`

उत्तर कोरियाकी किम जु ए ‘मान्यता प्राप्त उत्तराधिकारी’ : सियोल

दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एलाई उनको औपचारिक उत्तराधिकारीका रूपमा मान्यता दिएको जनाएको छ । जु ए हालै बेइजिङको उच्चस्तरीय भ्रमणमा आफ्नो बुबासँग सहभागी भएकी थिइन् ।

यो भ्रमणमा उनले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटिन् । यसरी पहिलो आधिकारिक विदेश भ्रमण गर्दा किशोरी जु एले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय ध्यान तानेकी थिइन् ।

विश्लेषकहरूले लामो समयदेखि उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिरहेका छन् । तर केहीले उनको जेठो दाजुलाई पनि गोप्य रूपमा सत्ताका लागि तयार पारिएको हुन सक्ने सङ्केत दिएका थिए ।

“जु एले सम्भावित उत्तराधिकारीका रूपमा आफ्नो स्थिति बलियो बनाउन पर्याप्त ‘क्रान्तिकारी कथा’ सुरक्षित गरेकी छन्”, दक्षिण कोरियाली सांसद ली सेओङ–क्वेन भने्, “चीन भ्रमणमा उनको सहभागिता पनि त्यही उत्तराधिकार कथाको अंश हो ।”

जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यतिबेला उनले बुबासँग अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण अवलोकन गरेकी थिइन् । त्यसपछि उत्तर कोरियाली राज्य मिडियाले उनलाई ‘प्रिय बच्चा’ र ‘मार्गदर्शन गर्ने महान व्यक्ति’ भनेर उल्लेख गर्न थाल्यो । यी शब्दहरू सामान्यतया शीर्ष नेताहरू र तिनका उत्तराधिकारीका लागि मात्र प्रयोग गरिन्छ ।

यसअघि उनको अस्तित्वको पुष्टि मात्र सन् २०१३ मा उत्तर कोरिया भ्रमण गरेका पूर्व एनबिए स्टार डेनिस रोडम्यानले गरेका थिए । उनले किम जोङ उनसँग भेट्दा जु एलाई भेटेको दाबी गरेका थिए ।

सियोलले सुरुआतमा किम र उनकी पत्नी रीले सन् २०१० मा पहिलो सन्तानका रूपमा पत्रुलाई जन्म दिनुभएको र जु ए दोस्रो सन्तान भएको सङ्केत गरेको थियो । तर सन् २०२३ मा दक्षिण कोरियाली एकीकरण मन्त्रीले किमको छोरा भएको विषयमा ‘निश्चित पुष्टि गर्न नसकिएको’ बताएका थिए ।

किम जोङ उन सन् २०११ मा आफ्नो बुबाको निधनपछि सत्तामा आए र उनले चार पटकको आणविक परीक्षण गराएको छन्, जसको पछिल्लो परीक्षण सन् २०१७ मा भएको थियो ।

सांसद लीका अनुसार, जु ए बाहेक किमको अर्को सन्तानबारे भएका अफवाहहरू – चाहे अपाङ्गता भएको वा विदेशमा अध्ययनरत रहेको – ‘विश्वसनीय छैनन् ।’

लीले भने, “विशेषगरी विदेश अध्ययनबारे कुरा हो भने, यस्तो कुरा लुकाउन खोजे पनि अनिवार्य रूपमा थाहा हुन्छ । त्यसैले यो सम्भावना निकै कम छ ।”

सर्वोच्च अदालत आइतबारदेखि सञ्चालनमा आउने

काठमाडौं । सर्वोच्च अदालत आइतबारदेखि सञ्चालनमा आउने भएको छ । आज (बिहीबार) बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ थाल्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश प्रकामानसिंह राउतले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सोही बमोजिम यस अदालतमा मिति २०८२।०५।२९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने व्यहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ ।’

सर्वोच्चमा भएको आगजनीबाट न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू नष्ट भएको भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न अदालत प्रतिवद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब करिब नष्ट हुन गएका छन्,’ सर्वोच्चले भनेको छ, ‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

हेर्नुस् सूचना

 

वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक परिस्थितिको सही निकासका लागि संविधानको भावना र मर्मलाई आत्मसात गर्दै पलहकदम अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेकी छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्ने उनको भनाइ छ ।

अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढ्न सक्ने भएकाले राष्ट्रपतिले यो पहलकदमी लिनु आवश्यक रहेको भण्डारीको धारणा छ ।

“प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद् जस्ता संस्थाहरू कायम नै छन् । त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ,” विज्ञप्तिमा भनिएको छ, “यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ । संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ ।”

त्यसो गर्दा आन्दोलनकारी जेनजी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्ने भनाइ उनको छ ।

उनले एकैदिन एकै समयमा सिहंदरबारदेखि निजी घरसम्म किन जलाइयो भन्ने प्रश्नको जवाफ खोज्नसमेत सम्बद्ध सबैमा आह्वान गरेकी छन् । “शान्तिका अग्रदूत गौतमबुद्ध जन्मेको हाम्रो देशमा किन बारबार द्वन्द्व र हिंसा भइरहेको छ ? एकैदिन एकै समयमा किन राष्ट्रपति भवन, संसद् भवन, मुलुकको प्रशासिक केन्द्रको रूपमा रहेको ऐतिहासिक सिंहदरबार, न्याय सम्पादनको उपल्लो निकाय सर्वोच्च अदालत जल्छन्, अंगार हुन्छन् र खरानी हुन्छन् ? हाम्रा ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदामाथि किन आगो लगाइन्छ ?,” विज्ञप्तिमा भनिएको छ, “देशका जिम्मेवार राजनीतिक नेतृत्वका घर–आवास, हाम्रो देशका उद्योग व्यवसाय, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी किन र कसरी एकै समयमा भएको हो ?”

सबै राजनीतिक दलहरूले विगतको गम्भीर समीक्षा गरी मुलुकको आर्थिक नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नैपर्ने भनाइ भण्डारीको छ । “राजनीतिक दल एवम् यसका नेता, कार्यकर्ता र सदस्यको ठूलो परीक्षा विषम राजनीतिक परिस्थिति उत्पन्न हुँदा नै हुने हो । एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने टीकाटिप्पणी गर्न सुहाउँदैन,” उनले थप भनेकी छन्, “पार्टीहरूले संस्थागत ढंगले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामन्जस्यता कायम राख्दै मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोट गर्नु पर्दछ । यस विषयमा सम्बद्ध सबैको थप ध्यान पुग्नेछ भन्ने मलाई लागेको छ ।”

पाँच दलका युवा नेताहरूको संयुक्त विज्ञप्ति : संविधानभित्रबाटै निकास खोजियोस्

काठमाडौं । पूर्व विद्यार्थी नेताहरूले जेनजी आन्दोलनका नाममा भएको विध्वंसको आवरणमा संसद विघटन गर्नुपर्ने कुरा उठाइएको भन्दै कडा रूपमा प्रतिवाद गर्न आह्वान गरेका छन् ।

पूर्व विद्यार्थी नेताहरू नैनसिंह महर, माधव ढुंगेल, नरेन्द्र न्यौपाने, पञ्चा सिंह, आरती लामा, विमल पोखरेल, राजीव ढुंगाना, रुपनारायण श्रेष्ठ, नवीना लामा, रञ्जित तामाङ, सुदेश पराजुली र अनिलकिशोर घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले राजीनामा र राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको हुनाले सबै प्रकारका प्रतिगामी हर्कतका विरुद्धमा एकजुट हुन आह्वान गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित संसद् जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने थलो भएको हुनाले प्रतिगामी तथा केही अवान्छित तत्वहरूबाट गरिएको संसद् विघटन गर्ने मागलाई दृढतापूर्वक अस्वीकार गरी आम जनता र युवाहरूको भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने जस्ता मागलाई सम्बोधन गर्न, संसदबाटै राजनीतिक निकास खोज्न, संसदभित्रबाटै नयाँ सरकार गठन गरी चुनावको वातावरण बनाउनु आजको वास्तविक यथार्थ र आवश्यकताको जोड दिन चाहन्छौँ ।’

विद्यार्थी र युवाहरूले उठाएका मुद्दा, देशको समस्या वर्तमान संविधान, यसमा आवश्यकता अनुसार गरिने संशोधन र संसदीय प्रक्रियाबाटै समाधान हुनसक्नेमा उनीहरूको विश्वास छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरु तथा आम जनताका मागको सम्बोधन, जनचाहना अनुरूप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौं । संसद् विघटन, राष्ट्रपतिको राजीनामा, कथित स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता प्रतिगामी मागका विरुद्धमा सडक सङ्घर्षमा उत्रिन तयार रहन सम्पूर्ण युवा विद्यार्थीहरूलाई अपिल गर्दछौं ।’

हेर्नुस् विज्ञप्ती

‘लोकतन्त्रका लागि खतरा’ : ट्रम्पका सहयोगी चार्ली किर्कको हत्या प्रकरणमा विश्व प्रतिक्रिया

अमेरिका । अमेरिकी दक्षिणपन्थी कार्यकर्ता तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी चार्ली किर्कको स्पष्ट राजनीतिक हत्यापछि विश्व नेताहरूले राजनीतिक रूपमा प्रेरित हिंसाको खतराबारे चेतावनी दिएका छन् ।

केवल ३१ वर्षको उमेरमा रूढीवादी राजनीतिमा उदाउँदो शक्तिशाली स्वर बनेका किर्कलाई युटाको युटाह भ्याली विश्वविद्यालयमा एक कार्यक्रममा बोल्दै गर्दा गोली प्रहार गरिएको थियो ।

उनको हत्यापछि विश्व नेताहरूले यसरी प्रतिक्रिया जनाएका छन्:

– अमेरिकाका लागि कालो क्षण:ट्रम्प –

“यो अमेरिकाका लागि कालो क्षण हो”, राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्या भएको केही घण्टापछि ट्रुथ सोसलमार्फत जारी भिडियो सन्देशमा भने। उनले किर्कलाई ‘सत्यका लागि शहीद’ को उपाधि दिँदै भने, “मेरो प्रशासनले यस अत्याचारमा संलग्न हुने हरेकलाई पत्ता लगाउनेछ, जसमा यसलाई कोष वा समर्थन गर्ने संस्थाहरू पनि पर्नेछन् ।”

– कुनै औचित्य छैन :क्यानाडा –

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एक्समा लेखेका छन्, “चार्ली किर्कको हत्याबाट म स्तब्ध छु । राजनीतिक हिंसाको कुनै औचित्य छैन । यसको हरेक कार्यले लोकतन्त्रलाई गम्भीर खतरा पुर्‍याउँछ ।”

– बहस गर्न स्वतन्त्र हुनुपर्छ :बेलायत –

बेलायती प्रधानमन्त्री किर स्टार्मरले एक्समा भने, “हामी सबै डरबिना स्वतन्त्र रूपमा बहस गर्न सक्षम हुनुपर्छ । राजनीतिक हिंसाको कुनै औचित्य हुन सक्दैन ।”

– लोकतन्त्रका लागि गहिरो घाउ : इटाली –

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले एक्समा लेखेका छन्, “यो नृशंस हत्या लोकतन्त्र र स्वतन्त्रतामा विश्वास गर्नेहरूका लागि गहिरो घाउ हो । उहाँका परिवार, प्रियजन र अमेरिकी रूढीवादी समुदायप्रति मेरो गहिरो समवेदना छ ।”

– सत्य बोलेका कारण हत्या भयो : इजरायल –

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, “चार्ली किर्कको हत्या सत्य बोलेको र स्वतन्त्रताको रक्षा गरेको कारणले भएको हो । उनी इजरायलका सच्चा मित्र थिए, जसले झूटविरुद्ध लडे र यहुदी–ईसाई सभ्यताका लागि उभिएका थिए ।”

नेतान्याहुले थपे, “मैले दुई हप्ताअघि मात्रै उनीसँग कुरा गरेको थिएँ र उनलाई इजरायल भ्रमणको निम्तो दिएको थिएँ । दुर्भाग्यवश, त्यो भ्रमण अब सम्भव हुने छैन ।”

राष्ट्रपति खोज्दै सडकमा उत्रियाे तरूण (तस्बिरहरू)

काठमाडौँ । सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् ।

बिहीबार नेपाली कांग्रेसनिकट तरूण दलले संविधानको रक्षा गर्न मागसहित प्रदर्शन गरेका छन् । दलका शीर्ष नेता सार्वजनिक नभए पनि कार्यकर्ताले संविधानको रक्षाका लागि सडकमा प्रदर्शन थालेका हुन् ।

नख्खु कारागारबाट फरार पूर्व राज्यमन्त्री टक्ला पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार सञ्जय साह टक्ला समातिएका छन् । फरार भएका टक्ला काभ्रेबाट पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ । जेनजीको प्रदर्शनको मौका छोपेर नख्खु कारागारबाट उनी भागेका थिए । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई सुरुमा कारागारबाट निकालिएको थियो । त्यसको केही समयमा टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए ।

उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्व राज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।

 

अमेरिकी भिसा सुधार बिना कोरियाली लगानीमा हिचकिचाहट :राष्ट्रपति ली

दक्षिण कोरिया । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले संयुक्त राज्य अमेरिकाले कोरियाली कामदारहरूका लागि भिसा प्रणाली सुधार गर्न नसके कोरियाली कम्पनीहरूले त्यहाँ लगानी गर्न वा हालको लगानीलाई निरन्तरता दिन हिचकिचाउने चेतावनी दिएको छ ।

आफ्नो कार्यकालको एक सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सेप्टेम्बर ४ मा जर्जियामा भएको आप्रवासन छापामारीबारे पनि प्रष्ट्याएका छन् । सो घटनामा ह्युन्डाईको निर्माणाधीन ब्याट्री कारखानामा काम गर्ने तीन सयभन्दा बढी कोरियाली कामदार पक्राउ परेका थिए । लीका अनुसार वार्तापछि ती कामदारहरूलाई चार्टर विमानमार्फत शुक्रबार स्वदेश फर्काइने तयारी गरिएको छ ।

छापामारीपछि दक्षिण कोरियामा व्यापक आक्रोश चर्किएको छ । अमेरिकी अधिकारीहरूले केही कामदारलाई जञ्जिरले बाँधिएको भिडियो सार्वजनिक गरेपछि विश्वासघातको भावना बढेको थियो । यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प र लीबीचको शिखर बैठकको दुई साताभन्दा कम समयमा आएको हो । त्यही बेला सियोलले अमेरिकी उच्च करबाट छुट पाएको थियो र तीन खर्ब ५० अर्ब डलर बराबरको नयाँ लगानी गर्ने वाचा गरेको थियो ।

सत्तारूढ र विपक्षी दुवै सांसदहरूले छापामारीलाई अपमानजनक भनेका छन् । प्रमुख पत्रिकाले यसलाई ‘खरायोको शिकार’ भन्दै आलोचना गरेको छ ।

लीले भने, “यो दीर्घकालीन कामदारहरूको विषय होइन । कारखाना निर्माण वा उपकरण जडानका लागि छोटो अवधिका टेक्निसियनहरू आवश्यक हुन्छन् । तर अमेरिकाले आफ्नै जनशक्ति नभएको अवस्थामा पनि हामीलाई आवश्यक भिसा दिन अस्वीकार गर्छ । यस्तो भएमा हाम्रो कम्पनीहरूलाई त्यहाँ लगानी गर्न गाह्रो हुन्छ ।”

उनका अनुसार, छापामारीले दुई देशबीच आप्रवासनसम्बन्धी ‘सांस्कृतिक भिन्नता’ देखाएको छ । उहाँले उदाहरण दिँदै भने, “दक्षिण कोरियामा अमेरिकीहरू पर्यटक भिसामा आएर निजी क्र्याम स्कुलहरूमा अङ्ग्रेजी पढाउँछन्, हामी यसलाई समस्या मान्दैनौँ । तर अमेरिकाले त्यस्तो सहन सक्दैन ।”

वासिङ्टनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले हिरासतमा परेकाहरूलाई आफ्ना काम पूरा गर्न अनुमति दिने सहमति भएको बताए । साथै नयाँ भिसा कोटाबारे छलफल गर्न संयुक्त कार्य समूह गठन गर्ने निर्णय भएको छ ।

तर चोले चेतावनी दिएका छन्, “यदि भिसा समस्याको समाधान भएन भने अझ धेरै कोरियाली कामदार भविष्यमा पनि यस्तै धरपकडको जोखिममा पर्न सक्छन् ।”

जर्जियाको ब्याट्री प्लान्ट त्यस्ता २० भन्दा बढी औद्योगिक परियोजनामध्ये एक हो जुन कोरियाली कम्पनीहरूले अमेरिकामा निर्माण गरिरहेका छन् । यसमा टेक्सासको सेमिकन्डक्टर कारखाना र फिलाडेल्फियाको जहाज निर्माण परियोजना पनि पर्छन्, जसलाई राष्ट्रपति ट्रम्पले बारम्बार कोरिया–अमेरिका साझेदारीका उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

दक्षिण कोरियाली विज्ञ मिन जियोंघुनका अनुसार, समाधानको जिम्मा मुख्यतया अमेरिकाकै हातमा छ । कानूनी व्यवस्था वा छोटो अवधिका कार्य भिसा विस्तारमार्फत मात्र समस्याको निकास सम्भव हुन्छ ।

उनले भने, “यदि भिसा नीतिमा अद्यावधिक भएन भने कोरियाली कम्पनीहरूले आफ्ना कामदार पठाउन सक्दैनन्, जसले अमेरिकी उद्योग विस्तारमा ढिलाइ ल्याउनेछ र त्यसको प्रत्यक्ष हानि अमेरिकी अर्थतन्त्रलाई हुनेछ ।”

कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेताहरु छलफलमा

काठमाडौं । प्रतिनिधि सभा सदस्य समेत रहेका मुख्य चार दलका युवा नेताहरु पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलमा जुटेका छन् ।जेन–जीको माग सम्बोधन र निकासको बाटोबारे उनीहरूले अनलाइन छलफल गरेका हुन् । साथै निकासका लागि जेन–जी युवाहरूलाई सामुहिक अपिल गर्ने विषयमा पनि सांसदहरूबीच छलफल भएको छ ।

छलफलमा नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र जीवन परियार, नेकपा एमालेका योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, अमनलाल मोदी र राजन दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल छन् ।

‘कहिले एक–दुई जनाको बीचमा त कहिले सामुहिक छलफल गरिरहेका छौँ,’ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, ‘संवैधानिक बाटो भित्रबाट निकास खोज्नुपर्छ भन्ने हाम्रो छलफल भएको हो ।’ उनले छलफलमा भदौ २३ र भदौ २४ को दुवै घटना छानबिन गर्नुपर्छ भन्नेमा सांसदहरू एक ठाउँमा रहेको बताएका छन् ।

‘अघिल्लो दिनको नरसंहार र भोलिपल्टको विध्वंस छानबिन गर्नुपर्छ भन्ने कुरा भएको छ,’ सापकोटाले सुनाए, ‘जेन–जीलाई देखाएर गरिएको विध्वसंलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ उनले जेनजी आन्दोलनको नाममा सैनिक शासन र ‘बेबी किङ’ को गन्ध आउन थालेकोबारे पनि छलफलमा कुराकानी भएको बताएका छन् ।

‘बेबी किङ र सैनिक शासनको बाटो सम्भव छैन,’ सापकोटाले भने, ‘उन्नत प्रकारको लोकतन्त्रमा जाने गरी जेनजीहरूसँग हामीले कुरा गर्नुपर्छ भन्नेछ ।’ युवा सांसदहरू संसद विघटन गरेर चुनावमा जान सकिने भए पनि अहिलेको समस्याको समाधान संवैधानिक र संसदीय रूपमा खोज्नुपर्ने पक्षमा रहेको उनले बताए ।

‘जेनजीले उठाइरहेका सुशासनका मुद्दालाई तत्कालै संसदबाटै सकारात्मक रूपमा हल गर्न सकिन्छ । यो हामीले पनि उठाइराखेको विषय हो,’ सापकोटाले भने, ‘त्यसपछि संसद विघटन गरेर ताजा जनादेशमा जान सकिन्छ । समस्याको निकास संसद भित्रबाट गर्नुपर्छ। जेनजीको माग संसदबाटै सम्बोधन गर्न सकिन्छ ।’ सापकोटाले सांसदहरूबीच अहिले अन्तरपार्टी व्यक्तिगत र सामुहिक छलफल चलिरहेको पनि बताएका छन् । चार वटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीन बुँदे निष्कर्ष समेत निकालेका छन् ।

पहिलो : दलहरूले आत्मसमीक्षा गर्नुपर्छ ।

दोस्रो : जेनजीका माग सम्बोधन हुनुपर्छ ।

तेस्रो : पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्छ ।

छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ । राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन् ।

यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् । कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ ।

इजरायलले यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र रोकेपछि बढ्यो तनाव

इजरायल । इजरायली सेनाले बिहीबार यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र रोकेको जनाएको छ । यो कदम इजरायलले त्यहाँ हवाई आक्रमण गरी कम्तीमा ३५ जनाको ज्यान लिएर एक सय ३० भन्दा बढीलाई घाइते बनाएको एक दिनपछि आएको हो ।

क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी तत्काल कसैले नलिए पनि इरान समर्थित हुथी विद्रोहीहरूले अघिदेखि नै इजरायलमाथि मिसाइल र ड्रोन प्रहार गर्दै आएका छन् । उनीहरूले सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको गाजा युद्धसँगै बारम्बार आक्रमण गरेका हुन् ।

“केही समयअघि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र रोकेपछि इजरायलका धेरै क्षेत्रमा साइरन बज्यो”, इजरायली सेनाले टेलिग्राममा भनेको छ ।

हुथी नियन्त्रणको राजधानी सानामा रहेको सशस्त्र बलको मिडिया अपरेसनले इजरायलले जोफ प्रान्तको विद्रोही कम्प्लेक्समा आक्रमण गरेको दाबी गरेको छ । त्यस क्रममा ३५ जनाको मृत्यु र एक सय ३१ जना घाइते भएको हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलसबाहीले बताएको छ ।

मृतकमध्ये २८ जना सानामा र सात जना जोफ प्रान्तमा रहेका थिए । सानामा मात्रै एक सय १३ जना र जोफमा १८ जना घाइते भएका छन् ।

गत महिना साना क्षेत्रमा भएको सरकारी बैठकमा हुथी प्रधानमन्त्री अहमद घालेब नासेर अल–रहावीसहित नौ मन्त्री र दुई उच्च अधिकारी मारिएका थिए । यो गाजा युद्धपछि इजरायलसँगको वैमनस्यका क्रममा हुथी अधिकारीहरूको सबैभन्दा उच्च–प्रोफाइल हत्या मानिएको छ ।

हुथी सेनाका प्रवक्ता याह्या सारीले मारिनेहरूमध्ये सेप्टेम्बर २६ र अल–यमन अखबारका पत्रकारहरू रहेको बताए। इजरायलले पनि सशस्त्र बलको मिडिया अपरेसनसहित विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।

इजरायली सैन्य विज्ञप्ति अनुसार, लक्ष्यमा ‘हुथी सैन्य शिविर, जनसम्पर्क मुख्यालय र आतङ्कवादी शासनद्वारा प्रयोग हुने इन्धन भण्डारण सुविधा’ थिए ।

हुथीहरूको अल–मासिराह टेलिभिजनले अल–हजम सहरस्थित सेन्ट्रल बैंक शाखामा समेत आक्रमण भएको र कर्मचारी घाइते भएको जनाएको छ । उनीहरूले हवाई रक्षासँग प्रतिरोध गरेको दाबी पनि गरेका छन् ।

यसअघि आइतबार यमनबाट प्रक्षेपण गरिएको ड्रोनले दक्षिणी इजरायलको रामोन विमानस्थलमा आक्रमण गरी एकजना घाइते बनाएको थियो ।

सन् २०२३ अक्टोबरदेखि हुथीहरूले इजरायलविरुद्ध निरन्तर ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन् । यसको प्रतिकारस्वरूप इजरायलले यमनका बन्दरगाह, पावर स्टेसन र सानाको अन्तर्राष्ट्रिय विमानस्थलजस्ता पूर्वाधारहरूमा प्रहार गर्दै आएको छ ।

देशभरबाट भागेका १२ हजार ८५२ कैदीबन्दी अझै बाहिरै

काठमाडौं । जेनजी आन्दोलनको मौका पारेर देशका विभिन्न कारागारबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भागेका १४ हजार ३०७ भागेकामध्ये १,४५५ लाई पुनः पक्राउ गरी फर्काइएको छ।

अझै १२ हजार ८५२ जना कैदीबन्दी बाँकी छन् । घिमिरेका अनुसार भागेका ५७३ जना थुनुवाको पनि खोजी भइरहेको छ । अधिकांश युनिटका टोली काममा फर्किसकेका छन् । घिमिरेले भने, ‘भागेका सबैलाई खोज्ने उर्दी गरिसकेका छौं । हामी सम्पर्क विच्छेद जस्तै अवस्थामा छौं । बरु कहीँ कतै केही भए सर्वसाधारणले हामीलाई सूचना दिनुहोला ।’

प्रहरी कार्यालयमा गएर तोडफोड, आगजनी र हतियार खोस्ने हुन थालेपछि प्रहरी ज्यान जोगाउन युनिट छाडेर हिँडेका थिए । हिजो बुधबार पनि बिहानैदेखि कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजारस्थित कारागारको स्थिति तनावग्रस्त भयो ।

देशका अन्य ठाउँमा पनि कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १२५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । नख्खुबाट सुरू भएको कारागार विद्रोहको आगो अन्य सल्किएको थियो ।

कपिलवस्तु, सिन्धुली जेल, डोटीको बाल सुधार गृह, सुनसरीको झुम्का कारागारबाट पनि अधिकांश कैदी भगाइएको छ । मोरङ कारागारमा कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्‍यो ।

विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको संख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् ।

नेपालगञ्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो। कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् ।

राष्ट्रपतिको अपिल : संवैधानिक दायरामा रहेर निकास दिन प्रयास गर्दैछु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्ने गरी निकासको खोजी भइरहेको बताएका छन् ।

पौडेलले आज (बिहीबार) एक अपिल जारी गर्दै पौडेलले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग पक्षलाई सहयोग गर्न आग्रह गरेका हुन् । जेनजीको प्रदर्शनपछि पौडेल नेपाली सेनाको सुरक्षा घेरामा छन् ।

अन्तरिम सरकार गठनको विषयमा छलफल जारी रहँदा पौडेलको अपिल पत्र आएको हो । सामाजिक सञ्जालमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न माग गरिरहेको बेला उनले अपिलपत्र सार्वजनिक गरेका हुन् ।

हतियार फिर्ता गर्नु, पोसाकको दुरुपयोग नगर्नु : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले जेनजी प्रदर्शनका क्रममा प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै २३ गतेदेखि २५ गते सम्म भएको प्रदर्शनको क्रममा लुटिएको सामानहरु फिर्ता गर्न आग्रह गरेको हो ।

सुरक्षा हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे उक्त हातहतियारलगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरेको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई अनुरोध गरेको छ ।

सैनिक मुख्यालय छेउमै हर्क साम्पाङ समर्थक र जेनजीबीच झडप

काठमाडौं । काठमाडौँको सुन्धारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ ।प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक–फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो ।

काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन् । अहिले नेपाली सेनाले एम्बुलेन्स बाहेक कुनै पनि सवारीलाई सुनधारा सडकमा आउजाउ गर्न दिएको छैन । काठमाडौँको बबरमहलमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित अर्कै समूहले प्रदर्शन गरेको थियो ।

जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा जम्मा भएका छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन भएको छ । नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक–फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन् ।

बुधबार जंगीअड्डा गेटमा माइकिङ गरेर नेपाली सेनाले आफ्नो समूहको ‘लिडर’ को नाम र फोन नम्बर टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन भनेको थियो । सोही कारण युवाहरूको फरक फरक समूह आफ्ना सिफारिस लिएर त्यहाँ पुग्दा कुरा नमिलेर टकरावको स्थिति पैदा भएको छ ।

अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो । अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई अघि सारेका विभिन्न समूहबीच बुधबार सैनिक मुख्यालय जंगीअड्डा अगाडि विवाद भएको थियो ।

नागरिक आन्दोलनको दावी : राजतन्त्र फर्काउने षडयन्त्र हुँदैछ

काठमाडौं । वृहत नागरिक आन्दोलनले सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने षडयन्त्र भइरहेको दाबी गरेको छ । ‘अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका सहिदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ,’ बिहीबार विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनले भनेको छ, ‘यो हामीलाई पटक्कै स्वीकार्य छैन । जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो ।’

प्रतिक्रान्तिको खतरा औंल्याउँदै आन्दोलनले अहिलेको संविधानमा टेकेर मात्रै अगाडि बढाउनु पर्नेमा जोड दिएको छ । ‘यो संगीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो । अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन ।’

अब हुने छलफल र कार्यक्रम राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै हुनुपर्नेमा पनि वृहत नागरिक आन्दोलनको जोड छ । ‘यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस् र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन् ।’

‘अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस विषयमा जेनजीहरूलाई जस्तोसुकै साथ दिन पमि नागरिक समाज तयार छ ।’

‘संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्नुपर्छ’

काठमाडौं । ६५ संस्था तथा अभियानीले संयुक्त विज्ञप्तिमार्फत् संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपिल गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावनालाई समेत सम्बोधन गरी सरकार गठन र विधिको शासन लागू गर्न उनीहरूले अपिल गरेका हुन् ।

‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको सम्मान गर्दै अहिलेको परिवर्तनको मागलाई सम्बोधन गर्न विद्यमान हाम्रो देशको संवैधानिक व्यवस्थाभित्र रहेर र जेनजी पुस्ताका भावनालाई समेत सम्बोधन हुने गरी सरकार गठन र विधिको शासन लागू गर्न हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

अहिलेको अवस्थामा वार्ता संवाद र छलफल गर्न नागरिक समाजले सहजीकरण गर्ने पनि अनुरोध गरिएको छ । त्यसैगरी राजनीतिक संकट र आन्तरिक द्वन्द्वतर्फ बढ्ने र अन्तर्राष्ट्रिय हस्तक्षेप हुनेमा सचेत रहन पनि ध्यानाकर्षण गरिएको छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आज उनले राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन नसक्ने बताएका छन् ।

उनले भने, ‘डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो । राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन सक्दैन ।’ ‘मरुभूमिको फ्याउरो दक्षिण एशियामा तीव्र बेगमा छ । हामी आफू सच्चिनु पर्छ र सच्याउनु पर्छ,’ उनले भने, ‘डेमोक्रेसी हाईज्याक हुन सक्दैन । देश दशकअघि वा शतकपछि ? त्यो समयले प्रष्ट गर्छ ।’

जेनजी आन्दोलन : कहिले निको होला आफन्त गुमाएकाहरुको पीडा, कहिले उठ्लान ध्वस्त संरचना ?

काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो ।

देशभरका विभिन्न अस्पतालमा १,३६८ जना घाइते उपचारमा छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो । त्यसक्रममा घाइते भएकालाई प्रदर्शनकारीहरूले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

जलेको मन्त्री निवास

देशभर भएको जेनजी आन्दोलनले सोच्नै नसक्ने भौतिक तथा मानवीय क्षति पुगेको छ । जुन पीडा अहिले हरेक नेपालीको मनभित्र घाउ बनेर दुःखिरहेको छ । १९९० मा तत्कालीन प्रधानमन्त्ती चन्द्रशमशेर जबराले आफ्नो निजी निवासका लागि बनाएको त्यो बेलाको एसियाकै सबै भन्दा ठूलो दरवारका रुपमा चिनिएको सिंहदरवार क्षणभरै खरानीमा परिणत भयो । यस्तै संघीय संसद भवन जहाँ देशको अभिन्न अंग न्यायपालिका, व्यावस्थापिका र कार्यपालिका सञ्चालनमा थिए । त्यो पनि केही मिनेटमै तहस नहस भयो ।

    राष्ट्रपतिको निजी निवास

आज ती ऐतिहासिक संरचना जल्दा राज्यका सबै अङ्गका काम कारवाही खलबलिन पुगेको छ । आन्दोलनपछि सिर्जना भएको अन्योलले देश र जनताको भविष्यकाबारे पनि चिन्ता व्यक्त हुन थालेको छ । अब देशले कुन मोड लिने हो भन्ने कुराको चासो, चिन्ता आम नेपालीमा जागेको छ । न्याय दिने न्यायलयसँगै धेरै पुराना अभिलेखहरु जल्यो, सरकारलाई सेवा दिइरहेका प्रशासन जल्यो, नेपालीको लालपुर्जा दिने मालपोत जल्यो, सिंहदरवार जल्यो । जहाँ नेपालको राणाकाल, पञ्चायत, बहुदलीय र गणतान्त्रिक व्यवस्थासम्मका ऐतिहासिक दस्तावेजहरु सुरक्षित गरेर राखिएका थिए ।

     आगजनीपछिको सिंहदरवार

यस्तै आन्दोलनकै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन जल्यो । अख्तियारमा लागेको आगोसँगै धेरै र ठूला ठूला भ्रष्टाचारका प्रमाणहरु पनि
जले ।  जेनजीको आन्दोलनले एउटा अवसरको ढोका खोले पनि आम नेपालीले धेरै कुरा गुमाउने परेको छ । नेपाल र नेपालीको करबाट निर्माण भएका यतिका भौतिक संरचना अब कहिले र कसरी पुनर्निर्माण हुन्छन् अहिले भन्न सकिने अवस्था छैन ।

          आगजनीपछिको संघीय संसद भवन

एकाएक भएको यो ‘उलटफेर’ आम नेपालीका लागि खुशी र दुःख दुबै बनेर आएको छ । अहिलेको यो अवस्थामा हामी आम नेपालीले जित्यौं कि हार्‍यौं भन्न सकिने अवस्था छैन । देशभरका सुरक्षा निकायका भवनहरु तहसनहस भएका छन् । नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरीको बर्दी खोसियो, आक्रोशको आगोमा सुरक्षा निकाय पनि परे, धेरै सुरक्षाकर्मीले पनि ज्यान गुमाउनु परेको छ । छोटो समयमा उठेको यो आन्दोलनको लप्काले देशभर जनधनको क्षति गराएको छ । आन्दोलनका क्रममा होनहार युवासँगै राज्यका धेरै सार्वजनिक सम्पति गुमाउनु परेको छ ।

 जलिरहेको हिल्टन होटल

आन्दोलनकै मौकामा जघन्य अपराध गरेका कैदीकन्दीहरु समेत भाग्न सफल भएका छन् । जो विभिन्न मुद्दा र अभियोगमा जेल गएका थिए । आज देशभरका धेरै कारगार र हिरासतहरुबाट कैदीबन्दी फरार हुँदा सुरक्षाको चुनौति पनि बढेको छ । अपराधका घटनामा सजाय पाएर थुनिएका मानिसहरु आज बाहिरिएपछि सम्बन्धित घटनाका पीडितहरुमा डर, त्रास र असुरक्षा बढेको छ ।

कैदीहरु कारागारबाट भाग्ने क्रममा सेनाले रोक्न खोज्दै

घृणा गर्नेहरूलाई अनफ्रेन्ड वा ब्लक गर्न ट्रेन्ड:

देश भरीका सुरक्षा निकायका भवनहरु तहस नहस बनाए नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरीको बर्दी खोसियो अनि उनीहरुलाई नै नांगो बनाएर कुटी कुटी मारियो । अब भन्नोस् त्यो आन्दोलनले कस्को हित गर्‍यो ।

आज यो भनिरहदा कतिले गाली पनि गर्नु हुन्छ, होला तर के यो व्यावस्था परिवर्तन गर्नका निम्ती राज्यका धरोहर अनि सार्वजनिक सम्पति खरानी बनाउन सही थियो त?

नेपाल प्रहरीका सयौं जवान र अधिकृतहरु संगठनको सम्पर्कबाहिर पुगेका छन् । जेनजी आन्दोलनको दोस्रो दिन हमलामा परेका देशभरका प्रहरी चौकीबाट ज्यान जोगाएर भागेका र मरणासन्न पारिएका प्रहरीको मनोबल समाप्त भएको छ ।

लाउने लुगा समेत थुतेर फालेपछि अर्धनग्न अवस्थामा सडक,खोला र गल्लीबाट भागेका सयौं प्रहरीले स्थानीयसँग मागेर खाँदै हिँडेको दृष्य पनि सामाजिक सञ्जालमा देखिएका छन् । प्रहरीकर्मीले सामाजिक संजालबाट अहिले एउटा ट्रेण्डिङ नै चलाइरहेका छन्,जसका शब्दहरुले सभ्य मानिसलाई विचलित र भाबुक बनाउँछ ।

सरकारको र संगठनको आदेश मानेर कर्तव्यपालन गर्दा कतिपय प्रहरीले ज्यान गुमाएका छन् भने कति बेपत्ता छन् । जेनजी आन्दोलनको निशानामा परेका प्रहरीले अब आफ्नो सुरक्षा आफैँ गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ट्रेन्ड नै चलाएर आफू प्रहरी भएकोमा घृणा गर्नेहरूलाई अनफ्रेन्ड वा ब्लक गर्न आग्रह गरेका हुन् । उनीहरूले स्टाटसमार्फत मनका पीडा पोख्दै आफू प्रहरी भएको घृणा लागे बहिस्कार गर्न आग्रह गरेका छन् ।

प्रहरीभएकोमा घृणा गर्न आग्रह

उनीले आफ्नो कर्तव्य पालना मात्र गरेको बताउँदै प्रहरीबिना समाजको कल्पना गर्न नसकिने धारणा राखेका छन्। जुन यतिवेला हरेक नागरिकले भावुक हुँदै टुलु टुलु हेरिरहेका छन् ।

आन्दोलनकारीहरूले मङ्गलवार प्रहरीलाई निशाना बनाएर आक्रमण गर्दा कार्यालयहरू, चौकी सबै जलेर खरानी भएका छन् भने महत्त्वपूर्ण कागजपत्रहरूसमेत नष्ट भएको छ । प्रहरी चौकीमा कब्जा गरेर ड्रेस ,सेट,हतियार सबै खोसेर दुरुपयोग गरिरहेका छन् ।

बर्दीको दुरुपयोग

कार्यालयमा भएका प्रहरीहरूलाई समेत लखेटिलखेटी कुटपिट गरेका थिए। अधिकांश प्रहरी कार्यालय जलाउनुको साथै आगो लगाइदिएपछि ज्यान जोगाउन हम्मेहम्मे परेको थियो ।सानो बालबालिकाले समेत प्रहरीको ड्रेस लगाएको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोमबार जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाएर २० जनाको ज्यान गएको भन्दै आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए ।

आन्दोलनका नाममा अराजक समूहले प्रहरी चौकीमा आगजनी र हतियार लुटपाट गर्दै हिरासतमा रहेका अपराधीहरु छुटाएपछि तीनै अभियुक्तहरुले कर्तव्यनिष्ठ प्रहरीलाई अर्धनग्न बनाएर लाइनमा उभ्याएर हुर्मत लिँदै कुटपिट गरेका दृष्यहरु पनि अहिले भाइरल भइरहेका छन् ।

प्रहरीमाथि आक्रमण पछि ज्यान जोगाउन भाग्दै

आज विभिन्न अपराधमा संलग्न अपराधीहरु हिरासत र जेलबाट समुदायमा पसेका छन् भने समुदायको रक्षा गर्ने दायित्व बोकेका प्रहरी ज्यान जोगाउन र एक छाक खानका लागि दयालु मान्छेहरुको आश्रय खोजिरहेका छन् ।

समयमा सहि निर्णय गर्न चुक्दा हामीले भविष्यका धेरै कर्णधारसँगै छिनमै धेरै कुरा गुमाएका छन् । जो नेपालको इतिहासमा कहिले बिर्सन नसकिने घटनाको रुपमा दर्ज भएको छ । आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण अहिले देश सरकारविहीन बनेको छ । यो अन्योल जतिसक्दो चाँडो चिर्दै लडेका हामीहरु फेरि उठेर देश पुनर्निर्माणमा जुट्नु पर्ने भएको छ ।

 

 

विभिन्न कारागारबाट भागेका ३५ कैदीबन्दी धादिङबाट पक्राउ

धादिङ । देशको राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेकामध्ये ३५ जनालाई गजुरी चेक प्वाइन्टबाट नेपाली सेनाले नियन्त्रणमा लिएको हो । बुधबार तीन जनालाई धादिङकै गल्छीस्थित बैरेनीबाट नियन्त्रणमा लिएको थियो ।

आज नियन्त्रणमा लिएकाहरुमा केन्द्रीय कारागारबाट भागेका २१ जना, नक्खु कारागारका नौ, भीमफेदी कारागारका चार, भद्र केन्द्रीय कारागारबाट भगेकामध्ये एक जनालाई पक्राउ गरिएको धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठले जानकारी दिए । पृथ्वी राजमार्गका विभिन्न स्थानमा नेपाली सेनाले बुधबारदेखि जाँच गरिरहेको छ । जाँचका क्रममा सोधीखोजी गरेर कैदीबन्दीको पहिचान गर्ने गरिएको कर्णेल श्रेष्ठको भनाइ छ ।

नेपाली सेनाले साना तथा ठूला जुनसुकै सवारीसाधन प्रयोग गर्ने र पैदल हिँडेर आउजाउ गर्नेहरुलाई समेत जाँच गरिरहेको छ । केहीलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो ।

बुधबार नियन्त्रणमा लिइएका तीन जनालाई बैरेनी प्रहरीको जिम्मा लगाए पनि आज नियन्त्रणमा लिइएको ३५ जनालाई सेनाले गजुरीस्थित भैरबनाथ गणमा नै राखिरहेको र उनीहरुको व्यवस्थापनका लागि नेपाल प्रहरीसँग समन्वय भइरहेको कर्णेल श्रेष्ठले जानकारी दिए । परिस्थितिजन्य अवस्थाले कारागारबाट भागेका कैदीबन्दीलाई स्वतस्फूर्त आत्मसमर्पण गर्न पनि नेपाली सेनाले आग्रह गरेको छ ।

संविधानकाे मर्म अनुरुप सार्थक संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले)ले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ ।

पार्टी सचिवालयका तर्फबाट बिहीबार (भदौ २६) महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै युवापुस्ताका सरोकार सम्बोधन गरिनुपर्ने उल्लेख गरेका छन् । उनले सार्थक संवाद थाल्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्।

‘प्रधानमन्त्रीको राजिनामापछि अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई संवोधन गरिनुपर्छ। यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं।’

त्यस्तै संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ-आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका भूमिका खेल्नुपर्ने एमालेको मत छ।

‘यस्तो विषय परिस्थितिमा संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ-आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ,’ एमालेले भनेको छ, ‘स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ। संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौं।’

एमालेले स्थिति सामान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र स्थितिको समीक्षा गरिने बताएको छ। ‘हाम्रो भूमिकाको पनि आवश्यक आत्मसमीक्षा हुनेछ र आगामी कामहरूबारे औपचारिक निर्णय गरिने नै छ,’ विज्ञप्तिमा भनिएको छ।

आगजनी पछिको मन्त्री निवास तस्बिरमा यस्तो देखियो

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसँगै ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासमा पनि तोडफोड र आगजनी भएको छ । मंगलबार प्रदर्शनकारीले मन्त्री निवास जलाएका हुन् ।

आन्दोलनकारीको आक्रमणपछि सेनाको हेलिकोप्टरले मन्त्रीहरुको उद्धार गरेको थियो ।

बुधबार मन्त्री निवास पुग्दा सुनसान थियो । झ्यालका सिसा फुटेका देखिन्छन् भने भवन कालो देखिएको छ । प्रदर्शनकारीले कतिपय सामान भवनबाट बाहिर बाटोमा ल्याएर जलाएका थिए ।

बङ्गलादेशी फुटबल टोली स्वदेश फर्कियो

काठमाडौँ । अन्तररास्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली आज स्वदेश फर्किएको छ ।

बङलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिए । मङ्गलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो ।

यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको थियो । त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

 

 

संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पसमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । संविधान रक्षा गरौं भन्दै नेकपा (एमाले) र एकीकृत समाजवादीका नेता–कार्यकर्ता प्रदर्शनमा निस्कन थालेका छन् । एमाले र एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरूले काठमाडौंको मीनभवनस्थित कमर्स क्याम्पसको गेटमा उभिएर प्रदर्शन गरेका हुन् ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियुका पूर्वअध्यक्ष समिककुमार बडाल, पूर्व उपाध्यक्ष गोविन्द गिरी, एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ लगायतले प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘संविधानको रक्षा गरौं’, ‘यही संविधानको मान्यताअनुरूप निकास खोजौं’ भन्दै प्रदर्शन गरेका हुन् । ‘सम्पूर्ण राजनीतिक समस्याको समधान लोकतान्त्रिक मूल्य–मान्यता भित्रबाट हुनुपर्छ,’ पराजुलीले भने ।

जेन–जीको हुटहुटी दु:खान्त नहोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जीलाई संयम भएर अगाडि बढ्न सुझाव दिएका छन् । जेन–जीको आन्दोलनपछि पहिलो पटक सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् । उनले ‘जेन–जीको हुटहुटी दुखान्त नहोस्’ भन्नेमा सचेत गराएका छन् ।

‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नै पर्छ किनकि सामाजिक सञ्जाल बन्द हुँदै गर्दा हाम्रो समाजले स्वीकार गर्दैन भने हाम्रा नागरिक अधिकार खोसेका कुरा कसले स्वीकार गर्छ ? फेरि अर्को आन्दोलन हुन्छ ।’

अहिलेको संविधानलाई कायमै राखेर जानुपर्ने उनको भनाइ छ । ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं । तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं,’ उनले भने, ‘तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ ।’

उनले पुनर्निर्माणमा सबैको साथ सहयोग चाहिने पनि बताए । गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने बताए । ‘तपाईंहरूले नै सम्हाल्नु पर्छ, बिग्रँन दिन हुँदैन,’ उनले भने । थापाले माफी माग्दै सुध्रने वाचा समेत गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय रोक्न नसकेकामा पश्चाताप गर्दै त्यो मात्रै रोक्न सकेको भए सम्भवतः आज यति ठूलो घटना नहुने बताएका छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्न लागेको दिन आफू पार्टीका सभापति शेरबहादुर देउवाकहाँ पुगेर त्यसो नगर्न अनुरोध गरेको तर सफल हुन नसकेको सांसद थापाले बताएका छन् ।

उनले भनेका छन्, ‘पहिला त म भाद्र २३ गते जुन १९ जना युथहरूको हत्या भयो । म त्यसको लागि म प्रत्यक्ष रूपमा इन्भल्भ छैन, तर पनि म माफी माग्छु । त्यो अपराध थियो । यो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ । किनकि जुन दिन सोसल मिडिया ब्यान्ड गर्ने निर्णय गरियो, म त्यो दिन दौडेर मेरो सभापतिकहाँ गएको थिएँ । र, त्यो दिन बिहान भनेको थिएँ– युथहरू हामीसँग एकदमै नराम्ररी रिसाएको छ, जेन्युन कारण छ, यति धेरै आगो बलेको छ, आगोमा घाउ थप्ने काम नगर्नुस्, गर्दै नगर्नुस् । बैठकमा बोलेँ भएन, बाहिर आएर लेखेँ, प्रेसमा दिएँ । हामी सबै मिलेर दबाब सिर्जना गर्‍यौँ भएन । सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला । अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नुपथ्र्यो भन्ने लाग्छ । त्यो नगर, नगर भनियो, आखिर भयो ।’

 

 

तीनकुनेमा एकै ठाउँ महिला–पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो ।

अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।

काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।

आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन् भने विभिन्न संघ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् । जेनजीका प्रतिनिधिहरु सडकमा सरसफाइ अभियानमा निस्किएका देखिएको छ । आगजनी गरिएका कार्यालयका कर्मचारीहरु पनि ससरफाइ, कागजात संकलन क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक कामहरु गरिरहेका छन् ।

सेनाले पनि निषेधाज्ञा तथा कफ्र्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ । आज बिहान ६ देखि ९ बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छभने आज साँझ ५ बजे ७ बजेसम्मका लागि पनि खुला गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गरी जानकारी दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कफ्र्यू भने भदौ २६ गते बेलुकी ७ देखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।

काठमाडौँ उपत्यका तथा जिल्लाहरुमा अहिले नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायसँगको समन्वयमा शान्तिसुरक्षा प्रभावकारी बनाइएको छ । उपत्यकामा अत्यावश्यक कामका लागि हिँड्डुलमा कुनै समस्या देखिएको छैन । तर अनावश्यक रुपमा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ ।

निषेधाज्ञा तथा कफ्र्यू समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ ।

उक्त समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने छन् । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न पनि सक्ने सेनाले स्पष्ट गरेको छ । उपत्यकामा आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको छ ।

सेनाको सुरक्षामा सुशीला कार्की र दुर्गा प्रसाईलाई जङ्गीअड्डा लगियो

काठमाडौं । नयाँ सरकार गठनका लागि समन्वय गरिरहेको नेपाली सेनाले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुरक्षासहित जङ्गीअड्डा लगेको छ ।

अन्तरिम सरकार गठनको विषयमा छलफलका लागि कार्की र प्रसाईलाई जङ्गीअड्डा लगिएको सुरक्षा स्रोतले जनाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि समर्थन गर्ने बताएका थिए ।

बालेनको उक्त निर्णयमा जेन–जी पनि सहमत भएपछि आज सेनाको समन्वयमा नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल हुँदैछ । प्रसाईंसँग प्रधानसेनापति अशोकराज सिग्देलले हिजो पनि वार्ता गरेका थिए । यता पूर्व प्रधानन्यायाधीश कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै आज जङ्गीअड्डा बाहिर विरोध भएको छ ।

बालुवाटारको वर्कसपमा दुई जनाको शव भेटियो

काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा दुई जनाको शव भेटिएको छ । जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसको हो भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ । अहिले बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् ।

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगीअड्डा अगाडि विरोध

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन्।नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै विरोध जनाएका हुन् ।

समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् । सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।

विधिको शासन बलियो बनाउन आग्रह गर्दै कांग्रेस नेता प्रदिप पौडेलको चार बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न सबै एकजुट हुनुपर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘२०८२ भदौ २३ र २४ गते भएका घटनाक्रम र उत्पन्न विषम परिस्थितिले सिंगो देश अन्यौलमा परेको छ । राजनीतिक शून्यताको यस परिस्थितिलाई चिर्दै लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन तथा देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न हामी सबै एकजुट हुन आवश्यक छ ।’

राष्ट्रिय एकता, शान्ति, स्थिरता र समृद्धिको मार्गमा मुलुकलाई लैजान विशेष इतिहास निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले यो संवेदनशील समयमा देशलाई शान्ति र प्रगतिको मार्गमा फर्काउन संयम, संवाद र एकताको खाँचो औंल्याएका छन् ।

‘अहिलेको यस संकटको क्षणलाई हामी सबै मिलेर राष्ट्रिय पुनर्जागरणको अवसरमा परिणत गर्नुपर्ने समय आएको छ,’ पूर्वमन्त्री समेत रहेका पौडेलले भनेका छन्, ‘राष्ट्रिय एकता, संयमता र संवादको माध्यमबाट युवाहरूको भावनाबमोजिम वर्तमानमा निकास खोज्न र लोकतान्त्रिक नेपालको यात्रालाई सुनिश्चित गर्न संविधान र विधिको शासन भित्र रहेर समस्याको समाधान गर्न सम्माननीय राष्ट्रपति, सम्पूर्ण जेन जी युवाहरू तथा सबै राजनीतिक दलहरू र नागरिक समाजमा हार्दिक अनुरोध गर्दछु ।’

यसै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले थालेको संवाद तथा वार्ताको पहल स्वागतयोग्य रहेको भन्दै उनले सबै पक्षलाई संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । साथै, सुरक्षा निकायहरूले शान्ति स्थापनाका लागि गरिरहेको कार्यमा सहयोगका लागि आमनागरिक, समाज, सञ्चार जगत तथा सम्बन्धित सबै पक्षसँग अपेक्षा पनि गरेका छन् ।

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा नयाँ मुलुक निर्माणमा एकताबद्ध भई जुट्न नेपाली कांग्रेसका देशभरका नेता तथा कार्यकर्ता सबैमा हार्दिक अपील गर्दछु ।

मुलुकलाई तत्काल निकास दिन नेपाली कांग्रेसको बैठक आयोजना गरेर अन्तरिम सरकारको गठन, संविधान संशोधन लगायतका विषयमा निर्णय गर्नुपर्ने प्रस्ताव समेत उनले गरेका छन् ।

संविधान संशोधन गरी राज्यको पुर्नसंरचना गर्ने र अनावश्यक प्रावधानहरू खारेज गर्नुपर्ने उनको प्रस्ताव छ । उदाहरणका लागि उनले प्रतिनिधि सभामा समानुपातिक प्रतिनिधित्व हुने गरी सबै सांसदहरू प्रत्यक्ष निर्वाचित हुने १०५ जनाको संसद बनाउने, प्रदेशमा विद्यमान सांसद संख्या आधा कायम गर्ने, स्थानीय तहको संख्या घटाएर ५० प्रतिशतमा झार्ने, संघीय मन्त्रिपरिषद् १५ सदस्यीय बनाउने र प्रदेशको बढीमा ५ सदस्यीय मन्त्रीमण्डल रहने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।

पछिल्लो समय उत्पन्न भएको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने सम्बन्धमा तत्काल भर्चुअल वा भौतिक रूपमा पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरी राष्ट्रिय सरकार गठन तथा मुलुकको विद्यमान समस्या समाधानका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने पनि उनले बताएका छन् ।

पोखरामा जलाइएको घरमा मृत भेटिएकी युवती दोलखाकी

पोखरा । पोखरामा जलाइएको घरमा मृत फेला परेकी युवती दोलखाको भएको पुष्टि भएको छ । दोलखाको वैतेश्वर गाउँपालिका–८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको उनका छिमेकी पुष्कर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन् । उनको शव लिन भिनाजु र भाइ पोखरा गएका छन् । दोलखामा रहेका स्वस्थानीका बुबा आमा काठमाडौं जाँदै गरेको अधिकारीले जानकारी दिए । स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो । खड्काको बुधबार जलेको अवस्थामा शव फेला परेको थियो ।

त्रिविका क्याम्पस छठ पर्वपछि मात्रै खुल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।

सूचनामा भनिएको छ, ‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित, के–के कागजात बोक्नु पर्छ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखि नै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ ।

‘विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ’, उनले भने । विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्‍याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।

निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानु पर्नेछ ।

‘जेनजी पुस्ता’ का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखिनै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।

विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक तीन सयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

निषेधाज्ञाकै बीच चार घण्टाका लागि खोलियो बैंक

काठमाडौं । निषेधाज्ञाकै बीच काठमाडौं उपत्यकाका बैंकहरू खाेल्न थालिएको छ । गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिएपछि बन्द भएका बैंकहरू बिहीबारदेखि पुनः सञ्चालनमा आएका हुन् ।

आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो । नगन्य क्षतिकैबीच बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो । बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसो २ बजेसम्म खुला रहने जनाइएको छ । संघले अधिकतम तीन वटा शाखासम्म खोल्न भनेको छ ।

संघको निर्णय पालाना गर्दै अहिले काठमाडौँका बाणिज्य बैंकहरूले आफ्ना शाखा कार्यालयहरूबाट सेवा दिइरहेका छन् भने विकास बैंकहरूले पनि फाट्टफुट्ट रुपमा सेवा दिन थालेका छन् । योसँगै अन्य वित्तीय सेवा प्रदायक संस्थाहरूले पनि आजबाट आंशिक रूपमा सेवा चालु गरेका छन् ।

संवैधानिक प्रक्रियाबाट निकास निकाल्न पापडको सुझाव

काठमाडौं । शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन पेसागत सञ्जाल (पापड) ले सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो ।

पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ ।

‘अहिले मुलुक तरल अवस्थामा पुगेको छ । तत्काल राजनीतिक निकासको विषयमा अन्यौलता देखिएको छ । यस्तो संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उचित देखिंदैन’, पापडले भनेको छ, ‘तसर्थ, तत्काल शान्तिपूर्ण समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट अबको निकाश निकालिनु पर्दछ ।’

जेनजीले उठाएको संरचनात्मक सुधारका मागहरूलाई समेट्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियामार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडि बढ्नु पर्ने पापडको सुझाव छ ।

 

संसद विघटन नगर्न जेन-जीलाई सीके राउतको सात बुँदे प्रस्ताव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले वार्तामा रहेका जेन–जी प्रतिनिधिलाई संसद् विघटनको निर्णय नगर्न आग्रह गरेका छन् । उनले वर्तमान संकट समाधानका लागि सात बुँदे प्रस्ताव समेत प्रस्तुत गरेका छन् । जेन–जीलाई सम्बोधन गर्दै राउतले बिहीबार बिहान वक्तव्य जारी गरी अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद्लाई भंग नगर्न आग्रह गरेका हुन् ।

‘देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ । राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उभ्याएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौँ’, उनले भनेका छन् ।

चेतावनी दिँदै उनले अगाडि भनेका, ‘यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद्लाई भंग गर्नु भयो भने अर्को १० वर्ष तपाईंहरूलाई संविधान बनाउनका लागि नै अल्झाइराख्छन्, काम गर्ने वातावरण नै बन्दैनन् । त्यो प्यानडोराज बक्स हो । त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसद्लाई नै कायम रहन दिई (भलै हामी त्यहाँबाट राजीनामा दिइसकेका छौँ, तैपनि भनिराखेका छौँ) निर्वाचन गराउनेतिर लाग्नु पर्दछ । ६ महिनाभित्र निर्वाचन गराउन सकियो भने त नयाँ प्रतिनिधिसभा पाइहाल्नु हुन्छ, त्यसैले अहिले रिक्तता सिर्जना नगरौं ।’

हेर्नुस् सीके राउतको पूरा वक्तव्य :

प्रिय जेनजी,
तपाईंहरूले देशको निकासको लागि गरीराखेको पहलको समयमा केही कुराहरू याद राख्नुपर्ने हुन्छ । देश केवल म्ष्कअयचम ग्रुपको, एउटा निश्चित वर्ग, जाति र समूहको मात्रै होइन, तपाईंहरूले गर्ने हरेक निर्णय मेचीदेखि महाकाली, हिमाल पहाडदेखि तराई–मधेससम्म, कर्णाली र सुदूरपश्चिमदेखि मधेस र लुम्बिनीसम्म, खस–आर्यदेखि मधेसी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, पिछडावर्गसहित सीमान्तकृत वर्गसम्म सबैले अपनत्व लिने गरी हुनु पर्दछ । सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने खालको हुनु पर्दछ ।

तपाईंहरूले आन्दोलन गर्नु भयो तर पर्दापछाडि यसै अवसरलाई दुरुपयोग गर्न धेरै कुराहरू भइराखेका छन् । देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ । राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उभ्याएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौँ ।

त्यसैले अहिलेको संक्रमणकालीन स्थितिमा संशोधनको आवश्यकता पक्कै रहे पनि संविधानलाई चलाउने होइन (निर्वाचन पछि गर्दा हुन्छ) र अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद्लाई पनि भंग गर्नु हुँदैन, अन्यथा देशमा रिक्तता निम्तिन्छ । दशकौँको आन्दोलन र बलिदानीपछि सम्भव भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तोसुकै परिस्थितिमा हामी रक्षा गर्न तैयार रहनुपर्छ, केही पात्रहरूले जतिसुकै दुष्प्रचार गरे पनि यो देशको अस्तित्वको रक्षाको लागि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्नै पर्छ ।

यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद्लाई भंग गर्नुभयो भने अर्को १० वर्ष तपाईंहरूलाई संविधान बनाउनका लागि नै अल्झाइराख्छन्, काम गर्ने वातावरण नै बन्दैनन् । त्यो ‘प्यानडोराज बक्स’ हो। त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसद्लाई नै कायम रहन दिई (भलै हामी त्यहाँबाट राजीनामा दिइसकेका छौँ, तैपनि भनिराखेका छौँ) निर्वाचन गराउनेतिर लाग्नु पर्दछ । ६ महिनाभित्र निर्वाचन गराउन सकियो भने त नयाँ प्रतिनिधिसभा पाइहाल्नु हुन्छ, त्यसैले अहिले रिक्तता सिर्जना नगरौं ।
त्यसको अलावा हामीले ध्यान दिनुपर्ने भनेकोः

१) कानुनी राज्य (ल एन्ड अर्डर) पूर्णतः स्थापित गर्नुपर्ने। अस्थिरता, त्रास र डरको माहोल हुँदा पूरै देशको राजधानीको कुनाकुनामा मात्रै होइन, देशको कुनाकुनामा पनि सबैलाई सुरक्षाको प्रत्याभूति गराउने ।

२) नेसनल टास्क फोर्स (NTF) गठन गर्ने र हरेक परिवारबाट एउटा स्वयंसेवक दिनैपर्ने गरी ड्राफ्टिङ गर्ने र राष्ट्रियदेखि टोलस्तरसम्म पुनर्निमाण, विकास तथा सुशासनका लागि युद्धस्तरमा खटाउने ।

३) ट्राइब्युनल गठन गर्ने र आन्दोलनमा भएको जनधनको क्षति, हिंसा र घुसपैठ आदिको छानबिन गर्ने, विगतका भ्रष्टाचारहरूको छानबिन गर्ने र भ्रष्टाचार गरेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने । सेट डेट तोकेर त्यसपछाडि भ्रष्टाचार गरे ’जिरो टोलेरेन्स’को नीति लिई कडा कारबाही गर्ने ।

४) विश्व समुदाय, दातृ–संस्था तथा बहुपक्षीय संगठनहरूको भेला गर्ने र विकास तथा पुनर्निमाणको लागि सहयोग र सहकार्य गर्न अपिल गर्ने, गुमेको विश्वासलाई पुनस्र्थापित गर्न राज्यले उत्तरदायित्व लिने गरी सबैको लगानी सुरक्षित रहने सुनिश्चितता गर्ने र लगानी आकर्षित गर्ने ।

५ )युद्धस्तरमा टास्क फोर्स र स्वयंसेवक परिचालित भएर पुनर्निमाण र विकासको कार्य थाल्ने ।

६) उद्योग र रोजगारीको लागि लाग्ने ताकि कतै बेरोजगारी नै नरहोस् ।

७) (हुनसक्छ) १० वर्षसम्म सबै सम्पत्ति राष्ट्रियकरण गर्ने (आत्तिनु पर्दैन १० वर्ष पछि फिर्ता पाउने गरी राज्यलाई १० वर्षसम्म नागरिकले आफ्नो घरजग्गा लिजमा दिएको जस्तो र पैसा पनि आन्तरिक ऋण दिएको जस्तो) र १० वर्षसम्म राज्यले नागरिकको पूर्ण अभिभावकत्व लिने । नागरिकले खाना कसरी खाने, के लगाउने, कसरी पढाउने, कसरी उपचार गर्ने आदिको कुनै चिन्ता नै न लिनु परोस् र पूर्ण रूपले देशको विकास र निर्माणका लागि युद्धस्तरमा खट्न सकोस् भनेर ।

जेनजी आन्दोलन र माओवादीका मुद्दा समान छन्, देश अग्रगमनतर्फ अघि बढ्ने ढोका खोल्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिंड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।

आज (बिहीबार) विज्ञप्तिमार्फत उनले विगतमा आफ्नो नेतृत्वको सरकारले चालेको सुशासनको कदमबाट त्रसित भएर बनेको काग्रेस–एमालेको सरकारको दमन र कुशासनकै कारण जेनजी पुस्ताका युवाहरूसहित जनताको आक्रोशले विष्फोटको रुप लिएको उनको भनाई छ ।

१० बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका पूर्व प्रधानमन्त्री प्रचण्डले जेनजी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा हुनुपर्नेमा पनि जोड दिएका छन् । त्यसका लागि राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भूमिकाको उनले सराहना पनि गरेका छन् ।

‘जेनजी पुस्ताले उठाएका माग संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपील गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु ।’

हेर्नुस् प्रचण्डको विज्ञप्ति
जेन–जी पुस्ताका युवाहरू तथा आदरणीय जनसमुदाय

समुन्नत लोकतन्त्रको सपना सांचेर सुशासनका पक्षमा जेन–जी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

१. सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद् रुपमा तपाई हाम्रासामु देखिएको छ । भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रुप लियो । जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चायो । सामाजिक सञ्जाल प्रतिवन्ध तथा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन सही थियोे तर त्यसमाथी सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो ।

२. आन्दोलनको दोश्रो दिन व्यवस्थापिका संसद भवन, राष्ट्रपति निवास, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकायका कार्यालयलगायत दर्जनौं सार्वजनिक संरचना, राजनीतिक दलका कार्यालय, नीजि आवास, होटल, बैक, व्यावसायिक भवनहरुमा जे जसरी तोडफोड, लूटपाट र आगजनी गरियो, जसरी राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण भयो, त्यो जेन–जी आन्दोलनकारीले गर्न सक्दैनन, ऊनीहरुबाट भएका होइनन् र भएका घटनाहरु उनीहरुको आदर्श अनुरुप पनि छैनन् भन्ने हाम्रो ठहर छ । हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लूटपाट र आगजनीका घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन गर्न माग गर्दछौं ।

३. केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा मैले संसदको रोष्टमबाट गठबन्धनको सरकार जुन उदेश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको थिएँ। त्यसपछि पनि हाम्रो पार्टीले सरकार गलत बाटोमा हिँडिरहेपछि सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरुमा लगातार कठोर आत्मसमिक्षासहित सच्चिन बारम्बार आग्रह गरेको र कुशासनका शृंखला जारी नै रहेमा जनताको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्ने भन्दै सचेत गराउँदै आएको थियो। हजारौं सहिद, वेपत्ता नागरिक तथा घाइते अपांग जनताको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा हामीबाट भए, गरेका कमीकमजोरीको निर्मम आत्मसमीक्षा गर्दै सुशासनमुखी उन्नत लोकतन्त्रका पक्षमा अघि बढ्न निरन्तर खबरदारी गर्यौँ। तर, दुई तिहाई संख्याको दम्भमा सरकार संवेदनहीन बनिरह्यो। सरकार भने अहमकारकै बाटोमा लागि रह्यो। अझ सामाजिक संजालमा प्रतिबन्ध लगाउने तथा दमनको निरंकुश बाटोमै अघि बढिरह्यो। यसले सिर्जना गरेको परिस्थितिका कारण जेन जी पुस्ताका युवाहरूसहित जनताको आक्रोश विष्फोट हुन पुग्यो । युवाहरुको आवाज सुन्नुको साटो सरकारले गरेको नरसंहारका कारण ठूलो मानवीय क्षति भयो ।

४. हामीले भ्रष्टाचारका विरुद्ध निरन्तर आवाज उठाउँदै आयौं। पछिल्लोपटक सरकारको नेतृत्व गर्दा समेत सुशासनको विषयमा निर्णायक पहलकदमी लिएको विदितै छ । प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसदहरु मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरुको सम्पत्ति छानबीनका लागि अधिकारसम्पन आयोगका पक्षमा हामीले आवाज उठायौं । आज जेनजी पुस्ताले समेत यिनै मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो। जेन जी पुस्ताले आन्दोलनको घोषणा गरेपछि हामीले त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेको कुरा स्मरण गराउन चाहन्छु। आन्दोलनको दोश्रो दिन आयोजकको पूर्ववत घोषणाविपरीत अवाञ्छित तत्वहरूको घुसपैठ देखा पर्न थाल्यो । त्यस्ता तत्वहरुबाट नेपालको ऐतिहासिक धरोहर र गौरवका रुपमा रहेका सिंहदरबार सहितका संरचनामा जे जसरी लूटपाट र आगगजनीका घटना भए, ती इतिहासमै सर्बाधिक नकारात्मक घटना बन्न पुगे । जेनजी युवा र हामिले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो ? यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ । यसखालका घटना जेन जि पुस्ताको घोषित नीति र आदर्शविपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।

५. कुनै बेला तत्कालिन सत्ताले जनताका कुरा नसुन्दा हामीले जनयुद्ध सुरु गर्नुपरेको थियो। जनयुद्ध कुनै रहर थिएन। जनयुद्ध जनतामाथि भइरहेको चरम शोषण, दमन र हिंसाविरुद्धको प्रतिरोध थियो । नेपालकै इतिहासमा पहिलोपटक पीँधमा रहेका वर्ग, जाति, क्षेत्र र समुदायले आफ्नो आवाज मुखरित गरेँ। हजारौं जनताको बलिदान भयो। कैयन् अझै पनि वेपत्ता छन, अंगभंग र घाइते छन् । शान्ति, सुशासन र समृद्धिमा जानुपर्छ भन्ने विश्वासका साथ १२ बुदे सहमति, १९ दिने जनआन्दोलन हुँदै तत्कालीन ७ दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र मैले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर देश संविधानसभामा प्रवेश ग¥यो । राज्यको निर्मम दमनविरुद्ध जनयुद्ध, जनआन्दोलन र विभिन्न समुदायका जनताको बलिदानीपूर्ण संघर्षकै कारण हामीले लोकतान्त्रिक गणतन्त्रको संविधान कोर्न सफल भयौं। नेपालकै इतिहासमा पहिलोपटक दलित, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिम लगायत उपेक्षित उत्पीडित वर्ग र समुदायको संविधानमार्फत अधिकार सुनिश्चित गरियो। सिंहदरबारमा केन्द्रीत अधिकार गाउँसम्म पुग्यो । यो चानचुने उपलब्धि थिएन। आज नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको चर्चा गर्दा हामीले इतिहासको यो बलिदानलाई स्मरण गरेर र यसकै जगमा टेकेर मात्रै अग्रगमनतर्फ बढ्ने संकल्प गर्नु पर्दछ ।

६. हामीले संविधान कार्यान्वयनमा पर्याप्त गम्भीरता देखाउन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । त्यसो त संविधान जारी गर्ने बेलामा नै हामीले संविधानमा फरक मत राख्यौं। प्रत्यक्ष कार्यकारी रहने निर्वाचन प्रणालीको वकालत गरर्यौं, दलित, महिला, आदिवासी, जनजाति लगायतका समुदायका थप अधिकार सुनिश्चित गर्नुपर्ने एजेण्डाहरू फरक मतका रूपमा राख्यौं । २०४६ सालयताका सार्वजनिक पद धारण गरेका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानविनका लागि अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने, सांसदहरू मन्त्री बन्न नपाइने र विज्ञहरु मन्त्री बन्नुपर्ने लगायतका हाम्रा फरक मत थिए । त्यतिखेर शक्ति सन्तुलनका हिसाबले संविधान जारी गर्नैपर्ने परिस्थितिमा लिखित फरक मत राखेर समेत हामीले संविधान जारी गरर्यौं । यी फरक मतहरु हाम्रा अहिले पनि छन्। हामीले अघि सारेका यिनै मतहरू सुनिश्चित नहुँदा र जारी भएको संविधान कार्यान्वयनमा समेत कांग्रेस र एमाले परम्पराभन्दा माथि उठन नसक्दा जनतामा आक्रोश चुलिन पुग्यो। आज तिनै मागलाई जेन जी पुस्ताले उठाएको छ । हामीले यसलाई सकारात्मक रूपमा लिएका छौं। आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ । यसका लागि जेन–जी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ ।

७. जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ । यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेका छन् । हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।

८. हाम्रो ठहर छ, कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनु पर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्‍याउने छ । त्यसैले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं । यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं ।

९. नेकपा (माओवादी केन्द्र) नेपाली समाज रुपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो । हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष ग¥यौं । त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं । गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरु एउटै होइनन् । गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने पार्टी हो हाम्रो । नयाँ र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो । हामी यथास्थितमा बस्न चाहन्नौं । त्यसैले परिवर्तनविरोधीहरुबाट माओवादी केन्द्रबारे भइरहेका झूटो प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्न चाहन्छौं । अग्रगामी परिवर्तनका पक्षमा हुने, नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा हाम्रो साथ, समर्थन रहने छ ।

१०. संक्रमणकालिन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढन शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आमजनसमुदायसँग अपील गर्दछु । साथै, जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लूटपाट र आगजनी लगायतका गतिविधि हुनसक्ने सम्भावनाप्रति सजग रहँदै जनतालाई आइपर्ने कुनै पनि खालको समस्यासँग जुध्नका लागि जनताको साथमा रही तम्तयार रहन पार्टीपंक्तिलाई निर्देशित गर्दछु ।

अन्तमा,
जेन जी पुस्ताले उठाएका मागहरु संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपील गर्दछु । साथै प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्ति पूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु ।

प्रचण्ड

राष्ट्र हितका लागि सरकारको नेतृत्व प्रस्ताव स्वीकार गरेकी छु : सुशीला कार्की

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफू अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन् । आन्दोलनकारी जेनजी प्रतिनिधिको चाहनाअनुसार जंगी अड्डामा जारी वार्ता उनकै नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिएका बेला पूर्व प्रधानन्यायाधीश कार्कीले भारतीय टेलिभिजन च्यानल न्युज १८ लाई अन्तर्वार्ता दिँदै आफू त्यसका लागि तयार रहेको बताएकी हुन् ।

‘उनीहरूले मलाई चुनावी प्रयोजनका लागि छोटो समय सरकारको नेतृत्व गर्न भनेका छन् । मैले यसलाई स्वीकार गरेकी छु’, उनले भनेकी छन्। उनले आफू अन्तरिम सरकार प्रमुख भएपछि गर्ने कामका विषयमा पनि चर्चा गरेकी छन् ।

‘मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेनजीको परिवारलाई राहत दिनु हुनेछ । अहिले उहाँहरूको एउटा माग अर्थात् प्रधानमन्त्रीको राजीनाको माग पूरा भइसकेको छ । सरकार बनेपछि अरू धेरै कुरा पूरा गर्न सकिन्छ’, कार्कीले भनेकी छन्, ‘उनीहरूसँग मैले अन्तिम कुरा गरेको छैन । हिजो प्रस्ताव गरेका थिए, मैले स्वीकारें । पहिलो त शान्तिको आवश्यकता नै हो। म भन्दिनँ कि म ठुलो आर्थिक सुधार ल्याउँछु । मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो । अहिलेको अवस्थामा ध्वस्त भएको भवनलाई केही निर्माण गर्न सकिन्छ । तर, निष्पक्ष निर्वाचन होस् भन्ने हो। पैसा बाँडेर कोही नेतृत्वमा नआओस्, हाम्रो यही प्राथमिकता हो ।’

पूर्व प्रधानन्यायाधीश कार्कीले निर्वाचनका विषयमा पनि चर्चा गरेकी छन् । ‘नयाँ चुनावमा के नयाँ पुस्ता वा युवा आउँछन्, किनकि आन्दोलन त युवा पुस्ता आउनु पर्‍यो भनेर भएको हो नि । हामी कसैलाई चुनाव नलड् भनेर त भन्न सक्दैनौं । कोही पार्टीगत रूपमा आउलान्, कोही स्वतन्त्र रूपमा आउँलान् । यो त उनीहरूको रोजाइ हो । कोही नयाँ पार्टी गठन गरेर चुनावमा आऊन् वा कुनै पुरानो दल आएर त्यो गर्छन् भने पनि ठिकै छ’, उनले भनेकी छन् ।

उनले चुनाव गराउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताएकी छन् । ‘चुनाव गर्न त समय लाग्ला । ६ महिना लाग्ला, एक वर्ष लाग्ला । तर छोटो समयमा चुनाव गरेर हस्तान्तरण गर्छौं । म कार्यकारी व्यक्ति होइन, म जज हुँ । मलाई राजनीतिमा रहेर केही गर्नु छैन’, उनले भनेकी छन् ।

आउँदो कात्तिक १० सम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन गर्ने भएको छ । आज (बिहीबार) बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हो ।

आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको सूचनामा उल्लेख छ । नियमित पठनपाठन आगामी कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने त्रिविले जनाएको छ ।

हेर्नुस् सूचना

मेरो रिस वृद्ध बा–आमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्ना वृद्ध बुवा–आमा बसेको चितवनको घरमा गरिएको तोडफोडप्रति दुःखेसो व्यक्त गरेका छन् । उनले ललितपुरको भैँसेपाटीस्थित आफ्नो घर जलाएर पनि नपुगी बिरामी बुवाआमा बसिरहेको चितवनस्थित घरमा ढुंगामुढा गरिएका चित्त दुखाएका हुन् ।

‘सुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीया बुढी आमाको सुत्ने कोठा हो । उहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नु भएको पनि हो’, घरमा आक्रमण गरिएको भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दै बिहीबार बिहान उनले लेखेका छन्, ‘मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् ।’

गभर्नर पौडेलका अनुसार चितवनको घर लगभग १५ वर्षअघि उनी विद्यार्थी छँदा नै बनाइएको हो । जहाँ उनी अहिले पनि हरेक हप्ता बाआमासँग बसेर खाना खान पुग्थे ।

‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केही अघि रक्त अल्पता भइराखेर बाँच्नु हुन्न कि जस्तो भएकोमा अहिले सन्चो हुँदै थियो । ६७ वर्षअघि चितवन झर्नु भएका बाका सबै सन्तान यहीँ जन्मेका हुन्’, पौडेलले भनेका छन्, जिन्दगीमा मैले कसैसँग एक रुपैयाँ मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधैँ कक्षामा फस्र्ट हुन्थें । गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयूमा प्राध्यापक भएँ । बाआमा दुवै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ ।’