घरमा कोही पनि अभिभावक नरहेको मृतक बेलमतीका भाइ केशव विष्टले जानकारी दिए । उनले भने, ‘दिदीको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ । घरमा रेखदेख गर्ने मान्छे कोही पनि छैन् । निकै समस्या भएको छ ।’

घरको साहरा ढलेपछि अहिले बालबालिकालाई सम्हालिन निकै समस्या भएको स्थानीय सूर्यबहादुर बोहराले बताए । उनले भने, ‘पीडित बालबालिकाका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । अभियानमार्फत सङ्कलित रकम बालबालिकालाई प्रदान गरिनेछ ।’ बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ । बेलमतीको परिवारमा निकै समस्या रहेको सिगास –२ वडाध्यक्ष ठगेन्द्रसिंह ऐरले बताए ।

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार ।

आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिनुहुन्थ्यो । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उहाँ उत्तिकै आशावादी हुनुहुन्छ । रसिलो आँखा पार्दै उहाँले भन्नुभयो, “यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।”

सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् । सिंहदरबारको तस्बिर कैद गरिरहनुभएकी कानुन व्यवसायी देवमाया घिमिरेले भन्नुभयो, “सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।”

अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद  गर्दा अधिकांशमा मौनता देखिन्थ्यो ।

आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा  चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछकी भन्ने चिन्ता छ । उहाँ भन्नुहुन्छ, “सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।”

गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थप्नुभयो, “धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैँले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।”

सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताउनुभयो । “एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताउनुभयो । उहाँले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताउनुभयो ।

सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उहाँले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाउनुभयो ।

यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो ।

विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरु युरोपबाट मगाइएको थियो ।

आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् । – सिबी अधिकारी/रासस

पर्वत फलेबासका वडाध्यक्ष तिवारी कार्यालयबाटै पक्राउ

पर्वत । जेन–जी प्रदर्शनकारीलाई उक्साउने गरी स्टाटस लेखेको भन्दै पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई आइतबार वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

जेन–जी प्रदर्शनमा घृणा फैलाउने गरेर सामाजिक सञ्जालमा लेखेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले जानकारी दिए । उनीविरुद्ध विद्युत्तीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको छ। वडाध्यक्ष तिवारीले स्टाटसमा डिएसपीको नामै तोकेर जेनजीले कारबाही गर्नुपर्ने उल्लेख गरेका थिए ।

‘फलेवासका बालुवा तस्करहरू, तस्करका संरक्षकहरु र कारबाही गरी पाउँ भनि पत्र बुझाउन जाँदा पत्र नबुज्ने डिएसपी रविन बिष्ट लगायत केही भ्रष्ट नेता तथा केही भ्रष्ट कर्मचारी यी भ्रष्टलाई समेत जेनजीले कारबाही गरिदिन्छ कि भन्ने आशा गरेको छु । प्रहरीले कारबाही नगर्ने भएपछि ?’, उनले लेखेका छन् । उनी फलेबास नगरपालिकाका र नेपाली कांग्रेस पर्वतका प्रवक्ता समेत हुन् ।

अहिलेलाई संविधान बाँच्नु नै सबैभन्दा ठूलो कुरा : नेसपा

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले असोज ८ गते केन्द्रीय समितिको बैठक बोलाएको हो ।जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्न बैठक बोलाइएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन् ।

शर्माका अनुसार बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरु तथा जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गर्ने निर्णय गरिएको छ । हिजोको बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान बचाउन सफल भएकोमा खुशी व्यक्त गरेका थिए । विदेशीको इसारामा देशभित्रका विभिन्न स्वार्थ समूहले विध्वंस मच्चाएको बैठकले निष्कर्ष निकालेको छ ।

‘जेनजी आन्दोलनमा संविधान मास्न चाहने तत्वहरूको घुसपैठ देखिएको छ । विदेशीको इसारामा विभिन्न स्वार्थ समूहले विध्वंस मच्चाए । भिरबाट खस्न लागिएको गाडीलाई जबरजस्ती भित्तामा ठोकाएर प्यासेन्जर बचाउन सफल भइएको छ। अहिलेलाई संविधान बाँच्नु नै सबैभन्दा ठुलो कुरा हो, त्यसमा हामी सफल भयौँ’, भट्टराईको भनाइ उद्धृत गर्दै शर्माले बताए ।

