`

वायु सेवा निगमको ‘बेथिति’ छानबिनको माग गर्दै जेनजीको पाँच बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानि) मा भएको बेथितिविरुद्ध जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । अर्जुन शाही, मिराज ढुंगानालगायतको जेनजी टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरण प्रदिप अधिकारी प्रदिप अधिकारी, नेपाल वायुसेवा निगम युवराज अधिकारी, महान्यायाधिवक्ता, महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा नेपाल सरकारका सम्बन्धित निकायहरूमा नेवानीमा भएको बेथिति अन्त्य गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

जेनजी टोलीले नेवानिको भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न माग गरेका छन् । उनीहरुले वाइडवडी र लाउडा एयर घोटालासहित सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

एनएसीका सबै निर्णयहरूमा जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनु पर्ने, दुर्गम क्षेत्रका जनताका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने र माथिका सुधार र कानुनी प्रस्तावहरु तत्काल कार्यान्वयन हुनु पर्ने नभए सबैले स्वेछिक राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन् ।

टीओबीको स्पष्टीकरण : हामी नेपाली नै हौं, आगजनीमा संलग्न छैनौं

काठमाडौं । आफूलाई विदेशी समूह भन्दै जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न रहेको आरोप लागेपछि टीओबी अर्थात् ‘द ओरिजिनल ब्रदर्स’ ले खण्डन गरेको छ । समूहका सल्लाहकार हाकिम गुरुङ उर्फ सुरेन्द्र गुरुङले आज (आइतबार) फेसबुकमा ‘टीओबी बाइकर्स ग्रुपको स्पष्टीकरण र अपिल’ जारी गरेका हुन् । उनले आफूहरू कुनै विदेशी नभई नेपालकै विविध जाति, समुदाय र पृष्ठभूमिका युवा सदस्यको समावेशी समूह भएको दाबी गरेका छन् ।

जसको उद्देश्य देशप्रति माया देखाउने, भ्रष्टाचार र अन्य अनियमितताविरुद्ध सचेतना जगाउने तथा शान्तिपूर्ण र कानुनी सीमाभित्र रहेर जनआवाज उठाउने भएको उनले उल्लेख गरेका छन् । यसै क्रममा गत भदौ २३ गते भएको जेनजीको शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको तर भोलिपल्ट २४ गतेको तोडफोड र आगजनीमा आफ्नो समूह संलग्न नरहेको दाबी गुरुङले गरेका छन् ।

‘भाद्र २३ मा भएको आन्दोलनमा हामी शान्तिपूर्ण रूपमा सहभागी थियौं । भाद्र २४ मा आगलागी र तोडफोड भएको भन्ने समाचार फैलिएको छ । यसबारे हामी स्पष्ट पार्न चाहन्छौँ–उक्त घटनास्थलमा हाम्रा कुनै पनि सदस्यहरू उपस्थित थिएनन् र हाम्रो समूहले सो किसिमको हिंसात्मक वा गैरकानुनी गतिविधिमा संलग्न भएको छैन । हाम्रो समूहमा एउटा साथी छन्, जसको पूर्वज तिब्बती हुन् र जो आफ्नो संस्कृतिलाई गर्वका साथ प्रस्तुत गर्नु हुन्छ । उनलाई जातीय वृत्तान्त वा भेदभावको आधारमा लक्षित गरिनु निन्दनीय छ ।’

स्पष्टीकरणमा भनिएको छ, ‘उनी पनि पूर्ण नेपाली नागरिक हुन् र उनी वा हाम्रा अरू साथीहरूले देशको हानि गर्ने कुनै काम गरेको छैन । हाम्रो समूहमा धेरै जेनजी उमेरका युवा छन्, जो परिवर्तन, पारदर्शिता र जिम्मेवारीको पक्षमा आवाज उठाउँछन् । ती युवाहरूलाई अपमान र घरेलु राजनीतिक रंगहरूमा फसाएर मेटाउन खोज्नु गलत हो । हामी उहाँहरूको आवाजको सम्मान गर्दछौँ र तिनले उठाएका वैध चिन्ताहरूलाई ध्यानपूर्वक सुन्नु सबैको कर्तव्य हो ।’

उनले लेखेका छन्, ‘हामी सबै सञ्चारमाध्यम र सर्वसाधारणसँग विनम्र अनुरोध गर्दछौं कि समाचार वा सामाजिक सञ्जालमा कुनै पनि आरोप ओहोरदोहोर गर्नुअघि तथ्यको पुष्टि गरियोस् र प्रमाण प्रस्तुत गरियोस् । सत्य उजागर गर्न हामी कसैसँग पनि खुला संवाद र सहकार्य गर्न तयार छौं । महत्वपूर्ण सूचना : यदि कसैसँग तानाशाही, तोडफोड वा आगजनी गर्ने हाम्रो समूह वा हाम्रा सदस्यहरूमाथि ठोस प्रमाण (प्रमाणिक भिडिओ, तस्बिर, कागजात वा कानुनी दाबी) छ भने हामी ती प्रमाणको सामना गर्न र आवश्यक परे कानुनअनुसार सजाय भोग्न पूर्ण रूपमा तयार छौं । सत्यसिद्ध भएपछि कानुनले जे माग्छ, हाम्रा लागि स्वीकार्य हुनेछ । तर अनावश्यक आरोप, असत्य प्रचार र जातीयद्वेषजन्य टिप्पणीबाट हामी आफ्नो सुरक्षा र बौद्धिक सम्मानको लागि कानुनी तथा सामाजिक उपायहरू लिन बाध्य हुनेछौं । हामी फेरि दोहोर्‍याएर भन्छौं–टीओबी समूह शान्तिपूर्ण, जिम्मेवार र समावेशी छ । हाम्रो लक्ष्य मात्र देशको भलो, पारदर्शिता र समाजिक न्याय हो । कृपया अफवाह नफैलाउनु होला र तथ्यमा आधारित जानकारी लिनुहोस् ।’ र्‍यापर तथा कलाकार गुरुङ हाकिम इन्टरटेनमेन्ट नामक म्युजिक कम्पनीका सञ्चालक पनि हुन् । यसैबीच ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले भने उक्त समूहलाई आफूले आन्दोलनमा नबोलाएको बताएका छन् ।

 

 

 

जेनजी आन्दोलनको आगामी मोड : एकता कि अन्योलतर्फ ?

काठमाडौं । भदौ २३ र २४ गते नेपालका सडकमा उत्रिएको ‘जेनरेशन जस्टिस (जेनजी)’ आन्दोलनले तत्कालीन ओली सरकारलाई ३६ घण्टामै घुँडा टेकाउन बाध्य पारेर विश्वमै दुर्लभ राजनीतिक घटनाको उदाहरण बन्यो । तर एक महिनापछि, यही ऐतिहासिक आन्दोलन आज आफ्नै छायाँमा अल्मलिएको देखिन्छ—आरोप, गुटबन्दी, परिचालन र रहस्यका कुहिरोभित्र हराइरहेको छ ।

कहाँबाट सुरु भयो ? कहाँ पुग्यो ?
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्धको आक्रोश र सरकारको अकर्मण्यताविरुद्ध आवाज बनेर उठेको जेनजी आन्दोलनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अपदस्त गरायो । आन्दोलनको दबाबमा बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार पनि आज प्रश्नहरूको घेरामा छ । दावी गरिएको थियो, ‘यो जनताको आवाज हो’, तर आज त्यही जनताले प्रश्न गरिरहेका छन्, ‘यी नेताहरू को हुन् ? प्रतिनिधि कसरी बने ? र के साँच्चै यिनले हाम्रो चाहना बुझे ?’

‘असली’ र ‘नक्कली’ जेनजी : आन्दोलनभित्रको आन्दोलन
आजको वास्तविकता के हो भने, जेनजी नाममा विभिन्न गुटहरू देखा परेका छन् ।
–सुदन गुरुङ
–मीराज ढुंगाना
–प्रवेश दाहाल
यी पात्रहरू कहिले प्रधानमन्त्रीसँग त कहिले राष्ट्रपतिसँग वार्तामा छन् । तर उनीहरूको ‘अधिकार’ प्रति प्रश्न उठिरहेको छ, ‘यी असली प्रतिनिधि हुन् कि स्वघोषित अगुवा ?’ त्यहींबेला, आफैंलाई ‘असली जेनजी’ बताउने अन्य समूहहरू राष्ट्रपतिको निवासअगाडि नाराबाजी गरिरहेका छन् ।

सडकको आगोभित्र ‘टीओबी’ को सन्दिग्ध छायाँ
पत्रकार दिवाकर शाहले आफ्नो च्यानल ‘एचटीपी खबर’ मार्फत ल्याएको रिपोर्टले आन्दोलनमा देखिएको अर्को रहस्य उजागर गर्‍यो–२३-२४ गतेको आन्दोलनमा हिंसा र आगजनी गर्नेहरू टीओबी (TOB) लेखिएको कालो टिसर्टमा थिए र उनीहरू सम्भावित बाह्यबाट परिचालित समूह हुन सक्ने शंका उनले सार्वजनिक गरे ।

यसलाई नेकपा एमाले निकट नेता समिक बडालले समर्थन गर्दै जेनजीका चर्चित पात्र सुदन गुरुङको टीओबीसँग सम्बन्ध रहेको दाबी गरेका छन् । बडालले फेसबुकमार्फत लेखे, ‘तपाईंको हातको ट्याटु र पत्रकार दिवाकर शाहले सार्वजनिक गरेको लोगोले त्यो बोलीको असलियत प्रष्ट देखाएको छ… भ्रम सिर्जना गरेर युवाको भावनामाथि खेलवाँड नगर्नुहोस् ।’

टीओबी टिसर्टबारे सुदन गुरुङको प्रश्न : त्यो भिडिओमा म कहाँ छु ?
सरकारसँगका वार्तामा जेनजीका तर्फबाट सक्रिय ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले आफ्नो समूहलाई विदेशी शक्ति र ‘फ्रि तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् । हालैको जेनजी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ (TOB) लेखिएको तस्बिर-भिडिओ सामाजिक सञ्जालमा भाइरल गराइएको छ । टीओबीको पूर्ण रूप द ओरिजिनिल ब्रदर्स (The Original Brothers) हो । यो बाइकर्स ग्रुप हो । उनीहरूले विभिन्न स्थानमा दान तथा सामाजिक काम गर्ने गरेका छन् । सुरुमा उनीहरूको नाम ‘टिबेटियन ओरिजिनल ब्लड’ थियो ।

त्यो ‘टीओबी’ समूहमा आफू र आफ्नो संस्थालाई जोडेर समाजमा भ्रम फैलाउन खोजिएको भन्दै गुरुङले भिडिओ सन्देश जारी गरी स्पष्टीकरण दिएका छन् । ‘अब चाहिँ अत्ति नै भयो । यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन । अहिले फेरि नयाँ ट्रेन्ड आएको छ । साइबर सेनाको टीओबीसँग हामीलाई बदनाम गर्न । ..फेरि मान्छेहरूले पत्याइरहेका छन् । ए यस्तो रे, उस्तो रे । हामी कतिसँग लड्ने ? नेतासँग लड्ने कि भ्रष्टाचारविरुद्ध लड्ने कि ? यो यो फेक न्युजविरुद्ध लड्ने कि ? हाम्रो टिम मिलाउन लड्ने कि ? कति कुरामा चाहिँ हामी लड्नु पर्ने ?

