`

‘यमबुद्ध स्केटबोर्ड पार्क’ को सपना चाँडै पूरा हुँदैछ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले तीन वर्ष लामो संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको भन्दै खुशी प्रकट गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी गराएका छन् । ६ करोड ७० लाखको लागतमा निर्माण हुने पार्कका केही तस्वीर पनि उनले सार्वजनिक गरेका छन् । आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन् ।

‘सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुमै बजेट छुट्याइएको थियो । काठमाडौँ महानगरपालिका–१६ मा बन्ने कुरा लगभग तय भइसकेको थियो। तर तत्कालीन वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौं । त्यसपछि २ नम्बर वडामा कोशिस गर्‍यौं । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन ।’

अहिले काठमाडौँ–५ का वडाध्यक्ष बीरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण भएको र सोही जग्गामा पार्क निर्माणको काम अघि बढेको मेयर बालेनको भनाई छ ।

अहिले यो पार्कको निर्माण कार्य करिब आधा सकिएको भन्दै उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएको बताएका छन् । ‘यो पार्क युवाहरूले संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा रहने छ,’ उनले भनेका छन् ।

चट्याङ लागेर बालिकाको मृत्यु, बुबा–आमासहित पाँच जना घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । बुबा–आमासहित अन्य पाँच जना घाइते भएका छन् । चट्याङ लागेर तीन वटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ पर्दा स्थानीय नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको मृत्यु भएको हो । आफ्नै घरमा बुवा–आमासँग सुतिरहेको बेला परेको चट्याङ लाग्दा बालिकाको मृत्यु भएको हो ।

चट्याङ लागेर बालिकाका बुवा २३ वर्षीया नेरसिंह र आमा २२ वर्षीया सुन्तली घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको हो । घाइते पति–पत्नीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि जिल्ला अस्पताल प्यूठान लगिएको छ ।

त्यस्तै गुल्मीकै इस्मा गाउँपालिका–४ दोहोलीमा पनि हिजो परेको चट्याङले लागेर तीन जना घाइते भएका छन् । इस्मा ४ की ४६ वर्षीया निर्मला खत्री, इस्मा–५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका–७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी चट्याङ लागेर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ लाग्दा घाइते भएका हुन् । घाइते सबैको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । यसैबीच चट्याङ लागेर गुल्मीको मालिका गाउँपालिका–४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरु समेत मरेका छन् ।

नौबिसे–मुग्लिन सडक खण्डको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ खण्डको हटाइँदै

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले रोकिएका सवारी साधनहरुको अहिले अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ ।

गए राति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर डोजरहरु प्रयोग गरेर राति नै पहिरो हटाई सकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर झरेको पहिरो भने हटाउने क्रम जारी छ । बुधबार साँझ पानी परेकाले पहिरो पन्छाउने काम केहीबेर रोकिएको थियो । आज बिहानैबाट पहिरो पन्छाउने काम थालिएको छ । सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

काठमाडौँका सीडीओ हटाइए, पौडेललाई खटाइयो

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हटाएर नयाँ प्रमुख खटाएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिव इश्वराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर त्यहाँ रहेका रिजाललाई मन्त्रालयमा तानेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी नै दिनेगरी केहि दिन अघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयमा सरुवा गरेर ल्याएको थियो । पौडेल करिब ८ वर्ष अघि मन्त्रालय मातहत कार्यरत सुन तस्करीसम्बन्धी छानविन समितिको संयोजक भएर काम गरेका थिए । उनकै अनुसन्धानपछि चर्चित सून तस्कर गोरे समेत पक्राउ परेका थिए ।

रिजाल तत्कालीन गृहमन्त्री रमेश लेखकका प्रिय पात्र हुन् । लेखक गृहमन्त्री हुदाँ रिजाललाई गृह मन्त्रालयको महत्वपूर्ण मानिएको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी लामो समयसम्म दिएपछि अन्तिम समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका थिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बर्हिगमन हुने रिजाल पहिलो सहसचिव हुन् ।

रिजालले काठमाडौंमा गत भदौ ९ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । उनले जिम्मेवारी सम्हालेको १५ दिन नपुग्दै जेनजीको आन्दोलन चर्किएको थियो । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सुरक्षा व्यवस्थापन गर्न नसक्दा ७२ जनाको ज्यान जाने गरी आन्दोलन चर्किएको थियो भने संघीय संसददेखि सिंहदबार हुँदै अदालत र प्रहरी कार्यालय ध्वस्त भएका थिए ।

जेनजी आन्दोलनको शिकार किन भयो ओली सरकार ?

काठमाडौं । जेनजी आन्दोलनले देशका भौतिक सम्पदामा ठूलो क्षति मात्र पुगेन केपी शर्मा ओली नेतृत्वको सरकार पनि ढल्यो । भदौँ २३ गते भ्रष्टाचार र बेथितिको विरोध तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको प्रदर्शनका क्रममा १९ जनाको हत्या भएपछि २४ गते सडकमा उत्रिएका जेनजीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि बाध्य भएर ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिन पर्‍यो ।

जेनजीको आन्दोलनका क्रममा संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत र सिंहदरबारमा समेत प्रदर्शनकारीले आगजनी गरेपछि आन्दोलन नियन्त्रण बाहिर पुगेपछि ओलीले पदबाट राजीनामा दिए । यस्तै विभिन्न राजनीतिक दलको कार्यालय, नेताका घरहरू, प्रहरी चौकी समेत तोडफोड र आगजनीको निशानामा परे ।

विशेष गरी ओली नेतृत्वको सरकार ढल्नुमा उनकै अहंकार र दुई तिहाईको दम्भ भएको भन्दै चौतर्फी आलोचना भईरहेको छ । दुई तिहाई सांसद संख्याको दम्भ देखाएर प्रधानमन्त्री ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको आरोपहरु उनीमाथि लागेका छन् ।

कांग्रेस–एमाले सरकारको दमन र कुशासनकै कारण जेनजी पुस्ताका युवाहरूसहित जनताको आक्रोशले विष्फोटक रुप लिएको अन्य दलका नेताहरुको भनाई छ । विशेष गरी यो आन्दोलनलाई लिएर विश्लेषक तथा नेताहरुका आ–आफ्ना धारणा पनि यतिबेला सार्वजनिक हुन थालेका छन् । कसैले परिस्थितिको सही मूल्याङ्कन गर्न नसक्दा यस्तो भयावह आउन पुगेको बताईरहेका छन्, त कतिले ओलीले सम्भावित खतरालाई बेवास्ता गर्दा इतिहासमै अप्रिय घटना हुन पुगेको अड्कल लगाइरहेका छन् ।

तर यो आन्दोलन सुरु हुनुको मुख्य कारण तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु नै बन्न पुगेको छ । सामाजिक सञ्जाललाई आफ्नो दैनिक जीवनमा प्रयोग गरिरहेका युवापुस्ता एकाएक सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्दा आक्रोशित बने । धेरै सामाजिक सञ्जाल एकै पटक बन्द हुँदा अध्ययनदेखि व्यापार व्यवसायमा समेत यसको प्रयोग गरिरहेका युवाहरु आक्रोशित बन्दै सडक प्रर्दशनमा उत्रिए । जेनजी युवाले नेताका सन्तानको ऐयासी जीवन शैली र सर्वसाधरण नागरिकको दुःख र अभावबीचको अन्तर देखाउने भिडियो पोस्टहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘नेपो बेबी’ अभियान चलाइसकेका थिए । यसले पनि नेताहरुप्रति युवाको आक्रोश बढाउन ‘आगोमा घ्यू’ थप्ने काम ग¥यो । सरकारले बन्द गराएकै सामाजिक सञ्जालबाट जुटेका युवा अन्ततः तोडफोड र आगजनीको अवस्था उत्रिनेसम्मको अवस्था बन्यो ।

जसका कारण ओली नेतृत्वको सरकार आन्दोलन र युवाको आक्रोशको शिकार बन्न पुग्यो । आन्दोलनको निशानामा सदियौं पुरानो इतिहास बोकेका धरोहर सिंहदरबार, न्यायलयका भवन, जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन र सार्वजनिक सम्पत्ति बने । ठूलो जनधनको क्षति भएको यो आन्दोलनको भागिदार को हो र यसको जिम्मा कसले लिने भन्ने विषय अन्योलमा छ । जेनजीले उठाएका माग सरकारले समयमै नसुन्दा दुई तिहाइको बलियो ओली सरकार ढल्न पुग्यो ।

को हुन् सञ्चारमन्त्री बनेका जगदिश खरेल, किन लाग्यो कांग्रेसको ‘ट्याग’ ?

काठमाडौं । साढे दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका जगदिश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आएका पत्रकार हुन् । सञ्चारमन्त्री बन्दासम्मको उनको ‘इमेज’ तयार गर्ने पछिल्लो कार्यक्रम थियो–हटसिट ।

समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित त्यही टक शो ‘हटसिट’ बाट उठेर उनी सञ्चारमन्त्रीको सिटमा पुगेका छन् । अब उनका लागि टिभी सेटको होइन नेपालको संक्रमणकालीन राजनीतिलाई पार लगाउने गरी बनेको अन्तरिम सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्ने सञ्चारमन्त्रीको हटसिट मिलेको छ ।

उनी टेलिभिजन स्क्रिनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासक देखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा र कडा र चोटिला प्रश्न गर्थे । सामाजिक सञ्जालहरूमा अन्तर्वार्ता दिने व्यक्तिका विचारभन्दा उनले सोधेका प्रश्न बढी भाइरल हुने गरेका थिए । शासकीय जिम्मेवारीमा रहेकाहरूलाई प्रश्न गर्ने खरेल अब वास्तविक रुपमा ती प्रश्नहरूको जवाफ आफैं दिनुपर्ने ठाउँमा आइपुगेका छन् ।

‘मैले आफ्नो सञ्चारकर्ममा वर्षौंदेखि अनेकौं प्रश्न गर्दै आएको थिएँ । आज मलाई एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । अब म मैले सोधेका प्रश्नहरूका कतिपय जवाफ खोज्ने छु,’ नव नियुक्त सञ्चारमन्त्री खरेलले भन्छन् । उनले आफू अहिले कुन अवस्थामा मन्त्री बनेको हेक्का रहेको बताए । ‘एउटा आन्दोलनबाट परिवर्तनका आवाज सम्बोधन गर्नेगरी यो सरकार बनेको छ’ उनले भने, ‘जेनजीहरूका आवाज र भावनालाई प्रतिनिधित्व गर्दै जिम्मेवारी पूरा गर्नेछु ।’

२०५९ सालमा इमेज च्यानल टिभी सुरुवात हुँदादेखि त्यहिँ काम गर्न थालेका दोलखाका खरेलको सञ्चार कर्म मात्र होइन उनको शैक्षिक पृष्ठभूमि पनि यही विषयमा जोडिएको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार स्नातकोत्तर उपाधि हासिल गरेका छन्। हाल चाहिँ उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषयमा विद्यावारिधि गरिरहेका छन् ।

इमेज टेलिभिजनमा उनले तीन महिना अघि मात्र उनले त्यहाँको समाचार कक्षको सम्पादक रुपमा जिम्मेवारी सम्हालेका थिए । तर केही महिनामै उनलाई त्यो भन्दा ठूलो राजकीय पदको अवसरमा मिलेको छ । राजनीतिक दलहरू भन्दा बाहिरका व्यावसायिक व्यक्तिहरूलाई मन्त्रीको जिम्मेवारीमा ल्याउने योजनाअनुसार प्रधानमन्त्री सुशीला कार्कीले व्यक्तिहरूको पहिचान गरिरहेकी थिइन् ।

त्यसक्रममा खरेल प्रधानमन्त्री कार्कीको नजरमा परे । खरेलकै टक शो हटसिटमा बसेर प्रधानमन्त्री हुनु अघि कार्कीले धेरै पटक अन्तर्वार्ता दिएकी छन् । पत्रकारिता कर्मका त उनी जानकार नै हुन् । तर अहिले उनले सम्हालेको मन्त्रालय त्यतिमा मात्र सीमित छैन ।