बैठकले हालको राजनीतिक संक्रमणलाई सम्बोधन गर्ने क्रममा पार्टीले युवापुस्ताको आकांक्षा र आन्दोलनमा देखिएको ऊर्जा आत्मसात् गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘यो नयाँ पुस्ता र नयाँ नेपालको ऐतिहासिक घडी हो, त्यसैले नेसपा नीतिगत र संरचनात्मक दुवै हिसाबले निर्णायक छलाङ मार्नेछ’, उनले भने ।

यसअघि नेसपाले जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै भ्रष्टाचार, नातावाद र असक्षम शासनको अन्त्यका लागि व्यापक सुधारको खाँचो रहेको जनाएको थियो । २०८२ असोज ८ गते हुने बैठकलाई त्यसैको औपचारिक निरन्तरता स्वरूप हेरिएको छ ।

हर्क साम्पाङको प्रश्न : मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रै’छ ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री बन्नका लागि भारतीय दूतावास धाउने नेपाली प्रवृत्तिप्रति व्यङ्ग गरेका छन् । मन्त्री बन्नु अघि दूतावास जाने चलनप्रति प्रश्न गर्दे उनले यस्तो व्यङ्ग गरेका हुन् ।

‘मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रै’छ ? यो मैले नबुझेको ! म त जान्न ! ‘जाँदिनँ’ भन्दिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री बनें भने मलाई भेट्न र बधाई दिन चाहिँ आउनु पर्छ भारतीय राजदूत नमस्कार गर्दै मेरो मन्त्रालयमा ! कि कसो नेपाली हो ?’

प्रधानमन्त्री कार्कीलाई नारायणकाजीका ६ सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन् । कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै आफूले फोनमार्फत बधाई तथा शुभकामनासँगै केही सुझाव दिन खोजे पनि त्यो सम्भव नभएको भन्दै उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीलाई केही सुझाव दिएका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले कार्कीलाई छिटो राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त र स्वच्छ एवं क्षमतावान व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन, सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचनमा केन्द्रित गर्न, जेनजी आन्दोलमा भएको जनधनको क्षतिको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही माग गरेका छन् ।

त्यस्तै उनले ध्वंस गरिएका संरचनाको पुनर्निर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया सुरु गर्न, भ्रष्टाचारविरुद्ध माओवादी नेतृत्वको सरकारले थालेका कारवाहीलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाउन र प्रतिनिधिसभा नरहेको अहिलेको अवस्थामा संघीय संसद्को भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसद्को आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न पनि उनले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका छन् ।

‘तपाईं लोकरिझ्याइँका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह संकटमा धकेलिनेछ । अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ,’ उनले भनेका छन् ।

हेर्नुस् नारायणकाजी श्रेष्ठका सुझाव

सम्माननीय प्रधानमन्त्री ज्यू,

तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ । तपाईंको फोन सम्पर्क हुन सकेन। तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु । तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु ।

एक– तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरू मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।

दुई–तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।

तीन–भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरूमाथी कारवाही गर्नुस् ।

चार–ध्वंस गरिएका संरचनाहरूको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।

पाँच–भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाहीहरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।

छ–प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।

सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईं लोकरिझ्याइँका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ । अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौं ।

महेश बस्नेतको चुनौती : एमाले–कांग्रेसमाथि रिस होइन, हामीले भन्दा राम्रो गरेर देखाऊ

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टीको रिस गरेर हैन पार्टीभन्दा राम्रो गरेर देखाउन नयाँ सरकारलाई चुनौती दिएका छन् । ‘एमाले–कांग्रेसमाथि रिस होइन, हिम्मत छ भने हामीले भन्दा राम्रो गरेर देखाऊ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेसबुकमा लेखे जस्तो देश बन्दैन, कामले मात्र देश बन्छ ।’

उनले कुराले चिउरा नभिज्ने भन्दै काम गरेर देखाउन चुनौती दिएका हुन् । ‘कुरोले चिउरा भिज्दैन सम्धी,’ उनले लेखेका छन्, ‘चिउरा भिज्न त दही वा दूध चाहिन्छ, नभए पानी भए पनि चल्छ ।’

