`

यसरी हट्न सक्छ छाउप्रथा

काठमाडौँ । अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की घर थियो । तर, छाउ अर्थात् महिनावारीमा घरभित्र बस्दा देउता रिसाउँछन् । कुल पितृले सराप्छन् भन्ने डरले उनी घरमा सुत्न सकिनन् । छाउ अर्थात् महिनावारीमा गोठमा सुत्ने र समस्या भोग्ने कमला जस्ता धेरै महिला छन् ।

महिनावारी नितान्त महिलासँग सम्बन्धित विषय हो । महिनावारीको समयमा छोइछिटो बार्दा महिलाले नै समस्या भोगेका छन् । तर, पनि महिलाले नै अपनाएका छन् र अपनाउन सघाइरहेका छन् । सुदूरपश्चिमका ग्रामीण भेगमा महिनावारीमा सुत्न छाउ गोठ नै बनाइएका छन् । बेलाबेलामा सामाजिक अभियन्ताहरुले छाउ गोठ भत्काउँछन्, फेरि स्थानीयले बनाउँछन् । धेरै वर्षदेखि यो सिलसिला चलिरहेको छ । अन्य क्षेत्रमा कतै घरभित्र त कतै बाहिर बसेर छाउ अर्थात् महिनावारीमा छुइप्रथा मानिरहेका छन् । घर बाहिरका छाउ गोठ भत्किए पनि मनभित्र बनेका छाउ गोठ भत्किएका छैनन् । छाउप्रतिको सोच बदलिएका छैनन् । धर्म र परम्पराका नाममा जकडिएर बसेका छन् । यसैले हिन्दू धर्म मान्ने धेरै महिलाहरु आफूलाई समस्यामा राखेर पनि यो वा त्यो नाममा महिनावारीमा छुइ बार्ने र अछूत बन्ने गरिरहेका छन् ।

छाउ प्रथाबारे सर्वोच्च अदालतले करिब २० वर्षअघि अर्थात् २०६२ वैशाख १९ गते सरकारका नाममा आदेश नै जारी गरेको थियो । त्यसमा पश्चिम नेपालमा व्याप्त छाउ प्रथालाई कुरीति घोषणा गरी अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश दिइएको थियो । तर, छाउ गोठबारे सम्बन्धित निकायले चासो नदिएपछि किशोरीहरु महिनावारीमा छाउ गोठमा बस्ने र ज्यान गुमाउने भइरह्यो । यस्तो क्रम बढेपछि २०७६ सालमा गृह मन्त्रालयले छाउ गोठ भत्काउन र छाउको पक्षमा उभिनेलाई कारबाही गर्न नै निर्देशन दिएको थियो । कतिपय स्थानीय तहले छाउ गोठमा बसाल्नु कानुन विपरीत ठहराउँदै त्यस्तालाई राज्यबाट दिने सुविधाबाट पनि वञ्चित गरेका छन् । तर, मानिसका मनमा बसेको छाउ अर्थात् महिनावारीप्रतिको धारणा धेरै फेरिएको छैन ।

महिनावारी जैविक प्रक्रिया हो । जुन महिलाको प्रजनन क्षमतासँग सम्बन्धित छ । किशोरी उमेर सुरु भएपछि महिलाको प्रजनन् क्षमता रहँदासम्म महिनावारी कायम रहन्छ । महिनावारी महिलाको प्रजनन् प्रणालीको नियमित चक्र हो । महिनावारीको बेला प्रजनन्योग्य अण्डा फुटेर पाठेघरको भित्तामा भएको रगत र तन्तुहरू शरीरबाट बाहिर निस्कने हो । यही प्रक्रियामा निस्कने रगतलाई अशुद्ध मानेर महिनावारीमा छोइछिटो बार्ने चलन सुरु भएको हो । महिनावारी बार्ने चलन हिन्दू धर्मसँग सम्बन्धित छ । त्यो पनि धार्मिक रुपमा शक्तिशाली मानिने हिन्दू धर्मका देवीका बारेमा चर्चा गर्दा उनीहरु महिनावारी भएको चर्चा कतै छैन । लक्ष्मी, सरस्वती, दुर्गालगायतका शक्तिशाली देवी महिनावारी भएको वा त्यस्तो बेला कुनै सभा रोकिएको कतै उल्लेख छैन । मनुस्मृतिमा आएर मात्रै महिनावारीको चर्चा छ । जसमा महिनावारीको समयमा पाँच दिन अलग बस्नुपर्ने र कसैसँगै सुत्न नहुने भनिएको छ । महिनावारीको पाँच दिनसम्म स्नान, जप, हवन वा धार्मिक काम गर्नु हुँदैन भनिएको छ । धर्मशूत्रमा पनि महिनावारीलाई अपवित्र मान्ने, धार्मिक काममा निशेध गर्ने, छोइछिटो गर्ने र अलग्गै बस्नुपर्ने नियम उल्लेख छ ।

ऋषिपञ्चमी कथामा महिनावारी नबार्दा महिला आफूले पाउने समस्या मात्र होइन, आफ्ना पति र सन्तानले व्यहोर्नु पर्ने पापबारे उल्लेख गरिएको छ । यसले महिलालाई महिनावारीको समयमा अछुत ठान्दै धार्मिक, सामाजिक र पारिवारिक जीवनबाट अलग बस्नुपर्ने नियममा बाँधेको छ । अशिक्षित मात्र होइन, कतिपय शिक्षित महिलाहरु पनि धर्म नाश हुने डरले छुइप्रथा अपनाइरहेका भेटिन्छन् । गाउँ मात्र होइन, शहरका महिला पनि महिनावारीमा छोइछिटो बारेका हुन्छन् ।

पछिल्लो समय प्रश्न उठेको छ, महिलाहरु आफैँलाई पीडा दिदै र समस्या भोग्दै महिनावारी तथा छाउ किन बार्छन् रु यसको सोझो उत्तर हो, अधिकांश महिलाले धर्मलाई आफू र आफ्नो परिवारको रक्षा कवजका रुपमा लिन्छन् । धर्म कथालाई मार्गदर्शन मान्छन् । त्यसको पालना नगरे पाप लाग्छ भन्ने ठान्छन् । धेरैजसो धार्मिक नियम महिलामा केन्द्रीत छन् । तिनका नियम मिचे आफूभन्दा त्यसको पापबाट पति वा सन्तानलाई अशुभ हुने लेखिएको हुन्छ । अधिकांश महिला आफूभन्दा आफ्नो परिवार, पति र सन्तानलाई धेरै माया गर्छन् । आफ्ना कारण आफ्ना प्रियजनलाई केही हुने पो हो कि भन्ने डरले महिलाहरु आफूलाई समस्या भए पनि धार्मिक नियममा बाँधिइरहेका हुन् । यही प्रभाव महिनावारीमा पनि देखिएको हो । महिनावारीमा छाउ नबसे वा अछुत व्यवहार नगरे धर्म नासिने र परिवार एवं सन्तानलाई आपत आइलाग्ने डर देखाइएको छ । यही डरले महिलाहरु समस्या भोगेरै भए पनि महिनावारी बारी रहेका छन् ।

महिलाहरु पुरुषको तुलनामा धेरै भावनात्मक रुपमा संवेदनशील हुन्छन् । यही देखेर होला समाजले पनि सीप र शिक्षायुक्त होइन, धर्म र परम्परा मान्ने महिलालाई असल छोरी, बुहारी, आमा र पत्नीको दर्जा दिने गरेको छ । राम्रो नराम्रो जे भए पनि धार्मिक परम्परा वा संस्कार मान्नेलाई शालिन र आदर्शको महिलाको रुपमा चित्रण गर्ने गरेको छ । जीवनमा आइपर्ने समस्या कर्म गरेर भन्दा भगवान र कुलपितृ पुकारेर र पूजा गरेर समाधानको प्रयास गर्न सिकाएको छ । धर्मपालन गर्नु कर्तव्यका रुपमा सिकाएको छ । यसको प्रभावले महिनावारीमा छुइप्रथा हट्न र छाउ गोठ भत्कन नसकेको हो ।

सामान्यतया धर्म भनेको धारण गर्ने कुरा हो । अदृश्य रुपमा धारण गरिएको कुरा धारणा हो । यसले जीवन जीउने कला सिकाउँछ । पुरानो धारणा फेर्न नयाँ धारणा चाहिन्छ । छाउ अर्थात् महिनावारीको सन्दर्भमा कानुन बन्यो तर, धारणा फेर्ने काम गरिएन । यसैले कागजमा कानुन बन्यो दृश्यमा छाउ गोठ भत्किए तर मनका छाउ भत्किएनन् । छाउप्रतिको धारणा फेर्न मानिसमा सामाजिक जागरण चाहिन्छ, उत्प्रेरणा चाहिन्छ । छाउ नबार्दा अनिष्ट हुन्छ भनेर बसेको गहिरो भावना फेर्न केही हुन्न भन्ने बलियो आत्मविश्वास चाहिन्छ । त्यो आत्मविश्वास धार्मिक, सामाजिक र राजनीतिक रुपमा अगाडि बढेका व्यक्तिले देखाउनुपर्छ । समयअनुसार धार्मिक व्याख्या गरिनुपर्छ । समयअनुसार सामाजिक चेतना प्रवाह र आत्म जागरणका कार्यक्रम गरिनुपर्छ । त्यसमा राजनीतिक सामाजिक र धार्मिक अगुवा चुकेका छन् ।

प्रथा वा परम्परा कुनै व्यक्ति, क्षेत्र वा समुदायका संस्कार हुन् । तर, जुन प्रथा वा परम्पराले समाजमा विकृति ल्याउँछ । अधिकांशको अहित हुन्छ । सामाजिक भेद्भाव ल्याउँछ । त्यस्तो प्रथा वा परम्परा कुप्रथा हो । यसलाई बचाउने होइन त्याग्नुपर्छ । राज्य अभिभावक हो । सरकार नागरिकको सारथी हो । यसैले छाउप्रथा कुप्रथा हटाउन सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ । कानुनी, धार्मिक र सामाजिक जागरणका काममा सरकार अगाडि लाग्नुपर्छ । त्यसमा तीन तहकै सरकार चुकेका छन् ।

भौतिक पूर्वाधार बलियो बनाउन खटेका सरकार अब कुरीति फेर्न नागरिकको मन बलियो बनाउने अभियानमा जुट्नुपर्छ । लामो समयदेखि मनमा बसेको छाउप्रतिको डर हटाउन नागरिक अभियान चलाउनुपर्छ । निडर अभियन्ता खोज्नुपर्छ । अभियानमा छाउप्रथा नमान्ने सामाजिक, धार्मिक र राजनीतिक खटाउनुपर्छ । ताकि तिनलाई हेरेर र देखेर सर्वसाधारण महिलाले मनको छाउगोठ भत्काउन सकून्, महिनावारीमा छोइछिटो त्याग्न सकून् । महिनावारी नबार्दा अनिष्ट हुने डरले समस्या भोगेकाले केही हुन्न भन्ने आत्मविश्वास भर्न सकून् । यो काम जहिलेबाट सुरु हुन्छ छाउगोठ र महिनावारीमा छुइप्रथा व्यवहारमै हराउने छ । छाउप्रथा वा महिनावारी कुप्रथाको मारमा परेका महिलाले उन्मुक्ति पाउनेछन् ।

 

