`

‘नयाँ कांग्रेस’ को प्रवक्तामा देवराज चालिसे

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् । ललितपुरको कुपण्डोलमा जारी पहिलो केन्द्रीय समितिको बैठकमा प्रवक्तामा चालिसेको नाम प्रस्ताव गरिएको थियो । बुधबार सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत चयन भएका छन् ।

चालिसे केन्द्रीय सदस्य चयन भएका थिए । बैठकले चालिसेलाई प्रवक्ता मनोनित गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन् । ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ।

गगनको दावी : कांग्रेसका १० लाखमध्ये नौं लाख ८० हजार सदस्य हाम्रो पक्षमा छन्

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाले पार्टीका अधिकांश क्रियाशील सदस्य विशेष महाधिवेशनको पक्षमा उभिएको दाबी गरेका छन् । निर्वाचन आयोगले चाहे सदस्यहरूको वास्तविक अवस्था परीक्षण गरेर हेर्न सक्ने भन्दै उनले १० लाखमध्ये ९ लाख ८० हजार क्रियाशील सदस्य आफूहरूको पक्षमा रहेको बताएका हुन् ।

सभापति चयन भएपछि भृकुटीमण्डपमा उपस्थित महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशन नै पार्टी विधानले व्यवस्था गरेको सबैभन्दा ठूलो संरचना भएको स्पष्ट पारे । पार्टी सदस्यहरू कता उभिएका छन् भन्ने विषय नै निर्णायक हुने उल्लेख गर्दै उनले भने, ‘पुरानो र नयाँ गरेर करिब १० लाख क्रियाशील सदस्य छन् । धेरै भन्दिनँ, निर्वाचन आयोगले हेर्न चाहेको दिन नेपाली कांग्रेसले आह्वान गर्दा १० लाखमध्ये ९ लाख ८० हजार सदस्य एक ठाउँमा उभिएनन् भने त्यसबेला प्रश्न उठाऔंला ।’

थापाले निर्वाचन आयोगले कानुन, पार्टी विधान र विशेष महाधिवेशनको उपस्थितिलाई आधार मानेर निष्पक्ष निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए । ‘हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास हामीलाई छ’, उनले भने, ‘आयोगले प्रचलित कानुन, विधान र यहाँको उपस्थितिलाई हेरेर निर्णय गर्छ ।’

यसैबीच, सभापति निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले कांग्रेस विभाजित नभएको दाबी गरे । उनले यसअघि शेरबहादुर देउवालाई सभापति निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूले नै आफूलाई पनि सभापति चुनेको बताए । विशेष महाधिवेशन सम्पन्न भइसकेको र केही दिनमै नयाँ कार्य समिति आउने विषयमा निर्वाचन आयोगलाई लिखित जानकारी दिइसकिएको उनको भनाइ थियो ।

थापाले कांग्रेसको आधिकारिकताबारे कुनै अन्योल नरहने दाबी गर्दै आयोगले विधि र विधानअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे । ‘निर्वाचन आयोग जानकार छ, कानुनसम्मत निर्णय गर्छ’, उनले भने, ‘त्यसैले कांग्रेसको वैधानिकतामाथि कुनै विवाद रहँदैन ।’ विशेष महाधिवेशनपछि पार्टीभित्रको नेतृत्व र वैधानिकताबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै थापाले संगठनात्मक बल र सदस्यहरूको समर्थन नै आफ्नो मुख्य आधार भएको सन्देश दिएका छन् ।

 

 

 

कांग्रेस केन्द्रीय राजनीतिमा नरेन्द्रकुमार केरूङ

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा प्राज्ञिक तथा वैचारिक नेताको छवि बनाएका नेता नरेन्द्रकुमार केरूङ केन्द्रीय सदस्य बनेका छन् ।

लामो समय शिक्षण पेशामा संलग्न रहँदै राजनीतिलाई वैचारिक धरातलमा अगाडि बढाएका केरूङ पाँचथर बहुमुखी क्याम्पसका पूर्व उपप्राध्यापक हुन् ।

उनी पार्टीका नीति, विचार र लोकतान्त्रिक मूल्यका विषयमा निरन्तर बहस गर्दै आएका नेता हुन् ।

उनले सभापति हुँदै पाँचथर कांग्रेसको दुई कार्यकाल नेतृत्व गरे । त्यतिबेला पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय तहमा कांग्रेसको प्रभाव बढाउन उनी सक्रिय भए ।

उनै केरुङ पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए । त्यसबेला पराजित भए । तर, महाधिवेशनमा हारपछि पनि उनले पार्टी गतिविधिबाट आफूलाई टाढा राखेनन् । बरु कांग्रेस पार्टीमा रुपान्तरणको बहस चलाए ।

यसपटक गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय समिति बन्दा उनी केन्द्रीय सदस्यमा समेटिए ।

कांग्रेसभित्र युवा नेतृत्व, संगठनात्मक सुधार र वैचारिक स्पष्टतामा जोड दिइँदै आएको सन्दर्भमा केरूङको केन्द्रीय सदस्यमा चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नयाँ कांग्रेसको पहिलो बैठक पार्टी प्यालेसमा, आजै निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा काम सुरु गरेको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा आज बसेको केन्द्रीय समिति बैठक नयाँ नेतृत्वको पहिलो बैठक हो ।

भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो । त्यसलगत्तै थापा नेतृत्वको समूहले पार्टीको भावी रणनीति, संगठनात्मक व्यवस्थापन र कानुनी प्रक्रियाबारे छलफल गर्न पहिलो बैठक आह्वान गरेको हो । बैठक कुपण्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघिदेखि जारी रहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशनअघि संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई अनुशासन उल्लङ्घनको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि नेपाली कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको छ । यही पृष्ठभूमिमा थापा पक्षले विशेष महाधिवेशन आयोजना गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीको आधिकारिकता दाबी, संगठन सुदृढीकरण र आगामी कदमबारे गहन छलफल भइरहेको जनाइएको छ । बैठकपछि विशेष महाधिवेशनका नतिजा तथा कागजात अद्यावधिक गर्न थापा नेतृत्वको टोली आजै निर्वाचन आयोग जाने तयारीमा छ । अधिवक्ता राजु कटवालका अनुसार विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएकाले पार्टीको अभिलेख अद्यावधिक गर्न आयोग जाने तयारी गरिएको हो ।

उनका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म निर्वाचन आयोग पुग्ने कार्यक्रम तय गरिएको छ । आयोगमा आवश्यक कागजात, निर्णय र अभिलेख दस्तावेजीकरणका लागि कानुनी टोलीले सहजीकरण गरिरहेको छ । गगन थापा नेतृत्वको यो कदमलाई कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ । निर्वाचन आयोगको निर्णय र आगामी राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

 

भावी प्रधानमन्त्रीको दौडमा बालेन, मधेशबाट रास्वपाको राष्ट्रिय अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्याउने तयारी गरेको छ । पार्टीभित्रको नीतिगत संवाद, संगठन विस्तार र चुनावी रणनीतिलाई एकै सूत्रमा बाँध्दै रास्वपाले मधेशबाटै नयाँ राजनीतिक अभियानको औपचारिक शंखघोष गर्ने भएको छ ।

रास्वपाका प्रभावशाली नेता डा. स्वर्णिम वाग्ले र मेयर बालेनबीच हालै सघन संवाद भएको छ । बिहीबार बिहान बालेनसँगको तस्वीर सार्वजनिक गर्दै वाग्लेले यसलाई ‘नीतिगत स्पष्टताको चरण’ भनेका छन् । उनका अनुसार आर्थिक सुधार, रोजगारी सिर्जना, राजस्व–खर्च व्यवस्थापन, आधुनिक पूर्वाधार र काठमाडौं महानगरमा प्रयोग भएको ‘डेलिभरी मोडल’ लाई राष्ट्रिय एजेण्डाका रूपमा स्थापित गर्ने विषयमा चरणबद्ध छलफल भइरहेको छ । यही सन्दर्भमा बालेनलाई आगामी सरकारको ‘प्रस्तावित प्रधानमन्त्री’ का रूपमा अघि सार्ने तयारी पार्टीले गरेको संकेत वाग्लेले दिएका छन् ।

यसै रणनीतिअन्तर्गत रास्वपाको शीर्ष नेतृत्व आगामी ५ माघमा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्दैछ । सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्लेसहितको टोलीले उक्त दिनदेखि ‘देश जोड्ने र बनाउने महाअभियान’ सुरु गर्ने जनाएको छ । वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास २१ फागुनको निर्वाचनबाट ।’ मधेश यात्रालाई केवल सांगठनिक भ्रमण नभई नयाँ राष्ट्रिय सोचको बीजारोपणका रूपमा रास्वपाले व्याख्या गरेको छ । पार्टीका अनुसार मधेशको माटोबाटै राष्ट्रिय एकता, विकास र सुशासनको नयाँ कथा लेख्ने लक्ष्य राखिएको छ ।

यसबीच, राजनीतिक वृत्तमा थप चासोको विषय बनेको छ—बालेनको प्रत्यक्ष चुनावी मैदानमा प्रवेश । रास्वपामा औपचारिक रूपमा आबद्ध भइसकेका बालेनले काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिने तयारी गरेका छन् । ५ माघबाटै उनको चुनाव केन्द्रीत यात्रा सुरु हुने र पहिलो सार्वजनिक कार्यक्रम जनकपुरधाममै हुने तय भएको छ । यो कार्यक्रम बालेन र रवि लामिछाने पहिलो पटक एउटै मञ्चमा देखिने अवसरसमेत हुनेछ ।

रास्वपाले बालेनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको बताइन्छ, यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ । जनकपुरको कार्यक्रमपछि बालेन झापा जाने र रवि लामिछाने चितवन झर्ने कार्यतालिका बनाइएको छ । माघ ६ गते प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता भएपछि दुवै नेताहरू देशव्यापी दौडाहामा निस्किने पार्टीको योजना छ । मधेशमा प्रभाव पार्ने रणनीतिअन्तर्गत रास्वपाले बालेनलाई ‘मधेश पुत्र’ का रूपमा ब्रान्डिङ गर्न थालेको छ ।

मधेशका विभिन्न स्थानमा ‘अबकी बार–बालेन सरकार’ लेखिएका पोस्टर देखिन थालेका छन् । बालेनको पुख्र्यौली थलो महोत्तरी जिल्ला (एकडारा गाउँपालिका) पर्नु र उनलाई ‘सम्भावित पहिलो मधेशी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गर्नुले मधेशी जनमतमा गहिरो प्रभाव पार्ने विश्लेषण भइरहेको छ । यद्यपि उनको जन्म काठमाडौंको नरदेवीमा भएको हो र उनी हाल काठमाडौंका स्थायी बासिन्दा हुन् । समग्रमा, रास्वपाले मधेशबाटै चुनावी अभियान सुरु गर्दै बालेनलाई विकास, सुशासन र नयाँ राजनीतिक संस्कृतिको प्रतीकका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ । मधेश यात्रा केवल क्षेत्रीय भ्रमण नभई राष्ट्रिय सत्ता राजनीतिमा नयाँ अध्यायको सुरुवात बन्ने संकेत रास्वपाले स्पष्ट रूपमा दिएको छ ।

 

 

 

चुनाव अनिश्चित छ, संसद पुनर्स्थापना नै सुरक्षित बाटो : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा आगामी निर्वाचन हुने वा नहुने विषयमा अझै स्पष्टता नआएको भन्दै वर्तमान अन्योलपूर्ण अवस्थामा प्रतिनिधिसभा पुनः स्थापना नै सबैभन्दा सुरक्षित र व्यवहारिक विकल्प भएको बताएका छन् ।
गृह जिल्ला दाङमा आयोजित प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक वातावरण अझै स्थिर भइनसकेको उल्लेख गरे । उनले भने, ‘चुनावको मिति र वातावरण दुवै अन्योलमै छन् । यस्तो अवस्थामा संसद पुनःस्थापना गरेर संवैधानिक र राजनीतिक स्थिरताको बाटो रोज्नु नै देशका लागि उपयुक्त हुन्छ ।’

