`

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधान सेनापति सिग्देल

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्री प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्न लागेको छ ।

ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो । अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजीले संसद विघटनलाई ‘बटमलाइन’ बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै कुरा अड्किएको स्रोतहरूको भनाइ छ ।

बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल बढेको बताएका छन् ।

धोका नहुने र जेनजीहरूको माग पूरा गर्ने राष्ट्रपति र प्रधानसेनापतिले आश्वस्त पारेपछि सबै समूह सहमति नजिक पुगेको स्रोतले बतायो । जेनजीको समूहबाट कानूनविद्को रूपमा अधिवक्ता ओमप्रकाश अर्याललाई अघि सारिएको छ । संसद विघटनको कुरा टुंगिएपछि मात्रै भौतिक उपस्थितिबीच सबैसँग सहमति हुने बताइएको छ ।

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गरेका छन्।

संयुक्त वक्तव्य जारी गर्दै अहिलेको संकटको निकास विधिको शासन र संविधानवादबाट बाहिर गएर खोज्न नहुने उनीहरूको राय छ।२३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ ।

संसद्‍का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

विज्ञप्तिमा उनीहरूले लेखेका छन्, ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ। आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ।’

‘संसद भंग गर्ने अधिकार राष्ट्रपतिमा राखौं, नागरिक सरकार गठन गरौं’

काठमाडौं । जवाफदेहिता निगरानी समितिले संवैधानिक संकटको वैध समाधान गरी जेनजी प्रदर्शनका उपलब्धिहरूलाई संस्थागत गर्न र परिस्थितिको सामान्यीकरण गर्न १२ बुँदे सुझाव दिएको छ ।

समितिका संयोजक राजु चापागाईसहितका मानव अधिकारकर्मीहरूले विज्ञप्ति जारी गर्दै संविधानको धारा ६१ ले राष्ट्रपतिलाई सुम्पिएको राष्ट्राध्यक्षको हैसियतअनुसार संविधानको पालन र संरक्षण गर्ने अभिभावकीय कर्तव्यअन्तर्गत जेनजी आन्दोलनका प्रतिनिधि, नागरिक समाज, संसद्भित्र र बाहिरका विद्यमान राजनीतिक शक्तिहरूसँग व्यापक संवाद तथा छलफलको आधारमा राजनीतिक तथा संवैधानिक संकट व्यवस्थापनका लागि सहमति जुटाउने सुझाव दिएको हो ।

राजनीतिक शक्तिहरूबीचको सहमतिमा संसद्को सदस्य नरहेको व्यक्तिलाई पनि प्रधानमन्त्री नियुक्त गर्ने, चुनावको मिति तोक्ने, संसद् भंग गर्ने स्पष्ट अधिकार राष्ट्रपतिमा रहने गरी संसद्बाट धारा ७६ मा संशोधन गर्ने र त्यसका आधारमा जेनजीको समर्थन पाएको स्वतन्त्र व्यक्तिको नेतृत्वमा गठन हुने नागरिक सरकारको राजनीतिक साथै संवैधानिक वैधता सुनिश्चित गर्न पनि उनीहरूले सुझाव दिएका छन् ।

हेर्नुस् १२ बुँदे सुझाव

जवाफदेहिता निगरानी समितिको बैठकले जेन–जी आन्दोलनका परिणामस्वरूप उत्पन्न पछिल्लो राजनीतिक परिस्थिति, त्यसका अन्तरनिहित कारणहरू र बहुआयामिक प्रभावहरूको बारेमा गम्भीर समीक्षा गरी विद्यमान स्थितिको सामान्यीकरण, संक्रमणकालीन अवस्थाको विधिसम्मत र शीघ्र व्यवस्थापन गरी पुनः राष्ट्रिय आत्मविश्वास आर्जन गरी व्यापक सहमतिका आधारमा आन्दोलनका माग सम्बोधन गर्ने दिशामा सबै इमानदारीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता तडकारो भएको निष्कर्ष निकालेको छ ।

साथै, निगरानी समितिको धारणा छ कि जेन–जी आन्दोलन विगतका सामाजिक, राजनीतिक, क्षेत्रिय आन्दोलन र दशक लामो सशस्त्र द्धन्द्ध लगायतका जनताका ऐतिहासिक संघर्षहरुको प्रतिफलको रुपमा अस्तित्वमा आएको वर्तमान संविधानलाई आधाररेखा मानेर अग्रगमनतर्फ अगाडी वढनको लागि हो, यो विद्यमान संवैधानिक उपलब्धिहरूलाई उल्ट्याउने वा पश्चगामी परिवर्तन गर्नका लागि होइन । आन्दोलन पश्चातको संक्रमणकालीन तरल अवस्थालाई अवसरको रूपमा दुरुपयोग गर्दै मुलुकलाई पश्चगमनतर्फ धकेल्ने दुष्प्रयास गर्ने वा त्यसतर्फ जनमानसलाई हौस्याउने तत्वहरू पहिचान गरी उनिहरुको उदेश्यलाई परास्त पार्न जेन–जी आन्दोलन, नागरिक समाज, सचेत मिडिया र आम नेपाली एकजुट भएर खबरदारी गर्नुपर्ने आवश्यकतामा समितिले जोड दिएको छ ।

समितिको बुझाइमा, जेन–जी आन्दोलन विगत केही वर्षदेखि संविधानमा निहित सामाजिक न्याय, समाजवाद, सुशासन, दिगो विकास र शान्तिका प्रतिज्ञा एकातिर र भ्रष्ट, स्वार्थकेन्द्रित, गुटप्रस्त, लोभिपापी विभेदकारी, अत्याचारी, अन्यायी शासकिय व्यवहार, संस्कार तथा प्रवृत्तिहरू अर्कातिर भैरहँदा नागरिकस्तरमा विकसित हुँदै गएको असन्तुष्टि, निराशा र विद्रोही भावको चरम प्रकटिकरण हो ।

यस परिप्रेक्ष्यमा निम्नानुसारका उपाय अपनाएर परिस्थितिको सामान्यीकरण र कानुनी शासनको वहाली सुनिश्चित गर्दै विद्यमान संवैधानिक तथा राजनीतिक संकटको निकास दिने र जेन–जी आन्दोलनको मर्म र भावना अनुरूप मुलुकको आत्मविश्वास जगाई राजनीतिक स्थिरता र सुशासनतर्फ अग्रसर हुनुपर्दछ भन्ने निगरानी समितिको धारणा रहेको छः–

१) संविधानको धारा ६१ ले राष्ट्रपतिलाई सुम्पिएको राष्ट्राध्यक्षको हैसियतअनुसार संविधानको पालन र संरक्षण गर्ने अभिभावकीय कर्तव्यू अन्तर्गत जेन–जी आन्दोलनका प्रतिनिधि, नागरिक समाज, संसदभित्र र बाहिरका विद्यमान राजनीतिक शक्तिहरूसँग व्यापक संवाद र छलफलको आधारमा राजनीतिक तथा संवैधानिक संकट व्यवस्थापनका लागि सहमति जुटाउने ।

२) संसदभित्रबाट सरकार गठन हुन नसक्ने विषम र अनपेक्षित परिस्थितिमा संकटमोचनका लागि राजनीतिक शक्तिहरूबीचको सहमतिमा संसदको सदस्य नरहेको व्यक्तिलाई पनि प्रधानमन्त्री नियुक्त गर्ने, चुनावको मिति तोक्ने र संसद भंग गर्ने स्पष्ट अधिकार राष्ट्रपतिमा रहने गरी संसदबाट धारा ७६ मा संशोधन गर्ने र त्यसका आधारमा जेन–जी आन्दोलनको समर्थन प्राप्त स्वतन्त्र व्यक्तिको नेतृत्वमा गठन हुने नागरिक सरकारको राजनीतिक साथै संवैधानिकता वैधता सुनिश्चित गर्ने ।

३) उपर्युक्त विकल्पमा सहमति जुट्न नसकेको अवस्थामा, धारा ६१ ले राष्ट्रपतिलाई सुम्पिएको संविधान पालन र संरक्षण गर्ने अभिभावकीय कर्तव्यअनुसार संकटमोचनका लागि आवश्यक आदेश जारी गरी जेन–जी आन्दोलनले अनुमोदन गरेको व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्ने, संविधानबमोजिम संसदको निर्वाचनको उपयुक्त मिति तोक्ने ।

४) नागरिक स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्यायको दृष्टिकोणले संविधान अब्बल भए पनि यसको शासकीय संरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, संघीयता, संवैधानिक संस्था र राजनीतिक दलसम्बन्धी प्रबन्धमा असन्तुष्टिहरू व्यक्त हुँदै आएको, साथै संविधान जारी भएको दशक पूरा हुन लागेको सन्दर्भमा, यसको प्रावधान र कार्यान्वयन पक्षको पुनरावलोकन गर्न नागरिक सरकारले स्वतन्त्र विज्ञहरूको सहभागितामा संविधान पुनरावलोकन आयोग गठन गर्ने । सो आयोगले दिएको सुझावको आधारमा निर्वाचनद्वारा ताजा जनादेश प्राप्त संसदमा विधेयक प्रस्तुत गर्ने ।

५) जेन–जी आन्दोलनको क्रममा दर्जनौंको मृत्यु र हजारौं घाइते हुने गरी भएका मानवअधिकार उल्लंघनका घटनाको स्वतन्त्र छानबिन तथा अनुसन्धान गर्ने, आन्दोलनकारी जेन–जी समूहको घोषित नीतिसँग विपरीत, आपराधिक स्वार्थबाट प्रेरित व्यक्ति वा समूहद्वारा गरिएका सरकारी तथा निजी सम्पत्तिको ध्वंशका घटनाको छानबिन र क्षतिको मूल्याङ्कन गरी जिम्मेवारलाई दण्डित गर्ने प्रयोजनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने ।

६) मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने, घाइतेहरूको उपचार र उनीहरूको सहज जीवनयापनका लागि आर्थिक सहायता तथा सामाजिक सुरक्षा व्यवस्था गर्ने ।

७) स्थानीयदेखि केन्द्रीय स्तरसम्म ठप्प बनेको प्रशासनिक तथा न्याय सेवालाई प्रदेश, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्य तथा समन्वयमा शीघ्र सञ्चालन गर्ने। नागरिक तथा समुदायसँगको सहकार्यमा शान्ति–सुव्यवस्था कायम गर्न प्राथमिकताका साथ काम गर्ने ।

८) दलगत प्रणाली निर्विकल्प भए पनि हाम्रोमा राजनीतिक दलहरूको लोकतान्त्रीकरण हुन सकेको छैन। प्रायः दलहरूको नेतृत्वलाई देवत्वकरण गर्ने, दल भित्र नेतृत्व र आसेपासेको तानाशाही र एकाधिकार चल्ने प्रवृत्तिले दलहरू ग्रसित छन् । दलभित्र अन्तरपुस्ता समन्याय छैन । यो अवस्था नचिर्दासम्म राजनीतिक व्यवस्थाको सञ्चालन फलदायी नहुने र दल तथा नेतृत्वप्रति वितृष्णा दोहोरिने भएकाले असफल र जनताद्धारा अस्विकृत नेताहरूले पदत्याग गरी नेतृत्वको वास्तविक पुस्तान्तरणका लागि मार्ग प्रशस्त गर्नुपर्छ। साथै दलभित्र सुशासन, पारदर्शिता र लोकतान्त्रीकरणका उपायहरू अपनाउनु पर्छ ।

९) नीतिगत भ्रष्टाचारका कानुनी छिद्र पहिचान गरी टाल्ने, विगत लामो समयदेखि छानबिनमा नपरेका घोटालाहरूको अनुसन्धान गर्ने, जिम्मेवारविरुद्ध मुद्दा चलाउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा उतार्ने कुरा सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत सुधारका प्रयास अघि बढाउने ।

१०) विपन्न तथा ऐतिहासिक अन्याय भोगेका विभेदित र सिमान्तीकृत वर्ग–समुदाय, सशस्त्र द्वन्द्वका पीडित नागरिकका आर्थिक–सामाजिक कष्ट सम्बोधन गर्ने, ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्ने, संक्रमणकालीन न्यायको थाँती अभिभारा पीडितमैत्री प्रक्रियाबाट सम्पन्न गर्ने लगायतका राष्ट्रिय अभिभारा पूरा गर्न सरोकारवालासँग परामर्शमा योजना बनाई अघि बढाउने ।

११) कुनै पनि सार्वजनिक सरोकार वा दीर्घकालीन प्रभाव हुने नीति निर्माण, कानुन निर्माण वा कुनै कार्यकारी निर्णय गर्दा, त्यसको आर्थिक, सामाजिक र विशेषगरी युवापुस्तामा पर्ने प्रभाव मूल्याङ्कन गर्ने परिपाटी बसाल्ने ।

१२) साथै नागरिक र समुदायका असन्तुष्टि, गुनासा, मागहरू प्राप्त गर्ने, विश्लेषण गर्ने र कानुनी शासनको परिधिभित्र रहेर सम्बोधन गर्न सहजिकरण गर्ने कार्यादेशसहितको संयन्त्र बनाएर सञ्चालन गर्ने।

जवाफदेहिता निगरानी समितिको तर्फबाट मानवअधिकारकर्मीहरू
राजुप्रसाद चापागाई (संयोजक), राजन कुइँकेल (सहसंयोजक), रुकमनी महर्जन (सहसंयोजक), सदस्यहरूस् चरण प्रसाई, डा. गौरीशंकरलाल दास, डा. मन्दिरा शर्मा, दिनेश त्रिपाठी, सुमन अधिकारी, देवी सुनुवार, बाबुराम गिरी, डा. विरेन्द्र थपलिया, जनकबहादुर राउत, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, विकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, बद्रीप्रसाद भुसाल, निराजन थपलिया, काशीराम ढुंगाना, लक्ष्मी पोखरेल, पुष्पराज पौडेल, सन्तोषबाबु सिग्देल, मोहना अन्सारी, कमला पन्थी ।

 

संविधानको रक्षाका लागि बारले दीप प्रज्वलन गर्ने

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले संविधानको रक्षा गर्न आज दीप प्रज्वलन गर्ने भएको छ ।

बारका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले संविधानभित्र रहेर मुलुकलाई निकास दिनुपर्ने उद्देश्यका साथ आज साँझ ५ बजे दीप प्रज्वलन गर्ने र त्यसअघि अहिले १ बजे ‘जेनजी’ आन्दोलनमा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्ने कार्यक्रम रहेको बताए ।

उपत्यकाबाहिर र देशभरका बारहरूले सभाको आयोजना गरी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि र घाइतेको स्वस्थ्य लाभको कामना गर्ने जनाइएको छ ।

साँझ ५ बजे दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण कानुन व्यवसायीलाई कालोकोटसहितको ड्रेसमा संविधानको पुस्तकसहित उपस्थित हुन बारले अनुरोध गरेको छ ।

आन्दोलनका क्रममा खण्डहर बनाइएको भैंसेपाटीको प्रहरी प्रभाग स्थानीयको पहलमा पुनर्स्थापना

ललितपुर । ‘जेनजी’ आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैंसेपाटीस्थित प्रहरी प्रभाग स्थानीयले पुनः स्थापना गरेका छन् । यही भदौ २३ र २४ गते ‘जेनजी’को नेतृत्वमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती भैंसेपाटीमा आगो लगाइदिएपछि त्यहाँका सबै सामग्री जलेर नष्ट भएका थिए । प्रहरी प्रभागका इन्चार्ज शशिधर शर्मासहितको टोली अत्यावश्यक सामग्रीसहित बिहीबार अबेर प्रभागमा प्रवेश गरेको थियो ।

आन्दोलनकारीले गस्तीमा प्रयोग हुँदै आएको चारपाङ्ग्रे दुईवटा सवारीसाधन, केही मोटरसाइकल र कार्यालयका सबै सामान जलाएर नष्ट पारेका थिए । प्रभागमा हाजिर हुन आएका प्रहरी निरीक्षकसहितको टोलीलाई वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा २२ का वडाअध्यक्ष सागर तुलाधर र २१ नं वडाअध्यक्ष रवीन्द्र महर्जनसहित स्थानीयले स्वागत गरेका थिए ।

प्रहरी टोलीलाई स्वागत गरेसँगै जलेको भवन पुनः मर्मत गरी प्रयोगमा ल्याउनका लागि स्थानीयस्तरबाट स्थानीय सुमन महतको संयोजकत्वमा ११ जनाको समिति गठन गरिएको छ । समितिले स्थानीयस्तरबाट श्रमदान, चन्दा र विभिन्न संघसंस्थाबाट सहयोग जुटाई प्रभागलाई पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । आज ५० जनाभन्दा बढी स्थानीयहरू प्रभागको सरसफाइमा जुटेका छन् । झ्यालढोका मर्मत, रङरोगन, बत्ती एवं पानीको व्यवस्थासहित अन्य बन्दोबस्तीका सामग्री जुटाउन समिति लागिपरेको छ ।

प्रभागका प्रमुख शर्माका अनुसार हालसम्म स्थानीयबाट रु चार लाखभन्दा रकम संकलन भइसकेको छ । बजार सामान्य अवस्थामा फर्केसँगै बजारबाट सामग्री खरिद गरिने र प्रभागलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ । उनले भने, ‘विगतमा जस्तै जनताको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी आगामी दिनमा लागिपर्नेछ, त्यसका लागि जनस्तरबाट पहिले जस्तै सहयोग हुने विश्वास छ ।’ उनका अनुसार गस्तीमा जानका लागि प्रयोग हुने गरेका सबै सवारीसाधन जलेकाले स्थानीयस्तरबाट केही समयका लागि गाडीको व्यवस्था गर्ने तयारी भएको छ ।

ललितपुर महानगरपालिका–२५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नं २२ का सागर तुलाधर, वडा नं २१ का रवीन्द्र महर्जन र वडा नं १८ का दामोदर खड्काले २५–२५ हजार नगद सहयोग गरेका थिए । प्रभाग प्रमुख शर्माले वडाअध्यक्ष र स्थानीयको साथ, सहयोग तथा माया महत्वपूर्ण रहेको बताउँदै प्रहरी र स्थानीयको सहयोगले शान्तिसुरक्षा कायम गर्न सकिने विश्वास व्यक्त गरे ।

नक्खु कारागारका सबै कैदी–बन्दी फरार भएसँगै स्थानीयस्तरमा सुरक्षा चुनौती थपिएको र प्रहरी चौकीलाई चाँडो स्थापना गर्न जरूरी रहेको समितिका सदस्य एवं समाजसेवी देवेन्द्रकुमार गौतमले बताए । प्रभागको नेतृत्वमा ४३ जना प्रहरी, आठ जना ट्राफिक प्रहरी र फर्सिडोलको प्रहरी चौकीका अन्य आठ जना रहेका छन् ।

 

अन्तरिम प्रधानमन्त्रीले कहाँबाट चलाउँलान् सरकार ?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी भएपछि गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनको तयारी थालिएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका छन् । अनुगमन लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतले सुनायो, ‘प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा ध्वस्त छ । पुरानो गृह रहेको ठाउँमा बनिरहेको नयाँ गृह मन्त्रालयको भवनमा अहिले प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ ।’ मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकारले सिंहदरबारबाटै काम गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको र त्यो सरकार सिंहदरबारबाटै चल्ने स्पष्ट पारेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेटबाट नजिकै नयाँ गृह मन्त्रालयको भवन बनेको छ । अहिले गृह मन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको छ । राष्ट्रपति पौडेलले प्रधान सेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानूनविद् र राजनीतिका दलका नेतासँग हिजो छलफल गरिसकेका छन् । कार्कीलाई प्रधानमन्त्री स्वीकार्न दलहरु पनि तयार देखिएका छन्, तर संसद विघटनमा तयार छैनन् । उनीहरूले संसदीय प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउने उपाय खोज्न सुझाएका छन् ।

कहाँ रोकियो अन्तरिम सरकार गठन प्रक्रिया ?

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा आज (शुक्रबार) छलफलमा बिलम्ब भएको छ । बिहान ९ वजेदेखि सुरु हुने भनिएको छलफल अहिलेसम्म सुरु हुन सकेको छैन ।कार्कीसँगै केही दिनदेखि परामर्श र वार्तामा रहेका ओमप्रकाश अर्यालले सुरुमा राष्ट्रपतिका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुँवरसँग बैठक हुने अनि त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्कीको निर्णायक कुराकानी हुने बताए ।

उनका अनुसार यसमा कुरा मिले सम्भवतः आजै कार्कीले अन्तरिम सरकारको मन्त्रिपरिषदको अध्यक्षको रूपमा जिम्मेवारीको शपथ लिन सक्ने छिन् । अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल चलिरहेको बताइएको छ। ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि त्यसको कानूनी विकल्प खोज्न बैठक बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्ने भएको हो ।

अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुट्न सकेको छैन । काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजीले संसद विघटनलाई बटमलाइन बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै हलो अड्किएको स्रोतहरूको भनाइ छ । बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने निर्क्याैल भएको छैन । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल भएको हो ।

राष्ट्रपति पौडेलले प्रधान सेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानूनविद् र राजनीतिका दलका नेतासँग हिजो छलफल गरिसकेका छन् । कार्कीलाई प्रधानमन्त्री स्वीकार्न दलहरु पनि तयार देखिएका छन्, तर संसद विघटनमा तयार छैनन् । उनीहरूले संसदीय प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउने उपाय खोज्न सुझाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरूको उपस्थितिमा बिहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न सकेको थिएन । जेन जीका तर्फबाट विघटन गर्ने तर्क अघि सारिएको थियो, तर संविधान अनुसार विकल्प खोज्न संसद पनि जीवित हुनुपर्ने कुरा उठेपछि त्यसका केही कुराकानी भइरहेको छ । त्यसैले आज बिहान ११ बजेबाट पुनः छलफल सुरु हुन लागेको हो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सर्वपक्षीय सहमति जुटिसकेको छ। अझ केही प्रक्रियागत कुरा र कसरी अघि बढ्ने भन्ने कुरा टुङ्गाउन बाँकी छ ।

जेन–जीले चाहे जस्तै सरकार बन्छ, वातावरण बनाइ दिन संवादमा छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको तत्कालीन राजनीतिक निकासका लागि नेपाली कांग्रेस हर सम्भव प्रयास गरिरहेको बताएका छन् । आज (शुक्रबार) भिडिओ वक्तव्यमार्फत पार्टीलाई सम्बोधन गर्दै गगनले यस्तो जानकारी गराएका हुन् ।

‘हामी सबै पक्षसँग संवाद गरिरहेका छौं । सम्माननीय राष्ट्रपतिलगायत अन्य दलहरूसँग पनि संवाद गरिरहेका छौं,’ गगनले भने, ‘हामी आन्दोलनकारी साथीहरूसँग पनि कुन न कुनै माध्यमबाट पुग्ने कोशिस गरिरहेका छौं, कुनै न कुनै पहल भइरहेको छ ।’ कांग्रेस जेन–जी आन्दोलनकारीले जे काम राखेका छन् त्यो माग सम्मानसहित सम्बोधन गरेर मात्रै अगाडि बढ्न सकिने कुरामा प्रष्ट रहेको उनले बताए ।

‘अन्तरिम सरकार बन्ने कुरा छ । सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला, आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँले छानेकै व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति नेपाली कांग्रेस तयार मात्र होइन, त्यसका लागि वातावरण बनाइदिने कुरामा रहेको छ,’ उनले भने ।

त्यसै सरकारले अगाडिका काम निर्वाचन, घटनाका छानबिन, क्षतिको पुनर्निर्माणको नेतृत्व गर्ने गगनले बताए । उनले भने, ‘तर, एउटै कुरा छ, यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं । किनकि २०७२ले दिएको संविधान जोगिएन भने स्थायी समाधान हुँदैन,’ उनले भने । संविधान बाहिर जाँदा बाटै सजिलो नभएको उनले बताए ।

‘यति धेरै भत्किएको छ, कसैले कल्पना पनि गरेको छैन,’ गगनले भने । संविधानकै दायरामा रहेर अन्तरिम सरकार बनाउनेदेखि २०४६ यताका पदाधिकारीको छानबिन गर्ने, अख्तियारको पुनर्नियुक्ति गर्नेलगायतमा पहलकदमी गरिरहेको उनले बताए । महामन्त्री गगन थापाले आफूहरूको अनुहारमा दाग लागेको भएकाले अब जनतासँग माफी माग्नुपर्ने बताएका छन् । भदौ २३ गते कसैले नचाहेको अकल्पनीय घटना हुँदा आफूहरू सरकारमै भएकाले कांग्रेसले माफी माग्नुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘तपाईँ र म सरकारमा थिएनौँ तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नु पर्छ । कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नु पर्छ, यो घाउलाई पुर्ने हामीले कोशिस गर्नुपर्छ । भदौ २४ गते भएको क्षतिको कसैले आँकलन गर्न सक्दैनन् ।’

उनले नियतवश पार्टीसहितका सबै नेताहरूको घर जलाउनेलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । उनले भनेका छन्, ‘हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौँ साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानु पर्छ । तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनु पर्छ ।’

शितल निवास पुगे जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शितल निवास पुगेका छन् । उनलाई शुक्रबार बिहान ९ बजे नै शीतल निवास बोलाइएको भए पनि भर्खरै मात्रै उनले प्रवेश पाएका हुन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न जेनजीका विभिन्न समूहहरूको तर्फबाट गुरुङले दबाब दिँदै आएका छन् । अब नयाँ प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा गुरुङसँग राष्ट्रपतिले छलफल गर्ने बताइएको छ ।

हामी नेपालका अध्यक्ष समेत रहेका जेनजी अभियन्ता गुरुङले नेपाली जनताको भावनाअनुसार अबको अन्तरिम सरकार बन्नुपर्ने बताउँदै आएका छन् । उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनु पर्नेमा पनि जोड दिँदै आएका छन् । गुरुङले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार रहेको बताएका छन् ।

 

समझदारी बने पनि के मा अड्कियो कार्कीको नियुक्ति ?

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन प्राय सबैतिरबाट समझदारी बनेको छ । तर, प्रक्रियाको विषयले कार्कीको नियुक्ति अझै अड्किएको छ । कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियाको विषयमा शीतलनिवास अझै अलमलमा देखिएको छ ।

संसदको हैसियत के हुने भन्ने विषयमा गएर नियुक्ति प्रक्रिया अड्किएको शीतलनिवास स्रोत बताउँछन् । जेनजीका तर्फबाट संसद विघटन गर्नुपर्ने दबाब छ । संसद विघटन नगरे अन्तरिम सरकार गठनको बाटो नखुल्ने यस पक्षको तर्क छ ।
बिहीबार राष्ट्रपतिले संविधानविद्, प्रमुख दलका नेता तथा सभामुखसँग परामर्श गरेका थिए । संविधानविदहरूले ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी राष्ट्रपतिले संविधानको पालक र संरक्षकको भूमिका खेल्न सक्ने’ र ‘राष्ट्रपति पदसँगै इमर्जेन्सी लाइन बाल्ने अधिकार अन्तरनिहित हुने’ परामर्श दिएका थिए ।

हालको कामचलाउ सरकारले बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने र त्यसै आदेशअनुसार आगामी प्रक्रिया अघि बढाउने तयारीमा शीतलनिवास लागेको थियो । तर, संसद विघटन गर्नैपर्ने जेनजीको अडान र विघटन गर्दा आउन सक्ने अवगालको राष्ट्रपतिमा देखिएको भयमा अहिलेको गाँठो कस्सिएको छ । यही गाँठो फुक्न नसकेकै कारण नयाँ प्रधानमन्त्री नियुक्ति टुङ्गोमा पुग्न सकेको छैन ।

आज पनि राष्ट्रपतिले विभिन्न पक्षसँग परामर्श जारी राखेको शीतलनिवास स्रोतले जानकारी दिएको छ । तर अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम पछाडि सरेको छ । वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको हो ।

 

सुशीला कार्कीलाई यथाशीघ्र शपथ खुवाइयोस् : सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किराँतीले देशलाई विदेशी हस्तक्षेपबाट बचाउन चाँडोभन्दा चाँडो पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख पदमा शपथ खुवाउन आग्रह गरेका छन् ।
जेन–जी प्रतिनिधिकै प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गर्ने लगभग पक्का गरिसकेका छन् । तर उनी गैरसांसद भएकाले संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति गर्न बाँकी छ ।

त्यसका लागि जेन–जी, नेपाली सेनासहित सरोकारवाला पक्षसँग आज पनि वार्ता जारी रहने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ‘यो विशिष्ट परिस्थितिमा नेपालको संविधान रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउनको लागि जेनजीहरूको प्रस्तावमा परेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको यथाशीघ्र शपथ खुवाइयोस्’, प्रतिनिधि सभा सदस्य समेत रहेका किराँतीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

डडेलधुरा कारागारबाट भागेका ६१ कैदीबन्दी फेरि पक्राउ

डडेलधुरा । डडेलधुरा कारागारबाट भागेका ६१ कैदीबन्दी फेरि पक्राउ परेका छ । बुधबार कारागार तोडफोड गरेर भागेका ८५ कैदीबन्दीमध्ये ६१ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले नियन्त्रणमा लिएर कारागारमा राखेको छ । जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार अहिले कारागारमा १ सय ३ कैदीबन्दी छन् ।

यस्तै अन्य जिल्ला कारागारबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिएर डडेलधुरा प्रहरीले सम्बन्धित जिल्लामा पठाइरहेको छ । डोटीको बाल सुधार गृहबाट फरार भएका २ जनालाई पक्राउ गरेर जिप्रका कैलालीको बाल निगरानी कक्षमा राखिएको छ । कञ्चनपुर कारागारबाट भागेका एक कैदीलाई पनि पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय जोगबुढाले ती कैदीलाई पक्राउ गरेर कञ्चनपुर प्रहरीलाई बुझाने काम गरिरहेको जनाएको छ ।

 

कर्फ्यु खुल्दा पेट्रोल पम्पमा सर्वसाधारणको लामो लाइन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको कर्फ्यु र निषेधाज्ञा खुलेसँगै अत्यावश्यक कामका लागि घरबाहिर निस्किएका सर्वसाधारणको पेट्रोल पम्पमा लामो लाइन देखिएको छ। शुक्रबार बिहानैदेखि सवारी साधनले गर्दा पम्पहरूमा भिडभाड बढेको छ।

बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, वनस्थली, लोकन्थली र जडीबुटीलगायतका क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा सवारी चालकहरू इन्धन भर्नका लागि लामबद्ध भएका थिए।

शितलनिवासको छलफल सारियो, सुरक्षा व्यवस्था कडा

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम पछाडि सरेको छ । वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न पक्षसँग छलफल गरेका थिए ।

दलहरुले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन् । आन्दोलनरत पक्ष जेनजीले संसद विघटनको पक्षमा छ । संविधान अनुसार संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था छ । आन्दोलनरत पक्ष र दलहरु पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमत भएका छन् । तर, संसदले अनुमोदन गर्ने विधिमा सहमति जुट्न सकेको छैन ।

शीतल निवास अगाडि सुरक्षा व्यवस्था कडा
यता जेनजीको आन्दोलनपछि राष्ट्रपति भवन शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालय अगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो । हाल शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति देखिन्छ । सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ ।

 

काठमाडौँका सडकमा बढ्न थाल्यो चहलपहल

काठमाडौं । जेन्जी आन्दोलनको कारण बुधबारदेखि सुनसान बनेको काठमाडौँको सडकमा आज ( शुक्रबार) भने चहलपहल बढेको छ । सकडमा गाडीहरूको चाप बढेको छ । बिहान खुलेका पसलहरूमा किनमेल गर्नेहरू उल्लेख्य संख्यामा देखिएका छन् ।

चोकचोकमा ट्राफिक प्रहरीले आजबाट उपस्थिति देखाएको छ । सडकमा प्रहरी पनि देखिन थालेका छन् । हिजोसम्म सडक सेनाले नियन्त्रणमा लिएको थियो । सडकमा सार्वजनिक यातायातको आवतजावत नदेखिएता पनि निजी तथा अत्यावश्यक सेवाका साधनहरूको चाप छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र सुनुवाइ गर्न थालेको छ ।

नेपाली सेनाले आज शुक्रबार बिहान ६ बजे देखि ११ बजेसम्म र साझ ५ बजे देखि ७ बजे सम्मको लागि कफ्र्यु खोलिदिएको छ । शव कसको हो भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ । कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन ।

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर। यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ ।

व्यापारीहरुले आलु खरिद गर्न गाडी नै लिएर किसानका घरसम्म पुग्ने गरेका छन् । गाउँघरमा सडकको पहुँच विस्तारसँगै अर्ग्यानिक आलु किसानको भरपर्दो आम्दानीको स्रोत बनेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय कृषक शिवकुमार विष्टले बताए।

‘विगतमा यहाँ उत्पादन हुने अर्ग्यानिक आलु अन्य सहरमा पठाउन समस्या थियो, आलुसँग धान साट्नुपर्ने अवस्था थियो, तर अहिले सडकको पहुँचसँगै घरबाटै आलु बिक्री हुन थालेको छ ।’

यस वर्ष गाउँघरबाट प्रतिकेजी रु ४० देखि ४५ सम्म बिक्री हुँदै आएको किसानहरूको भनाइ छ । लेकाली भेगमा उत्पादन भएको अर्ग्यानिक आलुको बजारमा राम्रो माग रहेको स्थानीय कृषक रामबहादुर विष्टले बताए।

‘मझौले र चोलन्ती गाउँमा अर्ग्यानिक आलु उत्पादन हुन्छ’, उनले भने, ‘गाउँका सबैले आलुखेती गरिरहेका छौँ । उत्पादन भएको आलु घरबाट बिक्री हुन्छ । हाम्रो क्षेत्रको आलु अर्गानिक रहेकाले बजारमा राम्रो माग छ ।’

मझौले गाउँका एक किसानले ७०० केजीदेखि सात हजार केजीसम्म आलु उत्पादन गर्दै आएका छन् । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुखेती गर्दै आएको उनको भनाइ छ । यो क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पङ्खदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार भोजपुर जिल्लामा हिउँदे र बर्खे गरी गत वर्ष ५१ हजार ९०० मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँ तीन हजार २७२ हेक्टर क्षेत्रमा आलुखेती हुने गरेको छ ।

धरानको भाटभटेनीभित्र जलेको शव भेटियो

सुनसरी । सुनसरीको धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा शव भेटिएको छ । आज बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो । शव कसको हो भन्ने अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

भाटभटेनीमा अरू तीन जना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ । कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन ।

दोस्रो तहका नेताले भने–हामीले जनताको निराशालाई समयमै बुझ्न सकेनौं

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका दोस्रो तहका १६ नेताले संविधानको रक्षा गरेर आन्दोलनको मर्मअनुसार वर्तमान समस्या समाधान हुनुपर्ने अपिल गरेका छन् । गए राति अबेरसम्म बसेको विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिएका छन् ।

‘विगतमा जनताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समयमै त्यसको समाधान गर्ने पहलमा कमी भएको छ । पार्टीमा लोकतान्त्रिक मूल्य स्थापित गर्न नसक्नुमा हाम्रो पनि कमजोरी भएको कुराप्रति आत्मसमीक्ष गर्दै क्षमायाचना गर्दछौँ,’ उनीहरूले भनेका छन्, ‘वर्तमान राजनैतिक संकट समाधान गर्नका निम्ति देहाय बमोजिम गर्न÷गराउन हामी सम्मानीय राष्ट्रपतिज्यूको ध्यानाकर्षण गर्दछौँ ।’

हेर्नुस् संयुक्त वक्तव्य

जेन–जी पुस्ताले गरेको आन्दोलनको क्रममा सरकारले निहत्ता युवाहरू माथि चलाइएको गोलीबाट दर्जनौ को मृत्यु भएको घटनाले समग्र राष्ट्र नै स्तब्ध भएको छ । राजनैतिक सुधारका लागि माग गर्ने होनहार युवाहरुको हत्या को भत्सना गर्दै मृत्यु वरण गर्नेहरुप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछौँ । । सयौँको संख्यामा घाइते हुनु भएकाहरू प्रती स्वास्थ्य लाभको कामना गर्दछौँ । आन्दोलनले उठाएका मुख्य नाराहरू सान्दर्भिक भएको निष्कर्ष निकाल्दै देशमा विद्यमान विषम परिस्थिती लाई समाधान गर्न शान्ति सुरक्षा कायम गर्न र समाधानको लागि सहयोगी बन्न हामी प्रतिबद्ध छौं ।

साथै विगतमा जनताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समयमा समाधान गर्ने पहलमा कमी भएको र पार्टीमा लोकतान्त्रीक मूल्य स्थापित गर्न नसक्नुमा हाम्रो पनि कमजोरी भएको कुरा प्रती आत्म समिक्षा गर्दै क्षमायाचना गर्दछौ ।वर्तमान राजनैतिक संकट समाधान गर्न हामी निम्न व्यक्तिहरुले देहाय बमोजिम गर्न गराउन सम्मानीय राष्ट्रपतिज्यूको ध्यानाकर्षण गर्दछौँ । राष्ट्रमा उत्पन्न असामान्य परिस्थितिको अन्त गरी मुलुकलाई वैधानिक दायरामा ल्याउन जेनजीको भावना अनुरुप संविधान सम्मत ढंगले अन्तरीम सकार गठन गर्न अनुरोध गर्दछौ ।

आन्दोलनको क्रममा भएको जनधनको क्षति सार्वजनिक तथा निजी सम्पत्तिको क्षति व्यक्ति केन्द्रित हमला समग्रको छानबिन गरी दोषी यकिन गर्न र निजहरूलाई कानुनको दायरामा ल्याउन एक शक्तिशाली आयोग गठन गर्न माग गर्दछौ ।
भ्रष्टाचारको अन्त गर्न राज्यको उच्चतहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गरियोस् । वर्तमान संविधानको संशोधन र परिमार्जनको बारेमा विभिन्न मत रहेको सन्दर्भमा ध्यान दिँदै संविधानको पुनरावलोकन गरी संविधानमा गर्नुपर्ने सुधारका विषयहरूलाई सरोकारवाला सबैसँग परामर्श गरी सिफारिस गर्न संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गरियोस् ।

आन्दोलनले स्थापित गरेका मुद्दाहरू भ्रष्टाचारको अन्त्य गरी सुशासनको सुनिश्चितता ,राजनीतिक स्थायित्व ,परिवारवादको अन्त्य र नयाँ पुस्ताबाट नेतृत्व गर्ने वातावरण सिर्जना गर्ने,सत्तामा लामो समयसम्म निश्चित व्यक्तिको हालीमुहाली हुनुले आजको संकटको अवस्था सिर्जना गरेकाले आइन्दा यस्तो अवस्थाको पुनरावृत्ति हुन नदिन राजनीतिक दल सम्बन्धी कानुन परिमार्जन मार्फत सत्तालाई दुरुपयोग गर्ने अवस्था अन्त्य गरियोस् ।

आन्दोलनको क्रममा अवान्छित तत्वहरुले सार्वजनिक र निजी समरचना राज्यका तथ्य तथ्याङ्क श्रेस्ता संपूर्ण जलायर समाप्त पारिए को छ । ठूलो आर्थिक क्षति भएको छ । यस्तो परिस्थितीमा संवैधानिक रुपले राष्ट्रपति ज्युको अहं भूमिका हुने र राष्ट्र र राष्ट्रियताको रक्षा तथा नेत्रित्व गर्न कमि हुने छैन भन्ने विश्वास व्यक्त गर्दछौं ।

धनश्याम भुसाल जनार्दन शर्मा
सुरेन्द्र प्रसाद पाण्डे ए न पि साउँद
मिनेन्द्र रिजाल राजकिशोर यादव
देवेन्द्र पौडेल अमरेश सिङ
गोकर्ण विष्ट सुदन किराती
रामकुमारी झाँक्री मिना तामाङ्ग
अमनलाल मोदी सन्तोष परियार
चन्द्र भण्डारी प्रकाश ज्वाला

बाबुराम भट्टराईले गरे सुशीला कार्कीलाई छिटो शपथ खुवाउन आग्रह

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकार प्रमुख पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णयप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् । कार्कीलाई अग्रिम बधाई दिँदै उनले उनीप्रति सिंगो देशले सहयोग र समर्थन गर्नुपर्ने अपिल समेत गरेका छन् । कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा विधिवत् शपथ ग्रहण गराएर अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गर्न उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह पनि गरेका छन् ।

‘नयाँ नेपालको नेतृत्व गर्न उद्दत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ । उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नु पर्दछ । हाम्रो तर्फबाट पनि उहाँलाई पूर्ण समर्थन र अग्रिम बधाई’, भट्टराईले शुक्रबार बिहान विज्ञप्ति जारी गरी भनेका छन्, ‘अब उहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गरिनु पर्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुन सक्छ, संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।’ अहिलेको अवस्था २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजिरभन्दा फरक रहेकाले यसमा संवेदनशील बन्न पनि भट्टराईले जेनजीलाई आग्रह गरेका छन् ।

‘यस सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कत्ति पनि मेल खाँदैन । त्यतिबेला विद्यमान अन्तरिम संविधान २०६३ मा ’राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र ’राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) बीचको सहमति बुझ्नु पर्छ’ भनेर स्पष्टीकरणसमेत त्यहीँ राखिएको थियो’, उनले भनेका छन्, ‘तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजीले धेरै संवेदनशील भएर सोच्नु पर्छ । अहिलेको आन्दोलनभन्दा पनि ठूलो बलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेनजीको दीर्घकालीन हितमा हुनेछ ।’

 

केन्द्रीय कार्यालयमा झण्डा र बीपीको फोटो राख्दै कांग्रेस कार्यकताले लेखे– हामी उठ्ने छौं

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् । जेनजी युवाहरुको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज (शुक्रबार) बिहान युवा कार्यकर्ताहरुले पार्टीको झण्डा र बीपी कोइरालाको तस्वीर अंकित ब्यानर राखेका हुन् ।

बीपीको तस्वीरको तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौं, हामी उठ्ने छौं’ लेखिएको छ । केही प्रदर्शनकारीले आगजनी गरिदिँदा कांग्रेस केन्द्रीय कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्व प्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि निष्कर्षमा पुग्न भने बाँकी छ । संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल छलफलमै छन् । वार्ता आज हुँदैछ ।

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय सकारात्मक : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय सकारात्मक भएको बताएका छन् । आज (शुक्रबार) उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ ।’

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्व प्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि निष्कर्षमा पुग्न भने बाँकी छ । संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल छलफलमै छन् । वार्ता आज पनि बस्ने भएको छ ।

दिउँसोको कर्फ्यू हट्यो, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कर्फ्यू हटाएको छ । बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । अघिल्लो दिनको तुलनामा आज (शुक्रबार) बिहान सवारी साधनहरुको संख्या अलि बाक्लो देखिएको छ ।

नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यू हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कफ्र्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यू हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ ।

अत्यावश्यक कामका लागि छुट्याइएको समय दैनिक उपभोग्यलगायत आवश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्वनका लागि हिँड्डुल गर्न, कर्मचारीहरू कार्यस्थलसम्म जान र फर्कन एवं जरुरी पर्नेलाई मात्र रहेको सेनाले जनाएको छ । जुलुस, धर्ना र प्रदर्शनलाई भने निषेध गरिएको छ ।

जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ । ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने पुनः निषेधाज्ञा लागू हुने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो ।

त्यसक्रममा सुरुमा देशभर कर्फ्यू आदेश जारी गरेको सेनाले अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरेको छ । उपत्यका बाहिरका केही जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयले कर्फ्यू तथा निषेधाज्ञा जारी गरेका छन् । सरल भाषामा भन्दा निषेधाज्ञा लगाउनुको उद्देश्य मानिसहरुको भिडभाड रोक्नु हो । कर्फ्यू  भने आवतजावत र हिँडडुल नै बन्द गर्ने कडा आदेश हो ।

सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा कर्फयू र निषेधाज्ञा केहि खुकुलो भए पनि सार्वजनिक गाडी नचल्दा सर्वसाधरण यात्रुलाई सास्ती भएको छ । शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले दिउँसोको निषेधाज्ञा र रातिको कर्फयूलाई केही खुकुलो बनाउँदै निरन्तरता दिएको छ ।

अत्यावश्यक कामको लागि भन्दै बिहान र बेलुका केहीबेर कर्फयू र निषेधाज्ञा हटाइएको छ । योबेला बजारमा किनमेल गर्नेहरुको चहलपहल बढ्ने गर्छ । तर कर्फयू र निषेधाज्ञा हटेको बेलामा पनि सार्वजनिक गाडी चलेका छैनन् । आफ्नो साधन नहुनेहरु पैदलै हिँड्न बाध्य छन् । हवाई यात्रुहरुलाई सबैभन्दा धेरै समस्या परेको छ ।

बुधबार बेलुकादेखि अन्तर्राष्ट्रिय र हिजो बिहानदेखि आन्तरिक उडान खुलेको छ । हवाई यात्रुहरुले कर्फयू र निषेधाज्ञाको अवधिमा पनि आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्ने भनिएको छ । तर सार्वजनिक बस र ट्याक्सी चल्न नसक्दा हवाई यात्रुहरु पैदलै हिँड्न बाध्य छन् ।

काम विशेषले हिँडडुल गर्नुपर्ने अरुलाई पनि सकस भइरहेको छ । लामो दूरीका गाडी नचल्दा हजारौं यात्रु बिचल्लीमा छन् । यातायात व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म गाडी चलाउन नसकिने स्पष्ट पारेका छन् । यसैबीच काठमाण्डौ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक कामको लागि आवतजावत गर्न बिहान ५ घण्टा र बेलुकी २ घण्टा समय निर्धारण गरिएको छ ।

आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फयूलाई निरन्तरता दिइएको छ । अत्यावश्यक कामको लागि आवतजावत गर्न आज बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म निर्धारण गरिएको छ ।

अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने भनि छुट्याइएको समय अत्यावश्यक सामग्री किनमेल एवम् धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरु आफ्नो कार्यस्थलसम्म जान र फर्कनलगायतका जरुरी कामका लागि भएकाले यस समयमा समेत जुलुस, धर्ना, प्रदर्शनलगायतका गतिविधिहरु गर्न पूर्णतः निषेध गरिएको सेनाले जनाएको छ ।

सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेको कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए ।

‘हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आएका छन्, सम्पर्कमा आउनेक्रम जारी छ’, जोशीले भने, ‘अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्, कतिपय इलाका प्रहरीको सम्पर्कमा आएका छन् ।’ उनले केही कैदीबन्दीलाई प्रहरीले प्रक्राउ गरेर समेत ल्याएको बताए।

बुधबार मात्रै कारागारबाट भागेका आठ जना कैदीबन्दीलाई भारतीय सीमानाका गड्डाचौकीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कञ्चनपुर कारागारमा ४७८ जना कैदीबन्दी थिए ।

जसमध्ये मङ्गलबार साँझ ४५५ जना भागेका थिए । भागेकामध्ये नौ जना कैदीबन्दी बुधबार बिहान आफैँ कारागार फर्किएका थिए । कारागार प्रशासनका अनुसार २३ जना बन्दीहरु भागेका थिएनन । जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागुऔषधका बैन्दीहरु छन् । त्यसैगरी महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन राजेश पायल राईको आग्रह

काठमाडौं । गायक राजेश पायल राईले आफूलाई सञ्चार र परराष्ट्र मन्त्री बनाउन जेनजी प्रतिनिधिलाई आग्रह गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेका बेला गायक राईले अबेर राति फेसबुकमार्फत सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन भनेका हुन् ।

फेसबुकमा पोस्ट गर्दै राईले भनेका छन्, ‘जेन–जेड भाइहरू मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन।’

काठमाडौंमा आज बिहान पाँच घण्टा र साँझ दुई घण्टा आवतजावत गर्न पाइने

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यूको समय घटाउँदै जनजीवन सहज बनाउने भएको छ । जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले सूचना जारी गर्दै आज (शुक्रबार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई आवतजावत गर्न दिने भएको छ ।

‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सुरक्षा समितिहरुबाट निम्नबमोजिम व्यवस्था गरिएको छ,’ सेनाले सूचना जारी गर्दै भनेको छ ।

सेनाले भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म भने कर्फ्यू आदेश जारी रहने जनाएको छ । निषेधाज्ञा तथा कफ्र्युको समयमा पनि अत्यावश्यक सेवाका जस्तैः एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न सकिने छ ।

विभिन्न सरकारी कार्यालय, मानवअधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तिय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचयपत्र देखाइ कार्यालयसम्म आवतजावत गर्न सक्ने जनाइएको छ । आन्तरिक र वाह्य उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्ने छन् ।

हेर्नुस् नेपाली सेनाको पछिल्लो सूचना

प्रधानमन्त्री सुशीला कार्की बनाउने सहमति, संसदको विषय टुंग्याउन आज फेरि वार्ता

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति जुटेको छ । संसद विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूले राखेको माग अब टुंगो लाग्न बाँकी छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार राति साढे १० बजेदेखि झण्डै साढे ४ घण्टा अर्थात् आज शुक्रबार बिहान साढे ३ बजेसम्म भएको वार्तामा प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको हो । तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल निष्कर्षमा पुग्न सकेनन् । यसका लागि अहिले बिहान ९ बजे पुनः वार्ता बस्ने तयारी छ ।

कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति पनि जेनजीकै प्रस्तावअनुसार भएको हो । शीतल निवासमा विभिन्न चरणमा विभिन्न पक्षसँगको छलफल र परामर्शपछि राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेका हुन् ।

कार्कीलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्न जेनजी प्रतिनिधि, जेनजीसँग निकट देखिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि समझदारी बनेको हो । तर संसद् विघटन गरिनु पर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुनः वार्ता गर्न लागिएको हो ।

छलफलमा संसद रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो । तथापि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविदहरूसँग परामर्श गरेका छन् ।

संविधानको उक्त उपधारामा लेखिएको छ–संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ । ‘राष्ट्रको अभिभावक कहिल्यै पनि विकल्पविहीन हुँदैन’, संविधानविदहरूले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी निर्णय लिन सक्छ । संविधानमा नलेखिए पनि इमर्जेन्सी लाइट बाल्ने अधिकार राष्ट्रपतिको पदसँगै अन्तर्निहित भएर आउँछ ।’

त्यही कर्तव्यभित्र रहेर राष्ट्रपतिले निर्णय गर्न सक्ने छन् । त्यसका लागि हालकै कामचलाउ सरकारको मन्त्रिपरिषद्बाट बाधा अड्काउ फुकाउको सिफारिस हुन सक्नेछ ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेन–जी अर्थात् नयाँ पुस्ताले भदौ २३ गते राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा गरेका प्रदर्शनमा सरकारले दमन गर्दा १९ जना युवा मारिएपछि दोस्रो दिन आन्दोलन उग्र बनेको थियो । प्रदर्शनकारी तोडफोड, आगजनी र नेता कुटिपटमा उत्रिएपछि भदौ २४ गते बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको संख्या बिहीबार बेलुकासम्म ३६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचारका क्रममा बिहीबार थप २ घाइतेको मृत्यु भएपछि मृतकको संख्या ३६ पुगेको हो। आन्दोलनका क्रममा घाइते भएकामध्ये बिहीबारसम्म १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन्। हाल ३२२ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

वर्तमान संकट समाधानबारे खग्रेन्द्र संग्रौलासहितका २० लेखकको यस्ता छन् सुझाव

काठमाडौँ । लेखक खग्रेन्द्र संग्रौलासहितका २० लेखकले अहिलेको परिस्थितिमा हुने सहमतिलाई संसदमार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु पर्ने सुझाव दिएका छन् ।

‘हामी राष्ट्रपति, आन्दोलनकारी जेनजी समूह, राजनीतिक दलका साथै नागरिक समाज र बौद्धिक समुदायलाई स्मरण गराउन चाहन्छौं कि सार्वभौम संसद जीवित छ,’ बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दैै भनेका छन्, ‘साथै, अहिलेको असाधारण र विशिष्ट परिस्थितिमा हुने सहमतिलाई संसदमार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु नै सबैभन्दा उपयुक्त, लोकतान्त्रिक, संवैधानिक बाटो हो भन्ने कुरा पनि हामी स्मरण गराउन चाहन्छौं ।’

यद्यपि, दलहरुले आफूलाई सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । ‘तर संसदमा प्रतिनिधित्व गर्ने दलहरूको असफल नेतृत्व परिवर्तन गरी आफूलाई सुधार, पुनर्संरचना र रूपान्तरण गर्नु अपरिहार्य भएको वास्तविकता पनि हामी स्मरण गराउन चाहन्छौं,’ उनीहरूको भनाइ छ । अहिले राजनीतिक रिक्तताको अवस्था रहेको भन्दै संविधानका संरक्षक समेत रहेका राष्ट्रपतिले पहल लिनुपर्नेमा जोड दिएका छन् ।

‘अहिले, प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नियुक्त नभएको कारण देश सरकारविहीन र राजनीतिक रिक्तताको घडीबाट गुज्रिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अब विलम्ब नगरी नेपालको संविधानका पालक र संरक्षक समेत रहनु भएका सम्माननीय राष्ट्रपतिले अहिलेको संकट र रिक्ततापूर्ण अवस्थालाई निष्कर्षतिर लैजाने पहल र नेतृत्व गर्न आवश्यक भएको छ ।’

आन्दोलनकारी जेनजी समूहका साथै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग समेत संवाद गर्नुपर्ने र त्यस्तो संवाद जङ्गी अड्डामा नभइ राष्ट्रपतिको कार्यालयमा गर्नुपर्नेमा उनीहरूको जोड छ ।

हेर्नुस् २० लेखकको संयुक्त अपिल

स्थानीय तहले भने–जनप्रतिनिधिहरुलाई राजीनामा दिन धम्की आइरहेको छ

काठमाडौं । सरकारी र निजी सम्पत्तिमा क्षति गर्दै जनप्रतिनिधिलाई राजीनामाका लागि ज्ञात अज्ञात समूहहरूबाट धम्की आएको भन्दै स्थानीय तहहरूले निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति र सुरक्षा नियकाहरू समक्ष यस्तो माग गरेका हुन् ।

‘स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति, उद्योग व्यवसायमा क्षति पुर्‍याउने साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भैरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

जेन–जीको आन्दोलनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासनको प्रत्याभूति तथा युवाहरूको शासन व्यवस्थामा सहभागिताजस्ता मागमा समर्थन जनाउँदै ती नै संगठनले आन्दोलनको आडमा भएका अवाञ्छित घुसपैठका कारण आगजनी र तोडफोडका घटनाको भने भर्त्सना गरेका छन् ।

‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएकाले मुलुकमा उत्पन्न राजनीतिक अन्योलता अन्त्य गर्दै नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न, नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि संविधानसम्मत र विधिप्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन सम्माननीय राष्ट्रपति ज्यूसमक्ष हार्दिक आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् विज्ञप्ती

यी हुन् जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरु (नामावलीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ ।

निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ ।

त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । उनका अनुसार ९४९ जना उपचारपश्चात घर फर्किसकेका छन् ।

विवरणअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा १९ वर्षीय श्रीयाम चौलागाईंको मृत्यु भएको छ । तर उनको यकिन ठेगाना खुलेको छैन । बाँकेका २५ वर्षीय सुलभज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिकाका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । यस्तै २९ वर्षका गौरव जोशीको भने ठेगाना खुल्न सकेको छैन ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका– ६ का २९ वर्षका योगबहादुर श्रेष्ठ छन् । काठमाडौंको बनस्थली बस्ने २६ वर्षका ईश्वतबहादुर अधिकारी, उदयपुर बेलका नगरपालिकाका–४ का २९ वर्षीय सन्तोष विक र काठमाडौं महानगरपालिकाका–८ का १९ वर्षका टोखा आयुष थापा छन् ।

निजामती अस्पतालमा मृत्यु हुने अर्घाखाँचीका १८ वर्षका मिसल सारु मगर, धनकुटाका ६० वर्षीय छत्रमान कुथुमी, गोरखाका २२ वर्षीय विमल भट्ट, सिरहाका ३२ वर्षका विजय चौधरी, दोलखाका २१ वर्षका अभिषेक चौलागाईं छन् । यस्तै २४ वर्षका काशी आलम ठाकुरको भने ठेगाना खुल्न सकेको छैन ।

मृत्यु हुनेमा एभरेष्ट अस्पतालमा ललितपुर महानगरपालिका–७ का ३० वर्षका बिनोद महर्जन, पाटनढोका बस्ने काभ्रे तेमाल गाउँपालिका–७ का दिलनारायण तामाङ र दुवाकोट भक्तपुर स्थायी ठेगाना भएका २३ वर्षका योगेन्द्र न्यौपाने छन् ।

फ्रन्टलाइन अस्पतालमा संखुवासभाका २१ वर्षका प्रविन कुलङ, काठमाडौं चाबहिलका २१ वर्षका उमेश महत, काठमाडौं गौशला बस्ने १७ वर्षका निकिता गौतमको मृत्यु भएको छ ।

यस्तै बयोधा अस्पतालमा उपचारको क्रममा २८ वर्षका अर्जुन भट्ट र २३ वर्ष देव कुमार सुवेदी छन् । तर उनीहरूको ठेगाना खुलेको छैन । काठमाडौं मेडिकल कलेजका (केएमसीमा) उपचारको क्रममा सौरम किशोर श्रेष्ठ र सुवास पोखरेलको मृत्यु भएको छ । तर उनीहरूको ठेगाना अझै खुल्न सकेको छैन ।

त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृतकको विवरण खुल्न सकेको छैन । त्यस्तै बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ । उनीहरूको पनि विवरण खुलेन सकेको छैन ।

भारी वर्षाका कारण चीनमा विद्यालय बन्द, यातायात अवरुद्ध

चीन । मध्य चीनको हेनान प्रान्तमा परेको अविरल वर्षाले विद्यालय बन्द हुनुका साथै यातायात प्रणालीमा अवरोध उत्पन्न गरेको छ । राजधानी झेङ्झाउमा बिहीबारदेखि नै रातो चेतावनी जारी गरिएको छ ।

सहरले बाढी नियन्त्रण आपत्कालीन प्रतिक्रिया सुरु गरेपछि गैर–बोर्डिङ प्राथमिक तथा माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूले कक्षा स्थगित गरेका छन् । साथै स्थानीय बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

बिहीबार बिहानसम्म वर्षा र जलमग्न भएका कारण प्रान्तभरका दर्जनौँ राजमार्ग टोल स्टेसनहरू बन्द गर्न वा सवारी आवागमनमा प्रतिबन्ध लगाउन बाध्य भएको यातायात अधिकारीहरूले बताएका छन् ।

बुधबार बिहानदेखि बिहीबार बिहानसम्मको अवधिमा हेनानका विभिन्न क्षेत्रमा मुसलधारे वर्षा भएको थियो । जुचाङ, झोउको, लुओहे र नान्याङका धेरै भाग प्रभावित भएका छन् । जुचाङ, ताइकाङ र फुगौ काउन्टीहरूमा मात्र ४७ वटा वर्षा तथा आँधीबेहरी चेतावनी जारी भएको थियो ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार, बिहीबार बिहान ८ बजेसम्म जुचाङले २४ घण्टामा १६३।८ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो देशकै उच्चतम हो ।

प्रान्तीय यातायात अधिकारीहरूले बाढी नियन्त्रण तथा उद्धारका लागि १० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको बताएका छन् ।

इन्डोनेसियामा भीषण बाढी, १९ को मृत्यु, १० बेपत्ता

भारी वर्षापछि आएको बाढीले इन्डोनेसियाको बाली टापु र पूर्वी नुसा तेङ्गारा प्रान्तमा कम्तीमा १९ जनाको ज्यान लिएको छ भने १० जना अझै बेपत्ता भएका छन् ।

बालीस्थित राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीकी प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीका अनुसार आकस्मिक बाढीमा बालीमा मात्र १३ जनाको मृत्यु भएको र छ जना बेपत्ता छन् । साथै विभिन्न क्षेत्रमा १८ वटा भूस्खलन र बाढीको खबर आएको छ ।

देशको मौसम विज्ञान, जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सीले मङ्गलबार र बुधबारबीच बालीका केही भागमा एक सय ५० मिलिमिटरसम्म वर्षा रेकर्ड गरिएको जनाएको छ । यस सप्ताहभरि भारी वर्षा निरन्तर हुने चेतावनी पनि दिइएको छ ।

पूर्वी नुसा तेङ्गारा प्रान्तमा बाढीले घर र खेतीयोग्य जमिनमा ठूलो क्षति पु¥याएको छ, जसका कारण स्थानीय बासिन्दाहरूलाई सुरक्षित उच्च स्थानमा जान बाध्य बनाएको छ । प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीका आपत्कालीन एकाइ प्रमुख ग्यास्पर लोसा मनिसाका अनुसार त्यहाँ छ जनाको मृत्यु भएको र चार जना बेपत्ता छन् । उद्धार कार्य जारी छ ।

इन्डोनेसियामा सामान्यतया नोभेम्बरदेखि अप्रिलसम्म वर्षा ऋतु रहन्छ । यस अवधिमा बाढी, भूस्खलन र सम्बन्धित रोगहरूको जोखिम उच्च हुन्छ । तर जलवायु परिवर्तनका कारण वर्षा ऋतु लामो हुँदै गएको र हालका वर्षहरूमा तीव्र वर्षा बढेकाले प्रकोप अझ गम्भीर बन्न थालेको विज्ञहरूले जनाएका छन् ।

पाकिस्तानमा बाढी सङ्कटबीच ‘जलवायु तथा कृषि आपत्काल’ घोषणा

पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मनसुनी वर्षा र देशभर फैलिएको विनाशकारी बाढीका असरमा जलवायु तथा कृषि आपत्काल घोषणा गर्ने निर्णय गरेका छन् ।

बुधबार सङ्घीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्दै सरिफले जलवायु परिवर्तनबाट थप क्षति रोक्नका लागि चारै प्रान्तका मुख्यमन्त्री र प्रमुख अधिकारीहरूसँग चाँडै बैठक बोलाउने बताए ।

बैठकमा बाढीका कारण लाखौँ एकड कृषिभूमि र बाली पूर्णरूपमा नष्ट भएको र पूर्वाधारमा ठूलो क्षति पुगेको विवरण प्रस्तुत गरिएको थियो । मन्त्रीहरूले किसान क्षतिपूर्ति, कृषि पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे सुझाव राखेका थिए ।

मन्त्रिपरिषद् बैठकपछि संसदीय मामिलामन्त्री तारिक फजल चौधरी र पेट्रोलियम मन्त्री अली परवेज मलिकले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरे। चौधरीले बदलिँदो मौसमी ढाँचा र विनाशकारी मनसुनलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका प्रमाणका रूपमा उल्लेख गर्दै आपत्काललाई तत्काल कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले सर्वसम्मत समर्थन गरेको जानकारी दिए ।

उनीहरूले विगतको वातावरणीय कुव्यवस्थापन, अनियन्त्रित वन विनाश र प्राकृतिक जलमार्गमा अतिक्रमणलाई हालको बाढी विपत्तिको प्रमुख कारणका रूपमा औँल्याए ।

जियो न्युजका अनुसार, जलवायु परिवर्तन मन्त्रीलाई १५ दिनभित्र विस्तृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ, जसले दीर्घकालीन समाधान र नीतिगत रणनीतिका लागि मार्गदर्शन गर्नेछ ।

कृषि आपत्कालीन अन्तर्गत बालीमा भएको क्षतिको मापन गरिने र किसानलाई उचित क्षतिपूर्ति दिने संयन्त्र तय गरिने पनि सरिफले स्पष्ट पारे । उनले बाढीको पानी अझै दक्षिणतर्फ बगिरहेको हुँदा सङ्कट अन्त्य नभएको र क्षतिपूर्ति सङ्घीय तथा प्रान्तीय सरकारले साझा रूपमा बेहोर्ने बताए ।

गहुँ र कपासजस्ता प्रमुख बालीमा ठूलो क्षति पुगेको, करिब एक हजार मानिसको मृत्यु भएको, हजारौँ विस्थापित भएको र कृषि जग्गाको विशाल क्षेत्र डुबानमा परेको उनले स्मरण गराए ।

सरिफले पाकिस्तानको शासन व्यवस्थामा ऐतिहासिक रूपमा देखिँदै आएको आत्मसन्तुष्टि र यथास्थिति प्रवृत्तिको विरुद्ध चेतावनी दिँदै, जलवायु परिवर्तनको प्रभावसँग जुझ्न बलियो राष्ट्रिय रणनीति विकास गर्न आग्रह गरेका छन् ।

लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : एकीकृत समाजवादी

काठमाडौं । पूर्व प्रधानन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजी पुस्ताको माग संविधानको खारेजी र संसदको विघटन नभए पनि लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । जेनजी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने भएको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् । जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेन–जी पुस्ता सचेत हुन जरुरी छ ।’

लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने उनले बताएका छन् । लोकतन्त्रविहीन राज्यमा भ्रष्टाचार र कुशासनविरुद्धका आन्दोलन त के बोल्न समेत नपाइने अवस्था सिर्जना हुने बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले उठाएका मागको सम्वोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्न सकिन्छ । भ्रष्ट नेताहरूलाई कारबाही गर्न सकिन्छ, उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न सकिन्छ, जुन माग हाम्रो पार्टीले पहिलेदेखि नै राख्दै आएको छ । संविधान संशोधन गरेर जेन–जीले भने जस्तो बनाउन सकिन्छ ।’ उनले छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउन सकिने बताएका छन् ।

चीन–अमेरिका वार्ता : सी–ट्रम्प भेटतर्फको सानो तर महत्त्वपूर्ण सङ्केत

 

संयुक्त राज्य अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञ तथा रक्षा प्रमुखबीचको वार्ताले दुई देशका नेताहरूबीच सम्भावित भेटवार्तातर्फ ‘सानो तर महत्त्वपूर्ण कदम’ को सङ्केत दिएको विश्लेषकहरूको भनाइ छ । तर उनीहरूले आसन्न शिखर सम्मेलनबारे अत्यधिक अपेक्षा नगर्न चेतावनी पनि दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अन्तिम भेट सन् २०१९ मा भएको थियो । यसपटकको सम्भावित भेटतर्फ सबैको ध्यान ताइवान, दक्षिण चीन सागर र अमेरिकी कर जस्ता संवेदनशील विषयमा केन्द्रित हुनेछ ।

यसैबीच, बुधबार दुई देशका विदेश र रक्षा प्रमुखबीच भएको वार्ताले नेताहरूबीच प्रत्यक्ष भेटवार्ताको आशा थपेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा चीनसँग ‘रचनात्मक र खुला संवाद’ चाहेको बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयले पनि वार्ता फलदायी भएको बताउँदै, तर अमेरिकी पक्षका पछिल्ला नकारात्मक कार्य र भनाइहरूले चीनका वैध अधिकार र चासो कमजोर पारेको चेतावनी दिएको छ ।

सिङ्गापुरका नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डिलन लोहले भन्नुभयो, “यो वार्ता अघिल्ला संवाद र व्यापार सम्झौताहरूको निरन्तरता हो । सकारात्मक सङ्केत देखिन्छ, तर अझै धेरै कदम चाल्न बाँकी छ ।”

– अनिश्चितता अझै कायम –

यही दिन चिनियाँ रक्षामन्त्रीले पेन्टागन प्रमुख पिट हेग्सेथलाई भिडियो कलमार्फत चेतावनी दिंदै भने, “चीनलाई रोक्न वा हस्तक्षेप गर्न खोज्नु व्यर्थ हुनेछ ।”

सिङ्गापुर नेसनल युनिभर्सिटीका राजनीति विज्ञ चोङ जा इयानले यी संवादले ‘ट्रम्प–सी भेटको मार्ग प्रशस्त गर्न सक्छन्’ भने पनि कुनै ठोस नतिजा अझै प्रष्ट नभएको बताए। “राष्ट्रपतिहरू चाँडै निर्णय बदल्ने स्वभावका हुन्छन्, त्यसैले भेट नजिकै छ भनेर भविष्यवाणी गर्नु अपरिपक्व हुन सक्छ”, उनले भने ।

यी वार्ताहरू केही दिनअघि मात्रै सीले भ्लादिमिर पुटिन र किम जोङ उनसँगै दोस्रो विश्वयुद्धको अन्त्यलाई चिह्नित गर्ने परेडको अध्यक्षता गरेपछि भएका हुन् । ट्रम्पले भने ती नेताहरूलाई अमेरिकाविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएको छ ।

जापानको सोका विश्वविद्यालयका प्राध्यापक लिम ताई वेईका अनुसार, चीनको प्रणालीले कुनै पनि शिखर सम्मेलनमा अनपेक्षित मोड आउन दिँदैन । सी ट्रम्पसँग भेट्न तयार हुनुभयो भने त्यसअघि सहमत विषयहरूको लिखित सूची चाहिन्छ ।

“अक्टोबरको अन्त्य वा नोभेम्बरको सुरुआतमा दक्षिण कोरियाको ग्योङ्जुमा हुने एपेक शिखर सम्मेलनमा दुई नेताबीच भेट हुने अपेक्षा कायम छ”, विश्लेषक लोहले भने, “तर विश्व राजनीति र आन्तरिक परिस्थितिहरू द्रुत गतिमा बदलिने भएकाले अन्तिम घडीमा केही भन्न सकिँदैन ।”

संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी राष्ट्रिय सरकार गठन गरियोस् : नेपाल बार

काठमाडौं । नेपाल बार एशोसिएसनले देशमा व्याप्त अनिश्चिततालाई अन्त्य गर्दै शासन व्यवस्थालाई सुचारु बनाउन र जनतामा विश्वास जगाउनका लागि संविधानको मर्मभित्रै रही संवैधानिक प्रक्रिया बमोजिम राष्ट्रिय सरकारको गठनको माग गरेको छ ।

बारले विज्ञप्ति जारी गर्दै संविधान सभाले बनाएको संविधान मौजुदा रहेको, प्रतिनिधि सभासहितको संघीय संसद् क्रियाशील नै रहेको र आन्दोलनकारी शक्तिको माग समेत संविधान र व्यवस्थाको परिवर्तन नभएको स्थापित तथ्य रहेको परिप्रेक्षकमा संवैधानिक संरचनाहरूको यथावत् क्रियाशीलताको लागि यथाशक्य संवैधानिक कर्तव्य निर्वाहको लागि अपिल गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनकारी शक्तिहरू सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भई सकेको परिप्रेक्षकमा संविधानको धारा ७६, ७७, र ७८ र धारा ६१ को मर्म र भावनाभित्र रहेर संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी अविलम्ब राष्ट्रिय सरकार गठन गर्न सकिने भएकोले सो बमोजिमको प्रक्रिया प्रारम्भ गर्न हार्दिक अपिल गर्दछौं ।’

संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिका पक्षधर अग्रणी नागरिक संस्था हुनुको कारणले संवैधानिक वैधता र नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता र लोकतान्त्रिक मूल्यमान्यता विपरीतका कुनै पनि प्रक्रिया मान्य नहुने र ती मूल्य मान्यता विपरीत कार्य भएमा प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी जस्ता लामो संघर्षबाट नेपाली जनताले प्राप्त गरेका र संविधानमा लिपिबद्ध भएका मूलभूत उपलब्धिहरू माथि कुनै पनि किसिमको सम्झौता गरिनु हुँदैन। यी राष्ट्रिय पहिचानका आधारस्तम्भको रक्षा राष्ट्र प्रमुखको रूपमा राष्ट्रपतिबाट राख्न हार्दिक अनुरोध गर्न चाहन्छौ ।’

हेर्नुस् विज्ञप्ती

 

बाँके कारागारमा कैदीबन्दीले लगाए आगो

बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारका कैदीबन्दीले बाहिर निस्कन पाउनु पर्ने माग गर्दै आगजनी र तोडफोड गरेका छन् । जसले कारागारमा तनावग्रस्त भएको छ ।

कैदीले कारागारको भित्री गेटमा आगो लगाएको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले नेपाल प्रेसलाई बताए । ‘कारागारको भित्री गेटमा आगो लगाइएको छ । हामी कैदीलाई नियन्त्रणमा लिने प्रयासमा छौँ’, उनले भने ।

कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । आगजनी पश्चात कैदीहरू बाहिर निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ । अहिले जेल नेपाली सेनाको घेरामा छ । हिजो मात्रै यहाँको नौवस्तास्थित बालसुधार केन्द्रमा झडप हुँदा ५ जनाको मृत्यु भएका थियो ।

 

उत्तर कोरियाकी किम जु ए ‘मान्यता प्राप्त उत्तराधिकारी’ : सियोल

दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एलाई उनको औपचारिक उत्तराधिकारीका रूपमा मान्यता दिएको जनाएको छ । जु ए हालै बेइजिङको उच्चस्तरीय भ्रमणमा आफ्नो बुबासँग सहभागी भएकी थिइन् ।

यो भ्रमणमा उनले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटिन् । यसरी पहिलो आधिकारिक विदेश भ्रमण गर्दा किशोरी जु एले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय ध्यान तानेकी थिइन् ।

विश्लेषकहरूले लामो समयदेखि उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिरहेका छन् । तर केहीले उनको जेठो दाजुलाई पनि गोप्य रूपमा सत्ताका लागि तयार पारिएको हुन सक्ने सङ्केत दिएका थिए ।

“जु एले सम्भावित उत्तराधिकारीका रूपमा आफ्नो स्थिति बलियो बनाउन पर्याप्त ‘क्रान्तिकारी कथा’ सुरक्षित गरेकी छन्”, दक्षिण कोरियाली सांसद ली सेओङ–क्वेन भने्, “चीन भ्रमणमा उनको सहभागिता पनि त्यही उत्तराधिकार कथाको अंश हो ।”

जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यतिबेला उनले बुबासँग अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण अवलोकन गरेकी थिइन् । त्यसपछि उत्तर कोरियाली राज्य मिडियाले उनलाई ‘प्रिय बच्चा’ र ‘मार्गदर्शन गर्ने महान व्यक्ति’ भनेर उल्लेख गर्न थाल्यो । यी शब्दहरू सामान्यतया शीर्ष नेताहरू र तिनका उत्तराधिकारीका लागि मात्र प्रयोग गरिन्छ ।

यसअघि उनको अस्तित्वको पुष्टि मात्र सन् २०१३ मा उत्तर कोरिया भ्रमण गरेका पूर्व एनबिए स्टार डेनिस रोडम्यानले गरेका थिए । उनले किम जोङ उनसँग भेट्दा जु एलाई भेटेको दाबी गरेका थिए ।

सियोलले सुरुआतमा किम र उनकी पत्नी रीले सन् २०१० मा पहिलो सन्तानका रूपमा पत्रुलाई जन्म दिनुभएको र जु ए दोस्रो सन्तान भएको सङ्केत गरेको थियो । तर सन् २०२३ मा दक्षिण कोरियाली एकीकरण मन्त्रीले किमको छोरा भएको विषयमा ‘निश्चित पुष्टि गर्न नसकिएको’ बताएका थिए ।

किम जोङ उन सन् २०११ मा आफ्नो बुबाको निधनपछि सत्तामा आए र उनले चार पटकको आणविक परीक्षण गराएको छन्, जसको पछिल्लो परीक्षण सन् २०१७ मा भएको थियो ।

सांसद लीका अनुसार, जु ए बाहेक किमको अर्को सन्तानबारे भएका अफवाहहरू – चाहे अपाङ्गता भएको वा विदेशमा अध्ययनरत रहेको – ‘विश्वसनीय छैनन् ।’

लीले भने, “विशेषगरी विदेश अध्ययनबारे कुरा हो भने, यस्तो कुरा लुकाउन खोजे पनि अनिवार्य रूपमा थाहा हुन्छ । त्यसैले यो सम्भावना निकै कम छ ।”

सर्वोच्च अदालत आइतबारदेखि सञ्चालनमा आउने

काठमाडौं । सर्वोच्च अदालत आइतबारदेखि सञ्चालनमा आउने भएको छ । आज (बिहीबार) बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ थाल्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश प्रकामानसिंह राउतले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सोही बमोजिम यस अदालतमा मिति २०८२।०५।२९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने व्यहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ ।’

सर्वोच्चमा भएको आगजनीबाट न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू नष्ट भएको भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न अदालत प्रतिवद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब करिब नष्ट हुन गएका छन्,’ सर्वोच्चले भनेको छ, ‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

हेर्नुस् सूचना

 

वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक परिस्थितिको सही निकासका लागि संविधानको भावना र मर्मलाई आत्मसात गर्दै पलहकदम अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेकी छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्ने उनको भनाइ छ ।

अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढ्न सक्ने भएकाले राष्ट्रपतिले यो पहलकदमी लिनु आवश्यक रहेको भण्डारीको धारणा छ ।

“प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद् जस्ता संस्थाहरू कायम नै छन् । त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ,” विज्ञप्तिमा भनिएको छ, “यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ । संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ ।”

त्यसो गर्दा आन्दोलनकारी जेनजी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्ने भनाइ उनको छ ।

उनले एकैदिन एकै समयमा सिहंदरबारदेखि निजी घरसम्म किन जलाइयो भन्ने प्रश्नको जवाफ खोज्नसमेत सम्बद्ध सबैमा आह्वान गरेकी छन् । “शान्तिका अग्रदूत गौतमबुद्ध जन्मेको हाम्रो देशमा किन बारबार द्वन्द्व र हिंसा भइरहेको छ ? एकैदिन एकै समयमा किन राष्ट्रपति भवन, संसद् भवन, मुलुकको प्रशासिक केन्द्रको रूपमा रहेको ऐतिहासिक सिंहदरबार, न्याय सम्पादनको उपल्लो निकाय सर्वोच्च अदालत जल्छन्, अंगार हुन्छन् र खरानी हुन्छन् ? हाम्रा ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदामाथि किन आगो लगाइन्छ ?,” विज्ञप्तिमा भनिएको छ, “देशका जिम्मेवार राजनीतिक नेतृत्वका घर–आवास, हाम्रो देशका उद्योग व्यवसाय, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी किन र कसरी एकै समयमा भएको हो ?”

सबै राजनीतिक दलहरूले विगतको गम्भीर समीक्षा गरी मुलुकको आर्थिक नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नैपर्ने भनाइ भण्डारीको छ । “राजनीतिक दल एवम् यसका नेता, कार्यकर्ता र सदस्यको ठूलो परीक्षा विषम राजनीतिक परिस्थिति उत्पन्न हुँदा नै हुने हो । एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने टीकाटिप्पणी गर्न सुहाउँदैन,” उनले थप भनेकी छन्, “पार्टीहरूले संस्थागत ढंगले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामन्जस्यता कायम राख्दै मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोट गर्नु पर्दछ । यस विषयमा सम्बद्ध सबैको थप ध्यान पुग्नेछ भन्ने मलाई लागेको छ ।”