सञ्चारमन्त्रीले सरकारको प्रवक्ताको रुपमा पनि काम गर्नुपर्ने हुन्छ । त्यसैले अब उनले खेल्ने भूमिकाले सरकारको सन्देश जनतासम्म पुर्‍याउने सेतुको रुपमा पनि काम गर्छ । विगतका सञ्चारमन्त्रीकै कारण सरकार विवादमा आउने गरेका इतिहास छन् । जुन उनले चिरेर उनी अघि बढ्छन् कि बढ्दैनन् परीक्षाको घडी सुरु भएको छ । चुनावी सरकार भएकाले चुनावका लागि माहोल बनाउनेदेखि सञ्चार मन्त्रालय मातहतका निकायहरूलाई दैनिक परिचालन गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ ।

सञ्चार मन्त्रालयसँगै जोडिएको सामाजिक सञ्जाल दर्तासम्बन्धी विषयका कारण जेनजी आन्दोलन समेत हुने अवस्था आयो । यसैको बलमा यो सरकार पनि गठन भएको हो । तर सामाजिक सञ्जालसम्बन्धी सरकारको नीति के कस्तो हुने भन्ने अझै केही स्पष्टता जरुरी नै छ । यो विषयलाई उनले आगामी दिनमा कसरी दीर्घकालीन समाधान खोज्न प्रयास गर्छन् त्यो पनि महत्वपूर्ण हुनेछ ।

नेपालका ग्रामीण क्षेत्रहरुमा इन्टरनेट, मोबाइल सेवा, डिजिटल साक्षरता वा सूचना प्रविधिको पहुँच अझै सीमित छ । यो समस्या समाधान गर्दा आवश्यक पर्ने बजेट, पूर्वाधार, निजी र सार्वजनिक साझेदारी, टेक्नोलोजीको पहुँच लगायतका विषय पनि यो मन्त्रालयसँग जोडिएका छन् ।
डेटा सुरक्षा, साइबर अपराध रोकथाम, अनलाइन प्लाटफर्महरूको नियमन लगायतका विषय यही मन्त्रालयका कार्यक्षेत्र हुन् । मन्त्रीको रूपमा यी विषयहरूमा कानूनी, प्राविधिक अनि सामाजिक दृष्टिकोण एकैसाथ समेटेर खरेल कसरी अघि बढाउँछन् त्यो उनका लागि परीक्षाको विषय हो ।

पत्रकार र मिडिया संस्थाहरूलाई सुरक्षित वातावरण सुनिश्चित हुने आधार तयार पार्ने, प्रेस स्वतन्त्रता, मिडिया आचारसंहिता, मिस इन्फरमेसन डिसइन्फरमेसनविरुद्ध लड्ने लगायतका काम पनि सञ्चार मन्त्रालयको काक्र्ष क्षेत्रभित्र पर्छन् । यी कार्यक्षेत्रका काम गर्न खरेलले कति कुशलतापूर्वक सम्पन्न गर्न सक्छन् त्यसकै आधारमा अब उनको मूल्यांकन हुनेछ ।

के हो कांग्रेस क्रियाशिल सदस्यको आरोप ?
पत्रकारिताबाट सरकारमा पुगे लगतै मन्त्री खरेलमाथि एउटा आरोप लागिसकेको छ । गैरराजनीतिक दलको सरकार भनिए पनि नवनियुक्त सञ्चारमन्त्री कांग्रेसका सदस्य हुन् भन्दै सामाजिक सञ्जालहरुमा टिकाटिप्पणी भइरहेका छन् । केहि सञ्चारमाध्यमले त नव नियुक्त सञ्चारमन्त्री खरेल नेपाली कांग्रेसको सक्रिय सदस्य रहेको पुष्टि भएको भन्दै समाचार लेखेका छन् ।

नेपाल तथ्य जाँचका अनुसार खरेल दोलखाको कालिन्चोक गाउँपालिका–नम्बर १ बाट कांग्रेसको क्रियाशील सदस्य रहनुका साथै क्षेत्रीय प्रतिनिधि समेत चुनिएको दावी गरिएको छ । खरेल सञ्चार मन्त्री नियुक्त भएसँगै सामाजिक सञ्जालमा उनी नेपाली कांग्रेसको सदस्य भएको दाबी गर्दै पोस्टहरू भाइरल भएका छन् । यस्तो दाबी सही हो कि होइन भन्ने अन्यौल चिर्न ह्वाट्सएपका सूचनालाई तथ्य–जाँचको कोशिस गरेको पाइएको छ ।

फेसबुकमा अरुण नेपाली लुइँटेलले गत असोज ६ गते चार वटा फोटोको कोलाज बनाउँदै एक पोस्ट गरेका छन् । उक्त पोस्टमा उनले सञ्चारकर्मी खरेल नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको दावी गरेका छन् ।

यो तथ्यजाँचमा १ हजार १ सय जनाले रियाक्ट गरेको सो पोस्टमा १८० कमेन्ट छन् । यो पोस्ट १५५ पटक शेयर समेत गरिएको देखिएको छ । खरेल नेपाली कांग्रेसको सदस्य रहेको दावी एक्स (पहिले ट्विटर भनेर चिनिने) मा पनि भाइरल भएको छ । भीम वली नामक एक्स प्रयोगकर्ताले सञ्चारमन्त्री खरेल कांग्रेसको सदस्य रहेको दावी गर्दै पोस्ट गरेका छन् ।  यो तथ्यजाँचमा १०० जनाले लाइक गरेको उक्त पोस्ट २४ पटक रिपोस्ट गरिएको छ भने १४ हजार भ्युज देखिएको छ ।

के हो क्रियाशील सदस्यताको विषय ?
नेपाली कांग्रेसको विधान अनुसार पार्टीमा दुई किसिमको सदस्यता हुन्छ– सदस्य र क्रियाशील सदस्य । सदस्य भएको एक वर्षपछि निम्न योग्यता पुग्नेलाई मात्र क्रियाशील सदस्यता दिइन्छ ।

के हो तथ्य ?
तथ्य जाँचका लागि नेपाली कांग्रेसको आधिकारिक वेबसाइट सहयोग लिएको देखिन्छ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा बागमती प्रदेशको दोलखा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा क्षेत्र २, कालिञ्चोक गाउँपालिका–७ को क्रियाशील सदस्यहरुको नामावलीको क्रम संख्या १५३ मा जगदीश खरेलको नाम भेटिएको छ ।

त्यसमा उल्लेख भएका जगदिश खरेल सञ्चारकर्मी हुन् कि हैनन् भन्ने विषयमा गुगलमा खोज्ने क्रममा ओटिभी नेपाल नामक न्युजपोर्टलमा एउटा समाचार भेटिएको तथ्य छ । २०७८ असोज ५ गते प्रकाशित समाचारमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका हुन् भनिएको छ ।

त्यसैगरी ‘नागरिक’ राष्ट्रिय दैनिकमा २०७८ असोज ४ गते प्रकाशित ‘दोलखा कांग्रेस अधिवेशनमा फरक पेशाका नयाँ अनुहार’ शीर्षकको समाचारमा जगदीश खरेलको फोटोसहित लेखिएको छ–प्रख्यात अन्तर्वार्ताकार जगदिश खरेल समेत कांग्रेसको सक्रिय राजनीतिमा जोडिँदै कालिञ्चोक गाउँपालिका–७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका हुन् ।

सरकारी अखबार गोरखापत्रको ७ असोज २०८२, मङ्गलबार प्रकाशित समाचारमा सञ्चार मन्त्री खरेल दोलखाको कालिञ्चोक गाउँपालिका, सुनखानी भदौरेका स्थायी बासिन्दा भएको उल्लेख छ । कालिञ्चोक गाउँपालिकाको आधिकारिक वेबसाइट अनुसार उक्त ठाउँ वडा नम्बर ७ मा पर्छ ।

नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ कै क्रियाशील सदस्यहरुको सूचीमा खरेलको नाम रहेकोले उक्त व्यक्ति हालका सञ्चार मन्त्री नै रहेको पुष्टि हुन्छ । अतः सामाजिक सञ्जालमा भाइरल भइरहेको सञ्चारमन्त्री खरेल नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको दावी सही देखिन्छ । उनी २०७८ असोजमा जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चुनिएका थिए ।

विध्वंसको असर वैदेशिक रोजगारीमा : धमाधम रोकिंदै नेपालीको भिसा

काठमाडौं । प्रमुख श्रम गन्तव्य देशहरुले नै नेपालीका लागि धमाधम भिसा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म पाँच देशले नेपालीहरुलाई भिसा नदिने भएका छन् । युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, मलेसियाले नेपालीलाई पूर्णरुपमा भिसा नदिने निर्णय गरेका छन् भने क्यानडा र दक्षिण कोरियाले आंशिक रुपमा भिसा नदिने निर्णय गरेका छन् ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य राष्ट्रले नेपालीलाई भिजिट र वर्किङ भिसामा रोक लगाउँदा यसले नेपाल र नेपालको अर्थतन्त्रमा ठूलो असर गर्ने देखिएको छ । दक्षिण कोरियाले पनि नेपालीलाई दिँदै आएको ई–७ भिसा रोकेको छ भने क्यानडाले माइग्रेसन भएर जान चाहने नेपालीलाई नलिने भएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेनजी आन्दोलनमा देखिएको हिंसात्मक स्वभाव र आन्दोलनपछि कारागारबाट भागेका कैदीबन्दीलाई मुख्य कारण देखाइएको छ । नेपालीलाई भिसा दिन रोकेका र रोक्ने तयारी गरिरहेका देशले त्यसो गर्नु पछाडि दुई वटा कारण रहेको स्पष्ट संकेत नेपाललाई दिएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, दुई कारणमा पहिलो छ, ‘जेनजी आन्दोलनमा नेपालका कारागारबाट भागेका कैदीबन्दी ।’ दोस्रो कारण हो, ‘नेपालीमा देखिएको हिंसात्मक स्वभाव ।’ ‘कारागारबाट भागेका कैदी—बन्दीहरू आफ्नो देशमा आउँलान् भन्ने ठूलो चिन्ता यूएई, कतार र मलेसिया सरकारलाई परेको छ । यस्ता अपराध गरेका व्यक्तिहरु आफ्नो देशमा प्रवेश गरे आफ्नो देशमा अपराध बढ्ने र अशान्ति हुने बुझाई उनीहरूको छ’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

यहि भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनमा १५ हजार कैदी—बन्दी कारागारबाट भागेका थिए । नेपालमा कारागारमा रहेका करिब २९ हजार कैदी—बन्दीमध्ये आधाभन्दा बढी जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका थिए । भागेको १२ दिन बितिसक्दा पनि हालसम्म अझै ९ हजार जति कैदीबन्दी फर्केका छैनन् ।

‘जेनजी आन्दोलनमा धेरै सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भयो, यसले विदेशीमा नेपालीको स्वभावै हिंसात्मक हुन् भन्ने परेको छ । जसकारण पनि उनीहरूले नेपालीलाई दिने भिसामा कडाई गरेका छन् । यसले विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थी पनि प्रभावित हुने देखिन्छ’, परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो । गृह मन्त्रालय स्रोतका अनुसार, जेनजी प्रदर्शनमा एकै दिन देशभरका ६०५ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । यो प्रारम्भिक विवरण हो । यो संख्या अझै ठूलो छ ।

जेनजी प्रदर्शनमा तोडफोड र आगजनी गरिएकामध्ये २६३ वटा सरकारी कार्यालय पूर्ण ध्वस्त छन् । ३४२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । प्रदर्शनकारीको आक्रमणबाट देशभरका ८२ वटा प्रहरी कार्यालय पूर्ण क्षति र १२४ वटामा आंशिक क्षति भएका थिए ।

