`

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

गण्डकी । मुख्य पर्यटकीय याम(असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार जस्ता ठूला चाड मुखैमा छन् । यही बेला मुलुक जेनजी पुस्ताको आन्दोलनले प्रभावित छ । पर्यटकीय याम सुरु हुनै लाग्दा भएको आन्दोलनले पर्यटन क्षेत्र मारमा पर्ने देखिएको छ । कोभिड–१९ महामारीपछि जेनतेन उठेको पर्यटन क्षेत्र पुनःशिथिल हुने भयले पर्यटन व्यवसायी चिन्तित छन् । ट्रेकिङ ऐजिन्सिज एशोसियशन अफ नेपाल (टान)गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यस्तै अवस्था लामो समय रहे विश्व पर्यटन बजारमा नेपालको नराम्रो सन्देश जाने बताए ।

“असोज र कात्तिक सबैभन्दा बढी विदेशी पर्यटक आउने याम हो, ठ्याक्कै यही बेला आन्दोलन सुरु भयो, अन्यौलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक आउन डराइरहेका छन्”, उनले भने, “जतिसक्दो चाँडो नेपाल सुरक्षित छ भन्ने सन्देश दिन नसके हाम्रो पर्यटन क्षेत्रले ठूलो असर व्यहोर्नुपर्छ, यसको घाटा देशलाई पर्छ ।” उनले अहिले नेपाल आइसकेका विदेशी पर्यटकलाई सुरक्षित तबरले गन्तव्यस्थलसम्म पु¥याउने काममा ‘टान’लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गरिरहेको बताए । यो याममा विशेष गरी पदयात्राका लागि विदेशी पर्यटक आउने गर्छन् ।

अध्यक्ष आचार्यले छिटो राजनीतिक वातावरण सुधारेर मुलुकलाई सामान्य अवस्थामा नफर्काएसम्म पर्यटन क्षेत्र चलायमान हुन नसक्ने बताए। चाडपर्वका अवसरमा घुमफिरको योजना बनाएका आन्तरिक पर्यटकलाई अहिलेको अवस्थाले अन्यौलता थपेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) का प्रमुख डा रविन कडरियाले यो याममा पर्यटक आगमनमा असर पर्ने देखिएको बताए । “तथ्याङ्कगत रुपमा हेर्न अझै केही दिन कुनुपर्छ, तर अहिलेको आन्दोलनले पर्यटन क्षेत्रमा असर भने पक्कै गर्छ”, उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमाझ परिचित गन्तव्य हो । गत आवमा उक्त क्षेत्रमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक भित्रिएका थिए । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार ७८६ र अन्य देशका एक लाख २० हजार ३२७ पर्यटक रहेका थिए । वर्षात र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य समयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ ।

सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेकाका अहिले मुलुकमा देखिएको असहज परिस्थितिले पर्यटक आगमनमा असर पर्ने देखिएको आयोजना कार्यालयले जनाएको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ ।  हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । यस वर्ष यहाँका पाँच पालिकामा गरिएका आलु उत्पादनको प्रारम्भिक सर्वेक्षणअनुसार शुन्य दशमलव शुन्य नौ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आव २०८२/८३ मा यहाँका पाँचै पालिकाको कूल ४७० हेक्टर आलु उत्पादन क्षेत्रमा आठ हजार ४९६ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिए। यस वर्षको आलु उत्पादकत्व  १८ दशमलव ४७ प्रति हेक्टर रहने केन्द्र प्रमुख गुरुङले उल्लेख गरे ।
गत आव २०८१/८२ मा यहाँ ४६० हेक्टर क्षेत्रफलमा आठ हजार ४५४ मेट्रिकटन आलु उत्पादन भएको थियो । गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्र प्रमुख गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष ४१ दशमलव शुन्य दुई प्रतिशत आलु उत्पादन हुने जनाइएको छ ।
उच्च भूगोल र यहाँको चिसो शीतोष्ण हावापानीमा उत्पादन हुने आलु स्वादिलो र पोषिलो हुने गर्छ । यसैले यहाँको मुस्ताङी आलु सहज बजारका उपभोक्ता रुचाउने गर्छन् । चिसो हावापानी र हिउँले सिञ्चित यहाँको खेतीयोग्य जमिनमा उत्पादन हुने विषादीरहित जैविक हुने भएकाले उपभोक्ता यहाँको आलुप्रतिको आकर्षण बढ्दो रहेको छ । यहाँ स्याउ बगैँचाभित्र किसानले अन्तरबालीका रुपमा आलुखेती गर्दै आइरहेको पाइन्छ ।
यहाँ सबैभन्दा बढी उपल्लो मुस्ताङ र बारागुङ मुक्तिक्षेत्रमा उत्पादन हुने आलुलाई थप विशेष महत्व दिने गरिएको छ । समुद्री सतहको दुई हजार ७०० मिटर माथिको क्षेत्रमा उत्पादन हुने भएकाले स्थानीयको आकर्षण उपल्लो मुस्ताङको आलुतर्फ बढेको हो । त्यसो त घरपझोङ र थासाङमा पनि किसानले आलुखेतीलाई विशेष महत्व दिएर खेती गर्दै आइरहेको पाइएको छ ।
मुस्ताङको तल्लो क्षेत्रमा किसानले फागुनमा आलुको बीउ रोपेर भदौ महिनामा आलु निकाल्न थाल्छन् । उपल्लो मुस्ताङमा चैत  वैशाखमा आलुको बीउ रोपेर असोज र कात्तिकमा खेतबारीबाट आलु खन्न सुरु गर्छन् । नगदेबाली भएको र सडक यातायातको सजह पहुँच भइसकेकाले यहाँ उत्पादित आलुको बजारीकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ विकासे आलु र स्थानीय परम्परागत लोकल सेतो आलु उत्पादन हुने गरेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यहाँ विकास रातो आलु आंशिक उत्पादन हुने गरे पनि यहाँका किसानले बढीमात्रामा स्थानीय सेतो आलुको खेती गर्ने गरेको गुरुङले उल्लेख गरे ।
यहाँ उत्पादन हुने आलु ६० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको केन्द्रले बताएको छ । बाँकी ३० प्रतिशत आलु यही घरायसी प्रयोजन तथा होटल रेष्टुरेन्टमा खपत हुने र उत्पादित १० प्रतिशत आलुको बीउका रुपमा स्थानीय किसानले बिक्रीवितरण गर्ने गरेको केन्द्र प्रमुख गुरुङले बताए।
घरपझोङ–५ ठिनीका किसान महेन्द्र थकालीले यहाँ किसानले उत्पादन गर्ने आलु सहजै बिक्री हुने गरेको बताए । उनले प्रतिपाथी यहाँको आलु रु २०० मा बिक्री भएको उल्लेख गरे । “आलु उत्पादन गरेर हाभेस्ट मात्रै गरेपछि आलु व्यापारी किसानको खेतमै पुगेर सङ्कलन गर्ने गरेका छन्”, उनले भने, “पैसा नगद पाइने र आलु खनेपछि बजार पु¥याउनुपर्ने समस्या छैन ।” उनले मुस्ताङमा उत्पादन हुने आलु पोखरा–काठमाडाँै लगायत सहरको तारे होटलसम्म पुग्ने गरेको जानकारी दिए।
आलुखेती गर्दै आइरहेका कृषि समूह, सहकारी र फर्मलाई यहाँका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले विभिन्न अनुदानका कार्यक्रम सञ्चालनमा ल्याउने गरिएको छ । यसबाट पनि यहाँका किसान स्याउखेती जस्तै आलुखेतीमा लाभान्वित हुँदै आइरहेको पाइएको छ ।

Breaking News: महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे गृहमन्त्री बन्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे सुशीला कार्कीको मन्त्रिमण्डमा गृहमन्त्री बन्ने भएका छन् । पाण्डे कार्की नेतृत्वको मन्त्रिमण्डलमा गृहमन्त्री बन्ने निश्चित भएको विशेष स्रोतले जानकारी दिएको छ । पाण्डे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का विश्वास पात्र समेत हुन् ।

काठमाडौं महानगरपालिकाले प्रहरी उपरीक्षक धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको थियो । पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका थिए । उनको २०७७ सालमा नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो ।

