`

कजेजको पढाइ सकेर प्रदर्शनमा मिसिएका श्रीयम जेन्जी आन्दोलनमा अस्ताए

काठमाडौं । ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत श्रीयम चौंलागाईं अरु दिन जसरी घर पुग्न पाएनन् । विहानको पढाइ सकिएपछि जेनजी आन्दोलनमा मिसिएका उनको प्रहरीको गोली लागि दुःखद निधन भएको छ ।
ग्लोबल कलेजमा ११ बजेसम्म बिहानीको कक्षा पढिसकेर पेप्सीकोलास्थित घर फर्किने क्रममा श्रीयम आन्दोलनमा मिसिएको पाइएको छ । उनीसँग एक साथी थिए । कलेजबाट बस चढेर आएका उनीहरु दुवै बानेश्वर नजिक ओर्लिए ।

‘उनीहरु आन्दोलनमा जाने भनेर सल्लाह गरेर नै आएका रहेछन् । बाटोमा काम छ भनेर ओर्लिए’, स्रोतले भन्यो । श्रीयमको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको जानकारी प्राप्त भएको कलेजका प्रिन्सिपल अम्बादत्त जोशीले जानकारी दिएका छन् । श्रीयमलाई कहाँ कसरी गोली लाग्यो भन्ने खुलिसकेको छैन । उनी विद्यालयको पोशाकमा थिए ।

प्रिन्सिपल जोशी भन्छन्, ‘कलेजबाट गइसकेपछि विद्यार्थीहरु कता जान्छन् भन्ने हाम्रो जानकारीमा हुँदैन । हामीले विद्यार्थीहरुलाई आन्दोलनतिर नजानु भनेर भनेका चाहिँ थियौं ।’ सामाजिक सञ्जालमा अहिले श्रीयमको भनेर आन्दोलनमा सँगै गएका उनका साथीको फोटो शेयर भइरहेको छ । अर्का बालक भने सकुशल रहेको प्रिन्सिपल जोशीले जानकारी दिए । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागि काठमाडौँमा १८ र सुनसरीको इटहरीमा २ जनाको ज्यान गएको छ । अढाई सय बढी घाइते छन् ।

यी हुन् ट्रमा सेन्टरमा मृत्यु भएका र घाइतेहरू (नामावलीसहित)

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ५५ जना ट्रमा सेन्टरमा उपचारत छन् । काठमाडौंमा सोमबार भएको प्रदर्शनमा घाइते भएका सात जनालाई ट्रमा सेन्टरले मृत घोषित गरेको थियो । अहिले अस्पतालमा मृतक र घाइतेका आफन्तको भीड छ ।

अस्पताल प्रशासनले मृतक र उपचारत घाइतेको नामावली गेटमा टाँसी दिएको छ । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि घाइतेको संख्या २५० नाघेको छ ।

यी हुन् ट्रमा सेन्टरमा मृत्यु भएकाहरू

श्रीराम चौलागाईं – ग्लोबल कलेजमा अध्ययनरत (१९ वर्ष)

सुलभ राज श्रेष्ठ– बाँके (२१ वर्ष)

बुद्धि तामाङ– कीर्तिपुर (४२)

नाम नखुलेका अन्दाजी २७–२८ वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २८–३० वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

ट्रमा सेन्टरमा उपचारत घाइतेहरू :

१. निकेश रिजाल– बर्दिया (२३ वर्ष)

२. हरि अधिकारी– जुम्ला (२६ वर्ष)

३. पवन खड्का– महाराजगञ्ज (२१ वर्ष)

४. सुर्य राई– सिन्धुपाल्चोक

५. सौरभ कठायत– धनगढी (१९ वर्ष)

६. हरि अधिकारी– जुम्ला (१७ वर्ष)

७. सन्देश प्रधान– नवलपरासी (२७ वर्ष)

८. आशुतोष बस्नेत– इटहरी (१९ वर्ष)

९. सौरभ गौतम– भोजपुर (२० वर्ष)

१०. रोशन रेग्मी– गोरखा (१८ वर्ष)

११. रुपेश कार्की– भक्तपुर (२७ वर्ष)

१२. हरि बहादुर शाही– प्रहरी हवल्दार, जाजरकोट

१३. कुमार लार्मा– प्रहरी हवल्दार– दोलखा

१४. प्रकाश बोहरा– दैलख (२९ वर्ष)

१५. हरिहर सिलवाल–मैंपी, काठमाडौं (५२ वर्ष)

१६. नेत्र विक्रम थापा–पर्सा (३० वर्ष)

१७. दिलिप कुमार भुजेल–गाइघाट, उदयपुर (२६ वर्ष)

१८. नविन तामाङ– सिन्धुली (२२ वर्ष)

१९. मदन कार्की– सिन्धुली (२२ वर्ष)

२०. पहिचान नखुलेको

२१. अस्बिन राई– खोटाङ (२२ वर्ष)

२२. अनिल तामाङ– दोलखा (१९ वर्ष)

२३. मुकेश अवस्थी– डडेलधुरा (२२ वर्ष)

२४. जान्ती सिंह ठकुरी– कञ्चनपुर (२१ वर्ष)

२५. राजेन्द्र साउद– अछाम (२५ वर्ष)

२६. नाम नखुलेका

२७. नोर्बु तामाङ– सिन्धुपाल्चोक (१७ वर्ष)

२८. निक मगर– कीर्तिपुर (३३ वर्ष)

२९. पवन शाही– कालिकोट (२६ वर्ष)

३०. लिजा अधिकारी– मोरङ (२० वर्ष)

३१. भावना पौडेल– विवरण नखुलेको

३२. समिर लामा– हेटौंडा (२२ वर्ष)

३३. प्रकाश धामी– कैलाली (२७ वर्ष)

३४. सही अहमद– चन्द्रागिरी, काठमाडौं (२० वर्ष)

३५. कपिल श्रेष्ठ– काठमाडौं (३० वर्ष)

३६. विजय अधिकारी– रुकुम (२२ वर्ष)

३७. रुपेश कार्की– दोलखा (२७ वर्ष)

३८. सुहानी श्रेष्ठ–बर्दिया (१९ वर्ष)

३९. अबिक तन्डुकार– काठमाडौं (२२ वर्ष)

४०. अविषेक भण्डारी– बझाङ (१७ वर्ष)

४१. आयमान मगर– धरान (२३ वर्ष)

४२. सागर भटराई –झापा (२१ वर्ष)

४३. परिचय नखुलका व्यक्ति

४४. सन्देश प्रधान– नवलपरासी (२० वर्ष)

४५. सोम शर्मा– बागलुङ (३० वर्ष)

४६. ईश्वर धकाल– कपुरधारा (२० वर्ष)

४७. सितेशजंग परियार– काठमाडौं (२२ वर्ष)

४८. समु धकाल– काठमाडौं (३७ वर्ष)

४९. लुसन सुब्बा– झापा (२१ वर्ष)

५०. नबिन श्रेष्ठ–संखुवासभा (१९ वर्ष)

५१. साहिल अहमद– काठमाडौं (२० वर्ष)