यद्यपि, पोखरेलले यदि निर्वाचन हुने स्पष्ट परिस्थिति बनेमा नेकपा एमाले चुनावी प्रक्रियाबाट नभाग्ने स्पष्ट पारे । ‘एमाले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी हो । चुनाव हुने स्थिति बने हामी पूर्ण रूपमा सहभागी हुन्छौं’, उनले भने । राजनीतिक दलहरूबीच बढ्दो विभाजनप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले दल फुट्नु भन्दा जुट्नु लोकतन्त्रका लागि हितकर हुने धारणा राखे । विशेष गरी नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले समग्र लोकतान्त्रिक प्रणालीमा गम्भीर असर पार्न सक्ने उनको भनाइ थियो । ‘सत्तारूढ दलभित्रको अस्थिरता र आन्तरिक खिचातानीले लोकतन्त्र कमजोर हुन्छ’, उनले भने, ‘मुख्य दलहरू जिम्मेवार भएर अघि बढ्नु पर्छ ।’

पोखरेलले रवि लामिछानेसँग जोडिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासले सरकार वास्तवमै कहाँबाट र कसरी सञ्चालित भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको दाबी गरे । ‘यस्ता निर्णयले सरकारको नियत र स्वतन्त्रतामाथि शंका उत्पन्न भएको छ’, उनले टिप्पणी गरे ।

देशमा अझै पनि शान्ति–सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसलाई अत्यन्तै चिन्ताजनक अवस्था बताए । उनका अनुसार लुटिएका हतियार संकलन, फरार कैदीहरूलाई फिर्ता ल्याउने र सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुन आवश्यक छ । ‘प्रहरी र सुरक्षा निकायको मनोबल कमजोर हुँदा राज्य नै कमजोर हुन्छ’, उनले भने, ‘सरकारले राजनीतिक रस्साकस्सीभन्दा माथि उठेर शान्ति–सुरक्षामा ध्यान दिनुपर्छ ।’ महासचिव पोखरेलको अभिव्यक्तिले वर्तमान राजनीतिक संकट, निर्वाचनको अनिश्चितता र सरकारको कार्यशैलीमाथि पुनः बहस चर्किने संकेत देखिएको छ ।

 

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठक आज बस्दैछ । युवा नेता गगन थापा पार्टीको सभापतिमा निर्वाचित भएपछि बस्न लागेको यो पहिलो बैठकलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

पार्टी सहमहामन्त्री उदयशम्शेर जबराका अनुसार नयाँ कार्यसमितिको बैठक ललितपुरको कुपण्डोलमा बिहान ११ बजेपछि बस्ने गरी तय गरिएको छ । बुधबार राति मात्रै थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन भएका थिए । आजको बैठकको मुख्य कार्यसूची आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको तयारी रहेको छ ।

देशको बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई कसरी अगाडि बढाउने र निर्वाचनमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा आजैबाट प्रारम्भिक छलफल सुरु हुनेछ । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएकाले कानुनी प्रक्रिया पूरा गर्नका लागि बैठकले ठोस निर्णय लिनेछ ।

कांग्रेस कलह अब निर्वाचन आयोग र अदालततिर, चुनावी तालिकामा पर्छ प्रभाव ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मुखमै मुलुकको सबैभन्दा ठूलो र पुरानो राजनीतिक दल नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन भएको छ । विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि र त्यसको प्रतिउत्तरमा संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्काशन गरेपछि कांग्रेसको आन्तरिक विवाद अब निर्वाचन आयोग र अदालतको ढोकासम्म पुगेको छ ।

दुवै पक्षले आफू नै ‘वैधानिक नेपाली कांग्रेस’ भएको दाबी गर्दै निर्वाचन आयोगमा आधिकारिकता माग गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भएको दाबी गरेको छ भने विशेष महाधिवेशन पक्षधरले बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताका आधारमा आफूहरू नै आधिकारिक भएको जिकिर गरेका छन् ।

कानुनी मैदानमा कांग्रेसको टकराव
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दलभित्रको विवाद निरूपण गर्ने स्पष्ट व्यवस्था गरेको छ । ऐनको दफा ४३ अनुसार एउटै दलका दुई वा दुईभन्दा बढी पक्षबीच दलको नाम, छाप, झण्डा, चिन्ह, विधान, केन्द्रीय समिति वा निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यसको टुंगो निर्वाचन आयोगले लगाउने व्यवस्था छ ।

दफा ४४ ले विवाद निरूपणको कार्यविधि तोकेको छ । कम्तीमा ४० प्रतिशत केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहित ३० दिनभित्र दाबी पेस गर्नुपर्ने, त्यसपछि अर्को पक्षलाई १५ दिनको जवाफ दिने समय, आवश्यक परे थप १० दिन म्याद, सहमतिको प्रयास र सहमति नभए प्रमाणका आधारमा आयोगले कुनै एक पक्षलाई मान्यता दिन सक्ने व्यवस्था ऐनमा छ ।

यदि कुनै पक्षसँग स्पष्ट बहुमत नदेखिएमा आयोगले विवाद हुनुअघि रहेको केन्द्रीय समितिको बहुमत हेरेर निर्णय गर्न सक्ने कानुनी प्रावधान छ । आयोगको निर्णय अन्तिम हुने भए पनि त्यसविरुद्ध अदालत जान सकिने बाटो खुला छ।

विशेष महाधिवेशन वैधानिक कि अवैधानिक ?
कांग्रेस विवादको मूल केन्द्र विशेष महाधिवेशन हो । गत असोज २९ मा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेस विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

संस्थापन पक्षले प्रक्रिया अघि नबढाएपछि गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा दुई दिने विशेष महाधिवेशन आयोजना गरियो र सोही महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरियो । वरिष्ठ अधिवक्ता तथा संविधानविद् चन्द्रकान्त ज्ञवालीका अनुसार सभापतिले महाधिवेशन नबोलाएको अवस्थामा प्रतिनिधिहरू स्वयंले विशेष महाधिवेशन बोलाउन सक्ने भएकाले विशेष महाधिवेशन विधानसम्मत छ । अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले देउवा पक्षसँग गगन, विश्व र मन्सुरलाई निष्काशन गर्ने कानुनी अधिकार नै नरहेको तर्क गरेका छन् ।

तर संस्थापन पक्षले विधानको धारा ७१ अनुसार बाधा–अड्काउ फुकाउने र कार्यविधि बनाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै रहेको दाबी गर्दै विशेष महाधिवेशनबाट नेतृत्व चयन वैधानिक नहुने अडान लिएको छ ।

निर्वाचन आयोग किन निर्णायक बन्दैछ ?
विशेष महाधिवेशनपछि सभापतिमा निर्वाचित गगन थापाले आफू नेतृत्वको कार्यसमिति नै वैधानिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोग जाने घोषणा गरेका छन् । उनले आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गरेका छन् । कानुनअनुसार दलले पदाधिकारीमा गरेको हेरफेर ३० दिनभित्र आयोगलाई जानकारी गराउनु पर्छ ।

विशेष महाधिवेशन पक्षले देउवा नेतृत्वको पुरानो कार्यसमिति भंग भइसकेको जानकारी आयोगलाई पठाइसकेको छ । तर अर्कोतर्फ, फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस शेरबहादुर देउवाको हस्ताक्षरमा दर्ता भइसकेको छ । समानुपातिक सांसदको बन्दसूची पनि उनकै हस्ताक्षरमा आयोगमा बुझाइसकिएको छ । मतपत्र छपाइको कामसमेत अघि बढिसकेको अवस्थामा आयोगका लागि निर्णय झन् जटिल बनेको छ ।

चुनावलाई पर्छ प्रभाव ?
कानुनका जानकारहरू कांग्रेस विवादका कारण चुनाव सर्ने सम्भावना न्यून देख्छन् । एक पूर्व कानुन मन्त्रीका अनुसार निर्वाचन अवधि सुरु भइसकेपछि आयोगले पार्टीको आन्तरिक विवाद हेर्न नमिल्ने व्यहोराको पत्र दुवै पक्षलाई पठाउन सक्ने सम्भावना छ । त्यसपछि मुद्दा अदालतमा पुग्नेछ ।

यदि अदालतले हस्तक्षेप नगरेको अवस्थामा पुरानै, आयोगमा दर्ता भएको कार्यसमितिले वैधानिकता पाउने र त्यसैको नेतृत्वमा चुनाव हुने सम्भावना बलियो देखिन्छ । यस्तो अवस्थामा विशेष महाधिवेशन पक्षधर नेताहरू पार्टीविहीन हुने जोखिम समेत रहेको कानुनी विश्लेषण छ ।

आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस अहिले सबैभन्दा गम्भीर संस्थागत संकटमा पुगेको छ । पार्टीको आधिकारिकता अब राजनीतिक भन्दा बढी कानुनी प्रश्न बनेको छ । निर्वाचन आयोगको निर्णय र त्यसपछि अदालतको भूमिका निर्णायक हुने देखिन्छ । तर एक कुरा लगभग निश्चित देखिन्छ–कांग्रेसको यो आन्तरिक युद्धले चुनावी प्रक्रिया भन्दा बढी पार्टीको भविष्य, संगठन र विश्वसनीयतामाथि गहिरो असर पार्नेछ ।

यस्तो छ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमिति (नामावलीसहित)

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको छ ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको विशेष महाधिवेशनबाट थापा सर्वसम्मत सभापति बनेका हुन्।

पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरे सर्वसम्मत भएका हुन् ।

यस्तै सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

जेनजी आन्दोलनपछि समयमा नियमित महाधिवेशन हुन नसकेको भन्दै १४औं महाधिवेशनबाट निर्वाचित महामन्त्री द्वय थापा र शर्माको अगुवाईमा दोस्रो विशेष महाधिवेशन आयोजना भएको हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन आव्हान गरेको र बहुमत प्रतिनिधि सहभागी भएको आयोजकले दाबी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले भने यो महाधिवेशनलाई मान्यता दिएको छैन । देउवा पक्षले आजै केन्द्रीय कार्यसमितिको बैठकबाट थापा, शर्मा र मन्सुरलाई पाँच वर्षसम्म पार्टीमा फर्कन नसक्ने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

अब काँग्रेसमा देउवा वा थापा को आधारिक नेतृत्व भन्ने विवाद सुरू भएको छ । दुवै पक्षले निर्वाचन आयोगमा आफ्नो नेतृत्वलाई आधिकारिता दिन माग गरिरहेका छन् ।

यस्तो छ कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको नामावली:

 

गगन थापा बने कांग्रेस सभापति, को-को बने पदाधिकारी?

