`

काठमाडौं–१ मा तेस्रो पटक रवीन्द्र मिश्र, आठ उम्मेदवार टुङ्गो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । मिश्रलाई काठमाडौं–१ को उम्मेदवार बनाउने राप्रपाको निर्णय छ ।
उनी यसअघि दुई पटक सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेर पराजित भएका हुन् ।

राप्रपाले काठमाडौं–२ बाट कुन्ति पोखरेल ३ मा डा. सुन्दरसिंह बोहरा, ४ मा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, ५ मा कमल थापा, ६ मा उद्धवराज भेटवाल, ७ मा लालकुमार लामा ८ मा नविन शाही र १० मा बलराम थापा उम्मेदवार चयन गरिसकेको छ । राप्रपाले काठमाडौंका ८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी २ क्षेत्रमा पनि सहमति नजिक रहेको पार्टी स्रोतले बतायो ।

 

 

‘सदाबहार उम्मेदवार’ गौतमले किन छाडे चुनावी मैदान ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीसहित राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका नेता बामदेव गौतम अन्ततः चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेकै बेला उनले आफू यस पटक कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने निर्णय लिएको बताएका हुन् ।

गौतमका अनुसार बर्दियाका दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयनको क्रममा जातीय सन्तुलनको प्रश्न उठेपछि उनले पछि हट्ने निधो गरेका हुन् । ‘म उठ्ने हो भने दुवै क्षेत्रमा बाहुन–बाहुन उम्मेदवार हुने अवस्था आयो’, उनले भने, ‘कम्तीमा एउटा क्षेत्रमा थारु समुदायबाट उम्मेदवार उठाउनु पर्छ भन्ने मेरो धारणा थियो । त्यसैले मैले चुनाव नलड्ने निर्णय गरें ।’

उनको निर्णयसँगै नेकपाले बर्दिया–१ बाट विष्णुप्रसाद थारु र बर्दिया–२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ । बर्दिया–१ मा गौतमको नाम बलियो रूपमा चर्चामा रहे पनि अन्तिममा पार्टीले थारु समुदायका नेता चौधरीलाई टिकट दिएको हो । सोमबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौधरीलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका थिए । यद्यपि, टिकट वितरणको प्रक्रियाप्रति गौतम पूर्ण रूपमा सन्तुष्ट देखिएनन् । ‘म उठ्दिन भनेपछि कुरा सकिनु पर्ने हो’, उनले भने, ‘तर उठ्दिनँ भन्ने वातावरण नै बनाइयो ।’ यसलाई कतिपयले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र दबाबको परिणामका रूपमा हेरेका छन् ।

२०७४ सालको निर्वाचनमा बर्दिया–१ बाट पराजित भएपछि गौतम राष्ट्रिय सभामा पुगेका थिए । राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी फागुन २० गतेसम्म बाँकी थियो । तर प्रतिनिधिसभा चुनाव लड्ने तयारी गर्दै उनले डेढ महिना अगावै राजीनामा दिएका थिए । अन्ततः चुनाव नलड्ने निर्णयसँगै उनको राजीनामाले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ । ७७ वर्षीय गौतमलाई बहुदलयताकै ‘सदाबहार उम्मेदवार’ का रूपमा लिइन्छ ।

उनले २०४८ सालमा पहिलो पटक चुनाव जितेका थिए भने २०५१ को मध्यावधि निर्वाचनपछि २०५३ सालमा गृहमन्त्री समेत बने । २०५६ र २०६४ मा पराजय बेहोरेका उनी २०७० सालमा भने बर्दिया–१ र प्युठान–१ दुवै क्षेत्रबाट विजयी भएका थिए । भविष्यको राजनीतिक भूमिकाबारे अहिले केही नबताउने भन्दै गौतमले यस पटक कुनै पनि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने स्पष्ट पारेका छन् । उनको पछिल्लो निर्णयलाई कतिपयले जातीय प्रतिनिधित्वप्रतिको संवेदनशीलता भने कतिपयले सक्रिय चुनावी राजनीतिबाट बिस्तारै दूरी बनाउने संकेतका रूपमा विश्लेषण गरेका छन् ।

 

 

 

बालेनले रविको हातबाट लिए झापा–५ को टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । जनकपुरमा चुनावी सभाको क्रममा रास्वपा नेतृत्व यतिखेर जनकपुरमा छन् । बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन् । आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए । जनकपुरमा आज उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।

 

 

जनकपुरबाट रविको हुंकार : छलछामले रोकिँदैनौं, अब सबैभन्दा ठूलो पार्टी बनाएर संसद फर्किन्छौं

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट हटाइए पनि अब जनताको बलमा सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसदमा पुनः प्रवेश गर्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले अघिल्लो निर्वाचनमा चितवनका जनताले सबैभन्दा धेरै मत दिएर पठाउँदा पनि षड्यन्त्रपूर्वक आफूलाई संसदबाट बाहिर गरिएको आरोप लगाए ।

‘चितवनका जनताले मलाई सबैभन्दा धेरै भोट दिएर पठाएका थिए । हिजो सबैभन्दा धेरै मत ल्याउने सांसद म नै थिएँ,’ उनले भने, ‘तर छलछाम गरेर मलाई संसदबाट हटाइयो । अब व्यक्तिका रूपमा होइन, पार्टीकै रूपमा सबैभन्दा धेरै मत ल्याएर संसदमा जानेछौं ।’ लामिछानेले आफू जनताको मुद्दा बोकेर हिँडेकाले आफूमाथि लगाइएका मुद्दाबाट डराउने अवस्था नरहेको बताए । अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दाले फेरि जेल जानुपरे पनि अब चिन्ता नभएको उनको भनाइ थियो । ‘हेलिकप्टरबाट भाग्ने, बच्चाको टाउको र छातीमा गोली ठोकेर भाग्ने सरकारले लगाएको मुद्दाले मलाई जेल पुर्‍याउला,’ उनले भने, ‘तर अब मलाई कुनै चिन्ता छैन ।’

उनले देशले अब वैकल्पिक नेतृत्व पाइसकेको दाबी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति भरोसा व्यक्त गरे । ‘मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ,’ उनले भने । बच्चामाथि गोली चलाउने र जनतामाथि दमन गर्नेहरूले देश र मधेशलाई गरेको अन्यायको हिसाब अब लिनुपर्ने समय आएको उनको भनाइ थियो । जनताले भगाएका शक्तिहरूलाई अब देश छाड भनेर भन्न नपर्ने अवस्था आउने दाबीसमेत उनले गरे ।

सभामा बोल्दै लामिछानेले बालेनले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘मैले आमाको फोटो हेरेर गम्भीर रूपमा सोचें,’ उनले भावुक हुँदै भने, ‘मलाई लाग्यो, बालेनले देश बनाउँछ । मैले आमासँग भनेँ, आमा बालेनले देश बनाउँछ ।’ देश र जनताको हितका लागि आफू र बालेन एकै ठाउँमा उभिएको उनको भनाइ थियो । उनले आफू र बालेनबीच भएको छलफल छोटो तर सार्थक भएको पनि खुलाए ।

‘रवि र बालेनको वार्ता पाँच मिनेटमै सकिएको हो,’ उनले भने, ‘अरु समय त एक–अर्कालाई चिन्ने र बुझ्ने क्रममा बित्यो ।’ लामिछानेले अबको राजनीति डर, दमन र षड्यन्त्रको होइन, जनताको भरोसा, इमानदारी र परिवर्तनको हुने दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी त्यसको नेतृत्व गर्न तयार रहेको बताए । उनले जनतालाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ सशक्त रूपमा जनताको आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

 

राजुनाथ पाण्डे रास्वपाबाट काठमाडौं क्षेत्र नं–३ बाट उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरका निवर्तमान प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ । काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट रास्वपाले उनलाई काठमाडौं क्षेत्र नं– ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको हो । उनले रास्वपाबाट उम्मेदवार बन्नकै लागि माग ४ गतेदेखि लागू हुने गरी २ गते राजीनामा दिएका थिए । उनले आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर टिकट लिएका छन् ।

 

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन् । कास्की प्रहरीले निर्वाचन आयोगको अनुरोधअनुसार उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरेको जनाएको छ ।

निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएको अभिव्यक्तिपछि प्रसाईं प्रहरीको निगरानीमा आएका थिए । उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग जोडेर निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिन करोडौं रुपैयाँ लिएको दाबी सार्वजनिक रूपमा गरेका थिए। सामाजिक सञ्जालमा समेत भिडियोमार्फत अभिव्यक्ति दिएपछि आयोगले यसलाई गम्भीर आरोप मान्दै प्रहरीमा उजुरी दर्ता गराएको थियो ।

यसैबीच, प्रसाईंले रकम लगानी गरेर सरकारी वेबसाइट ह्याक गर्ने र डाटा चोरी गर्ने योजना बनाएको आरोपसमेत लागेको छ । सो सम्बन्धी अडियो सार्वजनिक भएपछि विषय थप संवेदनशील बनेको थियो । आयोगले अनुसन्धानका लागि पत्राचार गरेपछि कास्की प्रहरीले पोखरामा रहेका प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रसाईं पछिल्लो समय निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्दै आएका थिए । राजसंस्था पुनस्र्थापना, प्रदेश संरचनाको खारेजी, हिन्दु अधिराज्य लगायतका मागसहित उनी देशव्यापी अभियानमा सक्रिय थिए । यसअघि तीनकुने घटनामा समेत पक्राउ परेका प्रसाईं पटक–पटक पक्राउ र रिहाइको प्रक्रियामा रहँदै आएका छन् ।

सरकार र प्रसाईं नेतृत्वको अभियानबीच भने माघ २ गते मात्र सहमति भएको थियो । सिंहदरबारमा दुवै पक्षबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको थियो । यसअघि कार्तिक २६ गते गृहमन्त्रीसँग २७ बुँदे माग प्रस्तुत गरिएकोमा त्यसकै निरन्तरतामा सहमति भएको थियो ।

सम्झौताअनुसार आन्दोलनका क्रममा लागेका संगठित अपराध र फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने, संवैधानिक तथा कानुनी सुधारका विषयमा अध्ययन गर्न उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गर्ने, साथै लघुवित्त र सहकारीका ऋणीलाई राहत दिन चक्रवर्ती कोष स्थापना गर्ने सहमति भएको थियो । तर सम्झौता भएको केही समय नबित्दै निर्वाचन आयोगमाथि लगाइएका आरोप र साइबर अपराधको योजनासम्बन्धी विषय सार्वजनिक भएपछि प्रसाईं पुनः प्रहरी हिरासतमा पुगेका छन् । कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनलाई काठमाडौं पठाएर जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत थप अनुसन्धान गरिनेछ ।

 

 

 

 

 

म भाषण होइन, काम गर्ने मान्छे हुँ : बालेन शाह

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै जनकपुरधामबाट प्रधानमन्त्री बन्ने आकांक्षा सार्वजनिक गरेका छन् । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा गरेको कामलाई आधार बनाउँदै अब देशकै नेतृत्व सम्हाल्ने दाबी गरे ।

सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘म भाषण गर्ने मान्छे होइन, काम गर्ने मान्छे हुँ । काम गरेको हेर्न चाहनुहुन्छ भने मेरो विगत हेर्नुस् ।’ काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आफूले काम गरेर देखाएको जिकिर गर्दै उनले काठमाडौंबासीले आफ्नो कार्यशैली नजिकबाट देखिसकेको बताए । ‘अब यहाँका जनताले पनि मेरो काम हेर्न चाहनु हुन्छ ?’ भन्दै उनले मधेसका जनतासँग समर्थन मागे ।

यस पटकको सभामा बालेन पहिलो पटक चुनावी मञ्चबाट बोलेका थिए । उनले मैथिली भाषामै सम्बोधन गर्दै भावनात्मक अपिल गरे । ‘मधेसी छौरा प्रधानमन्त्री बन्ने वाला है’, भन्दै उनले रास्वपालाई मत दिन आग्रह गरे। रास्वपाले उनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको उल्लेख गर्दै उनले देशलाई नयाँ ढंगले हाँक्ने अवसर दिन मतदातासँग अनुरोध गरे ।

तर बालेनको सम्बोधन केवल उपलब्धिको चर्चा मात्रमा सीमित रहेन । उनले काठमाडौंको मेयरका रूपमा चार वर्ष काम गर्दा पनि धेरै जनसमस्यामा आफू असहाय बनेको स्वीकारोक्ति दिए । माइतीघर मण्डलामा उखु किसान, मिटरब्याज पीडितलगायतका आन्दोलन हुँदा समेत स्थानीय सरकारको सीमित अधिकारका कारण आफू मुकदर्शक भएर बस्नुपरेको उनको भनाइ थियो । ‘चार वर्ष मेयर हुँदा पनि धेरै पीडामा केही गर्न सकिनँ’, भन्दै उनले आफ्नो अनुभव सुनाए ।

यद्यपि, सीमित अधिकारबीच पनि केही काम गर्न सकेको उदाहरण उनले प्रस्तुत गरे । काठमाडौंको मेयर भएर देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्याउन भूमिका खेलेको स्मरण गर्दै उनले संघीय सरकारको नेतृत्व पाए कति धेरै गर्न सकिन्छ भन्ने प्रश्न उठाए । ‘स्थानीय तहमा रहेर यति गर्न सकेँ भने प्रधानमन्त्री भएर कति गर्न सकिएला ?’ भन्दै उनले आफ्नो आकांक्षा प्रस्ट पारे ।

जनकपुरको सभामा बालेनको प्रस्तुति आत्मविश्वास, आत्मालोचना र भविष्यको दाबीको मिश्रण देखिन्थ्यो । भाषणभन्दा कामलाई प्राथमिकता दिने उनको शैलीले समर्थकहरू उत्साहित देखिए भने उनले गरेको आत्मस्वीकृतिले राजनीतिक बहसलाई थप गहिरो बनाएको छ ।

 

 

 

 

 

कांग्रेस–सुमना श्रेष्ठ संवादमा, गगन थापा काठमाडौं–४ छोड्न तयार हुन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता नजिकिँदै गर्दा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठबीचको संवादले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । कांग्रेस नेतृत्वसँग उनको निरन्तर छलफलले सम्भावित पार्टी प्रवेश वा चुनावी सहकार्यको ढोका खुला भएको संकेत दिएको छ ।

