`

एमालेका सांसद भन्छन्- उपसभामुख हटाउने प्रक्रिया सुरु भयो

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया सुरु भएको नेकपा एमालेको दाबी रहेको छ ।

नेकपा एमालेका सांसद राजेन्द्र राईले सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउन हस्ताक्षर संकलन नै सुरु गरिसकेका छन् ।

उपसभामुख रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा रानाको आचरणमाथि प्रश्न उठाउँदै गठबन्धनले संविधानको धारा ९१ को उपधारा (६) अनुसार उपसभामुख रानालाई हटाउन खोजेको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।

यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाई भनेको ६९ जना सांसद हो ।

तर, पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ ।

हाल प्रतिनिधि सभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।

यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ ९१८२/६६० अर्थात, १८३ जना सांसद आवश्यक पर्छ ।

नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ । कांग्रेस र एमालेलाई उपसभामुख हटाउने हो भने थप १६ जना सांसद आवश्यक पर्छ ।

सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।

प्रतिनिधि सभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् । जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको एक, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।

जनमत पार्टीले भने उपसभामुख इन्दिरा रानालाइ हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा नभएको बताएको छ ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान यो विषयमा आफ्नो पार्टीसँग कसैले छलफल नगरेको बताउँछन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि सत्ता गठबन्धनमा रहेका दुई ठूला दलले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे आफूहरूसँग छलफल नगरेको बताएको छ ।

रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

रसुवा । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात लामाले रसुवाली माटोले खोजेको र जनताले रोजेको योजना तथा कार्यक्रमलाई बजेट व्यवस्था गरी जिल्लवासीको पक्षमा काम गर्ने बताएका छन् ।

अर्थमन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला आएका नेता लामाले शिक्षा, स्वास्थ्यसहित विकास निर्माणका हिसाबले पछि परेका रसुवाली जनताको भावना र चाहनाबमोजिम सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जनतालाई केन्द्रमा राखेर तयार गरिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिई विकास निर्माणसहित आमजनताको जीवनस्तर सुधार गर्नेतर्फ जिल्लावासी एक हुनुपर्नेमा जोड दिएका छन् । रसुवा जिल्लाबाट बाग्मती प्रदेशसभामा दोस्रो कार्यकालका लागि प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री लामालाई जिल्ला प्रवेश गरेसँगै वेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसीलगायत विभिन्न स्थानमा रसुवावासीले स्वागत तथा सम्मान गर्दै विभिन्न विकास योजनाका लागि आवश्यक बजेट व्यवस्था गरिदिन माग गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति पेम्वाछिरिङ तामाङका अनुसार स्थानीय जनताले सडक मर्मत तथा सुधार गर्न, निर्माणाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालय भवन चाँडोे सक्न, गोसाइँकुण्ड धार्मिक मार्गको मर्मतसम्भारसहित सुधार गर्न, कृषि र स्वास्थ्य, पाठशाला स्थापना गर्न, स्याउ चिस्यान केन्द्र भवन निर्माण गरिदिन मन्त्री लामासँग अनुरोध गरेका छन् ।

यसैगरी, धार्मिक, सांस्कृतिक तथा भौगोलिक दृष्टिले पर्यटकीयस्थलका रुपमा परिचित रसुवा जिल्लास्थित विभिन्न स्थानका पैदलमार्गको गोरेटो–घोडेटो बाटो निर्माण गर्न, गोसाइँकुण्डमा आवश्यक पूर्वाधार निर्माण गर्न र जनताको दैनिक जनजीवनसँग सरोकार राख्ने माग मुद्दाहरूलाई सम्बोधन गर्न प्रदेश अर्थमन्त्रीको भूमिकामा रहेका मन्त्री लामासँग जिल्लावासीका तर्फबाट अनुरोध गरिएको कांग्रेस सभापति तामाङले जानकारी दिएका छन् ।

युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष भेट्न जेलेन्स्की तयार

वासिङ्टन। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्न इच्छुक रहेको बताएका छन् ।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धेरै युरोपेली नेताहरूसँगको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले करिब साढे तीन वर्षअघि मस्कोको आक्रमणपछि पहिलो पटक पुटिनसँग आमनेसामने हुन तयार रहेको बताए ।

“मैले पुष्टि गरेँ – र सबै युरोपेली नेताहरूले मलाई समर्थन गर्नुभयो – हामी पुटिनसँग द्विपक्षीय बैठकका लागि तयार छौँ“, शिखर सम्मेलनपछि जेलेन्स्कीले भने ।

रुसले लगातार प्रगति गरिरहेकाले जेलेन्स्की अहिले युद्ध अन्त्यका लागि क्षेत्र हस्तान्तरण गर्न दबाबमा छन् ।

ह्वाइट हाउसको बैठकअघि, ट्रम्पले युक्रेनलाई क्रिमिया त्याग्न र नाटोमा सामेल हुने आफ्नो लक्ष्य छोड्न दबाब दिएको थियो । यी दुवै पुटिनका प्रमुख माग हुन् ।

तर जेलेन्स्कीले ट्रम्पलाई युद्धको अवस्थाबारे स्पष्ट चित्र प्रस्तुत गर्न सक्षम भएको थियो । उनले ओभल अफिसमा ट्रम्पसँग एक्लै भेट गरेको थियो ।

“यो हाम्रो बैठकहरू मध्ये सबैभन्दा राम्रो थियो”, जेलेन्स्कीले आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा भने, “मैले नक्सामा समेत सबै अमेरिकी सहकर्मीहरूलाई युद्धको मैदानको अवस्थाबारे धेरै कुरा देखाउन सकेँ ।”

युक्रेनलाई क्षेत्रीय छुट दिनुभन्दा बरु शिखर सम्मेलन सुरक्षा ग्यारेन्टीको व्यवस्थामा केन्द्रित भएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पत्रकारलाई जानकारी दिए ।

ट्रम्पले पनि ‘संयुक्त राज्य अमेरिकासँगको समन्वयमा विभिन्न युरोपेली देशहरूले ग्यारेन्टी प्रदान गर्ने’ बताएको थियो ।

जेलेन्स्कीले भन्नुभयो, “संयुक्त राज्य अमेरिका युक्रेनका लागि सुरक्षा ग्यारेन्टीमा सहयोग गर्ने, समन्वय गर्ने र सहभागी हुने देशहरू मध्ये एक होस् भन्ने स्पष्ट सङ्केत दिन्छ भन्ने महत्त्वपूर्ण छ ।”

उनका अनुसार ती योजनाहरू अर्को हप्ता वा दस दिनभित्र कुनै न कुनै रूपमा औपचारिक हुनेछन् ।

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

 

बागमती। हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।

उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अबरुद्ध भएको थियो ।

अबरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताँएका छन् ।

रविलाई देखियो भिटामिन डीको कमी, परामर्श दिन चिकित्सकहरु नख्खु जाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने शरीरमा भिटामिन-डी कमी भएको पाइएको छ । सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो ।

सोही रगतको परिक्षण पछि उनलाई भिटामिन-डी को कमि देखिएको हो ।

रगतको नमुना लिनका लागि हिजो ट्रमा सेन्टरबाट डा. जितेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी नख्खु कारागार गएका थिए ।

आज उक्त रिर्पोट सहित रविलाई स्वास्थ्य परामर्श दिन चिकित्सक नख्खु कारागारमै जान लागेका छन् ।

लामिछानेलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।

उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।

झापामा महिलाको जलेर मृत्यु

दमक । आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी यहाँकी एक महिलाको मृत्यु भएको छ । यहाँस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका–१ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको हो ।

दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो । श्रीमान् सगँ मनमुटाव भएपछि निजले आत्मदाहको प्रयास गरेको प्रहरीले आशंङ्का गरेको छ ।

महाशिलावासीद्वारा फलामखानी उत्खनन् गर्न माग

 

पर्वत । यहाँको महाशिला गाउँपालिका–६ मा रहेको सम्भांवित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनःमाग गरेका छन्, विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडाँै को टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन, अनुसन्धानमात्र गरेर फर्किएको थियो । भूगर्भविद्हरूले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको जनाइएको थियो । कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको बताइएको छ ।

फलामखानीमा दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ । तर स्थानीयले पटकपटक फलामखानीको उत्खनन माग गर्दा पनि कतैबाट तदारुकता नदेखाएपछि निरास बनेका छन् । कहिले केन्द्र सरकार त कहिले प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुँने समस्या भएकोे महाशिला –६ का वडाध्यक्ष गोविन्दबहादुर विकले बताए ।

धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता पनि भएको थियो । तर उक्त कम्पनीले लामो समय चाँसो नदेखाएपछि विभाग आएर अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको उनले जानकारी दिए ।

उक्त फलामखानी सदरमुकाम कुश्मा बजारबाट झण्डै ३५ किलोमिटरको दूरीमा रहेको छ । महाशिला वडा नं ५ लुङ्खुदेराली र वडा नं ६ फलामखानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएका छन् ।

स्थानीयले उत्खनन गरेको फलामका सामग्री २०४० सालसम्म पनि किन्न र देख्न पाइने यहाँका बुढापाकाहरु बताउँछन् । यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको उनीहरुको भनाइ छ । खानीबाट निकालेको फलाम सिधैँ तताएर आवश्यक सामग्री बनाउन सकिने खालको भए पनि पछि कोइला अभावमा उत्खनन् गर्न छाडेको स्थानीय प्रेमबहादुर सुनारले जानकारी दिएका छन् ।

उनका अनुसार तत्कालीन समयमा यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँमा बिक्री हुन्थ्यो । आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलामा निर्माण भएका पुलमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो । मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ ।

गाउँभरि सम्भावित फलामको खानी भएकाले नै उतिबेला यो गाउँको नामै फलामखानी राखिएको वडाध्यक्ष विकले बताए । फलामखानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना उतिबेला फलामको खानीमै बास बस्ने गरेको वडाध्यक्ष विकको भनाइ छ । यहाँको फलामखानी उत्खनन् हुने हो भने मुलुककै आर्थिक अवस्था सुधारमा फाइदा पुग्नुका साथै सयौँ युवायुवतीले रोजगारीको अवसर पाउने उनी
बताँउछन ।

घरदैलोमा भएको फलामको खानी उत्खनन गर्न नसकेर आयातित फलाम प्रयोग गर्नु परेको स्थानीय बलबहादुर क्षेत्रीले बताए । तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयास गरेको भए पनि सम्भंव नभएको उनको भनाइ छ ।

यसैबीच बन्द अवस्थामा रहेको उक्त फलामखानी सञ्चालन गर्ने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गत शुक्रबार आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता कार्यक्रममा विभागीय मन्त्री तथा सचिवलाई फलामखानी तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । नयाँ र युगान्तकारी काम गर्न सबै मन्त्री तथा सचिवलाई निर्देशन दिँदै धौवादीभन्दा पनि राम्रो फलाम पर्वतको फलामखानीमा हुनसक्ने भन्दै त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि अध्ययन अनुसन्धान थालिहाँल्न निर्देशन दिएका छन्। उनले विशेषगरी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेलाई अध्ययन, अनुसन्धान गर्न लगाइहाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “पर्वत तथा काँस्कीका विभिन्न खोलामा अहिले पनि साविक फलाँमखानी गाविसको मैमडाँडाको फलामले बनेका पुलहरू रहेका छन् । विशेषगरी पोखराको भिमादमा अहिँले पनि साङ्लवाला पुल झुन्डिइरहेको छ । त्यहीँका लोहारहरूको मेहनतले बनाएको पुल अझै झुण्डिएको छ ।” प्रधानमन्त्री ओलीले पर्वतको फलामखानीलाई धौवादीको फलामसँग मिलाएर उन्नत खालको फलाम उत्पादन गर्न सकिने बताएका छन् । उनले मुलुकको आर्थिक समृद्धि, रोजगार सृजना र आयातित फलामलाई विस्थापित गर्नका लागि यस्ता खालका उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

उपसभामुख राना अमेरिकामा, रास्वपाका नेताहरू आन्तरिक छलफलमा

काठमाडौं । सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला उनी भने अमेरिकामा रहेको बुझिएको छ । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

उपसभामुखलाई हटाइने चर्चाले उनको मातृ पार्टी रास्वपा तरंगित भएको छ । पार्टीका शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । औपचारिक बैठक भने अहिलेसम्म डाकिएको छैन । एक शीर्ष नेताले मिडियाबाट खबर थाहा पाएपछि आफूहरू पार्टी कार्यालयमा अनौपचारिक कुराकानी गरिरहेको बताए ।

कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो।

महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेका थिए। उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको हटाउनेबारे पनि छलफल भएको थियो। त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन्।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ। यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो। तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन।

सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३०० मा खरिदबिक्री भइरहेको छ ।

सोमबार एक तोला सुन रु एक लाख ९६ हजार ३०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१५ मा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

होबर्ट हुरिकेन्स भने दोस्रो जितको खोजीमा छ । उसले यसअघि अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको थियो भने मलेबर्न स्टार्स एकेडेमीसँग ६ विकेट तथा नर्दर्न टेरिटोरीसँग दुई विकेटले पराजित भएको थियो ।

स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ: मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताएका छन् ।

यँही भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत् सरसफाइ कार्यक्रम’मा उनले वातावरणीय सरसफाइले सभ्य र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने छ भनेका छन् । यसमा सबै सरोकारवालाले आफ्नो अधिकारको मात्र कुरा नगरी कर्तव्य एवं दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्।

“आफ्नो घर अगाडिको आँगन सफा राख्नुस्, बाहिरबाट आउने पाहुनालाई समेत यसले खुसी बनाउँछ”, उनले भनेका छन्, “सरसफाइले स्वस्थ जीवन त हुन्छ नै, त्यसले सभ्य र सचेत नागरिकको पहिचान पनि दिन्छ र बाह्य पाहुनालाई पनि आकर्षण गर्छ ।” सकेसम्म फोहरलाई मोहरमा बदल्ने गरी सिर्जनशील कार्य गर्न उद्योगी एवं व्यापार व्यवसायीलाई अनुरोध गर्दै मुख्यमन्त्री कँडेलले प्रकृतिमैत्री क्रियाकलापबाट मानव स्वास्थ्य स्वस्थ र स्वच्छ राख्ने बताएका छन्।

उनले भदौ ४ गतेको दिनलाई आजदेखि सरसफाइ, सचेतना तथा व्यवस्था ल्याउन योगदान पुर्याउने सपूतहरूको सम्मान र उनीहरूले देखेको सपना पूरा गर्ने कार्यक्रम तीन दिनसम्म उत्सवका रूपमा मनाउन प्रदेशवासीलाई अपिल गरेका छन् । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्षमा हर्षविक्रम खड्कालगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

उपसभामुख इन्दिरालाई हटाउन कांग्रेस र एमालेमा छलफल

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ-आफ्नो पार्टीभित्र छलफल थालेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ। जुन बैठक उपसभामुखलाई हटाउने विषयमाकेन्द्रित रहेको एक नेताले जानकारी दिएका छन् ।

साथै कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दलमा उपस्थित हुन भनेको छ।

