`

प्रधानमन्त्री कार्कीले आज साढे ११ बजे कार्यभार सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) साढे ११ बजे कार्यभार सम्हाल्ने भएकी छन् । सरकार निर्माणमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका अधिवक्ता ओमप्रकाश अर्यालकाअनुसार विहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण हुनेछ ।

सिंहदरबारस्थित गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरिएको छ । पुरानो कार्यालय आन्दोलनकारीले जलाएपछि नयाँ कार्यालयबाट काम गर्न लागिएको हो । जेनजीको आन्दोलनपछि ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो ।

 

प्रधानमन्त्री कार्कीलाई चीनले दियो बधाई

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई छिमेकी मित्रराष्ट्र चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । ‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नु भएकोमा सुशीला कार्कीलाई बधाई छ’ विदेश मन्त्रालयले भनेको छ, ‘चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ ।’

चीनले सधैंझैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको चीनले सम्मान गर्ने पनि जनाएको छ । ‘हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तहरूलाई प्रवद्र्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा छौँ,’ चीनले भनेको छ । कार्कीलाई अर्को छिमेकी देश भारतसँगै, बंगलादेश, बेलायल, संयुक्त राष्टसंघ लगायतले पनि बधाइ दिएका छन् ।

नयाँ प्रधानमन्त्रीलाई दलाई लामाको बधाई नेपाल भूराजनीतिमा फसेको संकेत : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले दिएको बधाई र शुभकामना सन्देशले नेपाल भूराजनीतिमा फसेको संकेत दिएको दाबी गरेका छन् ।

जेनजी आन्दोलनले ओली सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदको शपथ खुवाएको भोलिपल्ट शनिबार तिब्बती धर्म गुरु दलाई लामाले बधाई दिँदै तिब्बती शरणार्थीको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकामा नेपाल र नेपालीप्रति आभार प्रकट गरेका थिए ।

यसलाई ‘आश्चर्यजनक बधाई’ भन्दै एमाले नेता बाँस्कोटाले मुलुकमा जटिल राजनीतिक बीजारोपणको संज्ञा दिएका छन् । ‘नयाँ तर उनकै स्पष्ट परिभाषाअनुसार संविधानले नचिन्ने प्रमलाई दलाई लामाको आश्चर्यजनक बधाई र शुभकामना सन्देशले नेपाल भूराजनीतिको लाभामाथि तैरिरहेको सिधा संकेत दिएको छ । छिमेकीको व्यापार स्वार्थको कार्पेट डिप्लोमेसीले यसलाई छोप्न सकेन भने यो जटिल राजनीतिक, रणनीतिक संकटको बीजारोपण हो’, बाँस्कोटाले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

 

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५५ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । यही भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि निधन भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् ।

आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो । जेनजीतर्फ २१ जना, कैदी नौं जना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको घिमिरेले जानकारी दिएका छन् ।

आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर मृत्यु भएको हो । कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ । जेनजी आन्दोलनमा एक भारतीय नागरिकको पनि मृत्यु भएको छ ।

अहिले पनि धेरै घाइतेहरुको विभिन्न अस्पतालमा उपचार जारी छ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हिजो वीर अस्पतालको ट्रमा सेन्टर र सिभिल अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई भेटेकी छन् ।

 

माओवादी पार्टी संसद विघटनको विपक्षमा, नेता भने समर्थनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्दै गरिएको प्रतिनिधिसभा विघटनमा असहमति जनाईरहेका बेला सोही पार्टीका नेताले भने समर्थन गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले वर्तमान परिस्थितिलाई निकास दिनका लागि प्रतिनिधि सभा विघटन आवश्यक रहेको बताएका छन् । उनले प्रतिनिधि सभा विघटन आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका टिप्पणी गरेका छन् ।

यद्यपि विघटनमा प्रक्रियागत त्रुटि भएको उनको भनाइ छ । ‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यो आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका छन्’ उनको भनाइ छ ।

गजुरेलले जेन–जी आन्दोलन सफल भएको भन्दै देश गम्भीर संकटमा रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अडान र साहसका कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन पुगेको बताएका छन् । ‘राष्ट्रपति धन्यवादका पात्र हुनुहुन्छ’ उनले भनेका छन् ।

माओवादी केन्द्रले भने संवैधानिक व्यवस्था विपरीत प्रतिनिधिसभा विघटन गरिएको भन्दै गम्भीर असहमति रहेको जनाएको छ । गजुरेल भने विघटनको पक्षमा उभिएका हुन् । विघटित प्रतिनिधिसभाका आठ राजनीतिक दलले संसद विघटनप्रति असहमति जनाएका छन् । यसरी असहमति जनाउनेमा नेकपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरु छन् ।

प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्दै

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) बाट कार्यभार सम्हाल्दै छिन् । जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् ।

शुक्रबार साँझ शपथग्रहण गरेकी कार्कीले आइतबार साढे ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

आन्दोलनका क्रममा भदौं २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी छ । कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने शर्तसहित राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

आगजनीबाट क्षतिग्रस्त भएका सिंहदरबारका अन्य मन्त्रालयहरूमा पनि सरसफाइ गरेर काम सुरु गर्ने तयारी गरिएको छ । आजदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी दिएका छन् ।तत्कालको लागि प्रधानमन्त्री कार्यालय आगलागीबाट जोगिएका पुरानै सामग्रीबाट सञ्चालन गर्ने तयारी छ ।

कार्कीले हिजो जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई वीर अस्पतालको ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेर भेटेकी छन् । यस्तै हिजै उनले आन्दोलनका क्रममा आगजनी गरिएको कोटेश्वरस्थित प्रहरी कार्यालय निरीक्षण गर्दै प्रहरीहरुलाई उच्च मनोबलका साथ काममा फर्किन आग्रह गरेकी थिइन् ।

 

काठमाडौ महानगरका विद्यालय आजदेखि खुल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज (आइतबार) देखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापन पक्षलाई आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो ।

विद्यालयमा कुनै क्षति भए नभएको यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न, अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न पनि महानगरले सूचनामार्फत आग्रह गरेको छ ।

महानगरको शिक्षा विभागले विभिन्न चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालन, यही भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका कारण विद्यालयमा क्षति यकिन गर्न भनेको हो ।

महानगरले यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्यदृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

हेर्नुस् सूचना

चुनाव भएपछि संविधान क्रियाशील हुनेछ : मीनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रतिनिधि सभाको निर्वाचन भएपछि संविधान फेरि पूर्णरूपमा क्रियाशील हुने बताएका छन् ।

नव नियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद् विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरेका छन् । प्रमुख राजनीतिक दलहरूले यसलाई असंवैधानिक भन्दै संविधानप्रति चिन्ता प्रकट गरिरहेका छन् ।

तर तिनैमध्ये एक कांग्रेसका नेता रिजालले भने राष्ट्रपतिको निर्णयले मुलुकले त्राण पाएको बताउँदै अब चुनाव गराउन सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

‘राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको छ । प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिश्चित गर्न सहयोग पुर्‍याउनु हामी सबैको कर्तव्य हो । निर्वाचन सम्पन्न भएसँगै चार पुस्ताको संघर्षबाट निर्माण भएको संविधान फेरि पूर्णरूपमा क्रियाशील हुनेछ’, रिजालले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

रास्वपाको चेतावनी- घोषित लक्ष्यहरूबाट सरकार च्युत भए प्रतिरोध हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महिला प्रधानमन्त्री नेतृत्वको अन्तरिम सरकारलाई संविधान पालना, भ्रष्टाचारविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधारका पक्षमा सक्रिय बन्न आग्रह गरेको छ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले शनिवार जारी गरेको विज्ञप्तिमा रास्वपाले कठिन संक्रमणकालीन अवस्थामा मुलुकलाई पार लगाउने जिम्मेवारी प्रधानमन्त्रीले पाएको उल्लेख गर्दै भदौ २३ गते नवयुवा जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपकै आधारमा यो परिवर्तन सम्भव भएको बताएको छ। तर, यस प्रक्रियाले संविधान पालना सम्बन्धी प्रश्न पनि उब्जाएको विज्ञप्तिमा जनाइएको छ।

साथै विज्ञप्तिमा घोषित लक्ष्यहरूबाट सरकार च्युत भए प्रतिरोध गर्ने चेतावनी दिँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्द प्रवर्द्धनमा सधैँ सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

त्यस्तै रास्वपाले यही वर्षको फागुन २१ मा तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिँदै शान्तिपूर्ण सत्ता हस्तान्तरण, लोकतान्त्रिक हकअधिकारको निर्बाध उपभोग र विधि अनुसारको असल शासन सुनिश्चित गर्न सरकारप्रति अपेक्षा गरेको जनाएको छ।

साथै चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम चाल्न, पुनर्निर्माण तथा आर्थिक सुधारमा प्राथमिकता दिन, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न र विकासमा गुणस्तरीय दूतत्व देखाउन पनि रास्वपाले अन्तरिम सरकारलाई आग्रह गरेको छ।

 