५२. केशव अधिकारी– (३२ वर्ष)

५३. सन्तकुमार महतो–

५४. आसुतोष झा– काठमाडौं (२० वर्ष)

५५. रोशन पराजुली– काभ्रे (२६ वर्ष)

 

जेनजीको प्रदर्शन छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । जेनजीहरूले आज (सोमबार) गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको अप्रिय घटना छानबिन गर्न सरकारले समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ । जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका सहसचिव एवम प्रवक्ता आन्द काफ्लेका अनुसार प्रहरीले दिएको जानकारी अनुसार १९ जनाको मृत्यु भएको पुष्टि भएको हो ।प्रवक्ता काफ्लेले  भने, ‘मन्त्रालयलाई प्रहरीले जानकारी गराए अनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० जना भन्दा बढी घाइते भएका छन् ।’ त्यसैगरी, स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका १३ वटा अस्पतालमा ३४७ जना घाइतेको उपचार जारी भइरहेको छ ।

 

सन्तान खोज्न ट्रमा सेन्टरमा अभिभावकको भीड

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु तथा घाइते भएका आफ्ना सन्तान खोज्न ट्रमा सेन्टरमा अभिभावकको भीड लागेको छ । सोमबार भएको प्रदर्शनमा २० जनाको ज्यान गएको छ भने २६० भन्दा बढी घाइते भएका छन् ।
मृतकमध्ये दुई जना इटहरीमा मारिएका हुन् भने बाँकी सबै काठमाडौंको भएको प्रदर्शनमा ज्यान गुमाएका हुन् । ट्रमा सेन्टरमा मात्रै उपचारका क्रममा ८ जनाको निधन भएको अस्पताल प्रशासनले जनाएको छ । यीमध्ये पाँच जनाको पहिचान भएको छ ।

ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो ।
गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो ।

मृतकमध्ये बाँकी तीनजनाको अझै सनाखत हुन सकेको छैन । यस्तै, ट्रमा सेन्टरमा ४९ जनाको उपचार भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक विरामीलाई हेर्न निर्देशन दिएको छ । बाँकी घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आफ्ना सन्तानको खोजीमा ट्रमा सेन्टर पुगेका अभिभावकले बाहिर नाराबाजी गरेका छन् । नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।

 

ललितपुरमा सभा, जुलुस, धर्ना गर्न निषेध

काठमाडौँ । ललितपुरमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको छ । आज (सोमबार) प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै अर्को सूचना जारी नभएसम्म सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो । जेनजी पुस्ताका युवाहरुको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले यस्तो कमद चालेको हो ।
क) पुल्चोकस्थित यु एन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्रः

पूर्वतर्फ इनारमोड जाने मूलबाटो,
पश्चिम राष्ट्रिय कितावखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय,
दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सहकारी बिकास बोर्डको चौहद्दीभित्र ।

ख) भैंसेपाटी स्थित नयाँ मन्त्री निवास क्षेत्र :

पूर्वमा भैसेपाटीबाट बुंगमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ्ग,
उत्तर भैसेपाटी आवास गेट,
दक्षिणतर्फ इटनी जाने ओह्रालो सीमा कायम गरी सो भित्र ।

ग) सानेपा स्थित नेपाली कांग्रेस पार्टीको केन्द्रिय कार्यालय क्षेत्र : पूर्वमा सानेपा चोकबाट ईन्द्रायणी मन्दिर पक्की सडक ।

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरदेखि जारी रहेको हो । आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

यद्यपि, सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनपछि बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ । जेनजी आन्दोलनमा २० जनाको ज्यान गएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद् बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सहभागी छैनन् । उनीहरू अहिले सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ बसिरहेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी छन् । बैठकमा जेनजीले उठाएका विषयबारे छलफल हुनेछ ।

पार्टी बैठकमा गृहमन्त्रीले भने-नैतिकताका आधारमा राजीनामा दिन्छु

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी कांग्रेस पदाधिकारी बैठकमा गराएका छन् । उनको राजीनामा आजै आउने सम्भावना रहेको एक पदाधिकारीले जानकारी दिएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् । ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने ।

ओलीलाई देउवाको फोन-सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता गर्न आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला कांग्रेस सभापति देउवाले फोन गरेर निर्णय तत्काल गर्न आग्रह गरेका हुन् ।गत बिहीबारदेखि सरकारले सूचीकृत नभएको भन्दै सरकारले फेसबुक एक्ससहितको सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।

योसहित भ्रष्टाचारको विरोधमा आज जेनजीले सडक प्रदर्शन गरेका थिए।

काठमाडौंका सीडीओले वेबसाइटबाट हटाए आफ्नो तस्बिर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्बिर हटाएको छ ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् ।

काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

सीडीओ रिजालले आफ्ना सन्तानलाई विदेशमा राखेर पढाइरहेको तर, काठमाडौंमा युवाहरूको प्रदर्शनलाई दमन गर्न आदेश दिएको टिप्पणीसहित आलोचना भइरहेको छ ।

 

जेन जीको प्रदर्शनमा राज्यको निर्मम दमन, २० जनाको गयो ज्यान

काठमाडौँ । जेनजीले देशका विभिन्न स्थानमा गरेको प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा २० जना युवाको ज्यान गएको छ ।

देशमा व्याप्त भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै जेनजीले सोमबार बिहान ९ बजेदेखि काठमाडौँ, झापा, सुनसरी, कास्की, काभ्रे, रूपन्देही, चितवन र दाङका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए।

तर, काठमाडौँको माइतीघर हुँदै नयाँ बानेश्वर पुगेको प्रर्दशन आक्रामक बन्दै प्रहरी घेरा तोड्न पुग्यो। यति मात्र होइन, संसद् भवनभित्र बस्यो, गेट फोर्ने, पर्खाल भत्काउने र आगोसमेत लगाउन खोजे ।

त्यसपछि प्रहरीले दुईपटक अश्रुग्यास प्रहार गरेको थियो। केहीबेर प्रदर्शनकारी तितरवितर भए पनि फेरि संगठित भएर अघि बढेका थिए ।

प्रदर्शन नसम्हालिएपछि प्रहरीले गोली चलाउन थाल्यो।

प्रहरीले आफूमाथि ढुंगामुढा भएपछि प्रतिरक्षाका लागि गोली चलाएको बताएको छ। तर, प्रहरीतर्फ केकस्तो क्षति भयो भनेर सरकारले बताएको छैन। प्रदर्शनकारीतर्फ हेर्दा प्रहरीको गोली लागेर घाइते भएकामध्ये काठमाडौँ र इटहरी गरेर २० जनाको मृत्यु भइसकेको छ।

यस्तै, निजामती कर्मचारी, एभरेस्ट, केएमसी, वीर, ट्रमा, टिचिङ र ललितपुरको पाटन अस्पतालमा घाइतेको उपचार जारी छ। अस्पतालले दिएको जानकारी अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