कांग्रेस सभापति गगन थापासहितका नेताहरूसँग सुमनाको संवाद तीव्र बनेको छ । स्रोतका अनुसार गगन थापा काठमाडौं क्षेत्र नम्बर–४ छाड्न तयार देखिएका छन् । यदि थापाले उक्त क्षेत्र छाडे भने सुमना श्रेष्ठ काठमाडौं–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न इच्छुक रहेको बताइएको छ । गगन थापा भने काठमाडौं–१ वा सर्लाही क्षेत्रबाट उम्मेदवार बन्न सक्ने सम्भावनामा छलफल गरिरहेका छन् । उनले सर्लाहीका स्थानीय नेता–कार्यकर्तासँग पनि १ वा ४ मध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्न सक्ने संकेत दिइसकेका छन् ।

कांग्रेसभित्र उम्मेदवार छनोटको रस्साकस्सी चर्किरहेका बेला सुमनासँगको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाका पक्षबाट आएका उम्मेदवार सूची एकै ठाउँमा राखेर टुंगो लगाउने प्रयास भइरहँदा सुमनाको सम्भावित प्रवेशले समीकरण थप जटिल बनेको छ । सभापति थापा निकट एक नेताका अनुसार उम्मेदवारी दर्ताको अन्तिम समय नजिकिँदै गर्दा सुमना श्रेष्ठसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको पुष्टि भएको छ । यद्यपि उनी कांग्रेस प्रवेश गर्ने कि चुनावी सहकार्यमा सीमित रहने भन्ने विषय अझै खुलिसकेको छैन ।

सुमना श्रेष्ठले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी थिइन् । नख्खु कारागारबाट रवि लामिछाने जबर्जस्ती निकालिएको घटनालाई लिएर उनले सार्वजनिक रूपमा कडा आपत्ति जनाएकी थिइन् । रास्वपा छाडेपछि सुमना काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह निकट समूहसँग नजिक देखिइन् ।

उनले ‘उज्यालो नेपाल’ का अध्यक्ष कुलमान घिसिङसँग पनि संवाद गरेकी थिइन् । केही समय बालेन्द्र साहको समूह हुँदै पुनः रास्वपामै फर्किने चर्चा चले पनि रवि लामिछानेले आफ्ना कट्टर आलोचक सुमनालाई स्वीकार नगरेपछि त्यो सम्भावना अन्त्य भएको बताइन्छ । अब कांग्रेससँगको संवादले सुमनाको राजनीतिक यात्रामा नयाँ मोड आउने संकेत देखिएको छ । अन्तिम निर्णय उम्मेदवारी दर्ताअघि नै सार्वजनिक हुने अपेक्षा गरिएको छ । कांग्रेस र सुमना श्रेष्ठबीचको यो सम्भावित सहकार्यले काठमाडौंको चुनावी प्रतिष्पर्धा झनै रोचक बनाउने निश्चित देखिन्छ ।

 

 

 

 

 

 

 

 

कांग्रेसबाट मोरङ–३ मा सुनिल शर्मालाई टिकट

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ–३ बाट चुनाव लड्ने भएका छन् । उनले आज मात्रै मोरङ–३ को टिकट पाएका हुन् । विशेष महाधिवेशन पुगेर सम्बोधन समेत गरेका उनी नेतृत्व चयनको समयमा भने थिएनन् । उनी त्यही समयमा सानेपामा भएको बैठकमा पनि सहभागी थिए । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि उनी कांग्रेसीहरु जुटेर अगाडि बढ्नु पर्छ भन्दै अभिव्यक्ति दिँदै आएका थिए ।

 

 

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंहको उदघोष : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं । निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन् । सोमबार जनकपुरमा आयोजित विशाल सभामार्फत सिंह रास्वपामा आबद्ध भएका हुन् । उनलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेशसँगै डा. सिंहले अब सर्लाही–४ बाट रास्वपाकै उम्मेदवारका रूपमा चुनाव लड्ने घोषणा गरेका छन् । सभालाई सम्बोधन गर्दै उनले आफू रवि लामिछाने र बालेन शाहलाई देशका नायकको रूपमा लिएको उल्लेख गर्दै उनीहरूको सिपाही भएर अगाडि बढ्ने बताए । भाषणका क्रममा सिंहले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आक्रामक अभिव्यक्ति दिए । उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आत्मदाह गर्ने दाबी समेत गरे ।

‘हामी सीता माताका सन्तान हौं । सीता माता यही धर्तीमा समाहित भएकी थिइन्’, भन्दै उनले दोहोर्‍याए, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म पनि जनकपुरको धर्तीमै समाहित हुनेछु ।’ सिंहले बालेनलाई देशको ‘महानायक’ भन्दै मधेशबाट प्रधानमन्त्री बनाइनु पर्ने धारणा राखे । गम्छा देखाउँदै उनले भावुक अपिल गरे, ‘मसँग केही छैन । हात जोडेर गम्छामै भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ ।’

सभामा उनले आफू देशका खलनायकविरुद्ध लड्ने र नायकहरूको पक्षमा उभिने स्पष्ट पारे । रास्वपामा प्रवेशसँगै मधेश केन्द्रित राजनीति थप चर्किने संकेत देखिएको छ भने सिंहको अभिव्यक्तिले राजनीतिक वृत्तमा व्यापक चर्चा पैदा गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रचण्डको साथ छाडेका रहबरले भने–मधेशमा विकासको विगुल फुक्न रास्वपामा आएँ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छाडेका नेता रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनले मधेशमा विकासको नयाँ विगुल फुक्ने लक्ष्यसहित पार्टीमा आफ्नो यात्रा सुरु गरेका हुन् । सोमबार जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभामा अन्सारीले भने, ‘हिजो धेरै भाषण गरिए, तर मधेशी जनताको सपना जमिनमुनि गाडिएको छ । अब हामी सबैको इमानदार नेतृत्व र निष्ठापूर्वक प्रयासले ती सपना निकालेर ज्वालामुखीझैं मधेशबाट देशभर विकासको विगुल फुकाउनेछौँ ।’

अन्सारीले मधेशमा नयाँ नेतृत्वको आवश्यकतालाई जोड दिँदै पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको क्षमतामा विश्वास व्यक्त गरे । उनले भने, ‘रास्वपा शान्ति र निलो रंगले चिनिन्छ । आज मधेशले आफ्नो छोरा देशको नेतृत्वको केन्द्रमा देख्न चाहन्छ । रवि लामिछानेको त्याग र बालेन शाहको क्षमता मधेशले पहिचान गरेको छ । मधेशले संघर्ष र परिवर्तनको शक्ति बुझेको छ ।’

नेता अन्सारीले जनकपुरमा सभामा सहभागी जनतालाई जानकारी दिए अनुसार, उनले आफ्नो पुरानो पार्टीसँग मधेश प्रदेशसभाबाट पनि राजीनामा दिएका थिए । अब उनी बारा–४ बाट रास्वपाको उम्मेदवार बन्ने तयारीमा छन् । अन्सारीले रास्वपा मात्रै वर्तमान र भविष्यको परिवर्तनको माध्यम बन्न सक्नेमा विश्वास व्यक्त गरे । उनको रास्वपामा प्रवेशसँगै पार्टीले मधेशबाट जनादेशको सम्भावनालाई बलियो बनाउन अग्रसरता लिएको देखिन्छ । अन्सारीले आफ्नो भाषणमा मधेशी जनताको सपना र क्षेत्रको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहो¥याए ।

 

 

 

 

 

 

 

 

नयाँ अनुहारसहित नेकपाले टुंग्यायो १६५ क्षेत्रकै उम्मेदवार, को कहाँबाट ? (सूचीसहित)

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सबै क्षेत्रका उम्मेदवार टुंग्याएको छ । नेकपाले सोमबार बिहान संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा उम्मेदवारी निर्धारण गरेको हो ।

यस पटक नेकपा अधिकांश युवा नेताहरूलाई मौका दिएको छ । सल्यान, सिन्धुपाल्चोक, झापा, ललितपुर, सुर्खेत, गुल्मी, कञ्चनपुर लगायतका जिल्लाका क्षेत्रमा नयाँ अनुहारले पार्टीको प्रतिनिधित्व गर्नेछन् । नेकपाका शीर्ष नेताहरूले व्यक्तिगत रूपमा चुनावी रणनीति र क्षेत्रीय समीकरणलाई ध्यानमा राखेर टिकट बाँडफाँड गरेका छन् । संयोजक प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने भएका छन् भने सहसंयोजक नेपाल रौतहट–१ बाट उम्मेदवारी दिनेछन्।

यसअघि नेकपाले रसुवा १, सर्लाही ४, सप्तरी ४ र ललितपुर २ बाहेक सबै क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको थियो । मंगलबार (माघ ६) देशभर उम्मेदवारी दर्ता हुने कार्यक्रम तय छ । नेकपाका प्रवक्ताले भने, ‘यस पटक पार्टीले अनुभव र नयाँ ऊर्जा दुवैलाई प्राथमिकता दिएको छ । उम्मेदवारहरूको चयनमा क्षेत्रीय सन्तुलन, योग्यता र युवा सहभागितामा जोड दिइएको छ ।’ नेकपाले कुल १६५ क्षेत्र का उम्मेदवार टुंग्याएको छ, जसले पार्टीको निर्वाचन तयारीलाई पूर्णता दिएको छ ।
को कहाँबाट उम्मेदवार ?

 

 

 

 

 

 

 

गगनले बाँड्न थाले टिकट : शेखर भन्छन्–कहाँ बसेर बाँड्दै छन् थाहा छैन

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । तर, टिकट वितरण प्रक्रियामा भ्रम र दलभित्रको अन्तरद्वन्द्व कायमै रहेको छ । पार्टी सभापति गगन थापाले धमाधम उम्मेदवार टुङ्ग्याउन थालेका छन् । प्यूठानबाट डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाइएको छ । योजना आयोगको पूर्व उपाध्यक्ष र अर्थविद् पोखरेल नेता शेखर कोइरालाको निकट मानिन्छन् । यस्तै, सल्यानमा जिल्ला सभापति केशबहादुर विष्टलाई उम्मेदवार बनाइएको छ ।

सदस्यहरूको सहमतिमा उम्मेदवार टुङ्ग्याउने क्रममा सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र कोइरालानिकट नेताहरूसँग पनि संवाद गरेका छन् । नयाँ सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने, ‘हिमाली जिल्लाको सबै उम्मेदवार टुंगो लागिसकेको छ । अन्य जिल्लाको पनि करिब मिल्ने क्रममा छ । अब अन्य पक्षसँग छलफल गरी अन्तिम निर्णय गर्नेछौं ।’

तर, टिकट वितरण प्रक्रियामा शेखर कोइरालाको सचिवालयले असमञ्जस्यता व्यक्त गरेको छ । सचिवालयले जानकारी गराएको छ कि, ‘देशभरबाट टिकट माग्न आउने नेताहरूको भीड लागेको छ तर कहाँ बसेर, कसरी र कुन मापदण्डमा टिकट बाँडिँदैछ भन्ने थाहा छैन । सभापति गगन थापा र शेखर कोइरालाले मिलेर जाने भन्ने समाचारमा सत्यता छैन । आजसम्म केन्द्रीय समितिका कसैले पनि कोइरालासँग सम्पर्क गरेका छैनन् ।’

यसले स्पष्ट गर्दछ कि कांग्रेसको भित्री शक्ति सन्तुलन अझै चुनौतीपूर्ण छ । टिकट वितरणमा सभापति थापाको प्रभाव छ तर शेखर कोइरालाको पक्ष पनि आफ्नो दाबीमा अडिग छ । पार्टीले संसदीय बोर्ड बनाएर टिकट बाँड्न थालेको छ र हरेक जिल्लामा अन्तिम निर्णयको प्रक्रिया अझै चलिरहेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, हिमाली जिल्लामा उम्मेदवार टुङ्ग्याउनु कांग्रेसका लागि रणनीतिक सफलता हो, तर पार्टीभित्रको असमञ्जस्यता र सञ्चारको अभावले मतदाता र कार्यकर्तामा अनिश्चितता सिर्जना गर्न सक्छ ।

 

 

 

 

 

 

 

 

गगनको हातबाट टिकट लिएर पूर्णबहादुर खड्का चुनाव नलड्ने, प्रचारमा जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्का आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । पार्टीभित्रको पछिल्लो घटनाक्रम र रणनीतिक विचारविमर्शपछि उनले २१ फागुनमा हुने निर्वाचनमा उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेका हुन् ।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका लागि सिफारिसमा परेका थिए । तर, निकट स्रोतले पुष्टि गरे अनुसार, उनले चुनाव नलड्ने भए पनि देशभर पार्टीको प्रचार–प्रसारमा सक्रिय भूमिका निर्वाह गर्ने छन् । एक निकट नेताले भने, ‘पूर्ण दाइ चुनाव लड्नु हुन्न, तर पार्टीलाई जिताउन देशभर प्रचारमा जानुहुन्छ । अदालतको निर्णय जुनसुकै भए पनि पार्टीलाई एकढिक्का बनाउन आफ्नो निकट नेताहरूसँग तयारीमा छन् ।’
उनले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको नतिजा अनुसार दुवै पक्षलाई एकढिक्का राख्ने रणनीति तय गरेका छन् ।

एक नेताले भने, ‘यदि अदालतले गगनजीको पक्षमा निर्णय गर्‍यो भने सबैलाई मिलाएर पार्टीलाई एकढिक्का राख्ने, संस्थापनको पक्षमा आयो भने गगनजीहरूलाई पनि समेटेर पार्टी एकढिक्का बनाइन्छ ।’ यसैबीच समानुपातिक उम्मेदवार सूचीमा नेपाली कांग्रेसका ११० जना उम्मेदवार सार्वजनिक भएका छन् । निर्वाचन आयोगले आइतबार राति बन्दसूची जारी गरेको हो । सूची अनुसार विभिन्न जात, समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

सूचीमा सबै जातीय, समुदायिक र लैंगिक प्रतिनिधित्व सुनिश्चित गरिएको हुँदा आगामी निर्वाचनमा पार्टीको समानुपातिक रणनीति स्पष्ट देखिन्छ । पूर्णबहादुर खड्काको चुनाव नलड्ने निर्णय र समानुपातिक सूचीको सार्वजनिक भएपछि कांग्रेसको रणनीति अब प्रचार र संगठन सुदृढीकरणतर्फ केन्द्रित हुने देखिन्छ ।
प्रमुख क्लस्टर र पहिलो नम्बरका उम्मेदवारहरु

 

 

 

 

बाबुराम भट्टराई गोरखा–२ बाट चुनावी मैदानमा फिर्ती, के–के छन् चुनौती ?