रवि लामिछानेलाई राख्न नख्खु कारागारको आनाकानी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कारागार भित्र राख्न नख्खु प्रशासनले आनाकानी गरेको छ ।

करिब दुई घन्टा अगाडि नै कारागार पुगेका रविलाई प्रशासनले अहिलेसम्म जेल भित्र राखेको छैन् ।

रविलाई लिएर रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र रविपत्नी निकिता नख्खु कारागार पुगेका थिए । तर अहिलेसम्म पनि उनीहरू भित्रै छन् । जेलभित्र अरू पनि केही कैदीबन्दीहरु आउन थालेका छन् ।

सचिवालयका कर्मचारीहरू कागज बोकेर यताउता गरिरहेका छन् । असुरक्षाको कारण देखाएर रविलाई राख्न प्रशासनले नचाहेको आशंका गरिएको छ ।

सैनिक ब्यारेकबाट घर जान थाले निवर्तमान मन्त्रीहरू

काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो।

सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो । त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई सेनाले आज छोडेको छ। आजबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।

सुरक्षाका लागि भनेर सेनाले नियन्त्रणमा लिएकाहरुको मोबाइल चलाउन रोक लगाएको थियो । तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो।

 

 

इजरायल भ्रमणअघि रुबियोद्वारा कतारका प्रधानमन्त्रीसँग भेट

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यसै सप्ताहन्तमा इजरायलको भ्रमण गर्नु अघि शुक्रबार कतारका प्रधानमन्त्रीसँग भेट गरेको छ ।

इजरायलले दोहामा हमासका नेताहरूलाई निशाना बनाएपछि ट्रम्प प्रशासनले मध्यपूर्वका प्रमुख सहयोगीहरूबीचको सम्बन्धलाई कसरी सन्तुलनमा राख्ने भन्न प्रयास गरिरहेको देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच तनाव बढे पनि रुबिओ दुई दिने भ्रमणका लागि आइतबार इजरायल आउँदै छन्।

यो संयुक्त राष्ट्र सङ्घले प्यालेस्टिनी राज्यको निर्माणमा सम्भावित विवादास्पद बहस गर्नु अघि बढ्दो एक्लिएको देशको लागि समर्थनको प्रदर्शन हो । नेतान्याहूले यो प्रक्रियाको विरोध गरेका छन् ।

रुबियो र उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसमा शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग पनि भेट गरेको छ ।

शुक्रबार नै ट्रम्प र विशेष दूत स्टिभ विटकोफले न्यूयोर्कमा कतारी प्रधानमन्त्रीसँग रात्रिभोजमा सहभागी भएका छन् । ट्रम्प ९÷११ को आक्रमणको २४ औँ बर्षको सम्झनामा हुने एक श्रद्धान्जली कार्यक्रमका सन्दर्भमा न्यूयोर्क गएको थियो ।

इजरायलले हमाससँगको आफ्नो लडाईँलाई कतारको राजधानी दोहामा लगेपछि ट्रम्प प्रशासन दुई प्रमुख सहयोगीहरूको विवादको घेरामा परेको छ।
प्यालेस्टिनी लडाकू समूह ह्मासका नेताहरू गाजामा लगभग दुई वर्षदेखि जारी युद्धको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा विचार गर्न भेला भएका थिए।

कतार हमास र इजरायलबीचको युद्ध रोक्न एक प्रमुख मध्यस्थकर्ता हो । कतार र अमेरिकाको आग्रहमा नै हमासका नेताहरूले युद्धविरामका लागि प्रतिवद्ध भएको बताएका छन् ।

इजरायल र हमास लडाइँ रोक्न र इजरायलबाट लिइएका बन्धकहरूलाई रिहा गर्ने लामो समयदेखि गर्न खोजिएको सम्झौताको लागि अझै पनि अनिश्चित छन्।

इजरायलले मङ्गलबार गरेको आक्रमणले मध्यपूर्व शान्ति सम्झौता गर्ने ट्रम्पको आशालाई पनि चकनाचुर पारेको छ ।

क्तारमा भएको इजरायली आक्रमणपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारका शासकहरू इजरायलसँग आक्रोशित भएका छन् ।

ट्रम्प आफैले आक्रमणमा अमेरिकाको समर्थन नरहेको भन्दै यसबाट आफूलाई टाढा राख्नुभएको छ । रूबियोले भने “यसले ‘इजरायल वा अमेरिकाको लक्ष्यलाई अगाडि बढाउँदैन’ र कतारमा यो दोहोरिने छैन।”

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले इजरायलको नाम उल्लेख नगरी आक्रमणको निन्दा गरेको वक्तव्यमा पनि अमेरिका पनि सामेल भएको छ ।

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा

दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरमा सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् ।

‘जेनजी’ प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको लामो तथा छोटो दूरीका सवारीसाधन आज बिहानदेखि सञ्चालनमा आएका हुन् ।

‘जेनजी’को प्रदर्शनका कारण गत मङ्गलबारदेखि ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । “आज बिहानदेखि सार्वजनिकलगायत सवारीसाधन सञ्चालनमा आएका छन्”, उनले भने, “महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरी सवारीसाधन छुट्न थालेका छन ।”

यसैबीच जिल्ला प्रशासन कार्यालयले गत मङ्गलबारदेखि लगाइएको कर्फ्यू आइतबार बिहानदेखि पूर्ण रूपमा हट्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी विज्ञप्तिमा भोलि बिहान ५ बजेपश्चात् अर्को सूचना जारी नभएसम्मका लागि पूर्णतया निषेधाज्ञा र कर्फ्यू हट्ने उल्लेख छ । शनिबार प्रशासनले निषेधाज्ञा खुकुलो गरेपछि महेन्द्रनगर बजारमा चहलपहल बडेको छ ।

नयाँ प्रधानमन्त्रीलाई दलाई लामाको बधाइ सन्देश

काठमाडौं । तिब्बतका आध्यात्मिक नेता दलाई लामाले नेपालमा नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना तथा बधाइ दिएका छन् । उनले एक सन्देश पठाउँदै कार्कीलाई बधाइ दिएको तिब्बती समाचार एजेन्सीले जनाएको छ। चीनले पृथकतावादी भनेर प्रतिवन्ध लगाएका धर्मगुरुले नेपालमा प्रधानमन्त्री नियुक्ती हुँदा बधाइ सन्देश पठाएको सम्भवतः पहिलो पटक भएको जानकारहरु बताउँछन् ।

चीनले भने अहिलेसम्म कार्कीलाई औपचारिक बधाइ सन्देश पठाइसकेको छैन । आफ्नो सन्देशमा लामाले नेपाली र तिब्बती जनताले ऐतिहासिक रूपमा निकट सम्बन्धको आनन्द लिँदै आएको बताएका छन् । उनको सन्देशमा भनिएको छ, ‘१९५९ पछि तिब्बतबाट जबरजस्ती भागेर आएका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधाहरू उपलब्ध गराएकोमा नेपाल सरकार र जनताप्रति अत्यन्त कृतज्ञ छु । वास्तवमा, तिब्बती समुदाय अपेक्षाकृत सानो भए पनि, मलाई विश्वास छ कि यसले नेपालको आर्थिक वृद्धितर्फ उल्लेखनीय योगदान दिँदै आएको छ ।’

वर्षौंदेखि, नेपालमा जीवनका सबै क्षेत्रहरूमा उल्लेखनीय विकास र बढ्दो समृद्धि भएको लामाले बताएका छन् । ‘यस्ता उपलब्धिहरू ती वास्तवमा गरिब र आवश्यकता पूर्ति गर्ने व्यक्तिहरूको जीवन सुधार्छन् भने मात्र थप अर्थपूर्ण हुन्छन्,’ उनी भन्छन्, ‘यी चुनौतीपूर्ण समयमा नेपाली जनताका आशा र अपेक्षाहरू पूरा गर्न तपाईंलाई हरेक सफलताको शुभकामना । मेरो प्रार्थना र शुभकामनासहित ।’ तिब्बतको स्वायत्तताका लागि लड्दै आएका नोबेल शान्ति पुरस्कार विजेता दलाई लामाले पृथकतावादी नेता भनेर देशबाट निष्काशित गरेको थियो । उनी भारतको हिमाञ्चल प्रदेशमा निर्वाशित जीवन बिताइरहेका छन् ।

प्रतिनिधिसभा विघटनप्रति एमालेको असहमति

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसप्रति असहमति जनाएको छ । एमालेले आज (शनिबार) प्रेस वक्तव्य जारी गर्दै राष्ट्रपतिले भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भए पनि सोही दिन गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाएको छ ।

‘विगतमा कुनै पनि परिस्थितिमा प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशको लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय स्वयम् सर्वोच्च अदालतले फैसला गरिसकेको छ,’ महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी अदालतको सोही व्याख्या अनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट गरिएको घोषणाको संवैधानिक वैधता नरहेकोमा स्पष्ट छ । तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति असहमत छ । प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र त्यसले सिर्जना गर्ने राजनीतिक जटिलताप्रति गम्भीर तथा चिन्तित छ ।’