उनका अनुसार सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच उपसभामुख हटाउने विषयमा कुराकानीसमेत भएको थियो। सोमबार साँझपख बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस सभापति देउवासहित दुई दलका शीर्ष नेताहरूबीच पनि यो विषयमा छलफल भएको थियो।

यस्तै एमालेले पनि उपसभामुख हटाउने विषयमा पार्टीभित्र छलफल गरेको छ। एमालेले आजै संसदीय दलको बैठक आकस्मिक रूपमा बोलाएको छ।

एमालेका अर्का एक सांसदले आफू संसदीय दल कार्यालय पुगिसकेको बताए। उनका अनुसार सांसदहरूलाई बिहान १० बजेदेखि नै संसदीइ दल कार्यालय आउनु भनिएको थियो।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्ना सांसदहरूसँग आजै छलफल गर्दैछन्।

उपसभामुखलाई आचरणसम्बन्धी प्रश्न उठाएर पदबाट हटाउने तयारीमा कांग्रेस र एमाले छन्। उनीहरूले दुई तिहाइ पुर्‍याएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका हुन्।

उपसभामुखलाई आचरणसम्बन्धी प्रश्न उठाएर पदबाट हटाउने तयारीमा कांग्रेस र एमाले छन्। उनीहरूले दुई तिहाइ पुर्‍याएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका हुन्।

उपसभामुख राना मगरले अमेरिकी दूतावासमा पत्र लेखेर भिसा अन्तर्वार्ताका लागि समय सारिदिन आग्रह गरेको पत्र सार्वजनिक भएपछि केही समयअघि उनी विवादमा तानिएकी थिइन्। त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले प्रतिनिधि सभामा बोल्दै उपसभामुखलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन भनेका थिए।

त्यसबेला प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुखविरूद्ध उजुरी पनि परेको थियो। उजुरी परेको ठ्याक्कै एक वर्षमा अहिले उपसभामुखलाई हटाउन कांग्रेस र एमालेले छलफल गरेका हुन्।

 

 

आकस्मिक संसदीय दलको बैठक बोलाइएपछि सिंहदरवार पुगे एमाले सांसद (तस्विरहरु)

काठमाडौँ । नेकपा एमालेले आकस्मिक संसदीय दलको बैठक बोलाएको छ । सांसदहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।

सरकारको नेतृत्व गरिरहेको दलले आकस्मिक संसदीय दलको बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा मानिएको छ ।

इजरायलद्वारा वेस्ट बैंकमा ४८ प्यालेस्टिनी पक्राउ

इजरायली सेनाले वेस्ट बैंकका विभिन्न क्षेत्रमा ठूलो मात्रामा गिरफ्तारी अभियान चलाउँदै ४८ प्यालेस्टिनीलाई पक्राउ गरेका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वफाका अनुसार, दुई प्यालेस्टिनीलाई कल्किल्या र अर्कोलाई असिरा अल–शामालिया सहरबाट घरमा छापा मारेर पक्राउ गरिएको हो ।

जेरुसेलमको दक्षिणमा रहेको उम्म टुबा गाउँबाट ३३ जना कामदारलाई अनुमति नभएको बहानामा पक्राउ गरिएको बताइएको छ । पछिल्ला महिनाहरूमा सयौँ कामदारलाई इजरायली प्रहरीले पक्राउ र दुव्र्यवहार गरेको छ ।

बेथलेहेममा इजरायली सेनाले १२ जना प्यालेस्टिनीलाई उनीहरूको घरमा छापा मारेपछि र लुटपाट गरेपछि पक्राउ गरेका छन् ।

वेस्ट बैंकमा हालैका महिनाहरूमा इजरायली सेनाको आक्रमण, छापा, गिरफ्तारी र गोलीबारी तीव्र भएको छ, जसले स्थानीय प्यालेस्टिनीहरूमा तनाव बढाँएको छ ।

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान

चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै पक्ष’ लाई सकेसम्म छिटो निष्पक्ष र स्थायी शान्ति सम्झौतामा पुग्न आह्वान गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वार्ताका लागि अमेरिकी राजधानीमा स्वागत गरेका छन् । तर क्रिमियाको पुनः प्राप्ति वा नाटोमा युक्रेनको प्रवेशको विषय वार्ताको टेबलमा राखिएको छैन ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग एकल भेटघाट गर्ने अपेक्षा गरेका छन्, र त्यसपछि युरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयनसहितका युरोपेली नेताहरूको समूहसँग भेट गर्ने तालिका छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबारको पत्रकार सम्मेलनमा भनेका छन्, “सबै पक्ष र सरोकारवालाहरूले समयमै वार्तामा भाग लिन र सकेसम्म चाँडो निष्पक्ष, स्थायी, बाध्यकारी र स्वीकार्य शान्ति सम्झौतामा पुग्नुपर्छ ।”

सोमबारको वार्ता शुक्रबारको अलास्का शिखर सम्मेलन पश्चात भएको हो । अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटले युक्रेन सङ्कटमा तत्कालीन युद्धविराम कायम गर्न सफल नभए पनि दुवै नेताले युक्रेनलाई ‘बलियो सुरक्षा ग्यारेन्टी’ दिने वाचा गरेका थिए ।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा माओले भनेका छन्, “सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल सबै प्रयासमा चीनले समर्थन गर्दछ । रुस र अमेरिकाले सम्पर्क कायम राखेको र युक्रेन सङ्कटको राजनीतिक समाधान प्रक्रियामा प्रगतिशील कदम चालिरहेको देखेर हामी खुसी छौँ ।”

उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छः महासचिव पोखरेल

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा उनले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको स्पष्ट पारे।

पोखरेलले भने, “संविधान संशोधनको विषयमा सरकारमा नरहेका दलहरु सरकारले अघि सारेका मुद्दामा छलफल गर्न सकारात्मक भइनसकेको अवस्था एकातिर छभने अर्कोतिर राष्ट्रियसभामा सत्तापक्षीय दलको बहुमत सुनिश्चितता भइनसकेकाले उयपुक्त वातावरण बनाएर संविधान संशोधन अघि बढ्नेछ ।”

उनले भने, “हामी अस्थिरता अन्त्य गर्छौँ ।” उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताए ।

महासचिव पोखरेलले तुलनात्मक रुपमा पहिले भन्दा राजश्व सङ्कलन वृद्धि भएको, सोधनान्तर स्थिति बचतमा रहेको, निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको उल्लेख गरे।

 

गौर हत्याकाण्डको मुद्दा अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश दिएको छ ।

सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गौर हत्याकाण्डको मुद्दालाई ब्युँत्याइदिएको हो ।

त्रिभुवन साहसहितले गौर हत्याकाण्डमा मुद्दा चलाउने बाटो खोलिदिन माग गरे रिट निवेदन दायर गरेका थिए ।

०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । यस्तै, सयभन्दा बढी घाइते भएका थिए ।

बढुवा भएका सशस्त्रका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा एक जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा एक जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

सो क्रममा महानिरीक्षक अर्यालले सङ्गठनमा सेवारत रहँदा पदोन्नतिको विशेष महत्व हुने र पदोन्नतिसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ सम्पादन गर्न निर्देशन दिए ।

अलास्का शिखर सम्मेलनमा पुटिनका अङ्गरक्षकहरूले ‘पूप सुटकेस’ बोके रिपोर्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अलास्का शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अङ्गरक्षकहरूले उनको मल फोहोर सङ्कलन गर्न विशेष सुटकेस बोकेका थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ ।