गोरखा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकता हेरेर गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा डा। भट्टराईले प्रारम्भमा चुनाव नलड्ने निर्णयमा रहे पनि पछिल्लो राजनीतिक परिस्थिति र स्थानीय जनताको आग्रहले उनलाई यो निर्णय फेरबदल गर्न बाध्य पारेको बताए । उनले भने, ‘प्रतिनिधिसभा राज्यको जनप्रतिनिधिको सर्वोच्च थलो हो । त्यहाँबाट मात्र राष्ट्रिय स्वाधीनता, सर्वभौमसत्ता र सुरक्षा नीतिका महत्वपूर्ण निर्णय प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ ।’

प्रतिनिधिसभामा सक्रिय भूमिकाको महत्व
डा। भट्टराईले संसद बाहिर रहँदा राष्ट्रहितका एजेण्डा प्रभावकारी रूपमा अघि बढाउन गाह्रो हुने भएकाले संसद्भित्र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए । लामो छलफलपछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० मार्फत गोरखा २ बाट उम्मेदवारी दिने निर्णय गरेका हुन् । उनी चुनावमा आफैंलाई संरक्षकको भूमिकामा मात्र सीमित नराखी, तर नयाँ पुस्तालाई अगाडि बढाउने सोच राख्दै आएका छन् । तर देशको राजनीतिक अवस्था अझै अस्थिर र भू–राजनीतिक परिस्थिति जटिल भएकाले उनले आफ्नो सहभागिता आवश्यक रहेको अनुभव गरेका छन् । ‘नयाँ शक्तिहरू उदय भए पनि पुरानो र नयाँ बीचको द्वन्द्वले राजनीतिक दिशालाई अस्पष्ट बनाइरहेको छ । यस्तो अवस्थामा अभिभावकीय भूमिका निभाउनु मेरो जिम्मेवारी हो’, डा। भट्टराईले भने ।

विदेशी शक्तिको प्रभाव र राष्ट्रिय सुरक्षा
डा। भट्टराईले चिनियाँ, भारतीय र पश्चिमी शक्तिहरूको स्वार्थले नेपालको स्वाधीनता र सार्वभौमसत्तामा प्रतिकूल असर पर्न सक्ने संकेत देखिएको बताए । यसैले उनी प्रधानमन्त्री भइसकेको व्यक्तिको भूमिकामा संक्रिय रूपमा उपस्थित हुनुपर्ने आवश्यकतामा विश्वास राख्छन् ।

चुनावी चुनौती र गोरखाको राजनीतिक विरासत
डा। भट्टराईले अघिल्ला निर्वाचनमा गोरखा क्षेत्रबाट लगातार सफलता हासिल गरेका छन् । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा गोरखा–२ बाट सर्वाधिक मतसहित विजयी भए । २०७० मा गोरखा १ बाट निर्वाचित बने र २०७४ मा गोरखा–२ बाट फेरि जीत हासिल गरे । तर २०७९ को निर्वाचनमा उनले आफ्नो क्षेत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

यसपालिको चुनाव चुनौतीपूर्ण देखिन्छ । उनका प्रमुख प्रतिस्पर्धीहरूमा सशस्त्र द्वन्द्वकालका सहकर्मी लेखनाथ न्यौपाने ९नेकपा०, गुण्डा नाइके मिलन चक्रे ९नेकपा एमाले० र सम्भावित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी रहेका छन् । साथै, केही पुराना सहयोगी कार्यकर्ताहरू रास्वपा प्रवेश गरिसकेका छन् । हाल गोरखा २ मा कुल मतदाता १ लाख ८ हजार ५३३ छन् । अघिल्लो निर्वाचनमा करिब ४६ हजार मत ल्याएर जित हासिल गरेका भट्टराईका लागि यसपटक सहज विजयको सम्भावना न्यून देखिन्छ ।

युवा मतदाताले नयाँ अनुहारलाई प्राथमिकता दिँदै पुराना दलप्रतिको वितृष्णा बढाइरहेका कारण मत बाझिने सम्भावना छ । यद्यपि, आफ्नो योगदान र गोरखाको विकासमा पुर्याएको कामलाई सम्झेर डा। भट्टराई अझै गोरखाली जनताको समर्थन पाउने आशामा छन् । ‘सत्तामुखी होइन, सेवामुखी राजनीति गर्ने मेरो परम्परा नै गोरखाली जनताको मन जित्ने आधार हो। फेरि एक पटक उनीहरूको माया पाउने आशा छ’, उनले बताए ।

 

 

 

 

 

 

ओलीलाई योगेशको आग्रह : केहि ठाउँ मिलाउनुस्, म किचलो गर्दिनँ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको उम्मेदवार विवादलाई पछि सार्दै सबैलाई एकतामा लाग्न आह्वान गरेका छन् । उनले आफू व्यक्तिगत रूपमा केही माग नगर्ने स्पष्ट पारेका छन्, तर केही निर्वाचन क्षेत्रमा उम्मेदवार मिलाउन अध्यक्ष केपी शर्मा ओलीसँग अनुरोध गरेका छन् ।

उपमहासचिव भट्टराईले काठमाडौंमा भने, ‘कमरेड अध्यक्ष, तपाईं यो पार्टीको सम्मानित नेता हुनुहुन्छ । हामी सबै तपाईंको नेतृत्वमा छौं । अहिले महाधिवेशन र निर्वाचनको समयमा पार्टीको सफलता नै हाम्रो पहिलो लक्ष्य हुनुपर्छ । यदि देशभरिका केही निर्वाचन क्षेत्रमा उम्मेदवार मिलाउन सकिन्छ भने त्यसमा मेरो ध्यानाकर्षण चाहन्छु ।’ उनी आफ्नै उम्मेदवारीको विषयमा स्पष्ट छन् ।

भट्टराईले भने, ‘म ताप्लेजुङबाट उम्मेदवार बन्न इच्छुक थिएँ । तर पार्टीले निर्णय गरेको छ र त्यसमा म अब कुनै किचलो गर्ने वाला छैन । जसलाई उम्मेदवार बनाइयो, सूर्य चिन्ह ध्वजावाहकलाई जिताउन मेरो कर्तव्य हो । यसमा म दृढताका साथ अघि बढ्छु ।’ भट्टराईले कतिपय निर्वाचन क्षेत्रमा साथीहरूमाथि न्याय नभएको जस्ता गुनासोहरू आएको पनि स्वीकारे । उनले भने, ‘मैले सचिवालयको बैठकपछि पनि दर्जनौँ ठाउँमा उम्मेदवार परिवर्तन भएको देखें । त्यसैले अब अन्तिम अवसरमा पनि म अध्यक्ष कमरेड केपी ओलीलाई अनुरोध गर्न चाहन्छु–सात, आठ, नौ, १० निर्वाचन क्षेत्रमा उपयुक्त मिलान गर्न सकिए राम्रो हुने देख्छु, ताकि पार्टी कमजोर नहोस् ।’

उनले भिडिओ सन्देशमार्फत पार्टीभित्रको फरक मत स्वाभाविक भएको तर त्यो पार्टीको जितमा बाधा पु¥याउन नहुने बताए । ‘हामीले उम्मेदवार छनोट गर्दा न्यायसंगत ढंग अपनायौं कि अपनाएनौं ? लोकप्रिय, पार्टी प्रति निष्ठावान उम्मेदवार दिएका छौं कि दिएका छैनौं ? यी सबै विषयको समीक्षा चुनावपछि गरौँला । अहिले हाम्रो लागि केही बाँकी छैन, अगाडि सूर्य चिन्ह मात्रै छ ।’ उपमहासचिव भट्टराईले आगामी निर्वाचन र पार्टीको नेतृत्व सशक्त बनाउन सबैलाई मिलेर काम गर्न अपील गरेका छन् । उनले जोड दिए, ‘हामीले उम्मेदवार विवादलाई पछि सार्दै सूर्य चिन्ह जिताउनमा केन्द्रित हुनुपर्छ । पार्टीको एकता नै हाम्रो सबभन्दा ठूलो शक्ति हो ।’

मेयर रेणुलाई युवा सोबिताले चुनौति दिने भएपछि चितवन-३ले तान्यो देशको ध्यान

काठमाडौं । मध्यतराईको जिल्ला चितवनमा चुनावी सरगर्मी बढ्दै गएको छ। चितवन क्षेत्र नम्बर-३ मा भरतपुर महानगरकी मेयर रेणु दाहाल र सोबिता गौतम चुनाव लड्ने चर्चा चलेसँगै चितवनको चुनावी माहोल तातिँदै गएको छ ।
दाहाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कि नेतृ हुन् भने गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ हुन् । गाैतम यसअघि काठमाडौँ-२ बाट निर्वाचित भएकी थिइन् । यसपटक उनले उक्त छाडेर रेणुसँग प्रतिस्पर्धा गर्न चितवन – ३ जाने भएकी हुन् । काठमाडौं-२मा भने रास्वपाले रवि लामिछानेका विश्वासपात्र विपिन आचार्यलाई उठाउने भएको छ ।
दाहाल पहिलोपटक संसदीय चुनावको प्रतिष्पर्धामा उत्रिँदै छिन्। चितवन-३ लाई कम्युनिष्ट पार्टीहरूको किल्लाका रुपमा पनि हेरिन्छ। २०४८ यता भएका सातवटा संसदीय निर्वाचनमा चितवन-३ बाट पाँचपटक कम्युनिष्ट उम्मेदवारले जित हात पारेका छन्। तर त्यो क्षेत्रबाट २०७९ को आमनिर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले विजय प्राप्त गरे।
त्यसअघि त्यो क्षेत्रमा ०७४ मा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, २०७० मा एमाले उम्मेदवार कृष्णभक्त पोखरेल, ०६४ मा एनेकपा माओवादीका उम्मेदवार नारायणप्रसाद दाहाल, ०५६ मा नेपाली काङ्ग्रेसका उम्मेदवार गंगाधर लम्साल र ०४८ को निर्वाचनमा राष्ट्रिय जनामोर्चाका अमिक शेरचनले जितेका थिए।

यसपटकको निर्वाचनमा चितवन-३ मा नेकपा एमालेले शंकरराज थपलियालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम पाण्डेको चर्चा छ। यता नेपाली कांग्रेसले भने उक्त क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्‍ने टुङ्‍गाे लागिसकेको छैन।

रास्वपाबाट गौतम र नेकपाबाट रेणु उठ्ने चर्चासँगै चितवन-३ पनि चुनावी चर्चाको केन्द्रमा छ। दुई पटक भरतपुर महानगरको मेयर भइसकेको हुँदा दाहालको त्यो क्षेत्रमा राम्रै प्रभाव रहेको बताइन्छ।  तर संसदीय राजनीतिको अनुभव बटुलिसकेकी गौतम चितवन-३ को चुनावी मैदानमा उत्रिदा दाहाललाई अपेक्षित सजिलो नहुने विश्लेषकहरु बताउँछन्।

चितवन-३ यसअघिका सबै संसदीय चुनावमा धेरै चर्चा हुने क्षेत्र मध्येको एक हो।  यसपटक पनि दुई युवा नेतृ चुनावी प्रतिष्पर्धाले चितवन-३ पनि राष्ट्रिय राजनीतिको केन्द्रमा रहने निश्‍चितजस्तै भएको छ ।

आशिका तामाङलाई रास्वपाले दियो टिकट, धादिङबाट उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर–१ मा चर्चित सामाजिक अभियन्ता आशिका तामाङलाई टिकट दिएको छ । सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन् । आशिकाको जन्मथलो यहि हो । रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर–१ मा चुनाव लड्न लागेकी हुन् । यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर–९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।

आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेण्डा अघि सारेकी थिइन् । उनको प्रस्तावमा तीन जना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेटिएको छ भने केन्द्रीय समितिमा पनि लैजाने सहमति भएको छ । रास्वपा सरसफाइ लगायत समाजिक अभियानमा सक्रिय छिन् । उनी जर्मनीको बसाइ छोडेर चुनाव लड्ने ध्येयसहित नेपाल आएकी हुन् । उनले धादिङमा थुप्रै सामाजिक काम पनि गरेकी छन् ।

ओलीलाई पत्र लेख्दै पूर्व प्रधानमन्त्रीका छोरा शाहले छाडे एमाले

बुटवल । पूर्व प्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्व सांसद यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् । रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही–३ बाट उम्मेदवार आकांक्षी थिए ।

शाहले पार्टीमा अवसरवादी धेरै रहेकाले बस्न औचित्य नभएको बताएका छन् । शाहले नौं वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए । पार्टीमा कुनै अवसर नपाएको उनले राजीनामा पत्रमा गुनासो गरेका छन् । शाह ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन् ।

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैन : ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको बताएका छन् । सोमवार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रवन्ध गर्न नसकेको बताएका हुन् ।

विभिन्न प्रकारका अपराधिक घटनाहरु अझै समाजमा भइरहेकाले सुरक्षा प्रवन्ध कमजोर रहेको स्पष्ट हुने उनको दाबी छ । अध्यक्ष ओलीकाअनुसार निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ । नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने बताए ।

उनले भने, ‘सुरक्षा प्रवन्ध राम्रो हुन अझै सकेको छैन । विभिन्न अपराधका घटना अझै भइरहेका छन् । निर्वाचन आयोगमाथि समेत प्रश्नचिन्ह उठ्ने अवस्था भइरहेको छ । यस्तो अवस्था छ । जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ । त्यसमा कुनै समस्या छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ । अझै त्यो स्थिति बनिसकेको छैन ।’ अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर पाँच कुनै पनि हिसावले निर्वाचनको इपि सेन्टर नरहेको बताए ।

 

काठमाडौं–१ बाट रञ्जु दर्शना रास्वपाको प्रत्यक्ष उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं–१ क्षेत्रबाट रञ्जु दर्शनालाई प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि उनी समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएकी थिइन् । रञ्जु दर्शना विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी हुन् । उनी पार्टीले समानुपातिक उम्मेदवार चयनका लागि गरेको प्राइमरी इलेक्शनमा सहभागी भएकी थिइन् र महिला आकांक्षीहरुमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारमध्ये एक थिइन् ।