त्यस्तै भदौ २३ र २४ का घटनाबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने तथा भ्रष्टाचार अनुसन्धानका लागि छुट्टै आयोग बनाउनुपर्ने प्रस्तावमा भने पार्टी सहमत रहेको विज्ञप्तिमा उल्लेख छ । संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका उपलब्धी जोगाउन संविधान पक्षधर शक्तिबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा पनि एमालेले जोड दिएको छ ।

हेर्नुस् विज्ञप्ती

बालिकाको डुबेर मृत्यु

चन्द्रपुर । रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।

आज बिहान जितिया पर्वको (नहायखाय)पर्वका लागि आमासँगै लाल बकैया नदीको सबगढामा नुहाउन गएकी गौर–६ बस्ने बैजु साहकी १० वर्षीया करिश्मा साहको डुबेर मृत्यु भएको हो ।

खोलामा नुहाउने क्रममा बिहान करिब १० बजे डुबेर बेपत्ता भएकी बालिकाको शव दिउँसो करिब १ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् । नुहाउने क्रममा बालिका डुबी बेपत्ता भएको खबर पाउना साथ अस्थायी प्रहरी पोष्ट, बसपार्कका प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा गएको टोलीले खोजी गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

खनाललाई आध्यात्मिक पत्रकारिता सम्मान

काठमाडौँ । शब्दयात्रा प्रकाशनले लेखक महेश्वर खनाल(काठमाडौँ) लाई २०८२ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार प्रकाशनको आजको बैठकले उक्त निर्णय गरेको हो । सम्मानको कोष व्यवस्थापन समाजसेवी सुदर्शन आचार्यले गर्दै आएको छन् । आगामी असोज ११ गते एक कार्यक्रमका बीच लेखक खनाललाई सम्मान गरिने छ ।

पाकिस्तानको दक्षिण वजिरिस्तानमा तालिबानको आक्रमण, १२ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको दक्षिण वजिरिस्तान जिल्लामा शनिबार बिहान करिब ४ बजे पाकिस्तानी तालिबान समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १२ सुरक्षाकर्मीको ज्यान गएको छ।

स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकहरूको एक गस्ती दल गुडिरहेको बेलामा दुवैपट्टिबाट भारी हतियारसहित आक्रमण गरिएको थियो। आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका र अन्य ४ घाइते भएका छन्। घटनास्थलमा तैनाथ अर्का एक सुरक्षाकर्मीले पनि मृत्युको सङ्ख्या पुष्टि गरेका छन् र आक्रमणकारीहरूले सुरक्षाकर्मीहरूको हतियार पनि कब्जामा लिएको जानकारी दिएका छन्।

पाकिस्तानी तालिबान, जसलाई तहरीक–ए–तालिबान पाकिस्तान भनिन्छ, यो समूह अफगान तालिबानबाट पृथक भए पनि घनिष्ठ सम्बन्ध रहेको मानिन्छ। उक्त आक्रमणको जिम्मेवारी सोही समूहले सामाजिक सञ्जालमार्फत लिएको छ।

यो आक्रमण पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा प्रान्तमा भएको सबैभन्दा घातक घटनामध्ये एक हो। सो क्षेत्र केही वर्षअघिसम्म तहरीक–ए–तालिबानको प्रभावमा थियो, जसलाई सन् २०१४ देखि सुरु भएको सैनिक कारबाहीपछि पछि धकेलिएको थियो।

पाकिस्तानी सरकारले अफगानिस्तानमाथि आतंककारीहरूलाई आफ्नो भूमिबाट पाकिस्तानमाथि आक्रमण गर्न दिएको आरोप लगाउँदै आएको छ, जुन आरोपलाई काबुलस्थित अफगान सरकारले अस्वीकार गर्दै आएको छ।

खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लाहरूमा स्थानीयहरूले तहरीक–ए–तालिबानको नाम लेखिएको पर्खाल लेखोटहरू देखिएको बताएका छन्। उनीहरू पुनः सोही समूहको त्रासद शासन फर्कने डर व्यक्त गर्छन्, जुन अमेरिकी आतङ्कविरुद्धको युद्ध को समयमा अफगानिस्तानबाट फैलिएको थियो।

एक वरिष्ठ स्थानीय अधिकारीका अनुसार पछिल्लो समय तहरीक–ए–तालिबानका लडाकूहरूको सङ्ख्या र आक्रमणहरूको संख्या दुबै बढेको छ।

सन् २०२५ को जनवरी १ देखि हालसम्म करिब ४६० जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सुरक्षाकर्मीहरू रहेका छन्। यी आक्रमणहरू खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका हुन्।

सन् २०२४ पाकिस्तानका लागि झन्डै एक दशक यताकै सबैभन्दा रक्तपातपूर्ण वर्ष बनेको थियो, जसमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, तीमध्ये करिब आधा सुरक्षाकर्मी र प्रहरी थिए, जसको विवरण इस्लामाबादस्थित अनुसन्धान संस्था ‘सुरक्षा अध्ययन तथा अनुसन्धान केन्द्र’ले दिएको हो।

कतार इजरायलबीचको कूटनीतिक दूरी बढ्दै,गाजा युद्ध अझै जटिल बन्दै

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् । यो भेटले अमेरिका, कतार र इजरायलबीचको संवेदनशील कूटनीतिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

उक्त भेटपछि रुबियो आइतबारदेखि दुई दिने इजरायल भ्रमणमा जानेछन्, जहाँ उनले इजरायली नेतृत्वसँग क्षेत्रीय सुरक्षा, गाजा युद्धसम्बन्धी वर्तमान अवस्था तथा बन्धक मुक्तिका सम्भावनाबारे छलफल गर्नेछन्।

ट्रम्प प्रशासनको संवेदनशील सन्तुलन प्रयास

हालै इजरायलले कतारको राजधानी दोहामा हमासका नेताहरूलाई लक्षित गरी गरेको कारबाहीका कारण कतार, साउदी अरेबिया र युएईजस्ता खाडी मुलुकहरूमा असन्तुष्टि देखिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त कारबाहीले अमेरिका वा इजरायलको दीर्घकालीन हितमा योगदान नपुर्‍याउने टिप्पणी गरेका छन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले समेत उक्त आक्रमणको आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ।

कतारका प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठकमा बोल्दै गाजामा रहेका बन्धकहरूको सुरक्षाप्रति चासो व्यक्त गरेका छन् र कूटनीतिक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छन्।

इजरायली नेताहरूसँग गाजाबारे छलफल

विदेश मन्त्रालयका अनुसार, रुबियोको इजरायल भ्रमणका क्रममा उनले गाजामा इजरायलको रणनीतिक लक्ष्य, बन्धक मुक्ति प्रयास तथा प्यालेस्टाइनी
राज्यका सम्बन्धमा युरोपेली मुलुकहरूको सम्भावित मान्यताबारे अमेरिकी धारणा स्पष्ट पार्नेछन्।

उनले हमासद्वारा अपहरणमा परेका व्यक्तिहरूका परिवारसँग पनि भेट गर्नेछन्, जसले बन्धकहरूको सुरक्षित फिर्ती अमेरिका र इजरायल दुवैका लागि उच्च प्राथमिकता भएको सन्देश दिन मद्दत गर्नेछ।

रुबियो यरुशलेमस्थित ऐतिहासिक स्थल ‘सिटी अफ डेविड’को भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ, जुन इजरायल र प्यालेस्टाइनबीचको विवादास्पद क्षेत्र मानिन्छ।

जन्म दिनकै दिन रविले भने–अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित कारागार जाँदैछु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कारागार फर्किने घोषणा गरेका छन् । आज आफ्नो जन्मदिनमै आफूलाई उपहार स्वरुप कारागार जान लागेको उनले बताएका छन् । आफ्नो कारणले जेलबाट कैदीहरु भागे भनेर बदनामी गर्न खोजिएको रविको गुनासो छ ।

हेर्नुस् फेसबुक लाइभमा रविको भनाइ

नमस्कार । म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेसा संवादमा छु । जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन । आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्वपूर्ण कुरा बताउन गइरहेको छु ।

संयोगले आज मेरो जन्मदिन परेछ । र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु । पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नु भएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु । ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणसहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेकमाथि नै छोड्न चाहन्छु । यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन ।

बाँकी रह्यो मलाई केही दिनअघि कारागारबाट निकालिएको विषयको विवाद । त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो । अहिले चिठी नै वैधानिक छैन भनेको सुन्छु । जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न ।

मैले कालकुट विष पिएको धेरै भइसक्यो । अर्को एक दुई थोपो बिष पिएर म मर्दिन । मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो । कत्राकत्रा षड्यन्त्र झेलिसकेको मान्छे, मेरा कारण कुनै एउटा जेलर, एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन, मै जिम्मा लिन्छु । तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला । त्यो पनि भइगो, मेरो चित्त दुख्न अब कहाँ पो बाँकी छ र ?

यतिखेर पनि यस देशका एकएक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्, मेसमा मेजबानी खाइरहेका छन् । म जनताको भीडबाट निस्किएपछि एक्लै छु । एउटा पुलिस पनि मसँग छैन । मेरो बदनाम गराउन तल्लिन पुराना दलका केही टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखेँ । हे पुराना दलका सेनामेना साथी हो, तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं ?

