`

कर्णाली सरकारले छुट्यायो सहिद स्मृति तथा जीवन निर्वाह भत्ताका लागि पाँच करोड

कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पाँच करोड बराबरको सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा बसेको बैठकले रु दुई करोड ५५ लाख ७२ हजार बराबरको सहिद स्मृति भत्ता र रु दुई करोड २९ लाख ८० हजार बराबरको जीवन निर्वाह भत्ता दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उपदफा ३ बमोजिम सो बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

त्यसैगरी, उक्त बैठकले आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश ससर्त अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२ र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।

कात्तिक ६ गते भाइटीकाको उत्तम साइत कति बजे ?

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए ।

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन’, उनले भने । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धन्वन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मंगलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँसी तिथि रहेको समितिले जनाएको छ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चांग) नेवार समुदायका पञ्चांगकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चांगकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चांग (पात्रो)मा उल्लेख गरेका छन् ।

यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ । रासस

 

विशेष महाधिवेशन माग्दै कांग्रेसमा कतिले गरे हस्ताक्षर ?

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै दुई हजार ४६४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । उनीहरुले गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता गर्ने तयारी छ । विशेष महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियान चलाएका थिए । हस्ताक्षर अभियानमा रहेका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार दुई ४६४ जनाको नामावली अहिले ‘इन्ट्री’ भइसकेको छ । कांग्रेसका चार हजार ३४७ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

‘नियमित महाधिवेशनमा जाने निर्णय गर्ने हो भने त्यहीअनुसार क्यालेन्डर आउनुप¥यो’, उनले भने, ‘होइन भने विशेष महाधिवेशनका लागि हस्ताक्षर प्रयोग हुन्छ ।’ उनका अनुसार ७७ वटै जिल्लाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । ‘कुनै जिल्लाका कम र कुनै जिल्लाका बढी होलान् तर सबै जिल्लाका प्रतिनिधिको हस्ताक्षर रहेको छ’, उनले भने । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता हस्ताक्षर संकलन भएको हो ।

मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने बताइएको छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । मंसिरभित्र नियमित महाधिवेशनका लागि संस्थापन तयार नभए विशेष महाधिवेशन गर्ने गरी महामन्त्री थापा र शर्माले हस्ताक्षर संकलनलाई अभियान बनाएका छन् ।

तीनकुनेमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

काठमाडौं । काठमाडौँको तीनकुनेमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

‘बिलखबन्द’ मा विप्लव : माओवादीसँग एकता कि, आयोगमा दल दर्ता ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जारी छ । कपिलवस्तुको शिवगढीमा जारी बैठकमा नेताहरुले बोल्ने क्रम चलिरहेको छ । बैठकमा महासचिव विप्लवले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूले अध्ययन गरेर धारणा राखिरहेका छन्।

७७ वटै जिल्लाका जिल्ला इञ्चार्जहरूले पनि धारणा राखिरहेका छन् । नेताहरूका अनुसार माओवादी केन्द्रसँगको एकता कि निर्वाचन आयोगमा दल दर्ता गर्ने भन्ने ‘बिलखबन्द’ मा नेकपाका महासचिव विप्लव रहेका छन् । माओवादी घटकसहित विचार मिल्ने वाम घटकसँग एकता गर्ने गरी एक वर्षअघि नै निर्णय गरेको थियो । एक वर्ष अगाडिको निर्णय कार्यान्वयन हुन नसकेको भनेर कतिपयले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

कतिपयले बदलिएको अवस्थामा वाम एकता गरेर जानु उपयुक्त हुने सुझाएका छन् । बैठकमा नेताहरुले माओवादीसहित विभिन्न पार्टीसँग एकतादेखि निर्वाचन आयोगमा पार्टी दर्ता गरेर जानुपर्नेसम्मको सुझाव आएका छन् । माओवादीसँग एकता गर्ने भनिएपछि लामो समयदेखि सहमति जुट्न सकेको छैन । महासचिव विप्लवकै नेतृत्वमा कम्युनिस्ट केन्द्र निर्माण गरेर जानु पर्नेसम्मको विषय उठेपनि केन्द्रीय समिति बैठकले ठोस निर्णय लिने तयारी छ । बैठकमा पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण, जनआन्दोलनको तयारी र राष्ट्रिय राजनीतिमा कम्युनिस्ट शक्तिको भूमिकालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ । केन्द्रीय समिति बैठकअघि विप्लवले स्थायी समिति बैठक बैठक राखेका थिए ।

 

नेपाल वायुसेवा निगमको काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।

निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरको नियमित उडान तालिका बमोजिम १६ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंँ उडानमा ४१ यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ । यसैगरी, २३ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौँ उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।

निगमले उक्त उडानमा यात्रु संख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ । निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगतलगायत सबैमा अनुरोध समेत गरेको छ ।

एकै दिन साढे आठ हजारले बढेर सुनको मूल्यले बनायो रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ८ हजार ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार ८ हजार ५ सय रुपैयाँले बढेर आज एक तोला सुनको मूल्य २ लाख ४८ हजार ५०० कायम भएको छ ।

सोमबार प्रतितोला सुन २ लाख ४० हजारमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक तोला चाँदी भाउ ३ हजार ३२५ रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सोमबार सोही परिमाणको चाँदी ३ हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न एनपीआईको माग

काठमाडौं । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीति सिफारिस एनपीआईले निर्वाचन आयोगका आयुक्त जानुका तुलाधर र अन्य पदाधिकारीहरू तथा सचिव माधव पन्तलाई बुझाएको छ ।

विश्वका धेरै देशहरूले विभिन्न विधि प्रयोग गरेर विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार कार्यान्वयन गरेको उल्लेख गर्दै एनपीआईले विदेशमा रहेका नेपालीका लागि मिश्रित प्रकारको बाह्य मतदान विधि सुझाएको छ । मेक्सिकोले सन् २०२४ को सङ्घीय निर्वाचनमा र फिलिपिन्सले सन् २०२५ को निर्वाचनमा विदेशस्थित नागरिकलाई मतदानको अधिकार प्रदान गरेका थिए । मेक्सिको र फिलिपिन्सका अनुभवबाट सिक्दै नेपालका लागि मिश्रित बाह्य मतदान मोडेल (दूतावासमा प्रत्यक्ष मतदान, हुलाकमार्फत मतदान र इन्टरनेटमा आधारित आइ–भोटिङ) अपनाउन सकिने एनपीआईले प्रस्ताव गरेको छ ।