तर, जब पार्टीले समानुपातिक बन्दसूची तयार गर्‍यो, खस–आर्य महिलाको क्लस्टरमा उनलाई १०औं नम्बरमा राख्दा उनी असन्तुष्ट भएकी थिइन् । उनीमाथि अन्याय भएको भन्दै पार्टीभित्र र बाहिर विरोध व्याप्त भयो । प्रारम्भिक संशोधनपछि पनि उनी सन्तुष्ट हुन सकिनन् र अन्ततः आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिइन् ।
पार्टी नेतृत्वले पछि उनी प्रत्यक्ष उम्मेदवारी दिन तयार भएको जनाइएको छ ।

रञ्जु दर्शना चाँडै आमा बन्ने तयारीमा पनि छिन् । उनले प्रत्यक्ष उम्मेदवारी दिन चाहनुको कारण भनेको समानुपातिकबाट निर्वाचित हुने सम्भावना नदेख्नु र काठमाडौं–१ मा घरदैलो गरेर निर्वाचन प्रचार गर्न सहज हुने हो । यस क्षेत्रमा रास्वपाबाट पुकार बम पनि उम्मेदवार बन्ने तयारीमा थिए । अघिल्लो निर्वाचनमा बमले स्वतन्त्र उम्मेदवारका रूपमा भाग लिएर तेस्रो स्थान हासिल गरेका थिए । तर, यस पटक उनलाई टिकट नदिने पार्टीको निर्णय भएको छ । रास्वपा अनुसार, रञ्जु दर्शनालाई प्रत्यक्ष उम्मेदवार बनाउनुले पार्टीको महिला प्रतिनिधित्व र निर्वाचन रणनीतिलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

शंकर पोखरेललाई हराएकी रेखाले यस पटक चुनाव नलड्ने, एमालेलाई राहत

दाङ । तीन वर्षअघि दाङ क्षेत्र नम्बर–२ मा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रेखा शर्माले यस पटकको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेकी छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १९६ मतको अत्यन्त सानो अन्तरले शंकर पोखरेललाई पराजित गरेकी थिइन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी थिइन् भने पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए ।

यसपालि पनि दाङ–२ बाट एमाले महासचिव शंकर पोखरेल उम्मेदवार बनेका छन् । उनका प्रमुख प्रतिद्वन्द्वी रेखा शर्माले चुनाव नलड्ने भएपछि एमालेका लागि यो क्षेत्र केही हदसम्म सहज हुने अनुमान छ । नेपाली कम्युनिष्ट पार्टीले भने यस पटक माओवादी र अन्य गठबन्धन दलसँग मिलेर यहाँ निर्मल आचार्यलाई उम्मेदवार बनाउने योजना टुंगोमा पुगेको छ । रेखा शर्माले चुनाव नलड्ने निर्णयको कारणका रूपमा आफू दुई पटक समानुपातिक र एक पटक प्रत्यक्ष निर्वाचन जितिसकेको अनुभवलाई औंल्याएकी छन् ।

उनले भनिन्, ‘म दुईचोटी समानुपातिक सांसद भएँ, एक पटक प्रत्यक्ष चुनाव जितें । यसपालिको चुनावमा उम्मेदवारी दिन्नँ ।’ साथै, यसपालि उनलाई क्षेत्रले सिफारिस पनि नगरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङ-२ बाट सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यस प्रकार, यस क्षेत्रको चुनावी प्रतिष्पर्धामा नयाँ उम्मेदवार र गठबन्धनको भूमिका महत्वपूर्ण हुने देखिएको छ, जसले आगामी निर्वाचनलाई अझ रोचक र असमान बनाएको छ।

 

 

 

 

 

जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगे ओली, बालेन पनि जाँदै

झापा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर–५ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ । जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि आजै झापा पुग्ने तयारीमा छन् । एमाले अध्यक्ष ओली आज केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुरस्थित चन्द्रगढी विमानस्थल पुगेका हुन् । विमानस्थलमा उनलाई नेता–कार्यकर्ताले भव्य स्वागत गरेका छन् । त्यहाँबाट उनी विर्तामोड हुँदै दमकतर्फ प्रस्थान गरेका छन् । ओली आजदेखि दमकस्थित होटलमा बस्ने कार्यक्रम रहेको एमाले झापाले जनाएको छ ।

जेनजी आन्दोलनपछि लामो समय स्थान हद तोकिएका ओली पुस २१ गते स्थान हद फुकुवा भएपछि पहिलो पटक झापा आएका हुन् । यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनी लामो समयसम्म गृह जिल्ला आउन सकेका थिएनन् । झापा आगमनलाई आगामी निर्वाचनसँग जोडेर हेरिएको छ, किनकि ओली फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दै छन् । एमाले झापाका अध्यक्ष प्रेम गिरीका अनुसार ओलीले आज दिउँसो २ बजे दमकस्थित होटल कामाक्षमा पत्रकार सम्मेलन गर्ने तयारी छ । माघ ६ गते मनोनयन दर्ताको तालिका रहेकाले निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै सीमित व्यक्तिको उपस्थितिमा मनोनयन गरिने र त्यसपछि मात्र विस्तृत चुनावी रणनीति तय गरिने जनाइएको छ ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सरकारले अझै पूर्ण रूपमा चुनावी वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् । उनले मतदातामा त्रास, डर–धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण अपेक्षित चुनावी माहोल नबनेको बताए । यद्यपि, उनले एमाले निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे । उता, ओलीकै निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी दिने तयारीमा रहेका बालेन्द्र शाह पनि आज साँझ दमक आइपुग्ने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन आज मधेस प्रदेशको जनकपुरधाममा आयोजित रास्वपाको सभालाई सम्बोधन गरेपछि झापा प्रस्थान गर्नेछन् ।

रास्वपाका अनुसार शाह जनकपुरबाट सडक मार्ग हुँदै सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा समर्थकहरूसँग भेट्दै दमक आउने छन् । इटहरीदेखि नै समर्थकहरूको ¥यालीसहितको स्वागत कार्यक्रम राखिएको छ । यसक्रममा ठूलो भीड जुट्ने अनुमान गरिएको छ र उनी राति करिब ९ देखि १० बजेको बीचमा दमक पुग्ने सम्भावना छ । समर्थकहरूको अत्यधिक भीड व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भन्दै बालेन कहाँ बस्ने भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

आज साँझ भने उनले औपचारिक भेटघाटका कार्यक्रम नराखेको सचिवालय स्रोतले जनाएको छ । भोलि मङ्गलबार उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्नेछन् । आज निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय छलफल बोलाएको छ, जसमा उम्मेदवारी दर्ताको समयतालिका तय गरिनेछ । ओली र बालेन दुवैको एकै दिन झापा आगमनसँगै झापा–५ को चुनावी प्रतिष्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ । जेनजी आन्दोलनपछिको राजनीतिक पुनरागमन र वैकल्पिक राजनीतिका दाबीबीचको यो भिडन्तले राष्ट्रिय राजनीति समेत तात्ने अनुमान गरिएको छ ।

 

 

 

 

 

ओलीले टिकट नदिएपछि गोकुलको आक्रोश : मसँग आँखा जुधाएर कुरा गर, बदख्वाही नगर

काठमाडौं । नेकपा एमालेभित्र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोटले तीव्र राजनीतिक तरंग पैदा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको टिकट वितरणले पार्टीका प्रभावशाली नेताहरूलाई बाहिर राखेपछि असन्तुष्टि, आक्रोश र आन्तरिक शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ ।

काभ्रे–२ बाट निरन्तर निर्वाचित हुँदै आएका केन्द्रीय सदस्य गोकुल बास्कोटाले टिकट नपाएपछि सामाजिक सञ्जालमार्फत तीखो प्रतिक्रिया जनाएका छन् । उनले आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिँदै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ‘त्यति मात्र सत्य बोल, जति भेट हुँदा आँखा जुधाएर भन्न सकियोस्’, बास्कोटाले लेखेका छन्, ‘पदमा बसेर नभएका कुरामा मेरो बदख्वाही नगर्नू । म पद लिएर आएको होइन, न पदका लागि नै जाने हुँ ।’ यस पटक ओलीले बास्कोटालाई छाडेर काभ्रे–२ मा अशोककुमार ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । पछिल्लो समय ओलीका निर्णयहरूमाथि खुलेर प्रश्न उठाउँदै आएका बास्कोटालाई सोही कारण टिकटबाट वञ्चित गरिएको चर्चा एमाले वृत्तमा व्यापक छ ।

ताप्लेजुङमा योगेश भट्टराई बाहिरिए, क्षितिज थेबे भित्रिए
टिकट विवादको अर्को ठूलो केन्द्र बनेको छ ताप्लेजुङ । दुई पटक सोही क्षेत्रबाट निर्वाचित उपमहासचिव योगेश भट्टराईलाई यस पटक टिकट नदिई एमालेले राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । शनिबार सचिवालय बैठकले टिकट ‘होल्ड’ गरे पनि आइतबार थेबेको नाम अन्तिम रूपमा टुंगिएको हो ।

यस निर्णयसँगै अध्यक्ष ओली र भट्टराईबीच लामो समयदेखि चलिरहेको राजनीतिक तनाव पुनः सार्वजनिक भएको छ । भट्टराईले निर्णयविरुद्ध औपचारिक रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै उम्मेदवार छनोट प्रक्रिया अपारदर्शी र गुटगत भएको आरोप लगाएका छन् ।

ओलीको रणनीति र पार्टीभित्रको सन्देश
पार्टीभित्रका स्रोतका अनुसार अध्यक्ष ओलीले ताप्लेजुङको टिकट ‘होल्ड’ गरेर भट्टराईसँग सुलहको अपेक्षा गरेका थिए । तर भट्टराई नेतृत्वसँग प्रत्यक्ष भेट नगरी निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै असहमति दर्ता गरेपछि ओली थप कठोर बनेको बताइन्छ । एमालेको ११औं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका भट्टराई पुनः सांसद बनेमा संसदीय दलमै चुनौती खडा हुन सक्ने आंकलनले टिकट रोकेको विश्लेषण पनि भइरहेको छ ।

व्यापक टिकट कटौती, बढ्दो असन्तुलन

यस पटक एमालेले १४० भन्दा बढी क्षेत्रमा उम्मेदवार टुंग्याउँदा यसअघि चुनाव जितेका १३ जना सांसदको टिकट काटिएको छ । गोकुल बास्कोटा, ऋषिकेश पोखरेल, एलपी साँवा, ऐन महरलगायत नेताहरू सूचीमा परेका थिए । पछि केही निर्णय सच्याइए पनि मूल विवाद भने कायमै छ । महाधिवेशनमा विभिन्न पदमा प्रतिष्पर्धा गरेका धेरै नेताहरू टिकटबाट वञ्चित हुँदा पार्टीभित्र शक्ति सन्तुलन ओलीपक्षमा केन्द्रित हुँदै गएको देखिन्छ ।

नयाँ अनुहार, पुराना प्रश्न
ताप्लेजुङमा क्षितिज थेबे जस्ता युवा नेतालाई अघि सारिएको भन्दै एमालेले पुस्तान्तरणको तर्क प्रस्तुत गरे पनि योगेश भट्टराई जस्ता स्थापित नेताको बहिर्गमनले पार्टीको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । टिकट राजनीतिले चर्किएको यो असन्तुष्टि आगामी निर्वाचनमा एमालेको संगठनात्मक एकता र चुनावी परिणाममा कति असर पार्छ भन्ने प्रश्न अझै खुला नै छ ।

 

 

 

भक्तपुर–२ मा रोचक भिडन्त तय : महेश बस्नेतविरुद्ध रास्वपाका राजीब खत्री मैदानमा

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर–२ मा आगामी निर्वाचनका लागि राजनीतिक प्रतिष्पर्धा रोचक रुपमा चर्किने संकेत देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस क्षेत्रमा पूर्व पत्रकार राजीव खत्रीलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । रास्वपाका एक नेताका अनुसार पार्टी नेतृत्वले खत्रीलाई नै भक्तपुर–२ बाट अघि सार्ने तयारी अन्तिम चरणमा पुर्‍याएको हो ।

यस क्षेत्रमा नेकपा एमालेका सचिव तथा प्रभावशाली नेता महेश बस्नेत उम्मेदवार भइसकेका छन् । बस्नेत र खत्रीबीचको प्रतिष्पर्धालाई लिएर अहिले नै राजनीतिक वृत्तमा चासो बढ्न थालेको छ । दुवै जनाबीच विगतदेखि नै सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप र वाकयुद्ध चल्दै आएको हुँदा चुनावी भिडन्त अझै रोचक हुने अनुमान गरिएको छ ।

राजीव खत्री केही समयअघि मात्र रास्वपामा आबद्ध भएका हुन् । सञ्चार क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका खत्रीले सुरुवातमा काठमाडौं क्षेत्र नम्बर–१० बाट उम्मेदवारी दिने इच्छा व्यक्त गरेका थिए । तर पार्टी सभापति रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको छलफलपछि उनलाई भक्तपुर–२ बाट उम्मेदवार बनाउने निर्णय भएको स्रोतको दाबी छ ।

महेश बस्नेतले पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध कडा आलोचना गर्दै आएका छन् । जेन–जी आन्दोलनपछिका अभिव्यक्ति र गतिविधिले बस्नेत थप चर्चामा आएका छन् । यही पृष्ठभूमिमा बालेन शाहको राजनीतिक प्रभाव र समर्थनलाई ध्यानमा राख्दै रास्वपाले खत्रीलाई भक्तपुर–२ मा अघि सारेको विश्लेषण पनि भइरहेको छ ।

भक्तपुर–२ महेश बस्नेतको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ । यद्यपि, उनी अघिल्लो आमनिर्वाचनमा पराजित भइसकेका थिए । अर्कोतर्फ, खत्री यसपटक पहिलोपटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिन लागेका हुन् । उनी काठमाडौं क्षेत्र नम्बर १० का बासिन्दा भए पनि पार्टी रणनीतिअनुसार भक्तपुरमा उम्मेदवारी दिन लागेका छन् ।

यसैबीच, रास्वपाले काठमाडौं क्षेत्र नम्बर १० मा भने प्रदीप विष्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । विष्ट यसअघि पनि सोही क्षेत्रबाट रास्वपाको तर्फबाट उम्मेदवार भइसकेका थिए । पुराना र स्थापित नेताविरुद्ध नयाँ अनुहार र वैकल्पिक राजनीतिक धार बोकेको उम्मेदवारको भिडन्तका रूपमा भक्तपुर–२ को चुनावलाई हेरिँदैछ । सामाजिक सञ्जालदेखि चुनावी मैदानसम्म दुवै पक्षबीचको प्रतिष्पर्धाले यो क्षेत्रको चुनावलाई विशेष महत्वको बनाउने देखिएको छ ।