यस्तै, काठमाडौँमा ठूलो मानवीय क्षति भएपछि देशका अन्य क्षेत्रमा पनि प्रदर्शन थप भड्किन पुगेको छ। सुनसरीको इटहरीमा प्रदर्शनकारी उग्र बनेर आगजनीमै उत्रिए। उनीहरूले इटहरी उपमहानगरपालिकाको एउटा भवन जलाइदिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले अत्यधिक बल प्रयोग भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

इटहरीमा प्रहरीले गोली चलाउँदा २ जना प्रदर्शनकारीको ज्यान गएको छ। अहिले त्यहाँ प्रशासनले कर्फ्यु लगाएको छ।

रास्वपाले गर्‍यो ‘अर्ली इलेक्सन’ को माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेसँगै ताजा जनादेशको माग गरेको छ । आज बसेको सचिवालय बैठकले जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।

बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, वर्तमान सरकारको औचित्य पुर्णतस् समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गरेको छ ।

जेनजी प्रदर्शन : ट्रमामा मृत्यु भएका नौंमध्ये तीनको सनाखत (नामावली)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएपछि मृत्यु भएका तीन जनाको सनाखत भएको छ । अहिलेसम्म ट्रमा सेन्टरमा मात्रै नौं जनाको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।

अन्य पाँच जनाको भने सनाखत हुन बाँकी भएको ट्रमा सेन्टरका एक चिकित्सले बताए । उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।उता, विराटनगरमा पनि २ जनाको मृत्यु भएको छ ।

इटहरीमा पनि दुई आन्दोलनकारीको गयो ज्यान

सुनसरी । जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा पनि दुई जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते ६ जनामध्ये दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

‘धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको भन्ने खबर आएको छ,’ डिएसपी योगराज खतिवडाले भने, ‘घाइते चार जनाको भने उपचार भइरहेको छ ।’ घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ । उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

जेनजी प्रदर्शनकारीहरूले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगो लगाएका थिए । त्यही क्रममा प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरी घेरा तोडेर भित्र पसेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरूले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा  कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरी उपमहानगर क्षेत्रभरि  कर्फ्यू लगाएका हुन् ।

उत्तरमा हलगढा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वमा मिलन चोकदेखि जुट विकास भित्र ,दक्षिणमा अख्तियार, यातायात, साथी पेट्रोलपम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिममा कंलकी मोडदेखि जनता बस्ती भित्रसम्म   कर्फ्यू लगाइएको हो ।

जेनजी प्रदर्शनः काठमाडौँ महानगरले घाइतेलाई अस्पताल लैजान खटायो १५ एम्बुलेन्स

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेन(जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ ।

कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूको तत्काल उद्धार गर्नका लागि नगर प्रहरीसमेत परिचालन गरेको छ ।

आज प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि केहीको मृत्यु भएको छभने थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

धेरैजसो घाइतेहरूको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र महाँकालस्थित ट्रमा सेन्टर, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायतमा उपचार भइरहेको छ ।

अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शैय्या अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि कामपाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा आवश्यकता अनुसार बिरामीलाई अस्पतालसम्म लैजाने काम गरिरहेको बताए ।

अस्पताल जानका लागि मात्रै होइन आवश्यकताअनुसार बिरामीको उपचार खर्चसमेत ब्यहोर्ने कामपाको भनाइ छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शङ्खमुख क्षेत्रमा कुफ्र्यू आदेश जारी गरे पनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी नै राखेका छन् ।

यस्तो देखियो ड्रोनबाट जेन-जीको आन्दोलन (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ भएको जेनजीको प्रदर्शन ड्रोनबाट यस्तो देखिएको छ ।

बिहान ९ बजेबाट सुरु भएको जेनजीको आन्दोलनमा हाल सम्म मृत्यु हुनेको संख्या १८ पुगेको छ , अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ ।

  

उज्बेकिस्तानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते

उज्बेकिस्तानको राजधानी तास्कन्द नजिकको अङ्ग्रेन् क्षेत्र हुँदै जाने तास्कन्द–ओश अन्तरदेशीय राजमार्गमा सेप्टेम्बर ८ आइतबार एक गम्भीर सवारी दुर्घटना भएको छ । आठवटा सवारीसाधन आपसमा ठोक्किँदा सात जनाको ज्यान गएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

उज्बेकिस्तानको आन्तरिक मामिला मन्त्रालयद्वारा प्रकाशित जानकारीअनुसार, ‘शाकमान’ कम्पनीको एक मालवाहक गाडीले अनियन्त्रित भई दुईवटा अन्य मालवाहक सवारी र पाँचवटा यात्रुवाहक गाडीहरूमा ठक्कर दिएको थियो । ठक्करपछि केही सवारीसाधनमा आगलागीसमेत भएको बताइएको छ, जसलाई उद्दारकर्मीहरूले तत्काल नियन्त्रणमा लिएका थिए ।

दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले तिनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ, भने बाँकी चार जनालाई प्राथमिक उपचारपश्चात घर पठाइएको जनाइएको छ ।

सरकारले यस घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उपप्रधानमन्त्री ओचिलबोइ रामातोभको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । सो समितिले मृतकका परिवारजनलाई आवश्यक राहत तथा घाइतेहरूलाई पूर्ण उपचार उपलब्ध गराउने कार्य अघि बढाइसकेको छ ।

साथै, घटनाबारे विस्तृत अनुसन्धानका लागि सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया प्रारम्भ गरिएको जानकारी प्राप्त भएको छ ।

 

आवश्यक परे रूसमाथि थप प्रतिबन्ध लगाइनेछ : ट्रम्प

युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासहरू ठप्प भइरहेका सन्दर्भमा, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागु गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिएका छन् ।

ट्रम्पले आइतबार न्यूयोर्क प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूले राखेको प्रश्नको उत्तरमा संक्षिप्त प्रतिक्रिया दिँदै,“हो, म तयार छु,” भने । यद्यपि, उनले प्रतिबन्धको स्वरूपका बारेमा थप विवरण दिएका छैनन् ।

गत साता एक प्रतिष्ठित समाचार संस्थाले राष्ट्रपतिको कार्यालयमा कार्यरत दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, राष्ट्रपति ट्रम्प हाल रूस र युक्रेनबीचको द्वन्द्व चाँडै अन्त्य हुने सम्भावनामा आशावादी देखिँए का छैन । साथै, उनले दुबै राष्ट्रका राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता शीघ्र सम्भव नहुने धारणा व्यक्त गरेका छन् ।

उक्त परिस्थितिका बीच, आइतबार बिहान रूसी पक्षबाट युक्रेनको राजधानी किएभमा गरिएको ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण सरकारी क्षेत्रभित्रको एक महत्वपूर्ण प्रशासनिक भवनमा क्षति पुगेको जनाइएको छ ।

युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिदेन्कोले उक्त आक्रमण युद्ध सुरु भएयता पहिलो पटक राजधानी किएभको मुख्य सरकारी भवनमा क्षति पुगेको बताए ।
ह्वाइट हाउसले घटनालाई गम्भीर रूपमा लिँदै, आवश्यक परे थप निर्णायक कदम चाल्न सकिने सङ्केत गरेको छ ।