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको छ ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको विशेष महाधिवेशनबाट थापा सर्वसम्मत सभापति बनेका हुन्।

पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरे सर्वसम्मत भएका हुन् ।

यस्तै सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

जेनजी आन्दोलनपछि समयमा नियमित महाधिवेशन हुन नसकेको भन्दै १४औं महाधिवेशनबाट निर्वाचित महामन्त्री द्वय थापा र शर्माको अगुवाईमा दोस्रो विशेष महाधिवेशन आयोजना भएको हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन आव्हान गरेको र बहुमत प्रतिनिधि सहभागी भएको आयोजकले दाबी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले भने यो महाधिवेशनलाई मान्यता दिएको छैन । देउवा पक्षले आजै केन्द्रीय कार्यसमितिको बैठकबाट थापा, शर्मा र मन्सुरलाई पाँच वर्षसम्म पार्टीमा फर्कन नसक्ने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

अब काँग्रेसमा देउवा वा थापा को आधारिक नेतृत्व भन्ने विवाद सुरू भएको छ । दुवै पक्षले निर्वाचन आयोगमा आफ्नो नेतृत्वलाई आधिकारिता दिन माग गरिरहेका छन् ।

विशेष महाधिवेशनको संशोधित कार्यतालिका: राती २ बजेदखि बिहान ५ बजेसम्म मतदान

नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा संशोधित कार्यतालिका प्रकाशन भएको छ । यसअघि प्रकाशित भएको कार्यतालिका अनुसार राती साढे १० बजे उम्मेद्वारीमाथिको दाबीविरोध सकिने छ । यसअघि नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ।

संशोधित कार्यतालिका अनुसार १०:४५सम्म छानबिन गरी ११ बजे नामावली प्रकाशन गरिने छ । यसपछि ११:२० भित्रमा उम्मेदवारी फिर्ता गर्न सकिने र राती ११:३५मा अन्तिम नामावली प्रकाशन गरिने छ ।

राती २ बजेदेखि सुरू हुने मतदान बिहान ५ बजेसम्म चल्ने छ ।

मतदान सकिएपछि मतगणना सुरू हुने छ ।

विशेष महाधिवेशनबाट सभापतिमा गगन थापाको मात्रै उम्मेद्वारी परेकाले उनी निर्विरोध भइसकेका छन् ।

गगन थापाको निर्वाचन क्षेत्रमा केम्स सिंहको उम्मेदवारी

नेपाली जनता दलले काठमाडौं क्षेत्र नम्बर ४मा युवा नेता केम्स सिंहलाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष हरिचरण साहले आज एक विज्ञप्ति जारी गरि फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा युवा नेता सिंहलाई काठमाडौं क्षेत्र नम्बर ४को उम्मेदवार बनाइएको बताएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव जित्दै आएका छन् । २०७०, २०७४ र २०७९को निर्वाचनमा थापा यो निर्वाचन क्षेत्रमा विजयी भएका थिए ।

आगामी निर्वाचन सिंह सिटी चुनाव चिन्ह लिएर मैदानमा उत्रिनेछन् ।

 

‘गणतन्त्रका प्रवक्ता’ गगनले हाँक्ने कांग्रेसको चुनौतिपूर्ण बाटो (भिडियोसहित)

काठमाडौं । दोस्रो जनआन्दोलन सफल भएपछि नेपालको राजनीति निर्णायक मोडमा पुग्यो । सडकमा लाखौँ जनता थिए । राजनीतिक दिशानिर्देश स्पष्ट थिएन । तत्कालीन नेकपा माओवादीले दृढ अडान लियो– पहिले गणतन्त्र घोषणा अनि संविधानसभा निर्वाचन । माओवादी यो अडानबाट टसमस भएन ।

गणतन्त्रको कुरा त्यसअघि पनि उठ्थ्यो । तर त्यो सधैं सानो स्वरमा सीमित हुन्थ्यो । माओवादीले यसलाई सशक्त, दबाबपूर्ण र निर्णायक एजेन्डा बनायो । त्यसबेला पनि गणतन्त्रको आम स्वीकारोक्ति भइसकेको थिएन । नेपाली कांग्रेस, एमालेसहितका सात दल न गणतन्त्र स्वीकार्न तयार थिए न राजतन्त्रको निरन्तरतामा नै प्रतिबद्ध थिए । राजा ज्ञानेन्द्रको १५ महिने प्रत्यक्ष शासनले सात दल हत्तुहैरान थिए ।

यही संक्रमणकालीन घडीमा नेपाली कांग्रेसमा नरहरि आचार्य र गगन थापा गणतन्त्रका स्पष्ट प्रवक्ता भएर उभिए । गगनले सडक मोर्चाबाट गणतन्त्रको नारा घन्काए । लाठीचार्ज सहे । गिरफ्तारी भोगे । जनआन्दोलनमा सर्वाधिक चर्चा भएका युवाहरुमध्ये एक थिए गगन थापा, जो नेपाली मिडियामा जनआन्दोलनको ‘पोस्टर ब्वाइ’का रुपमा देखा परेका थिए ।
अर्कातर्फ नरहरि आचार्यले टेलिभिजन अन्तर्वार्ता, पत्रपत्रिकाका लेख र बौद्धिक बहसमार्फत कांग्रेसभित्र र बाहिर गणतन्त्रको वैचारिक जग तयार पारे । त्यसमा प्रदीप गिरीकाे पनि भूमिका कम थिएन ।
यसले कांग्रेसमा आन्तरिक दबाब क्रमशः बढ्दै गयो । सडक, मिडिया र अन्तर्राष्ट्रिय वातावरणको प्रभावसँगै अन्ततः गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस गणतन्त्रको कित्तामा उभिन बाध्य भयो ।
८ पुस २०६४ मा सात दल र माओवादीबीच सहमति भयाे कि देशलाई गणतन्त्रको मार्गचित्रमा लैजाने र संविधानसभा निर्वाचन गर्ने । सोही सहमतिअनुसार २८ चैत २०६४ मा संविधानसभा निर्वाचन सम्पन्‍न भयो । त्यसको डेढ महिनापछि, १५ जेठ २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले २४० वर्षे राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गर्‍याे । गणतन्त्र घोषणा गर्दा संविधानसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको नाताले कांग्रेसकै नेता कुलबहादुर गुरुङले गरे । यो गणतन्त्र घोषणाको ऐतिहासिक क्षणले गगनहरूको सपना साकार पारेको थियो ।
सायद नरहरि आचार्य र गगन थापाजस्ता नेताहरूले कांग्रेसलाई गणतन्त्रको एजेन्डामा नडोर्‍याएकाे भए, राजतन्त्र अन्त्य गर्ने राष्ट्रिय समझदारी सम्भव नहुन पनि सक्थ्यो । यही कारणले गगन थापा आज पनि ‘गणतन्त्रको आत्मा’ को रूपमा स्मरण गरिन्छन् ।

उनै गगन बुधबार देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सभापति बने, त्यो पनि विद्रोहको बलमा । शक्तिशाली सभापति शेरबहादुर देउवा अपदस्थ गरेर गगनले नेतृत्वमा पुस्तान्तरण सम्भव तुल्याए । प्रारम्भमा महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत समर्थन उनको पक्षमा थियो । विशेष महाधिवेशन चलिरहँदा यो समर्थन अझै बढ्दै गयो ।

यस विद्रोहको मूल निशाना थियो–नियमित महाधिवेशन परपर सार्दै पार्टीको सत्ताशक्ति कब्जामा राख्‍ने देउवा प्रवृत्ति । गगनको नेतृत्वमा यो प्रवृत्तिमाथि बुधबार गम्भीर प्रहार भयो । यससँगै ८० वर्षे देउवाको बहिर्गमन सम्मानजनक बन्‍न सकेन । यसअघि आफैंले पार्टी फुटाएका देउवाकै कारण फेरि पनि कांग्रेस विभाजनको बाटोमा गयो ।

‘सुधारिएको कांग्रेस, बदलिएको कांग्रेस’को नारा घन्काउँदै गगन कांग्रेस पार्टीको एउटा समूहको शिखरमा पुगेका छन् । आयोग र सर्वोच्च अदालतले उनको पक्षमा निर्णय दिए उनी आठ दशक लामो इतिहास बोकेको काँग्रेस हाँक्ने ठाउँमा हुनेछन् ।

यहीबेला देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्वयं धरमराएको छ । जेन–जी विद्रोहपछि संविधान घिटघिटे अवस्थामा छ । अर्थात् संविधान कोमामा छ । संघीय लोकतान्त्रिक गणतन्त्रको जग हल्लिएको छ । देशी तथा विदेशी शक्ति केन्द्रहरूको चलखेल झनै बढ्दो छ ।

यस्तो संवेदनशील समयमा गगनले कांग्रेस हाँक्नेछन् । अब उनले निर्वाचन आयोगमा आधिकारिकता विवादको सामना गर्नुपर्ला । प्रतिनिधिसभा निर्वाचन अगाडि उनले आफ्नै शब्दमा भनेझैँ ‘सुधारिएको कांग्रेस, बदलिएको कांग्रेस’लाई कति कुशलतापूर्वक ड्राइभ गर्न सक्छन्, त्यो ठूलो परीक्षा हुनेछ ।

बुधबारदेखि कांग्रेस दुई फक्लेटोमा विभाजित देखिन्छ । त्यसमध्ये एउटाको मात्र नेता बनेर चुनावमा जाँदा प्रतिनिधिसभामा कांग्रेसको दलीय हैसियत कत्रो होला ? के गगनले गणतन्त्र जोगाउने ऐतिहासिक भूमिकालाई अब संस्थागत नेतृत्वमा रूपान्तरण गर्न सक्लान् ?

यी सबै प्रश्‍नको उत्तर राजनीति स्वयंले दिनेछ– निकट भविष्यमा ।

 

 

निर्वाचन आयोगमा देउवा र गगन–विश्वको छुट्टाछुट्टै पत्र, आधिकारिकता कसलाई ?

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विषयमा विवाद चुलिँदै जाँदा निर्वाचन आयोगमा दुई पक्षबाट फरक–फरक पत्र पुगेका छन् । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूकै नेतृत्वबाट निर्वाचित समिति नै आधिकारिक कांग्रेस हुने दाबी गरेका छन् भने अर्कोतिर पार्टी सभापति शेरबहादुर देउवाले उनीहरूलाई कारबाही गरिएको निर्णय आयोगमा पठाएका छन् ।

विशेष महाधिवेशन पक्षका नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि काठमाडौंको भृकुटीमण्डपमा उपस्थित रहेको दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाएका हुन् । पत्रमा विशेष महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व नै वैधानिक हुने उल्लेख गरिएको छ । साथै, यसअघि रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी पनि उनीहरूले गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षबाट पत्र प्राप्त भइसकेको पुष्टि गर्दै अहिले ती पत्र राजनीतिक शाखामा अध्ययनको प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार आयोगले कानुनी र प्रक्रियागत आधारमा विषयको परीक्षण गर्नेछ ।

यता, संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई विधानविपरीत ठहर गर्दै कडा कदम चालेको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । उक्त निर्णयसहित सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा औपचारिक पत्र पठाइसकेका छन् ।

कांग्रेस प्रचार–प्रसार विभाग प्रमुख मीन विश्वकर्माले बैठकको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेसको विधान २०१७ को धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ अन्तर्गत उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरिएको आरोप लगाउँदै कारबाही गरिएको उनको भनाइ छ ।

यसबीच, भृकुटीमण्डपमा पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशन निरन्तर जारी छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । कांग्रेस सभापतिका लागि गगन थापाले उम्मेदवारी दिएका छन् भने महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन् । आजै राति ८ बजेदेखि मतदान कार्यक्रम तय गरिएको छ ।

दुवै पक्षले आफू नै वैधानिक र आधिकारिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगको ढोका ढक्ढक्याएपछि अब आयोगको निर्णयले कांग्रेसको भावी दिशा तय गर्ने देखिएको छ । पार्टीभित्रको यो द्वन्द्वले राष्ट्रिय राजनीतिमा समेत ठूलो असर पार्ने आंकलन गरिएको छ ।

 

कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गगन–विश्‍वको संकल्प

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार खडा हुने दाबी गरेका छन् ।

कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने विषयलाई अस्वीकार गरेका उनीहरूले कांग्रेस एक्लै निर्वाचनमा जाने बताएका छन् ।

‘आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन र १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्छ,’ नेता विश्वप्रकाश शर्माले बन्दसत्रको हलमा भने । त्यसबेला हुटिङसहित शर्माको प्रस्तावमा सहभागीहरूले समर्थन जनाउँदै हुटिङ लगाएका थिए ।

बुधबार बिहान देउवासँग गगन–विश्‍वले आठ बुँदे सहमतिको प्रस्ताव अघि सार्दा बिना गठबन्धन कांग्रेसले निर्वाचनको सामना गर्नुपर्ने बुँदा समावेश गरेका थिए । यसमा देउवा सहमत थिए ।

तर, उनी पार्टी सभापति त्याग्‍न, प्रधानमन्त्रीको उम्मेदवार गगनलाई घोषणा गरेर जान र उम्मेदवारको टिकटमा हस्ताक्षर नगर्न तयार भएनन् । यी तीन सर्तमा सहमति नजुट्दा अन्ततः कांग्रेस दुई फक्लेटो भएको छ ।

यस्तोमा विशेष महाधिवेशनको हलबाट गगन–विश्‍वले आगामी प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबिना निर्वाचनमा जाने प्रस्तावलाई अनुमोदन गराएका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा गठबन्धनसहित चुनावमा गएको थियो ।

गत वर्ष भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पनि गठबन्धनसहित निर्वाचनमा गएको थियो ।

आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा पनि सभापति शेरबहादुर देउवाले एमालेसँग गठबन्धन गरे । यसप्रति गगन–विश्‍वको विमती थियो ।

यही पृष्ठभूमिमा विग्रह आएको कांग्रेसमा विशेष महाधिवेशन गरिरहेका गगन–विश्‍वले कांग्रेसलाई एक्लै निर्वाचन लडाउने भएको हो ।

कांग्रेसमा अब दुई सभापति, दुई समूह !

नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधर शेरबहादुर देउवा समूहले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई मान्यता नदिएपछि औपचारिक रुपमा पार्टी विभाजनको प्रकृया सुरू भएको छ ।

देउवा पक्षमा १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा एउटा समूहको नेतृत्वमा कायम रहनेछन् भने विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्विरोध चयन गर्दैछ ।

आज बेलुकी ८ बजेबाट मतदान हुने भनिएपनि सभापतिमा थापा तथा  महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध हुने भएका छन् ।

अब देउवा र थापा नेतृत्वको कुन समूह आधिकारिक हुन्छ भन्ने निर्वाचन आयोगको निर्णयमा भर पर्नेछ । निर्वाचन आयोगको निर्णय चित्त नबुझ्ने पक्ष अदालत जान सक्ने छ । यदी मुद्धा अदालत गएमा यसको अन्तिम छिनोफानो सर्वोच्च अदालतले गर्ने छ ।

देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गर्दै विशेष महाधिवेशनले पार्टीलाई नयाँ दिशामा अघि बढाएको बताएका छन् । देउवा पक्षबाट आफूमाथि कारबाही गरिएको खबर सार्वजनिक भए लगत्तै विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन समितिमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन हुने स्पष्ट पारे । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब हामी नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने प्रक्रियामा छौं । यो कुरा सिंगो देशले सुनिरहेको छ ।’

उनले कांग्रेसको यही अभ्यास नै पार्टीको लोकतान्त्रिक चरित्र भएको उल्लेख गर्दै देशभरका कार्यकर्ता, शुभेच्छुक र नागरिकहरूले यो प्रक्रियालाई नियालिरहेको बताए । थापाले विशेष महाधिवेशनमा सहभागी नेता–कार्यकर्ता नै बीपी कोइराला र गणेशमान सिंहका सच्चा अनुयायी भएको दाबी गरे । ‘बीपी र गणेशमानका परिवारका सदस्यहरू यहाँ नहुन सक्छन्, तर हामी उनीहरूको विचार बोक्ने सन्तान हौं’, उनले भने, ‘जसले बीपी र गणेशमानका विचार बोकेका छन्, उनीहरू नै वास्तविक सन्तान हुन् ।’

निर्वाचन आयोगलाई मान्यता दिन आग्रह
विशेष महाधिवेशनको वैधानिकताबारे बोल्दै थापाले निर्वाचन आयोगले महाधिवेशनबाट गरिएका निर्णयलाई मान्यता दिनुपर्ने तर्क गरे । बहुमत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा निर्णय भएकाले आयोगले यसलाई स्वीकार गर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘हामीले अन्तिम समयसम्म मिलनको प्रयास ग¥यौं । निर्वाचन आयोग, कानुन र संस्थाप्रति मेरो विश्वास छ । विशेष महाधिवेशनबाट आएको निर्णयलाई आयोगले मान्यता दिनुपर्छ ।’ उनले देउवा पक्षले नै आफूहरूलाई वार्ताका लागि बोलाएको दाबी गर्दै पनि अन्तिमसम्म सहमति नजुटेको बताए । ‘कोही ‘आइज’ भनेर आएको थियो, तर ‘जा’ भनेर जान सकेन’, थापाको टिप्पणी थियो ।

‘गाली होइन, एकताको राजनीति’
थापाले कार्यकर्ता तथा समर्थकहरूलाई संयमित र जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरे । विशेष महाधिवेशनपछि पनि पार्टीभित्र सबैलाई सँगै लैजानु पर्ने आवश्यकता औंल्याउँदै उनले कसैप्रति गालीगलौज नगर्न अनुरोध गरे । ‘गाउँठाउँमा जाँदा वा सामाजिक सञ्जालमा लेख्दा कसैको पनि गाली नगरिदिनु होला’, उनले भने, ‘हामी सबैलाई सँगै लिएर जानुछ ।’

आफ्नो सम्बोधनको अन्त्यतिर थापाले राजनीतिक सौहार्दको सन्देश दिँदै विशेष महाधिवेशनपछि पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताए । ‘केही दिनपछि कांग्रेसले नयाँ निर्णय सुनाउँछ । दुई दिनपछि त नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानु छँदैछ’, उनले भने । विशेष महाधिवेशनमार्फत कांग्रेसभित्रको शक्ति संघर्ष अब नयाँ चरणमा प्रवेश गरेको संकेत गर्दै थापाको अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक राजनीतिक बहसलाई थप तीव्र बनाएको छ ।

संस्थापन पक्षधरले केन्द्रीय समिति बैठकबाट गरेको कारबाही निर्णय अस्वीकार

काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले संस्थापन पक्षधरले केन्द्रीय समिति बैठकबाट गरेको कारबाही निर्णयलाई अस्वीकार गरेका छन् ।

महामन्त्रीबाट कारबाहीमा परेका नेता विश्‍वप्रकाश शर्माले बन्दसत्रको हलमा सहभागीहरूलाई होहल्ला गर्दै अस्वीकार गर्न आह्वान गरेका थिए । लगत्तै सहभागीहरूले ठूलो स्वरमा होहल्ला गर्दै अस्वीकार गरे ।

बुधबार दिउँसो सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अर्का महामन्त्री गगन थापा, शर्मासँगै सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई पाँच वर्षसम्मका लागि पार्टीको साधारण सदस्यतासमेत नरहनेगरि कारबाही गरेका थिए ।

विशेष महाधिवेशनमा सहभागी अन्य नेताहरूलाई भने कारबाहीको निर्णय गरेको थिएन । उनीहरूलाई पूर्ववत् निर्णयमा फर्किन आग्रह गर्ने निर्णय भएको छ ।

शेरबहादुर देउवाप्रति कारबाहीमा परेका सहमहामन्त्री मन्सुरकाे घृणाभाव

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीबाट निष्कासनमा परेका नेता फर्मुलाह मन्सुरले सभापति शेरबहादुर देउवाप्रति घृणाभाव प्रकट गरेका छन् ।

उनले आक्रोशित हुँदै भने, ‘बोल्न नसक्ने र हिँड्न नसक्नेहरूबाट अब केही हुँदैन ।’

उनीसहित महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बुधबार बसेको केन्द्रीय समिति बैठकले पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरेको छ ।

यसपछि सहमहामन्त्री मन्सुर निकै आक्रोशित सुनिए । उनले विशेष महाधिवशेनबाट अब कांग्रेसलाई गतिशील बनाउने नयाँ नेतृत्व पाउने बताए ।

गगन–विश्वलाई कारबाहीपछि भृकुटीमण्डपमा नाराबाजी

काठमाडौं । केन्द्रीय समिति वैठकबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरिएपछि कांग्रेसको विशेष महाधिवेशनस्थलमा कार्यकर्ताले नाराबाजी गरेका छन् । बुधबार बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेको थियो । त्यस लगत्तै भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिले ‘तानाशाही निर्णय मुर्दावाद !’ भन्दै नाराबाजी गरेका हुन् ।

कारवाहीपछि गगनको चुनौती : कांग्रेस तिनको प्राइभेट कम्पनी हो हामीलाई निकाल्न ?

काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले चुनौतीसहित भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ। कसैले हटायौं भनेर हट्ने होइन ।’

उनले भने, ‘मैले समाचार सुनें नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो । तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई ? तपाईंको घरबाट निकाल्नु भएको हो ? महामन्त्री गगन थापाले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताएका छन् । देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाधिवेशन हुन्छ र त्यै बेलामा सभापति बन्नू’ भनेर आजै बिहान पनि भनेको बताए ।

‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म त अहिले महामन्त्री छु । विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्छ,’ थापाले भने, ‘हामीहरू त्यसै पार्टीको संसदीय समितिभित्र छौं । हामीले चुनाव लड्ने भन्दा साथीहरूले मेरो क्षेत्रमा चुनाव लड्दे भनेर बोलाएकै छन् । माया गरेकै छन् । हाम्रोबारेमा चिन्ता हो र ?’ उनले अहिलेको चिन्ता आफूहरूको बारेमा मात्रै नभएको बताए । ‘हाम्रोबारेमा चिन्ता नै होइन । हामी त जोखिम उठाउन खोज्दैछौं,’ थापाले भने ।

 

 

 

 

 

गगनले गरे देउवा नेतृत्वको केन्द्रीय समिति विघटन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीबाट निष्कासन गरेका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको केन्द्रीय समिति विघटन भएको घोषणा गरेका छन् ।

विशेष महाधिवेशनमा देउवा र कांग्रेसको संस्थापक कोइराला परिवारका सदस्यहरू नभए पनि धेरै ठूलो परिवारका सदस्यहरू भएको बताए ।

उनले विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन गर्ने दाबी गरे । उनले भने, ‘त्यो नयाँ कार्यसमिति नेपाली कांग्रेसको कार्यसमिति हो ।’

उनले आज बिहान देउवासँग संवाद गरेर नेतृत्वबाट अलग हुन आग्रह गरिएको स्मरण पनि गरे । अहिले राजनीतिक रूपमा विमती भए पनि संस्थापन पक्षमा आफ्ना नेताहरू बताए ।

तर, विधि र विधानसम्मत बहुमतीय प्रणालीबाट विशेष महाधिवेशनको हलबाट चयन हुने नयाँ नेतृत्व र समितिले आधिकारिता पाउने पनि बताए ।

सुमन सायमी नेकपामा समाहित, प्रचण्ड-माधवले गरे स्वागत

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन् । बुधवार काठमाडौँमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरेका हुन् । सायमी चर्चित गुठी आन्दोलनको नेता हुन् । त्यसैगरी उनले काठमाडौँमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढ्ने सङ्कल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । सायमी अघिल्लो पटक काठमाडौं– ८ बाट चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । सो क्षेत्रमा रास्वपाका विराजभक्त श्रेष्ठ १० हजार मत ल्याएर विजयी हुँदा सायमीले झण्डै ६ हजार मत ल्याएका थिए ।

उनले स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । त्यसक्रममा सायमीले १३ हजारभन्दा बढी मत ल्याएका थिए । यस पटक पनि सायमी काठमाडौं– ८ बाट चुनावी प्रतिष्पर्धामा उत्रिने तयारी रहेको नेकपा स्रोतले जानकारी दियो । हेर्नुस्, पार्टी समायोजनसम्बन्धी सहमति

 

 

 

 

 

कारबाहीपछि गगन थापा : हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झण्डा हामीसँग छ

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद थप चर्किदै जाँदा शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले गरेको कारबाहीपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै पार्टीको आधिकारिक धार भएको दाबी गरेका छन् । देउवा समूहले थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरे लगत्तै थापाले विशेष महाधिवेशनमार्फत वैधानिक रूपमा नेतृत्व चयनको प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।

थापाका अनुसार पार्टीभित्र लामो समयदेखि देखिएको नेतृत्व संकट समाधानका लागि विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ । ‘अब हामी अन्योलमा बसिरहनुपर्ने अवस्था रहेन’, उनले भने, ‘विशेष महाधिवेशनको मनोनयन प्रक्रिया सकिएको छ, नामावली सार्वजनिक हुँदैछ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवालाई पद छोडेर प्रक्रिया सहज बनाउन आग्रह गरिएको पनि स्पष्ट पारे । ‘असोज २८ गतेको केन्द्रीय समिति बैठकमा सभापतिले सम्बोधन गरेर कार्यवाहक जिम्मेवारी दिएर जानु भएको थियो, त्यो सम्मानजनक नै थियो’, थापाले भने, ‘हामीले विधि र विधान अनुसारको बाटो रोजेका हौँ ।’