लाखौँ नेपाली नागरिक काम, अध्ययन वा अन्य प्रयोजनका लागि विदेशमा रहेको सन्दर्भमा उनीहरूलाई राष्ट्रिय निर्वाचनमा मतदान गर्ने मौलिक अधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागि उनीहरूलाई मतदानको अवसर प्रदान गर्नुपर्ने एनपिआईका अध्यक्ष डा खगेन्द्रराज ढकालले बताए । जानकारहरूका अनुसार इ–भोटिङ दूतावास वा मतदान केन्द्रमा इलेक्ट्रोनिक मेसिनमार्फत हुने प्रक्रिया हो भने आइ–भोटिङ इन्टरनेटको माध्यमबाट मतदाताले आफू बसेको स्थानबाटै सुरक्षित सर्भरमा मतदान गर्न सक्ने प्रणाली हो । डा ढकालका अनुसार आइ–भोटिङ प्रविधि इ–भोटिङभन्दा फरक र अधिक समावेशी समाधान हो ।

काठमाडौँस्थित एनपीआई सचिवालयका अनुसार उक्त नीति सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसहितका प्रमुख सरकारी निकायहरूमा पनि बुझाइएको छ । गत महिना जेनजीको नेतृत्वमा भएको आन्दोलनपश्चात् विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने मुद्दा पुनः प्राथमिकतामा परेको छ । विदेशमा काम गर्ने वा अध्ययनरत नेपालीलाई मतदान प्रक्रियामा समेट्नु उनीहरूलाई देशको भविष्यमा वास्तविक सरोकार दिनु पनि हो । यही सन्दर्भमा, सरकारले राजनीतिक इच्छाशक्ति प्रदर्शन गरी विदेशस्थित मतदानलाई यथार्थमा रूपान्तरण गर्ने अभूतपूर्व अवसर पाएको अध्यक्ष डा. ढकालको भनाइ छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई निर्वाचनमा सहभागिता गर्ने अधिकार सुनिश्चित गरेको छ भने सर्वोच्च अदालतले पनि विदेशमा रहेका नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न आदेश दिएको छ । राजनीतिक दलहरूले बारम्बार विदेशस्थित नेपाली नागरिकलाई मतदानको अधिकार विस्तार गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयनमा आएको छैन । बाह्य मतदानका लागि छुट्टै कानुनी प्रावधान तयार गर्दै डिजिटल मतदाता दर्ता र समानुपातिक निर्वाचनमा आइ–भोटिङमार्फत मतदान गर्न कानुनी मान्यता दिनु उपयुक्त हुने डा. ढकालले बताए । साथै प्रभावकारी सहभागिताका लागि बहुदिवसीय मतदानबाट अधिकतम सहभागिता सुनिश्चित गर्न सकिने पनि उनको भनाइ छ ।

एनपीआईले मध्यम र दीर्घकालीन अवधिका लागि नेपालले बाह्य मतदानका सिकाइबाट अगाडि बढ्दै आइ–भोटिङलाई निर्वाचनको मुख्य प्रणालीका रूपमा संस्थागत गर्नुपर्ने सिफारिस गरेको छ । यसले विदेशस्थित मात्र नभई आन्तरिक रूपमा सरेका जनसंख्या (जस्तै कार्यरत कर्मचारी, विद्यार्थी र असुरक्षित समुदाय) लाई समेत निर्वाचन प्रक्रियामा समेट्ने मार्ग खोल्नेछ ।

नेपालका आप्रवासी नागरिकहरूको संवैधानिक अधिकार, आर्थिक योगदान, निर्वाचनको वैधता तथा अन्य कारणले पनि विदेशस्थित नेपालीका लागि मतदान आवश्यक भएको छ । मलेसिया र खाडीका देशमा आइ–भोटिङ सबैभन्दा उपयुक्त उपाय हुनसक्ने एनपीआईले दाबी गरेको छभने अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, युरोपेली देश र उत्तरी अमेरिकाजस्ता मुलुकमा प्रभावकारी हुलाक प्रणालीका कारण हुलाकमार्फत मतदान उपयुक्त विकल्प हुनसक्ने जनाएको छ ।

यो नीति सिफारिस ब्रीफले विश्वका एक सय १५ भन्दा बढी देशमा रहेका बाह्य मतदानका अभ्यासको तुलनात्मक अध्ययनमा आधारित रही नेपालका लागि मोडेलहरू प्रस्ताव गरेको संस्थाले जनाएको छ । उक्त नीति ब्रीफ पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वनिर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, आप्रवासन विज्ञ शरू जोशी श्रेष्ठ, डा अम्बिका अधिकारीलगायतको सुझावका आधारमा एनपीआईका अध्यक्ष डा ढकाल र लीजा महर्जनले तयार गरेका हुन् । संस्थाले विगत आठ वर्षदेखि आप्रवासन र डायस्पोरा नीति अनुसन्धानलाई आफ्नो मुख्य कार्यक्षेत्रका रूपमा अघि बढाउँदै आएको छ ।

 

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा पुग्यो पाँच रिट

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध पाँच थान रिट निवेदन पुगेका छन् । मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् । पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको तेस्रो नम्बरमा छ ।

विपना शर्मा र आयुष बडालको चौथो तथा मकबुल मियाको पाँचौँ नम्बरमा छ । ती सबै रिट निवेदनमा असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै प्रतिनिधिसभालाई पुनःस्थापना गर्न माग गरिएको छ । रिटमा प्रधानमन्त्री र सरकारले गरेका निर्णय असंवैधानिक रहेको भन्दै कार्यान्वयन हुन रोक लगाउन अन्तरिम आदेश माग गरिएको छ ।

 

उद्याेगीहरुलाई प्राधिकरणको अल्टिमेटम : कात्तिक २ भित्र वक्यौता नतिरे लाइन काटिन्छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडरमार्फत विद्युत् लिने तर वर्षौंदेखि महसुल तिर्न बाँकी रहेका उद्योगहरूको लाइन काट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले ती उद्योगहरूलाई कात्तिक २ गते राति १२ः०० बजे सम्मको अन्तिम म्याद दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, ‘अहिलेसम्म सम्राट र रोल्पा सिमेन्ट बाहेक अन्य उद्योग सम्पर्कमा आएका छैनन् । ‘बक्यौता तिर्नुको विकल्प छैन, नतिरे लाइन काटिन्छ ।’ प्राधिकरणका प्रवक्ता ढकालका अनुसार प्राधिकरण सञ्चालक समितिले बक्यौता रकम उठाउने निर्णय गरिसकेको छ र सोही अनुसार कात्तिक २ गतेसम्म बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने सूचना जारी गरिएको छ ।

२०७२ माघ देखि २०७५ वैशाख सम्म लोडसेडिङको चरम अवस्थामा उद्योगलाई ट्रंकलाइन तथा डेडिकेटेड फिडर मार्फत दिइएको विद्युतको प्रिमियम शुल्क विवादको विषय बनिरहेको छ । उद्योगीहरूले टीओडी मिटर नहुँदा शुल्क गलत देखिएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् । तर प्राधिकरणले करिब २४ अर्ब रुपैयाँ बक्यौता उठाउनुपर्ने बताउँदै कडा कदम चाल्ने तयारी गरेको हो ।