 

 

 

 

 

कञ्चनपुर–२ मा नेकपाबाट दुई उम्मेदवार, कार्यकर्ता अन्योलमा

कैलाली । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दुई जनालाई उम्मेदवारको टिकट दिएको घटनाले पार्टीभित्र अन्योल र चर्चा चुलिएको छ । साविक नेकपा एकीकृत समाजवादीको भागमा परेको कञ्चनपुर–२ मा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा तत्कालीन प्रदेश अध्यक्ष लालबहादुर खड्काले यसअघि नै प्रतिनिधि सभाको उम्मेदवारको टिकट पाइसकेका थिए ।

खड्का अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई सामाजिक विकास मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन् । गठबन्धनको भागबण्डाअनुसार साबिक माओवादी केन्द्रले कञ्चनपुर–१ मा विना मगर र ३ मा मानबहादुर सुनारलाई टिकट दिएको अवस्थामा क्षेत्र नम्बर–२ साबिक एकीकृत समाजवादीको भागमा परेपछि खड्कालाई उम्मेदवार बनाइएको थियो ।

तर सोमबार बिहान सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । उक्त भिडिओमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले साबिक एकीकृत समाजवादीकै नेता माधव पन्तलाई उम्मेदवारको टिकट दिँदै शुभकामना व्यक्त गरिरहेको देखिन्छ । प्रचण्डले पन्तलाई ‘युवा बुद्धिजीवी र युवा नेता’ भन्दै कञ्चनपुर–२ बाट विजयी भएर संसदमा आउने विश्वास व्यक्त गरेका छन्। माधव नेपालले पनि पन्तलाई बधाई दिएका छन् ।

पन्तले आफूले टिकट पाएको भिडिओ सार्वजनिक गरेलगत्तै खड्का पक्षले भने प्रचण्डको हस्ताक्षरसहितको उम्मेदवारी पत्र सार्वजनिक गरेको छ । यसरी एउटै निर्वाचन क्षेत्रमा एउटै पार्टीबाट दुई जनाले टिकट पाएको दाबी गरेपछि नेकपाका नेता तथा कार्यकर्ता अन्योलमा परेका छन् ।

नेकपा सुदूरपश्चिमका एक नेताका अनुसार पछिल्लो समयसम्म खड्कालाई नै आधिकारिक उम्मेदवारका रूपमा बुझिँदै आएको थियो । ‘हिजोसम्म उहाँ नै उम्मेदवार हुनुहुन्थ्यो, टिकट पनि उहाँकै नाममा छ’, ती नेताले भने, ‘तर आज अर्का नेताले पनि टिकट पाएको देखिएपछि कार्यकर्तामा अन्योल स्वाभाविक हो। अब आधिकारिक उम्मेदवार को हुने भन्ने विषय केन्द्रले नै टुंग्याउनेछ ।’ कञ्चनपुर–२ मा देखिएको यो टिकट विवादले नेकपाभित्र आन्तरिक समन्वय र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ । पार्टी केन्द्रले चाँडै स्पष्ट निर्णय नगरेमा स्थानीय तहमा यसको असर चुनावी तयारीमै पर्न सक्ने देखिन्छ ।

 

 

 

 

स्पेनमा ‘हाइस्पीड’ ट्रेन दुर्घटना, २१ जनाको मृत्यु

म्याड्रिड। स्पेनको कोर्डोबा नजिक दुईवटा तिब्र गतिका रेलहरू एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन् ।

स्पेनको दक्षिणी शहर कोर्डोबा नजिकै आईतवार दुईवटा तिब्र गतिका रेलहरू लिकबाट बाहिर निस्केर ठोक्किएका थिए । जब मालागा–म्याड्रिड मार्गमा ३१७ यात्रु बोकेर हिँडिरहेको रेल अज्ञात कारणले लिकबाट बाहिर जाँदा दुर्घटना भएको हो ।

रेलले छेउकै ट्रयाकमा गुडिरहेको म्याड्रिड–हुएल्भा रेललाई ठक्कर दिएको थियो ।

यातायात मन्त्री ओस्कार पुएन्टेले मालागा–म्याड्रिड रेलका अन्तिम दुई डिब्बाहरू लिकबाट उछिट्टिएर अर्को रेलको पहिलो दुई डिब्बामा ठक्कर खाएको जानकारी दिनुभयो ।  प्रधानमन्त्री पेड्रो सान्चेज र स्पेनी राजपरिवारले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रभावित मार्गमा रेल सेवा कम्तीमा मंगलवारसम्मका लागि स्थगित गरिएको छ । यसअघि सन् २०१३ मा सान्टियागो डे कम्पोस्टेलामा भएको रेल दुर्घटनामा ७९ जनाको ज्यान गएको थियो ।

देउवाको विडम्बना र गगनको उदय : कांग्रेसको नयाँ मोड

काठमाडौं । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक आन्दोलनको प्रमुख धरोहर हो । २००६ सालमा स्थापित यो दलले राणाशासनको अन्त्य, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ को जनआन्दोलन र २०६२(६३ को आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । तर पार्टीको यो गौरवपूर्ण इतिहास गुटबन्दी, व्यक्तिगत महत्वाकांक्षा, परिवारवाद र आन्तरिक द्वन्द्वले कलंकित पनि बनेको छ ।

विशेषगरी बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछिको उत्तरार्द्ध (२०४७ यता) मा यी द्वन्द्वहरूले प्रमुख नेताहरूको पार्टी परित्याग, निष्काशन र ठूला विभाजनको रूप लिएका छन् । गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा परिवारवादले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता ऐतिहासिक व्यक्तित्वहरूलाई अलग बनायो । शेरबहादुर देउवा आफैं निष्काशित भएर अलग दल बनाएर फर्किए । अब, २०८२ मा गगन थापा पक्षले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि देउवा पक्ष लगभग निष्काशित जस्तै भएको छ । यो संकटको श्रृंखलाले कांग्रेसको एकता र प्रजातान्त्रिक छविमाथि गम्भीर प्रश्न उठाएको छ ।

पार्टीको प्रारम्भिक विभाजनहरूको पृष्ठभूमि
कांग्रेसको इतिहासमा विभाजन नौलो होइन । स्थापनाको छोटो समयमै २००९ सालमा मातृकाप्रसाद कोइराला र वीपी कोइरालाबीचको मतभेदले पार्टी चार टुक्रा भएको थियो । मातृकाले अलग दल गठन गरे तर ती दलहरू लामो समय टिकेनन् । वीपीको नेतृत्व बलियो रह्यो । यो विभाजन मुख्यतः संविधानसभा निर्वाचन र दरबारसँगको सम्बन्धमा केन्द्रित थियो । तर बहुदलीय व्यवस्थापछिका विभाजनहरू व्यक्तिगत गुटगत द्वन्द्व, परिवारवाद र नेतृत्वको एकलकाँटे शैलीमा बढी आधारित भए । गिरिजाप्रसाद कोइरालाको प्रभुत्वकालमा कोइराला परिवारको प्रभावले धेरै वरिष्ठ नेताहरूलाई असन्तुष्ट बनायो । जसको परिणाम उत्तरार्द्धमा प्रमुख नेताहरूको पार्टी परित्याग भयो ।

गणेशमान सिंहको पार्टी परित्याग : नैतिक विद्रोहको प्रतिक
नेपाली कांग्रेसका ‘लौह पुरुष’ गणेशमान सिंह २०४६ को जनआन्दोलनका सर्वोच्च नेता थिए । उनले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउन आफैं पछि हटेका थिए । तर २०४८ मा कोइराला सत्ता र पार्टीमा प्रभुत्व जमाएपछि परिवारवाद, भ्रष्टाचार र निरंकुश शैली बढ्यो । सिंहले यी प्रवृत्तिलाई प्रजातन्त्रको लागि खतरा ठाने । उनले पार्टीका नेताहरू व्यक्तिगत लाभ र आर्थिक समृद्धिमा लागेको, जनता गरिबीमा रहेको आरोप लगाए ।

२०५१ सालमा गणेशमान सिंहले नेपाली कांग्रेसबाट औपचारिक राजीनामा दिए । यो राजीनामा नैतिक विद्रोहको रूपमा चिनिन्छ । राजीनामा दिएपछि उनी सक्रिय राजनीतिबाट अलग भए र २०५४ मा देहान्त भए । उनको यो कदमले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रको कमजोरी उजागर ग¥यो र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमाथि ठूलो प्रश्न उठायो । गणेशमानले पार्टी छोडे पनि उनको योगदानलाई कांग्रेसले सधैँ सम्मान गर्छ । तर उनको परित्यागले उत्तराद्र्धको संकटको शुरुवात भएको मानिन्छ ।

कृष्णप्रसाद भट्टराईको अलगाव : सन्त नेता र गुट द्वन्द्वको शिकार
कृष्णप्रसाद भट्टराई (किशुनजी) वीपी कोइरालाका निकटतम सहयोगी थिए । उनी २०४७ मा पहिलो निर्वाचित प्रधानमन्त्री बने र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेले । सरल जीवन र नैतिकताका लागि प्रसिद्ध भट्टराईलाई ‘सन्त नेता’ भनिन्थ्यो । तर गिरिजाप्रसाद कोइरालासँगको द्वन्द्व र परिवारवादका कारण उनले पार्टीबाट अलग भएको घोषणा गरे ।

२०५६ को चुनावमा कांग्रेसले बहुमत ल्याएपछि भट्टराई दोस्रो पटक प्रधानमन्त्री बने । तर कोइराला पक्षको दबाब र गुटबन्दीले ९ महिनामै राजीनामा दिन बाध्य भए । कोइरालाले उनलाई हटाएर आफैं सत्ता सम्हाले । यसपछि भट्टराईले पार्टी बैठकहरूमा भाग लिन छोडे र अलगै बस्ने निर्णय लिए । उनी २०६७ मा देहान्त भए । भट्टराईको यो अलगावले कांग्रेसको आन्तरिक द्वन्द्वलाई थप उजागर गर्‍यो र उत्तराद्र्धमा नेताहरूको पार्टी परित्यागको प्रवृत्तिलाई बलियो बनायो ।

शेरबहादुर देउवाको निष्काशन र अलग दल गठन
शेरबहादुर देउवा यो क्रममा फरक छन् । २०५९ मा गिरिजाप्रसाद कोइराला सभापति रहँदा प्रधानमन्त्री देउवाले संसद् विघटन गरे । पार्टीले यो निर्णयलाई परामर्श नगरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्‍यो । देउवाले आफू स्वेच्छिक रूपमा होइन, पार्टीबाट हटाइएर अलग भएको दाबी गर्छन् । यसपछि उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । यो पार्टीको दोस्रो ठूलो विभाजन थियो । २०६४ मा जनआन्दोलनपछि एकीकरण भएर देउवा मूल पार्टीमा फर्किए र सभापति बने । अन्य नेताहरू जस्तै खुमबहादुर खड्का, विजयकुमार गच्छदार पनि विभिन्न समयमा अलग भए वा निष्काशित भए ।

हालको विभाजन : गगन थापाको उदय र देउवाको संकट
२०८२ पुसमा कांग्रेसभित्रको द्वन्द्व चरमोत्कर्षमा पुग्यो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पार्टी सुधार, पुस्तान्तरण र नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन आह्वान गरे । पार्टी विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउनु पर्ने प्रावधान थियो । जसमा ५४–६० प्रतिशत हस्ताक्षर संकलन भएको थियो ।

पुसमा काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापति चयन ग¥यो । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल लगायत नयाँ कार्यसमिति घोषणा भयो । यसअघि देउवा पक्षले थापा, शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि निष्काशन गरेको थियो । जसलाई विशेष महाधिवेशनले खारेज गर्‍यो । दुवै पक्षले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिए । माघ २ गते आयोगले पार्टी विधान, बहुमत र विशेष महाधिवेशनको वैधानिकताका आधारमा गगन थापा पक्षलाई आधिकारिक मान्यता दियो । आयोगका आयुक्तहरू विभाजित भए । बहुमतले थापा पक्षको पक्षमा निर्णय गर्‍यो ।

यससँगै पार्टीको नाम, चुनाव चिन्ह (रुख), झण्डा र सानेपा कार्यालय थापा पक्षलाई प्राप्त भयो । देउवा पक्षले यो निर्णयलाई ‘पूर्वाग्रही र गैरकानूनी’ भन्दै अस्वीकार गरेको छ । पूर्णबहादुर खड्का जस्ता नेताले विरोध प्रदर्शन गरे र कानुनी लडाइँ (सर्वोच्च अदालतसम्म) को घोषणा गरेका छन् । आयोग परिसरमा दुवै पक्षका धर्ना र नाराबाजी भयो । यो पार्टीको इतिहासको तेस्रो ठूलो विभाजन हो । देउवाको वर्तमान परिस्थिति विडम्बनापूर्ण छ । २०५९ मा आफैं निष्काशित भएर अलग भएका देउवा अहिले निष्काशन गर्ने पक्षमा थिए । तर आयोगको निर्णयले उनी लगभग निष्काशित जस्तै बनेका छन् । देउवा पक्षले अलग दल गठन गर्ने वा अदालतबाट निर्णय उल्टाउने प्रयास गर्न सक्छ । तर आधिकारिक चिन्ह र संरचना गुमाएकाले चुनावी चुनौती ठूलो छ ।

यो प्रवृत्तिको कारण र प्रभाव
कांग्रेसको उत्तराद्र्धको यो इतिहासले व्यक्तिगत महत्वाकांक्षा, परिवारवाद र आन्तरिक लोकतन्त्रको अभावले पार्टी बारम्बार कमजोर बनेको देखाउँछ । गणेशमान र भट्टराईको नैतिक परित्यागदेखि देउवाको निष्काशन र हाल गगन पक्षको मान्यतासम्म–इतिहास दोहोरिएको छ । यस्ता विभाजनले पार्टीको एकता कमजोर बनाएको छ । चुनावी प्रदर्शनमा असर पारेको छ र प्रजातान्त्रिक मूल्यहरूमाथि प्रश्न उठाएको छ ।