२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन-२०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नति भएको हो । त्यस ऐनबाट महानगरमा कार्यरत १,५५० कर्मचारीहरुको एक तह माथिको पदमा समायोजन भएको थियो ।

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएहरूलाई भेट्न अस्पताल जाने भएकी छन्। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने बताइएको छ। प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो । जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

 

बेनीमा मौलिक सम्पदाको संरक्षण

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलिक सम्पदाको निर्माण र पुनर्निर्माण भएको छ । बेनी नगरपालिका र समुदायको पहलमा बेनीलाई मौलिक सांस्कृतिक बजारको रूपमा विकास गर्न पुराना सम्पदाको संरक्षण, पुनर्निर्माणका साथै नयाँ सार्वजनिक संरचना निर्माणका क्रममा मौलिकतालाई जोड दिइएको हो ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्छ । नगर प्रमुख सुरत केसीले मुस्ताङ जाने आउने पर्यटकलाई बेनीमा भुलाउने र बसाई लम्बाएर स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र मौलिकताको सम्वद्र्धन तथा प्रवद्र्धनमा जुटेको बताए ।

उनका अनुसार कालीगण्डकीको सभ्यता बचाउन र प्रदूषण नियन्त्रणका लागि दोभानमा शवदाहस्थल निर्माण भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन भएको रु ६० लाख बजेटबाट शवदाहस्थललाई व्यवस्थित र सुरक्षित बनाउन भौतिक संरचना निर्माण भएको हो ।

धार्मिकस्थल गलेश्वर बजारभित्रको सडकको सौन्दर्यकरण गर्नका लागि गत वर्षदेखि सुरु भएको सडकमा स्लेट ढुङ्गा बिछ्याउने योजनालाई यस वर्ष पनि निरन्तरता दिएको छ । गत आवमा १०६ मिटर स्लेट बिछ्याइएको थियो ।

नयाँ आवका लागि नगरपालिकाले रु ३० लाख विनियोजन गरेको योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले पनि साथ दिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।

बेनीको पुस्तकालय चोकमा रु १३ लाख खर्चेर जमघट र विश्रामस्थलका लागि भक्तपुरे इँटा र बुट्टा कुदेको काठ प्रयोग गरेर नेवारी वास्तुकला शैलीको प्रतीक्षालय (फाल्चा)निर्माण भएको छ । यस वर्ष आँखीझ्याललगायतका संरचना बनाएर फाल्चा निर्माणलाई पूर्णताः दिने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए ।

चोकमा खाली रहेको सार्वजनिक ठाउँको सदुपयोग गरेर निर्माण भएको फाल्चाबाट स्थानीयवासी, यात्रुहरूलाई विश्रामका लागि सहजका लागि बजारको आकर्षण थपेको छ । यसअघि बेनी नगरपालिकाको वडा नम्बर ७ मा रहेका पुराना चौतारीहरूको मर्मत र व्यवस्थापन भएको थियो ।

बेनी नगरपालिका–८ गणेशटोलमा रहेको २०० वर्ष पुरानो गणेश मन्दिर यसै वर्ष पुनर्निर्माण भएको छ । बेनी नगरपालिकाको रु छ लाख बजेट र गुठीयारहरूको करिब रु १४ लाख लगानीमा मौलिक शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष उत्तम कर्माचार्यले बताए । पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरको छानामा पित्तलको जलप लगाइएको छ ।

यसअघि बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर पुनर्निर्माण गरिएको थियो । छानोमा तीन वटा गजूर राखिएको कोतघरको झ्याल, ढोका र टुँडाल कलात्मक शैलीका छन् ।

विक्रम संवत् १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए ।

ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इँटा राखेर आकर्षक बनाइएको छ ।

प्रधानमन्त्री कार्कीसँग मेयर हमालको माग : भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी जेल हाल्नुस्

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । उनले कार्कीलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री दुवै बनेर इतिहास रचेको भन्दै प्रशंसा समेत गरेका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत हमालले नयाँ सरकारसमक्ष केही महत्वपूर्ण मागहरू राखेका छन् । उनको मुख्य जोड भ्रष्टाचार नियन्त्रणमा दिनुपर्ने सुझाव समेत दिएका छन् । उनले भनेका छन, ‘भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन । सुशासन नभएसम्म देशले प्रगति गर्दैन ।’

हमालले प्रधानमन्त्री कार्कीसँग एक हप्ताभित्र भ्रष्टाचारीहरूलाई अभियोगसहित उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरी मुद्दा चलाएर जेल हाल्न माग गरेका छन् । उनले यो जेनजी आन्दोलनको पनि मुख्य मुद्दा रहेको बताएका छन् ।
उनले आन्दोलनमा शहीद भएका र घाइतेहरूको अवस्थाबारे पनि स्पष्ट जानकारी सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् । हमालले शहीदको संख्याबारे अन्योल रहेको भन्दै सरकारले सही तथ्याङ्क, उनीहरूको नाम, ठेगाना र घाइतेहरूको उपचारको अवस्था सार्वजनिक गर्नुपर्ने बताएका छन् । हमालले प्रधानमन्त्री कार्कीको सफल कार्यकालको कामना गर्दै नेपालको विकास र सुशासनका लागि महत्त्वपूर्ण काम हुने आशा व्यक्त गरेका छन् ।

हेर्नुस् हमालको आग्रह
नमस्कार

म धनगढी उपमहानगरपालिकाको नगर प्रमुख गोपाल हमाल ।

सर्वप्रथम प्रधानमन्त्रीमा नियुक्त हुनुभएको सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक बधाई दिन चाहन्छु । साथै नेपालले पहिलो महिला प्रधानन्यायाधीश पनि सुशीला कार्कीज्यूबाटै प्राप्त गरेको थियो भने पहिलो प्रधानमन्त्री, महिला प्रधानमन्त्री पनि सुशीला कार्की ज्यू भएको छ । त्यसकारण एउटा इतिहास रच्नुभएको छ ।

अब इतिहास रच्ने पालो हो । मुख्य कुरा यो देशमा बेरोजगारी सिर्जना हुनु र विधिको शासन नहुनु मुख्य भनेको भ्रष्टाचार हो । जेन्जीको आन्दोलन पनि मुख्य विषय यही नै थियो । भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन । सुशासन नभएसम्म देशले प्रगति गर्दैन ।

तसर्थ, एक हप्ताभित्र कम्तीमा भ्रष्टाचारीहरूलाई अभियोगसहित यिनको सम्पत्ति राष्ट्रियकरण गर्ने, यिनीहरूलाई अभियोग चलाउने, मुद्दा चलाउने, यिनीहरूलाई जेलमा हाल्ने काम गरियोस् भन्ने माग गर्न चाहन्छु ।

साथै शहीदको आँकडा एकदमै गलत आएको छ । कसैले भन्छ १०० जना भयो यिनीहरू बिते, तर ५१ को मात्रै आएको छ अहिले। सरकारले पुष्टि गरोस् । कहाँ–कहाँ, कुन–कुन जिल्ला, कुन–कुन ठाउँको व्यक्ति को–को कहाँ शहादत प्राप्त गरेँ ? त्यसको सार्वजनिक गर्न पनि अनुरोध गर्न चाहन्छु ।

अहिले घाइतेहरू के अवस्थामा छन् ? उनको उपचारको लागि के भइराछ ? कस्तो भइराछ ? कति जना खतरामुक्त छन् ? कति जना चाहिँ वास्तवमा सिरियस छन् ? एउटा अन्योलको वातावरण सिर्जना भएको हुनाले नयाँ अन्तरिम सरकारको प्रमुख, प्रधानमन्त्रीज्यूलाई अनुरोध पनि गर्न चाहन्छु कि यो पनि सार्वजनिक होस् । यो कार्यमा सफलता मिलोस् भन्ने शुभकामना पनि दिन चाहन्छु । नमस्कार !