ऊर्जामन्त्री कुलमान घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल बक्यौता असुलीमा सक्रिय छन् । प्राधिकरणले उद्योगीहरूलाई २८ किस्तामा तिर्ने सुविधा पनि दिएको छ । तर कात्तिक २ गतेसम्म पनि भुक्तानी नगर्ने उद्योगहरूको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले यसअघि नै अदालतबाट मुद्दा खारेज भएपछि प्रशासनिक पुनरावलोकन प्रक्रिया समेत सरल बनाएको थियो । तर उद्योगीहरूको सहभागिता कम देखिएको छ । १० वर्षसम्म यो विवाद समाधान नहुँदा प्राधिकरणको वित्तीय स्थिति कमजोर बनेको छ । डेडिकेटेड र ट्रंकलाइनको मात्रै करिब २४ अर्ब रुपैयाँ बक्यौता नउठ्दा आर्थिक भार कायम नै छ । डेडिकेटेड र ट्रंकलाइन मात्रै होइन, सरकारले दिनुपर्ने विद्युत् शुल्क छुट लगायतका २० देखि २२ अर्ब रुपैयाँ पनि अझै भुक्तानी हुन बाँकी छ ।

अलमल गर्ने समय छैन, नयाँ भन्नेहरु एक ढिक्का हुनैपर्छ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नयाँ पुस्ताका राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत देश निर्माणका लागि अब अलमल नगरी एउटै मोर्चामा उभिनु पर्ने आवश्यकता औंल्याएकी हुन् ।

कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अलमल गर्ने समय छैन । नो इफ, नो बट्स ! नयाँ भन्नेहरू एक ढिक्का हुनैपर्छ । देश बनाउने नै हो भने मत क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू, रास्वपालगायत सबैले आ–आफ्नो हठ त्याग्नै पर्छ ।’ उनले राजनीतिक हठ र व्यक्तिगत स्वार्थले नयाँ सोचका शक्तिहरू टुक्रिँदै गएको उल्लेख गर्दै व्यङ्ग्यात्मक शैलीमा लेखेकी छन्–‘हठकै राजा महाराजा हुनुथ्यो त ओली छँदै थिए नि !’

सुदन गुरुङमाथि स्वतन्त्र जेनजीको आरोप : पानी बाँड्न हिंडेकाले सरकार कब्जा गरे

काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा संलग्न भएको भन्दै चर्चामा आएका सुधन गुरुङमाथि गम्भीर आरोप लगाउँदै स्वतन्त्र जेनजी समूहले अन्तरिम सरकारको वैधता र विदेशी हस्तक्षेपको विरुद्धमा कात्तिक १५ गते देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

समूहका संयोजक तथा आन्दोलनमा घाइते भएका रुपेन्द्र दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि विदेशी दूतावास र आइएनजिओहरूको निर्देशनमा काम गर्ने अदृश्य शक्तिहरूले आन्दोलनको उपलब्धि कब्जा गर्न खोजिरहेका छन् । ‘वास्तविक आन्दोलनकारीलाई ओझेलमा पार्दै राष्ट्रको स्वाधीनता र संविधानमाथि हमला भइरहेको छ’, दाहालले भनेका छन् ।

विज्ञप्तिमा सुदन गुरुङको मनपरी र सरकारको लाचारीपनलाई मूल विषय बनाएर आन्दोलनको तयारी गरिएको जनाइएको छ । साथै, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरू र वास्तविक जेनजी कार्यकर्तालाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि प्रकट गरिएको छ । स्वतन्त्र जेनजी समूहले विदेशीको इशारामा सरकार चलिरहेको दाबी गर्दै, राष्ट्रिय स्वाभिमान र जनताको अधिकारका लागि निर्णायक संघर्षमा उत्रने चेतावनी दिएको छ ।

हेर्नुस् विज्ञप्ती

 

महराको थुनछेक वहस न्यायाधीश क्षेत्रीको इजलासमा

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आज (मंगलबार) थुनछेक बहस हुँदैछ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सुरुमा बकपत्र र त्यसपछि बहस हुनेछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो । सोमबार अभियोगपत्र साथ प्रहरीले एकै पटक अदालतमा बुझाइएको हो ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ । उनलाई यसअघि २०८० चैत ५ गते पनि कागज गराएको थियो । त्यतिबेलै धेरै विषय आइसकेको र थप प्रमाण प्रहरीले जुटाउन बाँकी नरहेकाले अभियोग पत्र तयार गरेर भोलिपल्टै लगिएको हो ।
०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याएको सुन भन्सारकै कर्मचारीले लगेका थिए ।

भन्सारले सुरुमा नियन्त्रणमा लिएपछि छुटाउनलाई चिनियाँसँग महरा बाबुछोराको मिलेमतो देखिएको प्रहरीले जनाएको छ । यो प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ । चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको मिलेमतो देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।

 

भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए । ‘भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो’, उनले भने, ‘संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी संघमा लगी मापन गर्दा सुन दुई हजार २५४.८६ ग्राम र चाँदी १० हजार ३५४.०७ ग्राम फेलापरेको छ ।’

सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ । त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताए । ‘बरामद भएको सुनचाँदीको परीक्षण भएपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिनको प्रक्रिया अघि बढ्नेछ’, उनले भने । राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनको भनाइ छ ।

 

लयमा फर्किदै सर्वोच्च, आजदेखि सबैखाले रिट दर्ता र सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले आज (मंगलबार) देखि सबैखाले रिट दर्ता तथा सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आक्रमणको निशानामा परेको सर्वोच्च विस्तारै लयमा फर्किन थालेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चको सेवा अवरुद्ध भएको थियो ।

आन्दोलनका क्रममा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु गर्न लागिएको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता गरी सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

यसअघि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएका थिए । सर्वोच्चको पुरानो भवन गत भदौ २४ गते भएको आगजनीमा पूर्णरूपमा ध्वस्त भएर बस्न नसक्ने भएपछि एनेक्स भवनमा अस्थायी संरचना तयार पारिएको छ । पाँच तल्लाको उक्त भवनको दोस्रो तल्लामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको कार्यकक्ष, मुख्य रजिस्ट्रार विमल पौडेलको कार्यकक्ष र दुई छुट्टा–छुट्टै कोठामा इजलास तयार पारिएको छ । त्यसैगरी, सोही भवनको चौथो तल्लामा अन्य न्यायाधीशहरू, रजिस्ट्रारहरू बस्ने व्यवस्था मिलाइएको छ ।

 

