`

नेपाल सुन्दर छ, विपदको जोखिम पनि उच्च छ : गृहमन्त्री अर्याल

ललितपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरता विना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उहाँले सरकार सबैको समन्वय, सहकार्य र सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री अर्यालले भने, ‘नेपाल विपद् संवेदनशील क्षेत्रमा रहेको छ, भौगोलिक रूपमा सुन्दरका साथै त्यतिकै विपद्को उच्च जोखिममा पनि छ, हालै भएको विपद्का कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको छ, यसका कारण विकासको गति समेत अवरुद्ध हुँदै आएको तथ्य हामीसामु छ, विगतका ठूला भूकम्प र बाढी पहिरोले हामीलाई विपद् जोखिम न्यूनीकरणका लागि व्यवस्थाको महत्त्वको आवश्यकता महसुस गराउँदै आएको छ, सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।’
गृहमन्त्री अर्यालले विपद्लाई प्रकृतिमा मात्रै नभई सामाजिक, संरचनात्मक एवं नीतिगत कमजोरीसँग पनि तुलना गर्नुपर्ने बताए । उनले केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका लागि थुप्रै संयन्त्र क्रियाशील छन् ती सबै निकाय जिम्मेवार हुनुपर्ने बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक दिनेश भट्टले विपद् व्यवस्थापनका क्षेत्रमा सरकारले गर्ने कामलाई प्रभावकारी र विश्वसनीय आवश्यक रहेको बताए । उनले पछिल्लो समय प्राकृतिक विपद् बढ्दै गएकाले त्यसलाई रोक्नका लागि विकास निर्माणका कार्यलाई विपद् व्यवस्थापनका अवधारणालाई ध्यान दिएर अगाडि बढाउनु पर्नेमा जोड दिए ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले विपद्सम्बन्धी पूर्वसूचना, समुदायमा आधारित समाधानका लागि असल अभ्यासको आदानप्रदान, लैङ्गिकमैत्री समाधानका लागि यो सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे । इसिमोडका महानिर्देशक डाक्टर पेमा ग्माम्त्सोले यस सम्मेलन विपद् जोखिम व्यवस्थापनका सन्दर्भमा महत्वपूर्ण प्रविधिको उपयोगका लागि चेताना अभिवृद्धि, स्रोतको व्यवस्थापनका साथै परिचालनका विषयमा जानकारी र विपद् पूर्वतयारीका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गर्नुपर्ने बताए ।
रोशनकुमारी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनले मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका लागि विपद् जोखिमको आंकलन र जोखिम न्यूनीकरणमा ज्ञान, सीप र दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । सम्मेलनले नीतिनिर्माता, अभ्यासकर्ता, विकास साझेदार, शिक्षाविद्, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिहरू र सामुदायिक नेताहरूका लागि अनुभवहरू साझा गर्न, नवीन अभ्यासहरू र नेपाल  बाहिरका विपद् जोखिम व्यवस्थापनबाट सिकेका पाठहरू साझा गर्न नेपालको प्रमुख प्लेटफर्मका रूपमा काम गर्ने जानकारी गराइएको छ । आजदेखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ ।

पुराना दल चुनाव बहिष्कारतिर लागे परिस्थिति भयावह हुनसक्छ : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसद विघटनप्रतिको आपत्ति वा संसद् पुनस्र्थापनाको मुद्दातिर पुराना दल लागेमा स्वयं दलका लागि प्रत्युत्पादक हुने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदनमा जेनजी विद्रोहपछि मतदाता मनोविज्ञान, नागरिक भावना र समाजको शक्ति संरचनामा व्यापक परिवर्तन आइसकेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रहका कारण कदाचित् पुराना दलहरूले नयाँ निर्वाचनमा भाग लिएनन् वा अवरोध उत्पन्न गरे झन् परिस्थिति भयावह हुनसक्छ त्यसैले पनि अब प्रक्रिया रोकिनु हुँदैन । बरु यस मौकामा पुराना दलहरूले आजसम्मका गल्तीका लागि गम्भीर आत्मसमीक्षा र श्वेतपत्र जारी गरी नागरिकसँग माफी माग्नु पर्दछ र निर्वाचनमा भाग नलिने भुल गर्नु हुँदैन ।’

उनले सरकारलाई फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ट म्यान्डेट तोकिएको उल्लेख गरेका छन् । प्रस्तावमा भनिएको छ, ‘प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति पत्रमै ‘निर्वाचन सम्पन्न गर्ने गरी’ भनेर सरकारको प्राथमिकता किटान गरिएको छ । राजनीतिक दललगायत सरोकारवाला सबै पक्षसँग समन्वय गर्दै चुनावको वातावरण बनाउनु यो सरकारको पहिलो कार्यभार हुनुपर्ने हो ।’

सरकार गठन भएको एक महिना पुग्न लाग्दा राजनीतिक पार्टीहरूसँग समन्वयको आवश्यकता महसुस नगरेकी प्रम कार्की ताजा जनादेश प्राप्त पूर्णकालीन आरामदायी सरकारझै नियमित प्रशासनिक काममै व्यस्त देखिएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘यसअघिका सरकारहरूले जस्तै नियुक्ति र सरुवा, बढुवालाई प्राथमिकता बनाएको देखिँदैछ । यस परिस्थितिमा सरकारलाई हामीले स्मरण गराउनु पर्दछ कि यो सरकार क्रान्तिको बलमा, विगतका सरकारले मात्र होइन कि सम्पूर्ण राज्यले गरेका गल्ती सच्याउने दिशा तय गर्न, परिवर्तनको निम्ति निर्माण भएको अन्तरिम सरकार हो ।’

 

विपिनका दाइ किशोर भन्छन्–हमासले छाड्ने अझै बाँकी छन्, भाइ आउँछ भन्ने आशा छ

कञ्चनपुर । इजरायल र हमासबीच युद्धविरामपछि आजदेखि बन्दीहरु रिहाइ गर्ने काम सुरु भइरहेको छ । तर रिहाइ हुने बन्दीमा कञ्चनपुरका विपिन जोशीको नाम भने छैन । रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभए पनि उनको परिवार भने आशावादी रहेको छ ।

‘आज छुट्ने नामावलीमा नाम छैन भनेर हामीलाई जानकारी आएको छ तर अन्तिम अवस्थासम्म पनि हामी भने पूर्ण आशावादी छौं,’ विपिनका दाइ किशोर जोशीले भने, ‘आज २० जना रिहाइ भइरहेका छन्, सबै रिहाइ हुन बाँकी छ, त्यति निराश भइहाल्नु पर्ने ठाउँ छैन ।’

हमासले बन्धकहरु छोड्न अझै पनि बाँकी रहेकाले अहिले नै आश मार्न नसकिने दाजु किशोर बताउँछन् । ‘युद्धविराम क्रममा आज बन्धकहरु रिहा भइरहेका छन् । बिहान इजरायलसँग पनि कुरा भयो हमासले आधिकारिक रुपमा छोड्नेमा अझै मान्छेहरु बाँकी छन्,’ दाजु किशोरले कञ्चनपुरस्थित निवासमा भने, ‘त्यसैले हामीलाई अझै आशा बाँकी छ । भाइ आउँछ भन्ने आशा छ । निराश हुनुपर्ने ठाउँ छैन ।’

उनका अनुसार सोमबार बिहान इजरायलको युद्धबन्दी सम्बन्धी मामिला हेर्ने एक कर्मचारीले उनलाई फोन सम्पर्क गरेका थिए । उनले नै रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभएको जानकारी दिएका थिए । ‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा विपिन जीवित नरहेको खबर आइरहेको छ, यसले हामीलाई पीडा दिइरहेको छ,’ उनले भने, ‘मलाई पूर्ण विश्वास भाइ ठीक छ ।’

दुई वर्षअघि अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विपिन इजरायल पुगेका थिए । हमास समूहको आक्रमणमा पनि १० जना विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जना अपहरणमा परेका थिए । हमासले बन्धक बनाएकामध्ये विपिन छुट्न बाँकी ४८ मध्ये विपिन एक्ला विदेशी नागरिक हुन् । विपिनको रिहाइका लागि पहल गर्न आमा पद्मा र बहिनी पुष्पा हाल अमेरिकामा छन् । यसअघि उनीहरु साउन अन्तिम साता इजरायल समेत गएका थिए ।