केरा किसानका पीडाः स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात

काठमाडौँ । स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू चिन्तित बनेका छन् । कृषकले उत्पादन गरेको केराले बजार पाउन नसक्दा बगैँचामै पाकेर गइरहेको कृषकहरूको भनाइ छ ।
कृषकहरूले आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा स्वदेशी केराको बजार सुनिश्चितताको माग गरेका छन् । केराखेती प्रवद्र्धनका लागि सरकारले ठोस नीति लिनुपर्ने र उत्पादित केराको बजार सुनिश्चित गर्नुपर्नेलगायतका उनीहरूले माग गरेका छन् ।
सरकारले घोषणा गरेका जोन, सुपरजोनको अवधारणालाई आत्मसात् गरी नेपाली किसानहरू लामो समयदेखि केराखेतीमा आबद्ध भई आत्मनिर्भरका लागि सङ्घर्ष गर्दै आइरहे पनि सुनुवाइ नभएको नेपाल केरा उत्पादक महासङ्घको गुनासो छ । केराखेतीमा नेपाललाई आत्मनिर्भर बनाउन भारतबाट निर्वाध रूपमा वैध तथा अवैध बाटोबाट हुने आयातलाई प्रतिस्थापन गर्न किसानहरूले पटक–पटक सङ्घर्ष गरिरहनुपरेको महासङ्घको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आव २०८०/८१ को तथ्यांकअनुसार नेपालमा २५ हजार ९७२ हेक्टरमा व्यावसायिक केराखेती भइरहेको छ भने उत्पादन तीन लाख ८३ हजार २८५ मेट्रिक टन  छ ।
भन्सार विभागका अनुसार आव २०८०/८१ मा भारतबाट रु दुई अर्ब ६५ करोड आठ लाख ३४ हजार बराबरको ६३ हजार ७१४ दशमलव २७५ मेट्रिक टन केरा आयात गरिएको थियो । यसैगरी आव २०८१/८२ मा भारतबाट दुई अर्ब ३० करोड २२ लाख एक हजार बराबरको ५६ हजार ७६२ दशमलव ३५३ मेट्रिक टन केरा आयात गरिएको थियो । भारतीय केरा आयातका कारण नेपाली केराको बजार विस्थापित हुँदै गएको महासङ्घको भनाइ छ ।
बजार पाएन स्वदेशी उत्पादनले
महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले आयात नरोकिँदा नेपालमा उत्पादन भएको केराले बजार नपाएको बताए । “आयात रोक्न नसक्दाको असर नेपालको राष्ट्रिय अर्थतन्त्र र नेपाली केरा किसानहरूमा परेको छ, विदेशी केराको आयातले एकातिर वैदेशिक मुद्राको सञ्चितिमा ह्रास आउँछ भने अर्कोतिर राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा पनि ह्रास आउँछ,” उनले भने, “नेपाली किसानहरूको आयस्तर अभिवृद्धि गरी आत्मनिर्भर बनाउन, युवाहरुलाई स्वदेशमै स्वरोजगार सिर्जना गर्न र स्वदेशी पूँजी निर्माणमा योगदान पु¥याउने स्थानीय उत्पादनलाई संरक्षण गर्न केरा आयात रोक्न तथा नियमन गर्न आवश्यक छ ।”
प्रचलित कानुन तथा विश्व व्यापार सङ्गठनको नियमअनुसार आयातित वस्तुमा विषादीको मात्रा, रोग तथा किराको परीक्षण गरी स्वास्थ्यको प्रमाणपत्र ९सेनेटरी तथा फाइटोसेनेटरी सर्टिफिकेट० अन्तर्गत अपनाउनुपर्ने मापदण्ड पूरा नभएका विदेशी आयातित केरामा यथाशीघ्र रोक लगाउन पन्तले माग गरेका छन् ।
“भारतबाट आउने केराको मूल्यसँग नेपाली केराको उत्पादन लागत समायोजन गर्न नेपालमा डम्पिङ गर्ने परिपाटीको अन्त्यका लागि विश्व व्यापार सङ्गठनको नियमअनुसार केरामा कायम रहेको भन्सार दर ९ प्रतिशत, एक्साइज ड्युटी ५ प्रतिशतलाई वृद्धि गरी भन्सार दरलाई २५ प्रतिशत, एक्साइज ड्युटीलाई १० प्रतिशत बनाउनुपर्छ,” उनले भने, “विगतमा लगाउँदै आएको कृषि सुधार कर ९अग्रिम आयकर० हाल हटाइएकाले उक्त कृषि सुधार कर पुनः लागू गरी १५ प्रतिशतसम्म वृद्धि गर्नुपर्ने र नेपाली बजारमा केरा डम्पिङ गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता छ ।”
हाल एउटै एचएस कोडबाट सबै वस्तु ल्याइने गरेका कारण नेपाली वस्तु नेपालमै हुँदाहुँदै पनि भारतबाट आयात गरी नेपाली किसान विस्थापित भइरहेकाले वस्तुगत एचएस कोडको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
केरा आयातको हकमा १०० प्रतिशत नगद मार्जिनको एलसी बनाउने व्यवस्था गर्नुपर्ने भन्दै यसबाट बिचौलिया मौलाउने, जथाभावी आयात हुने कार्य नियन्त्रण भई नेपाली किसानको कृषि उत्पादनको बजारिकरणमा सहयोग पुग्ने पन्तको भनाइ छ ।
उनले त्रिवेणी भन्सार, सुनौली भन्सार र नेपालगञ्ज, वीरगञ्जलगायतका भन्सार नाकामा भारतबाट आयात भइरहेका केराको बिल–बीजक नेपाली फर्मबाट जारी गरी भन्सार छली गर्ने कार्य रोक्नुपर्नेमा जोड दिए ।
भन्सारमा अन्डर–बिल तथा अन्डर–परिमाणको माध्यमबाट राजस्व छली गरी केराको आयात गर्दा अन्य वस्तु जस्तै मिठाई, प्लास्टिक व्याग, चिनीलगायतका वस्तुको आयात भइरहेकाले केरा आयातमा कडाइका साथ चेकजाँच र परिमाण यकिन गरी भन्सार छलीको अन्त्य गर्नुपर्नेमा उनको जोड रहेको छ ।
केरा किसानलाई प्रोत्साहन गर्ने नीति छः कृषि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले केरा किसानलाई थप प्रोत्साहन गर्न अनुदान उपलब्ध गराउने, बजार सुनिश्चितका लागि पहल गर्ने लगायतका नीति रहेको बताए।
“केरा किसानले उत्पादन गरेको बस्तुले बजार नपाउँदा बगैचामा नै पाकेर खेर जाने अवस्था आउँदा यसले मुलुकको अर्थतन्त्रलाई नै असर गर्छ, कसरी बजार सुनिश्चित गर्न सकिन्छ भनेर सबै सरोकारवालाहरूले चासो दिनु आवश्यक छ,” उनले भने, “आयातलाई रोक लगाउन त मिल्दैन तर चोरी–पैठारीबाट आयात हुने केरालाई रोक्न आवश्यक छ । किसानको मागप्रति हाम्रो पनि ध्यान आकर्षित भएको छ । सबै अन्तरसरकारी निकायबीच समन्वय बढाएर उनीहरूको समस्या समाधान गर्न आवश्यक छ ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव विपिन आचार्यले पनि नेपालमा खपत हुने ४० प्रतिशत केरा भारतबाट आयात हुने गरेको भन्दै अवैध रूपमा हुने आयात मात्रै रोक्न सकेमा पनि नेपाली केराले बजार पाउन सक्ने बताए । अर्थ मन्त्रालयका सह–सचिव टेकप्रसाद पाण्डेले खुला सिमानाका कारण हुने चोरी–पैठारी नियन्त्रणमा समन्वय जरुरी रहेकोमा जोड दिए।
केरा आयात प्रतिस्थापनमा सांसदको जोड
समिति सभापति कुसुमदेवी थापाले केरा आयात प्रतिस्थापनमा जोड दिँदै नेपालमा उत्पादित केराको बजार प्रवद्र्धन हुनुपर्नेमा जोड दिए। “यसका लागि सम्बन्धित सरकारी निकायले आवश्यक पहल गर्नुपर्छ र नेपालमै केही गर्छु भन्ने केरा किसानलाई प्रोत्साहनका नीति लिनुपर्छ तथा बजार सुनिश्चित हुनुपर्छ,” उनले भने।
सांसद सूर्यप्रसाद ढकालले केरा किसानलाई अनुदान दिनुपर्ने, बीमाको सुविधा हुनुपर्ने र उत्पादित केराको बजार सुनिश्चित हुनुपर्नेमा जोड दिए । “साउन महिनादेखि कात्तिक महिनासम्म नेपालमै उत्पादन भएको केराले बजारको मागअनुसारको आपूर्ति व्यवस्थापन गर्न सक्छ । त्यो समयमा आयातित केरा रोक्न सकेमा मात्रै पनि बजार सुनिश्चित हुन्छ,” उनले भने ।
सांसद अशोककुमार चौधरीले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटले आयातलाई अझै प्रोत्साहन गर्न खोजेको भन्दै सच्याउनुपर्नेमा जोड दिएका छन् ।