पार्टीको आधिकारिकता कसको भन्ने प्रश्नमा थापाले विशेष महाधिवेशनमार्फत वैधानिक नेतृत्व चयन हुने पक्ष नै वास्तविक कांग्रेस भएको दाबी गरे । ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ’, उनले भने, ‘यही नै नेपाली कांग्रेस हो ।’ थापाका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी गराइनेछ । ‘निर्वाचन प्रक्रिया सकिएपछि आयोगलाई औपचारिक जानकारी दिन्छौँ’, उनले भने, ‘पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा हामीसँगै छ। कांग्रेस भनेकै हामी हौँ ।’

देउवासँगको अन्तिम संवादबारे बोल्दै थापाले सभापतिले ‘वैशाखमा स्वतः अलग हुन्छु’ भनेको स्मरण गरे। तर अहिले नै निष्क्रिय बस्न नसकिने अवस्था आएको उनको भनाइ छ । ‘प्रश्न पर्खिन नसकेको होइन’, उनले स्पष्ट पारे, ‘देश, समाज र कार्यकर्ताले अब कुर्न नसक्ने अवस्था भयो ।’ थापाले भदौ २३ मा भएको घटनालाई पनि यही असन्तोषको परिणामको रूपमा व्याख्या गरे । ‘यदि कार्यकर्ताको आवाज समयमै स्वीकार गरिएको भए भदौ २३ को घटना हुने थिएन’, उनले भने । कांग्रेसभित्रको यो विवादले अब पार्टीको आधिकारिकता, चुनाव चिह्न र वैधानिक नेतृत्वबारे कानुनी तथा राजनीतिक बहसलाई थप तीव्र बनाउने संकेत देखिएको छ ।

 

 

 

 

 

कारबाहीमा परेपछि विश्‍वप्रकाशको प्रश्‍न : आठ बुँदामध्ये कुन चाहिँ पार्टी र देशको अहितमा थियाे ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले साधारण सदस्यतासमेत नरहनेगरि पाँच वर्षसम्मका लागि निष्कासन गरेपछि नेता विश्‍वप्रकाश शर्माले आफूहरूले सारेका आठ बुँदा पार्टी र देशको अहित गर्ने नभएको दाबी गरेका छन् ।

उनले प्रश्‍न गरे, ‘सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?’

उनले बुधबार बिहान सभापति देउवासँग छलफल गर्दा अघि आफूहरूले सारेका आठ बुँदा पनि सार्वजनिक गरेका छन् ।

उनले ती बुँदाहरू कांग्रेस र देशलाई बदल्ने प्रयासमा अर्का महामन्त्री गगन थापा र आफू दृढ रहेको पनि बताए ।

विधान अनुरूपको विशेष महाधिवेशन भन्दै देशलाई विशेष महाधिवेशनले सही दृष्टिकोण दिएको र सही नेतृत्व पनि दिने लेखेका छन् ।

यस्ता थिए गगन–विश्वले अघि सारेका आठ बुँदा

१. विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२. विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने
३. सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४. उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५. आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६. कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने
७. नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने
८. यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने, जसमा कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेताहरू रहने
।

गगन–विश्वप्रकाशलाई निष्काशन गरेको निर्णय सुनाउँदै गर्दा भावुक बने खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद खुला टकरावमा रूपान्तरित हुँदै गएको छ । केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि गम्भीर आरोप लगाउँदै पार्टी असहज अवस्थातर्फ धकेलिएको बताएका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा खड्काले महाधिवेशन कार्यतालिका महामन्त्रीद्वयकै सहमतिमा अघि बढाइएको दाबी गरे । तर, प्रक्रिया पूरा गर्न नसकिएको अवस्थामा कार्यतालिका सार्ने समझदारी हुँदाहुँदै पनि उनीहरूले विशेष महाधिवेशनको आह्वान गरेर धोका दिएको उनको आरोप थियो । खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूसँग सल्लाह गरेर नै पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरिएको हो । तर क्रियाशील सदस्यता नवीकरणलगायतका प्रक्रिया समयमा पूरा हुन सकेन । त्यसमा उहाँहरू स्वयंको पनि जिम्मेवारी छ ।’ उनले महामन्त्रीद्वयले आफूहरूबाट कुनै कमजोरी नभए जस्तो गरी विशेष महाधिवेशनतर्फ अगाडि बढेको भन्दै असन्तुष्टि जनाए ।

विशेष महाधिवेशनको माग गर्दै गगन–विश्व पक्षले सार्वजनिक रूपमा गतिविधि बढाएपछि संस्थापन पक्ष र इतर समूहबीच पटक–पटक वार्ता भएको थियो । तर, ती सबै प्रयास असफल भएपछि अन्ततः केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेतामाथि कारबाही गर्ने निर्णय गरेको छ । कारबाहीको निर्णय सुनाउने क्रममा खड्का भावविह्वल बनेको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।

‘सबै प्रयास गर्दा पनि साथीहरूलाई मनाउन सकिनँ, पार्टी जोगाउन सकिनँ’, भन्दै खड्काले बैठकमा भावुक अभिव्यक्ति दिएको ती सदस्यको भनाइ छ । उनका अनुसार खड्का निर्णय सुनाउँदा निकै गहिरो तनावमा देखिन्थे । बैठकमा खड्काले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच भएको वार्ताको विवरण पनि प्रस्तुत गरेका थिए । उनले महामन्त्रीद्वयले सहमतिको ‘अन्तिम विकल्प’ भन्दै पठाएका प्रस्तावहरूमध्ये निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नाममा सभापतिको हस्ताक्षर परिवर्तन गर्नेबाहेक अन्य कुनै प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे ।

विशेष गरी गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टी गतिविधिबाट निस्क्रिय रहने प्रस्ताव अस्वीकार्य रहेको खड्काको भनाइ थियो । ‘हामीले एउटा प्रस्तावबाहेक अरू मान्न सकिँदैन भनेर जवाफ दिइसकेका छौं’, खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । विशेष महाधिवेशन पक्षसँग चरणबद्ध छलफल चलिरहेकै कारण बुधबार बिहानका लागि तय गरिएको केन्द्रीय समिति बैठक दिउँसो ढिलो गरी सुरु भएको थियो । यसअघि मंगलबार पनि पटक–पटक बैठक सर्दै राति संक्षिप्त छलफलमा सीमित भएको थियो । कांग्रेसभित्र देखिएको यो तकरारले पार्टीको संगठनात्मक एकता र आगामी राजनीतिक यात्रामाथि गम्भीर प्रश्न खडा गरेको छ । नेतृत्व तहकै आपसी अविश्वास र सार्वजनिक आरोप–प्रत्यारोपले पार्टीलाई कुन दिशामा लैजान्छ भन्ने चासो तीव्र बन्दै गएको छ ।

 

 

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सुर पनि निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँगै मन्सुरलाई पनि निष्काशन गरेको हो ।

पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
पार्टीका वरिष्ठ नेताहरूको भनाइअनुसार, तीनै महामन्त्रीले कांग्रेसको नियमित कार्यविधि उल्लंघन गर्दै विशेष महाधिवेशन आह्वान गरेका थिए । यही कदमले पार्टी भित्रको ऐक्यबद्धतालाई चुनौती दिएको ठहर गर्दै केन्द्रीय कार्यसमितिले उनीहरूमाथि कारबाही अघि बढाएको हो ।

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन बोलाउने प्रस्ताव अघि सारेका थिए । उनीहरूको तर्क अनुसार, पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति बैठकले गरेको निर्णय पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको थियो ।

गगन–विश्वप्रकाश कांग्रेसबाट निष्काशित

काठमाडौं । नेपाली कांग्रेसमा चलिरहेको विशेष महाधिवेशन विवादले आज निर्णायक मोड लियो । पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

पार्टीका वरिष्ठ नेताहरूको भनाइअनुसार, तीनै महामन्त्रीले कांग्रेसको नियमित कार्यविधि उल्लंघन गर्दै विशेष महाधिवेशन आह्वान गरेका थिए । यही कदमले पार्टी भित्रको ऐक्यबद्धतालाई चुनौती दिएको ठहर गर्दै केन्द्रीय कार्यसमितिले उनीहरूमाथि कारबाही अघि बढाएको हो । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन बोलाउने प्रस्ताव अघि सारेका थिए । उनीहरूको तर्क अनुसार, पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति बैठकले गरेको निर्णय पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको थियो ।

तर, पार्टी अध्यक्ष शेरबहादुर देउवा र अन्य वरिष्ठ नेताहरूले तीन चरणको छलफलपछि विवाद समाधान गर्ने प्रयास गरेका थिए । मंगलबार र बुधबारसम्म चल्ने छलफलमा पनि दुई महामन्त्री पक्ष र पार्टी नेतृत्वबीच सहमति जुट्न सकेन । विशेष महाधिवेशनका पक्षमा रहेका महामन्त्रीहरूले बन्द सत्रको निर्णयलाई अन्तिम मान्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए । सोही क्रममा गगन थापाको सभापति पदका लागि नाम दर्ता गरिएको छ भने अन्य पदाधिकारीका उम्मेदवारहरूको मनोनयन पनि सम्पन्न भइसकेको छ ।

पार्टीले स्पष्ट पारेको छ कि नियम विपरीत विशेष महाधिवेशन आह्वान गर्ने कदमले पार्टीको आन्तरिक अनुशासनमा गम्भीर असर पुर्‍याएको छ । निष्काशित तीनै महामन्त्रीले अब पाँच वर्षसम्म पार्टीको कुनै पनि गतिविधिमा भाग लिन पाउने छैनन् । विशेषज्ञहरूका अनुसार, यस घटनाले नेपाली कांग्रेसभित्रको नेतृत्व अस्थिरता र भित्री विवादलाई अझ स्पष्ट बनाएको छ । आगामी समयमा पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र नेतृत्व प्रतिष्पर्धा कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान रहेको छ ।

 

 

कांग्रेस विशेष महाधिवेशन : आज राति ८ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक भएको छ । बिहान ११ बजे नै मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिको निर्वाचन कार्यक्रम निर्धारण भएको थिएन । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो निर्वाचन कार्यक्रमको संशोधित कार्यतालिका सार्वजनिक गरेका हुन् । जसअनुसार ४ बजे उम्मेदवारको प्रथम नामावली सार्वजनिक हुनेछ ।

त्यसमा दाबी विरोधका लागि साढे ४ बजेसम्म उजुरी दिन सकिनेछ । त्यसमा ५ बजेसम्म छानबिन गरी साँझ ५ः०५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै उम्मेदवारी फिर्ताको समय ५ः०५ बजेदेखि साँझ साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुनेछ । त्यसपछि बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मतदानको समय तोकिएको छ ।

सानेपामा सुरू भयो कांग्रेस केन्द्रीय समितिको बैठक

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा रहेको छ ।

पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको प्रभाव र सम्भावित पार्टी विभाजनको जोखिमलाई मध्यनजर गर्दै यो बैठक बोलाइएको हो ।

विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समितिलाई भंग गरी नयाँ कार्यसमितिको निर्वाचन प्रकृया अघि बढाउको छ भने संस्थापन पक्षले यसलाई मान्यता नदिइ नियमित महाधिवेशनको तयारीमा जोड दिँदै आएको छ ।

बैठकमा केन्द्रिय पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूको उपस्थिति रहेको छ। वार्ताबाट पार्टी एकता कायम गर्ने प्रयास जारी रहे पनि बैठकले महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

देउवा भेटेर सानेपा पुगेका शेखर भन्छन्, ‘पार्टी यत्तिकै फुट्छ ?’