नेविसंघले खोज्यो ४० प्रतिशत युवाको हिस्सा : चुनावअघि कांग्रेसको नियमित महाधिवेशन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावअघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने बताएको छ । २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले नियमित महाधिवेशन गरे मंसिरभित्रै गर्नुपर्छ । असोज २५ मा बसेको नेविसंघ केन्द्रीय समितिको बैठकले फागुन २१ को चुनावअघि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने निर्णय गरेको हो ।

‘वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ, यस सन्दर्भमा पार्टीभित्र जारी रूपान्तरणको आन्तरिक बहसलाई संघले सकारात्मक लिएको छ, तसर्थ निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले निर्वाचन अगावै नियमित महाधिवेशन सम्पन्न गरी निर्वाचनमा भाग लिनु उपयुक्त हुने विषय मातृ पार्टीलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरियो,’ अध्यक्ष दुजाङ शेर्पाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले जेनजीले उठाएको मागलाई अब संस्थागत रूपमा उठाउने पनि बताएका छन् । राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसददेखि स्थानीय तहसम्म ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने माग अघि सारेको छ ।

नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि आवश्यक छानबिन गरी कारबाहीको माग गरेको छ । जेनजी पुस्ताको आन्दोलन घुसपैठ गर्ने, विभिन्न माध्यमबाट हिंसा भड्काउने गरी मेयर शाहलगायतले टिप्पणी गरेकोले छानबिन आवश्यक परेको नेविसंघको भनाइ छ । जेनजी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुजाङ शेर्पाले पार्टी सभापति देउवा र पत्नी आरजु राणामाथि सुनियोजित रूपमा हमला गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

हेर्नुस् विज्ञप्ती

दलहरु बिना निर्वाचन सफल हुँदैन : उपेन्द्र यादव

मोरङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनु पर्ने बताएका छन् । पार्टीको कोशी प्रदेश समितिको आजदेखि यहाँ सुरु भएको दुई दिने एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले दलहरुको सहभागिता बिना निर्वाचन सफल हुन नसक्ने भएकाले सरकारले अविलम्ब दलहरुसँग बैठक एवं वार्ता गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले संविधानको पुनःलेखन गरी शासकीय स्वरुपमा संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा मात्र मुलुकमा राजनीतिक स्थायित्व एवं विकास सम्भव हुने धारणा राखे । उनले विगतको दुई तिहाइ सरकारको कुशासनका कारण मुलुक गरिबीतर्फ गएकाले जेन–जीको आन्दोलनले सरकार दुई दिनमा ढलेको स्मरण गराए ।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङले जेन–जीको आन्दोलनले भ्रष्टाचारलाई किनारा लगाएको चर्चा गर्दै आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न जनता समक्ष जानुपर्ने बताए । पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्याको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री जयराज यादव, पार्टीका सचिवद्वय लाक्पा शर्मा र राजकुमार राई, नेता अर्जुन थापा, सञ्जय सिंहलगायतले जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध एवं जनताको हकअधिकार स्थापित गर्न भएको विचार राखे । एकताको अधिवेशनमा प्रदेशका १४ जिल्ला समितिका पदाधिकारी एवं विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको छ ।

जडीबुटीमा टिपरको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गए राति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

इजरायल पुगे ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल अवतरण गरेका छन् । सोमबार हमासले इजरायली बन्धक रिहा गर्न थालेको र गाजामा युद्धविराम सम्झौता भएको केही दिनपछि उनी त्यहाँ पुगेका हुन् । बेन–गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि एयर फोर्स वनले तेल अभिभको होस्टेज स्क्वायरमाथि उडान ग¥यो, जहाँ दशौं हजार मानिस भेला थिए ।

यो पहिलो साता बन्धक गाजाबाट इजरायल फर्किएपछि र इजरायलीहरूलाई समर्थनको सन्देश दिन गरिएको थियो । ट्रम्पलाई स्वागत गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र राष्ट्रपति हर्जोग टार्माकमा उपस्थित थिए । ट्रम्पका ज्वाइँ जारेड कुशनर, छोरी इभान्का र अमेरिकी मध्य पूर्व राजदूत स्टिभ विटकफ पनि उपस्थित भए ।

ट्रम्पले सोमबार इजरायलको संसदलाई सम्बोधन गर्नेछन्। इजरायलका राष्ट्रपति इसहाक हर्जोगका अनुसार यस वर्षको अन्त्यमा उनलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिनेछ । ‘युद्ध समाप्त भएको छ,’ ट्रम्पले आइतबार वाशिंगटनबाट इजरायल उडान गर्दा एयर फोर्स वनमा पत्रकारहरूलाई भनेका थिए । उनी त्यसपछि ट्रम्प इजिप्ट जानेछन्, जहाँ इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग शर्म अल–शेखमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् ।

 

राष्ट्रियसभामा ‘जेनजी’ को प्रतिनिधित्व गराउने विषयमा प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभामा ‘जेनजी’ को प्रतिनिधित्व गराउने विषयमा चासो राखेकी छन् । आइतबार (असोज २६) उनले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा यस्तो जिज्ञासा राखेकी हुन् । प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभामा जेनजीका विषयमा पनि छलफल भएको अध्यक्ष दाहालले बताएका छन् । राष्ट्रियसभामा आउँदो फागुन २१ गतेदेखि १८ सदस्यको पदावधि सकिँदै छ । रिक्त पदमा निर्वाचन गराउने विषयमा उनले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका थिए ।

त्यस सन्दर्भमा जल्दोबल्दो शक्तिका रूपमा उदाएको जेनजीलाई पनि समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेकी थिइन् । अध्यक्ष दाहालले राष्ट्रियसभा सदस्यको चुनाव आउँदो माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत रहेको पनि बताए । राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यको पदावधि सकिँदैछ । रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका हुन् । त्यसक्रममा कार्कीले जेनजीको प्रतिनिधित्वको विषयमा चासो राखेको अध्यक्ष दाहालले बताए ।

‘छलफलमा जल्दोबल्दो शक्तिको रूपमा उदाएको जेनजीलाई पनि राष्ट्रियसभामा समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभयो,’ अध्यक्ष दाहालले भने, ‘राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत देखिनु भएको छ ।’

‘फागुन २० गते राष्ट्रिय सभाका १८ सदस्यको पदावधि सकिन्छ । त्यसको लागि निर्वाचन गर्ने विषयमा छलफल भयो । दुई दिन अगाडि मैले निर्वाचन आयुक्तसँग पनि यस विषयमा छलफल गरेको थिएँ,’ दाहालले भने, ‘निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्ने भनेर डिसिजन गरिसकेको छ । उनीहरुले आफ्नो कार्यतालिकामा राष्ट्रिय सभाको निर्वाचनलाई पनि राखिसकेका छन् ।’

अब सरकारसँग समन्वय गरेर अघि बढ्ने विषयमा प्रधानमन्त्री कार्कीसँग छलफल भएको उनले बताए । ‘उहाँसँग जेनजीको प्रतिनिधित्व गर्ने सन्दर्भमा पनि कुरा भयो,’ दाहालले भने, ‘जेनजीको पनि जल्दोबल्दो कुरा छ । अब भोट हाल्ने स्थानीय तहका प्रमुख र उपप्रमुख अनि प्रदेश सभाका माननीयहरूले हाे। राजनीतिक सहमति गर्न सकियो भने हुन्छ भन्नेसम्मको सुझाव मैले दिएको छु । त्यसका लागि सरकारले राजनीतिक सहमती गर्नुप¥यो दलहरुसँग। किनभने भोटर नै चेन्ज गर्न त सकिँदैन ।’ प्रधानमन्त्री कार्की राष्ट्रिय सभालाई छठपछि सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको उनले बताए ।

‘सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हललाई राष्ट्रिय सभाको बैठक कक्ष बनाउन सकिने प्रस्ताव मैले राखेको छु,’ उनले भने, ‘त्यो तयारी अघि बढाउने विषयमा पनि मुख्य सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।’ राष्ट्रिय सभालाई कसरी सञ्चालन कसरी गर्ने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको दाहालले बताए ।