 

बेरोजगारी हुम्लाबासी चिन पुगे रोजगारीका लागी

हुम्ला । सिमकोट जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो ।

ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती छ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा यतिकै बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी सीमापास बनाएर चीन जाने र आम्दानी गरी फर्कने गर्दछन् ।

पछिल्ला वर्षहरूमा उनीहरू जङ्गलमा जडीबुटी सङ्कलन गर्न जानुभन्दा ताक्लाकोटमा घरयासीदेखि खेतबारीको काम गर्न चीनतर्फ जाने गरेका छन् ।

चीन पुग्ने सङ्ख्या बढ्दो

विगतका वर्षहरूमा युवाका लागि मात्र रोजगारीको केन्द्र बनेको ताक्लाकोट यो वर्षदेखि युवतीहरू पनि जान थालेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार विगतका वर्षभन्दा यो वर्ष सीमा पास लिने युवायुवतीको सङ्ख्या धेरै बढेको छ ।

उनका अनुसार झण्डै ५५ हजार जनसङ्ख्या भएको हुम्लामा ११ हजार हाराहारीका यहाँका नागरिकले सीमा पास लिइसकेका छन भने वितरण भइसकेको छ । आजभोलि पनि दैनिक सीमा पास लिन आउने सङ्ख्या पनि उल्लेखनीय रहेको छ । जेठ र असार महिनाजस्तै चाप नभए पनि दैनिक पाँच, सात जना सीमा पास बनाउन आउने गरेको उनले बताए।

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि कामको खोजीका लागि नयाँ सीमा पास र नवीकरण गर्नेको सङ्ख्या बढेको हो । वैशाखदेखि हालसम्म नयाँ सीमा पास लिनेको सङ्ख्या आठ हजार ९१३ रहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए ।

त्यसैगरी नवीकरण गर्नेको सङ्ख्या दुई हजार ६६ जना रहेको छ । जिल्ला प्रशासन हुम्लाले हुम्लीको लागि चीनको समन्वयमा छ महिनाका लागि अस्थायी सीमा पास दिने गरेको छ । अस्थायी सीमा पास लिएका हुम्लीले छ महिना बस्न पाउँछन् । थप बस्नका लागि नवीकरण गर्ने गरेका छन् ।

चीनसँग जोडिएको यो हिल्सा नाका हिमपातका कारण वर्षमा छ महिना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि बन्द भई जेठदेखि पुनः खुल्छ । अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरू दैनिक सीमा पास लिन आउने गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए ।

छिमेकी राष्ट्र चीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी नाम्खा र सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् । जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड, चङ्खेली गाउँपालिकाका युवायुवतीले पनि जिल्ला प्रशासनबाट सीमा पास बनाएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ थियो ।

हुम्लाबाट कामको खोजीमा चीन पुगेका हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रूपमा काम गर्ने गरेको सिमकोट गाउँपालिका–२ निवासी कालु बोहराले बताए ।

हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा २५ देखि १५० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका प्रेम भण्डारीले बताए। कामदारका रूपमा बर्खायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई हुम्लीले आम्दानी गर्दै आएका छन् । हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रूपैयाँ कमाउने गर्छन् ।

गत वर्ष ताक्लाकोटमा ३०० सम्म चिनियाँ युवान कमाउने भए पनि यो वर्ष न्यून ज्यालामा काम गरेर चित्त बुझाउन परेको उनले सुनाए । यो वर्ष दैनिक ज्यालाको मूल्य निकै घटेको छ । सोचेअनुसारको पनि काम नपाउने उहाँको भनाइ थियो । यतिबेला चीनको पुराङ्ग काउन्टी, ताक्लाकोटा आसपासका गाउँहरूमा उवा, जौ, भित्र्याउने काम पाउने गरेको छ ।

काम पाउन मुस्किल

चीनको ताक्लाकोटमा विगतका वर्षभन्दा यो वर्ष काम पाउन मुस्किल भएको छ । जिल्लाका बेरोजगार युवायुवती रोजगारीको खोजीमा ताक्लाकोट पुग्नेको सङ्ख्या उल्लेखनीय रहेपछि काम पाउन मुस्किल हुने गरेको हो । यतिबेला चीनको ताक्लाकोट पुगेका अधिकांश हुम्लीले हप्ता दिनमा एक दिन मात्रै काम पाउने गरेको गुनासो पोखेका छन् ।

चिनियाँ भाषा जान्नेलाई काम पाउन सजिलो हुने र भाषा नजान्नेलाई काम पाउन मुस्किल हुने गरेको ताक्लाकोटमा काम गर्दै आएका जनक बोहराले बताए । ताक्लाकोटमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका विभिन्न बस्तीबाट यहाँ पुगेका लामा समुदाय काम बढी पाउने गरेका छन् । उनीहरूको पुराङ्गवासीहरूसँग भाषा मिल्दोजुल्दो हुने भएका कारण उनीहरू काम बढी पाउने गरेका छन् । यता क्षेत्री बाहुनहरूले भने सोचेअनुसारको काम पाउन नसकेको बोहराको भनाइ थियो ।

जडीबुटी निर्यात, खाद्यान्न र लत्ताकपडा आयात

ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मुख्यस्थलका रूपमा परिचित हुँदै आएको छ । हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन् ।

हुम्लाबाट जडीबुटी, काठ, हस्तकलाका सामग्री चीनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ भने नेपालीले दैनिक उपभोग्यको सामान, लत्ताकपडा, निर्माणसम्बन्धी सामग्री आयात गर्ने गरेका छन् । हुम्लीले मैदा, खाद्य पदार्थलगायतका सामग्री मनग्य आयात गर्दै आएका छन् । धेरै पहिले कमाइका लागि भारत जाने गरेका हुम्लीका लागि केही वर्ष अगाडिदेखि चीन प्रमुख आयस्रोतस्थल बन्दै गएको छ ।

बस्तीका युवा सबै चीनमा

हुम्लाका अन्य गाउँपालिकाभन्दा उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीनवटै बस्तीका नागरिक यतिबेला चीन केन्द्रित हुने गरेको पाइन्छ । लिमीको तिल, हल्जी र जाङ्ग तिनै गाउँबाट पशुवस्तु चराउने गोठालाबाहेक घरका सबै सदस्य कामका लागि ताक्लाकोट जाने गर्छन् । लिामीका नागरिकहरूको प्रमुख आम्दानी आयस्रोतको क्षेत्र ताक्लाकोट बनेको छ । उनीहरू कोही कोही बाह्रै महिना ताक्लाकोट बस्दै आउने गरेका छन् । कोही दुई तीन वर्षपछि राम्रो कमाइ भएपछि गाउँघरमा फिर्ता हुने गरेका छन् ।

गएका वर्षभन्दा यो वर्ष ताक्लाकोटमा काम गर्न जाने कामदारको सङ्ख्या बढे पनि विगतका वर्षमा जसरी काम पाउन सहज नभएको बताउने गरेका छन् । पहिला काम पाउन पनि सजिलो हुने र काम गरेबापत काम हेरेर राम्रो आम्दानी हुने भए तापनि यो वर्ष कम ज्याला र कुनै दिन यतिकै बसिरहनुपर्ने अवस्था छ ।

पर्यटन क्षेत्रमा २५ अर्बको लगानी, छिनमै भयो खरानी

काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो ।

राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् ।

यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्‍यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो ।

आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ ।

पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गरे। “पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ”, पूर्वसचिव खनालले भन्नुभयो, “विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ । मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।”

खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए ।

अर्थशास्त्री डा समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताएका छन् । उनले भने, “अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तरराष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।”

अर्थशास्त्री खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । “विगतमा पनि विपद्पछि चाँडै पुनःरुत्थान भएको अनुभव छ । यसलाई चाँडो पुनःरुत्थानका लागि प्राथमिकता दिनुपर्छ । जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ । सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ ।”

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ)दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताए। उनले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिए । सिइओ जोशीले भने, “पर्यटन पक्कै पनि फेरि उठ्ने छ । विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आवद्ध अन्तरराष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनःरुत्थान हुनेछ ।”

उनका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन्भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् । नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस भनेर बढी प्राथमिकता दिइएको छ । बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उनले बताए ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनःरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । “पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी छ”, उनले भने, “विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको थियो ।

नेपालमा रहेका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य पठाउने र फर्किएकालाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनुपर्ने हुन्छ । उनले भने, “देशलाई आर्थिक समृद्धि दिनसक्ने महतवपूर्ण क्षेत्र पर्यटन नै हो । होटललगायत पूर्वाधारमा ठूलो लगानी छ । विमानस्थल बनेका छन् । यिनको प्रभावकारी व्यवस्थापन र सञ्चालन गरेर दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सकिन्छ ।”

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे। उनले भने “पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।”

नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको शाखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विषम् परिस्थितिबाट मुलुकलाई निकास दिएर शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका हुन् ।