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद गहिरिँदै गएपछि पार्टी अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा संकट व्यवस्थापन प्रयासहरू तीव्र बनेका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका नेता डा. शेखर कोइरालाले पार्टी तत्काल फुट्ने स्थिति नरहेको दाबी गरेका छन् ।

सानेपामा बुधबार दिउँसो पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘यत्तिकै पार्टी फुट्छ ?’ उनले हिजो र आज पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग समेत छलफल गरेका छन् । सानेपामा बस्ने बैठक विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको तयारी गरिरहेको समयमा भएको हो । संस्थापन पक्षले भने विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्ने तयारीमा रहेको बेला कोइरालाको सानेपा उपस्थितिले राजनीतिक सन्तुलन कायम राख्ने संकेत दिएको देखिन्छ ।

यसैबीच, पार्टीको आन्तरिक विवादमा महासचिव मोहनबहादुर बस्नेतले गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गरेका छन् । भ्रष्टाचार मुद्दा खेपिरहेका बस्नेतले पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै भने, ‘यस्ता नौटङ्कीबाजलाई मेरो समर्थन छैन । त्यस्ता आलाकाँचाले कांग्रेस जस्तो पार्टी चलाउन सक्छन् ?।’ भावी प्रधानमन्त्री बन्न चाहेको उम्मेदवारको निर्वाचन क्षेत्र नै स्पष्ट नभएको उल्लेख गर्दै गगन–विश्व समूहको नेतृत्व क्षमता प्रश्न गरेका छन् । त्यसैगरी, विशेष महाधिवेशन आयोजना गर्नेमध्येका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवासँग पठाएको ८ बुँदे प्रश्नको जवाफ नआएपछि भृकुटीमण्डपमा पनि अन्योलता छाएको छ ।

निर्वाचन प्रक्रिया सुरु भइसकेको र उम्मेदवारको मनोनयन सकिएको अवस्थामा जवाफ नआउँदा विशेष महाधिवेशन स्थलमा अनिश्चितता बढेको छ । यसले विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्ने योजना समेत ढिलाइमा परेको देखिएको छ । विशेषज्ञहरूले नेपाली कांग्रेसको यो विवादलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व परिवर्तनको संवेदनशील परीक्षणको रूपमा व्याख्या गरेका छन् । पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षबीचको तनाब अझै केही दिन जारी रहन सक्ने सम्भावना देखिन्छ ।

पहिलो पटक बिपीका दाजु मात्रिका र दोस्रो पटक अहिलेका सभापति शेरबहादुरले फुटाएका थिए कांग्रेस (भिडियो)

नेपाली कांग्रेस आफ्नो इतिहासमा तेस्रो पटक औपचारिक रूपमा विभाजनको प्रक्रियामा प्रवेश गरेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना गरिएको विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवा पक्षले मान्यता नदिएपछि पार्टी औपचारिक रूपमा विभाजनको बाटोमा अघि बढेको हो। विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाउँदै नयाँ नेतृत्व निर्वाचित गर्दैछ भने संस्थापन पक्षले थापा र शर्मालाई कारबाही गर्ने तयारी गरिरहेको छ।

२००३ सालमा स्थापना भएको नेपाली कांग्रेस २००९ र २०५९ सालमा विभाजन भएको थियो।

२००३ सालमा बी.पी. कोइरालाले देवीप्रसाद सापकोटाको नेतृत्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामबाट बनारसमा पार्टी स्थापना गरेका थिए। त्यतिबेला नेपालमा जहानियाँ राणा शासन सक्रिय थियो र राजनीतिक दल खोल्न समेत नपाइने अवस्था थियो।

२००३ सालमै नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो पहिलो महाधिवेशन गर्‍यो। कलकत्तामा सम्पन्न पहिलो महाधिवेशनबाट बी.पी. कोइराला कार्यकारी सभापति र टंकप्रसाद आचार्य कार्यकारी अध्यक्ष निर्वाचित भए।

त्यसपछि २००४ सालमा महेन्द्र विक्रम शाह सभापति रहने गरी सुवर्ण शमशेर राणाले नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गरे। पछि २७ चैत २००६ मा शाह नेतृत्वको नेप्रका र बी.पी. नेतृत्वको नेराकाको एकीकरणपछि विधिवत् रूपमा नेपाली कांग्रेसको स्थापना भयो।

 

बी.पी.का दाजुले नै पहिलोपटक फुटाए पार्टी

२००९ सालमा कांग्रेस पहिलोपटक विभाजित भयो।

२००३ सालको विराटनगर मजदुर हडताल र २००७ सालको राणाशासनविरोधी आन्दोलनपछि देशमा प्रजातन्त्र स्थापना भयो। प्रजातन्त्रको घोषणापछि राणा र कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भयो। उक्त सरकारमा प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री बी.पी. कोइराला थिए। भनिन्छ—बी.पी. गृहमन्त्री बनेको कुरा उनका दाजु मातृका प्रसाद कोइरालालाई मन परेको थिएन। बी.पी. र मातृकाबीचको यही आन्तरिक किचलोका कारण मोहन शमशेर नेतृत्वको सरकार ढल्यो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनका बेला मातृका कांग्रेसका सभापति थिए।

२००८ मंसिर १ गते मातृका प्रधानमन्त्री नियुक्त भए। बी.पी. र मातृकाबीचको आन्तरिक मतभेद पार्टी विभाजनको मुख्य कारण बन्यो। सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एकै व्यक्ति सभापति र प्रधानमन्त्री हुन नपाउने भन्दै बी.पी.ले मातृकाको राजीनामा मागे। यसले २००९ सालमा कांग्रेसलाई दुई भागमा विभाजन गरिदियो।

२००९ सालमा जनकपुरमा सम्पन्न कांग्रेस महाधिवेशनबाट बी.पी. कोइराला कांग्रेस सभापतिमा निर्वाचित भए। बी.पी.ले प्रधानमन्त्री पदबाट राजीनामा दिन दिएको निर्देशनलाई अस्वीकार गर्दै मातृकाले पार्टीको कार्यसमितिबाट राजीनामा दिए र आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरे। यो विभाजनले कांग्रेसलाई चार कित्तामा पुर्‍यायो। भद्रकाली मिश्रको नेतृत्वमा जनकांग्रेस, बालचन्द्र शर्माको नेतृत्वमा नेपाली कांग्रेस (वामपन्थी), र मातृकाको नेतृत्वमा राष्ट्रिय प्रजा पार्टी गठन भए।

कांग्रेसको यो फुटको असर २०१० सालमा हुनुपर्ने आम निर्वाचन २०१५ सालसम्म पनि हुन नसक्ने अवस्थामा देखियो। प्रजातान्त्रिक सुधारको सट्टा कांग्रेस २०१० को दशकभर आन्तरिक किचलो, मतभेद र सत्ताकेन्द्रित राजनीतिमा अल्झिरह्यो। नेपाली कांग्रेसको जुट र फुटको क्रम जारी रहँदा स्थापना भएको १० वर्षमै राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र अपदस्थ गरे।

गिरिजाले फुटाउन लाग्दा किसुनजीले रोके

२०५१ सालमा पनि काङ्ग्रेस विभाजनको अन्तिम चरणमा थियो।  त्यतिबेला पार्टी सभापति कृष्णप्रसाद भट्टराई थिए र पार्टी विभाजनको नेतृत्व गिरिजाले गरेका थिए। त्यसको लागि बानेश्वरमा विशेष भेलाको पनि आयोजना गरिएको थियो।  तर अन्तिम समयमा भट्टराईले हामीबीच कुनै विमती छैन भन्दै भेला भईरहेको हलमा उपस्थित भएर जय नेपाल भनेपछि पार्टी विभाजन रोकिएको थियो। 

 

देउवाले गरेको दोस्रो विभाजन

२०५९ सालमा वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई दोस्रोपटक विभाजन गरे।

२०५० को दशकमा देउवालाई दरबारनजिक मानिन्थ्यो। यही कारणले हुन सक्छ—२०५९ सालमा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा पराजित भए पनि देउवा प्रधानमन्त्री बन्न सफल भए। २०५८/५९ सालमा देशमा माओवादी सशस्त्र संघर्ष उत्कर्षमा थियो। यही संघर्षका कारण देशमा संकटकाल घोषणा गरिएको थियो। देउवाले विद्रोही माओवादीलाई दबाउने नाममा २०५९ सालमा संकटकाल लम्ब्याउने निर्णय गरे। तर पार्टीले संकटकाल नलम्ब्याउन स्पष्ट निर्देशन दिएको थियो।

पार्टीको निर्देशन लत्याउँदै देउवाले २०५९ जेठ ८ गते संसदीय निर्वाचनको घोषणा गरे। लगत्तै कांग्रेस केन्द्रीय समितिले उनको निर्णय खारेज गर्‍यो। त्यसपछि देउवा पार्टी विभाजनतर्फ मोडिए। २०५९ असार २ गते देउवाले ‘असन्तुष्ट समूहको भेला’ भन्दै बोलाएको सभा महाधिवेशनमा परिणत भयो र नेपाली कांग्रेस दोस्रोपटक विभाजित भयो। बानेश्वर महाधिवेशनबाट जन्मिएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) ले गिरिजाप्रसाद कोइरालालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्‍यो।

तेस्रोपटक कांग्रेस फुटको संघारमा

संस्थापन पक्षले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरेपछि कांग्रेस पार्टी जीवनको तेस्रोपटक फुटको संघारमा पुगेको छ।

अहिले विशेष महाधिवेशन पक्षधरले काठमाडौंको भृकुटीमण्डपमा चार दिनदेखि विशेष महाधिवेशनका कार्यक्रम सञ्चालन गरिरहेका छन्, जहाँ नीति र नेतृत्व परिवर्तनबारे महाधिवेशन प्रतिनिधिहरूबीच व्यापक छलफल र बहस भइरहेको छ। मंगलबार मात्रै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका केही सांगठनिक प्रस्तावहरू पारित भइसकेका छन्। उम्मेदवारी दर्तादेखि निर्वाचन कार्यक्रमसम्म तीव्र गतिमा अघि बढिरहेको विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको दाबी गरिएको छ।

अर्कोतर्फ देउवा नेतृत्वको संस्थापन पक्षले अहिले विशेष महाधिवेशनमा जान नसकिने अडान दोहोर्‍याइरहेको छ। चुनावको मुखमा महाधिवेशन गर्दा पार्टीलाई ठूलो धक्का लाग्ने तर्क गर्दै आएको संस्थापन पक्षले विशेष महाधिवेशनका माग सम्बोधन नगर्दा पार्टी फुटको संघारमा पुगेको हो।

जेन–जी आन्दोलनपछि सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर प्रस्थान गरे। खड्काको सभापतित्वमा विशेष महाधिवेशनमा जाने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा ४४ दिनसम्म कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो। तर कुनै ठोस निष्कर्ष ननिकाल्दा उत्पन्न विवाद अहिले पार्टी फुटको चरणमा पुगेको छ।

विशेष महाधिवेशन पक्षधरले नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जाने अडान दोहोर्‍याइरहेका छन् भने संस्थापन पक्षले वैशाख २८–३१ सम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसको प्रतिकारस्वरूप विशेष महाधिवेशन पक्षधर भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको अन्तिम चरणमा पुगेका छन्।

 

 

नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको विषय भ्रामक : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको विषय भ्रामक भएको बताएका छन् ।

उनले कुनै पार्टीसँग एकीकरण नगरी आफ्ने नीति, सिद्धान्त र कार्यक्रमका आधारमा अघि बढ्ने स्पष्ट पारे ।

‘विभिन्‍न सामाजिक सञ्‍जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरि नेपाली कम्युनिस्ट पार्टीलगायतसँग एकीकरण हुन लागेको भन्‍ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो,’ उनले बुधबार फेसबुकमा लेखे, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरि अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’

उनले निराधार र भ्रम फैलाउने समाचारमा विश्‍वास नगर्न पनि अनुरोध गरेका छन् ।

घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपासँग एकीकरण प्रक्रियामा रहेको विवरण केही सञ्‍चारमाध्यममा सार्वजनिक भएका थिए ।

प्रचण्ड यसअघि माओवादी केन्द्रका अध्यक्ष हुँदा सोही दलको बागमती प्रदेश अध्यक्ष रहेका सरल सहयात्रीले कुलमानलाई प्रधानमन्त्री प्रचण्डले नै बनाउने र उनलाई नेकपामा स्वागत गर्न चाहेको बताएका थिए ।