जेनजीको आवाजप्रति गम्भीर बन, अत्यधिक बल प्रयोग नगर : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेनजीको आवाजप्रति गम्भीर बन्न र प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न आग्रह गरेको छ । सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए । काठमाडौंको प्रदर्शनका क्रममा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

प्रदर्शनको आयोगले अनुगमन गरेको थियो । ‘अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको छ,’ आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ । काठमाडौंको माइतीघरबाट सुरू भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरू संसदभवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको आयोगको भनाइ छ ।

प्रहरीको गोली लागेर दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौं व्यक्तिहरू घाइते भएको जानकारी प्राप्त भएको आयोगको भनाइ छ । ‘लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यस प्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नु पर्दछ । यस प्रकारका प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,’ आयोगका सहसचिवसमेत रहेका प्रवक्ता टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस प्रकारका प्रदर्शन पूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोगले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल स्थगन गर्न सरकारसँग माग गरेको छ ।

सर्वोच्च बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल आमनागरिकको अभिव्यक्ति र सम्पर्कको माध्यम भएकाले उक्त निर्णय तत्काल स्थगन गर्न माग गरेका हुन् । यस्तै, प्रदर्शनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

“विकृति, विसङ्गति, अनियमितता र भ्रष्टाचारविरूद्ध ‘जेनजी’ ले आज मुलुकभर प्रारम्भ गरेको विरोध प्रदर्शन तथा आन्दोलनमा भएका अप्रिय घटनाबाट प्रदर्शनकारी घाइते भएका र सार्वभौम नागरिकको मृत्युसमेत हुन गएकातर्फ बारको ध्यानाकर्षण भएको छ”, उनले भने।

बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रुपमा कायम गर्न आग्रह

काठमाडौँ । आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न अभियानकर्मीहरुले आग्रह गरेका छन् ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिजप)ले आज विज्ञप्ति जारी गर्दै काठमाडौँ तथा देशका विभिन्न स्थानमा ‘जेनजी’ प्रदर्शनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएकाप्रति ध्यानार्कषण भएको जनाएको हो ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रुपमा कायम गर्न सिजपका तर्फबाट सरकार, नेपाल प्रहरी र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

“माइतीघर मण्डलाबाट सुरु भएको ¥यालीमा विद्यालयको पोसाकमा सयौँ बालबालिका सहभागी भएका समाचार सञ्चारमाध्यममा प्रकाशित भएका छन”, विज्ञप्तिमा भनिएको छ, “आन्दोलनमा बालबालिकाको प्रयोग गर्नु बालअधिकारविरुद्ध भएकाले उक्त कार्यमा बालबालिकाको प्रयोग नगर्न सिजप सबैको ध्यानाकर्षण गराउँछ ।”

सिजपले काठमाडौँ तथा देशका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेसँगै विद्यालयमा रहेका बालबालिकालाई सुरक्षित रुपमा घरसम्म पुग्न सहज वातावरण बनाउन अनुरोध गरेको छ ।

जेनजी प्रदर्शनमा ज्यान गुमाउने १८ पुगे, मृत्तकको संख्या बढ्दै

काठमाडौं । काठमाडौँ भएको जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ट्रमा सेन्टरमा उपचाररत थप एक जना घाइतेको मृत्यु भएको हो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे । ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ । चार जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मृत्तकको संख्या बढ्दै गएको छ ।

यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ । उपचारका लागि सिभिल अस्पतालमा पु¥याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ । त्यस्तै टिचिङ अस्पतालमा एक जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गोपाल सेडाइँले जानकारी दिए । मृतकहरूको परिचय खुलेको छैन । मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ । अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ ।

विश्व च्याम्पियनसिपमा मुकेश पालले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । जापानको टोकियोमा हुने २०औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेशबहादुर पालले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही सेप्टेम्बर १३ देखि २१ तारिखसम्म हुने उक्त प्रतियोगितामा पालले एक हजार ५०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । उक्त स्पर्धामा पालकै नाममा ३ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए ।

त्यस्तै यही सेप्टेम्बर १० देखि १३ तारिखसम्म जापानमा नै हुने विश्व कंग्रेसमा एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह सहभागी हुने भएका छन् । टोली मङ्गलबार जापान प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य र राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।

‘मानव अधिकार आयोगको गाडीमा आगजानी’

काठमाडौँ । जेनजी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोली सवार गाडीमा आगजनी भएको छ । गाडीमा चार जना सवार रहेको र उनीहरू सकुशल रहेको आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले जानकारी दिएका छन्।

उनका अनुसार नयाँ बानेश्वरस्थित ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।