कुलमानसहित तीन मन्त्रीहरुको शपथ साढे ११ बजे

काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज (सोमबार) बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो ।

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुङ्गो लागेको स्रोतले जनाएको छ ।

पूर्व सचिव समेत रहेका खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका थिए । कानुन व्यवसायी अर्याल काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार हुन्। घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।

तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गए राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।

चोरी भएका सामान फिर्ता गर्नु नभए कारबाही गरिन्छ : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा चोरी भएका र हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ ।

आयोगले आज (सोमबार) सूचना जारी गर्दै आयोगको इटहरी, पोखरी, हेटौँडा, बुटवल लगायतका कार्यालयहरूबाट आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएको जानकारी दिएको हो ।

तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारी साधन, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिक्स, स्क्यानर, क्यामरा, आइप्याड, मोवाइल, ल्यापटप, हिटर, पंखा लगायतका सामानहरू लुटपाट एवं चोरी भएको आयोगले जनाएको छ ।

‘तोडफोड तथा चोरीमा संलग्नहरूको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नु भएको भए ती सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ वा यस आयोगको कार्यालय टंगाल र आयोगका मातहतका कार्यालयको हकमा तत् तत् कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा लगेर बुझाउन अनुरोध छ,’ आयोगको सूचनामा भनिएको छ । अन्यथा कानुन बमोजिम भइजाने चेतावनी समेत आयोगले दिएको छ ।

हेर्नुस् सूचना

सुदन गुरुङ समूहद्वारा मध्यराति प्रधानमन्त्रीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।

मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका हुन् । जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी प्रदर्शनमा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । सुदनले प्रधानमन्त्रीले कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गरेको निर्णयप्रति विशेष आपत्ति जनाएका छन् ।

गत शुक्रबार सुदन समूहकै प्रस्तावमा कार्की प्रधानमन्त्री बनेकी थिइन् । उनले आइतबार ओमप्रकाश अर्याललाई गृहमन्त्री, रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् । सुदनका समर्थकहरुहरुले आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोशित भएका थिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

शहीद परिवारले प्रधानमन्त्री भेट्न नपाएपछि मध्यरात बालुवाटारमै धर्ना
जेनजी आन्दोलनका शहीद परिवारले आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिबद्धताबमोजिम आफूहरुको माग पूरा नगरेको र दिनभर कुराएर भेट नदिइ बालुवाटारबाट निकालेको भन्दै आक्रोशित उनीहरुले प्रम निवासको गेटमा राति धर्ना दिएका हुन् ।

आफूहरुलाई वेवास्ता गरी प्रधानमन्त्री कार्की सत्ताको खेलमा लागेको उनीहरुको आरोप छ । धर्नामा जेनजी समूहको नेतृत्व गरिरहेका सुधन गुरुङ आफ्नो टिमसहित पुगेका थिए । उनले शहीद परिवारको कुरा बालुवाटारभित्र पुर्‍याउने प्रयास गरे पनि सम्भव भएन ।

शहीद परिवारका सदस्यले पाँच माग अघि सारेका छन् । मृतकलाई राष्ट्रिय शहीद घोषणा गर्ने, उनीहरुको राजकीय अन्त्येष्टि र शव यात्रा गर्नुपर्ने पहिलो माग छ । दोस्रोमा परिवारलाई उचित क्षतिपूर्तिका साथै रोजगार, बीमा, शिक्षाको प्रबन्ध गर्नुपर्ने । तेस्रो अब बन्ने विभिन्न समितिहरुमा शहीद परिवारको प्रतिनिधित्व हुनुपर्ने माग अघि सारेका छन् । चौथोमा विमानस्थलमा फोटोहरु राखेर शहीदप्रति सम्मान दिनुपर्ने र पाँचौ माग शालिकसहित एउटा शहीद पार्क बनाइदिनुपर्ने छ ।

प्रधानमन्त्री कार्कीले शनिबार शहीद परिवारसँगको भेटमा मागहरु सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएकी थिइन् । आइतबार बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको आमन्त्रणअनुसार ८ बजे नै बालुवाटार पुगेका शहीद परिवारले रातिसम्म पनि प्रधानमन्त्री भेट्न पाएनन्। राति १० बजेपछि सेनाले उनीहरुलाई बाहिर निकालेपछि आक्रोशित बनेका उनीहरुले गेटमा धर्ना दिएका हुन् ।