त्यसपछि कुलमान नेकपामा जान लागेको भन्दै युट्युबहरूमा समाचार ‘कन्टेन्ट’ बनेको थियो ।

घिसिङको दल उज्यालो नेपाल पार्टी हालै रास्वपाबाट अलग भएको हो ।

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छन् । बुधवार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सीमित नरहेको बताएकी हुन् । उनकाअनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति हो । स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा वाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने उनले बताइन् ।

स्वजागरणले अधिकार मात्रै माग्ने नभई कर्तव्यको बारेमा पनि जानकारी राख्ने उनको भनाई छ । नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको उनले बताइन् ।
स्वजागरण व्यक्तिगत रूपान्तरणमा मात्र सिमित नभई नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगसँग जोडिँदै विश्वव्यापी बन्न गएको उनले बताए । सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सीमित नभएकाले निजी क्षेत्र, नागरिक समाज र विशेषगरी प्रविधिमैत्री तथा सचेत युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिन् । निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको प्रभावकारी निगरानी र युवाको सिर्जनशीलता, नवप्रवर्तन तथा जिम्मेवार नागरिकको चेतना बिना समावेशी र दिगो सुशासन सम्भव नहुने उनको भनाई छ ।

उनले भनिन्, ‘समृद्धिको आधार स्तम्भ नै स्वजागरण हो । स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्रै होइन, यो आन्तरिक रुपमा व्यक्तिगत खुशी र शान्त रहन सिकाउने र वाह्य रुपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पु¥याउने प्रयोगात्मक जीवन पद्धति पनि हो । स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशाशित र सचेत बनाउन सिकाउँछ, त्यसपछि मात्रै परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ । स्वजागृत व्यक्तिले अधिकार मात्रै खोज्दैन, आफ्नो कर्तव्य के हो ? भन्ने प्रश्न आफैसँग गर्छ । नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकिय सुधार अरिहार्य भइसकेको छ ।’

उनले भनिन्, ‘यसरी स्वजागरण व्यक्तिगत रुपान्तरणमा मात्रै सीमित नरही नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगको विश्वव्यापी अभ्यास बन्दै गएको छ । सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सीमित रहन सक्दैन । यो निजी क्षेत्र नागरिक समाज र विशेषगरी परिवर्तनप्रति सचेत प्रविधिमैत्री र प्रश्न गर्नसक्ने क्षमता भएको युवापुस्तासम्म विस्तार हुनैपर्छ । निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको निगरानी र युवाको सिर्जनशिलता, नवप्रर्वतक तथा जिम्मेवार नागरिक चेतनाविना समावेशी र दिगो सुशासन सम्भव छैन ।’ उनले विकास र समृद्धिको लागि सीपयुक्त दक्ष जनशक्ति निर्माणमा गर्नुपर्नेमा जोड दिइन् । युवापुस्तामा सिर्जनशीलता र दक्षता अपरिहार्य रहेको उनको भनाई छ ।

 

नेपाली कांग्रेसको विभाजन प्रकृया अब कसरी अघि बढ्छ ?

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई निर्विरोध रूपमा सभापति निर्वाचित गरेपछि नेपाली कांग्रेस विभाजनको औपचारिक प्रकृया सुरू भएको छ ।

यता देउवा पक्षले भने विशेष महाधिवेशनको अगुवाई गरेका महामन्त्रीहरू गगन थापा र विश्‍वप्रकाश शर्मालाई कारबाही गर्ने तयारी गरिरहेको छ ।

बुधबारबाट कांग्रेस शेरबहादुर देउवा र गगन थापा दुई जनाले नेतृत्व गर्ने अलग-अलग समूहमा विभाजित हुने छ ।  तर, यो विभाजन वैधिनक रुपमा टुंगोमा पुग्‍न केही समय लाग्‍ने छ ।

पार्टी विभाजनका लागि सबैभन्दा पहिले निर्वाचन आयोगले के निर्णय दिन्छ भन्‍ने महत्वपूर्ण हुने छ । विशेष महाधिवेशन सकिएपछि महाधिवेशनको निर्णयअनुसार थापा पक्षले निर्वाचन आयोगमा पार्टी नेतृत्वको विवरण अद्यावधिक गर्न निवेदन दिनुपर्ने छ । यो निवेदनअनुसार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समूहलाई मान्यता दिने वा नदिने निर्णय गर्ने छ । यसका लागि आयोगले राजनीतिक दलसम्बन्धी राज्यको कानुन र नेपाली कांग्रेसको विधानलाई आधार बनाएर निर्णय गर्नुपर्ने हुन्छ ।

थापा पक्षको निर्णयलाई आयोगले मान्यता दिए विशेष महाधिवेशनबाट निर्वाचित समूह कांग्रेसको आधारिक नेतृत्व मानिने छ ।

नेपाली कांग्रेसको विधानमा व्यवस्था भएअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन आव्हान गरिएको र महाधिवेशनमा ५० प्रतिशत भन्दा बढी प्रतिनिधिको सहभागिता रहेकाले आयोगबाट मान्यता पाउने कुरामा थापा पक्ष ढुक्क देखिएको छ । यो विषयमा बुधबार बिहान उनीहरूले कानुनविदहरूसँग सल्लाह पनि लिएका थिए ।

तर, यो महाधिवेशन केन्द्रीय कार्यसमितिले नबोलाएको हुँदा आधिकारिक नहुने देउवा पक्षको जिकिर छ । उनीहरूले विशेष महाधिवेशनबारे केन्द्रीय कार्यसमितिले कुनै निर्णय नगरेको र यो महाधिवेशनबाट निर्वाचित नेतृत्व अवैधानिक हुने दाबी गरिरहेका छन् ।

आयोगले यी दुईमध्ये एक पक्षलाई आधिकारिकता प्रदान गर्ने छ ।

तर, निर्वाचन आयोगको निर्णय नै अन्तिम भने हुने छैन ।

निर्वाचन आयोगले जुन पक्षलाई आधिकारिता प्रदान गरे पनि अर्को पक्ष अदालत जान सक्ने छ । अदालतले पनि राजनीतिक दलसम्बन्धी राज्यको कानुन र नेपाली कांग्रेसको विधानलाई नै आधार बनाएर फैसला गर्ने छ ।

अदालतले देउवा वा थापा पक्ष जसलाई आधिकारिक भन्‍ने फैसला गर्छ, त्यो कांग्रेसको संस्थापन हुने छ । अर्को पक्ष अदालतको फैसलासँग सन्तुष्ट नभएमा र अदालतले आधिकारिकता दिएको नेतृत्वलाई स्वीकार गर्न तयार नभएमा नयाँ पार्टी गठनमा जानुपर्ने हुन्छ ।

यसरी एउटा समूहले अलग पार्टी गठन गरेपछि मात्रै औपचारिक रुपमा पार्टी विभाजन निष्कर्षमा पुग्‍ने छ । यसबीचमा दुई पक्षबीच कुनै पनि प्रकारको सहमति भएमा पार्टी विभाजन रोकिन पनि सक्छ ।

यदि पार्टी विभाजन भएमा यो नेपाली कांग्रेसको इतिहासमा तेस्रो विभाजन हुने छ । पहिलोपटक बीपी कोइरालाका दाजु मातृकाप्रसाद कोइरालाले र दोस्रोपटक वर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेस फुटाएका थिए ।

फरक-फरक समूहको दुईवटा नेतृत्व भए पनि फागुन २१ मा हुने निर्वाचनमा भने अहिले निर्वाचन आयोगले मान्यता दिने समूह मात्रै सहभागी हुन पाउने छ ।

नयाँ दल दर्ता र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय सकिसकेकाले नयाँ दल दर्ता हुन चुनाव पछिको समय कुर्नुपर्ने छ । यदि पार्टी विभाजित नै भएको खण्डमा विभाजन भएर बन्‍ने नयाँ दल अर्को चुनावसम्म प्रतिनिधि सभामा हुने छैन । तर, यस्तो दलले प्रदेश र स्थानीय तहको चुनावमा भने भाग लिन सक्ने छ ।

देउवालाई पठाइयो गगनलाई प्रधानमन्त्री घोषणा गरेर जानुपर्नेसहित आठ बुँदे नयाँ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक रस्साकस्सीलाई सहमतिमा टुंग्याउने प्रयास तीव्र बनेको छ । पार्टीको विशेष महाधिवेशन पक्षले संस्थापन समूहसँग वार्ताका लागि आठ बुँदे नयाँ प्रस्ताव अघि सारेको छ । जसमा महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने प्रमुख प्रस्ताव समेटिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकका लागि सानेपा पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि तयार पारिएको प्रस्ताव पठाएका हुन् । खड्काको कार्यकक्षमा उक्त प्रस्तावमाथि गम्भीर छलफल भइरहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार पार्टीभित्र देखिएको विवादलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले प्रस्ताव ल्याइएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई सक्रिय राजनीतिबाट केही समय विश्राम लिन आग्रह गरेका थिए । उनीहरूले आउँदो प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको प्रक्रिया कार्यवाहक सभापतिको हस्ताक्षरबाट हुने व्यवस्था गर्नुपर्ने माग अघि सारेका थिए ।

त्यसैगरी, सभापति देउवाले आगामी आम निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुपर्ने र विशेष महाधिवेशनले गरेका निर्णयलाई औपचारिक मान्यता दिनुपर्ने माग पनि उठाइएको थियो । जवाफमा देउवाले वैशाखमा तय भएको १५औं महाधिवेशनपछि आफू स्वतः नेतृत्वबाट बाहिरिने भन्दै तीन महिना कुर्न आग्रह गरेका थिए । यद्यपि, चुनाव नलड्ने विषयमा उनले स्पष्ट प्रतिबद्धता जनाएका थिएनन् ।

संस्थापन पक्षले अन्य मागका हकमा भने केही लचकता देखाएको नेताहरू बताउँछन् । विशेष गरी, आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गर्दा कार्यवाहक सभापतिको हस्ताक्षर रहने विषयमा सकारात्मक संकेत दिएको बताइएको छ । यही आधारलाई केन्द्रमा राख्दै महामन्त्री शर्माले सहमतिका लागि नयाँ प्रस्ताव तयार पारेर पठाएका हुन् । विशेष महाधिवेशन पक्षको आठ बुँदे प्रस्तावमा संगठनात्मक सुधार, नेतृत्व हस्तान्तरणको स्पष्ट खाका र भावी राजनीतिक दिशाबारे सहमति खोजिएको छ ।

त्यसमध्ये सबैभन्दा चासोको विषय गगनकुमार थापालाई कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने प्रस्ताव हो । यसले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वलाई अघि सार्ने सन्देश दिने नेताहरूको तर्क छ । कांग्रेसभित्र चलिरहेको यो संवाद र प्रस्तावमाथिको छलफलले पार्टीको आगामी महाधिवेशन, निर्वाचन रणनीति र नेतृत्व संरचनामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सहमति जुटेमा कांग्रेस आन्तरिक विवादबाट बाहिर निस्कँदै एकीकृत रणनीतिसहित चुनावी मैदानमा उत्रने संकेत देखिएको छ ।

हेर्नुस् आठ बुँदे नयाँ प्रस्ताव

–कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनु पर्ने ।
–विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने ।
–प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने ।
–चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने ।
–टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने ।
–निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने ।
–उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने ।
–विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने ।

 