‘राष्ट्रिय सभा एउटा वैधानिक संस्था, जसले ऐन, कानून लगायतका अरु विषय अथवा जनताको सवाल बोल्ने गर्छ । यो सभालाई व्यवस्थित गरेर लैजानुपर्छ भन्नेमा उहाँ (प्रधानमन्त्री) हुनुहुन्छ,’ दाहालले भने । उनले सरकारले चाह्यो भने राष्ट्रिय सभाले संवैधानिक प्रक्रियाभित्र रहेर गर्ने सहयोग गर्न आफूहरू तयार रहेको बताए । ‘सरकारले चाह्यो भने कुनै पनि प्रकारको कानूनी प्रक्रिया, संवैधानिक ढंगले अघि बढ्ने कुरा, संविधानको दायराभित्र रहेर गर्ने कुरामा हामी तयार छौँ,’ उनले भने । अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष सभाका उपाध्यक्ष विमला घिमिरेलाई निवासको उचित व्यवस्था गरिदिन पनि आग्रह गरेको बताए । जेनजी आन्दोलनको क्रममा उपाध्यक्ष घिमिरेको सरकारी निवास पनि आगजनी भएको थियो ।

वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं ल्याइयो

काठमाडौं। वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो ।

वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।

उनले भने, ‘वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाव कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।’

काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो ।

दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौँ उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए।

उनले भने, ‘मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन-तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।’

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ ।

बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रुपमा छ देखि सात करोड लिटर पानी स्थानान्तरण गरेर काठमाडौँमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए।

उनका अनुसार विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको हो ।

सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि काठमाडौँमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन ।

विपिनका आफन्त भन्छन्–हामी अझै आशामा छौं

महेन्द्रनगर । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ । उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बताए ।

‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इसरायलबाट भनिएको छ’, जोशीले भने, ‘अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन ।’ जोशीका अनुसार इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको बताए ।

विपिनको नाम जीवित बन्दको सूचीमा नरहेको समाचारहरू प्रकाशित भइरहेका बेला विपिनको परिवारजनले भने अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ । दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०० भन्दा बढी बन्धक यसअघि नै छाडेको थियो । विपिनको सकुशल रिहाइका लागि उहाँको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन् । विपिनका आमा र बहिनी उहाँको खोजी कार्यमा पहलकदमी गरिदिन गुहार माग्न अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन् ।

अनलाइनबाटै जलेका कागजात पुनः प्राप्त गर्न सकिने

काठमाडौं । गत भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरुको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने जनाइएको छ । आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायतका महत्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’ मा क्लिक गरी फारम भर्न सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । निवेदन सबमिट भएपछि आवेदन नम्बर आउँछ । पछि चेक एप्लिकेसनमा उक्त नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिस पत्र सेवाग्राहीले प्राप्त गर्छन् ।

उनले भने, ‘क्युआर कोडको सिफारिस पत्रसहित सम्बन्धित यातायात कार्यालयमा सेवाग्राहीले जानुपर्ने हुन्छ । यसबाट सेवाग्राहीको समयको बचत हुनुको साथै ट्राफिक प्रहरी कार्यालयमा कामको चाप कम हुन जान्छ ।’ साथै कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिस पत्रका आधारमा हाललाई सवारीसाधन सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताए । उनले भने, ‘सवारीचालक अनुमतिपत्र नभए पनि, यदि ट्राफिक प्रहरीले पहिले काटेको २४ घण्टे पुर्जी वा कुनै प्रमाण रहेको छ भने सोहीलाई आधार मानेर सवारी चलाउन दिइनेछ ।’

अन्तरिम सरकार कम्पास हराएको जहाज जस्तो : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले अन्तरिम सरकार कम्पास हराएको जहाज जस्तो दिशाहीन देखिएको टिप्पणी गरेका छन् । ‘संविधानमा व्यवस्था नभए पनि चुनाव गराउने एक मात्र कार्यादेशसहित एक महिनाअघि बनेको अन्तरिम सरकार यसबिचमा कम्पास हराएको जहाज जस्तो दिशाहीन देखिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न राजनीतिक दलहरूसँग संवाद न शान्ति–सुव्यवस्थाको प्रत्याभूतिले सरकार केका लागि र किन बनाइएको रहेछ भन्ने थप रहस्य सिर्जना गरेको छ ।’

राजनीतिक दलका नेताहरूलाई आतङ्कित बनाउने, भागेका अपराधीलाई निर्बाध उन्मुक्ति दिने, प्रहरीका लुटिएका ९ सय हतियारको खोजी नगर्ने भन्दै उनले सरकारको आलोचना गरेका छन् । ‘सरकारी संरचना जलाउने अपराधीहरूलाई छुट दिने, नियुक्ति–सरुवा–बढुवा, विदेश भ्रमण आदिमा रमाउने जस्ता कामले नागरिकमा थप आशंका र अन्योल मात्र बढाएको छ,’ उनले लेखेका छन्, ‘राजनीतिक अपरिपक्वताबाट ग्रस्त पूर्वाग्रही सरकारले चुनाव गराउन सक्दैन भन्ने सन्देश दिएको छ ।’

काठमाडौं गौरीघाटमा महिलाको हत्या

काठमाडौं । काठमाडौं गौरीघाटमा एक महिलाको हत्या भएको छ । आइतबार दिउँसो काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको शव फेला परेको हो । संखुवासभा खाँदबारी नगरपालिका–६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा उनका श्रीमान हुन् ।

आइतबार बिमला कोठामा मृत फेला परेकी थिइन् । मृत फेला परेको खबरपछि प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो । प्रहरीले तेन्जिङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुई जनाबीच विवाद भएको खुलेको छ । त्यसक्रममा झगडा हुँदा तेन्जिङले बिमलामाथि कुटपिट र ढुंगा समेत प्रहार गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हमासले छाड्यो सात बन्धक, विपिनको स्थिति अज्ञात

काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धकहरु रिहा गर्न थालेको छ । हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकमध्ये पहिलो चरणमा सात बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रस समक्ष हस्तान्तरण गरेको इजरायली अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । उनीहरुलाई हमास लडाकुहरुले उत्तरी गाजाबाट रिहा गरेका हुन्।

यससँगै बन्धकको रिहाइका लागि तेल अभिभको होस्टेज स्क्वायरमा पर्खिरहेका हजारौं नागरिकले खुशीयाली मनाउन थालेका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले हमास र इजरायलबीचको सहमतिअनुसार बन्धकहरुलाई विभिन्न चरणमा रिहाइ गरिने जनाएको छ । दुई वर्षभन्दा लामो संघर्षपछि हुने यो रिहाइलाई शान्ति र आशाको संकेतका रूपमा हेरिएको छ ।

इजरायली अधिकारीका अनुसार बन्धकहरूलाई तीन चरणमा रिहा गरिनेछ । यीमध्ये धेरैजसो बन्धकहरू इजरायली नागरिक हुन्, तर केही विदेशी नागरिक पनि छन् । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने सूचीमा छैनन् । सीएनएन लगायत अन्तर्राष्ट्रिय संचार संस्थाले प्रकाशित गरेका समाचारमा विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको उल्लेख गरेका छन् । इजरायलस्थित नेपाली अधिकारीहरूले पनि विपिन जोशीको अवस्थाबारे अझै अनिश्चितता रहेको जनाएका छन् ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजै इजरायल पुग्दैछन् । उनले बन्धकका परिवारसँग भेट गर्ने, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग छलफल गर्ने र त्यसपछि गाजा संकटका विषयमा इजिप्टमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । हमासद्वारा बन्धकहरूको रिहाइ शान्ति प्रक्रियाको निर्णायक कदमको रूपमा हेरिएको छ । तर विपिन जोशीसहितका अन्य बेपत्ता व्यक्तिहरूको अवस्था अझै अनिश्चित रहँदा, परिवार र आफन्तहरू अझै पनि प्रतीक्षामा छन् ।
यी मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ । गत साल एआईको थियो ।’ आफूले भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनको भनाइ छ ।

 

राष्ट्रिय सभा अध्यक्ष दाहाल स्विट्जरल्याण्ड जाने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल स्विट्जरल्याण्डको जेनेभा जाने भएका छन् । अन्तर व्यवस्थापिका मञ्चको १५१ औं भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन् । उनले यसै प्रयोजनका लागि आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका थिए । उनले आफ्नो प्रधानमन्त्रीसँगको भेट नियमित जस्तै रहेको र तीन पटक भेटिसकेको जानकारी दिए । भेटमा संघीय संसदको नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको उनको भनाइ छ ।

उनले भने, ‘यो नियमित जस्तै पनि हाे। मैले दुई–तीन पटक भेटिसकेको छु । १७ तारिखको (असोज ३१ गते) म जेनेभा जाँदैछु । अन्तर व्यवस्थापिका मञ्चको १५१ औं भेला छ । त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु । त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो । जानकारी दिनु थियो । त्यसका मूल विषयहरू यसरी सोचेका छु भनेर मौखिक रूपमा विषयवस्तु जानकारी गराएको छु । मानवीय मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ । गत साल एआईको थियो ।’ आफूले भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनको भनाइ छ ।

बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु, चार जनाको उद्धार

रौतहट । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका–८ कि १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो।
सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेको बताइएको छ । डुबेकामध्ये चार जनाको स्थानीयले उद्धार गरेका थिए । मृत्यु भएका तीन जनाको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरी निकालेको छ ।

इजरायली अधिकारीहरुले भने–विपिन जोशी जीवित छैनन्

काठमाडौं । इजराइली डिफेन्स फोर्स (आइडिएफ) ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको छ । केहीबेर अघि विपिनको परिवार तथा इजरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इजरायली सरकारले यो जानकारी दिएको इजराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जनाएका छन् ।

‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,’ राजदूत धनप्रसाद पण्डितले सुनाए, ‘परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ ।’ राजदूत पण्डितका अनुसार इजरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जीवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन् । मृतकमध्ये केहीको शव भेटिएको छैन ।

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट जोडिएका थिए । परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित र इजराइली डिफेन्स फोर्सका अधिकारी उक्त भिडिओ कुराकानीमा सहभागी थिए । परराष्ट्र मन्त्रालयले भने इजरायलको आइडिएफले पनि आंकलन मात्र गरेको हुन सक्ने बताएको छ ।

‘आइडिएफको पनि आंकलन मात्र हो । अझै यो मान्छे, त्यो मान्छे भन्ने अवस्था छैन, विगतमा आइडिएफले भनेका मानिसहरुबारे पनि फरक विवरण आएको थियो’, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘अन्तिम घडीसम्म हामी उहाँ सकुशल रिहा हुनुहुन्छ भन्नेमा उत्साही र आशावादी छौं ।’ हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो । उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो ।

भदौ २४ को घटना : आकस्मिक दङ्गा कि पूर्व नियोजित विद्रोह ?

काठमाडौं । भदौ २४ मा नेपालभरि भएका आगजनीका घटनाहरू आकस्मिक प्रतिक्रिया नभई एक गम्भीर रूपमा समन्वित र पूर्व नियोजित अभियान भएको न्यूयोर्क टाइम्सको हालै प्रकाशित अनुसन्धानले प्रमाण प्रस्तुत गरेको छ । देशको प्रशासनिक केन्द्रमा गरिएको यस हमलाले संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार लगायत सयौं सरकारी र निजी संरचनाहरू ध्वस्त बनायो ।

न्यूयोर्क टाइम्सको अनुसन्धान अनुसार, भ्रष्टाचार विरोधी प्रदर्शनको क्रममा भदौ २३ मा सुरक्षाकर्मीको गोलीबाट १९ प्रदर्शनकारी मारिएपछि देशभरि फैलिएको हिंसामा योजनाबद्ध तरिकाले आगजनी गरिएका थिए । अनुसन्धानमा संलग्न विशेषज्ञहरू भन्छन–यस्तोस्तरको समन्वय बिना केही घण्टाभित्रै यति ठूलो क्षेत्रफलमा आगजनीको आगो फैलिन असम्भव छ ।

अग्नि विशेषज्ञहरूले घटनास्थलको जाँच, तस्वीर–भिडियो विश्लेषण र प्रत्यक्षदर्शीका आधारमा निष्कर्ष निकालेका छन् कि आगो फैलाउने क्रममा विशेष प्रज्वलनशील रसायनहरूको प्रयोग भएको हुनसक्छ । यस्ता पदार्थहरू सहजै उपलब्ध नहुने र प्रयोग गर्न पूर्व ज्ञान आवश्यक हुने उनीहरूको भनाइ छ ।

त्यस दिन काठमाडौंमा संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबार क्रमशः १ः४५ देखि ३ः३० भित्रै जलेर खरानी भए । प्रत्यक्षदर्शीहरूले खुला झ्याल र ग्यास क्यानिस्टर प्रयोगको संकेत दिएका छन् । केही युवा आगजनीकर्ताहरूले पेट्रोल बम बाँडिएको र सिफ्टमा काम गरिएको स्वीकार गरेका छन् । घटनासँग सम्बन्धित सूचीहरू अनलाइनमा एक रातअगावै देखिन थालेका थिए । आश्चर्यजनक रूपमा, सुरक्षाकर्मीहरू खासै प्रतिकार नगरी भीडलाई अघि बढ्न दिएको प्रमाण भेटिएको छ । नेपाली सेनालाई हस्तक्षेप नगर्न निर्देशन दिइएको आशंका व्यक्त गरिएको छ । सेनाले तटस्थ भूमिका खेलेको बेला सयौं प्रहरी चौकी पनि आगोको चपेटामा परेका छन् ।

नेपालको विधि विज्ञान प्रयोगशालाले घटनाको वैज्ञानिक विश्लेषण प्रारम्भसम्म नगरेको पुष्टि भएको छ । प्रयोगशालाका प्रमुखका अनुसार, घटनास्थलबाट अहिलेसम्म कुनै नमूना प्राप्त भएको छैन, जसले अनुसन्धानको प्रगति अझै अन्योलमा पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँग सकिएको त्यो दिनले सरकारको संरचना मात्र होइन, राज्यप्रति जनताको विश्वास पनि संकटमा पारेको छ । यद्यपि, कुनै समूहले यो आगजनीको जिम्मेवारी लिएको छैन । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले अनुसन्धान आयोग गठन गरेकी छिन्, तर न्यायिक प्रक्रियामा ढिलाइ हुने परम्परा हेर्दा सत्यतथ्य पत्ता लाग्न धेरै वर्ष लाग्न सक्ने देखिन्छ । नेपालको राजनीतिक इतिहासमा आगजनी कुनै नौलो घटना होइन । तर यस पटकको विनाशको परिमाण, तयारी र त्यसको कार्यान्वयन शैलीले यो प्रकरणलाई इतिहासमै सबैभन्दा भयावह बनाएको छ ।

 

आविष्कार केन्द्रका लागि आफैँले बजेट छुट्याउनु अनैतिक हुन्छ: शिक्षामन्त्री पुन

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित वीरगन्ज कृषि औजार कारखानाका लागि बजेट आवश्यक रहेको बताएका छन्।

पुनले आफूले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित वीरगन्ज कृषि औजार कारखानामा बनेको धान काट्ने मेसिनलाई पुरानो हाते ट्रयाक्टरमा जोडेर धान काटिरहेको भिडिओ सामाजिक सञ्जालमा राख्दै सरकारसँग बजेटको माग राखेका हुन्।

आफू मन्त्री बने पनि आविष्कार केन्द्रले त्यो कारखाना सञ्चालन गरिरहेको जानकारी दिँदै उनले त्यसको आर्थिक स्रोत भनेको आफ्नो आत्मकथा किताब बेचेको पैसा र दातारूको दान मात्र भएको बताएका छन्।

पहिलेका सरकारहरूले कारखानालाई बेवास्ता गरेको गुनासो गर्दै पुनले अहिले आफू मन्त्री भएकाले त्यसका लागि आफैँले बजेट छुट्याउँदा अनैतिक हुने दुखेसो समेत पोखेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखाना चलाइरहेकै छ। आर्थिक स्रोत भनेको मेरो आत्मकथाको किताब बेचेको पैसा र दाताहरूले दान गरेको पैसा हो’, ‘मन्त्री भएर कारखानाको लागि म आफैँले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारहरूले छुट्याएको भए हुन्थ्यो तर छुट्‌याएनन्। भविष्यका सरकारले पैसा छुट्‌याए पनि हुन्छ।’

उनका अनुसार वीरगन्ज कृषि औजार कारखानामा बनेको धान काट्ने मेसिनको परीक्षण भइरहेको छ र अब परीक्षण सफल भएपछि उत्पादन सुरु हुने अपेक्षा गरेका छन् ।

 

 

हमासद्वारा रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक, छैन विपिन जोशीको नाम

काठमाडौं । हमासले आज (सोमबार) रिहा गर्न लागेका २० बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।
बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नाम यस प्रकार छन् :

बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ–चाइम ओहाना, सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट , म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ–डलाल, रोम ब्रास्लाब्स्की एरिएल कोनियो ।

कसरी हुन्छ बन्दी आदान–प्रदान हुन्छ ?
इजरायल–हमास युद्धविराम सम्झौताको एक भागको रूपमा कुल ४८ जना बन्धकहरूलाई आजबाट रिहा गरिने अपेक्षा गरिएको छ । ७ अक्टोबर २०२३ मा पक्राउ परेकाहरूमध्ये २० जनालाई जीवित, २५ जना मृत र अन्य दुई जनाको अवस्था अझै अज्ञात रहेको सीएनएनले रिपोर्ट गरेको छ ।