आफ्नै पार्टी परिवारभित्रका साथीहरूप्रति मेरो कुनै गुनासो छैन । म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु । तपाईलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्वपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु । तर पार्टी त बन्छ बन्छ । बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ । मेरो र पार्टीको हिजोको कुरा आजलाई यति नै ।
अब भोलिको कुरा गरौं । देशको कुरा गरौं । म लोकतन्त्र विधिको शासन प्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ । यसमा म कुनै हालतमा सम्झौता गर्दिन । अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बनेन, बन्न सक्दैनथ्यो । अन्तरिम सरकारको

संवैधानिक पृष्ठभूमि जेसुकै भए पनि यो अब देशको वास्तविकता हो । यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनु पर्छ । एउटा कुरा नबिर्सौ । कलिला बच्चाहरुलाई ताकी ताकी गोली हानेर मारिएको छ । त्यससँगै देशका सरकारी संरचनाहरू ताकी ताकी ध्वस्त बनाइएको छ । त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ र दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ ।

बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरु कारबाहीको दायरामा तत्काल आउनुपर्छ । देशका संरचनाहरूमा ताकीताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनु पर्छ । सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सबै शक्ति र सामथ्र्य प्रदान गर्ने वचनका साथ मेरा केही माग पनि छन् ।

१ ) २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ ।

२ ) देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनु पर्छ ।

३) कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नु पर्छ । सुब्वादेखि न्यायाधिशसम्मले फेरि जाँच दिनुपर्छ ।

४) सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ ।

५ ) सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागु हुनुपर्छ ।

मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलगअलग टाउकाहरु हुन् । रावणका यी अलगअलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ । यी चिजहरू हुन सकेन भने जनताको आन्दोलनमाथि विश्वासघात हुन्छ । मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ । त्यसका लागि हामी जनस्तरबाट दवाव बढाएर सरकारलाई सहयोग गर्नेछौ । नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना । म यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु । मैले केही योगदान दिनुप¥यो भने म यही नख्खु कारागारमै छु । भेट्न आउनु होला ।

पार्टीका तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ । पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन । उनीहरुले जति जाने त्यति गरे । इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरुले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ । स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ । सके एक्लै, नसके सबै नयाँहरू मिलेर । देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु । नमस्कार

प्रहरी कार्यालय जलाउँदा घाइते लामाको मृत्यु

पोखरा । जेनजी आन्दोलनमा क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको भवन जलाउँदै गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय तोडफोड तथा आगजनीका क्रममा जलेर घाइते भएका तनहुँको भररपुर–१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको हो ।

उनी पोखरा–१६ बस्ने गरेका थिए । प्रहरी कार्यालयमा आगोको मुस्लो परेका उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । लामाको बिहान १२ बजे उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए । उनलाई ७० प्रतिशत जलेको अवस्थामा अस्पताल ल्याइपु¥याइएको अस्पतालका निर्देशक प्राडा प्रेमराज पंगेनीले जानकारी दिए ।

कास्कीका अधिकांश सरकारी कार्यालयहरु तेडफोड र आगजनी गरिसकेपछि आन्दोलनकर्मीहरु डोजरसहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उग्र प्रदर्शन गरिरहेका आन्दोलनकर्मीहरु कार्यालयको गेट तोडफोड गर्दै प्रहरी कार्यालय छिरेका थिए ।

प्रहरी कार्यालयभित्र पनि तोडफोट, लुटपाट र आगजनी भएको थियो । आन्दोलनकर्मीले लुटेको केही हतियार प्रहरीले प्राप्तसमेत गरिसकेको र केही अझै बाँकी प्रहरीको भनाइ छ । प्रहरी कार्यालयभित्रै डोजर लिएर गएका युवामाथि सुरुमा गोली लागेको थियो । उनको उपचार भइरहेको छ ।

आन्दोलनकर्मीहरुले पोखरा रत्नचोकमा रहेको अभि इकयुपमेन्ट डिभिजन कार्यालयको डोजर, लोडर, स्काभेटर र टिप्पर निकालेर सडकमा चलाउँदै, तोडफोड गर्दै हिँडेका थिए । आन्दोलनकर्मीहरुले पोखरामा अधिकांश प्रमुख सरकारी निकाय तोडफोड र आगजनी गरेका छन् ।

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदै प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नव नियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।

आज बिहानदेखि नै पूरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगाययका सरसामग्री नयाँ कार्यालयतर्फ लैजाने क्रम चलिरहेको थियो । पूरानै फर्निचर, सरसामग्री र उपकरणको व्यवस्थापन गरी नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयार गरिँदै छ ।

आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबाको मुल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड र आगजनी भएका अधिकांश मन्त्रालय परिसरमा जलेका सवारीसाधन, कागजपत्रलगायत सरसामग्री छरपष्ट छन् ।
यसैबीच, आगजनी र तोडफोडबाट बढी क्षति पुगेको मध्येको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारीको ठूलै सङ्ख्या स्वस्फूर्तः रुपमा सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन् । अन्य मन्त्रालयजस्तै शिक्षा मन्त्रालय परिसरमा पनि सवारी साधन जलेर ‘मानव कङ्काल’ अवस्थामा रहेका छन् ।

मन्त्रालयको भूमिगत पार्किङमा राखिएका सवारी सधानमा पनि प्रदर्शनकारीले आगजनी गरेको सखाप पारेका छन् । आज बिहान ८ बजेदेखि नै सरसफाइमा जुटिरहनुभएका मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयकै जनशक्ति खटिइएर सरसफाइ, फोहर व्यवस्थापन गरी दैनिक कार्य सञ्चालन गर्ने प्रयासको थालनी गरिएको बताए ।

‘सरसफाइको काम अघि बढाएका छौँ, समय लाग्छ, सरसफाइ सकेर मर्मतसम्भारमा लाग्छौँ’, प्रवक्ता सापकोटाले भने, ‘कर्मचारीबाट जुटेर गर्न सकिनेसम्मका काम सकेसम्म गर्छौँ ।’ आगजनीबाट कति क्षति भयो त्यसको आँकलन गर्न नसक्दा क्षतिको लगत निकाल्न नसकिएको उनको भनाइ छ ।

प्रवक्ता सापकोटाले भने, ‘क्षतिको लगत निकाल्न एउटा टोली बनाएका छौँ, त्यसले काम गरिरहेको छ, पार्किङमा राखिएका गाडी, कम्प्युटर, फर्निचर, टेलिभजन सेटमा क्षति पुगेका छन् ।’ आफै जुटेर काम गर्दा के–कति क्षति भयो र कुन विधिबाट काम अघि बढाउँदा कार्यालय छिटो तयार गर्न सकिने उनको भनाइ छ । संरचनागत क्षति नभएको स्थानमा कार्यालयलाई पूर्ववत् अवस्थामा ल्याउन आफूहरुले गरिरहेको कामले सहयोग पुग्ने उनको विश्वास छ । शिक्षा मन्त्रालयका कर्मचारी जुटेर अघि बढाइएको त्यस कार्यले आन्दोलनबाट प्रभावित भएका अन्य मन्त्रालय र कार्यालय सञ्चानका लागि प्रेरित गर्नेछ ।

प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर बैठक बोलाउन आठ दलको माग

काठमाडौं । विघटित प्रतिनिधिसभाका आठ दलले संसद विघटनको निर्णय फिर्ता लिएर वैठक बोलाउन माग गरेका छन् । विघटित प्रतिनिधि सभाका आठ राजनीतिक दलका प्रमुख सचेतकले संसद विघटन जेनजीको आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका हुन् ।

‘जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरु एवं नेपालको संवैधानिक परम्परा विपरित रहेको छ,’ शनिबार निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ । तसर्थ, प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संबोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं ।’

हस्तारक्षर गर्नेहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरु रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने हस्ताक्षर गरेको छैन ।

हेर्नुस् विज्ञप्ती

पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूर्णरुपमा ध्वस्त हुन पुग्यो । रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन पूर्णरुपमा जलेर खरानी हुन पुगेका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले अस्थायी व्यवस्थापनका ठाउँ खोज्ने क्रममा रहेको जनाएको छ । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ । दैनिक कामकाजमा बाधा पुगेको छ । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले हालसम्म घाइतेको उपचारमा केन्द्रित भएर समन्वयकारी भूमिका गरिरहेको र अस्पताललाई आवश्यक पर्ने सामग्री दिने तथा त्यहाँबाट प्रदर्शनमा घाइतेको जनकारी लिने काम गरिरहेको बतए । उनले भने, ‘भवनको सबै कोठा, सरसामान जलेर नष्ट भएको छ । कुनै पनि बाँकी छैन । त्यहाँ बाँकी रहेका सामान स्थान्तरण गर्ने कार्य सम्भव नै भएन ।’