जेनजीले भदौ २३ गते काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गरेका थिए । बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनु पर्ने र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका थिए । भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गरेको दमनमा देशभर १९ जनाको मृत्यु भएपछि भदौ २४ गतेको प्रदर्शन हिंसात्मक बनेको थियो ।

प्रदर्शनकारीले भदौ २४ गते सिंहदबार र त्यहाँ रहेका अन्य मन्त्रालयहरू, सर्वोच्च अदालत, संसद भवनलगायत सरकारी, निजी र व्यापारिक भवनहरूमा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले राजनीतिक दलका नेता तथा कार्यकर्ताका घरमा पनि तोडफोड र आगजनी गरेका थिए । अन्तर्राष्ट्रिय चेन होटल हिल्टनमा पनि आगजनी गरिएको थियो ।

तोडफोड र आगजनीका घटना सबै भदौ २४ गते विहान १० बजेदेखि राति १० बजेसम्म १२ घण्टाको अवधिमा भएका थिए । ‘यति छोटो अवधिमा यति धेरै सरकारी कार्यालय, निजी तथा व्यापारिक भवन तोडफोड र आगजनी हुनु विश्वमा विरलै हुने घटना हुन् । यसले गर्दा नेपालीहरूमा हिंसात्मक स्वभाव रहेछ भन्ने सोच विदेशीमा पलाएको छ । त्यहीकारण उनीहरू भिसा रोक्नेसम्मको निर्णय गर्न पछि परेका छैनन्’, परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।

नेपालीलाई अबुधाबी दूतावासको आग्रह : यूएईको नियम पालना गरिदिनुस्
नेपाली राजदूतावास अबुधाबीले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीलाई त्यहाँको नियम पालना गर्न आग्रह गरेको छ । युएईस्थित नेपाली राजदूतावासले नेपालीलाई मर्यादा र अनुशासन सम्झाउँदै ११ बुँदामा सचेत गराएको छ ।

मंगलबार अत्यन्त जरुरी सूचना प्रकाशित गरी दूतावासले संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका नेपालीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधै मर्यादित र अनुशासित भई आफ्नो पेशा र व्यवसायप्रति सधै इमान्दार, कर्तव्यनिष्ट रही आफु बसोबास गर्दै आएको मुलुकको युएईको नियम, कानून, मूल्य मान्यता र अनुशासन पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ ।

‘बिगत केही समयदेखि युएईमा रहेका कतिपय नेपालीहरु मादक पदार्थको सेवन तथा झैझगडा,बैंकिङ्ग कसुर, आपसी नगदी लेनदेन र झैझगडा, लागुऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर क्राइम, अध्यागमन नियमको र ट्राफिक नियमको उलङ्घन, फ्रिल्यान्स भिसाको प्रलोभन जस्ता गतिविधिहरूमा परी प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना दूतावासमा प्राप्त हुने गरेको र सो संख्या बढ्दै गैरहेको देखिन्छ ।’

दूतावासले भनेको छ, ‘यी सबै विषयहरु युएईको कानून तथा नियम अनुसार दण्डनीय हुने हुँदा देहायका विषयहरुमा सचेत हुन तथा बिशेष सावधानी अपनाउनु हुन राजदूतावास सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछ । हालै भएको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई यूएईले भिजिट भिसा रोक लगाएको छ भने वर्किङ भिसामा कडाइ गरेको छ ।

परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल
संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशले नेपालीलाई भिसामा कडाइ गरेपछि परराष्ट्र मन्त्रालयले सहज बनाउन कुटनीतिक पहल थालेको छ ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतावासमार्फत सहजीकरणको पहल थालेको हो । यूएईले भिजिट भिसा रोक लगाएको छ भने वर्किङ भिसामा कडाइ गरेको छ ।

त्यस्तै मलेसिया, कतार, साउदी अरेबिया लगायतका देशले समेत वर्किङ भिसामा कडाइ गरेका छन् । यो विषयमा परराष्ट्रले सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासमा बुझ्न थालेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भिसामा कडाइ गरेको विषय आएकाले बुझ्ने काम भइरहेको बताए ।

‘केही राष्ट्रले किन यस्तो कडाइ गरेका हुन् भन्नेबारेमा हामी दूतावाससँग बुझिरहेका छौँ,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले भने । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कैदीबन्दी सामूहिक रूपमा कारागारबाट भागेका थिए भने सुरक्षाकर्मीका हातहतियार लुटिएका थिए ।

सोही कारण आफ्नो देशमा आउनेहरू आपराधिक गतिविधिमा संलग्नहरू आउन सक्ने भन्दै ती देशले नेपाली नागरिकमाथि भिसा कडाइ गरेको जनाइएको छ । यसलाई सहज बनाउने प्रयास भइरहेको परराष्ट्रले जनाएको छ । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) भित्रका देशहरूले भिसामा कडाइ गर्न थालेपछि परराष्ट्रले पहल थालेको हो ।

जीसीसी अन्तर्गतका एउटाले कठोर नीति अपनाएपछि अन्य सदस्यले पनि त्यसलाई फलो गर्ने प्रचलन छ । सोही आधारमा यूएईले गत सेप्टेम्बर १५ तारिखबाट भिसामा कडाइ गरेपछि अन्य देशले समेत त्यहि अनुसार कडाइ गर्न थालेका हुन् । जीसीसीमा यूएईसहित कतार, साउदी अरब, बहराइन, कुवेत र ओमान रहेका छन् ।

भागेका कैदीहरू आफ्नो देशमा आउन सक्ने भन्दै सुरूमा यूएईले भिजिट भिसा दिन बन्द गरेको थियो भने वर्किङ भिसामा कडाई गरेको थियो। त्यसपछि मलेसिया, कतार, साउदी लगायतका देशले समेत भिसामा कडाइ गरेको मेनपावर व्यवसायीहरूले बताएका छन् ।

‘सूचनाको पहुँच विस्तार गर्न जनस्तरसम्म चेतना अभिवृद्धि गर्नुपर्छ’

काठमाडौँ । महान्यायाधिवक्ता सबिता भण्डारीले सूचनाको पहुँच विस्तार गर्न स्थानीयतह हुँदै जनस्तरसम्म पुगेर जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएकी छिन् ।

यही सेप्टेम्बर २८ मा पर्ने ‘अन्तरराष्ट्रिय सूचना दिवस’ का अवसरमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा महान्यायाधिवक्ता भण्डारीले सूचना लिने र दिने दुवै पक्षलाई निश्चित तालिममार्फत सचेतना अभिवृद्धि गराउनुपर्ने आवश्यकता औँल्याएकी छिन्। उनले यसका लागि आयोगले ‘सूचना साक्षरता’ अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएकी छिन् ।

आयोगको स्थापनाकालमा आफू आयुक्त भएको स्मरण गर्दै महान्यायाधिवक्ता भण्डारीले विगतमा सूचनाको हकलाई व्यावहारिक रूपमा बुझाउन निकै चुनौतीपूर्ण रहेको बताएकी हुन् । “हामीले एउटा कोठाबाट आयोगको जिम्मेवारी सुरु गरेका थियौँ । वर्तमान अवस्थामा सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि टोलटोल पुगेर यसको महत्त्व बझुाउन जरुरी छ”, उनले भनेकी की छिन्। “नभए, सूचनाको हकको कार्यान्वयन पक्ष हराएर जाने खतरा हुन्छ ।”

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले वातावरण र सूचनाको हकसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा वातावरण के हो जलवायु परिवर्तनले वातावरणमा परेको प्रभाव र यसमा सूचनाले पारेको सकारात्मक प्रभावबारे जानकारी दिएको थिए । उनले सूचानाको पहुँच विस्तार गर्दै पारदर्शी कार्यसम्पादनमा सबैले जोड दिनुपर्ने बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले पछिल्लो समय नागरिक हितको चासो भन्दा पनि व्यक्तिगत चासोका विषयमा सूचना माग्ने प्रवृत्ति बढेको बताए । उनले डिजिटिल माध्यममा सूचनाको प्रवाह बढ्दै गएको भन्दै सत्य र वास्तविक सूचना छुट्याउन साक्षरता अभियान आवश्यक पर्नेमा जोड दिए।

सूचना तथा प्रसारण विभागका महानिर्देशक उदयबहादुर राना मगरले हालै भएको जेनजी प्रदर्शनले सूचना पाउनुपर्ने मौलिक हकको महत्व र शक्ति कति छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको धारणा राखे ।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले अहिलेको डिजिटल साक्षारताका बारेमा बढी ध्यान दिनुपर्ने बताए । राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी पौडेलले आयोगले सीमित स्रोतसाधानको सदुपयोग गर्दै सूचनाको हकको महत्त्व बुझाउन स्थानीय तहसम्म जोडिने प्रयास गरिरहेको जानकारी दिएकी छिन्  ।

पहिरोमा परी दुई बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

आज दिउँसो करिब ४ः४५ बजे सडकमाथिबाट लेदो सहितको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन भई खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

भक्तपुर । दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा ती च्याङ्ग्रा राखिएको हो । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्रा मूल्य पनि बढेको छ ।

भक्तपुरका साथै काठमाडौंँ, ललितपुर, काभ्रलगायत क्षेत्रका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आउन थालेका छन् । व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार ३०० सम्ममा बिक्री गरिरहेका छन् । गतवर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ५० मा बिक्री भएको थियो ।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठले गतवर्ष भन्दा यसवर्ष मुस्ताङको घारमा महँगोमा किन्नु परेकाले यहाँ पनि मूल्य बढेको बताए । सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, “चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा प्रतिगोटा रु ४० देखि ४५ हजारसम्म तिुर्न परेकाले यसवर्ष महँगो भएको हो ।”

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो र ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गर्नुपर्ने बताउँदै श्रेष्ठले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनु पर्ने र यहाँ किलोमा बिक्री गगर्नु परेकाले उपभोक्तालाई महँगो पर्ने गरेको उल्लेख गरे ।

व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३५० सम्ममा बिक्री गरिरहेको जनाउँदै मुस्ताङमा बढी मूल्य दिरेर खरिद गरिएकाले यसवर्ष महँगोमा बिक्री गर्नुपरेको बताए ।

च्याङ्ग्रा ल्याउँदा यसवर्ष विभिन्न ठाउँमा करिब रु ३० हजार कर तिरेको जनाउँदै खड्काले सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई प्रतिव्यापारीले रु २५ हजार कर तिर्नुपरेको बताए ।

नेपाली पौडी टोली एसियाली एक्वेटिक्स च्याम्पियनसिपका लागि भारत जाँदै

काठमाडौँ । एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११औँ संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली भारतको अहमदाबाद जाने भएको छ ।

यही असोज १२ गतेदेखि २५ गतेसम्म हुने उक्त प्रतियोगितामा ११ पुरुष र पाँच महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्नेछन् । महिलामा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्नेछन् ।

प्रशिक्षकमा शङ्कर कार्की, अफिसियलमा दीपकसागर सिंह महर्जन, नविना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रममा सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । नेपाली टोली यही असोज १० गते भारततर्फ प्रस्थान गर्नेछन् ।

काठमाडौं महानगरले राख्यो विभिन्न चोकमा ‘हाइ-मास्ट’ लाइट (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँको विभिन्न चोकमा ६२ वटा ‘हाई-मास्ट’ लाइट जडान कार्य सुरु गरेको छ ।

तीन वर्षदेखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको गरेको हो ।

जसअन्तर्गत अहिले सम्म सोह्रखुट्टे चोक, दरबारमार्ग लगायत १२ स्थानमा लाइट बाली सकेको छ । दशैं अघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले बताएको छ ।

यसका साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको काम पनि अगाडी बढेको र यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा समेत महानगरले गरेको छ ।

विश्व पारा एथलेटिक्समा प्रभा र हिमाल सहभागी

काठमाडौँ । विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । भोलिदेखि १९ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान एक पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।

पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्नेछन् । महिलमा प्रभा आङदेम्बेले टी–४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन् । अफिसियलमा पारा एथलेटिक्स सङ्घ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै विदाई गरेका छन् । अध्यक्ष सिवाकोटी बाहेकको टोली भोलि भारत प्रस्थान गर्नेछ । अध्यक्ष सिवाकोटी भने केही दिनपछि जाने कार्यक्रम रहेको बताइएको छ ।

नेवानिका अध्यक्ष अधिकारीलाई निलम्बन र कारवाही गर्न ‘जेनजी’ कर्मचारीको माग

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्न निगमका जेनजी कर्मचारीहरुले माग गरेका छन् । जेनजी कर्मचारीहरुले उनीमाथि प्रशासनिक अनियमितता र अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेका हुन् । जेनजी नेपाल वायुसेवा निगमको नामबाट प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गरिएको निवेदनमा अधिकारीको कार्यशैलीप्रति आपत्ति जनाउँदै छानबिन तथा कारवाहीको माग गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले असक्षम ठहर गरी पटक–पटक निलम्वन तथा बर्खात भएका अध्यक्ष अधिकारीले गरेको निगम दोहनप्रति गम्भीर हुन माग गरेका छन् । कार्यकाल सकिदै गर्दा अधिकारीले दुईटा वाइडबडी जहाजको इन्जिन मर्मतको लागि आठ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया सुरु नगरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरे र एनडीए गरी अनुसार यो प्रक्रियालाई अपारदर्शी बनाइनुका साथै कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको लगायतका १० विषयमा छानविन गर्नुपर्ने निवेदनमा उल्लेख गरेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय टिकट बिक्रीमा अमुक ट्रभल एजेन्सीसँगको मिलेमतो गर्ने गरेको आरोप पनि उनीमाथि कर्मचारीले लगाएका छन् । निगमको प्रतिनिधिको रुपमा अन्तराष्ट्रिय स्टेशनहरुमा जनरल सेल्स एजेन्ट नियुक्ति भएको तर त्यसमा करोडौँ घोटाला हुने गरेको आरोप पनि कर्मचारीको छ । जीएसए आवश्यक नभएको ठाउँमा समेत जीएसए नियुक्तिको प्रकृया अगाडि बढाएको आरोप पनि जेनजी कर्मचारीको छ ।

भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै चर्कियो प्रदर्शन

काठमाडौं । भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु भएको इन्डिया टूडेले उल्लेख गरेको छ । घटनामा कम्तीमा ७० जना घाइते भएका समाचारमा उल्लेख छ ।

झडपपछि आक्रोशित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् ।

प्रदर्शनकारीले बुधबार लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले एउटा गाडीमा समेत आगजनी गरेको अधिकारीहरूलाई बताएका छन् । हिंसा नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र लाठिचार्ज गरेको थियो ।

हिंसा चर्किएपछि जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारले अगाडि बढेर जम्मू कश्मीरका जनताको असन्तोषको कारण पत्ता लगाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

 

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीमाथि आपराधिक मुद्दा

सियोल । दक्षिण कोरियाले बुधबार महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन हीविरुद्ध आपराधिक मुद्दा दायर गरेको छ । मार्सल ल मार्फत पतिलाई पदबाट हटाइएपछि पहिलोपटक पूर्व प्रथम महिलाले अदालतमा मुद्दाको सामना गरेकी हुन्।

उनलाई गत अगस्टमा स्टक हेरफेर र भ्रष्टाचार लगायतका आरोपमा पक्राउ गरिएको थियो । उनी गार्डहरूको बीचमा सियोल केन्द्रीय जिल्ला अदालतमा उपस्थित भएकी थिईन् । गाढा सूटमा, कपाल पछाडि बाँधिएको, छातीमा कैदी नम्बर ४३९८ लेखिएको ब्याजसहित उनी अदालतमा देखिएकी छिन् ।

पहिचान र पेशा पुष्टि गर्ने क्रममा उनले संक्षिप्त जवाफ दिएकी छिन्, “म बेरोजगार छु ।” उनले जन्ममिति दिए पनि जूरी ट्रायलको अनुरोध अस्वीकार गरेकी हुन् ।

यो मुद्दाले दक्षिण कोरियामा पहिलोपटक पूर्वराष्ट्रपति र पूर्व प्रथम महिलालाई एकैसाथ आपराधिक कारबाहीमा ल्याएको हो । विशेष गरी स्टक हेरफेरमा संलग्नता र सन् २०२२ मा वामपन्थी पादरीसँग डायर ह्यान्डब्याग लिएको विवादपछि किम लामो समयदेखि अनुसन्धानको दायरामा छिन् ।

उनी माथि युनको पार्टीको सांसद चयन प्रक्रियामा हस्तक्षेप गरेको र निर्वाचन कानून उल्लङ्घन गरेको आरोपसमेत छ । कानूनी विज्ञहरूका अनुसार यो मुद्दाले दुवैलाई संसदीय चुनावमा प्रभाव पार्ने भूमिकाका लागि जवाफदेही बनाउन सक्छ ।

राष्ट्रपतिको हैसियतमा युनले संसद्ले पारित गरेका किमविरुद्धका तीन विशेष अनुसन्धान विधेयकलाई भिटो प्रयोग गरेका थिए । अन्तिम भिटो नोभेम्बरमा जारी गरेपछि एक सातामै उनले मार्सल ल घोषणा गरेका थिए ।

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सुदूरपश्चिम कांग्रेस

काठमाडौं ।  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ । बुधबार प्रदेशस्तरीय नेताहरूको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो । ‘राष्ट्रिय राजनीतिको निकास दिनका लागि संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाहरूबीच राष्ट्रिय सहमति गर्नुपर्छ । त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्ने र पुनःस्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरेर आमनिर्वाचनमा जानुपर्छ,’ सुदूरपश्चिम कांग्रेसले भनेको छ ।

सुदूरपश्चिम कांग्रेसले यस प्रक्रियामा जेनजी युवाहरूलाई समेत सहभागी गराउनु पर्ने बताएको छ । बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृप वड, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्र, कैलाली सभापति नारायण दत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटीलगायत सहभागी थिए ।

इरानको कार्पेट उद्योग सङ्कटमा, युवाहरूको रुचि घट्दै

तेहरान । इरानको सांस्कृतिक गौरव मानिने हस्तनिर्मित कालीन (कार्पेट) उद्योग आज गम्भीर सङ्कटको सामना गर्दैछ । दशकदेखि अरबौं डलर आम्दानी दिने यो परम्परागत व्यवसाय अब मात्र थोरै देशहरूमा सीमित बनेको छ । आर्थिक सङ्कट र उपभोक्ताको बदलिँदो रुचिका कारण यो उद्योग पतनको दिशातर्फ अगाडि बढिरहेको छ ।

सन् १९९० को दशकमा वार्षिक दुई अर्ब डलरभन्दा बढी निर्यात गर्ने इरानी कार्पेट उद्योग अहिले घटेर करिब ४० लाख डलरमा सीमित भएको छ, जुन ९५ प्रतिशतभन्दा बढीको गिरावट हो ।

सन् २०१८ मा अमेरिकाले प्रतिबन्ध पुनः लगाएपछि, इरानले आफ्नो सबैभन्दा ठूलो कार्पेट बजार गुमायो । त्यसअघि अमेरिकी बजारमा इरानी हस्तबुनिएका कालीनको ७० प्रतिशत हिस्सा थियो ।

इरानको राष्ट्रिय कालीन केन्द्रकी प्रमुख, जहरा कामानीका अनुसार,“अमेरिकाको निर्दयी र कठोर प्रतिबन्धका कारण हामीले आफ्नो प्रमुख बजार गुमायौं ।”

वैश्विक प्रतिस्पर्धा

सन् २०१७ मा यो उद्योगले अझै ४०० लाख डलरभन्दा बढीको निर्यात गरिरहेको थियो, तर हालको तथ्याङ्क अनुसार सन् २०२४/२५ मा निर्यात घटेर ४१.७ लाख डलरमा झरेको छ । इरानका कार्पेटहरू अहिले जर्मनी, संयुक्त अरब इमिरेट्स, जापान र चीनजस्ता देशमा निर्यात हुन्छन् ।

तर यता, भारत, नेपाल, पाकिस्तान र चीनले सस्तो दरमा कालीन उत्पादन गरी बजार कब्जा गरिरहेका छन् । केहि विदेशी कालीन त इरानमै पुनः आयात भइरहेका छन् ।

उद्योगमा आश्रित लाखौं जीवन

कामानीका अनुसार, इरानमा झण्डै २० लाख मानिस यो उद्योगमा निर्भर छन् । तिनीहरूले दैनिक केबल केही डलर आम्दानी गर्ने गर्दछन् ।

व्यापारी हामेद नबीजादेहले भने,“भारत, टर्कीए र चीनबाट इरानमा कालीन आयात भइरहेको छ, जसका कारण घरेलु बिक्रीमा ठूलो गिरावट आएको छ ।”

पर्यटनमा गिरावट

पहिले–पहिले विदेशी पर्यटकहरूले स्मरणीय उपहारको रूपमा इरानी कालीन किन्थे । तर हाल अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रनु र यात्रा चेतावनीहरूका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको छ ।

“आजकाल पर्यटकहरूलाई हाम्रो कार्पेट मन नपर्न सक्छ । मूल्य पनि धेरै महँगो लाग्छ,” नबीजादेहले भने । “३०–४० हजार डलर पर्ने रेशमी कालीन आजको युरोपेली ग्राहकले किन्ने अवस्था छैन ।”

अर्थनीति र सरकारी समर्थनको अभाव

विशेषज्ञहरूका अनुसार उद्योगमा गिरावटको मूल कारणमा अन्तर्राष्ट्रिय प्रतिबन्ध, विदेशी मुद्रासँग सम्बन्धित त्रुटिपूर्ण नीति, उच्च उत्पादन लागत र सरकारी बेवास्ता जिम्मेवार छन् । व्यापारमन्त्री मोहम्मद अताबकले भने,“हामीले केही अन्तर्राष्ट्रिय बजार गुमाएका छौं, तर नयाँ व्यापार सम्झौताहरू र नीतिहरूको सहायताले उद्योगलाई पुनः जिवन्त बनाउन सकिन्छ ।”

“कालीनहरू आधुनिक आन्तरिक सजावटको रुचिअनुसार बनाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमार्फत ब्रान्डिङ र अनलाइन ग्राहकहरू तान्ने प्रयास गर्नु आवश्यक छ ।”

घरेलु बजार पनि धराशायी

डलरको तुलनामा इरानी मुद्रा अत्यधिक कमजोर बनेपछि घरेलु ग्राहक पनि हस्तबुनिएको कालीन किन्न असमर्थ छन् । ३१ वर्षीया विवाहको तयारीमा रहेकी शीमा भने,“मैले सधैं आफ्ना दाइजोमा हातले बुनेको कालीन चाहन्थें, तर परिवारले किन्ने सक्दैन । त्यसको सट्टा हामीले कारखानामा बनेको कालीन किनेका छौं ।”

“आजकाल धेरै परिवारहरू सस्तो मूल्यका यान्त्रिक कालीन रोजिरहेका छन्, या त केहीले त कालीन नै किन्न छोडेका छन्,” उनले थपे ।

 

नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले दिए राजीनामा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् । उनले बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।

साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ ।

आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

रुस: युक्रेनमा आक्रमण जारी राख्नबाहेक ‘कुनै विकल्प छैन’

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेको दाबीलाई अस्वीकार गर्दै क्रेमलिनले बुधबार युक्रेनमा सैन्य आक्रमण जारी राख्नुबाहेक अरू विकल्प नभएको घोषणा गरेका छन्।

ट्रम्पले युक्रेनले आफ्नो सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने भन्दै रुसलाई असफल अर्थतन्त्र भएको ‘कागजी बाघ’ का रूपमा चित्रण गरेको एक दिनमै मस्कोले प्रतिक्रिया दिएको हो ।