‘आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरूलाई दोष दिनुभन्दा गल्तीबाट पाठ सिक्नु पर्ने महसुस गरेका छन् । जेनजी युवाको आन्दोलनपछि सत्ता खोसिएर अहिले फुर्सदमा रहेका उनले डा. भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र’ पुस्तक पढेपछि गल्ती स्वीकार गरेका हुन् ।

थापाको भनाइ उद्धृत गर्दै उनले भनेका छन्, ‘भूतकालमा धेरै भूलहरू भएका हुन सक्छन् । त्यसैलाई केलाउँदै कसैलाई दोषी देखाइरहनु भन्दा त्यसबाट पाठ सिक्नु पर्छ । बुद्धिमान व्यक्ति अरूको भूलबाट सिक्छन्, मध्यम खालका भने आफै भूल गरेपछि मात्र सिक्छन् । अनि आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन् ।’

एमाले महासचिव पोखरेलले कामको लामो अनुभव सँगालेका थापाको उक्त विचार अहिलेको सन्दर्भमा निकै सान्दर्भिक लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्री सुशीला कोइरालाले तीन मन्त्री चयन गरेको दिन आइतबार राति एमाले महासचिव पोखरेलले यस्तो स्टाटस लेखेका हुन् ।

जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख बनेकी पूर्व प्रधानन्यायाधीश (गैरसांसद) सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । मन्त्रीहरू पनि धमाधम गैरसांसद बन्ने देखिएको छ । अर्थात राजनीतिक दल निषेध देखिएको छ ।

कांग्रेस नेता मोहन बस्नेतको आक्रोश : माओवादीका ‘छाउरा’ ले मेरो घर जलाए

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो घर ध्वस्त बनाउनमा माओवादी केन्द्रको हात रहेको आरोप लगाएका छन् । यसमा स्वदेशी मात्र नभएर विदेशीहरु पनि संलग्न रहेको उनको आरोप छ ।

बस्नेतले आज सिन्धुपाल्चोकस्थित आफ्नो जलेको घर अगाडि केही मानिसहरु जम्मा गरेर आक्रोश व्यक्त गरेका छन् । आफ्नो घर ध्वस्त पारिएकोमा उनले कडा आक्रोश पोखेका छन् ।

बस्नेतको अभिव्यक्तिको मुख्य अंश :

मेरो तीनकुनेको घर पनि जलाई दिएँ, यहाँको पनि जलाइ दिए । माओवादीको सक्रियतामा यो सबै भएको छ । तर, यहाँ स्वदेशी मात्र छैनन् विदेशी पनि देखिएका छन् । यो गम्भीर परिस्थिति हो । मलाई कतिपय साथीहरुले तँ अब बोल्ने काम नगर, प्रष्ट बोल्दा देशमा पच्दैन भनेर पनि भनेका छन् ।

तर म यो देशको लागि, नेपाली जनताको लागि, प्रजातन्त्रका लागि धेरै सानो उमेरदेखि लडेको हुँ । मेरो परिवार पञ्च हुँदा पनि म प्रजातन्त्रका लागि लडेको हो । नेपाल आमा रोइरहेको बेलामा कसले के भन्ला, प्रहरी र सेनाले के गर्ला भनेर चुप बस्न मिल्दैन ।

व्यक्तिका घर जग्गाहरु आगजनी गरेका छन् । यहाँको वाल अस्ति भत्काए । फेरि अस्थायी वाल लगाएको, फेरि भत्काउन आए । गोदेर लखेटेको हिजो । हामी राष्ट्रका लागि लडेका हौं, एक–दुई–जनाले ट्याइफ्याँइ गर्दैमा चुप लागेर बस्ने स्थिति छैन । हिजो प्रहरी र सेनाले मलाई सुरक्षा दिन सकेन । सुर्खेतमा नेपाली कांग्रेसका लडाकु साथीहरुले सुरक्षा दिएर राखेको हो ।