होटलमा करिब २५ अर्बको नोक्सानी

जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट भएको छ ।

काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिको छ । हिल्टनसहित देशैभरि करिब रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

हाम्रो प्रस्ताव विपरीत संसद विघटन गरियो, जेनजी आन्दोलनकै मर्म खतरामा पर्‍यो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन संविधान विपरित भन्दै विरोध जनाएको छ । विकसित घटनाक्रमबारे उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको सात प्रदेश सभापति, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागीमा बसेको बैठकले संसद् विघटनको विरोध गरेको हो ।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिँदा समाधानमुखी सहमतिलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने हाम्रो सुझाव थियो । संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै विद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न नेपाली कांग्रेसको साथ रहने हाम्रो प्रतिबद्धता थियो ।’

संविधानको संरक्षक र पालनकर्ताका रूपमा आवश्यकताको सिद्धान्त अनुरूप जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधान सम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने र यही प्रस्तावले राजनैतिक निकासमा पु¥याउने जिम्मेवार प्रस्ताव प्रस्तुत गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘हामीले गरेको यो प्रस्तावमा सबैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अवलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो । यसरी जेनजीको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अवस्था रहँदा रहँदै सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ ।’

संसद् विघटन संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत भएको कांग्रेसको निष्कर्ष छ । विज्ञप्तिमा भनिएको छ, ‘चुनौतीपूर्ण अवस्थामा स्थितिलाई थप बिग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन नेपाली कांग्रेसले पार्टिभित्र, अन्य राजनीतिक दल तथा नागरिक समाज लगायतसँग समेत परामर्श र संवाद गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।’

अब कांग्रेस पुनर्गठन गर्नैपर्छ : राजेन्द्र बजगाईं

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले अब कांग्रेस पुनर्गठन गर्नैपर्ने बताएका छन् । सामाजिक सञ्जालबाट अपिल जारी गर्दै उनले लेखेका छन्, ‘अब कांग्रेसको पुनर्गठन गर्नैपर्छ, तर विद्यमान निर्वाचन प्रणालीले पार्टीलाई पूर्ण रूपमा पुनर्ताजगीकरण गर्न सक्दैन ।’

नयाँ उदाउन खोजेका पार्टीहरूमा अन्य दलसहित कांग्रेसबाट विकर्षित युवा धेरै भए पनि उनीहरूमा राष्ट्र निर्माणको निश्चित खाका नरहेको उनको टिप्पणी छ । संख्याको बलमा संसदमा हुने गठबन्धन, चुनावमा निहित नेताको क्षेत्रमा दलबाट एक्लै आशीर्वाद प्राप्त गर्नु र पछिल्ला समयमा प्रतिस्पर्धी दलसँग भइरहेको अनैतिक सहकार्यले समर्थकलाई निरन्तर विकर्षित गराईराखेको उनले बताएका छन् । पार्टीले पछिल्लो समयमा भएका सबै गठबन्धनहरू तोड्दै, राष्ट्रनिर्माणको गठबन्धनको नौलो रणनीति आत्मसात गर्नुपर्ने उनको आग्रह छ ।

हेर्नुस् बजगाईंको अपिल

कङ्गोमा डुङ्गा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु,१४६ बेपत्ता

कङ्गो । डेमोक्रेटिक गणराज्य कांगोको उत्तर(पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार, यो दुर्घटना कांगो नदीमा म्बाण्डाका, इक्वाटेउर प्रान्तको राजधानीबाट करिब १२२ किलोमिटर टाढा भएको थियो।

स्रोतले जनाए अनुसार, २०९ जना यात्रुलाई उद्धार गरिएको छ, जस मध्ये केही घाइते भएका छन्। दुर्घटनामा दुंगामा रहेका सबै सामग्री आगोले जलेर नष्ट भएका छन्।

दुर्घटनाको कारण भने अहिलेसम्म अज्ञात रहेको छ।
विशेष गरी कांगो नदीमा डुङ्गा दुर्घटनाहरू प्रायः घट्ने गर्छन्, जहाँ अत्यधिक भार लोड भएका र बिग्रिएका जहाजहरूले प्रायः यस्ता दुर्घटनाहरू निम्त्याउँछन्।

यसै साता, बुधबार राति, इक्वाटेउर प्रान्तको बासान्कुसु क्षेत्रको एक मोटराइज्ड डुङ्गा पल्टिँदा कम्तीमा १०० जनाको मृत्यु भएको थियो।

 

अन्तरिम सरकार बनेपछि मधेसका मुख्यमन्त्रीको फेरियो बोली : राजीनामा दिएको छैन

जनकपुरधाम । जेनजीको आन्दोलन उग्र बनेपछि पदबाट राजीनामा घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले अवस्था सामान्य बनेपछि बोली फेरेका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले अहिले पदबाट राजीनामा नदिएको बताएका छन् । जेन–जीको आन्दोलनको दिन मंगलबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामा दिएका मुख्यमन्त्री सिंह प्रदेश प्रमुखलाई राजीनामा पत्र नबुझाउने भएका छन् । उनले त्यस दिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा लेखेको उनले बताएका छन् ।

‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजीनामा दिनुपर्छ भनेर म तयार छु । त्यो दिन प्रदेश प्रमुख हुनु हुन्नथ्यो । कोही भएको भए दिन्थेँ’ उनले तर्क गरे । तर सो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको उल्लेख नै गरेका थिए । उनले आन्दोलन भइरहँदा डा. सीके राउतको फेसबुक पेजमार्फत मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएपछि सिंहले राजीनामाको घोषणा गरेका थिए ।

‘जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’, मुख्यमन्त्री सिंहले फेसबुकमा लेखेका थिए ।

मंगलबार नै फेसबुकमा राजीनामा दिएका सिंहले हालसम्म प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छैनन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीका स्वकीय सचिय टिका उप्रेतीले मुख्यमन्त्रीको राजीनामा पत्र हालसम्म नआएको बताए ।
मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे पनि अहिले आफू राजनीतिक परिवर्तनको लागि बाधक नबन्ने बताए । उनले आफूलाई हटाएर अरुलाई मुख्यमन्त्री बनाउनको लागि राजनीतिक खेल हुन्छ भने त्यसको लागि आफू तयार नरहेको बताए ।

‘जनधनको क्षति रोक्नको लागि मैले पद त्याग गर्न तयार रहेको समाजिक संजालमा लेखेको थिए तर जनधनको क्षति भएको कारणले अब त्यो कुराको औचित्य सकिएको छ’, उनले भने । जेन–जीको आन्दोलनको क्रममा मधेस प्रदेश सरकारको प्रशासनीक भवन, मधेस प्रदेशसभा लगायत विभिन्न सरकारी कार्यालय तथा नेताहरुको घरमा आगजनी गरिएको थियो । २५ जेठ २०८१ मा नेकपा एमाले लगायत ७ दलको समर्थनमा जनमतका सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । केन्द्रको राजनीतिक घटनाक्रमले माओवादीसहितका दल बाहिरिएका थिए । नेपाली कांग्रेसले भने समर्थन गर्दै सरकारमा सहभागी भएको थियो ।

ट्रम्पद्वारा कतारका प्रधानमन्त्रीसँग शान्ति वार्ता गर्ने तयारी

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग आगामी शुक्रबार न्यूयोर्कमा भेटवार्ता गर्ने तयारी गरेका छन्। यो बैठक हालै दोहामा हमासका नेताहरूमाथि आक्रमण गरेको घटनापछि निर्धारित भएको हो। स्थानीय सञ्चारमाध्यमहरूको अनुसार, ट्रम्पका विशेष दूत स्टिभ विटकोफ पनि यस भेटमा सहभागी हुनेछन्।

सूत्रहरूका अनुसार, ट्रम्पका विशेष दूत स्टिभ विटकोफ पनि उक्त बैठकमा सहभागी हुनेछन्।

कतारी प्रधानमन्त्रीले ह्वाइट हाउसमा अमेरिकी उपराष्ट्रपति जे.डी. भ्यान्स र विदेशमन्त्री मार्को रुबियोसँग लगभग एक घण्टा लामो शिष्टकुराकानी गरेपछि न्यूयोर्कका लागि प्रस्थान गरेका एनबीसी न्यूजले जनाएका छन्।