सचिव देवकोटाले हाललाई मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट भोलिदेखि आंशिक रुपमा काम सुरु गर्ने योजना बनाएको जानकारी गराए । सामान्य तोडफोड भए पनि उक्त भवन भने जल्नबाट जोगिएको छ । उनका अनुसार सिंहदरबारमा ठाउँ मिल्यो भने पछि त्यहाँ मन्त्रालयलाई स्थान्तरण गर्ने विचार गरिएको छ ।

मुलुकले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाइसकेको छ । मन्त्रीमण्डल विस्तार गर्ने तयारी हुँदैछ । स्वास्थ्यमन्त्री नियुक्त भएपछि कार्यकक्षका लागि मन्त्रालयसँग ठाउँ पनि छैन । सचिव देवकोटाले एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरेको बताए । ‘हामी कर्मचारीहरु त एउटा हलमा बसेर काम गरौला । मन्त्रीका लागि त्यही रहेको एउटा कोठा तयार गरेका छौँ । अहिलेलाई त्यहाँ काम गर्ने र सिंहदरबारभित्र ठाउँ पाउनका लागि पहल गरिरहेका छौँ’, उनले भने ।

मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । ‘इमेलमा रहेका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने । नयाँ नेतृत्व आएपछि उहाँको मार्ग निर्देशनपछि थप काम गर्ने विचार छ’, डा. देवकोटाले भने ।

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने- हाम्रो योगदान खेर नजाओस्

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

“प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिईन्। त्यसक्रममा उनीहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,” डा रेग्मीले भने । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् । अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो ।

गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन: चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर आफूलाई गहभरी आँशु पारेर टोलाइरहन मन लागेको, तर त्यसो गर्न छुट नभएको लेखेका छन् ।

सोमबार आयोजित जेन–जी प्रदर्शनमा सरकारले निर्मम दमन गरेपछि मङ्गलबार उग्र बनेको भीडले निजी उद्योग र व्यापार संरचनामा समेत आगजनी गरेको थियो ।

महासङ्घ अध्यक्ष ढकालको लगानी रहेको चन्द्रागिरि केबलकार र गैँडाकोटस्थित मौलाकालिका केबलकारमा पनि आगजनी र तोडफोड भएको छ ।

त्यसरी तोडफोड भएको चार दिनपछि शनिबार विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ढकालले आफूलाई रुन मन लागेको बताएका हुन् ।

आफूले कुनै ठूलो पुँजीले नभइ सुरुमा सानो व्यवसाय सुरु गरेको, तर शून्यबाट सुरु गरेको यात्रामा यतिखेर जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण मोडमा रहेको ढकालले लेखेका छन् ।

‘अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँशु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन’, ढकालले फेसबुकमा भावना पोखेका छन्‌ ।

ढकालको फेसबुक स्टाटस 

सबैमा नमस्कार
जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही गरौँ, नेपालकै उर्भर माटोमा सिँचाई गरौँ र यहीँ सुन फलाउँ भन्ने भावना थियो । र अहिले पनि छँदैछ ।
त्यसका लागि आवश्यक पर्ने इमान्दारिता र कुनै पनि काममा निरन्तरता अर्थात् मेहनत आवश्यक छ भन्ने कुराको हेक्का राम्रैसँग थियो जुन हामीसँगै थिए । मलाई लाग्छ, चार दशक पुराना यिनै प्रतिबद्धता, भावना र अठोटको जगबाट आज हामी यहाँसम्म आइपुगेका छौँ । हाम्रो मेहनत, इमान्दारिता र कर्मले कोरेको सानो व्यावसायिक गोरेटो आज हाम्रा सामु एउटा फराकिलो राजमार्गका रूपमा अवस्थित छ ।

मैले कुनै पनि व्यवसायको सोच बनाउँदा यी तीन कुरामा ध्यान दिने गर्दथेँ । राज्यको प्राथमिकता, आमजनताको आवश्यकता र दीर्घकालीन व्यवसाय बन्नसक्ने सम्भावना । यिनै क्षेत्रमा हामी अघि बढ्दै जाँदा आज हाम्रो व्यवसाय २० हजारभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको प्रत्यक्ष रोजगारीसँग जोडिन पुगेको छ । अप्रत्यक्ष त लाखौँ होला, अहिले म त्यता जान चाहन्न ।

हामीले सुरु गरेको व्यवसाय जुन–जुन क्षेत्रमा विस्तार भयो, ती सबै केवल रोजगारी सिर्जना गर्न मात्र नभएर तीमार्फत् मुलुकमा साझेदारी र सेवाको संस्कृति निर्माण भएका छन् । अनि जेजहाँ स्थापित र विस्तारित छन् ती सबैमा स्थानीयसँगको बलियो हातेमालो छ । किनभने ‘व्यवसायबाट मैले मात्र आर्जन गरेर मुलुक समृद्ध हुँदैन’ भन्ने भावनाले प्रेरित हाम्रा पाइला सबैसँग लगानी साझेदारी गर्दै अघि बढेका हुन् ।

प्रत्येक आयोजनामा स्थानीय र सर्वसाधारणको अपनत्व रहोस् भनेर हामीले शेयर मार्फत् स्थानीय साझेदारिताको मोडेल अपनाएका छौँ । रोजगारीमै पनि उहाँहरू पहिलो प्राथमिकतामा हुनुहुन्छ । त्यसकारण त हाम्रा पर्यटन लगायतका स्थानीय पूर्वाधारहरू सबैका साझा सम्पत्तिका रूपमा स्थापित र सेवारत रही आएका छन् ।
हिजोका दिनमा रोजीरोटीकै लागि विदेश पुगेका निम्न आय भएका नेपालीहरूकलाई विदेशमा पैसा कमाउन भन्दा घर पठाउन गाह्रो थियो । उहाँहरूको त्यही दुःख देखेर उहाँहरूले दुःख जिलो गरेर जम्मा गरेको दुईचार पैसा औपचारिक माध्यमबाट उहाँहरूका घर आफन्तसम्म पुर्याउने अठोटका साथ मलेसियाबाट सुरु गरेको व्यवसाय आजको विस्तारित स्वरुप उहाँहरूकै आशीर्वादको परिणाम हो भन्ने लाग्दछ । उहाँहरूको यही आशीर्वाद, समग्र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सद्भावमा हाम्रो मेहनत एवं पसिना मिसाउँदा लागेको फलले नै हाम्रो व्यवसायिक जग र ब्राण्डमा मुलुकमा कैयौँ व्यावसायिक राजमार्ग निर्माण हुन सकेको हो । मलाई हरेक पलमा आनन्द दिने माध्यमहरू पनि यिनै हुन् ।

तर आज भने मेरो मन भारी भएको छ । देश बनाउने सपना साँचेर शून्यबाट सुरु गरेको यात्रामा म यतिखेर जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण मोडमा छु । अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँशु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन । मैले यसो गर्दा एकातिर हामीसँगै पारिवारिक रोजीरोटी जोडिएका २० औँ हजारको आत्मबलमा ठेस पुग्ला भन्ने डर लाग्छ भने अर्कातर्फ मजस्तै क्षति पुगेका अरू व्यवसायीहरूलाई मैले नै अमिलै मनले भए पनि सान्त्वताको धाप मार्नुपर्ने अवस्था छ ।

म मुलुकका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारीमा छु । हरेक तह, समूह या सर्कलले अप्ठेरोमा अभिभावकको खोजी त गरिनै हाल्छ । सायद मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ भनेको यस्तै समय र परिस्थितिमा होला । सम्पूर्ण निजी क्षेत्रलाई हौसला दिनुपर्ने ठूलो जिम्मेवारी मेरो सामु छ ।

हिजोका दिनमा भूकम्पले धरहरासँगै व्यावसायीका मनहरू ढलिरहँदा पनि मैले मुलुकका उद्योगी व्यवसायीहरूलाई धुलो टक्टकाएर उठौँ र आफ्ना काम, व्यवसायमा लागिहालौँ भनेर हौसला दिएको अहिले सम्झँदैछु । कसैले कहिल्यै कल्पनै नगरेको कोरोना महामारीले देश र व्यवसाय थिलथिलो पर्दा र आफैँ कोरोनाको कहरमा हुँदा पनि मैले व्यवसायीहरूलाई सटर बन्द नगरौँ, हामी उठ्नुपर्छ भनेर हौसला प्रदान गरेको सम्झँदैछु । अहिले पनि अब खरानी टक्टकाएरै उठ्नुपर्नेछ, हाम्रा मन र आत्मबललाई दरो बनाउनुपर्ने छ र उठ्नैपर्ने छ । यी हरेक दुःखमा म आफैँ पनि घाइते छु तर व्यावसायिक नेतृत्वमा रहेकाले साथीहरूलाई मलम लगाएर उठ्न हौसला दिइरहेको छु ।

भदौ २३ र २४ गते जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घुसपैठमा मुलुकभर धेरै उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि आक्रमण भयो । त्यसक्रममा हामीले लगानी गरेका उद्योग व्यवसायमा समेत तोडफोड र आगजनी भयो । ठूलो क्षति पुर्याइएको छ ।