मुलुकलाई अप्ठेरो पर्दा, प्रजातन्त्र खतरामा हुँदा नेपाली भन्ने दलाल, फटाहा, लुटेरा, आतंककारी फेरि रमझम गर्न थालेका छन् । आन्दोलनले एउटा रुप लेला । तर यसको कमाण्डर छैन । जुन आन्दोलनमा नेता, कमाण्डर हुँदैन त्यो आन्दोलन स्थिर हुँदैन । आन्दोलनकारीको बीचमा भाँडभैलो र कुटाकुट भइरहेको छ । यो स्थितिमा देशले कति दुख पाउने हो । हामीले नेपाल भन्न पाउने पनि हो कि होइन भन्ने अवस्था छ ।

म दावाका साथ भन्छु सिन्धुपाल्चोक जिल्लामा कांग्रेस जतिको विकास कसले गरेको छ ? कोही माइकल लाल छ हामीसित दोहोरो कुरा गर्न सक्ने ? सिंहदरबारमा आगजनी गर्ने, सर्वोच्च अदालतमा आगजनी गर्नेको निस्कियो ? कोही ल क्याम्पसका पूर्वसभापति, कोही किर्तिपुरका । यो देशमा माओवादी भन्ने कति गद्दार रहेछन् भन्ने देखिएको छ ।

अब चुनाव त के होला, संविधान मिचिएको छ । चुनाव हुने स्थिति भयो भने कांग्रेस भाग्दैन । तिमीहरु सबैका जमानत जफत गरिन्छ, माओवादीका छाउरा हो । जेएनजीका नाममा एउटा मुभमेन्ट चल्यो । त्यसको पछि लागेर देशभरि आतंक गरेको छ ।

प्रचण्डले केही दिनअघि मात्रै सिंहदरबार र बालुवाटरमा आगो लाग्छ भन्ने हिसाबले वक्तव्य जारी गरेको थियो । एमालेको एउटा छाउरो मेयर भइसकेको मान्छेले मोहन बस्नेतको घरघरमा आगो लगाउने भनेर लेखेको छ । हाम्रो साथीहरुले स्क्रिन सट गरेर राखेका छन् । आतंककारीहरु।

मैले यति कुरा बोल्दा बोल्दै मलाई आजैबाट खतरा बढ्न सक्छ । खतराको बाउ बढोस् । म देश र जनताको लागि लड्न तयार छु । आँपको विरुवा उखेलेका छन् । गमला घरघरमा लगेका छन् । फुल उखेल्या छ । यो बाटो मैले बनाइद्या हो । आगो लगाउने माओवादीहरुले मोहन बस्नेतले टेरामक्स काण्ड गरेर कमाएको जग्गा भनेको छ । छिमेकीहरुलाई सोधे हुन्छ । ५६ सालमा किनेको जग्गा हो यो ।

अहिले बनेको सरकार… सरकार के भन्नु तीन दिनसम्म मन्त्रीपरिषद बन्या छैन । यसको हुति हेरौं के हुँदो रहेछ । भएन भने फेरि जनताको जिउधनको सुरक्षा गर्ने, प्रजातन्त्रको रक्षा गर्ने, मुलुकको रक्षा गर्ने कांग्रेसको पालो हो ।

म यो ठाउँमा आउँदा रोपनीको ५ लाख रुपैयाँ थियो । मैले बाटोघाटो, खानेपानी, ढलको व्यवस्था गरेपछि आनाको ६० लाख भएको छ ।छिमेकीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले पनि यसको रेखदेख गर्नुपर्ने हुन्छ । तपाईंहरुले पनि के ठिक के बेठिक छुट्याउनु पर्छ । कसले चोरेको भन्नुपर्यो, ठेगान हामी लगाउँला । चोर्न बानी परेकाले भोलि तपाईंको घर चोर्छन् । पर्सी अर्कोलाई लुट्ला । त्यो बेला हाम्रो संरक्षण चाहिन्छ ।

सुधन गुरुङको चेतावनी : जेनजीको हत्यारालाई कारवाही नभए यो सरकार पनि ढालिन्छ

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले राष्ट्रपति कार्यालयमा आफूले सचिवलाई समेत थर्काइ दिएको बताएका छन् । उनले राष्ट्रपति कार्यालयको पानी समेत पिउन नमानेको र बाहिरबाट मगाएको समेत सुनाएका छन्।

रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले वार्ताका लागि शीतल निवास जाँदाको अनुभव सुनाएका हुन् । उनले आफू चप्पल लगाएरै शीतलनिवास पुगेको भन्दै राष्ट्रपति कार्यालयका सचिवले सुट लगाएको देखेपछि रिस उठेको बताए ।