इजरायल सरकारले नै विपिनको शव नेपाल पठाइ दिने, अस्पतालमा ‘डिएनए’ परीक्षण हुँदै

काठमाडौं । हमासको अपहरणपछि मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत धनप्रसाद पण्डितले हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुने बताए । रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुने उनले जानकारी दिएका छन् । इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको उनले बताएका छन् ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए । त्यसपछि उनको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको हो ।

बालेनलाई हर्कको कटाक्ष : ‘किसानझैं फोहोर’ लेख्नुभन्दा हर्क साम्पाङझैं फोहोर लेख्नु नि !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ‘किसानझैं फोहोर’ लेखेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आलोचना गरेका छन् । माटोलाई फोहर ठान्नेविरुद्ध माटोको टीका लगाएर देश बचाउन आफू आएको उनले बताएका छन्। ‘किसानझैं फोहोर लेख्नुभन्दा बरू हर्क साम्पाङझैं फोहोर लेख्नु नि !’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माटोलाई फोहोर ठान्नेहरूविरुद्ध हामी आएका छौँ माटोको टीका लगाएर देश बचाउन !’

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिंदै

जनकपुरधमम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (मंगलबार) विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइ दिन पत्र पठाएका थिए । सोही अनुसार आज असोज २८ गते प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

गत भर्दा २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए । उनले त्यस दिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन् ।

बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । सो मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था आइलागेको हो ।

पूर्व सभामुख महरामाथि आज थुनछेक बहस

काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा आज (मंगलबार) पूर्व सभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस हुँदैछ । बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्नेछ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा महरालाई सीआईबीले आइतबार पक्राउ गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध आठ करोड ५५ लाख रूपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय मागदाबीसहित मुद्दा दर्ता गरेको छ । महरामाथि विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

यो प्रकरणमा उनका छोरा राहुल महरासहित अन्य व्यक्तिहरू पनि अभियोगित छन् । भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, कृष्ण बहादुर महराका छोरा राहुल र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो । पूर्व सभामुख महरा संलग्न रहेको भनिएको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।

इजरायली पूर्व राजदूत गोदारले फोटो शेयर गर्दै लेखे-विपिन देशको उज्यालो भविष्य थिए

काठमाडौं । नेपालका लागि इजरायलका पूर्व राजदूत हानान गोदारले हमासको आक्रमणमा मारिएका नेपाली युवा विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जालमार्फत गोदारले विपिनलाई ‘ऊर्जावान र क्षमतावान युवा’ भन्दै सधैं सम्झिरहने बताएका छन् ।

गोदारले ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी भएर इजरायल जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनलाई बिदाइ गर्दाको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘दुई वर्षको आशा आज अन्त्य भयो ।’

पूर्व राजदूत गोदारका अनुसार विपिन एक होनहार विद्यार्थी थिए जसले आफ्नो परिवार, समुदाय र देशका लागि केही उल्लेखनीय काम गर्ने सपना देखेका थिए । उनले थप लेखेका छन्, ‘उनी शान्तिको प्रतीक थिए । सधैं सम्झिरहनेछु ।’

यसअघि हमासको इजरायलस्थित किवुत्ज क्षेत्रमा भएको आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए भने विपिन जोशी वेपत्ता भएका थिए । हालै हमासले एक शव इजरायललाई हस्तान्तरण गरेको र त्यसैलाई विपिनको हुनसक्ने अनुमान गरिएको छ । डिएनए परीक्षणपछि मात्रै शव पुष्टि भई परिवारलाई हस्तान्तरण गरिने नेपाली राजदूतावास, इजरायलले जानकारी दिएको छ ।

जेनजी आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक हुँदै देउवा

काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा आक्रमण हुँदा घाइते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आज केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने भएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई पनि बोलाइएको छ ।

जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलो पटक बैठकमा सार्वजनिक हुन लागेको देउवा निकट नेताहरुले जनाएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकअघि आज ११ बजे कार्यसम्पादन समितिको बैठक पनि बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।

नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

काठमाडौँ । नेपालले कतारलाई जितको लागि १४८ रनको लक्ष्य दिएको छ । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलेको हो ।जसअन्तर्गत नेपालले कतारलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १४७ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले । रोहितले ४१ बलमा ५८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ मा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

बलिङमा कतारका डेनियल आर्चर मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान ३\३ विकेट लिए ।

कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

काठमाडौं । टी–२० विश्वकप छनोट  सुपर सिक्समा कतारविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।  उनले ३५ बलमा नै अर्धशतक पूरा गरेका हुन् ।

आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलिरहेको छ। टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १४ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १०५ रन बनाएको छ ।

दक्षिणी गाजा प्रस्थान गर्‍यो मृतकको शव लिन रेडक्रसको टोली

काठमाडौं । हमासको अपहरणमा परेर मारिएकाहरूको शव लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजातर्फ गएको छ  । हमासले ४ जनाको शव आजै इजरायललाई बुझाउनको बताएको छ ।

४ जनाको शव लिन रेडक्रसको टोली दक्षिणी गाजातर्फ प्रस्थान गरेको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सोमबार हमासले शव फिर्ता गर्ने ४ जना मृतकहरूको सूचीमा नेपालका विपिन जोशीको पनि नाम छ ।

हमासले विपिनको मृत्यु पुष्टि गरेकाले दक्षिणी गाजाबाट आजै रेडक्रसले इजरायल ल्याउने मृतकका शवहरूमध्ये उनको पनि हुनसक्ने अनुमान छ । तर, इजरायली सेनाले भने शव प्राप्त नभइसक्दासम्म मृतकबारे अड्कलबाजी नगर्न आग्रह गरेको छ  ।

इजरायली सेना र त्यहाँको गुप्तचर संस्था शिन बेट (शीन बेटले) ले संयुक्त विज्ञप्ति जारी गर्दै रेडक्रस प्रतिनिधि दक्षिणी गाजातर्फ प्रस्थान गरेको पुष्टि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रेड क्रसका प्रतिनिधि दक्षिण गाजातर्फ जाँदै छन्, जहाँ हमासले मृतकका शवहरू राखिएका कफिनहरू हस्तान्तरण गर्नेछ ।’

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव इजरायललाई बुझाउँदै

काठमाडौँ । हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,विपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । इजरायली सेनाका अनुसार, हमासद्वारा फिर्ता गरिँदै गरेका बन्धकहरूको शव संकलन गर्न रेड क्रस गाजातर्फ जाँदैछ।

आईडीएफ र इजरायली गुप्तचर संस्था शिन बेटले जारी गरेको संयुक्त वक्तव्यमा रेडक्रस गाजाको दक्षिणी क्षेत्रमा रहेको भेटघाट स्थलतर्फ जाँदैछ । यहाँ अपहरणमा परेका मृतक बन्धकहरूका केही शवहरू राखिएका कफिनहरू रेडक्रसलाई हस्तान्तरण गरिनेछ।

हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ ।

हमासले पछिल्लोपल्ट सन् ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा आक्रमण गरेको थियो ।उक्त आक्रमण सुरु गरेको दोस्रो दिन (७ अक्टोबर)भएको आक्रमणमा अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए ।

इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उनीहरू सबै गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए ।

आक्रमणको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो ।

हमासले बन्धक बनाएको एक महिनापछि (सन् २०२३ नोभेम्बर १७)विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेन्ड लामो उक्त भिडियोमा अन्तिमपल्ट देखिएका विपिन आज सोमबार जीवित नरहेको जानकारी इजरायली अधिकारीहरूले दिएका थिए।

 

 

पेस्तोलसहित देखिएका तेन्जिङलाई म्याद थपियो (तस्बिरहरू)

काठमाडौं। टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावालाई जिल्ला अदालत काठमाडौंबाट थप अनुसन्धानको लागि  म्याद थप गरेको छ ।  टिबेटियन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) लेखिएको ज्याकेट ज्याकेट लगाएर जेन-जी आन्दोलनमा उत्रिएका उनलाई आइतबार पक्राउ परिएको थियो ।

तिब्बती शरणार्थीले नेपालमा चीन विरोधी फ्री तिब्बत गतिविधि चर्काउन खोजेको शंकाबीच पेस्तोलसहित देखिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

टीओबीको टिसर्ट लगाउने तेन्जेनको घरबाट बरामद पेस्तोल ‘नक्कली’

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका युवकको घरबाट बरामद पेस्तोल नक्कली भएको खुलेको छ । बौद्धस्थित तेन्जिङ दावाको घरबाट बरामद पेस्तोल नक्कली भएको खुलेको काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

उनलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । तेन्जिङको ज्याकेटमा लेखिएको टीओबीको अर्थ ‘तिब्बतीयन ओरिजनल ब्लड’ रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । बिजुली बजार पुलमा अर्का एक जना युवकले दिएको पेस्तोल तेन्जिङले कम्मरमा भिरेर बाइक चलाउँदै हिँडेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ । भिडियोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ । पेस्तोल बोक्ने काठमाडौं ३० वर्षीय तेन्जेन दावामाथि अनुसन्धान गर्ने क्रममा उक्त कुरा खुलेको एक अनुसन्धान अधिकृतले बताए । ‘भाइरल भिडियो जेनजी आन्दोलनको नभएको पुष्टि भयो । उनले भिडियो खिचेको मिति र टिकटकमा पोस्ट भएको मिति दाँज्दा भिडियो पूरानो रहेको पाइयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकारीले भने ।

 

कांग्रेस महाधिवेशन माग गर्दै ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको १५ औँ महाधिवेशन मिति मंसिर मसान्तभित्र गर्न दबाब दिंदै ध्यानाकर्षण पत्र बुझाएका छन् । केन्द्रीय समिति बैठक बस्ने अघिल्लो दिन केन्द्रीय कार्यालयमा पुगेर मंसिरभित्र नियमित महाधिवेशन गर्ने कार्यातालिका ल्याउन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको ध्यानाकर्षण पत्र महाधिवेशन सुनिश्चित गर्न नसके कार्यसमिति विघटन गर्न माग गरेका छन् ।

ध्यानार्षणपत्रमा भनिएको छ, ‘१५ औँ महाधिवेशनको सुनिश्चितताका लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र कार्य योजना ल्याउन आग्रह गर्दछौँ । अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग गर्दछौँ ।’ १५ औँ महाधिवेशनका सम्बन्धमा विधिवत् र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह ९वडादेखि केन्द्रसम्म० युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम भएको उल्लेख छ । पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत् नियमित महाधिवेशन मात्रै भएकाले मिति तोक्न माग गरेका छन् ।

उनीहरूले निर्वाचन, संसद् पुनस्थापनालगायतको विषयमा पनि पार्टीको स्पष्ट धारणा तय गर्न माग गरेका छन् । कांग्रेस नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई र सरोज थापालगायत नेताहरूले शुक्रवार नयाँ बानेश्वरमा बसेको छलफलको निष्कर्षसहित आज केन्द्रीय कार्यालयमार्फत सभापतिको ध्यानाकर्षण गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘जेनजी विद्रोहको कारण देखाई जननिर्वाचित सरकारलाई विस्थापित गर्ने अराजनीतिक कार्य र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको कारण उत्पन्न राजनीतिक अस्थिरता र संवैधानिक शून्यतालाई चिर्दै वर्तमान संकटपूर्ण राजनीतिको वैधानिक निकास दिन नेपाली कांग्रेसले संसद्को सबैभन्दा ठुलो दल तथा संविधान र लोकतन्त्रको पहरेदार पार्टीको हैसियत कायम गरी संसद्वादी राजनीतिक दल, राजनीतिक संस्थाहरू, नागरिक समाजसँग संवाद र सहकार्यमा व्यवहारिक र वैधानिक राजनीतिक पहलकदमीको नेतृत्व गर्न नेपाली कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौ ।’

मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

जनकपुरधाम । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन् । मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले आज (सोमबार) पदबाट राजीनामा दिएकी हुन् । उनी लोसपाबाट मन्त्री बनेकी हुन् । मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्व सन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन् । यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ ।

यस्तै, सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत यसअघि नै समर्थन फिर्ता लिइसकेका छन् । जेन–जीको आन्दोलन चर्किंदै जाँदा २४ भदौमा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । तर, पछि उनले राजीनामा नदिने बताएका थिए । त्यसयता उनलाई स–सम्मान पद त्याग गर्न उनको आफ्नै दलले पनि पटकपटक आग्रह गरेको थियो । तर, उनले अस्वीकार गर्दै सदनबाट विश्वासको मत लिन लागेका हुन् । अहिलेसम्मको स्थितिमा उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन मात्र कायम छ ।

पूर्व सभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे आठ करोड बिगो दावी

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो । अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौैँमा मुद्दा दर्ता गरेको हो ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।

उनी यही विषयमा २०८० चैत ५ गते पनि पक्राउ परेका थिए । यसअघि पनि पक्राउ गरेकाले महराविरुद्धको अनुसन्धानका लागि धेरै समय नलाग्ने भन्दै मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यही विषयमा केही दिनअघि बयान लिएको थियो । ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका छन् ।

भेपमा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए । भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको अनुसन्धानबाट देखिएको छ । चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा उनीहरूलाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।

 

जिल्ला अदालत काठमाडौँमा कृष्ण महरा (तस्बिरहरू)