अबको यात्रा : अनिश्चितता र नयाँ सम्भावना
फागुन २१, २०८२ को संसदीय निर्वाचन नजिकिँदै छ । गगन थापा पक्षले युवा नेतृत्व, सुधार र एकताको नारासहित निर्वाचन घोषणापत्र समिति गठन गरेर तयारी थालेका छन् । उनीहरूले गुट अन्त्य भएको र पार्टी आम सदस्यको चाहनाले चल्ने दाबी गरेका छन् । देउवा पक्षले मत विभाजन गरे अन्य दललाई फाइदा हुनसक्छ ।

दीर्घकालमा गगन पक्षले पार्टीमा नयाँ जोश ल्याउन सक्छ । तर पुराना नेताहरूको प्रतिरोध रहनेछ । इतिहासले देखाए जस्तै एकीकरण हुनसक्छ । तर अहिलेको रिसरागले कठिन छ । यदि कांग्रेसले आन्तरिक लोकतन्त्र बलियो बनाएन भने यो संकटको श्रृंखला जारी रहनेछ । देउवाको संकटले उनलाई अन्य नेताहरूको जस्तै पार्टी परित्यागको इतिहासमा जोड्छ । अबको यात्रा निर्वाचन परिणाम, कानूनी फैसला र नेताहरूको समझदारीमा निर्भर छ । कांग्रेसले यो संकटबाट पाठ सिकेर बलियो बन्नु नै आवश्यक छ ।

 

 

कांग्रेस ‘कलह’ साम्य हुने दिशामा : शीर्ष नेताहरु वार्तामा, टिकटमा ‘रस्साकस्सी’

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक तनाव मत्थर पार्दै पार्टीलाई एकताबद्ध रूपमा निर्वाचनमा लैजाने प्रयास जारी छ । उम्मेदवार चयन र टिकट वितरणलाई लिएर सभापति गगनकुमार थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहबीच निरन्तर संवाद चलिरहेको छ, जसले सहमति नजिक पुगेको संकेत दिएको छ ।

टिकट टुंग्याउन त्रिपक्षीय छलफल अघि बढाइएको छ । स्रोतका अनुसार कांग्रेस प्रवक्ता देवराज चालिसे, रमेश लेखक र डा. मीनेन्द्र रिजाल छलफलमा सक्रिय छन् । सहमतिका आधारमा उम्मेदवार चयन गर्ने उद्देश्यले संवाद अघि बढाइएको बताइन्छ । यसैबीच सभापति थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आजसम्म टिकटको टुंगो लाग्ने विश्वास व्यक्त गरेका छन् ।

विशेष महाधिवेशनपछि निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि सर्वोच्च अदालतसम्म पुगेको विवादलाई पनि संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको छ । आइतबार राति सभापति थापा र देउवा समूहका नेता रमेश लेखकबीच भएको भेटवार्तालाई सकारात्मक रूपमा हेरिएको छ । उक्त संवादपछि लेखक पूर्व सभापति देउवासँग भेट गर्न महाराजगञ्ज पुगेका थिए । यसैबीच कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आज (सोमबार) निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

आइतबार राति पार्टी एक भएर निर्वाचनमा जाने सैद्धान्तिक सहमतिपछि आज थापा र शर्माले देउवा भेट्न लागेका हुन् । उनीहरूले महाराजगञ्ज पुगेर देउवालाई भेट्ने कार्यक्रम रहेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन् ।
‘समय तय भएको छैन । तर आज सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउवालाई भेट्नु हुन्छ’, ती पदाधिकारीले भने । नेता रमेश लेखकले पनि थापा र शर्माले आज देउवालाई भेट्ने सम्भावना रहेको बताए ।

देउवा पक्ष, थापा पक्ष र कोइराला समूहबीच अनौपचारिक र औपचारिक दुवै तहमा छलफल चलिरहेको छ । थापा पक्षबाट रमेश धमला, सुवास पोखरेल र गेजाशर्मा वाग्ले सक्रिय छन् भने देउवा पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक, मीन विश्वकर्मा र नैनसिंह महर नियमित संवादमा छन् । कोइराला समूहबाट मिनेन्द्र रिजाल, गोविन्द पोखरेल र सुनील शर्मासँग पनि छलफल भएको छ । संवादमा सहभागी एक नेताका अनुसार ‘कुरा सहमति नजिक पुगेको छ, आज सबै विषय टुंग्याएर मिलेरै निर्वाचनमा जाने समझदारी बन्दैछ ।’

आइतबारको संवादपछि देउवा र कोइराला पक्ष महाराजगञ्जमा सामूहिक छलफल गरी फेरि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग बस्ने तयारीमा छन् । यसैबीच सभापति थापाले उम्मेदवार चयन समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । सामाजिक सञ्जालमार्फत उनले उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको र भोलिसम्म टुंगो लाग्ने बताएका छन् । ‘यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो’, भन्दै उनले सबै नेता–कार्यकर्तालाई आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।

देउवा निकट नेता मीन विश्वकर्माले पनि दुबै पक्ष मिलेर जानुको विकल्प नरहेको बताएका छन् । उनले आधा टिकटमा देउवाले र बाँकी आधामा सभापति थापाले हस्ताक्षर गर्ने सहमति स्वीकार गरेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । सर्वोच्च अदालतबाट जुनसुकै निर्णय आए पनि कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने उनको धारणा छ । कांग्रेसभित्र देखिएको लामो समयको कलह संवाद र सहमतिमार्फत अन्त्य हुने दिशामा पुगेको देखिन्छ । आजका छलफलहरूले उम्मेदवार चयन र आन्तरिक विवाद दुवै टुंग्याएर कांग्रेसलाई चुनावी मैदानमा एकढिक्का रूपमा उभ्याउने अपेक्षा गरिएको छ ।

 

रास्वपाले टुंग्यायो थप उम्मेदवार, झापा–२ बाट पूर्व उपसभामुख राना मैदानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभातर्फ उम्मेदवार छनोटलाई तीव्र बनाउँदै विभिन्न जिल्लाका थप निर्वाचन क्षेत्र टुंगो लगाएको छ । पार्टीको केन्द्रीय नेतृत्वको हिजो राति अबेरसम्म चलेको बैठकले देशका पहाडी, हिमाली र तराई क्षेत्र समेट्ने गरी नयाँ उम्मेदवारको सूची सार्वजनिक गरेको हो । निर्णयअनुसार नुवाकोट क्षेत्र नम्बर १ बाट डा. विक्रम तिमिल्सिना र क्षेत्र नम्बर २ बाट डा. अच्युतम लामिछाने उम्मेदवार बनेका छन् । दाङ क्षेत्र नम्बर ३ मा कमल सुवेदीलाई मैदानमा उतार्ने निर्णय गरिएको छ भने लमजुङबाट धर्म केसीले रास्वपाको प्रतिनिधित्व गर्ने भएका छन् ।

पूर्वी नेपालमा रास्वपाले उल्लेख्य उपस्थिति जनाउने संकेत देखिएको छ । झापा क्षेत्र नम्बर १ मा निशा डाँगी उम्मेदवार चयन भएकी छन् भने झापा–२ बाट पूर्व उपसभामुख इन्दिरा राना मगरलाई उम्मेदवार बनाइएको छ । यसैगरी झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भु सुस्केरा ढकाल र झापा–५ मा बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाइएको पार्टीले जनाएको छ ।

नवलपुर क्षेत्र नम्बर १ बाट राजन गौतमले टिकट पाएका छन् । कर्णालीतर्फ जुम्लाबाट विनिता कठायत उम्मेदवार चयन भएकी छन् भने सुदूरपश्चिमको कञ्चनपुर क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महताले प्रतिनिधित्व गर्नेछन् । मध्य तथा पूर्वी पहाडी जिल्लामा पनि रास्वपाले पेशागत र नयाँ अनुहारलाई प्राथमिकता दिएको देखिन्छ । दोलखाबाट इञ्जिनियर जगदीश खरेल, मोरङ–१ बाट अधिवक्ता यज्ञमणि न्यौपाने र मोरङ–३ बाट गणेश कार्की उम्मेदवार बनेका छन्। ओखलढुंगामा विश्वराज पोखरेल र स्याङ्जा क्षेत्र नम्बर १ मा धनन्जय रेग्मीले टिकट पाएका छन् ।

यसैगरी बाजुराबाट हेमराज थापा, बागलुङ क्षेत्र नम्बर २ बाट ‘जेनजी युवा’ भनेर चिनिने सोम शर्मा, रामेछापबाट डा. कृष्णहरि बुढाथोकी उम्मेदवार चयन भएका छन् । तनहुँ क्षेत्र नम्बर २ मा श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको छ । रास्वपाले विभिन्न पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाएर पुराना राजनीतिक अभ्यासभन्दा फरक ढंगले निर्वाचनमा होमिने संकेत दिएको विश्लेषकहरू बताउँछन् । पार्टी नेतृत्वले आगामी दिनमा बाँकी क्षेत्रका उम्मेदवार पनि क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ ।

 

 

कांग्रेस एक ढिक्का बनाउने प्रयास जारी छ, टिकट वितरण न्यायपूर्ण हुन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता कायम राख्दै उम्मेदवार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । भिडियो सन्देशमार्फत उनले निर्वाचनका लागि उम्मेदवार तय गर्ने काम समयको चापका बीच भइरहेको स्पष्ट पारेका छन् । थापाका अनुसार पार्टीका तल्ला तहदेखि नै उम्मेदवारहरूको सिफारिस भइसकेकाले अहिले ती सिफारिसकै आधारमा निर्णय गर्नुपर्ने बाध्यता रहेको छ ।

‘विशेष परिस्थितिमा आइपुगेकाले हात बाँधिएको अवस्था छ’, भन्दै उनले समय र प्रक्रियागत सीमाका कारण सबै अपेक्षा पूरा गर्न कठिन भएको स्वीकार गरे । उनले उम्मेदवार छनोटमा नयाँ र अनुभवी दुवै खाले नेताहरूलाई समेट्ने प्रयास भइरहेको बताएका छन् । पार्टीभित्र समावेशिता र सन्तुलन कायम राख्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै थापाले भने, ‘नयाँ र पुरानो दुवैको संयोजन गरेर सक्षम उम्मेदवार अघि सार्ने प्रयासमा छौं ।’

निर्वाचन आयोग र अदालतसँग सम्बन्धित विषयले पनि उम्मेदवार छनोटमा ढिलाइ भएको उनको भनाइ थियो । पार्टीको जिम्मेवारी सम्हालेपछि आफू निरन्तर निर्वाचन आयोग धाइरहेको उल्लेख गर्दै उनले पार्टीभित्रै केही नेताहरूले कानुनी परीक्षणको बाटो रोजेकाले प्रक्रिया थप जटिल बनेको बताए । ‘चित्त नबुझेका साथीहरूलाई पनि सँगै लिएर अघि बढ्ने प्रयास हिजो साँझसम्म जारी थियो’, थापाले भने, ‘तर समय अत्यन्तै सीमित भएकाले अब आजै सबै विषय टुङ्ग्याउनु पर्ने अवस्थामा पुगेका छौं ।’

उनले पार्टीभित्र देखिएका असहमतिका बाबजुद संवाद र समझदारीमार्फत एकता कायम गर्न कठिन प्रयास भइरहेको पनि बताए । उम्मेदवार छनोटपछि कांग्रेस आधिकारिक उम्मेदवारलाई जिताउन सबै कार्यकर्ता र नेताहरू एकढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए । ‘सबैको चाहना पूरा नहुन सक्छ’, भन्दै थापाले अपिल गरे, ‘तर पार्टीको तर्फबाट रुख चिन्ह लिएर आउने उम्मेदवारलाई जिताउने अभियानमा कुनै मनमुटाव नराखी जुट्नु अहिलेको आवश्यकता हो ।’ उनले कांग्रेसलाई बलियो र एकताबद्ध बनाएर निर्वाचनमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सबै नेता–कार्यकर्तालाई जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

 

मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् । ‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकें’, मन्त्री गुप्ताले भने, ‘प्रधानमन्त्रीले प्रक्रिया मिलाउन मात्र बाँकी छ ।’

उनले अब चुनावका लागि आफू होमिने बताएका छन् । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । यसअघि वर्तमान सरकार तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले राजीनामा दिएका थिए । सक्रिय राजनीतिमा सहभागी हुन उनले राजीनामा दिएका थिए ।

टिकट नपाएपछि नवीना : अनुभवीलाई पाखा लगाउँदा पार्टी कमजोर हुन्छ

काठमाडौं । नेकपा एमालेकी नेतृ नवीना लामाले आगामी निर्वाचनमा पार्टीबाट टिकट नपाए पनि आफ्नो राजनीतिक प्रतिबद्धता र समर्पण कमजोर नहुने स्पष्ट पारेकी छन् । काभ्रे–१ बाट उम्मेदवारका रूपमा सिफारिसमा परेकी लामा केन्द्रीय सचिवालयको अन्तिम निर्णयमा नपरेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

उनले पार्टीभित्र लामो समयदेखि योगदान दिएका, संघर्ष र मेहनत गरेका तथा जित्ने सम्भावना भएका अनुभवी नेताहरूलाई अवसर नदिइनु दुःखद भएको बताएकी छन् । यस्ता निर्णयले पार्टी कार्यकर्ताको मनोबलमा नकारात्मक असर पार्ने उनको भनाइ छ ।

‘पार्टीभित्र केही सिनियर, लामो योगदान, दुःख र मेहनत गरेका तथा जित्ने सम्भावना भएका उम्मेदवारलाई अवसर नहुनु दुःखद कुरा हो’, उनले लेखेकी छन्, ‘यस्ता निर्णयले कार्यकर्ताको मनोबलमा असर पार्छ । अहिले पार्टी एक बनाउने समय हो ।’

लामाले पार्टी नेतृत्वले यस्ता विषयलाई गम्भीरतापूर्वक समीक्षा गर्ने विश्वास व्यक्त गर्दै योगदानको सही मूल्यांकन हुने संस्कार बलियो बनाउनु आवश्यक रहेको उल्लेख गरेकी छन् । उनका अनुसार पार्टी बलियो बन्न अनुभवी र निष्ठावान कार्यकर्ताको भूमिका निर्णायक हुन्छ ।

आफूले पार्टीमा झण्डै तीन दशक लगानी गरिसकेको स्मरण गराउँदै उनले पछिल्लो १२ वर्षदेखि एमालेको जितका लागि आफ्नो सम्पूर्ण ऊर्जा केन्द्रित गरेको बताएकी छन् । टिकट नपाए पनि पार्टीप्रतिको समर्पण यथावत् रहने उनको अडान छ ।