“राष्ट्रपति भ्लादिमिर पुटिनले तोकेको लक्ष्य प्राप्त गर्न र हाम्रो राष्ट्रिय चासो सुरक्षित गर्न विशेष सैन्य अभियान जारी राख्नेछौँ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “यो हामी हाम्रो वर्तमान र भविष्यका लागि मात्र होइन, आउने पुस्ताका लागि गरिरहेका छौँ । त्यसैले, हामीसँग कुनै विकल्प छैन ।”

पेस्कोभले ट्रम्पको टिप्पणी अस्वीकार गर्दै रुसले द्रुत वृद्धि र लगातार मुद्रास्फीति बीच सुस्त अर्थतन्त्रको चुनौती भोगिरहेको स्वीकार गरे। तर, उनले जोड दिए, “रुसले आफ्नो समष्टि आर्थिक स्थिरता कायम राखेको छ, यद्यपि केही क्षेत्रमा तनाव र समस्याहरू छन् ।”

उनले मस्को–वासिङ्टन सम्बन्ध सुधारका लागि गरिएको प्रयासलाई पनि नकारात्मक रूपमा मूल्याङ्कन गर्ने । जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि सुरु भएको मेलमिलाप प्रयासको परिणाम ‘शून्यको नजिक’ भएको बताए ।

“यो प्रक्रिया सुस्त छ, अत्यन्तै सुस्त”, पेस्कोभले भने ।

मस्कोले युक्रेन द्वन्द्वभन्दा पर गएर अमेरिकासँग कूटनीतिक र आर्थिक सहयोग विस्तार गर्ने प्रयास गरिरहेको भए पनि परिणाम अझै न्यून देखिएको उनले स्वीकार गरेका छन् ।

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौंलाई लाभ हुने अपेक्षा

दक्षिण सुडान । दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र बाल कोषको सहकार्यमा चार दिन लामो स्वास्थ्य अभियान सुरु गरेको छ । यस अभियानले करिब दुई करोड एक लाख बालबालिका र एक करोड बीस हजार वयस्कलाई पोलियो र स्किष्टोसोमियासिस भन्ने रोगबाट जोगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले देशका ४० जिल्लामा घरघर पुगेर पाँच वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् । यसैगरी, विद्यालय जाने उमेरका बालबालिका र जोखिममा रहेका समुदायलाई स्किष्टोसोमियासिस रोगको रोकथामका लागि प्राजिक्वान्टेल नामको औषधि वितरण गरिनेछ ।

स्वास्थ्य मन्त्री सराह क्लीटो रियलले भने,“हामी सबै अभिभावक र समुदायलाई आफ्ना बालबालिकालाई खोप लगाउन र अभियान सफल बनाउन पूर्णरूपमा सहभागी हुन आग्रह गर्छौं । यस अभियानले स्रोतको सदुपयोग गर्दै दुईवटा प्रमुख रोगलाई एकै पटक नियन्त्रण गर्ने अवसर प्रदान गरेको छ ।”

पोलियो भाइरसजन्य रोग हो जसले बालबालिकालाई पक्षाघात जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । दक्षिण सुडानका दुर्गम क्षेत्रहरूमा खोप लगाउन कठिनाईका कारण पोलियोका सङ्क्रमण बढिरहेका छन् । स्किष्टोसोमियासिस भने पानीबाट सर्ने परजीवीजन्य रोग हो, जसले शरीरमा संक्रमण गरी स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ ।

स्वास्थ्य मन्त्रालयले यो अभियानले दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा पुर्याउन र समुदायमा रोगको चेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । यसले लामो समयसम्म रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दक्षिण सुडानमा स्वास्थ्य सेवा प्रणाली अझै कमजोर रहेको अवस्थामा यस किसिमका अभियानहरूले जनस्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छन् । दुई रोगलाई एकसाथ लक्षित गरी गरिएको यस अभियानले समय र स्रोत दुवैको सदुपयोग गरेको स्वास्थ्य विज्ञहरूले बताँएका छन् ।

 

नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी भक्तपुरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई आज ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । ५० वर्षीय शर्मा भारतीय प्रहरीको सहयोगमा २०८० असार दोस्रो साता मुम्बईबाट पक्राउ परेका थिए ।

उपत्यकाका तीन वटै जिल्लासहित देशका विभिन्न ठाउँमा शाखा रहेको शिवशिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सीआईबीमा उजुरी परेको थियो । उनीमाथि १४ अर्ब रूपैयाँभन्दा बढी बचत हिनामिनाको आरोप छ ।

उनले २०७७ मा भक्तपुरमा सञ्चालित शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीलाई गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था खोलेका हुन् । मोरङमा सञ्चालित तुलसी सहकारी संस्था पनि उनले नै खोलेका हुन्। आर्थिक अपचलनका कारण सबै सहकारी डुबेपछि उनी भागेर भारत गएका थिए ।

तुइनखोलामा १६० मिटर बढी ढाक्ने गरी पहिरो : पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

गण्डकी । मुग्लिन–नारायणगढ खण्डको तुइनखोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडक खण्डमा पनि पर्ने गरेको छ । उक्त पहिरोका कारण मुग्लिन खण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ आवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा पु¥याउन नसकिएको उनले बताए । लगातार पहिरो जान थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

उनले भने, ‘मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक छ ।’ पोखरा–काठमाडौँ खण्डमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को संख्याका यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेको उनले जानकारी दिए । दशैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो संख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको उनले बताए ।

सडकका दुवैतर्फबाट २-२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार अपरान्ह ३ बजेसम्ममा सडकको दुवैतर्फ गरी करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ । मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झण्डै १६० मिटर सडक क्षेत्र पुरिएको छ भने २० मिटर अग्लो पहाड नै बनेको उनले बताए ।

मोर्टरको तार जोड्दा करेन्ट लागेर श्रीमान–श्रीमतीकै मृत्यु

रुपन्देही । पानी तान्ने मोर्टरबाट करेन्ट लाग्दा रूपन्देहीको गैडहवामा एक दम्पतीको ज्यान गएको छ । गैडहवा गाउँपालिका–६ कानीजहवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी पत्नी ६८ वर्षीया अकालीसिंहको आज बिहान मृत्यु भएको हो । खेतमा लगाएको तरकारीमा सिँचाइका लागि मोर्टरबाट पानी तान्ने क्रममा उनीहरूको करेन्ट लागेर मृत्यु भएको हो ।

ह्याण्ड पाइपबाट पानी तान्न मोर्टरको तार जोड्दा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए । सुरूमा पत्नीलाई करेन्ट लागेको र छुटाउन जाँदा रामरतनलाई पनि करेन्टले भेटेको कार्कीले जानकारी दिए । मोटरको तार पावर सकेटमा जोड्ने टुपिन नहुँदा नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको प्रहरीको भनाइ छ । दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको छ ।

दशैंको रौनक हराउँदै: बजारमा सुस्ती, व्यापारीमा निराशा

काठमाडौँ । दशैं सुरु भइसकेको छ। देशभरि चाडपर्वको माहोल देखिन थालेको छ। परम्परागत रूपमा राजधानीका ठूला बजार र मलहरूमा यस समयमा ग्राहकको भीड धान्नै नसक्ने अवस्था हुने गर्थ्यो। तर यसपालि त्यस्तो रौनक देखिँदैन। भीडभाड बढ्नुको सट्टा बजारहरू खुलेको तर सुनसान देखिन्छन्, पसलमा ग्राहकको कमी छ र व्यापारीहरू निराश देखिन्छन्।

“सबैभन्दा न्यून बिक्री”

महाबौद्धको थोक बजारमा २० वर्षदेखि व्यवसाय गर्दै आएकी नबिना प्रधान श्रेष्ठ भन्छिन्,
“मैले अहिलेसम्म गरेको व्यवसायमा अहिले सम्मकै न्यून बिक्री भइरहेको छ। करिब ६०–७० प्रतिशतसम्म घटेको छ। राजनीतिक अस्थिरता, यातायात समस्या र आर्थिक मन्दी सबैले असर पारेका छन्। तर सबैभन्दा ठूलो असर भने चीनसँगको सिमाना बन्द हुँदा परेको हो, किनभने हामी सबैजना चीनकै सामानमा भर पर्छौँ।” नबिनाका अनुसार हाल उनीहरू अघिल्लो वर्षको बाँकी स्टक बेचेरै बसेका छन्।

नयाँ सामान ल्याउने सुविधा नभएकाले बजारमा कपडादेखि अन्य सामानसम्मको अभाव छ।
“ल्यान्ड ट्रान्सपोर्टेशन छैन, समुद्रमार्गबाट ल्याउन सकिँदैन। हवाईमार्गले ल्याउँदा भने सामान अत्यन्तै महँगो पर्छ—करिब ६ डलरसम्म बढ्छ,” उनले बताइन्।

स्थानीय उत्पादनले बचाए पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था

चीनबाट सामान नआएपछि ग्राहकहरू स्थानीय उत्पादनतर्फ धकेलिएका छन्। तर गुणस्तरमा कमी हुँदा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन।
नबिना भन्छिन्, “स्थानीय उत्पादनलाई मानिसहरूले अब्जर्व त गरेका छन्, तर तिनीहरूको फिनिसिङ राम्रो छैन। प्रतिस्पर्धा नै गर्न सक्दैन। विकल्प नभएर मात्र स्थानीय उत्पादनतिर लागेका हुन्।”

“सामानै आएको छैन”

महाबौद्धकै अर्का व्यापारी मनोजकुमार गुप्ता पनि यस्तै चिन्तित छन्।
“अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार एकदमै घटेको छ। चीनसँगको सिमाना बन्द भएपछि सामान नै आएको छैन। कहिले खुल्छ भन्ने थाहा छैन। त्यसैले धेरै गाह्रो भएको छ,” उनले भने।
गुप्ताका अनुसार ग्राहक पनि परिस्थितिलाई बुझेर बजार आउनै छाडेका छन्।
“मानिसहरू नयाँ डिजाइन, नयाँ स्टाइल खोज्छन्। तर हाम्रो हातमा त पुरानै सामान छ। त्यसैले उनीहरूलाई लोभ्याउनै गाह्रो भएको छ,” उनले बताए।

हवाईमार्गबाट आएको थोरै सामान सामान्यभन्दा करिब रु।१५० ले बढी पर्छ। तर त्यो पनि नियमित आपूर्ति हुने कुनै निश्चितता छैन। “सायद जाडो यामसम्म केही आउला, तर दशैंमा त आउने सम्भावना नै देखिँदैन,” उनले थपे।

मलहरूमा पनि सुस्ती

राजधानीका ठूला मलहरूमा पनि परिस्थिति त्यस्तै छ। काठमाडौं मलहरूमा भेटिएका व्यापारी दीपक खनाल भन्छन्,
“यो वर्ष दशैंमा कारोबार धेरै नै कम छ, अघिल्लो वर्षभन्दा झन्डै ५० प्रतिशतले घटेको छ। कारण धेरै छन्—आन्दोलन, युवाहरू विदेश गएका, ग्राहकको क्रयशक्ति घटेको। सप्लाई त खासै समस्या छैन, तर ग्राहक नै कम छन्।”

उनका अनुसार मलभित्र प्रतिस्पर्धा असाध्यै बढेको छ।
“अरू पसलहरूसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको छ। चीनको सामान हवाईमार्गबाट ल्याइए पनि महँगो पर्छ। अहिले दशैंमा सेल्स टार्गेट पुरा गर्ने सबभन्दा गाह्रो वर्ष यही हो,” उनले भने।

सिभिल मलका व्यापारी प्रकाश थापा भन्छन्,
“यहाँ पनि करिब उस्तै हो—कारोबार कम छ। न्भल श् आन्दोलन, ग्राहक विदेश गएका, आर्थिक मन्दी—सबैले असर गरेको छ। चीनको सिमाना बन्द हुँदा खासै फरक परेको छैन, किनभने सामान वैकल्पिक बाटो हुँदै आइरहेको छ। तर मल्ल नै खाली जस्तो देखिन्छ, अघिल्लो वर्षजस्तो चहलपहल छैन।”