मुलुकको अर्थतन्त्र सुधार गर्न, वैदेशिक लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउन लागिरहेको म एउटा उद्योगी र मुलुककै निजी क्षेत्रको ठुलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको मेरो आफ्नै व्यवसाय सुरक्षित नहुँदा आम स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल गिर्ने र नकारात्मक सन्देश प्रवाह हुने भयले मन अमिलो भयो । त्यसैले क्षतिग्रस्त आयोजनाका फोटो र भिडियो शेयर नगर्न कर्मचारीहरूलाई आग्रह पनि गरेँ ।

तर, सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक भएपछि, आम उद्योगी–व्यवसायीलाई निराश हुन नदिऊँ, मनोबल खस्कन नदिऊँ भन्ने उद्देश्यले केही कुरा भन्न आवश्यक देखेँ ।

हो, सुशासन र भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा देशभर धेरै उद्योगी व्यवसायी साथीहरूको उद्योग, व्यवसाय र निजी आवास तथा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । हजारौंको रोजगारी संकटमा परेको छ, अर्बौंको संरचना खरानी भएको छ, लगानी धरापमा परेको छ । यसले हामी सबैलाई मर्माहत बनाएको छ ।

दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका हामी हालैको आर्थिक मन्दीबाट तङ्ग्रिने प्रयासमा थियौँ । अस्तिको प्रदर्शनका क्रममा धेरै सार्वजनिक तथा निजी सम्पत्तिको क्षति भएको छ ।
तथापि, यावत् प्रतिकूलताका बाबजुद हामी फेरि सम्हालिएर अघि बढ्नुपर्ने बाहेक हामीसँग अर्को विकल्प छैन । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा देशभरका उद्योगी, व्यवसायी र उद्यमशील मनहरूलाई एक सन्देश दिन चाहन्छु कि साथीहरू, हामी नआत्तिऔँ, नथाकौं । आजैबाट क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिऔँ । थप लगानी गरी रोजगारी सिर्जनामा लागौँ । हरेक पटक आउने यस्ता चुनौतीहरूलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिऔँ र अघि बढौँ ।

नयाँ पुस्तालाई बुझाऔँ—निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन हो, उद्यमशीलता भनेको रोजगारी हो, राज्यले प्राप्त गर्ने राजस्वको स्रोत हो र समृद्धिको वाहक हो । ८१ प्रतिशत बढी मुलुकको अर्थतन्त्रमा योगदान रहेको र ८६ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव छैन । निजी क्षेत्र पनि मुलुक बनाउने अभियानमा सक्रिय छ र निजी क्षेत्रसँग होस्टेमा हैसे नगरी हामीले अपेक्षा गरेको विकास, समृद्धि र नयाँ नेपाल निर्माण गर्न सकिदैंन।
उद्यमी व्यवसायी साथीहरू, अहिलेको कठिन परिस्थितिमा मनोबल कमजोर पार्ने, थाक्ने वा हार्ने सुविधा हामीलाई उपलब्ध छैन । जब मुलुकको समृद्धि नै हाम्रा हात एवं भनौँ कर्ममा छ भने हामीले नै बनाउनु छ देश र जेन–जीहरूमा पनि आशा हामीले नै भर्नु छ । यसरी सोचौँ कि भावी पुस्ताले रोजगारी खोज्दै खाडी र मलेसियाको यात्रा तय गर्न नपरोस् । उनीहरूको जीवनमा यस्तो कठिन समयको महसुस आगामी दिनमा कहिल्यै नहोस् ।

आदरणीय व्यवसायी साथीहरू

तपाईंले आफ्नो जीवनभरको पसिना, सपना र समर्पणका इँटाले बनाएको घर र व्यवसाय आफ्नै आँखा अगाडि दन्दनी जल्दै खरानी भएको देख्नुपर्दा पीडा त हुन्छ नै । सायद मेरा यी शब्दहरूले यहाँहरूको त्यो पीडा उतार्न र सान्त्वना भर्न सक्दैनन् । किनभने यो क्षण भनेको केवल आफ्ना हातले सिर्जना गरेका भौतिक सम्पत्तिको क्षति मात्र होइन कि मन, समर्पण र सपनामाथि लागेको अपुरणीय चोट पनि हो ।
तर पनि यसरी चित्त बुझाउँ कि आगोले ईँटा र काठ जलाए पनि तपाईं हामीभित्रको हौसला र आत्मबल छँदै छन् । हाम्रा मन मस्तिष्क, श्रमको मूल्य र तपाईं हामीले सदा बोकिरहेको आत्मबल कहिल्यै जल्दैन । तपाईं हामीले गुमाएका सामग्री हाम्रा आत्मबल र हौसलाले फेरि जुटाउन सकिन्छ । हाम्रो धैर्यता, संघर्ष र मेहनत गर्ने हाम्रो नियमितता र क्षमता नै हामी सबैको वास्तविक सम्पत्ति हो । यसैले भौतिक सम्पत्ति जोड्नुपर्छ, र अहिले लागेको घाउचोटलाई पनि सबै मिलेर पुर्नुपर्छ ।
हामी उद्यमी, व्यसायीहरूले आफूलाई कदापि एक्लो नठानी सबैको दुःखलाई आफ्नै ठानेर फेरि अझै सबल भएर उठ्न र अघि बढ्न लाग्नुपर्दछ ।

विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ । फेरि उठ्नुछ, अघि बढ्नुछ, निर्माण गर्नुछ र हाम्रा साहस र आत्मबलले भविष्यको पुस्तासम्म नै प्रेरणा छर्नुछ ।
आउनुहोस् सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौँ ।
धन्यवाद

 

भाटभटेनीले १६ शाखाबाट दिन थाल्यो नियमित सेवा

काठमाडौं । जेनजी आन्दोलनकारीको निशानमा परेको भाटभटेनी सुपरमार्केटले फेरि सेवा सुरु गरेको छ । धेरै शाखाहरुमा आगजनी र लुटापाट भोगेको भाटभटेनीले आफ्ना विभिन्न १६ शाखाबाट सेवा सुरु गरेको बताएको हो ।भाटभटेनीले विज्ञप्ति जारी गदै आफूहरु पुनः फर्किएको र सेवाप्रति प्रतिवद्ध रहेको बताएको हो।

काठमाडौँ उपाध्यकाभित्र भाटभटेनीले टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन, कलंकी, राधेराधे र बालाजु शाखाबाट सेवा सुरु गरेको हो । त्यस्तै काठमाडौँ बाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा पनि खुलाएको हो ।

 

पर्सीबाट पठनपाठन सुरु हुने

काठमाडौं । जेनजी आन्दोलनले ठप्प बनेका काठमाडौंलगायत देशभरका शैक्षिक संस्थाहरू भोलिबाट खुल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले भोलि (आइतबार) बाट विद्यालय खोल्न र पर्सीबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको हो । जेनजीको प्रदर्शनका कारण विद्यालयहरु बन्द गरिएका थिए । जेनजी आन्दोलनका क्रममा कतिपय विद्यालयहरुमा समेत तोडफोड र आगजनी भएका छन् ।

भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त

रुपन्देही । जेनजी आन्दोलनको मौकामा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानविज्ञान स्कुलले आफ्ना शिक्षक शिवशंकर शुक्लालाई कारबाही गर्दै बर्खास्त गरेको छ । शुक्रवार मात्रै उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।

विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजीको प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुनेगरी हटाइएको जनाएका छन् ।

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल पुगेकी छिन् । उनले विभिन्न अस्पतालहरूमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । कार्कीले वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर घाइतेहरूलाई भेटेकी हुन् । त्यस्तै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि उनले स्थलगत अनुगमन गर्ने बताइएको छ ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदुरपश्चिमबाट हेमराज थापा पनि समेटिने चर्चा

काठमाडौँ । सामाजिक अभियान्ताको रुपमा परिचित हेमराज थापा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा समावेश हुने भएका छन् ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल भइरहेको बेला सुदुरपश्चिमबाट जेनजीहरुको नेतृत्व गर्दै आएका थापापनि समावेश हुने चर्चा चलेको छ । उनी कुन मन्त्री बन्नेबारेमा अहिले टुंगो भने लागिसकेको छैन् ।

आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् ।

पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् ।

 

दक्षिण सुडानमा बाढी र द्वन्द्वको दोहोरो प्रकोप, संयुक्त राष्ट्रसंघ चिन्तित

संयुक्त राष्ट्र शरणार्थी उच्च आयुक्त (युएनएचसीआर)ले शुक्रबार दक्षिण सुडानमा बाढीका कारण एक लाखभन्दा बढी व्यक्तिहरू विस्थापित भएको जानकारी दिँदै, यस समस्याको समाधानका लागि थप अनुदान र अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको छ।

संयुक्त राष्ट्र शरणार्थी आयोगले यदि बाढीको अवस्था यस्तै जारी रहन्छ भने, वर्षको अन्त्यसम्म चार लाख व्यक्तिहरू विस्थापित हुने सम्भावना रहेको छ, जुन २०२४ को तुलनामा निकै बढी हुनेछ। हामीलाई थप अनुदानको आवश्यकता छ, अन्यथा पहिले नै बाढीका कारण प्रभावित भएका व्यक्तिहरूलाई शरण, सुरक्षा, सफा पानी र आवश्यक जीवनस्तर प्रदान गर्न हाम्रो क्षमता निकै सीमित रहनेछ, दक्षिण सुडानका संयुक्त राष्ट्र शरणार्थी आयोगका प्रतिनिधि मारी(हेलिन वर्नीले एक विज्ञप्तिमा बताए।