उनले भनेका छन्, ‘मलाई देखाउनु पर्‍यो कि त्यो भिडिओमा मचाहिँ कहाँ छु ? मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ ?..त्यो भिडिओमा त देखिँदैन त ? अनि यसलाई हामीले बोलाएको भनेर साइबर सेनाको नयाँ स्टाइल ! हामी फेरि पत्याइ दिने ! हामी पढे लेखेका छैनौं ? सत्य र असत्य, झुट हामी पहिचान गर्न सक्दैनौं ? यसो बुझ्न सकिन्छ नि हैन ? यसमा त यो मान्छे छैन, किन यिनीहरूले यस्तो गरेको होला ? भनेर बुझ्न त सक्छौं नि, हामी त पढे लेखेका मान्छे छौं।’

एनजीओ नियन्त्रित सरकार ? उठेका छन् गम्भीर प्रश्न
जेनजीको आन्दोलनबाट बनेको अन्तरिम सरकारप्रति पनि टिप्पणी र आलोचना सुरु भएको छ । ‘हामी नेपाल’ नामक संस्थाबाट सक्रिय सुदन गुरुङमाथि तिब्बतीयन फण्डमार्फत् परिचालित भएको आरोप समेत लागिरहेको छ । यिनै कारण अहिले सर्वसाधारणदेखि विश्लेषकहरूसम्म ‘सरकार कहीं एनजीओको इशारामा त चलिरहेको छैन ?’ भन्ने प्रश्न गरिरहेका छन् ।

७४ जनाको बलिदानीको मूल्य : आन्दोलनको उद्देश्य बिर्सिने खतरा ?
जेनजी आन्दोलनले ७४ जना युवाको ज्यान लियो । उनीहरूको बलिदानीले सरकार परिवर्तन गर्‍यो, तर आज पीडित परिवार न्याय खोज्दैछन्—माग सुनिएको छैन । यो आन्दोलनले भ्रष्टाचार, दमन र सञ्जाल नियन्त्रणविरुद्ध आवाज उठाएको थियो, तर अहिले शक्ति र पहिचानको लडाइँमा लिप्त भएको देखिँदैछ । नेताहरू एक आपसमा ‘तँ नक्कली, म असली’ भन्न थालेका छन् ।

विश्वमै प्रशंसित आन्दोलन, तर भित्रैदेखि भाँचिएको संरचना
जेनजी आन्दोलनले विश्वभर चर्चा बटुल्यो । तर अहिले नेपालमै यसको नैतिक अधिकार, नेतृत्वको पारदर्शिता र उद्देश्यकै बारेमा गम्भीर विवाद छ । ‘यो आन्दोलनले देशलाई उज्यालो देखायो कि अँध्यारोमा धकेल्यो ?’, यो प्रश्न अहिले हरेक नेपालीको मनमा उठिरहेको छ ।

जेनजीको भविष्य कुन मोडमा छ ?
एक यथार्थ के हो—जनताको भावना, आक्रोश र बलिदानी साँचो हो । तर नेतृत्व अस्पष्ट हुँदा, उद्देश्य कमजोर हुँदा, र गुटबन्दी हावी हुँदा त्यो आन्दोलन संघर्ष होइन, षड्यन्त्रमा बदलिन सक्छ ।
अब पनि समय छ —
–नेतृत्व पारदर्शी बनोस् ।
–पीडितलाई न्याय मिलोस् ।
– ‘जेनजी’ नाममा शक्ति प्रदर्शन होइन, सुधार होस् ।
नत्र, इतिहासले लेख्नेछ–नेपालमा एउटा युगान्तकारी आन्दोलन भयो… तर त्यो आन्दोलन आफैले आफैलाई हरायो ।

 

क्यालेन्डरमा नभई मैदानमा फुटबल चाहियो भन्दै एन्फा मुख्यालयमा धर्ना

काठमाडौं । नेपालको फुटबल खेललाई चलायमान बनाउन माग गर्दै नेपाली फुटबल समर्थकहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रदर्शन गरेका छन् । लामो समयदेखि ए डिभिजन लिग आयोजना गर्न नसकेको र एन्फालाई पारदर्शी ढंगले अघि बढाउन नसकेको भन्दै उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले विश्वकप ४ वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?, फुटबल क्यालेण्डरमा होइन, मैदानमा चाहियो, घरेलु लिग चलाउ, फुटबल बचाउँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

एन्फाले प्रभावकारी काम गर्न नसकेकाले नेपाली फुटबल चलायमान हुन नसकेकाले झकझकाउन प्रदर्शन गरिएको फुटबल समर्थक अनुप मल्लले बताए । फिफा र नेपाल सरकारबाट प्राप्त हुने बजेट समेत पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

ए डिभिजन लिग आयोजना गर्न नसकेको ८५४ दिन हुँदा पनि एन्फा गम्भीर नभएको उनीहरुको आरोप छ । यसैबीच एन्फा र ए डिभिजन फुटबल क्लबबीच आइतबार हुने भनिएको बैठक समेत स्थगित भएको छ । आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगीत गरिएको एन्फाले जनाएको छ ।

‘फेक न्युज’ र सञ्चारमाध्यमका सामाजिक सञ्जाल अनुगमन गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरे ।

उनले नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्ने बताए । मन्त्री खरेलले मुलुकमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत हुने सञ्चार माध्यमको जिम्मा राज्यले लिनुपर्ने आवश्यकता औंल्याए । प्रेस काउन्सिल आम सञ्चार माध्यमको न्यायालय हो भन्ने मान्यता स्थापित हुनुपर्नेमा मन्त्री खरेलले जोड दिए । उनले भने, ‘पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै कानुनलाई परिवर्तित अवस्था अनुरुप अघि बढाउन नसक्दा अनेक चुनौती खडा भएको छ । सामाजिक सञ्जालमा जे–जस्ता मिथ्या, गलत, घृणाजन्य सूचनामार्फत एक अर्कालाई गाली–गलौज, बादप्रतिवाद र आक्रमण गर्ने कार्यले सम्पूर्ण राज्यको समयन्त्र चिन्तित हुनुपर्ने अवस्था छ ।’

मन्त्री खरेलले नेपालमा दर्ता भएका सामाजिक सञ्जालको नियमन गर्ने सन्दर्भमा सचेतनामूलक सन्देश दिने सामग्री प्रसारण गर्न काउन्सिललाई सुझाव दिए । उनले काउन्सिललाई कस्तो खाले जनशक्ति र उपकरण आवश्यक परेको छ र कसरी काम गर्दा सामाजिक सञ्जाललाई नियमन गर्न सहज हुन्छ त्यसको यकिन गरी तत्काल कार्यदल बनाएर काम गर्न पनि सुझाव दिए ।

मुलुक आम निर्वाचनको तयारी गरिरहेको अवस्थामा आचारसंहिताको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिँदै मन्त्री खरेलले भने, ‘प्रेस काउन्सिल स्वायत्त निकाय हो, यसलाई मन्त्रालयले हस्तक्षेप गर्दैन । नीतिगत निर्णय र सहयोग गर्न मन्त्रालय तत्पर छ।’ मन्त्री खरेलले भने, ‘के भयो भने यो विकृति र विसंगतिलाई अनुगमन, नियमन र कानूनको दायरमा ल्याउन सक्छौं ? यसबारे काउन्सिलले भनोस् । अहिले २० हजार वटा सोसल मिडियाका प्लेटफर्महरु सञ्चारमाध्यमार्फत सन्चालित छन् । अधिकांश आउट अफ ट्रयाक गएका हुन् कि भन्ने पनि देखिन्छ । सामाजिक सञ्जालमा हेर्‍यो भने हुँदै नभएका एआइ जेनेरेटेड कन्टेटहरुले मान्छेलाई भ्रमित बनाइरहेको छ । गलत नहोस् भन्नका लागि हामी अनुगमन, नियमन र कारवाहीको दायरमा ल्याउन गम्भीर बन्नु पर्छ ।’

उनले आम जनता, सरकार र सबै सरोकारबाला निकायको अपेक्षाअनुरुप काउन्सिलले सक्रिय र स्वतन्त्ररुपले काम गरिरहेको छ भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्ने धारणा राखे । त्यस अवसरमा मन्त्रालयका सचिव राधिका अर्यालले काउन्सिललाई आवश्यक पर्ने सबै खाले सहयोग उपलब्ध हुने विश्वास दिलाइन् । काउन्सिलका सदस्य एवम् कार्यक्रमका अध्यक्षता गरेका सदस्य बालकृष्ण अधिकारीले काउन्सिलमा प्राविधिक आवश्यक जनशक्ति र बजेटको अभावकाबीच कार्यसम्पादन गर्दै आएको बताए । यसअघि काउन्सिलका मुख्य प्रशासकिय अधिकृत झबिन्द्र भुषालले काउन्सिको समग्र वस्तुस्थिति र कामकारबाहीकाबारे जानकारी गराएका थिए ।

हमासले गाजामा किन गर्‍यो ठूलो संख्यामा लडाकु परिचालन ?

काठमाडौं । इजरायलको सेनाले खाली गरेको गाजाका क्षेत्रहरूमा हमासले ठूलो संख्यामा आफ्नो सुरक्षा बलका सदस्यलाई परिचालन गरेको छ । ती क्षेत्रमा आफ्नो पकड जमाउन हमासले सात हजारको संख्यामा आफ्ना सदस्य तैनाथ गरेको बीबीसीको खबरमा उल्लेख छ ।
प्यालेस्टिनी समूहले पनि पाँच जना नयाँ गभर्नर नियुक्त गरेका छन् । ती सबै सैन्य पृष्ठभूमिका छन् ।

फोन र म्यासेजमार्फत् परिचालनको आदेश दिइएको खबरमा उल्लेख छ । हमासका सशस्त्र इकाईहरू विभिन्न जिल्लाभर परिचालन गरिएका छन् । यस्तै हमासले पाँच नयाँ गभर्नरहरू पनि नियुक्त गरेको छ । जसमध्ये केहीले पहिले हमासको सशस्त्र शाखामा ब्रिगेडहरूको नेतृत्व गरेका थिए ।

रिपोर्टका अनुसार, हमासले फोन कल र टेक्स्ट सन्देशहरू मार्फत् यो आदेश जारी गरेको थियो । सन्देशमा भनिएको छ,’ कि यसको लक्ष्य गाजालाई अपराधी र इजरायलका सहयोगीहरूबाट मुक्त गर्नु हो ।’ लडाकुहरूलाई २४ घण्टा भित्र रिपोर्ट गर्न भनिएको थियो ।
गाजाबाट प्राप्त रिपोर्टहरूका अनुसार, हमासका सशस्त्र एकाइहरू पहिले नै धेरै क्षेत्रहरूमा तैनाथ भइसकेका छन् ।

केहीले सामान्य पोशाकमा र अरूले गाजा प्रहरीको नीलो पोशाक लगाएका छन् । दुघमाश जनजातिका बन्दुकधारीहरूले हमासको विशेष टोलीका दुई सदस्यलाई गोली हानी हत्या गरेपछि गाजा शहरको साब्रा क्षेत्रमा तनाव तीव्र गतिमा बढेको थियो । उनीहरूको शव सडकमा छाडिएको थियो ।

जसले गर्दा आक्रोश फैलियो र हमासबाट ठूलो बदलाको डर बढेको बताइएको छ । त्यसपछि हमासका सदस्यहरूले एउटा ठूलो क्षेत्रलाई घेरे जहाँ मेसिन गन र विस्फोटक पदार्थले सशस्त्र लगभग ३०० कुख्यात बन्दुकधारीहरू लुकेको भनिएको थियो । यसैबीच, इजिप्टको राष्ट्रपति कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य २० नेताहरू सोमबार इजिप्टमा गाजा युद्धमा हुने शिखर सम्मेलनमा भेट्ने बताएको छ ।

‘भारत जाने तयारीमा थिए केशर, नफर्कने गरी अस्ताए’

कैलाली । कैलालीको घोडाघोडी–८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरी सन्नाटा छाएको छ । हाँसो गुञ्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । शुक्रबार राति अस्मिताका श्रीमान् २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या भएपछि उनलाई खपिनसक्नु भएको हो ।

भारतमा मजदुरी गरी परिवार पाल्दै आएका बुढा आज भारतको गुजरात जाने तयारीमा थिए । शुक्रबार श्रीमतीसँग मिलेर आवश्यक सामग्री जुटाउने काम सकिएको थियो । ‘भोलि जान्छु, जुत्ता, लुगासहित आवश्यक सामग्रीको व्यवस्था गरौँ भनेर भन्नुभयो’, रुँदै केशरकी श्रीमतीले भनिन्, ‘आज आफै कहिल्यै नफर्कने गरी हामीलाई छोडेर जानुभयो ।’

शुक्रबार साँझ केशर रिचार्जकार्ड किनेर आउँछु भन्दै घरबाट निस्किएको बताउँदै अस्मिताले राति अबेरसम्म पनि केशर नफर्केपछि चिन्ता बढेको उल्लेख गरिन् । ‘केशर अबेर रातिसम्म पनि घर नआउँदा तनाब भए पनि फर्किनु हुन्छ भन्ने आशा थियो । समय घर्किँदै जाँदा केशर आएनन्, तर केशर जस्तै देखिने एक युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ, भन्दै प्रहरी घरमा पुगे’, उनले भनिन् ।

हत्या गरिएको शव केशरको नहोस् भनेर मनमा प्रार्थना गर्दै घटनास्थल पुगेको भन्दै अस्मिताले काटिएको शरीर केशरकै रहेको पुष्टि भएको बताइन् । ‘शव नजिक पुग्दा मेरो सारा संसार थामिएझैँ भयो । रिचार्जकार्ड किनेर फर्किहाल्छु भन्ने केशर अब कहिले नफर्कने गरी अस्ताइसकेका थिए । केशरले घर चलाउन भारतमा श्रम गर्ने गर्थे । तीन सन्तानको भविष्य उनको हातमा थियो’, उनले भनिन् ।

के थियो घटना ?
‘गए राति ११ बजेतिर केशरको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर १८ वर्षीय बलबहादुर विक र १९ वर्षीया गङ्गा बुढा क्षेत्री घोडाघोडी नगरपालिका–६ स्थित प्रतिखेतमा हिँडिरहेका थिए । अस्थायी प्रहरी पोस्टमा ड्युटीमा खटिएका कर्मचारीले उनीहरूलाई देखेर सोधपुछ गरेपछि बलबहादुर र गङ्गाले हत्या गरी टाउको बोकेर ल्याएको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सुखडमा खबर गरियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट मेरो नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको हो’, प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले भने ।

‘राति ११ बजेतिर खबर आयो ‘एक जनालाई मारियो’ भनेर । त्यसपछि हामी घटनास्थल पुग्यौँ’, उनले भने । अवस्थीका अनुसार टाउको एकातिर र शरीर एकातिर भएको अवस्थामा शव फेला परेकाले कसको हत्या भएको हो भन्ने थाहा पाउन सुरुमा समस्या भएको थियो । खोजी गर्दै जाँदा हत्या भएका व्यक्तिको मोबाइल फुटेको अवस्थामा फेला परेको जनाउँदै उनले भने, ‘फोन गर्दै जाँदा माइजू नाता पर्ने फेला पर्नुभयो ।’

प्रहरी नायब उपरीक्षक अवस्थीले माइजू नाता पर्ने घटनास्थल पुगेपछि केशरको घरमा प्रहरी पुगेको जानकारी दिए । उनका अनुसार बिहान ३ बजेतिर मात्रै केशर बुढाको हत्या भएको हो भन्ने कुरा पत्ता लागेको थियो । घटनाको कारण सामान्य विवाद रहेको अवस्थीले बताए । ‘हत्या गरिएका केशर र हत्या गर्नेहरूबीच चिनजान नै रहेनछ । रक्सी खाने क्रममा होटेलमा उनीहरूको भेट भएको थियो । सोधपुछका क्रममा विवाद हुँदा केशरले गालीगलौँच गरेपछि हत्या गरेको बलबहादुर र गङ्गाले बताएका छन्’, उनले भने । अहिले पोस्टमार्टमका लागि शव टिकापुर पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

यो घटनाले जरही गाउँमा त्रास फैलिएको छ । स्थानीयको भनाइ अनुसार घरमा छोराछोरीलाई छाडेर यो गाउँका अधिकांश युवा रोजगारीका लागि भारत गएका छन् । अभिभावकविहीन अवस्थामा रहेका किशोरकिशोरीलाई सम्झाउने, बुझाउने कोही नहुँदा यस्ता घटनाको जोखिम हुने गरेको स्थानीय बताउँछन् ।

होटेल सञ्चालक रत्न सिजालीले भने, ‘दुई वर्ष अघि यो ठाउँमा बसाइँसराइ गरेर आएको हुँ, अहिले किन आए भन्ने भएको छ । यो मात्रै होइन यहाँ अन्य घटना पनि भइरहन्छन् । हिजो घटना भएका युवा पनि मेरै होटलमा आएर रक्सी खाएका थिए । नदिँदा भने तोडफोड गर्देलान् भन्ने डर लाग्छ, दिँदा यस्ता घटना हुन्छन् ।’ रासस

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गरेका छन् । उनले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गरेका हुन् ।

बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गरेका छन् । मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले जानकारी दिए । सोही क्रममा उनले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग संक्षिप्त अन्तरक्रिया गरेका थिए ।

बालेन र सुदनविरुद्ध प्रहरीमा नेविसंघको जाहेरी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङविरुद्ध प्रहरी समक्ष जाहेरी दिएको छ । भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानी जाहेरी दिएको हो ।

नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन् । २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन् । प्रहरीले जाहेरीबारे अध्ययन गरेर कानुनी प्रक्रियाअघि बढाउने जनाएको नेविसंघले जनाएको छ । यसअघि नेकपा एमाले निकट भ्रातृ संगठन अखिलले पनि उनीहरूविरुद्ध जाहेरी दिएको थियो ।

विपिनको अवस्था अझै अज्ञात, बन्धक रिहाइ गर्न हमासले माग्यो थप समय

काठमाडौं । इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन् । यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका हुन् ।राजदूत पण्डितले भने, ‘विपिनको अवस्था अझै अज्ञात छ र उनको अवस्था कस्तो छ भन्ने थाहा हुन सकेको छैन ।’

मिडियाहरुमा विपिनबारे विभिन्न समाचार आइरहेकाले आफूले प्रधानमन्त्री कार्यालयमा बुझेको र त्यहाँका अधिकारीहरुले विपिनको अवस्था अझै थाहा हुन नसकेको बताएको पण्डितले जानकारी दिएका छन् । उनले भने, ‘विपिनबारे केही नयाँ जानकारी आए सबैभन्दा पहिले तपाईंलाई खबर गर्छौं भनेर इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकृतहरुले भनेका छन् ।’ उनले आधिकारिक निकायबाट पुष्टि नभई समाचार नलेख्न र पीडित परिवारको भावनामा चोट नपु¥याउन अनुरोध समेत गरेका छन् ।

यसैबीच हमासले बन्धकहरू रिहाइका लागि थप समय मागेको छ । इजरायल र हमासबीच भएको सम्झौताअनुसार स्थानीय समय शुक्रबार दिउँसोदेखि गाजामा युद्धविराम लागु भएको छ भने त्यसको ७२ घण्टाभित्र हमासले सबै ४८ बन्धक रिहा गर्नुपर्नेछ ।
स्थानीय समयअनुसार युद्धविराम लागु भएको ७२ घण्टा भनेको सोमबार स्थानीय समय दिउँसो १२ बजे (नेपाली समय दिउँसो २ः४५ ) सम्म जीवित र मृत सबै ४८ बन्धक रिहा गरिसक्नु पर्ने हुन्छ । तर यस अवधिमा सबै बन्धक हस्तान्तरण गर्न नसकिने भन्दै हमासले थप समय मागेको हो ।

 

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाध्यक्ष दाहाल भेट्दै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने भएका छन् । अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्रीकै कार्यालय, सिंहदरबार जाने संघीय संसद् सचिवालय स्रोतले जनाएको छ ।

अध्यक्ष दाहालले स्विट्जरल्यान्डको जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को असोज ३१ गते (अक्टोबर १७ तारिख) को कार्यक्रममा सहभागी हुन चाहेका छन् । त्यसअघि उनले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्न लागेका हुन् । सरकारले मुलुकमा संकट परेका बेला मितव्ययिता कायम गर्ने भन्दै कम महत्वका विदेश भ्रमण स्वीकृत नगर्ने भनेको छ ।

 

 

सचिवालय बैठकमा भाग लिन गुण्डु पुगे एमाले नेताहरु (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरु गुण्डु पुगेका छन् । शनिबार बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वस्थ्य अवस्थामा समस्या आएको कारण स्थगित भएको थियो ।

      

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भएको थियो । तर स्वास्थ्यका कारण सो वार्ता सोमबारका लागि सारिएको छ । राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शनिवार जेनजीका प्रतिनिधिले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।

आदिवासी जेनजी कलेक्टिभको चेतावनी : टासीमाथिको दुर्व्यवहार स्वीकार्य छैन

काठमाडौं । आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा भ्रामक र आपत्तिजनक आरोप लगाई दुर्व्यवहार गरिएकोमा गम्भीर निन्दा गरेको छ । कलेक्टिभले २५ वर्षीया ल्हान्जोममाथि लगाइएका ‘नेपाली जस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ जस्ता निराधार आरोपहरूको सशक्त खण्डन गरेको छ ।

हालै सामाजिक सञ्जालमा फैलिएका यी आरोपहरूमा टासीलाई मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुने जस्ता भ्रामक कुराहरू उल्लेख गरिएका छन् । कलेक्टिभले जारी गरेको विज्ञप्तिमा शताब्दीयौंदेखि आदिवासी समुदायलाई भाषा, संस्कृति र शारीरिक बनावटका आधारमा राज्यबाट बहिष्करण गरिएकोमा दुःख व्यक्त गरेको छ । संविधानले समानता र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा भने विभेद कायमै रहेको कुरामा जोड दिइएको छ । विशेषगरी आदिवासी महिला र नागरिकहरूलाई अदृश्य बनाइएको र उनीहरूमाथि दोहोरो–तेहोरो अन्याय थोपरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी महिला र नागरिकहरूलाई सम्पूर्ण अधिकारसम्पन्न नागरिकको मान्यता दिनुपर्छ । यस्ता अधिकारका कानुनी क्षेत्रमा सीमित होइन व्यवहारिक र आदिवासीहरूका प्रत्यक्ष जीवनमा न्याय र जवाफदेही कार्यान्वयन सुनिश्चित गरिनुपर्छ । कुनै पनि आधारमा आदिवासी समुदाय र आदिवासी महिलाहरूमाथि गरिने-हुने विभेद र अन्याय दण्डित हुनुपर्छ ।’

कलेक्टिभले नेपाल सरकारसँग प्रमाणित नागरिकता प्रमाणपत्र र हस्ताक्षरकर्ताहरू रहेको कागजात पेश गर्दै टासी ल्हान्जोम पूर्ण नेपाली नागरिक भएको स्पष्ट पारेको छ । विज्ञप्तिमा आदिवासी जेन–जी कलेक्टिभ र जेन–जी मुभमेन्ट एलायन्सका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले संविधानमा आधारित समावेशी लोकतन्त्र र न्याय, आत्मनिर्णयको अधिकार, सामुदायिक एवं सामूहिक स्वायत्त पहिचानसहितका मौलिक हकको सम्मानका लागि जोडदार माग राखेका छन् ।

हेर्नुस् विज्ञप्ती

 

फुटबलको अव्यवस्था विरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ ।  नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध आज फुटबलका स्वतन्त्र समर्थकहरूले एन्फा गेट अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन्।

धर्नामा सहभागीहरूले “Football Calendarमा होइन, Ground मा चाहियो, विश्वकप त ४ वर्षमा आउँछ ‘A’ Division कहिले आउँछ” जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

प्रचण्ड सचिवालयले भन्यो–‘दुई ट्रक पैसाको हल्ला’ निराधार, भ्रामक र नियोजित चरित्र हत्या

काठमाडौं । जेन–जी आन्दोलन सुरु हुनुअघि ‘दुई ट्रकमा दुई करोड रकम’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले खण्डन गरेको छ । सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको दावी गरेको छ ।

‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

जेन–जीले गरेको प्रदर्शनको दोस्रो दिन २४ भदौमा प्रचण्ड र उनका छोरीहरू (रेणु दाहाल र गंगा दाहाल) को घरमा आगजनी भएको थियो । आन्दोलनपछि नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुई वटा ट्रकमा लोड गरेर दुई ट्रक रकम अन्यत्र लगिएको दाबी गरेका छन् ।

त्यसको अनुसन्धान गर्न र कानुनी कारबाही गर्न पनि प्रचण्डको सचिवालयले अनुरोध गरेको छ । ‘डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं,’ आचार्यले भनेका छन् । यसबीच सरकारले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौति समेत गरेको छ । सुरक्षा कार्यविधिमा उल्लेख मापदण्ड उल्लंघन गर्दै भीआईपीहरूले सुरक्षाकर्मी प्रयोग गरेकाले तिनलाई फिर्ता बोलाइएको सरकारको भनाइ छ ।

 

 

राप्रपा महामन्त्री धवल शम्शेरले बोलाए असन्तुष्ट पक्षको भेला

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आफू निकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । आज दिउँसो १ बजे आन्तरिक भेला हुने महामन्त्री राणा निकट एक नेताले जानकारी दिएका छन् । काठमाडौंमा रहेका केन्द्रीय सदस्यहरूलाई भेलामा बोलाइएको हो ।

काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा भेला हुनेछ । महामन्त्री राणाले गत माघको केन्द्रीय समिति बैठकमै फरक राजनीतिक विचार समेत राखेका थिए । त्यसयता अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणाबीच सम्बन्ध सुमधुर छैन । पछिल्लो समय अध्यक्ष लिङ्देनले संस्थापनइतर नेताहरूमाथि कारबाही गरेपछि महामन्त्री राणा लगायतले विज्ञप्ति जारी गर्दै विरोध गर्दै आएका छन् । साथै अध्यक्ष लिङ्देनले लामो समयदेखि केन्द्रीय समिति बैठक बोलाएका छैनन्। महामन्त्री राणाले केन्द्रीय समिति बैठक माग गर्दै आएका छन् । साथै नियमित महाधिवेशन माग पनि भइरहेको छ ।

अध्यक्ष लिङ्देनले केन्द्रीय कार्यसमिति बैठक नराखेको र नियमित महाधिवेशन गर्न मिति तोक्ने काम नगरेको भन्दै महामन्त्री राणाले आन्तरिक भेला बोलाएका हुन् । राप्रपाले २०७८ मंसिरमा महाधिवेशन गरेको थियो। विधानअनुसार चार वर्षमा नियमित महाधिवेशन हुनुपर्छ ।
महामन्त्री राणाले आजको भेलामा नियमित महाधिवेशन गर्न दबाब दिन नेताहरूलाई आग्रह गर्ने तयारी गरेका छन्। यदि नियमित महाधिवेशनको मिति तय नगरिए विशेष महाधिवेशन माग गर्नुपर्ने पक्षमा राप्रपाका संस्थापनइतर समूह छ । अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष भने मंसिरमै नियमित महाधिवेशन गर्ने पक्षमा छैन । विगतमा जस्तै एक वर्ष कार्यकाल थप गर्ने तयारीमा संस्थापन पक्ष छ ।

 

 

विवेकशील साझाको आह्वान : वैकल्पिक राजनीतिक शक्ति र जेनजीबीच एकता गरौं

काठमाडौं । विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक शक्ति र जेनजी पुस्ताबीच एकता गर्न आह्वान गरेको छ । आज एक वक्तव्य जारी गर्दै पार्टीका प्रवक्ता आशुतोष प्रधानले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरूको वृहत एकताका लागि आह्वान गरेका हुन् ।

उनले समृद्ध नेपालका निम्ति वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण गर्न सबै ढोकाहरू खुला गरेको जनाएका छन् ।
नेपालको वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले गत भाद्रमा भएको जेनजी विद्रोहलाई ऐक्यबद्धता गर्दै जेनजी युवा पुस्ताको सहादतको जगमा वनेको नागरिक सरकारलाई स्वागत गर्दै सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिसकेको वक्तव्यमा उल्लेख छ ।
हेर्नुस् प्रेस विज्ञप्तिः
वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकताका लागि विवेकशील साझा पार्टीको खुला आह्वान :

नेपालको वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले गत भाद्रमा भएको जेनजी विद्रोहलाई ऐक्यवद्धता गर्दै जेनजी युवा पुस्ताको सहादतको जगमा वनेको नागरिक सरकारलाई स्वागत गर्दै सहयोग गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरिसकेको छ । भ्रष्टाचार विरुद्ध सशक्त अभियान,सुसंस्कृत राजनीतिको निरन्तर अभ्यास र हरेक क्षेत्रमा युवाहरुको प्रभावकारी प्रतिनिधित्वलाई आत्मसात्÷अभ्यास गर्दै नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिको भाष्यनै परिवर्तन गर्न सफल विवेकशील साझा पार्टीले अहिलेको विषम राजनीतिक परिस्थितवाट मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्ति,जेनजी पुस्ता र परिवर्तनकारी सबै शक्ति, अभियान, समूह र अभियन्ताहरुको बृहत्तर एकता-मोर्चाबन्दीलाई विशेष जोडका साथ अघि बढाउन सार्वजनिक प्रतिवद्धता ब्यक्त गर्दछ ।

जेनजी पुस्ता विद्रोह र सहादतको जगमा हुन लागिरहेको आम निर्वाचनलाई दृष्टिगत गर्दै विवेकशील साझा पार्टीले भ्रष्टाचार र कुशासन विरुद्ध समतामूलक संबृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समुह तथा सार्वजनिक परिचय वनाएका व्यक्तिहरुसँग सहकार्य,ध्रुविकरण,कार्यगत एकता र बृहत्तर एकीकरण सम्मका लागि सबै ढोकाहरु खुला गरेर, सबै प्रकारका खुला छलफल,बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गर्दछ ।

विवेकशील साझा पार्टीले आफ्नो एक दशक भन्दा बढीको राजनीतिक लिगेसी,सुसंस्कृत राजनीतिक पुँजी, नयाँ राजनीतिक संस्कार फैलाउन गरेको सत्प्रयासहरुलाई नेपाली जनता र नेपाल राष्ट्रको बृहत् हितलाई केन्द्रमा राखेर वैचारिक प्रष्टता र मूल्यमान्यताको जगमा दलिय पदसोपानलाई समतल वनाउन,पार्टीको नाम,चुनाव चिन्ह समेत परिवर्तन गर्दै पार्टी पुनर्गठन गरेर अघि बढ्न खुला रहेको आब्हान गर्दछ ।

अन्त्यमा,
‘जेन जी’ पुस्ताका नवयुवाहरुको स्वःस्फूर्त शान्तिपूर्ण आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकारले अत्यन्त क्रुर एवं निर्शम्स दमन एवं नरसंहारमा सहादत सम्पूर्ण होनहार नेपाली सपूतहरुप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अंगभंग भएका योद्धाहरुप्रती सम्मानसहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दै राष्ट्रिय निर्वाचनमा होमिने प्रण गर्दछ ।
आशुतोष प्रधान
प्रवक्ता
नेपालको जय होस

 

गाउँमै बसेर होमस्टे सञ्चालन गरिरहेका २४ वर्षीय नवीन

काठमाडौँ । २०७२ सालको भूकम्पपछि बनेका एकनासको घरहरू, बादल लुकामारी गरिरहने गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको नम्की गाउँ आजभन्दा लगभग ८ वर्ष अगाडी नै होमस्टे सञ्चालन गर्न सुरु गरिएको थियो ।

गाउँको १० घरमा पाहुना राख्ने गरी सञ्चालन गरिएको सो होमस्टेहरुमा तराईको गर्मी छल्न चितवन र त्यस्तै गरी गोरखाको तल्लो भेग, तनहुँ, धादिङ लगायत विभिन्न क्षेत्रमा आन्तरिक पर्यटक आउने गर्दछन् ।

गोरखा जिल्ला सदरमुकामबाट लगभग ६० किलोमीटर दुरीमा रहेको नम्की गाउँका होमस्टेमा शुक्रबार र शनिबार पाहुनाहरुको राम्रै उपस्थिति हुने गरेको छ । राम्रो सडक सञ्जालले जोडिएका कारण पनि सो क्षेत्रमा पर्यटकहरुको आगमन दिनप्रतिदिन बढदै गएको छ । यही कुरालाई ध्यान दिँदै काठमाडौंमा स्नातक अध्ययन गर्दै गरेका २४ वर्षीय नवीन तामाङले गाउँमा आमाबाबाले सञ्चालन गर्दै आएका होमस्टेलाई अझ व्यवस्थित रुपमा संचालन गर्ने उद्देश्यले गाउँ फर्कने निर्णय स्वरूपमा नम्की होमस्टे सञ्चालन गरेका छन् ।

भूकम्पपछि लोप हुँदै गएको परम्परागत ढुङ्गाले छाएको घर निर्माण गरी सञ्चालन गरिएको सो होमस्टेले नबिनलाई गाउँ मात्र फर्काएन विदेशीने उनको विचारलाई समेत जितेको छ । “स्नातक अध्ययन पछि विदेशी जाने विचार थियो अब गाउँमै राम्रो भए पछि विदेशी नजाने विचार गरे” उनले सुनाए ।

गाउँमा उत्पादन गरिएको विभिन्न तरकारी, लोकल कुखुरा, पाहुनाहरुको माग अनुसारको नाइट क्याम्प र होमस्टेमा तातो पानी र चिसो पानीको व्यवस्थाले गर्दा सो क्षेत्रमा घुम्न आउनेहरुले सो होमस्टे रोज्ने गरेका छन् ।

होमस्टे सञ्चालन गरेको ६ महिनामै राम्रो आम्दानी दिन थालेपछि गाउँ मै बसेर व्यवसायलाई अझ विस्तार गर्ने उनको लक्ष्य रहेको छ ।

जेनजी प्रदर्शनका क्रममा लुटिएका ३०३ राइफल झापामा भेटिए

झापा । झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

 

रविन्द्र मिश्रको प्रश्न : मेरो दृष्टि दोषी हो कि, देशलाई दशा लागेको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत देशको नेतृत्व, संकट व्यवस्थापन र राष्ट्रिय एकताको अभावप्रति प्रश्न उठाउँदै, ‘मेरो दृष्टि दोषी हो कि, देशलाई दशा लागेको हो ?’ भन्ने भावनात्मक तथा आत्मावलोकनात्मक प्रश्न गरेका छन् । ‘मैले छुट्याउन सकेको छैन–मेरो दृष्टि दोषी हो कि, देशलाई दशा लागेको हो’, भनी मिश्रले लेखेका छन् ।

राष्ट्रपतिको भूमिकामाथि प्रश्न
हालैको राष्ट्रिय संकटको प्रसङ्ग उल्लेख गर्दै मिश्रले आपतकालीन परिस्थितिमा राष्ट्रपतिको भूमिकालाई कठोर रुपमा आलोचना गरेका छन् । ‘राष्ट्रिय संकट आइपर्दा राष्ट्रपतिलाई राष्ट्रिय टेलिभिजनमा आएर सम्वोधन गर्ने नैतिक साहस भएन । उनलाई सेनाले लुकाउनु पर्‍यो’, भनी मिश्रले उल्लेख गरेका छन् । यसबाट उनले संकटको बेला नेतृत्वदायी भूमिकाको अभाव, पारदर्शिताको कमी र जनतासँगको प्रत्यक्ष संवाद नहुनुमा गम्भीर आपत्ति जनाएका छन् ।

भूराजनीतिक चिन्ता र चेतावनी
नेपालको आन्तरिक अस्थिरता मात्र होइन, भूराजनीतिक संवेदनशीलता पनि मुलुकका लागि खतरा बन्न सक्ने मिश्रको भनाइ छ । उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको भन्दा पनि ठूलो संकट भविष्यमा फेरि आउँदैन भनेर सोच्नु चरम अपरिपक्वता हुनेछ ।’ यसले नेपालमा पुनः ठूला संकटहरूको संभावना रहँदै आएको र त्यसको पूर्वतयारीको खाँचोलाई संकेत गर्छ ।

‘नवीन समझदारी’ मा जोड
मिश्रले ‘नवीन समझदारी’ को बाटोमा जानुपर्ने सुझाव पुनः दोहोर्‍याएका छन् । यस अवधारणाले पार्टीगत संकीर्णता, वैचारिक कट्टरता र अहंकारलाई छाडेर साझा राष्ट्रिय उद्देश्यमा आधारित सहकार्यको खाँचोलाई औंल्याउँछ । ‘अझै पनि हामी नवीन समझदारीको बाटोमा किन जान सक्दैनौं ? यति बिघ्न अहं र वैचारिक दासता पनि नहोस्, जसले देशलाई नै भड्खालोतिर धकेलोस्’, मिश्रले चेतावनी दिएका छन् ।

सर्वदलीय सहकार्य र क्षमाशीलताको आह्वान
उनले मुलुकलाई संकटबाट बचाउन सबै राजनीतिक शक्तिहरूबीच क्षमा, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । ‘देशको हितलाई केन्द्रमा राखि सबैले सबैलाई क्षमा गर्दै सबै शक्ति मिलेर जाँदा कसको के बिग्रिन्छ ?’ भन्दै उनले पुराना कटुताहरूलाई बिर्सेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

जेनजी आन्दोलनमा प्रहरीको बन्दुक लुटेर भागेका आदित्य ब्राउन सुगरसहित पक्राउ

मोरङ । जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर फरार एक युवक खैरो हिरोइनसहित झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक–३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् । लिम्बुले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसी भिडियो बनाएका थिए । उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले आदित्यलाई खैरो हिरोइनसहित पक्राउ गरेको जानकारी दिए । उनले आदित्यसहित आठ जनाको गिरोह लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको जानकारी दिए ।
शनिवार साँझ ५ बजे दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर ए ३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाई छिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । डिजिटल तराजुमा नापजाँच गर्दा उक्त पदार्थको तौल ७ ग्राम ८ सय मिलिग्राम रहेको पाइएको हो ।आदित्य सहित पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल रहेका छन् । उनी गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागी फरार रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य व्यक्तिहरूमा साजन थापा (२७), दिपेश तामाङ (३२), सनम राई (३२), पविन विश्वकर्मा (१९), सुचन दर्जी (२५) र विजय माझी (२५) छन् । प्रहरीले बरामद लागुऔषध र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेर कारबाही अघि बढाइएको जनाएको छ ।

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, पार्टी भड्खालोमा पर्ने चेतावनी (वक्तव्य)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।

पत्नीको उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौं ।’

उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । खनालले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के ग¥यौं, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं ।’ खनालले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको बाटोमा लागेको आरोप पनि लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ,’ खनालले भनेका छन् । उनको जोड छ, ‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ ।’

 

जेनजीलाई गुटबन्दी नगर्न मन्त्री पुनको आग्रह, सुनाए रणबहादुर शाहकालीन इतिहास

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीसहित राष्ट्रलाई माया गर्ने सम्पूर्ण नेपालीलाई खुट्टा तानातान र गुटबन्दी नगर्न आग्रह गरेका छन् ।

रणबहादुर शाहपालादेखिका इतिहास सुनाउँदै मन्त्री पुनले एकआपसमा झगडा गर्दा देशलाई फाइदा होइन, नोक्सान मात्रै हुने कुरामा सचेत गराएका छन् ।

‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि, झनै धेरै नोक्सान हुन्छ’, मन्त्री पुनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौमसत्ताको रक्षाको लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ । गुटबन्दी र खुट्टा तानातान गर्‍याे भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पानाबाट पनि सिकौं ।’

१) नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्धविक्रम र राजेन्द्रविक्रम शाहको पालासम्म आइपुग्दा चरम विन्दुमा पुगिसकेको थियो । त्यसैको परिणामस्वरूप नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नुपर्‍यो ।

२) राणातन्त्र सुरु भएपछि प्रधानमन्त्री वीरशमशेरकै पालादेखि गुटबन्दी सुरु भयो । उनीहरूले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग वर्गमा वर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरू कमजोर भएर २००७ सालमा जनक्रान्तिद्वारा हटाइए ।

३) २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ सालसम्म संसदीय चुनाव हुन सकेन । त्यसको खास कारण त्यतिबेला जन्मेका र जन्मँदै गरेका राजनैतिक दलहरूको बीचमा खुट्टा तानातान भयो । फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए । अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई विघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए । त्यो अवसरको सिर्जना त्यति बेलाको राजतैनिक समूहबीचको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले सिर्जना गरेको थियो ।

४) २०१७ सालदेखि २०४६ सालसम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासनभित्र राजनैतिक दलहरू नभए पनि विभिन्न गुटहरू थिए । सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरू थिए र आपसमा खुट्टा तानातान गर्थे । अनि राज खलकभित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरू थिए र राजा वीरेन्द्रको कदमलाई असफल पार्ने चालबाजी खेल्थे । त्यही कारणले गर्दा पञ्चायती व्यवस्था कमजोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो ।

५) २०४६ सालदेखि २०८२ सालको अचानक विष्फोटन भएको जेनजी आन्दोलन सुरु भएको दिनसम्मको इतिहास निष्पक्ष भएर विश्लेषण गरौं र गर्नुहोस् । लोकतन्त्र आएपछि जेनजी आन्दोलन सुरु हुँदासम्म राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ । त्यसैको परिणामस्वरूप जेनजीहरू र आम जनताहरू मिलेर विष्फोटनस्वरूप आन्दोलन गरेको हो । आन्दोलन जेनजीहरूले सुरुवात गरेको भए पनि आम जनताले सहयोग गरेका छन् । किनभने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्बाद भएको देख्न नसकेर चरम आक्रोशित भएका थिए ।

६) यो माथिको इतिहास हेरेर जेन–जीहरुले पाठ सिक्न अनुरोध छ । तपाईंहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो । तपाईंहरूको राजनीतिक संगठन छैन । तपाईंहरूले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मूल पार्न चाहनु हुन्छ । अनि तपाईंहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ । यो सपना पूरा गर्नका लागि तपाईंहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु । किनभने तपाईंहरूबीचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदैछ । मातृभूमिको अस्तित्वका लागि म विनम्र अनुरोध गर्दछु कि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनु होस् ।

व्यापारिक केन्द्र बन्यो अपिको मकरीगाड

दार्चुला । सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।
विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रुपान्तरणलाई गति दिएको छ ।
विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका धनसिंह लोथ्याल सडक पुगेपछि अहिले मकरीगाडमा बजार व्यवसाय बढेको बताउँछन् । ‘यो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएको छु, पहिले खाना खाने र बास बस्नेमात्रै व्यापार थियो’, लोथ्याल भन्छन्, ‘तर अहिले सबै किसिमको व्यापार मकरीगाडमा भइरहेको छ, बिहानदेखि साँझसम्म चहलपहल बढेको छ ।’  सडक पुगेपछि जिप र मालबाहक ट्रक दैनिक रूपमा मकरीगाडसम्म पुग्न थालेका छन् । पहिला मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अहिले मकरिगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडक खण्डमा खुलेका अधिकांश होटल पसल बन्द भएका छन् ।
अपिहिमालका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता हटेको छ । पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो । स्थानीय लटिनाथबाट पिठ्युँमा समान बोकेर आउँथे । सडक पुगेपछि सामान सबै यहीँ सहज पाउन थालेको लोथ्याल बताउँछन् । उनका अनुसार यहाँ व्यापारिक चाप बढेको छ । धनगढीबाट रात्रिकालीन आउने यात्रु जिपमार्फत बिहानै मकरीगाड पुग्छन् । अहिले विटुले–पारिबगर–मकरीगाड सडकखण्डमध्ये मार्माको पारिबगरसम्म सडक ग्राभेल गरिएको छ । पारिबगर क्षेत्रसम्म बस सेवा सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि सामान बोकेका ट्रक मकरीगाडसम्म नियमित सञ्चालन हुने गरेका छन् ।
मकरीगाडभन्दा माथि सडक नहुँदा पनि अहिले यस क्षेत्रमा व्यापार व्यवसाय बढेको मकरीगाडमा व्यापार व्यवसाय गर्दै आएका विसनसिंह धामी बताउँछन् । अहिले यो क्षेत्र सबै प्रकारको व्यापारका लागि केन्द्रबिन्दु बनेको छ । स्थानीयले आफ्नो उत्पादन मकरीगाडसम्म बिक्री गर्न ल्याउँछन् । खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साँग, दूध दही मकरीकगाड बजारमा व्यापार गर्ने अवस्था बनेको छ । तराई क्षेत्रबाट खाद्यान्न लत्ताकपडा सहजै यहाँ पुग्ने गरेको छ । यहाँका होटल तथा पसल राम्रो चलेका छन् ।
‘विद्युत् नबनेको भए सायदै अहिले नै सडक पुग्थ्यो’, धामीले भने, ‘यो सडक कालोपत्र भयो भने अझै यहाँको व्यापार राम्रो हुन्थ्यो ।’ अहिलेकोभन्दा सस्तो मूल्यमा सामान मकरीगाडमा उपलब्ध हुनेछ । खाद्यान्न उत्पादन न्यून हुने अपिहिमालका चार वडाका लागि अहिले तराईबाट सहजै खाद्यान्न मकरीगाड पुग्ने गरेको छ । विकास निर्माणमा चाहिने छड, सिमेन्टदेखि दैनिक उपभोग्य सामानको सहज उपलब्धता मकरीगाडमा पुगेको व्यापारी धनसिंह जागरी बताउँछन् । अहिलेको अवस्थामा अझै सडक स्तरोन्नतिको खाँचो छ ।
व्यापारी जागरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडलगायत दैनिक उपभोग्य सामग्री मकरीगाडमै सहज उपलब्ध छन् । सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै रहेको उनले बताए । तराईबाट आउने ट्रकहरूले अहिले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबीच दोहोरो व्यापार सहज बनेको छ ।
तराईबाट समान लिएर आउने ट्रकले सिजनमा पहाडको उत्पादन तराई पु¥याउन थालेका छन् । अपिहिमालमा उत्पादन हुने राज्मा, भटमास, कोदो, आलु, स्याउ र जडीबुटी तराई पठाउन सहज भएको जागरीले बताए । पहाडको आलु, दाल, स्याउ धनगढीसम्म पुग्न थालेको छ। यो क्षेत्रमा सडकका कारण दोहोरो व्यापार सहज बनेको छ । सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने गर्छ । पहिले लटिनाथ सेलविसा व्यापारिक केन्द्र चहलपहल हुन्थ्यो । अहिले मकरीगाड बनेको छ । मकरीगाडबाट झण्डै एक दशमलव पाँच किलोमिटर सडक माथि उक्लिएको छ । अपिहिमालको केन्द्रसम्म सडक पुग्यो भने व्यापार फेरि माथि सर्नेछ । –नरेन्द्रसिंह कार्की

टी–२० विश्वकप छनोटमा आज चीर प्रतिद्वन्द्वी यूएईसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज (आइतबार) नेपाल चीर प्रतिद्वन्द्वी यूएई भिड्दै छ ।

ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि निकै महत्वपूर्ण छ ।

नेपाल आजको खेलमा यूएईलाई हराउँदै विश्वकप खेल्ने सम्भावना थप बलियो बनाउने योजनामा छ । सुपर सिक्समा नेपाल र यूएईसहित ओमानसँग समान २ अंक छ । सुपर सिक्सको अंक तालिकामा नेपाल नेट रनरेटमा अघि छ ।

एशोसियट क्रिकेटमा नेपाल र यूएईबीचको खेल एल क्लासिको नामले परिचित छ । नेपाल समूह बीको विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । यूएई समूह एको विजेताका रूपमा सुपर सिक्स खेल्न लागेको हो ।

समूह चरणका नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले तथा जापानलाई ५ विकेटले हराएको थियो । सुपर सिक्समा नेपालले यूएईसहित, ओमान, कतार र सामोयासँग खेल्ने छ । जापानलाई समूह चरणमै हराएकाले नेपाल सुपर सिक्समा जापानसँग खेल्ने छैन ।

बेलायतमा नेपाली सेनाले जित्यो स्वर्ण पदक

लन्डन । संयुक्त अधिराज्यको वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ। ३ देखि १२ अक्टोबर २०२५ सम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको हो ।

सो अभ्यासमा कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए । नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० जनाको नेपाली टिम अभ्यासमा सहभागी थियो । लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहका अनुसार नेपाली सेनाले क्याम्ब्रियन पट्रोल एक्सरसाइजमा बर्सेनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

गत वर्ष पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त अभ्यासमा कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी थिए । यसअघि सन् २०१७ र २०१९ मा पनि नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ। बेलायती सेनाका अनुसार, यो अभ्यास कठिन हुने गरी डिजाइन गरिएको छ ।

१० दिनसम्म ८ चरणमा विभाजित उक्त अभ्यासमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पौण्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने छ । अभ्यासमा सहभागी टोलीको लडाइ तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ । मानसिक र शारीरिक चुनौती सामना गर्नुपर्ने यो अभ्यास कठोर मानिन्छ ।

पुराना दलहरुलाई मिराजको आग्रह : चुनावमा भाग लिनुस्, जनताले छाने तपाईंहरू नै आउने हो

काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् । संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताए ।

जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले निर्वाचनमार्फत जनप्रतिनिधिको चयन हुने हुँदा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

‘निर्वाचनमा सबै दलहरु आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनु हुन्छ, अधिकार छ, जनताले छाने भने जो तपाईं नै निर्वाचित हुनुहोला, निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिष्पर्धा हुन्छ सबै जना आउनुहोस्, उनले भने । ढुङ्गानाले वर्तमान मन्त्रिपरिषदमा सडक आन्दोलनलाई उचाइमा पुर्‍याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरुको स्पष्ट धारणा रहेको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो । उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारकातर्फबाट राजनीतिक दलहरुलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो ।

चुनाव नै निकास हो, विद्रोह विकल्प होइन : जेनजी नेपाल

काठमाडौं । ‘जेनजी नेपाल’ नामले परिचित युवाहरुको समूहले विद्रोहको लहरलाई चुनावी प्रक्रियाबाटै संस्थागत गर्नुपर्ने बताएको छ । समूहकी प्रतिनिधि रक्षा बमले शीतल निवासमा आयोजित छलफलपछि राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी हुन खुला अपिल गरेकी छन् । उनले भनिन्, ‘हाम्रो विद्रोहले दलहरुलाई नकारेको होइन, तर अविश्वासले झस्काएको हो । समाधान भनेको आवेग होइन, चुनाव हो ।’

निर्वाचनलाई परिवर्तनको मूल मञ्च मान्दै अपिल
‘अब आवश्यक कुरा विद्रोहको आवेग होइन, न त विद्रोहलाई गिज्याउने शैली हो’ भन्दै उनले राजनीतिक दलहरूमाथि गम्भीर प्रश्न उठाइन्, ‘या त जनताको विश्वास पुनःआर्जन गर्ने साहस देखाउनुहोस् वा इतिहासको परित्यक्त पानामा हराउन तयार रहनुहोस् ।’ उनको भनाइमा नेपाल अहिले नयाँ युगको प्रवेशद्वारमा उभिएको छ । राजनीतिक नेतृत्वको ढिलो निर्णय वा निष्क्रियता सिंगो पुस्ताको ऊर्जा र आकांक्षामा धक्का पुग्ने उनले चेतावनी दिइन् ।

जेनजी र दलहरूको सहमतिको संकेत ?
यो समूहमा प्रदीप ज्ञवाली, युजनराज भण्डारी, मनिष खनाल जस्ता ती अभियन्ताहरू छन्, जसले भदौ २३ को पहिलो दिन आन्दोलन आह्वान गरेका थिए । शीतल निवासमा शनिबारको छलफलमा सहभागी यी अभियन्ताहरुले देशको राजनीतिक समाधान पुनः चुनावी प्रक्रियाबाट खोजिनु पर्नेमा जोड दिएका छन् । ‘पाखा पल्टिने होइन, मार्ग तय गर्ने समय आएको छ’, रक्षा बमको भनाइ थियो ।

‘निर्वाचन राष्ट्रको साझा राजनीतिक जिम्मेवारी’
अपिलमा भनिएको छ, ‘परिवर्तनको म्यान्डेट जनताको हातमा सुम्पिने यो घडीमा सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, जेन–जी साथीहरू, युवा पुस्ता र सम्पूर्ण नेपाली नागरिक निर्वाचनमा लाग्न आवश्यक छ ।’

महानायक राजेश हमाल:  युग देखि युगसम्म’ पुस्तक सार्वजनिक


काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमाजगत र समाजमा उनको योगदानलाई समेटिएको पुस्तक ‘महानायक राजेश हमाल स् युगदेखि युगसम्म’ आज सार्वजनिक गरिएको छ। यो पुस्तक लेखक यज्ञवससँगको संवादमा आधारित रहेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित लोकार्पण कार्यक्रममा स्वयं महानायक राजेश हमाल, लेखक यज्ञवस, चर्चित लेखक बुद्धिसागर र साहित्यकार मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे। ‘युगदेखि युगसम्म’ मा राजेश हमालको पर्दा देखि पाना सम्मको लामो यात्रा, उनले चलचित्र क्षेत्रमा बिताएको समय, संघर्ष, सफलताका कथाहरू र व्यक्तिगत जीवनका सम्झनाहरू समेटिएका छन्। पुस्तकले हमालको जीवनका स्मृति र संस्कारहरूलाई समेत आत्मीय ढङ्गले प्रस्तुत गरेको छ।

कार्यक्रममा उपस्थित चलचित्रप्रेमी र पाठकहरूको उत्साह उल्लेखनीय थियो। भक्तपुरबाट आएका रविन्द्र बस्नेत भन्छन्,
“सुरुका २५ जनाले मात्र हस्ताक्षरसहितको पुस्तक निःशुल्क पाउने अवसर पाइयो। म बिहानै पुस्तक लिन आएको थिएँ, र अन्त्यमा भाग्यमानी भएर पाउन सफल भएँ। लामो समयदेखि चलचित्र क्षेत्रमा देखिँदै आएको चमकमाथि उहाँको वास्तविक जीवन र उहाँ वरिपरिको संसार बुझ्न अब हामी अझ नजिकबाट जान पाउनेछौं। म सबैलाई यो पुस्तक पढ्न अनुरोध गर्छु।”

त्यसैगरी, पुस्तकका उत्साही पाठक बुद्धि ब्लोन तामाङ भन्छन्,
“राजेश हमालले पहिले नै फेसबुकमा यस पुस्तकको बारेमा लेख्नुभएको थियो। मलाई त्यतिबेलै पढ्ने हतार भयो। हामीले पर्दामा हेर्दा उहाँको जीवन रमाइलो र ग्लामरस देखिन्छ, तर यस पुस्तकमार्फत उहाँको संघर्ष, मिहिनेत र आत्मबलको कथा बुझ्न सकिन्छ। म बिहानै पुगेको थिएँ र २५ जनामध्ये दोस्रो नम्बरमा पुस्तक पाउँदा निकै खुशी छु।”पुस्तकमा हमालको चलचित्रिक योगदान मात्र नभई उनको विचार, समाजप्रतिको दृष्टिकोण र नेपाली सिनेमा विकासमा दिएको भूमिका पनि समेटिएको छ।

‘महानायक राजेश हमाल स् युगदेखि युगसम्म’ सिनेमा प्रेमी, साहित्यप्रेमी र हमालका प्रशंसकहरूका लागि पढ्नैपर्ने कृति बनेको उपस्थित सबैले बताएका थिए।

 

देउवालाई शशांकको सुझाव : तत्काल कार्यवाहक सभापति तोक्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

आज (शनिबार) पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएको जानकारी दिएका हुन् ।

‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ,’ कोइरालाले भने, ‘मैले शेरबहादुरजीलाई भने–यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाईं (कार्यसमिति) विघटन गर्नुस् । एक जनालाई कार्यवाहक सभापति दिनुस् । उनले गठन गर्दछन् । उनले मिति तय गर्दछन् । मलाई लाग्दछ– मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?

काठमाडौं । जेनजी युवासँग वार्ताको तयारी चलिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको छ ।

उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले जानकारी दिएका छन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूको स्वास्थ्यमा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनु भएको छ,’ सेन्टरले विज्ञप्ति जारी गरेर भनेको छ, ‘हाल सम्माननीय ज्यूको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौं ।’

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल र जेनजी प्रतिनिधिबीच आज (शनिबार) शितल निवासमा हुन लागेको छलफल रोकिएको थियो । उक्त छलफल सोमबारका लागि सारिएको छ । छलफलका लागि जेनजीका २० प्रतिनिधिलाई शीतलनिवास प्रवेश दिइएको थियो । प्रवेश नपाएका जेनजीहरुले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।

प्रधानमन्त्रीले भनिन्–सरकार एनजीओको होइन, जेनजीको वास्तविक लिडर मलाई पनि थाहा छैन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका वास्तविक नेतृत्वबारे खुलेर प्रश्न उठाउँदै, ‘को हो त लिडर ? मलाई पनि थाहा छैन’, भनेर आफ्नो अन्योल सार्वजनिक रुपमा व्यक्त गरेकी छन् ।

शनिबार शीतलनिवासमा जेनजीका विभिन्न समूहका प्रतिनिधिहरूसँग प्रधानमन्त्री र मन्त्रीहरूको अनौपचारिक भेटमा उक्त कुरा खोलेकी हुन् । वार्ताको मूल केन्द्रबिन्दु जेनजी आन्दोलनपछिको सरकारको वैधता, नेतृत्व संरचना, र विशेष गरी आन्दोलनको ‘हाईज्याक’ भएको भन्ने आरोप रहे पनि प्रधानमन्त्रीले केही विषयहरूमा प्रतिवाद गरिन् भने केहीमा आफूलाई पनि अन्योल रहेको स्वीकारिन् ।

‘सरकार एनजीओको होइन, म आफैं चलाइरहेकी छु’
छलफलमा सहभागी एक प्रतिनिधिका अनुसार, जेनजी समूहले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘के यो सरकार विदेशी एनजीओहरूले चलाएको हो ?’ जवाफमा प्रधानमन्त्री कार्कीले स्पष्टसँग भनिन्, ‘होइन, यो सरकार मैले नेतृत्व गरेको हो, कुनै एनजीओले होइन । तपाईंहरू ढुक्क हुनुहोस् ।’ प्रधानमन्त्रीले आफ्नो सरकार आन्दोलनकै जगमा बनेको, जनभावनाको कदर गर्ने र समयमै निर्वाचन गराउने पक्षमा रहेको बताउँदै सहयोगका लागि आह्वान गरिन् ।

प्रमुख दलहरू ‘चुनाव’ मा अनिश्चयमा, राष्ट्रपति अनुपस्थित
भेटवार्ता राष्ट्रपतिसँग तय भए पनि रामचन्द्र पौडेल अस्वस्थ भई अस्पताल भर्ना भएपछि छलफल प्रधानमन्त्री र मन्त्रीहरूले नै नेतृत्व गरेका थिए। प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासमा सबै पक्षले भाग लिनुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेस र एमालेलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरिन् । तर ती दलहरूले अन्तिम निर्णय पार्टीको बैठकपछि मात्रै लिने बताएका छन् । स्रोतका अनुसार, दुवै दलले आगामी चुनाव तोकिएको मितिमा हुनेमा नै आशंका व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनभित्र ‘वास्तविक नेतृत्व’ को खोजी
छलफलमा उठेको अर्को प्रमुख विषय थियो—जेनजी आन्दोलनको आधिकारिक प्रतिनिधित्व कसले गर्छ ? विभिन्न समूह, उपसमूह र नेतृत्वदावीबीच देखिएको भ्रमतर्फ इशारा गर्दै प्रधानमन्त्रीले भनिन्, ‘जेनजी आन्दोलनको वास्तविक लिडर को हो भन्ने मलाई पनि थाहा छैन । म पनि खोजी गरिरहेको छु ।’ प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले आन्दोलनको नेतृत्व स्पष्ट नभएको र सरकार आफैं पनि यस विषयमा स्पष्ट दिशानिर्देश बिना रहेको सन्देश दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको फरक अभिव्यक्ति
वार्तामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनलाई हरहालतमा सफल बनाउनुपर्ने र त्यसका लागि परराष्ट्रमा रहेका नेपालीको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको थियो ।

पार्टीका सहमहामन्त्री विपिन कार्कीले मुख्यधारका दलहरूले जेनजी आन्दोलनप्रति अझ गहिरो समझ आवश्यक रहेको बताएका छन् । उता राप्रपाका ज्ञानेन्द्र शाहीले संघीयता खारेज र राजसंस्थाको पुनस्र्थापनासहितको ८ बुँदे प्रस्ताव पेश गरेका थिए ।

छलफल खुल्यो, तर अन्योल अझ बाँकी
शनिबारको छलफलले सत्ता र आन्दोलनबीच संवादको ढोका खोल्ने प्रयास गरे पनि नेतृत्वको अस्पष्टता, दलहरूको अनिश्चय र राष्ट्रपति अनुपस्थितिका कारण ठोस निर्णयमा पुग्न सकेन । प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले सरकारभित्र पनि आन्दोलनप्रति अझै स्पष्ट रणनीति र समन्वयको खाँचो देखिएको छ ।

जेनजी अलाइन्सको प्रश्न : गोली खानेलाई निषेध, विदेशी एजेण्टसँग वार्ता ?

काठमाडौं । नयाँ वा पुराना कुनै पनि राजनीतिक दलमा आबद्ध नभएर राजसंस्था देशको हितमा रहेको विश्वास राखेर भदौ २३ मा आन्दोलन आह्वान गरेका वास्तविक जेनजी अभियानलाई बेवास्ता गरिएको भन्दै एक राष्ट्रियवादी समूहले सरकार, राष्ट्रपति र सञ्चारमाध्यमलाई कठोर चेतावनी जारी गरेको छ ।

जेन जेड अलाइन्स फर मोनार्कीका प्रवक्ता सनातन रिजालले शनिबार जारी गरेको सार्वजनिक अपिलमा आन्दोलन ‘हाईज्याक’ गर्ने र आन्दोलनको मर्म विकृत गर्ने विदेशी वा डमी पात्रहरूलाई महत्व नदिन आग्रह गरिएको छ । अपिलमा भनिएको छ कि वास्तविक आन्दोलनकर्ता– देशभक्त राष्ट्रवादी किशोर–किशोरी र युवाहरूलाई निषेध गर्ने रवैया जारी राखिए राष्ट्रमा फेरि ठूलो विद्रोहको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ ।

यस्ता छन् अपिलका मुख्य दावी र आक्षेपहरू :
राष्ट्रपति, प्रधानमन्त्री, सञ्चारमाध्यम र विचार निर्माताहरूले नक्कली जेनजी, विदेशी एजेन्ट तथा दलका भातृ संगठनका उम्मेदवारहरुलाई आन्दोलनको प्रतिनिधि बनाएर वास्तविक आन्दोलनकर्तालाई निषेध गरेको आरोप लगाइएको छ ।

यदि सरकार र मिडियाले गोली खाने र आन्दोलनमा जानेलाई निषेध गर्दै बाह्य तथा स्थापित शक्तिका प्रतिनिधिहरूसँग मात्र वार्ता गरे भने परिस्थिति बिग्रने खतरा औंल्याइएको छ । अपिलकर्ताहरुले सञ्चारमाध्यमलाई पनि नक्कली जेनजीलाई ठाउँ नदिन र सरकार तथा राष्ट्रपतिलाई वास्तविक आन्दोलनकर्तासँग संवाद गर्न आग्रह गरेका छन् ।

सञ्चार माध्यम र शासकीय निकायहरूमाथि त्यस्तो ‘छानबिन विनाको सत्ता–वार्ता’ गर्नु अस्वीकार्य भएको उनीहरूको भनाइ छ । अपिलमा भनिएको छ, ‘हामी साँच्चीकै विद्रोहमा जान बाध्य पारिँदैछौं; हाम्रो आवाजलाई बेवास्ता गरिए विद्रोहको अर्को चरण अनिवार्य हुनेछ ।’

समूहले सरकारी तह र मिडियालाई भरोसा गर्नु भन्दा पहिले आन्दोलनका वास्तविक प्रतिनिधिहरूको पहिचान, तिनीहरूको माग र नेतृत्व स्पष्ट गर्ने पारदर्शी प्रक्रिया अपनाउन दबाव दिएका छन् । उनीहरूले भनेका छन्, सही प्रतिनिधित्व कायम नगरी गरिने छलफल र सम्झौता अस्थायी समाधान मात्र हुनेछ र त्यसले दीर्घकालीन अस्थिरता निम्त्याउन सक्छ ।

साढे चार लाख घुससहित प्रधानाध्यापक र बिचौलिया पक्राउ

रौतहट । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख ५० हजार घुस लिएको आरोपमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानु पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको सूचनाको आधारमा बिचौलिया साहकानुले सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा सेवाग्राहीबाट विधिपूर्वक दिइएको दरखास्तको प्रक्रियालाई अगाडि बढाउने बहानामा घुस मागेको उजुरीका आधारमा आयोगको टोली खटिएको थियो । उनले विचौलियामार्फत ४ लाख ५० हजार घुसबापत मागेका थिए । सेवाग्राहीले उक्त रकम बिचौलिया साहुकानुलाई बुझाएका थिए ।

उनीहरूलाई पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । अहिले दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

 

जेनजीसँग वार्ता गर्दागर्दै बिरामी परेपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । जेनजी प्रतिनिधिहरूसँग शीतल निवासमा वार्ता गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।आज बिहान प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीका प्रतिनिधिसँग छलफल गर्दागर्दै राष्ट्रपति बिरामी परेका हुन् ।

त्यसपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनी अस्पताल आइपुगेको करिब दुई घण्टा भएको छ । अहिले प्रारम्भिक परीक्षण भइरहेको छ ।

अब जेनजीका प्रतिनिधिसँग आगामी सोमबार दिउँसो ३ बजे छलफल गरिने राष्ट्रपतिको सचिवालयले जनाएको छ । आज वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर असन्तुष्ट जेनजी युवाले नाराबाजी गरेका कारण पनि छलफल अघि बढ्न सकेन ।

सहकारी ठगीमा थुनामा रहेका ढोरपाटनका मेयर नेपालीलाई सम्पति शुद्धीकरणको पनि मुद्दा

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीविरुद्ध एक अर्ब ५८ करोड ९४ लाख बढी रकमको सम्पत्ति शुद्धीकरण अभियोगमा पनि मुद्दा दायर गरिएको छ ।

सहकारी ठगी र शुद्धीकरण प्रकरणमा नेपालीसहित १५ जना प्रतिवादी बनाइएका छन् । जिल्ला सरकारी वकिल कार्यालय, बागलुङले बिहीबार जिल्ला अदालतमा सहकारीको रकम अपचलन गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यो मुद्दा दायर गरेको हो ।

झुटो ब्याजको प्रलोभन, नक्कली ऋणी र चलखेलको जालो
देवकुमार नेपालीले अध्यक्ष रहेको इमेज सहकारीले एक हजार ५४३ जना बचतकर्ताको करोडौं रुपैयाँ संकलन गरी, कृत्रिम खाता खोलेर, नक्कली ऋणी खडा गरेर, नक्कली कागजमार्फत ऋण प्रवाह देखाएर आफ्नै श्रीमती र आफन्तको नाममा सम्पत्ति खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।

रकम अपचलनका लागि उनीहरूले बढी ब्याज दिने झुटो आश्वासन दिएर सर्वसाधारणलाई लोभ्याएका थिए । वास्तविक आवश्यकता नभएका ऋणहरू बनाइए, जमानत विनै ऋण वितरण गरियो र अन्ततः सहकारीको नीति, सिद्धान्त र कानुनको पूर्ण उल्लंघन गर्दै रकम हिनामिना गरिएको हो ।

शुद्धीकरणमार्फत सम्पत्ति आर्जन : घर–जग्गा, नगद र शेयर
अभियोगपत्र अनुसार, देवकुमार नेपालीले शुद्धीकरणमार्फत कमाएको रकम :
एक करोड ५८ लाख ९४ हजार ५५ हजार ३९१ (बिगो)
श्रीमती छेलाको नाममा मात्र ६ करोड ९८ लाख बढी
सहकारीको ४० लाखको शेयर, १ लाख २० हजार नगद र विभिन्न स्थानका जग्गा जफतको माग

मतियारहरूको मिलेमतो : कर्मचारीदेखि समितिसम्म सबै संलग्न
जिल्ला सरकारी वकिलको कार्यालयले उक्त घटनामा १५ जना अन्यलाई ‘मतियार’ का रूपमा प्रतिवादी बनाएको छ।
त्यसमध्ये प्रमुख नामहरूः
डोरबहादुर परियार (उपाध्यक्ष)
सुनील नेपाली (सचिव)
लक्ष्मी सेन सुनार (कोषाध्यक्ष)
चित्रबहादुर भण्डारी, रूपा विक, झगबहादुर शाही (सदस्य)

शक्ति किसान (शाखा प्रबन्धक), लालमति रोका (लेखा प्रमुख)
अनिता बुढामगर, सुरेन्द्र बोहरा, सञ्जिता थापा, पुष्पा पाठक खत्री, दीपक पौडेल, सन्तोष नेपाली

उनीहरूमाथि सहकारीको रकम :
कृत्रिम हिसाब देखाएर अन्य खातामा रकमान्तर गर्ने, बचतकर्ताको नाममा पैसा निकालेर व्यक्तिगत रूपमा खर्च गर्ने, राजस्व छलेर राज्यलाई पनि आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ ।

दावी : दोब्बर जरिवाना, २–१५ वर्षसम्म कैद सजाय
आरोपपत्र अनुसार, देवकुमार नेपालीले गरेका गैरकानुनी कार्यबाट प्राप्त सम्पत्तिको रकम बराबर दोब्बर जरिवाना, साथै २ देखि १५ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

भूमि आयोग खारेज मौलिक हक खारेज गरे सरह : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमि आयोग खारेज गरेर सरकारले गल्ती गरेको बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सुशीला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेर लाखौं भूमिहीनको जग्गा पाउने मौलिक हकलाई खारेज गरेको दाबी गरेका हुन् ।

अघिल्लो सरकारको नीति, कार्यक्रम, बजेट स्वीकार्य हुने तर त्यसै अन्तर्गत बनेको भूमि आयोग किन अस्वीकार्य भनेर प्रश्न गर्नु भएको छ । पोखरेलले आयोग खारेज गरेर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहिन दलित समुदायलाई संविधानले दिएको मौलिक हक खारेजी गर्नु सरहको भएको टिप्पणी गरे ।

‘भूमि आयोग खारेज गर्नु भनेको लाखौं भूमिहीन सुकुम्वासी, अव्यवस्थित वसोवासी र भूमिहीन दलित समुदायलाई संविधानले दिएको जमिन प्राप्त गर्ने मौलिक हकको खारेजी गर्नु सरह हो ।’ उनले प्रश्न गरे, ‘पुरानै सरकारको नीति, कार्यक्रम र बजेट चाँहि स्वीकार्य हुने, त्यसै नीतिअन्तर्गत गठन गरिएको भूमि आयोग कसरी बेठिक हुन सक्छ ?’

सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग र सम्पूर्ण जिल्ला समितिहरू पनि खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकबाट भूमि आयोग खारेज गरेपछि लालपुर्जा पाउने तयारीमा रहेका हजारौं सुकुमबासीहरू निराश बनेका छन् । अघिल्लो सरकारले गतवर्ष कात्तिक १३ गते हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो ।

विपद संकटग्रस्त घोषित इलामको स्थलगत अवलोनलमा मन्त्री घिसिङ

इलाम । भौतिक योजना तथा पुनर्निर्माण मन्त्री कुलमान घिसिङ शनिबार बाढी–पहिरो प्रभावित इलामको अवलोकनमा पुगेका छन् । हालैको भीषण वर्षापछि इलामका विभिन्न स्थानमा व्यापक जनधनको क्षति भएपछि सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्री घिसिङ प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षणमा बिहान झापा हुँदै इलामतिर प्रस्थान गरेको झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनाए । मन्त्री घिसिङले इलाम १० राजदुवालीका बाढी पीडितलाई भेट्ने र राहत वितरण गर्ने कार्यक्रम छ ।

त्यस्तै राजदुवाली सडक, मिल घुम्ति लगायत क्षेत्रको सडक अवलोकन गर्ने कार्यक्रम छ । मन्त्री घिसिङले इलाम नगरपालिका–१० राजदुवाली, सन्दकपुर, माईजोगमाई लगायतका प्रभावित बस्तीहरूमा पुगेर स्थानीयवासीसँग क्षतिग्रस्त संरचना, सडक, पुल–पुलेसा र राहत व्यवस्थाको स्थिति बुझ्ने बताइएको छ ।

उनले प्रभावित नागरिकलाई राहत, पुनर्वास र पुनर्निर्माणमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सरकार प्रभावित नागरिकसँगै छ । तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ’, मन्त्री घिसिङले बताएका छन् । स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकारी र सुरक्षाकर्मीहरू पनि मन्त्रीको टोलीसँगै रहेका थिए । बाढी र पहिरोका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ । दर्जनौं सडक भासिएका छन् । दर्जनौं बस्ती जोखिममा परेका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।

प्रशासनको आदेश अवज्ञा गर्दै काठमाडौंमा राजावादीको जुलुस

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशलाई अवज्ञा गर्दै काठमाडौंको सामाखुशीमा राजावादीहरूले जुलुस निकालेका छन् । सन्तोष राजावादीको नेतृत्वमा राजा चाहियो भन्दै नाराबाजी गरेका हुन् ।

अहिले प्रदर्शनकारीलाई प्रहरीले घेरा हालेर राखेको छ । अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । काठमाडौं प्रशासनले हिजो स्थिति सामान्य नभएसम्म कसैलाई र्‍याली, भेला, जुलुस गर्न नदिने निर्णय गरेको थियो । उनीहरूले राजा आऊ देश बचाऊ , हत्यारा सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, नारा लगाएका थिए ।