काठमाडौं ।  नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ। उनीविरुद्ध विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ।  उनलाई प्रहरीले माइक्रो बसमा राखेर अदालत पुर्‍याएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार पक्राउ गरेको थियो। अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।
जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिइन् । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा १० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको छ । डाइभर्सन र पहुँच मार्ग निर्माण आज साँझसम्ममा सम्पन्न गर्ने योजना रहेको सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले बताए ।
यही असोज १८ गतेको भारी वर्षापछिको बाढीले यहाँ गत असारमा निर्माण गरिएको बेलिब्रिज बगाएपछि यो सडकमा यातायात अवरुद्ध छ । यस सडकखण्डले इलाम सदरमुकामको तिल्केनीदेखि मेची राजमार्गको गोदक जोड्छ । यहाँबाट आजैदेखि साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले बताइन् । तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको थियो।
पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विगत १० दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या देखिएको छ । ‘तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सन निर्माण आइतबारदेखि नै सुरु गरिएको छ, आजदेखि नै यो सडकमा साना सवारी सञ्चालन गर्ने प्रयासमा छौँ’, सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख भट्टराईले भने ।
ठूला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताइन् । रामकुमार लिम्बू ÷ रासस

दुर्गा प्रसाईंले भने- सिंहदरबार जलाए, अब देश टुक्राउँदैछन्

काठमाडौँ । राष्ट्र,राष्ट्रियता, धर्म, सांस्कृतिक, नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय संयोजक दुर्गा प्रसाईं आज तामाझामसहित त्रिभुवन विमानस्थलमा उत्रिएका प्रसाईंले देश टुक्रिन लागेको बताए छन् ।

विमानस्थलमा समसामयिक राजनीतिक विषयमा  पत्रकारहरुसँग कुराकानी गर्दै प्रसाईँले नेत्ररोग विशेषज्ञ सन्दुक रुइतसहितमाथि गम्भीर आरोप लगाए । उनले देश टुक्रिन लागेको भन्दै जेन-जीका नाममा अराजकता मच्चाइएको बताए ।

मधेशमा डा. सीके राउत र सुदूरपश्चिममा अर्को समूहले देश टुक्राउने बल गरिरहेको बताए । उनले जेन-जीका नाममा देश टुक्राउनेहरूले सिंहदरबारदेखि कयौँ स्थानमा आगो लगाएको बताए ।

नेताको घरमा आगो लगाउनु एक ठाउँमा भए पनि सरकारी संरचना जलाउनु आपराधिक कार्य भएको बताए । उनले कयौँ नेपाली सञ्चारमाध्यमको नाम लिँदै सिंहदरबार जलाएपछि अब देश टुक्राउने अभियान थालिएको बताए ।

साथै उनका अनुसार डा. गोविन्द केसीलाई अनशनमा राख्न थालिएदेखि शिक्षा र स्वास्थ्य ध्वस्त पारिएको उनको आरोप छ ।

 

दुर्गा प्रसाईको दाबी : यो सरकार पनि धेरै टिक्दैन, चुनाव गराउन सक्दैन

काठमाडौं । गत भदौ २३–२४ गतेको आन्दोलनको ‘स्टेक होल्डर’ को रूपमा सेनासँग वार्ता गरेका दुर्गा प्रसाईंले वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका छन् । यो सरकारले चुनाव गराउन नसक्ने उनले बताएका छन् । आज (सोमबार) त्रिभुवन विमानस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले आगामी फागुन २१ गते कुनै हालतमा चुनाव हुन नसक्ने दाबी गरे । पश्चिमा शक्तिको डिजाइनमा बनेको सरकारले चुनाव गराउन नसक्ने उनको आरोप थियो ।

‘त्यो बेला जेनजीको हालिमुहाली थियो, सबै थाहा पाएको थिइनँ । अरु रक्तपात हुन्छ भनेपछि सेनासँग वार्ता गरेको हुँ’, प्रसाईंले भने, ‘तर, यो सरकार टिक्दै टिक्दैन, सरकारमा सत्यता छैन ।’ प्रसाईंले अब नयाँ चरणको आन्दोलन घोषणा गर्ने पनि बताएका छन् । ‘अबको लडाइँ पश्चिमा शक्ति र मेरो शक्तिबीच हुनेछ । गर्धन जाओस्, हिन्दु राष्ट्र कायम गराएर छाड्छु । आजै पशुपतिमा पूजा गरेर केही नयाँ घोषणा गर्दैछु’, उनले भने ।

पत्रकारको प्रश्नमा उनले पशुपतिनाथबाट एउटा महत्त्वपूर्ण घोषणा गर्न लागेको जानकारी दिए । ‘आज एउटा घोषणा गर्दैछौं,’ उनले भने, ‘सडकको सरकार घोषणा हुँदैछ । विस्तृत जानकारीका लागि पशुपतिमा आउनुहोस् ।’ यति भन्दै उनी पशुपतिनाथ मन्दिरतर्फ लागेका थिए।
उनले हिन्दु राष्ट्र स्थापनाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको र सडकको सरकार घोषणा गर्ने बताए । प्रसाईंले वर्तमान संविधानप्रति असन्तुष्टि जनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह निवास पुग्ने दिन आउने दाबी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरे ।

‘यो देशमा हिन्दु राष्ट्र, गर्दन जाओस्, कायम गराएर छाड्छु,’ प्रसाईले भने । उनले आफू प्रधानमन्त्री भएको भए २४ घण्टाभित्र ४०० जना भ्रष्टाचारीलाई कारबाही गरिसक्ने भन्दै कडा अभिव्यक्ति दिए । ‘राजा भनेको सबैलाई जोडेर राख्ने हो,’ उनले भने, ‘धर्म भनेको देशको संविधान जस्तै हो । हामीलाई यस्तो संविधान चाहिँदैन ।’ उनले वर्तमान संविधानले देशलाई केही नदिएको आरोप लगाउँदै अब नागरिकहरू पूर्वराजा ज्ञानेन्द्र शाह निवास निर्मल निवास पुग्ने दिन आउँदै गरेको दाबी गरे ।

 

माओवादीको ४० जिल्लामा जेनजी संगठन, यस्ता छन् पाँच एजेण्डा र कार्यदिशा

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र जेनरेशन जेड (जेनजी) नेताहरूले पार्टीभित्र गहिरिंदै गएको व्यक्तिवादी प्रवृत्तिको विरोध गर्दै ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेका छन् । यो टास्क फोर्सको नेतृत्व अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य स्मृति तिमल्सिना (निमल्सिना) ले गरिरहेकी छन् । टास्क फोर्स गठनसँगै उनीहरूले पाँच प्रमुख एजेण्डा अघि सारेका छन्–पार्टी सुदृढीकरणदेखि जनताको आवाज सुन्ने, नेतृत्वमा परिवर्तनको खाका कोर्ने, र कम्युनिस्ट एकताको दीर्घकालीन योजना तयार गर्नेसम्म ।