द एक्सप्रेस युएसका अनुसार, यो अनौठो सुरक्षा उपायको उद्देश्य विदेशी शक्तिहरूलाई पुटिनको स्वास्थ्यबारे जानकारी लिनबाट रोक्नु हो । रिपोर्टमा भनिएको छ, “पुटिनका अङ्गरक्षकहरूले विदेश यात्रामा उनले प्रयोग गरेका मानव फोहोरहरू सङ्कलन गर्छन्, विशेष झोलामा भण्डारण गर्छन् र सुटकेसमार्फत रुस फर्काउँछन् ।”

फ्रान्सेली प्रकाशन ‘पेरिस म्याच’ का पत्रकार रेजिस जेन्टे र मिखाइल रुबिनलाई उद्धृत गर्दै यो अभ्यास नयाँ नभएको बताइएको छ । सन् २०१७ मा पुटिनको फ्रान्स भ्रमणमा समेत यस्तो उपाय प्रयोग भएको थियो ।

पत्रकार फरिदा रुस्तामोभाले पनि पुटिनले भियना भ्रमणका क्रममा पोर्टेबल शौचालय प्रयोग गरेको बताएकी हुन् । उनले स्रोतलाई उद्धृत गर्दै भनेकी छिन्, “राष्ट्रपतिले सन् १९९९ देखि नै यस्तो अभ्यास सुरु गरेका थिए।”

पुटिनको उमेर ७२ वर्ष भइसकेको छ र उनको स्वास्थ्यबारे लगातार अड्कलहरू भइरहेका छन् । गत वर्ष काजकिस्तानको अस्तानामा पत्रकार सम्मेलनमा उनको खुँट्टा अनियन्त्रित रूपमा हल्लिएको देखिएपछि पार्किन्सन रोगजस्ता न्युरोलोजिकल समस्या हुनसक्ने चर्चा चलेको थियो ।

यसअघि पनि विभिन्न अन्तराष्ट्रिय बैठकमा पुटिनलाई आफ्नो सिटमा अस्वाभाविक रूपमा हल्लाइरहेको देखिएको थियो । सन् २०२२ मा त क्रेमलिनले सामाजिक सञ्जालमा फैलिएका ‘स्वास्थ्यसम्बन्धी अफवाहहरू’ खारेज गर्न आधिकारिक रूपमा वक्तव्य नै जारी गरेको थियो ।

सुरक्षा र स्वास्थ्यसम्बन्धी यस किसिमको खबर फेरि चर्चामा आउनु भनेको पुटिनको नेतृत्व र व्यक्तिगत अवस्थाबारे बाहिरी अनुमान अझै जारी रहेको सङ्केत हो ।

शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय, भदौ ६ गते पेस गर्ने तयारी

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय दिइएको छ । सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय मागेका थिए ।

सोमबार समितिको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन पेस गरिएको थियो । विवादित विषयलाई थाँती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको थियो । समिति सचिवालयले प्रतिवेदनमा नमिलेका विषयमा भाषा मिलाएर प्रतिवेदन पेस गरेको हो ।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोसाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा उल्लेख गरिएको छ ।

विधेयकको प्रतिवेदन भदौ ५ गते प्रतिनिधिसभा अन्तरगतको शिक्षा समितिको बैठकबाट पारित गरेर विधेयक भदौ ६ गतेको बैठकमा पेस गर्नेगरी तयारी भएको हो ।

सोमबार बसेको समिति बैठकले प्रतिवेदन पारित गर्नका लागि भदौ ५ गते ८ बजेका लागि बोलाइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको छ: देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताएका छन् ।

पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताए ।

सभापति देउवाले कुनै पनि भ्रममा नपरी आगामी दिनमा पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए। “कांग्रेसले लामो सङ्घर्ष, बलिदान र आन्दोलनमार्फत नेपालमा बहुदलीय लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको जग बसाएको छ”, उनले भने,“शुभेच्छुक संस्थाहरू पार्टीको मूल्य, मान्यता, आदर्श, नीति तथा कार्यक्रमहरूलाई जनस्तरसम्म पु¥याउने आधारशिला हुन् । समाजका विविध क्षेत्र र पेसामा क्रियाशील व्यक्तिहरूको श्रम र योगदानकै कारण कांग्रेसलाई सशक्त बनाउन सम्भव भएको छ । यसलाई थप बलियो बनाउन यहाँहरूको भूमिका महत्त्वपूर्ण हुनेछ ।”

सभापति देउवाले पार्टीका सबै भ्रातृ एवं शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र बृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याई स्थिरता दिनुपर्ने बताए ।

देशमा रहेका विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष पर्व भएको उल्लेख गर्दै उनले चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्त्व रहेको धारणा राखे ।

महामन्त्री गगनकुमार थापाले विधानअनुसार पार्टीको सर्वोत्तम हित र प्रजातान्त्रिक मूल्य तथा मान्यतालाई स्वीकार्ने भ्रातृ संस्थाका साथै शुभेच्छुक संस्थाले पनि समयमा अधिवेशन गरेर गतिशील बन्नुपर्नेमा जोड दिए । उनले पार्टीको शुभेच्छुक सङ्घ समन्वय विभागलाई शुभेच्छुक संस्थाका लागि आवेदन दिएका विषयमा अध्ययन गरेर केन्द्रीय समितिमा पेस गर्न आग्रह गरे ।

“पार्टीको नेतृत्वलाई सुझाव दिने र सांसदलाई ज्ञान दिने काममा शुभेच्छुक संस्थाहरूको भूमिका हुन्छ । यस्ता संस्था पार्टीको मूलधारमा नभए पनि पार्टी नेतृत्वलाई सुझाव दिएर सुधार्ने क्षमता राख्छन्”, उनले भने ।

महामन्त्री थापाले पार्टीको जिम्मेवारीमा रहेका मानिसहरू शुभेच्छुक संस्थाको जिम्मेवारी र नेतृत्वमा बस्न नहुनेमा जोड दिए।

कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीका गतिविधिलाई सामाजिक सञ्जालमा प्रभावकारी बनाउँदै समृद्धिको आधार निर्माण गर्न ठूलाठूला परियोजनामार्फत उत्पादकत्व वृद्धि गर्न ध्यान दिनुपर्ने बताए ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले शुभेच्छुक संस्था पार्टीको नियन्त्रणमा नरहेकाले यस्ता सङ्घसङ्गठनलाई पार्टीले सहजीकरण मात्रै गर्नसक्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख पुष्पा भुसालले कांग्रेसको नेतृत्वमा बनेको संविधान र संविधानअनुसार बनेका संरचना कमजोर भएका हुन् कि भन्ने चिन्ता बढ्दै गएको भन्दै पार्टीले आफ्ना ‘एजेन्डा’ बलियो बनाउन ध्यानदिनु पर्ने बताए। उनले महिलामाथि असमानतालाई बढावा दिनेगरी बहुविवाहलाई प्रश्रय दिनेखालका कानुन ल्याउन नहुनेमा जोड दिँदै पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।

विभागका प्रमुख अब्दुल सतारले पार्टीको शुभेच्छुक संस्थाको पहुँच वडा तहसम्म रहेको भन्दै पार्टीलाई बलियो बनाउन गुमेको मतलाई पुनःस्थापित गराउन भूमिका खेल्नुपर्नेमा जोड दिए।

‘राजनीतिक अराजकता रोक्न ठूला दल एकै ठाउँमा’