गाजामा बन्धक रहेकामध्ये अधिकांश इजरायली नागरिकहरू छन् । चार विदेशी नागरिकमध्ये दुई थाइल्याण्डका, एक तान्जानियाका र एक नेपालका विपिन जोशी हुन् । जोशीको अवस्था अज्ञात रहेको सीएनएनको समाचारमा उल्लेख छ । इजरायली सरकारले उनको लागि गम्भीर चिन्ता व्यक्त गरेको समाचारमा उल्लेख छ ।

जीवित रहेको विश्वास गरिएका बाँकी सबै बन्धकहरू पुरुष हुन् । मृतक बन्धकहरूमध्ये एक, इनबार हेमन, महिला हुन् । हमास र अन्य लडाकू समूहहरूले अक्टोबर ७, २०२३ को आतंकवादी हमलाको क्रममा इजरायलबाट २५१ जनालाई अपहरण गरेका थिए ।

इजरायली सरकारले आज बन्धकहरूको रिहाइ कसरी हुने अपेक्षा गरिएको छ भन्ने योजना बनाएको समाचारमा उल्लेख छ । यो बन्धक र कैदीहरूको लागि पहिलो आदानप्रदान होइन । अघिल्ला आदानप्रदानहरूमा, हमासले अपहरण गरिएका व्यक्तिहरूलाई हस्तान्तरण गर्नुअघि समारोहहरू आयोजना गर्ने गरिएको थियो ।

इजरायलको प्रधानमन्त्री कार्यालयका प्रवक्ता शोश बेद्रोसियनका अनुसार तर यस पटक, हमासको प्रचार प्रदर्शन गरिने छैन र प्यालेस्टिनी लडाकू समूहद्वारा कुनै बिरामी प्रदर्शन गरिने छैन । यसको सट्टा, गाजामा राखिएका २० जीवित बन्धकहरूलाई रेडक्रसमा रिहा गरिनेछ र ६ देखि ८ सवारी साधनहरूमा ढुवानी गरिनेछ । इजरायली सरकारका अनुसार, तीन फरक अस्पतालमा उपचारको लागि पठाउनुअघि बन्धकहरूलाई तिनीहरूका परिवारहरूसँग पुनर्मिलन गरिनेछ ।

 

बर्दियाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

बर्दिया। अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काट्न किसानलाई भ्याइनभ्याई भएको छ । पानी पर्न छाडेपछि किसान धान काट्न व्यस्त छन् । बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ । राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ ।

विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषक पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आकर्षित हुन थालेका छन् ।

     

 

जेनजीका नाममा लिइयो भोटेकोशीको १९ करोड बराबरको शेयर, के छ सम्झौतामा ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एक समूहले जेनजीका नाममा ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर लिएको छ । उनीहरूलाई प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत शेयर दिने सम्झौता भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विक्रम स्थापितले जनाएका छन् ।

जेनजी आन्दोलनपछि भोटेकोशी गाउँपालिकाको एक स्थानीय समूहले जेन–जी ग्रुपका नाममा १० प्रतिशत निःशुल्क शेयर मागेर भदौ २५ गतेदेखि आयोजना सञ्चालन गर्न दिएको थिएन । आयोजना लामो समयदेखि बन्द हुँदा मर्का परेका कारण त्यहाँका स्थानीयलाई दिने सम्झौता भएको ६ प्रतिशत शेयरमा ४ प्रतिशत थप गरी १० प्रतिशत शेयर स्थानीय जेनजी समूहलाई दिने सम्झौता गरिएको सिइओ स्थापितले बताए ।

‘यो आयोजना स्थापना हुँदा स्थानीयलाई शेयर दिनुपर्ने प्रावधान थिएन । २०७१ सालमा स्थानीयले आन्दोलन गरेर शेयर मागेपछि ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । तर स्थानीयले कम्पनी स्थापना नगरेकाले आयोजनाले शेयर दिएको थिएन । त्यो ६ प्रतिशत शेयरमा ४ प्रतिशत थपेर अहिलेको जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई दिएका हौं,’ उनले सुनाए । स्थापितका अनुसार यो सेयरका लागि जेनजी कम्पनीले बैंकबाट ऋण लिनेछ । यसरी लिने ऋणको जमानीको व्यवस्था भने आयोजनाले गर्ने सहमति भएको हो । शेयर पाउने पक्का भएपछि उक्त समूहले आयोजना सञ्चालन गर्न दिएको छ ।

यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जामन्त्री गुहारेको थियो । दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समय निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूमा सरकारको नीति र कानुनविपरीत १० प्रतिशत निःशुल्क शेयर माग्ने तथा ती आयोजनामा अवरोध गर्ने कार्य बढेकाले सरकारसँग सुरक्षा माग गरेका थिए ।
हेर्नुस् सझौता

प्रचण्डको सचिवालयले दियो पूर्व एआइजी देवेन्द्र सुवेदीविरुद्ध जाहेरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले नेपाल प्रहरीका पूर्व एइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दिएको छ । सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको दुई दिनअघि दुई करोड रुपैयाँ ट्रकमा निकालिएको दाबी गरेका थिए । प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा बुझाइएको हो ।

जाहेरी आइतबार नै बुझाइएको आचार्यले जानकारी दिए । यसअघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो । उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ।

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान थालियो

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान थालेको छ ।

यही प्रकरणमा पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्व उपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जनाए।

दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए । त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो । सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।
पूर्व उपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ समेत परेका दिपेश हाजिरी जमानीमा छुटेका थिए । हाल उनी भारतमा रहेको सूचना रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

यस्तै तत्कालीन उपराष्ट्रपति पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ पदको नियुक्ति लिएका जीवनकुमार गुरुङ समेत सुन तस्करी प्रकरणमा २०८० साल फागुनमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।

यसैगरी पुनको आफन्त अमला रोका समेत सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । ठमेलको ‘होटल भियना’समेत सञ्चालन गरेकी रोका गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन् ।

गाजामा बन्दी रिहाइमा भाग लिन ट्रम्प इजरायल प्रस्थान, छुट्लान् विपिन ?

काठमाडौं । हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् । गाजाबाट बन्धकहरूलाई मुक्त गर्न हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल जान लागेका हुन् ।

गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ । इजरायल र हमासबीचको युद्ध सन् २०२३ अक्टोबर ७ मा हमास–नेतृत्वको इजरायलका दक्षिणी भागमा भएको आक्रमणपछि सुरु भएको थियो ।

विपिनको अवस्था अझै अज्ञात

त्यस आक्रमणमा १० नेपालीसहित करिब १,२०० मानिस मारिएका थिए । कञ्चनपुरका विपिन जोशीसहित २५१ जना बन्धक बनाइएका थिए । विपिनको अवस्था अझै थाहा हुन नसकेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जनाएका छन् ।

त्यसपछि इजरायलले युद्ध घोषणा गर्दै सैन्य कारबाही तीव्र पारेको थियो । इजरायलको आक्रमणको कारण गाजामा ६७ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा १८ हजार भन्दा बढी बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रम्पको मध्यस्थतामा गत शुक्रबार बिहानदेखि युद्धविराम लागू भएको थियो । यो २० बुँदे शान्ति योजनाको पहिलो चरण अन्तर्गत हमासले बन्धक बनाएका बन्दीहरुलाई रिहाइ गरिने छ । बाँकी कामहरु अरु वार्तामार्फत् तय गर्ने अधिकारीहरुले बताएका छन् ।

पहिलो चरणमा इजरायलका करिब २० जना बन्धकहरू जीवित रहेको विश्वास गरिएको छ, भने हमासले २८ जना मृतक बन्धकहरूको शव पनि फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सम्झौताअनुसार, इजरायलले करिब २५० जना प्यालेस्टिनी कैदी र गाजाका १,७०० बन्दीलाई मुक्त गर्नेछ । इजरायली सरकारका प्रवक्ताले हमासबाट मुक्त भएका जीवित बन्धकहरू इजरायली भूभागमा पुगेपछि मात्र कैदीहरूलाई मुक्त गरिने बताएका छन् । साथै उनले गाजामा सहायता सामग्रीको परिमाण पनि बढाइने बताएका छन् ।

 

फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै

पाँचथर । पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ ।
गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध छ । फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको हो । डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जिनीयर मुकेश शाहले जानकारी दिए ।
यस सडकले फिदिम नगरपालिका १० देखि १३ नम्बर वडा तथा फालेलुङ गाउँपालिका–३ देखि ८ लाई सदरमुकामसम्म जोड्छ । फेमे खोलामा सडक अवरुद्ध भएपछि खोलाको वारिपारी रहेका सवारीसाधनले यात्रुलाई गन्तब्यसम्म पुर्‍याउँदै आएका छन् ।
 यात्रुले करिब १५ मिनेट पैदलयात्रा गरेर खोला पार गर्दै आएका छन् । गत बिहीबारदेखि डाइभर्सन र पहुँच मार्ग निर्माणको काम भइरहेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । सडक पुल बगेपछि यहाँ अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकोमा गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
उक्त स्थायी डाइभर्सन असोज १८ गतेको बाढीले बगाएको हो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावका कारण काम हुन सकेको छैन । बाढीले डाइभर्सन बगाएपछि यात्रुहरु आवतजावत गर्नका लागि नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरेको छ । तर सामग्री ढुवानी तथा स्थानीय उत्पादनको निकासी, बिरामी तथा असक्तलाई खोला पार गराउन समस्या पर्ने गरेको फिदिम–११ का लोकबहादुर बुढाथोकीको भनाइ छ ।

मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो १५ स्टाफ नर्स (सूचनासहित)

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्त गर्नेगरी १५ जना स्टाफ नर्स मागेको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको ट्रान्सप्लान्ट सेन्टरले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता दिनेगरि करार सेवामा स्टाफ नर्स माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी कात्तिक १० गतेसम्म निवेदन दिन सक्ने छन् । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना

जेनजी आन्दोलनमा भएको राजनीतिक दल र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण माग

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले आन्दोलनका क्रममा राजनीतिक,संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन आग्रह गरेको छ ।

आइतबार विज्ञप्ति प्रकाशित गरी आयोगले ‘सो सन्दर्भमा उक्त प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तपसिल बमोजिमको ढाँचामा आयोगको इमेल ठेगाना मा पठाउनहुन साथै घटनालाई पुष्ट्याई गर्ने प्रमाणहरु जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरु भए सो समेत यस आयोगमा उपलब्ध गराउन हुन’ अनुरोध गरेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै सो क्षतिको विवरणको ढाँचा समेत पठाएको छ । त्यसमा घटना पुष्टि गर्ने प्रमाणहरु भए ती फोटो,भिडिओ र कागजात समेत उपलब्ध गराउन आयोगले भनेको छ ।

तीनकुनेलाई ‘जेन-जी चोक’ घोषणा गर्न माग गर्दै प्रदर्शन गर्ने तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेलाई जेनजी चोक घोषणा गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरिश तिवारी, सुनील सिंहलगायत छन् ।

स्थानीय प्रशासनको अनुमतिबिना सडकमा उत्रिएको जेन-जी २.० (सबै पुस्ताको प्रतिनिधि) अभियानले तीनकुनेलाई जेन-जी चोक घोषणासहित प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले त्यसक्रममा तीनकुनेबाट तीनजनालाई पक्राउ गरेर लगेको छ ।

 

नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईलाई १४१ रनको चुनौती दिएको छ ।

ओपनर आसिफ शेखले टी–२० आई नवौँ अर्धशतक प्रहार गरेको खेलमा अरुले प्रभावशाली प्रदर्शन गर्न नस्कदा नेपालले १४० रनको सामान्य स्कोर बनाएको हो । टस जितेर पहिला ब्याटिङ थालेको सामान्य स्कोर बनाउने क्रममा ६ विकेट गुमायो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बलमा ४ चौका र एक छक्का प्रहार गरे।

कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे ।

बलिङमा युएईका जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जहिद अली, हर्षित कौशिक, हैदर अली र ध्रुव पराशरले एकएक विकेट लिए ।

सुशीला कार्कीलाई दलाई लामाको समर्थन सामान्य विषय होइन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाको समर्थन सामान्य विषय नभएको टिप्पणी गरेका छन् । भरतपुरमा पार्टी निकट अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा साम्राज्यवादी शक्तिको हस्तक्षेप भएको भन्दै साम्राज्यवादी हस्तक्षेप सफल भए नेपाल प्यालेस्टाइन वा युक्रेन बन्न सक्ने चेतावनी दिए ।

‘यदि नेपाली जनता बेलैमा सचेत भएनन् भने देश प्यालेस्टाइन वा युक्रेन बन्न सक्दछ’ उनले भने, ‘सुशीला कार्की सरकारलाई दलाई लामाको बधाई सामान्य कुरा होइन ।’ अध्यक्ष केसीले जेनजीको आन्दोलनमा साम्राज्यवादीको घुसपैठ भएका कारणले अहिले देश खरानीको डल्लो बनेको बताएका छन् ।

‘राजनीतिक पार्टीको आन्दोलनले अहिलेसम्म सिंहदरबार जलाएन, संसद् भवन जलाएन, सर्वोच्च अदालत जलाएन’ उनले भने, ‘अहिले जसरी देशलाई खरानी बनाइयो, त्यसमा अमेरिकी साम्राज्यवादको, भारतीय साम्राज्यवादको र तिनका जासुसी संस्थाको भूमिका छ ।’ अहिले जेनजी आन्दोलनको नाममा एनजीओ पृष्ठभूमि भएकाहरू मन्त्रिमण्डलमा सामेल भएको उनको भनाई छ ।

जनताले नै गलत शक्तिलाई चुनावमा जिताएका कारण देशले अहिलेको दुर्दशा भोग्नुपरेको केसीले बताएका छन् । ‘राजनीतिक दलहरू चुनावमा बोरामा पैसा बोकेर जान्छन् । त्यो पैसा भ्रष्ट, ठेकेदार, तष्करबाट उठाइएको हुन्छ’ उनले भने, ‘सही राजनीतिक दल चिन्ने सवालमा हामी जनता पनि सच्चिनु पर्दछ । जनताले गलत शक्तिलाई चुनावमा जिताएकै कारण देशले यो दुर्दशा भोग्नुपरेको हो ।’ अध्यक्ष केसीले सत्ता सञ्चालन गरिरहेका ठूला राजनीतिक दलको भ्रष्ट चरित्रकै कारणले देश उभो लाग्न नसकेको बताए । दलहरूले चुनावलाई समेत भ्रष्ट बनाएको भन्दै चिन्ता व्यक्त गरे । केसीले आफ्नो पार्टीको नीति सही भएकाले आफ्ना जनप्रतिनिधिले भ्रष्टाचार नगरेको दाबी पनि गरे ।

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई आज सीआइवीको टोलीले प्रहरीले पक्राउ गरेको हो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए ।

सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो । उक्त सुन भन्सारका नासु रेवनत खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानले खुलाएको थियो ।

उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यो प्रकरणका उनका छोरा राहलु महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो । यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्व सभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल रोकिएको थियो ।

 

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट गरे ।

सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गबाट निर्वाचन गराउने हो भन्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्धपक्षसँग अनुरोध गरे । यसैगरी, मन्त्री खरेलले फागुन २१ गते निर्वाचन गराउने सन्दर्भमा निर्वाचन आयोगले ‘क्यालेण्डर’ नै तयार गरिसकेको अवस्थामा आवश्यक वातावरण तयारीका लागि नेपाल पत्रकार महासंघका तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले फरक प्रसङ्ग उल्लेख गर्दै सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्ने भएकाले एकाध घटना घट्दैमा सुरक्षाकर्मीको मनोबल नगिर्ने जिकिर गरे । ‘सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्छ, एकाध घटनाले उहाँहरुको मनोबल गिर्दैन र हामीले गिर्ने वातावरण पनि सिर्जना गर्नु हुँदैन’, उनले भने । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले फागुन २१ गतेको निर्वाचनका लागि पत्रकार महासंघले आवश्यक सहयोगसहित सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाइन् । उनले भनिन्, ‘पत्रकार महासंघ सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक छ । निर्वाचन गराउनमा पत्रकारले गर्नुपर्ने सहयोग र भूमिका सकारात्मक हुने विश्वास दिलाउन चाहन्छु ।’

 

 