वीरगञ्ज चोकमै युवतीमाथि गोली प्रहार

वीरगञ्ज । वीरगञ्जस्थित रजत जयन्ती चोक नजिक एकै युवतीमाथि गोली प्रहार भएको छ । भारत घर भएकी करिब १८ वर्षीया निशाकुमारीमाथि नेपाल–भारत सीमा नजिकै वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा सोमबार गोली प्रहार भएको हो । युवती निशाको गालामा गोली लागेको छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

एसपी मिश्रका अनुसार युवतीमाथि गोली हान्ने व्यक्तिलाई पक्राउ गरिएको छ । भारततर्फ भाग्दै गरेको अवस्थामा भारतको झारखण्ड बस्ने २६ वर्षीय सञ्जीव शर्मालाई नियन्त्रणमा लिइएको उनले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा वीरगञ्जस्थित एक होटलमा खाजा खाने क्रममा विवाद हुँदा निशामाथि गोली हानिएको हो । घटनाबारे अनुसन्धान भइरहेकोले गोली हान्नुको कारण खुल्ने उनले बताए ।

हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो औषधि

काठमाडौँ । हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि पठाउने भएको छ ।

हैजा प्रभावित क्षेत्रहरूका लागि आवश्यक पर्ने कोलेरा किट आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

देशका विभिन्न स्थानमा हैजाको प्रकोप देखिएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको र थप स्वास्थ्य सहायता उपलब्ध गराउन मन्त्रालयले तीव्र रूपमा कार्य गरिरहेको बताए । “हैजाको प्रकोप देखिएका स्थानहरूमा हामीले तत्कालै विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिसकेका छौँ,” उनले भने, “हैजा प्रभावित क्षेत्रको अवस्थाका बारेमा निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार थप स्रोतसाधन परिचालन गर्न मन्त्रालय तयारी अवस्थामा रहेको छ ।”

हस्तान्तरण गरिएका कोलेरा किटमा हैजाको प्रारम्भिक निदान, नियन्त्रण र उपचारका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आई भी फ्ल्युड्स, एन्टिबायोटिकलगायत ८७ प्रकारका स्वास्थ्य सामग्री समावेश छन् ।

विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको उक्त किटलाई मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागमार्फत हैजा प्रभावित जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय तथा स्थानीय तहमा तुरुन्तै पठाउने व्यवस्था मिलाइएको छ ।

केही समयअघि स्वास्थ्यमन्त्री पौडेलले हैजा प्रभावित वीरगञ्जको स्थलगत अनुगमन गरी बिरामीको निःशुल्क उपचार, औषधि, जीवनजल र अन्य आवश्यक स्वास्थ्य सामग्रीको मन्त्रालयमार्फत व्यवस्था गरेका थिए । मन्त्रालयले हैजाको प्रकोप नियन्त्रणका लागि सम्बन्धित प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको जनाएको छ ।

प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज भएको जेनजीको प्रदर्शनले विद्यालयबाट घर फर्किने विद्यार्थीलाई हम्मेहम्मे भएको छ । प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको शान्तिसुरक्षामा बाधा पुगेपछि विद्यालयहरुले बसमार्फत विद्यार्थीलाई घर पुर्याउन विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्नु परेको छ । साथै कतिपय विद्यालयले भने प्रदर्शन साम्य नहुन्जेलसम्म विद्यार्थीलाई विद्यालयमै राखेका छन् ।

यसैगरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०ले विद्यार्थीहरुलाई सुरक्षित रुपमा घर पुर्याउन वा विद्यालयमा नै राख्ने व्यवस्था गर्न निर्देशन जारी गरेको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले घर जान समस्या भएका विद्यार्थीलाई विद्यालयमा नै सुरक्षित राख्न तथा उनीहरुको राम्रो खानपानको व्यवस्था गर्न निर्देशन जारी गरेको राससलाई जानकारी दिए । उनका अनुसार प्रदर्शनमा गएका क्याम्पसका विद्यार्थी समस्यामा परेका कारणले उनीहरुलाई पनि कलेजमा राख्न निर्देशन दिइएको छ ।

“विद्यार्थीलाई विद्यालयमा नै राख्न भनेका छौँ । उनीहरुलाई शान्तिपूर्वक खानपानको व्यवस्था गरेर राख्न सबै विद्यालयलाई निर्देशन दिइसकेका छौँ”, अध्यक्ष अधिकारीले भने ।

यस्तै, अक्षरा स्कुलका कार्यकारी निर्देशक अन्जु भट्टराईले सुरक्षित स्थानका विद्यार्थीलाई समयमै घरघर पुर्याइएको र कफ्र्यू लागू भएका तथा प्रदर्शन भएका स्थानका विद्यार्थीलाई हाल विद्यालयमा नै राखिएको जानकारी दिए । जेनजीको प्रदर्शनका कारणले जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न क्षेत्रमा कफ्र्यू जारी गरेको छ ।

एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

सो पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

‘यो हद भयो । अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार ! सामाजिक सन्जाल खुला गर’, ज्वालाले भनेका छन्– ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देउ !!’

प्रवक्ता ज्वालाका अनुसार बैठकले सामाजिक सन्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गरेको छ ।

आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको उक्त पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधि आन्दोलनको रूपमा अघि बढेको कुरा जायज भएको बताएको छ ।

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । जनजागरण अभियानअन्तर्गत गोरखा पुगेको माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा आज आकस्मिक पदाधिकारी बैठक राखी उक्त माग गरेको हो ।

बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि मङ्गलबार काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिको घटनाले स्तब्ध र गम्भीर बनाएको जनाएको छ ।

माओवादीले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र मुलुकमा सुशासन कायम गर्ने माग तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।

पारसको आक्रोश : व्यक्तिगत स्वार्थबाट माथि उठ्न नसकेको मेरो देशलाई ‘हार्दिक श्रद्धाञ्जली’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले देशको स्थितिप्रति निरासा व्यक्त गरेका छन् । जेनजी आन्दोलनमा दर्जनौं युवाहरूले ज्यान गएको सन्दर्भमा उनले फेसबुकमार्फत आक्रोश मिश्रित भावना पोखरेका हुन् । खड्काले भनेका छन्, ‘हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देशलाई हार्दिक श्रद्धाञ्जली ।’

हेर्नुस् खड्काको स्टाटस :
हाम्रो देश, नामको देश
जता हेरे, त्यतै निराशा, काम भन्दा भाषण बढी
गलत र सही मूल्याङ्कन नभएको सामाजिक मानसिकता
हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देशलाई हार्दिक श्रद्धाञ्जली ।
शहीद भएका छन्, धेरैलाई बनाइएको छ
शायद मर्नु शहीद हुनु हो भने
हामी सबै धेरै अघि नै शहीद भइसकेका छौं ।
निःशब्द ।

बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक

इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र युद्धविरामको प्रस्तावलाई लिएर पुनः वार्ताको संभावना देखिएको छ । इजरायलले हमासलाई वार्तामा सहभागी भएर बन्धकहरू मुक्त गर्न र हतियार त्याग्न आग्रह गरेको छ, भने हमासले वार्ता गर्न सकारात्मक सङ्केत दिएको छ ।