संयुक्त राष्ट्र शरणार्थी आयोगले भनेको छ,दक्षिण सुडान अहिले नयाँ बाढीको चक्रमा फसिरहेको छ । बाढी र द्वन्द्वका कारण त्यहाँका समुदायहरू दोहोरो संकटको सामना गर्न बाध्य छन्।

पछिल्ला केही हप्ताहरूमा, जोङले, अपर नाइल र युनिटी राज्यहरूमा बढ्दो पानीले ठूलो क्षेत्र डुबानमा परिणत गरेको छ, जसले एक लाख व्यक्तिहरूलाई विस्थापित गरिदिएको छ। यी व्यक्तिहरू फेब्रुअरीदेखि नै शुरू भएको द्वन्द्वका कारण आफ्नो घर छोड्न बाध्य भएका थिए। यो अत्यधिक मौसमका प्रभावले सबैभन्दा बढी असुरक्षित र विस्थापित व्यक्तिहरूलाई असर पुर्‍याइरहेको छ। यो विषय थप चिन्ताको विषय हो, विशेष गरी यी क्षेत्रहरू पहिले नै खाद्यान्नको अभाव र २०२२ को विनाशकारी बाढीका कारण गम्भीर समस्यामा छन्,वर्नीले बताए।

उनले थपे अक्टोबर र सेप्टेम्बर महिनामा यो संकट अझ गहिरो हुने सम्भावना छ, जसले सम्पूर्ण समुदायलाई अलग गर्न, भोकमरीलाई थप गम्भीर बनाउने र महिलाहरू तथा केटीहरूको सुरक्षा जोखिमलाई बढावा दिनेछ।

संयुक्त राष्ट्र शरणार्थी आयोगका अनुसार, बाढीले घर, विद्यालय र स्वास्थ्य संस्थानहरूलाई डुबाएर, कृषि जमिन र चरनभूमिहरूलाई नष्ट गरेको छ, जसले पशुधनको ठूलो नाश गरेको छ।

दक्षिण सुडान अझै अफ्रिकामा एक प्रमुख विस्थापन संकटको सामना गर्दैछ, जहाँ लगभग २४ लाख दक्षिण सुडानी शरणार्थी छिमेकी देशहरूमा बसोबास गरिरहेका छन्, । २० लाख व्यक्तिहरू आन्तरिक रूपमा विस्थापित छन् ।

भारतमा सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु, १५ घाइते

भारत । भारतको दक्षिणी राज्य कर्नाटकमाको हसन जिल्लामा शुक्रबार राति एक सडक दुर्घटनामा ८ जनाको मृत्यु भएको र १५ जनाभन्दा बढी घाइते भएको छ। स्थानीय प्रहरीले यस घटनाको पुष्टि गरेको छ।

दुर्घटना धार्मिक जुलुसमा सहभागी मानिसहरूलाई समेटेर एक तीव्र गतिमा आएकाले ट्रकले ठक्कर मारेको थियो। ट्रक चालकले एक बाइकलाई टाढा गर्नका लागि अचानक मोड लिएको थियो, जसको परिणामस्वरूप यो दुर्घटना घटेको हो। यस दौरान जुलुसमा रहेका केही मानिसहरू ट्रकको घेराबन्दीमा परेर मृत्युको शिकार भएका थिए।

प्रहरीका अनुसार, केही घाइतेहरूको अवस्था गम्भीर रहेको र मृतक संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरिएको छ।

 

भोलि मन्त्रिपरिषद विस्तारको तयारी, छलफलमा प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल जारी छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् । पूर्व प्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । आज दिनभर मन्त्रिमण्डल बिस्तारको तयारी गर्ने स्रोतले जानकारी दिएको छ ।

त्यसबारे हिजो शीतल निवासमा समेत हल्का सल्लाह भएको बताइन्छ । प्रधानमन्त्रीको टिमले मन्त्रीहरूको नामबारे पहिले छलफल गर्ने र त्यसमा सेनाले कुनै हस्तक्षेप नगर्ने वचन प्रधान सेनापति अशोकराज सिग्देलले दिएका छन् । प्रधानमन्त्रीको शपथ सकेर जङ्गी अड्डा फर्किएका उनले त्यहाँ प्रतीक्षारत जर्नेल (पृन्सिपल स्टाफ अफिसर्स) हरुलाई मन्त्री चयनमा आफूहरुको कुनै हस्तक्षेप नरहने जानकारी दिएको स्रोतको भनाइ छ ।

सिग्देलको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘सेनाले मन्त्रिमण्डल गठनवारे मागिएमा सुझावसम्म दिने हो । नाम सिफारिस गर्ने होइन । सल्लाह गर्ने हो, हस्तक्षेप गर्ने होइन ।’ सोही सन्दर्भमा नवनियुक्त प्रधानमन्त्रीले आज जेन जी समूहसँग बालुवाटारमा भेटेर कुराकानी गरेकी छन् । आजको भेटघाटमा हामी नेपालका सुदन गुरुङबाहेक अरु एक दर्जन सहभागी थिए ।

म्यानमाको राखाइनमा हवाई आक्रमण, १९ जना विद्यार्थीको मृत्यु

म्यानमा । म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ज्यान गुमाएका छन्। घटनाबारे जानकारी दिँदै सशस्त्र समूह अराकान आर्मी (एए) ले उक्त आक्रमण क्याउक्ताव नगरपालिकामा रहेका दुई निजी विद्यालयहरूमा भएको जनाएको छ।

उक्त समूहले सार्वजनिक गरेको विज्ञप्तिअनुसार आक्रमण मध्यरातपछिको समयमा भएको हो, जसमा १५ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरूको मृत्यु भएको र थप २२ जना घाइते भएका छन्। एएले आक्रमणका लागि म्यानमाको सैनिक सरकारलाई जिम्मेवार ठहर गरेको छ।

निर्दोष विद्यार्थीहरूको असमय निधनले हामीलाई पीडित परिवारसरह अत्यन्तै दुःखी तुल्याएको छ,विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्थानीय सञ्चारमाध्यम म्यानमार नाउ ले जनाएको विवरणअनुसार, सैनिक सरकारको युद्धक विमानले दुईवटा पाँच सय पाउन्डका विस्फोटक सामग्री विद्यालय भवनमाथि खसालेको थियो, जब विद्यार्थीहरू निद्रामा थिए।

घटनापछि बाल अधिकारको संरक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था युनिसेफले वक्तव्य जारी गर्दै यस आक्रमणप्रति गहिरो चिन्ता र दुःख व्यक्त गरेको छ। युनिसेफले भन्यो, “यो आक्रमण राखाइन राज्यमा पछिल्लो समय हुँदै आएको हिंसात्मक घटनाहरूको भयावह नमूना हो, जसको सबैभन्दा पीडादायक मूल्य बालबालिका र निर्दोष परिवारहरूले चुकाइरहेका छन्।”

सञ्चार संस्था एएफपीले घटनास्थल वरपरको जानकारी लिन खोज्दा इन्टरनेट र फोन सेवा अत्यन्तै कमजोर भएकोले प्रत्यक्ष विवरण प्राप्त गर्न नसकेको उल्लेख गरेको छ।

सन् २०२१ मा म्यानमारको प्रजातान्त्रिक सरकारलाई सैनिकले हटाएपछि देशमा विभिन्न सशस्त्र समूहहरूद्वारा प्रतिरोध तीव्र बन्दै गएको छ। यसबीच, सैनिक सरकारमाथि बारम्बार सर्वसाधारण क्षेत्रहरूमा हवाई तथा तोप आक्रमण गर्ने गम्भीर आरोपहरू लाग्दै आएका छन्।

पाकिस्तानको पञ्जाबमा बाढी: ९७ जनाको मृत्यु, ४४ लाखभन्दा बढी प्रभावित

पाकिस्तान । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण हालसम्म कम्तीमा ९७ जनाले ज्यान गुमाएका छन् भने ४४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार, रावी, सतलज र चेनाब नदीमा आएको बाढीले पञ्जाबभरि चार हजार ५०० भन्दा बढी गाउँमा क्षति पुर्‍याएको छ।

बाढीबाट विस्थापित भएकामध्ये २४ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रहरूमा हालसम्म ३९६ वटा राहत शिविर स्थापना गरिएका छन्, जहाँ पीडितहरूलाई आश्रय, खाना तथा औषधोपचार सेवा उपलब्ध गराइँदैछ।

पिडिएमएले करिब १९ लाख गाईवस्तुहरूलाई पनि सुरक्षित स्थानमा सारिएको जनाएको छ।

देशभरको सरकारी विवरणअनुसार, जुन २६ देखि सुरु भएको मौसमी वर्षा र बाढीले हालसम्म ९५६ जनाको ज्यान लिइसकेको छ, भने एक हजार ६० भन्दा बढी नागरिक घाइते भएका छन्। यस बाढीका कारण करिब आठ हजार ४०० घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्, र ६ हजार ५०० भन्दा बढी गाईवस्तु नष्ट भएका छन्।