कास्की । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक अराजकता र विकृति फैलिएका कारण ठूला दलहरु एक ठाउँमा उभिएका बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उपसभापति गुरुङले राजनीतिक दलहरुमा अराजकता पैदा हुँदा राष्ट्रियता नै कमजोर हुने बताए। राष्ट्रियता जोगाउन बिपी कोइरालाले जसरी मेलमिलापको नीति अगाडि सारेर नेपाल आएको त्यसरी नै वर्तमान अवस्थामा राष्ट्रियता कमजोर भएकाले देशलाई जोगाउन राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी रहेको बताए।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद राष्ट्रिय एकताको मेरुदण्ड भएकाले सबै पार्टी समाजवादलाई माथि उकास्न लाग्नुपर्नेमा उपसभापति गुरुङले जोड दिए । नेपाली राजनीतिलाई सुधारेर जान सक्यौँ भने देशमा देखिएका यावत् विकृति र विसङ्गति अन्त्य भएर जाने उनको भनाइ थियो । खेलकुदलाई पर्यटनसँग जोडेर जान सकियो भने खेलाडीमार्फत विदेशमा समेत पर्यटन र खेलकुदसँगसँगै प्रर्वद्धन गर्न सकिनेमा जोड दिँदै खेलजगत् देशको एउटा मात्र अनुशासित पाटो भएको उनले बताए ।

“खेलाडीलाई उत्साहित र आर्थिक रुपमा सबल बनाउन सक्यौँ भने मात्र नेपाली खेलाडीले स्वदेश तथा विदेशमा आफ्नो खेल उत्कृष्ट रुपमा प्रस्तुत गर्न सक्छन्”, उपसभापति गुरुङले भने ।

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेपाली युवालाई खेलकुदका माध्यमबाट सशक्तीकरण गर्दै उनीहरुको आर्थिक समृद्धिमा ध्यान दिन जरुरी भएको बताए । युवालाई खेल क्षेत्रप्रति आकर्षित गर्ने काम राज्य र खेल क्षेत्रका संस्थाबाट हुनुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख उमेशजङ्ग रायमाझीले खेलकुललाई महत्वका साथ अगाडि बढाउन राज्यको ध्यान जान आवश्यक भएको बताए । नेपाली कांग्रेसका नेता गणेश वन, शुक्रराज शर्मा, किशोरदत्त बराल, देविन्द्र शेरचन, विष्णु क्षेत्री, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष विद्या मर्सानीलगायतले खेलकुद क्षेत्रको विकासमा जोड दिए । अभिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

तस्बिरमा हेर्नूहोस् दुर्गा प्रसाईँको पत्रकार सम्मेलन

काठमाडौँ ।  दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं  तीनकुने घटनाबारे  बोले

उनले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उक्त दिनको घटनाबारे बोलेका हुन् ।

पत्रकार सम्मेलन तस्बिरमा हेर्नूहोस् :- 

तस्बिरमा हेर्नूहोस् १७ औं संस्करणको नाडा अटो शो २०२५ तयारी

काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले भोलिबाट १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ ।भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने लागको सो अटो शो को तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

यसपालिको संस्करणमा डिपलको इभिटल फ्लाइङ ट्राक्सी, रोवोटिक्स ( डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरु समेत प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।

१७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारीका र अटो पाट्स्र्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत जाँच गर्न अस्पताल पठाइयो

काठमाडौँ । रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सारिएका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।

रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको रास्वपा उपसभापति डिपी अर्यालले बताए ।

भारत भ्रमणबाट फर्कनेवित्तिकै लामिछानेलाई भेट्न कारागार पुगेका उपसभापति अर्यालले उनलाई केही स्वास्थ्य समस्या देखिएको बताएका हुन् ।

रुपन्देही करागारमा रहँदा घाममा निस्कन नपाएको कारण त्यस्तो भएको हुनसक्ने उपसभापति अर्यालको अनुमान छ । रुपन्देही करागारमा रहँदा लामिछाने कोठाबाट बाहिर निस्कन पाएका थिएनन् । आफूहरु भेट्न जाँदा पनि अँध्यारो कोठामा बस्ने भएका कारण लामिछानेको स्किनमा खास फरक नदेखिएको र अहिले खुल्ला ठाउँमा भेट्दा परिवर्तन देखिएको अर्यालले बताए ।

यस बारेमा जेल प्रशासनलाई जानकारी गराएपछि रविको स्वास्थ्य जाँचका लागि अहिले ट्रमा सेन्टरबाट जाँचको लागि डाक्टरको टोली नख्खु पुगेका छन् ।

सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।

 

सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित

वीरगञ्ज। सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित भएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा  स्थापना गरेको ‘वेष्ट इन्ट्रिग्रिटी अवार्ड कार्यक्रम २०८२’ बाट उनी सम्मानित भएका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले सोमबार आयोजना गरेको कार्यक्रमबीच सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ताका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र सङ्घका अध्यक्ष हरि गौतमले २५ हजार, सम्मानपत्रसहित प्रहरी नायब उपरीक्षक  सुब्बालाई सम्मान गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गौतमले थपलियाको योगदान र कर्मलाई चिरस्थायी बनाउन अवार्ड कार्यक्रममार्फत सुब्बालाई सम्मान गरिएको बताए । निजी क्षेत्र र सरकारी निकायबीच एकापसमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए ।

प्रहरी नायब महानिरीक्षक ढकालले सशस्त्र प्रहरी बलले सीमानाकाको सुरक्षाका साथसाथै विपद् व्यवस्थापनमा पनि प्रभावकारी भूमिका खेल्दै आएको बताए। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख एवम् गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट समेत उपस्थित थिए ।

विसं २०८० भदौ २ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सामा कार्यरत रहँदा प्रहरी उपरीक्षक थपलियाको निधन भएको थियो ।

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौँ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो ।

कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ । मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।

हालसम्म कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ९७.२७ प्रतिशत, गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ भएको छ ।

देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । भदौ दोस्रो सातासम्म केही प्रतिशत रोपाइँ वृद्धि हुने अनुमान गरिएको छ ।

धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । तराईमा कूल उत्पादनको ७० प्रतिशत र पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने जनाइएको छ ।

क्यानडा नेपालको भरपर्दो मित्र होः राजदूत पौड्याल

काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले, पौड्याल क्यानडा नेपालको भरपर्दो मित्र भएको बताएका छन् ।
अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले विभिन्न बहुपक्षीय संस्थामार्फत नेपाललाई बर्सेनि चार करोड डलर बराबरको सहयोग उपलब्ध गराई रहेको जानकारी दिए ।
उनले नेपालले बर्सेनि क्यानडाबाट झन्डै रु सात अर्ब बराबरको सरसामान आयात गरिरहेको र रु एक अर्ब बराबरको निर्यात गरिरहेको समेत उल्लेख गरेका छन् । “क्यानडामा नेपालबाट हुने निर्यात बढाउन सकिन्छ, यसमा नेपाली ‘डायस्पोरा’ले थप भूमिका निर्वाह गर्नुपर्छ”, राजदूत पौड्यालले भने।
राजदूत पौड्यालले क्यानडामा नेपाली डायस्पोराको सङ्ख्या बढ्दै जाँदा नेपालमा क्यानडाको राजदूतावास स्थापना गर्न क्यानडा सरकारलाई अनुरोध गरिएको बताएका छन् ।
अर्थशास्त्री डा राम आचार्यले सन् २०१९ देखि सम्मेलन सुरु गरिएको उल्लेख गर्दै कोभिड महामारीका कारण केही समय रोकिएको बताए ।
त्यस अवसरमा न्यु ब्रन्सविक विश्वविद्यालयका पूर्वप्राध्यापक बासु शर्माले ‘नेपालमा सङ्घीयताका चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्दै एकता र विविधताबीच सन्तुलन ल्याउन नेपालले सङ्घीय प्रणाली अपनाएको धारणा राखेका छन् ।
दुईदिने सम्मेलनले अटवा विश्वविद्यालयमा प्राध्यापनरत डा भानुभक्त आचार्यको अध्यक्षतामा क्यानडा नेपाल फोरम फर रिसर्च ९क्यानेफोर० को नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा डा दिनेश गजुरेल, बोर्ड निर्देशकमा डा शिवहरि गौतम, डा अनुप बस्नेत, डा होमनाथ घर्ती र इन्जिनियर सुवास पौडेल निर्वाचित हुनुभएको छ । कार्यसमितिको सचिवमा कुसुम शर्मा, कोषाध्यक्षमा अम्बिका पौडेल र प्रविधि अधिकृतमा सौगात श्रेष्ठ निर्वाचित भएका छन् । दीपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन भएका छन् ।

रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते

रियाजान। रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा भएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको र एक सय ३४ जना घाइते भएको क्षेत्रीय परिचालन मुख्यालयले जनाएको छ ।

रुसी समाचार एजेन्सी (तास) का अनुसार घाइतेमध्ये ३१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने एक सय तीन जनालाई बाह्य बिरामीका रूपमा उपचार दिइएको छ ।

सम्बन्धित अधिकारीहरूले खोज तथा उद्धार कार्य अझै जारी रहेको बताएका छन् ।

रियाजान क्षेत्र रसायन, धातु र प्लास्टिकसहितका धेरै ठूला औद्योगिक कारखानाको केन्द्र मानिन्छ । पछिल्ला दशकमा यहाँ अनेकौँ औद्योगिक दुर्घटना भएका छन् जसले ठूलो मानवीय क्षति र घाइते निम्त्याएका छन् ।

पहिरोमा पुरिएर राहुघाट जलविधुत आयोजनाका दुई मजदुरको मृत्य, पाँच घाइते

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविधुत आयोजनाको अडिट नम्बर -१ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन् ।

रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

“घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन,” उनले भनेका छन्, “मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।”

विद्यालय शिक्षा ऐन जारी गर्न १६ विद्यार्थी सङ्गठनको माग

काठमाडौँ । सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएर सरकारले विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको आरोप लगाएका छन् ।

विद्यार्थी सङ्गठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी बनाउन तथा शत्प्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न माग गरेका छन् ।

विद्यार्थी सङ्गठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफलमार्फत मात्र विधेयक अघि बढाउन उनीहरुले अनुरोध गरेका छन् ।

ध्यानाकर्षणपत्रमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्घ, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, नेपाल, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), विद्यार्थी जनमत सङ्घ, नयाँ शक्ति विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल (पाँचौँ), राष्ट्रिय विद्यार्थी मञ्च, अखिल नेपाल विद्यार्थी युनियनलगायतले हस्ताक्षर गरेका छन् ।

विद्यालय शिक्षा विधेयक : उपसमितिको प्रतिवेदन समितिमा पेश

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा पेश भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमालाले सोमबारको बैठकमा पेश गरेका हुन् ।

‘समितिले दिएको निर्देशन अनुसार प्रतिवेदन तयार पारेका छौँ,’ समिति सचिव दशरथ धमलाले भने, ‘दोहोरिएका विषय हटाइएको छ । भाषालाई मिलाउने काम भएको छ ।’

शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समिति सचिवालय बसेर प्रतिवेदन लेखेको हो ।

निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेको छ । तर समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने धारणा रखिरहेका छन् ।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा भनिएको छ ।

गत २२ साउनमा बसेको बैठकमा यसबाट आवास र पोशाक झिक्नुपर्ने प्रस्ताव राखिएको थियो । तर सदस्यहरूले नमानेपछि प्रस्ताव पारित हुन सकेको थिएन ।

यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका थिए ।

समितिका सचिवले पेश गरेको प्रतिवेदन समितिका सदस्यलाई पनि वितरण गरिएको छ । यस अघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् ।

यस अघिको विधेयकमा १४ वटा दफा थपिएका, ३ वटा दफा हटाइएका छन् भने ९८ वटा दफा केहि न केहि हिसावले संशोधन भएका छन् ।

वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो, निर्देशक समितिको काम अझै अस्पष्ट

काठमाडौँ । ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथिको दफावार छलफल सकिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकले विधेयकमा राखिएको निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका बुँदामा सहमति जुटाएको हो ।

समिति सभापति सन्तोष चालिसेले विधेयकको दफावार छलफलका क्रममा भएका संशोधनसहितको प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिएका छन् । त्यस्तै, निर्देशक समितिको काम, कर्तव्य र अधिकार थप स्पष्ट हुनेगरी विधेयकमा थप गर्न पनि अर्थ समितिले निर्देशन दिएको छ ।

यसअघि विधेयकमा वैकल्पिक विकास वित्त कोषमा अर्थसचिव अध्यक्ष रहने गरी सञ्चालक समितिको मात्रै व्यवस्था गरिएकोमा अर्थ समितिले त्यसभन्दा माथि निर्देशक समिति रहनेगरी संशोधन गरेको छ ।

अर्थमन्त्रीको संयोजकत्वमा रहने निर्देशक समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, मुख्यसचिव र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सदस्य रहने प्रस्ताव गरिएको छ । तर निर्देशक समितिले के–कस्ता काम गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन । विधेयकको दफा ५२ मा कोषसँग सम्बन्धित विषयमा मन्त्रिपरिषदद्धारा निर्णय हुनसक्ने व्यवस्था राखिएको छ ।

नीतिगत निर्णयहरु मन्त्रिपरिषद्बारा हुने र व्यवस्थापकीय कामहरु सञ्चालक समितिबाट गरिनेगरी अर्थ मन्त्रालयले विधेयक प्रस्ताव गरेको थियो । तर अर्थ समितिले सञ्चालक समितिभन्दा माथि निर्देशक समिति राखेपछि के–कस्ता निर्णयका लागि मन्त्रिपरिषद् लैजाने र कस्ता खालका निर्णय निर्देशक समितिले गर्ने भन्ने स्पष्ट छैन । यसबारे गृहकार्य गरेर निर्देशक समितिका काम कर्तव्य र अधिकार स्पष्ट पारी प्रतिवेदन तयार गर्न पनि समितिले निर्देशन दिएको छ ।

त्यसैगरी, वैकल्पिक विकास वित्त कोषबाट कृषि, वन पैदावार र खानी तथा खनिजजन्य क्षेत्रमा पनि लगानी गर्न सक्नेगरी अर्थ समितिले विधेयकमा थप गरेको छ । विधेयकअनुसार विधुतिय उत्पादन, प्रसारण तथा वितरण आयोजना, सडक, रेलमार्ग, विमानस्थल, सुरूङमार्ग, औद्योगिक विकास पूर्वाधार निर्माण (विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क, सुक्खा बन्दरगाह वा सूचना प्रविधि पार्क) निर्माणका लागि वैकल्पिक वित्तका स्रोत प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, सहरी विकास पूर्वाधार निर्माण, केबुलकार, रज्जुमार्ग, पोडवेलगायत संरचना निर्माण एवम् सञ्चालनका लागि यस्ता कोष परिचालन गरिने जनाइएको छ । निजी क्षेत्रले कार्यान्वयन गर्ने सार्वजनिक–निजी साझेदारीअन्तर्गतको राष्ट्रिय प्राथमकिता प्राप्त परियोजनामा पनि कोषले लगानी गर्न सक्नेछ । यद्यपि, रू एक अर्बभन्दा कम लागत अनुमान भएको परियोजनामा भने कोषबाट लगानी गर्न नसिकने विधेयकमा उल्लेख छ ।