गुरुङले पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । उनले शहीद परिवारको माग भोलि (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत दिए ।

पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो । नव नियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उनले सो प्रतिक्रिया दिए ।

गुरुङले भने, ‘हाम्रो माग अझै पनि पूरा भएको छैन । जारी छ । म एक्लै भए पनि आन्दोलन जारी छ । मलाई इण्डियन, चाइनिज जे भने पनि मेरो निम्ति देश ठूलो हो, लड्छु । भोलि बिहानसम्म उनीहरूको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरि पनि ढल्छ । जुन सरकार पनि जनताको हुनुपर्छ । पिपुल पावर भन्छ, पावर जहिले पनि नेताको हुन्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फर्म त भएको छैन । त्यो नभएसम्म जुनै सरकार आए पनि ढल्छ । टेनसन नलिए हुन्छ । म छु–एक्लै भए पनि लड्छु ।’

कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए ।

गुरुङको भनाइ जस्ताको तस्तैः

मलाई वार्तामा एक्लै बोलायो । म त जान्न भनेँ । केही नगर्दा त यस्तो छ, म एक्लै गए कस्तो हुन्छ ? हाम्रो वकिल ओमप्रकाश सरलाई सोध्न सक्नु हुन्छ । मैले रमण कर्णलाई पनि लिएर गएँ । आर्मीले १ जनालाई पठाउने आदेश छ भन्यो । अहँ म त जान्न भनेपछि आर्मीले भित्र कुरा गरे । अनि उहाँलाई पनि छिर्न दिएँ ।

म त चप्पल लगाएर गएको थिएँ । त्यहाँ कुर्सीमा हामी ३ जना बसिरहेका थियौं । राष्ट्रपति आउनु हुन्छ भन्ने सोचेको, तर दुई जना कर्मचारी आए । एकजना ढाका टोपी र सुट लगाएका थिए । उनी सचिव रहेछन् । थुचुक्क पलेटीँ मारेर बस्नु भयो । रमणजी के छ ? भनेर सोध्नु भयो । म जुरुक्क उठेर भनेँ– के छ रे ? कसलाई भनेको ? ताल यही हो, सुट लगाएर बस्ने ? यसरी बोलाउने हो ? लाज लाग्दैन ?

मैले कतिसम्म थर्काएको छु राष्ट्रपति निवासमा । म त लड्ने नै हो । म त मर्ने नै भनेको हो । जेसुकै भनोस । मलाई राष्ट्रपति, प्रधानमन्त्री थाहा छैन । देशको इज्जत फालेको मान्छेलाई सम्मान गरिँदैन । मैले उहाँलाई बाजे खोइ भनेँ । यही भनें । मलाई आउँदैन के हो प्रेजिडेन्ट । म त तपाईंहरुसित कुरा गर्दिनँ जानुस भनेँ । एकदम ठूलो सचिव रैछ । अहिलेको राष्ट्रपति लिएर आउनुस, अनि मात्रै वार्तामा बस्छु भनेँ ।

बिहानको ८ बजेदेखि ५ बजेसम्म बस्यौं । हामी जानेवित्तिकै पानी दिनुभयो । पानी अफर गरेपछि यहाँको पानी खान्न भनेँ । राष्ट्रपति निवासको पानी एक थोपा खान्न भनेँ । घाँटी सुक्या थियो । चिया खानुस भन्नुभयो । म त अशुद्ध हुन्छु खान्न भनेँ । उहाँहरु हाँस्नुभयो । पछि एक जना दाइलाई बाहिरबाट पानी ल्याउन लाएर खाएँ । कसले खान्छ विदेशी पानी ? लाज सरम नभएको ।

हाम्रो फस्र्ट माग नै संसद विघटन थियो । राष्ट्रपतिसँग कुरा पुग्यो । आर्मीको चिफ आउनुभो । तपाईंले भनेकै हुने भयो, बधाइ छ भन्नुभयो । एकदम खुशी भएँ । जेनजी साथीहरुलाई हतार–हतार फोन गरेर को–को हुन्छ तिमीहरु आउ भनेँ ।