इजरायली रक्षा मन्त्री इस्राएल काट्जले सार्वजनिक सन्देशमार्फत हमासलाई शान्तिपूर्ण समाधानमा आउन अनुरोध गर्दै भन्नुभयो,“गाजा सहरमा रहेका बन्धकहरूलाई सुरक्षितरूपमा मुक्त गर्न र द्वन्द्व अन्त्यका लागि आवश्यक कदम चाल्न समय आएको छ ।”

उता, हमासले अमेरिकी मध्यस्थतामा प्रस्तुत भएको प्रस्तावलाई विचार गरिरहेको जनाउँदै, स्थायी युद्धविराम, गाजाबाट इजरायली फौजको पूर्ण फिर्ता र स्वतन्त्र प्रशासनको व्यवस्था गर्ने शर्तमा वार्ताका लागि तयारी देखाएको छ ।

युद्धको प्रभाव
गाजा क्षेत्रमा आइतबारको आक्रमणमा कैयौँको ज्यान गएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । पछिल्ला दिनहरूमा इजरायली सेना गाजा सहर वरपर सक्रिय देखिएको छ । केही भवनहरूलाई निशाना बनाइएको छ, जसलाई इजरायलले सैन्य प्रयोजनका लागि प्रयोग गरिएको भनिएको छ, यद्यपि हमासले त्यसलाई अस्वीकार गरेको छ ।

अमेरिकी भूमिका
अमेरिकी राष्ट्रपतिको पहलमा प्रस्तुत गरिएको प्रस्तावलाई लिएर वार्ताको वातावरण तयार हुँदै गएको देखिन्छ । राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत आशा व्यक्त गर्दै भन्नुभएको छ,“गाजासम्बन्धी सहमति चाँडै हुने सम्भावना छ ।”
यसअघिका चरणहरूमा पनि वार्ताको पहल भए तापनि ठोस सहमति हुन सकेको थिएन । तर, पछिल्लो चरणमा दुवै पक्षबाट देखिएको चासोले स्थायी युद्धविरामतर्फ सकारात्मक सङ्केत दिएको छ ।

इटहरी र रुपन्देहीमा पनि कर्फ्यू

विराटनगर । जेनजीको आन्दोलन हिंसात्मक बनेपछि इटहरी र रुपन्देहीमा पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन् ।

जेनजीका युवाहरूले उपमहानगर कार्यालयमा आगो लगाएर प्रदर्शन गरिरहेका छन् । यस्तै जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी यो कदम चालेका हुन् । प्रशासनले जारी गरेको सूचनाअनुसार, कर्फ्यूको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ । यो आदेश तत्काल लागू हुनेगरी जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय शान्ति सुरक्षा तथा सार्वजनिक हितका लागि यो आदेश जारी गर्नुपरेको बताएका छन् । पछिल्लो समयमा बढ्दो असहज परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । नागरिकहरूलाई तोकिएको समयभित्र घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरिएको छ । कर्फ्यूको पालना नगर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको आकस्मिक बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा साँझ ५ बजे बस्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकमा जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा तय हुनेछ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार बिहानै सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द र जेनजीको प्रदर्शनबारे सरकारको ध्यानाकर्षण गराउन भनेका थिए ।

परिस्थितिको आंकलन गर्न नसक्नु गम्भीर गल्ती : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले परिस्थितिको आंकलन गर्न नसकेर गम्भीर गल्ती गरेका बताएका छन् । शर्माले जेनजीको आवेग बुझ्नु सरकारको प्राथमिक दायित्व भए पनि परिस्थितिको आंकलन गर्न नसकेको बताए ।

‘जेनजीहरूमा जे कारणले आवेग छ, त्यो कुराको सम्बोधन गर्नु सरकारको प्राथमिकता दायित्व हो,’ उनी भन्छन्, ‘जुनसुकै आमाले जन्माएको भए पनि सबै जेन–जी हाम्रा छोराछोरी हुन् ।’ मृतकको संख्या बढेको खबरले आफू स्तब्ध बनेको उनले बताए । ‘अब सरकारले एक कदम पछाडि हटेर परिस्थिति सम्हाल्नु पर्छ,’ शर्मा भन्छन्, ‘सरकारले आफ्नो विश्वास थोपरेर मात्र हुँदैन, नागरिकको विश्वास पनि लिनुपर्छ ।’

 

गलकोटमा इलाका प्रशासन कार्यालय खोलिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीेले बागलुुङको गलकोट नगरपालिकामा सर्वदलीय र सर्वपक्षीय मागबमोजिम इलाका प्रशासन कार्यालय खोलिने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज बागलुुङको सर्वदलीय र सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो गलकोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रतिनिधिमण्डलमा सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका सचिव देवेन्द्र पौडेल, नेकपा (एमाले)का सङ्घीय सांसद देवीप्रकाश भट्टचन, जनमोर्चा नेपालका सङ्घीय सांसद तुुलप्रसाद विश्वकर्मा, गण्डकी प्रदेशसभाका सदस्यहरु जितबहादुर शेरचन, द्रोण कुँवर, दिलमाया पौवी, संविधानसभामा सदस्यहरु मनकुमारी जिसी, निरज पुन, नेकपा (एमाले) का केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिकाका कार्यबाहक प्रमुख फमलाल निउरेलगायत को उपस्थिती रहेको थियो ।

कांग्रेस नेताले नै मागे गृहमन्त्रीको लेखकको राजीनामा

काठमाडौँ । जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको चौतर्फी आलोचना भइरहेको छ। अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ।

कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा मार्फत गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्‍यो। लेखेका छन् ।

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साललगायले युवा नीति सार्वजनिक गरेका छन् । खेलकुदमन्त्री चाधरीले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिएको र सम्रग युवाको शिक्षा, स्वास्थ्य, रोजगारलगायतको विषय यस युवा नीतिमा समावेश गरिएको बताए ।

त्यस्तै मन्त्रालयका सचिव लम्सालले सात प्रदेश र विज्ञहरुसहित करिब एक हजारभन्दा बढी व्यक्तिको छलफलबाट उक्त नीति तयार गरिएको बताए । उनले एआईलगायतका विभिन्न प्रविधि भित्रिएसँगै यसलाई सम्बोधन गर्न पनि नीति ल्याएको बताए।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई पनि समेट्ने किसिमको युवा नीति आएको बताए । यस युवा नीतिमा युवाको सर्वाङ्गीण विकास गर्ने, राज्यको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, राष्ट्रभाव भएका सदाचारी एवम् सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी, गुणस्तरीय शिक्षामा युवाको पहँुच बढाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धी दक्ष युवा जनशक्ति तयार गर्न रोजगारमूलक शिक्षामा युवाको सहभागिता वृद्धि गर्नेलगायत शिक्षासँग सम्बन्धित नौवटा कार्यनीति ल्याएको छ । त्यस्तै, घातक रोग, एचआइभी सङ्क्रमण, लागूऔषध दुव्र्यसन तथा कुलतमा परेका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेलगायत स्वास्थ्य क्षेत्रमा आठवटा नीति ल्याएको छ ।