‘हामीले गरेको संघर्ष, योगदान, इमानदारी र भोगेका चुनौतीहरू कहिल्यै व्यर्थ हुँदैनन्’, उनले भनेकी छन्, ‘समय लाग्ला, तर तिनको मूल्यांकन अवश्य हुन्छ । धैर्य, साहस र हिम्मत नै हाम्रो चिनारी हो ।’ उनले अहिलेको मुख्य जिम्मेवारी व्यक्तिगत असन्तुष्टिभन्दा माथि उठेर पार्टीलाई जिताउनु भएको उल्लेख गरेकी छन् । सबै नेता–कार्यकर्ता एक मन र एकताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएकी छन् ।

नवीना लामाको अभिव्यक्तिलाई पार्टीभित्र टिकट वितरणप्रति उठिरहेको असन्तुष्टि र आत्मसमीक्षाको संकेतका रूपमा हेरिएको छ । साथै, टिकट नपाए पनि पार्टीप्रति निष्ठा कायम राख्ने उनको धारणा एमालेभित्र अनुशासन र प्रतिबद्धताको उदाहरणका रूपमा पनि लिइएको छ ।

 

जनकपुरमा बालेनको धार्मिक–राजनीतिक यात्रा, विहान मन्दिर दर्शन, दिउँसो जनसभा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) ले जनकपुरधामबाट आफ्नो धार्मिक–राजनीतिक यात्रा सुरु गरेका छन् । आइतबार साँझ जनकपुरधाम पुगेका शाह सोमबार बिहानै ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित बिहानी आरतीमा सहभागी भएका छन् ।

बिहानै जानकी मन्दिर पुगेका बालेनले पूजाआजा तथा दर्शन गरेका थिए । उक्त अवसरमा प्रतिनिधिसभा सदस्य तथा पूर्व सांसद डा. अमरेश कुमार सिंह पनि उनीसँगै उपस्थित थिए । दुवैले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका थिए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिरमा दुई चर्चित राजनीतिक व्यक्तित्वलाई एकसाथ देखेपछि स्थानीय बासिन्दा र दर्शनार्थीहरूबीच विशेष चासो र चर्चा देखिएको थियो ।

बालेन रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्न जनकपुर पुगेका हुन् । सो सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यही सभामार्फत पूर्व सांसद डा. अमरेश सिंह रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।

जनसभाअघि बालेनको कार्यक्रम धार्मिक गतिविधिमा मात्र सीमित छैन । उनले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्न सिराहाको लहान जाने कार्यक्रम समेत बनाएका छन् । मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते मधेसमा बलिदानी दिवस मनाइन्छ ।

धार्मिक आस्था, मधेश आन्दोलनप्रतिको सम्मान र राजनीतिक सन्देशलाई एकसाथ जोड्दै बालेनको जनकपुरधाम यात्रा अर्थपूर्ण रूपमा हेरिएको छ । जानकी मन्दिर दर्शनदेखि जनसभासम्मको उनको उपस्थितिलाई आगामी राजनीतिक गतिविधिको संकेतका रूपमा पनि विश्लेषण गर्न थालिएको छ ।

सर्वोच्चको निर्णय स्वीकार्य हुनेछ, रूख चिह्न बाहेक अन्यथा कल्पना गर्न सकिन्न : खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन, नयाँ दल दर्ता वा स्वतन्त्र उम्मेदवारीको कुनै विकल्प आफूहरूको एजेण्डामा नरहेको स्पष्ट पारेका छन् । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको टुंगो अदालतले लगाउने र त्यसलाई आफूहरूले पूर्ण रूपमा स्वीकार गर्ने खड्काको भनाइ छ ।

आइतबार सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै खड्काले कांग्रेसको पहिचानका रूपमा रहेको रूख चुनाव चिह्नबाहेक अन्य कुनै विकल्प कल्पनै गर्न नसकिने बताएका छन् । उनले पछिल्लो समय चलाइएका ‘नयाँ पार्टी खोल्ने’ वा ‘स्वतन्त्र उम्मेदवारी दिने’ जस्ता हल्लाप्रति पार्टी पंक्तिलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

खड्काका अनुसार विवादको समाधान संस्थागत र कानुनी प्रक्रियाबाटै हुनुपर्छ । ‘निर्वाचन आयोगको निर्णयविरुद्ध हामी सर्वोच्च अदालत गएका छौं । अदालतले जे फैसला गर्छ, त्यसैलाई हामी स्वीकार गर्छौं’, उनले लेखेका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उत्पन्न विवाद चुलिएको हो ।

उक्त निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू आइतबार सर्वोच्च अदालत पुगेका थिए । खड्काले आन्तरिक असहमति भए पनि कांग्रेसको ऐतिहासिक चिन्ह र संस्थागत निरन्तरतामाथि कुनै सम्झौता नहुने संकेत दिएका छन् । पार्टीभित्रका सबै पक्षलाई संयम र एकतामा रहन आग्रह गर्दै उनले कानुनी निकास नै स्थायी समाधान हुने धारणा दोहोर्‍याएका छन् ।

 

 

ताप्लेजुङमा योगेश भट्टराईको खोसियो टिकट, क्षितिज थेबे एमाले उम्मेदवार

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा उम्मेदवार परिवर्तन गरेसँगै पार्टीभित्र शक्ति संघर्ष र असन्तुष्टि सतहमा आएको छ । यसअघि दुई पटक सोही क्षेत्रबाट विजयी भएका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिई एमालेले राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट ‘होल्ड’ गरे पनि आइतबार त्यो निर्णय थेबेको पक्षमा टुंगिएको हो । ‘निर्णय हिजै भएको हो, आज सार्वजनिक मात्र भएको हो,’ थेबेले बताएका छन् । यस निर्णयसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव भट्टराईबीच लामो समयदेखि चलिरहेको राजनीतिक तनाव फेरि एक पटक सार्वजनिक रूपमा देखिएको छ ।

भट्टराईको असहमति र ओलीको सन्देह
टिकट खोसिएको विरोधमा योगेश भट्टराईले सचिवालयको निर्णयविरुद्ध औपचारिक रूपमा ‘नोट अफ डिसेन्ट’ (लिखित असहमति) दर्ता गराएका छन् । उनले उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड नबनाइएको, नेतृत्वको इच्छा र पक्षधरतालाई प्राथमिकता दिइएको तथा महाधिवेशनको प्रतिष्पर्धालाई आधार बनाएर निर्णय गरिएको आरोप लगाएका छन् ।

भट्टराई निकट स्रोतका अनुसार अध्यक्ष ओलीले ताप्लेजुङको टिकट ‘होल्ड’ गरेर भट्टराईलाई गुन्डुस्थित निवासमा आएर सुलह गर्ने अपेक्षा गरेका थिए । तर भट्टराई त्यहाँ नगई निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै असहमति दर्ता गराएपछि ओली थप कठोर बनेको बताइन्छ ।

एमालेको ११औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध खुलेर उम्मेदवारी दिएका भट्टराई त्यसयता पार्टीभित्र आलोचनात्मक धारमा देखिँदै आएका थिए । उनी पुनः सांसद बनेमा संसदीय दलमै चुनौती खडा हुन सक्ने आंकलनका कारण ओलीले टिकट रोकेको विश्लेषण पार्टीभित्र व्यापक छ।

चार बुँदे असहमति : भट्टराई के भन्छन् ?
भट्टराईले आफ्नो नोट अफ डिसेन्टमा मुख्यतः चार विषय उठाएका छन्–
स्पष्ट मापदण्डको माग : योग्यता, क्षमता, निष्ठा र निरन्तरताका आधारमा उम्मेदवार छनोट हुनुपर्ने ।
महाधिवेशनको प्रतिष्पर्धाबाट मुक्त निर्णय : गुटगत आँखाबाट उम्मेदवार चयन गर्दा पार्टी एकता कमजोर हुने चेतावनी ।
चुनौतीपूर्ण क्षेत्रमा नेतृत्व जानुपर्ने : सुरक्षित क्षेत्र खोज्ने प्रवृत्तिले कार्यकर्तामा गलत सन्देश जाने टिप्पणी ।
कार्यकर्तामाथि अन्याय : पद र पहुँचका आधारमा टिकट बाँड्दा तल्लो तहका स्वाभिमानी कार्यकर्ता पीडित भएको निष्कर्ष ।

उनले यी आधारमा निर्णय भएको भए पार्टीमा अभूतपूर्व एकता र चुनावी उत्साह सिर्जना हुने दाबी गरेका छन् । यद्यपि अन्त्यमा उनले पार्टी निर्णयलाई स्वीकार गर्दै सबैलाई एमालेको विजयका लागि एकताबद्ध हुन आह्वान गरेका छन् ।

व्यापक टिकट कटौती र सन्तुलनको प्रयास
शनिबारको सचिवालय बैठकले १४० भन्दा बढी क्षेत्रका उम्मेदवार टुंग्याउँदा यसअघि चुनाव जितेका १३ जना सांसदको टिकट काटिएको थियो। त्यसमा तारा लामा तामाङ, ठाकुर गैरे, गोकुल बाँस्कोटा, ऋषिकेश पोखरेल, एलपी साँवा, ऐन महरलगायत परेका थिए । यद्यपि आइतबार केही निर्णय सच्याइँदै तामाङ र साँवालाई टिकट दिने सहमति बनेको छ ।

महाधिवेशनमा अध्यक्ष, महासचिव, उपाध्यक्ष र सचिव पदमा प्रतिष्पर्धा गरेका धेरै नेताहरू टिकटबाट वञ्चित भएका छन् । पोखरेल समूहका अधिकांश नेताले टिकट नपाउँदा भागीरथ सापकोटाले भने नवलपुर–१ बाट अवसर पाएका छन् ।

ताप्लेजुङमा नयाँ अनुहार, पुरानो विवाद
ताप्लेजुङमा एमालेले युवा नेतृत्व अघि सारेको तर्क गरे पनि योगेश भट्टराई जस्ता स्थापित नेताको बहिर्गमनले पार्टीको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएको छ । क्षितिज थेबे उम्मेदवार बनेसँगै चुनावी प्रतिष्पर्धा कस्तो मोड लिन्छ र भट्टराईको असन्तुष्टिले एमालेको सांगठनिक एकतामा कति असर पार्छ–यो विषय आगामी दिनमा अझ चर्किने देखिन्छ ।

‘बा’ र बालेन भिड्ने चर्चाले तात्तियो झापा (भिडियाेसहित)

काठमाडौं । ‘केपी बा’ भनेर पार्टीवृत्तमा चर्चित एमाले अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओली र युवा पुस्तामाझ लोकप्रिय रास्वपा नेता बालेन्द्र शाह ‘बालेन’ प्रतिस्पर्धा गर्ने भएपछि झापामा चुनावी गर्मी बढेको छ ।

देशको पूर्वी तराईको झापा जिल्ला अहिले चुनावी राजनीतिको ‘केन्द्रविन्दु’ जस्तै भएको छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताहरू त्यहीँबाट चुनाव लड्न लागेकाले पनि झापातर्फ सबैको ध्यान केन्द्रित भएको हो । यहाँको चुनावी हारजितले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्छ ।

त्यसैले, पाँचवटा निर्वाचन क्षेत्र भएको झापाको चुनावी राजनीतिलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।

चुनाव आउन डेढ महिना बाँकी हुँदा चुनावी सरगर्मी भने दिनदिनै बढेको बढेकै छ । खासगरी आमचासो भएको झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा हो । यहाँ भावी प्रधानमन्त्रीका दुई नेतासहित थुप्रै उम्मेदवार चुनावी भिडन्तमा उत्रिएका छन् । यसले पनि झापा–५ को चुनावी राजनीतिको मूल्य बढाएको हो ।

यहाँ २०७२, २०७४ र २०७८ मा गरी तीनपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष ओली सबैभन्दा अग्ला कदका उम्मेदवार हुन् । विगतका दुई राजनीतिक घटनाले उनको राष्ट्रवादी नेताको छवि बन्यो ।

त्यो हो– पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ को असोज ३ गते संविधान जारी भएपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीको ओलीले डटेर सामना गर्दा र दोस्रोपटक प्रधानमन्त्री हुँदा नेपालको चुच्चे नक्सा जारी गराउँदा ।

यी दुई घटनाले राष्ट्रवादी छवि बनाएका ओली यसपटक आठौँपटक चुनावी मैदानमा छन् । उनले यसअघि सातपटक चुनाव लड्दा छ पटक जिते । पहिलोपटक २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा ओलीले चुनाव जितेका हुन् । उनको हार भएको २०६४ मा हो, त्यसबेला उनी तत्कालीन नेकपा माओवादीका नेता विश्वद्विप लिङ्देनसँग पराजित भए ।

उनै ओली यसपाली आठौँपटक चुनावी प्रतिस्पर्धाबाट सातौँ जितको खोजीमा छन् र जितेर भावी प्रधानमन्त्रीको उम्मेदवार बन्‍न योग्य हुने मनसायमा छन् । उनी पछिल्ला निर्वाचनहरूमा भारी मतान्तरले विजयी नेता पनि हुन् । उनी झापा–५ का स्थानीयवासी पनि हुन् ।

तर, उनलाई यसपटक टक्कर दिने भन्दै काठमाडौंका प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ मा जाँदैछन् ।

उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ । त्यसो हुँदा तीनपटक प्रधानमन्त्री भइसकेका र फेरि हुने घोषणा गरेका ओलीसँग भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित बालेन आमनेसामने हुने भएका हुन् ।

बालेन काठमाडौंमा दलीय उम्मेदवारहरूलाई पराजित गर्दै २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका थिए । भनिन्छ, उनी गत जेन–जी विद्रोहका पर्दा पछाडिका कमान्डर हुन् । उनी पनि ओलीजत्तिकै चर्चित युवा नेतृत्व हुन् । संसदीय निर्वाचनमा उनले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

भावी प्रधानमन्त्रीका यी दुई उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्न पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नेता रञ्‍जित तामाङलाई उम्मेदवार बनाएका छन् । प्रचण्डसँग टिकट लिएर उनी चुनाव क्षेत्र झापा–५ गएका छन् ।

उनी पनि पहिलोपटक संसदीय निर्वाचनको मैदानमा उत्रिएका युवा नेतृत्व हुन् । माओवादी युद्ध लडेर आएका उनको छवि स्वच्छ छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न भएका आन्दोलनका मोर्चाहरूमा उनी सँधै ‘फ्रन्टलाइनर’ भए ।