बिगत ३० वर्षकै न्यूनतम चहलपहल

राष्ट्रिय व्यापार संघका अध्यक्षले भनेका छन्,
“बिगत ३० वर्षमा यस वर्षकै दशैंमा सबैभन्दा कम मानिसहरूको चहलपहल देखिएको छ।”

परम्परा भत्किँदै

दशैं नेपालीको सबैभन्दा ठूलो चाड भए पनि यस वर्ष राजधानीका प्रमुख बजार र मल्लहरूमा परम्परागत चहलपहल हराएको छ। राजनीतिक अस्थिरता, चीन सिमाना अवरोध, आन्दोलन, युवाहरूको वैदेशिक रोजगारीतर्फको मोह, र आर्थिक मन्दीले गर्दा बजारको उत्साह ओझेल परेको छ।
व्यापारीहरू चेतावनी दिन्छन्—यदि तत्काल आपूर्ति सहज बनाउने र स्थानीय उत्पादनको गुणस्तर सुधार गर्ने नीतिगत पहल भएन भने, दशैंको रौनक केवल स्मृतिमा सीमित हुन सक्छ।

महिला क्रिकेट विकास समितिबाट संरचनागत विकासदेखि अन्तर्राष्ट्रिय तयारीसम्मका एजेण्डा पारित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत महिला क्रिकेट विकास समितिको चौंथो बैठक विभिन्न एजेण्डा पारित गर्दै सकिएको छ । समितिका संयोजक प्रदीप मजगैयाँको अध्यक्षतामा बसेको बैठकले महिला क्रिकेटको संरचनागत विकासदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीसम्मका विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पूर्ण योजना क्यान समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बैठकले आउँदो ICC Women’s T20 World Cup Global Qualifier का लागि उच्चस्तरीय High Performance Camps, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र खेलाडीहरूको सुविधा विस्तार गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, ICC U–19 Women’s World Cup २०२७ को तयारीलाई लक्षित गर्दै दीर्घकालीन योजना अघि बढाउने निर्णय भएको छ ।

त्यस्तै समितिले तल्लोस्तरमा महिला क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने, यस अन्तर्गत विद्यालय-कलेजस्तरका प्रतियोगिता सञ्चालन, जिल्ला क्रिकेट संघहरूसँग सहकार्यमा घरेलु प्रतियोगिता विस्तार र U–15 Talent Hunt Programme मार्फत नयाँ प्रतिभा पहिचान गर्ने योजना अघि सारिएको छ ।

बैठकले महिला क्रिकेट बिकासको लागि, प्रशिक्षकहरुको ब्यबस्था, महिला क्रिकेट बिकास अधिकृतको ब्यबस्था र बार्षिक क्यालेन्डर समेत निर्माण गरी कार्यन्वयन गर्ने निर्णय गरेको छ । सम्पूर्ण निर्णय नेपाल क्रिकेट संघको बोर्ड बैठकमा अनुमोदन र कार्यान्वयनको लागि पेस गरिने समितिले जानएको छ ।

माओवादी फागुन २१ को निर्वाचनको पक्षमा, विशेष महाधिवेशनको एजेण्डा तय

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ । आज (बुधबार) को स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । तोकिएकै मितिमा निर्वाचन गराउनका लागि पार्टीले आवश्यक भूमिका खेल्ने पनि बताएका छन् । जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विशेष महाधिवेशनसहित केन्द्रीय समितिका एजेण्डा तय
नेकपा माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्नेसहितका एजेण्डा तय गरेको छ । स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेण्डा तय गरेको हो । असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए ।

गाजामा इजरायली बमबारी, १५ प्यालेस्टिनीको मृत्यु

गाजा पट्टी । इजरायली सेनाले बुधबार गाजामा घर र शिविरहरूमा आक्रमण गर्दा कम्तीमा १५ प्यालेस्टिनी मारिएको गाजाको नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् ।

इजरायलले गाजा सहरमा ठूलो हवाई र भूमि आक्रमण सुरु गरेको छ । आक्रमणपछि लाखौँ मानिसलाई सहर छाड्न बाध्य पारेको छ । केही मानिसले केन्द्रमा शरण लिएको बेला हवाई आक्रमणले प्रहार गरेको प्रवक्ता महमुद बासलले बताए ।

उनका अनुसार नगरपालिकाको गोदाम र फिरास बजार नजिक विस्थापितहरूको त्रिपालमा गरिएको तीनवटा हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भयो । तीमध्ये धेरै बालबालिका थिए । अन्य आक्रमणमा अल–सहाबा स्ट्रिटको अपार्टमेन्टमा दुई र अल–यर्मोक बजार क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।

मध्य गाजाको नुसिरातमा हेलिकप्टर आक्रमणले चार जनाको ज्यान लियो भने नजिकैको अर्को घरमा हवाई प्रहारमा एक जनाको मृत्यु भएको नागरिक सुरक्षाले जनाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दुई वर्षयता इजरायली कारबाहीले ६५ हजार तीन सय ८२ प्यालेस्टिनी मारिएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् । संयुक्त राष्ट्रसङ्घले यसलाई भरपर्दो तथ्याङ्क मानेको छ ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा एक हजार दुई सय १९ इजरायली मारिएका थिए ।

मिडिया प्रतिबन्ध र पहुँच कठिनाइका कारण एएफपीले यी विवरण स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले गाजामा इजरायलको कारबाहीलाई ‘नरसंहार’ भनेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यसलाई अस्वीकार गर्दै ‘विकृत र झुटो’ ठहर गरेको छ ।

गाजाको ठूलो भाग अहिले ध्वस्त भएको छ र संयुक्त राष्ट्रसङ्घ समर्थित निकायले गत महिना यस क्षेत्रको केही भागमा आधिकारिक रूपमा अनिकाल घोषणा गरेको थियो ।

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा गरिएका निर्णय सबै क्षेत्रमा लागू हुने जानकारी दिएको छ । मन्त्रिपरिषद्ले यही असोज ५ गते आर्थिक मितव्ययिता सम्बन्धी विभिन्न निर्णय गरेको थियो । ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनी भएको आन्तरिक राजस्व कार्यालयको आज निरीक्षण गर्दै उनले सो जानकारी दिएको हो ।

सो अवसरमा मन्त्री खनाललाई सो कार्यालयका प्रमुख केशव उप्रेतीले क्षतिको विवरण हस्तान्तरण गरेको थियो । मन्त्री खनालले निरीक्षण गरिरहेका समयमा कर्मचारीहरुले सवारीसाधन राख्न बनाइएको टहराबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका थिए ।

अर्थमन्त्री खनाल एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरमा हुने राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार मन्त्री खनाल आज अपराह्न उद्योगी एवं व्यापारीसँग मोरङ व्यापार सङ्घ विराटनगर हुने छलफलमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रदेश खारेज हुँदैन : अर्थमन्त्री खनाल

विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले प्रदेश खारेज गर्ने एजेण्डा यो सरकारको नभएको बताएका छन् । आज (बुधबार) विराटनगर विमानस्थलमा पत्रकारसँग प्रतिक्रिया दिँदै अहिलेको सरकार संविधान सम्मत गठन भएकाले तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा नपर्ने बताएका हुन् ।

नयाँ सरकार गठन भएर नोट बन्दी गर्ने विषय चर्चा भइरहेको अवस्थामा कुनै पनि नोट बन्दी गर्ने विषयमा अहिलेसम्म छलफल नै नभएको स्पष्ट पारे । ‘नयाँ सरकार गठन भएसँगै पाँच सय र हजारको नोट बन्दी गर्ने भन्ने हल्ला चलिरहेको छ, नि’ भनी पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री खनालले भने, ‘नेपाली रुपैयाँ ५०० र १००० को नोट प्रतिबन्ध लगाउने बारेमा छलफल नै भएको छैन ।’

भारतीय सरकारले घटाएको जिएसटीको असर नेपालमा समेत पर्न सक्ने आकलन गरिएको छ । त्यसको असर पर्ने भन्दै ब्यवसायीहरूबाट कुराहरू आइरहेकोले त्यस बारेमा छलफल गरेर अघि बढ्ने उनको भनाई छ । उनले यस बारेमा अध्ययन कार्य भइरहेकोले उद्योग व्यवसायलाई असर गर्ने अवस्थामा सुधार हुने जिकिर गरेका छन् ।

नेतृत्व छाड्नेबारे प्रचण्ड : छलफल भइरहेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र चलिरहेको नेतृत्व परिवर्तनको बहस महाधिवेशनसम्म जाँदा सबै हल हुने दावी गरेका छन् । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’

माओवादीमा प्रचण्डलाई उपमहासचिव जनार्दन शर्माले राजीनामा माग्दै नेतृत्व छाड्न दबाब बढाएका छन् । प्रचण्डले मंसिरमा सबै कमिटी भङ्ग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव राखेका छन् ।

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड र आगजनी भएपछि रोकिएको सेवा प्रवाहलाई क्रमशः सञ्चालनमा ल्याएको छ । बुधबारदेखि नयाँ नागरिकता, राहदानी वितरण र भारतीय पेन्सन सिफारिससम्बन्धी सेवा पुनः थालनी भएको कार्यालयले जनाएको छ ।

यसअघि गत शुक्रबारदेखि लेखनाथमा रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्तासँगै यसअघि दर्ता भई प्रिन्ट भएर आएका परिचपयपत्रको वितरण पनि सुरु गरिएको थियो । ‘जेनजी’ प्रदर्शन सकिएको केही दिनमै शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्य सुचारू गरिएकामा रोकिएका अन्य सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

गत भदौ २४ को प्रदर्शनयता राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । कार्यालय तोडफोड र आगजनीका क्रममा प्रदर्शनकारीले साथमा लगेका केही राहदानी फिर्ता आएकाले सम्बन्धित सेवाग्राहीलाई राहदानी लिन आउन सूचित गरिएको उनको भनाई छ ।

प्रतिलिपी नागरिकता, गैरआवासीय नागरिकता, राहदानी आवेदन, नाबालक परिचयपत्रलगायतका सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने प्रजिअ शर्माले बताए । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा सञ्चालित अभियानका क्रममा विवरण दर्ता गरी प्रिन्ट भएका परिचयपत्र वितरणका लागि भने पछि सूचित गरिने उनको भनाई छ ।

आन्दोलनका क्रममा उक्त राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाका लागि आवश्यक पर्ने विद्युतीय उपकरण आगजनीमा परी नष्ट भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट नयाँ उपकरण माग गरी सेवा सुचारु गरिएको हो ।

आगजनी गरिएको कार्यालयलाई सरसफाइ र मर्मतसम्भार गरेर सेवा सञ्चालनमा ल्याइएको हो । हाल दुईवटा कार्यकक्षबाट सेवा प्रवाह भइरहेको र अन्य कार्यकक्ष मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको तोडफोड, आगजनी एवं लुटपाटबाट कार्यालयमा ठूलो क्षति पुगेको छ । कार्यालयको भौतिक संरचना कुरूप बनेको छ । कम्प्युटरलगायत महत्वपूर्ण उपकरण जलेका तथा लुटपाट भएका छन् । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संस्था दर्ता, स्थानीय प्रशासन तथा शान्ति सुरक्षालगायतका सेवासम्बन्धी सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।

प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालयसहित प्रदेश राजधानी पोखरामा रहेका तीनै तहका सरकार मातहतका अधिकांश कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । आगजनीमा परेका पोखराका अन्य सरकारी कार्यालय र निकायले पनि सार्वजनिक सेवा प्रवाहलाई क्रमशः सहज बनाउँदै लगेका छन् ।