सुरक्षा चुनौति छ तर, निर्वाचन सफल बनाउनु पर्छ : मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीका बीच आगामी निर्वाचनलाई सफल बनाउनु पर्ने बताएका छन् । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले जेन–जी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरु बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरु नभएको अवस्थामा हुन लागेको निर्वाचनले सुरक्षा चुनौती खडा गरेको बताए । नागरिकमा भयरहित भएर मतदान गर्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाई छ । उनले हालै साम्प्रदायिक विवाद, जातीय तथा धार्मिक विवाद पनि भएकोले त्यसतर्फ पनि सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘धेरै लुटिएका हतियार बाहिर छन् । प्रहरीका लजिष्टिकहरु पनि धेरै नष्ट भएका छन् । सवारीसाधान देखि लिएर हतियारसम्म प्रहरीसंग छैनन् । हामी जनता निर्वाचनमा कसरी निर्भय भएर गएर मतदान गछौँ, त्यसमा हामी चिन्तित छौँ । जेल तोडेर भागेका अपराधीहरु पनि बाहिर छन् । कसैको दाउ होला, यही निर्वाचनलाई ताकेर फेरि आफ्नो कुनै रिसिबी साँधौ भन्ने पनि होला । यस्ता परिस्थितिबाट अगाडि बढेर हामी निर्वाचनको मुखमा आईपुगेका छौँ । यो हाम्रो लागि ठुलो चुनौती छ । वीचवीचमा पनि धेरै कुराहरु भइरहको छ, विगतमा दिनमा साम्प्रदायिक विवादहरु पनि हामी देखिरहेका छौँ । जातीय विवादहरु पनि देखिरहेका छौँ । राजनीतिक दलहरुका विरोध प्रर्दशन पनि भईरहेका छन् । धेरै कुराहरु छन्, यसमा हामीले अगाडिको दिनमा निर्वाचनलाई सफल बनाउनको लागि सचेत भएर लाग्नु पर्छ ।’

उनले प्रहरीलाई सीमा क्षेत्रमा हुने लागुऔषध कारोबारलाई नियन्त्रण गर्न पनि आग्रह गरे । दैनिक उपभोग्य सामग्री ल्याउने नागरिकलाई पक्राउ गर्नुको सट्टामा लागुऔषधको कारोबार गर्नेलाई पक्राउ गर्नमा बढि ध्यान दिनुपर्ने उनले बताए । उनले संघीय सरकारले प्रहरी समायोजन नगर्दा पनि धेरै समस्या भएको गुनासो गरे ।

 

मन्त्रालयमा अनुचित हस्तक्षेप हुन दिएको छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताएका छन् । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् । दलीय पक्षधरताबाट मुक्त रहेको वर्तमान सरकारले निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउने उनको दाबी छ । उनले वर्तमान संविधानलाई यथावत कायम गर्नका लागि पनि तोकिएकै समय निर्वाचन हुनुपर्ने बताए । उनले वर्तमान संविधान र व्यवस्थालाई कायम राख्नुपर्ने भएकाले निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे । उनले स्वतन्त्र नागरिकको सरकार भएकोले वर्तमान सरकारले कसैको पनि पक्षधरता नलिने बताए ।

उनले भने, ‘विद्रोहपछि पनि यो संविधान यथावत् रुपमा बहाली हुनुपर्छ । विद्रोहले गर्दा तत्कालीन अवस्थाको संवैधानिक सरकारको म्याण्डेडबीचमा भंग भइसकेपछि र प्रतिनिधि सभाको म्याण्डेड बीचमा भंग भइसकेपछि पनि फेरि संवैधानिक व्यवस्था त्यही बहाली हुनुपर्छ । त्यही नै सुचारु हुनुपर्छ । संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनु पर्छ भन्ने व्यवस्था संविधानमा छ ।’

उनले भने, ‘त्यो चुनाव गराउने र चुनाव गर्दाखेरि पनि कनै दलिय पक्षधरता नभएको स्वतन्त्र व्यक्तिहरुको सरकारले जसमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की नै प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ । निष्पक्षताको, स्वतन्त्रताको प्रतिकको रुपमा मानिन्छ पूर्व प्रधानन्यायधीशलाई । निष्पक्ष सरकारको जन्म भएको छ, यसले चुनाव मात्रै गराउँदैन, निष्पक्ष चुनाव गराउँछ । दलीय पक्षधरताबाट मुक्त भएको निष्पक्ष धाँधलीरहित चुनाव गराउँछ ।’

उनले वर्तमान सरकार बनेपछि सुरक्षा फौजको मनोबल पनि बढ्दै गएको बताए । हाल नागरिक र सुरक्षा निकायबीच सहकार्यको वातावरण बनिसकेको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिने बताए । उनले वर्तमान सरकारले सबैलाई समान व्यवहार गर्ने पनि जानकारी दिए । उनले आफूले जोखिम लिएर भए पनि प्रहरीको मनोबल बढाउन काम गरेको बताए । गृह मन्त्रालयमा केही व्यक्तिहरुले हस्तक्षेप गर्न नपाएर आफ्नो आलोचना समेत गरिएको उनको भनाई छ । उनले आफूले आलोचना सहेर नै मन्त्रालय र सुरक्षा निकायमा अनुचित हस्तक्षेप हुन नदिएको दाबी गरे ।

उनले भने, ‘यो सरकार बन्ने वित्तिकै सुरक्षा फौजको मनोवल बढेको हो । नागरिकको मनोवल बढेको हो । नागरिकले सुरक्षा फौजसँग सहकार्य गर्न थाल्नु भएको हो । यसलाई हामीले निरन्तरता दिन्छौँ । यो ठुलो क्रमभंगता पनि हो । विगतमा सुरक्षा फौजलाई गृह प्रशासनलाई दुरुपयोग पनि गरिए होला । कुनै बर्दीधारीलाई दुरुपयोग गर्दा मनोबल बढ्छ की खस्किन्छ ? पक्कै पनि मनोवल खस्किन्छ, एकाधलाई काखाँ च्याप्दा बाँकी सुरक्षाकर्मीको, कर्मचारीको मनोबल गिर्ने अवस्था हुन्थ्यो ।’

उनले भने, ‘अहिले हामीले त्यो हुन दिएका छैनौ । अहिले हामीले मनोबल बढाउनको लागि निष्पक्षतलाई पहिलो आधार बनाएका छौँ । अहिलेको सरकार अहिलेको मन्त्रीहरु हामी जोखिममा परेर भए पनि हजुरहरुको मनोबल बढाउनको लागि, मर्यादालाई अझै बढाउनको लागि हामी खडा भएका छौँ । गृहमन्त्रीको हैसियतमा मैले धेरै आलोचना खेपेर भए पनि, मैले विषै पिई दिएर भए पनि मेरो मन्त्रालय र मातहतको कुनै पनि निकायमा अनुचित हस्तक्षेप हुन दिएको छैन, कुनै पनि नाममा । पुरानो राजनितिक दलको नाममा होस् या नयाँ विद्रोहबाट आउनु भएको साथीहरुमध्ये केही जसले चाँही अकै किसिमको ईच्छा राख्नुभएको थियो । तर म आफू जोखिममा परेर भएपनि मैले त्यो खालको हस्तक्षेप हुन दिएको छैन ।’ उनले हाल जेन–जी आन्दोलनपछि संकटमा गएको देशलाई वर्तमान सरकारले सुरक्षित ढंगले व्यवस्थापन गरेको पनि दाबी गरे । उनले प्रहरीलाई उच्च मनोबलको साथ काम गर्न पनि आग्रह गरे ।

 

 

अब पार्टी फुटतर्फ गयो, केन्द्रीय समितिले आवश्यक निर्णय गर्छ : खड्का

काठमाडौं । नेपाली कांग्रेस गहिरो आन्तरिक संकटको मोडमा पुगेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्ला घटनाक्रमले कांग्रेस फुटतर्फ अघि बढेको संकेत गरेको बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्ना कार्यकक्षमा भेला भएका नेता–कार्यकर्तालाई हालसम्म भएका वार्ताबारे जानकारी गराउँदै परिस्थिति गम्भीर बनेको स्पष्ट पारे ।

खड्काका अनुसार सभापति पक्षबाट अधिकतम लचकता देखाइए पनि महामन्त्रीहरू सहमतिमा नआएको र विशेष महाधिवेशनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया नै सुरु भइसकेकाले पार्टी विभाजनको बाटोमा पुगेको हो । ‘अब हिजो जस्तै बैठक रोकिँदैन’, खड्काको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ, ‘पार्टी जोगाउने वा अगाडि बढाउने आवश्यक निर्णय केन्द्रीय कार्य समितिले गर्छ ।’

यसैबीच, केन्द्रीय कार्यालय प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै खड्काले पार्टी जोगाउन प्रयास जारी रहेको बताएका छन् । कांग्रेस मिल्ने सम्भावना कति छ भन्ने प्रश्नमा उनले भने, ‘कोशिस चलिरहेको छ ।’ विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको विषयमा भने उनले कुनै टिप्पणी गरेनन् । हाल विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । सभापति पदका लागि गगन थापाले उम्मेदवारी दर्ता गरिसकेका छन् भने महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उम्मेदवार बनेका छन् । कांग्रेस विधानअनुसार दुई महामन्त्री रहने व्यवस्था छ ।

उता, संस्थापन पक्षले भने आन्तरिक छलफललाई निर्णायक मोडमा लैजान केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा सहभागी हुन कांग्रेसका शीर्ष नेता तथा केन्द्रीय सदस्यहरू सानेपा पुगिसकेका छन् ।
पार्टीभित्र सहमतिको प्रयास जारी रहे पनि उम्मेदवारी दर्ता र समानान्तर गतिविधिले कांग्रेसको भविष्यलाई अनिश्चित बनाएको छ । अब केन्द्रीय कार्यसमितिको निर्णयले कांग्रेस एकतर्फ फर्कने कि औपचारिक विभाजनतर्फ जाने भन्ने स्पष्ट हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

मुद्दा फिर्ताको माग गर्दै रविले दिए निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका केही गम्भीर आरोपहरू फिर्ताको माग गर्दे महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनीमाथि विभिन्न जिल्ला अदालतहरूमा सहकारी ठगीको मुख्य आरोपसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि मुद्दा चलाइएको छ । लामिछानेले यी दुई आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको भन्दै फिर्ता गरिदिन आग्रह गरेका हुन् ।

लामिछानेले थुनामुक्त हुनुअघि नै पहिलो निवेदन दिएको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ । धरौटी तथा बैंक जमानतमा रिहा भएपछि फेरि पूरक निवेदन पेस गरेका छन् । सहकारी ठगीको आरोपमा मात्र बढी कैद सजाय माग्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप थपेर सजायको मागलाई १० वर्षभन्दा माथि पुर्‍याइएको उनको उल्लेख गरेका छन् । यस्ता मुद्दामा प्रमाण भेटिए थुनामा पठाउने धरौटी बलियो हुने भएकाले आफूमाथि अधिकतम राजनीतिक पूर्वाग्रह प्रयोग गरिएको उनको दाबी छ ।

स्रोतका अनुसार तीन–चार दिनअघि दिएको पूरक निवेदनको अध्ययन भइरहेको छ । हाल सहन्यायाधिवक्ताको तहमै छलफल चलिरहेको छ । त्यहाँबाट रायसहित अघि बढेपछि नायब महान्यायाधिवक्ता तथा सचिवस्तरका सरकारी वकिलबाट थप रायसहित महान्यायाधिवक्ता समक्ष पेस हुने प्रक्रिया छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा मुद्दा फिर्तासम्बन्धी व्यवस्था छ । जघन्य तथा गम्भीर प्रकृतिका केही अपवादबाहेक अन्य मुद्दा फिर्ता लिन सकिन्छ । तर सम्पत्ति शुद्धीकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा समावेश छ ।

यसैगरी सरकारले २०७७ मा जारी गरेको फौजदारी मुद्दा फिर्ता सम्बन्धी निर्देशिकाले पनि संगठित अपराधको मुद्दा फिर्ता गर्न नमिल्ने स्पष्ट व्यवस्था गरेको छ । निर्देशिकाले प्रचलित कानुनले निषेध गरेका मुद्दा फिर्ता नहुने उल्लेख गरेको छ । रविविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । रुपन्देही र काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगी तथा संगठित अपराधको मुद्दा छ । चितवनमा भने संगठित अपराधको आरोप थपिएको छैन ।

यी सबै मुद्दा गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीबाट आएको रकम अपचलनसँग जोडिएका छन् । त्यतिबेला लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाका अध्यक्ष जीबी राईलगायतसँग मिलेमतोमा सहकारी ठगेको आरोप लागेको छ । पाँचवटा जिल्ला अदालतमा मुद्दा चलिरहेका छन् ।