विरोधको ‘रेड मोडल’ : व्यक्तिवादविरुद्धको आन्दोलन
तिमल्सिनाले पार्टीभित्र चाकरी संस्कार र व्यक्तिवाद हाबी भएको गुनासो गर्दै भनिन्, ‘बरु पार्टी सकियोस्, तर पद छोड्न कोही तयार छैनन् । २० वर्ष नेतृत्व गरे पनि अन्त्यमा कांग्रेस–एमाले जस्तै हुने स्थिति आएको छ ।’ उनका अनुसार, नेताहरूको आलोचना गर्न समेत डर लाग्ने वातावरण बनेपछि रेड टास्क फोर्सको खाका तयार गरिएको हो।

४० जिल्लामा संरचना तयार, बाँकीमा तीव्र अभियान
हालसम्म ४० जिल्लामा टास्क फोर्सको संयोजक तोकिएको छ भने बाँकी जिल्लामा संरचना विस्तार तीव्र रूपमा भइरहेको छ । अभियानको मूल उद्देश्य भने जनस्तरमा पार्टीको पुनर्संरचना र नेतृत्वको वैचारिक पुनर्समीक्षा हो ।

पाँच बुँदे कार्यदिशा : ‘रेड टास्क’ को घोषणा
स्मृति तिमल्सिनाले टास्क फोर्सले प्रारम्भिक रूपमा पाँच वटा मुख्य काम गर्ने जानकारी दिएकी छन् ।
माओवादीले १७ हजार मारेको भन्ने ‘गलत भाष्य’ चिर्ने
यो कामका लागि आइटी सेल निर्माण गरिनेछ, जसले डिजिटल माध्यमबाट जनतालाई वास्तविकता बुझाउनेछ ।
गाउँ–गाउँमा ‘रेड टास्क पोस्ट’ बनाइने
जनताको आवाज सुन्ने केन्द्रको रूपमा टास्क पोस्ट सञ्चालन गरिनेछ ।
पार्टीको पुनः संरचना र सुधार
नेतृत्वको आलोचना गर्न सक्ने वातावरण बनाउँदै, संगठनलाई फेरि नव निर्माण गर्ने ।
फागुन २१ वा त्यसपछिको निर्वाचनमा बहुमतको रणनीति
शक्तिशाली संगठन विस्तारमार्फत निर्वाचन जित्ने तयारी ।
चिनियाँ मोडलअनुसार एकीकृत कम्युनिष्ट पार्टीको लक्ष्य
देशमा एक मात्रै बलियो कम्युनिष्ट पार्टी बनाउने दीर्घकालीन योजना ।

‘प्रचण्डको विकल्प अहिलेलाई छैन’
यद्यपि नेताविरुद्ध तीव्र आलोचना गर्दै आएको रेड टास्क फोर्सले पुनः एक कार्यकाल प्रचण्डलाई अध्यक्ष रहने समर्थन गर्ने निर्णय लिएको छ । तिमल्सिनाले भनिन्, ‘सुरुमा सुदन किराती वा सरल सहयात्री जस्ता नेताहरूको चर्चा थियो । तर, ९५ प्रतिशत कार्यकर्ताले प्रचण्डकै माग गरे ।’ उनका अनुसार, विशेष गरी गाउँ–गाउँमा अझै पनि प्रचण्डप्रति भावनात्मक आस्था कायम छ र तिनै कार्यकर्ताको चाहनालाई सम्मान गर्दै आफूहरूले एक कार्यकालको समर्थन गर्ने निर्णय लिएको जानकारी दिएकी छन् ।

पूर्व लडाकु र पीडित परिवारलाई पुनः समेट्ने योजना
पार्टीबाट बाहिरिएका पूर्व लडाकु, जनमुक्ति सेनाका सदस्य तथा शहीद परिवारहरूलाई पुनः पार्टीमा समेट्ने अभियान पनि रेड टास्क फोर्सको अर्को कार्यदिशा हुने बताइएको छ । संगठनमा वैचारिक र संगठनात्मक समेटावादलाई पुनस्र्थापना गर्ने प्रयास गरिनेछ ।

 

 

तिहारका लागि पाला बनाउन व्यस्त भक्तपुर तालाक्वका स्थानीय

काठमाडौँ । दशैं सकिसए सँगै नेपालीहरुको दोश्रो ठुलो चाड तिहार लागि सकेको छ । तिहार लागेसँगै यतिबेला भक्तपुर तालाक्वका स्थानीयहरू माटोका पाला बनाउन व्यस्त देखिन्छ ।

अन्य दिनको तुलनामा तिहारको समयमा माटोको दियो, पालको माग धेरै हुनेहुँदा उनीहरू व्यस्त देखिएका हुन ।

दीपावलीका लागि तिहारमा हरेक घर घरमा दियो बालिने हुँदा पनि माटोको पाला माग अन्य समयमा भन्दा तिहारमा बढी हुने स्थानीय विनोदकुमार प्रजापतिले जानकारी दिए । बजारमा हिजो आज विभिन्न इलेक्ट्रनिक बत्तीहरूको बिक्री वितरण बढदै गएपनि माटोको पालाको माग पनि उस्तै रहेको उनले जानकारी दिए ।

काठमाडौं, ललितपुर लगायत विभिन्न स्थानबाट तिहारमा पालाको माग हुने र सोही अनुसार पाला बनाउने गरेको उनको भनाइ छ । होलसेल मूल्य प्रतिगोटा दुई रुपैयाँ, साढे दुई रुपैयाँ र गुणस्तर अनुसार पालाको मूल्य फरक फरक हुने गरेको उनले जानकारी दिए ।

 

कांग्रेसमा विशेष महाधिवेशनको दबाब ‘बेजोड’ : ५१ प्रतिशतको हस्ताक्षरसहित प्रस्ताव तयार

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र नीतिगत परिवर्तनको मागसहित विशेष महाधिवेशनको माग तीव्र बनेको छ । पार्टीको ५१ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै प्रस्ताव तयार पारिएको छ । प्रस्ताव ढिलोमा भोलि बिहान पार्टी नेतृत्व समक्ष बुझाउने तयारी छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा देशभरबाट महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिएको हो । नेपाली कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित कारण खुलाएर माग गरेमा तीन महिनाभित्र सभापतिले विशेष महाधिवेशन बोलाउनु पर्छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । सो बैठकअघि हस्ताक्षर बुझाउने तयारी भएको नेताहरूले बताएका छन् । विशेष महाधिवेशन माग गर्दै प्रतिनिधिहरूले तयार पारेको प्रस्ताव ‘कभर लेटर’ सहित बुझाइनेछ ।