तत्काल प्रतिफल दिन नसक्ने परियोजना, ऋण वा जमानतवापत धितो दिन नसक्ने परियोजना, कोषले जारी गरेको ऋणपत्र वा डिबेञ्चर धितो वा जमानत राखी ऋण माग गर्ने परियोजना, कुनै प्राकृतिक व्यक्तिले कार्यान्वयन गर्ने परियोजनामा कोषले लगानी गर्नेछैन । त्यस्तै, कोषको बहालवाला सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत वा त्यस्तो पदाधिकारी बहाल हुनुभन्दा कम्तीमा तीन वर्षअघि आधारभूत शेयरधनी, साझेदार, सञ्चालक वा सदस्य रहेको फर्म, कम्पनी वा संस्थाले कार्यान्वयन गर्ने परियोजनामा लगानी गर्न नपाइने व्यवस्था विधेयकमा राखिएको छ ।

मुलुकको समृद्धि, दीगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक पूर्वाधार परियोजना कार्यान्वयन गर्न परम्परागत लगानीका अतिरिक्त वैकल्पिक वित्त परिचालन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । विभिन्न किसिमका ऋणपत्र, प्रत्याभूति पत्र, स्वपूँजी कोषलगायत विभिन्न वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक वित्त परिचालन गर्न सकिने विधेयकमा उल्लेख छ ।

विधेयक अनुसार कोषको अधिकृत पुँजी रू एक खर्ब र चुक्ता पुँजी रू २५ अर्ब हुनेछ । त्यसमा नेपाल सरकारको ५१ प्रतिशत अर्थात् रू १२ अर्ब ७५ करोड बराबरको शेयर लगानी गर्ने प्रस्ताव गरिएको छ ।

कोषमा नेपाल सरकार, अन्तराष्ट्रिय वित्तीय संस्था वा विदेशी बैंक वा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरुले लगानी गर्न पाउनेछन् । प्रदेश सरकार तथा स्थानीय तहहरुले पनि कोषको शेयर खरिद गर्न सक्ने प्रावधान अर्थ समितिले विधेयकमा थपेको छ ।

दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा उत्तर कोरियाको खतरा सामना गर्न वार्षिक ग्रीष्मकालीन अभ्यास सुरु

एजेन्सी । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त उत्तर कोरियाको खतरालाई सामना गर्न वार्षिक ठूलो सैन्य अभ्यास सुरु गरेका छन्।

यसले क्षेत्रीय तनाव अझै बढ्ने सम्भावना रहेको छ। उत्तर कोरियाले यसलाई आक्रमण अभ्यासका रूपमा चित्रण गर्दै ‘कुनै पनि उक्साहट’ को जवाफ दिने चेतावनी दिएको छ।

एघार दिने ‘उल्ची फ्रिडम सिल्ड’ नामक अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिकहरू सहभागी छन्। यसमा कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अपरेसन र फिल्ड प्रशिक्षण समावेश छ।

सहयोगीहरूले यसलाई रक्षात्मक भन्दै आएका छन्, तर उत्तर कोरियाले प्रायः यस्ता अभ्यासलाई हतियार परीक्षण र सैन्य प्रदर्शन गर्ने बहानाका रूपमा प्रयोग गर्ने गरेको छ।

गत हप्तामा उत्तर कोरियाली रक्षामन्त्री नो क्वाङ चोलले अभ्यासलाई ‘सैन्य टकराव’ को सङ्केत भन्दै आफ्नो सेना सीमा बाहिर जाने कुनै पनि गतिविधिको प्रतिकार गर्न तयार रहेको बताएका थिए।

यो अभ्यास दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङका लागि संवेदनशील समयमा भइरहेको छ। उनि अगस्ट २५ मा वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनको तयारीमा छन्। ट्रम्पले विगतमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरूको खर्च बढाउन माग गरेका थिए, जसले गठबन्धनमा दबाब बढाएको छ।

उत्तर कोरियाले लीको कूटनीतिक आह्वानलाई बेवास्ता गरेको छ। नेता किम जोङ उनले आफ्नो हतियार कार्यक्रमलाई गति दिइरहेका बेला र रुससँग सम्बन्ध गहिरो बनाइरहेका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ। लीले सोमबार भने, “हामीलाई अब आवश्यक कुरा भनेको दृढ सुरक्षा तयारीसँगै निरन्तर तनाव घटाउने कदम चाल्नु हो।”

दक्षिण कोरियाले सोमबार चार दिने नागरिक सुरक्षा अभ्यास पनि सुरु गरेको छ। अघिल्लो सरकारले यस्तै अभ्यासलाई अझ विस्तार गरेको थियो, जसले किमलाई क्रोधित बनाएको थियो।

ली सरकारले सन् २०१८ मा हस्ताक्षर भएको अन्तर–कोरियाली सैन्य सम्झौता पुनःस्थापना गर्ने प्रयास गर्ने बताएको छ। त्यस सम्झौताले सीमा क्षेत्रमा बफर जोन र नो–फ्लाई जोन बनाएको थियो। तर सन् २०२४ मा उत्तर कोरियाले दक्षिण कोरियातर्फ फोहोरले भरिएका बेलुन पठाएपछि दक्षिण कोरियाले सम्झौता स्थगित गरेको थियो। उत्तर कोरियाले त्यसपछि सम्झौता नमान्ने घोषणा गरिसकेको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने अमेरिकी सैन्य अभ्याससँग सम्झौता पुनःस्थापना गर्ने कदमको तत्काल कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ। यद्यपि, केही अभ्यास क्षेत्रहरूमा गर्मी र बाढीका कारण क्षति भएकाले आधा प्रशिक्षण कार्यक्रम सेप्टेम्बरसम्म सारिएको छ।

ट्रम्पले अघिल्लो कार्यकालमै दक्षिण कोरियालाई आफ्नो भूमिमा तैनाथ २८ हजार पाँच सय अमेरिकी सैनिकका लागि थप भुक्तानी गर्न दबाब दिएका थिए। उनका सहयोगीहरूले गठबन्धन पुनर्गठनबारे सङ्केत दिएका छन्, जसले दक्षिण कोरियामा अमेरिकी सेनाको आकार र भूमिकामा असर पार्न सक्छ।

विशेषज्ञहरूका अनुसार यस्तो दृष्टिकोणमा दक्षिण कोरियाले उत्तर कोरियासँगको खतरामा अझ ठूलो भूमिका खेल्नुपर्ने हुन्छ भने अमेरिकी सेना चीनप्रति बढी केन्द्रित हुनेछ। यसले सियोललाई थप जोखिम र खर्च बेहोर्नुपर्ने अवस्था ल्याउन सक्छ।

हालै पत्रकारहरूसँग बोल्दै, अमेरिकी सेनाका कमान्डर जनरल जेभियर ब्रुनसनले उत्तर कोरियाको आणविक महत्त्वाकांक्षा, रुससँगको गठबन्धन र चीनको चुनौतीलाई ध्यानमा राख्दै ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ का लागि गठबन्धनलाई आधुनिक बनाउनु जरुरी रहेको बताएका थिए।

पाकिस्तान : बाढीमा एक हजारभन्दा बढीको मृत्युको आशङ्का

पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा (केपी) प्रान्तमा आएको विशाल बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु हुनसक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

वलीले आफूले व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्रहरू भ्रमण गरेको र ठूलो विनाश देखेको बताए। उनले बुनेरको चघर्जी क्षेत्रमा व्यापक क्षति भएको र बासोनी गाउँ नक्साबाट नै हराएको जानकारी दिए ।

“बाढीको पानीले बोकेका केही चट्टानहरू ट्रकभन्दा ठूला थिए । घरहरू नदीमा बगाइएका छन्, सम्पूर्ण परिवारहरू हराएका छन् र रिपोर्ट गर्ने कोही छैन”, उनले भने ।