ह्वाइट हाउसमा भएको बैठकलाई धेरै सकारात्मकु रूपमा मूल्याङ्कन गरिएको छ, जहाँ दुवै पक्षले मध्यपूर्वमा शान्ति स्थापनामा कतारको योगदान र दुई देश बीचको रक्षा सहकार्य सम्झौतासम्बन्धी विचार विमर्श गरेका थिए।

कतारी प्रधानमन्त्रीको अमेरिका भ्रमण इजरायली आक्रमणपछि कतारले आह्वान गरेको आपतकालीन अरब शिखर सम्मेलनको केही दिन अघि भएको हो।

ट्रम्पले मंगलबार उक्त आक्रमणको घटनास्थलको बारेमा दुःख व्यक्त गर्दै कतारी नेताहरूसँग टेलिफोन वार्तामा यस्ता घटनाहरू भविष्यमा कतारको भूमिमा पुनः नदोहरिने आश्वासन दिनुभएका थिए।

कतारले इजरायललाई शान्ति प्रक्रियामा विघ्न उत्पन्न गर्ने प्रयास गरेको आरोप लगाएको छ, तर शान्तिवार्ता र युद्धविरामका लागि आफ्नो मध्यस्थकर्ताको भूमिकामा कुनै पनि प्रकारको परिवर्तन नगर्ने प्रतिवद्धता जनाएको छ।

अब शिक्षा मन्त्रालय केशरमहलमा

काठमाडौं । भदौ २३ गतेबाट सुरु भएको जेन–जी युवाको आन्दोलनले सिंहदरबारभित्रका कयौँ सरकारी भवनहरूमा पुर्‍याएको क्षतिका कारण शिक्षा मन्त्रालय र गृह मन्त्रालयलाई तत्कालका लागि अन्यत्रै सार्ने तयारी गरिएको छ । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले विशेषगरी शिक्षा मन्त्रालय र अन्य केही भवनहरूमा ठूलो क्षति पुगेको छ ।

शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार, सिंहदरबारभित्रको हालको भवन काम गर्न योग्य नभएपछि तत्कालका लागि मन्त्रालयलाई लैनचौरस्थित केशरमहलमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनमा सार्ने तयारी गरिएको छ । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन गर्ने सोचमा छौँ ।’

यद्यपि, केशरमहलमा रहेको भवनमा शिक्षा मन्त्रालयका लागि पर्याप्त स्थान नभएको गुनासो पनि छ । त्यसैले, सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अन्यत्र सारेर भए पनि शिक्षा मन्त्रालयलाई त्यहाँ राख्ने तयारी भइरहेको बुझिएको छ ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा सिंहदरबारको मुख्य भवनसहित शिक्षा मन्त्रालय, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं जिल्ला अदालत लगायतका महत्वपूर्ण संरचनाहरूमा तोडफोड र आगजनी भएको थियो । शिक्षा मन्त्रालयका कतिपय कोठाहरू र काठका भर्‍याङहरू समेत जलेका छन् । आज शनिबार मन्त्रालयको भवनमा सरसफाइको काम भइरहेको छ ।

आगजनीबाट क्षतिग्रस्त भएको गृह मन्त्रालयलाई पनि नयाँ ठाउँमा सार्ने तयारी गरिएको छ । सुरुमा परराष्ट्र मन्त्रालयलाई सार्ने तयारी गरिए पनि, प्राथमिकताका आधारमा गृह मन्त्रालयलाई उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको पुरानो सामान्य प्रशासन मन्त्रालयको टावरयुक्त भवनमा तत्काल व्यवस्थापन गर्न लागिएको छ ।

संसदसँगै पुराना पार्टीहरू पनि विघटनको दिशामा गए : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदसँगै पुराना पार्टीहरू पनि विघटनको दिशामा गएको टिप्पणी गरेका छन् । अब पुराना र नयाँ पार्टीहरूले पनि आन्दोलनको म्याण्डेट अनुसार पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन् । अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्मसमीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गरौं ।’ माओवादीमा यसअघिदेखि नै शर्माले प्रचण्ड नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठनको माग गर्दै आएका थिए । उनले पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठाउँदै आएका थिए ।

 

देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ ले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । लामो समयदेखि चुनाव भएर नयाँ सरकार बने पनि तीन नेताकै वरिपरि घुमिरहेको हुनाले जनतामा चर्को असन्तुष्टि बढेको उनले बताएका छन् ।

उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ । नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै । उहाँले अहिले छोड्नु हुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔं । विधिमा ल्याऔं । ताकि भोलि गगन–विश्वको पुस्ताले नेतृत्व गर्दैगर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस् ।’

उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक भन्दा बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले अब पार्टीमा आत्मसमीक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्।

ड्रोनले रूसी तेल टर्मिनलमा आक्रमण, तेलयूक्रेनी आपूर्ति प्रभावित

यूक्रेनको सुरक्षा सेवाले रूसको बाल्टिक सागरमा रहेको प्रमुख तेल टर्मिनल, प्रिमोर्स्क पोर्टमा आक्रमण गरेको जनाएको छ। यस आक्रमणको यूक्रेनक्रममा, पोर्टमा रहेका एक तेल वाहक जहाज र एक पम्पिङ स्टेशनमा आगो लागेको छ र तेल आपूर्ति अस्थायी रूपमा रोकिएको छ।

यसैगरी, केही अन्य तेल पम्पिङ स्टेसनहरूमा पनि ड्रोनले आक्रमण गरेका छन्, जसका कारण कच्चा तेललाई उस्त-लुगा पोर्ट टर्मिनलसम्म पुर्याउने मुख्य पाइपलाइन प्रणालीमा समस्या उत्पन्न भएको छ।

सुरक्षा सेवाका एक जानकार स्रोतका अनुसार, यूक्रेनी सुरक्षा सेवा(एसएसयू) द्वारा रूसको तेल उद्योगलाई लक्षित गर्दै समन्वित ड्रोन आक्रमणहरूको अभियान सञ्चालन गरिएको छ। यस प्रकारको आक्रमणले रूसको ऊर्जा आपूर्तिमा अस्थिरता ल्याउने उद्देश्य राखेको विश्वास गरिएको छ।

यो घटनाले रूसको तेल आपूर्ति शृंखलामा गम्भीर असर पुर्याउने सम्भावना रहेको छ र यसले क्षेत्रीय ऊर्जा सुरक्षा र अर्थतन्त्रमा थप चुनौतीहरू निम्त्याउन सक्छ। एसएसयूका अधिकारीहरूले यस किसिमका आक्रमणहरूलाई एक दीर्घकालीन रणनीतिक कदमको रूपमा देखेका छन्, जसले रूसी तेल उद्योगलाई थप दबाब दिने लक्ष्य राख्दछ।

 

संसद् विघटन भएपछि शंकर पोखरेल : सतर्क रहौं

काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै संसद् विघटन भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्तक रहन आह्वान गरेका छन् । उनले आफ्ना अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा मुद्दा हाल्ने र फैसला गर्नेहरूले नै अहिले प्रतिनिधि सभा भंग गराएको भनी कटाक्ष समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौँ ।’

जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मात्र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन् । साथै प्रधानमन्त्री कार्कीकै सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव पनि घोषणा गरेका छन् ।

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहँदा दुई–दुईपटक संसद् विघटन गरेका थिए । पहिलो पटक २०७७ पुस ५ मा संसद् भंग गर्दा सर्वोच्च अदालतले बदर गरिदिएपछि ओलीले २०७८ जेठ ७ मा पुनः विघटन गरेका थिए । तर दोस्रो पटक पनि अदालतले उल्टाइदिएको थियो ।

 

 

रूपन्देहीको उपचुनाव रद्द, मनाङको के होला ?