हाम्रो आन्दोलन अझै जारी छ । एक्लै भए पनि जारी छ । तँलाई साथ दिन्न भने पनि म त लड्ने बाला छु । म यस्तै हो । बानी यस्तै हो । जति जेसुकै भन्नु । इन्डियन, चाइनिज, चानचुङ जे भन्नुस आइ डन्ट केयर । फर मि माइ कन्ट्री इज एवभ एभ्रिथिङ । यत्रो बलिदान गरेका छन् हाम्रा भाइहरुले । ८० वर्षमा नभएको परिवर्तन हो । यो त हाम्रो सरकार हो । पब्लिकको सरकार हो । माग पुरा नभए सरकार फेरि ढल्छ ।

 

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल सिफारिस

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेकी छिन् ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गर्ने तयारी गरेकी छिन् ।

महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा स्वीकृत भए लगत्तै सविता भण्डारी बराललाई महान्यायाधिवक्ता बनाउने गरी तयारी थालिएको हो ।

उनी महान्यायाधिवक्ता नियुक्त भएमा उनी मुलुकको पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन् ।

 

 

 

आगजनीमा हाम्रो पार्टीका कसैको संलग्नता देखिए सरकारले सख्त कारबाही गरोस् : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जेनजी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडमा आफ्नो पार्टीसँग सम्बन्धित कसैको संलग्ता देखिए सख्त कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आज (आइतबार) माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै त्यस्ता मानिसलाई आफूहरुले पनि कडा कारबाही गर्ने उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टीको कार्यालयहरू, अध्यक्ष क. प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएका छन्, त्यो तथ्य जनतासामु प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं ।’
कतिपय व्यक्ति र समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भएको भनेर प्रचार गरेको भन्दै माओवादीले आपत्ति समेत जनाएको छ ।

‘यो तथ्य जनतासामु प्रष्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ माओवादीले भनेको छ, ‘आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’

हेर्नुस् विज्ञप्ती

मेरो होइन, देशको बारेमा सोच्नु होला : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले अहिलेको समय देशको बारेमा सोच्नु पर्ने बताएकी छन् । नेतृ सुमना श्रेष्ठले रास्वपा छोडेको घोषणा गरेपछि त्यसैसँग जोडेर कार्कीले पनि पार्टी छोड्न लागेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि उनले आपत्ति जनाउँदै आफ्नोबारेमा भन्दा अहिले देशको बारेमा सोच्न आग्रह गरेकी हुन् ।

‘तोसिमाले पार्टी छोड्यो भनेर समाचार बनाउन भ्याइसक्नु भएछ । अरे यार, कम्तिमा मेरोबारेमा लेख्दा मलाई त सोध्ने गर्नुस् । तोसिमाले के गर्छ या गर्दैन भन्ने साटो आज देश यस्तो विक्षिप्त अवस्थामा पुगेको छ । आफूले चाहिँ यो देशलाई के गर्न सक्छु सोच्नु होला,’ उनले भिडिओ सन्देशमा भनेकी छन्, ‘आज देश सोच्दै नसोचेको अवस्थामा पुगेको छ । भौतिकरुपले, मानसिक रुपले विक्षिप्त भएको छ। देश शून्यबाट उठाउनु पर्ने भएको छ । अफवाह फैलाउने काम नगरिदिनु होला ।’

आन्दोलनकारीको पहिलो निशानामा परेको संसद् भवन ध्वस्त

काठमाडौँ । ‘जेन जी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् ।

भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, उपकरण, ‘सर्भर’, टेलिभिजन स्क्रिनसहितका सबै सामान जलेर खरानी भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, “बानेश्वरको संसद् भवनको सबै संरचना जलेर नष्ट भएको छ । कुनै पनि समान सग्लो छैन । त्यहाँ कुनै सामान पनि पहिचान गर्नसमेत नसकिने गरी खरानी भएका छन् ।”

सभाकक्षमा जडान गरिएका महत्त्वपूर्ण सामग्री जलेर खरानी भएकाले ती कुनै पनि वस्तु पहिचान गर्न नमिल्ने अवस्था छ । भवनभित्र दुवै सभा र वरपर अन्य कक्षको छत खसेको छ ।