‘टीओबी’ सदस्य पेस्तोलसहित जेनजी आन्दोलनमा पुगेका हुन् ? प्रहरीले थाल्यो खोजी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा टिओबी (तिब्बतीयन ओरिजनल ब्लड) लेखेको टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर अहिले सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भएको छ । तस्वीरमा देखिएका युवकको प्रहरीले खोजी थालेको छ । केही दिनदेखि टीओबी लेखिएको टिसर्ट लगाएका शंकास्पद व्यक्तिहरू जेनजी आन्दोलनमा घुसपैठ गरेको विषय सामाजिक सञ्जालमा व्यापक भइरहेको थियो ।

यस्ता व्यक्तिहरुले भिडलाई उक्साउन खोजेको देखिने थुप्रै फोटो र भिडिओहरू सार्वजनिक भएका छन् । त्यसमध्ये एक युवकले पेस्तोल नै बोकेको फोटो आएपछि प्रहरी समेत गम्भीर बनेको छ । उक्त फोटो र यससँग सम्वन्धित फुटेजहरु संकलन गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् । ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको र छिट्टै पक्राउ गरिने उनको भनाइ छ ।

‘उक्त तस्वीरमा देखिए जस्तै ती व्यक्तिले साँच्चै पेस्तोल बोकेका हुन्÷होइनन् यकिन भएको छैन । तस्वीरको आधिकारिकता अहिलेसम्म पुष्टि भएको छैन । यद्यपी यसबारे अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकारीले बताएका छन् । तस्वीरमा देखिएको स्थान बिजुलीबजार पुल हुन सक्ने अनुमान गरिएको छ । टीओबी लेखेको टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडि भागमा पेस्तोल घुसारिरहेको र अर्का युवकले नियालिरहेको देखिन्छ । यो तस्वीर सक्कली भएको आँकलन प्रहरीको रहेको छ ।

तस्बिरमा हेर्नूहोस्, असन-इन्द्रचोकमा तिहार बजारको चहलपहल

काठमाडौँ । तिहार आउन एक हप्ता अगाडि नै काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा तिहार बजार सुरु भएको छ।

बजारमा अहिले दियो, माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको चहलपहल देख्न सकिन्छ।

तस्बिरहरु:- 

टस जितेर युएइविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आईसीसी विश्व टी–२० क्वालिफायरअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले यसअघिकै टोलीलाई यूएईविरुद्ध निरन्तरता दिएको छ ।

यसमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, कुशल मल्ल, ललित राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा समावेश छन् । ओमानको अल अमरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) मा खेल हुन लागेको हो ।

बिपी राजमार्ग : ‘ट्रयाक’ खुलाएसँगै मर्मत थालियो

काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्रयाक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो ।
बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको छ भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्याण्डबाई’ राखिएको छ । कार्यालय पाँच दिन लगातार बाढीले कटान गरेको तथा बगर बनेको सडक बनाउन खटेको थियो ।
राजमर्गाको क्षतिग्रस्त १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको हो । शनिबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रुपमा खुलाउन सम्भव भएको कार्यालयले जनाएको छ । शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्र्याक’ खोली सकेर परीक्षण गरिएको थियो ।
योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेंसी तथा पिप्लेको चार स्थानलगायत माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी पूर्ण रुपमा यातायात सञ्चालन गरिएको बताए । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । कार्यालयले उक्त क्षेत्रमा सवारी साधन चलाउँदा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउनसमेत अपिल गरिरहेको छ ।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । सोही क्षेत्रमा गत साल असोजको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो ।

मुलुक अझै पनि ठूलो ‘शून्यता’ मा जान सक्ने जोखिम छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक ठूलो शून्यतामा जाने सक्ने जोखिम कायमै रहेको बताएका छन् । मुलुकलाई ट्रयाक भन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने उनले बताएका छन् । आइतबार काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालय पुगेका मन्त्री खरेलले मुलुकलाई भ्याकुममा जान नदिन निर्वाचन सुनिश्चत गर्ने काममा सरकार लागेको बताए ।

दलहरुसँगको संवादहीनता अन्त्य भएकाले अब २१ फागुनमा तोकिएको निर्वाचन सुनिश्चित बनेको उनको भनाइ छ । सिंगै मुलुक निर्वाचनमा होमिएको भन्दै उनले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाइने बताए । दुई दिने जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा द्विविधा नराख्न पनि आग्रह गरे । जेनजी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड तथा आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत हुने गरी सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे । उनले अनलाइन सञ्चार माध्यम सूचना विभागबाट दर्ता तथा नवीकरणको काम सम्भवतः तिहार अघि नै सुरु हुने जानकारी दिए । मन्त्री खरेलले पत्रकारहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए ।

मुटु र दाँतको दुस्मन चिनी

काठमाडौं । चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ ।

करिब २५सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो । प्रारम्भमा चिनी उत्पादन गर्नु खर्चिलो हुने भएकाले धेरै महँगो पथ्र्यो र धनी मानिसहरूले मात्र चिनी प्रयोग गर्न सक्थे । राजा–महाराजालाई अन्य सुन र चाँदीका गहनाजस्तै गरेर चिनीलाई उपहारस्वरुप दिइने चलन थियो । जब संसारका विभिन्न ठाउँमा चिनीको उत्पादन हुन थाल्यो, तब आम मानिसले पनि यसको प्रयोग गर्न थाले ।

सन् १८८५ बाट चिनीको प्रयोग कोकाकोलामार्फत सुरु भयो । त्योबेला कोकलाई ‘ब्रेन टनिक’ अर्थात् मस्तिष्क तीक्ष्ण पार्ने वस्तु भनेर गलत प्रचार गरिएको थियो । चिनी बनाउने कम्पनीले मानव शरीरमा चाहिने ऊर्जा ग्लुकोजले दिन्छ र चिनी खाएपछि शरीरमा ग्लुकोज पुग्छ । शरीरमा स्फूर्ति आउँछ । अर्थात् जति खायो उति राम्रो भनेर प्रचारप्रसार गरे । तर जिब्रोको स्वादका लागि सेवन गरेको चिनी हानिकारक छ, यसले क्षणिक उत्तेजना दिए पनि दीर्घकालीन रुपमा भने मानव स्वास्थ्यमा असर पुर्‍याउँछ ।

सन् १९२८ मा ‘चिनी स्वस्थकर’ भनेर विज्ञापन नै सुरु भयो । गर्मीको समय सर्बतमा जाडोमा पेयपदार्थमा चिनी हालेर खाँदा रोग–प्रतिरोधात्मक शक्ति बढ्छ भनेर भ्रामक प्रचार गरियो । यस्तो विज्ञापनबाट प्रेरित भएर अमेरिकामा चिनीको प्रयोग बढ्न थाल्यो । विस्तारै त्यहाँ मोटोपन पनि बढ्न थाल्यो । चिनी कम्पनीहरुले अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई पैसाले गोजी भरिदिई ‘चिनी स्वस्थकर छ’ भनेर अनुसन्धानको निचोड निकाल्न लगाए र धेरै प्रचारप्रसार गरे । तर जनस्वास्थ्य विज्ञहरुले चिनीको खराबीको बारेमा बोल्न थाले । जब २०औं शताब्दीमा अमेरिकामा मधुमेह, फ्याटी लिभर, कब्जियत, अल्सर, ग्यास्ट्राइटिस र मोटोपन बढ्न थाल्यो र अस्पतालमा अनेक समस्या लिएर मानिसहरु आउन थाले, तब मात्र जनस्वास्थ्य विज्ञले भनेको कुुरामा विश्व समुदायले विश्वास गर्न थाले ।

चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्गठनले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्य विज्ञहरूले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सो सङ्गठनले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्नेे क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनुपर्छ र ९० प्रतिशत अन्य खानाको स्रोतबाट प्राप्त गर्नुपर्छ ।

यो कुरा प्रकाशमा आएपछि विशेष गरी अमेरिकाका चिनी उत्पादन गर्ने ठूला कम्पनीहरूले ‘विश्व स्वास्थ्य सङ्गठनले जनतामा भ्रम फैलायो’ भनेर आक्रोश पोखे । उनीहरूले विश्व स्वास्थ्य सङ्गठनलाई दिने सहयोग कटौती गर्ने निर्णय पनि गरे । साथै ती कम्पनीले अमेरिकाको सिनेटमा प्रभाव पारेर ‘चिनीले खराबी गर्ने कुरा प्रचार गरेमा विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाबाट दिँदै आएको आर्थिक सहयोग रोकिदिने धम्की पनि दिन लगाए । चिनी उत्पादक कम्पनीहरूले भनेका थिए, ‘हामीले खानाबाट प्राप्त गर्ने दैनिक क्यालोरीमध्ये २५ प्रतिशतसम्म चिनीबाट प्राप्त गर्दा पनि हुन्छ ।’ तर जनस्वास्थ्य विज्ञहरूले यो कुरालाई अस्वीकार गरे र धेरै चिनीको उपभोगबाट जनस्वास्थ्यमा हुने हानिका बारेमा आम जनतालाई निरन्तर जागरूक गर्न प्रयत्न गरे ।