रूपन्देही । पछिल्लो राजनीतिक उलटफेरएसँगै कार्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचन रद्द भएको छ । जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएको छ भने संघीय संसद पनि विघटन भइसकेको छ । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि यसको तयारी गरेसँगै दलहरूले पनि अन्तिम तयारी गरिसकेका थिए । केही दलले उम्मेदवार समेत घोषणा गरिसकेका थिए भने आयोगले निर्वाचन आयुक्त राखेर काम अघि बढाएको थियो ।

०७९ मा रूपन्देही–३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि उक्त स्थान रिक्त छ । मनाङ १ ९२० बाट निर्वाचित दीपक मनाङेबारे अदालतको आदेशपछि पद खाली भएको थियो । प्रतिनिधिसभा विघटन भइसकेको नयाँ चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब कात्तिक १७ को यहाँ निर्धरित उपनिर्वाचन स्वतः रद्ध हुने आयोग स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य पद रिक्त भएपछि निर्वाचन आयोगले तोकेको मिति अनुसार उपनिर्वाचनको तयारी भइरहेकोमा संवैधानिक व्यवस्थाका आधारमा निर्वाचन आवश्यक नपर्ने देखिएपछि स्वतः रद्द भएको आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको कार्यकाल समाप्ति नजिक भएकाले र बाँकी अवधिका लागि उपनिर्वाचन गर्ने आवश्यकता नरहेको ठहर भएको हो ।

संविधानको धारा ८४ को उपधारा (६) मा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष तोकिएको छ भने उपनिर्वाचन गर्नुपर्ने अवस्था देखा परे पनि कार्यकाल सकिन दुई वर्षभन्दा कम समय बाँकी रहेमा निर्वाचन नगर्ने व्यवस्था छ । यही प्रावधानका कारण रुपन्देहीमा तोकिएको उपनिर्वाचन रद्द भएको हो ।

रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचित व्यक्तिको निधनपछि रिक्तता देखिएको थियो । सोही रिक्तता पूर्ति गर्न निर्वाचन आयोगले मिति तोक्दै तयारी सुरु गरेको थियो । राजनीतिक दलहरूले पनि संभावित उम्मेदवार छनोट गर्ने प्रक्रिया अघि बढाएका थिए । तर, संवैधानिक प्रावधानको कारण अब निर्वाचन नगर्ने निर्णय भएपछि सबै तयारी स्वतः स्थगित भएको छ ।

आयोगले यसअघि उपनिर्वाचनका लागि मतदाता नामावली संकलन, अद्यावधिक गर्ने, कर्मचारी परिचालन गर्ने र विभिन्न प्राविधिक तयारीलाई अघि बढाएको थियो । यससँगै जिल्लामा राजनीतिक चहलपहल बढेको थियो । दलहरूबीच गठबन्धन बनाउने र उम्मेदवारका नाम सार्वजनिक गर्ने कुरा समेत चर्चामा थियो । तर निर्वाचन स्वतः रद्द भएपछि दलहरूको तयारी पनि अर्थहीन बनेको छ । निर्वाचन आयोगका अधिकारीहरूले संवैधानिक व्यवस्था बाधक बनेको प्रष्ट पारेका छन् ।

‘तोकिएको मितिमा निर्वाचन गराउन आयोग तयार छ’

काठमाडौं । निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचन गराउन तयार रहेको जानकारी दिएका हुन् । ‘हामी निर्वाचन गराउन जहिले पनि तयारै छौँ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले आकार लिएपछि यस विषयमा ठोस छलफल होला । हाम्रोतर्फबाट आजैदेखि तयारीमा लाग्छौं ।’

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भए लगत्तै उनको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते चुनाव तोकिसकेका छन् । कार्की ६ महिनामा चुनाव गराउने गरी शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् । अहिले मन्त्रिपरिषद विस्तारबारे गृहकार्य भइरहेको छ ।

सुमनाले भनिन्–भ्रममा नपर्नु होला, कार्की ‘क्याबिनेट’ मा जान लागेको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा आफू सहभागी नहुने बताएकी छन् । शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि कतिपयले सुमना पनि यो सरकारमा मन्त्री हुनसक्ने अनुमान गरेका थिए ।

तर फेसबुक लाइभमा आएर सुमनाले आफूप्रति भ्रम छरिएको बताएकी छन् । उनले भनेकी छन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला । म क्याबिनेटमा जान लागेको छैन ।’ उनले भनेकी छन्, ‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु ।’

युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो भन्दै उनले त्यो संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्ने बताइन् । ‘युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो । त्यो संस्कार परिवर्तनमा हामी लाग्नुपर्छ । त्यसैमा हामीले फोकस गरौं।’
कार्की नेतृत्वको क्याबिनेटलाई शुभकामना दिँदै उनले भनिन्, ‘अब हामीले सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं…। अब नाम होइन काम गर्नुपर्छ ।’ उनले युवा विद्रोहबाट भएको यो परिवर्तनलाई सफल बनाउन पछाडि बसेर सहयोग गर्ने बताएकी छन् । ‘हामीले हाम्रो यो परिवर्तन सक्सेसफुल बनाउनै पर्छ,’ सुमनाले भनेकी छन् ।

देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवामाथि भएको हातपात घटनाको जति निन्दा गरे पनि कम हुने बताएका छन् । गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका प्रदर्शनकारीले उनी र पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका थिए ।

कुटपिटपछि घाइते उनीहरु दुबैको सुरक्षा निगरानीमा उपचार भइरहेको छ । देउवा दम्पत्तिमाथि कुटपिट गरेका प्रदर्शनकारीले उनको घरमा आगो लगाएर ध्वस्त बनाएका छन् । देउवा निवासमा रहेका सरसामान समेत प्रदर्शनकारीले लिएर लगाएका थिए । उक्त घटनाको निन्दा गर्दै नेता डा. कोइरालाले सभापति देउवाको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको उल्लेख गरेका छन् ।

कोइरालाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँमाथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरे पनि कम हुन्छ । २४ भदौमा प्रदर्शनकारीले कोइराला निवास समेत जलाएका थिए ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाले एक सय वर्ष भन्दा अगाडि बनाएको घरमा गिरीजाप्रसाद कोइराला हुँदै हाल नेता शेखर बस्दै आएका थिए । हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको निवासमा आगो लगाइएको भन्दै शेखर भन्छन्, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्दैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिइँदैन । कोइराला निवासको खरानी विजबाट नुतन कांग्रेसको नव निर्माणमा जुट्ने प्रण गरौं ।’

प्रधानमन्त्री नियुक्ति र संसद विघटनबारे बाबुराम भट्टराईको प्रतिक्रिया : दोस्रो राम्रो विकल्प

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूले भने बमोजिम नभए पनि प्रधानमन्त्री नियुक्ति र संसद् विघटन दोस्रो राम्रो विकल्प भएको टिप्पणी गरेका छन् । लामो छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दै नव गठित सरकारको सिफारिसबमोजिम संसद् विघटन गराइसकेका छन् ।

‘हामीले भने बमोजिम उत्तम नभए पनि दोस्रो राम्रो विकल्प यही हो । जेन–जी विद्रोहपछिको नयाँ परिस्थितिमा आन्दोलनकारीहरूसँग सहमति गरेर आकस्मिक संसद् बैठकबाट संविधानमा संशोधनसहित नयाँ प्रमको नियुक्ति र नयाँ प्रमको सिफारिसमा संसद् विघटन गरेर नयाँ निर्वाचनमा जान पाएको भए उत्तम हुन्थ्यो । त्यो आन्दोलनकारीहरूले नमानेपछि र पुराना दलहरूले पनि आलटाल गर्ने सम्भावना भएपछि दोसो राम्रो विकल्प यही हो’, शनिबार बिहान विज्ञप्ति जारी गरी भट्टराईले भनेका छन् ।

‘अर्थात् राष्ट्रपतिले राष्ट्रध्यक्षको रूपमा संविधानले सामान्यतः दिने (भलै संविधानमा प्रष्ट छैन !) अधिकार र जिम्मेवारी प्रयोग गर्दै पहिले संसद बाहिरबाट नयाँ प्रम नियुक्त गर्ने र शपथ ग्रहणपछि नयाँ प्रमले सिफारिस गरेबमोजिम राष्ट्रपतिले नयाँ निर्वाचन र संसद्को विघटन सँगसँगै गर्ने विधि नै दोस्रो राम्रो विधि हो। मैले पनि सम्बन्धित सबै पक्षलाई यही सुझाव दिएको थिएँ’, उनले थपेका छन् ।

यो नेपाली इतिहासको अर्को महत्वपूर्ण मोड भएको उल्लेख गर्दै अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैले यसलाइ ठिकसँग ग्रहण गर्न र नयाँ वैकल्पिक राजनीतिक बृहत् ध्रुवीकरणमा लाग्न उनले अपिलसमेत गरेका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेका छन् ।