सरकारले विस्थापित समुदायहरूलाई राहत प्रदान गर्न र थप क्षति रोक्न उद्दार तथा सहायता अभियानलाई तीव्र बनाएको जनाएको छ। बाढीग्रस्त क्षेत्रहरूमा सेना, प्रहरी र स्थानीय निकायको सहकार्यमा राहत तथा पुर्नस्थापना कार्य जारी रहेको छ।

जेनजी आन्दोलनमा प्रचण्डसहित यी माओवादी नेताको घरमा भयो आगजनी (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको र बाँकी थप क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।

कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्मण्यता शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाएकै कारणले पार्टीका नेताहरूको घर जेनजी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका माओवादीले निष्कर्ष निकालेको छ । जेनजी युवाको प्रदर्शनको काठमाडौंको कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला पार्टी कार्यालयहरुमा पनि तोडफोड र आगजनी भएको थियो ।

हेर्नुस् तोडफोड र आगजीको विवरण

१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।

२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।

८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट ।

९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।

१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आगजनी ।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।

१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।

रूसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प

रूस । रूसको क्यामचात्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क-कामचात्स्की शहरको १११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो। भूकम्पको गहिराइ ३९.५ किलोमिटर थियो। शुरूवातमा यस भूकम्पको ७.५ म्याग्निच्युड बताइएको थियो, तर पछि ७.४ म्याग्निच्युड रहेको जनाइएको छ।

प्रशान्त महासागर सुनामी चेतावनी केन्द्रले शुरुमै यस भूकम्पका कारण खतरनाक सुनामीका लहरहरू उत्पन्न हुने चेतावनी दिएको थियो, जसको उचाइ १ मिटर (३.३ फीट)सम्म हुन सक्थ्यो। पछि भने, उक्त चेतावनी हटाइयो सुनामीको खतरा अब टरेको भनेको छ।

यस भूकम्पको कारण कुनै ठूलो सुनामी उत्पन्न भएको छैन र त्यसले तटीय क्षेत्रहरूमा खास असर गरेको पनि देखिएको छैन।

साथै, जुलाई महिनामा क्यामचात्का प्रायद्वीपमा एक अत्यन्त शक्तिशाली भूकम्प ८.८ म्याग्निच्युडको आएको थियो। यस भूकम्पले प्रशान्त महासागरमा ४ मिटर (१३ फीट) उचाइका सुनामीका लहरहरू उत्पन्न गरेको थियो। यो भूकम्प २०११ मा जापानको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

क्यामचात्का क्षेत्रको भूकम्पीय गतिविधि उच्च म्याग्निच्युडका भूकम्पहरूको लागि प्रसिद्ध रहेको र भविष्यमा यस्ता घटनाहरू घट्न सक्ने सम्भावना पनि रहेको छ।

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

काठमाडौँ । कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला मागअनुसार खाद्यान्नलगायत कृषि उपजको आपूर्तिलाई शृङ्खलालाई खल्बलिन नदिनेतर्फ सचेत रहन अनुरोध गर्दै विभागले आज एक विज्ञप्ति निकालेर कृषि उद्यमी, कृषि व्यवसायी तथा किसानलाई सहयोग गर्न भनेको हो ।

विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार सागसब्जी, बीउबेर्नालगायत उत्पादन आपूर्ति तथा ढुवानीमा समस्या भएको गुनासो आएकाले आपूर्ति शृङ्खलामा असर हुने गतिविधि नगर्न आग्रह गरिएको हो ।

प्रधानमन्त्री नियुक्त गरी संसद विघटन गर्नु गलत : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुशासन र रूपान्तरणका कदममा जेनजीको माग सम्बोधन गर्न नसकेकोमा माफी मागेका छन् । उनले आज (शनिबार) सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै भट्टराईले एमाले चुकेको भन्दै माफी मागेका हुन् ।

‘भ्रष्टाचार देशको मुख्य बेथिति हो । भ्रष्टाचार सुशासनको पक्षमा राज्य संयन्त्रलाई जति रूपान्तरण गर्नुपथ्र्यो त्यसमा चुक्यौं । युवा, जनताको माग सम्बोधन गर्न चुकेका छौं,’ भट्टराईले भने, ‘जनताको अगाडि माफी पनि माग्न चाहन्छौं । जनता विना पार्टी टिक्दैनन् । एमाले युवाले बनाएको पार्टी हो । युवाले नेतृत्वलाई निरन्तर दिएर हामी अगाडि बढ्नु पर्छ ।’

अब एमालेको कार्यशैली फेरिने पनि उनले प्रष्ट पारेका छन् । ‘एमाले अब हिजो जस्तो हुँदैन । युवामैत्री, प्रगगितशील र गतिशील हुनेछ । संरचनागत सुधार हामी गर्छौं । हामीलाई विश्वास गर्नुस् । हाम्रो आफैमाथि पनि भ्रष्टाचार बेथितिको निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाको निम्ति एमाले तयार छौं’, भट्टराईले भने, ‘जेनजी पुस्ता हामीसँग किन आइरहेको छैन ? यतिबेला पार्टी पुनर्गठन हाम्रो महत्वपूर्ण जिम्मेवारी हुनेछ । अब नेतृत्व, संगठन र कार्यशैली पुनर्गठन गर्नैपर्छ ।’ पार्टीभित्र टुटेको मनलाई जोड्ने र सबैको अस्तित्वलाई स्वीकारेर जानुपर्ने उनको भनाइ छ ।

‘पार्टी सञ्चालनमा गल्ती कमजोरी भएको छ । मन टुटेका छन् । सबैको अस्तित्वलाई स्वीकारेर पार्टी पुनर्गठन हुनेछ । सबैले आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउनु पर्छ,’ भट्टराईले भनेका छन्, ‘हामी वातावरण बनाउँछौं । जो जहाँ हुनुहुन्छ । पार्टीको जिम्मेवारी र विशाल परिवारमा फर्किन अनुरोध गर्छौं ।’ भदौ २३ र २४ गतेको प्रदर्शनपछि देश संक्रमणमा रहेको उनको भनाइ छ । जेनजीको माग अनुसार सरकार बनाउनमा एमाले तयार भए पनि संवैधानिक प्रक्रिया मिच्न खोजिनुले नराम्रो सन्देश गएको उनी बताउँछन् ।

‘जेनजीको माग अनुसार सरकार बनाउनमा हाम्रो विमति थिएन, छैन । यो प्रक्रियालाई र संविधान र संसद्कै बाटोबाट अगाडि जाउँ भन्ने थियो । अहिलेको प्रक्रियालाई संसद्ले निकास दिन सक्थ्यो । त्यतातर्फ जान खोजिएन र संसद् विघटन गरियो । यो राम्रो भएन । संविधान खारेज भए अर्को बनाउन सम्भव छैन । सानो प्रयत्नबाट बनेको संविधान होइन । संविधानलाई लिकमा फर्काउन हामीले प्रयत्न गर्नुपर्छ । शान्त र सौम्य ढंगले यो काम गर्नुपर्छ ।’ आफूहरू राजनीतिक निकासका निम्ति तयार रहेको तर भागबण्डाको पक्षमा नभएको पनि उनको भनाइ छ ।

‘राष्ट्रपति र प्रमलाई भन्न चाहन्छौं, संविधानको बाटोमा भए मान्छौं र संविधानलाई मिच्ने भए राष्ट्रिय एकतालाई बचाउन सक्दैनौं । हामी राजनीतिक निकासमा बाधक छैनौं,’ भट्टराईले भने, ‘राजनीतिक भागबण्डामा चासो छैन । हाम्रो चासो संविधान र लोकतान्त्रिक बाटो हो ।’ उनले सुशीला कार्कीलाई संसदले पनि प्रधानमन्त्रीको जिम्मेवारी दिन सक्ने आधार भ एपनि त्यसो नगरिएकोप्रति असहमति जनाएका छन् ।

उनले भने, सांसदभित्रबाटै विकल्प थियो तर त्यता जान खोजिएन । संसद् विघटन गरियो । यो सही निकास होइन । संविधानको सबैले पालना गर्नुपर्छ, संविधान खारेज भयो भने अर्को संविधान बनाउन सजिलो छैन । यो सानो प्रत्यत्नबाट बनेको होइन् । उनले स्थितिको सही मूल्यांकन गर्दै संविधान र लोकतन्त्रलाई सही ट्रयाकमा ल्याउने प्रयत्न गर्नुपर्ने बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको हर कदम संविधानको बाटोबाट हुनुपर्ने बताए । २३ गते जेनजीको प्रदर्शनका क्रममा अरु पक्षले नकारात्मक फाइदा उठाएको उनी बताउँछन् । यसैले २३ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, भदौ २४ गते थुप्रै सार्वजनिक सम्पत्तिमाथि तोडफोड भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई गर्न भट्टराईले माग गरेका छन् ।