कर्मचारीलाई भयरहित ढंगले काम गर्ने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । निजामती कर्मचारीका ट्रेड युनियनहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै सार्वजनिक प्रशासनलाई भयरहित ढंगले काम गर्ने र कर्मचारीलाई सुरक्षित वातावरण बनाउन ध्यानाकर्षण गराएका छन् । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालसहित ६ वटा युनियनका अध्यक्षहरूले प्रधानमन्त्रीलाई भेटेर पछिल्लो समय निश्चित पदाधिकारी तोकेर राजीनामा माग्ने, कानून बमोजिम चलेका संस्थाहरु विघटन गर्न दबाब दिनेजस्ता कार्य भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले भयरहित अवस्थामामा राष्ट्रसेवकले काम गर्न नसके निर्वाचनमा खट्ने मनोबल समेत नहुने भन्दै उनीहरुले सरकारले अभिभावकत्व देखाउनु पर्ने बताएका छन् । यसअघि उनीहरूले मुख्यसचिवलाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

हेर्नुस् ध्यानाकर्षण पत्र

साल्ट ट्रेडिङ कर्पोरेसन झापामा २२८ मेट्रिक टन रासायनिक मल मौज्दात

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरेकोे छ । तीमध्ये एक हजार ३५५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी मल छन् । मल स्थानीय सहकारी र कृषि संस्थामार्फत वितरण गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । पालिकाले तोकेका सहकारी र कृषि संस्थाहरुले लगेको मल किसानलाई बिक्री गर्दै आएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा धानखेतीका लागि एक हजार ३०५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी मल विक्री वितरण गरिएको उनले बताए । सोही अवधिमा चिया खेतीका लागि ५० मेट्रिक टन युरिया मल वितरण गरेको कार्यालयले जनाएको छ । उनले धान खेतीका लागि पालिकाहरुले १४० सहकारी र कृषि संस्थालाई मल वितरणका लागि अधिकृत विक्रेता सिफारिस गरेका थिए । पहिलो चरणमा धान खेतीका लागि प्राप्त डिएपी मलमध्ये हाल कार्यालयमा २२८ मेट्रिक टन मल मौज्दात छ ।

चियाका लागि आएको मलमध्ये ६०० मेट्रिक टन युरिया र ४०० मेट्रिक टन डिएपी मल भने कार्यालयमा मौज्दात रहेको उनले जानकारी दिए । चिया तथा कफी विकास बोर्डमा दर्ता भएका चिया उत्पादक कम्पनी तथा संस्थालाई रासायनिक मल उपलब्ध गराउने प्रावधान रहेको उनको भनाई छ ।

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा रु तीन करोड २५ लाख एक हजार ५५ बराबरको क्षति पुगेको छ ।

नगरपालिकाको मुख्य प्रशासनिक भवन जोगाउन सफल भएको प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए। नगरपालिकाको जिन्सी शाखाका प्रमुख कृष्ण कार्कीका अनुसार सबैभन्दा बढी क्षति वडा नं ८ मा देखिएको छ । जहाँ मात्रै रु ५५ लाख ९६ हजार ८७१ बराबरको सम्पत्ति, कागजपत्र, फर्निचर, कम्प्युटर, अभिलेखलगायत नष्ट भएको छ ।

यसैगरी, वडा नं १ मा रु ४६ लाख ७४ हजार ९५९, वडा नं ७ मा रु ४५ लाख तीन हजार ७२, वडा नं ३ मा रु २५ लाख १० हजार ४९४ र वडा नं ५ मा रु २३ लाख १० हजार सात सय ७१ बराबरको क्षति भएको छ ।

अन्य वडामा पनि लाखौँको क्षति भएको छ । वडा नं ६ मा रु १८ लाख ८७ हजार ८१४, वडा नं १२ मा रु १५ लाख ५१ हजार ४९६, वडा नं २ मा रु १५ लाख ७३ हजार १४९, वडा नं ९ मा रु १५ लाख २२ हजार ५९१, वडा नं ४ मा रु १५ लाख १२ हजार ७८, वडा नं ११ मा रु १३ लाख ४३ हजार ५८९ र वडा नं १० मा रु सात लाख ४७ हजार ६८२ बराबरको क्षति पुगेको नगरपालिकाले सङ्कलन गरेको क्षतिको विवरणमा उल्लेख गरिएको छ ।

कार्यालय भवन, फर्निचर, कम्प्युटर तथा अभिलेख तोडफोड र आगजनीबाट ध्वस्त भएपछि तत्काल वडाबाट सेवा प्रवाह पूर्णरूपमा अवरुद्ध भएको छ । हाल अस्थायी रूपमा मुख्य कार्यालयमार्फत वडास्तरका सेवा दिन सुरु गरिएको भए पनि स्रोत साधनको अभावले सेवाग्राहीलाई समयमा सेवा पु¥याउन कठिनाइ भइरहेको जनप्रतिनिधिहरुको भनाई रहेको छ ।

आन्दोलनका कारण कार्यालय मात्र नभई स्थानीयवासी पनि प्रत्यक्ष प्रभावित भएका छन् । पहिले वडास्तरमै सेवा पाउने नागरिक अब नगरपालिकाको मुख्य कार्यालय धाउन बाध्य छन् । नगरपालिकाले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग बजेट व्यवस्थापन गरिदिनका लागि आग्रह गरेको छ ।

“मुख्य कार्यालयमा अभिलेख जोगाउन सकिएको भए पनि वडास्तरमा ठूलो क्षति पुगेको छ”, शाखा प्रमुख कार्कीले भने, “जिल्लामै आन्दोलनका नाममा सबैभन्दा ठूलो क्षति यस नगरपालिकाले व्यहोरेको छ ।” शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक संरचना र सेवाग्राहीको सुविधा पुनःस्थापित गर्न सरकारले चाँडै पहल गर्नुपर्ने स्थानीयवासीको माग गरेका छन् ।

मतदाता नामावली संकलनको बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको छ ।

मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्ने छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, ‘अध्यादेश जारी भएपछि कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको छ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक निर्णय गर्ने छ ।’

जेनजी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम लेखाउन पाइँदैन ।

तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरुको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन अध्यादेश जारी भएको हो ।

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो ।

उक्त व्यवस्थाका कारण रोकिने मतदाता नामावली खुलाउनका लागि अध्यादेश ल्याइएको आयोगले जनाएको छ ।

मुख्य सडकको दुर्दशा : चाडबाडमा घर फर्किनेलाई सास्ती

काठमाडौं । बर्खाले भत्किएका र खाल्डा परेका सडक समयमै मर्मत सम्भार नहुँदा यो बर्ष पनि चाडबाडको मुखमा सर्वसाधरणले यात्रामा समस्या भोग्नु परेको छ । काठमाडौं उपत्यकाबाट दशैं मनाउनेहरुलाई सुरक्षित रुपमा घर पुगिने हो कि होइन भन्ने चिन्ता छ । वीपी राजमार्गमा जेनतेन गाडी चलिरहेको भए पनि अहिले नारायणगढ–मुग्लिन सडकले चालक र यात्रु सबलाई दुःख दिइरहेको छ । कतिबेला पहिरो झरेर कहाँ अलपत्र पर्नुपर्ने हो ? सडकमाथिबाट खस्ने ढुङ्गाले कसलाई लाग्ने हो मनमा सँधै चिन्ता लिएर यात्रा गर्नुपर्ने वाध्यता छ ।

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन सुरु
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज –बुधबार) बिहानबाट थालिएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ४ः५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको छ ।

त्यसैले सबै सवारी धनी, चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनका एसपी गोविन्द पुरीले बताए ।

एसपी पुरीले भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’

पहिरो खसे लगत्तै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । सडकमा सवारी साधनहरुको लामो जाम देखिन्छ । सवारी साधनहरुको लाइन कुरिनटारसम्मै देखिन्छ ।
समयमै ध्यान नदिंदा मुख्य सडककै दुर्दशा
देशका मुख्य राजमार्ग पहिरोले भत्किँदा र ठुल्ठूला खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन समस्या भएको छ । जसकारण दशैंका बेला गाउँघर फर्केका सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

पृथ्वी राजमार्ग, नारायणगढ–बुटवल सडकखण्ड, अरनिको राजमार्ग, पासाङल्हामु राजमार्ग, पूर्व–पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले सवारीसाधनमा यात्रा गर्नेले सास्ती खेपेका हुन् । बर्खामा गएको पहिरोले सडक कटान गर्दां तथा माटोढुंगा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् । जसकारण लामो दूरीका सडकमा यात्रु गर्ने घण्टौं जाममा पर्नुपरेको छ ।

अहिले लामो दूरीका सबैजसो सडक कहीँ न कहीँ भत्किएका छन् । सडकमा खाल्डाखुल्डी तथा एकतर्फ हुँदा दशैँका घर फर्कने यात्रुहरूले दुःख पाइरहेका छन् । वर्षात भर्खर सकिएकाले सडक तत्काल मर्मत गर्न कठिन भइरहेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो समयमा सबैजसो सडक एकतर्फी रूपमा सञ्चालन भएको जानकारी दिए । उनले भने, ‘अहिले सबैजसो सडकमा खाल्डाखुल्डी छन्, कहीँकतै पुर्ने काम पनि भइरहेको छ, पानी परिरहेका कारण समयमै सडक मर्मत गर्न नसकिएको हो ।’

सडक अप्ठ्यारो भएर यात्रा गर्न कठिन हुने भएपछि महँगो भए पनि सर्वसाधारणले हवाई यात्रा रोज्न थालेका छन् । लामो दूरीको सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेको र समयमै गन्तव्यमा पुग्न नसकिने अवस्था भएपछि हवाई यात्रा गर्नेहरूको संख्या बढेको हो । दशैँ सुरु भएसँगै अन्य दिनको तुलनामा हवाई यात्रा गर्नेको संख्या दोब्बर छ ।

यो समयमा वायुसेवा कम्पनीहरूले अन्य समयमा भन्दा बढी उडान भर्न थालेका छन् । दशैँ सुरु भएयता बुद्ध एयरले दैनिक एक सय ४२ भन्दा बढी उडानमार्फत नौ हजारभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले १५ वटा जहाजमार्फत उडान भर्दै आइरहेको जानकारी दिए । यो वर्ष दसैँका टु–वे नै यात्रुको चाप उस्तै रहेको उनको भनाइ छ ।

बेहाल नारायणगढ–बुटवल सडक
नारायणगढ–बुटवल सडकखण्ड निर्माण कार्य सुरु भएको साढे दुई वर्षमा आठ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । ठेकेदार कम्पनीकै ढिलासुस्तीले पूर्व–पश्चिम जोड्ने राजमार्ग चौडा तथा मर्मत कार्य समयमै हुन नसकेको हो । लामो समयदेखि निर्माण कार्य सुरु भएको सडकखण्ड नबन्दा दशैँको वेला घर फर्कने यात्रुहरूले निकै सास्ती खेप्नुपर्ने भएको छ । करिब तीन घण्टामा पार गर्न सकिने यो सडक खण्ड अहिले पार गर्न पाँच घण्टाभन्दा बढी समय लाग्छ ।

चितवन नारायणगढदेखि बुटवलसम्म पुग्दा कैयौँ खाल्डाखुल्डी छन् । ०७५ फागुनमा सुरु भएको यो आयोजनाको म्याद ०७९ साउनमा सकिँदै छ । तर, ४२ महिनाको समय सीमा राखेर निर्माण कार्य भइरहेको यो सडक खण्डको प्रगति जम्मा आठ प्रतिशत मात्रै भए पनि एक अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको छ । सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई दिइएको छ ।

ठेकेदार कम्पनीले दुई खण्ड छुट्याएर सडक चौडा पार्ने कार्य सुरु गरेको थियो । जसमा पूर्वी–खण्डअन्तर्गत नारायणगढदेखि दाउन्नेसम्म ६५ किमि र पश्चिम–खण्डमा दाउन्नेदेखि बुटवलसम्म ४८ किमि सडक पर्छ । तर, दुवै खण्डको कार्य प्रगति हेर्दा जम्मा आठ प्रतिशत मात्रै काम भएको सडक विभागले जनाएको छ ।

विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो वर्ष अत्यधिक वर्षा भएकाले सडक चौडा तथा मर्मत कार्य ढिलो भएको बताए । हाल २२ वटा पुल र एक सय २० वटा कल्भर्टको काम भइरहेको छ । बुटवलतर्फ १३ किमि मात्रै सडक चौडा पारिएको छ । दुवै खण्डतर्फ ४५ जना चिनियाँ र पाँच सय हाराहारी नेपाली कामदार खटिएका छन् । आगामी चार महिनाभित्र सडक साइटका बिजुलीका पोल हटाउने लक्ष्य राखिएको छ ।

सडक असुरक्षित छ : सरोज सिटौला
दशैँ सुरु भएसँगै आमसर्वसाधारण गाउँघर फर्कने क्रम बढेको छ । गन्तव्यमा सहजै पुग्न उनीहरू भरपर्दो सडक–सवारीको खोजीमा छन् । तर, हाम्रो सडक हेर्दा यात्रा गर्न मन नलाग्ने किसिमका छन् । दशैँको मुखमा सडक नबनाउँदा आमयात्रु व्यवसायीहरूले दुःख खेप्नुपर्छ ।

दशैंको बेलामा बाहिरिने र उपत्यका भित्रिनेको संख्या उस्तै
हरेक वर्ष घटस्थापनापछि उपत्यका बाहिरिनेको संख्या बढ्छ । यस अवधिमा निकै कम मानिस काठमाडौं प्रवेश गर्छन् । तर, यो वर्ष दशैँ सुरु भएसँगै उपत्यका बाहिरिने र भित्रिनेको संख्या उस्तै छ । घटस्थापना सुरु भएदेखि उपत्यका प्रवेश गर्नेको संख्या पनि बढेको छ । दशैँको वेला बाहिरिने यात्रुहरूको संख्या बढी हुनुपर्नेमा भित्रिनेको संख्या पनि बढेको देख्दा ट्राफिक प्रहरीले संख्याबारे अनुमान गर्न सकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० असोजयता आइतबार साँझसम्म पाँच लाख ९० हजार ९९ जना यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिनेको संख्या पाँच लाख एक हजार नौ सय छ । दशैैँका वेला उपत्यका भित्रिनेको संख्या बढी हुनुमा वैदेशिक रोजगार हुन सक्ने प्रहरीको अनुमान छ ।

‘जति मानिस उपत्यका बाहिरिएका छन्, त्यति नै संख्यामा भित्रिएका छन्, यो वर्ष कति यात्रुले उपत्यका छाड्छन् भन्ने अनुमान गर्न मुस्किल छ,’ महाशाखाका एसपी सञ्जीव शर्मा दासले भने, ‘विगतका वर्षमा भन्दा यो वर्ष दसैँ मनाउन जानेको संख्या कम हुने हाम्रो अनुमान छ, जति बाहिरिएका छन् उति नै भित्रिएका पनि छन् ।’ उनका अनुसार बिहीबार करिब ६० हजार र शुक्रबार ५० हजार मानिस बाहिरिएका छन् । फूलपातीदेखि यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।

साढे ११ किलोमिटर भैंसे–भीमफेदी सडक पार गर्न एक घण्टा
भैंसे–भीमफेदी सडकखण्ड अलपत्र अवस्थामा छ । ११.५ किलोमिटर सडक पुनर्निर्माणको काम एक वर्षअघि सुरु भएको थियो । काठमाडौंबाट हेटौँडा हुँदै तराईका विभिन्न जिल्ला आवतजावतका लागि प्रयोग गरिने यो सडक पुनर्निर्माणको काम अलपत्र हुँदा यात्रुले सास्ती भोग्नु परेको छ । दैनिक पाँच सयभन्दा बढी साना सवारीसाधन आवतजावत गर्ने सडक अलपत्र हुँदा दशैँका लागि काठमाडौंबाट घर फर्किने यात्रुले बढी समस्या भोग्नुपर्ने अवस्था छ ।

साढे तीन घण्टामा काठमाडौं–हेटौँडा यात्रा गर्न सकिने सडक भैँसे–भीमफेदीमा ११.५ किमि अलपत्र हुँदा पाँच घण्टा बिताउनुपर्ने बाध्यता रहेको टाटासुमो चालकहरू बताउँछन् । यो सडकमार्फत तराईका विभिन्न जिल्ला र हेटौँडाबाट सयौँ टाटासुमोमा यात्रुले आवतजावत गर्दै आएका छन् । ‘विगतमा भैँसेबाट भीमफेदी पुग्न २० मिनेट लाग्थ्यो, अहिले सडक भत्काइएको र डाइभर्सनबाट यात्रा गर्नुपर्ने बाध्यताका कारण एक घन्टा लाग्ने गरेको छ,’ टाटासुमोचालक कृष्ण श्रेष्ठले भने ।

नारायणगढ–मुग्लिन सडक यात्रा मौसमको भरमा
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गलाई मुलुकको लाइफलाइनका रूपमा लिने गरिन्छ । तर, यी दुवै राजमार्ग भएर यात्रा गर्न भने निकै जोखिमपूर्ण छ । सामान्य झरीमै सडकमा माथि पहाडाबाट पहिरो खस्ने गर्छ । त्यस बाहेक सडक भासिने अर्को समस्या हो । दुवै सडक खण्डकमा ठाउँठाउँमा भासिएको देख्न सकिन्छ । जसले गर्दा पनि यात्रुले कष्टकर महसुस गर्ने गरेका छन् ।

नदी र पहाडको बीचको सडक भएकाले पनि यो सडक यात्राका लागि जोखिमपूर्ण मानिन्छ । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवानराज थापाले मौसमले साथ दिएमा यो सडक हँुदै यात्रा गर्न सहज रहेको बताए । वर्षा भएमा पहिरो र सडक भासिने समस्या भने कायम रहेको उनको भनाइ छ । नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सडक केही ठाउँमा भासिए पनि सवारीसाधन आवतजावत भने रोकिएको छैन । तर, अझै पनि पानी पर्ने गरेकाले पहिरोको जोखिम भने कायमै छ ।

 

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

दमौली (तनहुँ) ।  यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो ।

स्थानीय अपाङ्गता समन्वय समितिको गत भदौ १९ को बैठकको निर्णय अनुसार चालु आर्थिक वर्षको अपाङ्गता लक्षित कार्यक्रमअन्तर्गत उनीहरुको बिमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाउन लागिएको अधिकारीको भनाई छ ।

गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य बिमा अभिकर्तालाई सूचना जारी गरी सम्बन्धित वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा प्रक्रिया अगाडी बढाउन अनुरोध गरिसकेको गाउँपालिकाका अधिकृत धुब्रराज लामिछानेले जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यालय तनहुँमा पालिकाबाट रकम भुक्तानी गर्ने क्रममा सम्बन्धित अपाङ्गता परिचयपत्र, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र असोज मसान्तभित्र उपलब्ध गराउन सूचित गरेको उनले बताए ।

उनका अनुसार ‘घ’ वर्गका अपाङ्गता भएका १७, ‘ग’ वर्गका अपाङ्गता भएका ५७ र वर्ग पहिचान नभएका चार जनाको स्वास्थ्य बिमा गरिनेछ । जसअनुसार घिरिङ गाउँपालिका–१ का १७ जना, घिरिङ गाउँपालिका–२ का १४ जना, घिरिङ गाउँपालिका–३ का २० जना, घिरिङ गाउँपालिका–४ का १५, घिरिङ गाउँपालिका–५ का १२ जना रहेका छन् ।

कोदारी पहिरो स्थानीय र व्यापारीहरुलाई सधैंको सास्ती, तस्बिरहरु

काठमाडौँ । नेपाल चीनबीचको प्रमुख व्यापारिक मार्ग बाह्रविसे तातोपानी सडक खण्डमा वर्षौं देखि स्थानीय र व्यापारीहरूले सास्ती भोग्दै आउनु परेको छ ।

देशकै प्रमुख व्यापारिक मार्गको रूप रहेको सो सडकको विभिन्न क्षेत्रमा पहिरो खस्दा लाखौं मालसामान सीमा क्षेत्रमा रोकिनु परेको छ ।
२०७२ सालको भूकम्प र कोरोना महामारी पछि बन्दको अवस्थामा रहेको सो नाका रसुवाको केरुङ नाका बाढीले क्षति पूर्याएसंगै पुन लयमा फर्किएको भए पनि कोदारी पहिरो, दाकलाङ लगायत विभिन्न क्षेत्रमा गएको पहिरोमा कारण निर्धक्क रुपमा यात्रा गर्न सकिने अवस्थामा भने छैन ।

प्रमुख व्यापारी मार्ग भए पनि नेपाल सरकारबाट आवश्यक बजेट विनियोजन नहुँदा हरेक वर्ष पहिरो झेल्नु परेको स्थानीयहरू बताउँछन् ।

भोटेकोशी गाउँपालिकामा २ नं. वडा चौकीडाँडाका स्थानीय कृष्ण बहादुर राईका अनुसार कोदारी पहिरोले हरेक वर्ष असार साउन महिना देखि दुःख दिने, हिउँदको समयमा पहिरो रोकथामका लागि स्थानीय सरकार, सङ्घ र प्रदेश सरकारले खासै ध्यान नदिएको कारण अहिले सुख भोग्नु परेको बताए ।

सो पहिरोले सडकमात्र नभएर ३‌ सय जति घरधुरी समेत जोखिम रहेको उनले जनाए । स्थानीयले हरेक पटक पहिरो रोकथाम र बाटो मर्मतका लागि माग राखे पनि कहीं कतैबाट सुनुवाई नभएको राईले जानकारी दिए ।

स्थानीय अर्जुन धतानेका अनुसार कोदारी पहिरो २०३८ सालबाटै सुरु भएको पनि हाल सम्म प्रभावकारी रूपमा नियन्त्रणको काम नभएको बताए । मुख्य नाका भएको हुनाले सरकारले यसको रोकथाम र नियन्त्रणको काम लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने भए पनि हालसम्म त्यस्तो केही नगरेको उनले बताए ।

हरेक वर्ष पहिरोले बाट बन्द हुने अवस्था छ तैपनि स्थानीय, प्रदेश र संघीय सरकारले नहेर उनको गुनासो छ ।

हाल अस्थायी रुपमा पहिरो नियन्त्रण, रोकथाम र सहज रुपमा सडक संचालनका लागि ग्रभेल हाल्ने, पानीका मुहालहरुलाई ट्रयाप गरी सेफ ठाउँमा पठाउने र ढुङ्गा बिछ्याउने काम भई रहेको सडक डिभिजन चरिकोटका सब इन्जिनियर रामकृष्ण रिमालले जानकारी दिए । धेरै पुरानो पहिरो भएका कारण तत्कालै नियन्त्रण गर्न नसकेपनि अहिले अस्थायी रुपमा सडक संचालन र पहिरो रोकथामको काम भई रहेको उनले बताए ।

 

अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेसँगै भन्सार नाकाबाट सामान आयात सुरु

सिन्धुपाल्चोक । पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेको छ । राजमार्ग खुलेसँगै चीनसँगको प्रमुख व्यापारिक ढोका तातोपानी नाका सोमबारदेखि सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन ।

कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका–२ इकोसहितको चार ठाउँको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै ५०० मिटर सडक भासिएको थियो । इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो ।

महिना दिनभन्दा बढीदेखि रोकिएका केही कन्टेनर मङ्गलबार बेलुकीसम्म भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जानकारी दिए । उनका अनुसार दसँै लक्षितलगायत सामग्री भित्रिएका र आज पनि लोडको काम भइरहेको उनले जानकारी दिए ।

सडक सञ्चालनको अवस्थाबारे बुझ्न सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोली समेत पुगेको थियो ।