भ्रष्टाचारविरुद्धको जेन–जी प्रदर्शनले ठूलो विद्रोहको रूप लिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । उनको बहिर्गमनसँगै मुलुकमा नयाँ अन्तरिम सरकार गठन गरिएको हो ।
जेन–जीले पहिलो दिन भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ओली नेतृत्वको तत्कालीन सरकारले दमन गर्दा १९ जना युवा मारिएका थिए । तर पनि पदमा टाँसिइरहेका ओली भोलिपल्ट प्रदर्शनकारीले संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबारमा समेत आगो लगाउँदै घरघरमा पसेर नेता कुट्न थालेपछि राजीनामा दिन विवश भएका थिए । जेन–जी आन्दोलनमा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने अझै कैयौँ घाइते अस्पतालको बेडमा छन् ।

प्रधानमन्त्रीलाई मोदीको शुभकामना : नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । सामाजिक सञ्जालमा अंग्रेजी, हिन्दी र नेपाली भाषामा लेख्दै उनले शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नु भएकोमा श्रीमती सुशीला कार्कीलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।’

शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई शपथ दिलाएका थिए । मंगलबार र बुधबार भएको युवाहरूको आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वमा रहेको सरकार ढलेपछि देशले अन्तरिम सरकार पाएको हो । नयाँ सरकारले आगामी ६ महिनाभित्र निर्वाचन गर्नेछ । आउँदो फागुन २१ गते निर्वाचन मिति समेत तोकिएको छ ।

जेन–जीको संघर्षलाई सलाम, यो सुरुवात मात्र हो, बाटो लामो छ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले अहिलेको परिवर्तन एक सुरुवात मात्र भएको र देश निर्माणको लामो बाटो हिँड्न अझै बाँकी रहेको बताएकी छन् ।

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा भौतिक रूपमै उपस्थित भएर फर्केपछि नेतृ श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेकी हुन् । उनले देशको पहिलो महिला प्रधानमन्त्रीलाई बधाई दिँदै ऐतिहासिक परिवर्तनको श्रेय जेन–जीलाई दिएकी छन् ।

जेन–जीको साहसको प्रशंसा गर्दै उनले लेखेकी छन्, ‘तपाईंहरुको अथाह साहस र संघर्षलाई सलाम । तर याद राख्नुहोस्, यो त तपाईहरुको सुरुवात मात्र हो । अझ लामो बाटो हिड्न बाँकी नै छ ।’ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले शपथ ग्रहण समारोह बहिष्कार गरिरहेको बेला, सुमना भने शपथ समारोहमा सहभागी थिइन् ।

काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा र कर्फ्यू

काठमाडौं । काठमाडौँ उपत्यकामा विगत ६ दिनदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू आज (शनिबार) बिहानदेखि हटेको छ । नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यूको विषयमा जानकारी दिँदै आएको थियो । तर, आज भने सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कर्फ्यूसम्बन्धी सूचना जारी गरेका छैनन् ।

निषेधाज्ञा र कर्फ्यू हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ । काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू पनि आज बिहानदेखि हटेको छ । जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यू जारी गरेका थिए ।

जेनजी आन्दोलनको भावनाअनुसार गए राति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य बन्दै गएको छ । पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ ।

जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । मंगलबारको हिंसात्मक प्रदर्शनपछि नेपाली सेनाले कर्फ्यू र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरुले आवश्यकता अनुसार निर्णय गर्न थालेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले काठमाडौं उपत्यकामा हिजो बेलुकी सात बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यू घोषणा गरेको थियो ।

त्यसपछि निर्देशनालयले थप निर्णय गरेको छैन । अब स्थानीय प्रशासनले आवश्यकताको आधारमा निर्णय गर्न सक्ने नेपाली सेनाले जनाएको छ। हिजोदेखि लामो दूरीका गाडी पनि चल्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि आजदेखि केही सार्वजनिक गाडी गुडेका छन् ।

प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक : नेपाल बार एशोसिएसन

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भएको बताएको छ । एशोसिएसनले शनिवार विहान विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भन्दै विरोध जनाएको छ ।

प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी राष्ट्रपतिबाट २७ गते भएको निर्णय स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानूनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष बिपरित रहेको निष्कर्ष निकाल्दै उक्त कदमको भत्र्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो कदम नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई गम्भीर रूपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशितासहितको संघीयता जस्ता उपलब्धिलाई खोस्नेतर्फ लक्षित छ । नेपालको वर्तमान संविधान राष्ट्रिय सहमतिको बृहत् परिणाम हो र यसले यहाँका नागरिकहरुको आकांक्षालाई प्रतिबिम्बित गर्दछ । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद पुनस्र्थापना सम्बन्धि निर्णय विपरित समेत छ ।’

यस्ता कार्यहरुले लोकतान्त्रिक संस्थाहरुमाथिको जनविश्वास घटाउने र संवैधानिक व्यवस्थाको जगलाई नै खतरामा पार्ने बारको ठहर छ ।लोकतन्त्रको तत्काल पुनस्र्थापना र संवैधानिक सर्वोच्चताको अटल पालनाको लागि बारले माग गरेको छ ।

सबै सरोकारवालाहरुलाई संविधानमा निहित जनचाहनाको सम्मान गर्न र कठिन संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई अस्थिर बनाउन सक्ने कुनै पनि कार्यबाट सचेत रहन आह्वान गरेको छ । संविधानको संरक्षणका लागि आफनो प्रतिबद्धतामा अडिग रहेको बताउँदै कुनै पनि बहानामा यस्तो पश्चगामि कदमलाई अस्विकार गर्ने एशोसिएसनले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस परिवेशमा संविधानको अक्षरशः पालना गर्न गराउन र नेपाली जनताको बलिदानीपूर्ण इतिहासको रक्षाका लागि नेपाल बार एशोसिएसन कुनै पनि कदम चाल्नको लागि तयार भई यस कायमा सहकार्यको लागि आम जनसमुदायमा आहवान समेत गर्दछ ।

रवि लामिछाने कारागारबाट निस्किने बेला पत्र बुझ्ने म हुँ, फेक होइन : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका आफ्ना सभापति रवि लामिछानेले कारागारबाट पाएको पत्र नक्कली नभएको दाबी गरेका छन् । उनले आफू लामिछाने जेलबाट निस्कने बेलाको साक्षी भएको भन्दै त्यो पत्र बुझ्ने पनि आफै भएको बताएका छन् ।

अर्यालले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु । पत्र बुझ्ने म हुँ, पत्र मेरो अगाडि हस्ताक्षर भएको हो । पत्र फेक होइन, हतार र हतासमा बेहोराहरू तलमाथि भएको हुन सक्छन्, मिति हामीले सच्याएको होइन । सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ । यस्ता पत्रहरू कम्प्युटरमा भएकै बेहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू डिलिट नभएका होलान् । कुरा त्यति हो ।’

गृह मन्त्रालयलगायत सम्बन्धित सबै नकाियसँग समन्वय गर्ने आफू भएकाले त्यो पत्रका विषयमा सभापति लामिछानेलाई कुनै जानकारी नभएको जिकिर पनि रास्वपाका कार्यवाहक सभापति अर्यालले गरेका छन् ।

‘गृह मन्त्रालयलगायतका सुरक्षा निकाय सबैसँग समन्वय गर्ने म हुँ । यसमा सभापति ज्यूलाई केही जानकारी छैन । सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु । कोही भ्रममा नपर्नुस् । पार्टी सभापतिलाई जेलले निस्क भन्यो । उहाँले पत्र माग्नुभयो । हामीले समन्वय गर्‍यौँ, यसमा उहाँको के दोष ? एकतर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन । १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो । समयमा सभापति ज्यूलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ । दुनियाँले देखेको छ, उहाँ भाग्नु भएको होइन’, उनले भनेका छन्, ‘हामी लगातार सुरक्षा निकायको समन्वयमा छौँ, नक्खु कारागारको अवस्था ठिक छैन । त्यसैले सीडीओलगायतका निकायहरूसँग समन्वयमा बसेर सम्पर्कमा बसेका छौं । बोलाउने बित्तिकै आउँछौँ भनेर भनेका छौं ।’

जेन–जेडको योगदान र बलिदानले देशले परिवर्तन पाएको छ : बालेन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले मुलुकमा अन्तरिम सरकार गठन र संसद् विघटन भएपछि आन्दोलनकारी जेन–जीप्रति सम्मान प्रकट गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । शपथ लगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी छन् ।

यसप्रति खुशी प्रकट गर्दै मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेन–जेड, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ । तपाईंहरूप्रति असिम सम्मान।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

भ्रष्टाचार र बेथितिविरुद्ध जेन–जीका युवाले भदौ २३ गते काठमाडौँको बानेश्वरलगायत देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना मारिए भने सयौँ घाइते भए । यसको आक्रोशमा भोलिपल्ट उनीहरूले आन्दोलन थप चर्काउँदा प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार तथा सर्वोच्च अदालतसमेत जलाए ।

त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । आन्दोलनमा मारिनेको संख्या अहिलेसम्म ५१ पुगेको छ । अझै कैयौँ घाइते अस्पतालमा छन् ।

नव नियुक्त प्रधानमन्त्री कार्कीलाई हाम्रो समर्थन रहनेछ : नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विशिष्ट परिस्थितिमा निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहने बताएका छन् । पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामीले जेन जीको प्रस्ताव र सहमतिअनुसारकै सरकार संवैधानिक प्रक्रियाबाट गठन गर्न आव्हान गरेका थियौं । यो भन्दा उत्तम संवैधानिक प्रक्रियाबाट अघि बढ्न सकिने हाम्रो सुझाव रहेको भए पनि आजको विशिष्ट परिस्थितिमा सम्माननीय राष्ट्रपति ज्यूले धारा ६१ अन्तर्गत सरकार गठन गर्नुभएकोमा हाम्रो समर्थन नै रहेको छ,’ उनले भनेका छन्, ‘यो जेन जी आन्दोलनको सफलताको महत्वपूर्ण खुट्किलो हो र जेन जी आन्दोलनकारीहरुलाई यस निम्ति बधाइ ज्ञापन गर्दछु ।’

उनले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकोमा कार्कीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका छन् । उनले संसद् विघटनले भने संविधान भत्काउन सक्ने भन्दै त्यसपछि गम्भीर हुन राष्ट्रपति र प्रधानमन्त्रीलाई विशेष अनुरोध समेत गरेका छन् ।

 

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै राष्ट्रपतिले भने- देश सफल होस्, जनता बचुन्

काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउन शुभकामना दिएका छन् ।

जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्।

‘बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन्’ पौडेलले कार्कीलाई भने।

अहिले उनलाई विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई दिइरहेका छन्।  उनी पहिलो प्रधानन्यायाधीश हुन्। अन्तरिम सरकारमा पहिलो महिला प्रधानमन्त्री पनि भएकी छन्।

संसद विघटन प्राप्त उपलब्धि समाप्त पार्ने षडयन्त्र, गम्भीर असहमति छ : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटन प्राप्त उपलब्धि समाप्त पार्ने खेल भएको आरोप लगाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएका छन् ।

पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए। अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले यो गम्भिर षडयन्त्र भएको भन्दै पार्टी संसद विघटनको विपक्षमा उभिने बताए । ‘प्रतिनिधि सभा विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात हो । पार्टीले यसको विरोध गर्नेछ । प्रतिनिधि सभा विघटनले राज्यलाई अस्थिरतातर्फ र प्राप्त उपलब्धिको समाप्ति गर्नेतिर षड्यन्त्र भएको हुँदा पार्टी त्यसको विरोधमा उत्रिने छ,’ उनले भने ।

‘जननिर्वाचित सर्वोच्च संस्था विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात हो । लोकतन्त्रमा जनताको सार्वभौम मतको अभिव्यक्ति हुनुपर्छ । पछिल्लो पटक प्रकट भएको जनमतको आधारमा बनेको प्रतिनिधि संस्था विघटन हुनु भनेको राज्यलाई अस्थिरतातिर, प्राप्त उपलब्धिहरुको समाप्ति गर्नेतिर गम्भीर षड्यन्त्र भएको हुँदा त्यसको विपक्षमा, विरोधमा नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठकले निर्णय गरेर उभिने र सम्पूर्ण जनतालाई अपील गर्ने भएको छ,’ उनले भने ।

सुशीला कार्की मन्त्रिपरिषदको मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव

काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनु पर्नेछ ।

कार्कीको शपथ ग्रहणमा सभामुख र राष्ट्रियसभा अध्यक्ष अनुपस्थित

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल अनुपस्थित भएका छन् ।

शपथमा पूर्व प्रधानमन्त्रीहरू पनि देखिएनन् । विभिन्न देशका राजदूत साथै कूटनीतिक नियोगका अधिकारी भने सहभागी भएका थिए ।

 

प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए । लामो रस्साकस्सीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

संसद विघटन र प्रधानमन्त्री नियुक्तिको पत्र एउटै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । उनले प्रधानमन्त्री नियुक्ति पनि यही पत्रमा गरेका छन् । नयाँ प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथ गराउनुअघि उनले संसद् विघटन गरेका हुन् ।

जेन–जी समूहले बिहीबारदेखिको वार्ताका क्रममा विघटन नभई सरकारको नेतृत्व लिन नसक्ने अडान राखेपछि राष्ट्रपति पौडेलले शुक्रबार दिनभर परामर्श गरेका थिए ।

दिनभरको परामर्शपछि राष्ट्रपतिले साँझदेखि कार्कीलाई निर्णायक वार्ताका लागि शीतल निवास बोलाइएको थियो । उक्त वार्तामा ओमप्रकाश अर्याल र रमण कर्ण अनि जेन–जीका तर्फबाट सुदन गुरुङ शीतल निवास पुगेका थिए ।

पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथ LIVE

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

संविधानको धारा ६१ अनुसार सुशीला कार्की बनिन् नेपालको प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

जेन–जी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन्। नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ । राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

औद्योगिक राजधानीको रुपमा चिनिएको विराटनगर प्रजातान्त्रिक आन्दोलनको उद्घोषस्थल र राजनीतिक नेतृत्व जन्माउने सहरको रूपमा पनि परिचित थियो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेपछि अब विराटनगरले थप परिचय बनाएको छ, छैटौँ प्रधानमन्त्री र पहिलो महिला कार्यकारीको रूपमा ।

यसअघि पाँच प्रधानमन्त्री उदाएको विराटनगरमा अब सूचीमा कार्कीको नाम थपिएको हो । जो नेपालको कार्यकारी ओहदामा पुग्ने पहिलो महिला बनेकी छन् । कार्की यसअघि नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् ।

यी हुन् विराटनगरले पाएका प्रधानमन्त्रीहरु
बीपी कोइराला–नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री
मातृका प्रसाद कोइराला–कांग्रेसका प्रभावशाली नेता
गिरिजाप्रसाद कोइराला–बहुदलीय लोकतन्त्र पुनस्र्थापनापछि चार पटक प्रधानमन्त्री
मनमोहन अधिकारी–पहिलो कम्युनिस्ट प्रधानमन्त्री
नगेन्द्र रिजाल–पञ्चायतकालीन प्रधानमन्त्री
सुशीला कार्की–पहिलो महिला प्रधानमन्त्री

सुशीलाको मन्त्रिपरिषदमा अर्याल र कुलमान मन्त्री बन्ने सम्भावना, सुधन गुरुङको पनि चर्चा

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने सम्भावना रहेको छ। अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको स्रोतले जनाएको छ।

हामी नेपाल समूहका सुदन गुरुङको टोलीले अर्याललाई कानुनी सल्लाहकार बनाएको थियो । अहिले राष्टपति रामचन्द्र पौडेलसँगको छलफलमा पनि अर्याल नै जुटेका थिए । अर्याल काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहका पनि सल्लाहकार हुन् ।

त्यसैस्तै घिसिङलाई पनि जेन–जी समूहले मन्त्रीमा प्रस्ताव गरेका छन् । एकथरि जेन–जी समूहले पनि घिसिङलाई प्रधानमन्त्री बनाउनु पर्ने अडान लिएका थिए । आजै शीतल निवासअघि घिसिङको पक्षमा नारा जुलुस भएको थियो । जेनजी प्रतिनिधि सुधन गुरूङको नाम पनि भावि मन्त्रीको रूपमा चर्चामा छ ।