‘डिजिटल’ समावेशीकरणको सिद्धान्तअनुरुप सूचना प्रविधिको प्रयोगमा सबै युवाको सहभागिता सुनिश्चित गर्दै सूचना प्रविधिको क्षेत्रलाई रोजगारीको मुख्य केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रमा युवाको सहभागितालगायत विषय युवा नीतिमा समावेश गरिएको छ ।

जेन–जीको प्रदर्शनमा घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सघाउने जनाएको छ । आज (सोमबार) काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि धेरै प्रदर्शनकारी घाइते भएका छन् ।

धेरैजसो घाइतेहरूलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा लगिएको छ । अस्पतालमा घाइतेहरूको संख्या बढेपछि बेड अभावका कारण उपचारमा समस्या भएको ती अस्पतालले जनाएका छन्। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नगर प्रहरीको टोलीले ती अस्पतालमा पुगेर घाइतेहरूको उद्धार र आवश्यक सहयोग गरिरहेको छ ।

मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी खटाइएको उनले जानकारी दिएका छन् । घाइतेहरूलाई सिभिल र ट्रमामा उपचारका लागि ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजान नगर प्रहरी खटिने उनले बताए । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि प्रदर्शनकारीले माइतीघर, बानेश्वर, तिनकुने क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । प्रशासनले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शंखमुख क्षेत्रमा कुफ्र्यू आदेश जारी गरे पनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा धेरै जना घाइते भएका छन् । घाइतेको संख्या यकिन भएको छैन । त्यस्तै मृत्तकको पहिचान पनि भइसकेको छैन ।

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा फोटो प्रदर्शनी आयोजना

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रालाई केन्द्रमा राखेर खिचिएका फोटोको प्रदर्शनी गरेको छ । समूहले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आजदेखि काठमाडौँको वसन्तपुरमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।

तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा इन्द्रजात्राका झन्डै १०० फोटो प्रदर्शनीमा राखिएका समूहका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए। उक्त प्रदर्शनीको आज उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँभित्रका सांस्कृतिक सम्पदालाई संरक्षण गर्न फोटो प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता प्रदर्शनीले नेपाली कला, संस्कृति र चाडपर्वलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए।

“इन्द्रजात्रा हाम्रो मौलिक पर्व हो, यसको हरेक गतिविधि सांस्कृतिक धरोहर हो, यस्ता प्रदर्शनीले हाम्रो संस्कृतिलाई विश्वसामु चिनाउन सहयोग पु¥याउँछ,” उनले भने।

समूहका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले काठमाडौँको जीवित सम्पदा र मौलिक परम्पराको विविध आयामलाई नजिकबाट बुझ्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । संस्कृति, सम्पदा र परम्पराप्रति चासो राख्ने सम्पूर्णलाई प्रदर्शनी अवलोकनका लागि उनले आमन्त्रण गरेका छन् ।

कार्यक्रमका संयोजक सुनिल शर्माले पत्रकारको दृष्टिकोणबाट काठमाडौँको सांस्कृतिक जीवन्ततालाई फोटोमार्फत प्रदर्शन गरिएको बताए । “इन्द्रजात्रा केवल उत्सव होइन, यो काठमाडौँको पहिचान हो, यसलाई संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो दायित्व हो, इन्द्रजात्रा हाम्रो संस्कृतिको जिउँदो चित्र हो, आठ दिनसम्म विविध सांस्कृतिक गतिविधिले भरिएको जीवन्त पर्व, यसलाई प्रदर्शनीमार्फत हामीले यही सन्देश दिन खोजेका हौँ,” उनले भनेका छन् ।

अवैध सञ्चालित ‘कन्सल्टेन्सी’लाई ठगीमा कार्वाहीको तयारी

काभ्रेपलाञ्चोक । जिल्लामा अवैध रूपमा सञ्चालित ‘कन्सल्टेन्सी’ लाई जिल्ला प्रशासन कार्यालय धुलिखेलले ठगी मुद्दा चलाएर कार्वाहीको तयारी गरेको छ । गत बिहीबार अनुगमनका क्रममा भेटिएका अवैध रुपमा सञ्चालित कन्सल्टेन्सीलाई प्रशासनले कार्वाहीको तयारी गरेको हो ।

जिल्लामा एक सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको प्रशासनको प्रारम्भिक अनुगमनमा भेटिएको जनाइएको छ । स्थानीय प्रशासनले अनुगमनका क्रममा क्रमशः सम्बन्धित कन्सल्टेन्सी कार्यालयमा पुगेर प्रमाण खोज्ने र अनुमति नलिएकालाई कानुनअनुसार ठगी ऐनअन्तर्गत कार्वाहीको तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए । उनका अनुसार कन्सल्टेन्सी सञ्चालनसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा नभएकालाई बन्द गराइने तयारी भइरहेको हो ।

“अनुगमनका क्रममा मापदण्ड पूरा नगरी कन्सल्टेन्सी सञ्चालनमा ल्याएको भए तत्कालै सेवा बन्द गर्न निर्देशन दिने काननुी व्यवस्था छ”, श्रेष्ठले भने । शुक्रबारका अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरमा अवैध रुपमा सञ्चालित ६ वटा कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिइएको थियो । जिल्लास्तरीय अनुगमन समितिले गरेको अनुगमनका क्रममा अवैध रुपमा सञ्चालित कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिएको हो । समितिले बनेपा नगरमा सञ्चालन हुँदै आएका करिब एक सयमध्ये १५ कन्सल्टेन्सीको अनुगमन गरेको जनाएको छ । जसमध्ये पाँच कन्सल्टेन्सी दर्ता रहेको फेला परेको छभने ६ वटालाई बन्द गर्ने निर्देशन दिइएको जनाइएको छ । त्यस्तै अनुगमन टोली पुग्दा चार कन्सल्टेन्सी सञ्चालक फरार भएका थिए ।

समितिले बन्द गर्न निर्देशन दिएका कन्सल्टेन्सीमा ग्लोबल हब एजुकेसनल कन्सल्टेन्सी, मिसन कम्प्युटर एन्ड एजुकेसनल कन्सल्टेन्सी, बनेपा हार्डफोर्ड एजुकेसनल कन्सल्टेन्सी र सार एजुकेसनल नेटवर्क रहेका छन् । यस्तै डिस्कभरी पाथवे एजुकेसनल कन्सल्टेन्सीलाई पनि प्रमाणपत्र आएपछि मात्रै सेवा सञ्चालनको निर्देशन दिएको छ । एसडिसी एजुकेसनल कन्सल्टेन्सीलाई दर्ता नभएकाले बन्द गर्न निर्देशन दिइएको हो । काभ्रेपलाञ्चोकमा सञ्चालित कन्सल्टेन्सीको अनुगमन तीव्र पारिने कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलन : मृतकको संख्या १४ पुग्यो, घाइतेको संख्या यकिन छैन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । सिभिल अस्पतालमा थप एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आइसकेको छैन । घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो । हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन प्रहरी टोलीले विभिन्न अस्पतालमा मुचुल्का उठाउँदै छ ।