संसद् बैठकका लागि निकै महत्त्वपूर्ण मानिएको ‘सर्भर’को कुनै पहिचान नै नरहने गरी नष्ट भएको छ । सभामुख र राष्ट्रियसभा अध्यक्षका दुवै कार्यकक्ष पूर्ण रूपमा जलेका छन् । ठाउँठाउँमा भवनको कम्पाउन्ड भत्काइएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबाट प्रतिनिधिसभा विघटन भए पनि अधिवेशन चालु नै रहेको राष्ट्रियसभाको बैठक त्यहाँबाट सञ्चालन हुन सक्ने अवस्था देखिन्न ।

सिंहदरबारस्थित सङ्घीय संसद्का दुवै भवन भने यथावस्थामा छन् । विभिन्न समितिका स–साना घर पनि सुरक्षित अवस्थामै रहेको पाइयो । त्यहाँ भौतिक संरचनामा कुनै क्षति पुगेको छैन, तर नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको कार्यालय भने पूर्ण रूपमा क्षति भएको छ ।

केही सवारीसाधन जलेका छन् । संसद् सचिवालयका चारपाङ्ग्रे १३ वटा, दुईपाङग्रे ४० भन्दा बढी सवारीसाधन जलेको प्रवक्ता गिरीले जानकारी दिए । तीमध्ये ३० वटा पूर्ण क्षतिग्रस्त भएका छन् । केही सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थाका पनि छन् ।

देशकै महत्त्वपूर्ण दस्तावेज रहेको संसद् सचिवालयको पुस्तकालय भने जोगिएको छ । जनप्रतिनिधिमूलक संस्था संसद् कानुन निर्माण, सरकारका कामको निगरानीलगायत काम गर्दै आएकामा प्रतिनिधिसभा विघटनपछि त्यस मातहतका संसदीय समिति निष्क्रिय छन् । राष्ट्रियसभा स्थायी सदन भएकाले अधिवेशन चालु अवस्थामा छ ।

हाल सचिवालयले आन्दोलनबाट भएको क्षति मूल्याङ्कन र यसअघि गर्दै आएको दैनिक सेवा प्रवाहका काम भइरहेको पनि प्रवक्ता गिरीले बताए । उनले भने, “संसद् सचिवालयले नियमित कार्य गरिरहेको छ, सेवा दिइरहेकै छ । प्रतिनिधिसभा नभएपछि क्षतिको मूल्याङ्कन, पुनःनिर्माण योजनाबारे छलफलमा छौँ ।”

प्रतिनिधिसभा विघटन भएसँगै त्यहाँ उत्पत्ति भएका ३० वटा विधेयक निष्क्रिय भएका छन् । नागरिकतासम्बन्धी विधेयक भने पारित गरेकाले सभामुखबाट प्रमाणित भएकाले राष्ट्रपतिसमक्ष पठाइने छ । अरू करिब पाँच वटा विधेयक मात्रै सदनमा विचाराधीन छन् ।

काठमाडौं उपत्यकामा थपिए आठ एसपी, कसलाई कहाँ खटाइयो ?

काठमाडौं । काठमाडौँ उपत्यकाको संवेदनशिल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आठ जना प्रहरी उपरीक्षक (एसपी) थप गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबारदेखि आठ एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए । उपत्यकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उपत्यकालाई विभिन्न सेक्टरमा विभाजन गरिएको छ । प्रत्येक सेक्टरमा एक–एक एसपी खटाइएका छन् । यसअनुसार, बालनरसिंह राणा, दिपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

काठमाडौं परिसर अपरेसन कमाण्डरको जिम्मेवारी एसपी पवन भट्टराईलाई दिइएको हो । सुरक्षा निकायका अनुसार अपरेसन योजनाअनुसार उपत्यकाभरि व्यापक गस्ती, निगरानी र सुरक्षा तैनाथीलाई सुदृढ पारिनेछ । यसअघि वृत्त अन्तर्गत डीएसपीको कमाण्डमा खटिँदै आएका थिए । वृत्तको इन्चार्जहरू पनि अहिले सेवामा फर्किन थालेका छन् । प्रदर्शनकारीहरूले काठमाडौँको मालिगाउँ बाहेक सबै वृत्त जलाएका छन् । ती जलेका वृत्तमा प्रहरी सरसफाइ गरिरहेका छन् । यस्तै केही संख्यामा नियमित काममा पनि फर्किएको खनालले बताए ।

महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बडालले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिएका छन् । भदौ २४ गतेबाट लागू हुनेगरी उनको राजीनामा स्वीकृत भएको प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ । नव नियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।