उनले आधिकारिक तथ्याङ्कले अस्पतालमा ल्याइएको शवहरू मात्रै देखाएको तर धेरै हताहत अझै रिपोर्ट हुन बाँकी रहेको बताए ।

एआरवाई न्युजका अनुसार करिब एक हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् र सामूहिक अन्त्येष्टि जारी छ । वलीले बाढीको दृश्य देखेर आफैँ भारी मन लिएर फर्केको बताए ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार, २६ जुनदेखि देशभरि वर्षासँग सम्बन्धित घटनामा कम्तीमा छ सय ५७ जनाको मृत्यु भइसकेको छ र नौ सय २९ जना घाइते भएका छन् । मृतकमध्ये एक सय ७१ जना बालबालिका र ९४ जना महिला छन् ।

केपी प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ तीन सय ९० जनाको मृत्यु (दुई सय ८८ पुरुष, ५९ बालबालिका, ४३ महिला) र दुई सय ४५ जना घाइते (एक सय ६१ पुरुष, ४५ बालबालिका, ३९ महिला) भएको छ । एनडिएमएले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्यलाई तीव्र बनाउन प्रान्तीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ ।

सहरी विकासमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।

सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चाँलु आर्थिक वर्षमा गरिने मुख्य काम र हाँसिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता भएको हो ।

उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै समयमा योजना किन सकिएनन् भन्दै प्रश्न गरेका छन् ।

“कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुप¥यो, समयमा गर्नुपर्ने निर्णय समयमा हुनुप¥यो । पन्छिने प्रवृत्तिले समयमा काम हुन सँक्दैन । गर्नुपर्ने काम समयमा गर्नुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ”, उनले भने, “सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चाँसो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरी काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।”

उनले अघिल्लो आवमा भएका कमजोरी नदोहो¥याउन सचेत गराउँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न सचिवसहित सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्य लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उपप्रधानमन्त्री सिंंहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

‘निजामती विधेयकलाई राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा टुङ्ग्याइने’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले राष्ट्रियसभामा रहेको सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई व्यवस्थित र सौहार्दपूर्ण ढङ्गबाट निष्कर्षमा पु¥याइनेमा विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विधेयकलाई सर्वसम्मतरुपमा निष्कर्षमा पु¥याउन प्रयास गरिने बताएका छन् ।

“राष्ट्रियसभाबाट यसअघि विधेयक सर्वसम्मत र सौहार्दपूर्वक ढङ्गबाट निष्कर्षमा पुग्ने गरेको छ”, मन्त्री न्यौपानेले भनेका छन्, “संशोधनका कतिपय विषयमा सरकारले सांसदलाई र सांसदले सरकारलाई ‘कन्भिन्स’ गराउन सक्छ, यसलाई छलफलबाट टुङ्ग्याउन सकिन्छ ।”

छलफलमा सांसदहरुले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा अनिवार्य मानिएको निजामती विधेयकमाथि प्रतिनिधिसभाबाट भएको त्रुटि र कमजोरीलाई राष्ट्रियसभाले समयसीमाभित्रै टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

सांसद रुक्मिणि कोइरालाले निजामती कर्मचारीलाई अन्याय नहुने गरी व्यापक छलफल गरेर सहमतिबाटै पारित गर्नुपर्नेमा जोड दिएको बताएकी छिन् । सांसद कृष्णबहादुर रोकायाले विधेयकलाई समय सीमाभित्रै निष्कर्षमा पु¥याउनुपर्ने धारणा व्यक्त गर्दै विधेयकमा छुटेका विषयलाई राष्ट्रियसभाबाट सम्बोधन गरेर जानुपर्ने बताएका छन् ।

सांसद किरणबाबु श्रेष्ठले प्रतिनिधिसभाबाट भएको त्रुटि सँच्याउने जिम्मेवारी राष्ट्रियसभाको काँधमा आएको उल्लेख गरेका छन् । सांसद सुरेश आलेमगरले विधेयकमाथिको संशोधनलाई सहमतिबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । सांसद तारामान स्वाँरले विधेयकलाई संविधान र सङ्घीयताअनुकूल बनाउनुपर्ने बताए ।

सांसद झक्कुप्रसाद सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, गङ्गाकुमारी बेलबासे, नरबहादुर विष्ट, पदमबहादुर परियार, विष्णुदेवी पुडासैनी, मृगेन्द्रकुमार सिंह यादव, शेखरकुमार सिंह, डा अन्जान शाक्य, इन्दिरादेवी गौतम र गोपाल भट्टराईलगायतले उक्त विधेयकलाई दलीय स्वार्थभन्दा माथि उठेर, राष्ट्र र भावी पुस्तालाई केन्द्रमा राखेर समय सीमाभित्रै निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएका छन्।

समिति सभापति तुलसाकुमारी दाहालले लगातार बैठक राखेर विधेयकलाई निर्धारित समयभित्रै टुङ्ग्याइने बताएकी छिन् । विधेयकमाथि राष्ट्रियसभामा १९३ वटा संशोधन परेको छ ।

तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले विश्वासघात गरेको प्रसाईँको दाबी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले विश्वासघात गरेको आरोप लगाएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत प्रसाईंले राप्रपामाथि यस्तो आरोप लगाएका हुन् ।

साथै प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर जिविकोपार्जन गरेको आरोप लगाएका छन् ।

‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ । अब जीवनमा तिमिले धोका दिन सक्दैनौँ । तिमि जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौँ । मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे’, उनले भने ।

प्रसाईँले पत्रकार सम्मेलन मार्फत नै लिङ्देनलाई चैत्र १५ गते जुन धोका दियौँ त्यस्तो धोका अब जिवनमा कहिले दिन नसक्ने बताएका छन् ।

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन् ।

आजदेखि यहाँ सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरुको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले अहिले दक्षिण एसिया जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौतीहरू सबैभन्दा संवेदनशील क्षेत्रको रूपमा देखिएको बताएका छन् । उनले भारत, पाकिस्तान, नेपाल र बङ्गलादेशमा पछिल्ला जलवायुजन्य घटनाहरूले यस क्षेत्रमा जलवायु सङ्कटलाई देखाएको उल्लेख गर्दै समयमा नै सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

महामन्त्री थापाले पाकिस्तानमा हालै आएको बाढीपहिरो, साथै यस क्षेत्रभर देखिएका जलवायुसम्बन्धी अन्य प्रकोपहरूलाई उदाहँरण दिँदै यो सङ्कटको गम्भीर स्मरण गराएको बताए । उनले भनेका छन्, “हामीले सीमापारी जोखिम मूल्याङ्कन गर्न सक्छौँ, जानकारी र ज्ञानको सीमापारी साझेदारी गर्न सक्छौँ । जलवायुजन्य सङ्कट न्यूनीकरणका लागि अब चुप लागेर बस्नुहुँदैन ।”

महामन्त्री थापाले भविष्यमा यस्ता जलवायु संवादलाई निरन्तरता दिन आवश्यक रहेको बताए । “संसदीय बहसहरू, संवादहरू जारी राखौँ”, उनले भनेका छन् । उनले जलवायुसम्बन्धी मुद्दालाई राष्ट्रिय बहसको मूलधारमा ल्याउन सांसदहरूको भूमिका महत्वपूर्ण रहेको र समुदायस्तरबाट सङ्कलित जलवायु अनुकूलनका ज्ञानलाई राष्ट्रिय नीति निर्माण र कार्यान्वयनमा प्रयोग गर्नुपर्ने बताँएका छन् ।

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । चैत १५ गते भएको तीनकुने घटनामा लामो समय थुनामा रहेर बाहिर निस्किएका प्रसाईँले आज यस्तो घोषणा गरेका छन् ।

‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।

उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् ।

उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् ।