पाकिस्तानमा वर्षाजन्य विपदबाट २४ घण्टामा २४ जनाको मृत्यु

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको जनाएको छ ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिका सहित २१ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने कश्मीरमा एक जनाको मृत्यु भएको जनाइएको छ ।
आकस्मिक बाढी र भारी मनसुनी वर्षाका कारण धरैको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
जुन महिनाको अन्त्यदेखि पाकिस्तानमा भएको मौसमी वर्षाले ७७१ जनाको ज्यान लिएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

भण्डारी निवास भंगालमा तीजको रमझम (तस्बिरहरू)

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो निवास भंगालमा आज तीज कार्यक्रम आयोजना गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले यो कार्यक्रम राखेकी हुन् ।

पछिल्लो समय राजनीतिमा फर्किएकी भण्डारीले भेटघाट र कार्यक्रमहरुमा तीव्रता दिइरहेकी छन् ।

 

भारत–चीनबीचको सम्झौता कूटनीतिक तवरबाट समाधान गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापार गर्न गरिएको सम्झौताप्रति आपत्ति जनाउँदै कूटनीतिक प्रक्रियाबाट समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट व्यापारिक मार्ग बनाउन भएको सम्झौताको विषय कूटनीतिक तरिकाले समाधान गरिनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै दुवै देशको भ्रमण गर्ने तालिका तय भएकाले कूटनीतिक वार्ताका माध्यमबाट समस्या समाधान गरिनुपर्ने उनले बताए । सबै नेपाली एक भएर यस विषयमा साथ दिनुपर्ने सांसद खतिवडाको भनाइ थियो ।

सांसद महेशकुमार बर्तौलाले मकवानपुरमा हरेक दिनजसो लम्पीस्कीनबाट पशु सङक्रमित भई मरेको घट्नाबारे संसदलाई जानकारी दिए। असार र साउन महिनामा मात्र ३३ हजार ६४५ गाई भैँसी लम्पीस्किनबाट प्रभावित भएको उनले बताएका थिए । गत वर्ष यसबाट रु ७० अर्बको क्षति पुगेको सांसद बर्तौलाको भनाइ थियो । आवश्यक खोप उपलब्ध गराउन उनले कृषि मन्त्री एवं सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद वर्षमान पुनले सरकारले संसद्लाई छलेर करका दरमा हेरफेर गरेको समाचार आएको उल्लेख गर्दै आर्थिक विधेयक पारित भएको एक महिनामै संसद्ले पारित गरेको कानुन विपरीत हेरफेर गर्नु आर्थिक अपराध भएको आरोप लगाएका छन् । यस विषयमा उनले अर्थमन्त्रीको जवाफ माग गरेका हुन्।

सांसद मेटमणि चौधरीले भारत र चीनले लिपुलेकबाट व्यापार गर्ने सम्झौता दादागिरी भएको बताएका छन् । नेपाल र नेपालीलाई जिस्क्याउने प्रयास कसैले गर्न नहुने उनको भनाइ थियो । प्रधानमन्त्रीको चीन र भारत भ्रमणको कार्यतालिका तय भएकाले त्यसबेला कुरा उठाएर समस्या समाधान गरिनुपर्नेमा उनले जोड दिएका छन्।

सांसद प्रभु साहले सरकारले १० वर्षअघि नै दुवै देशलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो भनी कूटनीतिक नोट पठाएकामा किन सुनुवाइ भएन , ती देशमा रहेका नेपाली राजदूतले के गरिरहेका छन् कार्य सम्पादन मूल्याङ्कन गर्न उहाँले माग गर्नुभयो । उहाँले चार दिनअघि रौतहटको गौरमा एक युवकको छुरा प्रहार गरी हत्या गरिएकामा उक्त घट्नाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

सांसद भगवती चौधरीले कोशी प्रदेशमा थारु भाषाको संरक्षण हुन नसकेको विषयमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताएकी हुन् । जनजातिका भेषभुषा र भाषा संरक्षण गरिनुपर्ने उनले बताइन् । थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सांसद चौधरीले माग गरेकी छिन् ।

सांसद हितराज पाण्डेले गोरखाको उत्तरी दुर्गम चुननुब्री गाउँमा भीरबाट लडेर मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

के सपना बोक्छन् त बुढा पार्टीका अब्बल युवा ?

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका पदाधिकारीहरु सँगको कुराकानी ।

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैनः सांसदहरु

काठमाडौँ । प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनि गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरुले बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदहरुले नेपालको भूमि फिर्ता ल्याउन सरकारको दरिलो कूटनीतिक पहलका लागि अनुरोध गरेका छन् । प्रतिनिधिसभा सदस्य तारा लामाले नेपालको लिपुलेख भएर भारत र चीनले व्यापार गर्ने विषय नेपाललाई कुनै पनि हालतमा मान्य नभएको बताएका छन्।

उनले भनेका छन्, “लिपुलेक नेपालको अभिछिन्न भूभाग हो । त्यो भूमि फिर्ताका लागि सरकारले दरिलो कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारलाई अनुरोध गर्दछु ।”

सांसद दुर्गा राई नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाभिमानलाई आँच पुग्ने गरी भारत र चीनले नेपालको लिपुलेक प्रयोग गर्ने सहमति सम्झौता मान्य नहुने उल्लेख गरेका छन् ।

उनले भनेका छन् “सत्तापक्ष र प्रतिपक्षबीच यस विषयमा एक पटक फेरि राष्ट्रिय सहमति कायम गरौ । भूगोलमा सानो भएपनि नेपाल सार्वभौम छ, लिपुलेकका सम्बन्धमा भारतको दाबी सत्यता र प्रमाणमा आधारित छैन, एकतर्फी कृत्रिम दाबी नेपालाई स्वीकार्य हुँदैन, यस विषयमा कूटनीतिक पहल गर्न ढिलाइ गरिनु हुन्न ।”

सांसद नारायणी शर्माले लिपुलेक, कालापानी र लिम्पीयाधुरा नेपालकै अभिन्न भूभाग भएकाले भारत र चीनले नेपालसँग कुनै छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग सञ्चालनका लागि भएको सहमतिलाई स्वीकार्य गर्न नसकिने बताईन् । उनले सवै राजनीतिक दलले एउटै सङ्कल्प गरेर प्रधानमन्त्रीको नेतृत्वमा समस्या समाधानका लागि पहल गर्न आग्रह समेत गरेकी छिन् ।

सांसद नैनकला थापाले सार्वभौम र स्वाधिन नेपालीलाई लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिले चिन्तित बनाएको बताईन्। उनले चीन र भारतले नेपालाई हेप्ने प्रवृत्ति देखाएकाले त्यो सोच तत्काल सच्याउन आवश्यक रहेको धारणा राखेकी थिईन् ।

सांसद प्रभु हजाराले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएपनि नेपाल र भारतले नेपालसँग कुनै परामर्श नगरी त्यस क्षेत्रमा व्यापारिक नाका बनाउने निर्णय नेपालीका लागि अमान्य रहेको प्रतिक्रिया दिएका छन् ।

सांसद देवेन्द्र पौडेलले हरितालिका विशेष अवसरमा सम्पूर्ण नेपालीजनप्रति शुभकामना व्यक्त गर्दै ढोरपाटन शिकार आरक्ष जाने सडक अस्तव्यस्त रहेकाले मर्मत र सुधारका लागि ध्यानाकर्षण गराएका छन् ।

सांसद ठाकुर गैरेले तीजका नाममा अहिले पनि कतिपय सामन्ति अवशेषका प्रवृत्तिका कारण भड्किलो, खँर्चिलो, रवाफिलो बन्दै गएकाले सुधारको खाँचो औल्याएका हुन् । उनले सामाजिक एकतालाई बलियो बनाउँदै राष्ट्रिय हितको पक्षमा सामाजिक न्याय, लोकतन्त्र, जनजिविका र सुशासनको पक्षमा तीजले एकताबद्ध तुल्याउने विश्वास व्यक्त गरेका छन्।

सांसद नारायणप्रकाश साउदले विद्यालय शिक्षा विधेयक पारित गरे पनि सवैलाई स्वीकार्य गरी अघि बढाउन पर्ने सुझाव दिएका थिए ।

सांसद नारायणप्रसाद आचार्य पाल्पाको रामपुर खण्डको सडक, कृषि, नगदेवाली र शिक्षा क्षेत्रमा ठूलो महत्व राख्ने भएकाले समयमै मर्मत र सुधारका लागि अनुरोध गरेका छन्।

सांसद पुष्पबहादुर शाहले राष्ट्रिय परिचय पत्र बनाउन जाने क्रममा यसै साता पनि ज्येष्ठ नागरिकको लडेर मृत्यु भएकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्थाका लागि अनुरोध गरेका छन्।

सांसद प्रकाश ज्वालाले जाजरकोट केन्द्रवीन्दु भएर गएको भूकम्पमा सल्यान जिल्लामा पनि पूर्वाधार क्षेत्रमा ठूलो नोक्सानी भएकाले सरकारले त्यसमा समेट्न, छिटो पुनः निर्माणका कार्यक्रम सञ्चालन गर्न र जिल्लामा दमकलको व्यवस्था गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद प्रतिक्षा तिवारीले तीजका उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै नजिकँदो चाडँबाडका अवसरमा अत्यावश्यक वस्तुमा हुनसक्ने मूल्यबृद्धि, कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमनको माग गरेका छन् ।

सांसद प्रेम महर्जनले भारत र चीनसँग नेपालका घनिष्ठ सम्बन्ध रहेकाले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन दरिलो कूटनीतिक प्रयासको खाँचो औल्याएका छन् ।

लिपुलेकमा भारत-चीन सम्झौताको विरोधमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । नेपाली भूभाग लिपुलेक नेपालको सहमति बिना भारत र चीनले व्यापार सञ्चालन गर्ने गरी भएको सम्झौताको विरोधमा प्रदर्शन गरिएको छ ।

भारत र चीनले सार्वभौम राष्ट्र नेपाललाई हेपेको विरोधमा कोटेस्वर क्याम्पसका विद्यार्थीहरूले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।

   

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका रास्वपा नेता कँडेल निलम्बित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागमती प्रदेशका प्रशिक्षण विभागमा रहेका हरि प्रसाद कडेललाई निलम्बन गरेको छ । शुक्रबार केन्द्रीय अनुशासन आयोगले कडेललाई निलम्बन गरेको हो ।

कानुन विपरीतका कार्यहरू नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरिएको सूचनापछि रास्वपाको केन्द्रीय अनुशासन आयोगले कँडेललाई कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको हो ।

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पठाएको पत्रमा लेखिएको छ, ‘हाल आएका सूचनाहरूको आधारमा नेपाल सरकारको अद्यावधिक कानून विपरीतका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्‍याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौं ।’

साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुनसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको थियो ।

उनको साथमा नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्री समेत फेला परेको थियो । तीनै यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

एडिबीद्वारा पाकिस्तानको तामा–सुन खानीका लागि ४१ करोड डलर स्वीकृत

एसियाली विकास बैंक (एडिबी)ले शुक्रबार पाकिस्तानको रेको डिक तामा र सुन खानी विकासका लागि ४१ करोड डलरको प्याकेज स्वीकृत गरेको छ ।