उनलाई ओली र बालेनलाई चुनौती पेस गर्न सक्ने नेताको रूपमा हेरिएको छ । उनीमाथि १८ वर्षअघिको माओवादी जितको विरासत फर्काउने अभिभारा छ ।

यस्तै, नेपाली कांग्रेसले झापा–५ मा तत्कालीन माओवादी छाडेर आएका र २०६४ मा ओलीलाई पराजित गरेका नेता विश्‍वद्वीप लिङ्देनलाई उम्मेदवार बनाउने सम्भावना बढेको छ ।

लिङ्देनले ओली र बालेनविरुद्ध प्रतिस्पर्धामा उत्रिएर निर्वाचन जित्‍ने सूत्र रहेको दाबी गर्दै आएका छन् । उनै लिङ्देनलाई कांग्रेसले यसपटक ओली, बालेन र रञ्‍जितसँग चुनावी प्रतिस्पर्धामा उतार्ने देखिएको हो ।

यता धरानका मेयर हर्क साङपाङको श्रम संस्कृति पार्टीले झापा– ५ मा समीर तामाङलाई उम्मेदवार बनाइसकेको छ । उनी झापा–५ मा श्रम अभियन्ताका रूपमा चिनिएका युवा नेता हुन् ।

पार्टी अध्यक्ष साम्पाङले हालै झापामा चुनाव केन्द्रित ठूलाठूला सभा गरेका छन् । यस्तोमा शुक्रबार उनले सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस लेख्दै झापा–५ मा आफू गएर सम्बोधन गरेपछि ओली र बालेनप्रतिको भ्रम चिरिने र चुनाव जित्ने दाबी गरेका छन् ।

उम्मेदवार तामाङले पनि यसपटक माटो चुनाव चिह्नमा झापा–५ बासीले मतदान गरी अत्यधिक मतका साथ निर्वाचित गर्ने दाबी गर्दै आएका छन् ।

सर्वोच्च अदालतले उल्ट्यायो नदी किनाराको २० मिटर मापदण्डको फैसला

काठमाण्डाैं। सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका खोला–नदी किनारमा थप २० मिटर क्षेत्र खाली राख्नुपर्ने सम्बन्धी अघिल्लो फैसला उल्ट्याएको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले संयुक्त इजलासबाट यसअघि गरिएको फैसला बदर गरेको हो।

पूर्ण इजलासले फैसलामा उल्लेख गरेको छ, ‘उक्त फैसला कानून र न्यायको रोहमा मिलेको नदेखिँदा संयुक्त इजलासको मिति २०८०/०९/०३ को फैसला सो हदसम्म उल्टी हुने ठहर गरिन्छ।’

यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले मन्त्रिपरिषद्बाट तोकिएको मापदण्डभन्दा बाहेक नदी तथा खोलाको दायाँ बायाँ थप २० मिटर क्षेत्र खाली राख्नुपर्ने निर्णय गरेको थियो।

तर उक्त फैसलाविरुद्ध पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। सोही रिटमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले थप २० मिटर खाली राख्नुपर्ने व्यवस्था लागू नहुने निर्णय गरेको हो।

राजनीतिमा रहस्यमय बालेन, प्रधानमन्त्रीकाे महत्वकांक्षा चुनौतिपूर्ण

काठमाडौं ।  कालो लुगा र कालो चस्माबाट आफूलाई ब्रान्डिङ गरेका र्‍यापर बालेन शाह २०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयर बन्दै गर्दा धेरैका लागि रहस्यमयी थिए । गत भदौ २३ र २४ को जेन-जी विद्रोहपछि राष्ट्रिय राजनीतिको केन्द्रमा तानिएका उनी अहिले पनि त्यस्तै छन् ।

रहस्मय रहन सक्नु नै बालेनको शक्ति हो । यही उनको कमजोरी पनि हो । रहस्यमय रहने रणनीतिले नै आज बालेनले समर्थक, आलोचक र विरोधी आर्जन गरेका छन् । आज यस्तो लाग्छ कि त बालेनका समर्थक छन्, कि विरोधी तर अब बालेनलाई बेवास्ता गर्न सम्भव छैन ।

यही शक्ति र कमजोरीको झोला बोकेर देशको सबैभन्दा ठूलो महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर आज सिंहदरबार हाँक्ने सपना बोक्दै घण्टीघर प्रवेश गरेका छन् ।

कतिपयलाई आशा छ, उनले भ्रष्टाचार र बेथितिमाथि लौरो चलाउँछन्  । कतिपयलाई शंका छ, उनले देशै भड्खालोमा हाल्दिने हुन् कि !

गत भदौ २३ र २४ मा सडकमा आक्रोश थियो । २३ गते प्रहरीको गोली लागि १९ जना नवयुवा मारिएपछि प्रदर्शनकारीको आक्रोश प्रधानमन्त्री ओलीमाथि खनियो । भदौ २४ मा ओलीले राजीनामा गरेपछि सबैलाई लाग्यो- आन्दोलनमा उत्रिएको युवापुस्ताले बालेनले आग्रह गरेपछि सुन्छन्, मान्छन् । सामाजिक सञ्‍जालदेखि मिडियासम्म बालेन खोज्‍न थाल्यो।

आन्दोलनमा उत्रिएका धेरैले बालेन प्रधानमन्त्री भइदिउन् भन्‍ने चाहेका थिए । कतिले ‘नाउ अर नेभर’ भन्दै २ बजेसम्मको अल्टिमेटम नै दिएर म्यासेज पठाए । तर, बालेनले त्याे म्यासेज कहिले हेरे थाहा छैन, उनी फोन अफ गरेर बसेका थिए ।

उनले हतारिएर, आन्दोलनको बुइ चढेर होइन, चुनाव जितेर प्रधामन्त्री बन्‍ने सुर कसे । प्रधानमन्त्रीमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरे र उनलाई समर्थन गर्न आन्दोलनकारी युवा पुस्तालाई आग्रह पनि गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई फागुन २१ मा चुनाव गराउने म्यान्डेटसहित प्रधानमन्त्री बनाए । चुनाव हुन्छ कि हुँदैन भन्‍ने अन्योलकै माझ चुनावी तयारी अघि बढिरहेको छ । नेपाली कांग्रेसको विभाजनले चुनाव तोकिएकै मितिमा हुन्छ कि हुन्‍न भन्‍ने आशंका त बढाएकाे छ तर प्रत्यक्षतर्फका उम्मेदवार तोक्ने दिन नजिकिँदै जाँदा चुनावी माहोल काठमाडौंबाट गाउँ र शहरतिर ओर्लिरहेको छ । मतदानको दिन आउन ठिक डेढ महिना बाँकी छँदा महानगरको मेयर छोडेर उनी प्रधानमन्त्री बन्‍ने महत्वकांक्षासहित रास्वपा पार्टी कार्यालय प्रवेश गरे । तर, उनको यो महत्वकांक्षी यात्रा त्यत्तिकै चुनौतिपूर्ण छ ।

उनको पहिलो चुनौति त जुन जेन-जी आन्दोलनले उनलाई शक्ति दियो, त्यही आन्दोलनले उनलाई ‘षडयन्त्रको मास्टरमाइन्ड’ पनि बनाएको छ । संसद् भवनदेखि सिंहदरबारसम्म जलाउने षडयन्त्र बनाएको मात्रै होइन, युवा-विद्यार्थीलाई उकासेर आन्दोलनमा पठाएकोसम्म आरोप उनीमाथि छ । यस्तो आरोपलाई आधार दियो-विगतमा आफैंले लेखेको सिंहदरबार जलाइदिन्छु भन्‍ने स्टाटसले । उनले जनताको मत जित्‍न पहिले यो आरोपको चित्तबुझ्दो जवाफ दिनुपर्ने छ ।

बालेनको राजनीतिक यात्रा सांगठनिकभन्दा पनि व्यक्तिगत भयो । कुनैबेला आफैं उम्मेदवार भएपछि आफैंलाई मात्र भोट हाल्छु, अरूमाथि विश्‍वास छैन भनेका बालेन २०७९ सालको स्थानीय निर्वाचनमा आफैं काठमाडौं महानगरको मेयरको उम्मेद‍वार बने । चुनावी अभियानमा सधैं म नभनेर हामी भने पनि उनी एक्लै चुनावी मैदानमा थिए । उनलाई सहयोग गर्ने टिम थियो- तर उनका अरू उम्मेदवार थिएनन् । बाँकी पुरानै दलका प्रतिनिधिहरूले भरिएको महानगर टिमको शीर्ष स्थानमा उनी एक्लो स्वतन्त्र व्यक्ति थिए ।

नेपालको राजनीतिक व्यवस्थामा एक्लै मेयर हुन सकिन्थ्यो, प्रधानमन्त्री हुन सम्भव थिएन । यसलाई चाहिन्थ्यो पार्टी, जुन उनीसँग थिएन । उनले मेयर जितेपछि हौसिएर पार्टी खोलेका सञ्‍चारकर्मी रवि लामिछानेको पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेद‍वार बनाउन तयार भयो । यही बाटो उनी घण्टी घर पुगेका हुन् ।

राष्ट्रिय राजनीतिमा आइसकेपछि उनले राजनीतिक प्रश्‍नहरूको जवाफ दिनुपर्ने छ । महानगरको मेयर बन्‍न उनले विकास-निर्माण र सेवा-प्रवाहबारे मात्रै आफ्नो धारणा राखे पुग्थ्यो, देशकै नेतृत्व गर्ने महत्वकांक्षा राखेपछि उनले राजनीतिक प्रश्नहरूको सामना गर्नुपर्ने छ । रास्वपासँग एकता गर्दैगर्दा जेन-जी अगुवा रक्षा बमले उनलाई जसरी संविधानबारे प्रश्‍न गरेकी थिइन्, त्यस्ता प्रश्‍नहरू बारम्बार सामना गर्नुपर्ने छ ।

आजसम्म राजनीतिक मुद्धामा मौनता उनको शक्ति थियो, अब त्यो सुविधा उनलाई रहने छैन । जेनजी आन्दोलनसम्म उनलाई राजावादीदेखि हिन्दुराष्ट्र पक्षधरसम्मले आशाको नजरले हेरिरेका थिए । उनीहरू त्यसबैलादेखि बालेनसँग निराश छन् । राजनीतिक मुद्धामा उनले आफू यही संविधानको पक्षमा रहेको बताउन गरेको छनक पाइन्छ । यदि त्यस्तो हो भने नेपाली समाजको परम्परावादी मत उनले गुमाउने छन् । यदि, प्रतिगामी मुद्धाकै पक्षमा उभिए भने त त्यसले उनलाई झन् कमजोर बनाउने छ । जब उनी खुल्दै जान्छन्, उनको रहस्यको शक्ति घट्दै जान्छ ।

रास्वपाले उनलाई आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको हो, प्रधानमन्त्री बनाएको होइन। प्रधानमन्त्री हुन उनले सबैभन्दा पहिले त चुनाव जित्‍नुपर्ने हुन्छ । त्यो पनि झापा-५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न तम्सिएका बालेनलाई सांसद बन्‍न नै फलामको चिउरा चपाउनुसरह कठिन काम छ । तीन/तीन पटक प्रधानमन्त्री भइसकेका र देशको सबैभन्दा ठूलामध्ये एक दलको प्रमुखलाई राजनीतिको नयाँ खेलाडीले हराउनु चानचुने कुरा होइन । अर्कातिर, चुनावमा आफ्नो भूगोल, पारिवारिक सम्बन्ध र स्थानीयसँगको सम्पर्क पनि महत्वपूर्ण हुन्छ । महोत्तरीमा जन्मिएर काठमाडौंमा हुर्किएका बालेनलाई झापामा यी सुविधा प्राप्त हुने कुरै भएन । बरू, ओलीसँग भएका यी फाइदासँग पनि जुध्नुपर्ने हुन्छ ।

उनले चुनाव जितिहाले भने पनि प्रधानमन्त्री बन्‍न रास्वपाले बहुमत ल्याउनु वा सबैभन्दा ठूलो पार्टी हुनुपर्छ, अनि रास्वपाले उनलाई संसदीय दलको नेता बनाउनुपर्छ । अहिले रास्वपाभित्र अधिकांश उम्मेदवार रवि लामिछानेका समर्थक र प्रशंसक उम्मेदवार बन्दै छन् । सम्पत्ति शुद्धीकरण र सहकारी ठगिका मुद्धामा फिर्ताको बाटोमा अघि बढेपछि अब रवि आफैं प्रधामन्त्री बन्‍न योग्य हुनेछन् । यसपछि रविले आफैं प्रधामन्त्री बन्‍ने आकांक्षा नराख्लान् भन्‍ने ग्यारेन्टी छैन ।

यी चुनौति पार गरेर बालेन बन्लान् त प्रधामन्त्री ? यसको जवाफ त समयमै चुनाव भए फागुन अन्तिम साता पाइएला ।

तर, अर्को प्रश्‍न बाँकी नै छ, उनी प्रधानमन्त्री बनेर गर्ने चाहिँ के हो ?

दुर्गा प्रसाईंलाई कारवाही गर्न साइबर व्यूरोलाई पत्र

काठमाडौं । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयलाई लिएर प्रसाईंले भ्रामक सूचना प्रवाह गरेको भन्दै आयोगले प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोलाई आइतबार पत्र पठाएर अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

प्रसाईंले आयोगलाई पैसा बुझाएर दलको आधिकारिकता लिएको दाबीसहित भ्रामक सूचना प्रवाह गरेको आयोगको दाबी छ । प्रसाइँले आइतबार आफ्नै निवास भक्तपुरमा गगन थापा पक्षले ५२ करोड दिएर आयोगबाट मान्यता पाएको आरोप लगाएका थिए । भ्रम फैलाएको भन्दै आयोगको आइतबार बसेको बैठकले उनलाई आवश्यक कानूनी कारबाही गर्न पत्राचार गरेको हो ।

आयोग उच्च स्रोतले भन्यो, ‘दुर्गा प्रसाईले शनिबार पत्रकार सम्मेलन गरेर विभिन्न व्यक्तिलाई निराधार आरोप लगाएको आयोगमा जानकारी प्राप्त भयो । निर्वाचनमा मुखैमा यस्ता निराधार आरोप लगाउनेलाई साइबर कानुन अनुसार आवश्यक कारबाहीका लागि आयोगले आइतबार निर्णय गरेर पत्राचार गरेको छ ।’