संस्थापन पक्षको दबाब, मात्र ६ जना पछि हटे
सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले हस्ताक्षर फिर्ता गराउन दबाब दिँदै आएको भए पनि हालसम्म जम्मा ६ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएका छन् । कैलालीका ४ जना, डडेल्धुरा र जाजरकोटका गरी ६ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।
कैलालीका यज्ञबहादुर महरा, ईश्वरी रावल, विदेशनी चौधरी र रमेश ताम्राकारले असोज २६ गते संयुक्त विज्ञप्ति जारी गर्दै आफूलाई झुक्याएर हस्ताक्षर गराइएको भन्दै फिर्ता लिएको घोषणा गरेका थिए । तर, नेताहरूका अनुसार विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्दा स्पष्टरूपमा जानकारी दिइएको थियो ।

मंसिरमा महाधिवेशन गर्ने कि वैशाखमा ?
महामन्त्रीद्वय थापा र शर्मा तथा नेता शेखर कोइराला मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन् । उनीहरूका अनुसार २०७८ साल मंसिरमा भएको १४औं महाधिवेशनपछि चार वर्षे कार्यकाल यसै मंसिरमा सकिँदैछ । तर, सभापति देउवा पक्ष मंसिरमा महाधिवेशन सम्भव नरहेको भन्दै वैशाखपछि मात्रै गर्नुपर्ने अडानमा छ । नेताहरूले देउवा पक्षले समयमै महाधिवेशन नगर्न खोजेपछि बाध्य भएर विशेष महाधिवेशन मागिएको बताएका छन् । उनीहरूको भनाइमा यो माग विधिसम्मत छ र पार्टीलाई अझ लोकतान्त्रिक बनाउने कदम हो ।

सभापति देउवाको भूमिकामाथि प्रश्न

भदौ २४ गते बूढानीलकण्ठ निवासमा भएको जेनजी आन्दोलनको क्रममा भएको प्रदर्शनपछि सभापति देउवा अझै सार्वजनिक रूपमा देखिएका छैनन्। उनी कार्यसम्पादन समिति तथा पदाधिकारी बैठकमा अनुपस्थित रहँदै आएका छन् । तर, सोमबारको केन्द्रीय समिति बैठकमा भने उनको उपस्थिति अपेक्षित गरिएको छ ।

पार्टीभित्र जेनजी पुस्ताको सक्रिय आन्दोलनले नेतृत्व फेरबदल र नीतिगत सुधारको माग बलियो बनाउँदै लगेको छ । विशेष महाधिवेशनको माग पनि सोही निरन्तरताको परिणामका रूपमा आएको विश्लेषण गरिन्छ । कांग्रेसभित्र नेतृत्व र समयमै महाधिवेशन नगर्ने अडानविरुद्ध आन्तरिक असन्तोष उच्च बिन्दुमा पुगेको छ । ५१ प्रतिशत बढी प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशनको माग विधिसम्मत रूपमा अगाडि बढाइएको छ । अब नेतृत्वले यो मागलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ ।

 

कोरियाका राजदूतसँगै उर्जादेखि रेलमार्ग निर्माणका विषयमा मन्त्री घिसिङको छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाका तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा मन्त्री घिसिङले नेपाल र कोरियाबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै ऊर्जा सन्तुलन र विद्युत् निर्यातका लागि ठूला जलाशयुक्त जलविद्युत् आवश्यक रहेकाले ५०० मेगावाटभन्दा ठूला त्यस्ता आयोजनामा सहयोग गर्नु आग्रह गरे । उनले दुई देशको सरकारी तहबाट साझेदारीमा या कोरियन निजी कम्पनीको लगानी र कोरियामा सफल रहेका एवं नेपालमा प्रचुर सम्भावना रहेका हरित हाइड्रोजनको उत्पादनलाई नमूना परियोजनाका रूपमा विकास गरी यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।

रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन एवं कोरिया जानुपूर्व सीप विकास तालिम र फर्किएपछि त्यहाँ हासिल सीपलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलतामार्फत रोजगारी सिर्जनाका लागि सहयोग गर्न मन्त्री घिसिङले आग्रह गरे । उनले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन आयात–निर्यात (एक्जिम) बैङ्कमार्फत प्राप्त हुने सहायतालाई चाँडो टुङ्ग्याउन, रेलमार्ग निर्माण, सञ्चालन र मर्मतको क्षमता विस्तारलयागतमा आवश्यक सहयोग गर्न आग्रह गर्ने ।

भेटमा कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिका विषयमा राजदूत पार्कले मन्त्री घिसिङलाई जानकारी गराएका थिए । आयोजनाको निर्माण प्रगति झण्डै ७० प्रतिशत रहेको र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने (ब्रेक थ्रु) तयारी भइरहेकाले उक्त समारोहमा सहभागिता जनाइदिन र हालसम्म आयोजना अगाडि बढाउन सरकार र नेपाल विद्युत् प्राधिकरणका तर्फबाट गरिएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

कोरियाले नेपालको ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य सहयोग गरिरहेको कोरियाली कम्पनीलाई आकर्षित गर्न निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँगको सहकार्यमा नेपालमा सेमिनार गर्न लागिएको जानकारी गराउनाका साथै राजदूत पार्कले प्रसारण लाइन निर्माणमा सहायता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको उल्लेख गरे ।
रासस

बालेन र सुदनलाई ‘छाड्न नहुने’ नेविसंघको ठहर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुदन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन् । जेनजी आन्दोलन र पछिल्लो परिस्थितिबारे धारणा सार्वजनिक गर्न नेविसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा शेर्पाले सिंहदरबार जलाउनु पर्छ भन्ने बालेनलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘सिंहदरवार जलाउनु पर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ । ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने ? सुदन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन् । अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले कन्ट्रोल गर्दैन भने त्यसको जिम्मा नेविसंघले लिन्छ ।’

उनले भदौ २३ गतेको आन्दोलनमा अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरूलाई कारबाही गर्न माग पनि गरेका थिए । त्यस्तै, उनले २०४६ साल पछाडि सार्वजनिक पदमा बसेको मान्छेको सम्पत्ति छानबिन हुनुपर्ने प्रस्ताव पनि ल्याए । पार्टीभित्र पनि वडादेखि केन्द्रसम्मका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनको माग छ । उनले घटनाको निष्पक्ष छानबिन गर्नको लागि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन हुनुपर्ने बताए ।

 

 

काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण

काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो ।वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेकोे मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।

उनले भने, ‘वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाब कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।’ काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो ।

दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौँ उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए । उनले भने, ‘मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन-तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।’

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ । बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रुपमा छ देखि सात करोड लिटर पानी स्थान्तरण गरेर काठमाडौँमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए । उनका अनुसार विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको हो । सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि काठमाडौँमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन ।