`

लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता

सिरहा । नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम रु ४४ करोड नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्मको तथ्याङ्कअनुसार बाँकी बक्यौता रु ४४ करोड ९२ लाख ५७ हजार १८४ रहेको छ ।

कार्यालयले बक्यौता असुल गर्न विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि हालसम्म रु १७ लाख ३२ हजार ३१२ सङ्कलन गर्न सफल भएको छ । वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार बाँकी बक्यौता रकम तिर्नुपर्नेमा उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरू रहेका छन् ।

“कृषि सिँचाइ मिटरअन्तर्गत लहान नगरपालिकाले मात्रै रु एक करोड ३९ लाख ८७ हजार ६२२ तिर्न बाँकी छ”, प्रमुख गुप्ताले भने, “गत असार २५ गते पत्र काटिएको भए पनि हालसम्म नगरपालिकाले कुनै भुक्तानी गरेको छैन ।”

प्राधिकरणको नियमअनुसार उपभोक्ताले ६० दिनभित्र विद्युत् महसुल तिर्नुपर्ने व्यवस्था भए पनि लहान वितरण केन्द्रमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन नसकेको उनको भनाई छ । “अब बाँकी रकम असुल गर्न लाइन काट्नुबाहेक हामीसँग अर्को विकल्प छैन”, गुप्ताले भने ।

विद्युत् चुहावटको अवस्था पनि वृद्धि हुँदै गएको छ । आव २०८०/८१ मा चुहावट दर ३१ दशमलव ६५ प्रतिशत रहेकामा आव २०८१/८२ मा बढेर ३८ दशमलव १० प्रतिशत पुगेको प्रमुख गुप्ताले जानकारी दिने। उनका अनुसार चालु आवको साउन मसान्तसम्ममा यो दर बढेर ४४ दशमलव ४६ प्रतिशत पुगेको छ । यसैबीचमा प्राधिकरणले ७०३ जना ग्राहकलाई कारबाही गरी रु ३१ लाख ५४ हजार २२५ चुहावट महसुल असुल गरेको कार्यालयले जनाएको छ ।

सिरहामा प्राधिकरणका लहान, मिर्चैया र सदरमुकाम गरी तीन वटा वितरण केन्द्र रहेका छन् । लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका र बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी, नवराजपुर तथा भगवानपुर गाउँपालिका रहेका छन् ।

कात्तिक मसान्तसम्म मतदाता नामावली नाम दर्ता गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । ‘कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने छन्’, कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ । तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ ।

 

माओवादी वैठकमा सुदन किरातीको प्रश्न : हाम्रो प्रतिनिधित्व कसले गर्ने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले पार्टी बैठकमा सबै नेताले आ–आफ्नो कुरा राख्न पाउनु पर्ने माग गरेका छन् । आज (बिहीबार) देखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा किरातीले सबैले आफ्ना कुरा आफैले राख्नु पर्ने माग गरेका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने प्रतिवेदनमा भौगोलिक र गैरभौगोलिक समूह बनाउने र त्यहाँ छलफल गरेर हलमा निष्कर्ष र सुझाव प्रस्तुत गर्ने कार्यसूची थियो । यसमा असहमति जनाउँदै केही नेताहरूले सबैले वर्तमान परिस्थितिबारे दुई-तीन मिनेट भए पनि बोल्न पाउनु पर्ने भनेका थिए । माओवादी निकट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रञ्जित तामाङले नेताहरुमा बाहिर अनेक बोल्ने तर पार्टी बैठकमा केही नबोल्ने प्रवृत्ति भएको बताएका छन् ।

‘अहिलेको परिस्थितिका विषयमा बाहिर अनेकौं कुराहरू आइराखेका छन् । बाहिर राखेका कुराहरू हामी आधिकारिक मानिरेहका छैनौं । अवको यो स्थितिमा पार्टीको संगठनलाई कसरी अगाडि लाने हो भन्ने दृष्टिकोणमा सबैले दुई-तीन मिनेट राख्नुपर्छ । बाहिर अनेकौं तर्क राख्ने । पार्टीको बैठकमा केही नराख्ने । केही सीमित मान्छेहरूले मात्रै राख्ने अवस्थाले अहिलेको अवस्थालाई नेतृत्व गर्न सकिँदैन,’ तामाङले भने । तामाङलाई बीचमा रोकेर महासचिव देव गुरूङले ती सबै विषयवस्तु समूहगत छलफलमा पनि आउने बताएका थिए । त्यसपछि सुदन किराती बोलेका हुन् ।

‘आमाले त आफ्नो नानीको प्रतिनिधित्व गर्न सक्दैन भने यहाँ कसैले हाम्रो प्रतिनिधित्व गर्न सक्दैन । हामी आफै बोल्नु पर्छ,’ किरातीले भने । पूर्व पर्यटन मन्त्री समेत रहेका किराती माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । शर्माले जेनजी आन्दोलनपछिको परिस्थितिमा अध्यक्षलगायत सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र वरिष्ठ नेताको संयोजकत्वमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव आइतबारको बैठकमा राखेका थिए । उनले पार्टीको नेतृत्वमा पुस्तान्तरणको विषयलाई उठाउँदै आएका छन् ।

देशभर स्थानीय वायुको आंशिक प्रभाव रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रचण्डको आशंका : नेताहरूलाई जेल हालेर चलखेल हुनसक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनपछि देश झनै गम्भीर मोडमा रहेको भन्दै धेरैखाले चलखेलहरू भइरहेको दाबी गरेका छन् । केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले संविधान मास्ने, अन्तरिम सरकार जारी गर्ने र देशमा विभिन्न बहानामा अराजकता मच्चाएर प्रतिगामी शक्ति हावी गराउने खेल हुनसक्ने आशंका गरिएको छ । प्रचण्डले लोकतान्त्रिक दलका नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउने खतरा समेत औंल्याएका छन् । उनले सबै परिस्थितिलाई गम्भीरता साथ लिएर फागुन २१ मै चुनाव गराउन लाग्नुपर्ने बताएका छन्।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भनिएको छ– जेनजी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धिहरू माथिको संकट भने टरेको छैन । विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थसिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन् ।

यो सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन जोड दिनुपर्छ । प्रचण्डले यसबीचमा आफूसहितको पहलमा संविधान जोगाउन सफल भइएको भन्दै षडयन्त्रहरू कायमै रहेको बताएका छन् । उनले शीतल निवासमा सुशीला कार्की प्रधानमन्त्री बन्नुअघिका वार्तामा वार्तामा आफूले संविधान र लोकतन्त्रमा कुनै सम्झौता गर्न नसकिने, संसदबाटै नयाँ सरकार गठन गरी समस्याको निकास खोजिनु पर्ने, संसदबाटै नयाँ जनादेशमा जानुपर्ने, संसदले नियमित कारवाही नगर्ने तर जेनजीले उठाएका प्रत्यक्ष कार्यकारीलगायतका मागहरु सम्बोधन गर्नुपर्ने अडान प्रस्तुत गरेको जनाएका छन् ।

लोकतन्त्रमाथि सरकारकै गतिविधिका कारण संकट आउनसक्छ र जनतामा चुलिएको आक्रोश कुनै पनि बेला सडक तथा सदनबाट विष्फोट हुनसक्ने भन्दै आफूहरुले चेतावनी दिएको पनि प्रचण्डले जनाएका छन् । ‘तर सरकारले हाम्रो खबरदारीको संवेदनशीलता र गाम्भीर्यता बोध गरेन । बरु सरकार विचौलिया र दलालहरुको हितका पक्षमा एकपछि अर्को कुशासनका श्रृंखलामा तल्लीन रह्यो । दुई तिहाइ संख्याको दम्भमा संवेदनहीन बन्दै असन्तुष्टिका आवाजहरु दबाउँदै आएको सरकारले सामाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाएपछि परिस्थिति विष्फोटक बन्न पुग्यो’, प्रचण्डको प्रतिवेदनमा भनिएको छ ।

सरकारका यिनै गतिविधिहरुले सिर्जना भएको असन्तुष्टि र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुले उपयुक्त मौका पाए । यसकै परिणामस्वरुप गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेन जी आन्दोलन नरसंहारमा रुपान्तरित भयो ।

भदौ २४ गते राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सर्वोच्च अदालत, सिंहदरबार जस्ता देशकै ऐतिहासिक सम्पदाका साथै सयौं सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुका निवास, बैंक, वित्तीय संस्था, मिडिया तथा व्यावसायमा भीषण आगजनी, लुटपाट, तोडफोड गरिनुका साथै भौतिकरुपमा समेत आक्रमण गरियो र राष्ट्रले अकल्पनीय क्षति बेहोर्नु पर्‍यो ।

एउटा कुरा के प्रष्ट छ भने आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीका साथै राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण हुने कुरा पूर्णत नियोजित र योजनावद्ध थियो । हामीले नै उठाएका मुद्दाहरुमा सुरु भएको आन्दोलनमा हामीमाथि नै आक्रमण हुने जस्ता घटनाहरु जेन–जी आन्दोलनकारीले गर्न सक्दैनन, ऊनीहरुबाट भएका होइनन् ।

महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन

कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्ने उद्देश्यले वातानुकूलित महसुल काउन्टर सञ्चालनमा ल्याएको छ ।

केन्द्रको हालै निर्मित आधुनिक भवनभित्र सञ्चालनमा ल्याएको महसुल काउन्टरमा चारवटा एयर कण्डिसन (एसी)जडान गरिएको छ । केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार गर्मीयाममा सेवाग्राही लामो समयसम्म पालो पर्खिन बाध्य हुने अवस्थाको अन्त्य गर्न सुविधाजनक वातावरणमा महसुल बुझाउने व्यवस्था मिलाइएको हो ।

“पहिले गर्मीका कारण सेवाग्राहीलाई असुविधा हुने गरेको थियो, अहिले वातानुकूलित कोठामा सहजै पालो पर्खेर महसुल बुझाउन सक्ने भएका छन्”, श्रीवास्तवले भने । उनका अनुसार यस कदमले कर्मचारीलाई पनि काम गर्न सहज र उत्साहजनक वातावरण उपलब्ध गराएको छ । सेवाग्राहीको घुइँचो नियन्त्रण गर्न र सेवा प्रवाहलाई व्यवस्थित बनाउन महसुल काउन्टरमा टोकन प्रणाली लागू गरिएको उनले जानकारी दिए ।

ग्राहकले अनावश्यक समस्या र अवरोध बिना शान्तिपूर्वक पालोअनुसार महसुल बुझाउन सक्ने व्यवस्था गरिएको छ । वितरण केन्द्रअन्तर्गत हाल ७९ हजार विद्युत् ग्राहक छन् । तीमध्ये करिब ४० हजार ग्राहक महेन्द्रनगरको महसुल काउन्टरमार्फत महसुल बुझाउने गर्छन् ।

बाँकी ग्राहकलाई सहज बनाउने उद्देश्यले झलारी, गुलरिया र दोधारा–चाँदनी क्षेत्रमा पनि आय सङ्कलन काउन्टर सञ्चालन गरिएको केन्द्र प्रमुख श्रीवास्तवले जानकारी दिए। प्राधिकरणले पछिल्ला वर्षमा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा दिने उद्देश्यले नयाँ भवन, आधुनिक प्रविधि र व्यवस्थापकीय सुधार गर्दै आएको छ ।

वातानुकूलित काउन्टर सञ्चालनलाई पनि सोही अभियानको एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । स्थानीयवासीले विद्युत् महसुल बुझाउन अब सहज हुने र सेवाग्राहीलाई समय बचत हुने अपेक्षा व्यक्त गरेका छन् ।

कर्मचारीले घुस मागे, अनावश्यक दुःख दिए, रुखो व्यवहार गरे सिधै उजुरी दिनुस् : मन्त्री घिसिङ

काठमाडौं । अब विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरुमा अब सेवाग्राहीको गुनासो सम्बोधन हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा सेवाग्राहीको गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाएको हो ।

ऊर्जामन्त्री कुलमान घिसिङले विभिन्न मन्त्रालय, विभाग, आयोजन तथा मातहतका कार्यालयहरु यस्ता प्रकारका गुनासोहरु आए सेवाग्राहीलाई उजुरी गर्न अनुरोध गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले सम्हालेको मन्त्रालयअन्तर्गतका विभाग आयोजनाहरुमा सेवाग्राहीलाई दुख दिए खबर गर्न आग्रह गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा हुने ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा सेवाग्राहीको गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाइएको उनले बताए । कुनै गुनासो वा सुझाव भएमा विभिन्न माध्यमहरू प्रयोग गरी जानकारी दिन सकिने उनले बताए । मन्त्रालयपिच्छे फरक–फरक नम्बरहरु राखिएको छ । यसअघि अर्थ मन्त्रालयले पनि सेवाग्राहीलाई दुख दिए उजुरी गर्न भनिसकेको छ ।

हेर्नुस् सूचना

सडकको समस्याले हवाई चाप बढ्यो (तस्बिरहरु)

काठमाडौँ । मुग्लिन-नारायणघाट सडक अबरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरु हवाई यात्रातिर मोडिएका हुन् ।

यात्रुको चाप बढेसँगै विमान कम्पनीहरुले भाडा पनि बढाएका छन् ।

मुग्लिन-नारायणगढसँगै अन्य मुख्य राजमार्गहरुमा पनि समस्या छ । दशै‌को मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।

 

माटो बेचेर दसैँ खर्चको जोहो

महोत्तरी । दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खँर्चको जोहो गर्न थालेका छन् । सधैँ खँर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका हुन् ।

दशहरा (दसैँ), दीपावली र छठपर्वअघि विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्काउने मधेसको स्थापित परम्पराका कारण यहाँका गरिब परिवारले अतिरिक्त आर्जनको अवसर पाएका छन् । किसानको खेतपातीमा श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक अहिले माटोको खोजीमा निस्कन्छन् ।

दसैँमा कमेरे (सेतो), चिम्टाइलो (पहेँलो)र रातो माटोको माग हुने भएकाले श्रमिकका परिवार माटो खोज्न र बेच्न जुटेका छन् । पहेँलो र कमेरे माटो ठूलठूला पोखरीका डिल, नदी किनारको भिर र पुराना खाल्डा नजिक पाइन्छ । रातो माटो लिन चुरे पहाडका थुम्काहरूमा पुग्नुपर्ने भङ्गाहा–४ की हेमनी सदा मुसहरले बताएकी छिन् ।

“पवनी (पर्व)लाई हामीले साँचेर राखेको केही हुँदैन । दैनिक काम गरेर आउने रकमले जीविकोपार्जन भइरहेको छ”, उनले भनिन्, “हाम्रा लागि पवनीभित्रै अवसर आउँछन्, अहिले माटो बेचेर दशहरा मेलाका लागि खँर्च बनाउँदैछौँ ।” दशहरा खाने, पिउने, रमाइलो गर्ने पर्व भएकाले यसका लागि बढी खँर्चको जोहो गर्नुपर्ने उनको भनाई छ ।

अहिले माटो खोज्न, खन्न र ओसार्न बस्तीबस्तीबाट समूहमा निस्कने गरिएको उनले बताएकी छिन् ।

ग्रामीण बस्तीमा अधिकांश बाँसका चोयाको बारसहितका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठअघि माटोले पोतेर रङग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले श्रमिकले अतिरिक्त नगदको जोहोमा जोड्दै छन् ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह, विभिन्न खेतका डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । अहिले गरेको मेहनतले आफ्नो घर पोत्न, दुर्गामेला खँर्च र पवनीमा घरखर्चको व्यवस्थापन गर्न सकिने स्थानीय भुठ्ठी सदाले बताईन्।

नवरात्रको आज चौथो दिनसम्ममा भङ्गाहा–६ की पुर्नी महराले रु पाँच हजारको माटो बेचिसकेकी छिन् । अझै दुई–तीन दिन मेहनत गर्दा थप रु पाँच–सात हजार आम्दानी हुने जनाउँदै उनले यसले पर्व खँर्चको व्यवस्थापन हुने बताईन् । “दशहरा पर्व सुरु भएसँगै गरिब बस्तीका महिलाले घर पोत्ने, रङग्याउने काम पनि पाएका छन् । अरु बेलाको भन्दा अलि बढी पारिश्रमिक पाइने हुँदा श्रमिकहरूलाई यो पनि अवसर बन्ने गरेको छ”, उनले भनीन्।

महोत्तरीका भङ्गाहा, मेघरोल, मदनपट्टी, पर्सा, धरमपुर, भीमगढ, मझौलिया, बनरा, गोरहन्ना, निगौल, बिसरपुर गौशाला रजखोरबिर्ता र धनसपुरसहितका थारु बस्तीमा अहिले माटो सङ्कलन गरी बेच्नेको व्यस्तता देखिन्छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, विभिन्न रङका माटो सङ्कलन गरी बेच्न व्यस्त छन् । घरघरमा हाँस, कुखुरा र परेवा पाले पनि थारु बस्तीका घरहरू सफा चिटिक्क देखिन्छन् । घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला अब्बल देखिन्छन् ।

अहिले थारु महिलाको सङ्गतले अन्य समुदायका गरिब महिला पनि माटो सङ्ग्रहमा लागेका छन् । अहिले माटो जम्मा गर्नसके मेलामा रमाउन र स–साना नानीहरूको खानपिनको रहर पुर्‍याउन सहयोग पुग्ने भएकाले माटो सङ्कलनमा जुटेको स्थानीय आसवती चौधरीले बताएकी छिन् । उनका अनुसार अहिले जम्मा गरेको माटो दसैँपछिको दीपावली र छठसम्म बिक्री हुन्छ ।

मधेसका ग्रामीण बस्तीमा बाँसका कच्चीघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने भएकाले लिपपोत गर्न माटो आवश्यक पर्ने चौधरीको भनाई छ । प्रत्येक वर्षको दसैँ, तिहार र छठमा घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिलालाई माटो बेचेर चाडपर्वको खँर्च जोहो गर्ने अवसर बन्ने उनले बताएकी हुन् । पछिल्ला वर्षहरूमा बस्तीबस्तीमा पक्कीघर बन्ने थालेपछि यो कामको विकल्प खोज्ने बेला आएको श्रमिक महिला बताउँछन् ।

प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् । आज (बिहीबार) बाट काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन् ।

त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले राखेको राजनीतिक एवं संगठनात्मकमाथि प्रदेश अनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।

बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीका बारेमा महासचिव देव गुरुङले जानकारी गराएपछि केहि नेताले आपत्ति जनाएका छन् । माओवादी नेता रन्जित तामाङ, सुदन किरातीलगायतले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखेका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशनमाजाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसमा असहमति जनाउँदै उपमहासचिव शर्माले नयाँ प्रस्ताव राखेका छन् । आफ्नो असहमति रहेको भन्दै उनले नयाँ प्रस्ताव राखेका हुन् । उपमहासचिव शर्माले भने, ‘सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौं ।’ उपमहासचिव शर्मा अगाडि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोलेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ,’ श्रेष्ठले भनेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् । उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने र पार्टीको महाधिवेशन चुनाव पछाडि गर्नुपर्ने श्रेष्ठको प्रस्ताव छ ।

चुनाव पछाडि महाधिवेशन गरेपनि अध्यक्ष प्रचण्डले भने अहिले नै राजीनामा दिनुपर्ने उनको आग्रह छ । बदलिएको परिस्थितिमा प्रचण्डले नेतृत्व भने अहिले नै छाड्नुपर्ने श्रेष्ठको आग्रह छ । श्रेष्ठले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाइ कार्यबाहक अध्यक्ष दिनुस । यो मेरो कुरा होइन, आम कार्यकर्ता र यो हलको कुरा राखेको हुँ ।’ यसअघि गत आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यबाहक अध्यक्ष माग गरेका थिए ।

‘…नारायणकाजीले पनि मलाई कार्यवाहक दिनुपर्‍यो भनेर माग गर्नु भएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनें दिइदिनुस् न त उहाँलाई कार्यवाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले गत सोमबार भनेका थिए । केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न हुने माओवादीले जनाएको छ ।

 

बालेन–हर्कलाई बाबुरामको सुझाव : संविधानको रक्षाका लागि मिल्नुस्

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह, हर्क साम्पाङसहितका नयाँ शक्तिलाई मिल्न सुझाव दिएका छन् । जेनजी आन्दोलनको म्यान्डेड अनुसार वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्य वा मोर्चा बनाउनुपर्ने उनले बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, गत निर्वाचनमा उदय हुनु भएका बालेन्द्र शाह, हर्क साम्पाङ लगायतका जो व्यक्तिहरू हुनुहुन्छ र पछिल्लो चरणमा जुन नयाँ पुस्ता आगाडि आएको छ, तपाईंहरू एक ठाउँमा आउने, सहकार्य गर्ने वातावरण तपाईंहरूले बनाउनु पर्छ ।’

उनले भने, ‘सकेसम्म मिल्नेहरू जतिले खास एजेण्डामा केन्द्रित भएर एउटै शक्ति बनाउने, त्यो खास एजेण्डा भनेको के हो भने अहिलेको जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ त्यसमा टेक्ने । योभन्दा पछाडि फर्कने होइन । यसमा टेकेर कति थप्न सकिन्छ थप्ने ।’

भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आधारस्तम्भ भन्दै त्यसलाई साझा विन्दु मानेर वैकल्पिक शक्तिहरू सबै एक ठाउँमा आउनुपर्ने बताए । ‘कथंकदाचित एक ठाउँमा आउन सकिन्न भने सहकार्य गरेर, मोर्चा बनाएर, अल्टरनेटिभ एलाइन्स गरेर पनि जान सकिन्छ,’ उनले भने ।

उनले कांग्रेस, एमाले, माओवादीलाई ‘थोत्रा’ पार्टीको संज्ञा दिएका छन् । ती पार्टी सच्चिने सम्भावना नरहेको बताउँदै उनले भने, ‘सँगसँगै मेरो आग्रह– पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन् । कांग्रेस, एमाले, माओवादी सच्चिने सम्भावना देख्दिनँ । टाउकैसम्म कुहिएर बसेको त्यो शक्ति छ त्यसको रुपान्तरणको सम्भावना म देख्दिनँ ।’

ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका युवाहरूलाई विद्रोह गर्न पनि उनले आह्वान गरे । ‘ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका साथीहरूले पनि विद्रोह गरेर फेरि वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ,’ डा. भट्टराईले भने, ‘त्यसो हुन सक्यो भने छिटो नै तपाईंहरूले चाहेजस्तो शासकीय सुधारमा परिवर्तन ल्याएर निर्वाचन तोकिएकै समयमा हुनेछ ।’

 

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बनियानी (झापा) । झापाको विर्तामोड नगरपालिका(७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विर्तामोड-७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राष्ट्र पुनर्निर्माणमा आर्थिक सहयोग गर्न मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।

समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने मन्त्री घिसिङले जानकारी दिए । भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए।
अर्थ मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाबाट अमूल्य योगदान गरी यो अभियानमा सहभागी हुन आह्वान गरेको हो ।

मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको र उक्त कोषमा योगदान गर्न सबैलाई आग्रह गरेको छ । त्यसका लागि सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको खाता नं १९६०१००१०२०७०००४ मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनासम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद्को यही असोज ५ को बैठकको निर्णयअनुसार यस्तो आह्वान गरेको जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको र उक्त गठन आदेशले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापना कार्यका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदानका लागि नेपाल सरकार आह्वान गर्दछ ।’ ‘जेनजी’ आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको जनाउँदै मन्त्रालयले त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहतलगायतका कार्यलाई भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको प्रस्ट पारेको छ ।

चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार

दमौली(तनहुँ) । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लामा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका आयोजनामार्फत थप चार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको हो ।

सो अवधिमा छ वटा सिँचाइ आयोजना सम्पन्न भएका कार्यालयका प्रमुख मोहनराज आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका १३ हजार ५८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये छ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

आचार्यले भने, “जिल्लाको कूल क्षेत्रफल एक लाख ५४ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन छ । एकाउन्न हजार ५१० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तर सबै ठाउँमा सिँचाइ सुविधा पुग्न सकिरहेको छैन ।”

कार्यालयले गत आव सिँचाइतर्फ चार वटा इन्टेक, सात हजार २३३ मिटर क्यानल लाइनिङ, नौ हजार ३१४ मिटर पाइपलाइन विस्तार गरेको आचार्यले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारमार्फत नदी नियन्त्रणतर्फ ४०० मिटर र प्रदेश सरकारमार्फत १९० मिटर तटबन्धन गरिएको छ । जसकारण १३ हेक्टर जग्गा उकासमा सहयोग पुगेको बताउँदै उनले एक हजार ३९० मिटर ग्याविन वाल निर्माण गरिएको जानकारी दिए ।

सो वर्ष प्रदेश सरकारमार्फत नदी नियन्त्रणका लागि रु चार करोड ३२ लाख १२ हजार, पहिरो संरक्षणका लागि रु ३३ लाख ८२ हजार, सिँचाइ आयोजना निर्माणका लागि रु आठ करोड ९९ लाख ९१ हजार, आपत्कालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि रु ३२ लाख २८ हजार बजेट खँर्च भएको छ ।

कार्यालयले विभिन्न आयोजनामार्फत रोजगारी सिर्जनामा समेत सहयोग पुर्‍याएको छ । कार्यालय प्रमुख आचार्यका अनुसार घिरिङ गाउँपालिका–३ स्थित फदुवा छबिसे सिँचाइ आयोजनामा २५, घिरिङ गाउँपालिका–१ स्थित गडीझौरीटार सिँचाइ आयोजनामा ४०, म्याग्दे गाउँपालिका–७ स्थित रानीटारी सिँचाइ आयोजनामा १५, ऋषिङ गाउँपालिका–४ स्थित मनादी खोला भिरकोट सिँचाइ आयोजनामा २५ र व्यास नगरपालिका–६ स्थित मदीखोला ठूलोकुलो मर्मत कार्यमा २० जनाले रोजगारी पाएका छन् ।

सचिव योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले पार्टी पुनर्गठनको अपिल गरेका छन् । भट्टराईले अब एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्ने बेला आएको भन्दै नेतृत्वका सम्मानसहित पुनर्गठनको अफिल गरेका छन् ।

भट्टराईले लामो लिखित र भिडिओ सन्देश जारी गर्दै परिवर्तित सन्दर्भलाई बुझ्न र संकटले सिर्जना गरेर नयाँ चेतनाबाट पार्टी पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन् । उनले पुनर्गठनको अर्थ अहिलेको नेतृत्वको अपमान वा प्रहारको रूपमा कतैबाट पनि व्याख्या गर्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले) लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न ।’ पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाई–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मान सहित पुनर्गठन ।’

फेरि यहाँनिर पुनर्गठन र रूपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रूपमा जबरजस्ती कहीँ कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईँहरूलाई भन्न चाहन्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, माक्र्सका शालिकहरु ढालिएका इतिहास तपाई हामीले पढेका छौँ । हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो । वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।

हेर्नुस् यस्तो छ भट्टराईको अपिल

जेन जी आन्दोलनमा गोली लागेर घाइते भएका अनिल, साहरा विहिन

काठमाडौं । बूढानीलकण्ठको एक घरमा भाडाको सानो कोठा । एउटा कुनामा भान्छा, अर्कोतिर कुनामा पलाङ्ग, पलङ्गसँगै दराज र दराजमाथिको झ्यालमा डेढ वर्षअगाडि संसार छाडिसकेकी श्रीमतीसँगको तस्बिरहरू ।

जेनजी आन्दोलनमा गोली लागि भर्खर तंग्रदै गरेका कुस्मा पर्वतको ३१ वर्षीय अनिल परियारको डेरा हो यो । सिलाइकटाइ व्यस्त रहने अनिललाई भदौ २३ गरेको जेन जी आन्दोलन किन ? के कारणले भयो ? को हुन् र के हो जेन जी केही जानकार थिएन ।

आन्दोलनमा प्रहरीको गोली लागि ज्यान गुमाएका विद्यार्थी भाइहरूको माया र क्रुरतबाट रिस उठेपछि २४ गते आन्दोलनमा पुगेको उनी सुनाउँछन् । आफूसँग टाढा टाढा आन्दोलन जान सवारी साधन नभएपछि नजिकैको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरतिर अगाडि बढेको एक समूहमा उनी पनि मिसिए ।

त्यही बेला चलेको गोली अनिलको देब्रे कोखा हुँदै पछाडिबाट बाहिर निस्क्यो । उनी अचेत अवस्थामा पुगे । डेढ वर्ष अगाडि श्रीमती गुमाएका अनिलले दुःख, सुख, मजदूरी गरी कोठा भाडा र आफ्नो एकमात्र सन्तान नौ वर्षीय छोरालाई शिक्षादिक्षाका दिई हुर्काउँदै आएका थिए । अहिले आफू नै यस्तो अवस्थामा पुगे पछि दैनिक गुजारा चलाउन उनलाई गार्‍हो भएको छ ।

२४ गते करिब ६ बजेतिर गोली लागेको उनलाई, होसमा आउँदा शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टको आई. सीयूमा थिए । २५ गते बिहान करिब ३ बजेतिर होसमा आएका उनको मृत्यु भइसकेको भन्दै हल्ला नै फैलिसकेको रहेछ ।

भाउजू संगिता परियारलगायत आफन्त अस्पताल पुग्दा अस्पताल कर्मचारीले हिजो साँझ अपरेसन गर्दा नै बितिसकेको खबर सुन्न परेको र शव बुझ्न १० बजे पछि आउन समेत भनेको संगीताले सुनाइन् ।

निराश हुँदै घर फर्केका उनीहरूलाई २५ गते बिहान ८:३० बजे तिर अस्पतालको एक नर्ससँग फोन मागेर अनिल आफैँले नै फोन गरे र आफूलाई भर्खर आईसीयू बाट वार्डमा सारेको र अहिले ठिक भएको जानकारी दिए ।

चार दिने अस्पताल बसाइ पछि उनी भदौ २९ मा डिस्चार्ज भए ।

गोलीले मुटुमा समेत असर गरेपछि ओपन हर्ट सर्जरी गरी आईसीयू मा रहेका उनी हस्पिटल ल्याउन केही समय ढिला गरेको भए उनलाई बचाउन असम्भव हुने डाक्टर अनिल भट्टराई बताउँछन् ।

‘हामीका ल्याउँदा अवस्था निकै क्रिटिकल थियो, गोलीका छर्राले मुटुमा समेत असर गरेकोले ढिला गरेको भए भाइको मृत्यु समेत हुन सक्थ्यो ‘, डा. भट्टराईले भने ।

भाउजू संगीता अहिले अनिलको हेरचाहमा खटिएकी छन् । उनको स्वास्थ्य सुधार हुँदै आएको छ । तर गोलीका छर्रा शरीरमा अझै बाँकी छ । जुन आजीवन रहने छ । काम गरेर जीविकोपार्जन गर्ने उनलाई अहिले घर चलाउने र छोराको पढाइ साथै पालनपोषणको ठूलो चिन्ता छ ।

अब नयाँ नेपाल, परिवर्तन, र सहज तरिकाले देश मै बस्ने र काम गर्ने अवस्था आओस् भनी उनी कामना गर्छन् ।

लद्दाखमा हिंसात्मक झडपपछि कडा सुरक्षा प्रतिबन्ध

श्रीनगर (भारत)। भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् ।

अधिकारीहरूले लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएका छन् । बिहीबार सडकमा सयौँ प्रहरी र अर्धसैनिक परिचालन गरिँदा बजार र व्यवसाय बन्द भएका छन् ।

उच्च उचाइको सहर लेहमै पदयात्रा रोकेपछि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली, अश्रुग्याँस र लाठी प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाइएको छ । प्रदर्शनकारीहरूले सरकारी भवन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को स्थानीय कार्यालयमा समेत आगजनी गरेका थिए ।

सन् २०१९ मा भारतले लद्दाखलाई जम्मु–काश्मीरबाट अलग गर्दै राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि यस क्षेत्रमा राजनीतिक अधिकार र भूमि संरक्षणका माग चर्किएका छन् । प्रदर्शन हालै भोक हडतालमा सहभागी दुई जनाको स्वास्थ्य बिग्रिएपछि सुरु भएको हो ।

भारतको गृह मन्त्रालयले प्रहरीले ‘आत्मरक्षा’ मा गोली चलाएको बताउँदै शीर्ष जलवायु कार्यकर्ता सोनम वाङ्चुकको ‘उत्तेजक भाषण’ लाई हिंसाका लागि दोष दिएको छ । वाङ्चुकले त्यसपछि भोक हडताल फिर्ता लिएका छन् ।

यो हिंसा दशकौँयताकै सबैभन्दा ठूलो भएको बताइएको छ, जसले स्थानीय बासिन्दाको निराशालाई उजागर गरेको छ । सुरुमा सन् २०१९ को परिवर्तनलाई समर्थन गरेका उनीहरू अहिले भूमि कब्जा, व्यापार घाटा र नाजुक इकोसिस्टममा क्षतिको डरले असन्तुष्ट भएका छन् ।

लद्दाख प्रतिनिधिहरूले भारत सरकारसँग पटक–पटक वार्ता गरे पनि परिणाम प्राप्त भएको छैन । अर्को बैठक अक्टोबर ६ मा तोकिएको छ ।

यस क्षेत्र जलवायु परिवर्तनबाट पनि गम्भीर रूपमा प्रभावित छ । हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएर लाखौँ मानिसको पानी आपूर्ति सङ्कटमा पारेको छ । चीनसँगको सीमा विवाद र सन् २०२० यताका सैन्य गतिविधिले प्रदूषण बढाई पग्लनलाई अझ गति दिएको छ ।

लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र रक्षाका लागि आगामी २१ फागुनमै चुनाव हुनुपर्ने बताएका छन् । यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले सम्बोधन गरिरहेका छन् । त्यसक्रममा उनले भने, ‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने हो ।’

२३ र २४ भदौमा भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनका लागि चुनावको मिति तोकेका छन् । क्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका हुन् ।

कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
नेकपा माओवादी केन्द्रले माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यस्तो नीतिका लागि केन्द्रीय समितिको जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेका छन् । प्रचण्डले नै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन गरेर आगामी फागुन २१ को चुनावको तयारीमा जुट्ने उनको प्रस्ताव छ । यसबीचमा समेत माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने प्रचण्डको प्रस्ताव रहेको छ ।

नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग माओवादीको एकताको गृहकार्य भइराखेको छ । यो बेला प्रचण्डले केन्द्रीय समितिको बैठकमा भनेका छन्, ‘विभिन्न पार्टीहरुसंगको एकतालाई जोड गर्नुपर्छ । यसका लागि वातावरण बन्दै गएको छ, बनाउनुपर्ने पनि छ ।’ आज प्रचण्डका यी लगायतका प्रस्तावमाथि पदाधिकारीबाट कुनै फरक राय वा प्रस्ताव भए प्रस्तुत गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरूको रिर्पोटिङ लिएर समुहगत छलफलमा गएर निर्णय प्रक्रियामा पुग्ने माओवादीको तयारी छ ।

वासिङ्टनमा सरिफ र ट्रम्प बीच भेट : टिकटक सम्झौतामाथि कार्यकारी आदेश तयारी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग बन्द–ढोका सत्रसहित उच्च–स्तरीय द्विपक्षीय बैठक गर्ने तयारी भएको ह्वाइट हाउसले सार्वजनिक तालिकामा जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा भाग लिएपछि सरिफ वासिङ्टन पुग्नेछन् । उनले बुधबार जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानको ऋण समस्या समाधान बिना विश्वव्यापी चुनौतीहरूको समाधान सम्भव नभएको चेतावनी दिएका थिए । यसले इस्लामाबादले हरितगृह ग्यास उत्सर्जन घटाउन चालेको दाबीलाई कमजोर बनाएको टिप्पणी गरिएको छ ।

मङ्गलबार ट्रम्प र पाकिस्तानसहित आठ इस्लामिक–अरब देशका नेताहरूबीच भेट हुँदा सरिफले अनौपचारिक रूपमा ट्रम्पसँग कुराकानी गरेका थिए । पाकिस्तानी विदेशमन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री शाहबाज र उपप्रधानमन्त्री र विदेशमन्त्री सिनेटर इशाक दार पनि छलफलमा सहभागी भएको बताएका छन् ।

तालिकाअनुसार, सरिफसँग भेटअघि राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नेछन् । यसमा टिकटक सुरक्षा सम्झौताको अन्तिम निर्णय पनि समावेश हुनेछ ।

सोमबार ह्वाइट हाउसले यसै साताभित्र सम्झौतामा ट्रम्पले हस्ताक्षर गर्ने घोषणा गरेको थियो । सम्झौताअनुसार टिकटक अमेरिकी लगानीकर्ताहरूको बहुमत स्वामित्वमा रहनेछ र राष्ट्रिय सुरक्षा तथा साइबर सुरक्षा विशेषज्ञता भएको बोर्डद्वारा सञ्चालित हुनेछ ।

ओरेकलले विश्वसनीय सुरक्षा प्रदायकका रूपमा सबै अमेरिकी प्रयोगकर्ता डाटाको स्वतन्त्र निगरानी गर्नेछ, जुन अमेरिकाभित्रैका ओरेकल सञ्चालित सर्भरहरूमा भण्डारण गरिनेछ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सम्झौताका सर्त स्पष्ट गर्दै भने, “राष्ट्रपतिले यस हप्ताभित्र आधिकारिक सम्झौतामा हस्ताक्षर गर्ने छन् ।”

यसअघि, चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि अमेरिकामा टिकटक सञ्चालनलाई निरन्तरता दिन सम्झौतामा सहमति जनाएका थिए । ट्रम्प र सीबीच टेलिफोन वार्तापछि बाइटडान्सले आवश्यक प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो । कम्पनीले चिनियाँ कानूनअनुसारको काम निरन्तर गर्ने बताउँदै अमेरिकी प्रयोगकर्ताहरूलाई सेवा दिन प्रतिबद्धता जनाएको छ ।

सन् २०२४ अप्रिलमा पारित कानूनअनुसार जनवरी १९ देखि टिकटक प्रतिबन्धित हुने प्रावधान थियो, तर ट्रम्प प्रशासनले कार्यान्वयन नगरेको हो ।

अमेरिका र चीनबीच भइरहेको प्रस्तावित सम्झौताअनुसार अमेरिकी लगानीकर्ताहरूले टिकटकको ८० प्रतिशत नियन्त्रण गर्ने र बाँकी २० प्रतिशत बाइटडान्ससहितका चिनियाँ कम्पनीहरूले राख्ने योजना रहेको द वाल स्ट्रिट जर्नल र द न्युयोर्क टाइम्सले जनाएका छन् ।

यसैबीच, ट्रम्पले आफ्नो दिनको सुरुआत टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको कार्यक्रमबाट गर्नेछन् ।

बालेन लक्षित हर्कको कटाक्ष : विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेरि एक पटक काठमाडौंका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन्। उनले विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै भएको भन्दै कटाक्ष गरेका हुन् ।

हर्कले देशको अवस्था खरानी बनाएर एम्बुलेन्स र छात्रवृत्तिका कुरा गरेर मोड्न खोजेको आरोप समेत लगाएका छन् । ‘विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !’

माओवादीको केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्ड राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् ।

थोत्रा र भ्रष्ट पुराना दललाई टाउको उठाउन दिनु हुँदैन : बाबुराम भट्टराई

काठमाडौं । नेसपा (नयाँ शक्ति) नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नातिनातिना पुस्तालाई अवसर दिनुपर्ने भएकाले आफूले अध्यक्ष पद त्याग गरेको बताएका छन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष पद त्याग घोषणा गरेपछि आज पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनले अब केही दशक देशलाई नेतृत्व गर्न नयाँ पुस्ता ल्याएको बताए ।

डा. भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने बताएका छन् । नेसपा (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।

‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।’ उनले पुराना र थोत्रा पार्टीहरु सच्चिने सम्भावना नरहेको बताए । बरु पुराना पार्टीका नेताहरुले विद्रोह गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले नयाँ पुस्तालाई अब अवसर दिनुपर्छ । पुराना दलहरू कि रूपान्तरण भएर कि सच्चिनु पर्छ कि सच्चिनु पर्छ । त्यसैले अब वैकल्पिक शक्तिहरूले पनि आफ्नो समूह र पार्टीहरू छन्, सबैले नयाँ पुस्तालाई अघि सार्नुपर्छ भनेर मैले पद त्याग गरेको छ। म अभियान र आन्दोलनबाट अलग भएको होइन ।’

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म देशले स्थायित्व नपाउने बताएका छन् । उनले थपे, ‘नयाँ शक्ति अभियान एउटा, अर्को विवेकशील साझा छ । अर्को स्वतन्त्रको रूपमा आएको छ, बालेन, हर्कलगायतले स्वतन्त्र अभियान चलाइराख्नु भएको छ । अहिले जेनजी नयाँ पुस्ताको रूपमा आएको छ । स्वतन्त्र ठुलो शक्ति छ । त्यसैले यी सबै शक्तिलाई अघि ल्याउन हाम्रो पुस्ताले मार्ग प्रशस्त गर्नुपर्छ ।’

 

 

डेनमार्कका विमानस्थलहरूमाथि ड्रोन उडान, आलबोर्ग केही घण्टा बन्द

कोपनहेगन । यस हप्ताको सुरुमा कोपनहेगन विमानस्थललाई बन्द गर्न बाध्य बनाउने घटनापछि डेनमार्कभरका धेरै विमानस्थलहरूमाथि ड्रोन देखिएको प्रहरीले बिहीबार जनाएको छ । तीमध्ये आलबोर्ग विमानस्थललाई घण्टौँका लागि बन्द गरिएको थियो ।

हालै पोल्यान्ड र रोमानियामा यस्तै घटना देखिनुका साथै एस्टोनियाको हवाई क्षेत्रमा रूसी लडाकू विमानले उल्लङ्घन गरेको खबर सार्वजनिक भएपछि युक्रेनमा जारी रुसी आक्रमणका सन्दर्भमा यसले थप तनाव बढाएको छ ।

प्रहरीका अनुसार आलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेस वरिपरि ड्रोनहरू देखिएका थिए । देशको दोस्रो ठूलो आलबोर्ग विमानस्थललाई केही घण्टा बन्द गरी पछि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो ।

“ड्रोनहरू दुई घण्टासम्म ठूलो क्षेत्रमा उडिरहेका थिए तर तल झार्न सकिएनन्”, नर्थ जुटल्यान्डका प्रमुख प्रहरी निरीक्षक जेस्पर बोजगार्ड म्याडसेनले भने, “यस समयमा ड्रोन चलाउने व्यक्तिहरूलाई पनि हामीले पक्राउ गरेका छैनौँ ।”

दक्षिण जुटल्यान्ड प्रहरीले बुधबार साँझ एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप विमानस्थल वरिपरि ड्रोन देखिएको रिपोर्ट पाएको जनाएको छ । तर त्यहाँ तत्काल कुनै उडान तय नभएकाले ती विमानस्थलहरू बन्द गरिएका थिएनन् ।

प्रहरीका अनुसार ड्रोनहरू ‘बत्ती बालेर उडाइएका’ थिए र जमिनबाट स्पष्ट देखिएका थिए, तर ती कस्तो प्रकारका थिए वा उद्देश्य के थियो भन्ने अझै पत्ता लागेको छैन । ‘परिस्थिति स्पष्ट पार्न’ गुप्तचर निकाय र सशस्त्र सेनासँग संयुक्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोपेनहेगन विमानस्थलमाथि ठूला ड्रोन उड्दा केही दिनअघि सुविधा घण्टौँका लागि बन्द भएपछि अनुसन्धानलाई तीव्र पारिएको हो । प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले कोपेनहेगनको घटनालाई ‘डेनमार्कको महत्त्वपूर्ण पूर्वाधारमा भएको सबैभन्दा गम्भीर आक्रमण’ भनेका छन् ।

“हामीले हालै देखिरहेका अन्य ड्रोन आक्रमण, हवाई उल्लङ्घन र युरोपेली विमानस्थलमाथि साइबर आक्रमणहरूसँग यो घटनाको सम्बन्ध देखिन्छ”, उनले भने ।

तर मस्कोले संलग्नता अस्वीकार गरेको छ । पोल्यान्ड, एस्टोनिया र रोमानियाले पनि लडाकू जेट वा ड्रोनमार्फत हवाई उल्लङ्घन गरेको आरोप अस्वीकार गरेका छन् ।

डेनमार्कले पहिलो पटक लामो दूरीका सटीक हतियार प्राप्त गर्ने घोषणा गरेपछि यस हप्ताका ड्रोन गतिविधि भएका हुन् । कोपेनहेगनका लागि मस्कोका राजदूत भ्लादिमिर बार्बिनले डेनमार्कको यो कदमलाई ‘शुद्ध पागलपन’ भनेर टिप्पणी गरेका थिए ।

ढिलो होला, सधैं अँध्यारो भइरहँदैन : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले ढिलो भए पनि सधैं अँध्यारो भइ नरहने बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले १७ वर्षको द्वन्द्वमा नभएको क्षति र भ्रष्टहरूले गरेको मुलुकको लुटभन्दा बढी क्षति २४ गते भएको बताएका छन् ।

सामाजिक सञ्जाल चलाउन नपाएर निस्सासिएका जेन–जी नै भदौ २३ गते सडकमा निस्किएका बताउँदै रिजालले २४ गते यस राष्ट्रका दुश्मनले त्यसलाई कब्जा गरे र केही घण्टामा राष्ट्र तबाह पारेको जिकिर गरेका छन् । रिजालले भने, ‘कुनै दिन यिनी लुटेरा र नेपालका दुश्मनको नकाव उत्रिनेछ र न्यायको कठघरामा उभिएको देख्न पाइनेछ । ढिलो होला, सधैं अँध्यारो भइरहँदैन ।’

 

जेनजी आन्दोलनले सरकार ढले पनि पुरानो सत्ता ढलेको छैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक परिवर्तन ‘आंशिक सफलता’ मात्र भएको बताएका छन् । उनले दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।
पार्टीको अध्यक्ष त्यागेको भोलिपल्ट आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका कारण सरकार ढलेको तर पुरानो सत्ता नढलेको उल्लेख गरे ।

‘तपाईंहरुले आंशिक जित हासिल त गर्नुभयो, सरकार त ढाल्नु भयो,’ भट्टराईले भने, ‘तर, पुरानो सत्ता ढलेको छैन ।’ उनका अनुसार, सत्ता परिवर्तन भए पनि मुलुकमा राजनीतिक स्थायीत्व र सुशासन सुनिश्चित हुन सकेको छैन । भ्रष्टाचार र अस्थायित्व जन्माउने संरचना तोड्न व्यवस्थागत सुधार अपरिहार्य भएको भट्टराईको भनाइ छ । उनले भने, ‘व्यवस्था नै बदल्न खोजेको त होइन, तर व्यवस्थामा महत्वपूर्ण सुधार गरेर जुन भ्रष्टहरु जन्मिए, फेरि भ्रष्टहरू नजन्मिउन । त्यसका लागि केही सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्छ ।’

संविधान निर्माणको समयदेखि नै निर्वाचन प्रणालीमा त्रुटि रहेको उनले बताएका छन् । ‘मैले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास खाली, आधा गिलास भरी भनेको थिएँ । किनकी यो शासकीय त्रुटि छ, त्यसले गर्दा कसैलाई पनि बहुमत ल्याउन दिँदैन,’ भट्टराईले स्पष्ट पारे । उनले वर्तमान प्रणालीलाई स्थायित्वत्वविहीन ठहर गर्दै भने, ‘कुनै पनि सरकारलाई ५ वर्ष टिक्न दिँदैन । जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन, त्यतिबेलासम्म सुशासन र समृद्धि हुँदैन ।’

समाधानको उपाय सुझाउँदै भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई विकल्पका रूपमा अघि सारे। ‘प्रत्यक्ष निर्वाचित प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन । यिनै भ्रष्टहरु चलखेल गरेर फेरि आउने र तपाईंहरूको बलिदान खेर जान्छ,’ उनले चेतावनी दिए । उनले जेनजीहरुलाई सरकारसँग संवाद गरेर व्यवहारिक सम्झौता खोज्न सुझाव दिए ।

भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प

काराकस । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा, २७ किलोमिटर गहिराइमा रहेको थियो । यो क्षेत्र थोरै जनसङ्ख्या भएको मानिन्छ ।

भूकम्प राजधानी काराकसमा पनि महसुस गरिएको थियो । राजधानी काराकस केन्द्रविन्दुबाट छ सय किलोमिटरभन्दा टाढा छ । केही भवनहरू हल्लिएका कारण धेरै बासिन्दा आफ्ना अपार्टमेन्ट छोडेर बाहिर निस्किन बाध्य भएको एएफपी पत्रकारहरूले जनाएका छन् ।

युएसजिएसले यस भूकम्पबाट सुनामीको कुनै महत्त्वपूर्ण खतरा नभएको भन्दै ‘कुनै कार्य आवश्यक छैन’ भन्ने सल्लाह जारी गरेको छ ।

यसअघि केही घण्टाअघि उही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जुन छिमेकी कोलम्बिया र क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुमा समेत महसुस गरिएको थियो । तर तत्काल ठूलो क्षतिको कुनै खबर आएको छैन ।

भेनेजुएलामा शक्तिशाली भूकम्प सामान्यतया कमै आउने भएकाले काराकस र माराकाइबो लगायतका सहरमा यसपटकको कम्पनले चेतावनी जारी भएको थियो । मानिसहरू सडकमा उत्रिए, तर गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत भूकम्प ‘उल्लेखनीय संरचनात्मक क्षति बिना’ भएको स्पष्ट पारेका छन् ।

लगभग ८० प्रतिशत भेनेजुएलालीहरू भूकम्पीय क्षेत्रमा बस्छन् । सन् १९९७ मा सुक्रे राज्यको क्यारियाकोमा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएपछि हालसम्म ठूलो घटना भएको थिएन । त्यसअघि, सन् १९७६ मा काराकसमा आएको भूकम्पमा करिब तीन सय जनाको मृत्यु र दुई हजार घाइते भएका थिए ।

चुनावअघि नै भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि आफू राजनीतिबाट अलग नभएको बताएका छन् । उनले नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पदबाट अलग भएको बताए ।

आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु ।’ जेनजी युवा आन्दोलन जायज भएको पनि उनले बताएका छन् । उनले चुनाव अघि भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्ने बताए । अन्यथा भ्रष्ट नेताहरु नै निर्वाचित भएर आउने उनको भनाइ छ ।

 

जिम्मेवारीबाट पन्छिने सोचेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन् । आज (बिहीबार) प्रज्ञा प्रतिष्ठानमा सुुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने स्पष्ट पारेका हुन् ।

‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ उनले भने, ‘त्यसैलै अहिले पनि म हुनैपर्ने भन्ने छैन । राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु ।’ उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाई कायम गर्न जरुरी रहेको बताएका छन् । प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दवाव बढाइरहेका छन् ।

त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । आजको केन्द्रीय समितिबाट उक्त प्रस्तावलाई अनुुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी छ ।

गगन र विश्वप्रकाशको एकमत : मंसिरमा नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउन केन्द्रीय प्रतिनिधिहरुको हस्ताक्षर अभियानले हलचल पैदा भइरहेका बेला दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्वले अठोट गरेमा मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने विकल्प अघि सारेका छन् । नियमित महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यता वितरणका काम बाँकी नै रहेका बेला विधानका प्रक्रिया निलम्बन गरेर नियमित महाधिवेशन गर्न सकिने विकल्प उनीहरूले देखाएका हुन् ।

आउँदो मंसिर मसान्तबाट सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिँदैछ । केन्द्रीय कार्यसमितिको म्याद नबढाई नियमित महाधिवेशनमा जाने निर्णय केन्द्रीय कार्यसमितिबाट भएमा विशेष महाधिवेशनमा जान नपर्ने तर्क उनीहरुको छ । तर, सभापति तयार नभएकाले विशेष महाधिवेशनको विकल्प अघि बढाउनु परेको उनीहरुको भनाइ छ । नेता शेखर कोइरालाले पनि नियमित महाधिवेशनकै लागि जोड दिँदै आएका छन् ।

पछिल्लो समय आ–आफ्नो समूह निर्माण गरेर अघि बढेका शेखर र गगनबीच विकसित घट्नाक्रमपछि पार्टी रुपान्तरणको दिशामा मिलेरै अघि बढ्ने विषयमा बुधबार लामो छलफल समेत भयो। थापाले नियमित महाधिवेशन चाँडै गराउन अनलाइनबाट सदस्यता भर्न पाउने गरी खुला गरेर प्रत्यक्ष केन्द्रीय नेतृत्व चयन गर्न सकिने विकल्प हुन सक्ने भनेका छन् । ‘विधानका धाराहरू निलम्बन गरेरपनि मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिने होइन, गर्न सकिन्छ । हाम्रो (दुई महामन्त्री) पहिलो प्राथमिकता यसैमा हो,’ थापाले भने, ‘भाद्र २३ र २४ अगाडि र पछिको नेपाल अब एउटै होइन । त्यसअघि हामीले जे–जे गरेका थियौं, त्यसरी नै अघि बढ्ने सुविधा हामीसँग छैन । पार्टीको नेतृत्व र नीतिमानै हामीले ऐतिहासिक फैसला गर्ने बेला आएको छ । त्यो संकल्प र विश्वास महाधिवेशनबाट सिर्जना गर्नुपर्दछ ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्न नसकिए मात्रै विशेष महाधिवेशनमा जाने कुरा आफूहरुले उठाएको स्पष्ट पारेका छन् । नियमित महाधिवेशनको नाममा मंसिर कटाउन नहुने दुई महामन्त्रीकै एउटै स्वर छ । ‘विधानको धारा १७ (२) बमोजिम केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रक्रियामा हामी लाग्नेछौं, त्यो हाम्रो जिम्मेवारी हो,’ शर्माले भने,‘तर केन्द्रीय समितिले त्यो निर्णय नगर्ला कि भनेर ४० प्रतिशत हस्ताक्षर जुटाउनतर्फ महाधिवेशन प्रतिनिधिहरू लाग्नुहुनेछ भने त्यसलाई कसैले पनि नकारात्मक रुपमा लिन मिल्दैन ।’

शर्माले माथिको निर्णयले होस् या तलको दबावले अब नयाँ पार्टीभित्र तत्काल नयाँ नेतृत्व आवश्यक रहेको बताए । पार्टीको विधानको १७ (२) अनुसार बिषम परिस्थितिमा पार्टी केन्द्रीय कार्यसमिति आफैँले विशेष महाधिवेशन बोलाउन सक्छ। २०१४ सालमा केन्द्रीय कार्यसमितिकै निर्णयबाट विशेष महाधिवेशन बोलाएर सुवर्ण शमसेर राणाको ठाउँमा वीपी कोइराला सभापति भएका थिए ।

पार्टी केन्द्रीय कार्यसमितिमा पार्टी सभापति देउवाको दुई तिहाई समर्थन प्राप्त छ । त्यहाँ महामन्त्रीको भन्दा पार्टी सभापतिले चाहेको प्रस्ताव मात्रै पारित हुने भएकाले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन थालिएको महामन्त्री निकट एक पदाधिकारीले बताए ।

‘पार्टी सभापति तत्कालै विशेष वा नियमित महाविधेशनमा जाने पक्षमा हुनुहुन्न । उपचारकै क्रममा रहनु भएका पार्टी सभापति र पूर्व परराष्ट्रमन्त्रीले टेलिफोनबाट विशेष महाधिवेशनका लागि ४० प्रतिशत हस्ताक्षर पुग्न नदिन आफू निकट नेताहरुमार्फत पहल गर्नु भएको छ’ ती पदाधिकारीले भने, ‘केन्द्रीय कार्यसमितिले नियमति महाधिवेशन बोलाउला भन्ने विश्वास नभएकालेनै हस्ताक्षर संकलन थालिएको हो ।’

केन्द्रीय प्रतिनिधिहरुको हस्ताक्षरबाट विशेष महाधिवेशनको माग भएमा पार्टी सभापतिले तीन महिनाभित्र बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । हस्ताक्षरबाट विशेष महाधिवेशन बोलाउँदापनि मंसिर÷पुसमा जाने, नियमित महाधिवेशन गर्दा मंसिरभित्रै गर्नुपर्ने हुन्छ । दुई विकल्प मध्ये जुनमा गएपनि एउटै समयमा पर्ने भएकाले दुई महामन्त्री र नेता कोइरालाले एउटै स्वरमा मंसिरमै नियमित महाधिवेशनलाई प्राथमिकता दिएका छन् ।

ज्वाङखोलामा पहिरो पृथ्वी राजमार्ग फेरि अवरुद्ध

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट पहिरो झर्न सुरु भएको हो ।

हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा हजारौँ सवारी साधन बाटैमा रोकिएका छन् । रोकिएका सवारी साधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा यसअघि (सोमबार राति) सुक्खा पहिरो खस्दा १७ घण्टा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । बुधबार बेलुका झरेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालन गराइएको थियो ।

प्रचण्ड भूमिका बदल्न तयार हुनुहुन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिका बदल्न तयार रहेको बताएका छन् । केन्द्रीय कमिटी वैठकस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले अध्यक्ष प्रचण्ड पार्टीमा नयाँ भूमिकाका लागि तयार रहेको र स्पष्टसँग कुरा राखिसकेको बताए । अब महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने अध्यक्षकै प्रस्ताव रहेको उनले दाबी गरे ।

उनले भने, ‘अध्यक्षले पनि गएको साउनमा प्रस्ताव नै राख्नु भएको थियो म मेरो भूमिका बदल्छु भनेर । सङ्गठनात्मक रूपमा नयाँ पुस्तालाई अघि सार्छु भनेर । अहिले जेनजी आन्दोलनपछि यो बहस अघि बढेको छ । अब महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् । विधि र प्रक्रियामा जाऔँ भनेर उहाँले नै प्रस्ताव राख्नु भएको छ । त्यसलाई पार्टीले स्वीकारेर ओपन छलफल गर्छ ।’

जेनजी आन्दोलनले ल्याएको तरङ्गलाई आत्मसात गरेर जानुपर्ने बताएका छन् । पुनले थपे, ‘आन्दोलनको भावनालाई आत्मसात गरेर नेतृत्व हस्तान्तरण र नेतृत्वको भूमिकाले परिवर्तन गर्नुपर्छ भन्ने सोचेका हौँ । हामी पुस्तान्तरणको एजेण्डा स्वीर्काछौंँ तर अरू नेताहरूले पनि अध्यक्षमाथि मात्रै प्रश्न गरेर हुँदैन ।’ उनले आफ्नो पार्टीले जेनजी पुस्ताको एजेण्डालाई समर्थन गरेको भए पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाएको विषयमा छानबिन गर्न माग गरे ।

चन्द्रागिरिमा महिलाको हत्या

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा छन् ।

थापागाउँ नै घर भएका सरोजले चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोप छ । दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मृत महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

 

एमालेमा युवाहरूले सुरु गरे ‘पार्टी रिफर्म रिभोल्युसन’ अभियान

कैलाली । नेकपा एमालेका युवाहरूले पार्टी सुधार र पुनर्गठनका लागि ‘पार्टी रिफर्म रिभोल्युसन’ अभियान थालेका छन् । ‘पार्टी रिफर्म रिभोल्युसन’ नाम दिइएको उक्त अभियानको उद्देश्य पार्टीभित्रको विकृतिप्रति खबरदारी गर्दै नयाँ गति दिने रहेको संलग्न युवाहरूले जानकारी दिएका छन् । आत्मालोचना बिना रुपान्तरण सम्भव नभएको भन्दै उनीहरूले सुधारको बाटो खोजीका लागि आव्हान गरेका छन् ।

निर्वाचनमा टिकट वितरणदेखि अवसरसम्म योग्य व्यक्तिको तुलनामा पैसा र आफन्तको मोह बढी प्रभाव जमाउने गरेको भन्दै आगामी दिनमा त्यस्तो नहोस् भन्नका लागि यो अभियान सुरू गरिएको अनेरास्ववियु प्रदेश संयोजक रोहित बोगटीले जानकारी दिए । ‘हामीले पार्टीको विरोध वा नेतृत्वको विकल्प खोजेका होइनौँ, तर गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘अहिले कैलालीबाट सुरु गरेका छौँ । हामी सबै जिल्लामा यो अभियानमा युवाहरूलाई जोडिरहेका छौँ ।’

एमालेमा भ्रष्टाचारको अभियोग लागेकाहरू, सामाजिक रूपमा अयोग्य ठहरिएका र नैतिक आचरणविपरीतका क्रियाकलापमा संलग्नलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । ‘लामो समयदेखि एउटै व्यक्तिलाई अवसर दिनु हुँदैन भन्ने हाम्रो माग हो,’ बोगटीले भने, ‘पार्टीको आन्तरिक निर्वाचनदेखि आम निर्वाचनसम्म पनि खर्चिलो भइरहेको छ, त्यसलाई रोक्नु पर्छ ।’