यस खानीमा रहेको दुर्लभ पृथ्वी भण्डारले विदेशी चाँसो मात्र नभई मानव अधिकारसम्बन्धी चिन्ता पनि आकर्षित गरेको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरु हुन लागेको यो सम्भावित ठूलो खुला खानी परियोजनाले विश्वकै सबैभन्दा ठूलो अप्रयुक्त तामा र सुनको भण्डार विकास गर्ने लक्ष्य राखेको छ । यसको उत्पादन सन् २०२८ देखि सुरु हुने अनुमान गरिएको छ ।

दशकौँदेखि पाकिस्तानले खनिजसम्पन्न यस दक्षिणी प्रान्तमा पृथकतावादी विद्रोहसँग सामना गरिरहेको छ । विदेशी लगानीमा सञ्चालित ऊर्जा परियोजनाहरू – विशेषगरी चिनियाँ कम्पनीहरूले चलाएका – बारम्बार आक्रमणको निशाना बनेका छन् ।

एडिबीले स्वीकृत गरेको प्याकेजमा क्यानाडाली कम्पनी ‘ब्यारिक’ लाई ३० करोड डलर ऋण र स्थानीय सरकारका लागि ११ करोड डलरको क्रेडिट ग्यारेन्टी समावेश छ ।

निर्माण सम्पन्न भएपछि, रेको डिक विश्वको पाँचौँ ठूलो तामाको खानी हुने अनुमान छ । तामा तार, मोटर र नवीकरणीय ऊर्जा प्रविधिमा अत्यन्तै महत्त्वपूर्ण धातु मानिन्छ ।

“रेको डिकले स्वच्छ ऊर्जा सङ्क्रमणलाई अगाडि बढाउने मात्र नभई, डिजिटल नवप्रवर्तनलाई पनि सहयोग गर्नेछ र महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा योगदान पुर्‍याउनेछ”, एडिबीका अध्यक्ष मासातो कान्दाले विज्ञप्तिमा भनेका छन् ।

कान्दाले उक्त प्याकेजलाई ‘पाकिस्तानका लागि खेल परिवर्तक (गेम–चेन्जर)। राष्ट्रलाई अझ मजबुत र विविध अर्थतन्त्रतर्फ लैजाने’ कदमका रूपमा वर्णन गरेका थिए ।

तर, मानवअधिकारवादीहरूले बलुचिस्तानमा रेको डिक परियोजनाप्रति कडा आलोचना गरेका छन् । उनीहरूका अनुसार विद्रोह आंशिक रूपमा प्राकृतिक स्रोतको आम्दानी बाँडफाँटमा असन्तुष्टिबाट भड्किएको हो ।

बलुचिस्तान हाइड्रोकार्बन र खनिजमा धनी भए पनि, यहाँका एक करोड ५० लाख बासिन्दामध्ये करिब ७० प्रतिशत गरिबीको रेखामुनि जीवनयापन गर्छन् ।

करीब तीन दर्जन नागरिक समाज समूहहरूले एडिबी र अन्तर्राष्ट्रिय वित्त निगमलाई रेको डिकमा लगानी रोक्न आग्रह गरेका छन् ।

“यो परियोजनाले मानव अधिकार रक्षकहरूको असुरक्षा बढाउने मात्र नभई, वातावरणीय र सामाजिक विनाशमा समेत योगदान पुर्‍याउने जोखिम छ”, माइनिङवाच क्यानाडा र एशिया–प्यासिफिक नेटवर्क अफ इन्भाइरोन्मेन्टल डिफेन्डर्सलगायतका समूहहरूले मङ्गलबार प्रकाशित सार्वजनिक पत्रमा चेतावनी दिएका छन् ।

ब्यारिक कम्पनीले यसबारे प्रतिक्रिया दिन गरिएको अनुरोधलाई अस्वीकार गरेको छ ।

यसैबीच, पाकिस्तानका सेनापति हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग व्यापार शुल्कबारे वार्ता गर्दै देशलाई खनिज र दुर्लभ पृथ्वी तत्वको हबका रूपमा अघि बढाउने प्रयासमा लागेका छन् ।

पाकिस्तानी अधिकारीहरूले दशकौँदेखि रेको डिकलाई राष्ट्रको आर्थिक पुनरुत्थान रणनीतिको आधारशिला बनाउने प्रयास गर्दै आएका छन् ।

तर यसको सम्भावना ठूलो भए पनि कानूनी विवाद, प्रशासनिक जटिलता र सङ्घीय तथा प्रान्तीय सरकारबीचको मतभेदका कारण खानी परियोजना वर्षौंदेखि सुस्त रूपमा अघि बढिरहेको छ ।

प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब विलासिता वा विकल्प नभई देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या समाधानका लागि अनिवार्य आवश्यकता बनिसकेको बताएका छन् ।

स्थानीय नेतृत्व विकास मञ्चद्वारा यहाँ आज आयोजित ‘नेपालमा सङ्घीयताको एक दशकः एक समीक्षा र भावि कार्यदिशा’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सङ्घीयताको कार्यान्वयन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा देखिएका कमजोरीलाई सम्बोधन गर्न प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। उनले तीन तहको सरकारको संरचना र अधिकारमा पनि स्पष्टता आवश्यक रहेको बताए ।

साथै नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख भएकाले अब यसलाई गम्भीरताका साथ अगाडि बढाउनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सङ्घीयता कार्यान्वयनको एक दशक बितिसक्दा पनि अपेक्षित प्रगति हुन नसकेको स्वीकार गर्दै संविधान निर्माणका क्रममा राखिएका केही अव्यवहारिक प्रावधानले जटिलता थपेको बताए। देशमा भएका राम्रा काम ओझेलमा परेका र भ्रष्टाचार तथा कुशासनका मुद्दाले नकारात्मक भाष्य निर्माण भएको उनको भनाइ थियो ।

“काम नभएका होइनन्, धेरै भएका छन् । तर भ्रष्टाचार र कुशासनका कुराले हामीलाई बदनाम गरायो, जसले गर्दा लोकतन्त्र र संविधान नै बदनाम हुने खतरा बढेको छ,” प्रमुख सचेतक घिमिरेले भने । उनले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भइरहेको भए पनि बजेट विनियोजनमा स्पष्टताको अभाव रहेको बताए। स्थानीय तहदेखि प्रदेश र सङ्घसम्म यो समस्या विद्यमान रहेको उल्लेख गर्दै उनले स्पष्ट कानुनी व्यवस्थाबिना सुशासनको प्रत्याभूति दिन नसकिने बताए।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सङ्घीयताको सबलीकरण र यसको प्रभावकारी कार्यान्वयन नै वर्तमान सत्ता गठबन्धन सरकारको प्रमुख आधार रहेको बताए । उनले सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता हटाउन संविधान संशोधन आवश्यक रहेको र सरकार यही ध्येयका साथ अघि बढेको स्पष्ट पारे। उनले विगत १० वर्षमा राजनीतिक सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय सङ्घीयतालाई बलियो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताए।

संविधान संशोधन राजनीतिक स्थायित्वका लागि आवश्यक भए पनि संसदभित्रको शक्ति सन्तुलनका कारण यो प्रक्रिया जटिल रहेको मुख्य सचेतक बर्तौलाले बताए । “संविधान संशोधनको एउटा स्कोप हामीले बनाएका छौँ, तर पार नलाग्ने विषयलाई बहसमा ल्याएर मुलुकमा अनावश्यक ध्रुविकरण सिर्जना गर्नुहुँदैन,” उनले भने ।

राष्ट्रियसभा सदस्य गोपीबहादुर शार्की अछामीले वित्तीय र प्रशासनिक कोणमा सङ्घीयता कमजोर देखिएको बताए। सांसद कृष्णबहादुर रोकायले सङ्घीयतासँग जोडिएका थुप्रै कानुन बन्न बाँकी भएको भन्दै संविधानमा भएका समस्या खोज्नुपर्ने बताए। सांसद मदनकुमारी शाह गरिमाले जुन गतिका साथ कानुन निर्माण सङ्घीयता कार्यान्वयनमा जानुपथ्र्यो त्यो हुन नसकेको उल्लेख गर्दै कमजोरी पत्ता लगाएर समाधान खोज्नुपर्ने बताए।

कार्यक्रममा मञ्चका अध्यक्ष वंशलाल तामाङले वर्तमान सरकारको प्रमुख एजेण्डामध्ये संविधान संशोधन पनि एक रहेको उल्लेख गर्दै स्थानीय तहका अनुभवका आधारमा संशोधनमा विषयवस्तु तय हुनुपर्ने धारणा राखे। कार्यक्रमको मुख्य उद्देश्य सङ्घीयताको दशक लामो अभ्यासको समीक्षा गरी संविधान संशोधनकालागि ठोस सुझाव सङ्कलन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा ज्ञान व्यवस्थापन विज्ञ डा कृष्णप्रसाद पौडेल र सङ्घीयताका जानकार कृष्णप्रसाद सापकोटाले सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता तथा समाधानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सांसद सीता मिजार, लीलादेवी वोखिम लिम्बुलगायत विभिन्न नगर तथा स्थानीय तहका अध्यक्ष तथा सरकोकारवालाको उपस्थिति थियो ।

भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग

काठमाडौं। सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको समयमा जोडदारका साथ उठाएर समाधान खोज्न आग्रह गरे ।

सांसद घनश्याम रिजालले भारत र चीनले नेपालको उपस्थिति र सहमतिबिना नै आपसी व्यापारिक प्रयोजनका नेपाली भूभाग लिपुलेक नाकालाई पुनः सञ्चालन गर्ने निर्णय आपत्तिजनक विषय भएको भन्दै कूटनीतिक नोट पठाएर विवादको समाधान खोज्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका दौरानमा यो विषयलाई बलियोसँग उठाएर किनारा लगाइनुपर्नेमा जोड दिए  ।

सांसद पदमबहादुर परियारले नेपालको स्वीकृतिबिना भारत र चीनले नेपालको भूमि प्रयोग गर्दै गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरे । उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको समयमा यो विषयलाई कूटनीतिक तवरबाट समाधान खोज्न पहल गर्दै तत्काल कूटनीतिक नोट भारत र चीनलाई पठाउन सरकारसमक्ष माग गरे ।

सांसद मनरुपा शर्माले लिपुलेकको विषयमा सरकारले स्पष्ट धारणा बाहिर ल्याएर समस्याको समाधान खोज्न माग गरिन् । सांसद रुक्मिणी कोइरालाले भर्खरै चीन र भारतद्वारा नेपालको लिपुलेक, लिम्पयाधुरा र कालापानी हुँदै व्यापारिक सम्झौता गरेकामा आपत्ति जनाउँदै कूटनीतिक पहलद्वारा समस्या समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद रेणु चन्दले सरकारले महिलामैत्री कानुन निर्माण गर्न र उनीहरुको वृत्तिविकासमा प्रोत्साहन गर्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विष्णुकुमारी सापकोटाले नेपालको लिपुलेकबारे दुई छिमेकी मुलुकले गरेको अतिक्रमणबारे सरकारले कूटनीतिक पहलमार्फत समाधान खोज्नुर्नेमा जोड दिइन् । सांसद विष्णुबहादुर विश्वकर्माले दुई छिमेकी मुलुक भारत र चीनले नेपालको भूभाग प्रयोग गरेर व्यापारिक सम्झौता गरिनु नेपालमाथिको हस्तक्षेप भएको बताए  ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले चिनियाँ विदेशीमन्त्रीको भारत भ्रमणका क्रममा दुई देश भारत र चीनले लिपुलेक नाकाबाट पुनः व्यापार खोल्ने विषय नेपाललाई जानकारी नदिईकन गरिएको विषय खेदजनक भएको भन्दै चाँडो कूटनीतिक पहल गरेर समस्याको समाधान खोज्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए  ।