चिनीले मानिसको स्वास्थ्यमा कसरी खराबी गर्छ भन्ने विषयमा सन् १९७२ मा नै डा जोन युड्किनले ‘विषालु सेतो चिनी’ नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका थिए । तर उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका चिनी र चिनीजन्य गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीले हावामा उडाउने कार्य गरेका थिए । साथै अपवाह फैलाउने कार्य हो भनेर विरोध पनि जनाएका थिए । तर हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने यस्तो सेतो चिनी एक प्रकारकोे मन्द विष नै हो ।

कतिपय मानिसहरु ‘सेतो चिनी’ राम्रो होइन तर ‘खैरो चिनी’ चाहिँ स्वस्थकर हो भन्ने ठान्दछन् । वास्तवमा यो कुरा बिल्कुलै सही होइन । प्रारम्भमा चिनीका बारेमा लेख्ने अनुसन्धानकर्ताले मुसामा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर अध्ययन गरेका थिए । सो शोध अध्ययनअनुसार चिनी प्रयोग गरिएका मुसाहरुमा मुटुरोग, बिर्सने रोग र बाथको रोग बढेको पाइयो । चिनीले मानिसमा पनि विभिन्न किसिमका रोग उत्पन्न गर्ने कुरा अनुभव र अनुसन्धानले सिद्ध गरिसकेको छ ।

परम्परागत भोजनशैलीमा परिवर्तन भएकाले चिनीको उपभोग धेरै भएको पाइन्छ । हामी बिहान उठेदेखि बेलुकासम्म अनेक तरिकाले चिनी उपभोग गर्छौं । उदाहरणको लागि चिया, दूध, केक, कुल्फी, विस्कुट, पाउरोटी आदिमा चिनी प्रशस्त प्रयोग भएको पाइछ । चाडबाड र देवीदेवताका प्रसादको रुपमा त झन् चिनीको मात्रा धेरै प्रयोग हुन्छ । केटाकेटीको बिहान र दिउँसोको खाजामा पनि धेरै चिनीको प्रयोग हुने भएकाले नेपाली केटाकेटीमा दाँतसम्बन्धी समस्या उच्च छ । उच्च रक्तचाप, मोटोपन, मधुमेहजस्ता समस्याहरुको एउटा प्रमुख कारकको रुपमा चिनी रहेको प्रमाणित भएको धेरै भइसकेको छ तर पनि हामी यसतर्फ त्यति सचेत भइरहेका छैनौँ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१४ मा ‘वयष्कलाई दैनिक पाँच चम्चाभन्दा बढी र बालबालिकालाई तीन चम्चाभन्दा बढी चिनी खान नदिनु भने पनि अहिले हाम्रो भोजनमा त्योभन्दा निकै बढी मात्रामा चिनी प्रयोग भएको पाइन्छ । सस, बिस्कुट, चाउचाउ आदि गुलियो जस्तो नलाग्ने खानामा पनि चिनी मिसाइएको हुन्छ ।

त्यस्तै गरी बट्टाबन्द र प्याकेटबन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टाका बजारे भोजन (जस्तो– मुसेली, कर्नफ्लोर) मा पनि चिनी मिसिएको हुन्छ । तर प्रायः यो कुरा हामी वास्ता नै गर्दैनौँ, चिनी भएको थाहा नै नपाई हामी त्यसको उपभोग गरिरहेका हुन्छौँ । त्यसैगरी, हर्लिक्स, बोर्नभिटा, भिभा आदि पेयपदार्थ, लस्सी, कोक, फन्टा, पेप्सी, डिउ, मेरिन्डा, पु्रmटी, एपी, सर्बत, लस्सी आदि चिसा पेय पदार्थहरुमा अधिक मात्रामा चिनी मिश्रण हुन्छ ।

चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ । बच्चाको आहारा जस्तो–बोतलबन्द दूध तथा पेय पदार्थहरुमा मिसाइएको गुलियो पदार्थले उनीहरुको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ । तर बच्चाका अभिभावक यस्ता खानामा भएको चिनीले बच्चालाई नोक्सानी गर्छ भन्ने बारेमा अनभिज्ञ छन् । नेपालको सन्दर्भमा कुरा गर्दा मिठाईहरु, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम, सेल, मालपुवा आदिमा पनि ठूलो मात्रामा चिनी मिसाइएको हुन्छ र त्यसलाई हामीले अन्धाधुन्ध रुपमा प्रयोग गरिरहेका छौँ ।

एक लिटर हलुका पेयमा औसत १४ चम्चा चिनी राखिएको हुन्छ । यसबारेमा हामीले कहिल्यै विचार गरेका हुँदैनौँ । तर खाँदा त्यति गुलियो नलागे पनि यसमा भएको अत्यधिक चिनीले हाम्रो स्वास्थमा प्रतिकूल असर पारिरहेको हुन्छ । अङ्ग्रेजीमा सुगर भनिने चिनीका माल्टोज, फुल्टोज, ल्याक्टोज आदि अनेक रुपाकारहरु छन् । कतिपय फलफूलको बट्टामा ‘सुगर फ्रि’ भनेर लेखिएको हुन्छ । तर माल्टोज, फुल्टोज, सुक्रोज आदि स्वरुपमा चिनी रहेको हुन्छ र हामी नजानेर यसको उपभोग गरिरहेका हुन्छौँ ।

मकैबाट पनि चिनी बनाइन्छ । विशेषगरी चकलेट, कुकिज बिस्कुट बनाउँदा यसको प्रयोग गरिन्छ । यस्तो प्रकारको गुलियो पदार्थ र पेयले कोलेस्टेरोल (खराब बोसो) को मात्रा बढाउँछ । खराब बोसो बढेपछि यो मुटुका धमनीका भित्ताहरुमा लेउजस्तै टाँसिन पुग्दछ । यसकारण धमनीहरु साँघुुरिने वा कडा हुने जटिलता उत्पन्न हुन थाल्छ । यसो हुने बित्तिकै मुटुका मांसपेशीहरुमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्व आवश्यकमात्रामा पुग्न सक्दैन । अनि मुटुका मांसपेशीहरु मर्दछन् र हृदयाघात निम्तिन्छ ।

त्यसैगरी शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीमा अवरोध पुग्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभुषण उपाध्यायका अनुसार गुलियो ज्यादै खाँदा डायविटिजको जोखिम बढ्छ । चिनी, सख्खर हालेका वस्तुबाहेक सुगर फ्रि कोक, जुस, मह आदि जुनसुकै रुपमा खाए पनि चिनी चिनी (सुगर वा गुलियो वस्तु) नै हो । जसरी खाँदा पनि यदि चिनीको मात्रा बढी छ भने त्यसले असर गर्छ । ‘सुगर फ्री’ भनिएको वस्तु वास्तवमा ‘सुगर फ्री’ हुँदैन । स्याक्रिन हालिएको चिया या अन्य पेयपदार्थ स्वास्थ्यका लागि झनै भयानक हुन्छन् । यसले मुटुलाई बिगार्छ ।
डा– अरुणा उप्रेती–लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन् ।

 

वायु सेवा निगमको ‘बेथिति’ छानबिनको माग गर्दै जेनजीको पाँच बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानि) मा भएको बेथितिविरुद्ध जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । अर्जुन शाही, मिराज ढुंगानालगायतको जेनजी टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरण प्रदिप अधिकारी प्रदिप अधिकारी, नेपाल वायुसेवा निगम युवराज अधिकारी, महान्यायाधिवक्ता, महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा नेपाल सरकारका सम्बन्धित निकायहरूमा नेवानीमा भएको बेथिति अन्त्य गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

जेनजी टोलीले नेवानिको भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न माग गरेका छन् । उनीहरुले वाइडवडी र लाउडा एयर घोटालासहित सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

एनएसीका सबै निर्णयहरूमा जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनु पर्ने, दुर्गम क्षेत्रका जनताका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने र माथिका सुधार र कानुनी प्रस्तावहरु तत्काल कार्यान्वयन हुनु पर्ने नभए सबैले स्वेछिक राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन् ।