उनले पार्टीविरुद्ध भएको आन्दोलनपछि फेरि उठेका विभिन्न राष्ट्रका घटनाक्रमलाई अध्ययन गर्दै पार्टीलाई क्रियाशील र गतिशील बनाउन तथा पुनः जनताको लोकप्रिय पार्टी बनाउन अध्ययन सामग्री पनि तयार भइरहेको बताए । त्यो सुझावले पनि एमालेलाई अझ बलियो र लोकप्रिय बनाउन मद्दत गर्ने उनको विश्वास छ ।

विमानस्थलदेखि कार्यक्रम स्थलसम्म पार्टी नेताहरूलाई गरिने जयजयकार अन्त्य गरी सादा, सरल र उपयुक्त कार्यक्रम बनाउनुपर्ने अभियानमा लागेको युवाहरू बताउँछन् । ‘पछिल्लो समय पार्टीभित्रका गतिविधिका कारण समाजमा पार्टीप्रति केही वितृष्णा पैदा भएको छ । बहुदलीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छन् । तर, पार्टीभित्रका केही गलत परम्परा अन्त्य गर्न आवश्यक छ,’ उनले भने, ‘अहिले हामीले एमालेभित्र यो अभियान सुरु गरेका छौँ, पछि सबै पार्टीभित्र यस्तो अभियान ल्याउन आवश्यक छ ।’

एमालेका केही नेताहरू, विद्यार्थी नेता तथा युवाहरू सक्रिय रूपमा यो अभियानमा जोडिएका छन् । अहिले उनीहरूले सामाजिक सञ्जालमार्फत नै ‘पार्टी रिफर्म रिभोल्युशन’ अभियान चलाइरहेका छन् । केही समयपछि विभिन्न अन्तरक्रियामार्फत यसलाई अझ व्यापक रूपमा अघि बढाउने तयारी भइरहेको बोगटीले जानकारी दिए ।

यी १० निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । ६ महिनादेखि एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
हेर्नुस् सूची

कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत । दसैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन् । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेर ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक केदार खनालले बताए । उनका अनुसार यही असोज ६ गतेदेखि आगामी कात्तिक १० गतेसम्म उक्त सुरक्षा योजना लागू हुनेछ ।
देशका विभिन्न प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार तथा गोलीगठ्ठाको दुरुपयोग एवं विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दी चाडपर्वको समयमा आफ्नो घरबतनमा आउन सक्ने भएकाले उक्त समयमा थप आपराधिक घटना हुनसक्ने जोखिम रहेको सुरक्षा अधिकारी बताउँछन् । कुनै पनि अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएकाले सुरक्षा योजना बनाई लागू गरिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्युआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन गर्नुका साथै १७८ वटा पैदल गस्ती सञ्चालन गरिएको उनले बताए । साथै २० वटा लामो तथा छोटो दूरीका गस्ती समेत परिचालन गरिएको छ । सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन १३० स्थानमा पिकेट राखिएको छभने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ भइरहेको छ । ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा सञ्चालन गरिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरी प्रवक्ता खनाल बताए । उनका अनुसार यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छभने बैंक, वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको छ ।
आठ विशिष्ट व्यक्तिको सुरक्षा र ३१८ अन्य विभिन्न स्थानको सुरक्षामा पनि प्रहरी परिचालन गरिएको खनालले उल्लेख गरे । सुरक्षा योजना अनुसार प्रविधिको उच्चतम प्रयोग गरिनुका साथै संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी र अनुगमनको व्यवस्था मिलाइएको छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव र कालोबजारी हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था मिलाइने उनले बताए ।

प्रधानमन्त्री कार्कीलाई एकसाथ चार राजदूतले भेट्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई युरोपेली संघ (ईयु) सहित चार राजदूतले एकसाथ भेट्ने भएका छन् । आज दिउँसो साढे २ बजे उनीहरूले शिष्टाचार भेटका लागि समय लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । भेट सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै हुनेछ ।

भेटमा ईयुका राजदूतका अलावा फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूत पनि हुनेछन् । जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ । भारत, अमेरिका र चीनका राजदूतले प्रधानमन्त्री कार्कीलाई यसअघि नै भेटिसकेका छन् ।

 

नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन ‘वान–वे’

काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या आएको छ । यस कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ । करिब ८ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् । नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।

समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रव्निद्र मानन्धरले जानकारी दिएका छन् । उनले भने, ‘मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको हो । अहिले समस्या समाधान भइसकेको छ । थप काम भइरहेको छ।’ मध्यरातदेखि टेलिकमको अनलाइन चार्जिङ सिस्टम (ओसीएस) मा समस्या आएको थियो । यो भनेको रियल टाइम चार्जिङ सिष्टम हो ।

 

जेनजीसँग वार्ताका लागि रास्वपाले बनायो कार्यदल, पुकार बम ‘कमाण्डर’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी उमेर समूहका युवाहरूलगायत नयाँ शक्तिहरू, अभियन्ताहरूसँग वार्ताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । वार्ताका लागि पार्टीका केन्द्रीय सदस्य पुकार बम कार्यदलको कमाण्डर बनेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकले आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।

दशैंमा उपत्यका छाड्नेहरुको बढ्यो चाप, अहिलेसम्म कति बाहिरिए ? (तस्वीरहरु)

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरुको संख्या बढ्दै गएको छ । स्कूल, कलेजहरूमा बिदा सुरु भए पछि काठमाडौंको गोंगबु बस पार्कमा बिहानैदेखि काठमाडौं छोड्नेहरुको भीड लाग्ने गरको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हालसम्म करिब एक लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

त्यस्तै यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडीको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरुको समेत गोंगबु बस पार्कमा भीड लागेको छ । हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरुमा उपत्यका छोड्नेहरुको भीड लाग्ने गरेको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

 

पाँच राजमार्ग पूर्णरूपमा अवरुद्ध, चार एकतर्फी सञ्चालनमा (सूचीसहित)

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी–पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ पासाङल्हामु राजमार्गस्थित नेपाल–चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवलपरासी पूर्वस्थित पूव–पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली–मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भाँसिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो ।
सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका–१० गलुवा, भकुण्डे, वडा नं १३ पैयुँपाटा, वडा नं १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो । बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार पुग्न सकिनेमा पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । पूर्वाधार विकास कार्यालय बागलुङले गत साता पहिरोको अवस्था बुझेर तत्काल सञ्चालनमा ल्याउन गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहित स्वीकृतिका लागि पठाएको थियो ।
मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर अनिल बर्देवाले जानकारी दिए । बडादसैँ नजिकिएपछि नागरिकको आवतजावत बढ्ने हुँदा सडक खुलाइएको उनको भनाइ छ ।
सूचना अधिकारी बर्देवाले भने, ‘लामो समयसम्म सडक बन्द हुँदा हजारौँ नागरिकको सास्ती खेप्नुप¥यो । निरन्तर वर्षा र पहिरो झरिरहँदा सडक खुलाउन समस्या भइरहेको थियो, अहिले वर्षा केही कम भएपछि दुई दिनसम्म जनशक्तिसहित विभिन्न उपकरण प्रयोग गरी पहिरो पन्छाएका हौँ । खर्च व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमान स्वीकृतिका लागि पठाएका छौँ, अझै स्वीकृत भएको छैन ।’
विगत तीन वर्षदेखि यस क्षेत्रमा पहिरो जाँदा पहिरो पन्छाउन रु करोड बढी खर्च भइसकेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । अघिल्लो वर्ष मात्र पूर्वाधार विकास कार्यालय र नगरपालिकाले करिब रु ५० लाख खर्च गरेर पहिरोमाथिको पानीलाई नजिकैको न्वारे खोलामा व्यवस्थापन गरी सडकको माथिल्लो भागमा जाली लगाउने काम गरेको उनले बताए ।
पहिरो व्यवस्थापनका लागि भू–गर्भविद्लको टोलीले अध्ययन गरेर प्रतिवेदन समेत बुझाइसकेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार रकम नहुँदा पहिरो नियन्त्रण गरी सडकको दीर्घकालीन समाधान गर्न समस्या भएको उपप्रमुख खड्काले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पहिरो व्यवस्थापनका लागि सङ्घीय सरकारबाट रु तीन करोड विनियोजन भएको छ ।
पहिरोका कारण कालीगण्डकी करिडोरसमेत अवरुद्ध हुँदै आएको छ । बर्खाभरि सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका तरकारी र दूध बजारसम्म पुर्‍याउन समस्या हुने गरेको स्थानीय किसान कुलराज पौडेलले बताए । ‘दूध र तरकारी बजारसम्म पुर्‍याउनका लागि यान्त्रिक पुलमार्फत कुश्मा हुँदै बागलुङ ल्याउने गरिएको छ । घुमाउरो सडक प्रयोग गर्दा ढुवानी खर्च बढी तिर्नु परिरहेको छ’, उनले भने ।