दक्ष जनशक्तिबिना विकास सम्भव छैनः मन्त्री खड्का

खाँदबारी (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित ‘२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम’को समापन कार्यक्रममा मन्त्री खड्काले परम्परागत शिक्षाले मात्र नपुग्ने उल्लेख गर्दै उनले प्राविधिक सीप र व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा सम्भव नभएको बताए ।

सङ्खुवासभाको भौगोलिक र पर्यटनको सम्भावनाबारे उल्लेख गर्दै मन्त्री खड्काले त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाले अर्बौँ रुपैयाँ राजस्व दिन सक्ने पर्यटन सम्भावना बोकेको बताए । उनले यसलाई सही ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिए । निकट भविष्यमै सङ्खुवासभामा सिटिइभिटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुन लागेको उनले जानकारी दिए ।

कार्यक्रममा सिटिइभिटीका सदस्य–सचिव महेश भट्टराईले ऊर्जा मन्त्रालयको पहलमा तालिम सञ्चालन गर्न पाएकामा खुसी व्यक्त गर्दै तालिम लिएका युवालाई जलविद्युत् आयोजनामा इन्टर्नसिपको अवसर दिलाइदिन आग्रह गरे ।

त्यसैगरी, खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले आत्मनिर्भर जिल्ला बनाउन नियमित रूपमा यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताए । तालिममा सहभागी युवाले प्राप्त ज्ञानले आफूहरूलाई रोजगारी र उद्यमशीलतामा अघि बढ्न प्रेरणा मिलेको अनुभव सुनाए ।

उक्त तालिम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले सञ्चालन गरेको हो ।

भूमि विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरेकी हुन्।

विधेयकमा ‘घर जग्गा व्यवसायको जग्गा बिक्रीसम्बन्धी व्यवस्था’ छ । जहाँ घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न सक्ने भनिएको छ ।

यस प्रस्तावमा प्रयोग भएको ‘सूचित आदेशले तोकेको हदभित्र’ भन्ने शब्दले सरकारलाई कानुन बनाउन संसद्ले अधिकार प्रत्यायोजन गर्छ । सूचित आदेश भनेको आदेशमार्फत सूचना दिने भन्ने हो ।

यो विधेयक जस्तको तस्तै ऐनमा रुपान्तरित भए जग्गाको हदबन्दी तोक्ने काम सूचित आदेशमार्फत हुनेछ । यो अधिकार मन्त्रिपरिषद्ले प्रयोग गर्नेछ ।

यो विधेयकमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने फरकमत राखेको छ । माओवादी केन्द्रले सूचित आदेशमार्फत सरकारले जग्गाको हदबन्दी तोक्ने र  हेरफेर गर्न सक्ने प्रावधानमा फरकमत राखेको छ ।

जर्मनीको अर्थतन्त्रमा पुनः झट्का, आर्थिक वृद्धिदर झनै घटेको पुष्टि

जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको लागि थप चिन्ताजनक संकेत दिएको छ ।

जर्मन संघीय तथ्याङ्क संस्था डेस्टाटिसका अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा देशको कूल गार्हस्थ उत्पादन ९जीडीपी० ०.३ प्रतिशतले घटेको छ । यसअघि जुलाईमा ०.१ प्रतिशत गिरावट भएको प्रारम्भिक अनुमान गरिएको थियो ।

उपभोग (खपत), निर्माण र उत्पादन क्षेत्रको प्रदर्शन पनि अनुमानभन्दा कमजोर रह्यो भने वस्तु निर्यातमा ०.६ प्रतिशत र मेसिन तथा उपकरणमा लगानी १.९ प्रतिशतले गिरावट आएको देखियो ।

अगस्टको सुरुमा सार्वजनिक गरिएको अर्को तथ्याङ्कमा जून महिनामा औद्योगिक उत्पादन महामारीपछिको सबैभन्दा तल्लो स्तरमा पुगेको थियो ।

आईएनजी बैंकका विश्लेषक कास्र्टेन ब्रजेस्कीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको भन्सार कर र अमेरिकी डलरको तुलनामा युरोको दर वृद्धि जस्ता कारणले निर्यातमा निर्भर जर्मनीको अर्थतन्त्रलाई चाँडै सुधार हुनु कठिन देखिन्छ ।

उनले भनेका छन्,“जर्मनीको अर्थतन्त्र लामो समयदेखि स्थिरताको बानीमा परिसकेको छ र सन् २०२६ अघि उल्लेखनीय सुधार हुने सम्भावना कमजोर देखिन्छ ।”

पछिल्ला वर्षहरूमा जर्मनी उच्च उत्पादन लागत, ऊर्जा मूल्य वृद्धि र चीनसँगको तीव्र प्रतिस्पर्धाका कारण समस्यामा परेको छ ।

डेस्टाटिसका अनुसार, सन् २०२३ मा जर्मनीको जीडीपी ०.९ प्रतिशतले घटेको थियो भने २०२४ मा ०.५ प्रतिशतको गिरावट आएको थियो ।

माइतीघरदेखि बानेश्वरसम्म प्याब्सन र एन-प्याब्सनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं। आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन)ले माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् ।

माइतिघरमा भेला भएर नारा लगाउंदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।

आज बिहान उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिेए । विद्यालयहरूको छाता संगठनहरूले ८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेका छन्।

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूरुले राखेका छन्।

 

परिणाम आउनेगरी जनताको पक्षमा काम गर्न मन्त्री सुडीको निर्देशन

काठमाडौँ । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जनतालाई प्रत्यक्ष लाभ हुनेगरी द्रूत गतिमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन सम्झौता कार्यक्रममा उनले भने, “मैँले तपाईं कर्मचारी र सचिवालयमा कार्यरत मेरा सहयोगीहरुको भरमा प्रधानमन्त्रीसँग कार्यक्रमको सम्झौता गरेको छु, यो सबै गर्न म एक्लैले सम्भव छैन, मलाई आशा छ, तपाईंहरुले तीव्र गतिमा परिणाम आउने गरी काम गर्नुहुने छ ।”

मन्त्री सुडीले आफ्नो मन्त्रालयको कामलाई छिटो र छरितो बनाउनका लागि आफूले सचिवसँग र सचिवले सहसचिव, उपसचिव र शाखाप्रमुखसँग आज कार्यसम्पादन सम्झौता गरेको बताए । उनले भने, “मेरो मन्त्रालयले अनुभूति गर्ने गरी काम गर्छ, यो दिमागले अनुभूति गर्ने काम हो, त्यसैले हामीले हाम्रो कार्यसम्पादन सम्झौता १०० प्रतिशत पूरा गर्नुपर्ने छ ।”

फरक प्रसङ्गमा मन्त्री सुडीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ बमोजिम सरकारले सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भएका ७७ जिल्लाका ९४ अस्पतालबाट ज्येष्ठ नागरिकका लागि निःशुल्क तथा आंशिक रूपमा अस्पतालले तोकिएको स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था गरेको बताए । ऐनमा ज्येष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

त्यसैगरी, मन्त्रालयले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भएका ६४ अस्पतालबाट निःशुल्क तथा आंशिक रूपमा अस्पतालले तोकिएको ज्येष्ठ नागरिक–मैत्री सेवा उपलब्ध हुने व्यवस्था रहेको पनि जनाएको छ । जसमा प्रदेशअन्तर्गत कोशी प्रदेशका १९, मधेसका आठ, बाग्मतीका १३, गण्डकीका ६, लुम्बिनीका ११, कर्णालीका ६ र सुदूरपश्चिमका नौ अस्पतालमा उक्त व्यवस्था गरिएको छ ।

स्वास्थ्य बीमा सेवा लागू भएका अस्पतालबाट ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरी एक लाखसम्मको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने व्यवस्था कार्यान्वयन भएको मन्त्री सुडीले जानकारी दिए । विपन्न नागरिक उपचार कार्यक्रमबाट मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमिया रोगका लागि एक लाखसम्मको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिँदै आएको उनले बताए ।

‘बम्पी’ आकाश जलवायु परिवर्तनले कसरी वायु अशान्ति बढाउँछ

सिटबेल्टको चिह्न बल्छ, ट्रेहरू हल्लिन्छन्, गिलासमा भएको पेय छचल्किन्छ ।

धेरै यात्रुका लागि हावाको अशान्ति असहज अनुभव हुन्छ । तर वैज्ञानिक प्रमाणहरूले देखाएअनुसार जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो समस्या अझ गम्भीर बनाउँदै लगेको छ ।

सन् २०२५ को अर्को तातो गर्मीमा यसबारे जान्नुपर्ने मुख्य कुराहरू यस्ता छन् ।

– अशान्ति किन महत्त्वपूर्ण छ –

उडानमा असुविधा बाहेक, अशान्ति हवाई दुर्घटनाको प्रमुख कारण पनि हो ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २००९ देखि सन् २०२४ बीच अमेरिकी व्यावसायिक उडानमा दुई सय सात जना घाइते भएका थिए । यद्यपि केही चर्चित घटनाले यस विषयलाई बढी चर्चामा ल्याएका छन् ।

उदाहरणका लागि, गत वर्ष एयर युरोपाको उडानमा ४० जना घाइते भए भने सिङ्गापुर एयरलाइन्सको उडानमा एक वृद्ध यात्रुको मृत्यु भयो र धेरै घाइते भए ।

सेन्ट थोमस विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङका प्राध्यापक जोन अब्राहमले भनेका छन्, “सामान्यतया संरचनात्मक क्षति हुँदैन । बेल्ट बाँधेका यात्रु वा केबिन क्रूमै चोटपटक लाग्छ ।”

उनका अनुसार, आधुनिक विमान अशान्ति सहन सक्छन्, त्यसैले प्रमुख जोखिम विमानको क्षति नभई यात्रुहरूको चोटपटक हो ।

“तर अझै पनि, ‘गम्भीर’ अशान्ति भोगेपछि विमान जाँच गर्नैपर्छ । यसमा गुरुत्वाकर्षण बलको करिब १.५ गुणा असर पर्छ, जुन अमेरिकामा वर्षमा करिब पाँच हजार पटक हुन्छ”, नेसनल सेन्टर फर एटमोस्फेरिक रिसर्चका वरिष्ठ वैज्ञानिक रोबर्ट शर्मनले भनेका थिए ।

अब्राहमका अनुसार पाइलटहरूले उचाइ परिवर्तन गर्न, मार्ग बदल्न वा गति घटाउनुपर्ने भएकाले अशान्तिले इन्धन खपत पनि बढाउँछ ।

– जलवायु परिवर्तनले यसलाई कसरी बिगार्दैछ –

बेलायतको युनिभर्सिटी अफ रिडिङका वायुमण्डलीय वैज्ञानिक मोहम्मद फौदादका अनुसार अशान्तिका तीन प्रमुख प्रकार छन्ः कन्भेक्टिभ, माउन्टेन वेभ र क्लियर–एयर टर्बुलेन्स ९क्याट०।

कन्भेक्टिभ टर्बुलेन्स बादल वा आँधीबेहरीसँग सम्बन्धित छ । जुन दृश्यात्मक रूपमा वा राडारले पत्ता लगाउन सक्छ । पर्वत शृङ्खलामा हुने अशान्ति भने माउन्टेन वेभसँग सम्बन्धित हुन्छ ।

तर क्याट अदृश्य हुन्छ, त्यसैले सबैभन्दा खतरनाक मानिन्छ ।

क्याट प्रायः जेट स्ट्रिमबाट उत्पन्न हुन्छ– माथिल्लो वातावरणमा पश्चिमतर्फ तीव्र गतिमा बहने हावा, जसमा व्यावसायिक विमानहरू करिब १०र१२ किलोमिटर उचाइमा उड्छन् ।

जलवायु परिवर्तनले उष्णकटिबन्धीय क्षेत्रहरूलाई उच्च अक्षांशभन्दा छिटो तताइरहेको छ । यसले तापमान अन्तर बढाउँछ, जसले जेट स्ट्रिमको गति र हावाको गतिलाई बढाउँछ, अनि क्याटलाई ट्रिगर गर्ने अवस्था बनाउँछ ।

फौदाद र उनका सहकर्मीहरूले सन् १९८० देखि सन् २०२१ सम्मको डाटा अध्ययन गरेर गत वर्ष ‘जर्नल अफ जियोफिजिकल रिसर्चः एटमोस्फियर्स’ मा प्रकाशित पेपरमा लेखेका छन् , “हामीले उत्तरी अटलान्टिक, उत्तरी अमेरिका, पूर्वी एसिया, मध्यपूर्व र उत्तरी अफ्रिकासहित धेरै क्षेत्रमा अशान्ति बढेको देख्यौँ ।”

उनका अनुसार अशान्ति ६० देखि १५५ प्रतिशतसम्म बढेको छ । थप विश्लेषणले यसलाई हरितगृह ग्यास उत्सर्जनसँग जोडेको छ ।

– अब के हुन्छ

युनिभर्सिटी अफ रिडिङकी शोधकर्ता इसाबेल स्मिथको नेतृत्वमा सन् २०२३ को अध्ययनले सतह तापक्रम प्रत्येक एक डिग्री सेल्सियसले बढ्दा उत्तरी अटलान्टिकमा जाडोमा मध्यम क्याट करिब नौ प्रतिशतले र गर्मीमा १४ प्रतिशतले बढेको पत्ता लगायो ।

जाडो ऐतिहासिक रूपमा अशान्तिको मौसम भए पनि अहिले गर्मी र शरद ऋतुमा पनि क्याट बढ्दै छ ।

जलवायु परिवर्तनले जेट स्ट्रिम मात्र नभई बलिया आँधीबेहरी पनि बढाइरहेको छ ।

शर्मनले भनेका छन्, “भविष्यमा आँधीबेहरीको आवृत्ति र तीव्रता दुवै बढ्न सक्छन् र आँधीबेहरी नजिकको अशान्ति दुर्घटनाको प्रमुख कारण हो ।”

समाधानका हिसाबले, फौदाद हाल दुई अध्ययनमा संलग्न हुनुहुन्छ, अशान्ति बढी हुने क्षेत्रबाट टाढा उडान मार्ग अनुकूलन गर्ने र पूर्वानुमानलाई अझ शुद्ध बनाउने ।

केही एयरलाइन्सहरूले केबिन सेवा पहिला नै समाप्त गर्ने जस्ता यात्रुहरूका लागि सधैँ सिटबेल्ट बाँध्ने रणनीति अपनाइरहेका छन् ।

शर्मनका अनुसार, जहाजमा लिडार जडान गरेर हावाको घनत्व र गतिमा साना परिवर्तन पत्ता लगाउने प्रविधि परीक्षण हुँदैछ ।

तर अन्ततः हरितगृह ग्यास उत्सर्जन घटाउनु नै दीर्घकालीन समाधान भएको फौदादले बताएका छन्।

मानवजन्य तापक्रमको करिब तीन दशमलव पाँच प्रतिशतका लागि उड्डयन क्षेत्र जिम्मेवार छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनका अनुसार प्रगति ‘धेरै ढिलो’ भए पनि एयरलाइन्सहरूले सफा इन्धन प्रयोग गरेर आफ्नो प्रभाव घटाउने प्रयास गरिरहेका छन् ।

राष्ट्रियसभा बैठक : लिपुलेक विवादबारे कूटनीतिक समाधान खोज्न सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले भारत र चीनबीच नेपालको लिपुलेक भएर दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौताप्रति आपत्ति जनाउर्दै उक्त सम्झौता नेपालको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले भारत र चीनले गरेको व्यापारिक सम्झौताबारे नेपाल सरकारले कूटनीतिक माध्यमले यथार्थ जानकारी लिन र त्यस्तो गतिविधि हुन नदिने पहलकदमी लिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद गोपाल भट्टराईले भारत र चीनले नेपालको सिमाना लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय गर्नु साना देशामाथिको हेपाह व्यवहार हो भन्दै यसको कूटनीतिक पहल गरेर समाधान खोज्न सरकारसमक्ष माग गरे ।

विगतमा पनि यस किसिमको सम्झौता भएको र सरकारले कूटनीतिक नोटहरु पठाएर रोकिएको स्मरण गर्दै उहाँले नेपालको भूभाग पश्चिममा रहेको काली नदीलाई सीमा मानेर गरिएका सम्झौता कार्यान्वयनमा अवरोध गर्नेगरी भएका हस्तक्षेपको कूटनीतिक पहल गरेर समाधान गर्नुपर्नेमा जोड दिए । सांसद भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका दौरानमा लिपुलेकको विषयमा देखिएको विषयलाई समाधान खोज्न पनि आग्रह गरे ।

सांसद जगप्रसाद शर्माले भर्खरै लिपुलेकबाट चीन र भारतले व्यापार पासको सम्झौता गरेर राष्ट्रिय अस्तित्वमाथि धावा बोल्ने काम गरेको भन्दै तत्काल कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताए । नेपालको सिमाना कुनै कीर्ते काली नदीको कागज नभएको भन्दै उनले कालापानी र लिपुलेक नेपालको भूभागको रक्षा गर्न सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सांसद कृष्णबहादुर रोकायाले दुई ठूला छिमेकी देश भारत र चीनले लिपुलेक पासबाट दुईपक्षीय व्यापार खोल्ने सहमतिप्रति गम्भीर आपत्ति जनाए। उनले दुईपक्षीय व्यापारबारे दुवै देशले नेपाललाई जानकारीसमेत नदिएको भन्दै यो विषयलाई कूटनीतिक नोट पठाएर समाधान खोजिनुपर्नेमा जोड दिए । उपयुक्त विषयमा नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिएर सरकारले परिपक्व कूटनीतिक पहलमार्फत समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।

सांसद डा वेदुराम भुसालले दुई छिमेकी मुलुक भारत र चीनले मिलेर नेपालको भूमिमाथि अतिक्रमण गरेको भन्दै यो संवेदनशील विषयलाई कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारी भइरहेकाबेला भारत र चीनले दुईपक्षीय व्यापारिक सहकार्य गर्ने विषय आउनु गम्भीर विषय हो भन्दै कालापानी र लिपुलेक नेपालकै क्षेत्र भएको विधिन्न सन्धि, अध्ययनलगायत धेरै प्रमाणहरुले स्थापित भइसकेकाले सोही आधारमा समाधान खोज्न माग गरे । उनले अहिलेको जस्तो समझौता तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कूटनीतिक नोट पठाएर त्यो काम रोकिएको स्मरण गराए ।

शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विधेयकको प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको बताए।

समितिले बिहीवारको बैठकबाट विधेयक पास गरेको थियो । सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास समेत व्यक्त गरे ।

सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन्।

माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ।

रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको राखेको छ।

नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु, पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु भएको छ । पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले टस जित्दै नेपाललाई पहिलो बलिङको निम्तो दिए ।

डार्बिनको मरारा क्रिकेट मैदानमा खेल हुँदैछ । जारी शृङ्खलामा यसअघि नेपालले खेलका पाँच खेलमा तीनमा हार र दुईमा जित दर्ता गरेको छ ।
नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो ।

कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल हाल पाँच खेलमा चार अंकका साथ सातौ स्थानमा छ । पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।

तस्बिरमा हेर्नूहोस् नाडामा राजबहादुर शाहका ९ वटा भिन्टेज कार

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, चार पांग्रे, दुई पांग्रे सवारीसाधन सँगै भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन् ।

यी कार व्यवसायी राजबहादुर शाहका हुन् । नाडामा राखिएका ९ वटा भिन्टेज कार बिक्रीका लागि भने राखिएका होइनन्, अवलोकनका लागि मात्र राखिएका हुन् ।

 

नयाँदिल्लीको सडकमा बेवारिसे कुकुरहरूलाई छाड्न भारतीय सर्वोच्च अदालतको आदेश

भारतको सर्वोच्च अदालतले नसबन्दी र खोप लगाएपछि नयाँदिल्लीका सडकबाट हटाइएका सबै बेवारिसे कुकुरहरूलाई पुनः छाड्न आदेश दिएको छ ।

अदालतले शुक्रबार दिएको यो आदेशले पहिलेको निर्णयलाई परिमार्जन गर्दै कुकुरहरूलाई हटाइएका स्थानमै फिर्ता पठाउनुपर्ने भनेको छ । साथै, राजधानीभरि तोकिएका खाने स्थानहरू बनाउनुपर्ने उल्लेख गरिएको छ ।

पशु अधिकारकर्मी र कार्यकर्ताहरूले अगस्ट ११ मा अदालतले दिएको स्थायी आश्रयमा राख्ने आदेशविरुद्ध अपिल दायर गरेका थिए ।

नयाँदिल्लीका सडकमा घुम्ने धेरै कुकुरहरू हानिरहित भए पनि, टोक्ने घटनाहरू बढ्दै गएको कारण अदालतले यस्तो आदेश दिएको हो । विशेषगरी बालबालिकाहरू संलग्न हुने घटनाले चिन्ता बढाएको छ । अस्पतालका तथ्याङ्कअनुसार, नयाँदिल्लीमा दैनिक करिब दुई हजार जनालाई कुकुरले टोक्ने गरेको अनुमान गरिएको छ ।

कुकुरको टोकाइबाट सर्ने रेबिज एक भाइरसका कारण हुन्छ, जसले केन्द्रीय स्नायु प्रणालीलाई असर गर्छ र उपचार नगरे मृत्यु हुनसक्छ ।

अदालतको शुक्रबारको आदेशअनुसार, कुकुरहरूलाई उनीहरूलाई हटाइएका स्थानमै छोडिनुपर्नेछ र राजधानीभरि तोकिएका खाने ठाउँहरू बनाउनुपर्नेछ । तर, यो आदेश रेबिज सङ्क्रमित वा आक्रामक व्यवहार देखाउने कुकुरहरूमा लागू हुनेछैन ।

नयाँदिल्लीमा बेवारिसे कुकुरहरूको सङ्ख्या पाँच लाखदेखि १० लाखको बीचमा रहेको अनुमान गरिएको छ ।

पार्टीका मान्छेले पारे प्रधानमन्त्रीलाई कमजोर ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको कुराकानी ।

मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयकः मन्त्री गुरुङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सरकारले सामाजिक सञ्जाल प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले ल्याउन लागेको उक्त विधेयकका सम्बन्धमा भ्रम छर्न खोजिएको बताए । मन्त्री गुरुङले भने,“यो विधेयक नियन्त्रण गर्न नभई नियमनका लागि ल्याउन लागिएको हो । यो सरकार लोकतान्त्रिक सरकारको हो । यसलाई लोकतान्त्रिक मूल्य मान्यतालाई कुण्ठित गर्ने गरी काम गर्ने छुट छैन ।”

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताविरोधी कुनै पनि गतिविधि सह्य नहुने भन्दै उहाँले ‘साइबर क्राइम’को नियन्त्रण गर्नु अपरिहार्य रहेकाले कानुनी आधार निर्माण गर्न ऐन ल्याउन लागिएको स्पष्ट पारे । मन्त्री गुरुङले स्पष्ट कानुन नहुँदा विद्युतीय अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको र नौ–दश महिनाकै अवधिमा साइबर क्राइमसम्बन्धी १९ हजारभन्दा बढी उजुरीहरू प्रहरीमा आएको पाइएको जानकारी दिए ।

यसैगरी उहाँले प्रेस काउन्सिल विधेयकलाई प्रतिस्थापन गर्न मिडिया काउन्सिल विधेयक ल्याउन लागेको बताउँदै यस विधेयकले सबै किसिमका मिडियालाई नियमन गर्ने बताए । यसअघि प्रेस काउन्सिल विधेयक आउँदा ‘अनलाइन’हरूको विकास भइनसकेको अवस्थामा यस विधेयकले सबै किसिमका मिडियाको नियमन गर्ने मन्त्री गुरुङको भनाइ थियो । “सञ्चार क्षेत्र सम्बन्धित पुराना कानुनको परिमार्जनसँगै आवश्यक नयाँ सबै किसिमका कानुन ल्याउन लागिरहेका छौँ”, उनले भने ।

सङ्घीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छः सभामुख घिमिरे

पाटन (ललितपुर)। सभामुख देवराज घिमिरेले सङ्घीयताको पक्षमा भएका सकारात्मक अध्ययनका निष्कर्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रकाशन गरेको ‘नेपालको सङ्घीय शासन प्रणालीः आयाम र अभ्यास’ सम्बन्धी दोस्रो श्रृङ्खला पुस्तकको आज यहाँ विमोचन कार्यक्रममा उनले सङ्घीयतालाई व्यवहारबाट परिस्कृत गर्ने परिपाटी कम भएको भन्दै यसमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

“सङ्घीयताको सन्दर्भमा आफूलाई जे लाग्यो त्यही ठीक भन्ने प्रवृत्ति बढ्दैछ, यसले प्रतिफल दिन गाह्रो हुन्छ । सङ्घीयताको पक्षमा भएको अध्ययनलाई व्यवहारमा कसरी उतार्ने भन्नेमा ध्यान दिनुपर्छ । सङ्घीयताको सन्दर्भमा विद्युतीय माध्यमबाट हुने हल्का टिप्पणी र भ्रामक विश्लेषणले सङ्घीयताको सबलीकरणमा समस्या ल्याएको छ”, सभामुख घिमिरेले भने ।

उनले अध्ययन र अनुसन्धानमा निरन्तर क्रियाशील रहँदै आएको प्रशिक्षण प्रतिष्ठानले महत्त्वपूर्ण प्रकाशनमार्फत देशको सङ्घीय शासन प्रणालीको अभ्यासलाई दस्तावेजीकरण गर्न स्वागतयोग्य कार्य गरेकामा धन्यवाद दिए । सभामुख घिमिरेले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि हामीले राज्य पुनःसंरचनाको एक ऐतिहासिक र रूपान्तरणकारी यात्रा तय गरेका छौँ । यो यात्रा केवल राजनीतिक संरचनाको परिवर्तन मात्र नभई, शासकीय अधिकार, वित्तीय स्रोत र विकासका अवसरलाई जनताको घरदैलोसम्म पु¥याउने एक अभियान पनि हो”,। संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित तीन तहको शासकीय स्वरूप हाम्रो मौलिक अभ्यास हो ।”

उनले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा पूरा गर्न लाग्दा यसका सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरूलाई गहिरोसँग विश्लेषण गर्नुपर्ने बेला आएको बताए । सभामुख घिमिरेले यस्तो समयमा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकले महत्तवपूर्ण सन्दर्भको काम गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य गङ्गादत्त अवस्थीले सङ्घीयता कार्यान्वयन र सुशासन प्रवर्द्धनको सन्दर्भमा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले तीनै तहका सरकारबीच समन्वय गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले सङ्घीय निजामती ऐन र शिक्षा ऐन पारित भएपछि सङ्घीयताको कार्यान्वयन र विकेन्द्रीकरणमा थप योगदान पुग्ने धारणा राखे ।

संविधानविद् एवम् राष्ट्रियसभाका पूर्वसदस्य राधेश्याम अधिकारीले लोकतन्त्र, सङ्घीयता, समानुपातिक र समावेशी सिद्धान्त संविधानको मूलमर्म रहेको भन्दै यसलाई बचाउन र परिस्कृत बनाउन पुस्तकलाई शृङ्खलाबद्ध रुपमा प्रकाशन गर्दै जानुपर्नेमा जोड दिए । पूर्वपरराष्ट्रमन्त्री एवम् राष्ट्रियसभा सदस्य विमला पौडेल राईले पुस्तक विश्लेषणात्मक र सङ्घीयताको कानुनी व्यवस्थाबारे सन्देशमूलक रहेको बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक रामशरण पुडासैनीले आगामी प्रकाशनहरूमा सङ्घीयता कार्यान्वयनका लागि अध्ययन–अनुसन्धानमा आधारित लेख रचनाको अपेक्षा गरे ।

पुस्तकमा १४ वटा लेख र दुईवटा अन्तर्वार्ता रहेका छन् ।

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘झर्‍यो भुँइमा टोपी हजुर निउरिदा शिर…,
कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर,
जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी,
ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’

प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत केवल गीत मात्रै थिएन । कलाकार रतन देवकोटाले गाएको यस गीतले कर्णालीका दुःख, पीडा, सङ्घर्ष र सफलताका भावनालाई बोलिरहेको थियो । हुड्केउली भाकामा पस्किएको गीतमा भोक, विदेशीयका व्यथा र बसाइँसराइका कथा गुँथिएका छन् ।

प्रेक्षालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्ति र खचाखच भरिएका दर्शकलाई कर्णालीका गाथा, व्यवस्था र विकास सम्भावना र उपलब्धि समेटिएका विविध प्रस्तुतिले मोहित तुल्यायो । सिस्नो पानी नेपालले बिहीबार प्रस्तुत गरेको ‘कर्णाली जुरुक्क’ ले सहभागीको ध्यानमात्रै खिचेन कर्णालीका दुःख, भोगाइ र पीडासँगै बेदनाका आँसु बगायो । त्यहाँका लागि गरिनुपर्ने जिम्मेवारीको आत्मबोध पनि गराएको आभाष भइरहेको थियो ।

साँच्चिकै जब कर्णालीको नाम आउँछ, त्यहाँ अभाव र पीडा छचल्किन्छ । भोक, अभाव र अत्यास त्यहाँको प्रतीक जस्तै बनेको छ । कर्णालीवासीले देशमा कैयौँ व्यवस्था बदलिए पनि त्यहाँको विम्ब बदल्न पर्याप्त प्रयास नगरिएको गुनसो गर्छन् । त्यही नबदलिएको विम्बलाई सिस्नोपानी नेपालले ‘जुरुक्क कर्णाली’ लाई सङ्घीय राजधानी काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा एकपटक पुनः स्मरण गराएको छ, जसले अभाव, दुःख, पीडा र वेदनाको व्यथा बोक्ने कर्णालीमा अब सम्भावनाका ढोकाहरू खुलिसकेको सन्देश प्रवाह गरेको छ ।

गीतले भनेझैँ राणाकाल र पञ्चायतकालमा नुगेको कर्णालीको शिर सक्रिय राजतन्त्रकालमा पनि उठ्न सकेन । गणतान्त्रिक नेपालमा भने विस्तारै उचो हुँदैछ ।

यहाँ प्रस्तुत गरिएका विविध प्रस्तुतीले भौगोलिक रूपमा ठूलो भए पनि राज्यले सोअनुसार बजेट व्यवस्थापन गर्न नसकेको गुनासा झल्किन्थे । पछिल्लो समय केही काम त भएका छन्, तर ती पर्याप्त नभएका र त्यसैकारण वर्षौदेखिको अभावबाट अझै मुक्ति पाउन नसकिएको गुनासा पोखिए । कर्णाली प्रदेश घुमेर आएको सिस्नोपानी नेपालले यिनै यथार्थलाई केही भावनात्मक त केही रचनात्मक माध्यमबाट देशको प्रधानमन्त्रीलाई नै साँची राखेर प्रस्तुत गरेको थियो ।

सामान्यतयाः राजनीतिक विकृति र विसङ्गतिमाथि प्रहार गर्ने सिस्नोपानीले यो पटक कर्णालीको यथार्थता प्रस्तुत गर्‍यो । प्रस्तुति यति भावनात्मक र रचनात्मक थियो कि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायतका आखामा आँसु रसाए ।

कर्णालीमा निकै अलौकिक सांस्कृतिक र प्राकृतिक सम्पदा हुँदाहुँदै दुःख, पीडा र अभाव छन् । मान्छे मर्दा मलामीको अभाव, यार्सा बेचेर कौडीको भाउमा बेचिएको जडीबुटी र हजारौँ तिरेर किन्नुपर्ने औषधिको व्यथा सिलसिलाबद्ध प्रस्तुत गर्दा कर्णाली अझै उठ्न बाँकी रहेको छ भन्ने दर्शाइरहेको थियो ।

यद्दपि, यो कार्यक्रमले त्यहाँको अभाव मात्र देखाएको छैन समृद्धिका सम्भावनालाई उजागर गरेको छ । दैलेखको पेट्रोलखानी, जुम्लाको स्याउ र हिमालको जडीबुटी अनि ‘भर्जिन’ पर्यटकीय गन्तव्यबाट कर्णाली जुरुक्क उठ्न सक्छ भन्ने आशा जगाएको छ ।

सायद यिनै आशालाई देखेर होला प्रधानमन्त्री ओलीले भने, “अब कर्णाली जुरुक्क उठ्छ र उठाउनुपर्छ । नेपाल बन्छ, बन्दैछ । कर्णाली बन्छ, बन्दैछ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।” उहाँका अनुसार कर्णाली पछिल्लो समय निकै अगाडि बढेको छ । त्यहाँ सडक सञ्जाल मात्र जोडिएको छैन, डाक्टर उत्पादन गर्ने मेडिकल कलेजदेखि देश विकासको नक्सा कोर्ने इञ्जिनियरिङ कलेजसम्म सञ्चालनमा आएका छन् ।

जुरुक्क कर्णालीले तीतो वास्तविकता र स्वर्णिम सम्भावनाको उजागर गरेको छ । यसले जुरुक्क कर्णाली उठ्छ भन्ने आशा पनि जगाएको छ । साथै अब कर्णाली विकासको गति बढाउनुपर्ने सन्देश प्रवाह गरेको छ । यसबारे प्रधानमन्त्रीले भने, “हुम्लामा मोटरबाटो पुग्यो र गाडी पनि गुडिसक्यो । अब जुम्लाको स्याउ, फाल्नु पर्दैन । बजार पाएको छ । उत्तरतिरका बाटा पनि खुलेका छन् । कर्णाली करिडोर बनेको छ ।”

कालो बादलभित्र चाँदीको घेरा देखिएझैँ भौगोलिक र प्राकृतिक छटाले भरिपूर्ण अपार सम्भावना बोकेको कर्णालीमा आशाका किरण देखिएका छन् । अब विगतको कर्णाली हैन अहिलेको कर्णालीले परिवर्तनलाई बोकेर भावी पुस्ताको सम्भावनाको ढोका खोलिदिएको छ ।

त्यसैले त प्रधानमन्त्री ओली भन्दै हुनुहुन्थ्यो,“अब कर्णालीका वेदनाका गीतमा परिवर्तन आउनुपर्छ । ‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा…हुम्ला कहिले मोटर आउला रहरैमा’ गीतले भनेझैँ अब हुम्लामा बाटो पुगिसकेको छ, मोटर पनि गुडिसक्यो । सिटामोलको अभावमा पनि पर्नु पर्दैन । विद्यार्थी तुइन चडेर स्कुल जानु पनि पर्दैन । सडक कालोपत्रे हुँदैछन् ।

प्रधानमन्त्री ओलीले कर्णाली जुरुक्क कार्यक्रमले कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको रहेको तर भएका विकास र प्रगतिका कुरा अझै समेटिनुपर्नेमा जोड दिए । उनले भने, “कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकामसहित हुम्लामा ‘पिच’ बाटो पनि जान्छ । मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरु अब यथार्थ भइसकेका छन् । कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइसकेका छौँ ।”

प्रधानमन्त्री ओलीले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास पनि दिलाए। “मैले पहिला ग्यास र खानी उत्खनन्को कुरा गर्दा उडाउनेले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन्, तर कर्णाली त्यतिसारो बैगुनी हुनसक्दैन । अब हामीले यार्सागुम्बाको निर्यात गर्नतिर पनि लाग्नेछौँ ।”

प्रस्तुतिको दौरानमा कलाकार शिशिर योगीको कर्णाली पारि छैन खेतबारी…रुखो छ टारी…१ बोलको गीतले सबैलाई मन्त्रमुग्ध बनायो ।

जुरुक्क कर्णाली बोलको गीतबाट सुरु भएको कार्यक्रममा आकर्षक मयूर नाच, हास्यकलाकार सुबोध गौतमले चित्रबहादुर केसीको भूमिकामा प्रस्तुत गर्नुभएको व्यङ्ग्य, शिशिर योगीको कर्णाली पारि छैन खेतबारीजस्ता प्रस्तुतिले सबैको मन जितेको थियो ।

कवि माधव चौलागाईको कर्णालीसम्बन्धी शब्दचित्र, कवि अर्जुन पराजुलीको ‘कर्णाली छ, कर्णाली छैन’ शीर्षकको कविताले सबैलाई मोहित तुल्यायो । प्रस्तुतिको अन्त्यमा चर्चित हास्यकलाकार मनोज गजुरेलको आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) को आकर्षक र रोमाञ्चित वार्तालाभको प्रस्तुतिले हललाई हाँसो र तालिको वर्षा गराएको थियो । कलाकार टंक आचार्य र कवि धीरेन्द्र प्रेमर्षिको संयुक्त गीतले बेग्लै रौनकता प्रदान गरेको थियो ।

अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प

चिलीको अन्टार्कटिका क्षेत्र र दक्षिणी ड्रेक प्यासेजमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

भूकम्प साँझ १०ः१६ बजे (०२१६ जिएमटी शुक्रबार) करिब ६.७ माइल (१०.८ किलोमिटर) गहिराइमा गएको थियो । यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको बताइएको छ ।

ड्रेक प्यासेज दक्षिण अमेरिका र अन्टार्कटिकाबीच फैलिएको पाँच सय माइल फराकिलो अशान्त जलडमरूमध्य हो । यसले एटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ ।

राष्ट्रिय सुनामी चेतावनी केन्द्रले पनि सुनामी आउने सम्भावना नभएको पुष्टि गरेको छ ।

चिलीको राष्ट्रिय विपद् प्रतिक्रिया सेवा (सेनाप्रेड) ले भूकम्पलाई ‘मध्यम तीव्रता’ को रूपमा व्याख्या गर्दै अन्टार्कटिक क्षेत्रका लागि ‘सावधानी चेतावनी’ जारी गरेको छ ।

चिलीको गृह मन्त्रालयको एक स्रोतका अनुसार दक्षिण अमेरिकी महाद्वीपको सबैभन्दा दक्षिणी बसोबास भएको क्षेत्र ‘म्यागालेन्स क्षेत्रका लागि कुनै खतरा छैन’ भनिएको छ ।

सेनाप्रेडले सावधानीको अवस्थामा राष्ट्रिय अन्टार्कटिक क्षेत्रका ‘समुद्र तट क्षेत्रहरू’ र ‘चट्टानी किनारहरू’ खाली गर्न आवश्यक रहेको बताएको छ ।

शिक्षा विधेयकमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै शिक्षक महासंघले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं। नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र गितका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए । त्यस्तै भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने उनले बताए ।

अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने चेतावनी दिए ।

उनले अवको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुने बताए । सुवेदीले सरकारले आफुसँग गरेको सहमति कार्यान्वयनमा मात्रै महासंघको जोड रहेको धारणा राखे । उनले आफ्ना माग मुद्दाहरु समेटिने गरि संसदमा छलफल भएर विधेयक पारित हुने विश्वास व्यक्त गरे ।

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रबार शाही मानहानिको आरोपबाट निर्दोष ठहर भएको छन् । यसले दुई दशकदेखि स्थायी राजनीतिमा प्रभाव जमाइरहेको उनको परिवारलाई परेको ठूलो दबाब हटाएको छ ।
थाक्सिनको परिवार लामो समयदेखि सेना समर्थक र राजतन्त्र पक्षधर अभिजात वर्गसँग टकरावमा रहँदै आएको छ । यी अभिजात वर्गले थाक्सिनको लोकप्रियतावादी आन्दोलनलाई थाइल्यान्डको परम्परागत सामाजिक संरचनाका लागि खतरा ठान्दै आएका छन् ।
सधैँ राज्यसत्ता कब्जाको सङ्घर्ष चलेको थाई राजनीतिमा उनीहरूको भूमिका विद्रोह, सडक प्रदर्शन र अदालतका मुद्दाहरूको कथामा प्रस्ट देखिएको छ ।
छयत्तर वर्षीय थाक्सिनलाई राजा महा भाजिरालोङ्गकोर्न र उनको परिवारविरुद्ध आलोचना गर्ने कानूनअनुसार १५ वर्षसम्म कैद हुन सक्थ्यो । तर दुई महिनाभन्दा बढी चलेको सुनुवाइपछि उनी निर्दोष ठहर भएका छन् ।
उनको वकिल विन्यात च्याटमन्ट्रीले बैङ्ककस्थित फौजदारी अदालतमा पत्रकारलाई भनेका छन्, “अदालतले प्रमाण पर्याप्त नभएको ठहर गर्दै आरोप खारेज गर्‍यो ।”
तर उनको परिवार अझै सङ्कटमा छ । उनकी छोरी पेटोङ्टार्न सिनावात्रा हाल प्रधानमन्त्रीको पदबाट निलम्बनमा छिन्। उनले अर्को हप्ताको अदालतको फैसला पछि पद गुमाउनु पर्ने सम्भावना छ ।
अदालतबाट मुस्कुराउँदै निस्किएका थाक्सिनले पत्रकारलाई छोटकरीमा भनेका छन्, “मामिला खारेज भयो ।”
उनको समर्थनमा करिब एक सय ५० मानिस भेला भएका थिए । तीमध्ये ६६ वर्षीय खाना विक्रेता कमल ओराहन्तले भनेका छन्, “अदालतले राम्रो काम गर्‍यो । तर उनलाई अन्य तरिकाले परास्त गर्न खोज्ने केही विरोधीहरू अझै छन् भन्ने मलाई लाग्छ ।”
यो मुद्दा थाक्सिनले दशकौँ अघि दक्षिण कोरियाली मिडियामा दिएको टिप्पणीबाट सुरु भएको हो । ती टिप्पणी उनले आफ्नी बहिनी यिङलकलाई सन् २०१४ मा अपदस्थ गर्ने सैन्य कूसँग जोडिएका थिए ।
लेज–माजेस्टे कानून यति कडा भएकाले, एएफपीले थाक्सिनका ती भनाइहरू उद्धृत गरेर रिपोर्ट गर्न सकेको छैन, किनभने त्यसो गर्दा आफैँमा आपराधिक आरोप लाग्न सक्छ ।
– वर्षौंको सङ्घर्ष –
सन् २००० को दशकमा दुई पटक प्रधानमन्त्री बनेका थाक्सिन सैन्य कूपछि अपदस्थ हुनुभयो र करिब १५ वर्ष निर्वासनमा बसेका थिए। अन्ततः सन् २०२३ अगस्टमा उनी थाइल्यान्ड फर्किएका हुन् ।
उनी फर्किएको दिन नै उनको परिवारको फेउ थाई पार्टीले पुराना विरोधीहरूसँग मिलेर गठबन्धन सरकार गठन गरेको थियो । यसलाई धेरैले गुप्त सम्झौतासँग जोडेर हेरेका थिए ।
थाक्सिन फर्किएलगत्तै भ्रष्टाचार र पदको दुरुपयोगका मुद्दामा उनलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । तर जेलमा राख्नुको सट्टा स्वास्थ्य समस्याका कारण उनलाई प्रहरी अस्पतालको निजी कोठामा राखियो ।
छिट्टै राजाले सजाय घटाएर एक वर्षमा पु¥याएका थिए । त्यसपछि वृद्ध कैदीहरूको प्रारम्भिक रिहाइ कार्यक्रममा सन् २०२४ फेब्रुअरीमा उनी स्वतन्त्र भएका थिए ।
तर यसरी छुटेका कारण अब अर्को कानूनी विवाद चर्किएको छ । आलोचकहरूले उनी जेलको कोठरीमा कहिल्यै नबसेको र छिट्टै छुट्न योग्य नभएको दाबी गरेका छन् । यो मुद्दा सेप्टेम्बर ९ मा टुङ्गिनेछ ।
थाइल्यान्डमा लेज–माजेस्टे कानूनलाई आपराधिक संहितामा धारा ११२ भनिन्छ । विशेष गरी सन् २०२० को सरकारविरोधी आन्दोलनपछि यसअन्तर्गत मुद्दा दर्ता तीव्र रूपमा बढेका छन् । केही प्रदर्शनकारीहरूले राजतन्त्रको खुलेर आलोचना गरेका थिए ।
थाई मानव अधिकार वकिलहरूको समूहका अनुसार विगत पाँच वर्षमा मात्रै धारा ११२ अन्तर्गत दुई सय ८० भन्दा बढी व्यक्तिमाथि मुद्दा दायर भएको छ ।
यस कानुनअनुसार राजा, रानी, उत्तराधिकारी वा राजप्रतिनिधिलाई अपमान गर्ने, बदनाम गर्ने वा धम्की दिने जो कोहीलाई १५ वर्षसम्म कैद हुनसक्छ ।
मानव अधिकार समूह र आलोचकहरूका अनुसार यो कानूनलाई अहिले यति व्यापक रूपमा प्रयोग गरिएको छ कि असहमति र वैध बहसलाई दबाउने हतियार बनाइएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रास्वपा नेता कँडेल पक्राउ

रुपन्देही । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना नेता पक्राउ परेका छन् ।

चितवनको कालिका नगरपालिका ५ पदमपुरका हरिप्रसाद कँडेललाई भदौ ४ गते रुपन्देही  प्रहरीले बुधवार पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।

उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बेलहिया बसपार्कस्थित देश–भारत सीमा क्षेत्रबाट पक्राउ परेका भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवको बयानका आधारमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिए ।

रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

 

जिम्मेवार व्यक्ति शिक्षा क्षेत्रको सुधारमा चुकिरहेका छन्ः डा.कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जिम्मेवार व्यक्ति शिक्षा क्षेत्रको सुधारमा चुकिरहेका बताए ।

यहाँ आज आयोजित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिक उत्सव तथा नमूना सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता डा कोइरालाले नेपालको भविष्य शिक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भए पनि नीतिनिर्माण तहमा बसेका तथा जिम्मेवार व्यक्तिहरूले अझै वास्तविक काम रुपमा नगरेको बताए ।

विद्यालयलाई केवल शिक्षण संस्था मात्र नभई सामुदायिक गौरवको केन्द्र बनाउनुपर्नेमा नेता डा कोइरालाले जोड दिए । “हामी नेपालीमा अपार क्षमता छ, तर त्यसलाई उजागर गर्न सकेका छैनौँ । शिक्षकलाई सबल र सक्षम बनाउन सकिएन भने राष्ट्रलाई सबल बनाउन सकिँदैन । जबसम्म शिक्षकलाई राम्रो तलब, उचित सुविधा र सम्मान दिन सकिँदैन, तबसम्म गुणस्तरीय शिक्षा दिन सकिँदैन”, उनले भने ।

शिक्षित समाज निर्माण राष्ट्रको समृद्धिको पहिलो आधार भएकाले आजको चुनौती भनेकै शिक्षा नीतिलाई प्राथमिकतामा राख्ने विषय भएको नेता डा कोइरालाले बताए।

“सरकारले मात्र होइन, समाज र समुदायले पनि शिक्षा सुधारलाई आफ्नै जिम्मेवारीका रूपमा लिनुपर्छ । शिक्षा क्षेत्रलाई राजनीति वा व्यक्तिगत स्वार्थको खेल बन्न दिनु हुँदैन”, उनले भने ।

संरक्षण नहुँदा पुरिँदै राजी ताल

गोदावरी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक राजी ताल संरक्षण अभावमा पुरिन थालेको छ ।

चुरे पर्वतमा पर्ने उक्त तालमा वर्षातको पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण पुरिन थालेको हो । झण्डै चार हेक्टर क्षेत्रफलमा फैलिएको राजी ताल धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । ताल खारपानी मन्दिर नजिकबाट मुलका रूपमा बग्ने पानीको मुख्य रिचार्जको स्रोत रहेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जीमी साउँदले बताएका छन्।

चुरे क्षेत्रमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको राजी ताल संरक्षण अभावमा बर्सेनि पुरिँदै गएको उनले बताए । ताल संरक्षणको कार्यक्रम अगाडि नबढाइए ताल लोप हुने जोखिम रहेको स्थानीयवासी बताउँछन् । सो तालमा चुरे क्षेत्रका वन्यजन्तुले पानी पिउने र चराचुरुङ्गीले जलक्रीडा गर्ने गर्दछन् ।

ताल संरक्षणका लागि हाल मष्टाधाम व्यवस्थापन समितिले सङ्घीय सरकारको सहयोगमा डिपीआर बनाइसकेको अध्यक्ष साउदको भनाँइ छ । राजी तालमा बाह्रै महिना पानी रहनेगरी काला खोलाको पानी ल्याउने योजना रहेको भए पनि त्यसका लागि भने बजेटको सुनिश्चितता नभएको उनले बताए ।

प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले चुरे पहाडमा रहेको राजी तालको संरक्षण आवश्यक रहेको बताएका छन् ।

संरक्षणको काम डिभिजन वनअन्तर्गत पर्ने बताउँदै उनले प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका कामलाई प्राथमिकता दिएको बताए ।

चुरे क्षेत्रमा रहेको सो ताल संरक्षणपछि ताल वरिपरि पर्यटकलाई हिँड्नका लागि बाटो निर्माण, पिकनिक स्थल र उद्यानलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइने निमित्त प्रमुख बोहराको भनाइ छ ।

धार्मिक ग्वासी समैजी र मोहन्याल देवताबीच स्थानको विषयलाई लिएर झगडा हुँदा पहाडबाट मष्टा देवता आएर उक्त स्थानमा बसी दुवै देवताबीच मेलमिलाप गराएको किंवदन्ती पनि छ ।

उपसभामुख इन्दिरा राना अमेरिकामा सम्मानित

बोस्टन ।  उपसभामुख इन्दिरा राना अमेरिकामा सम्मानित भएकी छिन्। अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको सेवामा योगदान गरेको भन्दै बिहीबार आयोजित समारोहमा सम्मान गरेको हो।

काउन्सिल एडलार्ज एरिन मर्फीले उनलाई सम्मान गरेका हुन्। सामाजिक न्याय र असहाय बालबालिकाको हितमा समर्पित सेवाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको बोस्टन सिटी काउन्सिलले जनाएको छ।

उनले दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै शिक्षा, आश्रय र उज्यालो भविष्यको अवसर प्रदान गरेकी छिन्।

कार्यक्रममा उपसभामुख रानाले समाज सेवामा आफूले बिताएको समय, नेपालले महिला र बालबालिका क्षेत्रमा गरेको प्रगति, समानुपातिक समावेशिताबारे धारणा राखेकी थिइन्।

बोस्टन सिटी काउन्सिलले आयोजना गरेको ‘नेपाल र अमेरिकामा लोकतान्त्रिक प्रगति, चुनौती र अवसर’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा सहभागी हुन उपसभामुख राना अमेरिका भ्रमणमा छिन्।

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते

ढोरपाटन । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो ।

हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएकी इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिएका छन् ।

घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताएका छन् ।

निजि विद्यालय सञ्चालकले कालो ब्यानरसहित सडकमा निकाले बस (फोटो फिचर)

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै आज विरोध कार्यक्रम गरेका छन् ।

उनीहरूले आज बिहान ११ बजेबाट देशभरका विद्यालयहरूका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् । साथै प्रतिघण्टा २० किमीको गतिमा बिस्तारै नगर परिक्रमा गर्ने बताएका छन् ।

उपत्यकाभित्र सम्पूर्ण विद्यालयका सवारी साधनहरूले २७ किमी चक्रपथ वरिपरि कालो ब्यानरसहित परिक्रमा गर्नेछन् । आज नै दिउँसो १२:३० बजे माइतीघर मण्डलामा भेला भई संघीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं। प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ ।

बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले गोकर्णेश्वरमा गई आफ्ना बाबुका नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ ।

यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा शनिबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउने भएकाले मेलाका लागि लागि बिहीबारदेखि तयारी गरिएको छ । मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका-४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए । मेला व्यवस्थापन गर्न आजैदेखि २०० जनाभन्दा बढी स्वयंसेवक परिचालन गरिएको उहाँले जानकारी दिए।

व्यवस्थापनका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ । यातायात व्यवस्थापन, आर्थिक, स्वयंसेवक परिचालन, स्वास्थ्य, खोजतलास, धार्मिक, समन्वयलगायत उपसमिति गठन गरिएका हुन् । शनिबार नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ ।

औँशीको अघिल्लो दिन आज बिहानदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आउन थालेका छन् । टाढाटाढाका भक्तजन आजै आएर मन्दिर क्षेत्रमा ठाउँ व्यवस्थापन गरी बस्न थालेका हुन् । मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकाले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ ।यसदिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुका नाममा तर्पण, पिण्डदान तथा सिदा दान गर्नेहरूको भीड लाग्छ ।

यस अवसरमा रसुवाको बेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

यसदिन थोरै दान गरे पनि हजारौँ गुणाबढी फल पाइने पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसदिन घर घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व पनि मनाइन्छ । वर्षभरि देवकार्य तथा पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश यसैदिन वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ ।

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।

रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरोले मङ्गला, मालिका र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल दर्जीले बताए ।

सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ भने यहाँको जनजीवन प्रभावित भएको छ । सडक विभागको डोजर प्रयोग गरेर बेनी–जोमसोम र पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरवाङ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

चितवन । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ ।

चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, महलगायत जडीबुटी मिसाएर तयार गरिन्छ । यो मिश्रण विशेषतः पुस्य नक्षत्रको दिन बालबालिकालाई खुवाइन्छ, जुन आयुर्वेदिक मान्यताअनुसार अत्यन्त शुभ र प्रभावकारी मानिन्छ ।

उनले भने, “विभिन्न अध्ययनहरूले देखाएका छन् की स्वर्णबिन्दु सेवन गरेका बालबालिकाहरूलाई अस्पताल जानु नपर्ने सम्भावना बढी हुन्छ । ती बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) पनि बलियो भएको पाइन्छ । औषधि सेवन गर्ने र अस्पताल भर्ना हुने दरसमेत कम भएको देखिएको छ ।” तत्कालै ज्वरो रुघा तथा पखाला लागेका बचामा यो खुवाउन नमिल्ने उनले जानकारी दिए । मुख्यतः छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई यो खुवाउने गरिएको डा अधिकारीले बताए ।

चिकित्सालयका बालरोग विशेषज्ञ डा शुसान्त भण्डारीका अनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको बौद्धिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्दछ । नियमित सेवन गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा सुधार आएको र मानसिक क्षमता (तिक्ष्णता) समेत वृद्धि भएको देखिएको छ ।

स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रव्यापी रुपमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम लागू गर्ने उद्देश्यले २१ वटा आयुर्वेद चिकित्सालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिहीबारदेखि यो कार्यक्रम लागू गरेकोे छ । केन्द्रको घोषणा हुनु झण्डै दुई वर्षअघि चिकित्सालयले आफ्नै निर्देशिका वनाएर यो सेवन गराउँदै आएको थियो ।

 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ ।

बिहीबार एक तोला सुन रु एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं। ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले शुक्रबार (आज) पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

लिमामा आयोजित एक विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रपति जेगारालाई उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै पेरुका जनताको निरन्तर शान्ति र समृद्धिको कामना गरेको ब्रासिलियास्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति जेगाराले राजदूत काफ्लेको कार्यकालको सफलताका निम्ति शुभकामना व्यक्त गर्दै उनलाई आफ्नो सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताए। समारोहमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

त्यसअघि राजदूत काफ्लेले परराष्ट्र मन्त्रालयका विभिन्न अधिकारीहरूलाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न पक्षहरूमा विचार आदानप्रदान गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुवै पक्षबीच दक्षिण–दक्षिण सहयोग, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, आर्थिक साझेदारी, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध प्रवद्र्धन, साझा हितका मामिलामा बहुपक्षीय संलग्नता, जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट दुवै मुलुकका समृद्ध जैविक विविधताको संरक्षण, दिगो पर्वतीय विकासका विषयबारे पेरुका अधिकारीहरूसँग राजदूत काफ्लेले विचारविमर्श गरेका थिए ।